काठमाडौँ, ९ साउनः कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले प्रदेश सरकार नागरिकको सुरक्षाप्रति संवेदनशील रहेको बताउनुभएको छ । आज मोरङको सुनवर्सी नगरपालिकाको संयोजनमा वडा नं १ स्थित केचनामा अस्थायी प्रहरी चौकीको उद्घाटन गर्नुहुँदै उहाँले चौकी स्थापनाबाट यस क्षेत्रमा शान्ति सुरक्षा कायम हुने विश्वास व्यक्त गर्नुभयो । मन्त्री अधिकारीले आगामी एक वर्षभित्र चौकीलाई स्थायी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
खानेपान, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले सुरक्षा चौकी स्थापनाबाट यस क्षेत्रमा राज्यको उपस्थिति रहनुका साथै जनताले सुरक्षाको अनुभूति गर्ने विचार राख्नुभयो । प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्रकुवेर खापुङले जनताको मागअनुसार चौकी स्थापना गरिएको बताउनुभयो ।
सुनसरीबर्सी नगरपालिकाका प्रमुख श्यामप्रसाद राजवंशी, वडाध्यक्ष वीरबहादुर राईले र जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक सुमन कार्कीले लागुपदार्थ दुव्र्यसन नियन्त्रण, अपराधीक घटना न्यूनीकरण र शान्ति सुरक्षा कायम राख्न नागरिकको सहयोग आवश्यक रहेको विचार व्यक्त गर्नुभएको थियो ।
यस क्षेत्रका जनताले विसं २०६५ देखि चौकी स्थापनाका लागि माग गर्दै आएका थिए । चौकी स्थापनासँगै भारतीय सीमावर्ती सिक्टी नाकाबाट हुने चोरी निकासी र लागुपदार्थ ओसारपसार नियन्त्रणमा चौकी उपयोगी हुने स्थानीयवासीको भनाइ छ ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्स दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका क्याप्टेन मनिषरत्न शाक्यको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन् ।
प्रधानमन्त्री ओलीले बुधबार साँझ सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज पुगेर घाइते क्याप्टेनको स्वास्थ्यावस्थाबारेमा बारेमा जानकारी लिएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यसक्रममा प्रधानमन्त्री ओलीले शाक्यको उपचारमा संलग्न चिकित्सक र परिवारजनसँग समेत कुराकानी गरेका थिए ।
सौर्य एयरलाइन्स आज दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो भने क्याप्टेन मनिषरत्न शाक्य घाइते भएका छन् ।
काठमाडौँ, ९ साउनः साउन पहिलो सातासम्ममा गण्डकी प्रदेशमा करिब ८४ दशमलव २६ प्रतिशत रोपाइँ भएको छ । सबैभन्दा बढी बागलुङमा ९५ दशमलव ०१ र गोरखामा जम्मा ५४ दशमलव ७३ प्रतिशत रोपाइँ भएको प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।
कास्कीमा ९५, नवलपरासीमा ९२, तनहुँमा ९२, स्याङ्जामा ८५, पर्वतमा ८०, लजजुङमा ७९ र म्याग्दीमा ६९ दशमलव ३६ प्रतिशत रोपाइँ भएको हो । निर्देशनालयका कृषि अधिकृत रञ्जना पोखरेलकानुसार यसवर्ष प्रदेशभरिमा करिब ९६ हजार ५३ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान छ । गत वर्ष ९७ हजार सात सय ६९ हेक्टरमा धान खेती गरिएको थियो । प्रदेशको कूल चार लाख ७९ हजार छ सय १७ हेक्टर खेतीयोग्य जमिनमध्ये वर्षेनी करिब एक लाख हेक्टरमा वर्षे धान लगाइने गरिएको छ । आगामी साताभित्रमा प्रदेशभर रोपाइँ सकिने अनुमान गरिएको कृषि अधिकृत पोखरेलले बताउनुभयो ।
गत असार १५ गतेसम्ममा प्रदेशमा जम्मा १५ प्रतिशत रोपाइँ भएकामा त्यसयता बढेर ८४ प्रतिशत पुगेको हो । पछिल्लो समय मनसुन सक्रिय भएकाले रोपाइँ सहज भएको छ । आकाशे पानीमा निर्भर किसान पनि यतिबेला रोपाइँमा व्यस्त छन् । बाह्रैमास सिँचाइ सुविधा भएका र दुई बाली फल्ने यहाँका फाँटमा त मध्यजेठदेखि नै रोपाइँ सुरू हुन्छ । यसवर्ष रोपाइँका लागि मलको अभाव नरहेको निर्देशनालले जनाएको छ । हिमालपारिका जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धान खेती हुँदै आएको उहाँको भनाइ छ ।
नवलपुर, कास्की, स्याङ्जा, तनहुँलगायत जिल्लामा धान खेतीको क्षेत्रफल बढी छ । धान खेतीका लागि यहाँका विभिन्न जिल्लामा पकेट क्षेत्र तोकिएका छन् । गोरखाको छेवेटार, पालुङटार, आरुघाट, सिरानचोक, लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट, कास्कीको मकैखोला, हाँडीखोला, पामे र लेखनाथ यहाँका धान पकेट क्षेत्र हुन् ।
यस्तै, पर्वतको फलेबास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले, घतान, बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोटलगायतलाई धानका पकेट क्षेत्र तोकिएको छ । गण्डकीका किसानले सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धानको खेती गर्दै आएका छन् ।
काठमाडौँ, ९ साउन : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुकमा परिवर्तन ल्याउन ऊर्जा क्षेत्रमा आमुल परिवर्तन अपरिहार्य रहेको बताउनुभएको छ । विद्युत् विकास विभागले आज आयोजना गरेको ‘स्वागत तथा सम्मान’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मुलुकलाई आर्थिक रुपमा सबल बनाउन ऊर्जा क्षेत्रको विकास आवश्यक रहेको बताउनुभयो ।
“हामी खाद्यान्नका लागि आत्मनिर्भर हुनुपर्नेछ, त्यसका लागि पर्याप्त सिँचाइ पु¥याउनुपर्ने छ, जनताको प्रतिव्यक्ति आय बढाउनका लागि ऊर्जा क्षेत्रको विकास गर्नुपर्नेछ, यो दुवै जिम्मेवारी हाम्रो मन्त्रालयअन्तर्गत रहेको छ, उक्त दुवै आवश्यकतालाई पूरा गर्नेगरी कर्मचारी लाग्नुपर्छ”, मन्त्री खड्काले भन्नुभयो । उहाँले ऊर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
मन्त्री खड्काले राजनीतिक अस्थिरताका लागि विकास निर्माणले गति लिन नसकिरहेका बेला दुई ठूला राजनीतिक दलले सरकार बनाएकाले अब अल्झिएर बस्ने छुट राजनीतिक नेतृत्व र कर्मचारीलाई नभएको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “मुलुक कसैले आएर बनाउने वाला छैन, तपाईं हामीले नै बनाउने हो, यसका लागि कर्मचारी जिम्मेवार भएर काम गर्नुहोस् ।”
ऊर्जामन्त्री खड्काले भय, चिन्ता नराखी छिटोछरितो कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । “ऊर्जा क्षेत्रको विकासका लागि आवश्यकपर्ने ऐन, कानुन, नीति, नियमावलीले कतै संशोधन गर्नुपर्ने भए मन्त्रालयले पहल गर्छ, तपाईंहरु निर्भिक ढङ्गले यसको विकासका लागि दिनरात नभनी लाग्नुहोस्”, मन्त्री खड्काले भन्नुभयो । युवापुस्तामा देखिएको निरासा चिर्नका लागि कर्मचारी इमान्दारपूर्वक लाग्नुपर्ने उहाँको भनाइ थियो ।
मन्त्री खड्काले १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने भनिरहँदा यहाँ उत्पादन बढाउन नसकिने हो कि भन्ने चिन्ता उत्पन्न भएको बताउनुभयो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले ऊर्जा क्षेत्रको विकासमा विद्युत् विकास विभागको महत्त्वपूर्ण भूमिका रहेकाले उत्कृष्ट कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।
विभागका महानिर्देशक जीवछ मण्डलले विभागले विद्युत् आयोजनाको सम्भाव्यता अध्ययन, विकास र प्रवद्र्धनका क्षेत्रमा काम गरिरहेको बताउनुभयो । उहाँले १०० मेगावाटभन्दा साना आयोजनाको काम विभागबाट र सोभन्दा ठूला आयोजनालाई मन्त्रालयमा सिफारिस गर्ने गरेको बताउनुभयो ।
काठमाडौँ, साउन ९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले वीर पूर्खाहरुको साहस, वीरता र सौर्यका कारण नेपाल सधैँ स्वतन्त्र राष्ट्र रहेकाले यस्तो गौरवपूर्ण इतिहासलाई विश्वमा प्रचार गर्न आग्रह गर्नुभएको छ ।
राष्ट्रिय विभूति भीमसेन थापाको २५०औँ जन्मजयन्तीको अवसरमा शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले नेपाल आदिकालदेखि दक्षिण एसियामा एक मात्र स्वतन्त्र राष्ट्र रहन सफल भएको बताउनुभयो । “भीमसेन थापाको दुःखान्त जीवन सुन्दा नेपालको अभिशप्त इतिहासको पनि झल्को आउँछ”, उहाँले भन्नुभयो, “नेपालको गौरवपूर्ण इतिहासलाई गोलमटोल र लुकाइएको पनि छ, त्यसको सत्यतथ्य यथार्थरुपमा विश्वमा प्रचार गर्न आवश्यक छ ।”
राष्ट्रपति पौडेलले इतिहासको जगमा उभिएको वर्तमानमा टेकेर भविष्यतर्फ अगाडि बढ्नु उपयुक्त हुने धारणा राख्नुभयो । “हाम्रा वीर पूर्खा र अग्रजहरुकै सुझबुझ पूर्ण योगदानकै कारण नेपाल एक स्वतन्त्र, सार्वभौम र अखण्ड राष्ट्रका रुपमा पाएका छौँ, यसमा टेकेर समृद्ध र सबल राष्ट्र निर्माणमा जुट्न आवश्यक छ”, राष्ट्रपतिले भन्नुभयो । यसैगरी उहाँले आफ्नो शासनकालमा सामाजिक, आर्थिक र कानुनी क्षेत्रमा सुधार गरी सेनालाई आधुनिकिकरण गराउन, सामाजिक सुधारका कार्यअन्तर्गत कैयौँ कुप्रथा र कुसंस्कारको अन्त्यमा योगदान दिनुभएका राष्ट्रिय विभूति भीमसेन थापा एक प्रेरक व्यक्तित्व हुनुहुन्थ्यो भन्नुभयो ।
