`

कोदोको उत्पादन घट्दै जाँदा आयात बढ्यो , पूर्वीनाकाबाट ८५ करोडको आयात

काठमाडौँ ८ साउनः पूर्वीनाका काँकडभिट्टाबाट कोदोको आयात अघिल्लो वर्षका तुलनामा वृद्धि भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरले २०८०/८१ मा रु ८५ करोड ४२ लाख ५६ हजार मूल्य बराबरको १७ हजार सात सय ९७ मेट्रिक टन कोदो भारतबाट आयात भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार आव २०७९/८० मा रु ५१ करोड ३१ लाख २० हजार मूल्य बराबरको १६ हजार ३५ मेट्रिक टन कोदो भारतबाट आयात भएको थियो । नेपालमा कोदो बाली उत्पादन घट्दै जाँदा भारतलगायत तेस्रो देशबाट कोदोको आयात बढेको सूचना अधिकारी ठाकुरले बताउनुभयो ।

पूर्वी पहाडी जिल्लामा यथेष्ट उत्पादन हुने फर्सी विक्री नहुँदा किसान गाईभैँसीलाई खोले पकाएर खुवाउँछन् । तर त्यही फर्सी बजारमा भने भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ । उहाँले सोही अवधिमा फर्सी मात्र रु २१ करोड १४ लाख ८० हजारको १० हजार पाँच सय ७४ मेट्रिक टन आयात भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार गत एक वर्षमा रु एक अर्ब दुई करोड २२ लाख ६० हजार मूल्य बराबरको ५१ हजार एक सय १३ मेट्रिक टन गोलभेँडा, रु २९ करोड ५७ लाख ४० हजार मूल्य बराबरको १४ हजार सात सय ८७ मेट्रिक टन हरियो खुर्सानी पूर्वीनाका हुँदै भारतबाट भित्रिएको छ । सोही अवधिमा रु ५७ करोड ७३ लाख ८० हजार मूल्य बराबरको २८ हजार आठ सय ६९ मेट्रिक टन करेला, रु ३० करोड सात लाख ८० हजार मूल्य बराबरको १५ हजार २९ मेट्रिक टन भिन्डी र रु १५ करोड ६७ लाख २० हजार मूल्य बराबरको सात हजार आठ सय ३६ मेट्रिक टन सिमी आयात भएको सूचना अधिकारी ठाकुरले जानकारी दिनुभयो ।

पूर्वीनाकाबाट सोही अवधिमा रु १३ करोड आठ लाख ४० हजार मूल्य बराबरको छ सय ९२ मेट्रिक टन प्याज, रु २५ करोड ६५ लाख ६० हजार बराबरको १२ हजार आठ सय २८ मेट्रिक टन परवल, रु ६७ करोड ७० लाख मूल्य बराबरको तीन हजार आठ सय ३५ मेट्रिक टन घिरौला, रु ११ करोड १७ लाख मूल्य बराबरको पाँच हजार पाँच सय ८५ मेट्रिक टन गाजर, रु ३१ करोड ५० लाख मूल्य बराबरको एक हजार पाँच सय ७५ मेट्रिक टन स्कुस र रु तीन करोड ८० लाख ४० हजार बराबरको एक हजार नौ सय दुई मेट्रिक टन तरुल भारतबाट आयात भएको तथ्याङ्कले देखाउँछ ।

मधेसबाट हिमाली जिल्लासम्म उत्पादन हुने फापरसमेत भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ । सूचना अधिकारी ठाकुरका अनुसार एक वर्षमा रु एक करोड ३५ लाख ८५ हजार मूल्य बराबरको दुई सय नौ मेट्रिक टन फापर, रु चार करोड ६१ लाख ७६ हजार मूल्य बराबरको एक हजार चार सय ४३ मेट्रिक टन मकै (पशु दाना) आयात भएको छ ।

कार्यालयका अनुसार सोही अवधिमा रु चार अर्ब ८७ करोड ६५ लाख १८ हजार बराबरको ९८ हजार तीन सय ९४ मेट्रिक टन फलफूल तथा चामल, रु १७ करोड २८ लाख २४ हजार बराबरको सात हजार दुई सय एक मेट्रिक टन र दलहन (गेडागुडी) रु दुई करोड ४० लाख ९६ हजार मूल्यको आयात भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । भारतबाट आयातित तरकारीका कारण स्वदेशमा किसानले उत्पादन गर्दै आएको तरकारी बाली बजारमा बिक्री नभएको किसानको गुनासो छ ।

आज प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकको सम्भावित कार्यसूची अनुसार बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या, बन तथा वातावरण, कृषि तथा पशुपक्षी विकास र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन् ।

यस्तै बैठकमा सभामुखले संयुक्त समितिअन्तर्गतको संसदीय सुनुवाइ समितिमा सदस्यहरूको नाम हेरफेर गर्नेछन् । यस्तै प्रतिमा गौतमले “डेंगीको प्रकोप तीव्र रूपमा देशभरि फैलिई जनस्वास्थ्य सङ्कट उत्पन्न हुन गई अस्पतालमा गम्भीर अवस्थाका बिरामीहरू भर्ना हुने सङ्ख्यामा वृद्धि, समाजमा डर र त्रासको माहौल उत्पन्न भएकोले डेंगीको प्रभावकारी नियन्त्रण एवं भविष्यमा सिर्जना हुने गम्भीर र दीर्घकालीन असर न्यूनीकरण तथा रोकथामको लागि सरकारलाई निर्देशन दिन अपरिहार्य भएकोले” भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरिनेछ ।

म्याग्दीमा ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’

काठमाडौँ – म्याग्दीमा गण्डकी प्रदेश सरकारमार्फत सञ्चालन भएका आयोजनाबाट आठ किलोमिटर बढी सडक कालोपत्र भएको छ । आर्थिक वर्ष २०८०÷८१ मा पूर्वाधार विकास कार्यालय म्याग्दीले सञ्चालन गरेका सडक योजनामार्फत करिव आठ किमी सडक कालोपत्र र चार किमी सडक ढलान भएको हो ।

सडक स्तरोन्नति आयोजनामार्फत सडक ढलान, कालोपत्र र पहुँच विस्तारको काम भएका पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख इन्जिनियर विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । प्रदेश सरकारमार्फत सञ्चालित रणनीतिक महत्वको बेनी–दरबाङ सडकखण्डअन्तर्गत मङ्गला गाउँपालिका–२ सिमबाट तोराखेत–बाबियाचौर–लाम्पाटा–पानाबगर हुँदै रणवाङको सिमानासम्म तीन किमी सडक डिबिएसडी कालोपत्र गरिएको कार्यालय प्रमुख पौडेलले बताउनुभयो ।

त्यसैगरी ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’अन्तर्गत गलेश्वर–पिप्ले–भगवती–बेग सडकको पिप्ले–भगवती खण्डमा पाँच किमी डिबीएसडी प्रविधिको कालोपत्र र पाँच सय मिटर ढलान भएको छ । यस सडकबाट पिप्ले, भगवती र बेगखोलाका तीन वडाका तीन हजारभन्दा बढी घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन् । मालिका गाउँपालिकाको केन्द्र दरवाङको उपल्लो बजारमा चार सय २४ मिटर सडक कालोपत्र भएको छ ।

त्यसैगरी मालिकाको केन्द्र दरवाङबाट सोही पालिकाको वडा नं ५ फेदी हँुदै धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडकको धारापानीसम्म छ किमी सडक स्तरोन्नति गर्ने काम यसै वर्ष सकिएको छ । नयाँ मार्ग खोल्ने, ग्रेड सुधार, विस्तार, नाली निर्माण, ग्रेड, घुम्ती सुधार र ढलान भएपछि धवलागिरि गाउँपालिकालाई यातायात सञ्जालसँग जोड्ने दरवाङ–धारापानी–ताकम–मुना सडकको दरवाङ–धारापानी खण्डको यात्रा सहज बनेको स्थानीयवासी किरण थापाले बताउनुभयो ।

कार्यालय प्रमुख पौडेलका अनुसार एक वर्षको अवधिमा म्याग्दीमा दुईवटा मोटरेबल पुल, एक झोलुङ्गे पुल, ३१ कल्भर्ट र १२ कजवे निर्माण गरिएको छ । एघार किमी बढी नयाँ सडकको पहुँच निर्माण भएको छ । बाह्र दशमलव दुई सय नौ किमी सडक ग्राभेल, दुई किमी नाली निर्माण र १७ हजार दुई सय ८६ घनमिटर ग्याविन जाली तथा मेसिनरी पर्खाल निर्माण भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षमा जिल्लामा अधुरा अवस्थामा रहेका पुराना बहुवर्षीय क्रमागत योजनालाई लयमा फर्काउनुका साथै सातवटा रणनीतिक महत्वका सडक स्तरोन्नति र थप दुई ठाउँमा मोटरेबल पुल निर्माण गर्न बहुवर्षीय योजना कार्यान्वयन गरिएको कार्यालयका इन्जिनियर अर्जुन शर्माले जानकारी दिनुभयो । एक वर्षका अवधिमा क्रमागत, नयाँ बहुवर्षीय र सालबसालीसहित ८० भन्दा बढी योजना कार्यान्वयन गरिएको उहाँले बताउनुभयो ।

