`

पोखरा बसपार्कमा मोटरसाइकल र कार ठोक्किँदा एक जना सैनिक जवानको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कमा मोटरसाइकल र कार ठोक्किँदा एक जना सैनिक जवानको मृत्यु भएको छ । नेपाली सेनाको नम्बर २ विपद् व्यवस्थापन गण रसौलीमा कार्यरत २७ वर्षीय सिपाही निगम नेपाली सार्कीको मृत्यु भएको हो । उहाँ तनहुँ भानु नगरपालिका–१२ का स्थायी बासिन्दा हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सोही गणमा कार्यरत बन्दीपुर गाउँपालिका–३ का २६ वर्षीय दिनेश थापा गम्भीर घाइते भएका थिए । गए राति बसपार्कबाट रामनगरतर्फ गइरहेको कारले विपरीत दिशाबाट आइरहेको उनीहरू सवार मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा घाइते दुवै जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको थियो । उपचारका क्रममा सार्कीको मृत्यु भएको हो ।

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ढोरपाटन (बागलुङ) । अविरल वर्षपछि पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । मङ्गलबार साँझदेखि परेको वर्षाका पहिरो खसेको हो ।

करिडोरको बागलुङ नगरपालिका-१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए। वर्षा भइरहेको हुँदा सडक खुलाउन समस्या भएको उनले बताए। दब्ल्याङमा करिडोर माथिको ठूलो क्षेत्र कमजोर भएकाले सामान्य वर्षा हुँदा पनि पहिरो खस्ने गरेको छ ।

ललितपुरका विभिन्न स्थान डुबानमा, २४ जनाको उद्धार, कान्तिलोकपथ ठप्प

पाटन (ललितपुर)। गए राति परेको अविरल वर्षाका कारण ललितपुरका विभिन्न स्थान डुबानमा परेका छन् ।ललितपुर प्रहरी परिसरका सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार गए रातिको अविरल वर्षाका कारण ललितपुर महानगरपालिका–९ स्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यालय र च्यासल फुटबल मैदान जलमग्न भएको छ ।

“डुबानमा परेका क्षेत्रमा उद्धारका लागि हामीले बुधबार बिहान १ बजेदेखि प्रहरी परिचालन गरेका थियौँ, बाढीको चपेटामा परेका तीन बालक, आठ महिला र १३ पुरुष गरी विभिन्न स्थानबाट २४ जनाको उद्धार भएको छ, अझै उद्धारको काम जारी छ”, सूचना अधिकारी सुवेदीले बताउनुभयो ।

ललितपुर महानगरपालिका–२ सानेपा, वडा नं ९ शङ्खमुल, वडा नं १ कुपण्डोल, महालक्ष्मी नगरपालिका–७ चाँगाथलीलगायत क्षेत्रमा बाढी पसेको छ । महालक्ष्मी नगरपालिका–९ लाकुरीभञ्ज्याङको सिस्नेखर्कमा पहिरो खस्दा काभ्रेपलान्चोकतर्फ जाने सडक अवरूद्ध भएको छ । बाढीका कारण गोदावरी नगरपालिका–१ दमाइटार सातथलीमा खड्कनन्द दाहालले सञ्चालन गरेको फार्मका चार सय कुखुरा मरेका छन् । बाढीकै कारण महालक्ष्मी नगरपालिका–८ लुभुको तल्लो चौतारास्थित पिपलको बोट ढलेर सडक अवरुद्ध भएको छ ।

यसैगरी, पहिरोले बागमती गाउँपालिका–३ पाङ्दुरडोल र टार्कुचेमा पहिरो खस्दा कान्तिलोकमार्ग पूर्ण रूपमा अवरुद्ध भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतले जानकारी दिनुभयो ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० केन्द्रीय कमिटी बैठक बाज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्नेछ । बैठकले समावेशिताको अनुपात र सङ्ख्याअन्तर्गत दलित, आदिवासी जनजाति र खुला समूह निर्धारण गरी केन्द्रीय कमिटीलाई पूर्णता दिने जनाइएको छ ।

विधानअनुसार छुट्टाइएको क्लष्टरका आधारमा कमिटीको आकार थप गर्ने विषयमा बैठकमा छलफल हुने केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिए । हाल विधानअनुसार दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था रहेकामा तीन सय २९ सदस्यीय कार्यसमिति विस्तार गर्ने गरी छलफल अगाडि बढेको उनले बताए ।

सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरुको योगदान र सक्षमताको मूल्याङ्कन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनित गर्ने, कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्नेलगायतका विषयमा छलफल गर्ने तयारी छ । हालै सम्पन्न महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महासचिवसहित तीन पदाधिकारी, ९० केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेकाले बाँकी सदस्य मनोनित गरिने छ । बैठकमा मुलुकको समसामयिक राजनीतिकको समिक्षाका साथै पार्टीको भावी कार्ययोजनाबारे छलफल हुने केन्द्रीय सदस्य पाण्डेयले बताए ।

वर्षाका कारण पहिरो खस्दा साँफे–मार्तडी सडक अवरुद्ध

बाजुरा। लगातारको वर्षाका कारण पहिरो खस्दा साँफे–मार्तडी सडक अवरुद्ध भएको छ । बडीमालिका नगरपालिका–६ नुनेपानीमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिंह कार्कीका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ । साँफेस्थित सडक डिभिजन कार्यालयबाट उपकरणसहितको टोली पहिरो खसेको स्थानमा पुगेको छ ।

एक महिनादेखि अवरुद्ध मार्तडी–कोल्टी सडक भने अझै बन्द छ । उक्त सडकमा पर्ने बाउली र अनाइ खोलामा पानीको सतह निरन्तर बढेको तथा बडीमालिका नगरपालिका –७ जिल्लीमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । यो सडक खुलाउन प्रयास भए तापनि लगातारको वर्षाका कारण सम्भव नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

खोटाङमा सहाराविहीन दलित बालबालिकाको उद्धार

खोटाङ, साउन १६ गते । जिल्ला प्रहरी कार्यालयले रावाबेँसी गाउँपालिका–२ खार्पास्थित डाँडागाउँका तीनजना सहाराविहीन दलित बालबालिकाको उद्धार गरेको छ । स्थानीय टेकबहादुर नेपालीका १० वर्षीया छोरी मनकुमारी, नौ वर्षीया छोरी भूमिका र सात वर्षीय छोरा माधव नेपालीलाई प्रहरीले उद्धार गरेको हो ।

उद्धार गरिएका सहाराविहीन ती बालबालिकालाई विराटनगरस्थित बालसेवा आश्रम पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभयो । “टेकबहादुर यही साउन ६ गतेदेखि जबर्जस्ती करणी मुद्दाको अनुसन्धानको क्रममा प्रहरी हिरासतमा छन् । उनकी २२ वर्षीया श्रीमती निर्मलाको २०८० फागुन २२ गते निधन भएको जानकारी प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “घरमा बुबाआमा दुवै नभएपछि सहारासाविहीन उनीहरूको उद्धार गरिएको हो ।”

प्रहरीले यसअघि दिक्तेल बजारमा कष्टपूर्ण जीवन बिताइरहेका दुईजना सडक मानवको उद्धार गरेको थियो । उद्धार गरिएका उनीहरु अहिले सोही आश्रममा जीवनयापन गरिरहेका छन् ।

भोजपुरमा बाढी : जलविद्युत् आयोजनाका दुई मजदुर बेपत्ता

भोजपुर — अविरल वर्षाका कारण आएको बाढीले बगाएर भोजपुरमा दुई जना बेपत्ता भएका छन् । भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख युवराज तिम्सिनाका अनुसार गए रातिको बाढीले जलविद्युत् आयोजनाका दुईजना कामदार हराएका हुन् । बर्दियाको बाराबर्दिया गाउँपालिका–३ का २६ वर्षीय श्यामकुमार थारू र सोही ठाउँका ३० वर्षीय रमेश थारू बेपत्ता भएका हुन् ।

बाढीमा परेका २६ वर्षीय राम किसन थारूको उद्धार गरिएको छ । सामान्य घाइते भएका उनको स्थानीय स्वास्थ्य चौकी कुलुङमा उपचार भइरहेको छ । बेपत्ता भएकाको खोजी जारी छ ।

प्रहरी चौकी चौकीडाँडाबाट करिब तीन किलोमिटर पश्चिममा घटनास्थलमा इलाका प्रहरी कार्यालय दिङलाबाट प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीको कमान्डमा चारजनाको टोली र सशस्त्र प्रहरीको अस्थायी बेसक्याम्प चौकीडाँडाबाट प्रयोजन घिमिरेको कमान्डमा सातजनाको टोली खोजीको लागि खटिएको छ ।

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । गए रातिदेखिको निरन्तरको वर्षाले यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–६ खरखरे भीरमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईँका अनुसार केही वर्ष अघि पनि पटकपटक पहिरो खसेको स्थानमा आज पनि पहिरो खसेको हो । सो स्थानभन्दा मुनि मर्स्याङ्दी नदी रहेको जोखिमपूर्ण स्थल हो ।

सडक अवरुद्ध हुँदा मनाङ र लमजुङको उत्तरी क्षेत्रका स्थानीयलाई समस्या भएको छ ।

विपन्न परिवारलाई चापाकोट नगरपालिकाको घर उपहार

वालिङ– चापाकोट नगरपालिकाले नगर क्षेत्रका विपन्न छ परिवारलाई उपहारस्वरूप घर निर्माण गरिदिएको छ । चापाकोट–१० भुमरीघाटकी माया भट्टराई र सोही पालिका–४ घुर्लीचौरका केशबहादुर दमैको परिवारलगायत विपन्न परिवारलाई ती घर मंगलबार हस्तान्तरण गरिएको हो ।

चापाकोट नगरपालिकाको विपन्न नागरिक आवास पुनःस्थापन कार्यक्रम र प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि विनियोजन भएको रकमबाट दुईकोठे घर निर्माणपश्चात् हस्तान्तरण गरिएको नगरप्रमुख देवबहादुर खाणले बताए ।

‘घर निर्माण गर्न आफ्नो नामको लालपुर्जा भएको जग्गा उपलब्ध गरायौँ’, केशबहादुरले भने, ‘नगरपालिकाले आर्थिक सहयोग गरेर दुई कोठे घर बनाइदियो र अहिले त्यही नयाँ घरमा बस्न थालेका छौँ ।’गत आर्थिक वर्षदेखि सुरु भएको ‘विपन्न परिवारसँग नगरप्रमुख’ अभियानलाई निरन्तरता दिँदै घर निर्माण गर्ने तयारीमा रहेको छ । प्रतिघर र दुई लाख ८० हजारका दरले १६ लाख ८० हजारको लागतमा छवटा घर निर्माण गरी हस्तान्तरण गरिएको नगरप्रमुख खाणले बताए ।

आठ वर्षमा त्रिशूलीमा ५५ जना बेपत्ता

चितवन। नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकखण्डमा बितेका आठ वर्षमा २१ वटा सवारीसाधन त्रिशूली नदीमा खसेर ५५ जना बेपत्ता भएका छन् । पूर्वगृहमन्त्री एवं परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेलगायत ५५ जना बेपत्ता भएका हुन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आव २०७३/७४ मा पाँचवटा, २०७४/७५ मा चारवटा, २०७५/७६ मा चारवटा सवारीसाधन बेपत्ता भएका हुन् । आव २०७६/७७ मा एउटा, २०७७/७८ मा एउटा, २०७९/८० मा एउटा र २०८०/८१ मा पाँचवटा सवारीसाधन बेपत्ता भएका हुन् । बेपत्ता भएका सवारीसाधनमध्येबाट आव २०७३/७४ मा १४, २०७८/७९ मा चार र २०८०/८१ मा ३७ जना बेपत्ता भएका हुन् ।

उक्त अवधिमा सो सडकखण्डमा ६६ वटा सवारी साधन दुर्घटना भएका थिए । आव २०७३/७४ देखि आव २०८०/८१ सम्ममा ४० ट्रक, नौ बस, १२ कार, तीन मोटरसाइकल र दुईवटा अन्य सवारीसाधन दुर्घटनामा परेका हुन् ।