भीमसेन थापाकै राष्ट्रवादी अडानका कारण नेपाल स्वतन्त्र रहन सकेको राष्ट्रपतिको भनाइ थियो । विभिन्न जातजाति, भाषाभाषी, संस्कृति र परम्परा रहेको हाम्रो देशमा सबै नेपालीबिच आपसी मित्रता, मेलमिलाप र सदभाव कायम गरी राष्ट्रिय एकतालाई अझ सुदृढ गराउनु आजको आवश्यकता भएको राष्ट्रपति पौडेलले उल्लेख गर्नुभयो । “अनेकतामा एकता र भौगोलिक विविधता हाम्रो मौलिकपन हो, यही मौलिकपनले सदियौँदेखि हामीबिच राष्ट्रप्रेमको भावनालाई जागृत र जीवन्त बनाउँदै सबै नेपालीलाई एकताको सुत्रमा बाँधेको छ भन्ने मलाई लाग्दछ”, उहाँले भन्नुभयो ।
राष्ट्रपति पौडेलले राष्ट्रिय एकताको जगमा नै जनचाहना अनुरुप उत्पादन, रोजगारी र सुशासन कायम गरी हामीले अवलम्बन गरेको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीलाई अझ सुदृढ र व्यवस्थित गरी आर्थिकरुपमा समृद्ध र विकसित नेपाल निर्माण गर्नेतर्फ हाम्रो सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल राष्ट्रको स्वतन्त्रता र सार्वभौमसत्ताको रक्षाको लागि योगदान पुर्याउनुभएका राष्ट्रवादी एवम् स्वाभिमानी राष्ट्रसेवकको स्मृतिमा राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले पुरस्कार एवम् सम्मानको व्यवस्था गरेर उदारणीय कार्य गरेको उहाँको भनाइ थियो । त्यसअवसरमा राष्ट्रपति पौडेलले मृगेन्द्र सम्झना चिकित्सा गुठीलाई एक लाख एक हजार एक सय ११ राशिसहितको सम्मान एवम् पुरस्कार प्रदान गर्नुभयो । गुठीले विशेष गरी कर्णाली क्षेत्रका विपन्न परिवारका बालबालिकाको स्वास्थ्यका लागि गरेको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको हो ।
प्रतिष्ठानका अध्यक्ष पार्थिवेश्वरप्रसाद तिमिल्सिना, उपाध्यक्ष त्रिरत्न मानन्धर, सदस्य प्राध्यापक राजेश ढुङ्गाना, मृगेन्द्र सम्झना चिकित्सा गुठीका संस्थापक डा.मृगेन्द्रराज पाण्डे, पूर्वराजदूत प्राध्यापक मोहनप्रसाद लोहनीले राष्ट्रको स्वाभिमान जोगाउनका लागि भीमसेन थापाले गरेको योगदानबारे चर्चा गर्नुभयो । त्यसअवसरमा प्रतिष्ठानद्वारा प्रकाशन गरिएको भिमसेन थापासँग सम्बन्धित ऐतिहासिक दस्तावेजको सङ्ग्रह राष्ट्रपति पौडेललाई अर्पण गरिएको थियो ।
काठमाडौँ, ९ साउन : जिल्ला अदालत रसुवाले आर्थिक वर्ष २०८०÷८१ को कार्य प्रगति सार्वजनिक गरेको छ । अदालतका स्रेस्तेदार मुना अधिकारी ढकालका अनुसार गत वर्ष दर्ता भएका र अल्यासमेत गरी एक सय ६२ थान मुद्दामध्ये एक सय छ थान सम्बन्धविच्छेदका मुद्दा रहेका छन् ।
सम्बन्धविच्छेदका एक सय ३५ थान मुद्दा फछ्र्याैट भएको र २७ थान फछ्र्यौटको प्रक्रियामा छन् । अदालतले समग्रमा एक सय ६४ प्रतिशत प्रगति हासिल गरेको जनाएको छ । विचाराधीन २७ मुद्दामध्ये १३ थान सम्बन्ध विच्छेदका रहेको स्रेस्तेदार ढकालले जानकारी दिनुभयो ।
त्यसैगरी, रसुवामा वैवाहिक अङ्गीकृत नागरिकता लिनेको सङ्ख्या २८ पुगेका छन् । विसं २०६४ देखि हालसम्म २८ विदेशी महिलाले वैवाहिक अङ्गीकृत नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । अङ्गीकृत नागरिकता लिनेमध्ये तिब्बती १७, भारतीय १० र भूटानी एक विदेशी महिला विवाह गरी रसुवा आएको जिल्ला प्रशासनको अभिलेखमा उल्लेख छ ।
जिल्ला प्रशासनले गत आर्थिक वर्ष २०८०÷८१ मा एक हजार दुई सयलाई नेपाली नागरिकता प्रमाणपत्र प्रदान गरेको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिनुभयो । गत आवमा नागरिकताको प्रतिलिपि दुई हजार दुई सयले लिएका छन् ।
जिल्ला प्रशासन कार्यालयमार्फत १८ हजार चार सय ३६ ले राष्ट्रिय परिचयपत्र बायोमेट्रिकसहित विवरण सङ्कलन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सरस्वती अधिकारीले जानकारी दिनुभयो ।
तनहुँ, ९ साउन- ब्याँस नगरपालिका-३ दुर्गामन्दिरस्थित सडकबाट स्रोत नखुलेको नगद ११ लाख ६५ हजार रूपैयाँ सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रोल्पा माडी गाउँपालिका-५ पासाबाङ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका-१० बस्ने २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुसान केसी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएकोप्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.५७ प ७५०६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ । आगामी साउन २५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘नम्बरी सुन’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा बुधबार एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलरमा प्रेम र द्वन्द्वलाई स्थान दिइएको छ । गाउँको मुखिया बनेका अभिनेता सरोज खनालको हुकुमी शैलीलाई ट्रेलरमा देखाइएको छ । उच्च र तल्लो वर्गका बीचको प्रेम र त्यो प्रेमले निम्त्याउने घटना परिघटनालाई ट्रेलरमा प्रस्तुत गरिएको छ । ट्रेलर हेर्दा फिल्मकी नायिका नम्रता सापकोटाले उच्च वर्ग र नायक गौरव पहाडी तल्लो वर्गको प्रतिनिधित्व गरेको बुझ्न सकिन्छ ।
राजु गिरी निर्देशित फिल्मको प्रस्तुतकर्ता नारायण खाती हुन् । । फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, विनोद न्यौपाने, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बाँस्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कंगना गिरी लगायतको अभिनय छ ।
सरोज खाती, सविन खाती र मनोज रिजाल निर्माता रहेको फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, समीर मियाँको भीएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व, गौतमराज खड्काको सम्पादन छ ।
सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म काठमाडौँ उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।निर्माण पक्षले खल्ती एपबाट फिल्मको टिकट काट्ने ५ जना र त्यसभन्दा बाहिरका ७ जना दर्शकलाई सुन उपहार दिने घोषणा गरिसकेको छ ।
फिल्म ‘नम्बरी सुन’को ट्रेलर सार्वजनिक
काठमाडौँ । आगामी साउन २५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘नम्बरी सुन’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा बुधबार एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा प्रेम र द्वन्द्वलाई स्थान दिइएको छ । गाउँको मुखिया बनेका अभिनेता सरोज खनालको हुकुमी शैलीलाई ट्रेलरमा देखाइएको छ । उच्च र तल्लो वर्गका बीचको प्रेम र त्यो प्रेमले निम्त्याउने घटना परिघटनालाई ट्रेलरमा प्रस्तुत गरिएको छ । ट्रेलर हेर्दा फिल्मकी नायिका नम्रता सापकोटाले उच्च वर्ग र नायक गौरव पहाडी तल्लो वर्गको प्रतिनिधित्व गरेको बुझ्न सकिन्छ ।
राजु गिरी निर्देशित फिल्मको प्रस्तुतकर्ता नारायण खाती हुन् । । फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, विनोद न्यौपाने, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बाँस्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कंगना गिरी लगायतको अभिनय छ ।
सरोज खाती, सविन खाती र मनोज रिजाल निर्माता रहेको फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, समीर मियाँको भीएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व, गौतमराज खड्काको सम्पादन छ ।
सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म काठमाडौँ उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।निर्माण पक्षले खल्ती एपबाट फिल्मको टिकट काट्ने ५ जना र त्यसभन्दा बाहिरका ७ जना दर्शकलाई सुन उपहार दिने घोषणा गरिसकेको छ ।
विराटनगर, साउन ९ गते । कोशी प्रदेशमा ट्राफिक व्यवस्थापनअन्तर्गत आर्थिक वर्ष २०८०/८१ मा कूल १७ करोड ३१ लाख १५ हजार राजस्व सङ्कलन भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सो अवधिमा ट्राफिक प्रहरीले ८० दशमलव ५५ प्रतिशत प्रगति हासिल गरी दुई लाख ५५ हजार नौ सय १२ वटा सवारी चालकलाई कारबाही गरेको थियो ।
उक्त आवमा तीन हजार पाँच सय ६३ वटा दुर्घटना हुँदा तीन सय ९७ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परी छ हजार ७६ जना घाइते भएको कोशी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार आव २०७९/८० मा दुई लाख ६९ हजार आठ सय २३ सवारी चालक कारबाहीमा परेका थिए । उक्त कारबाहीबाट रु. १८ करोड एक लाख ५९ राजस्व सङ्कलन भएको थियो ।
सो अवधिमा दुई लाख ६९ हजार आठ सय २३ सवारी चालक कारावहीमा परेका थिए । तीन हजार आठ सय २० सवारी दुर्घटना हुँदा पाँच सय ३१ जनाको ज्यान गएको थियो । छ हजार छ सय ४८ जना घाइते भएका थिए ।
काठमाडौँ, ९ साउन : सर्लाहीको बागमती नगरपालिका–१२ का गोपाल घिसिङ हिजोआज बागमतीको बगरमा परवल टिप्नमा ब्यस्त हुनुहुन्छ । घिसिङ जस्तै बागमती नगरपालिकाका सयौँ किसान हरेक स्थानीय बजारको दिन बिहानै खेतमा परवल टिप्न पुग्छन् । बागमती बगरमा परवल टिप्ने किसानको सङ्ख्या अत्यधिक छ । कोही बाल्टिन लिएर र कोही बोरामा परवल टिपिरेहका छन् । परवल बजारसम्म पु¥याउन उनीहरुलाई भ्याइनभ्याइ भइरहेको छ ।
