`

झोलुङ्गे पुल बनेपछि डुङ्गा चढेर सुनकोशी नदी वारपार गर्नुपर्ने बाध्यता अन्त्य

खोटाङ।हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित बाइटार र उदयपुरको कटारी नगरपालिका–१० सोरुङछबिसेको चिपटार जोड्न सुनकोशी नदीमा बनाइएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ ।

पूर्वाधार विकास कार्यालय गाईघाटमार्फत प्रदेश सरकारबाट प्राप्त रु तीन करोड ५० लाख लगानीमो पुल निर्माण भएको हो । पुल सञ्चालनमा आउनुअघि साबिकको डिकुवा–३ बाइटार र बलुई तथा साविकको डिकुवा–२ टारगाउँका बासिन्दा जोखिम मोलेर डुङ्गाबाट नदी तर्दै आएका थिए । पुलका दुवै विन्दुमा कच्ची सडक पनि निर्माण भएको छ । यसबाट डिकुवाका सर्वसाधारण लाभान्वित भएका छन् ।

झापामा आठ सय २७ हेक्टरमा सिँचाइ सुविधा विस्तार

भद्रपुर– झापामा आठ सय २७ हेक्टर सिँचाइ सुविधा विस्तार भएको छ । आर्थिक वर्ष २०८०-८१ मा एक सय ३० हेक्टरमा सुविधा विस्तार तथा छ सय ९७ हेक्टरमा सिँचाइ सेवा पुनःस्थापना गरिएको हो।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख शैलेश पोखरेलका अनुसार साना–ठूला गरी एक सय ३२ आयोजना सम्पन्न भएसँगै सिँचाइ सुविधा विस्तार भएको हो ।

गत आवमा कार्यालयको पुँजीगतर्फ विनियोजित रकम ३१ करोड ८९ लाख ४८ हजारमध्ये २९ करोड आठ लाख ३८ हजार चार सय ७४ खर्च भएको छ । चालुतर्फ पनि विनियोजित बजेटको ९२ दशमलव ७ प्रतिशत खर्च भयो । गत वर्ष कोशी प्रदेश सरकार सञ्चालनमा विवाद हुँदा बजेट ढिलोगरी प्राप्त भएकाले आयोजना सञ्चालनमा ढिलाइ भएको प्रमुख पोखरेलले बताए।

यसैगरी उक्त कार्यालयले नदी व्यवस्थापनतर्फ सात हजार एक सय नौ मिटर सम्पन्न गरी एक हजार छ सय ८४ हेक्टर जमिन संरक्षण र ६० हेक्टर जमिन उकास गरेको छ । यी योजना सम्पन्न भएसँगै दुई हजार छ सय चार परिवार लाभान्वित भएका डिभिजन प्रमुख पोखरेलले बताए।

बहुवर्षीय योजनाहरू मेचीनगर–८ मा सञ्चालित निन्दाखोला सिँचाइ योजना, मेचीनगर–७ मा पालिया पूर्व सिँचाइ योजना र गौरीगञ्जमा सञ्चालित तल्लो किस्ने सिँचाइ योजना अन्तिम चरणमा रहेका उक्त कार्यालयले जनाएको छ । यी योजना सम्पन्न भएसँगै दुई हजार एक सय पाँच हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने छ ।

पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

गोलबजार । लहान–ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारी चोकबाट प्रहरीले पेस्तोलसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला पिपराही ग्राम पञ्चायत झझरीका सुदेश्वर पासवानका छोरा १८ वर्षीय नीरजकुमार पासवान र सोही ग्राम पञ्चायतअन्तर्गत बलानशेर टोलका श्रीप्रसाद साहका छोरा ३७ वर्षीय अरुण साह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख रमेश पण्डितका अनुसार बिहीबार साँझ इलाका प्रहरी कार्यालय महेशबारीले ठाडीबाट लहानतर्फ जाँदै गरेको यात्रुवाहक बसमा जाँच गर्दा उनीहरुलाई पक्राउ गरिएको हो ।

मोतिहारी–बारा–अम्लेखगञ्ज पेट्रोलियम परियोजना अन्तिम चरणमा

जनकपुरधाम । नेपाल-भारत सहयोगमा निर्माणाधीन मोतिहारी-बारा-अम्लेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम प्रायः पूरा भएको छ ।

नेपाल आयल निगमले उक्त परियोजनाको ९० प्रतिशत काम पूरा भएको जनाएको छ ।

निगमको मधेस प्रदेश प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख विनितमणि उपाध्यायका अनुसार मोतिहारी-अमलेखगञ्ज पेटोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको मुख्य ट्याङ्की चार हजार एक किलोलिटर क्षमताका दुईवटा ट्याङ्की निर्माण पूरा भएको तथा अन्य प्राविधिक काम दुई महिनाभित्र सम्पन्न गर्नेगरी द्रुतगतिमा भइरहेको छ ।

पेट्रोलियम पदार्थको भण्डारणसँगै पाइप लाइन जडानकार्य पनि अन्तिम चरणमा पुगेको छ । परियोजनामा सरकारको रु एक अर्ब ५४ करोड तथा भारत सरकारको रु ६० करोड लगानी छ ।

धितोपत्र बोर्डका कार्यकारी निर्देशक भन्छन्- लगानीकर्ताको हित संरक्षण गर्न प्रतिबद्ध छौँ

काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन)का कार्यकारी निर्देशक नवराज अधिकारीले मुलुकको आर्थिक उन्नयनमा सघाउन पुँजी बजारको महत्त्वपूर्ण भूमिका हुने बताउँदै धितोपत्रमा लगानी गर्ने लगानीकर्ताहरूको हित संरक्षण गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।

निम्ब एस क्यापिटल लिमिटेडको १२ वार्षिकोत्सवका अवसरमा बिहीबार साँझ यहाँ आयोजित कार्यक्रममा उहाँले धितोपत्रको निष्काशन, खरिद, बिक्री, वितरण तथा विनिमयलाई व्यवस्थित बनाई धितोपत्र बजार र धितोपत्र व्यवसायमा संलग्न व्यक्तिका कामलाई नियमित तथा व्यवस्थित गर्नका साथै वित्त व्यवस्थापन कम्पनीका समस्या समाधान गर्न सेबोन प्रतिबद्ध रहेको बताउनुभयो ।

गत साता नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले पनि पुँजी बजारलाई गतिशील तुल्याउने नीति अङ्गीकार गरेको बताउँदै उहाँले संस्थागत शेयर धितो कर्जामा अधिकतम सीमा खारेज हुन सकारात्मक हो भन्नुभयो । संस्थागत शेयर धितो कर्जामा हाल कायम २० करोडको सीमा खारेज भएको छभने शेयर कर्जामा व्यक्तिलाई १५ करोडको सीमा तोकिएको छ ।

पूर्वमुख्यसचिव विमल कोइरालाले लगानीकर्तालाई लाभांश दिने, उनीहरूको विश्वास जित्ने, बजार विस्तार गर्नेतर्फ लाग्नुपर्ने सुझाव दिनुभयो । उहाँले धितोपत्र कारोबार प्रणालीलाई सुरक्षित र भरपर्दो बनाउनुपर्नेमा जोड दिनुभयो ।

निम्ब एस क्यापिटलका अध्यक्ष सचिन टिवडेवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले पूँजीबजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरू देशको आर्थिक विकासका निम्ति क्रियाशील रहेका बताउँदै धितोपत्र बजार स्वस्थ, पारदर्शी, भरपर्दो, प्रतिस्पर्धी एवं लगानीकर्तामैत्री बन्नुपर्ने विचार व्यक्त गर्नुभयो । देशको आर्थिक तथा सामाजिक विकासका लागि सार्वजनिक निष्काशनमार्फत पुँजी परिचालनलाई आफूले जोड दिएको बताउँदै उहाँले गुणस्तरीय वित्तीय सेवा प्रवाह गर्दै राष्ट्रको समृद्धिमा योगदान गर्नु आफू नेतृत्वको संस्थाको उद्देश्य हो भन्नुभयो ।

छ जनाबाट प्रारम्भ गरिएको संस्थामा हाल एक सय ३० जना कार्यरत रहेका जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत पाँडेले दुईसयभन्दा अधिक लगानीकर्ता संलग्न कम्पनीको पुँजी दश अर्ब पुगेको बताउनुभयो । आफ्नो संस्थाले स्वच्छ ऊर्जा, सूचना प्रविधि, सेवा, उत्पादन, कृषि, शिक्षा, औषधि उत्पादन र घरजग्गा कारोबारमा लगानी गरेको जानकारी दिनुभयो ।

मन्त्री चौधरीको अध्यक्षतामा युवा दिवस मूल समारोह समिति

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा ‘अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समिति’ गठन गरिएको छ ।
युवा तथा खेलकुद मन्त्रालयमा बसेको बैठकले दिवस मनाउनका लागि उनको अध्यक्षतामा तीन सय ७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवस आगामी साउन २८ गते मनाइँदैछ ।

उनका अनुसार समितिको सदस्यमा मन्त्रालय सम्वद्ध निकायका कार्यकारी प्रमुख, संयुक्त राष्ट्रसङ्घको नेपालस्थित कार्यालयका प्रतिनिधि, प्रदेशका सामाजिक विकास मन्त्रालयका प्रतिनिधि, सबै प्रदेश युवा परिषद्का उपाध्यक्ष, युवाअन्तर्गत सङ्घसंस्थाका प्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रतिनिधि, राष्ट्रिय खेलकुद परिषद्, युवा स्वरोजगार कोष र नेपाल स्काउटलगायत छन् । परिषद्का कार्यकारी उपाध्यक्षले बस्नेतले युवा दिवस साताव्यापी रुपमा मनाइने बताए ।

उनका अनुसार साताभरि युवा नेतृत्व विकास तथा युवा उद्यमशीलतासम्बन्धी अन्तरक्रिया, गोष्ठी, रक्तदान, वृक्षारोपण कार्यक्रम गरिने छ । युवाका सवाललाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ मा अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् ।

नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो । परिषद्कै अगुवाइमा २०७३ सालदेखि युवा दिवस मनाउन थालिएको हो ।

चट्याङले विद्युत् ट्रान्सफर्मर जल्दा ९० घर उपभोक्ता तीन दिनदेखि अन्धकारमा

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ९० घर विद्युत् उपभोक्ता तीन दिनदेखि अन्धकारमा बस्न बाध्य बनेका छन् । साउन १५ गते साँझ वर्षासँगै परेको चट्याङले ट्रान्सफर्मर जलेपछि खार्मीस्थित सोती, फूलबिसौना, डढेली र खत्रीगाउँमा उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका हुन् ।

चट्याङले जलेको ट्रान्सफर्मर मर्मतका लागि तीन दिनपछि प्राविधिक टोली आए पनि अर्को फेर्नुपर्ने भन्दै फर्किएको स्थानीय विक्रम राईले बताए । “विद्युत् अवरुद्ध भएपछि प्राविधिकलाई पटक–पटक फोन ग¥यौँ । तीन दिनपछि आज आउनुभएको थियो । तर अर्को ट्रान्सफर्मर फेर्नुपर्छ भन्दै मर्मत नै नगरी फर्किनुभयो”, उनले भने, “तीन दिनदेखि हामी अन्धकारमा बस्न बाध्य छौँ । कहिले पुनःसञ्चालन गरिदिने हो टुङ्गो छैन । प्राधिकरणको बेवास्ताले हामी मारमा परेका छौँ ।”

तीन दिनदेखि विद्युत् अवरुद्ध हुँदा मोबाइल फोन स्वीच अफ हुनुका साथै कुटानीपिसानीका काम गर्ने मिलसमेत बन्द भएको स्थानीयले बताएका छन् । आफ्नो गाउँमा विद्युत् सञ्चालन भएपछि उज्यालोका लागि त्यसअघि प्रयोग हुँदै आएको टुकीसमेत विस्थापन गरिएकाले समस्या भएको उपभोक्ताहरुले बताएका छन् ।

अवरुद्ध विद्युत् सञ्चालनका लागि उपभोक्ता आफैँले अर्को ट्रान्सफर्मर ढुवानी गरेर ल्याउनुपर्ने भन्दै निरीक्षणमा आएको प्राविधिक फर्किएको स्थानीय बासिन्दा एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङका सदस्य हर्कराज राईले जानकारी दिए ।

“हामीले महसुल तिर्ने हो । महसुल तिरिसकेपछि बिग्रिएको ठाउँमा विद्युत् प्राधिकरणले मर्मत गर्नुपर्छ”, उनले भने, “प्राधिकरणका कर्मचारी गैरजिम्मेवार ढङ्गले प्रस्तुत हुनुभयो । यसप्रति सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।”

खार्मीसँगै निर्मलीडाँडा र बाहुनीडाँडामा जडान गरिएको विद्युत्को ट्रान्सफर्मरसमेत साउन १५ गतेको चट्याङले जलेको जनाइएको छ । विद्युत् ट्रान्सफर्मर जलेपछि निर्मलीडाँडा र बाहुनीडाँकाका स्थानीय उपभोक्ता अन्धकारमा बस्न बाध्य छन् ।

दश स्थानीय तह रहेको जिल्लामा अन्य ठाउँमा पटकपटक विद्युत् अवरुद्ध हुँदै आएको छ । पटकपटक अवरुद्ध हुँदै आएको विद्युत् प्राधिकरणले समयमा मर्मत गरेर पुनःसञ्चालनमा नल्याउँदा उपभोक्ता हैरानीमा पर्ने गरेका छन् ।

जिल्लामा सञ्चालन गरिएको विद्युत् छिनछिनमा आउने तथा छिनछिनमा जाने समस्याले घरमा जडान गरिएका मिटरबक्स, फ्युज तथा बल्ब जल्ने गरेको उपभोक्ताले बताएका छन् । लामो दूरी, जङ्गलको बाटो, होचो खम्बा र ठाउँठाउँमा पहिरो जानाले पटकपटक विद्युत् अवरुद्ध हुने गरेको विद्युत प्राधिकरणले बताउँदै आएको छ ।

ट्रान्सफर्मर जलेर अवरुद्ध भएको विद्युत् पुनःसञ्चालनमा ल्याउनका लागि पहल भइरहेको नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्र खोटाङका प्रमुख सोवितबहादुर क्षेत्रीले बताए । “साउन १५ गतेको चट्याङले तीन ठाउँको ट्रान्सफर्मर जलेको भन्ने जानकारी प्राप्त भएको छ । तीनवटै ठाउँमा नयाँ ट्रान्सफर्मर जडान गरेपछि मात्र विद्युत् सञ्चालन गर्न सकिन्छ”, उनले भने, “कार्यालयमा गाडी नभएका कारण ट्रान्सफर्मर पठाउन सकिएको छैन । कार्यालयको गाडी विराटनगर गएको छ । उताबाट फर्किएपछि पठाउने तयारी गरेका छौँ ।”