बागलुङमा दुई वर्षमा एक हजार आठ सय १५ धारा जडान

ढोरपाटन । नेपाल स्वास्थ्यका लागि पानी (नेवा)ले उपभोक्ता र स्थानीय सरकारसँगको सहकार्यमा जिल्लाका विभिन्न भागमा एक हजार आठ सय १५ धारा जडान गरेको छ । दुई वर्षको अवधिमा उक्त संस्थाले ती धारा जडान गरेको हो ।

खानेपानीको अभाव झेलिरहेका ढोरपाटन नगरपालिका, निसीखोला, बडिगाड, तमानखोला गाउँपालिकाका साथै बागलुङ नगरपालिका, जैमिनी नगरपालिकाका बासिन्दालाई स्वच्छ पेयजलको व्यवस्था उक्त संस्थाले गरेको हो । नेवाले ग्रामीण भेग र सहरी क्षेत्रमा एक घर एक धारा जडानलाई तीव्रगतिमा अघि बढाएको छ । नेवाको सहयोगमा १९ हजार एक सय १८ जनाले शुद्ध खानेपानी सुविधा पाएका छन् ।

आर्थिक वर्ष २०७९-०८० मा नेवाले जिल्लाको निसीखोला, तमानखोला, बडिगाड, ताराखोला, ढोरपाटन नगरपालिका, बागलुङ नगरपालिका जैमिनी नगरपालिकाको ३० स्थानमा आयोजना सञ्चालन गरेको थियो ।

तीस वटा आयोजना सम्पन्न गर्न नेवाले रु छ करोड २० लाख पाँच हजार सात सय २५, पालिकाहरुको रु एक करोड ६४ लाख ९५ हजार नौ सय १४, उपभोक्ताबाट रु ३४ लाख ८३ हजार पाँच सय १२ र रु दुई करोड पाँच लाख १२ हजार तीन सय १२ बराबरको श्रमदान भएको थियो ।

तनहुँमा एक वर्षमा सात सय ७१ उद्योग दर्ता

काठमाडौँ, १६ साउनः आर्थिक वर्ष २०८०/८१ तनहुँमा सात सय ७१ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा उद्योगतर्फ तीन सय ९८ र वाणिज्यतर्फ तीन सय ७३ उद्योग दर्ता भएका हुन् । सोही आवमा एक हजार एक सय ३७ उद्योग नवीकरण भएका छन् ।

उक्त कार्यालय प्रमुख दुर्गाराज सुवेदीका अनुसार सोही आवमा दुई सय ६२ उद्योग बन्द भएका छन् । त्यस अवधिमा वाणिज्यतर्फ आठ सय १७ नवीकरण र दुई सय ७० फार्म बन्द भएका हुन् । आव २०७९/८० मा जिल्लामा छ सय तीन उद्योग दर्ता भएका थिए । सो आवमा रु ५१ लाख २१ हजार आठ सय राजस्व सङ्कलन भएको छ । आव २०७९/८० मा रु ६६ लाख चार हजार एक सय ६५ राजस्व सङ्कलन भएको थियो ।

साइबर दुर्व्यवहार नियन्त्रणका लागि नयाँ नियम लागू गर्दै चीन

बेइजिङ- चीनले इन्टरनेट प्रयोगकर्तालाई साइबरस्पेसमा हुने दुर्व्यवहार तथा हिंसाबाट जोगाउने उदेश्यले बिहीबारदेखि नयाँ नियमावली लागू हुने जनाएको छ ।

नयाँ नियमले अपमान, अफवाह, मानहानी र भेदभावजस्ता अवैध वा हानिकारक अनलाइन हिंसा रोक्नको लागि इन्टरनेट सूचना सेवा प्रदायकले प्रयोगकर्तालाई व्यक्तिगत मेसेजहरु स्वीकार वा अस्वीकार गर्ने विकल्प प्रदान गर्दछ ।

नयाँ नियमले इन्टरनेट सूचना सेवा प्रदायकलाई ‘बौद्धिक सुचना छनोट’ , ‘कस्टम किवर्ड छनोट’ जस्ता कार्यहरू कार्यान्वयन गर्न प्रोत्साहित गरेको छ ।

सेवा प्रदायकले प्रयोगकर्ताको अधिकारको रक्षा गर्न प्रमाण सङ्कलनलगायतका कार्यहरू गर्न आवश्यक रहेको प्रावधान नियममा समेटिएको छ ।

चीनको साइबरस्पेस प्रशासन, सार्वजनिक सुरक्षा मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र रेडियो र टेलिभिजन प्रशासनले संयुक्त रूपमा यो नियमावली जारी गरेको हो ।

भारतको चिया बगानमा पहिरो जाँदा ९३ जनाको मृत्यु

बेङ्गलुरु- भारतमा भारी मनसुनी वर्षाले पहिरो जाँदा चिया बगानमा मङ्गलबार कम्तीमा ९३ जनाको मृत्यु भएको छ भने कम्तीमा दुई सय ५० जनालाई बचाइएको अधिकारीहरूले बताएका छन् ।केरलाको दक्षिणी तटीय राज्य मुसलधारे वर्षाले त्रसित भएको छ । वायनाड जिल्लाको प्रकोप क्षेत्रमा जाने बाटो अवरुद्ध भएकाले राहत कार्यमा कठिनाइ भएको छ ।

केरलाका मुख्यमन्त्री पिनाराई विजयनले भने, ‘हालसम्म ९३ शव फेला परेका छन् । यो हाम्रो राज्यले देखेको सबैभन्दा खराब प्राकृतिक प्रकोप हो ।’अन्य एक सय २८ जनालाई उद्धारपछि उपचारका लागि अस्पताल लगिएको उनले बताए ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमा भनेका छन्, ‘मेरो विचारहरू आफ्ना प्रियजनहरू गुमाउने सबैसँग र घाइतेहरूका लागि प्रार्थना छ ।’जिल्लाका धेरैजसो बासिन्दा सुतिरहेका बेला बिहानैदेखि लगातार दुईवटा पहिरोले जिल्लाका धेरैजसो सम्पदा प्रभावित भएका छन् ।

नेशनल डिजास्टर रेस्पोन्स फोर्सले प्रकाशित गरेका तस्बिरहरूले उद्धार टोलीहरू बाँचेकाको खोजी गर्न र स्ट्रेचरहरूमा शवहरू बाहिर लैजान हिलोमा हिँड्दै गरेको देखाइएको छ ।पहिरोले कार, नालीदार फलाम र विपद् स्थल वरपरका अन्य फोहोरहरू छरिएका कारण घरहरू खैरो धुलोले भरिएका थिए ।

भारतीय सेनाले राज्य सुरक्षा बलहरू र अग्निनियन्त्रकहरूलाई खोजी र उद्धार कार्यमा सहयोग गर्न यस क्षेत्रमा दुई सयभन्दा बढी सैनिक तैनाथ गरेको बताएको छ ।केरला राज्य मन्त्री एम.बी. राजेशले हालसम्म दुई सय ५० भन्दा बढी व्यक्तिको उद्धार गरिएको बताउनुभएको द हिन्दू पत्रिकाले जनाएको छ ।

उक्त घटनामा घाइते पीडित परिवारले दुई लाख रुपैयाँ क्षतिपूर्ति पाउने प्रधानमन्त्री कार्यालयले बताएको छ ।केरलामा मङ्गलबार थप वर्षा र तीव्र हावाको पूर्वानुमान गरिएको राज्यको प्रकोप व्यवस्थापन एजेन्सीले जनाएको छ ।

डोनेट्स्क क्षेत्रको अर्को गाउँ नियन्त्रणमा लिएको रूसको दाबी

मस्को- रूसी सेनाले मङ्लबार युक्रेनको नियन्त्रणमा रहेको पूर्वी डोनेट्स्क क्षेत्रको अर्को गाउँ कब्जा गरेको दाबी गरेको छ । रूसको रक्षा मन्त्रालयले टोरेट्स्कको बाहिरी इलाकामा रहेको पिभ्डेन गाउँलाई नियन्त्रणमा लिएको जनाएको हो ।

युक्रेनी सरकारका अनुसार सन् २०२२ मा रूसले सैन्य आक्रमण सुरु गर्नुअघि यस गाउँको जनसङ्ख्या करिब एक हजार ४०० रहेको थियो । रूसले पूर्ण रूपमा नियन्त्रण नगरेता पनि सन् २०२२ मा डोनेट्स्कसहित पूर्वी र दक्षिणी युक्रेनका अन्य तीन क्षेत्र कब्जा गरेको जनाएको थियो ।

कुनै समय लगभग ३० हजार मानिसहरूको बसोबास रहेको टोरेट्स्क सहर हाल रूसी सेनाको निशानामा रहेको छ ।

पिभ्डेन गाउँ टोरेट्स्क सहरबाट करिब छ किलोमिटर दक्षिणपूर्वमा अवस्थित छ ।

बितेका १२ घण्टामा देशभर वर्षा, केही प्रदेशमा आज पनि मुसलधारे वर्षा हुने

काठमाडौँ, १६ साउनः पछिल्लो १२ घण्टामा देशभर वर्षा भएको तथा विशेष गरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धैरै स्थानमा र बाँकी प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा मापन गरिएको विभागले बताएको छ ।

हाल देशभर साधारणतया बदली रहेको बागमती र मधेस प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही भेगमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
विभागका अनुसार आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरोबाट बच्न विभागले अनुरोध गरेको छ ।

कोदो राष्ट्रिय दिवस घोषणा गर्ने प्रक्रिया अगाडि बढेको छः कृषिमन्त्री अधिकारी

काठमाडौँ, १५ साउन : कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले सरकारले कोदो राष्ट्रिय दिवसको घोषणा गर्ने प्रक्रिया अघि बढाएको बताउनुभएको छ ।
चौथो राष्ट्रिय कोदो दिवस मनाउन आज ललितपुरको खोकनामा भएको कार्यक्रममा उहाँले कोदोको महत्वका बारेमा सरकार जानकार रहेकाले केही दिनमै कोदोजन्य बाली प्रवर्द्धन गर्न राष्ट्रिय दिवस मनाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारीमा रहेको बताउनुभएको हो ।

मन्त्री अधिकारीले कोदो उत्पादनलाई प्रोत्साहनका निम्ति मन्त्रालयको चमेना गृहले कोदोका परिकार नियमित बनाउने गरेको बताउनुभयो । “केही वर्षअघि दुवै छाक भातको लागि मरिहत्ते गर्नेले आजको दिनमा कोदोको खोले र रोटी खान कहाँ पाइन्छ भनेर धेरै तिर खोज्दै हिँड्ने अवस्था आएको छ । अहिले अस्वस्थ खाना खाँदा १८ देखि २० वर्षका बालबालिका कुपोषण जस्ता रोगसँग जुध्न बाध्य भएका छन्, पोषणका लागि पनि कोदोका अनाज नियमित खानुपर्छ”, उहाँले भन्नुभयो ।

राष्ट्रिय कृषक समूह महासङ्घ र एशोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नालिस्टस् (अनाज) को आयोजनामा सम्पन्न कार्यक्रममा पोषकीय महत्व बोकेको कोदोबालीको प्रवर्द्धनका लागि काम गर्नुपर्नेमा जोड दिइएको थियो । अनाज र महासङ्घले सरकारलाई दिवस घोषणाको निर्णय गराउन माग गर्दै हरेक वर्ष साउन १५ मा दिवस मनाउँदै आएको छ ।

संयुक्त राष्ट्र सङ्घले गत वर्ष सन् २०२३ लाई कोदोजन्य बाली वर्षको रूपमा मनाएको थियो । कृषि तथा पशुपंक्षी मन्त्रालय, संयुक्त राष्ट्र सङ्घ कृषि तथा खाद्य सङ्गठन (एफएओ), भीएसओ नेपाललगायतको सहकार्यमा आज दिवस मनाइएको हो । ‘कोदोको योगदान ः खाद्य तथा पोषण सुरक्षामा बरदान’ भन्ने नाराका साथ आज कोदो दिवस मनाइएको हो ।

