`

चार हजार छ सय ४५ मिटर उचाइमा गल्फ प्रतियोगिता

म्याग्दी, २१ साउन : समुन्द्रि सतहदेखि चार हजार छ सय ४५ मिटर उचाइमा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा गल्फ प्रतियोगिताको आयोजना गरिएको छ । लोवथाङमा हुने गल्फ प्रतियोगितालाई विश्वकै उच्च स्थानको दाबी गरिएको छ । यसअघि लोमान्थाङ गाउँपालिकाले त्यहाँ दुई पटक गल्फ प्रतियोगिता आयोजना गरिएको थियो ।

आगामी भदौ १ गते हुन लागेको तेस्रो संस्करणको प्रतियोगितामा ६० जना खेलाडीले सहभागिता जनाउने मुस्ताङ गल्फ कोर्सका प्रबन्ध निर्देशक इन्द्रधारा विष्टले जानकारी दिनुभयो ।

खेलकुदको माध्यमबाट पर्यटन विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो । “उच्च उचाइको कारणले, प्रतियोगिता नौ होलमा स्टेबलफोर्ड ढाँचामा खेलाउँछौँ”, उहाँले भन्नुभयो, “विजेता, उपविजेता, बेस्ट ग्रस, लेडी विजेता, क्लोजेस्ट टु द पिन र लङेस्ट ड्राइभका लागि पनि पुरस्कार प्रदान गरिनेछ ।”

प्रतियोगितालाई अन्तर्राष्ट्रियस्तरको बनाउने उद्देश्यका साथ १५ जना भारतीय खेलाडीलाई पनि निमन्त्रण गरिएको छ । होल नम्बर ३ मा होल इन वन गर्ने कुनै पनि खेलाडीलाई याक पुरस्कार प्रदान गरिने विष्टले बताउनुभयो ।

गल्फ प्रतियोगितामा याक पुरस्कार दिने अनौठो र चाख लाग्दो अभ्यास गर्न लागेको विष्टले बताउनुभयो । प्रतियोगिता सञ्चालन गर्न रु सात लाख खर्च हुने अनुमान गरिएको छ । दुई वर्षअघि निर्माण भएको सो खेलमैदानलाई विश्वकै उच्च स्थानको गल्फ कोर्सको रुपमा गिनिज बुकमा अभिलेख दर्ता गराउने उद्देश्यसहित यसअघि सन् २०२२ र २०२३ को अगस्टमा पनि प्रतियोगिता सञ्चालन गरिएको थियो ।

यसअघि भारतको सिक्किममा तीन हजार नौ सय ७० मिटर उचाइमा रहेको याक गल्फ कोर्षलाई सर्वाधिक उचाइको गल्फ कोर्ष मान्ने गरिएको थियो । लोवाथाङ गाउँपालिकाको केन्द्र लोमान्थाङ बजारदेखि पश्चिम डोल्पा जाने बाटोमा पर्छ । त्यहासम्म पुग्न सडक समेत विस्तार भईसकेको छ । करिब तीन किलोमिटर फराकिलो समथर खुला क्षेत्रमा घाँसे मैदानमा गल्फ खेलका लागि मैदान बनाइएको छ ।

गल्फका लागि टि बक्स, फेयर वे र ग्रिन, फ्रन्ट लाइन र ब्याक लाइनको टिबक्सलगायत संरचना बनाइएको छ । गल्फ खेलमैदान पुग्न लोमान्थाङबाट १२ किलोमिटर सडक यात्रा गर्नुपर्छ । सवारीसाधनमा लोमान्थाङबाट ३० मिनेटमा पुग्न सकिन्छ ।

तेस्रो मुलुकका पर्यटकलाई गड्डाचौकी नाकाबाट भारत प्रवेश खुला

दोधारा चाँदनी (कञ्चनपुर), २१ साउन : कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारत प्रवेशका लागि तेस्रो मुलुकका पर्यटकलाई खुला गरिएको छ । कोरोना सङ्क्रमणका बेला भारतले तेस्रो मुलुकका नागरिकलाई गड्डाचौकी नाकाबाट प्रवेशमा रोक लगाएको थियो ।

अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार गत मङ्गलबारदेखि सीमावर्ती बजार वनबासमा रहेको अध्यगमन कार्यालयले विदेशी पर्यटकलाई यो नाकाबाट प्रवेश अनुमति दिएको हो । यसअघि यो नाकाबाट विदेशी पर्यटक नेपाल भित्रिन मात्रै सक्थे भने यही नाकाबाट फर्किन पाउँदैनथे । आवागमन खुला भएपछि सात जना पर्यटक यो नाका भएर भारत प्रवेश गरेको अध्यगमन कार्यालय गड्डाचौकीका प्रमुख पदमराज भट्टले जानकारी दिनुभयो ।

“भारतको उत्तराखण्डका विभिन्न पर्यटकीयस्थलमा पुग्ने तेस्रो मुलुकका पर्यटक नेपालमा पनि घुम्न आउँछन्,” भट्टले भन्नुभयो, “कोरोनापछि भारतले यो नाकाबाट बाहिरिन दिने तर भित्रिन नदिने गरेका कारण तेस्रो मुलुकका पर्यटक नेपाल आउन बन्द भयो ।”

भारतीय अध्यगमन कार्यालयले विदेशी पर्यटकलाई आगमन अनुमति दिन थालेपछि यहाँका पर्यटन व्यवसायी उत्साही भएका छन् । “नजिकको दुरीमा रहेका ऋषिकेश, बद्रीनाथ र केदारनाथलगायत पर्यटकीय क्षेत्रमा पुग्ने पर्यटक नेपालमा पनि आउँछन् ।” यहाँका पर्यटन व्यवसायी जगदीशचन्द्र भट्टले भन्नुभयो, “यो हाम्रा लागि खुसीको कुरा हो । अब पक्कै पनि यहाँ आउने तेस्रो मुलुकका पर्यटक बढ्ने छन् ।” यसअघि भारतले भैरहवा नाकाबाट मात्रै विदेशी पर्यटकलाई प्रवेश अनुमति दिएको थियो ।

भारतकी राष्ट्रपति मुर्मू वैदेशिक भ्रमणमा

भारतीय राष्ट्रपति द्रौपदी मुर्मू तीन राष्ट्रको भ्रमणको क्रममा सोमबार फिजी पुग्नुभएको छ । राष्ट्रपति मुर्मू उहाँका फिजीका समकक्षी रतु विलियाम मैवालिली काटोनिभेरेको निमन्त्रणामा तय भएको राजकीय भ्रमणका क्रममा फिजी पुग्नुभएको हो । फिजीमा रहँदा उहाँले फिजीका समकक्षी काटोनिभेरे र प्रधानमन्त्री सिटिभेनी राबुकासँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

अगष्ट ५–६ को फिजी भ्रमणपछि उहाँ न्युजिल्यान्ड र टिमोरको लेस्टी भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

फिजीमा राष्ट्रपति मुर्मूले त्यहाँको संसदलाई सम्बोधन गर्ने र प्रवासी भारतीयसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

भ्रमणको दोस्रो चरणमा राष्ट्रपति मुर्मु न्युजिल्यान्डका गभर्नर जनरल सिन्डी किरोको निमन्त्रणामा अगस्ट ७ देखि ९ सम्म न्युजिल्यान्डको भ्रमण गर्नुहुनेछ । न्युजिल्यान्ड भ्रमणको क्रममा राष्ट्रपति मुर्मूले द्विपक्षीय बैठक तथा भेटवार्ता गर्ने कार्यक्रम छ । न्युजिल्यान्डमा राष्ट्रपति मुर्मूले शैक्षिक सम्मेलनलाई सम्बोधन गर्ने र भारतीय समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ ।

भ्रमणको अन्तिम चरणमा, राष्ट्रपति मुर्मुले टिमोर लेस्टीका राष्ट्रपति जोस रामोस–होर्टाको निमन्त्रणामा तिमोर लेस्टीको यात्रा गर्नुहुनेछ । उहाँले टिमोर लेस्टीका प्रधानमन्त्री जानाना गुस्माओसँग पनि भेटवार्ता गर्नुहुनेछ ।

राष्ट्रपति मुर्मुको फिजी, न्युजिल्यान्ड र तिमोर–लेस्टीको भ्रमणले ती देशहरूसँगको द्विपक्षीय सम्बन्धमा भारतले दिएकोे महत्त्वलाई जोड दिने र प्रधानमन्त्री नरेन्द्र मोदीले दस वर्षअघि नवौँ पूर्वी एसिया शिखर सम्मेलनमा घोषणा गरेको ‘एक्ट इस्ट’ नीतिमा केन्द्रित रहने जनाइएको छ ।

भारत पुगिन् हसिना, हिन्डन एयरबेसमा अवतरण भयो विमान

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना सोमबार साँझ सि–१३० हरकुलस सैन्य यातायात विमानबाट नयाँदिल्ली नजिकैको हिन्डन एयरबेसमा उत्रिनुभएको छ ।विमानलाई भारतीय वायु सेनाको सि–१७ र सि–१३० जे सुपर हरकुलस विमान ह्याङ्गर नजिकै पार्क गरिने स्रोतहरूले बताएका छन् ।

भारतीय वायुसेना र सुरक्षा एजेन्सीहरूले भारतीय हवाई क्षेत्रमा प्रवेशदेखि लिएर गाजियाबादमा हिन्डन एयरबेससम्म विमानको आवागमनको निगरानी गरेका थिए ।

यद्यपि हसिना दिल्लीमा बस्नुहुन्छ वा अन्यत्र जानुहुन्छ भन्ने स्पष्ट छैन । बङ्गलादेशका मिडिया आउटलेटहरूले उहाँ लन्डन जान सक्नुहुने अनुमान गरेका छन् । 

स्रोतहरूका अनुसार बङ्गलादेशी सि–१३० विमान भारतीय हवाई क्षेत्रमा प्रवेश गरेलगत्तै भारतीय वायुसेनाको लडाकू विमान उडेको थियो र केही समयसम्म उक्त विमानको निगरानी गरेको थियो । भारतीय वायुसेना र भारतीय सेना कुनै पनि आकस्मिक अवस्थाको सामना गर्न तयार रहेको स्रोतले बताएको छ । 

यसवर्षको मनसुनजन्य विपद्बाट हालसम्म एक सय ५४ जनाको मृत्यु

काठमाडौँ, २१ साउन : यसवर्षको मनसुनजन्य विपद्बाट हालसम्म एक सय ५४ जनाको मृत्यु भएको छ । बाढी, पहिरालगायत विपद्बाट काठमाडौँ उपत्यकामा तीन, कोसीमा २५, मधेशमा छ, बागमतीमा ३०, गण्डकीमा ४३, लुम्बिनीमा २९, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

    विपद्मा परी ४७ जना बेपत्ता तथा एक सय ८६ जना घाइते भएका छन् । बाढीका कारण तीन सय ८४ घर डुबानमा परेका छन् । दुई सय ६१ घर, ९५ गोठ, ४३ पुल, दुई÷दुई वटा विद्यालय र सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ । गत जेठ २८ यता विपद्का घटनाबाट चार हजार दुई सय ३८ घर परिवार विस्थापित भएका छन् ।

विदेशमा बसेर महिलाको फेसबुक ह्याकगरी साइबर अपराध गर्ने व्यक्ति पक्राउ

काठमाडौँ, २१ साउन : विदेशमा बसेर महिलाको फेसबुक ह्याकगरी साइबर अपराध गर्ने एक व्यक्तिलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ । पक्राउपर्नेमा तनहुँ जिल्लाको घिरिङ गाउँपालिका–१ स्थायी घर भएका वर्ष ३५ का सन्दीप थापामगर रहेका छन् । उनी साइबर अपराध गर्दाका समयमा वैदेशिक रोजगारीको सिलसिलामा रोमानियामा रहेको खुलेको ब्युरोका उपनिर्देशक, प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिनुभयो ।

थापाले पीडितको फेसबुक ह्याकगरी उनको म्यासेञ्जरमा पीडित र उनका श्रीमान्बीच भएका कुराकानीलगायत सामग्री सङ्कलनपश्चात् नक्कली एकाउन्ट बनाइ ती म्यासेज पीडितका आफन्तका म्यासेन्जरमा पठाएर साइबर अपराध गरेका खुल्न आएको पनि उहाँले बताउनुभयो । 

सामाजिक सञ्जालबाट पीडितका आफन्तलाई त्यस्ता सन्देश पठाई ब्ल्याकमेलगरी मानसिक तनाव, दुःख हैरानी दिइ समाजमा पीडितको चरित्र हत्या हुने कार्य गरेको भन्दै ब्युरोमा परेको निवेदनका आधारमा प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा पुष्टि भएपछि उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक अवस्थीले बताउनुभयो ।

उनीमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्तागरी प्रहरी अनुसन्धानपश्चात् सजायको माग दाबीसहित जिल्ला अदालत काठमाडौँमा मिसिल पेस भएको थियो ।

मुद्दा विचाराधीन रहेकै अवस्थामा वैदेशिक रोजगारीमा रहेका प्रतिवादी थापा स्वदेश फर्कने क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको सहकार्यमा ब्युरोको टोलीले पक्राउगरी आज सार्वजनिक गरेको हो । उनलाई अदालती कारबाहीका लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको ब्युरोले आज जारी गरेको सूचनामा उल्लेख छ । 

पूर्वमन्त्री डा महतद्वारा आर्थिक साक्षरता अभियानको शुभारम्भ

काठमाडौँ, २१ साउनः पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले आज यहाँ आयोजित एक कार्यक्रममार्फत ‘आर्थिक साक्षरता अभियान’ शुभारम्भ गर्नुभएको छ । अक्ष ज्योति प्रालिकाे आयोजनामा सञ्चालित यस अभियानलाई मुलुकभर लैजान आवश्यक रहेको उहाँले धारणा व्यक्त गर्नुभयो ।

“युवाहरूलाई समग्र अर्थतन्त्रको विषयमा जानकारी गराउन यस्तो अभियान देशभर लैजान जरुरी छ”, उहाँले भन्नुभयो, “कानुनले दिएका कैयौँ सुविधाबारे युवाहरुलाई जानकारी गराउन अभियानले सहयोग पुग्नेमा मलाई विश्वास छ ।”

उहाँले विदेशमा पनि जीवन सजिलो नभएको उल्लेख गर्दै युवाहरूले स्वदेशमै भविष्य खोज्नुपर्नेमा जोड दिनुभयो । “मैले पनि अमेरिकामै रहेर अर्थशास्त्र विषयमा विद्यावारिधी गरेको थिएँ”, उहाँले भन्नुभयो, “विदेशमा बस्नेहरुले रिलमार्फत देखाए जस्तो सजिलो छैन । नेपालमै ठूलो सम्भावना छ ।”

आजको कार्यक्रममा ‘मौद्रिक नीतिले देशको आर्थिक विकासमा पार्ने प्रभाव’का विषयमा निबन्ध लेखन प्रतिस्पर्धा आयोजना गरिएको थियो । प्रतिस्पर्धामा सुमन समल मगर पहिलो, शिशिर लामिछाने दोस्रो र सुरक्षा कडेल तेस्रो भए । उनीहरुलाई प्रमुख अतिथी डा महतले ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार वितरण गर्नुभयो । 

अक्ष ज्योतिले अभियानअन्तर्गत आगामी दिनमा मुलुकका विभिन्न क्याम्पसका विद्यार्थी क्लबसँगको सहकार्यमा निबन्ध र वतृत्वकला प्रतियोगिता, उद्यमशीलतासम्बन्धी तालिम, प्रस्ताव लेखन कार्यशाला र ‘लेक्चर सिरिज’आयोजना गर्ने जनाएको छ । 

आजको कार्यक्रममा ‘स्टार्टअप र साना उद्यमीहरूको समस्याः वित्तीय पहुँचका लागि बैंकहरुसँग कसरी सम्पर्क गर्ने ?’ विषयमा राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति सदस्य अनलराज भट्टराई प्रशिक्षण दिनुभएको थियो । साथै ‘डिजिटल बैंकिङको वरदान र आशीर्वादः नियामकको तयारी र दृष्टिकोण’ विषयमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले प्रशिक्षण दिनुभयो ।

वीरगञ्जको आयुर्वेद चिकित्सालयमा एकै वर्षमा तीन गुणा बढी बिरामी

वीरगञ्ज (पर्सा), २१ साउन : प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय वीरगञ्जमा गत आर्थिक वर्षमा उपचार गर्ने बिरामीको सङ्ख्या अघिल्लो वर्षभन्दा तीन गुणाले वृद्धि भएको छ । कार्यालयले आर्युर्वेेद र वैकल्पिक चिकित्सासम्बन्धी विभिन्न रोगको सेवा थप गरेसँगै यहाँ बिरामीको सङ्ख्या बढेको हो । आव २०८०/८१ मा ५५ हजार एक सय ७६ जना बिरामीले उपचार गराएका छन् । जबकी आव २०७९/८० मा १७ हजार छ सय २९ जना बिरामीले उपचार गराएका थिए ।

चिकित्सालय प्रमुख डा शिवनारायणप्रसाद गुप्ताले कार्यालयले नयाँ सेवा थप गरेसँगै अघिल्लो वर्षको तुलनामा तीन गुणा धेरैले उपचार पाएको जानकारी दिनुभयो । ‘‘हामीले प्रदेश कार्यालयले तोकेका भन्दा धेरै खालका उपचार सेवा बिरामीलाई उपलब्ध गराउँदै आइरहेका छौँ, जसकारण आयुर्वेदतर्फ उपचार गराउनेको सङ्ख्यामा उल्लेखनीय मात्रामा बढोत्तरी भइरहेको छ । हामीले गुणस्तरीय उपचार सेवा दिएर नै बिरामीको सङ्ख्या बढेको हो’’, उहाँले भन्नुभयो ।

कार्यालय प्रमुख डा गुप्ताकानुसार अघिल्ला वर्षमा दैनिक १०–१५ जना बिरामी आउने गरेकामा हाल दैनिक ६० देखि ८० जनासम्म आउने गरेका छन् । यहाँ विशेष गरी जोर्नीसँग सम्बन्धित रोगका धेरै बिरामी उपचारका लागि आउने गर्छन् । ‘‘हाडजोर्नीको दीर्घकालीन समस्या भएका बिरामीका लागि आयुर्वेदसँग सम्बन्धित ‘मर्म थेरापी’ निकै प्रभावकारी देखिएको छ’’, प्रमुख डा गुप्ताले भन्नुभयो ।

चिकित्सालयले बहिरङ्ग सेवा, ज्येष्ठ नागरिकको लागि स्वास्थ्य प्रवर्द्धन सेवा, स्तनपायी आमा दूधवर्धक औषधि वितरण, योग, पञ्चकर्मअन्तर्गत पूर्वकर्म कार्यक्रम, ल्याब सेवा, क्षारसुत्र, क्षारकर्म, अग्निकर्म, जलौकावचरण (लिच थेरापी) र मर्म थेरापीलगायत सेवा दिइरहेको छ ।

कार्यालयकानुसार आव २०८०/८१ मा बहिरङ्ग सेवा लिने बिरामीको सङ्ख्या ४० हजार ७१ रहेको छ । ज्येष्ठ नागरिक सेवा लिनेको सङ्ख्या तीन हजार दुई सय ८८, स्तनपायी आमा सेवा लिने दुई सय ७४, पूर्वकर्म सेवा लिने चार हजार चार सय ६६, अग्निकर्म सेवा लिनेको सङ्ख्या पाँच सय ४३ जना रहेका छन् । जलौकावचरण (लिच थेरापी) सेवा लिनेका सङ्ख्या दुई सय २२ रहेको छ । यस्तै योग सेवा लिनेको सङ्ख्या चार हजार चार सय ७३, शिराभेद र अन्य सेवा लिनेको सङ्ख्या दुई हजार २६ र क्षारसूत्र सेवा लिने बिरामीको सङ्ख्या १३ रहेको छ ।

आव २०७९/८० मा भने बहिरङ्ग सेवा लिने बिरामीको सङ्ख्या १२ हजार नौ सय ९२ रहेको थियो । त्यस्तै स्तनपायी सेवा लिने बिरामीको सङ्ख्या दुई सय ६०, ज्येष्ठ नागरिक सेवाका बिरामीको सङ्ख्या एक हजार ३८, पूर्वकर्म÷पञ्चकर्म सेवा लिनेको सङ्ख्या दुई हजार छ सय ७७ र स्वास्थ्य शिविरमा उपचार सेवा लिने बिरामीको सङ्ख्या छ सय ६२ रहेको थियो ।

बिरामीको दर्ता अनलाइनमार्फत गरिरहेको चिकित्सालयमा पायल्स र फिस्टुलासम्बन्धी शल्यक्रिया पनि गर्दै आइरहेको जनाइएको छ । सोका लागि शय्या सेवा निशुल्क र शल्यक्रिया शुल्क सात हजार लाग्ने गरेको छ ।

हाल यहाँ स्वीकृत दरबन्दीमा सात कर्मचारीसहित १५ जना रहेका छन् । जसमा एक जना स्थायी चिकित्सक, दुई छात्रवृत्तिमा अध्ययनरत चिकित्सक र एक जना होमियोथेरापीको उपचार गराउने करार चिकित्सक रहेका छन् ।

मिडिया काउन्सिल विधेयकमाथि मङ्गलबार दफावार छलफल

काठमाडौँ, २१ साउन : राष्ट्रियसभाको विद्यायन व्यवस्थापन समितिमा मिडिया काउन्सिल विधेयकमाथि मङ्गलबार दफावार छलफल हुने भएको छ ।
आज बसेको बैठकमा काउन्सिलको अध्यक्ष र सिफारिस समितिको संयोजक कसलाई बनाउने भन्ने विषयमा प्रस्ट हुन नसकेपछि बैठक मङ्गलबार सरेको हो । समिति सभापति जयन्तीदेवी राईले असहमति हुँदै आएका विधेयकका केही बुँदामा एकरूपता ल्याउने प्रयास भइरहेको बताउनुभयो ।

“लगभग धेरै बुँदामा साझा सहमति बनिसकेको छ, अध्यक्ष र सिफारिस समितिको संयोजक राख्ने विषयमा प्रष्ट हुन सकिएको छैन । यस विषयमा पनि चाँडै टुङगोमा पुग्छौँ”, उहाँले भन्नुभयो । सांसद डा बेदुराम भुसाल, भगवती न्यौपाने, सुरेश आलेमगर, आनन्द प्रसाद ढुङ्गानालगायतले विधेयकमाथिको छलफलमा भाग लिनुभएको थियो ।

सहज रूपमा मानव अङ्ग प्रत्यारोपण गर्न पाउने व्यवस्था गर्न सांसद भण्डारीको माग

काठमाडौँ, २१ साउन : नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले सहज रुपमा मानव अङ्ग प्रत्यारोपण गर्न पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले मिर्गौला प्रत्यारोपण गर्न नपाएको कारण कीर्तिपुरका प्रमुखको निधन भएको र उपचारको अभावमा सङ्गीतकार गुरुदेव कामदको निधन हुनुभन्दा विडम्बनापूर्ण रहेको बताउनुभयो ।

उहाँले रोग लाग्नुभन्दा पहिले नै निदानको प्रबन्ध गर्न र हरेक विद्यालयमा योग शिक्षकको व्यवस्था गर्न गर्नुपर्ने बताउनुभयो । सांसद भण्डारीले शिक्षा प्रणालीमा देखिएको समस्या समाधान गर्न र आगामी दिनमा उत्पन्न हुनै नदिने प्रबन्ध गर्नैपर्ने उल्लेख गर्नुभयो । 

नदी किनार, पहिरो जाने स्थानमा लामो समयदेखि बस्दै आएका सुकुम्बासीलाई राजनीतिक पार्टीको रसिद थमाइएको तर उनीहरुको समस्या समाधान हुन नसकेको उल्लेख गर्दै उहाँले वास्तविक सुकुम्बासी पहिचान गर्नुपर्ने बताउनुभयो । उहाँले राजनीतिक स्थायित्व भएको खण्डमा मुलुक बन्ने स्पष्ट पार्नुभयो । 

सांसद अच्युतप्रसाद मैनालीले संविधानमा उल्लेख गरिएको मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि सबैको ध्यानाकर्षण गराउनुभयो । सांसद डा तोसिमा कार्कीले नेपाल रेडक्रस सोसाइटीमा मौलाएको अनियमितता पारदर्शी तवरले छानबिन गरेको उल्लेख गर्नुभयो । उहाँले रेडक्रसमा रगत सङ्कलन र भण्डारणमा समेत अनियमितता रहेको पाइएको भनेर छानबिन समितिले औँल्याएको बताउनुभयो । रेडक्रसका पदाधिकारी आर्थिक अनियमितता र भ्रष्टाचारमा संलग्न रहेको, रक्तसञ्चार भवन निर्माणमा भ्रष्टाचार भएको, भक्तपुरको जग्गा खरिदमा पनि उस्तै बेथिती रहेको पाइएको उहाँको भवन छ । मानवीय संस्थामाथि भ्रष्टाचारको प्रश्न उठ्नु आफैँमा दुःखद् रहेको सांसद कार्कीको भनाइ छ । 

सांसद प्रभु साहले बंगलादेशमा रहेका नेपालीको अवस्थाका बारेमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले बङ्गलादेशका रहेका नेपालीको अवस्थाका बारेमा सरकारलई रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराउनुभयो । 

सांसद रामकृष्ण यादवले अघिल्ला सरकारले गरेको गल्ती र कमजोरी वर्तमान सरकारले नदोहो¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले बजेट विनियोजनको अभावका कारण धनुषाका विभिन्न विकास निर्माणको काम प्रभावित भएको बताउनुभयो । 

सांसद दयालबहादुर शाहीले वर्तमान सरकार देश बनाउन बनेको उल्लेख गर्दै फाइल लुकाउन नभएको बताउनुभयो । स्वाधीन अर्थतन्त्रको विकासका लागि वर्तमान सरकार गठन भएको उल्लेख गर्दै उहाँले निष्ठाको राजनीतिका लागि दुई ठूला दल एकआपसमा मिलेको उल्लेख गर्नुभयो । 

सांसद चन्द्रबहादुर विश्वकर्माले रुकुमको चौरजहारीमा रहेको नहर मर्मतका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । बैंकमा रहेको पुँजी सहज र सरल रुपमा प्रवाह हुने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । 

सांसद लालप्रसाद सावा लिम्बूले विभिन्न देशमा रहेका नेपाली भाषीले आफ्नो पहिचानको खोजी गरिरहेको उल्लेख गर्दै नेपाल आउँदा सहज रुपमा प्रवेश गर्न पाउने व्यवस्था गर्न माग गर्नुभयो । 

सांसद वासुदेव घिमिरेले उद्योगी व्यवसायी मजदुर तथा किसान वर्तमान सरकार गठन भएपछि उत्साहित भएको उल्लेख गर्दै शेयर बजारमा देखिएको सकारात्मक परिवर्तन त्यसैको उपज भएको बताउनुभयो । उहाँले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको समाचारले स्थानीयवासी उत्साहित भएको स्पष्ट पार्नुभयो । 

सुरू गरेका काम सम्पन्न गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री कँडेल

कर्णाली, २१ साउन : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सुरू गरिएका काम सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको आज बसेको २६औँ बैठकलाई सम्बोधन गनुैहुँदै उहाँले समयमा काम हुँदैन भन्ने भाष्यको अन्त्य गरी थालिएका काम सकिएको विवरण दिने गरी सरकार अगाडि बढ्ने बताउनुभयो । मुख्यमन्त्री कँडेलले भन्नुभयो, “व्यवस्था बदलियो, संविधान निर्माण भयो । संविधान राम्रो हुँदा त्यसको सही कार्यान्वयन नहुँदा नागरिकले प्रत्याभूति गर्ने गरी काम भएको देखिदैन । यसतर्फ ध्यान दिनुपर्छ ।”

कर्णालीमा जनशक्तिको व्यवस्थापन र क्षमता अभिवृद्धि गर्नतर्फ सरकारको ध्यान गएको उल्लेख गर्नुहुँदै उहाँले प्रदेश लोकसेवा आयोगबाट जनशक्ति व्यवस्थापन गर्न विशेष सहजीकरण गर्ने बताउनुभयो । “जनशक्ति व्यवस्थापनमा समस्या छ, उपलब्ध जनशक्तिले पनि उत्साहित भएर काम गर्न सकेका छैनन् । त्यसैले काम गर्नेहरूले मुद्दा खेप्नुपर्ने अवस्था आउन नदिने, तोकिएको काम पूरा नगर्नेलाई जिम्मेवारी दिने, मूल्याङ्कनको परिपार्टीलाई व्यवस्थित बनाएर लैजाने पद्धति बसाल्ने र अब काम गर्दा समय मै भुक्तानी हुन्छ भन्ने मानक तयार गर्न मेरो जोड रहने छ”, मुख्यमन्त्री कँडेलको भनाइ थियो ।

कानुनी र नीतिगत प्रबन्धमार्फत आगामी योजना बनाइने भन्नुहुँदै उहाँले व्यवस्थित र पारदर्शी योजना छनोट गर्ने पद्धति बसाल्ने र विकास तथा समृद्धिका सपनालाई पूरा गर्न आवश्यक कानुन निर्माण गरिने प्रतिबद्धता व्उक्त गर्नुभयो । मुख्यमन्त्री कँडेलले संविधानले निर्धारित गरेका अधिकारका विषयमा दुवै तहसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्ने जनाउनुभयो । उहाँले अनियमित विद्युत्को समस्या समाधानका लागि कोहलपुर–सुर्खेतको १३२ केभी प्रसारणलाई व्यवस्थित बनाउन सहजीकरण गर्ने बताउनुभयो ।