गन्तव्य पहिल्याउन बागलुङ बजारमा ‘स्टेट नम्बर’

गलकोट । बागलुङ बजारलाई पर्यटनमैत्री बनाउन बागलुङ नगरपालिकाले पहिलोपटक ‘स्टेट नम्बर’ राख्न थालेको छ । विषेशगरी पर्यटकहरुलाई गन्तव्य पहिल्याउन सहजताका लागि बागलुङ बजारका झण्डै एक सय स्थानमा स्टेट नम्बर र गल्लीको नाम राख्न थालिएको बागलुङ नगरपालिकाले जनाएको छ ।

बागलुङ नगरपालिकाले नगर पर्यटन विकास समितिमार्फत बागलुङ बजारका चोक तथा गल्लीमा स्टेट नम्बर राख्न थालिएको नगरउपप्रमुख राजु खड्काले बताए । उनका अनुसार रु पाँच लाख नगरपालिकाको बजेटले एक सय स्थानको नम्बर र टोलको नाम राख्न थालिएको बताए ।

उनले स्टेट नम्बर राख्नका लागि पोल गाडिएको बताए । खड्काले बोलीचालीको भाषामा लेख्दै आएको टोलको नामलाई स्टेट नम्बरसँगै लेख्नेगरी अहिले स्टेट नम्बरको पोल गाड्ने काम अन्तिम चरणमा पुगेको बताए ।

“पोखराको लेकसाइडमा राखिएको स्टेट नम्बर जस्तै व्यवस्थित रुपमा बागलुङ बजारमा स्टेट नम्बर राख्न थालिएको छ, अहिले पर्यटकहरु अलमलिएको अवस्थामा टोल–टोल पहिचानका लागि स्टेट नम्बर राखिएको र राखिएको नम्बर र टोलको नाम गुगल म्यापमा समेत राख्ने छौं, जस्कारण सजिलै गन्तव्यमा पुग्न पर्यटक तथा आगन्तुकलाई सहज हुनेछ”, उपप्रमुख खड्काले भने ।

पहिलो चरणमा एक सय चोक तथा मुख्य गल्लीको स्टेट नम्बर राखेपछि आगमी वर्ष थप भित्रि गल्ली तथा चोकको स्टेट नम्बर राख्ने योजना नगरपालिकाको रहेको छ । भित्रि तथा सहायक बाटोलाई दोस्रो चरणमा स्टेट नम्बर राखिने छ ।

स्थानीय समुदायको सुझाव र समन्वयका आधारमा स्टेट नम्बर राख्दा बागलुङ बजारलाई पर्यटकीय नगरी बनाउने कामलाई सहज बन्ने बागलुङ नगरपालिकाको योजना रहेको छ ।

पाँच किलो अफिमसहित ट्रक चालक पक्राउ


त्रिवेणी (रुकुम पश्चिम) ७ साउनः रुकुम पश्चिममा लागुऔषध अफिससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको आठबिसकोट नगरपालिका–१४ छेपारेबाट सल्यान कुमाख गाउँपालिका–५ का ३२ वर्षे मदनप्रकाश गिरीलाई पक्राउ परेका हुन् ।

छेपारेस्थित भेरी करिडोर सडक खण्डमा गस्तीमा खटिएको प्रहरी टोलीले सवारी साधन चेकचाँचका क्रममा पाँच किलो पाँच सय ४५ ग्राम लागुऔषध अफिमसहित गिरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार शनिबार राति ९ बजे गोतामकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको गिरीले चलाएको भे१क १७८० नम्बरको ट्रकमा लागुऔषध अफिम प्रहरीले फेला पारेको हो । सिटको मुनी चामलको बोरामा लुकाएर राखेको अवस्थामा प्रहरीले अफिम फेला पारेको हो ।

चालक गिरीलाई जिल्ला अदालतबाट सोमबार १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

अख्तियारमा उजुरी परेपछि नगर प्रमुखले फिर्ता गरे पैसा

गाोलबजार (सिरहा), ७ साउनः सप्तरीकाे डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाहले नगरपालिकाको बजेट प्रयोग गरी आफ्नो निजी पोखरीमा घाट बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि रकम फिर्ता गरेका छन् ।
आर्थिक वर्ष २०७९/८० मा वडा नं ८ प्रवाह टोलस्थित भगवती मन्दिर नजिकको रमन पोखरीमा घाट निर्माणका लागि रु पाँच लाख बजेट खर्च गरिएकामा रु चार लाख ८४ हजार सात सय ३० मा बलराम पार्वती निर्माण सेवा सप्तरीले घाट निर्माण गरेको थियो ।

घाट निर्माणका क्रममा पालिका प्रमुख मलाहले आवश्यक जग्गा नगरपालिकालाई हस्तान्तरण गर्ने मन्जुरनामा गरेका थिए । मन्जुरनामा गरेको जग्गा नगरपालिकाका नाममा हालसम्म आएको छैन । यसैबीच निजी पोखरीमा घाट निर्माण गरेको भन्दै अख्तियारमा उजुरी परेपछि प्रमुख महालले उक्त लागत खर्च नगरपालिकाको खातामा जम्मा गरेका हुन् ।

प्रमुखले आइतबार ब्याजसहित रु पाँच लाख ५१ हजार नगरपालिकाको खातामा जम्मा गरेको नगरपालिकाका प्रशासन शाखा प्रमुख उमेशकुमार साहले जानकारी दिनुभयो ।

उत्तरगङ्गाले बगाएका रामबहादुर मृत भेटिए

गलकोट (बागलुङ), ७ साउन : उत्तरगङ्गा नदी तर्ने क्रममा बेपत्ता भएका रामबहादुर विक मृत फेला परेका छन् । बागलुङको ढोरपाटन नगरपालिका–८ निवासी ५४ वर्षीय विक आइतबार उत्तरगङ्गा नदी तर्ने क्रममा बेपत्ता भएका थिए । विक आज मृत फेला पारेको प्रहरीले जनाएको छ ।

ढोरपाटन नगरपालिका–९ स्थित उत्तरगङ्गा नदीमा आफूले लगाउने कपडा र चप्पल किनारमा राखी नदी तर्ने क्रममा आइतबार बेपत्ता भएका विक आज मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय यादवले जानकारी दिनुभयो ।

नदीले बगाएको स्थानदेखि करिब १० किलोमिटर तल ढोरपाटन नगरपालिका–९ दिज स्थित उत्तरगङ्गा नदीको भाग मृत फेला परेको यादवले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरीक्षक राजकुमार विकको नेतृत्वमा प्रहरी टोली खटिएको छ ।

सिङ्गापुरद्वारा गाजाका लागि नयाँ मानवीय सहायता प्रदान


सिङ्गापुरले गाजालाई करिब तीन टन प्याक गरिएको सानो माछाको पैकेट र एक हजार टन चामल हस्तान्तरण गर्न सोमबार एक समारोह आयोजना गरेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गाजामा आपूर्तिहरू ढुवानी गर्न सिङ्गापुरले संयुक्त अरब इमिरेट्स र साइप्रससँग काम गर्नेछ ।

सिङ्गापुरको परराष्ट्र मन्त्रालयले भनेको छ, “हामी तत्काल मानवीय युद्धविरामका लागि हाम्रो आह्वान दोहो¥याउँछौं । साथै हामी सबै पक्षलाई गाजामा प्रभावित नागरिकहरूलाई मानवीय सहायताको तत्काल, सुरक्षित र निर्बाध प्रावधानका लागि अनुमति दिन आग्रह गर्दछौँ ।”

सिङ्गापुरले गाजालाई एक करोड ७० लाख सिङ्गापुर डलर (एक करोड २६ लाख अमेरिकी डलर) भन्दा बढीको आपूर्ति दान गरेको छ ।

अरुण थापा स्मृति साँझ–२०८१ : गुञ्जिए कालजयी गीतहरू

भक्तपुर –

            ‘साँझको जुनसँगै, आउँछौँ तिमी भनेर, 
            टोलाइरहन्छु आकाशमा रातको तारा गनेर 
            सजाइरहन्छु, सपनाहरू, हृदयभरि उमङ्गिएर
            तर तिमीले बिर्सिदियौँ चोखो मिलन, मायाका कथाहरु...।’