राष्ट्रिय कृषक समूह महासङ्घका पूर्वअध्यक्ष नवराज बस्नेतले ‘कु’ अन्नको रूपमा चिनिने कोदो अचेल बहुगुणी चिजको रूपमा परिचित रहेको बताउनुभयो उहाँले कोदोको संरक्षण र उत्पादनमा वृद्धिका लागि सबै तहका सरकारले काम गर्नुपर्ने उहाँले बताउनुभयो । 

कृषि विज्ञ डा कृष्णप्रसाद पौडेलले भविष्यमा खाद्य सङ्कट हुनेतर्फ सचेत रहँदै समयमा नै कोदो संरक्षण गरेर राख्न अपिल गर्नुभयो । कोदो दिवस मनाउँदै गर्दा करोडौँको आयात गर्ने कोदोको आयात कसरी विस्थापित गर्न सकिन्छ भनेर पहल गर्नुपर्ने र राम्रोसँग भण्डारण गरेमा वर्षौसम्म सुरक्षित रहने भएकाले कोदो नै भविष्यमा खाद्य सङ्कट हटाउन सहयोगी हुने उहाँको भनाइ छ ।

महासङ्घका अध्यक्ष पञ्चकाजी श्रेष्ठले कोदोको संरक्षण गर्न राज्यले विशेष पहल गर्नुपर्ने बताउनुभयो । कोदोलाई सम्मान गर्न र यसलाई स्थानीय तहमा भएको खाली जमिनमा रोप्ने अभियान चलाउन आवश्यक रहेकामा उहाँले जोड दिनुभयो । श्रेष्ठले कोदोमा अन्य बालीमा जस्तो विषादी, रासायनिक मल जस्ता कुनै पनि पदार्थ हाल्न नपर्ने भएकाले यो स्वस्थ र देशका लागि नै फाइदाजनक हुने दाबी गर्नुभयो ।

मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले नेपाल कुपोषणको दुष्चक्रमा फसेको र स्कुल पढ्ने बच्चा कुपोषण जस्तो रोगको सिकार भइरहेको चर्चा गर्नुहुँदै त्यसबाट बच्नको लागि कोदोजन्य बालीको उत्पादन प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा अनाजका अध्यक्ष किरण आचार्यले २०७७ सालमा कोदोलाई राष्ट्रिय महत्वको बालीको रूपमा स्थापित गराउन महासङ्घ र अनाजले कोदो बहस श्रृङ्खलाको सुरुआत गरेको र यसले गर्दा आज कोदोको उपयोग धेरै ठाउँमा बढ्दै गएको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय समावेसी आयोगकी कार्यवाहक अध्यक्ष विष्णुमाया ओझा, राष्ट्रिय किसान आयोगकी सदस्य जीवन्ती पौडेललगायतले कोदोको महत्वलाई सबैले आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो । कोदोको महत्व बुझेर उपभोग बढिहरेको चर्चा गर्दै वक्ताहरूले उत्पादनमा जोड दिएका थिए ।

कृषिमन्त्रीसहितका अतिथि तथा सहभागीले कोदो रोपेर दिवस मनाएका छन् । कार्यक्रममा कोदोका विभिन्न परिकारसमेत खाजाको रूपमा खुवाइएका थिए । पछिल्लो समय कोदोको उपयोग बढ्दै गए पनि कोदो उत्पादनमा व्यावसायिकता र किसानलाई आकर्षण गर्न आवश्यक काम हुन सकेको छैन । सिमावर्ती क्षेत्रमा हुने सस्तो र कम गुणस्तरको उत्पादन र आयातले आन्तरिक उत्पादन विस्थापन गरेको जानकाररू बताउँछन् ।

आर्थिक वर्ष २०७६/७७ मा रु सात करोड १५ लाख २७ हजार, २०७७/७८ मा रु सात करोड २२ लाख, २०७९/८० मा रु ७३ करोड २० लाख र आर्थिक वर्ष २०८०/८१ मा मात्र रु ७५ करोड ४४ लाख २२ हजार छ सय ५९ बराबरको कोदो आयात भएको सरकारी तथ्याङ्क रहेको छ ।

देशभर २० जनामा हैजा पुष्टि

काठमाडौं – यसवर्षको हालसम्म देशभर २० जना बिरामीमा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले काठमाडौँ, ललितपुर र कैलालीमा गरी २० जनामा हैजा पुष्टि भएको जानकारी दिए ।

उनले सहरी क्षेत्रमा बढ्दो जनधनत्वसँगै सुरक्षित खानेपानी र पर्यावरणीय स्वच्छतामा कमी तथा बाढीपहिरोका घटनाले पानी तथा सरसफाइका पूर्वाधारमा पार्ने नकारात्मक असरका कारण नेपालमा हैजाको सङ्क्रमण देखिने गरेको बताए ।

अति सङ्क्रामक र शीघ्र फैलिने झाडापखाला भएकाले हैजाको मुख्य लक्षण चौलानी पानी जस्तो दिशा आउने, वाकवाकी लाग्ने, वान्ता हुने र कडा जलवियोजन हुने गर्दछ ।

सङ्क्रमणले गम्भीर अवस्थामा पु¥याउँदा आँखा गाडिने, मुख, जिब्रो र घाँटी सुक्खा हुने, पिसाबको रङ्ग पहँेलो हुने, रक्तचाप कम हुने, मुटुको धड्कन अनियन्त्रित हुने र बेहोस हुनसक्ने मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले बताए ।

“हैजाका बिरामीलाई तुरुन्तै अस्पताल नपु¥याए ५० प्रतिशतको मृत्यु हुने सम्भावना हुन्छ । हैजा सङ्क्रमितमध्ये ८० प्रतिशतमा कुनै लक्षण विकसित हुँदैन तर उनीहरूको दिशामा पहिलादेखि १० दिनसम्म भिब्रियो कोलेरा ब्याक्टेरिया रहन सक्छ र लक्षण देखिएकामा पनि ८० प्रतिशतलाई मन्ददेखि मध्यमस्तरको लक्षण देखिन्छ । २० प्रतिशतलाई चौलानी जस्तै दिशा हुने र पानीको अभावजस्ता तीव्र लक्षण देखिन्छन्”, उनले भने।

झिगा लागेको, बासी, सडेगलेको, नपाकेको, चिसिएको खुलास्थानका खाद्यपदार्थ नखान, पानीलाई उमालेर वा क्लेरिन प्रयोग गरेर मात्र प्रयोग गर्न र गराउन, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुका साथै दिशापिसाब गरिसकेपछि साबुन पानीले मिचिमिची हात हुन मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।

‘सहिद मनोज जोशी प्रतिभा पुरस्कार–२०८१’ ताम्राकारलाई

‘सहिद मनोज जोशी प्रतिभा पुरस्कार–२०८१’ दिक्तेल रुपाकोट मझुवागढी नगरगालिका–१ हाटडाँडाका सन्देश ताम्राकारलाई प्रदान गरिएको छ । सरकारी सेवासँगै सामाजिक क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर स्वरुप ताम्राकारलाई पुरस्कार प्रदान गरिएको मनोज स्मृति प्रतिष्ठान खोटाङका अध्यक्ष कुमार आचार्यले जानकारी दिनुभयो । ताम्राकार हालै निजामती सेवा (छैटौँ अधिकृत) बाट सेवा निवृत्त हुनुभएको थियो ।

सहिद जोशीको ३३औँ स्मृति दिवसको अवसरमा आज दिक्तेलको अस्पताल चोकस्थित जोशीको समाधिस्थलमा आयोजित कार्यक्रममा नगद रु १० हजार राशिसहितको पुरस्कार उहाँलाई प्रदान गरियो । ताम्राकार तत्कालीन जिल्ला विकास समितिको अस्थायी नायब प्राविधिक सहायक पदमा कार्यरत रहेको अवस्थामा विसं २०४८ को कर्मचारी आन्दोलनमा सहभागी भएको भन्दै बर्खास्त हुनुभएको थियो । पछि विसं २०५२ मा लोक सेवामार्फत पुनःसेवामा जोडिनुभएको थियो ।

त्यस अवसरमा नेपाल निजामती कर्मचारी सङ्गठनले सरकारी सेवा निवृत्त दिलबहादुर खत्रीलाई सम्मान गरेको छ । विसं २०५२ चैत ७ गते निजामती सेवामा प्रवेश गर्नुभएका खत्रीले सङ्गठनको वृद्धिमा पु¥याउनुभएको योगदानका साथै निजामती कर्मचारीका रूपमा रहँदा इमान्दारितापूर्वक काम गरेको भन्दै सम्मान गरिएको सङ्गठनका केन्द्रीय सचिवालय सदस्य ध्रुवकुमार कार्कीले बताउनुभयो ।

ताम्राकार र खत्रीलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोलिटब्यूरो सदस्य विशाल भट्टराईलगायतले सम्मानपत्र प्रदान गर्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राई, नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश सदस्य होमकाजी आचार्य ‘विनोद’, एमाले खोटाङका अध्यक्ष देवविक्रम राई, नेपाली कांग्रेस खोटाङका सभापति विष्णुकुमार राईलगायतको उपस्थिति रहेको थियो ।

विसं २०४८ साउन १५ गते बुधबार नेपाल निजामती कर्मचारी सङ्गठनमा आबद्ध कर्मचारीहरूले दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका जोशीको प्रहरीको गोली लागेर ज्यान गएको थियो । सरकारसँग भएको सम्झौताअनुसारको सेवा सुविधा नदिएको विरोधमा भएको आन्दोलनमा सहभागी बन्नुभएका जोशीलाई दिक्तेलको हेलिप्याडमा प्रहरीको गोली लागेको थियो । उहाँलाई नेपाल सरकारले विसं २०७४ माघ २२ गते सहिद घोषणा गरिसकेको छ ।

आज आयोजित स्मृतिसभाका वक्ताहरूले कर्मचारी आन्दोलनमा सहभागी भएको भन्दै त्यसबेला जिल्लाका १३ जनालाई जागिरबाट हटाइएको थियो । सोही दिनको कर्मचारी आन्दोलन र गोलीकाण्ड भएको दिनमा मनोज स्मृति प्रतिष्ठान, नेपाल निजामती कर्मचारी सङ्गठन र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन (निजामती) ले मनोज–झपेन्द्र स्मृति दिवसका रूपमा मनाउँदै आएका छन् । कास्कीका झपेन्द्र कार्की विसं २०४७ वैशाख १७ गते भएको आन्दोलनका क्रममा मारिनुभएको थियो ।

सहिद मनोज–झपेन्द्र स्मृति दिवसको अवसरमा जिल्लामा साउन–१३ गते सहिद मनोज मार्ग सरसफाइ एवं साउन–१४ गते रक्तदान र जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको थियो ।

गठबन्धन सरकारले संविधानको सफल कार्यान्वयन गर्छ : नेता सिटौला

काठमाडौँ, १५ साउन : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान गठबन्धन सरकारले संविधानको सफल कार्यान्वयन गर्ने बताउनुभएको छ ।
परिवर्तन अभियान नेपालको प्रथम स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले संविधानको सफल कार्यान्वयन गर्नका लागि कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सरकारमा सहकार्य गरेको धारणा राख्नुभयो ।

नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता सिटौलाले लामो समयदेखिको अस्थिर राजनीतिलाई स्थिरता प्रदान गरी सरकारको स्थायित्व र विकासका काम गर्ने प्रतिबद्धतासहित सहकार्य भएकाले सरकारमाथि शङ्का गर्ने ठाउँ नरहेको जिकिर गर्नुभयो ।

कांग्रेस काठमाडौँका सभापति कृष्ण (सबुज) बानियाँले मुलुकको विकासका लागि वर्तमान गठबन्धन बनेकाले सोहीअनुसार काम गर्न आवश्यक रहेको बताउनुभयो ।

