`

उपराष्ट्रपति यादवसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

काठमाडौँ, १० साउनः उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा डेनियल म्यूली मोन्टेलियोनले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज शिष्टाचार भेट गर्नुभएको छ ।भेटमा शुभकामना आदानप्रदान पश्चात द्विपक्षीय सम्बन्ध, विकास सहयोग, लगानी तथा व्यापार, पर्यटनलगायतका विषयमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । उपराष्ट्रपति यादवले सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भए पश्चात नेपाल र स्वीट्जरल्याण्डबीचको सम्बन्ध मैत्रीपूर्ण तथा सौहार्दपूर्ण रहेको र नेपालले स्वीट्जरल्याण्डसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिँदै आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “उच्च राजनीतिक नेतृत्व तथा कूटनीतिक तहमा भ्रमणको आदानप्रदान तथा संवाद, विकास सहयोग, जनस्तरको सम्बन्ध, लगानी तथा व्यापार, पर्यटन आदि नेपाल–स्वीट्जरल्याण्ड सम्बन्धका आधार स्तम्भ हुन् ।”

उहाँले नेपालको विकास पथमा मित्रराष्ट्र स्वीट्जरल्याण्डको निरन्तर साथ र सहयोग रहनेमा आशावादी रहेको बताउनुभयो । “नेपालको शान्ति प्रक्रियामा सुरुवाती चरणदेखि नै स्वीस सरकारको महत्वपूर्ण सहयोग रही आएको छ”, उपराष्ट्रपति यादवले भन्नुभयो, “यसका लागि म स्वीस सरकारलाई धन्यवाद व्यक्त गर्दछु ।”

उहाँले बहुपक्षीय मञ्चमा जलवायु परिवर्तनलगायतका अन्तर्राष्ट्रिय मुद्दाहरुमा स्वीट्जरल्याण्डको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै आपसी हितका विषयमा दुईपक्षीय र बहुपक्षीय मञ्चमा दुवै देशको सहकार्य निरन्तर कायम रहनेमा आफू आशावादी रहेको बताउनुभयो ।

“नेपाल सन् २०२६ मा अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा रहेकाले नेपाल सरकारले तदअनुसार तयारी गरिरहेको छ”, उहाँले भन्नुभयो, “यसका लागि हामी विकास साझेदारबाट स्रोत–साधन, प्रविधिलगायत आर्थिक साझेदारीको अपेक्षा गर्दछौँ ।”

भेटमा स्वीट्जरल्याण्डका राजदूत डेनियल म्यूली मोन्टेलियोनले नेपाल र स्वीट्जरल्याण्ड असलमित्र भएको जनाउँदै स्वीस सरकारले नेपालमा रहेको तीनै तहको सरकारलाई बलियो बनाउँदै सङ्घीयतालाई सबल र सुदृद्ध बनाउनमा सहयोगका लागि इच्छुक रहेको बनाउनुभयो । उहाँले स्वीस लगानीकर्तालाई नेपाल भित्र्याएर नेपालको विकासमा सहयोग पुर्याउने चाहनासमेत व्यक्त गर्नुभयो ।

मध्यपहाडी लोकमार्गको रुकुम खण्ड अवरुद्ध,रुकुमपूर्व हुँदै जाने सवारी साधन बिच बाटोमै रोकिए

त्रिवेणी (रुकुमपश्चिम)। मध्यपहाडी राजमार्गअन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा बुधबार साँझ पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

सडक अवरुद्ध भएसँगै रुकुमपूर्वबाट रुकुमपश्चिम, दाङ, नेपालगञ्ज जाने तथा रुकुमपश्चिमबाट रुकुमपूर्व हुँदै बागलुङ, पोखरा र काठमाडाँै जाने सवारी साधन रोकिएका रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिनुभयो । सडकमा ठूलो पहिरो खसेका कारण तत्काल सडक सञ्चालन गर्न समस्या भएको छ । बाटो खोल्ने प्रयास जारी रहेको उहाँले जानकारी दिनुभयो । पानी नपरेमा आज दिउँसोसम्ममा सडक सञ्चालन हुनेछ ।

फिल्म ‘यो मन त मेरो नेपाली हो’ को गीत ‘तिम्रो आखै रसिलो’ सार्वजनिक

काठमाडौं । फिल्म ‘यो मन त मेरो नेपाली हो’ को गीत ‘तिम्रो आखै रसिलो’ सार्वजनिक भएको छ । द भ्वाइस अफ नेपालको स्टुडियो र बालाजु ल्याबमा खिचिएको गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ भने अस्मिता अधिकारी र सबिन सुबेदीको स्वर रहेको छ ।

रोशन श्रेष्ठ र आयुषा समाल फिचर्ड गीतमा कविराज गहतराजको कोरियोग्राफी छ । गीतमा ‘मेरो डान्स युनिभर्स’की विजेता खुशी कार्की, नारायण प्रधान, ‘डि आइडी’का टप टेन डान्सर नरेशवीर सिंह पनि फिचर्ड छन् । आयुषा ‘मेरो डान्स कप युएसए’ की फस्र्ट रनर अप हुन् ।फिल्म नेपालको झापा, इलाम साथै भारतको सिक्किम, दार्जिलिङ, जयगाउ पश्चिम बङ्गाल र अमेरिकामा खिचिएको छ । फिल्ममा भारत, मलेसिया, पोल्याण्ड, अस्ट्रिया, बेल्जियम, ट्युनिसिया, जर्मनी, साउथ अफ्रिकालगायतका देशको कलाकारको अभिनय छ ।

अमेरिका निवासी साहित्यकार मित्र प्रधान ९नर०को कथा र निर्देशन रहेको फिल्ममा ज्ञानबहादुर प्रधान ९रोशन०को निर्माण छ । फिल्मा रोशन श्रेष्ठ, विल्सनविक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन ‘मन्त्री’, सुबास भण्डारी, विजय सुब्बा, विजिता बर्देवा, देवराज राजवंशीलगायतको अभिनय रहेको छ ।पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतीमा मित्र प्रधान ९नर० प्रस्तुतकर्ता रहेको फिल्मले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गरेको छ । निर्देशक मित्रका अनुसार फिल्मले नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्व र नेपाली भाषाको गौरवसँगै नेपाली को हुन् भन्ने विषयबस्तुलाई उठान गर्न खोजेको छ ।

शिवम् अधिकारीको लेखनमा निर्माण भएको फिल्मले विश्वका विभिन्न देशहरुमा बसोबास गर्दै आएका नेपालीहरुले आफ्नो कला, संस्कार, संस्कृति बिर्सदै गएको हुँदा फिल्मको माध्यमबाट नेपाली भाषा प्रतिको आकर्षण, महत्व र इतिहास दर्साउन खोजिएको छ ।फिल्ममा दिपक शर्माको संगीत, सौरभ लामाको छायांकन, देव महर्जनको द्वन्द्व, समिर मियाँको भिएफएक्स र कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

अभिनेता नाजिर हुसेन बने एमडब्लूसीको ब्राण्ड एम्बेसडर

काठमाडौं । नेपाली ब्राण्ड मोबाइल वर्ल्ड क्यापिटल (एमडब्लूसी)काे ब्राण्ड एम्बेसडरमा नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता नाजिर हुसेन नियुक्त भएका छन् । एमडब्लूसीले बुधवारदेखि लागू हुने गरी अभिनेता नाजिरलाई ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको हो ।

एमडब्लूसीका अनुसार नाजिरलाई एक वर्षसम्मको लागि ब्राण्ड एम्बेसडरमा नियुक्त गरिएको छ । उनले कम्पनीका प्रडक्टहरूकाे विभिन्न तरिकाबाट प्रचार साथै बिक्री गर्नमा मद्दत गर्नेछन् । नाजिर पहिलोपटक एमडब्लूसीको ब्राण्ड एम्बेसडर बनेका हुन् ।

कार्यक्रममा बाल्दै अभिनेता नाजिरले एमडब्लूसीका प्रडक्ट उपयुक्त रहेको बताए । ‘इयरबड सबै भन्दा बढी प्रयोग गर्ने मध्ये म पनि एक हुँ, प्राय मेरो साथमा इयरबड भइराख्छ,’ उनले भने,‘एमडब्लूसीको ब्राण्ड एम्बेसडर बन्न पाउँदा खुशी छु ।’

सोही क्रममा कम्पनीले आफ्नो दुई वटा प्रडक्ट पनि सार्वजनिक गरेको छ । कम्पनीले इयरबडको नयाँ मोडल र २२.५ वाटको पावर बैंक बजारमा ल्याएको एमडब्लूसीका प्रमुख सुनिल जैसवाल जनकारी दिए । कम्पनीले एमडब्लूसी इयरबड प्रो (एमटी९९९) मोडलको इयरबड ल्याएको हो । एमआई, ओप्पो, भिभो, वनप्लस, ह्वावे र अन्य ब्रान्डका डिभाइसमा यो केबल सपोर्ट हुने कम्पनीले जनाएको छ ।

उक्त इयरबडको एमआरपी मूल्य ६ हजार ४९९ रुपैयाँ तोकेको छ । यद्यपि अहिले सो इयरबडको खरिदमा अफर चलिरहेको हुँदा बजारमा ३ हजार २९९ रुपैयाँमा उपलब्ध रहेको पनि जैसवाल जानकारी दिए । यस्तै, पावर बैंकको मूल्य भने ३ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्त झापामा नौ सय ४० जनालाई रोजगारी

काठमाडाैँ, १० साउनःआर्थिक वर्ष २०८०/८१ मा झापामा नौ सय ४० जनालाई प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत औसत ७८ दशमलव ६८ दिनको रोजगारी प्रदान गरिएको छ । अदक्ष श्रमिकलाई ७३ हजार नौ सय ६३ दिन रोजगारी दिइएको हो ।

भद्रपुर नगरपालिकाका रोजगार संयोजक टीकाराम पाण्डेका अनुसार जिल्लाका १५ वटै स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत रोजगारीको व्यवस्था भएको हो । जिल्लाभरका छ हजार दुई सय ५० जना सूचीकृत बेरोजगार भए पनि बजेट अभावले स्थानीय तहको प्राथमिकीकरण सूचीमा परेको व्यक्तिलाई मात्र रोजगारी दिइएको हो । रोजगारी प्राप्त नौ सय ४० श्रमिकले विभिन्न दुई सय ८६ आयोजनामा दैनिक रु छ सय ६८ का दरले ज्याला प्राप्त गरेको रोजगार संयोजक पाण्डेले बताउनुभयो ।

एक आर्थिक वर्षमा सरकारले तोकेको न्यूनतम पारिश्रमिक बराबरको आयभन्दा कम आय भएको र न्यूनतम एक सय दिनको रोजगारीमा संलग्न नभएको व्यक्ति स्थानीय तहको बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन आवेदन गर्नसक्ने प्रावधान छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना, नेपाल सरकारको स्रोेत र युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना, विश्व बैंकको ऋण सहयोगबाट स्थानीय तहमा आव २०७५/७६ देखि रोजगारीको प्रबन्ध हुँदै आएको छ ।

स्थानीय तह र सरकारी कार्यालयका सूचना अधिकारीहरू नै सूचनाबाट वञ्चित

चितवन। यहाँका स्थानीय तह र सरकारी कार्यालयका सूचना अधिकारीहरू नै सूचनाबाट वञ्चित हुने गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा बुधबार आयोजित सूचना अधिकारीहरूको बैठकमा सहभागी सूचना अधिकारीले आफूहरू नै सूचनाको पहुँचभन्दा बाहिर रहनुपरेको बताएका हुन् ।

