`

देश खत्तम भयो भन्ने भाष्य सबैले त्यागौँ : मन्त्री भण्डारी

कर्णाली, २५ साउन : कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले देश खत्तम भयो भन्ने भाष्य सबैले त्याग्न आग्रह गर्नुभएको छ ।q‘हामी सबैको सन्देश, युवामैत्री प्रदेश’ भन्ने नाराका साथ विश्व युवा दिवसका अवसरमा दृष्टि नेपाल सुर्खेतद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘कर्णालीमा युवा जागरण’ विषयक कार्यक्रममा उहाँले सबैलाई खराब देख्ने प्रवृत्तिले व्यक्ति, समाज र देश असफल हुने बताउनुभयो ।

मन्त्री भण्डारीले भन्नुभयो, “सानो लगानीबाट पनि ठूलो काम गर्न सकिन्छ भन्ने भावनाले काम गर्‍यो भने विदेशमा आत्मसम्मान गुमाएर कमाउने पैसा नेपालमा आत्सम्मानका साथ आर्जन हुन्छ ।”

नेपालमा श्रम पसिना चुहाउन लाज मानेर पैसाका लागि विदेश जाने अनि देश खत्तम भयो भन्दै धारे हात लगाएर गाली गर्ने संस्कृतिको अन्त्य हुनुपर्ने उहाँको भनाइ थियो । कालोलाई कालो र सेतोलाई सेतो भन्न सक्ने आँट राखे मात्र मुलुकभित्रका आधा समस्या हल हुने भन्दै मन्त्री भण्डारीले भ्रष्ट एवं गलत नेतृत्व पाखा लगाउन युवा जागरण अभियान मूल हतियार बन्नुपर्नेमा जोड दिनुभयो ।

“रुप, धन/सम्पत्ति र पद प्रतिष्ठाबाट समाज ध्वस्त भएको छ । कुलत, कुविचार र कुसंस्कारविरुद्ध लागौँ,” उहाँले भन्नुभयो, “गाली गर्ने र सराप्ने दिन गए । अब समाज, समुदाय र देश बनाउन प्रश्न गर्नेमात्र होइन, हरेकले जवाफ दिने क्षमता राख्नुपर्दछ । यसका लागि म लोभ, मोह र डरबाट माथि उठेर काम गर्छु ।”

समाजमा देखिएका बेथिति, अनियमितता र भ्रष्ट प्रवृत्तिको चिरफार गर्न सक्ने तागत युवामा भएकाले त्यसमा युवा पिँढीले पहलकदमी लिन मन्त्री भण्डारीले सुझाउनुभयो ।  

कार्यक्रममा जलवायु परिवर्तन र यसको न्यूनीकरणसम्बन्धी विषय विज्ञहरुसँग छलफल गरिएको थियो । जलवायु परिवर्तन र कर्णालीमा यसको असर, मानव स्वास्थमा परेका प्रभावका बारेमा मध्यपश्चिम विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायका डिन डा सुदीप ठकुरी, कर्णाली प्रदेश अस्पतालका बालरोग विशेषज्ञ डा नवराज केसी र कोपिला भ्याली समाज सुर्खेतका सुनिता भण्डारीसँगको युवा प्रश्नोत्तर कार्यक्रम राखिएको थियो ।  

कार्यक्रममार्फत युवालाई उद्यमसँग जोड्न तीनै तहका सरकारले गरेका पहल, नीतिगत व्यवस्था र कार्यान्वयनमा युवाको भूमिकाबारे छलफल गरिएको दृष्टि नेपालका अध्यक्ष जीवराज केसीले जानकारी दिनुभयो । कला संस्कृति र प्राकृतिक सम्पदाको जगेर्नाको महत्त्वबारे जानकारीसहित युवाको प्रतिबद्धता गराउने लक्ष्य राखेर कार्यक्रम गरिएको उहाँको भनाइ थियो ।  

कार्यक्रममा ओकेन्द्रनाथ योगीको अगुवाइमा युवाले भोगेको समस्या, चुनौती र समाधानका उपाय, सुनिल केसीको अगुवाइमा जलवायु परिवर्तनको असर, चुनौती र समाधान, पुष्पा उपाध्यायको अगुवाइमा कर्णालीमा लैङ्गिक समानताको अवस्था र सुशील सुनारको अगुवाइमा सूचनाको पहुँचबारे समूह छलफल गरिएको थियो । पहिलो पटक प्रदेशमा आयोजित ‘कर्णाली युवा जागरण’ कार्यक्रममा १० जिल्लाका एक सय ५० युवाको सहभागिता रहेको थियो ।

बीमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउँछौँः मन्त्री पौडेल

नेपालगञ्ज, २५ साउनः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाइने बताउनुभएको छ ।

नेपाली कांग्रेस बाँकेले आज यहाँ पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उहाँले सबैलाई समेट्ने गरी यसको दायरा फराकिलो बनाउने काम भइरहेको जानकारी दिनुभयो । मन्त्री पौडेलले भन्नुभयो,“स्वास्थ्य क्षेत्र सुधारका लागि छिट्ट नयाँ कामहरू घोषणा गर्ने गरी काम भइरहेको छ । आमा सुरक्षा कार्यक्रमलाई पनि थप प्रभावकारी बनाउने योजना बनाइरहेका छौँ ।”

उहाँले  सरकारी र निजी अस्पताललाई व्यवस्थित र नागरिकमैत्री बनाउन तथा अस्पतालहरूमा बिरामीको लाइन हटाउने विषयमा आफू सूक्ष्म अध्ययनमा रहेको समेत बताउनुभयो । 

नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेले गरिब र निमुखा जनताको स्वास्थ्यमा सहज पहुँच पुर्‍याउने गरी नयाँ ढङ्गले काम गर्न मन्त्री पौडेल सक्षम हुने विश्वास व्यक्त गर्नुभयो । भेरी अस्पतालको स्तरवृद्धि, भौतिक पूर्वाधार विकास र जनशक्ति व्यवस्थापनका लागि मन्त्री पौडेललाई आग्रह गर्नुहुँदै उहाँले सुशील कोइराला क्यान्सर अस्पतालमा अहिलेसम्म दरबन्दी नै नभएकोप्रति ध्यानाकर्षण गराउनुभयो ।

गोकर्णेश्वरको धागो उद्योगमा लागेको आगो नियन्त्रणमा

काठमाडौँ, २५ साउनः काठमाडौँको गोकर्णेश्वर नगरपालिकास्थित एक धागो उद्योगमा आज अपराह्न लागेको आगो नियन्त्रणमा आएको छ । नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले राति पौने ८ बजेको समयमा आगलागी नियन्त्रणमा आएको र क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिनुभयो ।

ओखलढुङ्गा लिखु गाउँपालिका–४ घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका–२ सुन्दरीजलस्थित भूमिस्थली बस्ने बुद्धिबहादुर कार्कीको मनकामना धागो उद्योगमा आगलागी भएको थियो । विभिन्न क्षेत्रबाट पुगेका दमकलको सहयोगमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले आगो नियन्त्रणमा लिएका हुन् ।

जो उपचार गर्न हिँडेका थिए, पहिरोमा पुरिए

ढोरपाटन (बागलुङ), २५ साउनः बडिगाड गाउँपालिका–१० की ६० वर्षीया सुमित्रा विक केही दिनदेखि बिरामी हुनुहुन्थ्यो । ङ्गलबार बिहान उपचारका लागि घरभन्दा केही तल रहेको दर्लिङ गाउँस्थित स्वास्थ्य क्लीनिकको यात्रा तय गर्नुभयो ।

कान्छी सासु देवी विक, देवर ससिराम विक, बुहारी सिर्जना विक र छ महिनाकी नातिनी सीता विकसहित पाँच घरभन्दा केही तल झर्नुभएको थियो । एक्कासी ठूलो वर्षा भयो । साथमा भएको छाताले पानी छेक्न नसकेपछि उहाँहरु सबै जना बाटो छेउमै रहेको स्थानीय जोगबहादुर बुढाको घरमा ओत लाग्न पुग्नुभयो । जोगलालको घरमा पुग्दा गाउँका अन्य मान्छे बसिरहेका थिए ।

वर्षा रोकिएपछि गन्तव्यमा लाग्ने तयारीमा रहनुभएका उहाँहरु घरमा रहेका अन्य मानिससँग गन्थनमन्थन गर्दै हुनुहुन्थ्यो । सुमित्राले एक्कासी जमिन हल्लिएको महसुस गर्नुभयो । त्यसपछि उहाँले केही थाहा पाउनुभएन । करिब तीन घण्टापछि बिउझिँदा आफ्नो शरीरको विभिन्न अङ्गमा चोट लागेको देख्नुभयो । शरीर चलाउन खोज्दा नचलेको भान उहाँलाई भयो । आफू होस्मा आउँदा ओत लागेको घर पहिराले पुरिएको र चारैतिर मान्छेको भीड देखिएको उहाँ बताउनुभयो ।

“थलिएको धेरै दिन भएको थियो, अस्पतालमा गएका थियौँ, बिहानदेखि सिमसिम पानी परेको थियो, वर्षा रोकिएला भन्ने लागेर घरबाट निस्यिौँ”, सुमित्राले भन्नुभयो ।

उपचारका लागिसँगै हिँडेका पाँच जनामध्ये सुमित्रा, उहाँका देवर ससिराम र बुहारी सिर्जनालाई करिब तीन घण्टापछि प्रहरी र स्थानीयले पहिराबाट जीवितै उद्धार गरे भने कान्छी सासुदेवी र नातिनी सीताले भने ज्यान गुमाए । बिरामी भएर उपचारका लागि अस्पताल हिँडेका उनीहरुबीच बाटोमै मृत्युवरण गरेपछि विक परिवार मात्रै नभएर सिङ्गो गाउँ नै यति बेला स्तब्ध छ । सुमित्रा अहिले प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा उपचाररत हुनुहुन्छ । शरीरको धेरै अङ्गमा गहिरो चोट लागेको हुँदा चिकित्सकको निगरानीमा उहाँको उपचार भइरहेको छ ।

पहिरामा घाइते हुनुभएका सुमित्राका देवर र बुहारी भने दुई दिनको उपचारपछि घर फर्किएका छन् । पहिराले पुरिएर बाँच्नु भएकी उहाँ अहिले पनि बेला बेला झस्कीरहनुहुन्छ । उहाँले आफूहरु ठूलो भाग्यले बाँचेको सुनाउनुहुन्छ । सुमित्राका अनुसार घरको पिँढीमा बसेका अधिकांश बाँच्न सफल भएका छन् भने घरभित्र रहेका कोही पनि जीवित छैनन् ।

बडिगाड गाउँपालिका–१० आरुपाटामा गएको उक्त पहिराले सुमित्राको सासु र नातिनी मात्रैको ज्यान लिएन, उहाँहरुसहित १० जनाको ज्यान लिएको छ । पहिरामा परि घर धनी ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय यमलाल विक, ११ वर्षीया सीता पुन, आठ वर्षीया अमल बुढा, छ महिने छोरी सीता विक र ७० वर्षीया देवी विक, तीन वर्षीय आरुस थापा, सात वर्षीया मधु बुढा र ११ वर्षीय मनोज बुढाको ज्यान गएको छ ।
आरुसको बुधबार, मधु र मनोजको बिहीबार शव फेला परेको थियो । ११ वर्षीय सुमन थापा अझै बेपत्ता छन् । सो पहिरामा परी १० जना घाइते भएका थिए । त्यसमध्ये १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया सङ्गीता बुढाको अवस्था गम्भीर भएको हुँदा हेलिकप्टरमार्फत उपचारका काठमाडौँ पठाइएको छ । उहाँहरुको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको छ ।

बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले पहिरामा परी बेपत्ता भएका मनोजको खोजीमा सुरक्षाकर्मी, स्थानीय र जनप्रतिनिध लागि रहेको बताउनुभयो । बडिगाडमा ठूलो विपद् आइपरेको हुँदा पहिराका कारण विस्थापित भएका नागरिकलाई तत्काल व्यवस्थापन गर्नेदेखि सुरक्षित स्थानमा सार्ने काम भएको उहाँको भनाइ छ । गम्भीर घाइतेसँग आफू नै राष्ट्रिय ट्रमा सेन्टरमा रहेको भन्दै माथिल्लो तहको सरकारसँग पनि आवश्यक सहयोग माग गरिरहेको अध्यक्ष अधिकारी बताउनुहुन्छ ।

अध्यक्ष अधिकारीले भन्नुभयो, “प्राकृतिक विपत्तिसँग कसैको केही लाग्दो रहेनछ, नागरिकलाई सचेत गराउँदा गराउँदै दुःखद भयो, यसले हामीलाई अपूरणीय क्षति पुगेको छ, घटना हुँदा साथ सबै उद्धारमा लाग्यौँ, धेरैले ज्यान गुमाउनुभएको छ, केहीलाई जीवितै उद्धार गरेर उहाँहरुको उपचारमा लागेका छौँ, पीडितलाई राहत दिने र सुरक्षित ठाउँमा व्यवस्थान गर्ने काम भइरहेको छ ।”

लोकतन्त्रमा व्यक्ति बलियो होइन संस्था बलियो बन्नुपर्छ: नेता रिजाल

चितवन, २५ साउनः नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले लोकतन्त्रमा व्यक्ति बलियो नभई संस्था बलियो हुनुपर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “लोकतन्त्रलाई बलियो बनाउन व्यक्ति बलियो भएर हुँदैन । हाम्रो व्यवस्था र संविधान बलियो हुनुपर्छ ।”

कांग्रेस र एमालेको गठबन्धन व्यवस्था र संविधान बलियो बनाउन हुनुपर्ने उहाँको भनाइ थियो । उहाँले थप्नुभयो, “कांग्रेस र एमालेले साझा जिम्मेवारीमा भोलि एकअर्कासँग प्रतिस्पर्धा गर्ने र आज लोकतन्त्रलाई मूल दायित्वमा लियर जाने हो भने हाम्रो सिस्टम र संविधान बलियो हुन्छ ।”

बहुमतको सरकारले जनताको अपेक्षा पूरा गर्न सक्ने भए पनि अहिले जोड घटाउमा लाग्दा जनअपेक्षाअनुसार काम हुन नसकेको उहाँको भनाइ थियो । जनताको विश्वासमा घात हुन नहुने रिजालले बताउनुभयो ।

ई–हाजिरी यथाशीघ्र लागू गर्न मातहतका निकायलाई खानेपानीमन्त्री यादवको निर्देशन

काठमाडौँ, २५ साउन : खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रालयअन्तर्गतका सबै निकाय र कार्यालयलाई यथाशीघ्र ई–हाजिरी अनिवार्य रुपमा लागू गर्न निर्देशन दिनुभएको छ । मन्त्रालयमा केही समयअघि ई–हाजिरीको प्रारम्भ गरिएको भए पनि यसको प्रयोगमा कमी आएको गुनासो बढ्दै गएपछि मन्त्री यादवले यो निर्देशन जारी गर्नुभएको हो ।

