`

एक हजार चार सय घरधुरीमा विद्युत् विस्तार

म्याग्दी – म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा एक हजार चार सयभन्दा बढी घरधुरीमा केन्द्रीय प्रसारण लाइन विस्तार भएको छ ।

नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले आर्थिक वर्ष २०८०÷८१ मा जिल्लाका विभिन्न ठाउँमा एक हजार चार सय ३८ उपभोक्ता थपिएका जनाएको छ । केन्द्रका सूचना अधिकारी प्रकाश झाले थप ११ वटा नयाँ ट्रान्सफर्मर जडान गरेर विद्युत् वितरण गरेको जानकारी दिनुभयो ।

“म्याग्दीका शतप्रतिशत घरधुरीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गर्ने कार्यक्रममार्फत ११ वटा बस्तीका नौ सय ४५ घरधुरीमा बिजुली पुगेको छ”, उहाँले भन्नुभयो, “यसअघि विद्युतीकरण भएका बस्तीमा थप चार सय ९३ घरमा यसपालि मिटर जडान भएको छ ।”

मालिका गाउँपालिका–६ दुखुका ९९, रघुगङ्गा–७ चिमखोलामा ६५, ८ मङ्गलेका २३, धवलागिरि–६ मराङमा एक सय तीन, मालिका–२ रुममा दुई सय ५६, धवलागिरी–३ दरमा ७६, मालिका–३ खतेनमा ५०, लुप्सीपारमा ५४, मालिका–४ ओखरबोटमा एक सय दुई, मालिका–१ छिस र रिठेचौरका एक सय १७ घरधुरीमा नयाँ मिटर जडान भएको झाले बताउनुभयो ।

उज्यालोका लागि सोलार, मट्टितेलको टुकी, दियालो र सिट्ठामा निर्भर स्थानीयवासीमा बिजुली बलेपछि खुसियाली छाएको छ । घरायसी काम, विद्यार्थीलाई अध्ययन गर्न सहज हुनुका साथै उद्यम व्यवसाय सञ्चालन गर्ने अवसर सिर्जना भएको मालिका–३ का वडाध्यक्ष मोतीप्रसाद बुढाले बताउनुभयो ।

यसवर्ष थपिएका म्याग्दी वितरण केन्द्रअन्तर्गत २२ हजार आठ सय २१ विद्युत्का ग्राहक पुगेका छन् । आव २०७९÷८० मा एक हजार दुई सय ३८ र २०७८÷७९ मा ७७० घरधुरीमा नयाँ लाइन जडान भएको थियो ।

पर्वतको जलजला गाउँपालिकाको मल्लाज, वारीबेनी क्षेत्रमा पनि म्याग्दी वितरण केन्द्रअन्तर्गत मिलनचोक सवस्टेशनमार्फत विद्युत् वितरण हँुदै आएको छ । गत आवमा म्याग्दी वितरण केन्द्रमार्फत रु २२ करोड ५५ लाख २४ हजार २१ महसुल सङ्कलन भएको छ ।

समयमा महसुल नबुझाउने तीन सय ७८ ग्राहकको लाइन काटेर रु ३६ लाख तीन हजार नौ सय ६० बक्यौता असुल गरिएको छ । ६० दिनसम्म महसुल नतिर्नेको लाइन काट्ने र छ महिनासम्म महसुल नबुझाउनेलाई कालोसूचीमा राखिने प्राधिकरणले जनाएको छ ।

समयमा वास्तविक मिटर रिडिङ र अभिलेखमा एकरुपता तथा लाइनको सुुदृढीकरणसँगै लक्ष्यभन्दा बढी विद्युत् चुहावट नियन्त्रण गरिएको प्राधिकरणका वितरण केन्द्र प्रमुख सत्यनारायण गामीले बताउनुभयो । प्राधिकरणले १२.०७ प्रतिशत चुहावट नियन्त्रणको लक्ष्य दिएकोमा म्याग्दीमा १२.२५ प्रतिशत नियन्त्रण भएको उहाँले बताउनुभयो ।

सरकार निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्छः मन्त्री खड्का

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्ने बताउनुभएको छ । नेपाल इण्डिया चेम्बर अफ कमर्शले बिहिबार मन्त्रालयमा गरेको भेटका क्रममा उहाँले सरकारले ऊर्जा क्षेत्रलाई अगाडि बढाउन निजी क्षेत्रको साथ लिएर अगाडि बढ्ने बताउनुभएको हो ।

“आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने सम्झौता भए पनि सोभन्दा बढी बिक्री गर्ने लक्ष्य सरकारले लिएको छ”, मन्त्री खड्काले भन्नुभयो ।

उहाँले ऊर्जा क्षेत्रको विस्तारका लागि आवश्यक पर्ने प्रसारण लाइन निर्माणमा सरकारले ध्यान दिएको उल्लेख गर्नुभयो । “ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सिँचाइको पूर्वाधार विस्तार गरी कृषि उत्पादन बढाउने र विद्युत् उत्पादन गरी विदेशमा निर्यात गरी व्यापार घाटा कम गर्ने नीति लिएको छ”, उहाँले भन्नुभयो ।

नेपाल इण्डिया चेम्बर अफ कमर्शकी अध्यक्ष सिर्जना राणाले मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्र सरकारलाई सहयोग गर्न तयार रहेको बताउनुभयो । अध्यक्ष राणाले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि नेपाल, भारत र बङ्गलादेशबीच ऊर्जा सम्मेलन गरेर अगाडि बढ्नसमेत मन्त्रीसमक्ष आग्रह गर्नुभयो ।

बङ्गलादेशबाट छ हजार ७ सय भारतीय विद्यार्थी फिर्ता

बङ्गलादेशबाट छ हजार ७ सय भन्दा बढी भारतीय विद्यार्थीहरू देश फर्केका छन् र उनीहरुको फिर्तीमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना नेतृत्वको सरकारले सहयोग गरेको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयस्वालले बिहीबार बताउनुभएको छ ।

“भारतीय उच्च आयोगले भारतीयहरूको सीमा क्रसिंग पोइन्ट वा एयरपोर्टमा सुरक्षित यात्राको व्यवस्था गरेको छ”, रणधीर जयस्वालले सञ्चारकर्मीलाई बताउनुभयो ।

उहाँले बङ्गलादेशको अवस्था चाँडै सामान्य हुने आशा व्यक्त गर्नुभएको छ ।

भारत फर्केका विद्यार्थीहरुको सङ्ख्याबारे सोधिएको प्रश्नमा जयस्वालले भन्नुभयो, “अहिलेसम्म बङ्गलादेशबाट छ हजार ७ सय भन्दा बढी भारतीय विद्यार्थीहरू फिर्ता आएका छन् । हामीले बङ्गलादेश सरकारबाट उत्कृष्ट सहयोग पाएका छौं। हाम्रो उच्च आयोगले उनीहरूको सीमा पार गर्ने बिन्दुहरू वा एयरपोर्टमा सुरक्षित यात्राको व्यवस्था गरेको छ।”

“हाम्रो उच्च आयोग र सहायक उच्च आयोग दुवैले २४ घण्टा हेल्पलाइनहरू सञ्चालन गरिरहेका छन् र त्यहाँ रहेका सबै व्यक्ति, हाम्रा विद्यार्थी र नागरिकले सहयोगका लागि उनीहरूसँग सम्पर्क गर्न सक्छन्”, उहाँले बताउनुभयो ।

आफू निर्देशित पहिलो चलचित्र ‘वसन्त’बारे यसो भन्छन् गायक तथा अभिनेता प्रकाश सपूत

गण्डकी – गायक तथा अभिनेता प्रकाश सपूत यतिबेला चलचित्र ‘वसन्त’ को प्रि–प्रडक्सनमा व्यस्त हुनुहुन्छ । निर्देशकका रुपमा उहाँले गत वैशाखमा आफ्नो पहिलो चलचित्र ‘वसन्त’ निर्माणको घोषणा गर्नुभएको थियो । उक्त चलचित्रको शीर्षक भिडियो यसअघि नै सार्वजनिक भइसकेको छ । आगामी भदौ तेस्रो सातादेखि चलचित्रको छायाँकन सुरु हुने उहाँले जानकारी दिनुभयो ।

“अहिले छायांकन पूर्वको तयारी भइरहेको छ, कलाकार छनोटदेखि स्क्रिप्ट, छायाँङ्कनस्थल टुङ्गोमा पु¥याउनेलगायत प्रि–प्रडक्सनको काम भइरहेको छ”, सपूतले भन्नुभयो, “चलचित्रको अधिकांश छायाँङ्कन बागलुङ बजार र आसपासको गाउँमा गर्ने तयारी भइरहेको छ, काठमाडौँ र तराईमा पनि केही भाग छायाँङ्कन हुनेछ ।” चैते दसैँ र नयाँ वर्षलाई लक्षित गरी आगामी चैत २२ गतेलाई चलचित्रको प्रर्दशन मिति तोकिएको छ ।

उहाँले आफ्नो फेसबुकमा केही दिनअघि लेख्नुभएको थियो, “चलचित्र ‘वसन्त’ गीतहरुबाट बन्ने छ र गीतहरु जीवन जस्तै हुनेछन् । छिनछिनमै बदलिरहने तर हामीसँगै हुने हाम्रो हाँसो र आँशु जस्तै । हावा र पानी जस्तै । जन्मिएर भर्खर हास्न थालेको आफ्नो सन्तान जस्तै । हेरिरहूँ लाग्ने । ‘वसन्त’ कथाले भन्दा बढी विचार, भावना र संवेदनाहरुले बन्नेछ । आशा छ तपाईंलाई आफ्नै लाग्नेछ ।”

गायन करिअरको शिखरमा रहेकै बेला उहाँले चलचित्र निर्माण तथा निर्देशन गर्न लाग्नुभएको हो । सपूत नारायण रायमाझीद्वारा निर्देशित चलचित्र ‘परेदशी २’ बाट अभिनेताका रुपमा उदाउनुभएको थियो । ‘वसन्त’मा पनि उहाँ आफँै मुख्य पात्रका रुपमा देखिँदै हुनुहुन्छ । ‘परदेशी २’को अनुभव र दर्शकबाट पाएको विश्वासले चलचित्र निर्माण र निर्देशनमा आँट दिलाएको उहाँको भनाइ छ । चलचित्र निर्देशनलाई उहाँले आफ्नो अर्को सपना भएको रुपमा अथ्र्याउनुभयो ।

गायनसँगै म्यूजिक भिडियोको अभिनय र नृत्यमा पनि सपूतलाई दर्शकले रुचाएका छन् । “अभिनेताका रुपमा ‘परदेशी २’ लाई मैले परीक्षाका रुपमा लिएको थिएँ, निर्देशकीय हिसाबले ‘वसन्त’ अर्को परीक्षा हो”, सपूतले भन्नुभयो, “पहिलेदेखि सँगालेको सपना पूरा गर्न पाउँदा उत्तिकै उत्साहित पनि छु ।”

चलचित्र ‘वसन्त’ आफ्नो पुस्ताले बाँचेको समयको कथामा आधारित रहेको उहाँले सुनाउनुभयो । “चलचित्रमा दर्शकले आफ्नै गाउँठाउँको कथा पाउनेहुनेछ, यसमा नेपालीपन हुनेछ, मौलिक लवज र सङ्गीत हुनेछ”, सपूतले भन्नुभयो, “चलचित्रले हाम्रै समयको कथा भन्छ, सामाजिक विषयवस्तु यसमा मुखरित छ ।” चलचित्रमा आफ्नै जन्मथलो बागलुङको धम्जा गाउँको परिवश र कथावस्तु चित्रित हुने उहाँको भनाइ छ ।

सपूतले आफ्नो भोगाइ र अनुभवलाई चलचित्रको कथामा ढालेको बताउनुभयो । विश्वकर्मा समुदायको युवकले लेखक बन्ने सपना पूरा गर्न गरेको सङ्घर्ष र उसको प्रेमकथालाई चलचित्रमा देखाउन खोजिएको सपूतले बताउनुभयो । कथा, सङ्गीत, निर्देशन, पात्र र चरित्र निर्वाहका दृष्टिले चलचित्रमा नेपालीपन दिन खोजिएको सपूतले बताउनुभयो ।

चलचित्रको दोस्रो मुख्य पात्र ‘शान्ति’ का रुपमा अभिनेत्री स्वस्तिमा खड्काले सपूतलाई साथ दिनुहुने छ । गलबन्दी प्रडक्सनको ब्यानरमा बन्ने चलचित्रमा अनुप बराल, प्रकाश घिमिरे, कमलमणि नेपाललगायतको अभिनय रहनेछ । चलचित्रको कथा र सङ्गीत पनि सपूत आफैँले तयार पार्नुभएको छ । चलचित्रको सह–निर्देशन सुनिल विकले गर्ने जनाइएको छ । चलचित्रको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचन रहनुभएको छ ।

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मनुभएका सपूतका ‘गलबन्दी’, ‘बोलमाया’, ‘पिर’, ‘सकम्बरी’, ‘दमाइ महाराज’, ‘बदला बरिलै’, ‘कुरा बुझ्नुपर्छ’ लगायत गीत चर्चित छन् । सामाजिक मुद्दालाई सिर्जनामा मुखरित गर्न पारङ्गत उहाँ गीतमा कथानकको प्रयोग गर्न सक्ने स्रष्टाका हिसाबले पनि चिनिनुहुन्छ । सपूतका कतिपय रचनालाई लिएर सार्वजनिक विवाद र बहससमेत हुने गरेको छ ।

विसं २०६९ मा ‘मुसुमुस नहाँस मायाले’ बोलको लोकदोहोरी गीतबाट साङ्गीतिक क्षेत्रमा प्रवेश गर्नुभएका सपूत अहिलेका सर्वाधिक सफल कलाकारका रुपमा चिनिनुहुन्छ । मौलिक गीत ‘गलबन्दी’ बाट चर्चाको उचाइमा पुग्नुभएका उहाँका गीतका म्यूजिक भिडियोले युट्युबमा करोडौँ ‘भ्यूज’ बटुल्न सफल भएका छन् ।

सिसी टिभी फुटेजको सहयोगमा मोटरसाइकल चोरीमा सङ्लग्न पक्राउ

काठमाडौँको नयाँबानेश्वरबाट मोटरसाइकल चोरीमा सङ्लग्न दुई जनालाई बिहिबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाराको कोहल्वी नगरपालिका–२ ककडी घर भइ हाल काठमाडौँको कीर्तिपुर बस्ने २३ वर्षीय सुवास चौधरी र कोहल्वी नगरपालिका–५ घर भइ हाल ललितपुरको थसिखेल बस्दै आएका २४ वर्षीय यमनारायण चौधरीलाई नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वेराज खड्काले जानकारी दिनुभयो ।

गत मङ्गलबार काठमाडौँको सिभिल अस्पतालमा पार्किङ गरिराखेको बागमती प्रदेश ०२–०४३ प ०९ ९५ नम्बरको मोटरसाइकल चोरी भएको थियो । उक्त मोटरसाइकल चोरी भएको भन्दै भक्तपुरका मनिषबहादुर कार्कीले दिएको निवेदनका आधारमा प्रहरीले खोजतलास गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

सिसिटिभी फुटेजका आधारमा नियन्त्रणमा आएका चौधरीद्वयले चोरी गर्ने समयमा प्रयोग गरेको लु२२प ८५२० नम्बरको मोटरसाइकलसहित उनीहरु पक्राउ परेका खड्काले बताउनुभयो । उनीहरुको साथबाट मोटरसाइकल चोरी कार्यमा प्रयोग हुने विभिन्न औजारसमेत बरामद भएको छ ।

चोरी गरेको बागमती प्रदेश ०२–०४३ प ०९९५ नम्बरको मोटरसाइकलका सन्दर्भमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ । उनीहरुलाई थप कानुनी कारबाहीका लागि आजै प्रहरी वृत्त नयाँबानेश्वरमा बुझाइएको छ ।

कार्यालयले आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस लकलगायत सुरक्षा साइरनहरू जडान गर्न र मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न अनुरोध गरेको छ । हराएका सवारीसाधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि सवारी धनी स्वयं सजग हुनुपर्ने खड्काले बताउनुभयो ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिने जनाइएको छ ।

अमेरिकी झण्डा जलाउनु घृणित र अपमानजन्य कार्य – उपराष्ट्रपति ह्यारिस

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले बिहीबार अमेरिकी काङ्ग्रेसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सम्बोधनको विरोधमा प्रदर्शनकारीले अमेरिकी झण्डा जलाएको कार्यलाई घृणित र अपमानित कार्य भएको बताउनुभएको छ ।

डेमोक्र्याटिक राष्ट्रपति उम्मेद्वारले कडा रूपमा भन्नुभयो ,“म अमेरिकी झण्डा जलाएको निन्दा गर्दछु । झण्डा एक राष्ट्रको रूपमा हाम्रो सर्वोच्च आदर्शहरूको प्रतीक हो र यसलेअमेरिकाको प्रतिज्ञालाई प्रतिनिधित्व गर्दछ । यसलाई जलाएर कहिल्यै अपवित्र गर्नु हुँदैन ।“

प्रधानमन्त्री नेतान्याहूले गाजा द्वन्द्वको विषयमा अमेरिकी काङ्ग्रेसमा दिएको असम्बद्ध भाषणबाट आक्रोशित हजारौँ प्रदर्शनकारीहरूले बुधबार अमेरिकी राजधानीमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूको एउटा समूहले राजधानी नजिकैको रेल स्टेसन बाहिर भेला भएर प्रधानमन्त्री नेतान्याहुको पुतला र अमेरिकी झण्डा जलाएका थिए ।

धादिङमा तीन वटा चितुवा मृत फेला

मलेखु (धादिङ) – धादिङको थाक्रे गाउँपालिका–१० गढीमा तीन वटा चितुवा मृत फेला परेको छ ।

गढीस्थित अदुवाबारीमा दुई वटा र मकैबारी एक वटा चितुवा मृत अवस्थामा आज भेटिएको हो । घाँस काट्न गएको बेला स्थानीयले देखेर खबर गरेपछि प्रहरीसहित टोली आफू घटनास्थलमा पुगेको वडा नम्बर १० का वडाध्यक्ष गोकुल लामिछानेले जानकारी दिनुभयो ।

मृत अवस्थामा फेला परेको चितुवा बैरेनी सवडिभिजन वन कार्यालयलाई बुझाइएको छ । थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

मौसम पूर्वानुमानः बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा भारी वर्षा हुने


काठमाडौँ, ११ साउनः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । बागमती, गण्डकी , कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।बागमती ,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिराको जोखिमबाट बच्न अनुरोध गरेको छ ।

साथै विभागले ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन पनि सम्बद्ध सबैमा आग्रह गरेको छ ।

सिमलताल घटनाको खोजीमा देखिएन प्रगति, संयुक्त टोलीबाट खोजी जारी

काठमाडौँ – चितवनको नारायणगढ–मुग्लिङ सडकखण्डस्थित सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता दुई वटा बस तथा यात्रुको खोजी कार्यमा खासै प्रगति देखिएको छैन ।

बिहिबार घटना भएको १४ दिन बितिसक्दा पनि नेपाल भारतका संयुक्त सुरक्षा फौजबाट खोजतलास जारी छ तर अहिलेसम्म बेपत्ता गाडी र बाँकी यात्रुबारे कुनै पनि नयाँ सङ्केत नमिलेको सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय सहप्रवक्ता, प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

विगत ५ दिनदेखि सशस्त्र प्रहरी बल नेपालको गोताखोरसहित छिमेकी राष्ट्र भारतको राष्ट्रिय आपदा मोचन बल (नेशनल डिजास्टर रेष्पोन्स फोर्स) बाट १२ जनाको प्राविधिक टोलीले संयुक्त रुपमा खोजी गरिरहेको छ ।

थापाका अनुसार सिमलतालदेखि भारतीय सीमा क्षेत्र गण्डक ब्यारेजसम्मै विभिन्न क्षेत्रबाट टोली परिचालन गरेर खोजी भइरहेको छ । गत शनिबार चितवन आइपुगेको भारतीय प्राविधिकसहितको टोलीले आइतबार बिहानबाट खोजी कार्य थालेको थियो । उक्त दुःखद् घटनामा परी हराइरहेका यात्रुमध्ये हालसम्म २५ वटा शव प्राप्त भएको छ ।

गत असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएको थियो ।

उक्त बसमा सवार ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । अझै दुई बससँगै ३७ यात्रुको अवस्था पत्ता लाग्न सकेको

पहिरोमा पुरिएर एकै परिवारका तीनजनाको मृत्यु

मन्थली (रामेछाप), ११ साउनः रामेछापको गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा बिहीबार साँझ गएको पहिरामा परी तीनजनाको मृत्यु भएको छ ।

अविरल वर्षापछि खसेको पहिराले स्थानीय विमान तामाङको घरको आधा भाग पुरिँदा १८ वर्षीया छोरी सीता तामाङ, नातिनी क्रमशः १४ वर्षीया आशिका तामाङ र १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रदीपकुमार सिंहले जानकारी दिनुभयोे ।

बिहीबार साँझ रोपाइँ सकेर घरमा आगो तापेर एकै ठाउँमा बसिरहेका उनीहरूलाई वर्षासँगै घरमाथिको ढिस्काले पुरेको थियो । तर सोही घरको अर्को कोठामा रहेका विमान र उनकी श्रीमतीलाई भने केही नभएको गोकुलगङ्गा–६ का वडाध्यक्ष चन्द्र सुनुवारले बताउनुभयो ।

पहिराले घर पुरिएको सूचना पाउनासाथ जिल्ला सदरमुकाम मन्थलीबाट सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपानेको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उद्धार टोली घटनास्थलतर्फ पठाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिनुभयो । घटनास्थलमा बेताली प्रहरी चौकीका प्रहरी, स्थानीयवासीलगायतले थप क्षति हुनबाट जोगाएका थिए ।

काँकडभिट्टाबाटै चार अर्बको तरकारी आयात

झापा – नेपाली भान्सामा भारतीय तरकारीको निर्भरता कस्तो अवस्थामा रहेछ भनेर थाहा पाउन एक वर्षमा पूर्वीनाका काँकडभिट्टाबाट आयात भएको ताजा तरकारीको तथ्यांक हेरे पुग्छ ।

आर्थिक वर्ष २०८०/८१ मा पूर्वीनाका भएर रु चार अर्ब ५६ करोड २३ लाख ८० हजार मूल्य बराबरको दुई लाख २८ हजार एक सय १९ मेट्रिक टन ताजा तरकारी नेपाल भित्रिएको छ । जसमध्ये रु एक अर्ब दुई करोड २२ लाख ६० हजार मूल्य बराबरको ५१ हजार ११३ मेट्रिक टन गोलभेडा आयात भएको प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर यादवका अनुसार सोही अवधिमा रु ५७ करोड ५३ लाख ८० हजार मूल्य बराबरको २८ हजार ८६९ मेट्रिक टन करेला, रु ३० करोड सात लाख ८० हजार मूल्य बराबरको १५ हजार ३९ मेट्रिक टन भिन्डी, रु २९ करोड ५७ लाख ४० हजार मूल्य बराबरको १४ हजार ७८७ मेट्रिक टन हरियो खुर्सानी आयात भएको छ । त्यसेगरी रु २९ करोड ३२ लाख ४० हजार मूल्य बराबरको १४ हजार ६६२ मेट्रिक टन स्कुस, रु २१ करोड १४ लाख ८० हजार मूल्य बराबरको १० हजार ५७४ मेट्रिक टन फर्सी र रु. १५ करोड ६७ लाख २० हजार मूल्य बराबरको सात हजार ८३६ मेट्रिक टन बोडी भारतबाट आयात भएको छ ।

तरकारी जस्तै फलफूलमा पनि भारतीय निर्भरता अत्यधिक छ । गत आव २०८०/८१ मा काँकडभिट्टा नाका भएर रु चार अर्ब ८७ करोड ६५ लाख १८ हजार मूल्य बराबरको ९८ हजार ३९४ मेट्रिक टन ताजा फलफूल भारतबाट आयात भएको छ ।

यसैगरी, रु दुई अर्ब ७७ करोड ३५ लाख ३६ हजार मूल्य बराबरको एक लाख १५ हजार ५६४ मेट्रिक टन आलु भारतबाट आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार सोही अवधिमा रु ९९ करोड ७८ लाख ४० हजार मूल्य बराबरको २४ हजार ९४६ मेट्रिक टन भुइँकटहर, रु ४२ करोड १५ लाख मूल्य बराबरको लसुन, रु ४५ करोड १६ लाख आठ हजार मूल्य बराबरको तरबुजा र रु ३३ करोड ५२ लाख मूल्य बराबरको ड्रागन फ्रुट भारतबाट भित्रिएको छ ।

राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् उपाध्यक्षमा नेपाल निर्वाचित

कठमाडौँ, ११ साउनः नेपाल संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्(इकोसक)को एसिया–प्रशान्त क्षेत्रको उपाध्यक्ष निर्वाचित भएको छ ।

राष्ट्रसङ्घका प्रमुख छ अङ्ग मध्येको एक निकाय इकोसकको उपाध्यक्षमा नेपाल चयन हुनु राष्ट्रका निम्ति गौरवको विषय भएको पूर्वराजदूत सुन्दरनाथ भट्टराईले बताउनुभयो । चवन्न सदस्यीय इकोसमा नेपालको नेतृत्व संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले गर्नुहुनेछ । आगामी वर्ष नेपाल एसिया –प्रशान्त क्षेत्रको अध्यक्ष हुनेछ ।

परिषद्मा नेपालसँगै पोल्याण्ड र कोष्टारिका पनि उपाध्यक्ष निर्वाचित भएका छन् । पूर्वी युरोपेली देशबाट पोल्याण्ड र ल्याटिन अमेरिकी एवं क्यारेबियन मुलुकहरूबाट कोष्टारिका चुनिएको संयुक्त राष्ट्रसङ्घीय सूचना केन्द्रले जनाएको छ । परिषद्को अध्यक्षमा क्यानडा निर्वाचित भएको छ । केन्द्रका अनुसार अफ्रिकी देशहरूबाट निकट भविष्यमा उपाध्यक्ष चयन गरिने छ ।

यसैबीच, राजदूत थापाले दिगो विकासका लक्ष्य हासिल गर्ने दिशासमा परिषद्को कार्यादेशअनुसार सबै सदस्य राष्ट्रसँग निकट सम्पर्कमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री नेतान्याहू अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिसँग भेट गर्दै