पछिल्लो समय ३३ केभी प्रसारण लाइनमा आएको समस्याका कारण जिल्लामा सञ्चालन गरिएको विद्युत्मा समस्या आएको दिक्तेल वितरण केन्द्रका प्रमुख क्षेत्रीले बताए । विसं २०५७ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गर्नुभएको केन्द्रीय प्रसारण लाइनको विद्युत् जिल्लाका सबै स्थानीय तहमा विस्तार पुगेको छ ।

जिल्लामा विस्तार गरिएको विद्युत् पानी पर्दा, हावा चल्दा र बाढी तथा पहिरो आउनासाथ अवरुद्ध हुने गरेको छ । वर्षात्को समयमा अवरुद्ध भएको विद्युत् पुनःसञ्चालनमा ल्याउन प्राधिकरणले हप्ता दिनसम्म लगाउने गरेको छ ।

वर्षात्को समयमा विद्युत् अवरुद्ध नहोस् भनेर प्राधिकरणले प्रसारण लाइन वरपर रहेको झाडी फाँड्ने गरेको छ । जङ्गलको बाटो भएर उदयपुरको जलजलेबाट खोटाङको बुइँपामा ल्याएर सवस्टेशनमा जोडिएको विद्युत् खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुगरी तीन जिल्लामा विस्तार गरिएको छ ।

पहिरोमा ज्यान गुमाएका व्याक्तिको परिवारलाई केन्द्र सरकारद्वारा राहत रकम प्रदान

दमौली (तनहुँ), १८ साउन : शुक्लागण्डकी नगरपालिका–७ काउरेमा गत असार २२ गतेको पहिरोमा पुरिएर ज्यान गुमाएका व्यक्तिका परिवारलाई सङ्घ सरकारको तर्फबाट रु छ लाख राहत प्रदान गरिएको छ । यहाँका तीन परिवारलाई सङ्घ सरकारको तर्फबाट प्रतिमृतक रु दुई लाखका दरले रु छ लाख प्रदान गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार विपद्बाट ज्यान गुमाउने परिवारलाई रु दुई लाखका दरले राहत रकम प्रदान गर्ने प्रावधानबमोजिम मृतकका परिवारलाई उक्त रकम प्रदान गरिएको हो । गण्डकी प्रदेश सरकारका तर्फबाट पनि मृतकका परिवारलाई रु ५० हजारका दरले राहत रकम प्रदान गरिने उहाँले बताउनुभयो ।

पीडितपरिवारलाई शुक्लागण्डकी नगरपालिकाले पनि राहतस्वरुप प्रतिमृतक रु ५० हजारका दरले रकम प्रदान गरेको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी १ ले पनि मृतकका परिवारलाई रु २५ हजारका दरले आर्थिक सहयोग गरेको छ

 

पश्चिमसँग रुसको कैदी सम्झौताअन्तर्गत २६ जना रिहा

रुस र छ पश्चिमी मुलुकहरू बीचको अदलाबदलीमा अङ्कारामा बिहीबार २६ जना कैदीलाई रिहा गरिएको टर्कीले घोषणा गरेको छ । रिहा हुनेमा अमेरिकी संवाददाता इभान गेर्शकोविच र अमेरिकी पूर्वमरिन पाउल ह्वेलन संलग्न छन् ।

रुसले हिरासतमा लिएका १६ पश्चिमी नागरिकको बदलामा दुई नाबालिगसहित १० रुसी नागरिकलाई सुम्पिएको टर्कीका राष्ट्रपतिले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा एमआइटी राष्ट्रिय गुप्तचर सेवाद्वारा आयोजित ‘ऐतिहासिक कैदी आदानप्रदान अभियान’ को प्रशंसा गरिएको छ । 

वाल स्ट्रिट जर्नलका पत्रकार गेर्शकोविचलाई जासुसी गरेको आरोपमा रुसी अदालतले १६ वर्षको काराबास सजाय सुनाएको केही सातापछि रिहा गरिएको थियो । 

गेर्शकोविच र ह्वेलनका साथै बेलारुसमा कैदमा परेका जर्मन नागरिक रिको क्राइगर, रुसी असन्तुष्ट इल्या याशिन र एक चेचेन पृथकतावादीको हत्या गरेको आरोपमा जर्मनीमा थुनिएका रुसी गुप्तचर कर्णेल वादिम क्रासिकोभ उक्त अदलाबदलीको हिस्सा रहेको विज्ञप्तिमा जनाइएको छ । 

रुसले मुक्त गरेका बन्दीहरूमा १३ जना जर्मनी र तीन जना संयुक्त राज्य अमेरिका गएका छन् । विज्ञप्तिमा  संयुक्त राज्य अमेरिका, जर्मनी, पोल्यान्ड, स्लोभेनिया, नर्वे, बेलारुस र रुसबाट कैदीहरूलाई अङ्कारा पठाइएको उल्लेख छ । 

“कैदी विनिमय अभियानअन्तर्गत कैदीहरूलाई संयुक्त राज्य अमेरिकाका दुई र जर्मनी, पोल्यान्ड, स्लोभेनिया, नर्वे र रुसका एक–एक विमान गरी कूल सात विमानमार्फत टर्की लगिएको थियो”, विज्ञप्तिमा भनिएको छ । 

टर्कीले ‘हालैका वर्षहरूमा संयुक्त राज्य अमेरिका, रुस र जर्मनीबीच सबैभन्दा व्यापक कैदी आदानप्रदान भएको’ बताएको छ । “यो ऐतिहासिक अपरेसनका लागि वार्ताको च्यानलहरू एमआइटीले गरेको थियो र जुलाईमा विभिन्न पक्षहरूलाई टर्कीमा सँगै ल्याइएको थियो”, विज्ञप्तिमा उल्लेख छ ।

हमासद्वारा समूहका नेताको अन्त्येष्टिका लागि ‘क्रोध दिवस’ को आह्वान

दोहा। प्यालेस्टिनी लडाकू समूह हमासले आफ्ना मारिएका नेता इस्माइल हानियाको अन्त्येष्टिमा शुक्रबार कतारमा ‘उग्र क्रोध दिवसको’ आह्वान गरेको छ ।हमासले बिहीबार विज्ञप्तिमा तेहरानमा हानियाको हत्यापछि इजरायलमाथि आक्रमणको आरोप लगाउँदै सार्वजनिक आक्रोश फैलाउन प्रोत्साहन गर्नुका साथै गाजा पट्टीमा जारी युद्धको पनि विरोध गरेको छ ।

“शुक्रबार नमाजपछि प्रत्येक मस्जिदबाट क्रोध मार्च सुरु गरौँ”, हमासले भनेको छ । हमासको राजनीतिक नेतृत्वका अन्य सदस्यहरूसँगै कतारमा निर्वासनमा रहनुभएका हानियाको इरानी राजधानी तेहरानमा बिहीबार आयोजित सार्वजनिक अन्तिम संस्कारपछि शुक्रबार खाडी राज्यमा अन्त्येष्टि गरिने भएको छ ।

इरानको रिभोल्युसनरी गार्डले हानिया र एक अङ्गरक्षक तेहरानमा उहाँहरूको आवासमा बुधबार बिहानै भएको आक्रमणमा मारिएको बताएको छ । उक्त आक्रमणले व्यापक क्षेत्रीय द्वन्द्वको डर उत्पन्न गरेको छ ।

हमासले ‘कब्जा गरिएको पश्चिम किनारमा हाम्रा क्रान्तिकारी मानिसहरूको समुदाय’ लाई गाजामा प्यालेस्टिनीहरूका लागि आफ्नो समर्थन देखाउन तथा ‘हाम्रो भूमि र राष्ट्रिय अधिकारहरूप्रति हाम्रो प्रतिबद्धता पुष्टि गर्न र (इजरायली) कब्जाको योजनाहरूको सामना गर्न’ आह्वान गरेको छ ।

हमास नेताको अन्तिम संस्कारका क्रममा बिहीबार तेहरानमा शोक मनाउनेहरूको भीड जम्मा भयो र इरानका सर्वोच्च नेता आयातुल्लाह अली खमेनीले प्रार्थनाको नेतृत्व गर्नुभयो । हानियाको हत्यापछि अम्मानमा विरोध प्रदर्शन सुरु भएको छ । त्यहाँ हजारौँ जोर्डनबासी बुधबार इजरायली दूतावासबाहिर भेला भएका थिए । लेबनानमा प्यालेस्टिनी शरणार्थी शिविरहरू र ट्युनिशिया तथा मोरक्कोका राजधानीहरूमा पनि प्रदर्शनहरू भएका थिए ।

आज श्रावण कृष्ण चतुर्दशीः घण्टाकर्ण अर्थात् गठामङ्गल पर्व मनाइँदै

काठमाडौँ।प्रत्येक वर्ष श्रावण कृष्ण चतु्दर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज राजधानीको भित्री सहरमा मनाइँदैछ ।

चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात घण्टाकर्ण पर्व सांस्कृतिक परम्पराअनुसार विशेषगरी राजधानीको भित्री भागका नेवार समुदायले मनाउँछन् ।

परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने चलन छ ।

संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग छ्वालीबाट बनाई दोबाटो र चौबाटोमा दिनभर राखिने गठामङ्गल बेलुकी भने खेतको बीचमा लगेर बाल्दा धानमा कीरा नलाग्ने विश्वास रहेको बताउनुहुन्छ । स्थान एवं कुल परम्पराअनुसार कतै भने गठामङ्गललाई खोला वा नदी किनारमा लगी जलाइन्छ ।

यसैगरी आज बिहानै स्नान, पूजापाठ गरी घर–आँगन सफा गरिने, केटाकेटीले बाटामा डोरी टाँगेर पैसा (जगात्) माग्ने र राति राँको बाली उक्त राक्षसको प्रतीक घिसार्दै जलाउने चलन छ ।

गोपाल वंशावलीअनुसार गठामङ्गललाई सत्व, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ । यस्तो परम्परा अहिले पनि राजधानीको तीनै सहर काठमाडौँ, ललितपुर र भक्तपुरका भित्री भागमा छ ।

यसो गर्नाले नवविवाहित जोडीको जीवनमा बाध्य बाधा, आन्तरिक बाधा एवं शत्रुबाट रक्षा प्राप्त हुन्छ । आर्थिक एवं भौतिक उन्नतिका लागि पनि घण्टाकर्णको पूजा आराधनालाई राजधानीको भित्री भागमा बस्नेले महत्वपूर्ण पर्वका रुपमा मान्दै आएका छन् ।

पौराणिक कथनअनुसार दुवै कानमा घण्ट झुण्ड्याई आहाराको खोजीमा निस्कने घण्टासुर राक्षसलाई मार्न एक जना तान्त्रिकले भ्यागुताको रुप लिएर धाप भएतिर बाटो देखाइदिँदा राक्षस धापमा गाडिएको र सबैजना जम्मा भई त्यसलाई मारेको सम्झना स्वरुप घण्टाकर्णको प्रतीकका रुपमा नर्कटको प्रतिमा बनाइन्छ ।

यस्तै मान्छेलाई पनि घण्टाकर्णको प्रतीकका रुपमा विभिन्न रंगले रङ्गाएर पनि राख्ने चलन छ । बेलुकी घण्टाकर्णको पुत्ला घिसार्दै नजिकैको खोलामा लगेर जलाउने गरिन्छ । घण्टाकर्णलाई सेलाएपछि घरका दैलामा फलामको तीनखुट्टे वा पाँचखुट्टे किला ठोकी फलाम, पित्तल वा तामाका औंठी लगाउने चलन छ । भक्तपुरमा मल्लकालीन नगरका दोबाटो र चौबाटोमा हाँडीमा दही च्यूरा, सम्यबजी राखेर भूतप्रेत मन्छाउने चलन पनि छ ।

नेपालमा परापूर्व कालमा एउटा यस्तो राक्षस थियो जसलाई देवताको नाम र धर्मकर्मका कुरा पटक्कै मन पर्दैन थियो । धार्मिक र आध्यात्मिक कुरा गर्ने मानिसलाई त्यस राक्षसले मारिदिने गर्दथ्यो ।

धार्मिक र आध्यात्मिक कुरा सुन्नुपर्ला भनेर ऊ सँधै चिन्तित रहने गर्दथ्यो । त्यस राक्षसलाई त्यतिबेला गठामुङ्गल भन्ने गरिन्थ्यो । त्यस राक्षसले आफ्नो चिन्ता निवारणका लागि उसका दुबै कानमा सोह्र सत्र धार्नीका घण्टा झुण्ड्यायो । त्यो घण्टाको आवाजले देवताको नाम र धर्मकर्मका कुरा कानमा नपर्ने भएपछि ऊ ढुक्क भयो ।

कानमा घण्टा झुण्ड्याएको हुनाले त्यस राक्षसको नाम पनि घण्टाकर्ण रहन गयो । उसले सुनलाई होइन फलामलाई मन पराउँथ्यो र धनीमानी र समृद्धका तुलनामा मगन्ते उसका मन पर्ने मानिस हुन्थे । ऊ देवता र सज्जनलाई मन पराउँदैनथ्यो र दुःख दिन्थ्यो । दोबाटो चौबाटोमा बसेर जे पायो त्यही खान्थ्यो । बाटामा हिँड्नेसँग जगात (कर) माग्थ्यो र कर नतिर्ने मानिसलाई त्यही निहुँमा उसले मारिदिने गर्दथ्यो ।

रुद्रयामलतन्त्रमा एक जना तान्त्रिकले भ्यागुतोको रुप लिई राक्षसलाई मारेको कथा उल्लेख भएको पण्डित बालमुकुन्द देवकोटाले बताउनुभयो । त्यसैले त्यही घण्टाकर्णको कुकृत्य फेरि नदोहोरियोस् भनेर प्रत्येक वर्षको श्रावण महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिका दिन एकाबिहानै काठमाडौँ उपत्यका र नेवार समुदायमा हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षस बनाएर दोबाटो, चौबाटोमा उभ्याइन्छ ।

‘अत्यन्त उच्चस्तरको रक्षात्मक र आक्रामक’ तयारीमा रहेको इजरायली प्रधानमन्त्रीको भनाइ

काठमाडौँ, १८ साउनः इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले बिहीबार हमास र हिजबुल्लाहका शीर्ष नेताहरूको हत्याको प्रतिशोधको धम्की आएपछि इजरायल आफ्नो विरुद्ध कुनै पनि ‘आक्रामकता’ का लागि तयार रहेको बताउनुभएको छ ।

“इजरायल रक्षात्मक र आक्रामक दुवै किसिमको कुनै पनि परिदृश्यका लागि उच्चस्तरको तयारीमा छ, हामी हाम्रोविरुद्ध कुनै पनि आक्रामक कारवाहीका लागि उच्च मूल्य चुकाउनेछौँ”, नेतान्याहुले विज्ञप्तिमा भन्नुभयो, “जसले हामीमाथि आक्रमण गर्छ, हामी पनि जवाफमा आक्रमण गर्नेछौँ ।”