अजरअमर कालजयी गीत गाउने बहुचर्चित गायक अरुण थापाको २५औँ स्मृति दिवसका अवसरमा भक्तपुरको थिमिमा ‘अरुण थापा स्मृति साँझ–२०८१’ मा स्व अरुण थापाका चर्चित गीत नयाँ स्वरमा गुञ्जिँदा दर्शकदीर्घा नतमस्तक बन्यो ।

भक्तपुर साङ्गीतिक समाजले स्व गायक थापाको २५औँ स्मृति दिवसका अवसरमा आयोजना गरेको ‘स्मृति साँझ’मा दर्शकहरू सिमसिम पानीको पर्वाह नगरी नतमस्तक हुँदै विभिन्न गायक गायिकाको स्वरमा अरुण थापालाई सम्झिरहेका थिए ।

गायक थापाका ‘चोट के हो, व्यथा के हो, मजस्तो घाइतेलाई सोध, मिलन के हो खुसी के हो, मसँग कहिल्यै सोध्दै नसोध…।’ जस्ता कालजयी गीत गुञ्जिँदा गायक अरुण थापा आज पनि आफैँ उभिएर गीत गाइरहेका छन् भन्ने आभास दिएको समाजका अध्यक्ष अल्बर्ट बज्राचार्यले बताउनुभयो ।

कार्यक्रममा कुमारी लिम्बूले ‘तिमी राम राम’, श्रीजल मधिकर्मीले ‘म रोए पनि तिमि हाँसी दिनु’, विजय कायष्थले ‘चोट के हो, व्यथा के हो, शम्भु राजभण्डारीले ‘आँखाको निद’, हरि सुन्दर लाखे श्रेष्ठले ‘लाग्न थाल्यो जीवनमा’, श्रीहरी दाहालले ‘दोष कसलाई’, श्रेय अगस्तीले ‘अरुसँग नखोज’ र लक्ष्मण पलिखेलले ‘ऋतुहरुमा तिमी’ बोलको गीतहरू गाउनु भएको थियो ।

यसैगरी मथुरा प्रधानले ‘मेरो गीत सबै’, आश्रय रञ्जितले ‘साँझको जुन सँगैं’, रुची घिमिरेले ‘दुई दिनको, रविन थापाले ‘जति माया लाए पनि’, अर्पण विश्वकर्माले ‘यो मनको के भर हुन्छ’, प्रनिल पलिखेलले ‘भुलेका कथा तिता मीठा’ र मुकुन्द भट्टराईले ‘बरु भुलेछु’ बोलको गीत गाएर स्वर्गीय गायक थापा प्रति श्रद्धा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा समाजले उनलाई अरुण थापा स्मृति सम्मान २०८१ बाट वरिष्ठ पप गायक ओम विक्रम विष्टलाई सम्मान गरेको छ । समाजका निर्वतमान अध्यक्ष प्रविण शाहीले समाजलाई स्थापनाकालदेखि अनवरत रूपमा योगदान दिए वापत विष्टलाई सम्मान गरिएको बताउनुभयो ।

पप गायक ओमविक्रम विष्टको सम्मानमा कुबेर राईले ‘मौनतामा अल्झिरहेको’, सकुल अच्छामीले ‘को हो त्यो जसले मलाई’, राजेश शाहीले ‘मेरो याद अझै आउँछ भने’, विनोदराज ढुङ्गेलले ‘तारा मारङ बजार कि कान्छी’ र प्रविण शाहीले ‘आवाज देऊ मलाई’ बोलको गीत गाउनु भएको थियो ।

समाजले बाल गायककार अर्पण विश्वकर्मालाई नेशनल गट ट्यालेन्ट हण्ट’ मा उत्कृष्ट प्रस्तुति दिन सफल भएकामा प्रोत्साहनस्वरुप नगद रु पाँच हजारसहित ‘सम्झना खरेल प्रतिभा पुरस्कार’ प्रदान गरेको उहाँले बताउनुभयो ।

अरुण थापाका चर्चित गीतहरू

विसं २००९ मा जन्मिएका गायक थापाका सर्वोत्कृष्ट गीतमध्ये सन् २००३ मा बिबिसी विश्व सेवाले गरेको सर्वेक्षणमा उनको गीत ‘ऋतुहरूमा तिमी…’ उत्कृष्ट सातौँमा परेपछि उनको चर्चा विश्वमै चुलियो ।

उहाँले जीवनको छोटो समयमा पनि अत्यधिक चर्चामा रहेका कालजयी गीत गाउनुभयो । उहाँका ‘जति माया लाए पनि’, ‘साँझको जुनसँगै’, ‘भुँलुँभुलुँ लाग्यो मलाई’, ‘बितेका मेरा तीता मीठा’, ‘ऋतुहरूमा तिमी’, ‘दोष कसैलाई दिन चाहन्न’, ‘चोट के हो व्यथा के हो’, ‘अरुसँग नजोख मलाई’, ‘जिन्दगी के छ र आखिर’, ‘तिमी हेर्छौँ भने’, ‘न पोखिने न जोखिने’, ‘आँखाको निद खोसी लाने’, ‘यो मनको के भर हुन्छ’, ‘भुलेका कथा’, ‘जिन्दगीका यात्राहरु’, ‘लाग्न थाल्यो जीवनमा’, ‘नपोखिने नजोखिने’, ‘यो मनको के भर हुन्छ’जस्ता मुटु रेटेर गाएको आभास हुने कालजयी गीत छाडेर उनले नेपाली गीतसङ्गीतलाई ठूलो गुन लगाउनुभएको वरिष्ठ गीतकार सुवासचन्द्र ढुङ्गेलले बताउनुभयो ।

विसं २०५६ साउन ५ गते काठमाडौँ बागबजारको कान्तिपुर गेस्टहाउसको एउटा कोठामा अन्तिम श्वास फेरेका गायक थापाले छोटो जीवनमा मगर भाषाको एउटा गीतसहित करिब ४४ वटा गीत गाउनुभएको उहाँले बताउनुभयो । थापाले गाएको गीतको संगालो ‘अरुण’ र ‘बेस्ट अफ अरुण थापा’ नामक दुई वटा गीति एल्वम सार्वजनिक छन् ।

‘अरुण थापा स्मृति प्रतिष्ठान’ले सहयोग सङ्कलनगरी निर्माण गरेको उनको सालिक २०६६ चैत २८ गते झम्सिखेलमा स्थापना गरेपछि भने यो ठाउँको नाम अरुण थापा चोकले नामकरण भएपछि आज पनि त्यही चोकमा उहाँको सालिक देख्न सकिन्छ ।

देशभरका नौ सडकखण्ड अवरुद्ध, एक सय ५९ एकतर्फी सञ्चालनमा

काठमाडौँ, ७ साउनः बाढीपहिरो तथा अन्य कारणबाट मुलुकभरका नौवटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध र एक सय ५९ सडकखण्ड एकतर्पी रूपमा सञ्चालनमा आएका छन् । सडक विभागले जारी गरेको तथ्याङ्कअनुसार गएको २४ घण्टामा नौवटा सडकखण्ड पूर्ण रूपमा र एक सय ५९ सडकखण्ड हाल एकतर्फी सञ्चालनमा आइरहेका छन् ।

विभागका अनुसार डुम्रे–बेंसीसहर–चामे, तानसेन–रिडी–कोरला, पुष्पलाल (मध्यपहाडी) राजमार्गको बागलुङ, र डोटीलगायत सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक विभागकानुसार विभिन्न स्थानमा पहिरो पन्छाउने काम भइरहेको छ । विभागले रात्रिको समयमा बाढीपहिरोजस्ता मनसुनजन्य विपद्का कारण यात्रा नै असुरक्षित हुने भन्दै आवातजावत नगर्न सुझाव दिएको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएको छ ।

कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

एमालेले नै कम्युनिष्टहरुलाई एकता गरेर लानेछ: मुख्यमन्त्री कार्की

विराटनगर, ७ साउनः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कम्युनिष्ट आन्दोलन र समाज रुपान्तरणमा पुष्पलाल श्रेष्ठको योगदान अतुलनीय रहेको बताउनुभएको छ ।

आज पुष्पलाल स्मारक समिति विराटनगरले आयोजना गरेको पुस्पलाल स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालको वाम-लोकतान्त्रिक आन्दोलनमा पुष्पलालले खेलेको भूमिका र सङ्घर्षका कारण राजनीतिक परिवर्तन भएको बताउनुभयो ।

नेपाल कम्युनिष्ट आन्दोलनको मूल प्रवाह भएको र एमालेले नै कम्युनिष्टहरुलाई एकता गरेर लाने मुख्यमन्त्री कार्कीले बताउनुभयो । वामपन्थी पार्टी र प्रजातान्त्रिक पार्टी मिलेर निरंकुशता ढाल्नुपर्छ भन्ने विचार पुष्पलालको भएको र सोही जगमा विसं २०३६ को विद्यार्थी आन्दोलन उत्कर्षमा पुगेको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले भन्नुुभयो, “अहिले कांग्रेस र एमाले मिलेर सरकार बनाउने अवस्था राजनीतिक प्रणालीको उपज मात्र होइन परिवर्तनका लागि वामपन्थी र प्रजातान्त्रिक दल मिल्नु आजको आवश्यकता हो ।”

उहाँले योएकता र सहकार्यले संविधानलाई अझ परिस्कृत पार्दै राजनीतिलाई सङ्लो बनाउन सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा एक सय एक वर्षीय वामपन्थी कार्यकर्ता नरबहादुर लिम्बूलाई रु १० हजार नगदसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा कविता प्रतियोगितामा प्रथम हुने मोरङकी कवि लक्ष्मी रायमाझी, द्वितीय हुने नुवाकोटका सुजन डोटेल तृतीय हुने विराटनगरकी रीता पाठक, सान्त्वना हुने सुनसरीका युवराज दाहाल र विराटनगरकी लक्ष्मी घिमिरे रेग्मीलाई पुरस्कार वितरण गरिएको थियो ।

प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने कविहरूले क्रमश ः रु पाँच हजार, तीन हजार, दुई हजार र एक–एक हजार नगद पुरस्कारका साथमा प्रमाणपत्र प्राप्त गर्नुभयो ।

सर्वाेच्च अदालतमा महिला प्रहरीमाथि अभद्र व्यवहार गर्ने पक्राउ


काठमाडौँ, ७ साउन : सर्वाेच्च अदालतमा महिला प्रहरीलाई अभद्र व्यवहार गर्ने एक जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीकानुसार आज अपराह्न भएको उक्त घटनामा संलग्न रहेको आरोपमा काठमाडौँको माइतीघरमा रहेको लिङ्कन ल फर्ममा कार्यरत २८ वर्षीया लुमा चौधरीलाई पक्राउ गरिएको हो ।

सर्वोच्च अदालतका बेन्च सहायक देवीप्रसाद प्रधानसँग छत्रप्रसाद लुइँटेलको रिट निवेदन फैसलाको नक्कल लिने विषयमा भनाभन भएपछि सुरक्षाकर्मी बोलाई सोधपुछ गर्ने क्रममा चौधरीले सर्वोच्च अदालत सुरक्षा एकाइमा कार्यरत महिला प्रहरी कर्मचारीमाथि हातपातका साथै अभद्र व्यवहार गरेपछि पक्राउ गरिएको प्रवक्ता अधिकारीले बताउनुभयो ।

उनलाई आवश्यक कारबाहीका लागि प्रहरीवृत्त सिंहदरबारमा ल्याई अनुसन्धान थालिएको उहाँले जानकारी दिनुभयो ।

बाबा टुटेश्वरनाथ मन्दिरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने


जलेश्वर, ७ साउनः मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले टुटेश्वरनाथ महादेव मन्दिरलाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने बताउनुभएको छ । आज महोत्तरीको बर्दिवास नगरपालिका–५ मा अवस्थित बाबा टुटेश्वरनाथ महादेव मन्दिरमा विशेष पूजाअर्चना गर्दै उहाँले यहाँको पूर्वाधार विकास गरेर धार्मिक महत्वका पर्यटकीयस्थलका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको यस मन्दिरमा दर्शन तथा पूजाअर्चना मात्रले श्रद्धालु भक्तजनको भाकल तथा मनकामना पूरा हुने गरेको बताउनुभयो ।

महोत्तरीबाट पूर्वमा पर्ने पवित्र नदी कमला र पश्चिममा पर्ने वाग्मती नदीबाट जल ल्याइने मन्दिरमा चढाउने गरिन्छ । मुख्यमन्त्रीले बाबा टुटेश्वरनाथ मन्दिरको व्यापक रुपमा प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटक विदेशी पर्यटक ल्याउन सकिनेमा जोड दिनुभयो ।

उहाँले यस मन्दिर तथा बाबाको विकास विस्तार र प्रचारप्रसारले यस क्षेत्रकै अर्थतन्त्र मजबुत हुने तथा जीविकोपार्जनमा सहयोगी हुनेमा विश्वास व्यक्त गर्नुभयो । बाबा टुटेश्वरनाथको पूर्वाधार विकास र प्रचारप्रसारका लागि बर्दिवास नगरपालिकासँग समन्वय गरेर मधेस प्रदेश सरकार आवश्यक कदम चाल्न तत्पर एवं तयार रहेको मुख्यमन्त्री सिंहले प्रतिबद्धता प्रकट गर्नुभयो ।

बर्दिवास नगरपालिकाका प्रमुख प्रल्हादकुमार क्षेत्रीले मुख्यमन्त्री सिंहलाई बाबा टुटेश्वरनाथको विशेष पूजाअर्चना गराउनुका साथै मन्दिर तथा बाबाको इतिहास र त्यहाँको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

राजनीतिक स्थायित्व र देशको अवस्था परिवर्तनका लागि नयाँ सरकार आवश्यक छ – नेता ज्ञवाली

गुल्मी, ७ साउन : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्व र देशको अवस्था परिवर्तनका लागि कांग्रेस–एमाले गठबन्धन सरकार आवश्यक परेको बताउनुभएको छ ।

नेता ज्ञवालीले पटकपटक सरकार परिवर्तनले देशमा अस्थिरता उत्पन्न भएको भन्दै त्यसलाई जोगाउन र मुलुकमा स्थिरता ल्याउनका लागि पनि ठूला दलहरू एक हुनुपरेको बताउनुभयो ।

प्रेस चौतारी नेपाल गुल्मीले आज सदरमुकाम तम्घासमा आयोजना गरको पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले देशका दुई ठूला दल दुई कित्तामा बाडिँदा अस्थिरताका शक्तिहरूले खेल्ने मौका पाउने र लोकतन्त्र खतरामा पर्ने जिकीर गर्नुभयो । लोकतन्त्र खतरामा पर्दा त्यसको अपजस कांग्रेस र एमालेको काँधमा आउने भएका कारण लोकतन्त्रको रक्षा गर्न दुई ठूला दलहरू महत्त्वपूर्ण भूमिका रहने उहाँले बताउनुभयो ।

वर्तमान सरकार गठन भएसँगै देशले नयाँ कोर्ष लिन सुरु गरेको भन्दै नेता ज्ञवालीले आगामी निर्वाचनसम्म यही गठबन्धन कायम रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । संविधान संशोधनका विषयमा प्रतिपक्षद्वारा उठाइएका कतिपय आरोप गलत र निराधार भएको भन्दै उहाँले यदि संशोधन गर्नुपर्ने भएमा त्यसलाई अध्ययन गरेर मात्र अघि बढ्न सकिने बताउनुभयो ।

ढलमा पोलियो भाइरस देखिएपछि कामपाले विशेष खोप अभियान सुरू गर्दै

काठमाडौँ, ७ साउन : काठमाडौँ महानगरपालिकाले महानगरका सबै घरमा पुगेर पाँच वर्षमुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने अभियान सुरू गर्ने भएको छ ।

हालै ढलमा पोलियो भाइरस भेटिएपछि महानगरपालिकाले यही साउन ९ गतेबाट विशेष पोलियो खोप अभियान सुरू गर्ने भएको हो । यसअघि नियमित खोप लिएका बालबालिकालाई पनि यो खोप अनिवार्य उपलब्ध गराउन महानगरले जनाएको छ ।

महानगरका जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठकानुसार महिला स्वास्थ्य स्वयम्सेविका र स्वास्थ्यकर्मीसहितको टोलीले घर घरमा गएर पोलियो थोपा खुवाउने छ । पोलियो खोप छ, १० र १४ हप्ता गरी तीन पटक मुखबाट (ओरल पोलियो भ्याक्सिन) खुवाइन्छ । यस्तै १४ हप्ता र नौ महिनाको उमेरमा सुइबाट पोलियो खोप दिइन्छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार काठमाडौँ महानगरपालिकाभित्र दुई लाख ३८ हजार नौ सय ६६ घर छन् । यी घरहरूमा पाँच वर्षमुनिका करिब ६३ हजार ५६ जना बालबालिका रहेको महानगरको अनुमान छ ।

विभागको तथ्याङ्कमा वडागत रूपमा हेर्दा सबैभन्दा धेरै वडा नं ६ मा छ हजार १२ जना बालबालिका छन् भने सबैभन्दा कम वडा नं १ मा चार सय ६२ जना छन् ।

