`

ओलम्पिकमा नेपालको झण्डा स्यान्टु र मनिताले बोक्ने

काठमाडौँ, ८ साउनः फ्रान्सको पेरिसमा आयोजना हुने ३३औँ गृष्मकालीन ओलम्पिक प्रतियोगिताको मार्चपासमा नेपालको झण्डा टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ र जुडो खेलकी मनिता श्रेष्ठ प्रधानले संयुक्त रूपमा बोक्ने भएका छन् ।

यही साउन ११ देखि २७ गतेसम्म हुने प्रतियोगिताको उद्घाटनमा स्यान्टु र मनिताले नेपालको भण्डा बोक्ने नेपाल ओलम्पिक कमिटीले जनाएको छ । स्यान्टु क्षेत्रीय तथा मनिता महादेशीय छनोटबाट ओलम्पिकमा सहभागी हुन लागेकी हुन् ।

पेरिस ओलम्पिकमा नेपालबाट सात खेलाडीको सहभागिता रहनेछ, जसमा स्यान्टु र मनितासहित ब्याडमिन्टनका प्रिन्स दाहाल, सुटिङकी सुस्मिता नेपाल, पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा तथा एथलेटिक्सकी सन्तोषी श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

ओलम्पिकमा सुटिङमा प्रदीप खाती, टेबल टेनिसमा राजेन्द्र कपाली, जुडोमा देवु थापा, एथलेटिक्समा कान्तिकुमारी महतो यादव र पौडीमा नयना शाक्यले प्रशिक्षको भूमिका निर्वाह गर्नेछन् । ब्याडमिन्टनका प्रिन्सले भने प्रशिक्षकविना खेल्नुपर्ने भएको छ । टिम डाक्टरमा नविसमानसिंह प्रधान छन् ।

त्यहाँ सहभागी हुने नेपाली टोलीका अधिकांश सदस्य पेरिस पुगिसकेका छन् । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसँगै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव निलेन्द्रराज श्रेष्ठ भने उद्घाटनका अवसरमा उपस्थित हुने कार्यक्रमम रहेको ओलम्पिक कमिटीले जनाएको छ । यस्तै एथलेटिक्सतर्फ म्याराथनको प्रतिस्पर्धा अन्तिम दिन हुने भएकाले त्यसमा सहभागी हुने खेलाडी सन्तोषी भने यही साउन १५ गते पेरिस प्रस्थान गर्ने तय भएको छ ।

‘रेकर्ड ब्रेक’ वर्षापछि विस्थापित परिवार बादल देख्दा पनि त्रसिन्छन्

कञ्चनपुर । वेदकोट नगरपालिका-७ शान्तिटोलका ६५ वर्षीया शान्ती धामी दुई साताअघिदेखि गाउँ नजिकैको विद्यालयमा आश्रय लिएर बस्दै आएका छन् । असार २३ गते राति कनकट्टी खोलामा आएको बाढीले घरभित्रको सबै सामान बगाएर लगेपछि धामी विद्यालयमा बस्दै आएका हुन् । खोलाको बाढी बस्तीमा छिरेपछि रातीका बेला घर छाड्न बाध्य भएका यहाँका ७९ परिवारमध्ये आठ परिवार वडाका दुईवटा विद्यालयमा आश्रय लिएर बस्दै आएका छन् ।

बाढीको पानी घटेपछि ७१ परिवार भने घर फर्किसकेका छन् । आठ परिवार भने बाढीबाट घरबारविहीन भएकाले अझै पुनर्वास हुनसकेका छैनन । विद्यालयमा छुट्टीको समय भएकाले बाढी प्रभावित परिवारलाई अस्थायी रुपमा बस्ने प्रबन्ध गरिएको छ । यी परिवारलाई नेपाल रेडक्रस सोसाइटीले खाद्यान्न, भाँडाकुँडा र त्रिपालको व्यवस्था गरेको छ ।

पशुपति आधारभूत विद्यालयमा बस्दै आएका रामसिंह नायकले बाढीको पानीले घरसहित सबै समान बगाएर लगेपछि विचल्लीमा परेको बताए । “शरीरमा लगाएको एकसरो लुगामात्रै बाँकी छ । अरू सबै बाढीले लग्यो”, उनले भने, “राहतका रूपमा उपलब्ध गराइएको खाद्यान्न सबै सकिने अवस्थामा छ, थप राहत पाइएको छैन ।”

बाढीपीडित वसन्ती कुँवरले बाढीका कारण लालाबालासहित असार २३ गते राति घरछोडेकामा पुनः फर्किने अवस्था नरहेको पीडा सुनाए । “रातिका बेला पानी परिरहेको थियो, अचानक खोलाको बहाव बढ्न थाल्यो, हेर्दाहेर्दै घरभित्रै पानी पस्यो, हतारमा बालबालिका बोकेर राति १० बजे घर छाडेर भाग्यौँ”, उनले भने, “घरभित्रको अन्न, लुगाफाटो, खाना बनाउने ग्यास सिलिन्डर, खाद्यान्न केही झिक्न पाएनौँ, सबै बाढीले बगाएर लग्यो ।”

स्थानीय मञ्जु पार्कीले बर्सौदेखि बस्दै आएको स्थानमा यति ठूलो वर्षा र बाढी यसअघि कहिल्यै नदेखेको बताए । बाढी बस्तीमा पसेपछि धेरैको बिचल्ली भएको उनको भनाइ छ ।

बाढीपीडित स्थानीय भुवन दमाईंले त्यो रात सम्झिदा अहिले पनि आकासमा बादल देख्दासमेत त्रसित हुने अवस्था रहेको सुनाए । उनले भने, “त्यो रातिको वर्षा र बाढीको डरले सताउन छाडेको छैन, आकासमा बादल लागे अझै डराउनुपर्ने अवस्था छ । त्योभन्दा बढी चिन्ता अब फेरि कसरी घर जाने र के खाने भनेर लाग्छ किनकि घर बगाएको छ, अन्नपात सबै बाढीले बगाएको छ ।”

घरको अन्न मात्रै होइन खेतमा रोपेको धानसमेत बालुवा पुरिएको छ । खेत बगरमा परिणत भएको छ । विद्यालयको छुट्टीका कारण यहाँ आश्रय लिइरहे पनि केही दिनपछि पुनः पढाई सुरू भएपछि थप समस्या हुने पीर बाढीपीडितलाई छ । स्थानीय सुरमा चन्द यही पीरले प्रभावित परिवारलाई आवश्यक राहत र सुरक्षित बासको प्रबन्ध मिलाइ दिन स्थानीय सरकारसँग आग्रह गर्छन् ।

वडाध्यक्ष थानेश्वर भट्टकानुसार असार २३ गते रातिको विनाशकारी बाढीबाट प्रभावित ७९ परिवारमध्ये २२ परिवार पूर्ण रूपमा विस्थापित भएका छन्, आठ परिवारको घरजग्गा केही पनि बाँकी छैन । यी परिवारको व्यवस्थापनका लागि छलफल चलिरहेको उनले जानकारी दिए । “पूर्ण रूपमा विस्थापित भएका परिवारलाई पुनःस्थापना गराउन नगरप्रमुखलगायत सरोकार भएकाहरूको ध्यानाकर्षण गराएको छु । अब बस्ने नगरपालिकाको कार्यपालिका बैठकमा पनि यो कुरा उठाउँछु”, उनले भने ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार असार २३ र २४ गतेको २४ घण्टामा शान्तिपुरसँगै जोडिएको सुन्दरपुरलगायत क्षेत्रमा ‘रेकर्ड ब्रेक’ (अति भारी) वर्षा भएको थियो । त्यस क्षेत्रमा पाँच सय ५६ दशमलव चार मिलिलिटर वर्षा मापन गरिएको थियो । सोही वर्षाका कारण पूर्वपश्चिम राजमार्गको सुँडाखण्डमा रहेको कल्र्भट बगेको थियो । हाल बगेको कल्भर्टको छेउमा डाइभर्सन निर्माणगरी अस्थायी रूपमा सवारीसाधन सञ्चालनको व्यवस्था गरिएको छ ।

सर्भरमा समस्या आएपछि यातायात कार्यालयको सेवा प्रभावित, सेवाग्राही मारमा

काभ्रेपलाञ्चोकको साँगाबाट कल्पना कार्की बिहान ७ बजे यातायात व्यवस्था कार्यालय भक्तपुरमा आइपुग्नुभयो । विगत तीन दिनदेखि कार्यालयमा धाउनुभएकी उहाँले आज पनि सेवा नपाइ फर्कनुपर्‍यो । केही दिनयता सर्भरमा समस्या आएको भन्दै देशभरका यातायात कार्यालयमा सेवा प्रवाह रोकिएपछि सेवाग्राही निकै प्रभावित बनेका छन् । तीमध्येकी कल्पना एक उदाहरण मात्रै हुन् । कार्यालयमा सेवा लिन बिहानैदेखि भीड लाग्ने र सेवा नपाएर फर्कने उहाँजस्ता धेरै नागरिक छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत यातायात व्यवस्था विभाग, केन्द्रीय डाटा सेन्टरमा समस्या आएको भन्दै गत आइतबारदेखि नै सेवा प्रभावित भइरहेको छ ।

यातायात व्यवस्था कार्यालय भक्तपुरका प्रमुख दण्डबहादुर बस्नेतले गत आइतबारदेखि नै सर्र्भरमा समस्या आएको बताउनुभयो । उहाँले भन्नुभयो,“आइतबारदेखि बुधबारसम्म सर्भर कहिले आउने र कहिले जाने भइरहेको छ, आउँदा पनि निकै ढिलो थियो तर बिहीबारदेखि सोमबारसम्म त बन्द नै भयो, आज बेलाबेला चल्ने र नचल्ने समस्या भयो ।”उहाँले यस्तो समस्या भक्तपुरमा मात्र नभई देशभरका यातायात कार्यालयमा देखिएको बताउनुभयो । यातायात कार्यालयअन्तर्गत सम्पूर्ण डाटा एवं अनलाइन प्रणाली आन्तरिक रूपमा विभागमार्फत नियन्त्रण तथा सञ्चालन हुँदै आएकाले यस सन्दर्भमा अनुरोध गर्नेबाहेक कार्यालयको भूमिका नहुने बस्नेतको धारणा छ ।

उहाँले यसबाट कर्मचारी र सेवाग्राही दुवै समस्यामा परेको गुनासो गर्नुभयो । “सर्भरमा समस्या भयो भनेर माथिबाट निर्देशन आएपछि कार्यालयले सेवा प्रवाह नहुने सूचना टाँस्नु पर्छ, बिहानैदेखि आउने सेवाग्राहीहरू मारमा पर्छन्, सूचना टाँस्ने बित्तिकै सेवाग्राहीको आक्रोस र कहिलेकाही नाराबाजीलाई थेग्न निकै गाह्रो हुन्छ, के गर्नु हाम्रो समस्या समाधान गर्न हाम्रो भूमिका छैन ।”नयाँ सवारी चालक अनुमतिपत्र, पुरानो नवीकरण, प्रयोगात्मक, पुनःपरीक्षालगायतका सेवाका लागि दैनिक एक हजार पाँच सयसम्म सेवाग्राही भक्तपुर कार्यालयमा आउँने गरेका छन् ।

सर्भरमा समस्या हुँदा सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षासमेत प्रभावित हुने गरेको छ । कार्यालय प्रमुख बस्नेतकानुसार यस्तो समस्याले आइतबार हुने परीक्षालाई बिहीबार र सोमबार हुनेलाई शुक्रबार गर्दै पछाडि धकेल्दा सेवा खप्टिदै गएको छ ।

यस्तो हुँदा बिचौलिया प्रवृत्ति मौलाइरहेको सेवाग्राहीको आरोप छ । सेवाग्राही रामशरण महतले आफू तीन दिनदेखि कार्यालय धाउँदा पनि उस्तै समस्या दोहोरिएको तर बिचौलियाले भने पैसा दिएमा काम गरिदिन्छौँ भनेर प्रलोभन देखाउने गरेको गुनासो गर्नुभयो ।

सङ्घीय यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले प्राविधिक समस्याका कारण सर्भरमा समस्या भएको जानकारी दिनुभयो । उहाँले प्राविधिक खटाएर समस्या समाधानको प्रयास भइरहेको बताउनुभयो । महानिर्देशक रिजालले रासससँग भन्नुभयो, “समस्या समाधानको प्रयास भइरहेको छ । प्राविधिकबाट ‘डाटा’ धेरै भएर समस्या आएको र सर्भरमा डाटा क्रयास भएको छ भन्छन्, त्यसलाई सफा गर्ने काम भइरहेको छ ।” उहाँले थप विज्ञ प्राविधिक ल्याएर समस्याको दीर्घकालिन समाधान गर्ने प्रयास गरिने सुनाउनुभयो ।

श्रीलङ्काका पाँच मध्ये एक घरपरिवारमा आधारभूत पिउने पानीको सुविधा छैन : सर्वेक्षण

श्रीलङ्काका २० दशमलव तीन प्रतिशत घरपरिवारमा आधारभूत पिउने पानीको सुविधा नभएको जनगणना तथा तथ्याङ्क विभाग (डिसिएस) ले घरायसी खानेपानीको गुणस्तरमा हालै गरेको सर्वेक्षणले देखाएको छ ।

विभागले आधारभूत सुविधाहरूमा पहुँच भन्नाले संरक्षित इनार, ट्युबवेल, धाराको पानी, बोतलको पानी र आरओ (रिभर्स ओस्मोसिस) प्लान्टबाट ३० मिनेटभित्र पिउने पानी सङ्कलन गर्ने क्षमतालाई परिभाषित गरेको छ । उक्त प्रतिवेदनले श्रीलङ्काका ४० दशमलव छ प्रतिशत घरपरिवारले प्रदूषणमुक्त स्रोतहरू प्रयोग गरेको बताएको छ ।यसैबीच श्रीलङ्काका शून्य दशमलव सात प्रतिशत घरपरिवारले नदी, बाँध, ताल, पोखरी, खोला, नहर वा सिँचाइ नहर जस्ता सतही पानीका स्रोतहरूबाट सिधै पिउने पानी सङ्कलन गरेको प्रतिवेदनले देखाएको छ ।

साथै विभागले पनि १६ दशमलव एक प्रतिशत घरपरिवारले असुरक्षित इनारको पानी पिउने गरेको पाइएको छ । विभागले सर्वेक्षणमा मुलुकभर विभिन्न वर्गलाई प्रतिनिधित्व गर्ने तीन हजार दुई सय १० घरधुरीका नमूनाहरू छनोट गरेको थियो ।

राष्ट्रिय परिचयपत्रको २५ हजार कार्ड कार्यालयमै थन्कियो

सङ्खुवासभा– नेपाली नागरिकताको प्रमाणपत्रको विकल्पका रूपमा सरकारले अघि सारेको राष्ट्रिय परिचयपत्र सरकारी कार्यालयमै थन्किएको छ । राष्ट्रिय परिचयपत्रका लागि विवरण उपलब्ध गराएका सङ्खुवासभालगायत कोशी प्रदेशका अधिकांश नागरिकले राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सकेका छैनन् ।

त्यसो त जिल्लामा राष्ट्रिय परिचयपत्रका २५ हजार कार्ड वितरण नभएपछि कार्यालयमै थन्किएका छन् । छपाइ भएका २५ हजार बढी कार्ड वितरण हुन नसकेको हो । कार्ड लिनका लागि व्यक्ति स्वयं आफैँ उपस्थित हुनुपर्ने भएकाले पनि २५ हजार बढी कार्ड कार्यालयमै थन्किएका हुन् ।