मन्त्री यादवले कर्मचारीहरूको उपस्थितिको नियमितता, पारदर्शिता र सुशासन सुनिश्चित गर्न ई–हाजिरी प्रणालीलाई समयमै कार्यान्वयनमा ल्याउन र यसबाट कर्मचारीको उपस्थिति, बिदा र काजसम्बन्धी रेकर्ड व्यवस्थित गर्न सबै कार्यालयलाई कडा निर्देशन दिनुभयो । उहाँले कुनै पनि निकाय वा कार्यालयले ई–हाजिरी लागू नगरेको पाइएमा यथाशीघ्र यो प्रणाली लागू गर्नुपर्ने कुरा स्पष्ट पार्नुभयो ।

यादवले रानीपोखरीस्थित खानेपानी तथा ढल व्यवस्थापन विभाग, मेलम्ची खानेपानी विकास समिति, आयोजना कार्यान्वयन निर्देशनालय अनामनगर, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड भैँसेपाटी, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड त्रिपुरेश्वर, नेपाल खानेपानी संस्थान त्रिपुरेश्वर र खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोग त्रिपुरेश्वरलाई विशेष रूपमा ई–हाजिरी लागू गर्न निर्देशन दिनुभएको छ ।

मन्त्री यादवका निजी सचिव भक्तराज जोशीका अनुसार मन्त्रीले ई–हाजिरी लागू गरेर कर्मचारीहरूको बिदा, काजलगायत रेकर्डहरुको जानकारी मन्त्रालयमा नियमित रूपमा अद्यावधिक गराउने व्यवस्था गर्न निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो, “ई–हाजिरी प्रणालीबाट बिदा, काजलगायत विषयलाई व्यवस्थित गरेर समय पालना र पारदर्शिता बढाउन सबै कार्यालयले यसलाई अनिवार्य रूपमा लागू गर्नु पर्दछ ।” निर्देशपछि मन्त्रालयअन्तर्गतका सबै निकायमा ई–हाजिरीको प्रयोग अनिवार्य र नियमित हुने अपेक्षा गरिएको छ ।

प्रत्यक्ष निर्वाचनमै ३३ प्रतिशत महिला र दलित १० प्रतिशत अनिवार्य गर्न डा राणाको सुझाव

काठमाडौँ, २५ साउनः नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले प्रत्यक्ष निर्वाचनमै ३३ प्रतिशत महिला उम्मेदवारी अनिवार्य गर्नेगरी पार्टीले नीति बनाउनुपर्ने धारणा राख्नुभएको छ ।

नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्रीद्वारा पेस भएको प्रतिवेदन एवं जनप्रतिनिधि कार्य सम्पादन निर्देशिका, २०८१ का सन्दर्भमा आफ्ना सुझाव राख्दै उहाँले नेपाली कांग्रेसले राज्यका निकायमा ३३ प्रतिशत महिला सभागिताको नीति लिएको भएपनि प्रत्यक्ष निर्वाचनमा नै यसको सुनिश्चितताको माग गर्नुभएको हो ।

डा राणाले भन्नुभयो, “समावेशिताका विषयमा म पहिल्यैदेखि भन्ने गरेको के हो भने प्रत्यक्ष निर्वाचनमै महिलालाई ३३ र दलित समुदायका लागि १० प्रतिशत उम्मेदवारीको सुनिश्चितता हुनेगरी नीति बनाउँ, यो मेरो सुझाव हो ।” 

उहाँले पार्टीका प्रत्येक प्रशिक्षण कार्यक्रममा लैङ्गिक र समावेशितासम्बन्धी छुट्टै सत्र समावेश गरी यसको पाठ्यक्रममा नै लैङ्गिक र समावेशिता विषय समेट्नुपर्ने धारणा  राख्नुभयो । 
केन्द्रीय सदस्य डा राणाले स्थानीय तहमा लैङ्गिक र सामाजिक समावेशिताको पनि सामाजिक अडिट गर्नुपर्ने, स्थानीय तहमा रहेका पार्टीका जनप्रतिनिधिहरुले गरेका कामहरुका साथै पार्टीको केन्द्र र प्रदेश तहमा भए गरेका समग्र कामको अनुगमन तथा मुल्याङ्कन गर्न एक छुट्टै संयन्त्रको निर्माण गर्नुपर्ने धारणा राख्नुभयो । 

उहाँले पार्टीका कुनै पनि विभागको अलग्गै वेबसाइट बनाएर त्यसमा ती विभागका कामहरुको प्रतिवेदन नै तयार पारी अद्यावधिक गरी राख्नुपर्ने र यसो गर्दा पार्टीका सबै विभागका क्रियाकलापहरु खुला रुपमा सबैले अध्ययन गर्न सक्ने हुनुपर्ने बताउनुभयो । 

उहाँले कामको प्रभावकारिता र प्रतिबद्धताका आधारमा भातृ संस्था या शुभेच्छुक संस्थामा सदस्य तथा पदाधिकारी नियुक्त गरिनुपर्ने र उनीहरुको कामको आधारमा थप जिम्मेबारी दिनुपर्ने पनि बताउनुभयो । 

त्यसैगरी सम्पूर्ण भातृ संगठनहरुको पनि आ–आफ्नै बैंक खाता खोली ती सबै खाताको अनुगमन पार्टीको केन्द्रले गर्ने र बर्षेनी लेखापरीक्षणको व्यवस्था हुनुपर्ने पनि सुझाउनुभयो । 
पार्टीका तर्फबाट प्रधानमन्त्री बन्ने कुरा एक या दुई पटक मात्र भनेर तोक्न नहुने उहाँको तर्क थियो । उहाँले भन्नुभयो, “प्रधानमन्त्री कति पटक बन्न पाउने भन्ने विषयमा कुनै प्रावधान पार्टीको विधानमा नै राख्नुपर्छ भन्ने मलाई लाग्दैन, यो त अनुभव, काम तथा उसको प्रभाकारिताका आधारमा हुने हो ।”

परराष्ट्रमन्त्री डा राणाले यसअघिको बैठकमा आफ्नो मन्त्रालय, बङ्गलादेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र अरु समसामयिक विषयमा जानकारी गराउनुभएको थियो ।

सामुदायिक वनको संरक्षणका लागि तीनै तहका सरकारको भूमिका र सहभागिता सुनिश्चित गरिनुपर्छः वनमन्त्री ठकुरी

गोदावरी (ललितपुर), २५ साउनः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सामुदायिक वन उपभोक्ता समूहले व्यवस्थापन गरेका वनहरूको थप प्रभावकारी संरक्षण, विकास र सदुपयोग गर्न तीनै तहका सरकारको भूमिका र सहभागिता सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ ।

वन तथा भू संरक्षण विभागले सामुदायिक वन दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा मन्त्री ठकुरीले विगतका उपलब्धि, अनुभव र सहभागिताका आधारमा संरक्षणका क्षेत्रमा सहकार्यलाई थप बलियो बनाउँदै लैजानुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो,“विगत चार दशकभन्दा लामो समयको उपलब्धि, अनुभव र सहभागितामूलक व्यवस्थापनबाट दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलन, जैविक विविधता संरक्षण, वातावरणीय सन्तुलन कायम गर्न तीनै तहका सरकारको भूमिका छ । त्यसैले सरकार, समुदाय, गैरसरकारी, निजी क्षेत्र र विकास साझेदारलगायत सरकार भएकाहरूबीच आगामी दिनमा समेत निरन्तर सहयोग र थप सहकार्य बढाउँदै जाने अपेक्षा गरेको छु ।”

कार्यक्रममा विभिन्न संस्थालाई पुरस्कृत गरिएको थियो । गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारबाट जनज्योति सामुदायिक वन उपभोक्ता समूह बारा (प्रथम) नगद रु एक लाख, नागी समुदायिक वन उपभोक्ता समूह म्याग्दी (द्वितीय) नगद रु ७५ हजार, दियालो सामुदायिक वन उपभोक्ता समूह झापा र उमाचोक सामुदायिक वन उपभोक्ता समूह तनहुँ (तृतीय) लाई नगद रु ५०÷५० हजारसहित पुरस्कृत गरिएको थियो । यसैगरी धानखेती सामुदायिक वन उपभोक्ता समूह मोरङ र सिङदर्जा सामुदायिक वन उपभोक्ता समूह रूपन्देहीलाई सान्त्वना स्वरूप रु २५÷२५ हजारसहित पुरस्कृत गरियो ।

यस्तै, कबुलियती वन राष्ट्रिय पुरस्कारबाट बेनडाँडा कबुलियती वन समूह पाल्पा (प्रथम) लाई रु एक लाख र सिमपानी कबुलियती वन समूह पाँचथर (द्वितीय) लाई रु ७५ हजार नगदसहित पुरस्कृत गरिएको छ ।

उहाँहरूलाई प्रमुख अतिथि मन्त्री ठकुरी, विभागका महानिर्देशक शिवकुमार वाग्ले र वन तथा वातावरण राज्यमन्त्री रूपा विकले दोसल्ला ओढाएर सम्मानसहित पुरस्कार प्रदान गर्नुभएको थियो ।

वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक धनजय लामिछानेले संरक्षणमा योगदान पु¥याएवापत ती वन समूहलाई पुरस्कृत गरिएको बताउनुभयो । उहाँले देशभर २३ हजारभन्दा बढी सामुदायिक वनले संरक्षणका क्षेत्रमा महत्वपूर्ण काम गरिरहको बताउनुभयो । “हालसम्म देशभरका २३ हजारभन्दा बढी समुदायिक वन उपभोक्ता समूहले करिब २६ लाख हेक्टर क्षेत्रफलमा वनको संरक्षण, व्यवस्थापन र सदुपयोग गरिरहेका छन् भने करिब ३३ लाख घरधुरीहरू लाभान्वित भएका छन्”, उपमहानिर्देशक लामिछानेले भन्नुभयो,“यसबाट स्थानीय समुदायको जीविकोपार्जन सुधार, स्थानीय समुदायको नेतृत्व विकास तथा लैङ्गिक र सामाजिक समावेशीकरणमा उल्लेख्य योगदान पुगेको छ ।”

यस वर्ष ‘समुदायिक वनको प्रभावकारिता तीनै तहका सरकार र समुदायको सहभागिता’ भने नाराका साथ देशभरका वन कार्यालय, सामुदायिक वनलगायत समुदायमा आधारित वन समूह र विभिन्न सङ्घसंस्थाहरूले विविध कार्यक्रम गरी सामुदायिक वन दिवस–२०८१ मनाइएको छ ।

युक्रेनले रातारात रुसले प्रक्षेपण गरेका सबै २७ ड्रोन खसाल्यो

युक्रेनी वायुसेनाले देशमा रातभरको आक्रमणमा रुसले प्रक्षेपण गरेक सबै २७ लडाकू ड्रोनलाई खसालेको बताएको छ । सामाजिक सञ्जालमा जारी गरिएको विज्ञप्तिअनुसार साहेद–१३६ र शाहेद–१३१ ड्रोनलाई युक्रेनको उत्तरी, मध्य, दक्षिणी र पूर्वी युक्रेनका सात क्षेत्रमा रोकिएको थियो ।

    किएभ क्षेत्रमा वायु प्रतिरक्षा प्रणाली परिचालन गरिएको थियो, तर उक्त क्षेत्रमा कुनै हताहत वा क्षति नभएको किएभ क्षेत्रीय सैन्य प्रशासनले जनाएको छ ।      क्षेत्रीय गभर्नर सर्गेई लिसाकले मध्य निप्रोपेट्रोभस्क क्षेत्रमा दुई वटा ड्रोनलाई नष्ट गरिएको र पूर्वाधारमा क्षति पुगेको बताउनुभयो ।

चोरी मुद्दामा पाँच वर्ष कैदसजाय भुक्तान गरेर छुटेका व्यक्ति अर्को चोरीको घटनामा पक्राउ

सुदूरपश्चिम, २५ साउनः चोरी मुद्दामा कैदसजाय भुक्तान गरिसकेका धनगढी उपमहानगरपालिकाका एक व्यक्तिलाई अर्को चोरीको घटनामा प्रहरीले पक्राउ गरेको छ । उपमहानगरपालिका–१८ फूलबारी टोलका ३१ वर्षीय हर्कबहादुर गिरीलाई चोरी गरेर राखेका चाँदीको करुवा, दिया, कचौरा, बाला, सिक्री, पायललगायत गरगहना, सिक्का, घडी र रु छ हजार एक सय ३५ सहित बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कार्यालयका सहप्रवक्ता लोकेन्द्र कार्कीले धनगढी उपमहानगरपालिका–४ का योगेन्द्र ओझाको घरबाट नगद रु २५ हजार, ५०÷६० तोला चाँदी र १४÷१५ तोला सुनका गरगहना चोरी भएको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले निज गिरीलाई उक्त चाँदीका गरगहनासहित पक्राउ गरिएको बताउनुभयो । 

ओझाको घरमा यही साउन २३ गते चोरी भएको जनाइएको छ । धनगढी उपमहानगरपालिका–१ का अमन नेपाली नामका व्यक्ति बस्ने घरको कोठाबाट पक्राउ परेका गिरीले चोरी गरेका चाँदीका गरगहना सहितका सामग्री सोही ठाउँका आशा भण्डारीको घरमा राखिएको अवस्थामा बरामद गरिएको हो । 

“गिरीमाथि अनुसन्धान भइरहेको छ,” प्रहरी निरीक्षक एवं सहप्रवक्ता कार्कीले भन्नुभयो, “सुन र सुनका गरगहना चोरी भएको भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ ।”  चोरी मुद्दामा पाँच वर्ष कैदसजाय भुक्तान गरेर गिरी यही साउन १७ गते कारागारबाट छुटेको जनाइएको छ ।

केन्द्रीय समितिमा डा राणाको सुझावः ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गरौँ

काठमाडौँ, २५ साउनः नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले प्रत्यक्ष निर्वाचनमा नै ३३ प्रतिशत महिला उम्मेदवारी अनिवार्य गर्नेगरी पार्टीले नीति बनाउनुपर्ने धारणा राख्नुभएको छ ।

नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको आजको बैठकमा महामन्त्रीद्वारा पेस भएको प्रतिवेदन एवं जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका–२०८१ का सन्दर्भमा आफ्ना सुझाव राख्नुहुँदै उहाँले नेपाली कांग्रेसले राज्यका निकायमा ३३ प्रतिशत महिला सहभागिताको नीति लिएको भए पनि प्रत्यक्ष निर्वाचनमा नै यसको सुनिश्चितताको माग गर्नुभएको हो । केन्द्रीय सदस्य डा राणाले भन्नुभयो, “समावेशिताका विषयमा मैले पहिल्यैदेखि प्रत्यक्ष निर्वाचनमै महिलालाई ३३ र दलित समुदायका लागि १० प्रतिशत उम्मेदवारीको सुनिश्चितता हुनेगरी नीति बनाउँ भन्दै आएको छु, यो मेरो सुझाव हो ।”