‘बैंक खाता छोरीको सुरक्षा जीवन भरीको’ भन्ने सरकारको कार्यक्रमलाई नवीनतम ढङ्गले अगाडि बढाउने, विगतका योजनाबाट प्राप्त प्रतिफलमाथि समीक्षा, विकास नागरिकका लागि हो भन्ने बुझाइ निर्माण, विकासको माग मन्त्रालयमा नभई स्थानीय निकायमा जाने संस्कृतिको विकास र प्रदेश रणनीतिक महत्वका ठूला आयोजनाका लागि सङ्घीय सरकार तथा केन्द्रीय नेतृत्वसँग आवश्यक समन्वय र सहकार्य गर्ने उहाँको भनाइ छ ।

लेबनानमा नेपाली नागरिक सुरक्षित : परराष्ट्र मन्त्रालय

काठमाडौँ, २१ साउनः नेपाल सरकारले लेबनानमा विकसित पछिल्लो घटनाक्रमका सन्दर्भमा त्यहाँ रहनुभएका सम्पूर्ण नेपाली नागरिकको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ पूर्णरूपमा सचेत रहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले आज विज्ञप्तिमार्फत हालसम्म त्यहाँ रहेका नेपाली नागरिक सुरक्षित रहेको तथा उनीहरूको सहजताका लागि निरन्तर प्रयत्न भइरहेको जनाएको छ ।

तत्कालै थप कुनै सहयोग आवश्यकपरेमा लेबनानमा रहेका नेपाली नागरिक तथा उहाँहरूका आफन्तले कायरोस्थित नेपाली राजदूताबास तथा नेपाल सरकार, परराष्ट्र मन्त्रालयको सम्पर्क ठेगाना सार्वजनिक गरेको छ ।

मन्त्रालयले दीपक घिमिरे, द्वितीय सचिव, नेपाली राजदूतावास, कायरोः २०१०९७७७२३४८, श्रीकृष्ण सिलवाल, शाखा अधिकृत, परराष्ट्र मन्त्रालयः ९७७९८४९१७९५२० लाई सम्पर्क गर्न अनुरोध गरेको छ  

साथै लेबनानमा रहेका नेपालीको सूची अद्यावधिक तुल्याउने प्रयोजनका लागि नेपाली राजदूतावास, कायरोको वेबसाइटमा रहेको लिङ्क  https://eg.nepalembassy.gov.np/registration. of-nepali-nationals-in–lebahon/  मार्फत आवश्यक विवरण उपलब्ध गराउनुहुन लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई अनुरोध गरिएको छ ।

बङ्लादेशमा बाँकी विद्यार्थीको सुरक्षाका लागि परराष्ट्रमन्त्रीको निर्देशन

काठमाडौँ, २१ साउनः परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बङ्गलादेशमा जारी आन्दोलनका कारण त्यहाँ बाँकी रहेका नेपाली विद्यार्थीलाई पर्न सक्ने अप्ठ्यारोप्रति जानकार रही उहाँहरुको सुरक्षामा सक्रिय रुपमा लाग्न ढाकास्थित नेपाली दूताबासलाई निर्देशन दिनुभएको छ ।

मन्त्री डा राणाले ढाकास्थित नेपाली राजदूतसँग टेलिफोनमार्फत त्यहाँको पछिल्लो अवस्थाबारे आज जानकारी लिनुभएपछि त्यहाँ रहेका नेपालीहरुको आवश्यक सुरक्षा तथा सहयोगार्थ लाग्न सो निर्देशन दिनुभएको हो । 

त्यसअवसरमा बङ्गलादेशमा नेपाली विद्यार्थीलगायत सबै नेपाली नागरिक सुरक्षित रहेका बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले पनि जानकारी गराउनुभएको मन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्री डा राणाले धेरै नेपाली विद्यार्थी स्वदेश फर्किसकेको भए पनि त्यहाँ बाँकी रहेकाहरुको सुरक्षाका लागि उहाँहरुको सम्पर्कमा रहेर आवश्यक समन्वय गर्न दूताबासलाई निर्देशन दिनुभयो ।

ढाकास्थित नेपाली दूताबासले बङ्गलादेशमा अनिश्चितकालीन कफ्र्यु जारी गरिएकाले त्यहाँ रहेका सबै नेपालीलाई आफू रहेका स्थानमै सुरक्षित रहन र अधिकतम् सतर्कता अपनाउन आज सूचना जारी गरेको छ ।

सो सूचनामा बङ्गलादेशबाट अधिकांश विद्यार्थी स्वदेश फर्किसकेका र हाल त्यहाँ करिब चार सय विद्यार्थी रहेका र उनीहरु सुरक्षित रहेका जानकारी पनि दिइएको छ ।

सो सूचनामा नेपाल फर्कन चाहनेहरुले दूताबाससँग समन्वय गरी सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछि मात्र यात्रा गर्न आग्रह गर्दै आवश्यक समन्वयका लागि दूताबासको सम्पर्क ठेगाना पनि दिइएको मन्त्रालयले जनाएको छ ।

गोसाइँकुण्ड मेला व्यवस्थापन पूर्वतयारीसँगै निर्धक्क भई मेला भर्न अनुरोध

रसुवा, २१ साउनः गोसाइँकुण्ड मेला भर्ने श्रद्धालु भक्तजन तथा तीथयात्रुको यहाँ आउनेक्रम सुरु भएको छ । आगामी भदौ ३ गते जनैपूर्णिमाका दिन गोसाइँकुण्ड गई स्नान गर्ने क्रममा सदरमुकाम धुन्चेमा अहिले तीर्थयात्रु देखिन थालेका छन् । अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि सुरक्षा व्यवस्थासहित स्वास्थ्य सेवा, होटल प्रबन्धको व्यवस्था मिलाइको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले राससलाई जानकारी दिनुभयो ।

तीर्थयात्राका क्रममा बाटोमा पर्ने लौरीविनायकदेखि माथि ‘लेक’ लाग्नसक्ने सम्भावनालाई दृष्टिगत गरी नेपाली सेना, नेपाल प्रहरी र जनपथ प्रहरीलाई तैनाथी अवस्थमा राख्ने व्यवस्था मिलाइएको प्रजिअ खनालले बताउनुभयो । राज्यका तीनवटै सुरक्षा अङ्गले आवश्यक शान्तिसुरक्षासहित बिरामी परी समस्यामा परेका तीर्थयात्रीको  प्राथमिक उपचार गरी जिल्ला अस्पताल धुन्चेसम्म ल्याउने व्यवस्था मिलाइएको समेत उहाँले जानकारी दिनुभयो ।

यस वर्ष करिब १५ हजार भक्तजनले गोसाइँकुण्ड स्नान गर्ने अनुमानसहित आवश्यक तयारी गरिएको छ । भक्तजना एवं तीर्थयात्रीलाई आवश्यक सेवा दिन १३ उपसमिति गठन गरिएको गोसाइँकुण्ड विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिनुभयो । समुद्र सतहदेखि १४ हजार फिट उचाइमा अवस्थित पौराणिक धार्मिक तीर्थस्थल  गोसाइँकुण्ड स्नानका लागि भक्तजन आउने क्रम सुरु भएको अध्यक्ष डिएमले बताउनुभयो ।

जिन्दगीमा एकपटक भए पनि पवित्र तीर्थस्थल गोसाइँकुण्ड पुगी स्नान गर्ने धोको पूरा गर्न आउनुहुने श्रद्धालु भक्तजनलाई बाटोमा खानेबस्ने व्यवस्थाका लागि ठाउँठाउँमा होटल तयार भएको र आवश्यक खाद्यान्न जोहो गरिएको होटल व्यवसायी सङ्घ रसुवाका अध्यक्ष निसान गजुरेलले जानकारी दिनुभयो । प्रजिअ खनालका अनुसार यात्रुको उपचार व्यवस्थाका लागि धुन्चेदेखि गोसाइँकुण्डसम्म ठाउँठाउँमा स्वास्थ्य शिविरको व्यवस्था गरिने छ ।

भक्तजन एवं तीर्थयात्रीलाई २५ वर्षदेखि स्वास्थ्य उपचार सेवा गर्दै आएको हिमालय उद्धार सङ्घले यस वर्ष पनि सेवा दिने प्रतिबद्धता व्यक्त गरेको छ ।  सङ्घका कार्यकारी निर्देशक गोविन्द बस्यालका अनुसार यो वर्ष गोसाइँकुण्ड मेला अवधिभर छजना चिकित्सिक, दुईजना स्वास्थ्य सहायक र स्वास्थ्य परिचारिका संलग्न स्वास्थ्य टोलीले आवश्यक उपचार सेवा दिने प्रबन्ध गरिएको छ । 

यसैगरी,  शिविरमा अक्सिजनको समेत व्यवस्था गरिएको उहाँले बताउनुभयो । गोसाइँकुण्ड तीर्थस्थल लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने भएको र बाटोमा हिँड्दा जङ्गली जनावर भेटिनसक्ने भएकाले तिनलाई नजिस्क्याई सुरक्षित साथ यात्रा गर्न निकुञ्जले सम्बद्ध सबैसँग अनुरोध गरेको छ । निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत अणनाथ बरालले भन्नुभयो, “बाटोमा रूखबिरुवा नभाँच्न, नउखेल्न र तोकिएको स्थानमा मात्र फोहर व्यवस्थापन गर्न भक्तजनहरूसँग अनुरोध गर्दछु ।” 

यसैगरी, मध्यवर्षाको समयलाई दृष्टिगत गरी जल तथा मौसम पूर्वानुमान शाखाबाट प्राप्त हुने मौसम विवरणलाई समेत ख्याल गर्न अनुरोध गरिएको छ ।  यात्राका क्रममा बाटोमा हिँड्दा असहज भएमा यथासक्य चाँडो सुरक्षाकर्मीसहित स्वास्थ्य शिविर एवं स्वास्थ्यकर्मीसँग सम्पर्क तथा समन्वय गरी लाभान्वित हुन समस्त यात्रु तथा भक्तजनको  ध्यानाकर्षण गर्दै गोसाइँकुण्ड विकास समितिले जनैपूर्णिमाका दिन हुने गोसाइँकुण्ड मेला व्यवस्थापनका सन्दर्भमा सबैखालको पूर्वतयारी पूरा भइसकेकाले निर्धक्क भई गोसाइँकुण्ड पुगी स्नान गर्ने धोको पूरा गर्न सम्बद्ध सबैसँग अनुरोध गरेको छ ।

चलचित्र ‘बुलाकी’ मा कर्णालीको संस्कार र संस्कृति छः उपसभापति खड्का

काठमाडौँ, २१ साउन : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली चलचित्र ‘बुलाकी’ मा कर्णालीको संस्कार र संस्कृति समेटिएको बताउनुभएको छ । आज यहाँ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा ‘बुलाकी’ को श्रव्यदृश्य (ट्रेलर) र गीत सार्वजनिक कार्यक्रममा उपसभापति खड्काले कर्णालीको सौन्दर्यतालाई चलचित्रको माध्यमले विश्वभर पुर्‍याउन निर्माता तथा निर्देशकलाई आग्रह गर्नुभयो ।

“आज यहाँ श्रव्यदृश्य हेरेपछि कलाकारको मेहनत र चयन गरिएको विषयका लागि धन्यवाद भन्न चाहन्छु । कर्णालीमा बुलाकी मूल गहनाको रूपमा लगाउने प्रचलन नै छ । यसमा त्यहाँको संस्कृति र सभ्यतालाई समेटिएको छ । यसले एउटा महिलाको माध्यमले राम्रो कथा भनेको आभास भयो”, उपसभापति खड्काले भन्नुभयो ।

आयोजित कार्यक्रममा शीर्ष भूमिकामा देखिनुभएकी अभिनेत्री सुरक्षा पन्तले आफ्नो लागि कर्णालीको पात्र पहिलो अनुभव रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यसमा मैले हिरा नामक पात्रको भूमिका निर्वाह गरेकी छु । चलचित्रमा निःसन्तान हुँदा महिलाले भोग्नुपर्ने सास्ती र जारी प्रथाको विषय जोडिएको छ । यो कर्णालीको पृष्ठभूमिमा तयार गरिएको कथा भएता पनि हरेक क्षेत्र वा वर्गका महिलाले आफ्नोपन महसुस गर्नुहुनेछ ।”

आफ्नो पात्रलाई जीवन्त बनाउने अभिनेत्री पन्तले हिरा नामक पात्रको तयारी कर्णालीमै पुगेर गर्नुभएको थियो । स्थानीय भाषा, लवजसँगै भेषभूषा र मनोविज्ञान बुझ्न आफू स्थानीयसँग घुलमिल भएको उहाँले सुनाउनुभयो । चलचित्रका निर्माता तथा कलाकार विराज विष्टले पुनःसम्पादन गरेर प्रदर्शन गर्न लागेको बताउनुभयो ।

चलचित्रमा अभिनेत्री पन्तसँगै नरेन खड्का, विराज विष्ट, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलद्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाइलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

सभापति देउवाद्वारा ३७ विभागका प्रमुख मनोनित, कसलाई कुन विभाग ?

