`

गण्डकीका यातायात कार्यालयको राजस्व घट्यो

म्याग्दी- गण्डकी प्रदेशमा रहेका यातायात कार्यालयमा गत आर्थिक वर्ष २०८०/८१ मा रु दुई अर्ब ६३ करोड २४ लाख पाँच सय २९ राजस्व सङ्कलन भएको छ । बागलुङ, डुम्रे र नवलपुरमा एक/एक र कास्कीमा दुई वटा यातायात कार्यालय, गोरखा, लमजुङ र स्याङ्जामा रहेको यातायात सेवा कार्यालयले सो राजस्व सङ्कलन गरेका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।

आव २०७८/७९ मा रु दुई अर्ब २४ करोड र २०७९/८० मा रु तीन अर्ब १७ करोड राजस्व सङ्कलन गरेका थिए । 

मन्त्रालयको यातायात शाखाका प्रमुख अनिल सुवेदीले सवारी खरिद÷बिक्रीमा भएको गिरावटको असर राजस्वमा परेको बताउनुभयो । “सवारी करको दर यथावत भए पनि खरिद बिक्रीमा आएको कमीले राजस्व सङ्कलन घटेको हो”, उहाँले भन्नुभयो । 

यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख गुमादेवी शर्माले यसअघि दैनिक १० देखि १२ वटा सवारीसाधन खरिद बिक्री हुनेमा हिजोआज दैनिक एक/दुई वटामात्र हुने गरेको बताउनुभयो । 

मन्त्रालयका अनुुसार गत आवमा सबैभन्दा बढी यातायात व्यवस्था कार्यालय सवारी कास्कीले रु एक अर्ब ४२ करोड ३० लाख ४० हजार छ सय २४ राजस्व सङ्कलन गरेको छ । 

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुुमतिपत्र कास्कीबाट रु २४ करोड छ लाख २६ हजार छ सय ७९, बागलुुङमा रु १९ करोड १६ लाख नौ हजार नौ सय २८, नवलपुुरमा रु ३० करोड ३५ लाख ५३ हजार नौ सय ५३ र डुुम्रेमा रु २० करोड चार लाख ७० हजार पाँच सय ९२ राजस्व सङ्कलन भएको छ । 

गोरखामा रु १२ करोड ४७ लाख ५८ हजार सात सय ५७, लमजुङमा रु चार करोड ६१ लाख ११ हजार सात सय ५५ र स्याङ्जामा रु एक करोड २२ लाख २८ हजार दुई सय ४० राजस्व सङ्कलन भएको मन्त्रालयले जनाएको छ । 

सवारी चालक अनुमतिपत्र जारी, नवीकरण, सवारीसाधन दर्ता, नवीकरण र जरिवानालगायत शीर्षकमा राजस्व सङ्कलन भएको हो । यातायात कार्यालय गण्डकी प्रदेश सरकारमा सबैभन्दा बढी राजस्व सङ्कलन गर्ने निकायहरू हुन् । यातायात कार्यालयको सेवालाई प्रविधिको प्रयोगमार्फत पहुँचयोग्य, झन्झटमुक्त र छरितो बनाउने प्रयास गरेको मन्त्रालयका सचिव शङ्करप्रसाद पण्डितले बताउनुभयो । 

एक हजार सात सय बढी छात्रालाई सेनेटरी प्याड र १८ विद्यालयलाई डिस्पोजल मेसिन

रामपुर (पाल्पा- पाल्पाको रामपुर नगरपालिकाले नगरभित्र रहेका विद्यालयमा सेनेटरी प्याड र डिस्पोजल मेसिन सहयोग गरेको छ । यहाँका एक हजार सात सय ५६ जना छात्रालाई लक्षित गरी विद्यालयलाई प्याड उपलब्ध गराएको हो ।

यहाँका १८ मावि तहलाई डिस्पोजल मेसिनसहित प्याड र अन्य छ वटा आधारभूत तहका विद्यालयलाई प्याड सहयोग गरेको नगरपालिकाले जनाएको छ । नगर शिक्षा अधिकृत विकल काफ्लेले २४ विद्यालयलाई ११ हजार ६२ प्याकेट सेनेटरी प्याड र १८ वटा मेसिन वितरण गरेको जानकारी दिनुभयो । सशर्त अनुदान कार्यक्रमअन्तर्गत पहिलो चरणमा माध्यमिक विद्यालयलाई एक÷एक वटा डिस्पोजल मेसिनसहित र अन्य आधारभूत तहका विद्यालयलाई सेनेटरी प्याड वितरण गरेको र आगामी दिनमा अन्य विद्यालयलाई सहयोग गर्ने योजना रहेको उहाँले बताउनुभयो । नेपाल सरकारको रु २० लाख अनुदानमार्फत डिस्पोजल मेसिन र सेनेटरी प्याड वितरण गरिएको हो ।

सशर्त अनुदान सेनेटरी प्याड व्यवस्थापन कार्यक्रमअन्तर्गत कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने एक हजार सात सय ५६ विद्यार्थीलाई पुग्नेगरी प्याड उपलब्ध गराइएको उपप्रमुख बालकुमारी थापाले बताउनुभयो । महिनावारीका बेला छात्राहरूको सहजता ल्याउन प्याड र प्रयोगपश्चात् व्यवस्थापनका लागि मेसिन वितरण गरेको उहाँले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय रुपन्देही देशभरमै सर्वोत्कृष्ट

भैरहवा (रुपन्देही)- जिल्ला प्रशासन कार्यालय रुपन्देही देशभरिमै सर्वोत्कृष्ट भएको छ । गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय रुपन्देहीबीच भएको कार्यसम्पादन सम्झौतामा ९८ अङ्क प्राप्त गर्दै रुपन्देही सर्वोत्कृष्ट भएको हो ।

गृह मन्त्रालय र ७७ वटै जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष सुरुआतसँगै कार्यसम्पादन सम्झौता गर्ने गरेका छन् । शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, शासकीय प्रबन्ध, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास सहजीकरणलगायत ६६ वटा सूचकमा १०० पूर्णाङ्कमध्ये रुपन्देहीले ९८ अङ्क प्राप्त गरेको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिनुभयो ।

यस्तै ९७ दशमलव पाँच अङ्कसहित पाल्पा जिल्ला प्रशासन कार्यालय दोस्रो, ९७ दशमलव छ अङ्क प्राप्त गरी बागलुङ तेस्रो भएको छ । यस्तै चौथोमा पश्चिम रुकुम ९७ दशमलव पाँच, पाँचौँमा ९७ दशमलव तीन अङ्कसहित मकवानपुर र पर्वत, छैठौँमा गुल्मी ९७, सातौँमा तेह्रथुम ९६ दशमलव आठ, आठौँमा रोल्पा ९६ दशमलव ७५, नवौँमा सोलुखुम्बू ९६ दशमलव पाँच र ९६ दशमलव चार अङ्कसहित १०औँ नम्बर डडेलधुरा पर्न सफल भएको छ ।प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सबैको साथ र सहयोगले रुपन्देही सर्वोउत्कृष्ट भएको बताउनुभयो ।

गन्तव्य मुलुकले नेपाली कामदारलाई समान व्यवहार र सम्मान गर्नुपर्छ : मन्त्री भण्डारी

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले गन्तव्य मुलुकहरूले आप्रवासी कामदारका हकहितका लागि अन्तरराष्ट्रिय अनुबन्ध र प्रोटोकल तथा द्विपक्षीय सम्झौताको पालना गर्नुपर्ने बताउनुभएको छ ।

राजधानीमा आयोजित व्यवसाय र मानव अधिकारको दृष्टिकोण : श्रम आप्रवासन व्यवस्थापनसम्बन्धी नीतिगत विषयक छलफलमा मन्त्री भण्डारीले गन्तव्य मुलुकमा आप्रवासी नेपाली कामदारलाई समान व्यवहार र सम्मान गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, विकास साझेदार संस्था, सयुंक्त राष्ट्रसङ्घीय निकाय र विभिन्न कूटनीतिक नियोगले आयोजना गरेको कार्यक्रममा मन्त्री भण्डारीले आप्रवासी श्रमिकको मानव अधिकारको सम्मान गर्न गन्तव्य मुलुकलाई सयुंक्त राष्ट्रसङ्घीय निकाय र अन्य सरोकारवालाहरुले दबाब दिनुपर्छ भन्नुभयो ।

सोही कार्यक्रममा दिगो विकास समितिका सभापति कमला पन्तले आप्रवासनका क्षेत्रमा छरिएरभन्दा सहकार्यमा काम गर्दा नतिजा प्राप्त हुने भन्दै यस क्षेत्रमा काम गर्नेले कामको ढाँचा परिवर्तन गर्न सुझाव दिनुभयो । नेपाली श्रम र मस्तिष्कलाई नेपालमै राखेर स्वदेशको उत्पादन र उत्पादकत्व वृद्धिमा योगदान पु¥याउन सकिने सभापति पन्तले विश्वास व्यक्त गर्नुभयो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्द निरौलाले सरकारले वैदेशिक रोजगारीमा जानेहरूलाई अनुचित भर्ना गर्ने, मानव बेचविखनमा संलग्न र बाध्यकारी आप्रवासनमा पार्नेलाई कारबाहीको दायरमा ल्याउने प्रतिबद्धता जनाउनुभयो ।

मन्त्रालयले पाँच वर्षे व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजना तयार गरेको भन्दै सचिव निरौलाले आप्रवासी कामदारको अधिकार सुनिश्चित गर्न विभिन्न कानुनी प्रावधानको व्यवस्था गरिएको जानकारी दिनुभयो । उक्त कार्यक्रममा नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिक लोरेञ्जो, नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) का आवासीय प्रतिनिधि आयशानी मेडागाङ्गोडा लाबे, नेपालका लागि स्विस राजदूत डेनियल मेउली, नेपालस्थित जापानी दूतावासका उपप्रमुख ता

कृषिमन्त्री अधिकारीसँग आइफाड निर्देशकको शिष्टाचार भेट, कृषि लगानी दशकमा सहयोग गर्न आग्रह

काठमाडौँ, २३ साउन : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आइफाड) का एसिया तथा प्रशान्त क्षेत्रका निर्देशक रिहाना राजाले भेटवार्ता गर्नुभएको छ ।

निर्देशक रिहाना राजा र कोषका प्रतिनिधिलाई आज मन्त्रालयमा स्वागत गर्नुहुँदै मन्त्री अधिकारीले नेपालको कृषि क्षेत्रमा आइफाडले गर्दै आएको सहयोगका लागि आभार व्यक्त गर्नुभयो । नेपाल र आइफाडबीचको सम्बन्ध पुरानो र गहिरो रहेको उल्लेख गर्नुहुँदै उहाँले यो सम्बन्ध थप प्रगाढ बन्ने विश्वास व्यक्त गर्नुभयो ।

आइफाडको सहयोगमा कृषि मन्त्रालयअन्र्तगत हाल कृषि क्षेत्र विकास कार्यक्रम (एएसडिपि) सञ्चालनमा रहेको छ भने कोषले कृषि विकास रणनीति परिमार्जनको लागि पनि सहयोग गरेको भन्नुहुँदै मन्त्री अधिकारीले यी र यसभन्दा अगाडि सञ्चालन भएका आयोजना र सहयोगले नेपालको कृषि क्षेत्र तथा ग्रामीण अर्थतन्त्रको विकासमा उल्लेख्य योगदान पु¥याएको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारले यस आर्थिक वर्षदेखि कृषिमा लगानी दशक घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारको लगानी वृद्धि गर्ने लक्ष्य लिएको छ । उत्पादनदेखि बजारीकरणसम्मको कृषि इकोसिस्टम सुधार कार्ययोजना कार्यान्वयन गर्ने लक्ष्यमा आइफाडबाट आवश्यक सहयोग प्राप्त हुनेछ भन्ने विश्वास छ ।”

भेटमा आइफाडका निर्देशक रिहाना राजाले आगामी दिनमा पनि सहकार्यलाई जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको मन्त्री अधिकारीको सचिवालयले जनाएको छ ।

बाढी, पहिरोलगायतका विपद्मापरी आजसम्म १६७ जनाको मृत्यु

काठमाडौँ, २२ साउनः अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोलगायतका विपद्मापरी आज दिउँसोसम्म एक सय ६७ जनाको मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढी, पहिरोलगायत विपद्मापरी काठमाडौँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा २५ जना, मधेस प्रदेशमा छ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ५२ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जनागरी जम्मा एक सय ६७ जनाको मृत्यु भएको हो । 

उहाँका अनुसार काठमाडौँ उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेस प्रदेशमा १० जना, बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ४४ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्चिम प्रदेशमा १४ जनागरी जम्मा एक सय ९९ जना घाइते भएका छन् । 

बाढी, पहिरामापरी काठमाडौँ उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, कर्णाली प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेशमा पाँच जनागरी जम्मा एक सय १० जनाको उद्धार गरिएको प्रवक्ता कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “बाढी र पहिरोमापरी कोशी प्रदेशमा दुई जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा चार जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा एक जनागरी ५० जना बेपत्ता भएका छन् । बेपत्ताको खोजीकार्य जारी छ ।”

बाढीको कारण जम्मा तीन सय ८४ घर डुबानमा परेका छन् । बाढी पहिरोले दुई सय ६८ वटा घर, एक सय वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ । 

बाढी पहिरोले आज दिउँसोसम्म सात सय ६३ वटा पशुचौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार दुई सय ७२ घरपरिवार विस्थापित भएका प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

इयुले युक्रेनलाई चार अर्ब २० करोड युरो वितरण गर्ने

युरोपेली सङ्घ (इयु) ले युक्रेनको सुधार प्रयास सन्तोषजनक ठानेपछि युक्रेनलाई चार अर्ब २० करोड युरो प्रदान गर्न तयार भएको इयुको परिषद्ले जनाएको छ ।

परिषद्ले इयुको युक्रेन सुविधाअन्तर्गत युक्रेनलाई अनुदान र ऋणको नियमित भुक्तानीको पहिलो किस्तालाई अनुमति दिएको एक प्रेस विज्ञप्तिले जनाएको छ ।

परिषद्ले सर्त र सुधारहरू पूरा भएको जनाएको छ । सुधारहरूमा सार्वजनिक वित्तीय व्यवस्थापन, राज्यको स्वामित्वमा रहेका उद्यमहरूको सुशासन, व्यापारिक वातावरण, ऊर्जा र खानी समावेश छन् ।

कोष जारी हुने युक्रेन सुविधा सन् २०२४ मार्चमा लागू भएको हो । यसले सन् २०२४ देखि सन् २०२७ अवधिका लागि ५० अर्ब युरोसम्मको आर्थिक सहयोगको प्रक्षेपण गर्दछ ।

दुईहप्ता नपुग्दै अर्को हवाई दुर्घटना : सुरक्षाप्रति गम्भीर चिन्ता, अनुभवी पाइलट थिए–कसरी भयो दुर्घटना ?