उहाँले पार्टीका प्रत्येक प्रशिक्षण कार्यक्रममा लैङ्गिक र समावेशितासम्बन्धी छुट्टै सत्र समावेश गरी यसको पाठ्यक्रममा नै लैङ्गिक र समावेशिता विषय समेट्नुपर्ने धारणा राख्नुभयो । केन्द्रीय सदस्य डा राणाले स्थानीय तहमा लैङ्गिक र सामाजिक समावेशिताको पनि सामाजिक ‘अडिट’ गर्नुपर्ने, स्थानीय तहमा रहेका पार्टीका जनप्रतिनिधिहरूले गरेका कामहरूका साथै पार्टीको केन्द्र र प्रदेश तहमा भए गरेका समग्र कामको अनुगमन तथा मूल्याङ्कन गर्न एक छुट्टै संयन्त्रको निर्माण गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले पार्टीका कुनै पनि विभागको अलग्गै ‘वेबसाइट’ बनाएर त्यसमा ती विभागका कामहरूको प्रतिवेदन अद्यावधिक गरी राख्नुपर्ने र यसो गर्दा पार्टीका सबै विभागका क्रियाकलाप खुला रूपमा सबैले अध्ययन गर्न सक्ने हुनुपर्ने बताउनुभयो । डा राणाले कामको प्रभावकारिता र प्रतिबद्धताका आधारमा भ्रातृ संस्था या शुभेच्छुक संस्थामा सदस्य तथा पदाधिकारी नियुक्त गरिनुपर्ने र थप जिम्मेवारी दिनुपर्ने पनि बताउनुभयो ।

त्यसैगरी, सम्पूर्ण भ्रातृ सङ्गठनहरूको आ–आफ्नै बैङ्क खाता खोली ती सबै खाताको अनुगमन पार्टीको केन्द्रले गर्ने र बर्सेनि लेखापरीक्षणको व्यवस्था हुनुपर्ने पनि उहाँको सुझाव थियो । 

पार्टीका तर्फबाट प्रधानमन्त्री बन्ने कुरा एक या दुईपटक मात्र भनेर तोक्न नहुने उहाँको तर्क थियो । उहाँले भन्नुभयो, “प्रधानमन्त्री कति पटक बन्न पाउने भन्ने विषयमा कुनै प्रावधान पार्टीको विधानमा नै राख्नुपर्छ भन्ने मलाई लाग्दैन, यो त अनुभव, काम तथा व्यक्तिको प्रभावकारिताका आधारमा हुने हो ।”    परराष्ट्रमन्त्री डा राणाले यसअघिको बैठकमा आफ्नो मन्त्रालय, बङ्गलादेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा जानकारी गराउनुभएको थियो ।    

हुम्लामा एक्कासी सुक्खा खोलामा आएको पहिरोसहितको बाढीमा परी ५० भेडा मरे, १५ लाखको क्षति

हुम्ला, २५ साउन : हुम्लाको खार्पुनाथ गाउँपालिका–३ राया गाउँको वनमा गएको बाढीपहिरामा परी ५० वटा भेडा मरेका छन् । बुधबार दिउँसो अविरल वर्षासँगै गएको बाढीपहिराले राया गाउँका दुई किसानका ५० वटा भेडा मरेका हुन् । यहाँ वर्खायाममा चरिचरनका लागि उच्च लेकका भेडीखर्कमा लिने चलन छ । यसपटक पनि राया गाउँको भित्त डुङ्सिल्या (कुड्या) भन्ने लेकमा लिएका भेडा पहिरोमा परी मरेका पीडित सुरेन्द्र बोहराले जानकारी दिनुभयो ।

वनमा चरिचरनका लागि लिएका समयमा बुधबार दिउँसोको समयमा एक्कासी सुक्खा खोलामा आएको पहिरोसहितको बाढीले स्थानीय धुन बोहराका २५ र आफ्ना २५ भेडा मरेका उहाँले बताउनुभयो । “लामो समयदेखि भेडा यही व्यवसाय गर्दै आएको थिए । घर खर्चका साथै छोराछोरी पढाउन पुगेकै थियो तर पहिरामा परी भेडा मरेपछि आम्दानीको स्रोत नै गुमेको छ”, बोहराले भन्नुभयो ।

हुम्लामा स्थानीय जातका प्रति भेडाको मूल्य रु ३० हजार पर्ने गरेको छ । २५ वटा भेडा बाढीपहिरामा परी मरेपछि रु सात लाख ५० हजार बराबरको क्षति भएको पीडित धुन बोहराले बताउनुभयो । उहाँले भन्नुभयो,“दिउँसो चरिचरनका लागि जङ्गलमा लिएका बेला सुख्खा खोलामा एक्कासी आएको बाढी तथा पहिराले ठूलो नोक्सानी ग¥यो । हाम्रा लागि भेडा नै आयआर्जनका स्रोत थिए । सबै सखाप भए”, उहाँले दुःखेसो पोख्नुभयो ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

काठमाडौं, २५ साउन- धनुषा, औरही गाउँपालिका-५ हरूसाहा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५३ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विदेह नगरपालिका-७ लवटोली बस्ने २५ वर्षीय रोशन मण्डल र २५ वर्षीय रंजित मण्डल रहेका छन् । इलाका प्रहरी कार्यालय औरही र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय जनकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मकवानपुर, थाहा नगरपालिका-३ सिखरकोट बजारबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ६ किलोग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत सितामडी-९ बराह बस्ने ४५ वर्षीय सुदिर सिंह र सितामडी-८ बराही चिन्तामन बस्ने ६८ वर्षीया रेनु देवी चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले ना.४ ख ४५६७ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट अवैध लागूऔषध गाँजा १० किलोग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-१ भाबर बस्ने ३५ वर्षीय राम लामा र २८ वर्षीय बिक्रम गुरूङ रहेका छन् । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले काठमाडौंबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४३११ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

इलाम, सुर्योदय नगरपालिका-१० फिक्कल बजारस्थित कपडा पसल संचालन गरी बस्ने सोही नगरपालिका-९ रम्फोक घर भएकी २१ वर्षीया आनिशा राईलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी फिक्कल र सशस्त्र प्रहरी बेस क्याम्प आईतबारेबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो  । 

यसैगरी इलाम, सुर्योदय नगरपालिका-८ छिपिटारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित माईजोगमाई गाउँपालिका-२ शनिश्चरे बस्ने २५ वर्षीय समिर महतलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगर, प्रहरी चौकी फिक्कल र सशस्त्र प्रहरी बेस क्याम्प आईतबारेबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

पर्सा, वीरगंज महानगरपालिका-१६ स्थित वीरगंज भन्सार कार्यालय अगाडिबाट नियन्त्रित लागूऔषध ट्रोमा-५० लेखिएको ४ हजार ५ सय ४ ट्याबलेट सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत मोतिहारी सकराहा ग्राम पंचायत-९ बस्ने ३५ वर्षीय धुरेन्द्र राम र उनकी श्रीमती ३२ वर्षीया मधु देवी रहेका छन् ।  प्रहरी चौकी इनरूवा र सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको संयुक्त टोलीले भारतको रक्सौलबाट  वीरगंजतर्फ आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।     यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।    

गुरागाईको घरमा जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

झापा, २५ साउन- भद्रपुर नगरपालिका-१० केन्द्रमोड बस्ने ५४ वर्षीय चन्द्र प्रसाद गुरागाईको घरमा जुवातास खेलिरहेको अवस्थामा चन्द्र प्रसाद समेत १४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ११ हजार ८ सय ९८ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भदौ २१ गतेबाट रिलिज हुने फिल्म ‘रावायण’को दोस्रो फस्टलुक सार्वजनिक

काठमाडौं । आगामी भदौ २१ गतेबाट रिलिज हुने फिल्म ‘रावायण’को दोस्रो फस्टलुक सार्वजनिक भएको छ । फस्टलुकमा फिल्मका नायक पल शाह र नायिका पुजा शर्मा फिचर्ड छन् ।फस्टलुकमा पललाई केही गम्भीर भावमा देख्न सकिन्छ । नायिका पुजालाई भने रिसाएको देख्न सकिन्छ । उनले कसैलाई आँखा तर्किएर आफ्नो रिसाएको भाव देखाएकी छन् । दुवैको पृष्ठभूमिमा ‘एसिड आक्रमण गर्ने अपराधीलाई कारवाही गर’ भन्ने व्यानरसहित प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेका एक समूहलाई देख्न सकिन्छ । यो तस्वीर हेर्दा फिल्म एसिड आक्रमणविरुद्ध बोल्छ भन्ने बुझ्न सकिन्छ ।

यसअघि फिल्मको सार्वजनिक पलको सोलो फस्टलुकले बजारमा राम्रै चर्चा पाएको थियो ।फिल्मका निर्देशक सुदर्शन थापा हुन् । सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको फिल्मकी निर्माता पुजा शर्मा हुन् । फिल्ममा सुशन पाठक कार्यकारी निर्माता छन् ।फिल्ममा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाललगायतको अभिनय छ ।फिल्मको एक्सनपूर्ण टिजर पनि सार्वजनिक भइसकेको छ । टिजर सार्वजनिक भएसँगै पलको एक्सनको सबैले तारिफ गरेका छन् ।

फिल्ममा सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तव र राज गौरवको ओरिजिनल हिन्दी स्क्रिप्ट, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, प्रमोद श्रीनिवासनको साउण्ड डिजाइन, निरज सिंह, रेवन आरती सिंहको संगीत, नकासा अजिज, कुनाल गान्जावाला, सोनु कक्करको स्वर, डा. कृष्णहरि बराल र प्रदीप श्रीवास्तवको शब्द, रेवन आरती सिंहको ओरिजिनल ब्याकग्राउण्ड स्कोर, उमेश चौधरीको आर्ट डिरेक्सन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, समीर मियाँको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर, विजय बस्यालको पोस्टर डिजाइन, नविन पुरीको प्रोडक्सन डिजाइन छ ।फिल्मको वितरण आरआर फिल्मसले गर्नेछ भने डिजिटल पार्टनरको रुपमा ओएसआर डिजीटल रहेको छ ।

पहिरामा ज्यान गुमाएका परिवारलाई छ लाख हस्तान्तरण

गुल्मी, २५ साउनः जिल्लाको मुसिकोट नगरपालिका–१ स्थित बिसौनामा मङ्गलबार पहिरोमा परी मृत्यु भएका विक परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति गुल्मीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको नेतृत्वमा गाउँमै पुगेर आज मृतकका परिवारलाई रु छ लाख रकम हस्तान्तरण गरिएको हो ।

 प्रमुख जिल्ला अधिकारी शर्माले आज सङ्घीय सरकारको विपद् व्यवस्थापन कोषबाट प्राप्त राहत रकम मुसिकोट नगरपालिका प्रमुख जीवलाल खरेल, उपप्रमुख गङ्गा श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहित स्थानीयको उपस्थितिमा मृतकका परिवारलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । 

प्रमुख जिल्ला अधिकारी शर्माले शोकाकूल परिवारलाई भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भन्दै सङ्घ सरकार र प्रदेश सरकारबाट उपलब्ध हुने सबै प्रकारका सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुसिकोट नगरपालिका प्रमुख जीवलाल खरेलले पालिकाबाट मृतकका परिवारलाई किरिया खर्च वापत रु एक लाख उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै घाइतेको सम्पूर्ण उपचार खर्च नगरपालिकाले व्यहोर्ने बताउनुभएको थियो । उहाँले पीडित परिवारका लागि किरियाबाट निस्केपछि पुनःवासको व्यवस्था मिलाउने उल्लेख गर्नुभयो ।

पहिरो पीडित परिवारलाई जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय नगरपालिका, जिल्ला प्रहरी कार्यालय एवं गुल्मी उद्योग वाणिज्य सङ्घबाट टेण्ड, त्रिपाल, लत्ताकपडा, खाद्यान्नलगायत सामग्री उपलब्ध गराइसकिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो ।

यसअघि गत असार १४ गते मालिका गाउँपालिका ‐६ स्थित कँडेलपाटामा गएको पहिराबाट मृत्यु भएका परिवारलाई पनि जिल्ला विपद् व्यवस्थापन समिति गुल्मीबाट रु ११ लाख राहत रकम हस्तान्तरण गरिएको थियो । पहिराका कारण उक्त ठाउँका १५ घरपरिवार विस्थापित बनेका छन् । पहिराका कारण गुल्मीको मालिका गाउँपालिका र मुसिकोट नगरपालिकामा गरी यसपटक नौ जनाले ज्यान गुमाइ सकेका छन् ।

पशुपति कोटीहोम महायज्ञमा आचार्य कृष्ण दमाइबाट प्रवचन

गोदावरी (ललितपुर) २५ साउन : मानव सेवा फाउण्डेशनले पशुपति परिसरमा आयोजना गरेको कोटिहोम महायज्ञमा आचार्य कृष्ण दमाइले प्रवचन दिनुभएको छ । संस्कृतमा आचार्य (स्नातकोत्तर) गर्नुभएका बैतडीका दमाइले आज प्रवचन दिनुभएको हो । महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर विजय कृष्णमूर्ति महाराजले आचार्य कृष्णलाई व्यासपीठमा राखी अभिनन्दन गर्नुभएको थियो । प्रवचनका क्रममा आचार्य कृष्णले भन्नुभयो, “संस्कृत साहित्यलगायत अन्य कर्ममा मलाई समावेश गराउने आदरणीय गुरूहरूमा नमन गर्छु । मानिसले स्वर्ग जानुपर्छ भन्छन् तर मेरो लागि त राष्ट्रदेव पशुपतिनाथको चरणमा स्वर्गको महसुस भएको छ । मैले स्वर्ग प्राप्त गरेको अनुभूत गरेको छु ।”

उहाँले कोटीहोममा उपस्थित भएपछि सबै जाती र समुदायले संस्कृत शिक्षा, वेद अध्ययन गर्नुपर्छ भन्ने सोचमा थप बल पुगेको धारणा राख्नुभयो । “दलित समुदायको एउटा व्यक्तिले संस्कृत शिक्षा, वेद अध्ययन गर्नुपर्ने रहेछ भन्ने सोचमा आजको यस ऐतिहासिक कोटीहोममा थप बल पुगेको छ । मलाई व्यासमा बसी यस्तो पवित्रस्थलमा पुग्छु र बोल्छु भन्ने कल्पना नै थिएन ।”