केही समय पहिलासम्म बालुवाको थुप्रोको रुपमा रहेको बगरमा अहिले तन्न परवल उत्पादन गरिएको छ । नदी उकास बगरमा विपन्न किसान परवल उत्पादन गरिरहेका छन् । वैदेशिक रोजगारका लागि पाँच वर्ष मलेसिया बसेर एक वर्ष अघि मात्र घिसिङ नेपाल फर्कनुभएको हो । नेपालमा केही समय बसेपछि फेरि विदेश फर्कने उहाँको योजना थियो । तर परवलको आम्दानीले अब उहाँ विदेश नजाने सोचमा हुनुहुन्छ ।
छिमेकीले परवल उत्पादन र बिक्रीबाट गरेको मनग्य आम्दानी थाहा पाएपछि घिसिङ पनि तरकारी उत्पादनमा लाग्नुभएको हो । नेपालमै विदेशको सरह मेहनत गरे कमाइ पनि विदेशमा सरह हुने रहेछ भन्ने उहाँलाई विश्वास लाग्यो । उहाँले भन्नुभयो, “विदेशमा जस्तै काम गर्ने हो भने, घर परिवारसगँै बसेर परिवार मज्जाले पाल्न सक्छु भनेर परवल खेतीमा लागे ।”
विदेशको कमाइसगँ बागमती बगरको परवल खेतीको हिसाबकिताब गर्दा परवल खेतीले जितेपछि विदेश नजाने निर्णयमा पुगेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘‘बागमती बगरमा पसिना मिसाउने सङ्कल्प गरेँ, परिवारको समेत साथ पाएपछि बगरको खेतीले फेरि विदेश सम्झनु परेको छैन ।’’
घिसिङले परवल खेतीसगँै दूध उत्पादनका लागि पशुपालन समेत गरिरहनु भएको छ । उहाँले झण्डै १० कठ्ठा बगरमा परवल खेती गर्नुभएको छ । परवल खेतीबाट मात्र वर्षमा सबै खर्च कटाएर रु सात लाखसम्म कमाइ हुने उहाँको दाबी छ । परवल किलोको रु १० देखि रु १०० सम्ममा बिक्री हुने गरेको उहाँको भनाइ छ । अन्य खेतीबाट पनि मेहनत अनुसारको कमाइ भइरहेको घिसिङले बताउनुभयो ।
बागमती नगरपालिका–४, का धनबहादुर लामाले पनि विगत पाँच वर्षदेखि परवल खेती गरिरहनुभएको छ । स्थानीयको खेती देखेरै आफू पनि परवल खेतीमा आकर्षित भएको उहाँको भनाइ छ । मौसम १० कठ्ठामा एक बजारमा ३५०० किलोसम्म परवल टिपेर बेचेको उहाँले बताउनुभयो ।
परिवारमा आर्थिक उपार्जनको कुनै उपाए नभएका उनलाई पनि बगरमा सुरु गरेको परबर खेतीले नै भर दिएको छ । काँश र अन्य घाँसले ढाकेको यस बगरलाई बागमती नगरपालिकाको पहलमा सुकुम्वासी किसानलाई व्यवस्थित ढङ्गले बाँडेर खेती गर्न दिएको हो । त्यसयता मेहनतमा रमाउने किसानका लागि बगरमा परवल खेती कमाइको बलियो आधार बनिरहेको छ । नगरपालिकाको पहलमा बागमती नदीले छाडेको चार सय बिघा क्षेत्रफलमा एक हजार आठ सय परिवारले खेती गर्ने गरेका बागमती नगरपालिका–४ का वडाध्यक्ष कृष्णकुमार लामाले जानकारी दिनुभयो । बगर खेतीले विपन्न सुकुम्वासी परिवारलाई दैनिक हातमुख जोड्न निकै सहज भइरहेको उहाँको भनाइ छ ।
काठमाडौँ, साउन ९ गते । सौर्य एयरको विमान दुर्घटनामा १८ जनाको निधन भएकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शोक व्यक्त गरेको छ । रास्वपाले शोक विज्ञप्ति जारी गर्दै उक्त दुर्घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना अर्पण गरेको हो ।
“दुर्घटनाको प्रभावकारी छानबिन गरी आउने तथ्यका आधारमा हवाई सुरक्षामा पर्याप्त ध्यान दिन विमान सेवा प्रदायक कम्पनी, नियामक निकाय र सरकारसमक्ष आग्रह गर्दछौँ”, कार्यवाहक प्रवक्ता मनिष झाले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, “यस दुःखद घडीमा हामी शोकाकुल परिवारजन र सरकारका साथमा छौँ ।” यस्तै, उपचाररत विमानका क्याप्टेन मनिष शाक्यको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ ।
पार्टी सभापति रवि लामिछानेले पनि आफ्नो सामाजिक सञ्जालमार्फत उक्त दुर्घटनाले मर्माहत भएको उल्लेख गर्नुहुँदै शोकाकुल परिवारप्रति समवेदना अर्पण गर्नुभएको छ । काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रममा आज सौर्य एयरको ९ एनएएमई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो । जहाजमा चालक दलका सदस्यसहित १९ जना यात्रु रहेका थिए । दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो ।
काठमाडौँ, साउन ९ गते । सङ्घीय संसद संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा प्रस्तावित नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानको संसदीय सुनुवाइ गरेको छ । संवैधानिक परिषदले गत असार २ गते उहाँको नाम निर्वाचन आयुक्तमा प्रस्ताव गरी संसदीय सुनुवाइका लागि सङ्घीय संसद सचिवालयमा पठाएको थियो ।
समितिको आजको बैठकमा प्रस्तावित निर्वाचन आयुक्त प्रधानले आफ्नो अनुभव, योग्यता, क्षमतासहितको योजनासम्बन्धी अवधारणा र कार्ययोजना प्रस्तुत गर्नुभयो । उहाँको कार्ययोजनामा निर्वाचन आयुक्तका रुपमा काम गर्ने मौका मिलेमा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष तुल्याउन संस्थागत सुदृढीकरण, क्षमता विकास र साझेदारी प्रवर्द्धका कार्य अघि बढाउने अठोट व्यक्त गरिएको छ ।
सूचना प्रविधियुक्त निर्वाचन व्यवस्थापन, सुदृढ कानुनी व्यवस्था तथा निर्वाचन पूर्वाधार विकास, निर्वाचन व्यवस्थापनमा मितव्ययीता र प्रभावकारिता, राजनीतिक दलको दर्ता तथा नियमनका विषयमा सुधार अघि बढाउने प्रतिबद्धता उहाँको कार्य योजनामा छ । निर्वाचन प्रणालीमा सुधार, निर्वाचनलाई छिटोछरितो तुल्याउने, मितव्ययी र खर्च पारदर्शी बनाउने र राजनीतिक दलको आन्तरिक लोकतन्त्रान्त्रिकीकरणमा पहल गर्ने विषय अवधारणामा परेको छ ।
प्रधानको अवधारणा र कार्ययोजना सुनेपछि समिति सदस्यले उच्च नैतिक व्यक्ति रहनुपर्ने निर्वाचन आयोग जस्तो संवैधानिक निकायमा उजुरीमा उठाइका प्रश्नको स्पष्टीकरण माग गर्नुभयो । उहाँविरुद्ध यौन दुराचारको अभियोगसम्बन्धी चार वटा उजुरी परेका थिए । बैठकमा केही महिला सदस्यलेसमेत उच्च नैतिकता कायम रहनुपर्ने संवेदनशील, मर्यादित र जिम्मेवार पदमा सिफारिस भएको व्यक्तिमाथि उठाइएका प्रश्न र परेको उजुरीलाई कसरी लिनुहुन्छ भनी प्रश्न गर्नुभयो ।
बैठकमा अधिकांश सदस्यले उजुरीमा उठाइएको नैतिक पक्षसँग जोडिएको प्रश्नबाहेक प्रस्तावित निर्वाचन आयुक्त प्रधानको योग्यता, क्षमता र अनुभवका दृष्टिले प्रश्न गर्नुपर्ने कुनै ठाउँ नरहेको धारणा राख्नुभयो । बैठकको सभापतित्व गर्नुभएका समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जवराले केही समयपछि प्रस्तावित आयुक्तबारे समितिको निर्णय सुनाउन जानकारी दिनुभयो ।
काठमाडौँ, साउन गते ९ गते । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएकोप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाका तर्फबाट कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी सौर्य एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको हो ।
सौर्य एयरलाइन्सको ‘नाइन एन एएमई सिआरजे सेभेन’ को विमान विमानस्थल परिसरभित्र दुर्घटना हुँदा सौर्य एयरलाइन्सका कर्मचारी र प्राविधिक सवार १८ जनाको मृत्यु र पाइलट गम्भीर घाइते हुनुभएको छ । सभापति देउवाले दुर्घटनामा दिवङ्गत हुनुभएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतकको आत्माको चिरशान्तिको कामनाका साथै शोकाकुल परिवारजनमा पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।
जिल्लाको पैयुँ गाउँपालिका–५ को बानीडाँडा प्राथमिक विद्यालयमा बाढी पसेको छ । विद्यालय नजिकको टिउरीखोलाको लेदोसहितको बाढीले विद्यालयका कोठा गेग्रानले पुरिएका छन्भने अन्य भौतिक संरचनामा क्षति भएको छ ।
पैंयुँ गाउँपालिका–५ का वडाअध्यक्ष निर्भिकनारायण भुर्तेलका अनुसार विद्यालय स्थानान्तरण गर्नुपर्ने अवस्था छ । “खोला नियन्त्रणका लागि तत्काल पूर्वाधार निर्माण नगरे विद्यालय नै स्थानान्तरण गर्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो । भारी वर्षा हुँदा बाढीको जोखिम बढ्ने उहाँले बताउनुभयो । बाढीबाट भएको क्षतिको गाउँपालिकाका अध्यक्ष तोरण मल्ल, उपाध्यक्ष यामकुमारी रानासहितका जनप्रतिनिधिले स्थलगत अवलोकन गर्नुभएको छ ।
यसैबीच, बाढीका कारण पैयुँ –५ को पियाखेतका दर्जनौँ परिवारको घरगोठमा पनि क्षति पुर्याएको छ भने सयौँ रोपनी खेतबारी बगरमा परिणत भएको छ । पैंयुँ गाउँपालिका–६ सरौँखोलामा रहेको लक्ष्मीभवन प्राविमा पनि क्षति भएको छ ।
खोटाङ, ९ साउन : डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा विभिन्न प्रजातिका फलफूल तथा जडीबुटीका दुई लाख ६७ हजार आठ सय ४६ वटा बिरुवा निःशुल्क वितरण गरेको छ । सामुदायिक तथा कबुलियती वनलाई आयमूलक बनाउँदै स्थानीय उपभोक्ताका लागि रोजगारी सिर्जना गर्न वन कार्यालयले फलफूल तथा जडीबुटीका बिरुवा निःशुल्क वितरण गरेको हो ।
जिल्लाका दश स्थानीय तहका स्थानीय बासिन्दालाई विभिन्न प्रजातिका फलफूल तथा जडीबुटीका बिरुवा निःशुल्क वितरण गरिएको डिभिजन प्रमुख पशुपति दाहालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बिरुवा हुर्काउने र गोडमेल गर्ने तथा त्यसबाट लाभ लिने जिम्मा उपभोक्ताको हो । यो जिल्लावासीका लागि आयआर्जनको माध्यम बन्ने अपेक्षा गरेका छौँ ।”
