`

‘कोशी प्रदेशको समग्र विकासका लागि योजनाबद्ध रूपमा अगाडि बढ्छौँ’

धरान (सुनसरी) ११ साउन : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशको समग्र विकासका लागि योजनाबद्ध रूपमा अगाडि बढ्ने बताउनुभएको छ । आज धरान उपमहानगरपालिका–४ र सागुदीगढी गाउँपालिका–६ को सिमाना भेडेटारमा निर्माण गरिएको भेडेटार स्काईवाकको उद्घाटन गर्नुहुँदै उहाँले प्रदेश सरकारले रोजगारी सिर्जना र समग्र विकासका लागि योजना निर्माण गर्ने धारणा राख्नुभयो ।

मुख्यमन्त्री कार्कीले भेडेटार पर्यटकका लागि एक आकर्षक गन्तव्य रहेकाले यसको विकासका लागि प्रदेश सरकारले समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “पर्यटकीय गन्तव्य रहेको यस ठाउँमा पर्यटक आगमन बढाउन प्रदेश सरकारको नेतृत्वमा देखिने गरी काम गर्छौं । आवश्यक पूवाृधार विकास र सुरक्षाका लागि सरकार मिलेर काम गर्न तयार छ ।”

कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई, सुनसरी जिल्ला प्रमुख रामचन्द्र तिवारी, सशस्त्र प्रहरी नायब महानिरीक्षक शम्भु सुवेदी, प्रहरी नायब महानिरीक्षक चन्द्र कुँवेर खापुङ, सशस्त्र प्रहरी बल नेपाल ४ न. गण जिल्ला हेडक्वाटर सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्य, सुनसरी उपअनुसन्धान निर्देशक तुल्सी कट्टेल, जिल्ला प्रहरी उपरीक्षक विपीन रेग्मी धरान उपमहानगरपालिका नगरप्रमुख हर्कराज राई, सागुदीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीलगायत जनप्रतिनिधि, सुरक्षाकर्मीहरुको उपस्थिति रहेको थियो ।कोशी प्रदेश लगानी प्राधिकरण, धनकुटाको साँगुरीगढी गाउँपालिका र सुनसरीको धरान उपमहानगरपालिकाको समन्वयमा उक्त स्काईवाक निर्माण गरिएको हो ।

कमजोर शिक्षा नीतिको असर सबै क्षेत्रमा देखिरहेको छ : नारायणमान बिजुक्छेँ

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशको कमजोर शिक्षा नीतिको असर सबै क्षेत्रमा देखिइरहेको बताएका छन् ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालयमा आयोजित अभिमुखीकरण कार्यक्रममा उनले शिक्षा क्षेत्रमा भइरहेको व्यापक निजीकरण र व्यापारीकरण समस्याको रूपमा रहेको बताए ।

अध्यक्ष बिजुक्छेँले युवा विद्यार्थीहरू अध्ययन र रोजगारीको सिलसिलामा विदेशिने क्रम झन्झन् बढ्दै गइरहेको र उनीहरूलाई स्वदेशमै रोजगारीको बन्दोबस्त नगरेसम्म यो क्रमलाई रोक्न नसकिने धारणा राखे ।

“रोजगारीदेखि शिक्षाका लागि  विदेशिने क्रम बढ्दो छ । नेपालका कलेजहरू बन्द हुने अवस्थामा पुगेका छन् । विद्यार्थीलाई नेपालमै उच्च शिक्षा हासिल गरी देशकै लागि सेवा गर्न शिक्षकमार्फत मार्गनिर्देशन गरिरहनुपर्छ । रोजगारीका अवसर सिर्जना गर्न सरकारले पनि विशेष ध्यान दिन आवश्यक छ”, उनले भने ।

कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप मावि र शारदा क्याम्पसमा २०८१ मा ५६ जिल्लाका एक हजार ६ सय ८० विद्यार्थी अध्ययन गरिरहेको बताए ।

कार्यक्रममा प्राडा सिद्धिवीर कर्माचार्यले सहिद स्मृति छात्रवृत्ति अक्षय कोष स्थापना गरी चार लाख ४४ हजार चार सय ४४ बराबरको छात्रवृत्ति रकम कलेजलाई हस्तान्तरण गरेका थिए ।

खार्मीको खानीडाँडामा अस्थायी प्रहरी चौकी स्थापना

खोटाङ, ११ साउनः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । खार्मीसँगै वडा नं. १० पाथेकावासीका लागिसमेत शान्ति सुरक्षा प्रदान गर्न तथा ग्रामीण क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न खार्मीको खानीडाँडामा अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो ।

अस्थायी प्रहरी चौकी खार्मीमा तत्कालका लागि वरिष्ठ हवल्दारको नेतृत्वमा छ जनाको टोली खटाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) पुरुषोत्तम खड्काले बताउनुभयो । “नागरिकलाई शान्ति सुरक्षा दिनु प्रहरीको कर्तव्य हो । स्थानीय नागरिकलाई शान्ति सुरक्षा दिन खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ”, उहाँले भन्नुभयो, “नागरिक विनाबर्दीका प्रहरी हुन् । उहाँहरुको सहयोग र समन्वयले मात्र समाजमा शान्ति सुरक्षा कायम गर्न सक्छौँ । अस्थायी प्रहरी चौकीमा खटिएका प्रहरीहरुले स्थानीय बासिन्दासँग सहकार्य गरेर अघि बढ्छ ।”

खानीडाँडास्थित स्वास्थ्य चौकी नजिकैका स्थानीय बासिन्दाको घर भाडामा लिएर स्थापना गरिएको अस्थायी प्रहरी चौकी शुक्रबार प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले उद्घाटन गर्नुभएको भएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै जिल्ला सुरक्षा समितिका संयोजकसमेत रहनुभएका प्रजिअ कार्कीले शान्ति सुरक्षा कायम राख्न स्थानीय बासिन्दाको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।

प्रहरी चौकी उद्घाटन कार्यक्रममा जिल्लास्थित तीनवटै सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, शिक्षक, वुद्धिजीवी, समाजसेवी, स्थानीय बासिन्दालगायत उपस्थिति थियो । उपस्थित अतिथिहरुलाई स्थानीय जगत आधारभूत विद्यालयका विद्यार्थी तथा स्थानीय बासिन्दाले सांस्कृतिक झाँकीसहित फूलमाला र अविरलले स्वागत गरेका थिए ।

खार्मीस्थित खानीडाँडाका स्थानीय तस्बिर उदासले उपलब्ध गराउनुभएको घरमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको वडाध्यक्ष ईखबहादुर राईले बताउनुभयो । “प्रहरी चौकीका लागि आवश्यक फर्निचर, बिजुली, खानेपानी लगायतका सुविधा वडा कार्यालयबाट उपलब्ध गराइएको छ । घरभाडा टुङ्गो लागेको छैन । निःशुल्क दिलाउन पहल भइरहेको छ”, उहाँले भन्नुभयो, “यदि घरधनीले भाडा लिएको खण्डमा वडा कार्यालयबाट उपलब्ध गराउँछौँ । यसलाई स्थायी बनाउन सबैले सहयोग गर्नुप¥यो ।”

अस्थायी प्रहरी चौकी तालखर्कले शान्ति सुरक्षा प्रदान गर्दै आएको खार्मीमा अस्थायी प्रहरी चौकी आएपछि स्थानीय बासिन्दासमेत हर्षित बनेका छन् । खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना भएसँगै गाउँमा हुने सानातिना मुद्दा मिलापत्र गर्नका लागि तालखर्क तथा जिल्ला धाउनुपर्ने बाध्यता अन्त्य भएपछि स्थानीय बासिन्दा हर्षित भएका हुन् ।

यसअघि, यही साउन ९ गते बुधबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा अस्थायी प्रहरी चौकीको उद्घाटन गरिएको थियो । १० स्थानीय तह रहेको जिल्लामा खार्मीसहित प्रहरी चौकी भएको स्थान २४ पुगेको छ ।

१० स्थानीय तहको ७९ वटा वडा रहेको जिल्लामा एउटा जिल्ला प्रहरी कार्यालय, छ वटा ईलाका प्रहरी कार्यालय, तीनवटा विमानस्थल सुरक्षा कार्ड, पाँचवटा अस्थायी प्रहरी सहायता कक्ष तथा एक वटा पर्यटक प्रहरी सहायता कक्ष सञ्चालनमा छन् । जिल्लामा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रणमा प्रनाउ खड्का नेतृत्वको वर्तमान प्रहरी सङ्गठनको भूमिका महत्वपूर्ण रहेको जिल्लावासी प्रतिक्रिया छ ।

यसैबीच, प्रहरी चौकी खार्मीका लागि पक्की भवन निर्माण गर्न वडाध्यक्ष राईसहित चार जनाले निःशुल्क जग्गा उपलब्ध गराउनुभएको छ । भाडाको घर प्रयोग गरेर अस्थायी रुपमा सञ्चालन गरिएको प्रहरी चौकीलाई स्थायी बनाएर पक्की भवन निर्माण गर्न वडाध्यक्ष राई, प्राध्यापक देवकुमार राई, योगा शिरोमणि नरेन्द्र श्रेष्ठ र समाजसेवी भुवन राईले चार रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको हो ।

चार जना जग्गादातामध्ये कार्यक्रममा उपस्थित वडाध्यक्ष राई र भुवनलाई दोसल्ला ओढाएर सम्मानसमेत गरिएको छ । प्रहरी चौकीका लागि आवश्यक जग्गा भइसकेकाले पक्की भवन निर्माणका लागि पहल थालिने वडाध्यक्ष राईले बताउनुभएको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट करिब १७ किलोमिटर टाढा पर्ने खार्मीस्थित चम्फेडाँडामा तत्कालीन राणाशासनकालमा प्रहरी चौकी स्थापनाका लागि स्वीकृति प्राप्त भएपनि बाक्सिला लगिएको जानकारले बताउँदै आएका छन् । चम्फेडाँडामा स्थापना गर्नेगरी स्वीकृति पाएको प्रहरी चौकी केही व्यक्तिको अवरोधका कारण बाक्सिलामा लगेर सोही नाम ‘चम्फे चौकी’ उल्लेख गरी स्थापना गरेको खार्मीका तत्कालीन गाविस अध्यक्ष बलराम राईले बताउनुभएको छ ।

अहिले खार्मीमा स्थापना गरिएको अस्थायी प्रहरी चौकीको नाम सोही ‘चम्फे चौकी’ उल्लेख गरिनुपर्ने स्थानीय बासिन्दाको माग छ । प्रहरी चौकीको नामको विषयमा फलफल गरेर अगाडि बढ्न सकिने जिल्ला सुरक्षा समितिले जनाएको छ ।

पाँच महिनादेखि भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार

जनकपुर, ११ साउनः भारतको जम्मुकश्मिरमा बन्धक बनाइएका धनुषा र सिरहाका २८ मजदुरको उद्धार गरिएको छ । उनीहरु रोजगारीका सिलसिलामा त्यहाँ पुगेका थिए ।

धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले सिरहाका २१ र धनुषाका सात जनालाई उद्धार गरी ल्याइएको जानकारी दिनुभयो । उहाँका अनुसार ती मजदुरहरु कश्मिरको श्रीनगरमा पाँच महिनादेखि बन्धक थिए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको पहलमा भारत नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको सहयोग तथा किन इण्डिया संस्थाको समन्वयमा उनीहरुलाई उद्धार गरी नेपाल ल्याइएको हो । बिहीबार साँझ नेपाल ल्याइएका उनीहरुलाई दुवै जिल्लाका मानव बेचविखन नियन्त्रण समितिलाई जिम्मा लगाइएको थियो । आज जनकपुरधाममा परिवार मिलन कार्यक्रम गरी परिवारको जिम्मा लगाइएको हो ।उनीहरु मजदुरीका लागि बिचौलियामार्फत भारत पुगेको र पाँच महिनादेखि सम्पर्कमा नभएको जनाइएको छ ।

बङ्गलादेश : प्रदर्शनकारीका नेताहरू अस्पतालबाट पक्राउ

बङ्गलादेशी प्रहरी जासुसहरूले शुक्रबार घातक अशान्तिको आरोपमा विद्यार्थी आन्दोलनका तीन नेतालाई अस्पतालबाट डिस्चार्ज गर्न बाध्य बनाई अज्ञात स्थानमा लगेको एक कर्मचारीले बताउनुभएको छ । आसिफ महमुद, नाहिद इस्लाम र अबु बेकर मजुमदार सबै स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसनका सदस्य हुन् । उक्त समूह निजामती सेवा भर्ती नियमविरुद्ध हालै सडक र्याली आयोजना गर्न जिम्मेबार छ ।

प्रधानमन्त्री शेख हसिनाको कार्यकालको केही सबैभन्दा खराब अशान्तिका क्रममा प्रहरी र अस्पतालले दिएको रिपोर्टअनुसार प्रहरीको कारवाही र झडपहरूमा कम्तीमा एक सय ९३ जनाको मृत्यु भएको एएफपीले जनाएको छ । 

तीनै जना नेताको राजधानी ढाकास्थित एक अस्पतालमा उपचार भइरहेको थियो । उनीहरू हिरासतमा प्रहरीको यातनाका कारण घाइते भएका थिए । 

गोनोष्ठय अस्पतालका सुपरभाइजर अनवरा बेगम लकीले भन्नुभयो, “प्रहरीले उनीहरूलाई हामीबाट लगे, उनीहरू जासुसी शाखाका थिए ।” विद्यार्थी नेताहरूलाई आफूले डिस्चार्ज गर्न नचाहेको तर प्रहरीले अस्पताल प्रमुखमाथि डिस्चार्ज गर्न दबाब दिएको उहाँले बताउनुभयो ।     इस्लामकी दिदी फातेमा तस्निमले सादा कपडा लगाएका जासुसहरूले तीनजनालाई लगेको बताउनुभयो । 

आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

काठमाडौँ, ११ साउन : आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । हिजो मृत्यु भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको आज जारी विज्ञप्तिमा उल्लेख छ ।

नकर्मी विसं २०२१ असार २० गते जन्मनुभएको थियो । विकास प्रेमी एवं समाजसेवीका रूपमा परिचित नकर्मी विसं २०७९ को स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित हुनुभएकाे थियाे ।

नकर्मीको हिजो निधन भएको हो । फोरमका अध्यक्ष चीरबाबु महर्जनद्वारा जारी विज्ञप्तिमा उहाँको निधनको खबरले काठमाडाँै उपत्यका मेयर्स फोरम परिवार अत्यन्तै मर्माहत र स्तब्ध भएको उल्लेख छ । “उहाँको मृत्युले कीर्तिपुर नगरपालिकालगायत काठमाडौँ उपत्यकाको विकासमा अपूरणीय क्षति पुगेको महसुस भएको । उहाँले यस फोरममा रही पु¥याउनुभएको योगदान हाम्रा लागि अविष्मरणीय छन्”, विज्ञप्तिमा भनिएको छ, “काठमाडाँै उपत्यका मेयर्स फोरम परिवार यो अपूरणीय क्षतिको दुःखद् घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै उहाँको आत्माको चीरशान्तिको कामना गर्दै शोकाकूल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ । उहाँको निधनबाट उपत्यकाका सबै पालिकाहरू मर्माहत भएका छन् ।”

यसैबीच चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले पनि विज्ञप्ति जारी गर्दै नकर्मीका असामयिक निधन भएकामा नगरपालिका परिवार अन्यन्त मर्माहत भएको र यस दुःखद् घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । उहाँले यही साउन १३ गते चन्द्रागिरि नगरपालिका र मातहतका निकायमा शोक बिदा गरिएको जानकारी दिनुभयो ।

कास्कीमा विपद्का घटनामा परेर १४ जनाको मृत्यु, चार करोड बढीको क्षति

कास्की, ११ साउन : यस वर्षको मनसुन सुरू भएपछि पहिरामा परेर कास्कीमा हालसम्म १४ जनाको मृत्यु भएको छ । घटनामा छजना घाइते भएका छन् । यसबीचमा जिल्लामा बाढीपहिराका ३३ र अविरल वर्षाका ६१ वटा घटना घटेका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयकानुसार विपद्मा परेर पोखरा महानगरपालिकामा १२ र मादी गाउँपालिकामा दुईजनाको मृत्यु भएको हो । पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटका गत असार २७ गतेको पहिरामा परी स्थानीय कुलबहादुर परियारको परिवारका छसहित सात जनाको ज्यान गएको थियो ।

पहिरामा परेर कुलबहादुरसहित उहाँका आमा ८५ वर्षीया लक्षिमा, पत्नी ४३ वर्षीया मनकुमारी, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा र ज्वाइँ २५ वर्षीय अस्मित परियार तथा छिमेकी ५६ वर्षीया राधिका परियारको मृत्यु भएको थियो ।

यसैगरी सोही रात पोखरा महानगरपालिका–३२ चैनपुरस्थित बाह«विसेमा ४० वर्षीया आरती ओझोको घर पहिरामा पुरिदा १८ वर्षीया अनिता ओझा, ११ वर्षीया अनुष्का ओझा र नौ वर्षीय प्रतिक सुवेदीको मृत्यु भएको थियो । यसैगरी असार २७ गते राति मादी गाउँपालिका–११ ताप्लेमा गएको पहिरामा परेर ८० वर्षीया माइतीकुमारी गुरुङको ज्यान गएको थियो ।

गत असार २६ गते पोखरा महानगरपालिका–२७ का २२ वर्षीय भीमबहादुर थापाको घरमै सुतेको अवस्थामा पहिरामा परेर निधन भएको थियो । गत असार १२ गते रातिको घटनामा कास्कीको मादी गाउँपालिका–५ चितेपानीकी १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको थियो । सोही दिनको घटनामा पोखरा महानगरपालिका–२७ आरुपाटाका ३१ वर्षीय हरि सुनारका छोरा तीन वर्षीय अनमोल सुनारको पहिरामा परेर ज्यान गएको थियो । यसैगरी अविरल वर्षाका कारण दुईजना घाइते भएका छन् ।

प्रहरीकानुसार पहिराका कारण जिल्लामा १४ वटा घर पूर्ण क्षति र नौ वटामा आंशिक क्षति पुगेको छ । पहिराका कारण एकवटा चौपाया मरेका र चार वटा घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो । यस्तै वर्षाका कारण पाँचवटा चौपायाको मरेका, दुईवटा घाइते तथा एक हजार नौ सय २० वटा पंक्षी मरेका पनि शर्माले जानकारी दिनुभयो । विपद्बाट जिल्लामा अन्दाजी रु चार करोड आठ लाख ८१ हजारभन्दा बढीको सम्पत्तिमा क्षति भएको छ ।

मौद्रिक नीतिले समर्थन र स्वागत पाएको प्रधानमन्त्रीको दाबी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकद्वारा शुक्रबार सार्वजनिक मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत पाएको बताएका छन् ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्रा डा शिवराज अधिकारीको सपथ समारोमा प्रधानमन्त्रीले यस्तो बताएका हन् ।

‘आज सार्वजनिक मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत मिल्नु राम्रो कुरा हो । हामीले अब तीव्र गतिका साथ काम गरेर सबै नेपालीको क्षमता वृद्धि गर्नुपर्छ’, आयोगका नवनियुक्त उपाध्यक्ष तथा सदस्यहरुलाई बधाई र शुभकामना दिँदै उनले भने, ‘तपाईंहरुको कार्यकाल देशको समग्र विकासको योजना कार्यान्वयनमा नमूनायोग्य बन्न सकोस् । नयाँ उचाई हासिल हुन सकोस् ।’

प्रधानमन्त्री ओलीले मुलुकको मनोबल कमजोर भएका बेला १६औँ आवधिक योजना बनेकाले समृद्ध नेपालका हाम्रा नीति, योजना र गन्तव्यलाई बहुपक्षीय योजनासँग तालमेल गरेर जानुपर्नेमा जोड दिए ।

यसैगरी उनले उत्पादन वृद्धि र मानवीय एवं भौतिक विकासलाई एकैसाथ अगाडि लैजान नवनियुक्त पदाधिकारीलाई आग्रह गरे ।

उपसचिवसम्मका कर्मचारी प्रदेश सरकारले परिपूर्ति गर्छः मुख्यमन्त्री कँडेल

कर्णाली, ११ साउनः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले उपसचिव तहसम्मका कर्मचारी प्रदेश सरकारले परिपूर्ति गर्ने बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममा उहाँले प्रदेश लोक सेवा आयोगमार्फत उपसचिव तहसहित ७५ प्रतिशत कर्मचारी प्रदेश सरकारले परिपूर्ति गर्ने बताउनुभएको हो ।

जनप्रतिनिधिहरुको संस्थाले नीति, कानुन पारित गर्ने र कर्मचारी संयन्त्रले त्यसको कार्यान्वयन गर्ने भएकाले कर्णालीमा अभाव भएको कर्मचारी जनशक्ति परिपूर्तिमा जोड दिइने उहाँले बताउनुभयो ।

उहाँले आफ्नो नेतृत्वको सरकारले तीन महिनामा कोहलपुर–सुर्खेत १३३ केभी प्रसारण लाइनमा निकुञ्ज क्षेत्रमा आएका समस्या समाधान गरेको, उद्योग, वाणिज्य व्यवसायको दर्ता र नवीकरणको समस्या हल गर्नुका साथै बड्डीचौर–सुर्खेत ३३ केभी प्रसारण लाइन वीरेन्द्रनगरसम्म पुर्याउन जोड दिएको जनाउनुभयो ।