सनातन धर्म संस्कारको रक्षा र सभ्य नागरिक बनाउनका लागि संस्कृत अभियानमा जोडिनुपर्ने धारणा राख्नुहुँदै आचार्य कृष्णले धार्मिक रूपमा विभाजित गर्ने प्रवृत्तिबारे समेत सचेत रहनुपर्नेमा जोड दिनुभयो । उहाँले अगाडि भन्नुभयो, “हामीलाई विभाजित गरी सनातन धर्म संस्कारलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको छ । त्यसैले हिन्दूत्व र सनातन धर्मका लागि एकताबद्ध रहनुपर्छ । हिन्दू संस्कारलाई बचाउन र सभ्य नागरिक बनाउनु छ भने संस्कृत अभियानमा जुट्न जरूरी छ । सबैले आआफ्नो ठाउँबाट कम्मर कसेर उठ्नुपर्छ ।”

मानवसेवा फाउण्डेशनका संस्थापक तथा पशुपति कोटीहोम महायज्ञका सङ्कल्पकर्ता विजय कृष्णमूर्तिले नेपालमा नयाँ युगको सुरुआत भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो,“दमाइ परिवारबाट आचार्य गर्नुभएका कृष्णलाई व्यासमा राखेर अभिनन्दन गरेका छौँ र हामीलाई गर्व लागिराखेको छ, उहाँले निकै गहकिलो प्रवचन दिनुभयो । यो छुवाछूतविरुद्धको ठूलो क्रान्ति हो । बोलीले मात्र होइन व्यवहारले नै सामाजिक विभेद् हटाउनुपर्छ । त्यसैले यो एउटा नयाँ युग र नयाँ क्रान्ति हो ।”

एक महिना अर्थात साउनभर चल्ने कोटिहोममा अहिलेसम्म २५ लाखभन्दा बढी भक्तजनहरू सहभागी भएका त्यस अवसरमा जानकारी दिइयो । दैनिक बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म कथा प्रवचनका साथै रुद्री पाठ, १८ पुराणपाठ, एक सय आठ श्रीमद्भागवत पाठ र सप्तचण्डी पाठ पराण गर्ने गरिएको छ ।

गाजा युद्धविराम ‘अब’ आवश्यक छ– इयु प्रमुख

युरोपेली सङ्घ (इयु) का प्रमुख उर्सुला भोन डेर लेनले शुक्रबार गाजामा तत्काल युद्धविराम आवश्यक भएको बताउनुभएको छ । यसबाट इजरायल र हमासबीच युद्धविराम सम्झौताका लागि अन्तर्राष्ट्रिय दबाब बढेको छ ।

“हामीलाई अब गाजामा युद्धविराम आवश्यक छ, जीवन बचाउने, शान्तिको आशा पुनःस्थापित गर्ने र बन्धकहरूको फिर्ती सुनिश्चित गर्ने यही एक मात्र तरिका हो”, सामाजिक सञ्जाल एक्समा उहाँले लख्नुभएको छ, “त्यसैले यस क्षेत्रमा आवश्यक शान्ति र स्थिरता हासिल गर्न अमेरिका, इजिप्ट र कतारको नेतृत्वमा गरिएका प्रयासहरूलाई म दृढतापूर्वक समर्थन गर्दछु ।”

युद्धले क्षेत्रीय तनाव बढेपछि इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको कार्यालयले बिहीबार अमेरिका, कतार र इजिप्टको मध्यस्थकर्ताहरूको मागमा अगस्ट १५ मा गाजा युद्धविराम वार्ता पुनः सुरु गर्न सहमत भएको बताएको थियो । 

नोभेम्बरमा एक साता लामो युद्धविरामपछि अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताहरूले इजरायलमा अक्टोबर ७ मा हमासको अभूतपूर्व आक्रमणबाट सुरु भएको १० महिना लामो युद्धमा दोस्रो युद्धविराम सुनिश्चित गर्ने प्रयास गरेका छन् ।  बिहीबार संयुक्त विज्ञप्तिमा तीन मुलुकका नेताहरूले युद्धरत पक्षहरूलाई अगस्ट १५ मा दोहा वा कायरोमा वार्ता पुनः सुरु गर्न आमन्त्रण गरेका छन् ।

इरानको निकट मानिने सिरियाली समूहको आक्रमणमा पूर्वी गाउँमा ११ जना सर्वसाधारणको मृत्यु

सिरियाली सरकार पक्षधर र इरान निकट एक समूहले गराएको बम विस्फोटमा परी सिरियाको कुर्दिश सेना नियन्त्रित पूर्वी गाउँमा ११ जना सर्वसाधारणको मृत्यु भएको शुक्रबार युद्ध अनुगमनकारी समूहले जनाएको छ । सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार देइर एजोर प्रान्तको डहलामा भएको व्र बिस्पोटमा परी छ जना बालबालिकासहित कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

समूहका अनुसार इरान समर्थक लडाकुहरूले कुर्दिशको कब्जामा रहेका क्षेत्रहरूमा आक्रमण गरेपछि बुधबार लडाइँ सुरु भएको थियो । कुर्दिशहरूको निकट सिरियन डेमोक्र्याटिक फोर्सले पनि लडाँइमा अधिकांश महिला तथा बालबालिकासहित ११ जना सर्वसाधारण मारिएको पुष्टि गरेको छ ।

अमेरिकाको समर्थनप्राप्त सिरियाली समूह (एसडीएफ) ले सन् २०१९ मा सिरियामा इस्लामिक स्टेट जिहादी समूहको स्वघोषित इस्लामिक राज्यलाई पराजित गर्ने आक्रमणको नेतृत्व गरेको थियो ।

इराकको सिमाना क्षेत्र देइर एजोर प्रान्त युफ्रेटिस नदीद्वारा विभाजित छ जहाँ दर्जनौँ स्थानीय आदिवासीको घर छ ।इरानले एक दशकभन्दा लामो गृहयुद्धमा सिरियाली राष्ट्रपति बसर अल असदको सेनालाई सैन्य सहयोग गरेको छ ।

हाल जिहादी विरोधी गठबन्धनको हिस्साका रूपमा संयुक्त राज्य अमेरिकाका करिब ९०० सैनिक सिरियामा छन् ।न् २०११ मा सरकार विरोधी प्रदर्शन सुरु भएदेख सुरू भएको सिरियाली गृहयुद्धले पाँच लाखभन्दा बढी मानिसहरूको ज्यान लिनुका साथै लाखौंलाई विस्थापित गरेको छ ।

विद्यालय शिक्षा विधेयकः जनसङ्ख्याको आधारमा विद्यालय खोल्ने अनुमति दिने व्यवस्था गर्न सांसदको जोड

काठमाडौँ, २५ साउनः प्रतिनिधिसभाका सांसदहरूले जनसङ्ख्या, भूगोल र आवश्यकताका आधारमा मात्रै विद्यालय खोल्न दिनेगरी ‘विद्यालय शिक्षा विधेयक, २०८०’ संशोधन गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा विधेयकमाथि संशोधन प्रस्तुत गर्नुहुँदै सांसदहरूले आवश्यकता नै नभएको ठाउँमा विद्यालय खोल्न नहुनेमा जोड दिनुभयो । सांसद महेन्द्रबहादुर शाहीले भन्नुभयो, “मन लाग्यो भन्दैमा जहाँ पनि विद्यालय खोल्न दिने व्यवस्था गलत छ, विद्यालय खोल्नुभन्दा अगाडि यहाँको जनसङ्ख्या, भूगोल, आवश्यकता हो वा होइन जस्ता कुरा अध्ययन गरेर मात्रै विद्यालय खोल्न दिनुपर्छ ।”

उहाँले अध्ययन नै नगरिकन विद्यालय खोल्न दिँदा एउटा पाँच कक्षासम्मको विद्यालयमा विद्यार्थी आठजना र शिक्षक १० जना हुने गरेको पाइएको तथ्य प्रस्तुत गर्नुभयो । शिक्षकको सेवा र सुविधामा मात्रै छलफल गर्नेभन्दा पनि संविधान र सङ्घीयताको मूल मर्मअनुरूप नै विधेयकलाई अगाडि बढाउनुपर्ने उहाँको भनाइ छ ।

सांसद प्रेमबहादुर महर्जनले विधेयकमा उल्लेखित अभिभावकसम्बन्धी व्यवस्थामा विद्यार्थीको हजुरबुबा र हजुरआमालाई पनि अभिभावक मान्नुपर्ने गरी विधेयकलाई संशोधन गर्न जरूरी रहेको बताउनुभयो । उहाँले विद्यालयलाई अपाङ्गतामैत्री बनाउनका लागि न्यून दृष्टि भएकालगायत व्यक्तिको अध्यापनका लागि छुट्टै शिक्षकको व्यवस्था गर्ने गरी विधेयक संशोधन गर्नुपर्ने माग गर्नुभयो । सांसद भगवती चौधरीले हरेक सामुदायिक र निजी विद्यालयमा शिशु स्याहारको अनिवार्य व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो ।

सांसदहरूले समान शिक्षाका लागि अपाङ्गता भएका विद्यार्थीका लागि राज्यले छुट्टै लगानी गर्नुपर्ने, विशेषगरी सामुदायिक विद्यालयको गुणस्तर, स्तरोन्नति गर्ने गरी विधेयक ल्याउनुपर्ने माग गर्दै आएका छन् । यसैगरी विद्यालयस्तरमा मातृभाषा अध्ययनका लागि छुट्टै शिक्षकको व्यवस्था गर्नेगरी विधेयक संशोधन गर्नुपर्ने, विद्यालयमा अध्यापन गराउने शिक्षक राजनीतिमा संलग्न हुन नपाउने, विद्यालयमा प्राध्यापक, उपप्रध्यापक नियुक्ति, सञ्चालक समिति वा अन्य कुनै पनि नियुक्तिमा राजनीतिकरण गर्न नहुने विधेयकमाथि संशोधन राख्नुहुने सांसदहरूले माग गर्नुभएको छ ।

विद्यालय शिक्षाको राष्ट्रिय मानक तथा मापदण्ड निर्धारण तथा विद्यालय शिक्षाका मूलभूत विषयमा समता, एकरूपता र गुणस्तर कायम गरी विद्यालयको स्थापना र सञ्चालनसम्बन्धी विषयलाई व्यवस्थित गर्न विद्यालय शिक्षासँग सम्बन्धित प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्ने उद्देश्यले सो विधेयक ल्याइएको हो । विधेयक समितिमा छलफलका क्रममा रहेको छ ।

प्रक्रियामा नआई बिल तिर्दिन भन्नै मिल्दैन : कार्यकारी निर्देशक घिसिङ

काठमाडौँ, २५ साउन : पछिल्ला दिन चर्चामा रहेको ‘डेडिकेटेड’ एवं ‘ट्रङ्क’ लाइन महशुल विवादका सम्बन्धमा उद्योगीहरू कानुनी बाटोमा नआएको नेपाल विद्युत् प्राधिकरणले स्पष्ट पारेको छ । प्राधिकरणले जारी गरेको बिलमा कुनै गुनासो रहेको भए प्राधिकरणकै पुनरावलोकन समिति समक्ष निवेदन दिनुपर्नेमा उद्योगीहरूले त्यसो नगरेको जनाएको छ ।

“पुनवरालोकन समितिमा नआउने, अदालतले पनि बिल उठाउ भनेको अवस्थामा राज्यको राजस्व छाड्ने र छुट दिने भन्ने हुँदैन, हामी छुट दिन सक्दैनौँ,” प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले भन्नुभयो, “लोडसेडिङको समयमा सुविधा लिएका उद्योगलाई कानुनअनुसार बिल काटेको र त्यसको प्रमाण सुरक्षित रहेको छ ।”

उद्योग व्यवसायलाई डेडिकेटेड र ट्रङ्क लाइन महशुलका सम्बन्धमा रहेको टाइम अफ डे (टिओडी) मिटरको सबै विवरण संसद्को सार्वजनिक लेखा समितिलाई उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो । “मैले मागेको ठाउँमा सबै विवरण दिएको छु । आवश्यक परे अझै विवरण उपलब्ध गराउँछौँ, तर सार्वजनिक स्थानमा जसले जति बेला जे प्रमाण माग्यो त्यो दिइ हाल्नुपर्छ भन्ने छैन । अब सम्बन्धित निकायलाई आवश्यक कागजात दिएको छु,” उहाँले भन्नुभयो । बिहिबार मात्रै प्राधिकरणले सार्वजनिक लेखा समितिले मागेअनुसार सबै विवरण उपलब्ध गराएको कार्यकारी घिसिङले बताउनुभयो ।

प्राधिकरणको सञ्चित नाफा ४७ अर्ब ४१ करोड

कार्यकारी घिसिङका अनुसार आर्थिक वर्ष २०७२/७३ मा रु आठ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको थियो । आर्थिक वर्ष २०७३/७४ मा रु एक अर्ब ५० करोड खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षमा रु १३ अर्ब ३१ करोड नाफा पुगेको छ । आठ वर्षअघि रु ३४ अर्ब ६१ करोड सञ्चित घाटामा रहेको प्राधिकरणले अहिले रु ४७ अर्ब ४१ करोड सञ्चित नाफामा पुगेको छ ।

विद्युत्को महसुल तीन पटक गरी करिव २५ प्रतिशत घटाए पनि नाफामा बृद्धि भइरहेको उल्लेख गर्दै कार्यकारी घिसिङले प्राधिकरणका करिब कूल ५९ लाख ग्राहकमध्ये करिब २२ लाख ग्राहकलाई न्यूनतम शुल्क रु ३० मात्र कायम गरी ऊर्जा निःशुल्क गरिएको जानकारी दिनुभयो । उहाँले सिँचाइका लागि प्रतियुनिट रु दुईमा विद्युत् उपलब्ध छ भने लिप्mटिङ खानेपानीमा डिमान्ड शुल्क नलाग्ने र इनर्जी शुल्कमा सहुलियतको व्यवस्था गरिएको बताउनुभयो ।

“विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न चार्जिङ स्टेसनमा सहुलियतपूर्ण महसुल दर कायम गरिएको छ,” कार्यकारी घिसिङले भन्नुभयो, “यसरी प्राधिकरणले नाफा कमाउन मात्र हैन, आफ्नो सामाजिक दायित्वलाई पूरा गरिरहेका छौँ ।”

इक्रा नेपालले गरेको ‘क्रेडिट रेटिङ्’ मा प्राधिकरणले निरन्तर ‘डबल ए प्लस’ रेटिङ पाइरहेको जानकारी दिँदै कार्यकारी घिसिङले यसबाट प्राधिकरण आफ्नो वित्तीय तथा आर्थिक दायित्व बहन गर्न सक्ने क्षमतामा देखिएको बताउनुभयो । “यसरी, प्राधिकरणले कमाएको नाफा ग्राफमा देखिने कोरा अङ्क मात्र होइन, यो त विद्युत् विकासका पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी हुने भरपर्दो स्रोत पनि बनेको छ । जसले भविस्यको थप नाफालाई पनि सुनिश्चित गर्नेछ,” उहाँले भन्नुभयो ।

आम सर्वसाधारणलाई १० प्रतिशत सेयर आम सर्वसाधारणलाई निष्कासन गरी सङ्कलन गरिएको रकम ठूला जलविद्युत् आयोजनामा लगानी गर्ने प्राधिकरणले तयारी गरेको छ । विद्युत् प्रसारण तथा वितरणतर्फका पूर्वाधार संरचना विस्तार तथा सुदृढीकरणमा ठूलो लगानी परिचालन गरिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो ।

उहाँका अनुसार पछिल्लो आठ वर्षमा मात्र प्राधिकरणले करिब रु एक खर्ब पूँजिगत लगानी गर्न सक्षम देखिएको छ । प्राधिकरणले आफ्ना सहायक र सम्वद्ध कम्पनीमा रु ५६ अर्ब ६८ करोडभन्दा बढी लगानी गरेको छ ।

कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “संवैधानिक निकाय महालेखा परीक्षकको कार्यालयको अन्तिम लेखापरीक्षणबाट देखिएको प्राधिकरणको नाफा कुनै कागजी हैन यो त आन्तरिकरूपमा लगानीका लागि एउटा दरिलो स्रोत हो ।” उहाँका अनुसार देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय प्रतिस्पर्धी बजारको डे–अहेड र रियल टाइम मार्केट र मध्यकालीन सम्झौताबमोजिम पनि विद्युत् निर्यात भइरहेको छ । “विद्युत् निर्यात परिमाण हरेक वर्ष बढिरहेका छ । नेपालले औपचारिक रुपमा विद्युत् निर्यात नोभेम्बर २०२१ बाट शुरु गरेको थियो,” उहाँले भन्नुभयो, “निर्यातको मात्रा बढ्दै गएर गत आवमा एक अर्ब ९४ करोड युनिट विद्युत् निर्यात गरी रु १७ अर्ब सात करोड आम्दानी भएको छ ।”

वर्षायाममा दैनिक सात सय मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको कार्यकारी घिसिङले जानकरी दिनुभयो । उहाँका अनुसार सुख्खायाममा नदीमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत् गृहहरूबाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न गाह्रो हुने गरेको छ ।

“गत आवमा भारतबाट एक अर्ब ९१ करोड युनिट अर्थात् रु १६ अर्ब ९३ करोड बराबरको विद्युत् आयात गरिएको छ,” कार्यकारी घिसिङले भन्नुभयो, “गत आर्थिक वर्षमा आयातभन्दा करिव रु १३ करोड बढीको विद्युत् निर्यात भएको छ ।” आर्थिक वर्ष २०८०/८१ बाट खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बन्न सफल भएको बताउँदै कार्यकारी घिसिङले यो नेपालको जलविद्युत् विकासका लागि कोशेढुङ्गा भएको उल्लेख गर्नुभयो ।

कार्यकारी घिसिङका अनुसार आठ वर्ष अघि दुई हजार आठ सय मेगावाटको मात्र विद्युत् खरिद सम्झौता गरिएकोमा निजी क्षेत्रका आयोजनालाई प्रोत्साहन गर्न लिइएका नीतिका कारण हाल १० हजार तीन सय मेगावाट भन्दा बढीको विद्युत खरिद सम्झौता भएको छ । उहाँले आगामी पाँच वर्षभित्रै अर्थात सन् २०२८/२९ मा नेपालको जडित क्षमता झण्डै १० हजार मेगावाट पुग्ने प्रक्षेपण गरिएको बताउनुभयो ।

नाग पूजा गरेर मनाइयो नागपञ्चमी

काठमाडौँ, २५ साउन: प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरेर मनाइएको छ । आज बिहानै गुरु पूरोहीतहरुले यजमानका घरघरमा पुगेर मूलद्वारामा नागको प्रतिमा अङ्कीत तस्वीर टाँसेर पूजाअर्चना गरेका छन् ।

यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने, अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ । नागपञ्चमीका अवसरमा आज काठमाडौँका नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेषरुपमा पूजाआजा गर्न भक्तजनको घुइँचो लागेको थियो । 

मन्त्रालय बाँडफाँट तथा राज्यमन्त्री थपबारे मधेस प्रदेशका मुख्यमन्त्रीसँग जानकारी माग

काठमाडौँ, २५ साउन : मधेस प्रदेशसभा संसदीय दलका नेता तथा मुख्यमन्त्री सतिशकुमार सिंहसँग जनमत पार्टीले मन्त्रालय बाँडफाँट र राज्यमन्त्री थपेको भन्दै असन्तुष्टि जनाएको छ ।

पार्टीका प्रवक्ता डा शरदसिंह यादवले मुख्यमन्त्री सिंहले पार्टीसँग समन्वय नगरेर जिम्मेवारी बाँडफाँट र सरकार विस्तार गरेको भन्दै आवश्यक जानकारी माग गरेको बताउनुभयो ।

जनमतले परिणाम देखिने गरी जनताको हकहितको लागि मन्त्रालयको काममा ध्यान दिनुभन्दा मुख्यमन्त्रीले अनावश्यक उद्घाटन समारोहमा समय खर्चिएको, पार्टीले दिएको निर्देशन बेवास्ता गरेको आरोप लगाएको छ । “जनमतले परिणाम देखिने गरी काम गर्नुपर्नेछ तर मुख्यमन्त्री भने उद्घाटन मै बेस्त हुनुहुन्छ । यसैगरी बजेट बनाउने क्रममा सांसदलाई रु पाँच करोड दिने विवादास्पद अभिव्यक्ति दिई पार्टीको छविमा बारम्बार आँच पुर्‍याएकोलगायत विषयमा उहाँलाई पार्टीले स्पष्टीकरण सोधेको हो”, प्रवक्ता यादवले भन्नुभयो ।

मन्त्री भण्डारीद्वारा विशाखापट्टनम पोर्टको अनुगमन

काठमाडौँ, २५ साउनः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनम पोर्टको आज अनुगमन गर्नुभएको छ । उहाँले अनुगमनका क्रममा त्यहाँका आयात नियमन गर्ने पोर्टका आधिकारिक व्यक्ति र शिपिङ कम्पनीसँग अन्तरक्रियासमेत गर्नुभएको मन्त्रीको सचिवालयले जनाएको छ ।

त्यस अवसरमा मन्त्री भण्डारीले आयात तथा निर्यातकर्तासँग नेपाल आयात हुने वस्तु तथा सेवा र निर्यातका पक्षबारे छलफल गर्नुभएको थियो । उहाँलाई आयात तथा निर्यातकर्ताले नेपाल सरकारले गर्नुपर्ने आवश्यक सहायताका विषयमा ध्यानाकर्षण गराउनुभयो । 

मन्त्री भण्डारीले आयात तथा निर्यातमा नेपाल सरकारका तर्फबाट हुने आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै भारत सरकारसँग पनि आवश्यक सहयोगका लागि पहल गर्ने बताउनुभयो ।

मन्त्री भण्डारीले सो क्रममा नेपालको आयात तथा निर्यातमा सघाउन स्थानीय आयात तथा निर्यातकर्तासँग आग्रह गर्नुभयो । उहाँलाई पोर्टका कर्मचारीले नेपालको आयात निर्यातबारे जानकारी गराएका थिए । सो क्रममा मन्त्री भण्डारीलाई त्यहाँका प्रतिनिधिले व्यापारिक समस्याबारे जानकारी गराएको थियो । 

आज अवधि समुदायले गुडिया पर्व मनाउदै

खजुरा (बाँके), २५ साउन : आज साउन शुक्लपक्ष नागपञ्चमी पर्व । पश्चिम नेपालको तराईका जिल्लामा बसोबास गर्ने अवधी समुदायले नागपर्वलाई ‘गुडिया’ पर्वका रूपमा मनाउने गर्दछन् । यो पर्वलाई अवधी समुदायको मुख्य पर्वका रूपमा लिइन्छ ।

आजको दिन सो समुदायले घरपरिवार, आफन्त, टोल–छिमेक सबै मिलेर विशेष धुमधामका साथ पर्व मनाउँदछन् । गाउँ टोलका विशेषगरी अगुवा बिहानै नुहाएर घरको वरिपरि गाईको गोबरले चिन्हो तानेर मोटो लाइन बनाउने गर्दछन् । यसलाई गोबर चक्र भनिन्छ । सो चक्रले घरमा सर्पलाई आउनबाट रोक्ने यहाँ धार्मिक विश्वास रहिआएको छ ।

यसपछि दूध र चनाको घुघरी (भिजाएको काँचो चनाबाट बनाइएको परिकार) नाग देउता र गाउँ नजिकै रहेको थान देउतामा चढाइने गरिन्छ । योसँगै घरको ढोकामा नाग टाँसेर पूजा पनि गरिन्छ । यस दिन सबैको घरमा खाने परिकारअन्तर्गत चनाको घुघरी बनाइने गरिन्छ । यसका साथै पुरी, तरकारी, खिर, अचार, गुल्गुला यो पर्वको मुख्य परिकार हो । यो पर्वमा विवाहित छोरीलाई घुघरी पठाउने चलन पनि छ ।

घुघरीमा चना, चामल, भेली मिठाइँ र आवश्यक लत्ताकपडासहितको गठरी सामथ्र्यअनुसार भाइ वा बुबाले गठरी बाँधेर छोरीको घरमा लग्ने परम्परा रहेको वरिष्ठ अवधि साहित्यकार सच्चिदानन्द चौबेले जानकारी दिनुभयो ।

यस पर्वमा छोरी बोलाउने तथा लिन जाने गरिन्छ । गाउँघर, टोल समुदायमा पिङ (झुला) हाल्ने गरिन्छ । युवायुवती गीतसङ्गीत गाएर पिङ खेल्ने चलन छ । साँझ सबै युवतीले कपडाको गुडिया बनाएर भुइँमा हाल्ने र युवाले लठ्ठीले गुडिया पिट्ने गरेको अवधी अगुवा पण्डित शिवप्रसाद पाठकले बताउनुभयो । उहाँका अनुसार यस दिन सबैको घरमा मिठोमिठो खानेकुरा पकाइने गरिन्छ ।

यस दिन घरमा पाहुनालाई बोलाई सेवा सत्कार गरिन्छ । यो पर्व समुदायमा आदिकालबाट चलिआएको अगुवा पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, “सूर्य, चन्द्रमा, नदी, पृथ्वी, गाई, रुख, हावापानी, सर्प, बाँदल, अन्नपात, वनजङ्गल, पहाड, समुद्रजस्ता प्रकृतिबाट उत्पन्न वस्तुलाई देउता समान मानिन्छ । सबै देव रूपमा रहेका छन् । यसलाई समयसमयमा पूजा गर्नुपर्छ ।”

जादुगर (मदारी)ले घर घरमा गएर सर्प देखाइ गरेर सिधा लिने गरेको पाइन्छ । स्वास्थ्यको हिसाबले वर्षात्को मौसममा हिलो, माटो, गोबर, खेतीपातीको काम गरेर शरीरको तन्दुरस्ती कम भएको हुन्छ । त्यसलाई पूर्ति गर्न यस पर्वमा चनाको घुघरी (गेडागुडी पोषिलो खान) खाएर शरीरलाई बलियो बनाउने परम्परा छ ।

अवधीमा उखान छ, ‘चना सवसे मरदाना अनाज होय, इसे मरदाङ्गी पैदा होत है ।’ गुडिया पर्वको धार्मिक सम्बन्ध पनि छ । भगवान् कृष्णले नागलाई नाथेका थिए । उनलाई अन्त पठाएपछि जमुना नदीको पानी सफा भएको थियो । सर्प शत्रु नभएर घर र खेत–खरिहानमा रहेका मुसा, छेपारो, गिरगट्टो, भ्यागुता आदि जनावरलाई खाने गर्दछ । सर्पलाई दूध र चना खुवाउने गरिन्छ । परापूर्वकालबाट गुडिया र होलीपर्व एकै दिन (बार) मा पर्ने गर्दछन् । यसैले भन्ने गरिन्छ, ‘नाग फाग एकै दिन’ सबै चाडपर्व समुदायमा मेल सद्भाव, शान्ति, भाइचारा कायम गर्ने पर्वका रूपमा लिइएको छ ।

चितुवाले घरपालुवा जनावर मार्न थालेपछि टीकापुरमा त्रास

टीकापुर (कैलाली), २५ साउन : एक सातायता चितुवाले घरपालुवा जनावर मार्न थालेपछि कैलालीको टिकापुरमा त्रास बढेको छ । चितुवाले यहाँ दैनिक बाख्रा, कुकुर र कुखुरा मार्न थालेको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक फिरुलाल थारूले चितुवा नियन्त्रणमा लिन पासो थापिएको जानकारी दिनुभयो । ढिलोचाँडो चितुवा नियन्त्रणमा आउने उल्लेख गर्दै उहाँले नागरिकलाई नआत्तिन आग्रह गर्नुभयो । “स्थानीयले तीन चितुवा देखेको बताएका छन् । हामी चितुवा नियन्त्रणको प्रयासमा छौँ”, उहाँले भन्नुभयो ।

चितुवाले खोर नै रित्याउने गरी बाख्रा मारेपछि यहाँ त्रास फैलिएको छ । दैनिक बाख्रा मार्न थालेपछि टीकापुर नगरपालिकाको अनुरोधमा बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त टोली टीकापुर पुगेको छ । बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तु प्राविधिक जगनारायण चौधरी, राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक फिरुलाल थारू, करारु चौधरी, प्रहरी, नगर प्रहरीलगायत टोलीले आफ्नो काम थालेको छ । चितुवा खोज्न विभिन्न स्थानमा टोली परिचालन गरिएको छ ।

बिहीबार राति पनि चितुवाले स्थानीयका बाख्रा र कुखुरा मारेको टीकापुर–१ का वडाध्यक्ष मोहन लुहारले जानकारी दिनुभयो । चितुवाले टीकापुर नगरपालिकाको वडा नं १ ब्लक बी, सी, १७ र १८ मा स्थानीयका करिब २२ बाख्रा मारेको छ । केही बाख्रा घाइते भएका छन् । त्यत्तिकै सङ्ख्यामा कुकुर र कुखुरा समेत मारेको स्थानीयले बताएका छन् । चितुवाले बिहीबार रातिमात्रै ब्लक नं १७ मा २६ कुखुरा मारेको छ । होहल्ला गरेपछि दुई बच्चासहितको चितुवा भागेको स्थानीय रमेश खड्काले बताउनुभयो ।

सहरमै चितुवा देखिन थालेपछि कतिपय किसानले बाख्रा घरभित्र बाँध्न थालेका छन् । चितुवाले दैनिक जनावर मार्न थालेपछि साँझबिहान हिँडडुल गर्नेहरू त्रासमा छन् । यस्तै नियमित योगाभ्यास गर्नेहरू पनि घरबाट निस्कन डराउने गरेका स्थानीय रुपा विकले बताउनुभयो ।

बर्दिया राष्ट्रिय निकुञ्जबाट नदीवारि आएका चितुवा वडा नं २ मा रहेको सामुदायिक वन हुँदै सहर पसेको आशङ्का गरिएको छ । बजार क्षेत्रमा मात्र होइन, टीकापुरको वडा नं ७ र ८ मा पनि जङ्गली जनावरले आतङ्क मच्चाएको छ । त्यहाँ पनि चितुवाले दैनिक बाख्रा, घरपालुवा कुकुर र भैँसी मार्न थालेको छ । वडा नं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले चितुवाले दैनिकजसो कुकुर र बाख्रा मार्न थालेको छ ।

माओवादी केन्द्रको स्थायी समिति बैठक आजदेखि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आजदेखि बस्दैछ । समसामयिक राजनीतिक परिस्थिति, विगतको समीक्षा र पार्टी निर्माणबारे छलफल गर्न आज अपराह्न ४ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो ।

बैठकमा यसअघि पार्टीको भूमिकाको समीक्षा गर्दै आगामी कार्ययोजनाका बारेमा छलफल हुने माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठकमा जनपरिचालन, सङ्गठन निर्माण र विस्तारका बारेमा पनि छलफल हुने उनले बताए ।

त्यसअघि आजै बिहान ११ बजे माओवादी केन्द्रको कार्यालय बैठक बस्नेछ । उक्त बैठकले स्थायी समितिका बैठकका ‘एजेण्डा’ तय गर्ने पार्टीले जनाएको छ ।

किसानले फलाएको आलु गाउँपालिकाले खरिद गरेपछि किसानलाई राहत

पर्वत, २५ साउन : पर्वतको जलजला गाउँपालिकाले किसानले फलाएको आलुको बीउ खरिद गरिदिएको छ । किसानले गत आर्थिक वर्षमा आलुको मूल बीउ उत्पादन गरेका थिए । उक्त आलु पालिकाले नै खरिद गरेपछि किसानलाई राहत मिलेको छ । रु १० लाख ७५ हजारभन्दा बढी मूल्य बराबरको आलुको बीउ पालिकाले खरिद गरेको छ ।

जलजला–६ शालिजाका तीन कृषक समूहले उत्पादन गरेको ३५ हजार चार सय ७० किलोग्राम बीउ आलु उक्त स्थानीय तहले खरिद गरेको हो । बीउ आलु बिक्री गरेका किसानलाई रु १० लाख ७५ हजार चार सय ७० भुक्तानी गरेको गाउँपालिकाको कृषि शाखाका अधिकृत राजु गौतमले जानकारी दिनुभयो । प्रगतिशील बीउ उत्पादक कृषक समूहले उत्पादन गरेको दुई हजार दुई सय ७० किलोग्राम मूलबीउ प्रतिकिलो रु ३५ का दरले रु ७९ हजार चार सय ७० मा खरिद गरेको छ । नमूना र प्रगतिशील बीउ उत्पादक कृषक समूहले उत्पादन गरेको ३३ हजार दुई सय किलोग्राम पहिलो पुस्ताको बीउ रु नौ लाख ६ हजारमा खरिद गरेको हो ।

बीउ उत्पादन गर्ने सबै किसानलाई जलजलाले नगद उपलब्ध गराएको छ । किसानबाट खरिद गरेको बीउ पोखरामा रहेको चिस्यानगृहमा भण्डारण गरिएको छ । बीउ, मल र उत्पादन सामग्री उपलब्ध गराउने गाउँपालिकाले किसानले उत्पादन गरेको आलुको मूल बीउ पनि खरिद गरिदिएको हो । गाउँपालिकाले किसानबाट बर्खायाममा खरिद गर्ने बीउ चिस्यानगृहमा भण्डारण गर्ने र हिउँदमा उनीलाई नै बिक्री गर्ने गरेको छ । आलुको बीउ बिक्री गरेर जलजला गाउँपालिकाले गत आव २०८०÷८१ मा रु २९ लाख ७१ हजार आम्दानी गरेको छ । गाउँपालिकाको आन्तरिक आम्दानीको २२ प्रतिशत आलुको बीउ बेचेर भएको हो ।

जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले आलुको गुणस्तरीय बीउ उत्पादन, उत्पादन क्षमता कम भएको पुरानो बीउ विस्थापित र बीउ आलुमा आत्मनिर्भर बनाउन दुई वर्षयता पिविएम (पूर्व बीउ आलु) कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । जलजलाको धेरै भूगोलमा आलुखेती भए पनि वर्षौँदेखि एउटै बीउको प्रयोग हुँदा उत्पादन, गुणस्तर र रोगकीराको समस्या देखिएको थियो । उहाँले भन्नुभयो, “गुणस्तरीय बीउ उत्पादन गरेर आलु उत्पादन र गुणस्तर सुधार गर्ने उद्देश्यले राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क)ले सिफारिस गरेको रोग प्रतिरोधात्मक क्षमताको पूर्व मूल बीउ भित्र्याएर मूल बीउ उत्पादन गरी किसानलाई बिक्री वितरणको व्यवस्था मिलाएका छौँ ।”

गाउँपालिकाले समूहमार्फत खरिद गरेको बीउ आलु पोखराको शीतभण्डारमा भण्डारण गरी सिजनमा गाउँपालिकाभित्रका बीउ उत्पादक कृषक समूहलाई नै वितरण गर्ने अधिकृत गौतमको भनाइ छ । जलजला आलु उत्पादनका लागि उर्वर मानिए पनि विगतमा उन्नत जातको आलुको बीउ समयमै नपाउँदा निराश हुने किसानको समस्या समाधान भएको प्रगतिशील बीउ उत्पादन समूहका तारानाथ भुसालले बताउनुभयो ।

यसैबीच गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ मा ६६ हजार ७० किलो उन्नत बीउ बिक्री गरी रु २९ लाख ७१ हजार राजस्व सङ्कलन गरेको छ । गाउँपालिकाले किसानबाट खरिद गरेको आलुको बीउ ५० प्रतिशत अनुदानमा किसान र कृषि ज्ञान केन्द्रमार्फत सिफारिस भएका कृषक समूह तथा म्याग्दी, कास्कीलगायत जिल्लाका किसानलाई ३५ हजार नौ सय ७७ किलो बीउ बिक्री गरी रु २१ लाख ९८ हजार आम्दानी गरेको हो ।

बागलुङको ढोरपाटन क्षेत्रमा सामूहिक स्याउखेती

गलकोट (बागलुङ), २५ साउन : स्याउखेतीको उच्च सम्भावना रहेको बागलुङको ढोरपाटन क्षेत्रमा पछिल्लो समय सामूहिक रूपमा व्यावसायिक स्याउखेती थालिएको छ । परम्परागत रूपमा हुँदै आएको स्याउखेतीले बजार लिन नसकेपछि इटालीबाट ल्याएको आधुनिक स्याउका बिरुवाले ढोरपाटन उपत्यका क्षेत्रको जग्गा विस्तारै ओगट्न थालेको छ ।

ढोरपाटन नगरपालिका–९ मसगाउँमा ६ युवा मिलेर एक वर्षदेखि स्याउखेती गर्न थालेका छन् । इटालीबाट ल्याएका स्याउका एक हजार तीन सय बिरुवा गत असारमा लगाइएको थियो । उक्त बिरुवामध्ये ७५ प्रतिशतले यसै वर्षदेखि फल दिन थालेपछि यहाँका युवा उत्साहित भएका छन् । ढोरपाटन नगरपालिका–८ शेराबाङका ४० वर्षीय चिरनकुमार घर्ती २०६० सालमा रोजगारीका लागि कतार जानुभयो । सात वर्ष कतार बसेर फर्कनुभएका उहाँलाई नेपालमै केही गर्ने सोच पलाएपछि २०६८ सालमा काठमाडौँमा कृषि फार्म खोल्नुभयो । घाटा व्यहोरेपछि घर्ती ढोरपाटन फर्कनुभयो ।

गाउँमा आएर कृषि पेसालाई निरन्तरता दिँदै आउनुभएका घर्तीलाई स्थानीय हुमलाल भुसालले साथ दिनुभयो । कृषिमा खाएको हन्डरले उहाँलाई विस्तारै सफल बनाउन थालेको छ । दुवैको सोच गाउँमै कृषिसम्बन्धी काम गर्ने भएकाले २०७६ सालमा ‘उत्तरगङ्गा अग्र्यानिक एग्रो प्रालि’ दर्ता गरेर आलुको बजारीकरण गर्न थाले । उनीहरुले अन्य युवालाई पनि समेत समेट्दै गए । उहाँहरुले गत वर्षदेखि आलुखेतीसँगै स्याउखेती पनि गर्न थाल्नुभएको छ ।

मसगाउँमा विभिन्न उन्नत जातका आलुको परीक्षण सफल भएपछि उत्साहित बनेका दुई युवाले थप चार युवालाई साथमा लिएर एक सय रोपनी जग्गामा उन्नत जातका स्याउ लगाउने निधो गरे । चिरन र हुमलालले रुद्र घर्ती, चकेन्द्र घर्ती, कमानसिंह बुढा र झिरमती घर्तीसँग मिलेर एक सय रोपनीमा स्याउ बगैँचा तयार गरेका छन् । उनीहरूले पहिलो चरणमा एक हजार तीन सय स्याउका बिरुवा लगाएकामा नौ सय बिरुवामा स्याउ फल्न थालेको छ ।

“एकदेखि दुई किलोका दरले स्याउ फल्न थालेको छ, इटालीबाट झिकाएका स्याउका बोट साना–साना हुन्छन््, पाँच वर्षपछि मात्रै प्रतिबोटमा २५ किलोसम्म स्याउ फल्छ”, चिरनकुमारले भन्नुभयो, “ढोरपाटनमा स्याउको अत्यन्तै सम्भावना छ, मसगाउँमा एक हजार स्याउका पुराना बोट छन् । तर उत्पादन कम छ, उन्नत जातको स्याउबाट छोटो समयमा धेरै लाभ लिन सकिन्छ ।”

एक सय रोपनी जग्गामा स्याउ बगैँचा तयार पार्ने तथा उन्नत जातको आलुको अन्तर्राष्ट्रिय बजारीकरण गर्ने उद्देश्य रहेको घर्तीले जानकारी दिनुभयो । ६ जनामध्ये हुमलालबाहेक सबै विदेशमा दुःख पाएर फर्केका युवा भएकाले स्याउखेतीमा मेहनत गरिरहेका छन् । कृषि विकास निर्देशनालय पोखराले पनि उनीहरुलाई सहयोग गरिरहेको छ । इटालीबाट ल्याएको गाला, फुजी, गोल्डेन र रेड जातको स्याउका बिरुवा लगाइएको छ । चक्लाबन्दीअन्तर्गत स्याउ बगैँचा निर्माण गरेर तारबार गर्दा सुरुको लागत बढी भएको चिरनकुमारको भनाइ छ ।

युवा जनशक्तिको बढ्दो वैदेशिक पलायन तथा कृषि व्यवसायतर्फ युवाको आकर्षण कम हुँदै जाँदा ६ युवा मिलेर दुर्गम गाउँमा स्याउ र आलुखेतीको सम्भावना खोजिरहनुभएको छ । पहिलो चरणमा रु २५ लाख लगानी गरेको उनीहरू बताउँछन् । गण्डकी प्रदेश कृषि निर्देशनालयबाट ७५ प्रतिशत अनुदान र कृषि ज्ञान केन्द्रबाट स्याउलाई थाक्रो र तारबारमा ५० प्रतिशत अनुदानमा प्राप्त भएको चिरनकुमारले बताउनुभयो ।

बर्दघाट सुस्तापूर्वमा माछापालनप्रति किसानको आकर्षण बढ्दो

मध्यविन्दु (नवलपरासी), २५ साउन : बर्दघाट सुस्तापूर्वमा माछापालनप्रति किसानको आकर्षण बढ्दै गएको छ । जिल्लामा पछिल्लो तीन वर्षमा माछापालनतर्फ किसानको आकर्षण बढ्दा उत्पादनमा पनि वृद्धि भएको पाइएको छ । नेपाल मत्स्य केन्द्रले यस जिल्लालाई माछापालनका लागि उत्कृष्ट क्षेत्र प्रमाणित गरेको छ ।

माछापालन व्यवसाय तुलनात्मक रूपमा व्यवस्थापन गर्न सजिलो भएको र किसानले मनग्य आयआर्जन गर्न सक्ने भएकाले विगत तीन वर्षमा माछाको उत्पादन बढेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख ऋषभ गुरागाईँले बताउनुभयो । जिल्लामा गत आर्थिक वर्षमा ५७ माछापोखरी थपिएका छन् । आव २०७९÷८० मा पोखरीको सङ्ख्या एक हजार पाँच सय १७ रहेको थियो भने आव २०८०÷८१ मा उक्त सङ्ख्या एक हजार पाँच सय ७४ पुगेको उहाँले बताउनुभयो ।

जिल्लामा गत आवमा ५८ वटा नयाँ मत्स्यकार्प फार्म सञ्चालनमा आएका छन् । आव २०७९÷८० मा दुई सय १५ फार्म रहेकामा आव २०८०÷८१ मा उक्त सङ्ख्या दुई सय ७३ पुगेको प्रमुख गुरागाईँले जानकारी दिनुभयो । “माछा फार्म र माछापोखरी थपिने क्रम बढेसँगै यहाँ प्रत्येक वर्ष माछा उत्पादनमा वृद्धि भएको छ”, उहाँले भन्नुभयो । आव २०७८÷७९ मा नौ सय ३३ मेट्रिक टन माछा उत्पादन भएकामा आव २०७९÷८० मा नौ सय ६८ मेट्रिक टन तथा आव २०८०÷८१ मा नौ सय ८१ मेट्रिक टन माछा उत्पादन भएको तथ्याङ्क छ ।

माछापालनतर्फ जिल्लामा आकर्षण बढ्दै गएपछि माछाका भुरा उत्पादन गर्नेगरी गत आवमा एउटा मत्स्य ह्याचरी स्थापना भएको छ । त्यसैगरी यहाँ ६ वटा मत्स्य स्रोत केन्द्र सञ्चालनमा रहेको प्रमुख गुरागाईँले जानकारी दिनुभयो । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत मत्स्य स्वास्थ्य घुम्ती शिविरमार्फत स्थलगत माछापोखरीको रेखदेख गरिनुका साथै २५ लाख २८ हजार सिल्भर कार्प, रोहु र नैनीका भुरा वितरण गरिएको उहाँले बताउनुभयो ।

