`

रुसमा रेल र ट्रक ठोक्किँदा सयभन्दा बढी घाइते

मस्को – दक्षिणी रूसको एक रेलवे क्रसिङमा सोमबार आठ सयभन्दा बढी यात्रु बोकेको यात्रुवाहक रेल एक ट्रकसँग ठोक्किँदा कम्तीमा एक सय जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

सामाजिक सञ्जालमा प्रकाशित भिडियोले रेलवे ट्र्याकको छेउमा रहेको घाँसमा ट्रकका केही भाग छरिएको जस्तो देखिन्थ्यो । यहाँ धेरै रेलका डिब्बाहरू तिनीहरूको छेउमा रहेका थिए ।

कजान र एडलर सहरको बीचमा करिब आठ सय यात्रु बोकेको रेल एउटा क्रसिङमा ट्रकसँग ठोक्किएर दुर्घटना भएको दक्षिणी भोल्गोग्राद क्षेत्रका गभर्नर आन्द्रेई बोचारोभले बताए ।

“रेल पटरीबाट खसेको स्थानमा आपत्कालीन उद्धार कार्य भइरहेको छ । नौवटा डिब्बा पटरीबाट खसेका छन् । यसमध्ये सात पल्टिएका छन् । यसक्रममा अस्थायी रूपमा एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन्”, आपत्कालीन अवस्था मन्त्रालयले भनेको छ ।

घाइतेमध्ये १५ बालबालिकासहित करिब ३० जनालाई अस्पतालमा भर्ना गरिएको र २२ वटा एम्बुलेन्स चालक दललाई घाइतेको उपचारका लागि घटनास्थलमा पठाइएको थियो समाचार एजेन्सीले रिपोर्ट गरेको छ ।

देशको अनुसन्धान समितिले घटनाको आपराधिक अनुसन्धान सुरु गरेको बताएको छ । सरकारी सञ्चालक रुसी रेलवेले घटनाका लागि ट्रकको चालकलाई दोष दिएको छ ।

“चालकले ट्राफिक नियमको घोर उल्लङ्घन गरेका छन् र सिग्नलिङ प्रणाली ठीकसँग काम गरिरहेको बेला क्रसिङमा गएका छन्”, समितिले भनेको छ, “रेल चालकले आकस्मिक ब्रेक लगाए तर छोटो दूरीका कारणले टक्करबाट बच्न सकेन । रेल ६५ किलोमिटर प्रतिघण्टा ९४० माइल प्रतिघण्टा० को गतिमा गुडिरहेको थियो ।”

माओवादी केन्द्र पदाधिकारी बैठक : अध्यक्ष दाहालले भोलि जवाफ दिने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा नेताहरूले आफ्नो धारणा राख्ने क्रम सकिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको बैठकमा पदाधिकारीमा रहनुभएका नेताहरूले आफ्नो धारणा राख्ने क्रम सकिएको उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा अधिकांश नेताले पार्टी वर्गीय धरातलमा फर्कनुपर्ने, शुद्धीकरणलाई प्रभावकारी रुपमा कार्यान्वयन गरेर सङ्गठन निर्माण र जनपरिचालन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

सङ्गठन निर्माणका लागि सरकारबाट बाहिरिएपछिको अवस्था सकारात्मक रहेको भन्दै नेताहरूले त्यसका लागि माथिबाटै पहल गर्नुपर्ने बताउनुभएको थियो । शुक्रबारदेखि सुरु भएको बैठकमा आजसम्म १८ जना नेताले आफ्नो धारणा राख्नुभएको हो ।

नेताहरूले उठाउनुभएको प्रश्नको मङ्गलबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यक्रम छ । पछिल्लो राजनीतिक अवस्था, पार्टीले खेल्नुपर्ने भूमिका एवम् सरकारमा रहेर गरिएका सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको सन्दर्भ लिएर जनतामा जानुपर्ने र सङ्गठन विस्तारलाई विशेष प्राथमिकतामा राखेर नेताहरूले धारणा राख्नुभएको थियो ।

नेताहरूको धारणालाई संश्लेषण गरेर अध्यक्ष दाहालले जवाफ दिएपछि थप छलफलका लागि स्थायी समितिको बैठक बोलाउने तयारी गरिएको छ ।

डुरान्ड कपमा सहभागी हुन त्रिभुवन आर्मी क्लब भारत प्रस्थान

काठमाडौँ, १४ साउन : भारतीय सेनाको आयोजनामा सञ्चालन हुने डुरान्ड कप फुटबल २०२४ मा भाग लिन त्रिभुवन आर्मी क्लबका खेलाडीहरु भारत प्रस्थान गरेका छन् ।

एक सय ३३औँ संस्करणको उक्त फुटबल प्रतियोगितामा सहभागी हुन प्रस्थान गरेको उक्त टोलीमा पूर्वराष्ट्रिय फुटबल खेलाडी एवं नेपाली सेनाका अवकाशप्राप्त प्रमुख सेनानी वसन्तराज गुरुङको नेतृत्वमा त्रिभुवन आर्मी क्लबका खेलाडी तथा अधिकारी गरी ४२ जना सम्मिलित छन् ।

साउन ११ गतेदेखि भदौ १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले भारतको ‘ए लेभल’ फुटबल क्लबहरूसँग प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

सुदूरपश्चिम : कार्यसूचीमा प्रवेश नगरी प्रदेशसभाको बैठक स्थगित

सुदूरपश्चिम, १४ साउन : प्रदेश सरकारका मन्त्रीको अनुपस्थितिपछि सुदूरपश्चिम प्रदेशसभाको आजको बोलाइएको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित गरिएको छ ।

बैठक प्रारम्भ गर्दै सभामुख भीमबहादुर भण्डारीले सुदूरपश्चिम प्रदेश नियमावलीअनुसार आजको बैठकमा मन्त्रीको उपस्थिति नभएकाले अर्को सूचना प्रकाशित नभएसम्म बैठक स्थगित गरिएको जानकारी गराउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी(एमाले) र नेपाली कांग्रेसलगायत दलको मागबमोजिम प्रदेश प्रमुखले आह्वान गरेको अधिवेशन यही साउन ८ देखि जारी छ । विपक्षीको मागमा आह्वान गरिएको यो अधिवेशनको बैठकमा सरकारका मुख्यमन्त्री र मन्त्री सुरुको दिनदेखि नै अनुपस्थित रहने रणनीतिमा थिए । तर मुख्यमन्त्रीको निर्देशनविपरीत दुई दिनका बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका थापा उपस्थित हुनुभएको थियो । सरकारको नीतिविपरीत बैठकमा सहभागी भएकी मन्त्री थापालाई आइतबार मुख्यमन्त्रीले बर्खास्त गर्नुभएको थियो ।

गएको असार २० मा नेकपा (एमाले) समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता एवं मुख्यमन्त्री दीर्घबहादुर सोडारी अल्पमतमा हुनुहुन्छ । एमाले समर्थन फिर्ता लिएपछि अध्यादेशमार्फत बजेट ल्याउन सरकारले प्रयास गरिरहँदा कांग्रेस, एमालेलगायत दलले विषेश अधिवेशन माग गरेका थिए ।

यसबीच विशेष अधिवेशनअन्तर्गत आज तेस्रो दिनको बैठकमा सरकारको उपस्थिति नभएपछि विपक्षी दल कांग्रेस, एमाले, नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यले प्रदेशसभा सचिवालयको मूल प्रवेशद्वारमा दिउँसै ‘टर्च लाइट’ बालेर सरकारको खोजी गरेका छन् । अल्पमतमा पर्नुभएका मुख्यमन्त्री सोडारीले संविधानमा भएको व्यवस्थाबमोजिम यही साउन १८ गतेभित्र विश्वासको मत लिइसक्नुपर्छ ।

परराष्ट्रमन्त्री डा राणासँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट

काठमाडौँ, १४ साउन: परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि पाकिस्तानका राजदूत अबरर एच हस्मीले आज मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ ।

सो भेटका क्रममा द्विपक्षीय हितका साथै नेपाल पाकिस्तान सम्बन्धका विविध पक्षमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विपदमा एक सय ४३ को मृत्यु, ४७ जना बेपत्ता

काठमाडौँ, साउन १४ गते । मनसुनी विपदमा परी गत जेठ २८ गतेदेखि आजसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपदमा परी एक सय ४३ जनाको मृत्यु भएको छ भने ४७ जना बेपत्ता रहेका छन् ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार अविरल वर्षाका कारण गत जेठ २८ देखि आजसम्म बाढीपहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा दुई जना, कोशी प्रदेशमा २२ जना, मधेस प्रदेशमा छ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २४ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाको ज्यान गएको हो ।

अहिलेसम्म काठमाडौँ उपत्यकामा नौ, कोशी प्रदेशमा ३५, मधेस प्रदेशमा १०, बागमती प्रदेशमा नौ, गण्डकी प्रदेशमा ३१, लुम्बिनी प्रदेशमा नौ, कर्णाली प्रदेशमा ४४ र सुदूरपश्चिम प्रदेशमा १४ जनागरी जम्मा एक सय ६१ जना घाइते भएका छन् । काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा ४९, गण्डकी प्रदेशमा १२, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा पाँच जनागरी जम्मा ७१ जनाको उद्धार गरिएको छ ।

बाढीपहिरामा परी कोशी प्रदेशमा दुई, बागमती प्रदेशमा ४२, गण्डकी प्रदेशमा दुई र कर्णाली प्रदेशमा एक जनागरी ४७ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजीकार्य जारी छ । बाढीका कारण जम्मा एक सय ८४ घर डुबानमा परेका छन् । दुई सय ४१ वटा घर, ८८ वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । छ सय आठ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपदका घटनाबाट चार हजार ४२ घरपरिवार विस्थापित भएका कार्कीले जानकारी दिनुभयो ।

भ्रष्टाचार हुन नदिन सदाचार नीति कार्यान्वयनमा ल्याउनुपर्ने संसदीय समितिको सुझाव

काठमाडौँ, साउन १४ गते । संसदीय समितिले देशमा सुशासन प्रवर्द्धन र भ्रष्टाचार हुन नदिन सदाचार नीति कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव दिएको छ । राष्ट्रियसभा विकास, आर्थिक मामिला र सुशासन समितिको आजको बैठकमा सदस्यहरूले भ्रष्टाचारमा संलग्न हुनेलाई कारबाहीको दायरामा ल्याउनभन्दा भ्रष्टाचार हुन नदिन सतर्कता अपनाउन सदाचार नीति आवश्यक रहेको बताउनुभयो ।

सरकारले सदाचार नीतिको मस्यौदा निर्माण गरेको सात वर्ष भए पनि कार्यान्वयनमा ल्याउन नसकेको जनाउँदै उहाँहरुले सुशासनविना विकास र समृद्धि सम्भव नभएको टिप्पणी गर्नुभयो । पन्ध्रौँ पञ्चवर्षीय योजना कार्यान्वयनमा देखिएका कमीकमजोरी र चुनौतीको गहिरो समीक्षापछि मात्र सोह्रौँ पञ्चवर्षीय योजना कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै सदस्यले अत्यन्त थोरै पुँजीगत बजेटको पनि ६० प्रतिशत मात्र खर्च हुन लाजमर्दाे भएको प्रतिक्रिया दिनुभयो ।

समिति सदस्य झक्कुप्रसाद सुवेदीले कूल बजेटको ८० प्रतिशत तलबभत्ता र सामाजिक सुरक्षामा खर्च हुने गरेको तथा विनियोजित २० प्रतिशत पुँजीगत बजेट पनि खर्च गर्न नसक्नु आफैँमा आश्चर्यको विषय भएको टिप्पणी गर्नुभयो । अघिल्लो सरकारले सदाचार नीति ल्याउने भनी गृहकार्य गर्दै मस्यौदा तयार गरेकामा केही गैरसरकारी संस्थाको विमतिका कारण अघि बढ्न सकेन । बैठकमा केही सदस्यले सदाचार नीति सरकारले नल्याउने हो भने भ्रष्टाचारलाई रोक्न नसकिने चेतावनी दिँदै भ्रष्टाचार रोक्न सदाचार नीति जारी गर्न सरकार प्रष्ट हुनुपर्नेमा जोड दिनुभयो ।

समिति सचिव डा रोजनाथ पाण्डेले सुशासन कायम गर्ने विषयमा गृह मन्त्रालयको विशेष भूमिका रहने जनाउँदै गृहमन्त्रीसँग आगामी बैठकमा सदाचार नीतिबारे छलफल गर्न आवश्यक भएको धारणा राख्नुभयो । सुशासनमा गत वर्षमा अपेक्षा गरेअनुरुप काम गर्न नसकेको स्वीकार्दै उहाँले कार्य क्षेत्र निर्धारणगरी सुशासनका लागि सदाचार नीति आवश्यक रहेको बताउनुभयो ।

समिति सभापति कमला पन्तले सुशासन नभएर देशविकास र समृद्धिमा पछि परेको बताउनुभयो । उहाँले भन्नुभयो, “सुशासन कायम गर्न धेरै विषय त्योभन्दा अघि ठीकठाक हुनुपर्छ । त्यसै सुशासन फुत्त आउन्न । सुशासन कायम भएको सङ्केत नदेखिएसम्म लगातार छलफल र बहस हुनुपर्छ ।”