परिवर्तन अभियान नेपालका अध्यक्ष सुशील भट्टले युवाहरू दलगत स्वार्थभन्दा माथि उठेर समाज रूपान्तरणको क्षेत्रमा लाग्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।कार्यक्रममा सामाजिक क्षेत्रमा सक्रिय केपी खनाल, अमृत तिवारी, यादव खनाल, अनुप रोशन स्थापितलगायतलाई सम्मान गरिएको थियो ।

मानव बेचबिखन जस्तो भयानक विश्वव्यापी अपराधमा शून्य सहनशीलता हुनुपर्छः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले मानव बेचबिखन जस्तो भयानक विश्वव्यापी अपराधमा शून्य सहनशीलता हुनुपर्ने बताउनुभएको छ । मानव बेचबिखन विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले आज ललितपुरको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)मा आयोजना गरेको विशेष कार्यक्रममा उहाँले प्रहरीको प्रयासले मात्रै यस किसिमको अपराध न्यूनीकरण हुन सक्दैन सबैको सहयोग आवश्यक छ भन्नुभयो । उहाँले स्थानीय तह, विद्यालय तहका विद्यार्थी, शिक्षक समेतले मिलेर सचेतना जगाउने कार्यमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

“मानव बेचबिखन अन्तर्राष्ट्रिय जघन्य अपराधका रुपमा लिइएको छ, यो अपराधको दुष्प्रभाव एउटा भूगोलमा मात्रै सीमित छैन, यसलाई साझा दुस्मनका रूपमा लिएर निरुपण गर्नुपर्छ, यो विश्वव्यापी दुष्चक्र लागुऔषधसरहको अपराधका रूपमा लिएर अनुसन्धानका लागि तीन महिनासम्म राखेर अनुसन्धान गर्ने व्यवस्था हुनुपर्छ,” गृहमन्त्री लेखकले भन्नुभयो, “यसलाई अत्यन्त गम्भीर प्रकृतिको अपराधको श्रेणीमा राखेर अपराधको अनुसन्धानमा देशको कुनै सीमाले प्रभावित नपार्नेगरी काम गर्न सहयोग पुग्नेगरी कानुन निर्माण गर्नुपर्छ ।”

मानव बेचबिखन विरुद्धको अपराधमा काम गर्न मानवीय जनशक्तिको अभावमा मात्रै काम रोकिने अवस्था आउन नदिइने बताउँदै उहाँले स्रोत र साधनको उपयोग गरेर अपराध न्यूनीकरणमा नेपाल प्रहरीले गरिरहेको काम राम्रो भएको भन्दै प्रशंसा गर्नुभयो । गृहमन्त्री लेखकले स्थानीयस्तरमा विद्यार्थी र शिक्षकमार्फत सार्वजनिक बिदाका दिन मानव बेचबिखनविरुद्ध सचेतना अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

“विश्वव्यापी तथ्याङ्क हेर्दा महिला बाढीपीडित, त्यसपछि नाबालिका पीडित छन्, गरिबी, अशिक्षा एउटा कारण हो, अर्काे महत्त्वपूर्ण कारण चेनता हो, त्यो स्थानीय पालिका र शिक्षक विद्यार्थीले गर्न सक्नुहुन्छ, मिलेर काम गरौँ भने एक दुई वर्षभित्रै न्यूनीकरण हुनसक्छ, सञ्चारमाध्यम पनि चेतनामूलक सामग्री प्रसारण गरेर सहयोग गरिदिनुपर्छ, सबैले मिलेर लाग्दा सफल हुन्छ”, गृहमन्त्री लेखकले भन्नुभयो ।गृहसचिव एकनारायण अर्यालले मानव बेचबिखन विश्वको साझा चासो, चुनौती र सरोकारको विषय भएको बताउँदै खोज, प्रमाण र तथ्यका आधार अपराधीलाई मुद्दा चलाउन सूचना उपलब्ध गराएर अनुसन्धानमा सहयोग पु¥याउन सबैमा आग्रह गर्नुभयो ।

“भिजिट भिसाको बहानामा बेचबिखन हुने समस्या सुनिन्छ, विभिन्न देशमा लगेर बन्धक बनाउने काम पनि भइरहेको छ, यसका विरुद्ध नेपाल प्रहरी र ब्युरो लागिरहेको छ”, उहाँले भन्नुभयो ।नायक महान्यायाधिवक्ता डाक्टर टेकबहादुर घिमिरेले मानव बेचबिखनविरुद्धको नीति तथा कानुनको व्यवस्था चन्द्रशम्शेरको पालामा नै जारी भएको जानकारी गराउनुहुँदै विभिन्न समयमा परिमार्जित हुँदै विसं २०६४ मा ऐन जारी गरेर मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कामकारबाही र न्यायनिरुपणको काम हुँदै आएको जानकारी गराउनुभयो ।

“अहिले भएका कानुन अपर्याप्त छ, अनुसन्धान, अभियोजन र निरूपणमा सहयोगी हुनेगरी विश्वव्यापी रुपमा प्रभावकारी हुनेगरी कानुन तर्जुमा गरिनुपर्नेछ, यसका लागि सरकारले ध्यान दिनेछ”, उहाँले भन्नुभयो ।महानिरीक्षक वसन्तबहादुर कुँवरले मानव बेचबिखन तथा ओसारपसार अपराध विश्वव्यापी मानवताविरुद्धको अन्तरदेशीय गम्भीर अपराध भएको धारणा राख्नुभयो । उहाँले एउटामात्रै संस्थाको पहलले मात्रै सफल नहुने भन्दै सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

“मानव बेचबिखनले महिला, बालबालिका र थुप्रै पुरुषलाई श्रम, यौनजस्ता गलत कार्यमा जबर्जस्ती संलग्न गराउँछ । महिला वा बालिकालाई वेश्यावृत्तिमा लगाउने, यौनदासी बनाउने वा मनोरञ्जन उद्योगमा लगाउनेजस्ता कार्यलाई मात्र नभएर कुनै पनि व्यक्तिको इच्छाविपरीत धम्कीको प्रयोग, जबर्जस्ती तथा धोकाद्वारा कुनै प्रकारको शोषण, घरेलु काम, मानव अङ्क झिक्ने, वेश्यावृत्ति वा अन्य प्रकारका यौन शोषणमा पार्ने कार्यलाई मानव बेचबिखन तथा ओसारपसार मानिन्छ”, महानिरीक्षक कुँवरले भन्नुभयो ।

ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले बेचबिखनविरुद्ध सकरात्मक सोच र भूमिकाको विकास गरिनुपर्ने बताउनुभयो उहाँले सचेतता अभियान प्रत्येक घरघरमा पु¥याइनुपर्ने बताउँदै मानिसको मानसिकता बदल्न, सुधार्न आवश्यक छ भन्नुभयो ।

हरेक वर्षको जुलाई ३० तारिका दिनलाई मानव बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाइँदै आएको छ । सोेही अवसरमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले आज आयोजना गरेको कार्यक्रममा तीन सय जनाभन्दा बढी सरोकारवालाहरु, विद्यार्थीसमेतको सहभागिता रहेको थियो ।

मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार नेपालसहित विश्वका धेरै देशमा मानव बेचबिखन तथा ओसारपसार निकै गम्भीर समस्या रहेको छ । रोजगारीको अभाव तथा वैदेशिक रोजगार, गरिबी, शिक्षा र जनचेतनाको कमी, मानव बेचबिखनको प्रमुख कारण बन्दै आइरहेका छन् ।

गरिबीको फाइदा उठाउँदै कतिलाई वैदेशिक जागिरको प्रलोभनमा त कतिलाई विवाहबारीको मायाजालमा पारेर मानव बेचबिखन र तस्करीका घटना बग्रेल्तीमात्रामा भेटिने गरेका छन् । मानव बेचबिखन अन्त्य गर्न नेपाल सरकारले गरिबी हटाउने कामलाई विशेष जोड दिँदै आएको छ ।

ब्युरोका अनुसार नेपालमा आन्तरिक रुपमा मनोरञ्जन क्षेत्रमा हुने बेचबिखन तथा अन्तर्राष्ट्रिय रुपमा भिजिट भिसाको आवरणमा हुने मानव बेचबिखन तथा ओसारपसार समेत एउटा ठूलो चुनौतीको रुपमा देखिएको छ । भारत, चीन, मध्यपूर्वी एशिया, दक्षिणपूर्वी एशियालगायत युरोप तथा अमेरिका समेतमा नेपाली नागरिक रोजगारीको बहानामा मानव तस्करको चङ्गुलमा परी भिजिट भिसा समेतको दुरुपयोगगरी पठाइएको अवस्था छ । यसलाई नियन्त्रण तथा नियमन गरी व्यवस्थित बनाई मानव बेचबिखन तथा ओसारपसार अपराध न्यूनीकरण तथा रोकथाम गर्नु हामी सबैको साझा दायित्व हो ।

यातायात कार्यालय धनगढीद्वारा ६५ करोड राजस्व सङ्कलन

यातायात व्यवस्था कार्यालय धनगढीले गत आर्थिक वर्ष २०८०/८१ मा रु ६५ करोड ३१ लाख ६३ हजार ९६ राजस्व सङ्कलन गरेको छ ।यातायात व्यवस्था कार्यालय धनगढीका निमित्त प्रमुख नरेन्द्र शाहका अनुसार सवारीसाधन करबाट सबैभन्दा बढी रु ४९ करोड ७९ लाख ६० हजार तीन सय ५८ र सबैभन्दा कम प्रशासनिक सेवा शुल्कबाट रु १९ हजार नौ सय राजस्व सङ्कलन गरेको हो ।

चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट रु १४ करोड २७ लाख २६ हजार नौ सय ५८, बाटो इजाजत, प्रदुषण र जाँचपासबाट रु एक करोड १७ लाख ७३ हजार तीन सय ५५ र व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट रु पाँच लाख ६३ हजार चार सय २५ सङ्कलन गरेको छ ।

कार्यालयको बेरुजु रु एक लाख १९ हजार एक सय रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । सो कार्यालयले अघिल्लो आव २०७९/८० मा विभिन्न राजस्व शीर्षकबाट रु ६३ करोड ९४ लाख ३० हजार चार सय १४ राजस्व सङ्कलन गरेको थियो । अघिल्लो आवको तुलनामा गत आवमा रु एक करोड ३७ लाख ३२ हजार छ सय ८२ ले राजस्व रकम वृद्धि भएको हो ।

विद्यार्थीमा सङ्कटसँग जुध्नसक्ने क्षमता विकास भएको हुनुपर्छ – अध्यक्ष नेपाल

काठमाडौँ, १५ साउन : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले व्यावसायिक सीप विकासका कार्यक्रम शैक्षिक पाठ्यक्रममा समावेश गर्नुपर्ने बताउनुभएको छ ।

अनेरास्ववियु जिल्ला कमिटी काठमाडौँले आज आयोजना गरेको विद्यार्थी सम्मान कार्यक्रममा उहाँले दक्ष जनशक्ति उत्पादन गर्ने पाठ्यक्रमले विद्यार्थीलाई स्वरोजगार अभिवृद्धि गर्ने र उनीहरूको आम्दानी वृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो ।

व्यावसायिक सीपका माध्यमबाट उनीहरूले जस्तोसुकै चुनौतीको सामना गर्नसक्ने बताउँदै अध्यक्ष नेपालले पास भएका विद्यार्थीमा सङ्कटसँग जुध्नसक्ने क्षमता एवं सामाजिक र देशभक्तिको भावना विकास भएको हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

स्वदेशी शैक्षिक संस्थाले अन्तर्राष्ट्रिय तहका पाठ्यक्रमसँग समन्वयगरी शिक्षा क्षेत्रलाई प्रतिस्पर्धात्मक बनाउनुपर्ने जरुरी रहेको उहाँको भनाइ थियो । विद्यार्थीलाई खोज अनुसन्धानमा केन्द्रित गर्न सरकारले लगानी वृद्धि गर्नुपर्ने बताउँदै अध्यक्ष नेपालले भन्नुभयो, “विद्यार्थीले कडा परिश्रम गर्नुपर्दछ, परिवार सङ्कटमा छ भने त्यो सङ्कटको साथी बन्नुपर्छ । संसारको कुनै कुनामा पुगे पनि म त नेपाली हुँ भन्ने भावना राख्नुपर्छ । देशभक्तिपूर्ण सोच निर्माण गर्नुपर्छ ।”

अध्यक्ष नेपालले पछिल्लो समयमा सूचना प्रविधिमा भएको विकासले ज्ञानको दायरा फराकिलो बनाएको, पठन शैलीलाई सहज बनाएको र विषयवस्तुको विश्लेषण तथा आलोचनात्मक समीक्षा गर्न विद्यार्थीलाई सहयोग पु¥याएको बताउनुभयो । उहाँले जीवनमा जति सफलता प्राप्त गरे पनि विद्यार्थीले अभिभावक, गुरुवर्गलगायत मान्नुपर्ने मान्छेलाई सम्मान र आफूभन्दा सानालाई माया गर्नुपर्नेमा जोड दिनुभयो ।

बेइजिङमा वर्षाको लागि पहेँलो चेतावनी

बेइजिङ मौसम विज्ञान वेधशालाले दिउँसो २ः५५ बजे वर्षाका लागि पहेँलो चेतावनी नवीकरण गरेको छ ।बेइजिङमा मङ्गलबार बिहानैदेखि भारी वर्षा भइरहेको छ । नयाँ वर्षाको बादलको प्रभावका कारण दिउँसोदेखि मङ्गलबार रातिसम्म फेरि वर्षा हुने भएको छ । बेइजिङका अधिकांश भागमा एक सय मिलिमिटरभन्दा बढीको सञ्चयी वर्षा हुने र हुइरो, मियुन र पिङगु जिल्लाका केही क्षेत्रमा दुई सय ५० मिलिमिटरभन्दा बढी पुग्नेछ ।

हिमाली तथा पहाडी क्षेत्रमा बाढी र पहिरोजस्ता प्रकोपहरू आउन सक्छन् भने तल्लो भूभाग जलमग्न हुनसक्छ । सबै नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । बेइजिङमा बिहानदेखि बेलुकी ४ बजेसम्म औसत वर्षा ७० दशमलव आठ मिलिमिटर भएको छ ।

आगामी वर्षाको प्रतिक्रियामा नगरपालिका आपत्कालीन व्यवस्थापन ब्यूरोले नागरिकहरूलाई मौसम चेतावनीका साथ अद्यावधिक राख्न, यात्रा कम गर्न र आवश्यक परेमा सार्वजनिक यातायात प्रयोग गर्न सल्लाह दिएको छ । जनताले प्रकोपको जोखिमयुक्त क्षेत्र, उच्च भोल्टेज लाइन, नदी नाला, तल्लो क्षेत्र र बाहिरी गतिविधिबाट टाढा रहनुपर्छ ।

चीनसँग चार–स्तरीय, रङ–कोड गरिएको मौसमी चेतावनी प्रणाली छ । रातोले सबैभन्दा गम्भीर चेतावनीको प्रतिनिधित्व गर्दछ ।

सुनसरीमा आर्थिक मन्दीका कारण बन्द भए २०४ उद्योग

सुनसरी- सुनसरीमा २०८०/८१ मा आर्थिक मन्दीका कारण बन्द भएका तथा नियमानुसार सञ्चालनमा आउन नसकेका साना तथा मझौला गरी २०४ उद्योग खारेजीमा परेका छन्।

घरेलु तथा साना उद्योग कार्यालय सुनसरीका प्रमुख हरि लामिछानेका अनुसार साना तथा मझौला गरी जिल्लामा करिब १८ हजार उद्योग तथा व्यवसाय सञ्चालनमा छन्।

उनले भने, ‘आर्थिक मन्दीको असर भन्दै केही उद्योग बन्द भएको र केही खारेजी गरिएको भए पनि नयाँ उद्योग खुल्ने क्रम चलिरहेको छ।’

उनका अनुसार गत आवमा सुनसरीमा ५६६ नयाँ उद्योग थपिएका छन्। नयाँ उद्योग थपिँदा कार्यालयले १८ लाख ८६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

कार्यालयले उद्योगतर्फ एक करोड एक लाख ७४ हजार २६०, वाणिज्यतर्फ एक करोड १२ लाख ५७ हजार ५४० र बिक्री आयबाट ७० हजार गरी कुल दुई करोड १५ लाख एक हजार ८०० रुपैयाँ राजस्व संकलन गरेको प्रमुख लामिछानेले जानकारी दिए।

गत आवमा सनुसरीका १२४ साना तथा मझौला उद्योगले पुँजी वृद्धि गरेका छन्। ती उद्योग तथा व्यवसायले ४४ करोड ५३ लाख १३ हजार पुँजी वृद्धि गरेका हुन्। गत आवमा घरेलु कार्यालय सुनसरीले दुई करोड १५ लाख एक हजार ८०० राजस्व संकलन गरेको कार्यालयले जनाएको छ।

सुनसरीमा सञ्चालित धेरै उद्योग तथा व्यवसाय सञ्चालनमा भए पनि नवीकरण गर्नेको संख्या कम देखिएको छ। गत आव २०८०/८१ मा एक हजार ३५२ उद्योगले मात्रै नवीकरण गरेका छन्। उद्योग दर्ता तथा नवीकरणवापत कार्यालयले ६७ लाख आठ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। गत आवमा २४ उद्योगले ठाउँसारी र ६५ उद्योगले नामसारी गरेका छन्। रासस

जनसम्बन्ध विस्तार गर्ने लक्ष्यका साथ देशभर गएर जनताको समस्या बुझ्छु: अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय समितिको बैठकपछि आफू देशभर जनतामाझ जाने बताउनुभएको छ ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै उहाँले जनसम्बन्ध विस्तार गर्ने लक्ष्यका साथ आफू जनतामाझ जाने बताउनुभएको हो ।

सङ्गठन विस्तार गर्ने, पार्टी नेता तथा तल्ला तहका कार्यकर्ताको भावना बुझ्ने र पार्टीलाई नयाँ आधारमा रुपान्तरण गर्ने लक्ष्यका साथ आफू देशभर विशेष कार्यक्रम लिएर जाने योजनामा रहेको अध्यक्ष दाहालले बताउनुभएको प्रवक्ता एवं उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिनुभयो ।

सरकारमा रहँदा जनतासँग पार्टीको सम्बन्ध टुटेको भन्ने नेताहरुको भनाइपछि अध्यक्ष दाहालले नयाँ आधारमा जनसम्बन्ध विस्तार गर्ने लक्ष्यका साथ आफू र पार्टीका शीर्ष नेता देशभर जानैपर्ने बताउनुभयो ।

आगामी निर्वाचनमा माओवादी केन्द्रले कुनै पनि दलसँग गठनबन्धन नगरी निर्वाचनमा सहभागी हुने बताएको छ । कम्युनिष्ट र बृहत् वामपन्थी एकताको लक्ष्यलाई नछाड्ने ठहर गर्दै सो पार्टीले जनताको भावना र चाहनाअनुसार पार्टीलाई प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ ।

सरकारमा रहँदा सुशासन र सामाजिक न्यायका पक्षमा सञ्चालन गरेको कामलाई जनतामाझ लैजाने र भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा सञ्चालित अभियानलाई निरन्तरता दिन सरकारलाई जनस्तरबाट दबाव दिने निष्कर्षसमेत बैठकले निकालेको प्रवक्ता सापकोटाले बताउनुभयो ।

सङ्घीय संसद्मा प्रभावकारी रुपमा प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्ने, त्यसका लागि जनताका दैनिक समस्यालाई प्रभावकारी रुपमा राख्ने र समाधानका लागि सरकारलाई दबाव दिने योजना माओवादी केन्द्रले बनाएको छ ।

आफूहरुलाई जनतामा जाने सुवर्ण अवसर प्राप्त भएको निष्कर्ष निकाल्दै माओवादी केन्द्रले आगामी केन्द्रीय समितिको बैठकपछि पार्टीको शीर्ष नेतृत्व नै देश दौडाहामा लाग्ने जनाएको छ । माओवादीले यही साउन २५ गते स्थायी समितिको बैठक बोलाएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।

देशभक्त, अग्रगामी शक्तिसँग सहकार्य गर्ने, देश र जनताको समस्या समाधानमा पहल गर्ने र बृहत् वामपन्थी एकताका अलावा कम्युनिष्ट पार्टीको पुन:गठनलाईसमेत अगाडि बढाउने विषयमा पदाधिकारी बैठकले बृहत् छलफल गरेको प्रवक्ता सापकोटाको भनाइ छ । गत शुक्रबारदेखि सुरु भएको माओवादी केन्द्रको पदाधिकारीको बैठक आज सम्पन्न भएको हो ।

खीर खाएर मनाइयो साउन १५ को परम्परा

काठमाडौँ । नेपाली समाजमा परापूर्वकालदेखि मनाउँदै आएको सांस्कृतिक पर्व साउन १५ आज घरघरमा खीर खाएर मनाइएको छ ।वर्षा ऋतुकाबेला असार १५ गते दही, च्युरा र साउन १५ मा खीर खाने प्राचीन कालदेखिको परम्परा नेपाली समाजमा रहँदै आएको छ । साउने झरीपर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।

संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ ।

साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलबेटीलाई घरमा बोलाएर खीर खाने चलन सुरु भएको हो ।

साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् भट्टराई बताउनुहुन्छ । तर यसको कुनै शास्त्रीय वचन वा प्रमाण भने छैन । ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृकार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रूपमा गाईको दूधमा पायस अर्थात् बनाउँछन् ।

यसैगरी साउन महिनामा हरियोमकै धेरै पाइने भएकाले मकैको खीरसमेत बनाएर खाने चलन छ । खिर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रहिआएको छ । नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरिएको छ ।

नेपाली समाजमा असार १५ गते दही च्युरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ ।

खीर खाने पर्वका रुपमा साउन १५ मनाइने भएकाले आज बजारमा दूधको बिक्री पनि धेरै भएको व्यवसायीले जनाएका छन् । धेरै स्थानमा दिउँसै दूध सकिएको थियो । विसं २०७८ देखि साउन १५ लाई राष्ट्रिय दुग्ध विकास बोर्डले खीर दिवसका रूपमा घोषणा गरेको छ । दूधमा बनेका परिकारले कोरोना, डेँगुजस्ता भाइरसबाट बचाउन शक्ति प्रदान गर्ने भएकाले रोग प्रतिरोधी क्षमता वृद्धिमा सहयोग पुग्ने पनि बोर्डले जनाएको छ ।

खीर खाने दिन: स्रष्टा भेटघाटमा प्रधानमन्त्री

काठमाडौँ । कृषिप्रधान नेपाली संस्कृतिअनुरूप साउन १५ को खीर खाने दिनका अवसरमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले करिब डेढ घन्टा स्रष्टा कलाकारसँग व्यतित गर्नुभयो ।

नेकपा (एमाले)को साहित्य, कला तथा संस्कृति विभागद्वारा सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आयोजित स्रष्टा भेटघाट कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्ना भूमिगतकालीन एक साथीको कृति लोकार्पण पनि गर्नुभयो ।

प्रधानमन्त्री ओलीले साहित्यिक र प्राज्ञिक व्यक्तित्व तथा कलाकारसँग खीर खाने कार्यक्रमहित हरेक साउन १५ गतेको भेटघाटको विगतका क्रमलाई निरन्तरता दिइएकामा खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले कवि नरेश शाक्यका कृतिहरू ‘एउटा नदीका आत्मकथ्य (कविता) र ‘जीवन अनेक घुम्तीहरूमा’ (संस्मरण) को लोकार्पण गर्नुभएको थियो । कवि शाक्य आफ्ना पुराना मित्र र जागरणका चेतयुक्त व्यक्तित्व भएकाले उहाँका रचनाबाट नयाँ पुस्ताले त्यस प्रकारको चेतना र जागरणको सन्देश पाउनसक्ने बताउनुभयो । आफूले भूमिगतकालमा कालीचरण नामबाट फुटकर रुपमा कविता लेखेको तर जहाँ लेख्यो त्यहीँ छोडेर हिँड्नुपर्ने भएका कारण ती कविताहरू हाल सङ्कलनमा नरहेको सुनाउनुभयो ।

“पञ्चायतकालमा हामी अनेक खालको सङ्घर्षमय जीवनमा थियौँ । सचेत मानव भएर बाँच्न गाह्रो हुने अर्थात् भेँडोभन्दा माथिको चेतना हुन नपाइने खालको अवस्था थियो,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “कवि नरेश शाक्य झापाली विचार समूहमा हामी निकट थियौँ । शाक्यले विकराल अवस्थाबाट गुज्रँदै सङ्घर्षमय जीवनमा होमिनुभयो । त्रासदीपूर्ण वातावरणको बीचमा हामीले जनतालाई जगाउनुपरेको थियो । आज मुलुकका नयाँ परिस्थितिको विकास भएको छ । अब विगतका दु:ख बिर्सनुस्, तपाईँका थुप्रै साथीहरू दायाँबायाँ छन् । एक्लो महसुस गर्नु पर्दैन । हामी साथमा छौँ ।”

एमालेका अध्यक्ष रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो, “शाक्यजी साहसिकरूपमा अघि बढेर साहित्य रचना गर्नुस् । तपाईंको स्वास्थ्यका बारेमा पनि हामी जिम्मा लिन्छौँ । लेखिएका कृतिहरू प्रकाशनको जिम्मेवारी मेरो भयो । मेरा समकालीन साथीहरू भुवरीमा परेको म देख्न सक्दिनँ । त्यसैले आत्मविश्वासका साथ काम गर्नुस् ।”

समाजमा उन्नत चेतनाको विकास, परिवर्तनको आकाङ्क्षा निर्माणका लागि लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, रामेश, रायन, मञ्जुल, श्याम तमोट, जेबी टुहुरे आदिका रचना र गायनहरू सार्थक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले शाक्यका संस्मरणले परिवर्तनका लागि भएका सङ्घर्षको अभिलेखीकरण गरेको बताउनुभयो । सो विभागका प्रमुख रघुजी पन्तले कवि नरेश शाक्यका कवितामा भावको उच्च रुप पाइने बताउनुभयो । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले भूमिकालमा सङ्घर्षपूर्ण जीवन भोगेर कवि शाक्यले साहित्य र सामाजिक क्षेत्रमा योगदान दिएको बताउनुभयो ।

निरोगी नेपाली अभियान पूरा गर्न सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निरोगी नेपाली अभियान पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। आज मन्त्रालयमा स्वास्थ्य पत्रकार मञ्च नेपालसँगको भेटघाटमा उनले स्वास्थ्य क्षेत्र सुधारका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताए ।

स्वास्थ्यमन्त्री पौडेलले एकीकृत ढङ्गबाट स्वास्थ्य प्रणालीको विकास हुनुपर्नेमा जोड दिए । ‘कतिपय प्रदेश र स्थानीय तहले फरक-फरक ढङ्गले काम गरिरहेका छन्, यसरी स्वास्थ्य क्षेत्र सुधार हुँदैन । तीन तहको समन्वयबाट मात्र स्वास्थ्य क्षेत्रको सुधार गर्न सकिन्छ । त्यसैले समन्वयका साथ एकीकृत रूपमा अगाडि बढ्नुपर्छ’, उनले भने ।

आधारभूत स्वास्थ्यलाई निःशुल्क गराउनेतर्फ आफ्नो ध्यान केन्द्रित भएको भन्दै मन्त्री पौडेलले अन्य रोगको उपचारको स्वास्थ्य बीमाबाट गर्ने गरी सबैलाई यसको दायरामा लाइने प्रतिबद्धता व्यक्त गरे ।

स्वास्थ्य सेवाको सुधार मन्त्रालयले मात्र गर्न नसक्ने भएकाले सबैको सहयोग आवश्यक रहेकोमा उनको जोड थियो । उनको भनाइ थियो,’आधारभूत स्वास्थ निःशुल्क गर्न र अन्य रोगको उपचार बीमाको दायरामा ल्याउनुपर्ने आवश्यकता छ । यसका अतिरिक्त स्वास्थ्य सेवा प्रभावकारी बनाउन र दक्ष जनशक्तिको प्रयोग कसरी गर्न सकिन्छ भनेर लागिरहेको छु । यसमा सबैको सहयोग आवश्यक छ ।’

कार्यक्रममा स्वास्थ्य पत्रकारहरूले जनताले अनुभूति गर्ने गरी काम गर्न मन्त्री पौडेललाई सुझाव दिएका थिए । मञ्चका अध्यक्ष सरोज ढुङ्गेल, पत्रकार प्रविण ढकाल, रामप्रसाद न्यौपाने, भीसा काफ्लेलगायतले जनतालाई उपचार सेवालाई प्रभावकारी बनाउन, स्वास्थ्यमा देखिएका अनियमितता हटाउनुपर्ने सुझाव दिएका थिए।

जुम्लामा चट्याङ पर्दा एक सय भेडा मरे

जुम्लाको तिला गाउँपालिकाको देउली पाटनमा चट्याङ पर्दा करिब एक सय भेडा मरेका छन् । पालिका वडा नं ६ र ९ मा पर्ने देउली पाटनमा चट्याङ लागेर आज तिला–७ का पोख्रीका नौ जना किसानका एक सय भेडा मरेको तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिनुभयो ।

चट्याङबाट भेडापालक किसान भीमबहादुर रोकाया, लालसिंह रोकाया, कालीबहादुर रोकाया, वीरबहादुर रोकाया, बलबहादुर रोकाया, कालीबहादुर बोहोरा, नैने बुढा र रामबहादुर रोकायाका भेडा मरेको उहाँले बताउनुभयो । “कसका कति भेडा मरेका हुन् भन्ने एकिन विवरण आउन बाँकी छ । चट्याङमा परी तिला–७ का अन्दाजी ५५ वर्षीय लालसिंह रोकाया सामान्य घाइते भएका छन्”, अध्यक्ष रोकायाले भन्नुभयो,“

छमछम नचाउने तीज गीत भोले बम बम लिएर आए गायक कृष्ण सुवेदी

काठमाडौँ । गायक कृष्ण सुवेदीको भोले बम बम बोलको तीज गीतको भिडियो रिलिज गरिएको छ । हिन्दु नेपालीहरुको महान पर्व तीज नजिकिएसँगै पर्वतेली गायक कृष्णले भगवान शिवको महिमा वर्णन गरिएको तीज गीत भोले बम बमको भिडियो लिएर आएका हुन् । छमछम नचाउने भोले बम बमबाट आँफुले आशा राखेको गायक कृष्ण बताउँछन् । भन्छन् गीतको अडियो भिडियो दुवैमा निकै मेहेनत गरेका कारण यो भिडियो खास बनेको छ । जसमा गायक कृष्णसँग सुनिता बुढाको स्वर सुन्न सकिन्छ ।

जसमा शरद एलजी, सृष्टि विश्वकर्मा, आरुषी कार्की र रिदम थापाको बेजोड अभिनय देख्न सकिन्छ । गायक स्वयमकै शब्द तथा संगीत रहेको भोले बम बममा आफ्नी प्राण प्यारि लाई जुनीभरी माया दिने कुरा दर्शाइएको छ । होम गुरुङले निर्देशन गरेको भिडियोको छायांकन गणेश सापकोटाले गरेका हुन् भने सम्पादन शिव पौडेलले गरेका हुन् । भिडियो गायक स्वयमकै अफिसियल युटुब च्यानल कृष्ण सुवेदी अफिसियलबाट बजारमा आएको हो ।

मन्त्री यादवको निर्देशन- सबैको घरमा खानेपानी पुर्‍याउनू

खानेपानीमन्त्री प्रदीप यादवले आमनागरिकको घरघरमा शुद्ध खानेपानीको सहज पहुँच पुर्‍याउने गरी काम गर्न निर्देशन दिनुभएको छ ।

खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा आज यहाँ आयोजित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीमा मन्त्री यादवले हरेक नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा ल्याउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जनताको शुद्ध खानेपानी खाने सपना सबै मिलेर पूरा गर्नुपर्छ । यस क्षेत्रमा आवश्यकपर्ने बजेटका लागि मैले पहल हरसम्भव प्रयास गर्नेछु ।”

मन्त्री यादवले जलवायु परिवर्तनलगायत कारण तराईलगायतका क्षेत्रमा खानेपानीका स्रोत सुक्दै जानु चिन्ताको विषय भएको भन्नुहुँदै यस समस्याको दीर्घकालीन समाधानका लागि काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “जलवायु परिवर्तनका कारण तराईका क्षेत्रमा चापाकल सुकेर पानी आउन बन्द भएको छ, आकाशे पानी परेका बेला पानी आउने गरे पनि फेरि चापाकल सुक्ने समस्या छ । पहाड, तराई र हिमालमा खानेपानीको समस्या छ ”, उहाँले भन्नुभयो, “यस्ता समस्या समाधान गरी सबै क्षेत्रका जनतालाई शुद्ध पानी खुवाउनु हाम्रो काम हो । त्यसैले सबै मिलेर काम गरौँ, पक्कै सफलता मिल्ने छ ।”

यसैगरी मन्त्री यादवले गरीब, निमुखा तथा दिनभरि मजदुरीगरी पेट पाल्दै आएका नागरिकलाई कसरी शुद्ध खोनेपानी वितरण गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिन आग्रह गर्नुभयो ।

१५ दिनमा ३१ युट्युब च्यानलका सञ्चालक कारबाहीमा

काठमाडौँ, साउन १५-प्रेस काउन्सिल नेपालले पछिल्लो १५ दिनमा पत्रकार आचारसंहिताविपरीत सामग्री सम्प्रेषण गर्ने ३१ वटा युट्युब च्यानल सञ्चालक (व्यक्ति कम्पनी)लाई कारबाही गरेको छ ।

काउन्सिलले आज विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमका रूपमा दर्तारसूचीकरण भएका र नभएका दुवैलाई कारबाही गरिएको जनाएको हो । दर्ता नभए पनि समाचारको शैलीमा द्वन्द्व बढाउने, चरित्रहत्या गर्ने तथा एकपक्षीय आरोपका सामग्री सम्प्रेषण गर्ने ती युट्युब च्यानल सञ्चालकलाई कारबाही गरिएको काउन्सिलले जनाएको छ ।

मिडियाअन्तर्गत सूचीकृत भएका तीन युट्युब च्यानललाई काउन्सिलले आचारसंहिता प्रतिकूल देखिएका अंश हटाई सम्पादन गर्न, सामग्री स्थगनगरी २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न र अश्लील सामग्री तत्काल हटाउन निर्देशन दिएको छ । हेल्लोटिभी नेपाल फेसबुक पेज, पिएनपी मिडिया र नागरिकपत्र युट्युब च्यानललाई उक्त निर्देशन दिइएको हो । काउन्सिलले हिंसा, आतङ्कलाई प्रश्रय पुग्ने, निराधार, अफवाहपूर्ण, अतिरञ्जित थम्बनेलसहितको शीर्षक दिइ भ्रमपूर्ण, अमर्यादित, अश्लील सामग्री सम्प्रेषण गर्ने त्यस्ता युट्युब च्यानल सञ्चालकलाई कारबाही प्रक्रिया अघि बढाएको विज्ञप्तिमा उल्लेख छ ।

मिडियासँग सम्बन्धित नभएका तर मिडियाकै शैलीमा अश्लील सामग्री सम्प्रेषण गर्ने २८ युट्युब च्यानललाई त्यस्ता सामग्री तत्काल हटाउन तथा थप अनुसन्धान र कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो(मा पत्राचार गरिएको काउन्सिलले जनाएको छ । गत आर्थिक वर्षमा काउन्सिलले त्यस्ता ४३ वटा विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई कारबाही गरेको थियो ।

