`

फिल्म नरसिंहाः अवतारुको निर्माण घोषणा

काठमाडौं । निर्देशक दिवाकर भट्टराई निर्देशन गर्न लागेको आगामी फिल्म नरसिंहाः अवतारुको निर्माण घोषणा गरिएको छ । निर्माणपक्षले फिल्मको घोषणा गरिएसँगै थिम पोस्टर पनि सार्वजनिक गरेको छ ।

थिम पोस्टरले युद्धको सङ्केत गरेको छ । थिम पोस्टरमा रातो र निलो रङ प्रयोग छ । दायामा रातो ९आगो० र दायातर्फ निलो समुद्रको रङ छ । यसले फिल्मको कथा युद्ध र शान्तिको हुने संकेत गरेको छ । साथै पोस्टरमा नरसिंहाको उग्र अवतार छ ।

नरसिंहाको अर्थ ( भगवान विष्णुको उग्र अवतार हो। नरसिंह रूप यो दश अवतार मध्ये चौथो अवतार हो। नरसिंह नामका अनुसार यस अवतारमा भगवानको आधा पुरुषको र आधा शरीर सिंहको धारण गरेका थिए । दैत्य हिरण्यकश्यपले भगवानसँग तपस्या गरेका थिए र चलाखीपूर्वक वरदान मागेका थिए। त्यसपछि सबै देवताहरूले शिवको शरण लिए र नरसिंहको क्रोध शान्त गर्ने कुरा गर्न थाले। नरसिंहको क्रोध शान्त गर्न शिवले सर्वेश्वरको अवतार लिनु परेको थियो । दुवैबीच १८ दिनसम्म युद्ध चल्यो र १८औँ दिनमा भगवान नरसिंहले थाकेर आफ्नो प्राण त्याग गरेका थिए ।

शान्तिका लागि द्वन्द्व हुने थिम पोस्टरले संकेत गरेको यसले पनि चलचित्र द्वन्द्वप्रधान हुने प्रष्ट छ । आगो र पानीले आफ्नो अस्तित्व एकै ठाउँमा रहेर जोगाउन सक्दैनन् । त्यसैले यो लगाईंमा कसले जित्छ भन्ने हो । त्यसैले यसमा भरपुर एक्सन हुने अनुमान लगाउन सकिन्छ ।

यही फिल्मबाट महानायक राजेश हमाल कमब्याक गर्दै छन्। महानायक हमाल लामो समयको ब्रेकपछि फिचर फिल्ममा अभिनय गर्ने निर्णयमा पुगेका हुन् । यो फिल्मका लागि आइतबार हमालले निर्माणपक्षसँग कागजी सम्झौता पनि गरेका थिए ।

महानायक हमाल सेतो पर्दामा नदेखिएको आठ वर्षभन्दा धेरै भइसकेकाले यो फिल्म उनीसँगै दर्शक दुवैका लागि विशेष हुने पक्का छ । हमाल लामो समय फिल्मबाट अलग हुँदा दर्शकले उनलाई ठूलो पर्दामा खोजिरहेका छन् । त्यसैले दर्शक र राजेश दुवैका लागि यो फिल्म विशेष हुनेछ ।

लामो समयको अन्तरालपछि हमाल दिवाकरको फिल्मबाट दर्शकमाझ फर्किन लागेका हुन् । त्यसैले यो फिल्म प्रतिक्षित बन्ने निश्चित छ ।

क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने चलचित्रको जानरा खुलाइए पनि निर्माणपक्षले कथाबारे केही जानकारी गराएको छैन । हमालको अपोजिटमा नायिका को हो, अन्य मुख्य कलाकार को–को हुन्, निर्माता को हो भन्नेबारे पनि निर्देशकले केही खुलाएका छैनन् । थिम पोस्टर पनि यसमा मौन छ । फिल्मको लगानी भने तीन करोडभन्दा माथि हुने बताइएको छ ।दिवाकर भट्टराई निर्देशित फिल्म ‘मायावी’ प्रदर्शनको तयारीमा छ ।

आँखा चिकित्सक डा सन्दूक रुइतलाई एक लाखसहित सम्मान

मोरङ, २४ साउनः प्रसिद्ध आँखा चिकित्सक डा सन्दूक रुइत र सनातन धर्म शङ्करराचार्य पीठ वेद वेदवेदाङ्ग संस्कृत पाठशाला झापालाई आज यहाँ एक समारोहबीच सम्मान गरिएको छ ।पूर्वप्रधानमन्त्री नगेन्द्र प्रसाद–आशालता रिजाल प्रतिष्ठान विराटनगरद्वारा स्थापित रु एक लाख राशिको ज्ञान विज्ञान पुरस्कार डा रुइतलाई र रु एक लाख राशिको धर्म संस्कृति पुरस्कारबाट संस्कृत पाठशालालाई प्रदान गरिएको हो ।

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले पुरस्कार प्रदान गर्दै आँखा उपचार क्षेत्रमा स्वदेश तथा विदेशमा ठूलो योगदान दिनुभएका डा रुइतप्रति नेपाली जनता गौरव अनुभूति गरेको बताउनुभयो । उहाँले हाम्रो देशमा विविध जातजाति, भाषासंस्कृति बसोबास गर्ने नागरिकबीच आपसी मेलमिलाप, एकता र धार्मिक सहिष्णुताबाट मुलुक र समाजमा समृद्धि कायम हुने विचार राख्नुभयो ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले मुलुकको नाम विश्वमा फैलाउन सफल हुनुभएका डा रुइतलाई सम्मान गर्न पाउँदा निकै खुशी लागेको बताउनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सीमित स्रोत साधनको अधिकतम उपयोग गरी नागरिकलाई स्वास्थ्य सेवा एवं नगरको विकासकार्य गरिरहेको विचार व्यक्त गर्नुभयो ।

सम्मानित व्यक्तित्व डा रुइतले यस सम्मानबाट आफू खुशी भएको उल्लेख गर्दै जनताको अकाल मृत्युलाई जोगाउन सरकारले आवश्यक अनुगमनसहित गुणस्तरीय सवारी साधन र हवाई यातायातको प्रयोग गर्नुपर्ने सुझाव दिनुभयो ।

प्रतिष्ठानका अध्यक्ष इन्दिरा रिजाल, सम्मानित सस्कृत पाठशालाका प्राचार्य लक्ष्मी खतिवडा र अच्युत प्रपन्नचार्य र प्राडा हरिप्रसाद अधिकारीले समाजमा धर्म संस्कृतिको रक्षा गर्न हामीसबै लाग्नुपर्नेमा जोड दिनुभयो ।स्व रिजाल विस २०३० र २०४२ मा गरी दुईपटक प्रधानमन्त्री हुनुभएको थियाे ।

परराष्ट्रमन्त्री देउवासँग बेलायती राजदूतको शिष्टाचार भेट

काठमाडौँ, २४ साउन : परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि बेलायतका राजदूत रोबर्ट फेनले आज मन्त्रालयमा शिष्टाचार भेट गर्नुभयो ।

त्यस अवसरमा नेपाल बेलायत सम्बन्धका विविध पक्षका साथै आपसी हित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । सन् १८१६ देखि सुरु भएको नेपाल र बेलायतबीचको औपचारिक सम्बन्ध त्यसबेलादेखि नै सौहार्दपूर्ण रहीआएको छ ।

रुसमा युद्धका क्रममा मृत्यु भएका पाँच नेपालीको अस्तुधातु परिवारलाई हस्तान्तरण

काठमाडौँ, २४ साउनः रुसी सेनामा भर्ती भई युद्धका क्रममा मृत्यु भएका पाँच नेपाली नागरिकको रुसमै दाहसंस्कार गरी अस्तुधातु परिवारजनलाई हस्तान्तरण गरिएको छ । युद्धमा मृत्यु भएका देवान राई, हरिप्रसाद अर्याल, प्रितम कार्की, अनितकुमार साह र गणेश श्रेष्ठको परिवारका सदस्यबाट सहमति लिई उतै दाहसंस्कार गरी अस्तुधातु नेपाल ल्याएर परिवारलाई आज सम्पर्क÷हस्तान्तरण गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार रुसी सेनामा भर्ती भई समस्यामा परेका नेपाली नागरिक मध्ये सम्पर्क मै नरहेका भनी खोजी र फिर्ताका लागि परिवारबाट निवेदन दिएको सङ्ख्या एक सय १८ जना रहेको छ । त्यस्तै घाइते वा अन्य कारणले फिर्ता गराईदिन अनुरोध गरिएकाको सङ्ख्या एक सय ६६ रहेको मन्त्रायलले जनाएको छ । रुसी सेनामा भर्ती भएकामध्ये हालसम्म ३६ जनाको मृत्यु प्रमाणित भैसकेको छ ।

रुसी सेनामा भर्ती भएका नेपाली नागरिकमध्ये घाइते भई उपचारत रहेको जानकारी प्राप्त भएको सङ्ख्या पाँच (घाइते मध्ये एक जना नेपाल फिर्ता भइसकेको) छ । हालसम्म स्वदेश फर्किएकाको सङ्ख्या १६२, डिएनए परीक्षणका लागि अनुरोध भई आएको सङ्ख्या २२, र क्षतिपूर्तिका लागि नेपाल राजदूतावास, मस्कोबाट, कागजात माग भई आएको सङ्ख्या छ जना रहेको मन्त्रालयले जनाएको छ ।  

यसैगरी मोरङका विकाश राई, कास्कीका नेत्रबहादुर थापा, रुपन्देहीका उदयराज थारु, भोजपुरका प्रितम राई, दार्चुलाका ललित सिंह डोवाल, कैलालीका हेमकुमार मगर, सल्यानका ताराप्रकाश घर्ती र रुकुमका रामकुमार बुढा मगरको नेपाली राजदूतावासबाट मृत्य प्रमाणित भएर आउन बाँकी रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

रुसी सेनामा भर्ती भएकामध्ये युद्धका क्रममा विवेक खत्री (वर्दिया), सिद्धार्थ ढकाल (काभ्रे), विकास राई (मोरङ), प्रतिक पुन (रोल्पा), सुजन सुवेदी (चितवन), ईश्वर लामिछाने (मकवानपुर) हालसम्म यूक्रेनी सेनाको कब्जामा छन् ।

एसइईमा कम्तीमा ७० प्रतिशत उत्तीर्ण हुने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जीवनोपयोगी र स्तरीय शिक्षाको सुनिश्चित हुने गरी ठोस कार्ययोजना ल्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देश गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार शिक्षा क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय र आगामी एक सय दिनभित्र गर्न सकिने ठोस कामका सन्दर्भमा निर्देशन दिँदै उनले शिक्षामा प्राविधिक धारको हिस्सा ७० प्रतिशत हुनुपर्ने उल्लेख गरे।

‘जति पढे पनि कुनै क्षेत्रमा काम गर्ने सीप छैन भने त्यस्तो जनशक्ति प्रयोगबिहीन हुन्छ भने रोजगारी पनि नपाउने सम्भावना हुन्छ, त्यसैले सीपमुलक जनशक्ति उत्पादनमा ध्यान दिन म निर्देशन दिन्छु’, उनले भने, ‘उच्च आचरणयुक्त जनशक्ति तयार गर्न आवश्यक भएकाले सोहीअनुसार नीति निर्माण र कार्यान्वयन गर्नुहोस्।’ वर्तमान सन्दर्भमा मुलुकमा समाज बनाउने खालको जनशक्ति उत्पादन गर्ने शिक्षा आवश्यक भएको उनको भनाइ थियो।

प्रधानमन्त्रीले विद्यालय तहमा भर्नादर बढाउने, ‘ड्रपआउट’ घटाउने र शिक्षाको गुणस्तर बढाउने गरी काम गर्न आवश्यक भएको उल्लेख गर्दै आगामी वर्षको एसइईमा कम्तीमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी काम गर्न निर्देशन दिए।

‘एसइईमा कम्तीमा पनि ७० प्रतिशत विद्यार्थी गर्ने लक्ष्य निर्धारण गरी काम गर्नुहोस्, यसका लागि स्मार्ट शिक्षक छनोट, निःशुल्क इन्टरनेट र अनलाइन कक्षा सञ्चालनको तयारी गर्नुहोस्’, उनले भने।

उनले त्रिभुवन विश्वविद्यालयमा हालै सम्पन्न सिनेट बैठकमा तत्काल जरुरी भएको ग्रेस लिस्ट र बजेट पारित गर्न पदाधिकारीहरुसँगको गृहकार्यका आधारमा आफूले सहमति दिएको उल्लेख गरे।

विश्वविद्यालयको कुलपतिका हैसियतमा आफूलाई नीति तथा कार्यक्रम अघिल्लो दिन मात्रै उपलब्ध गराइएकाले अध्ययन गर्न नभ्याइएको र नीति तथा कार्यक्रमसम्बन्धी सिनेटको अर्को बैठक पदाधिकारीहरुकै सहमतिमा चाँडै बस्ने समेत उनले जानकारी दिए।

प्रधानमन्त्री ओलीले विज्ञान र प्रविधिलाई उच्चतम प्रयोगमा जोड दिन आवश्यक रहेको उल्लेख गर्दै यससम्बन्धी ठोस कार्यक्रम बनाउन पनि निर्देशन दिए।

‘नागरिकको स्वास्थ्यको सुरक्षा, शुद्धता परीक्षण र प्रमाणिकरण गर्ने, निरोगी नेपालको अवधारणालाई सहयोग गर्ने, गरिबी घटाउने, कृषि र उद्योगका क्षेत्रमा विज्ञान र प्रविधिको प्रयोग बढाउने गरी काम गर्ने गरी ठोस कार्यक्रम बनाएर अघि बढ्नुहोस’, उनले भने।

त्यसअवसरमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई, नेपाल सरकारका मुख्यसचिव लिलादेवी गड्तौला र सचिवद्वय डा दीपक काफ्ले र विश्वबाबु पुडासैनीलगायतका पदाधिकारीहरु थिए।

युक्रेनले आफ्नो अग्रपङ्क्तिमा रोबोट कुकुर परिचालन गर्ने

युक्रेनले चाँडै नै रुसी खाडलहरूमा जासुसी गर्ने वा बारुदी सुरुङ पत्ता लगाउने जस्ता खतरनाक मिसनका लागि सैनिकहरूको स्थानमा रोबोट कुकुरहरूलाई आफ्नो अग्रिम पङ्क्तिमा परिचालन गर्न सक्छ ।

युक्रेनको अज्ञात स्थानमा भएको प्रदर्शनमा मोडल ‘ब्याड वन’ भनेर चिनिने धातुको कुकुर उसको अपरेटरले पठाएको आदेशअनुसार उभियो, झुक्यो, दौडियो र कुद्यो ।  यसका निर्माताहरूका अनुसार गुपचुप रहने र फुर्तिला यी कुकुरहरू रुसी आक्रमणलाई पछाडि धकेल्न जनशक्तिको अभाव भएको युक्रेनी सेनाका लागि अग्रपङ्क्तिमा अमूल्य सहयोगी बन्न सक्छन् ।

जमिनमा तल पत्ता लगाउन मुस्किल हुनाले रोबोट कुकुरले थर्मल इमेजिङ प्रयोग गरेर शत्रुका खाडलहरू वा युद्ध क्षेत्रमा भवनहरूभित्र निरीक्षण गर्न सक्छन् । 

“हामीसँग निगरानी सैनिक छन् जसलाई सर्वेक्षण मिसनमा पठाइन्छ, उनीहरू प्रायः धेरै उच्च प्रशिक्षित हुन्छन्, अत्यन्त अनुभवी मानिस सधैँ जोखिममा हुन्छन्”, सैन्य उपकरण उपलब्ध गराउने बेलायती कम्पनीमा काम गर्ने तथा आफूलाई ‘युरी’ बताउने अपरेटरले भने, “यी कुकुरहरूले सैनिकहरूका लागि जोखिमलाई सीमित गर्दछन् र परिचालन क्षमतालाई बढाउँछन्, यो कुकुरको प्रमुख कार्य हो ।”

‘ब्याड टु’ का रूपमा चिनिने अर्को उन्नत मोडललाई सुरक्षाका कारण देखाउन सकिएन । प्रदर्शनमा प्रयोग गरिएको उपकरणमा भएको बेट्रीले यसलाई दुई घन्टासम्म चलाउन सक्छ । 

बारुदी सुरुङ वा तात्कालिक विस्फोटक उपकरणहरू पत्ता लगाउन उपयोगी यी रोबोट कुकुरलाई सात किलोसम्मको गोलाबारुद वा औषधिहरू युद्धको मैदानमा तातो स्थानहरूमा लैजान पनि प्रयोग गर्न सकिन्छ । 

“हामीले युुक्रेनमा कति यस्ता कुकुरलाई तैनाथ गर्यौँ म भन्न सक्तिनँ”, युरीले भने, “तर यसले अपरेसनमा महत्त्वपूर्ण प्रभाव पार्नेछ र सैनिकहरूको सुरक्षामा वृद्धि गर्नेछ ।”   उनका अनुसार यदि रोबोट कुकुर रुसीको हातमा पर्यो भने आपत्कालीन स्वीचले अपरेटरलाई यसका सबै तथ्याङ्क मेटाउन अनुमति दिनेछ ।

बागलुङ पहिरो : थप दुई जनाको शव फेला, एक जना अझै बेपत्ता

ढोरपाटन (बागलुङ), २४ साउन : गत मङ्गलबार बिहान बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटामा खसेको पहिरामा परेर बेपत्तामध्ये थप एक जनाको शव फेला परेको छ । एक जना अझै बेपत्ता छन् । पहिरामा परेर बेपत्ता ११ वर्षीय मनोज बुढाको शव बिहीबार साँझ फेला परेको हो ।

एघार वर्षीय सुमन थापा अझै बेपत्ता रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गतले जानकारी दिनुभयो । पहिराले घर पुरिँदा बेपत्ता भएका थापाको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरी खोजी कार्य भइरहेको उहाँको भनाइ छ ।

पहिरोले घर पुरिँदा स्थानीय ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय यमलाल विक, ११ वर्षीया सीता पुन, आठ वर्षीया अमल बुढा, सञ्जु विककी छ महिने छोरी सीता विक र ७० वर्षीया मैतीदेवी विकको शव मङ्गलबार नै फेला परेको थियो । तीन वर्षीय आरुस थापाको शव बुधबार दिउँसो भेटिएको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो । आज दुई जनाको शव फेला परेको उहाँको भनाइ छ । बिहान सात वर्षीया मधु बुढाको शव फेला परेको थियो भने केही बेर अगाडि मनोज बुढाको शव फेला परेको अध्यक्ष अधिकारी बताउनुहुन्छ । 

अध्यक्ष अधिकारीका अनुसार पहिरामा परी घाइते भएका १० जनामध्ये १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया सङ्गीता बुढाको अवस्था गम्भीर भएको हुँदा हेलिकप्टरमार्फत उपचार गर्न काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार हुँदैछ । 

प्राथमिकताका आधारमा बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ, २४ साउन : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोजनाको प्राथमिकता निर्धारण गरेर बजेट कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।
मन्त्रालयका सचिव, योजना र बजेट महाशाखाका प्रमुखसँग आज अर्थ मन्त्रालयमा भएको छुट्टा–छुट्टै छलफलमा अर्थमन्त्री पौडेलले आज सम्बन्धित राष्ट्रिय गौरवका आयोजना र अध्ययन सम्पन्न भएका, प्राथमिकता प्राप्त आयोजनालाई उच्च प्राथमिकता दिएर बजेट कार्यान्वयन गर्न निर्देशन दिनुभयो ।

यसैगरी राम्रो प्रतिफल दिने, सङ्घीय सरकारको कार्यक्षेत्र अन्तर्गतका र निर्माणाधीन आयोजनालाई अघि बढाउनुपर्नेमा जोड दिँदै उहाँले अध्ययन गरेर प्राथमिकीकरण गरी बजेट कार्यान्वयन गर्दा स्रोत साधनको सही सदुपयोग हुने बताउनुभयो ।

अर्थमन्त्री पौडेलले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय, सहरी विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव, योजना र बजेट महाशाखाका प्रमुखसँग छलफल गर्नुभएको थियो ।

खानेपानी मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालयका सचिव, योजना र बजेट महाशाखाका प्रमुखसँग छलफल गर्नु भएको थियो ।

बाँकेमा स्कुलबसको ठक्करबाट २६ वर्षीय गोविन्दको घटनास्थलमै मृत्यु

नेपालगन्ज २४ साउनः बाँकेको राप्तीसोनारी गाउँपालिका–९ झिझरी खोला नजिक आज बसले ठक्करबाट एक जनाको घटनास्थलमा मृत्यु भएको छ । कोहलपुरको चप्परगौडीस्थित ज्ञानकुञ्ज लिटिल बोर्डिङ स्कुलको बसले स्थानीय २६ वर्षीय गोविन्द ओलीलाई ठक्कर दिँदा उनको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

बसको ठक्करबाट उनले चराउन लगेका १३ बाख्रासमेत मरेका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ ख ४५७० नम्बरको बसले ओलीलाई ठक्कर दिएको प्रहरीको भनाइ छ ।

नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको २४ लाखसहित पाँच भारतीय पक्राउ

नेपालगञ्ज, २४ साउनः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० राँझास्थित नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको रु २४ लाखसहित पाँच भारतीय नागरिक पक्राउ परेका छन् । विमानमार्फत काठमाडौँ जान लागेका भारतीय नागरिक प्रकाशनारायण गुप्तासहितका पाँच जनाको टोलीबाट उक्त रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भारतको सीतापुर जिल्ला कोतवालीका ४३ वर्षीय अजय मिश्रा, ४५ वर्षीय आशीष गुप्ता, ३९ वर्षीय पङ्कज जैसवाल र ४६ वर्षीय बीमल गुप्ता पक्राउ परेका छन् । उनीहरुलाई जिल्ला अदालत बाँकेबाट चार दिनको म्याद थप गरी हुण्डी कारोबारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रनाउ डाँगीले बताउनुभयो । 

एभरेष्ट महिला फ्रेन्चाइज भलिबल लिगको पहिलो सिजनका लागि ६ सहभागी टोलीहरूको घोषणा

काठमाडौँ, २४ साउनः नेपालमा पहिलो पटक आयोजना हुन लागेको महिला भलिबल फ्रेन्चाइज लिग एभरेष्ट वुमन्स भलिबल लिग टोलीको नाम आज सार्वजनिक भएको छ । इन्फिनिटी ड्रिम्सद्वारा यहाँ आयोजित कार्यक्रममा प्रतियोगितामा विभिन्न छ फ्रेन्चाइज टोलीको सहभागिता हुने जानकारी दिइयो । जसमा काठमाडौँ, ललितपुर, गण्डकी, चितवन, कर्णाली र मधेसबाट टिम राखिएको छ ।

