`

पेरिस ओलम्पिकको पहिलो दिनमै चीनलाई दुई स्वर्ण पदक, वर्षाका कारण खेल तालिका प्रभावित

चीनले पेरिस ओलम्पिकको पहिलो दिन नै दुई स्वर्ण पदक जितेको छ ।पछिल्लो पटक सन् २००८ को ओलम्पिक पदक तालिकामा शीर्ष स्थानमा रहेको एसियाली पावरहाउस चीनले सुटिङ र सिंक्रोनाइज्ड डाइभिङमा स्वर्ण पदक जितेको हो ।१० मिटर एयर राइफलको ‘मिक्स्ड टिम इभेन्ट’मा चीनका सेङ लिहाओ र हुआङ युटिङको जोडीले स्वर्ण पदक जितेको हो भने महिला तीन मिटर स्प्रिङबोर्डको फाइनलमा चीनकै अर्को जोडी चाङ यानी र चेन यिवेनले स्वर्ण पदक जितेको थियो ।

अष्ट्रेलियाले पनि महिला व्यक्तिगत समय परीक्षणमा साइकल यात्री ग्रेस ब्राउनको साथमा पहिलो स्वर्ण पदक जितेको छ । उद्घाटन समारोहमा शुक्रबार आएको बाढीपछि मौसमका कारण आयोजकका लागि टाउको दुखाइको विषय बनेको छ ।

पेरिसको ऐतिहासिक मुटुमा रहेको प्लेस डे ला कोनकोर्डमा हुने भनिएको पुरुष स्ट्रिट स्केटबोर्डिङ प्रतियोगिता रातभरको वर्षाका कारण सोमबारसम्मका लागि स्थगित गरिएको छ ।
वर्षाका कारण रोलान्ड गार्रोसमा टेनिसको पहिलो राउन्डको खेल पनि प्रभावित भएको थियो भने बाहिरी कोर्टमा हुने तय भएका १० खेलको तालिका पनि प्रभावित भएको छ ।

पुराना पुस्ताले पुर्‍याएको योगदानलाई नयाँ पुस्ताले बिर्सन हुँदैन : महासचिव पोखरेल

काठमाडौँ, १२ साउन : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिक एवं समाज रूपान्तरणमा पुराना पुस्ताले पुर्‍याएको योगदानलाई नयाँ पुस्ताले बिर्सन नहुने बताउनुभएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा नेत्रप्रसाद गौतमद्वारा लिखित नेत्रका तीन खण्डकाव्य र भूतपिसाचका कथा सङ्ग्रह लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नेपालको राजनीतिमा थुप्रै अग्रजको महत्त्वपूर्ण योगदान गरेको स्मरण गर्नुभयो ।

“विगतका योगदानहरूको सम्झना र त्यसको सम्मान गर्ने कुरा आजको नयाँ पुस्ताका लागि कठिन भएको छ,” महासचिव पोखरेलले भन्नुभयो, “हाम्रा अग्रज अर्थात् पुराना पुस्ताले दुःखकष्ट गरेर आजको समाज निर्माण गरेको हो भन्ने कुराको अनुभूति गर्न सकिराखेको छैन ।”

उहाँले आजको नयाँ परिवेशबाट अझ अगाडि बढ्न खोज्दा नयाँ पुस्ताले नेपाल एक समय कस्तो थियो भन्ने कुराको परिकल्पना पनि गर्न नसकेको बताउनुभयो । महासचिव पोखरेलले देश कति परिवर्तन भयो भन्ने कुरा पुरानो पुस्ताको भोगाइलाई पढ्दा थाहा हुने धारणा राख्नुभयो ।

यति बेला समाजलाई सही बाटो देखाउने अध्येताको खाँचो रहेको उल्लेख गर्दै उहाँले अहिले नयाँ पुस्ता कस्तो सांस्कृतिक मान्यताबाट अघि बढ्ने भन्ने अन्योलताको अवस्थामा रहेको बताउनुभयो । नयाँ पुस्ता अहिले जटिल मोडमा उभिएको उहाँको धारणा छ । समाज अराजकतातर्फ प्रवेश गरेको भन्दै महासचिव पोखरेलले यो देशका लागि सबैभन्दा चुनौतीको विषय भएको बताउनुभयो । 

अराजकतातर्फ प्रवेश गरेको समाजलाई विचार, साहित्य र सिर्जनाको माध्यमबाट मात्रै सही दिशामा ल्याउन सकिने उहाँको धारणा छ । आजको नयाँ पुस्तालाई प्रचारवादले प्रभाव पारेको भन्दै महासचिव पोखरेलले समाजलाई स्वच्छन्दतातर्फ लैजान र यसले मौलिक सांस्कृतिक मूल्यमान्यतालाई विघटन गरी मनलाग्दी गर्ने अवस्था सिर्जना हुनेतर्फ सचेत गराउनुभयो । 

कार्यक्रममा उपमहासचिव प्रदीप ज्ञवालीले देशमा केही पनि भएको छैन भन्ने भाष्य निर्माण गर्न एउटा पङ्क्ति लागेको बताउनुभयो । सोचे जति हुन नसकेको भए पनि देश धेरै अगाडि बढेको उहाँको धारणा छ । 

गौतमले लेखेको पुस्तक एकपटक पढ्ने हो भने हिजो हामी कहाँ थियौँ र आज कहाँ आइपुग्यौँ भन्ने कुरा सहजै बुझ्न सकिने उहाँले बताउनुभयो । उपमहासचिव ज्ञवालीले पुस्तकले नेपाल अघि बढेको यात्रा देखाएको जानकारी दिनुभयो ।   लेखक गौतमले आफूले जीवनमा देखे भोगेका कुरा पुस्तकका उतारेको उल्लेख गर्दै नयाँ पुस्ताका लागि पुस्तक पठनीय हुने विश्वास व्यक्त गर्नुभयो । 

सिमलताल घटना : बस खोज्न प्रयोग गरिएको १९ किलोको चुम्बक त्रिशूलीमा हरायो

काठमाडौँ । चितवनको नारायणगढ–मुग्लिङ सडकखण्डस्थित सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा खसेका दुईवटा बस खोज्न प्रयोग भएको एउटा १९ किलोको चुम्बक शनिबार त्रिशूलीले बगाएको छ । 

नेपाल–भारतका संयुक्त सुरक्षा फौजबाट खोजतलास कार्य जारी रहँदा पनि बस र हराइरहेका यात्रुको अवस्था पत्ता लाग्न नसकेपछि आज भारतबाट मगाइएको दुईवटा चुम्बकको सहयोगमा खोजी गरिएको थियो । 

खोजी गर्ने क्रममा १९ किलोको चुम्बक त्रिशूलीले बगाएर बेपत्ता भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका सूचना अधिकारी, प्रहरी उपरीक्षक जनक पुरीले एउटा १९ किलोको चुम्बक हराएकाले अहिले बस र चुम्बक दुवैको खोजी जारी रहेको जानकारी दिए । 

उनले अलि तल चुम्बकको सङ्केत मिलेको तर भेटिनसकेको जानकारी दिनुभयो । त्यहाँ १४ र १९ किलोको दुईवटा चुम्बक बसको खोजीका लागि प्रयोग गरिएको थियो ।

गत आइतबारदेखि सशस्त्र प्रहरी बल नेपालको गोताखोरसहित छिमेकी राष्ट्र भारतको राष्ट्रिय आपदा मोचन बल (नेसनल डिजास्टर रेस्पोन्स फोर्स) बाट आएका १२ जनाको प्राविधिक टोलीले संयुक्त रुपमा बस र यात्रुको खोजी गरिरहेको छ । 

गएको असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नंको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएको थियो । 

उक्त बसमा सवार ६५ जनामध्ये तीनजना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । २४ यात्रुको विभिन्न क्षेत्रबाट शव निकालिएको छ । अझै दुई बससँगै ३८ यात्रुको अवस्था पत्ता लाग्न सकेको छैन ।

‘जनताको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ’ : मन्त्री खड्का

काठमाडौँ, १२ साउन : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनताको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।बयालीसौँ बिपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस धनकुटा–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा उहाँले जनतालाई आर्थिक रूपमा सबल बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

“जनताको जीवनस्तर उकास्ने बाटोमा सरकार प्रतिबद्ध छ, तपाईँहरूले बधाई दिने गरी मन्त्रालयबाट बाहिरिनेगरी काम गर्छु”, मन्त्री खड्काले भन्नुभयो । उहाँले ऊर्जा क्षेत्रको विकासका लागि पर्याप्त बजेट नभए पनि भएको बजेटलाई समयमै खर्च गर्नेगरी सरकारले काम गर्ने बताउनुभयो ।

नेपाली कांग्रेस धनकुटाका पूर्वसभापति एवं संविधानसभा सदस्य मनोहरनारायण श्रेष्ठले जनताको मन जित्नेगरी सरकारले काम गर्नुपर्ने बताउनुभयो । उहाँले विधानअनुसार पार्टी सञ्चालन भएमात्र बलियो हुने उल्लेख गर्नुभयो ।

सम्पर्क समितिका सभापति भीम सुयंल थापा, कांग्रेस धनकुटाका उपसभापति निर्मल ओझा, धनकुटा कांग्रेसका सचिव विजय सन्तोषी राईलगायतले पार्टीभित्रको गुटलाई अन्त्य गर्दै कांग्रेसलाई एकताबद्ध बनाएर लगेमात्र आगामी निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने बताउनुभयो ।

सोही अवसरमा सम्पर्क समितिले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्कालाई सम्मान गरेको थियो । कार्यक्रममा कांग्रेस धनकुटाका पूर्वसभापति मनोहरलाल श्रेष्ठ, कांग्रेस नेता प्रा डा सुरेश आचार्य, श्रीहरि अधिकारी, गणेश निरौला, राजेन्द्रबहादुर प्रधान, रेवतीप्रसाद दाहाल, टङ्क दुवाडी, तिल महत, मदन घिमिरे, करुणा कटुवाल, विमला परियार, ममता राई, नन्दु राईलगायतलाई सम्मान गरिएको थियो ।

सञ्चारमन्त्री गुरुङद्वारा बगुम पहिरोको निरीक्षण

लमजुङ, १२ साउनः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बगुम पहिरोको निरीक्षण गर्नुभएको छ । गत असार ११ गते गएको क्व्होलासोथर गाउँपालिका–३ बगुम पहिरोको आज साँझ मन्त्री गुरुङलगायतको टोलीले निरीक्षण गरेको हो ।

पहिरोको निरीक्षणपछि सञ्चारमन्त्री गुरुङले पहिरोले पूर्ण क्षति तथा विस्तापित भएका परिवारका घर सरकारले निर्माण गरिदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सरकार बाढीपहिरोलगायत प्राकृतिक विपद्मा परेका नागरिकको रक्षाका लागि सधैँ तयार रहेको उहाँको भनाइ छ । सञ्चारमन्त्री गुरुङको गृहपालिका रहेको उक्त स्थानमा गत असार ११ गते राति आएको पहिरोले तीन घर पुरिँदा चारजनाको मृत्यु भएको थियो भने एकजना घाइते भएका थिए।

सञ्चारमन्त्री गुरुङले आफूलाई लमजुङे जनताले जिताएर मन्त्री बनाएकाले यहाँका जनताको शिर उच्च बनाउने गरी आफूले काम गर्नेसमेत बताउनुभयो । “यहाँहरूले जिताएकाले म मन्त्री भएको छु, यसर्थ लमजुङको विकास तथा सुखदुःखमा सधैँ साथमा रहँदै विकासका काम गर्नु मेरो दायित्व हो । त्यसका लागि म सधैँ लागिरहने छु”, उहाँले भन्नुभयो ।

पहिरोपीडितले पनि सञ्चारमन्त्री गुरुङले आफूहरूका समस्या समाधानका लागि सहयोग गर्ने अपेक्षा व्यक्त गरेका थिए ।

सञ्चारमन्त्री गुरुङसहित संविधानसभा सदस्य तथा एमाले केन्द्रीय सदस्य जमिन्द्रमान घले, क्व्होलासोथर गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ, प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ र सोही वडाका वडाध्यक्ष आसवीर गुरुङलगायतले पहिलोस्थलको निरीक्षण गरेका थिए ।