सरकारले माछापालन गर्न सिफारिस गरेका रोहु, नैनी, सिल्भर कार्प, कमल कार्प, ग्रास कार्प, विवेक कार्प, भागगोर र वडगासी जातका माछा यहाँ उत्पादन गर्ने गरिएको छ । कावासोती, देवचुली र मध्यविन्दु नगरपालिकाको तीन सय हेक्टर क्षेत्रफलमा व्यावसायिकरुपमा कृषि उत्पादन केन्द्र माछा ब्लक कार्यक्रमअन्तर्गत नयाँ पोखरी निर्माण गरी माछापालन गर्न कार्यालयले प्रोत्साहन गरेको छ ।

क्यान्सरपीडित नीरमायालाई खोटाङ्गे अभियान्ताले सङ्कलन गरेको साढे ११ लाख सहयोग

खोटाङ- क्यान्सरपीडित नीरमाया थापामगरलाई खोटाङ्गे अभियान्ताले सङ्कलन गरेको रु ११ लाख ४८ हजार छ सय ७० सहयोग रकम हस्तान्तरण गरिएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित खण्डपुरमा जन्मिएर गोरखाको गण्डकी गाउँपालिका–५ रामपुरमा विवाह गर्नुभएकी क्यान्सरपीडित ४८ वर्षीया नीरमायालाई फेसबुक ग्रुप बनाएर सञ्चालन गरिएको ‘नीरमाया थापामगर बचाऔँ’ अभियानका क्रममा सङ्कलन भएको सहयोग रकम आज हस्तान्तरण गरिएको हो ।

स्तनभन्दा मुनि मासुको डल्लो देखिएसँगै हाल उहाँको नेपाल क्यान्सर अस्पताल हरिसिद्धी ललितपुरमा उपचार भइरहेको जनाइएको छ । सुन्तलेबाट २८ वर्ष अगाडि गोरखाका हीराबहादुर थापामगरसँग विवाह गर्नुभएकी नीरमायाका तीन सन्तान छन् । उहाँ हाल परिवारसहित ललितपुरको एकान्तकुना बस्दै आउनुभएको छ । 

मासुको डल्लोमा क्यान्सरकोे भाइरस देखिएपछि आठ पटक किमो चढाइसक्नुभएकी उहाँको यही साउन–२५ गते शल्यक्रियाको तयारी गरिएको जनाइएको छ । ज्याला मजदुरी गरेर परिवार चलाउँदै आउनुभएकी नीरमायालाई तीन महिनाअघि मात्र क्यान्सर पुष्टि भएको हो । 

कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न सम्भव नभएपछि नीरमायाका  भाइ केदार आलेमगरले अभियान्तासँगको सहकार्यमा रकम सङ्कलन गर्नुभएको जनाइएको छ । गत जेठ १९ गतेबाट सुरु गरिएको सहयोग रकम सङ्कलन अभियानमा नेपालसहित रोजगारीको सिलसिलामा विभिन्न देशमा रहनुभएका दुई सय ४१ जना आफन्त तथा शुभेच्छुकले सहयोग गर्नुभएको जनाइएको छ । 

सहयोग रकम सङ्कलन अभियानमा ध्यानकुमार राई, बमबहादुर मगर, ईश्वर बञ्जरा, मानबहादुर मगर, प्रकाश बञ्जरा, सन्देश मगरलगायतका अभियान्ताले विशेष सहयोग गर्नुभएको भाइ केदारले बताउनुभएको छ । दुई महिना सञ्चालन गरिएको सहयोग सङ्कलन अभियानमा अभियान्ता ध्यानकुमार राईको खातामा रु नौ लाख २८ हजार छ सय २७ तथा नीरमायाको खातामा रु दुई लाख २० हजार ४३ रकम जम्मा भएको थियो । 

सङ्कलित रकम अभियान्ताहरु बमबहादुर मगर, ईश्वर बञ्जरा, महेन्द्र मगर, ईन्द्र लिमेलमगर, सुखराज राई, रेनु मगर लगायतको उपस्थितिमा नीरमायालाई घरैमा लगेर हस्तान्तरण गरिएको जनाइएको छ ।

संरचनागत सुधार तथा नियमनमा कडाइ गर्न हवाई विज्ञको सुझाव

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्द्रीप्रसाद पाण्डेले हवाई दुर्घटनाका सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशकहरूसँग छलफल गर्नुभएको छ ।

 छलफलका क्रममा कतिपय विमान कम्पनीहरुले नागरिक उड्डयनका क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा मान्यता दिइएको तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले तोके अनुसारको सुरक्षा व्यवस्थापन प्रणाली (एसएमएस) लागू नगरेको तथा विमान चालक तथा प्राविधिक जनशक्ति लागि आवश्यक सुरक्षासम्बन्धी तालिम आदिमा न्यून लगानी गरेकोलगायतको विषयमा मन्त्री पाण्डेको ध्यानाकर्षण गराउनुभएको थियो ।

क्यानको पूरै संरचना र सञ्चालनबारे ‘थर्ड पार्टी अडिट’ गराउन आवश्यक भएको र त्यसका लागि अन्तर्राष्ट्रियस्तरका ख्याति प्राप्त संस्थाबाट विज्ञ मगाउन सकिने सुझाव दिइएको थियो । दुर्घटनाको जाँच स्वतन्त्र नहुने गरेको, जाँच समितिले दिएको प्रतिवेदन कार्यान्वयन नहुने गरेको तथा त्यसको फलोअप नभएकाले त्यसतर्फ मन्त्रालयले ध्यान दिनुपर्ने सुझावहरु दिइएको थियो ।

 क्यानको समग्र पक्षमा सुक्ष्म निगरानी गरी सुधार गर्नुपर्ने त्यसका लागि विचाराधीन विधेयक संसदबाट पास गर्नेतर्फ पहल हुनुपर्नेमा पनि उहाँहरुको जोड दिइएको थियो । 

मन्त्री पाण्डेले क्यानका पूर्वमहानिर्देशकहरुलाई मन्त्रालयमै बोलाएर नेपालको हवाई क्षेत्रका समस्या र सवालबारे छलफल गर्नु भएको उहाँको सचिवालयले जनाएको छ । मन्त्री पाण्डेले नीतिगत, कानुनी  र संरचनागत सुधारका लागि पूर्वमहानिर्देशकसँग सुझाव माग्नुभएको थियो ।

बङ्गलादेशमा युनुसद्वारा अन्तरिम सरकारको नेतृत्व ग्रहण

नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले बिहीबार बङ्गलादेशको अन्तरिम सरकारको प्रमुखका रूपमा सपथ लिनुभएको छ । उहाँका लागि अब प्रमुख कार्य बङ्गलादेशमा शान्ति पुनःस्थापित गर्ने र हप्तौँको हिंसापछि नयाँ निर्वाचनको तयारी गर्नु रहेको छ । हप्तौँको हिंसामा विद्यार्थी कार्यकर्ताहरूले पूर्वप्रधानमन्त्री शेख हसिनाको १५ वर्षको निरङ्कुश शासनविरुद्ध विद्रोहको नेतृत्व गरेका थिए ।

बङ्गलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले राष्ट्रपति भवन ढाकामा विदेशी कूटनीतिज्ञ, नागरिक समाजका सदस्य, शीर्ष व्यापारीहरू र पूर्व विपक्षी दलका सदस्यहरूको उपस्थितिमा युनुसलाई मुख्य सल्लाहकारका रूपमा उहाँको भूमिकाको सपथ गराउनुभयो । मुख्य सल्लाहकार प्रधानमन्त्री पद बराबर हो । सपथ ग्रहण समारोहमा हसिनाको पार्टीका कुनै पनि प्रतिनिधि सहभागी थिएनन् ।  अन्तरिम मन्त्रिपरिषद्मा मुख्यरूपमा नागरिक समाजका सदस्य र विद्यार्थी आन्दोलनका दुई नेतासहित १६ जनालाई सहभागी गराइएको छ ।

यो साता विद्यार्थी नेता, नागरिक समाजका प्रतिनिधि र सेनाबीच भएको छलफलमा मन्त्रिपरिषद्का सदस्य युनुसलाई अन्तरिम नेताका रूपमा चयन गरिएको थियो ।    सरकारी सेवामा आरक्षण प्रणालीको विरोधमा जुलाईमा सुरु भएको धेरै साताको अराजक प्रदर्शनपछि सोमबार हसिनाले पदबाट राजीनामा गर्नुभएको थियो । आलोचकहरूले आरक्षण प्रणालीले हसिनाको पार्टीसँग सम्बन्ध भएका मानिसको पक्ष लिएको बताएका थिए । 

बढ्दो हिंसाका बीच विद्यार्थीसहित तीन सयभन्दा बढीको मृत्यु भएपछि विरोध प्रदर्शन चाँडै नै हसिनाको १५ वर्षको शासनका लागि ठूलो चुनौती बन्यो । 

सन् २००६ मा नोबेल शान्ति पुरस्कार प्राप्त गर्नुभएका युनुस उहाँलाई अन्तरिम भूमिका निर्वाह गर्नका लािग चयन गर्दा २०२४ ओलम्पिकका लािग फ्रान्सको राजधानी पेरिसमा हुनुहुन्थ्यो । उहाँ कडा सुरक्षाबीच ढाका विमानस्थलमा बिहीबार स्वदेश फर्कनुभयो । 

आफ्नो आगमनपछिको पहिलो टिप्पणीमा उहाँले आफ्नो प्राथमिकता व्यवस्था पुनःस्थापना गर्नु रहेको बताउनुभयो । “बङ्गलादेश एउटा परिवार हो, हामीले यसलाई एकजुट गर्नुपर्छ”, उहाँले विद्यार्थी नेताहरूसँग भन्नुभयो, “यसको सम्भावना अपार छ ।”

बुधबार पेरिसमा युनुसले शान्ति र सबै पक्षपातपूर्ण हिंसा अन्त्य गर्न आह्वान गर्नुभएको थियो । 

यसैबीच एएफपीका अनुसार युनुसको मन्त्रिमण्डलमा एक दर्जनभन्दा धेरै सदस्यले सपथ लिएका छन् । उनीहरू मन्त्री नभएर सल्लाहकारको पदमा छन् । 

सल्लाहकार सदस्यहरूमा स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन ग्रुपका शीर्ष नेताहरू नाहिद इस्लाम र आसिफ महमुद हुनुहुन्छ । उहाँहरूले हप्तौँ लामो विरोध प्रदर्शनको नेतृत्व गर्नुभएको थियो । 

अन्यमा पूर्वविदेशसचिव तौहिद हुसेन र पूर्वमहान्यायाधिवक्ता हसन आरिफ हुनुहुन्छ । पुरस्कार विजेता पर्यावरण वकिल सैयदा रिजवाना हसन र कानूनका शीर्ष प्राध्यापक तथा लेखक आसिफ नजरुलले पनि पद तथा गोपनीयताको सपथ लिनुभएको छ । 

प्रमुख मानवाधिकार कार्यकर्ता आदिलुर रहमान खानले पनि सल्लाहकारका रूपमा सपथ लिनुभएको छ । उहाँलाई हसिना सरकारले दुई वर्षको जेल सजाय सुनाइएको थियो ।

‘निरोगी नेपाल’ अवधारणामा कार्यक्रम बनाउन स्वास्थ्य मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालको अवधारणाबाट स्वास्थ्य क्षेत्रका कार्यक्रम निर्माण र कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपर्षिद्को कार्यालयमा स्वास्थ्य क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय र आगामी एक सय दिनभित्र गर्न सकिने ठोस कार्यक्रमका सन्दर्भमा निर्देशन दिँदै उहाँले शारीरिक र मानसिक स्वास्थ्यका क्षेत्रमा निरोधात्मक र उपचारात्मक विधिलाई प्राथमिकता दिने गरी कार्यक्रम निर्माण गर्न निर्देश गर्नुभयो । 

प्रधानमन्त्रीले स्वास्थ्य क्षेत्रका जनशक्तिलाई आवश्यक सम्पूर्ण सेवा सुविधा उपलब्ध गराइ परिचालन गर्न पनि सुुझाव दिनुभयो । उहाँले स्वास्थ्य संस्थामा सञ्चालन हुने आकास्मिक सेवालाई प्रभावकारी बनाउन र चिकित्सक तथा स्वास्थ्यकर्मीलाई थप जिम्मेवार बनाउनका लागि आवश्यक व्यवस्था गर्न निर्देशन दिनुभएको थियो ।

स्वास्थ्य क्षेत्रका लागि अनावश्यक उपकरण तथा औषधि खरिद गर्ने र थन्क्याउने काम भइरहेको आफूलाई जानकारी प्राप्त भएको उल्लेख गर्दै प्रधानमन्त्रीले राज्यको स्रोत र साधनको दुरुपयोग अन्त्य गर्न निर्देशन दिनुभयो । 

“खरिद गरिएका उपकरण र औषधि प्रयोग भएनन् भने निजी क्षेत्र वा अन्य कुनै परोपकारी संस्थालाई पनि दिन सकिन्छ तर दुरुपयोग हुनुभएन, यसतर्फ विशेष ध्यान दिनुहोला”, निर्देशन दिँदै उहाँले भन्नुभयो ।  
त्यस अवसरमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल, म्ुख्यसचिव र सचिवलगायतको उपस्थिति थियो ।

देशभर मनसुनी वायुको प्रभाव,यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ, २५ साउन : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिण सरदरकै स्थानमा रहेको छ । आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  

आज राति पनि देशभर  आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

बजेटका कार्यान्वयनमा लाग्न कर्मचारीलाई मुख्यमन्त्रीको निर्देशन

कर्णाली-कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिन कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कर्मचारी ट्रेड युनियनका प्रतिनिधिहरुसँगको छलफलमा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनले मात्र नागरिक अपेक्षा पूरा हुने बताउनुभयो ।

“राजनीतिक नेतृत्वले नीति निर्माण गर्ने हो”, उहाँले भन्नुभयो, “त्यसको कार्यान्वयनमा कर्मचारीतन्त्रको महत्वपूर्ण भूमिका हुन्छ । पहिलो चौमासिकमै परिणाम देखाउने गरी काममा लाग्नुस् ।”

