`

शुक्लाफाँटामा दुर्लभ प्रजातिको अजिङ्गर फेला

कञ्चनपुर, २६ साउन : शुक्लाफाँटा नगरपालिका २ लक्ष्मीपुरमा आज दुर्लभ प्रजातिको अजिङ्गर फेला परेको छ । स्थानीय सुनील डगौराको बाख्राको खोरभित्र अजिङ्गर फेला परेको हो ।

आठ किलो तौल भएको अजिङ्गरको लम्बाइ तीन मिटर बढी रहेको वडा सदस्य डबलबहादुर ऐरले बताउनुभयो । “अजिङ्गर बाख्राको खोरभित्र रहेको जानकारी प्राप्त हुनासाथ सुरक्षित साथ समातेर बोरामा राख्यौँ,” उहाँले भन्नुभयो, “शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अजिङ्गर फेला परेको जानकारी दियौँ, त्यसपछि आइपुगेको निकुञ्जको टोलीलाई समातेको अजिङ्गर सहितको बोरा दियौँ ।” निकुञ्जका कर्मचारीले उद्धार गरिएको अजिङ्गरलाई निकुञ्जको सुरक्षित क्षेत्रमा लगेर छाडेका छन् ।

अजिङ्गर सनवोरा नदी हँुदै चितौरा नाला भएर डगौराको बाख्राको खोरमा आहाराको खोजीमा आइपुगेको हुनसक्ने स्थानीय बासिन्दा हरिदत्त भट्टले बताउनुभयो । उहाँका अनुसार गत वर्ष पनि सोही क्षेत्र नजिकबाट अजिङ्गरको उद्धार गरी निकुञ्जका कर्मचारीलाई बुझाइएको थियो ।

छोरीको कथामा चलचित्र ‘सतीदेवी’

काठमाडौँ, २६ साउन : छोरीको सङ्घर्ष र महत्त्वलाई समेटेर नेपाली चलचित्र ‘सतीदेवी’ निर्माण गरिएको अभिनेत्री मलिका महतले बताउनुभएको छ । अभिनेत्री महतले महिला सशक्तीकरण, छोरीलाई समान अधिकारजस्ता विषयलाई प्रस्तुत गरिए पनि यो पूर्ण मनोरञ्जक रहेको बताउनुभयो ।

“चलचित्रमा सतीदेवी पात्रमार्फत छोरीको भोगाइ र परिवारसँगको अपेक्षा देखाइएको छ । म सहरिया परिवेशमा हुर्किए पनि उक्त पात्र र जीवनलाई सहजै महसुश गरेँ । चलचित्र कथा पढ्दा नै म पात्रसँग जोडिएकी थिएँ”, अभिनेत्री महतले भन्नुभयो ।

पत्रकार हुँदै चलचित्र निर्देशक बन्नुभएका लक्ष्मण सुवेदीले अभिनेत्री महतलाई मोबाइलमार्फत सन्देश (म्यासेज) पठाउँदै काम गर्न प्रस्ताव गर्नुभएको थियो । नयाँ नम्बरबाट आएको प्रस्तावमा अभिनेत्री महतले चलचित्रको कथा पढेर मात्र निर्णय दिने भन्नुभएको स्मरण गर्नुभयो ।

“मैले उहाँ (निर्देशक सुवेदी)लाई नजिकबाट चिनेकी थिइन्, त्यसैले पहिला कथा पढेपछि भेटौँ भने । मेरो शैली नै यस्तै छ, कथा पढेपछि म अभिनय गर्न तयार भएकी हुँ । म काठमाडौँमै हुर्किए पनि यो कथा छोरी र बुबालाई सजिलै जोड्ने किसिमको छ । यो हरेक ठाउँको कथा हो”, अभिनेत्री महतले भन्नुभयो ।

निर्देशक सुवेदीले सामाजिक सञ्जालमा केही भिडिओ हेरेपछि अभिनेत्री महतलाई चलचित्रमा शीर्ष भूमिकामा लिने निर्णय गर्नुभएको थियो । उहाँले भन्नुभयो, “मैले अभिनेत्री महतलाई विभिन्न भिडिओमा देखेँ, आफूले खोजिरहेको उमेर समूहसँगै पात्रलाई न्याय गर्न सक्ने ठम्याएँ । त्यसपछि मैले गरेको प्रस्तावमा उहाँ सकारात्मक भएपछि सहकार्य भयो ।”

उहाँले केही वर्ष अगाडि सन्तानको रूपमा छोरी हुँदा एउटा परिवारले समाजमार्फत प्राप्त गर्ने प्रतिक्रिया र त्यसपछि परिवारमा आएको उतारचढावलाई देख्नुभएको रहेछ । त्यहीँ देखाइलाई उहाँले चलचित्रको कथामा रुपान्तरण गर्नुभयो ।

“मेरो पनि छोरीमात्र छन् । तर समाजमा अझै पनि केहीको धारणा छोरा हुनुपर्छ भन्ने छ । यो चलचित्रले छोरीको सक्षमतासँगै समानताको विषयलाई उठाएको छ । सतीदेवी नामक पात्रमार्फत ती छोरीले गरेको सङ्घर्षले अन्यलाई प्रेरणा दिन्छ भन्नेमा विश्वस्त छु, यो छोरीहरूको कथा हो”, निर्देशक सुवेदीले भन्नुभयो ।

चलचित्रमा अभिनेत्री महतसँगै सृजना अधिकारी, सुजिता शिवाकोटी, हर्षिका वली, मञ्जिला बानियाँ, समृद्धि सेन्चुरी, कुलबहादुर अधिकारी, रमेश बुढाथोकी, सन्दीपबाबु लोहनी, सन्देश लिम्बू, भोला सापकोटा, मनिषा सापकोटालगायतले अभिनय गर्नुभएको छ । चलचित्र भदौ ७ गतेदेखि प्रदर्शन हुँदैछ ।

विद्युत् लाइन विस्तारका क्रममा करेन्ट लागेर ३३ वर्षीय मनबहादुरको मृत्यु

मार्तडी (बाजुरा), २६ साउनः विद्युत् लाइन विस्तारका क्रममा आज करेन्ट लागेर बडीमालिका नगरपालिका–७ का ३३ वर्षीय मनबहादुर बिष्टको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीका अनुसार विद्युत् लाइन विस्तारका क्रममा सोही नगरपालिका–६ जडनङ्गामा बिष्टलाई करेन्ट लागेको थियो ।

बडिमालिका नगरपालिका–६ को जडाङ्गामा ३३ केभीको लाइन बनाउने क्रममा करेन्ट लागेर बिष्ट घाइते भएपछि उपचारका लागि अछामका बयालपाटा अस्पतालमा लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको निरीक्षक कार्कीले जानकारी दिनुभयो । 

बङ्गलादेश : नेता युनुसद्वारा राजनीतिक, सामाजिक र धार्मिक सहिष्णुताका लागि अपिल

बंगलादेशका अन्तरिम सरकारको नेतृत्व गर्नुभएका नेता मोहम्मद युनुसले शनिबार राजनीतिक, सामाजिक र धार्मिक एकताका लागि सबै देशबासीसँग अपिल गर्नुभएको छ । शेख हसिनाको १५ वर्षे शासन अन्त्य गर्ने क्रममा भएको जनप्रदर्शनमा प्रहरीले चलाएको गोली लागि मृत्यु भएका एक छात्राकी रोइरहेकी आमालाई अँगालो हाल्दै अन्तरिम सरकारको नेतृत्वकर्ता युनुसले विगतको हृदय विदारक घटनालाई मनमा राख्न र धार्मिक सहिष्णुता प्रकट गर्न आग्रह गर्नुभएको हो ।

नोबेल पुरस्कार विजेता ८४ वर्षीय युनुस यसै साता युरोपबाट फर्किनुभएको र अव्यवस्थाको अन्त्य र प्रजातान्त्रिक सुधारको ठूलो चुनौतीको सामना गर्दै अन्तरिक प्रशासनको नेतृत्व सम्हाल्नुभएको हो । “हाम्रो जिम्मेवारी नयाँ बङ्गलादेश निर्माण गर्नु हो,” उहाँले भन्नुभयो ।

पूर्वप्रधानमन्त्री हसिनालाई विद्यार्थी आन्दोलनको बलमा गत साता पदच्युत गरिएपछि देशका हिन्दू अल्पसङ्ख्यक समुदायमाथि भएका कैयौँ प्रतिशोधात्मक आक्रमणले छिमेकी मुलुक भारतमा सन्त्रास पैदा गर्नुका साथै स्वदेशमा पनि त्रास फैलाएको छ ।

युनुसले उत्तरी शहर रङ्गपुरको भ्रमणका क्रममा गत महिना भएको अशान्तिका क्रममा मारिएका पहिलो विद्यार्थी अबु सायिदको सम्झनामा शान्ति कायम गर्न आह्वान गर्नुभएको थियो । उहाँले भन्नुभयो, “धर्मका आधारमा विभेद नगर्नुहोस् ।”

नोबेल पुरस्कार विजेता युनुसले भन्नुभयो, “सायिद अहिले हरेक घरमा हुनुहुन्छ । उहाँ जसरी राष्ट्रिय जागरणका लागि उभिनुभयो, हामीले पनि त्यस्तै गर्नुपर्छ। अबु सायिदलाई हेर्ने दृष्टिकोणबारे बङ्गलादेशमा कुनै मतभेद छैन ।”

विद्यार्थीको नेतृत्वमा हसिनाको सरकारविरुद्ध भएको प्रदर्शनमाथि प्रहरीले दमन गर्दा २५ वर्षीय सायिदको जुलाई १६ मा प्रहरीले चलाएको गोली लागि मृत्यु भएको थियो ।

युगान्डामा फोहोरको थुप्रो भत्किँदा दुई बालबालिकासहित आठ जनाको मृत्यु

युगान्डाको राजधानी कम्पालामा शनिबार एउटा फोहर जम्मा गर्ने स्थल (ल्यान्डफिल साइट) भत्किँदा दुई बालबालिकासहित आठ जनाको मृत्यु भएको नगरका अधिकारीले जानकारी दिएका छन् ।

भारी वर्षापछि कम्पालाको उत्तरी जिल्ला कितेजीमा फोहोरको थुपारेको स्थानमा पहिरो जाँदा केही घर, मानिस र जनावर फसेको बताएका छन् ।

कम्पाला क्यापिटल सिटी अथोरिटी (केसीसीए)ले एक विज्ञप्तिमार्फत यहाँ अहिलेसम्म मृत फेला परेका आठ जना व्यक्तिमध्ये दुई बालबालिकासमेत रहेको उल्लेख गरेको छ ।

केसीसीएले १४ जनालाई सकु्शल उद्धार गरी अस्पताल लगिएको जनाएको छ । उनीहरूको अवस्था भने खुलाएको छैन ।नगर प्रशासनले भनेको छ, “यहाँ उद्धार कार्य अझै जारी छ । थप जानकारीलाई निरन्तर अपडेट गर्नेछौँ ।”

अमेरिकामा प्रत्येक वर्ष भवनमा ठोक्किएका कारण एक अर्बभन्दा बढी चरा मर्छन् : अध्ययन

अमेरिकामा भवनमा ठोक्किएर घाइते वा बेहोस भएका अधिकांश चराहरू निको नहुने गरेको नयाँ अध्ययनले देखाएको छ । अध्ययनले भवनहरूमा ठोक्किएर मारिएका चराहरूको सङ्ख्या एक अर्बभन्दा बढी हुन सक्ने अनुमान गरेको छ ।

अमेरिकामा जङ्गली चराहरूको लागि प्रमुख खतरामध्ये भवनमा ठोक्किनु पनि एक चिन्ताजनक बिषय हो । अध्ययन भवनमा ठोक्किएर भएका दुर्घटनाबाट हुने चराको मृत्युदरको र घाइते भएका चराहरूको सङ्ख्यामा मात्र आधारित रहेको वाशिङ्गटन पोस्टले अध्ययन प्रतिवेदनलाई उद्धृत गरी उल्लेख गरेको छ ।

यो हप्ता ‘प्लोस वन जर्नल’मा प्रकाशित अध्ययन प्रतिवेदनमा अन्वेषकहरूले चराहरूलाई उनीहरूको दीर्घकालीन बाँच्ने दर मूल्याङ्कन गर्न वन्यजन्तु पुनर्वास केन्द्रहरूमा लगिएको थियो ।

यसले सन् २०१६ र सन् २०२१ को बीचमा उत्तरपूर्वी संयुक्त राज्य अमेरिकाका घटनाहरू अध्ययन गर्ने अन्वेषकहरूले १५२ प्रजातिका चरासहित तीन हजार १०० भन्दा बढी भवनमा ठोक्किएर भएका दुर्घटनाहरूको रेकर्ड जाँच गरेकोे गरेका र दुर्घटनापछि पुनर्वास केन्द्रहरूमा लगिएका लगभग ६० प्रतिशत चरा मरेका थिए ।

उक्त अध्ययनमा सबैभन्दा सामान्य रूपमा पाइने प्रजातिहरू जस्तैः ढुकुर, अमेरिकी धोबी चरा, उत्तरी कार्डिनल, कूपर्स हक्स र ग्रे क्याटबर्डहरू थिए ।