अनुदानबारे सञ्चारमाध्यममा आएका समाचार गलतः मन्त्री अधिकारी

काठमाडौँ, १४ साउनः कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सञ्चारमाध्यममा ५० लाख किसान परिवार सरकारले दिने अनुदानबाट बञ्चित रहेको आशयको प्रकाशित समाचार गलत भएको दाबी गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले ४१ लाख घरधुरी किसान रहेको देशमा तीन लाख ६५ हजार किसान मात्रै अनुदानको दायरामा रहेकाले उक्त समाचार गलत भएको बताउनुभयो ।

सो मन्त्रालयसम्बन्धी मौखिकरुपमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले रासायनिक मल, बिउ विजन, बीमाको प्रिमियम, ऊखु किसानको प्रोत्साहन अनुदान, खोप, कृत्रिम गर्भाधान किसानले अनुदान पाउँदै आएको बताउनुभयो । उहाँले बिचौलियाले अनुदान प्राप्त गरेको विषय तथ्यसंगत नभएको जिकिर गर्नुभयो । उहाँले सरकारले दिने अनुदान किसानको खातामै जाने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

दुर दराजमा रहेका किसानसमक्ष सरकारले उपलब्ध गराउने सेवा, सुविधा, सहुलियत, अनुदानको पहुँचमा कमीलगायतका कारणले यसबारे पर्याप्त जानकारी नहुनसक्छ”, उहाँले भन्नुभयो, “किसानहरुमाझ सहज रुपमा सेवा पु¥याउन मन्त्रालय निरन्तर प्रयत्नशील रहेको अवगत गराउँछु ।”

अहिले पनि कृषि क्षेत्रमा कूल बजेटको ५७ प्रतिशत रासायनिक मलको अनुदानमा प्रतिकेजी रु ४५ देखि ६० अनुदान रहेको उहाँले उल्लेख गर्नुभयो ।

मन्त्री अधिकारीले केही आयोजनाबाट प्रदान गरिने प्रस्तावमा आधारित प्रतिस्पर्धात्मक अनुदानमा हुनसक्ने मध्यस्थकर्ताको प्रभावका विषयमा भने मन्त्रालय सचेत रहेको बताउनुभयो । “यस्ता विषयमा मन्त्रालयले नियमित अनुगमन गर्दै आएको र कृषकले पाउने सेवा, सुविधा, सहुलियत, अनुदान पारदर्शी अनुमानयोग्य र प्रोत्साहन अनुदान कृषकको खातामै उपलब्ध गराउने गरी व्यवस्था गर्न मन्त्रालय प्रयासरत छ”, उहाँले भन्नुभयो ।

एमाले र कांग्रेसको संयुक्त सरकार निर्माण हुनेछ : मुख्यमन्त्री कार्की

मोरङ, साउन १४ गते । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय राजनीतिमा भएको समीकरणअनुसार प्रदेशमा हाललाई नेकपा (एमाले) र नेपाली कांग्रेसको संयुक्त सरकार निर्माण हुने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले शक्ति सङ्ख्याका आधारमा नेकपा (एमाले) ले मुख्यमन्त्रीसहित पाँच र कांग्रेसले चार मन्त्रालय पाउने सहमति भएको जानकारी दिनुभयो । मुख्यमन्त्री कार्कीले वर्तमान अवस्थामा मन्त्रालयको सङ्ख्यामा वृद्धि नहुने प्रष्ट पार्नुभयो । उहाँले कांग्रेसले नाम दिएका आधारमा दुई-चार दिनभित्र मन्त्रिमण्डल विस्तार गर्ने जानकारी दिनुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेशको बजेट पास भई कार्यान्वयनमा गइसकेकाले यसमा पुनरालोकन नहुने स्पष्ट पार्र्दै आवधिक समयमा बिग्रेका बजेटलाई कानुन बमोजिम सच्याउने सकिने विचार व्यक्त गर्नुभयो । उहाँले सामाजिक विकास मन्त्रालयका सचिवलाई आएको धम्की सम्बन्धमा प्रदेश सरकार कर्मचारी र नागरिकको सुरक्षाको निम्ति संवेदनशील छ भन्नुभयो ।

पर्सा ट्राफिक प्रहरीद्वारा दुई करोड ७६ लाख राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा), साउन १४ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनबाट एक वर्षमा दुई करोड ७६ लाख ६१ हजार नौ सय ५४ रकम राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव २०८०/८१ मा २७ हजार तीन सय ७२ सवारी साधनलाई कारबाही गरेर सो राजस्व सङ्कन गरेको हो ।

आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा पर्सामा सवारी चालकले ट्राफिक नियम उल्लंघन गरेर सङ्कलन हुने जरिवाना वापतको राजस्व एकै वर्षमा ६६ लाखले घटेको छ । पर्सामा अनलाइन प्रणालीमा आधारित ‘ट्राफिक भ्वाइलेन्स रेकर्ड सिस्टम’ लागू गरेर न्यूनतम मात्रै जरिवाना गर्ने नियमका कारणले जरिवाना वापतको राजस्व घटेको कार्यालयले जनाएको छ । यसअघि ट्राफिक नियम उल्लङ्घन गर्दा अधिकतम जरिवानाबाट सुरु गर्ने गरिन्थ्यो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख भास्कर खतिवडाले पर्सा ट्राफिकले गत वर्षदेखि अनलाइन प्रणालीमा आधारित ‘ट्राफिक भ्वाइलेन्स रेकर्ड सिस्टम’ लागू गरेकाले पनि राजस्वमा प्रत्यक्ष असर देखिएको बताउनुभयो । “विगतका वर्षमा फिल्डमा खटिने ट्राफिक प्रहरीले म्यानुअल ढङ्गबाट अधिकतम जरिवाना लगाउने गर्थे, जसको कारणले पनि जरिवाना वापतको राजस्व सङ्कलन धेरै हुने गर्थ्यो”, उहाँले भन्नुभयो, “अहिलेको ट्राफिक भ्वाइलेन्स रेकर्ड सिस्टमले न्यूनतम खालको ट्राफिक जरिवानाबाट सुरुवात गर्नुपर्ने भएकाले पनि जरिवाना राजस्व रकम केही घटेको देखिन्छ ।”

कार्यालयले आव २०७९/८० मा ३५ हजार पाँच सय ३४ ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गरेर तीन करोड ४२ लाख ६५ हजार जरिवाना सङ्कलन गरेको थियो । कार्यालयले आव २०८०/८१ मा १० हजार सात सय ५२ ट्रकका चालकलार्ई कारबाही गरेर एक करोड ५४ लाख ५१ हजार ५१ रकम जरिवाना सङ्कलन गरेको छ ।

त्यस्तै, सोही आवमा दुई हजार एक सय ६७ जीप, कार र भ्यानका चालकलाई कारवाही गरेर २० लाख २१ हजार सात सय ५२ जरिवाना वापतको राजस्व सङ्कलन गरेको छ । गत आवमा १२ हजार सात सय ७४ मोटरसाइकलका चालकलाई कारबाही गरेर ८८ लाख ७८ हजार पाँच सय ५१ जरिवाना राजस्व सङ्कलन गरेको छ । सोही आवमा दुई सय ३८ बसका चालकलाई कारबाही गरेर दुई लाख ३८ हजार जरिवाना सङ्कलन गरेको छ । यहाँ २१ जना ट्राफिक प्रहरीको दरबन्दी भए पनि काजमा ५८ जना खटिरहेका छन् ।

पेरिस ओलम्पिकमा नेपालकी जुडो खेलाडी मनिता बाहिरिन

काठमाडौँ । पेरिस ओलम्पिकअन्तर्गत जुडो खेलमा नेपालकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाट बाहिरिएकी छन् । मनिता क्याम्प डी मार्स एरिनामा सर्वियन खेलाडी मारिका पेरिसिकसँग पराजित भएसँगै पहिलो चरणबाटै आउट भएकी हुन् । उनले महिला ५७ केजीमुनिमा प्रतिस्पर्धा गरेकी थिइन् ।

मनितालाई एक मिनेटमा सर्वियन खेलाडी पेरिसिकले पराजित गरिन् । यो जितसँगै पेरिसिकले अन्तिम १६ को यात्रा तय गरेकी छन् । मनितासँगै पेरिस ओलम्पिकमा नेपालका चार खेलाडीको चुनौती समाप्त भएको छ ।

यसअघि टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल र पौडीकी डुवाना लामा पनि समूह चरणमा बाहिरिएका थिए । पेरिस ओलम्पिकमा नेपालबाट सात खेलाडीले सहभागिता जनाएका छन् ।

मुस्ताङमा तालुधर्से अर्जुनक नामको नयाँ प्रजातिको चरा भेटियो

म्याग्दी । मुस्ताङमा तालुधर्से अर्जुनक नामको नयाँ प्रजातिको चरा भेटिएको छ ।चराविद् सञ्जय था श्रेष्ठ र शङ्कर तिवारीले उपल्लो मुस्ताङको समर क्षेत्रमा नयाँ प्रजातिको चरा फेला पार्नुभएको नेपाल पन्छीविद् सङ्घले जनाएको छ ।

नेपाल बर्ड रेकर्ड कमिटी (चरा अभिलेख तथा प्रमाणीकरण गर्ने समिति) का अध्यक्ष डा तुल्सी सुवेदीले श्रेष्ठ र तिवारीले उक्त तिनधर्से अर्जुनक जातको चरा नेपालमा पहिलो पटक भेटिएको विज्ञप्तिमार्फत जानकारी दिनुभयो । स्पोटेड फ्लाइक्याचर (Spotted Flycatcher) अङ्ग्रेजी नाम भएको उक्त चराको वैज्ञानिक नाम मुसिकापा स्ट्रिएटा (Muscicapa Striata) रहेको कमिटीका अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।

समुन्द्री सतहबाट तीन हजार छ सय ५० मिटर उचाइमा यही साउन २ गते बिहान पदयात्राका क्रममा श्रेष्ठ र तिवारीले खिच्नुभएको सो चराको तस्बिर पुष्टिका लागि नेपाल बर्ड रेकर्ड कमिटीमा पठाउनु भएको थियो ।

उपलब्ध प्रमाण, विवरण अध्ययन र राष्ट्रिय अन्तर्राष्ट्रिय पन्छीविद्सँगको सुझावका आधारमा तालुधर्से अर्जुनक भएको पुष्टि गरी नेपालमा पाइने चराको अभिलेखमा प्रजाति थप गरिएको अध्यक्ष सुवेदीले बताउनुभयो ।

धर्से अर्जुनकसहित नेपालमा चरा प्रजातिको सङ्ख्या आठ सय ९६ वटा पुगेका छन् । अर्जुनक प्रजातिको सङ्ख्या २४ पुगेको छ । नेपालबाट सबैभन्दा नजिक मङ्गोलिया, उत्तरी चीनको विभिन्न ठाउँ, पश्चिमतर्फ अफगानिस्तान, पाकिस्तानमा यो चरा पाइन्छ ।

जाडो याममा यिनीहरू नियमित रुपमा दक्षिणतिर बसाइँ सर्छन् । मुस्ताङमा भेटिएको यो चरा बसाइँसराईको क्रममा बाटोमा फिरन्ते रुपमा आइपुगेको हुन सक्ने अनुमान गरिएको चराविद् सञ्जय था श्रेष्ठले बताउनुभयो ।

“देशका लागि नयाँ चरा पहिचान गर्न सकेकामा खुसी लागेको छ”, वाइल्डलाइफ फोटोग्राफरसमेत रहनुभएका श्रेष्ठले भन्नुभयो, “यसले चरा पर्यटनमा लाग्न उत्साह थपिएको छ । चराका फोटो खिच्न उत्प्रेरित गरेको छ ।” नेपाल बर्ड रेकर्ड कमिटीले नेपालमा नयाँ चराको अभिलेख राख्ने गर्दछ । श्रेष्ठले सन् २०२० मा मनोहरामा सेतोजुँगे बगेडी चरा मुलुकका लागि पहिलो पटक अभिलेख गर्नुभएको थियो ।

दमौली अस्पतालद्वारा एक वर्षमा ९८ हजारलाई सेवा

दमौली (तनहुँ), साउन १४ गते । तनहुँ सदरमुकामस्थित दमौली अस्पतालले एक वर्षको अवधिमा करिब एक लाख बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ । अस्पतालले आर्थिक वर्ष २०८०/८१ को अवधिमा ९८ हजार तीन सय ५६ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको हो ।

अस्पतालमा प्रत्येक वर्ष बिरामीको सङ्ख्या बढ्दो अवस्थामा रहेको अस्पतालका प्रमुख डा.परिवर्तन बरालले जानकारी दिनुभयो । अस्पतालमा तनहुँका अतिरिक्त छिमेकी लमजुङका बासिन्दाले स्वास्थ्य सेवा लिएको डा बरालको भनाइ छ । उहाँका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० मा अस्पतालले ७३ हजार दुई सय ५३ लाई सेवा दिएको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७८÷७९ मा ६४ हजार पाँच सय ९४ लाई सेवा दिएको थियो । अस्पतालले सोही अवधिमा ३० हजार छ सय ५३ जनालाई प्रयोगशाला सेवा दिएको छ । त्यस्तै दुई हजार नौ सय ५९ जनालाई सर्जिकल सेवा प्रदान गरिएको बरालले जानकारी दिनुभयो । दुई सय ९८ जनालाई सामान्य प्रसूति सेवा र १९ जनालाई शल्यक्रिया प्रसूति सेवा दिइएको बरालको भनाइ छ । डा.बरालले भन्नुभयो, “बढ्दो सहरीकरणसँगै अस्पतालमा सेवाग्राहीको चाप बढ्दो छ, हाल भइरहेकै जनशक्ति र क्षमताले सेवा प्रवाहमा कठिनाइ उत्पन्न भएको छ ।”