हिजबुल्लाह प्रमुख हसन नसरल्लाहले बिहीबार मङ्गलबार बेरुत उपनगरमा इजरायलले गरेको आक्रमणमा आफ्ना शीर्ष सैन्य कमान्डर फुआद शुक्रको गरेको हत्याको जवाफ दिन लेबनानी सशस्त्र समूह बाध्य छ भन्ने धम्की दिएपछि नेतान्याहुको उक्त टिप्पणी आएको हो ।

बुधबार तेहरानमा भएको आक्रमणमा हमास प्रमुख इस्माइल हानियाको मृत्यु भएको थियो । इरान र हमासले उक्त आक्रमण इजरायलले गरेको आरोप लगाएका छन् । इजरायलले उनको हत्याका बारेमा टिप्पणी गर्न अस्वीकार गरेको छ ।

“तपाईंले कुन रातो रेखा पार गर्नुभयो थाहा छैन”, नसरल्लाहले शुक्रको अन्तिम संस्कारमा प्रसारण गरिएको भाषणमा इजरायललाई सम्बोधन गर्दै भन्नुभयो, “शत्रु र जो शत्रुको पछाडि छन्, उनीहरूले हाम्रो अपरिहार्य प्रतिक्रियाको प्रतीक्षा गर्नुपर्छ ।”इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले बिहीबार हमास र हिजबुल्लाहका शीर्ष नेताहरूको हत्याको प्रतिशोधको धम्की आएपछि इजरायल आफ्नो विरुद्ध कुनै पनि ‘आक्रामकता’ का लागि तयार रहेको बताउनुभएको छ ।

“इजरायल रक्षात्मक र आक्रामक दुवै किसिमको कुनै पनि परिदृश्यका लागि उच्चस्तरको तयारीमा छ, हामी हाम्रोविरुद्ध कुनै पनि आक्रामक कारवाहीका लागि उच्च मूल्य चुकाउनेछौँ”, नेतान्याहुले विज्ञप्तिमा भन्नुभयो, “जसले हामीमाथि आक्रमण गर्छ, हामी पनि जवाफमा आक्रमण गर्नेछौँ ।”

हिजबुल्लाह प्रमुख हसन नसरल्लाहले बिहीबार मङ्गलबार बेरुत उपनगरमा इजरायलले गरेको आक्रमणमा आफ्ना शीर्ष सैन्य कमान्डर फुआद शुक्रको गरेको हत्याको जवाफ दिन लेबनानी सशस्त्र समूह बाध्य छ भन्ने धम्की दिएपछि नेतान्याहुको उक्त टिप्पणी आएको हो ।

बुधबार तेहरानमा भएको आक्रमणमा हमास प्रमुख इस्माइल हानियाको मृत्यु भएको थियो । इरान र हमासले उक्त आक्रमण इजरायलले गरेको आरोप लगाएका छन् । इजरायलले उनको हत्याका बारेमा टिप्पणी गर्न अस्वीकार गरेको छ ।

“तपाईंले कुन रातो रेखा पार गर्नुभयो थाहा छैन”, नसरल्लाहले शुक्रको अन्तिम संस्कारमा प्रसारण गरिएको भाषणमा इजरायललाई सम्बोधन गर्दै भन्नुभयो, “शत्रु र जो शत्रुको पछाडि छन्, उनीहरूले हाम्रो अपरिहार्य प्रतिक्रियाको प्रतीक्षा गर्नुपर्छ ।”

जावलाखेल पुर्‍याइयो रातो मच्छिन्द्रनाथको रथ, २० गते ‘भोटो जात्रा’

ललितपुर। वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलको ठटी टोलबाट तानेर जावलाखेल पुर्‍याइएको छ ।वैशाख शुक्ल प्रतिपदादेखि रथारोहण सुरु भएर शुभ साइतअनुसार लगनखेलको ठटी टोलमा रोकिएको रथलाई बिहिबार जावलाखेल पुर्‍याइएको हो ।

शुभ साइतअनुसार लगनखेलको ठटी टोलबाट जावलाखेल तानिने भएकाले विहिबार रथलाई जावलाखोल पुर्‍याइएको रातो मच्छिन्द्रनाथका पूजारी शाहु शाक्यले जानकारी दिनुभयो । उहाँको अनुसार रातो मच्छिन्द्रनाथको रथलाई जावलाखेल पुर्‍याएको चार दिनमा भोटो देखाइन्छ ।

जावलाखेलको ललितमण्डपमा रातो मच्छिन्द्रनाथको रथ पुर्‍याएको चार दिनमा हरेक वर्ष राष्ट्रप्रमुखको हातबाट भोटो देखाउने प्रचलन भएकाले साउन २० गते आइतबार राष्ट्र प्रमुखबाट भोटो देखाइनेछ । जावलाखेलको ललितमण्डपमा रहेको रातो मच्छिन्द्रनाथको हरेक दिन भक्तजनहरूले पूजाआजा गर्नेछन् ।

हरेक वर्षको वैशाख शुक्ल प्रतिपदादेखि सुरु हुने रातो मच्छिन्द्रनाथको रथजात्रा काठमाडौँ उपत्यकाको पुरानो र सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ । जावलाखेल पुर्‍याएको चार दिनपछि राष्ट्रप्रमुखलाई भोटो देखाएपछि यो वर्षको जात्रा समापन हुन्छ ।

मधेस र कोशी प्रदेशको तराईका केही स्थानमा वर्षासँगै हुरी चल्ने पूर्वानुमान

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी, कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताउँदै विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । मधेस र कोशी प्रदेशको तराईका केही स्थानमा हुरीको पनि सम्भावना रहेको छ ।

आज रात देशभरसाधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, कर्णाली, सुदूरपश्चिम तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाकोसम्भावना रहेको जनाउँदै विभागले ती स्थानका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ ।

आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशकाका केही भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाका साथै मधेस र कोशी प्रदेशको तराईका केही स्थानमा हुरीको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरोबाट बच्न विभागले आग्रह गरेको छ ।

तुल्सीलालको उच्च नैतिकता र चरित्रबाट भावी पुस्ताले प्रेरणा लिनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले तुल्सीलाल अमात्यको उच्च क्रान्तिकारी नैतिकता र चरित्रबाट वर्तमान तथा भावी पुस्ताले प्रेरणा लिनुपर्ने बताउनुभएको छ ।

ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा तुल्सीलाल स्मृति प्रतिष्ठानले आज आयोजना गरेको तुल्सीलाल अमात्यको २७औँ स्मृति दिवसको कार्यक्रममा उहाँले नेपाली राजनीतिमा हाल देखापरेको वैचारिक निष्ठा, आदर्श एवं नैतिक आचरणमा क्षयीकरणको भइरहेको बेला तुल्सीलाल अमात्यले जीवन पर्यान्त सिद्धान्त र आन्दोलनप्रति दर्शाउनुभएको त्याग, आदर्श, आचरण, सादा जीवनशैली र अध्ययनशीलताबाट वर्तमान युवा पुस्ताले प्रेरणा लिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले नेता अमात्यले आजीवन गाउँका निमुखा किसान, मजदुर एवं आम श्रमजीवी वर्गप्रति देखाउनुभएको वर्ग पक्षधरता, सद्भाव र समर्पण भावलाई एक कम्युनिष्ट नेतामा हुनै पर्ने अपरिहार्य गुणका रूपमा लिन सकिने बताउनुभयो ।

पार्टीलाई क्रान्तिकारी धारमा ल्याउन तुल्सीलालको महत्वपूर्ण योगदान रहेको उहाँले चर्चा गर्नुभयो । “नेपालमा जहानियाँ राणा शासन तथा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य र लोकतन्त्रको स्थापनाका लागि भएका हरेक आन्दोलनहरूमा सहभागी हुने सिलसिलामा तुल्सीलाल अमात्यले कयौँ पटक गिरफ्तारीमा पर्नुका साथै जेल जीवन बिताउनुभएको थियो भने तत्कालीन शासकहरूले उहाँको सर्वस्वहरण समेत गरेका थिए”, पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, “तथापि, उहाँ कम्युनिष्ट आदर्शबाट कहिल्यै विचलित हुनु भएन, बरु निस्वार्थ त्याग र समर्पणका साथै स्वच्छ राजनीतिक मूल्य र मान्यताका साथ निरन्तर रूपमा आन्दोलनमा लागि रहनुभयो ।”

उहाँले २००९ सालतिर तुल्सीलालको अगुवाइमा बारा, रौतहट र सर्लाही जिल्लामा ऐतिहासिक किसान आन्दोलन भएको उल्लेख गर्दै लाखौँ किसानको सहभागिता रहेको उक्त आन्दोलनको सिलसिलामा करोडौँ रुपैयाँ बराबरका जाली तमसुक च्यात्ने काम भएको बताउनुभयो ।

“विसं २०६२÷६३ सालमा भएको शान्तिपूर्ण जनआन्दोलनद्वारा स्थापित सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीअन्तर्गत आज हामीले उपभोग गरिरहेको स्वतन्त्रता, नागरिक अधिकार र समावेशिता कसैको निगाहबाट सहज रूपमा प्राप्त भएका होइनन्”, पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, “यी परिवर्तन र उपलब्धिहरू तुल्सीलाल अमात्यलगायत हजारौँ नेता कार्यकर्ताको अटुट सङ्घर्ष, त्याग र बलिदानको लामो शृङ्खलापश्चात् मात्र प्राप्त भएका हुन् भन्ने यथार्थलाई वर्तमान पुस्ताले कदापि बिर्सनुहुँदैन । ”

कार्यक्रममा एमाले नेता भीम रावलले तुल्सीलालले नेपालको कम्युनिष्ट आन्दोलनलाई अघि बढाउने काम गरेको बताउनुभयो । उहाँले २०४६ सालमा जनआन्दोलनमा पनि संयुक्त वाममोर्चाको निर्माणमा उहाँको सक्रिय योगदान रहेको बताउनुभयो ।

तुल्सीलाल स्मृति प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्यले तुल्सीलालका विचारलाई पार्टी आत्मसात गर्नुपर्ने बताउनुभयो । विसं १९७३ साल जेठ १४ गते पाटनमा जन्मनुभएका तुल्सीलाल अमात्यको विसं २०५४ साल साउन १७ गते ८१ वर्षको उमेरमा निधन भएको थियो ।

प्रधानमन्त्री ओलीलाई एमालेको समग्र नेतृत्वको जिम्मेवारी

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको समग्र नेतृत्व जिम्मेवारी दिइएको छ ।एमालेको आजको सचिवालय बैठकले सबै नेताहरूको जिम्मेवार हेरफेर गर्दै अध्यक्ष ओलीलाई पार्टीको समग्र नेतृत्वको जिम्मेवारी प्रदान गरेको हो ।

बैठकमा अध्यक्ष ओलीले नयाँ विकसित राजनीतिक परिस्थिति र पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा धारणा राख्नुभयो । उहाँले बैठकलाई सम्बोधन गर्दै नयाँ परिवेशमा जनअपेक्षा अनुरुप पार्टी नेतृत्व तहले निर्वाह गर्नुपर्ने भूमिका विषयमा प्रकाश पार्नुभएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

यस्तै बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको प्रमुख तथा नीति तथा योजना सम्वद्ध विभागको संयोजन, उपाध्यक्ष युवराज ज्ञवालीलाई प्रदेश तथा स्थानीय तह समन्वयको संयोजन, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई राजनीतिक समन्वय र सामाजिक विकास सम्वद्ध विभागको संयोजन, उपाध्यक्ष रामबहादुर थापालाई कूटनीतिक सम्बन्ध तथा राष्ट्रिय सुरक्षाको संयोजनको जिम्मेवारी तोकिएको छ ।

यस्तै उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पार्टीको सङ्गठनात्मक कामको अनुगमनको र पार्टी सम्वद्ध विभागहरूको संयोजन, उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेलाई राजकीय मामिला तथा पूर्वाधार तथा विकास सम्वद्ध विभागहरूको संयोजन र उपाध्यक्ष गुरु बराललाई संसदीय मामलाको संयोजन, सुशासन र सेवा प्रवाह सम्वद्ध विभागहरूको जिम्मेवारी तोकिएको छ ।

पार्टी महासचिव शङ्कर पोखरेललाई पार्टीको सङ्गठनात्मक कामको संयोजन, उपमहासचिव प्रदीप ज्ञवालीलाई पार्टी स्कुल विभागको प्रमुख, उपमहासचिव विष्णु रिमाललाई निर्वाचन विभाग र वित्त तथा कोष व्यवस्थापन विभागको प्रमुखको जिम्मेवारी तोकिएको प्रचार विभाग गौतमले जानकारी दिनुभयो ।

सचिवहरू गोकर्णराज विष्टलाई भौतिक पूर्वाधार तथा यातायात विभागको प्रमुख, योगेश भट्टराईलाई संसदीय विभाग प्रमुख, रघुवीर महासेठलाई परराष्ट्र मामिला विभाग प्रमुख, छविलाल विश्वकर्मालाई स्थानीय विकास विभाग प्रमुख जिम्मेवारी दिइएको छ ।यस्तै सचिव लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज र अर्का सचिव पद्मा अर्याललाई लुम्बिनी प्रदेशको इन्चार्ज तोकिएको छ ।

बैठकले केन्द्रीय कमिटीका सदस्यहरूको कार्य विभाजन गर्नुको साथै अनुशासन आयोग र सल्लाहकार परिषद्मा पनि मनोनयन गरेको एमाले प्रचार विभाग प्रमुख गौतमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।केन्द्रीय सदस्यलाई जिल्ला इन्चार्ज, जनवर्गीय सङ्गठनको इन्चार्ज, प्रतिनिधिसभा निर्वाचन क्षेत्रको इन्चार्ज तोकिएको छ ।

राष्ट्रिय परिचयपत्र : अब जातीय र सांस्कृतिक पहिचानको पोशाक लगाउन बाधा नपर्ने

काठमाडौँ । गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रमा विवरण दर्ताका लागि सेवाग्राहीको फोटो खिच्दा स्पष्ट मुखाकृति र दुवै कान देखिने गरी फोटो खिच्नुपर्ने स्पष्ट पारेको छ ।

सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, राष्ट्रिय परिचयपत्र इकाइ रहेका सबै कार्यालयलाई परिपत्र गर्दै विभागले त्यसरी फोटो खिच्दा सिन्दुर, टीका, राष्ट्रियता झल्कने टोपी, धार्मिक, सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउन बाधा नपर्ने उल्लेख गरिएको छ ।

विभागका महानिर्देशक युवराज कटेलले राष्ट्रिय परिचयपत्रको जैविक विवरण लिने र आवश्यक कागजातका सम्बन्धमा रहेका द्विविधा हटाइ सेवा प्रवाहलाई सरल, सहज तथा थप प्रभावकारी बनाउन पनि मातहतका सबै कार्यालयलाई निर्देश गरिएको जानकारी दिनुभयो ।

उहाँले पठाउनुभएको चार बुँदे परिपत्रमा राष्ट्रिय परिचयपत्रमा विवरण दर्ता गर्दा व्यक्तिले पेस गरेको नागरिकताको प्रमाणपत्र बाहेकको अन्य कागजात राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा ‘स्क्यान’ गरी प्रविष्ट गर्ने प्रयोजनका लागि सम्भव भएसम्म सक्कल वा छायाँप्रतिमा सम्बन्धित व्यक्तिले सक्कलबमोजिम नक्कल ठिक छ भनी प्रमाणित गरेका आधारमा दर्ता प्रक्रिया अगाडि बढाउन भनिएको छ ।

यस्तै व्यक्तिको नागरिकतामा केही विवरण स्पष्ट नभएका खण्डमा अभिलेखबाट रुजु गरी विवरण दर्ताको व्यवस्था मिलाउन पनि भनिएको छ ।

कार्यालयमा अन्य जिल्लाका नागरिकले समेत राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न आवेदन पेस गरेमा विवरण दर्ताको व्यवस्था मिलाउन परिपत्रमा उल्लेख छ ।

विश्व बैंकद्वारा ‘मध्यम आयको जाल’ बाट बच्न मार्गचित्र प्रस्तुत

वासिङ्टन, साउन १७ गते । विश्व बैंकले चीनलगायत एक सयभन्दा धेरै मुलुक ‘मध्यम आयको जाल’ मा प्रवेश गर्ने र धनी मुलुक बन्न असफल हुने जोखिममा रहेको बताएको छ । बिहीबार उच्च आयको अवस्थामा पुग्नका लागि ‘व्यापक मार्गचित्र’ अनावरण गर्दै बैङ्कले सो कुरा बताएको हो ।

आफ्नो २०२४ विश्व विकास प्रतिवेदनमा बैंकले भनेको छ, “सामान्यतया देशहरू यस्तो ‘जाल’ मा पर्छन जतिबेला उनीहरू प्रतिव्यक्ति वार्षिक अमेरिकी कूल गार्हस्थ्य उत्पादन ९जिडिपी० को करिब १० प्रतिशत अर्थात करिब आठ हजार डलरसम्म पुग्नेछन् । यसलाई अगाडि बढाउन कठिन साबित हुनसक्छ ।”

बैंकले विश्वको ७५ प्रतिशतभन्दा धेरै जनसङ्ख्याको प्रतिनिधित्व गर्ने एक सयभन्दा धेरै मुलुक हाल मध्यम आयका रूपमा वर्गीकृत भएकाले यो समस्यालाई सम्बोधन गर्न आगामी दशकहरूमा आर्थिक विकासका लागि महत्त्वपूर्ण साबित हुने बताएको छ ।

“विश्वव्यापी आर्थिक समृद्धिको लडाइँ मध्यम आय भएका मुलुकहरूमा धेरै हदसम्म जितिने छ वा हारिने छ”, ‘नयाँ दृष्टिकोण’ को आह्वान गर्दै विश्व बैंक समूहका प्रमुख अर्थशास्त्री इन्दरमिट गिलले विज्ञप्तिमा भन्नुभयो, “पहिला लगानीमा ध्यान केन्द्रीत गर्नुहोस्, त्यसपछि विदेशहरूबाट नयाँ प्रविधिहरू इन्फ्युजनमा जोड दिनुहोस् र अन्त्यमा लगानी, इन्फ्युजन र नवीनतालाई सन्तुलन गर्ने तीन–स्तरीय रणनीति अपनाउनुहोस् ।”

उहाँले बढ्दो जनसाङ्ख्यिकीय, पारिस्थितिक र भू–राजनीतिक दबाबका साथ त्रुटिका लागि कुनै स्थान नभएको बताउनुभयो ।

बैंकले दक्षिण कोरियालाई पूर्वविकासोन्मुख मुलुकको उदाहरणका रूपमा उल्लेख गरेको छ । दक्षिण कोरियाले सफलतापूर्वक उच्च आयको स्थितिमा पुग्नका लागि उक्त रणनीति प्रयोग गरेको थियो ।

“यदि तिनीहरू पुरानो रणनीतिमा कायम रहेभने अधिकांश विकासोन्मुख मुलुक यो शताब्दीको मध्यसम्म धेरै हदसम्म समृद्ध समाज बनाउने दौडमा पराजित हुनेछन्”, गिलले विश्व विकास प्रतिवेदनमा भन्नुभएको छ, “यो प्रतिवेदन लेख्ने टोलीले यो अङ्कगणितलाई आमूल परिवर्तन गर्ने आशा राखेको छ ।”

काभा भलिबलमा इरानलाई पराजित गर्दै भारतको विजयी सुरुवात

काठमाडौ । काभा महिला भलिबल नेसन्स लिग प्रतियोगिताअन्तर्गत बिहीबारको दोस्रो खेलमा भारतले इरानलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको खेलमा भारतले इरानलाई ३–१ को सेटमा पराजित गरेको हो ।

खेलको पहिलो र दोस्रो सेट भारतले २५–२० र २५–१८ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेटमा इरानले पुनरागमन गर्दै २५–१९  ले खेल जित्यो । त्यसपछिको सेटमा इरानलाई २५–१० ले पराजित गरेपछि भारतको जित पक्का भयो ।

प्रतियोगिताअन्तर्गत आजै भएको पहिलो खेलमा नेपालले श्रीलङ्कालाई ३–० को सोझो सेटमा पराजित गरेको थियोे ।

नेपालगञ्जबाट ३२ दिनमा खार्पु पुगे मालबाहक ट्रक

सिमकोट (हुम्ला)- निरन्तरको वर्षापछि अवरुद्ध भएको कर्णाली करिडोरको हुम्ला सडकखण्ड सञ्चालनमा आएको छ । सडक सञ्चालनमा आएसँगै नेपालगञ्जबाट छुटेका मालबाहक ट्रक ३२ दिनपछि खार्पु पुगेका छन् ।

विभिन्न स्थानमा अवरुद्ध भएका सडक चालक र सहचालक मिलेर मर्मत गरेको जनाइएको छ । चालक खुसीराम थारुले अवरुद्ध भएका विभिन्न सडकखण्डमा आफूहरू सबै मिलेर ढुङ्गामुढा, माटो पन्छाउँदै आएको बताए । उनले सलीसल्लादेखि खार्पुनाथ गाउँपालिकाको खार्पुदोभानसम्म पुग्न मात्रै ११ दिन लागेको बताए ।

सवारी चालक टोपेन्द्र महतले लेप्चे नजिक अवरुद्ध सडक नेपाली सेनाले खुलाए पनि बाँकी स्थानमा भने आफूहरूले नै काम गरेको बताए । उनले प्रतिव्यक्ति प्रतिदिन रु दुई सयमा आफूहरूले काम गरेको बताए । उनले आफूहरूले झण्डै रु १५ लाख बराबरको काम गरेको उल्लेख गरे ।

नेपालगञ्जदेखि खार्पु पुगेका २२ वटा मालबाहक ट्रकमा दैनिक उपभोग्य वस्तुदेखि विकास निर्माणका सामान ढुवानी गरिएका छन् । सडक अवरुद्ध हुँदा एक महिनायता सिमकोटमा ग्यास, मैदा, तेललगायत सामग्रीको मूल्यमा वृद्धि भएको थियो । रु दुई हजार नौ सयमा भर्ने ग्यास अहिले तीन हजार पाँच सयमा भर्नुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन् ।

राष्ट्रिय सडक सञ्जालसँग खार्पुनाथ गाउँपालिकाको खार्पुदोभान जोडिएको छ । त्यहाँसम्म नेपालगञ्ज र सुर्खेतदेखि विभिन्न मालबाहक ट्रक र यात्रु बोकेका गाडी सञ्चालन हुँदै आएका छन् । खार्पुदोभानमा बेलिब्रिज पुल निर्माण नहुँदा त्यहाँदेखि झोलुङ्गे पुलमा मानिसले बोकेर कर्णाली तार्ने गर्दछन् । सोही स्थानमा पुल नबन्दा अझै सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेको छैन ।

प्रमुख दलबीच जुटेको समझदारी सङ्क्रमणकालीन न्यायका लागि कोशेढुङ्गा

काठमाडौँ । नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी) बीच भएको विस्तृत शान्ति सम्झौताअनुरुप सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउने विषयमा प्रमुख तीन राजनीतिक दलबीच समझदारी भएको छ ।

नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का नेता सम्मिलित कार्यदलमा लामो समयदेखि पेचिलो बनेको द्वन्द्वकालीन घटनाको व्याख्या, राहत, क्षतिपूर्ति, परिपूरण र न्याय प्रदानलगायत विषयमा बिहीबार समझदारी भएको हो ।

सङ्क्रमणकालीन न्यायको विषयलाई टुङ्गोमा पुर्याउनका लागि सहमति जुटाउन प्रमुख दलका प्रतिनिधि सम्मिलित कार्यदलमा चारबुँदे समझदारी भएको छ । प्रमुख दलका नेताहरूले यो समझदारीलाई महत्त्वपूर्ण उपलब्धि र सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्याउन कोशेढङ्गा सावित हुने धारणा व्यक्त गरेका छन् ।

राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले शान्ति प्रक्रिया सहमतिले नै टुङ्ग्याउनुपर्ने विषय भएको बताउँदै तीन दलबीच भएको समझदारीलाई संसद्मा पनि सहमतिमै विधेयक पारित गर्नुपर्ने उल्लेख गरे ।

“विधेयकको मूल उद्देश्य द्वन्द्व पीडितहरूले न्याय पाउनुपर्छ भन्ने हो र बदलाको भावना समाजबाट सदाका लागि अन्त्य हुनुपर्छ । यसको मुख्य राजनीतिक लक्ष्य हो”, नेता सिटौलाले भने, “अब यो विधेयक टुङ्गिनुपर्यो । त्यसअन्तर्गतका आयोग बनेर द्रुत गतिले काम गर्नसक्नुपर्छ । कुनै आग्रह पूर्वाग्रह नराखीकन राम्ररी छानबिन गर्नुपर्छ ।”

तथ्यहरू पत्ता लगाएर ढिलो नगरीकन काम गर्नुपर्ने उनको सुझाव छ । विस्तृत शान्ति सम्झौता भएको धेरै वर्षपछि भएपनि तत्कालीन विद्रोही माओवादी पक्ष र सात राजनीतिक दललाई नेतृत्व गर्ने कांग्रेस र एमालेबीच भएको सहमतिको दस्तावेज उपलब्धिमूलक भएको उनको भनाइ छ ।

नेता सिटौलाले भने, “यो राम्रो भयो । अब यस सहमतिले विधेयकमा उल्लेख गर्नुपर्ने विषयलाई सम्बोधन गर्ला भन्ने मलाई लागेका छ । यसलाई दुवै सदनबाट पारित गरेर कानुन बनाइ त्यसअन्तर्गत आयोग निर्माण गरेर काम थाल्नुपर्छ । आयोगले निकाल्ने निष्कर्षबाट द्वन्द्वपीडितले न्याय पाएको महसुस हुनुपर्यो र समाजबाट बदलाको भावना सदाका लागि अन्त्य भएको देखिनुपर्यो ।”

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले तीन दलबीच आज भएको समझदारी महत्त्वपूर्ण उपलब्धि भएको बताए । विसं २०७१ देखि यी विषयमा सहमति हुन नसक्दा सङ्क्रमणकालीन न्यायको विषय अगाडि बढ्न सकेको थिएन । त्यति बेला बनेको  विधेयकमाथिका प्रावधान सम्बन्धमा सर्वाेच्च अदालतमा रिट परेको थियो । सर्वोच्चको निर्देशनात्मक आदेशपछि सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन नहुँदा सबै काम अड्केको अवस्था थियो ।

त्यसमा झण्डै नौ वर्षपछि शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै नेता ज्ञवालीले भने, “यसलाई शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउने सन्दर्भमा कोशेढुङ्गा पनि भन्न सकिन्छ । सहमति कार्यान्वयनमा चुनौती नभएका होइनन् । तर जे जति काम भएको छ, त्यो महत्त्वपूर्ण उपलब्धि हो, यसले आगामी दिनमा धेरै गाठा फुकाउनका लागि स्पष्ट मार्ग निर्देशन गर्नेछ ।”

कार्यदलबाट टुङ्गिएको विषयलाई दुवै सदनबाट सहमतिका साथ पारित गर्नुपर्ने बताउँदै उनले त्यसको आधारमा आयोग गठन गरी पीडितलाई न्याय दिनुपर्ने र उनीहरूको भावनालाई सम्बोधन गर्नुपर्ने सुझाव दिए । मूल कुरा सत्य स्थापित गर्नुपर्ने बताउँदै नेता ज्ञवालीले यी सबै विषयमा दलहरूबीच सहमति हुनु जरुरी रहेको उल्लेख गरे ।

कार्यदलका सदस्य एवं माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले मुलभूतरूपमा सहमति जुट्न नसकेका चार विषयमा सहमतिका साथ टुङ्गो लगाइएको बताए । कार्यदलमा भएको सहमतिसहितको प्रतिवेदन तीनवटै पार्टीका शीर्ष नेतालाई बुझाइने छ । “संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिले यसलाई अपनत्व लिएर अघि बढाउनेछ”, नेता शर्माले भने, “कार्यदलमा सहमति हुनु महत्त्वपूर्ण उपलब्धी हो ।”

तत्कालिन शान्ति तथा पुनःनिर्माणमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका नेता रकम चेम्जोङले विस्तृत शान्ति प्रक्रियाको महत्त्वपूर्ण विषय सङ्क्रमणकालीन न्याय निरुपण सम्बन्धमा ढिलै भएपनि प्रमुख दलहरूबीच भएको समझदारी सकारात्मक रहेको प्रतिक्रिया दिए ।

उनले भने, “विगतको सशस्त्र द्वन्द्वका क्रममा मारमा परेका जनतालाई न्याय प्रदान गरी समाजमा अन्तरघुलन गर्न सङ्क्रमण न्यायको विषय महत्त्वपूर्ण हुन्छ । जघन्य अपराधमा संलग्न व्यक्तिले कुनै न कुनै रुपमा सजाय पाउनैपर्छ, अन्तर्राष्ट्रियकरण भएका मुद्दालाई सम्बोधन गर्न पीडितले न्याय पाएको विषय दुनियाँले देख्न पाउनुपर्छ ।”

कानुन बनाउँदै जाने तर कार्यान्वयन नहुने अन्य विषय जस्तै यो विषय रुमलिनु हुन्न, ऐन बनाउने क्रममै कार्यान्वयनमा जाँदा आउन सक्ने उल्झन र चनौतिलाई बेलैमा विचार पुर्याएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

