`

गायक भागिरथ चलाउनेको नयाँ गीत गुलेलीले जुरेलीलाई हानम कि लोकप्रिय बन्दै

काठमाडौँ । लोकप्रिय गायक भागिरथ चलाउनेको नयाँ तीज गीत सार्वजनिक गरिएको छ । बर्ष २०८१ को तीज पर्वलाई लक्षित गर्दै ‘गुलेलीले जुरेलीलाई हानम कि म नाई’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा भागिरथसँगै गायिका सुनिता बुढा क्षेत्रीको स्वर छ भने शब्द र संगीत भागिरथ आफैको रहेको छ ।

गीतमा संगीत संयोजनको काम बिनोद बाजुरालीले गरेका छन् । गीतको भिडिओमा गायक भागिरथ आफैले नृत्य गरेका छन् भने उनीसँगै अनिशा ओलीले अभिनय गरेकी छिन् । भिडिओमा गायक भागिरथसँगै अनिशा ओलीले नृत्य गरेकी छिन् । सुनिल बिकले निर्देशन गरेको भिडिओ बुद्ध थापाले खिचेका हुन् भने प्रबिन भट्टले सम्पादन गरेका हुन् ।

भिडिओमा आएका प्रतिक्रिया सबै सकारात्मक देख्न सकिन्छ । धेरैले बल्ल तीज लागेजस्तो भयो भन्दै लेखेको देखिन्छ । तपाई पनि एकपटक भिडिओ हेरेर प्रतिक्रिया दिन सक्नुहुनेछ ।

भागिरथलाई अत्यधि चिनाएको गीत ‘थोपडाले धोका दियो बरिलै’ हो । जुन ३ बर्ष अगाडी सार्वजनिक तीज गीत हो । यो गीत तीजको समयमा अत्यधिक घन्किने गीत हो । युट्युवमा अहिलेसम्म यो गीतलाई ८४ लाख भन्दा बढी पटक हेरिएको छ । यस्तै उनको अर्को हिट तीज गीत ‘झम झम झम्काना लाउकी न लाउँ म’ लाई पनि दर्शक तथा स्रोताले निकै मन पराएका छन् । दुईबर्ष अघिको उक्त गीतलाई युट्युवमा २८ लाख भन्दा बढीपटक हेरिएको छ । यस्तै अर्को निकै हिट गीत ‘कस्लाई सोध्ने होला’ ११ बर्ष अघि सार्वजनिक भएको गीत हो । जसमा भागिरथ चलाउने र बिष्णु माझीको स्वर छ । यो गीत सार्वजनिक भएपछि भागिरथले निकै माया पाएका थिए । यो गीतलाई पनि १ करोड २८ लाख भन्दा बढी पटक हेरिएको छ ।

माओवादी पदाधिकारी बैठकः जनपरिचालन र सङ्गठन निर्माणमा जोड

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को जारी केन्द्रीय समितिको बैठक आज पनि जारी रह्यो ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आजको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकारबाट बाहिरिएपछिको अवस्था र पार्टीले आगामी दिनमा खेल्नुपर्ने भूमिका, जनपरिचालन र सङ्गठन निर्माणलगायतका विषयमा छलफल भएको उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा नेताहरु जनार्दन शर्मा, गणेश साह, हितमान शाक्य, गिरिराजमणि, श्रीराम ढकालले धारणा व्यक्त गर्नुभयो । उहाँहरुले सुशासन, सामाजिक न्याय र आर्थिक विकासका सन्दर्भमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड ’ नेतृत्वको सरकारले प्रभावकारी काम गरेको बताउनुभएको थियो ।

सुशासन, भ्रष्टाचार नियन्त्रणका सवालमा सरकार प्रभावकारी तवरले अगाडि बढ्न खोजेपछि संसद्को पहिलो र दोस्रो ठूलो दल एक आपसमा मिलेको उहाँहरुको भनाइ थियो ।
प्रवक्ता सापकोटाका अनुसार, सरकारका रहँदा भएका सकारात्मक काम कारवाहीका विषयमा पनि सामूहिक रुपमा जनतामा लैजाने र कमी कमजोरीबारे सामूहिक रुपमा नै स्वामित्व लिनुपर्ने नेताहरुको भनाइ थियो ।

शुक्रबारदेखि जारी पदाधिकारी बैठकमा नेताहरुले सरकारबाट पार्टी बाहिरिँदा विजयी भावका साथ जनतामा जाने र त्यसका आधारमा सङ्गठन विस्तार गर्ने अवसर पैदा भएको उल्लेख गर्नुभएको थियो । माओवादी केन्द्रको पदाधिकारी बैठक भोलि दिउँसो १ बजे पनि जारी रहनेछ ।

पाकिस्तानमा साम्प्रदायिक लडाइँमा ३५ को मृत्यु

उत्तरपश्चिमी पाकिस्तानमा जनजातिहरू बीचको भूमि द्वन्द्वले मेसिन गन र मोर्टारहरूका साथ साम्प्रदायिक लडाइँ परिवर्तन हुँदा हालसम्म ३५ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् ।

एक बन्दुकधारीले कृषि भूमिमा दशकौँ लामो विवादमा वार्ता गरिरहेको परिषद्माथि गोली चलाएका छन् । त्यो सँगै सुन्नी मुस्लिम मडागी र शिया माली खेल जनजातिहरू बुधबारदेखि लडिरहेका स्थानीय प्रहरी अधिकारी मुर्तजा हुसेनले बताउनुभयो । यद्यपि उक्त आक्रमणमा कोही पनि घाइते भएन । हुसेनका अनुसार यसले अफगानिस्तानको सिमानामा रहेको कुर्रम जिल्लामा एकसाथ बसोबास गर्ने कुलहरूबीच लामो समयदेखिको धार्मिक तनावलाई पुनर्जीवित गरेको छ ।

“सुरुमा जग्गा विवाद थियो, यो मुद्दा अहिले साम्प्रदायिक हिंसामा परिणत भएको छ”, हुसेनले भन्नुभयो, “सरकार र स्थानीय नेताहरूले जिर्गा (आदिवासी परिषद्) मार्फत लडाइँ रोक्न प्रयास भइरहेको छ तर अहिलेसम्म सफल हुन सकेको छैन ।”साथै पाकिस्तानमा अन्तर–पारिवारिक झगडा सामान्य छ । पाकिस्तान सुन्नी बहुल देश हो । यहाँ शियाहरूले बारम्बार भेदभाव र हिंसाको सामना गर्छन् ।

शिया जनजातिले द्वन्द्वमा ‘सबैभन्दा बढी क्षति’ भोगेको भन्दै सरकारी अधिकारीले मृतक ३५ मध्ये ३० जना अल्पसङ्ख्यक सम्प्रदायका मारिएको बताउनुभयो ।दुवै पक्षले पाराचिनार सहरवरपर केन्द्रीत लडाइँमा स्वचालित हतियार र मोर्टारको प्रयोग गरिरहेको र त्यसलाई कानून प्रवर्तनले अवरुद्ध पारेको प्रहरी स्रोतले बताएको छ ।

“यस क्षेत्रमा अझै पनि साना र ठूला दुवै हतियारहरूको प्रयोगमा संलग्न झडपहरू देखिरहेको छ”, कुर्रम जिल्लाका वरिष्ठ अधिकारीले भन्नुभयो । कुर्रम पूर्व सङ्घीय प्रशासित जनजातीय क्षेत्रको हिस्सा हो । यो सन् २०१८ मा खैबर पख्तुनख्वा प्रान्तमा विलय भएको थियो ।यस कदमले यस क्षेत्रलाई कानूनी र प्रशासनिक मूलधारमा ल्याएको छ । यद्यपि प्रहरी र सुरक्षा बलहरूले त्यहाँ कानूनको शासन लागू गर्न बारम्बार सङ्घर्ष गरेका छन् ।

अवसरको खोजीमा सहर पस्दै ढोरपाटनका तिब्बती शरणार्थी

काठमाडौँ १३ साउनः काठका फल्याकले छाइएका, ढुङ्गा र माटोले बनाइएका पर्खाल, हेर्दा निकै आकर्षक देखिन्छन् यहाँका घर । वरपर कपडाका झण्डा फरफराइरहेका छन् । यी दृश्य हेर्न यहाँ पुग्ने जोकोही एकपटक टक्क रोकिन्छन् र बस्तीमा पुग्न पाए हुन्थ्यो सोच्छन् । ढोरपाटन नगरपालिका–६ को छेन्तुङ र वडा नम्बर ९ को स्यालपाखेमा रहेका तिब्बतीयन शरणार्थी बस्ती हुन् यी ।

दशकौँ अगाडि तिब्बतबाट आएका शरणार्थी अहिले पनि ढोरपाटनमा बसोबास गर्दै आएका छन् तर यहाँ पहिलेको जस्तो चहलपहल छैन । बस्ती सुनसानजस्तै छन् । शरणार्थीले ढोरपाटन छोड्दै गएका छन् । यहाँ रहेका ठूला–ठूला घर तथा भवन पनि जीर्ण बन्दै छन् ।

विगतमा विभिन्न समस्यासँग जुधेर पनि यहाँका बस्तीमै रमाइरहने शरणार्थी अचेल भने अवसरको खोजीमा सहर पस्न थालेका छन् । त्यसैले केही वर्षयता ढोरपाटनमा उनीहरूको सङ्ख्या कम हुँदै गएको छ । खेतीपाती र पशुपालनबाट जीविकोपार्जन गर्दै आएका शरणार्थी अहिले व्यापार व्यवसायसँगै रोजगारीको खोजीमा काठमाडौँ, पोखरालगायतका सहर जान थालेका छन् । जसले गर्दा यहाँका बस्ती पातलिँदै गएका हुन् । 

नोर्जेलिङ तिब्बतीयन क्याम्प ढोरपाटनकी सचिव छिरिङ भुदीले धेरैजसो शरणार्थी पोखरा र काठमाडौँ सरेको र अहिले बुढापाका मात्रै बस्तीमा रहेको सुनाउनुभयो । ढोरपाटनमा पहिले करिब डेढ सय परिवार रहेकोमा अहिले २० घरका करिब ४० जना मात्रै बसोबास गरिरहेका उहाँले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय बागलुङकानुसार पछिल्लो तीन वर्षमा शरणार्थी परिचयपत्र नवीकरण गर्नेको सङ्ख्या पनि कम छ । आव २०७८÷७९ मा ५६ जना, २०७९÷८० मा ५३ जना र गत आर्थिकमा ५० जनाले मात्र परिचयपत्र नवीकरण गरेको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । हरेक वर्ष चैत मसान्तमा शरणार्थीको परिचयपत्र नवीकरण हुने गर्छ । कोहीले वर्षैपिच्छे र केहीले दुई वर्षमा एकपटक नवीकरढा गर्ने गरेको बरालको भनाइ छ । “विसं २०५२ पछि नयाँ पुस्ताले परिचयपत्र पाएका छैनन् । पछिल्लो समय शरणार्थीहरू विदेशीन थालेका र शरणार्थी महिलाले नेपालीसँग विवाह गरेर नेपाली नागरिकता पाउने भएकाले पनि परिचयपत्र नवीकरण गर्नेको सङ्ख्या कम हुँदै गएको छ”, सहायक प्रजिअ बराल भन्नुहुन्छ“त्यसैगरी२९ वर्षेदेखि नयाँ परिचयपत्र वितरण भएको छैन । धेरैजसो देशबाहिर जान थालेकाले पनि बर्सेनि परिचयपत्र बनाउनेको सङ्ख्या घट्दै गएको छ ।”