कीराहरूको अत्यधिक फैलावट नियन्त्रण गर्नेदेखि लिएर बीउहरू फैलाउन मद्दत गर्ने इकोसिस्टमको महत्त्वपूर्ण संवाहक चरा हो भन्ने बढ्दो मान्यताको बीचमा, धेरै अमेरिकी शहर र राज्यहरूले नयाँ भवनहरूलाई थप पंक्षी मैत्री हुन आवश्यक पर्ने नियमहरू पारित गरेका छन् ।

सर्लाहीमा ‘ड्रागन फ्रुट’को व्यावसायिक उत्पादन बढ्दै

बरहथवा (सर्लाही), २६ साउनः सर्लाहीमा ‘ड्रागन फ्रुट’को व्यावसायिक उत्पादन बढ्दै गएको छ । स्वास्थ्यका हिसाबले समेत बहुगुणी मानिने सिउँडी प्रजातिको ड्रागन फ्रुटबाट मनग्य आयआर्जन गर्न सकिने भएपछि स्थानीय किसान यसको व्यावसायिक उत्पादनमा आकर्षित हुन थालेका हुन् ।

सर्लाहीको हरिवन नगरपालिका–६ घुर्कौलीका चन्द्रमणि मैनालीले अन्य पेसा व्यवसाय छाडेर ड्रागन फ्रुटको व्यावसायिक खेतीमा लाग्ने क्रम बढ्दै गएको बताउनुभयो । यस फलको राम्रो भविष्य देखेर आफू पनि व्यावसायिक खेतीमा लागेको उहाँले जानकारी दिनुभयो । “पहिलो चरणमा आफ्नै ३३ कठ्ठा खेतमा ड्रागन फ्रुटको व्यावसायिक खेती सुरू गरेको छु । हाल १४ सय ७० वटा सिमेन्टका पोलमा चारवटाका दरले पाँच हजार आट सय ८० वटा बिरुवा हुर्काउन सफल भएको छु”, मैनालीले भन्नुभयो ।

उहाँले लगाउनुभएको ड्रागन फ्रुटको बिरुवाले तीन वर्ष पुग्दानपुग्दै फल दिन सुरू गरिसकेको छ । उत्पादित फलमध्ये केही गाउँमै बिक्री हुने गरे पनि मागअनुसार नजिकका बजार तथा काठमाडौँसम्म पठाउने गरेको मैनालीले बताउनुभयो । उहाँले एउटा बिरुवाबाट वर्षमा १० किलोसम्म फल उत्पादनको लक्ष्य राखेको बताउनुभयो ।

यहाँ ड्रागन फ्रुट प्रतिकिलो रु तीन सय ५० देखि रु चार सयसम्म बिक्री हुने गरेको छ । गत वर्ष करिब रु ५० लाखको बिरुवा र सोही बराबरको फल बिक्री गरेको मैनालीले सुनाउनुभयो । “माग बढ्दो छ तर सोअनुसारको उत्पादन छैन । बिरुवा हुर्कँदै गरेकाले पनि मेरो बारीमा थोरै फलेको छ । व्यापारीहरूको माग पू्रा गर्न सकेको छैन”, उहाँले भन्नुभयो ।

यस्तै सर्लाहीको हरिवन नगरपालिका–८ निवासी सुशील खड्काले पनि व्यावसायिक उत्पादनको लक्ष्यसहित ड्रागन फ्रुटको खेती गर्नुभएको छ । उहाँले हाल पाँच कठ्ठा खेतमा बिरुवा लगाउनुभएको छ । “यस फलको बारेमा धेरैका कुरा सुनेको थिए, सबैबाट राम्रो हुन्छ भनेको सुनेर यसतर्फ आकर्षित भएको हुँ, त्यसैले हाल थारै जमिनमा बिरुवा लगाएको छु”, उहाँले भन्नुभयो, “बिरुवा पनि सुरूमै धेरै किनेर लगाउन सकिएन । अब यही रोपेको बिरुवाबाट उत्पादन गरेर विस्तार गर्ने सोचमा छु ।”

उन्नत जातको भनेर प्रतिगोटा रु तीन सयका दरले खरिद गरेर आठ सयवटा पिलरमा तीन हजार दुई सय बिरुवा लगाएको खड्काले बताउनुभयो । “भर्खरै फल्न सुरू गरेकोले स्थानीय बजारमा थोरै थोरै पठाउने गरेको छु । मागको अवस्था हेर्दा खेती बढाउने योजनामा छु”, उहाँले अगाडि भन्नुभयो ।

उहाँजस्तै जिल्लाको लालबन्दी, बरहथवा, हरिपुरलगायत स्थानमा किसानले परीक्षणस्वरुप हाल यो फलको खेती गरिरहेका छन् । ड्रागन फ्रुटको व्यावसायिक उत्पादनमा युवापुस्ताको समेत आकर्षण बढ्दै गएको छ । यसले जिल्लामा ड्रागन फ्रुटको व्यावसायिक खेती गरेर स्वरोजगार हुने क्रम बढेको जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख देवानन्द यादवले बताउनुभयो ।
यहाँको मौसम तथा भूगोलअनुसारको बिरुवा रहेकाले उत्पादन राम्रो हुने उहाँको दाबी छ । ड्रागन फ्रुट रोपेपछि पाँच वर्षसम्म बिरुवा हुर्कने र २० वर्षसम्म उत्पादन दिने केन्द्र प्रमुख यादवले बताउनुभयो । “सुरूमा केही वर्ष बिरुवा हुर्काउन समय लाग्छ तर फल लाग्न थालेपछि नियमति रूपमा वर्षौसम्म उत्पादन हुने भएकाले पनि यहाँका धेरै किसान यसतर्फ आकर्षित हुन थालेका छन्”, उहाँले भन्नुभयो ।

यस खेतीलाई बढाउनका लागि तीनै तहका सरकारले प्रविधि र अन्य सहयोग गर्न सके धेरै युवाहरू यसतर्फ आकर्षित हुने हाल व्यवसाय गरिरहेका कृषकहरूले बताउने गरेका छन् ।

कर्णालीमा साढे पाँच लाख मेट्रिक टन खाद्यान्न उत्पादन ,सबैभन्दा बढी अनाज मकै

भेरीगङ्गा (सुर्खेत), २६ साउनः कर्णालीमा गत आर्थिक वर्ष २०८०/८१ मा साढे पाँच लाख मेट्रिक टन खाद्यान्न उत्पादन भएको छ । कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्कानुसार पाँच लाख ५२ हजार नौ सय ३० मेट्रिक टन खाद्यान्न उत्पादन भएको हो ।

जसअन्तर्गत कर्णालीमा सबैभन्दा धेरै मकै उत्पादन हुने गरेको छ । गत आवमा दुई लाख १९ हजार आठ सय दुई मेट्रिक टन मकै उत्पादन भएको छ । त्यसपछि गहुँ उत्पादन एक लाख ५२ हजार छ सय २१ मेट्रिक टन भएको छ भने धान एक लाख ४५ हजार ६३ मेट्रिक टन उत्पादन भएको छ ।

उत्पादनका हिसाबले कर्णालीमा धान उत्पादन तेस्रो नम्बर परेको छ । जौँ ११ हजार पाँच सय ५६ कोदो १६ हजार तीन सय १० फापर तीन हजार ८८ मेट्रिक टन उत्पादन भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । यस्तै, उवा एक हजार आठ सय १९ मेट्रिक टन उत्पादन हुँदा चिनो एक हजार छ सय ८१ मेट्रिक टन, कागुनो नौ सय ३६ र लट्टे ४५ मेट्रिक टन उत्पादन भएको जनाइएको छ ।

२३ हजार मेट्रिक खाद्यान्न अपुग

प्रदेशमा वार्षिक २३ हजार मेट्रिक टनभन्दा धेरै खाद्यान्न अपुग हुने गरेको पाइएको छ । तथ्याङ्कानुसार प्रदेशमा वार्षिक रूपमा २३ हजार चार सय ३४ मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको हो । राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णाली प्रदेशको जनसङ¬्ख्या १६ लाख ८८ हजार चार सय १२ रहेको छ । यो सङ्ख्यालाई आधार मान्दा कर्णालीमा वार्षिक एकजनालाई दुई सय एक किलो खाद्यान्न आवश्यक पर्दछ । कर्णालीमा अहिले वार्षिक तीन लाख २० हजार आठ सय ९० मेट्रिक टन खाद्यान्न उत्पादन हुने गरेको छ ।

कर्णालीलाई पूर्ण रूपमा खाद्यान्नमा आत्मनिर्भर हुन तीन लाख ४४ हजार तीन सय २४ मेट्रिक टन खाद्यान्न आवश्यक पर्ने कृषि विकास निर्देशनालयका कृषि प्रसार अधिकृत तिलकप्रसाद पाण्डेले जानकारी दिनुभयो । जिल्लागत रूपमा सल्यान, दैलेख र सुर्खेत मात्र खाद्यान्नमा आत्मनिर्भर छन् । अन्य सात जिल्लालाई आफ्नै उत्पादनले वर्षभर धान्न सक्ने अवस्था नरहेको पाण्डेले बताउनुभयो ।

एकानब्बे हजार ३३ मेट्रिक टन खाद्यान्न उत्पादन हुने सुर्खेत खाद्यान्नमा आत्मनिर्भर छ । सुर्खेतमा चार हजार आठ सय ६७ मेट्रिक टन मौज्दात रहने गरेको निर्देशनालयले जनाएको छ ।

त्यसैगरी, खाद्यान्नमा आत्मनिर्भर जिल्ला सल्यान हो । सल्यानमा वार्षिक ४७ हजार सात सय ८८ मेट्रिक टन खाद्यान्न आवश्यक पर्ने भए पनि ५२ हजार तीन सय ७४ मेट्रिक टन उत्पादन हुने गरेको छ । पाण्डेका अनुसार दैलेखमा पनि वार्षिक ५६ हजार आठ सय १२ मेट्रिक टन उत्पादन हुन्छ । जबकि दैलेखलाई ५० हजार तीन सय ६१ मेट्रिक टन खाद्यान्न आवश्यक पर्ने गरेको छ । अन्य सात जिल्ला भने खाद्यान्नमा आत्मनिर्भर हुन सकेका छैनन् ।

अहिले पनि डोल्पामा वार्षिक पाँच हजार ९९ मेट्रिक टन खाद्यान्न अपुग छ । हुम्लामा आठ हजार पाँच सय ६५, मुगुमा छ हजार चार सय ३९, जुम्लामा तीन हजार पाँच मेट्रिक टन खाद्यान्न वार्षिक रूपमा अपुग हुने गरेको छ ।

सबैभन्दा धेरै कालीकोटमा १० हजार तीन सय १७ मेट्रिक टन वार्षिक रूपमा खाद्यान्न अपुग हुँदा रुकुमपश्चिममा एक हजार छ सय १५ र जाजरकोटमा चार हजार दुई सय ९९ सय मेट्रिक टन खाद्यान्न वार्षिक रूपमा अपुग हुने गरेको कृषि विकास निर्देशनालयको तथ्याङ्क छ ।

यस वर्ष हुरीबतासका कारण मकैबालीमा र केही जिल्लाको धानबालीमा क्षति भएको तथा भूकम्पका कारण भण्डारण भएको खाद्यान्न क्षति भएका कारण खाद्यान्न बचतमा कमी देखिएको निर्देशनालयले जनाएको छ ।

बाँदर आतङ्कले आजित बागलुङका किसान,उब्जाउने जमिन त छ तर बाँदरले गरिखान दिएन

ढोरपाटन (बागलुङ), २६ साउनः एक दशक अगाडि बागलुङका ग्रामीण क्षेत्रमा बाक्लो बस्ती थियो । स्थानीयले बारीभरि मकै, कोदो र गहुँ उत्पादन गर्थे तर पछिल्लो समय यहाँ बस्ती सुनसान छन् । यहाँ बसाइँसराइ गर्ने क्रम बढ्दो छ । गाउँमा भएका कोही युवा विदेश त कोही सहर छिरिसकेका छन् । अहिले यहाँ अधिकांश बूढापाका मात्रै छन् ।

“उब्जाउने जमिन त छ तर बाँदरले गरिखान दिँदैनन् । जेनतेन खेतीपाती गरे पनि भित्र्याउन पाइँदैन, बाँदरले बारीमै नष्ट गरिसक्छन्”, जैमिनी नगरपालिका–४ की मायादेवी पौडेल भन्नुहुन्छ,“खानैका लागि बजारको अन्नमा भरपर्नु परेपछि यहाँ बसेर के गर्नु! भनेर धेरैले यहाँबाट बसाइँ सर्दैछन् ।” उहाँले गाउँमा रहेका केही किसान पनि जीविकोपार्जनका लागि गरिएका बालीनाली बाँदरले नष्ट गरिदिने समस्याले आजित भएका बताउनुभयो । बाँदर आतङ्ककै कारण धेरैले बसाइँ सरिसकेका र बाँकी रहेकाहरू पनि बसाइँसराइ गर्न बाध्य भएको उहाँको भनाइ छ ।