जनस्वास्थ्य निरीक्षक श्रेष्ठले नेपालमा सन् २०१० पछि व्यक्तिमा पोलियोको भाइरस नदेखिए पनि उपत्यकाका केही स्थानका ढलमा पोलियो भाइरस देखिए पनि खोप लगाउन थालिएको बताउनुभयो । श्रेष्ठ भन्नुहुन्छ, “पोलियो उन्मूलन रणनीतिअनुरूप सन् २०१७ देखि वातावरणीय निगरानी भइरहेको थियो । उपत्यकाका विभिन्न पाँच ठाउँको ढलबाट महिनाको दुईपटक नमूना लिएर पोलियोको भाइरस भए नभएको हेर्ने गरिन्थ्यो । यही क्रममा सन् २०२४ (२०८१ जेठ १३ गते) काठमाडौँको टुकुचा र बागमती दोभानमा वागमती नदीतर्फको खण्डबाट (ढलबाट आएको पानी) मा लिइएको नमूनामा डिप्राइभ्ड पोलियोको भाइरस–३ भेटियो । यसको रिपोर्ट २०८१ असार २९ गते आएको थियो । प्रयोगशाला परीक्षणमा यो भाइरस मुखबाट दिइने पोलियो भाइरसको उत्परिवर्तन भएको पत्ता लागेको हो ।” तर सोही ठाउँमा जेठ २२ गते फेरि लिइएको नमूनामा भने भाइरस नदेखिएकाले यसबारे अध्ययन भइरहेको उहाँले जानकारी दिनुभयो । पोलियो मुक्त देश घोषणा भएको २० वर्षपछि वातावरणमा पोलियो भाइरस देखिनुले चिन्ता उब्जाएको श्रेष्ठको भनाइ छ ।

वातावरणीय निगरानीका लागि काठमाडौँ उपत्यकाबाहिर विराटनगर, जनकपुर र पोखराका एक एक ठाउँबाट महिनाको १ पटक नमूना लिने गरिएको छ । नेपालमा पोलियो उन्मूलन रणनीति २०२२–२०२६ का कार्यक्रम सञ्चालन भइरहेका छन् । सन् २०१० बाट व्यक्तिमा पोलियो नदेखिएपछि सन् २०१४ मा पोलियो मुक्त देश घोषणा गरिएको थियो ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानको पार्टी मुख्यालयमा छापा

सैन्य समर्थित सरकारले राजनीतिक आन्दोलनमा प्रतिबन्ध लगाउने वाचा गरेको एक हप्तापछि पाकिस्तान प्रहरीले सोमबार कारागारमा रहनुभएका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी मुख्यालयमा छापा मारेको छ । खानको पाकिस्तान तहरिक–ए–इन्साफ (पिटिआई) को मुख्यालयलाई अधिकारीहरूले सिल गरेको र पार्टीका धेरै कार्यकर्तालाई प्रतीक्षा भ्यानमा लिएर गएको घटनास्थलमा एएफपीका एक पत्रकारले देखेका छन्

मिडियामा बोल्ने अधिकार नभएको भन्दै नाम उल्लेख नगर्ने शर्तमा इस्लामाबाद प्रहरीका एक अधिकारीले पार्टीका संस्थापक सदस्य र प्रेस विभागका प्रमुख रउफ हसनलाई गिरफ्तार गरिएको जानकारी दिए ।

ब्यारिस्टरसमेत रहनुभएका पार्टीका अध्यक्ष गौहर अली खानले स्थानीय सञ्चारमाध्यम र पिटिआईले सुरुमा रिपोर्ट गरेपछि हसनसँगै प्रहरी चौकीमा गएपछि आफूलाई पनि गिरफ्तार गरिएको बताउनुभयो ।

“म रउफ हसनसँग त्यहाँ थिएँ, उहाँ हाम्रा वरिष्ठ हुनुहुन्छ र म उहाँका लागि त्यहाँ हुनुपर्थ्यो”, उहाँले भन्नुभयो, “हामी गिरफ्तारीका लागि सधैँ तयार छौँ ।”

पछिल्लो दुई महिनामा पिटिआईका कम्तीमा १० सदस्य वा उनीहरूको आफन्तलाई गिरफ्तार गरिएको हसनले शनिबार बताउनुभएको थियो । उनीहरू ‘कुनै निशान’ बिना ‘गायब’ भएको उहाँले बताउनुभयो । “तीमध्ये सात जना मेरो विभागका मात्र छन् जसलाई हामी चुप लागेर बस्न नमान्दा पङ्गु बनाउन चाहन्छन्”, उहाँले भन्नुभयो ।

सरकारका सूचनामन्त्रीले गत साता पिटिआईमाथि प्रतिबन्ध लगाइने बताउनुभएको थियो । त्यसको केही दिनपछि सर्वोच्च अदालतले पार्टीको पक्षमा महत्त्पूर्ण फैसला सुनाएपछि सरकारलाई ठूलो झट्का लागेको थियो ।

पूर्वप्रधानमन्त्री खान करिब एक वर्षदेखि कारागारमा हुनुहुन्छ तर यसै महिना इस्लामाबादका एक न्यायाधीशले उहाँको अवैध विवाहको सजायलाई उल्ट्याइदिएका छन् । सर्वोच्च अदालतले पिटिआईलाई राष्ट्रियसभामा सबैभन्दा ठूलो पार्टी बनाउने कदमका रूपमा थप संसदीय सिटहरू प्रदान गरेको छ ।

गठबन्धन बनाएर फेब्रुअरीको निर्वाचनपछि संसदीय बहुमत हासिल गर्नुभएका प्रधानमन्त्री शहबाज शरिफको सरकारलाई यी दुवै मामिलाले ठूलो आघात पुगेको मानिएको छ । पाकिस्तानको मानवाधिकार आयोगले पिटिआईमाथि प्रतिबन्ध लगाउने प्रयासलाई ‘लोकतान्त्रिक मानकका लागि ठूलो प्रहार’ भन्दै यसलाई ‘राजनीतिक उदासीनताको गन्ध’ भनेको छ । आयोगका अध्यक्ष असद इकबाल बटले विज्ञप्तिमा भन्नुभएको छ, “यसलाई अगाडि बढाइयो भने यसबाट गहिरो ध्रुवीकरण र राजनीतिक अराजकता तथा हिंसाको प्रबल सम्भावनाबाहेक अरु केही हासिल हुनेछैन ।”

सत्तामा फर्किनबाट रोक्न आफूमाथि धेरै मुद्दा दर्ता गरिएको बताउने पूर्वप्रधानमन्त्री खान विरोध प्रदर्शन र भ्रष्टाचार भड्काएको आरोपमा कारागारमा हुनुहुन्छ ।

‘खानलाई हिरासतमा राख्ने कुनै आधार नभएको र यसको उद्देश्य उहाँलाई राजनीतिक पदका लागि अयोग्य घोषित गर्नका लागि थियो जस्तो देखिएको’ संयुक्त राष्ट्रसङ्घका विज्ञहरूको एक प्यानलले यसै महिना बताएको थियो ।

पूर्वराज्यमन्त्री घटना : घटनास्थल नजिकैबाट ‘फरसा’ बरामद


बरहथवा (सर्लाही), ७ साउन : सर्लाही प्रहरीले पूर्वराज्यमन्त्री रामचन्द्र रायको ह त्या भएको घटनास्थल नजिकैबाट घरेलु हति यार बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार घटनास्थलबाट ५० मिटर उत्तर–पश्चिम बाँसको झाङबाट घरेलु हति यार ‘फरसा’ बरामद भएको हो । रगत लत्पतिएको अवस्थामा फेला परेको उक्त हतियार पूर्वराज्यमन्त्री रायको ह त्यामा प्रयोग भएको हुन सक्ने प्रहरीको आशङ्का छ ।

काठमाडौँ ।  बाढी, पहिरोलगायतका विपदमा परी सोमबार दिउँसोसम्म मुलुकभर एक सय ३१ जनाको मृत्यु भएको छ । विपदमा परी काठमाडौँ उपत्यकामा दुई जना, कोशीमा २२, मधेसमा पाँच, बागमतीमा २५, गण्डकीमा ३८, लुम्बिनीमा २३, कर्णालीमा सात र सुदूरपश्चिम प्रदेशमा नौ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

विपदमा परी एक सय ४४ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । कोसीमा ४९, गण्डकीमा १२ र सुदूरपश्चिममा प्रदेशमा पाँचगरी जम्मा ६६ जनाको उद्धार गरिएको छ ।