आफू ढोरपाटन मै जन्मिएको बताउने चालिस वर्षीया शरणार्थी भुदीले आफ्ना बुवा र हजुरबुवा विसं २०१८ मा ढोरपाटनमा आएको बताउनुभयो । यही जन्मेर र यही हुर्किंदा पनि शरणार्थीका समस्या समाधान नभएका उहाँको गुनासो छ । परिचयपत्रले मोबाइलको सिम कार्ड निकाल्न, बैंक खाता खोल्न, कारोबारदेखि अन्य सरकारी काम गर्न समस्या रहेको भुदीले सुनाउनुभयो । “बच्चाहरू स्कूल पढ्छन, ठूलो भएर विदेश जान खोजे पनि समस्या छ । बैंकमा खाता खोलौँ भने पनि मिल्दैन । कसैले पैसा पठाउन चाहेमा छिमेकी नेपालीको खातामा पठाउन लगाउनुपर्छ । शरणार्थी त थियौँ नै अरूमा आश्रित हुनुपरेकाले थप समस्या भएको छ”, उहाँले दुःखेसो पोख्नुभयो ।

वायु प्रदूषणले मौरीलाई फूल खोज्न कठिन बनायो: अनुसन्धान

वासिङ्टन । एक नयाँ अध्ययनअनुसार वायु प्रदूषणले फूलको गन्ध कम गर्ने भएकाले मौरीहरूलाई फूलहरू खोज्न कठिन बनाएको छ । युके सेन्टर फर इकोलोजी एन्ड हाइड्रोलोजी (युकेसिइएच) र दक्षिणी क्विन्सल्याण्ड विश्वविद्यालय सम्मिलित एक अनुसन्धान टोलीले ओजोनले फूलहरूको गन्धको आकार र सुगन्धमा ठूलो परिवर्तन ल्याउँछ र यसले मौरीहरू घटाएको पत्ता लगाएको छ । यसबाट मौरीहरूको केही मिटरको दूरीबाट गन्ध पत्ता लगाउने क्षमता ९० प्रतिशतसम्म कम भएको छ ।

सामान्यतया सवारी साधन र औद्योगिक प्रक्रियाहरूबाट नाइट्रोजन अक्साइड उत्सर्जन सूर्यको प्रकाशको उपस्थितिमा वनस्पतिबाट उत्सर्जित वाष्पशील जैविक यौगिकहरूसँग प्रतिक्रिया हुँदा जमिन–स्तरको ओजोन बन्दछ ।

अनुसन्धानमा सहयोग गर्ने बर्मिङ्घम विश्वविद्यालयका प्राध्यापक क्रिस्चियन प्रफ्राङले भने, “हाम्रो अध्ययनले फूलको गन्धमा जमिन–स्तरको ओजोनमा हुने परिवर्तनले परागकणहरूलाई प्राकृतिक वातावरणमा आफ्नो महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सङ्घर्ष गर्नुपर्ने कुराको ठोस प्रमाण दिन्छ ।”

ओजोनले जङ्गली फूलको प्रचुरता र बाली उत्पादनमा नकारात्मक असर पार्ने सम्भावना रहेको निष्कर्षले देखाएको छ । आजोनले बोटको वृद्धिलाई नोक्सान पुर्याउने अन्तर्राष्ट्रिय अनुसन्धानले पहिले नै स्थापित गरिसकेकाले ओजोनले खाद्य उत्पादनमा नकारात्मक प्रभाव पार्दछ ।

वायुमण्डलीय वैज्ञानिक डा बेन ल्याङ्गफोर्डले भने– ‘हाम्रा ७५ प्रतिशत खाद्यान्न बाली र झन्डै ९० प्रतिशत जङ्गली फूल फुल्ने बिरुवाहरू केही हदसम्म, विशेषगरी कीराहरूद्वारा जनावरको परागणमा निर्भर हुन्छन् । तसर्थ, परागकणलाई कुन कुराले प्रतिकूल असर गर्छ भन्ने कुरा बुझ्न आवश्यक छ । उदाहरणका लागि हामीलाई खाद्यान्न, कपडा, जैव इन्धन र औषधिहरूको उत्पादनका लागि जवाफ दिने महत्वपूर्ण सेवाहरू सुरक्षित गर्न मद्दत गर्न आवश्यक छ ।’

शोधकर्ताहरूले ओजोनको उपस्थितिमा गन्धका प्लमहरूको आकार र आकार कसरी परिवर्तन भयो भनेर निगरानी गर्न सरे विश्वविद्यालयमा ३० मिटर पवन सुरुङ प्रयोग गरेका थिए । गन्ध प्लमको आकार घटाउनुका साथै अरूको तुलनामा धेरै छिटो प्रतिक्रिया गर्दा प्लमको गन्धमा ठूलो परिवर्तन आएको वैज्ञानिकहरूले पत्ता लगाएका छन् ।

मौरीहरूलाई एउटै गन्धको मिश्रण पहिचान गर्न तालिम दिइएको र त्यसपछि नयाँ ओजोन–परिमार्जित गन्धहरूको सम्पर्कमा ल्याइएको थियो । मौरीहरूले फूलहरू फेला पार्न फूलको गन्ध प्रयोग गर्छन् र तिनीहरूले प्रदान गर्ने अमृतको मात्रासँग रासायनिक यौगिकहरूको अद्वितीय मिश्रणलाई सम्बद्ध गर्न सिक्छन् । यसले तिनीहरूलाई भविष्यमा उही प्रजातिहरू पत्ता लगाउन अनुमति दिन्छ ।

पहिल्यै प्लमको केन्द्रतर्फ ५२ प्रतिशत मौरीले छ मिटरमा गन्ध पहिचान गर्ने गरेका थिए । यसअघि ३८ प्रतिशत मौरीले १२ मिटरबाट गन्ध पहिचान गर्ने गरेको अनुसन्धानले देखाएको छ । धेरै नष्ट हुने प्लमको किनारमा ३२ प्रतिशत मौरीले छ मिटर दूरीबाट फूललाई पहिचान गरेका थिए । यो भनेको १२ मिटर टाढाबाट गन्ध पहिचान गर्ने मौरीको दशौँ हिस्सा मात्र हो ।

ओजोनले साथीलाई आकर्षित गर्ने जस्ता अन्य गन्ध नियन्त्रित व्यवहारमा पनि प्रभाव पार्न सक्ने अध्ययनले संकेत गरेको छ । उक्त शोधलाई युके रिसर्च एण्ड इनोभेसनको भाग, प्राकृतिक वातावरण अनुसन्धान परिषद्द्वारा लगानी गरिएको थियो र यसलाई पर्यावरण प्रदूषण पत्रिकामा प्रकाशित गरिएको थियो ।

“वायु प्रदूषणले मानव स्वास्थ्य, जैविक विविधता र जलवायुमा हानिकारक प्रभाव पार्छ, तर अब हामी वायु प्रदूषणले मौरी र अन्य परागकण कीराहरूलाई उनीहरूको मुख्य काम गर्नबाट कसरी रोक्छ भनेर देख्न सक्छौँ । हामीले वायु प्रदूषणमा कारबाही गर्न र भविष्यका लागि खाद्य उत्पादन र जैविक विविधताको रक्षामा मद्दत गर्न चेतावनीका रूपमा काम गर्नुपर्छ”, प्रोफेसर क्रिस्चियन प्रफ्राङले निष्कर्ष निकाल्नुभयो ।”

‘प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधारका लागि प्रदेश सरकार प्रतिबद्ध छ’

काठमाडौँ, १३ साउन : गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दुकुमार थापाले प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधारका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।आज दमौली अस्पतालको निरीक्षण पश्चात आयोजित अन्तरक्रियामा मन्त्री थापाले प्रदेशको स्वास्थ्य अवस्था सुधारका लागि योजनाबद्ध रूपमा काम गरिने बताउनुभयो । उहाँले तनहुँ सदरमुकामस्थित दमौली अस्पतालको स्तरोन्नतिका लागि आफूले पहल गर्ने जानकारी गराउनुभयो ।

स्थानीय जनप्रतिनिधि, नागरिकको चासो र खबरदारीअनुसार प्रदेश सरकार अस्पतालको स्तरोन्नति गर्न गम्भीर रहेको पनि यसमा सङ्घीय सरकारबाट पनि आवश्यक सहयोग जरूरी रहेको धारणा राख्नुभयो । “दमौली अस्पतालको स्तरोन्नतिका लागि प्रदेश सरकार गम्भीर छ तर हाम्रो एक्लो प्रयासले मात्र हुँदैन । सङ्घीय सरकारले यसका लागि निर्णय गर्नुपर्ने अवस्था छ”, हाल कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहनुभएका थापाले भन्नुभयो, “प्रदेश सरकारले स्तरोन्नतिको निर्णय गरे पनि सङ्घले यसको दरबन्दी र आर्थिक स्रोत सुनिश्चित नगरेसम्म कार्यान्वयन नहुने भएकाले त्यसतर्फ सबैले ध्यानाकर्षण गराउन आवश्यक छ ।”

प्रदेश सरकारले दमौली अस्पतालको सेवा विस्तारका लागि चालु आर्थिक वर्षमा रु चार करोड बजेट विनियोजन गरेको मन्त्री थापाले जानकारी दिनुभयो । स्वास्थ्य सचिव डा विनोदविन्दु शर्माले जग्गाको समस्याका कारण दमौली अस्पताल स्तरोन्नतिमा ढिलाइ भएको बताउनुभयो । उहाँले दमौली अस्पतालको मुख्य समस्या जग्गा प्राप्ति नहुनु रहेकाले यो समस्या समाधानका लागि ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

गण्डकी प्रदेशका पूर्वमन्त्री डोवाटे विश्वकर्मा, नेपाल रेडक्रस सोसाइटी तनहुँका सभापति प्रा डा कृष्णप्रसाद गौतम, पूर्वनगरप्रमुख ताराप्रसाद श्रेष्ठलगायतले अस्पतालको स्तरोन्नतिका लागि आवश्यक जग्गाको व्यवस्थापन गर्न लाग्नुपर्ने बताउनुभयो ।

अस्पतालका प्रमुख डा परिवर्तन बरालले पन्ध्र शय्यामा स्वीकृत अस्पतालले हाल ५० शय्यामा सेवा दिइरहेको जानकारी दिनुभयो । अस्पतालमा बढ्दो बिरामीको चापसँगै यसको स्तरोन्नति र सेवा विस्तार अति आवश्यक भइसकेको उहाँले बताउनुभयो ।

अवैध लागूऔषध सहित चार जना पक्राउ

काठमाडौं, १३ साउन – तनहुँ, आबुखैरेनी गाउँपालिका-४ बेनिटारस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ७० क्याप्सुल सहित ब्यास नगरपालिका-१ बस्ने १९ वर्षीय मनिष परियारलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी तनहुँ, बन्दिपुर गाउँपालिका-६ पुरानो साराङघाटबाट अवैध लागूऔषध गाँजा १ किलो ६ सय ९० ग्राम सहित देवघाट गाउँपालिका-३ फिदिम स्वाँरा बस्ने २२ वर्षीय पोमराज गुरूङलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय साराङघाटबाट खटिएको प्रहरीले घुमाउनेबाट साराङघाटतर्फ जाँदै गरेको बा.प्र.०३-००४ प १८९५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