डिभिजन वन कार्यालयले जडीबुटी विकास कार्यक्रम, मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन कार्यक्रम, बिरुवा उत्पादन तथा वृक्षरोपण, कृषि वन कार्यक्रम, अर्गेली विस्तार कार्यक्रम, विद्यालय वातावरण सुधारलगायत कार्यक्रम सञ्चालन गरेको थियो । जडीबुटी विकास कार्यक्रमका लागि रु १८ लाख, मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि रु तीन लाख, विद्यालय वातावरण सुधारका लागि रु पाँच लाख, अर्गेली विस्तार कार्यक्रमका लागि रु पाँच लाख, कृषि वन कार्यक्रमका लागि रु पाँच लाख, कबुलियती वन कार्यक्रमका लागि रु पाँच लाख, डिभिजन वन कार्यालयमा बिरुवा उत्पादनका लागि रु पाँच लाख तथा खयरका बिरुवा उत्पादनका लागि रु चार लाख बजेट विनियोजन भएको थियो ।
सामुदायिक तथा कबुलियती वन तथा स्थानीय बासिन्दाका लागि वितरण गर्न यस वर्ष ६५ हजार बिरुवा उत्पादन गरिएको वन कार्यालयका शाखा अधिकृत दीपेन्द्र मेहताले बताउनुभयो । अब ३० हजार बिरुवा वितरण गर्न बाँकी छ । वन कार्यालयले धुपी, ज्याकाराण्डा, कल्फी, तेजपत्ता, सल्ला, अमला, इपिल–इपिल, किम्बु, नेभारालगायत बिरुवा उत्पादन गरेको छ । विद्यालय वातावरण सुधारका लागि १० विद्यालयलाई पाँच सय बिरुवा वितरण गरिएको छ ।
वन कार्यालयका अनुसार खयरका बिरुवा उत्पादन कार्यक्रमअन्तर्गत ४० हजार बिरुवा उत्पादन गरेर हलेसी तुवाचुङ नगरपालिकाका सामुदायिक तथा कबुलियती वनलाई वितरण गरिएको छ । जडीबुटीजन्य वनस्पतीमा पर्ने खयरका बिरुवा पहिलोपटक परीक्षणका लागि उत्पादन गरिएकोे छ ।
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन कार्यक्रमका लागि ३५ हजार छ सय ३० बिरुवा वितरण गरिएको छ । कार्यक्रमअन्तर्गत सुन्तला, कागती, नास्पाती, जुनार, भुइँकटहर, आँप, जापानिज हलुवावेद, टिमुरलगायत फलफूल तथा जडीबुटीका बिरुवा वितरण गरिएको छ ।
अर्गेली व्यवस्थापन कार्यक्रमअन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र ऐसेलुखर्क गाउँपालिकामा ७२ हजार पाँच सय बिरुवा वितरण गरिएको छ । कृषि वन कार्यक्रमअन्तर्गत जन्तेढुङ्गाको चिसापानीमा दाँते ओखर, चिराइतो, टिमुर, बन्दाकोभीको बीउ वितरण एक हजार आठ सय चार तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सुन्तला, कागती, नास्पाती, जुनार, भुइँकटहर, आँप, जापानिज हलुवावेद, टिमुरलगायत दुई हजार चार सय बिरुवा वितरण गरिएको कार्यालयले जनाएको छ ।
जडीबुटी व्यवस्थापन कार्यक्रमअन्तर्गत केपिलासगढी गाउँपालिका–१ फेदीमा लोठसल्ला, तेजपत्ता र टिमुरको बिरुवा तथा चिराइताको बीउ वितरण गरिएको छ । फेदीस्थित स्थानीय बासिन्दाको निजी जग्गामा रोप्न तीन हजार एक सय तथा सामुदायिक वनमा रोप्न छ हजार पाँच सय बिरुवा वितरण गरिएको छ । कबुलियती वनतर्फ दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका तथा बराहपोखरी र ऐसेलुखर्क गाउँपालिकामा ३१ हजार २१ वटा बिरुवा वितरण गरिएको उक्त कार्यालयले जनाएको छ ।
भोजपुर, साउन ९ गते । कृषि व्यवसाय गरेर भोजपुरका ३४ वर्षीय दीपक श्रेष्ठले लोभलाग्दो आम्दानी गर्दै आउनुभएको छ । दश वर्षअघि कृषि कर्ममा लाग्नुभएका उहाँले उदाहरणीय उद्यमीको परिचय बनाउनुभएको छ ।
स्वदेशमा नमूनायोग्य काम गर्ने अठोटका साथ १० वर्षअघि कृषिमा लाग्नुभएका उहाँले भोजपुर नगरपालिका–१२ टक्सारमा व्यवसाय सञ्चालन गरेर वार्षिक रु १५ देखि १८ लाखसम्म आम्दानी लिने गरेको बताउनुभयो । लगनशील भएर काम गरे पैसा कमाउन विदेश जानु नपर्ने उहाँ बताउनुहुन्छ ।
उद्यमी श्रेष्ठले व्यावसायिक रूपमा कुखरा, बङ्गुर, माछापालनसँगै केराखेती पनि गरिरहनुभएको छ ।व्यवसायका लागि हालसम्म रु एक करोड हाराहारीमा लगानी गरेको बताउनुभयो । कृषिलाई व्यवसायका रूपमा अँगाल्न गाउँका युवालाई प्रेरित गर्दै उहाँले सीप पनि सिकाउँदै आउनुभएको छ ।
राज्यले अनुदानका कार्यक्रम सञ्चालन गर्दा वास्तविक किसानसम्म पुग्नुपर्ने उहाँले बताउनुभयो । पहँुचका भरमा कतिपय अनुदानका कार्यक्रम सञ्चालन गरिँदा वास्तविक किसान मारमा पर्ने उहाँको बुझाई छ । कृषिमा उदाहरणीय काम गरिरहेको भए पनि हालसम्म राज्यबाट कुनै सहयोग नपाएको उहाँको दुखेसो छ ।
आफ्नै फार्मबाट उत्पादन भएको मलको सदुपयोग गर्दै व्यावसायिक केराखेती पनि गरिरहेको उहाँले बताउनुभयो । भोजपुर टक्सारमा अजिमा कृषि तथा पशुपालन फार्ममा दुई सय बोट केरा लगाएको उहाँले बताउनुभयो । यसलाई विस्तार गर्ने उहाँको लक्ष्य छ । हाल उहाँले एक स्थानमा बङ्गुरपालन, पाँच स्थानमा व्यावसायिक कुखुरापालन र दुईवटा पोखरीमा माछापालन गरिरहेको बताउनुभयो ।
उत्पादित मलको सदुपयोग गर्दै व्यावसायिक सुन्तला, कागती र तरकारीखेती गर्ने योजना उहाँले सुनाउनुभयो । खेती विस्तारका लागि उहाँले २० रोपनी जग्गा भाडामा लिनुभएको छ । व्यवसायी श्रेष्ठले छजनालाई रोजगारी पनि दिनुभएको छ । “कृषिकर्म गर्ने दक्ष जनशक्ति पाउन समस्या छ । लगनशील भएर कृषिमा लाग्ने हो भने यही मनग्य कमाउन सकिन्छ, युवापुस्तामा आफ्नो ठाउँमा मेहनत गर्ने बानी हराउँदै गएको छ ”, उहाँले भन्नुभयो ।
त्रिशूली (नुवाकोट), ९ साउनः अविरल वर्षासँगै खसेको पहिराले गल्छी–रसुवागढी सडक योजनाअन्तर्गतको देवीघाट–गल्छी सडक अवरुद्ध भएको छ ।
विभिन्न चार स्थानमा गएको पहिराले आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिनुभयो । दुई स्थानमा पहिरो आएको छ भने दुई स्थानमा सडक भासिएर आवागमन अवरुद्ध भएको छ । सडक खुलाउन केही समय लाग्ने उहाँले बताउनुभयो ।
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले भोलिका लागि केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । बिहीबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकले पार्टीमा केन्द्रीय कमिटीलाई पूर्णता दिन कार्यविधि तथा मापदण्ड बनाउने, कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्ने लगायत विषय निर्णय गर्ने नेता सोमप्रसाद पाण्डेले जानकारी दिए ।
केन्द्रीय सदस्यका लागि सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी सन्तुलन मिलाएर मनोनयन गरिने उनको भनाइ छ। पार्टीमा २०६ केन्द्रीय सदस्य पद रिक्त छन् ।
सबै जिल्लाको पहुँच केन्द्रीय नेतृत्वमा पुर्याउन तथा भौगोलिक सन्तुलन कायम गर्न प्रत्येक जिल्लाबाट कम्तीमा एकजना सदस्यको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । समावेशीको सिद्धान्तअनुसार महिला र खुला समूह निर्धारण गरी २५ देखि ४५ वर्षको उमेर समूह र खुला उमेर समूह निर्धारण गरिएको छ ।
टीकापुर (कैलाली)- टीकापुर नगरपालिका–७ र ८ मा चितुवा त्रास फैलाएको छ । चितुवा बस्तीमा आएर घरपालुवा जनावर मार्नुका साथै मानिस पनि आक्रमणको सिकार भएका छन् ।
केही दिनअघि वडा नं ८ फाटाका २२ वर्षीय अरविन चौधरी भाग्यले बाचे । उनको शरीरमा घाउ लागेको छ । यद्यपि उनी खतरामुक्त छन् । उपचारपछि उनी तङ्ग्रिनु भएको छ । चार महिनादेखि राति बस्तीमा आउने चितुवाले भैँसी, बाख्रा, बङ्गुर र कुकुर मारेको छ ।
चितुवाको डरले राति घरबाहिर निस्कने आँट कसैको छैन । “राति शौचालय जान निस्केको थिए, नजिकै चितुवा देखेँ, अनि घरभित्र दौडिए”, टीकापुर–७ का शिवम चौधरीले भने, “त्यस दिनदेखि अँध्यारो भइसकेपछि बाहिर निस्कन डर लाग्छ । खाना खाइसकेपछि सरसफाइको काम पनि राति गर्दैनौँ ।”
गाउँमा जङ्गली जनावरको जोखिम बढेपछि वन सबडिभिजन कार्यालयको सहयोगमा सत्ती कर्णाली सामुदायिक वनको तीन सय मिटर क्षेत्रमा तारजाली लगाइएको र अझै तारजाली आवश्यक रहेको वन अध्यक्ष जीतराम चौधरी बताउँछन् । “अझै तीन किलोमिटर वनक्षेत्रमा तारजाली आवश्यक छ”, उनी भन्छन्, “जनावरलाई नियन्त्रण गर्न नसके बस्तीमा दिउँसो पनि जोखिम रहन्छ ।”
यहाँ सत्ती कर्णाली र श्रीलङ्का सामुदायिक वन क्षेत्रको नजिक भारततर्फ पनि घना जङ्गल भएकाले जङ्गली जनावरको आक्रमण बढिरहेको वडा नं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बताए । पारिबाट हात्ती, बाघ र चितुवा आउछन्, टीकापुरका वडा नं ७, ८, ५ र २ मा जङ्गल क्षेत्र जोडिएकाले यी वडामा जङ्गली जनावरको जोखिम छ ।”
वडा नं ८ मा चितुवामात्र होइन हात्तीले समेत त्यत्तिकै सताउने गरेका छन् । हात्ती नियनत्रणका लागि तारजाली लगाउने, राति उज्यालो बनाउन बत्तीको व्यवस्था गरेको उनले बताए । बर्दिया राष्ट्रिय निकुञ्जबाट पनि जङ्गली जनावर आउने भएकाले बस्ती असुरक्षित भएको उनको कथन छ ।
सत्ती कर्णाली सामुदायिक वन क्षेत्रसँग कर्णाली करिडोर क्षेत्र जोडिएकाले जङ्गली जनावरको ओहोरदोहोर हुने जोखिम रहेको वन सबडिभिजन कार्यालयका अधिकृत मोहम्मद ताहा हुसेन निकरानीले बताए । “केही महिनादेखि जङ्गली जनावरको आक्रमण बढेको जानकारी आएको छ”, उनले भने, “त्यहाँ बर्दिया राष्ट्रिय निकुञ्जबाट बर्दिया हुँदै जङ्गली जनावर कैलालीका सामुदायिक वन प्रवेश गर्ने गरेका छन्, यसले पनि जोखिम बढेको छ ।” डिभिजन कार्यालयले सामुदायिक वनलाई तारजाली लगाउन सहयोग गरेको र त्यहाँका नागरिकलाई सुरक्षित रहन सचेत गराइएको उनले बताए ।