कार्यदलमा नियतपूर्वक वा स्वेच्छाचारी रूपमा गरिएका हत्यालाई हत्याको परिभाषाभित्र समावेश गर्ने, द्वन्द्वका क्रममा ज्यान गुमाएका वा घाइते भएको सुरक्षाकर्मीका परिवार र बहिर्गमित लडाकुलाई राहत, क्षतिपूर्ति र परिपूरण प्रदान गर्ने समझदारी भएको छ । यस्तै द्वन्द्वकालीन घटनामा पीडितको सहमति नभएको खण्डमा महान्याधिवक्तासमक्ष सिफारिस गर्ने र वर्तमान फौजदारी कानुनअनुरुपको दण्डमा सजाय नभई सङ्क्रमणकालीन न्यायको सिद्धान्तअनुसार गर्ने समझदारी जुटेको छ ।

विस्तृत शान्ति सम्झौता भएको झण्डै १८ वर्ष भइसक्दा पनि सङ्क्रमणकालीन न्यायको विषय निष्कर्षमा पुग्न नसकिरहेका बेला कार्यदलस्तरमा आज भएको समझदारीलाई शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनका लागि ‘ब्रेक थ्रु’ का रूपमा हेरिएको छ ।

भेनेजुएलाकाेमा रहेकाे अर्जेन्टिनि दूतावासको जिम्मा ब्राजिललाई

अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलीले बिहीबार भेनेजुएलामा आफ्नो देशको दूतावासको जिम्मा लिएकामा ब्राजिललाई धन्यवाद दिएका छन् ।

ब्युनस आयर्ससले भेनेजुएलाका राष्ट्रपतिमा निकोलस मदुरो पुनर्निर्वाचित भएकामा प्रश्न उठाएपछि कर्मचारीहरूलाई छाड्न आदेश दिएपछि ब्राजिलले अजेन्टिनाको दूतावासको जिम्मा लिएको हो ।अर्जेन्टिना सात ल्याटिन अमेरिकी मुलुकमध्ये एक हो जसका कूटनीतिक कर्मचारीहरूलाई भेनेजुएला छाड्न भनिएको थियो । ती सात ल्याटिन मुलुकका सरकारहरूले आइतबारको निर्वाचन परिणामको पूर्ण समीक्षा गर्न आग्रह गर्दै संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका थिए ।

भेनेजुएलाका छ जना विपक्षी व्यक्तिहरू हाल अर्जेन्टिनी दूतावासमा सुरक्षामा छन् । भेनेजुएलामा अर्जेन्टिनाको दूतावासको रेखदेख गर्ने ब्राजिलको इच्छाप्रति म अत्यन्तै आभारी छु’, माइलीले सामाजिक सञ्जाल एक्समा लेखेका छन, ‘हामी अर्जेन्टिना गणतन्त्र र त्यहाँका नागरिकहरूको हितको अस्थायी प्रतिनिधित्वका लागि आभारी छौँ, तानाशाह मदुरोले आइतबार गरेको ठगीप्रति हाम्रो निन्दाको बदलामा आज अर्जेन्टिनाका कूटनीतिक कर्मचारीहरूले भेनेजुएला छाड्नुपर्यो ।’

उनले शरणार्थीहरूको भाग्यका बारेमा केही उल्लेख गरेका छैनन् ।

अर्जेन्टिनाका विदेशमन्त्री डायना मोन्डिनोले बुधबार वासिङ्टनमा अमेरिकी राज्य संगठन (ओएएस) को स्थायी परिषद्को आपतकालीन बैठकमा मुलुकहरूलाई ‘कूटनीतिक प्रयास र शरणार्थीहरूको संरक्षणमा सहयोग गर्न’ आह्वान गरे ।

सानो प्रयासले विपद्बाट हुने जनधनको क्षति कम गर्न सकिन्छ : मन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले सरकारको सानो प्रयासले बाढी पहिरोबाट हुने जनधनको क्षति कम गर्न सकिने बताउनुभएको छ ।

जल तथा मौसम विज्ञान नीति–२०८१ को मस्यौदाबारे आज मन्त्रालयमा छलफल गर्दै उहाँले जलवायु परिवर्तनका कारण बाढी पहिरो जाँदा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै त्यसलाई रोक्नका लागि सरकारले काम गर्नुपर्ने बताउनुभयो ।

“हामीले जल तथा मौसमका क्षेत्रमा पूर्व सूचना दिँदा बाढी पहिरो तथा विपद्का घटनाबाट हुनसक्ने क्षतिलाई कम गर्न सक्छौँ”, उहाँले भन्नुभयो । जल तथा मौसम पूर्वानुमानको क्षेत्रमा सानो प्रयासले ठूलो काम हुने भएकाले त्यसतर्फ लाग्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

मन्त्री खड्काले जल तथा मौसमका क्षेत्रमा आवश्यक ऐन, कानुन, नीति, नियम निर्माणलाई उच्च प्राथमिकता राख्नुपर्ने बताउनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव कमलराम जोशीले सन् २०२७ मा सबै जनतामा जल तथा मौसमसम्बन्धी पूर्वसूचना पुर्याउनुपर्ने भएकाले जल तथा मौसम विज्ञान नीति–२०८१ लाई चाँडो पास गरेर कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो । उहाँले जल तथा मौसमको पूर्वानुमानलाई व्यवस्थित र भरपर्दो बनाउनका लागि आधुनिक प्रविधिको प्रयोगलाई जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।

हाल जल तथा मौसम विज्ञान विभागले तीन दिन अगाडि पूर्वसूचना दिने गरेपनि आगामी दिनमा त्यसको समयलाई बढाउनुपर्ने आवश्यक रहेको उहाँको भनाइ थियो ।

जल तथा मौसम विज्ञान विभागले हाल देशभरका आठ सय जल तथा मौसम मापन केन्द्रमार्फत पूर्वसूचना लिने गरेको

विकास निर्माण तीव्र गतिमा भइरहेको छः प्रमुख शाह

काठमाडौँ, १७ साउन: काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले विकास निर्माणका काम तीव्र गतिमा भइरहेको बताउनुभएको छ । आज महानगरअन्तर्गत रहेको वडा नम्बर ८ को नवनिर्मित भवनको उद्घाटन गर्नुहुँदै प्रमुख शाहले विकास निर्माणका कार्य समयावधिमै सम्पन्न हुने बताउनुभयो ।

“जसरी यहाँ भवनको मुहार फेरिएको छ, त्यसरी नै यो वार्डकै मुहार फेरिनेमा विश्वस्त छु । पशुपति क्षेत्र आफैँमा सम्पदाको क्षेत्र भएकाले यहाँको घर, बाटाहरू सम्पदामैत्री हुनुपर्छ । यसले हाम्रो सम्पदाको महत्व दर्शाउनुका साथै पर्यटनमा टेवा पु¥याउँछ । यसका लागि हामीले बजेट पनि विनियोजन गरेका छौँ”, प्रमुख शाहले भन्नुभयो ।

महानगर उपप्रमुख सुनिता डङ्गोलले भवन अभावमा सेवा प्रवाहमा भइरहेको कठिनाइ हटेको बताउनुभयो । उहाँले भन्नुभयो, “आज जसरी हर्षोल्लासका साथ नयाँ भवनको उद्घाटन भएको छ, त्यसरी नै यो भवनबाट निस्किदा सेवाग्राहीको मुहारमा उज्यालो देखियोस् । यति भएपछि मात्र यो भवनले पूर्णता पाउँछ । त्यसैले सेवाग्राहीको समस्यालाई प्राथमिकतामा राखेर काम गर्नुहोला ।”

ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्व बोकेको वडा रहेको भन्दै यसलाई अझैँ आकर्षक बनाउन आग्रह गर्दै उहाँले देखिएको समस्या र रोकिएको विकास निर्माणका कार्य छिट्टै पुनःनिर्माण हुने बताउनुभयो ।

वडा नम्बर ८ का अध्यक्ष आशामान सङ्गतले २२ वर्षपछि वडाले भवन पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “पशुपति विकास कोषमार्फत जग्गा पाएपछि धेरै सहयोगी हातका कारण हामी पुनःआफ्नै भवनमा फर्किएका छौँ । यहाँ आउने सेवाग्राहीले पहिलाभन्दा धेरै सेवा सुविधा पाउनुहुनेछ भन्नेमा विश्वस्त हुन् आग्रह गर्दछु । यस वडामा रहेका सांस्कृतिक र ऐतिहासिकस्थललाई अगाडि बढाउन कुनै कसर बाँकी राख्ने छैन ।”

कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रतिमा गौतम, राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनी, महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, पशुपति क्षेत्र विकास समितिका सदस्य सचिव मिलनकुमार थापा, नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठलगायत उपस्थित हुनुहुन्थ्यो ।

‘घरघरमा खानेपानी, टोलटोलमा पदमार्ग’, पालो कुर्ने बाध्यता हट्यो

अन्नपूर्ण–३ काभ्रेकी देवी बुढाथोकीलाई धारामा खानेपानीका लागि पालो पर्खनुपर्ने झण्झट हटेको छ । वर्षौदेखि गाउँमा अधिकांश घरधुरीले खानेपानीका लागि एउटै धारामा निर्भर भए पनि अहिले घर–घरमा ‘एक घर एक धारा’ सुविधा विस्तार भएपछि बुढाथोकीसहित यहाँका ७० घरधुरीलाई खानेपानीका लागि पालो कुर्ने बाध्यता हटेको हो ।

गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक सहयोगमा रु ६४ लाख बजेटबाट काभ्रे गाउँका सबै घरधुरीमा खानेपानी सुविधा पु¥याइएको छ । तुसारेपानीको मुहान्बाट पानी ट्याङ्की निर्माण, सङ्कलन, वितरण पाइपलाइन र घरघरमा धारा निर्माण गरेर खानेपानी विस्तारको योजनामा स्थानीयले रु २१ लाख बराबरको श्रमदान गरेको निर्माण समितिका सचिव पूर्णबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम सडक काभ्रे गाउँको पुछारबाट गएको छ । केही वर्ष अघिसम्म विकासमा ओझेलमा परेको काभ्रे गाउँमा अहिले भने घरघरमा खानेपानीसँगै टोलटोलमा पदमार्ग निर्माण भएको छ । सडकदेखि पाँच मिनेटको पैदलयात्रामा पुगिने काभ्रे गाउँका सबै टोलमा पदमार्ग बनाइएको छ ।
उकालो भू–भागमा सिँढी र गाउँभित्रको फाँटमा ढलान गरेर पदमार्ग बनाएपछि गाउँमा आवतजावत गर्न सहज भएको छ भने बाटो सफा र चिटिक्क बनेको छ । काभ्रेगाउँदेखि मुरलीबाङ, कामखोलादेखी भुमेथान, डुङडुङदेखि कामखोलासम्म पदमार्ग बनाइएको छ । पदमार्ग बनेपछि गाउँमा हिँड्डुल गर्न सहज भएको स्थानीय ८० वर्षीया लालमायाँ चोचाङ्गीले बताउनुभयो ।

“पहिले हिँड्ने डोरो मात्रै थियो, बाटैभरि झाडी हुन्थ्यो, एताउता गर्दा चिप्लिएर लड्ने डर हुन्थ्यो, अहिले त खुट्टा ठोक्एिला भन्न नी परेर, बाटो बनेपछि हामी वृद्धवृद्धाहरु पनि सजिलै गाउँ घुम्न सक्छौँ”, चोचाङ्गीले भन्नुभयो । काभ्रेगाउँदेखि पर्यटकीयस्थल बाजा बज्ने ढुङ्गा जाने पदमार्ग निर्माण गर्न थालिएको छ ।

रुप्से झरना, अन्धगल्छी, बाजा बञ्ने ढुङ्गालगायत चर्चित पर्यटकीयस्थल रहेको अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रे गाउँमा मात्रै होइन अन्य बस्ती र टोलमा ‘एक घर एक धारा खानेपानी’ र पदमार्ग बनाउने अभियान थालिएको छ । विकास निर्माणमा सडक नै पहिलो प्राथमिकतामा पर्ने गरेको सन्दर्भमा दानामा भने घरघरमा खानेपानीको सुविधा र टोलटोलमा पदमार्ग निर्माणलाई प्राथमिकतामा राखेर योजना अघि बढाइएको वडाध्यक्ष रमेश पुर्जाले जानकारी दिनुभयो ।

“सडक सञ्जालले पहिरो र भूक्षयको जोखिम बढेपछि हामीले नयाँ सडकको ट्याक निर्माणलाई रोकेर परम्परागत गोरेटो बाटोलाई स्तरोन्नति गरी पदमार्ग बनाउने अभियानको सुरुवात गरेका छौँ, टोलटोलमा जाने परम्परागत गोरेटोबाटोलाई पदमार्गको रुपमा विकास गर्ने र घरघरमा खानेपानी पु¥याउने योजना अघि बढाएका छौँ”, वडा अध्यक्ष पुर्जाले भन्नुभयो ।

आर्थिक वर्ष २०८०÷०८१ मा यस वडा कार्यालयले सञ्चालन गरेका पूर्वाधार निर्माण योजनाबाट दानाको चौतारादेखि कोटसम्म, तीतरदेखि थाडाटोलसम्म पदमार्ग बनाइएको छ भने ठाटीटोलदेखि शिवालय मन्दिरसम्म नालीको पदमार्ग बनाइएको छ ।

गत आर्थिक वर्षमा वडा कार्यालयले सञ्चालन गरेको आठ वटा पदमार्ग निर्माण योजनाबाट दुई किलोमिटर दुई सय मिटर पक्की पदमार्ग निर्माण गरिएको वडाका असिस्टेन्ट सव इञ्जिनीयर मुकेश सैसवालले जानकारी दिनुभयो । सो योजनाका लागि पालिकामार्फत रु ५२ लाख बजेट विनियोजन भएको थियो । परम्परागत साँघुरा डोरो भएको बाटोमा सिँढी चिनेर पदमार्ग बन्न थालेपछि एक गाउँदेखि अर्को गाउँ जाने बाटो व्यवस्थित, सफा र चिटिक्क बनेको दानाका वडा सदस्य लालबहादुर पुनले बताउनुभयो ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामार्फत मतिचौरको खानेपानी मुहानबाट गाउँसम्म मुख्य पाइपलाइन र पानी ट्याङ्की निर्माण गरिसकिएको छ भने वितरण पाइपलाइनमार्फत दानाको डाँडागाउँ, रिग्म, घट्टेडाँडा, वडा कार्यालय लगायतका बस्तीमा एक घर एक धारा खानेपानी सुविधा विस्तारको चरनमा रहेको छ ।

तीज गीत किन विवादित ?