झापा, मेचिनगर नगरपालिका-६ पुरानो मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम सहित सोही नगरपालिका-७ बस्ने २८ वर्षीय झक बहादुर खड्कालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सिटीसफारीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै सोधपुछको क्रममा उक्त घटनामा मेचिनगर नगरपालिका-७ बस्ने ३० वर्षीय खडग बहादुर दर्जीको संलग्नता रहेको भन्ने खुल्न आए पश्‍चात प्रहरीले दर्जीलाई समेत नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल मोदीवेणीधामको सम्पत्ति विवरण सार्वजनिक गर्न प्रशासनको ताकेता

पर्वत । पवित्र कालीगण्डकी र मोदीखोलाको सङ्गमस्थलमा रहेको पर्वतको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल मोदीवेणीधामको सम्पत्ति विवरण सार्वजनिक गर्न जिल्ला प्रशासन कार्यालयले तकेता गरेको छ । जिल्लाको कुश्मा नगरपालिका–५ स्थित मोदीवेणीमा रहेको नृसिंह मन्दिर र गुठीका नाममा सयौँ रोपनी जग्गा र करोडौँ रकम रहेको भए पनि अहिलेसम्म सम्पत्ति सार्वजनिक हुन नसकेको भन्दै प्रशासनले पत्र काटेको हो ।

डेढ दशकयता छ/सातपटक लगाइएका छ महायज्ञबाट सङ्कलित रकम, दैनिकजसो दर्शनाथी तथा भक्तजनबाट सङ्कलन हुने भेटी र विभिन्न सङ्घसंस्थाले गर्दै आएको आर्थिक सहयोग तथा जिन्सी सामग्रीको लगत अहिलेसम्म सार्वजनिक हुन नसकेकाका सम्पत्ति सार्वजनिक गर्न मोदीवेणीधाम व्यवस्थापन समितिका नाममा पत्र काटिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए ।

गुठीका नाममा जिल्लाको कुश्मा र फलेवास नगरपालिका तथा स्याङ्जाको अर्जुनचौपारी र आँधीखोला गाउँपालिकालगायत विभिन्न स्थानमा रहेको दुई सय ५० रोपनी जग्गाको विवरण समेत सार्वजनिक हुन सकेको छैन । लामो समयदेखि सरोकार भएका निकायले सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरे पनि मोदीवेणीधाम व्यवस्थापन समितिले आनाकानी गरेपछि प्रशासनले परिपत्र गरेको उनले बताए ।

एक वर्षअघि तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रेम आचार्यले परिपत्र गर्दा समितिले अटेर गरेपछि पुनः प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले पत्र पठाएका छन् । प्रशासकीय अधिकृत शर्माले गुठीका नाममा रहेको चल/अलच सम्पत्ति के कति छ, कसरी व्यवस्थापन भइरहेको छ भन्ने विवरण उपलब्ध गराउन पत्र पठाइएको जानकारी दिए । सरकारी तथा गुठीका नाममा रहेको सम्पत्ति संरक्षणको दायित्व प्रशासनको भएकाले एक साताभित्र विवरण उपलब्ध गराउन भनिएको उनले बताए ।

तोकिएको समयभित्र विवरण नआएमा अन्य प्रक्रिया थाल्ने प्रशासकीय अधिकृत शर्माले बताए । प्रसिद्ध मुक्तिनाथ मन्दिर जाने भक्तजनको आश्रयस्थलका रुपमा रहेको मोदीवेणीमा दुई दशक अघिसम्म नेपालका साथै भारतीय पर्यटकको समेत उत्तिकै चहलपहल हुन्थ्यो ।
मोदीवेणीधाममा वार्षिक रुपमा ठूलो आम्दानी हुने गरेको भए पनि अहिलेसम्म सार्वजनिक हुन नसक्दा हिनामिना भएको आशङ्का बढेको स्थानीय ८५ वर्षीय हरिप्रसाद आचार्यले बताए । “यस क्षेत्रको सबैभन्दा ठूलो धार्मिकस्थल मोदीवेणी हो ।

यहाँ पर्वत, बागलुङ र स्याङ्जालगायत जिल्लाका साथै भारतीय तीर्थयात्री आउँछन् । यात्राका क्रममा तीर्थयात्री यहीँ बास बसेर मुक्तिनाथ जान्छन्”, स्थानीय हरि सापकोटाले भने, “सीमित परिवारले यसको हिनामिना गरेका हुन सक्छन् । यथाशीघ्र सम्पत्ति विवरण सार्वजनिक गरेर सरकारले आवश्यक संरक्षणमा ध्यान दिनुपर्दछ ।”

मोदीवेणी नृसिंह धाम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केशवदास बैरागीले सदियौँदेखि मन्दिरको व्यवस्थापन बैरागी परिवारले गर्दै आएको बताउँदै यहाँ रहेको जग्गा र अन्य सम्पत्ति हिनामिना नभएको दाबी गरे । उनले पुजारी तथा पुजाकर्म व्यवस्थापन, मर्मतसम्भार, रङ्गरोगन, तीर्थयात्रीलाई खानपान, सरसफाइलगायत व्यवस्थापकीय काममा मन्दिरमा हुने आम्दानी खर्च हुने गरेको जानकारी दिए ।

सम्पत्ति विवरण सार्वजनिक गर्न प्रशासनले ताकेता गरेपछि विवरण तयारीमा लागेको जनाउँदै अध्यक्ष बैरागीले यहाँको सम्पत्ति विवरणमा कुनै अपारदर्शिता नभएको दाबी गरे । मोदीवेणीधाममा रहेको घाटमा पर्वतको कुश्मा नगरपालिका, फलेवास नगरपालिका, मोदी गाउँपालिका र स्याङ्जाको अर्जुनचौपारी र आँधीखोलागाउँपालिकाबाट शव दाहसंस्कारका लागि ल्याउने गर्दछन् । यहाँ हरेक एकादशीका साथै हरिशयनी, हरिबोधनी एकादशी, माघे सङ्क्रान्ति, वैशाख सङ्क्रान्ति, बालाचतुर्दशी, शिवरात्रीलगायत पर्वमा ठूलो मेला लाग्ने गर्दछ ।

पछिल्लो समय कुश्मादेखि मोदीवेणीसम्म सहज सडक यातायात र कालीगण्डकी लोकमार्गअन्तर्गत मोदीवेणीधामबाट ‘ट्र्याक’ खुलेपछि यहाँ मेला भर्न तथा दाहसंस्कारका लागि आउनेहरुलाई सहज भएको छ ।

चितवनमा बँदेल मार्न थापेको विद्युतीय धरापमा परी गैँडा मरेपछि चार जना पक्राउ

चितवन, साउन १३-बँदेल मार्न थापेको विद्युतीय धरापमा परी गैँडा मरेपछि चार जनालाई पक्राउ गरिएको छ । भरतपुर महानगरपालिका–२६ मा गैँडा मारेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिनुभयो ।

स्थानीयले मकैबारीमा आउने गरेको बँदेल मार्न थापेको विद्युती पासोमा परी अन्दाजी १३ वर्षको पोथी गैँडा मरेको र घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।सुरुआतमा गैँडा प्राकृतिक कारणले मरेको जस्तो देखिए पनि शव परीक्षणका क्रममा विद्युतीय धरापमा पारी मारिएको खुलेपछि अनुसन्धानका लागि चार जनालाई पक्राउ गरिएको प्रमुख संरक्षण अधिकृत पुर्जा पुनले बताउनुभयो । “गैँडाको खाग, खुर सुरक्षित भए पनि जुनसुकै किसिमले वन्यजन्तुलाई घाइते बनाउने, घेरा हाल्ने, लखेट्ने, मार्ने जस्ता गतिविधि चोरी शिकारीअन्तर्गत पर्दछन्”, उहाँले भन्नुभयो ।

पुनकानुसार अनुसन्धानका क्रममा साउन ८ गते दुई जना र १० गते दुई जनालाई पक्राउ गरिएको थियो । पक्राउ परेका चारै जनालाई चितवन जिल्ला अदालतबाट छ दिनको समय थप गरी अनुसन्धान भइरहेको छ । पक्राउ परेका चार जनालाई संरक्षित वन्यजन्तु चोरी शिकारी ऐनअन्तर्गत म्याद थप गरिएको हो । ऐनको व्यवस्थानुसार यस्तो कार्यमा सङ्लग्नलाई रु पाँच लाखदेखि १० लाखसम्म जरिवाना र पाँच वर्षदेखि १५ वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने व्यवस्था छ ।

सहज प्रदर्शनका लागि चलचित्र बुलाकीको सहयोग अपिल

काठमाडौं । यहि साउन ३२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बुलाकी’ निर्माण टिमले चलचित्र सम्बद्ध विभिन्न संघ संस्थालाई ज्ञापनपत्र बुझाउँदै सहयोगको लागि आह्वान गरेको छ । नेपाली समाजको वास्तविक एवम् मौलिक कथा उठान गरेको चलचित्रको प्रदर्शनमा सहजता खोज्दै ज्ञापनपत्र प्रदान गरिएको हो ।

निर्माण ब्यानर छत्रेश्वरी म्यानेजमेन्टको तर्फबाट निर्माता तथा कलाकार विराज विष्टले चलचित्र विकास बोर्ड, चलचित्र निर्माता संघ, चलचित्र संघ लगायतका संघ संस्थाको कार्यालयमा पुगेर सहयोगको अपिल गरेका हुन् ।

देशको आफ्नै समाजको मौलिक कथा उठान गरेको ‘बुलाकी’लाई नेपाल र विश्वभरी छरिएका नेपाली दर्शकहरू नजिक पुर्याउनुपर्छ र पुग्नुपर्छ, हरेक नेपालीले हेर्नुपर्छ भन्ने हाम्रो बुझाइ छ । साउन ३२ गते रिलिज हुने यो चलचित्रलाई धेरै भन्दा धेरै दर्शकमाझ पुग्ने वातावरण बनाउन यहाँहरुको साथ, सहयोग र सद्भावको खाँचो महसुस गरेको छु ।’ विष्टले पत्रमा उल्लेख गरेका छन् ।

निर्माता विष्टले देशको परिवेश र यथार्थता बोकेको फिल्म हेर्नको लागि नजिकको चलचित्र घरमा पुगेर आफ्नो टिमको प्रयासमा हातेमालो गर्न सम्पूर्ण नेपाली दर्शकलाई आह्वानसमेत गरेका छन् ।

पश्चिम नेपालमा विद्धमान जारी प्रथाको यथार्थ कथा उठान गरेको चलचित्रले यो बीचमा देश तथा विदेशमा सम्पन्न विभिन्न ख्यातीप्राप्त अवार्ड तथा चलचित्र महोत्सवहरूमा उत्कृष्ट चुनिँदै आफ्नो अब्बलता प्रस्तुत गरिसकेको छ । नेपाल सरकारबाट विशेष चलचित्रको अवार्ड प्राप्त गरेको ‘बुलाकी’मा सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट, सरस्वती खत्री लगायत प्रमुख अभिनयमा छन् । लक्ष्मण सुनार फिल्मका निर्देशक हुन् ।