इन्फिनिटी ड्रिम्सले महिला फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल सङ्घसँग सात वर्षका लागि यसअघि नै सम्झौता गरिसकेको छ । लिग गरेवापत कम्पनीले भलिबल सङ्घलाई वार्षिक रु २५ लाख दिनेछ । उक्त प्रतियोगिताको मिति भने सार्वजनिक गरिएको छैन । 

आयोजक इन्फिनिटी ड्रिम्सका प्रबन्ध निर्देशक आमिर अख्तरले केही दिनमै मिति सार्वजनिक पनि गरिने जानकारी दिनुभयो । त्यस्तै फ्रेन्चाइज टोलीले केही दिनमै आ–आफ्नो टोलीको नाम सार्वजनिक गरिने बताइएको छ । कार्यक्रममा मधेसले भने आफ्नो टोलीको नाम मधेस युनाइटेड राखेको जानकारी दिइयो । 

प्रतियोगिताको लागि प्रत्येक टोलीमा १२ जना खेलाडी हुनेछन् । त्यसमा नौ जना नेपाली र तीन जना विदेशी खेलाडी रहने आयोजकले जनाएको छ । 

फुटबलः मछिन्द्र र पुलिसको खेल बराबरीमा सकियो

काठमाडौँ, २४ साउनः राजधानीमा जारी ललित स्मृति एन्फा यु–१८ युथ लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको मछिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लबबीचको खेल बराबरीमा सकिएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदान आज भएको खेलमा दुवै टोलीले ३–३ गोलको बराबरी खेल्दै एक–एक अङ्क बाडेका छन् । खेलसँगै आठ खेलमा १५ अङ्क जोडेको मछिन्द्र चौथो स्थानमा छ । त्यस्तै समान आठ खेल खेलेको पुलिस २० अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा छ । 

आजको खेलमा मछिन्द्रका लागि पदम तामाङ, प्रशान्त मेन्याङ्बो र रोनिक रानामगरले गोल गरे भने पुलिसका लागि विक्रम गौतम, कप्तान सुवास बम र सुजलमान घलेले समान एक÷एक गोल गरे ।

खेलको ३०औँ मिनेटमा पदमको गोलमार्फत मछिन्द्रले अग्रता लिएको थियो । त्यसपछि खेलको ५४औँ मिनेटमा प्रशान्तले टोलीको अग्रता दोब्बर बनाए । पुलिसका खेलाडी विक्रमले खेलको ७५औँ मिनेटमा गोल गर्दा खेल २–१ को स्थितिमा रहेको थियो । 

त्यस्तै मछिन्द्रका रोनिकले खेलको ७७औँ मिनेटमा गोल गर्दै खेललाई ३–१ ले अगाडि बढाए । अनिश थिङले खेलको ७९औँ मिनेटमा दोहोरो पहेँलो कार्ड बेहोर्दै मैदान छाडेपछि मछिन्द्र १० खेलाडीमा सीमित बनेको थियो ।

 खेलको निर्धारित समय सकिन पाँच मिनेट बाँकी छँदा पुलिसका सुवासले खेललाई ३–२ को स्थितिमा ल्याए । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा सुजलमानले गोल गरेपछि खेल तीन÷तीन गोलको बराबरीमा सकियो । 

कांग्रेस बैठकमा विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौँ, २४ साउनः नेपाली कांग्रेसको बुधबारदेखि सुरु केन्द्रीय कार्यसमितिको बैठकमा आज विभिन्न ११ प्रस्तावमाथि छलफल प्रारम्भ भएको छ ।पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भएको बैठकमा बुधबार उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले ११ प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

आजको बैठकमा केन्द्रीय सदस्यहरू मानबहादुर विश्वकर्मा, पुष्पा भुसाल, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कण्डेल, डा डिला सङ्ग्रौला, किरणराज शर्मा पौडेल, राजीव कोइराला, मानबहादुर नेपाली, राजेन्द्रकुमार केसी, गुरू बराल, कान्तिका सेजुवाल, भरतकुमार शाह, सीतादेवी देवकोटा र शारदा पौडेल, आमन्त्रित सदस्य नारायणी रायमाझी र प्रदेश सभापतिहरू उद्धव थापा (कोशी), कृष्णप्रसाद यादव (मधेस), ईन्द्रबहादुर बानियाँ (बागमती), शुक्रराज शर्मा (गण्डकी), अमरसिंह पुन (लुम्बिनी), ललितजङ्ग शाही (कर्णाली) र बीरबहादुर बलायर (सुदूरपश्चिम)ले धारणा राख्नुभएको थियो ।

बैठकमा महासमिति बैठकबाट पारित प्रस्ताव, राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा भएको सहमति, १०० दिने साङ्गठनिक अभियान (भदौ १५-मंसिर २५), अनुशासनको कारवाहीका लागि भएका सिफारिस, पार्टीका विभिन्न तहमा रिक्त स्थानका पदपुर्ती, भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्था र निर्देशक समिति लगायत कार्यसम्पादनका निर्णय, क्रियाशील सदस्यता वितरण (नयाँ र नवीकरण) प्रक्रिया, जनसम्पर्क समिति, नियमावली संसोधन प्रस्ताव, कांग्रेस ‘जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका, २०८१’ र समसामयिक राजनीति र अन्य विविध विषयसम्बन्धी प्रस्ताव पेस गरिएको छ ।

केन्द्रीय कार्यसमितिको बैठक भोलि साउन २५ गते शुक्रबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

‘नम्बरी सुन’मा मुखिया चरित्रमा देखिँदै अभिनेता सरोज खनाल

काठमाडौं । अभिनेता सरोज खनाल फिल्म ‘नम्बरी सुन’मा मुखिया चरित्रमा देखिँदैछन् । उनको अनुभवमा ‘पञ्चायत’, ‘मोदीबेनी’मा निभाएका यस्तै चरित्र भन्दा ‘नम्बरी सुन’को चरित्र फरक छ ।‘नम्बरी सुन’मा मेरो युवावस्थादेखि वृद्धावस्थासम्मको गेटअप छ । अघिल्ला फिल्ममा मलाई बुढो मुखियाका रुपमा देखाइएको थियो । तर नम्बरी सुनमा फरक युवा गेटअपमा देखिन्छ’, सरोज भन्छन् ।

‘नम्बरी सुन’मा आफ्नो चरित्र क्रुर नभएको सरोजको भनाई छ । ‘मेरो क्यारेक्टर सुरुमै क्रुर छैन । फिल्ममा मुखियाको एउटा मायालु परिवार छ । उसले परिवारसँगै गाउँका सबैलाई माया गर्छ । फिल्मले सुन बनाउन आउनेको इतिहास बोल्छ । सुन बनाउने कामको सुरुवात मेरै घरबाट हुन्छ’, सरोज भन्छन्, ‘विस्तारै कथा अगाडि बढ्दै गएपछि समय र परिस्थितिले उसलाई केही क्रुर पनि बनाउँछ । फिल्ममा म कमलो हृदयको मान्छे पनि छु । ट्रेलरमा हेर्नुभयो होला कि म ३,४ ठाउँ नराम्ररी रोएको छु । क्रर मान्छे त्यसरी कहिल्यै पनि रुँदैन ।’

सरोजका अनुसार ‘रियल’मा आफू मुखिया जस्तो नदेखिए पनि ‘रिल’मा भने त्यस्तो क्यारेक्टर निभाउँदा उनलाई मज्जा लाग्दो रहेछ । ‘कलाकारको पहिचान भनेकै त्यही हो । अब जस्तो देखिन्छु, त्यस्तै देखाउनु, त्यस्तै गर्नु, अथवा मलाई सजिलो हुने जनराको फिल्ममात्रै मैले गर्नु भनेको त म कलाकार नै होइन नि’, उनी भन्छन् ।

सरोजको अनुभवमा उनीसँग कतिपय निर्देशक रिसाएका रहेछन् । ‘म काम गरेको हिसाबले न्याय दिने कोशिस गर्छु । कति निर्देशक मसँग रिसाउनु पनि हुन्छ । यो मान्छेलाई लियो भने त्यहाँ ओभरटेक गर्न खोज्छ भन्ने उहाँहरुको बुझाई छ’, सरोज भन्छन्, ‘हामी भलै क्यारेक्टर रोल गरिरहेका छौं, तर त्यो क्यारेक्टर यस्तो क्योक्टर हो, जसले मेन क्यारेक्टरलाई बुस्ट अप गर्छ । हामी नभई त्यो मान्छे फिल्मको मेन क्यारेक्टर हुनै सक्दैन । हामी लुज भयौं भने फिल्म पुरै लुज हुन्छ । फिल्ममा काम गरेको झण्डै ४० वर्ष भइसक्यो । कस्तो गर्दा राम्रो हुन्छ भनेर कसैले सल्लाह लिनुहन्छ भने दिइन्छ । हैन ‘मेरै गोरुको बाह्रै टक्का’ भन्ने निर्देशक पनि हुनुहुन्छ, उहाँहरुले जे भन्नुुन्छ त्यो पनि गर्दिन्छु ।’

सरोजलाई फिल्म ‘पञ्चायत’ बिग्रिएकोमा धेरै चित्त दुखेको रहेछ । ‘केही फिल्म व्यापक तरिकाले खिच्न पाएको भए अझ राम्रो हुन्थ्यो कि जस्तो लाग्छ । यसमा पञ्चायत पनि पर्छ । यो फिल्म बिग्रिएकोमा सधैं चित्त दुख्छ । किनभने त्यस्तो क्यारेक्टर सितीमिती पाइँदैन । त्यस्तो फिल्म बन्दैनन् । फिल्म निर्देशक शिवम अधिकारीले अलिक गम्भीर रुपले बनाइदिनुभएको भए त्यो फिल्म एउटा ‘कोशेढुंगा फिल्म’ बन्थ्यो’, सरोज गुनासिन्छन् ।

हवाई उडानलाई सुरक्षित बनाउन सरकारले विशेष निर्णय गर्छः पर्यटनमन्त्री पाण्डे

काठमाडौँ, २४ साउनः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको हवाई उडानलाई सुरक्षित बनाउन सरकारले विशेष निर्णय लिने बताउनुभएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिनुहुँदै उहाँले  हवाई सुरक्षाको एकीकृत समाधानका लागि नीतिगत, कानुनी, संरचनागतलगायतका विषयमा अध्ययन गरी सरकारले चाँडै आवश्यक निर्णय लिने उल्लेख गर्नुभयो ।     विभिन्न समयमा गठन भएका विभिन्न समितिका प्रमुखसँग छलफल गरी छिट्टै विशेष निर्णय लिइने उहाँले बताउनुभयो । 

