`

सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्री सोडारीले विश्वासको मत लिदै, बजेट पारित हुन नसकेर अलपत्र

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही साउन १८ गते शुक्रबार प्रेदशसभाबाट विश्वासको मत लिने भएका छन् ।

विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्रीले प्रदेशसभा सचिवालयलाई हिजो पठाएको पत्रबमोजिम सभामुख भीमबहादुर भण्डारीले भोलि अपराह्न ४ बजे प्रदेशसभाको बैठक बस्ने समय तोकेको सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए ।

सत्तासमीकरण फेरिएसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) सरकारबाट बाहिरिएपछि नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता एवं मुख्यमन्त्री सोडारी गएको असार २० गतेदेखि अल्पमतमा छन् । तीस दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीले साउन १८ गते शुक्रबार विश्वासको मत लिन लागेका हुन् ।

गएको असार १ गते प्रदेशसभामा प्रस्तुत सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेट पारित हुन नसकेर अलपत्र छ । योसँगै प्रदेश सरकारको यही साउन १ गतेदेखि राजस्व सङ्कलन र खर्च गर्नेलगायत गतिविधि ठप्प छन् । प्रस्तुत बजेटमाथि प्रदेशसभामा छलफल गर्न ढिलाइ भइरहँदा असार २० गते एमाले सरकारबाट बाहिरिएको थियो । एमाले बाहिरिएसँगै मुख्यमन्त्रीले अध्यादेशमार्फत बजेट ल्याउने प्रयासस्वरुप असारको अन्तिम हप्तामा वर्षे अधिवेशन (बजेट अधिवेशन) अन्त्य गर्न सिफारिस गरेका थिए ।

त्यसपछि अध्यादेशमार्फत बजेट ल्याउने सरकारको प्रयास भइरहँदा प्रतिपक्षी नेकपा (एमाले) र नेपाली कांग्रेसले विशेष अधिवेशनको माग गर्दै प्रदेश प्रमुखसमक्ष लिखित माग गरेका थिए । प्रदेश प्रमुखको आह्वानमा साउन ८ गते सुरु भएको विशेष अधिवेशनअन्तर्गत दुई दिन बसेको बैठक सञ्चालन भए पनि तेस्रो दिनको बैठक मन्त्रीको अनुपस्थितिका कारण कार्यसूचीमा प्रवेश नगरी स्थगित गरिएको थियो ।

सुरुका दुई दिनको बैठकमा उपस्थित हुनुभएकी सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका थापालाई मुख्यमन्त्रीले बर्खास्त गरेका थिए ।नेकपा (एमाले) का ११, नेकपा (माओवादी केन्द्र), का सभामुखबाहेक १०, नेकपा (एकीकृत समाजवादी)का चार, नागरिक उन्मुक्तिका दुई, स्वतन्त्र एक सदस्यको समर्थनमा गएको वैशाख ६ गते सोडारी मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

स्वास्थ्य अवस्थाले साथ दिएसम्म बालुवाटारमा पार्टीको बैठक राख्ने छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य अवस्थाले साथ दिएसम्म पार्टी बैठक सरकारी निवासमा नराख्ने प्रतिबद्धता जनाएका छन् ।

बिहीबार बिहान सामाजिक संजालमार्फत प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले पार्टी केन्द्रीय कार्यालय मनोहरा खोलामा आएको बाढीको डुबानमा परेकाले सचिवालय बैठक अन्यत्र राख्नु परेको बताएका छन् ।  नेकपा एमालेको आज सचिवालय बैठक बस्दैछ । आजको बैठक होटल बसेरामा बोलाइएको छ ।

प्रधानमन्त्रीले भनेका छन्, ‘शुभ बिहानी ! सामाजिक सञ्जालमार्फत तपाईंहरूले दिनु भएको सुझाव अनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु । आज हाम्रो पार्टीको सचिवालय बैठक छ । मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ। यसरी नै मलाई सुझाव दिँदै जानुहोला । धन्यवाद !’

किम्बु बगैँचा मासेर बीउ उत्पादन गर्दै स्रोत केन्द्र

स्याङ्जा- वालिङ-१ यवादीमा रहेको कृषि विकास स्रोत केन्द्रले किम्बु बगैँचा मासेर विभिन्न अन्नका बीउ उत्पादन थालेको छ। विसं २०४१ मा रेशमखेती गर्ने उद्देश्यले स्थापना भएको रेशम विकास कार्यालयको नाम र काम परिवर्तन भएसँगै किम्बु बगैँचा फाडेर अन्नको बीउ उत्पादन थालिएको हो।

२०४२ सालमा ३५ रोपनी क्षेत्रफलमा किम्बु बगैँचा लगाएर रेशमखेती हुँदै आएको थियो । गण्डकी प्रदेशअन्तर्गतको कृषि विकास स्रोत केन्द्रका रूपमा स्थापना भएको केन्द्रले आलु, मकै र धानको बीउ उत्पादन गर्दै आएको छ ।

उक्त कार्यालयका प्रमुख सुदीप रेग्मीका अनुसार २० रोपनीमा आलु, मकै र धानको मूल बीउ उत्पादन थालिएको छ । चिप्स बनाउन प्रयोग गरिने विभिन्न जातका आलुको परीक्षण उत्पादन भएको छ । यस वर्ष ‘मनकामना ३’ जातको मकै उत्पादन गरी प्रशोधनको तयारी छ । मकै उत्पादन गरेको स्थानमा ‘रामधान’ को प्रजनन तथा मूलबीउ उत्पादन गर्ने उद्देश्यले धानखेती गरिएको छ । कार्यालय परिसरमै धान, मकै, गहुँको विषादीको प्रयोग गरेर वा नगरीकन प्रशोधन गर्न सकिने उपकरण जडान गरिएको छ।

जडान भएका उपकरणबाट कार्यालय परिसरमा उत्पादन भएका बीउ तथा जिल्लाका विभिन्न स्थानमा बीउ उत्पादनसँग सम्बन्धित समूह सहकारीले उत्पादन गरेका बीउको प्रशोधन र भण्डारण गर्न पनि सहज भएको प्रमुख रेग्मीले बताए। कार्यालयले उत्पादन गरेको धान, मकै, आलुको मूलबीउ सरकारले तोकेको मूल्यमा बिक्री गरिने उनले जानकारी दिए।

झापामा एक हजार एक सय १० नयाँ उद्योग दर्ता

भद्रपुर (झापा)। आर्थिक वर्ष २०८०/८१ झापामा एक हजार एक सय १० नयाँ साना तथा घरेलु उद्योग दर्ता भएका छन । घरेलु तथा साना उद्योग कार्यालयमा उद्योगतर्फ छ सय २९ र वाणिज्यतर्फ चार सय ८१ फर्म दर्ता भएका हुन् ।

उक्त कार्यालयका निमित्त प्रमुख प्रेमप्रसाद सापकोटाका अनुुसार दुई सय ८८ उद्योग खारेज हुँदा एक हजार सात सय आठ उद्योगले नवीकरण गरेका छन् । गत आवमा दुई सय ४३ उद्योगले पुँजी वृद्धि गर्दा झापाका घरेलु तथा साना उद्योगको पुँजी रु तीन अर्ब २८ करोडले बढेको थियो । वाणिज्यतर्फ दुई सय ७८ फर्मले पुँजी वृद्धि गर्दा रु पाँच अर्ब एक करोड १० लाख ५० हजार भएको छ ।

उक्त कार्यालयले गत आवमा रु दुई करोड ६८ लाख ९० हजार सात सय ५० राजस्व सङ्कलन गरेको छ । आव २०७९/८० मा रु एक करोड ८० लाख छ हजार सङ्कलन भएको थियो ।

के अमेरिका फर्स्ट जेन्टलमेनका लागि तयार छ ?

वासिङ्टन। यदि कमला ह्यारिसले अमेरिकी राष्ट्रपति निर्वाचन जित्नुभयो भने उहाँले इतिहास रच्नुहुनेछ र उहाँका पति डग एमहफले पनि इतिहास कायम गर्नुहुनेछ । ह्यारिस संयुक्त राज्य अमेरिकाको करिब साढे दुई शताब्दीको अस्तित्वमा पहिलो महिला राष्ट्रपति बन्न सफल हुनुभयो भने ५९ वर्षीय वकिल पहिलो फर्स्ट जेन्टलमेन बन्नुहुनेछ ।

एमहफलाई आफ्नी पथप्रदर्शक ५९ वर्षीय श्रीमतीसँगै केही नयाँ गर्ने बानी भइसकेको छ । पहिलो महिला, अश्वेत र दक्षिण एसियाली उपराष्ट्रपतिका रूपमा ह्यारिसको सुरुआती उथलपुथल कार्यकालमा ऊर्जावान अभियानकर्ता र उहाँको प्रखर रक्षक साबित गर्दै एमहफ पहिलो सेकेन्ड जेन्टलमेनका रूपमा आफ्नो भूमिकामा आउनुभएको छ ।

अर्को माइलस्टोनका रूपमा एमहफ कुनै अमेरिकी राष्ट्रपति वा उपराष्ट्रपतिको पहिलो यहुदी जीवनसाथी पनि हुनुहुन्छ । उहाँले राष्ट्रपति जो बाइडेनको प्रशासनमा यहुदीविरोधी भावनासँग लड्न निकै स्पष्ट भूमिका निर्वाह गर्नुभएको छ ।

ज्याकी केनेडी, मिशेल ओबामा र जिल बाइडेनजस्ता प्रसिद्ध डेमोक्रेटिक पहिलो जोडीको जस्तै पाइला पछ्याउने सम्भावनाबारे उहाँ उत्साहित हुनुहुन्छ । तर उहाँ यस्तो भूमिका धारण गर्ने पहिलो पुरुषका रूपमा उत्साहित हुनुहुन्छ ।

सम्भावित पहिलो फर्स्ट जेन्टलमेन हुने दाबीमा उहाँसँग कुनै रेकर्ड छैन । उक्त उपाधि पूर्वराष्ट्रपति बिल क्लिन्टनले आफ्नी श्रीमती हिलारी क्लिन्टनको सन् २०१६ को असफल प्रतिस्पर्धाका क्रममा दाबी गर्नुभएको थियो ।

“अहिले मैले आफ्नी श्रीमती टिकटको शीर्षमा हुन पाउँदा सम्मानित महसुस गरेको छु”, उहाँले हालै एक पडकास्टलाई भन्नुभयो ।

ह्यारिसको भाग्यमा अचानक आएको परिवर्तनले एमहफलाई निराश बनाएको छ । जो बाइडेन प्रतिस्पर्धाबाट बाहिर हुँदा आफू फोन बन्द गरेर जिममा रहँदा ह्यारिसबाट मिस गरिएका टेक्स्ट र कलहरूको बाढी आएको उहाँले बताउनुभयो । “म मेरो फोन फेरि कारमा छाड्ने छैन”, उहाँले भन्नुभयो ।

घृणित आक्रमण

डेमोक्रेटिक टिकटमा द्रुत रूपमा भएको परिवर्तनले के अमेरिका एक अश्वेत महिलालाई राष्ट्रपतिमा निर्वाचित गर्नका लागि नस्लवाद र लिङ्गवादलाई जित्न तयार छ भन्ने प्रश्न खडा गरेको छ । तर एमहफ पनि एउटा आदर्श परिवर्तन हुनुहुनेछ ।