मन्त्री गुरुङलाई वडाध्यक्ष गुरुङले गुरुङ समुदायको परम्परागत बख्खु ओढाएर स्वागत तथा सम्मान गर्नुभएको थियो । मन्त्री गुरुङलाई वडामा टेलिकमको नेटवर्क नटिप्दा भएको समस्या समाधान, पहिरोपीडितहरूको तत्काल सहयोगलगायत विषय सम्बोधनका लागि ज्ञापनपत्र बुझाइएको थियो ।

जसपा नेपाल केन्द्रीय समितिको बैठक साउन २७ गतेदेखि

काठमाडौँ, १२ साउनः जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक यही साउनको अन्तिम साता बस्ने भएको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले आज बैठक सम्बन्धमा विज्ञप्तिमार्फत जानकारी दिँदै साउन २७, २८, २९ र ३० गते बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने जनाउनुभएको हो । बैठकमा एकताको राष्ट्रिय महाधिवेशनले तय गरेका वैचारिक, सैद्धान्तिक अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमा पार्टीले खेल्नुपर्ने भूमिकाबारे छलफल हुने विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, वर्तमान भू–राजनीतिक अवस्था र नेपालको परराष्ट्र नीति तथा सम्बन्धलगायत विषयहरूमा अभिमुखीकरणसमेत दिइनेछ । साथै पार्टीको आगामी वैचारिक, राजनीतिक, सङ्गठनात्मक कार्ययोजना तथा कार्यक्रमलगायत विषयहरुमा छलफल गरी आवश्यक निर्णय गरिने पनि अध्यक्ष यादवले जनाउनुभयो ।  

अपर अरुण जलविद्युत् आयोजना शीघ्र अगाडि बढाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ, १२ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपर अरुण जलविद्युत् आयोजना आदिवासी जनजाति सल्लाहकार परिषद्ले आयोजनाको काम शीघ्र अगाडि बढाउन विभिन्न तीनबुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालय च्यासलमा आज परिषद्का अध्यक्ष लादर भोटेलगायतको टोलले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएको हो । सम्पूर्ण तयारी पूरा भई कार्यान्वयनको चरणमा प्रवेश गरेको आयोजना सङ्खुवासभा, भोटखोलावासीको भविष्यसँग जोडिएकाले आयोजनालाई शीघ्र निर्माणमा लैजान र स्थानीयवासीको माग अधिकतम सम्बोधन गर्न परिषद्ले सरकारको ध्यानाकर्षण गराइएको छ ।

आयोजनाको कार्यान्वयनका सन्दर्भमा अनेकन आशङ्का पैदा भएको भन्दै परिषद्ले तत्काल सार्थक प्रयास थाल्न आग्रह गर्नुका साथै आयोजनाको निर्माण नेपाल सरकारले नै गर्नु उपयुक्त हुने सुझावसमेत दिएको छ ।

प्रभावित समुदायको पूर्वाधार, आर्थिक, सामाजिक, सांस्कृतिक तथा क्षमता विकासमा ध्यान दिन र सहज कार्यान्वयनका लागि आफूहरूको उत्तिकै साथ एवं सहयोग रहने ज्ञापनपत्रमा उल्लेख गरिएको परिषद्का अध्यक्ष लादर भोटेले जानकारी दिनुभयो ।

कूल एक हजार ६३ मेगावाट क्षमताको सो आयोजनामा विश्व बैङ्कले लगानीको प्रतिबद्धता जनाएको छ । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले स्थानीयवासीको माग सम्बोधन गर्दै आयोजनाको सहज कार्यान्वयनका लागि सरकारले सार्थक पहल गर्ने बताउनुभएको थियो ।

माओवादी केन्द्रको बैठक : समसामयिक विषयमा छलफल

काठमाडौँ, १२ साउनः सरकारबाट बाहिरिएपछिको अवस्थाका बारेमा छलफल गर्न र आगामी कार्यक्रम निर्धारण गर्ने लक्ष्यका साथ प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय पदाधिकारीको बैठक आज पनि बस्यो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकारबाट बाहिरिएको अवस्था र पार्टीको नयाँ कार्यक्रम तय गर्ने विषयमा छलफल भएको थियो ।

सो पार्टीको पदाधिकारीको बैठकमा १६ देखि २५ वर्षको जनसङ्ख्या झण्डै ६१ लाखलाई जनयुद्ध, गणतन्त्रलगायत परिवर्तनका विषयलाई केन्द्रका राखेर सङ्गठन निर्माण र जनपरिचालन गर्ने विषयमा छलफल भएको छ । पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाका अनुसार आजको बैठकमा उपाध्यक्ष पम्फा भुसाल र उपमहासचिव शक्ति बस्नेतले आफ्नो धारणा राख्नुभएको थियो ।

उहाँहरूले मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टी निर्माण, सङ्गठन र जनपरिचालनलगायतका विषयमा आफ्नो धारणा राख्नुभएको थियो । विज्ञान, प्रविधिको विकास र पछिल्लो पुस्तालाई समेत केन्द्रका राखेर सङ्गठन निर्माण, पार्टीका कार्यक्रम तय गर्नुपर्नेमा बैठकमा नेताहरूले जोड दिनुभएको थियो ।

पदाधिकारीको बैठकपछि पार्टीको स्थायी समिति बैठक बस्ने र लगत्तै केन्द्रीय समितिको बैठकसमेत तय गरेर आगामी दिनको कार्यक्रम तय गर्ने प्रवक्ता सापकोटाको भनाइ छ ।

माओवादी केन्द्रको शुक्रबारदेखि पदाधिकारीको बैठक सुरु भएको हो । शुक्रबार पदाधिकारीमा रहनुभएका छजना नेताले आफ्नो धारणा राख्नुभएको थियो । बैठक आइतबार पुनः बस्ने बताइएको छ ।

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका १७ जनाको शव आफन्तले बुझे

काठमाडौँ, १२ साउनः सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव आफन्तले बुझेका छन् । विमान दुर्घटनामा मृत्यु भएका १८ मध्ये आज साँझसम्म १७ जनाका आफन्तले शव बुझेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँकानुसार मृतक एक विदेशीको प्रक्रिया पु¥याएर शव व्यवस्थापन गरिनेछ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शव शवपरीक्षणपछि शुक्रबार र शनिबार आफन्तले शव बुझेका हुन् । शुक्रबार पाँचजना र आज १२ जनाले शव बुझेका हुन् ।

यही साउन ९ गते बुधबार सौर्य एयरलाइन्सको विमान उड्ने बित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार चालक दलका सदस्यसहित १९ जनामध्ये १८ को मृत्यु भएको थियो । सोही दुर्घटनामा क्याप्टेन मनिषरत्न शाक्य बाँच्न सफल हुनुभएको छ । दुर्घटनामा घाइते क्याप्टेन शाक्यलाई तत्काल उद्धार गरी सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा ल्याई सघन उपचारकक्षमा उपचार गरिएको थियो । अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।

योजना सञ्चालनमा ढिलाइ नगर्न मधेसका मुख्यमन्त्रीको निर्देशन

महेन्द्रनगर (धनुषा), १२ साउनः मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकार सञ्चालन भइरहँदा विगतमा भएका त्रुटि तथा कमीकमजोरीबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

मधेस शिक्षा तथा संस्कृति मन्त्रालयले आज आयोजना गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति विवरण सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री सिंहले चालु आवमा समयमै अख्तियारी पठाइएकाले योजना सञ्चालनमा ढिलाइ नगर्न मन्त्रालयका सचिवसहितका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री सिंहले भन्नुभयो, “तपाईँहरू काम गर्नुहोस्, कामका लागि वातावरण बनाउने जिम्मा मेरो छ ।” तर, काममा ढिलासुस्ती सह्य नहुने प्रस्ट्याउँदै मुख्यमन्त्री सिंहले मधेस प्रदेशलाई विकासको मार्गमा अघि बढाउने जिम्मेवारी कर्मचारीमा रहेकाले दत्तचित्त भएर नतिजामुखी कार्य गर्नुपर्ने बताउनुभयो ।

शिक्षा तथा संस्कृति मन्त्रालयले गत आवमा ५१ प्रतिशत बजेट खर्च गरेको छ । कार्यक्रममा शिक्षा तथा संस्कृतिमन्त्री रानीकुमारी तिवारीले कर्मचारी र मन्त्रीबीचको सम्बन्ध सुमधुर नभएसम्म कार्यप्रगति उत्साहजनक हुन नसक्ने बताउनुभयो । प्रदेशमा विकास कार्यलाई गति दिन मन्त्री तथा कर्मचारीबीच समन्वय गरेर बढ्नुको विकल्प नरहेको मन्त्री तिवारीले बताउनुभयो ।

शिक्षा तथा संस्कृति मन्त्रालयका सचिव महेन्द्र महतोको अध्यक्षतामा भएको वार्षिक प्रगति समीक्षा गोष्ठीमा मन्त्री तिवारीले सुख सुविधाभन्दा आफूले कामलाई प्राथमिकता दिएकाले जिम्मेवारी बुझेर कार्य सम्पादनमा लाग्न निर्देशन दिनुभयो ।

“तपाईँहरू कार्य अगाडि बढाउनुस्”, उहाँले भन्नुभयो, “बाधा अवरोध फुकाउने जिम्मा मेरो छ ।” काम नगर्ने प्रवृत्ति स्वीकार्य नहुने भन्दै मन्त्री तिवारीले आफू सुखसुविधाका लागि नभएर काम गर्न आएकाले कामप्रतिको बेवास्ता नगर्न पनि कर्मचारीलाई निर्देशन दिनुभयो ।

नेपालीपनको समाजवादको कार्यान्वयन गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ, १२ साउनः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताको मुक्ति र नेपाली समाजको रूपान्तरणका लागि नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालले सुरु गरेको आन्दोलनमा आज पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा पुष्पलालको जन्म शताब्दीका अवसर आयोजित कार्यक्रममा उहाँले नेपाली जनतालाई राजनीतिक अधिकार तथा देशलाई समृद्ध बनाउन पुष्पलालले जीवनको अन्तिम घडीसम्म गरेको सङ्घर्षको यात्रा अविस्मरणीय रहेको बताउनुभयो । नेपाली समाजको चरित्र अझै पनि अर्धसमान्तवादी रहेको बताउँदै अध्यक्ष नेपालले यसको अन्त्यका लागि नेपालीपनको समाजवादको कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पुष्पलालले नेपाली समाजको वस्तुनिष्ठ विश्लेषण गर्दै निरूपण गर्नुभएको नेपाली क्रान्तिको सिद्धान्तमा कम्युनिस्ट पार्टीहरू अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले माक्र्सवादी विचारधारालाई सैद्धान्तिक दृष्टिकोणले आफ्नो पार्टीले अवलम्बन गरेको बताउँदै नेपाली समाजको ऐतिहासिक भौतिकवादी ढङ्गले व्याख्या गर्न जरूरी रहेको बताउनुभयो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउन संविधान संशोधनः कांग्रेस नेता निधि

भक्तपुर, १२ साउनः नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउन आमसहमतिका आधारमा संविधान संशोधन गरिने बताउनुभएको छ ।
बयालिसौँ बिपी स्मृति दिवसका अवसरमा आज नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं २ ले यहाँ आयोजना गरेको बिपी स्मृति सभामा उहाँले कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको सहमतिअनुसार सबैको सहमतिमा संविधान संशोधन अगाडि बढाइने बताउनुभयो ।

नेता निधिले सत्ता गठबन्धनले सङ्घीयता, प्रदेश संरचना र समानुपातिक व्यवस्थालाई कमजोर बनाउँछन् भनेर चलाइएका हल्लाका पछि नलाग्न आग्रह गर्नुभयो । उहाँले संविधान संशोधनभन्दा पहिले प्रदेश कानुन बनाउन अत्यावश्यक रहेको समेत चर्चा गर्नुभयो । “अहिले संविधान संशोधनभन्दा पनि प्रदेश कानुन बनाएर प्रदेशको अधिकारलाई पूर्णता दिनु अत्यावश्यक छ, प्रदेशको आफ्नै प्रहरी, कर्मचारी हुने संविधानमा व्यवस्था छ तर त्यसको कार्यान्वयन भएको छैन । यसर्थ संविधानअनुरूप कानुन बनाउने विषयलाई वर्तमान सत्ता गठबन्धनले पहिलो प्राथमिकतामा राख्नुपर्छ ।”