बाढी पहिरामा परी कोसी र बागमतीमा दुई/दुई तथा मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक/एकगरी नौ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजीकार्य जारी छ ।

बाढीका कारण जम्मा एक सय ८२ घर डुबानमा परेका छन् । दुई सय ३१ वटा घर, ८४ वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।

पाँच सय ९४ वटा पशु चौपाया मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार चार घर परिवार विस्थापित भएका छन् ।

मलङ्गवा नगरपालिका–४, पुख्र्यौली घर भएका ८० वर्षका पूर्वराज्यमन्त्री रामचन्द्र रायको चन्द्रनगर गाउँपालिका–१ स्थित खेतसँगैको घर (फार्म हाउस) मा गएराति धारि लो हति-यार प्रहारगरी ह त्या भएको थियो । उनको शव सुतेकै ओछ्यानमा फेला परेको थियो ।

रायसँगै सहयोगीका रूपमा बसेका युवकको बयानअनुसार ह त्या भएको राति रायलाई भेट्न तीन जना अपरिचित व्यक्ति उहाँ बसेकै स्थानमा आएका थिए । उनीहरूले रायसँग जग्गाको विवाद मिलाइदिन भनेको खुलेको छ । रायले आफू सुत्ने कोठामै सुताएका उनीहरू परिचित रहेको प्रहरीको आशङ्का छ । घटनालगत्तै प्रहरीले तालिम प्राप्त कुकुरको सहायतामा अनुसन्धान शुरु गरेको थियो ।

राय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ३० वर्षअघि भूमि व्यवस्था राज्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँको दुई छोरा र पाँच छोरी हुनुहुन्छ । परिवारसँगै काठमाडौँ बस्दै आउनुभएका उहाँ केही दिन पहिला मात्र धान रोपाइँ गर्न सर्लाही आउनुभएको परिवारले जनाएको छ । रायको चन्द्रनगर गाउँपालिका–१, मा ठूलो क्षेत्रफलमा खेती रहेका कारण बेलाबेला उहाँ खेत हेर्न आउने जाने गरेको स्थानीयले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाही र मधेस प्रदेश प्रहरी कार्यालयको टोली अहिले पनि सुक्ष्म अनुसन्धानमा जुटिरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । रायको शव प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।

देश र आफ्नो क्षेत्रको विकासका लागि आफैँ अग्रसर हुनुपर्छ : उपसभापति खड्का

काठमाडौँ, ७ साउन (रासस) : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले देश र आफ्नो क्षेत्रको विकासका लागि अरूबाट अपेक्षा गर्नुभन्दा आफैँ अग्रसर हुनुपर्ने बताउनुभएको छ ।

हिन्दू नारीहरूको पर्व हरितालिका तीजलाई लक्षित गर्दै तयार पारिएको गीत ‘नाचिदेउ कान्छी’ सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उपसभापति खड्काले कर्णाली प्रदेशको विकासका लागि त्यहाँकै सरोकारवाला अग्रसर हुनुपर्ने बताउनुभयो ।

उहाँले कर्णाली प्रदेशकै सर्जकहरूको हातेमालो र एकताले गीत बनाउन सफल भएजस्तै अन्य क्षेत्रको विकासका लागि पनि यस्तै सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो । “हाम्रो कर्णाली कसैले आएर बनाउँछ भन्ने सोच्दै छौँ भने त्यसलाई त्यागौँँ, हामीले नै हो त्यहाँको प्रगति गर्ने । त्यसैले कमजोरी र त्रुटी सच्याउँदै नयाँ सङ्कल्पका साथ कर्णालीलाई उन्नति, प्रगतिको शिखरमा अगाडि बढाउन एकता, सहकार्य र सद्भाव आवश्यक छ”, उपसभापति खड्काले भन्नुभयो । गीत सङ्गीत पनि समाज विकासको महत्वपूर्ण क्षेत्र भएको उल्लेख गर्नुहुँदै उहाँले प्रस्तुत गीतसँग जोडिएका सबै सर्जकहरूको प्रशंसा गर्नुभयो ।

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली संस्कृतिको धनी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नो ठाउँ र भूगोललाई यस्तै गीत सङ्गीतको माध्यमले चिनाउनुपर्छ । कर्णालीले संस्कृति र साहित्यमा देशलाई नै अन्तर्राष्ट्रियस्तरमा चिनाउन सक्छ । त्यसैले कर्णालीका बारेमा निर्मित नकारात्मक भाष्यलाई यस्तै कामहरूबाट चिर्नुपर्छ ।”

गीतका रचनाकार डा महेन्द्रकुमार मल्लले मौलिक गीत तयार गर्ने कोसिस गरेको बताउनुभयो । “तीज गीतमा पर्वको मौलिकता र चेलीको हर्षलाई प्रस्तुत गरेको छु । यो नयाँ पुस्तालाई नचाउने र पुराना पुस्तालाई कर्णालीको ठेट गीतको बारेमा चिनाउने गरी तयार गरिएको छ”, उहाँले भन्नुभयो । रचनाकार डा मल्लले आगामी दिनमा फरक सन्दर्भका गीतमार्फत शब्द रचनालाई निरन्तरता दिने बताउनुभयो ।

गीतमा शिव सङ्गीतले स्वरसँगै सङ्गीत भर्नुभएको छ भने गायनमा गायिका सिम्रन परियारले साथ दिनुभएको छ । जीवनकुमार ज्ञवालीले तयार गर्नुभएको गीतको श्रव्यदृश्यमा मोडल विपाशा चदराले अभिनय गर्नुभएको छ ।

बाढी, पहिरोलगायतका विपद्मा परी हालसम्म १३१ जनाको मृत्यु

काठमाडौँ, ७ साउनः बाढी, पहिरोलगायतका विपद्मा परी आज दिउँसोसम्म मुलुकभर एक सय ३१ जनाको मृत्यु भएको छ । विपद्मा परी काठमाडौँ उपत्यकामा दुई जना, कोशीमा २२, मधेसमा पाँच, बागमतीमा २५, गण्डकीमा ३८, लुम्बिनीमा २३, कर्णालीमा सात र सुदूरपश्चिम प्रदेशमा नौ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

विपद्मा परी एक सय ४४ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । कोसीमा ४९, गण्डकीमा १२ र सुदूरपश्चिममा प्रदेशमा पाँचगरी जम्मा ६६ जनाको उद्धार गरिएको छ । बाढी पहिरामा परी कोसी र बागमतीमा दुई÷दुई तथा मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक÷एकगरी नौ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजीकार्य जारी छ ।

बाढीका कारण जम्मा एक सय ८२ घर डुबानमा परेका छन् । दुई सय ३१ वटा घर, ८४ वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । पाँच सय ९४ वटा पशु चौपाया मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार चार घर परिवार विस्थापित भएका छन् ।

पुष्पलालबारे समयमै सही मूल्याङ्कन गर्न नसक्दा कम्युनिष्ट आन्दोलनले क्षति व्यहोर्नुपर्‍यो: महासचिव पोखरेल


काठमाडौँ, ७ साउन : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठबारे समयमै सही मूल्याङ्कन गर्न नसक्दा आन्दोलनले क्षति व्यहोर्नुपरेको बताउनुभएको छ।

काठमाडौँ जिल्ला कमिटीले ४६ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आज यहाँ आयोजना गरेको ‘सङ्गठन निर्माण र परिचालन’ विषयक विचार गोष्ठीमा उहाँले यस्तो बताउनुभएको हो । महासचिव पोखरेलले कम्युनिष्ट पार्टी जन्माउने र विचार बुझेको नेता पुष्पलालबारे समयमा सही मूल्याङ्कन गर्न सकेको भए कम्युनिष्ट आन्दोलनले अझै छिटो प्रगति हासिल गर्न सक्दथ्यो भन्नुभयो।

उहाँले पुष्पलालको विचारले आजको कम्युनिष्ट आन्दोलनलाई पुनःगठन र पार्टीभित्र देखिएका समस्यालाई समाधान गर्न पनि महत्वपूर्ण भूमिका खेल्नसक्ने धारणा राख्नुभयो । “पार्टी स्थापनाको समयमा नेकपा र पुष्पलाल सैद्धान्तिक रूपमा सबैभन्दा बढी व्यवस्थित हुनुहुन्थ्यो । नेपालको कम्युनिष्ट आन्दोलनलाई धरातलमा उभ्याउने र रणनीतिक रूपमा सफल बनाउन उहाँको विशिष्ट योगदान छ तर त्यसको सही मूल्याङ्कन गर्न सकिएन”, महासचिव पोखरेलले भन्नुभयो,“उहाँ जहाँ उमिनु हुन्थ्यो, त्यहाँ नेपाली राजनीतिको विचारधारा बन्ने गरेको थियो । अहिले पनि उहाँको विचारलाई अध्ययन र मनन गर्न सक्ने हो भने सङ्गठनात्मक समस्या र कम्युनिष्ट आन्दोलनलाई पुनःगठन गरी थप सशक्त भएर अगाडि बढ्न सकिन्छ ।”

