प्रदेश प्रमुख खापुङलाई वित्त आयोगको वार्षिक प्रतिवेदन बझाइयो
मोरङ, १५ माघः कोशी प्रदेश प्रमुख परशुराम खापुङलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैठौँ वार्षिक प्रतिवेदन बुझाइएको छ । आज आयोगका अध्यक्ष बालानन्द पौडेलले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आयोगको आर्थिक वर्ष २०८०/८१ को प्रदेशगत छैठाँै वार्षिक प्रतिवेदन हस्तान्तरण गर्नुभयो ।
प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख खापुङले सङ्घीयतालाई बलियो बनाउन, राजस्व बाँडफाँट गर्न आयोगको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले सङ्घीय शासन व्यवस्थामा आर्थिक स्रोतसाधन जुटाउने, नियमन गर्ने र व्यवस्थापन गर्ने जस्ता जिम्मेवारी आयोगको काँधमा रहेको धारणा राख्नुभयो ।
प्रदेश प्रमुख खापुङले आयोगले सिफारिस गरेका ढाँचालाई सबै तहले पालना गरेमा आर्थिक अनुशासन कायम हुनाका साथै राजस्व वृद्धिमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।आयोगका अध्यक्ष पौडेलले सवारीसाधन करको रकम सम्बन्धित प्रदेशभित्रका स्थानीय सरकारललाई अन्तरसरकार वित्त व्यवस्थापन ऐन २०७४ को दफा ५ बमोजिम मासिक रूपमा उपलव्ध गराउन प्रतिवेदनमा सुझाव दिएको बताउनुभयो ।कार्यक्रममा प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मा, प्रदेशसभा सचिव गोपालप्रसाद पराजुली र आयोगका सदस्यको उपस्थिति रहेको थियो ।