क्यालिफोर्नियामा इतिहासकै सातौँ ठूलो आगलागी

सिको, संयुक्त राज्य अमेरिका, १३ साउन । उत्तरी क्यालिफोर्नियाको आगलागी पश्चिमी अमेरिकी राज्यमा अहिलेसम्मकै ठूलोमध्ये एक भएको अधिकारीहरूले शनिबार बताएका छन् ।
‘क्यालिफोर्निया पार्क फायर’ शनिबार साँझसम्म तीन लाख ५० हजार हेक्टरभन्दा बढी भागमा फैलिएपछि यो क्यालिफोर्नियाको इतिहासमा रेकर्ड गरिएको सातौँ ठूलो आगलागी भएको राज्य एजेन्सी क्याल फायरले जनाएको छ ।

राज्यको राजधानी स्याक्रामेन्टोबाट करिब १४५ किलोमिटर उत्तरमा रहेको सिको सहर नजिकैको ठूलो ग्रामीण पहाडी क्षेत्रमा भएको आगलागीबाट ४ हजारभन्दा बढी मानिसहरू आफ्नो घर छाड्न बाध्य भएका छन् ।

“फैलिदै गएको आगोले अग्नि नियन्त्रकलाई चुनौती दिइरहेको छ”, क्याल फायरले एक्सको एक पोस्टमा जानकारी गराएको छ ।एजेन्सीका अनुसार एक दर्जनभन्दा बढी हेलिकप्टर र विमानका साथै तीन हजार ७०० भन्दा बढी कर्मचारीहरूको प्रयासका बावजुद पनि आगो १० प्रतिशत मात्र निभाउन सकिएको थियो ।

कम तापक्रम र उच्च आद्रताले आगलागीको गति कम भएतापनि अझै फैलिरहेको एजेन्सीले जनाएको छ ।क्याल फायरको पछिल्लो अपडेटमा आगलागीका कारण २० वटा संरचनाहरू नष्ट भएको पुष्टि गरेको छ ।जलिरहेको कारलाई सुक्खा झाडीमा धकेलेर आगो लगाएको शङ्कामा ४२ वर्षीया व्यक्तिलाई बिहीबार प्रहरीले हिरासतमा लिएको छ ।

पक्की सडकले सुगम बन्दै खजुराका ग्रामीण बस्ती

राँझा (बाँके), १३ साउन । पक्की सडक निर्माणसँगै जिल्लाको खजुरा गाउँपालिकाका ग्रामीण बस्ती सुगम बन्दै गएका छन् । खजुरा–१ मा भारतीय सीमाक्षेत्रसँगै जोडिएको जलपोखरी, सैनिकलगायत राधापुरका बस्तीसम्म पक्की सडक निर्माण भएका छन् ।

परसपुर–गौघाट सडकको विकल्पमा लुम्बिनी प्रदेश सरकारले निर्माण गरेको बेलभार–राधापुर हुँदै सीतापुरसम्मको पक्की सडकले खजुरा–१ क्षेत्रको स्वरुप परिवर्तन भएको स्थानीय भीम ओलीले बताए ।

“पहिला कच्ची बाटो हुँदा आवतजावतमा कठिनाइ हुने गथ्र्यो, अहिले पक्की सडकले यहाँका गाउँबस्ती पनि सुगम हुँदै गएका छन्”, ओलीले भने, “गौघाट–परसपुर मुख्य सडकअन्तर्गतको किरणनाला पुल भत्किएपछि अहिले यस क्षेत्रका सबैजसो सैनिक–बेलभार सडकबाट आवतजावत गर्ने गरेका छन् ।”

गाउँमा पक्की सडक बनेपछि अहिले चहलपहल बढेको स्थानीय न्याउलीडाँडा निवासी अञ्जली सुनारले बताए । निर्माणाधीन परसपुर–गौघाट सडक अलपत्र परेपछि अहिले खजुरालगायत बर्दियाको जमुनी क्षेत्रमा जाने सर्वसाधारणले यही सडक प्रयोग गर्न थालेका छन् । पक्की सडक बनेपछि राधापुरबाट आधा घण्टामा सदरमुकाम नेपालगञ्ज पुग्न सकिने उनले उल्लेख गरे ।

“राधापुर क्षेत्रका दुर्गम गाउँबस्तीमा फराकिला सडक बनेर सवारीसाधन गुड्लान भनेर धेरैले सोचेकै थिएनन्, अहिले विकासले गति लिएको छ”, सुनारले भने, “बेलभार–राधापुर पक्की सडक निर्माण भएपछि यससँगै जोडिएका गाउँ बस्ती पनि सुगम भएका छन् ।”

आठ वडा रहेको खजुरा गाउँपालिकाको वडा नं १ भारतीय सीमासँग जोडिएको छ । पक्की सडक निर्माणले राधापुरका गाउँबस्ती सुगम भएका गाउँपालिकाका प्रवक्तासमेत रहेका वडा नं २ का वडाध्यक्ष धनीराम ओलीले बताए । खजुरामा पूर्वाधार विकासलाई प्राथमिकता दिइएको उनको भनाइ छ ।

“यहाँका नागरिकको आवागमन सहजताका लागि सडक तथा पुल निर्माणलाई पहिलो प्राथमिकतामा राखीर काम थालेका छौँ, लगातारको प्रयासले अहिले गाउँपालिकामा पक्की सडक बनिरहेका छन”, गाउँपालिका प्रवक्ता ओलीले भने, “गाउँपालिकाको बजेटले मात्रै पूर्वाधार विकास सम्भव नभएकाले प्रदेश र सङ्घीय सरकारसमक्ष योजना पेस गरेका छौँ ।” चालु आर्थिक वर्षमा पनि निर्माणाधीन पक्की सडकका योजनालाई सम्पन्न गर्ने र केही नयाँ सडक कालोपत्र गर्नेगरी योजना निर्माण भएका उनले जानकारी दिए ।

अगरतला रेलवे स्टेशनमा २३ बङ्गलादेशी पक्राउ

काठमाडौँ, १३ साउन : सरकारी रेलवे पुलिस अधिकारीहरू (जिआरपी) ले एउटा महत्त्वपूर्ण अपरेशनमा २३ जना बङ्गलादेशी नागरिकलाई अगरतला रेलवे स्टेशनबाट पक्राउ गरेको छ । यसमा दलालको रूपमा चिनिने व्यक्ति पनि समावेश छ ।शनिबार पक्राउ परेका सबै मुख्य रूपमा बङ्गलादेशको चपाई नवाबगञ्ज जिल्लाका रहेको जीआरपीले जनाएको छ ।

त्यस घटनामा दलालका रूपमा मोहम्मद सेलिम रेजा (२७) को पहिचान भएको छ । यसमा पक्राउ परेका व्यक्तिहरू हाल उनीहरूको गतिविधिको प्रकृति र यस क्षेत्रमा हुनुको उद्देश्य पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।

अधिकारीहरूले घटनामा संलग्न कुनै पनि फराकिलो जडान वा नेटवर्कहरू पत्ता लगाउन काम गरिरहेका छन्

काठमाडौँमा तीन जना हैजाका बिरामी भेटिए

काठमाडौँ, १३ साउन : काठमाडौँमा तीन जना हैजाका बिरामी भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रशोगशालामा परीक्षण गर्दा कालीमाटी क्षेत्रका तीन जना पुरुषमा हैजा पुष्टि भएको स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख डा अर्जुन सापकोटाले जानकारी दिनुभयो ।

बिरामीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । “तीन जनामा रोग पुष्टि भएको छ । हैजा कसरी फैलियो भन्नेबारेमा अध्ययन गर्न टोली पठाइएको छ । अन्यत्र फैलिन नदिनका लागि सचेत छाँै”, डा अर्जुन सापकोटाले भन्नुभयो ।

यसअघि ललितपुरको एक सुधार केन्द्रमा हैजाका सात जना बिरामी भेटिएका थिए । कार्यालय प्रमुख डा सापकोटाले दूषित पानीका कारण हैजा फैलिएको हुनसक्ने बताउनुभयो । केही दिनअघि टुकुचा खोला र बागमती नदीको सङ्गम स्थलमा टेकुमा पोलियोको जीवाणु देखिएको थियो ।

चिकित्सककानुसार हैजाको जीवाणु सङ्क्रमित खाना वा पानीको सेवन, सरसफाइ तथा स्वच्छ खानेपानीको कमीले लाग्ने गरेको गर्दछ । सङ्क्रमितको समयमै उपचार नभएमा मृत्यु पनि हुनसक्दछ । हैजाका मुख्य लक्षणमा पातलो तथा चौलानी पानी जस्तो दिसा, वाकवाकी र बान्ता हुने, कडा जलवियोजन हुने हुन्छ । यस्तै कडा लक्षण देखिएमा आँखा गाडिने, मुख, जिब्रो र घाँटी सुक्खा हुने, तिर्खा लाग्ने, छाला सुक्खा हुने, रक्तचाप कम हुुने, पिसाब पहेँलो हुने र पिसाबको मात्रा कम हुने हुन्छ ।

देवी प्रतिभाका बडीगार्डहरुलाई बालयोगेश्वर विजय कृष्णमूर्ति जी महाराजले गरे सम्मान

काठमाडौँ । धार्मिक कथावाचनमा लोकप्रियता कमाइरहेकी अन्तर्राष्ट्रिय कथावाचिका प्रतिभा पराजुली, देवी प्रतिभाका बडीगार्डहरुलाई कोटिहोम महायज्ञमा सम्मान गरिएको छ । पशुपतिनाथमा जारी कोटिहोम महायज्ञमा देवी प्रतिभा जीका ९ जना बडीगार्डलाई बालयोगेश्वर विजय कृष्णमूर्ति जी महाराजले दुबोको मालाले सम्मान गरेका हुन् ।

भारत सरकार र देवी प्रतिभाको फाउण्डेसनले उहाँको सुरक्षाका लागि भन्दै दिएका बडीगार्डले कार्यक्रममा रहँदा मर्यादित र अनुशाशित भूमिका खेलेको भन्दै उनीहरुलाई सम्मान गरिएको आयोजक मानव सेवा फाउण्डेसनले जनाएको छ । आयोजकका अनुसार अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभाले थप दुई दिन पशुपति कोटिहोम महायज्ञमा कथावाचन गर्ने भएकी छन् । शनिबार भारत फर्किनेगरी महायज्ञमा कथा प्रवचन गर्न आएकी देवीप्रतिभा सोमबारसम्म नेपालमै बस्न लागेकी हुन् । उनले भोलिदेखि भारतमा हुने प्रवचन केही समयलाई पर सारेर थप दुई दिन पशुपति कोटिहोममा प्रवचन दिन लागेकी हुन् । शनिबारदेखि बिहानीसत्रमा रामकथा प्रवचन गरिरहेकी देवी प्रतिभाले भोलीसम्म महायज्ञमा कथा प्रवचन गर्नेछिन् ।

त्यस्तै देवी प्रतिभाले भोली भत्तजनहरुसँग प्रत्यक्ष रुपमा अन्तरक्रिया गर्ने कार्यक्रम समेत रहेको बताइएको छ । यसैबिच देवी प्रतिभालाई गृह जिल्ला काभ्रेमा अभिनन्दन तथा सम्मान गरिएको छ । आध्यात्म क्षेत्रमार्फत काभ्रे र देशकै नाम उच्च राखेको भन्दै काभ्रे सेवा समाज र पनौती नगरपालिकाले शनिवार पनौतीमा एक कार्यक्रम गरेर सम्मान गरेको काभ्रे सेवा समाजका अध्यक्ष प्रल्हाद केसीले जानकारी दिए ।