काठमाडौँ, २३ साउनः सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको दुई हप्ता नपुग्दै आज एयर डाइनेस्टीको ९ एन–एजेडी दर्ता नम्बर रहेको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चार चिनियाँ नागरिकको मृत्यु भएको एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितले जानकारी दिनुभयो ।

मृत्यु हुने चिनियाँ नागरिकहरूमा जुताड ताङ, ताइ ली, यीयाम वु र जेमिङ जी रहनुभएको छ । मृतक सबैको शव सङ्कलनगरी परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्तिमार्फत जनाएको छ ।

आज दिउँसो १ः५४ बजे भक्तपुरको नलिनचोकबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको हेलिकप्टर उडान भरेको तीन मिनेटपछि सम्पर्कविहीन भएको थियो । दिउँसो २ः१४ बजे नुवाकोटको शिवपुरी गाउँपालिका–सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो ।

सरकारले एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न आजै तीन सदस्यीय दुर्घटना जाँचबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को आज सिंहदरबारमा भएको आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा आयोग गठन गरेको हो । आयोगलाई ३० दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ ।

यसअघि साउन ९ गते सौर्य एयरलाइन्सको सिआरजे ७ (९एन–एएमइ) कलसाइन विमान स्थानीय समयअनुसार बिहान ११ बजेर ११ मिनेटमा पोखराका लागि उड्नेबित्तिकै दुर्घटनाग्रस्त भएको थियो । चालकदलसहित १९ जना सवार उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी १८ जनाको मृत्यु हुनका साथै एक जना घाइते हुनुभएको थियो ।

यसअघि पटक १४ अक्टोबर सन् २०२३ मा मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेको थियो । सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको ‘एन–एनजे’कलसाइन हेलिकप्टर जिल्लाको खुम्बु–पासाङल्हामु गाउँपालिका–४ लोबुचेमा दुर्घटना भएको थियो । तीन महिनामा दुई हेलिकप्टर दुर्घटना भएपछि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त कम्पनीको एओसी (एयर अपरेटर सर्टिफिकेट) निलम्बन गरेको थियो ।

एकचालिसौँ हेलिकप्टर ४१ दुर्घटना

प्राधिकरणको हवाई सुरक्षा प्रतिवेदन ‘एभिएसन सेफ्टी रिपोर्ट’ अनुसार नेपालको हवाई इतिहासमा कूल एक सय १० हवाई दुर्घटनामा नौ सय ६५ जनाको मृत्यु भएको छ । यो हेलिकप्टर र विमान दुवै दुर्घटनाको विवरण हो ।

नेपालमै पहिलो पटक सन् १९७९ मा लाङ्टाङमा हेलिकप्टर दुर्घटना भएको थियो । लाङ्टाङमा भिभिआइपी हेलिकप्टर दुर्घटना हुँदा छ जनाको मृत्यु भयो । त्यसयता आजको हेलिकप्टर दुर्घटना एक सय १०औँ दुर्घटना हो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार आजको हेलिकप्टर दुर्घटनासहित हालसम्म नेपालमा विभिन्न हेलिकप्टर कम्पनीका ४१आँै दुर्घटना हो । ती दुर्घटनामा ९८ जनाको मृत्यु भएको छ । उहाँले नेपालमा एकपछि अर्को हवाई दुर्घटनाले प्राधिकरणलाई गम्भीर बनाएको बताउनुभयो । उहाँले हवाई सुरक्षालाई प्रभावकारी बनाउन थप सक्रियता अपनाउने विश्वास व्यक्त गर्नुभयो ।

प्राधिकरणको विवरणमा एक सय १० दुर्घटनामध्ये ५१ मल्टिइञ्जिन विमान दुर्घटनामा चार सय ६९, आठ सिङ्गल इञ्जिन विमान दुर्घटनामा २५ र ४१ हेलिकप्टर दुर्घटनामा ९८, विदेशमा दर्ता भएका १० वायुयान दुर्घटनामा तीन सय ७३ को मृत्यु भएको छ ।

अनुभवी पाइलट थिए–कसरी भयो दुर्घटना ?

बुधबार दिउँसो एयर डाइनोस्टीको हेलिकप्टर भक्तपुरको नलिनचोकबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको थियो । चिनियाँ नागरिकलाई स्याफ्रुबेंसी छोडेर त्यहाँबाट अमेरिकी नागरिकलाई काठमाडौँ ल्याउने योजना थियो । तर विडम्बना हेलिकप्टर उडान भरेको तीन मिनेटपछि सम्पर्कविहीन भएको थियो । दिउँसो २ः१४ बजे नुवाकोटको शिवपुरीस्थित सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला प¥यो ।

एयर डाइनेस्टीको हेलिकप्टरका पाइलट मल्ल वरिष्ठ र अनुभवी पाइलट हुनुहुन्थ्यो । उहाँले करिब सात हजार घण्टा उडान भर्नुभएको थियो । लोड पनि धेरै थिएन । चार जना मात्रै यात्रु थिए । तर पनि कसरी दुर्घटना भयो भनेर प्राधिकरणका अधिकारीहरू पनि आश्चर्यमा परेका छन् ।

“दुर्घटना अप्रत्यासित छ, आजको मौसम सफा थियो । काठमाडौँमा ‘भिएफआर फ्लाइट’ चलिरहेको थियो । काठमाडौँबाट पाँच किलोमिटरसम्मको ‘भिजिबिलिटी क्लियर’ थियो । तर, पनि कसरी दुर्घटना भयो । मौसम बिग्रिएर भयो कि अरु कारणले भयो भन्नेबारे जाँच आयोगको प्रतिवेदनपश्चात् मात्रै भन्न सकिन्छ”, प्राधिकरणका सूचना अधिकारी भूलले भन्नुभयो, “काठमाडौँको नजिकै जुनकिसिमको हवाई दुर्घटना भएको छ, यसले प्राधिकरणलाई गम्भीर बनाएको छ, प्राधिकरणले पनि आफ्नो आन्तरिक छानबिन गर्नेछ । एयरलाइन्सको आन्तरिक सेफ्टी अडिट पनि गर्छौँ ।”

सूचना अधिकारी भूलले उडान सुरक्षामा प्राधिकरणले गम्भीरतापूर्वक कार्य गरिरहँदा पनि हवाई दुर्घटना दर बढिरहनु चिन्ताको विषय हो भन्दै एयरलाइन्स सञ्चालन गर्ने कि बन्द गर्ने अवस्थामा पुगेको बताउनुभयो । “अब, यहाँ कर्मसियल कुरा हैन कि एयरलाइन्स चलाउने कि बन्द गर्ने अवस्थामा पुगिसकेका छौँ”, उहाँले भन्नुभयो, “हामीले उडान सुरक्षामा यति गर्दागर्दै पनि किन दुर्घटना भइरहेको छ, भन्ने कुरा पत्ता लगाउन जरुरी छ, प्राधिकरणले सबै एयरलाइन्सको सेफ्टी अडिट इन्भिेष्टिगेसन गरेर आगामी दिनमा कसरी जाने भन्ने रणनीति तय गर्नेछ ।”

हवाई सुरक्षाबारे गम्भीर प्रश्न उब्जियो

एकपछि अर्को हवाई दुर्घटनाले मुलुकको समग्र हवाई सुरक्षाबारे गम्भीर प्रश्न उब्जिएको छ । पछिल्ला दिनमा मुलुकको हवाई सुरक्षाबारे उच्चस्तरीय छलफल चलिरहेका सन्दर्भमा आज भएको हवाई दुर्घटनाले पुनः यो क्षेत्रलाई पुनःतरङ्गीत बनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक सञ्जिव गौतमले एकपछि अर्को हवाई दुर्घटनाले समग्रमा नेपालको नागरिक उड्डयन क्षमतामा समस्या छ भन्ने पुष्टि भएको उल्लेख गर्दै यसलाई सुधार्न नीतिगत र संरचनागत परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

“आजसम्म जति पनि हवाई दुर्घटना भएका छन् ती सबै दुर्घटनाले नेपालमा एभिएसन सेफ्टीमा समस्या छ भन्ने सङ्केत गरेको छ”, उहाँले भन्नुभयो, “हवाई उड्डयन सुरक्षा हिजो पनि समस्या थियो, अहिले झनै समस्या देखिएको छ, त्यसैले नेपालको समग्र ‘सेफ्टी ओभरसाइड क्यापाबिलिटी इनह्यान्स’ गर्नुपर्छ, त्यसका लागि सरकारले नीतिगत रुपमा केके काम गर्नुपर्ने हो त्यसतर्फ ध्यान दिन जरुरी छ ।”

बारम्बारको हवाई दुर्घटनाले मुलुकको हवाई सुरक्षामा गम्भीर लापर्बाही देखिएको हवाई विज्ञ अच्युत पहाडीले बताउनुभयो । “दुई सातामै दुई वटा दुर्घटना हुनुभएको दुर्भाग्य हो, तुलनात्मक रुपमा सुरक्षित मानिएको हवाई सेवा सुरक्षाप्रति गम्भीर प्रश्न खडा गरेको छ”, उहाँले भन्नुभयो, “नेपालका सबै एयरलाइन्सको, टेक्निकल अडिट, फाइनान्सियल अडिट र अप्रेसनल अडिट सुक्ष्म रूपमा नगर्ने हो भने छिट्टै अरु दुर्घटना निम्तने खतरा छ, त्यसैले सबै एयरलाइन्सको प्रभावकारी नियमन गर्न प्राधिकरण पनि गम्भीर बन्नुपर्छ ।”

विज्ञ पहाडीले हवाई सुरक्षालाई भरपर्दो र प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय चासोका रूपमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजनसम्बन्धी विधेयकलाई चाँडो पारित गरेर नियामक र सेवा प्रदायकका रूपमा बनाउन अपरिहार्य भइसकेको उल्लेख गर्नुभयो ।

हवाई सुरक्षाबारे उच्चस्तरीय छलफल

यही साउन २१ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कांग्रेस सांसदहरूले मुलुकको हवाई सुरक्षाबारे केन्द्रित भई छलफल गर्नुभएको थियो । कांग्रेस सांसद राजेन्द्र बजगाईंका अनुसार उक्त छलफलमा हवाई सुरक्षासँग जोडिएको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजन विधेयकलाई संसद्बाट अगाडि बढाउनेलगायत समसामयिक विषयमा कुराकानी भएको थियो ।

यस्तै संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको यही साउन १० गते भएको बैठकले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को प्रतिवेदन एकसाताभित्र समितिसमक्ष पेस गर्न संस्कृति, पर्यटन तथा नारिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको थियो । समितिका सभापति राजकिशोर यादवले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजनसम्बन्धी विधेयकबारे समितिलाई जानकारी गराउन पनि बैठकले पर्यटन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको थियो । समितिका अधिकांश सांसदले मुलुकको हवाई सुरक्षालाई दृष्टिगत गर्दै प्राधिकरण विभाजनसम्बन्धी विधेयक अगाडि बढाउन माग गर्नुभएको थियो ।

तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६’ विसं २०७६ फागुन ११ मा राष्ट्रियसभामा दर्ता गराउनुभएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ अन्तर्गत स्थापित प्राधिकरणले नियमन र हवाइसेवा प्रदायक दुवै सेवा दिँदै आएको छ । नियामक र सेवा प्रदायकगरी अलगअलग निकायका रूपमा बनाउने प्रयोजनका निम्ति उक्त विधेयक अगाडि बढाइएको हो । विसं २०७८ साउन १८ गते राष्ट्रियसभाबाट पारित उक्त विधेयक अहिले निष्क्रिय छ । विसं २०७९ असोज १ गते प्रतिनिधिसभाको कार्यकाल समाप्त भएकाले निष्क्रिय भएको हो ।

सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन अन्त्य

सुदूरपश्चिम, २३ साउन : यही साउन ८ गतेदेखि सुरु भएको सुदूरपश्चिम प्रदेशसभा अधिवेशन आज रातिदेखि अन्त्य हुँदैछ ।तत्कालीन विपक्षी दल नेपाली कांग्रेस, नेकपा (एमाले)लगायतले नेपालको संविधानको धारा १८३ को उपधारा(३)बमोजिम अधिवेशनको माग गरेपछि प्रदेश प्रमुख नजिर मियाँले अधिवेशन आह्वान गर्नुभएको थियो ।

कांग्रेसका नेता कमलबहादुर शाहको नेतृत्वमा गठित प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले आज राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गर्नुभएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

अधिवेशन अन्त्यसँगै सरकारलाई अध्यादेशमार्फत चालु आर्थिक वर्ष २०८१/८२ का लागि बजेट ल्याउनसक्ने बाटो खुलेको छ । गएको असार १ गते तत्कालीन सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि छलफल गर्न गरिएको ढिलाइले उक्त बजेट पारित हुन सकेको थिएन । सत्तासमीकरण फेरिएसँगै असार २३ गते नेकपा (एमाले) सरकारबाट बाहिरिएपछि प्रस्तुत उक्त बजेट पारित हुन नसकेर अलपत्र परेको थियो । जसका कारण साउन १ गतेदेखि प्रदेश सरकार मातहतका निकायको राजस्व सङ्कलन र खर्च गर्ने कार्य ठप्प छ ।

अल्पमतमा पर्नुभएका तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीले अध्यदेशमार्फत बजेट ल्याउने प्रयास गरे पनि कांग्रेस, एमालेले अधिवेशनको माग गरेका थिए ।

मुख्यमन्त्री शाहले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै बजेट शून्यताको अवस्थालाई संविधान र कानुनअनुसार तत्काल हटाएर राजस्व सङ्कलनको अवस्था सिर्जना गर्ने पहल गर्न लागिएको बताउनुभयो ।

त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १८, नेकपा (एमाले) का ११, नेकपा (माओवादी केन्द्र) का सभामुख बाहेक १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी)का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्यको प्रतिनिधित्व छ ।

चीन–भारत जोड्ने छोटो फलाक नाका सडक निर्माण गर्न माग

काठमाडौँ, २३ साउनः चीन–भारत जोड्ने छोटो सडकमार्गका रूपमा चर्चा पाउँदै आएको दोलखाको लामाबगर फलाक नाका सडक यथाशीघ्र निर्माण गर्न दोलखाबाट निर्वाचित सांसदहरूले माग गरेका छन् ।

प्रतिनिधिसभाका एमाले सांसद ईश्वरी रिजालसहित प्रदेश सांसद, पूर्वमन्त्री तथा पूर्वसांसदसहितको टोलीले आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई भेटेर नाका सडक निर्माण गर्न अहिलेकै आर्थिक वर्षमा न्यूनतम रु ५० करोड रकम विनियोजनगरी बहुवर्षीय आयोजनाका रूपमा ठेक्का प्रक्रिया सुरु गर्न माग गरेका हुन् ।

चीनको फलाक नाकाबाट दोलखा, रामेछाप र सिन्धुलीको बर्दिवासबाट महोत्तरी हुँदै भारतको भिट्ठामोड नाका जम्मा दुई सय २० किमीमै छिचोलिने र त्यसका लागि लामाबगरबाट तिब्बत जोडिने सीमासम्म जम्मा ३३ किमी मात्र छिचोल्नुपर्ने बताउनुभयो ।

उत्तर–दक्षिण जोड्ने नेपालकै छोटो सडकमार्ग तत्काल निर्माण थाल्नुपर्नेमा जोड दिँदै सांसद रिजालले भन्नुभयो, “भूगर्भविदले तातोपानी र केरुङ नाकाभन्दा सुरक्षित नाकाका रुपमा परिचित गराउँदै आएकाले फलाक नाकासम्म सडक बिस्तार हुँदा दुई देशबीचको व्यापार बिस्तारले मुलुकको अर्थतन्त्रको विकासमा ठूलो टेवा पुग्नेछ भन्ने तथ्यलाई सरकारले ध्यान दिएर बजेट विनियोजनगरी यथाशीघ्र सडक निर्माणको काम अगाडि बढाउछौँ ।”

पूर्वमन्त्री तथा एमाले पोलिटब्युरो सदस्य आनन्दप्रसाद पोखरेलले लामाबगरस्थित माथिल्लो तामाकोशी आयोजनाभन्दा माथिल्लो क्षेत्रमा सञ्चालित जलविद्युत् उत्पादकहरुले भिर छिचोलेर ९ सय मिटर सुरुङ मार्ग बनाएपछि नाकातर्फ ६ किमीसम्म कच्ची सडक खुलिसकेकाले सरकारले तत्काल बजेट विनियोजनगरी नाका जोड्नेगरी सडक बिस्तार गर्नुपर्ने माग गर्नुभयो । उहाँले ३३ किमी सडकलाई छोट्याएर अर्को ‘सर्भे’ मार्फत सडक निर्माण गर्न सकिने विकल्पमा सोच्न ध्यानाकर्षण गराउनुभयो ।

अर्का, पूर्वमन्त्री तथा एमाले पोलिटब्युरो सदस्य पार्वत गुरुङले फलाक नाका सडकमार्ग दोलखाका लागि माथिल्लो तामाकोशी आयोजनाजत्तिकै गौरवको आयोजना भएको भन्दै तत्कालीन केपी ओली नेतृत्वको सरकारले सर्भे सम्पन्नगरी अध्ययन प्रतिवेदन तयार पारेको र नीति तथा कार्यक्रम र रातो किताबमा परेर पछिल्लो सरकारको पालामा ठेक्का प्रक्रिया रोक्किँदा अवरुद्ध भएकाले पुनःनिरन्तरता दिन जरुरी रहेको बताउनुभयो ।

“सडक सर्भेको विस्तृत प्रतिवेदन मन्त्रालयसँगै छ, त्यसैका आधारमा बजेट व्यवस्था गरेर यसलाई अगाडि बढाउनुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो । सांसदसहितको प्रतिनिधिमण्डलले नाका सडकमार्ग खुलाउने जस्तो महत्वपूर्ण काममा भू–राजनीतिक स्वार्थ जोडिन नहुनेमा पनि मन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए ।

प्रतिनिधिमण्डलले मन्त्रीलाई मागपत्रमा अहिले आयोजनाको बाँधस्थल नजिकै रहेको भिरबाट त्यहाँ सञ्चालित विद्युत् उत्पादकहरूले निजी प्रयासबाट नौ सय मिटर सुरुङ ‘ब्रेक थ्रु’ गरी सडक निर्माण कार्यलाई सहयोग पु¥याएको भए पनि राज्यका तर्फबाट पर्याप्त बजेट विनियोजन नगरिएको र यसअघि विनियोजित न्यून बजेटसमेत खर्च हुन नसकेको उल्लेख छ ।

“नेपाल र चीन सरकारबीच यस नाकालाई सञ्चालन गर्ने आपसी सहमति भइसकेको छ”, मागपत्रमा भनिएको छ, “त्यस सन्दर्भलाई मध्यनजर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नाका खुलाउनेगरी सडकलाई प्राथमिकतामा राखेर निर्माण कार्य अगाडि बढाउन निर्माण कार्य अगाडि बढाउन निर्देशन दिइसक्नुभएको व्यहोरा जानकारी गराउँदछौँ ।”

टोलीमा प्रदेशसभा सांसदद्वय ठूला थामी र उर्मिला सुनुवार, पूर्वमन्त्री तथा एमाले पोलिटब्युरो सदस्य पोखरेल र गुरुङ, पूर्वसांसद तथा कांग्रेस केन्द्रीय सदस्य जिपछिरिङ लामा, पूर्वप्रदेससभा सभासद तथा एमाले केन्द्रीय सदस्य सरस्वती बस्नेत, एमाले केन्द्रीय सदस्य श्यामकुमार बस्नेत तथा जिल्ला समन्वय समितिका दोलखाका पूर्वसंयोजक डबल पाण्डेलगायत सहभागी हुनुहुन्थ्यो ।

श्रीलङ्काले सवारीसाधन आयातमाथिको प्रतिबन्धलाई क्रमशः हटाउने

भन्सार शुल्कमार्फत राजस्व बढाउन खोजेको श्रीलङ्काले सन् २०२५ देखि चरणबद्ध रूपमा सवारीसाधन आयात गर्न अनुमति दिने राष्ट्रपति रनिल विक्रमासिङ्घेले बुधबार बताउनुभएको छ

उहाँले सवारी साधन आयातमा लगाइएको प्रतिबन्धलाई क्रमशः हटाउन अनुमति दिँदै राष्ट्रको भण्डार निर्माण भइरहेको बताउनुभयो

डिसेम्बर सन् २०२३ को अन्त्यमा कूल सञ्चिति चार अर्ब ४० करोड डलरबाट बढेर सन् २०२४ जुनको अन्त्यमा पाँच अर्ब ७० करोड अमेरिकी डलर पुगेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

गत हप्ता श्रीलङ्कामा अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) प्रतिनिधिमण्डलले मोटर वाहनहरूमा आयात प्रतिबन्धको योजनाबद्ध छूटले सन् २०२५ मा राजस्व परिचालनलाई समर्थन गर्ने बताएको थियो । कर प्रशासन सुधारहरूले सन् २०२५ अप्रिलसम्ममा निर्यातकर्ताहरूका लागि राम्रोसँग काम गर्ने भ्याट फिर्ता प्रणाली स्थापना गरी अनुपालनलाई अझ सुधार गर्न सक्ने आइएमएफले जनाएको छ ।

यसअघि अर्थराज्यमन्त्री रञ्जित सियाम्बालापिटियाले आयात प्रतिबन्ध कसरी फुकुवा गर्ने भन्ने विषयमा अगस्ट दोस्रो सातामा निर्णय हुने बताउनुभएको थियो ।

नर्वेकी राजकुमारीका छोरा पक्राउ

नर्वेकी राजकुमारी मेट–मेरिटका २७ वर्षीय छोरालाई एक महिलामाथि आक्रमण गरेको आशङ्कामा सप्ताहन्तमा पक्राउ गरिएको प्रहरीले बुधबार बताएको छ ।

मेट–मेरिटका छोरा मारियस बोर्ग होइबीको जन्म सन् १९९७ मा नर्वेका भावी राजा युवराज हाकोनसँग उहाँको सन् २००१ मा विवाह हुनुअघिको सम्बन्धबाट भएको थियो ।

एक अपार्टमेन्टमा रातभर भएको विवादपछि आइतबार बिहान ओस्लो ठेगानामा उनीहरूलाई बोलाइएको प्रहरीले बताएको छ । उक्त घटनामा २० वर्षका एक व्यक्तिलाई पक्राउ गरिएको र भोलिपल्ट हिरासतबाट रिहा गरिएको प्रहरीले विज्ञप्तिमा बताएको छ ।

“ती (व्यक्ति) मारियस बोर्ग होइबी हुन् भनी धेरै मिडियामा थाहा भइसकेपछि घटनामा संदिग्ध उनी होइबी नै भएको प्रहरीले पुष्टि गर्दछ”, विज्ञप्तिमा भनिएको छ । प्रहरीले उनले ‘शारीरिक क्षति’ पुर्याएको आशङ्का गरेको थियो । उनीहरूले महिलाको पहिचान भने गरेनन् र ‘आरोपी र पीडितबीच सम्बन्ध’ रहेको बताए ।

पीडितलाई गम्भीर चोट लागेकोबारे कुनै जानकारी नभएको प्रहरीले बताएको छ । शाही परिवारले घटनाप्रति कुनै प्रतिक्रिया दिएको छैन ।

होइबीलाई मेट–मेरिट र हाकोनले आफ्ना सौतेनी भाइबहिनी २० वर्षीया राजकुमारी इन्ग्रिड अलेक्जान्ड्रा र १८ वर्षीय राजकुमार स्वेरे म्याग्नसँगै पालेको भए पनि उनको कुनै आधिकारिक सार्वजनिक भूमिका छैन ।

अनलाइनमार्फत ठगी गर्ने नौ भारतीय नागरिक पक्राउ

मकवानपुर, २३ साउन : प्रहरीले अनलाइनमार्फत ठगी गर्ने नौ जना भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । जिल्लाको हेटौँडा उपमहानगरपालिका–४, पारिजातपथस्थित प्रमोद वाग्लेको घरको पाँचौँ तला भाडामा लिएर अनलाइनमार्फत ठगी गर्ने नौ जनालाई पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेमा भारत पटना थाना आलमगञ्ज वडा नं ५७ बस्ने २८ वर्षीय नवनित कुमार, भारत स्वाग कोल्लिएरी, बोकरो झारखण्ड बस्ने २७ वर्षीय शाहरुख खान, भारत करवा बलराम अरवल करपी बिहार बस्ने २९ वर्षीय कुन्दन कुमार, भारत कृष्ण कालोनी छोटी मुखानी हल्द्वानी नैनिताल उत्तराखण्ड बस्ने २६ वर्षीय आशिष कब्डौला, भारत काजु बागाना रोड सुन्दर नगर, हेहल राँची झारखण्ड बस्ने ३४ वर्षीय विशाल कक्कड, भारत केशवनगर पहाडी टोल रातु रोड राँची झारखण्ड बस्ने ३८ वर्षीय लोकेशकुमार दुवे, भारत लोवर वर्दवान कम्पाउड लालपुर राँची झारखण्ड बस्ने २९ वर्षीय विकासकुमार सिंह, भारत नांगलोड वेस्टी देल्ही बस्ने २८ वर्षीय अरुणकुमार, भारत वैशाली गजियावाद उत्तर प्रदेश बस्ने ४० वर्षीय कुनाल शर्मा रहेका छन् ।

साउन २१ गते साँझ ६ बजेको समयमा भाडाको फ्ल्याटमा बसी मेडि असिष्ट नामको कम्पनीमार्फत अनलाइन ठगीको कारोबार भइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो ।

उहाँकानुसार पक्राउ परेका उनीहरूको साथबाट विभिन्न कम्पनीका ल्यापटप सात थान, राउटर तीन थान, मोबाइल १३ थान, हार्ड डिस्क १ थान, हेडफोन चार थान, माउस दुई थान, ल्यापटपका चार्जर १८ थान, वेब क्यामेरा १ थान, मेडी एसिस्ट डाइरेक्टर लेखेको स्ट्याम्प दुई थान, मेडी एसिस्ट लेखेको स्ट्याम्प दुई थान बरामद भएका छन् ।

गत फागुन १० गते हेटौँडा उपमहानगरपालिकाको कार्यालयमा भारतको पुष्प बिहार जिल्ला नयाँ दिल्ली स्थायी बसोबास गर्ने द्रवीनकुमार सिंहको नाममा मेडी असिष्ट कम्पनी दर्ता गरी परामर्श सेवा प्रदान गर्ने गरी वाग्लेको घरमा फ्ल्याट भाडामा लिई सञ्चालन गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक रिजालले बताउनुभयो । मानव स्वास्थ्यसम्बन्धी सेवा प्रदान गर्ने गरी पान नम्बर दर्ता गरिएको उक्त कम्पनीमा १२ जनालाई काममा राखेको बुझिए पनि हाल नौ जनालाई मात्रै पक्राउ गरिएको छ । अन्य तीन जना (द्रवीनकुमार सिंह, रजत शर्मा र प्रकाश) भने फरार रहेका उहाँले बताउनुभयो ।

उक्त कम्पनीमा कार्यरत व्यक्तिले १८ देखि ५० हजार भारतीय रुपैयाँ नगदमा तलब बुझ्ने गरेको खुले पनि भुक्तानीको कुनै पनि अभिलेख फेला नपरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरूलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धानका अगाडि बढाइएको छ ।

हेलिकप्टर दुर्घटनाका मृतकप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौँ, २३ साउनः राष्ट्रपति रामचन्द्र पौडेलले नुवाकोटको शिवपुरी गाउँपालिकामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना परी मृत्यु भएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

दुर्घटनामा परी मृत्यु हुने पाँच जनाको निधन भएकोमा आफू स्तब्ध भएको बताउँदै राष्ट्रपति पौडेलले मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हो ।

आज दिउँसो १ः५४ बजे भक्तपुरको नलिनचोकबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको एयर डाइनेस्टीको कलसाइन ९ एन–एजेडी हेलिकप्टर दुर्घटना भएको थियो । दिउँसो २ः१४ बजे नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

हेलिकप्टरमा पाइलट अरुण मल्लसहित चार चिनियाँ नागरिक सवार रहेको एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितले जानकारी दिनुभयो ।

विमानस्थलबाट छ किलो कोकिनसहित एक जना पक्राउ

काठमाडौँ, २३ साउनः लागुऔषध नियन्त्रण ब्युरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छ किलो कोकिनसहित एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लात्भिया देश घर भएका ५१ वर्षीय इभार्स भाल्टर्स रहेका लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “दोहाबाट कतार एयरवेजमार्फत काठमाडौँ आएका भाल्टर्सलाई हाम्रो टोलीले आज छ किलो कोकिनसहित पक्राउ गरेको हो, उक्त विषयमा अहिले थप अनुसन्धान कार्य भइरहेको छ ।”

डेङ्गु सङ्क्रमणबाट विद्यार्थी बिरामी परेपछि दुई विद्यालय बन्द

दमौली (तनहुँ), २३ साउन : तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित दुई निजी विद्यालयका विद्यार्थी डेङ्गु सङ्क्रमणले बिरामी हुन थालेपछि आजदेखि विद्यालय बन्द गरिएको छ ।

आँबुखैरेनी गाउँपालिका–३ स्थित मस्र्याङ्दी बालज्योति बोर्डिङ स्कूल र बालशिक्षा सदन बोर्डिङ स्कूलका केही विद्यार्थीमा डेङ्गु सङ्क्रमण देखिएपछि केही दिनका लागि विद्यालय बन्द गरिएको हो ।

विद्यार्थीमा ज्वरो आउने समस्यापछि परीक्षण गर्दा डेङ्गु सङ्क्रमण पुष्टि भएको र यस क्षेत्रमा केही दिन सङ्क्रमण फैलिइरहेकाले विद्यालय बन्द गराइएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख निर्मला कुँवरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अन्य विद्यालयले विद्यार्थीको बिरामीको अवस्थाअनुसार बिरामी सङ्ख्या वृद्धि भएको खण्डमा विद्यालय बन्द गर्न निर्देशन दिइएको छ । डेङ्गु रोगको रोकथाम र नियन्त्रण सम्बन्धमा पूर्वतयारी तथा विशेष सतर्कता अपनाउन भनिएको छ ।” कुँवरले डेङ्गु सङ्क्रमितको आँबुखैरेनी अस्पतालमा निःशुल्क उपचार भइरहेको उल्लेख गर्नुभयो ।

आँबुखैरेनीमा हालसम्म तीन सय ५० भन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । डेङ्गु सङ्क्रमण बढेपछि जनचेतनामूलक कार्यलाई जोड दिइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिनुभयो ।

प्रधानसेनापति शर्मा शुक्रबारदेखि बिदा बस्दै, सुनाए आफ्नो कार्यकालको उपलब्धि

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको सङ्गठन प्रमुखका रूपमा आफ्नो तीन वर्षे कार्यकालमा सम्पन्न भए गरेका उपलब्धि सार्वजनिक गरेका छन् । आगामी भदौ २४ गतेदेखि अवकाशमा जान लागेका प्रधानसेनापति शर्माले शुक्रबारदेखि घर बिदामा बस्न लागेको पूर्वसन्ध्यामा बुधबार सकल दर्जालाई सम्बोधन गर्दै आफ्नो कार्यकालका उपलब्धिबारे जानकारी गराएका हुन्।

आफ्नो कार्यकालका लागि निर्धारण गरिएका लक्ष्य र प्राप्त उपलब्धिको समीक्षा गर्दै प्रधानसेनापति शर्माले सदैव इमान्दारिता, वफादारिता, निःस्वार्थ भाव र निरन्तर परिश्रमलाई मूलमन्त्रको रूपमा अङ्गिकार गरी कार्य जिम्मेवारी पूरा गर्न निर्देशन दिए ।

उनले भने, ‘व्यक्तिगत स्वार्थभन्दा संस्थागत स्वार्थलाई शिरोपर गरी राष्ट्र तथा सङ्गठनको हितअनुरूप कार्य गर्नुहोला । भावी प्रधानसेनापतिलाई पनि मलाई जस्तै साथ र सहयोग मिल्ने विश्वास लिएको छु ।’

त्यस अवसरमा नेपाली सेनाले निर्माण जिम्मा लिएका विभिन्न पूर्वाधार आयोजनाको प्रगति अवस्थाबारे प्रधानसेनापति शर्माले जानकारी गराएका थिए ।

काठमाडौँ–तराई मधेस द्रुतमार्गका १२ वटा प्याकेजको ठेक्का कार्य सुरू भएको, नौ वटा सुरुङमार्गमध्ये चार वटाको ‘ब्रेक थ्रु’ भइसकेका, पहिलोपल्ट अग्ला पुलको निर्माण कार्य अगाडि बढेकोलगायत विवरण उनले प्रस्तुत गरे ।

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको प्रक्रियागत कार्य सम्पन्न भई भवन निर्माणको चरणमा गएको उनले जानकारी दिए । नेपाली सेनाले काम गरिरहेको कर्णाली करिडोरअन्तर्गत लालिबगर–दुल्लिकुन्ना ११ किलोमिटर खण्डको निर्माण कार्य सम्पन्न भई हुम्ला जिल्लाको सदरमुकाम सिमिकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको पनि प्रधानसेनापति शर्माले समीक्षा प्रतिवेदनमा उल्लेख छ ।

रक्षा मन्त्रालयको सुपरीवेक्षण तथा नेपाली सेनाको नेतृत्वमा दक्षिण एसियामा नै पहिलो पटक ‘पार्टनरसिप फर टेक्नोलोजी इन पिसकिपिङ’ सङ्गोष्ठी कार्यक्रममा सहभागी भएको, बहुराष्ट्रिय शान्तिकार्यसम्बन्धी अभ्यास गरेको तथा संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनका लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा सहभागी भएको उल्लेख गरे ।

शान्ति स्थापना कार्यमा नेपाली सेनाको सहभागिता र क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ बाराको जितपुरमा ‘पिसकिपिङ लजिस्टिक अपरेसन सेन्टर’ को स्थापना गरिएको, छाउनीस्थित वीरेन्द्र अस्पतालमा ‘मास क्याजुअल्टी ट्रिटमेन्ट सेन्टर’ को निर्माण कार्य अगाडि बढेकोलगायत कार्यप्रगतिको जानकारी प्रधानसेनापति शर्माले प्रस्तुत गरे ।

काठमाडौँ बाहिर स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यअनुरुप लुम्बिनी प्रदेशलाई लक्षित गरी बुटवलमा सैनिक अस्पताल निर्माण सम्पन्न भई सञ्चालनमा आएको, आत्मनिर्भर बन्दै जाने योजना अनुरुप नेपाली सेनालाई आवश्यक जुत्ताहरु, पञ्चु तथा पाल–सायर कारखाना निर्माण भई उत्पादन सुरु भएकोलगायत प्रगति विवरण उहाँले प्रस्तुत गरे ।

स्नातक तहमा इञ्जिनियरिङ अध्यापनको लागि भक्तपुर जिल्लाको खरिपाटीमा नेपाली सेना इञ्जिनियरिङ अध्ययन संस्थानको भवन निर्माणका लागि शिलान्यास भएको, लुम्बिनी प्रदेशको बुटवलमा सैनिक आवासीय महाविद्यालय निर्माण भई शैक्षिक सत्र २०८१ बाट सञ्चालनमा आएको उनको समीक्षामा उल्लेख छ ।

नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सकलदर्जाका फरक क्षमता भएका सन्ततिलाई उचित स्याहार तथा शिक्षा प्रदान गर्ने उद्देश्यले छाउनीमा ‘वरदान फरक क्षमता विद्यालय’ निर्माण भई २०८१ आसारबाट पठनपाठन सुरू भएकोलगायत विषय समीक्षा प्रतिवेदनमा छन् ।

सैनिक अस्पतालमा उपचार नहुने गम्भीर प्रकृतिका रोगको उपचारका लागि स्वास्थ्य बीमा सुविधा प्रदान गर्ने व्यवस्था गरिएको, अन्य हिताधिकारी सरह अधिकृत क्याडेट र शैन्यलाई पूर्ण स्वास्थ्य बीमा  सात लाख प्राप्त गर्ने गरी आबद्ध गरिएको समीक्षामा उल्लेख छ ।

सैनिक सेवामा १० वर्ष पूरा गरेका श्रीमान्श्री/मतीको नाममा घर नरहेका बहालवाला सकलदर्जालाई सहुलियतपूर्ण ब्याजदरमा आफ्नै निजी आवास निर्माणको लागि  २५ लाखसम्मको ऋण प्रदान गर्ने गरी ‘सैनिक सकलदर्जा सहुलियतपूर्ण आवास कर्जा २०७८’ कार्यान्वयनमा ल्याई लागू भएको प्रधानसेनापति शर्माले जानकारी दिए ।

कल्याणकारी कोषको आय बढाउन ‘फ्युल स्टेशन’ को सङ्ख्या बढाई विस्तार गर्ने योजनाअनुरूप २०८० सालमा इटहरीमा र सीतापाइलामा पेट्रोल स्टेशन सञ्चालनमा आएका र वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सुविधा सम्पन्न आधुनिक भौतिक संरचनाको निर्माण भएको उनले उल्लेख गरे ।

आजै प्रधानसेनापतिले नेपाली सेनालाई विविध क्षेत्रबाट सहयोग पुर्याउने गैरसैनिक चार जना र सैनिक ५० जना सकलदर्जालाई एक समारोहका बीच ‘प्रधान सेनापति प्रसंशा निशान’ प्रदान गरे ।

भारतले जित्यो काभा महिला भलिबलको उपाधि

काठमाडौँ, २३ साउन : भारतले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिग भलिबलको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको फाइनलमा भारतले नेपाललाई ३–२ को सेटमा पराजित गर्यो । खेलको पाँचौ तथा निर्णायक सेट १५–५ को जित निकाल्दै भारतले उपाधि जितेको हो ।

खेलको पहिलो सेट नेपालले जित्यो । करिब ३० मिनेट चलेक उक्त सेट नेपालले २५–२३ ले आफ्नो पक्षमा पार्‍यो । निकै प्रतिस्पर्धात्मक बनेको सेट २१–२३ को स्थितिलाई सुधार्दै नेपालले २३–२३ को बराबरीमा ल्यायो । त्यसपछि नेपालले लगतार दुई अङ्क बटुल्दै पहिलो सेट जित्न सफल भयो ।

खेलको दोस्रो सेट भने नेपालले गुमायो । करिब २१ मिनेट चलेको सेटमा भारतले नेपालविरुद्ध २५–१४ को जित निकाल्यो ।

खेलको तेस्रो सेटको सुरुआत राम्रो गरेको नेपालले सुरुमा ३–० को अग्रता लिएको थियो । प्रतिस्पर्धात्मक बनेको सेट नेपालले २५–२२ ले जित्यो । खेलको चौथो सेटमा भारतले खेलमा पुनरागमन गर्दै २५–२१ ले आफ्नो पक्षमा पार्‍यो ।

नेपालले यसअघि सन् २०१९ मा दक्षिण एसियाली खेलकुद सागमा भारतसँग बेष्ट अफ फाइभमा फाइनलमा हार बेहोरेको थियो ।

फाइनलमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डङ्गोल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतको उपस्थिति थियो ।

लुम्बिनी प्रदेश : एम्बुलेन्सको स्तरोन्नति गर्न प्रदेश सरकारको परिपत्र

गुलरिया (बर्दिया), २३ साउन : लुम्बिनी प्रदेश सरकारले जिल्लास्थित स्वास्थ्य कार्यालयलाई आफ्नो क्षेत्रमा सञ्चालित एम्बुलेन्स राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार स्तरोन्नति गर्न परिपत्र गरेको छ ।

प्रदेश स्वास्थ्य मन्त्रालयले जिल्लामा सञ्चालनमा रहेका ‘ग’ वर्गका एम्बुलेन्सलाई जिपिएस जडान गरी प्रादेशिक पे्रषण केन्द्रसँग आबद्धता लिई निर्देशिका बमोजिम ‘ख’ वर्गमा स्तरोन्नति गर्न ७० दिनको समयावधि तोकेर परिपत्र गरेको हो ।

स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले यहाँ सञ्चालनमा रहेका तर स्तरवृद्धि नभएका एम्बुलेन्स स्तरोन्नति गर्न जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको बैठकले निर्णय गरी आवश्यक निर्देशन दिइसकेको बताउनुभयो । बर्दियामा २९ वटा एम्बुलेन्समध्ये छ वटा ‘ख’ वर्गका र चार वटा जिपिएस जडान गरिएका छन् । यस्तै २३ वटा ‘ग’ वर्गका एम्बुलेन्समध्ये १० वर्ष पुगेका छ र १० वर्ष नपुगेका १७ वटा छन् । तिनमा जिपीएस जडान छैनन् ।

गिरीले भन्नुभयो, “बर्दियाको गुलरिया नगरपालिकामा चार, मधुवनमा छ, राजापुर सात, गेरुवामा एक, बारबर्दियामा पाँच, बाँसगढीमा एक र बढैयाताल गाउँपालिकामा दुई वटा एम्बुलेन्स रहेका छन् । यहाँ नेपाल रेडक्रस सोसाइटीका छ वटा एम्बुलेन्स सञ्चालनमा छन् ।

राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार कुनै पनि वहानामा एम्बुलेन्स सेवाबाट कसैलाई पनि वञ्चित गर्न नपाइने प्रावधान छ । यस्तै वेवारिशे, विपन्न बिरामीलाई निःशुल्क सेवा प्रदान गर्नुपर्ने, २४ सै घण्टा, सातै दिन एम्बुलेनस सेवा प्रवाह गर्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ । एम्बुलेन्सलाई बिरामी ओसारपसारबाहेक अन्य कुनै पनि काममा प्रयोग गर्न नपाइने, दुरुपयोग गरेको पाए नियमानुसार कारबाही हुने प्रावधान छ ।

जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्देशिकाको मापदण्डअनुसार सेवा सञ्चालनका लागि आफूहरूले सरोकार भएकाहरू निरन्तर समन्वय गरिरहेका बताउनुभयो । समितिले जिल्लाभित्र सञ्चालनमा रहेका एम्बुलेन्सको भौतिक अवस्था, दर्ता, नवीकरण र अस्पतालसँगको सम्बन्धको बारेमा २१ दिनभित्र प्रतिवेदन पेस गर्न उपसमिति गठन गरेको उहाँले जानकारी दिनुभयो ।

टीआरसी विधेयकमा भएको राजनीतिक सहमति नेपालको शान्ति, स्थायित्व र प्रगतिको बाटोमा कोशेढुङ्गा : अध्यक्ष प्रचण्ड

काठमाडौँ, २३ साउन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) माथि जुटेको राजनीतिक सहमति नेपालको शान्ति, स्थायित्व र प्रगतिको बाटोमा कोशेढुङ्गा हुने विश्वास व्यक्त गर्नुभएको छ ।

विधेयकमाथि सहमति जुटाउन गठित कार्यदलले आज प्रमुख दलका शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएपछि सामाजिक सञ्जालमार्फत उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

पूर्वप्रधानमन्त्री दाहालले राजनीतिक सहमति कानुनी वैधतामा रूपान्तरण भएपश्चात् द्वन्द्वसँग सम्बन्धित राहत, परिपूरण जस्ता विषय दीर्घकालीन रूपमा सम्बोधन हुने बताउनुभयो । उहाँले प्रतिवेदन हस्तान्तरण गर्ने कार्यदलका सदस्य र सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । “नेपाली समाजको युगान्तकारी परिवर्तनको ऐतिहासिक जग बनेको नेपाली जनक्रान्तिलाई शान्ति, संविधान र राष्ट्रको समृद्धिको दिशामा रूपान्तरण गर्न, द्वन्द्वकालीन घटनाको सत्य निरुपण गरी समाजमा मेलमिलापको अवस्था सिर्जना गर्न र पीडितमैत्री सङ्क्रमणकालीन न्याय निरुपण गर्न म विगतदेखि निरन्तर लागिरहेको छु । यसै क्रममा मेरो पहल र नेतृत्वमा भएको बालुवाटार बैठकले यो कार्यदल गठन गरेको थियो”, अध्यक्ष दाहालले भन्नुभयो ।

सङ्क्रमणकालीन न्यायसम्बन्धीको टिआरसी विधेयक टुङ्गो लगाउन गठित कार्यदलले आज शीर्ष नेताहरूलाई आफ्नो प्रतिवेदन बुझाएको हो ।

उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच भेटवार्ता

काठमाडौँ, २३ साउन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र उहाँका भारतीय समकक्षी पियुष गोयलबीच आज नयाँदिल्लीमा भेटवार्ता भएको छ ।

सो अवसरमा उहाँहरूबीच द्विपक्षीय व्यापार एवं आर्थिक सहकार्यका विविध विषयमा छलफल भएको थियो । भेटमा मन्त्री भण्डारीले खाद्य सामग्रीको आयात सहज बनाउनुपर्ने विषयमा समकक्षी गोयलको ध्यानाकर्षण गराउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

चामल तथा चिनीलगायत खाद्य सामग्री नेपाल–भारत सिमानामै पाइने मूल्यमा नेपाललाई उपलब्ध गराउन आग्रह गर्दै मन्त्री भण्डारीले उद्योग एवं व्यापारका क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँहरूबीच सचिवस्तरीय बैठक राख्ने विषयमा छलफल भएको र सो सम्बन्धमा दुई साताभित्र उक्त बैठक आयोजना गर्ने सहमति भएको छ ।

नेपालबाट सिमेन्ट, जुत्ता, प्लाइउड निर्यात गर्दा व्यवसायीले खेप्नुपरेको कागजी प्रक्रियाको अवरोधलाई हटाउने विषयमा पनि मन्त्री भण्डारीले भारत सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

भारतका वाणिज्य तथा उद्योगमन्त्री गोयलले नेपाल–भारतबीचको व्यापारमा देखिएका समस्या समाधान गर्न आफ्ना कर्मचारीहरूलाई निर्देशन दिएको जानकारी दिनुभयो । त्यसैगरी आजै मन्त्री भण्डारी र भारतका पेट्रोलियममन्त्री हरिजित सिंह पुरीबीच पनि भेटवार्ता भएको थियो ।

जनताका सेवाप्रति केन्द्रित हुन जनप्रतिनिधिलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, २३ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि आपसी सहकार्य र संवादका साथ जनताप्रति केन्द्रित भएर लाग्न आग्रह गर्नुभएको छ ।

उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग आज सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले ‘कोभन्दा को ठूलो’ भन्ने ढङ्गले नभई केन्द्र र स्थानीय सरकारबीच समन्वयका साथ मिलेर समस्याको समाधानगरी जनतालाई सेवा दिनुपर्नेमा जोड दिनुभयो ।

“जनप्रतिनिधिलाई जनताका पक्षमा काम गर्न निर्वाचित भएका हुन्छन् । त्यसैले हामीले अहङ्कार र दम्भबाट निर्देशित हुनुहुन्न । जनताप्रति शालीन र विनयशील हुनुपर्छ । हामीसँग जनतालाई हप्काउने, दप्काउने, दुःख दिने, खोस्ने, लुट्ने र पिटपाट गर्ने अधिकार हुँदैन,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “सडकमा हिँडेका जनताले जनप्रतिनिधिलाई गरेका गुणगान सक्कली र दिगो हुन्छन् । सामाजिक सञ्जाल र नक्कली नामबाट गरिएका प्रशंसा दिगो हुँदैनन् ।”

उक्त फोरमले नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहका नाममा आफूखुसी सडक बत्तीको बिल पठाएर बक्यौता देखाउँदा समस्या आएकोलगायत विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको थियो । जवाफमा प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालय र निकायसँग बुझेर आवश्यक सहजीकरण गर्ने विश्वास दिलाउनुभयो । उहाँले फोहरमैला व्यवस्थापनको दीगो समाधान गर्नुपर्नेमा पनि सरकार सजग रहेको स्पष्ट पार्नुभयो ।

फोरमका अध्यक्ष चिरीबाबु महर्जनले प्रधानमन्त्री ओलीको कार्यकाल सफलताको कामना गर्दै पारस्परिक सम्बन्ध र सहअस्तित्वबाट सहयोग आदानप्रदान गर्दै जनताप्रति सेवा दिन आफूहरू प्रतिबद्ध रहेकाले केन्द्र सरकारबाट हुुनुपर्ने सहजीकरणमा प्रधानमन्त्रीको साथ माग्नुभएको थियो ।

कुल्फी बेचेर मासिक एक लाखसम्म आम्दानी

बरहथवा ९सर्लाही, २३ साउनः काम कहिले पनि सानो ठूलो हुँदैन । मेहनत गरे जुनसुकै कामबाट मनग्य आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बन्नुभएको छ सर्लाहीको लालबन्दी नगरपालिका–२, निवासी ४६ वर्षीय मिथलेश सहनी । सहनीले कुल्फी बेचेर मनग्य आम्दानी गरिरहनुभएका सहनीले पाँचजनाको परिवारको आनन्दसँग पालनपोषण गरिरहनुभएको छ । उहाँका एक छोरा केही समयदेखि वैदेशिक रोजगारीमा मलेसिया पुगेका छन् ।

उहाँले दुई छोरा घर नजिकैको विद्यालयमा पढाउनुभएको छ । सहनी आफू भने दैनिक ६० किलोमिटरसम्म साइकलमा डुलेर कुल्फी बेच्नुहुन्छ । फागुन महिनाको पहिलो हप्तादेखि सुरु हुने उहाँको कुल्फीको व्यापार मङ्सिर महिनासम्म चल्छ । चर्को घाम, पुरानो साइकल केरियरमा बाँधेको कुल्फीको ड्रम गाउँ गाउँसम्म पुग्ने निरन्तरको यात्रा उहाँको दैनिकी हो ।

“अत्यधिक गर्मी वा बर्सातको समयमा कुल्फी उत्तिसारो बिक्दैन्”, उहाँले भन्नुभयो, “मानिसहरु घरबाट बाहिर निस्किदैनन्, मौसम ठिक्क भएमात्र व्यापार राम्रो हुन्छ ।” सम्पत्तिको नाममा तीन धुर घडेरीमा बनेको काठको भुइँतले घरबाहेक उहाँसँग अरु केही छैन । सहनीले दैनिक ज्याला मजदुरी, कहिले खोलामा बालुवा चाल्ने त कहिले गिट्टी कुट्ने गरेर परिवारको लालनपालन गर्दै आउनुभएको थियो । समयमा धान काट्न उहाँ भारतको पञ्जाबसम्म पुग्नुभएको छ । “कमाई राम्रो कहिले भएन”, उहाँ भन्नुहुन्छ ।

झन्डै १५ वर्ष पहिला उहाँले यसैगरी अन्न ९मकै० सँग बरफ साट्ने काम गर्नुभएको थियो । आम्दानी राम्रो नभएपछि लगभग तीन वर्ष काम गरेर छाड्नुभयो । विगत तीन वर्षबाट फेरि उहाँले कुल्फी बेच्न सुरु गर्नुभएको हो । उहाँ हरेक दिन बिहान नजिकैको उद्योगबाट बरफको डल्ला किनेर ल्याउनुहुन्छ । त्यसपछि उहाँ कुल्फी बट्टाबट्टामा राखेर नुहाइधुवाइ गर्नुहुन्छ ।

त्यसबेलासम्ममा कुल्फी जमेर तयार भइसक्छ । खाना खाइसकेपछि बिहान १० बजेदेखि उहाँको व्यापार सुरु हुन्छ । सहनी घरबाट विभिन्न गाउँ हुँदै सर्लाही र रौतहटको सीमाक्षेत्र नुनथर, बागमती नगरपालिकास्थित भरत तालसम्म पुग्नुहुन्छ । साँझ घाम डुबेपछि भने उहाँ सिधँै घर हानिनुहुन्छ । “घाम डुबेपछि गाउँ पस्दिन”, उहाँले भन्नुभयो, “जति व्यापार भए पनि सिधँै घर पुग्छु ।”

दिनको कम्तीमा रु पाँच हजारको सामान ड्रममा राखेर व्यापारका लागि निस्कने गरेको उहाँको भनाइ छ । “कुनै दिन अपराह्न २ बजे नै सबै बेचेर भ्याउछु”, उहाँले भन्नुभयो, “कहिले फिर्ता पनि लानुपर्छ, ३६ घण्टासम्म बिग्रिँदैन् ।” पूरै बिक्री गर्दा रु दुई हजार पाँच सय फाइदा हुने उहाँको भनाइ छ । कुल्फी रु १० देखि ५० सम्ममा बिक्री गर्ने गरेको उहाँको भनाइ छ ।

कुल्फी बेचेर महिनाको रु एक लाखसम्म कमाइ हुने गरेको उहाँले बताउनुभयो । केही भएन भने पनि मेहनत गर्न सक्दा उहाँका अनुसार कडा मेहनत पर्ने भएकाले यो पेसा सबैले मन पराउँदैनन् । “मेहनत कडा छ”, उहाँले भन्नुभयो, “दैनिक हिँड्न सक्नुप¥यो, भारीसहितको साइकल ५०÷६० किलोमिटर ठेल्नुपर्छ ।”

कुल्फीका लागि आवश्यक सामग्री ल्याएर आफैले घरमै कुल्फी बनाउँदा फाइदा धेरै हुने गरेको उहाँको अनुभव छ । बरफबाहेक सबै कुरा आफैँ बनाउने उहाँले सुनाउनुभयो । आर्थिक उपार्जनको दिगो व्यवस्था नहुँदा विगतमा निकै हण्डर खाएको सम्झदै सहनीले कुल्फीको व्यापारपछि पछाडि फर्किएर हेर्नुनपरेको सुनाउनुभयो ।

कुल्फी व्यापारपछि सहनीले पाँच कट्ठा धान फल्ने खेतसमेत किनेको बताउनुभयो । वर्षदिन पुग्न धान आफ्नै खेतमा फल्ने गरेको उहाँको भनाइ छ । धेरैजसो गर्मीको मौसम रहने तराईको ठाउँमा बरफ, कुल्फी लगायतको बिक्री निकै राम्रो हुने गरेको छ । यसको व्यापारबाट धेरै स्थानीय स्वरोजगार समेत बनेर मनग्य आम्दानी समेत गरिरहेका छन् ।

मनै लोभ्याउने गाईखुरे झरना

लमजुङ, २३ साउन : झर्झराउँदो झरना । पहाडबाट झर्दै गरेको पानी । हरियालीका साथै फेदमा सुन्दर पोखरी । अस्सी मिटरभन्दा माथिबाट ओर्लने झरना हेर्न पर्यटकको भीड लाग्छ । यो झरना देख्नासाथ नलोभिने कोही हुन्नन । झरनाको फेद पुग्न मन लाग्छ । झरनासँग सेल्फी खिच्नेको बाक्लै भीड लाग्छ । झरनाको पानीसँगै पोखरीमा पौडी खेल्नेको जमात उस्तै हुन्छ ।

झरनाले मनै लोभ्याउँदा विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक झरनामा आनन्द लिन आउने गरेका छन् । डुम्रे–बेँसीसहर सडक छेउमै तथा मस्र्याङ्दी नदी नजिकै यो झरना छ । बेँसीसहर नगरपालिका–१ दलालस्थित गाईखुरे झरना अगाडि एकैछिन गाडी रोकेरै भए पनि झरना नजिक पुग्छन् यात्रु । यस झरनामा दैनिक यतिबेला दुई सय भन्दा बढी पर्यटक आउने गरेका छन् ।

त्यस्तै, शुक्रबार, शनिबार र बिदाको समयमा यहाँ दोब्बर पर्यटक झरनामा आउने गर्दछन । स्थानीय सुदिप पन्तका अनुसार यस झरनामा लमजुङसहित छिमेकी जिल्ला गोरखा, तनहुँ, कास्की, मनाङलगायतका ठाउँका पर्यटक आउने गरेका छन् । मनोरञ्जनको क्षेत्र कम भएको यस जिल्लामा यस झरना मनोरञ्जनको माध्यम यस झरना बनिरहेको छ । साथीहरुबीच एकापसमा पानी छ्यापा–छ््याप गर्नु र पौडिएर माछा जस्तै पोखरीमा ओहोरदोहोर गर्दै मज्जा लिने समेत पर्यटकले गर्दछन् । बर्सेनी झै यस वर्षपनि झरनामा आउनु भएका बेँसीसहर नगरपालिका– ८ का एन्जिल गुरुङले झरनाको शीतलतासँगै तस्बिर खिच्दा रमाइलो हुने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँ आउँदा बेग्लै आनन्द मिल्छ ।”यस्तै, अर्का पर्यटक अरुण बरालले साथीहरुसँग झरनामा आएको र झरनासँग फोटो खिच्ने, पौडी खेल्ने, साथीभाइसँग रमाइलो गरेर झरनाको मज्जा लिएको बताउनुभयो । झरना व्यवस्थित भने हुनसकेको छैन । स्थानीयका अनुसार विगतमा यहाँ विदेशी पर्यटकसमेत आउने गरेका थिए । सो झरना र पोखरी हेर्न तथा पौडी खेल्न मात्र नभइ साहसिक खेल क्यानोनिङकोसमेत राम्रो सम्भावना रहेको छ ।

यस वडाका वडाध्यक्ष दुर्गाबहादुर बुढाथोकीले यतिबेला पर्यटकको भीडभाड लागिरहेको बताउनुभयो । पर्यटकहरुको भीड लागेपनि यस झरनालाई व्यवस्थित बनाउन नसक्दा दुःख लागिरहेको उहाँको भनाइ छ । उहाँले झरनालाई थप व्यवस्थित गर्दै पूर्वाधारको संरचना थप्दै पर्यटक आकर्षित गर्नका लागि पालिकाले योजना बनाएको छ । झरनालाई थप व्यवस्थित गर्दै पर्यटकको आकर्षणको केन्द्र बनाउने तयारी गरेर अघि बढ्न लागेको नगरपालिकाले जनाएको छ ।

‘देश निर्माण गर्न तयार हुन’ बङ्गलादेशीहरूलाई युनुसको आग्रह

बङ्गलादेशमा व्यापक विरोध प्रदर्शनले प्रधानमन्त्रीलाई अपदस्थ गरेपछि कामचलाउ सरकारको नेतृत्व गर्न तयार हुनुभएका मुहम्मद युनुसले आफ्नो बहुप्रतीक्षित स्वदेश फिर्तीअघि बुधबार देशबासीहरूलाई ‘मुलुक निर्माणका लागि तयार’ रहन आह्वान गर्नुभएको छ ।

लामो समयदेखि शासन गर्नुभएकी निरङ्कुश प्रधानमन्त्री शेख हसिनाले मुलुक छाडेपछि माइक्रोफाइनान्स (लघुवित्त) का अग्रणी एवं नोबेल पुरस्कार विजेता युनुसले अन्तरिम सरकारको नेतृत्व गर्नुहुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

“शान्त रहनुहोस र देश निर्माणका लागि तयार हुनुहोस्”, युनुसले फ्रान्सबाट स्वदेश फर्कनु एक दिनअघि बुधबार एक विज्ञप्तिमा भन्नुभयो, “यदि हामी हिंसाको बाटोमा गयौँ भने सबै नष्ट हुनेछ ।” उहाँले धेरै साताको हिंसापछि शान्त हुन आग्रह गर्नुभयो । हिंसामा कम्तीमा चार सय ५५ जनाको ज्यान गएको थियो ।

बङ्गलादेशमा लाखौँ मानिसलाई गरिबीबाट बाहिर निकाल्ने श्रेय दिइएका ८४ वर्षीय युनुसलाई विद्यार्थी नेताहरूले अन्तरिम सरकारको नेतृत्व गर्न बोलाएपछि उहाँलाई कामचलाउ सरकारको नेतृत्व गर्न नियुक्त गरिएको हो ।

उक्त निर्णय राष्ट्रपति शाहबुद्दिन, सेना, नौसेना र वायुसेनाका प्रमुखहरू र विद्यार्थी नेताहरूसँगको बैठकमा लिइएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमा जनाएको छ ।

बैठकमा सहभागी स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसनका नेताहरूमध्येका एक नाहिद इस्लामका अनुसार युनुसले मुख्य सल्लाहकारको पद प्राप्त गर्नुहुनेछ । इस्लामले बैठकलाई ‘फलदायी’ भन्दै पत्रकारहरूसँग शाहबुद्दिनले ‘जतिसक्दो चाँडो’ अन्तरिम सरकार गठन गरिने कुरामा सहमति जनाउनुभएको बताउनुभयो ।

युनुसका वकिल खाजा तनविर अहमदले बङ्गलादेशको एक अदालतले बुधबार पुनरावेदनमा युनुसलाई श्रम सजायबाट सफाइ दिएको जानकारी दिनुभयो ।

श्रम अभियोगमा छ महिनाको जेल सजाय सुनाइएपछि युनुसले यसै वर्षको प्रारम्भमा विदेश भ्रमण गर्नुभएको थियो तर पुनरावेदन विचाराधीन भएकाले तुरुन्तै जमानतमा रिहा गरिएको थियो ।

उक्त मुद्दालाई एमनेस्टी इन्टरनेसललगायत निगरानीकर्ताहरूले राजनीतिक रूपमा प्रेरितका रूपमा आलोचना गरेका थिए ।

हेमबहादुर मल्ल सम्मान, २०७९ कूटनीतिज्ञ थापालाई प्रदान

काठमाडौँ, २३ साउन : कुशल प्रशासक एवं व्यवस्थापक स्व हेमबहादुर मल्लको स्मृतिमा स्थापित ‘हेमबहादुर मल्ल सम्मान–२०७९’ कूटनीतिज्ञ डा भेषबहादुर थापालाई प्रदान गरिएको छ । नेपाल जनप्रशासन सङ्घद्वारा आज यहाँ आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सो सम्मान प्रदान गर्नुभयो ।

सो सम्मान रु दुई लाख राशिको रहेको छ । सङ्घले र साल्ट ट्रेडिङ कर्पोरेशनको सौजन्यमा सो संस्थाका अध्यक्ष स्व हेमबहादुर मल्लको स्मृतिमा उक्त सम्मान स्थापना गरेको हो ।

पाँच दशकसम्म निरन्तर सार्वजनिक जीवनका आर्थिक, प्रशासनिक, प्राज्ञिक र कूटनीतिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न पुर्‍याउनुभएको योगदान स्वरूप डा थापालाई सो सम्मान प्रदान गरिएको सङ्घका अध्यक्ष मधुरमण आचार्यले जानकारी दिनुभयो ।

सम्मानित व्यक्तित्व डा थापाले राष्ट्रिय योजना आयोगको सदस्य सचिव, अर्थ तथा योजना मन्त्रालयको सचिव, नेपाल राष्ट्र बैंकको गभर्नर, नेपाल सरकारको अर्थसचिव हुँदै अर्थमन्त्री एवं परराष्ट्र मन्त्रीको गहन जिम्मेवारी सम्हाल्नुभएको थियो ।

साथै संयुक्त राज्य अमेरिका र भारतका लागि नेपाली राजदूत, नेपाल भारत प्रबुद्ध व्यक्ति समूहको नेपालतर्फको संयोजक तथा श्रीलङ्काका लागि संयुक्त राष्ट्र सङ्घको आवासीय प्रतिनिधि र क्यानडास्थित अन्तर्राष्ट्रिय विकास अनसुन्धान केन्द्र (आइ.डि.आर सी) को उपाध्यक्षका हैसियतमा कूटनीतिक सेवामार्फत अन्तर्राष्ट्रिय सम्बन्धलाई मजबुत बनाउन उहाँले उल्लेखनीय योगदान दिनुभएको छ ।

उक्त सम्मान छनोटका लागि पूर्वसचिव एवं पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाको संयोजकत्वमा समिति गठन गरिएको थियो । सो समितिमा सङ्घका निवर्तमान अध्यक्ष कृष्णहरि बाँस्कोटा, साल्ट ट्रेडिङका अध्यक्ष प्रदीपलाल श्रेष्ठ, सचिव विन्दु विष्ट र पूर्वसचिव शिशिरकुमार ढुङगाना सदस्य रहनुभएको थियो ।

यसअघि सो सम्मानबाट केदारभक्त माथेमा, चाँदनी जोशी, डा भगवान् कोइराला, डा विमल कोइराला, महावीर पुन, स्व अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, डा सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा सन्दुक रुइत, डा गौरीशङ्कर लाल दास, सूर्यनाथ उपाध्याय, गोरक्षबहादुर न्हुच्छे प्रधान र भानु आचार्य सम्मानित भइसक्नुभएको छ ।

स्व मल्ललले साल्ट ट्रेडिङको संस्थापक प्रमुख, कार्यकारी प्रमुख, डाइरेक्टर इन्चार्ज र प्रमुख सल्लाहकार पदमा रही सेवा गर्नुभएको थियो । प्रशासन र व्यवस्थापनका क्षेत्रमा कार्यरत प्राज्ञिक, प्रशासक र व्यवस्थापकबीच पारस्परिक सम्बन्धलाई मर्यादित र सुदृढ गर्दै सार्वजनिक सरोकारसँग सम्बन्धित सार्वजनिक क्षेत्रको नीति निर्माण, पुनरावलोकन र मूल्याङ्कनमा पृष्ठपोषण गर्ने उद्देश्यले २०४७ सालमा सङ्घको स्थापना भएको थियो ।

मानव–वन्यजन्तु द्वन्द्व बढ्दै, गत आवमा ३४ जनाको मृत्यु

काठमाडौँ, २३ साउनः मुलुकमा पछिल्लो समय संरक्षणका क्षेत्रमा ठूलो सफलता हासिल भएसँगै मानव–वन्यजन्तुको द्वन्द्व पनि बढ्दो छ । वन्यजन्तुको आक्रमणबाट मानवीय, पशुधन र कृषि बालीनालीमा क्षति बढ्दो क्रममा छ ।

गत सातामात्रै चितवनको भरतपुरमा बजार क्षेत्रमै बाघको आक्रमणबाट एक जना घाइते भएका र कञ्चनपुरमा उखुबारीमा घाँस काटिरहेकी महिलाको पनि बाघको आक्रमणमा परी मृत्यु भएको थियो । यसैबीच बढ्दै गएको मानव–वन्यजन्तु चुनौती व्यवस्थापनका विषयमा आज प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले वन तथा वातावरण मन्त्रालयल र सम्बन्धित सरकारी अधिकारीसँग छलफल गरेको छ ।

समितिको बैठकमा सांसदहरूले मुलुकका ग्रामीण क्षेत्रमा बाँदर, बँदेल, दुम्सी, निलगाईलगायतका जङ्गली जनावरबाट कृषि बालीमा हुने क्षति बढ्दै गइरहेकाले नियन्त्रणका लागि आग्रह गर्नुभएको थियो । उहाँहरूले बाघ, भालु, हात्तीलगायत जनावरको आक्रमणबाट हुने मानवीय क्षति नियन्त्रणका लागि मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा वन मन्त्रालयका पदाधिकारीहरूले गत आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणमा परी ३४ जनाको ज्यान गएको जानकारी गराउनुभएको छ । विभागका महानिर्देशक डा सिन्धुप्रसाद ढुङ्गानाले अन्य वन्यजन्तुको तुलनामा हात्ती र बाघबाट सबैभन्दा बढी मानवीय क्षति भएको जानकारी दिनुभयो ।

त्यस्तै बाँदर, बँदेल, दुम्सी र नीलगाईबाट कृषि बालीनालीमा सबैभन्दा क्षति हुने गरेको तथ्याङ्क छ । उहाँले भन्नुभयो, “मानवीय, कृषि र पशुधनको क्षति गर्ने करिब १६ वन्यजन्तु छन् । पूर्वको काँकडभित्ताबाट आउने जङ्गली हात्तीले बढी क्षति गर्ने गरेको छ । ती हात्तीको समूह पर्सासम्म आइपुग्छन् । बाटो परेका र आफूलाई अवरोध हुने घरगोठ भत्काउँदै हिँड्छन् ।”

यो समस्या समाधानका लागि हात्तीको सहज आवागमन बनाउन ‘हात्ती पथ’को निर्धारण गरी व्यवस्थापन गर्नुपर्ने विज्ञहरुको सुझाव छ । विभागले वन्यजन्तुको संरक्षण र संरक्षित क्षेत्रको व्यवस्थापन गर्दै आएको छ । यस्तै बाघको बासस्थान व्यवस्थापनगरी आहारा प्रजाति वृृद्धि गर्नुपर्ने भन्नुहुँदै महानिर्देशक डा ढुङ्गानाले वन्यजन्तुमैत्री पूर्वाधार आवश्यक रहेकामा जोड दिनुभयोे । वन्यजन्तु वनमै रोक्न र मानवीय तथा पशुधनको क्षति कम गर्नका लागि सरोकार भएका सबैपक्ष मिलेर काम गर्नुपर्ने उहाँको भनाइ छ ।

मानवीय, पशुधन र कृषि बालीनालीमा हुने क्षतिको क्षतिपूर्तिका लागि मन्त्रालयले वार्षिक रु १५ करोड खर्च गर्दै आएकोसमेत त्यस अवसरमा जानकारी दिइयो । मन्त्रालयले वन्यजन्तुबाट मृत्यु भएका व्यक्तिका परिवारलाई रु १० लाख, घाइतेलाई अवस्थाअनुसार रु २० हजारदेखि रु पाँच लाखसम्म क्षतिपूर्ति उपलब्ध गराउँदै आएको छ । यसरी तिर्ने क्षतिपूर्तिमध्ये गत आवको रु सात करोड बक्यौता बाँकी रहेको पनि मन्त्रालयले जनाएको छ ।

