`

विद्यालय क्षेत्रलाई राजनीति मुक्त क्षेत्र बनाउने गरी ‘विद्यालय शिक्षा विधेयक, २०८०’ ल्याउनुपर्ने माग

काठमाडौँ, २३ साउन : सांसदहरूले विद्यालय क्षेत्रलाई राजनीति मुक्त क्षेत्र बनाउने गरी ‘विद्यालय शिक्षा विधेयक, २०८०’ ल्याउनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा विधेयकमाथि संशोधन प्रस्तुत गर्नुहुँदै सांसदहरूले यस्तो बताउनुभएको हो ।

बैठकमा रणकुमारी बलामपाखी मगरले विद्यालयस्तरमा मात्री भाषा अध्ययनको लागि छुट्टै शिक्षकको व्यवस्था गर्ने गरी विधेयक संशोधन गरिनुपर्नेमा जोड दिनुभयो । विद्यालयमा अध्यापन गराउने शिक्षक राजनीतिमा सङ्लग्न हुन नपाउने तर आस्था भने राख्न पाउने उहाँको भनाइ छ । सांसद मनिष झाले विद्यालयमा प्राध्यापक, उपप्राध्यापक नियुक्ति, सञ्चालक समिति वा अन्य कुनै पनि नियुक्तिमा राजनीतिकरण गर्न नहुने भन्नुहुँदै संशोधन प्रस्तुत गर्नुभयो । सांसद सुनिता बरालले विद्यालय सञ्चालक समिति समावेशी बनाउनुपर्ने धारणा राख्नुभयो ।

संशोधनकर्ता सांसदहरूले विद्यालयको भौतिक संरचना र पाठ्यक्रम अपाङ्गतामैत्री हुनुपर्ने विषयलाई ऐनमै समावेश गर्नुपर्ने, विद्यालयले विभिन्न शीर्षकमा विद्यार्थीसँग अनावश्यक शुल्क उठाइरहेका र तोकिएकै स्थानमा आवश्यक सामाग्री किन्न बाध्य पर्ने गरिएकाले विद्यालय पोसाक, पुस्तक र कपी अभिभावक आफैँले खरिद गर्न पाउनुपर्ने व्यवस्थालाई विधेयकमै उल्लेख गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

यसैगरी विद्यालयको स्थापना र सञ्चालन, पाठ्क्रम तथा पाठ्यसामग्री र शैक्षिक गुणस्तर, परीक्षा सञ्चालन तथा व्यवस्थापन, सार्वजनिक विद्यालयका शिक्षक र कर्मचारी नियुक्ति, पदीय आचरण, सरुवा, कारबाही तथा अवकासका विषयमा एक रूपता ल्याउनका लागि पनि विद्यालय शिक्षासम्बन्धी विधेयक ल्याउनुपर्ने आवश्यकता औँल्याइएको छ ।

त्यस अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले उच्च शिक्षा परीक्षा प्रणाली, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को पाठ्यक्रम र समग्र संरचनालाई परिमार्जन तथा पुनःसंरचना गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले बङ्गलादेशमा अध्ययनको शिलशिलामा रहेका करिब १४ सय ७८ जना विद्यार्थी सुरक्षित रहेको समितिसमक्ष जानकारी गराउनुभयो ।

बडिगाड पहिरो : एकको शव फेला, तीन जना अझै बेपत्ता

गलकोट (बागलुङ), २३ साउनः बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटामा मङ्गलबारको पहिरोले घर भत्किँदा पुरिएर बेपत्ता भएका चार जनामध्ये एक जनाको शव फेला परेको छ ।

बडिगाड गाउँपालिका–१० स्थित तीन वर्षीय आरुष थापाको आज दिउँसो शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

बरालका अनुसार पहिरोले भत्किएको घर खोतल्ने क्रममा थापाको शव भेटिएको हो । उनीसँगै एउटै घरमा पहिरोले पुर्दा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । पहिरोमा परी अझै तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सात वर्षीया मधु बुढा, १० वर्षीय मनोज बुढा र ११ वर्षीय यमलाल विक रहेका छन् । बेपत्ताको खोजीमा नेपाल प्रहरी र नेपाली सेना परिचालन भइरहेका छन् ।

बागलुङमा पहिरोले घर पुरिँदा गम्भीर घाइते भएका तीनजनालाई उपचारका लागि काठमाडौं ल्याइयो

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटामा मङ्गलबार खसेको पहिरोले घर पुरिँदा गम्भीर घाइते भएका सबै तीनजनाको उद्धार भएको छ ।

उनीहरूलाई केहीबेर अघि हेलिकोप्टरबाट काठमाडौँ लगिएको छ । स्थानीय जोगबहादुर बुढाको घर मङ्गलबार बिहान पहिरोले पुरिँदा ६ जनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए । हाल चारजना बेपत्ता छन् । प्रतिकूल मौसमका कारण घाइतेलाई स्वास्थ्य संस्था पुर्याउन सकिएको थिएन । नेपाली सेनाका स्वास्थ्यकर्मीले उनीहरूको उपचार गरेका थिए ।

तीनजना गम्भीर घाइतेलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए । अन्य घाइतेलाई बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्याइएको छ ।

तेस्रो देशका पर्यटकका लागि काँकडभिट्टा नाका खुला

झापा, २३ साउनः चार वर्षपछि पूर्वीनाका काँकडभिट्टाबाट तेस्रो मुलुकका पर्यटकको आवागमन खुला भएको छ । कोरोना महामारीपछि भारत सरकारले यस नाकाबाट भुटानबाहेकका पर्यटक आवागमन बन्द गरेको थियो ।

भारतीय अध्यागमन कार्यालयबाट तेस्रो मुलुकका पर्यटक आवागमन खुला गरिएको जानकारी आएलगत्तै पर्यटकको आवतजावत सुरु भएको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहन पनेरुले बताउनुभयो । “यही साउन १७ गते भारतीय अध्यागमन कार्यालयबाट पर्यटक नाका खुला गरिएको जानकारी आयो”, उहाँले भन्नुभयो, “त्यसपछि उताबाट केही पर्यटक आउन थालेभने यताबाट पनि जानेक्रम प्रारम्भ भएको छ ।”

कोरोना महामारी समाप्तिपछि मुलुकका अरु सबै नाकाबाट पर्यटक आवागमन खुला गरिएता पनि पूर्वीनाका भारतीय पक्षबाट अवरुद्ध रहँदै आएको थियो । पूर्वीनाकाबाट तेस्रो मुलुकका पर्यटक चार वर्षयता आगमन ठप्प भएको थियो । पर्यटनव्यवसायीले तेस्रो मुलुकका पर्यटकको आवागमन खुलाउन पटकपटक माग गर्दै आएका थिए ।

नाका सहज बनेसँगै बेलायत, अमेरिका, स्वीट्जरल्याण्डलगायत देशका एक दर्जनभन्दा बढी नागरिक भारतको बाटो हुँदै नेपाल प्रवेश गरेका उहाँले जानकारी दिनुभयो । नेपालबाट पनि उत्तिकै सङ्ख्यामा पर्यटक भारत गएका छन् ।

नेपाल प्रवेशको पूर्वीनाका काँकडभिट्टा र पश्चिम बङ्गालको पानीट्यङ्कीमा दुवै देशका अध्यागमन कार्यालय छन् । भारतले पानीट्याङ्कीस्थित अध्यागमन कार्यालयबाट विगतमा जस्तो ‘अनअराइभल भिसा’ भने जारी गरेको छैन । नेपालको प्रवेशाज्ञा (भिसा) भएका तेस्रो मुलुकका नागरिकलाई मात्र भारतीय अध्यागमनले नेपाल प्रवेशको अनुमति दिएको जनाएको छ ।

लामो समयसम्म भारतीय अध्यागमनले पर्यटकलाई नेपाल प्रवेश अनुमति नदिँदा पूर्वको पर्यटनमा प्रभाव परेको नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट (नाट्टा) कोशी प्रदेशका अध्यक्ष पुण्यप्रसाद भट्टराईले बताउनुभयो । पर्यटकका लागि नाका खुला हुँदा अब पूर्वमा पर्यटकीय चहलपहल बढ्ने र यसबाट मुलुकको अर्थतन्त्रमा केही टेवा पुग्ने उहाँले बताउनुभयो ।

जुम्लाको तातोपानी गाउँपालिकाभित्रका दुई सय ५० बालबालिकालाई खाद्यान्न वितरण

जुम्ला, २३ साउनः तातोपानी गाउँपालिकाभित्रका दुई सय ५० बालबालिकालाई किर्डाक नेपाल जुम्लाद्वारा सञ्चालित सहयात्रा तेस्रो परियोजनाअन्तर्गत खाद्यान्न वितरण गरिएको छ ।

आज यहाँ आयोजित एक कायर्यक्रममा गाउँपालिका आठवटै वडाका बालबालिकालाई खाद्यान्न वितरण गरिएको परियोजनाका संयोजक प्रकाशबहादुर शाहीले जानकारी दिनुभयो । सो परियोजनाले यसअघि यहाँका दुई सय ८५ बालबालिकालाई शैक्षिक सामग्री पनि प्रदान गरेको थियो ।

गाउँपालिको समन्वय र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा उनीहरुलाई जनही २५ केजी चामल, पाँच लिटर तेल, पाँच केजी दाल, दुई प्याकेट नुनलगायत खाद्यान्न वितरण गरिएको संयोजक शाहीले बताउनुभयो ।

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ, २३ साउनः नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ः०० बजे बभएको छ ।

पार्टी कार्यालयका सचिव प्रकाश शर्माका अनुसार बैठकमा गत फागुनमा सम्पन्न महासमिति बैठकले परिमार्जनसहित केन्द्रीय समितिबाट पारित गर्नेगरी अघि बढाएका विषयमाथि छलफल हुनेछ ।

म्याग्दीका ९५ प्रतिशत घरमा खानेपानी र ३२ प्रतिशत जमिनमा सिँचाइ सुविधा

म्याग्दी, २३ साउनः यहाँका ९५ प्रतिशत घरमा खानेपानी र ३२ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलव्ध छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले २०७४ सालमा प्रदेश सरकार स्थापनापछि आर्थिक वर्ष २०८०÷८१ सम्म सञ्चालन गरेका आयोजनामार्फत छ हजार तीन सय २६ हेक्टर जमिनमा सिँचाइ र पाँच हजार सात सय ६६ घरमा ‘एक घर, एक धारा’ जडान भएका जनाएको छ ।

उक्त कार्यालयका प्रमुख झलकमोहन ओझाका अनुसार २८ हजार आठ सय ३० परिवार रहेको म्याग्दीका २७ हजार तीन सय ८८ घरमा निजी धारामार्फत खानेपानी वितरण भएको छभने १९ हजार चार सय १९ हेक्टर खेतीयोग्य जमिनमध्ये एक हजार पाँच सय ९५ मा बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ । कार्यालयमार्फत आव २०८०÷८१ मा निर्माण सम्पन्न भएका १७ वटा खानेपानी आयोजनामार्फत सात सय २७ घरमा मिटरसहित जडान गरेर खानेपानी वितरण भएको उहाँले बताउनुभयो ।