आंशिक रूपमा नस्लका आधारमा रिपब्लिकनहरूले पहिलादेखि नै उहाँमाथि आक्रमण गरिरहेका छन् । एक अन्तरवार्ताकारले एमहफ ‘बेवकुफ यहुदी’ थिए भन्दा डोनाल्ड ट्रम्पले टाउको हल्लाएपछि मङ्गलबार ह्यारिसको अभियानले ‘ट्रम्पको सेकेन्ड जेन्टलमेनविरुद्ध घृणित हमला’ को निन्दा गरेको थियो । ट्रम्प स्वयंले ह्यारिसलाई ‘यहुदीहरूले मन नपराउने’ बताउनुभएको थियो ।

तथापि एमहफले लामो समयदेखि आफूले पाएको राम्रो दिनसक्ने देखाएको छ । “मिस्टर ट्रम्प, मलाई थाहा छ कि तपाईंलाई उनको नाम उच्चारण गर्न धेरै समस्या हुन्छ”, हालै एक भिडियोमा कमलाको गलत उच्चारण गर्ने ट्रम्पको बानीलाई उल्लेख गर्दै एमहफले भन्नुभयो, “निर्वाचनपछि तपाईं उनलाई म्याडम राष्ट्रपति भन्न सक्नुहुनेछ ।”

एमहफले सन् २०१३ मा क्यालिफोर्नियाको तत्कालीन महान्यायाधिवक्ता ह्यारिसलाई ब्लाइन्ड डेटमा भेट्नुभयो र एक वर्षपछि उहाँसँग विवाह गर्नुभयो ।

यसबाट ह्यारिसलाई एमहफको अघिल्लो विवाहबाट जन्मिएका तत्कालीन किशोर छोरा कोल र किशोरी छोरी एलाको सौतेनी आमा बनाइदियो ।

सन् २०२० मा उहाँले ह्यारिसको पहिलो राष्ट्रपति पदको दावेदारीको प्रचार गर्न आफ्नो ल फर्मबाट बिदा लिनुभयो र फेरि सन् २०२१ जनवरीमा आधिकारिकरूपमा सेकेन्ड जेन्टलमेन बन्नुभयो ।

“मलाई मन परेको करियर छाडेर सबैभन्दा कठिन क्षणका कारण परिवर्तन सहज थिएन”, उहाँले गत साता अभियानका स्टाफलाई अन्तिमपटक भन्नुभएको थियो, “यो सधैँ राष्ट्रपति (बाइडेन) मसँग आउनुभयो र भन्नुभयो ‘हेर मलाई थाहा छ, तिमी महान वकिल हौ, मलाई थाहा छ कि यो गाह्रो भएको हुनुपर्छ’ ।”एएफपी

नुवाकोटमा बाढीले सयौँ रोपनी धानखेत बगरमा परिणत

त्रिशूली (नुवाकोट), १७ साउन : कोशीखोलामा आएको बाढीले नुवाकोटको तारकेश्वर गाउँपालिका–२ स्थित पिमलटारको सयौँ रोपनी धानखेत बगरमा परिणत भएको छ । नुवाकोट र धादिङको सीमा भएर बग्ने कोशीखोलाको बाढीले पिमलटारस्थित फाँटमा ठूलो क्षति भएको छ । त्यहाँ भर्खर रोपिएको धानखेत बगरमा परिणत भएको छ ।

स्थानीय किसान आरबी नेपालका अनुसार किसानले हालै रोपिएको खेत पूर्ण रुपमा बगर बनेको छ । “बाढी रोकिएपछि रोपो उठाउन कोसिस गरे पनि ग्रेगरसहितको बालुवा र लेदोले पुरेकाले धेरै क्षति भएको छ”, उहाँले भन्नुभयो, “दुई सय रोपनी खेतलाई क्षति पुर्याउँदै अहिले खोला बगिरहेको छ भने चार सय रोपनी खेतमा लगाएको रोपो पनि पुरिएको छ ।”

बाढीको कारण स्यानीय समाजसेवी जनक ढुङ्गानाले व्यक्तिगत लगानीमा केही वर्षअघि निर्माण गरेको झोलुङ्गे पुलमा पनि क्षति भएको छ । पुलको पिलर बगाएसँगै आवागमन रोकिएको छ । स्थानीय किसान अरुण राईले व्यावसायिक रूपमा गर्दै आएको माछापोखरीमा पनि क्षति भयो ।

तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारीले बाढीबाट भएको क्षतिको लगत सङ्कलन गरेर किसानलाई सक्दो सहयोग गर्न आफू तत्पर रहेको बताउनुभयो । “प्राविधिक प्रतिवेदन र स्थलगत अनुगमन गरेर पीडित किसानलाई सहयोग गर्नेछौँ ।”

विगतका सरकारले ल्याएको जनप्रिय कार्य कार्यान्वयन हुनुपर्छ : पूर्वमुख्यमन्त्री कार्की

विराटनगर- कोशी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री केदार कार्कीले आफू नेतृत्वको सरकारले अगाडि बढाएका जनप्रिय योजना वर्तमान सरकारले हटाएको भन्दै विरोध जनाउनुभएको छ ।

संसदीय पत्रकार मञ्च विराटनगरको कार्यकक्षमा पत्रकारसँग बुधबार कुराकानी गर्दै उहाँले सरकार अविछिन्न उत्तराधिकारी संस्था भएकाले मानव केन्द्रित विकासका लागि सुरुआत भएका कार्यक्रम लागू हुनुपर्ने बताउनुभयो ।

उहाँले १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार, ‘जसको जङ्गल उसको मङ्गल जनावर मैत्री जङ्गल’ महिला स्वयंसेविकालाई प्रोत्साहन कार्यक्रम, केशलिया करिडोर निर्माण, विपन्न विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रम, सुकुम्बासीलाई जग्गा खरिद ब्याज अनुदान र प्रदेशमा सगरमाथ दिवसजस्ता विगतका सरकारका योजना

पाँच प्रदेशका केही स्थानमा मुसलधारे वर्षा हुने पूर्वानुमान

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताउँदै विभागले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ ।

आज रात देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाउँदै विभागले ती स्थानका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ ।

गए राति पनि विभागले एक सूचना निकालेर कोशी प्रदेशका धेरै स्थान तथा मधेस र बागमती प्रदेशका केही स्थानका साथै गण्डकी र सदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेकाले सचेत रहन आग्रह गरेको थियो ।

गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नलिन एमालेको आग्रह

कास्की – नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश कमिटीले गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नलिन आग्रह गरेको छ । एमाले गण्डकीका सचिव धनञ्जय दवाडीले बुधबार विज्ञप्ति निकालेर प्रदेश सरकारमा एमालेको सङ्लग्नता नभइ दीर्घकालीन असर पुग्ने निर्णय गरिएकोमा ध्यानाकर्षण भएको जनाए । एमालेले दुई दलका बीचमा छलफल, समन्वय र सहकार्यका आधारमा मात्रै आगामी दिनमा सरकार सञ्चालन हुने हुँदा सहमति विपरीत दीर्घकालीन असर पर्ने निर्णय नलिन आग्रह गरेको हो ।

केन्द्रीय राजनीतिमा भएको छलफल र सहमतिलाई कार्यान्वयन गर्न प्रदेशस्तरमा दलहरुबीच समन्वय भई प्रदेशका सरकार गठन, पुनःगठन भइरहेका बेला एकपक्षीय रूपमा गतिविधि भएको विज्ञप्तिमा जनाइएको छ ।

नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेको नेतृत्वमा गठन भएको प्रदेश सरकारमा कांग्रेससहित नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ मन्त्री छन्। केन्द्रमा सत्तासमीकरण परिर्वतन भएर नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार बने पनि गण्डकी प्रदेश सरकार एमाले सहभागी भएको छैन ।

आगामी तीन दिनसम्म रातिमा वर्षा तर सुधारात्मक

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म विशेष गरी रातको समयमा मुलुकका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जानकारी दिएको छ । तर केही दिनयता भएको भारी वर्षाले बाढी तथा डुबानजस्ता समस्या ल्याए पनि आजदेखि सुधारात्मक बन्दै जाने महाशाखाको भनाइ छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेले आजदेखि नै शुक्रबार रातिसम्म नै रातको समयमा वर्षा हुने र मौसम सुधारात्मक बन्दै जाने बताए । “तीन दिन यताको अवस्था हेर्ने हो भने रातको समयमा धेरै पानी परेको थियो, डुबान र बाढीसमेत गयो, आगामी तीन दिन पनि पानी पर्छ । तर सुधारात्मक बन्दै जानेछ”, उनले भने, “देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकाले प्रायजसो रातको समयमा पानी बढी परेको हो ।”

Shivam Cement
महाशाखाका अनुसार आज पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली साथै बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । सुदूरपश्चिम प्रदेशको स्थान साथै कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

Nabil bank
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेस, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको भनाइ छ ।

बिहीबार दिउँसोमा भने देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ ।

महाशाखाको अनुसार रातिमा भने देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको भनाइ छ ।

शुक्रबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

शुक्रबार राति भने देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेस प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । यसैगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना देखिएको छ ।

आगामी २४ घण्टामा कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेस, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

समितिमा रहेका विभिन्न विधेयकलाई कार्ययोजना बनाएर समयमा नै टुङ्ग्याउन सभामुखको निर्देशन

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरूलाई समितिमा रहेका विभिन्न विधेयकलाई कार्ययोजना बनाएर समयमा नै टुङ्ग्याउन निर्देशन दिएको छ।

प्रतिनिधिसभा मातहतका विभिन्न समितिका सभापतिसँग आज (बुधबार) भएको छलफलमा उनले सदनलाई प्रभावकारी तुल्याउनका लागि बिजनेस दिलाउन समितिमा भएका विधेयकलाई गहिरोसँग छलफल यथाशीघ्र टुङ्ग्याउने कार्यमा सक्रियताका साथ लाग्न सुझाव दिए।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिका सभापति अब्दुल खानले सभामुखबाट समितिमा के–कति विधेयक छ? छलफलको अवस्था कस्तो छ? कहिलेसम्म टुंगोमा पुर्‍याउन सकिन्छ? भनी जिज्ञासा राखेको बताए।

उनले समितिमा के-कस्ता समस्या छन्? बैठकलाई कसरी प्रभावकारी गर्न सकिन्छ? र विधेयकलाई छिटो अघि बढाउन आफ्नोतर्फबाट कस्तो सहयोगका अपेक्षा गर्नुभएको छ भनी सभामुखले चासो देखाएको बताए।

यसअघि छलफलमा उपस्थित समिति सभापतिले आआफ्ना समितिमा भएगरेका काम, उपलब्धि र चुनौतीबारे सभामुखलाई जानकारी गराए। कतिपय समितिमा चार/पाँच वटा विधेयक रहेको भए पनि केहीमा भने एउटा पनि विधेयक नरहेको त्यस अवसरमा सभामुखलाई जानकारी गराइयो।

केही सभापतिले भने समितिमा रहेका कतिपय विधेयकमाथि धेरै नै संशोधन परेको र साँघुरो बैठक कक्ष भएका कारण बैठक व्यवस्थापनमा चुनौती रहेको जानकारी गराए। बैठकमा सभापतिले बजेटलगायत विषयमा सभामुखको ध्यानाकर्षण गराएका थिए।

राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडाले विधेयकलाई चाँडो निष्कर्षमा पुर्‍याउन र सदनलाई कसरी नियमित गर्ने भन्नेबारे सभामुखले छलफलमा चासो राखेको बताए।

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १४५ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बुधबार दिउँसो सम्म १ सय ४५ जनाको मृत्यु भएको छ ।

बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २४ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २४ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ४५ जनाको मृत्यु भएको हो ।

साथै काठमाडौं उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ३४ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्‍चिम प्रदेशमा १४ जना गरी जम्मा १ सय ७४ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा ४९ जना, गण्डकी प्रदेशमा १४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्‍चिम प्रदेशमा ५ जना गरी जम्मा ७३ जनाको उद्दार गरिएको छ ।

बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा २ जना र कर्णाली प्रदेशमा १ जना गरी ४७ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।

बाढीको कारण जम्मा १ सय ८४ घर डुबानमा परेका छन् । २ सय ४८ वटा घर, ८८ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ६ सय ७२ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट ४ हजार ६३ घर परिवार विस्थापित भएका छन् ।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको छ ।

काठमाडौँ महानगरमा चार सय ३१ वटा विपद्का घटना

काठमाडौँ, १६ साउन : आर्थिक वर्ष २०८०/८१ मा काठमाडौँ महानगरपालिकामा चार सय ३१ वटा विपद्का घटना घटेका छन् । कामपा नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले अघिल्लो आव २०७९/८० मा तीन सय ९९ विपद्का घटना घटेकामा गत वर्ष त्यो सङ्ख्या बढेको जानकारी दिनुभयो । अघिल्लो आवभन्दा गत आवमा विपद्का घटना वृद्धि भए पनि मानवीय क्षति कम भएको उहाँले बताउनुभयो । गत वर्ष एक जनाको मात्रै ज्यान गएकामा अघिल्लो आवमा चार जनाको मृत्यु भएको थियो ।

उहाँकानुसार यहाँ आगलागीका घटना धेरै हुने गरेका छन् । ग्यास चुहावट भएर हुने आगलागी र विद्युत् पोलमा धेरै तारहरू अव्यवस्थित रूपमा राख्दा आगलागीका घटना बढी हुने गरेका हुन् । यस्ता घटना न्यूनीकरणका लागि सरोकार भएका निकायसँग छलफल तथा समन्वय अगाडि बढाइएको पनि जोशीले जानकारी दिनुभयो ।

त्यसैगरी म्याद गुज्रेका ग्यास सिलिन्डरको प्रयोग, ग्यास पाइप र लेगुलेटरको नियमित परीक्षण नगर्दा आगोजन्य विपद्का घटना बढिरहेको महानगरको निष्कर्ष छ । टोलटोलमा जनचेतना, विगतमा एक स्थानबाट मात्रै दमकल सेवा दिँदै आएकामा हाल तीन स्थानबाट सेवा प्रवाह जस्ता काम अगाडि बढाइएकाले आगामी दिनमा यस्ता घटनामा कमी आउने कामपाको विश्वास रहेको छ ।

काठमाडौँको ढल्कुमा दुई समूहबीच झडप, एकको मृत्यु, ६ जना घाइते

काठमाडौँ, १६ साउन : काठमाडौँ महानगरपालिका–१७ ढल्कुमा आज दुई समूहबीच भएको झडपमा परी एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

झडपका क्रममा धारिलो हतियार प्रहारबाट ढल्कु पोडेटोल निवासी ३३ वर्षीय अनित पुजारीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । यस्तै झडपमा परी ५२ वर्षीय सुविन्द्र पोडे, ५४ वर्षीय किरण पुजारी, ४९ वर्षीय दिनेश पुजारी, ४२ वर्षीया माया पुजारी, ३९ वर्षीय विक्रम पुजारी र २३ वर्षका अमृत पुजारी घाइते भएका छन् ।

घाइतेको शिक्षण अस्पताल महाराजगञ्ज, राष्ट्रिय ट्रमा सेन्टर र पिपुल्स अस्पतालमा उपचार भइरहेको प्रवक्ता अधिकारीले बताउनुभयो । उहाँका अनुसार उक्त घटनामा पोडेटोलका सात जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१७ पोडेटोल बस्ने १९ वर्षीय सुजल देउला, ३५ वर्षीय अमृत पुजारी, ३४ को सागर देउला, ४६ वर्षीय रवीन्द्र पोडे, २९ वर्षीया कलेनी पुजारी, ३५ वर्षीया टिकामाया पुजारी तथा २२ वर्षीया सञ्जाली पुजारी रहेका छन् ।

हुम्लामा ट्र्याक्टर दुर्घटना दुई जना घाइते

हुम्ला – हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहे गाउँ नजिक पैरापोरी भन्ने स्थानमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२००१ त ०३५२ नम्बरको ट्र्याक्टर ट्रनिङ नपुगेर चिप्लिँदा सडकभन्दा ५० मिटरभन्दा तल खसेको छ ।

सदरमुकाम सिमकोटदेखि चामल लिएर गएको ट्र्याक्टर दुर्घटना हुँदा चालक सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका २७ वर्षीय धनबहादुर सुनार उनका सहयोगी (सहचालक) सिमकोट गाउँपालिका–२ ठेहे गाउँका प्रिती सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए ।

घाइते दुवै जनालाई जिल्ला अस्पताल हुम्लामा पु-याएर उपचार भइरहेको प्रहरी निरीक्षक चन्दले बताए । चालक सुनारको घाँटीमा र सहयोगी प्रितीको ढाड, टाउँको र दाँहिने हातमा चोट लागेको छ ।

देशभर दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

काठमाडौं – देशभर दुई हजारभन्दा बढीमा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले ७३ जिल्लाका दुई हजार ६१ जनामा सङ्क्रमण देखिएको जानकारी दिए ।

मन्त्रालयले यसवर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको हुँदा मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेङ्गु रोगको सङ्क्रमण थप बढ्न सक्ने अनुमान गरेको उनले बताए ।

मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गुको सङ्क्रमण फैलिएको जनाइएको छ । सबैभन्दा बढी काठमाडौँमा दुई सय ४९ जनामा डेङ्गु देखिएको छ । यस्तै झापामा एक सय ३० र चितवनमा एक सय पाँच जनामा सङ्क्रमण देखिएको छ ।

उपत्यकामा तीन सय १६ जनामा सङ्क्रमण

उपत्यकामा मात्रै तीन सय १६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । काठमाडौँमा दुई सय ४९, भक्तपुरमा ३८ र ललितपुरमा २९ जनामा देखिएको सङ्क्रमण देखिएको हो ।

रोग शाखा प्रमुख डा दाहालले डेङ्गु सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । “डेङ्गु रोगबाट बच्ने सबैभन्दा उत्तम उपाय लामखुट्टेको टोकाइबाट बच्नु हो ।

यसका लागि आफ्नो घर वरिपरि तथा कार्यस्थलमा पानी जम्न नदिने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, जुनसुकै बेला झुलको प्रयोग गर्ने र पूरै शरीर छोपिने लुगा लगाउने जस्ता कुरामा ध्यान दिनुपर्दछ”, उनले भने ।

हमास प्रमुखको हत्याबारे अमेरिकालाई ‘जानकारी वा संलग्न’ थिएन– ब्लिङ्केन

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले बुधबार अमेरिकालाई इरानमा हमासका राजनीतिक नेता इस्माइल हानियाको हत्याका बारेमा ‘जानकारी नभएको र यसमा संलग्न नभएको’ बताउनुभएको छ ।

“यसको के अर्थ हो म तपाईंलाई बताउन सक्तिन, म तपाईंलाई भन्न सक्छु कि युद्धविरामको अपरिहार्यता सबैका लागि रहेको महत्त्व राख्दछ”, आफ्ना स्टाफले साझा गरेको ट्रान्सक्रिप्टअनुसार सिङ्गापुर समाचार एसिया च्यानलसँगको अन्तरवार्तामा उहाँले भन्नुभयो ।

इरानका नवनिर्वाचित राष्ट्रपतिको शपथ ग्रहण समारोहमा सहभागी भएका हानिया इजरायली हवाई आक्रमणमा मारिएको हमासले बुधबार बताएको छ । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले इजरायलमाथि अक्टोबर ७ को आक्रमणको प्रतिशोधमा हमासलाई समाप्त पार्ने वाचा गर्नुभएको छ । हमासको आक्रमणपछि युद्ध सुरु भएको हो ।

वासिङ्टन इजरायलको प्रमुख सैन्य समर्थक हो र उसले युद्धविरामका लागि जोड दिइरहेको छ । विदेशमन्त्री ब्लिङ्केनले ‘हमासको गोलीबारीमा फँसेका’ इजरायली बन्धक र गाजाबासीका लािग लागि युद्धविराम ‘स्पष्टरूपमा हितमा रहेको’ बताउनुभएको छ । प्यालेस्टिनी आन्दोलन हमासका राजनीतिक प्रमुखका रूपमा हानियाले गाजामा युद्ध अन्त्य गर्न र इजरायलमा प्यालेस्टिनी कैदीहरूको बदलामा यस क्षेत्रमा राखिएका बन्धकहरूलाई रिहा गर्ने सम्झौताका लागि वार्ताको निरीक्षण गरिरहनुभएको थियो ।

सिङ्गापुरको भ्रमणमा रहनुभएका ब्लिङ्केनले गाजा युद्धविराम द्वन्द्वलाई बाँकी क्षेत्रमा फैलिनबाट रोक्न महत्त्वपूर्ण रहेको बताउनुभयो ।“हामी पहिलो दिनदेखि नै गाजामा राम्रो स्थानमा पुग्ने प्रयास मात्र नभई द्वन्द्वलाई फैलिनबाट रोक्न पनि काम गरिरहेका छौँ, चाहे त्यो लेबनान र हिजबुल्लाहसँग उत्तरमा होस वा हुथीहरूसँग लाल सागरमा होस् । इरान, सिरिया, इराक, तपाईं यसको नाम बताउनुहोस्”, उहाँले सिटी स्टेटमा एक फोरमलाई भन्नुभयो, “यस्तो नहोस् र हामी राम्रो स्थानमा जान सक्छौँ भनेर सुनिश्चित गर्न प्रयास गर्ने एउटा ठूलो समाधान भनेको युद्धविराम पाउनु हो ।”

युद्धविराम वार्तामा महत्त्वपूर्ण मध्यस्थकर्ता एवं हानियासहित हमासको राजनीतिक नेतृत्वलाई आतिथ्यता प्रदान गर्ने कतारले हत्यापछि वार्ताको भविष्यमाथि प्रश्न उठाएको छ । हमासले आफ्नो अनुभवी नेताको ‘कायरतापूर्ण’ हत्या ‘अनुत्तरित नहुने’ वाचा गरेको छ ।

परराष्ट्रमन्त्रीसँग फिनल्याण्ड र इजिप्टका राजदूतको शिष्टाचार भेट

Site Icon

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग आज नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेइक्काले शिष्टाचार भेट गर्नुभयो ।