“प्रेस काउन्सिल नेपालले पछिल्लो समयमा कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानलबाट सम्प्रेषित सामग्री अनुगमन गरिरहेको छ ।” जारी विज्ञप्तिमा भनिएको छ, “द्वन्द्वलाई बढावा दिने किसिमका सामग्री सम्प्रेषण गर्ने, गालीगलौजपूर्ण भाषाशैली प्रयोग गर्ने, हिंसा, त्रासलाई प्रश्रय पुग्ने सामग्री सम्प्रेषण गर्ने, तथ्यगत पुष्ट्याइँबेगर अप्राकृतिक रूपमा भ्युअर बढाउने उद्देश्यले अतिरञ्जनागरी सामग्री सम्प्रेषण भएकोप्रति प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण भएको छ ।”

यसैबीच काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युब च्यानल छुट्टै मापदण्डअनुसार कारबाही गरिएको बताउनुभयो । “डिजिटल प्लेटफर्मका कुनै पनि माध्यमबाट आधारहीन, एकपक्षीय, भ्रामक र पूर्वाग्रही सामग्री दिन मिल्दैन । केही समयदेखि हामीले त्यस्ता माध्यमबाट प्रसारित मिथ्या सामग्री सच्याउन, सम्पादन गर्न निर्देशन र आवश्यक कारबाही थालेका हौँ”, उहाँले भन्नुभयो ।

उहाँले युट्युब च्यानललाई नियमन र कारबाही गर्न बेग्लै मापदण्ड जारी गरेको जानकारी दिनुभयो । सञ्जाललाई दुरुपयोग नभई सदुपयोगगरी सञ्चार क्षेत्रको प्रवर्द्धनमा सबै केन्द्रित हुनुपर्ने उहाँको भनाइ छ ।

करदाता सेवा कार्यालय खोटाङले उठायो २२ करोड ३१ लाख राजस्व

खोटाङ, साउन १५ गते । करदाता सेवा कार्यालय खोटाङले आर्थिक वर्ष २०८०/८१ मा २२ लाख ५० करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आयकर, मूल्य अभिवृद्धि कर, अन्तशुल्क कर र अन्य सेवावापत रु २२ करोड ६१ लाख ९८ हजार राजस्व सङ्कलन गरिएको निमित्त कार्यालय प्रमुख नेत्रप्रसाद बाँस्तोलाले जानकारी दिनुभयो । कार्यालयले गत आवमा समग्रमा ९७ दशमलव ४४ प्रतिशत लक्ष्य पूरा गरेको छ ।

“कार्यालयले अघिल्लो आव २०७९/८० मा २१ करोड ३८ लाख २७ हजार राजस्व सङ्कलन गरेको थियो । गत वर्ष २२ करोड ६१ लाख ९८ हजार राजस्व सङ्कलन भएको छ”, निमित्त कार्यालय प्रमुख बाँस्तोलाले भन्नुभयो, “यो ९७ दशमलव ४४ प्रतिशत लक्ष्य हो । आगामी दिनमा शतप्रतिशत लक्ष्य पूरा गर्नेगरी काम गछौँ ।” वि.सं.२०७५ मा स्थापना भएको यस कार्यालयले जिल्लाका विभिन्न ठाउँमा कर शिक्षा तथा कर शिविर सञ्चालन, बजार अनुगमन, जिल्लास्थित लेखासम्बन्धी काम गर्ने कर्मचारीसँग कर शिक्षासम्बन्धी अन्तरक्रियालगायत क्रियाकलाप गर्दै आएको छ ।

आन्तरिक राजस्व कार्यालय लहानको सम्पर्क कार्यालयको रुपमा स्थापित यस कार्यालयले प्रशासन, घरेलु तथा स्थानीय तहमा दर्ता भएका तर करमा दर्ता नभएका सङ्घ-संस्था, व्यापार-व्यवसाय लगायतको विवरण सङ्कलन गरेर करको दायरामा ल्याएको जनाइएको छ । गत आवमा एक सय १५ वटा पसल अनुगमन गर्दा मापदण्ड विपरीत सञ्चालनमा रहेकाहरूलाई कारबाही गरी दुई लाख ४२ हजार राजस्व सङ्कलन गरेको थियो ।

सेवा कार्यालय स्थापना हुनुअघि यहाँका नागरिकले कर चुक्ताका लागि मधेस प्रदेश, सिराहाको लहान पुग्नुपर्ने समस्या थियो । यहाँबाट स्थायी लेखा नम्बर दर्ता, कर चुक्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि कर, अन्तशुल्क इजाजत तथा नवीकरण, कर सङ्कलन, करदाताको विवरण संशोधनलगायत सेवा प्रवाह हुने गरेको छ ।

कृषि स्रोत समितिको सभापति पदमा नेपाली कांग्रेसकी सांसद कुसुमदेवी थापा निर्विरोध निर्वाचित

काठमाडौँ, साउन १३ गते । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति पदमा नेपाली कांग्रेसकी सांसद कुसुमदेवी थापा निर्विरोध निर्वाचित हुनुभएको छ । कांग्रेस सांसद वीरबहादुर बलायरको प्रस्ताव र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद सूर्यप्रसाद ढकालको समर्थनमा थापा आज निर्विरोध निर्वाचित हुनुभएको ज्येष्ठ सदस्य टेकबहादुर गुरुङले घोषणा गर्नुभयो ।

समितिको सभापति डा.आरजु राणा देउवा परराष्ट्रमन्त्री नियुक्त हुनुभएपछि सो पद रिक्त हुनपुगेको थियो । समितिको सभापति पदमा कांग्रेसकी थापाको मात्र उम्मेदवारी परेको थियो ।

उच्च शिक्षालाई प्रतिष्पर्धी बनाउनुपर्नेमा शिक्षामन्त्रीको जोड

कीर्तिपुर (काठमाडौँ),साउन १५-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति विद्या भट्टराईले शिक्षाक्षेत्रको बजेट बढाएर विश्वविद्यालय शिक्षालाई प्रतिस्पर्धी बनाउन आफू लागिपरेको बताउनुभएको छ ।विश्वविद्यालयको आज सम्पन्न सिनेट बैठकमा मन्त्री भट्टराईले शैक्षिक क्षेत्रको विकासका लागि पर्याप्त बजेट विनियोजन हुनुपर्नेमा जोड दिनुभयो । आफूले लामो समयदेखि देशका कूल बजेटको २० प्रतिशत रकम शिक्षाक्षेत्रका निम्ति विनियोजन गर्नुपर्नेमा जोड दिँदै आएको बताउनुभयो ।

उहाँले विश्वविद्यालय शिक्षालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउन जरुरी भएको विचार व्यक्त गर्दै विज्ञान तथा प्रविधि क्षेत्रलाई विशेष जोड दिने शैक्षिक प्रणाली अपरिहार्य भएको बताउनुभयो । साथै उहाँले अन्वेषण अनुसन्धानमा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।मन्त्री भट्टराईले विश्वविद्यालयका चारवटै अनुसन्धान केन्द्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्न विश्वविद्यालय अनुदान आयोगमार्फत थप बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । “आगामी दिनमा यी केन्द्रलाई सरकारको ‘थिङ्क ट्याङ्क’का रूपमा विकास गर्नुपर्ने भएकाले त्यस दिशामा पनि कार्ययोजना बनाएर लाग्न विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिनुभयो ।

सभाले त्रिभुवन विश्वविद्यालयको ६२औँ ‘ग्रेस लिष्ट’ पारित गरेको छ । उक्त लिष्टअनुसार अध्ययन पूरा गरी विभिन्न तहमा उत्तीर्ण भएका ७३ हजार नौ सय ९५ जना विद्यार्थी त्रिविको आगामी दीक्षान्त समारोहमा भाग लिन योग्य भएका छन् । परित गे्रस लिष्टअनुसार २०८० साल असार १ देखि २०८१ जेठ मसान्त सम्ममा स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारीधि गरेका व्यवस्थापन सङ्कायका ३० हजार नौ सय ३६, शिक्षाशास्त्रतर्फ ११ हजार तीन सय १७ र मानविकीका १३ हजार ६ सय २६ विद्यार्थी छन् ।
सभाले आगामी आर्थिक वर्षका लागि रु २६ अर्ब १६ करोड ८७ लाख ३५ हजारको बजेट पनि पारित गरेको छ ।

एकीकृत समाजवादी केन्द्रीय कमिटी बैठक बुधबार

काठमाडौँ, साउन १५ गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटी बैठक भोलि बुधबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्ने बैठकले समावेशिताको अनुपात र सङ्ख्याअन्तर्गत दलित, आदिवासी जनजाति र खुला समूह निर्धारण गरी केन्द्रीय कमिटीलाई पूर्णता दिने जनाइएको छ ।

विधानअनुसार छुट्टाइएको क्लष्टरका आधारमा कमिटीको आकार थप गर्ने विषयमा बैठकमा छलफल हुने केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिनुभयो । हाल विधानअनुसार दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था रहेकामा तीन सय २९ सदस्यीय कार्यसमिति विस्तार गर्ने गरी छलफल अगाडि बढेको उहाँले बताउनुभयो ।

सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरुको योगदान र सक्षमताको मूल्याङ्कन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनित गर्ने, कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्नेलगायतका विषयमा छलफल गर्ने तयारी छ । हालै सम्पन्न महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महासचिवसहित तीन पदाधिकारी, ९० केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेकाले बाँकी सदस्य मनोनित गरिने छ । बैठकमा मुलुकको समसामयिक राजनीतिकको समिक्षाका साथै पार्टीको भावी कार्ययोजनाबारे छलफल हुने केन्द्रीय सदस्य पाण्डेयले बताउनुभयो । रासस

सैनिक मूल्य मान्यतालाई अक्षुण्ण राख्नु होला : प्रधानसेनापति

काठमाडौँ, साउन १५ गते । प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मूल्य मान्यतालाई अक्षुण्ण राख्दै भरोसायोग्य र प्रभावकारी सङ्गठनका रुपमा स्थापित नेपाली सेनाले भावी नेतृत्वलाई सहयोग पुर्याउनुपर्ने बताउनुभएको छ । तीन वर्षे कार्यकालको उत्तरार्धमा पृतनापतिहरुलाई ‘भर्चुअल’ माध्यममार्फत सम्बोधन गर्दै उहाँले सेनालाई संविधान र सरकारबाट प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकामा सकल दर्जालाई समेत धन्यवाद ज्ञापन गर्नुभयो । प्रधानसेनापति शर्माले भन्नुभयो, “व्यक्ति केन्द्रीत आकस्मिक योजनाभन्दा वस्तुगत अन्तरक्रिया, तार्किक बहस र विस्तृत पुष्ट्याइँसहित सामूहिक योजनाले हाम्रा बझाइ र गराइमा प्राथमिकता पाउनुपर्छ ।”

उहाँले नेपाली सेना सम्पूर्ण नेपाली जनताको आड र भरोसाको धरोहर रहेको तथ्यलाई ध्यान दिइ सदैव राष्ट्रिय सुरक्षा र राष्ट्रहितअनुरुप असरदार कार्य गर्न निर्देशन दिनुभयो । त्यसअवसरमा प्रधानसेनापतिले मनसुनका कारण देशका विभिन्न स्थानमा गएको बाढी, पहिरोमा सकलदर्जाले पुर्याएको योगदानका लागि धन्यवाद व्यक्त गर्दै उच्च हौसलाका साथ विपद प्रतिकार्यमा लागि रहन सुझाव दिनुभयो ।

बलाधिकृत रथी अशोकराज सिग्देल युद्धकार्य विभागका निमित्त विभागीय प्रमुखलगायत रथीबृन्दको उपस्थिति रहेको कार्यक्रममा पृतनापतिले विद्यमान विपद प्रतिकार्यमा फौजको परिचालनलगायत समसामयिक विषयमा प्रस्तुतीकरणमार्फत जानकारी गराउनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

धरहरा चाडो सञ्चालन ल्याउन, सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई आशातीत तुल्याउनेगरी सेवा प्रवाह चुस्त र प्रभावकारी बनाउन सरकारका सचिवहरूलाई निर्देशन दिनुभएको छ ।

सिंहदरबारमा आज सचिवहरूलाई निर्देशन दिँदै उहाँले सरकारबाट जनता निराश हुनुपर्ने खालको रवैया अन्त्य गरिनुपर्ने बताउनुभयो । “कर्मचारी सेवा गर्न बसेको हो, शासन गर्न बसेको होइन, हामीले जनतासँग नरम व्यवहार गरेर सेवा दिनुपर्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “नागरिक एप्सका माध्यमबाट पनि सेवा व्यवहारिक र प्रभावकारी बनाउन सकिन्छ । त्यसैले कुनै पनि नागरिकले सहजरूपमा सेवा पाउनुपर्छ । दुःखीगरीबलाई मान्छे नै नगन्ने प्रवृत्ति राख्नु हुँदैन । यसमा सम्बन्धित मन्त्रालय र निकायको ध्यानाकर्षण गराउँछु ।”

ललितपुरको एक कार्यालयको उदाहरण दिदैँ प्रधानमन्त्री ओलीले सवारी साधन, राहदानी, नागरिकता, राष्ट्रिय परिचयपत्रलगायत सेवा लिने ठाउँमा उभिन नसक्ने ज्येष्ठ नागरिक पनि लाइन लाग्नुपर्ने स्थिति दुःखद् हो भन्नुभयो । उहाँले सरकारबाट जनता निराश हुनुपर्ने यस्तो खालको रवैया अन्त्य गर्न निर्देशन दिनुभयो ।

‘राज्यले तलव दिएको छ, भत्ता लिनु उचित हुँदैन’

प्रधानमन्त्री ओलीले भन्नुभयो, “ढुक्कसँग काम गर्नुस्, यो सरकार स्थायित्वको कार्यभार लिएर आएको छ ।” उहाँले राज्यका निकायले तलव दिइएकाले बैठक आदिको भत्ता लिनु उचित नहुने बताउनुभयो ।

“मुलुकमा २० प्रतिशतभन्दा बढी जनता निरपेक्ष गरिबीको रेखामुनी छन्, आर्थिक अवस्था राम्रो छैन । हामीले देश र जनताका लागि प्रतिबद्ध भएर सेवा दिनुछ । दिनभरी काम नगर्ने, पाँच बजेपछि बैठक गरेर भत्ता लिने प्रवृत्ति छ भने अब त्यस्तो नगर्नु”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार मुलुकको स्थायित्व, सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण र आर्थिक समृद्धिको कार्यभार लिएर अघि बढेको बताउनुभयो । नयाँ कामभन्दा पनि हाल थालिएका काम सम्पन्न गर्नेतर्फ मुख्य ध्यान हुनुपर्ने उहाँको भनाइ थियो ।

सरकारले जलविद्युत्को विकास र उपयोगमा ध्यान दिई इन्धन आयातका लागि खर्चने अर्बाैं रकम बचाउने योजनामा जानुपर्ने प्रधानमन्त्रीले खाँचो औंल्याउनुभयो ।

“इजरायल र मलेसियाले समुद्रको पानी प्रशोधन गरेर पिउने पानी बनाइरहेको छ । हामीले सगरमाथाको पानीलाई किन ब्रान्डिङ नगर्ने ?” भनी प्रश्न गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि कुरामा ढिलासुस्ती नगर्न र समन्वय बढाउन निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “प्रम्ट रेस्पोन्स गरिनुपर्छ । सेवा लिने नागरिकले कति टाढादेखि खर्च गरेर सरकारी कार्यालयमा आएको हुन्छ, उसको हुने काम बिना झञ्झट गरिनुपर्छ ।” उहाँले अनावश्यक समिति र संरचना नबनाई कामको परिणाम देखिनेगरी देश र जनताका लागि समर्पित भएकार काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले कार्यसम्पादन र अधिकार प्रत्यायोजन ठीक समयमा गरेर पूर्णरूपमा काम गर्ने पद्धतिमा जानुपर्ने, आदेशका भरमाभन्दा कानुनबमोजिम आफैले जिम्मा लिएर काम गर्न आग्रह गर्नुभयो । उहाँले सरकार दिगो विकासका लक्ष्य पूरा गराउनुपर्ने दायित्वमा रहेको र गरिबीको अन्त्यको मुख्य निसाना हुनुपर्नेमा जोड दिनुभयो ।

सम्पति शुद्धीकरणका जटिलताहरू रहेको, आफ्नै सम्पति बिक्री गर्दा पनि स्रोत देखाउनुपर्नेजस्ता स्थितिहरू छन्’ भन्दै प्रधानमन्त्रीले यस्ता अन्योल र प्राविधिक पक्षहरूलाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।

“काम गर्नका लागि बजेटको अभाव भन्ने कुरा आएको छ, वास्तविकता के छ ? नियमित बजेट खर्च हुने तर विकास खर्च कम हुने स्थिति देखिएको छ । जनतालाई डेलिभरी दिने विकासले हो । त्यसैले पर्याप्त पुँजीगत खर्च गरेर जानुपर्छ । सेवाग्राहीले निवेदन दिए बित्तिकै काम थाल्ने र निर्णय छिटो दिने पद्धतिमा जानुपर्छ । फाइल रोकेर राख्न मिल्दैन”, उहाँले भन्नुभयो ।

‘किसानलाई समयमै भुक्तानी दिनु’

प्रधानमन्त्री ओलीले बीमा भुक्तानी, भ्याट रकम फिर्ता, किसानको दूध र उखुको मूल्यको भुक्तानी नपाउने अवस्था राम्रो होइन, समयमा भुक्तानी नदिँदा ऋण लिएर लगानी गरेकाहरू मर्कामा पर्ने र यसरी कृषिको आधुनिककरणमा पुग्न सकिँदैन भन्नुभयो ।

निर्माण सम्पन्न भइसकेका कामको ठेकेदारले पैसा नपाउने तरिका गलत भएको बताउँदै प्रधानमन्त्रीले सम्पन्न भइसकेका कामको रकम निकासा रोकिन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी आर्थिक अनुशासनलाई पालना गरौँ । रुजु हुनेगरी काम गरौँ । अनुदानका रकमको व्यवस्थित वितरण गरौँ । व्यवसाय गर्नेलाई प्रोत्साहित गर्नुपर्छ तर व्यक्तिगतरूपमा दिइने कृषि अनुदान आदिका रकमको दुरुपयोग भएको छ, अनुगमन गरौँ ।”

करका दरहरू विस्तार गर्ने कुरामा उत्साहित नहुन आग्रह गर्दै उहाँले मौद्रिक नीतिले बजारमा राम्रो उत्साह दिएकाले यसलाई काम राखेर बजारलाई चलायमान हुनेगरी जानुपर्नेमा जोड दिनुभयो ।

धरहरा चाडो सञ्चालन ल्याउन निर्देशन

प्रधानमन्त्री ओलीले बनिसकेको धरहरालाई छिटो सञ्चालनमा ल्याउन निर्देशन दिनुभयो । “धरहरा बनिसकेको छ पार्किङको व्यवस्थापन नहुँदा सञ्चालनमा आएको छैन”, उहाँले भन्नुभयो, “पार्किङको शुल्क लिएर भए पनि सञ्चालन गर्नुपर्छ । ‘मै बनाउँछु मेरो धरहरा’ अभियानमा नेपाली जनताले करोडौँ रकम पनि दिएका थिए । यसको पुनःनिर्माणमा जनताको सहभागिता छ तर जनताले धरहरा चढ्न पाएनन् । कसरी हुन्छ छिटो सञ्चालनमा ल्याउन निर्देश गर्छु ।”

सरकारको कार्यकाल सय दिनसम्म पुग्दा मन्त्रीहरूले अरुको आलोचना नगरी आफ्नो कामलाई ध्यान दिन आग्रह गर्दै उहाँले हरेक मन्त्रालयले सय दिनभित्र तालिका बनाएर देखिने खालका आकर्षक प्रतिवेदन दिने काम गर्न आग्रह गर्नुभयो ।

‘रेल र पानीजहाज चलाउने योजना छ’

प्रधानमन्त्री ओलीले प्राथमिकताप्राप्त आयोजनाहरूका काम वर्षौंसम्म नसिकने स्थितिको अन्त्य गरिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सगरमाथा संवाद गर्छौं । त्यसको तयारीमा लागौँ । मैले एक अन्तर्राष्ट्रिय पुरस्कार पाएको रकम सरकारलाई दिएर र थप बजेट विनियोजन गरेर सुरु भएको राष्ट्रिय प्रतिभा पुरस्कार किन नियमित भएन ? नियमित होस्, प्रतिभालाई हामीले प्रोत्साहन गर्नुपर्छ ।”

प्रधानमन्त्रीले हवाइ र सवारी दुर्घटनाका घटनाहरू बढिरहेको भन्दै राजमार्गका सडकमा लामो जरा भएका बिरुवाहरू लगाउने र नयाँ निर्माण गर्दा सुरक्षित हुनेगरी डिजाइन गरिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “रेल र पानीजहाज चलाउने हाम्रो योजना छ । रेलका लागि जनताको माग छ । हाम्रो प्राथमिकता यसमा रहनेछ ।”

प्रधानमन्त्री ओलीले जनता आवास, एकीकृत विकास कार्यक्रमलाई व्यवसायसँग जोडेर सञ्चालन गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले निजी क्षेत्रलाई साथ लिएर व्यवसायीका गुनासा सम्बोधन गर्दै अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

भदौ ५ अगावै जुम्लाको स्याउ नटिप्न आग्रह

काठमाडाैँ, १५ साउनः जुम्लाको तिला गाउँपालिकाले स्याउ बगैँचा धनी र स्याउ व्यापारीलाई आगामी भदौ ५ गतेपछि मात्र स्याउ सङ्कलन तथा निकासी गर्न आग्रह गरेको छ । गाउँ कार्यपालिकाको बैठकको निर्णयले वडा नं १–९ सम्मका सबै स्याउ बगैँचा धनी र व्यापारीलाई भदौ ५ गतेभन्दा अघि स्याउ नटिप्न र निर्यात नगर्न अनुरोध गरेको छ ।

पालिकाले जुम्लाबाट सुर्खेत, नेपालगञ्ज, बुटवल, नारायणगढ, काठमाडौँ हुँदै देशका विभिन्न जिल्लाका सहरमा भदौ पहिलो साता अगावै निर्यात गर्न नदिने निर्णय गरेको अध्यक्ष मोतिलाल रोकायले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “भदौअघि नै टिप्न थाल्यो भने स्याउ परिपक्व नहुने, रङ नभरिने, उपभोक्ताले आवश्यक स्वाद प्राप्त नगर्ने, काँचो स्याउले जुम्ली जैविक स्याउको कुप्रचार मात्र नभई यहाँको बदनाम हुने तथा किसानले सोचेको मूल्य नपाउने कुरालाई गहन अध्ययन गरी तोकिएको मितिभन्दा अगाडि स्याउ सङ्कलन तथा निकासी गर्न रोक लगाइएको हो ।”

पालिकाका निमित्त प्रमुख प्रशाकीय अधिकृत जगबहादुर बस्नेतले पालिकाको निर्णयानुसार भदौ ५ गतेअघि स्याउ बगैँचा धनीलाई स्याउ सङ्कलन र व्यापारीलाई निकासी नगर्न सार्वजनिक सूचना गरिएको बताउनुभयो । उहाँका अनुसार भदौ ५ गतेपछि पालिकाको कृषि शाखा र सम्बन्धित वडाको सिफारिस लिएर मात्र स्याउ निकासी गर्न सार्वजनिक सूचनामार्फत सरोकारवालालाई जानकारी गराइएको छ ।