कांग्रेस पूर्वउपसभापति निधिले एमाले र कांग्रेसबीच भएको सातबुँदे सहमतिअनुसार सरकारको निरन्तरता र कामकारबाही अगाडि बढ्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “ दुई पार्टीबीचको सहमतिलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्मा पढेर सुनाउनुभएको छ । म दाबाका साथ भन्न चाहन्छु, यो सम्झौता २०८४ को चुनावसम्म कायम रहन्छ । सरकारको नेतृत्व पनि सोहीअनुसार हस्तान्तरण हुन्छ । बाहिर यो सरकार टिक्दैन, केही महिनाका लागि मात्रे हो भन्ने चर्चा र भ्रम छर्ने काम भइरहेको छ, यसलाई चिरेर अगाडि बढ्छौँ ।”

वर्तमान सरकारको भविष्यबारे चिन्ता नगरी २०८४ सालमा बहुमत ल्याउने गरी पालिका तहदेखि नै पार्टीलाई मजबुद बनाउन लाग्नुपर्ने आवश्यकता औँल्याउनुहुँदै प्रतिनिधिसभा सदस्य निधिले गुट उपगुटभन्दा माथि उठेर पार्टीलाई जिताउने गरी एकताबद्ध हुन अपिल गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति एवं प्रतिनिधिसभा सांसद दुर्लभ थापाले बिपीको सिद्धान्तबाट कांग्रेस विचलित हुन नहुने चर्चा गर्नुहुँदै तल्लो तहबाटै कांग्रेस एकढिक्का भएर लाग्नुपर्नेमा जोड दिनुभयो । आयोजक कांग्रेस भक्तपुर क्षेत्र नं २ का सभापति भेषबहादुर कार्कीले माथिल्लो तहदेखि नै गुटबन्दी अन्त्य भएकामा सिङ्गो कांग्रेस एक भएर अगाडि बढ्ने दाबी गर्नुभयो ।

बागमतीमा दोस्रोपटक मन्त्रिपरिषद् विस्तार, कांग्रेसका चार मन्त्री थपिए

बागमती, १२ साउनः बागमती प्रदेशका बागमतीमा दोस्रोपटक मन्त्रिपरिषद् विस्तार, कांग्रेसका चार मन्त्री थपिए (तामाङ)ले आज दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।मुख्यमन्त्री लामाले आज नेपाली कांग्रेसका मीनकृष्ण महर्जनलाई युवा तथा खेलकुदमन्त्री, प्रभात तामाङलाई आर्थिक मामिला तथा योजनामन्त्री, सुरजचन्द्र लामिछानेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री र विमल ठकुरीलाई संस्कृति पर्यटन तथा सहकारीमन्त्रीमा नियुक्त गर्नुभएको हो । नवनियुक्त मन्त्रीहरूलाई आज एक समारोहबीच प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथग्रहण गराउनुभयो । यो सँगै बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् अब १४ सदस्यीय बनेको छ ।

यसअघि यही साउन ९ गते मुख्यमन्त्री लामाले नेपाल कम्युनिष्ट (एमाले)का प्रकाश श्रेष्ठलाई कृषि तथा पशुपक्षीमन्त्री, किरण थापालाई स्वास्थ्यमन्त्री, कृष्ण सिलवाललाई वन तथा वातारणमन्त्री, सुकमाया तामाङलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केलाई भौतिक पूर्वाधार विकासमन्त्री र प्रेमभक्त महर्जनलाई श्रम रोजगार तथा यातायातमन्त्रीको रूपमा नियुक्त गर्नुभएको छ ।

यस्तै कांग्रेसका कुन्दनराज काफ्लेलाई सामाजिक विकासमन्त्री, श्याम खड्कालाई खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र मधुकुमार श्रेष्ठलाई बिनाविभागीयमन्त्रीमा नियुक्त गर्नुभएको थियो । शपथग्रहणलगत्तै नवनियुक्त मन्त्रीहरु आ–आफ्ना मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभएको छ ।

सुरक्षाका लागि विद्यार्थी नेतालाई पक्राउ गरिएको बङ्गलादेशको प्रशासनको दाबी

बङ्गलादेशमा निजामती सेवामा आरक्षण (कोटा) प्रणालीको विरोधमा भएको प्रदर्शनले देशव्यापी अशान्ति मच्चाएपछि तीन विद्यार्थी नेतालाई उनीहरूको सुरक्षाका लागि नै हिरासतमा लिइएको बङ्गलादेशको प्रशासनले जनाएको छ ।‘स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन’का प्रमुख नाहिद इस्लाम र प्रदर्शन समूहका अन्य दुई वरिष्ठ सदस्यलाई शुक्रबार अस्पतालबाट जबर्जस्ती डिस्चार्ज गरिएको र सादा पोशाकमा आएका प्रहरीले उनीहरूलाई लिएर गएका थिए ।

सडक प्रदर्शनमा प्रहरीले व्यापक दमन गरेको छ । अस्पताल र प्रहरीले एएएफपीलाई दिएको तथ्याङ्कअनुसार प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच केही दिनयता चलेको झडपमा कम्तीमा २०१ जनाको मृत्यु भएको थियो ।इस्लामले यसै साताको सुरूमा एएफपीसँग कुरा गर्दै उहाँको राजधानी ढाकाको एक अस्पतालमा उपचार भइरहेको बताउनुभएको थियो ।

इस्लाम र उहाँका दुई सहकर्मीलाई हिरासतमा लिएको भन्ने कुरा प्रहरीले सुरुमा अस्वीकार गरेको थियो तर गृहमन्त्री असदुज्जमान खानले शुक्रबार अबेर पत्रकारसँग कुरा गर्दै भन्नुभयो, “केही मानिसहरूले उनीहरूलाई धम्की दिएको र उनीहरूले असुरक्षित महसुस गरिरहेको सूचनापछि सुरक्षाकर्मीको नियन्त्रणमा राखिएको हो ।”

उहाँले भन्नुभयो, “उनीहरूको सुरक्षाको लागि धम्की कसले दिइरहेको छ भनेर पत्ता लगाउन सोधपुछ आवश्यक छ । सोधपुछपछि हामी अर्को कदम चाल्नेछौँ ।”

खानले तीनै जनालाई औपचारिक रुपमा पक्राउ गरिएको हो वा होइन भन्ने पुष्टि गर्नुभएको छैन । गत हप्ता ढाकाका प्रदर्शनकारी र दङ्गा प्रहरीबीच सडक सङ्घर्ष भएको र सरकारी भवन र प्रहरी चौकीमा आगजनीसमेत भएको थियो ।आन्दोलनमा सहभागिता बढ्न थालेपछि हसिना प्रशासनले सेना परिचालन गरेको, देशव्यापी इन्टरनेट अवरोध गरेको र शान्ति बहालीका लागि भन्दै कफ्र्यू आदेश जारी गरेको थियो ।

प्रहरी र सरकार समर्थित विद्यार्थी समूहले गत हप्ताभन्दा पहिले शान्तिपूर्ण रूपमा रहेको ‘स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन’द्वारा आयोजित सडक ¥यालीमा आक्रमण गरेपछि अशान्ति सुरु भएको थियो ।

समूहका प्रमुख संयोजक २६ वर्षीय इस्लामले सोमबार अस्पतालको शय्याबाट एएफपीसँग कुरा गर्दै उहाँको जीवनमाथि खतरा रहेको बताउनुभएको थियो । दुई दिनअघि प्रहरी जासुस दावी गर्ने एक समूहले आफूलाई आँखामा पट्टी बाँधी, हत्कडी लगाई अर्को दिन बिहान रिहा हुनुअघि यातना दिन अज्ञात स्थानमा लगेको उहाँले बताउनुभयो ।

प्रदर्शनको नेतृत्व गरेका अर्का सदस्य आसिफ महमुदले एएफपीसँग कुरा गर्दै गत साताको अशान्तिका बेला आफूलाई पनि प्रहरीले हिरासतमा लिएको र कुटपिट गरेको बताउनुभएको थियो ।

अशान्ति सुरु भएयता प्रहरीले कम्तीमा चार हजार ५०० जनालाई पक्राउ गरिसकेको छ ।“हामीले राजधानीमा छापा मारेका छौँ र अपराधीलाई पक्राउ नगरेसम्म हामी छापा मार्ने क्रम जारी राख्नेछौँं,’ ढाका महानगरीय प्रहरीका संयुक्त आयुक्त विप्लवकुमार सरकारले एएफपीसँग बताउनुभयो ।उहाँले सुरक्षाकर्मीले सामान्य विद्यार्थीलाई पक्राउ नगर्ने तर सरकारी सम्पत्तिमा तोडफोड गर्ने र आगजनी गर्नेहरूलाई मात्र पक्राउ गरिने बताउनुभयो ।

बिरामीको मृत्युपछि धनगढीको नोभा अस्पतालमा तोडफोड, स्थिति नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रुग्यास

सुदूरपश्चिम, १२ साउनः उपचारका क्रममा बिरामीको मृत्यु भएको घटनालाई लिएर धनगढीको नोभा अस्पतालमा तोडफोड हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले आज चार सेल अश्रुग्यास प्रहार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता गङ्गादत्त बडूले अस्पतालमा तोडफोड हुन थालेपछि उत्पन्न तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरीका तर्फबाट चार सेल अश्रुग्यास प्रहार गर्नुपरेको  बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले स्थिति सामान्य अवस्थातिर गइरहेको छ, अस्पताल प्रशासन र मृतक पक्षका बीच समस्या समाधानका लागि छलफल चलिरहेको छ ।” सशस्त्र प्रहरी बलले पनि केही सेल अश्रुग्यास प्रहार गरेको थियो ।

चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले गरेको तोडफोडबाट अस्पतालमा क्षति पुगेको छ । कमलपित्त (जन्डिस)भएको भनेर उपचारका लागि अस्पताल पुगेका कञ्चनपुर जिल्ला, बेलौरी नगरपालिका–२ का १७ वर्षीय युवक नसिभ चौधरीको हिजो मृत्यु भएको थियो । आफन्तले उपचारमा गरिएको लापरबाहीका कारण चौधरीको मृत्यु आरोप लगाएका छन् । तनावपूर्ण अवस्थालाई थप बिग्रिन नदिन धनगढीको मुख्य सडकसँगै जोडिएको उक्त अस्पताल आसापसमा आज दिनभरि नै ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । 

उपचारमा संलग्न चिकित्सकमाथि कारबाही गर्नुपर्ने र मृतकका परिवारलाई उचित क्षतिपूर्ति नदिएसम्म शव नउठाने मृतकका आफन्तले बताएका छन् । निजी क्षेत्रबाट सञ्चालनमा रहेको नोभा अस्पतालका पदमराज भट्टले भने उपचारमा लापरबाही नभएको बताउनुभएको छ ।

जनताले प्राप्त गरेको अधिकार खोस्ने जमर्काे भए प्रतिवाद हुन्छः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताले प्राप्त गरेको अधिकार खोस्ने जमर्काे भए त्यसको प्रतिवाद गरिने बताएका छन् ।

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म शताब्दीका अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानसभाबाट निर्माण भएको संविधानमा प्राप्त भएका जनताका अधिकार कोही कसैले पनि खोस्न नसक्ने उल्लेख गरे ।

उनले आदिवासी, जनजाति, महिला, दलित, अल्पसङ्ख्यक समुदायलाई थप अधिकार सम्पन्न बनाउन संविधान संशोधन गर्नुपर्ने आफूहरुको मत रहेको र पछिल्लोपटक संसद्मा सम्बोधन गर्दासमेत त्यही विषयलाई केन्द्रित गरेको बताए ।

संविधन संशोधनको नाममा प्रतिगमनतिर लैजाने काम गरिए त्यो आफूहरूलाई सह्य नहुने अध्यक्ष दाहालको भनाइ छ । संविधान संशोधनको सैद्धान्तिक विरोध नभए पनि जुन तरिकाका साथ दुई दल (नेपाली कांग्रेस र नेकपा (एमाले) अगाडि बढ्न खोजेका छन् त्यसले भने आफूहरूलाई संशय पैदा गरेको उनको कथन छ ।

संविधानका मूलभूत प्रस्तावनालाई परिवर्तन गर्न खोज्ने, समावेशिता र समानुपातिक प्रतिनिधित्व, सङ्घीयता र गणतन्त्रको सकारात्मक पक्षलाई कमजोर पार्न खोज्ने प्रवृत्ति देखापरेको अध्यक्ष दाहालको भनाइ छ ।