सो भेटका क्रममा नेपाल फिनल्याण्ड सम्बन्धका विविध पक्षका साथै नेपालमा जारी रहेका फिनल्याण्ड सरकारको सहयोगका विकास आयोजनाका बारेमा पनि कुराकानी भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, आजै मन्त्री डा राणासँग नेपालका लागि इजिप्टका राजदूत नेहा हमदी अहमदले पनि मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको थियो । त्यस अवसरमा नेपाल इजिप्ट सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन गृहमन्त्रीको निर्देशन

काठमाडौँ -गृहमन्त्री रमेश लेखकले राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन निर्देशन दिनुभएको छ । आज सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निरीक्षण गर्नुहुँदै उहाँले राष्ट्रिय परिचयपत्र वितरण कार्य सुस्त भएको बताउनुभयो ।“राष्ट्रिय परिचयपत्र बनाउन एक करोड ५१ लाखको विवरण सङ्कलन भइसकेको छ । कार्ड छपाइ ४३ लाख भइसकेको छ । ७६ लाख कार्ड छाप्न बाँकी छ”, उहाँले भन्नुभयो, “वितरणको सङ्ख्या एकदम कम भयो । आठ लाख ४७ हजार मात्र हामीले वितरण गरौँ । वितरणको पाटोलाई तीव्रता दिनुहोला ।”

गृहमन्त्री लेखकले राष्ट्रिय परिचयपत्र सरकारको सुशासनसँग सम्बन्धित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकलाई राज्यले प्रदान गर्ने सुविधाको मुख्य माध्यम राष्ट्रिय परिचयपत्र हुने भएकाले यो सुशासनको महत्त्वपूर्ण पाटो हो । यो राज्यको भविष्यसँग जोडिएको छ । यसमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रशंसनीय काम गरेको छ ।”

ज्येष्ठ नागरिकलाई घरघर गएर परिचयपत्र उपलब्ध गराउनेगरी अगाडि बढ्न गृहमन्त्री लेखकले निर्देशन थियो । “सामाजिक सुरक्षाभत्ता पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य बनाउने कुरा व्यावहारिक थिएन । सामाजिक सुरक्षा भत्ताका लागि त्यो अनिवार्य नगर्ने निर्णय उचित हो । तर, ज्येष्ठ नागरिकबाहेकका हकमा अनिवार्य गरौँ । ज्येष्ठ नागरिकलाई घरघर गएर राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने नीति बनाऔँ”, उहाँले भन्नुभयो ।

राष्ट्रिय परिचयपत्र बनाउने विषयलाई तीव्रता दिन पालिकाले वित्तीय समानीकरण अनुदानसँग जोड्न सकिने गृहमन्त्री लेखकको भनाइ थियो । “अनुदानसँग जोड्दा राष्ट्रिय परिचयपत्र लिने मान्छेभन्दा पनि दिने मान्छेले पहल लिन्छ । वडाध्यक्ष नै राष्ट्रिय परिचयपत्र लिदिनुप¥यो भनेर घरघर जान थाल्नुहुन्छ । त्यसपछि राष्ट्रिय परिचयपत्र वितरण अभियान सफल हुन्छ”, उहाँले भन्नुभयो ।

कमला नदीमा फसेका तीन जनाको उद्धार

जनकपुर – धनुषाको कमला नदीमा आज एक्कासि आएको बाढीमा फसेका तीन जनालाई सकुशल उद्धार गरिएको छ । सबैला नगरपालिकाको–१३, किरतपुरस्थित कमला नदीमा फसेका तीन जनालाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुन्दर चौलागाईंले सोही ठाउँका १७ वर्षीय राजेश यादव, ४० वर्षीय नथुनी यादव र शिवराम साफीलाई कमला नदीको बीच भागबाट उद्धार गरिएको जानकारी दिनुभयो । आज बिहान दाउरा सङ्कलन गर्न गएको अवस्थामा एक्कासि बाढीको बहाव बढेपछि उनीहरू नदीमा फसेका थिए ।

बैला नगरपालिकाबाट खटिएका नगर प्रहरी र सशस्त्र प्रहरी वेस क्याम्प रघुनाथपुरको सहयोगमा लाइफ ज्याकेट, ट्युब र डोरीको सहायताले उद्धार गरिएको प्रहरी निरीक्षक चौलागाईंले जानकारी दिनुभयो । उद्धार कार्यमा सबैला नगरपालिकाका नगर

महोत्तरीस्थित पूर्वपश्चिम राजमार्ग एकतर्फी सञ्चालनमा

महोत्तरी– बाढीले कटान गर्दा अवरुद्ध महोत्तरीस्थित पूर्वपश्चिम राजमार्ग सञ्चालनमा आएको छ। महोत्तरीमा पर्ने बेलगाछी पुल पश्चिमतर्फ हिजो राति बाढीले कटान गरेपछि राजमार्ग अवरुद्ध भएकोमा अहिले साँझ सडक मर्मत गरिएसँगै सञ्चालनमा आएको हो।

सडक भत्किएपछि ३० किलोमिटर लामो वैकल्पिक बाटो हुँदै राजमार्गमा सवारी साधन सञ्चालन गर्नुपरेको थियो। सडक मर्मतपछि एकतर्फि यातायात सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए।

मुख्य राजमार्गमा सडक बिग्रे वा भत्केमा तत्काल मर्मतका लागि सडक कार्यालयको समान्वयमा आवश्यक उपकरण र जनशक्ति सम्बद्ध तयारी अवस्थामा राखिएको प्रजिअ गेलालले बताए।

हमास प्रमुखको हत्यापछि इजराइलीहरूलाई बन्धकहरूको डर

तेहरानमा हमास प्रमुख इस्माइल हानियाको हत्यापछि गाजामा अझै बन्दी बनाइएका दर्जनौँ बन्धकको भाग्यलाई लिएर इजरायलीहरूबीच बुधबार चिन्ता बढेको छ । “हानियाको हत्या गलत थियो किनकी यसले बन्धक सम्झौताको सम्भावनालाई खतरामा पार्छ”, तटीय सहर हाइफा निवासी ५० वर्षीय अनात नोयले भन्नुभयो, “हामी आज हृदयमा डरको भावना लिएर उठेका छौँ र यो अझ बढ्न सक्छ, त्यहाँ कुनै शान्ति छैन, हामी डराएका छौँ ।”

बुधबार हमास र इरानी रिभोल्युसनरी गार्डले ६१ वर्षीय हानिया तेहरानमा इजराइली आक्रमणमा मारिएको घोषणा गरेका छन् । उहाँ मङ्गलबार इरानी राष्ट्रपति मसुद पेजेसकियानको शपथ ग्रहण समारोहमा सहभागी हुन इरानी राजधानीमा हुनुहुन्थ्यो । प्यालेस्टिनी आन्दोलन हमासका राजनीतिक प्रमुखका रूपमा हानियाले गाजामा युद्ध अन्त्य गर्न र इजरायलमा प्यालेस्टिनी कैदीहरूको बदलामा यस क्षेत्रमा राखिएका बन्धकहरूलाई रिहा गर्ने सम्झौताका लागि वार्ताको निरीक्षण गरिरहनुभएको थियो ।

हमासको सशस्त्र शाखा एजेदिन अल–कसम ब्रिगेडले हानियाको हत्याले इजरायलसँगको युद्धलाई ‘नयाँ स्तर’ मा पुर्याएको भन्दै ‘सम्पूर्ण क्षेत्रका लागि ठूलो परिणाम’ को चेतावनी दिएको छ । इजरायलमा हमासको अभूतपूर्व आक्रमणपछि युद्ध सुरु भएको हो । आधिकारिक इजरायली आँकडाका आधारमा एएफपीको ट्यालीअनुसार हमासको आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार एक सय ९७ जनाको मृत्यु भएको थियो ।हमास लडाकूहरूले दुई सय ५१ बन्दीलाई बन्धकसमेत बनाएका छन् । तीमध्ये एक सय ११ अहिले पनि गाजामा छन् र तीमध्ये ३९ जनाको मृत्यु भएको इजरायली सेनाले पुष्टि गरेको छ ।

हमास शासित क्षेत्रको स्वास्थ्य मन्त्रालयलका अनुसार हमासविरुद्धको इजरायली जवाफी आक्रमणमा गाजामा ३९ हजार चार सय ४५ जनाको मृत्यु भएको छ ।

समयको सार

कतार र इजिप्टको मध्यस्थता तथा अमेरिकाको समर्थनमा हमास र इजरायलबीच युद्धविराम र बन्धकहरूको रिहाई सम्झौताका लागि महिनौँसम्मको वार्ता असफल भएको छ । इजरायल र हमास दुवैले सम्झौतामा ढिलाइका लागि एकअर्कालाई दोषारोपण गरेका छन् ।

हाइफाका अर्का बासिन्दा अवित बेन–इशाईले भन्नुभयो, “बन्धकहरू घर फर्किएपछि हामी खुशी हुनेछौँ र युद्ध समाप्त हुनेछ । अभियान समूह होस्टेज एन्ड मिसिङ फ्यामिलिज फोरमले युद्धको पछिल्लो करिब १० महिनाको सैन्य उपलब्धिलाई स्वीकार गरेको छ तर ‘साँचो उपलब्धि’ बन्धकहरूको फिर्तीपछि मात्र आउनसक्ने बताएको छ ।

हानियाको हत्याको घोषणापछि जारी विज्ञप्तिमा भनिएको छ, “समयको सार हो र हामी इजरायली सरकार र वैश्विक नेताहरूसँग वार्तालाई निर्णायकरूपमा अगाडि बढाउन आग्रह गर्दछौँ, यो सम्झौताका लागि समय हो ।”तेल अभिव निवासी शाहर बिन्यामीले हमास र लेबनानका हिजबुल्लाह आन्दोलन जस्ता सहयोगीहरूले हानियाको हत्यामा कस्तो प्रतिक्रिया दिन्छन् भन्ने कुराले चिन्तित रहेको बताउनुभयो ।

“हमास र हिजबुल्लाहको प्रतिक्रियाले मलाई अहिले तनाव दिएको छ”, डरका कारण सामुद्रिक तट जाने योजना रद्द गर्दै २५ वर्षीय बिन्यामीले भन्नुभयो, “मेरो साथी सेप्टेम्बरमा उत्तरमा रिजर्भ सेवामा थिए र उनलाई स्ट्यान्डबाइ हुन भनिएको थियो ।”हानियाको हत्या हुनु केही घन्टाअघि मङ्गलबार राति इजरायली आक्रमणले दक्षिण बेरुत उपनगरको एक भवनमा हिजबुल्लाहका शीर्ष कमान्डर फुआद शुक्रलाई निशाना बनाएको थियो । लेबनानी समूहले अहिलेसम्म शुक्रको मृत्युको पुष्टि गरेको छैन ।

आफ्नो पहिलो नाम मात्र बताउने तेल अभिव निवासी ज्याकोबले हानियाको हत्याबाट द्वन्द्वको समाधान हुन्छ वा हुँदैन भन्नेबारे निश्चित नभएको बताउनुभयो । “हाम्रो लक्ष्य सबैभन्दा पहिला बन्धकहरूको रिहाई हुनुपर्छ र अक्टोबर ७ को युद्ध हुनुहुन्नथ्यो”, उहाँले भन्नुभयो, “इजरायलले मध्यपूर्वमा शान्तिपूर्ण अस्तित्वका लागि सक्दो प्रयास गरिरहेको छ, हामीले सधैँ हाम्रो रक्षा गर्नुपर्छ ।”

