`

देश र जनताका पक्षमा समर्पित भएर निरन्तर काम गर्ने पूर्वमन्त्री आलेको प्रतिबद्धता

काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले देश र जनताका पक्षमा समर्पित भएर निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बुडर शाक्य एकेडेमीले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता आलेले आफूलाई जनताले विश्वास गरेकाले स्थानीय, प्रदेश र सङ्घीय सरकारसमक्ष जनताका माग र अधिकारका पक्षमा वकालत गर्ने बताउनुभयो ।

डेटीको बुडरमा निर्माण भइरहेको बुडर शाक्य एकेडेमी विद्यालय निर्माणका लागि आवश्यक पर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले पालशाक्य गुम्बाका लागि बजेट विनियोजन गराएको र अब बुडर शाक्य एकेडेमी विद्यालयका लागि पनि सहयोग गर्ने बताउनुभयो ।

पूर्वमन्त्री आलेले आफू बुडर क्षेत्रकै बासिन्दा भएकाले पनि त्यहाँ निर्माण हुने विद्यालयको भवनसहित अन्य विकासका लागि सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सो कार्यक्रममा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले उक्त विद्यालय आफू पहिलोपटक गाउँपालिका अध्यक्ष भएका बेला २०६८ सालमा बजेट विनियोजन गरी सञ्चालन गरेको र आगामी दिनमा पनि चाहिने बजेट विनियोजन गराउने प्रतिबद्धता जनाउनुभयो ।

विद्यालय संस्थापक रिम्पोछेनवाङ लोदेले जोरायल गाउँपालिका तथा पूर्वमन्त्री एवं सांसद प्रेमबहादुरको सहयोगमा बुडरमा विद्यालय सञ्चालन गर्न सकिएको र अबका दिनमा सञ्चालनका लागि पनि सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

बुडरका बालबालिकाका लागि पूर्ण छात्रवृत्तिमा विद्यार्थीका लागि निःशुल्क विद्यालय सञ्चालन गर्ने उद्देश्यले बुडर शाक्य एकेडेमीले आज काठमाडौँमा हिमालयन सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।

घर सेतीको बाढीले बगाइदिएपछि डेढ वर्षीया छोरी र आमाको त्रिपालभित्र बास

गण्डकी ।  सत्ताइस वर्षीया निग्मा शेर्पा वर्षौंदेखि बस्दै आएको घर सेती बाढीले बगाइदिएपछि डेढ वर्षीया छोरी काखमा च्याप्दै, नदी किनारको चौरमा त्रिपालभित्र बिहानको खाना पकाउँदै थिइन्। उनको एकमात्र सहारा ३१ वर्षीय श्रीमान् प्रेम शेर्पा दुई वर्षदेखि बेखबर छन्।

‘छाेरी पेटमै हुँदा रोजगारीका लागि साउदी अरब जानुभएको हो। तर गएकै समयदेखि फोन सम्पर्क छैन। सुनेकी छु विदेशमा अर्की श्रीमती लिएर बस्नुभएको छ,’ निग्माले भनिन्, ‘मजदुरी गरेर छोरी पाल्दै आएकी थिएँ। भएको एउटा बास पनि सेती बाढीले बगाइदियो, भाग्यले ज्यान जोगायाैं। अब छोरीबाहेक मेरो कोही रहेन।’

सेती नदीमा गत असार २२ गते आएको बाढीले पोखरा–१४ स्थित गस्ती टोलका निग्मासहित ३९ परिवारको घर बगाइदिएको छ। ती परिवारको २५ दिनदेखि त्रिपालमुनिको बास छ। तीमध्ये केही परिवार आफन्तकहाँ बस्दै आएका छन्।

‘पतिले त छाड्नुभयो, बस्दै गरेको बास पनि बगायो कस्तो दुःख आइलाग्यो,’ निग्माले भनिन्, ‘मजदुरी गरेर पेट पाल्दै आएकी थिएँ, त्यो पनि अहिले छैन, बास पनि छैन। डेढ वर्षकी छोरी लिएर त्रिपालमुनि बस्नुपरेको छ। वर्षा हुँदा सुत्ने र खाना पकाउने ठाउँमा पोखरी बन्छ,’ शेर्पाले भनिन्, ‘राति बादल मडारिँदा बाढीले बगाउने हो कि भन्ने डर लागिरहन्छ, यस्तो दुःख मैले कहिलेसम्म भोग्नुपर्ने हो?’

प्रेमसँग प्रेम विवाह गरेकी निग्माले सुखसँग बाँच्ने सपना देखेकाे बताइन्। ‘विवाह गर्दा सुखसँग बाँच्ने सपना देखेकी थिएँ। तर विवाह गरेको दुई तीन वर्षमै वर्षमै यस्तो दुःख भोग्नुपर्‍याे,’ उनले भनिन्।

धादिङबाट पोखरा आएर बसेकी निग्माको प्रेमसँग पोखरामा भेट भएपछि दुवैबीच प्रेम विवाह भएको थियो। निग्माका वृद्ध बुवा राम श्रेष्ठ पनि सोही टोलमा ३० वर्षदेखि बस्दै आएका छन्।

‘बिहान बेलुकाको खाना विभिन्न संघसंस्थाबाट प्राप्त सहयोगबाट चल्दै आएको छ, त्रिपाल पनि संस्थाले नै उपलब्ध गराएको हो। त्रिपाल राखेर बस्दै गरेको जग्गा पनि सरकारको कृषि कार्यालयअन्तर्गतको रहेको र त्यो कार्यालयले त्यहाँबाट हट्न भनेको छ, अब कहाँ गएर बस्ने हो, थाहाँ छैन,’ निग्माले भनिन्। जग्गा पाइहाले पनि घर बनाउन सक्ने उनको अवस्था छैन।

शेर्पा मात्र हैन यहाँका ३८ परिवारको दुःख उस्तै छ। गस्ती टोलकै २९ वर्षीया यमकुमारी मगरको पीडा पनि कम्ता छैन । सेती नदीको बाढी घरमै आउन थालेपछि लत्ताकपडा र भाँडाकुँडा लिएर भाग्दै सुरक्षित ठाउँमा आएको पाँच जनाको परिवार पनि त्रिपालमुनि बस्दै आएको छ। मजदुरी गरेर खाने यो परिवारलाई बिहानबेलुकाको छाक टार्नै मुस्किल छ।

‘पति मजदुरी गर्नुहुन्छ । मैले तीन बालबच्चाको स्याहारसुसार गरेर बस्दै आएकी थिए। तर ३० वर्षदेखि बस्दै आएको घर बाढीले बगाइदिएपछि बिचल्ली भएको छ। पतिले मजदुरी गर्न जान पाउनुभएको छैन। सधैं संघसंस्थाको सहयोग पाइँदैन,’ मगरले भनिन्, ‘बाससम्मको व्यवस्था भयो भने मजदुरी गरेर खान्थ्यौं।’

बाढीबाट विस्थापितमध्ये सुस्मा श्रेष्ठ तामाङकै घरमा शरण लिएर बस्दै आएकी छन्। सुस्मा ६ महिना र दुई वर्षका दुई छोरा लिएर तामाङको घरमा शरण लिएर बसेकी छन्। विस्थापित ३९ परिवारलाई त्रिपालको व्यवस्था ‘असल छिमेकी’ संस्थाले गराएको हो। उक्त टोलका अधिकांश परिवार बालुवा बाेक्ने काम गर्दै आएका थिए। 

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

इनरुवा, १९ असार : सुनसरीको इटहरी उपमहानगरपलिका–६ पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट शुक्रबार एक साइकलयात्रीको मृत्यु भएको छ ।

इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश नं १–०२–००१ ख ९२९४ नम्बरको ट्रकले ठक्कर दिँदा भोजपुरको षडानन्द नगरपालिका–१४ का ४२ वर्षीय रामचन्द्र श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी इटहरी–४ स्थित दिदीको घरमा बस्दै आएका थिए ।

ट्रक चालक धरान–१३ का ४५ वर्षीय गोविन्दबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

झापामा नगदेबालीका रुपमा लगाइने सुपारीखेती भरपर्दो आम्दानीको स्रोत बन्दै

भद्रपुर (झापा), १९ साउन : झापामा नगदेबालीका रुपमा लगाइने सुपारीखेती भरपर्दो आम्दानीको स्रोत बन्दै गएको छ । कम लगानीमा राम्रो प्रतिफल दिने भएकाले यहाँका किसान सुपारीखेतीतर्फ आकर्षित भएका हुन् । झापाको बुद्धशान्तिका रुद्रप्रसाद पोखरेलले दुई बिघाभन्दा बढी जमिनमा सुपारीखेती गर्नुभएको छ । “व्यापारी बगानमै आएर सुपारी खरिद गर्ने भएकाले बजारको चिन्ता छैन । वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी भइरहेको छ । मेहनत गर्ने हो, गोडमेल गर्ने हो भने आम्दानी अझै बढाउन सकिन्छ”, उहाँले भन्नुभयो ।

सुपारीले अन्य बालीलाई असर नगर्ने भएकाले यसतर्फ आकर्षण बढेको बुद्धशान्तिका चन्द्रशेखर पौडेल बताउनुहुन्छ । “मैले एक बिघा १२ कट्ठा जमिनमा सुपारीखेती गरेको छु, सुपारीको बारी भित्रै सिजनअनुसार तरकारी, रोपाइँ र मकै  खेती गर्ने गरेको छु । सुपारीबाट मात्रै वार्षिक रु तीन लाखभन्दा बढी आम्दानी भइरहेको छ”, उहाँले भन्नुभयो ।

अरु खेती लगाउँदा हात्तीले नोक्सान गर्ने भएकाले नगदेबाली सुपारी खेतीमा लागेको अर्का किसान निर्मल भट्टराई बताउनुहुन्छ । उहाँका अनुसार सुपारीका दानासँगै यसको पत्ताबाट दुनाटपरी बनाउन सकिन्छ । सुपारीको बोटमा फल लागेदेखि नै व्यापारीले अग्रिम भुक्तानी गर्ने गरेको अर्का किसान बिन्दु पौडेल बताउनुहुन्छ । 

“बिरुवा लगाएको सात वर्षदेखि यसले फल उत्पादन सुरु गर्छ । त्यसपछि निरन्तर यसबाट वार्षिक रुपमा आम्दानी भइरहन्छ”, उहाँले भन्नुभयो । 

राज्यले उन्नत जातका सुपारीका बिरुवामा लगानी गर्दै किसानको उत्पादनलाई बजारीकरणमा समन्वय गरिदिने हो भने सुपारीखेती गर्ने किसानको आम्दानी बढ्दै जाने स्थानीय प्रेम राई बताउनुहुन्छ । “पहिले घरआँगन सजाउनका लागि सुपारीका बिरुवा रोप्ने गरिन्थ्यो । पछिल्लो समय सुपारीखेती व्यावसायिक रुपमा गर्दै वार्षिक लाखौँ रुपैयाँ आम्दानी भइरहेको छ”, उहाँले भन्नुभयो । 

दूध बेचेर मासिक लाख आम्दानी गर्दै रवि

घोराही (दाङ), १९ साउन : दाङको घोराही उपमहानगरपालिका–१३ का रवि घर्तीले व्यावसायिक रुपमा पशुपालन गर्दै आउनुभएको छ । उहाँले पशुपालन गर्न थालेको तीन वर्ष भयो । व्यावसायिकरुपमा लाग्नुभएका घर्तीले साथीहरुसँग मिलेर भैँसीपालन, बङ्गुरपालन र हाँसपालन गर्दै आउनुभएको छ ।

मेहनत गर्नसके आफ्नै ठाउँमा पशुपालनबाट पनि राम्रो आम्दानी लिन सकिने भन्दै गोरखा बायो फार्मका अध्यक्ष रहनुभएका घर्तीले भन्नुभयो, “व्यवसाय नगरेको भए अहिले खाली बस्नुपथ्र्यो । तर व्यावसायिक रुपमा भैँसी तथा बङ्गुरपालन गरेपछि राम्रै आम्दानी भइरहेको छ ।” उहाँले रोजगारीका लागि दिनहुँ युवा जनशक्ति विदेशिएको समयमा पशुपालनबाट राम्रै आम्दानी भइरहेको बताउनुहुन्छ ।

घोराही उपमहानगरपालिका–७ घुस्रामा पाँच बिघा जग्गा किनेर व्यावसायिक पशुपालन गर्दै आउनुभएका घर्तीले दूध बिक्री गरेर मासिक रु एक लाख बढी आम्दानी भइरहेको बताउनुहुन्छ । उहाँका अनुसार फार्ममा साना ठूला गरेर अहिले १८ वटा भैँसी, २५ वटा बङ्गुर, हाँसलगायत रहेका छन् । १८ वटा भँैसीमध्ये चार वटा भैँसीले दूध दिने र त्यहीबाट महिनामा एक लाख बढी कमाई गर्दै आएको घर्ती बताउनुहुन्छ । उत्पादन गरेको दूध घरबाटै बिक्री हुने गरेको भन्दै उहाँले भन्नुभयो, “उत्पादन गरेको दूध बिक्रीमा समस्या छैन । फार्मबाटै स्कुल तथा डेरीमा जाने गरेको छ ।” दैनिक अहिले दैनिक ४५÷५० लिटरसम्म दूध बिक्री भइरहेको भन्दै उहाँले फार्ममा कम्तीमा ४० वटा भैँसी र केही जर्सी गाईसमेत थप गर्ने योजनामा रहेको बताउनुभयो ।

बजारको मागसँगै प्रशस्तमात्रामा घाँससँगै पानीको व्यवस्था भएकाले दूध उत्पादनलाई प्राथमिकता दिइएको घर्ती बताउनुहुन्छ । उहाँका अनुसार दूध ७० रुपैयाँ लिटर बिक्री हुने गर्दछ । दूध उत्पादनका लागि भैँसीसँगै मासुका लागि बाख्रा, बङ्गुर, हाँस र व्यावसायिक तरकारी खेतीलाई पनि अघि बढाउने तयारी रहेको अर्का सञ्चालक खुसीराम चौधरी बताउनुहुन्छ । त्यसका लागि थप संरचना निर्माण गर्ने तयारीमा रहेको उहाँ बताउनुहुन्छ ।

अहिले दूध उत्पादनसँगै मासु उत्पादनका लागि बाख्रा र बङ्गुरपालनलाई बढाउने उद्देश्य रहेको भन्दै सञ्चालक चौधरीले भन्नुभयो, “अहिलेको संरचनालाई बढाउने र त्यसैमा थप भैँसी र बाख्रापालन गर्ने उद्देश्य रहेको छ ।”

व्यावसायिक रुपमा दूध, मासुसँगै तरकारी उत्पादन गर्ने उद्देश्यले फार्ममा अहिलेसम्म करिब रु डेढ करोडसम्म लगानी भइसकेको छ । उहाँहरुले कृषि फार्ममा तीन जनालाई रोजगारी दिनुभएको छ । पशुपालनका लागि सुपर नेपियर, किमु, इपिल, सुडान, मकैचरी, मकैलगायतका व्यावसायिक घाँसखेती गरिएको उहाँ बताउनुहुन्छ । उहाँहरु जस्तै जिल्लामा पछिल्लो समय पशुपालन व्यवसायमा आबद्ध हुने किसानको सङ्ख्या बढ्दै जान थालेको छ ।

नाइजेरियामा विरोध प्रदर्शनमा कम्तीमा १३ जनाको मृत्यु

नाइजेरियामा बिहीबार आर्थिक कठिनाइको विरोध प्रदर्शनका क्रममा कम्तीमा १३ जनाको मृत्यु भएको अधिकार समूह एम्नेस्टी इन्टरनेसनलले बताएको छ । एम्नेस्टीले सुरक्षा बलहरूमाथि शान्तिपूर्ण प्रदर्शनकारीहरूको हत्या गरेको आरोप लगाएको छ ।

सरकारी नीति र जीवनयापनको उच्च लागतविरुद्ध प्रदर्शन गर्न नाइजेरियाभरका सहरहरूमा हजारौँ प्रदर्शनकारीहरू सडकमा उत्रिएको एक दिनपछि मृत्यु हुनेको सङ्ख्यामा विरोधासपूर्ण विवरण आएका छन् । 

शुक्रबार एक्समा विज्ञप्ति जारी गर्दै एम्नेस्टी इन्टरनेसनलले सुरक्षा बलबाट राजधानी नजिकैको सुलेजामा छ, उत्तरपूर्वी सहर मैदुगुरीमा चार र उत्तरपश्चिमको कादुनामा तीन जना मारिएको बताएको छ । 

प्रहरीले मैदुगुरीमा भएको विस्फोटमा चार जनाको मृत्यु भएको बताएको छ । बिहीबार राष्ट्रिय प्रहरी प्रमुखले अधिकारीहरूले शान्तिपूर्ण प्रदर्शनकारीहरूमाथि आक्रमण गरेको भन्ने दाबीलाई अस्वीकार गर्नुभयो । 

कम्तीमा पाँच राज्यमा शुक्रबार प्रहरीको व्यापक उपस्थितिमा कर्फ्यु लगाइएको थियो । यसका साथै राजधानी अबुजामा सुरक्षा बलहरूले प्रदर्शनको दोस्रो दिनका लागि निस्किएको प्रदर्शनकारीहरूको साना समूहहरूमा अश्रु ग्यास प्रहार गरेका थिए । 

राष्ट्रपति बोला अहमद टिनुबुले इन्धन अनुदान अन्त्य गर्दै एक वर्षअघि मुद्रालाई उदार बनाएपछि अफ्रिकाको सबैभन्दा धेरै जनसङ्ख्या भएको नाइजेरिया उच्च मुद्रास्फीति र मन्दीसँग सङ्घर्ष गरिरहेको छ । सरकारले भने यसबाट लामो अवधिमा अर्थतन्त्रमा सुधार हुने बताएको छ । 

नाइजेरियाले उच्च लागतको सामना गरिरहेको छ । खाद्य मुद्रास्फीति ४० प्रतिशत पुगेको छ भने इन्धनको मूल्य एक वर्षअघिको तुलनामा तीन गुणा भएको छ । यद्यपि धेरै मानिस विरोध प्रदर्शनको वरपर असुरक्षालाई लिएर सावधान थिए ।    नाइजेरियाका नेता, नागरिक समाज समूहहरूको गठबन्धनले अधिकारीहरूको चेतावनीका बाबजुद आगामी दिनमा जुलुसहरू जारी राख्ने वाचा गरेका छन् ।

दिल्ली उच्च अदालतद्वारा दिल्लीको भौतिक पूर्वाधारमाथि पुनःविचार गर्न समिति गठन

दिल्ली उच्च अदालतले जिएनसिटिडी (राष्ट्रिय राजधानी क्षेत्र दिल्ली सरकार) का मुख्य सचिवको नेतृत्वमा एक समिति गठन गरेको छ । समितिलाई दिल्लीको प्रशासनिक, वित्तीय, भौतिक पूर्वाधार हेरेर आठ हप्ताभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।

कार्यवाहक प्रधानन्यायाधीश मनमोहन र न्यायाधीश तुषार राव गडेलाको संयुक्त इजलासले सुनुवाइका क्रममा कडा टिप्पणी गर्दै पछिल्ला महिनामा मन्त्रिपरिषद्को बैठक नबसेको र अर्को बैठक कहिले बस्ने भन्ने अनिश्चितताका कारण जिएनसिटिडीमा नयाँ आयोजनाको स्वीकृति लिन चुनौतीपूर्ण रहेको बताएको छ । 

दिल्लीको धेरै भौतिक पूर्वाधारहरू पुराना भइसकेका छन् । करिब ७५ वर्षअघि राखिएको नालीको अपर्याप्त र कमजोर मर्मत गरिएको अदालतले उल्लेख गरेको छ । 

उच्च अदालतले दिल्लीको जनसङ्ख्या तीन करोड नाघेकाले सहरलाई थप बलियो वित्तीय र प्रशासनिक पूर्वाधार आवश्यक रहेको उल्लेख गरेको छ । विभिन्न अनुदान योजनाहरूले आप्रवासन र जनसङ्ख्या वृद्धिमा योगदान पु¥याउँदा वित्तीय चुनौतीहरूलाई बढाएको अदालतको भनाइ छ 

अदालतले यस क्षेत्रमा अतिक्रमण र अवैध निर्माण भएका कुनै पनि निर्माणलाई तत्काल हटाउनसमेत आदेश दिएको छ । अदालतका अनुसार यहाँ व्यापकरूपमा पानीको समस्याले निजी आवाससहित सबैलाई असर गरेको छ । यमुना नदीमा पनि अतिक्रमण गरिएको अदालतले बताएको छ ।

युद्धमा गाजाका झण्डै दुई तिहाइ भवन क्षतिग्रस्त

गाजा पट्टीमा अक्टोबरमा गाजा युद्ध सुरु भएयता झण्डै दुई तिहाइ भवन क्षतिग्रस्त वा ध्वस्त भएको संयुक्त राष्ट्रसङ्घले बताएको छ । “गाजा पट्टीमा एक लाख ५१ हजार दुई सय ६५ संरचना प्रभावित भएको युनोस्याटको पछिल्लो स्याटेलाइट इमेजरीले देखाएको छ”, राष्ट्रसङ्घीय स्याटेलाइट सेन्टरले भनेको छ, “यसमध्ये ३० प्रतिशत ध्वस्त, १२ प्रतिशत गम्भीर क्षति, ३६ प्रतिशत मध्यम क्षति र २० प्रतिशत सम्भवतः क्षतिग्रस्त भएका छन् । यो यस क्षेत्रका कूल संरचनाको करिब ६३ प्रतिशत हो ।”

हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा गरेको आक्रमणले युद्ध सुरु भएको थियो । आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार एक सय ९७ व्यक्तिको मृत्यु भएको थियो । 

आक्रमणका क्रममा हमासका लडाकूहरूले दुई सय ५१ बन्धकलाई पनि कब्जामा लिएका छन् । यसमध्ये एक सय ११ अझै पनि गाजामा बन्धक छन् र ३९ जना मारिएका छन् ।हमास विरुद्ध इजरायलको प्रतिशोध अभियानमा गाजामा कम्तीमा ३९ हजार चार सय ८० को मृत्यु भएको छ ।    युनोस्याटले गाजा पट्टीमा द्वन्द्वबाट उत्पन्न कूल भग्नावेशषको मात्रा लगभग चार करोड १९ लाख ५० हजार मेट्रिक टन रहेको बताएको छ ।

सन् २००८ देखि प्यालेस्टिनी क्षेत्रमा भएका विगतका सबै द्वन्द्वको कूल तौलभन्दा १४ गुणा बढी भग्नावशेषको परिणाम यस द्वन्द्वले निम्त्याएको छ ।   एजेन्सीले गाजा पट्टीमा प्रत्येक वर्गमिटरका लागि एक सय १४ किलोग्राम भग्नावशेष उत्पन्न भएको अनुमान गरेको छ ।  यसको उपग्रह इमेजरी आधारित विश्लेषणले मानवीय समुदायलाई द्वन्द्व–सम्बन्धित क्षतिको हदको मूल्याङ्कन गर्न र आपत्कालीन राहत प्रयासहरूलाई आकार दिन मद्दत गर्दछ ।

सहारा दिने श्रीमती नै थलापरेपछि न्यून दृष्टियुक्त वली परिवार समस्यामा

तुलसीपुर (दाङ- सल्यान श्रीनगर घर भई हाल दाङ तुलसीपुर उपमहानगरपालिका–१६ भलै निवासी लालबहादुर वलीको जनयुद्धमा दुईवटै आँखा गुमे । विसं २०६० तिर प्रहरीले करेन्ट लगाउँदा उहाँले आँखा गुमाउनुपरेको थियो ।

वलीले साहाराका लागि २०६२ सालमा सल्यान छत्रेश्वरी गाउँपालिका–१ दमाचौरकी शान्तासँग बिहे गर्नुभयो । शान्ता पनि वलीसँग बिहे गर्न तयार हुनुभयो । दुःखसुख गरेर दिनचर्या चलेकै थियो तर एक महिनाअघिदेखि श्रीमती शान्ता पनि थलिनुभएको छ । सहारा दिने श्रीमती नै थला परेपछि वली परिवार अचेल निकै समस्यामा छ ।

पेटको क्यान्सरका कारण थला पर्नुभएकी शान्ताको हाल सुशील कोइराला मेमोरियल अस्पताल खजुरामा उपचार भइरहेको छ तर आर्थिक अभाव हुँदा उपचारमा नै समस्या भएको लालबहादुरले बताउनुभयो । श्रीमती नै बिरामी परेपछि घरमा १७ वर्षीय छोरा र आफू साहाराविहीन भएको उहाँको दुःखेसो छ ।

वली परिवारको अवस्था नजिकबाट बुझ्नुभएकी स्थानीय बालिका बुढाथोकीले आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको जानकारी दिनुभयो । “लालबहादुरका दुवै आँखा गुमेपछि सहाराका लागि बिहे गर्नुभएको थियो, अहिले श्रीमती नै बिरामी पर्दा उहाँहरू बेसहारा हुनुभएको छ”, बुढाथोकीले भन्नुभयो ।

उहाँकानुसार अहिलेसम्म उपचारमा करिब रु १२ लाख खर्च भइसकेको छ, अझै रु १८ लाख खर्च हुने चिकित्सकले अनुमान गरेका छन् । सोहीअनुसार रकम जम्मा गर्न भने पनि वली परिवारसँग कुनै विकल्प छैन । “एक महिनाअघि श्रीमतीमा क्यान्सर भएको पत्ता लाग्यो, श्रीमान्को २०६० सालमै आँखा गुमिसकेका छन् । आम्दानीको कुनै स्रोत नभएपछि उहाँहरू समस्यामा हुनुहुन्छ । हामीले उहाँको उपचारमा सहयोगका लागि सबैलाई अनुरोध गरिरहेका छौँ”, उहाँले सुनाउनुभयो ।

आफूले काम गर्न नसक्ने र आर्थिक आम्दानीको कुनै स्रोत नभएकाले उपचारमा निकै असहज भएको श्रीमान लालबहादुरले बताउनुभयो । “पहिले मलाई स्याहार गरिन्, दुःखमा साथ दिइन् । परिवारको सहारा श्रीमती नै थला परेपछि अहिले हातमुख जोर्न पनि समस्या छ । भएको जायजेथा बेचेर, ऋण काँडेर भए पनि अहिलेसम्म रु १२ लाखजति खर्च भइसक्यो तर सञ्चो भएको छैन । आर्थिक अवस्थाले थप उपचार गर्नसक्ने अवस्था छैन”, उहाँले दुःखेसो पोख्नुभयो ।

काठमाडौँभित्र पर्यटक बसपार्क निर्माणका लागि उपप्रधानमन्त्रीसमक्ष आग्रह

काठमाडौँ- टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिवान)ले काठमाडौँभित्र पर्यटक बसपार्कका लागि आग्रह गरेको छ । टिवानका अध्यक्ष कृष्ण आचार्य नेतृत्वको टोलीले शुक्रबार उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भेट गरी काठमाडौँभित्र पर्यटक बसपार्क निर्माणका लागि पहल गरिदिन आग्रह गरेको हो ।

  अध्यक्ष आचार्यले लामो समयदेखि सोह्रखुट्टे सडकबाट पर्यटकलाई ओसारपसार गर्न बाध्य भएकाले पर्यटक बसपार्कका लागि सहरी विकास मन्त्रालयमार्फत पहल गरिदिन उपप्रधानमन्त्रीसमक्ष आग्रह गरिएको जानकारी दिनुभयो ।

  टिवानको टोलीले पर्यटक बसपार्कका लागि यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयमार्फत गौशालाको तिलगङ्गामा बसपार्क निर्माणको निर्णय भएकाले कार्यान्वयनका लागि पहल गर्नसमेत आग्रह गरेको थियो ।

  पर्यटक बस काठमाडौँको झोंसे गल्ली, कान्तिपथ सडक हुँदै विगत पाँच वर्षदेखि सोह्रखुट्टे सडकबाट सञ्चालन हुँदै आएको छ । भेटमा उपप्रधानमन्त्री सिंहले काठमाडौँभित्रका स्थानीय तहसँग छलफल गरेर पर्यटक बसपार्क निर्माणका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । 

तुलसीपुरको कालाखोलामा आएको बाढीले रिक्सा बगायो, चालक बेपत्ता

तुलसीपुर (दाङ), १९ साउन : दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको कालाखोलामा आएको बाढीले गए राति अटोरिक्सा बगाएको छ ।

बाढीले तुलसीपुरबाट बिजौरीतर्फ जाँदै गरेको रा१स २३५७ नम्बरको अटोरिक्सा बगाउँदा तुलसीपुर–७ प्रसेनीका घर भएका चालक २२ वर्षीय दुर्गा पुन बेपत्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । 

बेपत्ता चालक पुनको खोजी भइरहेको प्रहरीले जनाएको छ । अत्यधिक वर्षाका कारण कालाखोलामा बाढी सडकमाथि भएर बगेको छ ।   

तनहुँमा आजदेखि १७औँ भानु कप फुटबल प्रतियोगिता सुरु हुँदै

दमौली (तनहुँ), १९ साउन : तनहुँमा आजदेखि १७औँ भानु कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । भन्सार युवा क्लबको आयोजनामा भानु नगरपालिका–१ भन्सारस्थित खेल मैदानमा उक्त प्रतियोगिता हुन लागेको हो ।

भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घाको प्रचारप्रसारका लागि क्लबले प्रत्येक वर्ष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । क्लबका खेल संयोजक विष्णु अधिकारीका अनुसार उद्घाटन खेलमा साविक विजेता तनहुँको सेभेन स्टार युवा क्लब र योङ ब्वाइज एफसी चितवनबीच हुनेछ । 

यही साउन २६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा २४ टोलीको सहभागिता रहने क्लबका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले जानकारी दिनुभयो । नकआउट चरणमा खेलाइने सो प्रतियोगिताको विजेताले रु दुई लाख ५० हजार दुई सय ११ तथा उपविजेताले रु एक लाख २५ हजार दुई सय ११ सहित ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै सेमिफाइनलमा पुग्ने दुई टोलीले जनही रु २५ हजार दुई सय ११ पुरस्कार प्राप्त गर्नेछन् ।  

प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु पाँच हजार दुई सय ११, उत्कृष्ट गोलरक्षकलाई रु पाँच हजार दुई सय ११ तथा सर्वाधिक गोलकर्तालाई रु पाँच हजार दुई सय ११ पुरस्कार प्रदान गरिनेछ । सोही अवसरमा आयोजना हुने छेलोतर्फ प्रथम हुनेलाई रु ६ हजार दुई सय ११ र बाघचालतर्फ प्रथम हुनेलाई रु ६ हजार दुई सय ११ पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।  

देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

काठमाडौँ, १९ साउन : हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित छ । मनसुनको प्रभावले आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली रही देशभर केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेस प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज दिउँसो कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बजेटमा विनियोजन कौशल नदेखिँदा कार्यान्वयन चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल

काठमाडौँ, १८ साउनः उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट विनियोजनमा कुशलता नदेखिँदा कार्यान्वयन चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा अर्थमन्त्री पौडेलले स्रोत सुनिश्चितताबिनै बजेट विनियोजन भएको, प्रतिफल नहेरी जथाभावी बजेट हालिएको तथा बजेटको विनियोजनमा कुशलता नदेखिएको बताउनुभएको हो ।

चालु आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयन गर्दा काम सुरु भइसकेका आयोजना चाँडो निर्माण सम्पन्न गर्ने, ठूला तथा गौरवका आयोजनालाई पर्याप्त स्रोत साधन उपलब्ध गराउने र चाँडो नतिजा दिने आयोजनालाई प्राथमिकतामा राखिने उहाँको भनाइ छ ।

“सीमित स्रोत साधनका बावजुद नतिजा विश्लेषण नगरी बजेट विनियोजन भएको छ । जसकारण बजेट कार्यान्वयन चुनौतीपूर्ण छ”, अर्थमन्त्री पौडेलले भन्नुभयो, “सुरु भइसकेका आइओजना सम्पन्न गर्ने, राष्ट्रिय महत्व तथा गौरवका आयोजना सम्पन्न गर्ने, नतिजा दिने आयोजना लाई प्राथमिकतामा राखेर स्रोत विनियोजन गर्नेगरी अघि बढेका छौँ ।” उहाँले स्रोतको सीमितताका कारण सरकारलाई जथाभावी खर्च गर्ने छुट नरहेको उल्लेख गर्नुहुँदै उहाँले खर्चमा अनुशासित हुने बताउनुभयो ।

विकास साझेदार तथा दातृ निकायबाट सहयोग लिँदा त्यसको आवश्यकता र औचित्य हेरिने पनि अर्थमन्त्री पौडेलले स्पष्ट पार्नुभयो । “अन्तर्राष्ट्रिय सहयोग लिनुपर्छ तर, हाम्रो आवश्यकता र प्राथमिकता हेरेर मात्रै अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्ने हो । लिएको सहयोग कहाँ र कसरी खर्च भएको छ भनेर पनि विश्लेषण गर्छौँ”, अर्थमन्त्री पौडेलले भन्नुभयो ।

नेपालको कुल गार्हस्थ्य उत्पादनको तुलनामा ४० प्रतिशत नाघिसकेको सार्वजनिक ऋणको अवस्थालाई नियन्त्रण बाहिरको परिस्थिति भन्न नमिल्ने उहाँको भनाइ छ । यद्यपि, सार्वजनिक ऋणलाई उत्पादनमूलक क्षेत्र र पुँजी सिर्जना हुने क्षेत्रमा लगाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन तथा दिगो आर्थिक वृद्धिदर हासिल गर्न सरकारको वित्त नीति र मौद्रिक नीतिबीच आवश्यक तामत्यता मिलाउँदै समन्वयकारी ढंगले अघि बढ्ने पनि उहाँले बताउनुभयो ।

मौद्रिक नीति जारी गर्ने नेपाल राष्ट्र बैंक स्वायत्त निकाय भएकाले उसका काममा अर्थमन्त्रालयले हस्तक्षेप नगर्ने स्पष्ट पार्नुहुँदै अर्थमन्त्री पौडेलले अर्थ मन्त्रालय र राष्ट्र बैंकले एकअर्काबीच समन्वयकारी रुपमा काम गर्ने बताउनुभयो ।

चालु आर्थिक वर्षको मौद्रिक नीति जारीभएपछि पुँजीबजारमा सकारात्मक प्रभाव देखिएको भएपनि सुझबुझपूर्ण तरिकाले लगानी गर्न उहाँले आग्रह गर्नुभयो । पुँजी बजारमा लगानी गर्दा सम्बन्धित कम्पनीको समग्र वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्ने उहाँको भनाइ छ ।

शेयर बजारलाई परिपक्व ढङ्गले अघि बढ्नका लागि नियामक र अर्थ मन्त्रालयले भूमिका खेल्ने उहाँले बताउनुभयो । ‘इन्साइडर ट्रेडिङ’जस्ता कुनैपनि अवाञ्छित गतिविधि पुँजी बजारमा हुन नदिन नियामक चनाखो हुनुपर्ने पनि अर्थमन्त्री पौडेलले बताउनुभयो । त्यस्तै नयाँ स्टक एक्सचेन्ज खोल्नेबारे सरकारले आवस्यक अध्ययन गरेर उचित निर्णय गर्ने उहाँको भनाइ छ ।

अर्थसमिति बैठकमा पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले लोक रिझाईका लागि जथाभावी खर्च गर्ने छुट सरकारलाई नरहेको बताउनुभयो । “तथाकथित पपुलिस्ट हुने छुट हामीसँग छैन । सार्वजनिक खर्च व्यवस्थापनलाई अनुशासनमा लानै पर्छ”, डा महतले भन्नुभयो, “यसअघि रु तीन करोडभन्दा कम लागतका आयोजनामा सङ्घ सरकारले बजेट विनियोजन नगर्ने भनेर कार्यविधि बनेको थियो । तर त्यसको कार्यान्वयन भएको देखिएन । स्रोतको विश्लेषण नगरीकनै जथाभावी आयोजनामा बजेट हालिएको छ । यो प्रवृत्तिमा सुधार आवश्यक छ ।” अर्थतन्त्र सुधारका लागि पुँजीगत खर्च बढाउनुको विकल्प नपरेको धारणा महतले राख्नुभयो ।

त्यस्तै, राष्ट्र बैंकले मौद्रिक नीतिमा कुनै समय अत्यधिक लचिलो व्यवस्था ल्याउने र कुनै समय अत्यधिक कडाई गर्ने गरेका कारण त्यसको नकारात्मक प्रभाव देखिएको बताउनुभयो । राष्ट्र बैंकले सुझबुझपूर्ण ढंगले मौद्रिक नीति ल्याउनुपर्ने र सरको वित्त नीति पनि प्रभावकारी हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

अर्थ समितिको आजको बैठकमा अन्य सांसदले समितिमा पुगेका विधेयक चाँडो छलफल भएर संसद्मा पठाइनुपर्ने धारणा राख्नुभयो । त्यस्तै, सरकारले वार्षिक बजेटमा राखेका कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुुनुपर्नेमा सांसदको जोड छ ।

यान्त्रिक अवस्था ठीक नभएका गाडी चलाउने ४२ जनालाई कारबाही

काठमाडौँ, १८ साउन : काठमाडौँ उपत्यकामा यान्त्रिक अवस्था ठीक नराखी गाडी चलाउने क्रम अझै रोकिएको छैन । प्रहरीले विशेष जाँच अभियान सञ्चालन गरी यान्त्रिक अवस्था ठीक नभएका गाडी चलाउनेलाई कारबाही गर्दै आए पनि यो क्रम नरोकिएको पाइएको हो । आज मात्रै उपत्यकाको सातदोबाटोमा गरिएको सवारीसाधन विशेष जाँचका क्रममा अवस्था ठीक नभएका सवारीसाधन चलाउने ४२ जनालाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले ६८ वटा सवारीसाधन जाँच गर्दा हेण्डब्रेक नलाग्ने, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएकालगायत यान्त्रिक अवस्था ठीक नभएका ४२ वटा सवारीसाधन फेला पारेकाले उनीहरूलाई कारबाही गरिएको जानकारी दिनुभयो ।

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउँदै गरेका एक जना चालकलाई पनि आजै भक्तपुरको जगातीबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । ना ५ ख १५५३ नम्बरका बस चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनको पिसाब जाँच गर्दा लागुपदार्थ सेवन गरेको प्रमाणित भएको थियो । प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा सवारी चालकले नशालु पदार्थसेवन गरे÷नगरेको जाँच गर्दै आएको छ ।

केही दिनअघि मात्रै काठमाडौँको कुलेश्वरमा लागुपदार्थ सेवन गरेर गाडी चलाउँदा सोही गाडीको ठक्करबाट विपरीत दिशाबाट सडकपेटीमा हिँडिरहेका तीन यात्रु घाइते भएका थिए ।

वर्षासम्बन्धित प्रकोपले एसियाभर गत साता २५० भन्दा बढीको मृत्यु

भारत र चीनमा गत साता मुसलधारे वर्षाबाट दुई सय ५० भन्दा धेरै व्यक्तिको मृत्यु भएको छ । त्यस्तै पाकिस्तानमा अन्य तीन जनाको मृत्यु भएको छ ।

उत्तर कोरियामा चीनको सीमा नजिकै ठूलो बाढी आएको समाचार छ तर बाढीबाट कसैको ज्यान गएको छ वा छैन भन्ने कुनै जानकारी प्राप्त भएको छैन ।

वर्षको यो समय एसियामा मनसुन र आँधीको मौसम हो र जलवायु परिवर्तनले यस्ता आँधीहरूलाई तीव्र बनाएको छ । मुसलधारे वर्षाका कारण पहिरो र बाढीबाट बाली नष्ट भएको, घरहरू क्षतिग्रस्त भएको र मानिसहरूको ज्यान गएको छ ।

चीनको मौसम विज्ञान प्रशासनले गत महिना जारी गरेको प्रतिवेदनअनुसार चीनमा अत्यधिक गर्मी दिन र लगातार तीव्र वर्षा भइरहेको ऐतिहासिक तथ्याङ्कले देखाउँछ । मौसम विज्ञान प्रशानसनले दुवै अवस्था आगामी ३० वर्षमा अझ बढ्ने पूर्वानुमान गरेको छ ।

सरकारहरूले क्षति न्यूनीकरण गर्न विपद् रोकथाम योजनाहरू सुरु गरेका छन् । आँधी आउनुअघि मानिसहरूलाई बाहिर निकाल्न र विच्छेद भएका क्षेत्रमा हेलिकप्टरमार्फत राहत सामग्री पुर्याउन उद्धार टोलीहरूले प्रयास गरिरहेका छन् ।

चीनले वर्षा हुने प्रान्तहरूमा आपत्कालीन सञ्चारका लागि ड्रोन तैनाथ गरेको छ ।

भारत : २०१ को मृत्यु, करिब २०० बेपत्ता

मङ्गलबार बिहान भारी वर्षाले दक्षिणी भारतको केरल राज्यमा चिया बगान र गाउँहरूमा आएको बाढीले पुल र घरहरू क्षतिग्रस्त भएका छन् ।

चौथो दिनको खोजीमा जीवित मानिस भेटिने अपेक्षा कम भएको छ । मुख्य पहिरोबाट ३० किलोमिटर तल नदीमा शवहरू फेला परेका छन् ।

भारतमा मनसुनको मौसममा नियमितरूपमा बाढी आउँछ । बालीनालीका लागि महत्त्वपूर्ण मनसुनी वर्षा जुन र सेप्टेम्बरको बीचमा हुने गर्दछ ।

चीन : ४८ को मृत्यु, ३५ बेपत्ता

गत साता पश्चिमी प्रशान्त क्षेत्र हुँदै आएको गेमी नामक आँधीबाट फिलिपिन्समा ३० भन्दा धेरै र ताइवानमा १० जनको मृत्यु भएको थियो । यद्यपि चीनमा उष्णकटिबन्धीय आँधी कमजोर भएपछि यो घातक भएको थियो ।

धेरै दिनसम्म चीनको हुनान प्रान्तका केही भागमा वर्षा भएको छ । आइतबार बिहान एक होमस्टेमा पहिरो जाँदा १५ जनाको मृत्यु भयो । हुनानका अन्य स्थानमा सोमबार तीन शव फेला परेका छन् । उनीहरू पनि पहिरोको शिकार भएको विश्वास गरिएको छ ।

नजिकैको जिक्सिङ सहरका अधिकारीहरूले बिहीबार बाढीबाट ३० जनाको मृत्यु र ३५ जना बेपत्ता भएको घोषणा गरेका छन् ।

जलस्रोत मन्त्रालयले चीनमा यो वर्ष २५ वटा ठूला बाढी रेकर्ड गरेको छ । यो आँकडा सन् १९९८ मा तथ्याङ्क राख्न सुरु गरेयताको सबैभन्दा बढी हो ।

उत्तर कोरिया : क्षति तर मृत्युको जानकारी छैन

उष्णकटिबन्धीय आँधीका कारण उत्तर कोरियाको सीमामा रहेको उत्तरपूर्वी चीनमा भारी वर्षा हुँदा दुवै मुलुकलाई विभाजन गर्ने यालु नदीमा बाढी आयो ।

उत्तर कोरियामा वर्षाले चार हजार एक सय घर, तीन हजार हेक्टर खेत र धेरै सार्वजनिक भवन, सडक र रेल्वे डुबानमा परेका छन् ।

यहाँको सरकारी सञ्चारमाध्यमले मृत्युको बारेमा जानकारी दिएको छैन तर नेता किम जोङ उनले हताहतीको सङ्केत गर्नुभएको छ । उहाँले ‘हताहतीलाई अनुमति दिन सकिँदैन’ भन्दै सार्वजनिक अधिकारीहरूमाथि विपद् रोकथाममा बेवास्ता गरेको आरोप लगाउनुभएको छ ।

पाकिस्तान : तीनको मृत्यु

पाकिस्तानमा बिहीबार लाहोर सहरमा रेकर्ड वर्षाले सडकहरू जलमग्न भएका छन् र कम्तीमा तीन जनाको मृत्यु भएको छ । लाहोरको केही भागमा केही घन्टाभित्रै तीन सय ५३ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ । यसले ४४ वर्ष पुरानो कीर्तिमान तोडेको छ ।

चीनमा पुल भत्किँदा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो

दुई साताअघिको भीषण वर्षापछि उत्तरी चीनको राजमार्ग पुल भत्किँदा मृत्यु हुनेको सङ्ख्या कम्तीमा ३८ पुगेको छ भने २४ जना अझै बेपत्ता भएका छन् ।

उक्त पुल जुलाई १९ मा उत्तरी प्रान्त शान्क्सीको शाङ्लुओमा जुलाई १९ मा ‘अचानक आएको मुसलधारे पानी र बाढीका कारण’ आंशिक रूपमा भत्किएको राज्यको समाचार एजेन्सी सिन्ह्वाले त्यसबेला जनाएको थियो ।

यो पुलको तीन लेनको खण्ड नदीमा खस्दा कार र ट्रकहरू बगेको सीसीटीभीले देखाएको छ ।

सिन्ह्वाका अनुसार शुक्रबार अधिकारीहरूले मृतकको सङ्ख्या १२ बाट बढाएर ३८ पुर्याएका छन् । चौबिस जना अझै बेपत्ता छन् । सिसिटिभीको रिपोर्टअनुसार पुल भत्किँदा २५ वटा सवारीसाधन बगेका छन् ।

चीनको पूर्व र दक्षिणमा भारी वर्षा भइरहेको छ भने उत्तरको अधिकांश भाग लगातार गर्मीको लहरमा डुबेको छ ।

मे महिनामा दक्षिणी चीनको एउटा राजमार्ग केही दिनको वर्षापछि भासिँदा ४८ जनाको मृत्यु भएको थियो । यस हप्ताको भारी वर्षाले मध्य चीनमा पनि कम्तीमा ३० जनाको मृत्यु भएको छ ।

अटोमा सवार दुई जनालाई खोलाले बगायो

तुलसीपुर, १८ साउन : दाङमा अटो चढेका दुई जनालाई खोलाले बगाएको छ । आज साँझ ७ः३० बजेतिर तुलसीपुरबाट खाद्रेतर्फ जाँदै गरेको अटो काला खोलाले बगाउँदा दुई जना बेपत्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका–४ खाद्रेतर्फ जाँदै गर्दा अटो खोलाले बगाएको हो । अटोमा सवार पाँच जनामध्ये तीन जना सकुसल रहेका छन् । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । नियमितको वर्षाका कारण दाङका नदी तथा खोलामा पानीको बहाव बढेको छ ।

एकीकृत समाजवादीद्वारा केन्द्रीय कमिटीलाई पूर्णता

काठमाडौँ, १८ साउन : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहितको तीन सदस्यीय कार्यदलले सिफारिस गरेका नामलाई अनुमोदन गरेसँगै केन्द्रीय कमिटीले पूर्णता पाएको हो ।

केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले आजको बैठकले दुई सय ५१ केन्द्रीय सदस्य मनोनित गरेको र अब १८ पदाधिकारी छनोट गरिने जानकारी दिनुभयो । गत असार १६ देखि २० गतेसम्म सम्पन्न महाधिवेशनले तीन पदाधिकारी र ९० केन्द्रीय सदस्य चयन गरेको थियो । अब केन्द्रीय कमिटी तीन सय ४४ सदस्यीय बनेको छ ।

पार्टीमा केन्द्रीय सदस्यका लागि आकांक्षी धेरै भएपछि नेताहरूको योगदान, कार्यक्षमता तथा भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर विधानअनुसार बनाइएको क्लष्टर तथा सातै प्रदेशबाट सिफारिस नामावलीका आधारमा कार्यदलले केन्द्रीय सदस्य तोकेको पाण्डेयले बताउनुभयो ।

आगामी बैठकबाट पदाधिकारी, विभाग र आयोग तथा नेताहरूको जिम्मेवारीसमेत बाँडफाँट गरिने जनाइएको छ ।

टिओडी मिटरको विवरण उपलब्ध गराउन संसदीय समितिको निर्देशन

काठमाडौँ, १८ साउन : संसद्को सार्वजनिक लेखा समितिले नेपाल विद्युत् प्राधिकरणसँग टाइम्स अफ डे (टिओडी) मिटरको तथ्याङ्क माग गरेको छ ।

समितिको आजको बैठकले उक्त विवरण माग गर्ने निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले जानकारी दिनुभयो । समितिको आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव, विद्युत् नियमन आयोगका पदाधिकारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक र उद्योगी तथा व्यवसायीसँग छलफल गरेको थियो ।

पाँच घण्टाभन्दा बढी चलेको सो छलफलका आधारमा समितिले आवश्यक विवरण माग गरेको हो । समितिले डेडिकेटेड र ट्रक लाइन महशुलको विवादका सम्बन्धमा केही दिनभित्र आवश्यक निर्णय गर्ने जनाएको छ ।

संविधान संशोधनले प्रतिगमन हुन्छ भनिनु भ्रम मात्र : प्रधानमन्त्री

काठमाडौँ, १८ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबाट प्रतिगमन आउँछ भन्ने खालका भ्रममा विश्वास नगर्न कानुन व्यावसायीलाई आग्रह गर्नुभएको छ ।

नेपाल बार एसोसिएसनका प्रतिनिधिमण्डलसँग आज सिंहदरबारस्थित कार्यालयमा प्रधानमन्त्री ओलीले जनताको आवश्यकताअनुसार दुई तिहाइ सांसदले संविधान संशोधन गर्न सक्ने व्यवस्था संविधानमै गरिएकाले जनमतप्रति विश्वास गर्न आग्रह गर्नुभयो ।

“दुई तिहाइ सांसदले संविधान संशोधन गर्न सक्छन्, यही आधारमा संशोधन हुने हो । हामी लोकतन्त्रका लागि जेलनेल र सङ्घर्ष गरेर यहाँसम्म आएका छौँ । हामीबाट लोकतन्त्र सिध्याउने गरी संविधान संशोधन हुन्छ भनेर कसरी कल्पना गर्न सकिन्छ ?” प्रधानमन्त्री ओलीले प्रश्न गर्दै भन्नुभयो, “संविधान संशोधनमा प्रतिगमनको कुरा कहाँबाट आयो ? हामी प्रतिगामी कुरालाई स्वीकार्दैनौँ । संविधान संशोधन अग्रगमन, सुशासन, विकासका लागि र कार्यान्वयनका क्रममा नमिलेका विषय मिलाउन गर्ने हो ।”