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा युद्धविराम सम्झौताको विषयमा बिहिबार अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिससँग भेट गर्ने हुनुभएको छ ।अमेरिकी राष्ट्रपतिको निरन्तर सैन्य र राजनीतिक समर्थनका बावजुद हमासको अक्टोबर ७ को आक्रमणबाट सुरु भएको युद्धमा इजरायलको आचरणलाई लिएर राष्ट्रपति बाइडेन र प्रधानमन्त्री नेतान्याहूको सम्बन्ध तनावपूर्ण रहेको छ

नेतान्याहूले ओभल कार्यालयमा दिउँसो १ बजेको समयमा राष्ट्रपतिसँग वार्ता गर्नुहुनेछ । वार्तापश्चात दुबैले गाजामा रहेका अमेरिकी बन्धकका परिवारसँग भेट गर्नुहुनेछ ।अमेरिकी राष्ट्रपतिले चुनावबाट पछि हट्ने आफ्नो निर्णयको व्याख्या गर्दै द्वन्द्वलाई सर्वोच्च प्राथमिकता राख्ने बताउनुभएको थियो ।”म गाजाविरुद्धको युद्ध अन्त्य गर्न, मध्यपूर्वमा शान्ति र सुरक्षा कायम गर्न र यो युद्धको अन्त्य गर्न सबै बन्धकको रिहाका लागि काम गरिरहनेछु”, अमेरिकी राष्ट्रपतिले भन्नुभएको थियो ।

अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले बुधबार गाजा सम्झौता सम्बन्धी वार्ता अन्तिम चरणमा रहेको बताउनुभयो ।नेतान्याहूले साँझ ४ः३० बजे उपराष्ट्रपति ह्यारिससँग पनि छुट्टै भेट्ने तयारी गर्नुभएको छ ।

नेतान्याहूले शुक्रबार फ्लोरिडास्थित मार–ए–लागोमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पसँग भेट गर्नुहुनेछ । पूर्व राष्ट्रपति ट्रम्पले बिहीबार बिहान इजरायललाई गाजामा आफ्नो युद्ध चाँडै समाप्त गर्न आग्रह गर्नुभएको थियो ।
बाइडेनले अक्टोबर ७ देखि इजरायललाई दृढ समर्थनको प्रस्ताव राखेको छ। तर अमेरिकी राष्ट्रपतिले गाजा आक्रमणमा प्यालेस्टिनीको मृत्युको सङ्ख्यालाई लिएर इजरायलको बढ्दो आलोचना गर्दै आएको छ ।

अमेरिकी राष्ट्रपतिले मे महिनामा युद्धविरामको योजना सार्वजनिक गर्नुभएको थियो तर इजरायल र हमासबिच सम्झौता हुन नसक्दा दुई देशबीच द्वन्वद्व जारी छ । वासिङ्टनले पनि इजरायलका लागि आफ्नो ठुलो सैन्य समर्थन जारी राखेको छ ।

प्रधानमन्त्री ओलीसँग डा सन्दुकको भेट


काठमाडौँ, १० साउनः प्रधानमन्त्री केपी शर्मा ओलीसँग आँखालगायत समग्र स्वास्थ्य क्षेत्रमा गर्न सकिने कामबारे आज आँखासम्बन्धी वरिष्ठ चिकित्सक डा सन्दुक रुइतले प्रधानमन्त्री निवास बालुवाटारमा कुराकानी गर्नुभएको छ

प्रसिद्ध रमन ग्यागासासे पुरस्कारप्राप्त डा रुइतसँगको भेटबारे प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, “बाहिर झमझम पानी परिरहेको थियो । भेटको मेरो प्राथमिकतामा रहनुभएका डा सन्दुक रुइतसँग आज धेरैबेर कुरा भयो । आँखालगायत समग्र स्वास्थ्य क्षेत्रमा के के गर्न सकिन्छ भन्ने विषयमा उहाँका योजना सुनेँ । आँखा नभएका मानिसलाई संसार देखाउन पाउँदाको उहाँको प्रेरणादायी अनुभवले ताजा भएको महसुस भयो ।”

नेकपा(एस)ले केन्द्रीय कमिटीलाई छिट्टै पूर्णता दिने


काठमाडौँ, १० साउन : नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटीलाई यही छिट्टै पूर्णता दिने निर्णय गरेको छ ।पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको बैठकले कार्यविधि तथा मापदण्डका आधारमा केन्द्रीय कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिनुभयो

जिल्ला अधिवेशन आगामी मङ्सिर महिनासम्म सम्पन्न गर्ने विषयमा छलफल गरिएको बैठकमा सबै प्रदेशले केन्द्रीय सदस्यका लागि केन्द्रमा सिफारिस गरेका नामावलीबाट नेताहरुको योगदान र क्षमताको मूल्याङ्कन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनित गर्न नेताहरुको सुझाव आएको छ ।

पार्टी केन्द्रीय कमिटीमा चयन हुन विधानले तोकेको योग्यता पूरा भएको हुनुपर्ने जनाइएको छ । मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे समीक्षा गरिएको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टी विरुद्ध विभिन्न षड्यन्त्र सुरु भएकाले पार्टीलाई थप बलियो बनाउन सबै नेता तथा कार्यकर्तालाई चनाखो हुन निर्देशन दिनुभएको नेता पाण्डेयले जानकारी दिनुभयो ।

विधानअनुसार पार्टीमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएको छ । हालै सम्पन्न महाधिवेशनले अध्यक्षमा नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९३ केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेको थियो । हाल पार्टीमा दुई सय छ केन्द्रीय सदस्य पद रिक्त छ्न् ।बैठक यही साउन १४ गते पुनःबस्ने गरी स्थगित गरिएको छ ।

मन्त्रिपरिषद्मा महिलामन्त्रीको सङ्ख्या वृद्धि गर्नुपर्छ : परराष्ट्रमन्त्री राणा

काठमाडौँ, १० साउन : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले मन्त्रिपरिषद्मा महिलामन्त्रीको सङ्ख्या बढाउनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय महिला आयोगले आज यहाँ आयोजना गरेको संयुक्त राष्ट्रसङ्घीय महिला महासन्धि समिति (यूएन सिड कमिटी)को प्रतिवेदनमाथिको छलफलमा उहाँले आगामी दिनमा मन्त्रिपरिषद्मा महिलामन्त्रीको सङ्ख्या बढाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

महिला, महिलाबीचको प्रतिस्पर्धा गर्ने व्यवस्थाका लागि बहस चलिरहेकाले संविधानको मर्म परिवर्तन नहुने गरी यसलाई संशोधन गरिने उहाँले बताउनुभयो । “विदेश भ्रमणको प्रतिनिधिमण्डलमा महिला अनिवार्य गर्ने निर्णय हालै मन्त्रिपरिषद्बाट भएको छ, मुख्यसचिवमा पनि महिलालाई नै नियुक्त गरेका छौँ, सिड कमिटीमा पेश गर्ने मुद्दाका २१ बुँदे सूची सबैको प्रयासमा पूरा गर्ने तयारीमा छौँ”, मन्त्री राणाले भन्नुभयो ।

प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिका सभापति किरणकुमार साहले मन्त्रिपरिषद्मा महिला आरक्षणको कानुनी व्यवस्था नहुँदा अहिले दुई जनामात्र महिलामन्त्री भएकाले यससम्बन्धी कानुन निर्माण गर्नु आवश्यक रहेको बताउनुभयो । शिक्षामा महिलालाई अनिवार्यताको व्यवस्था गरिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले आवधिक प्रतिवेदन बुझाउन सहयोग पुगोस् भनी कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

नवनियुक्त मुख्यसचिव लीलादेवी गडतौलाले अहिले मन्त्रिपरिषद्बाट महिलाका मुद्दा राम्रोसँग अघि बढ्न थालेको बताउनुभयो । आफू वरिष्ठतामा आठौँ नं भए पनि मुख्यसचिव भएको उल्लेख गर्नुहुँदै उहाँले यसअघि पनि लीलामणि पौड्याल आठौँ नम्बरबाटै मुख्यसचिव नियुक्त हुनुभएको स्मरण गर्नुभयो । सचिव भएर मन्त्रालयको नेतृत्व गर्ने इच्छा पूरा नभए पनि सकारात्मक रुपमै लिइरहेका बेला मुख्यसचिव बन्ने अवसर प्राप्त भएको उहाँले जानकारी गराउनुभयो ।

सो अवसरमा मुख्यसचिव गडतौलालाई परराष्ट्रमन्त्री राणाले सम्मान गर्नुभएको थियो । कार्यक्रममा तीन पटकसम्म सिड कमिटीमा नेपालका तर्फबाट निर्वाचित हुनुहुने महिला अभियानकर्मी बन्दना राणालाई पनि उहाँले सम्मान गर्नुभयो । पछिल्लोपटक राणा सिडलाई अनुमोदन गर्ने एक सय ८९ देशमध्ये एक सय ४६ मत ल्याएर त्यस समितिमा निर्वाचित हुनुभएको थियो ।

सम्मानित भएपछि मन्तव्य व्यक्त गर्नुहुँदै बन्दनाले संविधान संशोधन गर्दा महिलाको अर्थपूर्ण सहभागिता हुनेगरी व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो । महिला, कानुन र विकास मञ्च र इक्वालिटी नाउको सहयोगमा आयोजित कार्यक्रममा मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले नेपाली पुरुष र महिलाबीच समानता छ कि छैन लगायत सिड कमिटीले सोधेका २१ बुँदाको जवाफमा नागरिक समाजको पनि प्रतिनिधित्व नभए छायाँ प्रतिवेदन दिने जानकारी गराउनुभयो ।

मन्त्रिपरिषद्को पहिलो निर्णय कार्यान्वयनमा प्रधानमन्त्रीको चासो

काठमाडौँ, १० साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान कार्यकालको मन्त्रिपरिषद्को बैठकको पहिलो निर्णयनुसार कीर्तिपुर खेल मैदानलाई सुविधा सम्पन्न रङ्गशाला बनाउने विषयमा आज त्रिभुवन विश्वविद्यालयका पदाधिकारीसँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज प्रधानन्त्री ओलीले त्रिविका उपकुलपति प्रा डा केशरजङ्ग बराल, शिक्षाध्यक्ष प्रा डा खड्ग केसी र रजिष्ट्रार प्रा डा केदारप्रसाद रिजालसँग उक्त रङ्गशाला निर्माणबारे छलफल गर्नुभएको हो । उक्त विषयलाई प्रधानमन्त्री ओलीले छलफलपछि सामाजिक सञ्जालबाट सार्वजनिक गर्नुभएको छ ।

गत असार ३१ गतेको मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुर खेल मैदानलाई सुविधा सम्पन्न रङ्गशाला बनाउने निर्णय गरेको थियो । उक्त रङ्गशालामा दर्शक बस्न प्याराफिट, रात्रिकालीन खेलकुदका लागि ‘ल्फडलाइट’ र आवश्यक संरचना बनाउने सरकारको निर्णय छ । उक्त कामका लागि तीन सय दिनको समय सीमा निर्धारण गरिएको छ ।

कुलपति एवं प्रधानमन्त्री ओलीसँग विश्वविद्यालयका पदाधिकारीले त्रिविसभाको आगामी बैठक र ग्रेसलिष्टबारे पनि छलफल गर्नुभएको थियो ।

नौबुँदे प्रतिबद्धता कार्यप्रगति मापनको आधार : मुख्यमन्त्री कँडेल


कर्णाली, १० साउन (रासस) : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारले आज सार्वजनिक गरेको नौैबुँदे प्रतिबद्धता कार्यप्रगतिको मापनको आधार भएको बताउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘वार्षिक समीक्षा तथा बजेट कार्यान्वयन योजना तयारी कार्यक्रम’ मा सार्वजनिक गरिएको साझा प्रतिबद्धता कार्यान्वयनमा केन्द्रित हुन प्रदेश सचिवसहित कार्यालय प्रमुखलाई उहाँले निर्देशन दिनुभयो ।

मुख्यमन्त्री कँडेलले आज सार्वजनिक गरिएको नौबुँदे साझा प्रतिबद्धता प्रदेशको समृद्धि र जनअपेक्षा पूरा गर्ने मियो भएको जनाउनुभयो । उहाँले भन्नुभयो, “शक्ति र पहुँचका आधारमा होइन, ऐन, नियम, विधि र पद्धतिअनुसार बजेट कार्यान्वयन तथा योजनाको काम हुन्छ । योजना व्यवसाय, धन्दा र जीविकोपार्जन गर्ने गलत अभ्यासको अन्त्य गरिन्छ । यहाँ कार्यरत सबैको विज्ञतालाई कर्णालीमा प्रयोग गर्ने वातावरण निर्माण हुन्छ यद्यपि हरेकले आचरण सुधार गर्न जरुरी छ ।” अन्य प्रदेशले सर्हना गर्नेगरी कर्णालीलाई शून्य बेरुजु भएको प्रदेशका रुपमा स्थापित गर्न कर्मचारीलाई उहाँले सुझाउनुभयो ।

मुख्यमन्त्री कँडेलले भन्नुभयो, “जनप्रतिनिधि र कर्मचारीलगायत सबै सरोकारवालाले विचार, कार्यशैली, सोच र व्यवहार बदलौँ र जिम्मेवारीपूर्वक आफ्नो कर्तव्य पूरा गरौँ । प्रतिकुलता, विकटता, पछौटेपन र समस्या भएको प्रदेशमा दिलैदेखि काम गरुन् भनेर प्रदेश सरकारले प्रोत्साहन भत्ताको पनि व्यवस्था गरेको छ ।”

कर्णाली प्रदेशका प्रमुख सचिव चुँडामणि पौडेलले प्रदेश सरकारले सार्वजनिक गरेको नौँबुद्ध साझा प्रतिबद्धता वाचन गर्दै प्रदेश सचिव तथा जिल्ला कार्यालयका प्रमुखलाई यसलाई मूलमन्त्रका रुपमा लिएर काममा लाग्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारअन्तर्गत जिल्लास्थित सबै कार्यालयले चालु आव २०८१/८२को स्वीकृत बजेट तथा कार्यक्रममा रहेका योजनाको विवरण, कार्यान्वयन हुने स्थान, अवधि, विधि र बजेटबारे यही साउन मसान्तभित्र सम्बन्धित स्थानीय तहलाई जानकारी र कार्यान्वयन सहजीकरणका लागि पत्राचार गर्नेछौँ ।”

स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक कार्यविधि, निर्देशिका तथा मापदण्ड भदौ मसान्तत्रि तर्जुमा र असोज १५ भित्र स्वीकृत गरिने बताउँदै मुख्यसचिव पौडेलले यसअन्तर्गत सालबसाली आयोजना असोज १५ भित्र खरिद प्रक्रिया अगाडि बढाउनुका साथै बहुवर्षीय र क्रमागत आयोजनाको कार्यान्वयनलाई तीव्रता दिने बताउनुभयो । त्यस्तै, महालेखा परीक्षकको प्रतिवेदनमा कायम भएको बेरुजु फर्छ्योट, प्रदेश सरकारको क्षेत्राधिकारभित्र पर्ने आयस्रोतको पहिचान गरी राजश्वमा वृद्धि गर्ने कुरा पनि प्रतिबद्धतामा उल्लेख गरिएको उहाँले जनाउनुभयो ।

प्रतिबद्धतामा आयोजना/कार्यालय प्रमुखसँग कार्यसम्पादन सम्झौता गरी वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयन कार्ययोजना समयबद्ध र पूर्णरुपमा कार्यान्वयन गर्ने, कार्यक्रम कार्यान्वयनको अनुगमन कार्ययोजना बनाई प्रभावकारी र नतिजामूलक अनुगमन गर्ने, उपलब्ध स्रोत र साधनको मितव्ययी एवं कुशलतापूर्वक प्रयोग गर्दै आफ्नो निकायबाट प्रवाह गरिने सेवालाई नतिजामूलक, गुणस्तरीय, नागरिकमैत्री र प्रभावकारी बनाउने र आगामी आवको वार्षिक नीति बजेट तथा कार्यक्रम तयारीको कार्यतालिका बनाई दोस्रो त्रैमासिकदेखि समयबद्धरुपमा योजना तर्जुमाको कार्यसम्पादन गरिने उल्लेख गरिएको छ ।

उक्त समीक्षा गोष्ठीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव आनन्द सारु, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रविलाल शर्मा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव विष्णु भण्डारी, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका सचिव नवीनचन्द्र अधिकारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा केदार बराल, सामाजिक विकास मन्त्रालयका सचिव दीर्घ पोखरेल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव टीकाराम थापा, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कमानसिंह खत्री र प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले आ–आफ्नो निकायको वार्षिक प्रगति र चालु आवको बजेट कार्यान्वयनको योजना तयारीका सम्बन्धमा प्रस्तुति राख्नुभएको थियो ।

पहिलो महिला मुख्यसचिवलाई प्रधानमन्त्रीको बधाई


काठमाडौँ, १० साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको मुख्यचिवमा पहिलो महिलाका रुपमा लीलादेवी गड्तौला नियुक्त हुनुभएकामा बधाई व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत ‘देशभरको कर्मचारी प्रशासनको नेतृत्व गर्नेमा पहिलो पटक महिला हुनुभएकामा बधाई दिनुभएको हो । प्रधानमन्त्री ओलीका अध्यक्षतामा आज भएको मन्त्रिपरिषद्को बैठकले कायममुकायम निमित्त मुख्यसचिव गड्तौलालाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

क्रिकेट रङ्गशाला निर्माणको काम एक साताभित्र सुरु गरिने


चितवन, १० साउन : भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम एक साताभित्र सुरु हुने भएको छ । भरतपुर महानगरपालिका र हिमालयन कालिञ्चोक विविआर जेभिले आज संयुक्त रुपमा स्थलगत अनुगमनपछि निर्माण कम्पनीले एक साताभित्र निर्माणको काम सुरु गर्ने जनाएको हो ।

धुर्मुस सुन्तली फाउण्डेशनले रङ्गशाला निर्माणका लागि ल्याएर बाँकी रहेको सामानको लगत सङ्कलनको काम आजैदेखि सुरु गरिएको छ । महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीसहित निर्माण व्यवसायीका प्रतिनिधिहरुले स्थलगत अनुगमन गरेको हो । फाउण्डेशनले निर्माणका लागि ल्याएको सामानको मुचुल्का तयार गरे लगत्तै निर्माणका लागि काम थालिने निर्माण कम्पनीका विकास गौतमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आइतबारदेखि सरसफाइलगायत काम सुरु हुन्छन् ।”

रङ्गशाला निर्माणस्थलमा रहेको झाँडी पन्छाउने, सरसफाइ गरेर कामलाई तीव्रता दिइने उहाँले बताउनुभयो । महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालका अनुसार फाउण्डेशनले निर्माणका लागि ल्याएका सामान महानगरपालिकाले व्यवस्थापन गर्नुपर्ने हुँदा मुचुल्का उठाउने काम सुरु गरिएको बताउनुभयो । प्राविधिक टोलीसहित मुचुल्का उठाएपछि निर्माण कम्पनीले आफ्नो काम सुरु गर्ने उहाँले बताउनुभयो ।

रङ्गशाला निर्माणका लागि गत असार २३ गते महानगरपालिका र निर्माण कम्पनीबीच सम्झौता भएको थियो । महानगरपालिकाका प्रमुख रेनु दाहालका अनुसार रु ७८ करोड ५० लाख ९१ हजार एक सय ८९ मा निर्माण सम्पन्न गर्ने गरी दुई पक्षीय सम्झौता भएको छ ।

धुर्मुश–सुन्तली फाउण्डेशनले निर्माण गर्न नसकेर हस्तान्तरण गरेको रङ्गशाला ३० महिनामा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको उहाँले बताउनुभयो । संयुक्त अनुगमनपछि महानगर प्रमुख दाहालले एक सातामा निर्माणको काम सुरु गर्ने गरीठेकेदार कम्पनीले कामलाई अघि बढाएको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माणको वातावरण बनाइ दिने काम महानगरपालिकाको हो । समयमा काम सम्पन्न गर्ने जिम्मेवारी निर्माण कम्पनीको हो ।” पहिलो चरणमा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गराउन मिल्ने गरी मैदान र स्टेडियम निर्माणको काम हुने उहाँले बताउनुभयो । तीन तहको सरकारको साझेदारीमा बन्न लागेको रङ्गशाला समयमा नै निर्माण सम्पन्न गरी अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गराइने उहाँले बताउनुभयो ।

कम्पनीले खेल मैदान, पिच, प्रोटेक्सन वाल, दुई वटा टावर बिल्डिङ र थप १० हजार क्षमताको प्याराफिट निर्माण गर्नेछ । निर्माणाधीन रङ्गशाला करिब तीन वर्षदेखि अलपत्र अवस्थामा थियो । रङ्गशालाको सबै काम पूरा गर्न रु तीन अर्बभन्दा बढी खर्च लाग्ने छ । पहिलो चरणको काम पूरा भएपछि दोस्रो चरणको निर्माण सुरु हुने महानगरपालिकाले जनाएको छ ।

महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले निर्माणका क्रममा देखिएका समस्या सामूहिक रुपमा समाधान गर्दै जाने बताउनुभयो । निर्माण व्यवसायीलाई चाँडो काम सुरु गरेर समयमा नै सम्पन्न गर्न उहाँले निर्देशन दिनुभयो । त्रिभुवन विश्वविद्यालयसँग ३० वर्षका लागि जग्गा भाडामा लिएर रङ्गशाला निर्माणअघि बढाइएको हो । रङ्गशाला त्रिभुवन विश्वविद्यालयको नाममा रहेको २० बिघा छ कठ्ठा जग्गा बन्ने छ ।

विसं २०७५ माघ १६ गते महानगरपालिका र फाउण्डेशनबीच निर्माणका लागि सम्झौता भएको थियो । अधिकारीले फाउण्डेशनले काम गर्न नसकेर महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेसँगै सङ्घ र प्रदेशसँग समन्वय गरेर रङ्गशाला निर्माण गर्न लागिएको बताउनुभयो ।

इरानद्वारा इजरायलका प्रधानमन्त्रीलाई स्वागत गरेकोमा अमेरिकाको निन्दा

गाजामा चर्किरहेको घातक युद्धका बीच इजरायली प्रधानमन्त्रीलाई स्वागत गरेकोमा इरानले बिहीबार अमेरिकी सरकारको निन्दा गरेको छ ।

“तेल अवीवले हरेक दिन प्यालेस्टिनी बालबालिकाहरूको हत्या गरिरहेको छ र यी सबै अपराधको मुख्य व्यक्तीलाई अमेरिकाले ताली बजाएर स्वागत गरेको छ”, इरानको विदेश मन्त्रालयका प्रवक्ता नासिर कानानीले सामाजिक सञ्जाल एक्समार्फत बताउनुभयो ।

“नौ महिनाको नरसंहार र शिशु हत्या निम्त्याएका नक्कली शासनको अपराधिक प्रधानमन्त्रीलाई समर्थकहरूले अँगालेका छन्”, उहाँले बुधबार अमेरिकी काङ्ग्रेसलाई सम्बोधन गर्ने प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई उद्धृत गर्दै भन्नुभयो ।

प्रधानमन्त्री नेतान्याहूले मध्यपूर्वका लगभग सबै साम्प्रदायिक हत्यामा तेहरान संलग्न रहेको दाबी गर्दै इरान विरुद्ध गठबन्धनको आह्वान गरेपछि उहाँ विरुद्ध यो टिप्पणी आएको हो। “अमेरिका र इजरायलले आज बढ्दो इरानी खतराको सामना गर्न मध्यपूर्वमा सुरक्षा गठबन्धन बनाउन सक्छ”, उहाँले अमेरिकी सांसदहरूलाई भन्नुभएको थियो ।

इजरायली तथ्याङ्कअनुसार प्यालेस्टिनी उग्रवादी समूह हमासले अक्टोबर ७ मा इजरायलमा आश्चर्यजनक आक्रमण गर्दा एक हजार १ सय ९७ जनाको मृत्यु भएपछि गाजामा युद्ध सुरु भएको थियो ।

हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयकाअनुसार युद्ध सुरु भएदेखि गाजापट्टीमा इजरायली सैन्य आक्रमणमा ३९ हजार एक सय भन्दा बढी प्यालेस्टिनी मारिएका छन् ।इरानले अक्टोबर ७ मा भएको हमलामा आफ्नो संलग्नता नभएको बताएको थियो ।

एक बर्षमा जमुनाह नाकाका हुँदै भारतबाट एक अर्बको आलु आयात, २७ करोड २२ लाख राजस्व संकलन

खजुरा (बाँके), १० साउन : बाँकेको जमुनाह सीमा नाकाहुँदै भारतबाट गत आर्थिक वर्ष २०८०÷८१ मा रु एक अर्ब ११ करोड, ६१ लाखको आलु आयात गरिएको छ । सो अवधिमा चार करोड ४९ लाख ८४ हजार ६ सय ६९ किलो आलु भारतबाट आयात गरिएको हो ।

नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार आर्थिक वर्ष २०७९÷८० भन्दा गत आवमा रु १८ करोडको आलु बढी आयात गरिएको हो । आर्थिक वर्ष २०७९÷८० मा रु ९३ करोड ६० लाख ६९ हजार बराबरको तीन करोड ७५ लाख ८५ हजार ८८ किलो आलु आयात गरिएको थियो ।

आलु आयातबाट आव २०७९÷८० मा रु १४ करोड ७७ लाख २२ हजार तथा गत आव २०८०÷८१ मा रु २७ करोड २२ लाख ४४ हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी लम्सालले बताउनुभयो । अघिल्लो आवको तुलनामा गत आवमा रु १३ करोड राजश्व वृद्धि भएको छ ।

पछिल्लो समय बाँके, बर्दिया, दाङ, सल्यानलगायतका जिल्लामा आलु उत्पादन उल्लेखनीय मात्रामा बढ्दै गए पनि भारतबाट आयात भने नघटेको कृषि ज्ञान केन्द्रका प्रमुख सकील अहमदले बताउनुभयो । उहाँका अनुसार आलु र प्याजमा आत्मनिर्भर बन्न सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भए पनि आयातमा कमी आउन सकेको छैन ।

एक वर्षमा नौ परियोजनाका लागि करिब तीन खर्ब लगानी स्वीकृत

काठमाडाैँ, १० साउनः लगानी बोर्डले आर्थिक वर्ष २०८०/८१ मा नौ वटा परियोजनाका लागि रु दुई खर्ब ७१ अर्ब लगानी स्वीकृत गरेको छ । आज लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीसमक्ष आर्थिक वर्ष २०८०/८१ मा भएका कार्यसम्पादन करार बमोजिमको कार्यसम्पादन प्रतिवेदनमा सो रकम बराबरको लगानी स्वीकृत भएको उल्लेख छ ।

सार्वजनिक–निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को नियम ८ बमोजिम गत आवका लागि बोर्डको रणनीतिक योजनाका चार वटा स्तम्भअन्तर्गत चयन गरिएका ६० वटा क्रियाकलापको समय सारिणीसहितको मापनयोग्य सूचकका आधारमा कार्यसम्पादन करार गरिएको थियो ।

रणनीतिक योजनाका चार वटा स्तम्भः परियोजना विकास तथा व्यवस्थापन, लगानी प्रवद्र्धन, संस्थागत विकास, समन्वय, सहकार्य र साझेदारीमा केन्द्रित रही सम्पादन गरिएका कार्यको प्रगति विवरण समेटिएको उक्त प्रतिवेदनमा तोकिएअनुसारका सम्पूर्ण सूचक पूरा भई शतप्रतिशत कार्यसम्पन्न भएको लगानी बोर्डको भनाइ छ ।

“यस अवधिमा नौ वटा परियोजनाका लागि रु दुई खर्ब ७१ अर्ब २६ करोडबराबरको लगानी स्वीकृत भएको छ”, प्रतिवेदनमा उल्लेख छ, “बोर्डबाट भएको प्रभावकारी समन्वय र सहजीकरणको परिणामस्वरूप गत जेठ २२ मा अरुण तेस्रो जलविद्युत् परियोजनाको ‘हेडरेस टनेल’को ‘ब्रेकथ्रु’ भएपश्चात् उक्त परियोजनाको जेनेरेसनतर्फ ७५ प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भएको छ भने ट्रान्समिसन लाइनतर्फ ३८ दशमलव २१ प्रतिशत निर्माण कार्यप्रगति भएको छ ।”

बोर्डका सहसचिव तथा प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले तल्लो अरुण जलविद्युत् परियोजनाको जग्गा प्राप्ति सुरु भएको र माथिल्लो त्रिशूली–१ जलविद्युत् परियोजनाको निर्माण तीव्रगतिमा अगाडि बढिरहेको जानकारी दिनुभयो । “अपर मस्र्याङ्दी–२ जलविद्युत् परियोजना, सौर्य ऊर्जा परियोजना (२५० मेगावाट कोहलपुर र वाणगङ्गा) र दमक क्लीन इन्डस्ट्रियल पार्कको सम्बन्धमा भने परियोजना विकास सम्झौताको मस्यौदा तयार गरी विकासकर्तासँग वार्ताको चरणमा रहेको छ”, उहाँले भन्नुभयो, “डाबर नेपालको क्षमता वृद्धि÷उत्पादन विविधिकरण परियोजनाको लगानी सम्झौताको मस्यौदा तयार भई वार्ताको चरणमा रहेको छ । साथै रासायनिक मल कारखानाको विस्तृत सम्भाव्यता अध्ययन गर्न जर्मनीसँग समझदारी भएकोमा उक्त कम्पनीबाट प्रारम्भिक अध्ययन प्रतिवेदन प्राप्त भइसकेको छ ।”

उहाँका अनुसार यसका साथै वीरेठाँटी–मुक्तिनाथ केवलकार परियोजनाको विस्तृत परियोजना प्रतिवेदन मूल्याङ्कन भइरहेको छ भने वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा सिफारिस गरिएको छ ।

पश्चिम सेती र सेती नदी–६ जलविद्युत् परियोजनाको एमओयू बमोजिम विकासकर्ताले पश्चिम सेती जलविद्युत् परियोजनाको मस्यौदा विस्तृत परियोजना प्रतिवेदन बोर्डको कार्यालयमा पेस गरेको उहाँले जानकारी दिनुभयो । उक्त मस्यौदा प्रतिवेदनको प्राविधिक समीक्षा÷पुनरावलोकन गरी प्रतिवेदन लगानी बोर्ड समक्ष पेस गर्नका लागि विज्ञसहितको कार्यदल गठनको प्रक्रिया अगाडिसमेत बढेको उहाँको भनाइ छ ।

उपाध्याय लगानी बोर्डबाट परियोजना विकास र सहजीकरणलाई सरल, व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न स्ट्याण्डर्ड अपरेटिङ कार्यविधि, परियोजना समन्वय समिति गठन भएको जानकारी दिनुभयो । लगानी बोर्डमार्फत हुने सेवा प्रवाहलाई सहजीकरण गर्न प्रणाली र प्रक्रिया स्वचालित गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रवक्ता उपाध्यायले तेस्रो नेपाल लगानी सम्मेलनको सचिवालयका रूपमा लगानी बोर्डको कार्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो । “लगानी प्रवद्र्धनकै क्रममा विदेशस्थित नेपाली कूटनीतिक नियोग, नेपालस्थित विदेशी कूटनीतिक नियोग, विकास साझेदार, विभिन्न देशका लगानी प्रवद्र्धन निकाय, स्वदेशी तथा विदेशी निजी क्षेत्रका सङ्गठन, गैरआवासीय नेपाली समुदायलगायतको सहकार्यमा दर्जन बढी प्रि–इन्भेष्टमेन्ट सेमिनार, रोड–शो, बहुपक्षीय तथा द्विपक्षीय बैठक आयोजना गरिएको थियो”, उहाँले भन्नुभयो, “नेपालमा लगानीका सम्भाव्यताको उजागर गर्दै तयार गरिएका विभिन्न नौ वटा क्षेत्रका एक सय ५२ वटा परियोजना प्रस्तुत भएको थियो ।”

बोर्डको कार्यक्षेत्रभित्र पर्ने १२ वटा परियोजना (चार ऊर्जा परियोजनासमेत)सहित कुल १९ वटा परियोजनामा आशयपत्र आह्वान गरिएकोमा दुईवटा परियोजनामा आशयपत्र प्राप्त भई मूल्याङ्कन अगाडि बढेको उहाँको भनाइ छ । उल्लिखित प्रयासबाट नेपाललाई लगानीको उपयुक्त गन्तव्यका रूपमा चिनाउन सहयोग पुगेको र आगामी दिनमा प्रत्यक्ष विदेशी लगानी थप अभिवृद्धि हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

बाढीपहिरो लगायतका विपद्मा परी आजसम्म एक सय ३४ जनाको मृत्यु

काठमाडौँ, १० साउन : अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायतका विपद्मा परी आजसम्म एक सय ३४ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढीपहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा दुई जना, कोशी प्रदेशमा २२ जना, मधेस प्रदेशमा छ जना, बागमती प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा एक सय ३४ जनाको मृत्यु भएको हो ।

बाढीपहिरोमा परि काठमाडौँ उपत्यकामा नौँ जना, कोशी प्रदेशमा ३४ जना, मधेस प्रदेशमा नौ जना, बागमती प्रदेशमा नौ जना, गण्डकी प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा नौ जना, कर्णाली प्रदेशमा ३५ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा एक सय ४८ जना घाइते भएका प्रवक्ता कार्कीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “बाढीपहिरामा परी कोशी प्रदेशमा दुई जना, बागमती प्रदेशमा दुई जना, गण्डकी प्रदेशमा एक जना, लुम्बिनी प्रदेशमा एक जना र कर्णाली प्रदेशमा एक जना गरी सात जना बेपत्ता भएका छन् । बेपत्ता भएकाको खोजी कार्य जारी रहेको छ ।”

बाढीको कारण जम्मा एक सय ८४ घर डुबानमा परेका छन् । दुई सय ३७ वटा घर, ८६ वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ । बाढीपहिराकै कारण छ सय तीन वटा पशुचौपाया मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार ३० घर परिवार विस्थापित भएका प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

–––

पाकिस्तानमा अहमदीहरू विरुद्धको हिंसा रोक्न राष्ट्रसङ्घका विज्ञहरूको आग्रह


संयुक्त राष्ट्रका विज्ञहरूले बिहीबार पाकिस्तानको अहमदी अल्पसङ्ख्यक समुदाय विरुद्ध बढ्दो भेदभाव र हिंसाको विषयमा सार्वजनिक प्रतिवेदनमा गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

प्रतिवेदनमा समुदाय विरुद्ध गैरन्यायिक हत्या र धार्मिकस्थल आक्रमणजस्ता कार्यहरु समावेश रहेका छन्।

“पाकिस्तानमा अहमदिया समुदाय विरुद्ध चलिरहेको हिंसा र भेदभावबाट हामी चिन्तित छौं”, संयुक्त राष्ट्र मानव अधिकार परिषद्ले नियुक्त गरेको नौँ जना स्वतन्त्र विज्ञहरूले बताएका छन् ।

“यी हिंसात्मक आक्रमण र भेदभावजन्य वातावरणको निर्क्योल गर्न तत्काल उपायहरू अवलम्बन गर्न आवश्यक छ”, उनीहरूले एक विज्ञप्तिमा भने । संयुक्त राष्ट्र मानव अधिकार परिषद्ले नियुक्त गरेको विज्ञहरुले हालैका महिनामा भएका घटनालाई उद्धत गर्दै बताएका छन् ।

प्रतिवेदनमा जुलाई ८ मा साद उल्ला पुरमा दुई अहमदीको हत्या र मार्च ४ मा बहावलपुर जिल्लामा अहमदी समुदायका अध्यक्षको हत्याको घटना समावेश रहेको छ ।

विज्ञहरुले यस वर्षको सुरुदेखि नै अहमदी धार्मिकस्थल र कब्रिस्तानहरूमा खतरनाक सङ्ख्यामा आक्रमण भएको जानकारी गराएका छन् ।

आफूलाई मुस्लिम मान्ने अहमदी समुदायको विश्वास लगभग हरेक तरिकामा मुख्यधाराको इस्लामसँग मिल्दोजुल्दो छ । तर आन्दोलनको संस्थापक मिर्जा गुलाम अहमद “महदी“ वा मसीहा थिए भन्ने विश्वासले उनीहरूलाई विशेष गरी पाकिस्तानमा ईश्वरनिन्दाको रूपमा चिन्ह लगाइएको छ। पाकिस्तानमा करिब पाचँ लाख अहमदीहरू छन्।

संविधानले सन् १९७४ देखि उनीहरूलाई गैर–मुस्लिमको दर्जा दिएको छ र सन् १९८४ को कानुनले उनीहरूलाई आफ्नो धर्मलाई इस्लामिकको रूपमा दावी गर्न वा खुला रूपमा इस्लामिक अनुष्ठानहरू पालन गर्न निषेध गरेको छ ।

“अहमदीहरूको शान्तिपूर्वक आफ्नो विश्वास प्रकट गर्ने अधिकारलाई सम्मान गर्नुपर्दछ”, विज्ञहरूले बताएका छन् ।

उनीहरूले गत महिना पाकिस्तानको राष्ट्रिय सभाले ‘धार्मिक अल्पसङ्ख्यकहरूसहित सबै पाकिस्तानी नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न सङ्घीय र प्रान्तीय सरकारहरूलाई आग्रह’ गर्ने प्रस्ताव पारित गरेकोमा खुसी व्यक्त गरेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण नेतृत्वप्रति सांसदहरुको चर्को असन्तुष्टि


काठमाडौँ, १० साउनः सांसदहरुले मुलुकको हवाई सुरक्षामा गम्भीर लापर्बाही गरेको भन्दै नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण नेतृत्वप्रति चर्को असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

विमान दुर्घटना हुने क्रम बढेको उल्लेख गर्दै उहाँहरुले देशको छविसँग पनि जोडिएको संवेदनशील विषयमा प्राधिकरण नेतृत्व र सरोकारवाला टुलुटुलु हेरिरहन नहुने धारणा राख्नुभयो ।

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज भएको बैठकमा सांसदहरुले बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनासहित हालसम्म भएका विमान दुर्घटना र मानवीय क्षतिबारे कसले जिम्मा लिने भनी प्रश्न गर्नुभयो । साथै उहाँहरुले प्रत्येक विमान दुर्घटनापछि छानबिन समिति बन्ने र समितिको प्रतिवेदन कार्यान्वयन नहुने प्रवृत्ति देखिएको भन्दै विमान दुर्घटनाबारे निष्पक्ष छानबिन गरी दोषीउपर कडा कानुनी कारबाही गर्नसमेत माग गर्नुभयो ।

सांसदहरुले दुई अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद उदयशमशेर जवराले विमान दुर्घटनाको जिम्मेवारी प्राधिकरण नेतृत्वले लिनुपर्ने बताउनुभयो । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी नेतृत्वमा आएपछि विभिन्न विमान दुर्घटनामा एकसय भन्दा बढीको मृत्युभएको भन्दै उहाँले बुधबारको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा पनि प्राधिकरणको गम्भीर लापर्बाही रहेकाले जिम्मेवार पदाधिकारीलाई कानुनी दायरामा ल्याउन सरकार समक्ष माग गर्नुभयो ।

हरेक विमान दुर्घटनापछि जाँचबुझ आयोग गठन हुने र प्रतिवेदन कार्यान्वयन नहुने प्रवृत्ति रहेको भन्दै यसप्रति सरकार गम्भीर हुनुपर्ने धारणा राख्नुभयो । नियामक प्राधिकरण र नेपाल वायुसेवा निगमबीच दोषारोपण गरेर मुलुकको हवाई सुरक्षामा गम्भीर लापर्बाही गरेको उहाँको भनाइ छ । “हवाई सुरक्षालाई छुट्टै नियमनका रुपमा अगाडि नबढाउदासम्म हवाई सुरक्षा बलियो हुँदैन त्यसैले जाँचबुझ आयोगको अध्ययनपछि कार्यान्वयनमा लैजानुपर्छ”, उहाँले भन्नुभयो ।

सांसद शिशिर खनालले मुलुकको हवाई सुरक्षा पेचिलो बन्दै गएको भन्दै विमान दुर्घटनामा जिम्मेवार निकायलाई कानुनी दायरामा ल्याउनुपर्ने खाँचो औंल्याउनुभयो । उहाँले प्राधिकरणको वर्तमान नेतृत्वको साढे दुई वर्षमा भएका सात दुर्घटनामा परी दुई सय १८ जनाको मृत्यु भएको भन्दै विमान दुर्घटनाको नैतिक दायित्व र जिम्मेवारी लिनुपर्ने जिकिर गर्नुभयो । “एयर सेफ्टी एजेन्सी र नेतृत्वमा समस्या छ भन्ने अध्ययनले देखाएको छ । बारम्बारको विमान दुर्घटना र मानिसको निधनप्रति नैतिक जिम्मेवारी लिनुपर्छ”, सांसद खनालले भन्नुभयो ।

सांसद सुदन किरातीले समग्र हवाई सुरक्षा प्रणालीको सुधारका लागि प्राधिकरण विभाजन विधेयक अगाडि बढाइनुपर्ने बताउनुभयो । सांसद एकनाथ ढकालले मुलुकको हवाई क्षेत्र असुरक्षित बन्नुमा को जिम्मेवार भनी प्रश्न गर्नुभयो ।

सांसद हरिप्रसाद उप्रेतीले हवाई सुरक्षा अभिवृद्धिमा सबैको ध्यान जानुपर्ने खाँचो औँल्याउनुभयो । डा धवलशमशेर जवराले निश्चित समय तोकेर प्राधिकरण विभाजन विधेयक टुङ्ग्याउनुपर्नेमा जोड दिनुभयो ।

सांसद हितबहादुर तामाङले अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी व्यवस्थापन गरिनुपर्ने बताउनुभयो । सांसद भीमप्रसाद आचार्यले वायुसेवा निगम सुधारका लागि सरोकारवाला निकायले ध्यान दिनुपर्ने खाँचो औंल्याउनुभयो ।

सांसद विमलेन्द्र निधिले जसरी पनि युरोपियन युनियन (इयू)को सुरक्षा सूचीबाट हटाउन पहलकदमी गरिनुपर्ने बताउनुभयो । नेपाल एयरलाइन्सको विमान कोरिया उडाने वातावरण बनाउन पनि सम्बन्धित निकायले ध्यान दिनुपर्ने खाँचो औंल्याउनुभयो । साथै उहाँले प्राधिकरण विभाजनसम्बन्धी विधेयक तत्काल अगाडि बढाउन पनि माग गर्नुभयो ।

समितिका सभापति राजकिशोर यादवले मुलुकमा बारम्बार भइरहेका विमान दुर्घटनाले गम्भीर सुरक्षा लापर्बाही भएको भन्दै नियामक प्राधिकरणको ध्यानाकर्षण गराउनुभयो । हरेक विमान दुर्घटनामा प्राविधिक पक्ष देखाएर प्राधिकरण पन्छिने गरेको भन्दै नियमक निकायको लापर्बाहीले हवाई सुरक्षामा आँच आइरहेको उहाँको भनाइ थियो ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विमान दुर्घटनाबारे जाँचबुझ आयोग गठन भएकोले उक्त आयोगको प्रतिवेदन नआउँदासम्म कारणबारे प्रतिक्रिया दिन नसकिने बताउनुभयो ।

आइकाओको प्रतिवेदन एकसाताभित्र समितिमा पेस गर्न निर्देशन

काठमाडौँ, १० साउनः संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को प्रतिवेदन एकसाताभित्र समिति समक्ष पेस गर्न संस्कृति, पर्यटन तथा नारिक उड्डयनमन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको आज सिंहदरबारमा भएको बैठकले एकसाताभित्र प्रतिवेदन समितिमा पेस गर्न पर्यटनमन्त्रीलाई निर्देशन दिने निर्णय गरेको हो । समितिका सभापति राजकिशोर यादवले समितिले चिठी लेखेर आइकाओको प्रतिवेदन मगाउँदा पनि प्राप्त नभएको भन्दै अप चिठी लेख्न नपर्नेगरी समयभित्रै प्रतिवेदन बुझाउन आग्रह गर्नुभयो ।

यस्तै नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजनसम्बन्धी विधेयकबारे समितिलाई जानकारी गराउन पनि बैठकले पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ । पर्यटन मन्त्रालयको पहलकदमीले विधेयक अगाडि बढ्न नसक्ने हो भने प्रधानमन्त्री तहमा कुरा गरेर भए पनि अगाडि बढाउन समितिले सक्रियता देखाउने सभापति यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “प्राधिकरण विभाजनसम्बन्धी विधेयक कहाँ र कुन अवस्थामा छ, अर्को बैठकमा आउँदा समितिलाई जानकारी गराउनुपर्छ ।”

सभापति यादवले डेढ वर्षको अवधिमा काम गरेको जानकारी भएको तर परिणाम नदिएको भन्दै अबका दिनमा कुरा हैन परिणाम चाहिने बताउनुभयो । समितिका अधिकांश सांसदले मुलुकको हवाई सुरक्षालाई दृष्टिगत गर्दै प्राधिकरण विभाजनसम्बन्धी विधेयक अगाडि बढाउन माग गर्नुभएको थियो ।

तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक–२०७६’ विसं २०७६ फागुन ११ मा राष्ट्रियसभामा दर्ता गराउनुभएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरण एने–२०५३ अन्तर्गत स्थापित प्राधिकरणले नियमन र हवाई सेवा प्रदायक दुवै सेवा दिँदै आएको छ । नियामक र सेवा प्रदायक गरी अलग–अलग निकायको रुपमा बनाउने प्रयोजनका निम्ति उक्त विधेयक अगाडि बढाइएको हो । विसं २०७८ साउन १८ गते राष्ट्रियसभाबाट पारित उक्त विधेयक अहिले निष्क्रिय छ । विसं २०७९ असोज १ गते प्रतिनिधिसभाको कार्यकाल समाप्त भएकाले निष्क्रिय भएको हो ।

समितिले युरोपेली सङ्घ (इयू)को सुरक्षा सूचीबारे के कति प्रगति भएको हो र अब कतिसमयपछि नेपाल उक्त सूचीबाट हट्छ भन्नेबारे विस्तृत विवरणसहित समितिको अर्को बैठकमा उपस्थित हुन प्राधिकरणलाई निर्देशन दिएको छ ।

कोरियन एयरलाइन्सको एकाधिकार तोड्न र नेपाल एयरलाइन्सको विमान कोरिया उडान सम्बन्धमा जानकारी दिन तथा यती एयरलाइन्सको विमान दुर्घटनासम्बन्धी प्रतिवेदन पनि समितिलाई उपलब्ध गराउन निर्देशन दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पसल कवल भाडामा लगाउनेसम्बन्धी कागजात एक साताभित्र समितिमा पेस गर्न पनि समितिले निर्देशन दिएको

‘डेडिकेटेड’ र ‘ट्रङ्क’ लाइनको महसुल विवाद : सार्वजनिक लेखा समितिले माग्यो लाल आयोगको प्रतिवेदन

काठमाडौँ ।  सार्वजनिक लेखा समितिले ‘डेडिकेटेड’ र ‘ट्रङ्क’ लाइनको महसुल विवादका सम्बन्धमा छानबिन गर्न गठित सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन मागेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई आज पत्र लेख्दै उक्त प्रतिवेदन अध्ययनका लागि पठाइदिन अनुरोध गरिएको समितिका सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।

समितिले बिहीबार ‘डेडिकेटेड’ र ‘ट्रङ्क’ लाइनको महसुल विवादका सम्बन्धमा उद्योगी व्यवसायीसँग छलफल गरेको थियो । छलफलमा अधिकांश सांसदहरूले लाल आयोगको प्रतिवेदन माग गर्न समिति सभापतिको ध्यानाकर्षण गराएका थिए ।

उद्योगी व्यवसायीका तर्फबाट कानुन व्यवसायी रमनकुमार कर्णले विवादका सम्बन्धमा प्रष्ट पारेका थिए । समितिका सदस्यहरूले कानुन व्यवसायीको प्रस्तुतलाई उद्योगीका भनाइका रूपमा लिन नसकिने उल्लेख गर्दै उद्योगी स्वयंले धारणा राख्नु उपयुक्त हुने सुझाव दिएका थिए ।

सांसद राजेन्द्र लिङ्देनले महसुल विवाद सम्बन्धमा अध्ययन गर्न गठित लाल आयोगको प्रतिवेदनका आधारमा छलफल गर्नु उपयुक्त हुने सुझाव दिँदै सो प्रतिवेदनमा उल्लेखित सुझाव कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

सांसद अर्जुननरसिंह केसीले आयोगको प्रतिवेदन समितिमा पेस हुनुपर्ने तथा महसुल नतिरेका उद्योगी र नेपाल विद्युत् प्राधिकरण जिम्मेवार पदाधिकारीलाई सँगै राखेर छलफल गर्नुपर्ने बताए । महसुल विवादलाई लिएर देखिएको टीकाटिप्पणीका आधारमा ठूलो अनियमितता रहेको भाष्य खडा गर्न खोजिएको उल्लेख गर्दै उनले यस सम्बन्धमा चाँडै निष्कर्षमा पुग्नुपर्ने बताए ।

सांसद लेखनाथ दाहालले लाल आयोगको प्रतिवेदन, जिल्ला र पुनरावेदन अदालतको आदेश, महालेखाको टिप्पणी, मन्त्रिपरिषद्को निर्णय र लेखा समितिले गठन गरेको उपसमितिले दिएको महसुल उठाउनेसम्बन्धी निर्देशन कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

सांसद डा अमरेशकुमार सिंहले घरायसी उपभोक्ताको विद्युत् कटौती गरेर उद्योगीलाई निरन्तर विद्युत् उपलब्ध गराइएको यथार्थलाई उद्योगीले विषयान्तर गर्न नहुने बताए । ‘प्राधिकरणका कुरा सुनौँ, लाल आयोग र उपसमितिको प्रतिवेदन अध्ययन गरौँ,’ उनले भने, ‘दुवै पक्षको धारणा बुझेर स्पष्ट निर्णय गरौँ ।’

सांसद देवप्रसाद तिमल्सेनाले महसुलसम्बन्धी विवादलाई बोकेर उद्योगीले राजनीतिक नेतृत्वको ढोका घच्घच्याउनु उचित नहुने उल्लेख गर्दै नेताकोमा नगइ महसुल तिर्ने बानी बसाल्नुपर्नेमा जोड दिए ।

सांसद सञ्जय गौतमले उद्योगीले प्राधिकरणलाई तिर्नुपर्ने रकम बुझाउनुपर्ने र खपत नगरेको विद्युतको रकम प्राधिकरणले दाबी गर्न नमिल्ने बताए । सांसद गोकुल बास्कोटाले विद्युत् महसुलसम्बन्धी विवादलाई लामो बनाउन नहुनेमा जोड दिँदै तथ्यको जाँचपछि निष्कर्षमा पुग्नुपर्ने धारणा व्यक्त गरे ।

सांसद योगेशकुमार भट्टराईले लोडसेडिङका समयमा डेडिकेटेड र ट्रङ्क लाइन लिएका उद्योग र प्राधिकरणका बीचमा भएको सहमतिका बारेमा प्रष्ट पार्नुपर्ने बताए । सांसद हरि ढकालले भनसुनको स्वभाव छाडिदिएर कानुन सम्मत ढङ्गबाट व्यवसाय सञ्चालन गर्न व्यवसायीलाई सुझाव दिए ।

बिल दिनुस्, महसुल तिर्छौं : उद्योगी

उद्योगी पशुपति मुरारकाले उद्योगीले कहिल्यै पनि महसुल तिर्दिन नभनेको स्पष्ट पारे । ‘महसुल तिर्दैनौँ भनेर कहिल्यै, कुनै व्यवसायीले भनेका छैनन्,’ उनले भने, ‘टिओडी मिटरको बलि दिनुस्, हामी महसुल तिर्छौँ ।’

राम्रो कर्म गरे, राम्रै फल पाइन्छ : नवनियुक्त मुख्यसचिव

काठमाडौँ १० साउन : नेपाल सरकारले कायम मुकायम मुख्यसचिव लीलादेवी गड्तौलालाई आज मुख्य सचिवमा नियुक्त गरेको छ । मुलुकको प्रशासनिक इतिहासमा उहाँ नै प्रथम महिला मुख्यसचिव हुन सफल हुनुभएको हो ।

वर्तमान सरकारले नै उहाँलाई असार ३१ गते निमित्त मुख्यसचिवबाट कामु मुख्यसचिवको जिम्मेवारी दिएको थियो । विसं २०२३ साल भदौ १५ मा ते¥हथुममा जन्मनुभएकी गड्तौला विसं २०५२ मा नेपालको निजामति सेवाको न्याय समूहको शाखा अधिकृतबाट राष्ट्र सेवामा प्रवेश गर्नुभएको थियो ।

विसं २०६३ मा उपसचिव, विसं २०७० मा सहसचिव, २०७७ मा सचिवमा बढुवा हुनुभएको थियो । उमेर हदका कारण उहाँ आउँदो भदौ १५ बाट सेवा निवृत्त हुनुहुनेछ ।

‘जस्तो कर्म ग¥यो, त्यस्तै फल प्राप्त हुन्छ’ भन्ने विश्वास राख्ने नवनियुक्त मुख्यसचिव गड्तौलाले निजामति सेवामा राम्रै कर्म गरेको परिणामकारूपमा यो जिम्मेवारी प्राप्त भएको राससलाई प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “प्रधानमन्त्री केपी ओलीको नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्ले मलाई कामु मुख्यसचिवको जिम्मेवारी दिएको थियो । दश दिनपछि मुख्यसचिवमा आज नियुक्त गरेको छ । यो सरकार महिलाप्रति उदार छ भन्ने देखियो, न्याय सेवाको कर्मचारीलाई मुख्यसचिवको जिम्मेवारी दिनुभएको छ, वर्तमान सरकारप्रति धन्यवाद छ ।”

इमान्दार भएर काम गरेमा कही न कही मूल्याङ्कन र अवसर प्राप्त गर्ने रहेछ भन्ने सन्देश समस्त निजामति कर्मचारीमा गएको बताउँदै मुख्यसचिव गड्तौलाले महिलालाई माथिल्लो तहको जिम्मेवारीमा दिन हिचकिचाउँछन् भन्ने भाष्य परिवर्तन हुँदैगएको धारणा व्यक्त गर्नुभयो ।

निजामति कर्मचारीमा प्रवेश गरेका कर्मचारीमा मुख्यसचिव बन्ने लक्ष्य हुने बताउँदै उहाँले भन्नुभयो, “त्यसमा केही पुगिन्छ, कोही पुगिन्न । केही सचिव र सहसचिवमा पुगिन्छ, कोही तलैबाट बाहिरिनुपर्छ । भाग्यछ भन्दैमा डोकोमा दूध अडिन्न, कर्म गर्नुपर्छ, राम्रो कर्म गरे राम्रो फल पाइन्छ ।”

राज्यबाट जनतालाई प्रदान गरिने सेवाप्रवाहमा सहज र सरल तुल्याउन सम्पूर्ण राष्ट्रसेवक निजामति कर्मचारी मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याउदै मुख्यसचिव गड्तौलाले संसद्मा अड्किरहेको निजामति विधेयकलाई अघि बढाउन र राम्रो कर्म गर्ने कार्यलाई प्रोत्साहन र प्रेरणा प्रदान गर्न लागि पर्ने दृढता व्यक्त गर्नुभयो ।

रुसलाई विभाजन गर्न खोज्नेहरु विरुद्ध प्रतिशोध लिने पुटिनको वाचा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आफ्नो देशको शक्तिशाली कानून प्रवर्तन एजेन्सीहरूको प्रभावकारिता र अटुट वफादारीको प्रशंसा गर्दै रुसी समाजलाई विभाजन गर्न खोज्ने विरुद्ध बदला लिने वाचा गर्नुभएको छ ।पुटिनले युक्रेनमा चलिरहेको आफ्नो सैन्य आक्रमणका बीच नागरिक समाज, स्वतन्त्र मिडिया र विपक्षीहरूमाथि दशकौं लामो दमनलाई बढाएको छ र क्रेमलिनप्रतिको असहमति र आलोचकलाई वर्षौं लामो जेल सजाय दिइएको छ ।

“हाम्रो समाजलाई विभाजन गर्न मानिसहरुलाई त्रसित बनाउने, धार्मिक वा राष्ट्रिय भावनाहरूसँग खेल्ने प्रयास गर्नेहरू कहिल्यै सफल हुने छैनन्”, क्रेमलिनले पोस्ट गरेको भिडियो सन्देशमा पुटिनले भन्नुभयो । “अपरिहार्य र न्यायपूर्ण प्रतिशोध उनीहरूको प्रतीक्षामा छ ।”रुसले नियमित रूपमा क्रेमलिनको विरोध गर्नेहरूलाई वर्णन गर्न यस्तो भाषा प्रयोग गर्दै आएको छ ।

पुटिनले रुसको “अनुसन्धान अधिकारी दिवस” को अवसरमा आयोजित समारोहमा यस्तो अभिव्यक्ती दिनुभएको हो । उहाँले समारोहलाई सम्बोधन गर्दै अनुसन्धान समिति र एफएसबी सुरक्षा सेवाहरूसहित विभिन्न रूसी कानून प्रवर्तन एजेन्सीहरूलाई सम्मान व्यक्त गर्नुभयो । “अनुसन्धानकर्ताहरूले पितृभुमि र हाम्रा जनताप्रति बिना शर्त वफादारी देखाउँदै आएका छन्”, पुटिनले भन्नुभयो ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत

काठमाडौँ, १० साउनः गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत भएको छ । भारतको नयाँदिल्लीमा यही जुलाई २१ देखि जारी विश्व सम्पदा समिति (यूनेस्को वर्ल्ड हेरिटेज कमिटी)को ४६औँ सेसन अन्तर्गत आज भएको मस्यौदा उपर छलफलमा लुम्बिनीलाई खतराको सूचीमा नराख्ने निर्णय भएको हो ।

नेपालको तर्फबाट लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेयसहितको टोली उक्त सेसनमा सहभागी हुन नयाँ दिल्ली पुगेको थियो ।

वर्ल्ड हेरिटेज कमिटिका २१ देशमध्ये भारतसहित १९ देशका प्रतिनिधिले बुद्धजन्मस्थल लुम्बिनी विश्वकै अनुपम महत्वको स्थल भएकाले नेपाललाई सुधारका लागि समय दिनुपर्ने भन्दै खतराको सूचीमा नराख्ने पक्षमा उभिएका हुन् । 

बैठकमा लुम्बिनीलाई खतराको सूचीको मस्यौदा उपर भारतले संशोधन प्रस्ताव राखेको र संशोधन प्रस्तावको पक्षमा २१ मध्ये १९ राष्ट्रहरु उभिएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताउनुभयो ।   

युनेस्कोले विगतदेखि नै लुम्बिनीमा सम्पदा संरक्षण विपरीतका गतिविधि र पूर्वारधार निर्माण भएको भन्दै खतराको सूचीमा राख्ने भन्दै सन् २००२ देखि चेतावनी दिँदै आएको थियोभने सन् २०२२ मा पत्र पठाएर सचेत गराएको थियो । विश्व सम्पदा समितिको सचिवालयले लुम्बिनीलाई खतराको सूचीमा राख्ने मस्यौदा तयार गरेपछि पर्यटन मन्त्रालय, लुम्बिनी विकास कोषका अधिकारीहरुले कूटनीतिक पहल गरेका थिए ।

लुम्बिनीलाई खतराको सूचीमा नराख्न कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाको नेतृत्वमा मन्त्रालयका सचिव, यूनेस्को तथा फ्रान्सका लागि नेपाली राजदूत सुधिर भट्टराईलगायतबाट कूटनीतिक पहल भएको थियो । 

उपाध्यक्ष डा लामाले नेपालस्थित विभिन्न देशका राजदूतसँग समेत यस विषयमा जानकारी गराउनुका साथै नयाँ दिल्लीमा जारी बैठकमा समेत लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल गर्नुभएको थियो ।

यूनेस्कोले सम्पदास्थलमा पाँच हजार क्षमताको ध्यानकेन्द्र निर्माण, मायादेवी जीर्ण मन्दिरबारे चर्चा भएको थियो । विश्व सम्पदा कमिटिको बैठकमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा, कोषाध्यक्ष ढुण्डिराज भट्टराई, पर्यटन मन्त्रालयका सचिव डा गणेश पाण्डेय, कोषका सदस्य सचिव सानुराजा शाक्य, बरिष्ठ निर्देशक ज्ञानिन राई, वरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेती सहभागी हुनुहुन्छ ।

स्वदेशी तथा विदेशी निजी लगानी आकर्षित गर्न लगानीको वातावरण सुधार्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ, १० साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी तथा विदेशी निजी लगानी आकर्षित गर्न लगानीको वातावरण सुधार्नुपर्ने बताउनुभएको छ ।लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री ओलीसमक्ष आर्थिक वर्ष २०८०/८१ कोे कार्यसम्पादन करारबमोजिम आज बुझाउनुभएको कार्यसम्पादन प्रतिवेदन ग्रहण गर्दै उहाँले लगानीको वातावरण सुधारलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

पूर्वाधार विकासमा सार्वजनिक–निजी साझेदारी अवधारणा महत्त्वपूर्ण हुने भन्दै प्रधानमन्त्रीले लगानी बोर्डमार्फत भइरहेका कार्य र उपलब्धिको प्रशंसा गर्नुभएको प्रमुख कार्यकारी अधिकृत भट्टले जानकारी दिनुभयो ।

“स्वदेशी तथा विदेशी निजी लगानी आकर्षित गर्न लगानीको वातावरण सुधारलाई निरन्तरता दिनुपर्ने र बोर्डलाई सार्वजनिक–निजी साझेदारीको ‘सेन्टर अफ एक्सिलेन्स’का रूपमा विकास गर्नेगरी संस्थागत क्षमता विकास गरिनेछ,” प्रधानमन्त्रीले भन्नुभयो ।

कार्यसम्पादन प्रतिवेदन पेश गर्ने क्रममा प्रमुख कार्यकारी अधिकृत भट्टले प्रधानमन्त्रीबाट प्राप्त मार्गदर्शनअनुरुप परियोजना विकास, लगानी प्रवर्द्धन तथा संस्थागत सुदृढीकरणका लागि भएका प्रगति, परियोजना कार्यान्वयनका क्रममा देखा परेका समस्या, तिनको समाधानका लागि बोर्डले गरेका प्रयत्न, कार्यसम्पादन गर्दाका सिकाइ र अनुभव र आगामी परिदृश्यबारे प्रधानमन्त्रीसमक्ष संक्षिप्तमा जानकारी गराउनुभएको थियो ।

विमान दुर्घटनामा ज्यान गुमाउने प्रति नेपाल वायुसेवा निगमको श्रद्धाञ्जली

काठमाडौँ, १० साउनः नेपाल वायुसेवा निगमले बुधबार काठमाडौँ-पोखरा उडानका क्रममा दुर्घटना भएको सौर्य एयरलाइन्समा परी मृतक हुने १८ जानाप्रति श्रद्धान्जली प्रकट गरेको छ । निगमले आज प्रेस विज्ञप्ति जारी गर्दै मृतकप्रति श्रद्धान्जली र मृतकको आफन्तप्रति समवेदना प्रकट गरेको हो ।

विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गबाट उडान भर्ने बित्तिकै दुर्घटनाग्रस्त भई उक्त जहाजमा सवारमध्ये १८ जना मृत्यु र एक जना घाइते हुनुभएको थियो । निगमले घाइते हुनुभएका चालक दलका सदस्यको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

बुधबार विहान काठमाडौँबाट पोखरा उडानको क्रममा सौर्य एयरलाइन्सको नाईन एए–एएमइ कलसाइन रहेको चालकदलसहित १९ जना सवार विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग-२ बाट टेकअफ गर्ने बित्तिकै दाँयातर्फ दुर्घटनामा परेको थियो । दुर्घटनामा परी १८ जनाले ज्यान गुमाइसकेका छन् भने घाइते पाइटलको उपचार भइरहेको छ ।

नागढुङगा–सिस्नेखोला सुरुङमार्गको संसदीय समितिद्वारा स्थलगत अनुमगन,भौतिक प्रगति ८० प्रतिशत

काठमाडौँ, १० साउन : मुलुककै पहिलो आधुनिक सुरुङमार्ग ‘नागढुङ्गा–सिस्नेखोला’ को भौतिक निर्माणबारेमा सङ्घीय संसद्को भौतिक पूर्वाधार विकास समितिले आज स्थलगत अनुमगन गरेको छ । सडक पूर्वाधारका रूपमा पहिलो पटक निर्माणको बारेमा प्रत्यक्ष जानकारी लिने लक्ष्यका साथ समितिले स्थलगत अनुमगन गरी जानकारी लिएको हो । नागढुङ्गा नौबिसे सुरुङमार्ग आगामी एक वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ निर्माण भइरहेको छ । हाल सो सुरुङमार्गको भौतिक प्रगति ८० प्रतिशत पुगेको छ ।

स्थलगत अनुमगनमा संलग्न सांसद माधव सापकोटाका अनुसार हालसम्मको निर्माण कार्य सन्तोषजनक छ । निर्माणको अन्तिम चरणमा पुगेको भए पनि स्थानीयवासीको समस्या समाधान गर्नुपर्ने आवश्यकता देखिएको छ । 

मुआब्जा वितरण, चर्किएको जमिन एवं खानेपानीको समस्या समाधान गर्नुपर्नेमा स्थानीयवासीले संसदीय समिति समक्ष माग राखेका थिए । आयोजनामा पर्ने जग्गाको केही कित्ताको मुआब्जा विवाद, घर चर्किएको समस्या, रोड सर्भिस सेन्टर (आरएसएस) निर्माणलगायत केही चुनौती बाँकी छन् ।

हालसम्मको निर्माण गुणस्तरीय रहेको जानकारी दिँदै सांसद सापकोटाले सुरुङ सञ्चालन पूर्वको तयारीमा केही ध्यान दिनुपर्ने आवश्यकता देखिएको बताउनुभयो । सुरुङ सञ्चालनका लागि झण्डै एक सय जना कर्मचारी आवश्यक पर्ने देखिन्छ । त्यस्तै अविच्छिन्न विद्युत् उपलब्ध गराउनुपर्नेछ । त्यसका लागि आवश्यक संरचना निर्माण गर्नुपर्नेछ । 

गत वैशाख ३ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उक्त सुरुङमार्ग ब्रेकथू गर्नुभएको थियो । सुरुङमार्गको दुरी दुई हजार छ सय ८८ मिटर रहेको छ । 
संसदीय समितिले नागढुङ्गादेखि गल्छीसम्म निर्माणाधीन पुथ्वीराजमार्गको स्थलगत अनुमगन गर्ने सांसद सापकोटाले जानकारी दिनुभयो । 

मुम्बईमा भारी वर्षाका कारण उडान प्रभावित

मुम्बई र यसका उपनगरमा परेको भारी वर्षाका कारणले एयर इन्डियाका उडान प्रभावित भएका छन् । मौसमी समस्याका कारण केही उडानहरू रद्द भएका छन् भने केही उडानहरू अन्यत्र मोडिएकोे जनाइएको छ ।

उडान प्रभावित भएपछि बिहीबारको लागि गरिएको बुकिङ फिर्ता गरेको एयर इन्डियाले जनाएको छ । यसै सन्दर्भमा एयरलाइन्सले एउटा लिङ्क सार्वजनिक गर्दै यात्रुहरूलाई एयरपोर्ट जानुअघि उडानको अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ । यात्रुहरूको जानकारीका लागि एयरलाइन्सले समाजिक सञ्जाल एक्समार्फत् जानकारी सार्वजनिक गरेको छ ।

एयरलाइन्सले भारी वर्षाले उडानमा सम्भावित अवरोधको चेतावनी दिदै मुम्बई आउने र जाने उडानहरू प्रभावित हुन सक्ने जनाएको छ ।बुधबार मुम्बई वर्षाको कारण जलमग्न भएपछि सवारी आवागमन बन्द गरिएको रिपोर्ट गरिएको छ । यसका कारण सार्वजनिक यातायातमा बाधा पुग्दा अनगिन्ती यात्रुहरू असुविधामा पारेको जनाइएको छ ।

बृहन्मुम्बई नगरीय मौसम पूर्वानुमान कार्यालयले मुम्बईको सहर तथा नगरमा मध्यमदेखि भारी वर्षाको चेतावनी दिएको छ भने बाँकी स्थानमा भारी वर्षा हुने जनाएको छ । मुम्बईका पानी आपूर्ति केन्द्रमा भारी वर्षाले भण्डारण वृद्धि भएकाले हाल विहार, तुलसी, तानसा र मोदकसागरलगायतका जलाशय भरिएका छन् । यस अवस्थालाई मध्यनजर गर्दै मुम्बईको पानी आपूर्तिमा १० प्रतिशत कटौती गरिएको छ ।

भारतीय मौसम विभागले बिहीबार महाराष्ट्रका लागि ‘रेड अलर्ट’ चेतावनी जारी गर्दै भारी वर्षाको पूर्वानुमान गरेको छ ।हाराष्ट्रमा जुलाई २६–२७ सम्म भारी (११५ देखि २०४ मिलिमिटर) वर्षा हुने चेतावनी दिइएको छ । यसैगरी महाराष्ट्रको कोङ्ण क्षेत्रका ठाणे, पालघर, रायगढ, रत्नागिरी र सिन्धुदुर्ग जिल्लामा पनि बर्षाजन्य जोखिमको चेतावनी जारी गरिएको छ ।

कटौती भएको प्राविधिक सचिवको पद थप गर्न मन्त्रीसमक्ष माग

काठमाडौँ, १० साउनः विभिन्न मन्त्रालयमा कार्यरत प्राविधिक सहसचिवहरुले कटौती भएको प्राविधिक सचिवको पद थप गर्न माग गरेका छन् । प्राविधिक समूहका सहसचिवहरुले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई भेटेर प्राविधिक सचिवको पद कटौती हुँदा वृत्तिविकासको अवसरबाट वञ्चित हुनुपरेको भन्दै प्राविधिक सचिवको पद थपका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्राविधिक सहसचिव मधुप्रसाद भेटवालले शान्ति तथा पुनःनिर्माण मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको इञ्जिनियरिङ सेवाको सचिव पद कटौती हुँदा निजामती सेवामा प्राविधिक जनशक्तिका लागि वृत्तिविकासमा असर पर्न गएको बताउनुभयो ।

उहाँले सरकारले घोषणा गरेको विकास र समृद्धिको नारालाई यथार्थमा परिणत गर्न प्राविधिक जनशक्तिको भूमिका महत्वपूर्ण भएकाले प्राविधिक क्षेत्रको विज्ञता आवश्यक रहेका क्षेत्रमा सम्बन्धित विषयको विज्ञ जनशक्तिलाई परिचालन गर्न आग्रहसमेत गर्नुभयो ।

भेटमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्काले प्राविधिक क्षेत्रका सहसचिवको समस्यालाई आफूले बुझेकाले यसको समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“विषयमा अनुभवी व्यक्तिले सम्बन्धित मन्त्रालयको नेतृत्व गरोस् भन्ने मेरो चाहना हो, तपाईंहरुको समस्याका बारेमा म प्रधानमन्त्रीसँग कुरा राख्छु,” मन्त्री खड्काले भन्नुभयो । उहाँले कर्मचारीले जति धेरै काम ग-यो त्यति सरकार सफल हुने भएकाले काममा ध्यान दिनसमेत आग्रह गर्नुभयो ।

अपराध नियन्त्रण गर्न एनसिबी र राहदानी विभागबीच समझदारी

काठमाडौँ, १० साउन : अपराध नियन्त्रण गर्न राष्ट्रिय केन्द्रीय ब्यूरो काठमाडौँ (एनसिबी) र राहदानी विभागबीच आज समझदारी–पत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच आज उक्त समझदारी–पत्रमा हस्ताक्षर गर्नुभएको हो । साथै उहाँहरुले समझदारी–पत्र आदानप्रदान समेत गर्नुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले इन्टरपोलमा रहेका विभिन्न डाटावेशमध्ये एसएलटिडी (चोरी र हराएको यात्रा कागजात) डाटाबेस हाल नेपालले पनि प्रयोग गर्दै आएको र उक्त डाटावेसलाई व्यवस्थित गर्न इन्टरपोलद्वारा डब्लुआइएसडिएम (डाटा व्यवस्थापनका लागि इन्टरपोल वेबसेवा) प्रविधि इन्टरपोलका सदस्य राष्ट्रलाई आवश्यकता अनुसार प्रदान गरेको चर्चा गर्नुभयो । साथै डब्लुआइएसडिएमलाई प्रयोग गर्ने सम्भावनाको यकिन गर्न पाइलट फेज सञ्चालन गर्दा राहदानी विभागको सिस्टममा एकीकृत गर्न सकिने राहदानी विभागको सुझाव अनुरुप नै समझदारी भएको उहाँले बताउनुभयो ।

महानिरीक्षक कुँवरले लामो समयदेखि हराएका, चोरी भएका तथा रद्द गरिएका राहदानीको नेपालमा मात्र नभएर वैदेशिक भूमिमासमेत आपराधिक तथा अवैधानिक प्रयोगमा नियन्त्रण तथा जानकारी प्राप्त हुने, डाटावेशमा अपडेट गर्दा त्रुटि हुने सम्भावनाको अन्त्य हुने, लामो र झन्झटिलो प्रक्रिया यस पश्चात सहज र छिटो हुनुका साथै नेपाल प्रहरी इन्टरपोल शाखा, अध्यागमन विभाग र राहदानी विभागबीचमा समेत समन्वय हुने विश्वास व्यक्त गर्नुभयो ।

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले समझदारीको महत्व र औचित्यताबारे आफ्नो धारणा राख्दै राहदानीको दुरुपयोगबाट हुने अपराध नियन्त्रण गर्न यस समझदारीले सहयोग पु¥याउने उल्लेख गर्नुभयो । साथै आगामी दिनमा पनि नेपाल प्रहरीसँग भएको सहकार्यलाई थप व्यवस्थित बनाउँदै लैजाने उहाँले बताउनुभयो । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत तथा राहदानी विभागका पदाधिकारीको उपस्थिति रहेको थियो ।

जसपा र आम जनता पार्टीद्वारा विमान दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जली

काठमाडौँ, १० साउनः जनता समाजवादी पार्टी (जसपा)ले बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले आज शोक विज्ञप्ति जारी गर्दै उक्त विमान दुर्घटना परी मृत्युहुनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो । उहाँले शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदन प्रकट गर्नुभएको छ ।

विमान दुर्घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्नुका साथै घाइतेको उपचार र मृतकका परिवारजनलाई क्षतिपूर्ती उपलब्ध गराउन जसपाले सरकार समक्ष माग गरेको छ ।

आम जनता पार्टीले पनि विमान दुर्घटनामा मृत्युभएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गरेको छ । सो पाटीले एक विज्ञप्ति जारी गर्दै घाइते पाइलटको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

बुधबार विहा काठमाडौँबाट पोखरा उडानको क्रममा सौर्य एयरलाइन्सको नाईन एए–एएमइ कलसाइन रहेको चालकदलसहित १९ जना सवार विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग–२ बाट टेकअफ गर्ने बित्तिकै दाँयातर्फ दुर्घटनामा परेको थियो । दुर्घटनामा परी १८ जनाले ज्यान गुमाइसकेका छन् भने घाइते पाइटलको उपचार भइरहेको छ ।

ललितपुरमा चार जनामा हैजाको सङ्क्रमण पुष्टि

काठमाडौँ, १० साउनः ललितपुरमा चार जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डा मुकेश पौडेलले जानकारी दिनुभयो ।

हैजा पुष्टि भएका सबै युवा ललितपुरको गोदावरी नगरपालिका–१४ मा स्थिति सुधार केन्द्रका हुन् । उनीहरुमध्ये दुई जना उपचारका क्रममा भागेका छन् भने अन्य दुईजनामध्ये एक जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र अर्को एक जनाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

ललितपुर जनस्वास्थ्य कार्यालयका प्रमुख डा भुवन पौडेलले सुधार केन्द्रमा रहेका युवामा एक्कासी झाडापखाला देखिएको र परीक्षण गराउँदा हैजा पुष्टि भएको बताउनुभयो ।

उहाँले झाडापखाला फैलिएको क्षेत्रमा सङ्घ, प्रदेश र स्थानीय तहको सहयोगमा सङ्क्रमण रोकथाम गरिएको जानकारी दिनुभयो । शाखाका प्रमुख डा पौडेलले सुधार केन्द्रमा इनारको पानी प्रयोग गरिएको र उक्त पानी दुषित रहेको बताउनुभयो । “इनारको पानीमा दिसाको जीवाणु देखियो”, उहाँले भन्नुभयो, “त्यहीबाट हैजा फैलिएको हो ।”

उहाँले भागेका दुई जनालाई हैजाको प्रारम्भिक उपचार गरेकाले उनीहरुबाट अन्यमा सर्ने सम्भावना कम भएको बताउनुभयो । उहाँले बर्खायामसँगै पानीजन्य रोग बढ्ने भएकोले पानी उमालेर खान अनुरोध गर्नुभएको छ ।

रास्वपाद्वारा पार्टीको विधान परिमार्जनका लागि कार्यदल गठन

काठमाडौँ । राष्टिय स्वतन्त्र पार्टी(रास्वपा)ले कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा विधान संशोधन सुझाव कार्यदल गठन गरेको छ ।

रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीको विधानमा आवश्यक परिमार्जन तथा संशोधनका लागि कार्यवाहक महामन्त्री बुर्लाकोटीसहित ११ सदस्यीय कार्यदल गठन गरेको हो ।

उक्त कार्यदलको सदस्यमा सोविता गौतम, गणेश कार्की, डा तोसिमा कार्की, क्रान्तिशिखा धिताल, विजय जैरु, मेघ आले, कामिनी चौधरी, पुकार बम, डा नारायण घिमिरे र शङ्कर श्रेष्ठ छन् ।

आजको बैठकको निर्णयबारे जानकारी दिँदै कार्यवाहक प्रवक्ता मनिष झाले भदौको दोस्रो सातामा कर्णाली अभियान कार्यक्रम सञ्चालन गर्ने बताए । उक्त अभियान सहमहामन्त्री विपिन आर्चायले संयोजन गर्नेछन् ।

बैठकले पार्टीको पदाधिकारी र नेतृत्वमा रहेका सदस्यलाई रणनीतिकरुपमा सक्षम बनाउन सघन प्रशिक्षणका लागि ‘क्लोज क्याम्प’ आयोजना गर्ने निर्णय गरेको छ ।

सो पार्टीको केन्द्रीय समितिको आजको बैठकले पार्टीको सम्बन्धमा सार्वजनिक बहसमा आएका विषयमा अध्ययन अनुसन्धानका लागि केन्द्रीय अनुशासन आयोगलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ । बैठकले डा अरनिको पाँडेलाई पार्टीको केन्द्रीय समितिमा पुनर्बहाली गर्ने निर्णय गरेको हो । यस्तै बैठकले पार्टीको केन्द्रीय विभागमा विभिन्न मितिमा सदस्य अनुमोदन गर्ने निर्णय गरेको छ ।