आदिकवि भानुभक्त आचार्यको नाममा नामकरण गरिएको भानुमार्ग ट्रयाक खुलेको झण्डै ३३ वर्ष बित्दा पनि पूरा भएको छैन ।
विसं २०४९ मा कृषि उपज बजारसम्म पु¥याउने उद्देश्यले उक्त ट्रयाक खोलिएको भए पनि भानु नगरपालिका–१३ मा पर्ने चन्द्रावती बजारबाट ठूलो ढुङ्गासम्मको करिब १० किलोमिटर खण्ड स्तरोन्नति नहुँदा स्थानीयले सास्ती भोग्नुपरेको छ ।
स्थानीय कुवेर खनालले सडक सुधारका लागि पटकपटक स्थानीय तह, प्रदेश तथा सङ्घ सरकारसमक्ष धाउँदा पनि त्यो असफल भएको दुखेसो गर्नुभयो ।
सडक स्तरोन्नतिका लागि बजेट थोरै विनियोजन हुने र ठेकेदारले समयमा काम नगरिदँदा समस्या भएको भानु नगरपालिका–१३ का वडाध्यक्ष कृष्णबहादुर अधिकारीले बताउनुभयो । आठ वर्षअघि रु २३ करोड दुई लाख ८० हजार छ सयमा सडक स्तरोन्नतिका लागि ठेक्का लागेको तर काम पूरा नभएकामा उहाँ खिन्न हुनुहुन्छ ।
आदिस अबाबा । इथियोपियाको दक्षिणी क्षेत्रमा सोमबार पहिरोमा परी मृत्यु हुनेको संख्या २२९ पुगेको छ ।
दक्षिणी इथियोपियाको गेजे गोफा जिल्लामा स्थानीय समयानुसार सोमबार बिहान करिब १० बजे पहिरो गएको थियो । पहिरोमा परी मृत्यु हुनेमा १४८ पुरुष र ८१ महिला रहेको गोफा क्षेत्र सरकारी सञ्चार मामिला विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
इथियोपियामा जुलाईमा सुरु भएको र सेप्टेम्बरको मध्यसम्म रहने अपेक्षा गरिएको वर्षाको मौसममा घातक पहिरो गएको हो ।
पूर्वी अफ्रिकी देशका केही भागमा मौसमी वर्षाले कहिलेकाहीँ घातक पहिरो निम्त्याउँछ ।
तुलसीपुर (दाङ)- सल्यान बागचौर नगरपालिका–८ कोटमौला घर भई हाल तुलसीपुर उपमहानगरपालिका–१२ कौवापुर बस्दै आएकी एक बालिकालाई सर्पले डस्यो । ओछ्यानमा सुतिरहेको अवस्थामा तीन वर्षीया बालिका सिर्जना चन्दलाई सर्पले डसेपछि उनीहरूले नजिककै धामी भएको ठाउँमा लगे ।
धामीले तत्काल अस्पताल लैजान भनेपछि राप्ति प्रादेशिक अस्पताल तुलसीपुर ल्याइयो । आमा लक्ष्मी चन्दसँगै सुतिरहेको अवस्थामा सर्पले डसेपछि गम्भीर अवस्थाकी बालिकालाई अस्पताल ल्याउँदा उनको मुटुको धड्कन निकै कम चलिरहेको थियो । अस्पतालका डा रोशन गुप्ताका अनुसार ५ः३० बजेतिर बिरामीलाई अस्पताल ल्याइएको थियो ।
त्योबेला अक्सिजनको स्तर पनि ४० प्रतिशतभन्दा कम भइसकेको थियो । “अक्सिजनको लेभल ५० भन्दा कम हुँदा निकै जोखिम हुन्छ, तर ती बालिकाको अक्सिजनको लेभल ४० भन्दा कम भइसकेको थियो”, उहाँले भन्नुभयो, “बालिकाले श्वास पनि फेरिरहेको थिएन, उनलाई बचाउन सकिन्छ, की सकिँदैन भन्ने नै थियो ।” बिरामीले श्वास नै नफेरेपछि ‘एम्बु ब्याग’को सहायताले अक्सिजन दिइयो । अक्सिजन दिँदै ‘एन्टि स्नेक भ्यानम’ पनि दिएपछि ९ बजेतिर बिरामी बालिका होस्मा आइन् । अहिले उनको अवस्था सामान्य रहेको डा गुप्ताले बताउनुभयो ।
“सुतेको अवस्थामा बिहान ३ बजेतिर सर्पले डसेको देखिन्छ, ५ः३० बजेपछि मात्रै अस्पताल ल्याउँदा निकै ढिला भइसकेको थियो”, उहाँले भन्नुभयो, “तर समयमै ल्याएपछि विषालु सर्पले डसेका बिरामीको सफल उपचार गर्न सकिन्छ ।” उनलाई कोभ्रा सर्पले टोकेको थियो ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई ‘रेफर’ अस्पतालको उपनाम दिने गरिएको भए पनि बिरामी र आफन्तले विश्वास गरेर बिरामीको सफल उपचार गर्न सकिने कुराको यो गतिलो उदाहरण भएको उहाँको भनाइ छ । “यो अरु जस्तो ‘केश’ थिएन, निकै असहज अवस्थामा पनि बिरामीका आफन्तले विश्वास गरेपछि सकिने रहेछ भन्ने एउटा उदाहरण हो”, उहाँले भन्नुभयो, “सर्पले टोकेका बिरामी पनि धामीझाँक्रीको विश्वास नगरेर सिधै अस्पतालमा ल्याए सम्भव छ ।”
यो त एउटा उदाहरण मात्रै हो । अहिलेसम्म अस्पतालमा समयमै उपचारका लागि आएका सर्पले डसेका बिरामीको सहज उपचार गरेर पठाएको अस्पतालका आपत्कालीन शाखा प्रमुख धनबहादुर केसीले बताउनुभयो । यस महिनामा मात्रै दुई जना विषालु सर्पले डसेका बिरामी आएको उहाँले बताउनुभयो । ती दुवैजनाको उपचार सफल भएको केसीले बताउनुभयो ।
त्यस्तै गएको आव २०८०/८१ मा १७ जना विषालु सर्पले डसेका बिरामी आएका थिए । तीमध्ये छ जनालाई बाहिर पठाइएको र अन्य ११ जनाको उपचार सफल भएको प्रमुख केसीले बताउनुभयो ।
काठमाडौँ- परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आर्थिक कूटनीतिकका माध्यमबाट विश्वको समृद्धि तथा प्रविधि भित्र्याउने काममा लाग्न नेपालमा कार्यरत अवैतनिक वाणिज्यदूतहरुलाई आग्रह गर्नुभएको छ ।
नेपालमा कार्यरत अवैतनिक वाणिज्यदूतहरुको संस्था अनररी कन्सुलर, कर्पस नेपालको १७औँ वार्षिक साधारणसभा तथा ‘चार्टर डे’ समारोहलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री डा राणाले भन्नुभयो, “यहाँहरु यति धेरै देशसँग जोडिनुभएको छ, त्यो नेपालका लागि पनि खुसीको कुरा हो । यहाँहरु जुनजुन देशसँग जोडिनुभएको छ, ती देशको समृद्धि, प्रविधि तथा ज्ञानलाई नेपालसम्म ल्याउन र ती देशबाट नेपालमा लगानी भित्र्याउने काममा लाग्न म यहाँहरुलाई आग्रह गर्दछु ।”
मन्त्री डा राणाले नेपालको संस्कृति, यहाँको पर्यटन र सम्पदाहरु संसारकै अलौकिक र अद्वितीय रहेकाले यिनको प्रचारगरी विश्वस्तरमा पु¥याउन आग्रह गर्दै संसारका पर्यटक नेपाल भित्र्याउने काममा अनररी कन्सुलरहरको भूमिका महत्वपूर्ण हुने धारणा पनि राख्नुभयो । साथै उहाँले नेपालले लिएको शान्ति, मानव अधिकार र प्रजातन्त्रप्रतिको प्रतिबद्धताको सन्देश पनि विश्वमा पु¥याउन आग्रह गर्नुभयो ।
मन्त्री डा राणाले संसारमा नेपालको अलग्गै पहिचान रहेको र हाम्रो परम्परा र सम्पदाहरु विश्वका पर्यटकहरुका लागि आकर्षणका केन्द्र भएकाले विश्वका यतिधेरै देशससँग जोडिएका वाणिज्यदूतहरुले नेपालमा पर्यटन क्षेत्रको प्रवर्धनका लागि लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल अब राजनीतिक स्थायित्वमा प्रवेश गरेकाले वैदेशिक तथा स्वदेशी लगानीका लागि पनि लाग्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री डा राणाले भन्नुभयो, “मलाई लाग्छ राजनीतिक अस्थिरताका कारण पनि धेरै कुरामा असर पर्दछ । अब देशका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र एमाले मिलेर सरकार निर्माण गरेकाले देशमा राजनीतिक स्थायित्वको वातावरण निर्माण भएको छ । त्यसैले यहाँहरुलाई ढुक्क भएर लगानी गर्न र नेपालमा बढीभन्दा बढी वैदेशिक लगानी भित्र्याउने काममा लाग्न पनि मेरो आग्रह छ ।” उहाँले नेपालमा यी दुई ठूला दल मिल्दा देशमा समय समयमा ठूला र महत्वपूर्ण राजनीतिक परिवर्तन भएका स्मरण गर्दै अब पनि यी दलको संयुक्त सरकारबाट देशमा राजनीतिक स्थायित्व र समृद्धि आउने विश्वास दिलाउनुभयो ।
नेपालमा कार्यरत ६२ देशका अवैतनिक वाणिज्यदूतहरुको यो संस्थाले आज नयाँ डिनमा नेपाल उद्योग वाणिज्य महासंघक अध्यक्ष चन्द्रप्रसाद ढकाल र भाइ डिनमा भोलाविक्रम थापालाई चयन गरेको छ । यसअघिका डिन विष्णु अग्रवालले सो पद ढकाललाई हस्तान्तरण गर्नुभएको हो । ढकाल नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत हुनुहुन्छ । सो अवसरमा डिन ढकालले आफूहरुले आर्थिक र सांस्कृतिक रुपमा देशलाई विश्व समुदायसँग जोड्दै आएको बताउनुभयो । –––
काठमाडौँ, ९ साउन : नेपालका लागि अरब गणतन्त्र इजिप्टका राजदूत नोहा एलगेब्लीले २०८३ साल मङ्सिरमा विकासशील मुलुकमा स्तरोन्नति हुने नेपालको सहज लक्ष्यप्राप्तिमा इजिप्टले सक्दो सहयोग गर्ने बताउनुभएको छ ।
इजिप्टको राष्ट्रिय दिवसका अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा मङ्गलबार साँझ यहाँ आयोजित स्वागत समारोहमा राजदूत एलगेब्लीले अल्पविकसित मुलुकबाट विकासोन्मुख राष्ट्रमा सहज ढङ्गले स्तरोन्नत हुन नेपाललाई आफ्नो मुुलुकले सघाउने बताउनुभयो ।
नेपालको आर्थिक–सामाजिक प्रगति एवं राजनीतिक स्थायित्व इजिप्टको चाहना भएको बताउँदै उहाँले असंलग्न आन्दोलन (नाम), जी–७७ संयुक्त राष्ट्रसङ्घलगायत बहुपक्षीय मञ्चमा इजिप्ट र नेपालबीच साझा चासोका विषयमा सहकार्य हुँदै आएको बताउनुभयो ।
जलवायु परिवर्तनलगायत आपसी हितका विषयहरूमा पनि इजिप्ट र नेपालबीच साझेदारी रहेको बताउँदै राजदूत एलगेब्लीले नामको संस्थापक सदस्य नेपाल इजिप्टको निकटको मित्र हो भन्नुभयो । सन् १९५७ मा नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गरेयता द्विपक्षीय सम्बन्ध अझ सुदृढ बन्दै गएको चर्चा गर्दै उहाँले इजिप्टका पिरामिड र नेपालको सगरमाथा विश्वभरका पर्यटकका निम्ति आकर्षणका केन्द्र बनेका बताउनुभयो ।