एक दशकअघिसम्म गाउँमा देखा नपरेको बाँदर अहिले हुलका हुल बारीमा आउँछन्, तरकारीदेखि खाद्य बाली केही नराखी नष्ट गरिदिन्छन् । जसले गर्दा गाउँका किसान आजित भएका हुन् । जिल्लामा बसाइँसराइ गरी बजार झर्ने र विदेश जानेमध्ये गलकोट र जैमिनी नगरपालिका तथा काठेखोला गाउँपालिकामा बढी छन् । युवा विदेशीने र गाउँमा बूढापाका मात्रै भएकाले घर छेऊकै खेतबारी झाडीमा परिणत भएका छन् । जसका कारण बाँदरलगायत वन्यजन्तु सजिलै घरमा छिर्ने गरेका स्थानीयले बताएका छन् ।

बाँदरले करेसाबारीमा लगाएका बाली मात्रै होइन घरको बार्दलीमा झुण्ड्याएर राखिएका सामानसमेत नष्ट गरिदिने कृषक पौडेलले बताउनुभयो । “यसपटक पनि बारीमा लगाइएको मकैले घोगा हाल्न थालेसँगै बाँदरले बोट नै सखाप पारिसक्यो । बँचेका बाली जोगाउन एकजना कुरुवा भएर दिनभर खटिनुपर्ने बाध्यता छ”, उहाँले सुनाउनुभयो,“पहिला–पहिला कहिलेकाहीँ मात्र बाँदर देखिन्थ्यो, अहिले त बाह्रै महिना गाउँमै बस्न थालेको छ, एउटा भए पो धपाउन पनि सजिलो हुन्छ, पाँच–सात सयको हुल हुन्छ, एक्लै त धपाउन पनि सकिन्नँ ।”

काठेखोला गाउँपालिका–५ का बलिभद्र कँडेल बाँदरले उठिबास लाउने अवस्था आएको गुनासो गर्नुहुन्छ । “बाँदरले बारीमा लगाएको केही पनि बाँकी राख्दैनन्, एउटा बारीको मकै १० मिनेटमै सोत्तर बनाइदिन्छ, हामीलाई त बाँदरले उठिबास लगाउने भयो, बाँदर धपाउने अनेक उपाय अपनाइयो तर केही लागेन, कहिले त घरभित्रै आएर सबै सामान नष्ट गरिदिन्छ”, उहाँले भन्नुभयो ।

पहिले केही आवाज आउने वस्तु बजाउँदा भाग्ने बाँदर अचेल उल्टै मान्छेलाई नै आक्रमण गर्न आउने कारणले थप समस्या भएको कँडेल बताउनुहुन्छ । “पहिले भाग्ने गरेको बाँदर सचेत निकै चलाख र बाठो हुँदै गएको छ । आवाज मात्रै होइन मान्छे नै खटिए पनि टेर्दैनन्, उल्टै आक्रमण गर्न आउँछन् । अब सरकारले नै समस्या समाधानका लागि पहल नगर्ने हो भने बाँकी रहेकाहरू पनि गाउँ छाडेर जान बाध्य हुने अवस्था आउँदैछ ।”

जसपा नेपालको केन्द्रीय समितिको बैठक भोलिदेखि

काठमाडौँ, २६ साउनः जनता समाजवादी पार्टी (जसपा) नेपालको नवगठित केन्द्रीय समितिको बैठक भोलि २७ गते आइतबारदेखि सुरु हुँदैछ । आगामी साउन ३० गतेसम्म चल्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय, पार्टीको सङ्गठन सुदृढीकरणलगायत विषयमा छलफल हुने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार वर्तमान राष्ट्रिय राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, पार्टीको वैचारिक एवं सैद्धान्तिक अवधारण तथा संविधान संशोधनको आवश्यकता र अपरिहार्यता सम्बन्धमा छलफल हुनेछ ।

बैठकमा एकताको राष्ट्रिय महाधिवेशनले तय गरेको पार्टीको वैचारिक, सैद्धान्तिक, अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक अवस्थाबारे छलफल हुने जसपा नेपालले जनाएको छ । वर्तमान भूराजनीतिक परिस्थिति र नेपालको परराष्ट्र नीति तथा सम्बन्ध बैठकको कार्यसूची छ ।

यस्तै, पहिचान र राष्ट्रिय/जातीय मुक्तिको सवाल, समाजवादसम्बन्धी अवधारणा जसपा नेपालको आदर्श, वैचारिक एवं सैद्धान्तिक अवधारण तथा संविधान संशोधनको आवश्यकता र अपरिहार्यता सम्बन्धमा छलफल हुनेछ । स्थानीय तह, प्रदेशसभा र संसद्मा पार्टीको भूमिका, पार्टी विस्तार तथा सुदृढीकरण कार्ययोजना सम्बन्धमा पनि छलफल हुने जनाइएको छ ।

देशव्यापी रूपमा जनपरिचालन अभियान (सदस्यता वितरण, सङ्गठन निर्माण र परिचालन, प्रशिक्षण, सेमिनार, गोष्ठी, जनसभालगायत आवश्यक कार्यक्रमहरू)सम्बन्धमा कार्ययोजना तथा कार्यक्रम निर्माणलगायत विषयमा बैठकमा विचारविमर्श हुने अध्यक्ष यादवले बताउनुभयो ।

बैठकले अभियानसम्बन्धी कार्यक्रम सम्पन्न गर्न समयावधि निर्धारण गर्ने र केन्द्रीय सदस्यहरूलाई जिल्ला/महानगर/नगरलगायत स्थानीय तहहरूको अभियन्ताको रूपमा जिम्मेवारी दिइने जनाइएको छ । केन्द्रीय समितिको बैठक ललितपुरको सानागाउँस्थित थसी बैंक्वेटमा हुनेछ ।

माओवादीको प्राथमिकतामा मुलुकको समृद्धिः उपमहासचिव पुन

काठमाडौँ, २६ साउनः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले आफूहरूको प्राथमिकतामा नेपाली जनताको एजेण्डा र मुलुकको समृद्धि रहेको बताउनुभएको छ ।

पार्टी सम्बद्ध काठमाडौँ–रोशी गाउँपालिका (काभ्रे) सम्पर्क समितिको पालिका भेलालाई आज यहाँ सम्बोधन गर्दै उहाँले भन्नुभयो, “सरकारका लागि हामीलाई कुनै हतारो छैन । कुनै अप्ठेरो पनि छैन ।”

उपमहासचिव पुनले पार्टीले सरकारमा रहेर सुरु गरिएको भ्रष्टाचार, अनियमितता र राज्य दोहनविरुद्धको सङ्घर्षलाई संसद् र सडकसम्म विस्तार गर्ने बताउनुभयो ।

उहाँले एक वर्षमा न्यूनतम शुल्क तिर्न नसक्ने एक लाख ८० हजार घरेलु ग्राहकको ६० दिनपछि विद्युत् काट्ने गरिएको भन्दै डेडिकेटेड र ट्रङ्कलाइनको विद्युत् उपयोग गरेर व्यवसायीले रु आठ अर्ब तिर्दिनँ भन्न नपाउने उहाँको भनाइ छ ।

कार्यक्रममा सो पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य सूर्यमान दोङ तामाङलगायतका नेताले जनअधिकारको संरक्षणका लागि पार्टीपङ्क्ति जनताको साथमा अगाडि बढ्ने बताउनुभयो ।

मनमोहन अस्पतालको छतबाट हाल्फालेका युवाको मृत्यु

काठमाडौँ, २६ साउन : काठमाडौँको महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको छतबाट हाम्फालेका एक युवाको आज मृत्यु भएको छ ।

प्रहरी वृत्त महाराजगञ्जका अनुसार अस्पतालको छैटौँ तलामा रहेको एस क्याफे रहेको स्थानबाट हाल्फालेका गोकर्णेश्वर नगरपालिका–४ का २१ वर्षीय स्वरुपराज आचार्यको मृत्यु भएको हो ।

महाराजगञ्जका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले उनी क्याफेमा कफी पिएर बसेका र केहीबेरमा हाम्फालेका पाइएको जानकारी दिए । उनी त्यहाँ बेलाबेलामा कफी पिउन आउने गरेका पनि बताइएको छ ।

घटना अपराह्न ३ः०० बजेतिर भएको र घटनापछि गम्भीर घाइते भएका उनको सोही अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् । उनी अस्पतालमा बिरामी वा बिरामीका आफन्तसमेत नभएको पाइएको छ ।

सङ्गीतकर्मीले सम्झिए गुरुदेव कामत

काठमाडौँ, २६ साउनः दिवङ्गत हुनुभएका शास्त्रीय सङ्गीतका गायक तथा सङ्गीतकार गुरुदेव कामतलाई स्मरण गरिएको छ । आज जमलस्थित नाँचघरमा गुरुदेव कामत सङ्गीत फाउण्डेसन तथा गुरुकुल सङ्गीत पाठशालाले संयुक्त रूपमा आयोजना गरेको श्रद्धाञ्जली एवं समवेदना कार्यक्रममा उहाँको गीतसङ्गीतसँगै नेपाली शास्त्रीय गीतसङ्गीतमा गायक कामतले पुर्याउनुभएको योगदानको चर्चा गरियो ।

कलाकार मदनदास श्रेष्ठले गायक कामतसँग पहिलोपटक रेडियो नेपालमा भेटेको स्मरण गर्दै गीतसङ्गीत सदैव अमर रहने बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँ निकै सरल र मिलनसार स्वभावको हुनुहुन्थ्यो । आफ्ना पीडा लुकाएर पनि बाँच्ने मान्छे । उहाँका शिष्यले नै अब सङ्गीतमार्फत अमर बनाउनुपर्छ ।”

कलाकार श्रेष्ठले गायक कामतको गीतसङ्गीत र सिर्जना आउँदो पुस्ताका लागि मार्गदर्शन हुनेमा जोड दिनुभयो । उहाँले एउटा सर्जक उपचार अभावमा ज्यान गुमाउनुपर्ने अवस्था राज्यका लागि सुहाउँदो नभएकाले आउँदा दिनमा यस्तो हुन नदिन गीतसङ्गीतलाई हेर्न गठित संस्थाले सतर्कता अपनाउनुपर्ने बताउनुभयो ।

गायक कामतसँग निकट गायक तथा कलाकार मुरलीधरले आफूले भाइ गुमाएको बताउनुभयो । “मैले र गायक कामतले सँगै धेरै काम गरेका छौँ । नाटकदेखि गायनसम्म हामीले सहकार्य गर्यौँ”, उहाँले भन्नुभयो ।

उहाँले गायक कामतको सम्झना दुई गीत गुनगुनाउनुभयो । “उहाँले मलाई चलचित्रमा गीत गाउन दिनु भन्नुभएको थियो । तर, ती सब निर्माता र निर्देशकले तय गर्ने भएपछि मैले त्यो अवसर दिन सकिनँ । उहाँको त्यो गुनासो सम्झिरहेको छु, अब उहाँको कामलाई सङ्ग्रहित गर्नुपर्ने दायित्व शिष्य र फाउण्डेसनमा आएको छ”, मुरलीधरले भन्नुभयो ।

सङ्गीतकार राजु सिंहले गायक कामत सङ्गीतको अनुसाशित साधक रहेको बताउनुभयो । “गीतसङ्गीतमा साधना गर्ने एउटा अनुशासन हुन्छ । उहाँ त्यो कायम गरेर साधना गर्नुहुन्थ्यो । हामीले उहाँको सपनालाई पूरा गर्नु नै सच्चा श्रद्धाञ्जली हुनेछ । यसका लागि हामीले धेरै कार्य गर्नु छ”, उहाँले भन्नुभयो ।

उहाँले सङ्गीतको बीमा हुनुपर्ने, गायक कामतको सालिक बन्नुपर्नेलगायत विषयमा चर्चा गर्नुभयो । गायक कामतको शिष्य रहनुभएकी गायिका शर्मिला बर्देवाले डायलाइसिसको समयमा अन्तिमपटक कुराकानी गरेको स्मरण गर्नुभयो ।

उहाँले भन्नुभयो, “उहाँसँग थोरै बोल्न पाएँ, त्यही अन्तिम संवाद भयो । मैले उहाँसँग विसं २०२५ देखि २०४८ सम्म सङ्गीत सिकेकी थिएँ । त्यही क्रममा मलाई चलचित्रमा गाउने अवसर आएको थियो । उहाँले शास्त्रीय सङ्गीतलाई नछाडी अन्यलाई अँगाल्नु भन्नुभएको थियो । तर, विविध कारणले मैले शास्त्रीय सङ्गीतलाई निरन्तरता दिन सकिनँ, यसमा दुःख लागेको छ ।”

कार्यक्रममा फाउण्डेसनका संस्थापक अध्यक्ष प्रभातसगार सिंह प्रधानले एउटा सर्जक उपचार गर्न नसकेर काठमाडौँ छाडेर गाउँ फर्कनु पीडादायक रहेको बताउनुभयो । “बिरामीहरु काठमाडौँ उपचार गराउन आएको सुनेको छु, तर गायक कामत गाउँ फर्किनुभयो । यहाँ उपचारमा आर्थिक सङ्कट भएपछि गाउँमै केही होला भनेर फर्किनुभएको हो । हामीले पनि उपचारका लागि आर्थिक पहल गरिरहेका थियौँ, तर उहाँले छिट्टै छाडेर जानुभयो”, अध्यक्ष प्रधानले भन्नुभयो ।