उनले भने,“संसद्को पहिलो र दोस्रो ठूलो दल मिल्नु स्वाभाविक मानिँदैन, लोकतन्त्रमा त झन् मानिँदैन तर त्यो अभ्यास गर्न खोजिएको छ ।”

पछिल्ला दिनमा ‘थ्रेसहोल्ड’ बढाएर साना पार्टीलाई निस्तेज पार्ने र ‘तथाकथित’ रूपमा दुई दलीय प्रणाली ल्याएर पश्चिमा देशको जस्तो जबर्जस्ती गर्न खोजिएको आरोप लगाउँदै अध्यक्ष दाहालले त्यहीमार्फत देशलाई अधिनायकवादतर्फ लैजाने कोसिस भइरहेको टिप्पणी गरे ।

नेकपाका संस्थापक महासचिव पुष्पलालको योगदानलाई केन्द्रमा राखेर पुनः वामपन्थी शक्तिबीचको एकता प्रक्रियालाई अगाडि बढाउन उनले सबैलाई आह्वान गरे ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालमा वामपन्थीहरूबीचको एकता, सहकार्यलाई थप सक्रियताका साथ अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

उनले कम्युनिष्ट आन्दोलनभित्र देखापरेको अराजकता र व्यक्तिकेन्द्रित अहङ्कार र जनताको अधिकार खोस्न खोज्ने प्रवृत्तिका विरुद्ध साझा प्रतिवादको जरुरी रहेको बताए ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी कार्यक्रमबाट मात्रै मुलुकमा देखापरेको राजनीतिक, आर्थिक, सामाजिक समस्याको समाधान हुने बताए ।

नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले शक्तिशाली कम्युनिष्ट पार्टी निर्माणको लक्ष्यसहित कार्यक्रम अगाडि बढाउन सबै वामपन्थी शक्तिलाई आह्वान गरे ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले को सही र को गलत कम्युनिष्ट भन्ने छुट्याउन नै समस्या भएको टिप्पणी गरे ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता भीम रावल, जसपाका नेता राजेन्द्र श्रेष्ठलगायतले पुष्पलालको योगदान र नेपालको कम्युनिष्ट आन्दोलनका बारेमा आफ्नो धारणा राख्दै समसामयिक राजनीतिक विषयमा टिप्पणी गरे ।

प्रदेश सरकारलाई थप प्रभावकारी काम गर्न जनमत पार्टी सचिवालयको सुझाव

जनकपुर, १२ साउनः जनमत पार्टी केन्द्रीय सचिवालय बैठकले प्रदेश सरकारको कामकारबाही थप प्रभावकारी बनाउन सुझाव दिएको छ । जनकपुरधामस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले मधेस सरकारलाई थप चलायमान र प्रभाकारी बनाउन पार्टीका तर्फबाट चारबुँदे सुझाव दिएको पार्टी प्रवक्ता डा शरदसिंह यादवले जानकारी दिनुभयो

हिजोदेखि सुरू भएको बैठक आज सम्पन्न भएको हो । “दुई दिनसम्म चलेको बैठकमा पार्टीले मधेस सरकारको कार्यभार सम्हालेपछि गरेका काम, देखापरेका समस्या र चुनौतीका बारेमा छलफल गरिएको थियो”, प्रवक्ता डा यादवले भन्नुभयो, “सरकारलाई अझ बढी चलायमान र कामकारबाहीको प्रभावकारिता बढाउन सबैले सुझाव दिएका थिए । सोहीअनुसार हामीले सरकारलाई चार बुँदे सुझाव दिने निर्णय गरेका छौँ ।”

बैठकले प्रदेशमा देखिएका बेथितिलाई सुधार गर्दै सुशासन कायम गर्न र रोजगारीका कार्यक्रमहरू सञ्चालन गर्नतर्फ केन्द्रीत हुन मुख्यमन्त्री सतिशकुमार सिंहलाई आग्रह गरेको छ । बैठकबाट प्राप्त सुझाव र जनतालाई फाइदा हुनेगरी काम गर्न आफू प्रतिबद्ध रहेको मुख्यमन्त्री सिंहले बताउनुभएको प्रवक्ता डा यादवले जानकारी दिनुभयो ।

आगामी निर्वाचनसम्मै कांग्रेस एमालेको सरकार रहन्छ : सञ्चारमन्त्री गुरुङ

लमजुङ, १२ साउन : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक विकासका लागि कांग्रेस र एमालेको संयुक्त सरकार गठन भएको र यो आगामी निर्वाचनसम्मै रहने बताउनुभएको छ । आजदेखि सुरु भएको राष्ट्रिय युवासङ्घ नेपाल गण्डकी प्रदेशकोे प्रथम अधिवेशनको उद्घाटन गर्दै मन्त्री गुरुङले विकासको गति बढाउनका लागि दुई ठूल मिल्नुपरेको स्पष्ट पार्नुभयो ।

सबै क्षेत्रको विकासमा सरकारले ध्यान दिने बताउँदै मन्त्री गुरुङले मुलुकलाई विकसित देशको दाँजोमा लैजानका लागि प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री केपी ओलीलाई प्राप्त मत अझै थपिँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीले एक महिनाभित्रमा सबै मन्त्रीहरूलाई देखिनेगरी काम गर्न निर्देशन दिनुभएको र सोही अनुरूप मन्त्रीहरू अघि बढेकाले कामको गति देखिने मन्त्री गुरुङको भनाइ छ । उहाँले विकासका कार्यक्रमलाई तीब्ररूपमा अगाडि बढाएर सरकारले जनतामा आशाको सञ्चार गराउने अठोट लिएको बताउनुभयो ।

कार्यक्रममा एमाले पोलिब्यूरो सदस्य तथा युवासङ्घका पूर्वअध्यक्ष महेश बस्नेतले देश बनाउने जिम्मा युवाहरूको काँधमा आएकाले सोही अनुरूप युवाहरू अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । एमाले पार्टीले युवाहरूलाई विभिन्न अवसर दिँदै आएको उहाँको भनाइ छ ।

सङ्घका केन्द्रीय पूर्वअध्यक्ष राजीव पहारीले युवाहरूले देश निर्माणमा ठूलो योगदान दिएको र राज्यले पनि सोही अनुरूप युवाहरूलाई अवसर प्रदान गर्नुपर्ने बताउनुभयो । त्यस्तै एमाले केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य जमिन्द्रमान घले, एमाले गण्डकी प्रदेश सचिव धनजय दवाडीले युवासङ्घले जनतामा विश्वास जगाएर काम गर्नुपर्ने बताउनुभयो ।

जनसङ्ख्याका आधारमा संसद्मा प्रतिनिधित्व हुनुपर्छ : अध्यक्ष यादव

काठमाडौँ, १२ साउन : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनले मुलुकलाई गणतन्त्रमा प्रवेश गराउन, समावेशिता लागू गर्न र सङ्घीयतामा रुपान्तरण गर्न महत्त्वपूर्ण योगदान गरेको बताउनुभएको छ ।

उहाँले जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्रको सङ्ख्या काम गर्नुपर्नेमा ५३ प्रतिशत जनसङ्ख्या रहेको तराई मधेसमा त्यसका आधारमा सङ्घीय संसद्मा प्रतिनिधित्वको व्यवस्था सुनिश्चित गरिनुपर्ने माग गर्नुभयो ।

देशमा रहेका मिथिला, किरात, खस र काठमाडौँका रहेको नेवार सम्भयता मिलेर बनेकाले ती सबै सभ्यतालाई बराबरीका दृष्टिकोणबाट हेरिनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले संविधान संशोधनमार्फत तराई मधेसका जनताले उठाउँदै आएको विषयवस्तु सम्बोधन गरिनुपर्छ भन्नुभयो ।

जसपाद्वारा आज यहाँ आयोजित ‘संविधान संशोधनको सवल’ विषयक अन्तक्र्रियामा अध्यक्ष यादवले सङ्घीयता र सङ्घीय शासन प्रणालीलाई सफलता बनाउन संवैधानिक सर्वाेच्चता, मूलभूत विषयमा कठोर भएको लिखित संविधान र स्वतन्त्र न्यायालयको आवश्यकतापर्ने बताउनुभयो ।

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा दन्त सेवा सञ्चालन

गण्डकी, १२ साउनः पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा अत्याधुनिक उपकरण तथा प्रविधिसहितको दन्त उपचार सेवा सञ्चालनमा आएको छ ।दन्त विभागमा अस्थायी/स्थायी रूपमा दाँतसम्बन्धी सम्पूर्ण सेवा उपलब्ध रहेको पोखरा विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिनुुभयो । उहाँकानुसार अस्पतालले बहिरङ्ग (ओपिडी), स्त्री तथा प्रसूति रोग, हाडजोर्नी तथा नसा रोग, बालरोग, फिजिसियन तथा जनरल मेडिसिन सेवाका साथै इमर्जेन्सी, युएसजी र इसिजी सेवासँगै दन्त रोग उपचार सेवा सञ्चालनमा ल्याएको हो ।

दन्त विभागलाई दक्ष तथा अनुभवी एकजना बिडिएस डेन्टल सर्जन र एकजना पिसिएल डेन्टल हाइजिनिष्टको नेतृत्वमा सञ्चालन गरिएको पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशक सह–प्राडा दीपेन्द्रकुमार यादवले जानकारी दिनुभयो । शिक्षण अस्पताल सरकारी भएकाले दन्त सेवा शुल्क र उपचार खर्च अन्य सरकारी अस्पताल सरह भएको उहाँले बताउनुुभयो ।

दन्त चिकित्सक डा मानुषी पौडेलले पोखरा विश्वविद्यालय शिक्षण अस्पतालअन्तर्गत डेन्टल ओपिडी सेवा बिदाको दिनबाहेक १० देखि ५ बजेसम्म सञ्चालन हुने र यहाँ दाँतका बिरामीहरुलाई सुविधासम्पन्न ल्याबदेखि फार्मेसीसम्मका सम्पूर्ण सेवा उपलब्ध रहेको जानकारी दिनुभयो ।

फोहरबाट आम्दानी गर्ने योजना बनाउँदै तनहुँको व्यास नगरपालिका

तनहुँ, १२ साउनः तनहुँको व्यास नगरपालिकाले खेर गइरहेको फोहर व्यवस्थापनबाट आम्दानी गर्ने योजना अघि बढाएको छ । पहिलो चरणमा नकुहिने फोहरलाई मोहरमा बदल्ने सोचसहित सूक्ष्म रूपमा वर्गीकरण गरेर बिक्री वितरण गर्ने प्रक्रिया अघि बढाइएको नगरपालिकाले जनाएको छ ।

वन, वातावरण तथा सरसफाइ शाखा प्रमुख नवराज कँडेलले विगत लामो समयदेखि नकुहिने फोहरलाई खाडल खनेर पुर्दै आएकामा हाल कार्यालय परिसरमै व्यवस्थापन गरी बिक्री वितरणको तयारी गरिएको जानकारी दिनुभयो । “यसअघि वडा नं ३ मादीनदी किनारस्थित भतेरीमा नकुहिने फोहर व्यवस्थापन गर्दै आएका थियौँ । त्यहाँको सम्झौता अवधि सकिएकाले अर्को व्यवस्था नहुँदासम्म कार्यालय परिसरबाटै फोहर व्यवस्थापन गर्न लागिएको छ”, उहाँले भन्नुभयो, “यसरी सङ्कलित फोहरको वर्गीकरण गरी बिक्री वितरणको योजना बनाएका छौँ । त्यसका लागि ट्रष्ट निर्माण र व्यवस्थित वर्गीकरणका लागि आवश्यक मेसिन खरिदको काम भइरहेको छ ।”

नगरपालिका क्षेत्रमा हाल दैनिक १५ टन नकुहिने र सात टन कुहिने फोहर सङ्कलन हुने गरेको छ । यसको दिगो व्यवस्थापनका लागि वडा नं १३ मा जग्गा खरिद प्रक्रिया अगाडि बढाइएको नगरपालिकाले जनाएको छ । यहाँ पूर्वनिर्धारित स्थलमा फोहर विसर्जनका लागि भएको सम्झौता अवधि सकिएपछि यही साउन १ गतेदेखि दमौली बजारलगायत आसपासका क्षेत्रबाट नकुहिने फोहर सङ्कलनमा समस्या भइरहेको छ । कुहिने फोहर वडा नं १० दुम्सीस्थित गौ संरक्षण केन्द्रमा व्यवस्थापन हुँदै आएको छ ।