उपयुक्त बासस्थानको कमीले आहाराको खोजीमा वन्यजन्तु मध्यवर्ती र सामुदायिक वन हुँदै मानवबस्तीसम्म पुग्ने गरेका छन् । यसले गर्दा मानिसमाथि हुने आक्रमणका घट्ना बढ्दै गएका र नियन्त्रणका लागि वन्यजन्तुलाई जङ्गलमै रोक्न आहार विस्तार गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।

मन्त्रालयले कृषिमा क्षति गर्ने बँदेल मार्न सक्नेगरी कार्यविधि बनाएको छ तर बाँदरलाई अन्तर्राष्ट्रिय महासन्धिका कारण मार्न सम्भव नभएको सरकारी अधिकारीको भनाइ छ ।वन मन्त्रालयले वन्यजन्तुको व्यस्थापन र नियन्त्रणका लागि आवश्यकपर्ने जनशक्तिको कमी रहेको र वन्यजन्तु विदेशमा उपहार दिने प्रावधान भए पनि निर्यात गर्नसक्ने प्रावधान भने नरहेको जनाएको छ ।

छलफलमा वनमन्त्री, राज्यमन्त्री, सचिव, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक र सम्बन्धित सरोकार भएकाहरू समेतको सहभागिता रहेको थियो ।

सुशासनका लागि बेथितिको अन्त्य जरुरी छ – सञ्चारमन्त्री गुरुङ

काभ्रेपलाञ्चोक, २३ साउन : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जुन क्षेत्रमा बेथिति र राजनीतिकरण हुन्छ त्यसलाई तत्काल अन्त्य गर्नु जरुरी रहेको बताउनुभएको छ ।

उहाँले नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घ (आइटिएफ) को आज काभ्रेपलाञ्चोकको बनेपामा आयोजित २७ औँ वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै बेथिति र राजनीतिकरणले कुनै पनि विकास तथा योजना सफल नहुने भएकाले तत्काल त्यस्ता गतिविधिको अन्त्यको आवश्यकता औँल्याउनुभयो ।

“सुशासनका लागि बेथिति र राजनीतिकरणको अन्त्य जरुरी छ, यी तत्वहरू हरेक विकासका बाधक हुन्, यसले मुलुकलाई राम्रो गर्दैन”, उहाँले भन्नुभयो । उहाँले राजनीतिक स्थायित्व र विकासका लागि यो सरकार बनेको उल्लेख गर्दै सरकार आगामी चुनावसम्म जाने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारले एक सय दिनमा दीर्घकालीन महत्त्वका काम गर्नेछ । छ महिनासम्म सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियानलाई रफ्तारमा लागि सक्ने छ ।” उहाँले वर्षौँसम्म राष्ट्रिय सहमति नभएको शान्ति प्रक्रियाको बाँकी काम बेपत्ता छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन (सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक) निर्माण सहमति यो सरकारको पहिलो र ठूलो उपलब्धि मानिएको बताउनुभयो ।

मन्त्री गुरुङले खेल क्षेत्रमा नाम र दाम कमाउने मात्र नभई पर्यटनमैत्री, अनुशासित र पहिचानमैत्री हुनुपर्ने बताउनुभयो । “हाम्रो देशको खेल र खेलाडी विश्वको कम्तीमा २० देशलाई चिनाउन सक्ने हुनुपर्दछ, अनि मात्रै राष्ट्रको गौरव बढ्दै जानेछ”, उहाँले भन्नुभयो । खेलकुदमा सरकारको बजेट कम छ भएकाले अर्थ र खेलकुद मन्त्रालयसँग समन्वय गरी आगामी बजेटमा बढाउँदै लगिने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हामीसँग भौतिक पूर्वाधार नहुँदा इन्डोर–आउटडोरका खेल प्रभावकारी हुन सकेका छैनन्, दशरथ रङ्गशालाबाहेक अन्य स्थानमा निर्माण एवं सञ्चालन गर्न सकिएको छैन, अब बजेट बढाउँदै खेल क्षेत्रलाई अघि बढाउनुपर्छ ।”
सञ्चारमन्त्रीले समग्र खेलकुद क्षेत्रको विकासका लागि वार्षिक रु ५० अर्ब चाहिने प्रक्षेपण गर्नुभयो । “हामी पनि परिवर्तन कै लागि लडिरहेका छौँ, तपाईंहरू पनि खेल क्षेत्रको विकास मै लागि रहनुभएको छ, यस क्षेत्रमा बजेट बढाउँदै जान्छौँ, स्वदेशमै बसेर खेलका हरेक विधामा विकास गर्दै जाऊ, हामी खेल क्षेत्रमा अब्बल बन्दै जानछौँ”, उहाँले दोहोर्‍याउनुभयो ।

मन्त्री गुरुङले महासङ्घद्वारा घोषित तेक्वान्दोका सर्वोत्कृष्ट पुरुष खेलाडी रिक्सन वाइबा, सर्वोत्कृष्ट महिला खेलाडी सुष्मिता थापा, उत्कृष्ट प्रदेश महासङ्घ लुम्बिनी, उत्कृष्ट जिल्ला काठमाडाँै तथा उत्कृष्ट प्रशिक्षक कृष्ण थापा, उदियमान खेलाडी सजिना तामाङ, उदियमान प्रशिक्षक मनोज पुलामीलाई सम्मान गर्नुभएको थियो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमलाले खेलकुद क्षेत्रको थप विकासका लागि सरकारले पर्याप्त बजेट छुट्याउनुपर्ने बताउँदै खेलाडीको मेहिनतको कदर गर्नुपर्ने बताउनुभयो । महासङ्घका अध्यक्ष प्रवीणकुमार कार्कीले महासङ्घले देशभर तेक्वान्दोका दक्ष खेलाडी उत्पादनका लागि तालिमलगायत गतिविधि गरिरहेको बताउनुभयो ।

सुदूरपश्चिम प्रदेश : राहत र क्षतिपूर्ति उपलब्ध गराउनेसम्बन्धी प्रस्ताव सर्वसम्मतिले स्वीकृत

सुदूरपश्चिम, २३ साउन : सुदूरपश्चिम प्रदेशसभाले हालैको वर्षाका कारण पीडित प्रदेशवासीलाई राहत एवं क्षतिपूर्ति उपलब्ध गराउनेसम्बन्धी प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

प्रदेशसभाको आजको बैठकमा सभामुख भीमबहादुर भण्डारीले प्रस्तुत गर्नुभएको ‘गत असारमा अविरल वर्षाका कारण प्रदेशवासीलाई पुगेको क्षतिबाट पीडित प्रदेशवासीलाई नियमानुसार तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सभामार्फत प्रदेश सरकारलाई निर्देश गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरिएको हो ।

गत असार महिनामा अविरल वर्षासँगै भएको पहिरो, बाढी, डुबानलगायत विपद्का कारण प्रदेशमा धनजनको क्षति पुगेको थियो । यसअघि आजकै बैठकको शून्य समयमा प्रदेशसभा सदस्यहरूले मनशुनजन्य विपद् र बाघ आक्रमणको घटनाबाट मृत्यु हुनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारलाई उचित क्षतिपूर्ति, प्रभावितलाई राहतको व्यवस्था मिलाउन, आर्थिक वर्ष २०८१÷८२ को बजेट शून्यताका बारेमा देखिएको अन्योलता चाँडै अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले शून्य समयमा उठेका प्रश्नको जवाफ दिनुहुँदै विपद्मा परी मृत्यु भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति र प्रभावित परिवारलाई राहत उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
शून्य समयमा खेमादेवी विष्ट, धर्मराज पाठक, दमनबहादुर भण्डारी, प्रकाश रावल, विक्रमसिंह धामी, बेलबहादुर रानामगर र सन्तोषीकुमारी शर्मा थापाले आफ्नो धारणा राख्नुभएको थियो ।

बाघको आक्रमणबाट केही दिनअघि कञ्चनपुरको दोधारा चाँदनीका महिला हीरा शाहीको मृत्यु भएको थियो । घर नजिकैको खेतमा काम गरिरहेको अवस्थामा शाहीलाई बाघले आक्रमण गरेको थियो । उक्त क्षेत्रमा बाघ आक्रमणको त्रास अझै नहटेको स्थानीयले बताएका छन् ।

उक्त क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य बेलबहादुर रानामगरले बाघको त्रास अझै कायमै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बाघले स्थानीयवासीले पालेको वस्तुभाउ खाएको भन्ने जानकारी आएको छ । यो समस्या नियन्त्रणका लागि प्रदेश सरकारले आवश्यक काम गर्न आग्रह छ ।”

पहिराले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

जुम्ला, २३ साउन : अविरल वर्षासँगै हिजो राति पहिराले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ ।

सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत कालिकोटको गगनेखोला र कालेखोलामा गएको पहिरो हटाएपछि राजमार्ग सञ्चालनमा आएको सडक डिभिजन जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिनुभयो ।

गगनेखोला र कालेखोलालगायत स्थापनामा साना ठूला पहिरो जाँदा राजमार्ग अवरुद्ध भएपछि जुम्ला र मुगुबाट सुर्खेत, नेपालगञ्ज काठमाडौँ जाने सवारीसाधन बीच बाटोमै रोकिँदा सयौँ यात्रु अलपत्र परेका थिए ।

गगनेखोलामा सडक साँघुरो रहेकाले ठूला मालवाहक ट्रकलाई पास हुन गाह्रो हुने देखिएकाले बे्रकर लगाएर खुलाउने काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको हो ।

सुशासन प्रत्याभूत भएमात्र दीगो विकास र समृद्धिको आकाङ्क्षा पूरा हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौँ, २३ साउनः राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने संवैधानिक दायित्वलाई सबैले आत्मासात् गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल जनप्रशासन सङ्घद्वारा आज आयोजित हेमबहादुर मल्ल सम्मान अर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट प्राप्त हुने सुविधामा जनताको समान र सहज पहूँच सुनिश्चित गरी सुशासन प्रत्याभूति भएमात्र दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा हुने बताउनुभयो ।

राष्ट्रपति पौडेलले मुलुकमा विधिको शासन सञ्चालन गर्न, नागरिकहरूलाई दिइने सेवामा दक्षता ल्याउन, सरकारी कामकारवाहीमा पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्वको बढावा गरी सुशासन कायम गर्न प्राज्ञिक तथा पेशागत संस्थाहरूको ठूलो भूमिका रहेको उल्लेख गर्नुभयो । पौडेलले भन्नुभयो, “यी सबै कार्यमा तीनै तहका सरकारलाई सघाउ पु¥याउन तथा घच्घच्याउन नेपाल जन–प्रशासन सङ्घ सँधै क्रियाशील रहोस् ।”

राष्ट्रपति पौडेलले पूर्व प्रशासकहरूमाथि राज्यको ठूलो लगानी रहेको भन्दै सकारात्मक मन, उर्वरशील मस्तिष्क, शीपयुक्त हातहरूका माध्यमबाट मुलुकको समृद्धि र जनताको हितका निम्ति राष्ट्रको सच्चा पहरेदार भएर काम गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “तपाईँहरूमाथि राज्यले ठूलो लगानी गरेको छ । जसको कारण तपाईंहरू क्षेत्रगत ज्ञान र सीपयुक्त विज्ञ पनि हो । तपाईँहरूलाई विश्वव्यापी अनुभव र राज्य प्रणाली सञ्चालनका नवीनतम् आयामहरूको बोध छ । यसर्थ, जीवनको उत्तरार्धमा राज्य प्रणालीबाट केही पाउँछु भन्दा पनि मैले केही योगदान गर्नुपर्छ भन्ने भावना मनभित्र राख्नुभएको छ भन्ने विश्वास लिएको छु । यस्तो सकारात्मक मन, उर्वरशील मस्तिष्क, शीपयुक्त हातहरूका माध्यमबाट मुलुकको समृद्धि र जनताको हितका निम्ति राष्ट्रको सच्चा पहरेदार भै काम गर्न म अपिल गर्दछु ।”

राष्ट्रपति पौडेलले ख्यातीप्राप्त प्रशासक एवं व्यवस्थापक स्वर्गीय हेमबहादुर मल्लको सम्मानमा हेमबहादुर मल्ल सम्मान स्थापना गरी शिक्षा, व्यवस्थापन, प्रशासन, सार्वजनिक वितरण, जनसरोकार एवं सरकारी तथा गैरसरकारी क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने महानुभावहरूलाई सम्मानित गर्ने परम्परा स्थापना गरेर नेपाल जन–प्रशासन सङ्घले महत्त्वपूर्ण काम गरेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

सो अवसरमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले तीनै तहका सेवा प्रवाहलाई प्रभावकारी बनाई जनमुखी त प्रविधिमुखी बनाउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

विधिको शासन, सुशासन र सामाजिक न्यायप्रति सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले संसद्मा विचाराधीन निजामती सेवा विधेयक चाँडै पारित गर्ने विषय उच्च प्राथमिकतामा रहेको जानकारी गराउनुभयो ।

सम्मानित व्यक्तित्व डा भेषबहादुर थापाले आफ्नो पाँच दशकको अनुभव सुनाउँदै नेपालले हासिल गरेको प्रगतिलाई विश्वमाझ पुर्‍याउन भूमिका निर्वाह गरेको बताउनुभयो । साल्ट ट्रेडिङ कर्पोरेसनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले व्यावसायिक सेवाका साथै सामाजिक उत्तरायित्वका विविध कार्यक्रम गर्दै आएको बताउनुभयो।

सङ्घका अध्यक्ष मधुरमण आचार्यले सङ्घले सार्वजनिक सरोकारसँग सम्वन्धित सार्वजनिक क्षेत्रको नीति निर्माण, पुनरावलोकन र मूल्याङ्कनमा पृष्ठपोषण गर्दै आएको बताउनुभयो । सङ्घका उपाध्यक्ष मुकुन्द निरौलाले मुलुकको सार्वजनिक क्षेत्रमा कुशल नेतृत्व दिने व्यवस्थापक तथा राष्ट्रसेवकलगायतलाई सम्मान प्रदान गरिँदै आइएको बताउनुभयो ।