आफ्नो वृत्ति विकास, सरुवा र बढुवामा मात्र केन्द्रित नभई नागरिकका अपेक्षा पूरा हुने गरी सेवा प्रवाह गर्न मुख्यमन्त्री कँडेलले कर्मचारीलाई सुझाउनुभयो । सरकारका काम कारबाहीलाई जनताले अनुभूति गर्ने गरी सेवा प्रवाह गराउन सकिएमात्र सुशासन कायम हुने भन्दै उहाँले प्रदेश सरकारले कर्णालीमा कार्यरत कर्मचारीको मनोबल कमजोर हुन नदिने जिकिर गर्नुभयो । कर्णालीको समृद्धि र विकासका लागि नीति निर्माण र कार्यान्वयन तहबीचको सघन सम्बन्ध अपरिहार्य रहेको उहाँको भनाइ थियो । 

आज नागपञ्चमी, घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदै

    काठमाडौँ, २५ साउन : प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ ।

    नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो । वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा छ । वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।

    प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परा छ । उदयकालको पञ्चमी तिथी भएकाले आज दिनभर नै घरघरमा नाग टाँस्न सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक ज्योतिष पण्डित सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।

    काठमाडौँका नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा आज विशेषरुपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दूबो, खीर र रोटीलगायत परिकार प्रसाद चढाउने गरिन्छ ।

    नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेषनागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रुपमा मानिन्छ ।

    श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ । विष्णुको नवौंँ अवतारका रुपमा जन्म लिएका बुद्धको मूर्तिको शिरमा मुकुटाकारका रुपमा सर्पको आकृति छ । मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ । जैन तीर्थङ्करहरूको शिरमा समेत सर्पाकार मुकुट हुन्छ ।

    जुन घरमा नागको पूजा हुन्छ, त्यो घरमा लक्ष्मीको वास हुन्छ भन्ने मान्यता हाम्रो समाजमा सनातनदेखि छ ।

    नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न किंवदन्ती प्रचलित छन् । नागका बाह्र नाम भए पनि आठ कूलका आठ नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कोकट र शङ्ख गरी अष्टनागलाई आजको दिन (ब्राह्मण) पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ ।

    आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पलगायत घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ ।

    बाल्मिकी क्याम्पसका प्राडा देवमणि भट्टराई दूषित हावालाई निलेर वातावरण सन्तुलन गर्न उपकारीकार्य गरेकाले प्रत्येक वर्ष नागपञ्चमीका दिन नागको पुजाअर्चना गर्ने प्रचलन रहेको बताउनुहन्छ । “प्रदूषणयुक्त विषविषालु जीवलाई नागले पान गरेर चराचर जगत्लाई नै कल्याण गर्ने कुरालाई बुझेर ऋषिमुनीहरूले नागको पूजा गर्नुपर्छ भनेर पञ्चमी थिती निर्धारण गरे”, उहाँले भन्नुभयो ।

कास्कीमा डेङ्गी सङ्क्रमण बढ्यो, एकै दिन थपिए ४० बिरामी भेटिए

गण्डकी, २४ साउन : कास्कीमा बुधबार एकै दिन ४० जना डेङ्गी सङ्क्रमित भेटिएका छन् । योसँगै गत एक सातामा जिल्लामा ७५ जना डेङ्गीका बिरामी थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । गत पुस यता यहाँका तीन सय ६२ जनामा डेङ्गीको सङ्क्रमण भएको कार्यालय प्रमुख रामबहादुर नेपालीले जानकारी दिनुभयो ।

“समयमा नियन्त्रण गर्न नसके डेङ्गीले भयावह रुप लिन सक्छ”, उहाँले भन्नुभयो, “पोखरा महानगरभित्रका केही वडामा तीव्र रुपमा डेङ्गीको सङ्क्रमण फैलिएको छ ।” उहाँले डेङ्गीले मानिसको ज्यानैसम्म लिने भएकाले सामान्य रुपमा लिन नहुने बताउनुभयो । डेङ्गी रोकथाम र नियन्त्रणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्ने उहाँको भनाइ छ ।

यस रोगबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय भएको प्रमुख नेपालीले बताउनुभयो । चार प्रकारको भाइरसबाट मानिसमा डेङ्गी सङ्क्रमण हुने गरेको उहाँको भनाइ छ । समयमा उपचार नभए डेङ्गीबाट बिरामीको मृत्युसमेत हुन सक्ने प्रमुख नेपालीले बताउनुभयो । 

पोखरा महानगरपालिका डेङ्गीबाट बढी प्रभावित रहेको पोखरा महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले बताउनुभयो । उहाँका अनुसार जिल्लाभरिका सङ्क्रमित तीन सय ६२ मध्ये तीन सय १९ सङ्क्रमित पोखरा महानगरपालिकाभित्रका हुन् । सबैभन्दा धेरै वडा नं ८ मा १६ जनामा सङ्क्रमण देखिएको जनाइएको छ । 

गत वर्ष कास्कीमा तीन हजार ६९ जनालाई डेङ्गी लागेको थियो । तीमध्ये पोखरा महानगरपालिकामा दुई हजार आठ सय नौ थिए । “असारदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमणको जोखिम उच्च रहन्छ, यसबाट बच्ने उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो”, जनस्वास्थ्य निरीक्षक रेग्मीले भन्नुभयो । 

‘खोज र नष्ट गर’

डेङ्गी सङ्क्रमण बढ्न थालेपछि पोखरा महानगरपालिकाले ‘खोज र नष्ट गर’ अभियान सुरु गर्ने भएको छ । बिहीबार यहाँ आयोजित ‘डेङ्गी रोग रोकथाम तथा नियन्त्रणका लागि सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रियामा महानगर प्रमुख धनराज आचार्यले लामखुट्टेका सम्भावित बासस्थानको खोजी गरी नष्ट गर्ने अभियानमा सघाउन नगरवासीलाई आग्रह गर्नुभयो । 

उहाँले महानगरभित्रका सबै सरकारी कार्यालयले हरेक शुक्रबार बिहान १० देखि साढे १० बजेसम्म ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले महानगरभित्रका ४६ वटै स्वास्थ्य संस्थामा डेङ्गीको परीक्षण तथा उपचार सेवा निःशुल्क गरिएको बताउनुभयो । “डेङ्गीले कुनै पनि बेला भयावह रुप लिन सक्छ, हामी सबै सचेत र सतर्क रहनुपर्ने अवस्था छ”, प्रमुख आचार्यले भन्नुभयो, “आफ्नो घर, कार्यालय र सार्वजनिकस्थल सफा राखौँ, लामखुट्टेको टोकाइबाट जोगिऔँ ।”

डेङ्गीको फाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, ड्रम आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गर्नुपर्ने जनस्वास्थ्य निरीक्षक रेग्मीले बताउनुभयो । डेङ्गी ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने उहाँको भनाइ छ । यो लामखुट्टेले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा जन्माउने गरेको उहाँले बताउनुभयो । “डेङ्गी नियन्त्रणको प्रभावकारी उपाय भनेको घर वरपरि पानी जम्न नदिनु हो, यो लामखुट्टे जमेको सफा पानीमा बस्छ र दिउँसोमा मात्र मानिसलाई टोक्छ”, उहाँले भन्नुभयो । 

डेङ्गीको शङ्का लागेमा तुरुन्त परीक्षण गरी र आवश्यकताअनुसार उपचार सुरु गर्नुपर्ने जनस्वास्थ्य निरीक्षक पाण्डेले बताउनुभयो । स्वास्थ्य कार्यालयले लामखुट्टेको टोकाइबाट बच्न, घर वरिपरि पानी जम्ने ड्रम, खाली बट्टा, पुराना टायर, भाँडाकुँडा नराख्न र शरीर ढोक्ने गरी लुगा लगाउन सर्वसाधारणमा अनुरोध गरेको छ । डेङ्गीको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा गर्ने गरेको स्वास्थ्यकर्मी बताउँछन् । यो रोगको खास उपचार नभएकाले लक्षणअनुसार औषधोपचार गर्ने गरिएको छ ।

प्रधानमन्त्री ओली अभिनित चलचित्र ‘नमेटिने घाउ’ को ट्रेलर सार्वजनिक

काठमाडौँ, २५ साउन : एसिड आक्रमणमा परेका ३३ किशोरीको कथालाई समेटेर तयार गरिएको चलचित्र ‘नमेटिने घाउ’ को श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गरिएको छ । आज यहाँ नयाँबानेश्वरमा रहेको एक चलचित्र भवनमा पत्रकार सम्मेलन आयोजना गर्दै सार्वजनिक गरिएको श्रव्यदृश्यमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका दृश्यसमेत समावेश गरिएको छ ।

विसं २०७७ मा एसिड पीडितका लागि ल्याइएको अध्यादेशका कारण प्रधानमन्त्रीसहितका विशिष्ट व्यक्तिलाई चलचित्रमा अभिनय गर्न प्रस्ताव गरिएको निर्देशक, निर्माता तथा अभिनेता रमित ढुङ्गानाले बताउनुभयो । 

“म चलचित्रलाई वास्तविक रुपमै तयार गर्न चाहन्थे, सोही अनुरुप मैले विशिष्ट व्यक्तिलाई प्रस्ताव गरेँ । सामाजिक विषयवस्तु उठान गरिएको र एसिड आक्रमण जस्तो कार्यलाई जरैबाट निर्मूल गर्न यस्ता चलचित्र बन्नु जरुरी छ । प्रधानमन्त्रीले कला क्षेत्रलाई गर्ने मायाको यो एउटा सानो उदाहरण हो । विशिष्ट व्यक्तिबाट व्यस्त तालिकाबाट प्राप्त समय हाम्रो लागि अमूल्य छ”, अभिनेता ढुङ्गानाले भन्नुभयो । 

चलचित्रमा अभिनय गर्नुभएकी एसिड पीडित मुस्कान खातुनले समाज यस्ता अपराधलाई कम गर्न चलचित्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “एसिड आक्रमणको पीडा, पीडितले समाज र परिवारबाट खोज्ने साथ र राज्यले निर्वाह गर्नुपर्ने भूमिकालाई चलचित्रमा देखाइएको छ । यसले समाजलाई सचेत गर्छ भन्ने विश्वास छ ।”

चलचित्रमा प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र सांसद ज्ञानेन्द्र शाहीले पनि अभियन गर्नुभएको छ । शिवम् अधिकारीको कथा रहेको चलचित्रमा प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभातपाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह, सुरवीर पण्डित, सुनिल कटुवाललगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

 

खोटाङमा बाघ आतङ्क : नियन्त्रण गर्न डिभिजन वन कार्यालयलाई पत्राचार

खोटाङ, २४ साउन : जिल्ला प्रहरी कार्यालय खोटाङले बाघ नियन्त्रणका लागि डिभिजन वन कार्यालय खोटाङलाई पत्राचार गरेको छ । जिल्लाका विभिन्न स्थानीय तहका किसानले पालेका दुई दर्जन बढी पशुचौपाया बाघले खाएपछि नियन्त्रणका लागि प्रहरीले वन कार्यालयलाई पत्राचार गरेको हो ।

बाघ मार्ने अधिकार कसैलाई पनि नभएकाले नियन्त्रणका लागि डिभिजन वन कार्यालयलाई लिखित रुपमा पत्राचार गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभयो । “जङ्गलबाट गाउँ पसेको बाघले आतङ्क मच्याएको खबर जिल्लाका विभिन्न ठाउँका स्थानीय बासिन्दाबाट प्राप्त भएको छ । सबैभन्दा बढी केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित मामातिमका स्थानीय बासिन्दाको पशुचौपाया क्षति गरेको विवरण प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “बाघ संरक्षित जनावर हो । बाघ मार्ने अधिकार कसैलाई पनि छैन । त्यसैले नियन्त्रणका लागि विभिजन वन कार्यालय खोटाङलाई पत्राचार गरिएको हो ।”

जङ्गलबाट गाउँ पसेको बाघले यही साउन दोस्रो हप्तादेखि जिल्लाका विभिन्न स्थानीय तहका किसानले पालेका पशुचौपायामा क्षति गरेको प्रहरीले जनाएको छ । खोरमा राखिएको खसीबाख्रा तथा गोठमा बाँधेर राखिएका गाईभैँसीको बाच्छाबाच्छी÷पाँठापाँडी खान थालेपछि स्थानीय बासिन्दा आतङ्कित भएका छन् । 

बाघले जिल्लाका स्थानीय बासिन्दाको पशुचौपायामा गरेको क्षतिको विवरण सङ्कलन गर्न मातहतका वन कार्यालयहरूलाई पत्राचार गरिएको र क्षतिपूर्तिका लागि पहल सुरु गरिएको डिभिजन वन कार्यालय खोटाङका प्रमुख पशुपति दाहालले बताउनुभयो । “बाघ नियन्त्रण गर्ने जनशक्ति हामीसँग छैन । प्रहरीको पत्र आएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषलाई जानकारी गराएका छौँ”, उहाँले भन्नुभयो, “राष्ट्रिय प्रकृति संरक्षण कोषले कोशी टप्पु वन्यजन्तु आरक्षलाई खबर गरेको बुझिएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षले दक्ष जनशक्ति पठाएपछि प्रहरीसँगको समन्वयमा नियन्त्रणको काम शुरु गर्छौँ ।”

बाघले खार्ताम्छास्थित मामातिमका समला राईको एउटा बाख्रा, रञ्जित राईको दुईवटा बाख्रा, देवराज राईको दुईवटा बाख्रा, मिनालक्ष्मी राईको एउटा बाख्रा, भरत विष्टको एउटा बाख्रा, हर्काश खड्काको दुईवटा बाख्रा, कुमारी खड्काको दुईवटा बाख्रा, बुद्धिराज राईको चारवटा सुगुर खाएको छ । मामातिम टोलमा मारेको पशुचौपाया गाउँपालिकाको राष्ट्रपति महिला उत्थान तथा जीविकोपार्जन सुधार कार्यक्रमअन्तर्गत अनुदानबाट वितरण गरिएको वडाध्यक्ष वडाध्यक्ष मिलन राईले बताउनुभयो ।

साउन–२१ गते सोमबार राति बाराहापोखरी गाउँपालिका–१ का हाकिमध्वज राईको घर छेउको गोठमा एउटा खसी मार्नुका साथै गोठमा राखिएको अर्को खसी करिब पाँच सय मिटर तल लगेर आधा खाएको अवस्थामा फेला परेको स्थानीयले बताएका छन् । त्यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाडाँगाउँस्थित आरुबोटेका कृष्ण कार्कीको दुईवटा बाख्रा र एउटा खसी सोही दिन मार्नुका साथै एउटा खसी घाइते बनाएको छ ।

साउन–१९ गते हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका भीममायाँ चौहानको घरमा बाहिर बाँधेको कुकुर मारेको थियो । त्यसैदिन उक्त गाउँकै पशुपति भण्डारीको खोरमा बाँधेर राखिएको एउटा खसी मारेको र साउन–१८ गते दिउँसो चराउन जङ्गल लगेको बेला त्यही गाउँका देवीबहादुर कार्कीको एउटा बोका खाएको प्रहरीले जनाएको छ ।