नेपालसँग सबैभन्दा पहिले कूटनीतिक सम्बन्ध स्थापना गर्ने मुलुक इजिप्टले तीन सयजना नेपाली विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको अवसर दिएको उल्लेख गर्दै भविष्यमा छात्रवृत्तिका कोटा बढाउन आफू प्रतिबद्ध रहेको बताउनुभयो । दुई देशबीचको परामर्श संयन्त्रले चाँडै त्यस सम्बन्धमा निर्णय गर्ने जानकारी पनि उहाँले दिनुभयो । आर्थिक साझेदारी, लगानी एवं व्यापारका क्षेत्रमा भने दुई देशले अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो ।
सन् १९५२ को क्रान्ति इजिप्टको विकासको वाहक बनेको बताउँदै राजदूत एलगेब्लीले गरिमामय इतिहासलाई कायम राख्दै निरन्तर विकासको बाटोमा अग्रसर हुन आफ्नो देशका जनतालाई राष्ट्रिय दिवसले प्रेरित गरेको उल्लेख गर्नुभयो । समारोहमा यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारको उच्चपदस्थ कर्मचारी, उद्यमी व्यवसायी र वरिष्ठ सञ्चारकर्मीहरूको उपस्थिति थियो ।
भद्रपुर (झापा)। जिल्ला पूर्वाधार विकास कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा रु दुई अर्ब १२ करोड ४६ लाख ५० हजार खर्च भएको छ । यो खर्च पुँजीगततर्फ विनियोजित रकमको ७३ दशमलव ३९ प्रतिशत हो ।
उक्त कार्यालयका सूचना अधिकारी उत्तम नारायण खरेलका अनुुसार प्रदेश स्रोत, सङ्घ सशर्त र समपूरक गरी जम्मा दुई अर्ब १२ करोड ४६ लाख ५० हजार पुँजीगततर्फ विनियोजन भएको थियो । “चालुतर्फ विनियोजित दुई करोड ३० लाखमध्ये एक करोड ७६ लाख ४६ हजार अर्थात् ७७ प्रतिशत रकम खर्च हुँदा समग्रमा ७३ दशमलव ४३ प्रतिशत खर्च भएको छ”, उहाँले भन्नुभयो ।
झापा र इलाम दुई जिल्ला कार्यक्षेत्र रहेको पूर्वाधार विकास कार्यालयले गत आवमा झापामा चार र इलाममा दुई गरी छवटा मोटरेबल पुल निर्माण सम्पन्न गरेको थियो । यसैगरी, गत आवमा २६ दशमलव ७३ किमी सडक कालोपत्र, २७ दशमलव ५८ किमी सडक ग्राभेल, १७ दशमलव पाँच किमी सडक मर्मत, तीन किमी कच्ची सडक, एक दशमलव ३७ किमी पिसिसी र दुई दशमलव २० किमी सडक सोलिङ गर्ने काम सम्पन्न भएको छ । झापा जिल्लामा दुईवटा बहुवर्षीय सडकको २० दशमलव ४७ किमी निर्माण सम्पन्न भएको छ ।
नुवाकोट । अविरल वर्षासँगै आएको पहिरोले नुवाकोटमा नौ परिवार विस्थापित भएका छन् । पहिरोले एकघर र पसल बगाएको छ । का–४ अर्चलेमा बस्ती माथिबाट आएको पहिरोले कमलबहादुर तामाङको पक्कि घर र किराना पसल बगाएको हो ।
वडा नं ४ का अध्यक्ष रामशरण राईले किराना पसल बगाउँदा त्यहाँ रहेका रु १० लाख बराबरको सामग्री पहिरोमा पुरिएका छन् भने घरमा पूर्णरूपमा क्षति पुगेको जानकारी दिए ।
अर्चलेस्थित बस्ती माथिबाट बगिरहेको पहिरोले सोही स्थानका अन्य एक दर्जन परिवार विस्थापित भएका छन् । पहिरोले घरमा क्षति पु¥याउन थालेसँगै आफूहरू छिमेकी गाउँमा आश्रय लिन बाध्य भएको पहिरोपीडित राजकुमार तामाङले गुनासो गरे । उनीसहित रामकुमार तामाङ, सुवास तामाङ, शुकबहादुर रुम्बा, शुकबहादुर तामाङ, भैरवबहादुर तामाङ, प्रेमबहादुर तामाङ, सरोज तामाङ, रामकृष्ण तामाङको परिवार विस्थापित भएका हुन् ।
उक्त स्थानमा १५ वर्षअघि पनि पहिरो जाँदा पाँच परिवार विस्थापित भएको थिए । अन्यत्र जमिन नभएकाले सोही स्थानमा बसोबास गर्दै आएकामा फेरि पहिराको जाखिम बढेपछि घर छोड्नुपरेको पीडितको गुनासो छ ।
दाङ । नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेशका संसदीय दलको नेता परिवर्तन गरेको छ । यसअघि प्रदेश संसदीय दलको नेता धर्मबहादुर चौधरी थिए ।
उनका ठाउँमा राजकुमार चौधरी चयन भएका हुन् । सोमबार दलको नेता चयन गरेर प्रदेशसभालाई पनि जानकारी गराइएको राजकुमार चौधरीले बताए। त्यस्तै प्रमुख सचेतकमा नरमाया ढकाल र सचेतकमा निर्मलादेवी थारुलाई चयन गरिएको छ ।
लुम्बिनीमा नागरिक उन्मुक्तिका चार जना प्रदेशसभा सदस्य छन् । यसअघिका दल नेता चौधरी दुई पटक भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् । कांग्रेस नेता डिल्ली चौधरी र नेकपा (माओवादी केन्द्र) का नेता जोखबहादुर महरा मुख्यमन्त्री हुँदा उनी दुवै पटक मन्त्री थिए ।
काठमाडौँ, ९ साउनः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी , बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । बागमती, गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिराको जोखिमबाट बच्न अनुरोध गरेको छ ।
कैलाली । राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी एवं प्रशिक्षक लालबहादुर खड्काको ५९ वर्षको उमेरमा आज निधन भएको छ ।
धनगढीस्थित आफ्नै घरमा बिहान अचानक बेहोस भएपछि अस्पताल पुर्याइएका खड्काको उपचारका क्रममा निधन भएको हो । उनलाई मस्तिष्काघात भएको पारिवारिक स्रोतले जनाएको छ ।
धनगढी क्षेत्रमा फुटबलको विकास र विस्तारमा नेतृत्वदायी योगदान दिएका खड्काले लामो समयसम्म सुदूरपश्चिम खेलकुद विकास समितिमा फुटबल प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।
चलचित्र ‘नालापानी’ रि-रिलिज हुने भएको छ । रिमेश अधिकारीको लेखन, निर्माण तथा निर्देशन रहेको यो चलचित्रको रिलिज मिति घोषणासँगै निर्माण टिमले नयाँ ट्रेलर समेत सार्वजनिक गरेको छ ।
चलचित्र सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको नेपाल-अंग्रेज युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई आधार बनाइएको छ ।
चलचित्रमा अर्जुनजंग शाही, सन्तोष पन्त, देशभक्त खनाल, दयाराम दाहाल, पुजना प्रधान, मनोज शाक्य, विशाल पहारी, अचुत गजुरेल, हिक्मत थपलिया, जनक बर्तौला, सरिता राजोपाध्याय, गीता बिष्ट, साहिना भट्टराई, गीता अधिकारी, सुवास गजुरेल र सुवर्ण थापालगायतको अभिनय छ ।
काठमाडौँ – विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का एक शीर्ष अधिकारीले मङ्गलबार युद्धग्रस्त गाजाको ढलमा सम्भावित पोलियोभाइरस फेला परेपछि सम्भावित प्रकोपलाई लिएर ‘अत्यन्त चिन्तित’ भएको बताउनुभएको छ । उहाँले पोलियो जस्तो सरुवा रोगले चोटपटकभन्दा बढी मृत्यु हुनसक्ने चेतावनी दिनुभयो ।
ग्लोबल पोलियो प्रयोगशाला नेटवर्कले जुन २३ मा गाजा पट्टीमा ढलबाट सङ्कलन गरिएका छ वटा वातावरणीय नमूनामा खोपबाट व्युत्पन्न टाइप–२ पोलियोभाइरस फेला पारेको राष्ट्रसङ्घीय ऐजेन्सी डब्लुएचओले गत साता बताएको थियो ।
कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रहरूमा डब्लुएचओका स्वास्थ्य आपत्कालीन प्रमुख अयादिल सपरबेकोभले भन्नुभयो, “हामीले अहिलेसम्म मानव नमूना सङ्कलन गरेका छैनौँ, त्यसैले कोही भाइरसबाट सङ्क्रमित भएको छ वा छैन भन्ने अस्पष्ट छ ।”
तर उहाँले जेरुसेलमबाट भिडियो–लिङ्कमार्फत जेनेभामा पत्रकारहरूसँग भन्नुभयो, “म अत्यन्त चिन्तित छु ।”
पोलियो मानिसहरूलाई सम्भावितरूपमा अशक्त बनाउने र विशेषगरी पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई असर गर्ने घातक भाइरल रोग हो । पोलियोविरुद्धको एक प्रकारको खोपमा थोरैमात्रामा कमजोर तर जीवित पोलियो हुन्छ र यो कहिलेकाहीँ प्रकोपको कारण बन्न सक्छ ।
मौखिक पोलियो खोप (ओपिभी) आन्द्रामा प्रतिकृति बनाउँछ र मल–दूषित पानीको माध्यमबाट अन्यसम्म पुग्न सक्छ । यसको अर्थ खोप लगाएका बालबालिकालाई यसले हानि पुर्याउँदैन तर सरसफाइ र खोपको स्तर कम भएको स्थानमा यसले सङ्क्रमित गर्न सक्छ ।
विज्ञान अध्ययन तथा जोखिम मूल्याङ्कन जारी रहँदा सपरबेकोभले गाजामा कुनै पनि रोग फैलिने सम्भावनप्रति गहिरोरूपमा चिन्तित रहेको बताउनुभयो । इजराइलभित्र अक्टोबर ७ मा हमासको घातक आक्रमणपछि नौ महिनाभन्दा लामो युद्धपछि गाजाले विशाल मानवीय सङ्कटको सामना गरिरहेको छ ।
“म गाजामा भइरहेका प्रकोपहरूबाट अत्यन्त चिन्तित छु”, गत वर्षको अन्त्यमा हेपाटाइटिस ए फैलिएको पुष्टिलाई औँल्याउँदै उहाँले भन्नुभयो, “र अब हामीलाई पोलियो हुनसक्छ ।”
“अपाङ्ग स्वास्थ्य प्रणाली, पानी र सरसफाइको कमीका साथै स्वास्थ्य सेवामा जनताको पहुँचको अभावले यो धेरै खराब अवस्था बन्नेछ”, उहाँले चेतावनी दिँदै भन्नुभयो, “हामीमा चोटपटकसम्बन्धी रोगहरूको तुलनामा विभिन्न प्रकारका सरुवा रोगबाट धेरै मानिस मरेका हुनसक्छन् ।”
सपरबेकोभले मङ्गलबार गाजामा डरलाग्दो अवस्थाको वर्णन गर्नुभयो । उहाँका अनुसार गाजामा ३६ अस्पतालमध्ये १६ वटाले मात्र आंशिकरूमा काम गरिरहेका छन् । डब्लुएचओले लामो समयदेखि गम्भीर रूपमा बिरामी र घाइतेहरूका लागि गाजाबाट चिकित्सा निकासीको तत्काल आश्यकतामा जोड दिएको छ ।
काठमाडौँ, ८ साउनः फ्रान्सको पेरिसमा आयोजना हुने ३३औँ गृष्मकालीन ओलम्पिक प्रतियोगिताको मार्चपासमा नेपालको झण्डा टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ र जुडो खेलकी मनिता श्रेष्ठ प्रधानले संयुक्त रूपमा बोक्ने भएका छन् ।