अस्पतालमा एक सय १५ जनाको जनशक्ति छ । अस्पतालमा ३१ डाक्टर, ३६ स्टाफ नर्स, छ प्रयोगशालाका कर्मचारी, सात प्रशासनका कर्मचारी, १३ अन्य प्राविधिक र २२ सहायक कार्यरत छन् । पन्ध्र शय्या स्वीकृतिको अस्पतालले हाल ५० शय्यामा सेवा दिइरहेको छ । अस्पताललाई अब ५० देखि एक सयसम्म शय्यामा विस्तार गर्नुपर्ने आवश्यकता भइसकेको डा.बरालको भनाइ छ ।

त्यस्तै अस्पतालमा सर्पदंश केन्द्र, रक्तसञ्चार केन्द्रको क्षमता वृद्धि, फोहरमैला व्यवस्थापन, डायलिसिस सेवाको क्षमता वृद्धिका साथै अस्पताललाई ट्रमा सेण्टरका रूपमा विकास गर्नुपर्ने आवश्यकता खड्किएको बरालले बताउनुभयो । अस्पतालको स्तरोन्नतिका लागि जग्गा प्राप्ति बाधक बनिरहेको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले बताउनुभयो । जग्गा प्राप्ति गर्न सकिए अस्पताल स्तरोन्नति हुने भए पनि जग्गाको अभावमा अस्पतालको स्तरोन्नति रोकिएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “अस्पताल स्तरोन्नतिका लागि गण्डकी प्रदेश सरकारलाई पटक-पटक ध्यानाकर्षण गराइसकेका छौँ, तर पहलले सार्थक रूप पाउन सकेको छैन ।” गण्डकी प्रदेशका स्वास्थ्य सचिव डा विनोदविन्दु शर्माले जग्गाको समस्याका कारण दमौली अस्पताल स्तरोन्नतिमा ढिलाइ भएको बताउनुभयो । अन्य केही जिल्लामा जग्गा प्राप्ति भएसँगै भवन निर्माणको काम अगाडि बढे पनि दमौली अस्पतालको मुख्य समस्या भनेकै जग्गा प्राप्ति नहुनु भएको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “प्रदेश सरकार दमौली अस्पतालको स्तरोन्नतिका लागि गम्भीर छ, सङ्घ सरकारसँग समन्वय गरेर यसको स्तरोन्नतिका कदम अगाडि बढाउनुपर्नेछ ।” अस्पतालमा फोहर पानीको व्यवस्थापन, फोहरमैला व्यवस्थापनका लागि अटोक्लेप्स सहितको भवन निर्माण, आँखा विशेषज्ञ सहितको सेवा सञ्चालन, अत्याधुनिक दाँत सेवा, यनेस्थेसिया सेवा, भेन्टिलेटरसहित आइसियु कक्ष, अत्याधुनिक ल्याब सेवा, डिजिटल एक्स-रे, निःशुल्क औषधि कक्ष लगायतका सेवा विस्तार भइसकेका छन्

१५ जिल्लामा दुई लाख ७१ हजार गरिब परिवार सूचीकृत

काठमाडौँ, साउन १४ गते । सरकारले १५ जिल्लाका दुई लाख ७१ हजार छ सय ४० गरिब परिवारको अन्तिम सूची स्वीकृत गरेको छ । यही साउन १० गते बसेको मन्त्रिपरिषद् बैठकले ओखलढुङ्गा, कञ्चनपुर, गुल्मी, दोलखा, धनुषा, नुवाकोट, पर्सा, बारा, बैतडी, मनाङ, मुस्ताङ, रुपन्देही, सप्तरी, सर्लाही र सिन्धुपाल्चोकका गरिब परिवारको सूची स्वीकृत गरेको हो ।

बैठकले सरकारको नाममा दर्ता रहेको नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सरावल गाउँपालिका-५ मा तीन हजार छ सय ८० वर्गमिटर जग्गा १५ शय्याको आधारभूत अस्पताल भवन निर्माणका लागि उपयोग गर्न स्वीकृति दिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

सरकारले कपिलवस्तुको शुद्धोधन गाउँपालिकाअन्तर्गत बाँसखोर स्वास्थ्य चौकीको भवन निर्माणका लागि ०-१७-७ बिघा, लखरपाटा-खम्वागाडे-मुरमुरी-जामुन सुनकाँडा सडक निर्माणका लागि सर्खेतको बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकामा रहेको राष्ट्रिय वनको नौ दशमलव ३६ हेक्टर र नवलपरासी (बर्दघाट-सुस्तापूर्व)लाई प्रशासनिक भवन निर्माणका लागि विनयी त्रिवेणी गाउँकार्यपालिकाको प्रशासनिक भवन निर्माणका लागि सोही गाउँपालिका-२ मा रहेको छ रोपनी राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ ।

मन्त्रिपरिषद्ले झापा, मोरङ, सुनसरी, सिरहा, सप्तरी, बारा, सर्लाही, नवलपुर, गोरखा, नवलपरासी, कपिलवस्तु, बाँके, बर्दिया र कैलालीका १९ स्थानमा विद्युतीकरण विस्तार तथा चुहावट न्यूनीकरण आयोजनाअन्तर्गत ३३÷११ केभी सबस्टेसन निर्माणका लागि जग्गा प्राप्ति र तल्लो मोदी-नयाँ मोदी १३२ केभी प्रसारणलाइन आयोजनाअन्तर्गत पर्वतमा शून्य दशमलव नौ सय ४७ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति दिएको छ ।

सरकारले विश्व बैङ्कबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम-पहिलो चरणअन्तर्गत उपलब्ध हुने करिब १३ अर्ब ३३ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गरेको छ । बैठकले नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समिति (गठन) (दोस्रो संशोधन) आदेश, २०८१ स्वीकृत गरेको छ । यस्तै नेपाल वन सेवा, जनरल फरेष्ट्री समूहको राजपत्राङ्कित द्वितीय श्रेणीका एक कर्मचारीलाई प्रथम श्रेणस्का सहसचिव (प्रा) पदमा बढुवा नियुक्ति गरेको छ । रासस

बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या एक सय २५ पुग्यो

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या एक सय २५ को हाराहारीमा पुगेको छ । यो निकुञ्ज पाटेबाघका लागि दोस्रो ठूलो बासस्थान मानिन्छ । चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ पाटेबाघ रहेको बताइएको छ ।

जैविक विविधता संरक्षणमा समुदायसँगको सहकार्यमा सफलता पाएसँगै सन् २०१० मा १८ पाटेबाघ रहेको बर्दियामा सन् २०२२ सम्म तीन गुणा बढेको निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिए ।

उनका अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा विगत दुई वर्षदेखि बाघ आक्रमणको घटना भने न्यून छ ।

‘अबचाहिँ बाघ संरक्षणका लागि कदम चाल्ने समय आयो’ भन्ने नारासहित आज बाघ दिवस विविध कार्यक्रम आयोजन गरी मनाइँदै छ ।

अधिकृत वाग्लेले बाघलगायत वन्यजन्तु बृद्धिसँगै यिनीहरूको बासस्थान व्यवस्थापन, समुदायमा सचेतना, मानव वन्यजन्तुबीच द्वन्द्व रोक्न विद्युतीय तारबार, कङ्क्रिट पर्खाललगायत पूर्वाधारसँगसँगै व्यवस्थापनमा जोड दिइराखेको बताए ।

वनजङ्गलको संरक्षण भएपछि बर्दियामा उल्लेख्य मात्रामा बाघको सङ्ख्या बढेसँगै खाता जैविकमार्ग एवं वन क्षेत्रमा बाघको विचरण पनि बढेको छ ।

गत वर्ष वनक्षेत्रमा बाघ र चितुवाको आक्रमणमा परी पाँचजनाको मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ अधिकृत टङ्क गुरुङले बताए ।

बाघबाट वनक्षेत्रमा मानवीय क्षतिको परिमाण बढ्दै गएको छ । उनले भने, ‘वन्यजन्तु भएका क्षेत्रमा मानवीय गतिविधि रोक्न वन कार्यालयले विभिन्न क्याम्प गर्दै आएकाले चालु वर्षमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न विभिन्न तयारी गरेको छ ।’

गण्डकी प्रदेशः पशुमा पूर्णखोप अभियान

कास्की। गण्डकी प्रदेशमा पशुमा पूर्णखोप कार्यक्रमअन्तर्गत गत आर्थिक वर्ष २०८०र८१ मा २० लाख ४८ हजार तीन सय ६८ मात्रा खोप लगाइएको छ । गण्डकी प्रदेश सरकारले रोगको कारणबाट पशुजन्य उत्पादनको गिरावटलाई घटाउने उद्देश्यले प्रदेशका ११ वटै जिल्लाका ८५ वटा स्थानीय तहमा पशुमा पूर्णखोप कार्यक्रम सञ्चालन गरेको थियो । खोप कार्यक्रममा गाईभैँसीलाई लाग्ने खोरेत, भ्यागुते, चरचरे, बङ्गुरमा देखिने क्लासिकल स्वाइन फिभर, बाख्रामा देखिने पिपिआर र कुकुरलाई लाग्ने रेबिज रोगविरुद्ध खोप अभियान सञ्चालन गरिएको थियो ।

गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालय मातहतको पशुपक्षी निर्देशनालय पोखराले गाईभैँसीमा खोरेतविरुद्ध छ लाख १८ हजार आठ सय ३३, भ्यागुते÷चरचरेविरुद्ध एचएसविक्यु खोप गाईभैँसीलाई ७९ हजार दुई सय ४४, लम्पीस्किन गाईभैँसीलाई एलएसडी खोप एक लाख एक हजार आठ सय ७२ मात्रा लगाइएको थियो ।

यसैगरी भेडा तथा बाख्रामा पिपिआर खोप ११ लाख ३९ हजार पाँच सय १९, कुकुरलाई रेबिजविरुद्धको खोप ६६ हजार एक सय ५२ र बङ्गुरलाई सिएफएस खोप ४२ हजार चार सय ४८ डोज लगाइएको थियो । खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि ८५ पालिकाका सात सय ५९ वटै पालिकाका खोप कार्यक्रम सञ्चालन भएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका महानिर्देशक डा प्रेरणा सेढाईँ भट्टराईले बताए।

गत वर्ष निर्देशनालयले पूर्णखोप कार्यक्रमका लागि रु ११ करोड ८४ लाख बजेट विनियोजन गरेकामा रु नौ करोड ५४ लाख ४३ हजार खर्च भएको बताइन्छ । गण्डकी प्रदेश सरकारले पशुमा सङ्क्रामक रोग उन्मूलन गरी गुणस्तरीय पशुजन्य उत्पादन सुनिश्चित गर्ने उद्देश्यले विसं २०७८ देखि पशुमा खोप कार्यक्रम सुरु गरेको हो ।

जिल्लास्थित भेटेरिनरी अस्पतालले स्थानीय तहका पशु शाखासँगको सहकार्यमा पशुमा पूर्णखोप कार्यक्रम सञ्चालन गरेका हुन् । “ पशुमा पूर्णखोप कार्यक्रम गण्डकी प्रदेशमा अत्यन्त प्रभावकारी भएको छ”, महानिर्देशक भट्टराईले भने, “खोपकै कारण महामारीजन्य रोगबाट पशुलाई बचाउन र सम्भव भएको छ, यस कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएका छौँ ।”

बागलुङमा एक वर्षमा १२ हजार मिटरभन्दा बढी पदमार्ग निर्माण

बागलुङ। बागलुङमा आर्थिक वर्ष २०८०/८१ मा १२ हजार दुई सय ३४ मिटर पदमार्ग निर्माण गरिएको छ।गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले विनियोजन गरेको बजेटबाट जिल्लाको विभिन्न स्थानमा पदमार्ग निर्माण गरिएको छ। गत आर्थिक वर्षमा प्रदेश सरकारले पर्यटन पूर्वधार निमाणका लागि बागलुङमा रु छ करोड ४० लाख विनियोजन गरेको थियो।

त्यसमध्ये तीन करोड ८५ लाखले पदमार्ग निर्माण गरिएको हो भने बाँकी बजेटले मठ मन्दिरसहितका पर्यटन संरचना निर्माण गरिएको हो। पर्यटन तथा उद्योग कार्यालय बागलुङमार्फत जिल्लाको १० वटै पालिकामा पदमार्ग निर्माण र अन्य संरचना बनाइएको हो।

गत वर्ष कुल ७६ योजनामध्ये ५२ वटा पदमार्ग निर्माण गरिएको पर्यटन तथा उद्योग कार्यालय बागलुङका प्रमुख पारसिंह थापाले जानकारी दिए। उनका अनुसार बागलुङ नगरपालिकामा २० योजना सम्पन्न भएका छन् । यसका लागि रु दुई करोड ३५ लाख विनियोजन भएको थापाले जानकारी दिए।

जैमिनी नगरपालिकामा १३ योजनाका लागि रु ९५ लाख, काठेखोला गाउँपालिकामा १५ योजनाका लागि रु ९० लाख, गलकोट नगरपालिकामा नौ योजनाका लागि रु ७० लाख बजेट विनियोजन भएको प्रमुख थापाको बताउँछन्।

प्रमुख थापाका अनुसार बडिगाड गाउँपालिकामा पाँच वटा योजनाका लागि रु ३० लाख, निसीखोला गाउँपालिकामा तीन वटा योजनाका लागि रु ३० लाख ढोरपाटन नगरपालिकामा चार योजनाका लागि रु २५ लाख, ताराखोलामा तीन वटा योजनाका रु ३० लाख, बरेङ गाउँपालिकामा तीन योजनाका लागि रु २५ लाख, तमानखोलामा एउटा योजनाका लागि रु १० लाख बजेट विनियोजन भएको र ति सबै योजना सम्पन्न भएको उनले बताए। थापाले प्रदेश सरकारले विनियोजन गरेको शतप्रतिशत भौतिक तथा वित्तीय प्रगति भएको जानकारी दिए।

प्रमुख थापाले भने, “गत आवमा प्रदेश सरकारले पर्यटन तथा उद्योग कार्यालय बागलुङमार्फत सञ्चालन गर्ने योजनाका लागि विनियोजित बजेट सबै सकिएको छ, हामीले शतप्रतिशत वित्तीय र भौतिक प्रगति गर्‍यौं, प्रदेशबाट आएका योजनामध्ये सबैभन्दा बढी पदमार्गका थिए, ती सबै योजना समयमै सक्यौँ ।”

गण्डकी प्रदेशका पूर्वउद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले पर्यटन प्रवद्र्धनका लागि सबैभन्दा पहिला पूर्वधार चाहिने हुँदा त्यसलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताए। पर्यटकलाई आकर्षित गर्नका लागि रमणिय ठाउँ मात्रै भएर मात्रै नहुँने भन्दै त्यहाँसम्म पुग्नका लागि पहुँच सहज हुनुपर्ने उनको भनाइ छ।

थापाले गण्डकीका ११ वटै जिल्लामा पदमार्ग निर्माणमा जोड दिएको बताए। पर्यटकीय गन्तव्यमा पुग्नका लागि सडकभन्दा पदमार्ग नै निर्माण गर्नुपर्ने थापाको भनाइ छ।

पहिराको उच्च जोखिममा बागलुङको सिगाना स्वास्थ्यचौकी

बागलुङ। बागलुङ नगरपालिका–८ सिगाना स्थित सिगाना स्वास्थ्यचौकी पहिरोको उच्च जोखिममा परेको छ । भिरालो जग्गामा जोखिम मूल्याङ्कन नगरी भवन निर्माण गरिएको थियो ।
जमिन भासिँदा र पहिरो जाँदा स्वास्थ्यचौकी भवन जोखिममा परेको स्वास्थ्यचौकी संरक्षण उपभोक्ता अनुगमन समितिका संयोजक यज्ञराज गौतमले जानकारी दिए । “स्वास्थ्यचौकी भवन नजिकै पानीको मूल छ, निर्माण गर्दा फालेको माटो र पानी तर्काउन नसक्दा बर्सेनि पहिरो बढेर गयो, लाखौँको स्वास्थ्यचौकी जोगाउन करोडौं खर्च गर्नुपर्ने देखियो, हालसम्म पहिरो रोकथामका लागि रु ५० लाख खर्च भइसकेको छ”, उनले भने, “पहिरो रोकथामा लागि लगाइएको पक्की पर्खालले पूर्णता नपाउँदा यसपटक स्वास्थ्यचौकीको प्राङ्गण नै कोल्टे परेको छ ।”

अघिल्लो आर्थिक वर्षको अन्त्यमा गण्डकी प्रदेशबाट पहिरो रोकथामका रु ५० लाख विनियोजन भएकामा रु २५ लाखको पक्की पर्खाल निर्माण गरिएको थियो । गत आवमा रु २५ लाख गरी अहिलेसम्म रु ५० लाख लागतमा पहिरो रोकथामको काम भए पनि अहिले पुनः पहिरो गएको बागलुङ –८ सिगनाका वडाध्यक्ष राजु कार्कीले जानकारी दिए ।

रु एक करोड ८२ लाखको लागतमा भवन निर्माण गरिएको थियो । झण्डै सय मिटर तलदेखि स्वास्थ्यचौकीसम्मै पहिरो गएर जमिन चिरा पारेको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए । उनका अनुसार पहिरोका कारण जोखिममा रहेको तित्याङ स्वास्थ्यचौकी पहिरो रोकथामको प्रयास सफल भए पनि सिगानाको पहिरो ठूलो भएकाले समस्या भएको बताए ।

धार्चे पहिरोमा परी बेपत्ता पाँचजनाको बिहानैदेखि खोजी सुरु

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा आइतबार पहिरोमा परी बेपत्ता भएकाहरूको आज बिहानैदेखि खोजी सुरु गरिएको छ ।

भीषण पहिरोमा परेर बेपत्ता भएका पाँचजनाको आइतबार दिनभर खोजी गरिए पनि फेला पार्न नसकिएपछि आज बिहानैदेखि खोजी गर्न थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

बेपत्ता भएकाको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयवासी जुटेको उनले बताए । ‘पहिरोले घर तथा कृषि फार्म धेरै पुरिएकाले बेपत्ता भएकाको अवस्था पत्ता लगाउन कठिन भइरहेको छ’, उनले भने,’हिजो दिनभर खोजी गर्दा केही पत्ता लागेन, आज फेरि बिहानैबाट खोजीकार्य थालेका छौं ।’

बेपत्ताको खोजीका लागि ‘जेसिवी मेसिन’को प्रयोग गरिएको उनले बताए । आइतबार राति डाँडाबाट खसेको लेदोसहितको पहिरोले स्थानीय जीतबहादुर गुरुङको कृषि फार्म र एक घर बगाउँदा उनीसहित ३५ वर्षीया कान्छी गुरुङ, ६० वर्षीय सुलाल कान्छा गुरुङ, ३३ वर्षीय रमेश गुरुङ र २४ वर्षीय रमेश परियार बेपत्ता भएका थिए ।

डाँडाबाट खसेको पहिरो बुढीगण्डकी नदीसम्म पुगेकाले बेपत्ता भएकाहरूलाई नदीको बगाएको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीले आजदेखि बुढीगण्डकी नदी किनार आसपासका क्षेत्रमा पनि बेपत्ताको खोजी थालेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।

वीरगञ्ज महानगरले नदी प्रदूषित गर्ने तीन उद्योगकाे मुख्यद्वारमा फोहरमैला थुपारियाे

वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गर्ने तीन उद्योगलाई कारबाहीस्वरूप ती उद्योगको मुख्यद्वारमा फोहरमैला थुपारिदिएको छ।नगर प्रहरीसहित सरसफाइको टोलीले ट्रयाक्टरमा फोहरमैला राखेर परवानीपुरस्थित अर्निका प्रोसेसिङ उद्योग, श्रीसिद्धि टेक्सटाइल्स र मोरियम लेदर इन्डस्ट्रिज प्रालिको मुख्यद्वार प्राङ्गणमा फोहोर थुपारिदिएको हो।

वीरगञ्ज महानगरका नगरप्रहरी प्रमुख हरि भुसालले ती उद्योगको परिसरमा प्रतिकात्मक कारबाहीस्वरूप आज फोहरमैला थुपारीदिएको बताए।उद्योगबाट निस्कने फोहरमैला सिर्सिया नदीमा नमिसाउन बारम्बार अनुरोध गरेका थियौँ । तर उहाँहरूले मान्नुभएन, त्यसैले निर्देशनानुसार फोहरमैला थुपारिदिएको हो,’ उनले भने।

महानगरले यसअघि सिर्सिया नदीमा फोहरमैला नफ्याँक्न बारम्बार अनुरोध गर्दै आइरहे पनि उद्योगी व्यवसायीले आलटाल गर्दै आएका थिए। महानगरले गत वैशाख ९ गते नदीमा फोहरमैला गर्ने उद्योगलाई १५ दिनभित्रै फोहरमैला व्यवस्थित नगरे कारबाही गर्ने चेतावनी समेत दिएको थियो। तर उद्योगले फोहरमैला व्यवस्थित गर्न आलटाल गर्दै आएका थिए।

नगर प्रहरी प्रमुख भुसालले भोलि पनि नदी फोहरमैला गर्ने उद्योगमा फोहर फ्याँक्ने कार्यक्रम रहेको जानकारी दिए।

 भूकम्पले मुहान सुकेपछि जाजरकोट रिम्नाका स्थानीयवासीलाई खानेपानीको समस्या

सुर्खेत । जाजरकोटको भेरी नगरपालिका–१ रिम्नाका स्थानीयवासीलाई खानेपानीको समस्या भएको छ । गत कात्तिक १७ गते बारेकोट गाउँपालिका–१ रामीडाडाँ केन्द्रविन्दु भएर गएको भूकम्पका कारण भेरी नगरपालिका–१ पिपेखोला गैरी खेतको पानीको मुहान सुकेपछि रिम्नामा खानेपानीको सङ्कट परेको हो ।

रिम्नावासी भावना रानाले भनिन्,“ अहिले रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–१ स्थित चाइनाबगरबाट पानी ल्याउनुपरेको छ ।” भेरी–१ रिम्नास्थित दिलमाया रानाले धारामा पानी आउन छाडेको करिब नौ महिना बितेको बताइन् । उनले भनिन्, “हाम्रो दुःख बुझ्ने कोही भएनन् । ”

आय आर्जन बढाउन सामुमदायिक वनभित्र उद्यान निर्माण

काठमाडाैँ, १४ साउनः सामुदायिक वनको संरक्षण गरेसँगै अन्य गतिविधि सञ्चालनतर्पm उपभोक्ता समूहले चासो देखाउन थालेका छन् । वन पैदावारको विकल्पका रूपमा समूहले आम्दानीका अन्य स्रोतको पहिचान गरी उपयोग गर्न सुरु गरेका हुन् ।
पोखरा महानगरपालिका–२१ स्थित वनपाले सामुदायिक वन समूहले पर्यापर्यटक प्रवर्द्धन गर्ने उद्देश्यका साथ रु २६ लाख लागतमा सुविधासम्पन्न मनकामना उद्यान (पार्क) निर्माण गरेको छ । गण्डकी प्रदेश वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयअन्तर्गत डिभिजन वन कार्यालय कास्कीमार्पmत रु १५ लाख र एक लाख ६५ हजार सात सय ७४ बराबरको जनश्रम परिचालन गरी उद्यान निर्माण गरिएको वन उपभोक्ता समूहका अध्यक्ष कमल भुजेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसअघि डिभिजन वन कार्यालय कास्कीको रु पाँच लाख लागतमा जग्गा सम्याउने र पोखरा–२१ द्वारा रु चार लाखको खर्चमा आवश्यक ट्रष्ट भवन र शौचालय निर्माण गरिएको हो । “पार्कबाट आरोहणको पहिलो हिमाल अन्नपूर्ण, कुमारी हिमाल माछापुच्छ्रेसहित हिमशृङ्खला एवं पोखरा बजारको एकैसाथ मनोरम दृश्य देख्न सकिन्छ”, उहाँले भन्नुभयो, “पार्कमा दुईवटा चौतारासहित हरियाली प्रवर्द्धन गर्दैे राष्ट्रिय झण्डा राख्ने तयारी गरिएको छ ।”

सात सयजना क्षमताको सो पार्कमा सुरक्षाका लागि फलामे पोलसहितको तारजाली लगाउनुका साथै हरियाली प्रवर्द्धन गर्न धुपीका बिरुवा रोपिएको छ भने फलामका कुर्चीसमेत राखिएको अध्यक्ष भुजेलले बताउनुभयो । थप भौतिक संरचना निर्माणका लागि आर्थिक वर्ष २०८१। ८२ का लागि प्रदेश सरकारबाट रु १५ लाख विनियोजन भएको छ ।

पोखरा महानगरपालिका–१७ स्थित पर्यटकीयस्थल छोरेपाटन हुँदै जाने सो पार्कसम्म पुग्नका लागि पक्की सडक निर्माण भएको छ भने खानेपानी, शौचालयलगायत आवश्यक संरचना निर्माण गरिएको छ । विशेषगरी पोखरा बजारबाट वनभोज खानका लागि सबैभन्दा नजिक र सुविधासम्पन्न एवं मनोरम दृश्यावलोकन गर्न सकिने उक्त पार्कमा प्रति समूहलाई रु तीन हजार पाँच सय शुल्क तोकिएको छ । प्राप्त रकमबाट रु पाँच सय सरसफाइका लागि छुट्याउने र रु तीन हजार वन समूहको खातामा जम्मा गरिँदै आएको भुजेलले जानकारी दिनुभयो ।

यसअघि वन समूहले रु १० लाख लागतमा वनपाले पार्क निर्माण गरी सञ्चालन गर्दै आएको वन समूहका सचिव प्रकाश सुवेदीले जानकारी दिनुभयो । विसं २०६८ मा हस्तान्तरण गरिएको ४७ दशमलव चार हेक्टर क्षेत्रफलमा पैmलिएको सो वनमा एक सय १४ घरपरिवार आबद्ध छन् । समूहले वनको संरक्षण, संवर्द्धन, उपयोग गर्दै आयआर्जनका लागि वैकल्पिक आधार तयारमा जोड दिँदै आएको सुवेदी बताउनुहुन्छ ।