विद्यालय क्षेत्रलाई राजनीति मुक्त क्षेत्र बनाउने गरी ‘विद्यालय शिक्षा विधेयक, २०८०’ ल्याउनुपर्ने माग

काठमाडौँ, २३ साउन : सांसदहरूले विद्यालय क्षेत्रलाई राजनीति मुक्त क्षेत्र बनाउने गरी ‘विद्यालय शिक्षा विधेयक, २०८०’ ल्याउनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा विधेयकमाथि संशोधन प्रस्तुत गर्नुहुँदै सांसदहरूले यस्तो बताउनुभएको हो ।

बैठकमा रणकुमारी बलामपाखी मगरले विद्यालयस्तरमा मात्री भाषा अध्ययनको लागि छुट्टै शिक्षकको व्यवस्था गर्ने गरी विधेयक संशोधन गरिनुपर्नेमा जोड दिनुभयो । विद्यालयमा अध्यापन गराउने शिक्षक राजनीतिमा सङ्लग्न हुन नपाउने तर आस्था भने राख्न पाउने उहाँको भनाइ छ । सांसद मनिष झाले विद्यालयमा प्राध्यापक, उपप्राध्यापक नियुक्ति, सञ्चालक समिति वा अन्य कुनै पनि नियुक्तिमा राजनीतिकरण गर्न नहुने भन्नुहुँदै संशोधन प्रस्तुत गर्नुभयो । सांसद सुनिता बरालले विद्यालय सञ्चालक समिति समावेशी बनाउनुपर्ने धारणा राख्नुभयो ।

संशोधनकर्ता सांसदहरूले विद्यालयको भौतिक संरचना र पाठ्यक्रम अपाङ्गतामैत्री हुनुपर्ने विषयलाई ऐनमै समावेश गर्नुपर्ने, विद्यालयले विभिन्न शीर्षकमा विद्यार्थीसँग अनावश्यक शुल्क उठाइरहेका र तोकिएकै स्थानमा आवश्यक सामाग्री किन्न बाध्य पर्ने गरिएकाले विद्यालय पोसाक, पुस्तक र कपी अभिभावक आफैँले खरिद गर्न पाउनुपर्ने व्यवस्थालाई विधेयकमै उल्लेख गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

यसैगरी विद्यालयको स्थापना र सञ्चालन, पाठ्क्रम तथा पाठ्यसामग्री र शैक्षिक गुणस्तर, परीक्षा सञ्चालन तथा व्यवस्थापन, सार्वजनिक विद्यालयका शिक्षक र कर्मचारी नियुक्ति, पदीय आचरण, सरुवा, कारबाही तथा अवकासका विषयमा एक रूपता ल्याउनका लागि पनि विद्यालय शिक्षासम्बन्धी विधेयक ल्याउनुपर्ने आवश्यकता औँल्याइएको छ ।

त्यस अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले उच्च शिक्षा परीक्षा प्रणाली, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को पाठ्यक्रम र समग्र संरचनालाई परिमार्जन तथा पुनःसंरचना गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले बङ्गलादेशमा अध्ययनको शिलशिलामा रहेका करिब १४ सय ७८ जना विद्यार्थी सुरक्षित रहेको समितिसमक्ष जानकारी गराउनुभयो ।

बडिगाड पहिरो : एकको शव फेला, तीन जना अझै बेपत्ता

गलकोट (बागलुङ), २३ साउनः बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटामा मङ्गलबारको पहिरोले घर भत्किँदा पुरिएर बेपत्ता भएका चार जनामध्ये एक जनाको शव फेला परेको छ ।

बडिगाड गाउँपालिका–१० स्थित तीन वर्षीय आरुष थापाको आज दिउँसो शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

बरालका अनुसार पहिरोले भत्किएको घर खोतल्ने क्रममा थापाको शव भेटिएको हो । उनीसँगै एउटै घरमा पहिरोले पुर्दा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । पहिरोमा परी अझै तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सात वर्षीया मधु बुढा, १० वर्षीय मनोज बुढा र ११ वर्षीय यमलाल विक रहेका छन् । बेपत्ताको खोजीमा नेपाल प्रहरी र नेपाली सेना परिचालन भइरहेका छन् ।

बागलुङमा पहिरोले घर पुरिँदा गम्भीर घाइते भएका तीनजनालाई उपचारका लागि काठमाडौं ल्याइयो

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटामा मङ्गलबार खसेको पहिरोले घर पुरिँदा गम्भीर घाइते भएका सबै तीनजनाको उद्धार भएको छ ।

उनीहरूलाई केहीबेर अघि हेलिकोप्टरबाट काठमाडौँ लगिएको छ । स्थानीय जोगबहादुर बुढाको घर मङ्गलबार बिहान पहिरोले पुरिँदा ६ जनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए । हाल चारजना बेपत्ता छन् । प्रतिकूल मौसमका कारण घाइतेलाई स्वास्थ्य संस्था पुर्याउन सकिएको थिएन । नेपाली सेनाका स्वास्थ्यकर्मीले उनीहरूको उपचार गरेका थिए ।

तीनजना गम्भीर घाइतेलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए । अन्य घाइतेलाई बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्याइएको छ ।

तेस्रो देशका पर्यटकका लागि काँकडभिट्टा नाका खुला

झापा, २३ साउनः चार वर्षपछि पूर्वीनाका काँकडभिट्टाबाट तेस्रो मुलुकका पर्यटकको आवागमन खुला भएको छ । कोरोना महामारीपछि भारत सरकारले यस नाकाबाट भुटानबाहेकका पर्यटक आवागमन बन्द गरेको थियो ।

भारतीय अध्यागमन कार्यालयबाट तेस्रो मुलुकका पर्यटक आवागमन खुला गरिएको जानकारी आएलगत्तै पर्यटकको आवतजावत सुरु भएको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहन पनेरुले बताउनुभयो । “यही साउन १७ गते भारतीय अध्यागमन कार्यालयबाट पर्यटक नाका खुला गरिएको जानकारी आयो”, उहाँले भन्नुभयो, “त्यसपछि उताबाट केही पर्यटक आउन थालेभने यताबाट पनि जानेक्रम प्रारम्भ भएको छ ।”

कोरोना महामारी समाप्तिपछि मुलुकका अरु सबै नाकाबाट पर्यटक आवागमन खुला गरिएता पनि पूर्वीनाका भारतीय पक्षबाट अवरुद्ध रहँदै आएको थियो । पूर्वीनाकाबाट तेस्रो मुलुकका पर्यटक चार वर्षयता आगमन ठप्प भएको थियो । पर्यटनव्यवसायीले तेस्रो मुलुकका पर्यटकको आवागमन खुलाउन पटकपटक माग गर्दै आएका थिए ।

नाका सहज बनेसँगै बेलायत, अमेरिका, स्वीट्जरल्याण्डलगायत देशका एक दर्जनभन्दा बढी नागरिक भारतको बाटो हुँदै नेपाल प्रवेश गरेका उहाँले जानकारी दिनुभयो । नेपालबाट पनि उत्तिकै सङ्ख्यामा पर्यटक भारत गएका छन् ।

नेपाल प्रवेशको पूर्वीनाका काँकडभिट्टा र पश्चिम बङ्गालको पानीट्यङ्कीमा दुवै देशका अध्यागमन कार्यालय छन् । भारतले पानीट्याङ्कीस्थित अध्यागमन कार्यालयबाट विगतमा जस्तो ‘अनअराइभल भिसा’ भने जारी गरेको छैन । नेपालको प्रवेशाज्ञा (भिसा) भएका तेस्रो मुलुकका नागरिकलाई मात्र भारतीय अध्यागमनले नेपाल प्रवेशको अनुमति दिएको जनाएको छ ।

लामो समयसम्म भारतीय अध्यागमनले पर्यटकलाई नेपाल प्रवेश अनुमति नदिँदा पूर्वको पर्यटनमा प्रभाव परेको नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट (नाट्टा) कोशी प्रदेशका अध्यक्ष पुण्यप्रसाद भट्टराईले बताउनुभयो । पर्यटकका लागि नाका खुला हुँदा अब पूर्वमा पर्यटकीय चहलपहल बढ्ने र यसबाट मुलुकको अर्थतन्त्रमा केही टेवा पुग्ने उहाँले बताउनुभयो ।

जुम्लाको तातोपानी गाउँपालिकाभित्रका दुई सय ५० बालबालिकालाई खाद्यान्न वितरण

जुम्ला, २३ साउनः तातोपानी गाउँपालिकाभित्रका दुई सय ५० बालबालिकालाई किर्डाक नेपाल जुम्लाद्वारा सञ्चालित सहयात्रा तेस्रो परियोजनाअन्तर्गत खाद्यान्न वितरण गरिएको छ ।

आज यहाँ आयोजित एक कायर्यक्रममा गाउँपालिका आठवटै वडाका बालबालिकालाई खाद्यान्न वितरण गरिएको परियोजनाका संयोजक प्रकाशबहादुर शाहीले जानकारी दिनुभयो । सो परियोजनाले यसअघि यहाँका दुई सय ८५ बालबालिकालाई शैक्षिक सामग्री पनि प्रदान गरेको थियो ।

गाउँपालिको समन्वय र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा उनीहरुलाई जनही २५ केजी चामल, पाँच लिटर तेल, पाँच केजी दाल, दुई प्याकेट नुनलगायत खाद्यान्न वितरण गरिएको संयोजक शाहीले बताउनुभयो ।

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ, २३ साउनः नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ः०० बजे बभएको छ ।

पार्टी कार्यालयका सचिव प्रकाश शर्माका अनुसार बैठकमा गत फागुनमा सम्पन्न महासमिति बैठकले परिमार्जनसहित केन्द्रीय समितिबाट पारित गर्नेगरी अघि बढाएका विषयमाथि छलफल हुनेछ ।

म्याग्दीका ९५ प्रतिशत घरमा खानेपानी र ३२ प्रतिशत जमिनमा सिँचाइ सुविधा

म्याग्दी, २३ साउनः यहाँका ९५ प्रतिशत घरमा खानेपानी र ३२ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलव्ध छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले २०७४ सालमा प्रदेश सरकार स्थापनापछि आर्थिक वर्ष २०८०÷८१ सम्म सञ्चालन गरेका आयोजनामार्फत छ हजार तीन सय २६ हेक्टर जमिनमा सिँचाइ र पाँच हजार सात सय ६६ घरमा ‘एक घर, एक धारा’ जडान भएका जनाएको छ ।

उक्त कार्यालयका प्रमुख झलकमोहन ओझाका अनुसार २८ हजार आठ सय ३० परिवार रहेको म्याग्दीका २७ हजार तीन सय ८८ घरमा निजी धारामार्फत खानेपानी वितरण भएको छभने १९ हजार चार सय १९ हेक्टर खेतीयोग्य जमिनमध्ये एक हजार पाँच सय ९५ मा बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ । कार्यालयमार्फत आव २०८०÷८१ मा निर्माण सम्पन्न भएका १७ वटा खानेपानी आयोजनामार्फत सात सय २७ घरमा मिटरसहित जडान गरेर खानेपानी वितरण भएको उहाँले बताउनुभयो ।

यसैगरी गत आवमा निर्माण सम्पन्न भएका २१ वटा सिँचाइ आयोजनामार्फत ८९ हेक्टर थप जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । उक्त कार्यालयले गत आवमा रु १७ करोड ६५ लाख १० हजार पँुजीगत खर्च गरेकोे जनाएको छ । गत आवमा म्याग्दी, रघुगङ्गा र कालीगण्डकी नदीको कटान तथा बाढी नियन्त्रण गर्न १० स्थानमा पक्की पर्खाल निर्माण गरिएको थियो । नदी नियन्त्रण आयोजनाबाट निर्माण भएका ३८ मिटर पक्की तटबन्ध र आठ सय ७० मिटर लामो पर्खालबाट एक हजार तीन सय ९५ परिवार लाभान्वित भएका छन् । सात हेक्टर जग्गा पनि संरक्षण भएको छ ।

दरबाङ, सुर्केमेला, उपल्लो तातोपानी बजार, राक्से, सिमलचौर, ताराखेत, बावियाचौर, पिपलबोट, सिमबगर, कालीपुलमा उपभोक्ता समितिमार्फत नदी नियन्त्रण योजना सञ्चालन भएको थियो ।

बडिगाड पहिरोः प्रतिकूल मौसमका कारण घाइतेलाई अस्पताल पुर्याउन कठिन

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ९ र १० मा भएका दुई पहिरोमा घाइते भएका दश अस्पताल पुर्याउन कठिन भएको छ । । निरन्तरको वर्षा, ठाउँठाउँमा खसेको पहिरो र भौगोलिक विकटताका कारण उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्रसम्म पनि पुर्याउन नसकिएको हो ।

बडिगाड गाउँपालिकाको समन्वयमा नेपाली सेनाका स्वास्थ्यकर्मीले घटनास्थलमा प्राथमिक उपचार गरेको छ । घाइतेलाई बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्याउन समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए ।

उद्धारका लागि आएको नेपाली सेनाको हेलिकप्टर पनि प्रतिकूल मौसमका कारण उपयोग गर्न नसकिएको दुखेसो उनले गरे । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । पहिरोमा परी आठ जनाको ज्यान गएको छ भने चार जना अझै बेपत्ता छन् । उनीहरूको खोजी जारी छ ।

लगातारको वर्षापछि खसेको पहिरोले अवरुद्ध नगरकोट सडक सञ्चालन

भक्तपुर, २३ साउनः लगातारको वर्षापछि खसेको पहिरोले मङ्गलबार अवरुद्ध भएको भक्तपुर–नगरकोट सडक केहीबेर अघिदेखि सञ्चालन भएको छ । चाँगुनारायण–६ मुहान पोखरी नजिक खसेको पहिरो पन्छाएपछि बाटो खुलेको हो ।

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले राससलाई भन्नुभयो, “अहिले पहिरो पन्छाएर सडक खुलाइएको भए पनि यो सडकखण्डमा पहिरोको जोखिम कायमै छ ।” उहाँले पहिरोको जोखिममा सडक परेको भन्दै हालैको भीषण वर्षाका कारण चाँगुनारायण क्षेत्रका धेरै घर जोखिममा परेका र सडकमा पहिरो खस्ने, भासिने घटना बढिरहेका बताउनुभयो ।