`

बङ्गलादेशमा सरकार विरोधी प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै आएका हजारौँ बङ्गलादेशी प्रदर्शनकारीहरूको लाठी, छुरा र बन्दुकसहित आइतबार सरकार समर्थक समर्थकहरूसँग झडप हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ ।

प्रदर्शनकारीहरूले एउटा बख्तरबन्द कारको छतमा नृत्य गरेका थिए । बारम्बार घातक कारबाहीका साथ अन्त्य हुने गरेका अघिल्ला महिनाको र्यालीहरूको विपरीत धेरै मामिलामा सैनिक र प्रहरीले प्रदर्शनकारीहरूमाथि हस्तक्षेप गरेनन् ।    एएफपीद्वारा प्रमाणित सामाजिक सञ्जालमा देखाइएका भिडियोअनुसार ढाकामा खचाखच भीडले घेरिएको बख्तरबन्द कारमाथि प्रदर्शनकारीहरूले बङ्गलादेशी झन्डा लहराएका थिए र त्यसलाई सैनिकले हेरिरहेका थिए ।

निजामती सेवामा आरक्षण प्रणालीविरुद्धको र्यालीहरूले जुलाईमा हिंसात्मक रूप लिएको थियो । उक्त प्रदर्शनमा हसिनाको १५ वर्षको कार्यकालको सबैभन्दा खराब अशान्तिमा दुई सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।सेनाले केही समयका लागि आन्दोलनको अवस्था शान्त बनाएर व्यवस्था पुनःस्थापित गरेको भए पनि सरकारलाई कमजोर बनाउने उद्देश्यले गरिएको असयोग आन्दोलनअन्तर्गत यस महिना ठूलो सङ्ख्यामा भीड सडकमा फर्किएको छ ।

प्रहरी निरीक्षक अल हेलालले एएफपीलाई भन्नुभयो, “विद्यार्थी र सत्तारुढ दलका मानिसहरूबीच झडप भएको थियो । यसमा ढाकाको मुन्शीगञ्ज जिल्लामा दुई युवकको मृत्यु भएको छ । मृतकमध्ये एउटाको टाउकोमा चोट लागेको र अर्कोलाई बन्दुकको गोली लागेको थियो ।”

प्रहरी र चिकित्सकहरूले पनि ढाकाका अन्य ठाउँमा, उत्तरी जिल्ला बोगरा, पबना, रङ्गपुर र सिल्हेटका साथै पश्चिममा मागुरा, पूर्वमा कुमिल्ला, दक्षिणमा बरिशाल र फेनीमा पनि मृत्यु भएको रिपोर्ट गरेका छन् ।

यहाँका केही पूर्वसैन्य अधिकारीहरू विद्यार्थी आन्दोलनमा सामेल भएका छन् र पूर्वसेना प्रमुख जनरल इकबाल करिम भुइयाँले प्रदर्शनसँग समर्थित रहेको आफ्नो फेसबुक प्रोफाइल रातो बनाउनुभएको छ । 

करिब १७ करोड जनसङ्ख्या भएको दक्षिण एसियाली यस मुलुकमा विरोध प्रदर्शन व्यापक सरकार विरोधी आन्दोलनमा परिणत भएको छ ।

जनआन्दोलनमा फिल्म स्टार, सङ्गीतकार र गायकहरूसहित बङ्गलादेशी समाजका सबै तहका नागरिक सहभागी भएका छन् । जनताको समर्थनको आह्वान गर्ने र्याप गीतहरू सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएका छन् ।

मौसमलाई ख्याल नगर्दा अन्नपूर्ण पदमार्गमा पर्यटकले गुमाउँछन् ज्यान

मनाङ, २० साउनः जोखिमपूर्ण मानिने अन्नपूर्ण पदमार्ग विश्वकै आकर्षक गन्तव्य मानिन्छ । साथै यो पलमार्ग विश्वकै १०औँ जोखिमपूर्ण पदमार्गका रूपमा रहेको छ । यहाँ विशेष सावधानी नअपनाउँदा पर्यटकले ज्यानसमेत गुमाउने गरेका छन् ।

अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) इकाइ मनाङका प्रमुख ढकबहादुर भुजेलले आर्थिक वर्ष २०८०/८१ मा मात्रै यहाँ पाँच पर्यटकले ज्यान गुमाएको जानकारी दिनुभयो । उहाँकानुसार लेक लागेर (हाई अल्टिट्युट)  पर्यटकले ज्यान गुमाउने गरेका छन् । 

विसं २०८० असोज १७ मा डुम्रे–बेँसीसहर–चामे सडकखण्डअन्तर्गत मनाङको नासों गाउँपालिका–३ खोत्रोमा भिरबाट लडेर ६९ वर्षीय अमेरिकी नागरिक चाल्र्स केथ डेविस (राहदानी नं ६८१७१७४२५)ले ज्यान गुमाएका थिए । यस्तै सोही वर्षको असोज २४ मा मनाङ–खाङ्सार–तिलिचो पैदल मार्गअन्तर्गत मनाङ ङिस्याङ गाउँपालिका–९ टोडाँडामा लेक लागेर भारतीय नागरिक ३५ वर्षीय चेत्तीय क्यान्डी भन्ने मोहमद रिजिम (रा.नं टी ८९५१४२०) ले ज्यान गुमाएका थिए । 

गत वर्ष नार्पाभूमि गाउँपालिका–२ मेतास्थित जम्बाला गेष्ट हाउस एन्ड रेष्टुरेन्टमा सुतेकै अवस्थामा बेलायतका टेरेन्स ब्राडी (रा.नं १२१५६३०६३) मृत भेटिएका एक्यापको तथ्याङ्कमा उल्लेख छ । मनाङ ङिस्याङ गाउँपालिका–६ चुलुबेस क्याम्प नजिकै बाटोमा लेक लागेर पोर्टर धादिङको गङ्गाजमुना गाउँपालिका–५ फुलखर्कका ३५ वर्षीय हरि अधिकारी र मनाङ ङिस्याङ गाउँपालिका–९ टोगुफास्थित पहिरोको जोखिम क्षेत्र तिलिचो बेस क्याम्प जाने क्रममा दाङ घोराही उपमहानगरपालिका–९ स्थायी घर भई काठमाडौँ महानगरपालिका–१० पुरानो बानेश्वर बस्ने ४९ वर्षीय दधिराम डाँगीको समेत ज्यान गएको थियो । 

भारतीय नागरिक र नेपाली पर्यटक डाँगीको रिपोर्ट आउन बाँकी रहेको इकाइ प्रमुख भुजेलले बताउनुभयो । मनाङको वातावरण र मौसमको जोखिमलाई बेवास्ता गर्दा पर्यटक तथा गाइडले ज्यान गुमाउने गरेका उहाँको भनाइ छ । “पथप्रदर्शकबिना नै जोखिमयुक्त यस पदमार्गको यात्रामा आउने, मौसम अनुकूलतालाई ध्यान नदिने गरेकाले पर्यटकले ज्यान गुमाउने गर्छन् । लेक लाग्ने क्षेत्र भएकाले एकैचोटि हाई अल्टिट्युटका कारण ज्यान गुमाउनेको सङ्ख्या बढी छ”, भुजेलले भन्नुभयो । 

मनाङअन्तर्गतका पर्यटकीय क्षेत्र तिलिचो ताल, थोराङ्ला भञ्ज्याङ पार गर्न आउने पर्यटकले मौसमको अनभिज्ञताले पर्यटकले ज्यान गुमाउनुपरेको पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “आन्तरिक पर्यटकले अझ बढी मौसमको अनुकूलतालाई ध्यान नदिँदा यस्ता समस्या आउने गरेका छन् । न्यून चापीय क्षेत्रबाट उच्च स्थानमा पुग्दा हुने समस्यालाई ध्यान दिएमा स्वदेशी पर्यटकले ज्यान गुमाउने अवस्था आउँदैन ।”

मौसमलाई ध्यान दिएर यहाँको वातावरणमा घुलमिल हुँदै आउँदा यस्ता समस्याबाट बच्न सकिए पनि थोरै समय लिएर यहाँ घुम्न आउँदा उच्च जोखिममा पर्ने गरेका स्थानीयको भनाइ छ । 

अटोरिक्सा बगाउँदा बेपत्ता भएकी खड्काको शव फेला

तुलसीपुर, २० साउनः दाङमा अटोरिक्सा बगाउँदा बेपत्ता भएकी एक बालिकाको शव फेला परेको छ । शुक्रबार राति तुलसीपुर–४ स्थित बेचनी खोलाले बगाउँदा बेपत्ता भएकी सुर्खेत घर भई तुलसीपुर–४ खाद्रै बस्दै आएकी १६ वर्षीया मञ्जु खड्काको शव आज फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

बबई गाउँपालिका–५ खयरभट्टीस्थित बबई नदीको किनार पानीमा तैरिएको अवस्थामा शव भेटिएको हो । शुक्रबार राति सवा ८ बजेतिर तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा ह ६४०५५ नंको अटोरिक्सालाई बगाउँदा उनीसहित दुईजना बेपत्ता भएका थिए । बेपत्तामध्ये तुलसीपुर–४ निवासी ५५ वर्षीया सीता आलेको शनिबार ग्वारखोलामा शव भेटिएको थियो ।

मञ्जु सीताकी नातिनी हुन् । अटोमा पाँचजना सवार थिए । चालक तुलसीपुर–४ खाद्रे निवासी ४५ वर्षीय हरिकिसन विक, ३३ वर्षीया सुनिता थापा र सात वर्षीया सुशान्त आले भने सकुशल छन् ।

पर्यटक लोभ्याउन लमजुङको ‘ मणिडाँडामा सात लाखको लागतमा परेवाको प्रतीक निर्माण

लमजुङ, २० साउनः लमजुङको सुन्दरबजार नगरपालिका–२ परेवाडाँडास्थित मणिडाँडामा परेवाको प्रतीक निर्माण गरिएको छ । पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले गत आर्थिक वर्षमा रु सात लाखको लागतमा परेवा जोडीको प्रतीक निर्माण गरिएको वडाध्यक्ष नवीनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त स्थानलाई पार्क र पिकनिक स्थलका रूपमा विकास गर्दै आकर्षक पर्यटकीय गन्तव्य बनाउने योजनाअनुरूप पूर्वाधार निर्माणका काम भइरहेको पनि उहाँले बताउनुभयो । “यस डाँडामा सहिदको सालिक निर्माण लगायतका भौतिक संरचना निर्माण गर्ने योजना छ । परापूर्वकालमा आर्मीहरूले परेड खेलेकाले परेवाडाँडा नाम राखिएको बूढापाकाको भनाइअनुसार आर्मीहरुले परेड खेल्दै गरेको दृश्यको प्रतीक समेत निर्माण गर्ने लक्ष्य छ । साढे दुई लाख रुपैयाँको लागतमा सहिद मोहनलाल श्रेष्ठको सालिक निर्माण गरिसकेका छौँ”, श्रेष्ठले भन्नुभयो ।

परेवा जोडीको प्रतीक बनपछि हाल यहाँ हेर्न आउनेहरूको सङ्ख्या बढेको बढ्दै गएको छ । तीमध्ये सबैजसोे परेवा जोडीसँग तस्बिर खिँचाउँदै गरेका देखिन्छन् ।

यसैगरी यहाँको मणिडाँडामा रहेको मणि चौताराको मर्मत तथा स्तरोन्नति, नेपालको ठूलो झण्डा राख्ने, आँपका रूखहरुमा म्युजिक सिस्टम जडान गर्ने, पिकनिक स्पोर्टका लागि आवश्यक पर्ने भौतिक संरचना, शौचालय, खानेपानीलगायतको संरचना निर्माण गर्ने स्थानीय पालिकाको योजना छ ।

बिहारको मुख्यमन्त्रीको कार्यालय उडाउने धम्की

पटनामा मुख्यमन्त्रीको कार्यालय (सिएमओ) लाई भवन उडाउने धम्कीपूर्ण इमेल प्राप्त भएपछि बिहार प्रहरीले उक्त मामिलालाई दर्ता गरेको छ ।

सिएमओले जुलाई १६ मा एक अज्ञात अकाउन्टबाट अल–कायदासँग सम्बद्ध रहेको दाबी गरेको इमेल प्राप्त गरेको थियो । इमेल प्रेषकले सीएमओ परिसरलाई बमले उडाइनेछ भनी धम्की दिएको र बिहारको विशेष प्रहरीले पनि यसलाई रोक्न नसक्ने बताएको छ ।

धम्कीपूर्ण इमेलले प्रहरी र प्रतिआतङ्कवाद दस्ता (एटिएस) लाई अनुसन्धान सुरु गर्न प्रेरित गरेको थियो । त्यसपछि अगस्ट २ मा स्टेशन हाउस अफिसर सञ्जीव कुमारको बयानका आधारमा सचिवालय प्रहरी थानामा एफआइआर दर्ता गरिएको थियो । भारतीय न्याय संहिता, २०२३ को धारा ३५१ (४) र (३) का साथै आइटी ऐन को धारा ६६ (एफ) अन्तर्गत निवेदन दर्ता गरिएको प्रहरीले बताएको छ । 

क्यालिफोर्नियामा आगलागीले ५६० भन्दा बढी घर र भवन ध्वस्त

क्यालिफोर्नियाको सेन्ट्रल भ्यालीमा छ हजारभन्दा बढी अग्निनियन्त्रकहरूले ११ दिनअघि लागेको राज्यको इतिहासमा सबैभन्दा ठूलो आगलागी निभाउन सङ्घर्ष गरिरहेका छन् । अधिकारीहरूका अनुसार आगलागीबाट अहिलेसम्म पाँच सय ६० भन्दा बढी घर र भवन नष्ट भएका छन् भने लस एन्जलस सहरभन्दा ठूलो क्षेत्रफल अर्थात चार लाख एकडभन्दा बढी भूमिलाई यसले लपेटेको छ । अधिकारीहरूले २७ प्रतिशत क्षेत्रमा आगो निभाइएको र चार हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको बताएका छन् ।

यस क्षेत्रको कच्ची भूभाग र उजाडस्थानका कारण आगलागी भएको स्थानसम्म पुग्न दुईदेखि तीन घण्टा लागेको थियो । साथै केही अग्निनियन्त्रकलाई हेलिकप्टरद्वारा अग्रपङ्क्तिमा पठाइएको छ भने केही आपूर्ति आइपुग्दासम्म केही दिन त्यहाँ रहने अपेक्षा गरिएको छ ।

क्यालिफोर्निया राष्ट्रिय अग्नि नियन्त्रण केन्द्रले अस्ट्रेलिया र न्युजिल्याण्डका अग्नि नियन्त्रकहरूसँग सहयोगका लागि अनुरोध गरेको छ । बाट सहयोगको लागि अनुरोध गरेको छ ।

राजनीतिक अस्थिरताका कारण अर्थतन्त्रलाई थप प्रभावित हुन दिँदैनौँः अर्थमन्त्री पौडेल

ललितपुर । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजनीतिक अस्थिरताका कारण अर्थतन्त्र थप प्रभावित हुने अवस्था अब नआउने बताएका छन् ।

आइतबार भैसेपाटीस्थित मन्त्री निवासमा कुरा गर्दे अर्थमन्त्री पौडेलले विद्यमान संसदीय र राजनीतिक व्यवस्थाअनुसार बन्नसक्ने सबैभन्दा बलियो सरकार अहिले बनेको र राजनीतिक अस्थिरताको प्रतिच्छाया मुलुकको अर्थतन्त्रमा पर्ने अवस्था नरहने स्पष्ट पारेका हुन् ।

“अहिलेको व्यवस्थामा बन्नसक्ने बलियो र दिगो सरकार यही हो । लामो इतिहास भएका र व्यवस्था बदल्न योगदान गरेका दुई ठूला दल मिलेर सरकार बनाएका छन् । राजनीतिक अस्थिरताका कारण अर्थतन्त्रमा प्रभाव पार्ने अवस्था अब हामी आउँन दिँदैनौं भन्ने सन्देश दिएका छौँ”, उनले भने, “निजी क्षेत्रलाई उत्साहित भएर उत्पादनमा, लगानीमा केन्द्रित हुनका निम्ती सरकारले प्रोत्साहित गर्छ । सरकारले अविभावकको भूमिका निर्वाह गर्छ भन्ने अनुभूति दिलाउन चाहान्छौँ ।”

संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेर स्थिर सरकार गठन भएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले अब निजी क्षेत्रले भरोसायोग्य अविभावक पाएको बताए । अर्थतन्त्रमा समस्या देखिएका हरेक क्षेत्रलाई मिहीनढङ्गले विश्लेषण गरेर त्यसको समाधान खोजिने पनि उनको भनाइ छ ।

“नेपाली अर्थतन्त्र अहिले दबाबमा छ । यो अवस्थाबाट मुलुकलाई बाहिर निकाल्नका निम्ती अर्थतन्त्रलाई चलायमान गर्न जरुरी छ र अर्थतन्त्रमा जे जति समस्या देखिएका छन्, ती समस्यमा प्रवेश गरेर समाधान खोज्दै अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता हो”, पौडेलले भने, “शिथिल अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउनु अहिलेको मुख्य चुनौती हो । यसका निम्ती अर्थतन्त्रका सबै सम्बाहक पक्षलाई त्यहाँ रहेको समस्यामै प्रवेश गरेर समाधान खोज्न हामी केन्द्रित हुनुपर्नेछ ।”

कतिपय आर्थिक सूचकहरु नकारात्मक रहेको उल्लेख गर्दै उनले समग्र मागमा न्यूनता आएको, राष्ट्रिय उत्पादन घटिरहेको र त्यसको प्रभाव रोजगारीमा परेको बताए । “राजस्व सङ्कलन लक्ष्यअनुसार हुन सकेको छैन । पुँजीगत खर्च सन्तोषजनक ढङ्गले गर्न सकिरहेका छैनौँ । समग्रतामा भन्दा नेपाली अर्थतन्त्र शिथिल नै छ”, उनले भने ।

अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने भएकाले सरकार निजी क्षेत्रसँग निरन्तर संवादमा रहेको र आवश्यक सुझावहरु लिएर समस्या समाधानका लागि प्रयास गरिरहेको पौडेलले जानकारी दिए ।

“निजी क्षेत्र हाम्रो अर्थतन्त्रको महत्वपूर्ण आधार हो । निजी क्षेत्रको मनाबल बढाउनु, उत्पादनका निमित्त उत्प्रेरित गर्नु र समग्र अर्थतन्त्रलाई चलायमान बनाउनु यतिबेला महत्वपूर्ण प्राथमिकताको विषय हो”, उनले भने ।

आफूले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेपछि निजी क्षेत्रसँग नियमित संवादमा रहेको र निजी क्षेत्रसँग सुझाव पनि लिइरहेको बताए । “निजी क्षेत्रले राखेका अपेक्षाहरु सम्बोधन गर्न सम्भव छन् वा सम्भव छैनन् भन्ने कोणबाट पनि हामी हेरिरहेका छौं । क्रमशः समाधानका प्रयासहरु अगाडि बढेका छन्”, उनले भने ।

उनले चालु आर्थिक वर्ष २०८१/८२ का लागि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले अथतन्त्रसँग सम्बन्धित मौद्रिक क्षेत्रका समस्या समाधान गर्ने विश्वास व्यक्त गरे । नयाँ सरकार गठन भएपछि र मौद्रिक नीति जारी भएपछि पुँजीबजार सुधारोन्मुख हुँदै गएको र यसलाई नयाँ सरकारप्रति जनताको विश्वासका रुपमा आफूले लिएको उनको भनाइ छ ।

सिन्धुलीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

कमलामाई (सिन्धुली), २० साउनः सिन्धुलीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दुधौली नगरपालिका–१ गिच्यानीका २७ वर्षीय नवीन धामी दनुवार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार आज नवीन, सोही ठाउँका ५० वर्षीय जङ्गबहादुर धामी र ५१ वर्षीय ईन्द्र सापकोटा विद्युतीय तारको प्रयोग गरी स्थानीय बंका खोलामा माछा मार्न गएका थिए ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई दुधौली नगर अस्पताल सिर्थौली पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेका उहाँले जानकारी दिनुभयो । मृतक नविनको साथमा गएका जङ्गबहादुर र इन्द्र सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक काफ्लेले बताउनुभयो ।

बाढीपहिरालगायत विपद्मा परी आजसम्म १५३ को मृत्यु

काठमाडौँ, २० साउनः अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरालगायत विपद्मा परी आज दिउँसोसम्म एक सय ५३ जनाको मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढीपहिरालगायत विपद्मा परी काठमाडौँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा २५ जना, मधेस प्रदेशमा छ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४३ जना, लुम्बिनी प्रदेशमा २९ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा एक सय ५३ जनाको मृत्यु भएको हो ।

उहाँका अनुसार बाढीपहिराबाट काठमाडौँ उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेस प्रदेशमा १० जना, बागमती प्रदेशमा १० जना, गण्डकी प्रदेशमा ३४ जना, लुम्बिनी प्रदेशमा ११ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा एक सय ७७ जना घाइते भएका छन् ।

बाढीपहिराबाट काठमाडौँ उपत्यकामा २६ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, कर्णाली प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेशमा पाँच जना गरी जम्मा एक सय आठ जनाको उद्धार गरिएको प्रवक्ता कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “आजसम्म बाढीपहिरामा परी कोशी प्रदेशमा दुई जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा एक जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा एक जना गरी ४७ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी जारी छ ।”

बाढीका कारण जम्मा तीन सय ८४ घर डुबानमा परेका छन् । बढी पहिरो कै कारण दुई सय ६१ वटा घर, ९५ वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । बाढीपहिराले आजसम्म सात सय ४३ वटा पशुचौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार दुई सय ३८ घर परिवार विस्थापित भएका प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

योजना निर्माण गर्दा गुणस्तरमा ध्यान दिन प्रधानमन्त्रीको निर्देशन

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले योजना निर्माण गर्दा गुणस्तरमा ध्यान दिन विभाग र मातहतका कार्यालयलाई निर्देशन दिएका छन् ।

सडक विभागले शनिबारदेखि ललितपुर आयोजना गरेको आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन गरेका कामको प्रगति समीक्षा गोष्ठीको समापनका अवसरमा अवसरमा आइतबार निर्देशन मन्तव्य राख्दै प्रधानमन्त्रीले सडकको सुरक्षा र मानिसको सुरक्षा हुनेगरी चालु योजना सम्पन्न गर्न निर्देशन दिए ।

“मानिसलाई आवश्यक नै नहुने वन र भिरमा सडक खनेर कुनै फाइदा छैन, मानव बस्ती छुने र छोटो हुनेगरी सडक निर्माण गर्न आवश्यक छ, अनावश्यक ठाउँमा ‘ट्र्याक’ खोलेर उपयुक्त हुँदैन, भिरमा बाटो लगेर मानिसका लागि फाइदा हुँदैन, यसका लागि ध्यान दिन जरुरी छ”, प्रधानमन्त्री ओलीले भने । उनले राजनीतिक  दबाबका आधारमा जनतालाई फाइदा नहुने ठाउँमा सडक निर्माणमा ध्यान दिनु आवश्यक नभएको बताए ।

“एउटै खालका योजना पटक–पटक बनाउने भन्ने हुँदैन, सडकको सुरक्षा र मानिसको सुरक्षा हुनेगरी काम गर्नु आवश्यक छ । वन विभागसँग समन्वय राखेर काम गर्नूहोला”, उनले भने ।

प्रधानमन्त्रीले योजनालाई आवधिक योजनामा वितरण गरेर काम गर्न उचित भएको उल्लेख गर्दै अन्तर मन्त्रालयबीच समन्वय गरेर परिणाम आउनेगरी काम काम गर्न सुझाव दिए ।

आफू पहिलो पटक प्रधानमन्त्री  भएको समयमा पूर्वाधारको विकासमा जोड दिएको भन्दै उनले अहिले देशलाई दिगो र टिकाउ हुने पूर्वाधार निर्माणको आवश्यकता परेको उल्लेख गरे ।

नेपाललाई पानीजहाज र रेलमार्गको सञ्जाल विस्तार गरेर अन्तरदेशीय र सहज यातायात सञ्चालनको योजना तर्जुमा गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

प्रधानमन्त्रीले २०४६ सालपछि गरिएको निजीकरणले उपलब्धि दिन नसकेको बताए । उनले ७० देखि ८० को दशक राजनीतिक प्रगतिको दशक मात्रै नभई आर्थिक प्रगतिको दशक पनि भएको बताए ।

त्यस अवसरमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ९० वटाभन्दा बढी निकायका १९ वटा प्रतिवेदन पेस भएको बताउँदै रुग्ण ठेक्काको सन्दर्भमा एक महिनाभित्र प्रतिवेदन पेस गर्न मन्त्रालयका सचिवलाई निर्देशन दिएको जानकारी दिए ।

मौसमले साथ नदिँदा तीन दिनदेखि रारामा हवाई उडान प्रभावित

मुगु, २० साउन : मुगुस्थित रारा विमानस्थलमा तीन दिनदेखि उडान प्रभावित भएको छ । मौसममा फेरबदली आइरहँदा विमानस्थलमा उडान हुन नसकेको रारा नागरिक उड्डयन कार्यालय मुगुले जनाएको छ । शुक्रबार समिट एअरले नेपालगञ्जबाट यात्रु लिएर मुगुका लागि उडे पनि जुम्लाको नराकोटमाथि पुगेपछि मौसम खराबी आएको भन्दै १० मिनेट नजिक रहेको यस विमानस्थलमा अवतरण नगरी पुनः नेपालगञ्ज फर्किएको थियो ।

शनिबार मौसम नखुलेपछि कुनै उडान नभएको र आज आज मौसममा केही सुधार भएपछि उडानको तयारी भए पनि पुनःमौसममा खराबी आएपछि समिटले एअरले रारा विमानस्थलको उडान स्थगित गरेको जनाइएको छ ।

तीन दिनदेखि उडान नभएपछि नेपालगञ्ज भएर मुगु आउने यात्रु र रारा विमानस्थलबाट नेपालगञ्ज जाने यात्रुहरू समस्यामा परेका छन् । आज नभए भोलि उडान होला भन्दै होटेलमा बास बस्दा खर्च गर्ने पैसा पनि सकिएको यात्रुहरूले दुखेको सुनाउँछन ।

रारा विमानस्थलमा उडान नहुँदा मुख्यगरी वर्षे बिदामा घर गएका शिक्षक प्रभावित भएका छन् । शिक्षक नम्रता मल्ल भन्नुहुन्छ, “सडक राम्रो छैन । मौसमको खराबीले हवाई उडान पनि निश्चित छैन, त्यसैले समस्या भएको छ । कार्यक्षेत्रमा जान सकिएको छैन ।”

रारामा उडान भर्ने ती एअर लायन्स छन् । तीमध्य तारा एअरले मर्मतसम्भारका लागि भन्दै काठमाडौँ र सीता एअरले प्रशासनिक काम देखाउँदै मुगु उडान गरेको छैन । हाल समिट एअरले मात्र उडान भर्दै आएको थियो । सीता एअर मुगुका स्टेसन प्रमुख धिरेन्द्र भाम आफ्नो एअरलायन्सले पनि मौसमले साथ दिए सम्भवतः सोमबारबाट रारा विमानस्थलमा नियमित उडान गर्ने बताउनुहुन्छ ।

रारामा नियमित उडान गर्दै आए पनि तीन दिनयता मौसमले साथ नदिँदा उडान प्रभावित भएको समिट एअरका नेपालगञ्ज स्टेशन प्रमुख वसन्त मल्ल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मुगु जाने र मुगुबाट नेपालगञ्ज आउने यात्रुलाई सेवा दिनकै लागि शुक्रबार यात्रु लिएर जहाज मुगुतर्फ उडेको थियो । बिच बाटोमा मौषम बिग्रदा जहाज फर्कनु पर्यो ।”

टिपरको ठक्करबाट मृत्यु भएपछि अवरुद्ध भएको घोराही–तुलसीपुर सडक सञ्चालनमा

दाङ, २० साउनः टिपरको ठक्करबाट मृत्यु भएपछि स्थानीयको विरोधका कारण अवरूद्ध घोराही–तुलसीपुर सडकखण्ड पाँच घण्टापछि सञ्चालनमा आएको छ । टिपर व्यवसायी समिति र मृतकका परिवारबीच क्षतिपूर्ति दिने सहमति भएपछि सवारी आवागमन सुरू भएको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो ।

शुक्रबार बेलुका घोराहीको सौरीकुला नजिककै टिपरको ठक्करबाट मोटरसाइकल चालक घोराही उपमहानगरपालिका–९ मछाही घर भई घोराही–१५ मा बस्दै आएका ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको थियो ।

टिपर चालकलाई कारबाही र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै स्थानीयले आज बिहान ६ बजेदेखि सडकअवरूद्ध गरेका थिए । मृतकका आफन्त र टिपर व्यवसायी समितिबीच छलफलपछि अवरूद्ध सडक खुलाउने सहमति भएको हो । शुक्रबार बेलुका सवा ८ बजेतिर बस्नेत सवार बा ५८ प ५६०५ नम्बरको मोटरसाइकललाई लु २ ख ५०८५ नम्बरको टिप्परले घोराही १० अम्राई नजिकै ठक्कर दिएको हो । बस्नेतको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राजनीतिक स्थिरताका लागि कांग्रेस–एमालेको गठबन्धन

महोत्तरी, २० साउनः नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को गठबन्धन राजनीतिक स्थिरताका लागि भएको बताउनुभएको छ ।

महोत्तरीको बर्दिवासमा नेपाल प्रेस युनियनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले मुलुकलाई राजनीतिक स्थिरता दिन संसद्का दुई ठूला दल सहभागी भइ सरकार गठन भएको बताउनुभयो ।

सामान्यतया बहुदलीय पद्धतिमा संसद्को सबैभन्दा ठूलो दल र दोस्रो ठूलो दलहरु सरकारमा र प्रतिपक्षी भूमिकामा हुने अभ्यास भए पनि विशिष्ट जिम्मेवारी निर्वाहका लागि अहिलेको सरकार बनेको उहाँले स्पष्ट पार्नुभयो ।

“बहुदलीय पद्धतिमा झट्ट हेर्दा, बुझ्दा नौलो जस्तो त लाग्न सक्छ”, नेता घिमिरेले भन्नुभयो, “तर संसद्मा कुनै दलको स्पष्ट बहुमत नरहेको अहिलेको संसद्मा पटक–पटक गठबन्धन बन्ने र भत्कने क्रमले राजनीतिक स्थिरतामै प्रश्न उभिएपछि दुई मुख्य ठूला दलले संयुक्त सरकार बनाएका हुन् ।” अहिलेको सरकारको मुख्य कुरा नै आमजनतामा राजनीतिक स्थिरताको अनुभूति दिनु रहेको उहाँको भनाइ छ ।

वर्तमान सरकार बनेपछि मुलुकमा अब राजनीतिक स्थिरता बन्छ भन्ने सन्देश प्रवाह भएपछि आर्थिक गतिविधि सुधारात्मक दिशामा अघि बढेको उहाँले उल्लेख गर्नुभयो । “केही दिन पहिले मौद्रिक नीति सार्वजनिक भयो, त्यसले सकारात्मक प्रभाव पारेको अर्थविद् बताउँदैछन्, पुँजीबजारमा पनि उत्साह देखिएको छ”, नेता घिमिरेले भन्नुभयो, “मुलुकको राजनीतिक स्थायित्वका लागि सरकार बनेको हुँदा अब असफल हुने वा पछि पर्ने छुट सरकारलाई छैन ।”

उहाँले राजनीतिक दलहरुबीचको संवाद र सहमतिले संविधान संशोधन हुनसक्ने बताउनुभयो । “संविधान कुनै ग्रन्थ वा कथा होइन, यो त मुलुकलाई निर्देशित गरिरहने गतिशील दस्तावेज हो, त्यसैले आवश्यकताअनुसार संशोधन गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

संविधान संशोधन गणतन्त्रात्मक लोकतान्त्रिक पद्धतिलाई अझ बलियो र समय सापेक्ष बनाउन गरिने घिमिरेको भनाइ छ । “विश्वका प्रजातान्त्रिक मुलुकहरुले सयौं पटक संविधान संशोधन गरिसकेका छन् । हामीले पनि यसअघि यसै संविधानमा दुईपटक संशोधन भइसकेको छ”, उहाँले भन्नुभयो, “अब पनि मुलुकको आवश्यकताका लागि दलहरुबीचको सहमतिबाटै हुन्छ ।”

बोलबम यात्री सवार ट्याक्टर दुर्घटनामा परी गम्भीर घाइते महिलाको उपचारका क्रममा मृत्यु

बरहथवा (सर्लाही), २० साउन : बोलबम यात्री सवार ट्याक्टर दुर्घटनामा परी गम्भीर घाइते महिलाको उपचारका क्रममा मृत्यु छ । आज सर्लाहीको मलङ्गवा नगरपालिका–१२, स्थित नहरमा बोलबमका भक्तजन सवार ज २ त ३२७ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा पाँच जना घाइते भएका थिए । त्यसमध्ये गम्भीर घाइते सर्लाहीको चक्रघट्ट गाउँपालिका–५, निवासी ४५ वर्षीया पतही देवीको वीरगञ्जस्थित एनएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएकी पतही देवीलाई प्रादेशिक अस्पताल मलङ्गवामा सामान्य उपचारपश्चात थप उपचारको लागि वीरगञ्जस्थित एनएमसी अस्पताल पु¥याइएको थियो ।
घटनामा घाइते भएका चार जना चक्रघट्ट गाउँपालिका–५ की २६ वर्षीया शान्ति देवी, उहाँकी नौ वर्षीया छोरी सुस्मिता देवी, ४० वर्षीया गीता देवी र मृतक पतही देवीकी छोरी ११ वर्षीया अंशुकुमारीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

तीव्र गतिमा रहेको ट्रयाक्टर अनियन्त्रित भई नहरमा खसेर दुर्घटना भएको जनाइएको छ । दुर्घटनालगत्तैै ट्रयाक्टर चालक फरार भएका प्रहरीले जनाएको छ । भारतको मढीयामा जल चढाएर सर्लाहीको चक्रघट्ट फर्किंदै गर्दा दुर्घटना भएको थियो ।

गाईजात्राका लागि हाँस्यकलाकार जोगिन्दरको कोसेली ‘ठगाठग कम्पनी’

काठमाडौँ, २० साउन : हाँस्यव्यङ्ग्य पर्व ‘गाईजात्रा’ नजिकिँदै गर्दा यससम्बन्धी सामग्री बजारमा आउने क्रम सुरू भएको छ । यसैक्रममा प्रहसन र व्यङ्ग्यात्मक प्रस्तुतीमार्फत विसं २०६१ देखि हरेक वर्ष गाईजात्राको प्रस्तुति दर्शकसामू पस्किरहनुभएका जोगिन्दर उपनामले परिचित हाँस्यकलाकार शिवशङ्कर रिजालले नयाँ कोसेली ‘ठगाठग कम्पनी’ सार्वजनिक गर्नुभएको छ । यसमा उहाँकै लेखन, निर्माण तथा निर्देशन रहेको छ ।

गाईजात्रा पर्वको परम्परा र संस्कृतिसँगै प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिपछि विद्यमान राजनीतिक, सामाजिक तथा आर्थिक विकृति र विसङ्गतिमाथि व्यङ्ग्य प्रहार गर्दै आफ्नो बाइसौँ गाईजात्रे कोसेली तयार गरेको हाँस्यकलाकार रिजालले जानकारी दिनुभयो । “विशुद्ध मनोरञ्जन दिने र विकृति विसङ्गतिमाथि प्रहार गर्दै चेतना प्रवाह गर्ने उद्देश्यले मैले कलाकारिता सुरू गरेदेखि नै हरेक वर्ष गाईजात्राको अवसरमा कोसेली ल्याउने गरेको छु । भूकम्प र कोरोना महामारीका वर्षमा भने निरन्तरता दिन सकिएन । राजनीतिक घटनाक्रम, सामाजिक विकृति विसङ्गतिदेखि, फेसन र ग्ल्यामरसम्मका विकृतिलाई व्यङ्ग्य गर्ने गरेको छुँ”, उहाँले भन्नुभयो ।

क्यासेट, भिसिडी, सिडी हुँदै अहिले प्रविधिको प्रयोगलाई मध्यनजर गर्दै ‘ठगाठग कम्पनी’ इन्टरनेट (युट्युब) मा सार्वजनिक गरिएको हाँस्यकलाकार रिजालले जानकारी दिनुभयो । यसमा उहाँसँगै राधिका हमाल, गोपाल ढकाल ‘छन्दे’, दिनेश काफ्ले, सुरेश तिमिल्सेना, सिला उप्रेती, सोनम शेर्पा, वीजेन्द्र नौबागे, धीरेन्द्र सिंह, सावित्री लामिछाने, प्रेम शर्मा पौडेल लगायतका कलाकारले अभिनय गर्नुभएको छ । रिजालकानुसार यस प्रस्तुतिमा प्यारोडी गीत समावेश गरिएको छ ।
देशका विभिन्न क्षेत्र विशेष गरी नेवार समुदायले मनाउने गाईजात्रा पर्वले परम्परागत, धार्मिक र सांस्कृतिक विशेषता बोकेको छ । गाईजात्रामा वर्षभरिको शोक र दुःख भुलाउन हास्यव्यङ्ग्यका कार्यक्रम र प्रस्तुति प्रस्तुत गर्ने परम्परा छ । यस वर्ष आगामी भदौँ ४ गते गाईजात्रा पर्व परेको छ ।

होस्टेल ३’ फागुन १६ गते रिलिज हुने, ‘माग्ने बुढा’का छोरा आशिषले डेब्यु गर्दै

काठमाडौं। निर्माणाधीन नेपाली चलचित्र ुहोस्टेल ३’ले छायाङ्कन अगावै रिलिज मिति घोषणा गरेको छ। भदौ २१ गते छायाङ्कनमा जान लागेको यो चलचित्र आगामी फागुन १६ गते विश्वभर एकसाथ रिलिज गर्ने निर्णय गरेको निर्देशक सशान कँडेलले बताए।

यसअघि प्रमुख भूमिकामा ुकुल ब्वायु अर्थात् पारस बम, रिहान गिरी, पदम तामाङ र सिम्रन पन्त अनुबन्धित भइसकेका छन्। अब यो चलचित्रमा अर्को प्रमुख भूमिकामा नयाँ पात्रको प्रवेश भएको छ, उनी हुन् आशिष घिमिरे। आशिष ‘माग्ने बुढा’को नामबाट परिचित प्रसिद्ध कलाकार केदार घिमिरेका छोरा हुन्। आशिषले बाल्यकालमा चर्चित हास्य टेलि शृङ्खला ‘मेरी बास्सै’मा आफ्नै पितासँग ‘धुन्धुकारी’ नामक छोराको भूमिकामा अभिनय गरेका थिए। उनी सो शृङ्खलामा निकै चर्चित थिए।

“यस चलचित्रमा केही प्रमुख पात्रहरू रहेका छन्, जसमा सबै जनाको भूमिका बलियो छ। होस्टेलमा बसेर अध्ययन गर्नेहरू मध्ये एक जना पुरुष कलाकारको जरुरी रहेकोमा हामीले खोजेको जस्तो पात्र आशिषमा पायौँ,” निर्देशक कँडेलले बताए।

यस्तै, ‘होस्टेल ३’मा अर्की कलाकार हेना नगरकोटी पनि अनुबन्धित भएकी छन्। हेना थियटर पृष्ठभूमिबाट चलचित्रमा प्रवेश गरेकी हुन्। उनले एक्टर स्टुडियोमा लामो समय नाटक गरेकी छन् भने वेब सिरिजहरू ‘खेल’ र ‘साहु बा’मा पनि अभिनय गरेकी छन्। चलचित्र ‘बाइरोड’मा समेत उनले अभिनय गरेकी छन्।

इन्टरनेट दुनियाँका चर्चित पारस बम ‘कुल ब्वाय’ नामले परिचित छन्। रिहान गिरी गायन रियालिटी शो ुभ्वाइस अफ नेपालुको चौथो संस्करणको टप १० फाइनलिस्ट हुन्। पदम तामाङ भारतको सिक्किममा बहुचर्चित कमेडी कलाकार हुन् जो नेपालको पूर्वी क्षेत्रमा समेत अत्यन्तै चर्चित रहेका छन्। सिम्रन पन्तले मुम्बई र नेपालमा अभिनय प्रशिक्षण लिएकी छन्। यि कलाकार बाहेक अन्य कलाकारहरू पनि चलचित्रमा अनुबन्ध भइसकेको र उनीहरूलाई क्रमशः परिचय गराउने निर्देशकले कँडेलले बताए।

ुहोस्टेलु चलचित्र शृङ्खला स्टारहरू जन्माउनेको रूपमा चिनिन्छ। ‘होस्टेल’बाट अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठ लगायतका कलाकारहरूले डेब्यु गरेका थिए। त्यस्तै, ुहोस्टेल रिटर्न्सुबाट स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, सुशील सिटौला लगायतका कलाकारहरूले डेब्यु गरेका थिए। उनीहरू सबै नेपाली चलचित्रका सफल कलाकारहरू बनिसकेका छन्। वि।सं। २०७० सालमा रिलिज भएको ‘होस्टेल’ र २०७२ मा रिलिज भएको ुहोस्टेल रिटर्न्सु घरेलु बक्स अफिसमा सफल भएका थिए।

ुहोस्टेल ३ुको लागि माधव शर्माले स्क्रिप्ट लेखेका छन्। यसको कथा भने निर्देशक कँडेलले नै लेखेका हुन्। ‘होस्टेल ३’लाई सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा बनाउँदै छ। यसका कार्यकारी निर्माता शङ्कर कोइराला हुन् भने निर्माताहरू कर्ण कार्की र गोविन्द अधिकारी हुन्। सह निर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा हुन्। लाइन प्रोड्युसर भेषराज गौतम हुन्।

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं, २० साउन काठमाडौं, चन्द्रागिरी नगरपालिका-३ थानकोट खरिबोटबाट अवैध लागूऔषध गाँजा ६ ग्राम र नियन्त्रित लागूऔषध ट्रमाडोल ५८ क्याप्सुल सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुली दुधैली नगरपालिका-९ घर भएका ३३ वर्षीय भोला ढकाल, काठमाडौं चन्द्रागिरी नगरपालिका-१ बस्ने २३ वर्षीय शितल बखती र सोही नगरपालिका-३ बस्ने २४ वर्षीय बुद्ध लो तामाङ रहेका छन् । साथै उनीहरूले प्रयोग गरेको प्र.३-०२-००२ प ९७३२ नम्बर र बा.८२ प ९१७० नम्बरको २ वटा मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

झापा, दमक नगरपालिका-५ डेरा गरी बस्ने इलाम चुलाचुली गाउँपालिका-३ घर भएका २६ वर्षीय अगम राईलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम, नगद १५ हजार ८ सय ५० रूपैयाँ र मोबाइल १ थान सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । साथै थप सोधपुछको क्रममा उक्त लागूऔषध कमल गाउँपालिका-५ सतारडाडा बस्ने ३६ वर्षीय जीवन लिम्बुलाई बिक्री गर्न लागेको भन्ने खुल्न आएपछि लिम्बुलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी झापा, भद्रपुर नगरपालिका-५ मेची पुलस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित इलाम चुलाचुली गाउँपालिका-३ पिडियो टोल बस्ने २८ वर्षीय विवेक राइलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मेची पुल बिटबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी झापा, मेचिनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित मेचिनगर नगरपालिका-९ शान्तिटोल बस्ने २६ वर्षीय अजय धिमाललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी झापा, बिर्तामोड नगरपालिका-५ डेरा गरी बस्ने अर्जुनधारा नगरपालिका-७ घर भएका ३२ वर्षीय बिजय मगरको डेरा कोठाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ४० मिलिग्राम सहित बिजय मगर समेत ४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, लेटाङ नगरपालिका-९ पारूहाङ चोक बस्ने २७ वर्षीय विशाल राईलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ३० मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

यसैगरी मोरङ, कानेपोखरी गाउँपालिका-२ स्थित रंगेली र कानेपोखरी सिमानाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९५ मिलिग्राम सहित भारत अररीया घर भएका २१ वर्षीय मो. इसराख गमिरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले रंगेलीबाट कानेपोखरीतर्फ आउँदै गरेको बिआर ३८ एबि ४१३५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी मोरङ, पथरी शनिश्चरे नगरपालिका-१० स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम १७ मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रंगेली नगरपालिका-७ बस्ने २४ वर्षीय अबय शाह र सुनबर्षी नगरपालिका-७ बस्ने १९ वर्षीय हयात अली रहेका छन् । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले कुशेचौरीबाट पथरीतर्फ आउँदै गरेको बिआर ३८ डि ७८८९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बारा, जितपुर सिमरा उपमहानगरपालिका-१ आधाभार जंगलस्थित सडक छेउबाट अवैध लागूऔषध गाँजा ८ किलो ५ सय ग्राम सहित बर्दीया मधुवन नगरपालिका-७ बस्ने २५ वर्षीया प्रियंका श्रेष्ठलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

विभिन्न स्थानमा सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं, २० साउन दाङ, घोराही उपमहानगरपालिका-१० अम्राहीस्थित सडकमा लु.२ ख ५०८५ नम्बरको टिपरले बा.५८ प ५६०५ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका-१५ बस्ने ३९ वर्षीय कुल बहादुर बस्नेतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ, रंगेली नगरपालिका-२ स्थित सडकमा बिराटनगरबाट आमबारीतर्फ जाँदै गरेको को.१ क १७०० नम्बरको अरनिको आवासीय माध्यमिक विद्यालयको बसको ठक्करबाट साइकलयात्री धनपालथान गाउँपालिका-३ बस्ने ६० वर्षीय जगरनाथ ठाकुरको आइतबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रूपन्देही, तिलोत्तमा नगरपालिका-५ मणिग्रामस्थित सडकमा ना.८ ख ८१७५ नम्बरको टिपरले लु.४७ प १३७ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक बुटवल उपमहानगरपालिका-८ दिपनगर बस्ने ४५ वर्षीय अमृत थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँके, नेपालगंज उपमहानगरपालिका-२ पुष्पलाल चोकस्थित सडकमा भे.१ ज ७६० नम्बरको म्याजिकले भे.१२ प ५१७७ नम्बरको स्कुटरलाई आइतबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक नेपालगंज उपमहानगरपालिका-७ बस्ने ५८ वर्षीय राजु शाहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगंज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । म्याजिक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चीनद्वारा घरायसी खपत बढाउने योजना जारी

चीनले घरेलु खपत बढाउने उद्देश्यले निर्देशनहरूको सूची जारी गरेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा न्यून घरेलु खपतले विकासलाई कमजोर बनाएको छ । सूचीमा बालबालिका र वृद्धहरूको हेरचाह तथा खाद्यान्न र पेय पदार्थलगायतका क्षेत्रलाई लक्षित गरिएको छ ।

सत्तारूढ कम्युनिष्ट पार्टीका शीर्ष अधिकारीहरूको भेलापछि राष्ट्रपति सी जिनपिङलगायतका नेताहरूले गत महिना घरेलु खपत बढाउन र चीनको कमजोर रियल स्टेट क्षेत्रमा दबाब कम गर्न सहयोग गर्ने वाचा गर्नुभएको थियो । 

चीनको मन्त्रिपरिषद् अर्थात स्टेट काउन्सिलले शनिबार साँझ आफ्नो वेबसाइटमा २० वटा सामान्य निर्देशनहरूको सूची प्रकाशित गरेको थियो । 

प्रस्तावित बजेट समावेश नभएको योजनाले अधिकारीहरूलाई ‘वृद्धहरूका लागि हेरचाह सेवाहरूको आपूर्ति बढाउन’ आग्रह गरेको छ । शिक्षाको उच्च लागत र सामाजिक लाभहरूको अभावका कारण थोरै युवाहरूले बच्चा जन्माउने विकल्प छनोट गर्ने भएकाले योजनाले बालबालिका हेरचाह सेवाहरूको विकासको पनि आह्वान गरेको छ । 

दस्तावेजअनुसार तीन वर्षभन्दा मुनिका बालबालिका र ज्येष्ठ नागरिकहरूको हेरचाहको लागतलाई पनि आयकरमा कटौतीको योजना बनाइएको छ ।
बेइजिङले सेवा क्षेत्रमा विशेषगरी बैंकहरूबाट योग्य साना व्यवसायहरूले ठूलो आर्थिक सहायताबाट लाभ हासिल गर्न सक्ने कुरा सुनिश्चित गर्ने वाचा गरेको छ ।

गत महिना प्रकाशित आधिकारिक तथ्याङ्कअनुसार चीनले यस वर्ष ‘करिब पाँच प्रतिशत’ कूल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिको लक्ष्य राखेको छ । यद्यपि दोस्रो त्रैमासिकमा उसको वृद्धि वार्षिक आधारमा द्रुतरूपमा घटेर चार दशमलव सात प्रतिशत भएको छ ।  रियल स्टेटमा लामो समयदेखि जारी ऋण सङ्कटले जिडिपी वृद्धि प्रभावित भएको छ । रियल स्टेट क्षेत्र जिडिपीको एक चौथाई हिस्सा हो । 

देखाइयो रातो मच्छिन्द्रनाथको भोटो, राष्ट्रपतिद्वारा अवलोकन(फोटोफिचर)

पाटन (ललितपुर) ।  राष्ट्रपति रामचन्द्र पौडेलले परम्परागत रुपमा मनाइँदै आएको भोटोजात्रा अवलोकन गरेका  छन् । उनले ललितपुरको जावलाखेलमा आइतबार अपराह्नमा ४ बजे आयोजित कार्यक्रममा भोटोजात्रा अवलोकन गरेका हुन् ।

राष्ट्रपतिसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भोटोजात्रा अवलोकन गरे । उनीहरुलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले स्वागत गरेका थिए ।

हरेक वर्ष राष्ट्रप्रमुखको उपस्थितिमा मच्छिन्द्रनाथको रथमा उभिएर गुठी संस्थानका कर्मचारीले भोटो देखाउने परम्पराअनुसार आइतबार राष्ट्रपति पौडेलको उपस्थितिमा भोटो देखाइएको हो । सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरे । उनले जीवित देवी कुमारीको दर्शन पनि गरे ।

भोटेजात्राका अवलोकन गर्न उपप्रधानमन्त्री प्रकाशमान सिंह, नेपाल सरकारका मन्त्रीहरु, संवैधानिक अङ्गका प्रमुखहरु, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुखहरू, सुरक्षा निकायका प्रमुखहरु सहभागी थिए । भोटोजात्रा हेर्न आम नागरिकको उल्लेख्य उपस्थिति थियो ।

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथलाई पुल्चोकबाट गावहाल, मङ्गलबार, टङ्गाल इटीटोल, कुमारीपाटी मानभवन हुँदै जावलाखेल ल्याइएको चार दिनपछि भोटो देखाएर जात्राको समापन गरिने प्रचलनअनुसार भोटो देखाइएको हो । यससँगै यस वर्षको रथयात्रा सम्पन्न भएको छ ।

गत वैशाख २७ गते रातो मच्छिन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहणका गरेसँगै यो जात्रा सुरु भएको थियो । रातो मच्छिन्द्रनाथको मूर्ति मच्छिन्द्रबहालस्थित मन्दिरबाट बोकेर रथारोहण गरेपछि जात्रा प्रारम्भ भएको थियो । यो जात्रा काठमाडौं उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रामध्येको एक हो । जात्रा करिब एक हजार छ सय वर्षअघि सुरु भएको विश्वास गरिन्छ ।

भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखी बुङ्गमती पुर्याउनुपर्ने परम्परा रहको गुठी संस्थानका प्रमुख बैकुण्ठ आचार्यले जानकारी गराए ।

अकबरे खेतीबाट वार्षिक १५ लाख आर्जन गर्दै इलामका खड्गबहादुर

फिक्कल (इलाम), २० साउनः जिल्लाको माङसेबुङ गाउँपालिका–२ का खड्गबहादुर कार्कीलाई घरखर्च टार्न अरुको मुख ताक्नुपरेको छैन । आफ्नै बारीमा गरेको व्यावसायिक अकबरेखेतीबाट घरखर्च चलेको छ । वार्षिक उहाँले रु १५ लाख आर्जन गर्दै आउनुभएको छ ।

मलेसियाको रोजगारीबाट फर्केर दुई वर्षअघि ‘बताहा कृषि तथा नर्सरी फार्म’ दर्ता गरी व्यावसायिक रूपमा अकबरेखेती सुरु गर्नुभएका उद्यमी कार्कीले वार्षिक रु तीन लाख आम्दानी गर्दै आउनुभएको छ । “गत वर्ष एक हजार बोटबाट ११ क्विन्टल अकबरे उत्पादन भएको थियो, पहिलोपटक नै प्रशस्त आम्दानी भयो”, कार्कीले भन्नुभयो, “प्रतिकेजी रु दुई सय ५० देखि रु तीन सयसम्ममा बारीमा नै बिक्री हुने भएकाले यस वर्षदेखि खेती विस्तार गरेको छु ।”

यो वर्ष उहाँले पाँच हजार बोट अकबरे रोप्नुभएको छ । आफ्नै चार तथा छिमेकीको चार रोपनी जग्गा भाडामा लिएर आठ रोपनी क्षेत्रमा खेती विस्तार गर्नुभएको हो । उत्पादिन अबकरे बिक्रीका लागि बजारको चिन्ता नभएपछि खेती विस्तार गरेको उहाँ बताउनुहुन्छ । “सबै खर्च कटाएर वार्षिक रु १० देखि १५ लाखसम्म कमाइ गर्ने लक्ष्यका साथ खेती विस्तार गरेको छु ।” “दुई वर्षसम्म यही बोटले उत्पादन दिन्छ, हरियो खुर्सारी दिनैपिच्छे पनि टिप्न पाइन्छ तर पाकेको भने सातामा दुईपटक टिप्न मिल्छ, एक हजार बोटबाट पहिलोपटक ३० र दोस्रो खेपमा २० केजीसम्म उत्पादन हुन्छ”, कार्कीले भन्नुभयो ।

हरियो खुर्सानी प्रतिकेजी रु दुई सय ५० मा बारीबाटै बिक्री हुने गरेको छ । यहाँ उत्पादित अकबरे इलाम बजारसहित झापाको दमक र सुनसरीको इटहरीसम्मका व्यापारीले लैजाने गरेका छन् ।

सुरुमा थोरै लगानीमा आफ्नै बारीमा अकबरेखेती सुरु गर्नुभएका कार्कीले १० हजार बोट अकबरे विस्तार गर्ने योजनामा रहेको सुनाउनुभयो । उहाँले अबकरेका साथै गोलभेँडा, भण्टा, बन्दाकोभी, प्याजखेती तथा एभोकाडो र कफीका बिरुवा पनि उत्पादन गर्दै आउनुभएको छ ।

एकै वर्षमा स्याउ फलेपछि किसान उत्साहित, बषै पिच्छे गर्छन् मनग्य आम्दानी

ढोरपाटन (बागलुङ), २० साउनः निसीखोला गाउँपालिका–२ अर्नाकोटका स्थानीय व्यावसायिक स्याउखेती गर्न थालेका छन् । समुद्री सतहबाट करिब दुई हजार मिटर उचाइमा रहेको बागलुङ अर्नाकोटमा तीन वर्ष अगाडि परीक्षणका लागि लगाइएको स्याउ फलेपछि व्यावसायिक खेती गर्न थालिएको हो ।

विसं २०७८ मा गाउँका अगुवा किसानले परीक्षणका लागि स्याउखेती सुरु गरेका थिए । हाल गाउँका धेरै किसान यसप्रति आकर्षित भएका छन् । पोखराबाट इटिलियन गालाफुजी जातका बिरुवा ल्याएर लगाएको एक वर्षमा फल लागेपछि किसान उत्साहित भएका हुन् ।

पहिलो वर्ष गाउँमा किसानले कृषि ज्ञान केन्द्रबाट ६० बिरुवा अनुदानमा लिएर लगाएका थिए । बिरुवा हुर्किएर फल दिन थालेपछि दोस्रो वर्ष थप ९० वटा बिरुवा अनुदानमा लिएर लगाए । यस वर्ष निसीखोला गाउँपालिकाबाट ५० प्रतिशत अनुदानमा सात सय बिरुवा लगाएको अगुवा किसान चेतबहादुर कुँवरले बताउनुभयो । गाउँमा स्याउखेतीको सम्भावना देखेपछि गाउँका अधिकांशले स्याउका बिरुवा लगाउन थालेका उहाँले बताउनुभयो ।

अर्नाकोटमा खानेपानीको अभाव हुँदा बिरुवा हुर्काउन समस्या भएको सुनाउँदै अब सिङ्गो गाउँ नै स्याउ उत्पादनबाट आत्मनिर्भर बन्ने आशा पलाएको कुँवर बताउनुहुन्छ । खानेपानी अभावमा धेरै नागरिक बसाइँसराइ गर्न बाध्य भएको सन्दर्भमा गाउँमा स्याउ उत्पादनको ठूलो सम्भावना देखिएपछि धेरै गाउँमै बस्न थालेको उहाँ बताउनुहुन्छ । तीन वर्ष अगाडि लगाएको स्याउ थोरै भए पनि बजारमा पठाउन थालेको कुँवरले सुनाउनुभयो । उहाँका अनुसार अहिले अर्नाकोटमा करिब एक सय ५० बोटमा स्याउ फलेका छन् ।

स्थानीय किसान दुर्गाबहादुर ओलीले पहिलो वर्ष २२ वटा स्याउका बिरुवा लिएर लगाएको सुनाउँदै अहिले बिरुवा बढाउँदै गएको बताउनुभयो । वर्षौँदेखि पशुपालनसँगै निर्वाहमुखी खेतीपाती गर्दै आएका उहाँ पछिल्लो समय स्याउखेतीलाई नै बढी जोड दिएको बताउनुहुन्छ । “यहाँको हावापानी स्याउखेतीका लागि उपयुक्त रहेछ, पोहोर लगाएका बिरुवाले फल दिएका छन्, यसले हामीलाई हर्षित बनाएको छ”, ओलीले भन्नुभयो, “खानेपानी नभएको ठाउँमा स्याउ लगायौँ, सिँचाइको व्यवस्था हुने हो भने व्यावसायिक रूपमा उत्पादन गर्न सकिन्छ ।”

निसीखोला गाउँपालिकाका कृषि प्राविधिक तारा परियारले स्याउखेतीतर्फ किसानको चासो बढेपछि इटालियन जातको स्याउका बिरुवा जुम्लाबाट ल्याएर वितरण गरिएको बताउनुभयो । गाउँपालिकाले रु चार लाख ११ हजार दुई सय ५० मा बिरुवा खरिद गरी ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराएका हो । यहाँका किसानले करिब ४० रोपनी क्षेत्रफलमा स्याउका बिरुवा लगाएका उहाँले बताउनुभयो ।

मङ्किपक्स सङ्क्रमण अत्यधिक मात्रामा वृद्धि भएको अफ्रिकी चिकित्सकको भनाइ

यस वर्षसम्म मङ्किपक्स मामिलाहरू १६० प्रतिशतले बढेको अफ्रिकाका विभिन्न अस्पतालमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीले बताएका छन् ।

मङ्किपक्स भाइरसको कारणले सर्ने र मानिस तथा जनावरहरूमा देखापर्ने सङ्क्रामक रोग हो । यो रोग लागेमा ज्वरो आउने, लसिका ग्रन्थीहरू सुन्निने, छालामा फोका देखापर्ने, र पाप्रा लाग्नेजस्ता लक्षणहरू देखिन्छन् ।

यो भाइरसको सङ्क्रमण कङ्गोसहित १० अफ्रिकी देशहरूमा फेला परेको अफ्रिकी रोगथाम तथा नियन्त्रण केन्द्रले बुधबार जारी गरेको प्रतिवेदनमा भनिएको छ ।

कङ्गोमा लगभग ७० प्रतिशत सङ्क्रमणहरू १५ वर्ष भन्दा कम उमेरका बालबालिकामा छन् । कङ्गोमा मङ्कीपक्स सङ्क्रमित ८५ प्रतिशत व्यक्तिको मृत्यु भएको जनाइएको छ ।

यस वर्ष अहिलेसम्म १४ हजार २५० सङ्क्रमित भेटिएको अनुमान गरिएको छ । बुरुन्डी र रुवान्डा दुबै देशमा यस हप्ता पहिलो पटक भाइरस फेला परेको पुष्टि गरिएको छ । यस हप्ता केन्या र मध्य अफ्रिकी गणतन्त्रमा पनि नयाँ प्रकोपहरूको घोषणा गरिएको थियो ।

मध्य अफ्रिकी गणतन्त्रका जनस्वास्थ्य मन्त्री पियरे सोम्सेले सोमबार भन्नुभयो, “हामी मन्कीपक्सका घटनाहरूका बारेमा धेरै चिन्तित छौँ, यसले राजधानी क्षेत्रलाई प्रभावित गरिरहेको छ ।”

पूर्वी कङ्गोमा अक्टोबरदेखि जनवरीसम्म अस्पतालमा भर्ना भएका बिरामीहरूको मूल्याङ्कनबाट भाइरसमा भर्खरै भएको आनुवांशिक उत्परिवर्तनहरू मानिसहरूमा निरन्तर फैलिएको कारण भएको निश्कर्ष निकालिएको छ ।

‘डक्टर्स विदाउट बोर्डर्स’ले विस्तार भइरहेको एमपक्स प्रकोपलाई चिन्ताजनक भनेको छ । यो रोग रूवान्डासँगको सिमाना साझा गर्ने कङ्गोको उत्तरी किभु क्षेत्रमा विस्थापित व्यक्तिहरूको शिविरमा पनि देखिएको थियो ।

कङ्गोका लागि समूहका मेडिकल डाइरेक्टर डा लुइस मासिङले यो रोग मानव जीवनका लागि वास्तविक जोखिम रहेको बताउनुभएको छ र देशमा सकेसम्म छिट्टै खोपहरूको व्यवस्थाका लागि विश्व समुदायसँग आग्रह गर्नुभयो ।

कैदी आदानप्रदान सम्झौताबारे अमेरिका र रूसको आफ्ना आफ्नै व्याख्या

राष्ट्रपति भ्लादिमिर पुटिनले शीतयुद्धपछि पश्चिमा मुलुकसँगको सबैभन्दा ठूलो कैदी अदलीबदलीमा रिहा भएका गुप्तचर अधिकारीहरूलाई स्वागत गर्नुभएको छ ।

“मातृभूमिले एक मिनेटका लागि पनि तपाईंलाई बिर्सेको छैन”, पुटिनले अदलीबदलीमा रिहा भएका गुप्तचर अधिकारीलाई स्वदेश पु¥याउने जेटलाइनरको सिँढीबाट तल झरेपछि उनीहरूलाई अँ्गालो हाली स्वागत गर्दै भन्नुभयोे ।

आजकल विदेशी राष्ट्रप्रमुखहरूलाई अभिवादन गर्नबाहेक अन्य अवस्थामा विरलै विमानस्थलमा जाने पुटिनले आफ्ना सुरक्षा सेवाहरूलाई स्पष्ट, मनोबल बढाउने सन्देश दिँदै भन्नुभयो, “यदि तपाईं पक्राउ पर्नुभयो भने, देश (रूस) ले जसरी पनि तपाईंलाई घर ल्याउने काम गर्नेछ ।”

बर्लिनमा एक पूर्व चेचेन लडाकूको हत्या गरेको अभियोगमा जर्मनीमा कैद गरिएका हिटम्यान वादिम क्रासिकोभ क्रेमलिनका लागि सम्भवतः सबैभन्दा महत्त्वपूर्ण व्यक्ति हुनुहुन्थ्यो भने कैदी अदलीबदलीमा आठ रूसी नागरिक हालैका वर्षहरूमा जेलमा रहेका १६ जना पश्चिमा र रूसी आलोचकसँग साटिएको थियो ।

मस्कोले अमेरिकी पत्रकार इभान गेर्शकोभिच र अल्सु कुर्माशेभा, पूर्व अमेरिकी नौसैनिक पल ह्वेलनसहित केही रूसी आलोचकलाई रिहा गरेको छ ।वासिङ्टनले यसलाई ठूलो कूटनीतिक विजयको रूपमा प्रशंसा गरेको छ भने मस्कोले पनि यसमा आफ्नो बिजय भएको बताएको छ ।

‘कार्नेगी रसिया युरेसिया सेन्टर’की वरिष्ठ सदस्य तात्याना स्टानोभायाले भन्नुभयो, “पुटिनले विदेशमा काम गर्नेलाई अधिकतम सुरक्षा दिने र यदि उनीहरूलाई पक्राउ गरियो भने राज्यले उनीहरूका लागि लड्ने र उनीहरूका लागि रेड कार्पेट ओछ्याउने सङ्केत दिइरहनुभएको छ ।” उहाँले यो सम्झौताबारे रूसी र पश्चिमाको धारणा फरक रहेको बताउनुभयो ।

“पश्चिममा यसलाई मानवीय र राजनीतिक दृष्टिकोणबाट हेरिएको छ, सञ्चारमाध्यले यसलाई नजिकबाट पछ्याइरहेका छन् र पश्चिमा समाजका लागि यो महत्त्वपूर्ण छ”, स्टानोभायाले एपीसँग भन्नुभयोे, “रूसमा भने यो समाजको मुद्दा नभई राज्यको लागि एक मुद्दा हो ।”

उहाँले थप्नुभयो, “औसत रूसीलाई सायद ‘फर्केकाहरूको नाम समेत थाहा छैन।’ तर रूसी प्रशासन र नेता पुटिनका लागि रूस फर्केकाहरू वास्तविक नायक, देशभक्त हुन्, जसले राज्यका लागि काम गरे र राष्ट्रिय हितको रक्षा गरे ।”

सन् २०१९ को अगष्ट २३ मा जर्जियाका ४० वर्षीय नागरिक जेलिमखान ‘टोर्निके’ खाङ्गोश्विलीको हत्यामा क्रासिकोभलाई दोषी ठहर गरिएको थियो ।

जर्मन न्यायाधीशहरूले सन् २०२१ मा आजीवन कारावासको सजाय सुनाइएका क्रासिकोभलाई रूसी अधिकारीहरूको आदेशमा काम गरेको बताएका थिए ।

सन् २०१९ मा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले हत्यामा रूसको संलग्नता नरहेको बताउनुभएको थियो । तर शुक्रबार उहाँले क्रासिकोभ सङ्घीय सुरक्षा सेवाका अधिकारी भएको र एक पटक एफएसबीको विशेष बल अल्फा युनिटमा पुटिनका केही अंगरक्षकसँग काम गरेको बताउनुभएको छ ।

लण्डनस्थित इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिजका रूस र युरेसियाका वरिष्ट सदस्य निगेल गोल्ड डेभिसले भन्नुभयो, “सम्झौतामा क्रासिकोभलाई समावेश गरेर पुटिनले जेलमा रहेका रूसी जासुसहरूको फिर्ती सुनिश्चित गर्नु उनका लागि कत्तिको महत्त्वपूर्ण छ भन्ने देखाउनुभएको छ ।

उहाँले ‘क्रासिकोभलाई फिर्ता ल्याउने रूसी नेताको दृढता यस आदानप्रदानको लागि महत्वपूर्ण रहेको’ उल्लेख गर्नुभयो ।

गोल्ड डेभिसले सम्झौतालाई ‘कडा समानता (वा राम्रो) बाट आश्चर्यजनक प्रस्थानको रूपमा वर्णन गरेको पश्चिमको तुलनामा रूसले दुई गुणा बढी मानिसहरूलाई रिहा ग¥यो । रूसले यसपहिलेका कैदी आदानप्रदान सम्झौतामा सधैं सङ्ख्याको समानतामा जोड दिएको थियो ।

पुटिनले कहिलेकाहीँ आफ्नो स्वार्थहितमा बाहिरबाट असमान देखिने आदानप्रदानलाई पनि स्वीकारेको देख्न सकिन्छ । सेप्टेम्बर २०२२ मा रूसले पुटिनले व्यक्तिगत रूपमा चिनेका र युक्रेनी जेलमा रहेका विपक्षी नेता भिक्टर मेदभेडचुक र दर्जनौं अन्य व्यक्तिहरूलाई रूसी कैदमा रहेका २०० भन्दा बढी युक्रेनी र विदेशीहरूको बदलामा रिहा गर्न सहमत भएको थियो ।

गोल्ड डेभिसका अनुसार रूसी राष्ट्रिय सुरक्षा समिति (केजीबी) का अनुभवी पुटिन बिहीबारको अदलाबदलीमा गुप्तचर एजेन्टहरूप्रति बलियो व्यक्तिगत वफादारीका कारण प्रेरित भएको हुनसक्ने देखिन्छ ।“पुटिनले अहिले आफ्ना जासुसहरूलाई यति उच्च महत्त्व दिनुभएको छ कि उहाँ प्रतिकूल विनिमयका लागि सहमत हुन तयार हुनुहुन्छ्,” उहाँले भन्नुभयो ।

राजनीतिक विश्लेषक तथा पुटिनका पूर्व सहयोगी (भाषणसमेत तयार गरिदिने लेखक) अब्बास ग्याल्यामोभले यो अदलाबदलीलाई विदेशमा रहेका रूसी कार्यकर्ताहरूको वफादारी सुनिश्चित गर्न र उनीहरूलाई ‘जेलबाट बाहिर निकाल्न हरसम्भव प्रयास गर्नेछन्’ भन्ने महसुस गराउने तरिकाको रूपमा वर्णन गर्नुभयो ।

“पुटिनले आफ्ना सबै जासुस, हत्यारा र विदेशमा प्रयोग गर्ने अन्य व्यक्तिहरूलाई आफू अविभावक भएकोजस्तै देखाउनुभएको छ”, ग्याल्यामोभले भन्नुभयो, “यो महत्त्वपूर्ण छ किनभने यसले उनीहरूको वफादारी सुनिश्चित गर्छ ।

पुटिनको अध्यक्षतामा रहेको सुरक्षा परिषद्का उपप्रमुख दिमित्री मेदवेदेवले आफ्नो ‘म्यासेजिङ एप च्यानल’मा लेख्नुभएको छ, “रूसप्रति गद्दारी गर्नेहरू जेलमा सडेको देख्नु वाञ्छनीय हुनेछ तर यो हाम्रा मान्छे रिहा गर्न थप उपयोगी छ ।

पश्चिमा विरोधी बाज भनेर चिनिने उपप्रमुख दिमित्री मेदभेदेभले अशुभ भावमा भन्नुभयो, “गद्दारहरूले अब नयाँ नाउँहरू छानेर साक्षीहरूको सुरक्षा कार्यक्रमअन्तर्गत लुकेर बस्नुपर्छ ।”

–महत्वपूर्ण अमेरिकी अधिकारीको रिहाइ–

रूसद्वारा रिहा गरिएकाहरूमा स्वर्गीय विपक्षी नेता एलेक्सी नाभाल्नी र वरिष्ठ मानव अधिकार अभियानकर्र्मी ओलेग ओर्लोभका सहयोगी र विपक्षी कार्यकर्ता इल्या यासिनबाट प्रभावित भएको भन्दै राजद्रोहको अभियोगमा २५ वर्षको जेलजीवन बिताइरहनुभएका पुलित्जर पुरस्कार विजेता लेखक भ्लादिमिर कारा–मुर्जा पनि रहनुभएको छ ।

उहाँको रिहाइलाई लिएर केहीले नभाल्नीको मृत्युपछि चामात्कारिक नेताको अभाव रहेको रुसको सङ्कटग्रस्त र खण्डित विपक्षलाई पुनर्जीवित गर्न सक्ने आशा व्यक्त गरेका छन् भने केहीले उनीहरूले सामना गर्नुपर्ने गम्भीर चुनौतीतर्फ सङ्केत गरेका छन् ।

स्टानोभायाका अनुसार अधिकांश मानिस स्वतन्त्र सञ्चारमाध्यमको पहुँचबाट वञ्चित छन् र उदारवादी विचारहरू तुलनात्मक रूपमा सङ्कीर्ण वर्गका जनताद्वारा साझा गरिएका तथ्य मानिने रूसमा आफुहरूका आवाज सुन्न कठिन हुनेछ ।

उहाँले क्रेमलिनले मस्को विरुद्ध प्रतिबन्धहरूको समर्थक पश्चिमा स्वार्थपूरा गर्ने अधिकारीहरू र दोहोरो रूसी–ब्रिटिश नागरिक धारण गरेका विशेष गरी कारा–मुर्जालाई वाचाल व्यक्तिको रूपमा चित्रण गर्नुभयो ।

ग्याल्यामोभले पनि क्रेमलिनले मुक्त गरिएका कार्यकर्तालाई ठूलो खतराको रुपमा नलिएको बताउनुभयो ।

“जारी गरिएको विपक्षी आँकडाले क्रेमलिनका लागि कुनै थप समस्या निम्त्याउने छैन”, उहाँले भन्नुभयो, “यासिन र अन्यले जेलबाट पठाएका सन्देशहरूले थप सहानुभूति र चासो जगाएको छ र क्रेमलिनले यो सम्झौताबाट जितेको छ ।

गूगलद्वारा फोटो सम्पादन गर्न नयाँ सुविधाहरू थप्ने

गुगलले प्रयोगकर्ताको अनुभव सुधार गर्न र तस्बिर व्यवस्थापनलाई सरल बनाउने उद्देश्यले आफ्नो गुगल फोटो एपमा नयाँ सुधारको घोषणा गरेको छ ।

यो मुख्य अपडेटमध्ये गुगलमा सङ्कलित गरिएका तस्बिरहरू सम्पादन गर्न छिटो र सजिलो तरिकाको परिचय हो । उक्त कम्पनीले नयाँ सम्पादनको विकल्पका लागि सुविधा सुनिश्चित गरेको छ । यसले प्रयोगकर्ताहरूलाई केवल एक क्लिकमा तस्बिर सम्पादन उपकरणहरूमा प्रत्यक्ष पहुँच प्रदान गर्छ ।

यी सुविधाहरू विशेष गरी पुराना फोटो साझा गर्ने वा व्यवस्थित सम्पादन प्रविधिहरूको आनन्द लिने प्रयोगकर्ताहरूका लागि उपयोगी हुने गुगलले जनाएको छ । यी अपडेटहरूले प्रयोगकर्ता–अनुकूल फोटो व्यवस्थापनको अनुभव प्रदान गर्न आफ्नो प्रतिबद्धता रहेको कम्पनीले उल्लेख गरेको छ

जावलाखेलमा पुर्‍याइएको रातो मछिन्द्रनाथको रथमा भक्तजनले गरे पूजा, आज मछिन्द्रनाथको भोटो देखाइने

ललितपुरको जावलाखेलमा पुर्‍याइएको रातो मछिन्द्रनाथको रथमा पूजा गर्दै भक्तजन । जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो देखाउने कार्यक्रम छ । तस्बिर: प्रदीपराज वन्त

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आाज देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो ।

जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छिन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आउनुभएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले राससलाई जानकारी दिनुभयो । भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ ।

पर्सामा ९० प्रतिशत रोपाइँ सकियो

वीरगञ्ज (पर्सा), २० साउनः पर्सामा ९० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्रले यो वर्ष पर्याप्त पानी उपलब्ध भएकाले जिल्लामा ९० प्रतिशत रोपाइँ सकिएको जनाएको छ ।

केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहाले पर्सामा धानको ब्याड राखेको ठाउँबाहेक अन्य स्थानमा रोपाइँ अन्तिम चरणमा पुगेको बताउनुभयो । “गत वर्षको तुलनामा जिल्लामा धान रोपाइँ धेरै भएको छ”, उहाँले भन्नुभयो, “यो वर्ष यहाँ पाँचदेखि सात प्रतिशतसम्म धान धेरै फल्ने अनुमान गरेका छौँ ।”

केन्द्रका अनुसार हालसम्म पर्सामा ४२ हजार तीन सय ९२ हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको छ । पर्सामा ४७ हजार एक सय तीन हेक्टरमा धानखेती हुने गरेको छ । गण्डक नहरबाट पनि समयमा नै पानी उपलब्ध भएकाले रोपाइँ सहज भएको हो । पर्सामा आव २०७८/७९ मा दुई लाख ३३ हजार एक सय ३५ मेट्रिक टन धान उत्पादन भएको थियो । यहाँका किसानले हरदिनाथ, सोनामन्सुली र सावित्री जातका धान रोप्दै आएका छन् ।

ताप्लेजुङ कारागारमा क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दी

फुङ्लिङ (ताप्लेजुङ), २० साउनः जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । करिब २५ जनाको क्षमता भएको कारागारमा पाँच गुणा बढी कैदी राखिएका छन् ।

जिल्ला कारागार कार्यालयका प्रमुख कुलेन्द्र खवासका अनुसार हाल एक सय २३ कैदी र २२ थुनुवा गरी एक सय ४५ कैदीबन्दीलाई राखिएको छ । कारागारमा ७३ जना जबर्जस्ती करणीका मुद्दा झेलिरहेका छन्भने ज्यान मार्ने उद्योगका सात, कर्तव्य ज्यान तथा हातहतियार खरखजानाका एक, डाका र चोरी मुद्दाका छ, लागुऔषधका छ र सवारी दुर्घटना गराएका तीनजना कैदीबन्दी छन् ।

विसं १९९२ मा २५ जना कैदीबन्दी अटाउने गरी निर्माण गरिएको कारागार तीन रोपनी क्षेत्रफलमा फैलिएको छ । यहाँ साना–ठूला नौवटा घर छन् ।

नारायणी नदी किनारमा हिँडिरहेका बेला बाघको आक्रमणबाट घाइते

चितवन, २० साउनः बाघको आक्रमणबाट भरतपुर महानगरपालिका–२ बेलटाडीका ६० वर्षीय पशुपति श्रेष्ठ घाइते हुनुभएको छ । प्रातभ्रमणका क्रममा उहाँ बाघको आक्रमणमा पर्नुभएको हो ।

भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा हिँडिरहेका बेला उहाँलाई बाघले आक्रमण गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । आक्रमणबाट घाइते श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उहाँको मुख र हातमा चोट लागेको र अवस्था स्थिर रहेको जानकारी उहाँले दिनुभयो । प्रमुख जिल्ला अधिकारी यादवका अनुसार बाघको खोजीका लागि जिल्ला वन कार्यालयबाट एउटा टोली परिचालन भएको छ ।

बाह्रै महिना सडक सञ्चालन गर्ने वडाध्यक्ष राईको अभियानमा स्थानीयको साथ

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका वडाध्यक्ष ईखबहादुर राईको दैनिकी जनताको कामसँगै सडक मर्मतमा बित्ने गरेको छ । वडा कार्यालयको दैनिक काम तथा नगर कार्यपालिकाको बैठकबाहेक अधिकांश समय सडक मर्मत गर्दै गरेको अवस्थामा भेटिनुहुने वडाध्यक्ष राईको श्रमदान अभियानमा स्थानीय बासिन्दाले कम्मर कसेर साथ दिएका छन् ।

वडाध्यक्ष राईले सुरु गर्नुभएको श्रमदानमार्फत सडक मर्मत गर्ने अभियानले खार्मीबाट हुर्लुङ हुँदै दिक्तेल तथा राजधानी काठमाडौँलगायत पूर्वी तराईका विभिन्न सहर आवतजावतमा सहज भएको छ । यसअघि हिउँदमा दुःखका साथ करिब छ महिनामात्र सञ्चालन हुने सडक श्रमदानमार्फत मर्मत गरिएका कारण बाह्रै महिना यातायात सञ्चालन भएपछि स्थानीय उपभोक्तासमेत हर्षित भएका छन् ।

खार्मीले जनताको प्रमुख समस्या सडक भएकाले बाह्रै महिना यातायात सञ्चालन गर्नेगरी श्रमदान अभियान सञ्चालन गरिएको वडाध्यक्ष राईले बताउनुभयो । “बाह्रै महिना सडक सञ्चालन भएमा कसैले पनि अकालमा ज्यान गुमाउनु पर्दैन भन्ने मेरो बुझाइ छ । हाम्रो प्रमुख समस्या भनेको सडक नै हो । वडामा आएको बजेटले स्तरोन्नति गर्नसक्ने सम्भावना छैन”, उहाँले भन्नुभयो, “सडकमा एउटा ढुङ्गा खस्यो भने पनि मन चसक्क हुन्छ । सडकमा खसेको त्यो ढुङ्गा नहटाएसम्म मेरो मनले मान्दैन । पटकपटक अवरुद्ध हुँदै आएको सडक श्रमदानमार्फत मर्मत गर्ने मेरो अभियानमा सबैको साथ र सहयोग पाएको छु । यसले मलाई हौसला मिलेको छ । श्रमदान अभियानका कारण बाह्रै महिना यातायात सञ्चालन भएको छ ।”

वडाध्यक्ष राईले सुुरु गर्नुभएको श्रमदान अभियानको सुुरुदेखि अहिलेसम्म स्थानीय भुवन राई, हेमन्त राई, राम तामाङ, ओमन श्रेष्ठ, राजन तामाङलगायत युवाले निरन्तर साथ दिइरहेका छन् । दैनिक वडाध्यक्ष राईसँगै खार्मीका अधिकांश स्थानीय बासिन्दाले श्रमदान अभियानमा साथ दिएका छन् ।

श्रमदान अभियानमा वडाध्यक्ष राईले एउटा बोलेरो भ्यानसमेत प्रयोग गर्दै आउनुभएको छ । अभियानका लागि आवश्यक औजार कतिपयले आफँै ल्याउँछन् भने कतिपयका लागि वडाध्यक्ष आफँैले खरिद गरेर राखेका छन् ।

राति पानी परेको छ भने गाडीसँगसँगै चार–पाँचजना युवा झम्पल, गैँती, सावेल र कोदालो साथमा लिएर मोटरसाइकलमा अगाडिपछाडि लाग्छन् । गाडी फसिएको ठाउँमा सहयोग गर्छन् र वारपार भएपछि घर फर्कन्छन् ।
श्रमदानमार्फत सडक मर्मत अभियान जुट्नुभएमा वडाध्यक्ष राईलाई देश–विदेशमा रहेका खार्मीलेले आर्थिक सहयोगसमेत उपलब्ध गराउँदै आएका छन् । खार्मीमा जन्मिएर रोजगारीको सिलसिलामा विभिन्न देशमा रहनुभएका व्यक्तिले वडाध्यक्ष राईसँगै श्रमदानमार्फत सडक मर्मत अभियानमा खटिने स्थानीय बासिन्दाका लागि खाना तथा खाजा खर्च गर्न सहयोग रकम उपलब्ध गराउने गरेका हुन् ।

विदेशमा रहनुभएकाहरूले वडाध्यक्ष राईको श्रमदान अभियानमा आर्थिक रूपमा भए पनि सहभागी हुन पाउँ भन्दै स्वतःस्फुर्त रकम पठाउने गरेको अभियानमा सहभागी भुवन राईले बताउनुभयो । “वडाध्यक्षज्यू, निर्वाचित हुनुअघिबाटै श्रमदानमार्फत सडक मर्मत अभियानमा सहभागी हुनुहुन्थ्यो । हामी सबैले खार्मीको नेतृत्व लिन अनुरोध ग¥र्यौँ । उहाँले पनि स्वीकार गर्नुभयो । अहिले उहाँले श्रमदानसँगै वडाध्यक्षको जिम्मेवारी पनि सम्हाल्नुभएको छ”, उहाँले भन्नुभयो, “वडाध्यक्षको श्रमदान अभियानमा अहिलेसम्म रु पाँच लाख सहयोग जुटिसकेको छ । खर्च पनि उही अनुपातमा भएको छ । तर, राज्यले लगानी गर्ने योजना हो भने करोडौँको काम श्रमदानमार्फत गरेका छौँ ।”

निर्माण गरेको लामो समयसम्म अवरुद्ध रहेको सडकमा अहिले दैनिक चारवटा यात्रुबाहक सानो गाडी सञ्चालनमा छन् । खार्मीबाट दैनिक बिहान ७ः३० बजे दिक्तेल तथा साढे ४ः०० बजे राजधानी काठमाडौँ छुट्ने गरेका छन् ।

खार्मी–हुर्लुङ दिक्तेल सडक करिब २३ किलोमिटर लामो छ । यो सडक खार्मीसँगै पाथेका, फेदी, खार्ताम्छा, बास्पानी र बाक्सिलाका स्थानीयका लागि राजधानी काठमाडौँलगायत सहर आवतजावतमा उपयुक्त मार्ग पर्दछ । श्रमदानबाटै नियमित यातायात सञ्चालन भइरहेको हुर्लुङ–खार्मी सडकका लागि यस वर्ष रु दुई करोड १७ लाख बजेट प्राप्त भएको छ । प्रतिनिधिसभा सदस्य रामकुमार राईको पहलमा सङ्घीय सरकारबाट प्राप्त बजेटले सडक फराकिलो पार्ने, ‘ड्रेन’ निर्माण तथा सोलिङ गर्ने योजना बनाइएको वडाध्यक्ष राईले जानकारी दिनुभयो ।

खार्मीलाई सदरमुकाम दिक्तेल र राजधानी काठमाडौँ जोड्ने दुईवटा राष्ट्रिय सडकले छोएको छ । यो दुवै सडकमा बाह्रै महिना नियमित यातायात सञ्चालनमा ल्याउन वडाध्यक्षको नेतृत्वमा श्रमदान अभियान चलाइएको हो । खार्मीबाट बाँझोबारी हुँदै देउराली–तालखर्क तथा सोल्मा हुँदै दिक्तेल जोड्ने सडक १७ किलोमिटर लामो छ । दिक्तेल–खार्मी–बाक्सिला नाम दिइएको यो सडकमा गत वर्ष करिब डेढ महिना श्रमदान गरिएको थियो । यद्यपि, यो सडक अहिले अवरुद्ध अवस्थामा छ ।

सदरमुकाम दिक्तेलबाट केपिलासगढी गाउँपालिका जोड्ने सबैभन्दा छोटो दूरीको यो सडकमा वार्षिक बजेटसमेत उपलब्ध हुँदै आएको छ । प्रदेश सरकारको क्रमागत योजनाअन्तर्गत पर्ने दिक्तेल–खार्मी–बाक्सिला सडक कहिलेबाट नियमित सञ्चालन हुने भन्ने टुङ्गो छैन ।

अन्तरपालिका जोड्ने यो सडकलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गौरवको आयोजनामा समावेश गरेको छ । तर, उक्त सडकका लागि नगरपालिका एक्लैले प्रयाप्त बजेट उपलब्ध गराउने अवस्था छैन । प्रदेश सरकारसँगको साझेदारीमा यस वर्ष दिक्तेल–खार्मी–पाथेका सडकका लागि रु एक करोड बजेट व्यवस्था गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । कोशी प्रदेश सरकार र नगरपालिकाको रु ५०–५० लाख बजेटले यस वर्ष बोलपत्र आह्वान गरेर ड्रेन तथा ग्रावेलिङको काम गरिने नगरपालिकाले जनाएको छ ।

सर्लाहीमा एक हजार चार सय ३५ नयाँ उद्योग थपिए, तीन सय ९२ बन्द

बरहथवा (सर्लाही – सर्लाहीमा गत आर्थिक वर्षमा एक हजार चार सय ३५ नयाँ उद्योग दर्ता भएका छन् ।

आर्थिक वर्ष २०८०/८१ मा उद्योगतर्फ छ सय ६० र वाणिज्यतर्फ सात सय ७५ नयाँ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको हो । उद्योग प्रशासनअन्तर्गत दर्ता भएकामध्ये धेरै कृषि फार्म रहेको कार्यालय प्रमुख संजीपकुमार दुब्बेले जानकारी दिनुभयो । उहाँकानुसार गत आर्थिक वर्षमा जिल्लामा कृषि तथा वनजन्य तीन सय पाँच, सेवामूलक दुई सय, उत्पादनमूलक एक सय ३९, पर्यटनमूलक र निर्माणमूलक आठ–आठ उद्योग दर्ता भएको छ । जिल्लामा व्यावसायिक कृषिका लागि धेरै फार्म दर्ता हुने गरेका उहाँले जानकारी दिनुभयो ।

यस्तै गत आवमा तीन सय ९१ उद्योगको लगतकट्टा भएको छ । लगतकट्टा भएकामध्ये धेरै कृषि उद्योगअन्तर्गत रहेका छन् । यसैगरी उद्योग प्रशासनतर्फ एक सय ४९ वटा र वाणिज्य प्रशासनतर्फको दुई सय ४२ वटा उद्योग बन्द गरिएको हो । ‘‘धेरै बन्द गरिएकामा कृषि उद्योगका फार्म छन्”, उद्योग अधिकृत दुब्बेले भन्नुभयो, ‘‘कृषि अनुदानअन्तर्गत कार्यक्रम सञ्चालनका लागि खोलिएका उद्योग धेरैको लगतकट्टा गरिएको छ ।”

यस्तै गत वर्ष उद्योग प्रशासनतर्फका आठ सय ८७ उद्योग र वाणिज्यतर्फका एक हजार पाँच सय नौवटा उद्योग नवीकरण भएका कार्यालयले जनाएको छ । जिल्लामा पछिल्लो समय महिलाको नाममा उद्योग दर्ता गर्ने क्रम भने वृद्धि हुँदै गएको छ । गत वर्ष छ सय ६० फर्म दर्ता हुँदा तीन सय ५७ वटा महिला र तीन सय चारवटा पुरुषका नाममा दर्ता भएका छन् । महिलाका नाममा दर्ता रहने साना उद्योगमा छुट व्यवस्था लागू भएका कारण दर्ता अनुपात बढेको पाइएको छ ।

सुशासन र समृद्धिका लागि वर्तमान सरकार गठन भएको हो – मन्त्री भट्टराई

गण्डकी – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकमा सुशासन कायम गर्दै समृद्धि हासिल गर्न वर्तमान सरकार गठन भएको बताउनुभएको छ । पोखरा चेम्बर अफ कमर्स कास्कीको पाँचौँ साधारणसभा तथा तेस्रो अधिवेशनको पोखरामा उद्घाटन गर्नुहुँदै उहाँले जनतामा आशा जगाउने लक्ष्यका साथ ठूला दुई दल मिलेर सरकार बनेको बताउनुभयो ।

मन्त्री भट्टराईले वर्तमान सरकारलाई अनुशासन विपरीत काम गर्ने छुट नभएको र कानुनी अड्चनलाई आवश्यकताअनुसार परिमार्जन गरेर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । रोजगार सुनिश्चित गर्ने खालको शिक्षा वर्तमानको आवश्यकता हो भन्नुहुँदै उहाँले बढ्दो युवा पलायनलाई रोक्नु पनि सबै मिलेर काम गर्न जरुरी रहेको धारणा राख्नुभयो । मन्त्री भट्टराईले सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि आवश्यक पहल भइरहेको जानकारी दिनुहुँदै यसबाट पर्यटकीय राजधानी पोखराको पर्यटन विकासमा महत्वपूर्ण सहयोग पुग्ने धारणा राख्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य दामोदर बैरागीले उद्योगी–व्यवसायीहरूले संस्थागत हकअधिकारको सुनिश्चिततासहित उत्पादनमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

संस्थाका अध्यक्ष एमनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य गणेशमान गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीका अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्रीलगायत विभिन्न सङ्घसंस्थाका अध्यक्ष एवम् प्रतिनिधिले उद्योग–व्यवसायको वर्तमान अवस्थाका बारेमा विचार व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा पोखरा चेम्बर अफ कमर्सद्वारा प्रकाशित ‘पोखरा चेम्बर दर्पण’ को लोकार्पण गर्नुका साथै संस्थागत विकासमा योगदान गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।

काठमाडौँ उपत्यकामा आज सार्वजनिक बिदा

काठमाडौँ – सरकारले मत्स्येन्द्रनाथको भोटो देखाउने दिन आज काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

सरकारले परम्परागत रुपमै भोटो देखाउने जात्राका अवसरमा प्रत्येक वर्ष उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको छ ।

आसाममा टाटाको सेमीकन्डक्टर प्लान्ट स्थापना गरिने, २७ हजार रोजगारीको अवसर

आसामको मोरिगाउँमा २७ हजार करोडको लगानीमा टाटा समूहले सेमीकन्डक्टर प्लान्टको स्थापना गर्ने भएको छ । सेमीकन्डक्टर उद्योग भविष्यको लागि आधारभूत आवश्यकता भएको र चिपहरू मानिसहरूले आफ्नो दैनिक जीवनमा गर्ने लगभग सबै कुराको हिस्सा हुन गइरहेको अवस्थामा टाटा समूहका अध्यक्ष एन चन्द्रशेखरनले उक्त उद्योग स्थापनाको घोषणा गर्नुभएको हो ।

उहाँले उद्योग सन् केही समयमै अर्थात् सन् २०२५ मा सुविधा सम्पन्न भई सञ्चालनमा आउने विश्वास व्यक्त गर्नुभयो ।“सेमिकन्डक्टर प्लान्ट भविष्यको लागि आधारभूत प्लान्ट हो । चिप्स हामीले हाम्रो दैनिक , औद्योगिक र उपभोक्ता जीवनमा गर्ने सबै कुराको हिस्सा हुन गइरहेको छ । यसले २७ हजार मानिसहरू १५ हजार प्रत्यक्ष रोजगारी र थप १२ हजार अप्रत्यक्ष रोजगारीहरू उत्पादन वा रोजगारी दिनछ,” अध्यक्ष चन्द्रशेखरनले थप्नुभयो ।

आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले यस प्लान्टमा ११ हजार देखि १३ हजार अप्रत्यक्ष रोजगारी सिजना गर्ने अपेक्षा गरिएको उल्लेख गर्नुभयो ।यसैबीच, केन्द्रीय सूचनाप्रबिधि मन्त्री अश्विनी वैष्णवले यो प्लान्ट धेरै ठूलो हुने र प्रति दिन करिब ४.८३ करोड चिप्स उत्पादन गर्ने बताउनुभयो ।

यस प्लान्टमा प्रयोग गरिने तीनवटै प्रमुख प्रविधिहरू भारतमा विकसित भएका प्लान्टमा उत्पादित चिपहरू विद्युतीय सवारीसाधनमा प्रयोग हुने र व्यावहारिक रूपमा हरेक ठूला कम्पनीले यी चिप्स प्रयोग गर्ने उहाँले उल्लेख गर्नुभयो ।

लेबनानमा रहेका आफ्ना नागरिकलाई तत्काल देश छोड्न बेलायत सरकारको आग्रह

इजरायल र हेजबुल्लाहबीच चौतर्फी युद्ध र व्यापक क्षेत्रीय द्वन्द्वको डरबीच बेलायत सरकारले लेबनानमा रहेका आफ्ना नागरिकलाई तत्काल देश छोड्न आग्रह गरेको छ ।बेलायती विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बेलायती नागरिकले लेबनान छोड्नुपर्ने यसबाट सिर्जना हुने व्यावसायिक विकल्प उपलब्ध रहेको जनाएको छ ।

विदेशमन्त्री डेभिड ल्यामीले भन्नुभयो, “तनाव उच्च छ र स्थिति चाँडै बिग्रन सक्छ ।”“हामी लेबनानमा हाम्रो कन्सुलर उपस्थितिलाई बलियो बनाउन अहोरात्र काम गरिरहेका छौं, त्यहाँ रहेका बेलायती नागरिकहरूलाई मेरो सन्देश स्पष्ट छ अब लेबनान छोड्नुहोस् ।”

विदेश मन्त्रालयले उक्त क्षेत्रमा ‘सीमा बल, कन्सुलर अधिकारी र सैन्य कर्मीहरू’ तैनाथ गरेर बेलायतीहरूका लागि आफ्नो सहयोगलाई ‘मजबुत’ बनाइरहेको बताएको छ ।

“अधिकारीहरूले दूतावासका कर्मचारीहरूलाई ‘अतिरिक्त सहयोग’ प्रदान गर्नेछन् भने सैन्य कर्मचारीहरूले दूतावासहरूलाई ‘बेलायती नागरिकहरूलाई मद्दत गर्न परिचालन सहयोग’ प्रदान गर्नेछन्,” मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

“मानवीय आवश्यकताका साथ सहयोगीहरूलाई सहयोग गर्न पूर्वी भूमध्यसागरमा पहिल्यै देखि नै आरएफए कार्डिगन बे र एचएमएस डङ्कनसँग अवतरण भइसकेका छन् भने वायु सेनाले हेलिकप्टरहरू पनि तयारी अवस्थामा राखेको छ,” विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले निर्देशनमा भनेको छ, “लेबनानबाट बाहिरिने सडकसहित मार्गहरू प्रभावित, सीमित, वा बन्द हुने सम्भावनासँगै बेलायती टोलीहरूले आफ्ना नागरिकहरूलाई लेबनान छोड्न आग्रह जारी राख्नेछन् र उनीहरूलाई व्यावसायिक विकल्पहरू उपलब्ध हुनेछन् ।”

गण्डकी प्रदेशमा बने २० वटा पुल

म्याग्दी, २० साउनः गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा २० वटा पुल निर्माण गरेको छ । ती पुलबाट बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सकिने भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।

गत आवमा गोरखा र तनहुँमा आठ, नवलपुर र बागलुङमा छ, म्याग्दी र कास्कीमा चार, लमजुङ र मनाङमा दुईवटा पुल निर्माण भएका हुन् । गत वर्ष गोरखा नगरपालिकाको दरौदी, बेनीघाट–आरुघाट–रुल्डी सडकअन्तर्गत आरखेतखोला, जरेबर–नारेश्वर–गोरखाबजार सडकअन्तर्गत दरौदी–जरेबर, लाप्राक–गुम्दा–लापु सडकको मुग्लाङ खोलामा मोटरेबल पुल निर्माण भएका हुन् ।

यसैगरी, तनहुँको शालिग्राम करिडोरअन्तर्गत ऋषिङ गाउँपालिका–५ पुनटारको लुम्दीखोला, बेलसोटी मार्गको म्याग्देखोला, बागेश्वरी मार्गको बुल्डीखोला र आबुखैरेनी गाउँपालिकाको २ र ३ नम्बर वडामा पर्ने खहरेखोला, लमजुङको सेतोपहिरो–बगरेबेँसी सडकको मिदिमखोला (बागे्रबेँसी), मनाङको पिसाङस्थित छार्ताङखोला, म्याग्दीको मालिका गाउँपालिका–१ र ६ को सिमाना छ्यारछ्यारेस्थित म्याग्दीखोला, मालिका–७ र धवलागिरि–७ को सिमाना भएर बग्ने भारवाङमा म्याग्दीखोलामा पुल निर्माण भएका हुन् ।

पूर्वाधार विकास निर्देशनालयका निमित्त निर्देशक डा महेन्द्र बानियाँका अनुसार कास्कीको अर्मला–भुते–गेर्लाङ गाउँ–हरपक सडकको भुतेखोला र बुढीबजार–डहरे–एयरपोर्ट–चाउथे सडकको बिजरपुरखोला, नवलपुरको बवाक–डेढगाउँ सडकको निरम्दीखोला, गैँडाकोट नगरपालिका–३ र ४ मा पर्ने जयश्रीखोला (दोस्रो) र आमरासा–डुकान–मेनघाट–हुप्सेकोट सडकको गिरबारीखोलामा पुल बनेका छन् ।

यसैगरी, बागलुङको मल्म–रिघा–सिसाखानी–पाण्डवखानी सडकको रिघा सारपेथुङ्गा, डोगाडी–ढोरपाटन सडकको गौडीखोला र नरेठाँटी–हरिचौर सडकको चुक्टीखोलामा पुल निर्माण भएका हुन् ।

आज छ प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ, २० साउन: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको जनाएको छ । साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखिमध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरोबाट हुनसक्ने क्षतिबाट जोगिन विभागले अनुरोध गरेको छ ।

विभागले भारी वर्षाका कारण ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन पनि आग्रह गरेको छ । साथै कोशी, मधेस र लुम्बिनी प्रदेशका तराईका केही स्थानहरूमा हुरीको पनि सम्भावना रहेकोले सचेत रहन सबैमा आह्वान गरेको छ ।

समावेशिता र सङ्घीयतामाथिको प्रहार सैह्य हुँदैनः अध्यक्ष यादव

काठमाडौँ-जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले समावेशिता र सङ्घीयतामाथिको प्रहार सैह्य नहुने बताउनुभएको छ । शनिबार पार्टीको ओखलढुङ्गा काठमाडौँ सम्पर्क समितिले यहाँ आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले राजनीतिक स्थिरताका नाममा समावेशिता, थ्रेसहोल्ड र सङ्घीयतामाथि प्रहार हुनेतर्फ सचेत रहनुपर्ने धारणा राख्नुभयो । उहाँले विभिन्न नियुक्तिबाट सरकारले नै समावेशीता विरोधी काम थालेको आरोपसमेत लगाउनुभयो ।

समावेशिता, स्वशासन, पहिचान र प्रतिनिधित्वको आधार नै सङ्घीयता भएको भन्नुहुँदै सत्ताकेन्द्रीत राजनीति र राजनीतिक अस्थिरताको दोष व्यवस्थामाथि थोपर्न नहुने उहाँको भनाइ थियो ।

देशभर २५ जनामा हैजा पुष्टि

काठमाडौँ- देशभर २५ जना हैजाका बिरामी फेला परेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले हालसम्म सो सङ्ख्यामा हैजाका बिरामी फेला परेको जनाएको छ ।महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले काठमाडौँ, ललितपुर र कैलालीमा हालसम्म २५ जनामा हैजा पुष्टि भएको बताउनुभयो । उहाँका अनुसार ललितपुरमा १६, काठमाडौँमा एक र कैलालीमा आठजना हैजाका बिरामी फेला परेका छन् ।

हैजा अतिसङ्क्रामक र शीघ्र फैलिने झाडापखाला भएकाले हैजाको मुख्य लक्षण चौलानी पानीजस्तो दिसा आउने, वाकवाकी लाग्ने र वान्ता हुने, कडा जलवियोजन हुने गर्दछ । सङ्क्रमणले गम्भीर अवस्थामा पुर्‍याउँदा आँखा गाडिने, मुख, जिब्रो र घाँटी सुक्खा हुने, पिसाब पहेँलो हुने, रक्तचाप कम हुने, मुटुको धड्कन अनियन्त्रित हुने र बेहोस हुनसक्ने घिमिरे बताउनुभयो ।

हैजाका बिरामीलाई तुरुन्तै अस्पताल नपुर्‍याए ५० प्रतिशत मृत्यु हुने सम्भावन हुने गर्दछ । हैजाबाट सुरक्षित रहनका लागि झिँगा लागेको, बासी, सडेगलेको, नपाकेको, चिसिएको खुलास्थानका खाद्यपदार्थ खानु हुँदैन । पानीलाई उमालेर वा क्लेरिन प्रयोग गरेरमात्र प्रयोग गर्न र गराउन, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनको साथै चर्पीको प्रयोग र दिसापिसाब गरिसकेपछि साबुनपानीले मिचीमिची हात हुन महाशाखाले अनुरोध गरेको छ ।

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आज देखाइने

काठमाडौँ, २० साउन: वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आाज देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छिन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आउनुभएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले राससलाई जानकारी दिनुभयो । भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ ।

भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको उहाँले बताउनुभयो । मच्छिन्द्रनाथको यात्रा भने करिब एक हजार तीन सय वर्षअघि नै सुरु भएको हो । किंवदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे ।

डराएका किसानले मच्छिन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रूपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । पुरस्कारस्वरुप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले ।

मनुष्यरुपी भूत आएर भोटो लग्यो । किसानले खोजे । पाएनन् । मच्छिन्द्रनाथको जात्रा हेर्न जाँदा आपूmले पुरस्कारस्वरुप पाएको भोटो मनुष्यका रूपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे । भूतले दिन नमानेपछि विवाद भयो । कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छिन्द्रनाथको जिम्मा लगाइयो ।

आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छिन्द्रनाथको रथयात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो । त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किंवदन्ती छ ।

पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ । यो जात्रा हेर्न आइतबार राष्ट्रपति रामचन्द्र पौडेल जानुहुनेछ । यस अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।