मनकामना पार्कमा वृक्षारोपण

नवनिर्मित मनकामना पार्कलाई वातावरणमैत्री बनाउने उद्देश्यका साथ चेरी, अशोका र गुलमोहरका बिरुवा रोपिएको हो । पोखरा महानगरपालिका वडा नं २१ का वडाअध्यक्ष दीपक सुवेदीले रोपिएका बिरुवाको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । वृक्षारोपण कार्यक्रममा लायन्स क्लब अफ पोखरा अन्नपूर्ण अध्यक्ष गणेश छवीसहित सदस्यहरू, सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कमल भुजेल, स्थानीय लक्ष्मीप्रसाद पोखरेललगायतकाको सहभागिता रहेको कार्यक्रम संयोजक प्रकाश सुवेदीले जानकारी दिनुभयो ।

बनेपामा ‘ट्रायल सेन्टर’ सञ्चालनमा आउँदै, पाँच जिल्लाका सेवाग्राहीलाई सुविधा

काभ्रेपलाञ्चोक । काभ्रेको बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना गरिएपछि सेवाग्राहीलाई सहज बन्दै गएको छ ।

बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयद्वारा एक महिनाअघि स्थापित कार्यालयबाट विशेषगरी मध्यपहाडी क्षेत्रका पाँच जिल्लाका सेवाग्राहीलाई सुविधा पुगेको जनाइएको छ ।

यसअघि काठमाडौँ उपत्यकाका कार्यालयमा धाउनुपर्ने बाध्यता थियो । प्रमुख व्यापारिक नगरीका रूपमा परिचित बनेपामा गत असार १६ गते स्थापित कार्यालयले हालसम्म दुई हजार चार सयभन्दा बढीलाई सेवा प्रदान गरेको छ ।

स्थापना सुरुका केही दिनभन्दा हाल सेवाग्राहीको सङ्ख्या दैनिक बढिरहेको कार्यालयका प्रशासन प्रमुख एवं सूचना अधिकारी पवन बजगाईँले बताए । उनका अनुसार हाल बनेपास्थित कार्यालयबाट ‘ब्लुबुक’ नवीकरण, रुट परमिट जारी र रुट परमिट नवीकरण, रुट परमिट पटके, पञ्जीकरण तथा सवारीसाधन करसम्बन्धी सेवा उपलब्ध गराइएको छ ।

मध्यपहाडी जिल्लाअन्तर्गत काभ्रेलगायत सिन्धुपाल्चोक, दोलखा, सिन्धुली र रामेछापका सेवाग्राहीलाई लक्षित गरी कार्यालय स्थापना गरिएको हो । बाग्मती प्रदेश सरकारले साउनबाट यातायात सेवालाई सहज बनाउन अनलाइन र डिजिटल प्रविधिको प्रयोग गर्ने तयारी गरेको छ । नयाँ सवारी चालक अनुमतिपत्रका लागि कार्यालयले ‘ट्रायल सेन्टर’ सञ्चालनका लागि निजी क्षेत्रसँग समन्वय गर्न प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

यस्तै आवश्यक जनशक्ति व्यवस्थापन गरी सवारी प्रदूषण जाँचपास, सवारी चालक अनुमतिपत्र नवीकरणलगायत यातायातसम्बन्धी अन्य कार्य थालिने बजगाईँले बताए । उनले भने, “सेवा लिन आएका नागरिकलाई छिटोछरितो सेवा दिनेगरी व्यवस्थापनमा लागेका छौँ ।” उनका अनुसार करिब एक महिनामा कार्यालयले रु एक करोड ७७ लाख ४८ हजार सात सय राजस्व सङ्कलन गरेको छ ।

प्यारीमायालाई ढाका उद्यम प्यारो लाग्दा…

भद्रपुर (झापा), १४ साउनः पछिल्लो समय युवाहरूमा विदेश जानेमात्र होइन, स्वदेशमै उद्यम गर्नुपर्छ भन्ने मानसिकता पनि विकसित हुँदै गएको छ । विभिन्न तालिम प्रदायक संस्थाबाट तालिम लिई व्यावसाय सञ्चालन गर्दै आएका व्यक्तिहरूको सङ्ख्या पनि बढ्दै गएको छ ।

प्यारीमाया लिम्बू झपाको बुद्धशान्ति–४ मन्दिरचोकमा ढाकाको उद्यम गर्नुहुन्छ । एपिएस ढाका ट्रेनिङ सेन्टरका नाममा घरेलु तथा साना उद्योग चन्द्रगढी झापामा उद्योग दर्ता गराएर उहाँले व्यवसायसँगै ढाकाको क्षेत्रमा काम गर्ने नयाँ व्यक्तिलाई तालिम प्रदान गर्दै आउनुभएको छ । हालसम्ममा उहाँले आफ्नो उद्योग र स्थानीय तह, घरेलुलगायत विभिन्न सङ्घसंस्थामार्फत तीन सयभन्दा बढी मानिसलाई ढाकासम्बन्धी तालिम दिइसक्नुभएको छ । उहाँ भन्नुहुन्छ, “तालिम लिएका अधिकांश व्यक्ति सानोतिनो जस्तो भए पनि उद्यम गरिरहेका छन्, कसैले पनि खाली हात बस्नुपरेको छैन ।”

बजारको माग धेरै रहेकाले आफूले पनि मागअनुसार ढाकाका कपडा बनाउन नसकेर कहिलेकाहीँ माग नै स्थगन नै गर्नुपरेको उहाँ बताउनुहुन्छ । ढाकासम्बन्धी सीप सिकेपछि कोही पनि बेरोजगार बस्नुपरेको छैन । घरको सबै काम गरेर आफ्नै घरमा यो उद्यम गर्न सकिने भएकाले धेरैजसो महिला यसमा लागेका उहाँ बताउनुहुन्छ ।

उहाँले घरकै छतमा बाँसको घेरबार हालेर त्यहीँ ढाकासम्बन्धी उद्योग चलाउँदै आउनुभएको छ । उहाँले भन्नुभयो, वार्षिक रु चार लाखभन्दा बढी रकम मुनाफा हुन्छ । ” तीनजना बहिनीलाई काम पनि दिएको छु, यो काम आफ्नो फुर्सदको समयमा गर्ने हो, घरको अन्य काम सकेर जतिबेला मन लाग्छ उतिबेला गर्न मिल्ने खालको भएकाले आफू एकदमै सन्तुष्ट रहेको उहाँले बताउनुभयो । उहाँ भन्नुभयो, “साथीभाइ, आफन्तको विवाह समारोह, व्रतबन्ध, जन्मदिन समारोह, घुमफिर सबैतिर गएर जिन्दगी रमाइलोसँग विताएर यतिको आम्दानी घरमै बसेर गरिरहेकी छु, यो भन्दा के चाहियो । ”

उहाँको एपिएस ढाका ट्रेनिङ सेन्टरमा ढाकाको दौरा सुरुवाल, सारी, टोपी, चोली, पछ्यौरी, हाफसल, कोट, गलबन्दी, खाँडीका कपडा तान लगाउनका साथै ढाकासम्बन्धी उद्यम गर्ने मानिसलाई तालिमका साथ कामसमेत दिने गरेको प्यारीमाया बताउनुहुन्छ ।

ढाका उद्यमको सुरुआत

विसं २०६१ तिर झापाको दमकमा सञ्चालित सानो उद्योगमा ढाकासम्बन्धी तालिम लिनुभएकी प्यारीमायाले त्यहीबाट रु पाँच हजारमा तान किनेर ल्याई आफ्नै घरमा ढाकाको काम सुरु गर्नुभयो । “सुरु समयमा गाउँकै दिदी नाता पर्नेलाई व्यवसायमा साझेदारी गरी बुद्धशान्तिमा उद्यम सुरु हुन्छ । दुवैजना मिलेर विस्तारै व्यावसाय पनि बढाउँदै लगेर चार वर्षएसम्म साझेदारीमा काम गरेँ । पाँच हजारको एउटा तान किनेर सुरु भएको उद्यमबाट कमाएको रकमबाहेक लगानीका लागि अन्य स्रोत खोज्नु परेन । त्यहीबाट भएको आम्दानीले अन्य स्रोतहरु जोड्दै गयौँ”, प्यारीमायाले भन्नुभयो ।

विसं २०६५ तिर घरबाट अनमी पढ्नुपर्छ भन्ने कुरा उठेपछि मैले पढ्ने सोच बनाएको प्यारीमायाले बताउनुभयो । चार वर्षमा खर्च कटाएर दुवैजनालाई रु दुई लाख र चारवटा तान भागमा पर्यो । आफ्नो भागमा परेको चारमध्ये तीनवटा तान बिक्री गरी एउटा घरमै छाडी करिब दुई वर्ष अनमी पढाइका लागि काठमाडाँै गएको प्यारीमाया बताउनुहुन्छ । उहाँका अनुसार अनमी पढ्ने बेलामा लागेको सबै खर्च आफैँले ढाकाको काम गर्दा बचत भएको पैसाबाट पूर्ति भयो ।

अनमीको पढाइपश्चात झापा फर्किएपछि सुवासचन्द्र राईसँग बिहे भयो । बिहेपश्चात कन्काई अस्पतालमा प्यारीमायाले जागिर सुरु गर्नुभयो । तर त्यसबाट सन्तुष्ट हुन नसकिएको उहाँ बताउनुहुन्छ । “बिहानदेखि सँझसम्म काम गर्यो, आवतजावत गर्न बसभाडा अनि खाजा खर्च कटाउँदा महिनामा एक–दुई हजारमात्र बचत हुनथाल्यो । घरबाट पनि कस्तो जागिर गरेको भनेर दबाब आउन थाल्यो, आफूलाई पनि चित्त नबुझेपछि पुनः आफ्नो पुरानै पेशामा फर्र्किनुपरेको हो”, प्यारीमायाले भन्नुभयो ।

आफैँले घरमा राखेको एउटा तानबाट फेरि काम सुरु गर्नुभएकी प्यारीमायाले घरेलु, स्थानीय पालिकाअन्तर्गत लघुउद्यममा ढाकासम्बन्धी थप तालिम लिने र दिने अवसर जुट्दै गएको बताउनुभयो । विसं २०७३ मा घरेलु तथा साना उद्योग कार्यालयमा उद्योग दर्ता नै गराएर काम सुरु गरेँ । यो काममा मेरा श्रीमान्को पूर्ण सहयोग प्राप्त भएको प्यारीमायाको भनाइ छ । उद्योगमा दर्ता भएपछि घरेलु तथा गाउँपालिकाले तानहरू अनुदानमा दिएकाले त्यसले झनै उद्यम गर्न प्रेरित गरेको प्यारीमाया बताउनुहुन्छ । घरको काम, समाजिक कामसँगै घरमै बसीबसी पैसा कमाउन सकिन्छ भने यो पेसा किन नगर्ने भन्दै प्यारीमाया प्रश्न गर्नुहुन्छ । आफूले तालिम दिएका सबै दिदीबहिनीले आफूले जस्तै घरमै ढाकासम्बन्धी उद्यम गरिरहेको र यसबाट मनग्य आम्दानी भइरहेको प्यारीमाया बताउनुहुन्छ ।

गण्डकीमा सडक विस्तार उच्च प्राथमिकतामा,एक वर्षमा दुई सय ३३ किलोमिटर पक्की सडक निर्माण

म्याग्दी, १४ साउ । गण्डकी प्रदेश सरकारले पछिल्लो एक वर्षमा दुई सय ३३ किलोमिटर पक्की सडक निर्माण गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न भएका क्रमागत बहुवर्षीय र सालबसाली आयोजनामार्फत सडक कालोपत्र र ढलान भएको जनाएको छ ।

मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर रामकुमार श्रेष्ठले गण्डकी प्रदेशका ११ जिल्लामा गत आवमा सञ्चालन भएका आयोजनामार्फत दुई सय ३३ किलोमिटर सडक कालोपत्र र ९७ किलोमिटर सडक ग्राभेल भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार ५५ किलोमिटर कच्ची सडक निर्माण, एक सय ४६ दशमलव ६३ किलोमिटर सडक फराकिलो बनाउने, दुई सय २७ दशमलव १३ किलोमिटर नाली, एक सय ७८ वटा कजवे र कल्भर्ट निर्माण भएका छन् । सडकको सुरक्षाका लागि प्रदेशभर दुई लाख १९ हजार एक सय ४९ दशमलव ५४ घनमिटर टेवा पर्खाल, ४७ किलोमिटर सडकको नियमित मर्मत भएको छ ।

गत आवमा गण्डकी प्रदेश सरकारले २१ मोटरेबल पुल, १९ झोलुङ्गे पुल र २५ भवन निर्माण गरेको सिनियर डिभिजनल इन्जिनियर श्रेष्ठले बताउनुभयो । रु १२ अर्ब १८ करोड २३ लाख पाँच हजार पुँजीगत बजेट रहेको मन्त्रालयले ७१ दशमलव ७४ प्रतिशत अथवा रु आठ अर्ब ७३ करोड ९५ लाख २९ हजार खर्च गरेको छ ।

आव २०७९÷८० मा ५७ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले सो अवधिमा एक सय ७४ किलोमिटर सडक कालोपत्र, १५ सडक पुल, १२ झोलुङ्गे र चारवटा भवन निर्माण गरेको थियो । गत आवमा रु ३० लाखभन्दा कम बजेटका टुक्रे योजना कटौती गरेर ठूला र रणनीतिक महत्वका आयोजनालाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको, कार्ययोजनाअनुसार अघि बढेकाले बजेट तथा योजना कार्यान्वयनमा सुधार भएका मन्त्रालयका सचिव शङ्करप्रसाद पण्डितले बताउनुभयो ।