काठमाडौँ, २१ साउनः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी विधानबमोजिम विभिन्न ३७ केन्द्रीय विभाग गठन गर्नुभएको छ । उहाँले आज विभिन्न केन्द्रीय सदस्यलाई विभिन्न संयोजक तोक्नुभएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

सभापति देउवाले पार्टी केन्द्रीय सदस्यहरु गोविन्द भट्टराईलाई राज्य प्रशासन, मधु आचार्यलाई स्थानीय तह समन्वय,  मानबहादुर विश्वकर्मालाई अभिलेख, अनुगमन तथा मूल्याङ्कन, चन्द्रबहादुर केसीलाई सङ्घीय मामिला समन्वय, गोविन्दबहादुर शाहलाई संसदीय मामिला, मानबहादुर नेपालीलाई कानून, राजीव ढुङ्गानालाई विद्यार्थी, डा डिला सङ्ग्रौलालाई पेसागत तथा बुद्धिजीवी विभागको प्रमुखमा मनोनयन गर्नुभएको छ ।

त्यस्तै नैनसिंह महरलाई शिक्षा, डा चन्द्रमोहन यादवलाई स्वास्थ्य, मदनबहादुर अमात्यलाई निर्माण व्यवसाय समन्वय, शिवप्रसाद हुमागाँइलाई सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय, उमेश श्रेष्ठलाई कृषि तथा किसान, उमेशजङ्ग रायमाझीलाई खेलकूद, तारामान गुरुङलाई प्राकृतिक स्रोत, विद्यादेवी तिमिल्सीनालाई साहित्य, कला तथा संस्कृति, लक्ष्मी परियारलाई दलित समुदाय समन्वय र सशक्तिकरण विभागको संयोजक तोकिएको छ ।

साथै कृष्णकिशोर घिमिरेलाई द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप, मैकुलाल वाल्मिकीलाई मुस्लिम, कर्णबहादुर बुढालाई वित्तीय संस्था समन्वय, सुशीला मिश्र भट्टलाई विज्ञान तथा सूचना प्रविधि, महेन्द्रकुमारी लिम्बूलाई भूपू सैनिक,  प्राडा गोविन्दराज पोखरेललाई आर्थिक नीति तथा योजना विभागको जिम्मेवारी तोकिएको छ ।  

यसैगरी शुभेच्छुक संस्था समन्वयमा अब्दुल सत्तार, श्रमिक तथा ट्रेड युनियनमा हरिशरण नेपाली, भूमि व्यवस्था तथा भूमिहिन, अव्यवस्थित बसोबास समन्वयमा नृपबहादुर वड,  मानव अधिकारमा धना खतिवडा, वातावरण तथा जलवायु परिवर्तन सरोकारमा  कल्याणकुमार गुरुङ, ऊर्जा तथा जलस्रोतमा अनिलकुमार रुंगटा, बालबालिका तथा किशोर–किशोरी समन्वयमा विभागको संयोजकमा डा. जीवन राना मनोनित हुनुभएको छ ।

सभापति देउवाले लक्ष्मी खतिवडालाई नागरिक सम्बन्ध तथा समस्या सम्बोधन समन्वय, गङ्गालक्ष्मी अवाललाई व्यवसायिक सीप विकास, डा गोपाल दहत विपन्न उत्थान समन्वय, अर्जुनप्रसाद जोशीलाई सामाजिक संघ संस्था समन्वय, अजयवावु शिवाकोटीलाई पुस्तकालय तथा पार्टी अध्ययन-स्रोत केन्द्र, ध्यानगोविन्द रञ्जितलाई धर्म-संस्कृति समन्वय, दिनेश कोइरालालाई पूर्वआप्रवासी समन्वय विभागको प्रमुखमा मनोनयन गर्नुभएको छ ।

स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय र विश्वसनीय बनाउनुपर्छ : मन्त्री पौडेल

डुम्रे (तनहुँ), २१ साउन : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय र विश्वसनीय बनाउनुपर्ने बताउनुभएको छ ।नेपाली कांग्रेस तनहुँद्वारा आज बिपी स्मृति भवन दमौलीमा आयोजित कार्यक्रममा उहाँले गुणस्तरीय सेवा प्रवाहका लागि अस्पतालमा चिकित्सक अभाव हुने अवस्था रहेकाले यसको व्यवस्थापनका लागि चिकित्सा शिक्षा अध्ययनलाई पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री पौडेलले स्वास्थ्य क्षेत्र आमनागरिकको नैसङ्र्गिक अधिकार भएकाले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउँदै आमनागरिकको पहुँच स्थापित गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गुणस्तरीय स्वस्थ्य सेवामा आमनागरिकको सहज पहुँच स्थापित गर्न अस्पतालका भौतिक संरचना बनाएर मात्रै हुँदैन भएका संरचनाको उपयोग गरी सहज सेवा प्रवाहको वातावरण तयार गर्ने प्रयासमा रहेका छौँ ।”

आमनागरिकलाई स्वास्थ्यको पहुँचमा पु¥याउन स्वास्थ्य बीमालाई व्यवस्थित गरिने उहाँको प्रतिबद्धता थियो । “स्वास्थ्य बीमालाई व्यवस्थित, बीमितको प्रिमियमलाई व्यवस्थित गर्न स्वास्थ्य बीमालाई बीमाको सिद्धान्तअनुसार अगाडि बढाउनुपर्नेछ । त्यसका लागि स्वास्थ्य बीमा क्षेत्रमा हाल देखिएका समस्या र गुनासा सम्बोधनमा जोड दिनेछौँ”, उहाँले भन्नुभयो ।

केही वर्षपछि चिकित्सक नै अस्पतालमा अभाव हुने अवस्था देखिने चिन्ता व्यक्त गर्नुहुँदै मन्त्री पौडेलले चिकित्सा शिक्षा अध्ययनलाई सहज बनाउन आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “केही वर्षमा चिकित्सा शिक्षाका लागि विद्यार्थी नपाइने अवस्था आउन सक्छ । यसकारण दुई सय ५० शय्या क्षमताका अस्पतालमा चिकित्सा शिक्षा अध्ययन गराउने व्यवस्था हुनुपर्छ, यसले विदेशिने युवाको सङ्ख्यामा पनि कमी आउनसक्छ ।” तीन तहका सरकारको सहकार्य तथा समन्वयमा सबै अस्पतालको सेवा विकासमा लाग्नुपर्नेमा मन्त्री पौडेलको जोड थियो । 

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई तीन सय शय्याको बनाउन प्रस्ताव माग भएको उहाँले जानकारी गराउनुभयो । यसैगरी, देश चुनौतीपूर्ण बिन्दुमा रहेकाले दोस्रो कांग्रेसले ठूलो पार्टीसँग सरकार गठनका लागि सहकार्य गरेको धारणा राख्नुहुँदै मन्त्री पौडेलले राजनीतिक अस्थिरता र बेतिथिलाई रोक्ने गरी सरकारले काम गर्ने बताउनुभयो ।

कांग्रेस तनहुँका सभापति जीतप्रकाश आलेले सशक्त युवाले स्वास्थ्य क्षेत्रको नेतृत्व पाएकाले आमनागरिकले स्वास्थ्य क्षेत्रमा सुधार तथा स्वास्थ्यको पहुँच सहज बन्ने अपेक्षा गरेको बताउनुभयो । मन्त्री पौडेलले जिल्ला अस्पतालको निरीक्षण गरी सेवा प्रवाहका बारेमा जानकारी लिनुभएको थियो ।

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर घाइते

मध्यविन्दु (नवलपरासी), २१ साउनः नवलपरासी (बर्दघाट सुस्तापूर्व)को त्रिवेणीमा मोटरसाइकल दुर्घटना हुँदा एकजना भारतीय नागरिकको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।

विनयी त्रिवेणी गाउँपालिका–६ साहुमारास्थित भित्री सडकखण्डमा आज बिहान त्रिवेणीधामबाट भारततर्फ जाँदै गरेको ५६ए९२१२ नम्बरको मोटरसाइकल अम्चुरखोलामा खस्दा भारतको महाराजगञ्ज निचलौल टोल ओडवलियाका ४० वर्षीय प्रकाश भारतीको घटनास्थलमा नै मृत्यु भएको हो भने अर्का सोही स्थानका २८ वर्षीय अशोक राजभार गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले घाइतेको पृथ्वीचन्द्र जिल्ला सरकारी अस्पताल (बर्दघाट सुस्तापश्चिम)मा उपचार जानकारी दिनुभयो ।

आँबुखैरेनी अस्पतालमा शल्यक्रियाकक्ष तयार,स्वास्थ्यमन्त्री पौडेलद्धारा शुभारम्भ

दमौली (तनहुँ), २१ साउनः तनहुँको आँबुखैरेनी अस्पतालमा शल्यक्रियाकक्ष तयार पारिएको छ । विसं २०७९ मङ्सिर १ गतेदेखि आँबुखैरेनी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाइएको थियो । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित सो अस्पतालले छिट्टै शल्यक्रिया सेवा दिने तयारी समेत गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज शल्यक्रियाकक्षको आज शुभारम्भ गर्नुहुँदै अस्पतालको थप स्तरोन्नति र विकासका लागि सङ्घीय सरकारको सहयोग रहने जानकारी दिनुभयो । उहाँले गाउँपालिकाले पालिकास्तरीय अस्पताल सञ्चालन गरेर यस भेगका जनतालाई दिएको सेवा सकारात्मक छ भन्नुभयो ।

अस्पतालका प्रमुख डा डिबी क्षेत्रीले गण्डकी प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको सहयोगमा शल्यक्रियाकक्षका लागि आवश्यक बत्ती, शय्या र इलेक्ट्रोकाउट्री मेसिन प्राप्त भएको जानकारी दिनुभयो । लामो समयको प्रयासपश्चात् अस्पतालमा अब शल्यक्रिया सेवा सुरु हुने चरणमा पुगेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । अस्पतालले प्रसूीत, हर्निया, एपेन्डिक्स, हाइड्रोसिलको शल्यक्रिया सेवा सुरु गर्ने तयारी गरेको छ ।

अस्पतालले तनहुँको आँबुखैरेनीका अलवा जिल्लाकै बन्दीपुर, गोरखाको पालुङटार, सहिद लखन र चितवनको इच्छाकामनाका जनतालाई सेवा दिइरहेको छ । अस्पतालबाट चौबीसै घण्टा आकस्मिक सेवा, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसीलगायत सेवा प्रदान गरिएको छ । अस्पतालमा एकजना एमडिजीपी, तीनजना मेडिकल अधिकृत र १३ नर्स कार्यरत छन् ।

आँबुखैरेनी–३ मा निजी क्षेत्रबाट सञ्चालित छिम्केश्वरी अस्पताल आँबुखैरेनी अस्पतालमा समायोजन भएको थियो । यसैबीच स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पौडेलले जनताले सहज रूपमा स्वास्थ्य सेवा पाउने वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाली कांग्रेस ऑबुखैरेनी गाउँ कार्यसमितिले आज यहॉ आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा उहाँले स्वास्थ्य संस्था सुधारका लागि आफू कार्ययोजनासहित अगाडि बढेको जानकारी दिनुभयो । उहॉले भन्नुभयो, “तनहुँको सन्दर्भमा जिपी कोइराला अस्पताल, दमौली अस्पताल तथा पालिकास्तरीय अस्पतालको विकासका लागि म जानकार छु ।”

एक वर्षको अवधिमा कास्कीमा छ सय ४९ नयाँ उद्योग थपिए

कास्की, २१ साउनः जिल्लामा गत एक वर्षका अवधिमा छ सय ४९ नयाँ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालय कास्कीमा दर्ता भएका उद्योगमध्ये लुघउद्योग १३ र साना छ सय ३६ वटा छन् । नयाँ उद्योगमा रु एक अर्ब ९१ करोड ८४ लाख ५२ हजार पुँजी लगानी भएको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख महराज ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार पोखरामा बढी मात्रामा पर्यटन क्षेत्रलगायतको सेवामूलक व्यवसाय बढी भएकाले थपिएका उद्योगमा समेत सेवामूलक उद्योग सबैभन्दा बढी छन् । कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०÷८१ सेवामूलक उद्योग दुई सय ४१, कृषि तथा वन पैदावारमा आधारित उद्योग एक सय ६२, पर्यटन उद्योग एक सय ६०, उत्पादनमूलक उद्योग ८३ र सूचना प्रविधिमा आधारित उद्योग तीनवटा दर्ता भएका छन् ।

सो वर्षमा ऊर्जा तथा खनिजमूलक कुनै पनि उद्योग दर्ता भएनन् । एक वर्षमा दर्ता भएका उद्योगमा महिला नौ सय ३९ र पुरुष एक हजार एक सय १८ गरी दुई हजार ५७ जनालाई रोजगारी सिर्जना भएको छ ।

यसैगरी गत वर्ष तीन सय ६५ उद्योग खारेज भएका छन् । खारेज हुने उद्योगको सङ्ख्या बर्सेनि वृद्धि हुँदै गएको कार्यालय प्रमुख ढकालले बताउनुभयो । उहाँका अनुसार थपिएका उद्योगको ५० प्रतिशत सङ्ख्या खारेज भएका छन् । “नयाँ उद्योग दर्तासँगसँगै खारेज हुने उद्योगको सङ्ख्यासमेत धेरै छ । आर्थिक गतिविधिमा शिथिलता, विदेश जाने प्रवृत्ति र धेरै ठाउँमा कर तिर्नुपर्ने बाध्यतालगायत कारणले उद्योग खारेजीका लागि आउने गरेका छन्”, कार्यालय प्रमुख ढकालले भन्नुभयो ।

कार्यालयका अनुसार जिल्लामा वैदेशिक रोजगारीबाट फर्केर आएका युवा तथा स्वरोजगारका लागि कृषि तथा पशुपक्षी उद्योग व्यवसायमा लगानी बढ्दै गएको छ । जिल्लामा हालसम्म २४ हजार दुई सय ७८ उद्योग दर्ता भएकामा गत आवसम्ममा पाँच हजार आठ सय ३२ वटा खारेज भई १८ हजार चार सय ४६ सञ्चालमा रहेका छन् ।

यसैगरी, वाणिज्य फर्महरूको सङ्ख्या ३० हजार एक सय ७० रहेको छ । गत आवमा एक हजार एक सय ९३ वाणिज्य फर्म दर्ता भएकामा चार सय २१ वटा खारेज भएका थिए । पोखरा देशको पर्यटकीय राजधानी हो । यहाँ हालसम्म चार सय ६२ ट्राभल्स, दुई सय ३८ ट्रेकिङ, चार सय ७० होटल, आठ जलयात्रा व्यवसाय र ३६ वटा घरबास सञ्चालनमा रहेको पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ ।

गीतकार पौडेलको ‘यसपालिको तीज रमाइलो’ गीत सार्वजनिक

काठमाडौँ, २१ साउनः हरितालिका तीज पर्वको अवसर पारेर विभिन्न स्रष्टाहरूको सृजना सार्वजनिक हुन थालेका छन् । यसैबीच गीतकार निर्मलराज पौडेलको शब्द र चर्चित गायिका शान्तीश्री परियार र सङ्गीतकार मोहित मुनालको सृजनामा ‘यसपालिको तीज रमाइलो’ नामक गीत बजारमा आएको छ ।

चेलीबेटी ज्यान माया माइतमै हाँसेर, तीज आयो ज्यान माया छमछमी नाचेर भन्ने मौलिक गीत परिवारका सबैजना एकै स्थानमा बसेर सुन्न र रमाउन सकिने गीतकार पौडेलले जानकारी दिनुभयो ।

कतिपय तीज गीत विवादमा तानिँदै आएका बेला यस्ता मौलिक गीतले पर्वको महत्व झल्काउने उहाँले बताउनुभयो । तीज गीत आफ्नो मूल प्रवृत्तिबाट विमुख हुँदै गएको बेला मौलिक सृजनाका लागि आफूले अग्रसरता लिएको उहाँले जानकारी दिनुभयो । तीज गीतको परम्परा र मौलिकतालाई कायम राख्दै गरिएको सृजना श्रोता तथा दर्शकलाई मनपर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । पछिल्लो समय बजारमा सार्वजनिक भएका केही गीत तीजको महत्व र मर्मविपरीत भएको भन्दै आलोचना भइरहेको छ ।

आज कर्णालीका मुख्यमन्त्री कँडेलले विश्वासको मत लिँदै

कर्णाली, २१ साउनः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिने हुनुभएको छ । संविधानको धारा १८८ को उपधारा (२) बमोजिम आफूलाई विश्वास छ भन्ने स्पष्ट पार्न आवश्यक ठानेकाले विश्वासको मत लिने प्रयोजनका लागि योसम्बन्धी विषयको प्रस्ताव आज राख्ने व्यवस्था मिलाउन आज प्रदेशसभा सचिवालयलाई परिपत्र गरिएको मुख्यमन्त्री कँडेलले बताउनुभयो । उहाँले उक्त व्यवस्थाका लागि कर्णाली प्रदेशसभा नियमावली २०७९ को नियम १५० को उपनियम १ बमोजिम सूचना गरेको जानकारी दिनुभयो ।

यही साउन ७ गते नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सरकारबाट समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री कँडेल नेतृत्वको सरकार अल्पमतमा परेको थियो । आइतबार कांग्रेसका चार मन्त्री कर्णाली सरकारमा सहभागी भएसँगै उहाँको नेतृत्वको सरकारले पूर्णता पाएको छ । कुल ४० सदस्य सङ्ख्या रहेको कर्णाली प्रदेशसभामा हाल नेपाली कांग्रेसका १४, नेकपा (माओवादी केन्द्र)का १३, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का १०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रको एक–एक प्रदेशसभा सदस्य छन् ।

साउनको तेस्रो सोमबारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौँ । आज साउन महिनाको तेस्रो सोमबार । बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा भक्तजनको घुइँचो लागेको छ । साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको प्रिय बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेष रुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ ।

सोमबारको अवसरमा काठमाडौँको पशुपतिनाथमा आज बिहान ३ बजेदेखि नै मन्दिरका चारवटै ढोका खोलिएका छन् । पशुपति क्षेत्र विकास कोषका अनुसार आज पशुपतिनाथमा आउने भक्तजनका लागि तीन वटा लाइनको व्यवस्था गरिएको छ । उमाकुण्ड, जयवागेश्वरी र पिङ्गलास्थानबाट प्रवेश गरी दर्शन गर्न सकिने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

कालीगण्डकी करिडोरः नरसिङखोलामा मोटरेबल पुल

म्याग्दी, २१ साउनः चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङस्थित नरसिङखोलामा मोटरेबल पुल निर्माण भएको छ । जोमसोमबाट कागबेनी छुसाङ उपल्लो मुुस्ताङ हुँदै चीनको सिमाना कोरलानाका जोड्ने सडकअन्तर्गतको नरसिङखोलाको ९० मिटर लामो मोटरेबल पुलमा यातायात सञ्चालन हुन थालेका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनाका इन्जिनियर विष्णु चापागाईँले पुलमा सवारीसाधन सञ्चालन हुन थालेको बताउनुभयो ।

“पहुँचमार्ग र पुुलमाथि अक्सफाल्ट कालोपत्र गर्ने काम बाँकी भए पनि मुख्य संरचना तयार भएकाले यातायात सञ्चालन गरिएको छ”, उहाँले भन्नुभयो, “पुुल सञ्चालन भएपछि बर्खामा नरसिङखोलामा जोखिम मोलेर सवारी आवतजावत गर्नुपर्ने समस्या हटाएका छाँै ।”

नरसिङ र मार्फाखोलामा मोटरेबल पुल निर्माणका लागि विसं २०७५ भदौ ६ गते हिमदुङ–ठोकर–इमाटोल जेभीले रु २१ करोडमा ठेक्का सम्झौता गरेको थियो । विसं २०७८ मा सकिनुपर्ने नरसिङ र मार्फाखोलाको पुुल निर्माण व्यवसायीले पर्याप्त मात्रामा उपकरण, मजदुुर परिचालन तथा निर्माण सामग्री व्यवस्थापन गर्न नसक्दा ढिलाइ भएको हो ।

तीनवटा स्पाम भएको पुुलको ८० प्रतिशत भौतिक प्रगति भएको पुलको बाँकी काम सक्न पछिल्लोपटक मुस्ताङको अमित विल्डर्सले जिम्मा लिएको थियो । यसअघि इमाटोल कन्ट्रक्सनले जिम्मा काम समयमा पूरा गर्न नसकेको हो । दुई सय दुई किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडकमा नरसिङखोलासहित पछिल्लो एक वर्षयता सातवटा गाडी चल्ने सडक पुल निर्माण भएको छ । लोमान्थाङ गाउँपालिकाको लोमान्थाङ, किम्लिङ, नाम्डोक र भर्मा, थासाङ गाउँपालिकाको छाक्ताङखोलामा बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत पुल निर्माण भएको हो ।

सडक विभागको पुल महाशाखाले म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा ७० मिटर लामो डबल स्पाम भएको मोटरेबल पुल बनाएको छ । बेनी–जोमसोम–कोरला सडक योजनामार्फत १४ वटा पक्की पुल र तीनवटा बेलीब्रिज निर्माण भएका छन् । सात ठाउँमा मोटरेबल पुल निर्माणाधीन छन् ।

थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताव गरिएको छ । पर्वतको मालढुुङ्गाबाट म्याग्दी हुँदै मुुस्ताङस्थित चीनको सिमाना कोरलानाका जोड्ने सडक दुुई लेनको कालोपत्र र ग्राभेल बनाउन विसं २०७३÷७४ देखि सुुरु भएको योजनाको हालसम्म ८४ प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख ध्रुवकुमार झाले बताउनुभयो ।

पर्साको दुग्धेश्वरनाथ महादेव मन्दिरमा दशनार्थीको घुइँचो

वीरगञ्ज (पर्सा), २१ साउनः पर्सा राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्ने दुग्धेश्वनाथ महादेव मन्दिरमा दर्शनार्थीको घुुइँचो लागेको छ । अन्य दिनभन्दा आज मन्दिरमा स्वदेशी एवं भारतीय दर्शनार्थीको भीड लागेको हो । दुग्धेश्वरनाथ महादेव मन्दिर भाथाधाम संरक्षण समितिका अध्यक्ष अलखदेवप्रसाद थारूले दुग्धेश्वर महादेवको आज दर्शन गर्नका लागि बिहानैदेखि दर्शनार्थी महादेव भगवान्को दर्शन गर्न मन्दिर परिसरमा लामवद्ध भएको बताउनुभयो । “भारतका विभिन्न राज्यबाट आइतबार बेलुका नै हजाराँै दर्शनार्थी मन्दिर प्राङ्गणमा आइसक्नुभएको छ । टाढा–टाढाका दर्शनार्थी अघिल्लो दिनमै आउने गर्नुहुन्छ । रातभर महादेवको आराधाना गरेर बिहानै जल चढाएर पूजापाठ गरेर जाने गर्नुहुन्छ ।”

पर्सा राष्ट्रिय निकुञ्जभित्रको जङ्गलको यात्रा गरेपछि चुरेपहाडको डाँडामा दुग्धेश्वरनाथ महादेव र भगवती पार्वतीको मन्दिर अवस्थित छ । चुरेको फेदी र चारकोसे झाँडीबीचको नदीभन्दा केही अग्लो भागमा महादेव र पार्वतीको मन्दिर रहेको छ ।

उहाँले सोमबार भारतीय र नेपाली दशनार्थीको अत्यधिक उपस्थिति हुने भएकाले पनि व्यवस्थित गर्न पनि हम्मेहम्मे पर्ने बताउनुभयो । अध्यक्ष थारूले सोमबार मात्रै एक लाखभन्दा धेरै दर्शनार्थीले मन्दिरको दर्शन गर्ने दाबी गर्नुभयो ।

पर्टेवा सुगौली गाउँपालिकाका उपाध्यक्ष ममता महतोले पनि दुग्धेश्वरनाथ महादेवको दर्शन गर्न आउने दशनार्थीको व्यवस्थापनमा जुट्दै आइरहेको बताउनुभयो । “यो पर्सा राष्ट्रिय निकुञ्जभित्र पर्ने निकै चर्चित महादेवको भाथाधाम हो”, उहाँले भन्नुभयो, “भारतका विभिन्न राज्यबाट यो मन्दिर दर्शन गर्न हजाराँै दशनार्थी आउने गर्नुहुन्छ ।” मन्दिर दर्शन गर्न दशनार्थी चारपाङ्ग्रे सवारीसाधन, ट्रयाक्टर, मोटरसाइकल र पैदल हिँडेरै आउने गर्छन् । धेरैजसो दशनार्थी मोटरसाइकल र ट्रयाक्टर चढेर आउने गर्छन् । मन्दिरमा साउनभरि मेला लाग्ने गर्छ ।

यो मन्दिर वीरगञ्जबाट सवारीसाधनमा डेढदेखि दुई घण्टाको यात्रापछि पुगिन्छ । राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले जङ्गली जनावरको जोखिम हुने भएकाले बेलुका सात बजेपछि मन्दिर जाने सडक बन्द गर्ने गरिन्छ । बिहान ६ बजेपछि भने फेरि खुलाउने गरिन्छ । अन्य सिजनमा भने पूर्णतया यहाँ जान रोक लगाइने गरिन्छ ।

पर्साको पोखरिया नगरपालिकाबाट दुग्धेश्वर महादेवको शनिबार दर्शन गर्न आएका जटाशङ्कर साहले महादेव मन्दिरको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने विश्वास लिएर दर्शन गर्न आएको बताउनुभयो । “पर्सामा भएको यो ऐतिहासिक र प्राचीन महादेव मन्दिरका रूपमा चर्चित छ”, उहाँले भन्नुभयो, “परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्दै दर्शन गर्न आएका हौँ ।” वीरगञ्ज महानगरका प्रविन पटेल पनि हरेक वर्ष दुग्धेश्वर महादेव मन्दिरको दर्शन गर्न परिवारसहित आउने बताउनुभयो । “यहाँको मन्दिरमा दर्शन गरेपछि आत्मसन्तुष्टि हुने गर्छ”, उहाँले भन्नुभयो, “यस वर्ष पनि श्रीमती र छोरालाई मोटरसाइकलमै राखेर दर्शन गर्न ल्याएको हुँ ।” भाथाधाममा वैशाख त्रियोदशीको दिन बर्सेनि मेला लाग्ने गर्छ ।

राजनीतिकर्मीको कृषिमोह : तीन सय रोपनीमा किबी र लोठसल्लाखेती

झापा । कृषि क्षेत्रमा भविष्य देखेका सातजना युवाको समूह यतिबेला किबी र लोठसल्ला (टेक्सस मेरिइ)को खेतीमा रमाएका छन् । सप्तरङ्गी बहुउद्देश्यीय कम्पनी प्रालि सञ्चालन गरेर इलामको सन्दकपुर गाउँपालिका–२ मा तीन सय रोपनी जग्गामा उनीहरूले किबी र लोठसल्लाको खेती गरिरहेका हुन् । तीन सय रोपनीमध्ये एक सय ५० रोपनीमा किबी र एक सय ५० रोपनीमा लोठसल्ला लगाइएको छ ।

कृषि क्षेत्रमा भविष्य देखेपछि सिपी कडरिया, तेजमणि प्रसाईँ, कमलप्रसाद कडरिया, दुष्यन्त भट्टराई, श्रीप्रसाद सिटौला, ईश्वरीप्रसाद तिवारी र झलकबहादुर राईले इलामको सन्दकपुरमा किबी र लोठसल्लाखेती गर्ने योजना बनेको हो ।

बेरोजगारी घटाउन, राजनीतिकर्मीलाई उत्पादनसँग जोड्न र मुलुकमा प्रविधि भित्र्याउने उद्देश्यले कृषिकर्ममा लागेको कम्पनीका अध्यक्ष सिपी कडरिया बताउँछन्। राजनीतिकर्मी कडरिया भन्छन्, ‘राजनीतिकर्मी उत्पादनसँग जोडिन जरुरी छ, नत्र भ्रष्टाचार अझै मौलाउँछ ।’

कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा ठूलो २४ प्रतिशत हिस्सा कृषिको छ । सरकारले पनि दिगो विकासको लक्ष्य हासिल गर्न कृषिलाई मुख्य आधार मानेको उनी बताउँछन्। राससकर्मीसँगको कुराकानीमा उनी भन्छन्, ‘हामी कृषिप्रधान मुलुक भन्छौँ, तर जुनसुकै कुरामा पनि आयातमुखी बनेका छौँ ।’

आयात प्रतिस्थापन गर्न र निर्यात बढाउन पनि कृषि क्षत्रेमा लगानी गरिएको उनी बताउँछन् । विसं २०७२ मा सुरु गरिएको किबी र लोठसल्लामा हालसम्म तीन करोड ५० लाख लगानी भइसकेको छ । किबी फलफूलका रूपमा प्रयोग हुने र लोठसल्ला क्यान्सर रोगको उपचारका लागि औषधि बनाउन प्रयोग हुने भएकाले बजार र माग राम्रो भएको उनले बताए ।

‘गत वर्षदेखि किबी उत्पादन सुरु भएको छ, यो वर्षदेखि हामी लगानी बन्द गर्छौँ’, उनले भने, ‘अर्को वर्षदेखि नाफा हुने अपेक्षा छ ।’ एउटा किबीको बोटले तीन वर्षपछि उत्पादन दिने उनको भनाइ छ । एउटा बोटबाट वार्षिक ३५ देखि ५० वर्षसम्म उत्पादन लिन सकिन्छ भने वार्षिक ५० केजी उत्पादन हुने कडरियाले बताए । एउटा बोटमा वार्षिक  पाँचदेखि छ सय लगानी हुने जनाइएको छ ।

गत वर्ष साविक मेची अञ्चलमा मात्र सात लाख केजी किबी उत्पादन भएको कडरिया बताउँछन्। ‘इलाममा मात्र डेढ लाख केजी उत्पादन भएको तथ्याङ्क छ’, उनले भने, ‘उत्पादन अझै बढ्दै जाने देखिन्छ ।’

नेपाली किसानले किबी उत्पादन गरे पनि भण्डारणमा समस्या हुँदा सस्तोमा बेच्नुपरेको उनको अनुभव छ । उत्पादनस्थलबाट बजारसम्म पुर्याउन ‘कुलिङ चेन’ जरुरी हुने उनले बताए ।

‘भण्डारणका लागि उचित व्यवस्था नहुँदा किसानले उत्पादन गरेको किबी चाँडै बिग्रिने समस्या देखिएको छ’, उनले भने, ‘यसले गर्दा किसानले मूल्य पाएका छैनन्, बजार पनि कस्किएको छ ।’

बेमैसममा नेपालमा न्यूजरल्याण्डबाट किबी आयात हुने गरेको कडरिया बताउँछन् विश्वमा सबैभन्दा धेरै न्यूजील्याण्ड र चीनमा उत्पादन हुने किबीले ओगटेको उनको भनाइ छ । ‘यहाँ उत्पादन हुने किबीको स्वाद राम्रो छ”, उनले भने, ‘किबी उत्पादन गरेर विश्व बजारमा पुर्याउने सोचका साथ विभिन्न एजेन्सीसँग कुरा गरिरहेका छौँ ।’

किसानको उत्पादनलाई सुरक्षित गर्न सरकारले उपयुक्त शीतभण्डारगृह निर्माणमा जोड दिनुपर्ने कडरियाले बताए । ‘राज्यले आयात प्रतिस्थापन गर्ने हो भने कृषि क्षेत्रमा विशेष लगानी गर्न जरुरी छ’, उनले भने, “वास्तविक किसानले राज्यले दिने सुविधाको उपयोग गर्न पाएका छैनन् ।’

किबी उत्पादनका लागि भाले र पोथी बिरुवा आवश्यक पर्छ । जसका लागि परागसेचनको महत्त्वपूर्ण भूमिका हुन्छ । हावा र माहुरीको भरमा परागसेचन हुँदा किबीखेतीमा चुनौती देखिएको व्यवसायी कडरियाले बताए । परागसेचनका लागि चीन र न्यूजरल्याण्डले अपनाएको प्रविधि स्वदेशमा ल्याउन जरुरी छ ।

संविधान जोगाउन दलहरूबीच सहकार्यको खाँचो छ – अध्यक्ष नेपाल

काठमाडौँ, २१ साउनः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ । नेकपा समाजवादी काठमाडौँ महानगर कमिटीद्वारा कामपा–१८ नरदेवीमा आइतबार अयोजित कार्यक्रममा उहाँले लोकतन्त्र,संविधानको रक्षा एवं राजनीतिक सङ्कटका समाधानमा आफ्नो पार्टीले समन्वयकारी नेतृत्व लिँदै आएको छ भन्नुभयो ।

उहाँले भन्नुभयो,“आगामी दिनमा पार्टीलाई आत्मविश्वासका साथ जनताको सेवामा थप सशक्त र केन्द्रित गर्नुपर्छ । आर्थिक समृद्धि र सुशासन कायम गर्नु नै अहिलेको प्रमुख चुनौती हो । लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने कुनै प्रकारको षड्यन्त्र सह्य हुँदैन । वामपन्थी र प्रगतिशील शक्तिबीच एकताको खाँचो छ ।” पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले संविधान र गणतन्त्रको रक्षाका लागि सबै दलहरूबीचको समन्वय र सहकायलाई बलियो बनाउनुपर्छ । सो अवसरमा अध्यक्ष नेपालले आफ्नो पार्टीमा प्रवेश गरेकालाई स्वागतसमेत गर्नुभएको थियो ।

पहिलोपटक एआई भिडियो सार्वजनिक

नेपाली म्युजिक भिडियोको इतिहासमा पहिलोपटक एआई (आर्टिफिसियल इन्टिलिजेन्ट) भिडियो सार्वजनिक भएको छ।नेपाल र अमेरिकामा ख्याति कमाउन सफल नेप्लिज अमेरिकन पप रक ब्यान्ड द भाइब्ज ब्यान्डले आप्mनो लोकप्रिय गीत थाकिसकँेमाथि एआइद्वारा निर्मित म्युजिक भिडियो आइतबार राष्ट्रिय टेलिभिजनहरुले प्रसारण गरी सार्वजनिक गरेको हो। एआई भिडियो नेपालको टेलिभिजन इतिहासमा पहिलोपटक प्रसारण गरिएको हो।

एआईलाई दिइएको निर्देशनमा आधारित सो भिडियोमा एआई युवायुवतीको प्रेम र विछोडको दृश्यलाई मनमोहक ढंगले देखाइएको छ। एआई भिडियोमा इनडोर र आउटडोर तथा कफी सपदेखि गाउँ–शहरका विभिन्न रमणीय दृश्यमा ड्राइभिङ, मठ–मन्दिर, आगोका साथै बेहुली बनेको रोचक दृश्य निर्माण गरिएको छ। मिडजर्नी, रनवेएमएल, लुमाएआई, किङएआई, टोपाज भिडियोएआईजस्ता सप्mटवेयरको मद्दतबाट निर्माण गरिएको भिडियोमा प्रइनको एआई निर्देशन, सम्पादन र कलर ग्रेडिङ रहेको छ। विवेक पोखरेलको शब्द रचना, ग्रार्मी अवार्डको नोमिनेसनमा पर्न सफल मनोज सिंहंको बाँसुरी रहेको सो गीतमा साश्वत श्रेष्ठको मिक्सिङ र निर्माण रहेको छ।

सन् २००८ मा सार्वजनिक ब्यान्डको द भाइब्ज जेनरेसनमा एल्बममा समावेश सो चर्चित गीत ब्यान्डले फेरि एक पटक एआई जेनरेसनलाई पस्किएको छ।
संगीतमा नयाँ–नयाँ एक्सपेरिमेन्ट गर्ने भाइब्जले विभिन्न खालका गीत–संगीत सिर्जना गर्दै आएको छ। टेक्नोलोजिमा सधैँ नयाँ एक्सप्लोर गर्न माहिर भाइब्जले सो समयमै थाकिसकेको म्युजिक भिडियो पहिलोपटक १० हजार डलर खर्च गरेर क्यालिफोर्नियाका विभिन्न स्थानमा छायांकन गरी सार्वजनिक गरेको थियो। त्यति बेला नेपालकै सर्वाधिक महँगो म्युजिक भिडियोका रूपमा रहेको गीतको पुरानो भिडियोमा शैलेन्द्र डि कार्कीले निर्देशन तथा छायांकन गरेका थिए।

यो गीतले सन् २००९ को इमेज अवार्ड र हिट्स एफएम अवार्डमा बेस्ट ब्यान्ड अफ द इयरको अवार्ड चुम्न सफल भएको थियो। ब्यान्डले निर्मोही, तस्वीर तिम्रो, काठमाडौं सिटीजस्ता चर्चित गीत ल्याइसकको छ। ब्यान्डमा भोकलिस्ट प्रइन सिंह छन् भने ड्रम्समा दिरेकलाल श्रेष्ठ, गितारमा रूपक लामा र बाँसुरीमा मनोज सिंह रहेका छन्।

झन्डै ८ वर्षपछि अभिनयमा फर्कदै महानायक राजेश हमाल

काठमाडौं । नेपाली फिल्म क्षेत्रका महानायक राजेश हमाल झन्डै ८ वर्षपछि अभिनयमा फर्किने भएका छन् । हमाल निर्देशक दिवाकर भट्टराईको एक अनटाइटल फिल्ममा अनुबन्धित भएका हुन् ।आइतबार बेलुका निर्माता तथा निर्देशक भट्टराई र महानायक हमालबीच लिखित सहमति भएको हो । हमालले सामाजिक सञ्जालमा तस्वीर राख्दै आफू दिवाकरको फिल्ममा अनुबन्धित भएको जानकारी दिएका छन् ।

सहमतिको जानकारी दिँदै उनले लेखेका छन्,‘लामो अन्तरालपछि दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्ममा काम गर्दैछु ।’पछिल्लो पटक फिल्म ‘सकुन्तला’मा अभिनय गरेपश्चात महानायक हमाल कुनै पनि फिल्ममा देखिएका थिएनन् । बरु उनले म्युजिक भिडियोमा आफूलाई समय दिइरहेका थिए । एक्सन प्रधान रहने फिल्ममा हमालले झन्डै ८ वर्षपछि कमब्याक गर्ने भएका हुन् ।

आगामी भदौ महिनाबाट छायांकनको तयारी गरिएको फिल्मको नाम केही दिनमा घोषणा गरिने निर्माणपक्षको भनाइ छ ।निर्देशक दिवाकरले फिल्मको कथावस्तु मनपराएपछि हमाल आफ्नो फिल्ममा अभिनयका लागि तयार भएको र यो फिल्मले राजेश हमालको गर्विलो कमब्याक गराउने दावी गरे।

सर्वोच्च अदालत : मुद्दा फर्स्योटमा सुधार

काठमाडौँ, २१ साउनः सर्वोच्च अदालतले आर्थिक वर्ष २०८०/८१ मा १५ हजार चार सय ८४ (३९ दशमलव ८४ प्रतिशत) मुद्दा फर्स्योट गरेको छ । विगत पाँच वर्षका तुलनामा यो सङ्ख्या सबैभन्दा धेरै हो । सो आवमा सर्वाेच्चमा ४० हजार नौ सय ९२ मुद्दा भएकामा २५ हजार चार सय २५ मुद्दा फर्स्योट गर्न बाँकी छ । आव २०७९/८० मा ३० दशमलव १७ प्रतिशत, आव २०७८/७९ मा १९ दशमलव एक प्रतिशत, आव २०७७/७८ मा १५ दशमलव ८२ प्रतिशत र आव २०७६/ ७७ मा ३० दशमलव ५१ प्रतिशत मुद्दा फस््र्योट भएको थियो ।

सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेलले सर्वोच्च अदालतमा मुद्दाको फस््र्योट सुधारोन्मुख रहको र सबै मुद्दालाई उत्तिकै प्राथमिकता दिएर छिटो सुनुवाइ गर्ने योजनाका साथ काम गरिरहेको बताउनुभयो । “छिटो मुद्दा फस््र्योट गर्ने न्यायालयको योजना नै रहको छ, तर अदालती प्रक्रिया पुर्याउनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “प्रक्रिया पुर्याउँदा कतिपय मुद्दा समयमा फस््र्योट भएको अवस्था पनि छ, न्यायाधीशको सङ्ख्या घट्दै जाँदा पनि असर पर्ने गरेको छ ।”

आव २०८०/८१ मा दुई वर्ष नाघेका मुद्दा पनि सर्वोच्चले सबैभन्दा धेरै फस््र्योट गरेको छ । विगत पाँच वर्षको तुलना गर्दा उक्त आबमा दुई वर्ष नाघेका सबैैभन्दा बढी मुद्दा आठ हजार एक सय २२ (४० दशमलव ३२) प्रतिशत मुद्दा फस््र्योट गरेको छ । दुई वर्ष नाघेका मुद्दा २० हजार एक सय ४२ रहेकामा १२ हजार २० मुद्दा फस््र्योट गर्न बाँकी रहेको छ ।

आव २०७९÷८० मा छ हजार आठ सय ९३ (३१ दशमलव २८ प्रतिशत), २०७८/७९ मा चार हजार आठ सय ५५ (२२ दशमलव ५६ प्रतिशत), २०७७/७८ मा दुई हजार तीन सय २६ (११ दशमलव ३९ प्रतिशत) र २०७६/७७ मा एक हजार तीन सय ९९ (नौ दशमलव ३८ प्रतिशत) मुद्दा फस््र्योट गरेको थियो ।

सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलका अनुसार अदालतमा पर्याप्त मात्रामा जनशक्ति हँुदा मुद्दा फस््र्योट तीव्र हुने गरेको छ । तर, न्यायाधीशहरूको सङ्ख्या कम हुनेबित्तिकै मुद्दा फस््र्योटमा असर पर्छ । “न्यायका उपभोक्तालाई सहज बनाउन अनलाइन मुद्दा दर्ता, भर्चुअलबाट सुनुवाइजस्ता काम भइरहेको छ”, उहाँले भन्नुभयो, “छिटोछरितो न्याय, न्यायमा पहुँच पुर्याउन प्रत्यन्त भइरहेको छ ।”

सर्वोच्चमा पाँच वर्ष नाघेका मुद्दा जम्मा तीन हजार दुई सय ४२ बाँकी छ । आव २०८०/८१ मा चार हजार पाँच सय ६५ (५८ दशमलव ४७) रहेको छ । थुनुवा मुद्दामा एक हजार सात सय ४८ बाँकी रहेको छ ।सर्वोच्चले मुद्दा व्यवस्थापनमा पाँच वर्ष नाघेका मुद्दाको सुनुवाइका लागि छुट्टै इजलासको व्यवस्था गर्ने, सर्वोच्चमा ५० प्रतिशत कैद भुक्तान गरेका थुनुवा मुद्दाको छुट्टै इजलासको व्यवस्था गर्ने नीतिगत व्यवस्था गरेको छ ।

विकास निर्माणसँग सम्बन्धित मुद्दाको सुनुवाइका लागि छुट्टै इजलासको व्यवस्था गरिएको छ । विसं २०७८ मङ्सिर १५ गतेदेखि गोला प्रक्रियाबाट इजलास गठन गरी मुद्दाको तोकिने पद्धतिको विकास गरिएको छ । सर्वोच्च अदालतमा स्वचालित प्रणाली (अटोमेसन) प्रणालीबाट २०८० भदौ १२ गतेदेखि पेसी तारेख सुरु गरिएको छ । उच्च अदालतमा पनि २०८० पुस ९ गतेदेखि पेसी तारेख स्वचालित प्रणालीमा प्रारम्भ गरेर मुद्दा व्यवस्थापन गरिएको छ ।जिल्ला अदालतमा २०८१ साउन १ गतेदेखि पेसी तारेख स्वचालित प्रणालीबाट सुरु गरिएको छ । उच्च अदालत र जिल्ला अदालतमा गोला प्रक्रियबाट इजलास गठन गरी मुद्दा तोकिने पद्धतिको सुरुआत भएको छ । गत जेठ १ गतेदेखि अनलाइन रिट निवेदन दर्ता पनि प्रारम्भ गरिएको छ ।

शीघ्र र गुणस्तरीय न्याय सम्पादन गर्न यसै आर्थिक वर्षमा काठमाडौँ जिल्ला अदालतमा पारिवारिक इजलास सुरु गरिएको थियो । यही साउन १ गतेदेखि मोरङ, धनुषा, कास्की, रुपन्देही र बाँकेमा पारिवारिक इजलास सुरुआत भएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीका अनुसार प्रत्येक वर्ष मुद्दा थपिँदै जाने तर आवश्यक स्रोत साधन र जनशक्तिको व्यवस्थापन गर्न राज्यबाट कुनै लगानी हुने गरेको छैन । “समयमा न्यायाधीश नियुक्ति हँुदैन, जनशक्तिको क्षमता अभिवृद्धिमा राज्यले लगानी गर्दैन”, उहाँले भन्नुभयो, “मेलमिलाप पद्धतिबाट विवाद समाधान गर्ने पद्धति प्रभावकारी छैन, बाधा अवरोधबीच पनि मुद्दा फस््र्योटमा पूर्ण रूपमा ध्यान दिएको छ ।”

आव २०८०/८१ मा उच्च अदालतहरुमा ४० हजार आठ सय ९७ (६२ दशमलव ६१ प्रतिशत) मुद्दा फस््र्योट भएको छ । उच्च अदालतमा ६५ हजार तीन सय १० मुद्दा रहेकामा २४ हजार चार सय १३ मुद्दा बाँकी छ । जिल्ला अदालतमा तीन लाख ६४ हजार पाँच सय ९४ मुद्दा रहेको छ । त्यसमध्ये दुई लाख तीन हजार आठ सय २७ (५५ प्रतिशत ९०) फस््र्योट भएको छभने एक लाख ६० हजार सात सय ६७ मुद्दा बाँकी छ । यही साउन १ गते न्यायपालिकाको पाँचाँै पञ्चवर्षीय रणनीतिक योजनाले न्यायपालिका सुधारका लागि स्पष्ट खाका तयार गरी छिटोछरितो न्याय र न्यायिक सुधार मुख्य रूपमा समेटिएको छ ।
–––

सङ्खुवासभाको दुर्गम क्षेत्र भोटखोलामा अवरुद्ध टेलिफोन सेवा सञ्चालन

किमाथाङ्का (सङ्खुवासभा), २१ साउनः सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा अवरुद्ध टेलिफोन सेवा सञ्चालनमा आएको छ । गत साउन १७ गते राति बिहीबारदेखि चिचिला र सभापोखरी गाउँपालिको सीमावर्ती क्षेत्र बर्खेडाँडामा रहेको टावरमा विद्युत् आपूर्ति बन्द भएपछि उत्तरी क्षेत्र भोटखोलामा टेलिफोन अवरुद्ध भएको थियो । चिचिला र सभापोखरी सीमावर्ती क्षेत्र बर्खेडाँडामा मर्मत र नियमित विद्युत् आपूर्ति भएपछि चार दिनपछि दुर्गम उत्तरी क्षेत्र भोटखोलामा टेलिफोन सेवा सञ्चालन भएको दूरसञ्चार कार्यालय खाँदबारीका प्रमुख प्रेमकुमार राईले बताउनुभयो ।

विद्युत् आपूर्ति बन्द हुँदा उत्तरी क्षेत्रका बर्खेडाँडा, भाटभटेनीडाँडा र लच्चीडाँडालगायतका टावर बन्द भएको उहाँले बताउनुभयो । चट्याङका कारण ब्याट्री व्याकअप, उपकरण र टावरका सामग्री पड्कँदा बेलाबेला उत्तरी क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध हुने गरेको छ । अवरुद्ध टेलिफोन सेवा सञ्चालन भएपछि भोटखोला–२ र ३ का हटिया, च्याम्ताङ, चेपुवा, लिङगम, छुम्सुर, रिदाकलगायत गाउँका बासिन्दा लाभान्वित भएका छन् । विद्युत सेवा नपुगेका दुर्गम गाउँमा बिटिएस टावर अझै सोलार पावरका भरमा चल्ने गरेको छ । प्रतिकूल मौसम र कठिन भूगोल भएका कारण सदरमुकाम खाँदबारीबाट प्राविधिक टोली समयमा पुग्न कठिन भएको थियो । उच्च हिमाल क्षेत्रमा हुरीबतास र चट्याङ पर्ने भएका कारण टावरमा समस्या आउने गरेको छ ।

सामुदायिक वन अभियानबाट महिला नेतृत्व सशक्त बन्दै गएको दाबी

काठमाडौँ – सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले सामुदायिक वन अभियानबाट महिला नेतृत्व ५० प्रतिशतभन्दा बढी भइ सशक्त हँुदै गएको दाबी गरेको छ ।महासङ्घले यहाँ पत्रकार सम्मेलन गरी सामुदायिक वन अभियानबाट देशको कूल भू–भागको ४५ प्रतिशतभन्दा बढी क्षेत्रफल बनाउन योगदान पुगेको र काठलगायत जडीबुटी र गैरकाष्ठ वन पैदावारको आपूर्तिमा वृद्धि भएको जनाएको हो ।

महासङ्घले यही साउन २५ गते विभिन्न कार्यक्रम गरी सामुदायिक वन दिवस मनाउन गइरहेको जानकारी गराउँदै अध्यक्ष ठाकुर भण्डारीले यस अभियानबाट वन तथा वातावरणको संरक्षणका साथै वनको दिगो व्यवस्थापन र जैविक विविधताको संरक्षण भएको, जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनका साथै प्रकोप जेखिम न्यूनीकरणमा योगदान भएको बताउनुभयो ।

यसले वन पैदावारमा आधारित लघु उद्यम सामुदायिक पर्यापर्यटन र कृषि वनका माध्यमबाट खाद्य सुरक्षामा वृद्धि भएको उहाँको भनाइ थियो । सामुदायिक वनका रुपमा दिगो वन व्यवस्थापनका लागि स्थानीय समुदायलाई वन हस्तान्तरण गर्न सुरुआत गरिएको दिनको स्मरण स्वरुप साउन २५ गते सामुदायिक वन दिवस मनाइँदै आएको छ ।

यस वर्ष महासङ्घ र सरकारी निकाय तथा वन उपभोक्ता समूहले ‘सामुदायिक वनको प्रभावकारिता ः तीनै तहका सरकार र समूहको सहभागिता’ भन्ने नाराका साथ साउन २० देखि २६ गतेसम्म सप्ताहव्यापी रुपमा दिवस मनाउन लागेको महासङ्घले जनाएको छ ।

देशभर २२ हजार सात सय ६० सामुदायिक वन उपभोक्ता समूहले ३१ लाखभन्दा बढी घरधुरीहरुको सङ्लग्नतामा लगभग २३ लाख हेक्टर वन क्षेत्र सामुदायिक वनको रुपमा व्यवस्थापन गर्दै आएको जनाइएको छ । यसका साथै सामुदायिक वन उपभोक्ता समूहले विभिन्न चुनौतीको सामना गरिरहेका जनाएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

वन पैदावार सङ्कलन गर्न पटके अनुमतिलगायतका झञ्झटिला व्यवस्था रहेको, सामुदायिक वन उपभोक्ता समूहमा तीन तहका सरकारलाई तेहेरो कर तिर्नुपर्ने व्यवस्था रहेको, दिगो वन व्यवस्थापन मापदण्ड लागू नहुँदा वन व्यवस्थापनका कार्यमा अन्यौलता रहेको महासङ्घको गुनासो छ ।

सरकारी निकायबाट समयमा प्राविधिक सहयोगको कमीका कारण ५० प्रतिशतभन्दा बढी सामुदायिक वनका कार्ययोजना परिमार्जनमा निरन्तर कठिनाइ रहेको उल्लेख गर्दै अध्यक्ष भण्डारीले निश्चित वर्गले पर्यटन व्यवसाय र केवलकारका नाममा सामुदायिक वन कब्जा गरेको, खानी तथा खनिज पदाग, नदीजन्य पदार्थ र निर्माणजन्य सामग्री सङ्कलन र निर्माणजन्य सामग्री प्रशोधन गर्ने कसर र सिमेन्टलगायत उद्योगले गैरकानुनी रुपमा सामुदायिक वन क्षेत्र कब्जा गरेको आरोप लगाउनुभयो ।

युक्रेनलाई पहिलो एफ–१६ जेट प्राप्त

युक्रेनलाई अमेरिकामा बनेको एफ–१६ लडाकू विमानहरूको पहिलो खेप प्राप्त भएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आइतबार रुसी सेनालाई परास्त गर्न थप विमान आवश्यक रहेको बताउनुभएको छ ।

दुई वर्षभन्दा बढी समयदेखि युक्रेनले विमानका लागि पश्चिमी साझेदारहरूसँग अनुरोध गरेको थियो । किएभले मागेको एफ–१६ लडाकू विमानलाई लामो समयदेखि सैन्य हार्डवेयरको विशाल सूचीमा मुकुट रत्न मानिन्छ ।

“हामीले प्रायः ‘असम्भव’ शब्द सुनेका छौँ, अब यो वास्तविकता हो, हाम्रो आकाशमा वास्तविकता, युक्रेनमा एफ–१६, हामीले यो पूरा गर्यौँ”, आफू माथिबाट एफ–१६ विमानले उडान भरेका बेला उहाँले घोषणा गर्नुभयो ।

युक्रेनी त्रिशूलले ब्रान्ड गरिएका दुई खरानी रङका आंशिक रूपमा ढाकिएको एफ–१६ जस्तै देखिने अगाडि जेलेन्स्की उभिनुभएको थियो । पत्रकारहरूलाई सुरक्षाका कारण यसको खुलासा नगर्न भनिएको थियो ।

“यी विमानहरूमा निपुणता हासिल गरिरहेका हाम्रा सबै केटाहरूमा मलाई गर्व छ र पहिला नै हाम्रो मुलुकका लागि यसको प्रयोग सुरु गर्न थालिसकेका छन्”, जेलेन्स्कीले भन्नुभयो ।

उहाँले कति जेट पठाइएका थिए र ती जेटका विशिष्ट कामका बारेमा टिप्पणी गर्न अस्वीकार गर्नुभयो । यद्यपि एएफपीका पत्रकारहरूले घटनास्थलमा कम्तीमा दुई वटा एफ–१६ देखेका छन् ।

किएभका सेनाले हालैका साताहरूमा रुसी सैनिकको अग्रतालाई रोक्न सङ्घर्ष गरिरहेका बेला यो घोषणालाई सम्भवतः धेरैले स्वागत गर्नेछन् ।

लडाकू विमानहरूको आगमनले युक्रेनलाई रुसी बमबारीबाट स्वयंलाई राम्रो तरिकाले बचाउन सक्षम बनाउने किएभले अपेक्षा गरेको छ । एफ–१६ विमानलाई उसको सटीकता, गति र दायराका लागि जानिन्छ ।

अपर्याप्त

यद्यपि जेलेन्स्कीले अझ धेरै एफ–१६ आवश्यक रहेको बताउनुभयो । “युक्रेनमा हामीसँग जतिवटा एफ–१६ विमान छन् र जति पाइलट पहिला नै प्रशिक्षित भइसकेका छन् त्यो अनुसार पर्याप्त छैन भन्ने हाम्रा साझेदारहरूलाई थाहा छ”, उहाँले भन्नुभयो, “हामीले थप एफ–१६ को अपेक्षा गरिरहेका छौँ ।”

धेरै नाटो मुलुकले विभिन्न सङ्ख्यामा लडाकू विमानहरू आपूर्ति गर्ने वाचा गरेका छन् र महिनौँदेखि युक्रेनी पाइलट र चालक दललाई प्रशिक्षण दिइरहेका छन् ।

जेलेन्स्कीले डेनमार्क, नेदरल्यान्ड्स, अमेरिका र अन्य सहयोगीहरूलाई धन्यवाद दिँदै भन्नुभयो, “हाम्रा केटाहरूले धेरै तालिम लिइरहेका छन् ।”

हालैका महिनाहरूमा रुसी हवाई अभियानका बीचमा राष्ट्रपति जेलेन्स्कीले सहयोगीहरूसँगको बैठकमा युक्रेनलाई राम्रो हवाई सुरक्षाको आवश्यकतालाई आफ्नो एजेन्डाको सबैभन्दा माथि राख्नुभएको छ ।

मे महिनामा एएफपीसँगको अन्तरवार्तामा जेलेन्स्कीले युक्रेनलाई रुसी वायु शक्तिसँग समानता हासिल गर्न करिब एक सय ३० वटा एफ–१६ को आवश्यकता रहेको बताउनुभएको थियो । यद्यपि युक्रेनका साझेदारहरूले अहिलेसम्म एक सयभन्दा पनि कम एफ–१६ पठाउने वाचा गरेका छन् ।

इजरायलले विद्यालयमा गरेको आक्रमणमा ३० जनाको मृत्यु

गाजाको नागरिक सुरक्षा एजेन्सीले आइतबार गाजा शहरका दुई विद्यालयमा इजरायली हमलामा कम्तीमा ३० जनाको मृत्यु भएको जनाएको छ । इजरायली सेनाले भने हमासको कमान्ड सेन्टरमा आक्रमण गरेको बताएको छ ।

यो आक्रमणसँगै गाजामा जुलाई ६ यता हमला हुने विद्यालयको सङ्ख्या कम्तीमा ११ पुगेको छ । यसमा हमासद्वारा सञ्चालित क्षेत्रका अधिकारीहरूले यसअघि दिएको सङ्ख्याको आधारमा करिब एक सय ५० जना मारिएका छन् ।

“हसन सलामेह नरसंहार र अल–नासर विद्यालयमा भएको बम विष्फोटमा शहीद हुनेको सङ्ख्या ३० पुगेको छ, दर्जनौँ घाइते पनि भएका छन्”, नागरिक रक्षाका प्रवक्ता महमुद बासलले भन्नुभयो । मृतक र घाइते हुनेमा अधिकांश महिला तथा बालबालिका रहेका छन् ।

उहाँले इजरायल र हमास लडाकुहरूबीच चलिरहेको युद्धमा घरबाट विस्थापित प्यालेस्टिनीहरूलाई स्कूलहरूले आवास प्रदान गरिरहेको बताउनुभयो ।

इजरायली सेनाले दुई विद्यालयलाई लक्षित गरी आक्रमण गरेको पुष्टि गरेको छ । “हमासको अल–फुरकान बटालियनले आफ्नो आतङ्कवादीहरूलाई लुक्ने र कमान्ड सेन्टरका रूपमा स्कुलहरूको प्रयोग गरिरहेको थियो”, सेनाले विज्ञप्तिमा भनेको छ

नागरिक सुरक्षा एजेन्सीका अनुसार शनिबार गाजा सहरमा अर्को स्कुल परिसरमा इजरायली सेनाले यस्तै आक्रमण गर्दा कम्तीमा १७ जनाको मृत्यु भएको जनाएको छ ।

इजरायली सेनाले बारम्बार हमासलाई कमान्ड र कन्ट्रोल सेन्टरका रूपमा वा आफ्ना कमान्डर र लडाकूहरूलाई लुकाउनका लागि नागरिक सुविधाहरू प्रयोग गरेको आरोप लगाउँदै आएको छ । यसलाई प्यालेस्टिनी समूहले अस्वीकार गर्दै आएको छ ।

कमसल निर्माण र भारी वर्षाका कारण कालोपत्र गरेको तीन महिनामै भत्कियो सडक

पर्वत – पर्वतको जलजला गाउँपालिका–७ स्थित मिलन चोक–सल्यान–घायखेत–धारापानी सडक कालोपत्र भएको तीन महिनामै भत्किएको छ । कमसल निर्माण र भारी वर्षाका कारण कालोपत्र भएको तीन महिना नपुग्दै सडक भत्किएको जलजला गाउँपालिका–७ धाइरिङका वडाअध्यक्ष टुङ्गनाथ आचार्यले जानकारी दिनुभयो । सडक योजनाअन्तर्गत सल्यान पहिराको टाकुरामा करिब पचास मिटर कालोपत्र सडक भत्किएको उहाँले बताउनुभयो ।

निर्माण व्यवसायीको लापरबाहीका कारण सडक भत्किएको उहाँको भनाइ । “सडक कालोपत्र भएको तीन महिना नहुँदै भत्किएको छ । यहाँ सल्ल्यान टाकुरालगायत स्थानहरूमा गरेर करिब डेढ सय मिटर कालोपत्र सडक भत्किएको छ”, वडाध्यक्ष आचार्यले भन्नुभयो ।

उक्त सडक गत जेठमा कालोपत्र गरिएको हो । निर्माण व्यवासायीले जग खनेर टेवा पर्खाल लगाउनुपर्नेमा पुरेको माटोमाथि ग्याविन जाली भरेर त्यसमाथि कालोपत्र गर्दा जनप्रतिनिधि र स्थानीयवासीले पटक–पटक ध्यानाकर्ष गराउँदासमेत बेवास्ता गरेकाले हाल समस्या भएको वडाअध्यक्ष आचार्यको जिकिर छ ।

मालढुङ्गा–बेनी सडकअन्तर्गत पर्ने मिलन चोकदेखि ठोट्नेरी जोड्ने १० किलोमिटर सडक स्तरोन्नति र कालोपत्र गर्न २०७६ मङ्सिर ६ गते रु २८ करोड १३ लाखमा हिमदुङ एन्ड थोकर प्रालिले ठेक्का सम्झौता गरेको थियो । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण गत मङ्सिरदेखि काम सुरू भएको थियो । गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमार्फत सञ्चालित यो सडक २०७८ मङ्सिर ५ गते सम्पन्न गर्ने लक्ष्य थियो । गत आर्थिक वर्षमा पहिलो चरणमा मिलन चोकदेखि सल्ल्यानसम्म करिब चार किलोमिटर सडक कालोपत्र गरिएको छ ।

दुई वर्षमा सम्पन्न हुनुपर्ने सडक पाँच वर्षपछि कालोपत्र गरिए पनि तीन महिना नटिक्दै भत्किएको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताउनुभयो ।

पूर्वाधार विकास कार्यालय पर्वतका इन्जिनियर जिता गिरीले कमजोर भूभागमा पहिरो गएका कारण सडक भत्किएको बताउनुभयो । उहाँले निर्माण व्यावसायीले पुनर्निर्माण गरेर पहिलेकै अवस्थामा ल्याएपछि मात्र अन्तिम भुक्तानी प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसैबीच, पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य पदम गिरी, जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्य, राजनीतिक दलका प्रतिनिधिहरू र स्थानीयवासीले भत्किएको सडकको अनुगमन गर्नुभएको थियो । अनुगमनका क्रममा पूर्वमन्त्री गिरीले सडक निर्माण गर्दा व्यवसायी र योजना कार्यान्वयन गर्ने निकायको गम्भीर लापरबाही देखिएकाले यसलाई पुनःनिर्माणका लागि दबाब दिने बताउनुभएको थियो ।

सङ्खुवासभामा लाखे निकाल्न नेवा देयः दबुमा सूचीकृत हुनुपर्ने

खाँदबारी (सङ्खुवासभा) – सङ्खुवासभामा नाग पञ्चमीबाट सुरु हुने नेवार समुदायको लाखे नाचमा अन्य वर्ग वा समुदायलाई समावेश नगर्न नेवा देय दबु खाँदबारीले आग्रह गरेको छ ।

यहाँ आयोजित पत्रकार सम्मेलनमा नेवा देयः दबुले खाँदबारी नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने नेवार समुदायका समूह र संस्था वा व्यक्तिलाई मात्रै लाखे नाचमा सहभागी हुन आग्रह गरेको हो । लाखे नाच्न अनिवार्य रुपमा नेवा देयः दबुमा सुचीकृत हुनुपर्ने छ । लाखे नाचमा मादकपदार्थ सेवन गरी हुलहुज्जत गर्न नपाइने नगर अध्यक्ष पुष्पबहादुर श्रेष्ठले बताउनुभयो । उहाँले लाखे नेवार समुदायको संस्कृतिसँग जोडिएकाले अन्य वर्ग वा समुदायबाट लाखे नाच प्रस्तुत नगर्न आग्रह गर्नुभयो ।

नेवार जातिको संस्कृति र पहिचानको रुपमा मनाइने लाखेनाच विशेष गरी नागपञ्चमीदेखि सुरु भएर कृष्णाअष्टमीका दिन समापन हुन्छ । श्रेष्ठले विशेष परिस्थितिबाहेक अन्य समय अवसर वा अन्य कार्यमा लाखे नाचलाई प्रस्तुत गर्न पूर्ण बन्देज गरिएको पनि बताउनुभयो ।

चलचित्रका कारण कर्णालीको सौन्दर्यता महसुस गर्न पाएँः अभिनेत्री पन्त

काठमाडौँ – अभिनेत्री सुरक्षा पन्तले कर्णाली प्राकृतिक सुन्दरतासँगै विविध संस्कृतिले भरिपूर्ण भएको आफूले पाएको बताउनुभएको छ । आफू अभिनित चलचित्र ‘बुलाकी’ को प्रचारप्रसारका लागि आयोजित पत्रकार सम्मेलनमा उहाँले कर्णालीमा छायाङ्कनका लागि बिताएको समय र आफ्नो पात्रको विषयबारे चर्चा गर्नुभयो ।

“यस चलचित्रमा मैले कर्णालीको हिरा नामक पात्रको भूमिका निर्वाह गरेकी छु । चलचित्रमा निसन्तान हुँदा महिलाले भोग्नुपर्ने सास्ती र जारी प्रथाको विषय जोडिएको छ”, अभिनेत्री पन्तले भन्नुभयो ।

आफ्नो पात्रलाई जीवन्त बनाउने अभिनेत्री पन्तले हिरा नामक पात्रको तयारी कर्णालीमै पुगेर गर्नुभएको थियो । स्थानीय भाषा, लवजसँगै भेषभूषा र मनोविज्ञान बुझ्न आफू स्थानीयसँग घुलमिल भएको उहाँले सुनाउनुभयो । मनाङमा एक इटालियन चलचित्रको छायाङ्कन सकाएको एकसातापछि उहाँ कर्णाली पुगेको बताउनुभयो ।

“पात्रका लागि जति तयारी गरे पनि स्थानीयमा नपुगी पूर्ण पाउँदैन । त्यसैले म एक हप्ता विश्राम गरेर स्थानीयसँग भेट्न पुगे । त्यहाँको जीवन र छुट्टै छ । त्यहाँका मान्छे मैले खुसी भएको पाएको छु”, उहाँले भन्नुभयो ।

कर्णाली पिछडिएको क्षेत्र भनेर आफूले सुने पनि त्यहाँ पुगेपछि भने उक्त सोच परिवर्तन भएको अभिनेत्री पन्तले बताउनुभयो । “मैले छायाङ्कनको समयमा जारी प्रथाबारे जिज्ञासा राखेकी थिएँ । छिटपुट हुने गरेको घटनाबारे स्थानीयले सुनाउनुभएको थियो । त्यहाँ बस्दा मैले बुझेको कर्णालीका महिला सक्षम छन् र अभिभावकत्व लिन तयार छन् भन्ने हो”, अभिनेत्री पन्तले भन्नुभयो ।

चलचित्रमा अभिनेत्री पन्तसँगै नरेन खड्का, विराज विष्ट, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलद्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाइलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

मुलुकभर ३४ हजार दुई सय ६७ किमी सडक विस्तार

काठमाडौँ – मुलुकभर हालसम्म ३४ हजार दुई सय ६७ किलोमिटर सडक विस्तार गरिएको छ । भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयअन्तर्गत सडक विभागको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीमा विभागले यस्तो जानकारी दिएको हो ।

विभागका महानिर्देशक रामहरि पोखरेलले आव २०८०/८१ को फागुन मसान्तसम्म १८ हजार दुई सय ४१ किलोमिटर कालोपत्र, सात हजार ६ सय ९७ किलोमिटर ग्राभेल र आठ हजार तीन सय २९ किलोमिटर कच्ची सडक विस्तार भएको जानकारी दिनुभयो ।

गत आवमा सडक निर्माणका लागि करिब रु एक खर्ब सात अर्ब २६ बजेट विनियोजन (संशोधन सहितका) भएकामा कूल खर्च ६९ दशमलव ५२ प्रतिशत खर्च भएको छ । जसमध्ये ८५ दशमलव ४० प्रतिशत चालुतर्फ, ६९ दशमलव १७ प्रतिशत पुँजीगततर्फ खर्च भएको सडक विभागको तथ्याङ्क छ ।

यसैगरी, राष्ट्रिय गौरवका आयोजनामध्ये पुष्पलाल (मध्य पहाडी) राजमार्ग आयोजनाअन्तर्गत एक हजार चार सय ५२ किलोमिटर सडक र एक सय पाँच पुल निर्माण सम्पन्न भएको छ । यस आयोजनाको भौतिक प्रगति ७६ दशमलव ९५ र वित्तीय प्रगति ८० दशमलव ८२ प्रतिशत भएको विभागले जनाएको छ । हुलाकी राजमार्ग आयोजनाको भौतिक प्रगति ६६ दशमलव ११, वित्तीय प्रगति ६१ दशमलव ९९ प्रतिशत र कोशी करिडोरमा दुई किमी सडक कालोपत्र र १० वटा पुलको निर्माण सम्पन्न भएको छ ।

कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत गैँडाकोट–राम्दी–मालढुङ्गा खण्ड (दुई सय ४५ किमी) अन्तर्गत एक सय ९० किमी र मालढुङ्गा–बेनी–जोमसोम खण्ड (दुई सय दुई किमी) अन्तर्गत ५१ किमी कालोपत्र सडक निर्माण भएको छ । यसैगरी, कर्णाली करिडोरअन्तर्गत (दुई सय ६९ किमी) हुम्ला जिल्ला सदरमुकाम सिमीकोट पनि राष्ट्रिय सडक सञ्जालमा जोडिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

पूर्व पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत बर्दिबास निजगढमा ६५ किमी ‘ट्र्याकबेड’ र १३ वटा रेलवे पुलको निर्माण भएको छ । जसको भौतिक प्रगति ४५ दशमलव चार, वित्तीय प्रगति ४५ दशमलव ३३ प्रतिशत भएको विभागका महानिर्देशक पोखरेलले बताउनुभयो ।

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउँछौँ – उपमहासचिव ज्ञवाली

दमौली (तनहुँ) – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गरिने बताउनुभएको छ । एमाले तनहुँले दमौलीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उहाँले एमाले राष्ट्रिय शक्तिको रुपमा विकास भएपछि समाजवादको आधार तयार हुने बताउनुभयो ।

जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्नुपर्ने उल्लेख गर्दै ज्ञवालीले त्यसका लागि एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्ने बताउनुभयो । नेपालको हरेक निर्णायक क्रान्ति र निर्णायक समयमा नेकपा (एमाले) र नेपाली कांग्रेसको सहकार्य हुने गरेको भन्दै ज्ञवालीले पछिल्लो पटक २०६२÷६३ को मौलिक क्रान्ति र संविधान निर्माणका क्रममा एमाले र कांग्रेसले सहकार्य गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सुखी नेपाली समृद्ध नेपालको आकाङ्क्षा पूरा गर्न पनि एमाले र कांग्रेसको सहकार्य आवश्यक छ ।”

विगतमा कम्युनिष्ट पार्टीको सरकार गिराउन कम्युनिष्ट पार्टीलाई नै प्रयोग गरिएको भन्दै आफूलाई कम्य्ुनिष्ट भन्नेहरु नै दुई तिहाइको सरकार गिराउन लागि परेको ज्ञवालीको भनाइ छ । एमालेका कार्यकर्ताहरु विचारबाट प्रशिक्षित हुनुपर्ने भन्दै ज्ञवालीले एमालेका कार्यकर्ताहरुले विचारमा स्पष्टता, सङ्गठन निर्माण, प्रचारमा प्रभावकारिता, विकासको अभियन्ता, निर्वाचन परिचालक, जनताको परिचालन, स्वयंसेवी भावना, समन्वयकारी भूमिका आदि गुण हुनुपर्नेमा जोड दिए ।

आजको प्रशिक्षणमा पार्टीका केन्द्रीय सचिव पद्मा अर्याल, पोलिटब्युरो सदस्य टुकराज सिग्देल, केन्द्रीय स्कूल विभागका सदस्य हस्त पण्डितलगायतका नेताहरुले सहजीकरण गर्नुभएको थियो ।

जुम्लामा ७९६ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

जुम्ला, २० साउनः गत आर्थिक वर्षमा जुम्लाका आठ स्थानीय तहका सात सय ९६ जनाले जन्म र मृत्युको बेला दिइने २० केजी चामल प्राप्त गरेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाका अनुसार जन्म हुँदा तीन सय ३४ र मुत्यु हुँदा ३२ जनाले मन्सुली चाम लिएका छन् ।

त्यस्तै अरुवा मध्यम चामल लिनेमा जन्मतर्फ तीन सय २१, मुत्युतर्फ २३ जना छन् । कार्यालयका अनुसार अरुवा मोटा चामल लिनेमा जन्मतर्फ ४८ र मुत्युमा दुई जना छन् । अरुवा मकावनपुर चामल भने जन्ममा ३०, मुत्युमा पाँच जनाले लिएका कार्यालयका सूचना अधिकारी लक्ष्मण शर्माले जानकारी दिनुभयो । 

उहाँका अनुसार जन्म र मृत्यु हुँदा गत आवमा रु नौ लाख ५९ हजार नौ सय ८० बराबरको एक सय ५९ क्विन्टल चालम वितरण भएको छ । उहाँले चालम उपलब्ध गराउँदा ज्यालामा भने रु तीन लाख ८८ हजार पाँच सय ज्यालामा खर्च भएको बताउनुभयो । 

उक्त सुविधा लिनका लागि ३५ दिनभित्र जन्मको हकमा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि र वडाको सिफारिस आवश्यक पर्छ भने मृत्यु हुनेको हकमा मृत्युदर्ता, वडाको सिफारिस र सेवा लिन आउने सेवाग्रहीको नागरिकताको प्रतिलिपि आवश्यक हुने खाद्य कम्पनी जुम्लाले जनाएको छ । उक्त कार्यक्रमअन्तर्गत पातारासी, गुठिचौर र तातोपानी गाउँपालिकाबासीले २० किलो चामल र रु पाँच सय ज्याला पाउँछन् । त्यसैगरी हिमा, सिञ्जा, तिला र कनकासुन्दरी गाउँपालिकाबासीले २० किलो चामल र रु एक हजार ज्याला पाउने गरेको कार्यालय प्रमु्ख सन्तोष तिवारीले बताउनुभयो । तिला गाउँपालिका– १ का स्थानीय सुनिता रावतले उक्त अनुदानले ठूलो राहत हुने गरेको बताउनुभयो । 

विसं २०७३ भदौमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले जन्म र मृत्यु हुँदा प्रतिपरिवार निःशुल्क २० किलो चामल दिने घोषणा गरेको थियो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्ला शाखामा हाल कार्यालयमा १४ सय क्विन्टल चामल मौन्दात रहेको जनाएको छ  । भदौ दोस्रो सातासम्मका लागि चामल पुग्ने भएकाले सहज रुपमा वितरण गरिने सूचना अधिकारी शर्माले बताउनुभयो ।