पशुपति क्षेत्र, वनकाली काठमाडौँमा जारी पशुपति कोटीहोम तथा १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञमा कथावाचनको लागि नेपाल आएको बखत उनलाई सम्मान गरिएको हो । देवी प्रतिभाले पनौतीको त्रिवेणीधाम, इन्द्रेश्वर मन्दिर, मुक्तिनाथ मन्दिर पुगेर दर्शन गरेकी थिइन् । नगर प्रमुख रामशरण भण्डारीले धार्मिक स्थल पनौतीमा सत्ययुग, द्वापरयुग र रामायणकालीन इतिहास रहेको भन्दै पवित्र स्थलको नामको भारतमा गलत व्याख्या भएको भन्दै त्यो भ्रम चिरिदिन र पनौतीको महिमाबारे प्रचार प्रसार गरिदिन अनुरोध गरे । सम्मानपछि देवी प्रतिभाले आफ्नो गृहजिल्लामा अपनत्व प्राप्त गरेको अनुभव सुनाइन् । उनले भनिन्,”देश विदेशमा पनौतीको महिमाबारे जानकारी गराउॅछु । नेपाल हिन्दू राष्ट्र थियो, छ र रहनेछ”, उनले भनिन् ।

मण्डनदेउपुर नगरपालिका वडा नम्बर १०, ज्वानेटारमा जन्मिएकी प्रतिभा भारतलाई कर्मथलो बनाएर धार्मिक कथावाचन गरिरहेकी छन् । प्रारम्भिक शिक्षासमेत नेपालमै हासिल गरेकी प्रतिभा अध्ययनको लागि वृन्दावन पुगेकी थिइन् । उनले संस्कृतमा आचार्य तह पूरा गरेकी छिन् । कोटिहोम महायज्ञबाट विश्व कल्याणसँगै ललितपुरमा सञ्चालित मामाघर आश्रम र भक्तपुरको ताथलीमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माणको सहयोगार्थ उक्त महायज्ञ आयोजना गरिएको हो।

ऐतिहासिक श्री पशुपति कोटिहोम धार्मिक तथा साँस्कृतिक तुलादान महामहोत्सव एवं १०८ श्रीमद्भागवत संकट मोचन ९दुःख निवारण० शिव महापुराण धनधान्याचल श्री रामायण कथा मासिक पितृ उद्धार तथा मामाघर अनाथालय आश्रम, ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माण आदि सहयोगार्थ सँगसँगै आश्रमहरूको सर्वाङ्गीण विकासका लागि उक्त ज्ञान महायज्ञ आयोजना गरिएको फाउण्डेशनले जनाएको छ ।

मोदीबेनी’का कलाकारहरूद्वारा बागमती नदीमा र्‍याफ्टिङको शुभारम्भ

काठमाडौं। श्रावण १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’का कलाकारहरू वर्षा सिवाकोटी र अमर प्रताप श्रेष्ठले बागमती नदिमा र्‍याफ्टिङको शुभारम्भ गरेका छन्। नेपाल नदी संरक्षण संस्था, फ्रेन्ड्स क्लब र बागमती सफाइ महाअभियानको सहकार्यमा बागमती नदी महोत्सव महाजल जात्रा अन्तर्गत शनिवार र्‍याफ्टिङको शुभारम्भ भएको हो।

थापाथली पुलबाट चोभारसम्म वर्षा र अमरले र्‍याफ्टिङ गरेका थिए। अभिनेत्री वर्षा सिवाकोटीले नदी संरक्षणमा राज्यको दायित्व हुनुपर्ने बताइन्। त्यस्तै, अभिनेता अमरप्रताप श्रेष्ठले यो अभियानलाई सबैले मिलेर सफल बनाउन पर्ने र काठमाडौंमा नै र्‍याफ्टिङको मज्जा लिन पाउँदा आन्तरिकसँगै विदेशी पर्यटकको लागि पनि आकर्षण हुन सक्ने बताए।

बागमती सभ्यतालाई बचाउन नागरिकलाई जनचेतना जगाउने उद्देश्यले हरेक वर्ष बागमतीमा र्‍याफ्टिङको आयोजना हुने गर्छ, जहाँ सयौँ जनाले एकसाथ र्‍याफ्टिङ गर्ने गर्छन्। आइतबारदेखि थापाथली देखि चोभारसम्म सर्वसाधारणले पनि र्‍याफ्टिङ गर्न पाउनेछन्। यसको लागि विद्यार्थीलाई पाँच सय र अन्यलाई नौ सय रुपैयाँ तोकिएको छ।

काठमाडौंमा पनि र्‍याफ्टिङ नियमित हुनु भनेको ऐतिहासिक काम भएको र यो सबैको देन बागमती सभ्यता अभियानलाई जाने सामाजिक अभियन्ता चक्र चन्दले बताए।

शङ्कर कोइरालाले निर्देशन गरेको यस चलचित्रमा वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ, सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य, अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, सरोज अर्याल, लविस गर्तौला, सुरेन्द्र बराल, रोजी श्रेष्ठ, हिउवाला गौतम लगायतको अभिनय रहेको छ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्रमा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह निर्माता रहेका छन्। चलचित्रलाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन्। यसमा उत्सव दाहालको छायाङ्कन र भरत रेग्मीको सम्पादन छ। चलचित्रमा दीपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, किरण थापाको कोरियोग्राफी, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन, शैलेश श्रेष्ठ र रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर, शैलेश श्रेष्ठको साउन्ड डिजाइन, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, समीर मियाँको भिएफएक्स, सन्तोष लामाको कला निर्देशन, राजु तामाङको द्वन्द्व निर्देशन रहेको छ।

ट्राइडेन्ट कन्सेप्टको पोस्टर तथा सोसल मिडिया पब्लिसिटी डिजाइन रहेको गर्ने यस चलचित्रलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन्।

नगद र सुनका गहना चोरी भाग्दै गरेको अबस्थामा १९ वर्षीय विकेश पक्राउ

काठमाडौं, १३ साउन – चोरी गरी भाग्दै गरेको अवस्थामा नुवाकोट विदुर नगरपालिका-१७ घर भई काठमाडौं महानगरपालिका-१६ ठमेल बस्ने १९ वर्षीय विकेश शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-५ कालोपुल डेरा गरी बस्ने सुनसरी गढी गाउँपालिका घर भएका ५६ वर्षीय भुपेन्द्र तुलाधरको कोठाबाट नगद र सुनका विभिन्न गरगहना गरी करिब १० लाख ७६ हजार ६ सय १० रूपैयाँ बराबरको धनमाल चोरी गरी भाग्दै गरेका उनलाई प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उक्त गरगहना सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सञ्चारमन्त्री गुरुङद्वारा मानवसेवा आश्रम भवनको निरीक्षण

लमजुङ, साउन १३ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यहाँ निर्माणाधीन मानवसेवा आश्रम भवनको निरीक्षण गर्नुभएको छ । बेँसीसहर नगरपालिका-९ पाखाथोकमा निर्माणाधीन मानवसेवा आश्रमको उहाँले स्थलगत निरीक्षण गर्नुभएको हो ।

आश्रमको निरीक्षण गर्दै सञ्चारमन्त्री गुरुङले आफू प्रदेशको मुख्यमन्त्री हुँदा नै आश्रमलाई सक्दो सहयोग गरेको र आगामी दिनमा पनि बजेटका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले असहाय, बेवारिसे, दिन दुःखीलाई आश्रय दिएर आश्रमले सराहनीय काम गरेको बताउनुभयो । सो अवसरमा आश्रमकी संयोजक अनिता अधिकारीले सञ्चारमन्त्री गुरुङलाई भाडामा आश्रम सञ्चालन गर्दा समस्या भएको बताउनुभयो ।

आश्रमका लागि धेरै संरचना बन्न बाँकी रहेको उहाँले सञ्चारमन्त्री गुरुङलाई जानकारी दिनुभयो । पहिरो रोकथाम गर्न, पर्खाल टेवा लगाउन, जग्गा समाउन र तीनवटा घर निर्माण गर्न ६ करोड खर्च भइसकेको संयोजक अधिकारीको भनाइ थियो । वि.सं.२०७८ देखि आश्रम निर्माण थालिएको हो । गण्डकी प्रदेश सरकार, पालिका, विभिन्न सङ्घसंस्थाको भवन निर्माण भइरहेको छ ।

आश्रमको भवन निर्माण गर्न ‘बालसपना समाज’ले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको छ । वि.सं.२०७३ चैतदेखि बेँसीसहर नगरपालिका-७ मा घर भाडामा लिएर आश्रम सञ्चालन गरिएको छ । हाल आश्रममा २३ जना रहेका संयोजक अधिकारीले बताउनुभयो ।

‘हवाई दुर्घटनाका कारण मुलुकको साख नै कमजोर बन्यो’

काठमाडौँ, १३ साउनः प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले हवाई दुर्घटनाका कारण मुलुकको साख नै कमजोर बनेको भन्दै त्यसको कारण पत्ता लगाएर तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकको विशेष समयमा सांसद शिशिर खनालले परीक्षणका लागि कास्कीको पोखरा लैजान खोजिएको सौर्य एयरलाइन्सको जहाजमा अप्राविधिक व्यक्ति किन चढाइएको हो भन्ने प्रश्न गर्नुभयो । उहाँले पछिल्ला दिनमा हवाई दुर्घटनामा वृद्धि भएपनि नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च पदस्थ कर्मचारीलाई कुनै जिम्मेवार नबनाइएका आपत्ति प्रकट गर्नुभयो ।

सांसद धवलशम्सेर जबराले नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमन र सेवा प्रदायक नछुट्याउँदा समस्या पैदा भएको, मुलुक कालोसूचीमा परेको बताउनुभयो ।

राष्ट्रियसभाले पारित गरेको प्राधिकरणसँग सम्बन्धित विधेयक प्रतिनिधिसभामा पेस हुन नसक्नुको पछाडिको कारण पत्ता लगाउन उहाँको आग्रह थियो । सांसद राणाले नक्कली भुटानी शरणार्थी प्रकरण छानबिनका संलग्न उच्च प्रहरी अधिकारीलाई दुई महिना पनि नपुग्दै सरुवा गरिएका कारण के हो भन्ने प्रश्न गर्नुभयो ।

सांसद मेटमणि चौधरीले डेडिकेटेड र ट्रङ्कलाइन प्रयोग गर्ने उद्योगले महसुल तिर्नैपर्ने बताउनुभयो । उहाँले ठूला व्यवसायीलाई सदासयता देखाउने र साना तथा कमजोरको लाइन काटिने अवस्थाको अन्त्य कहिले हुने होला भन्ने जिज्ञासा राख्नुभयो ।

सांसद रञ्जुकुमारी झाले सौर्य एयरलाइन्सको दुर्घटनाको निष्पक्ष छानबिनको माग गर्नुभयो । “मर्मत गर्नुपर्ने जहाजमा किन असम्बन्धित व्यक्तिलाई चढाइयो ?”, उहाँले प्रश्न गर्नुभयो ।

सांसद अब्दुल खानले पछिल्लो १५ दिनमा हृदय विदारक घटना भएको उल्लेख गर्दै सौर्य एयरलाइन्स र सिमलताल दुर्घटनामा परेका नागरिकप्रति सरकारले विभेद गरेकामा गुनासो गर्नुभयो ।