पर्यटनमन्त्री पाण्डेले आफ्ना लागि पद ठूलो र दुर्लभ नभएको उल्लेख गर्दै समग्र उडड्यन क्षेत्रका समस्या समाधान गर्न कार्ययोजना निर्माण गरिरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “मैले मन्त्री पदलाई कुनै ठूलो र दुर्लभ पद ठानेको छैन । म आफ्नो ईमान र मेहनतको भरमा काम गरिरहेको छु । अहिले मन्त्रालय मातहतका बेथिती र विसङ्गति हटाउन दैनिक १८ घण्टा काम गरिरहेको छु । म आफूलाई विकृतिको डुङ्गुरमाथि उभिएको महसुस गरेको छु ।”

पर्यटनमन्त्री पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजन विधेयकलाई अगाडि बढाउने गरी मन्त्रालयले काम गरिरहेको पनि जानकारी दिनुभयो । प्राधिकरणलाई नियामक र सेवा प्रदायकका रुपमा छुट्याउने विधेयक राष्ट्रिय सभाबाट पारित भइसकेको छ । उहाँले एक÷दुई दिनमै उक्त विधेयकलाई अगाडि बढाउनेमा विश्वास दिलाउनुभयो ।

जनताका सेवामा समर्पित भएर जिम्मेवारीमा इमान्दारिपूर्वक खटिन महानिरीक्षक कुँवरको निर्देशन

ठमाडौँ, २४ साउनः प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सङ्गठनको प्रतिष्ठा र बर्दीको इज्जत बढाउनेगरी कार्यसम्पादन गर्न मातहतका कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ ।
नेपाल प्रहरीबाट प्रवाह हुँदै आएको सेवाप्रति जनताको गुनासो बढिरहेको उल्लेख गर्दै उहाँले जनताका सेवामा समर्पित भएर तहगत जिम्मेवारीमा इमान्दारिपूर्वक खटिनुपर्नेमा जोड दिनुभयो ।

प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा पदोन्नति हुनुभएका रामदत्त जोशीलाई आज दज्र्यानी चिह्न प्रदान कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, “प्रहरीको बर्दीको इज्जत बढाउनेतर्फ हरदम केन्द्रित हुनुहोस् । यो नै हामी सबैको हितमा हुन्छ । परम्परागत शैली त्यागेर आ–आफ्नो स्थानबाट व्यावसायिक इमानदार, निष्ठावान् र कर्तव्यनिष्ठ प्रहरीको छवि बनाउने गरी दृढतापूर्वक काम गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।”कार्यक्रममा पदोन्नति हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षक जोशीले सङ्गठनको नीतिलाई अङ्गिकार गर्दै कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

‘शेयर बजारको नियामक निकायको क्षमता सुधार्न जरुरी छ’

काठमाडौँ, २४ साउनः धितोपत्र बजारलाई थप व्यवस्थित र मर्यादित बनाउन कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र नियामकीय क्षमताको सुधारमा जोड दिइएको छ ।अर्थ समितिको आजको बैठकमा सांसदहरूले बजारको स्थायित्वका लागि विद्यमान नीति तथा नियमको कार्यान्वयन, समसामयिक सुधार तथा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जको क्षमता विस्तार गर्नुपर्नेमा जोड दिनुभएको हो ।

समितिको बैठकमा पूर्वअर्थमन्त्रीसमेत रहनुभएका सांसद बर्षमान पुनले शेयर बजार उकालो लागेपनि नियामक निकायको भूमिकामाथि आम मानिसको प्रश्न रहेको बताउनुभयो । उहाँले पूँजी बजारमा स्वच्छ कारोबार र आवश्यक व्यवस्थापनका लागि नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नुपर्नेमा जोड दिनुभयो ।

समितिका सदस्य एवम् पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले शेयर बजार मर्यादित र व्यवस्थित हुनुपर्छ भन्ने आफ्नो धारणा रहेको भएपनि त्यसलाई लिएर गलत प्रचार गरिएको गुनासो गर्नुभयो ।

धितोपत्र बजारको सुधार, व्यवस्थापन र सन्तुलनका लागि धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सुक्ष्म निगरानी गर्नुपर्ने डा.महतको भनाइ छ ।

सांसद मेटमणि चौधरीले धेरैको लगानी रहेको धितोपत्र बजारमा कमजोर कम्पनीको शेयर मूल्यमा देखिएको अस्वाभाविक वृद्धिको खोजी गर्नुपर्ने बताउनुभयो ।

बैठकमा सांसदहरू सूर्य थापा, जुलीकुमारी महतो, नारायणी शर्मा, छिरिङ लामालगायतले बजारको स्थायित्वका सन्दर्भमा नियामक निकायले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । बजारको क्षमता विस्तारका लागि बोर्डको भूमिका थप प्रभावकारी बनाउनुपर्ने उहाँहरूको भनाइ थियो ।

बैठकमा बोर्डको अध्यक्षको भूमिकासमेतमा रहनुभएका अर्थ मन्त्रालयका सहसचिव महेश बरालले बोर्डको क्षमता वृद्धिका लागि नेपाल राष्ट्र बैंकलाई आग्रह गर्नुभयो । उहाँले बजारको हल्लाका पछाडि लागेर शेयर बजारमा लगानी गर्न नहुने बताउनुभयो ।

धितोपत्र बजारसम्बन्धी सूचना सबै क्षेत्रमा पुर्‍याउन नसकिएका कारण कतिपय अवस्थामा साना लगानीकर्ता मर्कामा पर्न सक्ने भएकाले ध्यान दिन उहाँले आग्रह गर्नुभयो । बरालले चालु आवको मौद्रिक नीतिले गरेको सहजीकरणका कारण बजार उकालो लागेको बताउनुभयो ।

बङ्गलादेशका जनताको हित सर्वोपरि, कानून–व्यवस्था छिट्टै बहाली हुने विश्वास– भारतीय विदेश मन्त्रालय

भारतले बङ्गलादेशका जनताको हित नयाँदिल्लीका लागि सबैभन्दा महत्त्वपूर्ण रहेको बताएको छ । भारत बङ्गलादेशमा तीव्र हिंसा र शेख हसिनाको राजीनमापछि ‘विकसित’ स्थितिप्रति चिन्तित रहेको उल्लेख गर्दै विदेश मन्त्रालयले बङ्गलादेशमा कानून–व्यवस्था शीघ्र बहाली हुने अपेक्षा गरेको बताएको छ । यो बङ्गलादेशका साथै सम्पूर्ण क्षेत्रको हितमा रहेको मन्त्रालयको भनाइ छ ।

“परिस्थिति विकास हुँदैछ... आज साँझ अन्तरिम सरकारको सपथ ग्रहण हुनेछ”, विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले बिहीबार साप्ताहिक पत्रकार सम्मेलनमा भन्नुभयो, “त्यसैले एक पटक ती कुराहरू भइसकेपछि म के कुरामा जोड दिन चाहन्छु भने जहाँसम्म हामी, भारत सरकार, भारतका जनताको कुरा छ भारत चिन्तित छ, हाम्रा लागि बङ्गलादेशका जनताको हित सर्वोपरि छ ।”

बङ्गलादेशमा भारतीय कूटनीतिक मिसनहरूको अवस्थाबारे सोधिएको प्रश्नमा मन्त्रालयले गैर–आवश्यक कर्मचारी र उनीहरूको परिवारलाई परिस्थितिका बीच फिर्ता बोलाइएको भन्दै कानून र व्यवस्था पूर्ण रूपमा बहाली भएपछि सामान्य कामकाज सुरु हुने बताएको छ । 

बङ्गलादेशमा अल्पसङ्ख्यकहरूको अवस्थालाई उल्लेख गर्दै विदेश मन्त्रालयले स्थितिको अनुगमन गरिरहेको बताएको छ । साथै मन्त्रालयले अल्पसङ्ख्यकहरूको सुरक्षा र कल्याण सुनिश्चित गर्न समूह र सङ्गठनहरूले चालेका कदमहरूको स्वागत गरेको छ ।

वनमन्त्री ठकुरीले मन्त्रालयबाट प्रारम्भ गर्नुभयो ‘प्लाष्टिक फ्रि जोन’ अभियान

काठमाडौँ, २४ साउन : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले केन्द्रीय प्रशासनिक भवन सिहदरबार क्षेत्रमा मानव स्वास्थ्य र वातावरणमा असर गर्ने प्लाष्टिकका सामग्रीको प्रयोग हटाउन ‘प्लाष्टिक फ्रि जोन’ अभियानको सुरुआत गर्नुभएको छ ।

वातावरणका क्षेत्रमा कार्यरत संस्था ‘साथसाथै फाउण्डेसन’ को प्रनितिधिमण्डलसँग आज मन्त्रालयमा भएको भेटवार्तापछि उहाँले आफ्नै कार्यकक्षमा रहेका खानेपानीका प्लाष्टिकका बोतल हटाएर सो अभियान प्रारम्भ गर्नुभयो ।
मन्त्री ठकुरीले भन्नुभयो, “हाम्रो मन्त्रालयका सबै कार्यकक्षमा आजैदेखि मानव स्वास्थ्य र वातावरणमा असर गर्ने तथा प्रयोग गर्न अयोग्य प्लाष्टिकका सामग्री हटाएर अभियानको सुरुआत गर्छौं । बाँकी अन्य मन्त्रालय र निकायलाई पनि आग्रह गरेर यसरी नै सिंहदरबार ‘प्लाष्टिक फ्रि जोन’ बनाउन पहल गर्छौं ।”

सिंहदरबारका प्रवेशद्वारमा ‘प्लाष्टिक फ्रि जोन’ सम्बन्धी सचेतनामूलक होडिङ बोर्ड राखेर अनुगमन गरी अभियान अघि बढाउने मन्त्री ठकुरीले प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले सबैले पुनःप्रयोग गर्न मिल्ने सामग्रीको उपयोग गरेर वातावरण स्वच्छ बनाउन र जीवनशैलीमा मितव्यीता अपाउनुपर्नेमा समेत जोड दिनुभयो ।

सो अवसरमा साथसाथै फाउण्डेसनका अध्यक्ष प्रजिता कार्कीले स्वच्छ र हरित वातावरण बनाउन प्रत्येक व्यक्तिले आफ्नो तर्फबाट व्यक्तिगत रूपमा प्रतिबद्धता गरी काम गर्नुपर्ने संस्थाको अभियानका बारेमा मन्त्री ठकुरीलाई अवगत गराउनुभएको थियो । अध्यक्ष कार्कीले दिगो वातावरण र प्रकृति जोगाउनका लागि दैनिक जीवनमा प्रयोग हुने सामग्रीको पुनः प्रयोग गर्ने, कम प्रयोग गर्नेलगायत अभियानका लागि सचेतना आवश्यकतामा जोड दिनुभयो ।

नेपाल सरकारले वातावरण र मानव स्वास्थ्यमा पर्ने जोखिम न्यूनीकरण गर्न २०७८ साउन १ गतेदेखि ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात, बिक्री, वितरण र प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । त्यस्तै सरकारले २०७९ साउन १२ गते राजपत्रका सूचना प्रकाशित गरेर नेपालभर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात बिक्री वितरण वा भण्डारण गर्न रोक लगाउने निर्णय गरेको थियो ।

तर उक्त निर्णयहरू भने पूर्ण रूपमा कार्यान्वयन भएको देखिदैन । मन्त्रालयअन्तर्गको वातावरण विभागका सूचना अधिकारी दीपक ज्ञवालीले उक्त निर्णय कार्यान्वयनका लागि विभागले सरोकारवाला व्यक्ति र निकायसँग छलफल गर्दै आएको, सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको, अनुगमन गरी अटेर गर्नेलाई कारवाही गर्ने गरेको, विकल्पका बारेमा समेत विभिन्न उपाय सम्बन्धमा छलफल गर्दै आएको बताउनुभयो ।

