रक्षामा जिडिपीको ३ प्रतिशत खर्च ‘यथार्थपरक’ : चेक प्रधानमन्त्री

विश्व

अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले नाटो सदस्यहरूलाई खर्च बढाउन आग्रह गरेको एक दिनपछि चेक प्रधानमन्त्री पेत्र फियालाले बुधबार रक्षा क्षेत्रमा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को तीन प्रतिशत खर्च गर्ने लक्ष्य ‘यथार्थपरक’ भएको बताउनुभएको छ ।
उहाँले पत्रकारहरूलाई यस्तो खर्चको उचित स्तरबारे बहसका लागि आफू खुला रहेको बताउनुभयो ।
ट्रम्पले मङ्गलबार नेटो सदस्यहरूलाई रक्षा खर्चलाई जिडिपीको पाँच प्रतिशतसम्म बढाउन दबाब दिनुभयो र उनीहरूले अमेरिकी सुरक्षाका लागि कम भुक्तानी गरिरहेका छन् भन्ने लामो समयदेखि रहेको दाबीलाई जोड दिनुभयो ।
गठबन्धनका ३२ सदस्यमध्ये अधिकांशले सन् २०२४ मा जिडिपीको दुई प्रतिशतको लक्ष्य हासिल गर्ने लक्ष्य राखेका छन्, तर इटाली र स्पेन लगायत केहीले अझै पनि सङ्घर्ष गरिरहेका छन् ।
चेक रक्षा मन्त्रालयले यस हप्ताको सुरुमा एक करोड नौ लाख जनसङ्ख्या भएको युरोपेली सङ्घ (इयु) र नाटो सदस्यले गत वर्षको लक्ष्य पूरा गरेको बतायो । यद्यपि सम्बन्धित तथ्याङ्कहरू अझै प्रकाशित भएको छैन ।
सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि प्रागले रक्षा खर्च बढाएको थियो । चेकले किएभमा पठाइएको पुरानो उपकरणहरू प्रतिस्थापन गर्न खोजिरहेको छ ।
“केही वर्षमा तीन प्रतिशतको कुरा गर्नु यथार्थपरक छ”, वृद्धि क्रमिक हुने भन्दै चेक प्रधानमन्त्री फियालाले पत्रकारहरूलाई भन्नुभयो, “सही स्तर खोजौँ... हामी बहसका लागि खुला छौँ ।”
– ट्रम्पको शङ्का –
चेक रक्षा मन्त्रालयले सोमबार प्रागले सन् २०२४ मा रक्षामा एक खर्ब ६६ अर्ब ८० करोड कोरूना (६ अर्ब ८० करोड डलर) खर्च गरेको बताएको छ । यो गत वर्षका लागि वित्त मन्त्रालयले आफ्नो पछिल्लो पूर्वानुमानमा प्रक्षेपण गरेको जिडिपीको २.०९ प्रतिशत हो ।
चेक संसद्ले सन् २०२३ मा एउटा कानून पारित गरी सन् २०२४ देखि न्यूनतम रक्षा खर्चलाई जिडिपीको दुई प्रतिशत बनाउने निर्णय गरेको थियो ।
दोस्रो विश्वयुद्धपछि युरोपको सुरक्षाको आधारशिला रहेको नाटोप्रति ट्रम्प लामो समयदेखि शङ्कालु रहनुभएको छ । गत महिना उहाँले सदस्यहरूले खर्च नबढाए गठबन्धन छोड्ने परिचित धम्की दोहो¥याउनुभएको थियो ।
रक्षा मन्त्रालयले सन् २०२२ देखि युक्रेनलाई सात अर्ब ३० करोड कोरुना (३० करोड डलर) मूल्य बराबरका हेलिकप्टर, ट्याङ्क, बख्तरबन्द गाडी, तोप, रकेट लन्चर, हतियार र गोलीगठ्ठा सहयोग गरेको छ ।
प्रागले युरोप बाहिर युक्रेनका लागि गोला बारुद खरिद गर्ने अभियानको पनि नेतृत्व गरिरहेको छ र सन् २०२४ मा किएभमा पाँच लाख तोपका गोला पठाउन खोजिरहेको छ ।
“युद्ध सुरु भएदेखि नै चेक गणतन्त्रले (युक्रेनलाई) तीन अर्ब डलरभन्दा बढी मूल्यको सैन्य सामग्री आपूर्ति, समन्वय वा सङ्गठित गरेको छ”“ रक्षा मन्त्रालयका प्रवक्ता सिमोना सिगानकोभाले भन्नुभयो । यद्यपि उहाँले गोलीगठ्ठा पहलबारे टिप्पणी गर्न अस्वीकार गर्नुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट