`

गोरखकाली रनिङकप फुटबल प्रतियोगिताको नवौँ संस्करण फागुन ७ देखि

Nepal One HD १५ माघ २०८१ ९:४१
खेलकुद

गोरखा, १५ माघः जिल्लाको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको गोरखाकाली रनिङकप फुटबल प्रतियोगिताको नवौँ संस्करण आगामी फागुन ७ गतेबाट सुरु हुने भएको छ । हरमटारी युवा क्लबको आयोजनामा फागुन ७ देखि १४ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका महासचिव किरण ढकालले जानकारी दिनुभयो ।

‘गोर्खाली रनिङकप गोर्खालीको शान, समग्र जिल्लाकै खेलकुद विकास गराउने हरमटारी क्लबको अभियान’ भन्ने नाराका साथ सदरमुकामस्थित हरमटारी रङ्गशाला खेलकुद मैदानमा हुने सञ्चालन हुने उहाँको भनाइ छ । विंस २०७० देखि क्लबले जिल्लामै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको छ । प्रतियोगितामा उपाधि विजेताले रु चार लाख तथा उपविजेताले रु चार लाखसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने महासचिव ढकालले जानकारी दिनुभयो ।

प्रतियोगिता अवधिभरमा सर्वोत्कृष्ट खेलाडीलाई रु २५ हजार, उत्कृष्ट गोलरक्षकलाई रु १५ हजार, उत्कृष्ट गोलकर्ता खेलाडीलाई रु १५ हजार पुस्कार प्राप्त गर्ने छभने प्रतियोगिताको सबैभन्दा अनुशासित टिमलाई रु ३५ हजार, उदयमान खेलाडीलाई रु १० हजार पुरस्कार प्रदान गरिनेछ । जिल्लाभित्र फुटबल खेलको विकास र नयाँ खेलाडी उत्पादन गर्ने लक्ष्यसहित क्लबले हरेक वर्ष प्रतियोगिताको आयोजना गर्दै आएको छ । प्रतियोगितामा १६ टिमको सहभागिता रहने आयोजकले अनुमान गरेको छ ।


प्रतिक्रिया