उहाँले वर्ग दृष्टिकोणमा स्पष्टता नभएका पार्टीले आधारभूत जनतालाई राजनीतिकसँग जोड्न नसक्ने देखेपछि आन्दोलनलाई नयाँ ढङ्गले अगाडि बढाउन पुष्पलालले विसं २००६ मा कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको उल्लेख गर्नुभयो । कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य आनन्द पोखरेलले पुष्पलालको विचारबाट कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

गाजामा हमासको नियन्त्रणमा रहेका दुई बन्धकको मृत्यु

गाजामा हमासले बन्दी बनाएका दुई बन्धकको मृत्यु भएको इजराइली अभियान समूह होस्टेजेज एन्ड मिसिङ फ्यामिलिज फोरमले सोमबार बताएको छ ।फोरमका अनुसार अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा अपहृत ३५ वर्षीय यागेभ बुचश्ताब र ७६ वर्षीय एलेक्स डान्सिङको मृत्यु बन्धकहरूलाई घर फर्काउने ‘अत्यावश्यकताको कडा सम्झना’ हो । फोरमले उहाँहरूको मृत्यु कहिले भएको भन्नेबारे कुनै जानकारी दिएको छैन ।

“उहाँहरूको शव हमास लडाकू समूहले राखेको छ”, इजराइली सेनाले छुट्टै विज्ञप्तिमा भनेको छ, “हमासको कैदमा उहाँहरूको मृत्युको अवस्थाको अनुसन्धान सबै पेशेवर अधिकारीहरूले गरिरहेका छन् ।”

फोरमका अनुसार बुचश्ताबलाई उहाँकी श्रीमती रिमोन बुचश्ताब किर्ष्टसँगै किबुत्ज निरिमस्थित उहाँहरूको घरबाट अपहरण गरिएको थियो । श्रीमतीलाई ५० दिनपछि रिहा गरिएको थियो । यहुदी नरसंहारबाट बचेकाहरूको घरमा जन्मनुभएका डान्सिङले याद वाशेम नामक इन्टरनेसनल होलोकास्ट रिमम्बरेन्स इन्स्टिच्युटमा काम गर्नुभएको थियो र त्यहाँ हजारौँ गाइडलाई तालिम दिनुभएको थियो ।

फोरमका अनुसार आफूसँगै बन्दी बनाइएका बन्धकहरूले डान्सिङले कैदमा साथी बन्धकहरूलाई इतिहासको ब्याख्यान दिँदै समय व्यतीत गर्नुभएको बताएका छन् ।

“यागेभ र एलेक्सलाई जिउँदै लगिएको थियो र उहाँहरू जिउँदै आफ्नो परिवार र देशमा फर्किनुपर्थ्यो”, यसमा महिनौँसम्म जारी युद्धविराम वार्तालाई उल्लेख गर्दै फोरमले भनेको छ, “कैदमा उहाँहरूको मृत्यु वार्तामा ढिलाइको परिणामको दुःखद प्रतिबिम्ब हो ।”

पाकिस्तानद्वारा विश्वस्तरीय पर्वतारोहण विद्यालय स्थापना गर्ने योजना

पाकिस्तानी प्रधानमन्त्रीको जलवायु परिवर्तन र वातावरणीय समन्वयमा संयोजक रोमिना खुर्शिद आलमले उत्तरी गिलगिट–बाल्टिस्तान क्षेत्रमा विश्वस्तरीय पर्वतारोहण विद्यालय स्थापना गर्ने योजना रहेको बताउनुभएको छ ।

यहाँ आयोजित एक बैठकको अध्यक्षता गर्दै उहाँले विद्यालयले विश्वस्तरीय, वातावरणमैत्री पर्वतारोहण, आरोहण र पर्वतीय पर्यटन प्रवर्द्धन गर्न पाकिस्तानको उत्तरमा पर्वतारोहण, शेर्पा तालिम र दिगो पर्यटन अभ्यासलाई ध्यानमा राखेर विशेषगरी तालिम र शैक्षिक सुविधाको व्यवस्था गर्ने बताउनुभएको जलवायु परिवर्तन तथा वातावरण समन्वय समितिले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्ता सुविधाहरूको स्थापनाले आकांक्षी पर्वतारोही र हिमाल आरोहीहरूलाई स्थानीय वातावरण, पर्वतीय समुदाय र सहयात्रीहरूको संस्कृतिको सम्मान गर्दै सुरक्षित रूपमा हिमालको आनन्द लिन ज्ञान र आत्मविश्वास बढाउन मद्दत पुग्ने आलमले भन्नुभयो ।

यस क्षेत्रको स्कर्दु जिल्लामा विश्वस्तरको सरकारी पर्वतारोहण विद्यालय स्थापना गर्ने योजना कार्यान्वयनमा रहेको बताइएको छ ।यसले स्थानीय हिमाली समुदायका लागि रोजगारीका नयाँ अवसरहरू खोल्ने र दिगो र वातावरणमैत्री पर्वतारोहण र आरोहणलाई प्रवर्द्धन गर्न मद्दत गर्ने लक्ष्य राखेको छ ।

दुई हजार ‘केयरगिभर’ लैजान इजरायल सहमत

काठमाडौँ, ७ साउनः इजरायलले दुई हजार नेपाली श्रमिकलाई केयरगिभरका रुपमा रोजगारी दिन सहमति जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीसँग आज नेपालका लागि इजरायली राजदूत हनान गोदारले गर्नुभएको शिष्टाचार भेटमा इजरायलले नेपाली श्रमिकको सङ्ख्या वृद्धि गर्न सहमत भएको हो ।

हाल छनोटका चरणमा रहेका पाँच सय जना मुख्य उम्मेदवार र तीन सय वैकल्पिक उम्मेदवार गरी कूल आठ सय नेपाली श्रमिक इजरायल लैजाने भनिएकामा सो सङ्ख्या बढाएर एक हजार मुख्य उम्मेदवार र एक हजार वैकल्पिक उम्मेदवारगरी कूल दुई हजारसम्म नेपाली लैजान सकिनेगरी सहमति भएको मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

भेटमा द्विपक्षीय श्रम सम्बन्धमा विविध पक्षका साथै ‘जिटुजी’ प्रक्रियाअन्तर्गत केयरगिभरका रुपमा नेपाली श्रमिक इजरायल पठाउने सिलसिलामा भइरहेको छनोट प्रक्रियाबारे समेत छलफल भएको थियो ।

आगामी दिनमा कृषिलगायत अन्य क्षेत्रमा समेत नेपाली श्रमिक इजरायल लैजान सकिनेबारेमा समेत कुराकानी भएको प्रवक्ता रिजालले जानकारी दिनुभयो । सो क्रममा मन्त्री भण्डारीले नेपाल–इजरायलबीचको श्रम सम्बन्धका बारेमा सन्तोष व्यक्त गर्दै इजरायल–प्यालेष्टाइन द्वन्द्वमा हराइरहेका नेपाली विपिन जोशीको खोजतलास एवं वास्तविक अवस्थाबारे जानकारी र सकुशल फिर्ता गराउने विषयमा थप पहल लिन अनुरोध गर्नुभएको थियो ।

परराष्ट्रमन्त्रीसँग गणतन्त्र कोरियाका राजदूत पार्कको भेट

काठमाडौँ, ७ साउन : परराष्ट्रमन्त्री डा आरजु राणासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थियोङले शिष्टाचार भेट गर्नुभएको छ ।

मन्त्रालयलमा आज भएको भेटवार्तामा उहाँहरूबीच नेपाल–गणतन्त्र कोरिया सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा राजदूत पार्कले नवनियुक्त परराष्ट्रमन्त्री डा राणालाई बधाई दिनुका साथै कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

परराष्ट्रमन्त्री राणासँग जापानी राजदूतको शिष्टाचार भेट, के के भयो सहमती ?