यही साउन ११ देखि २७ गतेसम्म हुने प्रतियोगिताको उद्घाटनमा स्यान्टु र मनिताले नेपालको भण्डा बोक्ने नेपाल ओलम्पिक कमिटीले जनाएको छ । स्यान्टु क्षेत्रीय तथा मनिता महादेशीय छनोटबाट ओलम्पिकमा सहभागी हुन लागेकी हुन् ।
पेरिस ओलम्पिकमा नेपालबाट सात खेलाडीको सहभागिता रहनेछ, जसमा स्यान्टु र मनितासहित ब्याडमिन्टनका प्रिन्स दाहाल, सुटिङकी सुस्मिता नेपाल, पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा तथा एथलेटिक्सकी सन्तोषी श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
ओलम्पिकमा सुटिङमा प्रदीप खाती, टेबल टेनिसमा राजेन्द्र कपाली, जुडोमा देवु थापा, एथलेटिक्समा कान्तिकुमारी महतो यादव र पौडीमा नयना शाक्यले प्रशिक्षको भूमिका निर्वाह गर्नेछन् । ब्याडमिन्टनका प्रिन्सले भने प्रशिक्षकविना खेल्नुपर्ने भएको छ । टिम डाक्टरमा नविसमानसिंह प्रधान छन् ।
त्यहाँ सहभागी हुने नेपाली टोलीका अधिकांश सदस्य पेरिस पुगिसकेका छन् । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसँगै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव निलेन्द्रराज श्रेष्ठ भने उद्घाटनका अवसरमा उपस्थित हुने कार्यक्रमम रहेको ओलम्पिक कमिटीले जनाएको छ । यस्तै एथलेटिक्सतर्फ म्याराथनको प्रतिस्पर्धा अन्तिम दिन हुने भएकाले त्यसमा सहभागी हुने खेलाडी सन्तोषी भने यही साउन १५ गते पेरिस प्रस्थान गर्ने तय भएको छ ।
कञ्चनपुर । वेदकोट नगरपालिका-७ शान्तिटोलका ६५ वर्षीया शान्ती धामी दुई साताअघिदेखि गाउँ नजिकैको विद्यालयमा आश्रय लिएर बस्दै आएका छन् । असार २३ गते राति कनकट्टी खोलामा आएको बाढीले घरभित्रको सबै सामान बगाएर लगेपछि धामी विद्यालयमा बस्दै आएका हुन् । खोलाको बाढी बस्तीमा छिरेपछि रातीका बेला घर छाड्न बाध्य भएका यहाँका ७९ परिवारमध्ये आठ परिवार वडाका दुईवटा विद्यालयमा आश्रय लिएर बस्दै आएका छन् ।
बाढीको पानी घटेपछि ७१ परिवार भने घर फर्किसकेका छन् । आठ परिवार भने बाढीबाट घरबारविहीन भएकाले अझै पुनर्वास हुनसकेका छैनन । विद्यालयमा छुट्टीको समय भएकाले बाढी प्रभावित परिवारलाई अस्थायी रुपमा बस्ने प्रबन्ध गरिएको छ । यी परिवारलाई नेपाल रेडक्रस सोसाइटीले खाद्यान्न, भाँडाकुँडा र त्रिपालको व्यवस्था गरेको छ ।
पशुपति आधारभूत विद्यालयमा बस्दै आएका रामसिंह नायकले बाढीको पानीले घरसहित सबै समान बगाएर लगेपछि विचल्लीमा परेको बताए । “शरीरमा लगाएको एकसरो लुगामात्रै बाँकी छ । अरू सबै बाढीले लग्यो”, उनले भने, “राहतका रूपमा उपलब्ध गराइएको खाद्यान्न सबै सकिने अवस्थामा छ, थप राहत पाइएको छैन ।”
बाढीपीडित वसन्ती कुँवरले बाढीका कारण लालाबालासहित असार २३ गते राति घरछोडेकामा पुनः फर्किने अवस्था नरहेको पीडा सुनाए । “रातिका बेला पानी परिरहेको थियो, अचानक खोलाको बहाव बढ्न थाल्यो, हेर्दाहेर्दै घरभित्रै पानी पस्यो, हतारमा बालबालिका बोकेर राति १० बजे घर छाडेर भाग्यौँ”, उनले भने, “घरभित्रको अन्न, लुगाफाटो, खाना बनाउने ग्यास सिलिन्डर, खाद्यान्न केही झिक्न पाएनौँ, सबै बाढीले बगाएर लग्यो ।”
स्थानीय मञ्जु पार्कीले बर्सौदेखि बस्दै आएको स्थानमा यति ठूलो वर्षा र बाढी यसअघि कहिल्यै नदेखेको बताए । बाढी बस्तीमा पसेपछि धेरैको बिचल्ली भएको उनको भनाइ छ ।
बाढीपीडित स्थानीय भुवन दमाईंले त्यो रात सम्झिदा अहिले पनि आकासमा बादल देख्दासमेत त्रसित हुने अवस्था रहेको सुनाए । उनले भने, “त्यो रातिको वर्षा र बाढीको डरले सताउन छाडेको छैन, आकासमा बादल लागे अझै डराउनुपर्ने अवस्था छ । त्योभन्दा बढी चिन्ता अब फेरि कसरी घर जाने र के खाने भनेर लाग्छ किनकि घर बगाएको छ, अन्नपात सबै बाढीले बगाएको छ ।”
घरको अन्न मात्रै होइन खेतमा रोपेको धानसमेत बालुवा पुरिएको छ । खेत बगरमा परिणत भएको छ । विद्यालयको छुट्टीका कारण यहाँ आश्रय लिइरहे पनि केही दिनपछि पुनः पढाई सुरू भएपछि थप समस्या हुने पीर बाढीपीडितलाई छ । स्थानीय सुरमा चन्द यही पीरले प्रभावित परिवारलाई आवश्यक राहत र सुरक्षित बासको प्रबन्ध मिलाइ दिन स्थानीय सरकारसँग आग्रह गर्छन् ।
वडाध्यक्ष थानेश्वर भट्टकानुसार असार २३ गते रातिको विनाशकारी बाढीबाट प्रभावित ७९ परिवारमध्ये २२ परिवार पूर्ण रूपमा विस्थापित भएका छन्, आठ परिवारको घरजग्गा केही पनि बाँकी छैन । यी परिवारको व्यवस्थापनका लागि छलफल चलिरहेको उनले जानकारी दिए । “पूर्ण रूपमा विस्थापित भएका परिवारलाई पुनःस्थापना गराउन नगरप्रमुखलगायत सरोकार भएकाहरूको ध्यानाकर्षण गराएको छु । अब बस्ने नगरपालिकाको कार्यपालिका बैठकमा पनि यो कुरा उठाउँछु”, उनले भने ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार असार २३ र २४ गतेको २४ घण्टामा शान्तिपुरसँगै जोडिएको सुन्दरपुरलगायत क्षेत्रमा ‘रेकर्ड ब्रेक’ (अति भारी) वर्षा भएको थियो । त्यस क्षेत्रमा पाँच सय ५६ दशमलव चार मिलिलिटर वर्षा मापन गरिएको थियो । सोही वर्षाका कारण पूर्वपश्चिम राजमार्गको सुँडाखण्डमा रहेको कल्र्भट बगेको थियो । हाल बगेको कल्भर्टको छेउमा डाइभर्सन निर्माणगरी अस्थायी रूपमा सवारीसाधन सञ्चालनको व्यवस्था गरिएको छ ।
काभ्रेपलाञ्चोकको साँगाबाट कल्पना कार्की बिहान ७ बजे यातायात व्यवस्था कार्यालय भक्तपुरमा आइपुग्नुभयो । विगत तीन दिनदेखि कार्यालयमा धाउनुभएकी उहाँले आज पनि सेवा नपाइ फर्कनुपर्यो । केही दिनयता सर्भरमा समस्या आएको भन्दै देशभरका यातायात कार्यालयमा सेवा प्रवाह रोकिएपछि सेवाग्राही निकै प्रभावित बनेका छन् । तीमध्येकी कल्पना एक उदाहरण मात्रै हुन् । कार्यालयमा सेवा लिन बिहानैदेखि भीड लाग्ने र सेवा नपाएर फर्कने उहाँजस्ता धेरै नागरिक छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत यातायात व्यवस्था विभाग, केन्द्रीय डाटा सेन्टरमा समस्या आएको भन्दै गत आइतबारदेखि नै सेवा प्रभावित भइरहेको छ ।
यातायात व्यवस्था कार्यालय भक्तपुरका प्रमुख दण्डबहादुर बस्नेतले गत आइतबारदेखि नै सर्र्भरमा समस्या आएको बताउनुभयो । उहाँले भन्नुभयो,“आइतबारदेखि बुधबारसम्म सर्भर कहिले आउने र कहिले जाने भइरहेको छ, आउँदा पनि निकै ढिलो थियो तर बिहीबारदेखि सोमबारसम्म त बन्द नै भयो, आज बेलाबेला चल्ने र नचल्ने समस्या भयो ।”उहाँले यस्तो समस्या भक्तपुरमा मात्र नभई देशभरका यातायात कार्यालयमा देखिएको बताउनुभयो । यातायात कार्यालयअन्तर्गत सम्पूर्ण डाटा एवं अनलाइन प्रणाली आन्तरिक रूपमा विभागमार्फत नियन्त्रण तथा सञ्चालन हुँदै आएकाले यस सन्दर्भमा अनुरोध गर्नेबाहेक कार्यालयको भूमिका नहुने बस्नेतको धारणा छ ।
उहाँले यसबाट कर्मचारी र सेवाग्राही दुवै समस्यामा परेको गुनासो गर्नुभयो । “सर्भरमा समस्या भयो भनेर माथिबाट निर्देशन आएपछि कार्यालयले सेवा प्रवाह नहुने सूचना टाँस्नु पर्छ, बिहानैदेखि आउने सेवाग्राहीहरू मारमा पर्छन्, सूचना टाँस्ने बित्तिकै सेवाग्राहीको आक्रोस र कहिलेकाही नाराबाजीलाई थेग्न निकै गाह्रो हुन्छ, के गर्नु हाम्रो समस्या समाधान गर्न हाम्रो भूमिका छैन ।”नयाँ सवारी चालक अनुमतिपत्र, पुरानो नवीकरण, प्रयोगात्मक, पुनःपरीक्षालगायतका सेवाका लागि दैनिक एक हजार पाँच सयसम्म सेवाग्राही भक्तपुर कार्यालयमा आउँने गरेका छन् ।
सर्भरमा समस्या हुँदा सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षासमेत प्रभावित हुने गरेको छ । कार्यालय प्रमुख बस्नेतकानुसार यस्तो समस्याले आइतबार हुने परीक्षालाई बिहीबार र सोमबार हुनेलाई शुक्रबार गर्दै पछाडि धकेल्दा सेवा खप्टिदै गएको छ ।
यस्तो हुँदा बिचौलिया प्रवृत्ति मौलाइरहेको सेवाग्राहीको आरोप छ । सेवाग्राही रामशरण महतले आफू तीन दिनदेखि कार्यालय धाउँदा पनि उस्तै समस्या दोहोरिएको तर बिचौलियाले भने पैसा दिएमा काम गरिदिन्छौँ भनेर प्रलोभन देखाउने गरेको गुनासो गर्नुभयो ।
सङ्घीय यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले प्राविधिक समस्याका कारण सर्भरमा समस्या भएको जानकारी दिनुभयो । उहाँले प्राविधिक खटाएर समस्या समाधानको प्रयास भइरहेको बताउनुभयो । महानिर्देशक रिजालले रासससँग भन्नुभयो, “समस्या समाधानको प्रयास भइरहेको छ । प्राविधिकबाट ‘डाटा’ धेरै भएर समस्या आएको र सर्भरमा डाटा क्रयास भएको छ भन्छन्, त्यसलाई सफा गर्ने काम भइरहेको छ ।” उहाँले थप विज्ञ प्राविधिक ल्याएर समस्याको दीर्घकालिन समाधान गर्ने प्रयास गरिने सुनाउनुभयो ।
श्रीलङ्काका २० दशमलव तीन प्रतिशत घरपरिवारमा आधारभूत पिउने पानीको सुविधा नभएको जनगणना तथा तथ्याङ्क विभाग (डिसिएस) ले घरायसी खानेपानीको गुणस्तरमा हालै गरेको सर्वेक्षणले देखाएको छ ।
विभागले आधारभूत सुविधाहरूमा पहुँच भन्नाले संरक्षित इनार, ट्युबवेल, धाराको पानी, बोतलको पानी र आरओ (रिभर्स ओस्मोसिस) प्लान्टबाट ३० मिनेटभित्र पिउने पानी सङ्कलन गर्ने क्षमतालाई परिभाषित गरेको छ । उक्त प्रतिवेदनले श्रीलङ्काका ४० दशमलव छ प्रतिशत घरपरिवारले प्रदूषणमुक्त स्रोतहरू प्रयोग गरेको बताएको छ ।यसैबीच श्रीलङ्काका शून्य दशमलव सात प्रतिशत घरपरिवारले नदी, बाँध, ताल, पोखरी, खोला, नहर वा सिँचाइ नहर जस्ता सतही पानीका स्रोतहरूबाट सिधै पिउने पानी सङ्कलन गरेको प्रतिवेदनले देखाएको छ ।
साथै विभागले पनि १६ दशमलव एक प्रतिशत घरपरिवारले असुरक्षित इनारको पानी पिउने गरेको पाइएको छ । विभागले सर्वेक्षणमा मुलुकभर विभिन्न वर्गलाई प्रतिनिधित्व गर्ने तीन हजार दुई सय १० घरधुरीका नमूनाहरू छनोट गरेको थियो ।
सङ्खुवासभा– नेपाली नागरिकताको प्रमाणपत्रको विकल्पका रूपमा सरकारले अघि सारेको राष्ट्रिय परिचयपत्र सरकारी कार्यालयमै थन्किएको छ । राष्ट्रिय परिचयपत्रका लागि विवरण उपलब्ध गराएका सङ्खुवासभालगायत कोशी प्रदेशका अधिकांश नागरिकले राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सकेका छैनन् ।
त्यसो त जिल्लामा राष्ट्रिय परिचयपत्रका २५ हजार कार्ड वितरण नभएपछि कार्यालयमै थन्किएका छन् । छपाइ भएका २५ हजार बढी कार्ड वितरण हुन नसकेको हो । कार्ड लिनका लागि व्यक्ति स्वयं आफैँ उपस्थित हुनुपर्ने भएकाले पनि २५ हजार बढी कार्ड कार्यालयमै थन्किएका हुन् ।
सङ्खुवासभामा राष्ट्रिय परिचयपत्रका लागि विसं २०७६ देखि विवरण सङ्कलन भए पनि करिब चार वर्षपछि मात्र कार्ड छपाइ भएर जिल्ला आएको हो । चार वर्षभन्दा लामो समयदेखि कुरिरहेका नागरिक राष्ट्रिय परिचयपत्र लिन आएका छैनन् ।
छपाइ भएका २५ हजार २४८ कार्यालयमै रहेको राष्ट्रिय परिचयपत्र वितरण शाखाकी प्रमुख आशा जबेगुले जानकारी दिइन् । कार्ड लिनका लागि बोलाउँदा नागरिक कार्ड लिन नआएको कार्यालयकी प्रमुख जबेगुले बताइन् । ‘फिङ्गर प्रिन्ट’ रुजु गर्न अनिवार्य र पिन नम्बर पनि रहेकाले परिचयपत्र लिने व्यक्तिलाई आफैँ उपस्थित हुनुपर्ने प्रमुख जगेबुको भनाइ छ ।
राज्यले प्रदान गर्ने सेवासुविधा र अधिकार नागरिकले प्राप्त गर्ने पहिलो आधार व्यक्तिगत घटना दर्तासँग जोडिएको राष्ट्रिय परिचयपत्रलाई सरकारले नेपाली नागरिकताको प्रमाणपत्रको विकल्पका रूपमा अघि सारेको छ ।
जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि एक लाख २६ हजार १४ जनाको विवरण सङ्कलन भइसकेको छ । जिल्ला प्रशासन कार्यालय खाँदबारी र इलाका प्रशासन कार्यालय चैनपुरबाट विवरण सङ्कलन भइरहेको छ । परिचयपत्र विवरण सङ्कलनमा व्यक्तिको नाम, थर, जन्ममिति, लिङ्ग, आमाबाबुको नाम, ठेगाना, नागरिकताको किसिम, पति र पत्नीको नाम, बाजेको नाम, दशऔँलाको छाप, नागरिकता नम्बर, फोटो, राष्ट्रियता, हस्ताक्षर आदि आवश्यकपर्ने बताइएको छ ।
परिचयपत्र निर्माणका लागि नागरिकता, विवाह दर्ता, बसाइँसराइ कागजको सक्कल आवश्यकपर्ने बताइएको छ । राज्यले प्रदान गर्ने सेवासुविधा र अधिकार नागरिकले प्राप्त गर्ने पहिलो आधार व्यक्तिगत घटना दर्तासँग जोडिएको राष्ट्रिय परिचयपत्रलाई सरकारले नेपाली नागरिकताको प्रमाणपत्रको विकल्पका रूपमा अघि सारेको थियो ।
काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले डेंगीबाट कसैले पनि ज्यान गुमाउनु नपर्ने अवस्था निर्माणका लागि मन्त्रालयले काम गरिरहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद प्रतिमा गौतमले प्रस्तुत गरेको डेंगी नियन्त्रणसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले डेंगी रोकथाम तथा नियन्त्रण गर्न आवश्यक रणनीति अख्तियार गरिएको जानकारी दिए ।
मन्त्री पौडेलले डेंगी रोकथाम तथा नियन्त्रण कार्ययोजना २०८१ अनुसार काम भइरहेको बताए । ‘विश्वव्यापी रूपमा प्रभावकारी मानिएको र सिफारिस गरिएको लामखुट्टेको बासस्थान खोजी गर्ने र नष्ट गर्ने अभियान सञ्चालन गरिएको छ, सङ्घ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायले गर्नुपर्ने कामसहितका व्यवस्थाका लागि डेंगी रोकथाम तथा नियन्त्रण कार्ययोजना २०८१ स्वीकृत भई कार्यान्वयनमा ल्याइएको छ,’ उनले भने ।
मन्त्री पौडेलले डेंगी रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा राष्ट्रिय ‘डेंगी टास्क फोर्स’ गठन भई क्रियाशील रहेको जानकारी दिए । स्थानीय तह र प्रदेशमा द्रुत प्रतिकार्य टोली परिचालित भएका पनि उनले बताए ।
स्थानीय तहमार्फत बहुनिकायको सहभागितामा खोज तथा नष्ट अभियानलाई व्यापकरूपमा सञ्चालन गर्न चालु आर्थिक वर्षमा स्थानीय तहमा रु सात करोड ९८ लाख र ७७ वटा जिल्लामा रु दुई करोड बजेट विनियोजन गरिएको मन्त्री पौडेलले जानकारी दिए । ‘डेंगी रोगको स्क्रिनिङका लागि डेंगी परीक्षण कीटको व्यवस्थापनगरी मौज्दात राखिएको छ, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको सिफारिसमा निःशुल्क परीक्षण गरिँदै आएको छ,’ उनले भने ।
मनसुनसँगै डेंगीको सङ्ख्यामा वृद्धि हुँदै जाने र द्रुत परीक्षण कीटको माग अत्यधिक हुने हुँदा उक्त मागलाई सम्बोधन गर्न तथा अपुग कीट खरिद तथा व्यवस्थापनका लागि प्रदेशमा समेत आवश्यक स्रोत सुनिश्चित गरिएको मन्त्री पौडेलको भनाइ छ । ‘डेंगीबाट हुने मृत्युको जोखिम कम गर्न निजी तथा सरकारी अस्पतालका आठ सयभन्दा बढी चिकित्सक र स्वास्थ्यकर्मीलाई डेंगी रोगको राष्ट्रिय उपचार पद्धतिका बारेमा अभिमुखीकरण गरिएको छ,’ मन्त्री पौडेलले भने, ‘पछिल्लो छ महिनामा ७३ जिल्लामा एक हजार आठ सयभन्दा बढी डेंगीबाट सङ्क्रमित भएका छन् । यसविरुद्ध सचेतता अपनाउन आवश्यक छ ।’प्रतिनिधिसभाको अर्को बैठक यही साउन १३ गते आइतबार अपराह्न १ बजे बस्नेछ ।
काठमाडौँ, ८ साउनः परराष्ट्रमन्त्री डा आरजु राणासँग नेपालका लागि क्यानडाका गैरआवासीय राजदूत क्यामरुन म्याकेले बिदाइ भेट गर्नुभएको छ ।
मन्त्रीको कार्यकक्षमा आज भएको भेटमा मन्त्री डा राणाले नेपाल–क्यानडा सम्बन्धलाई थप सुमधुर बनाउने प्रयासका लागि राजदूत म्याकेलाई धन्यवाद दिनुभएको मन्त्रालयले जनाएको छ ।
काठमाडौँ, ८ साउनः खानेपानी मन्त्री प्रदीप यादवले जनतामा सृजित निराशालाई आशामा परिणत गर्ने गरी काम गर्न निर्देशन दिनुभएको छ ।मन्त्री यादवले आज काठमाडौँस्थित नेपाल खानेपानी संस्थान पुगेर संस्थानको खानेपानी वितरण प्रणालीलाई सुदृढ गर्दै जनताको निराशालाई आशामा परिणत गर्ने गरी काम गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “जनताको निराशालाई आशामा परिणत गर्ने गरी काम गर्नुस्, के सहयोग चाहिन्छ, मन्त्रालय गर्न तयार छ ।”
उहाँले नागरिकले शुद्ध खानेपानी खानका लागि सङ्घर्ष समिति गठन गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै जनतामा नेतृत्वप्रति चरम निराशा छाएको उल्लेख गर्नुभयो । सोही क्रममा मन्त्री यादवले नेपाल खानेपानी संस्थानका गतिविधि, देशभर सञ्चालनमा रहेका कार्यालयको अवस्था, सञ्चालनमा रहेका परियोजना तथा कार्यक्रम र कार्यान्वयनका क्रममा आएका चुनौतीको जानकारी लिनुभएको थियो ।
मन्त्री यादवले आजै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको मुख्य कार्यालयको भ्रमण पनि गर्नुभयो । भ्रमणका क्रममा उहाँले कम्पनीको इतिहास, गतिविधि, सञ्चालनमा रहेका परियोजना, तिनीहरूको कार्यान्वयनको अवस्था, प्रगति विवरण, आगामी कार्य योजना तथा चुनौतीबारेमा विस्तृत जानकारी लिनुभयो ।
काँक्रेविहार– कर्णालीका पाँच जिल्लामा यातायात सेवा अवरुद्ध भएको छ । पहिरो तथा खोलामा पानी बढेका कारण यातायात सेवा अवरुद्ध भएको प्रदेश प्रहरी कार्यालयले सुर्खेतले जानकारी दिएको छ ।
भेरी करिडोरभित्र पर्ने डोल्पाको त्रिपुरासुन्दरी–१ छलगाडमा खोलामा पानी बढेका कारण यातायात सेवा ठप्प भएको छ । त्यस्तै त्रिपुरासुन्दरी नगरपालिका–५ साङलेखोलामा पहिरो कारण साना यातायातका साधन मात्र सञ्चालनमा छन् ।
त्रिपुरासुन्दरी–९ चुँगाडमा ट्रक फस्न गएपछि यातायात सेवा ठप्प भएको छ भने भेरी करिडोरकै रुकुमपश्चिमको आठबिसकोट–६ रिजिगारमा खोलामा पानी बढेपछि आवतजावत ठप्प भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
भित्री सडकअन्तर्गत रुकुम–पश्चिमको मुसिकोट–३ माझमीमा पहिरो गएका कारण सडक अवरुद्ध भएको प्रहरीको भनाइ छ । त्यस्तै बाँफिकोट गाउँपालिका–तीन÷चार को बीचमा रहेको छिनखेत–पिपल जोड्ने सडक खोलामा पानी बढेका कारण अवरुद्ध भएको छ ।
कर्णाली करिडोरअन्तर्गत खार्पुनाथ–१ सुनखडादेखि लालुबगरसम्म सुक्खा पहिराका कारण यातायात सेवा अवरुद्ध भएको प्रहरीको भनाइ छ । कालिकोटको पचालझरना–८ लाभामा पहिराका कारण सडक अवरुद्ध भएको छ ।
मुगुको छायाँनाथ रारा नगरपालिका–७ जिरो प्वाइन्ट भित्री सडकमा पहिरो आएपछि सडक अवरुद्ध भएको छ । अवरुद्ध भएको ठाउँमा सडक खुलाउने प्रयास भइरहेको कर्णाली प्रदेश प्रहरी प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिए।