`

विभिन्न देश पठाइदिने भन्दै एक करोडभन्दा बढी ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ, २२ साउनः वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गरेको अभियोगमा प्रहरीले एक जनलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउपर्नेमा सिराहा करजन्हा नगरपालिका–६ घर भई हाल ललितपुर महालक्ष्मीनगरपालिका–४ इमाडोल बस्ने ३२ वर्षीय गुनेशकुमार ठाकुर रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “काठमाडौँको बसुन्धारास्थित ओम इन्टरनेशनल प्रालिबाट बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा दुबई, कतार, साउदी अरब, मलेसिया र कुवेतलगायत देशमा पठाउने भनी रवीन्द्र सापकोटासँगको साझेदारीमा निजले रु एक करोड ९७ लाख १७ हजार लिइ ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।”

पक्राउ परेका ठाकुरबाट ८५ जना पीडित भएको सूचना अधिकारी आचार्यले बताउनुभयो । निजलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

मौसमजन्य विपद्का घटनामा परी आज एकैदिन ११ जनाको मृत्यु

काठमाडौँ, २२ साउन : विपद्का घटनामा परी आज देशका विभिन्न जिल्लामा ११ जनाको मृत्युभएको छ । योसँगै अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी हालसम्म एक सय ६५ जनाको मृत्यु भएको छ । हिजोसम्म एक सय ५४ जनाको मृत्यु भएको थियो ।

आज बागलुङ र गुल्मीमा बढी मानवीय क्षति भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबाहादुर कार्कीले जानकारी दिनुभयो । बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २५, मधेस प्रदेशमा छ, बागमती प्रदेशमा ३०, गण्डकी प्रदेशमा ५०, लुम्बिनी प्रदेशमा ३३, कर्णाली प्रदेशमा आठ र सुदूरपश्चिम प्रदेशमा १० जना गरी हालसम्म एक सय ६५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विपद्मा परी आजसम्म एक सय ९८ जना घाइते भएका छन् भने एक सय ५१ जना बेपत्ता भएका छन् । प्रहरी प्रवक्ता कार्कीले आज मात्रै थप चार जना बेपत्ता भएका जानकारी दिनुभयो ।उक्त अवधिमा विपद्का घटनाबाट चार हजार दुई सय ५९ घर परिवार विस्थापित भएका छन् ।

१२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाः अडिट सुरुङ निर्माण प्रक्रिया सुरू

दमौली (तनहुँ), २२ साउनः तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको १२६ मेगावाट क्षमताको तल्लो सेती आयोजनाको अडिट सुरुङ निर्माण प्रक्रिया सुरू भएको छ । यसका लागि व्यवसायी आयोजनास्थलमा परिचालित भएका छन् । लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले आयोजनाका लागि अडिट सुरुङ निर्माणका लागि भएको सम्झौतानुसारको काम अगाडि बढाउने प्रक्रिया सुरू भएको जानकारी दिनुभयो ।

तल्लो सेती जलविद्युत् आयोजनाको तीन सय ७५ मिटर लामो अनुसन्धनात्मक अडिट सुरुङ निर्माणका लागि गत फागुनमा आरके इञ्जिनियरिङ एण्ड एशोसिएटससँग सम्झौता भएको थियो । सोबमोजिम निर्माण व्यवसायीले अहिले पहुँचमार्ग, अडिट सुरुङलगायतका इञ्जिनियरिङ सर्भे जारी राखेको लिमिटेडका प्रबन्ध सञ्चालक श्रेष्ठले बताउनुभयो ।

आयोजनाका लागि भौगर्भिक अवस्था परीक्षण गर्न अनुसन्धनात्मक अडिट सुरुङ निर्माण गर्न लागिएको जानकारी दिनुहुँदै उहाँले भन्नुभयो, “आयोजना सुरू गर्नुपूर्व विभिन्न चरणका परीक्षण हुन्छन् । तल्लो सेतीको मुख्य पानी लैजाने हेडरेस टनेल छ दशमदव सात किलोमिटरको रहनेछ । त्यसका लागि परीक्षण गर्न अडिट सुरुङ बनाउन लागिएको हो । त्यसपछि डेढ वर्षभित्र उक्त सुरुङ निर्माण गरिसक्ने गरी काम हुन्छ ।”

तल्लो सेती जलविद्युत् आयोजनाका लागि आवश्यक जग्गा प्राप्तिका गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आवश्यक कागजात पठाइएको र मन्त्रिपरिषद्बाट निर्णय हुन बाँकी छ । करिब रु २५ अर्ब लागत अनुमन गरिएको आयोजनाको एक सय ४० मिटर अग्लो कङ्क्रिट बाँधबाट प्राप्त हुने सेती नदीको रेगुलेटेड प्रवाह तथा मादी नदीको थप प्रवाहसमेत प्रयोग गर्न तल्लो तटीय क्षेत्रमा तल्लो सेती जलविद्युत् आयोजना निर्माण गर्न लागिएको हो । आयोजना निर्माणका लागि विस्तृत अध्ययन सकिएको छ । परामर्शदाताले पेस गरेको विस्तृत डिजाइन प्रतिवेदन पुनरावलोकनका लागि नियुक्त तीन सदस्यीय अन्तर्राष्ट्रिय विज्ञ समूहले विसं २०७८ असार २३ गते डिजाइन पुनरावलोकन प्रतिवेदन बुझाइसकेको छ ।

यहाँ जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र एशियाली विकास बैंक (एडिबी) ले लगानीका लागि चासो दिएका छन् । कम्पनीले आयोजनाको विद्युत् उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरिसकेको छ । साथै दातृ निकाय एडिबीबाट प्राप्त करिब तीन दशमलव पाँच मिलियन अमेरिकी डलर अनुदान सहयोगबाट आयोजनाको विस्तृत इञ्जिनियरिङ डिजाइन तथा बोलपत्रसम्बन्धी कागजात तयार गर्ने परामर्श सेवा खरिदका लागि बाप्कोस भारत/निप्पन कोई जापान जेभीसँग विसं २०७५ चैत २९ गते खरिद सम्झौता भएको थियो ।

आयोजनाअन्तर्गत बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ साराङघाट नजिकै रहेको सेती नदीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ । पानीको प्रवाहलाई देवघाट गाउँपालिका–३ र ४ हुँदै छ दहमलव आठ किलोमिटर लामो सुरुङमार्फत सेती नदीको सङ्गमदेखि करिब पाँच सय मिटर तल्लो तटीय क्षेत्रमा पर्ने देवघाटस्थित कालीगण्डकी नदीको दायाँ किनारमा बन्ने अर्धभूमिगत विद्युत्गृहमा खसाली विद्युत् उत्पादन गर्ने योजना बनाइएको छ ।

आयोजनाबाट बन्दीपुर गाउँपालिका–६, व्यास नगरपालिका–१३ र १४, देवघाट गाउँपालिका–२, ३ र ४, ऋषिङ गाउँपालिका–१ र ३, आँबुखैरेनी गाउँपालिका–५ र ६, भरतपुर महानगरपालिका–२९ का केही भाग प्रभावित हुनेछन् ।

देवघाट गाउँपालिका–४ गाईघाटमा अर्धभूमिगत विद्युतगृहको निर्माणगरी विद्युत् उत्पादन गरिनेछ । उत्पादित विद्युत्लाई तनहुँ जलविद्युत् आयोजनाले निर्माण गरेको २२० केभी दमौली–नयाँ भरतपुर प्रसारण लाइनमा जोडी राष्ट्रिय विद्युत् प्रणालीमा समाहित गरिनेछ । यसका लागि करिब दुई किलोमिटर प्रसारण लाइनको निर्माण गर्नुपर्छ । अर्धजलाशययुक्त तल्लो सेती आयोजनाको करिब १२ किमी लामो जलाशय माथिल्लो तटीय क्षेत्र अर्थात् बाँधस्थलबाट सुँडेगाउँसम्म विस्तार हुनेछ । आयोजनाबाट वार्षिक रूपमा ५२ करोड युनिट विद्युत् उत्पादन हुनेछ ।

‘तीन विधेयक अधिवेशनमा पेस गर्नेगरी तयारी गरौँ’

काठमाडौँ, २२ साउनः कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सदनको यही अधिवेशनमा तीन विधेयक पेस गर्नेगरी अघि बढाउन आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय तथा मानव अधिकार समितिले विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको आजदेखि प्रारम्भ भएको छलफलमा उहाँले समितिमा विचाराधीन रहेका सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक र विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्को यही अधिवेशनमा पास गर्नेगरी अगाडि बढाउन आग्रह गर्नुभयो ।

मन्त्री चौरसियाले कानुुन बनाउने व्यवस्थालाई व्यवस्थित बनाउनका विधायनसम्बन्धी विधेयक ल्याएको र उक्त विधेयक जटिसक्दो चाँडो छलफल गरेर टुङ्ग्याउनुपर्नेमा जोड दिनुभयो ।

समितिको बैठकमा राष्ट्रियसभाबाट आएको विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा सुरु भएको हो । समितिले यही साउन २९ गतेसम्म निरन्तर बैठक बसेर विधेयकमाथिको छलफल अघि बढाउने सहमति गरेको छ । उक्त विधेयकहरूमाथि छलफल गर्न समितिको बैठक भोलि पुनः ११ बजे बस्नेछ ।

काठमाडौँ–हेटौँडा जोड्ने कान्तिलोकपथमा हलुका सवारीसाधन सञ्चालन

मकवानपुर २२ साउनः काठमाडौँबाट हेटौँडातर्फ जोड्ने कान्तिलोकपथअन्तर्गत पर्ने ललितपुरको भट्टेडाँडा, बागमती गाउँपालिका वडा नं २ पाङ्दुरे र छबेनीमा सोमबार पहिरोका कारण अवरूद्ध सडक सञ्चालनमा आएका छ ।

पहिरो हटाएपछि आज दिउँसोबाट हेटौँडा काठमाडौँतर्फको यातायात सञ्चालनमा ल्याइएको ललितपुरको भट्टेडाँडा इलाका प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी उक्त लोकपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं ८ महादेवटारस्थित सडकमा गएको पहिरो पन्छाएर सोमबार नै एकतर्फी हलुका सवारीसाधन सञ्चालनमा ल्याइएको थियो ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ओम पण्डितले महादेवटार क्षेत्रको सडकका तीन स्थानमा ठूलो पहिरो गएकाले हेबी सवारीसाधन सञ्चालनमा ल्याउन अझै केही दिन लाग्ने बताउनुभयो ।

उक्त सडकको दुवैतर्फको टेवा पर्खाल, ढल निर्माण र सडक फराकिलो गर्नुपर्ने बाध्यता भएकाले अझै एक हप्ताभन्दा बढी समय लाग्ने अनुमान गरिएकाले हेबी सवारीसाधनलाई त्रिभुवन राजपथलगायत वैकल्पिक राजमार्ग प्रयोग गर्न सुझाव दिइएको उहाँले जानकारी दिनुभयो ।

यसैगरी हेटौँडाबाट काठमाडौँतर्फ त्रिभुवन राजपथ, हेटौँडा भीमफेदी–कुलेखानी–सिस्नेरी, फाखेल र मातातीर्थको सडकमा दैनिक यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

वेस्ट बैङ्कमा आठ जनाको मृत्यु

इजरायली सेनाले उत्तरी वेस्ट बैङ्कमा मङ्गलबार गरेको दुईवटा छुट्टैछुट्टै आक्रमणमा आठ जनाको मृत्यु भएको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन् । इजरायली सेनाको आक्रमणमा जेनिन क्षेत्रमा चार र टुबास जिल्लामा चार गरी आठ जनाको मृत्यु भएको प्यालेस्टिनी रेड क्रिसेन्ट र रमल्लाहको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायली सेनाले विमानमार्फत जेनिन क्षेत्रमा प्रहार गरेको रिपोर्ट गरेको छ । यद्यपि हताहतको भने कुनै विवरण दिएको छैन ।

अकाबाका बासिन्दाहरूले इजरायली सेनाले बिहानै अमिद घानामको घरलाई घेरेपछि सेना र प्यालेस्टिनी युवाहरूबीच झडप भएको बताएका छन् । झडपमा घानाम र अन्य दुई जनाको मृत्यु भएको र अर्का किशोरको अस्पताल लैजाने क्रममा मृत्यु भएको तुबासका गभर्नर अहमद असदले बताउनुभयो ।

सेनाले अस्पताल क्षेत्रमा प्रवेश गर्दै गर्दा एक किशोरलाई गोली हानेको असदले बताउनुभयो अकाबाका मेयर अब्देल रज्जाक अबु अर्राले एक किशोरलाई आक्रमणमा मारिएको उल्लेख गर्दै यस्तो सुनियोजित अपराध इजरायलीहरूले दैनिक गर्ने गरेको बताउनुभयो ।

गाजामा इजरायल र हमासबीच युद्ध सुरु भएदेखि वेस्ट बैंकमा तनाव बढेको छ । वेस्ट बैंकमाथि इजरायलले सन् १९६७ मा कब्जा गरेको हो ।

हमास नेताबारे मलेसियाली प्रधानमन्त्रीको पोस्ट हटाएपछि मेटाले माफी माग्यो

हमासका नेता इस्माइल हानियाको हत्याबारे मलेसियी प्रधानमन्त्री अनवर इब्राहिमको सामाजिक सञ्जाल पोस्ट हटाएकोमा टेक जायन्ट कम्पनी मेटाले मङ्गलबार माफी मागेको छ ।

अनवरको कार्यालयले मेटा प्रतिनिधिलाई हनियाको मृत्युबारे प्रधानमन्त्रीको फेसबुक र इन्स्टाग्राम पोस्ट हटाएकोमा स्पष्टीकरण माग गरेको एकदिन पछि मेटाले माफी मागेको हो ।

मेटा दुई लोकप्रिय सामाजिक सञ्जाल ‘फेसबुक र इन्स्टाग्राम’को मूल हो । “प्रधानमन्त्रीको फेसबुक र इन्स्टाग्राम पेजबाट उहाँको पोस्ट हटाइएकोमा हामी क्षमाप्राथी छौँ”, मेटाले एक विज्ञप्तीमार्फत जनाएको छ । “प्रधानमन्त्रीको उक्त पोस्ट पछि सही समाचार योग्य लेबलको साथ पुनर्स्थापित गरिएको छ।”

अनवरको पोस्टमा हामासका एक अधिकारीसँगको फोनवार्तामा हानियाको मृत्युमा शोक व्यक्त गरेको भिडियो समावेश रहेको थियो । प्यालेस्टिनी सशस्त्र समूह हमासका वरिष्ठ राजनीतिक नेता इस्माइल हानियाको इरानी राजधानी तेहरानमा मृत्यु भएको हो ।

अन्वरले साझा गरेको पोस्ट “खतरनाक व्यक्ति र संस्थाहरू” सँगको सम्बन्धका कारण इन्स्टाग्राममा हटाइएको थियो ।

अनवरको कार्यालयले मेटाको यो कदमलाई “स्वतन्त्र अभिव्यक्तिको दमन” को रूपमा वर्णन गर्दै माफी माग गरेको थियो ।

बङ्गलादेशका पूर्वप्रधानमन्त्री जिया रिहा

बङ्गलादेशका पूर्वप्रधानमन्त्री खालिदा जियालाई वर्षौंको नजरबन्दबाट रिहा गरिएको छ । जियालाई उहाँका कट्टर शत्रु शेख हसिनालाई प्रधानमन्त्री पदबाट अपदस्थ गरेपछि र प्रदर्शनकारीहरूले उहाँको घरमा आक्रमण गरेपछि रिहा गरिएको हो । प्रदर्शनकारीहरूको विरोधपछि हसिना मुलुक छाडेर भाग्नुभएको छ ।

दुई महिलाबीचको उग्र प्रतिद्वन्द्विताले मुस्लिम–बहुल राष्ट्रमा दशकौँदेखि राजनीतिलाई परिभाषित गरेको छ । अठहत्तर वर्षीया जियालाई हसिनाको शासनकालमा सन् २०१८ मा भ्रष्टाचारको आरोपमा १७ वर्षको कारागार सजाय सुनाइएको थियो ।

छयत्तर वर्षीय हसिनालाई जनप्रदर्शनपछि सोमबार अपदस्थ गरिएको थियो । सेना प्रमुखले अन्तरिम सरकार बनाउने घोषणा गर्नुभयो । त्यसपछि जियालगायत विरोध प्रदर्शनका कैदीहरूलाई रिहा गर्ने आदेश जारी गरिएको थियो ।

जिया प्रमुख विपक्षी बङ्गलादेश नेशनल पार्टी (बिएनपी) को अध्यक्ष हुनुहुन्छ । पार्टी प्रवक्ता ए.के.एम वहिदुज्जमानले मङ्गलबार भन्नुभयो, “अब उहाँ रिहा हुनुभएको छ ।”

जियाको स्वास्थ्य अवस्था खराब छ । गठिया रोग, मधुमेह र कलेजो सिरोसिसको बिरामी उहाँ ह्विलचेयर प्रयोग गर्नुहुन्छ ।

दशकौँ लामो झगडा

जिया र हसिनाबीचको दुश्मनीलाई बङ्गलादेशमा ‘बेगमहरूको लडाइँ’ को नामले जानिन्छ । ‘बेगम’ दक्षिण एसियामा शक्तिशाली महिलाहरूका लागि मुस्लिम सम्मान हो ।

उहाँहरूबीचको झगडाको जरा सन् १९७५ को सैन्य विद्रोहमा हसिनाका पिता तथा मुलुकका संस्थापक नेता शेख मुजिबुर रहमान, उहाँकी आमा, तीन भाइ र अन्य आफन्तहरूको हत्यासँग जोडिएको छ ।

त्यसबेला जियाका श्रीमान् जियाउर रहमान उपसेना प्रमुख हुनुहुन्थ्यो र तीन महिनापछि उहाँले प्रभावकारीरूपमा सत्ता हातमा लिनुभएको थियो ।

रहमानले गरिबीले ग्रस्त बङ्गलादेशमा निजीकरणका साथ आर्थिक सुधारको प्रारम्भ गर्नुभएको थियो तर सन् १९८१ मा अर्को सैन्य विद्रोहमा उहाँको हत्या गरिएको थियो ।

उक्त समयमा दुई जवान छोराकी ३५ वर्षीया विधवा जियालाई बिएनपीको जिम्मेबारी प्राप्त भयो । आलोचकहरूले राजनीतिकरूपमा अनुभवहीन गृहिणीका रूपमा उहाँको जिम्मेबारीलाई खारेज गरेका थिए ।

जियाले तानाशाह हुसेन मोमम्मद एर्शादविरुद्ध विरोध प्रदर्शनको नेतृत्व गर्नुभयो र सन् १९८६ मा नकली निर्वाचनको बहिष्कार गर्दै सडकमा विरोध प्रदर्शन गर्नुभयो ।

उहाँ र हसिना सन् १९९० मा विरोध प्रदर्शनको लहरमा एर्शादलाई सत्ताच्यूत गर्न एकजुट हुनुभयो र त्यसपछि बङ्गलादेशको पहिलो स्वतन्त्र निर्वाचनमा उहाँहरू आमनेसामने हुनुभयो ।

जियाले सन् १९९१ देखि सन् १९९६ सम्म निर्वाचन जित्नुभयो र सरकारको नेतृत्व गर्नुभयो । त्यसपछि सन् २००१ देखि सन् २००६ सम्म सत्ता सम्हाल्नुभयो । उहाँ र हसिनाले पटकपटक सत्ताको नेतृत्व गर्नुभयो ।

आपसी वैमनस्य

सन् २००७ को राजनीतिक सङ्कटका लागि उहाँहरूबीचको आपसी वैमनस्यलाई दोषी मानिएको थियो । यसबाट सेनालाई आपत्कालीन शासन लागू गर्न र कार्यवाहक सरकार गठन गर्न प्रेरित गरेको थियो । दुवैलाई एक वर्षभन्दा बढी समयसम्म हिरासतमा राखिएको थियो ।

हसिनाले सन् २००८ डिसेम्बरमा भारी मतका साथ निर्वाचन जित्नुभयो र सोमबार हेलिकप्टरबाट भारत पलायन हुनुअघिसम्म निर्बाध सरकारको नेतृत्व गर्नुभयो । उहाँले बिएनपीका हजारौँ सदस्यलाई पक्राउ गरेर सत्तामाथिको नियन्त्रणलाई बलियो बनाउनुभएको थियो । सयौँ मानिस बेपत्तासमेत भए । जियालाई सन् २०१८ मा भ्रष्टाचारको आरोपमा दोषी ठहर गरियो र कारागार पठाइयो । यसलाई उहाँको पार्टीले राजनीतिक रूपमा प्रेरित भन्दै खारेज गर्यो ।

पछि राजनीतिमा भाग नलिने र उपचारका लागि विदेश नजाने सर्तमा उहाँलाई घरमै जनरबन्दमा राखिएको थियो ।

छोरा निर्वासनमा

सन् १९९० को दशकको प्रारम्भमा बङ्गलादेशको अर्थतन्त्रलाई उदारीकरण गरेकामा जियाको पहिलो मन्त्रिपरिषद्को प्रशंसा गरिएको थियो । यसबाट दशकौँको वृद्धिलाई बढावा दिएको छ ।

यद्यपि इस्लामवादी–सहयोगी गठबन्धनका प्रमुखका रूपमा उहाँको दोस्रो कार्यकाल उहाँको सरकार र छोराहरू विरुद्ध भ्रष्टाचारको आरोपले चिनिएको थियो ।

बङ्गलादेशमा इस्लामवादी आक्रमणको शृङ्खला पनि भयो र एक आक्रमणमा २० भन्दा धेरै मानिस मारिए र हसिना आक्रमणबाट मुस्किलले बच्यो ।

जियाले गठन गर्नुभएको अपराध विरोधी र्यापिड एक्सन बटालियन प्रहरी एकाइमाथि सयौँ गैरन्यायिक हत्याको आरोप छ ।

जिया कारागारमा हुनुहुँदा उहाँका जेठो छोरा तारिक रहमानले लन्डनमा निर्वासनबाट बिएनपीको नेतृत्व गर्नुभयो तर सन् २००४ मा हसिनाको र्यालीमाथि भएको बम हमलामा कथित भूमिकाका लागि उहाँलाई उहाँको अनुपस्थितिमा दोषी ठहर गरियो र आजीवन कारागारको सजाय सुनाइयो ।

बिएनपीले उक्त आरोप जियाको वंशलाई राजनीतिबाट निष्कासन गर्न राजनीतिक रूपमा प्रेरित प्रयास भएको बताएको थियो ।

जाजरकोटमा जीप दुर्घटना हुँदा एकको मृत्यु, १६ घाइते

काँक्रेविहार (सुर्खेत), २२ साउनः जाजरकोटको भेरी नगरपालिका–६ गञ्जमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

जाजरकोट सदरमुकाम खलङ्गाबाट नेटातर्फ जाँदै गरेको ग १ ज ७७११ नम्बरको डबल क्याप बोलेरो जीप दुर्घटना हुँदा चालक ३५ वर्षे मानबहादुर वलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार जीप सडकदेखि चार सय मिटर तल खसेको थियो ।

दुर्घटनामा परी भेरी नगरपालिका–६ की २८ वर्षे सपना विक सार्की, ३५ वर्षीया भूमिका शाही, १९ वर्षीया दुर्गा पुन, १९ वर्षीया बिन्दु शाही, ५५ वर्षीया मोती लुहार, १७ वर्षीया सीता पुन घाइते हुनुभएको छ । त्यस्तै २१ वर्षीया धनसरा खड्का, ८० वर्षीय कलिमान खत्री, २८ वर्षीया भूमिकला राना घर्ती घाइते हुनुभएको प्रहरीको भनाइ छ ।

चार महिना बालक प्रज्ज्वल घर्ती, ३६ वर्षीया कल्पना खत्री, ३३ वर्षीया अस्मिता खत्री, ३१ वर्षीया पार्वती उपाध्याय र ४० वर्षीया हीरा सार्कीलाई भने सामान्य चोटपटक लागेको प्रहरीले जनाएको छ ।

पूर्वाधार विकास समितिका सभापति सिंहद्वारा एक वर्षको पारिश्रमिक डा सन्दुक रुइतलाई हस्तान्तरण

मकवानपुर, २२ साउनः प्रतिनिधिसभा, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले आफ्नो एक वर्षको पारिश्रमिक रकम तिलगङ्गा आँखा अस्पताल प्रतिष्ठान, काठमाडौँलाई प्रदान गर्नुभएको छ ।

आज हेटौँडामा आयोजित एक कार्यक्रमबीच उहाँले एक वर्षको पारिश्रमिकमा केही रकम थपेर रु नौ लाख ९९ हजार ९९ को चेक प्रतिष्ठानका कार्यकारी निर्देशक डा सन्दुक रुइतलाई हस्तान्तरण गर्नुभयो ।

त्यस अवसरमा मकवानपुर निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सिंहले निर्वाचनको बेला आफूले पाउने आर्थिक सुविधा व्यक्तिगत प्रयोजनमा खर्च नगरी सामाजिक सङ्घ संस्थाको विकासमा सहयोग गर्ने उद्घोष गरिएअनुसार रकम हस्तान्तरण गरिएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । समाजमा रहेका विपन्न, सीमान्तकृत आदिवासी जनजाति, दलितको स्वास्थ्य उपचार गर्ने काममा चिकित्सकले मानवीयताको भावना राखेर छिटोछरितो उपचार सेवालाई प्रभावकारी बनाइदिन उहाँले आग्रह गर्नुभयो ।

प्रतिष्ठानका कार्यकारी निर्देशक डा रुइतले सातै प्रदेशका विपन्न, सीमान्तकृत समुदायका नागरिकको आँखाको शल्यक्रिया र उपचार गरी नयाँ जीवन प्रदान गर्न हेटौँडा उपमहानगरपालिका–३ बसामाडीमा आँखाको लेन्स उत्पादन गर्ने कार्यका लागि अहिले भवन निर्माण भइरहेको र सोही प्रयोजनका लागि सांसद सिंहबाट प्राप्त रकमलाई सदुपयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा हेटौँडा सामुदायिक आँखा अस्पतालका निर्देशक डा सुनिल थकालीले हाल अस्पतालमा उपचार सेवाका लागि दैनिक तीन सयदेखि चार सय बिरामी आउने गरेको र जिल्लामै लेन्स उत्पादन भएमा नागरिकलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

रासायनिक मललाई भन्सार जाँचपासमा प्राथमिकता दिन कृषिमन्त्री अधिकारीको निर्देशन

वीरगञ्ज (पर्सा), २२ साउनः कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले विदेशी मुलुकबाट आयात हुने रासायनिक मलको भन्सार जाँचपास प्रक्रियालाई उच्च प्राथमिकतामा राख्न वीरगञ्जका दुवै भन्सार कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको छ ।

आज सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको छुट्टाछुट्टै अनुगमन गर्नुहुँदै मन्त्री अधिकारीले आयातीत रासायनिक मलको भन्सार जाँच प्रक्रियालाई सहज र सरल बनाउनसमेत आग्रह गर्नुभयो । “रासायनिक मलको भन्सार जाँचपासमा ढिलासुस्ती हुँदा कृषकले मल अभावको सास्ती भोग्नुपर्ने हुन्छ । त्यसैले जाँचपासमा उच्च प्राथमिकतामा राखेर छिटोछरितो बनाउनुहोला”, मन्त्री अधिकारीले भन्नुभयो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले रासायनिक मलको प्राविधिक जाँचको रिपोर्ट आउनेबित्तिकै भन्सार पास हुने गरेको जानकारी गराउनुभयो । “विदेशी मुलुकबाट आयात गरिने रासायनिक मलको ल्याबमा प्राविधिक जाँच गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “प्रयोगशालामा मलको जाँच नगरिकन कृषकलाई वितरण गर्न मिल्दैन । त्यसैले रिपोर्ट आएपछि सोहीअनुसार छिटोछरितो काम गरिरहेका छौँ ।”

एकीकृत जाँचचौकीमा भारतबाट मालवाहक सवारीसाधन तथा टे«लरमा रासायनिक मल र अन्य वस्तु तथा सामान आउने गरेको छ । सुक्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख धनबहादुर बरुवालले कार्गाेबाट आउने रासायनिक मलको भन्सार जाँचपास प्रक्रियामा आवश्यक सहजीकरण भइरहेको जानकारी दिनुभयो ।

कृषि सचिव दीपककुमार खरालले केरा र अन्य फलफूलको ‘एचएस कोड’ एउटै हुँदा स्वदेशी केराखेती गर्ने कृषक मर्कामा परेकाले पनि यो समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्न आग्रह गर्नुभयो । मन्त्री अधिकारीले आजै खाद्य आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, क्वारेन्टाइन कार्यालय (आइसिपी) र कृषि सामग्री केन्द्र प्रादेशिक कार्यालयलगायतको अनुगमन गर्नुभएको थियो ।

जसपाद्वारा अग्रवालको असामयिक निधनप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौँ, २२ साउनः जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीका नेता श्रवणकुमार अग्रवालको असामयिक निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादवले शोक विज्ञप्तिमार्फत अग्रवालको निधनले पार्टीलाई स्तब्ध बनाएको भन्दै मृत आत्माको चीर शान्तिको कामना गर्नुभएको छ ।

“अग्रवालको निधनले पार्टीलाई स्तब्ध बनाएको छ, उहाँको निधनले देश, समाज तथा जसपा नेपाललाई अपूरणीय क्षति भएको छ”, विज्ञप्तिमा भनिएको छ जसपा नेपालको विसं २०६५ देखि एकताको राष्ट्रिय महाधिवेशनसम्म केन्द्रीय समिति सदस्य तथा पहिलो र दोस्रो संविधानसभा सदस्य श्रवणकुमार अग्रवालको ७७ वर्षको उमेरमा यही साउन २१ गते निधन भएको थियो ।

रवि लामिछानेसँग बयान लिने संसदीय छानबिन विशेष समितिको तयारी

काठमाडौँ । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले दुई महिनाको अवधिमा गरेका अध्ययन र छानबिन प्रक्रिया टुङ्गाएर प्रतिवेदन लेखन प्रक्रिया अगाडि बढाएको छ ।

सभापति सूर्यबहादुर थापा क्षेत्रीले संसदीय छानबिन विशेष समितिले हालसम्म सरोकार भएका विभिन्न निकायसँग ३३ पटक छलफल गरेको जानकारी दिँदै अब केही व्यक्तिसँग सोधपुछ गरी प्रतिवेदनलाई अन्तिम रूप दिने कार्य सँगसँगै अगाडि बढाउने बताए ।

“समितिले छानबिनका लागि कार्यादेश पाएका २९ वटा सहकारी संस्थाका २६ जना व्यक्तिसँग सोधपुछ गर्ने र प्रतिवेदन मस्यौदा तयार पार्ने काम सँगसँगै अघि बढाउँछौँ”, उनले भने, “समितिको प्रतिवेदन पारदर्शी, जवाफदेही र विश्वसनीय बनाउन सबै सत्य तथ्य खोज्छौँ ।”

समस्याग्रस्त घोषणा भएका २० र विवादित नौगरी २९ वटा सहकारीको अध्ययन गर्ने कार्यादेश समितिले पाएको छ । तीमध्ये केही सहकारीको वित्तीय विवरण पनि विश्लेषण गरिने थापाले जानकारी दिए ।

सहकारीको सिद्धान्त, मूल्यमान्यता पालना नगर्दा अधिकांश संस्थामा समस्या देखिएको र केहि सहकारी संस्थामा भने सङ्गठित रूपमै ठगी भएको देखिएको पनि उनले बताए ।

समस्याग्रस्त घोषणा गरिएका र बचत रकम हिनामिना भएर छानबिनको लागि समितिको कार्यादेशभित्र अटाएका २९ सहकारीका २० जना फरार छन् । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणबारे पनि समितिले छानबिन गरिरहेको छ ।

उक्त संस्थाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई फरार छन् । समितिले गरेको अनुसन्धानका क्रममा राई मलेसियाबाट नेपाल फर्किएको विवरण भेटिएको तर नेपालबाट बाहिरिएको विवरण भने नभेटिएको सभापति थापाले बताए ।


समितिले मंगलबार संसदीय मामिला पत्रकार समाज, नेपाल आर्थिक पत्रकार समाज (सेजन), सहकारी पत्रकार समाज (सिजेएन) र आर्थिक पत्रकार सङ्घ (नाफिज) सँग छानबिन र अध्ययन प्रक्रियालाई कसरी अगाडि बढाउने भन्नेबारे सुझाव लिएको छ ।

अन्तरआवद्धतालाई प्रभावकारी बनाउन एउटै ‘नेटवर्क कनेक्टिभिटी’मा जोड्दै चन्द्रागिरि

काठमाडौँ, २२ साउनः चन्द्रागिरि नगरपालिकाले आफ्ना मातहतका सेवा प्रदायक निकायलाई एउटै ‘नेटवर्क कनेक्टिभिटी’मा जोड्ने भएको छ । वडा कार्यालय, स्वास्थ्यचौकी, सहरी स्वास्थ्य केन्द्र, नगर अस्पताल र सामुदायिक विद्यालयका गतिविधि सूचना प्रविधिका माध्यमबाट जोडिन लागेका हुन् । यसका लागि नगरपालिकाले नेपाल टेलिकमसँग अन्तरसरकारी निकाय सम्झौता (जिटुजी) अवधारणाअन्तर्गत द्विपक्षीय सम्झौता गरेको छ । सोमबार आयोजित कार्यक्रममा नगरप्रमुख घनश्याम गिरी र टेलिकम बागमती प्रदेश निर्देशक रीना डङ्गोलले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौताअनुसार नगरपालिका कार्यालय र अन्तर्गतका १५ वडा कार्यालय, १५ स्वास्थ्यचौकी तथा सहरी स्वास्थ्य केन्द्र, २४ सामुदायिक विद्यालय र एक नगर अस्पतालमा इन्ट्रानेट लिज लाइन, इन्टरनेट सेवा र सिसीटिभी कनेक्टिभिटीलगायत सेवा टेलिकमले प्रदान गर्नेछ । यसका साथै दुई सयभन्दा बढी सार्वजनिक स्थानमा ‘वाइफाइ हटस्पट’को सेवा पनि टेलिकमले प्रदान गर्नेछ ।

टेलिकमले नगरपालिकाको सूचना प्रवाहका लागि विभिन्न चोकमा डिजिटल बोर्डको पनि व्यवस्था गर्ने सम्झौतापत्रमा उल्लेख छ । नगरप्रमुख गिरीले नगरपालिकाले प्रदान गर्ने डिजिटल सेवा तथा जिपिएस/ जिआइएससहितको नगर प्रोफाइलका सेवा अवलम्बन गर्न यस सम्झौताले पूर्वाधार र सहजीकरणको भूमिका खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाले आफ्नै सर्भरको पनि व्यवस्था गर्न लागेको छ । यसबाट डिजिटल घर नक्सा सेवा तथा अन्य सेवा पनि सुरक्षित रहने छ ।”

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले नगरपालिका मातहतका कार्यालय, विद्यालयका गतिविधि अब नगरबाट नै निगरानी गर्न सकिने र अन्तरआवद्धतालाई थप प्रभावकारी बनाउने जानकारी दिनुहुँदै यसले नगरलाई थप प्रविधिमैत्री बनाउन सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,“नगरपालिकाले आफ्ना सेवालाई प्रविधिमैत्री बनाउन नवीनतम् सोचका काम गरिरहेको छ । यसका लागि इन्ट्रानेट लिज लाइन, इन्टरनेट सेवा र सिसीटिभी कनेक्टिभिटीलाई चुस्त बनाउन टेलिकमसँंग सहकार्य भएको हो । ”

नदी तटीय गाउँका बासिन्दा अहिले पनि डुङ्गाकै भरमा जोखिमपूर्ण यात्रा गर्न बाध्य

राँझा । होलिया र गङ्गापुरलाई जोड्न राप्ती नदीमा पुल नहुँदा तटीय क्षेत्रका नागरिकले डुङ्गा चढ्नुपर्ने बाध्यता छ ।

बाँकेको पूर्वी क्षेत्र सिधनियाघाटमा पुल बनेको डेढ दशकभन्दा धेरै भइसके पनि नदी तटीय क्षेत्रका धेरै गाउँका बासिन्दा अहिले पनि डुङ्गाकै भरमा नदी तर्ने गर्दछन् ।

राप्तीपारिका आधा दर्जन गाउँका सर्वसाधारण अहिले पनि दैनिक डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेको नरैनापुर गाउँपालिका–६ गङ्गापुरका स्थानीय सोहनलाल यादवले बताए ।

उनका अनुसार, राप्ती सोनारीको खल्ला झगडिया, नरैनापुरको कुडुवा, पिप्रहवालगायतका गाउँका बासिन्दा आफ्ना खेतबारी, आफन्त, हाटबजार गर्न डुङ्गा चढेर नदीपारि जाने गर्दछन् । खल्ला झगडिया गाउँभन्दा अलिकति अगाडि डुङ्गा सधैँ तयारी अवस्थामा रहन्छ ।

‘नदी तर्न पक्की पुल सिधनियाघाट पुग्न धेरै टाढा पर्छ, यता झोलुङ्गे पुल छैन, त्यसैले डुङ्गा चढ्नुको विकल्प छैन’, राप्ती सोनारी–७ खल्लाझगडिया नयाँबस्तीका स्थानीय शङ्कर यादवले भने, ‘हिउँदवर्षात् जहिले पनि डुङ्गाबाट राप्ती नदी वारपार गर्ने गरेका छौँ ।’

डुङ्गामा नदी तारेको प्रतिव्यक्ति रु १० तिर्नु पर्दछ । गाईभैँसीलाई बोकेबापत रु २०, साइकलको रु १५ र मोटरसाइकलको रु ६० लिने गरेको डुङ्गाचालक नानबाबु पासीले बताए । डुङ्गामा एकैपटक ५० देखि ६० जना मान्छे र मालसमान नदी वारपार गराउने गरेको पासी बताउँछन् ।

हरेक शुक्रबार सीमावर्ती भारतीय गाउँ जानकीमा लाग्ने हाटबजारमा नेपाली गाउँका सयौँ नागरिक किनमेलका लागि पुग्ने गर्छन् । हाटबजारमा राप्तीवारि डुडुवा गाउँपालिका होलिया, बेतहनी र राप्तीपारि राप्ती सोनारी गाउँपालिकाको फत्तेपुर र नरैनापुर गाउँपालिकाको गङ्गापुर र मटेहियाका दर्जनौँ नागरिक डुङ्गा तरेर जाने गर्दछन् ।

भारतीय हाटबजारमा तरकारी लगायत उपभोग्यवस्तु सस्तो पाइने भएकाले अधिकांश किनमेल गर्न त्यतै जाने गरेका डुङ्गाचालक पासीले बताए । डुडुवा गाउँपालिका–१ होलियाका कुडुवा, कृषि चौफेरी, वर्डर चौफेरी छिटइपुर्वा, टेपरी प्रिपहवा खडैचा कन्दइपुर्वा सन्तलीया नयाँबस्तीका सयौँ बासिन्दाको डुङ्गा चढेर राप्ती नदी वारपार गर्नु दिनचर्या भएको स्थानीय झगरु लोनियाले बताए ।

राप्ती तटीय क्षेत्रका नागरिक राप्तीको डुबान तथा कटान नियन्त्रण र जोखिम मोलेर डुङ्गामा सवार हुनुपर्ने समस्या अन्त्यका लागि मटेहिया र होलिया जोड्ने पक्की पुल निर्माणका लागि पहल भइरहेको सांसद सूर्य ढकालले जानकारी दिए ।

कैलाली दूध उत्पादनमा आत्मनिर्भर बन्दै

गोदावरी (कैलाली), २२ साउनः पछिल्लो समय कैलाली दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । जिल्लामा उन्नत नश्लका गाई र भैँसीको व्यावसायिक पालन हुन थालेपछि बर्सेनि दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको हो ।

जिल्लामा व्यावसायिक फार्म दर्ता गरी गाई र भैँसीपालनतर्फ किसानको आकर्षण बढ्दै जान थालेपछि यहाँबाट दूध अन्य जिल्लामा निर्यात हुन थालेको छ । जिल्लामा उत्पादन भएको दूध जिल्लाबाहिर निर्यात हुने गरेको बताउँदै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी कविराज कठायतले भन्नुभयो, “पछिल्लो केही वर्षयता व्यावसायिक रूपमा गाईभैँसीपालन गर्ने किसानलाई अनुदान दिने कार्यक्रम ल्याएपछि बर्सेनि दूध उत्पादनमा वृद्धि हुँदै आएको छ ।”

कोरानाकालपछि विदेशमा रोजगारी गुमाएर स्वदेश फर्केकाहरूलाई प्रदेश सरकारले स्वदेशमै कृषि उद्यमी बन्न कार्यक्रम ल्याएपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढीको तथ्याङ्कानुसार कैलालीमा आर्थिक वर्ष २०७८÷७९ मा ९६ मेट्रिक टन दूध उत्पादन भएकामा आव २०७९/ ८० मा एक सय छ मेट्रिक टन दूध उत्पादन भएको थियो । आव २०८०/८१ मा एक सय ६८ मेट्रिक टन दूध उत्पादन भएको विज्ञ केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

पशुसेवा कार्यालयको गत वर्षको तथ्याङ्कानुसार २२ हजार एक सय ६४ मेट्रिक टन गाईको र ३४ हजार पाँच सय ९२ मेट्रिक टन भैँसीको गरी वार्षिक ५६ हजार सात सय ५६ मेट्रिक टन दूध उत्पादन भएको छ । दूधमा औसत राष्ट्रिय आवश्यकता ५७ भएको र कैलालीमा ७३ दशमलव १६ उपलब्धता भएकाले कैलाली दूध उत्पादनमा आत्मनिर्भर बनेको सो कार्यालयको तथ्याङ्कले देखाएको छ । जिल्लाबाट दैनिक दुई हजारदेखि दुई हजार पाँच सय लिटर दूध जिल्लाबाहिर निर्यात हुने गरेको दुग्ध विकास आयोजना अत्तरियाले जनाएको छ ।

जिल्लामा गाई र भँैसीका गरी ५२ वटा फार्म पशु कार्यालयमा दर्ता भएका छन् । ती फार्ममा एक सय ५६ जनाले प्रत्यक्ष रोजगारी पाएको पशु सेवा कार्यालयका पुष्प भारतीले बताउनुभयो । गाईभैँसी फार्मले वार्षिक रूपमा रु चार करोड ८९ लाख २१ हजार आम्दानी गर्दै आएको उहाँले बताउनुभयो । जिल्लाका विभिन्न ठाउँमा १४ दुग्ध सहकारी, ४४ निजी डेरी र एउटा खप्तड इन्डस्ट्रिज प्रालि सञ्चालनमा रहेका छन् । दुग्ध सहकारी, निजी डेरी र इन्डस्ट्रिजले वार्षिक रु १८ करोड ८४ लाख १० हजारको कारोबार गर्दै आएको बताइएको छ । कैलाली–कञ्चनपुरबाट सङ्कलित बढी भएको दूध नेपालगञ्ज निर्यात हुँदै आएको छ । बजारमा दूध तथा दुग्ध पदार्थको माग पनि बढ्दै गएको डेरी व्यवसायी बताउँछन् ।

पहिलो र दोस्रो लहरको र कुखुरापालक किसानको सङ्ख्या बढ्दै गएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय डोटीका योजना अधिकृत पुस्करराज नाथले बताउनुभयो । “सुदूरपश्चिम प्रदेश मासु, अण्डा र दूधमा आत्मनिर्भर बन्दै गएको देखिन्छ । कैलालीमा अण्डा उत्पादनका लागि ठूलो लगानीमा ह्याचरी उद्योग सञ्चालनमा आएकाले अण्डा बाहिरबाट आयात गर्नुपरेको छैन” उहाँले भन्नुभयो ।

ह्याचरी उद्योगबाट अण्डा उत्पादन हुन थालेपछि कैलाली र कञ्चनपुर अण्डामा आत्मनिर्भर बनेकाले भारतबाट अण्डा आयात पूर्ण रूपमा बन्द भएको निर्देशनालयले जनाएको छ । कञ्चनपुरमा झण्डै २५ हजार मेट्रिक टन अण्डा खपत हुने गरेकामा २० हजार मेट्रिक टन अण्डा जिल्लामा उत्पादन भइरहेको छ । कैलाली र कञ्चनपुरले भारतबाट अण्डा आयात गर्नुपर्ने अवस्था नरहेको व्यवसायीले बताएका छन् । यस्तै कञ्चनपुरबाट एक सय ४३ मेट्रिकटन मासु सुदूरपश्चिमका पहाडी जिल्लामा निर्यात हुने गरेको छ । जिल्लाबाट २३ हजार छ सय ५५ मेट्रिक टन दूध कैलाली र भारतमा निर्यात हुने गरेको छ । कैलाली र कञ्चनपुर दूध, अण्डा र मासुमा मात्र नभएर माछामासमेत आत्मनिर्भर नजिक पुगेको निर्देशनालयको दाबी छ । प्रदेशभित्र वार्षिक ३५ देखि ४० हेक्टर क्षेत्रफल माछा व्यवसायका लागि विस्तार हुँदै आएको छ ।

एक जिल्लामा उत्पादन हुने अण्डा, मासु तथा दूध अर्को जिल्लामा निर्यात हुँदै आएपछि आपूर्ति व्यवस्था सहज बन्दै गएको छ । पछिल्ला केही वर्षयता चाडपर्व दसैँतिहारका बेला सुदूरपश्चिमबाट निरन्तर रूपमा खसीबोका पोखरा र काठमाडौँ निर्यात हुँदै आएको निर्देशनालयले जनाएको छ ।

आम्दानीको बलियो स्रोत बन्दै भुइँकटहर , स्थानीयवासी बजारसम्म पुर्याउन व्यस्त

त्रिवेणी (नवलपरासी), २२ साउनः बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुली नगरपालिका–५ मा पर्ने बन्दीपुरका पाखाहरू अहिले भुइँकटहरले ढाकेका छन् । स्थानीयवासी भुइँकटहर टिपेर बजारसम्म पुर्याउन हिजोआज व्यस्त छन् । पहाडी क्षेत्रअन्तर्गत पर्ने यो गाउँका किसानका लागि भुइँकटहर आम्दानीको बलियो स्रोत बनेको छ ।

बन्दीपुरका तुलबहादुर फालमगरले करिब तीन हेक्टर पहाडी पाखोमा भुइँकटहर लगाउनुभएको छ । गत वर्ष खर्च कटाएर रु दुई लाख ५० हजार आम्दानी गर्नुभएका उहाँले यस वर्ष भुइँकटहर राम्रो भएकाले रु तीन लाख बढी आम्दानी हुने बताउनुभयो । “गत वर्षभन्दा यस वर्ष राम्रो भुइँकटर फलेको छ, भाउ पनि राम्रो छ, यसपालि आम्दानी बढ्ने देखिएको छ”, उहाँले भन्नुभयो ।

भुइँकटरलाई वर्षमा एकपटक मात्र गोडमेल गरे पनि राम्रो आम्दानी लिन सकिने उहाँको अनुभव छ । रेखदेख राम्रो गरे फल पनि राम्रो लाग्ने उहाँले बताउनुभयो । अन्य बाली लगाउँदा खासै केही नहुने पहाडी पाखोमा भुइँकटर आम्दानीको बलियो स्रोत बनेको उहाँले बताउनुभयो । “यस पाखोमा अरु लगाएर खासै केही हुँदैनथ्यो, भुइँकटहरले राम्रो आम्दानी दिएको छ, माग पनि राम्रो छ”, तुलबहादुरले भन्नुभयो ।

अहिले भुइँकटर प्रतिगोटा रु ५५ देखि रु एक सयसम्ममा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । भुइँकटर लिन व्यापारीहरू गाउँमै आउने गरेको उहाँले बताउनुभयो । पहिले बन्दीपुरसम्म यातायातको सुविधा नहुँदा डोकोमा स्थानीय बजार पुर्याउनुपर्ने बाध्यता रहेकामा अहिले त्यो बाध्यता हट्नाले थप सुविधा भएको अर्का किसान होमबहादुर दिसुवाले बताउनुभयो । गत वर्षसम्म बन्दीपुरसम्म यातायातको पहुँच नहुँदा बर्खामा भुँइकटहर बजार पुर्याउन समस्या हुने गरेकामा अहिले कालोपत्र सडक गाउँ पुग्दा बजारीकरणमा सुविधा भएको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारको लागनीमा मुण्डे–कीर्तिपुर–बन्दीपुर सडक कालोपत्र भएपछि उत्पादन भएको भुइँकटर नारायणगढ, बुटवल, भैरहवासम्मका व्यापारीले गाउँमै आएर खरिद गरी लैजाने गरेको उहाँले बताउनुभयो । एक हेक्टर क्षेत्रमा भुइँकटर लगाउनुभएका होमबहादुर यसको बिक्रीबाट आउने आम्दानीले घरखर्च चलाउन सहज हुने जानकारी दिनुहुन्छ ।

बन्दीपुरका करिब ४० घरपरिवार सबैले भुइँकटर लगाएका छन् । दुई याममा उत्पादन हुने भुइँकटहर यहाँका स्थानीयको आम्दानीको स्रोत बनेको छ । पाकेपछि सिधैँ बजारमा नगदमा बिक्री हुने हुँदा यसको खेतीमा यहाँका स्थानीयको आकर्षण बढेको छ । गत वर्षमात्र यहाँका किसानले करिब रु ५० लाख बराबरको भुइँकटहर बिक्री गरेको तुलबहादुरले बताउनुभयो ।

देवचुली नगरपालिकाअन्तर्गत पर्ने बन्दीपुर गाउँमा राम्रो भुइँकटर उत्पादन हुने भएकाले यस गाउँलाई भुइँकटहरको पकेट क्षेत्र निर्माण गर्ने गरी चालु आर्थिक वर्षमा कार्यक्रम तय गरिएको देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले बताउन्भयो । बन्दीपुरको भुइँकटहर बजारीकरणका लागि पालिकाले सहयोग गर्दै आएको र अन्य सङ्घसंस्थासँग मिलेर किसानलाई भुइँकटहरखेतीतर्फ आकर्षित गर्नेगरी काम गरिने उहाँले जानकारी दिनुभयो । भुइँकटरकै माध्यमबाट बन्दीपुरका स्थानीयको आर्थिक विकास गर्न सकिने भएकाले यसलाई लक्ष्यित गरी काम गरिने नगरप्रमुख न्यौपानेले बताउनुभयो ।

एकगाग्री पानी लिन घण्टौँसम्म उकालो/ओरालो गर्नुपर्ने बाध्यता हट्यो

फिक्कल (इलाम), २२ साउनः इलाम माङसेबुङ गाउँपालिका–६ माङमालुङ बजारकी वसन्ता राईको दिनचर्या फेरिएको छ । वर्षौँदेखि बिहानको समय गाग्रीमा पानी बोक्दैमा बिताउँदै आउनुभएकी उहाँको घरैमा खानेपानी धारा जडान भएपछि उहाँको दिनचर्या फेरिएको हो । उहाँले भन्नुभयो, “पानी बोक्ने बिहानको समय घरायसी अन्य काममा लगाउन थालेको छु ।”

डेढ घण्टा उकालो बाटो गाग्रीबाट बोकेको पानीको भरमा गुजारा चलाउँदै आउनुभएको वसन्तासहित माङमालुङ बजार र आसपासका एक सय ७१ घरपरिवारले त्यो बाध्यताबाट मुक्ति पाएका छन् । सङ्घीय सरकारको विशेष अनुदानअन्तर्गत रु एक करोड ६६ लाख ६६ हजार एक सय ५३ को लागतमा बृहत् खानेपानी आयोजना निर्माण भएपछि खानेपानीको लागि घण्टौँसम्म उकालो/ओरालो गर्नुपर्ने वर्षौँदेखिको बाध्यता हटेको हो ।

माङसेबुङ गाउँपालिका–२ र ६ वडावासीका लागि ‘लिफ्ट’ प्रविधिबाट ‘मिक्लाजुङ खानेपानी आयोजना (चित्रेखोला मुहान)’ निर्माण सम्पन्न भएको छ । मुख्य प्रसारण लाइनको विद्युत् प्रयोग गरेर चित्रेखोला मुहानअन्तर्गत गढेरे खोल्सी मुहानबाट एक हजार दुई सय मिटर टाढा पानी तानेर घरघरमा मिटरसहित धारा जडान गरी वितरण गरिएको छ । आयोजनाबाट वडा नं २ का चित्रे, डोलटार, भोटेडाँडा र वडा नं ६ का माङमालुङ बजार, नागीगाउँ, छेउनागलगायत गाउँका एक सय ७१ घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन् ।

आयोजना निर्माण भएसँगै खानेपानीका लागि सदियौँदेखि सास्ती खेप्नुपरेको त्यस क्षेत्रका बासिन्दा काकाकुलबाट मुक्त भएका छन् । सदियौँदेखिको खानेपानी समस्या तोड्दै घरघरमा बनाइएका धाराबाट पानी आउन थालेपछि त्यस क्षेत्रका बासिन्दामा खुसीको सीमा छैन । आदिवासी राई जातिको एकल बाहुल्य रहेको त्यस क्षेत्रका बासिन्दाले पानी शुद्ध पिउने पानी पाएपछि हर्षित भएका छन् ।

रु दुई करोड ५९ हजारको लागत अनुमान रहेकामा बिएनके महालक्ष्मी जेभी धनकुटाले रु एक करोड ६६ लाख ६६ हजार एक सय ५३ मा ठेक्का पारेको थियो । आयोजनाअन्तर्गत मुहानबाट दुई मिटर दूरीमा ७५ घनमिटर क्षमताको कलेक्सन ट््यााङ्की निर्माण गरिएको । कलेक्सन ट्याङ्कीबाट एक किलोमिटर दूरीमा एक लाख लिटर क्षमताको रिजर्भ ट्याङ्कीमा पुर्याएर पानी वितरण गरिएको माङसेबुङ गाउँपालिकाका इन्जिनिर युवराज दाहालले बताउनुभयो । रिजर्भ ट्याङ्कीबाट साढे आठ हजार मिटर एचडीपीइ पाइप (पोलिथिन पाइप) विस्तार गरी घरघरमा खानेपानी वितरण गरिएको उहाँले बताउनुभयो ।

“लिफ्ट प्रविधिबाट सञ्चालन गरिएको आयोजनाबाट प्रतिसेकेण्ड पाँच लिटर पानी आउँछ, यो गाउँवासीका लागि पर्याप्त हुन्छ”, इन्जिनियर दाहालले भन्नुभयो, “त्यसका लागि मुख्य प्रसारण लाइनबाट ११ हजार भोल्टको करेन्ट प्रवाह हुनेगरी विद्युत् लाइन जडान गरिएको छ, आयोजनाका लागि छुट्टै ५० केभीए क्षमताको ट्रान्सफर्मर जडान गरिएको छ ।”

वर्षौैैँदेखिको खानेपानीको समस्या भोग्दै आएका स्थानीयले घरघरमा खानेपानी आएपछि नयाँ जीवन पाएको बताएका छन् । जन्मेदेखि नै खानेपानीको सास्ती भोग्दै आएकी स्थानीय कमलकुमारी राईले घरघरमा पानी आउँदा निकै खुसी लागेको बतुनभयो । “खानेपानीका लागि बिहानभरि पर्खेर कुवाको दूषित पानी खान बाध्य थियौँ, हिउँदमा त त्यो पनि सुक्खा हुन्थ्यो”, उहाँले भन्नुभयो, “वर्षौँदेखि भोग्दै आएको त्यो समस्या अहिले अन्त्य भएको छ, हामी सुखी छौँ ।”

खानेपानी आयोजना सञ्चालन भएपछि पिउनका लागि मात्र होइन, शौचालय जान, नुहाइधुवाइ गर्न, लुगाकपडा धुन तथा वस्तुभाउलाई खुवाउने समस्या समाधान भएको स्थानीय सुनिता राईले बताउनुभयो । घरघरमा शुद्ध खानेपानी पुगेपछि अहिले गाउँवासी सबै हर्षित भएको उहाँले बताउनुभयो ।

उक्त क्षेत्रमा स्थानीयले सदियौँदेखि खानेपानीको चरम समस्या भोग्दै आएका थिए । आर्थिक वर्ष २०६७/६८ मा मावाखोलाको शिर खालेधाराबाट अस्थायी खानेपानीको व्यवस्थापन गरेको भए पनि हिउँदमा मुहान सुक्ने कारणले समस्या ज्यूँकात्यूँ थियो । तर विद्युतीय माध्यमबाट ‘पम्पिङ’ गरी खानेपानी आयोजना सञ्चालन भएपछि समस्या सधैँका लागि अन्त्य भएको माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले बताउनुभयो ।

“पहिलो चरणमा एक सय ७१ घरपरिवारका लागि खानेपानी आयोजना सम्पन्न गरिएको छ, यहाँबाट धेरैका खानेपानीको समस्या समाधान भएको छ”, उहाँले भन्नुभयो, “अर्को चरणमा अन्य बस्तीका लागि रु तीन करोडको यस्तै आयोजना सञ्चालन गरिनेछ, त्यसका लागि पहल भइरहेको छ ।” आयोजन सञ्चालन भएको क्षेत्र समुद्री सतहबाट दुई हजार मिटर उचाइमा अवस्थित छ ।

म्याग्दीको हिदीमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण

म्याग्दी, २२ साउनः म्याग्दीको मङ्गला गाउँपालिका–२ हिदीमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा), मङ्गला गाउँपालिका र समुदायको रु ४६ लाख ८४ हजार दुई सय ५१ को लागतमा आयोजना निर्माण भएको हो । आयोजनामार्फत ६४ घरमा एक–एक र स्थानीय सिद्ध शान्ति माविमा दुईवटा धारा जडान गरेर खानेपानी वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष दलबहादुर पुनले बताउनुभयो ।

“सबै घरमा मिटरसहितको निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको छ”, उहाँले भन्नुभयो, “खानेपानीका लागि सार्वजनिक धारा, कुवा, पँधेरामा धाउँदा हुने समयको बचतका साथै सहज भएको छ ।”

हिदी मङ्गला गाउँपालिकाको विकट र दुर्गम क्षेत्रमा पर्ने बस्ती हो । त्यहाँका बासिन्दाले यसअघि सार्वजनिक धारा, कुवा र मुहानबाट व्यक्तिगत लगानीमा पाइपमार्फत घरघरमा पानी लगेर उपभोग गर्दै आएका थिए । व्यवस्थित रूपमा वितरणपछि पानीको मितव्ययी प्रयोग हुन थालेको छ ।

पानीका कारणले समाजमा विवाद हुन छाडेको छ । सबैले आवश्यकतानुसार भनेको समयमा पानी प्रयोग गर्न पाएका छन् । आयोजनाको दिगो सञ्चालनका लागि महसुुल निर्धारण र हेरालुको व्यवस्था गर्ने उपभोक्ता समितिका अध्यक्ष पुनले बताउनुभयो ।

छहरा टाउको, चुच्चे ओखर र लामो छहरामा रहेका तीनवटा मुहानको पानीलाई तीनवटा ट्याङ्कीमा सङ्कलन गरी आठ हजार दुई सय मिटर पाइप लाइनमार्फत वितरणको व्यवस्था मिलाइएको छ । आयोजना निमाणका लागि नेवा संस्थाले रु २२ लाख २० हजार नौ सय ४३ र मङ्गला गाउँपालिकाले रु १० लाख ६४ हजार दुई सय ६३ सहयोग गरेका नेवाका प्राविधिक गोर्खबहादुर शाहीले बताउनुभयो ।

रु १२ लाख छ हजार पाँच सय ३७ बराबरको श्रमदान गरेका उपभोक्ताले रु एक लाख ९२ हजार पाँच सय आठ नगद पनि लगानी गरेका छन् । नेवा, मङ्गला गाउँपालिका र समुदायको साझेदारीमा आर्थिक वर्ष २०८०÷८१ मा हिदीसहित मङ्गलाको र्यालेखोर–खुम्लिया–भाइवाङ र खानीगाउँमा निजी धारासहितको खानेपानी आयोजना निर्माण भएको छ । खुम्लिया, र्यालेखोर र भाइवाङका एक सय घर र विद्यालय, सामुदायिक भवन र खेलमैदानमा आठवटा निजी धारा निर्माण गरेर खानेपानी वितरण गरिएको छ । र्यालेखोरको आयोजना लिफ्ट प्रविधिको हो । खानीगाउँका ३७ घर, एक विद्यालय र हिदीका ६४ घरमा निजी धारासहितको खानेपानी वितरण गरिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।

कोशी प्रदेश सरकारद्वारा इर्खुवाखोला बाढीका मृतक परिवारलाई राहत वितरण

भोजपुर, २२ साउनः कोशी प्रदेश सरकारले इर्खुवाखोला बाढीबाट मृत्यु भएका मृतक परिवारलाई राहत वितरण गरेको छ । यही साउन १६ गते आएको बाढीले मृत्यु भएका दुई परिवार र बाढीपीडितलाई राहत वितरण गरेको हो ।

बाढीले बगाउँदा इर्खुवाखोला जलविद्युत आयोजनामा काम गर्ने मजदुर श्यामकुमार थारू र रमेश थारूको मृत्यु भएको थियो । प्रदेश सरकारको तर्फबाट तत्काललाई मृतक परिवारलाई रु एक–एक लाख हस्तान्तरण गरिएको हो । त्यस्तै बाढीपीडित पाँच परिवारलाई चालम, दाल, तेल, नुन, कम्बल र त्रिपाल वितरण गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी राज्यमन्त्री सिर्जना राईले जानकारी दिनुभयो । यहाँका षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका पीडित परिवारको पूर्ण विवरण आएपछि थप राहत वितरण गरिने उहाँको भनाइ छ । “प्रदेश सरकारको तर्फबाट घटनास्थलको स्थलगत रूपमा अनुगमन गरेर पीडितलाई राहत वितरण गरेका छौँ”, उहाँले भन्नुभयो, “बाढीका कारण मानवीयसँगै निकै ठूलो भौतिक क्षति भएको छ । तत्कालीन रूपमा मृतक परिवार र अन्य पाँच परिवारलाई राहत वितरण गरेका छौँ । थप क्षतिको विवरण आएपछि अन्य परिवारलाई पनि वितरण गछौँ ।”

आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लव अधिकारीसहितको टोलीले साल्पासिलिछो गाउँपालिकाको फेदी भन्ने स्थानसम्म पुगेर बाढीले पुर्याएको क्षतिको विषयमा जानकारी लिएको हो । कोशी प्रदेश सरकारले यथाशीघ्र क्षतिको पूर्ण विवरण मन्त्रालयमा पठाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

बाढीबाट क्षतिग्रस्थ झोलुङ्गे पुल र मोटरेबल पुल पुनःनिर्माण, मर्मत तथा संरक्षणका लागि तत्काल आवश्यक पक्रिया अघि बढाउने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनुभयो । प्रदेश सरकारले पीडित परिवारलाई सहज रूपमा घरदैलोमा पुगेर राहत वितरणका लागि मन्त्रिपरिषद्बाट निर्णय गरेर काम अघि बढाएको मुख्यमन्त्री कार्कीको भनाइ छ ।

बढीबाट क्षति पुगेका पुलहरूको पुनःनिर्माण तथा मर्मत गरी चाँडो जनतालाई सेवा प्रदान गर्न प्रदेश सरकार गम्भीर रहेको उहाँले बताउनुभयो । थुम्लुङखोलाबाट सुरु भएको इर्खुवाखोला बाढीले निर्माणाधीन नागदह पक्की पुल, निर्माणको अन्तिम चरणमा पुगेको तामुटार पक्की पुल, गौडेनी पक्की पुल, टावुटार झोलुङ्गे पुल, गोथेबजार झोलुङ्गे पुल, नागदह झोलुङ्गे पुल, दोभाने झोलुङ्गे पुल र वागवालुङ झोलुङ्गे पुलमा क्षति पुगेको साल्पासिलिछो गाउँपालिका अध्यक्ष दौलथ कुलुङले जानकारी दिनुभयो । त्यस्तै बाढीले इर्खुवाखोला जलविद्युत आयोजनामा पूर्ण क्षति पुगेको उहाँको भनाइ छ । त्योसँगै अन्य तीनवटा हाइड्रोपावर र खोला किनारका बस्तीमा क्षति पुगेको अध्यक्ष कुलुङले बताउनुभयो ।

सडक डिभिजन दमकद्वारा गतआवमा छ किमी सडक कालोपत्र

भद्रपुर (झापा), २२ साउनः सडक डिभिजन दमकले गत आर्थिक वर्षमा ३३ किलोमिटर सडक कालोपत्र गरेको छ । सडक डिभिजनले ३७ किमी सडक कालोपत्र गर्ने लक्ष्य राखे पनि लक्ष्य राखेको थियो । सडक डिभिजन दमकका सूचना अधिकारी इन्जिनियर गौतमकुमार देवका अनुसार गत आवमा दुईवटा मोटरेबल पुल निर्माणको काम सम्पन्न भएको छ । “राजमार्गका १४ किलोमिटर सडक आवधिक मर्मत र पाँच किमी राजमार्ग पुनःनिर्माण तथा स्तरोन्नति भएको छ”, उहाँले भन्नुभयो ।

सडक डिभिजन दमकका अनुसार जिल्लामा निर्वाचन क्षेत्र रणनीतिक सडकका लागि विनियोजित रु २२ करोड ८५ लाख ५८ हजारमध्ये सबै अर्थात् शतप्रतिशत खर्च भएको छ । दमक–चिसापानी सडकका लागि विनियोजित रु छ करोडमध्ये रु दुई करोड ५० लाखमात्र खर्च भएको छ । यसैगरी राजमार्ग स्तरोन्नति तथा पुनःस्थापना कार्यक्रमका लागि विनियोजित रु ११ करोड ५५ लाख ५५ हजारमध्ये रु नौ करोड ७५ लाख ६६ हजार खर्च भएको छ ।

त्यस्तै स्थानीय सडक पुल निर्माण शीर्षकको बजेट खर्च प्रतिशत ९८ दशमलव ४८ प्रतिशत, रणनीतिक सडक पुल निर्माण तथा पुलपुलेसा संरक्षण शीर्षकको बजेट खर्च प्रतिशत ८९ दशमलव ९० प्रतिशत र सडक बोर्डको बजेटको ९० दशमलव ९९ प्रतिशत खर्च भएको छ । सूचना अधिकारी देवका अनुुसार गत अवमा पुँजीगततर्फ कुल विनियोजित बजेटको ८९ दशमलव ६२ प्रतिशत खर्च भएको छ । आर्थिक वर्ष २०७९/८० मा समग्र बजेटको ७४ दशमलव ५४ प्रतिशत खर्च भएको थियो ।

अविरल वर्षाले पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध

ढोरपाटन (बागलुङ), २२ साउन : अविरल वर्षाले पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । सोमबार साँझदेखि परेको वर्षाका कारण पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो । करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा करिडोर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी जानकारी दिनुभयो । करिडोर अवरुद्ध हुँदा लामा तथा छोटो दूरीका सवारीसाधन ठप्प भएको उहाँले बताउनुभयो । अहिले वर्षा भइरहेको हुँदा सडक खुलाउन नसकिने जनाउँदै वर्षा रोकिएपछि खुलाउने प्रनाउ यादवले बताउनुभयो ।

सडक अवरुद्ध हुँदा सदरमुकामसँग दक्षिण बागलुङको सिधा यातायात बिच्छेद भएको छ । पहिरोले सडक नै भासिएको छ । गतहप्ता पनि अवरुद्ध भएको सडक सोमबार दिउँसो सञ्चालनमा आएकामा गएरातिको भारी वर्षाले सडक पुनः अवरुद्ध भएको हो ।

पश्चिमसँग सम्बन्ध तोड्दाको लागत दुई अर्ब १० करोड डलर : रुसी अन्तरिक्ष एजेन्सी

युक्रेनमा रुसको आक्रमणले पश्चिमसँगको सम्बन्ध तोडिएपछि झण्डै एक खर्ब ८० अर्ब रुबल (दुई अर्ब १० करोड डलर) नोक्सान भएको रुसको अन्तरिक्ष एजेन्सीले सोमबार बताएको छ ।

रूसको अभियान सुरु भएपछि मस्को विरुद्ध प्रतिबन्धको एक भागका रूपमा पश्चिमी देशहरूले अन्तरिक्ष क्षेत्रमा रोस्कोसमोससँग साझेदारी तोडेका थिए । रोस्कोसमोस रूसमा अन्तरिक्ष गतिविधिहरूका लागि समन्वय गर्ने केन्द्र हो ।

इन्टरफ्याक्स समाचार एजेन्सीले रोस्कोसमोस एजेन्सीका उपप्रमुख आन्द्रेई येल्चानिनोभलाई उद्धृत गर्दै भनेको छ, “अमित्र देशहरूद्वारा सम्झौताहरू खारेज गर्दा रोस्कोसमसलाई एक खर्ब ८० अर्ब रूबल खर्च भएको छ ।”

रोकिएको सहयोगमध्ये एक युरोपेली अन्तरिक्ष एजेन्सीसँग मङ्गल ग्रह अन्वेषणका लागि एक योजनाबद्ध संयुक्त अभियानमा सहयोग थियो ।

रोसकोसमोसले फ्रेन्च गुयानाको कोउरो अन्तरिक्ष बन्दरगाहबाट आफ्नो सोयुज रकेटको प्रक्षेपणलाई पनि स्थगित गरेको छ ।

येल्चानिनोभले एजेन्सीले एसिया, अफ्रिका र मध्यपूर्वका देशहरूसँग थप व्यापार गरेर गुमेको राजस्वको पूर्ति गर्ने योजना बनाएको बताउनुभयो ।रुसको अन्तरिक्ष क्षेत्रले वित्तीय समस्या, भ्रष्टाचार घोटाला र सन् २०२३ अगस्टमा लुना–२५ चन्द्र मोड्युलको नोक्सानी जस्ता असफलताहरूसँग सङ्घर्ष गरिरहेको छ ।

‘गाउँको शिरमा छ भिर, त्यही भिर कतिबेला खस्ने हो राम्चेगाउँवासीलाई छ पिर’

मध्यविन्दु । बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिका–५ राम्चेमा बस्दै आउनुभएका ८० वर्षीय जयबहादुर चितौरेलाई पछिल्लो समय पहिरोले गाउँ नै लैजाने हो कि भन्ने चिन्ताले सताउने गरेको छ । बाजेको पालादेखि राम्चेगाउँमा बस्दै आउनुभएका उहाँलाई बर्सेनि पहिरोले बस्ती क्षेत्रको जमिन कटान गर्दै लगेकाले कुनै दिन गाउँ नै पहिरोले निल्ने हो कि भन्ने त्रासले रात कटाउन मुस्किल पर्ने गरेको छ ।

‘गाउँको शिरमा भिर छ । त्यही भिर कतिबेला खस्ने हो भन्ने सधैँभरिको पिर छ । पानी पर्यो कि त बस्ती बगाउने हो कि भन्ने चिन्ताले रातमा निद्रा नै पर्दैन’, उनले भने ।

हुप्सेकोट गाउँपालिका–५ को राम्चेगाउँको सिरानमा राम्चेभिर छ । केरुङ्गेखोलाको मुहानमा रहेको राम्चेको पहिरोले जयबहादुर चितौरे मात्र होइन राम्चेगाउँका ३५ घरपरिवार बर्खा लागेसँगै पहिरोका डरमा बस्न बाध्य भएका छन् । हुप्सेकोट गाउँपालिका वडा नं ५ को राम्चेगाउँ पहिरोको उच्च जोखिममा छ । गाउँ नजिकै बर्सेनि सानाठूला पहिरो जान थालेपछि डाँडो नै खस्ने खतरा बढ्दै गएको स्थानीयहरू बताउँछन् ।

राष्ट्रिय पहिरो भनेर चिनिने राम्चे पहिरो विसं २०३८ मा काउले बस्ती नै विस्थापित हुनेगरी गएका कारण अहिले पनि सो क्षेत्रका अन्य बस्ती पहिरोको जोखिममा पर्दै आएको हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदम रानाले बताए ।

‘पहिरोका कारण कच्ची सडक पनि भत्किराख्ने र जमिनमा धाँजा फाट्ने गरेको छ । बर्खामा मात्र होइन, हिउँदमा पनि सुक्खा पहिरोले सताउने गरेको छ’, उनले भने, “राम्चेवासी बर्खामा मात्र होइन, अन्य समयमा पनि रातदिन त्रासमा बाँच्नुपरेको छ ।’

पहिरोको त्रासले सक्ने जतिले गाउँ नै छाडेर अन्यत्र बसाइँ सरेका छन् । तर आयस्तर कम भएका धेरैले आफ्नो जीवन जोखिममा राख्दै यही पहिरो हेर्दै दैनिकी कटाइरहेका छन् । बाजेबराजुको पालादेखि सोही ठाउँमा बसोबास गर्दै आएका स्थानीयवासीले सरकारले सुरक्षित स्थानमा बस्ती सारिदिने आशा भने मारेका छैनन् ।

स्थानीय आसबहादुर चितौरेमगरका अनुसार, “सुक्खा पहिरोसमेत गएर गाउँको नजिकै धेरै धाँजा फाटेको छ । ठूलो पहिरोले कतिबेला गाउँ नै सोहोरेर लैजान्छ भन्ने डर र त्रासमा स्थानीय बासिन्दाले दैनिकी कटाइरहेका छन् । पहिरोकै कारण एकपछि अर्को संरचनासँगै गाउँ नै सखाप पार्ने पहिरो नियन्त्रण गर्न माग गर्दा पनि कसैले नसुनेको स्थानीयको भनाइ छ । पहिरो रोक्न केही बजेटसहित तारजालीको काम हुने गरे पनि त्यो प्रभावकारी बन्न नसकेको स्थानीय हरि मगरले बताए ।

‘पहिरो रोक्नै नसक्ने खालको छ, बजेटमात्र सकिने भएकाले पनि हामीलाई अन्तै सारिदिनुपर्यो’, उाले भो, ‘पहिरो रोक्नका लागि सरोकारवालालाई भनेको वर्षौँ भयो तर कतैबाट पनि सुनुवाइ भएन ।’

हुप्सेकोट गाउँपालिकाले पहिरोको जोखिम रहेको राम्चेगाउँलाई रुद्रपुरगढी धौवादीमा स्थानान्तरण गर्ने योजना बनाएको थियो । विसं २०७६ भदौमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई ल्याएर गाउँपालिले बस्ती सार्न धौवादी एकीकृत नमूना बस्ती योजनाको शिलान्याससमेत गरिएको थियो । तर त्यो योजना शिलान्यास भएको पाँच वर्ष हुँदा पनि सुरु हुनसकेको छैन ।

राम्चेगाउँका पहिरो जोखिम घरपरिवारलाई स्थानान्तरणको योजना बनाएको भए पनि बस्ती स्थानान्तरण गर्न स्थानीयले नमानेका कारण योजना अलपत्र परेको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताए । सोही वडाको अर्को गाउँमा राम्चे क्षेत्रका घरपरिवारलाई स्थानान्तरण गर्ने प्रयास गरिए पनि अहिले अलपत्र परेको अध्यक्ष पाण्डेले बताए ।

माइक्रोसफ्टद्वारा स्काइप विकास गर्न अपडेटको घोषणा

माइक्रोसफ्टले ‘स्काइप’ अनुप्रयोग(एप्लिकेशन) लाई विकास गर्न र भिडियो सञ्चार अनुप्रयोगहरूसँग प्रतिस्पर्धा गर्न यसलाई फिर्ता गर्न अपडेटहरू घोषणा गरेको छ ।

यसले विन्डोज–११ प्रणालीहरूमा समर्पित स्काइप अनुप्रयोगमा अद्यावधिक सुरु गरेको कम्पनीले नोट गरेको छ । यसले अनुप्रयोगको सञ्चालनलाई असर गर्ने केही ‘प्रोग्रामिङ त्रुटि’ हटाएको छ र प्रयोगकर्ताहरूका लागि नयाँ सुविधाहरू ल्याएको छ ।

यो अनुप्रयोगको नयाँ परीक्षण संस्करण ‘स्काइप इनसाइडर’ कार्यक्रमका लाभार्थीहरूका लागि उपलब्ध छ । स्काइप इनसाइडर कार्यक्रम स्काइपको भविष्यको अनुभव गर्न चाहने जो कोहीको लागि हो । यसले छिटो कार्यसम्पादन प्रदान गर्दछ । यसले विज्ञापनहरू प्रदर्शन गर्दैन ।

विकासकर्ताहरूले अडियो अलर्टहरू र ५–जी नेटवर्कहरूमा जडान हुँदा अनुप्रयोग चलाउनेसँग सम्बन्धित केही प्रोग्रामिङ त्रुटि पनि फिक्स गरेको छ ।

नारायणी नदी तटबन्धन बजेटका कारण प्रभावित

चितवन, २२ साउनः नारायणी नदीमा तटबन्धनका लागि लगाइएको ठेक्काको काम बजेटका कारण प्रभावित हुने भएको छ । ठेकेदार कम्पनीहरूले गत वर्षको रु ४० करोडभन्दा बढी भुक्तानी नपाउँदा काममा समस्या हुन लागेको हो ।

गत वर्षको कामको भुक्तानी यस वर्ष विनियोजन भएको बजेटबाट आंशिक गरिएको छ । नारायणी नदी व्यवस्थापन आयोजनाका निर्देशक मनोहरकुमार साहका अनुसार गत वर्षको भुक्तानी गर्नुपर्ने रु एक अर्ब १३ करोड ६४ लाखमध्ये रु ५७ करोड भुक्तानी गरिएको छ । पेश्कीसहित हिसाब मिलान गर्दा गत वर्षको रु ४० करोडभन्दा बढी काम गरेको भुक्तानी दिन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

आयोजना सबै सम्पन्न गर्न रु तीन अर्ब ९५ करोड खर्च हुन्छ । हालसम्म रु दुई अर्ब भुक्तानी गरिएको छ । निर्देशक साहले भन्नुभयो, “यस आर्थिक वर्षको असार मसान्तसम्ममा सबै काम सम्पन्न गर्नुपर्ने छ, तर बजेट छैन ।” चालु आवका लागि विनियोजन गरिएको रकम गत वर्षको भुक्तानीमा गइसकेकाले यस वर्ष काम गर्नका लागि बजेट नभएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “चालु आवमा ठेक्काअनुसार काम सम्पन्न गर्न कम्तीमा रु एक अर्ब ९५ करोड आवश्यक छ ।” तटबन्ध गरिएका क्षेत्रमा नदीले कटान नसकेको जनाउँदै उहाँले यही अवस्थामा निर्माण कम्पनीलाई काम लगाउन आफूले नसकेको उहाँले बताउनुभयो । आयोजनाले चितवनमा नारायणी नदी तटबन्धका लागि लगाएका पाँच ठेक्कामध्ये दुईवटा सम्पन्न भएका छन् । तीमध्ये एउटा पूरै भुक्तानी गरिएको छभने अर्काे एउटाको भुक्तानी दिन बाँकी छ । नवलपरासीतर्फ छवटा ठेक्कामध्ये एउटा सम्पन्न भएको छ । यसै आयोजनाले काम गरेको कयरखोलाको दुईवटा ठेक्का सम्पन्न भए पनि भुक्तानी बाँकी छ ।

आयोजनाले नदीको चितवन र नवलपरासीतर्फ रु चार अर्ब ७२ करोड अर्थ मन्त्रालयबाट विसं २०७८ मङ्सिरमा स्रोत सुनिश्चितता गरेर त्यसलगत्तै विभिन्न खण्डमा ठेक्का लगाएको थियो । दुई जिल्लामा गरी ११ वटा प्याकेजमा ठेक्का लगाइएको थियो । चितवनतर्फ पाँच र नवलपरासीतर्फ छ प्याकेजमा ठेक्का लगाइएको थियो ।

निर्देशक साहले पटकपटक अर्थ मन्त्रालयमा बजेटका लागि आग्रह गरिएको बताउनुभयो । निर्माण कम्पनीहरूले पेस गरेका बिलअनुसारको भुक्तानी नपाउँदा समस्या भएको भन्दै दबाब दिइरहेको उहाँ बताउनुभयो । उहाँले भन्नुभयो, “समयमा भुक्तानी गर्न नसक्दा काम लगाउन सकिएको छैन ।” नारायणी नदीको चितवनतर्फ २० किलोमिटर र नवलपरासीतर्फ १० दशमलव पाँच किलोमिटर तटबन्ध गर्न लागिएको हो । तटबन्धको काम गरिएसँगै काम भएका क्षेत्रमा बाढीबाट जोगिएका छन् ।

असुरक्षित गर्भपतनले स्वास्थ्य जोखिममा बढ्दै गएकोमा सरोकारवालाको चिन्ता

देउखुरी (दाङ) – असुरक्षित गर्भपतनले स्वास्थ्य जोखिममा बढ्दै गएकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । अनिश्चित तथा अवैध गर्भधारणसँगै गरिने असुरक्षित गर्भपतनका कारण महिलाको मृत्यु हुनुका साथै जोखिम बढ्दै गएको उनीहरुको भनाइ छ ।

आज दाङको घोराहीमा आयोजित कार्यक्रमका घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख राधा पौडलले असुरक्षित गर्भपतनका कारण कतिपय महिलाको ज्यानै जाने गरेको बताउनुभयो । परिवार नियोजनका साधनका रुपमा गर्भपतनलाई लिन नहुने उहाँको भनाइ थियो ।

यौन सम्पर्कका क्रममा सचेत नहुँदा अनिश्चित गर्भ रहन जाने र गर्भ बसेको थाहा पाएपछि चकटेल खाए झैँ औषधि प्रयोग गर्दा महिलाले ज्यान गुमाउनु परेको बताउनुभयो । यस विषयमा सबैै गम्भीर हुनु आवश्यक रहेको बताउनुभयो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सिङ प्रशासक शर्मिला शर्माले अनुमति नलिएका क्लिनिक (मेडिकल) मा गएर अवैध रुपमा गर्भपतन गराउने र अनावश्यक औषधि सेवनले पनि महिलाको ज्यान जोखिममा पर्ने गरेको बताउनुभयो । लुकिछिपी औषधि सेवन गर्ने र औषधिले गर्भ गएन भने औजारको प्रयोग गरी गर्भपतन गर्ने गरेको उहाँको भनाइ थियो । उहाँले सूचीकृत स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाबाट मात्र सुरक्षित गर्भपतन गराउनुपर्नेमा जोड दिनुभयो ।

स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन रीता न्यौपानेले आर्थिक वर्ष २०७८÷७९ मा दुई हजार दुई सय ६२, आव २०७९÷८० मा दुई हजार एक सय चार र आव २०८०÷८१ मा दुई हजार पाँच सय ९३ जनाले सुरक्षित गर्भपतन गराएका छन् । जिल्लामा चालु आर्थिक वर्षमा दुई सय ७७ जनाले सुरक्षित गर्भपतन गराएको उहाँले दिनुभयो ।

औषधिबाट १२ हप्तासम्मको गर्भ सुरक्षित रुपमा गर्भपतन गराउने सुविधा रहेको उहाँले जानकारी दिनुभयो । त्यस्तै, दाङका १० वटै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाबाट दक्ष चिकित्सकको प्रविधि प्रयोगबाट १२ हप्ताभन्दा बढी समयको गर्भपतन गराउने सुविधा रहेको छ ।
यसरी कानुनी रुपमै सुरक्षित गर्भपतन गराउन पाउने व्यवस्थासहित जिल्ला अस्पताल र अन्य अस्पतालमा सुविधा भए पनि जनचेतना अभावका कारण महिलाले असुरक्षित गर्भपतन गर्ने गरेका उहाँको भनाइ छ ।

स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख किशोर आचार्यले असुरक्षित गर्भपतनकै कारण दाङमा कतिपय महिलाले ज्यान गुमाएको तथ्यहरु सार्वजनिक हुने गरेको बताउनुभयो । सुरक्षित गर्भपतनसम्बन्धी चेतना फैलाउन स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पत्रकार, शिक्षकलगायतमा सहयोग गर्न आग्रह गर्नुभयो । गर्भपतन गराउनुपर्ने बाध्यात्मक परिस्थितिमा अनुमति प्राप्त अस्पताल तथा स्वास्थ्य संस्थामा गएर सेवा लिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्त्री रोग विषेशज्ञ डा वसन्त लामिछानेले निःशुल्क साथै सुरक्षित गर्भपतन गराउन सकिन्छ भन्ने प्रावधानप्रति बेखबर रहँदा कतिपयले असुरक्षित गर्भपतन गराउन पुग्दा ज्यान गुमाउने गरेको बताउनुभयो । उहाँले सचेतनाकै कमी रहेको बताउनुभयो ।

महिलाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने १२ हप्तासम्मको गर्भलाई गर्भपतन गराउन सकिने कानुनी व्यवस्था छ । त्यसैगरी भ्रुणमा कमीकमजोरी भएको कारणले गर्भमै नष्ट हुन सक्ने वा जन्मेर पनि बाच्न नसक्ने गरी गर्भको भ्रुणमा खराबी रहेको वंशाणुगत खराबी वा अन्य कुनै कारणले भ्रुणमा अशक्तता हुने अवस्था रहने भन्न्ो उपचारमा संलग्न स्वास्थ्यकर्मीको राय बमोजिम महिलाको मञ्जुरीमा २८ हप्तासम्मको गर्भलाई गर्भपतन गराउन सकिने व्यवस्था छ ।

शिक्षक तथा कर्मचारीलाई पार्टी सदस्यता लिन रोक

दमक (झापा) – झापाको कमल गाउँपालिकाले सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको सदस्यता लिन रोक लगाएको छ ।

पालिकाका अध्यक्ष हुकुमसिंह राईले सूचना जारी गर्दै सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले कुनै पनि राजनीतिक दलको सदस्यता लिन तथा नवीकरण गर्न नपाउने उल्लेख गर्नुभएको छ ।

शिक्षा ऐन, २०२८ (संशोधनसहित) १६ (ङ) को उपदफा (५)को खण्ड (छ) शिक्षक वा कर्मचारीले राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेमा पद मुक्त गरिने र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) को खण्ड (ग) अनुसार शिक्षक वा कर्मचारीले कुनै पनि दलको सदस्यता लिन नपाउने प्रावधान रहेको उल्लेख गर्दै पालिकाले अब त्यसलाई कडाइका साथ कार्यान्वयन गरिने उहाँले सूचित गर्नुभएको छ ।

उहाँले शिक्षक वा कर्मचारीले राजनीतिक दलको सदस्यता लिएको वा नवीकरण गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने सूचनामा उल्लेख गर्नुभएको छ ।

पालिकाले यसअघि सामुदायिक तथा संस्थागत विद्यालय परिसरमा कुनै पनि राजनीतिक दलको भेला, सभा तथा बैठकलगायतका कार्यक्रम गर्न निषेध गरेको थियो ।

पर्यटनमन्त्रीको एक महिने मन्त्रालयस्तरीय कार्यतालिका सार्वजनिक

काठमाडौँ – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालयको कामलाई प्रभावकारी बनाउन एक महिने कार्यतालिका सार्वजनिक गर्नुभएको छ ।

आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तीय विकास समस्या समितिको बैठकमार्फत उहाँले एक महिने कार्यतालिका सार्वजनिक गर्नु भएको उहाँको सचिवालयले जनाएको छ । उहाँले आगामी महिनादेखि प्रत्येक बुधबार मन्त्रालयका विभागस्तरीय छलफल गर्नका लागि कार्यतालिका बनाउनुभएको छ ।

पर्यटनमन्त्री पाण्डेले मन्त्रालयले निर्धारण गरेका लक्ष्य र उद्देश्य हासिल गर्नका लागि युद्वस्तरमा काम गरिरहेको बताउनुभएको छ । उहाँले आगामी भदौको पहिलो बुधबार अर्थात् ५ गते संस्कृति महाशाखा, भदौ १२ गते पर्यटन महाशाखा, भदौ १९ गते नागरिक उड्डयन र महिनाको अन्तिम बुधबार संयुक्त रूपमा छलफल गर्ने गरी तयारी गर्न सचिव र महाशाखा प्रमुखलाई निर्देशन समेत दिनुभयो । मन्त्री पाण्डेले सरकार र कर्मचारीबीचको सम्बन्धमार्फत मात्रै देशको विकास हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

उहाँले आर्थिक अनियमितता र भ्रष्टाचारको अन्त्य गर्दै सुशासन स्थापना लागि काम गर्ने अठोट समेत व्यक्त गर्नु भएको छ ।

बङ्गलादेशमा आन्दोलनः नेपालमा उच्च सुरक्षा निगरानी

काठमाडौँ – बङ्गलादेशमा विकसित घटनाक्रमलाई मध्यनजर गर्दै नेपालले सुरक्षा व्यवस्था कडाइ गर्नुका साथै सीमा क्षेत्रमा उच्च निगरानी बढाएको छ । गृह मन्त्रालयको निर्देशनअनुसार असम्बन्धित र विदेशी नागरिकको घुसपैठ तथा अवैध प्रवेश बढ्नसक्नेतर्फ सचेत रहँदै सीमाक्षेत्र र अन्तर्राष्ट्रिय मार्गमा उच्च निगरानी बढाइएको हो ।

केन्द्रीय सुरक्षा समितिको बैंठकको निर्देशनबमोजिम नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले आवश्यकताका आधारमा जनशक्ति बढाएर सुरक्षालाई मजबुद बनाउन र परिस्थितिको मूल्याङ्कनसहित उच्च निगरानी र सतर्कता अपनाउन सर्कुलर भएको जनाएका छन् ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले हाल तैनाथ गरिएका सुरक्षाकर्मीसँगै थप बल परिचालनगरी सुरक्षा व्यवस्था चुस्त बनाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नराम्रो घटना नहोस्, विदेशी मानिसहरू जथाभावी प्रवेश हुन नपाउन् भनेर सुरक्षा निगरानी र सतर्कता बढाइएका छौँ । विमानस्थल तथा देश भित्रिने र बाहिरिने नाकाका साथै विशेष गरी तराई र भारतीय सीमा क्षेत्रमा सुरक्षाकर्मीलाई चुस्त रहन र सम्भावित जोखिम आँकलन गरी सुरक्षा प्रबन्ध मिलाउन निर्देशनसमेत दिइएको छ ।”

सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता, नायब महानिरीक्षक कुमार न्यौपानेले अन्य मुलुकबाट मानिसको घुसपैठ हुनेतर्फ सतर्क रहँदै सीमा क्षेत्रमा जनशक्ति थपगरी सुरक्षा तैनाथी बढाइएको र उच्च सतर्कता अपनाइएको जानकारी दिनुभयो ।

मध्यपूर्वमा युद्धको आशङ्का बढेसँगै बाइडेनले राष्ट्रिय सुरक्षा प्रमुखहरूसँग भेट्ने

तेहरानमा हमास नेताको हत्याको प्रतिशोधमा इजरायलमाथि इरानको आक्रमणको आशङ्का बढेसँगै अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार आफ्ना राष्ट्रिय सुरक्षा टोलीसँग सङ्कट वार्ता गर्दै हुनुहुन्छ ।

मध्यपूर्वमा अवस्थालाई पूर्णरूपमा युद्धमा रूपान्तरण हुनबाट रोक्ने उद्देश्यले कूटनीतिको हिस्साका रूपमा बाइडेनले जोर्डनका राजा अब्दुल्ला द्वितीयसँग फोन वार्ता गर्नुभएको छ ।

इरानले हमासका राजनीतिक प्रमुख इस्माइल हानियाको हत्याप्रति सोमबार चाँडै प्रतिक्रिया दिन सक्ने रिपोर्टहरूले सुझाव दिएपछि संयुक्त राज्य अमेरिकाले इजरायलको समर्थनका लागि यस क्षेत्रमा थप लडाकू जेट र युद्धक विमानहरू तैनाथ गरेको छ ।

विलमिङ्टन, डेलावेयरमा आफ्नो घरबाट एक साताको फिर्तीपछि बाइडेन ‘मध्यपूर्वमा घटनाक्रमहरूका बारेमा छलफल गर्न’ ह्वाइट हाउसको सिचुएसन रूममा आफ्ना राष्ट्रिय सुरक्षा टोलीसँग भेट्ने ह्वाइट हाउसले बताएको छ ।

बैठक वासिङ्टनको समयानुसार दिउँसो २ः१५ बजे निर्धारण गरिएको छ । उक्त समय तेल अभिवमा राति ९ः१५ र तेहरानमा ९ः४५ बजे हुनेछ । बाइडेनले विलमिङ्टन छाड्नुअघि राजा अब्दुल्लालाई फोन गर्नुभएको ह्वाइट हाउसले बताएको छ ।

इरानले हानियाको हत्याको आरोप इजरायलमाथि लगाएको छ । इजरायलले भने आक्रमणका बारेमा प्रत्यक्षरूपमा कुनै टिप्पणी गरेको छैन । हानियाको हत्या बेरुतमा इजरायली आक्रमणमा हिजबुल्लाहका सैन्य प्रमुख फुआद शुक्रको मृत्यु भएको केही घन्टापछि भएको थियो ।

अमेरिकी समाचार साइट एक्सियोसका अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले आइतबार एक कन्फरेन्स कलमा जि ७ मुलुकका आफ्ना समकक्षीहरूलाई हिजबुल्लाह र इरानबीच संयुक्त रूपमा हुनसक्ने अपेक्षा गरिएको कुनै पनि आक्रमण २४ देखि ४८ घन्टाभित्र हुनसक्ने बताउनुभएको थियो ।

संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा तत्काल तनाव कम गर्न आह्वान

मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त भोल्कर टर्कले सोमबार गाजा युद्ध फैलिने डरले मध्यपूर्वमा तत्काल तनाव कम गर्न आह्वान गर्नुभएको छ ।

“म मध्यपूर्वमा व्यापक द्वन्द्वको बढ्दो जोखिमप्रति अत्यन्त चिन्तित छु र प्रभावशाली राज्यहरूसहित सबै पक्षलाई अत्यन्तै अनिश्चित अवस्था बनेको छ भनेर तुरुन्तै कदम चाल्न आग्रह गर्दछु”, टर्कले भन्नुभयो ।

इरानले सोमबार तेहरानमा प्यालेस्टिनी सशस्त्र समूह हमासका राजनीतिक नेता इस्माइल हानियाको गत हप्ता भएको हत्यामा इजरायललाई दण्ड दिने ‘कानूनी अधिकार’ रहेको बताएको छ ।

हानियाको हत्याबारे इजरायलले कुनै टिप्पणी गरेको छैन तर बेरुतमा आक्रमण गरेको स्वीकार गरेको छ । बेरुतमा भएको आक्रमणमा हिजबुल्लाहका सैन्य प्रमुख फुआद शुक्रको मृत्यु भएका थियो । अहिले इजरायल र लेबनानमा हिजबुल्लाहबीच दैनिक सीमापार गोलीबारी भइरहेको छ ।

“पहिले नै, विगत १० महिनामा अधिकांश महिला र बालबालिकाहरूले बम र बन्दुकका कारण असहनीय पीडा सहेका छन्”, टर्कले भन्नुभयो, “यो स्थितिलाई रसातलमा जानबाट रोक्न सबैथोक गरिनुपर्छ ।”

कृषिमा प्रविधि हस्तान्तरण आवश्यकः मन्त्री अधिकारी

काठमाडौँ – कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको विविधीकरण, प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धिमार्फत उत्पादकत्व बढाउन सरकार र संयुक्त राष्ट्रसङ्घ, खाद्य र कृषि सङ्गठन (एफएओ)बीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

==मन्त्रालयमा संयुक्त राष्ट्रसङ्घका खाद्य तथा कृषि सङ्गठनका नेपाल प्रतिनिधि केन सिमिजुसँग भएको भेटमा उहाँले एफएओ लामो समयदेखिको विकास साझेदार रहेको उल्लेख गर्नुभयो ।

मन्त्री अधिकारीले भविष्यमा नेपालले पहाडी क्षेत्रमा सिँचाइ प्रणालीको सुदृढीकरण, रासायनिक मल उद्योग स्थापना, परम्परागत बीउबिजनमा सुधार, जलवायु अनुकूल कृषि प्रणालीलाई प्रवद्र्धन र प्राविधिक ज्ञान हस्तान्तरण गर्ने लगायतका क्षेत्रमा थप सहकार्य गर्न सकिने धारणा व्यक्त गर्नुभयो । यसबाट ग्रामीण क्षेत्रको परम्परागत कृषि प्रणालीको ढाँचामा सुधार ल्याउन र घरेलु उत्पादन बढाउन मद्दत पुग्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

“एफएओ हाम्रो विकास यात्रामा पनि एक महत्वपूर्ण साझेदार रहिआएको छ, एफएओले सन् २०१५ पछि पोषण र खाद्यसुरक्षा मूल प्रवाहीकरणका लागि वकालत गर्न भूमिका खेलेको छ”, मन्त्री अधिकारीले भन्नुभयो, “क्षमता अभिवृद्वि, संस्थागत विकास, खाद्य तथा पोषण सुरक्षा, गरिबी निवारण र ग्रामीण विकासजस्ता कृषि क्षेत्रका केही महत्वपूर्ण आवश्यकता र तत्कालीनदेखि दीर्घकालीन प्राथमिकतालाई विभिन्न परियोजनामार्फत सम्बोधन गर्न एफएओको सहयोगको हामी कदर गर्छौं ।”

मन्त्री अधिकारीले नेपाल कन्ट्री प्रोग्रामिङ फ्रेमवर्क (सिपिएफ)अन्तर्गत रही एफएओले गरेको सहयोगात्मक प्रयासको सराहना गर्दै आभार व्यक्त गर्नुभयो । यो लगानीले खाद्य र पोषण सुरक्षा, दिगो प्राकृतिक स्रोत व्यवस्थापन, जलवायु उत्थनाशीलताको निर्माण, आपत्कालीन अवस्थाको तयारी एवं ग्रामीण महिलाको आर्थिक उत्थान र सवलीकरणमा योगदान पुग्ने उहाँको भनाइ थियो ।

“आगामी दिनमा नेपाल र एफएओबीचको कार्यगत सम्बन्ध अझ प्रगाढ हुनेछ र नेपाल र एफएओ कन्ट्री टिमबीचको निरन्तर सहकार्यले अझ उत्कृष्ट परिणाम दिनेछ”, मन्त्री अधिकारीले भन्नुभयो । उहाँले विश्वमा जलवायु परिवर्तनका कारण ठूलो असर परेकाले जलवायु–उत्थानशील कृषि तथा खाद्य प्रणालीको विकास गर्न एफएओले भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।

नेपाल सरकारले आर्थिक वर्ष २०८१/८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारको लगानी वृद्धि गर्ने लक्ष्य लिएको छ ।

‘बाघको आक्रमणबाट घाइते भएका श्रेष्ठको उपचारमा प्रदेश सरकारले सहयोग गर्छ’

मुग्लिन (चितवन), २१ साउन : बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले बाघको आक्रमणबाट घाइते हुनुभएका चितवनका ६० वर्षीय पशुपति श्रेष्ठको उपचारमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आइतबार भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा हिँडिरहेका समयमा बाघको आक्रमणमा परी घाइते हुनुभएको श्रेष्ठको अवस्था बुझ्न आज अस्पताल पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो ।

हाल चितवन मेडिकल कलेजमा उहाँको उपचार भइरहेको छ । श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्नुहुँदै मन्त्री सिलवालले स्वास्थ्य लाभको कामनासहित बिरामीको अवस्थाबारे चिकित्सक र परिवारसँग बुझ्नुभएको थियो । उहाँले बिरामीको उपचारमा कुनै कमी हुन नदिन आग्रह गर्नुहुँदै केही समस्या भएमा मन्त्रालय सहयोग गर्न तयार रहेको बताउनुभयो । श्रेष्ठलाई आक्रमण गरी घाइते बनाएको बाघलाई निकुञ्जको टोलीले आइतबार राति नै नियन्त्रणमा लिइसकेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री शाहद्वारा पदबहाली

सुदूरपश्चिम, २१ साउनः सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पदबहाली गर्नुभएको छ । पदबहाली गर्दै उहाँले प्रदेशमा बजेट शून्यताको अवस्था चाँडै अन्त्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, “बजेट शून्यताको अन्त्य गर्न सचिवहरुसँग छलफल गरेर राजस्व सङ्कलन र दैनिक खर्चको निकास छिट्टै दिन्छौँ ।” आर्थिक वर्ष २०८१/८२का लागि प्रदेशसभामा प्रस्तुत बजेटमाथि छलफल गरेर पारित गर्नमा भएको ढिलाइ भएपछि प्रदेशमा यही साउन १ गतेबाट बजेट शून्यताको अवस्था छ ।

मुख्यमन्त्री शाहले प्रदेश सरकार मातहतका निकायमा वित्तीय अनुशासन, सुशासन प्रबर्द्धन र भ्रष्टाचार न्यूनीकरणका लागि अध्ययन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा एक कार्यदल गठन गर्नुभएको छ । कार्यदललाई १५ दिनभित्र प्रतिवेदन पेस गर्नुपर्ने गरी जिम्मेवारी दिइएको छ ।

यसैगरी प्रदेशका सरकारी अस्पतालमा बिरामीलाई आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउने निर्णय पनि उहाँले गर्नुभएको छ । यसका लागि नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा निःशुल्क ‘ब्लड बैंक’ सञ्चालन र व्यवस्थापनका लागि अध्ययन गरी सोको कार्यान्वयनका लागि आवश्यक निर्णय गर्न सामाजिक विकास मन्त्रालय निर्देशन दिने निर्णय गरिएको छ ।

उहाँले प्रदेशका नागरिकको विपद् जोखिम दुर्घटना बीमा गर्ने निर्णय गर्नुभएको जनाइएको छ । कार्यक्रम सञ्चलनका लागि अध्ययन गरी आवश्यक निर्णय गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालय निर्देशन दिने निर्णय गरिएको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता एवं नवनियुक्त मुख्यमन्त्री शाहको सिफारिसमा नेपालको संविधानको धारा १६८को उपधारा(९)बमोजिम प्रदेश प्रमुख नजिर मियाँले आजै प्रदेशको मन्त्रिपरिषद् गठन र कार्यविभाजन गर्नुभएको छ ।

मन्त्रिपरिषद्को गठन र कार्यविभाजनअनुसार बहादुरसिंह थापाले आर्थिक मामिला, सुरेन्द्रबहादुर पालले भौतिक पूर्वाधार विकास र मेघराज खड्काले सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।

यस्तै लक्ष्मणकिशोर चौधरी उद्योग, पर्यटन, वन, तथा वातावारण मन्त्री, हीरा सार्की आन्तरिक मामिला तथा कानुन मन्त्री र वीरबहादुर थापा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त हुनुभएको छ । प्रकाश बहादुर बम आर्थिक मामिला, सरस्वती खड्का सामाजिक विकास र निर्मला साउद भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।

आर्थिक मामिला मन्त्री थापा र समाजिक विकास मन्त्री खड्का, राज्यमन्त्रीहरु प्रकाशबहादुर बम र सरस्वती खड्का कांग्रेसका सांसद हुनुहुन्छ । भौतिक पूर्वाधार विकास मन्त्री पाल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री थापा र आन्तरिक मामिला तथा कानुन मन्त्री सार्की एमालेका सांसद हुनुहुन्छ ।

उद्योग पर्यटन, वन तथा वातावरणमा नियुक्त चौधरी नागरिक उन्मुक्ति पार्टीका सांसद हुनुहुन्छ भने राज्यमन्त्रीमा नियुक्त निर्मला साउद एमालेकी सांसद हुनुहुन्छ ।प्रदेश प्रमुख मियाँले नवनियुक्त मुख्यमन्त्री र मन्त्रीलाई छुट्टाछुट्टै रुपमा पद तथा गोपनीयताको सपथ गराउनु भयो । सोही समारोहमा मुख्यमन्त्री शाहले नवनियुक्त राज्यमन्त्रीलाई पद तथा गोपनीयताको सपथ गराउनुभयो ।

नेपालको संविधानको धारा १६८को उपधारा (२) बमोजिम आइतबार नेकपा (एमाले) सहितका दलको समर्थनमा शाह प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँ दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त हुनु भएको हो ।

प्रदेशसभामा नेपाली कांग्रेसका १८, नेपाल कम्युनिष्ट पार्टी(एमाले)का ११, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सभामुख बाहेक १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का चार, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक र एकजना स्वतन्त्र सदस्य हुनुहुन्छ ।

जनतालाई अझ बढी अधिकार सम्पन्न बनाउनेगरी संविधान संशोधन गर्न सकिन्छ : अध्यक्ष प्रचण्ड

मोरङ, २१ साउन : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई अझ अधिकार सम्पन्न गर्नेगरी संविधान संशोधन गर्न सकिने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज बेलुकी सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले जनताले अहिलेसम्म प्राप्त गरेका उपलब्धिमा टेकेर उत्पीडित जाति, क्षेत्र र समुदायलाई अझ बढी अधिकार सम्पन्न बनाउनेगरी संविधान संशोधन गर्न सकिने प्रष्ट पार्नुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “संविधान संशोधनमार्फत जनताले प्राप्त गरेको समावेशी, समानुपातिकको अधिकार कटौती भएमा सडकमा गएर प्रतिवाद गर्ने छौँ ।” उहाँले पूर्ण समानुपातिक प्रणाली नेपाल जस्तो बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक देशमा उपयुक्त हुने विचार व्यक्त गर्नुभयो ।

प्रचण्डले भन्नुभयो, “पार्टीको मान्यता प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्छ पर्छ भन्ने अहिले पनि कायम रहेको छ ।” उहाँले उद्यमीहरूसँग विद्युत्को बाँकी रहेको राज्यको अर्बौं रकम छुट दिने चलखेल नगर्न सरकारलाई आग्रह गर्नुभयो ।

प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहनुभएका अध्यक्ष दाहालले प्रतिनिधिसभा र लेखासमितिमा यस सम्बन्धमा आफ्ना सांसदहरूले सशक्त रुपमा कुरा राखेको जानकारी दिनुभयो । लेखासमितिको सभापति विगतदेखि प्रतिपक्षीलाई दिने परम्परा रहेको उल्लेख गर्दै उहाँले माओवादी अहिले प्रमुख प्रतिपक्षी भएकाले सभापति दिनुपर्छ र यसलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ भन्नुभयो ।

यही साउन ३२ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बुलाकी’ को ट्रेलर सार्वजनिक

काठमाडौं । यही साउन ३२ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बुलाकी’ को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच निर्माण कम्पनि छत्रेश्वरी म्यानेजमेन्ट प्रालीले फिल्मको ट्रेलर रिलिज गरेको हो ।

एकसाथ धेरै फिल्म रिलिज हुँदा गतवर्ष प्रदर्शनको दोस्रो दिनमा नै निर्माताले यो फिल्मलाई अर्को मितिमा प्रदर्शनमा ल्याउने बाचासहित हलबाट बाहिर निकालेका थिए । फिल्मको सार्वजनिक ट्रेलरमा कर्णाली तथा सुदूरपश्चिम क्षेत्रमा विद्धमान जारीप्रथाको यथार्थ सामाजिक परिवेशलाई जोडिएको छ । ट्रेलरले फिल्मलाई नारीप्रधान बुझाउँछ ।

राजबहादुर सानेको कथा र लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्ममा अभिनेत्री सुरक्षा पन्त, अभिनेताद्वय नरेन खड्का र विराज विष्टसँगै नव कलाकार सरस्वती खत्री प्रमुख अभिनयमा छन् । ट्रेलर हेरोसकेपछि कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवम् नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले ‘कर्णालीमा मूल गहना मानिने बुलाकीलाई आधार मानेर तयार गरिएको फिल्मले स्थानीय सभ्यता र संस्कृतिलाई उजागर गरेको प्रतिक्रिया दिए ।

बुलाकी कर्णाली र देशकै गहना रहेको भन्दै खड्काले यसको छुट्टै सांस्कृतिक महत्व रहेको बताए । ‘यो फिल्मले संस्कृती, संस्कार रितिरिवाज बोकेको पाएँ, कर्णाली नेपाली कलासंस्कृतिसँगै नेपाली भाषाकै जननी स्थल हो, यो प्रकारको कथा उथान गरेको फिल्मलाई सबैले साथ र सहयोग गरेर सफल बनाउन आग्रह गर्दछु’, खड्काले भने । कलाकारहरूको भुमिका प्रशंसनीय भन्दै अभिनेत्री सुरक्षा पन्तको तारिफ गरे ।

समाजका विभिन्न विधामा परिचीत अनुहार मात्र खोज्ने प्रवृत्ति बढेको भन्दै खड्काले नयाँ कलाकार हुने फिल्म पनि राम्रो हुनसक्ने भन्दै स्टार र स्टारडमको मात्र पछि नलाग्न कटाक्ष गरे । अभिनेत्री पन्तले लड्ने मान्छे उठेर हिड्दा मात्र सफलता सम्भव हुने भन्दै ‘बुलाकी’को यो दोस्रो इनिङ सफल हुने अपेक्षा राखिन् ।

शिव ढकालको छायांकन रहेको फिल्ममा लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलद्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाइ लगायतका कलाकारको अभिनय छ । यो फिल्मलाई काठमाडौंमा रीच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनिले वितरणको जिम्मा लिएको छ ।

मधेस प्रदेश सरकारले साक्षरता दर बढाउन विभिन्न विश्वविद्यालयसँग साझेदारी गर्ने

जनकपुर, २१ साउनः मधेस प्रदेश सरकारले प्रदेशको साक्षरता दर बढाउन विभिन्न विश्वविद्यालयसँग साझेदारी गर्ने तयारी गरेको छ । यसका लागि मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामस्थित राजर्षी जनक विश्वविद्यालयका पदाधिकारी र अन्य सरोकार भएकासँग पनि छलफल प्रारम्भ गर्नुभएको मुख्यमन्त्री सिंहको सचिवालयले जनाएको छ ।

गरिबी र अन्य समस्याका कारण शिक्षाबाट वञ्चित व्यक्तिलाई शिक्षाको पहुँचमा ल्याउन आवश्यक सहकार्यसहित अगाडि बढ्नुपर्नेमा मुख्यमन्त्री सिंहको जोड छ । “यहाँ अन्य प्रदेशको तुलनामा साक्षरता दर कम छ । त्यसैले साक्षरता अभियानलाई तीव्र तथा सघन रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता छ । सरकारी तथा गैरसरकारी क्षेत्रसँग उपलब्ध जनशक्ति त्यसका लागि पर्याप्त हुँदैनन् । त्यसैले विश्वविद्यालयका विद्यार्थीलाई स्वयंसेवकका रूपमा परिचालन गरेर अगाडि बढ्न सकिन्छ । त्यसका लागि प्रारम्भिक छलफल आरम्भ गरेका छौँ”, मुख्यमन्त्रीलाई उद्धृत गर्दै सचिवालयले भनेको छ ।  

पछिल्लोे जनगणनाअनुसार मधेस प्रदेशमा सातै प्रदेशमध्ये सबैभन्दा कम ६३ दशमलव ५ प्रतिशत साक्षरता दर रहेको छ । देशमैै सबैभन्दा कम साक्षरता भएका जिल्लामध्ये मधेस प्रदेशकै रौतहट, महोत्तरी, सर्लाही र बारा छन् । 

सेवाको गुणस्तर थप सुधार गर्न महानिरीक्षक कुँवरको निर्देशन

काठमाडौँ, २१ साउन : प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सेवाको गुणस्तर सुधार गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा आज कर्मचारीलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक कुँवरले मनसुनजन्य तथा अन्य प्राकृतिक प्रकोपका घटनाको उद्धारलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको हो ।

सडक दुर्घटना न्यूनीकरण तथा जनचेतना फैलाउन विभिन्न सरोकारवाला निकाय, स्थानीय तह तथा नागरिक समाजसँग समन्वय गरेर प्रभावकारी ढङ्गले परिचालन हुन र मातहतलाई परिचालन गराउन सक्रियता बढाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले लागुऔषधको बढ्दो ओसारपसार र प्रयोग नियन्त्रण, सीमावर्ती अपराध नियन्त्रण, तस्करी नियन्त्रण, राजस्व चुहावट नियन्त्रण, बैंकिङ कसुरलगायत आर्थिक अपराधहरूको नियन्त्रण गर्न उपलब्ध साधनस्रोतको अधिकतम प्रयोग गरी सकारात्मक नतिजा आउने गरी काम गर्न पनि आग्रह गर्नुभयो ।

अपराध अनुसन्धानको क्रममा घटनाको गहनता बुझेर प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने अपराधमा विशेष संवेदनशील भई कार्य गर्न पनि उहाँले निर्देशन दिनुभयो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय, सात वटै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय, प्रदेश तालिम केन्द्र, नेपाल प्रहरी राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालय, जिल्ला प्रहरी परिसर, जिल्ला प्रहरी कार्यालय, विभिन्न गणका प्रमुख तथा प्रतिनिधिको भर्चुअल उपस्थिति रहेको थियो ।

चार हजार छ सय ४५ मिटर उचाइमा गल्फ प्रतियोगिता

म्याग्दी, २१ साउन : समुन्द्रि सतहदेखि चार हजार छ सय ४५ मिटर उचाइमा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा गल्फ प्रतियोगिताको आयोजना गरिएको छ । लोवथाङमा हुने गल्फ प्रतियोगितालाई विश्वकै उच्च स्थानको दाबी गरिएको छ । यसअघि लोमान्थाङ गाउँपालिकाले त्यहाँ दुई पटक गल्फ प्रतियोगिता आयोजना गरिएको थियो ।

आगामी भदौ १ गते हुन लागेको तेस्रो संस्करणको प्रतियोगितामा ६० जना खेलाडीले सहभागिता जनाउने मुस्ताङ गल्फ कोर्सका प्रबन्ध निर्देशक इन्द्रधारा विष्टले जानकारी दिनुभयो ।

खेलकुदको माध्यमबाट पर्यटन विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो । “उच्च उचाइको कारणले, प्रतियोगिता नौ होलमा स्टेबलफोर्ड ढाँचामा खेलाउँछौँ”, उहाँले भन्नुभयो, “विजेता, उपविजेता, बेस्ट ग्रस, लेडी विजेता, क्लोजेस्ट टु द पिन र लङेस्ट ड्राइभका लागि पनि पुरस्कार प्रदान गरिनेछ ।”

प्रतियोगितालाई अन्तर्राष्ट्रियस्तरको बनाउने उद्देश्यका साथ १५ जना भारतीय खेलाडीलाई पनि निमन्त्रण गरिएको छ । होल नम्बर ३ मा होल इन वन गर्ने कुनै पनि खेलाडीलाई याक पुरस्कार प्रदान गरिने विष्टले बताउनुभयो ।

गल्फ प्रतियोगितामा याक पुरस्कार दिने अनौठो र चाख लाग्दो अभ्यास गर्न लागेको विष्टले बताउनुभयो । प्रतियोगिता सञ्चालन गर्न रु सात लाख खर्च हुने अनुमान गरिएको छ । दुई वर्षअघि निर्माण भएको सो खेलमैदानलाई विश्वकै उच्च स्थानको गल्फ कोर्सको रुपमा गिनिज बुकमा अभिलेख दर्ता गराउने उद्देश्यसहित यसअघि सन् २०२२ र २०२३ को अगस्टमा पनि प्रतियोगिता सञ्चालन गरिएको थियो ।

यसअघि भारतको सिक्किममा तीन हजार नौ सय ७० मिटर उचाइमा रहेको याक गल्फ कोर्षलाई सर्वाधिक उचाइको गल्फ कोर्ष मान्ने गरिएको थियो । लोवाथाङ गाउँपालिकाको केन्द्र लोमान्थाङ बजारदेखि पश्चिम डोल्पा जाने बाटोमा पर्छ । त्यहासम्म पुग्न सडक समेत विस्तार भईसकेको छ । करिब तीन किलोमिटर फराकिलो समथर खुला क्षेत्रमा घाँसे मैदानमा गल्फ खेलका लागि मैदान बनाइएको छ ।

गल्फका लागि टि बक्स, फेयर वे र ग्रिन, फ्रन्ट लाइन र ब्याक लाइनको टिबक्सलगायत संरचना बनाइएको छ । गल्फ खेलमैदान पुग्न लोमान्थाङबाट १२ किलोमिटर सडक यात्रा गर्नुपर्छ । सवारीसाधनमा लोमान्थाङबाट ३० मिनेटमा पुग्न सकिन्छ ।