सङ्खुवासभामा राष्ट्रिय परिचयपत्रका लागि विसं २०७६ देखि विवरण सङ्कलन भए पनि करिब चार वर्षपछि मात्र कार्ड छपाइ भएर जिल्ला आएको हो । चार वर्षभन्दा लामो समयदेखि कुरिरहेका नागरिक राष्ट्रिय परिचयपत्र लिन आएका छैनन् ।

छपाइ भएका २५ हजार २४८ कार्यालयमै रहेको राष्ट्रिय परिचयपत्र वितरण शाखाकी प्रमुख आशा जबेगुले जानकारी दिइन्‌ । कार्ड लिनका लागि बोलाउँदा नागरिक कार्ड लिन नआएको कार्यालयकी प्रमुख जबेगुले बताइन्‌ । ‘फिङ्गर प्रिन्ट’ रुजु गर्न अनिवार्य र पिन नम्बर पनि रहेकाले परिचयपत्र लिने व्यक्तिलाई आफैँ उपस्थित हुनुपर्ने प्रमुख जगेबुको भनाइ छ ।

राज्यले प्रदान गर्ने सेवासुविधा र अधिकार नागरिकले प्राप्त गर्ने पहिलो आधार व्यक्तिगत घटना दर्तासँग जोडिएको राष्ट्रिय परिचयपत्रलाई सरकारले नेपाली नागरिकताको प्रमाणपत्रको विकल्पका रूपमा अघि सारेको छ ।

जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि एक लाख २६ हजार १४ जनाको विवरण सङ्कलन भइसकेको छ । जिल्ला प्रशासन कार्यालय खाँदबारी र इलाका प्रशासन कार्यालय चैनपुरबाट विवरण सङ्कलन भइरहेको छ । परिचयपत्र विवरण सङ्कलनमा व्यक्तिको नाम, थर, जन्ममिति, लिङ्ग, आमाबाबुको नाम, ठेगाना, नागरिकताको किसिम, पति र पत्नीको नाम, बाजेको नाम, दशऔँलाको छाप, नागरिकता नम्बर, फोटो, राष्ट्रियता, हस्ताक्षर आदि आवश्यकपर्ने बताइएको छ ।

परिचयपत्र निर्माणका लागि नागरिकता, विवाह दर्ता, बसाइँसराइ कागजको सक्कल आवश्यकपर्ने बताइएको छ । राज्यले प्रदान गर्ने सेवासुविधा र अधिकार नागरिकले प्राप्त गर्ने पहिलो आधार व्यक्तिगत घटना दर्तासँग जोडिएको राष्ट्रिय परिचयपत्रलाई सरकारले नेपाली नागरिकताको प्रमाणपत्रको विकल्पका रूपमा अघि सारेको थियो ।

डेंगीबाट कसैले पनि ज्यान गुमाउनु नपर्ने अवस्था निर्माणका लागि काम भइरहेको स्वास्थ्य मन्त्रीको प्रष्टोक्ति

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले डेंगीबाट कसैले पनि ज्यान गुमाउनु नपर्ने अवस्था निर्माणका लागि मन्त्रालयले काम गरिरहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद प्रतिमा गौतमले प्रस्तुत गरेको डेंगी नियन्त्रणसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले डेंगी रोकथाम तथा नियन्त्रण गर्न आवश्यक रणनीति अख्तियार गरिएको जानकारी दिए ।

मन्त्री पौडेलले डेंगी रोकथाम तथा नियन्त्रण कार्ययोजना २०८१ अनुसार काम भइरहेको बताए । ‘विश्वव्यापी रूपमा प्रभावकारी मानिएको र सिफारिस गरिएको लामखुट्टेको बासस्थान खोजी गर्ने र नष्ट गर्ने अभियान सञ्चालन गरिएको छ, सङ्घ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायले गर्नुपर्ने कामसहितका व्यवस्थाका लागि डेंगी रोकथाम तथा नियन्त्रण कार्ययोजना २०८१ स्वीकृत भई कार्यान्वयनमा ल्याइएको छ,’ उनले भने ।

मन्त्री पौडेलले डेंगी रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा राष्ट्रिय ‘डेंगी टास्क फोर्स’ गठन भई क्रियाशील रहेको जानकारी दिए । स्थानीय तह र प्रदेशमा द्रुत प्रतिकार्य टोली परिचालित भएका पनि उनले बताए ।

स्थानीय तहमार्फत बहुनिकायको सहभागितामा खोज तथा नष्ट अभियानलाई व्यापकरूपमा सञ्चालन गर्न चालु आर्थिक वर्षमा स्थानीय तहमा रु सात करोड ९८ लाख र ७७ वटा जिल्लामा रु दुई करोड बजेट विनियोजन गरिएको मन्त्री पौडेलले जानकारी दिए । ‘डेंगी रोगको स्क्रिनिङका लागि डेंगी परीक्षण कीटको व्यवस्थापनगरी मौज्दात राखिएको छ, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको सिफारिसमा निःशुल्क परीक्षण गरिँदै आएको छ,’ उनले भने ।

मनसुनसँगै डेंगीको सङ्ख्यामा वृद्धि हुँदै जाने र द्रुत परीक्षण कीटको माग अत्यधिक हुने हुँदा उक्त मागलाई सम्बोधन गर्न तथा अपुग कीट खरिद तथा व्यवस्थापनका लागि प्रदेशमा समेत आवश्यक स्रोत सुनिश्चित गरिएको मन्त्री पौडेलको भनाइ छ । ‘डेंगीबाट हुने मृत्युको जोखिम कम गर्न निजी तथा सरकारी अस्पतालका आठ सयभन्दा बढी चिकित्सक र स्वास्थ्यकर्मीलाई डेंगी रोगको राष्ट्रिय उपचार पद्धतिका बारेमा अभिमुखीकरण गरिएको छ,’ मन्त्री पौडेलले भने, ‘पछिल्लो छ महिनामा ७३ जिल्लामा एक हजार आठ सयभन्दा बढी डेंगीबाट सङ्क्रमित भएका छन् । यसविरुद्ध सचेतता अपनाउन आवश्यक छ ।’प्रतिनिधिसभाको अर्को बैठक यही साउन १३ गते आइतबार अपराह्न १ बजे बस्नेछ ।

परराष्ट्रमन्त्रीसँग क्यानडाका गैरआवासीय राजदूतको भेट

काठमाडौँ, ८ साउनः परराष्ट्रमन्त्री डा आरजु राणासँग नेपालका लागि क्यानडाका गैरआवासीय राजदूत क्यामरुन म्याकेले बिदाइ भेट गर्नुभएको छ ।

मन्त्रीको कार्यकक्षमा आज भएको भेटमा मन्त्री डा राणाले नेपाल–क्यानडा सम्बन्धलाई थप सुमधुर बनाउने प्रयासका लागि राजदूत म्याकेलाई धन्यवाद दिनुभएको मन्त्रालयले जनाएको छ ।

जनतामा आशा जगाउने गरी काम गर्न खानेपानीमन्त्री यादवको निर्देशन

काठमाडौँ, ८ साउनः खानेपानी मन्त्री प्रदीप यादवले जनतामा सृजित निराशालाई आशामा परिणत गर्ने गरी काम गर्न निर्देशन दिनुभएको छ ।मन्त्री यादवले आज काठमाडौँस्थित नेपाल खानेपानी संस्थान पुगेर संस्थानको खानेपानी वितरण प्रणालीलाई सुदृढ गर्दै जनताको निराशालाई आशामा परिणत गर्ने गरी काम गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “जनताको निराशालाई आशामा परिणत गर्ने गरी काम गर्नुस्, के सहयोग चाहिन्छ, मन्त्रालय गर्न तयार छ ।”

उहाँले नागरिकले शुद्ध खानेपानी खानका लागि सङ्घर्ष समिति गठन गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै जनतामा नेतृत्वप्रति चरम निराशा छाएको उल्लेख गर्नुभयो । सोही क्रममा मन्त्री यादवले नेपाल खानेपानी संस्थानका गतिविधि, देशभर सञ्चालनमा रहेका कार्यालयको अवस्था, सञ्चालनमा रहेका परियोजना तथा कार्यक्रम र कार्यान्वयनका क्रममा आएका चुनौतीको जानकारी लिनुभएको थियो ।

मन्त्री यादवले आजै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको मुख्य कार्यालयको भ्रमण पनि गर्नुभयो । भ्रमणका क्रममा उहाँले कम्पनीको इतिहास, गतिविधि, सञ्चालनमा रहेका परियोजना, तिनीहरूको कार्यान्वयनको अवस्था, प्रगति विवरण, आगामी कार्य योजना तथा चुनौतीबारेमा विस्तृत जानकारी लिनुभयो ।

पहिरो तथा खोलामा पानी बढेका कारण कर्णालीका पाँच जिल्लामा यातायात सेवा अवरुद्ध

काँक्रेविहार– कर्णालीका पाँच जिल्लामा यातायात सेवा अवरुद्ध भएको छ । पहिरो तथा खोलामा पानी बढेका कारण यातायात सेवा अवरुद्ध भएको प्रदेश प्रहरी कार्यालयले सुर्खेतले जानकारी दिएको छ ।

भेरी करिडोरभित्र पर्ने डोल्पाको त्रिपुरासुन्दरी–१ छलगाडमा खोलामा पानी बढेका कारण यातायात सेवा ठप्प भएको छ । त्यस्तै त्रिपुरासुन्दरी नगरपालिका–५ साङलेखोलामा पहिरो कारण साना यातायातका साधन मात्र सञ्चालनमा छन् ।

त्रिपुरासुन्दरी–९ चुँगाडमा ट्रक फस्न गएपछि यातायात सेवा ठप्प भएको छ भने भेरी करिडोरकै रुकुमपश्चिमको आठबिसकोट–६ रिजिगारमा खोलामा पानी बढेपछि आवतजावत ठप्प भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

भित्री सडकअन्तर्गत रुकुम–पश्चिमको मुसिकोट–३ माझमीमा पहिरो गएका कारण सडक अवरुद्ध भएको प्रहरीको भनाइ छ । त्यस्तै बाँफिकोट गाउँपालिका–तीन÷चार को बीचमा रहेको छिनखेत–पिपल जोड्ने सडक खोलामा पानी बढेका कारण अवरुद्ध भएको छ ।

कर्णाली करिडोरअन्तर्गत खार्पुनाथ–१ सुनखडादेखि लालुबगरसम्म सुक्खा पहिराका कारण यातायात सेवा अवरुद्ध भएको प्रहरीको भनाइ छ । कालिकोटको पचालझरना–८ लाभामा पहिराका कारण सडक अवरुद्ध भएको छ ।

मुगुको छायाँनाथ रारा नगरपालिका–७ जिरो प्वाइन्ट भित्री सडकमा पहिरो आएपछि सडक अवरुद्ध भएको छ । अवरुद्ध भएको ठाउँमा सडक खुलाउने प्रयास भइरहेको कर्णाली प्रदेश प्रहरी प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिए।

घुस माग गरिरहेको अवस्थामा पक्राउ परेका इञ्जिनियरविरुद्ध मुद्दा दायर

काठमाडौँ, साउन ८ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ताप्लेजुङको फुङलिङ नगरपालिकामा कार्यरत इञ्जिनियर मोहम्मद अख्तर हुसैनविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

खेलकुद मैदान निर्माणमा सेवाग्राहीसँग घुस माग गरिरहेको अवस्थामा आयोगको इटहरी कार्यालयबाट गएको टोलीले पक्राउ गरेको थियो । आयोगको टोलीले इञ्जिनियर हुसैनलाई एक लाख घुससहित पक्राउ गरेको हो । आयोगले आरोपी हुसैनविरुद्ध बिगो बमोजिम कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । रासस

मानव बेचबिखनबाट बालबालिकालाई जोगाउने प्रयासमा जोड दिन राष्ट्रसङ्घका प्रमुखको आह्वान

संयुक्त राष्ट्र । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जुलाई ३० मा मनाइने अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसका अवसरमा सन्देश जारी गर्दै बालबालिकालाई मानव बेचबिखनबाट जोगाउने प्रयासलाई थप सुदृढ गर्न आह्वान गर्नुभएको छ ।

“मानव बेचबिखन एउटा डरलाग्दो अपराध हो । यस वर्षको अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसमा हामीमध्ये सबैभन्दा कमजोर–बालबालिकाको सुरक्षामा विशेष ध्यान केन्द्रित गरौँ“, गुटेरेसले भन्नुभयो ।

मानव बेचबिखनका पीडितहरूमध्ये एक तिहाइ बालबालिकाहरू रहेका छन् । उनीहरूले श्रम शोषण, दुलहीको रूपमा बेचिने, सिपाहीको रूपमा भर्ती हुने वा आपराधिक गतिविधिमा संलग्न हुन बाध्य पारिने जस्ता अकथनीय दुर्व्यवहार भोग्दै आएका छन्“,उहाँले भन्नुभयो ।

बढ्दो असमानता र भूमण्डलीकरणले जटिल तस्करीको सञ्जाललाई बढावा दिएको छ जसले परम्परागत कानुनी ढाँचालाई चुनौती दिन्छ र दासत्वका नयाँ रूप सिर्जना गर्दछ ।

संयुक्त राष्ट्रसङ्घका प्रमुखले औँल्याउनुभयो, “अनलाइन सञ्जालका कारण पनि बालबालिकाहरू यौन शोषण र लैङ्गिक हिंसाको सिकार भइरहेका र यसले तस्करी गर्ने दलालहरूलाई सीमापारिबाट पीडितहरूको शोषण गर्ने माध्यम दिएको छ । “

यस्ता अपराधका शारीरिक र मनोवैज्ञानिक चोटहरू लामो समयसम्म रहिरहँदा उनीहरूको निर्दोषता, भविष्य र मौलिक हक लुटिएको उल्लेख गर्दै गुटेरेसले भन्नुभयो “हामीले बाल–संवेदनशील न्याय संयन्त्र निर्माण गर्ने, चेतना जगाउने,पीडित व्यक्तिहरूको हेरचाह गर्ने र कमजोर परिवारहरूलाई सहयोग गरेर शोषणका मूल कारणलाई निर्मूल गर्ने सुरक्षा प्रतिक्रियालाई बलियो बनाउनुपर्छ।”

संयुक्त राष्ट्रसङ्घका प्रमुखले कुनै पनि बच्चा पीडित नहोस् र कुनै पनि तस्करी कानुनको दायराबाट उम्किन नपाओस् भन्दै सरकार, नागरिक समाज र प्राविधिक कम्पनीहरूसहित निजी क्षेत्रलाई आफ्ना प्रयास र सहकार्यलाई तीव्र बनाउन आह्वान गर्नुभयो ।

“आजको दिनमा हरेक बालबालिकाको सुरक्षित र स्वतन्त्र भविष्यका लागि हाम्रो प्रतिबद्धता व्यक्त गरौँ, ” उहाँले भन्नुभयो । सिन्ह्वा

कांग्रेस र एमाले मिलेर बनेको सरकारलाई असफल हुने छुट छैन : नेता डा कोइराला

काठमाडौँ, ८ साउन : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेर बनेको सरकारलाई असफल हुने छुट नरहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले दोस्रो वर्ष पूरा गरेका अवसरमा आज यहाँ आयोजित ‘संविधान संशोधन: प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता’ विषयक विचार गोष्ठीमा उहाँले नागरिकमा बढेको निराशा चिर्न, संविधान संशोधन तथा राजनीतिक स्थायित्व दिने सर्तमा दुई ठूला दलबीच सहकार्य भएकाले सोअनुसार परिणाम दिन नसके थप अनिश्चितता बढ्ने धारणा राख्नुभयो ।