सांसदद्वय गंगाराम चौधरी र राजकिशोर यादवले पनि बस दुर्घटना र हवाई दुर्घटनामा परेका नागरिकप्रति राज्यले नै विभेद गरेको बताउनुभयो । उहाँले मर्मत सम्भारमा जान लागेको जहाजमा महिला, बालबच्चा किन राखियो भन्ने प्रश्न गर्नुभयो ।

सांसद रामप्रकाश चौधरीले खेतीको समयमा किसानले यथेष्ट मात्रामा रासायनिक मल प्राप्त गर्न नसकेको भन्दै गुनासो गर्नुभयो । सांसद प्रेम सुवालले मुलुकका विभिन्न वेथिती मौलाएको भन्दै जिम्मेवारीमा रहेकालाई कारवाहीको दायरामा ल्याउन आग्रह गर्नुभयो । उहाँले डेडिकेटेड र ट्रङ्क लाइनबाट बिजुली प्रयोग गरेका उद्योगलाई कुनै पनि हालतमा छुट दिन नहुने बताउनुभयो ।

सांसद नारायणप्रसाद आचार्यले देशभर अलपत्र परेका विभिन्न विकास आयोजनाको शीघ्र सम्पन्न गर्न आग्रह गर्नुभयो । उहाँले निर्वाचित जनप्रतिनिधिको संयोजकत्वमा विकास निर्माणका आयोजना छनोट गर्ने र कार्यान्वयनमा लैजाने गरी संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।सांसद दामोदर पौडेलले कास्कीको विभिन्न स्थानमा बाढी र पहिरोका कारण जनजीवन प्रभावित भएको भन्दै प्रभावितलाई क्षतिपूर्ति र राहतको प्रबन्ध गर्न माग गर्नुभयो ।

कर्णाली प्रदेश : पर्यटकीय क्षेत्रबाट दुई करोड १४ लाख राजस्व सङ्कलन

कर्णाली, १३ साउनः कर्णाली प्रदेश सरकारले प्रदेशका केही पर्यटकीय क्षेत्रबाट रु दुई करोड १४ लाख ७५ हजार नौ सय १७ राजस्व सङ्कलन गरेको छ ।आर्थिक वर्ष २०८०÷८१ मा प्रदेश सरकारले रारा राष्ट्रिय निकुञ्जबाट रु ४१ लख १२ हजार दुई सय, सुर्खेत प्रादेशिक सहिद पार्कबाट रु ९० लाख ९० हजार, काक्रेबिहारबाट रु ११ लाख ५० हजार तीन सय र बुलबुले उद्यानबाट रु ७१ लाख १४ हजार चार सय १७ राजस्व सङ्कलन गरेको हो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पर्यटन विकास शाखाका प्रमुख प्रशासकीय अधिकृत देवकुमारी शाहीका अनुसार से–फोक्सुण्डो ताल, गुराँसे गाउँपालिकामा रहेको दैलेख‘भ्यूटावर’बाटसङ्कलन भएको राजस्व यसमा समावेश भएको छैन ।

पर्यटकीयस्थलले युक्त कर्णालीका सल्ल्यानको कुपिण्डे ताल, रुकुमपश्चिमको स्यार्पुताल, जुम्लाको गिडी दह, चन्दननाथ मन्दिर, कनकासुन्दरी, डोल्पाको त्रिपुरासुन्दरी, कालिकोटको पचाल झरना, दैलखेको पञ्चकोशी, दुल्लु दरबार, गढी क्षेत्र, हुम्लाको लिमी उपत्यका, जाजरकोट दरबार, सुर्खेतको बराहताल, जाजुरा दहलगायत स्थानको अभिलेख पनि मन्त्रालयसँग नभएको उहाँले बताउनुभयो ।

ताप्लेजुङ पाथीभराको विकल्प बन्दै भेडेटारको पाथीभरा

धरान (सुनसरी), १३ साउनः सिराहाबाट आउनुभएका रामबाबु यादव शनिबार भेडेटारको पाथीभरा मन्दिरमा भेटिनुभयो । यो मन्दिरमा पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने ठानेर आफू दोस्रोपटक आएको उहाँले बताउनुभयो ।

दुहवी नगरपालिकाका विजयकुमार गौतमले पनि पाथीभरा दर्शन गरे चिताएको पूरा हुने विश्वासका कारण भेडेटार आएको बताउनुभयो ।

विराटनगरका उमेश साहले परिवारको प्रगति र शान्तिको कामना मन्दिर आएको बताउनुभयो । उहाँले भन्नुभयो, “ताप्लेजुङको पााथिभर पुग्न हामीलाई केही दिन लाग्छ, ठूलो पाथिभराको झै महत्व भएकाले यहीँ पूजा गरेको उहाँले बताउनुभयो ।उक्त मन्दिरमा पूजार्चजना गरेमा मागेको कुरा पूरा हुन्छ भन्ने विश्वासका कारण प्रायः आफू सपरिवार आउने गरेको उहाँले सुनाउनुभयो ।

देशका विभिन्न भागका साथै भारतका सिक्किम, दार्जिलिङलगायत स्थानबाट यहाँ भक्तजन आउने गरेका मन्दिरका पुजारी आइतबहादुर लिम्बूले बताउनुभयो । दैनिक सरदर दुई सय ५० तथा वार्षिक ५० हजार भक्तजन आउने गरेका उहाँले बताउनुभयो ।

यहाँ बिहानदेखि बेलुकासम्म पूजा हुने गरेकाले बेलुकासम्म नै मान्छेको चहलपहल हुने गर्दछ । मन्दिरका कारण कोशी प्रदेशको धार्मिक पर्यटकीयस्थलका रूपमा भेडेटार विकसित भएको पुजारी लिम्बूले बताउनुभयो ।

विगतमा देवीको यो मन्दिरमा भेडा–बोकाको बलि दिने गरिएकामा हाल परेवा उडाउने, फलफूल चढाउने र शृङ्गारका सामग्री चढाउने थालिएको छ । ताप्लेजुङको पाथिभरा मन्दिर पुग्न नसक्नेहरूले यहीँबाट भाकल पूरा गर्ने पुजारी लिम्बू बताउनुहुन्छ ।

समुद्र सतहबाट एक हजार चार सय मिटर उचाइमा रहेको देवीको मूर्तिलाई २०५७ सालमा मन्दिर स्थापना गरी पूजा गरिँदै आइएको छ । यो मन्दिरबाट ताप्लेजुङको पाथीभरा देखिने भएकाले यसलाई सोही मन्दिरको प्रतीक मानेर पूजाआराधना हुने गरेको छ ।

नेकपा एसको केन्द्रीय कमिटी बैठक सोमबार

काठमाडौँ, १३ साउनः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटी बैठक भोलि सोमबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार १ः०० बजे बस्ने बैठकले केन्द्रीय सदस्य टुङ्गो लगाउने केन्द्रीय सदस्य आलोक रायमाझीले राससलाई जानकारी दिनुभयो ।

पार्टी विधानअनुसार दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएकामा अब तीन सय २९ सदस्यीय कार्यसमिति विस्तार हुनेछ ।

सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनयन गर्ने, कमिटीलाई पूर्णता दिएपछि पदाधिकारी चयन गर्नेलगायत विषयमा छलफल हुने नेता रायमाझीले बताउनुभयो ।

खर्च धान्न नसकेर दाङमा आठ सय ७७ वटा व्यावसायिक फर्म बन्द

घोराही (दाङ), १३ साउनः आर्थिक वर्ष २०८०÷८१ मा सञ्चालन खर्च धान्न नसकेर दाङमा आठ सय ७७ वटा व्यावसायिक फर्म बन्द भएका छन् । व्यवसाय बन्द गर्ने र खोल्नेको सङ्ख्या समान छ । घरेलु तथा साना उद्योग कार्यालयमा उत्पादनमूलक, कृषि तथा वनजन्य, ऊर्जामूलक, खनिज जन्य, निर्माण उद्योग, सेवामूलक र सूचना तथा प्रविधिसम्बन्धी उद्योग दर्ता भएका छन् । नयाँ दर्ता गर्नेको सङ्ख्या र बन्द गराउनेको सङ्ख्या उस्तै रहेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सन्तोषकुमार सुवेदीले बताउनुभयो ।

दर्ता भएका उद्योगमध्ये कृषि तथा वनजन्यमा वृद्धि भएको उहाँले बताउनुभयो । सञ्चालन घाटा भएपछि उद्योगको लगत कट्टा गर्नुपरेको व्यवसायीले बताएका छन् । योे अवधिमा चार सय ७१ वटा उद्योग बन्द भएका छन् ।

समीक्षा अवधिमा पाँच सय ९६ वटा फर्म दर्ता भएकामा पाँच सय ९२ वटा निजी र चारवटा साझेदारी फर्म छन् । एक हजार चार सय ५७ वटा फर्मको नवीकरण भएको छभने दुई सय ९२ वटाले पुँजी वृद्धि गरेका छन् ।

एक वर्षमा पाँच सय १३ वटा उद्योग थपिएका छन् । थपिएका उद्योगमा पाँच सय ४८ जना नयाँ उद्यममा दत्तचित्त भएर लागेका छन्भने एक हजार पाँच सय ६२ जनाले रोजगारी प्राप्त गरेका घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । एक हजार एक सय ५६ वटा उद्योगले नवीकरण भएका छन् । यो अवधिमा उत्पादनमूलक उद्योग ९८ वटा थपिएका छन् । कृषि तथा वनजन्य उद्योग दुई सय ३१ वटा थपिएका छन् । पर्यटन उद्योगतर्फ ६१ वटा थपिएका छन् । सेवामूलक उद्योगको सङ्ख्या एक सय २३ पुगेको छ ।

समाजसेवी घिमिरे दम्पतीद्धारा खाँदबारी बालविकास समाजलाई एक करोड सहयोग

काठमाडौँ, १३ साउनः समाजसेवी हीरामणि र सीता घिमिरेले सङ्खुवासभाको खाँदबारीस्थित बालबिकास समाजलाई रु एक करोड प्रदान गर्नुभएको छ । सङ्खुवासभा–काठमाडौँ जर्नालिष्ट एशोसिएसन र खाँदबारी बालविकास समाजले शनिबार यहाँ आयोजना गरेको कार्यक्रममा घिमिरे दम्पतीले प्रदान गर्नुभएको उक्त रकमको चेक ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समाजका अध्यक्ष रामप्रसाद घिमिरेलाई हस्तान्तरण गर्नुभयो ।

त्यस अवसरमा अध्यक्ष घिमिरेले खाँदवारी बालविकास समाजका बालबालिकाको शिक्षा, स्वास्थ्य, पालनपोषण र उचित स्याहारलगायत समग्र व्यक्तित्व विकासमा उक्त रकमलाई खर्च गरिने बताउनुभयो ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, पूर्वप्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटा, पूर्वमुख्यसचिव डा विमल कोइराला, पूर्वसचिव सुशील जङ्गबहादुर राणा, दिनेशकुमार घिमिरे, काठमाडौँ महानगरपालिका वडा नं ४ का वडा सदस्य नवीन मैनालीलगायत उपस्थित हुनुहुन्थ्यो ।