प्रमुख प्रशासकीय अधिकृत काशिराम गैरेले प्लाष्टिक, सिसा, कपडा र फलामलगायत नकुहिने वस्तुलाई छ किसिमले सूक्ष्म वर्गीकरण गरी बिक्री गर्ने योजना बनाइएको जानकारी दिनुभयो । यसबाट मासिक रु एक लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्य राखिएको उहाँको भनाइ छ । यसअघि खाडल खनेर पुरिँदै आएको नकुहिने फोहर अब सरसफाइ शाखाका कर्मचारी परिचालन गरी वर्गीकरण गर्ने र त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर बिक्री वितरण गरिने गैरेले बताउनुभयो ।
नगर प्रमुख बैकुण्ठ न्यौपानेले हालसम्म फोहर व्यवस्थापनका लागि लाखौँ रकम खर्च गरिरहेको नगरले अब त्यसैबाट आम्दानी गर्ने गरी काम गर्ने बताउनुभयो । “हामीले सिसाका बोतल खरिद गर्न प्रस्ताव माग गरिसकेका छौँ । सबै किसिमका वस्तु बिक्रीका लागि आवश्यक तयारी भइरहेको छ”, उहाँले भन्नुभयो,“सरसफाइ क्षेत्रमा लाखौँ खर्च गर्दै आएकामा अब फोहरलाई आम्दानीको स्रोतका रूपमा अगाडि बढाउने छ । सोहीअनुसार आवश्यक काम भइरहेका छन् ।”

सर्बियामा भ्यान पल्टिँदा नेपालीसहित ३० यात्रु घाइते

दक्षिणपूर्वी सर्बियामा एक यात्रुबाहक भ्यान पल्टिँदा ३० जना अफगानी र नेपाली आप्रवासी घाइते भएका सर्बियाको आरटीएस टेलिभिजनले शनिबार जनाएको छ ।आरटीएसका अनुसार तीन जना आप्रवासी अस्पतालमै रहेका छन् भने अन्यलाई सामान्य उपचारपछि शरणार्थीका लागि सञ्चालन गरिएको ‘रिसेप्सन सेन्टर’ मा राखिएको छ ।

ती आप्रवासी नेपाल र अफगानिस्तानबाट आएका पुरुष रहेको आरटीएसले जनाएको छ । गत शुक्रबार पनि बेला पलाका शहर नजिकैको राजमार्गमा करिब ५० आप्रवासी बोकेको भ्यान सडकबाट चिप्लिएर दुर्घटना भएको थियो ।

सर्बिया युरोपेली सङ्घ (ईयू) तर्फ जाने आप्रवासीहरूले प्रयोग गर्ने बाल्कन मार्गमा रहेको छ । सन् २०२३ मा करिब एक लाख आप्रवासीले यो मार्ग प्रयोग गरेको ईयूको सीमा निगरानी निकाय फ्रन्टेक्सले जनाएको छ ।

इजरायली सेनाद्वारा गाजामा पुनः निकासीको आदेश जारी

गत बुधबार पाँचवटा इजरायलीको शव बरामद गरेसँगै इजरायली सेनाले शनिबार दक्षिणी गाजाको खान युनिस सहरका बासिन्दालाई उक्त स्थान खाली गर्न आदेश जारी गरेको छ ।इजरायली सेनाले गत सोमबारबाट यस क्षेत्रमा कारबाही सुरु गरेदेखि लडाइँका कारण एक लाख ८० हजारभन्दा बढी प्यालेस्टिनी विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

प्यालेस्टिनी क्षेत्रमा बिग्रदो स्वास्थ्य र सरसफाईको अवस्था रिपोर्ट गर्दै राष्ट्र सङ्घले बढ्दो द्वन्द्व र बारम्बारको निकासीले सहायता कार्यलाई अस्थिर बनाएको उल्लेख गरेको छ ।
सुरक्षित मानवीय क्षेत्रसहित खान युनिस क्षेत्रमा सेनाले बासिन्दालाई निकासी चेतावनी दिएपछि स्वास्थ्य मन्त्रालयले सोमबार खान युनिसमा इजरायली कारबाहीमा ७० जनाको मृत्यु हुनुका साथै २ सय भन्दा बढी घाइते भएको जनएको छ ।

सुरुवाती समयमा तिव्र लडाइँ भएको त्यस क्षेत्रबाट इजरायलतर्फ रकेट फायर रोक्ने कार्य गर्ने जनाउदै सेनाले निकासी आदेश दिएको हो । खान युनिसका बासिन्दालाई शनिबार अल–मवासीको समायोजित मानवीय क्षेत्र खाली गर्न दिएको यो सेनाको दोस्रो आदेश हो ।

प्रत्यक्षदर्शी र उद्धारकर्ताहरूले शुक्रबार पूर्वी खान युनिस वरपर लडाइँ जारी रहेको र सहरको नासेर अस्पतालमा चिकित्सकले दक्षिणी प्रान्तका विभिन्न भागहरूबाट कम्तिमा १६ जनाको शव उद्धार गरेको बताएका छन् ।

ओलम्पिक उद्घाटनमा गलत परिचय गराएकोमा आइओसीले माग्यो दक्षिण कोरियासँग माफी

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले पेरिस ओलम्पिकको उद्घाटन समारोहमा दक्षिण कोरियाली खेलाडीलाई उत्तर कोरियाली भनेर गलत परिचय गराइएकोमा शनिबार माफी मागेको छ। फ्रान्सको राजधानीमा आयोजित ओलम्पिकको उद्घाटनमा दक्षिण कोरियाली प्रतिनिधिमण्डललाई उत्तर कोरियाको आधिकारिक नामले परिचय गराइएको थियो ।

“उद्घाटन समारोहका क्रममा दक्षिण कोरियाली टोलीको परिचय गराउँदा भएको गल्तीका लागि हामी माफी माग्छौँ“, आइओसीले बताएको छ ।आइओसीको यस त्रुटिले दक्षिण कोरियामा अप्रसन्न प्रतिक्रियाहरू निम्त्याएको छ ।

“ सन् २०२४ पेरिस ओलम्पिकको उद्घाटन समारोहमा दक्षिण कोरियाली प्रतिनिधिमण्डललाई उत्तर कोरियाली टोलीको रूपमा प्रस्तुत गरिएकोमा खेद व्यक्त गर्दछौँ“, दक्षिण कोरियाको खेलकुद मन्त्रालयले एक विज्ञप्तिमार्फत जनाएको छ । देशको उप–खेलकुद मन्त्री जाङ मि–रानले यस विषयमा छलफल गर्न आईओसी प्रमुख थोमस बाखसँग छलफल गर्ने बताउनुभएको छ ।

दक्षिण कोरियाको राष्ट्रिय ओलम्पिक कमिटीले पनि पेरिस ओलम्पिक आयोजक समिति र आईओसीसँग भेट गरेर यस्तो गल्तीको पुनरावृत्ति रोक्न अनुरोध गर्ने र आफ्नो प्रतिनिधिमण्डलका प्रमुखको नाममा आधिकारिक विरोध पत्र पठाउने योजना बनाएको सियोलको खेल मन्त्रालयले जनाएको छ ।

अध्यक्ष नेपालबाट खतिवडाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली

काठमाडौँ, १२ साउनः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अनेरास्ववियुका पूर्वनेता प्रिजा खतिवडाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

खतिवडाको पार्थिव शरीर अन्त्येष्टिका क्रममा आज पशुपति आर्यघाटमा पुगेर उहाँले श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो । गत बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा उहाँका श्रीमान् मनुराज शर्मा र चार वर्षीय छोरा अधिराज शर्मासहित खतिवडाको निधन भएको थियो । उक्त दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए ।

परिवारले शिक्षण अस्पतालबाट आज शव बुझेपछि तीनै जनाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । त्यस्तै पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत पार्टीका नेता कार्यकर्ता पशुपति पुगेर मृतकप्रति श्रद्धाञ्जली दिनुुका साथै परिवारलाई सान्त्वना दिनुभएको थियो ।

पूर्वीनाका काँकडभिट्टाबाट तीन अर्बको प्लाइउड र भेनियर निर्यात

झापा, १२ साउनः आर्थिक वर्ष २०८०÷८१ मा पूर्वीनाका काँकडभिट्टाबाट रु दुई अर्ब ९६ करोड ४१ लाख ९४ हजार मूल्य बराबरको ९९ हजार आठ सय एक मेट्रिक टन काठका सामान भारत निर्यात भएको छ । पूर्वीपहाडको खेतबारीमा उत्तिसलगायत छिटो हुर्किने बिरुवा लगाएर प्लाइउड उत्पादन हुँदै आएको छ । काठको पाताबाट भेनियर उड उत्पादन हुने र भेनियर उडलाई प्रशोधन गरेर प्लाइउड बनाउने गरिन्छ ।

सोही अवधिमा रु २४ करोड १९ लाख ३४ हजार मूल्य बराबरको २१ हजार नौ सय ९४ मेट्रिक टन भेनियर उड भारत निर्यात भएको थियो भने रु दुई अर्ब ७१ करोड ९९ लाख २० हजार मूल्य बराबरको ७७ हजार सात सय १२ मेट्रिक टन प्लाइउड निर्यात भएको प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रेश्वर यादवले जानकारी दिनुभयो ।

यस्तै, रु चार लाख ५९ हजार मूल्य बराबरको ९२ मेट्रिक टन प्लाइउड उत्पादन गर्ने क्रममा निस्कने काठको धुलोसमेत र रु १८ लाख ८२ हजार मूल्य बराबरको तीन मेट्रिक टन काठबाट बनेका हस्तकलाका सामान भारत निर्यात गरिएको उहाँले जानकारी दिनुभयो ।

मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेमराज प्रसाईले भारतीय मुद्रा आर्जन गर्न र व्यापार घाटा न्यूनीकरण गर्न प्लाइउडलगायत काठजन्य उत्पादनको निर्यातले ठूलो योगदान पुर्याएको बताउनुभयो । केही वर्षयता प्लाइउडको व्यापारमा उतारचढाव आइरहे पनि कच्चापदार्थको सङ्कलन र निर्यातमा अवरोध नभएको उहाँको भनाइ छ ।

खेतबारीमा अन्नबाली रोप्दा बाँदर र वन्यजन्तुले नाश गरिदिने समस्या भोगिरहेका यहाँका किसानले रुखोपाखो बारीमा छिटो हुर्किने उत्तिसलगायत बिरुवा रोप्न थालेका छन् । यसबाट पर्यावरण संरक्षण र किसानको जीविकोपार्जनका क्षेत्रमा योगदान पुगिरहेको अध्यक्ष प्रसाईले बताउनुभयो । झापा, इलाम, पाँचथर र ताप्लेजुङबाट सङ्कलन गरिएका काठबाट बनेका प्लाइउडलगायत काठजन्य उत्पादन पूर्वीनाका काँकडभिट्टा र तराईका अन्य नाकाबाट समेत भारततर्फ निर्यात भइरहेका छन् ।
 

बालबालिका लक्षित प्रतियोगिता ‘ग्लोरी टिन एण्ड किड्स ट्यालेन्ट’ हुने

काठमाडौं । बालबालिका लक्षित प्रतियोगिता ‘ग्लोरी टिन एण्ड किड्स ट्यालेन्ट’ हुने भएको छ । ग्लोरी मिडियाले राष्ट्रिय बाल दिवसको अवसर पारेर यो प्रतियोगिता आयोजना गर्न लागेको हो । आयोजकका अनुसार यही साउन १९ गते शनिबार राजधानीमा प्रथम अडिसन हुँदैछ ।

ग्लोरी मिडियाका अध्यक्ष एवम् प्रबन्ध निर्देशक सरोज ओझाका अनुसार ७ देखि १८ वर्षसम्मका बालबालिकाहरुले प्रतियोगितामा भाग लिन पाउनेछन् । ‘जसमा ७ वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकाले किड्स ट्यालेण्ट र १३ देखि १८ वर्ष उमेरका बालबालिकाहरुले टिन ट्यालेण्टमा भाग लिन पाउनेछन् । प्रतियोगीहरुले करिब २० दिन अवधिको कोरियोग्राफीसहित व्यक्तित्व विकास, आत्मविश्वास, मोडलिङ, क्यामेरा फेस तथा टेलिभिजन कार्यक्रम सञ्चालनलगायतका विषयमा प्रशिक्षण प्राप्त गर्नेछन्’, उनले भने ।

प्रतियोगिताअन्तर्गत प्रथम अडिसन पश्चात प्रशिक्षण शुरु हुनेछ भने भाद्र २९ गते राष्ट्रिय बाल दिवसको अवसरमा फिनाले हुनेछ । प्रतियोगीहरुलाई अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्यले कोरियोग्राफी गर्नेछन् ।

‘यो सौन्दर्य प्रतियोगिता मात्रै नभई वृहत र बाल सहभागितामुलक टेलिभिजन कार्यक्रम निर्माणको तयारी पनि हो । त्यसैले यो प्रतियोगिता अन्य प्याजेन्ट शो भन्दा भिन्न हुनेछ र हामी बालबालिकामैत्री शोको अवधारणालाई अगाडि बढाउने प्रयत्न यसै प्रतियोगिता मार्फत गर्दैछौँ’, अध्यक्ष तथा प्रबन्ध निर्देशक ओझाले भने ।

प्रतियोगिताका उपाधी विजेताले नगद २५ हजार, फस्र्ट रनर अपले १५ हजार र सेकेण्ड रनर अपले १० हजार नगदसहित पोखरा जाने आउने टुरिष्ट बसको टिकट र अन्य पुरस्कार पाउनेछन् । विजेताले ग्लोरी मिडियाले एनटिभि न्युजमा बुधबार राती ९ः१५ मा प्रस्तुत गर्दै आएको पाक्षिक कार्यक्रम ‘सचेतना’मा बालबालिका ‘विशेष एपिसोड’ सञ्चालनको अवसर पाउनेछन् ।

ग्लोरी मिडियाको साझेदार कम्पनी राज्य मिडिया नेटवर्कका सिइओ डेभिल सिंह राजपुतले प्रतियोगिता बालबालिकाहरुको अधिकारलाई समेत मुखरित गर्नेमा आफु विश्वस्त रहेको बताए ।

प्रतियोगिताका लागि ग्लोरीले वल्र्ड टच टुर्स एण्ड ट्राभल्स, ल्होत्से थकाली, ग्रिन भ्याली रिसोर्ट, ग्लोबल अनलाईन पे, घोरीवाला मार्ट, एभेन्टोज नेपाल, मोडल सङ्स नेपाल, राज्य मिडिया नेटवर्कलगायतसँग साझेदारी गरेको छ ।

ग्लोरीले टेलिभिजन कार्यक्रमतर्फ बाल कार्यक्रम ‘बाल आवाज’, हाँस्य टेलिश्रृङ्खला ‘कुरा मात्र भो’, कुकिङ रियालिटी शो ‘कलेज सेफ आईकन’, शान्ति तथा परिवार विशेष कार्यक्रम ‘आदर्श परिवार’ हुँदै हाल एनटिभी न्युजमा कार्यक्रम ‘सचेतना’ प्रस्तुत गर्दै आएको छ । ग्लोरीले इभेन्टतर्फ ‘फेस अफ नेशन’, ‘द मम’, ‘सुपर प्लस साईज मोडल’, ‘नेक्स्ट सुपर मोडल’लगायतका इभेन्टमा साझेदारी गरिसकेको छ ।

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी,१६ लाख ५७ हजार राजस्व सङ्कलन

मनाङ, १२ साउन : मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ । उक्त क्षेत्रबाट ३२ किलो पाँच सय ग्राम यार्सागुम्बा निकासी भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इकाई मनाङका प्रमुख ढकबहादुर भुजेलले असार मसान्तसम्ममा सो परिमाणको यार्सागुम्बा सङ्कलन तथा निकासी भएको जानकारी दिनुभयो । उक्त परिमाणको यार्सागुम्बा निकासीबाट रु १६ लाख ५७ हजार पाँच सय राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो । यार्सा निकासीका लागि प्रतिकिलो रु ५१ हजार दस्तुर लिने गरिएको छ । निकासी गरिएको दस्तुर रु ५१ हजारमध्येबाट रु १० हजार संरक्षण क्षेत्र व्यवस्थापन समिति तथा रु १० हजार स्थानीय तहलाई उपलब्ध गराइन्छ ।

मनाङमा यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट सुरु गरिएको थियो । यहाँका धेरै खर्कमा यार्सागुम्बा पाउने भए पनि नासों गाउँपालिका–८ ताचैस्थित नाम्केबाट सङ्कलन गरिन्छ । गत वैशाख १० गतेदेखि नाम्के खर्कबाट करिब दुई सय जनाले यार्सागुम्बा सङ्कलनको अनुमति लिएका थिए । अनुमतिपत्रबिना औषधीय जडीबुटी सङ्कलन गर्न पाइँदैन । जसले गर्दा अनुमति लिएपछि मात्रै खर्कतर्फ जान दिइने गरिन्छ ।  

प्रमुख भुजेलका अनुसार मनाङमा नाम्के खर्क यार्सागुम्बा सङ्कलन गर्ने पहिलो गन्तव्य हो । खर्कबाट यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिने निर्णयबमोजिम सङ्कलकलाई अनुमति दिइएको संरक्षण क्षेत्र व्यवस्थापन समितिका संयोजक एवं नासों–८ का वडाध्यक्ष याद घलेले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको संयोजकत्वमा संरक्षण क्षेत्र व्यवस्थापन समितिले यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिएपछि मात्रै खर्क जान पाउने प्रावधान छ । सोहीअनुरुप यार्सागुम्बा सङ्कलनका निम्ति नाम्के खर्कमा स्थानीयका साथै बाहिरी जिल्लाबाट आएका व्यक्तिलाई सङ्कलन अनुमति दिइन्छ ।” 

मनाङमा वैशाखदेखि असार मसान्तसम्म यार्सागुम्बा सङ्कलन गरिन्छ । यार्सागुम्बा खोज्ने क्रममा २०६६ सालमा नारस्थित नाम्ग्य खर्कमा गोरखाका सात जनाको स्थानीयले हत्या गरेका थिए । त्यसपछि सुरक्षा चुनौतीका कारण मनाङको साविकको ‘नार’ र ‘फु’ गाविमा यार्सागुम्बा सङ्कलन कार्य रोकिएको थियो । नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले यार्सागुम्बा सङ्कलन गर्न अन्य जिल्लाका सङ्कलकलाई अनुमति नदिइएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “सुरक्षाको चुनौतीकै कारण बाह्य जिल्लाबाट आउने यार्सागुम्बा सङ्कलकलाई रोक लगाएका छौँ । विगतका  जस्ता घटना दोहोरिनु हुँदैन भनेर स्थानीयलाई मात्र सङ्कलनको अनुमति दिँदै आएका छौँ ।” यार्सागुम्बा सङ्कलनका लागि अनुमति लिन प्रतिव्यक्ति रु ३५ हजार शुल्क तोकिएको छ । उहाँले पहिले जस्तै नार र फु मा अन्य जिल्लाबाट आउने सङ्कलकलाई यार्सागुम्बा सङ्कलनमा रोक लगाइएको बताउनुभयो । 

नार्पाभूमिको नार र फु संरक्षित र निषेधित दुवै क्षेत्र भएकाले सुरक्षाका हिसाबले पनि विगतको जस्तो अवस्था सिर्जना नहोस् भनी निर्णय गरिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङले यार्सागुम्बा सङ्कलनका लागि स्वीकृति दिएपछि मात्रै सङ्कलन गर्न खर्क पस्न पाउँछन् । मनाङसँगै लमजुङ, गोरखा र धादिङका स्थानीय यार्सागुम्बा सङ्कलन गर्न मनाङका लेक पुग्छन् । नार घटनापछि एक्याप मनाङले यार्सागुम्बा सङ्कलनलाई व्यवस्थित बनाउँदै लगेको छ । 

जिल्ला समन्वय प्रमुख, पालिकाका अध्यक्ष, सुरक्षा निकायका प्रमुख र संरक्षण समितिका पदाधिकारीसहितको बैठकपछि मात्रै यार्सागुम्बा सङ्लकनका लागि खुलाउने प्रावधान छ । संयुक्त बैठकले निर्णय गरेबमोजिम पुर्जी काटेर सङ्कलन अनुमति दिइन्छ । पुर्जी काटिसकेपछि मात्रै स्थानीय तथा बाह्य जिल्लाबाट आउने सङ्कलकलाई खर्क जान अनुमति दिइने संरक्षण व्यवस्थापन समितिले जनाएको छ । 

चार वटा स्थानीय तह रहेको मनाङमा धारापानी र थोँचेबाहेक सबै लेकमा यार्सागुम्बा पाइन्छ । मनाङमा यार्सागुम्बा पाइने क्षेत्रमा सङ्कलन गर्न जाने सङ्कलकले १० यार्सागुम्बा टिपेपछि एउटा सोही स्थानमा छाड्नुपर्ने प्रावधान छ । मनाङको नाम्ग्य खर्क, किन्चो लेक, याक खर्क, पिसाङ लेक, फु लेकलगायतका खर्कमा यार्सागुम्बा बढी पाइने स्थान हुन् । यार्सागुम्बा सङ्कलन कार्य नाम्ग्य खर्कबाट सुरु भई नार, फु र माथिल्लो मनाङको खाङ्सार खर्कमा सकिन्छ ।  

१ करोड ८७ लाखको लागतमा म्याग्दी रुमका चार सय परिवारलाई खानेपानी

म्याग्दी, १२ साउन- म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको ३ वटा खानेपानी आयोजना निर्माण भएको छ । नेपाल पानीको लागि स्वास्थ्य (नेवा) संस्था, मालिका गाउँपालिका र उपभोक्ताको रु.१ करोड ८७ लाख ९० हजार ९८६ को लागतमा निर्माण भएका ३ वटा आयोजनाबाट ४०९ घरधुरी लाभान्वित भएका छन् ।

ठूलोरुममा २७०, बिलबाङमा ६४ र कलान भनारी खानेपानी तथा सरसफाई आयोजनाबाट ७३ घरधुरीमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको मालिका गाउँपालिका–२ का वडा अध्यक्ष उदयबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

यसअघि सार्वजनिक धारा मार्फत खानेपानी वितरण हुने गरेको थियो । घर, आगनकै धारामा नियमित पानी आपुर्ति हुन थालेपछि उपभोक्ताको समयको बचत भएको छ । धाराबाट पानी ओसार्दा हुने दुःख र झञ्जट हटेको छ ।

स्थानीयबासीको दैनिकी र जिवनशैली परिवर्तन भएको छ । स्वास्थ्य र सफा खानेपानी आपुर्ति हुन थालेपनि दुषित पानीका कारण हुने स्वास्थ्य समस्या न्युनीकरण हुने अपेक्षा गरिएको छ । खानेपानीको व्यवस्थित र मितव्ययी प्रयोगका लागि मिटर जडान गरि हेरालु राखिएको वडा अध्यक्ष बुढाथोकीले बताउनुभयो ।

रु. १ करोड १५ लाख ७ हजार ४२४ को लागतमा निर्माण भएको ठूलोरुम खानेपानी तथा सरसफाई आयोजना मार्फत १ हजार ४२३ र रु. ३६ लाख ६५ हजार ८०४ को लागतमा निर्माण भएको बिलवाङ खानेपानी तथा सरसफाई आयोजनाबाट ३६२ जनसंख्या लाभान्वित भएका छन् ।

कुल रु. ३५ लाख ७४ हजार ७५८ को लागतमा निर्माण भएको कलात भनारी खानेपानी तथा सरसफाई आयोजना मार्फत ७३ घरधुरीका ३४४ जनसंख्या लाभान्वित भएका छन् । ४११ जना विद्यार्थी अध्ययनरत विद्यालयमा १ वटा धारा जडान भएको छ ।

नेवासँगको साझेदारीमा मालिका गाउँपालिकामा यस वर्ष ६ वटा एक घर, एक धारा सहितको खानेपानी आयोजना निर्माण भएको गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो । वडा नम्बर २ मा निर्माण भएका ३ वटै आयोजनाको शुक्रबार गाउँपालिका अध्यक्ष गर्बुजा, उपाध्यक्ष लक्ष्मीदेवी घर्ति पुन र वडा अध्यक्ष बुढाथोकीले उद्घाटन गर्नुभएको थियो ।

चारवर्षमा पनि पुनःस्थापित भएनन् पहिरोबाट विस्थापित ५५ परिवार, पालमा कष्टपूर्ण जीवन बिताउन बाध्य

सङ्खुवासभा (किमाथाङ्का)- यहाँको सिलिचोङ गाउँपालिका–१ बेसिन्दाको पहिरोबाट विस्थापित ५५ परिवारको घर निर्माण रोकिएको छ । विसं २०७७ असार २८ गतेको पहिरोले सिलिचोङ–१ बेसिन्दाका ९७ परिवार विस्थापित भएका थिए । पहिरोबाट विस्थापित बेसिन्दाका ५५ परिवारको खाँदबारी नगरपालिका–७ स्थित भैरे डाँडामा घर निर्माण थालिए पनि गत माघदेखि निर्माण रोकिएको हो । घर निर्माण हुन नसक्दा पहिरो पीडित अझै पालमा कष्टपूर्ण जीवन बिताउन बाध्य छन् ।

समयमा घर निर्माण हुन नसक्दा विस्थापितको चार वर्षसम्म पुनःस्थापना हुनसकेको छैन । जिल्ला विपद् ब्यवस्थापन समितिको खातामा रकम प्राप्त नभएपछि गत माघबाट घर निर्माण रोकिएको खाँदबारी नगरपालिका–७ का कार्यवाहक वडाध्यक्ष झलक कुसुलेले बताउनुभयो । सरकारले घर निर्माणका लागि उपलब्ध गराउने रु पाँच लाख रकम जिल्ला विपद् ब्यवस्थापन समितिलाई प्राप्त नहुँदा  घर निर्माण रोकिएको कार्यवाहक वडाध्यक्ष कुसुलेको भनाइ छ । उहाँका अनुसार ५५ घरमध्ये २५ घरको ५० प्रतिशत बढी काम सकिएको छ । अन्य घरको २५ प्रतिशत काम भएको छ । पहिरोबाट विस्थापित भएको दुई वर्षपछि पहिरो पीडितको घर निर्माण थालिएको थियो । घर निर्माण रोकिएपछि अस्थायी टहरामा बस्दै पीडित परिवार थप पीडामा परेका हुन् । पीडितका लागि सङ्घीय सरकारले ६०, प्रदेश सरकारले ३० र स्थानीय सरकारले १० प्रतिशत बजेट उपलब्ध गराउने निर्णय भएको थियो ।

पहिरो पीडितको आवास निर्माणका लागि रु पाँच लाख ५० तोकिएको थियो । उक्त रकम प्राविधिकको मुल्याङ्कनअनुसार तीन किस्तामा भुक्तानी गरिने सम्झौता भएपनि हालसम्म ५० हजार रुपैयाँ मात्र भुत्तानी पाएको पीडितको भनाइ छ । भैरे डाडाँमा ५५ परिवारका लागि ६९ रोपनी जग्गा एक करोड ३० लाखमा खरिद गरिएको थियो । पहिरोबाट विस्थापित ९७ परिवारमध्ये २५ घर चित्रे, १२ घर बखल्टुमटार र ५५ घर खाँदबारीमा अस्थायी टहरामा बसिरहेका छन् । पहिरो पीडितका लागि चित्रेमा ५१ दशमलब पाँच रोपनी रु ७० लाख र बखल्टुममा १७ दशमलब पाँच रोपनीे रु ३४ लाखमा खरिद गरी संयुक्त रुपमा रजिस्ट्रेशन पास गरिएको छ । यहाँका नौ घर पहिरोले बगाउँदा ११ जना बेपत्ता भएका थिए ।

पहिराले क्षतिग्रस्त पुरनडिही अस्पतालको सेवा सञ्चालनका लागि स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण

दमौली (तनहुँ), ११ साउनः तनहुँको भानु नगरपालिका–५ शेपाबैँचास्थित पुरनडिही अस्पताल भवनमा पहिराले क्षति पुगेपछि सेवा सञ्चालनका लागि आवश्यक सहयोग गर्न स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको ध्यानाकर्षण गराइएको छ ।

भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीको नेतृत्वमा गएको टोलीले शुक्रबार मन्त्री पौडेललाई भेटेर पहिराले अस्पताल भवनका साथै विभिन्न उपकरणमा क्षति पुगेकाले सेवा सञ्चालनका लागि आवश्यक उपकरणको व्यवस्थापनका लागि ध्यानाकर्षण गराएको हो । 

गत असार २८ गतेको पहिराले अस्पताल भवनमा क्षति पुगेपछि सेवा अवरुद्ध भएको छ । पहिराले अस्पताल भवनको प्रयोगशाला र प्रसूति कक्षमा क्षति पुगेका कारण अति आवश्यक आधारभूत सेवामात्र प्रवाह भइरहेको नगरप्रमुख त्रिपाठीले बताउनुभयो । यहाँ    एक पालिका एक आधारभूत अस्पताल निर्माण तथा सञ्चालनअन्तर्गत आधारभूत अस्पताल भवन अन्तिम चरणमा रहेको छ भने हाल पुरानो भवनबाट सेवा प्रवाह भइरहेको छ । 

नगरप्रमुख त्रिपाठीकानुसार अस्पतालमा थप शय्या, २० रक्तचाप परीक्षण उपकरण, पाँच ओटोस्कोप, पाँच प्रसूति सेट, चार नेबुलाइजरलगायत सामग्री आवश्यक भएकाले मन्त्री पौडेललाई ध्यानाकर्षण गराइएको छ ।

मार्कसास टापु समूह युनेस्को विश्व सम्पदा सूचीमा सामेल

संयुक्त राष्ट्रसङ्घीय सांस्कृतिक निकाय युनेस्कोले फ्रेन्च पोलिनेसियाको मार्कसास टापुलाई विश्व सम्पदा वर्गीकरणमा थपिएको शुक्रबार जनाएको छ । नयाँदिल्लीमा युनेस्कोको विश्व सम्पदा समितिको बैठकमा शुक्रबार घोषणा गरिएका धेरै निर्णयमध्ये यो एक थियो ।

प्रशान्त क्षेत्रमा न्युजिल्यान्डबाट लगभग पाँच हजार ५०० माइल उत्तरपूर्वमा अवस्थित मार्कसासले मानव सभ्यताको ‘असाधारण गवाही’ प्रदान गर्दछ । यो सन् १००० को हाराहारीमा समुद्रबाट आएको र १०औँ र १९ औँ शताब्दीको बीचमा यी पृथक टापुहरूमा विकसित भएको थियो”, युनेस्कोले आफ्नो वेबसाइटमा भनेको छ ।

यसलाई युनेस्कोले अपूरणीय र असाधारण रूपमा संरक्षित समुद्री र स्थलीय इकोसिस्टमहरू संयोजन गर्ने ‘जैव विविधताको हटस्पट’ को समान रूपमा मूल्यवान मिश्रित स्थलका रूपमा हेरेको छ ।

“टापुहरूले दुर्लभ र विविध वनस्पतिहरू, प्रतीकात्मक समुद्री प्रजातिहरूको विविधता र दक्षिण प्रशान्त महासागरमा सबैभन्दा विविध समुद्री पक्षीहरूमध्ये एकको आयोजना गर्दछ । यसमा पानी मानव शोषणबाट वस्तुतः मुक्त छ”, युनेस्कोले भनेको छ ।

तीन दशकअघि रेखाङ्कन भएको लमजुङको कुन्छा जोड्ने सडकमा बल्ल कालोपत्र

दमौली (तनहुँ), १२ साउन : करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि लमजुङको कुन्छा जोड्ने सडकमा बल्ल कालोपत्र गर्न थालिएको छ । भानु–११ मानेचौका बजारदेखि आयुर्वेदचोकसम्म पहिलो चरणमा कालोपत्र गर्ने कार्य सुरु भएको हो ।

तीन दशक अगाडि ट्र्याक खुलेको उक्त सडकखण्डमा  पहिलो चरणमा रु ९८ लाख बराबरको काम भइरहेको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८०÷८१ मा विनियोजित उक्त बजेटबाट अहिले कालोपत्र गर्न थालिएको हो । यो सडकले तनहुँको भानुसँगै लमजुङको कुन्छालाई जोड्ने छ । 

नगरपालिकाले सो सडकखण्डलाई नगर गौरवको आयोजनाका रुपमा सूचीकृत गरेको छ । नगरपालिका, प्रदेश र सङ्घीय सरकारसँगको साझेदारीमा उक्त सडकको बाँकी खण्डमा पनि कालोपत्र गर्दैलैजाने प्रमुख त्रिपाठीले बताउनुभयो ।  

आज यि चारवटा प्रदेशमा भारी वर्षा हुने

काठमाडौँ, १२ साउन : देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर साधारणतया बदली रही केही स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । यस्तै बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । राति देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति, मुख्य बजारमा चुनौती थपिँदै

कैलाली, ११ साउन : कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध दिउन्जेल तथा उपयोग गरुन्जेल राख्ने तर उपयोग हुने अवस्था नरहेपछि जथाभावी छाड्ने प्रवृति कायमै छ । यसले यहाँका मुख्य बजार तथा बस्तीहरूमा चुनौती थपिँदै गएको छ ।

पशु कल्याण समिति धनगढीका अध्यक्ष चेतराज अवस्थी फाइदा हुन्जेल पशुचौपायाको स्याहारसुहार गर्ने र काम नलाग्ने भएपछि जथाभावी छाडने गरेकाले व्यवस्थापनमा निकै समस्या देखिन थालेको बताउनुभयो । “काम नलाग्ने भएपछि छाडा छाड्ने गाईगोरुका कारण बजारमा सडक दुर्घटनाको जोखिम बढेको छ । धनगढीको छ लेन सडकमा दैनिकजसो एक÷दुई गाईगोरु गाडीसँग ठोक्किएर मरेकै हुन्छन् । हाम्रो संस्थाले एक सयभन्दा बढी पशुको त उपचार गरिसकेका छौँ”, उहाँले भन्नुभयो । केही वर्ष पहिले यहाँका स्थानीयले घरघरमा दूधका लागि गाई पाल्ने गर्थे । गाईबाट जन्मिएका गोरुलाई खेत जोन्नका लागि प्रयोगमा ल्याउथे । कृषिको आधुनिकीकरणसँगै आएका कृषि औजारका कारण गोरुको प्रयोग गरेर खेती गर्ने कार्य विस्थापित हुँदै गएको छ । घरमा गाई पालेर दूध खाने चलन पनि विस्तारै हराउँदैछ । पाल्नेहरूले पनि दूध दिन छाडेपछि सडकमा छाड्ने प्रवृति छ ।
स्थानीय अगुवा शेरबहादुर विष्टले पशुचौपाया छाड्ने प्रवृति कायमै रहेकाले यसबाट किसान सबैभन्दा बढी मारमा परेको उहाँले बताउनुभयो । छाडा पशुचौपायाका कारण किसानलाई खेतमा लगाएको खाद्यान्न बाली जोगाउनै समस्या भएको विष्टको गुनासो छ ।

कृषक दुर्गा जोसीले छाडा चौपायाबाट अन्नबाली जोगाउँनै मुस्किल भएको दुःखेसो पोख्नुभयो । “अर्काको जमिन भाडामा लिई खेती गर्दै आएको छु । थुप्रै पैसा खर्च गरेर धान रोपेको थिए । केही जमिनमा तरकारी लगाएको छु तर रातको समयमा पशु आएर खाइदिनाले जोगाउन निकै सकस भएको छ”, उहाँले भन्नुभयो ।

छाडा पशुचौपाया दिनभर बजार क्षेत्रमा डुल्ने र रात परेपछि खेतबारीमा आएर बालीनाली नोक्सान गर्ने गरेका छन् । किसानलाई मात्रै होइन स्थानीय तहलाई पनि यसरी छाडेका पशुचौपाया व्यवस्थापनमा समस्या भएको छ । धनगढी उपमहानगरपालिकाद्वारा छाडा पशुचौपायाको व्यवस्थापनका लागि वडा नं ७ स्थित देवहरीयामा गौशाला निर्माण गरिएको छ । धनगढी–३ चटकपुरमा पनि केही वर्ष अगाडिदेखि गौ संरक्षण सेवा समितिमार्फत गौशाला सञ्चालनमा छ । धनगढीको फुलबारी र बेहडाबाबामा पनि गौशाला सञ्चालनमा ल्याइएका छन् भने कतिपय स्थानहरूमा ‘काञ्जी हाउस’समेत निर्माण गरिएका छन् । तर धनगढीसँग जोडिएको छिमेकी जिल्ला कञ्चनपुर, गोदावरी नगरपालिका र खुला भारतीय सीमानाकाका कारण विभिन्न स्थानबाट चौपाया भित्रिने क्रम नरोकिएकाले व्यवस्थापनमा थप चुनौती थपिएको छ । गौ संरक्षण सेवा समितिका उपाध्यक्ष चेतराज अवस्थीले धनगढीका साथै खुला सीमानाका कारण अन्य क्षेत्रबाट चौपाया भित्रिने गरेकाले व्यवस्थापनमा चुनौती रहेको बताउनुहुन्छ । “यहाँका विभिन्न ठाउँमा गौशाला र काञ्जी हाउस बनाइएका छन् तर पनि बजारमा समस्या कायमै छ । छाडा चौपायाको व्यवस्थापनका लागि स्थानीय तहबाट केही प्रयास भए पनि समस्या समाधान हुन सकेको छैन”, उहाँले भन्नुभयो ।

त्यसैले यहाँ छाडा पशुचौपायाको व्यवस्थापन गर्न स्थानीय तह मात्रै नभई प्रदेश र सङ्घीय सरकारले पनि आवश्यक सहयोग गर्नुपर्ने अवस्थीलगायत स्थानीय सरोकारवालाको भनाइ छ ।

झापामा पानी जमेको होलीमा माछा मार्दा डुबेर मृत्यु

दमक (झापा), ११ साउनः झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने क्रममा पानीमा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको शिवसताक्षी–४ बोलोचोकका ४० वर्षीय चन्द्रे मुर्मू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

टुनुवस्ती नजिकै पानी जमेको होलीमा माछा मार्ने क्रममा डुबेको अवस्थामा भेटिएका मुर्मूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मुर्मूसहित ३५ वर्षीय अक्तर मियाँ माछा मार्ने क्रममा करिब पौने ४ बजे पानीमा डुबेका थिए । उनीहरूलाई उद्धार गरेर शिवगञ्जस्थित नगर अस्पतालमा उपचारका लागि ल्याइएको थियो । थप उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल लगिएकामा मुर्मूको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टनभन्दा बढी खाना बर्बाद गर्छन्

अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको छ । इन्ड फुड वेस्ट अस्ट्रेलिया (इएफडब्लुए) द्वारा प्रकाशित प्रतिवेदनअनुसार अस्ट्रेलियालीहरूले दैनिक दुई करोड ९० लाख डलरबराबरको खाना खेर फाल्छन् ।दक्षिण अस्ट्रेलियामा रहेको इएफडब्लुएका प्रमुख कार्यकारी स्टिभन लापिजले यहाँ ३७ लाख घरपरिवारलाई टेबलमा खाना राख्न सङ्घर्ष गरिरहेको समयमा प्रत्येक अस्ट्रेलियालीलाई दिउँसोको खाना उपलब्ध गराउन यो बर्बादी पर्याप्त रहेको बताउनुभयो ।

अस्ट्रेलियालीहरूले प्रत्येक वर्ष बर्बाद गर्ने खानाको संयुक्त मूल्य ३६ अर्ब ६० करोड अस्ट्रेलियाली डलर (२४ अर्ब ३० करोड अमेरिकी डलर) रहेको प्रतिवेदनले अनुमान गरेको छ ।

   नयाँ प्रतिवेदन सन् २०२४ राष्ट्रिय खाद्य अपशिष्ट शिखर सम्मेलनको पूर्वसन्ध्यामा प्रकाशित गरिएको थियो । यसले मेलबर्नमा विश्वभरका विज्ञ र उद्योगका नेताहरूलाई एकसाथ आमन्त्रण गर्दछ । 

   लापिजले एक मिडिया विज्ञप्तिमा दुई दिने कार्यक्रम राष्ट्रिय रणनीति र सन् २०३० लक्ष्यको बीचको बीचमा बिन्दुमा आउने बताउनुभयो ।     “यो कठिन समय हो, जीवनको लागतको सङ्कटले कार्यको आवश्यकतालाई तीव्ररूपमा ध्यान दिइरहेको छ । हामी सन् २०३० सम्ममा खाद्यान्नको बर्बादीलाई आधा गर्ने हाम्रो योजनाको आधा बाटोमा छौँ । यो शिखर सम्मेलन महत्त्वपूर्ण छ”, उहाँले भन्नुभयो ।”

जलवायु परिवर्तन, ऊर्जा, वातावरण र जल विभागले खाद्यान्को बर्बादी अस्ट्रेलियाको वार्षिक हरितगृह ग्यास उत्सर्जनको तीन प्रतिशत ओगट्ने र खाना उत्पादन गर्न २६ हजार गिगालिटर पानी खेर गएको अनुमान गरेको छ ।

पहिरोले पोल बगायो, रुकुम पूर्वका जनता चार दिनदेखि अँध्यारोमा

रुकुम, ११ साउन : मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा खसेको पहिरोले विद्युत्को पोल ढाल्दा रुकुम पूर्वका नागरिक चार दिनदेखि अँध्यारोमा बस्न बाध्य भएका छन् । नेपाल विद्युत् प्राधिकरणका दुई हजार पाँच सय ग्राहक विद्युत् सेवाबाट वञ्चित भएका छन् । रानीकोट पहिरोका कारण रुकुम पश्चिमको धैरेनीचौर सबस्टेसनबाट रुकुम पूर्वमा ल्याइएको ११ केभिए केन्द्रीय प्रसारण लाइनमा पर्ने चारवटा पोल ढलेका छन् ।

“हाम्रो टोली रानीकोटमै छ, सडक नखुलेको र पानी परिरहेका कारण लगातार पहिरो खसिरहेको छ । त्यसैले विद्युत् सेवा सञ्चालन गर्न हामीलाई समस्या भएको छ, सडक खुलेसँगै विद्युत् सेवा पनि सञ्चालनमा आउँछ”, विद्युत् प्राधिकरण रुकुमकोट वितरण केन्द्रका प्रमुख प्रमोद खनालले भन्नुभयो ।

अहिले जिल्लाका तीनवटा पालिकामा रहेका प्राधिकरणको लाइन जोडेका ग्राहकहरू अँध्यारोमा बस्न बाध्य छन् । विद्युत् प्राधिकरणले सिस्ने गाउँपालिका, भूमे गाउँपालिका र पुथाउत्तरगङ्गा गाउँपालिकामा विद्युत् प्राधिकरणबाट प्रवाह हुँदै आएको विद्युत् सेवा विस्तारलाई तीव्रता दिँदै आएको छ । 

पहिरोका कारण पोल ढलेर चार दिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा सरकारी कार्यालयहरूमा काम गर्न समस्या भएको छ । त्यस्तै, विद्युत् नभएका कारण जनजीवन प्रभावित भएको छ । मोबाइल चार्ज गर्नलगायत अन्य काम गर्न समस्या भएको छ ।

हैजा रोकथामका लागि द्रुत प्रतिकार्य टोली परिचालन

सुदूरपश्चिम, ११ साउनः कैलालीको धनगढी उपमहानगरपालिका–१ का दुई महिलामा हैजाको सङ्क्रमण पुष्टि भएपछि रोगको रोकथामका लागि प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली परिचालन गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख आशुतोष श्रेष्ठले हैजा फैलिन नदिन गर्नुपर्ने प्रतिकार्यका लागि प्रभावित क्षेत्रमा टोली परिचालन गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वडा नं १ मा थप दुई बालकमा हैजाको आशङ्का गरिएको छ, यसको पुष्टि हुन भने बाँकी छ ।”

हैजाबाट पीडितलाई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारार्थ भर्ना गरिएको छ ।  द्रुत प्रतिकार्य टोलीले प्रभावित क्षेत्रका बासिन्दाले उपभोग गरिरहेको खानेपानीको नमूना लिने कार्यका साथै अन्य प्रतिकार्यको काम थालेको छ । 

नेपाल खानेपानी संस्थान, खानेपानी डिभिजन कार्यालय र सङ्घीय खानेपानी आयोजनाको कार्यालयलाई वितरित खानेपानीको शुद्धीकरण गर्ने÷गराउने कार्यका लागि लिखित अनुरोध गरिएको श्रेष्ठले बताउनुभयो । दूषित खानेपानीका साथै झिँगा तथा दूषित खानेकुराको उपभोगबाट हैजा फैलिन सक्ने भएकाले यस्ता खानेकुरा नखान स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । हैजाको पुष्टि भएको टोलमा भइरहेको सडक निर्माणबाट खानेपानीको पाइप फुटेको र सोही कारणबाट खानेपानी दूषित भएको आशङ्का गरिएको छ ।

भीमदत्तका दर्जन घर कटानको जोखिममा, स्थानीय भन्छन् आकाशमा बादल लाग्ना साथ निन्द्रा लाग्दैन

वेदकोट (कञ्चनपुर), ११ साउनः कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का देवबहादुर चन्दको पक्की घर वरपर भ्वाङै भ्वाङै परेको छ । घरको केही भागको माटो कटान गरेर घर भत्किने जोखिम छ ।गत असार तेस्रो साता आएको बाढीले घर वरपरको जमिन कटान गरेको चन्द बताउनुहुन्छ । “अविरल वर्षापछि निर्माणाधीन महाकाली तेस्रो चरणको नहर भरिएर बस्तीतिर पस्यो । त्यही बाढीले कटान गर्दा घर भत्किने डर छ”, उहाँले भन्नुभयो ।

बाढीले कटान गरेर घर जोखिममा परेको एक महिना पुग्नै लाग्दा पनि तटबन्धन निर्माण हुन नसक्दा डराइडराइ बस्नुपरेको उहाँको गुनासो छ । “तटबन्ध निर्माणका लागि बारम्बार माग गरिरहेका छौँ । तर हाम्रो पीडा कसैले सुनेन”, उहाँले भन्नुभयो, “पानी पर्दा कुन बेला घर तहसनहस पार्छ ? डराइडराइ बस्नुपर्ने बाध्यता छ ।”

भीमदत्त नगरपालिका–९ निङलाशैनी टोलका दर्जनभन्दा बढी घर जोखिममा छन् । कटान गरेर भ्वाङ्ग पारिएको ठाउँमा अहिले त्रिपाल टाँगिएको छ । “अस्थायी तटबन्ध निर्माण गर्ने केही राहत हुन्थ्यो । तटबन्ध नहुँदा त्रिपाल टाग्नुपर्ने बाध्यता छ”, स्थानीय मोहन नाथले भन्नुभयो, “आकाशमा बादल लाग्ना साथ निन्द्रा लाग्दैन ।”

स्थानीयले अस्थायी तटबन्ध निर्माणको माग गरेका छन् । “यहाँ खोला नदी केही छैन । कहिल्यै बाढी आएको थिएन । पानीले नहर भरिएपछि बस्तीतिर आएर क्षति पु¥याएको हो,” तुम्णानीकी राजमतीदेवी विष्ट भन्नुहुन्छ, “यस्तो घरमा जोखिम मोलेर कसरी बस्ने ?”

उहाँका अनुसार कालोपत्रे सडक भत्किएपछि आवतजावतमा समस्या भएको छ । बाढीले दुई कठ्ठा जमिन र त्यसमा बनेको पसल भत्काएको स्थानीय भुवन सिंह धामीले बताउनुभयो ।

चुरेमा भएको वर्षापछि आएको बाढीले ब्रह्मदेव र महेन्द्रनगर जोड्ने सडकमा पनि क्षति पुगेको छ । थोरै वर्षाले पनि अब सडक भत्किएर महेन्द्रनगरसँगको सम्पर्क टुट्ने जोखिम रहेको भीमदत्त नगरपालिका–९ राम नाथले जानकारी दिनुभयो ।

भीमदत्त नगरपालिका–९ स्थित स्थानीय थापा चौराह जोड्ने सडकको कल्भर्ड बाढीले बगाउँदा भीमदत्तको वडा नम्बर ६, ७ र ८ सँगको सडक अवरुद्ध विच्छेद भएको छ । “कल्भर्ड भत्किएको छ । गाडी सञ्चालन गर्न सकिने अवस्था छैन”, नाथले भन्नुभयो, “कल्भर्ड भत्किएको ठाउँनिर हिँडेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।”