गण्डकी- राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले तीज गीतका नाममा सार्वजनिक केही गीत प्रसारण नगर्ने निर्णय गत आइतबार गर्‍यो । तीज पर्वलक्षित ती गीतले तीजको मौलिक परम्परामाथि प्रहार गरेको उसको ठहर छ । तीज पर्वकै छेकोमा सार्वजनिक भएको आफ्नो गीत आलोचित भएपछि गायिका शान्तिश्री परियारले बुधबार विज्ञप्तिमार्फत माफी माग्नुपर्‍यो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी केन्द्रीय सदस्यसमेत रहेकी उनले आगामी दिनमा शब्द र सङ्गीत छनोट गरेर गाउने जनाएकी छन् । विगत केही वर्षदेखि कतिपय तीज गीत विवादमा तानिँदै आएका छन् । यसबीचमा तीज गीतलाई लिएर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले गायक गायिकालाई प्रतिबन्ध लगाउनेसम्मको अवस्था सिर्जना भयो । यस वर्ष पनि दर्जन बढी त्यस प्रकृतिका गीत विवादित बनेका छन् । तीजको नाम पारेर सार्वजनिक हुने त्यस्ता गीतले ऐतिहासिक पर्व गीतमाथि खलल पुर्‍याएकामा लोकसङ्गीतका मर्मत चिन्तित छन् । पछिल्लो समय तीज गीत आफ्नो मूल प्रवृत्तिबाट विमुख हुँदै गएको उनीहरूको बुझाइ छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रीता थापामगरले कलाकारितालाई धमिल्याएर क्षणिक लाभ लिने तत्वहरूले तीज गीतलाई पनि विकृत पारेको बताइन् । ‘नेपाली समाजमा पनि बढी नकारात्मकता बिकिरहेको छ, कलाकारिता क्षेत्रमा पनि यस्तो प्रवृत्ति घुसेको छ,’ उनले भनिन्, ‘सस्तो चर्चा बटुल्ने र छिटो पैसा कमाउने लोभमा केही व्यक्तिहरू लागि परेका छन् ।’ अध्यक्ष थापामगरले कहिल्यै नाम नसुनेका निर्देशकले तीज गीतका नाममा अश्लील र भड्किला गीत तथा दृश्य सामग्रीको निर्देशन गरिरहेको बताइन् ।

‘मौलिक तीज गीतको मर्म पछ्याएर सिर्जना गरिरहनुभएका थुप्रै कलाकारहरू हुनुहुन्छ, अहिले पनि उनहरूका गीत सार्वजनिक भइरहेका छन्,’ उनले भनिन्, ‘तर ती गीतको खासै चर्चा छैन, युट्युबमा भ्यूज पनि कम छ ।’ लोक गीतसङ्गीतमा भित्रिएको विकृति रोक्न आफूहरूले पहल गरे पनि स्वयं सर्जक/कलाकारले स्वनियन्त्रण गर्न सके मात्र मौलिकताको जगेर्ना हुने उनको भनाइ छ । उनले उच्छृङ्खल गीत र तिनका चल दृश्यलाई समाजले पनि नकार्नुपर्ने अध्यक्ष थापा मगरले बताइन् ।

तीज गीत महिलाले मात्र गाइने भनेर चिनिए पनि पछिल्लो समय पुरुषले पनि तीज गीत गाउन थालेका छन् । लोकगायक वसन्त थापाले तीज गीतमा अभद्र खालका शब्द र प्रस्तुति हुनु दुःखद् रहेको बताए । उनले सर्जकले तीज गीतको परम्परा र मौलिकतालाई आत्मसात गर्नुपर्ने बताए । ‘पछिल्लो समय तीज पनि दोहोरी जस्तो हुन थालिसकेको छ, सस्तो चर्चाका लागि मात्र तीज गीत सार्वजनिक गर्नुहुँदैन,’ उनले भने, ‘तीज गीत विषयपरक गीत हो, यो हाम्रो सांस्कृतिक पर्व तीजसँग जोडिएको छ, यसको मर्मलाई मर्न दिनुहुँदैन ।’

वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले पछिल्लो समय तीज गीतको विषयवस्तु र शैली भड्किलो बनेको बताइन् । मौलिक संस्कृतिसँग जोडिएको तीज गीतको जगेर्ना र संरक्षणमा गर्नुपर्नेमा नयाँ पुस्ता उल्टै बिगार्नतर्फ लागेको उनको भनाइ छ । ‘तीज गीतको विधान खल्बलिँदै गएको छ, यसको मूल मर्म भत्किसकेको छ,’ कोइरालाले भनिन्, ‘तीज पर्व मान्नै शैली पनि बदलियो, आधुनिकताको मारमा हाम्रो मौलिक संस्कृति परिरहेको छ ।’

तीज गीत जहिले पनि घटनाप्रद हुने हुँदा तीजको गीतले घटना खोज्ने लोकगायिका कोइरालाको तर्क छ । तर, हिजोआज घटनाभन्दा पनि क्षणिक र सस्तो रमाइलोका विषयवस्तु हाबी भइरहेको प्रति उनको गुनासो छ । ‘तीज गीतको पौराणिक मान्यता पनि घटना र विषयवस्तुसँग जोडिएको छ, युग सुहाउँदो, चेतना जागृत गर्ने खालका, समसामयिक विषयवस्तु तीज गीतमा उठान हुनुपर्दछ,’ उनले भनिन् ।

कोइरालाले आफू र आफ्नो पुस्ताका गायिकाले २०४६ सालको आन्दोलनपछिको परिवर्तन, २०५८ सालको राजदरबार हत्याकाण्ड र अन्य समाजमा घटित घटनालाई विषयवस्तुमा उठाउने गरेको स्मरण गरिन् । लोकगायिका कोइराला पहिलेका तीज गीत सम्झँदै भनिन्, ‘महिलाका कुण्ठित सिर्जना बाहिर आउँथे, तीजका गीतले समकालीन नेपाली समाजको अवस्था चित्रित गर्थे तर अहिले त्यस्तो छैन सस्तो र अभद्र मायाप्रेमको विषयले ठाउँ पाएको छ ।’

उनका अनुसार पहिलेपहिले महिलाले तीजमा आफूले झेल्नुपरेका सामाजिक बन्धन, पारिवारिक अन्याय, अत्याचारप्रति कटु व्यङ्ग्य तथा विद्रोह गर्दै स्वतन्त्रताका गीतसमेत गाउन गर्थे । अन्धविश्वास र विसङ्गतपूर्ण व्यवहार तोडेर समानतामूलक समाज निर्माणका लागि तीज गीत सहयोगी बन्नुपर्ने उनको भनाइ छ । पौराणिककालदेखि नै तीज पर्व र गीतको बयान हुँदै आएको पाइन्छ । तीज गीतमा विशेष गरि नारी मुक्तिको आवाज मुखरित हुने गर्थ्यो ।

बढ्दो व्यावसायिक बजार र प्रतिस्पर्धाले पनि नेपाली सङ्गीतको मौलिकता गुम्दै जान थालेको सङ्गीतकर्मीहरू बताउँछन् । तीज गीतमा प्रयोग हुने माइतीघर र कर्मघरको विम्ब हराइसकेको छ । युवायुवतीबीच हुने प्रेमको हलुका विषयले तीज गीतमा ठाउँ लिएको छ ।

‘भातै र खाम्ला जेठो बुढो धानैको, तरकारी खाम्ला गाबा बरि लै
लिन र आए भेट्न आए मेरा दाजै, बिर्साइदिए आमा बरिलै…।’

अब के यस्ता तीज गीतको युग सकिएकै हो त ?

गुरुदेव कामत : शास्त्रीय गीतसङ्गीतको विश्वविद्यालय

काठमाडौँ, साउन १७ गते । नेपाली शास्त्रीय सङ्गीतमा श्रद्धापूर्वक लिइने नाम गुरुदेव कामत अस्ताउनुभएको छ । दुवै मिर्गौलाले काम गर्न छाडेपछि डायलासिस गरिरहनुभएका गुरुदेवको ६९ वर्षको उमेरमा आज निधन भएको हो ।

काठमाडौँमा उपचारका लागि आर्थिक सङ्कटको सामना गर्नुपरेपछि उहाँ सपरिवार जन्मथलो सिरहाको पोखरभिन्डा फर्किनुभएको थियो । केही दिनदेखि स्वास्थ्यावस्था बिग्रिँदै गएपछि उहाँले खानपिन निकै कर्म गर्नुभएको थियो । नेपाली सङ्गीतका क्षेत्रमा गायक, सङ्गीतकार एवं सङ्गीत गुरुका रूपमा परिचित कामतको निधनमा सङ्गीतकर्मीले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिनुभएको छ ।

नेपाल–भारत क्षेत्रमा प्रख्यात गुरुदेवको निधनले आफूलाई मर्माहत बनाएको सङ्गीतकार राजु सिंहले बताउनुभयो । उहाँसँग विसं २०५५ देखि नै सम्पर्कमा रहनुभएका सङ्गीतकार सिंहले पछिल्लो समय प्रत्यक्ष भेटघाट गर्न नपाए पनि टेलिफोनमार्फत कुराकानी गर्नुभएको थियो ।

“म आफैँ पनि बिरामी भएकाले गुरुदेवसँग प्रत्यक्ष भेट्न पाइन । किनकी उहाँलाई मिर्गौलाको समस्या भएकाले मेरो कारण झन जोखिम हुन्थ्यो । उहाँको निधनले समग्र शास्त्रीय सङ्गीतलाई ठूलो क्षति पुगेको छ”, सङ्गीतकार सिंहले भन्नुभयो, “उहाँ शास्त्रीय सङ्गीत जति पोख्त हुनहुन्छ, त्यति नै सरल र बुझ्नेगरी सिकाउने गुरू । उहाँसँग निजी कक्षा लिने र नियमित कक्षा लिने थुप्रै विद्यार्थी अहिले गीतसङ्गीतको चम्किला तारा बन्नुभएको छ । उहाँको गीत सुनेर साधना पनि गर्दा पनि राम्रो सङ्गीत सिकिन्छ ।”

जीवनलाई सङ्गीतमा समर्पण गरेर नेपालमा शास्त्रीय सङ्गीतलाई यहाँसम्म ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने गुरुदेव उपचारका लागि आर्थिक अभावले गाउँ फर्किनु नै दुःखद् रहेको उहाँले बताउनुभयो ।

“गुरुदेव स्वाभिमानी भएकाले कसैलाई केही भन्नुभएन । यद्यपि यस्ता स्रष्टालाई समस्या पर्दा राज्यले हेर्नुपर्छ । नत्र नयाँपुस्ताले के सोचेर सङ्गीतलाई आफ्नो जीवन बनाउँछन् ? सबैले सहयोग हुनुपर्थ्यो”, उहाँले भन्नुभयो ।

गुरुदेवको उपचारका लागि आर्थिक सहायता जुटाउन पहल गरिरहनुभएका कवि एवं मुक्तककार मुकुन्द पौडेलले आफूहरूले सक्दो कोशिस गरे पनि बचाउन नसकेको बताउनुभयो । “शास्त्रीय सङ्गीतमा उच्च नाम बनाउनुभएको एउटा सर्जकको यस्तो अन्त्य हुनुहुन्थेन । हामीले प्रयास गर्दागर्दै पनि बचाउन सकेनौँ । उहाँले जीवन सङ्गीतलाई दिनुभयो, धेरै शिष्य पाउनुभयो तर मिर्गौला प्रत्यारोपणका लागि आवश्यक जोहो गर्न सकिएन”, उहाँले भन्नुभयो ।

गुरुदेवसँग नजिक रहनुभएका कलाकार राधेश्याम विश्वकर्माले उहाँको महत्त्व बुझ्न नसकेको गुनासो गर्नुभयो । “शुभेच्छुक केही व्यक्ति जम्मा भएर उहाँलाई गर्न सकिने सहयोगका विषयमा हालै छलफल गरेका थियौँ । सामाजिक सञ्जालमार्फत पनि आह्वान गरेका थियौँ । धेरैलाई चासो भएन, अहिले उहाँको स्वर्गारोहण भएपछि चासो बढेको छ । जीवित छँदै यस्तो चासो देखिएको भए राम्रो हुन्थ्यो”, उहाँले भन्नुभयो ।

शास्त्रीय गीतसङ्गीतसँगै आधुनिक गायनमा व्यस्त गायक युवराज चौलागाईंले गुरुदेवलाई विसं २०६० ताका भेटेको स्मरण गर्नुभयो । उहाँ गुरुदेव कहाँ शास्त्रीय गीतसङ्गीतकै क्रममा पुग्नुभएको रहेछ ।

“शास्त्रीय सङ्गीतमा केही गर्छु भन्नेले उक्त समयमा पुग्ने एउटा ठाउँ नै गुरुदेव हुनुहुन्थ्यो । उहाँले सिकाउने सरल र सभ्य शैलीले विद्यार्थीलाई आकर्षित गथ्र्यो । उहाँलाई सुन्न पाउँदा नै हामी धन्य हुन्थियौँ”, गायक चौलागाईंले भन्नुभयो । उहाँले गुरुदेवलाई शास्त्रीय गीतसङ्गीतको विश्वविद्यालय नै मान्नुहुन्छ । “शास्त्रीय गीतसङ्गीतको चर्चा गर्ने हो भने गुरुदेवविना सम्भव हुन्न, अपुरो हुन्छ”, उहाँले भन्नुभयो । स्वर्गीय गुरुदेवको तीन छोरा, एक छोरी र श्रीमती हुनहुन्छ।

नतिजा देखिने गरी काम भइरहेको छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ, साउन १७ गते । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले बागमती नदी प्रणाली, स्मार्ट सिटी, फोहरमैला व्यवस्थापनलगायतका क्षेत्रमा छिट्टै नतिजा देखिने गरी मन्त्रालयले काम गरिरहेको बताउनुभएको छ ।

मन्त्रालयमा आज काठमाडौँ उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनसहितको समूहसँग भएको भेटमा उहाँले उपत्यकामा देखिएको समस्यालाई समाधान गर्न मन्त्रालयले स्थानीय सरकारसँग सहकार्य गरेर काम अघि बढाउने र छिट्टै नतिजा देखिने बताउनुभयो । “स्मार्ट सिटीका लागि जग्गा रोक्का हुँदा जग्गाधनीले उपयोग गर्न पाएका छैनन् भन्ने जुन गुनासो सुनिएको छ । चाँडै नतिजा देखिने गरी मन्त्रालयले काम अघि बढाएको छ । समस्या सम्बोधन हुन्छ भन्नेमा विश्वस्त हुन् आग्रह गर्छु”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।

मेयर्स फोरमका अध्यक्ष महर्जनले उपप्रधानमन्त्री सिंहलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिँदै वर्षाैदेखि स्मार्ट सिटिका लागि जग्गा रोक्का राखिँदा नागरिकलाई समस्या परेको भन्दै रोक्का फुकुवा गर्नुपर्ने, सडक बत्तीको बिल विद्युत प्राधिकरणले नागरपालिकाका नाममा पठाएको जानकारी गराउँदै पहल गरिदिन आग्रह गर्नुभयो । यस विषयमा उपप्रधानमन्त्री सिंहले सडक बत्तीको महसुलको विषयमा ऊर्जा मन्त्रालयसँग छलफल गरेर समाधानतर्फ लैजाने बताउनुभयो ।

उहाँले स्वच्छ उपत्यका र सफा बागमती बनाउनु आफ्नो प्राथमिकता रहेको भन्दै खोलामा सिधैँ ढल बन्द गर्ने कार्यमा मिलेर सहकार्य गर्न आग्रह गर्नुभयो । उपत्यकाको नदी नाला स्वच्छ गर्न तीनै तहका सरकार मिलेर काम गर्नुपर्छ, यसको कार्ययोजना बनाएर अगाडि बढौँ । स्थानीय सरकारले यसका लागि काम गर्दा कतै अवरोध छ भने सहरी विकास मन्त्रालय सहजीकरणका लागि सधैँ तयार छ”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो । उपत्यका मेयर्स फोरममा तीन गाउँपालिकासहित १८ स्थानीय तह छन् ।

पर्वतका अस्पतालमा डेङ्गुका बिरामीको चाप बढ्यो

पर्वत, १७ साउन । पछिल्लो एक सातायता पर्वत अस्पतालमा डेङ्गुका बिरामीको चाप बढेको छ । अस्पतालमा डेङ्गु र भाइरल ज्वरोका सरदर तीन सयभन्दा बढी बिरामी आउने गरेका छन् । अधिकांश बिरामीमा ज्वरो, रुघाखोकी, टाउको दुख्ने, बान्ता हुने लक्षण देखिएको छ भने सोही मात्रामा डेङ्गुका लक्षण देखिएका बिरामीको सङ्ख्यासमेत अत्यधिक रहेको छ ।

पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बाँस्तोलाका कारण पछिल्लो समय जटिल खालका डेङ्गुका बिरामी भेटिएका छन् । यसवर्ष पर्वत अस्पतालमा डेङ्गु पत्ता लागेका १० बिरामीमध्ये दुईजना गम्भीर छन् । डा बाँस्तोलाले भने “उनीहरुलाई भर्ना गरेरै उपचार गरिरहेका छौँ ”।

वर्षासँगै बढेको अत्याधिक गर्मीका कारण पनि डेङ्गुका बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । त्यस्तै प्रतिकूल मौसमका कारण भाइरल ज्वरोका बिरामीको सङ्ख्या पनि बढ्दै गएको छ । जटिल खालका बिरामीलाई विशेष परीक्षण गर्ने गरिएको डा बाँस्तोलाले बताए।

“सामान्य अवस्थाको तुलनामा करिब दोब्बरले बिरामीको सङ्ख्या बढिरहेको छ । हामीले एकै दिनमा तीन सय भन्दाबढीको स्वास्थ्य परीक्षण गरेका छौंँ”, डा बाँस्तोलाले भने । गर्मीयाम, दूषित पानीको प्रयोग, लामखुट्टेबाट नजोगिँदा बिरामीको सङ्ख्या बढी मात्रामा देखिएको हो । उनले डेङ्गुबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट जोगिनुनै सर्वोत्तम उपाय हुने बताए । यसका लागि नियमित झुलको प्रयोग गर्ने, घरवरपर सफा पानी जम्मा हुने ठाउँ सफा गर्नुपर्ने, झोलिलो र पोषिलोयुक्त खानपान गर्नाले दुवै रोगबाट बच्न सकिने डा बाँस्तोलाको सुझाव रहेको छ ।

अस्पतालमा रहेका ५६ शय्यामा भाइरलका बिरामी भरिभराउ छन् । अधिकांस उपचार गरेर फर्किने गरेका छन् । यस्तै स्वास्थ्य बीमा गरेपछि पनि स्वास्थ्य परीक्षण गराउनेको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढ्दै गएको र उनीहरूले स्वास्थ्यमा सामान्य समस्या आउँदा साथ नै स्वास्थ्य परीक्षणको लागि अस्पतालमा पुग्ने गरेका छन् ।

पन्ध्र शय्याको अस्पताललाई स्तरवृद्धि गरी ५० शय्याको क्षमतामा सञ्चालन गरिएको भए पनि जनशक्ति अभावमा भने समस्या रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीको गुनासो छ । उनका अनुसार १५ शय्याको अस्पताल भए पनि ४१ शय्या अस्पताल व्यवस्थापन समितिले व्यवस्थापन गरेर अहिले ५६ शय्यामा बिरामी भर्ना गरिएको छ । पर्वत अस्पतालसँगै पर्वतका निजी अस्पताल, मेडिकल र ग्रामीण क्षेत्रमा रहेको स्वास्थ्यचौकीमा पनि डेङ्गुका बिरामी बढेको स्वास्थ्यकर्मीले बताएका छन् ।

‘प्रदेश सरंचनालाई बलियो एवं सुदृढ बनाउने कार्य जारी’ : मुख्यमन्त्री कार्की

मोरङ, १७ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश संरचनालाई बलियो एवं सुदृढ बनाउने कार्य जारी रहेको बताएका छन् ।
उद्योग, कृषि तथा सहकारी मन्त्रालयद्वारा आज यहाँ आयोजित आर्थिक वर्ष २०८०/८१ को दुईदिने वार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्दै उनले जनतालाई सेवा प्रवाहमार्फत प्रदेश संरचना आवश्यक भएको अनुभूति गराउन कर्मचारीहरुलाई निर्देशन दिए ।

मुख्यमन्त्री कार्कीले सङ्घ, प्रदेश र स्थानीय तह राष्ट्रका लागि भएकाले प्रदेशलाई स्थापित गराउन जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड दिए ।मुख्यमन्त्री कार्कीले सरकारले कृषिमा आधारित उद्योगसँग सहकार्य गरी उत्पादन वृद्धि गर्न किसानलाई उत्पादनको समर्थन मूल्य तोक्नुपर्ने आवश्यकता औँल्याए । उनले सरकारले कृषि उद्योगको स्थायित्व, उत्पादन वृद्धि र रोजगार प्रवद्र्धनका लागि ब्याजमा अनुदानको व्यवस्था गरिएको जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले प्रदेशमा बेरुजु घटाई सुशासन प्रत्याभूति गर्नुपर्ने बताउँदै बेरुजु फर्छ्यौट गर्नुपर्नेमा जोड दिए । प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले प्रभावकारी काम गरी जनताको मन जित्न कर्मचारीहरुलाई निर्देशन दिए ।

मन्त्रालयका सचिव डा लेखराज दाहालले सहकारीका माध्यमबाट कृषिमा आधारित उद्योग स्थापना गरी जनताको जीवनस्तर उकास्नुपर्ने धारणा राखे । दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा मन्त्रालयअन्तर्गतका १४ जिल्लाका ४८ कार्यालयले प्रगति विवरण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

पाकिस्तानी पुर्वप्रधानमन्त्री खानकी पत्नी बुशराद्वारा उच्च अदालतमा पुनरावेदन

इस्लामाबाद १७ साउन । पाकिस्तान तेहरीक–ए–इन्साफ (पिटिआई) का संस्थापक इमरान खानकी पत्नी बुशरा बीबीले पाकिस्तानस्थित तोसाखानाको तेस्रो मुद्दामा गिरफ्तारीबिरूद्ध उच्च अदालतमा पुनरावेदन गरेकी छिन् ।

उनले अधिवक्ता सरदार लतिफ खोसामार्फत पुनरावेदन दायर गरेको पाकिस्तानी पत्रिका डनले जानकारी गराएको छ । इमरान खान र बुशरा बीबीलाई तोसखाना मुद्दामा जमानत दिएता पनि पुनस् पक्राउ गरिएको थियो ।

रावलपिन्डीको अदियाला जेलमा गिरफ्तारीको क्रममा आफुहरूमाथि अपमान गरेको पुनरावेदनमा उल्लेख छ । साथै यसमा बुशरा बीबीलाई तेस्रो मामिलामा एनएबी अध्यक्षको पक्राउपूर्जी बिना नै पक्राउ गरी राजनीतिक उत्पीडनसहित जेलमा राखिएको दाबी गरिएको छ ।

निवेदनकर्ताले आक्रमणमा संलग्न जेलर तथा महिला अधिकारीविरुद्ध कारबाही गर्न अदालतलाई अनुरोध गर्दै गिरफ्तारीलाई अवैध घोषणा गर्नसमेत आग्रह गरेका छन् ।

यसैबीच, इमरान खानले पनि लाहोर उच्च अदालतमा पुनरावेदन दायर गरी आफूविरुद्धका मुद्दाहरूको विवरण मागेको डनले जनाएको छ । सन् २०१८ देखि सन् २०२२ सम्म पाकिस्तानी प्रधानमन्त्रीको रहेका खान अगस्ट २०२३ देखि तोसाखाना, साइबर आक्रमण र गैरकानुनी विवाहलगायतका अभियोगमा जेल जीवन विताइरहेका छन् । उनकी श्रीमती पनि महिनौँदेखि जेलमा छिन् ।

नाइजेरियाको चिया पसलमा बिस्फोट हुँदा १९ जनाको मृत्यु, दर्जनौँ घाइते

कानो,नाइजेरिया, १७ साउन । उत्तरपूर्वी नाइजेरियास्थित एक गाउँको चिया पसलमा भएको बम विस्फोटमा परी १९ जनाको मृत्यु हुनुका साथै दुई दर्जनभन्दा बढी घाइते भएको नाइजेरियाली सुरक्षा स्रोतले बिहीबार जनाएको छ ।

स्रोतका अनुसार बुधबार साँझ बोर्नो राज्यको काउरी गाउँमा भएको विस्फोट पछिल्लो समयको सबैभन्दा घातक घटना हो ।

हालसम्म विस्फोटको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन यद्यपी बोको हराम जिहादी समूह र उनीहरूको प्रतिद्वन्द्वी पश्चिम अफ्रिका क्षेत्रीय इस्लामिक स्टेट दुवै बोर्नोमा सक्रिय छन् ।

नाइजेरियाको सेनाले हालसम्म घटनाबारे कुनै प्रतिक्रिया दिएको छैन ।बोर्नोको ग्वोजा क्षेत्रमा विवाह, अस्पताल र अन्त्येष्टिमा लक्षित गरी थुप्रै आत्मघाती आक्रमण गरी ३२ जनाको हत्या गरेको केही हप्तापछि काउरी आक्रमण भएको हो ।

सङ्क्रमणकालीन न्याय : कार्यदलमा सहमति जुटेका यी विषय

काठमाडौँ, साउन १७ गते । नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी)बिच भएको विस्तृत शान्ति सम्झौताअनुरूप सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउने विषयमा प्रमुख तीन राजनीतिक दलबिच समझदारी भएको छ ।

नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का नेता सम्मिलित कार्यदलमा लामो समयदेखि पेचिलो बनेको द्वन्द्वकालीन घटनाको व्याख्या, राहत, क्षतिपूर्ति, परिपूरण र न्याय प्रदानलगायत विषयमा सहमति भएको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा निकै महत्वका साथ हेरिएको सङ्क्रमणकालीन न्यायको विषयलाई टुङ्गोमा पुर्‍याउन चारबुँदे सहमति भएको कार्यदलका सदस्य एवम् माओवादी केन्द्रका नेता जनार्दन शर्माले जानकारी दिनुभयो ।

“मुलभूतरुपमा सहमति जुट्न नसकेका चार विषयमा घनिभूत रूपमा छलफल गरी सहमतिका साथ टुङ्गो लगाइएका छौँ”, उहाँले भन्नुभयो । कार्यदलमा नियतपूर्वक वा स्वेच्छाचारीरुपमा गरिएका हत्यालाई हत्याको परिभाषाभित्र समावेश गर्ने, द्वन्द्वका क्रममा ज्यान गुमाएका वा घाइते भएको सुरक्षाकर्मीका परिवार र बहिर्गमित लडाकुलाई राहत, क्षतिपूर्ति र परिपूरण प्रदान गर्ने समझदारी भएको छ ।

यस्तै द्वन्द्वकालीन घटनामा पीडितको सहमति नभएको खण्डमा महान्याधिवक्तासमक्ष सिफारिस गर्ने र वर्तमान फौजदारी कानुनअनुरूपको दण्डमासजाय नभई सङ्क्रमणकालीन न्यायको सिद्धान्तअनुसार गर्ने समझदारी जुटेको छ । संयन्त्रमा भएको सहमतिसहितको प्रतिवेदन तीनवटै पार्टीका शीर्ष नेतालाई बुझाइने छ । “संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिले यसलाई अपनत्व लिएर अघि बढाउनेछ”, कार्यदल सदस्य शर्माले भन्नुभयो, “कार्यदलमा सहमति हुनु ठुलो कुरा हो ।”

गृहमन्त्री एवम् कार्यदलका सदस्य रमेश लेखकले सङ्क्रमणकालीन न्यायका सन्दर्भमा दलहरूबिच सहमति जुटेसँगै सबै कुरा मिलेको प्रतिक्रिया दिनुभयो । “आज उपलब्धि भएको छ । हाम्रा बिचमा मिल्न बाँकी सबै कुरा मिलेका छन्”, उहाँले भन्नुभयो । एमालेका मुख्य सचेतक एवम् कार्यदल सदस्य महेश बर्तौलाले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन कानुनी उल्झनलाई समाप्त गरेर जाने ठाउँमा पुगिएको प्रतिक्रिया दिनुभयो । “यो अत्यन्त सकारात्मक विषय हो । कसैले हार्ने जित्ने भन्दापनि सिङ्गो देशले जित्ने र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने ध्येयका साथ काम गरेका छौँ”, उहाँले भन्नुभयो ।

मुख्य सचेतक बर्तौलाले सङ्क्रमणकालीन न्यायको सिद्धान्त तथा राष्ट्रिय अन्तर्राष्ट्रिय मान्यतालाई ख्याल गरेर पीडितलाई केन्द्र राखी समझदारी जुटाएको बताउनुभयो । “सर्वोच्च अदालतबाट भएका फैसलाको परिधिभित्र रहेर तथा अन्तर्राष्ट्रिय कानुन अनुकूल हुने गरी सहमति भएका छन्”, उहाँले भन्नुभयो । कार्यदलका अर्का सदस्य शर्माले पीडितलाई सम्बोधन गर्न पाउने वातावरण बनेको र पीडितको मागसहित यस विषयलाई टुङ्ग्याइएको बताउनुभयो ।

“पीडितलाई सम्बोधन गर्नुपर्ने, न्याय दिनुपर्ने काम थाँती थियो, त्यो काम सम्पन्न गर्न कानुन निर्माण गर्न सहमति गरेका छौँ”, उहाँले भन्नुभयो, “अब प्रक्रियामार्फत सदन हुँदै अघि बढ्ने छ ।” सदस्य शर्माले पीडितहरूले छिटोभन्दा छिटो न्याय पाउने विश्वास व्यक्त गर्नुभयो । सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन राजनीतिक दलहरूले आफूहरूबिचमा छलफल गरेर असहमतिका बिच पनि सहमति गर्न सक्छन् भनी विश्व समुदायमा सन्देश दिन सफल भएको उहाँको भनाइ छ ।