भरतपुर महानगरपालिकाका सूचना अधिकारी मेनुका पण्डितले आफूभन्दा माथिल्लो तहबाट समयमा सूचना प्रवाह नहुँदा सञ्चारकर्मीले सूचना मागेका बेला तत्काल दिन नसकिने अवस्थस्था रहेको गुनासो गर्नुभयो ।

माडी नगरपालिकाका सूचना अधिकारी प्रवीण भण्डारीले जनप्रतिनिधि भएका निकायमा सूचनाको पहुँचसम्म पुग्न सूचना अधिकारीलाई कठिन भएको दुखेसो पोख्नुभयो ।

कालिका नगरपालिकाका सूचना अधिकारी प्रकाशचन्द्र पौडेलले सूचना अधिकारीलाई कतिपय सूचना सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि मात्र थाहा हुने गरेको उहाँले बताउनुभयो ।

कार्यालयको अन्य जिम्मेवारीसहित सूचना अधिकारीको भूमिकामा बस्दा निकै कठिन हुने गरेको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी इन्द्रमणि भण्डारीले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सूचना अधिकारी आफू कार्यरत कार्यालयको कार्य प्रकृतिअनुसार सम्बन्धित पदाधिकारीबाट सूचना लिने, उजुरी पेटिकाको नियमित व्यवस्थापन गर्न सुझाउनुभयो भने सहभागी पत्रकारले सरकारी निकायका सूचना पाउन कठिन भएको गुनासो गरेका थिए ।

काठमाडौँबाट मोटरसाइकलमा पोखरातर्फ गइरहेका दुईजनालाई शङ्का लागेर जाँच गर्दा…

दमौली (तनहुँ), १० साउन : स्रोत नखुलेको रु १२ लाख नगदसहित तनहुँबाट दुईजना पक्राउ परेका छन् । तनहुँको व्यास नगरपालिका–३ दुर्गामन्दिरस्थित सडकबाट जिल्ला प्रहरी कार्यालयले बुधबार उनीहरूलाई पक्राउ गरेको हो ।

उक्त कार्यालयका अनुसार रोल्पाको माडी गाउँपालिका–५ पासाबाङ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका–१० बस्ने २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुशान केसीलाई पक्राउ गरिएको होे । काठमाडौँबाट मोटरसाइकलमा पोखरातर्फ गइरहेका उनीहरूलाई शङ्का लागेर जाँच गर्दा उक्त नगद बरामद भएको हो ।

बेनी–जोमसोम सडकः बैसरीको भिरमा पहिरो रोकथाम गर्न ‘रक एङ्करिङ’

म्याग्दी। राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक दैनिक अवरुद्ध हुन थालेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमाना बैसरी अँधेरीखोलामा पहिरो रोकथामको काम थालिएको छ ।

म्याग्दीको उत्तरी क्षेत्र हँुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत बैसरीको सडकमा खस्ने पहिरो पन्छाएर थप खस्न नदिन ‘रक एङ्करिङ’ प्रविधि प्रयोग गरेर रोकथामको काम थालिएको हो ।

बेनी–जोमसोम–कोरला सडक आयोजना सबइन्जिनियर सोहनजङ्ग कार्कीले सडक माथिको पहाडमा ड्रिलिङ गरेर रड राखी, ढलानसहितको बेस बनाएर पहिरो रोकथामको काम थालिएको हो । रक एङ्करिङ गर्न ३० मिटर ‘ड्रिलिङ’ गरेर धमाधम रड राखिदैछ । पहाडमाथि पर्खाल बनाएर पहिरो रोक्ने संरचना बनाउन लागिएको सबइन्जिनियर कार्कीले बताउनुभयो ।

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी खण्डको ५० भन्दा बढी ठाउँमा पहिरो खस्ने, सहायक खोलाबाट आएको बाढीले बगाउने र कालीगण्डकीले कटान गर्ने समस्या छ ।

बैसरीलगायतका ठाउँको पहिराले स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्रीलाई आवतजावत गर्न समस्या भएको छ ।

गुणस्तरहीन खाद्य बिक्री गर्ने ३८ उद्योगविरुद्ध मुद्दा

काठमाडाैँ, १० साउनः खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले खाद्य स्वच्छता तथा गुणस्तर नियमनका क्रममा यहाँका ३८ उद्योगविरुद्ध मुद्दा दायर गरेको छ ।
उक्त कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा खाद्य ऐनविरुद्ध गुणस्तरहीन खाद्य तथा पेय पदार्थ उत्पादन गर्ने ३८ उद्योगविरुद्ध मुद्दा दायर गरेको हो ।

उक्त कार्यालयका प्रमुख ज्योति आचार्यका अनुसार ७७ उद्योगको अनुगमनपछि सङ्कलन गरिएको नमूना परीक्षणबाट ३८ उद्योगले गुणस्तरहीन वस्तु उत्पादन गरेका पाइएको हो ।

खाद्य ऐन २०२३ बमोजिम दूषित र न्यूनस्तर खाद्य पदार्थ उत्पादन, बिक्री वितरण गर्ने व्यवसायलाई पाँच वर्ष कैद वा रु ५० हजार जरिवाना वा दुवै सजाय हुने प्रावधान छ । यही साउन १९ गतेदेखि लागू हुने खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ ले दूषित खाद्य पदार्थ उत्पादन, बिक्री वितरण गर्नेलाई पाँच वर्ष कैद वा रु पाँच लाख जरिवाना वा दुवै सजाय हुने कडा प्रावधान छ ।

उक्त कार्यालयले गत आर्थिक वर्षमा २१ वटा उजुरी सम्बोधन गरेको थियो । मसीयुक्त पत्रपत्रिकामा खानेकुरा नराख्न, मासुलगायतपरिकार पकाएर खानुपर्ने खाद्य पदार्थमा सेन्थेटिक रङको प्रयोग नगर्न, फलफूल पकाउन प्रतिबन्धित क्याल्सियम, कार्बोहाड्रेडको प्रयोग नगर्न कार्यालयले अनुरोध गर्र्दै आएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री सिंहद्वारा जहाज दुर्घटनाप्रति दुःख व्यक्त

जनकपु-मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बुधबार भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले शोक विज्ञप्ति जारी गरी बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडान भरेको सौर्य एयरलाइन्सको जहान दुर्घटनामा ज्यान गुमाएका १८ जनाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।मुख्यमन्त्री सिंहले दुर्घटनाका कारण पहिचानगरी आगामी दिनमा यस्तो दुर्घटना हुन नदिनतर्फ सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराउनुभएको छ ।

विदेशी मुद्रासहित रसुवागढी नाकाबाट एकजना पक्राउ

रसुवा। गैरकानुनी ढङ्गले विदेशी मुद्रा चीनको स्वशासित क्षेत्र तिब्बततर्फ लैजान लागेको अवस्थामा रसुवागढी नाकाबाट एकजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी प्रमुख केशव भट्टराईका अनुसार रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ पाजुङ निवासी २२ वर्षीय नुर्पु तामाङलाई दुई सय डलरसहित पक्राउ गरिएको हो । भन्सार कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले निजलाई पक्राउ गरेको हो ।

विपद्को डरले वर्षायाममा रातभर निदाउँदिन : मुख्यमन्त्री पाण्डे

पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वर्षायाम लागेपछि रातभर निद्रा लाग्न छाडेको बताएका छन् । ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालय पर्वत शाखा र कुश्मा नगरपालिकाको आयोजनामा कुश्मामा सञ्चालित पाँचदिने राजयोग प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले विपद्को त्रासले रातभर निद्रा लाग्न छाडेको बताए ।

यस वर्षको मनसुन सुरु भएदेखि गण्डकी प्रदेशमा सबैभन्दा बढी मानवीय र भौतिक क्षति भएको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले भने, “जब रातमा वर्षा हुन्छ अनि भोलि बिहान कुन जिल्लामा के घटना घट्छ भन्ने भयले मन त्रसित हुन्छ ।” उनले प्रदेशवासी नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गर्दै सबै जिल्लामा सुरक्षा व्यवस्थापन चुस्त बनाइएको बताए ।

भारी वर्षापछिको बाढीपहिराका कारण गण्डकी प्रदेशमा धेरै सङ्ख्यामा मानवीय क्षति हुनुका साथै पशुचौपाया, घरगोठ, सडक, पुललगायतका भौतिक संरचनामा क्षति पुगेको बताउँदै मुख्यमन्त्री पाण्डेले उनीहरुको राहत र उद्धारका लागि सरकारले हरदम प्रयास गरेको बताए । उनले जिल्ला जिल्लाबाट राहत र उद्धारका सामग्रीका साथै बजेट माग भइरहेको भन्दै प्रदेश सरकारले आवश्यक सहयोगका लागि पहल गरिरहेको बताए ।

अर्को प्रसङ्गमा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशका सबै जिल्लाका विद्यालयमा नैतिक शिक्षाको पढाइ सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको बताए । पछिल्लो समय परिवार र समाजमा नैतिकता, संस्कार, रीतिरिवाजजस्ता प्रचलन हराउँदै गएको भन्दै उनले यसको जगेर्ना गर्नका लागि नैतिक शिक्षा अनिवार्य रुपमा पढाउनुपर्ने आवश्यकता देखिएको बताए ।

मुख्यमन्त्री पाण्डेले केन्द्रमा समीकरण फेरिएसँगै प्रदेश सरकारमा मन्त्रिमण्डल विस्तारको प्रक्रिया सुरु भएको र केही दिनमा एमाले र कांग्रेसको सरकार बन्ने दाबी गरे । साउन १३ गतेसम्म सञ्चालन हुने योग प्रशिक्षणमा वरिष्ठ राजयोग प्रशिक्षक राजु घलेले सकारात्मक सोच, शान्ति र खुसीको अनुभूति गर्ने विधि, आपसी सम्बन्धमा मधुरता, तनावमुक्त जीवनलगायत बारेमा प्रशिक्षण दिने भएका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विक, कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी, मोदी गाउँपालिकाका अध्यक्ष हीरादेवी शर्मा, वरिष्ठ योग प्रशिक्षक राजु घलेलगायतले सम्बोधन गरेका थिए ।

आँखै अगाडि विमान दुर्घटनाको कहालीलाग्दो दृश्य देख्नेहरुको बयान

काठमाडौँ । बुधबार बिहान झण्डै सवा ११ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक्कासी ठूलो आवाज सुनियो । त्यो आवाजसँगै विमानस्थलको पूर्वी छेउमा धुवाँको मुस्लोसहित आगोको ज्वाला दन्किएको देखियो । त्यतिबेला विमानस्थल वरपरको जमिन पनि थर्किएको थियो । यो भयानक दृश्यको साक्षी बनेका रामकुमार केसीले सौर्य एयरलाइन्स दुर्घटनाको घटना विवरण सुनाए ।

बानेश्वर निवासी केसी नियमित झै पसल खोलेर साथीभाइसँग गफिरहेका थिए । “सुरुमा डङ्ग आवाज सुनियो, के भएछ भनेर यसो अगाडि हेर्दा त धुँवाको मुस्लोसहित आगोको ज्वाला अगाडि नै आइसक्यो”, केसीले भने, “आगोको रापले पसल छोडेर भाग्नुपर्यो, साथीभाइबिच कोलाहल मच्चियो, डरले हातखुट्टा लगलग काँपे, पाइला चाल्न सकिएन, आवाज पनि निस्किएन । विस्तारै समालिएँ । नजिकै गएर हेर्दा त विमान दुर्घटना भएर घाइतेहरू घटपटाइरहेको दृश्यले झनै मन क्षत विक्षत भयो ।”

विमान दुर्घटनास्थलसँगै पेप्सिकोला खहरेस्थित जेजे मोटर पार्टस एण्ड ट्रेडिङ कम्पनीका सञ्चालक केसीले उक्त स्थानमा विगत छ वर्षदेखि सवारीसाधनको मोटर पार्टस तथा मर्मत पसल सञ्चालन गर्दै आएका रहेछन् ।

केसीले त्यो क्षण सम्झँदै भने– ‘आँखै अगाडि कहाली लाग्दो विमान दुर्घटनाको दृश्यले केसीको मनमा छटपटी बढ्यो । मुखबाट शब्द निस्केन । एक छिन त हात–खुट्टाले पनि काम गरेन ।’ भाग्यवस आफूहरू बाच्न सफल भएको उनले बताए । “धावनमार्ग नजिकको कन्टेनर र सँगैको झाडीसहितको कान्लामा नठोक्किएको भए उक्त जहाज सिधै बस्तीमा पस्ने थियो र हामीलगायत अरु धेरैको ज्यान जाने खतरा हुन्थ्यो धन्न बाँचियो”, केसीले भने ।

विमानले धावनमार्गसँगैको कन्टेनरमा ठक्कर दियो र भित्तामा बजारियो । आगोको मुस्लो र धुँवाले नजिक केही देखिएन । आगो लागेको करिब पाँच मिनेटमा दमकल आइपुग्यो । “जहाज माथिबाट जल्दै झरेको देखियो । आगो दन्कियो, आवास र गन्ध आइरहेको थियो”, केसीले भने । करिब २५ मिनेटमा आगो नियन्त्रणमा आयो र उद्धार गर्न सुरु भयो । घाइतेको उद्धार र शव निकालेर एम्बुलेन्समा हालियो । एम्बुलेन्सको आवास, मानिसको कोलाहलले दुर्घटनास्थलको माहोल भावविहोल थियो ।

समयमै दमकल पुगेको भए केहीलाई बचाउन सकिन्थ्यो कि भन्ने प्रत्यक्षदर्शीको अनुमान छ । सोही स्थानमा विगत डेढ वर्षदेखि थानापति वर्कसप सञ्चालन गर्दै आएका सुनिल शाहीलाई चाहि भुँइचालो गएजस्तो लाग्यो । यसो हेर्दा त विमान पो दुर्घटना भएको रहेछ ।

“पसलमा बसिरहेको थिएँ, भुँइचालोले जस्तो हल्लायो, जुरुक उठेर हेर्दा त आगोको मुस्लो देखे, आगोको रापले उभिन सकिएन पर गएर दुर्घटनास्थल नियाले”, उनले भने, “दृश्य हेर्दा कोही पनि बाँचेन भन्ने लाग्यो, उद्धार टोली ढिलोगरी पुगे । डाँडाबाट पानी हालेर दुर्घटनास्थलमा पानी पुग्न सकेन । मुख्य आगो लागेको ठाउँ थोरै टाढा थियो ।”

सिन्धुपाल्चोक घर भएका सवारीचालक सन्तोष खड्काले पनि विमान दुर्घटनाको साक्षी बने । उनले भने, “गाडीमा रङगरोघन गरिरहेका थियौँ, एक्कासी धुँवाको आगोको तापसँगै मुस्लो आयो, मुटु ढुकढुक भयो, जिउ काम्यो, हेर्दा खेरी डरमर्दो थियो । आगोको ताप सुरुमा दुई चार जना मानिस छटपटाइ रहेको देखियो, कोहीको आधा, जीउ कसैको हात घुट्टा छैन, केहीको टाउको थिएन । उद्धारमा ढिलाइ भएकाले धेरैको ज्यान बचाउन सकिएन ।”

सुमित कार्कीले पनि वर्कसपबाटै प्रत्यक्ष विमान दुर्घटनाको विभत्स दृश्यको साक्षी बने । “स्कुल बसमा कलर गर्दै थिए । एक्कासी ठूलो आवाजसहित आगो बलेको देखियो । दौडेर सुरक्षित ठाउँतिर गइयो, विमान जलिरहेको भिडियो पनि मोबाइलमा कैद गरियो । केही समयपछि दमकल र उद्धारकर्मी आए । सायद चाँडै आएको भए केहीको ज्यान बचाउन सकिन्थ्यो की !”, उनले भने ।

सप्तरीका सुरज पासवान पनि विमान दुर्घटना हुँदा नजिकैको धारामा हातखुट्टा धुँदै थिए । जहाज आवासहित ठोक्किएर आगो लागेको दृश्यले धेरैबेरसम्म बोल्न पनि सकेनन् । आगोको रापले भागाभाग भयो । “एउटा पाइलटले हात हल्लाएको देखे अरु जलेर चिन्न नसक्ने अवस्थामा थिए । हातखुट्टा लरबराए, धेरै डर लागेको छ ।”

विमान दुर्घटनास्थल नजिकको न्यू संयुक्त अटो वर्कसपमा कार्यरत मजदुर विमान दुर्घटनाका साक्षी बने । त्यहाँको सम्पूर्ण घटनाक्रम नियाले । अनि मोबाइलमा तस्बीर र भिडियो कैद पनि गरे । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सौर्य एयरलाइन्सको सिआरजे ७ (९एन–एएमइ) कलसाइन विमान आज स्थानीय समयअनुसार बिहान ११ बजेर ११ मिनेटमा पोखरा उडानको क्रममा उड्ने वित्तिकै दुर्घटनाग्रस्त भएको थियो ।

चालकदलसहित १९ जना सवार उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थको धावनमार्ग ०२ बाट उडान गर्ने वित्तिकै दाहिने मोडिन गई धावनमार्गको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त भई १८ जनाको मृत्यु हुनका साथै एक जना घाइते भएका छन् । घाइतेको सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाबारे प्राधिकरण के भन्छ ?

अन्तर्राष्ट्रिय विमानस्थलमा टावर नजिकै भएको दुर्घटनाले विभिन्न संशय उब्जाएको छ । मिडिया र सामाजिक सञ्जालमा विमान दुर्घटनाबारे विभिन्न विषयहरु आइरहेका छन् । यता नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटनाका कारणबारे अहिले नै केही भन्न नसकिने बताएको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले विमान दुर्घटना के कसरी भयो भन्ने कुरा अत्यन्त प्राविधिक विषय भएकाले अहिले अनुमानका आधारमा भन्न नसकिने बताए । हल्ला भए जस्तो विमान पुरानो वा समयमै मर्मत नभएको भन्नेकुरामा सत्यता नरहेको उनले स्पष्ट पारे । “विमानको धेरै प्रकारको चेक हुन्छ, निश्चित घण्टा, निश्चित साइकल, ल्याण्डिङपछि गरिने चेक हुन्छ”, सूचना अधिकारी भूलले भने, “विमानको छुट्टै आयु हुँदैन, विभिन्न पार्टको आयु हुन्छ, कुन पार्टस कति सयम अवधिपछि परिवर्तन गर्ने भन्ने हुन्छ ।”

दुर्घटनाग्रस्त विमान ‘एयर ओर्दिनेस’ २०२५ सम्म ‘भ्यालिड’ भएको विमान हो । अहिले पनि एक सय १९ घण्टा ‘फ्लाईङ आवर’ बाँकी छदैँ समयमै मर्मतका लागि पोखरा पठाउन लागिएको थियो । इञ्जिनियरले २० देखि २५ दिनको विमानको सम्पूर्ण पार्टसको मर्मत (सी–चेक) गर्नका लागि विमान लगिँदै थियो । सूचना अधिकारी भूलका अनुसार दुर्घटनाको प्राविधि होकी मानवीय कारण भनेर अध्ययन नगरी भिन्न सकिँदैन ।

एक सय आठ दुर्घटनामा नौ सय ५९ को मृत्यु
प्राधिकरणका अनुसार नेपालको हवाई उडानको इतिहासमा हालसमम सबै प्रकारका वायुयानगरी एक सय आठ दुर्घटना भएका छन् । ती दुर्घटनामा परी नौ सय ५९ जनाको मृत्यु भएको छ । दुर्घटनामध्ये विदेशी दर्ता विमान १० दुर्घटनमा तीन सय ७९, हेलिकोप्टरतर्फ ३९ दुर्घटनामा ९२ जनाको मृत्यु, सिङ्गल इन्जिन विमानको आठ वटा दुर्घटना हुँदा २५ जना र ‘फिक्स विङ्ग’ विमान ५० वटा दुर्घटना हुँदा चार सय ५१ जनाको मृत्यु भएको छ ।

के हो सी–चेक ?

सौर्य एयरलाईन्सको सीआरजे ७०० ९ एन–एएमई विमान ‘विमानको सम्पूर्ण चेक पार्टसको चेक’ (सी–चेक) का लागि इञ्जिनियरसहितको टोली लिएर पोखरा जाँदै थियो । उक्त विमान धावनमार्गबाट उड्ने वित्तिकै दुर्घटनाग्रस्त भयो ।

हरेक दुई वर्षमा सी–चेक गरिन्छ । कम्पनीसँग यही सिरिजका तीन विमान थिए । एक दुर्घटना र एक जहाज ग्राउन्डेड रहेकाले अब एक मात्रै उडानमा हुनेछ । हाल भद्रपुर र विराटनगरमा दैनिक समान तीन उडान गरिरहेको थियो । सी–चेकका लागि इञ्जिनियरहरुसहितको टोली विमान दुर्घटनामा परेको हो ।

उक्त वायुयान दुर्घटनाको सत्यतथ्य जाँचबुझ गरी प्रतिवेदन पेस गर्न सरकारले आजै पाँच सदस्यीय दुर्घटना जाँचबुझ आयोग गठन गरेको छ । प्राधिकरणका अनुसार वायुयानलाई दुरुस्त राख्न तोकिएको समयमा तोकिएको परीक्षण नियमित हुने गरे–नगरेको बारे अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) ले हरेक मुलुकका नियामक निकायलाई सचेत गराइरहेको हुन्छ । नियामक निकायले यसको पनि विवरण राखी त्यस्तो परीक्षण सुनिश्चित गरिरहेको हुन्छ ।

दुर्घटनाको कारण प्राविधिक अध्ययनपछि मात्रै थाहा हुन्छ : पर्यटनमन्त्री

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले दुःखद् विमान दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाईतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले मृतकका परिवारमा समवेदना व्यक्त गरेका छन् ।

उनले विमान दुर्घटना नितान्त प्राविधिक विषय भएकाले के कारणले दुर्घटना भएको दुर्घटना जाँच आयोगको अध्ययन पछि नै बाहिर आउने स्पष्ट पारे । “प्राविधिक विषयमा चाँडो प्रतिक्रिया दिन मिल्दैन, प्राविधिक अध्ययनपछि मात्रै भन्न सकिन्छ, तथ्य, घटनाक्रम र प्राविधिक त्रुटि भएमा अध्ययनपछि पुष्टि हुन्छ”, पर्यटनमन्त्री पाण्डेले भने ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले दुःखद् दुर्घटनाले मर्माहत बनाएको भन्दै आगामी दिनमा यस किसिमका घटना हुन नदिन सबै जिम्मेवार निकाय गम्भीर बन्नुपर्ने बताए । उनले भने, “दुःखद् दुर्घटना भयो, कन्टेनरमा नठोकिएको भए अझ धेरै क्षति हुने रहेछ, यस्तो दुःखद् दुर्घटनाबाट पाठ सिकेर आगाी दिनमा सबै संयन्त्रलाई चुस्त र प्रभावकारी बनाउन जरुरी छ ।”

विश्व सम्पदास्थल स्वयम्भूमा वृक्षारोपण

काठमाडौँ, १० साउनः विश्व सम्पदास्थल स्वयम्भू क्षेत्रमा एक हजार बिरुवा रोपिएका छन् । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिद्वारा बुधबार धुपी, चाँपलगायत १२ प्रजातिका बिरुवा रोपिएका हुन् ।

जिल्ला वन डिभिजन कार्यालय, यामाहा बी फार्म एण्ड योकोहामा सिटी युनिभर्सिटी अफ जापानको समन्वयमा भएको वृक्षारोपण कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, महासमितिका पदाधिकारी र कर्मचारीले बिरुवा रोपेका थिए ।

काठमाडौँ–१५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले भूक्षय नियन्त्रणमा वृक्षारोपण महत्त्वपूर्ण हुने तथा स्वयम्भू क्षेत्रमा हरियाली कायम गर्न सहयोग पुग्ने बताउनुभयो ।

महासचिव अशोक बुद्धाचार्यले स्वयम्भू चैत्यको रु ५० लाखको लागतमा जीर्णोद्वार सम्पन्न गरिएको जानकारी दिँदै यस क्षेत्रमा आयोजना हुने परम्परागत मेला पर्वलाई अझ व्यवस्थित रूपमा सञ्चालन गर्ने योजना सुनाउनुभयो ।

विमान दुर्घटनामा परी १८ जनाको निधन भएकोप्रति बागमती प्रदेश प्रमुख शर्माले गरे शोक व्यक्त

बागमती । सौर्य एयरको विमान दुर्घटनामा परी १८ जनाको निधन भएकोप्रति बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले शोक व्यक्त गरेका छन् ।बुधबार शोक विज्ञप्ति जारी गर्दैं उनले विमान दुर्घटनामा परी निधन भएकाप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेका हुन् ।

बुधबार बिहान काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको त्रिभुवन अन्तर्राष्ट्रिय विमान विमानस्थल क्षेत्रमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । उक्त विमानका पाइलट मनिष शाक्य गम्भीर घाइते भएका छन् । उनको हाल काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । रासस

खोटाङको पेलुङमा अस्थायी प्रहरी चौकी स्थापना

काठमाडौँ, १० साउन : समाजमा शान्ति, सुव्यवस्था कायम गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित पेलुङमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । अस्थायी प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा छजनाको टोली खटाइएको खोटाङ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताउनुभयो ।

निर्मलीडाँडाको व्यापारिक केन्द्र पेलुङमा अस्थायी प्रहरी चौकी स्थापना भएसँगै निर्मलीडाँडा र बाँझेच्यानडाँडाका बासिन्दाले शान्ति, सुरक्षाको महसुस गरेका वडाध्यक्ष दिनेशकुमार कठेतले बताउनुभयो ।

मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–भाजपुर सडकखण्डको पेलुङमा स्थापना गरिएको प्रहरी चौकी बुधबार प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले उद्घाटन गर्नुभयो । कार्यक्रममा जिल्लास्थित तीनवटै सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, शिक्षक, वुद्धिजीवी, समाजसेवी, स्थानीय बासिन्दाको उपस्थिति थियो ।

सोही कार्यक्रममा प्रहरी चौकी भवन निर्माणका लागि स्थानीय समाजसेवी केशरमान राई र अर्थमान राईले दुई÷दुई रोपनी जग्गा उपलब्ध गराउनुभएको हो । जग्गादाता राईद्वयलाई सम्मान गरिएको थियो ।

दश स्थानीय तह रहेको खोटाङमा निर्मलीडाँडासँगै २३ स्थानमा प्रहरी चौकी स्थापना भएका छन् । दुई नगरपालिका र आठ गाउँपालिकाको ७९ वडा रहेको जिल्लामा जिल्ला प्रहरी कार्यालय, छवटा इलाका प्रहरी कार्यालय, तीनवटा विमानस्थल सुरक्षा गार्ड, पाँचवटा अस्थायी प्रहरी सहायता कक्ष तथा एक पर्यटक प्रहरी सहायता कक्ष सञ्चालनमा छन् ।

विश्व बैङ्क, एफएओद्वारा दक्षिण सुडानमा जलवायु लचिलोपन परियोजना सुरु

जुबा। दक्षिण सुडान, विश्व बैङ्क र संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले बाढी र अन्य प्रकोपको जोखिमका बीच किसानहरूको जलवायु लचिलोपन निर्माण गर्न प्रयासहरू तीव्र पारेको मङ्गलबार बताएको छ ।

तीन वर्षे उक्त परियोजनाले आयोजक समुदायमा बाढीबाट प्रभावित ९८ हजार घरपरिवार, ४० हजार फर्किएका र पाँच हजार शरणार्थीहरू सहित एक लाख ४० हजार भन्दा बढी घरपरिवारलाई फाइदा पु¥याउने लक्ष्य राखेको एफएओले दक्षिण सुडानको राजधानी जुबामा जारी संयुक्त विज्ञप्तिमा जनाएको छ ।

तीन करोड अमेरिकी डलरको अनुदानसहितको यस परियोजनाले किसान, माछुवा र पशुपालकहरू बीच राम्रो कृषि अभ्यास, कृषि वन र प्राकृतिक स्रोत व्यवस्थापन सीपहरूलाई समर्थन गर्ने लक्ष्य राखेको छ ।

सबैभन्दा जलवायु–संवेदनशील देशमध्ये एक दक्षिणी सुडान चार वर्षदेखि अत्यधिक बाढीसँगै जलवायु परिवर्तनको झटकाबाट पीडित छ

देशमा पहिले नै डरलाग्दो खाद्य सुरक्षा अवस्थामा सुडानमा युद्धबाट भागेर फर्केका र शरणार्थीहरूको आगमनसँगै अत्यधिक बाढीको प्रभावले मानिसहरूलाई भोकमरी र विपन्नताको ठूलो जोखिममा पार्ने एफएओले बताएको छ । सिन्ह्वा

‘सूचना मागेपछि महालेखापरीक्षकको वेबसाइटमा स्थानीय तहको बेरुजु विवरण राख्न थालियो’

काठमाडौँ। राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक प्रयोग गरेपछि मात्रै स्थानीय तहको बेरुजुसम्बन्धी विवरण महालेखापरीक्षकको कार्यालयले वेबसाइटमा राख्न थालेको बताउनुभएको छ ।

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले आयोजना गरेको सूचनामा दिगो पहुँच कार्यक्रमअन्तर्गत प्रशिक्षक प्रशिक्षण निर्देशिका, २०८१ को पाठ्यक्रमसम्बन्धी छलफल कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । महालेखापरीक्षकको कार्यालयले पहिले स्थानीय तहको बेरुजुसम्बन्धी विवरण वेबसाइटमा राख्ने गरे पनि नकारात्मक सन्देश गएको भन्ने दबाबका आधारमा बन्द गरेकामा सूचनाको हक प्रयोग गरेर माग हुन थालेपछि आयोगकै निर्देशनमा फेरि राख्ने व्यवस्था भएको उहाँले जानकारी दिनुभयो ।

दिगो विकास लक्ष्यमा पनि सूचनाको हक रहेको उल्लेख गर्नुुुहुँदै प्रमुख आयुक्त गुरुङले सुशासन स्थापनाका लागि औजारका रूपमा यसको उपयोग भइरहेको बताउनुभयो । सूचनाको हकसम्बन्धी कानुन सबै सार्वजनिक निकायमा लागू हुने भएकाले पनि यसको प्रभावकारिता बढिरहेको उहाँको भनाइ छ ।

आयोगका पूर्वप्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हकलाई नागरिक कर्तव्यका रूपमा अघि बढाउनुपर्ने भन्नुहुँदै लोक सेवा आयोगको तयारीका क्रममा सूचनाको हक पढेर उत्तीर्ण भएकाहरूले प्रशासकीय अधिकृत भएर गएपछि सूचना लुकाउने प्रवृत्तिको अन्त्य गरिनुपर्नेमा जोड दिनुभयो । श्रीलङ्कामा सूचना नदिनेलाई सूचना आयोगले नै दुई वर्ष जेलमा राख्न सक्ने कानुनको व्यवस्था भएकाले प्रभावकारी भइरहेकाले नेपालमा पनि यस्तै व्यवस्था गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रशिक्षक प्रशिक्षणका लागि पाठ्यक्रमका लागि विज्ञको रूपमा काम गरिरहनुभएका प्राध्यापक चीरञ्जीवी खनालले हरेक समुदायलाई सूचनाको हक बुझाउने गरी पाठ्यक्रम निर्माण भइरहेको जानकारी दिनुभयो । सूचनाको हक कार्यान्वयनका लागि पाठ्यक्रमले सहयोग गर्ने उहाँको भनाइ थियो ।

पाठ्यक्रम निर्माणमा सक्रिय वरिष्ठ पत्रकार कपिल काफ्लेले भ्रष्टाचारविरुद्ध सशक्त औजारका रूपमा सूचनाको हक प्रयोग हुन नसकेकाले भ्रष्टाचार बढिरहेको बताउनुभयो ।

महासङ्घका अध्यक्ष उमीद बागचन्दले विगतमा सूचनाको हकसम्बन्धी प्रशिक्षणका नाममा कानुनमात्र पढाउने गरिएकामा पाठ्यक्रम बनाएर व्यवस्थित रूपमा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । विषय विज्ञको सहायता लिई बनाइएको पाठ्यक्रमका आधारमा एक हप्तापछि नै तालिम दिइने उहाँले जानकारी दिनुभयो ।

पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी , कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी ,बागमती प्रदेश,गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी ,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिराको जोखिमबाट बच्न अनुरोध गरेको छ ।

साथै विभागले ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन पनि सम्बद्ध सबैमा आग्रह गरेको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री सिंहद्वारा जहाज दुर्घटनाप्रति दुःख व्यक्त

जनकपुर, ९ साउन : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले शोक विज्ञप्ति जारी गरी आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडान भरेको सौर्य एयरलाइन्सको जहान दुर्घटनामा ज्यान गुमाएका १८ जनाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

मुख्यमन्त्री सिंहले दुर्घटनाका कारण पहिचानगरी आगामी दिनमा यस्तो दुर्घटना हुन नदिनतर्फ सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराउनुभएको छ ।

सौर्य एयरको विमान दुर्घटनाप्रति राप्रपाद्वारा दुःख व्यक्त

काठमाडौँ, ९ साउन : आज बिहान भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दुःख व्यक्त गरेको छ ।

पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले आज एक शोक विज्ञप्ति जारी गरी १८ जनाले अकालमा ज्यान गुमाउने गरी भएको जहाज दुर्घटनाले राष्ट्रिय प्रजातन्त्र पार्टी स्तब्ध भएको उल्लेख गर्नुभयो ।

चितवनको सिमलटारमा बस दुर्घटनामा करिब ६५ यात्रुसहितको अवस्था अज्ञात रहेको दुःखदायी घटनाबाट बाहिर निस्कन नपाई अर्को अकल्पनीय हवाइ दुर्घटना हुनु अत्यन्तै पीडादायी भएको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी राप्रपाले दुर्घटनामा आफन्तजन गुमाउन पुगेका परिवारजनप्रति समवेदना र दिवङ्गतप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते हुनुभएका क्याप्टेन मनिषरत्न शाक्यको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।