कर्णाली करिडोरको कालिकोट खण्ड अवरुद्ध

काँक्रेविहार (सुर्खेत), १३ साउन : कर्णाली करिडोरअन्तरर्गत सुर्खेत –जुम्ला सडक अवरुद्ध भएको छ । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मामा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो ।

जुम्ला र कालिकोटको सिमानामा पर्ने नाग्मा क्षेत्र सुर्खेत ,जुम्ला , मुगु र हुम्ला प्रवेशको मुख्यस्थल हो । पहिरोका कारण यातायात सेवा बिहानदेखि नै अवरुद्ध भएको कालिकोटका प्रहरी प्रमुख अर्जुन केसीले बताउनुभयो । सडक खुलाउन भरमग्दुर भइरहेको उहाँले बताउनुभयो ।

पेरिस ओलम्पिकः प्रिन्स दाहाल डेनमार्कका भिक्टर एक्सेल्सेनसँग पराजित

काठमाडौँ ।  ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल डेनमार्कका भिक्टर एक्सेल्सेनसँग पेरिस ओलम्पिकमा पराजित भएका छन् । फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं ३ मा गए राति सम्पन्न खेलमा उनी २–० को सोझो सेटमा पराजित भएका हुन् ।

कठिन समूहमा रहेका प्रिन्सलाई भिक्टरले २१–८ र २१–६ को सोझो सेटमा हराए । प्रिन्सको समूहमा उनी र भिक्टरसहित चार खेलाडी छन् । अब प्रिन्सले सोमबार आयरल्याण्डका हात गुयेनसँग खेल्नेछन् भने यही साउन १६ गते इजरायलका मिसा जिल्बरम्यानसँग खेल्नेछन् ।

सात वर्षको उमेरदेखि ब्याडमिन्टन खेल्न थालेका प्रिन्सको लक्ष्य सन् २०२८ मा लस एन्जलसमा हुने ओलम्पिकमा पदक जित्नु हो ।

सन् १९६४ को टोकियो ओलम्पिकदेखि नेपाल ओलम्पिकमा सहभागी भएको हो ।  ब्याडमिन्टनमा नेपाल पहिलोपटक कोर्टमा उत्रिएकोको हो । प्रिन्सले ‘इन्भिटेसन प्लेसेस’ कोटामा पेरिस यात्रा पक्का गरेका थिए । प्रिन्सलाई अलसाबाडरका प्रशिक्षकले प्रशिक्षकको रूपमा सहयोग गरिरहेका छन् ।

भिक्टर टोकियो ओलम्पिक–२०२० का स्वर्ण विजेता तथा रियो दि जेनेरिया ओलम्पिक– २०१६ का कास्य विजेता हुन् । दुईपटकका विश्व च्याम्पियन बनिसकेका भिक्टर बिडब्लु टुरमा १८ पटक विजेता भएका छन् । ३० वर्षीय भिक्टरले छ वर्षको उमेरदेखि ब्याडमिन्टन खेल्न सुरु गरेका थिए । टोकियो ओलम्पिकमा जितेको स्वर्ण रक्षा गर्नु उनको उद्देश्य रहेको छ ।

ओलम्पिक खेलअन्तगर्त सुटिङ खेलमा नेपालकी सुष्मिता नेपालले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन्भने पौडीमा डुवाना लामाले दुई सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछिन् ।

गड्डाचौकी भएर नेपाल भित्रिने पर्यटकको आवागमन सहज बनाउन माग

दोधारा चाँदनी (कञ्चनपुर), १३ साउनः गड्डाचौकी नाकामा आवागमन सहज तुल्याउन व्यवसायीले माग गरेका छन् । जिल्ला होटल व्यवसायी सङ्घको शनिबार सम्पन्न २७औँ वार्षिक साधारणसभा व्यवसायीले सरकारसँग त्यस्तो माग गरेका हुन् ।

उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य जङ्गबहादुर मल्लले नाकामा जाँचका नाममा हुने सास्तीले पर्यटक आउन छाडेको बताउनुभयो । “पाँच किलोमिटरको दूरीमा नौ स्थानमा जाँच हुन्छ यसले यो नाकाबाट आउन पर्यटकलाई असहज भएको छ”, उहाँले भन्नुभयो ।

नाकामा हुने अनावश्यक जाँचले गड्डाचौकी भएर नेपाल भित्रिने पर्यटकको सङ्ख्या घटेको होटल व्यवसायी बताउँछन् । नाकामा एकीकृत सुरक्षा जाँच गरेर यसको समाधान गर्नुपर्ने व्यवसायीहरूको माग छ । “नाकामा पर्यटकलाई सहज रूपमा आवतजावतको वातावरण सिर्जना हुनुपर्छ ।” होटल व्यवसायी सङ्घका अध्यक्ष जगदीशचन्द्र भट्टले भन्नुभयो, “सरकारले एकीकृत सुरक्षा जाँच गरेर नाकामा सहज आवागमनको व्यवस्था गर्नुुपर्छ ।”

सुरक्षा निकायले भने सीमा नाकामा हुने जाँचका कारण कुनै समस्या नभएको दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले प्रहरीले सुरक्षा, लागुऔषध कारोबार नियन्त्रणलगायत अपराध नियन्त्रण गर्न नाकामा जाँच गर्ने बताउनुभयो । “प्रहरीको जाँचले कसैलाई पनि बाधा पुगेको छैन”, उहाँले भन्नुभयो, “नाकाबाट अवैध रूपमा आउने सामान नियन्त्रण गर्न प्रहरी सक्रिय भएर छ, विगतको तुलनामा राजस्व वृद्धि भएको छ ।”

सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले नाकामा एकीकृत सुरक्षा जाँच हुनुपर्ने बताउनुभयो । “नेपाल प्रहरी र सशस्त्र प्रहरीले नाकाबाट महेन्द्रनगरसम्म पुग्दा नौ ठाउँमा जाँच गर्छन्”, रावलले भन्नुभयो, “अनावश्यक दुःख दिने किसिमले पाँच किलोमिटरको दूरीमा नौ ठाउँमा जाँच हुनुले राम्रो सन्देश गएन ।”

खोटाङ ट्राफिक प्रहरीबाट ५० लाख ३२ हजार राजस्व सङ्कलन

खोटाङ, १३ साउनः जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा सवारी नियम उल्लङ्घन गरेका छ हजार सात सय २० जनाबाट रु ५० लाख ३२ हजार राजस्व सङ्कलन गरेको छ ।

बिनाअनुमतिपत्र सवारी साधन चलाएको, कागजपत्र साथ नभएको, मादक पदार्थ सेवनगरी सवारी चलाएको, पटके इजाजतपत्र नलिएको, सिट क्षमताभन्दा बढी यात्रु बोकेको, सिटबेल्ट नबाँधेको, हेलमेट नलगाएको तथा दर्ता नम्बर बिना सवारी साधान चलाउने उपर कारबाही गरेर उक्त रकम सङ्कलन भएको हो ।

दश स्थानीय तह रहेको जिल्लामा आव २०८०/८१ मा १५ वटा सवारीसाधन दुर्घटना हुँदा पाँचजनाले ज्यान गुमाएका थिएभने १६ जना घाइते भएका थिए ।

जिल्लाका ग्रामीण सडकमा सञ्चालन हुने अधिकांश साना तथा ठूला सवारी साधन बिना अनुमति सञ्चालन भइरहेका पाइएको जनाउँदै प्रहरीले त्यस्ता सवारीचालकलाई पनि कानुनको दायरमा ल्याइएको बताएको छ । यात्रुबाहक हरेक सवारी साधनले अनिवार्य ‘रुट परमिट’ (सम्बन्धित सडक सवारी अनुमतिपत्र) लिनुपर्ने कानुनी प्रावधान छ ।

विसं २०६४ मा नेपाली सेनाको हेलिकोप्टरमा बोकेर ल्याइएको सवारी साधनमार्फत यातायात सेवा सुरु गरिएको जिल्लामा सानाठूला गरी करिब सात सयको हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् । मध्यपहाडी लोकमार्ग र सगरमाथा राष्ट्रिय राजमार्गले छोएको जिल्लाका सबै स्थानीय तह राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् ।

साढे तीन बिगाह जमिन भाडामा लिई व्यावसायिक खेती गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ समूह

दाङको घोराही उपमहानगरपालिका–१६ स्थित गरुवागाउँमा नेत्र विक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दाङको आयोजनामा सामूहिक रोपाइँ गर्न शनिबार धानको बीउ काढ्दै सहभागी पार्टीका नेता तथा कार्यकर्ता ।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा दाङले गरुवागाउँमा साढे तीन बिगाह जमिन भाडामा लिई व्यावसायिक रुपमा खेती गर्दै आएको छ ।

ठूला–ढुङ्गासहित खसेको पहिरोले डुम्रे–बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ, १३ साउनः पहिरोले डुम्रे–बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षासँगै सडकका विभिन्न ठाउँमा पहिरो खसेर अवरुद्ध भएको होजिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँका अनुसार तनहुँतर्फ बेँसीसहर नगरपालिका–१ दलाल र मनाङतर्फ सोही पालिका–६ खरखरे भिरमा पहिरो खसेकाले सडक अवरुद्ध भएको छ । खरखरे भिरमा ठूला–ढुङ्गासहितको पहिरो खसेको छ । उक्त सडकका विभिन्न भागमा पहिरो खस्ने क्रम रोकिएको छैन ।

सडक अवरुद्ध हुँदा बेँसीसहरबाट मनाङ जाने तथा तनहुँ हुँदै काठमाडौँ, पोखरा, चितवनलगायत स्थान प्रस्थान गर्ने तथा उक्त स्थानबाट बेँसीसहर आवातजावत गर्ने सवारीसाधन अलपत्र परेका छन् ।

धृष्टधुम्न शाही र लोकप्रिय मोडल स्मारिका ढकालको सफल प्रेम भिडियोमा हेर्नुहोस्

काठमाडौँ । हरेक मानिसले आफ्नो प्रेमलाई सफल पार्न चाहान्छ । तर धेरैको पहिलो प्रेम सफल हुँदैनन् । तर पनि गायक तथा मोडल धृष्टधुम्न शाहीको रिलको प्रेम सफल भएको छ । जुन कुरा सम्बन्ध बोलको गीतको भिडियोमा देखाइएको छ । जसमा गायिका रचना रिमाल र गायक धृष्टधुम्न शाहीको स्वर रहेको छ । भिडियोमा बालापनमा आँफुले मन पराएकी मायालुसँगको भेट, प्रेम र विबाहको रमाइलो किस्सा र एउटा सफल प्रेम कथालाई देखाइएको छ ।

भिडियोमा गायक धृष्टधुम्न शाही र लोकप्रिय मोडल स्मारिका ढकालको बेजोड अभिनय देख्न सकिन्छ । आफ्नो साथीलाई भविष्यमा ठूलो गाडीमा लिने आउने वाचा खाएका धृष्टधुम्न शाहीले आफ्नो वचन पूरा गरेको दृश्य निकै रोमान्टिक देखिन्छ । उमेशराज खड्काको शब्द शृजना रहेको सार्वजनिक गीतमा संगीत पनि गीतकारले नै भरेका छन् । विशाल निरौलाको मिक्सिगं तथा मास्टरिगं रहेको गीतको एरेन्ज रिकेश गुरुगंले गरेका हुन् । भिडियोमा बाल कलाकारका रुपमा इशु थापा मगर र प्रज्वल आले मगरको पनि अभिनय रहेको छ ।

सुदीप लम्सालको निर्देशन रहेको भिडियोको छायांकन विशाल सुसलिगं मगर र दिनेश सुवेदीले गरेका हुन् । ओएसआर डिजिटलबाट रिलिज गरिएको भिडियोको सम्पादन पवन सुशलिंगले गरेका हुन् ।

डब्ल्यूएचओद्वारा गाजामा पोलियो खोपको १० लाख भन्दा बढी डोज पठाउने घोषणा

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आज गाजामा पोलियो खोपको १० लाखभन्दा बढी डोज पठाउने घोषणा गरेको छ । यस क्षेत्रको फोहोर पानीको नमूनामा पोलियो भाइरस पत्ता लागेपछि बच्चाहरूलाई भाइरस सर्नबाट जोगाउन आगामी हप्ताहरूमा खोप वितरण गरिनेछ ।डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले नौ महिनादेखि जारी द्वन्द्वका कारण नियमित खोप अभियानमा अवरोध भएको र पाँच वर्षमुनि (विशेष गरी दुई वर्षमुनि) का बालबालिका जोखिममा रहेको उहाँले बताउनुभयो ।

हालसम्म कुनै व्यक्तिमा पोलियो सङ्क्रमण देखिएको भने छैन, यद्यपि हजारौं असुरक्षित बालबालिकाहरूलाई अन्ततः भाइरस सङ्क्रमण हुनबाट रोक्नको लागि तत्काल कदम चाल्नु महत्त्वपूर्ण रहेको गेब्रेयससले जोड दिनुभयो ।

पोलियो, मुख्यतया मलजन्य र मौखिकमाध्यममार्फत फैलिने एक अत्यधिक सङ्क्रामक भाइरस हो । यसले स्नायु प्रणालीलाई असर गर्छ र पक्षाघात निम्त्याउन सक्छ । विश्वव्यापी पोलियो सङ्क्रमण सन् १९८८ देखि ९९ प्रतिशतले घटेको छ ।

खराब स्वास्थ्य अवस्था र केही विस्थापित व्यक्तिहरूको शिविर नजिकैको सडकहरूमा ढलको ओभरफ्लोको कारणले संयुक्त राष्ट्र सङ्घले गत हप्ता हेपाटाइटिस ए, पेचिश र ग्यास्ट्रोएन्टेराइटिसका घटनाहरूमा उल्लेखनीय वृद्धि भएको रिपोर्ट गरेको छ ।

गाजास्थित विद्यालय परिसरमा भएको इजरायली आक्रमणमा ३० जनाको मृत्यु

फिल्ड अस्पताल रहेको विद्यालयमा इजरायली आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएको हमास नियन्त्रत गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार जानकारी गराएको छ । इजरायली सेनाले उक्त विद्यालयबाट सञ्चालित हमास आतङ्कवादीलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, “केही समय अघि देइर अल–बालाह क्षेत्रमा रहेको खादिजा विद्यालयलाई लक्षित गरी ३० जना सहिद र १०० भन्दा बढी घाइते भएका थिए ।”गाजाको नागरिक प्रतिरक्षा निकायले उक्त विद्यालयमा शरण लिएका करिब चार हजार विस्थापित मानिसहरूलाई बसिरहेको बताएको छ ।

खादिजा विद्यालयभित्रको नियन्त्रण केन्द्रमा हमास लडाकू सक्रिय रहेको गुप्तचर अधिकारीको गोप्य सूचनाका आधारमा आक्रमण गरिएको इजरायली सेनाले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । ‘आतङ्कवादीहरू’ले कम्पाउन्डभित्र ठूलो मात्रामा हतियार निर्माण र भण्डारण गरको दावी इजरायली सेनाले गरेको छ ।

सवारी दुर्घटनामा परेर पर्सामा ५१जनाले ज्यान गुमाए

वीरगञ्ज (पर्सा), १३ साउनः आर्थिक वर्ष २०८०/८१ मा सवारी दुर्घटनामा परेर पर्सामा ५१जनाले ज्यान गुमाएका छन् । गत आवमा ४३ पुरुष, साता महिला र एकजना बालिकाको ज्यान गएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक भाष्कर खतिवडाले पर्सामा सवारी दुर्घटनामा परेर ज्यान गुमाउनेको सङ्ख्या अघिल्लो आवको तुलनामा आव २०८०/८१ मा एकतिहाइले बढेको बताउनुभयो ।

आव २०७९/८० मा भने २९ पुरुष, पाँच–पाँचजना महिला र बालकको गरी ३९ जनाको ज्यान गएको थियो । प्रहरी निरीक्षक खतिवडा अघिल्लो आवको तुलनामा गत आवमा सवारी दुर्घटना सङ्ख्या पनि बढेको बताउनुभयो । आव २०८०/८१ मा सात सय ९६ र आव २०७९/८० मा भने चार सय ९८ सवारी दुर्घटना भएका थिए ।

पहिरोमा परी मृत्यु भएका किशोरीका परिवारलाई सांसद तामाङको सहयोग

मन्थली (रामेछाप), १३ साउनः जिल्लाको गोकुलगङ्गा गाउँपालिका वडा नं ६ फर्पुको पहिरोमा परी मृत्यु भएका किशोरीका परिवारलाई प्रतिनिधिसभाका सांसद एवं नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर (कान्छाराम) तामाङले राहत रकम उपलब्ध गराउनुभएको छ ।

सांसद तामाङले प्रतिपरिवार रु १० हजारका दरले सहयोग गर्नुभएको हो । गत बिहीबार राति स्थानीय बिमा तामाङको घर पहिरोले पुरिँदा तीनजना किशोरीको मृत्यु भएको थियो । पहिरोमा परी १७ वर्षीया सीता तामाङ, १४ वर्षीया तामाङ र १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको थियो ।

सांसद तामाङले मृतकका आफन्त विमान तामाङ, पदम तामाङ र पेमा तामाङलाई सहयोग हस्तान्तरण गर्नुभएको हो । पीडित परिवारले आफूहरूको बसोबास सुरक्षित स्थानतर्फ सर्नुपर्ने भएकाले विद्युत्लगायत सुविधा व्यवस्थापनका लागि सांसद तामाङसँग अनुरोध गरेका थिए । उक्त वडाका वडाध्यक्ष चन्द्र सुनुवारले पीडित तथा विस्थापित परिवारको व्यवस्थापनका लागि गाउँपालिका र वडाले काम अगाडि बढाएको जानकारी दिनुभयो ।

एक वर्षमा झापामा ४७ किलोमिटर सडक कालोपत्र , चारवटा मोटरेबल पुल निर्माण

बनियानी (झापा), १३ साउन : एक वर्षमा झापामा ४७ किलोमिटर सडक कालोपत्र भएको छ । पूर्वाधार विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ४७ किलोमिटर किलोमिटर सडक कालोपत्र भएको हो ।

समीक्षा अवधिमा १४ किलोमिटर सडक मर्मत भएको छभने २३ दशमवल तीन दुई किलोमिटर ग्राभेल गरिएको छ । चारवटा मोटरेबल पुल पनि निर्माण भएका छन् ।

झापा र इलाम जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले इलाममा तीन दशमवल पाँच किलोमिटर सडक मर्मत, चार दशमवल दुई सय ८२ किलोमिटर ग्राभेल, तीन किलोमिटर कच्ची सडक, दुई दशमवल दुई पाँच किलोमिटर सोलिङ र शून्य दशमलव तीन सय ५५ किलोमिटर सडक कालोपत्र गरेको तथा दुईवटा मोटरेबल पुल निर्माण गरेको कार्यालयका सूचना अधिकारी उत्तम खरेलले बताउनुभयो ।

महाकाली नदीमा हामफालेर २५ वर्षीया महिला बेपत्ता

दार्चुला-दार्चुलामा एक महिला महाकाली नदीमा हाम फालेर बेपत्ता भएकी छिन् । शनिबार साँझ ६ः३० बजे सदरमुकाम खलङ्गास्थित रिङ्नेताल नजिकैबाट हामफालेर महाकाली नगरपालिका–१ की २५ वर्षीया धनिसा कुँवर नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार कुँवर हामफाल्न नदीको डिलमा उभिएका बेला स्थानीयले प्रहरीलाई खबर गरेका थिए । केहीबेरमै जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले उनलाई समात्न नजिकै पुगेका बेला कुँवर नदीमा हामफालेकी हुन् । अहिले महाकालीमा बेपत्ता कुँवरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पृथ्वीराजमार्गको मापदण्डभित्रका घरटहरा नभत्काए सुविधा रोकिने

तनहुँ- बन्दीपुर गाउँपालिका कार्यालयले पृथ्वीराजमार्गको सडक मापदण्डभित्रका घरटहरा तत्काल नहटाए सेवा सुविधा रोक्ने जनाएको छ । घरधनीले स्वतःस्फुर्त रूपमा घरटहरा नभत्काए वडा कार्यालय र गाउँपालिकाबाट प्रदान गरिने सुविधा रोक्ने पालिकाले जनाएको हो ।

गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले पटकपटक घरटहरा हटाउन सूचना प्रकाशन गरे केहीले अटेर गरेपछि यस्तो निर्णय गर्नुपरेको बताउनुभयो । “यसअघि पटक–पटक सूचना प्रकाशन गरी सडक मापदण्डभित्रका संरचना हटाउन ताकेता गरे पनि केही घरधनीले अटेर गर्दै आएका छन् । त्यसैले तत्काल संरचना नहटाए वडा कार्यालय र गाउँपालिकाबाट सुविधा रोक्नुका साथै कानुनी कारबाहीका लागि प्रक्रिया अघि बढाउन थालेका हौँ”, उहाँले भन्नुभयो ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँमा दुई खण्डमा गरी सडक विस्तारको काम भइरहेको छ । सडक मापदण्डभित्रका संरचना नहटाइदिँदा सडक विस्तारका कार्य प्रभावित भएका छन् ।

देवी प्रतिभा अझै दुई दिन पशुपति कोटिहोम महायज्ञमा बसेर कथा प्रवचन गर्ने

ललितपुर (गोदावरी) -दर्शकबीच अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभा थप दुई दिन पशुपति कोटिहोम महायज्ञमा बसेर कथा प्रवचन गर्ने हुनुभएको छ । शनिबार भारत फर्किनेगरी महायज्ञमा कथा प्रवचन गर्न आउनुभएकी देवीप्रतिभा सोमबारसम्म नेपालमै बस्ने हुनुभएको हो ।

उहाँले आजदेखि भारतमा हुने प्रवचन केही समयलाई पर सारेर थप दुई दिन पशुपति कोटिहोममा प्रवचन दिन लाग्नुभएको हो । देवी प्रतिभाले १३ र १४ गते बिहानीसत्रमा रामकथा प्रवचन गर्नुहुनेछ ।

मौसम पूर्वानुमानः कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मुसलधारे वर्षा हुने

काठमाडौँ, १३ साउनः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । बागमती र गण्डकी प्रदेशका धेरै तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी , कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका केही स्थान तथा बाँकी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । लुम्बिनी र कर्णालीका केही स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ ।

आगामी २४ घण्टामा लुम्बिनी प्रदेशका केही स्थानमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिराको जोखिमबाट बच्न अनुरोध गरेको छ ।
साथै विभागले ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन पनि सम्बद्ध सबैमा आग्रह गरेको छ ।