त्यस अवसरमा साहित्यकार मुकुन्द पौडेलले गायक कामतको जीवनी सुनाउनुभएको थियो । यस्तै, उहाँका शिष्य भीम मगरसहितको समूहले गायक कामतको स्वर र सङ्गीत रहेको ‘कुन पापीले कुन निष्ठुरीले….’ गीतमार्फत श्रद्धाञ्जली दिनुभएको थियो । यहीसाउन १७ गते दिवङ्गत हुनुभएका गायक कामतको १०औँ दिनमा श्रद्धाञ्जलीसभाको आयोजना गरिएको हो ।

नेपाल प्रहरी कानुन कार्यान्वयनमा मात्रै नभई बौद्धिक क्षेत्रमा पनि सक्षम छ : महानिरीक्षक कुँवर

काठमाडौँ, २६ साउनः प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी कानुन कार्यान्वयनमा मात्रै नभई बौद्धिक क्षेत्रमा पनि त्यत्तिकै सक्षम रहेको बताउनुभएको छ ।नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आज प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानद्वारा लिखित ‘सादृश्य विम्ब’ कथासङ्ग्रह र ‘लेखान्त’ नाटक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले साहित्य लेखन कठिन परिश्रम गर्नुपर्ने क्षेत्र भएको बताउनुभयो ।

साहित्यमा ज्ञान र क्षमताको साथै धैर्यताको पनि निकै आवश्यकता पर्ने बताउँदै उहाँले आम जनमानसमा रहेको प्रहरीप्रतिको लाठी र बन्दुक मात्र बोक्ने भन्ने परम्परागत बुझाइलाई चिर्न यस कृति प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।

अहिलेको विद्यमान परिवेशमा प्रहरीको कार्यक्षेत्र शान्ति सुरक्षा अमनचयन कायम गर्ने, अपराध न्यूनीकरण र अनुसन्धान गर्ने तथा विविध प्रहरी कार्यद्वारा सुरक्षाको प्रत्याभूति प्रदान गर्नुका साथै प्रहरीमा बहुआयामिक प्रतिभासमेत हुन्छ भन्ने तथ्य आजको नाटक तथा कथासङ्ग्रहको लोकार्पणले प्रष्फुटित गरेको महानिरीक्षक कुँवरले उल्लेख गर्नुभयो ।

वंश परम्परासम्बन्धी मोह, सामाजिक रूपान्तरण, नयाँ र पुरानो पुस्ताबीचको मानसिक मतभेदजस्ता सामाजिक विषयवस्तु समेटिएको लेखान्त नाटक तथा हालको सामाजिक एवं राजनीतिक वस्तुस्थितिमा आधारित ‘सादृश्य विम्ब’ सामाजका विविध पक्षहरूलाई उजागर गर्दै उहाँले नयाँ दृष्टिकोण प्रदान गर्ने र पाठकहरूको मन मस्तिष्कमा दीर्घकालीन प्रभाव पार्ने साहित्यिक सिर्जनका रूपमा रहने अपेक्षा लिएको बताउनुभयो ।

उक्त अवसरमा प्राज्ञ डा मधुसुदन गिरीले ‘सादृश्य विम्ब’ कथासङ्ग्रह र डा भक्त राईले ‘लेखान्त’ नाटक कृतिको समीक्षा गर्दै कृतिमा समेटिएका विषयवस्तु एवं लेखकको लेखन कौशलताका बारेमा चर्चा गर्नुभएको थियो ।

ग्रिनिङ र सिट्रस रोगले सुन्तलाका बोट मर्न थालेपछि किसान चिन्तित

तनहुँ, २६ साउनः ग्रिनिङ र सिट्रसरोगका कारण सुन्तलाका बिरुवा मर्न थालेपछि किसान चिन्तित भएका छन् । उक्त रोग लागेर सुन्तलाको बोट मर्नुका साथै उत्पादनमा ह्रास आउने भएपछि किसान निराश बनेका हुन् ।

कृषि ज्ञान केन्द्रका अनुसार यो रोग लागेपछि सुन्तलाको फेद कुहिने, बिरुवाको टुप्पोबाट मर्दै जाने, पात पहेँलो हुने र उत्पादनमा ह्रास आउनेलगायत समस्या देखापर्छ । व्यास नगरपालिका, म्याग्दे, भीमाद, आँबुखैरेनी, ऋषिङ, शुक्लागण्डकी र बन्दीपुर गाउँपालिका सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा रहेका बाली संरक्षण अधिकृत एवं सूचना अधिकारी किरण परियारले जानकारी दिनुभयो ।

उहाँका अनुसार सिट्रस सिल्लाका वयस्क र बच्चा दुवै अवस्थाका कीराले ग्रिनिङ रोग लागेका बिरुवाको पातबाट रस चुस्दछन् । उहाँले भन्नुभयो, “रोगी बोटबाट रस चुसेसँगै ग्रिनिङ रोग लगाउने ब्याक्टेरिया पनि कीराभित्र प्रवेश गर्दछ ।” रोगी बोटबाट ती कीराको माध्यमबाट क्रमशः बगैँचाभित्रका अन्य निरोगी बोटमा पनि रोग सार्ने काम गर्दछन् ।

आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा एक हजार छ सय ४५ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएको छ । अहिले नौ सय ६० हेक्टर क्षेत्रफलबाट उत्पादन भइरहेको छ । प्रतिहेक्टर बाह्र मेट्रिक टन सुन्तला उत्पादन क्षमता रहेको सो केन्द्रले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ मा ११ हजार पाँच सय १८ मेट्रिक टन सुन्तला उत्पादन हुँदा रु ३० करोड बढीको सुन्तला बिक्री भएको थियो ।

कार्यालयबाट सुन्तलाखेतीका लागि क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत अनुदान दिन थालेपछि बर्सेनि जिल्लामा सुन्तलाखेती विस्तार हुँदै गएको केन्द्र प्रमुख गोपाल शर्मा लामिछानेले बताउनुभयो । हाल आठवटा ब्लकमा सुन्तलाखेती हुदै आएको छ । ब्लक बन्नका लागि न्यूनतम ७० हेक्टर क्षेत्रफल हुनुपर्ने प्रावधान छ । उहाँले भन्नुभयो, “ब्लकमा सुन्तलाखेती गर्न चाहने किसानले व्यक्ति, समूह र सहकारीमार्फत कलष्टर बनेर आउनुपर्ने व्यवस्था रहेको छ ।”

बृहत् वामपन्थी एकताका लागि पहल गर्ने माओवादीको प्रस्ताव

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले बृहत् वामपन्थी एकताका लागि पहल गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको पार्टी स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वृहत् वामपन्थी एकताका लागि पहल गर्ने र स्पष्ट कार्यदिशाका साथ जनतामा जाने प्रस्ताव राखेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

उनका अनुसार, देश र जनताको एजेण्डालाई प्रभावकारी रूपमा सदन र सडकमार्फत उठाउने, सङ्घर्षका कार्यक्रमलाई दुवै स्थानबाट प्रभावकारी रूपमा उठाउने र बृहत् वामपन्थी एकताका लागि पहल गर्ने विषयमा आजको बैठकमा छलफल भएको छ ।

यस्तै, पार्टीभित्र व्यापक रूपमा शुद्धीकरणको अभियान चलाउने सन्दर्भमा पनि बैठकमा महत्त्वपूर्ण छलफल भएको थियो । अध्यक्ष दाहालले मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टीले आगामी दिनमा लिने कार्यदिशा, विचार निर्माणलगायत विषयमा आफ्नो विचार राखेका थिए ।

अध्यक्षले राखेको धारणाकाका आधारमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष सापकोटा, उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनले मन्तव्य राखेको प्रवक्ता सापकोटाले जानकारी दिए ।

समाजवादी मोर्चामा रहेका शक्तिसँग नियमित संवाद भइरहेको जानकारी दिँदै प्रवक्ता सापकोटाले त्यसैका आधारमा बृहत् वामपन्थी एकताका लागि पहलकदमी लिनुपर्नेमा बैठकमा छलफल भएको बताए ।

बैठकमा नेताहरू परशुराम तामाङ, सुरेन्द्र कार्की, गणेशमान पुन, कुलप्रसाद केसी, गणेश साह, देवेन्द्र पौडेल, अमृता थापामगर, चक्रपाणि खनालले पार्टीको कार्यदिशा र भावी रणनीतिका बारेमा विचार व्यक्त गरेका थिए ।

पार्टीको आठौँ महाधिवेशनले विचारको संश्लेषण गरेको ठहर गर्दै विगतका सबै काम कारबाहीको पनि थप संश्लेषण गरिने उनको भनाइ छ । बैठक आइतबार बिहान ११ बजे पुनः बस्नेछ ।

युक्रेनी आक्रमण रोक्न रुसको नयाँ अभियान सुरु

रूस र युक्रेनबीचको द्वन्द्वमा कियभको सबैभन्दा ठूलो आक्रमण रोक्न मस्कोले शनिबार युक्रेनसँग जोडिएका तीन सीमावर्ती क्षेत्रमा “आतङ्वाद विरोधी अभियान” सुरु गरेको छ । विश्लेषकले युक्रेनीहरूले मङ्गलबार रुसको पश्चिमी कुर्स्क क्षेत्रमा आक्रमण गरेको र निरन्तर अघि बढ्ने क्रममा रहेको बताएका छन् ।

रूसले यस प्रक्रियालाई रोक्नका लागि ‘ट्याङ्क रकेट लन्च’र र उड्डयन एकाईसहित अतिरिक्त सेना र उपकरणहरू सिमाक्षेत्रमा तैनाथ गरेको छ ।रूसको आतङ्कवाद विरोधी समितिले शुक्रबार बेलगोरोड, ब्रायन्स्क र कुर्स्क क्षेत्रमा आतङ्कवाद विरोधी अपरेसन बाट नागरिकको सुरक्षा सुनिश्चित गरी युक्रेनी खतरालाई नियन्त्रण गर्ने जनाएको छ ।

अभियान सुरु गरिएका क्षेत्रमा आवगमन प्रतिबन्धित गरिएको, फोन कलहरूमा निगरानी गरिएको छ र यी क्षेत्रलाई “नो–गो जोन“ घोषणा गरी प्रमुख पूर्वाधारमा सुरक्षा कडा गरिएको छ ।

आतङ्कवाद विरोधी समितिले युक्रेनले रूसका धेरै क्षेत्रमा आक्रमण गर्ने प्रयास गरेको जनाएको छ ।समितिले युक्रेनको आक्रमणलाई आतङ्कवादी आक्रमण घोषणा गर्दै कियभका सेनाले नागरिकमाथि आक्रमण गरेको र आवासीय भवनहरू ध्वस्त पारेको जनाएको छ ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस हप्ताको सुरुमा रुसले युक्रेनविरुद्ध गरेको आक्रमणको नतिजालाई “महसुस“ गर्नुपर्ने भन्दै आफ्ना सेनाको प्रारम्भिक सफलता दावी गर्नुभएको थियो । अभियानका क्रममा रूसमा आक्रमण गर्न खोज्ने २६ युक्रेनी ड्रोनलाई खसालिएको रूसले जनाएको छ ।

अफगानिस्तानकी खेलाडी तलाश पेरिस ओलम्पिकबाट अयोग्य घोषित

शरणार्थी ओलम्पिक टोलीका सदस्य अफगानिस्तानकी ’ब्रेकडान्सर’ मनीजा तलाशलाई “अफगानी महिलालाई स्वतन्त्र गर“ लेखिएको पहिरन प्रदर्शन गरेकाले पेरिस ओलम्पिबाट अयोग्य घोषित गरिएको विश्व डान्सस्पोर्ट महासङ्घले शनिबार जनाएको छ ।

२१ वर्षीया बी–गर्ल तलाश नेदरल्यान्ड्सको इंडिया सार्डजो विरुद्धको पहिलो प्रतिष्पर्धाको ठीक अघि शुक्रबार नारा सहितको निलो पहिरन पहिरिएर प्रस्तुत हुनुभएको थियो ।

“शरणार्थी टोलीका सदस्य एथलीट बी–गर्ल तलाशले ओलम्पिक अधिकारपत्रको नियम ५० को उल्लङ्घन गर्दै आफ्नो पोशाकमा राजनीतिक नारा प्रदर्शन गरेकोमा अयोग्य घोषित गरिएको हो”, डान्सस्पोर्ट महासङ्घले विज्ञप्तिमा जनाएको छ ।

नियम ५० ले कुनै पनि ओलम्पिकस्थल वा अन्य क्षेत्रमा कुनै पनि प्रकारको प्रदर्शन वा राजनीतिक, धार्मिक वा जातीय प्रचारमा प्रतिबन्ध लगाएको छ
सन् २०२१ देखि तालिबानको नियन्त्रणमा रहेको काबुलमा जन्मनुभएको तलाश देशबाट भागेर आफ्ना दुई दाजुभाइसँग स्पेनमा बस्दै आउनुभएको छ ।
“मैले तालिबानसँग डराएर वा अफगानिस्तानमा बस्न नसकेर देश छाडेको होइन । मैले अफगानिस्तानका महिलाहरुका लागि,आफ्नो भविष्यको लागि देश छोडेको हो”, उहाँले प्रतियोगिता अघि भन्नुभएको थियो ।

“मैले आफ्नो लक्ष्य पुरा गर्ने जोखिम लिएँ। मेरो हृदयमा डर छ तर म हार मान्दिनँ”, उहाँले सन् २०२१ मा एएफपीलाई भन्नुभएको थियो । पेरिस ओलम्पिकमा साइक्लिङ, एथलेटिक्स, पौडी खेल्ने र जुडो स्पर्धामा तालिबान सरकारले स्वीकार नगरेको तीन महिलासहित ६ जना खेलाडीले अफगानिस्तानको प्रतिनिधित्व गरेका थिए ।

तनहुँमा मिनीबस र माइक्रोबस अनियन्त्रित भई अचानक सडकमा पल्टिँदा १३ जना घाइते

तनहुँ, २६ साउन : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मिलनचोकमा आज बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । राजमार्गमा गुडिरहेका मिनीबस र माइक्रोबस अनियन्त्रित भई अचानक सडकमा पल्टिँदा दुर्घटना भएको हो ।

सवारी दुर्घटनामा परी घाइते भएकाहरूको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । उहाँकानुसार करिब एक सय मिटरको दूरीमा दुईवटा बस दुर्घटनामा परेको हुन् । बिहानदेखि सिमसिमे पानी परिरहेकाले बस चिप्लिएर दुर्घटना भएका थिए ।

लमजुङबाट नारायणगढतर्फ जाँदै गरेको ग१ज ८२९४ नम्बरको विद्युतीय माइक्रोबस र दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको बा४ख ४४७० नम्बरको मिनीबस अनियन्त्रित भई सडकमा पल्टिएका थिए ।

जिज्ञानद्वारा लिखित ‘जापान सपना, सङ्घर्ष र सफलता’ लोकार्पित

काठमाडौँ, २६ साउनः जिज्ञानकुमार थापाको गैरआख्यान पुस्तक ‘जापान सपना, सङ्घर्ष र सफलता’को आज यहाँ आयाजित कार्यक्रममा लोकार्पण गरिएको छ । चक डस्टर प्रालिले प्रकाशन गरेको उक्त पुस्तक नेपालका लागि जापानी राजदूत किकुता युताकालगायतले लोकार्पण गर्नुभयो ।

राजदूत युताकाले आफूले लेखक थापालाई लामो समयदेखि चिनेको र पुस्तक लोकार्पणमा आउन पाउँदा निकै खुसी लागेको बताउनुभयो । “लेखक जिज्ञान कानागावामा रहेको कानागावा इन्टरनेशनल फाउण्डेसनमा काम गर्नुहुन्छ, म पनि त्यही क्षेत्रमा बस्छु, उहाँको पुस्तक लोकार्पण गर्न पाउँदा निकै खुसी लागेको छ । यो पुस्तक जापान जान र जापानबारे बुझ्न चाहनेका लागि उपयोगी हुनेमा विश्वस्त छु ।”

उहाँले पछिल्लो समय जापानमा नेपाली विद्यार्थी र कामदारको सङ्ख्या बढ्दै गएको उल्लेख गर्दै उनीहरूका लागि जापानमा बस्न र जापानी नागरिकबीच घुलमिल हुनका लागि यो पुस्तक सहयोगी हुने बताउनुभयो । “पछिल्लो समय त जापानमा नेपालीहरू बढ्दै गएका छन्, सिञ्जुकोलाई ‘लिटिल नेपाल’ भन्न थालिएको छ, नेपालबाट युवाशक्ति जापान जाँदा यसले हाम्रा मुलुकका लागि पनि फाइदा पुगेको छ ।” उहाँले अब जापानले पनि नेपालको संस्कृतिबारे पनि जान्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

त्यस अवसरमा जापानका लागि नेपालका पूर्वराजदूत मदनकुमार भट्टराईले पुस्तक जापान जान चाहनेका लागि निकै उपयोगी हुने बताउनुभयो । “मेरो कूटनीतिक जीवनको ३७ वर्षमध्ये जापानमा रहँदा त्यहाँको रहनसहन र जनताको व्यवहारबाट निकै प्रभावित भएको थिएँ, जापानबारे बुझ्न यो पुस्तक थप सहयोगी हुने विश्वास लिएको छु”, उहाँले भन्नुभयो ।

पुस्तकमाथि चर्चा गर्दै शैलेन्द्र अधिकारीले जापान जान चाहनेका लागि त्यहाँ गएर काम खोज्न, त्यहाँको संस्कार सिक्न, घुलमिल हुनका लागि पुस्तक सहयोगी बन्नसक्ने धारणा व्यक्त गर्नुभयो ।

लेखक थापाले सुरुमा पुस्तक निकाल्ने योजना नभए पनि धेरैको सल्लाह र सुझावपछि पुस्तकको आकार दिइएको बताउनुभयो । “२५ वर्षअघि जापान जाँदा मलाई अग्रजहरुले मार्गनिर्देशन गर्नुभएको थियो, त्यहाँ घुलमिल हुन सहयोग गर्नुभएको थियो, तर आजका दिनमा जापान जानेले त्यसरी सिकाउने र मार्गनिर्देशन गर्ने पाउँदैनन्”, उहाँले भन्नुभयो, “यो पुस्तक जापान जानेहरुका लागि लक्ष्यित गरी प्रकाशित गरिएको हो ।” उहाँले पुस्तकमा १६ पुष्ठ आफ्नो बारेमा लेखे पनि बाँकी भागमा अरुका लागि लेखिएको बताउनुभयो ।

प्रकाशक चक डस्टरका प्रमुख हरि भट्टराईले सन् १९०२ मा अध्ययनका लागि जापान पुगेका नेपाली विद्यार्थीहरूले सन् १९०५ मा गोदाबरी फूल नेपाल ल्याएको इतिहास स्मरण गर्दै पछिल्लो समय जापान शिक्षा र रोजगारीका लागि नेपाली युवाको गन्तव्य बनेको बताउनुभयो । उहाँले जापान जान चाहनेका लागि पुस्तक निकै उपयोगी सावित हुने दाबी गर्नुभयो ।

उक्त पुस्तक जापान पुगेका, जापान जान लागेका, जापान जाने सपना देखेका र जापानबारे जान्न चाहने सबैका लागि उपयोगी हुने बताइएको छ । पुस्तकमा जापानी रहनसहन, खानपान, भाषा, संस्कृतिदेखि नेपालीहरूले जापानमा अवलम्बन गर्नुपर्ने हरेक विषयलाई मिहिन ढङ्गले विश्लेषण गरिएको लेखक थापाले बताउनुभयो ।

त्यस अवसरमा जापानका लागि नेपालका पूर्वराजदूत मदनकुमार भट्टराई, जापानिज युनिभर्सिटी अल्मुनाई एशोसिएसन नेपाल (जुवान)का अध्यक्ष सुनिलबाबु श्रेष्ठ, नेपाल जाइका अल्मुनाई एशोसिएसन (जान)का अध्यक्ष रामचन्द्र भुसाल, जापानी भाषा शिक्षक सङ्गठन नेपाल (जाल्टान)का अध्यक्ष राजेन्द्र केसीलगायतको उपस्थिति थियो ।

योकोहामा नेशनल युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय विकास सङ्काय (कानागावा प्रिफेक्चर) स्नातकोत्तर गरेक थापा हाल जापानमा जापानी भाषाको अनुवादक, कानागावा इन्टरनेशनल फाउण्डेसनको एकेडेमिक गभर्नरको सल्लाहकार, जापानको सरकारी माध्यमिक विद्यालय हिरानुमा हाइस्कुलको सञ्चालक समिति सदस्य, एभरेष्ट इन्टरनेशनल स्कुल, जापानको सल्लाहकार, गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय समिति परिषद् सल्लाहकार हुनुहुन्छ ।

लामो समय जापानलाई कर्मथलो बनाउनुभएका थापाले जापानका विभिन्न टेलिभिजन र पत्रपत्रिकामा समसामयिक विषय र नेपाल–जापान सम्बन्धका विविध आयामहरूमा विभिन्न दृष्टिकोण प्रस्तुत गर्दै लेखहरु लेख्दै आउनुभएको छ । एक सय ४४ पृष्ठ लामो पुस्तकमा १३ अध्याय छन् । पुस्तकको मूल्य रु पाँच सय राखिएको छ ।

दलित समुदायको समानुपातिक प्रतिनिधित्वको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं, २६ साउनः सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलित समुदायको समानुपातिक समावेशी प्रतिनिधित्वको माग गर्दै आज माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । दलितका लागि दलित अभियान, नेपालले माइतीघर मण्डलामा आयोजना गरेको प्रदर्शनमा सहभागीहरूले राज्यका हरेक निकायमा प्रतिनिधित्वको माग गर्दै प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा सहभागीले फलामे साङ्लो (जन्जिर) मा बाँधिएर दलितलाई मन्त्री खै ? दलितलाई कानुन खै ? दलितलाई नियुक्ति खै ? जस्ता प्रश्न लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए । अभियानका संयोजक खगेन्द्र सुनारले राज्यका हरेक संरचनामा दलित समुदायको सम्मानजनक सहभागिता हुनुपर्ने मागसहित प्रदर्शन गरिएको बताउनुभयो ।

प्रदर्शनमा ऐक्यबद्धता जनाउन डा गोविन्द केसी, अधिकारकर्मी कमला हेम्चुरीलगायत नागरिक समाजका प्रतिनिधिहरू माइतिघर मण्डला पुग्नुभएको थियो ।

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध,सवारीसाधन बीच बाटोमै रोकिँदा सयौँ यात्रु अलपत्रमा

जुम्ला, २६ साउन : पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । गए राति सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गतको कालीकोट जिल्लाको राँचुली, मोल्फा र फुर्केमा आएको पहिरोले सडक अवरुद्ध भएको हो ।

बिहानैदेखि पहिरो हटाउने काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिनुभयो । राँचुली, मोल्फालगायत स्थानमा सानाठूला पहिरो जाँदा सडक अवरुद्ध भएपछि जुम्ला र मुगुबाट सुर्खेत, नेपालगञ्ज काठमाडौँतर्फ चल्ने सवारीसाधन बीच बाटोमै रोकिँदा सयौँ यात्रु अलपत्रमा परेका छन् ।  अवरुद्ध भएको ठाउँमा पहिरो पन्छाउने काम सकिएपछि कर्णाली राजमार्ग सञ्चालनमा आउने सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।  

विद्यार्थी आकर्षण गर्ने पोखरा विश्वविद्यालयको नयाँ उपाय

चितवन । पछिल्ला वर्षमा कक्षा १२ उत्तीर्णपछि विद्यार्थी थप शिक्षा र रोजगारीका लागि विदेश जाने क्रम बढ्दो छ । विद्यार्थीलाई यही रोक्नका लागि विश्वविद्यालयले पुराना पाठ्यक्रमलाई परिमार्जनगरी समय सुहाउँदो बनाउन थालेका छन् ।

पोखरा विश्वविद्यालयको विज्ञान तथा प्रविधि सङ्कायका डिन प्रा राजेशकुमार ठकुराठी विश्वविद्यालयले विद्यार्थीको आकर्षण बढाउनेगरी पाठ्यक्रम परिमार्जन गरेको बताउँछन् ।

युनाइटेट टेक्निकल कलेज भरतपुरले शुक्रबार यहाँ आयोजना गरेको स्नातक र स्नातकोत्तरका नयाँ कार्यक्रम सुभारम्भका अवसरमा उनले भने, ‘पाठ्यक्रम अहिलेको परिवेश सुहाउँदो बजारले माग गरेअनुसारको बनाएका छौँ ।’

सैद्धान्तिक ज्ञानमात्रै नभएर प्रयोगात्मक कक्षामा जोड दिइएको डिन ठकुराठीले बताए । पहिलेपहिले इन्टर्नसिप नहुने गरेकामा इञ्जिनियरिङ सङ्कायमा तीन महिनाको अनिवार्य इन्टर्नसिप गराएको उनले बताए ।

डिन ठकुराठीले भने, ‘सीपमूलक पाठ्यक्रम बनाएका छौँ ।’ स्नातक तहमा क्याम्पसलाई आफूलाई चाहिने विद्यार्थी भर्ना गर्न पाउने व्यवस्था विश्वविद्यालयले गरेको छ । छात्रवृत्ति अन्य विश्वविद्यालयको तुलनामा आफूहरुले बढी दिएको उनले बताए ।

विश्वविद्यालयले एक वर्षमा स्नातक तहमा मात्र एक हजार एक सय जनाभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति दिएको छ । आङ्गीक क्याम्पसमा २० प्रतिशत र सम्बन्धन प्राप्त कलेजमा १० प्रतिशत छात्रवृत्ति दिने गरेको डिन ठकुराठीले जानकारी दिए । विश्वविद्यालयमा ५८ सम्बन्धन प्राप्त, आङ्गीक चार र संयुक्त आङ्गीक तीन कलेज रहेका छन् ।

विज्ञान तथा प्रविधी सङ्कायमा २० क्याम्पस छन् । तीमध्ये एउटा आङ्गीक, एउटा संयुक्त आङ्गीक र १८ सम्बन्धन प्राप्त छन् । सबै कलेजले विद्यार्थी कोटाअनुसार पुर्याउन नसकेको उनले बताए ।

सो अवसरमा डिन ठकुराठीले चितवन र छिमेकी जिल्लाका लागि प्राथमिकता दिँदैँ यहाँको युनाइटेड टेक्निकल कलेजमा यसै शैक्षिकसत्रबाट ब्याचलर अफ इञ्जिनियरिङ इन इन्फरमेसन टेक्नोलोजी (बिइ आइटी) तथा मास्टर अफ साइन्स इन ट्रान्सपोटेसन इञ्जिनियरिङ एण्ड म्यानेजमेन्टको पढाई सुरु गरेको बताए ।