यसैगरी समस्याको दीर्घकालीन समाधानका लागि पनि सरकारको ध्यानाकर्षण गराइएको छ । विज्ञप्तिमा भनिएको छ,“सडक तथा हवाई दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या निरन्तर बढिरहेको अवस्थामा यसको दीर्घकालीन समाधान नखोजी दुर्घटना जॉंचबुझ आयोग बनाइ प्रतिवेदन लिने र त्यसपछि थप कारबाही नगरी बस्ने प्रवृत्ति देखिएको छ । दुर्घटना पश्चात् सरकारद्वारा जॉचबुझ आयोग गठन गर्ने काम स्वागतयोग्य भए पनि यसले मात्र दीर्घकालीन समस्या समाधान गर्दैन । युरोपियन युनियनको ‘सेफ्टी अडिट’ मा सुधार गर्न दिएका सुझावलाई आलटाल गर्ने प्रवृत्ति अहिलेको दुर्घटनाको मुख्य कारक हो । तसर्थ, सरकार, नेपाल नागरिक उड्डयन प्राधिकरण र वायु सेवा सञ्चालक सबैले आआफ्नो जिम्मेवारी निर्वाहमा कठोरतापूर्वक लाग्न र नेपाल सरकारले तत्काल नेतृत्व लिन सरकारको ध्यानाकर्षण गराउँदछौँ ।”

कोशी प्रदेश मन्त्रीपरिषदद्वारा प्रदेश निजामती सेवा नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय

विराटनगर, ९ साउन : कोशी प्रदेश मन्त्रीपरिषद् बैठकले प्रदेश निजामती सेवा नियमावली, २०८१, कोशी प्रदेश गुनासो व्यवस्थापन निर्देशिका, २०८१ लाई स्वीकृत गर्नेलगायत चारवटा निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज बसेको बैठकले उक्त निर्देशिका स्वीकृत गरेसँगै नागरिकको प्रदेश सरकारप्रतिको जिज्ञासा र सूचना माग गर्ने मौलिक हकलाई सुरक्षित गरिएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले बताउनुभयो । “कोशी प्रदेशवासीले सरकारका विषयमा जिज्ञासा राख्न पाउने र सूचना माग्न पाउने मौलिक हक यो निर्देशिकाले थप सुनिश्चित गरेको छ”, उहाँले भन्नुभयो ।

बैठकले प्रदेश किताब खाना कार्य सञ्चालन निर्देशिका, २०८० र राहत वितरणसम्बन्धी मापदण्डको दोस्रो संशोधनलाई स्वीकृतसमेत गरेको छ । यसअघि प्राकृतिक तथा दैविक प्रकोपबाट एकैघरका जतिजनाको मृत्यु भए पनि राहतस्वरुप रु एक लाखमात्रै दिन पाउने व्यवस्था रहेकामा मापदण्ड संशोधन गरेपछि प्राकृतिक विपत्ती तथा आगलागीजन्य प्रकोपमा परी मृत्युभएका व्यक्तिलाई जनही रु एक लाख दिने र एकैपरिवारका धेरै सदस्यको मृत्यु भएमा थप प्रतिव्यक्ति रु ५० हजार दिइने मन्त्रीपरिषद्को बैठकले निर्णय गरेको मन्त्री अधिकारीले जानकारी दिनुभयो ।

आजको हवाई दुर्घटना सम्झदै भावुक बने प्रधानमन्त्री ओली, भने – अब यस्तो कहिल्यै नहोस्

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज भएको विमान दुर्घटनामा घाइते भएका क्याप्टेन मनीषरत्न शाक्यलाई भेट गरेपछि भावुक स्टाटस लेखेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत अब यस्तो कहिल्यै नहोस् भन्दै दुर्घटनामा परेर ज्यान गुमाएकाको शोकमा भोलि झण्डा आधा झुकाउने निर्णय गरिएको जानकारी दिएका छन् ।

उनले लेखेका छन् – ‘अब यस्तो कहिल्यै नहोस् ! बिहानको हवाई दुर्घटनामा परी घाइते हुनु भएका क्याप्टेन मनीषरत्न शाक्यको स्थिति बुझ्न केहीबेर अगाडि केएमसी अस्पतालमा पुगेर फर्किएँ । उहाँलाई आइसीयुमा उपचार गरिएको छ। चिकित्सक र परिवारजनसँग उहाँको अवस्थाबारे जानकारी लिएँ । उहाँ खतरामुक्त हुनुहुन्छ। सरकारले दुर्घटनामा परेर ज्यान गुमाएकाको शोकमा भोलि झण्डा आधा झुकाउने निर्णय गरेको छ र दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ।’

उपप्रधानमन्त्री सिंहद्वारा बागमती नदी किनारमा बनेका पूर्वाधार संरक्षण र प्रयोगमा ल्याउन निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बागमती नदी किनारमा बनेका पूर्वाधार संरक्षण र प्रयोगमा ल्याउन निर्देशन दिनुभएको छ ।

आज उहाँले गुह्येश्वरीस्थित अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यालयमा पुगेर कामकारबाहीबारे जानकारी लिएपछि निर्माण गरिएका संरचनाको संरक्षण र प्रयोगमा ध्यान दिन निर्देशन दिनुभयो । “ढल निकासका लागि संरचना त बन्छन् तर प्रयोगमा किन आइरहेका छैनन् ? यसलाई सच्याउनुपर्‍यो । तत्काल गर्न सकिने काम अहिले गरौँ । संरचना निर्माणसँगै त्यसको प्रयोगका विषयमा पनि ध्यान दिनुपर्‍यो”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।

गोकर्णेश्वरदेखि गुह्येश्वरीसम्म बनेका पार्कहरूको दुरावस्था रहेकाले तिनको संरक्षण र रेखदेखमा ध्यान दिन समितिलाई निर्देशन दिनुहुँदै उहाँले बागमतीमा बाह्रै महिना पानी बगाउनुपर्नेमा पनि जोड दिनुभयो । “बागमतीमा बाह्र महिना नै पानी बगाउनेबारे हामीले सोच्नुपर्छ । सम्बन्धित निकायसँग समन्वय गरेर त्यसलाई अघि बढाऔँ । बाधा अड्चन छ भने त्यसलाई हटाउनका लागि मन्त्रालय सहजीकरण गर्न तयार छ”, उपप्रधानमन्त्री सिंहको भनाइ थियो ।

बागमतीभन्दा कुरूप भइसकेका नदीलाई विभिन्न देशले सुधार गरेर स्वच्छ पानी बगाएको उदाहरण दिनुहुँदै उहाँले बागमती नदीको स्वच्छता काम गर्न सरकारले प्रभावकारी योजना ल्याउनेसमेत धारणा राख्नुभयो ।

परराष्ट्रमन्त्री डा राणासँग यूएइ र इजरायली राजदूतको शिष्टाचार भेट

काठमाडौँ, ९ साउन : परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि संयुक्त अरब इमेरेट्सका राजदूत अब्दुल्ला अल सामसीले आज परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ ।त्यस भेटका अवसरमा द्विपक्षीय सम्बन्ध र पारस्परिक चासोका विविध विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आजै मन्त्री डा राणासँग नेपालका लागि इजरायली राजदूत हानान गोदर गोल्डबर्गरले पनि शिष्टाचार भेट गर्नुभयो । परराष्ट्र मन्त्रालयमा भएको सो भेटमा नेपाल इजरायल सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

महानिरीक्षक कुँवरद्वारा एआइजी डा सिंहको बिदाइ

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी सेवाबाट सेवानिवृत्त हुन लागेकी प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) डा आशा सिंहलाई बिदाइ गरेका छन् ।

बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उनले सेवानिवृत्त हुन लागेकी प्रहरी अतिरिक्त महानिरीक्षक डा सिंहले नेपाल प्रहरी अस्पतालको संस्थागत विकास एवं सुदृढीकरणका लागि सङ्गठनबाट सुम्पिएका हरेक जिम्मेवारी उत्कृष्ट रूपमा निर्वाह गरेको बताए ।

सरोकारवाला निकायको समन्वयमा शैक्षिक तथा स्वास्थ्य सेवाको विस्तारलगायत नीतिगत निर्णयबाट साङ्गठनिक सुधारका क्षेत्रमा उपलब्धिमूलक काम भएको उनले उल्लेख गरे ।

महानिरीक्षक कुँवरले सेवानिवृत्त जीवनपश्चात् पनि सङ्गठनको हितका लागि सदैव रचनात्मक सल्लाह, सुझाव एवं सहकार्य निरन्तर प्राप्त हुने विश्वास व्यक्त गरे । बिदाइ कार्यक्रममा डा सिंहले आफ्नो सेवा अवधिमा गरेका अनुभवसहितको मन्तव्य राख्दै सङ्गठनका लागि सधैँ सहयोग जारी रहने बताइन् ।

डा सिंह विसं २०५२ माघ १८ गते प्राविधिक प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेकी थिइन् । प्रहरी अतिरिक्त महानिरीक्षक सिंह उमेर हदका कारण भोलि साउन १० गते सेवानिवृत्त हुँदैछिन् ।

द्रुतमार्गको सुरुङमा काम गर्नेक्रममा ढुङ्गा लागेर एक मजदुरको मृत्यु, एक घाइते

हेटौँडा – मकवानपुरको बकैयामा काठमाडौँ निजगढ द्रुतमार्गको सुरुङमा काम गर्ने क्रममा ढुङ्गा लागेर एक मजदुरको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

आज दिउँसो मकवानपुरको बकैया–१२ स्थित चालिसेडाँडामा काम गर्ने क्रममा ढुङ्गा लागेर बारा निजगढका अन्दाजी २७/२८ को विमल थिङको ज्यान गएको र उनीसँगै काम गर्ने तनहुँका अन्दाजी २७/२८ वर्षीय राजु विक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

थिङको घटनास्थलमै ज्यान गएको थियो । गम्भीर घाइते विकको हेटौँडा–११ मा रहेको सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरी प्रमुख सीताराम रिजालले जानकारी दिए ।

सहिद मुकेश कायस्थको परिवारलाई सुविधा दिलाउने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं – गृहमन्त्री रमेश लेखकले सहिद मुकेश कायस्थको परिवारले राज्यबाट पाउनुपर्ने सुविधा दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।बुधबार गृह मन्त्रालयमा भेट्न पुगेकी मुकेशकी आमा मिरा कायस्थसँग गृहमन्त्री लेखकले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।

“सङ्घीय लोकतन्त्रिक गणतन्त्र स्थापनामा सहिद मुकेश कायस्थको योगदान छ । राज्यबाट पाउने सुविधा दिलाउने मेरो प्रतिबद्धता भयो । म यसमा लाग्छु”, गृहमन्त्री लेखकले भने ।

दोस्रो जनआन्दोलन (२०६२–६३) का घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको गतवर्ष वैशाख २७ गते निधन भएको थियो । तत्कालीन सरकारले जेठ २ गते मुकेशलाई सहिद घोषणा पनि गरेको थियो ।

मुकेशलाई २०७८ सालमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संयोजक रहेको लोकतन्त्रका योद्धा, अभिलेखीकरण तथा सम्मान समितिले जनआन्दोलनमा खेलेको योगदानको उच्च मूल्याङ्कन गर्दै ‘लोकतन्त्रका योद्धा’ सम्मान प्रदान गरेको थियो ।

पर्यटन मन्त्रालयद्वारा विमान दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जली, मन्त्री पाण्डेद्वारा घटनास्थलको निरीक्षण

काठमाडौँ, ९ साउन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी विमान दुर्घटनाका सम्पूर्ण मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । साथै दुर्घटनामा घाइते हुनुभएका विमान चालक दलका सदस्यको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

काठमाडौँबाट पोखरा उडानको क्रममा सौर्य एयरलाइन्सको नाइन एए–एएमइ कलसाईन रहेको १९ जना सवार (चालक दलसहित) विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थको धावनमार्ग ०२ बाट उडान गर्ने वित्तिकै दाहिने मोडिन गई धावनमार्गको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त भई १८ जनाको मृत्यु हुनका साथै एक जना घाइते भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उक्त वायुयान दुर्घटनाको सत्यतथ्य जाँचबुझ गरी प्रतिवेदन पेस गर्न सरकारले आजै पाँच सदस्यीय दुर्घटना जाँचबुझ आयोग गठन गरेको छ ।यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले दुर्घटनाको खबर पाएलगत्तै घटनास्थल निरीक्षणका साथै आवश्यक जानकारी लिनुभएको थियो । उहाँले दुर्घटनाबाट आफू र मन्त्रालय परिवारलाई मर्माहत बनाएको बताउनुभएको थियो ।