कर्णालीमा विपद्ः डेढ महिनाको अवधिमा २ करोड बढीको क्षति, नौको मृत्यु

सुर्खेत – कर्णाली प्रदेशमा गत जेठ २८ यता मनसुनजन्य विपद्का कारण दुई करोडभन्दा बढीको क्षति भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार डेढ महिनाको अवधिमा प्रदेशका १० जिल्लामा गरी दुई करोड २८ लाख ५५ हजार नौ सय ३७ बाराबरको क्षति भएको हो । सबैभन्दा धेरै दैलेखमा ७० लाखको क्षति भएको तथ्यांक छ । यहाँ २३ वटा विपद्जन्य घटना भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सुर्खेतमा १९ वटा विपद्का घटना भएका छन्, जसबाट १० लाखको नोक्सानी भएको छ । यस्तै जाजरकोटमा ३३ वटा घटना हुँदा रु ३० लाख, सल्यानमा २४ वटा विपद्जन्य घटनामा रु ५१ लाख ३० हजार, रुकुम पश्चिममा ४७ मनसुनजन्य घटनाबाट रु १६ लाख ९९ हजारको नोक्सानी भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिए ।

कालिकोटमा एक सय दुई मनसुनजन्य घटनामा १८ लाख ५० हजार, जुम्लामा चार घटनामा ४० लाख, डोल्पामा १६ वटामा रु १९ लाख ५० हजारको क्षति भएको तथा हुम्ला र मुगुमा कुनै पनि नोक्सानी नभए पनि यहाँ हालसम्म ३३ वटा मनसुनजन्य घटना भएका उनले जानकारी दिए ।

विपद्का घटनामा नौको मृत्यु

सोही अवधिमा कर्णालीमा मनसुनजन्य विपद्का घटनामा परी नौको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन् । जसमध्ये सुर्खेतमा दुई, दैलेखमा एक, जाजरकोटमा दुई, रुकुम–पश्चिममा चारको मृत्यु भएको हो । रुकुम–पश्चिका एक जना अझै बेपत्ता रहेको प्रवक्ता ओलीले बताउनुभयो ।

यसैबीच ४६ जना घाइते भएका छन् । घाइते हुनेमा जाजरकोटका २२, रुकुम पश्चिमका ११, कालिकोटका सात, दैलेखका चार, सुर्खेत र डोल्पाका एक/एक जना रहेका छन् ।

यसैगरी विपद्बाट कर्णाली प्रदेशभर ४५ परिवारका दुई सय पाँच जना विस्थापित भएका छन् । उनीहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।

बाढीपहिराबाट डेढ महिनाको अवधिमा प्रदेशमा एक सय छ पशुचौपाया मरेका छन् भने ४५ वटा घाइते भएका छन् । ७५ वटा बेपत्ता छन् ।

यहाँ बाढीपहिराले ७० घरमा पूर्ण र ५४ घरमा आशिंक क्षति पुगेको तथ्यांक छ । यस्तै २७ साना उद्योगमा पूर्णरूपमा क्षति पुगेको छ भने दुई विद्यालय पूर्ण तथा दुई विद्यालयमा आंशिक क्षति पुगेको छ । चार वटा सरकारी कार्यालयमा बाढीपहिराले क्षति पुग्दा दुई वटा संघसंस्थाका भौतिक संरचनामा क्षति पुगेको छ ।

कनकासुन्दरीको भैँसेडीमा पक्की पुल निर्माण

काठमाडौँ, १६ साउन : जिल्लाको कनकासुन्दरी गाउँपालिका–४ स्थित भैँसेडीस्थित हिमा नदीमाथि पक्की पुल निर्माण भएको छ ।
पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख पदमप्रसाद देवकाटाले पुल निर्माणपछि यहाँका गाउँ बस्तीका नागरिकलाई यातायातको पहुँचमा पु¥याउन निकै राहत भएको बताउनुभयो । उक्त पुल नयाँ प्रविधिको (प्रि–स्ट्रेस कङ्क्रीट पक्की पुल) भैसेडीमा निर्माण भएको हो ।

हिमाली क्षेत्रमा निकै जोखिमयुक्त मानिने प्रि–स्ट्रेस कङ्क्रीट पुल यहाँ निकै सावधानीका साथ निर्माण गरिएको कार्यालय प्रमुख देवकोटाको भनाइ छ । “पुलको नियमित निरीक्षण, निगरानी तथा स्थानीय सडक पुल एकाइका प्राविधिक तथा सामाजिक सुरक्षा अधिकारीको सक्रियतामा पुल निर्माण सम्पन्न भएको हो । गाउँगाउँमा सडक पुगे पनि पुल नहुँदा कनकासुन्दरीका वडा नं ४ र ५ का नागरिक यातायात सेवाबाट वञ्चित थिए । झोलुङ्गे पुलकै साहारामा आवतजावत गर्नुपर्ने बाध्यता थियो”, उहाँले भन्नुभयो,“भैँसेडीमा पक्की पुल निर्माण भएपछि दुर्गम गाउँलाई पालिकाको केन्द्रसँग जोड्न र स्थानीयको दैनिकी सहज बनाउन निकै सहयोग पुगेको छ ।”

कूल रु चार करोड ३२ लाख ६३ हजारको लागत रहेको यस पुलको लम्बाइ ३० मिटर, चौडाइ आठ दशमलव चार मिटर, गाडी गुड्ने चौडाइ छ मिटर, मानिस हिड्ने चौडाइ दुवैतर्फ एक दशमलव दुई मिटर रहेको निर्माण कार्यालय जनाएको छ ।

नुवाकोटको भद्रुटारका दर्जनौँ घरपरिवार बाढी र पहिरोको जोखिममा, सयौँ रोपनी धानखेतमा बाढी पस्यो

काठमाडौँ, १६ साउन : निरन्तरको वर्षाका कारण नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ स्थित भद्रुटारमा बाढी र पहिराले लाखौँको क्षति गरेको छ ।वर्षासँगै स्थानीय खहरे खोलामा आएको बाढीका कारण त्यस क्षेत्रका एक दर्जनभन्दा पनि घरपरिवार जोखिममा परेका छन् भने सयौँ रोपनी धान खेत कटानको जोखिममा छ । त्यसैगरी बढीसँगै आएको पाँगो र गेग्र्यान माटो धान खेतमा थुप्रिएको छ ।

खोलाले खेतीयोग्य जमिन कटान गर्नुका साथै आसपासका घर जोखिममा परेको र स्थानीय निरन्तर जोखिममा बस्नुपरेको प्रभावित पुरुषोत्तम सिटौलाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निरन्तरको वर्षासँगै आएको बाढीका कारण यहाँका दर्जनौँ घरपरिवार जोखिममा परेका छन् । यहाँको कैयौँ खेतीयोग्य जमिनमा कटानमा परेको छ भने केही दिनअघि रोपाइँ सम्पन्न गरेको धान खेतमा गेग्र्यान थुप्रिएको छ ।”

उहाँका आफ्नोसँगै स्थानीय मिलन तामाङ, रामहरि खतिवडा, एकप्रसाद खतिवडा, पुरुषोत्तम खतिवडा, गायत्री खतिवडा, बद्री खतिवडा, कुलबहादुर तामाङ, गोकर्ण पौडेललगायत पहिरो र कटानको खोजीममा परेका छन् । उनीहरू खेतमा बाढी पसेको छ भने घर वरपरको जमिन कटान हुँदा जोखिम बढेको छ ।

“बाढी र पहिराले निम्त्याएको जोखिम र क्षतिबारे स्थानीय सरकारलाई जानकारी गराएका छौँ । वडाध्यक्षले प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको छ”, स्थानीय सिटौलाले भन्नुभयो, “खेतमा पानी लैजाने पक्की कुलो सबै खोलाले बगाएको छ । त्यतिमात्र होइन बस्ती नै जोखिमा रहेको छ ।”

बस्तीमाथि हिउँदमा अन्धाधुन्ध ‘डोजर’ प्रयोग गरेर बाटो सडक खन्ने र राम्रोसँग तारजाली नबनाउने गरेका कारण तटीय क्षेत्रका बस्ती जोखिममा परेको प्रभावित बद्रीनाथ खतिवडाले बताउनुभयो । उहाँका अनुसार स्थानीय ठाउँठाउँमा पहिराको जोखिम छ ।

उक्त क्षेत्रमा जनताले खोला नियन्त्रण एवं पहिरो र बाढीबाट प्रभावितलाई राहत उपलब्ध गराउनुपर्नेमा माग गरेका छन् । यहाँका स्थानीयले बस्तीमाथि सडक एवं पूर्वाधार निर्माण गर्दा तटीय क्षेत्रको जोखिमलाई ध्यान नदिएको भन्दै विरोध गरेका छन् ।

बुटवलको आम्दालाई मेडिकल कलेज बनाउन छलफल

लुम्बिनी– बुटवलमा रहेको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दालाई मेडिकल कलेज बनाउने विषयमा छलफल भएको छ।इन्डोनेसियाको बालीमा हुने आम्दा इन्टरनेसनलको अन्तर्राष्ट्रियसभामा आम्दालाई मेडिकल कलेज बनाउन प्रस्ताव लैजाने विषयमा छलफल भएको हो।

आम्दा बुटवलको स्थानीय व्यवस्थापन समितिका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको अध्यक्षता र आम्दा इन्टरनेसनलका अध्यक्ष डा. सिगेरु सुगानामीको उपस्थितिमा आज बुटवलमा भएको छलफलमा आम्दा इन्टरनेसनल मेडिकल कलेज स्थापनाका लागि प्रक्रिया अगाडि बढाउने निर्णयसमेत गरिएको जनाइएको छ।

यसका लागि समितिका अध्यक्ष तथा उपमहानगर प्रमुख खेलराज पाण्डेयको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल बनाइएको छ। कार्यदलको सदस्यमा आम्दा इन्टरनेसनलका प्रतिनिधि अर्चना जोशी, आम्दा नेपालका अध्यक्ष डाक्टर सुनु दुलाल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल र आम्दा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. विनोद पराजुली सदस्य सचिव छन्।

एमसिए–नेपालद्वारा तीनवटै ४०० केभी सबस्टेशनको निर्माण सम्झौता सम्पन्न

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले तनहुँको दमौलीमा ४०० केभी क्षमताको नयाँ दमौली सबस्टेशन निर्माणका लागि भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ लिमिटेडसँग ३ दशमलव ८८ करोड अमेरिकी डलरको ठेक्का सम्झौता सम्पन्न भएको घोषणा गरेको छ ।

यो सम्झौतासँगसँगै एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण गर्न लागिएका तीनवटै ४०० केभी सबस्टेसन निर्माणसम्बन्धी सम्झौता सम्पन्न भएको छ । निर्माण सम्पन्न भएपछि नयाँ दमौली सबस्टेसन पनि सोही कम्पनीसँग गत जेठमा निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको रातमाटे सबस्टेसन जस्तै एक हजार मेगा भोल्ट एम्पिएर क्षमताका नेपालकै ठूला सबस्टेसनमध्ये एउटा बन्नेछ ।