प्रदेश सरकार स्थापना भएको सात वर्षको अवधिमा नौ सय एक किलोमिटर कालोपत्र, छ सय ९६ किलोमिटर ग्राभेल, एक सय छवटा मोटरेबल पुल र ८४ वटा झोलुङ्गे पुल निर्माण भएको मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका निमित्त निर्देशक डा महेन्द्र बानियाँले ग्रामीण क्षेत्रमा आवतजावत सहज बनाउन, यात्रा अवधि छोट्याउन, कृषि उपजको निकासी, खाद्यान्न, दैनिक उपभोग्य वस्तुु र निर्माण सामग्रीको भाडादर घटाउन, दुुर्घटना कम गर्न, प्रत्यक्ष रोजगारी सिर्जना, बसाइँसराइ घटाउँदै सहरबाट गाउँ फर्काउन, आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनका लागि सडक आयोजना प्रभावकारी बनेका बताउनुभयो ।

उहाँका अनुसार गत आवमा एक सय २७ प्रादेशिक सडक, पाँचवटा सङ्घीय समपूरक सडक, ३० पक्की पुल र चार झोलुङ्गे पुल आयोजना बहुुवर्षीय ठेक्कामार्फत कार्यान्वयनमा लगिएको छ । बहुवर्षीयका लागि छनोट भएका सडक, मोटरेबल र झोलुुङ्गे पुल योजनाका लागि रु १२ अर्ब ७३ करोड ९८ लाख बजेटको स्रोत सुनिश्चित भएको छ । अधिकांश तीन वर्ष र केही योजना दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

राष्ट्रिय राजमार्गका वैकल्पिक सडकको मार्ग खोल्ने र स्तरोन्नति गर्ने योजनालाई प्राथमिकता दिएको भौतिक मन्त्रालयमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’, स्थानीय तहको केन्द्र जोड्ने, अन्तरजिल्ला, अन्तरपालिका जोड्ने रणनीतिक महत्वका सडक गौरवका आयोजनाका रूपमा कार्यान्वयनमा छन् ।

सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री थापा बर्खास्त

सुदूरपश्चिम-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री टीका थापालाई बर्खास्त गर्नुभएको छ । मन्त्री थापाले सरकारको नीति विपरीत काम गर्नुभएको उल्लेख गर्दै मुख्यमन्त्री सोडारीले उहाँलाई बर्खासत गर्नुभएको मुख्यमन्त्रीका स्वकीय सचिव दीर्घ जोशीले जानकारी दिनुभयो ।

जोशीले भन्नुभयो, “प्रतिपक्षीले माग गरेको विशेष अधिवेशनमा नजाने सरकारको नीति थियो, उहाँ सरकारको नीति विपरीत विशेष अधिवेशनको बैठकमा सहभागी हुनुभएकाले मुख्यमन्त्रीले मन्त्री थापालाई बर्खास्तमा गर्नु भएको हो ।”

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को माग बमोजिम प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपधारा (३)अनुसार आह्वान गर्नुभएको प्रदेशसभाको अधिवेशन यही साउन ८ गतेबाट जारी छ । अधिवेशनअन्तर्गत पहिलो बैठक र आजको दोस्रो बैठकमा मन्त्री थापा उपस्थित हुनुभएको थियो । बर्खास्तमा पर्नुभएकी मन्त्री थापा नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्य हुनुहुन्छ ।

प्रदेश सरकारबाट नेपाल कम्युनिष्ट पार्टी(एमाले) बारिएसँगै असार २० गतेदेखि मुख्यमन्त्री सोडारी अल्पमतमा हुनुहुन्छ । उहाँले संविधानमा भएको व्यवस्था बमोजिम यही साउन १८ गतेभित्र विश्वासको मत लिइसक्नुपर्छ ।

प्रदेशसभाको आजको दोस्रो बैठकको विषेश समयमा सभामुखबाट समय लिएर बोल्ने प्रदेशसभाका सदस्यले वर्षासँगै उत्पन्न विपद्का घटनाबाट मृत्यु हुनेलाई क्षतिपूर्ति र प्रभावितलाई राहत प्रदान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

विषेश समयमा नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामी, एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल, नेकपा (माओवादी केन्द्र)का शिवसिंह ओली र नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरीले भनाइ राख्नुभएको थियो ।

आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सङ्खुवासभाको कारमाराङमा अस्थायी प्रहरी चौकी

जिल्लाको मकालु गाउँपालिका–४ कारमारङमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । स्थानीयस्तरमा शान्ति सुरक्षा कायम गर्न र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न चौकीको स्थापना गरिएको हो ।

गाउँमै अस्थायी प्रहरी चौकी स्थापना भएपछि छ घण्टा पैदल हिँडेर हेदाङ्ना जानुपर्ने बाध्यता हटेको छ । उक्त चौकीको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी धुव्रबहादुर खड्काले उद्घाटन गर्नुभयो ।

जनताको माग र सरोकारबालाको पहलमा स्थानीयस्तरमा शान्ति सुरक्षा कायम गरी आपराधिक गतिविधि कम गर्न चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले बताउनुभयो । चौकीमा प्रहरी हवलदार यामेश्वर धिमालको नेतृत्वमा पाँच जनाको टोली रहने जनाइएको छ ।

असाधारण अमेरिकी निर्वाचन अन्तिम भागमा प्रवेश

वासिङ्टन । अमेरिकी निर्वाचनको एक सय दिने दौड आइतबार सुरु भएको छ । यो निर्वाचन हत्या प्रयास र राष्ट्रपति जो बाइडेनको आश्चर्यजनक निकासले परिवर्तन गरेको अभियानको अन्तिम काम थियो ।बाइडेनको उम्मेदवारीलाई लिएर हप्तौँको आन्तरिक कलह र निराशापछि डेमोक्रेटहरू उपराष्ट्रपति कमला ह्यारिसपछाडि एकजुट भएका छन् । यो नोभेम्बर ५ को दौडमा मौलिक रूपमा आकार दिँदै रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई हराउने सम्भावना बनिरहेको थियो ।

ह्यारिसको उम्मेदवारीले स्पष्ट रूपमा डेमोक्रेटिक अभियानलाई पुनः बलियो बनाएको छ । अभियानले आइतबार २० करोड डलर सङ्कलन गरेको बताएको छ ।वाल स्ट्रिट जर्नलको नयाँ सर्वेक्षणअनुसार ह्यारिसले काला, ल्याटिनी र युवा मतदाताहरूको बढ्दो समर्थनका साथ ट्रम्पसँग बाइडेनको छ अङ्कको घाटालाई दुई अङ्कमा मात्र सीमित गर्नुभएको छ ।

तर जर्नल सर्वेक्षण गर्ने रिपब्लिकन सर्वेक्षणकर्ता डेभिड लीले डेमोक्रेटहरूलाई दौडको चक्करमा नपर्न चेतावनी दिनुभयो । “सन् २०२० को निर्वाचनको तुलनामा डोनाल्ड ट्रम्प यो निर्वाचनमा धेरै राम्रो स्थितिमा हुनुहुन्छ”, उहाँले भन्नुभयो ।राष्ट्रिय स्तरमा दौड अत्यन्त सुस्त हुँदा राष्ट्रपतिका लागि इलेक्टोरेल कलेज प्रणालीको गणितलाई हेर्दा अझै पनि ट्रम्पलाई फाइदा छ ।

सन् २०१६ को निर्वाचनमा हिलारी क्लिन्टनमाथि मुलुकभर ३० लाख मतपत्रले देशव्यापी लोकप्रिय मत गुमाए पनि ट्रम्प विजयी हुनुभयो ।“हामी यो दौडमा पछि छौँ”, शनिबार कोष सङ्कलन कार्यक्रममा ह्यारिसले स्वीकार गर्दै भन्नुभयो, “तर जन–सञ्चालित अभियान हो र हामीसँग गति छ ।”

अगस्टको मध्यमा डेमोक्रेटिक सम्मेलनले ह्यारिसको उम्मेदवारीको उल्लासपूर्ण उत्सवका साथ उक्त गतिलाई जारी राख्ने प्रयास गर्नेछ ।जुन २७ मा बाइडेनको निराशाजनक बहसले उहाँको पार्टीभित्र चिन्ता र घबराहटको वातावरण देखाइरहेको थियो ।

पेन्सिलभेनियामा एक चुनावी अभियानमा ट्रम्पको असफल हत्या प्रयासको केही दिनपछि रिपब्लिकन राष्ट्रिय सम्मेलनमा ७८ वर्षीय ट्रम्पका पछाडि एकताको निर्दोष प्रदर्शन देखिएको थियो ।
अवज्ञाको सुरुआती प्रदर्शनपछि बाइडेन अपरिहार्यताअघि झुक्नुभयो र गत साता चुनावी दौडबाट बाहिरिनुभयो ।

उन्साठ्ठी वर्षकी युवा ह्यारिसले आफ्नो टोपी रिङमा फ्याँक्नुभयो र दुई अलोकप्रिय, वृद्ध, सेता पुरुष उम्मेदवारहरूबीच बासी प्रतिस्पर्धालाई गतिशील र अप्रत्याशित प्रदर्शनमा परिणत गर्नुभयो ।नोभेम्बर ५ को अन्तिम परिणाम सम्भवतः युद्धको मैदानमा करिब एक लाख स्वतन्त्र, अनिर्णित मतदाताहरूले निर्धारण गर्नेछन् । उनीहरूका अनुसार दुर्व अभियान आगामी तीन महिनामा व्यापक रूपमा लक्षित हुनेछन् ।

जग्गा किन्नेले ५३ वर्षमा पनि पाएनन् लालपुर्जा

कटारी । त्रिपन्न वर्ष पहिले तत्कालीन जिल्ला विकास समितिले सहर बनाउने योजनाका साथ बिक्री भएका घडेकी किन्नले अहिलेसम्म पनि लालपुर्जा पाएका छैन् । जिविसले विसं २०२८ जिल्लामा सहर बढाउने उद्देश्यले घडेरी बिक्री गरको थियो ।

तत्कालीन समयमा गाईघाटस्थित त्रियुगा नगरपालिका र पश्चिमी भेगमा बजार रहेको कटारी नगरपालिकामा घडेरी बिक्री गरिएको थियो । “लालपुर्जा नभएपछि ऐलानी जग्गाका रुपमा कारोबार भएको छ”, कटारीका अस्मित पौडेलले भने, “लालपुर्जा पाउनका लागि पटक–पटक पहल गर्दा पनि पाउन सकेनौँ ।”

त्यो समयमा कटारी बजारमा मात्रै एकसय चारवटा घडेरी जिविसले बिक्री गरेको थियो । “जिविसमै गएर नामसारी कागज बनाएर घडेरी किनेका थियौँ”, कटारीकै शत्रुधनप्रसाद जयसवालले भने, “लालपुर्जा आउला र सहज होला भन्ने थियो अभैm पाएनौँ ।”

स्थानीय निर्वाचनपछि जिल्ला समन्वय समिति गठन भएपछि निकास पाउने आशामा रहेका घडेरी किनेका जग्गाधनीले पटक–पटक समितिमा माग गरेपनि समस्याको समाधान हुन नसकेको हो ।

एक वर्षदेखि त जिल्ला समन्वय समितिले कर पनि उठाउन छोडेको छ । जग्गा किनेको कागज र बिटौरी कर बर्सेनि तिरेको रसिद धितोमा राखेर घडेरीदाताले बैँकबाट ऋण लिने गरेको कटारीका सुरेन्द्रप्रसाद जयसवालले बताए ।

“जिससले कर लिन छोडेपछि रसिद पाउने कुरा भएन रसिद नभएपछि बैँकले ऋण नवीकरण गर्दैन्”, जयसवालले भने, “बैंकले अब कर्जा तिर्न वा कर तिरेको रसिद लिएर आउनु भन्न थालिसक्यो ।”

जिल्ला समन्वय समिति उदयपुरका प्रमुख गौरबबहादुर विश्वकर्माले महालेखा परीक्षकको कार्यालयले कुनै पनि कर लिन पाउने अधिकार छैन भनेपछि लिन छोडेका बताए । “तपाईंहरुले कर लिन पाउनुहुन्न भनेपछि लिन छाडेका हौँ”, प्रमुख विश्कर्माले भने, “कानुन नै नभएपछि समस्या भएको छ ।”

लालपुर्जा नपाएपछि उदयपुरका घडेरीदाताले सङ्घर्ष समिति गठन गरेका छन् । पहिलेदेखि नै व्यक्तिगतरुपमा पहल गर्दै आएका घडेरीदाता अब भने सङ्गठित भएका हुन् । उनीहरुले भीमचन्द्र राईको संयोजकत्वमा जिल्लास्तरीय समिति गठन गरेका छन् । त्यसैगरी कटारीमा जमानसिंह बस्नेतको संयोजकत्वमा समिति गठन गरिएको छ ।

पहिलो चरणमा प्रधानमन्त्री केपी शर्मा ओली समक्ष माग बुझाउन जाने तयारी भएको जिल्लास्तरीय समितिका सह–संयोजक प्रकाश थापाले बताए । प्रधानमन्त्रीसँगको छलफलपछि मात्रै अन्य प्रक्रियाअघि बढाउने समितिको निर्णय छ ।

काठमाडौँ उपत्यकामा पोलियोविरुद्धको खोप अभियान थप तीन दिन

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन गरिएको पोलियो रोगविरुद्धको विशेष खोप अभियान यही साउन १५ गतेसम्म सञ्चालन हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको खोप विशेष अभियान स्थानीय तहको माग भएपछि थप तीन दिनसम्म जारी राख्ने निर्णय भएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.अभियान गौतमले जानकारी दिए ।