डा कोइरालाले सरकारलाई सही काम गर्न पार्टीभित्रका नेता, प्रेस जगत्, नागरिक समाजलगायत सबैले खबरदारी गरिरहनुपर्नेमा समेत जोड दिनुभयो । “देशमा रहेका समस्या समाधान, राजनीतिक स्थायित्व र नागरिक निराशा चिर्न तथा संविधान संशोधन गरी देशमा स्थिरता ल्याउने भन्दै दुई ठूला दल एकठाउँमा आएका छौँ । यस अवस्थामा धेरै अपेक्षा र आशङ्का छन् । कतिपयले ठूला शक्ति मिलेकाले निरंकुशतातिर उन्मुख होलान् कि भनी शङ्का गरिरहेका छन् । त्यसले यो सरकारलाई असफल हुने छुट छैन”, उहाँले भन्नुभयो,“निरंकुश हुने सवालमा तपाईंहामी सबैले आआफ्नो ठाउँबाट खबरदारी गरिरहनुपर्छ । यसमा नेपाल प्रेस युनियनलगायत प्रेससँग सम्बन्धित संस्थाको भूमिका थप महत्वपूर्ण छ ।”

त्यसैगरी उहाँले १० वर्षमा संविधानमा पुनरावलोकन गर्ने कुरा संविधानमै उल्लेख भएकाले पनि दुई दलले यसलाई निष्कर्षमा पु¥याउनुपर्ने उहाँको भनाइ थियो । संविधान संशोधनका विषयमा बहस चलाउनु सान्दर्भिक रहेको उल्लेख गर्नुहुँदै नेता डा कोइरालाले यस विषयमा सबै तहमा छलफल चलाउन आवश्यक रहेको धारणा राख्नुभयो । “के-केमा संविधान संशोधन गर्ने भन्ने निश्चित गरिनुपर्छ । मिश्रित निर्वाचन प्रणालीले कसैको बहुमत नआउने भएकाले राजनीतिक अस्थिरता हुने गरेको छ । त्यसैले समावेशी प्रतिनिधित्वसमेत सुनिश्चित, राजनीतिक स्थिरता र नागरिकमा आशा जागृत हुने गरी संविधान संशोधन हुनुपर्छ”, नेता डा कोइरालाले भन्नुभयो । संसद्मा रहेका सबै राजनीतिक दलले बृहत् समझादारी गरेर संविधान संशोधन गरिनुपर्ने उहाँको विचार छ ।

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले दुई ठूला दल मिल्दा संविधान संशोधनलगायत महत्वपूर्ण काम गरेर देखाउनुपर्ने र सरकारले गलत काम गर्नसक्ने तर्फ बेलैमा सचेत हुनुपर्ने बताउनुभयो । उहाँले राजनीतिक स्थिरताका लागि असल राजनीतिक संस्कार पनि विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हरिहर विरहीले संविधानले पूर्ण प्रेस स्वतन्त्रताको कुरा गरे पनि विभिन्न कानुनमा भएका प्रतिबन्धात्मक व्यवस्थाले कार्यान्वयनमा चुनौती रहेको बताउनुभयो । संविधानमा मात्र नभई सत्तामा बस्नेको मानसिकता र प्रवृत्तिमा पनि संशोधन हुनुपर्ने उहाँको भनाइ थियो ।

युनियनका सल्लाहकार एवं पत्रकार महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहालले राजनीतिक क्षेत्रबाट निर्वाचन प्रणाली, न्यायिक क्षेत्रबाट न्याय परिषद् र संवैधानिक परिषद्सम्बन्धी व्यवस्था संशोधनको माग भइरहेकाले प्रेस जगतले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता, सञ्चार एवं सूचनाको हकका व्यवस्था सबल हुने गरी संविधान संशोधनका लागि पहल गर्नुपर्ने बताउनुभयो ।

युनियनका पूर्वअध्यक्ष एवं प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले संविधान संशोधनको बहसलाई निष्कर्षमा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

युनियनका अध्यक्ष शिव लम्सालले संविधानमा प्रेससम्बन्धी व्यवस्था संशोधनका लागि युनियनले बहस सुरू गरेको जानकारी दिनुहुँदै यसलाई जिल्ला जिल्लामा लगिने बताउनुभयो । क्रियाशील पत्रकारलाई पत्रकार महासङ्घको सदस्यताबाट वञ्चित गर्न खोजिएको प्रपञ्च युनियनको आन्दोलनले अन्त्य गरेको भन्नुहुँदै उहाँले शाखा र प्रदेशले नियमसम्मत सिफारिस गरेका सबैले सदस्यता पाउनुपर्नेमा युनियन प्रष्ट रहेको सुनाउनुभयो । साउन अन्तिम वा भदौको पहिलो साता पत्रकार महासङ्घको निर्वाचन गर्ने गरी सहमतिको प्रयास भइरहेको अध्यक्ष लम्सालले बताउनुभयो ।

कार्यक्रममा युनियनका उपाध्यक्ष नकुल अर्याल, महासचिव दिलीप पौडेललगायतले संविधान संशोधन गर्दा प्रेस स्वतन्त्रतासम्बन्धी सबल व्यवस्थाका लागि युनियनले पहल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।त्यसअवसरमा नेता डा कोइरालाले नारी मासिक पत्रिकाकी सम्पादक इशा अधिकारीलाई खादा ओढाएर नेपाल प्रेस युनियनमा प्रवेश गराउनुभएको थियो ।

देशभरका एम्बुलेन्समा रङ, साइरन र अन्य संकेतमा एकरूपता ल्याउन निर्देशन

काठमाडौँ- सरकारले देशभरका एम्बुलेन्सको रङ, साइरन र अन्य सङ्केतमा एकरूपता ल्याउन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समिति र जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिलाई परिपत्र गर्दै त्यस्तो निर्देशन दिएको हो ।

मन्त्रालयका शाखा अधिकृत बद्रीराज ढकालले राष्ट्रिय एम्बुलेन्स निर्देशिका–२०७८ को दफा १५ ले निर्देशित गरेको मापदण्डअनुसार एकरूपता नआएको भन्ने जनगुनासो आइरहेकाले प्रादेशिक र जिल्लास्तरमा रहेका एम्बुलेन्स व्यवस्थापन समितिलाई मापदण्डको पालना गर्न निर्देशन दिएको जानकारी दिए ।

मन्त्रालयले मापदण्ड पूरा गरेको अवस्थामा मात्र एम्बुलेन्स सञ्चालन अनुमति नवीकरण गर्न निर्देशन दिएको छ । निर्देशिकामा एम्बुलेन्सले राष्ट्रिय प्रदूषण मापदण्ड अनिवार्य पालना गरेको, एम्बुलेन्सको पहिचान हुने आवाज (साइरन), रातो लामो रङको सङ्केत बत्ती जडान भएको, एम्बुलेन्समा एम्बुलेन्स शब्द अगाडि उल्टो अक्षरबाट र तीन अङ्कको १०२ टेलिफोन नम्बर अङ्ग्रेजी र नेपाली दुवै भाषामा लेखिएको हुनुपर्ने उल्लेख छ ।

यस्तै सरकारबाट राजस्वमा छुट प्राप्त एम्बुलेन्स भनेर स्पष्ट देखिने गरी लेखिएको, एम्बुलेन्सको वर्गीकरण खुल्ने गरी वर्ग उल्लेख भएको हुनुपर्ने निर्देशिकामा उल्लेख छ ।

डेङ्गी नियन्त्रणमा सरकारलाई निर्देशन दिन जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत

काठमाडौँ, साउन ८ गते । मुलुकभर डेङ्गीको प्रकोप फैलिएर जनस्वास्थ्य सङ्कट उत्पन्न भएकाले यसको नियन्त्रणका लागि सरकारलाई निर्देशन दिन प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत भएको छ ।

सभाको आजको बैठकमा सांसद प्रतिमा गौतमले उक्त प्रस्ताव प्रस्तुत गर्नुभयो । प्रस्तावमा डेङ्गीको प्रकोपका कारण अस्पतालमा गम्भीर अवस्थाका बिरामी भर्ना हुने सङ्ख्यामा वृद्धि, समाजमा डर र त्रासको माहोल उत्पन्न भएकाले डेङ्गीको प्रभावकारी नियन्त्रणका एवं भविष्यमा सिर्जना हुने गम्भीर र दीर्घकालीन असर न्यूनीकरण तथा रोकथामका लागि सरकारलाई निर्देशन दिन माग गरिएको छ । उक्त प्रस्तावमाथि सांसदहरु कुसुमदेवी थापा, सपना राजभण्डारी, सीता मिजार र लीलादेवी बोखिम लिम्बूले समर्थन गर्नुभयो ।

सो प्रस्तावमाथिको छलफलमा सांसद विराजभक्त श्रेष्ठ, ऋषिकेश पोखरेल, योगेशकुमार भट्टराई, सञ्जयकुमार गौतम, राजेन्द्रकुमार केसी, असिम साह, सुशीला श्रीपाली ठकुरी, डा तोसिमा कार्की, उर्मिला माझी, अशोककुमार चौधरी, ठाकुरप्रसाद गैरे, सीताकुमारी राना, निशा डाँगी र रामकृष्ण यादवले डेङ्गीको नियन्त्रणका लागि प्रभावकारी योजना ल्याउन आग्रह गर्नुभयो ।

मनसुनजन्य बिपद्का कारण यस बर्ष १ सय ४४ जनाको मृत्यु, ४८ जना बेपत्ता

मनसुनजन्य बिपद्का कारण यस बर्ष १ सय ४४ जनाको मृत्यु भएको छ भने ४८ जना बेपत्ता भएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै गृहमन्त्री रमेश लेखकले यस बर्ष मनुसुन भएको दिन जेठ २८ गतदेखि हालसम्म प्राकृतिक प्रकोपका १ हजार ५ सय ९२ घटना घटेको र १ सय ४४ जनाको ज्यान गएको जानकारी दिनुभएको हो ।

प्राकृतिक विपद्का कारण २ सय ३१ घरमा क्षति पुगेको, ४३ वटा पुल बगेको र ४ हजार भन्दा बढि परिवार विस्थापीत हुने अवस्थामा पुगेको उहाले जानकारी दिनुभयो ।

गृहमन्त्री लेखकले मृत्युमध्ये ४७ परिवारलाइ राहत दिएको र बाँकी परिवारलाई राहत दिने क्रममा रहेको जानकारी दिनुभयो । उहाले बेपत्ता भएका मानिस १० दिनभित्र फेला नपरे मृतकसरह राहत दिने सरकारको नीति रहेको उल्लेख गर्नुभयो ।

त्यस्तै गृहमन्त्री लेखकले सर्लाहीमा पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या प्रकरणबारे अनुसन्धान जारी रहेको र शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएको बताउनुभयो । उहाले छोराको प्रमाणपत्र प्रमाणित गर्न सांसद वीरेन्द्र महतोले बिचौलियालाई घुस दिएको बिषयलाई सरकारले गम्भीरतापूर्वक लिएको उल्लेख गर्नुभयो ।

धनीले कसरी खेल्छन् पैसाको खेल ?

अमेरिकाका लगानीकर्ता चार्ली मुकारले भनेका थिए, ‘मेरो लक्ष्य धनी हुनु होइन, मात्र आर्थिक स्वतन्त्रता पाउनु थियो तर म धनी हुन पुगेँ ।’ यस भनाइका आधारमा हामीले हाम्रो लक्ष्य आर्थिक स्वतन्त्रता हो वा सुरक्षा निर्क्यौल गर्नु जरुरी छ । मुकारले जस्तै आफूभित्र भएका स्वतन्त्रताको सम्भावनालाई जगाऔँ । गरिब र मध्यम वर्गका हरेक व्यक्ति आर्थिक स्वतन्त्रताभन्दा सुरक्षाको खोजीमा हुन्छन् । विशेष गरेर लगानी, उद्यमशीलता तथा व्यवसायभन्दा रोजगारी र ज्यालामा बढी भरोसा मान्ने स्वभावका हुने गर्छन् ।

वास्तवमा तिनीहरू जेलाई सुरक्षित भनिरहेका छन् त्यो नै सबैभन्दा जोखिम हुने गर्छ । खासगरी नोकरीलाई जति मायाका साथ सुरक्षित ठानेका छन्, त्यो नै सबैभन्दा जोखिम हो । हाम्रा नीति, नियम र कानुनहरूलाई हेर्यो भने हामीले सुरक्षित ठानेको जागिरमा के कति जोखिम छ थाहा पाइहाल्छौँ । सम्झनुहोस् तपाईंले सबैभन्दा सुरक्षित ठानेको निजामती सेवा वा सरकारी संस्थानका नोकरीहरू किन असुरक्षित बन्न सक्छ ? तपाईं शारीरिक वा मानसिक रूपमा अशक्त हुनु भयो भने नेपाल सरकारले के तपाईंलाई तलब दिइरहन सक्छ ? पक्कै सक्दैन । सामान्यतया ९० दिन बिनाजानकारी गयल हुनुभयो भने पत्रिकामा सूचना निकालेर नोकरीबाट बिदाइको प्रक्रिया सुरु हुनेछ । अझ निजी संस्थामा त्योभन्दा कम केही दिन वा हप्तामा नै जागिर हुनेछ । तर, एउटा मध्यम परिवारका मान्छे त्यसैलाई सुरक्षित ठान्छ र ‘धनी बुबा गरिब बुबा’ पुस्तकका लेखक रोबर्ट टी. कियोसाकीले भने जस्तै ‘मुसा दौड’ मा आफूलाई बाँचुन्जेल दौडाइरहन्छ । धनीहरू यसैका लागि पैसाको खेल खेल्छन् तर गरिबहरू यसलाई बुझेर व्यावसायिक प्रणाली विकास गर्नुभन्दा तलब र पदोन्नतिका लागि बढी मरिहत्ते गर्छन् ।

‘द प्याराबल अफ द पाइपलाइन’ मा लेखक बर्क हेजेसले दुई पात्र पाब्लो र ब्रुनोको उदाहरण प्रस्तुत गर्दै एउटा सामान्य मान्छे कसरी धनी बन्न सक्छ ? कसरी आम्दानीको प्रणाली विकास गर्न सक्छ ? र कसरी सम्पत्ति सिर्जना गर्न सक्छ ? यसले कसरी धनी बनाउन सक्छ ? भनेर प्रस्तुत गरेका छन् । खासगरी ब्रुनो र पाब्लो एउटा गाउँमा बाल्टिनमा पानी बोकेर बेच्न तल्लीन रहन्छन् तर पाब्लो हाललाई ब्रुनोले भन्दा कम आम्दानी भए तापनि सँगै गाउँदेखि खोलासम्म पाइपलाइन बिच्छ्याउन थाल्छ तर जब ‘पाइपलाइन’ ओच्छाएर सफलता मिल्छ तब दीर्घकालमा ब्रुनोको भन्दा धेरै आम्दानी पाब्लोको हुन जान्छ । अर्थात् पाब्लोबाट ऊ ‘पाब्लो द पाइपलाइन विल्डर म्यान’ बन्न पुग्छ तर ब्रुनो ‘बकेट क्यारियर’ अर्थात् ‘बकेट म्यान’ नै भइरहन्छ । पाब्लो आर्थिक रुपमा स्वतन्त्र हुन पुग्छ, ऊ जाँदा वा नजाँदा, बिरामी हुँदा वा नहुँदा सबै अवस्थामा आम्दानी भइरहन्छ तर ब्रुनो आफैँले काम गर्दा मात्र आम्दानी हुन सक्ने अवस्थामा रहन्छ । सधैँ ‘टाइम फर मनी ट्र्याप’ मा परिराख्छ ।