उक्त नयाँ दमौली सबस्टेसनले रातमाटे, लेखनाथ र नयाँ बुटवल सबस्टेसनबीच विद्युत् प्रसारणका लागि महत्त्वपूर्ण सेतुका रूपमा काम गर्नेछ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सन, एमसिए–नेपालका सञ्चालक समितिका सदस्यहरू, टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङका प्रबन्ध निर्देशक पदमप्रकाश गुप्ता, नेपाल विद्युत् प्राधिकरण, एमसीसी र एमसिए–नेपालका अधिकारीको समुपस्थितिमा आज आयोजित एक समारोहमा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ लिमिटेडका व्यापार निर्देशक राजीव अग्रवालले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै ऊर्जामन्त्री खड्काले यी तीनवटै सबस्टेसनले नेपालको विद्युत् वितरण प्रणालीको सशक्तीकरणमा महत्त्वपूर्ण योगदान गर्दै आर्थिक समृद्धिका लागि मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गरे ।

उनले आयोजना समयमै सम्पन्न गर्नका लागि सशक्त पहल गर्न पनि सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूलाई आह्वान गरे । समारोहमा अर्थ मन्त्रालयका सचिव एवं एमसिए–नेपाल सञ्चालक समितिका अध्यक्ष डा रामप्रसाद घिमिरेले भने, ‘यो प्रगति एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनका लागि एमसिए–नेपालले गरेका निरन्तर प्रयासको राम्रो सङ्केत हो । नेपालको फैलँदो ऊर्जा क्षेत्रका लागि यी तीनवटा सबस्टेसन महत्त्वपूर्ण छन् र यिनीहरूले नेपालको आर्थिक विकासका लागि आवश्यक औद्योगिक र व्यापारिक क्रियाकलाप विस्तार गर्न भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्नेछ ।’

अमेरिकी राजदूत थम्प्सनले भने, ‘आज नेपाल सरकार, अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र एमसिए–नेपालसँग काँधमाकाँध मिलाउँदै यो आयोजनाको प्रगति र नेपालको सुन्दर भविष्य निर्माणका लागि यहाँहरू सबैले निर्वाह गर्नुभएको महत्वपूर्ण भूमिकाको म प्रशंसा गर्दछु ।’

उनले अगाडि भने, ‘समावेशी एवं दिगो आर्थिक विकासमार्फत नेपालको घरघरमा ऊर्जा पुर्‍याउन, नेपाली अर्थतन्त्रलाई थप ऊर्जा प्रदान गर्न, रोजगारी सिर्जना गर्न र गरिबी न्यूनीकरण गर्न नेपालसँग सहकार्य गर्दै एमसीसी नेपाल कम्प्याक्ट हाम्रो साझा सफलताको कथाको महत्वपूर्ण अङ्ग बन्दैछ ।’

एमसिए–नेपालका कार्यकारी निर्देशक विष्टले भने, ‘एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनमा गएको पहिलो वार्षिकोत्सवको पूर्वसन्ध्यामा तीनै वटा सबस्टेसन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनु महत्वपूर्ण कोसेढुङ्गा हो । यस अवसरमा म नेपाल सरकार, हाम्रा महत्वपूर्ण सरोकारवाला निकाय अर्थ मन्त्रालय, एमसिए–नेपाल सञ्चालक समिति, नेपाल विद्युत् प्राधिकरण तथा एमसीसीलाई निरन्तर सहयोगका लागि धन्यवाद ज्ञापन गर्दछु ।’

एमसीसी नेपाल कम्प्याक्टले विद्युत् प्रसारण आयोजनाअन्तर्गत तीन वटा सबस्टेसनका अतिरिक्त काठमाडौँको लप्सीफेदीदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित नेपाल–भारत सीमासम्म ३१५ किमि लामो प्रसारण लाइन निर्माण गर्न आर्थिक सहयोग गर्दैछ । अहिले १८ किमी लामो सीमापार प्रसारण लाइन निर्माणका लागि प्राप्त बोलपत्रहरूको मूल्याङ्कन कार्य भइरहेको छ ।

एमसिए–नेपालले यसको निर्माण सम्झौता यही साउनमा गर्ने लक्ष्य लिएको छ । त्यस्तै बाँकी २९७ किमी प्रसारण लाइन निर्माणका लागि यसैवर्ष यथाशीघ्र पुनः बोलपत्र आह्वान गर्ने तयारी भइरहेको छ । एमसिए–नेपालले सडक मर्मत आयोजनातर्फ फूल डेप्थ रिक्लेमेसनसम्बन्धी खरिदका लागि यही वर्षको भदौभित्र बोलपत्र आह्वान गर्ने तयारी गरेको छ ।

नेपालको इतिहासमा अमरसिंहको बेग्लै पहिचान छ : मन्त्री राई

काठमाडौँ, साउन १६ गते । रक्षामन्त्री मानवीर राईले राष्ट्रिय विभूति अमरसिंह थापाको नेपालको इतिहासमा बेग्लै पहिचान रहेको बताउनुभएको छ । ‘राष्ट्रिय विभूति वीर अमरसिंह थापाको २०८औँ स्मृति दिवसका’ अवसरमा आयोजित कार्यक्रममा उहाँले थापासहित राष्ट्र र राष्ट्रियताका लागि योगदान पुर्याउने सबै वीरवीरगङ्गानाप्रति नेपाल सरकारको उत्तिकै सम्मान रहेको स्पष्ट पार्नुभयो ।

मन्त्री राईले भन्नुभयो, “नेपालको एकीकरणमा उहाँले खेल्नुभएको भूमिका निकै महत्वपूर्ण छ । राष्ट्रिय विभूति थापाको योगदान जोडिएको इतिहास अझै अपुरो छ । मुलुकको सीमा सुरक्षाका क्रममा आफूलाई केही असजिलोको धक्का महसुस गर्दासमेत ज्यान दिन तयार हुनुहुन्थ्यो ।” उहाँले आज राष्ट्र र राष्ट्रियताको सवालभन्दा व्यक्तिगत इच्छा र चाहानामा समाज हिँडिरहेको अवस्थामा इतिहासमा त्यस्ता योगदान दिने व्यक्तिको खोजी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा इतिहासविद एवम् उहाँका बारेमा जानकार राजाराम सुवेदी, धनबहादुर कुँवर तथा पूर्वसहायकरथी डा.प्रेमसिंह बस्न्यातले राष्ट्रिय विभूति थापाले नेपालको एकीकरण र राष्ट्रियता प्रवद्र्धनका लागि खेल्नुभएको भूमिकाको चर्चा गर्नुभयो । नेपाल एकीकरणका बेलामा तत्कालीन अङ्ग्रेजसँगको लडाइँमा बडाकाजी थापाले ‘म बाघको डमरु हुँ, मलाई सिनो खाने कुकुर नसम्झ’ भनी दिनुभएको अभिव्यक्ति नेपाली समाजमा निकै चर्चित छ ।

बाढी र डुबान: काठमाडौँ उपत्यकाका तीन जिल्लाबाट ७० जनाको उद्दार

काठमाडौँ, साउन १७ गते । गएरातिको भारी वर्षापछि आएको बाढी र डुबानमा परेका ७० जनाको काठमाडौँ उपत्यकाका तीन जिल्लाबाट उद्दार गरिएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले दिएको जानकारीअनुसार सो क्रममा उपत्यकामा एक जनाको खोलाले बगाएर मृत्यु भएको छ ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले काठमाडौँमा १० पुरुष, ६ महिला र दुई बालबालिका गरी १८ जना तथा ललितपुरका १३ पुरुष आठ महिला र तीन बालबालिका गरी २४ जनाको उद्दार गरिएको छ । यस्तै, भक्तपुरमा १३ पुरुष, ११ महिला र चार बालबालिकागरी २८ जनाको उद्दार भएको मैनालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौँमा बाढीले बगाएर एक जनाको ज्यान गएको छ । काठमाडौँको सुकुम्बासी टोलमा बस्दै आएका बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको बल्खु पुलमुनि अड्किएको अवस्थामा बिहान शव फेला परेको हो । प्रहरीले उपत्यकाका तीनवटै जिल्लाबाट सात सयभन्दा बढी पशुचौपाय तथा कुखुराको पनि उद्दार गरिएको छ । गएरातिको भारी वर्षा पनि उपत्यका भएर बग्ने सबै खोला तथा नदीमा बहाब बढ्दा नदी किनारका धेरै क्षेत्र डुबानमा परेको थियो

हाम्रा ज्ञान र सीप जनताको हितमा केन्द्रित गरौँः राष्ट्रपति पौडेल

काठमाडौँ, साउन १६-राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले परिकल्पना गरेको राजनीतिक स्थायित्व, विकास र सुशासनका माध्यमबाट देशलाई समृद्धिको बाटोमा लैजान सकेमात्र अग्रजहरूले परिकल्पना गरेको लक्ष्यमा पुग्न सकिने बताउनुभएको छ ।

डा।डिल्लीरमण कल्याणी रेग्मी पुस्तकालय विकास समितिद्वारा राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले हाम्रा अनुभव, ज्ञान, सीप, क्षमता र योग्यता देश र जनताको सर्वोत्तम हितका लागि समर्पित गनुपर्ने बताउनुभयो ।

सुशासन, विकास र समृद्धि हाम्रो राष्ट्रिय अठोट र प्रतिबद्धता हुनुपर्ने बताउँदै राष्ट्रपति पौडेलले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले परिकल्पना गरेअनुसार राजनीतिक स्थायित्व, विकास र सुशासनका माध्यमबाट देशलाई समृद्धिको बाटोतर्फ लैजान सकेमात्र हाम्रा अग्रज राजनीतिज्ञहरूले परिकल्पना गरेको लक्ष्य साकार हुन्छ । त्यसैले सुशासन, विकास र समृद्धि हाम्रो राष्ट्रिय अठोट र प्रतिबद्धता हुनुपर्दछ ।”

राष्ट्रपति पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलनमा ऐतिहासिक भूमिका निर्वाह गर्नुभएका डा रेग्मीको व्यक्तित्व बहुआयामिक भएको बताउँदै नेपालको राजनीतिक, साहित्यिक र सामाजिक क्षेत्रमा पुर्‍याउनुभएको योगदान प्रेरणादायी भएको बताउनुभयो । उहाँले अङ्ग्रेजी भाषामा नेपालको इतिहास लेखेर नेपाललाई संसारमा चिनाउन रेग्मीले दिनुभएको योगदानको स्मरण गर्नुभयो ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्याभट्टराईले डा। डिल्लीरमण कल्याणी रेग्मी पुस्तकालयलाई व्यवस्थित र गतिशील बनाउन लागि पर्ने विश्वास व्यक्त गर्नुभयो ।

यस वर्षको एक लाख राशिको डिल्लीरमण रेग्मी राष्ट्रिय पुरस्कार नेपालका पाका तथा प्रतिष्ठित पत्रकार भैरव रिसाललाई तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० लाई प्रदान गरिएको छ ।

केन्द्रीय कमिटीलाई पूर्णता दिन एकीकृत समाजवादीले बनायो तीन सदस्यीय कार्यदल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीलाई पूर्णता दिन अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बुधबार बसेको केन्द्रीय कमिटी बैठकले गठन गरेको कार्यदलमा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल छन् ।