सरकारले कहिले पूर्णता पाउँछ भन्ने प्रश्नमा मुख्यमन्त्री कँडेलले भन्नुभयो, “सत्ता साझेदार दल नेपाली कांग्रेस आन्तरिक छलफलमा छ । छलफल अब नयाँ ढङ्गबाट सुरु हुन्छ ।” सङ्घीय संरचना भए पनि मानसिकता भने केन्द्रीय संरचना अनुसार हुँदा अपेक्षित रुपमा काम गर्न नसकिएको उहाँको भनाइ छ ।

प्रदेश सरकारले कुनै पनि निर्णय यथोचित समयमै गरेर अगाडि बढ्ने बताउँदै उहाँले भन्नुभयो, “राजनीतिक परिस्थिति बदलिँदा प्रदेश नीति तथा योजना आयोगमा पदाधिकारी नियुक्तिमा ढिलाइ भयो यद्यपि सरकार बाटो सुधारमा लागि रहेको छ ।” उहाँले चालु आव २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा सदनमा गरेको दलीय सहमति हुबहु गर्ने प्रतिबद्धता जनाउनुभयो ।

गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट

काठमाडौँ, ११ साउन : गृहमन्त्री रमेश लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिले भेटवार्ता गरेको छ । आज सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा पूर्वसांसद मञ्चका अध्यक्ष ओमकार श्रेष्ठ नेतृत्वको टोली सहभागी थियो ।

मञ्चका अध्यक्ष श्रेष्ठले गृहमन्त्री लेखकलाई बधाइका साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँले मन्त्री लेखकको कार्यकालमा हाल देखिएका समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष श्रेष्ठले संसद्को सल्लाहकार समितिका रूपमा क्रियाशील पूर्वसांसद मञ्चलाई गृह मन्त्रालयको राष्ट्रिय निर्देशन ऐनअनुसार दर्ताको व्यवस्था मिलाइ दिन आग्रह गर्नुभयो । संस्था हाल जिल्ला प्रशासन कार्यालयमा दर्ता छ ।

साथै भेटमा सहभागी पूर्वसांसदहरूले मञ्च निरन्तर जनताको काममा रहेको भन्दै राज्यको तर्फबाट न्यूनतम सुविधा उपलब्ध गराउन पनि माग थियो । पूर्वसांसद मञ्चको माग सम्बोधनका लागि आफू सकारात्मक रहेको गृहमन्त्री लेखकले आश्वासन दिनुभएको थियो ।

कोशी प्रदेश सरकारबाट माओवादी केन्द्रका मन्त्रीहरूको राजीनामा

मोरङ, ११ साउन : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष पाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरूले आज राजीनामा दिनुभएको छ । प्रदेश सरकारमा सहभागी भौतिक पूर्वाधार विकासमन्त्री गणेशप्रसाद उप्रेती, स्वास्थ्यमन्त्री राजेन्द्र कार्की, पर्यटन, वन तथा वातावरणमन्त्री नारायणबहादुर मगर र पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बन्दना झाँगरले संयुक्त रूपमा राजीनामा दिनुभएको छ ।

मुख्यमन्त्री कार्कीले विकाशित राजनीतिक घटनाक्रममा हाललाई सत्ता समीकरण नरहेको अवस्थामा राजीनामा दिनुभएकोमा धन्यवाद तथा ७५ दिनसम्म सत्तामा रहेर गरेको महत्वपूर्ण सहयोगका लागि आभार व्यक्त गर्नुभयो । “अहिलेको अवस्थामा सत्ता सहकार्यमा अलग भए पनि हामीबीच राजनीतिक क्षेत्रमा सहयोग एवं प्रतिपक्षको रचनात्मक भूमिक हुने विश्वास छ”, उहाँले भन्नुभयो ।

माओवादी केन्द्रद्वारा आज आयोजित पत्रकार सम्मेलनमा संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले हाललाई प्रदेश सरकारलाई दिएको समर्थन कायम राखी मन्त्रीहरूले राजीनामा दिने निर्णय भएको जानकारी दिनुभयो । 

अवैध रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास गर्ने दुई पक्राउ

काठमाडौँ, ११ साउनः अवैध रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भिओआइपी) सञ्चालन गरेको अभियोगमा काठमाडौँबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिशङ्खुपाखर गाउँपालिका–५ घर भई बनस्थली बस्ने ४० वर्षीय भुपेन्द्र श्रेष्ठ र झापा गौरीगन्ज गाउँपालिका–४ घर भई कपन बस्ने २४ वर्षीय खुमप्रसाद गिरी रहेका छन् ।

सरकारको कुनै पनि निकायबाट अनुमति नलिई गैरकानुनी रूपमा भिओआइपी सञ्चालन गरिरहेको भन्ने सूचनाका आधारमा नेपाल टेलिकम र एनसेलको प्राविधिक सहयोगमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले वनस्थली खरिबोटस्थित भुपेन्द्रको घरबाट भिओआइपीमा प्रयोग गरिएका विभिन्न उपकरण, राउटर एक थान, आठ पोर्टको भिओआइपी गेटवे एक थान, इन्भर्टर एक थान, ब्याट्री एक थान, नेपाल टेलिकमको सीमकार्ड एक थान र एनसेलको सीमकार्ड नौ थान बरामद गरेको छ ।
उनीहरूमाथि दूरसञ्चार ऐन, २०५३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको बुझे आफन्तले शव

काठमाडौँ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउनेमध्ये पाँच जानाको शव आफन्तले बुझेका छन् । शुक्रबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट मृतकका आफन्तले शव बुझेको अस्पताल प्रशासनले जनाएको छ । 


विमान दुर्घटनामा ज्यान गुमाउने उद्धव पुरी, अश्मिन निरौला, श्याम विन्दुकर, राजाराम आचार्य र को–पाइलट सुशान्त कटवालका परिवारले शुक्रबार शव बुझेका जनाइएको छ। बाँकी मृतकका परिवारले भने बीमा तथा क्षतिपूर्तिलगायतका माग पूरा नभएसम्म शव नबुझ्ने अडान राख्दै आएका छन् ।


विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने क्याप्टेन मनिषरत्न शाक्य घाइते भएका थिए । उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

‘डेडिकेटेड’ र ‘ट्रङ्क’ लाइनको महसुल विवाद चाँडो टुङ्ग्याइदिन ऊर्जा मन्त्रीको आग्रह

काठमाडौँ, ११ साउनः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ‘डेडिकेटेड’ र ‘ट्रङ्क’लाइनको विद्युत् महसुलसम्बन्धी विवाद अध्ययन गरेर चाँडो टुङ्ग्याइदिन संसदीय समितिलाई आग्रह गर्नुभएको छ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको आजको बैठकमा उहाँले महसुल विवादसम्बन्धी विषयलाई नेपाल विद्युत् प्राधिकरण र उद्योगीसँगको छलफलबाट टुङ्गोमा पु¥याइदिन आग्रह गर्नुभयो ।

“तत्कालका लागि तीन महिनाभित्र महसुलको विषय निरुपण गर्ने गरी लाइन जोडिएको छ, यो विषय जटिल र पेचिलो बनेको छ, समितिले छलफल थालिसकेको छ, समितिले चाँडो टुङ्ग्याइदिएपछि मन्त्रालयले आफ्नो काम गर्छ”, मन्त्री खड्काले भन्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगीबाट बक्यौता नउठाउने भनेर कहीँकतै नबोलेको जानकारी दिँदै उहाँले बक्यौता यकिन गरेर मात्रै लिइनुपर्नेमा सरकार स्पष्ट छ भन्नुभयो । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यपालिका (मन्त्रिपरिषद्) को निर्णय, न्यायपालिकाको आदेश र व्यवस्थापिका (समिति)को निर्देशनका आधारमा बक्यौता महसुल उठाउन लागिएको स्पष्ट पार्नुभयो । बक्यौता भुक्तानीका लागि उद्योगीलाई पटकपटक पत्र पठाउँदा पनि अटेर गरेपछि लाइन काटिएको जानकारी दिँदै उहाँले प्राधिकरणले पठाएको बिलविरुद्ध उद्योगी अदालत गएपनि विपक्षमा फैसला भएको तथ्य प्रस्तुत गर्नुभयो । 

समितिमा दुई दिनदेखि ‘डेडिकेटेड’ र ‘ट्रङ्क’लाइनको विद्युत् महसुलसम्बन्धी विवादबारे छलफल भइरहेको छ । बिहीबार उद्योगी व्यवसायीसँग छलफल गरेको समितिले आज ऊर्जा मन्त्रालय, प्राधिकरण, विद्युत् नियमन आयोग र महालेखापरीक्षकको कार्यालयसँग छलफल गरेको थियो । 

छलफलपछि समिति सभापति ऋषिकेश पोखरेलले लामो समयदेखि विवाद रहेको उक्त विषयमा साझा निष्कर्ष निकाल्न चाहेको बताउनुभयो । “महालेखा, लाल आयोग, विभिन्न समितिका प्रतिवेदन, लेखा समितिको पूर्वनिर्णय, मन्त्रिपरिषद्को निर्णय, उद्योगी र प्राधिकरणको दाबी, विद्युत् नियमन आयोगको सुझावका आधारमा साझा निष्कर्ष निकालिनेछ”, उहाँले भन्नुभयो ।

दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा पुर्‍याउने लक्ष्यसहित सरकार अगाडि बढेको छ : ऊर्जामन्त्री

काठमाडौँ, ११ साउन : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा पुर्‍याउने लक्ष्यसहित सरकार अगाडि बढेको बताउनुभएको छ । सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घको २०औँ स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले हाल ९८ प्रतिशत क्षेत्रमा विद्युतीकरण भइसकेकाले दुई वर्ष अगावै लक्ष्य भेट्नेगरी देशभर विद्युतीकरण गरिसक्ने बताउनुभयो ।

  “ऊर्जा क्षेत्रको विकासमा सरकारले राखेको लक्ष्य प्राप्त गर्नका लागि निजी क्षेत्रको साथ र सहयोग आवश्यक छ,” उहाँले भन्नुभयो, “मुलुकको विद्युत् विकासको क्षेत्रमा सरकार निजी क्षेत्र मिलेर काम गर्नुपर्छ ।”

 निजी क्षेत्रको समस्या समाधान हुनेगरी आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै ऊर्जामन्त्री खड्काले विद्युत् क्षेत्रलाई आफूले नजिकबाट नियालिरहेकाले आगामी दिनमा काम गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । ग्रामीण क्षेत्रबाट विद्युत् प्रयोग गरेवापतको ठूलो रकम उठाएर मुलुकलाई योगदान पुर्‍याएको भन्दै उहाँले सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घलाई धन्यवाद व्यक्त गर्नुभयो ।

 महासङ्घ नयाँ सोच र विचारका साथ परिस्कृत हिसाबले अगाडि बढ्नुपर्नेमा जोड दिँदै मन्त्री खड्काले सामुदायिक विद्युत् उपभोक्ता समितिलाई अगाडि बढाउन सरकार महासङ्घको साथमा रहेको बताउनुभयो । 

  विद्युत् नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धितालले ग्रामीण क्षेत्रका जनतालाई गुणस्तरीय विद्युत् सेवा प्रदान गर्न महासङ्घले भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले विद्युत् चुहावटको समस्यालाई रोक्नका लागि महासङ्घले खेलेको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

  विसं २०६२ साउन ११ मा स्थापना भएको महासङ्घले जनताको प्रत्यक्ष्य सहभागीतामा सामुदायिक विद्युतीकरणको कामलाई अगाडि बढाउँदै आएको छ ।

महासङ्घका अध्यक्ष नारायण ज्ञवालीले चुहावट भएको विद्युत्लाई रोक्दै नेपालमा सामुदायिक विद्युतीकरणको अभियानलाई अगाडि बढाउन महासङ्घले महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो ।

  महासङ्घले समुदायमार्फत हाल देशभरका ५५ जिल्लामा ३०२ संस्थामार्फत विद्युतीकरणको काम गर्दै आएको छ । महासङ्घले हालसम्म रु एक अर्ब ८० करोड विद्युत् प्रयोग गरेवापतको रकम समुदायबाट उठाएर सरकारलाई हस्तान्तरण गरिसकेको छ भने तीन हजार ५०० जनालाई रोजगार प्रदान गरेको छ । 

मौसमजन्य विपद्मा परी आजसम्म एक सय ३९ जनाको मृत्यु

काठमाडौँ, ११ साउन : मौसमजन्य विपद्मा परी आज अपराह्नसम्म मुलुकभर एक सय ३९ जनाको मृत्यु भएको छ । बाढी, पहिरालगायत विपद्मा परी काठमाडौँ उपत्यकामा दुई, कोशीमा २२, मधेसमा छ, बागमतीमा २९, गण्डकीमा ३८, लुम्बिनीमा २४, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

बाढीपहिरामा परी कोशी र बागमती प्रदेशमा दुई÷दुई तथा गण्डकी र कर्णाली प्रदेशमा एक÷एक गरी छजना बेपत्ता भएका छन् । बेपत्ताको खोजी जारी रहेको प्रहरीले जनाएको छ । विपद्मा परी एक सय ५६ जना घाइते भएका छन् ।

बाढीका कारण जम्मा एक सय ८४ घर डुबानमा परेका छन् भने दुई सय ३८ घर, ८६ गोठ, ४३ पुल, दुई विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ । विपद्का घटनाबाट चार हजार ३० घरपरिवार विस्थापित भएका छन् ।

नगरप्रमुख नकर्मीको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ, ११ साउनः नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाका तर्फबाट पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी कीर्तिपुरका नगरप्रमुख एवम् कांग्रेस काठमाडौँका उपसभापति नकर्मीको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो । नकर्मीको बिहीबार राति वीर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

सभापति देउवाले पार्टी सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा स्व नकर्मीले पु¥याउनुभएको सक्रिय योगदानको स्मरण गर्नुहुँदै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । उहाँले मृत आत्माको चिरशान्तिको कामना साथै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

विसं २०२० असार २० गते जन्मनुभएका नकर्मीले नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको निधनबाट नेपाली कांग्रेसले एक अनुभवी नेतृत्व गुमाएको छ ।

पार्टी सभापति देउवाले आज कीर्तिपुर नगरपालिकाको कार्यालय परिसरमा पुगेर उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । त्यसैगरी, कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य एवम् उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, पार्टीका केन्द्रीय सदस्यहरू, जिल्ला सभापति, अन्य नेता एवम् कार्यकर्ताहरू तथा स्वर्गीय नकर्मीका आफन्तजन अन्तिम श्रद्धाञ्जलीका लागि उपस्थित हुनुहुन्थ्यो ।  उहाँको पार्थिव शरीरलाई आजै कीर्तिपुरको दिखु खोलामा अन्तिम दाहसंस्कार गरिएको कांग्रेसले जनाएको छ ।

जाजरकोट भूकम्प प्रभावितलाई अनुदान रकम उपलब्ध गराउन प्रधानमन्त्रीलाई ज्ञापन

काठमाडौँ, ११ साउन: प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष जाजरकोट भूकम्पबाट प्रभावित अधिकांशले अस्थायी आवासका लागि अनुदान रकम अझै पाउन नसकेको विषयमा ध्यानाकर्षण गराएका छन् ।

रुकुम–पश्चिम र रुकुम–पूर्वका नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीयस्तरका नेता, सांसदसहित जिल्ला नेतृत्वले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर गत कात्तिक १७ गतेको भूकम्पबाट प्रभावित भएकाका लागि सरकारले तय गरेको पहिलो र दोस्रो किस्ताको रकम यथाशीघ्र उपलब्ध गराउनुपर्ने विषयमा ध्यानाकर्षण गराएका हुन् । 

ज्ञापनपत्रमा पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आयोजना कार्यालय स्थापना गर्न माग गरिएको छ । यसगैरी तत्कालीन सशस्त्र द्वन्द्वका समयका विभिन्न घटनामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) इतर पक्षलाई राजनीतिक पहुँच र कानुनी प्रभावमा राखी लोकतन्त्रको अनुभूति गर्न नदिइएको गुनासो प्रधानमन्त्री ओलीसमक्ष गरिएको छ ।

ज्ञापनपत्र बुझाउन एमालेका पोलिटब्युरो सदस्य खेममान खड्का, कांग्रेसका राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकाय, एमालेका प्रतिनिधिसभा सदस्य चन्द्रबहादुर विश्वकर्मा, कांग्रेसका पूर्व्राज्यमन्त्री गोपालजीजङ्ग शाह, मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, रुकुमपूर्वका एमालेका जिल्ला अध्यक्ष लीलामणि गौतम, सोही कांग्रेसका प्रदेश सदस्य सरिता बिसी, रुकुम–पश्चिमका कांग्रेस जिल्ला अध्यक्ष प्रेमप्रकाश ओली, सोही जिल्लाका एमालेका जिल्ला अध्यक्ष नन्दराम देवकोटालगायत सहभागी हुनुहुन्थ्यो ।

मौद्रिक नीति ०८१/८२ : अर्थतन्त्रलाई थप गतिशील बनाउने

काठमाडौँ, ११ साउन : मुलुकको अर्थतन्त्रलाई थप गतिशील बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गर्नुभएको मौद्रिक नीतिमा अर्थतन्त्रलाई गतिशील बनाउन सजगतापूर्ण लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिइएको छ । “वस्तुस्थितिको विश्लेषणका आधारमा सहज मूल्य र बाह्य क्षेत्र स्थितिलाई मध्यनजर राखी अर्थतन्त्रलाई गतिशील बनाउन सजगतापूर्ण लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिइएको छ”, नीतिमा भनिएको छ ।

नीतिले उत्पादनशील क्षेत्रतर्फ कर्जा प्रवाह र कर्जाको गुणस्तर सुधारमा जोड दिँदै वित्तीय स्थायित्व कायम हुनेगरी नियामकीय व्यवस्था गरेको छ । समष्टिगत आर्थिक स्थायित्वमा प्रतिकूल असर नपर्नेगरी कर्जा प्रवाहलाई सहज बनाउन मौद्रिक नीति र नियामकीय नीतिबीच तादात्म्यता कायम गरिएको गभर्नर अधिकारीले जानकारी दिनुभयो ।

नेपाली रुपैयाँको भारतीय रुपियाँसँग स्थिर विनिमयदरलाई मौद्रिक नीतिको अंकुशका रुपमा यथावत राखिएको छ । मुद्रास्फीतिलाई पाँच प्रतिशतको हाराहारीमा राख्नेगरी मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिनेगरी मौद्रिक व्यवस्थापन गरिनेछ । कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्नेगरी विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य छ ।

भारित औसत अन्तर बैंक दरलाई मौद्रिक नीतिको सञ्चालन लक्ष्यका रुपमा यथावत राख्दै स्वचालित र नियममा आधारित खुला बजार कारोबारमार्फत नीतिगत दरकै हाराहारीमा कायम गर्ने लक्ष्य राखिएको छ ।

चालु आवको बजेटमा सरकारले अनुमान गरेबमोजिम छ प्रतिशतको आर्थिक वृद्धि दर हासिल गर्न सहयोग पुग्नेगरी तरलता व्यवस्थापन र कर्जा प्रवाहलाई उत्पादनशील क्षेत्रतर्फउन्मुख गर्ने मौद्रिक नीतिको लक्ष्य छ । यस्तै, विस्तृत मुद्राप्रदायको वृद्धि दर १२ प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धि दर १२ दशमलव पाँच प्रतिशतसम्म रहने प्रक्षेपण गरिएको छ ।

मौद्रिक नीति २०८१/८२ : बैंकदर र निक्षेप सङ्कलनदर घटाइयो

काठमाडौँ, ११ साउन : नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति आज सार्वजनिक गरेको छ । नयाँ मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंकदर र निक्षेप सङ्कलनदर घटाएको छ । “ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई सात प्रतिशतबाट छ दशमलव पाँच प्रतिशत र नीतिगत दर पाँच दशमलव पाँच प्रतिशतबाट पाँच प्रतिशत कायम गरिएको छ”, मौद्रिक नीति सार्वजनिक गर्नुहुँदै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भन्नुभयो । ब्याजदर करिडरको तल्लो सीमाका रुपमा रहेको तीन प्रतिशतको निक्षेप सङ्कलन दरलाई भने यथावत् राखिएको छ ।

बैंकदरमा स्थायी तरलता सुविधा प्रदान हुने व्यवस्थालाई निरन्तरता दिँदै स्थायी तरलता उपलब्ध हुने शर्तहरुलाई लचिलो बनाइने राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्थालाई निरन्तरता दिइएको छ ।

मौद्रिक नीति सार्वजनिक गर्नुहुँदै गभर्नर अधिकारीले सहज मूल्य र बाह्य क्षेत्रको स्थितिलाई मध्येनजर गरी अर्थतन्त्रलाई गतिशील बनाउन सजगतापूर्वक लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिइएको बताउनुभयो । त्यस्तै उत्पादनशील क्षेत्रतर्फ कर्जा प्रवाह र कर्जाको गुणस्तर सुधारमा जोड दिँदै वित्तीय स्थायित्व कायम हुनेगरी नियामकीय व्यवस्था तर्जुमा गरिएको उहाँको भनाइ छ ।

काँग्रेस अब छिट्टै सरकारमा सहभागी हुन्छ : प्रमुख सचेतक विष्ट

कर्णाली, ११ साउन : नेपाली काँग्रेस कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले काँग्रेस अब छिट्टै सरकारमा सहभागी हुने जानकारी दिनुभएको छ । सङ्घमा राष्ट्रिय समीकरण परिवर्तन भएसँगै नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्मिलित सरकार बनेपछि कर्णाली प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) बाहिरिएको छ । माओवादी बाहिरिएसँगै रिक्त रहेका आर्थिक मामिला तथा योजना, जलस्रोत तथा ऊर्जा विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र सामाजिक विकास मन्त्रालय को नेतृत्व काँग्रेसले गर्नुपर्ने देखिएको प्रमुख सचेतक विष्टले बताउनुभयो ।

“ काँगेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाही, पार्टीसभापति र उपसभापतिले कर्णाली सरकारमा जाने विषयमा छलफल गरिरहनुभएको छ,” उहाँले भन्नुभयो, “केही प्राविधिक कारणले ढिला भएपनि अब एक÷दुई दिनपछि काँग्रेस छिट्टै सरकारमा सहभागी हुन्छ ।” सरकारमा कसको नेतृत्वमा को–को जाने भन्ने विषय पनि केन्द्रीय नेतृत्वको सहकार्य समन्वयमा दलको नेताले टुङ्ग्याउने प्रमुख सचेतक विष्टले बताउनुभयो ।

मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारमा सहभागी आर्थिक मामिला मन्त्री महेन्द्र केसी, सामाजिक विकासमन्त्री बीरबहादुर शाही, जलस्रोतमन्त्री रनसिंह परियार र उद्योग, पर्यटनमन्त्री दुर्गबहादुर रावतले समर्थन फिर्ता लिँदै यही साउन ७ गते पदबाट राजीनामा दिनुभएको थियो । हाल रिक्त रहेका चारवटै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री कँडेलले आफँैले सम्हाल्नुभएको छ ।

भारतले धान, चामल निर्यातमा २० प्रतिशत कर लगाउँदा आयात ह्वात्तै घट्यो

वीरगञ्ज (पर्सा), ११ साउनः प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालय हुँदै धान, चामलका आयातमा गिरावट आएको छ । भारत सरकारले धान, चामल निर्यातमा कोटा प्रणाली हटाएर थप २० प्रतिशत कर लाग्ने व्यवस्था गरेसँगै यसको प्रभाव नेपालमा परेको हो । कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ आठ अर्ब २८ करोड ५५ लाख ४२ हजार मूल्य बराबरको २० करोड ८० लाख ९२ हजार चार सय ४८ किलोग्राम धान नेपाल आयात भएको छ ।

आव २०७९/८० को तुलनामा आव २०८०÷८१ मा धान आयातको परिमाण ४४ दशमलव ६० प्रतिशतले घटेको हो । सरकारले प्राप्त गर्न राजस्व पनि ३९ दशमलव ८१ प्रतिशतले घटेको छ । सरकारले गत आवमा धान आयातवापत राजस्व भने ४० करोड ५३ लाख २६ हजार राजस्व सङ्कलन गरेको थियो ।

कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले भारत सरकारले गत आवमा धान, चामल निर्यातमा दिँदै आएको कोटा प्रणाली हटाएर थप २० प्रतिशत कर लगाएसँगै धान, चामलको आयातमा गिरावट आएको बताउनुभयो । “वीरगञ्ज भन्सार कार्यालय हँुदै आयात हुने धान, चामलको परिमाण ठूलोमात्रामा घटिरहेको छ”, उहाँले भन्नुभयो, “धान, चामलको आयात मात्रै होइन । राजस्व सङ्कलनमा पनि प्रत्यक्ष असर पारिरहेको छ ।” वीरगञ्ज भन्सार कार्यालय हँुदै आव २०७९÷८० मा १३ अर्ब ७६ करोडको धान आयात गरिएको छ । सो आवमा ३८ करोड ५५ लाख ८८ हजार तीन सय ३९ किलोग्राम धान आयात गरिएको थियो । सो धान आयात हुँदा सरकारले राजस्ववापत ६७ करोड ३४ लाख ६३ हजार सङ्कलन गरेको थियो ।

आव २०८०/८१ म वीरगञ्ज भन्सार कार्यालय हँुदै एक अर्ब ७२ करोड ६२ लाख ५३ हजार मूल्य बराबरको एक करोड ३२ लाख ४१ हजार तीन सय ७३ किलोग्राम चामल आयात भएको छ । अघिल्लो आवको तुलनामा गत आवमा यो भन्सार कार्यालय हुँदै आयात हुने चामलको परिमाणमा ६३ दशमलव ८० प्रतिशतले गिरावट आएको छ । कार्यालयले चामल आयातवापत प्राप्त गर्ने राजस्व पनि ४१ दशमलव ८ प्रतिशतले घटेको देखिन्छ । गत आवमा चामल आयात हुँदा राज्यले १९ करोड ८७ लाख ३० हजार राजस्व सङ्कलन गरेको छ ।

आव २०७९/८० मा भने दुई अर्ब ९५ करोड ९९ लाख ४४ हजार मूल्य पर्ने तीन करोड ६५ लाख ८२ हजार ६ सय ८३ किलोग्राम चामल आयात भएको थियो । सो चामल आयात हुँदा राज्यले २३ करोड ४३ लाख ८३ हजार राजस्व सङ्कलन गरेको थियो ।

गत आवमा धान र चामलको आयात घटे पनि खाद्यान्न मकैको आयात भने केही बढेको छ । आव २०८०/८१ म खाद्यान्न मकै भने पाँच अर्ब ५९ करोड १९ लाख एक हजार मूल्य पर्ने १२ करोड ९९ लाख १८ हजार एक सय ७३ किलोग्राम मकै आयात भएको छ । सो मकै आयात हुँदा राज्यले २७ करोड ७४ लाख १० हजार राजस्व सङ्कलन गरेको छ । आव २०७९/८० को तुलनामा आव २०८०/८१ खाद्यान्न मकैको आयात भने परिमाणमा तीन दशमलव ७२ प्रतिशतले बढेको छ । राजस्व रकम पनि अघिल्लो आवको तुलनामा १८ दशमलव ३६ प्रतिशतले बढेको छ ।

सुदूरपश्चिम विश्वविद्यालय : राजनीतिबाट टाढा रहँदै प्राविधिक एवं व्यावहारिक शिक्षामा जोड

काठमाडौँ, ११ साउन : सुदूरपश्चिम विश्वविद्यालयले आफू मातहतका १६ वटा आङ्गिक क्याम्पसमार्फत करिब २० हजार विद्यार्थीलाई अध्ययन अध्यापन गराइरहेको छ । सन् २०१० मा स्थापना भएको सो विश्वविद्यालयले विशेषगरी सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका विद्यार्थीलाई लक्षित गरी स्नातक, स्नातकोत्तर, दशनाचार्य र विद्यावारिधि तहसम्मको विद्यार्थी उत्पादन गरिरहेको कुलपति प्रा डा हेमराज पन्त बताउनुहुन्छ ।

विश्वविद्यालयको १५औँ स्थापना दिवसका उपलक्ष्यमा आज भीमदत्तनगर, कञ्चनपुरमा  आयोजित कार्यक्रममा उपकुलपति प्रा डा पन्तले मानविकी, व्यवस्थापन, शिक्षा, विज्ञान तथा प्रविधि, इञ्जिनियरिङ, कृषि, कानुन, वन र चिकित्सा शिक्षागरी १० वटा सङ्कायमा करिब २० हजार विद्यार्थी अध्ययनरत रहेको जानकारी दिनुभयो । विश्वविद्यालयमा करिब पाँच सय प्राज्ञिक जनशक्तिसहित सात सय कर्मचारी कार्यरत रहेको विश्वविद्यालयले जनाएको छ ।

सन् २०२१ देखि दर्शनाचार्य र विद्यावारिधि तहको शैक्षिक कार्यक्रम सञ्चालन भइरहेको सो विश्वविद्यालयले बजारको मागलाई दृष्टिगतगरी प्राविधिक शिक्षालाई प्राथमिकता दिने नीति तथा कार्यक्रम रहेको जनाएको छ । शैक्षिक गुणस्तरका हिसाबले मुलुकको सर्वाेत्कृष्ट विश्वविद्यालयका रुपमा स्थापित गर्न सम्बद्ध सबै क्रियाशील रहेको बताउनुभयो । 

उहाँले अङ्गे्रजी विषयका विद्यावारिधि तहका शैक्षिक जनशक्तिले स्वदेश तथा विदेश समेतमा राम्रो काम गरिहेको उल्लेख गर्दै कानुन विषयसहित प्राविधिक धारतर्फको विदेशतर्फको सिक्दै–कमाउँदै शैक्षिक कार्यक्रमलाई आम विद्यार्थीले रुचाएका छन् भन्नुभयो । विश्वविद्यालयले समय र बजारको मागअनुसार पाठ्यक्रम तयारगरी व्यावहारिक एवं जीवनोपयोगी शिक्षामा जोड दिएको स्पष्ट गरेको छ ।

यसैगरी भारतको ‘इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी)सँग समन्वयगरी इञ्जिनियरिङतर्फको अब्बल जनशक्ति उत्पादन गर्नेगरी सम्झौता भएको विश्वविद्यालयले कानुन सङ्कायअन्तर्गत स्नातकतर्र्फ ‘बिएएलएलबी’ तहको शैक्षिक कार्यक्रमलाई विशेष प्राथमिकता दिइ दक्ष कानुन व्यवसायी उत्पादन गर्नेगरी शैक्षिक कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

समारोहमा प्रमुख राजनीतिक दलका नेताहरूले सुदूरपश्चिम प्रदेशको शैक्षिक धरोहरका रूपमा स्थापित विश्वविद्यालयमा दलीय राजनीति घुस्न नदिने प्रतिबद्धता व्यक्त गर्दै सर्वसुलभ एवं गुणस्तरीय शिक्षाका पक्षमा सदैव सहयोग र समर्थन रहने धारणा व्यक्त गर्नुभयो ।

सो अवसरमा विश्वविद्यालयमा २५ वर्ष सेवा गर्ने ३० भन्दाबढी प्राध्यापक तथा कर्मचारीलाई दीर्घ सेवा सम्मान प्रदान गरिएको थियो । यसैगरी विश्वविद्यालयलाई उल्लेखनीय सहयोग पुर्‍ याउने स्थानीय समाजसेवी डिल्लीराज लेखक र लीलाध्वज बस्नेतलाई कदरपत्र प्रदान गरिएको थियो ।

जोखिमपूर्ण अवस्थाबाट पाइलटको सकुशल उद्धार गर्ने प्रहरी पुरस्कृत

काठमाडौँ, ११ साउन : यही साउन ९ गते काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरको विमान दुर्घटनापछिको जोखिमपूर्ण अवस्थाबाट विमान चालकलाई सकुशल उद्धार गर्ने छजना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् ।

प्रहरी प्रधान कार्यालयले उक्त जोखिमपूर्ण अवस्थामा पाइलट मनीषरत्न शाक्यलाई सकुशल उद्धार गर्न सफल प्रहरी कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान गरिएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । 

उहाँका अनुसार प्रहरी नायब उपरीक्षक सुकेदेव खनाल र टङ्क राउत तथा प्रहरी जवान श्रीराम परियार, करणसिंह चाइसिर, भीमप्रसाद गौतम र कृष्ण जोशीलाई पुरस्कृत गरिएको हो ।

साउन ९ गते बिहान ११ बजेर १३ मिनेटको समयमा काठमाडौँबाट पोखरा जान लागेको उक्त विमान उड्ने वित्तिकै खसेर दुर्घटना भएको थियो । दुर्घटनामा पाइलट शाक्यबाहेक सबै १८ जनाको मृत्यु भएको थियो । मृत्यु हुने सौर्य एयरका कर्मचारी, इन्जिनियर तथा उनीहरुका आफन्त रहेका प्रहरीले जनाएको छ ।

घट्यो सुनको मूल्य , कतिमा हुँदैछ काराेबार ?

काठमाडौँ, ११ साउन : स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला रु एक लाख ४५ हजारमा कारोबार भएकामा आजका लागि रु एक लाख ४४ हजार सात सय निर्धारण भएको छ ।

तेजाबी सुन बिहीबार प्रतितोला रु एक लाख ४४ हजार तीन सयमा कारोबार भएकामा आज रु एक लाख ४४ हजार निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु २० ले घटेको छ । बिहीबार प्रतितोला रु एक हजार सात सय ५० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु एक हजार सात सय निर्धारण भएको छ ।

म्याग्दीको मालिका गाउँपालिकामा ‘एक घर , एक धारा’ निर्माण सम्पन्न

म्याग्दी, ११ साउनः म्याग्दीको मालिका गाउँपालिका–७ बिमको डाडागाउँमा निजी धारासहितको खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । नेपाल पानीको लागि स्वास्थ्य (नेवा) संस्था, मालिका गाउँपालिका र उपभोक्ताको रु ३२ लाख ९७ हजार सात सय ३२ को लागतमा आयोजना निर्माण सम्पन्न भएको हो । आयोजनाबाट ५६ घरपरिवार, एक विद्यालय, एक स्वास्थ्यचौकीमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको वडाध्यक्ष टकलाल पुनले जानकारी दिनुभयो ।

तीन सय ३४ जनसङ्ख्या लाभान्वित भएका उहाँले बताउनुभयो । यसअघि सार्वजनिक धारामार्फत खानेपानी वितरण हुने गरेको थियो । घरआँगनकै धारामा नियमित पानी आपूर्ति हुन थालेपछि उपभोक्ताको समयको बचत भएको स्थानीयवासी टुकमान जुग्जालीले बताउनुभयो ।

“धाराबाट पानी ओसार्दा हुने दुःख र झञ्जट हटेको छ”, उहाँले भन्नुभयो, “स्थानीयवासीको दैनिकी र जीवनशैली परिवर्तन भएको छ ।” स्वास्थ्य र सफा खानेपानी आपूर्ति हुन थाले पनि दूषित पानीका कारण हुने स्वास्थ्य समस्या कम हुने अपेक्षा गरिएको छ । खानेपानीको व्यवस्थित र मितव्ययी प्रयोगका लागि मिटर जडान गरी हेरालु राखिएको छ ।

नेवाको रु १७ लाख ४० हजार आठ सय १३, गाउँपालिकाको रु छ लाख दुई हजार छ सय ४९ लगानी भएको आयोजना निर्माणका लागि रु एक लाख ६८ हजार छ सय ९३ नगद सङ्कलन गरेका उपभोक्ताहरुले रु सात लाख ८५ हजार पाँच सय ७७ बराबरको श्रमदान गरेका उपभोक्ता समितिले जनाएको छ ।

आयोजनाको बिहीबार मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्ती पुनले शुभारम्भ गर्दै स्वस्थ र स्वच्छ खानेपानी सुविधामा पहुँच बढाउन नेवासँगको साझेदारीमा डाँडागाउँसहित मालिका गाउँपालिकामा छवटा एक घर, एक धारासहितको खानेपानी आयोजना निर्माण भएको बताउनुभयो ।

रुकुमपश्चिमका पहिरोपीडित नौ परिवारलाई विद्यालयमा सारियो

त्रिवेणी (रुकुमपश्चिम), ११ साउनः सानीभेरी गाउँपालिका–७ र ८ का पहिरोपीडित नौ परिवारलाई स्थानीय विद्यालयमा सारिएको छ । गाउँपालिका–७ को पोखरेल गाउँमा बिहीबारको पहिरोले नैनी पुनको दुईतले चारकोठे कच्ची घर पूर्ण रूपमा क्षति पुर्याएको छ भने सोही गाउँका आठ घर पनि पहिरोको चपेटामा परेका छन् । तीसँगै वडा नं ८ सार्कीडेराका एक घर गरी नौ घरका विस्थापितलाई विद्यालयमा स्थानान्तरण जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

विस्थापित आठ घरपरिवारलाई सानीभेरी गाउँपालिका–८ को बालकल्याण आधारभूत विद्यालय भवनमा स्थान्तरण गरिएको र एक घरपरिवारलाई छिमेकीको घरमा आश्रय दिइएको समितिका संयोजक प्रमुख जिल्ला जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । क्षतिको विवरण सङ्कलन भइरहेको छ ।

प्रदेशसभा सदस्यद्वारा बलान नदी नियन्त्रणमा सघाउने प्रतिबद्धता

सिरहा, ११ साउनः सिरहा र सप्तरीको सिमाना भएर बग्ने बलान नदी किनारमा तटबन्ध नहुँदा त्यस भेगका किसानको जमिन बर्सेनि कटानमा पर्दै आएको छ । मधेस प्रदेशसभाको प्राकृतिक स्रोत तथा वातावरण समिति र विकास समितिका सदस्यहरूले बिहीबार संयुक्त रूपमा उक्त क्षेत्रको निरीक्षण गर्नुभएको छ ।त्यस क्रममा उहाँहरूले नदी नियन्त्रणका लागि सार्थक पहल गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ ।

बलान नदीले लहान–४ मा रहेको नयाँ बस्ती इस्लामपुर र सुन्दरपुर तथा लहान–२३ मा भएको कटानको प्रदेशसभाका सदस्य मनोजकुमार सिंह, ममता मण्डल, नुरुल निसा, सञ्जिला यादव र राजेन्द्रप्रसाद चौधरीले नदीकटान रोक्न प्रयत्न गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

यसअघि तत्कालीन मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवदेखि सङ्घीयमन्त्री तथा प्रदेशका मन्त्रीहरूले पटकपटक बलान नदीबाट भएको कटानको निरीक्षण गरे पनि समस्या समाधानका लागि ठोस प्रयास नगरेको गुनासो जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेशकुमार महतोले गर्नुभयो ।

केही दिनअघि लहान–२३ मा बाढीले मात्रै तीन बिघा आँपबगैँचा कटान गरेको छ । यस वर्ष मधेस प्रदेश सरकारले रु ९५ लाख लागतमा दुई सय १५ मिटर र लहान नगरपालिकाले रु ५० लाख लागतमा सय मिटर तटबन्ध निर्माण गरे तापनि कटान रोकिएको छैन

उत्तर–दक्षिण भएर बग्ने बलान नदीले १५ वर्षअघि धार परिवर्तन गरी पूर्व–पश्चिम मोडिएर बस्तीतिर सोझिएपछि विपद् सुरु भएको पीडितहरू बताउँछन् । त्यसयता लहान नगरपालिका–३, ४, ५, ९, १०, १९ र २३, सखुवानन्कारकट्टी गाउँपालिका–३ र ४ तथा भगवानपुर गाउँपालिका–१, ३ र ४ वडाअन्तर्गतका कयौँ बस्ती बाढी, डुबान र कटानको उच्च जोखिममा रहेको सखुवानन्कारकट्टी गाउँपालिकाको–४ का हरिलाल यादवले बताउनुभयो ।उक्त नदीले बसनपुरमा २२ बिघा, कञ्चनपुर मौजीमा ५१ बिघा, सिम्राहा मौजीमा ८४ बिघा उर्वर खेत कटान गरिसकेको छ भने सयौँ बिघा नम्बरी जग्गा बगर बनेको छ ।

अठार वर्षमा महाकाली आयोजनाको काम २२ प्रतिशत !

दोधारा चाँदनी (कञ्चनपुर), ११ साउनः अठार वर्षअघि प्रारम्भ भएको भएको महाकाली सिँचाइ आयोजनाको भौतिक प्रगति मात्र २२ प्रतिशत भएको छ । राष्ट्रिय गौरवको आयोजना दुई दशक बित्नै लाग्दा पनि सम्पन्न हुन नहुँदा आयोजना क्षेत्रका स्थानीय खिन्न छन् ।

विसं २०६३ बाट महाकाली सिँचाइ तेस्रो चरणको काम सुरु भए पनि हालसम्म आयोजनाको २८ किलोमिटर मूल नहर मात्र निर्माण भएको छ । रु ३५ अर्ब लागत अनुमान गरिएको आयोजनामा हालसम्म रु सात अर्ब ६८ करोड खर्च भएको छ । कैलाली कञ्चनपुरको ३३ हजार पाँच सय २० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्याउने आयोजनाको लक्ष्य भए पनि बजेट अभावलगायत समस्याका कारण आयोजनाको काम सुस्त छ ।

 हाल मूल नहर निर्माण भएको क्षेत्रमा २२ वटा शाखा नहर निर्माणाधीन छन् । अठ्ठाइस किलोमिटर मूल नहरमा पानी प्रवाह हुन सकेको छैन । महाकाली सिँचाइ तेस्रो चरण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले भारतीय पक्षले औपचारिक उद्घाटन नभई पानी दिन नसकिने अडानका कारण निर्माण सम्पन्न भएको नहरमा पानी नछाडिएको बताउनुभयो । “हामीले एनएचपिसीसँग नहरमा पानी छाड्न आग्रह गर्दा औपचारिक रूपमा उद्घाटन नभई पानी दिन नसकिने बतायो”, सुवेदीले भन्नुभयो, “त्यो कुरा हामीले हाम्रो माथिल्लो निकायमा जानकारी गराएका छौँ ।”

डिभिजनल इन्जिनियर सुवेदीकाअनुसार आयोजनाको २२ प्रतिशत मात्र काम सम्पन्न भएको छ । २०७७ माघ २९ को निर्णयानुसार २०८७ सम्म कैलालीको मालाखेतीसम्मको नहर निर्माण गरिसक्ने लक्ष्य छ । “अहिले पनि आयोजनाका लागि रु दुई अर्ब मात्र बजेट आएको छ यो अत्यन्त कम हो”, उहाँले भन्नुभयो, “मुआब्जा विवाद समाधान, पर्याप्त बजेट प्राप्ति र वनक्षेत्रका व्यवधान हटेमा निर्धारित समयमा नहर निर्माण गर्न सकिन्छ ।”

आयोजनाको २८ दशमलव आठ किलोमिटरदेखि ४८ दशमलव तीन किलोमिटरसम्म मूल नहर निर्माणका लागि गत वर्ष पाँचवटा प्याकेजमा ठेक्का सम्झौता भएको थियो । तीन वर्षभित्र काम सक्नेगरी ठेक्का सम्झौता भए पनि बजेट अभाव, वन क्षेत्र र मुआब्जाका कारण निमार्णले गति लिन सकेको छैन ।

आर्थिक वर्ष २०६२÷६३ मा काम सुरु भएको आयोजनाको हालसम्म २८ दशमलव नौ किमी मूल नहर निर्माण भएको छ । मूल नहर बनेका क्षेत्रमा २२ वटा शाखा नहर निर्माणाधीन छन् । शाखा नहर निर्माण भएमा आगामी वर्षभित्र पाँच हजार दुई सय हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुने आयोजनाले जनाएको छ । एक सय ५१ किलोमिटर लामो मूल नहर सम्पन्न भएपछि कैलाली र कञ्चनपुरको ३३ हजार पाँच सय २० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ ।

सिँचाइ सुविधा नहुँदा कञ्चनपुरमा असार १५ सम्म ४३ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । कञ्चनपुरको एक लाख ६१ हजार सात सय ४१ हेक्टर खेतीयोग्य जमिनमध्ये ५९ हजार छ सय दुई हेक्टरमा मात्र खेती हुने गरेको छ ।

अस्ताए ‘कान्छी मट्याङट्याङ’का गायक जोशी

झापा, ११ साउनः नेपाली लोकसङ्गीतका प्रतिभाशाली गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ । दमक–१ स्थित आफ्नै निवासमा बिहीवार साँझ बेहोस हुनुभएका उहाँको उपचारका क्रममा लाइफ लाइन अस्पतालमा निधन भएको हो ।

विसं १९९३ मा धनकुटा बजारमा जन्मनुभएका गायक जोशीलाई जनस्तरबाट ‘लोकगीतका सम्राट’को उपाधि दिइएको थियो । उहाँले ‘रिटिङ रिटिङ नबजाऊ बिनायो’, ‘वल्लो खोलो पल्लो खोलो, कमिलाको गोलो हजुर’, ‘निगालो घारीमा च्याखुरा नाच्यो’, ‘कान्छी मट्याङट्याङ’ लगायत दर्जनौँ कालजयी गीत गाउनुभएको थियो । पूर्वेली लोकभाका उहाँ गीत गाउनुहुन्थ्यो । ‘रिटिङ रिटिङ नबजाऊ बिनायो’ गीत २०१७ सालमा रेकर्ड भएको थियो ।

उहाँ चित्रकार र अभिनेता पनि हुनुहुन्थ्यो । चलचित्र ‘हिजो आज भोलि’मा उहाँले नायिका भुवन चन्दसँग नायकको भूमिकामा अभिनय गर्नुभएको थियो । उहाँले नौवटा चलचित्रमा अभिनय गर्नुभएको थियो ।

सुसेली साहित्यिक परिवारका अध्यक्ष पुण्यप्रसाद खरेलले लोकगायक एलपी जोशीको निधन नेपाली लोकसङ्गीतको क्षेत्रमा अपूरणीय क्षति भएको बताउनुभयो । “उहाँ घाँस दाउरा गर्ने भुइँमान्छेहरुको भावना टपक्कै टिपेर सङ्गीतको लयमा ढाल्नुहुन्थ्यो”, खरेलले शोक वक्तव्य जारी गरेर भन्नुभएको छ ।

विसं २०१३ मा उहाँको पहिलो गीत ‘नेपालको माया..’ रेडियो नेपालमा रेकर्ड भएको थियो । नेपाली मौलिक गीतहरुको खोजमा मुलुकका सयौँ गाउँबेँसीहरु घुम्नु भएको र नेपाली लोकसङ्गीतको भण्डारलाई समृद्ध बनाउन योगदान पुर्याउनुभएका उहाँलाई देशभित्र र प्रवासमा सयौँ पुरस्कार प्राप्त भएको थियो । विसं २०५३ मा म्युजिक नेपालबाट उहाँको ‘रिटिङ रिटिङ’ नामक एकल गीति एल्बम बजारमा आएको थियो ।

जाजरकोटमा घर भत्किँदा एकै घरका आठजना घाइते, छ जनाको अवस्था

काँक्रेविहार (सुर्खेत), ११ साउनः जाजरकोटको छेडागाड नगरपालिका–१२ काँडागाउँमा घर भत्किँदा एकै घरका आठजना घाइते भएका छन् । घरमुली ३५ वर्षीय पदम अधिकारीसहित परिवारका आठजना सदस्य घाइते भएपछि उपचारका लागि जाजरकोट अस्पतालमा पुर्याइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख पुरुषोत्तमप्रसाद पाण्डेले बताउनुभयो ।

आज बिहान ढुङ्गामाटोले बनेको एकतले घर भत्किएपछि १० वर्षीय दिनेश, ३० वर्षीया सरिता, १४ वर्षीय नवीन, ६५ वर्षीया भिरकुली, १५ वर्षीया सुजता, १६ वर्षीया सङ्गीता र १४ वर्षीय नवराज अधिकारी घाइते भएका हुन् ।

दुर्घटनामा पदम, सरिता र दिनेशसहित गम्भीर घाइते भएका छजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छभने सङ्गीता र नवराज सामान्य घाइते भएका प्रहरी प्रमुख पाण्डेले जानकारी दिनुभयो ।

ठूलो ढुङ्गासहित खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध, पहिरो पन्छाउन प्राविधिक र मजदुर परिचालन

म्याग्दी, ११ साउन: रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सबइन्जिनियर सोहनजङ्ग कार्कीले सडकमा खसेको ढुङ्गा फुटाउन ‘ब्रेकर’सहितको ‘डोजर’ पठाइन लागेको जानकारी दिनुभयो । “लोडरले पहिरो र ब्रेकरले ढुङ्गा फुटाउने तयारी गरेका छौँ”, आजै सडक खोल्ने लक्ष्यका साथ काम गरिने उल्लेख गर्दै उहाँले भन्नुभयो । स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका निर्माण व्यवसायी, सडक विभागका उपकरण, प्राविधिक र मजदुर पहिरो पन्छाउन परिचालन भएका छन् ।

नारायणगढ–मुग्लिन सडकको भतेरीमा कन्टेनर र ट्रक ठोक्किँदा दुईजनाको मृत्यु

चितवन, ११ साउनः नारायणगढ–मुग्लिन सडकको भतेरीमा कन्टेनर र ट्रक एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार भारतको उत्तर प्रदेशका २४ वर्षीय मेहताव आलम र वीरगञ्ज महानगरपालिका–२४ का ३३ वर्षीय प्रमोद पटेलको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । मृतकमध्ये आलम भारतीय ट्रकका चालक हुन् भने पटेल कन्टेनरका चालक हुन् । भारतीय ट्रकका सहचालक गोरखपुरका २२ वर्षीय सावन अहमद गम्भीर घाइते भएका छन् । उनको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कीर्तिपुर नगरपालिकाका प्रमुखको निधन,आजै अन्त्येष्टि गरिने

काठमाडौँ, ११ साउनः कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएको छ । मिर्गौला रोगबाट पीडित नकर्मीको गए राति वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालका अनुसार उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि केही समय नगरपालिकामा राखिने र आजै अन्त्येष्टि गरिने छ । नगरपालिकाले आज एक सूचना जारी गरी नकर्मीको निधनमा नगरपालिकाले शोक बिदा दिइएको जनाएको छ ।

मौद्रिक नीति आज सार्वजनिक हुँदै

काठमाडौँ, ११ साउनः चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक हुँदैछ । नेपाल राष्ट्र बैंकले तयार पारेको नीतिको मस्यौदालाई अनुमोदन गर्न केहीबेरपछि केन्द्रीय बैंकको बोर्ड बैठक हुने उक्त बैंकका एकजना वरिष्ठ अधिकारीले राससलाई जानकारी दिनुभयो ।

मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने उपायका साथ बैंकमा लगानीयोग्य रकम थुप्रने क्रम बढ्दै गएको सन्दर्भमा कर्जा विस्तारका साथै निर्माण क्षेत्रलाई गतिशील तुल्याउन, सेयर धितो र घरजग्गा कर्जामा केही लचिलो बन्ने लगायत उद्योग–व्यवसायमैत्री मौद्रिक नीति केन्द्रीय बैंकले सार्वजनिक गर्ने उहाँले बताउनुभयो ।

भरतपुरमा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु

चितवन, ११ साउनः भरतपुरमा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ । महानगरपालिकाको भित्री सडकमा सवारी दुर्घटना हुँदा उक्त महानगरपालिका–७ प्रेमबस्तीका ५० वर्षीय चण्डीप्रसाद अधिकारीको मृत्यु भएको छ भने खोलाले बगाएर कालिका नगरपालिका–१० का ३३ वर्षीय गम्भीर चेपाङको ज्यान गएको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बिहीबार साँझ सिद्धिबजारबाट घर फर्किँदा कयरखोलाले बगाएर बेपत्ता भएका चेपाङको शव आज बिहान फेलापरेको हो भने भरतपुर महानगरपालिका–८ अशोक चोकमा नम्बर नखुलेको सवारीसाधनले अधिकारी सवार मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका निजको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

सुखद दाम्पत्य जीवनको कामना गर्ने ‘मधुश्रावणी’ पर्व मिथिलाञ्लमा सुरु

महोत्तरी, ११ साउन (रासस): कला–संस्कृतिले समृद्ध मिथिलाञ्चलमा सुखद दाम्पत्य जीवनको कामना गर्ने मधुश्रावणी पर्व प्रारम्भ भएको छ । श्रावण कृष्ण पञ्चमीदेखि विशेष विधिका साथ १३ दिनसम्म मनाइने यो पर्वमा नवविवाहिताले शिव, पार्वती र नागदेवताको आराधनाका साथ पतिसँगको गाढा प्रेम र अटल सौभाग्यको कामना गर्दछन् ।

यो पर्वमा बर्तालु र उनका सखी सुन्दर वस्त्रमा सजिएर सामूहिक प्रणयगान र ‘पूmललोढी’ (पूmल खोज्ने) विधि खास मानिन्छ । पर्वभर सामूहिक रूपमा गीत गाउँदै ‘पूmललोढी’मा निस्केका मिथिलानीहरूबीच नयाँघरको र पतिसँगको सम्बन्ध आदानप्रदान हुने गर्छ । पूजाअर्चनाका लागि एक दिनअघिको सन्ध्याकालमा सामुहिक रुपमा पूmल खोज्न निस्कने विधिलाई ‘पूmललोढी’ भनिन्छ । यो पर्वमा भगवान् शङ्कर र देवी गौरीलाई बासी पूmल चढाउने चलन छ ।

पर्वको प्रारम्भ आत्मशुद्धि र व्रत सङ्कल्पबाट हुन्छ । बर्तालु पर्वको एक दिनअघि नै हातगोडाका नङ् काटी नुहाइधुवाइ गरेर शुद्ध हुन्छन् । पर्वभर चोखो भोजन गरिन्छ । घरकी जेष्ठ महिला सदस्यले बर्तालुलाई पर्वका विधि सिकाउने गर्छन् । सामान्यतया माइतीघरमा यो पर्व मनाइने प्रचलन भएपनि यस अवधिभरिको वस्त्र र खाद्यान्नभने पतिले नै पु¥याइ दिनपर्ने चलन छ ।

पर्वको अभीष्ट नै पतिसँगको गाढा प्रेम भएकाले सखीहरु एकआपसमा पतिले गर्ने व्यवहार, घरको अनुभव साटासाट गर्छन् । सूर्यास्त हुनपूर्व प्रणयगीत गाउँदै आकर्षक वस्त्रमा सजिएर पूmललोढीका लागि निस्केका उनीहरूका गीतले बाटो हिड्ने जोसुकैको मन खिच्ने गर्छ । यो नै पर्वको मुख्य आकर्षण हो । “नवविवाहित जोडिको प्रणय सम्बन्ध प्रगाढ बनाउने कामनाले ‘पूmललोढी’ मा निस्केका मिथिलानीका रागात्मक भावका गीतले सबैलाई रोमाञ्चित गराउँछ” मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका उपप्राध्यापक मनोज झा बताउनुहुन्छ ।

विगतमा मिथिलाका ब्राह्मण, कायस्थ, देव र सोनार जातिका महिलाले मात्र मनाउने यो पर्व अब सबै जातजातिको साझा भएको छ । पतिघरबाट आएका सामग्री प्रयोग गरेर माइतमा मनाइने यो पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बनेको मिथिलानी बताउँछन् ।

शिव, पार्वती र विषहराको पूजाआराधना गरेपछि बर्तालुलाई जेष्ठ महिलाले कथा सुनाउँछन् । यिनमा पौराणिक गाथामा आधारित मैना पञ्चमी, विषहरी, बिहुला, मनसा, मङ्गला गौरी, पृथ्वीको जन्म, समुद्र मन्थन र सतीका कथा सुनाइन्छ ।

अवैध लागूऔषध सहित तीन जना पक्राउ

काठमाडौं- पर्सा,वीरगंज महानगरपालिका-२५ खल्वाटोलस्थित सडकबाटनियन्त्रित लागूऔषध नाइट्राभेट५ सय ७० ट्याब्लेट सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने २५ वर्षीयसुरज साह कलवारर २० वर्षीयसलमान अन्सारी रहेका छन् । प्रहरी चौकी सिर्सिया र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

चितवन,भरतपुरमहानगरपालिका-४वैदिकनगरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय २२ ट्याब्लेट र अवैध लागूऔषध गाँजा २ सय ५० ग्राम सहित सोही ठाउँ डेरागरीबस्नेसुनसरीघरभएका २१वर्षीयसमिरराजधामीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाटखटिएकोप्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बिबाहित महिलाहरुबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड २०२४ को लागि आवेदन खुल्ला

बिबाहित महिलाहरुबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड २०२४ को लागि बिहिवारबाट आवेदन खुल्ला भएको छ। विहिवार राजधानीको कमलादिस्थित दुई सय ५६ फिट उचाईको २२औं तल्लामा अवस्थित स्काई वाक टावरमा पत्रकार भेटघाट गर्दै आयोजक संस्था रिवन इन्टरटेनमेन्टले मिसेस नेपाल वल्र्डका लागि आवेदन खुल्ला गरिएको जानकारी गराएको हो।

आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले नयाँ संस्करणको मिसेस नेपाल वल्र्ड २०२४ आगामी कात्तिक १० गते कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ। यसका लागि आगामी भाद्र ८ गते नयाँ वानेश्वस्थित अर्याल इन्टरनेशनल होटलमा पहिलो चरण्को अडिसन गरिने झाले जानकारी गराए। यस वर्ष पनि मिसेस नेपाल वल्र्डको विजेताले अमेरिकामा हुने मिसेस वल्र्डमा सहभागिता जनाउने अवसर प्राप्त गर्ने जानकारी उनले गराए। यसका साथसाथै, सोही मञ्चमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेता समेत चयन गरिने आयोजक निशुकान्त झाले जानकारी गराए। ‘यस पटक हामी केहि परिमार्जित र फरक किसिमले कार्यक्रम गर्ने छौँ। जुन, महिला सशक्तिकरणका लागि उपलब्धिमुलक कार्यक्रम सावित हुनेछ’ उनले भने।

कार्यक्रममा मिसेस नेपाल वल्र्ड २०२३ तथा मिसेस वल्र्डकी ह्युम्यनेटेरियन अवार्ड २०२३ विजेता पृथ्वीया थापाले यस प्रतियागीताले विवाहित र विभिन्न पेशामा आवद्ध महिलाईलाई थप माथि उठ्ने मौका दिने बताईन्। उनले मिसेस नेपाल वल्र्ड २०२३ को हैसियतले आफूले अमेरिकामा सम्पन्न मिसेस वल्र्डमा सहभागी भएर मिसेस ह्युम्यानेटेरियनको उपाधि जित्दाको अनुभव शेयर गर्दै मिसेस नेपाल वल्र्डमा सहभागी भएपश्चात आफूले विभिन्न संघ संस्थामा आवद्ध भई बालबालिकाका क्षेत्रमा काम गर्दै आएको बताईन्। त्यस्तै एमएस नेपाल २०२३ सिता सुवेदीले विवाहित महिलालाई अगाडि बढ्नका लागि मिसेस वल्र्ड निकै उपयोगी मञ्च भएको बताईन्। ‘यो प्ल्याटफर्म नभएको भए शायद मैले यो यात्रा शूरु गर्न सक्दिनथँे होला। प्रतियोगिताको विजेता बन्नु भनेको टाईटल जित्नु मात्र नभई व्यक्तित्व विकास तथा आफूमा भएका कमीकमजोरीलाई निखार्दै अगाडि बढ्ने कला सिक्नु पनि हो’ कथ्थक नृत्यागंंना समेत रहेकी सिताले आफूले विभिन्न अप्ठेरोलाई चिर्दै मेहनत गर्दै गएर एमएस नेपालको उपाधि जितेको अनुभव सुनाउँदै प्रतिस्पर्धामा सबै स्पर्धीलाई समान अवसर र तालिम दिईने गरको अनुभव भएको बताइन्।

प्रतियोगिताका कोरियोग्राफर आश्विनी कान्त झाले मिसेस नेपाल वल्र्डलाई यस पटक बृहत ढंगले आयोजना गर्न लागेको बताए। ‘हामी मिसेस नेपालको विजेतालाई अमेरिकामा हुने मिसेस वल्र्डको अन्तराष्ट्रिय संस्करणमा नेपालको प्रतिनिधित्व गर्न पठाउँछौं। नेपाली समुदाय र संघ संस्थाहरुसंग समन्वय र सहज वातावरण तय गर्नका लागि म केहि समय अमेरिका गएर हालै फर्किएको छु। त्यस आधारमा मिसेस वल्र्डको यात्रा हाम्रा लागि अझै सहज हुने विश्वास लिएको छु’ उनले भने।

प्रतियोगिताका सल्लाहकार तथा पत्रकार विदुर गिरीले मिसेस नेपाल लवल्र्डले प्रत्येक वर्ष उचाई लिईरहेको चर्चा गर्दै आगामी कार्यक्रमले थप उचाई लियोस् भन्दै शुभकामना दिए। स्काई वाक टावरका प्रमूख कार्यकारी अधिकृत कविन्द्र श्रेष्ठले विवाहपछि महिलाहरु अगाडि बढ्न असजिलो हुन्छ भनिने नेपाली समाजमा रिबन ईन्टटेन्मेन्टले विवाहित महिलाका लागि आयोजना गर्दै आईरहेको कार्यक्रममा जोडिन पाउँदा खुशी व्यक्त गरे। कार्यक्रममा स्काई भ्यु टावरको टुप्पोबाट मिसेस नेपाल वल्र्डको व्यानर प्रदर्शन गरिएको थियो।आयोजक संस्थाका अनुसार मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलको विजेतालाई सिंगापुरमा हुने प्रतियोगितामा सहभागिताको लागि अवसर मिलाइएको छ। सम्राट शाह र रानी खरेलको संयोजनमा हुने प्रतियोगिताका लागि विभिन्न विधाका विज्ञहरुले प्रशिक्षण दिनेछन्।

युवा शक्तिलाई विकास निर्माण जोड्न सक्नुपर्छः सभामुख घिमिरे


बागमती – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले युवा शक्तिलाई विकास निर्माणसँग जोड्न सकिए मुलुक समृद्ध हुने बताउनुभएको छ ।

बागमती प्रदेश युवा परिषद्द्वारा हेटौँडामा सञ्चालित युवा सीप वर्ष २०८१ अन्तर्गतका निःशुल्क विकास तालिममा सहभागीहरुको दिक्षान्त समारोहमा सभामुख घिमिरेले युवालाई आवश्यक सीप र तालिम दिएर विकास निर्माणको काममा जोड्न सकिए मुलुकमै रोजगारी सृजनासँगै मुलुक समृद्ध हुने बताउनुभयो ।

“अहिले युवा शक्ति विदेशिने क्रम बढ्दो छ”, उहाँले भन्नुभयो, “युवालाई स्वदेशमै आवश्यक सीप र तालिम दिएर दक्ष बनाइ विकास निर्माणसँगै जोड्नुपर्छ ।” त्यसैले युवालाई स्वदेशमै रोजगारीको सुनिश्चितताका लागि युवा नीति आवश्यक रहेको उहाँले औँल्याउनुभयो ।

नेकपा (एमाले) संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्ताैलाले युवाहरुलाई सीप दिएर उत्पादनसँग जोड्नुपर्ने बताउनुभयो । युवा रोजगारीका लागि विदेशिदा मुलकमा दक्ष जनशक्तिको आभाव भइरहेकाले युवालाई स्वदेशमै रोजगारी दिन सक्ने नीति ल्याउनु आवश्यक रहेको उहाँको भनाइ थियो ।

बागमती प्रदेश युवा परिषद्का कार्यकारी अध्यक्ष सन्तोष चौलागार्इंको अध्यक्षतामा आयोजित कार्यक्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, बागमती प्रदेशसभा सदस्यद्वय जगन्नाथ थपलिया, इन्द्रबहादुर बानियाँले युवालाई स्वदेशमै रोजगारी दिन सक्ने नीति बनाउनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा तालिमका सहभागी मकवानपुर, चितवन र सिन्धुलीका दुई हजार युवालाई प्रमाणपत्र वितरण ग¥यो ।