यसैबीच खानेपानीमन्त्री प्रदीप यादवले पनि आज एक शोक विज्ञप्ति जारी गरी उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । उहाँले दुर्घटनामा दिवङ्गत हुनुभएका प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

काठमाडौँ जिल्ला अदालत : मुद्दा फर्छ्योट दरमा सुधार

काठमाडौँ, ९ साउन : जिल्ला अदालत काठमाडौँले २०८०/८१ मा मुद्दा फर्छ्योट दरमा तुलनात्मक रुपमा सुधार गरेको छ । यस आर्थिक वर्षमा २३ हजार दुई सय ९१ (४६ दशमलव ७४ प्रतिशत) मुद्दा फर्छ्योट गरेको छ ।

आव २०७९/८० मा १५ हजार पाँच सय २८ (४२ दशमलव १८ प्रतिशत) मुद्दा फर्छ्योट गरेको थियो । आव २०८०/०८१ मा ४९ हजार आठ सय २७ मुुद्दा रहेकामा फर्छ्योट गर्न बाँकी २६ हजार पाँच सय ३६ मुद्दा रहेका छन् ।

जिल्ला न्यायाधीश कमलप्रसाद पोखरेलले मुद्दा फर्छ्योटमा तीव्रता दिने उद्देश्यले काम गर्दागर्दै पनि मुद्दाको चाप बढी र न्यायाधीशको सङ्ख्यामा कमीका कारण नसकिएको भए पनि गत वर्षको तुलनामा सुधार भएको बताउनुभयो ।

“गत वर्षभन्दा यस वर्ष बढी मुद्दा फछ्र्योट भएको छ, ४६ जनाको दरबन्दी भए पनि ३१ जना न्यायाधीशले मात्रै काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “अदालतबाट समयमै न्याय पाइन्छ भनेर जनआस्था वृद्धि गर्न छिटो न्याय दिनका लागि प्रयन्तरत छौँ ।”

सर्वोच्च अदालतको निर्णयअनुसार काठमाडौँ अदालतले पनि यही साउन १ गतेदेख स्वचालित प्रणाली (अटोमेसन) बाट पेशी व्यवस्थापन कार्य प्रारम्भ गरेको छ ।

उक्त अदालतले यस आर्थिक वर्षमा छ हजार पाँच सय ५८ मुद्दा फर्छ्योट गरेको छ । दुई वर्ष नाघेका मुद्दामा जिम्मेवारी सरेर आएका मुद्दामा तीन हजार १५ थियो भने यस आवमा एक हजार आठ सय ८६ रहेका छन् । फैसला कार्यान्वयनतर्फ दुई हजार छ सय सात (५० दशमलव २८ प्रतिशत) फर्छ्योट गरेको छ ।

कूल मुद्दा पाँच हजार एक सय ८५ मुद्दा रहेकामा दुई हजार पाँच सय ७८ मुद्दा बाँकी रहेको छ । अदालतले दुई वर्ष पुराना मुद्दा मात्र रहने गरी छुट्टै अभियान फाँट स्थापना भई उक्त फाँटहरुका मुद्दाको छुट्टै तोकिएको इजलासबाट सुनुवाइ हुनेगरी व्यवस्था गरिएको छ ।

काठमाडौँमा अदालतमा गत वर्षदेखि पारिवारिक इजलासबाट सुनुवाइ प्रारम्भ गरिएको थियो । कूल मुद्दा एक हजार एक सय ७९ मुद्दा रहेकामा ५५४ (४६ दशमलव ९८ प्रतिशत) मुद्दा फर्छ्योट भएको छ । पारिवारिक विवादका छ सय २६ मुद्दा बाँकी रहेका छन् ।

न्यायाधीश पोखरेलले पारिवारिक विवाद छिटो टुङ्ग्याउन र पीडितलाई चाँडै न्याय दिन पारिवारिक इजलासको मुद्दालाई प्राथमिकतामा राखिएको बताउनुभयो । उक्त अदालतमा रहेको बाल इजलासमा सात सय ६० (८१ दशमलव ९८ प्रतिशत) फर्छ्योट गरेको छ । जम्मा मुद्दा नौ सय २७ मध्ये एक सय ६७ मुद्दा बाँकी रहेका छन् ।

काठमाडौँमा अदालतमा सबैभन्दा बढी बैंकिङ कसुरमा मुद्दा

जिल्ला अदालत काठमाडौँ यस आवमा सबैभन्दा बढी बैंकिङ कुसर सात हजार नौ सय ५७ मुद्दा दर्ता भएको छ । दोस्रोमा सम्बन्ध विच्छेदसम्बन्धी मुद्दा चार हजार चार सय ६६ मुद्दा दर्ता भएका छन् ।

तेस्रोमा चेक अनादारसम्बन्धी मुद्दा तीन हजार आठ सय ७० रहेको छ । सबैभन्दा कम मुद्दा ज्यानसम्बन्धी कसुर एक सय ६९ रहेको छ । सबै न्यायाधीशको कार्यविभाजन गरी प्रत्येक न्यायाधीशलाई एक एक वटा फाँट मिसिल निरीक्षणको अनुगमन गर्ने जिम्मेवारी बाँडफाँट गरिएको र पेसी व्यवस्थापन नीति पारितगरी तदनुरुप पेसी व्यवस्थापन गर्न फाँटहरुलाई निर्देशन दिइएको अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिनुभयो ।

अदालतले न्यायाधीश बिदामा बस्दासमेत उपस्थित न्यायाधीशले एकभन्दा बढी फाँट हेर्नेगरी फाँट स्थगित नहुने व्यवस्था मिलाइएको छ । अभियान फाँटहरुका मुद्दा पेस हुने इजलासमा सम्भव भएसम्म थुनछेकका लागि पेस हुने अभियोग पेस नहुनेगरी व्यवस्था गरिएको जसले गर्दा मुद्दा हेर्न नभ्याइनेमा पर्ने अवस्था न्यूनीकरण हुने अपेक्षा गरेको छ ।

अभियान फाँटमा रहेका मुद्दाको मिसिल निरीक्षणलाई नियमित बनाउन त्यस्ता फाँटमा कार्यरत सुपरिटेन्डेट/शाखा अधिकृत/इजलास अधिकृतबाट हरेक १५/१५ दिनमा मिसिल निरीक्षणको प्रगति प्रतिवेदन लिने व्यवस्थाको सुरुआत गरेको छ ।

त्यस्तै, हरेक हप्ताको शुक्रबार निवेदनहरुको मात्र सुनुवाइ हुँदै आएकामा गएको भदौ महिनाको अन्तिम हप्तादेखि हरेक शुक्रबारसमेत अभियान फाँटका मुद्दाहरुको सुनुवाइ हुनेगरी व्यवस्था गरिएको छ । अदालतले अभिलेखालयको कामलाई समेत तीव्रता दिँदै अदालतले जरिवानातर्फ रु दुई अर्ब नगद सङ्कलन गरेको जनाएको छ ।

अस्तव्यस्ततापछि बंगलादेशमा कपडा कारखाना खुले

ढाका । बंगलादेशमा निजामती सेवाको रोजगारी कोटालाई लिएर विद्यार्थीहरूको विरोध प्रदर्शनका कारण भएका घातक झडपहरू रोक्न लगाइएको कर्फ्युलाई खुकुलो बनाइएपछि तयारी पोशाक कारखाना र बैंकहरू पुनः खुलेका छन् । प्रधानमन्त्री शेख हसिनाको कार्यकालको केही सबैभन्दा खराब अशान्तिका क्रममा प्रहरी र अस्पतालले दिएका रिपोर्टअनुसार गत साताको हिंसामा कम्तीमा एक सय ८६ जनाको मृत्यु भएको एएफपीले जनाएको छ ।

शान्ति सुव्यवस्था कायम गर्न मुलुक वरपरका सहरहरूमा हजारौँ सैनिकले गस्ती गरिरहेका छन् र अधिकांश बङ्गलादेशी इन्टरनेटविहीन छन् । यद्यपि धेरै दिनको अनियन्त्रित हिंसापछि सडकहरू शान्त देखिनासाथ सरकारी अनुमति प्राप्त भएपछि बङ्गलादेशको आर्थिकरूपमा महत्त्वपूर्ण कपडा कारखाना पुनः सञ्चालन भएका छन् ।

कपडा उद्योगले बङ्गलादेशका लागि वार्षिक निर्यात राजस्वमा ५० अर्ब डलर उत्पन्न गर्छ । यस उद्योगबाट एच एन्ड एम, जारा, ग्याप र अन्य प्रमुख अन्तर्राष्ट्रिय ब्रान्डहरूका लागि कपडा सिलाउन लाखौँ युवा महिलाहरूले रोजगारी पाएका छन् ।

बङ्गलादेश गार्मेन्ट मेनुफेक्चरर्स एन्ड एक्सपोर्ट्स एसोसिएसनका प्रवक्ताले कपडा कारखानाहरूले ‘देशभर’ व्यवसाय पुनः सुरु गरेको बताए । हसिनाका गृहमन्त्री असदुज्जामान खान कपडा मजदुरहरूलाई काममा फर्कन अनुमति दिन जारी कर्फ्युबाट छुट दिन सहमत भएको एसोसिएसनका प्रवक्ताले बताए ।

केही व्यवसायलाई पुनः सुरु गर्न बुधबार करफ्युलाई खुकुलो पारिएको छ तर अधिकांश बङ्गलादेशीका लागि हरेक दिन १९ घन्टासम्म करफ्यु प्रभावकारी रहन्छ ।

सरकारका प्रवक्ता शिबली सादिकका अनुसार बैंक, राजधानी ढाकामा स्टक एक्सचेन्ज र केही सरकराी कार्यालय पनि स्टे होम अर्डरमा दैनिक ब्रेक मिलाउन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खुलेका छन् ।

जुलाई २२ सबैभन्दा तातो दिनको रूपमा रेकर्ड

काठमाडौं । युरोप, एसिया र उत्तर अमेरिकाका अधिकांश भूभागमा अत्यधिक तापक्रम बढेपछि युरोपेली सङ्घ (इयू) को जलवायु अनुगमनकर्ताले जुलाई २२ मा लगातार दोस्रो दिन पृथ्वीमा अत्यधिक तातो भएको जनाएको छ ।

कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस (सिथ्रिएस)को प्रारम्भिक तथ्याङ्कअनुसार सोमबार दैनिक औसत तापक्रम १७.१५ डिग्री सेल्सियस पुगेको थियो । यसको एक दिनअघि अर्थात् जुलाई २१ मा ०.०६ डिग्री सेल्सियस कम तातो थियो । यद्यपि, यो एक वर्ष पहिले रेकर्ड भएको सर्वकालिक उच्च तापमानभन्दा सामान्य बढी हो ।

पृथ्वीको तथ्याङ्क प्रयोग गरेर वास्तविक समयको नजिक विश्वव्यापी वायु र समुद्री तापमान अद्यावधिक गर्ने संस्था कोपर्निकसको आँकडा अस्थायी रहेको र अन्तिम मानहरू धेरै फरक हुनसक्ने बताइएको छ ।

“जलवायु विज्ञानले हामीलाई भनेको कुरा यही हो कि यदि विश्वले कोइला, तेल र ग्याँस जलाइरह्यो भने तापक्रम वृद्धिले भयावह स्थितिको सिर्जना गर्नसक्छ,” इम्पेरियल कलेज लण्डनका जलवायु वैज्ञानिक जोइस किमुताईले भने ।

सन् २०२३ को जुनदेखि हरेक महिना अघिल्लो वर्षको सोही महिनाको तुलनामा तापक्रम वृद्धि रेकर्ड मापन गरिएको छ, सीथ्रीएसका निर्देशक कार्लो बुओनटेम्पोले मङ्गलबार यसलाई ‘वास्तवमै आश्चर्यजनक’ भनेका छन् ।

जलवायु परिवर्तनले लामो, कडा र अत्यधिक चरम मौसमी घटनाको जोखिम निम्ताइरहेको छ र यसले यो वर्ष संसारभरका ठूला विपत्तिहरूलाई सङ्केत गरिएको छ । एएफपी

उच्च तापक्रमका कारण पाकिस्तानमा एक लाखभन्दा बढी विद्यालय प्रभावित

उच्च तापक्रमका कारण दक्षिणी पाकिस्तानमा विद्यालयहरूको गृष्मकालीन बिदा दुई सातासम्म लम्बिने एक शिक्षा अधिकारीले मंगलबार बताएका छन् । यसबाट एक लाखभन्दा बढी विद्यालय प्रभावित हुनेछन् ।

जलवायु परिवर्तनका कारण चरम मौसमी अवस्थाप्रति पाकिस्तान बढ्दो जोखिममा छ । जलवायु परिवर्तनका कारण तातो लहर र धेरै पटक चल्ने लु चल्ने गर्छ र मनसुन भारी र लामो समयसम्म हुन्छ । सिन्ध प्रान्तका शिक्षा विभागका प्रवक्ता आतिफ भिघियोले भने, ‘हामीले बालबालिकाको हितका लागि विद्यालयहरूलाई थप १४ दिनका लागि बन्द गर्ने निर्णय गरेका छौँ ।’

नियोजित विद्युत् कटौती अर्थात लोडसेडिङ पाकिस्तानमा जारी विद्युत् आपूर्ति संकटको बारम्बार कारण बन्दछ । लोडसेडिङ सहरअनुसार फरक फरक हुन्छ तर सिन्ध प्रान्तका ग्रामीण क्षेत्रमा यो दिनमा १२ घन्टासम्म हुँदा विद्यालयहरू पङ्खाबिना सञ्चालन हुनुपरेको छ ।

‘एक शिक्षिकाका रूपमा मलाई पाठ्यक्रम कसरी पूरा गर्न सक्छु भन्ने चिन्ता हुन्छ तर एक आमाका रूपमा म यो गर्मीमा विद्यालय जाने बालबालिकाका बारेमा चिन्तित छु’, सार्वजनिक विद्यालयकी शिक्षिकाले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने, ‘हामी गर्मीले मात्र नभई लोडसेडिङबाट चिन्तित छौँ ।’

सरकारले दुई करोड ६० लाखभन्दा धेरै बालबालिका गरिबीका करण विद्यालयबाहिर रहेको जनाएको छ । सिन्ध प्रान्तका केही क्षेत्रमा ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रम हुँदा पाकिस्तानले मे र जुनमा लुको सामना गर्नुपरेको थियो ।मुलुकको सबैभन्दा धेरै जनसङ्ख्या भएको पञ्जाब प्रान्तमा अधिकारीहरूले बालबालिकालाई प्रचण्ड गर्मीबाट बचाउन मे महिनामा गृष्मकालीन बिदा एक साताअघि सुरु गरेको थियो ।

संयुक्त राष्ट्रसङ्घ बाल एजेन्सी युनिसेफका अनुसार दक्षिण एसियामा तीन चौथाईभन्दा धेरै अर्थात ४६ करोड बालबालिका प्रतिवर्ष कम्तीमा ८३ दिनका लागि ३५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रमको सम्पर्कमा रहन्छन् । विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा एक प्रतिशतभन्दा पनि कम योगदान गरे पनि हालका वर्षहरूमा बदलिँदो मौसमी ढाँचाका कारण पाकिस्तानले गम्भीर मौसमसम्बन्धी प्रकोपहरू भोगेको छ ।

बुद्ध दर्शनलाई कमजोर हुन दिइन्न : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमिका जन्मिएका सिद्धार्थ गौतमको ध्यानबाट सिर्जित बुद्ध दर्शन वैज्ञानिकतामा आधारित भएकाले यसलाई कमजोर हुन नदिइने बताएका छन् ।

नेपाल मण्डल लिटरेचर कल्चर टष्टद्वारा बुधबार आयोजित बौद्ध विद्वान डा अजयक्रान्ति शाक्यद्वारा लिखित ‘बुद्धका मौलिक दर्शन’ पुस्तक विमोचन तथा अनगारिका गुरुमाँहरुमा सङ्घदान कार्यक्रमलाई सम्बोधन प्रधानमन्त्री ओलीले आफू आज कार्यक्रममा आउँदा प्रशन्न चिन्तन लिएर आउने सोचमा रहे पनि अकल्पनीयरुपमा आजै भएको सौर्य एयरको विमान दुर्घटनास्थलमा पुगेर आउनुपरेकाले भारी मन लिएर आउन विवश भएको सुनाए । उनले मृतकप्रति श्रद्धाञ्जली र मृतकका परिवारमा समवेदना व्यक्त गर्दै घाइते क्याप्टेनको स्वास्थलाभको कामना गरे ।

नेपाली सामाजिक, धार्मिक र प्राकृतिकरुपमा विविधतायुक्त मुलुक भएकाले कसले कुन धर्म मान्छ, मान्दैन भन्ने कुरा बेग्लै भए पनि सरकारले नेपाल सबै नेपालीको साझा हो भन्ने कुरालाई आत्मसात् गर्ने स्पष्ट गरे ।

‘नेपाल विश्वमा मानवतावादको चेतना फैलाउने र बुद्ध दर्शन दिने बुद्ध जन्मेको देश हो । सबै मानव र प्राणी जातिको भलो र करुणाको दर्शन दिने देश हो ।’

प्रधानमन्त्री ओलीले भने, ‘बुद्धका शिक्षालाई प्राप्त गरेर विस्तार गर्नुपर्छ भन्ने सोचका साथ मै प्रधानमन्त्री हुँदा सरकारले लुम्बिनीमा अन्तर्राष्ट्रिय ध्यान केन्द्र बनाएको थियो । राणाकालमा भिक्षु—भिक्षुणी हुनुलाई अपराध मानिन्थ्यो । बुद्ध दर्शनलाई जटि बनाइनु हुँदैन । यो वैज्ञानिकतामा आधारित छ । हामी बुद्धका ज्ञान र शिक्षालाई विस्तार गराउने पक्षमा छौँ ।’

प्रधानमन्त्री ओलीले ज्ञानलाई थुपारेर राखेर नबढ्ने भएकाले डा शाक्यले आफूमा भएको ज्ञानलाई वितरण गरेकामा खुसी व्यक्त गरे ।

‘प्रदेश सरकार नागरिकको सुरक्षाप्रति संवेदनशील रहेको छ’ :मन्त्री अधिकारी

काठमाडौँ, ९ साउनः कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले प्रदेश सरकार नागरिकको सुरक्षाप्रति संवेदनशील रहेको बताउनुभएको छ । आज मोरङको सुनवर्सी नगरपालिकाको संयोजनमा वडा नं १ स्थित केचनामा अस्थायी प्रहरी चौकीको उद्घाटन गर्नुहुँदै उहाँले चौकी स्थापनाबाट यस क्षेत्रमा शान्ति सुरक्षा कायम हुने विश्वास व्यक्त गर्नुभयो । मन्त्री अधिकारीले आगामी एक वर्षभित्र चौकीलाई स्थायी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

खानेपान, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले सुरक्षा चौकी स्थापनाबाट यस क्षेत्रमा राज्यको उपस्थिति रहनुका साथै जनताले सुरक्षाको अनुभूति गर्ने विचार राख्नुभयो । प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्रकुवेर खापुङले जनताको मागअनुसार चौकी स्थापना गरिएको बताउनुभयो ।

सुनसरीबर्सी नगरपालिकाका प्रमुख श्यामप्रसाद राजवंशी, वडाध्यक्ष वीरबहादुर राईले र जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक सुमन कार्कीले लागुपदार्थ दुव्र्यसन नियन्त्रण, अपराधीक घटना न्यूनीकरण र शान्ति सुरक्षा कायम राख्न नागरिकको सहयोग आवश्यक रहेको विचार व्यक्त गर्नुभएको थियो ।

यस क्षेत्रका जनताले विसं २०६५ देखि चौकी स्थापनाका लागि माग गर्दै आएका थिए । चौकी स्थापनासँगै भारतीय सीमावर्ती सिक्टी नाकाबाट हुने चोरी निकासी र लागुपदार्थ ओसारपसार नियन्त्रणमा चौकी उपयोगी हुने स्थानीयवासीको भनाइ छ ।

प्रधानमन्त्रीले लिए सौर्य एयरको जहाज दुर्घटनामा परी घाइते भएका क्याप्टेनको स्वास्थ्यावस्थाबारे जानकारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्स दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका क्याप्टेन मनिषरत्न शाक्यको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार साँझ सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज पुगेर घाइते क्याप्टेनको स्वास्थ्यावस्थाबारेमा बारेमा जानकारी लिएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यसक्रममा प्रधानमन्त्री ओलीले शाक्यको उपचारमा संलग्न चिकित्सक र परिवारजनसँग समेत कुराकानी गरेका थिए ।

सौर्य एयरलाइन्स आज दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो भने क्याप्टेन मनिषरत्न शाक्य घाइते भएका छन् ।

गण्डकीमा रोपाइँ :बागलुङमा सबैभन्दा बढी, गोरखामा कम

काठमाडौँ, ९ साउनः साउन पहिलो सातासम्ममा गण्डकी प्रदेशमा करिब ८४ दशमलव २६ प्रतिशत रोपाइँ भएको छ । सबैभन्दा बढी बागलुङमा ९५ दशमलव ०१ र गोरखामा जम्मा ५४ दशमलव ७३ प्रतिशत रोपाइँ भएको प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।

कास्कीमा ९५, नवलपरासीमा ९२, तनहुँमा ९२, स्याङ्जामा ८५, पर्वतमा ८०, लजजुङमा ७९ र म्याग्दीमा ६९ दशमलव ३६ प्रतिशत रोपाइँ भएको हो । निर्देशनालयका कृषि अधिकृत रञ्जना पोखरेलकानुसार यसवर्ष प्रदेशभरिमा करिब ९६ हजार ५३ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान छ । गत वर्ष ९७ हजार सात सय ६९ हेक्टरमा धान खेती गरिएको थियो । प्रदेशको कूल चार लाख ७९ हजार छ सय १७ हेक्टर खेतीयोग्य जमिनमध्ये वर्षेनी करिब एक लाख हेक्टरमा वर्षे धान लगाइने गरिएको छ । आगामी साताभित्रमा प्रदेशभर रोपाइँ सकिने अनुमान गरिएको कृषि अधिकृत पोखरेलले बताउनुभयो ।

गत असार १५ गतेसम्ममा प्रदेशमा जम्मा १५ प्रतिशत रोपाइँ भएकामा त्यसयता बढेर ८४ प्रतिशत पुगेको हो । पछिल्लो समय मनसुन सक्रिय भएकाले रोपाइँ सहज भएको छ । आकाशे पानीमा निर्भर किसान पनि यतिबेला रोपाइँमा व्यस्त छन् । बाह्रैमास सिँचाइ सुविधा भएका र दुई बाली फल्ने यहाँका फाँटमा त मध्यजेठदेखि नै रोपाइँ सुरू हुन्छ । यसवर्ष रोपाइँका लागि मलको अभाव नरहेको निर्देशनालले जनाएको छ । हिमालपारिका जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धान खेती हुँदै आएको उहाँको भनाइ छ ।

नवलपुर, कास्की, स्याङ्जा, तनहुँलगायत जिल्लामा धान खेतीको क्षेत्रफल बढी छ । धान खेतीका लागि यहाँका विभिन्न जिल्लामा पकेट क्षेत्र तोकिएका छन् । गोरखाको छेवेटार, पालुङटार, आरुघाट, सिरानचोक, लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट, कास्कीको मकैखोला, हाँडीखोला, पामे र लेखनाथ यहाँका धान पकेट क्षेत्र हुन् ।

यस्तै, पर्वतको फलेबास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले, घतान, बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोटलगायतलाई धानका पकेट क्षेत्र तोकिएको छ । गण्डकीका किसानले सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धानको खेती गर्दै आएका छन् ।

मुलुकमा परिवर्तन ल्याउन ऊर्जा क्षेत्रको विकास अपरिहार्य : मन्त्री खड्का

काठमाडौँ, ९ साउन : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुकमा परिवर्तन ल्याउन ऊर्जा क्षेत्रमा आमुल परिवर्तन अपरिहार्य रहेको बताउनुभएको छ ।
विद्युत् विकास विभागले आज आयोजना गरेको ‘स्वागत तथा सम्मान’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मुलुकलाई आर्थिक रुपमा सबल बनाउन ऊर्जा क्षेत्रको विकास आवश्यक रहेको बताउनुभयो ।

“हामी खाद्यान्नका लागि आत्मनिर्भर हुनुपर्नेछ, त्यसका लागि पर्याप्त सिँचाइ पु¥याउनुपर्ने छ, जनताको प्रतिव्यक्ति आय बढाउनका लागि ऊर्जा क्षेत्रको विकास गर्नुपर्नेछ, यो दुवै जिम्मेवारी हाम्रो मन्त्रालयअन्तर्गत रहेको छ, उक्त दुवै आवश्यकतालाई पूरा गर्नेगरी कर्मचारी लाग्नुपर्छ”, मन्त्री खड्काले भन्नुभयो । उहाँले ऊर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

मन्त्री खड्काले राजनीतिक अस्थिरताका लागि विकास निर्माणले गति लिन नसकिरहेका बेला दुई ठूला राजनीतिक दलले सरकार बनाएकाले अब अल्झिएर बस्ने छुट राजनीतिक नेतृत्व र कर्मचारीलाई नभएको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “मुलुक कसैले आएर बनाउने वाला छैन, तपाईं हामीले नै बनाउने हो, यसका लागि कर्मचारी जिम्मेवार भएर काम गर्नुहोस् ।”

ऊर्जामन्त्री खड्काले भय, चिन्ता नराखी छिटोछरितो कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । “ऊर्जा क्षेत्रको विकासका लागि आवश्यकपर्ने ऐन, कानुन, नीति, नियमावलीले कतै संशोधन गर्नुपर्ने भए मन्त्रालयले पहल गर्छ, तपाईंहरु निर्भिक ढङ्गले यसको विकासका लागि दिनरात नभनी लाग्नुहोस्”, मन्त्री खड्काले भन्नुभयो । युवापुस्तामा देखिएको निरासा चिर्नका लागि कर्मचारी इमान्दारपूर्वक लाग्नुपर्ने उहाँको भनाइ थियो ।

मन्त्री खड्काले १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने भनिरहँदा यहाँ उत्पादन बढाउन नसकिने हो कि भन्ने चिन्ता उत्पन्न भएको बताउनुभयो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले ऊर्जा क्षेत्रको विकासमा विद्युत् विकास विभागको महत्त्वपूर्ण भूमिका रहेकाले उत्कृष्ट कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

विभागका महानिर्देशक जीवछ मण्डलले विभागले विद्युत् आयोजनाको सम्भाव्यता अध्ययन, विकास र प्रवद्र्धनका क्षेत्रमा काम गरिरहेको बताउनुभयो । उहाँले १०० मेगावाटभन्दा साना आयोजनाको काम विभागबाट र सोभन्दा ठूला आयोजनालाई मन्त्रालयमा सिफारिस गर्ने गरेको बताउनुभयो ।

नेपालको वीरता र सौर्यको इतिहास विश्वमा प्रचार गरौँ : राष्ट्रपति

काठमाडौँ, साउन ९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले वीर पूर्खाहरुको साहस, वीरता र सौर्यका कारण नेपाल सधैँ स्वतन्त्र राष्ट्र रहेकाले यस्तो गौरवपूर्ण इतिहासलाई विश्वमा प्रचार गर्न आग्रह गर्नुभएको छ ।

राष्ट्रिय विभूति भीमसेन थापाको २५०औँ जन्मजयन्तीको अवसरमा शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले नेपाल आदिकालदेखि दक्षिण एसियामा एक मात्र स्वतन्त्र राष्ट्र रहन सफल भएको बताउनुभयो । “भीमसेन थापाको दुःखान्त जीवन सुन्दा नेपालको अभिशप्त इतिहासको पनि झल्को आउँछ”, उहाँले भन्नुभयो, “नेपालको गौरवपूर्ण इतिहासलाई गोलमटोल र लुकाइएको पनि छ, त्यसको सत्यतथ्य यथार्थरुपमा विश्वमा प्रचार गर्न आवश्यक छ ।”

राष्ट्रपति पौडेलले इतिहासको जगमा उभिएको वर्तमानमा टेकेर भविष्यतर्फ अगाडि बढ्नु उपयुक्त हुने धारणा राख्नुभयो । “हाम्रा वीर पूर्खा र अग्रजहरुकै सुझबुझ पूर्ण योगदानकै कारण नेपाल एक स्वतन्त्र, सार्वभौम र अखण्ड राष्ट्रका रुपमा पाएका छौँ, यसमा टेकेर समृद्ध र सबल राष्ट्र निर्माणमा जुट्न आवश्यक छ”, राष्ट्रपतिले भन्नुभयो । यसैगरी उहाँले आफ्नो शासनकालमा सामाजिक, आर्थिक र कानुनी क्षेत्रमा सुधार गरी सेनालाई आधुनिकिकरण गराउन, सामाजिक सुधारका कार्यअन्तर्गत कैयौँ कुप्रथा र कुसंस्कारको अन्त्यमा योगदान दिनुभएका राष्ट्रिय विभूति भीमसेन थापा एक प्रेरक व्यक्तित्व हुनुहुन्थ्यो भन्नुभयो ।

भीमसेन थापाकै राष्ट्रवादी अडानका कारण नेपाल स्वतन्त्र रहन सकेको राष्ट्रपतिको भनाइ थियो । विभिन्न जातजाति, भाषाभाषी, संस्कृति र परम्परा रहेको हाम्रो देशमा सबै नेपालीबिच आपसी मित्रता, मेलमिलाप र सदभाव कायम गरी राष्ट्रिय एकतालाई अझ सुदृढ गराउनु आजको आवश्यकता भएको राष्ट्रपति पौडेलले उल्लेख गर्नुभयो । “अनेकतामा एकता र भौगोलिक विविधता हाम्रो मौलिकपन हो, यही मौलिकपनले सदियौँदेखि हामीबिच राष्ट्रप्रेमको भावनालाई जागृत र जीवन्त बनाउँदै सबै नेपालीलाई एकताको सुत्रमा बाँधेको छ भन्ने मलाई लाग्दछ”, उहाँले भन्नुभयो ।

राष्ट्रपति पौडेलले राष्ट्रिय एकताको जगमा नै जनचाहना अनुरुप उत्पादन, रोजगारी र सुशासन कायम गरी हामीले अवलम्बन गरेको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीलाई अझ सुदृढ र व्यवस्थित गरी आर्थिकरुपमा समृद्ध र विकसित नेपाल निर्माण गर्नेतर्फ हाम्रो सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल राष्ट्रको स्वतन्त्रता र सार्वभौमसत्ताको रक्षाको लागि योगदान पुर्याउनुभएका राष्ट्रवादी एवम् स्वाभिमानी राष्ट्रसेवकको स्मृतिमा राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले पुरस्कार एवम् सम्मानको व्यवस्था गरेर उदारणीय कार्य गरेको उहाँको भनाइ थियो । त्यसअवसरमा राष्ट्रपति पौडेलले मृगेन्द्र सम्झना चिकित्सा गुठीलाई एक लाख एक हजार एक सय ११ राशिसहितको सम्मान एवम् पुरस्कार प्रदान गर्नुभयो । गुठीले विशेष गरी कर्णाली क्षेत्रका विपन्न परिवारका बालबालिकाको स्वास्थ्यका लागि गरेको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष पार्थिवेश्वरप्रसाद तिमिल्सिना, उपाध्यक्ष त्रिरत्न मानन्धर, सदस्य प्राध्यापक राजेश ढुङ्गाना, मृगेन्द्र सम्झना चिकित्सा गुठीका संस्थापक डा.मृगेन्द्रराज पाण्डे, पूर्वराजदूत प्राध्यापक मोहनप्रसाद लोहनीले राष्ट्रको स्वाभिमान जोगाउनका लागि भीमसेन थापाले गरेको योगदानबारे चर्चा गर्नुभयो । त्यसअवसरमा प्रतिष्ठानद्वारा प्रकाशन गरिएको भिमसेन थापासँग सम्बन्धित ऐतिहासिक दस्तावेजको सङ्ग्रह राष्ट्रपति पौडेललाई अर्पण गरिएको थियो ।

रसुवामा एक वर्षमा एक सय बढी सम्बन्धविच्छेदका मुद्दा

काठमाडौँ, ९ साउन : जिल्ला अदालत रसुवाले आर्थिक वर्ष २०८०÷८१ को कार्य प्रगति सार्वजनिक गरेको छ । अदालतका स्रेस्तेदार मुना अधिकारी ढकालका अनुसार गत वर्ष दर्ता भएका र अल्यासमेत गरी एक सय ६२ थान मुद्दामध्ये एक सय छ थान सम्बन्धविच्छेदका मुद्दा रहेका छन् ।

सम्बन्धविच्छेदका एक सय ३५ थान मुद्दा फछ्र्याैट भएको र २७ थान फछ्र्यौटको प्रक्रियामा छन् । अदालतले समग्रमा एक सय ६४ प्रतिशत प्रगति हासिल गरेको जनाएको छ । विचाराधीन २७ मुद्दामध्ये १३ थान सम्बन्ध विच्छेदका रहेको स्रेस्तेदार ढकालले जानकारी दिनुभयो ।

त्यसैगरी, रसुवामा वैवाहिक अङ्गीकृत नागरिकता लिनेको सङ्ख्या २८ पुगेका छन् । विसं २०६४ देखि हालसम्म २८ विदेशी महिलाले वैवाहिक अङ्गीकृत नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । अङ्गीकृत नागरिकता लिनेमध्ये तिब्बती १७, भारतीय १० र भूटानी एक विदेशी महिला विवाह गरी रसुवा आएको जिल्ला प्रशासनको अभिलेखमा उल्लेख छ ।

जिल्ला प्रशासनले गत आर्थिक वर्ष २०८०÷८१ मा एक हजार दुई सयलाई नेपाली नागरिकता प्रमाणपत्र प्रदान गरेको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिनुभयो । गत आवमा नागरिकताको प्रतिलिपि दुई हजार दुई सयले लिएका छन् ।

जिल्ला प्रशासन कार्यालयमार्फत १८ हजार चार सय ३६ ले राष्ट्रिय परिचयपत्र बायोमेट्रिकसहित विवरण सङ्कलन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सरस्वती अधिकारीले जानकारी दिनुभयो ।