कृषकका समस्या सामाधानमा मेरो भूमिका रहनेछ मलाई गल्ती गर्ने छुट छैन : मन्त्री अधिकारी

ललितपुर, २४ साउन : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि मन्त्रालय प्रत्यक्षरूपमा कृषकसँग जोडिएको हुँदा उनीहरूका समस्या समाधानमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

कृषि विभागले आज ललितपुरमा आयोजना गरेको विभाग र मातहतका निकायको चौथो त्रैमासिक तथा वार्षिक समीक्षा गोष्ठीमा उहाँले किसान लक्षित कार्यक्रम प्रभावकारीतवरले कार्यान्वयन गर्न र किसानका समस्या समाधान गर्न निर्देशन दिनुभएको हो ।

“कृषकका समस्या सामाधानमा मेरो भूमिका रहनेछ । मलाई गल्ती गर्ने छुट छैन”, उहाँले भन्नुभयो, “कृषि उत्पादन वृद्धि र किसानका समस्या समाधानमा मन्त्रालय र विभागबीच नङ र मासुको सम्बन्ध हुनुपर्छ, विभाग थप सक्रिय बन्नुपर्छ ।”

मन्त्री अधिकारीले कृषि क्षेत्रका समस्या समाधानमा विभाग र कृषि विज्ञ सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “विभिन्न बाली तथा पशुमा देखापरेका रोगको उपचार गर्न स्थानीय कृषि शाखा प्रमुख सक्रिय रूपमा किसानसँग जोडिरहनुपर्छ ।”

मन्त्री अधिकारीले किसानको आर्थिक अवस्थालाई सुधार्न र उत्पादन थप वृद्धि गर्न आफूले विभिन्न मन्त्रालयसँग परामर्श गरिरहेको र आगामी दिनमा कृषकका विद्यमान समस्याहरू समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

उपचारका क्रममा कोशी अस्पताल विराटनरबाट फरार भएका कैदी पक्राउ

विराटनगर, २४ साउनः उपचारका क्रममा कोशी अस्पताल विराटनरबाट फरार भएका एक कैदी आज पक्राउ परेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । जबरजस्ती करणी मुद्दामा जिल्ला कारागार मोरङमा कैद भुक्तान गरिरहेका कैदी अस्पतालबाट यही साउन १७ गते फरार भएका थिए ।

कार्यालयका प्रवक्त्ता एवं प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठका अनुसार विराटनगर उपमहानगरपालिका–८ निवासी २४ वर्षीय मोहम्मद अहमदलाई जबरजस्ती करणी मुद्दाको कसुरमा जिल्ला अदालत मोरङले २०७९ साल फागुन २९ गते १२ वर्ष कैद र रु पाँच लाख जरिवना गरेको थियो ।

फरार कैदीलाई खोजतलास गर्ने क्रममा आज मोरङको जहदा गाउँपालिका–१ तारेगामा स्थित नेपाल भारत सीमा नजिकबाट इलाका प्रहरी कार्यालय रानीबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको थियो । पक्राउ परेका कैदीमाथि थप अनुसन्धान भइरहेको प्रवक्त्ता श्रेष्ठले जानकारी दिनुभयो ।

विद्युत् प्राधिकरणले लेखा समितिलाई बुझायो डेडिकेटेड र टंङ्क लाइनको विवरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले संसद्को सार्वजनिक लेखा समितिले माग गरेअनुसार डेडिकेटेड र टंङ्क लाइनको सबै विवरण समेटिएको तथ्याङ्क बिहीबार बुझाएको छ ।

समितिले डेडिकेटेड र ट्रङ्क लाइन प्रयोग गरेका उद्योग प्रतिष्ठानको टाइम अफ डे (टिओडी) मिटरको सबै विवरण पेस गर्न प्राधिकरणलाई यसअघि नै निर्देशन दिएको थियो ।

सोही निर्देशनका आधारमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबै विवरण उपलब्ध गराइएको जानकारी दिए ।

‘टिओडी लोड प्रोफाइल’, टीओडी डाउनलोड, लगसिट, एमपावरको बिल, छुट बिल, विभिन्न तहका अदालतले गरेको फैसलालगायतका सबै विवरण प्राधिकरणले लेखा समितिलाई बुझाएको प्राधिकरणको भनाइ छ । डेडिकेटेड र ट्रङ्क लाइन महसुलको विषयलाई लिएर चौतर्फी बहस भइरहेको छ ।

काेशी प्रदेशमा भोलि सार्वजनिक बिदा

विराटनगर, २४ साउनः कोशी प्रदेश सरकारले भोलि प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को आजको बैठकले विश्व अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा प्रदेशभर बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले जानकारी दिनुभयो ।

सो दिवस मनाउन प्रदेशभित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा बिदा दिने निर्णय भएको प्रवक्ता अधिकारीले जानकारी दिनुभएको छ ।

बेलायत सरकारको तेह्र अर्ब अनुदान सहायता स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ , २४ साउन : सरकारले बेलायत सरकारबाट नेपाललाई प्राप्त हुने लैङ्गिक तथा मानव विकास उपलब्धि र वातावरण अनुकूलन तथा समावेशीसम्बन्धी कार्यक्रमअन्तर्गत रु १३ अर्ब आठ करोड अनुदान स्वीकार्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले बेलायतबाट प्राप्त हुने लैङ्गिक तथा मानव विकास उपलब्धिलाई बढावा दिनेसम्बन्धी कार्यक्रमका लागि ३८ दशमलव पाँच मिलियन पाउन्ड (करिब छ अर्ब ५८ करोड) र वातावरण अनुकूलन तथा समावेशीसम्बन्धी कार्यक्रमका लागि ३८ दशमलव पाँच मिलियन पाउन्ड (करिब छ अर्ब ५० करोड) अनुदान सहायता स्वीकार्ने निर्णय गरेको हो ।

गत मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज यहाँ सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले एसियाली विकास बैङ्कबाट जीवमैत्री वातावरणसम्बन्धी परियोजनाका लागि प्रस्ताव गरिएको अनुदान तथा १० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता टोली गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो । 

सरकारले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयअन्तर्गत राजस्व न्यायाधीकरण, नेपालगञ्जको कानुन सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासका न्यायाधीश श्यामजी प्रधानलाई तोक्ने, सत्य  निरुपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटालाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव र फणिन्द्र गौतमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव पदमा सरुवा गर्ने निर्णय गरिएको बताउनुभयो ।

सरकारले नेपाल न्याय सेवा, कानुन समूहका राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतलाई सोही सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा गरी पदस्थापन गरेको छ । जसअन्तर्गत बढुवा हुनेमा रक्षा मन्त्रालयका सहसचिव पदमा कार्यरत आलोकचन्द्र श्रेष्ठलाई सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिव पदमा, नेपाल कानुन आयोगको सहसचिव पाराश्वर ढुङ्गानालाई नेपाल कानुन आयोगको सचिव पदमा बढुवा गरिएको छ । 

सरकारले श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश जनक पाण्डेलाई तोकेको छ । त्यसैगरी सरकारले रक्षा मन्त्रालयअन्तर्गत नेपाल सेनाका एकजना सहायक रथीलाई उपरथी पदमा, चारजना महासेनानीलाई सहायक रथी पदमा र एक जना प्रमुख सेनानीलाई महासेनानी पदमा बढुवा गर्ने निर्णय गरेको छ । 

सरकारले सहरी विकास मन्त्रालयअन्तर्गत नगर विकास कोषमा रिक्त कार्यकारी निर्देशक पूर्ति नभएसम्म बढीमा तीन महिनाका लागि काम गर्नेगरी कोषका वरिष्ठ कर्मचारी उपप्रबन्धक राजेशकुमार भोछिभोयालाई जिम्मेवारी तोक्ने र नगर विकास कोष सञ्चालक समितिको सदस्य पदमा सातै प्रदेशमा एक–एकजना पदाधिकारी मनोनय गर्ने निर्णय गरेको छ । 

हवाई सुरक्षाका लागि पूर्वाधार निर्माणमा सरकार गम्भीर हुनुपर्ने : अध्यक्ष नेपाल

काठमाडौँ, २४ साउनः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको हवाई सुरक्षाका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ ।

अध्यक्ष नेपालले बुधबार राति एक विज्ञप्ति जारी गर्दै “देशमा पछिल्लो समय हिमाली दृश्यावलोकन, ढुवानी र उद्धारका लागि हेलिकप्टरको प्रयोग बढ्दो छ, तर उच्च पहाडी भूभागको मौसम पूर्वानुमानका लागि पर्याप्त पूर्वाधार र स्रोतको अभावले उडान चुनौतीपूर्ण हुने गरेको सम्बद्ध क्षेत्रका विज्ञहरूले बताउँदै आएका छन्”, दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन, दुर्घटनाको जोखिम कम गर्न तथा देशको आकाशलाई सुरक्षित बनाउन सम्बन्धित निकायलाई गम्भीर हुन आग्रह गर्दै भन्नुभएको छ ।

नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा बुधबार एयर डाइनोस्टीको हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चारजना चिनियाँ नागरिकको मृत्यु भएको थियो ।

पूर्वप्रधानमन्त्री नेपालले दुर्घटनामा दिवङ्गत पाइलट अरुण मल्ल र चिनियाँ नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन र चीन सरकारप्रति गहिरो समवेदना व्यक्त गर्नुभयो ।

चलचित्र ‘नमेटिने घाउ’ को दोस्रो पोस्टरमा पूर्व प्रधानमन्त्री नेपाल

काठमाडौं -सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल लगायत चलचित्रका मुख्य कलाकारहरु अटाएका छन् । भदौ ७ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘नमेटिने घाउ’को यस अघिको सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली सहितको पोस्टर सार्वजनिक गरिएको थियो ।

अभिनेता रमित ढुङ्गानाको निर्देशन तथा निर्माण रहेको चलचित्र ‘नमेटिने घाउ’ एसिड सर्भाइभरहरुको वास्तविक जीवनीमा आधारित छ । चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटेर बनाइएको छ । चलचित्रमा शिवम् अधिकारीको कथा रहेको छ । लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर लेखेका हुन् ।

चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी ,आरजु लेखक लगायतको अभिनय रहेको छ । चलचित्रमा सुरवीर पण्डित, सुनिल कटुवाल पुराना अनुहार रहने छ भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरूको अभिनय रहेको छ।

चलचित्र ‘नमेटिने घाउ’ मा प्रधानमन्त्री ओलीका अलावा पूर्व प्रधानमन्त्री माधव नेपालको समेत अभिनय रहेको छ । चलचित्रमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीकै भूमिका निर्वाह गरेका छन् । चलचित्रमा प्रहरी उपरीक्षकद्वय बाल नर्सिह राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मा लगायत दुई सय भन्दा बढी प्रहरीको अभिनय रहेको छ। ‘सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको समेत चलचित्रमा अभिनय रहेको छ ।

रमित ढुङ्गाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यस चलचित्रमा नीरज कँडेलको छायाङ्कन,बनिश शाहको सम्पादन ,ओम सुनारको सङ्गीत र किरण ढकालको एक्सन रहेको छ ।

हवाई सुरक्षाका निम्ति आजैदेखि सुधारका प्रयास थाल्ने पर्यटनमन्त्रीको प्रतिबद्धता

काठमाडौँ, २४ साउनः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १५ दिनको अवधिमा दुईवटा हवाई दुर्घटना हुनु दुर्भाग्यपूर्ण भएको बताउँदै हवाई सुरक्षालाई उच्चतम प्राथिमकतामा राखेर आजैदेखि तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारका पहल थालनी गरेको जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुधबार राति एक विज्ञप्ति जारी गर्दै अतिजरुरीबाहेक सबै पूर्वनिर्धारित कार्यक्रम स्थगन गरी आगामी एक साता हवाई सुरक्षाका विषयमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । साथै उहाँले त्यस निम्ति आवश्यक कदम चाल्न मन्त्रालय र माताहतका निकायलाई परिचालन गर्ने उल्लेख गर्नुभएको छ ।

नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा बुधबार एयर डाइनोस्टीको हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चारजना चिनियाँ नागरिकको मृत्यु भएको थियो ।

मुलुकको उड्डयन क्षेत्रले भोग्नुपरेको नियति र हवाई क्षेत्रका समस्याको समाधान खोज्न सबैको साथ, सहयोग र सुझावको अपेक्षा गर्दै मन्त्रालयले तत्काल र दीर्घकालमा चाल्नुपर्ने कदमबारे सुझाव दिन अनुरोध गरेको छ । यस्ता सुझाव वा जानकारी मन्त्रालयको इमेल mष्लष्कतभच२तयगचष्कm।नयख।लउ मा पठाउन अनुरोध गरिएको छ ।

पर्यटनमन्त्री पाण्डेले दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न सबै सरकारी कार्यालयलाई स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ, २४ साउनः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी कार्यालयलाई ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ ।

उक्त मन्त्रालयले डेङ्गीको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइ गर्नाका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरिएको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालयले गत वर्ष पनि डेङ्गी रोगको सङ्क्रमण बढेपछि अभियान सञ्चालन गर्न निर्देशन दिएको थियो । मन्त्रालयले आ–आफ्ना कार्यालयमा डेङ्गी सङ्क्रमणबारे सतर्कता र सचेतना कार्यक्रम सञ्चालन गर्न पनि निर्देशन दिएको छ ।

प्रवक्ता बुढाथोकीले सरकारी अस्पतालमा डेङ्गीका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने जानकारी दिनुभयो । मन्त्रालयले सरकारी अस्पताललाई डेङ्गी सङ्क्रमितको उपचार व्यवस्थापन मिलाउन आग्रह गर्दै अस्पतालमा परिसरमा ‘डेङ्गी डेस्क’ स्थापना गरी सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको छ ।

प्रवक्ता डा बुढाथोकीले स्वास्थ्य क्षेत्रको एकल प्रयासले मात्र डेङ्गी सङ्क्रमण नियन्त्रण गर्न नसकिने भएकाले प्रदेश र स्थानीय तहका सबै निकायको सहयोग आवश्यक रहेको बताउनुभयो । यो वर्ष ७३ जिल्लाका दुई हजार तीन सय ६५ जनामा डेङ्गी सङ्क्रमण र एकजनाको मृत्यु भएको छ ।

दूध उत्पादक किसानलाई तीन करोड अनुदान

कास्की, २४ साउनः गण्डकी प्रदेश सरकारले दुग्ध उत्पादक किसानलाई आर्थिक वर्ष २०८०÷८१ मा दूध उत्पादनका आधारमा रु तीन करोड नौ लाख छ हजार अनुदान प्रदान गरेको छ ।

कृषि तथा भूमि व्यवस्था मन्त्रालयमातहतको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहमा उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रम सञ्चालन गरिएको जनाएको छ ।

सरकारले ६४ सहकारी संस्थाबाट १३ हजार नौ सय ६१ मेट्रिक टन दूध उत्पादन भएका आधारमा प्र्रतिलिटरमा दुई रुपैयाँ ५० पैसा अनुदान दिएको हो । सहकारी संस्थाबाट दूध बिक्री गर्ने किसानले मात्र यस्तो सहयोग सरकारबाट पाउने पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका महानिर्देशक डा प्रेरणा भट्टराईले बताउनुभयो ।

सरकारले दूध उत्पादन प्रोत्साहन सहयोग कार्यक्रममा अनुदान वृद्धि गर्ने योजनाअनुसार गत वर्ष रु छ करोड ५५ लाख बजेट विनियोजन गरेको थियो । “अनुदान रकम दोब्बर वृद्धि गर्नेगरी बजेट विनियोजन भएको थियो, तर वृद्धिको कार्यविधि र राजपत्रमा प्रकाशनमा ढिलाइ हुँदा गत वर्ष कार्यान्वयन हुन सकेन”, महानिर्देशक भट्टराईले भन्नुभयो ।

सरकारले उत्पादनका आधारमा अनुदान दिएपछि किसान उत्साहित भएका छन् । यसबाट दूध उत्पादन वृद्धि गर्न सहयोग पुगेको छ । दूधको राष्ट्रिय उपलब्धता प्रतिव्यक्ति प्रतिवर्ष ८८ लिटर रहेकामा गण्डकीको उपलब्धता एक सय आठ लिटर रहेको छ ।

स्थानीय प्रशासनः कोशी प्रदेशको कार्यसम्पादनमा तेह्रथुम उत्कृष्ट

तेह्रथुम, २४ साउनः कोशी प्रदेशभरिका प्रशासन कार्यालयमध्ये तेह्रथुम उत्कुष्ट घोषित भएको छ । गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीसँग कार्यसम्पादन सम्झौता गरेअनुसार मूल्याङ्कनका आधारमा तेह्रथुम ९६ दशमलव आठ सय ७५ अङ्क प्राप्त गरी उत्कृष्ट ठहरिएको हो ।

जिल्लमा शान्ति, सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र समन्वयका आधारमा तेह्रथुमले उक्त अङ्क पाएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताउनुभयो ।

आर्थिक वर्ष २०७९÷८० मा ३७औँ स्थानमा रहेको तेह्रथुम आव २०८०÷८१ मा आठौँ स्थानमा उक्लिएको उहाँले बताउनुभयो । कोशी प्रदेशको सोलुखुम्बु भने ७७ जिल्लाको सूचीमा दशौँ स्थान छ । यद्यपि कोशी प्रदेशमा भने दोस्रो स्थान हासिल गरेको छ । धनकुटा ९५ दशमलव आठ सय ७५ अङ्क प्राप्त गर्दै कोशी प्रदेशमा तेस्रो भएको छ ।

स्वास्थ्य विशेषज्ञहरूद्वारा ओलम्पिकलाई कोका–कोलासँगको सम्बन्ध तोड्न आग्रह

दुई स्वास्थ्य विशेषज्ञले बुधबार ओलम्पिक आयोजकहरूलाई कोका–कोलासँगको सम्बन्ध तोड्न आग्रह गरेका छन् ।

उनीहरूले ठूलो रकमको प्रायोजन सम्झौताले अमेरिकी कम्पनी कोका–कोलालाई अस्वस्थकर चिनीयुक्त पेय पदार्थहरू ‘स्पोर्टसवास’ गर्न अनुमति दिने बताएका छन् । राष्ट्र, व्यक्ति, समूह, निगम वा सरकारले प्रतिष्ठामा सुधार ल्याउन खेलको उपयोग गर्ने अभ्यासलाई वर्णन गर्न स्पोर्ट्सवास शब्दको प्रयोग गर्छन् ।

यद्यपि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले कोका–कोलासँगको साझेदारीमा अविश्वसनीय रूपमा गर्व रहेको बताएको छ । कम्पनीले भने चिनीरहित पेयपदार्थ पनि उपलब्ध गराएको बताएको छ ।

पेरिस खेलमा प्रशंसकहरूले प्रयोग गर्ने प्लास्टिकको बोतलको मात्रालाई लिएर पर्यावरणीय कार्यकर्ताहरूले आलोचना गरेपछि स्वास्थ्य विशेषज्ञहरूको उक्त आग्रह आएको हो ।

फ्रान्सको राजधानीमा हुने प्रतियोगितामा कोका–कोलाको सर्वव्यापी फिजी पेयहरूको विज्ञापन समावेश छ । कोका–कोलाले सन् १९२८ देखि ओलम्पिकलाई प्रायोजन गर्दै आएको छ ।

तर विश्वव्यापी स्वास्थ्य समूह भाइटल स्ट्राटिजिजका ट्रिस कोटर र सान्ड्रा मुलिनका अनुसार यी चिनीयुक्त पेय पदार्थहरूले ‘थोरै वा कुनै पोषण मूल्य प्रदान गर्दैनन्’ र त्यस्ता अस्वस्थकर उत्पादनहरूलाई प्रवर्द्धन गर्न खेलमा कुनै स्थान छैन ।

चिनीयुक्त पेय पदार्थहरू मोटोपना, मधुमेह, उच्च रक्तचाप र हृदय रोगसहित विश्वभरका मानिसहरूलाई असर गर्ने गम्भीर स्वास्थ्य समस्याहरूको एक मुख्य चालक भएको दुवै जनाले बिएमजे ग्लोबल हेल्थ जर्नलमा टिप्पणीमा लेख्नुभएको छ ।

कोका–कोलाका उत्पादनहरूले विश्वव्यापी प्लास्टिक प्रदूषण, हरितगृह ग्यास उत्सर्जन र ठूलो मात्रामा पानीको प्रयोगमा पनि योगदान पु¥याउने उहाँहरूले बताउनुभयो ।

“कोका–कोलासँगको सम्बन्धलाई निरन्तरता दिएर ओलम्पिक आन्दोलनले खराब पोषण, वातावरणीय ह्रास र जलवायु परिवर्तनको विश्वव्यापी महामारीलाई तीव्र पार्ने जोखिम छ”, लेखकहरूले लेख्नुभएको छ, “अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले खेलाडी, दर्शक र पृथ्वीको हितमा कोका–कोलासँग सम्बन्ध तोड्ने समय आएको छ ।”

आइओसीले भने चिसो पेय कम्पनीसँगको आफ्नो साझेदारीको बचाउ गरेको छ ।

“हामीलाई कोका–कोला कम्पनीसँगको करिब एक सय वर्षको साझेदारीमा अविश्वसनीय रूपमा गर्व छ”, आइओसीका टेलिभिजन तथा मार्केटिङ सेवा प्रबन्ध निर्देशक एनी–सोफी भौमार्डले दैनिक पत्रकार सम्मेलनमा भन्नुभयो, “आइओसीको दृष्टिकोणमा कोकले खेलाडीका परिवार र प्रशंसकहरूलाई समर्थन गर्न जिम्मेवार दृष्टिकोण अपनाइरहेको छ र खेलहरूको आयोजनामा अभिन्न भूमिका निर्वाह गरिरहेको छ ।”

कोका–कोलाले पेरिस खेलहरूमा पानी, चिया, कफी र जुस पनि उपलब्ध गराउने एक विज्ञप्तिमा बताएको छ ।

“कूल पेय कम्पनीका रूपमा हामी थपिएको चिनीलाई दैनिक क्यालोरीको १० प्रतिशतमा सीमित गर्ने सिफारिसलाई समर्थन गर्छौं र थप गरिएको चिनीलाई घटाएर र उपभोक्ताहरूको बढ्दो स्वादहरू पूरा गर्न नवीन उत्पादनहरू प्रस्तुत गरेर हाम्रो उत्पादन दायरालाई निरन्तर अनुकूल बनाउने छौँ”, कम्पनीले विज्ञप्तिमा भनेको छ ।

सन् २०२० मा कोका–कोला कम्पनीले ओलम्पिकको प्रायोजनलाई कम्तीमा सन् २०३२ सम्म बढाउनका लागि कथित रूपमा तीन अर्ब डलरको संयुक्त सम्झौतामा हस्ताक्षर गरेको थियो ।

गत वर्ष कोका–कोलाले नाइकी जस्ता स्पोर्टवेयर कम्पनीसहित अन्य कुनै पनि ब्रान्डको तुलनामा धेरै खेल प्रायोजन प्राप्त गरेको कोटर र मुलिनले उल्लेख गर्नुभएको छ ।

“यो रणनीति अस्वस्थकर उत्पादनलाई ‘स्पोर्टसवास’ गर्न स्वर्ण पदकको अवसरमा परिणत हुन्छ”, उहाँहरूले लेख्नुभएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले देशहरूलाई गुलियो–मिठो पेय पदार्थहरूमा कर लगाउन आह्वान गरेको छ ।

ओलम्पिक खेल सुरु हुनुअघि ‘किक बिग सोडा आउट अफ स्पोर्ट’ नामक आह्वान सुरु गरिएको छ । यसमा एक लाख नौ हजारभन्दा धेरैको हस्ताक्षर छ र यसलाई विश्व मोटोपना महासङ्घलगायत धेरै सार्वजनिक स्वास्थ्य संस्थाहरूले समर्थन गरेका छन् ।

वातावरणीय गैरसरकारी संस्थाहरूले पेरिस खेलहरूमा पेय पदार्थहरू प्रदान गर्न प्रयोग गरिएको प्लास्टिकको मात्राको पनि आलोचना गरेका छन् ।

कोका–कोला कम्पनीले मे महिनामा ओलम्पिकमा प्रदान गरिने एक करोड ८० लाख रिफ्रेसमेन्टमध्ये १० वटा एकल प्रयोग प्लास्टिकबिना हुने बताएको थियो ।

कम्पनीले फेन्टा, स्प्राइट र कोका–कोलाका बोतलहरूलाई ओलम्पिक स्थलहरूमा पुनः प्रयोज्य कपहरूमा पस्किएको थियो । केही मानिसका अनुसार यो अभ्यास ओलम्पिक खेलको इतिहासमा सबैभन्दा हरियो बन्ने प्रतिज्ञाको विपरीत छ ।

प्लास्टिकको प्रयोगलाई सीमित गर्न करिब सात सय ड्रिङ्क फाउन्टेन तैनाथ गरिएको छ ।

सन् २०१२ को लन्डन खेलकुदको तुलनामा यस वर्षको पेरिस खेलले अझै पनि एकल प्रयोग हुने प्लास्टिकलाई ५० प्रतिशतले कटौती गर्ने लक्ष्य हासिल गर्नुपर्ने आयोजकहरूले बताएका छन् ।

बङ्गलादेशमा आज नयाँ सरकारले सपथ लिनसक्ने

बङ्गलादेशका सेना प्रमुख जनरल वेकर–उज–जमानले बुधबार नोबेल पुरस्कार विजेता मुहम्मद युनुस स्वदेश फर्किएपछि बिहीबार साँझ नयाँ अन्तरिम सरकारले सपथ लिने सम्भावना रहेको बताउनुभएको छ ।

“हामी सपथ ग्रहण समारोह आयोजना गर्न सक्दो प्रयास गर्नेछौँ,हामी करिब आठ बजे (जिएमटी १४ बजे) गर्न सक्छौँ, सपथ ग्रहण समारोहमा करिब चार सय व्यक्ति उपस्थित हुने सम्भावना छ”, उहाँले टेलिभिजन ब्रिफिङमा भन्नुभयो ।

युनुस अन्तरिम सरकारको नेतृत्व गर्न बङ्गलादेशमा आउँदा उहाँले ‘लोकतान्त्रिक प्रक्रिया’ मार्फत बङ्गलादेशको नेतृत्व गर्नुहुने सेना प्रमुखले बताउनुभयो ।

“उहाँ यस्तो गर्न अत्यन्त उत्सुक हुनुहुन्छ”, सेना प्रमुखले भन्नुभयो, “मलाई विश्वास छ, उहाँले हामीलाई सुन्दर लोकतान्त्रिक प्रक्रियामार्फत लैजान सक्षम हुनुहुनेछ र यसबाट हामी लाभान्वित हुनेछौँ ।”

नवनियुक्त प्रहरी प्रमुखद्वारा माफी

यसैबीच बङ्गलादेशका नवनियुक्त प्रहरी प्रमुखले बुधबार घातक विरोध प्रदर्शनका क्रममा अधिकारीहरूको आचारणका लागि माफी माग्नुभएको छ । साथै उहाँले हत्याको ‘निष्पक्ष’ छानबिन गर्ने वाचा गर्नुभएको छ ।

“हामी विद्यार्थी, सर्वसाधारण र प्रहरीको हालैका हरेक हत्याको निष्पक्ष छानबिन गर्न प्रतिबद्ध छौँ”, प्रहरी महानिरीक्षक मोहम्मद मैनुल इस्लामले पत्रकारहरूसँग भन्नुभयो ।

“अहिलेको आन्दोलनमा हाम्रा यसअघिका जिम्मेबार अधिकारीहरूले देशवासीको अपेक्षा अनुरूप आफ्नो जिम्मेबारी पूरा गर्न सकेनन्”, प्रधानमन्त्री पदबाट हटेपछि आफ्नो नियुक्ति भएको एक दिनपछि उहाँले भन्नुभयो, “म स्वयं प्रहरी प्रमुखका रूपमा यसका लागि बङ्गलादेश प्रहरीका तर्फबाट माफी माग्छु ।”

तमान गाउँमा रहेको पञ्चायत घर १० लाख खर्चेर जीर्णोद्धार

ढोरपाटन (बागलुङ), २४ साउन: तमानखोला गाउँपालिकाले तमान गाउँमा रहेको पञ्चायत घर रु १० लाख खर्चेर जीर्णोद्धार गरेको छ । स्थानीय स्रोत प्रयोग गरी जीर्णोद्धार भएको यो घरलाई सङ्ग्रहालय र पुस्तकालयका रूपमा विकास गरिने भएको हो ।

तमानखोला गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा विनियोजन गरेको रु दश लाख र स्थानीयको श्रमदानबाट जीर्णोद्धार भएको यो घरलाई तमानखोला गाउँपालिका वडा नम्बर–३ ले कार्यालयका रूपमा सञ्चालन गरेको छ ।

वडा कार्यालयको भवन निर्माणाधीन रहेकाले त्यो पूरा हुनेवित्तिकै नयाँ घरमा कार्यालय सारिने तथा पञ्चायतघरलाई पुस्तकालयमा परिणत गरिने वडाध्यक्ष झकबहादुर बुढामगरले बताउनुभयो ।

पञ्चायतकालमा उक्त घरमा गाउँ पञ्चायतका प्रमुख, उपप्रमुखलगायत पदाधिकारीको कार्यालय थियो । तत्कालीन तमान गाउँ पञ्चायत कार्यालयबाट लुकुरबन, खुङ्गा, नर्जा, खुङ्खानी, तमान, लाम्मेलाका स्थानीयलाई सेवा प्रवाह गरिन्थ्यो ।

पोखरीमा नुहाउँदै गरेकी १३ वर्षीय विपनाको डुबेर मृत्यु

कञ्चनपुर – माछा पोखरीमा नुहाउँदै गरेकी शुक्लाफाँटा नगरपालिका–४ आशापुरका १३ वर्षीय विपना चुनाराको डुबेर मृत्यु भएको छ । पौडी खेल्न नजान्दा चुनाराको डुबेर मृत्यु भएको हो ।

साथीसँग पोखरीमा नुहाउनका लागि गएका बेला डुबेर चुनाराको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक बीरबहादुर बुढाऐरले बताउनुभयो । विपनासँगै नुहाउन गएकी ११ वर्षीया विपिका सुनारको भने सकुशल उद्धार गरिएको छ । स्थानीय अस्पतालमा सामान्य उपचारपछि उनी घर फर्केकी छन् ।

काठमाडौँमा राजदूतावास स्थापना गर्न ओमानसँग आग्रह

काठमाडौँ, २४ साउनः सरकारले ओमान सरकारसँग काठमाडौँमा राजदूतावास स्थापना गर्न आग्रह गरेको छ । परराष्ट्र सचिव सेवा लम्सालले बुधबार ओमानका उच्च अधिकारीहरूसँग मस्कटमा भएको भेटमा त्यस्तो आग्रह गर्नुभएको हो ।

नेपाल–ओमान द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठकमा परराष्ट्र सचिव लम्सालले २१ हजारभन्दा बढी नेपाली ओमानमा कार्यरत रहेका बताउँदै पारस्परिक हितका क्षेत्रमा सहकार्य गर्न आवश्यक भएको बताउनुभयो ।

मस्कटस्थित नेपाली राजदूतावासका अनुसार बैठकमा नेपाल–ओमान सम्बन्धका सबै पक्षमा छलफल भएको थियो । बैठकमा दुवै पक्षले सन् १९७७ मा दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता आपसी सहकार्य र साझेदारी हुँदै आएको चर्चा गर्दै उच्चस्तरीय भ्रमण आदानप्रदान, व्यापार, लगानी, आर्थिक सहयोग, कृषि, ऊर्जा, पर्यटन, श्रम, वैदेशिक रोजगारी, संस्कृति, शिक्षा, सिधा हवाई सम्पर्कलगायत सबै क्षेत्रमा सहकार्य गर्न सहमति जनाएका छन् ।

बैठकमा दुवै पक्षले जनस्तरको सम्बन्ध अभिवृद्धि तथा पारस्परिक लाभका खातिर आर्थिक लाभका अवसरहरूको उपयोग गर्ने सम्बन्धमा पनि सहमति जनाएका छन् ।

परराष्ट्र सचिव लम्सालले नेपालीलाई रोजगारीका अवसर प्रदान गरेकामा ओमान सरकारप्रति कृतज्ञता ज्ञापन गर्दै ओमानका नरेशको ‘२०४० दृष्टिकोण र रणनीति’का सन्दर्भमा थप अवसरहरूको खोजीका निम्ति आग्रह गर्नुभयो । उहाँले आपसी सहकार्यका नयाँ क्षेत्रहरू पहिचान गर्दै निजी क्षेत्रसँग मिलेर आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा अर्थपूर्ण साझेदारी गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपालमा लगानीका पर्याप्त क्षेत्र रहेका बताउँदै पराष्ट्र सचिवले जलविद्युत्, पर्यटन, हरित हाइड्रोजनलगायत क्षेत्रमा पुँजी परिचालन गर्न आग्रह गर्नुभयो ।

ओमानी प्रतिनिधिमण्डलका नेता शेख खलिफा बिन अलि बिन इसा अलहार्थीले सहमति गरिएका क्षेत्रमा नेपालसँग मिलेर काम गर्न तथा सझदारी गर्न बाँकी विषयलाई टुङ्ग्याउन ओमान सकारात्मक रहेको जानकारी दिनुभयो । उहाँले नेपालीहरूको परिश्रम र इमान्दारीको प्रशंसा गर्नुभयो ।

दूतावासले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बैठकमा दुवै पक्षले संयुक्त राष्ट्रसङ्घलगायत अन्य बहुपक्षीय मञ्चहरूमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै दुवै पक्षले बहुपक्षीय क्षेत्रमा सहकार्य एवं साझेदारीलाई अझ घनिभूत तुल्याउन दृढता पनि व्यक्त गरेका छन् ।

परराष्ट्र सचिव लम्सालले बुधबार नै ओमानका श्रममन्त्री डा महद बिन सइद बिन अली वाओइनसँग शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा उहाँहरूबीच श्रमिक आपूर्ति तथा श्रम क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरका साथै रोजगारीका अवसर उपलब्ध गराउनेबारेमा छलफल भएको थियो ।

सन् २०१७ मा नेपाल र ओमानबीच द्विपक्षीय परामर्श संयन्त्र गठन भएको हो । संयन्त्रको अर्को बैठक दुवै पक्षलाई अनुकूल हुने समयमा काठमाडौँमा आयोजना गरिनेछ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा धेरै वर्षा हुने

काठमाडौँ, २४ साउनः देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास भएको जनाउदै जल तथा मौसम विज्ञान विभागले आज पनि देशका विभिन्न स्थानमा बदली र वर्षाको पूर्वानुमान गरेको छ ।

विभागले जारी गरेको मौसम बुलेटिनअनुसार हाल कोशी, मधेस र बागमती प्रदेशमा साधारणदेखि पूर्ण बदली भएको छभने बाँकी प्रदेशमा आंशिकदेखि साधारण बदली भएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रही कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै वर्षा हुने विभागको पूर्वानुमान छ ।

त्यसैगरी, आज राति पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनका साथै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाउँदै विभागले सम्बन्धित सबैलाई सतर्क रहन आग्रह गरेको छ ।

सङ्खुवासभामा जमिन धितो राखेर ऋण लिनेको सङ्ख्या बढ्यो, दुई करोड बढी राजस्व सङ्कलन

किमाथाङ्का (सङ्खुवासभा) – मालपोत कार्यालय सङ्खुवासभामा एक वर्षको अवधिमा रु दुई करोड बढी राजस्व सङ्कलन भएको छ । मालपोत कार्यालयले यस आवमा दुई करोड बढी राजस्व सङ्कलन गरेको हो । आर्थिक वर्ष २०८०/०८१ मा दुई करोड ३२ लाख ७५ हजार पाँच सय ३९ रुपैयाँ राजस्व सङ्कलन गरेको मालपोत कार्यालय सङ्खुवासभाका प्रमुख चेतनाथ पराजुलीले जानकारी दिनुभयो ।

सङ्खुवासभामा एक वर्षको अवधीमा २२ सय ५४ रजिस्ट्रेसन पास भएको मालपोत कार्यालयले जनाएको छ । सोमध्ये छ सय ४५ रजिस्ट्रेसन महिलाका नाममा मात्र कारोबार भएको देखिन्छ । कार्यालयले सबैभन्दा बढी रजिस्ट्रेसन शुल्कबापत एक करोड ५७ लाख ९० हजार एक सय १६ रुपैयाँ, सेवा शुल्कबापत २४ लाख ३९ हजार रुपैयाँ, पुँजीगत लाभकरबापत ७४ लाख ८५ हजार चार सय २३ रुपैयाँ, न्यायिक दस्तुर दण्ड जरिवानामा पाँच लाख २४ हजार ३० रुपैयाँ राजस्व सङ्कलन गरेको मालपोत कार्यालयका प्रमुख पराजुलीले बताउनुभयो ।

सङ्कलन भएको ५९ लाख ३० हजार दुई सय ७९ प्रदेश र ८८ लाख ९५ हजार चार सय १८ रुपैयाँ राजस्व स्थानीय तहमा पठाएको प्रमुख पराजुलीले बताउनुभयो । यो वर्ष सबैभन्दा धेरै खाँदबारी नगरपालिकामा ७० लाख ३३ हजार तीन सय ११ रुपैयाँ राजस्व सङ्कलन भएको छ । भोटखोलामा दुई लाख २३ हजार सात सय १३ रुपैयाँ राजस्व सङ्कलन भएको मालपोत कार्यालयले जनाएको छ ।

एक वर्षको अवधिमा २२ सय ५४ रजिस्ट्रेसन पास भएको छ । सोमध्ये छ सय ४५ रजिस्ट्रेसन महिलाका नाममा कारोबार भएको देखिन्छ । त्यस्तैगरी तीन सय १० वटा नामसारी भएको छ भने १५ सय ९० जग्गाधनी सङ्ख्या थप भएको मालपोत कार्यालयले जनाएको छ ।

यो वर्ष जिल्लामा चार सय ७५ कित्ता खारेज भई एक हजार तीन सय ८० वटा नयाँ कित्ता कायम भएका छन् । जिल्लाका दुई स्थानीय तहबाहेक सबै स्थानीय तहमा सडक सञ्जालले जोडिएपछि र बैंकिङ सुविधा भएपछि जमिनको कारोबारमा वृद्धि भइरहेको छ । जमिन धितो राखेर बैंकबाट ऋण लिनेको सङ्ख्या बढेको छ । सरकारले डेढ वर्षदेखि जग्गाको कित्ताकाट रोकेको थियो । कित्ताकाट रोकिँदा जग्गाको कारोबार ठप्प थियो । खेतीयोग्य जमिन प्लटिङ गरेर घडेरी बनाउनका लागि कित्ताकाट गर्न पाइँदैन ।

टर्किस एयरलाइन्सको विमान ‘ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’

काठमाडौँ, २४ साउनः स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ । फ्लाइट राडरका अनुसार बिहान ६ः१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो ।

 ‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ । एक एयर ट्राफिक कन्ट्रोलर (एटिसी)का अनुसार ‘अनस्टेबल एप्रोच’ भएपछि विमानले ओभरसुट गरेको हो । 

गण्डकीका यातायात कार्यालयको राजस्व घट्यो

म्याग्दी- गण्डकी प्रदेशमा रहेका यातायात कार्यालयमा गत आर्थिक वर्ष २०८०/८१ मा रु दुई अर्ब ६३ करोड २४ लाख पाँच सय २९ राजस्व सङ्कलन भएको छ । बागलुङ, डुम्रे र नवलपुरमा एक/एक र कास्कीमा दुई वटा यातायात कार्यालय, गोरखा, लमजुङ र स्याङ्जामा रहेको यातायात सेवा कार्यालयले सो राजस्व सङ्कलन गरेका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।

आव २०७८/७९ मा रु दुई अर्ब २४ करोड र २०७९/८० मा रु तीन अर्ब १७ करोड राजस्व सङ्कलन गरेका थिए । 

मन्त्रालयको यातायात शाखाका प्रमुख अनिल सुवेदीले सवारी खरिद÷बिक्रीमा भएको गिरावटको असर राजस्वमा परेको बताउनुभयो । “सवारी करको दर यथावत भए पनि खरिद बिक्रीमा आएको कमीले राजस्व सङ्कलन घटेको हो”, उहाँले भन्नुभयो । 

यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख गुमादेवी शर्माले यसअघि दैनिक १० देखि १२ वटा सवारीसाधन खरिद बिक्री हुनेमा हिजोआज दैनिक एक/दुई वटामात्र हुने गरेको बताउनुभयो । 

मन्त्रालयका अनुुसार गत आवमा सबैभन्दा बढी यातायात व्यवस्था कार्यालय सवारी कास्कीले रु एक अर्ब ४२ करोड ३० लाख ४० हजार छ सय २४ राजस्व सङ्कलन गरेको छ । 

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुुमतिपत्र कास्कीबाट रु २४ करोड छ लाख २६ हजार छ सय ७९, बागलुुङमा रु १९ करोड १६ लाख नौ हजार नौ सय २८, नवलपुुरमा रु ३० करोड ३५ लाख ५३ हजार नौ सय ५३ र डुुम्रेमा रु २० करोड चार लाख ७० हजार पाँच सय ९२ राजस्व सङ्कलन भएको छ । 

गोरखामा रु १२ करोड ४७ लाख ५८ हजार सात सय ५७, लमजुङमा रु चार करोड ६१ लाख ११ हजार सात सय ५५ र स्याङ्जामा रु एक करोड २२ लाख २८ हजार दुई सय ४० राजस्व सङ्कलन भएको मन्त्रालयले जनाएको छ । 

सवारी चालक अनुमतिपत्र जारी, नवीकरण, सवारीसाधन दर्ता, नवीकरण र जरिवानालगायत शीर्षकमा राजस्व सङ्कलन भएको हो । यातायात कार्यालय गण्डकी प्रदेश सरकारमा सबैभन्दा बढी राजस्व सङ्कलन गर्ने निकायहरू हुन् । यातायात कार्यालयको सेवालाई प्रविधिको प्रयोगमार्फत पहुँचयोग्य, झन्झटमुक्त र छरितो बनाउने प्रयास गरेको मन्त्रालयका सचिव शङ्करप्रसाद पण्डितले बताउनुभयो । 

एक हजार सात सय बढी छात्रालाई सेनेटरी प्याड र १८ विद्यालयलाई डिस्पोजल मेसिन

रामपुर (पाल्पा- पाल्पाको रामपुर नगरपालिकाले नगरभित्र रहेका विद्यालयमा सेनेटरी प्याड र डिस्पोजल मेसिन सहयोग गरेको छ । यहाँका एक हजार सात सय ५६ जना छात्रालाई लक्षित गरी विद्यालयलाई प्याड उपलब्ध गराएको हो ।

यहाँका १८ मावि तहलाई डिस्पोजल मेसिनसहित प्याड र अन्य छ वटा आधारभूत तहका विद्यालयलाई प्याड सहयोग गरेको नगरपालिकाले जनाएको छ । नगर शिक्षा अधिकृत विकल काफ्लेले २४ विद्यालयलाई ११ हजार ६२ प्याकेट सेनेटरी प्याड र १८ वटा मेसिन वितरण गरेको जानकारी दिनुभयो । सशर्त अनुदान कार्यक्रमअन्तर्गत पहिलो चरणमा माध्यमिक विद्यालयलाई एक÷एक वटा डिस्पोजल मेसिनसहित र अन्य आधारभूत तहका विद्यालयलाई सेनेटरी प्याड वितरण गरेको र आगामी दिनमा अन्य विद्यालयलाई सहयोग गर्ने योजना रहेको उहाँले बताउनुभयो । नेपाल सरकारको रु २० लाख अनुदानमार्फत डिस्पोजल मेसिन र सेनेटरी प्याड वितरण गरिएको हो ।

सशर्त अनुदान सेनेटरी प्याड व्यवस्थापन कार्यक्रमअन्तर्गत कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने एक हजार सात सय ५६ विद्यार्थीलाई पुग्नेगरी प्याड उपलब्ध गराइएको उपप्रमुख बालकुमारी थापाले बताउनुभयो । महिनावारीका बेला छात्राहरूको सहजता ल्याउन प्याड र प्रयोगपश्चात् व्यवस्थापनका लागि मेसिन वितरण गरेको उहाँले बताउनुभयो ।