बालबालिकालाई मुखबाट खुवाइने ‘ओपिभी’ खोप खुवाउन थालिएको हो । टुकुचा खोला र वाग्मती नदीको सङ्गमस्थल टेकुमा पोलियो जीवाणु भेटिएपछि काठमाडौँ उपत्यकामा खोप अभियान सञ्चालन गरिएको थियो ।

उनले अहिलेसम्म लक्ष्यभन्दा पनि बढी बालबालिकालाई खोप लगाइएको बताए । करिब दुई लाख ८० हजार बालबालिकालाई खोप खुवाउने लक्ष्य लिए पनि दुई लाख ८४ हजार छ सय ३४ बालबालिकालाई खोप खुवाइएको शाखा प्रमुख डा गौतमले जानकारी दिए ।

पोलियो खोप जन्मेदेखि पाँच वर्ष मुनिका बालबालिकालाई खुवाइँदै छ । स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले घर–घर पुगेर पोलियो रोगविरुद्धको खोप खुवाउन थालेका हुन् ।

पोलियो रोग पोलियो भाइरसबाट हुने सङ्क्रामक रोग हो । पोलियो रोग लागेपछि ज्वरो आउने, पखाला लाग्ने, जीउ दुख्ने, थकाइ महसुस गर्ने र रोग गम्भीर हुन थाल्यो भने पक्षघात हुने र मुत्युसम्म हुने गर्दछ ।

पोलियो रोग दूषित खाना र पानीको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ । सन् २०१४ पोलियोमुक्त भएको नेपाल सन् २०२६ सम्म पोलियो उन्मुलन गर्ने सरकारको लक्ष्य रहेको छ ।

वन पैदावार बिक्री विद्युतीय माध्यमबाट सुरु गर्दै बागमती सरकार

काठमाडौँ, १३ साउनः वाग्मती प्रदेश वन तथा वातावरण मन्त्रालयले वन पैदावार बिक्री प्रक्रियामा विद्युतीय प्रणालीको सुरुआत गरेको छ । वाग्मती प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव धीरेन्द्रकुमार प्रधानले काठ दाउरालगायत वन पैदावारको बिक्रीका लागि विद्युतीय माध्यमको प्रयोग सुरु गरिएको जानकारी दिनुभयो ।

विद्युतीय प्रणालीको प्रयोगले लिलाम प्रक्रिया पारदर्शी र विश्वासनीय हुने र राजस्व पनि वृद्धि हुने अपेक्षा गरिएको उहाँको भनाइ छ । “यस कार्यबाट प्रचलित वनसम्वन्धी कानूनमा संशोधनको प्रक्रिया अघि बढनेछ, हाल वन क्षेत्रबाट उत्पादन हुने काठ तथा दाउरालगायतका वन पैदावार सिलवन्दी बोलपत्रको माध्यमबाट लिलाम बढाबढ गरी बिक्री हुँदै आएको छ”, उहाँले भन्नुभयो ।

प्रधानका अनुसार वन क्षेत्रबाट उत्पादन भै व्यापारिक एवं व्यावसायिक प्रयोजनका लागि लिलाम गर्दा विद्युतीय प्रणालीको प्रयोगपछि लिलामी प्रक्रिया पूर्ण प्रतिस्पर्धी हुने तथा विचौलियाको संलग्नतामा कमी हुनेछ । यसका लागि चालु आर्थिक वर्षमा आवश्यक बजेट विनियोजन भइसकेको मन्त्रालयले जनाएको छ ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६९ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४६ मा सार्वजनिक खरिदमा विद्युतीय सञ्चार माध्यमको प्रयोगबाट खरिद कारोबार हुनसक्ने कानुनी प्रावधान छ । वन नियमालली, २०७९ को नियम २५ को उपनियम (१) मा व्यापारिक एवं व्यावसायिक प्रयोजनका लागि काठ दाउरा लिलाम गर्दा पूर्ण प्रतिस्पर्धाको आधारमा गर्नुपर्ने र वन नियमालली, २०७९ को नियम २५को उपनियम (१ (क) लिलामको सूचना तत्काल सम्बन्धित कार्यालय, प्रदेश मन्त्रालय र निर्देशनालयको वेबसाइटमा राख्नुपर्ने व्यवस्था छ ।

ह्यारिसद्वारा ह्वाइट हाउस अभियानको पहिलो साता २० करोड डलर सङ्कलन

वासिङ्टन, १३ साउन-अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको अभियानले गत साता सम्भावित डेमोक्रेटिक राष्ट्रपतिको उम्मेदवारका रूपमा ह्यारिस देखा परेपछि २० करोड जुटाएको छ । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध उहाँको दौडमा यो अचम्म पार्ने उपलब्धि हो ।

आइतबार आफ्नो पछिल्लो कोष सङ्कलनको घोषणा गरेको अभियानले चन्दाको ठूलो हिस्सा अर्थात ६६ प्रतिशत सन् २०२४ को चुनावी चक्रमा पहिलोपटक योगदानकर्ताहरूबाट आएको बताएको छ । राष्ट्रपति जो बाइडेनले दौडबाट बाहिरिने घोषणा गर्नुभएपछि र ह्यारिसलाई समर्थन गरेपछि उक्त अभियान बनाइएको थियो ।

एक लाख ७० हजारभन्दा धेरै स्वयंसेवकले ह्यारिस अभियानलाई फोन बैंकिङ, प्रचार र अन्य गेट–आउट–द–भोट प्रयासहरूमा सहयोग गर्न प्रतिबद्धता जनाएका छन् । निर्वाचन हुन एक सय दिन बाँकी छ ।

अभियानका सञ्चार निर्देशक माइकल टायलरले भन्नुभयो, “उपराष्ट्रपति ह्यारिसका लागि गति र ऊर्जा वास्तविक छ र यो दौडमा आधारभूत कुराहरू पनि छन् : यो निर्वाचन धेरै नजिक हुनेछ र केही राज्यमा थोरै मतदाताहरूले निर्णय गर्नेछन् ।”

ह्यारिसले शनिबार म्यासचुसेट्सको पिट्सफिल्डमा अभियान सुरु गर्नुभयो र सयौँ मानिसलाई धन सञ्चय अभियानमा आकर्षित गर्नुभयो । उक्त स्थानमा राष्ट्रपति बाइडेन डेमोक्रेटिक टिकटको शीर्ष स्थानमा रहँदा अभियान सुरु गरिएको थियो । अभियानका अनुसार सुरुमा चार लाख डलर उठाउने अपेक्षा गरिए पनि करिब १४ लाख डलर सङ्कलन भयो ।

बाइडेन दौडबाट बाहिरिनु भएपछि ह्यारिसले तुरुन्तै डेमोक्रेटिक समर्थन प्राप्त गर्नुभयो । जुन २७ मा ट्रम्पविरुद्ध लज्जास्पद बहस प्रदर्शनपछि बाइडेनको उम्मेदवारी असफल भएको थियो ।

पूर्वसभामुख न्यान्सी पेलोसी, सिनेटका बहुमत नेता चक सुमर, हाउस डेमोक्रेटिक नेता हकिम जेफ्रिज, पूर्व हाउस माइनरिटी ह्विप जिम क्लाइबर्न, पूर्वराष्ट्रपति बिल क्लिन्टन र पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनले ह्यारिसलाई तुरुन्तै समर्थन गर्नुभयो ।

पूर्वराष्ट्रपति बाराक ओबामा र उहाँकी श्रीमती मिशेल ओबामाले शुक्रबार आफ्नो समर्थनको घोषणा गर्नुभएको छ । ह्यारिसले शनिबार कोष सङ्कलन कार्यक्रममा चुनावी दौडमा ‘अन्डरडग’ रहको बताउनुभएको थियो तर उहाँको अभियानले गति लिइरहेको छ ।

बाइडेनको बहिर्गमन र ह्यारिसको समर्थनपछि पहिलो २४ घन्टामा चन्दादाताहरूबाट १५ करोड डलर हासिल गरेको डेमोक्रेटिक राजनीतिमा सबैभन्दा ठूलो सुपर पिएसी फ्युचर फरवार्डले गत साता घोषणा गरेको थियो । ह्यारिस पार्टीको सम्भावित उम्मेदवारका रूपमा देखा पर्नु भएपछि आफूहरूले समर्थनमा वृद्धि देखेको डेमोक्रेटिक हाउस र सिनेटका उम्मेदवारहरूले बताएका छन् ।

मध्यम दूरीको आणविक ह तियार उत्पादन पुनः सुरु गर्ने पुटिनको ध म्की

मस्को, १३ साउन-रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त राज्य अमेरिकाले जर्मनी वा युरोपका अन्य स्थानमा क्षेप्यास्त्र तैनाथ गर्ने आफ्नो मनसाय पुष्टि गरेमा मध्यम दूरीका आणविक हतियारको उत्पादन पुनः सुरु गर्ने धम्की दिनुभएको छ ।

“यदि संयुक्त राज्य अमेरिकाले यस्ता योजनाहरूलाई कार्यान्वयन गर्छ भने हामी आफूलाई मध्यम र छोटो दूरीको आक्रमण क्षमताको तैनाथी पहिले अपनाएको एकपक्षीय रोकबाट मुक्त भएको मान्नेछौँ”, सेन्ट पिटसबर्गमा नौसैनिक परेडका क्रममा उहाँले भन्नुभयो । उहाँले अहिले रुसमा यस्ता धेरै प्रणालीको विकास अन्तिम चरणमा रहेको बताउनुभयो ।

राष्ट्रपति पुटिनले चेतावनी दिँदै भन्नुभयो, “हामी युरोप र विश्वका अन्य क्षेत्रमा अमेरिकाका उपग्रहहरूको गतिविधिहहरूलाई ध्यानमा राख्दै तिनीहरूको असर कम गर्न कदम चाल्नेछौँ ।” पाँच सयदेखि पाँच हजार पाँचसय किलोमिटरको बीचमा मार हान्न सक्ने क्षेप्यास्त्रहरू सन् १९८७ मा अमेरिका र सोभियत सङ्घले हस्ताक्षर गरेको हतियार नियन्त्रणसम्बधी सन्धिको विषय थियो । तर वासिङ्टन र मस्को दुवैले सन् २०१८ मा मध्यम दूरीको आणविक बल सन्धिबाट फिर्ता लिए र एकअर्कामाथि उल्लङ्घनको आरोप लगाए । पछि रुसले संयुक्त राज्य अमेरिकाले विदेशहरूमा क्षेप्यास्त्र तैनाथ नगरेसम्म यस्ता क्षेप्यास्त्रहरूको उत्पादन पुनः सुरु नगर्ने बताएको थियो ।

जुलाईको प्रारम्भमा वासिङ्टन र बर्लिनले जर्मनीमा टमहक क्रुज क्षेप्यास्त्रसहित लामो दूरीको अमेरिकी क्षेत्रप्यास्त्रको ‘एपिसोडिक तैनाथी’ सन् २०२६ देखि सुरु हुने घोषणा गरे । पुटिनले भन्नुभयो, “महत्त्वपूर्ण रुसी प्रशासनिक र सैन्य स्थल यस्ता क्षेप्यास्त्रहरूको सीमामा आउनेछन् जुन भविष्यमा आणविक हतियारले सुसज्जित हुनसक्छ , जस्तो कि आक्रमण सुरु भएको करिब १० मिनेटभित्र यी क्षेप्यास्त्र हाम्रो क्षेत्रमा हुनेछन् ।”

रुसी राष्ट्रपतिले अमेरिकाले हालैका अभ्यासमा डेनमार्क र फिलिपिन्समा टाइफन मध्यम दूरीको क्षेप्यास्त्र प्रणाली तैनाथ गरेको बताउनुभयो ।

शीतयुद्धको सम्झना

“यो अवस्थाले हामीलाई युरोपमा अमेरिकी पर्सिङ मध्यम दूरीको क्षेप्यास्त्रहरूको तैनाथीसँग जोडिएको शीतयुद्धका घटनाहरूको सम्झना गराउँछ”, पुटिनले भन्नुभयो । सन् १९८० को दशकमा शीतयुद्धको चरम अवस्थामा पश्चिम जर्मनीमा अमेरिकी पर्सिङ ब्यालेस्टिक क्षेप्यास्त्रहरू तैनाथ गरिएको थियो । जर्मनी एकीकरण र सन् १९९० को दशकसम्म अमेरिकी क्षेप्यास्त्रहरू तैनाथ भइरहे । तर शीतयुद्धको समाप्तपछि मस्कोबाट खतरा कम भएकाले संयुक्त राज्य अमेरिकाले युरोपमा तैनाथ क्षेप्यास्त्रहरूको सङ्ख्या उल्लेखनीय रूपमा कम गर्यो ।

प्रस्तावित अमेरिकी तैनाथीको अर्थ युरोपेली राजधानीहरू रुसी क्षेप्यास्त्रहरूका लागि लक्ष्य बन्ने क्रेमलिनले मध्य जुलाईमा चेतावनी दिएको थियो । क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले

परराष्ट्रमन्त्रीसँग जापानी संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग जापानी संसद् प्रतिनिधिसभाको न्यायिक समितिका अध्यक्ष ताकेबे आरतासहित नेपाल भ्रमणमा रहेका जापानी संसदीय प्रतिनिधिमण्डलका सदस्यहरुले आज शिष्टाचार भेट गरेका छन् ।