सबै प्रदेशले केन्द्रीय सदस्यका लागि केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी कार्यदलले पदाधिकारी र केन्द्रीय सदस्यको नाम सिफारिस गर्ने नेता सोमप्रसाद पाण्डेयले जानकारी दिए ।

विधानअनुसार पार्टीमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएको छ । समावेशिताको अनुपात र सङ्ख्याअन्तर्गत दलित, आदिवासी जनजाति र खुला समूह निर्धारण गरी क्लष्टर छुट्टाइएको छ । समावेशी महिला र समावेशी २५ देखि ४५ वर्षको उमेर समूह तथा खुला उमेर समूह निर्धारण गरिएको छ ।

हालै सम्पन्न महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महासचिवसहित तीन पदाधिकारी, ९० केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेकाले बाँकी दुई सय छ केन्द्रीय सदस्य पद रिक्त छन् ।

बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयवस्तुको समीक्षाका साथै पार्टीको भावी कार्ययोजनाबारे छलफल गरिएको जनाइएको छ ।

स्थानीय पूर्वाधार विकासमा नागरिकको चाहना पूरा गर्नेगरी काम हुनुपर्छ : उपप्रधानमन्त्री सिंह

ललितपुर, साउन १६ गते । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकको चाहना पूरा गर्ने गरी स्थानीय पूर्वाधार विकासमा काम गर्न निर्देशन दिनुभएको छ । आज यहाँ स्थानीय पूर्वाधार विभागका कामकारबाही र आगामी योजनाबारे जानकारी लिनुभएपछि उहाँले जनताको पूर्वाधार निर्माणको चाहना पूरा गर्न विभागको भूमिका महत्त्वपूर्ण रहेकाले सोहीअनुसार क्रियाशील हुन निर्देशन दिनुभएको हो ।

“स्थानीय पूर्वाधार विकासका क्षेत्रमा प्रभावकारीरुपमा काम गरौँ, केही अप्ठ्यारा भए मन्त्रालय समन्वय गर्न तयार छ । जनताको प्रत्यक्ष चासोसँग जोडिएका झोलुङ्गे पुल, ग्रामीण सडक, प्रशासकीय भवनजस्ता पूर्वाधार विकासको जिम्मेवारी तपाईँहरूकै काँधमा छ । त्यसैले कामको गतिसँगै गुणस्तर बढाउनु लाग्नुपर्छ”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।

त्यस अवसरमा हालसम्म विभागले देशभर तीन सय ६४ पालिकाका प्रशासकीय भवन निर्माण सम्पन्न गरिसकेको र एक सय ४९ भवन निर्माणाधीन अवस्थामा रहेका जानकारी दिइएको थियो । यस्तै, आर्थिक वर्ष ०८१/८२ मा विभागले ६८ स्थानीय तहका प्रशासकीय भवन, तीन सय झोलुङ्गे पुल, ४० वटा सडक पुल र एक सय किलोमिटर पक्की सडक र ७० किलोमिटर सडक निर्माण कार्य सुरु गर्ने लक्ष्य राखेको विभागले जनाएको छ ।

इटालीमा गर्मीको लहर तीव्र, १३ शहरमा रेड अलर्ट

इटाली, साउन १६ गते । इटालीको स्वास्थ्य मन्त्रालयका अनुसार देशका २७ ठुला शहरमध्ये १३ वटामा रेड अलर्ट जारी गरेको छ ।

तातो र सुख्खा मौसमले स्वस्थ व्यक्तिलाई समेत स्वास्थ्य जोखिममा पार्ने सङ्केत गरेको छ । चेतावनी दिइएका शहरमा बोलोग्ना, फ्लोरेन्स, मिलान, नेपल्स, पालेर्मो र रोम समावेश छन् ।

बालबालिका वृद्धहरू र स्वास्थ्य अवस्था भएकाहरूका लागि स्वास्थ्य जोखिम निम्त्याउने बताइएको छ । तीव्र गर्मीको लहरका बिचमा पानीको सतह घटेको छ र देशका धेरै भागहरू विशेष गरी दक्षिणी क्षेत्रहरूमा पानीको अभाव भएको छ ।

इटालीले १५ सयमा कल गरेर उपलब्ध एक विशेष गर्मी चेतावनी हटलाइन सुरू गरेको छ । इटाली र युरोपका अन्य भागहरूमा गर्मीको लहर भर्खरै यति गम्भीर भयो कि युनाइटेड किङ्गडम (युके) ले इटाली वा ग्रीस यात्रा गर्ने आफ्ना नागरिकहरूलाई गर्मीसँग सम्बन्धित यात्रा अलर्ट जारी गरेको छ ।यो लगातार तेस्रो वर्ष हो जुन इटालीले तीव्र र लामो गर्मीको लहरको प्रभावसँग सङ्घर्ष गरेको छ ।

ब्याज दर बृद्धिपछि जापानमा येनको मूल्य बढ्यो

बैङ्क अफ जापानले १७ वर्षमा दोस्रो पटक ब्याजदर बढाएपछि बुधबार डलरको तुलनामा येनको भाउ बढेको छ भने एसियाको शेयर बजारमा अमेरिकी ऋण लागत घट्ने आशा बढेको छ ।

एक दशकभन्दा बढी समयदेखि अस्थिर अर्थतन्त्रलाई चलायमान बनाउन र मुद्रास्फितिलाई स्थिर बनाउन अति–शिथिल मौद्रिक नीति अपनाएको बैङ्क अफ जापानले बैंकहरूको लक्ष्यभन्दा माथिको दरमा मूल्य वृद्धि भइरहेको अवस्थामा यस वर्ष आफ्नो ध्यान ब्याजदर वृद्धिमा केन्द्रित गरेको छ ।

सन् २००७ पछि पहिलो पटक गरिएको यो वृद्धि मार्चमहिनामा शून्यदेखि ०.१ प्रतिशतको हाराहारीमा पुगेको छ । जापान ऋणात्मक दरको लामो समयदेखि चलेको अभियानबाट पछि हटेको हो ।बुधबारको निर्णयले यो ०.२५ प्रतिशतमा झरेको छ ।धेरै टिप्पणीकारहरूले यस महिना बैंक धराशायी हुने भविष्यवाणी गरेका थिए, तर जापानका नवनियुक्त शीर्ष विदेशी विनिमय अधिकारीले कमजोर येनको फाइदा अवगुणभन्दा बढी भएको बताउनुभएको थियो ।

“येनको हालैको अवमूल्यनको फाइदा र बेफाइदा दुवै छ, तर अवगुणहरू अझ उल्लेखनीय हुँदै गएका छन्,” उच्च ऊर्जा र खाद्य मूल्यहरूको साथसाथै आयातकर्ताहरूमा प्रभावलाई सङ्केत गर्दै विदेशी विनिमय अधिकारी अत्सुशी मिमुराले सोमबार एक साक्षात्कारमा ब्लुमबर्गसँग भन्नुभयो । अग्रिम जुलाईको सुरुमा येनको एकाइले लगभग चार दशकको सबैभन्दा कम प्रति डलर १६२ को नजिक पुगेको केही हप्तापछि आएको हो ।

लोकतन्त्रविना मानवअधिकारको रक्षा हुँदैन : उपप्रधानमन्त्री पौडेल

पाटन (ललितपुर), साउन १६ गते । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्क्रमणकालीन न्याय र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा आयोजित ३२औँ प्रकाश स्मृति दिवस तथा ३०औँ प्रकाश मानवअधिकार पुरस्कार वितरण कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

उपप्रधानमन्त्री पौडेलले सङ्क्रमणकालीन न्याय र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । “विगतमा द्वन्द्वबाट गुज्रिएको नेपालमा द्वन्दको अवस्थालाई त अन्त्य गर्यौँ तर सङ्क्रमणकालीन न्याय र शान्ति प्रक्रियाका काम बाँकी छन् । यी काम पूरा गर्ने जिम्मेवारी मानवअधिकारकर्मी, नेपाल सरकार, नागरिकसमाजलगायत सबैको हो । सबै मिलेर अगाडि बढ्न आवश्यक छ । पीडितको पक्षमा हुने गरी द्वन्द्वका बाँकी कामलाई अन्त्य गर्न लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।

उपप्रधानमन्त्री पौडेलले लोकतन्त्र नभई मानवअधिकार प्रयोगको अवस्था रहँदैन भन्नेमा नेपाल सरकार प्रष्ट र यसको संरक्षणका लागि प्रतिबद्ध रहेको धारणा राख्नुभभयो । “लोकतन्त्रविना मानवअधिकारको रक्षा हुन सक्दैन । यसर्थ मानवअधिकारको रक्षा र सबल अवस्थाका निर्माणका लागि लोकतन्त्र अपरिहार्य छ । यसमा नेपाल सरकार प्रतिबद्ध छ”, उहाँको भनाइ थियो । उपप्रधामन्त्री पौडेलले मानवअधिकारको संरक्षणका लागि राज्यलाई जिम्मेवार बनाउन र नेपालमा न्याय मर्ने छैन भन्ने विश्वास दिलाउन सबै मिलेर थप कार्य गर्न आवश्यक रहेकामा जोड दिनुभयो ।

उहाँले मानवअधिकारको पक्षमा इन्सेकले गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । इन्सेकका संस्थापक अध्यक्ष तथा मानवअधिकार आयोगका पूर्वसदस्य सुशील प्याकुरेलले आफूमाथि भएको अन्याय र न्यायका लागि लड्नु मानवअधिकार क्षेत्रको ठूलो आन्दोलन हो भन्नुभयो । उहाँले द्वन्द्व सकिएपछि सङ्क्रमकालीन न्याय मुख्य सरोकारको विषय भएकाले यसमा सबै गम्भीर हुनुपर्ने बताउनुभयो । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य लिली थापाले मानवअधिकारको रक्षाका लागि मानवअधिकारका विषयमा व्यापक सचेतता जगाउन आवश्यक छ भन्नुभयो ।

इन्सेकका अध्यक्ष डा.कुन्दन अर्यालले सङ्क्रमणकालीन न्यायको विषयमा नेपाल सरकारको धारणा सकारात्मक रहेको बताउनुभयो । इन्सेकले यसवर्षको प्रकाश मानवअधिकार पुरस्कार काभ्रेको नमोबुद्ध नगरपालिका–९ दाप्चाकी पूर्णिमाया लामा तामाङलाई प्रदान गरेको हो । उहाँ सङ्क्रमणकालीन न्यायका लागि सङ्घर्षरत हुनुहुन्छ । पुरस्कार ग्रहणपश्चात मन्तव्य राख्नुहुँदै तामाङले निर्दाेष मान्छेलाई अपहरण गरी हत्या गर्नेलाई कारबाहीका लागि आफू सङ्घर्षमा रहेको र ढिलै भएपनि न्याय मिल्ने आशा रहेको बताउनुभयो ।

गत वर्ष २९औँ प्रकाश मानवअधिकार पुरस्कार कपिलवस्तुकी रुकैया खातुनलाई प्रदान गरिएको थियो । पुरस्कारको राशि ५० हजार रहेको छ । ३२ औँ प्रकाश स्मृति दिवस तथा ३० औँ प्रकाश मानवअधिकार पुरस्कार वितरण कार्यक्रमको अवसर पारेर इन्सेकले ‘साउथ एसियन ह्युमन राइट्स जर्नल’ प्रकाशन सुरुआत गरेको छ । जर्नल त्रैमासिकरुपमा प्रकाशन हुने इन्सेक अनलाइनका सम्पादक रमेशप्रसाद तिमल्सिनाले जानकारी गराउनुभयो ।

इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको श्रीलङ्कामा भएको कार्यक्रमबाट नेपाल फर्कने क्रममा २०४९ साउन १६ गते थाइ एअरको दुर्घटनामा परेर निधन भएको थियो । दुर्घटनामा काफ्लेसहित एक सय १४ जनाको निधन भएको थियो । मानवअधिकार अभियानमा क्रियाशील रहेकै समयमा दिवंगत हुनुभएका काफ्लेको सम्झनामा इन्सेकले प्रत्येक वर्ष ५० हजार राशिको ‘प्रकाश मानवअधिकार पुरस्कार’ प्रदान गर्दै आएको छ ।

विद्युतीय व्यापारसम्बन्धी कानुन अनिवार्य भइसकेको छ, चाँडो निर्माण गरौँ : मन्त्री भण्डारी

काठमाडौँ, साउन १६ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापार विधेयकलाई यथाशक्य छिटो अन्तिमरुप दिन अनुरोध गर्नुभएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा उहाँले विद्युतीय व्यापारसम्बन्धी कानुन आवश्यकता मात्र नभएर अनिवार्य भएको भन्दै विधेयकलाई अन्तिम रूप दिन अब ढिलाइ गर्न नहुने धारणा व्यक्त गर्नुभयो ।

विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा समितिमा संशोधन प्रस्तावकर्ता सदस्यहरूसँगको छलफलका क्रममा मन्त्री भण्डारीले भन्नुभयो, “मन्त्रालयका तर्फबाट आएको प्रस्ताव हुबहु पारित हुनुपर्छ भन्ने छैन, मिहिन ढङ्गबाट दफावार छलफलसहित विद्युतीय व्यवसायलाई सहयोग र सहजीकरण गर्नेगरी समसामयिक र कार्यान्वयनमुखी विधेयक आउने विश्वास व्यक्त गर्नुभयो ।”

“यो कानुन बनाउन जति ढिला भयो उति नै हाम्रो व्यापार नीति प्रवर्द्धनमा समस्या आउँछ”, मन्त्री भण्डारीले भन्नुभयो, “हामीले जति सक्दो चाँडो यो कानुन बनाउन सक्यौँ त्यति नै हाम्रो व्यापार घाटा कम, स्वदेशी उत्पादनमा वृद्धिसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरणमा सहयोग पुग्ने देखिएकाले यथाशक्य छिटो सर्वसम्मतिबाट विधेयकलाई अन्तिम रूप दिन सबैसँग अनुरोध गर्दछु ।”

सो बैठकमा संशोधनकर्ता मनिष झा, दामोदर पौडेल वैरागी, प्रेम सुवाल र नारायणी शर्माले उक्त विधेयकमाथि राख्नुभएको संशोधनमाथि छलफल भएको थियो । संशोधनकर्ता सांसदहरूले विद्युतीय व्यापारमा संलग्न पक्षलाई निरुत्साहित हुने गरी नियन्त्रणमुखी कानुन बनाउन नहुने सुझाव दिनुभयो ।

संशोधनकर्ता झाले उद्यमशीलता अभ्यास गरिरहेकालाई कैद सजायको व्यवस्था गरेर निरुत्साहित गर्न नहुने बताउनुभयो । “सामान्य नाङ्लो पसल थापेर उद्यमशीलताको अभ्यास गरिरहेकालाई निरुत्साहित नगर्न र सजाय नराखी जरिवाना एवं क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

अर्का, संशोधनकर्ता सुवालले स्वदेशी पुँजी र उत्पादनको कारोबार बढ्ने गरी कानुन बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “नेपाललाई विदेशी व्यापार गर्ने थलो मात्र नबनाऔँ । यस विद्युतीय व्यापारबाट हाम्रो आफ्नो उत्पादनलाई विश्व बजारमा कसरी चिनाउन सकिन्छ ? त्यसतर्फ पनि ध्यान दिनुपर्‍यो ।”

प्युठानका किसानलाई चैतेधान भित्र्याउने चटारो

स्वर्गद्वारी । प्युठानको माण्डवी गाउँपालिका- ५ छापका ठाकुर घर्तीमगरलाई चैतेधान भित्र्याउने चटारो छ। चार रोपनीमा लगाएको धान भित्र्याउन उनलाई भ्याइनभ्याइ छ।

‘तीन बाली लगाउँदा अन्न वर्ष दिन पुग्ने र केही बीउ बिक्री हुने हुँदा एउटै खेतबाट आम्दानीको स्रोत थपिएको छ’, किसान घर्तीमगरले भने। परम्परागत धानको बीउलाई त्यागेर उन्नत जातको धान रोप्दा उत्पादन वृद्धि हुनुका साथै बीउको बिक्रीबाट आम्दानीमा बढेपछि चैतेधान लगाउन थालेको उनले बताए।

घर्तीमगरजस्तै माण्डवी गाउँपालिका- ५ का ९४ किसानले छ सय ५० रोपनीभन्दा बढीमा यस वर्ष चैतेधान लगाएका छन्। कतिपय किसानले भित्र्याइसकेका छन्भने कोही भित्र्याउने तयारीमा छन्। धान भित्र्याएका खेतमा बर्खेधान रोप्न बीउ तयार भइसकेको छ।

जिल्लामा प्युठान नगरपालिकाको झिमरुक फाँट, ऐरावती गाउँपालिकाको गोठिवाङ, सरङबेँसी, डाबरा फाँट, माण्डवी गाउँपालिकाको रुद्रपुर फाँट, मल्लरानी गाउँपालिका छापेखोलाका फाँट र स्वर्गद्धारी नगरपालिका केही स्थानमा चैतेधान हुँदै आएको छ।

धानको उत्पादन र उत्पादकत्व बढाउन काम गर्दै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ प्युठानले चैते धानखेतीको प्रवर्द्धन गर्दै आएको छ। जसले गर्दा यसअघि चैतेधान लगाएका किसानले निरन्तर धानखेती गर्दै आएका छन्।

चैते धान रोप्ने किसानलाई बीउमा ५० प्रतिशत अनुदान, कुलो निर्माणमा ८५ प्रतिशत, मलमा ५० प्रतिशत र विषादी र प्राविधिक सहयोगमा निःशुल्क प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले उपलब्ध गराएको छ। किसानलाई जमिन बाँझो नराख्न प्रोत्साहन गरी उत्पादनमा जोड दिइएको परियोजनाप्रमुख चुमान गिरीले बताए।

गत वर्ष एक हजार तीन सय ५० रोपनीमा चैतेधान लगाइएको थियोभने यो वर्ष दुई हजार छ सय रोपनीमा खेती भएको छ। परियोजनाप्रमुख गिरीका अनुसार जिल्लामा परम्परागत रूपमा धेरै फाँटमा चैतेधान रोपिए पनि पछिल्लो समय यो चार सय रोपनीमा सीमित थियो।

प्युठानको २२ हजार हेक्टर खेतीयोग्य भूमिमध्ये छ हजार पाँच सय ७५ हेक्टरमा धानखेती हुँदै आएको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका प्रमुख उमेश श्रेष्ठले जानकारी दिए। गत वर्ष जिल्लामा २१ हजार नौ सय ६७ मेट्रिक टन धान उत्पादन भएको थियो।

पोखरा बसपार्कमा मोटरसाइकल र कार ठोक्किँदा एक जना सैनिक जवानको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कमा मोटरसाइकल र कार ठोक्किँदा एक जना सैनिक जवानको मृत्यु भएको छ । नेपाली सेनाको नम्बर २ विपद् व्यवस्थापन गण रसौलीमा कार्यरत २७ वर्षीय सिपाही निगम नेपाली सार्कीको मृत्यु भएको हो । उहाँ तनहुँ भानु नगरपालिका–१२ का स्थायी बासिन्दा हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सोही गणमा कार्यरत बन्दीपुर गाउँपालिका–३ का २६ वर्षीय दिनेश थापा गम्भीर घाइते भएका थिए । गए राति बसपार्कबाट रामनगरतर्फ गइरहेको कारले विपरीत दिशाबाट आइरहेको उनीहरू सवार मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा घाइते दुवै जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको थियो । उपचारका क्रममा सार्कीको मृत्यु भएको हो ।

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ढोरपाटन (बागलुङ) । अविरल वर्षपछि पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । मङ्गलबार साँझदेखि परेको वर्षाका पहिरो खसेको हो ।

करिडोरको बागलुङ नगरपालिका-१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए। वर्षा भइरहेको हुँदा सडक खुलाउन समस्या भएको उनले बताए। दब्ल्याङमा करिडोर माथिको ठूलो क्षेत्र कमजोर भएकाले सामान्य वर्षा हुँदा पनि पहिरो खस्ने गरेको छ ।

ललितपुरका विभिन्न स्थान डुबानमा, २४ जनाको उद्धार, कान्तिलोकपथ ठप्प

पाटन (ललितपुर)। गए राति परेको अविरल वर्षाका कारण ललितपुरका विभिन्न स्थान डुबानमा परेका छन् ।ललितपुर प्रहरी परिसरका सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार गए रातिको अविरल वर्षाका कारण ललितपुर महानगरपालिका–९ स्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यालय र च्यासल फुटबल मैदान जलमग्न भएको छ ।

“डुबानमा परेका क्षेत्रमा उद्धारका लागि हामीले बुधबार बिहान १ बजेदेखि प्रहरी परिचालन गरेका थियौँ, बाढीको चपेटामा परेका तीन बालक, आठ महिला र १३ पुरुष गरी विभिन्न स्थानबाट २४ जनाको उद्धार भएको छ, अझै उद्धारको काम जारी छ”, सूचना अधिकारी सुवेदीले बताउनुभयो ।

ललितपुर महानगरपालिका–२ सानेपा, वडा नं ९ शङ्खमुल, वडा नं १ कुपण्डोल, महालक्ष्मी नगरपालिका–७ चाँगाथलीलगायत क्षेत्रमा बाढी पसेको छ । महालक्ष्मी नगरपालिका–९ लाकुरीभञ्ज्याङको सिस्नेखर्कमा पहिरो खस्दा काभ्रेपलान्चोकतर्फ जाने सडक अवरूद्ध भएको छ । बाढीका कारण गोदावरी नगरपालिका–१ दमाइटार सातथलीमा खड्कनन्द दाहालले सञ्चालन गरेको फार्मका चार सय कुखुरा मरेका छन् । बाढीकै कारण महालक्ष्मी नगरपालिका–८ लुभुको तल्लो चौतारास्थित पिपलको बोट ढलेर सडक अवरुद्ध भएको छ ।

यसैगरी, पहिरोले बागमती गाउँपालिका–३ पाङ्दुरडोल र टार्कुचेमा पहिरो खस्दा कान्तिलोकमार्ग पूर्ण रूपमा अवरुद्ध भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतले जानकारी दिनुभयो ।