कार्यक्रममा कलेजका प्रिन्सिपल एवं शैक्षिक निर्देशक प्रा डा केशवदत्त अवस्थीले कलेजले बिइ आइटीमा ४८ जना तथा ‘एमएससी इन ट्रान्सपोटेसन इञ्जिनियरिङ एण्ड म्यानेजमेन्ट’मा हरेक ६ महिनामा ३० विद्यार्थी भर्ना लिनेगरी पठनपाठन गर्न लागिएको बताए ।

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष चूडामणि खनालले हाल कलेजले स्नातक तहमा बीइ कम्प्युटर, बीइ सिभिल, बीइ इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स तथा स्नातकोत्तर तहमा एमएससी इन कन्स्ट्रक्सन म्यानेजको अध्यापन गराइरहेको बताए । कलेजबाट हालसम्म पाँच सय ९६ इञ्जिनियर उत्पादन भएको उनले बताए ।

सो अवसरमा त्रिभुवन विश्वविद्यालय पुलचोक क्याम्पसका निर्देशक एवं आइटी विज्ञ प्रा डा सुवर्ण शाक्य, पुलचोक क्याम्पसका उपप्राध्यापक एवं ट्रान्सपोटेसन इञ्जिनियरिङ विज्ञ डा प्रदीप श्रेष्ठ, जर्नलका प्रधानसम्पादक डा अञ्जयकुमार मिश्र, कलेजका प्रमुख प्रशासकीय अधिकृत विनोद ढकाललगायतले आ–आफ्नो धारणा राखेका थिए ।

तनहुँमा डेङ्गी सङ्क्रमण बढ्दै, सात सय ५४ जनामा सङ्क्रमण पुष्टि

दमौली (तनहुँ), २६ साउन : तनहुँ जिल्लामा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । शुक्रबारसम्म जिल्लाका पाँच स्थानीय तहका सात सय ५४ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स पूजा कुँवरका अनुसार व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र भिमाद नगरपालिकामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म भानु नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र देवघाट गाउँपालिकामा भने सङ्क्रमित फेला परेका छैनन् । व्यासमा ५७, शुक्लागण्डकीमा एक सय पाँच, भिमादमा दुई, बन्दीपुरमा ३५ र आँबुखैरेनीमा पाँच सय ५४ जनामा डेङ्गी पुष्टि भएको छ । 

जिल्लास्थित सरकारी अस्पताल र निजी क्लिनिकमा गरिएको परीक्षणअनुसार उनीहरुमा डेङ्गी पुष्टि भएको हो । डेङ्गी सङ्क्रमण बढेसँगै सतर्कता अपनाउन आग्रह गरिएको छ । शुक्लागण्डकी नगरपालिकास्थित तनहुँ सेवा अस्पताल, आले मेडिकल हल, युआरएल ल्याब्रोटोरी, खैरेनीटार अस्पताल र जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डेङ्गी परीक्षण गरिएको छ । एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबरहरु आउनु, अरुची हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गीको लक्षण भएको दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिनुभयो । 

पूरा शरीर ढाकिनेगरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्नु, सधैँ राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरवरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पु¥याउनु यसबाट बच्ने प्रमुख उपाय हुन् । गर्मी मौसममा जिल्लामा सबैभन्दा बढी व्यास नगरपालिकामा डेङ्गी सङ्क्रमित भएका थिए । जिल्लाभर करिब सात हजार सङ्क्रमित रहेकामा कूल सङ्क्रमितको ८० प्रतिशत व्यास नगरपालिकामा थिए । त्यस्तै चार जनाको डेङ्गी सङ्क्रमणबाट मृत्युसमेत भएको थियो । 

व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले विगतका वर्षमा जस्तो समस्या खेप्न नपरोस् भनि समयमै घर वरपर जमेका पानीका खल्डाखुल्डी पुर्ने, झाडी पन्छाउने र नाला सरसफाइ गर्ने कार्यलाई निरन्तरता दिइएको बताउनुभयो । उहाँका अनुसार १४ वटै वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक तथा संस्थागत विद्यालय, टोल विकास संस्थालाई परिपत्र गर्दै अभियान सञ्चालनका लागि निर्देशन दिएको छ 

जिल्लाका १० मध्ये तीन स्थानीय तहमा डेङ्गीका बिरामी देखा परेका छन् । आँबुखैरेनी, शुक्लागण्डकी र व्यास नगरपालिकामा डेङ्गीका बिरामी बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिनुभयो । डेङ्गी बिरामी बढ्दै गएपछि यस क्षेत्रमा सरसफाइका साथै स्वास्थ्य परीक्षण गराउन आग्रह गरिएको छ । ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान चलाइएको छ । जनप्रतिनिधि, स्थानीयवासी, शिक्षक, विद्यार्थीलाई सचेत गराई लामखुट्टे रहनसक्ने ठाउँमा पानी जम्ने खाल्डाखुल्डी पुर्ने, झाडी फाँड्ने, टायर हटाउने, गमला व्यवस्थित गर्ने कार्य अगाडि बढाइएको उहाँले बताउनुभयो ।  

“विद्यालयमा स्वास्थ्य शिक्षा कार्यक्रम अगाडि बढाइएको छ”, सूचना अधिकारी कँडेलले भन्नुभयो । विपद् व्यवस्थापनको महामारीलाई ध्यानमा राखी सरोकारवाला निकायबीच बृहत् छलफल गरिएको छ । शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा डेङ्गीका बिरामी बढ्दै गएपछि उपचारका लागि छुट्टै वार्डको व्यवस्था गरिएको केन्द्र प्रमुख डा रामकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार डेङ्गीका बिरामीको उपचारका लागि १५ शय्याको व्यवस्था गरिएको छ ।

चीनद्वारा बेइजिङ, छिमेकी क्षेत्रहरूमा बाढीको लागि आपत्कालीन प्रतिक्रिया सुरु

राज्य बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले शुक्रबार बेइजिङ र छिमेकी तियान्जिन नगरपालिका तथा हेबेई प्रान्तमा बाढीका लागि स्तर–४ आपत्कालीन प्रतिक्रिया सक्रिय गरेको छ । शुक्रबारदेखि आइतबारसम्म भित्री मङ्गोलिया स्वायत्त क्षेत्र, बेइजिङ, तियान्जिन, हेबेई, अन्य उत्तरपूर्वी क्षेत्रहरू र सिचुआन बेसिनका केही भागमा भीषण वर्षा हुने अनुमान गरिएको छ ।

आपत्कालीन व्यवस्थापन मन्त्रालयले भारी वर्षाले प्रभावित क्षेत्रहरूलाई यस महत्त्वपूर्ण समयमा बाढी नियन्त्रण कार्यमा कुनै कसर बाँकी नराख्न आग्रह गरेको छ । साथै मन्त्रालयले बासिन्दाहरूलाई विस्थापित गर्ने, पर्याप्त स्रोत र सामग्रीको व्यवस्था गर्ने र अस्थायी रूपमा बन्द गर्ने प्रयासहरू समावेश गरेको छ ।

राज्य बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले भित्री मङ्गोलिया, जिलिन, हेइलोङजियाङ र सिचुआनमा बाढीको लागि स्तर–४ आपत्कालीन प्रतिक्रिया कायम गरेको छ । राष्ट्रिय प्रकोप न्यूनीकरण आयोगले बाढी प्रभावित हुनान प्रान्तमा स्तर–२ को आपत्कालीन प्रतिक्रिया कायम गरेको छ ।
चीनमा बाढी नियन्त्रणका लागि चार–स्तरीय आपत्कालीन प्रतिक्रिया प्रणाली छ । यसमा स्तर–१ सबैभन्दा जरुरी प्रतिक्रिया हो ।

दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीको सक्रियता

भद्रपुर (झापा), २६ साउनः जिल्ला ट्राफिक कार्यालय झापाले सडक दुर्घटनामा कमी ल्याउन गरेका पछिल्ला गतिविधि एवं प्रयास उपलब्धमूलक देखिएका छन् । गत आव २०८०÷८१ को तथ्याङ्कअनुसार ट्राफिक प्रहरी झापाले चालेका जनचेतना अभिवृद्धिलगायत कार्यक्रम दुर्घटना न्यूनीकरणमा प्रभावकारी बन्दै गएका हुन् ।

जिल्ला ट्राफिक कार्यालय झापाका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमका अनुसार  विशेषगरी चालक परिचालकलाई कक्षा सञ्चालन र सडक प्रयोगकर्ता सर्वसाधारणलाई ट्राफिक सचेतना तथा सडक सुरक्षा कार्यक्रम व्यापक रुपमा गर्दै आएको छ । “ट्राफिक सप्ताह कार्यक्रम, यात्रुमैत्री विशेष अभियान, लागुपदार्थ मादक पदार्थ सेवनगरी सवारी चलाउनेविरुद्ध अभियान, ओभरटेकसम्बन्धी गरिएका सचेतना कार्यक्रममा समावेश भएका ट्राफिक गतिविधिमार्फत दुई लाख ३५ हजार नौ सय ७७ जना प्रत्यक्ष रुपमा लाभान्वित भए । गत आवमा पाँच हजार चार सय ३० पटक ट्राफिकसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन भए”, उहाँले भन्नुभयो । 

आर्थिक वर्ष २०७९÷८० मा भएका आठ सय चार दुर्घटनामा परी एक सय १४ जनाले ज्यान गुमाउनु परेको थियो भने गत आव २०८०÷८१ मा भएका पाँच सय ९३ सवारी दुर्घटनामा ८७ जनाको मृत्यु भएको प्रहरी नायब निरीक्षक गौतमले बताउनुभयो । 

पछिल्लो दुई आवको तथ्याङ्क केलाउने हो भने सवारी दुर्घटनाको सङ्ख्यामा कमी आउनाका साथै मृतकको सङ्ख्यामा २३ दशमलव ६८ प्रतिशतले कमी आएको छ । यसैगरी सवारी दुर्घटनामा परी सामान्य घाइते हुने मानिसको सङ्ख्यामा उल्लेख्य सुधार भएको देखिन्छ । 

ट्राफिक प्रहरी नायब निरीक्षक गौतमका अनुसार ट्राफिक प्रहरीको सक्रियता, जनचेतनामूलक कार्यक्रम र नियमको कडाइका साथ पालना गराउँदा अघिल्लो वर्षकोभन्दा राम्रो प्रतिफल मिलेको हो । उहाँले यो सुधारलाई अझ प्रभावकारी बनाउन ट्राफिक प्रहरी कटिबद्ध रहेको र सर्वसाधारणको नियमको पालनागरी सहयोग गर्नुपर्ने बताउनुभयो ।    गत आवमा ५७ हजार चार सय ५६ सवारीसाधन कारबाहीबाट तीन करोड ८६ लाख ८२ हजार छ सय ४१ रुपैयाँ राजस्व सङ्कलन गरिएको छ । 

पहिरोका कारण बेनी–दरबाङ सडक अवरुद्ध

गलेश्वर (म्याग्दी), २६ साउन – पश्चिम म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरबाङ सडकखण्डको लाम्पाटा रणबाङ क्षेत्रमा शुक्रबार साँझ सडक माथिबाट खसेको पहिरोका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ ।

पहिरो नरोकिएकाले सवारीसाधन र यात्रुहरु सास्ती खेप्न बाध्य भएका छन् । बिरामीलाई बोकेर पहिरो पार गराइएको छ भने यात्रुहरु जोखिम मोलेर पहिरो पारगरी आआफ्नो गन्तव्यतर्फ लागेका छन् ।

पश्चिम म्याग्दीको तीन पालिकासँगै बागलुङको पश्चिम क्षेत्र जोड्ने बेनी–दरबाङ सडकखण्ड शुक्रबार साँझदेखि अवरुद्ध भएको हो । यस सडक खण्डको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीको घुमाउने भिर, मालिका गाउँपालिका–६ को बाङ्गेभिर र मङ्गला गाउँपालिका–२ को लाम्पाटादेखि रणबाङका क्षेत्रमा पहिरो खस्दा पटकपटक सडक अवरुद्ध हुने गरेको छ ।

यस सडकखण्डलाई म्याग्दीको ‘लाइफलाइन’का रुपमा लिने गरिए पनि यहाँको प्रमुख समस्या पहिरो बनेको छ । फापरखेतको खोल्सोबाट झर्ने पुरानो पहिरोले सताइरहने सो सडकखण्डमा लाम्पाटा रणबाङ क्षेत्रमा नयाँ पहिरो झर्न सुरु भएको स्थानीय टेकनाथ सुवेदीले बताउनुभयो ।

पहिरोका कारण बेनीबाट दरबाङतर्फ जाने सवारी साधन र दरबाङदेखि बेनीतिर जाने सवारीसाधनबीच बाटोमा नै रोकिएका छन् । यात्रुहरु जोखिम मोलेर पैदल नै आआफ्नो गन्तव्यतर्फ लाग्ने गरेका छन् । करिब १८ वर्षअघि सडकको मार्ग खोल्नुपूर्व नै यहाँ पहिरोको जोखिम थियो । पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको स्थानीय बताउँछन् ।

धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको रणबाङमा हरिकृष्ण पौडेलले बताउनुभयो । ढुङ्गा खसिरहने साँघुरो सडकमा जोखिम मोलेर पहिरो पार गर्दै यात्रा गर्नुपर्ने बाध्यता रहेकामा अहिले नयाँ पहिरोबाट वारपारसमेत गर्न नसकिने भएको हुँदा यात्रुहरु घुमाउरो बाटो प्रयोग गरेर पैदल नै गन्तव्यतर्फ लाग्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

“वर्षापछि पाखोबाट बगेर आउने गेगर सडकमा थुप्रिँदा आवतजावत बन्द हुन्छ”, उहाँले भन्नुभयो, “फापरखेतको पहिरो त बेनी–दरबाङ सडकको क्यान्सर रोग जस्तो भएको छ ।” उहाँका अनुसार पहिरोबाट खसेको ढुङ्गाले चोट लागेर सवारीसाधनमा क्षति पुग्ने र यात्रु घाइते हुने गरेका छन् ।

यमनमा वर्षा र बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो

पश्चिमी यमनमा साता लामो भारी वर्षा र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४५ पुगेको यमनको सरकारी टिभीले यमनको रेड क्रिसेन्ट सोसाइटीको विज्ञप्तिलाई उद्धृत गर्दै शुक्रबार जनाएको छ । यस साता सातवटा प्रदेशमा परेको वर्षा र बाढीले १२ जना बेपत्ता भएकोसमेत भएको टेलिभिजनले जनाएको छ । बाढीले १२ हजार पाँच सय ८४ भन्दा बढी घरमा क्षति पु¥याएको छ भने तीन हजार छ सय ४० जना विस्थापित भएका छन् ।

  सात प्रभावित प्रान्तमध्ये होडेडाह सबैभन्दा बढी प्रभावित भएको छ । अन्य प्रभावित क्षेत्रमा हज्जाह, अमरान, सादा, धमार, ताइज र साना रहेका छन् । 

   टेलिभिजनमा प्रसारित फुटेजमा भारी वर्षा र बाढीले पूर्ण रूपमा बगाएको होडेडाहको एउटा गाउँ देखाइएको थियो ।   विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बाढीले ३० जनाको ज्यान लिएको र पाँच जना बेपत्ता भएका उल्लेख गरेको छ    डब्लुएचओले विज्ञप्तिमा भनेको छ, “बाढीले पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ र धेरै बासिन्दालाई विस्थापित गरेको छ, सडकहरू बन्द भएका छन् ।”     डब्लुएचओले पनि दूषित पानीका कारण रोग फैलिन सक्ने चिन्ता व्यक्त गरेको छ ।

श्रीलङ्कामा दल त्याग गरेका दुई मन्त्री बर्खास्त

सर्वोच्च अदालतले अनुशासनात्मक कारवाहीलाई समर्थन गरेपछि शुक्रबार श्रीलङ्काका दुई मन्त्रीलाई बर्खास्त गरिएको छ । आगामी महिना हुने राष्ट्रपति निर्वाचनअघि यस्तो निर्णय आएको हो । सन् २०२२ मा अभूतपूर्व आर्थिक सङ्कटसँगै महिनौँको विरोध प्रदर्शनले तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेलाई अपदस्थ गरेपछि मुलुकमा पहिलो राष्ट्रपति निर्वाचन हुन लागेको हो ।

पर्यटनमन्त्री हरिन फर्नान्डो र श्रममन्त्री मानुषा नानायक्काराले सेप्टेम्बर २१ को मतदानका लागि तयारी गरिरहनुभएका राष्ट्रपति रनिल विक्रमासिङ्घेलाई समर्थन गर्न दल परिवर्तन गर्नुभएको थियो । 

उहाँहरूको पूर्व पार्टी सामगी जन बालावेगया (एसजेबी) ले उहाँहरूको सदस्यता निलम्बन गरेको थियो र त्यसलाई अदालतले शुक्रबार समर्थन गर्यो । राष्ट्रपति विक्रमासिङ्घेलाई झट्का लाग्ने गरी दुवै जनाले संसद् र मन्त्रिपरिषद् छाड्नुपर्ने भएको छ । 

सर्वोच्चको फैसलापछि फर्नान्डोले पत्रकारहरूसँग भन्नुभयो, “म अदालतको फैसलालाई स्वीकार गर्छु, जनताका लागि काम गर्ने अवसर पाएकामा म खुशी छु ।” नानायक्काराले पनि सरकारमा सामेल भएकामा आफूलाई कुनै पछुतो नभएको बताउनुभयो । 

आवश्यक आयातका लागि विदेशी मुद्रा समाप्त भएपछि सन् २०२२ अप्रिलमा श्रीलङ्काले ४६ अर्ब डलरको ऋण तिर्न सकेन । विक्रमासिङ्घेले उच्च कर र ऊर्जा अनुदानमा कटौतीलगायत मितव्ययिताका उपायहरू समावेश गर्दै आफ्ना सुधारहरू जारी राख्न अर्को कार्यकाल चाहेको बताउनुभएको छ । 

अग्रपङ्क्तिका अन्य दुई उम्मेदवार साजिथ प्रेमदासा र अनुरा कुमारा दिसानायकेले गत वर्ष विक्रमासिङ्घेले गर्नुभएको दुई अर्ब ९० करोड डलरको अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) बेलआउट वार्तालाई जारी राख्ने तर करहरू घटाउने र निजीकरणलाई रोक्ने बताउनुभएको छ । 

चार सहिदको बलिदानबाट कर्णाली प्रदेश स्थापना भएको हो : मुख्यमन्त्री कँडेल

कर्णाली-कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चार सहिदको बलिदानबाट कर्णाली प्रदेश स्थापना भएको बताउनुभएको छ ।याम बिसी स्मृति प्रतिष्ठान सुर्खेतको स्मरणपत्र ग्रहण गर्नुहुँदै उहाँले सीमाङ्कनको विषयलाई लिएर विसं २०७२ साउन २३ देखि भदौ ४ गतेसम्म भएको कर्णाली आन्दोलनमा जीवन बलिदान दिनुभएका सहिदकै कारण प्रदेश स्थापना भएकाले उहाँहरूको योगदान बिर्सन नसकिने बताउनुभयो ।

कर्णालीलाई छुट्टै प्रदेशको माग गर्दै भएको आन्दोलनमा जुम्लाका हरिबहादुर कुँवर, सुर्खेतका यामबहादुर बिसी, टिकाराम गौतम र गोपालसिं रजवारको बलिदानीपूर्ण योगदानले प्रदेशका जन्म भएको मुख्यमन्त्री कँडेलले स्मरण गर्नुभयो । उहाँले भन्नुभयो,“चार जना सहिदहरूको बलिदानीको जगमा कर्णाली प्रदेश स्थापना भएको हो । त्यसैले उहाँहरू प्रति हाम्रो उच्च सम्मान छ । प्रतिष्ठानमार्फत विगतमा माग राखेर सरकारलाई बुझाएको पत्र, त्यसमा भएका निर्णय र प्रगतिका बारेमा अध्ययन गरेर थप निर्णय गर्छु”, उहाँले भन्नुभयो ।

मुख्यमन्त्री कँडेलले जसलाई पनि सहिदहरूको पङ्क्तिमा राख्दा वास्तविक सहिदको अवमूल्यन भएको भन्नुहुँदै वास्तविक सहिदको सम्मानका लागि प्रतिष्ठानले राखेका माग सम्बोधनका लागि प्रदेश सरकारका तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

याम स्मृति प्रतिष्ठानका अध्यक्ष भगवती बिसीले सहिद परिवारका सदस्यहरूबाट कम्तीमा एकजनालाई स्थायी रोजगारी तथा शिक्षा, स्वास्थ्यलगायतका आवश्यक विषय सुनिश्चित गर्नुपर्ने माग रहेको जानकारी गराउनुभयो । यस्तै सहिदहरूको जीवन समेटिएको स्थानीय पाठ्यक्रम बनाउनुपर्ने, प्रदेश राजधानीका मुख्य चोकमा सहिदको सालिक निर्माण, विभिन्न सडक, पार्क, चोकको नामाकरण गर्नुपर्नेलगायत सातबुँदे माग राखिएको बताउनुभयो ।

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव

काठमाडौँ, २६ साउन : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा आज पनि सरदर स्थान आसपास रहेको छ । मनसुनी वायुको प्रभावका कारण हाल देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक– दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा मधेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको हुने प्रक्षेपण पनि छ ।

राति देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू र मधेश प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र कोशी प्रदेशको एक–दुई स्थानमा राति पनि भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ।

चौतीस वर्षदेखि जीर्णोद्धारको पर्खाइमा रहेको बलेवा कालभैरवको यस वर्षदेखि जीर्णोद्धार गरिँदै

गलकोट (बागलुङ), २६ साउनः चौतीस वर्षदेखि जीर्णोद्धारको पर्खाइमा रहेको बागलुङ बलेवा कालभैरव मन्दिरको यस वर्षदेखि जीर्णोद्धार थालिने भएको छ ।
भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समिति सक्रिय भएसँगै कालभैरव मन्दिरमा पूर्वाधारहरु निर्माणले गति लिएका छन् । मन्दिरलाई यसैवर्षबाट जीर्णोद्धार गर्न थालिने भएको छ । जसका लागि बजेट विनियोजन भइसकेको छ । भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालका अनुसार चालु वर्षमा मन्दिर जीर्णोद्धार गर्नका लागि रु ३७ लाख बजेट विनियोजन गरिएको छ ।

चालु आर्थिक वर्षमा रु २७ लाख सङ्घीय सरकार र रु १० लाख गण्डकी प्रदेश सरकारबाट मन्दिर जीर्णोद्धार गर्नका लागि बजेट विनियोजन भएको छ । असोजदेखि मन्दिर जीर्णोद्धारको काम थालिने ढकालको भनाइ छ । मन्दिर जीर्णोद्धारमा दाताको सहयोग र मन्दिर व्यवस्थापन समितिको कोषलाई परिचालन गरिनेछ । 

विसं २०४७ मा रु ५० हजार खर्चेर मर्मत गरिएको मन्दिर त्यसयता जीर्णोद्धार गर्न सकिएको छैन । कालभैरव मन्दिरको प्रचारप्रसार र महिमा पछिल्लो समय बढेपछि मन्दिरलाई जीर्णोद्धार गरेर चिटिक्क बनाउन थालिएको हो । 

तीन सय वर्षभन्दा पुरानो मन्दिर जीर्णोद्धारमा हालसम्म कसैको ध्यान नपुगको बताउँदै गुठीका अध्यक्ष ढकालले यसैवर्षबाट मन्दिरलाई जीर्णोद्धार गरिने बताउनुभयो । 

विसं २०४७ मा रु ५० हजार लागतमा मर्मतसम्भार गरिएको बलेवा कालभैरव मन्दिरकोस्वरुप अझै उस्तै छ । पछिल्लो समय मन्दिरका नाममा लाखौँ बजेट खर्च भइरहे पनि मुख्य मन्दिर भने जीर्ण अवस्थामै रहँदा पूजा गर्न समस्या भएको र मन्दिर चर्किंदै गएको छ । 

ढुङ्गा माटोको मन्दिरलाई पुनःनिर्माणगरी ३४ वर्षअघि केही ठूलो बनाइएको थियो । अहिले मन्दिरको रेलिङको केही भाग चर्किएकोसमेत छ । मन्दिरसमेत साँघुरो र पूजा गर्न समस्या भएको हुन थालेको छ । मन्दिरको क्षेत्रफल बढाउन रु ५० लाख लागतमा बागलुङ नगरपालिकाले पक्की पर्खाल बनाएको, तारबार गर्न सहयोग गरिरहेको छ भने गण्डकी प्रदेश सरकारले मन्दिर वरपरको क्षेत्रमा लगानी गरिरहेको छ । तर मुख्य मन्दिर जीर्णोद्वार गर्नका लागि हालसम्म बजेटको व्यवस्थापन नभएको बताउदै अध्यक्ष ढकालले यस वर्ष मन्दिरलाई पुनःनिर्माण गर्न सुरु गरिने बताउनुभयो । 

“मन्दिर जीर्णोद्धारका लागि सङ्घीय सरकारलाई रु एक करोड माग गरेका थियौँ, बजेट जम्मा रु २७ लाख आयो, प्रदेशले रु १० लाख विनियोजन गरेको छ”, ढकालले भन्नुभयो, “लामो समय मन्दिर व्यवस्थापन समिति नहुँदा जीर्णोद्वारको काम भएको थिएन, समिति आएको एक वर्षमै मन्दिर जीर्णोद्वारका लागि बजेट आएको छ, बजेटले निरन्तरता पाए, दुई वर्षमा कालभैरव मन्दिर चिटिक्क पर्नेछ ।” बागलुङ नगरपालिका–१२ अमलाचौरमा रहेको कालभैरव मन्दिर भकुण्डे र रायडाँडासँग सिमाना जोडिएको छ । 

विसं १७८० तिर पाल्पाबाट ल्याइएका कालभैरवलाई यहाँ स्थापना गरिएको किंवदन्ती छ । मन्दिरमा मङ्गलबार र शनिबार विशेष पूजा हुने गर्दछ भने दसैँ र चैतेदसैँमा मन्दिरमा दर्शनार्थीको बढी भीड लाग्ने गरेको मन्दिरका पुजारी पदमबहादुर शाहीले बताउनुभयो । 

मनोकाङ्क्षा पूरा हुने जनविश्वासका कारण पछिल्लो समय मन्दिरमा दर्शनार्थीको सङ्ख्या बढ्दै गइरहेको छ । मन्दिरमा प्रवेशद्वार, चौतारी, सचिवालय भवन र  व्यावसायिक सटर निर्माण सम्पन्न भइसकेका छन् । 

मोटरसाइकल चोरी गरी नम्बर परिवर्तन गरेर चलाउने तीन जना पक्राउ

काठमाडौँ- ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले ललितपुरको बालकुमारी र भक्तपुरको कौशलटारमा मोटरसाइकल चोरीमा संलग्न तीनजनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा झापा कमल गाउँपालिका घर भई हाल काठमाडौँको सीतापाइला बस्ने ३० वर्षीय युवराज राई, सोही ठाउँ बस्ने २१ वर्षीय नवीन भट्टराई र मकवानपुरको बागमती गाउँपालिका–३ घर भएका २१ वर्षीय प्रेमबहादुर पाख्रिन रहेका छन्् ।कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक विश्वराज खड्काले राई र भट्टराईलाई बालकुमारी र पाख्रिनलाई कौशलटारबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।

बागमती प्रदेश ०२–०४९ प २५१३ नंको मोटरसाइकललाई चोरी गरी नम्बर परिवर्तन गरेर प्रदेश २–०२–०२७ प ४३२३ नं बनाएर चलाएकाले भट्टराई र राईलाई पक्राउ गरिएको प्रवक्ता खड्काले बताउनुभयो ।

नियन्त्रणमा आएका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको छ । प्रहरीले आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्न सबैलाई आग्रह गरेको छ ।

कृषिमन्त्री अधिकारीसँग कोरियाली राजदूतको शिष्टाचार भेट

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क तेयोङगले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच नेपाल र कोरियाबीचको सम्बन्ध, आपसी सहयोग आदानप्रदान र कृषि क्षेत्रमा लगानी तथा सीपलगायत विषयमा छलफल भएको थियो ।

भेटमा मन्त्री अधिकारीले नेपालमा कृषि क्षेत्रमा लगानी प्राथमिकताका क्षेत्रहरूबारे अवगत गराउनुहुँदै द्विपक्षीय लगानी र सहकार्यका बारेमा चर्चा गर्नुभएको थियो । उहाँले नेपालमा उन्नत जातको आलुको बीउ उत्पादन र हाइब्रिड धान उत्पादन प्रविधिमा दुई देशबीच सहकार्य गर्न सकिने धारणा राख्नुभयो ।

मन्त्री अधिकारीले नेपालमै हाइब्रिड बीउबिजन तथा जैविक विषादी, मिश्रित रासायनिक मल उत्पादनमा दक्षिण कोरियाको लगानी र प्रविधि सहयोगको अपेक्षा गर्नुभयो । विगतमा कोरियाबाट नेपाललाई उच्च नस्लका गाई उपलब्ध गराएकामा धन्यवाद ज्ञापन गर्नुहुँदै उहाँले यसबाट नेपालको दुग्ध उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

राजदूत तेयोङगले नेपालबाट कोरियामा रोजगारीका लागि जानेमध्ये धेरै कृषि क्षेत्रका कामदार रहेको र नेपाल फर्किएपछि त्यहाँ सिकेको सीप कृषि क्षेत्रमै काम लगाउन सके सकारात्मक परिवर्तन देखिने धारणा राख्नुभयो ।

नेपालको कृषि क्षेत्रमा कोरियाबाट गर्दै आएको सहयोगको निरन्तरताका लागि सरकार तयार रहेको भन्नुहुँदै राजदूत तेयोङगले निकट भविष्यमा त्यससँग जोडिएर कोरियाली उच्चस्तरीय प्रतिनिधिमण्डको नेपाल भ्रमण हुने जानकारी दिनुभयो ।

लम्पी स्किन रोगविरुद्ध सप्ताहव्यापी खोप कार्यक्रम सुरू

नुवाकोट- गाईभैँसीमा लाग्ने विषाणुजन्य लम्पी स्किन रोगविरुद्ध जिल्ला पशु सेवा कार्यालय नुवाकोटको आयोजनामा नुवाकोटसहित रसुवामा सप्ताहव्यापी खोप अभियान सुरू भएको छ ।

कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा रामप्रकाश प्रधानले शुक्रबार विदुर नगरपालिका–६ स्थित मल्ल बहुउद्देश्य कृषि फार्ममा पालन गरेका भैँसीमा खोप लगाएर अभियानको सुरू गर्नुभयो । जन्मेको तीन महिनाभन्दा माथिका बिरामीबाहेक सबै गाईभैँसीलाई खोप लगाउन खोपकर्ता परिचालन गरिएको प्रधानले जानकारी दिनुभयो । दुई जिल्लाका किसानले पालेका सम्पूर्ण गाईभैँसीलाई निःशुल्क खोप लगाउन १० हजार डोज खोपसहित ३१ जना खोपकर्ता परिचालन गरिएको उहाँले बताउनुभयो ।

अभियानअन्तर्गत दुई जिल्लाका करिब २५ हजार गाईभैँसीलाई समेट्ने लक्ष्य लिइएको छ । नेपालमा विसं २०७७ साल असार १० मा पहिलो पटक देखापरेको लम्पी स्किन रोग गत वर्ष महामारीका रूपमा फैलिएको थियो । त्यसबाट ठूलो पशुधनको नोक्सान भएसँगै बागमती प्रदेश सरकारले मातहतका सबै जिल्लामा अभियानका रूपमा खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

आफूले सुशासनका पक्षमा अघि बढाएका काममा अहिलेको सरकाले अवरोध गरेको प्रचण्डको आरोप

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमबारे छलफल भएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा शुक्रबारदेखि सुरु स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नेपाल र मित्रराष्ट्र बङ्गलादेशमा भएका राजनीतिक घटनाक्रमको ‘ब्रिफिङ’ गरेको माओवादीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

बैठकको प्रारम्भमा अध्यक्ष दाहालले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा दलहरुबीच भएको सहमतिबारे जानकारी गराएका थिइ । उनले हालै बङ्गलादेशमा भएको राजनीतिक घटनाक्रमको विश्वभर र नेपालमा पर्ने प्रभाव र असरका बारेमा चर्चा गरेको प्रवक्ता सापकाटोले जानकारी दिए ।

“लोकतान्त्रिक अभ्यासप्रति सबै सजग र सचेत हुनुपर्ने चर्चा गर्दै बङ्गलादेशको घटनाबाट सबैले शिक्षा लिनुपर्ने, जनताको समस्यालाई गम्भीररुपमा लिएर समाधानतर्फ लाग्नुपर्छ भन्नेमा जोड दिनुभयो”, अध्यक्ष दाहालको भनाइ उदृत गर्दै उनले भने ।

बैठकमा अध्यक्ष दाहालले आफ्नो नेतृत्वको अघिल्लो सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा अघि बढाएका काममा अवरोध भइरहेको आशङ्का व्यक्त गर्दै सुशासनको अभियानलाई अझ दृढताका साथ अघि बढाउन वर्तमान सरकारलाई सचेत गराउनुपर्नेमा जोड दिएका थिए ।

स्थायी समिति बैठकमा शनिबारदेखि सदस्यहरुले वैचारिक, राजनीतिक र साङ्गठिनक परिस्थति तथा कार्यभारका सम्बन्धमा धारणा राख्नेछन् । बैठकले प्राकृतिक विपद्, सडक तथा विमान दुर्घटनामा निधन भएकाप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेको प्रवक्ता सापकोटाले जानकारी दिए ।

सिरहामा शनिबार बिहान ८ देखि साँझ ५ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने

सिरहा-नेपाल विद्युत् प्राधिकरणको सिरहास्थित लहान वितरण केन्द्रबाट सप्लाई हुने विभिन्न स्थानमा भोलि (शनिबार) बिहान ८ देखि साँझ ५ बजेसम्म नौ घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।

प्राधिकरणको लहान वितरण केन्द्रले आज एक सूचना जारी गर्दै लहान सबस्टेसनदेखि महेन्द्र राजमार्गसम्म जदही तथा लहान फिडरको ११ केभी प्रसारित जीर्ण तारलाई ‘अपग्रेड’ गर्न लागिएकाले विद्युत् वितरण प्रभावित हुने जनाएको हो । 

प्राधिकरणका अनुसार लहान फिडरअन्तर्गतका लहान नगरपालिका, धनगढीमाई नगरपालिका, सखुवानन्कारकट्टी गाउँपालिका, भगवानपुर गाउँपालिका, नवराजपुर गाउँपालिका, वरियापट्टि गाउँपालिका—१, गोलबजार नगरपालिका—१ लगायत क्षेत्रमा विद्युत् प्रभावित हुनेछ । प्राधिकरणले यी क्षेत्रमा निर्धारित समयभित्र काम सकेर लाइन सञ्चालन गर्ने प्रयास रहने जानकारी  गराएको छ । 

भक्तपुरमा स्कुल बसको ठक्करबाट ६ वर्षीया रियान्सीको मृत्यु

भक्तपुर, २५ साउनः भक्तपुरमा स्कुल बसको ठक्करबाट एक छात्राको मृत्यु भएको छ । आज अक्सफोर्ड प्राक्टिकल स्कुलको बा२क ९९११ नं को बसको ठक्करबाट सोही स्कुलमा अध्ययनरत सूर्यविनायक नगरपालिका‐५ कटुन्जेका रेजकुमार नेपालकी छोरी ६ वर्षीया रियान्सीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कुलबाट घर फर्कने क्रममा बसबाट ओर्लिएलगत्तै बसले ठक्कर दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । बालिकालाई डा ईवामुरा अस्पताल लगिएको र अस्पतालले मृत्यु भइसकेको घोषणा गरेको थियो ।

बालिकाको शव परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोटमा राखिएको छ । प्रहरीले भक्तपुर नगरपालिका‐२ ख्वामा बस्ने ५९ वर्षीय चालक कान्छा देउपाललाई बससहित नियन्त्रणमा लिएको छ । हाल उनलाई प्रहरी वृत्त जगातीमा राखिएको प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो ।

जुम्लाको सरकारी टोली पूजाका लागि बाजुराको बडिमालिका प्रस्थान

जुम्ला, २५ साउन : जुम्लाको सरकारी टोली भगवती पूजाका लागि बाजुरा जिल्लाको धार्मिकस्थल बडिमालिकातर्फ प्रस्थान गरेको छ । सुदूरपश्चिम प्रदेशको बाजुरास्थित बडिमालिका भगवती मन्दिरको पूजाआजाका लागि जुम्लाको सरकारी टोली शुक्रबार प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रशासकीय अधिकृत मीनबहादुर रावलको नेतृत्वमा पुजारी विष्णुप्रसाद उपाध्यायसहित दर्जनाँै भक्तजनको टोली बडिमालिका प्रस्थान गरेको हो । हरेक वर्ष साउन शुक्लपूर्णिमा नाग पञ्चमीका दिन तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्त रूपमा बडिमालिकाको पूजा गर्ने प्रचलनअनुसार जिल्लाको सरकारी टोली बडिमालिका गएको जुम्लाका प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो ।

नेपाली सेनाको एक टुकुडीले बटुक भैरवनाथ, बाबा चन्दननाथ र दरबार मालिकाको सलामी अर्पण, पाँचवटा सलामी, ब्यान्डबाजा र बिगुल फुकेर पूजाको डोलीसहित बडिमालिका हिँडेको टोलीलाई भव्यसाथ बिदाइ गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाका सूचना अधिकारी दत्तराज हमालले बताउनुभयो ।  

परम्परादेखि नै हरेक नागपञ्चमीका दिन जुम्लाको सरकारी टोली पूजाका लागि बडिमालिका जाने चलन  छ । डोटी बाजुराको टोली बडिमालिका आउने र जुम्लाको टोली बडिमालिका पुगेर संयुक्त पूजा गर्ने प्रचलन रहेको छ । बाडिमालिकाको टोली पुगेपछि जुम्लामा जात्रा लाग्ने चलन छ । बडिमालिकाबाट टोली १७ दिनपछि जुम्ला फर्किने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ  ।

पोखरा उच्च अदालतको मुख्य न्यायाधीशमा डा बागचन्द

काठमाडौँ, २५ साउनः न्याय परिषद्ले आज बसेको बैठकले उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीश डा रत्नबहादुर बागचन्दलाई उच्च अदालत पोखराको मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले डा बागचन्दलाई उच्च अदालत पोखराको मुख्य न्यायाधीशमा सिफारिस गरेको न्याय परिषद्का प्रवक्ता अशोककुमार क्षेत्रीले जानकारी दिनुभयो ।

३५ जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस परिषद्को बैठकले न्याय सेवाबाट २५, सरकारी वकिलबाट छ र कानुन सेवाबाट चारजना गरी ३५ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । परिषद्को जिल्ला न्यायाधीशमा सिफारिस गरेका जिल्ला न्यायाधीशहरूलाई प्रधानन्यायाधीशले नियुक्तिका लागि गर्ने संवैधानिक व्यवस्था रहेको छ । हाल सर्वोच्च अदातमा चार तथा उच्च अदालतमा १० न्यायाधीशको पद रिक्त रहेको छ ।