यसैगरी गत आवमा निर्माण सम्पन्न भएका २१ वटा सिँचाइ आयोजनामार्फत ८९ हेक्टर थप जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । उक्त कार्यालयले गत आवमा रु १७ करोड ६५ लाख १० हजार पँुजीगत खर्च गरेकोे जनाएको छ । गत आवमा म्याग्दी, रघुगङ्गा र कालीगण्डकी नदीको कटान तथा बाढी नियन्त्रण गर्न १० स्थानमा पक्की पर्खाल निर्माण गरिएको थियो । नदी नियन्त्रण आयोजनाबाट निर्माण भएका ३८ मिटर पक्की तटबन्ध र आठ सय ७० मिटर लामो पर्खालबाट एक हजार तीन सय ९५ परिवार लाभान्वित भएका छन् । सात हेक्टर जग्गा पनि संरक्षण भएको छ ।

दरबाङ, सुर्केमेला, उपल्लो तातोपानी बजार, राक्से, सिमलचौर, ताराखेत, बावियाचौर, पिपलबोट, सिमबगर, कालीपुलमा उपभोक्ता समितिमार्फत नदी नियन्त्रण योजना सञ्चालन भएको थियो ।

बडिगाड पहिरोः प्रतिकूल मौसमका कारण घाइतेलाई अस्पताल पुर्याउन कठिन

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ९ र १० मा भएका दुई पहिरोमा घाइते भएका दश अस्पताल पुर्याउन कठिन भएको छ । । निरन्तरको वर्षा, ठाउँठाउँमा खसेको पहिरो र भौगोलिक विकटताका कारण उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्रसम्म पनि पुर्याउन नसकिएको हो ।

बडिगाड गाउँपालिकाको समन्वयमा नेपाली सेनाका स्वास्थ्यकर्मीले घटनास्थलमा प्राथमिक उपचार गरेको छ । घाइतेलाई बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्याउन समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए ।

उद्धारका लागि आएको नेपाली सेनाको हेलिकप्टर पनि प्रतिकूल मौसमका कारण उपयोग गर्न नसकिएको दुखेसो उनले गरे । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । पहिरोमा परी आठ जनाको ज्यान गएको छ भने चार जना अझै बेपत्ता छन् । उनीहरूको खोजी जारी छ ।

लगातारको वर्षापछि खसेको पहिरोले अवरुद्ध नगरकोट सडक सञ्चालन

भक्तपुर, २३ साउनः लगातारको वर्षापछि खसेको पहिरोले मङ्गलबार अवरुद्ध भएको भक्तपुर–नगरकोट सडक केहीबेर अघिदेखि सञ्चालन भएको छ । चाँगुनारायण–६ मुहान पोखरी नजिक खसेको पहिरो पन्छाएपछि बाटो खुलेको हो ।

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले राससलाई भन्नुभयो, “अहिले पहिरो पन्छाएर सडक खुलाइएको भए पनि यो सडकखण्डमा पहिरोको जोखिम कायमै छ ।” उहाँले पहिरोको जोखिममा सडक परेको भन्दै हालैको भीषण वर्षाका कारण चाँगुनारायण क्षेत्रका धेरै घर जोखिममा परेका र सडकमा पहिरो खस्ने, भासिने घटना बढिरहेका बताउनुभयो ।

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ, २३ साउन : पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाले गए राति यस सडकअन्तर्गत बँेसीसहर नगरपालिका–६ खरखरे भिरमा र मस्र्याङ्दी गाउँपालिका–३ खुदीनजिक पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँले खरखरे भिरको पहिरो यतिबेला हटाउन सफल भए पनि खुदी नजिक खसेको पहिरो हटाउन बाँकी रहेको उहाँले बताउनुभयो । पैसठ्ठी किलोमिटर लामो यो सडक अवरुद्ध हुँदा मनाङ र लमजुङका सर्वसाधारण प्रभावित भएका छन् ।

आर्थिक कूटनीति प्रवर्द्धनमा परराष्ट्रसचिव लम्सालको जोड

काठमाडौँ, २३ साउनः नेपाल र ओमानबीचको परामर्श संयन्त्रको प्रथम बैठकमा भाग लिन ओमानको राजधानी मस्कट पुग्नुभएकी परराष्ट्रसचिव सेवा लम्सालको अध्यक्षतामा मङ्गलबार मध्यपूर्व एसियास्थित नेपाली नियोगका राजदूत, कार्यवाहक राजदूत, महावाणिज्यदूत, श्रम काउन्सेलर एवं श्रम सहचारीलगायत नियोगमा कार्यरत कर्मचारीको उपस्थितिमा श्रव्यदृश्यका माधयमबाट बैठक आयोजना गरियो ।

उक्त बैठकमा अनलाइन मागपत्र प्रमाणीकरण, घरेलु महिला कामदार, श्रमिकको उद्धार, क्षतिपूर्ति, शव व्यवस्थापनलगायत श्रमिकसँग सम्बन्धित समस्या एवं समाधानका उपाय, व्यापार, लगानी, पर्यटन तथा रोजगार प्रवर्द्धन, नेपाली नियोगमा स्रोत–साधनको व्यवस्थापनबारे विस्तृत रूपमा छलफल भएको मस्कटस्थित नेपाली राजदूतावासले आज जनाएको छ ।

त्यस अवसरमा परराष्ट्रसचिवबाट डिजिटल सुशासन लागू गर्ने सरकारको नीतिबमोजिम मागपत्र प्रमाणीकरणको अनलाइन प्रक्रियालाई आत्मसात् गर्दै सेवा प्रवाहलाई सरल, पारदर्शी र प्रभावकारी बनाउन सचिव लम्सालले निर्देशन दिनुभयो । साथै श्रमिकका समस्या समाधान गरी वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउन सबैको सार्थक भूमिका हुनुपर्ने बताउँदै उहाँले आर्थिक कूटनीति प्रवर्द्धनका लागि सक्रियातापूर्वक लाग्न निर्देशन दिनुभयो ।

धुलिखेल–खावा सडकखण्डको यात्रा जोखिमपूर्ण

काभ्रेपलाञ्चोक, २३ साउनः काभ्रेपलाञ्चोकमा स्तरोन्नति सुरु गरिएका मुख्य राजमार्गसहितका शाखा सडकमा द्रुत गतिमा काम नहुँदा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । निर्माण कम्पनीको ढिलासुस्ती र केही दिनदेखिको अविरल वर्षाले निर्माणाधीन अरनिको राजमार्गको धुलिखेल–खावा र भकुण्डे–तेमाल–मेच्छे सडकखण्डको यात्रा जोखिमपूर्ण भएको हो ।

गत चैत १९ गतेभित्रमा सडक स्तरोन्नतिको काम सम्पन्न गर्नेगरी सडक विभागसँग सम्झौता गरेको निर्माण कम्पनीले धुलिखेल–खावा सडकमा हालसम्म ५० प्रतिशत पनि काम गरेको छैन । भक्तपुरस्थित सडक डिभिजन कार्यालयका प्रमुख मेघराज मरासिनीले धुलिखेलबाट पकुचासम्मको दुई किलोमिटर कटिङ, पानीको निकासका निम्ति नाला निर्माण, सवबेस र बेस गर्ने काम सकेर कालोपत्र गर्ने अवस्थामा पुर्याए पनि वर्षाका कारण कालोपत्र हुननसकेको बताउनुभयो ।

वर्षाका कारण अरनिको राजमार्गको धुलिखेलबाट खावासम्मको सडकमा क्षति भएपछि दुई साता उक्त खण्डमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो । ती सवारीको भारलाई दृष्टिगत गर्दै ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस बनाएर कालोपत्र गर्ने योजना रहेको उहाँले सुनाउनुभयो ।

यसैबीच, दुई वर्षभित्र सडक स्तरोन्नतिको काम सम्पन्न गर्नेगरी सम्झौता भएको भकुण्डे–तेमाल–मेच्छे सडकखण्डको ठेक्काको म्याद यही साउन १५ गते समाप्त भएको छ । हालसम्म २५ प्रतिशत मात्र काम भएको छ । निर्माण कम्पनीले नमोबुद्ध नगरपालिका–४ भकुण्डेबाट वडा नं ५ को डुँडेपौवासम्म सात किलोमिटर र तेमाल गाउँपालिका–५ याङ्वेलबाट वडा नं ७ चापाखोरीसम्म साढे छ किलोमिटर सडकमा नाला, बनाउने, टेवा पर्खाल लगाउने र कालोपत्र गर्ने सम्झौता गरेको थियो । यो सडकखण्डको यात्रा पनि कष्टकर भएको छ ।

जिपी कोइराला अस्पतालमा दश शय्याको डेङ्गी वार्ड स्थापना

तनहुँ, २३ साउन : शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा दश शय्याको डेङ्गी वार्ड स्थापना भएको छ ।

अस्पतालमा डेङ्गी सङ्क्रमणका बिरामीको सङ्ख्या बढेसँगै छुट्टै वार्ड स्थापना गरिएको अस्पतालका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । अघिल्लो वर्ष यहाँ महामारीका रूपमा डेङ्गी फैलिएको थियो । हालसम्म अस्पतालमा तीन सय ८५ जनामा डेङ्गी परीक्षण गरिएकामा ९६ जनामा सङ्क्रमण पुष्टि भएको उहाँले बताउनुभयो । डेङ्गी पुष्टि भएकामध्ये २४ जना उपचारपश्चात् घर फर्किएका छन् ।

यसैबीच दमौली अस्पतालमा पनि डेङ्गी परीक्षणका लागि आउने बिरामीको सङ्ख्या बढेको छ । अस्पतालका प्रमुख डा परिर्वतन बरालका अनुसार दुई सय २३ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएकामा २५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मुग्लिन–मलेखु सडक अवरुद्ध

मुग्लिन (चितवन), २३ साउनः पहिरोका कारण मुग्लिन–मलेखु सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

पहिरो पञ्छाएर सुचारु रुपमा सडक सञ्चालन गर्ने प्रयास जारी रहेको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो । सडकमा ठूलो पहिरो खसेकाले त्यसलाई पन्छाउन केही समय लाग्ने उहाँले बताउनुभयो ।

बङ्गलादेश : अन्तरिम सरकारको नेतृत्व गर्न युनुस तयार

बङ्गलादेशका नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले लामो समयदेखि शासन गर्नुभएकी शेख हसिना पदच्यूत भएसँगै मुलुकबाट पलायन भएको एक दिनपछि मङ्गलबार कामचलाउ सरकारको नेतृत्व गर्न आफू तयार रहेको बताउनुभएको छ ।

प्रधानमन्त्रीबाट अपदस्थ हसिनाको दुश्मनी र लाखौँ बङ्गलादेशीको व्यापक सम्मान आर्जन गर्नुभएका लघुवित्तका अग्रणी ८४ वर्षीय युनुसलाई लाखौँ मानिसलाई गरिबीबाट बाहिर निकालेको श्रेय दिइन्छ ।