एमाले मुख्य सचेतक बर्तौलले पीडित र पीडकबिच अन्तरघुलन गराएर नयाँ द्वन्द्व नहुने सुनिश्चितता गराइने विश्वास दिलाउनुभयो । “पीडितले न्याय पाउने र पीडकलाई कानुनी दायरामा ल्याएर सजायको तहमा पुर्‍याइनेछ”, उहाँले भन्नुभयो । विस्तृत शान्ति सम्झौता भएको १७ वर्ष भइसक्दा पनि सङ्क्रमणकालीन न्यायको विषय निष्कर्षमा पुग्न नसकिरहेका बेला कार्यदलस्तरमा आज भएको समझदारीलाई सशस्त्र द्वन्द्वका घाउमा मलम लगाउने प्रयासमा ‘ब्रेक थ्रु’का रूपमा हेरिएको छ ।

वि.सं.२०६३ मङ्सिर ५ गते भएको शान्ति सम्झौतामा राष्ट्रिय शान्ति तथा पुनः स्थापन आयोग, सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत सङ्क्रमणकालीन न्यायका विषयलाई सम्बोधन प्रतिबद्धता व्यक्त गरिएको थियो । सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयमा सहजीकरण गर्न बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गरी काम गरिरहेको छ । पीडित केन्द्रित कानुन निर्माण गरेर सङ्क्रमणकालीन न्यायका विषयलाई टुङ्ग्याउन न्यायालयले पनि आदेश दिएको थियो ।

‘संविधानमा भएका दलितसम्बन्धी अधिकार कार्यान्वयन गर्नुपर्ने’ : अध्यक्ष दाहाल

काठमाडौँ, १७ साउन । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानमा व्यवस्था गरिएका दलितसम्बन्धी अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि एकीकृत रुपमा सङ्घर्ष गर्नुपर्ने बताएका छन् ।राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रियसभाबाट पारित दलित अधिकारसम्बन्धी सङ्कल्प प्रस्ताव सम्बन्धमा आयोजित छलफलमा आज अध्यक्ष दाहालले संविधानको धारा २४ र ४० मा उल्लेख भएका दलितसम्बन्धि अधिकारलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

संविधानको धारा ४०, छुवाछूत तथा भेद्भाव विरुद्धको हकको (१) मा ‘कुनैपनि व्यक्तिलाई निजको उत्पत्ति, जात,जाती, ससुदाय, पेसा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत वा भेद्भाव गरिने छैन’ भनिएको छ ।

राष्ट्रियसभा सदस्य भुवन सुनारले संविधानको प्रस्तावनामै समानुपातिक समावेशीता व्यवस्था गरिएको सन्दर्भमा राज्यका रहेक संरचनामा दलित समुदायको समान सहभागिता सुनिश्चित गर्न माग गरे ।

संविधानमा मन्त्रिपरिषद्मा समावेशी सिद्धान्त बमोजिम मन्त्री रहने उल्लेख रहेको र धारा ४२ (१)मा सामाजिक रूपले पछाडि परेकालाई समावेशी सिद्धान्तका आधारमा राज्यको निकायमा सहभागिताको हक हुने व्यवस्था रहेपनि प्रभावकारी कार्यान्वयन हुन नसकेको राष्ट्रियसभा सदस्य सुनारको भनाइ छ । अर्का राष्ट्रियसभा सदस्य तुलप्रसाद विश्वकर्माले दलित समुदायले भोग्दै आएको जातीय भेद्भाव तथा छुवाछूत अन्त्यका लागि भएका ऐन÷कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।

लुम्बिनीमा हिमशृङ्खलाका मनोरम दृश्यले पर्यटकलाई लोभ्यायो

लुम्बिनी, १७ साउन । बुद्धजन्मस्थल लुम्बिनीबाट नेपालका हिमशृङ्खला देखिनु धेरैलाई अचम्म लाग्न सक्छ । अर्थात् लुम्बिनीबाट पनि हिमाल देखिन्छभन्दा धेरैले नपत्याउन सक्छन् तर असार–साउनमा मौसम सफा भएको अवस्थामा भने लुम्बिनीबाट हिमालको मनोरम दृश्य देख्न सकिन्छ ।

अहिले मौसम सफा भइदिँदा केही दिनदेखि हिमशृङ्खलाका मनोरम दृश्य अवलोकन गरी लुम्बिनी भ्रमणमा आएका पर्यटक रमाइरहेका देखिन्छन् । श्रीलङ्काबाट बौद्ध तीर्थयात्री लिएर बुद्धजन्मस्थल लुम्बिनी आएका धम्म श्री भन्तेले हाम्रा लागि दुर्लभ मानिने हिमाली दृश्य प्रत्यक्षरूपमा देख्न पाएकामा खुसीको सीमा नरहेको धारणा व्यक्त गरे । उनले भगवान् बुद्धको जन्म हिमालयको काखमा भएको भन्ने भनाइ लुम्बिनी भ्रमणबाट पुष्टि भएको उल्लेख गर्दै कम्तीमा एकपटक लुम्बिनी भ्रमण गर्न समस्त बुद्धमार्गी एवं प्रकृतिप्रेमीसँग अनुरोध गरे ।

बर्सात्पछि छर्लङ्ग खुलेको मौसममा लुम्बिनीबाट उत्तरतर्फ सेताम्मे हिमशृङ्खला देख्दा जो कोही पनि लोभिने अवस्था छ । प्राय असार–साउन महिनामा पानी परेपछि मौसम सफा भएको समयमा लुम्बिनीबाट अन्नपूर्ण, धौलागिरिलगायत हिमालहरु देखिने गरेको मायादेवी मन्दिरमा वर्षौंदेखि पूजाआजा गर्दै आएका स्थानीय योगेन्द्रनाथ पाण्डे बताउँछन् ।

बुद्धजन्मस्थल लुम्बिनीमा हिमाल देखिन्छ भन्ने सन्देशलाई पर्यटन प्रवद्र्धनमा जोड्न सकिएको छैन भन्दै पर्यटनविद् एवं लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा हरिध्वज राईले भने, “समग्र पक्षलाई समेटेर लुम्बिनीको प्रचारप्रसार हुन सकेको छैन । भगवान् बुद्धले समेत आफ्नो घर हिमालको फेदी बाणगङ्गा नदी किनारमा रहेको बताउनुभएको सन्दर्भमा बुद्धसँग हिमाललाई समेत जोडेर पर्यटन प्रवद्र्धन अभियानलाई सफल र सार्थक बनाउन सम्बद्ध सबैसँग अनुरोध गर्दछु ।”

तराईको समथर पुण्यभूमिमा अवस्थित मायादेवी र अशोक स्तम्भको छेउबाट हिमशृङ्खला देख्न पाउनु आफैँमा महत्वपूर्ण पक्ष हो । लुम्बिनीसहित तराईका अधिकांश जिल्लाबाट असार–साउनमा मौसम सफा भएको बेलामा मनमोहक हिमालसहित रमणीय दृश्य अवलोकन गर्न सकिने स्थानीयवासी बताउँछन् ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन संयन्त्रको बैठक जारी

काठमाडौँ । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन गठित संयन्त्रको बैठक गृह मन्त्रालयमा जारी छ ।

बैठकमा संयन्त्रका सदस्यहरू गृहमन्त्री रमेश लेखक, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतक महेश बर्तौला र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा छन् ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदी पनि  सहभागी छन्  । दलहरुले यसअघि आजको बैठकमा सहमति जुटाउने बताएका थिए ।

बेनी बजार र आसपासका क्षेत्रमा बाढी नियन्त्रण गर्न पक्की पर्खाल निर्माण

म्याग्दी। बेनी बजार र आसपासका क्षेत्रमा बाढी नियन्त्रण गर्न एक किलोमिटर ४४ मिटर लामो पक्की पर्खाल निर्माण भएको छ ।

रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले रु ५० करोडको लागतमा म्याग्दी, कालीगण्डकी र राहुघाट नदीको किनारमा कम्पोजिट, काउन्टर फोर्ट र ग्राभिटी प्रविधिको पर्खाल निर्माण गरेको हो ।

सङ्घीय सरकारले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा राखेको बेनी नगरपालिका र पर्वतको जलजला गाउँपालिकाका विभिन्न स्थानमा नदी नियन्त्रण गर्न काम थालेको थियो ।

“बेनी बजार संरक्षण आयोजनाअन्तर्गत आठवटा कम्पनीसँग सम्झौता गरेर निर्धारित समयमा नै काम सम्पन्न भएको परियोजनाका सूचना अधिकारी कृष्णबहादुर विश्वकर्माले बताउनुभयो । बेनी बजार, गलेश्वर क्षेत्र, राममन्दिर र पर्वत बेनी आसपासका बस्तीलाई संरक्षण गर्न नदी नियन्त्रण आयोजना निर्माण भएको हो ।

आयोजनाअन्तर्गत रु नौ करोड ४५ लाखमा ठेक्का सम्झौता गरेको रौताह–बिएनबी कन्ट्रक्सन जेभीले बेनी नगरपालिका–८ स्थित कालीगण्डकी किनारमा एक सय ६४ मिटर लामो र आठ मिटर अग्लो काउन्टर फोर्ट र ग्राभिटी प्रविधिको पक्की पर्खाल निर्माण गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ सम्झौता भएको सो ठेक्कामार्फत यसअघि कालीपुलको कालीगण्डकी किनारमा ८० मिटर पक्की र मङ्गलाघाटको म्याग्दी नदी किनारमा ४६ मिटर कम्पोजिट पर्खाल निर्माण भएको थियो । बेनी नगरपालिका–७ मङ्गलाघाटको म्याग्दी नदीको किनारमा दुईवटा प्याकेजमा दुई सय ६२ मिटर लामो कम्पोजिट प्रविधिको पर्खाल निर्माण भएका हुन् । बेनी नगरपालिका–९ स्थित राहुघाट नदी किनारमा ११० मिटर लामो कम्पोजिट प्रविधिको पर्खाल रु दुई करोड ६८ लाखमा बनेको हो ।

पर्वतको जलजला गाउँपालिका–२ राममन्दिर संरक्षणका लागि कालीगण्डकी नदी किनारमा १३८ मिटर लामो सोही प्रविधिको पर्खाल निर्माण भएको छ । यो योजना निर्माणका लागि रु चार करोड ३२ लाखमा ठेक्का सम्झौता भएको थियो । जलजला गाउँपालिकाको बगरफाँटमा कालीगण्डकी किनारमा ८५ मिटर लामो कम्पोजिट पर्खाल निर्माण भएको छ ।

यसैगरी, जलजला गाउँपालिका–३ वारीबेनीमा रु तीन करोड ५० लाखमा ८४ मिटर लामो पर्खाल भएको छ । बेनी नगरपालिका–२ स्थित बेनी–बागलुङ सडकको भसभसे पहिरो र म्याग्दी नदी कटान नियन्त्रणका लागि रु दुई करोड ३० लाखमा ७५ मिटर लामो पर्खाल निर्माण भएको छ ।

आजदेखि राप्रपाका जिल्ला अध्यक्षहरुको भेला काठमाडौंमा हुँदै,अध्यक्ष लिङदेनले उद्घाटन गर्ने

काठमाडौँ । राप्रपाका जिल्ला अध्यक्षहरुको भेला आजदेखि काठमाडौँमा हुँदैछ । दुई दिनसम्म चल्ने भेलाको उद्घाटन अध्यक्ष राजेन्द्र लिङदेनले गर्नेछन् ।

धुम्बाराहीस्थित एसआर बैंक्वेटमा हुने जिल्ला अध्यक्षहरुको भेलामा ७७ वटै जिल्लाका अध्यक्षहरुले आफ्नो जिल्लाको साङ्गठनिक प्रतिवेदन पेश गर्नेछन् ।

भेलामा पार्टीको समग्र साङ्गठनिक अवस्थाको समिक्षा गर्नुका साथै आगामी रणनीति तय गरिने कार्यसूची रहेको जनाइएको छ ।

आज नवनियुक्त प्रदेश प्रमुखहरूले शपथ लिँदै

काठमाडौं – आज तीन प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरूले शपथ लिँदैछन्। आज साँझ ५ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा प्रदेश प्रमुखहरूको शपथ ग्रहण कार्यक्रम राखिएको छ । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले बागमतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गरेका थिए ।

सत्ता समीकरण फेरबदल भएपछि सरकारले बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेको थियो ।

इलाममा ३४ करोड ८७ लाखमा बने ५९ कुलो निर्माण

फिक्कल (इलाम)। माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान आसमान योङहाङलाई यस वर्ष धानखेती गर्न कुनै समस्या भएन । वर्षौँदेखि अकासे खेतीमा निर्भर उहाँ यस वर्षदेखि सिँचाइ सुविधा पाएर दङ्ग हुनुहुन्छ ।

गजुरमुखीमा साना सिँचाइ कार्यक्रमअन्तर्गत व्यवस्थित सिँचाइ कुलो निर्माणपछि योङहाङसहित सयौँ किसान यतिबेला खुसी भएका हुन् । उहाँको टोलमा रु ३९ लाख २१ हजारको लागतमा फुङखोलाबाट घुमाउरो पाक्रुम्बा कुलो निर्माण भएको हो ।

माईजोगमाई गाउँपालिका–२ लप्सीबोटेका किसान कुमार राई पनि खुसी हुनुहुन्छ । राईगाउँ–लाप्चागाउँ–निगालेगाउँमा रु ५० लाख ५५ हजार आठ सय ८३ लागतमा ५८ घरपरिवारका किसान प्रत्यक्ष लाभान्वित हुनेगरी बजुरखोलामा कुलो निर्माण भएको छ ।

योङहाङ र राई प्रतिनिधि उदाहरण मात्र हुनुहुन्छ । इलामका विभिन्न पालिकामा सञ्चालितका साना सिँचाइ कार्यक्रमबाट हजारौँ किसान लाभान्वित भएका छन् । इलाममा आर्थिक वर्ष २०८०÷८१ मा रु ३४ करोड ८७ लाख १६ हजार नौ सय ३४ लागतमा ५९ वटा पक्की कुलो निर्माण भएका छन् । सूर्योदय नगरपालिकामा रु चार करोड १९ लाख २६ हजार छ सय ३४ को लागतमा १०, इलाम नगरपालिकामा रु छ करोड ८६ लाख ५१ हजार ६४ को लागतमा नौ, माङसेबुङ गाउँपालिकामा रु तीन करोड ४२ लाख ९४ हजार छ सय ६४ को लागतमा आठ, माई नगरपालिकामा रु चार करोड पाँच लाख ९८ हजार चार सय ७५ को लागतमा सातवटा सिँचाइ योजना सम्पन्न भएको साना सिँचाइ कार्यक्रम प्रमुख केशव लामाले जानकारी दिनुभयो ।

योजनाबाट इलामका एक हजार २९ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको छ । सिँचाइ सुविधा विस्तारसँगै जिल्लाका दुई हजार एक सय ४२ परिवार लाभान्वित भएका छन् । योजना सञ्चालनका लागि स्वीस सरकारको ३० प्रतिशत, सङ्घीय सरकार, प्रदेश सरकार र सम्बन्धित पालिकाले २०/२० प्रतिशत र स्थानीय उपभोक्ताहरुको १० प्रतिशत लागत साझेदारी गरेको थियो ।