परराष्ट्रमन्त्री डा राणाको कार्यकक्षमा आज भएको सो भेटमा नेपाल जापान सम्बन्धका विविध पक्षमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ ।

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

कालिकोट । पहिराका कारणले अवरुद्ध भएको कर्णाली राजमार्ग आजदेखि सञ्चालनमा आएको छ ।कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो । उक्त पहिरो पन्छाएपछि यातायात सञ्चालनमा आएको हो ।

राजमार्ग प्रहरी र स्थानीयको पहलमा आज बिहान पहिरो पन्छाएपछि यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख अर्जुन केसीले बताए ।

कर्णाली करिडोरअन्तर्गत कालिकोटका नरहरिनाथ गाउँपालिका–१ मोरा गाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । सो सडक अहिले खुलाउने प्रयास भइरहेको प्रहरी प्रमुख केसीले बताए ।

मुख्यमन्त्री लामाले साउन १५ गते विश्वासको मत लिने

बागमती, १३ साउन । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले यही साउन १५ गते प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ । विश्वासको मत लिन मुख्यमन्त्री लामाले प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराउनुभएको सचिवालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिनुभयो । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संबैधानिक व्यवस्थाअनुसार उहाँले विश्वासको मत लिन लाग्नुभएको हो । “विश्वासको मतका लागि पत्र दर्ता भइसकेको छ”, सचिव दर्जीले भन्नुभयो, “पत्रअनुसार नै साउन १५ गते दिउँसो ३ बजेका लागि सभामुखबाट प्रदेशसभा बैठक आह्वान भएको छ ।”

यही साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त लामाले नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ ।

प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा (एमाले)का २७, नेकपा (माओवादी केन्द्र)का २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा (एकीकृत समाजवादी)का सात, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई जना प्रदेशसभा सदस्य हुनुहुन्छ ।

अब बिजुली पुग्यो भन्ने अवस्थामा मुलुक नपुगिसकेकाले ऊर्जा उत्पादकलाई हौसला दिनुपर्छ: अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले ऊर्जा उत्पादकहरूको मनोबल बढाउने गरी सरकारले काम गर्ने बताउनुभएको छ । आज अर्थ मन्त्रालयमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का पदाधिकारीसँगको भेटमा अब बिजुली पुग्यो भन्ने अवस्थामा मुलुक नपुगिसकेकाले ऊर्जा उत्पादकलाई हौसला दिनुपर्ने बताउनुभएको हो ।

अर्थमन्त्री पौडेलले अहिले नेपालले बिजुली आयात र निर्यात दुवै गरिरहेको उल्लेख गर्दै प्रतिव्यक्ति विद्युत् खपत बढाउन अझ धेरै बिजुली आवश्यक हुने भएकाले निजी क्षेत्रका ऊर्जा उत्पादकहरूको मनोबल बढ्ने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले नेपालमा ऊर्जा क्षेत्र यहाँसम्म आउनुमा निजी क्षेत्रको योगदान उल्लेख्य रहेको बताउनुभयो । उहाँले साढे दुई दशकदेखि ऊर्जा उत्पादन सुरु गरेको निजी क्षेत्रबाट मात्र हालसम्म २५ सय मेगावाट बराबरका १८२ आयोजना निर्माण सम्पन्न भएका, ३९ सय मेगावाट बराबरका १३७ आयोजना निर्माणाधीन रहेका र ३९ सय मेगावाट बराबरकै १३६ आयोजना नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) भएर वित्तीय व्यवस्थापनको पर्खाइमा रहेको तथ्याङ्क अर्थमन्त्री पौडेलसामु राख्नुभएको थियो ।

यस्तै सर्वेक्षण सम्पन्न भई निर्माणका लागि विद्युत् विकास विभागमा आवेदन दिएका १० हजार सात सय र निर्माण अनुमति लिएर पीपीएका लागि प्राधिकरणमा आवेदन दिएका १० हजार मेगावाटका आयोजनामध्ये पनि ८० प्रतिशत निजी क्षेत्रको अगुवाइमा अघि बढिरहेको पनि कार्कीले बताउनुभयो ।

निजी क्षेत्रले नेपालको ऊर्जा विकासमा आक्रामक ढङ्गले अघि बढिरहेको बेला नेपाल सरकारले गत जेठमा सार्वजनिक गरेको वित्त नीति र नेपाल राष्ट्र बैंकले गत शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिले ऊर्जा विकासमा संलग्न सम्पूर्ण निजी क्षेत्र उत्साहित हुन नसकेकोले निजी क्षेत्र उत्साहित हुने गरी ऊर्जा उत्पादकका सवालहरू सम्बोधन गरिदिन इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले अर्थमन्त्री पौडेलसँग आग्रह गर्नुभयो ।

उक्त भेटमा इप्पानबाट अध्यक्ष गणेश कार्की, वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी, उपाध्यक्षद्वय आनन्द चौधरी र उत्तम भ्लोन, उपमहासचिव प्रकाश दुलाल तथा कार्यसमिति सदस्यद्वय उत्तरकुमार श्रेष्ठ र भरत पराजुली सहभागी हुनुभएको थियो ।

विद्युत् ऐन २०४९ मा ऊर्जा आयोजनाहरूको मर्मत सम्भारका लागि सामान उपकरण आयात गर्दा एक प्रतिशत मात्र भन्सार लाग्ने उल्लेख भएको तथा आर्थिक वर्ष २०७९/८० सम्मको बजेटमा समेत उल्लेख भएको उक्त व्यवस्था अघिल्लो आर्थिक वर्षदेखि हटाइएकोले विद्युत् ऐनमा रहेको सो एक प्रतिशत मात्र भन्सार लाग्ने व्यवस्था कायम गरिदिनुपर्ने इपानको माग थियो ।

यसैगरी विद्युत् नियमन आयोगले अनुमति दिएका आयोजनाहरूको बिना रोकटोक शेयर निष्काशन तथा हकप्रद शेयर निष्काशन गर्न स्वीकृति दिने व्यवस्था गरी रु दुई अर्बभन्दा माथि पुँजी भएका ऊर्जा आयोजनाहरू विदेशी धितोपत्र बजारमा सुचीकृत गर्ने व्यवस्था गरिदिनुपर्ने पनि इपानले माग अघि सारेको थियो ।

“विद्युत् आयोजनाहरूको ऋण दीर्घकालीन प्रकृतिको हुने र ऊर्जा आयोजनाको आय स्थिर बिक्री मूल्यमा आधारित हुने हुँदा आयोजनाको खर्च पनि आधारभूत रुपमा स्थिर हुनु पर्ने हुन्छ”, अध्यक्ष कार्कीले भन्नुभयो, “तर, बैङ्क तथा वित्तीय संस्थाको ब्याजदर अस्थिर हुँदा ऊर्जा आयोजनाहरूको लागत बढ्नुका साथै आयोजनाहरू महँगो बनिरहेकाले विद्युत् खरिद सम्झौता ९पीपीए० दर स्थिर रहेजस्तै विद्युत् आयोजनामा स्थिर ब्याजदर कायम गर्नका लागि आवश्यक पहल गरिदिनुपर्छ ।”

गत वर्षको जेठ ३२ र असार १ गते आएको बाढीले ३१ भन्दा धेरै आयोजनाहरू बगाएको र हालैको बाढीले खानीखोला लगायतका अन्य धेरै आयोजनाहरू गरी ४० आयोजनामा क्षति पुगेकाले ती आयोजनालाई राहत र क्षतिपूर्तिस्वरुप मर्मतमा लाग्ने मेसिनरी उपकरणमा एक प्रतिशत भन्सारको व्यवस्था गरिदिनुपर्ने माग समेत राखिएको इप्पानको भनाइ थियो ।

कैलालीमा थप दुईजनामा हैजा पुष्टि

कैलाली – कैलालीमा थप दुईजनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । धनगढी उपमहानगरपालिका–१ पशुपति टोलका थप दुई जनामा हैजा पुष्टि भएको हो ।स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशुतोष श्रेष्ठका अनुसार हैजा पुष्टि हुनेमा छ र आठ वर्षका बालक छन् । योसँगै हैजा पुष्टि हुनेको सङ्ख्या चार पुगेको छ । यसअघि सोही पशुपति टोलका २३ र २६ वर्षीय युवतीमा हैजा पुष्टि भएको उनले जानकारी दिए ।

दुवै बालक सेती प्रादेशिक अस्पतालमा उपचार गरी सङ्क्रमणको जोखिममुक्त भएर घर फर्किएको उनले बताए । नमूना सङ्कलन गरिएका थप चार जनाको रिपोर्ट आउन बाँकी रहेको उनले जानकारी दिएका छन् ।

सो क्षेत्रको पानीको नमुना सङ्कलन भइरहेको पनि उनले जानकारी दिएका छन् । यस सम्बन्धमा माथिल्ला निकायमा जानकारी गराइ सकिएको प्रमुख श्रेष्ठको भनाइ छ ।

गायक भागिरथ चलाउनेको नयाँ गीत गुलेलीले जुरेलीलाई हानम कि लोकप्रिय बन्दै

काठमाडौँ । लोकप्रिय गायक भागिरथ चलाउनेको नयाँ तीज गीत सार्वजनिक गरिएको छ । बर्ष २०८१ को तीज पर्वलाई लक्षित गर्दै ‘गुलेलीले जुरेलीलाई हानम कि म नाई’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा भागिरथसँगै गायिका सुनिता बुढा क्षेत्रीको स्वर छ भने शब्द र संगीत भागिरथ आफैको रहेको छ ।

गीतमा संगीत संयोजनको काम बिनोद बाजुरालीले गरेका छन् । गीतको भिडिओमा गायक भागिरथ आफैले नृत्य गरेका छन् भने उनीसँगै अनिशा ओलीले अभिनय गरेकी छिन् । भिडिओमा गायक भागिरथसँगै अनिशा ओलीले नृत्य गरेकी छिन् । सुनिल बिकले निर्देशन गरेको भिडिओ बुद्ध थापाले खिचेका हुन् भने प्रबिन भट्टले सम्पादन गरेका हुन् ।

भिडिओमा आएका प्रतिक्रिया सबै सकारात्मक देख्न सकिन्छ । धेरैले बल्ल तीज लागेजस्तो भयो भन्दै लेखेको देखिन्छ । तपाई पनि एकपटक भिडिओ हेरेर प्रतिक्रिया दिन सक्नुहुनेछ ।

भागिरथलाई अत्यधि चिनाएको गीत ‘थोपडाले धोका दियो बरिलै’ हो । जुन ३ बर्ष अगाडी सार्वजनिक तीज गीत हो । यो गीत तीजको समयमा अत्यधिक घन्किने गीत हो । युट्युवमा अहिलेसम्म यो गीतलाई ८४ लाख भन्दा बढी पटक हेरिएको छ । यस्तै उनको अर्को हिट तीज गीत ‘झम झम झम्काना लाउकी न लाउँ म’ लाई पनि दर्शक तथा स्रोताले निकै मन पराएका छन् । दुईबर्ष अघिको उक्त गीतलाई युट्युवमा २८ लाख भन्दा बढीपटक हेरिएको छ । यस्तै अर्को निकै हिट गीत ‘कस्लाई सोध्ने होला’ ११ बर्ष अघि सार्वजनिक भएको गीत हो । जसमा भागिरथ चलाउने र बिष्णु माझीको स्वर छ । यो गीत सार्वजनिक भएपछि भागिरथले निकै माया पाएका थिए । यो गीतलाई पनि १ करोड २८ लाख भन्दा बढी पटक हेरिएको छ ।

माओवादी पदाधिकारी बैठकः जनपरिचालन र सङ्गठन निर्माणमा जोड

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को जारी केन्द्रीय समितिको बैठक आज पनि जारी रह्यो ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आजको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकारबाट बाहिरिएपछिको अवस्था र पार्टीले आगामी दिनमा खेल्नुपर्ने भूमिका, जनपरिचालन र सङ्गठन निर्माणलगायतका विषयमा छलफल भएको उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा नेताहरु जनार्दन शर्मा, गणेश साह, हितमान शाक्य, गिरिराजमणि, श्रीराम ढकालले धारणा व्यक्त गर्नुभयो । उहाँहरुले सुशासन, सामाजिक न्याय र आर्थिक विकासका सन्दर्भमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड ’ नेतृत्वको सरकारले प्रभावकारी काम गरेको बताउनुभएको थियो ।

सुशासन, भ्रष्टाचार नियन्त्रणका सवालमा सरकार प्रभावकारी तवरले अगाडि बढ्न खोजेपछि संसद्को पहिलो र दोस्रो ठूलो दल एक आपसमा मिलेको उहाँहरुको भनाइ थियो ।
प्रवक्ता सापकोटाका अनुसार, सरकारका रहँदा भएका सकारात्मक काम कारवाहीका विषयमा पनि सामूहिक रुपमा जनतामा लैजाने र कमी कमजोरीबारे सामूहिक रुपमा नै स्वामित्व लिनुपर्ने नेताहरुको भनाइ थियो ।

शुक्रबारदेखि जारी पदाधिकारी बैठकमा नेताहरुले सरकारबाट पार्टी बाहिरिँदा विजयी भावका साथ जनतामा जाने र त्यसका आधारमा सङ्गठन विस्तार गर्ने अवसर पैदा भएको उल्लेख गर्नुभएको थियो । माओवादी केन्द्रको पदाधिकारी बैठक भोलि दिउँसो १ बजे पनि जारी रहनेछ ।