“यदि बङ्गलादेशमा मेरो देश र जनताका लागि साहसको कारवाही आवश्यक छ भने म यो लिनेछु ।” विद्यार्थी नेताहरूले अन्तरिम सरकारको नेतृत्व गर्न आह्वान गरेपछि उहाँले ‘स्वतन्त्र निर्वाचन’ को पनि आह्वान गर्नुभएको छ ।

छयत्तर वर्षीया हसिना सन् २००९ देखि सत्तामा हुनुहुन्थ्यो तर उहाँमाथि जनवरीमा भएको निर्वाचनमा धाँधली गरेको आरोप लगाइएको थियो । त्यसपछि गत महिना उहाँको राजीनामाको माग गर्दै लाखौँ जनता सडकमा उत्रिएका थिए ।

अशान्ति दबाउने सुरक्षा बलको प्रयासमा सयौँ मानिस मारिए तर विरोध बढ्दै गयो र सेना आफ्नो विरुद्धमा भएपछि हसिना अन्ततः सोमबार एक हेलिकप्टरमा सवार भएर भाग्नुभयो । सेना प्रमुख जनरल वेकर–उज–जमानले सोमबार सेनाले अन्तरिम सरकार बनाउने घोषणा गर्दै अब ‘हिंसा रोक्ने समय’ आएको बताउनुभयो ।

राष्ट्रपतिले मङ्गलबार संसद् भङ्ग गर्नुभएको छ । विद्यार्थी नेताहरू र प्रमुख विपक्षी बङ्गलादेश नेशसनल पार्टी (बिएनपी) ले संसद् भङ्ग गर्न र तीन महिनाभित्र निर्वाचन गर्न माग गरेका थिए ।

मुहम्मद युनुस : बङ्गलादेशको ‘गरिबको बैंकर’

नोबेल पुरस्कार विजेता लघुवित्त अग्रणी मुहम्मद युनुसलाई बङ्गलादेशी आन्दोलनकारी नेताहरूले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई प्रतिस्थापन गर्न एउटा अन्तरिम सरकारको नेतृत्व गर्न आग्रह गरेका छन् ।

‘गरिबहरूमा सबैभन्दा गरिबका लागि बैंकर’ का रूपमा चिनिने ८४ वर्षीय युनुसलाई ग्रामीण महिलाहरूलाई सानो नगद रकम ऋण दिएर उनीहरूलाई कृषि उपकरण वा व्यापार उपकरणमा लगानी गर्न र उनीहरूको आम्दानी बढाउन भूमिका निर्वाह गरेकामा सन् २००६ मा नोबेल शान्ति पुरस्कारले सम्मान गरिएको थियो ।

उहाँद्वारा स्थापित लघुवित्त ऋणदाता ग्रामीण बैंकलाई बङ्गलादेशमा व्यापक आर्थिक विकासमा सहयोग पुर्याएकामा प्रशंसा गरिएको थियो । त्यसपछि उहाँको कामलाई धेरै विकासोन्मुख मुलुकले अनुकरण गरेका छन् ।

युनुसले आफ्नो नोबेल व्याख्यानका क्रममा भन्नुभएको थियो, “मानिसहरू भोक र गरिबीको पीडा भोग्न जन्मिएका होइनन् ।” तर बङ्गलादेशमा उहाँको सार्वजनिक प्रोफाइलका कारण उहाँले हसिनासँग शत्रुता कमाउनुभयो । हसिनाले एक पटक उहाँमाथि गरिबहरूको ‘रगत चुस्ने’ आरोप लगाउनुभएको थियो ।

सोमबार हतारमा राजीनामा दिएर बङ्गलादेश छाड्नुअघि हसिनाको १५ वर्षको कार्यकाल असहमतिको बढ्दो असहिष्णुता थियो र युनुसको लोकप्रियताले उहाँलाई सम्भावित प्रतिद्वन्द्वीका रूपमा देखायो ।

सन् २००७ मा युनुसले बङ्गलादेशको टकरावपूर्ण राजनीतिक संस्कृतिलाई अन्त्य गर्न आफ्नै ‘नागरिक शक्ति’ पार्टी स्थापना गर्ने योजना घोषणा गर्नुभयो तर अस्थिरता र सैन्य शासनको अवधिका कारण बीचैमा रोकियो ।

उहाँले केही महिनामै ती महत्त्वाकांक्षा त्याग्नुभयो तर सत्तारूढ अभिजात वर्गलाई चुनौती दिएपछि उत्पन्न भएको शत्रुता कायमै छ ।

युनुसमाथि एक सयभन्दा धेरै आपराधिक मुद्दा दर्ता गरिएका थिए र राज्यको नेतृत्वमा रहेको इस्लामिक एजेन्सीले उहाँमाथि समलैङ्गिकतालाई बढावा दिएको आरोप लगाउँदै बदनामीको अभियान चलाएको थियो ।

सरकारले सन् २०११ मा उहाँलाई अनौपचारिक रूपमा ग्रामीण बैंकबाट निष्कासित गर्यो । उक्त फैसलाविरुद्ध युनुसले कानूनी लडाइँ लड्नुभयो तर बङ्गलादेशको सर्वोच्च अदालतले फैसलालाई कायमै राख्यो ।

जनवरीमा उहाँ र उहाँले स्थापना गरेको कम्पनीमध्येको एकका तीन सहयोगीलाई छ महिनाको जेल सजाय सुनाइएको थियो तर ढाका श्रम अदालतले पेन्डिङ अपिलमा तुरुन्त जमानत दियो । उहाँहरूमाथि अवैध रूपमा श्रमिकहरूको कल्याण कोष बनाउन असफल भएको आरोप लगाइएको थियो ।

चारैजनाले आरोपलाई अस्वीकार गर्नुभएको थियो र अदालतमाथि हसिनाको सरकारद्वारा ‘रबर स्ट्याम्पिङ’ निर्णय गरेको आरोप लगाउनुभएको थियो । उक्त मुद्दालाई एमनेस्टी इन्टरनेसललगायत निगरानीकर्ताहरूले राजनीतिक रूपमा प्रेरितका रूपमा आलोचना गरेका थिए ।

सोमबार हसिनाको पदच्यूतका साथ विरोध प्रदर्शन समाप्त गरेका विद्यार्थी नेताहरूले युनुसको नेतृत्वमा कामचलाउ सरकारको माग गर्न सेनासँग भेट्ने अपेक्षा गरिएको थियो ।

युनुसले नेतृत्व गर्न गरिएको आग्रहमाथि कुनै टिप्पणी गर्नुभएको छैन तर उहाँले भारतको द प्रिन्टसँगको अन्तरवार्तामा बङ्गलादेश हसिनाको अधीनमा ‘कब्जा गरिएको देश’ थियो भन्नुभयो । उहाँले भन्नुभयो, “आज बङ्गलादेशका सबै जनताले स्वतन्त्र महसुस गरिरहेका छन् ।”

गरिबी मेरो वरपर

युनुसको जन्म सन् १९४० मा तटीय सहर चटगाउँमा सम्पन्न परिवारमा भएको थियो । उहाँका बुबा सफल सुनार हुनुहुन्थ्यो । आफ्नो सबैभन्दा ठूलो प्रभावका रूपमा उहाँले आफ्नी आमालाई श्रेय दिनुहुन्छ । आमाले आफ्नो ढोका ढकढक्याउने खाँचोमा परेका जोकोहीलाई सहयोग गर्न हौसला प्रदान गर्नुभयो ।

युनुसले संयुक्त राज्य अमेरिकामा अध्ययन गर्न फुलब्राइट छात्रवृत्ति प्राप्त गर्नुभयो र सन् १९७१ को क्रुर युद्धमा बङ्गलादेशले पाकिस्तानबाट आफ्नो स्वतन्त्रता हासिल गरेलगत्तै फर्किनुभयो ।स्वदेश फर्किएपछि उहाँलाई चटगाउँ विश्वविद्यालयको अर्थशास्त्र विभागको प्रमुखमा नियुक्त गरियो तर युवा मुलुकले भीषण अनिकालको सामना गरिरहेको थियो र उहाँ व्यावहारिक कदम चाल्न बाध्य हुनुभयो ।

“गरिबी मेरो चारैतिर थियो र म यसबाट टाढा जान सकिनँ”, सन् २००६ मा उहाँले भन्नुभएको थियो, “मलाई विश्वविद्यालयको कक्षामा अर्थशास्त्रको सुरुचिपूर्ण सिद्धान्त पढाउन कठिन भयो, म आफू वरपरका मानिसहरूको सहयोगका लागि तत्काल केही गर्न चाहन्थेँ ।”

परम्परागत बैंक ऋणका लागि योग्य हुन नसक्ने गरिब मानिसहरूलाई ऋण प्रदान गर्ने तरिकामा वर्षौंसम्म प्रयोग गरेपछि उहाँले सन् १९८३ मा ग्रामीण बैंकको स्थापना गर्नुभयो ।

बैंकको सबैभन्दा पछिल्लो वार्षिक प्रतिवेदन (२०२०) अनुसार संस्थासँग अहिले ९० लाखभन्दा बढी ग्राहक छन् र यसका ९७ प्रतिशतभन्दा बढी उधारकर्ता महिला छन् । युनुसले आफ्नो जीवनको कामका लागि धेरै उच्च सम्मान प्राप्त गर्नुभएको छ । यसमा बाराक ओबामाले प्रदान गर्नुभएको अमेरिकी राष्ट्रपति पदक पनि समावेश छ ।

गाजाका ६३ प्रतिशत भवन क्षतिग्रस्त भएको छ – राष्ट्रसङ्घ

गाजा पट्टीलाई समेट्ने उपग्रह निगरानीको संयुक्त राष्ट्रसङ्घको पछिल्लो विश्लेषणले गाजाका ६३ प्रतिशत संरचनाहरू क्षतिग्रस्त भएको देखाएको राष्ट्रसङ्घीय मानवअधिकारवादीहरूले बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) ले एक महिनाअघि सङ्कलन गरेको तथ्याङ्क राष्ट्रसङ्घीय स्याटेलाइट सेन्टरले विश्लेषण गरेको जनाएको छ ।

ओसिएचएले गाजामा बमबारी र शत्रुताले प्यालेस्टिनीहरू मरिरहेको, घाइते भइरहेको र विस्थापित भइरहेको तथा घरहरू र पूर्वाधारहरूलाई क्षति पु¥याइरहेको बताएको छ ।

“प्यालेस्टिनी नागरिक सुरक्षाका अनुसार पछिल्लो ४८ घन्टामा गाजा सहरमा विस्थापितहरूलाई आश्रय दिएको तीन वटा विद्यालयमा कथितरूपमा आक्रमण हुँदा दर्जनौँ हताहत भएका छन्,”, ओसिएचएले भनेको छ ।

इजरायली सेनाले दक्षिणी खान युनिस र उत्तरी रफाह क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई तुरुन्तै अल मावासीमा पश्चिमतर्फ जान नयाँ आदेश जारी गरेको छ । गाजामा जनसङ्ख्याको आवागमन ट्र्याक गर्ने मानवीय साझेदारहरूले यस निकासी आदेशबाट प्रभावित क्षेत्रहरूमा ११ हजारभन्दा बढी मानिस बस्ने अनुमान गरेका छन् ।

हिंसा जारी रहँदा गाजामा मानवीय सङ्कट गहिरिँदै गएको ओसिएचएले जनाएको छ । एजेन्सीका अनुसार पहुँच अवरोधहरू, आवश्यक आपूर्तिहरूको अभाव, ताजा उत्पादन र मासुको सीमित उपलब्धता, दूषित पानी र सरसफाइ सेवाहरू तथा रोग फैलाउने कारणले पोषण अवस्था बिग्रँदै गएको छ ।

बङ्गलादेश सङ्कटमा भारत ‘गहिरो रूपमा चिन्तित’ छ : विदेशमन्त्री

भारतका विदेशमन्त्री एस. जयशङ्करले मङ्गलबार बङ्गलादेशमा ‘कानून र व्यवस्था स्पष्ट रूपमा पुनरबहाली नभएसम्म अत्यन्त चिन्तित रहेको’ बताउनुभएको छ । प्रधानमन्त्री शेख हसिना अपदस्त भएको एक दिनपछि छिमेकी मुलुक बङ्गलादेशको पछिल्लो घटनाक्रमबारे उहाँको सो टिप्पणी आएको हो ।

उहाँले हसिना भारतमा रहेको पुष्टि गर्नुभयो । सोमबार प्रदर्शनकारीहरूले आफ्नो भवनमा आक्रमण गरेपछि हसिना भाग्नुभएको थियो । संसद्मा विदेशमन्त्री जयशङ्करले भन्नुभयो, “जबसम्म कानून र व्यवस्था स्पष्ट रूपमा बहाल हुँदैन, हामी स्वाभाविक रूपमा अत्यन्त चिन्तित हुनेछौँ ।”

चीनसँग बलियो सम्बन्ध कायम राख्दै भारतबाट समर्थन प्राप्त गर्ने कमजोर सन्तुलन बनाउने हसिनाको पतनप्रति नयाँदिल्लीले सावधानी अपनाएको छ ।

“पछिल्लो २४ घन्टामा हामी ढाकामा अधिकारीहरूसँग नियमित सम्पर्कमा छौँ”, विदेशमन्त्रीले भन्नुभयो, “सुरक्षा प्रतिष्ठानका नेताहरूसँगको बैठकपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिने निर्णय गर्नुभएको हाम्रो बुझाइ छ ।”

“धेरै छोटो सूचनामा उहाँले तत्काल भारत आउन स्वीकृतिका लागि अनुरोध गर्नुभयो, हामीले एकैसाथ बङ्गलादेशका अधिकारीहरूबाट उडान अनुमतिका लागि अनुरोध प्राप्त गर्यौँ, उहाँ हिजो साँझ दिल्ली आइपुग्नुभयो”, उहाँले भन्नुभयो ।

भारत र बङ्गलादेशले चार हजार किलोमिटरभन्दा लामो सीमा साझा गर्दछन् । “यो जटिल अवस्थालाई ध्यानमा राख्दै हाम्रो सीमा सुरक्षा बललाई पनि विशेष रूपमा सतर्क रहन निर्देशन दिइएको छ”, विदेशमन्त्री जयशङ्करले भन्नुभयो ।

बङ्गलादेशमा छिट्टै ‘सामाजिक स्थिरत पुनःस्थापना’ हुने चीनको विश्वास

यसैबीच चीनले ‘बङ्गलादेशमा सामाजिक स्थिरता चाँडै पुनःस्थापना हुनसक्ने’ विश्वास व्यक्त गरेको छ । पूर्वप्रधानमन्त्री शेख हसिना व्यापक विरोधपछि राजीनामा दिँदै मुलुकबाट भागेपछि बेइजिङमा विदेश मन्त्रालयले मङ्गलबार सो टिप्पणी गरेको हो ।

विदेश मन्त्रालयका प्रवक्ताले भन्नुभयो, “मैत्रीपूर्ण छिमेकी र व्यापक रणनीतिक सहयोगी साझेदारका रूपमा चीनले बङ्गलादेशमा चाँडोभन्दा चाँडो सामाजिक स्थिरता पुनःस्थापित गर्न सकिन्छ भन्ने आशा राखेको छ ।”

बङ्गलादेशमा अल्पसङ्ख्यकहरूमाथि भएको आक्रमणप्रति चिन्ता व्यक्त

व्यापक प्रदर्शनबाट प्रधानमन्त्रीलाई अपदस्थ गरिएको एक दिनपछि बङ्गलादेशमा मानवाधिकार समूह र कूटनीतिज्ञहरूले मङ्गलबार हिन्दूलगायत अल्पसङ्ख्यकहरूमाथि भएको आक्रमणको रिपोर्टप्रति चिन्ता व्यक्त गरेका छन् ।

प्रत्यक्षदर्शीहरूका अनुसार हिन्दूहरूको स्वामित्वमा रहेका केही व्यवसाय र घरहरूमा सोमबार हमला गरिएको थियो । हिन्दूहरूलाई मुस्लिम–बहुल राष्ट्रमा केही मानिसले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको निकटका रूपमा हेर्छन् ।

भीडले हसिनाका सहयोगीहरूमाथि बदला लिन हमला सुरु गरेको प्रहरीले बताएको छ । प्रत्यक्षदर्शीहरूका अनुसार मुलुकभरमा हसिनाको अवामी लिग पार्टीका कार्यालयमा आगो लगाइएको छ र लुटपाट गरिएको छ ।

बङ्गलादेश हिन्दू बौद्ध क्रिस्चियन एकता परिषद्का महासचिव राणा दासगुप्ताले विज्ञप्तिमा भन्नुभयो, “सोमबार र मङ्गलबार कम्तीमा ९७ स्थानमा अल्पसङ्ख्यक मानिसका घर र पसलहरूमा हमला, तोडफोड र लुटपाट गरिएको छ ।सोमबार कम्तीमा १० हिन्दू मन्दिरमा ‘बदमाश’ हरूले हमला गरेको परिषद्ले बताएको छ ।

अस्पतालका एक अधिकारीले सुरक्षाका कारण आफ्नो नाम उल्लेख नगर्ने सर्तमा बङ्गलादेशको दक्षिणी बागेरहाट जिल्लामा एक हिन्दू व्यक्तिको कुटेर हत्या गरिएको बताए ।

ट्रान्सपेरेन्सी इन्टरनेसनल बङ्गलादेशका प्रमुख इफ्तिखारुज्जमानले भन्नुभयो, “अल्पसङ्ख्यकहरूमाथि यस्तो तरिकाको हमला भेदभावविरोधी विद्यार्थी आन्दोलनको मूल भावना विरुद्ध हो ।”

ढाकामा अमेरिकी दूतावासले सामाजिक सञ्जाल एक्समा एक पोस्टमा ‘शान्त’ रहन आह्वान गरेको छ । युरोपेली सङ्घ (इयु) का कूटनीतिज्ञहरूले पठाएको सन्देशमा भनिएको छ, “हामी बङ्गलादेशमा धार्मिक अल्पसङ्ख्यक र धार्मिक स्थलहरूमा भएको हमलाको रिपोर्टबाट चिन्तित छौँ ।”

“इयु मिसन प्रमुखहरू बङ्गलादेशमा जातीय र अन्य अल्पसङ्ख्यकहरूका पूजा स्थल र सदस्यहरू विरुद्ध हमला भएको रिपोर्टबाट अत्यन्त चिन्तित छन्”, बङ्गलादेशमा इयुका राजदूत चार्ल्स ह्वाइटलीले एक्समा भन्नुभयो, “हामी सबै पक्षलाई संयमता अपनाउन, साम्प्रदायिक हिंसालाई अस्वीकार गर्न र सबै बङ्गलादेशीको मानवाधिकारलाई कायम राख्न अपिल गर्दछौँ ।”

जुलाईको प्रारम्भमा भड्किएको विरोध प्रदर्शनपछि सोमबार अशान्तिको सबैभन्दा घातक दिन थियो । यस दिन कम्तीमा एक सय २२ जनाको मृत्यु भएको थियो । एक स्थानीय समाचार पत्रका अनुसार सोमबार भीडले अल्पसङ्ख्यक मुस्लिम सम्प्रदाय अहमदीका केही घरमा समेत आगो लगाएको थियो ।

प्रसिद्ध हिन्दू सङ्गीतकार राहुल आनन्दको घरमा पनि आगो लगाइएको छ । आनन्दले गत वर्ष ढाका भ्रमणका क्रममा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनसँग भेट गर्नुभएको थियो ।

भारतीय विदेशमन्त्री एस. जयशङ्करले पनि मङ्गलबार नयाँदिल्लीले ‘अल्पसङ्ख्यकहरूको स्थितिका सन्दर्भमा स्थितिको निगरानी गरिरहेको’ बताउनुभएको छ । “कानून र व्यवस्था स्पष्टरूपमा पुनरबहाली नभएसम्म सरकार अत्यन्त चिन्तित हुनेछ”, उहाँले भन्नुभयो ।

दक्षिण कोरियामा गर्मीका कारण मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो

दक्षिण कोरियामा यो वर्ष उष्ण लहरका कारण मृत्यु हुनेको सङ्ख्या १४ पुगेको र करिब एक हजार सात सय मानिसले गर्मीसँग सम्बन्धित रोगहरूको उपचार गराएको गृह मन्त्रालयले मङ्गलबार जनाएको छ ।

मन्त्रालयका अनुसार अत्यधिक गर्मीका कारण आइतबार ७० वर्षका दुई महिलाको मृत्यु भएको थियो भने दुई दिनअघि खेतमा ढलेर ६५ वर्षीय पुरुषको आइतबार मृत्यु भएको थियो ।

देशभर जारी प्रचण्ड गर्मीका कारण मे २० र अगस्ट ४ को बीचमा थप तीन जनाको मृत्युले गर्मीका कारण मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ ।

मे २० देखि अगस्ट ४ को बीचमा गर्मीसम्बन्धी रोगको उपचार गर्ने बिरामीहरूको कूल सङ्ख्या एक हजार छ सय ९० पुगेको छ । यो गत वर्षको सोही अवधिमा भएको एक हजार छ सय ४६ भन्दा बढी हो ।

हालको उष्ण लहरले दुई लाख ७७ हजार कुखुरासहित तीन लाख तीन हजार पशुधन मरेका थिए । गत सातादेखि देशैभरको तापक्रम ३५ डिग्रीको हाराहारीमा रहेको र ४० डिग्री सेल्सियससम्म पुगेको छ । यहाँ उष्णकटिबन्धीय रातहरूसँगै अत्यधिक गर्मी कम्तीमा अगस्ट १५ सम्म जारी रहने मौसम एजेन्सीले पूर्वानुमान गरेको छ ।

आज पनि देशभर वर्षा हुने, यस्तो छ मौसम पूर्वानुमान

काठमाडौँ, २३ साउनः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । साथै विभागले देशभर वर्षा हुने पूर्वानुमान गरेको छ ।

कोशी, मधेस, बागमती, कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेको जनाउँदै विभागले सतर्कता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ ।

त्यसैगरी विभागले आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान गरेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने विभागले जनाएको छ ।

आगामी २४ घण्टामा देशभर साधारणतया बदली रहने जनाउँदै विभागले कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागले सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेको जनाउँदै ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरोको क्षतिबाट बच्न जोगिन तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

शिकागोमा सञ्चालित घुम्ती शिविरबाट चार सय ११ नेपाली लाभान्वित

वासिङ्टन, डिसी, २३ साउनः इलिनोइ राज्यमा बसोबास गर्दै आएका नेपालीलाई राहदानीलगायत सेवा प्रवाह गर्ने लक्ष्यका साथ हालै शिकागो नगरमा सञ्चालित घुम्ती शिविरबाट चार सय ११ जना लाभान्वित भएका छन् ।

यहाँस्थित राजदूतावासले नेपाली संलग्न स्थानीय सङ्घसंस्थासँगको समन्वयमा सञ्चालन गरेको तीनदिने शिविरमा राहदानी सेवा प्रवाह गरिएको थियो । सरकारको निर्देशनअनुसार समय–समयमा दूतावासले विभिन्न राज्यमा यस्ता शिविर सञ्चालन गर्दै आएको छ ।

सोही राज्यको कार्वोण्डेल विश्वविद्यालयमा स्नातकोत्तर गरिरहनुभएकी बालकोट भक्तपुरकी राजती दाहालले शिकागो शिविरबाट सहज रूपमा सेवा प्राप्त भएकामा प्रशन्नता प्रकट गर्नुभयो । यसबाट धेरै नेपालीलाई घण्टौँको हवाई यात्रा गरेर वासिङ्टन पुग्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको बताउँदै उहाँले नेपाल सरकारप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

भन्सार छलेर ल्याइएका १२ लाख ५० हजारका कपडा बरामद

बनियानी (झापा), २३ साउन : भन्सार छलेर ल्याइएका रु १२ लाख ५० हजार मूल्य बराबरका कपडा बरामद गरिएको छ । सशस्त्र प्रहरी बलको टोलीले बुद्धशान्ति गाउँपालिका–७ सुनमाई चियाबगान र मेचीनगर नगरपालिका–६ स्थित बसपार्कबाट ती कपडा बरामद गरेको हो ।

बुद्धशान्ति–७ सुनमाई चियाबगानबाट परिचालन भएको सशस्त्रको टोलीले रु १० लाख बराबरको कपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं २ गणका सूचना अधिकारी सुमन पोखरेलले जानकारी दिनुभयो ।

यसैगरी अर्को टोलीले मेचीनगर–६ बसपार्क इलाकाबाट भन्सार छलेर ल्याइएको रु दुई लाख ५० हजार बराबरको कपडा बरामद गरेको सूचना अधिकारी पोखरेलले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारद्वारा प्रहरीलाई उपकरण सहयोग

गण्डकी – गण्डकी प्रदेश सरकारले प्रविधिको प्रयोगमार्फत ट्राफिक व्यवस्थापनलाई थप चुस्त र प्रभावकारी बनाउने उद्देश्यले प्रहरीलाई उपकरण सहयोग गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित एक कार्यक्रमका बीच मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहलाई दुई थान ब्रेथलाइजर र एक थान राडर गन हस्तान्तरण गर्नुभयो ।

प्रहरी नायब महानिरीक्षक सिंहले पछिल्लो समय ट्राफिक प्रहरीले तीव्र गतिका कारण हुने सवारी दुर्घटना न्यूनीकरणका लागि राडर गन, टाइम कार्डलगायत प्रविधिको प्रयोग गर्दै आएको जानकारी दिनुहुँदै प्राप्त उपकरणले सो अभियानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै प्रहरीले यहाँ सवारी चालकले मादकपदार्थ सेवन गरे/नगरेको जाँचका लागि ब्रेथलाइजर प्रयोग गर्दै आएको छ । ब्रेथलाइजरको सहयोगमा मादकपदार्थ सेवनगरी सवारीसाधन चलाउने चालकलाई नियन्त्रणमा लिई कारबाही गर्न थालेपछि ‘मापसे’ गरेर सवारी चलाउने प्रवृत्ति घटेको जनाइएको छ ।

प्रदर्शन र हुलदङ्गामा सहभागी नहुन बेलायतस्थित नेपाली दूतावासको अनुरोध

काठमाडौँ – केही दिनदेखि बेलायतका विभिन्न सहरमा प्रदर्शन/हुलदङ्गा चलिरहेकाले यहाँ रहेका एवं बेलायत भ्रमण गर्न लागेका सम्पूर्ण नागरिकलाई हुलदङ्गा भएको स्थानमा भ्रमण नगर्न र प्रदर्शनमा सहभागी नहुन अनुरोध गरिएको छ ।

लन्डनस्थित नेपाली राजदूतावासले एक सूचना जारीगरी बेलायतको वर्तमान अवस्थालाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै सम्पूर्ण नेपाली नागरिकलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन एवं स्थानीय सञ्चारमाध्यम तथा सुरक्षा निकायले जारी गरेका सूचनाहरू ध्यानपूर्वक पालना गर्न आग्रह गरेको छ ।

साथै, बेलायतस्थित नेपाली सङ्घ/सङ्गठनहरूलाई आफ्नो संस्था/समुदायमार्फत नेपाली नागरिकहरूलाई सुरक्षा सतर्कता अपनाउने सम्बन्धमा जानकारी गराउन र त्यसका लागि समन्वय गर्न पनि दूतावासले अनुरोध गरेको छ ।

आपतकालीन अवस्थामा लन्डनस्थित नेपाली राजदूतावासको फोन नं +44(0) 2072291594, +447404939274 र Email: [email protected], [email protected] मा सम्पर्क गर्न अनुरोध गरेको छ ।

इटहरी उपमहानगरपालिकाले विद्युतीय बस सेवा सञ्चालन गर्दै

धरान (सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिकाले विद्युतीय बस सेवा सञ्चालन गर्नेभएको छ ।

नगर क्षेत्रमा सहुलियत बस सेवा सुरू गर्ने उद्देश्यले चार वटा बस खरिद गरिएको नगरप्रमुख हेमकर्ण पौडेलले जानकारी दिनुभयो । उहाँले यस कार्यले स्थानीय नागरिकलाई यात्राका लागि सहज हुने विश्वास व्यक्त गर्नुभयो । नगरप्रमुख पौडेलले भन्नुभयो, “इटहरीका चारवटै क्षेत्रलाई समेट्ने गरी रुट तय गर्ने काम भइरहेको छ ।

सो कार्य सम्पन्न भए लगत्तै सेवा सञ्चालन गछौँ । सम्भवतः आगामी असोज १ गतेबाट सेवा सञ्चालन गर्ने योजना छ ।” उपमहानगरका इञ्जिनियर रुपेश आचार्यले रु छ करोड ३६ लाख ८६ हजारको लागतमा बस खरिद गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “बसमा जीपीएस जडान, सीसी क्यामेरा, एसीलगायतका अन्य सुविधाको व्यवस्थापन गरी सूचना प्रविधिमैत्री बनाइएका छन् ।”

नगर बस सञ्चालनका लागि कार्यपालिका बैठकले वडा नं ६ का अध्यक्ष दिवस पोखरेलको संयोजकत्वमा समिति बनाएर काम गरिरहेको छ ।

सुडानमा भारी वर्षाका कारण नौ जनाको मृत्यु

भारी वर्षाका कारण उत्तरी सुडानमा भवन भत्किँदा नौ जनाको मृत्यु भएको छ । खार्तुमबाट करिब चार सय किलोमिटर उत्तरमा रहेको सुडानको नाइल राज्यको सानो सहर अबु हमादको एउटा अस्पतालमा कार्यरत एक कर्मचारीले भन्नुभयो, “घरहरू भत्किँदा नौ जनाको मृत्यु भएको छ । साथै, धेरै घाइतेहरू अस्पताल पुग्ने क्रम जारी छ ।

हरेक वर्ष अगस्ट महिनामा भारी वर्षाले नाइल नदीको बहावसँगै घरहरू भत्काउने, पूर्वाधारमा क्षति पु¥याउने र पानीजन्य रोगका कारण प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मानिसहरूको ज्यान जाने गरेको छ ।

विस्थापित लाखौँ मानिसलाई बाढी क्षेत्रमा पुर्याएको एक वर्षभन्दा बढी लडाइँपछि यस वर्ष प्रभाव अझ खराब हुने आशङ्का गरिएको छ ।   अबु हमादका एक प्रत्यक्षदर्शीले टेलिफोनमा एएफपीलाई भन्नुभयो, “भारी वर्षाका कारण अधिकांश घर भत्किएका छन् र बजारका सबै पसलहरू क्षतिग्रस्त भएका छन् ।”

गत हप्ता, लाल सागरको तटमा रहेको पोर्ट सुडानमा अचानक आएको बाढीका कारण पाँच जनाको मृत्यु भएको थियो ।  युद्धका कारण पहिलादेखिनै अवरुद्ध मानवीय सहायता वर्षाको मौसमले  केही क्षेत्रमा लगभग असम्भव हुने सहायता समूहहरूले बारम्बार चेतावनी दिएका छन् ।

जिम्मेवारीका साथ काम गर्न मुख्यमन्त्री सिंहको निर्देशन

जनकपुर, २२ साउनः मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले कर्मचारीलाई आफूले पाएको जिम्मेवारी पूर्णरुपमा निर्वाह गर्न निर्देशन दिनुभएको छ ।

प्रदेश सरकार अर्थ मन्त्रालयले आज मुजेलियामा आयोजना गरेको कार्यशालामा उहाँले सरकारलाई सफल बनाउने जिम्मा कर्मचारीमा निर्भर रहेकाले त्यसतर्फ दत्तचित भइ अघि बढ्न निर्देशन दिनुभयो । 

मधेस प्रदेश सरकारको पेफा मूल्याङकनसम्बन्धी प्रारम्भिक कार्यशाला, २०८१ लाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले कर्मचारीलाई कार्यसम्पादनमा ध्यान दिन आग्रह गर्नुभयो । प्रदेश सरकारको काम केन्द्रले नियालिरहेको उल्लेख गर्दै उहाँ सरकारले नीति ल्याउने र त्यसको कार्यान्वयनको काम कर्मचारीको भएको बताउनुभयो । 

“मधेस प्रदेशमा रहेका १२ वटै मन्त्रालयको वेबसाइट अपडेट छैनन् । कर्मचारीको सम्पर्क नम्बर पनि लुकाइएको छ । मन्त्रालयका सचिव र सूचना अधिकारीले यसतर्फ गम्भीर भएर अघि बढ्नुपर्छ”, उहाँले भन्नुभयो । 

एकीकृत समाजवादीका अध्यक्ष नेपाल सम्मानित

काठमाडौँ, २२ साउन : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई सम्मान गरिएको छ ।आज यहाँ पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा पुराना कम्युनिष्ट नेताहरूको समूहले नेपाली कम्युनिष्ट आन्दोलनको विकासमा अध्यक्ष नेपालले पुर्‍याउनुभएको योगदान स्वरूप उहाँलाई सम्मान गरेको हो ।

कम्युनिष्ट नेता तथा विश्लेषक सिद्धिलाल सिंह, कमल कोइराला, गोपीरमण उपाध्याय, न्हुछेबहादुर ढुकुजु, नारायणप्रसाद वैद्यलगायतले अध्यक्ष नेपाललाई सम्मान गर्नुहुँदै दशौँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष चयन हुनुभएकोमा बधाई तथा कार्य सफलताको शुभकामना दिनुभयो ।

त्यस अवसरमा नेता कोइरालाले नेपालको कम्युनिष्ट आन्दोलनमा अध्यक्ष नेपालले पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो । उहाँले सम्मान कार्यक्रमले देश र जनताप्रति समर्पित रहन आगामी पुस्तालाई उत्प्रेरित गर्दै जाने भएकाले यस्तो कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो । नेता उपाध्यायले जनताप्रति समर्पित हुँदै नेपालको कम्युनिष्ट आन्दोलनलाई थप सशक्त बनाउन अध्यक्ष नेपालको कुशल नेतृत्वमा पार्टी सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष नेपालले प्राप्त सम्मानले आफ्नो काँधमा जिम्मेवारी थपिएको अनुभूत गरेको भन्नुहुँदै आगामी दिनमा देश र जनताका पक्षमा थप क्रियाशील हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बागलुङ पहिरो :स्थानीय सुरक्षित स्थान खोज्दै बस्न गएको छिमेकीको घर नै पुरेपछि

गलकोट (बागलुङ), २२ साउन : बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटा गाउँका स्थानीय लगातारको वर्षाले त्रसित थिए । सोमबार साँझदेखि परेको भारी वर्षाबाट निम्तिन सक्ने विपद्को अनुमान लगाउँदै आरुपाटाका स्थानीयले सतर्कतासमेत अपनाएका थिए ।

आरुपाटाका स्थानीय आज बिहानै सुरक्षित घर खोज्दै छिमेकी जोगबहादुरको बुढाको घरमा पुगे । अपसोच बिहान ११ बजेर २० मिनेट पुग्दा सुरक्षित भनेर स्थानीय जम्मा भएकै घरलाई पहिरोले बगायो । पहिरोले जोगबहादुर बुढाको घर पुर्दा छ जनाको मृत्यु भयो  । 

पहिरोमा चार जना अझै बेपत्ता रहेको आशङ्का रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख ऋषिराम कँडेलले जानकारी दिनुभयो । कँडेलका अनुसार घटनास्थल निकै दुर्गम स्थानमा भएका कारण प्रहरी चार घण्टापछि मात्रै उद्धारका लागि त्यहाँ पुगेको थियो । 

बडिगाड गाउँपालिका–१० का वडाध्यक्ष वीरेन्द्रकुमार बुढामगरका अनुसार भारी वर्षापछि स्थानीय सुरक्षित स्थान खोज्दै जोगबहादुर बुढामगरको घरमा पुगेका थिए । “गाउँमा पहिराको जोखिम थियो, जोगबहादुर बुढाको घरभन्दा तलको घर पहिरोको जोखिममा रहेका कारण सुरक्षित घरमा बसेर बुर्तिवाङ जाने योजनाका साथ छिमेकी यस घरमा आएका रहेछन्”, वडाध्यक्ष बुढामगरले घटनास्थलको दृश्य सम्झँदै भन्नुभयो, “जुन घर अलि सुरक्षित छ भनेर छिमेकी आएर जम्मा भएका थिए, त्यही घरलाई नै पहिरोले लग्यो, पहिरोले घरसहित गोठसमेत बगाएको छ, स्थानीयको सहयोगमा प्रहरी पुग्दा पाँच जनाको शव निकालिएको थियो, एक जनाको उद्धारपछि मृत्यु भएको थियो अन्य बेपत्ताको खोजीका लागि प्रहरी र नेपाली सेना परिचालन भएको छ ।”

घटनास्थलमा पुगेका प्रहरीले एउटै घरमा ठूलो मानवीय क्षति भएको र शवको पहिचान गर्दा एउटै घरका नभएर छिमेकी परेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय यादवका अनुसार आश्रय लिएको घर नै पहिरोले बगाएपछि ठूलो मानवीय क्षति भएको हो । केही पहिरोको जोखिम टार्न जोगबहादुर बुढाको घरमा आएका थिए भने केही बुर्तिवाङ जानलाई त्यस घरमा पुगेका थिए । 

“एउटै घरमा यति धेरै मानिस रहेछन्, फरकफरक समुदायका मानिस आश्रय लिनका लागि त्यस घरमा पुगेको पाइयो”, यादवले भन्नुभयो, “त्यही घर नै पहिरोले पुर्दा छ जनाको मृत्यु भएको छ, अन्य चार जना बेपत्ता रहेको स्थानीयले बताएका छन्, बेपत्ताको यकिन भएको छैन, खोजीका लागि प्रहरी र नेपाली सेना परिचालन भइरहेको छ ।”

प्रहरीका अनुसार मृत्यु हुनेमा बागलुङ जिल्लाको बडिगाड गाउँपालिका १० निवासी ७० वर्षीया देवी कामी, पाँच महिनाकी सीता विक, सात वर्षीय मालती बुढा, आठ वर्षीय अमल बुढा, ११ वर्षीया सीता पुन र घरधनी ७८ वर्षीय जोगबहादुर बुढा रहनुभएको छ । 

पहिरोमा परेर नौ जनासमेत घाइते हुनुभएको छ । पहिरोमा परी घाइते हुनेमा बडिगाड गाउँपालिका–१० बस्ने २६ वर्षीय ओमप्रकाश पुन, ४६ वर्षीय सङ्गीता बुढा, २३ वर्षीया सिर्जना विक, ४३ वर्षीय मङ्गल सेन बुढा, १९ वर्षीया रिमा पुन, ६० वर्षीया सुमित्रा विक, ५१ वर्षीय  शशिराम विक, नौ वर्षीय ज्ञाने बुढा र ३१ वर्षीया सीता थापा घाइते हुनुभएको छ । घाइतेको बडिगाड गाउँपालिकाले पठाएको स्वास्थ्यकर्मीबाट प्राथमिक उपचार गरिएको छ । घरधनी जोगला बुढाको जीवितै उद्धार गरे पनि उद्धारको एक घण्टापछि मृत्यु भएको हो । पहिरोमा परी १० वर्षीय मनोज बुढा, तीन वर्षीय आरुष थापा, ६० वर्षीया मधु बुढा र ११ वर्षीय सुमन विक पहिरोमा बेपत्ता हुनुभएको प्रहरीको भनाइ छ । 

पहिरोमापरी गम्भीर तथा घाइतेको उद्धार र उपचारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरे पनि मौसम बाधक बनेको प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले बताउनुभयो । पहिरोमा परेर गम्भीर घाइते भएकाको उद्धारका लागि काठमाडौँबाट आएको नेपाली सेनाको हेलिकप्टर बागलुङ बजारमा अवतरण गरेको छ । उद्धारका लागि हेलिकप्टर पुनःबुधबार बिहानै पठाउने उहाँले बताउनुभयो । 

बडिगाड गाउँपालिका–१० आरुपाटाको पहिरोमा परेर गम्भीर घाइते भएकाको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पटकपटक प्रयास गर्दा पनि मौसमका कारण बडिगाडमा अवतरण गर्न नसकेपछि श्री नम्बर २३ बाहिनी अड्डा बागलुङमा अवतरण गरेको हो ।

कुहिरो, हाइटेन्सन लाइन र नखुलेको मौसमका कारण हेलिकप्टर बागलुङमै अवतरण गर्नुपरेको श्री नम्बर २३ बाहिनी अड्डा बागलुङका प्रमुख कर्नेल शीतल बानियाँले जानकारी दिनुभयो । हेलिकप्टर बुधबार बिहान पुनःउद्धारका लागि घटनस्थलतर्फ जाने प्रहरीले जनाएको छ । 

यस्तै पहिरोका कारण बडिगाड गाउँपालिका–९ स्थित नयाँ बस्तीका १४ वर्षीय विधान परियार र सोही वडाको खहरे भन्ने ठाउँका २४ वर्षीय गङ्गा बस्नेतको मृत्यु भएको छ । घर माथिबाट आएको पहिरो पन्छाउने क्रममा परियारको र बाटोमा हिँड्दै गर्दा माथिबाट आएको पहिरोले बस्नेतको मृत्यु भएको थियो । 

संविधान कार्यान्वयनमा सबैको सकारात्मक भूमिका आवश्यक छ : उपप्रधानमन्त्री सिंह

ललितपुर, २२ साउन : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधानको भावना र मर्मअनुरूप कार्यान्वयनमा सबैको सकारात्मक भूमिका अपरिहार्य रहेको बताउनुभएको छ ।

आज यहाँ किरात राई यायोक्खाको ३७औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले विधि र प्रक्रिया पूरा गरेर आवश्यकतानुसार संविधान संशोधन गर्न सकिने र यसमा सबैको सकारात्मक सहयोग प्राप्त हुने आशा व्यक्त गर्नुभयो । “यो संविधान जनताबाट चुनिएका प्रतिनिधिले संविधानसभामार्फत तयार गरेका हौँ ।

हाल भएका व्यवस्थाको सफल कार्यान्वयनमा ध्यान दिनुपर्ने आवश्यकता त छँदैछ । साथसाथै निश्चित विधि र प्रक्रिया पूरा गरेर समयको मागअनुसार संविधान संशोधन गर्न सक्ने प्रावधान पनि भएकाले सोअनुसार अगाडि बढ्नुपर्नेछ”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।

उहाँले फुलबारी झै सजिएको समाजमा द्वन्द्व मेटिने र सबैको पहिचान भेटिने अवस्था बनाउन आआफ्नो तर्फबाट योगदान दिनुपर्ने आवश्यकतासमेत औँल्याउनुभयो ।

सङ्घीयता कार्यान्वयनसँगै जनतामा सेवा प्रवाह र निराशा चिर्न ठूला दलबीच सहकार्य : प्रधानमन्त्री

काठमाडौँ, २२ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयताको कार्यान्वयन, सुशासन कायम, जनतामा सेवाप्रवाह र निराशा चिर्नका लागि दुुई ठूला दलबीच सरकार सञ्चालनको सहकार्य भएको स्पष्ट गर्नुभएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बागमती प्रदेशका नवनियुक्त मुुख्यमन्त्री बहादुुरसिंह लामा र मन्त्रीहरूसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले सङ्घीयतासँगै प्रदेशको औचित्य र जनताको विकासको चाहनालाई पूरा गर्ने अभिभाराप्रति ध्यान दिन आग्रह गर्नुभयो ।

“देशको विषम परिस्थितिलाई आत्मसात् गरीे नेपाली कांग्रेस र नेकपा (एमाले)बीच समीकरण भएको हो । यो समीकरण भागबण्डा र नियुक्तिका लागि भएको होइन”, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “देशमा राणाशासन र पञ्चायतको अन्त्यदेखि सशस्त्र सङ्घर्षको सही व्यवस्थापन, गणतन्त्र र सङ्घीयताका लागि यी दुई ठूला दल मिलेरै देशको सङ्कट समाधान भएको छ । आर्थिकलगायत देशको विषम परिस्थितिका निम्ति अहिले विशेष सङ्कल्पसहित हाम्रो सहकार्य भएको हो ।” उहाँले विभिन्न क्षेत्रमा देखिएको विषमतालाई अन्त्य गर्न र जनताको समृद्धि र सुख प्राप्तिको लागि सरकार गठन भएकाले प्रदेश सरकारले यसमा ध्यान दिने अपेक्षा व्यक्त गर्नुुभयो ।

जनताको दुख, विकासको अवस्था, शिक्षा, स्वास्थ्य, कृषि उत्पादन, पूर्वाधार विकास, रोजगारी, सुशासनको प्रत्याभूति कायम गराउन दत्तचित्त भएर लाग्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले सार्वजनिक खर्चलाई मितव्ययी र चुस्त दुरूस्त व्यवस्थापन गर्ने, राजस्व वृद्धि र सार्वजनिक सम्पत्तिको सही सदुपयोग गर्ने विषयमा पनि ध्यान दिन सम्झाउनुुभयो ।

“म भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ भन्ने कुरालाई आत्मसात् गरी बागमती प्रदेशमा रहेका विद्यमान विकृति, विसङ्गति र अन्योलको अवस्था चिर्नका लागि एकजुट भई कार्य गर्न म विशेष आग्रह गर्दछु”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “मान्छेले मान्छेलाई दण्ड होइन, हप्काएर दप्काएर होइन, कसैको पनि अपमान नहुनेगरी, सुखदुःखमा साथ दिनेगरी, आफ्नो जिम्मेवारी कर्तव्य र उत्तरदायित्व निर्वाह गर्नुहुनेछ ।”

पर्साको दूधेश्वरनाथ महादेव मन्दिरका दुई दर्शनार्थी मृत फेला

वीरगञ्ज (पर्सा), २२ साउन : पर्साको प्रसिद्ध धार्मिकस्थल दूधेश्वरनाथ महादेव मन्दिर (भाथा धाम) दर्शन गर्न मकवानपुरबाट आएका दुई जना दशनार्थी मृत अवस्थामा भेट्टिएका छन् । पर्सा प्रहरीले मकवानपुरबाट गत शनिबार दर्शन गर्न आएका दशनार्थीलाई जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको आशङ्का गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले पर्सा राष्ट्रिय निकुञ्जको कोर एरियामा दुई जनाको शव भेट्टिएको जानकारी दिनुभयो ।

मनहरी गाउँपालिका वडा नं ५ दिलीपुरका वर्ष ४० का रामबहादुर मुक्तान र सोही जिल्लाका राक्सीराङ्ग गाउँपालिका–२ टुमकीका ३२ वर्षीय राजकुमार नेगी मृत अवस्थामा भेटिएका हुन् । 

“निकुञ्जको कोर एरियामा दुई जनाको शव भेट्टिएको छ”, उहाँले भन्नुभयो, “फिल्डमा खटिएका उद्धार टोलीसँग टेलिफोन सम्पर्क हुन नसकेकाले पनि विस्तृत विवरण आइसकेको छैन ।” फेला परेका शवलाई आवश्यक मुचुल्का बनाएर नारायणी अस्पतालमा शव परीक्षणका लागि ल्याउने कार्य भइरहेको उहाँले जानकारी दिनुभयो । 

इलाका प्रहरी ठोरी, निकुञ्ज सुरक्षा तैनाथ सबुत गणका लगायतका टोलीले खोजीकार्य गरेको थियो । दुई जना हराएको कुरा सोमबार मात्रै जानकारीमा आएको प्रहरीले जनाएको छ । पर्सा राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्रपर्ने दुग्धेश्वनाथ महादेव मन्दिरमा साउन महिनाभरि भारतीय र स्वदेशी  दशनार्थीको घुुइँचो लाग्ने गर्छ ।

गण्डकीमा भारी वर्षा : नौ जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह

गण्डकी, २२ साउन : जल तथा मौसम विज्ञान विभागले मङ्गलबार र बुधबार हुने भारी वर्षाका कारण गण्डकी प्रदेशका नौ जिल्ला उच्च जोखिममा रहने प्रक्षेपण गरेपछि राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यहाँका सर्वसाधारणदेखि सरोकार भएका निकायलाई उच्च सतकर्ता अपनाउन आग्रह गरेको छ ।

मङ्गलबार विशेष सूचना जारी गर्दै प्राधिकरणले कास्की, बागलुङ, म्याग्दी, पर्वत, गोरखा, लमजुङ, नवलपुर, स्याङ्जा र तनहुँ वर्षाको उच्च जोखिममा रहेको जनाएको छ । प्राधिकरणले उच्च जोखिममा रहेका जिल्लामा रातको समयमा यात्रा गर्दा जोखिम निम्तन सक्ने हुँदा रात्रिकालीन बस सेवा सञ्चालन नगर्न आग्रह गरेको छ ।

विपद्को जोखिममा रहेका सर्वसाधारणलाई जिल्ला र स्थानीय तहमा रहेको विपद् व्यवस्थापन समितिको समन्वयमा सुरक्षित आश्रयस्थलमा सार्न प्राधिकरणले सूचित गरेको छ । भारी वर्षा हुनसक्ने जिल्लामा जुनसुकै बेला विपद् आउन सक्ने जनाउँदै खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा निकायहरूलाई तयारी अवस्थामा रहन भनिएको छ । भारी वर्षा भइरहेका बेला अत्यावश्यक नपरी यात्रा नगर्न तथा नदी किनार र पहिराको जाखिममा रहेका बासिन्दालाई विशेष सतर्कता अपाउन प्राधिकरणले अनुरोध गरेको छ ।

गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पनि वर्षाले निम्ताउने विपद्बाट जोगिन विशेष सावधानी र सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । भारी वर्षापछि बागलुङको बडिगाड गाउँपालिका–२ र दसमा मङ्गलबार खसेको पहिरामा परी आठ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । पहिरामा परी दस जना घाइते भएको प्रहरीले जनाइएको छ ।

बजारमा कृत्रिम अभाव र कालोबजारी रोक्न सरकारलाई समितिको निर्देशन

काठमाडौँ, २२ साउनः राष्ट्रियसभाअन्तर्गतको सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिले देशभर गुणस्तरीय वस्तु तथा सेवाको सहज आपूर्तिगरी कृत्रिम अभाव र कालोबजारी रोक्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकमा सभापति सोनाम गेल्जेन शेर्पाले चाडपर्व सुरू हुनु अगाडिदेखि नै दैनिक उपभोग्य वस्तु तथा सेवाको अस्वाभाविक मूल्यवृद्धि हुने गरेकोप्रति सचेत गराउँदै सरकारलाई मूल्य र कालोबजारी नियन्त्रण गर्न निर्देशन दिनुभएको हो ।

बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई नियमित बजार अनुगमन गर्न र गराउन निर्देशनसमेत दिएको छ । “अन्तरमन्त्रालय, तीन तहका सरकारबीच समन्वय र सहकार्य गर्दै बजार अनुगमन प्रभावकारी बनाउनु अत्यावश्यक छ”, सभापति शेर्पाले भन्नुभयो,“आमनागरिकको सहज पहुँच हुनेगरी तत्काल सुपथ मूल्य पसल सञ्चालनका लागि समय अवधि र क्षेत्रगत दायरा विस्तार गर्नुस् ।” यस्तै प्रत्येक पसलमा मूल्य सूची अनिवार्य राख्न र उपभोक्ता सचेतनाको कार्यक्रमलाई निरन्तरता दिनसमेत उहाँले निर्देशन दिनुभयो ।

बैठकमा समितिका सदस्यले सरकारसँग पेट्रोलियम, ग्यास र अत्यावश्यक खाद्यान्नको भण्डारण कम भएको भन्दै चासो व्यक्त गर्नुभएको थियो । उहाँहरूले पेट्रोल र ग्यासको मौज्दात बढाउनुपर्नेमा जोड दिनुभयो । समिति सदस्य राजेन्द्रलक्ष्मी गैरेले भन्नुभयो, “सरकारसँग भण्डारण छैन, व्यवसायीसँग छ । अत्यावश्यक वस्तु तथा सेवाको भण्डारण छैन भने नाकाबन्दी वा प्रकोपले ढुवानी अवरुद्ध भए के गर्ने ? त्यसैले समयमै सचेत रहनुपर्ने आवश्यकता छ ।” सदस्य उदयबहादुर बोहराले विचौलिया हाबी हुँदा बजार अराजक बन्दै गएको बताउनुभयो । “विचौलियाको अन्त्य कसरी गर्ने ? विभागको अनुगमन र कारबाही प्रभावकारी भएन भन्ने गुनासो छ । यसमा ध्यानुपर्छ”, उहाँले भन्नुभयो ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रतिनिधिसँग उपभोग्य तथा अत्यावश्यक वस्तु, सेवाको आपूर्ति एवं वितरण र बजार अनुगमनलगायतका सम्बन्धमा छलफल भएको थियो ।

मन्त्रालयका सचिव मधु सुदन बुर्लाकोटीले पेट्रोलियम पदार्थको भण्डारण न्यून क्षमता र मुलुकको आन्तरिक आपूर्ति शृङ्खलामा विचौलिया हाबी हुने समस्याबारे समितिलाई जानकारी गराउनुभयो ।

विभागका महानिर्देशक राजन पौडेलले भारतबाट चिनी, चामल, गहुँ तथा प्याज आयातमा थप कोटाको व्यवस्था तथा निकासी महसुल छुटगरी आयात सहजीकरणका लागि कूटनीतिक पहल जारी राखेको जानकारी गराउनुभयो । पेट्रोल सात दिन, डिजेल १२ दिन, मट्टितेल २६ दिन र हवाई इन्धन छ दिनको माग धान्न सक्नेगरी नेपाल आयाल निगमसँग ८९ हजार नौ सय ९० किलोलिटर भण्डारण क्षमता रहेको उहाँले जानकारी दिनुभयो ।

यस्तै विभिन्न ग्यास उद्योगसँग नौ हजार १ सय १७ मेट्रिक टन एलपी ग्यासको भण्डारण क्षमता रहेकामा अहिले छ दिनको माग धान्नसक्ने मौज्दात रहेको छ । राष्ट्रिय खाद्यसुरक्षा भण्डारमा २५ हजार मेट्रिकटन र दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को खाद्य बैंकमा आठ हजारगरी ३३ हजार मेट्रिकटन खाद्यान्न मौज्दात कायम हुनुपर्नेमा अहिले ११ हजार मेट्रिक टनमात्र छ ।

साल्टट्रेडिङ कर्पोरेसनमार्फत दुर्गम क्षेत्रका १७ जिल्लाका ६१ स्थानमा स्थानीय मागका आधारमा सरकारले अनुदानमा नुन ढुवानीको व्यवस्था मिलाइएको र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग देशभरमा गरी एक लाख ५० हजार मेट्रिकटन भण्डारण क्षमता रहेको जानकारी दिइएको थियो ।

पहिरोमा परी घाइते भएकाको उद्धारका लागि आएको हेलिकप्टर गन्तव्यमा पुग्न सकेन

गलकोट (बागलुङ), २२ साउन : पहिरोमा परेर गम्भीर घाइते भएकाको उद्धारका लागि काठमाडौँबाट झिकाएको नेपाली सेनाको हेलिकप्टर गन्तव्यमा पुग्न नसकी बागलुङ बजारमा अवतरण गरेको छ ।

बडिगाड गाउँपालिका–१० आरुपाटाको पहिरोमा परेर गम्भीर घाइते भएकाको उद्धारका लागि आएको हेलिकप्टर पटकपटक प्रयास गर्दा पनि मौसमका कारण बडिगाडमा अवतरण हुन सकेन ।

कुहिरो, हाइटेन्सन लाइन र नखुलेको मौसमका कारण हेलिकप्टर बागलुङमै अवतरण गर्नु परेको श्री नम्बर २३ बाहिनी अड्डा बागलुङका प्रमुख कर्नेल शीतल बानियाँले जानकारी दिनुभयो । पहिरोमा परी १० जना घाइते भएका थिए । 

पहिरोमा परेर बडिगाड गाउँपालिका–१० बस्ने वर्ष २६ को ओमप्रकाश पुन, वर्ष ४६ की सङ्गीता बुढा, वर्ष २३ का सिर्जना विक, वर्ष ४३ को मङ्गलसेन बुढा, वर्ष १९ की रिमा पुन, वर्ष ६० की सुमित्रा विक, वर्ष ७८ को जोगबहादुर बुढा, वर्ष ५१ को शशिराम विक, वर्ष ९ को ज्ञाने बुढा र वर्ष ३१ की सीता थापा घाइते हुनुभएको छ ।

विभिन्न देश पठाइदिने भन्दै एक करोडभन्दा बढी ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ, २२ साउनः वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गरेको अभियोगमा प्रहरीले एक जनलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउपर्नेमा सिराहा करजन्हा नगरपालिका–६ घर भई हाल ललितपुर महालक्ष्मीनगरपालिका–४ इमाडोल बस्ने ३२ वर्षीय गुनेशकुमार ठाकुर रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “काठमाडौँको बसुन्धारास्थित ओम इन्टरनेशनल प्रालिबाट बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा दुबई, कतार, साउदी अरब, मलेसिया र कुवेतलगायत देशमा पठाउने भनी रवीन्द्र सापकोटासँगको साझेदारीमा निजले रु एक करोड ९७ लाख १७ हजार लिइ ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।”

पक्राउ परेका ठाकुरबाट ८५ जना पीडित भएको सूचना अधिकारी आचार्यले बताउनुभयो । निजलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

मौसमजन्य विपद्का घटनामा परी आज एकैदिन ११ जनाको मृत्यु

काठमाडौँ, २२ साउन : विपद्का घटनामा परी आज देशका विभिन्न जिल्लामा ११ जनाको मृत्युभएको छ । योसँगै अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी हालसम्म एक सय ६५ जनाको मृत्यु भएको छ । हिजोसम्म एक सय ५४ जनाको मृत्यु भएको थियो ।

आज बागलुङ र गुल्मीमा बढी मानवीय क्षति भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबाहादुर कार्कीले जानकारी दिनुभयो । बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २५, मधेस प्रदेशमा छ, बागमती प्रदेशमा ३०, गण्डकी प्रदेशमा ५०, लुम्बिनी प्रदेशमा ३३, कर्णाली प्रदेशमा आठ र सुदूरपश्चिम प्रदेशमा १० जना गरी हालसम्म एक सय ६५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विपद्मा परी आजसम्म एक सय ९८ जना घाइते भएका छन् भने एक सय ५१ जना बेपत्ता भएका छन् । प्रहरी प्रवक्ता कार्कीले आज मात्रै थप चार जना बेपत्ता भएका जानकारी दिनुभयो ।उक्त अवधिमा विपद्का घटनाबाट चार हजार दुई सय ५९ घर परिवार विस्थापित भएका छन् ।

१२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाः अडिट सुरुङ निर्माण प्रक्रिया सुरू

दमौली (तनहुँ), २२ साउनः तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको १२६ मेगावाट क्षमताको तल्लो सेती आयोजनाको अडिट सुरुङ निर्माण प्रक्रिया सुरू भएको छ । यसका लागि व्यवसायी आयोजनास्थलमा परिचालित भएका छन् । लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले आयोजनाका लागि अडिट सुरुङ निर्माणका लागि भएको सम्झौतानुसारको काम अगाडि बढाउने प्रक्रिया सुरू भएको जानकारी दिनुभयो ।

तल्लो सेती जलविद्युत् आयोजनाको तीन सय ७५ मिटर लामो अनुसन्धनात्मक अडिट सुरुङ निर्माणका लागि गत फागुनमा आरके इञ्जिनियरिङ एण्ड एशोसिएटससँग सम्झौता भएको थियो । सोबमोजिम निर्माण व्यवसायीले अहिले पहुँचमार्ग, अडिट सुरुङलगायतका इञ्जिनियरिङ सर्भे जारी राखेको लिमिटेडका प्रबन्ध सञ्चालक श्रेष्ठले बताउनुभयो ।

आयोजनाका लागि भौगर्भिक अवस्था परीक्षण गर्न अनुसन्धनात्मक अडिट सुरुङ निर्माण गर्न लागिएको जानकारी दिनुहुँदै उहाँले भन्नुभयो, “आयोजना सुरू गर्नुपूर्व विभिन्न चरणका परीक्षण हुन्छन् । तल्लो सेतीको मुख्य पानी लैजाने हेडरेस टनेल छ दशमदव सात किलोमिटरको रहनेछ । त्यसका लागि परीक्षण गर्न अडिट सुरुङ बनाउन लागिएको हो । त्यसपछि डेढ वर्षभित्र उक्त सुरुङ निर्माण गरिसक्ने गरी काम हुन्छ ।”

तल्लो सेती जलविद्युत् आयोजनाका लागि आवश्यक जग्गा प्राप्तिका गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आवश्यक कागजात पठाइएको र मन्त्रिपरिषद्बाट निर्णय हुन बाँकी छ । करिब रु २५ अर्ब लागत अनुमन गरिएको आयोजनाको एक सय ४० मिटर अग्लो कङ्क्रिट बाँधबाट प्राप्त हुने सेती नदीको रेगुलेटेड प्रवाह तथा मादी नदीको थप प्रवाहसमेत प्रयोग गर्न तल्लो तटीय क्षेत्रमा तल्लो सेती जलविद्युत् आयोजना निर्माण गर्न लागिएको हो । आयोजना निर्माणका लागि विस्तृत अध्ययन सकिएको छ । परामर्शदाताले पेस गरेको विस्तृत डिजाइन प्रतिवेदन पुनरावलोकनका लागि नियुक्त तीन सदस्यीय अन्तर्राष्ट्रिय विज्ञ समूहले विसं २०७८ असार २३ गते डिजाइन पुनरावलोकन प्रतिवेदन बुझाइसकेको छ ।

यहाँ जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र एशियाली विकास बैंक (एडिबी) ले लगानीका लागि चासो दिएका छन् । कम्पनीले आयोजनाको विद्युत् उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरिसकेको छ । साथै दातृ निकाय एडिबीबाट प्राप्त करिब तीन दशमलव पाँच मिलियन अमेरिकी डलर अनुदान सहयोगबाट आयोजनाको विस्तृत इञ्जिनियरिङ डिजाइन तथा बोलपत्रसम्बन्धी कागजात तयार गर्ने परामर्श सेवा खरिदका लागि बाप्कोस भारत/निप्पन कोई जापान जेभीसँग विसं २०७५ चैत २९ गते खरिद सम्झौता भएको थियो ।

आयोजनाअन्तर्गत बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ साराङघाट नजिकै रहेको सेती नदीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ । पानीको प्रवाहलाई देवघाट गाउँपालिका–३ र ४ हुँदै छ दहमलव आठ किलोमिटर लामो सुरुङमार्फत सेती नदीको सङ्गमदेखि करिब पाँच सय मिटर तल्लो तटीय क्षेत्रमा पर्ने देवघाटस्थित कालीगण्डकी नदीको दायाँ किनारमा बन्ने अर्धभूमिगत विद्युत्गृहमा खसाली विद्युत् उत्पादन गर्ने योजना बनाइएको छ ।

आयोजनाबाट बन्दीपुर गाउँपालिका–६, व्यास नगरपालिका–१३ र १४, देवघाट गाउँपालिका–२, ३ र ४, ऋषिङ गाउँपालिका–१ र ३, आँबुखैरेनी गाउँपालिका–५ र ६, भरतपुर महानगरपालिका–२९ का केही भाग प्रभावित हुनेछन् ।

देवघाट गाउँपालिका–४ गाईघाटमा अर्धभूमिगत विद्युतगृहको निर्माणगरी विद्युत् उत्पादन गरिनेछ । उत्पादित विद्युत्लाई तनहुँ जलविद्युत् आयोजनाले निर्माण गरेको २२० केभी दमौली–नयाँ भरतपुर प्रसारण लाइनमा जोडी राष्ट्रिय विद्युत् प्रणालीमा समाहित गरिनेछ । यसका लागि करिब दुई किलोमिटर प्रसारण लाइनको निर्माण गर्नुपर्छ । अर्धजलाशययुक्त तल्लो सेती आयोजनाको करिब १२ किमी लामो जलाशय माथिल्लो तटीय क्षेत्र अर्थात् बाँधस्थलबाट सुँडेगाउँसम्म विस्तार हुनेछ । आयोजनाबाट वार्षिक रूपमा ५२ करोड युनिट विद्युत् उत्पादन हुनेछ ।

‘तीन विधेयक अधिवेशनमा पेस गर्नेगरी तयारी गरौँ’

काठमाडौँ, २२ साउनः कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सदनको यही अधिवेशनमा तीन विधेयक पेस गर्नेगरी अघि बढाउन आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय तथा मानव अधिकार समितिले विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको आजदेखि प्रारम्भ भएको छलफलमा उहाँले समितिमा विचाराधीन रहेका सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक र विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्को यही अधिवेशनमा पास गर्नेगरी अगाडि बढाउन आग्रह गर्नुभयो ।

मन्त्री चौरसियाले कानुुन बनाउने व्यवस्थालाई व्यवस्थित बनाउनका विधायनसम्बन्धी विधेयक ल्याएको र उक्त विधेयक जटिसक्दो चाँडो छलफल गरेर टुङ्ग्याउनुपर्नेमा जोड दिनुभयो ।

समितिको बैठकमा राष्ट्रियसभाबाट आएको विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा सुरु भएको हो । समितिले यही साउन २९ गतेसम्म निरन्तर बैठक बसेर विधेयकमाथिको छलफल अघि बढाउने सहमति गरेको छ । उक्त विधेयकहरूमाथि छलफल गर्न समितिको बैठक भोलि पुनः ११ बजे बस्नेछ ।