धनीहरू सधैं पाब्लो जस्तै पाइपलाइन बिच्छ्याउन रुचाउँछन् । उनीहरू जान्दछन् पाइपलाइन नै ‘लाइफलाइन’ हो । आर्थिक स्वतन्त्रताका लागि हरेकले आफ्नो आम्दानीको पाइपलाइन बनाउन आवश्यक छ । हरेक धनीसँग आफू जान चाहेको गन्तव्यको स्पष्ट मार्गचित्र हुने गर्दछ । गरिबहरू हावामा मुक्का हाने जस्तै जिन्दगीको बास्केटबलमा बिनाबास्केट ‘स्कोर’ गर्न खोज्छन्, अझ अगाडि बढेरभन्दा गोलपोष्टबिना नै फुटबलमा गोल गर्न रुचाउँछन् । यसले उनीहरूलाई उद्देश्यहीन र दिशाहीन यात्रामा बरालिदिन्छ तर धनीहरू सधैँ स्पष्ट ‘ब्लुप्रिन्ट’ बोकेर आफ्नो यात्रामा लम्कने गर्दछन् । सम्पत्तिका विषयमा हामी स्पष्ट हुन आवश्यक छ ।

सिक्नका लागि काम गरौँ, कमाउनका लागि होइन

धनीहरूले पनि जागिर गर्ने गर्छन् तर कहिले त्यसैबाट आर्थिक स्वतन्त्रता पाउने विश्वास गर्दैनन् । केवल अनुभव, सीप, बचत र ज्ञान लिनका लागि रोजगारी गर्ने गर्छन् । उनीहरू नोकरीसँग त्यस्तो प्रेम गर्दैनन् जुन मध्यम परिवारकाले गर्ने गर्छन्, जसको भरोसामा जीविकोपार्जन र सेवा निवृत्त कुर्न सक्छन् तर धनीहरू कहिले आफ्नो समय पैसाका लागि बर्बाद गर्न तयार रहँदैनन् । उनीहरूलाई थाहा छ समय सीमित छ तर पैसा असीमित छ । १२ महिना काम गरेर केवल आठ महिनाको मात्रै पारिश्रमिक पाइन्छ, करिब ३० प्रतिशत अर्थात् चार महिनामाथिको ज्याला पहिला कर तिरेर भुक्तानी हुने महिना वारि वा पारि जान नदिने अभियानले मानिसको समृद्धि र सम्पन्नताको ढोका ढक्ढक्याउन सक्दैन । यसैले नोकरीभन्दा थप केही गर्न आवश्यक छ ।

छुटको ‘अफर’

धनीहरू पनि सेलमा खरिद गर्न रुचाउँछन् तर गरिबहरूले जस्तो दरबारमार्ग र महलहरूमा होइन । उनीहरूलाई थाहा छ, ती सेलहरूमा गरिएको खर्च कहिले फर्केर आउन सक्दैन । यसैले उनीहरू शेयर बजार, रियलस्टेट र प्रतिफलमुखी लगानीका क्षेत्रहरू जहाँ पैसा बनाउन सकिन्छ त्यस्तो स्थानमा सेल लाग्दा किन्न रुचाउँछन् । सबैभन्दा गम्भीर प्रश्न केहो भने ‘वारेन्ट बफेट’ ले भने जस्तै तिमी आफूलाई नचाहिने वस्तु जम्मा गरेर बस्छौँ भने त्यसको बदलामा चाहिने सामान छुट्ने छ । यसैले सेलमा जानुभन्दा पहिला त्यसलाई बुझ्ने कोसिस गरौँ ।

पहिला आफूलाई भुक्तान गरौँ

एउटा सामान्य व्यक्ति त्यही गर्छ जो हामी गर्ने गर्छौं अर्थात् आम्दानीबाट सबैभन्दा पहिला खर्च, नपुगेमा कर्जा सापटी र त्यति गर्दा पनि पैसा नसकिएमा बल्ल आफूलाई भुक्तानी गर्ने आम मानिसको आदत हो । बेबिलानको ‘सबैभन्दा धनी मानिस’ पुस्तकमा लेखक जर्ज एस. क्लासनले खाली पर्स भर्ने सातवटा तरिका बताएका छन् । त्योमध्ये ‘सबैभन्दा पहिला आफूलाई भुक्तान गर्नूहोस्’ एक चर्चित तरिका हो ।

‘हरेक बिहान १० वटा अण्डा बास्केटमा राख्नुभयो र साँझमा नौवटा मात्रै निकाल्न थाल्नुभयो भने त्यो बास्केट भरिन कति समय लाग्ला सजिलै अनुमान गर्न सकिन्छ । अर्थात् धनीहरूले १०/९० को त्यो सूत्र सिकेका छन् । यसैले सबैभन्दा पहिला जुनसुकै अवस्थामा पनि १० प्रतिशत आफूलाई भुक्तान गर्छन् अनि मात्रै बाँकी खर्च गर्ने गर्छन् ।’ उनीहरू पैसालाई काममा कसरी लगाउने जान्दछन् । तर, एउटा गरिब व्यक्ति आम्दानी बढेसँगै खर्च बढाउन थाल्छ, अनि खर्चलाई नियन्त्रण गर्न सक्दैन । यो नै सबैभन्दा महाभूल हो ।

धनको अनौपचारिक शिक्षा पढौँ

स्कुल शिक्षा र भान्छाको टेबलमा हुने शिक्षाको तागत फरकफरक हुने गर्छ । राज्य र शिक्षा नीति नागरिकलाई आर्थिक स्वतन्त्रताभन्दा पैसाको दासत्व स्वीकार्न लगाउने प्रकृतिको छ । रोबर्ट टी कियोसाकीले भने जस्तै ‘९७ प्रतिशत मानिससँग भएको सम्पत्ति र तीन प्रतिशत धनीसँग भएको धनदौलत बराबर हुनुको एउटै कारण अनौपचारिक शिक्षा हो ।’ उनको तर्क छ हरेक धनी व्यक्ति र सामान्य व्यक्तिले स्कूलमा लिएको शिक्षा समान छ तर उमेर बढ्दै जाँदा सम्पत्तिको मामलामा नतिजा किन फरक आउँछ ? कारण एउटै छ ती तीन प्रतिशत सम्भ्रान्त व्यक्तिले औपचारिक शिक्षाको साथ घरमा नै थप अनौपचारिक शिक्षा पाउन सफल भए । यसैको परिणाम धनको सम्बन्धमा अनौपचारिक शिक्षा पाउनेहरूले जागिरका लागि तयार पार्ने, लोकसेवाका लागि प्रोत्साहित गर्ने र पैसाको लागि मेहनत गर्न सिकाउने सीमित शिक्षा लिएकाहरूलाई काममा लगाएर आफू आर्थिक स्वतन्त्रता पाउन सफल भए ।

औपचारिक शिक्षाले हाम्रो सोच यसरी डोर्यायो कि दशैँको टीका लगाउँदा र जन्मोत्सव मनाउँदासमेत आफ्ना सन्ततिलाई आशीर्वाद दिँदा ‘स्कूल जाऔँ, राम्रो नम्बर ल्याऔँ र सुरक्षित जागिर खोजौँ’ भन्ने गर्छौं हामीले कहिले स्वीकार गरेनौँ । स्कूलमा त पैसाका बारेमा सिकाइ हुँदैन, बरु सबै समस्याको जड पैसालाई देखाइन्छ । जुनकुरा धनीहरूले बुझे र आफ्ना सन्तानहरूलाई पलङको सिरानीमा पल्टँदै गर्दा सिकाउन र थाले तर कमजोर परिवारकाले थाहा नै पाउन सकेका छैनन् । धनको जादुका लागि औपचारिक मात्र नभई अनौपचारिक शिक्षा मूल कुरा हुन आइपुगेको छ ।

लगानीमा भिन्नता हेरौँ

धनीहरू घाँटीमाथि लगानी गर्ने गर्छन् । तालिम, शिक्षा र प्रशिक्षण दिएर आफ्नो दिमागी कसरत गरिरहन्छन् । एउटा धनसम्बन्धी सूत्रमा अभ्यस्त भएपछि फेरि नयाँ सूत्र सिक्न थाल्छन् । उनीहरूलाई के थाहा छ भने त्यो गरीब होस् वा धनी हरेक व्यक्ति पैसा आउने काम दोहोर्याएर गर्ने गर्छ । गरिबहरू मान्नुहोस् बिहान मन नभएर पनि एउटा सवारी चालक पैसाका लागि साधन लिएर सडकमा निस्कन्छ ।

अर्को जागिरे रातभर आफ्नो नोकरीलाई गाली गरेर पनि १० बजे कार्यालयमा पुग्न हतारिन्छ तर धनीहरू पनि पैसाका लागि एउटै काम बारम्बार गर्ने गर्छन् तर उनीहरू आफूलाई मन परेको काम गर्ने गर्छन् । यसका लागि उनीहरूमा सिक्ने क्रम तबसम्म चलिरहन्छ जबसम्म आफूमा निपूर्णता आउँदैन । उनीहरू सिक्न रमाउँछन् तर एउटा मध्यम परिवारको मानिस घाँटीभन्दा तल लगानी गर्न रुचाउँछ । आफूलाई सम्पन्न देखाउन ब्रान्डेड कपडा, जुत्ता र चस्मामा लगानी गर्छ । अझ साथी र छिमेकलाई देखाउनकै लागि ठूला घर र गाडीहरू खरिद गर्छ । कहिले फिर्ता नहुने दायित्व बनेर भरिएको पर्स रित्ताउन मात्रै लागिपर्छ । यसले प्रतिफल दिन सक्दैन जुन कुरा धनीहरूले बुझेका हुन्छन् ।

प्रतिफल छिटो हुन सक्छ तर छोटो बाटो असम्भव

आफैँ अर्बपति बनेकाहरू हेनरी फोर्ड र थोमस एडिसनजस्ता दुई हजारभन्दा बढी सफल व्यक्तिका बारेमा २० वर्ष लगाएर अध्ययन गरी लेखिएको ‘सोच्नुहोस् र धनी बन्नुहोस्’ पुस्तकका लेखक नेपोलियन हिलले लेखेका छन्, ‘‘गर्भे चिट्ठा’ नपरेका अर्बपतिहरूले कहिले छोटो बाटोबाट आफूलाई स्थापित गर्न सकेनन् र छोटो बाटोको रुचि पनि राखेनन्, जब सफलता नजिक आएको थाहा पाए तब छिटो हुने उपाय भने खोजी गरेको देखियो ।’ कैयौँ छिटो सफल पनि भए ।

स्वयं वारेन्ट बफेटलाई हेर्ने हो भने जीवनको आठ दशक लगानी गरेर उनले बनाएको सम्पत्ति यदि त्यसको आधा दशक मात्रै गरेर छोडिदिएका भए के आजको यो सम्पन्नता सम्भव थियो ? अवश्य थिएन । यसैले धनीहरूले कारोबारी भएरभन्दा व्यवसाय र उद्योग नै स्थापना गरी लामो समयको अन्तरालमा शेयर बेचेर धनी भएको देखिन्छ । शेयर किनेर मात्र नभई सम्पत्ति सिर्जना र त्यसको शेयर बेचेर धनी हुन जान्नु आवश्यक छ । तर, गरिबहरू आजको केही दिन वा हप्तामा लगानी गरेको दोब्बर वा कैयौँ गुणा सम्पत्ति बढ्ने लोभमा लगानी गर्ने गर्छन्, त्यो लगानी र व्यवसायमा सम्भव छैन । त्यसका लागि चिट्ठा किन्नु उपयुक्त हुन्छ । यसैले बफेटले भने जस्तै ‘लामो गतिमा दगुर्ने घोडामा बाजी लगाउनेहरूले कहिले हार्नु पर्दैन’ । धनीहरूले त्यो जानेका हुन्छन् ।

समग्रमा धनीहरूले मानिसको दिमागमा संसार हल्लाउन आउने विचारलाई कसरी वस्तुमा परिवर्तन गर्न सकिन्छ निरन्तर सिकिरहेका हुन्छन् । नयाँ सोच विकास गर्न र विकास भएका सोचलाई धनमा बदल्न आफूलाई निरन्तर प्रशिक्षित गर्दै आएका छन् । पैसाको सिद्धान्त पढेर नभई अभ्यासबाट मात्रै सम्भव देखिन्छ । यसैले धनीहरू शून्यबाट एक हुन सम्पत्ति सिर्जनाका नयाँ खोजमा निरन्तर आफूलाई लगाइरहेको देखिन्छ । सम्पत्तिको परिभाषा फेरिएर ‘टाइम इज मनी’ को स्थानमा ‘आइडिया इज मनी’ हुन आइपुगेको छ । संसारका केही धनीलाई उदाहरणका रुपमा लिने हो भने एलन मक्सले विवाइडी इलेक्ट्रिक भेकल, जेब बेजोफले अनलाइन कारोबार अमेजन र जुर्कर वर्कले सामाजिक सञ्जाल फेसबुकमार्फत नयाँ सम्पत्ति सिर्जना गरेर विश्वमा राज गरिरहेका छन् । हाल एलन मक्स न्युरोलिङ्कमार्फत सम्पत्ति सिर्जना गर्न तल्लीन छन् ।

सबैभन्दा चाखलाग्दो विषय त आर्टिफिसियल इन्टेलिजेन्ट (एआई), द्रुतगतिको इन्टरनेट र रोबर्टको विकास जस्ता आधुनिक प्रविधिले गर्दा हिजो पाँच/छ दशकमा जन्मने अर्बपति अहिले दुई/तीन वर्षमा सजिलै सम्भव बनेको छ, जुन अनुसन्धान र विकासमा धनीहरू निरन्तर छन् । अर्काेतिर धनीहरू सधैं छिटोभन्दा छिटो आर्जित आय (तलब र ज्याला आदि) लाई निष्क्रिय आय (भाडा र ब्याज आदि) र पोर्टफोलियो आय (शेयर र बन्डलगायत कागजी सम्पत्ति आदि) मा रुपान्तरण गर्न सक्रिय रहने गर्छन् । उनीहरूले बुझेका हुन्छन्, आर्जित आयलाई जति छिटो बिर्सन सकिन्छ र बाँकी दुई आयको आकार र क्षेत्र बढाउन सकिन्छ । ‘फाइनान्सियल इनडिपेन्डेन्सी’ पुस्तकमा लेखक ग्रेन्ट सबाटियरले भने जस्तै ‘जीवनमा उति चाँडो आर्थिक स्वतन्त्रता र सेवा निवृत्ति लिन सम्भव छ’ । यसैले हरेक व्यक्तिले आम्दानीको पाइपलाइन, सम्पत्ति सिर्जना र आय रुपान्तरण कला जान्न, सिक्न र आफ्ना बालबालिकालाई सिकाउन थालौँ । धनीले कसरी खेल्छन् पैसाको खेल ? पढेर मात्रै पुग्दैन अलिकता अगाडि बढेर आफ्नो जीवनमा अभ्यास गरेर हेरौँ ।

अर्थतन्त्रका ४६ चुनौती सामना गर्न २९ क्षेत्रमा सुधार आवश्यक

काठमाडौँ- मुलुकको अर्थतन्त्रका देखिएका चुनौती र समाधानका उपायबारे अर्थमन्त्रालयका कर्मचारीहरूले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ‘ब्रिफिङ’ गरेका छन् । मन्त्रालयले आज प्रेस नोट जारी गर्दै विभिन्न चुनौती पहिचान भएका र ती चुनौती समाधानका लागि चाल्नुपर्ने कदमबारे पनि अर्थमन्त्री पौडेललाई जानकारी गराइएको उल्लेख गरेको छ ।

‘अर्थ मन्त्रालयका नजरमा नेपालको अर्थतन्त्रमा विशेष गरी ४६ वटा चुनौती छन् । ती चुनौतीलाई सामना गर्न २९ वटा क्षेत्रमा कदम चाल्न जरुरी छ,’ मन्त्रालयको प्रेस नोटमा भनिएको छ, ‘अर्थतन्त्रमा देखा परेका चुनौती र तिनलाई सामना गर्ने उपायसम्बन्धी अर्थमन्त्रालयका सचिव र सहसचिवले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ब्रिफिङ गरिसकेका छन् । उपप्रधान तथा अर्थमन्त्री पौडेलले समस्या र चुनौतीहरूको प्राथमिकीकरण गरी समाधान गर्दै अघि बढ्ने बताउनु भएको छ ।’

मन्त्रालयले पहिचान गरेका चुनौती

विद्यमान अर्थतन्त्रमा विभिन्न ४६ वटा चुनौती रहेको मन्त्रालयले जनाएको छ । साधन–स्रोत उपलब्धताको अनुपातमा आर्थिक क्षेत्रको वृद्धि कम हुनु, बचत, उपभोग र लगानी वृद्धि दर न्यून रहनु, वित्तीय क्षेत्रको साधन स्रोत पर्याप्त मात्रामा उत्पादनमूलक क्षेत्रमा लगानी हुन नसक्नु, आयात/निर्यात अनुपात उच्च रहनुलगायतका चुनौती पहिचान भएका हुन् ।

त्यस्तै, आर्थिक वृद्धि अस्थिर एवं न्यून रहेको, बढ्दो लगानी आवश्यकता र न्यून कुल ग्राहस्थ्य बचत रहेको, औसत पुँजी प्रतिफल अनुपात तुलनात्मक रूपमा उच्च रहेको, तीव्र आन्तरिक बसाइँसराइका कारण हिमाली, पहाडी एवं ग्रामीण क्षेत्रको जनसङ्ख्या घट्दो क्रममा रहेको मन्त्रालयले जनाएको छ ।

आर्थिक वृद्धिमा उत्पादनशील क्षेत्रको योगदान कमजोर रहेको, अर्थतन्त्रको संरचनागत चुनौती, न्यून कुल ग्राहस्थ्य बचतः कुल ग्राहस्थ्य उत्पादनको औसत १० प्रतिशतभन्दा कम हुनु, न्यून दरको आर्थिक वृद्धि, न्यून उत्पादकत्व, औद्योगिक क्षेत्रको योगदान घट्दै गएको लगायतका विषयलाई पनि मन्त्रालयले अर्थतन्त्रका विद्यमान समस्याका रूपमा पहिचान गरेको छ ।

त्यस्तै, आयातमा आधारित राजस्व व्यवस्था हुनु, कमजोर निकासी र बढ्दो व्यापार घाटा, राजस्व र खर्चको वृद्धि अझै न्यून रहनु, पुँजीगत खर्चको प्रभावकारिता न्यून रहनु, पर्याप्त तयारी बिना बजेट प्रस्ताव गर्ने प्रवृत्ति, ऋणको मात्रा बढ्दै जानु, भुक्तानी दायित्व उच्च रहनुलाई समस्याका रूपमा देखाइएको छ ।

विकास पूर्वाधारमा लगानीको लागि वित्त बचत (फिस्कल स्पेस) न्यून रहनु, राजस्व परिचालन अनुमानयोग्य हुन नसक्नु र लक्ष्य बमोजिम राजस्व असुली हुने नसक्नु, आयातमा आधारित राजस्व उच्च रहेको हुँदा राजस्व परिचालनलाई दिगो बनाउनु चुनौती रहनु, संस्थानमा ऋण लगानीको प्रतिफल कमजोर रहनु समस्या भएको मन्त्रालयको भनाइ छ । त्यसैगरी खर्च र आम्दानीबीचको अन्तर बढ्दै जानु, सामाजिक सुरक्षातर्फको खर्च बढ्दै जानु, वैदेशिक ऋणको प्रभावकारी उपयोग हुन नसक्नु, आयोजना/परियोजना तोकिएको समयमा सम्पन्न नहुँदा लागत प्रभावकारी हुन नसक्नुलगायत विषय समस्याका रूपमा पहिचान भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सार्वजनिक खर्च व्यवस्थापनतर्फ आयोजनाको अत्यधिक सङ्ख्या र सिर्जना भएको दायित्व व्यवस्थापन, बहुवर्षीय ठेक्काको स्रोत व्यवस्थापन, गैर–बजेटरी मागलाई निरुत्साहित गर्ने, अनिवार्य दायित्वको बजेट बढ्नु, अनावश्यक देखिएका संरचना खारेज हुन नसकेको, वैदेशिक सहायताको उपयोग क्षमता कमजोर रहेको, सङ्घीय सञ्चित कोष ऋणात्मक तर प्रदेश र स्थानीय तहका कोषहरू बचतमा रहने गरेको लगायतका विषय अर्थमन्त्रालयले उजागर गरेको छ ।

त्यस्तै, वित्तीय हस्तान्तरणमा कमी हुँदै जानुलाई पनि चुनौतीका रूपमा पहिचान गरिएको छ । राजस्व सङ्कलन अपेक्षित नहुँदा प्रदेश र स्थानीय तहमा कम मात्र हस्तान्तरण हुने परिस्थिति रहेको, समपुरक र विशेष अनुदानतर्फ बर्सेनि आयोजना थप भई असीमित दायित्व सिर्जना भएको मन्त्रालयको भनाइ छ ।

त्यस्तै, बैंकिङ क्षेत्रतर्फ पहिचान भएका समस्यामा कर्जा प्रवाहलाई उत्पादनमूलक क्षेत्रमा निर्देशित गर्न नसकिएको, कर्जाको गुणस्तर बढाउने र बढ्न थालेको खराब कर्जालाई नियन्त्रणमा राख्ने चुनौती रहेको, वित्तीय साधनको लागत घटाउने गरी मौद्रिक उपकरणहरूमा लचकता कायम गर्न नसकिएको, वित्तीय क्षेत्रको नियमन प्रभावकारी हुन नसकेको, वित्तीय सहकारीको नियमन फितलो रहेको लगायत छन् ।

बाह्य क्षेत्रतर्फ कमजोर निकासीको आधार एवं उच्च व्यापार घाटा, चालु खाता घाटा, भ्रमण आयभन्दा भ्रमण खर्च उच्च रहेको, विदेशी लगानी आप्रवाह अत्यन्त कमजोर रहेको, वैदेशिक रोजगारीलाई थप प्रतिफलमुखी बनाउन नसकिएकोलगायत समस्या पहिचान गरिएको छ ।

आगामी कार्यदिशा

अर्थ मन्त्रालयले पहिचान गरेका अर्थतन्त्रका ४६ चुनौती सामना गर्न २९ क्षेत्रमा सुधार आवश्यक रहेको र सोहीअनुरूप आगामी कार्यदिशा तय गर्नुपर्ने देखिएको पनि जनाएको छ ।

अहिले घटेको बजारको माग बढाउन सार्वजनिक खर्चलाई औचित्यपूर्ण र थप प्रभावकारी बनाउने गरी प्राथमिकीकरण गर्ने, पुँजीगत खर्च क्षमता अभिवृद्धि गर्ने, वित्त सुदृढीकरणमा जोड दिने, उत्पादनमा आधारित राजस्वमा जोड दिने, ऋणको प्रभावकारी उपयोग गर्ने, वित्त जोखिम कम गर्ने, लगानीको वातावरण निर्माण गरी आर्थिक वृद्धिलाई गति दिने, उत्पादनशील क्षेत्रमा लगानी बढाउनेलगायत सुझाव दिइएको छ ।

त्यस्तै, प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन यसका बाधा पहिचान गरी सुधार गर्ने, जलविद्युत् उत्पादन र प्रसारण लाइन विस्तारमा जोड दिने, गुणस्तरीय सडक सञ्जाल निर्माण गर्ने, ग्रामीण सडक सञ्जाललाई कृषि उत्पादन र बजारीकरणसँग आबद्ध गर्ने, पुँजीगत खर्चको प्रभावकारिता बढाई आर्थिक वृद्धिमा सहयोग पु¥याउने, प्रशासनिक खर्चमा मितव्ययिता कायम गर्दै सरकारी लगानीलाई आर्थिक पूर्वाधारमा केन्द्रित गर्ने, बहुवर्षीय ठेक्काको सहमति दिइएका आयोजनाको स्रोत व्यवस्थापन गर्ने, वैदेशिक अनुदान र सहुलीयतपूर्ण ऋणलाई राष्ट्रिय प्राथमिकताका क्षेत्रमा परिचालन गर्ने, जलवायुसँग सम्बन्धित कोषहरूको परिचालनमा जोड दिनेलगायत कार्यदिशा अवलम्बन गर्नुपर्ने देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी सरकारको सञ्चित कोषलाई सन्तुलित अवस्थामा राख्ने, गैरबजेटरी मागलाई निरुत्साहित गर्ने, कर्जा प्रवाहलाई उत्पादनमूलक क्षेत्रमा निर्देशित गर्ने, कर्जाको गुणस्तर बढाउने र बढ्न थालेको खराब कर्जालाई नियन्त्रणमा राख्नुपर्ने उल्लेख छ ।

साना तथा मझौला उत्पादनमूलक व्यवसायलाई परियोजनामा आधारित कर्जा उपलब्ध गराउने, वित्तीय क्षेत्रमा स्थायित्व कायम गर्दै वित्तीय साधनको लागत घटाउने गरी मौद्रिक उपकरणमा लचकता कायम गर्ने, वित्तीय क्षेत्रको नियमनलाई प्रभावकारी बनाउने, वित्तीय सहकारीको नियमन गर्न दोस्रो तहको नियामक संयन्त्र निर्माण गर्ने कार्यदिशा अवलम्बन गरिनुपर्ने पनि मन्त्रालयले जनाएको छ ।

व्यापारघाटा नियन्त्रण गर्नेसम्बन्धी रणनीतिको कार्यान्वयनमा जोड दिने, विदेशी लगानी आप्रवाह बढाउन नीतिगत र कानूनी सुधार गर्ने, सम्झौता भएका सहुलीयतपूर्ण विदेशी ऋण र अनुदानलाई प्राथमिकताका क्षेत्रमा अधिकतम परिचालन गर्ने तथा सर्तहरूमा सुधार गर्ने, वैदेशिक रोजगारीलाई थप प्रतिफलमुखी बनाउने, युवाहरूलाई स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्ने, विप्रेषणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्नेलगायतका सुधारका प्रयास थालिनुपर्ने अर्थ मन्त्रालयको निचोड छ । रासस

ऊर्जा क्षेत्र मुख्य आयस्रोतका रूपमा अगाडि बढाइएको छ : मन्त्री खड्का

काठमाडौँ, साउन ८ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रलाई सरकारले मुख्य आयस्रोतका रूपमा अगाडि बढाएको बताउनुभएको छ । निजी क्षेत्रका ऊर्जा उत्पादकहरूको संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालसँग आज मन्त्रालयमा भएको भेटमा उहाँले ऊर्जा क्षेत्रलाई सरकारले मुख्य प्राथमिकता दिएको बताउनुभयो ।

“इप्पानले राखेको माग निजी क्षेत्रको विकास र सरकारका लागि हो, यसलाई पूरा गर्न सरकार प्रतिबद्ध छ”, मन्त्री खड्काले भन्नुभयो । ऊर्जामन्त्री खड्काले निजी क्षेत्रलाई साथमा लिएर सरकार अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले छिटोछरितोरुपमा विद्युत उत्पादनमा लाग्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।

इप्पानका अध्यक्ष गणेश कार्कीले बाढीपहिरो भूकम्प, आर्थिक मन्दी, विस्फोटक पदार्थको अभाव, जग्गा प्राप्तिमा ढिलाइलगायत समस्याले आयोजना निर्माणमा ढिलाइ हुने गरेको भन्दै विद्युत आयोजनाको म्याद थप गर्ने वातावरण मिलाउन आग्रह गर्नुभएको थियो । उहाँले सबै आयोजनाको पीपीए खुलाउनुपर्ने, १० मेगावाट क्षमताभन्दाका ठुला आयोजनालाई हाइड्रोलोजी पेनाल्टी नलाग्ने व्यवस्था गरिदिनुपर्ने माग गर्नुभएको छ ।

संसद्का संयुक्त र विषयगत समितिका सदस्यको नाम हेरफेर

काठमाडौँ, साउन ८ गते । प्रतिनिधि सभाले संसदीय सुनुवाइ र विषयगत समितिमा सदस्य थप र हेरफेर गरेको छ । सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राख्नुभएको सदस्यको नाम हेरफेरसम्बन्धी प्रस्तावलाई सभाले सहमति जनाएको थियो ।

सभामुख घिमिरेले संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० को नियम २५ को २ बमोजिम संसदीय सुनुवाइ समितिमा सदस्यहरूको नाम हेरफेरको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त समितिमा सांसद रमेश लेखकको स्थानमा सांसद श्यामकुमार घिमिरे र सांसद डा.स्वर्णिम वाग्लेको स्थानमा डोलप्रसाद अर्याललाई हेरफेर गरिएको छ ।

यस्तै राज्य व्यवस्था तथा सुशासन समितिमा सांसद पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्णबहादुर खड्का, रवि लामिछाने र राजेन्द्रकुमार राई थपिनुभएको छ । सांसद हरि ढकाललाई राज्य व्यवस्था तथा सुशासन समितिबाट सार्वजनिक लेखा समितिमा लगिएको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सांसद रेखा शर्मा र सुमना श्रेष्ठ थपिनुभएको छ । यस समितिबाट सांसद मिना यादवलाई कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सारिएको छ । अर्थ समितिमा सांसद पदम गिरी, भगवती चौधरी, वर्षमान पुन र विराजभक्त श्रेष्ठलाई थपिएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सांसद हरिप्रसाद उप्रेती र हितबहादुर तामाङ थपिनुभएको हो ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिमा सांसद रघुवीर महासेठ र डोलप्रसाद अर्याल थपिनुभएको छ । यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सांसद ज्वालाकुमारी साह र पूर्वाधार विकास समितिमा शक्तिबहादुर बस्नेत थपिनु भएको छ ।

राजमार्गको पहिरो रोक्न त्रिपालको सहारा

बाजुरा । अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध छन् । लगातारको वर्षाले पटक–पटक अवरुद्ध भएको साँफे–मार्तडी राजमार्गमा पर्ने बडीमालिका नगरपालिका–९ कारागार नजिकैको पहिरो रोक्न त्रिपालको सहारा लिइएको छ ।

पहिरो नरोकिएपछि जिल्ला प्रशासन कार्यालयले सोमबार सुरक्षाकर्मी लगाएर पहिरो गएको ठाउँमा त्रिपाल बिछ्याएको हो ।

अविरल वर्षाका कारण भिरालो जमिनमा पहिरो नरोकिएपछि जिल्ला प्रशासन र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा पहिरोमाथि त्रिपाल विछ्याइएको हो ।

लगातारको वर्षाका कारण पहिरोले सडक अवरुद्ध भएपछि कुनै विकल्प नहुँदा त्रिपाल बिछ्याइएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए ।

उनका अनुसार सडक डिजिभन कार्यालय साँफेबगरलाई पहिरो गएको ठाउँमा पर्खाल निर्माण गर्न अनुरोध गरेपनि वर्षाका कारण सम्भव नभएपछि त्रिपाल हालेर सडक जोगाउने कार्य गरिएको हो। सदरमुकामकै सडक बन्द हुँदा समस्या हुने भएकाले त्रिपालको सहारा लिएको प्रजिअ पौडेलले बताए ।

सुदूरपश्चिम प्रदेशको गौरवको आयोजनाका रुपमा निर्माणाधीन उत्तरी चार पालिका जोड्ने मार्तडी– कोल्टी सडक पनि तीन सातादेखि अवरुद्ध छ ।

बाउली र अनाइ खोलामा पानीको प्रवाह बढेको र मार्तडी कोल्टी सडकको जिल्लीमा पहिरो जाँदा अवरुद्ध भएको उक्त सडक खुलाउन सम्बन्धित निकायले प्रयास नगरेको स्थानीयको गुनासो छ ।

सिमलताल पहिरो : त्रिशूलीमा खसेका बस र यात्रुको आज १२औँ दिन पनि खोजी जारी

चितवन । भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूलीमा खसेका दुई वटा बस तथा यात्रुको आज १२औँ दिन पनि खोजी जारी छ । घटनास्थल सिमलतालबाट घुमाउने हुँदै केदाबारीसम्म शङ्कास्पद वस्तु देखिएपछि दोहोर्‍याएर खोजतलास गर्न लागिएको हो ।

नेपालको सुरक्षाकर्मी सहित भारतको ‘राष्ट्रिय आपदा मोचन बल–नेशनल डिजास्टर रेस्पोन्स फोर्स’बाट १२ जनाको प्राविधिक टोलीद्वारा संयुक्त खोजतलास भइरहेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सो क्षेत्रमा राडरले शङ्कास्पद वस्तु देखाएपछि आज बिहान पुनः खोजतलास थालिएको छ ।

भारतीय टोलीले धमिलो बेगमा बगेको पानीमा कम काम गरेकाले कठिनाइ भइरहेको जनाउँदै उनले शङ्कास्पद वस्तु भएको अनुमानसँगै पुनः सोही ठाउँमा खोजतलास थालिएको बताए ।

यसअघि भेटिएका भनेका २५ शवमध्ये सनाखत नभएका सातमध्येको एक शव यो घटनाभन्दा बाहिरको रहेको खुलेको छ । प्रजिअ यादवका अनुसार पाल्पाकी नदीमा हामफालेकी एक महिलाको सनाखत भएपछि भेटिएका शवको सङ्ख्या २४ मा झरेको छ । तीमध्ये छ जनाको सनाखत हुन सकेको छैन ।

चितवनका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला सुरक्षा समिति र भारतीय प्राविधिक टोलीबीच शनिबार संयुक्त बैठक बसी आइतबार बिहानदेखि खोजी सुरु गरिएको थियो ।

आइतबारदेखि सोनार क्यामेरासहित खोजी थालेको संयुक्त टोलीले सिमलतालबाट घुमाउने, देवघाट, काभ्रे घाटसम्मको क्षेत्रमा खोजतलास गरिसकेको छ । सनाखत भएका शवमा १६ पुरुषको छ भने दुई वटा महिलाको छ । त्यस्तै सनाखत भएका शवमध्ये १३ नेपाली नागरिकका छन् भने पाँच भारतीय नागरिकका छन् ।

वन्यजन्तुका लागि बाँकेका सामुदायिक वनमा पोखरी निर्माण

बाँके । वन्यजन्तुका लागि बाँकेका सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । राप्तीसोनारी गाउँपालिका–८ ओभरीस्थित भगवती सामुदायिक वनमा पाँच लाखको लागतमा पोखरी निर्माण गरिएको सामुदायिक वनका अध्यक्ष टीकाराम वलीले जानकारी दिए ।

उनले पोखरीमा शम्शेरबजारमा राखिएका खानेपानी ट्याङ्कीबाट एक हजार दुई सय मिटर पाइप बिच्छयाएर पानी ल्याएको बताए । यसबाट पोखरी नजिकै रहेको निकुञ्ज र सामुदायिक वनका वन्यजन्तु पानी खान सजिलो भएको छ ।

अध्यक्ष वलीका अनुसार पोखरी निर्माण पश्चात् चितुवा, चित्तल, जरायोलगायत विभिन्न प्रजातिका वन्यजन्तु वनमा देखिन थालेका छन् । सामुदायिक वनमा ‘सिसी क्यामेरा’ जडान गरिएको छ । क्यामेरामा १९ प्रजातिका चरा र वन्यजन्तु देखिएको उनले बताए ।

डिभिजन वन कार्यालय बाँके शम्शेरगञ्ज सबडिभिजन वन कार्यालयका प्रमुख सुशील सुवेदील पोखरी निर्माण आर्थिक सहयोग गरेको जानकारी दिए । पोखरीको गहिराइ पाँच फिट, लम्बाइ सय मिटर र चौडाइ ५० मिटर रहेको छ । वन्यजन्तुलाई पानी पिउन पोखरीमा झर्न सजिलो होस् भन्नका लागि प्राकृतिक लयमा पोखरी निर्माण गरिएको उनले बताए।

बागमती प्रदेश : सवारी दुर्घटनामा तीन सय चार जनाको मृत्यु

बागमती । सवारी दुर्घटना कम गर्न बागमती प्रदेशका जिल्लाहरूमा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले आर्थिक २०८०–८१ मा रु १७ करोड ७८ लाख १७ हजार राजस्व सङ्कलन गरेको छ । उपत्यकाका तीन जिल्लाबाहेक बागमतीका १० जिल्लामा ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष अभियानका क्रममा दुई लाख २८ हजार दुई सय दुई सवारीमाथि कारबाही गरी रु १७ करोड ७८ लाख १७ हजार राजस्व सङ्कलन गरेको हो ।

पूर्वपश्चिम राजमार्गमा जडान गरिएको सिसीटिभी र रिडर गणबाट सवारी गति निगरानी गरिरहेको र सो क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई लाख २८ हजार दुई सय दुई सवारीमाथि कारबाही गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहन खाणले जानकारी दिए ।

सो अवधिमा बागमतीका १० जिल्लामा भएको एक हजार पाँच सय ३६ सवारी दुर्घटनामा तीन सय १५ जनाको मृत्यु भएको छ भने तीन हजार एक सय ९९ जना घाइते भएको उनले बताए ।

ट्राफिक व्यवस्थापन कार्यालय रामनगरले गत आर्थिक वर्ष २०७९–८० मा दुई लाख ९१ हजार दुई सय ९३ सवारीमाथि कारबाही गरी रु २६ करोड ३६ लाख ८३ हजार पाँच सय राजस्व सङ्कलन गरेको थियो । सो आवमा एक हजार तीन सय ६२ सवारी दुर्घटनामा तीन सय चारजनाको मृत्यु भएको थियो । त्यसअघि आव २०७८–७९ मा कार्यालयले ट्राफिक नियम उल्लङ्घन गर्ने दुई लाख ५० हजार नौ सवारीमाथि कारबाही गरी रु दुई करोड ४१ लाख ७० हजार राजस्व सङ्कलन गरेको थियो । क्षमताभन्दा बढी यात्री बोक्ने, तीव्रगतिमा सवारी चलाउने, बिनाहेलमेट र तीनजना सवार भएर मोटरसाइकल चलाउने प्रवृत्ति बढेकाले राजमार्ग तथा अन्य सहायक मार्गमा सवारी जाँचमा कडाइ गरिएको प्रनाउ खाणले बताए ।

पहिराले कालीगण्डकी करिडोर अवरुद्ध

अविरल वर्षका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।सोमबार साँझदेखि परेको वर्षाले करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा आवागमन अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन निउरेले जानकारी दिनुभयो । अहिले वर्षा भइरहेको हुँदा पहिरो पन्छाउन समस्या भएको उहाँले बताउनुभयो ।

सडक अवरुद्ध हुँदा सदरमुकामसँग दक्षिण बागलुङको सिधा यातायात बिच्छेद भएको छ । जैमिनीका किसानले दैनिक चार सय लिटर दूध बागलुङ बजारमा ल्याउँदै आएकामा सडक अवरुद्ध हुँदा समस्यामा परेका छन् ।

प्रमुख निउरेले भन्नुभयो, “हिजो साँझदेखि ठूलो वर्षा भइरहेको हुँदा पहिराले सडक छेउबाट भासिएको छ, पहिले पनि यही ठाउँमा सडक भासिदा लामो समय अवरुद्ध भएको थियो, अहिले पनि सोही ठाउँमा सडक बगाएको छ, अहिले वर्षा भइरहेको हुँदा खुलाउने सम्भावना छैन, वर्षा रोकियो भने बल्ल खुलाउने प्रयास गर्ने छौँ ।”

बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पहिराले यातायात प्रभावित

म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङस्थित चीनको सिमाना कोरलानाका जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्ड पहिराले यातायात प्रभावित बनाएको छ । स्तरोन्नतिका क्रममा रहेको बेनीबाट मुस्ताङ लेतेसम्मको खण्डमा रहेका पहिरो, कटान र बाढीका कारण यातायात प्रभावित हुने गरेको छ । बर्खायामसँगै यात्रुलाई सास्ती, दुर्घटनाको जोखिम र पहिरो पन्छाउने काममा राज्यको ब्यभार बढेको छ ।

म्याग्दी खण्डमा ५० भन्दा बढी ठाउँमा साना–ठूला पहिरो र कटानका कारण बर्खायाममा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । “सडक विस्तारसँगै नयाँ–नयाँ पहिरा सिर्जना भएका छन”, उहाँले भन्नुभयो, “सडक छेउछाउका बस्तीमा पनि जोखिम बढाएको छ ।” म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा, मुस्ताङ भ्रमणमा जाने र फर्कने पर्यटक तथा तीर्थयात्री सडकको दुरावस्थाका कारण पीडित भएका छन् ।

कतिपय स्थानीयवासी, पर्यटक र तीर्थयात्री मुस्ताङ आवतजावत तथा बिरामी अस्पताल लैजान हेलिकप्टर चार्टर गर्नुपर्ने अवस्था छ । राहुघाट, चमेरे, बैसरी, सिरुबारी, बेगखोला, महभिर, नौलीबगर, गुइँठेभिर, खामभित्ता, लाटोखोला, रुप्से, घाँसाको खहरेखोला, कैह्कुखोला, लेते क्षेत्रमा ठूला पहिरो छन् ।

पहिरोका अतिरिक्त ठाडो खोलामा आउने बाढी र कालीगण्डकीको कटान पनि बेनी–जोमसोम सडकको मुख्य चुनौती बनेको छ । हिउँदभर स्तरोन्नतिको काम भएको म्याग्दी खण्डको अधिकांश सडकमा पहिराले क्षति भएको छ । गुडिरहेका सवारीसाधनमाथि पहिरो खसेर क्षति हुने भएकाले पानी परेको र रातको समयमा आवतजावत नगर्न अनुरोध गरिएको छ ।

गलेश्वर–तातोपानी खण्डको ठेकेदार कम्पनी शर्मा युनाइटेडका इन्जिनियर सुमन भट्टराईले कालोपत्र गरिएको सडक भत्किएर र पुरिएर क्षति भएको बताउनुभयो । “बेगखोला–तातोपानी खण्डको आठ किलोमिटरमा गत हिउँदमा गरिएको डिबिएसडी प्रविधिको कालोपत्र सडक पहिरो खसेर क्षति भएको छ”, उहाँले भन्नुभयो, “नयाँनयाँ ठाउँबाट पहिरो खस्ने र कुनातर्फ नयाँ पानीको मुल फुटेर नालीभन्दा बाहिरबाट बग्न थालेपछि समस्या भएको छ ।”

नागढुङ्गा–घाँसा खण्डको ठेकेदार कम्पनी शर्मा–जगुरमुखीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले विगतका वर्षमा पहिराले दुःख दिने काभ्रे, घोप्टेभिर र बादरजुङ भिरमा ढलान गरिएपछि यसपालि समस्या नभएको तर अन्य ठाउँमा क्षति भएको बताउनुभयो । “यहाँको प्रतिकूल भूगोल र मौसमले डिबिएसडी कालोपत्र गर्ने डिजाइन नै परिवर्तन नभएसम्म काम गर्न सकिने देखिएन”, उहाँले भन्नुभयो, “हिउँभर सडकमा बनाएको संरचनालाई बर्खाको पहिराले छियाछिया बनाएको छ ।”

सडक निर्माण गर्दा पहिरो जाने सम्भावित क्षेत्रको अध्ययन नभएको र त्यहीअनुरुप डिपिआर निर्माण नगरिएकाले नियन्त्रणका लागि विस्तृत अध्ययन गरेर योजना सञ्चालन गर्न भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा योजना र बजेट माग गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख धु्रवकुमार झाले बताउनुभयो ।

सडक विभागको डोजर, लोडर र ब्याकुहोलोडर तथा प्राविधिकलाई तयारी अस्वस्थामा राखेर पहिरो पन्छाएर अस्थायी रूपमा यातायात सञ्चालन गर्ने व्यवस्था मिलाए पनि दीर्घकालीन समाधानका लागि बजेटको अभाव भएको आयोजना प्रमुख झाले बताउनुभयो ।

साढे छ वर्षपछि कर्णालीमा माओवादी प्रतिपक्षमा

सुर्खेत- कर्णाली प्रदेश सभामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रतिपक्षमा पुगेको छ ।सोमबार माओवादीबाट कर्णाली प्रदेश सरकारमा सहभागी चारजना मन्त्रीले पदबाट राजीनामा दिएसँगै प्रदेश सरकार स्थापनापछि पहिलोपटक माओवादी केन्द्र प्रतिपक्षमा रहेको हो ।

सङ्घीय सरकारमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच सत्ता सहकार्य भएपछि कर्णालीमा माओवादी सरकारबाट बाहिरिएको हो । प्रदेश संरचना कार्यान्वयन भएको साढे छ वर्षमा कर्णालीमा माओवादीबाट दुईजना मुख्यमन्त्री र १८ जना मन्त्री बनेका थिए ।

अब कर्णालीमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीचमा सत्ता सहकार्य हुने छ । सरकारमा सहभागी हुने विषयमा आजैदेखि छलफल सुरु हुने भए पनि केन्द्रबाट निर्देशन नआएको कांग्रेसका प्रदेशसभा सदस्य बेदराज सिंहले जानकारी दिए ।

बाढीका कारण किसानले भित्र्याउन पाएनन् चैतेधान

धानखेती विस्तार गरेका पाण्डेले यस वर्ष बाढीका कारण धान भित्र्याउन पाएनन् । गत असार १९ गते पथरैया नदीमा आएको बाढीले दुई हप्तासम्म धान डुबानमा परेपछि सबै नष्ट भएको उनले गुनासो गरे । “उत्पादन राम्रो हुने, बर्खामा खेती नहुने भएपछि डुबान हुने सबै क्षेत्रमा चैतेधान लगाएको थिएँ”, उनी भन्छन्, “पाँच–छ कट्ठाको भित्र्याउन सके पनि बाँकी सबै डुबानले सखाप बनायो ।”

सोही ठाउँका लालप्रसाद न्यौपानेले पनि चैतेधान भित्र्याउन पाएनन् । असार १९ गतेको डुबानले १६ कट्ठामा लगाएको सबै धान नष्ट भएपछि भएको खर्चको जोहो गर्न मुस्किल हुने उनको भनाइ छ । “यस वर्ष धान राम्रो थियो । उत्पादन राम्रो हुन्छ भन्ने आशा जागेको थियो”, न्यौपानेले भने, “धान राम्रो भएको डुबानमा पर्नलाई रहेछ । अहिले धान रोप्ने बेला लागेको खर्च व्यवस्थापन गर्न गाह्रो भएको छ ।” उनका अनुसार ढिलोगरी रोपाइँ गरेका अधिकांश किसानले धान भित्र्याउन पाएनन् ।

यस वर्ष किसानले ढिलोगरी धान रोप्नु र छिटो बाढी आउनुले पनि अधिकांश किसानको धान डुबानले नष्ट हुनपुग्यो । धान काट्ने साधन समयमा नपाउँदा भित्र्याउन तयार भएको एक बिघा क्षेत्रफलको धान नष्ट भएको भजनी –३ का नेत्र देउवा बताउछन्। डुबानले करिब ५० क्विन्टल धान खेतमै पुरिएको दुखेसो उनको छ । “समयमा धान काट्ने साधन पाइएन, हातले काट्दा १० कट्ठाको धानमात्रै भित्र्याउन सकियो”, उनले भने, “अरुको साधनको भर परेर खेती लगाउनु पनि दुःख हुँदोरहेछ ।” देउवाका अनुसार १० कट्ठामा २९ क्विन्टल धान उत्पादन भएको छ ।

उत्पादन भएको धान बिक्रीका लागि बजार अभाव रहेको किसान बताउँछन् । बजार मूल्य किसानको छैन । व्यापारीले भनेअनुसार किसानले धान बेच्नुपर्ने बाध्यता छ । “सुरुमा तीन हजार छ सय प्रतिक्विन्टल बिक्री गरेको धान केही समयपछि तीन हजारमा बिक्री गर्नुपर्यो”, किसान चन्द्रबहादुर चौधरी बताउछन् । “किसानले सुरुको मूल्य अन्तिमसम्म पाउन सकेको भए राम्रो हुन्थ्यो । सरकारले धानको समर्थन मूल्य तोक्दा चैतेधानलाई पनि ध्यानमा राखेर मूल्य तोक्नुपर्छ ।” उनले धानको समर्थन मूल्यसँगै खाद्य संस्थानले धान खरिद गर्ने व्यवस्था गर्नुपर्ने बताए ।

भजनी नगरपालिकाका अनुसार ३० हेक्टर क्षेत्रफलमा लगाएको चैतेधान बाढी र डुबानले नष्ट गरेको छ । यतिबेला भजनीका अधिकांश कृषियोग्य फाँट बाँझो छन् । बर्खामा हुने बाढी र डुबानका कारण किसानले प्रायः खेती गर्दैनन् । “ढिलो वर्षा सुरु भएको वर्ष किसानले प्रायः धानखेती गर्नुहुन्थ्यो । मनसुन छिटो सक्रिय भएपछि अधिकांश जमिन बाँझो रहन्छ”, सुन्दर चौधरीले भने, “जमिन बाँझो हुँदा किसानलाई ठूलो नोक्सानी हुने गरेको छ । बाढी र डुबानको विकल्प किसानसँग भए उत्पादनमा ठूलो राहत हुन्थ्यो ।”

बढी डुबान नभएको वर्ष किसानले दुई–तीनपटक चैतेधानको उत्पादन लिने गरेका छन् । असारमा भित्र्याएको चैतेधान डुबानमा नपरे भदौमा पुनः उत्पादन दिन्छ । “मैले तीनपटकसम्म एकैपटक रोपेको धान भित्र्याएको छु । आम्दानीका हिसाबले कम उत्पादन एक बिघामा दोस्रोपटक २० क्विन्टल जति उत्पादन लिएको थिएँ”, आन्तु चौधरी भन्छन्, “यस वर्ष एकपटक पनि उत्पादित धान भित्र्याउन सकिएन ।” भजनी क्षेत्रमा यस वर्ष करिब एक हजार हेक्टर क्षेत्रफलमा चैतेधान रोपाइँ भएको थियो ।

डिआइजी जोशीलाई एआइजीमा बढुवाका लागि सिफारिस

काठमाडौँ- नेपाल प्रहरीका जनपदतर्फका प्रहरी नायब महानिरीक्षक (डिआइजी) रामदत्त जोशीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृह मन्त्रालय बढुवा समितिको सोमबार बसेको बैठकले डिआइजी जोशीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवाको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको बढुवा समितिका सदस्यसचिव एवं प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । एआइजीमा बढुवाका लागि सिफारिस भएका जोशी हाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग नक्सालमा कार्यरत छन् ।

काभ्रेमा रोकिएन प्रतिबन्धित लागुऔषध तस्करी

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–७ उग्रेश्वरबाट प्रहरीले यही साउन १ गते लागुऔषध बोकेर हिँडेका २५ वर्षीय कान्छामान तामाङलाई प्रहरीले पक्राउ गर्यो । सुराकका आधारमा पक्रिएका तेमाल गाउँपालिका–७ का तामाङको साथबाट प्रहरीले एक सय ५७ ट्याब्लेट नाइट्राभेट नामक प्रतिबन्धित लागुऔषध बरामद गरेको थियो ।

तत्काल प्रहरीले उनको बनेपास्थित डेरामा खानतलासी गर्दा एक सय ३५ ट्याब्लेट नाइट्राभेट फेला पार्यो । इलाका प्रहरी कार्यालय बनेपाले तामाङलाई काभ्रे जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइहेको जनायो । साथै, तामाङसहितका लागुऔषध ओसारपसार गर्ने तथा प्रयोगकर्ताको खोजीकार्य भइरहेको इप्रका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए ।

यसअघि गत आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय काभ्रेमा लागुऔषधका १५ मुद्दा दर्ता भएका छन् । सेवनका आठ र ओसारपसारका सात मुद्दामा ३२ जना संलग्न रहेको कार्यालय प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काले जानकारी दिए । उनका अनुसार आव २०७९÷८० मा सात मुद्दा दर्ता भएका थिए । अठारदेखि २५ वर्ष उमेर समूहका १२ पुरुष, २६ देखि ३५ उमेर समूहका १५ पुरुष, ३६ देखि ४५ उमेर समूहका दुई पुरुष र ४६ देखि ५९ उमेर समूहका दुई पुरुष र एक महिलालाई लागुऔषध सेवन तथा ओसारपसारमा मुद्दा चलाइएको छ ।

कार्यालयका अनुसार प्रहरीले हालसम्म लागुऔषध ओसारपसारका क्रममा तीन सय २५ किलो गाँजा र ३८ ग्राम खेरो हिरोइन बरामद गरेको छ । यस्तै सेवनका क्रममा डाइजिपाम चार एम्पुल, नोफिन तीन एम्पुल, फेनारगन दुई एम्पुल, नाइट्राभेट आठ सय दुई ट्याब्लेट, कोरेक्स तीन बोतल बरामद गरेको प्रहरीले जनाएको छ । बितेको आवमा २० हजार गाँजाका बोट फडानी गरिएको छ भने विभिन्न स्थानमा २० पटक गरेर पाँच सय ८३ जनालाई सचेतना कार्यक्रम गरिएको जनाइएको छ । गाँजा, अफिम, हिरोइन, मर्फिन, कोकिन आदि अवैध लागुऔषध नेपालको कानुनद्वारा निषेधित हो भने सुर्तिजन्य पदार्थ र मदिरा कानुनद्वारा नियन्त्रित लागुपदार्थ हो ।

घटनाक्रमले सुराकका आधारमा मात्रै प्रहरीले जाँच गर्ने र लागुऔषध कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने गरेको देखाएको छ । साथै, बिपी राजमार्गबाट अधिकांश रूपमा लागुऔषध ओसारपसार हुने गरेको देखिएको हो । काभ्रेलगायत छिमेकी जिल्ला तथा राजधानीका विभिन्न स्थानमा बिक्री हुने प्रतिबन्धित लागुऔषध मध्यपहाडी क्षेत्रअन्तर्गतको राजमार्गबाट तस्करी हुने जिल्लास्थित प्रहरीको तथ्याङ्कबाट देखिन्छ ।

पक्राउ परेकामध्ये पनि अधिकांशले ‘ब्रोकर’ बनेर काम गरिरहेको बयान दिँदै आएको प्रहरीले जनायो । प्रहरीको अनुसन्धानले विशेषगरी ‘टिनएजर्स’ यसको तस्करी र प्रयोकर्ताका रूपमा देखिएको सुवेदी बताउछन् । घटना विवरणअनुसार तराई क्षेत्रबाट बिपी राजमार्ग हुँदै लागुऔषध तस्करी भई लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ काभ्रेको बनेपालाई बनाएको देखिन्छ ।

यसैबीच काभ्रेमा लागुऔषध प्रयोग बढ्दो क्रममा रहेको पाइएपछि प्रहरीले यसविरुद्ध अभियान सञ्चालन गरिने जनाएको छ । जिल्लास्थित प्रशासन कार्यालय र प्रहरी कार्यालयले सरोकार भएकाहरूसँग समन्वय गरी जिल्लाभर सचेतना तथा नियन्त्रणसम्बन्धी अभियान चलाइने भएको खड्काले बताए। उनका अनुसार लागुऔषध सेवन तथा ओसारपसार नियन्त्रणका गर्न सूचना महत्त्वपूर्ण हुने भएकाले परिवार वा समुदाय नै सचेत भए यसको नियन्त्रण सम्भव देखिन्छ । लागुऔषध प्रयोगकर्ता कम उमेरका अर्थात् युवा–विद्यार्थी पाइएपछि यसको कुलतमा फसेर जीवन बर्बाद हुने भएकाले परिवार र शिक्षकलाई सचेतना गरिने भएको हो । यस्तै अभियानका क्रममा लागुऔषध प्रयोगकर्ता र ओसारपसारमा संलग्नबारे ‘सुराकी’ र सूचना प्रदान गर्न अपिल गरिएको छ । “नाकाहरूमा लागुऔषध आपूर्ति नियन्त्रण गर्न सुरक्षा–जाँचमा कडाइ गरिएको छ”, प्रहरी प्रमुख खड्काले भने ।

महिला एसिया कप : आज नेपालले भारतसंग खेल्दै

काठमाडौँ – महिला एसिया कप अन्तर्गत आज नेपालले भारतसंग खेल्दैछ । आजको खेलमा नेपालले जित्नै पर्ने दबाब छ । खेल नेपाली समय अनुसार साँझ ७:१५ बजेदेखि हुनेछ ।

हालसम्म नेपालले एक खेलमा जितेको छ भने एक खेलमा हारेको छ । नेपालले युएईलाई पराजित गरेको छ भने र पाकिस्तानसँग पराजित भएको छ ।

काभा यु–२० महिला भलिबल : नेपालको यात्रा सेमिफाइनलमै रोकियो

काठमाडौँ। काभा यु–२० महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको छ । माल्दिभ्सको मालेमा गए राति सम्पन्न खेलमा कीर्गिस्तानसँग नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो । नेपालले पहिलो सेट १४–२५, दोस्रो सेट २२–२५ र तेस्रो सेट १३–२५ ले गुमायो ।

लिग चरणबाट कीर्गिस्तान दोस्रो र नेपाल तेस्रो स्थानमा रहेर सेमिफाइनल पुगेका थिए । लिग चरणमा पनि नेपाल कीर्गिस्तानसँग ३–० कै सोझो सेटमा पराजित भएको थियो । अब नेपालले तेस्रो स्थानका लागि आजै माल्दिभ्सको सामना गर्नेछ । फाइनलमा भने कीर्गिस्तान र श्रीलङ्का भिड्नेछन् । पहिलो सेमिफाइनल खेलमा श्रीलङ्काले माल्दिभ्सविरुद्ध ३–० को सोझो सेटमा जित निकाल्दै फाइनल प्रवेश गरेको थियो ।

दर्जनौँ युक्रेनी ड्रोन खसालेको रूसको दाबी

मस्को- रूसको सेनाले आइतबार राती दक्षिणी रोस्तोभ क्षेत्रमा करिब ५० सहित ७५ वटा युक्रेनी ड्रोन खसालेको रूसले सोमबार जनाएको छ ।हवाई रक्षा प्रणालीले रोस्तोभमाथि ४७, ब्ल्याक सी र अजोभ समुद्रमा १७, बेलगोरोडको सीमावर्ती क्षेत्रसहित अन्य क्षेत्रमा ११ वटा ड्रोन रोकेको रक्षा मन्त्रालयले जनाएको हो ।

क्रास्नोडार क्षेत्रको ब्लाक सी सहर टुआप्सका क्षेत्रीय अधिकारीहरूले खसालिएको ड्रोनको भग्नावशेषले पेट्रोल प्रशोधन कम्पनीमा आगलागी भएको बताएका छन् ।

“किएभ शासनले पुनः टुआप्सको नागरिक पूर्वाधारमा ड्रोन आक्रमण गर्ने प्रयास गरेको क्षेत्रीय अधिकारीहरूले टेलिग्राममार्फत जनाएका छन् ।प्रारम्भिक जानकारीअनुसार ती आक्रमणमा कसैको पनि हताहत भने भएको छैन ।

पछिल्लो समय रूसले दैनिकजसो युक्रेनी ड्रोनहरू रोक्ने घोषणा गरिरहेको छ भने किएभले फेबु्रअरी २०२२ मा मस्कोले सैन्य कारबाही सुरु गरेदेखि सैन्य तथा नागरिक लक्षित रूसी आक्रमणको जवाफ भएको बताएको छ । एएफपी

क्रोएसियाको नर्सिङ होममा गोली चल्यो, पाँचको मृत्यु, कैयौँ घाइते

दारुवर (क्रोएसिया)- क्रोएसियाको एक नर्सिङ होममा सोमबार एक बन्दुकधारीले गोली चलाउँदा कम्तीमा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

अज्ञात बन्दुकधारीले जाग्रेबबाट करिब एक सय ३० किलोमिटर (८० माइल) पूर्वमा रहेको दारुवरमा रहेको एउटा नर्सिङ होममा प्रवेश गरी गोली चलाउन थालेको राज्य प्रसारक एचआरटीले जनाएको छ ।

उक्त घटनामा कम्तीमा पाँच जनाको मृत्यु भएको र कैयौँ घाइते भएको एचआरटीले जनाएको छ ।

प्रहरीले स्थानीय समयानुसार सोमबार बिहान १०ः१० बजे घटनाको जानकारी पाएको र संदिग्धले नर्सिङ होममा प्रवेश गरी बन्दुक प्रयोग गरेको पुष्टि गरेको छ । अपराधमा संलग्न व्यक्ति प्रहरी हिरासतमा रहेको प्रहरीले एक विज्ञप्तिमा जनाएको छ ।

प्रधानमन्त्री एन्ड्रेज प्लेन्कोभिकले घटनाको विस्तृत अनुसन्धान गर्न सम्बन्धित अधिकारीहरूलाई आह्वान गरे ।

यस क्षेत्रको क्षेत्रीय आपत्कालीन हेरचाह सुविधाका प्रमुख नेनाद मर्जलेकीले भने, “मेडिकल टोलीले घटनास्थलमा चार जनाको मृत्यु भएको फेला पार्यो र अन्य चार जना घाइते भएका थिए, उनीहलाई तत्काल स्थानीय अस्पतालमा लगियो ।”

क्रोएसियाली अखबार जुटार्नजी लिस्टले कथित गोली हान्ने व्यक्तिलाई सेवानिवृत्त सैन्य प्रहरी अधिकारी भनेर वर्णन गरेको छ

गत वर्ष छिमेकी मुलुक सर्बियामा एकपछि अर्को गोलीबारी हुँदा राजधानी बेलग्रेडको एक विद्यालयमा भएको नरसंहारमा १० जनाको ज्यान गएको थियो । एएफपी

कोदोको उत्पादन घट्दै जाँदा आयात बढ्यो , पूर्वीनाकाबाट ८५ करोडको आयात

काठमाडौँ ८ साउनः पूर्वीनाका काँकडभिट्टाबाट कोदोको आयात अघिल्लो वर्षका तुलनामा वृद्धि भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरले २०८०/८१ मा रु ८५ करोड ४२ लाख ५६ हजार मूल्य बराबरको १७ हजार सात सय ९७ मेट्रिक टन कोदो भारतबाट आयात भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार आव २०७९/८० मा रु ५१ करोड ३१ लाख २० हजार मूल्य बराबरको १६ हजार ३५ मेट्रिक टन कोदो भारतबाट आयात भएको थियो । नेपालमा कोदो बाली उत्पादन घट्दै जाँदा भारतलगायत तेस्रो देशबाट कोदोको आयात बढेको सूचना अधिकारी ठाकुरले बताउनुभयो ।

पूर्वी पहाडी जिल्लामा यथेष्ट उत्पादन हुने फर्सी विक्री नहुँदा किसान गाईभैँसीलाई खोले पकाएर खुवाउँछन् । तर त्यही फर्सी बजारमा भने भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ । उहाँले सोही अवधिमा फर्सी मात्र रु २१ करोड १४ लाख ८० हजारको १० हजार पाँच सय ७४ मेट्रिक टन आयात भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार गत एक वर्षमा रु एक अर्ब दुई करोड २२ लाख ६० हजार मूल्य बराबरको ५१ हजार एक सय १३ मेट्रिक टन गोलभेँडा, रु २९ करोड ५७ लाख ४० हजार मूल्य बराबरको १४ हजार सात सय ८७ मेट्रिक टन हरियो खुर्सानी पूर्वीनाका हुँदै भारतबाट भित्रिएको छ । सोही अवधिमा रु ५७ करोड ७३ लाख ८० हजार मूल्य बराबरको २८ हजार आठ सय ६९ मेट्रिक टन करेला, रु ३० करोड सात लाख ८० हजार मूल्य बराबरको १५ हजार २९ मेट्रिक टन भिन्डी र रु १५ करोड ६७ लाख २० हजार मूल्य बराबरको सात हजार आठ सय ३६ मेट्रिक टन सिमी आयात भएको सूचना अधिकारी ठाकुरले जानकारी दिनुभयो ।

पूर्वीनाकाबाट सोही अवधिमा रु १३ करोड आठ लाख ४० हजार मूल्य बराबरको छ सय ९२ मेट्रिक टन प्याज, रु २५ करोड ६५ लाख ६० हजार बराबरको १२ हजार आठ सय २८ मेट्रिक टन परवल, रु ६७ करोड ७० लाख मूल्य बराबरको तीन हजार आठ सय ३५ मेट्रिक टन घिरौला, रु ११ करोड १७ लाख मूल्य बराबरको पाँच हजार पाँच सय ८५ मेट्रिक टन गाजर, रु ३१ करोड ५० लाख मूल्य बराबरको एक हजार पाँच सय ७५ मेट्रिक टन स्कुस र रु तीन करोड ८० लाख ४० हजार बराबरको एक हजार नौ सय दुई मेट्रिक टन तरुल भारतबाट आयात भएको तथ्याङ्कले देखाउँछ ।

मधेसबाट हिमाली जिल्लासम्म उत्पादन हुने फापरसमेत भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ । सूचना अधिकारी ठाकुरका अनुसार एक वर्षमा रु एक करोड ३५ लाख ८५ हजार मूल्य बराबरको दुई सय नौ मेट्रिक टन फापर, रु चार करोड ६१ लाख ७६ हजार मूल्य बराबरको एक हजार चार सय ४३ मेट्रिक टन मकै (पशु दाना) आयात भएको छ ।

कार्यालयका अनुसार सोही अवधिमा रु चार अर्ब ८७ करोड ६५ लाख १८ हजार बराबरको ९८ हजार तीन सय ९४ मेट्रिक टन फलफूल तथा चामल, रु १७ करोड २८ लाख २४ हजार बराबरको सात हजार दुई सय एक मेट्रिक टन र दलहन (गेडागुडी) रु दुई करोड ४० लाख ९६ हजार मूल्यको आयात भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । भारतबाट आयातित तरकारीका कारण स्वदेशमा किसानले उत्पादन गर्दै आएको तरकारी बाली बजारमा बिक्री नभएको किसानको गुनासो छ ।

आज प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकको सम्भावित कार्यसूची अनुसार बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या, बन तथा वातावरण, कृषि तथा पशुपक्षी विकास र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन् ।

यस्तै बैठकमा सभामुखले संयुक्त समितिअन्तर्गतको संसदीय सुनुवाइ समितिमा सदस्यहरूको नाम हेरफेर गर्नेछन् । यस्तै प्रतिमा गौतमले “डेंगीको प्रकोप तीव्र रूपमा देशभरि फैलिई जनस्वास्थ्य सङ्कट उत्पन्न हुन गई अस्पतालमा गम्भीर अवस्थाका बिरामीहरू भर्ना हुने सङ्ख्यामा वृद्धि, समाजमा डर र त्रासको माहौल उत्पन्न भएकोले डेंगीको प्रभावकारी नियन्त्रण एवं भविष्यमा सिर्जना हुने गम्भीर र दीर्घकालीन असर न्यूनीकरण तथा रोकथामको लागि सरकारलाई निर्देशन दिन अपरिहार्य भएकोले” भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरिनेछ ।

म्याग्दीमा ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’

काठमाडौँ – म्याग्दीमा गण्डकी प्रदेश सरकारमार्फत सञ्चालन भएका आयोजनाबाट आठ किलोमिटर बढी सडक कालोपत्र भएको छ । आर्थिक वर्ष २०८०÷८१ मा पूर्वाधार विकास कार्यालय म्याग्दीले सञ्चालन गरेका सडक योजनामार्फत करिव आठ किमी सडक कालोपत्र र चार किमी सडक ढलान भएको हो ।

सडक स्तरोन्नति आयोजनामार्फत सडक ढलान, कालोपत्र र पहुँच विस्तारको काम भएका पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख इन्जिनियर विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । प्रदेश सरकारमार्फत सञ्चालित रणनीतिक महत्वको बेनी–दरबाङ सडकखण्डअन्तर्गत मङ्गला गाउँपालिका–२ सिमबाट तोराखेत–बाबियाचौर–लाम्पाटा–पानाबगर हुँदै रणवाङको सिमानासम्म तीन किमी सडक डिबिएसडी कालोपत्र गरिएको कार्यालय प्रमुख पौडेलले बताउनुभयो ।

त्यसैगरी ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’अन्तर्गत गलेश्वर–पिप्ले–भगवती–बेग सडकको पिप्ले–भगवती खण्डमा पाँच किमी डिबीएसडी प्रविधिको कालोपत्र र पाँच सय मिटर ढलान भएको छ । यस सडकबाट पिप्ले, भगवती र बेगखोलाका तीन वडाका तीन हजारभन्दा बढी घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन् । मालिका गाउँपालिकाको केन्द्र दरवाङको उपल्लो बजारमा चार सय २४ मिटर सडक कालोपत्र भएको छ ।

त्यसैगरी मालिकाको केन्द्र दरवाङबाट सोही पालिकाको वडा नं ५ फेदी हँुदै धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडकको धारापानीसम्म छ किमी सडक स्तरोन्नति गर्ने काम यसै वर्ष सकिएको छ । नयाँ मार्ग खोल्ने, ग्रेड सुधार, विस्तार, नाली निर्माण, ग्रेड, घुम्ती सुधार र ढलान भएपछि धवलागिरि गाउँपालिकालाई यातायात सञ्जालसँग जोड्ने दरवाङ–धारापानी–ताकम–मुना सडकको दरवाङ–धारापानी खण्डको यात्रा सहज बनेको स्थानीयवासी किरण थापाले बताउनुभयो ।

कार्यालय प्रमुख पौडेलका अनुसार एक वर्षको अवधिमा म्याग्दीमा दुईवटा मोटरेबल पुल, एक झोलुङ्गे पुल, ३१ कल्भर्ट र १२ कजवे निर्माण गरिएको छ । एघार किमी बढी नयाँ सडकको पहुँच निर्माण भएको छ । बाह्र दशमलव दुई सय नौ किमी सडक ग्राभेल, दुई किमी नाली निर्माण र १७ हजार दुई सय ८६ घनमिटर ग्याविन जाली तथा मेसिनरी पर्खाल निर्माण भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षमा जिल्लामा अधुरा अवस्थामा रहेका पुराना बहुवर्षीय क्रमागत योजनालाई लयमा फर्काउनुका साथै सातवटा रणनीतिक महत्वका सडक स्तरोन्नति र थप दुई ठाउँमा मोटरेबल पुल निर्माण गर्न बहुवर्षीय योजना कार्यान्वयन गरिएको कार्यालयका इन्जिनियर अर्जुन शर्माले जानकारी दिनुभयो । एक वर्षका अवधिमा क्रमागत, नयाँ बहुवर्षीय र सालबसालीसहित ८० भन्दा बढी योजना कार्यान्वयन गरिएको उहाँले बताउनुभयो ।

गन्तव्य पहिल्याउन बागलुङ बजारमा ‘स्टेट नम्बर’

गलकोट । बागलुङ बजारलाई पर्यटनमैत्री बनाउन बागलुङ नगरपालिकाले पहिलोपटक ‘स्टेट नम्बर’ राख्न थालेको छ । विषेशगरी पर्यटकहरुलाई गन्तव्य पहिल्याउन सहजताका लागि बागलुङ बजारका झण्डै एक सय स्थानमा स्टेट नम्बर र गल्लीको नाम राख्न थालिएको बागलुङ नगरपालिकाले जनाएको छ ।

बागलुङ नगरपालिकाले नगर पर्यटन विकास समितिमार्फत बागलुङ बजारका चोक तथा गल्लीमा स्टेट नम्बर राख्न थालिएको नगरउपप्रमुख राजु खड्काले बताए । उनका अनुसार रु पाँच लाख नगरपालिकाको बजेटले एक सय स्थानको नम्बर र टोलको नाम राख्न थालिएको बताए ।

उनले स्टेट नम्बर राख्नका लागि पोल गाडिएको बताए । खड्काले बोलीचालीको भाषामा लेख्दै आएको टोलको नामलाई स्टेट नम्बरसँगै लेख्नेगरी अहिले स्टेट नम्बरको पोल गाड्ने काम अन्तिम चरणमा पुगेको बताए ।

“पोखराको लेकसाइडमा राखिएको स्टेट नम्बर जस्तै व्यवस्थित रुपमा बागलुङ बजारमा स्टेट नम्बर राख्न थालिएको छ, अहिले पर्यटकहरु अलमलिएको अवस्थामा टोल–टोल पहिचानका लागि स्टेट नम्बर राखिएको र राखिएको नम्बर र टोलको नाम गुगल म्यापमा समेत राख्ने छौं, जस्कारण सजिलै गन्तव्यमा पुग्न पर्यटक तथा आगन्तुकलाई सहज हुनेछ”, उपप्रमुख खड्काले भने ।

पहिलो चरणमा एक सय चोक तथा मुख्य गल्लीको स्टेट नम्बर राखेपछि आगमी वर्ष थप भित्रि गल्ली तथा चोकको स्टेट नम्बर राख्ने योजना नगरपालिकाको रहेको छ । भित्रि तथा सहायक बाटोलाई दोस्रो चरणमा स्टेट नम्बर राखिने छ ।

स्थानीय समुदायको सुझाव र समन्वयका आधारमा स्टेट नम्बर राख्दा बागलुङ बजारलाई पर्यटकीय नगरी बनाउने कामलाई सहज बन्ने बागलुङ नगरपालिकाको योजना रहेको छ ।

पाँच किलो अफिमसहित ट्रक चालक पक्राउ


त्रिवेणी (रुकुम पश्चिम) ७ साउनः रुकुम पश्चिममा लागुऔषध अफिससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको आठबिसकोट नगरपालिका–१४ छेपारेबाट सल्यान कुमाख गाउँपालिका–५ का ३२ वर्षे मदनप्रकाश गिरीलाई पक्राउ परेका हुन् ।

छेपारेस्थित भेरी करिडोर सडक खण्डमा गस्तीमा खटिएको प्रहरी टोलीले सवारी साधन चेकचाँचका क्रममा पाँच किलो पाँच सय ४५ ग्राम लागुऔषध अफिमसहित गिरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार शनिबार राति ९ बजे गोतामकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको गिरीले चलाएको भे१क १७८० नम्बरको ट्रकमा लागुऔषध अफिम प्रहरीले फेला पारेको हो । सिटको मुनी चामलको बोरामा लुकाएर राखेको अवस्थामा प्रहरीले अफिम फेला पारेको हो ।

चालक गिरीलाई जिल्ला अदालतबाट सोमबार १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

अख्तियारमा उजुरी परेपछि नगर प्रमुखले फिर्ता गरे पैसा

गाोलबजार (सिरहा), ७ साउनः सप्तरीकाे डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाहले नगरपालिकाको बजेट प्रयोग गरी आफ्नो निजी पोखरीमा घाट बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि रकम फिर्ता गरेका छन् ।
आर्थिक वर्ष २०७९/८० मा वडा नं ८ प्रवाह टोलस्थित भगवती मन्दिर नजिकको रमन पोखरीमा घाट निर्माणका लागि रु पाँच लाख बजेट खर्च गरिएकामा रु चार लाख ८४ हजार सात सय ३० मा बलराम पार्वती निर्माण सेवा सप्तरीले घाट निर्माण गरेको थियो ।

घाट निर्माणका क्रममा पालिका प्रमुख मलाहले आवश्यक जग्गा नगरपालिकालाई हस्तान्तरण गर्ने मन्जुरनामा गरेका थिए । मन्जुरनामा गरेको जग्गा नगरपालिकाका नाममा हालसम्म आएको छैन । यसैबीच निजी पोखरीमा घाट निर्माण गरेको भन्दै अख्तियारमा उजुरी परेपछि प्रमुख महालले उक्त लागत खर्च नगरपालिकाको खातामा जम्मा गरेका हुन् ।

प्रमुखले आइतबार ब्याजसहित रु पाँच लाख ५१ हजार नगरपालिकाको खातामा जम्मा गरेको नगरपालिकाका प्रशासन शाखा प्रमुख उमेशकुमार साहले जानकारी दिनुभयो ।

उत्तरगङ्गाले बगाएका रामबहादुर मृत भेटिए

गलकोट (बागलुङ), ७ साउन : उत्तरगङ्गा नदी तर्ने क्रममा बेपत्ता भएका रामबहादुर विक मृत फेला परेका छन् । बागलुङको ढोरपाटन नगरपालिका–८ निवासी ५४ वर्षीय विक आइतबार उत्तरगङ्गा नदी तर्ने क्रममा बेपत्ता भएका थिए । विक आज मृत फेला पारेको प्रहरीले जनाएको छ ।

ढोरपाटन नगरपालिका–९ स्थित उत्तरगङ्गा नदीमा आफूले लगाउने कपडा र चप्पल किनारमा राखी नदी तर्ने क्रममा आइतबार बेपत्ता भएका विक आज मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय यादवले जानकारी दिनुभयो ।

नदीले बगाएको स्थानदेखि करिब १० किलोमिटर तल ढोरपाटन नगरपालिका–९ दिज स्थित उत्तरगङ्गा नदीको भाग मृत फेला परेको यादवले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरीक्षक राजकुमार विकको नेतृत्वमा प्रहरी टोली खटिएको छ ।