एसोसिएसनको गत जेठ पहिलो साता भएको राष्ट्रिय सम्मेलनबाट पारित संवैधानिक एवं कानुनी विषयमा सुधारका लागि विषयवस्तुबारे अध्यक्ष गोपाललकृष्ण घिमिरेसहितका कानुन व्यवसायीका कुरा सुनेपछि प्रधानमन्त्री ओलीले राज्यका अङ्गको नियन्त्रण र सन्तुलनको सिद्धान्तलाई पालना गर्दै मुलुकको आर्थिक क्षमतालगायत अवस्था हेरेर पनि न्यायालयले फैसला दिनुपर्नेमा जोड दिनुभयो ।

“अर्थतन्त्रको स्थिति तनाखा बढाउन सक्ने खालको छैन,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “यतियति तलब बढाऊ भनेर तिथिमिति तोकेर फैसला आएमा कार्यान्वयन गर्न व्यवहारिकरूपमा समस्या हुन्छ ।” उहाँले न्यायालयको पुनःसंरचना र सुधार गर्दा सम्बन्धित सबैको आनीबानी र व्यवहारमा पनि पुनःसंरचना गर्नुपर्नेमा जोड दिनुभयो ।

संवैधानिक पदाधिकारीमाथि महाभियोग लगाउँदा छ महिनाभित्र संसद्ले किनारा लगाइसक्नुपर्ने बारको प्रस्तावमा प्रधानमन्त्री ओलीले उक्त अवधिलाई अझै घटाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

न्यायाधीशको नियुक्तिमा संसदीय सुनुवाइको व्यवस्था हटाउन गरिएको मागका सम्बन्धमा प्रधानमन्त्री ओलीले सुनुवाइको व्यवस्था आवश्यक भएरै संविधानमा राखिएकाले त्यस्तो मागमा पुनःविचार गर्न आग्रह गर्नुभयो ।

संवैधानिक परिषद्को सदस्यमा प्रधानन्यायाशीश रहने र परिषद्का निर्णयमाथि संवैधानिक इजलाशमा मुद्दा पर्दा प्रधानन्यायाधीशकै नेतृत्वमा सुनुवाइ हुने विरोधाभाषपूर्ण व्यवस्था अन्त्य हुनुपर्ने बारको मागमा प्रधानमन्त्री ओलीले त्यसमा छलफल गर्न सकिने जनाउनुभयो । संवैधानिक इजलाशमा जे पायो त्यही नभएर संविधानसँग बाझिाएका मुद्दाहरू मात्रै पुग्नुपर्नेमा पनि प्रधानमन्त्री ओलीको जोड थियो ।

भेटमा महान्यायाधिवक्ता रमेश बडाल, नेपाल सरकारका मुख्यसचिव लीलादेवी गड्तौला, पूर्वसांसद् रामनारायण विडारीलगायत उपस्थित हुनुहुन्थ्यो ।

विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्च अदालतमा

काठमाडौँ, १८ साउनः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुमित रौनियारका हकमा विशेष अदालतले गरेको फैसलाविरुद्ध आज सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

सरकारी अनुदान रकम हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतको २०८० असोज २२ गतेको फैसला गरेको थियो ।

आयोगले प्रतिवादी बनाएकालाई विशेष अदालतले गरेको फैसला कानुनसम्मत नभएको र त्रुटिपूर्ण रहेको जिकिर गर्दै आज सर्वोच्च अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले काठमाडौँको टेकु पुल निर्माणमा अनियमितता भएको ठहर गर्दै रौनियारलगायतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । आयोगले दायर गरेको मुद्दाको २०८० असोज २२ गते फैसला गरेको थियो ।

मुलुक र जनताप्रति जिम्मेवार भएर काम गर्नुपर्छः मन्त्री खड्का

काठमाडौँ, १८ साउनः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुक र जनताप्रति जिम्मेवार भएर काम गर्नुपर्ने बताउनुभएको छ ।

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर खड्काको स्वागतमा आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री खड्काले सरकार सञ्चालनको दायित्वसँगै जनतालाई अनुभूत हुनेगरी काम गर्नुपर्ने बताउनुभयो ।

“मुलुकको आर्थिक विकास ऊर्जा र सिँचाइ क्षेत्रबाट सम्भव छ, त्यसको विकासका लागि सबै मिलेर अगाडि बढ्नुपर्छ,” उहाँले भन्नुभयो । जिम्मेवारी हेरफेर हुँदैमा कर्मचारीले कुनै चिन्ता लिनुपर्ने कारण नभएको उहाँको भनाइ थियो ।

ऊर्जामन्त्री खड्काले दुई ठूला राजनीतिक दल मिलेर स्थायी सरकार बनेकाले अव जनताले परिवर्तन भएको अनुभूती लिनेगरी काम गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले मुलुकको आवश्यकतालाई विश्लेषण गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले ऊर्जा र सिँचाइ क्षेत्रको विकासका लागि योजना बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले वर्षायाम सुरु भएकाले देशैभर बाढी र पहिरो जाने भएकाले त्यसको अध्ययन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

“हामी मुलुक कसरी बनाउन सकिन्छ, त्यसतर्फ लागौँ, ऊर्जा र सिँचाइ क्षेत्रको विकास नै हाम्रो मुख्य प्राथमिकता हो,” उहाँले भन्नुभयो । जनतालाई बचाउन सकेमात्र देश बच्ने उहाँको भनाइ थियो ।

मन्त्रालयका सचिवद्वय गोपालप्रसाद सिग्देल र सरिता दवाडीले मुलुकलाई समृद्ध हासिल गर्ने क्षेत्र ऊर्जा र सिँचाइ भएकाले यसको विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

सिपिसीद्वारा पारित प्रस्तावले विश्वव्यापी विकास र समृद्धिका अवसर सिर्जना गर्ने विश्वास

काठमाडौँ, १८ साउन : राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)को २०औँ केन्द्रीय समितिको तेस्रो राष्ट्रिय कंग्रेसबाट पारित प्रस्तावले विश्वव्यापी विकास र समृद्धिका नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

फ्रेन्डस् अफ सिल्क रोड क्लब नेपालले आज यहाँ आयोजना गरेको ‘सिपिसीको २०औँ केन्द्रीय समितिको तेस्रो राष्ट्रिय कंग्रेस : नेपालसँग विकास अवसरको साझेदारी’ कार्यक्रममा उहाँले सो प्रस्ताव चीनका लागि मात्र नभई मानव जातिका लागि साझा भविष्य निर्माणमा केन्द्रित भएको धारणा राख्नुभयो ।

उपाध्यक्ष घिमिरेले भन्नुभयो, “उच्च गुणस्तरको हरित विकास र साझा समृद्धिको लक्ष्यले नेपालजस्ता मित्र राष्ट्रसँगको सहयोगलाई थप उचाइमा पु¥याउने छ ।” उहाँले विश्वव्यापी चुनौतीका रुपमा देखापरेका जलवायु परिवर्तन तथा सुस्त आर्थिक वृद्धिलगायत समाधान गर्न विश्व समुदाय एकताबद्ध हुनुपर्ने सन्दर्भमा चिनियाँ राष्ट्रपतिद्वारा प्रस्तावित ‘मानव जातिका लागि साझा भविष्य निर्माण’ को अवधारणाले ठूलो अर्थ र महत्त्व राखेको बताउनुभयो ।

“हाम्रा सहयोग द्विपक्षीय पहलमा मात्र सीमित रहन हुँदैन, विश्व्यापी चुनौतीको समाधान गर्न बहुआयामिक मञ्च खडा गर्नुपर्छ”, उपाध्यक्ष घिमिरेले भन्नुभयो, “संयुक्त राष्ट्रसङ्घ, बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) लगायत विश्वव्यापी मञ्चमा चीन र नेपालले न्यायसङ्गत विश्वव्यापी व्यवस्थाको वकालत गर्नुपर्छ, जसले सम्पूर्ण राष्ट्रको सार्वभौमसत्ता, विकास र अधिकाको सम्मान गर्न सक्दछ ।” साझा विश्वको बाटो चुनौतीपूर्ण नरहेको उल्लेख गर्दै उहाँले इमान्दारी, आपसी सम्मान र साझा दृष्टिकोणका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो

चीनको विकास प्रयास नेपालका लागि अनुकरणीय रहेको उल्लेख गर्दै उहाँले चिनियाँ अर्थतन्त्रको चामत्कारिक रुपान्तरण विकासिल राष्ट्रका लागि प्रेरणाको स्रोत हुने बताउनुभयो । उहाँले नेपाल र चीनबीच पूर्वाधार, ऊर्जा, कषि, पर्यटन, संस्कृति, हरित विकास, शिक्षा तथा क्षमता अभिवृद्धि, ग्रामीण विकास र सम्पर्क सञ्जाल विस्तारमा साझेदारीको प्रबल सम्भावना रहेको बताउनुभयो ।

नेपाल–चीन सम्बन्ध ऐतिहासक, सांस्कृतिक तथा आर्थिकरुपमा प्रगाढ रहेको उल्लेख गर्दै उहाँले पछिल्ला समय दुई देशबीचको साझेदारी झन् बलियो बन्दै गइरहेको बताउनुभयो । उहाँले भन्नुभयो । “नेपाल र चीनबीच जनस्तरसम्म रानजीतिक, आर्थिक र सांस्कृति लाभको आदानप्रादन हुँदै आएको छ, यसका माध्यमबाट सम्पर्क सञ्जालको विस्तारसँगै आर्थिक वृद्धि र आमनागरिकको जीवनस्तर उकास्न सहयोग पुग्नेछ ।”

पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले चिनियाँ कम्युनिष्ट पार्टीले अघि सारेको हरित क्रान्ति नीतिले जलवायु परिवर्तनको विश्वव्यापी चुनौती समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै त्यसबाट जलवायु परिवर्तनको चपेटामा परेका नेपालजस्ता मुलुकले लाभ लिनसक्ने बताउनुभयो । “चीनको आधुनिकीकरण त्यहाँ मात्र सीमित छैन, यसबाट नेपालसहित अन्य मुलुकले पनि लाभ लिन सक्नेछन्”, उहाँले भन्नुभयो ।

चीन नेपालको निकट मित्र मात्रै नभई विकास साझेदारका रुपमा पनि रहेको जनाउँदै पूर्वराजदूत श्रेष्ठले विकास प्रयासमा चीनको थप सहयोगको खाँचो औँल्याउनुभयो । नेपालले भारत र चीनसँग समदूरीको सम्बन्ध राखेर अघि बढ्नुपर्ने उहाँले जोड दिनुभयो ।

नेपालस्थित चिनियाँ दूतावासका काउन्सिलर वाङ सीले सिपिसीबाट पारित प्रस्तावले विशेष गरी नेपालगायत छिमेकी मुलुक र विश्व समुदायमा विकासका धेरै अवसर र लाभ सिर्जना गर्ने बताउनुभयो । चीनको रेनमिन विश्विद्यालयका प्राध्यापक स्या लुले राष्ट्रिय कंग्रेसबाट पारित विशेष प्रस्तावको विवेचना गर्दै यसले नयाँ युगको यात्रा चिनियाँ शैलीको आधुनिकीकरणलाई अघि बढाउन व्यापक सुधारको बाटो पहिल्याएको बताउनुभयो ।

पत्रकार गोपाल खनालले चिनियाँ समृद्धिबाट नेपालले कसरी लाभ लिने भन्नेमा ध्यान दिनुपर्ने बताउनुभयो । आयोजक संस्थाका महासचिव डा कल्याणराज शर्माले विश्वको ठूलो अर्थतन्त्र चीनले थालेको व्यापक सुधारका पहलबाट नेपालको विकास प्रयासमा थप सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री तामाङद्वारा पदवहाली

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले पदवहाली गर्नुभएको छ । नवनियुक्त राज्यमन्त्री तामाङले आज मन्त्रालयमा पदबहाली गर्नुभएको हो ।

पदबहालीपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै राज्यमन्त्री तामाङले नेपालको विकासका लागि ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्र महत्त्वपूर्ण भएकाले यस क्षेत्रको विकासमा आफू निरन्तर लागिपर्ने बताउनुभयो ।

विसं २०२२ साउन १७ गते शेरबहादुर र जमुना तामाङको कान्छो सुपुत्रका रुपमा जन्मनुभएका तामाङ विसं २०४६/४७ देखि पार्टीभित्र क्रियाशील हुनुहुन्छ । विसं २०६७ मा सम्पन्न नेपाली कांग्रेसको १२औँ महाधिवेशनमा रामेछापबाट महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएका तामाङ विसं २०७० मा समानुपातिक सांसदको सूचीमा हुनुहुन्थ्यो ।

विसं २०७४ को संसदीय निर्वाचनमा रामेछापबाट पराजित तामाङ विसं २०७९ मा निर्वाचित हुनुभएको थियो । नवनियुक्त राज्यमन्त्री तामाङ हाल नेपाली कांग्रेस रामेछापको सभापति समेत हुनुहुन्छ ।

अलैँची ‘कालो सुन’को बोट मासिँदै, मूल्य वृद्धिमा निरन्तरता

मङ्गलबारे (इलाम), १८ साउन : जिल्लामा पछिल्लो समय अलैँचीको मूल्य वृद्धि भए पनि बोट मासिँदै जान थालेका छन् । अलैँचीलाई फागुन–चैतमा पानी आवश्यक पर्नेमा समयमा वर्षा नहुँदा बोट मासिँदै जान थालेका हुन् ।

गत वर्ष प्रतिमन (४० किलो) रु ८० हजारमा बिक्री भएको अलैँची यस वर्षको सुरुमा रु ८५ हजार प्रतिमन खरिदबिक्री भइरहेको छ । यस वर्ष अलैँचीको मूल्य बढे पनि उत्पादन घटेको किसान बताउँछन् । समयमा पानी नपरेकाले अलैँचीका बिरुवा मासिनाका साथै उत्पादनमा कमी आएको किसान हरि पोख्रेलले बताउनुभयो ।

“अलैँचीलाई फागुन–चैतमा पानी आवश्यक पर्छ । त्यो समयमा पानी नपरेकाले बोट मासिएका छन् । पानी नपरेपछि पुराना उत्पादन दिने कतिपय स्थानका बोटसमेत मरेका छन्”, उहाँले भन्नुभयो । यसअघि प्रशस्त उत्पादन दिएका बोट यस वर्ष सुक्खाका कारण मरेका उहाँले बताउनुभयो । मूल्य बढी भएकै कारण अलैँचीलाई खोल्सीको ‘कालो सुन’ भन्ने गरिन्छ । अलैँची टिप्ने ‘सिजन’ सुरु हुनै लाग्दा मूल्य राम्रो हुँदा किसान खुसी भए पनि उत्पादन घट्ने चिन्ता लागेको किसानको भनाइ छ ।

समयमा पानी नपरेको, जुर्जुरे, स्याङ्लेलगायत रोगको सङ्क्रमणले बोट मासिँदै गएका अलैँची व्यवसायी महासङ्घले जनाएको छ । सुक्खायाम भएकाले अलैँचीका बोट सुक्दै गएर अहिले मासिन थालेका किसान बताउँछन् । मूल्य बढेपछि अहिले जिल्लाका विभिन्न स्थानमा नयाँ बिरुवा लगाउने काम भइरहेको महासङ्घले जनाएको छ । अलैँची विकास केन्द्र फिक्कलले बिरुवा उत्पादन गरी प्रतिबिरुवा रु पाँचका दरले बिक्री भइरहेको जनाएको छ । किसानले उत्पादन गरेका बिरुवा प्रतिगोटा रु १० मा बिक्री हुँदै आएको छ ।

किसान पोख्रेलका अनुसार अलैँची लगाएको तीन वर्षदेखि उत्पादन सुरु हुन्छ । जिल्लामा रामसाई, गोल्साई, चिबे, सलकपुर, भार्लाङलगायत स्थानमा अलैँचीखेती हुन्छ । सलकपुर जातको अलैँची चाँडो र बढी उत्पादन हुने भएकाले धेरैको रोजाइमा पर्ने गरेको उहाँले बताउनुभयो । “अन्य जातका बिरुवा बढी समयसम्म टिक्ने हुन्छन् । सलकपुरको टिकाउ भने कम हुन्छ”, उहाँले भन्नुभयो ।

वर्षामा सलकपुरको बिरुवा लगाइन्छ । अलैँचीको दलबाट र झाङ फुटाएर बिरुवा उत्पादन गरिन्छ । झाङ फुटाएर लगाइएको बिरुवाले दुई वर्षदेखि उत्पादन दिन्छ भने दलबाट लगाएको बिरुवाले चार वर्षदेखि उत्पादन दिन थाल्छ । नेपालको पूर्वी पहाडी क्षेत्र अलैँची उत्पादन गर्न उपयुक्त मानिन्छ । इलामसहित सङ्खुवासभा, पाँचथर, धनकुटा र भोजपुर अलैँची उत्पादनका लागि उर्भर भूमि मानिन्छ । अलैँची ४३ जिल्लाका १८ हजार पाँच सय हेक्टरमा खेती गरिएकामा यसको क्षेत्र विस्तार गरेर ५३ जिल्लामा पु¥याइएको अलैँची व्यवसायी महासङ्घले जनाएको छ ।

नेपालका लागि अलैँचीको मुख्य बजार भारत हो । यसको खपत भारत, पाकिस्तान, बङ्गलादेशका साथै युरोपियन देशहरुमा हुने गरेको महासङ्घको भनाइ छ । हाल रु ८५ हजार प्रतिमनमा अलैँची खरिदबिक्री भइरहेको इलाम बजारका अलैँची व्यापारी प्रकाश अग्रवालले बताउनुभयो । यस वर्ष अलैँचीको मूल्य बढेर रु एक लाख नाघ्ने अनुमान गरिएको उहाँको भनाइ छ ।

पूर्वी क्षेत्रमा उत्पादन भएको अलैँची झापाको कांकरभित्ता हुँदै बाहिर निकासा हुने गरेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष ५० लाख १८ हजार तीन सय ३५ किलो अलैँची निर्यात हुँदा रु सात अर्ब ९४ करोड नौ लाख ६४ हजार बराबरको करोबार भएको थियो । आव २०७९÷८० मा रु आठ अर्ब २७ करोड ६८ लाख बराबरको ९९ लाख ९१ हजार एक सय ४९ किलो अलैँची निर्यात गरेको थियो  ।

पाथीभरा क्षेत्र विकास समिति कोशी प्रदेशको मातहतमा

फुङ्लिङ (ताप्लेजुङ), १८ साउन : ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्र विकास समिति अब कोशी प्रदेश सरकार मातहत रहने भएको छ । यसअघिसम्म उक्त समिति सङ्घीय सरकार मातहतमा रहेको थियो ।

कोशी प्रदेश सरकारले पाथीभरा क्षेत्र विकास समिति गठन आदेश, २०८१ जारी गर्दै समितिलाई प्रदेश सरकारको संस्कृति र पुरातत्व मन्त्रालयअन्तर्गत राख्ने निर्णय गरेको हो । उक्त आदेश प्रदेश सरकार, मन्त्रिपरिषद्को २०८१ असार ३० गतेको बैठकले स्वीकृत गरेको हो । कोशी प्रदेश सरकारले जारी गरेको पाथीभरा क्षेत्र विकास समिति गठन आदेश, २०८१ अनुसार पाथीभरा क्षेत्रको चार किल्ला निर्धारण गरिएको छ । पूर्वमा सिरिजङ्ग गाउँपालिका–३ को हर्कटे डाँडादेखि फुङ्लिङ नगरपालिकाको वडा नं ११ फावाखोला सिम्बुसम्मको सम्पूर्ण भागलाई समितिभित्र राखिएको छ ।

यस्तै पश्चिममा फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिम र वडा नं ४ तापेथोकको पाथीभरा मन्दिरबाट तीन किलोमिटर क्षेत्रभित्रको सम्पूर्ण क्षेत्रलाई पाथीभरा क्षेत्रमा राखिएको छ । त्यस्तै उत्तरमा फक्ताङ्लुङ गाउँपालिका–४ र सिरिजङ्गा गाउँपालिकाको वडा नं ३ र ६ को सीमा क्षेत्र यसमा समेटिएको छ । दक्षिणमा फुङ्लिङ नगरपालिका–१० फुरुम्बुको गडीडाँडा, वडा नं ९ को देउराली, वडा नं ६ को सुकेटार सानो पाथीभरा उत्तरको सम्पूर्ण क्षेत्र र पाथीभरा याङवरक गाउँपालिका–३ को दुधीले पश्चिम फुङ्लिङ नगरपालिकाको सीमाना समेटिएको छ ।

नयाँ गठन आदेशअनुसार, पाथीभरा क्षेत्र विकास समितिको अध्यक्ष प्रदेश सरकारको सिफारिसमा नियुक्त हुनेछ । यसअघि सङ्घीय संसद्का सदस्य समितिमा रहने प्रावधानलाई संशोधन गर्दै अब प्रदेशसभाका सदस्यहरू पाथीभरा क्षेत्र विकास समितिमा रहने व्यवस्था गरिएको छ ।

समितिमा प्रमुख जिल्ला अधिकारी, सम्बन्धित पालिकाका प्रमुख वा अध्यक्ष, तथा समाजसेवी, बुद्धिजीवी र प्रतिष्ठित व्यक्तिमध्येबाट तीन जना सदस्य रहने छन् । यी सदस्यहरूको नियुक्ति प्रदेश सरकारको सिफारिसमा चार वर्षका लागि हुनेछ ।

काठमाडौँ उपत्यकामा लक्ष्यभन्दा बढीलाई पोलियो विरुद्धको खोप

काठमाडौँ, साउन १८ गते । काठमाडौँ उपत्यकामा लक्ष्यभन्दा बढी बालबालिकालाई पोलियो रोग विरुद्धको खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत साउन ९ गतेदेखि साउन १५ गतेसम्म सञ्चालन गरेको खोप अभियानमा लक्ष्यभन्दा बढी खोप लगाएको हो ।

स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा.अभियान गौतमले दुई लाख ९७ हजार नौ सय २५ बालबालिकालाई खोप लगाएको जानकारी दिनुभयो । उहाँले १०४ प्रतिशत बालबालिकालाई खोप लगाएको बताउनुभयो । उपत्यकामा दुई लाख ७९ हजार छ सय ८१ बालबालिकालाई पोलियो रोग विरुद्धको खोप खुवाउने लक्ष्य लिएको थियो । उहाँका अनुसार काठमाडौँ जिल्लामा दुई लाख तीन हजार आठ सय ९८ जना, ललितपुरमा ५२ हजार दुई सय ३२ र भक्तपुरमा ४१ हजार सात सय ९५ जनालाई पोलियो रोग विरुद्धको खोप लगाएका छन् ।

यस पटक मुखबाट खुवाइने ‘ओपिभि’ खोप खुवाइएको थियो । मन्त्रालयले टुकुचा खोला र बागमती नदीको सङ्गमस्थल टेकुमा पोलियो जीवाणु भेटिएपछि काठमाडौँ उपत्यकामा खोप अभियान सञ्चालन गरिएको थियो । पोलियो खोप जन्मेदेखि पाँच वर्ष मुनिका बालबालिकालाई स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वमंसेविकाले घरघर पुगेर पोलियो विरुद्धको खोप खुवाएका थिए ।

पोलियो रोग पोलियो भाइरसबाट हुने सङ्क्रामक रोग हो । पोलियो लागेपछि ज्वरो आउने, पखाला लाग्ने, जीउ दुख्ने, थकाइ महसुस गर्ने र रोग गम्भीर हुन थाल्यो भने पक्षघात हुने र मुत्युसम्म हुने गर्दछ । पोलियो रोग दूषित खाना र पानीको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ । सन् २०१४ पोलियोमुक्त भएको नेपाल सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने सरकारको लक्ष्य रहेको छ ।

कारागारभित्रको झगडा प्रकरण : घटना दोहोरिन नदिन सात कैदीबन्दीलाई अन्यत्र सारियो

कैदीबन्दीबीच कारागारभित्रै झगडा भएपछि घटना पुनः दोहोरिन नदिनका लागि जिल्ला कारागार खोटाङमा रहेका सात जना कैदीबन्दीलाई अन्यत्र पठाइएको छ । विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीबीच समूह बनाएर झगडा गरेपछि चार जनालाई रौतहट र तीन जनालाई पर्सा कारागार पठाइएको हो ।

लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका कर्मा शेर्पा, ठगी मुद्दाका सन्तोष परियार, रेडपान्डाको छाला ओसारपसार मुद्दाका निश्चल श्रेष्ठ र बाल यौन दुराचार मुद्दाका उत्तम भनिने दर्शन राईलाई रौतहट तथा ठगी मुद्दाका (थुनुवा) प्रेम पुरी, जबरजस्ती करणी मुद्दाका इन्द्र पौडेल र डाँका मुद्दाका सुवास विश्वकर्मालाई आज पर्सा कारागार पठाइएको जेलर सोमप्रसाद आचार्यले जानकारी दिनुभयो । “गलत नियतका साथ कैदीबन्दीहरूबीच समूह बनाएरै झगडा भएको रहेछ । उनीहरू सबैलाई एकैठाउँमा राख्दा ज्यान मर्नेसम्मको खतरा भएको थियो”, उहाँले भन्नुभयो, “झगडा साम्य पार्न एउटा समूहलाई घटनाका योजनाकारसहित सात जनालाई एक÷एक जना प्रहरीसहित दुई वटा सुमो गाडी रिजर्भ गरेर रौतहट र पर्सा कारागार पठाइएको छ ।”

साउन–१६ गते बेलुका ५ः३० बजे भएको झगडामा ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका रोहिनीबहादुर कार्की घाइते भएका छन् । सुवास विश्वकर्मा र सन्तोष परियारले प्रहार गरेको बेल्चाले लागेर घाइते बनेका कार्कीको देब्रे हात भाँचिएको छ ।

घाइते कार्कीलाई सोही राति जिल्ला अस्पताल दिक्तेलमा भर्ना गरिएको थियो । कार्कीको हातमा प्लाष्टर गरिएको छ । उपचारपछि डिस्चार्ज भएका उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

झगडामा सहभागी सन्तोष र सुवासको टाउकोमा पनि समान्य चोट लागेको समाचार स्रोतले जनाएको छ । कारागारमा खटिएका प्रहरीको सहयोगमा झगडालाई केही छिनमै साम्य पारिएको कारागार शाखाले जनाएको छ ।

घटना दोहोरिन सक्ने सम्भावनालाई विचार गर्दै सन्तोष र सुवासलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको थियो । कैदीबन्दीबीचमा झगडा भएको जानकारी पाए लगत्तै प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्का कारागार पुग्नुभएको थियो ।

सन्तोष र सुवासलाई पाँच महिनाअघि मात्रै झापा र झुम्काबाट खोटाङ कारागार सारिएको थियो । उनीहरू दुवै जना कर्मा शेर्पाको समर्थनमा झगडामा सामेल भएको खुलेको जेलर आचार्यले बताउनुभयो । चौकीदार छनोटमा असन्तुष्टि जनाउँदै कर्मा शेर्पाको समूहले जेलर तथा कर्मचारीमाथि आक्रमण गर्ने योजना बनाएपछि झगडा भएको खुलेको जेलर आचार्यको भनाइ छ । कारागारभित्र प्रयोग हुने औजारको सुरक्षा गर्दै आएका नाइके रोहिनीबहादुर कार्कीलाई नियन्त्रणमा लिएर जेलर तथा कर्मचारीमाथि आक्रमण गर्ने योजनामा प्रतिरक्षा गर्दा झगडा भएको जनाइएको छ ।

कारागार शाखाले केही दिनअघि जबरजस्ती करणी मुद्दाका कैदीबन्दी देउकुमार राईलाई चौकीदार छनोट गरेको थियो । समाचार स्रोतका अनुसार देउकुमारको ठाउँमा पाँच महिनाअघि मात्र कैलाली कारागारबाट खोटाङ ल्याइएका कर्मा शेर्पाले आफू चौकीदार हुनुपर्ने दाबीसहित समूह बनाएर आक्रमणको प्रयास गरेको हो ।

यद्यपि, चौकीदार हुन कारागारभित्रकै कैदीबन्दीले गठन गरेको आन्तरिक समितिबाट सर्वसम्मत सिफारिस भएका कैदीबन्दी हुनुपर्ने कानुनी प्रावधान छ । सोही आन्तरिक समितिले सिफारिस गरेका कैदीबन्दीलाई जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बस्ने बैठकले चौकीदार छनोट गर्ने प्रचलन रहेको जेलर आचार्यले जानकारी दिनुभयो ।

जेलर आचार्यका अनुसार चौकीदार हुन एक वर्ष सोही कारागारमा बसेको, राजस्व हिनामिना नगरेको तथा सबै कैदीबन्दीको मान्य व्यक्ति हुनुपर्दछ । कर्मा शेर्पा पाँच महिनाअघि मात्र कैलालीबाट जिल्ला कारागार ल्याइएकाले छनोट नगरिएको जेलर आचार्यले जानकारी दिनुभयो ।

महिला ३३ जना र पुरुष ६६ जना गरी ९९ जना कैदीबन्दी अटाउने क्षमताका जिल्ला कारागार खोटाङका हाल एक सय ४७ जना कैदीबन्दी रहेका छन् । विसं २०३१ मा स्थापना भएको जिल्ला कारागारको भवन ठेकेदारको लापरबाहीले निर्माण भएकै समयदेखि जीर्णावस्थामा सञ्चालन हुँदै आएको छ ।

महिला सशक्तिकरणको विषयमा नेपाली चलचित्र ‘सतीदेवी’ निर्माण

काठमाडौँ, साउन १८ गते । महिला सशक्तिकरण, छोरीलाई समान अधिकारजस्ता विषयलाई समेटेर नेपाली चलचित्र ‘सतीदेवी’ निर्माण गरिएको निर्देशक लक्ष्मण सुवेदीले बताउनुभएको छ । पत्रकार हुँदै चलचित्र निर्देशन बन्नुभएका सुवेदीले ग्रामीण भेगको एउटा कथालाई सतीदेवी पात्रमार्फत् व्यक्त गरिएको जानकारी दिनुभयो ।

“चलचित्रमा गाउँमा हुर्किएकी एक छोरीको सङ्घर्षलाई देखाएका छौँ । सतीदेवी नामक पात्रमार्फत ती छोरीले गरेको सङ्घर्षले अन्यलाई प्रेरणा दिन्छ भन्नेमा विश्वस्त छु । नेपाली चलचित्र भएकाले मौलिकता झल्किने गतिविधि गरिरहेका छौँ”, निर्देशक सुवेदीले भन्नुभयो । शीर्ष भूमिकामा देखिनुभएकी अभिनेत्री मलिका महतले आफ्नो लागि महत्त्वपूर्ण पात्र हुनुका साथै नयाँ जीवन बाँच्न पाएको बताउनुभयो ।

“सतीदेवी पूर्णरुपले छोरी, नारी प्रधान कथामा आधारित छ । यसले मलाई ग्रामीण सौन्दर्यसँगै जनजीवनसँग परिचित गराएको छ । छोरीले उचित शिक्षा पाएमा समाजमा ल्याउन सक्ने परिवर्तनलाई चलचित्रमा राम्रोसँग बुझाइएको छ”, अभिनेत्री महतले भन्नुभयो । चलचित्रमा अभिनेत्री महतसँगै सृजना अधिकारी, सुजिता शिवाकोटी, हर्षिका वली, मञ्जिला बानियाँ, समृद्धि सेन्चुरी, कुलबहादुर अधिकारी, रमेश बुढाथोकी, सन्दिपबाबु लोहनी, सन्देश लिम्बू, भोला सापकोटा, मनिषा सापकोटा लगायतले अभिनय गर्नुभएको छ ।

तीन दिनपछि सञ्चालनमा आयो कालीगण्डकी कोरिडोर

ढोरपाटन (बागलुङ), साउन १८ गते । तीन दिनदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर सञ्चालनमा आएको छ । मङ्गलबार साँझदेखि परेको भारी वर्षापछि बागलुङ नगरपालिका-१० दब्ल्याङमा खसेको पहिरोको कारण कोरिडोर पूर्णरुपमा अवरुद्ध भएको थियो ।

मेसिन र कामदार लगाएर पहिरो पन्छाएपछि करिडोर सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो । कोरिडोर अवरुद्ध हुँदा लामा तथा छोटो दुरीका सवारी साधन रोकिएका थिए । पहिराले सडकको छेउ भाग पूर्णरुपमा बगाउँदा सञ्चालन गर्न लामो समय लागेको यादवले बताउनुभयो । यस क्षेत्रमा ठूलो वर्षा भएसँगै करिडोर बन्द हुँदा सदरमुकामसँग दक्षिण बागलुङको यातायात बिच्छेद हुँदै आएको छ ।

नक्कली बिलबिजक बनाएर कारोबार गर्ने ६८ फर्मलाई कारबाही

चितवन, साउन १८ गते । आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा नक्कली बिलबिजक बनाएर कारोबार गर्ने ६८ फर्मलाई कारबाही गरेको छ । कार्यालयका प्रमुख नीरन भट्टराईले कारबाहीबाट एक अर्ब चार करोड बराबरको राजस्व निर्धारण गरिएको जानकारी दिनुभयो ।

बिलबिजक अनुसन्धानको क्रममा आयकरतर्फ ७१ करोड ८३ लाख ९९ हजार र मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ ३२ करोड ९८ लाख २५ हजार कर निर्धारण गरिएको छ । यहाँ रहेका कवाडी व्यवसायी, हार्डवेयर, किचनका सामग्री बिक्री गर्ने पसल र कपडा पसलको दुईदेखि तीन आर्थिक वर्षसम्मको विवरण अनुसन्धान गर्दा यस्तो भेटिएको कार्यालय प्रमुख भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा धेरै नक्कली भ्याट बिल बनाउनेमा कवाडी व्यवसायी रहेका छन् ।

यस्तै, कार्यालयले गत वर्ष दुई सय २७ पटक बजार अनुगमन गरी सात करोड ५१ लाख जरिवाना असुल गरेको छ । कार्यालयमा दर्ता भएका व्यावसायिक फर्ममध्ये पाँच सय ६९ वटाको लेखा नम्बर बन्द गरिएको छ । यहाँ दुई हजार छ सय १७ जनाले लेखा नम्बर बन्द गराउन निवेदन दिएका थिए । भट्टराई भन्नुभयो, “लेखा नम्बर बन्द गर्नका लागि दिएका निवेदनको राजश्व बाँकी रहेको नरहेको हेरेर मात्र काम गर्न सकिने हुँदा कम संख्यामा करदाताको लेखा नम्बर बन्द गरिएको हो ।” गत आर्थिक वर्षमा तीन हजार सात सय ५६ जना व्यवसायीले नयाँ व्यावसायिक लेखा नम्बर लिएका छन् । यस कार्यालयमा हाल व्यावसायिक लेखा नम्बर लिनेको सङ्ख्या ५७ हजार नौ सय १९ रहेको छ ।

केबलकारको निर्माणाधीन भवनबाट खसेर मजदुरको मृत्यु

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको मौलाकाली केबलकारको निर्माणाधीन भवनबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।

गैँडाकोट नगरपालिका–१ स्थित मौलाकालिका मन्दिर नजिकै रहेको मौलाकाली केबलकार प्रालिको टप स्टेशनमा रहेको निर्माणाधीन भवनको चौथो तल्लाबाट खसेर मजदुरको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रहरी निरीक्षक सुदीप भण्डारीका अनुसार बारा जिल्ला जीतपुर सिमरा उपमहानगरपालिका–२० बस्ने वर्ष २५ का गोरख राउत कुर्मीको खसेर मृत्यु भएको हो ।

दुर्घटना गए राति भएको भए पनि आज त्यहाँ कार्यरत अन्य कर्मचारीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

गर्मीजन्य समस्याका कारण युरोपमा वर्षेनी एक लाख ७५ हजारको मृत्यु

कोपेनहेगन, साउन १८ गते । विश्वका अन्य देशहरुको तुलनामा तापक्रम तीव्र गतिमा बढिरहेको युरोपमा गर्मीका कारण वर्षेनी एक लाख ७५ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को युरोपेली शाखाले बिहीबार जनाएको छ ।

डब्लुएचओले सन् २००० देखि २०१९ को बिचमा हरेक वर्ष गर्मीका कारण भएका चार लाख ८९ हजार मृत्युमध्ये युरोपेली क्षेत्रमा ३६ प्रतिशत अर्थात् औसतमा एक लाख ७६ हजार ४० जनाको मृत्यु हुने गरेको जनाएको छ ।

स्वास्थ्य निकायका अनुसार यस क्षेत्रको तापक्रम विश्वको औसत दरभन्दा झण्डै दोब्बरले बढिरहेको छ । डब्लूएचओको युरोपेली क्षेत्रमा ५३ देश छन्, जसमा मध्य एसियाका केही देश पनि समावेश छन् ।

डब्लुएचओका युरोप क्षेत्रीय निर्देशक हान्स क्लुजले भन्नुभयो, “मानिसहरूले अन्तिम मूल्य चुकाइरहेका छन् ।” डब्लुएचओका अनुसार विगत दुई दशकमा यस क्षेत्रमा गर्मीका कारण हुने मृत्युदरमा ३० प्रतिशतले वृद्धि भएको छ ।

क्लुजले भन्नुभयो, “तापक्रमको चरम सीमाले मुटु, श्वासप्रश्वास, ‘सेरेब्रो–भास्कुलर डिजिज’, मानसिक स्वास्थ्य र मधुमेहसँग सम्बन्धित रोगलगायत दीर्घकालीन अवस्थालाई बढाउँछ । अत्यधिक गर्मी विशेष गरी वृद्धवृद्धाका लागि समस्या र गर्भवती महिलाका लागि ‘अतिरिक्त बोझ’ हुन सक्ने उहाँले बताउनुभयो ।

डब्लुएचओका अनुसार मानव शरीरले आफ्नो तापक्रम कायम राख्न नसकेपछि उत्पन्न हुने ’गर्मीको तनाव’ यस क्षेत्रमा जलवायुसम्बन्धी मृत्युको प्रमुख कारण हो । विश्वव्यापी तापक्रम वृद्धिका कारण आगामी वर्षहरूमा गर्मीका कारण मृत्यु हुनेको सङ्ख्या बढ्ने डब्लुएचआले जनाएको छ ।

क्लुजका अनुसार सन् २०२० यता यस क्षेत्रका लागि सबैभन्दा तातो तीन वर्ष भएका छन् भने सन् २००७ पछि १० वर्ष अत्यधिक तातो वर्षका रूपमा रेकर्ड भएका छन् ।

गत जुलाई २५ मा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले मानव जाति ‘अत्यधिक गर्मीको महामारी’बाट पीडित भएको चेतावनी दिँदै जलवायु परिवर्तनका कारण उत्पन्न गर्मीको लहरको प्रभावलाई सीमित गर्न कदम चाल्न आह्वान गर्नुभएको थियो ।

पोखरा महानगरद्वारा रासायनिक मलको मूल्य निर्धारण

कास्की, १८ साउन । पोखरा महानगरपालिकाले चालु आर्थिक वर्षका लागि रासायनिक मलको मूल्य निर्धारण गरेको छ । महानगरपालिका मल वितरण व्यवस्थापन समितिको आजको बैठकले नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मलको मूल्य निर्धारण गरेको हो ।

मल वितरण व्यवस्थापन समितिका संयोजकसमेत रहेका महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले युरिया, डिएपी र पोटासको मूल्य तोकेको महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिइन् ।

मल डिपोदेखि बिक्री केन्द्रको दूरीका आधारमा युरिया प्रतिकिलो १९ रुपैयाँ ४५ पैसादेखि २१ रुपैयाँ पाँच पैसासम्म निर्धारण गरिएको छ । डिएपीको प्रतिकिलो ४८ रुपैयाँ ४५ पैसादेखि ५० रुपैयाँ पाँच पैसा र पोटासको मूल्य ३६ रुपैयाँ ४५ पैसादेखि ३८ रुपैयाँ पाँच पैसासम्म तोकिएको छ । मल बिक्रेताले प्लास्टिक झोलाको मूल्य प्रतिकिलो बढीमा दुई थप लिनसक्ने निर्णय गरेको छ ।

पोखरा महानगर कृषि शाखामा सूचीकृत तथा बिक्री वितरण गर्न छनोट भएका २६ वटा वडाका ६५ केन्द्रबाट मल बिक्री वितरण भइरहेको छ । मल बिक्री वितरणका लागि गत आव २०८०र८१ मा मल बिक्रेताले बिक्री गरेका आधारमा कोटा निर्धारण गरिएको प्रमुख कडरियाले बताए ।

सूचीकृत बिक्रेतालाई मलको कोटा निर्धारण गरिएको र महानगरले तोकेकै मूल्यमा सहज रुपमा किसानलाई उपलब्ध गराउनसमेत अनुरोध गरिएको छ । सहज र सुपथ मूल्यमा मल बिक्री गरे÷नगरेको अनुगमन गरिने पोखरा महानगरका उपप्रमुख गुुरुङले बताए ।

उनले भने, “महानगरमा सूचीकृत बिक्रेतालाई मलको कोटा निर्धारण गरिएको छ । किसानलाई तोकिएकै मूल्यमा सहज रुपमा मल उपलब्ध हुनुपर्छ । अघिल्ला वर्षहरुमा पनि हामीले नियमित अनुगमन गरेका थियौँ, यो वर्ष पनि त्यसलाई निरन्तरता दिन्छौँ ।”

महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले अनुुदानको मल बढी मूल्यमा बिक्री गर्नेलाई कारबाही गरिने बताए ।

कृषि ज्ञान केन्द्र कास्कीका प्रमुख किरण सिग्देलले युरिया, डिएपीको तुलनामा पोटासको खपत कम भएको जानकारी दिए । उनले रासायनिक मलको अनुुपात विश्लेषण गर्दा पोटासको प्रयोग कम भएको बताए । उनका अनुसार यसबारेमा किसानलाई सचेतना अभिवृद्धिको खाँचो छ ।

पोखरा महानगरमा गत आवमा युरिया एक हजार दुई सय २१ मेट्रिक टन, डिएपी छ सय ४५ मेट्रिक टन र पोटास ९८ दशमलव ९५ मेट्रिक टन गरी कूल एक हजार नौ सय ६५ दशमलव दुई मेट्रिक टन खपत भएको महानगरले जनाएको छ ।

परिणाम आउने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, साउन १८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र राज्यमन्त्रीहरूबिच आपसी समन्वय बढाई परिणाम आउने गरी काम गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज नवनियुक्त तीन राज्यमन्त्रीको शपथ ग्रहणपछि बधाई तथा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले राज्यमन्त्रीको मुख्य काम सम्बन्धित मन्त्रीहरूलाई सहयोग गर्ने भएकाले रचनात्मक भई आफ्नो कार्यक्षेत्रको सदुपयोग गर्न सुझाव दिनुभयो ।

प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रीहरूले पनि राज्यमन्त्रीलाई आवश्यक जिम्मेवारी दिने र परिणाम निकाल्ने विषयमा ध्यान दिन आग्रह गर्नुभयो । अहिलेको विषम परिस्थितिलाई अनुकूलस्थितितर्फ लैजानका लागि आफूहरू प्रयत्नरत रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नवनियुक्त राज्यमन्त्रीलाई गलत मान्छेहरूको सङ्गत र उनीहरूको प्रलोभनमा नपर्न पनि सचेत गराउनुभयो ।

उहाँले राज्यमन्त्रीहरूले मन्त्रालयसँग सम्बन्धित सबै विषयमा विस्तृत अध्ययन गरेर सूचनाको भण्डारको रूपमा रही बढी जानकारी लिएर मन्त्रीहरूलाई सहयोग गर्न पनि आग्रह गर्नुभयो । यसैगरी प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको इन्धन भण्डारण खतरा रहेको भनी आइरहेको विषयप्रति चासो जनाउँदै खतरा भनिएको भण्डारणलाई अन्यत्र स्थानान्तरण गर्न पनि सम्बन्धित मन्त्री र राज्यमन्त्रीलाई ध्यान पुर्‍याउन निर्देशन दिनुभयो ।

फर्निचर उद्योगमा आगलागी हुँदा साढे दुई करोड बढीको क्षति

भक्तपुर, साउन १८ गते । मध्यपुरथिमि नगरपालिका-३ कौशलटार अमिनिटी स्कुल नजिकै रहेको शङ्कर कटुवालको घरमा सञ्चालित एक फर्निचर उद्योगमा आगलागी हुँदा दुई करोड ६० लाख बराबरको क्षति भएको छ ।

नाशा इन्टेरियर कम्पनी नामको आल्मुनियम एवम् फर्निचर फ्याक्ट्रीमा करेन्ट सर्ट भई आगलागी हुँदा फर्निचर कारखानामा रहेका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो । आगो भक्तपुर, काठमाडौँ र ललितपुरबाट आएका पाँच दमकल, स्थानीयवासी र प्रहरीको प्रयासबाट तीन घण्टापछि निभाइएको थियो । रासस

सङ्खुवासभाका दुई हजार बढी निःशुल्क सेवाबाट लाभान्वित

किमाथाङ्का (सङ्खुवासभा), साउन १८-जिल्ला अस्पतालमा सामाजिक सेवा एकाइबाट दुई हजार बढीले निःशुल्क उपचार सेवा लिएका छन् ।जिल्ला अस्पतालका सूचना अधिकारी शेखर खत्रीका अनुसार उपचारमा सामाजिक सेवा एकाइमार्फत ५० देखि शतप्रतिशतसम्म छुट प्राप्तिको प्रावधान छ । स्वास्थ्य बीमा गर्न नसक्ने विपन्न वर्गका बिरामी एकाइको सहयोगबाट लाभान्वित भएका छन् । एकाइमार्फत एकमा दुई हजार छ सय ३० जनाले सेवा लिएका छन् ।

सामाजिक सेवा एकाइमार्फत एक हजार सात सय ७२ जना ज्येष्ठ नागरिक, अति गरिब छ सय २२, लैङ्गिक हिंसापीडित ७८ र थुनुवा कैदी ४४, अपाङ्गता भएका ५१, असाहय २४ र अन्य ३१ जनासहित दुई हजार छ सय ३० जनाले उपचार सेवा लिएको सूचना अधिकारी खत्रीले बताउनुभयो ।

सामाजिक सेवा एकाइमार्फत प्रदान गरिएको उपचार सेवामा अस्पतालको रु २८ लाख १२ हजार नौ सय ३७ खर्च भएको अस्पतालले जनाएको छ । यो अस्पतालमा एक वर्षमा ६३ हजार छ सय जनाले सेवा लिएका छन् । स्वास्थ्य बीमा कार्यक्रमबाट गत आवमा १८ हजार ८६ जनाले सेवा लिएका थिए । रा

शैक्षिक गुणस्तर सुधारका लागि वडाध्यक्षद्वारा एक लाख सहयोग

सिमकोट (हुम्ला), साउन १८-सर्केगाड गाउँपालिका–३ उनापानीका वडाध्यक्ष अकिलबहादुर कार्कीले वडा–२ लिप्नेको लालीगुराँस माध्यामिक विद्यालयलाई शैक्षिक गुणस्तर सुधारका लागि व्यक्तिगत रुपमा रु एक लाख सहयोग गर्नुभएको छ ।

सहायता रकम हस्तान्तरण गरेपछि शैक्षिक गुणस्तर र सुधार गर्न शिक्षक, अभिभाव र विद्यार्थीसहित शिक्षा क्षेत्रमा काम गर्ने सम्बन्धित निकाय जिम्मेवार बन्नुपर्ने उहाँले बताउनुभयो । विद्यालयको गुणस्तर सुधार गर्न अब पालिकाले विद्यालय सञ्चालक समिति र विद्यालयले शिक्षकसँग कार्यसम्पादन सम्झौता गर्नुपर्ने बताउनुभयो ।

वडाध्यक्ष कार्कीबाट प्राप्त रकम शैक्षिक तथा खेलकुद सामग्री खरिदमा उपयोग गरिने विद्यालयका प्रधानाध्यापक कालीबहादुर महताराले जानकारी दिनुभयो ।

कर्णालीमा तीन सय ११ सहकारी, पुँजी १५ अर्ब

कर्णाली । सुर्खेतस्थित भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालय दर्ता भएका कर्णालीका तीन सय ११ सहकारीको पुँजी १५ अर्ब पुगेको छ ।

दश जिल्ला तथा दुईभन्दा बढी पालिकालाई कार्यक्षेत्र बनाएर आफ्नो कार्यसञ्चालन गरेका सहकारीको पुँजी १५ अर्ब रहेको रजिष्ट्रार खुमप्रसाद सुवेदीले जानकारी दिए । ती सहकारीको सेयर पुँजी एक अर्ब ७५ करोड ३८ लाख ३३ हजार एक सय ४२ हुँदा बचत आठ अर्ब १९ करोड ४४ लाख ९३ हजार छ सय ३२ छ ।

११ अर्ब ५१ करोड ६४ लाख ९७ हजार नौ सय ४० ऋण लगानी गरेका सहकारीको जगेडा कोषमा ७१ करोड ४२ लाख ६८ हजार रहेको उनले बताए ।

रजिष्ट्रार सुवेदीले सहकारीबाट यहाँका एक हजार पाँच सय जनशक्तिले रोजगारी प्राप्त गरेको बताए । कर्णालीमा बचत तथा ऋण, कृषि, बहुउद्देश्यीय, उपभोक्ता, जडीबुटी, तरकारी बीउ उत्पादन, सामाजिक उद्यमी, विद्युत्, उर्जा सोलार, मौरीपालन, सञ्चार, साना किसान, स्वास्थ्य, पर्यटन, वातावरण संरक्षण, निर्माण मजदुर, दुग्ध, घरेलु, शैक्षिकलगायत सहकारी सञ्चालनमा रहेको सहकारी रजिष्ट्रारको कार्यालय सुर्खेतले जनाएको छ ।

सुर्खेतका एक सय दुई, दैलेखका ३७, जुम्लाका ३४, कालीकोटका ३२, जाजरकोटका २७, सल्यानका २५, रुकुमपश्चिमका २३, हुम्लाका १५, मुगुका ११ र डोल्पाका पाँच सहकारी भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालयमा दर्ता भएर सञ्चालन रहेका उनले जानकारी दिए ।