काठमाडौँ, ७ साउन : परराष्ट्रमन्त्री डा आरजु राणासँग नेपालका लागि जापानका राजदूत किकुता युताकाले शिष्टाचार भेट गर्नुभएको छ ।

मन्त्रालयलमा आज भएको भेटवार्तामा उहाँहरूबीच नेपाल–जापान सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा राजदूत किकुताले नवनियुक्त परराष्ट्रमन्त्री डा राणालाई बधाई दिनुका साथै कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

पुष्पलाल कुशल सङ्गठक, राष्ट्रवादी र दूरदर्शी नेता हुनुहुन्थ्योः अध्यक्ष नेपाल


काठमाडौँ, ७ साउन : नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६औँ स्मृति दिवसका अवसरमा उहाँको योगदानको चर्चा गरिएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आज कीर्तिपुर–४ चम्पादेवीस्थित पुस्पलाल स्मृति पार्कमा आयोजित कार्यक्रममा उहाँले मुलुकको राजनीतिक विकासमा पुर्‍याएको योगदानको स्मरण गरिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले निरंकुुश राणा शासनको अन्त्य गरी जनअधिकार स्थापना गर्न मुलुकमा कम्युनिष्ट पार्टी स्थापना गर्नुभएका पुष्पलाल कुशल सङ्गठक, राष्ट्रवादी र दूरदर्शी नेता भएको बताउनुभयो । उहाँले भन्नुभयो,“तानाशाही पञ्चायती व्यवस्थाविरुद्ध गरिएको संयुक्त जनआन्दोलनका सिद्धान्तकार पुष्पलालले सुरू गरेको कम्युनिष्ट आन्दोलनको यात्रा अहिले विभिन्न रूपमा सञ्चालन भएको छ । कम्युनिष्ट पार्टीको नेतृत्वमा पटकपटक सरकार निर्माण भएका छन् । जनताको आर्थिक र सामाजिक रूपान्तरणका प्रयास भइरहेका छन् । यसमा पुष्पलाललगायत नेताहरूले गरेको योगदानको महत्वपूर्ण भूमिका छ ।”

अध्यक्ष नेपालले राजनीतिक क्रान्तिका विभिन्न चरण तथा सङ्घर्षका बेला सिद्धान्तप्रति अविचलित रहनुभएका पुष्पलाल देश र जनताको हितमा जस्तो सुकै जोखिम उठाएर अगाडि बढ्न तथा अरू साथीलाई प्रेरित गर्ने त्याग एवं निष्ठाको आदर्श भएको धारणा राख्नुभयो ।

त्यसक्रममा अध्यक्ष नेपाल, पार्टीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, कम्युनिष्ट नेता वामदेव गौतमलगायत नेताहरूले कार्यक्रमस्थलमा रहेको पुष्पलालको शलिकमा पुष्पगुच्छासहित माल्यार्पण गर्नुभएको थियो ।

जन्म विसं १९८१ असार १५ मा रामेछापको भँगेरीमा जन्मनुभएका पुष्पलालको विसं २०३५ साउन ७ गते भारतमा उपचारका क्रममा निधन भएको थियो ।

जनअधिकार स्थापित गर्ने लक्ष्यका साथ विसं २००६ वैशाख १० मा पुष्पलालसहित नरबहादुर कर्माचार्य, नीरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको सक्रियतामा नेकपाको स्थापना गर्नुभएको थियो ।

रास्वपाद्वारा विपद् व्यवस्थापन एवं पूर्वतयारीसम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौँ, ७ साउन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभामा विपद् व्यवस्थापन पुनरावलोकन, बृहत् गुरुयोजना निर्माण तथा स्वास्थ्य सङ्कट पूर्वतयारीसम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको छ

रास्वपाको प्रतिनिधिसभा सदस्य डा तोसिमा कार्कीले उक्त प्रस्ताव आज सङ्घीय संसद् सचिवालयमा दर्ता गराउनुभएको हो । उहाँले आजै सभामुख देवराज घिमिरेलाई उक्त प्रस्तावबारे जानकारी गराउनुभएको थियो ।

रास्वपाको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी सांसदहरू विराजभक्त श्रेष्ठ, डा चन्दा कार्की (भण्डारी), गणेश पराजुली, असिम शाह र विन्दबासिनी कङ्शाकारले उक्त प्रस्तावमा समर्थक हुनुहुन्छ । सांसद कार्कीले उक्त प्रस्तावमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८९ बनाए पनि प्रभावकारी हुन नसकेको उल्लेख गर्नुभएको छ ।

सांसद कार्कीले मनसुनको समयमा सम्भावित जोखिमको बलियो पूर्वतयारी हुन नसकेको बताउनुभयो । जसका कारण प्रकोपको समयमा ‘रेस्क्यू’ समूह तथा आवश्यक उपकरण र व्यवस्थापनको अभाव भएको उहाँले उल्लेख गर्नुभयो ।

विपद् रोकथाम, विपद् जोखिम न्यूनीकरण साथै विपद्पछिको पुनःस्थापना तथा व्यवस्थापनसँग सम्बन्धि बृहत गुरुयोजना बनाउन उक्त प्रस्तावमाथि छलफल हुनुुपर्ने रास्वपाका सांसदहरूले बताउनुभएको छ

“मनसुनजन्य महामारी र स्वास्थ्य जोखिमको बारेमा समेत पूर्व तयारी गर्ने, विपद् व्यवस्थापनमा तालिमयुक्त दक्ष जनशक्ति ‘र्‍यापिड रेस्क्यु टिम’ तयार गर्ने, हरेक स्वास्थ्य केन्द्रमा पर्याप्त स्रोत साधन र औषधीको भण्डारण गर्ने, क्षतिको जोखिम पूर्वानुमान गरी आम नागरिकलाई सुसूचित गराउने साथै समयमै पुनःस्थापन र प्रतिस्थापन गर्ने/गराउने लगायतको कामबारे छलफल गर्न अति आवश्यक रहेको हुँदा यो जरुरी महत्त्वको प्रस्ताव पेश गरेको छु”, प्रस्तावमा डा कार्कीले भन्नुभएको छ ।

उक्त सार्वजनिक महत्त्वको प्रस्तावमा तीन तहको सरकारले स्पष्ट कार्यक्षेत्र विभाजन गर्नुपर्ने र विपद्को विषयमा प्रतिक्रियात्मक मात्र नभई संसद्ले पूर्व सक्रियता देखाउनुपर्ने कारण समेत उल्लेख गरिएको छ । विपद् व्यवस्थापनको पाटोसँगै स्वास्थ्य सङ्कटको जोखिम न्यूनीकरणका लागि छलफल गर्नुपर्ने प्रस्तावमा उल्लेख छ ।

“आकस्मिक स्वास्थ्य सङ्कटको अवस्था हुन सक्ने हुँदा, बाढी पहिरोलगायत मनसुनजन्य प्राकृतिक प्रकोप विभिन्न रोग, सङ्क्रमण तथा माहामारी फैलने र स्वास्थ्य सङ्कट आउन सक्ने सम्भावनालाई मध्यनजर गरी नागरिकको स्वस्थ्यसम्बन्धी हक सुनिश्चित गर्नका निम्ति पूर्वतयारी गर्न आवश्यक छ”, उक्त प्रस्तावमा भनिएको छ ।

सिमलताल घटना : ११ औँ दिनमा पनि बस र यात्रुको खोजी जारी

काठमाडौँ, ७ साउन : चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरासँगै बगेर त्रिशूली नदीमा खसेका दुईवटा बस तथा यात्रुको आज ११औँ दिन पनि खोजी कार्य तीव्र पारिएको छ ।

गृहको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले छिमेकी राष्ट्र भारतको ‘राष्ट्रिय आपदा मोचन बल–नेशनल डिजास्टर रेष्पोन्स फोर्स’ बाट १२ जनाको प्राविधिक टोली नेपाल आएर संयुक्त रूपमा उद्धार जारी राखेको जानकारी दिएको छ ।

प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले शनिबार चितवनका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला सुरक्षा समिति र भारतीय प्राविधिक टोलीबीच संयुक्त बैठक बसी आइतबार बिहानदेखि खोजी कार्य सुरु भएको जानकारी दिनुभयो ।

आइतबार बिहान ८ः४५ बजेदेखि सोनार क्यामरासहित खोजी कार्य थालेको संयुक्त टोलीले सिमलतालदेखि घुमाउनेसम्म करिब ३ दशमलव ५ किलोमिटर र देवघाटदेखि काभ्रेघाटसम्म करिब १० किलोमिटर क्षेत्रमा खोजी कार्य गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार टोलीले आज साँझसम्म घुमाउनेदेखि देवघाटसम्म करिब १६ किलोमिटर क्षेत्रमा खोजेको थियो ।

प्राधिकरणले आज एक विज्ञप्ति जारी गरी विपद्को यस्तो विषम अवस्थामा दक्ष प्राविधिकको टोली पठाइ खोजी कार्यमा सहयोग उपलब्ध गराएकोमा भारत सरकार र खोजी कार्यमा संलग्न उद्धारकर्ताप्रति धन्यवाद दिएको छ ।

उक्त दुःखद् घटनामा परी हराइरहेका यात्रुमध्ये हालसम्म २५ वटा शव प्राप्त भएको छ । भेटिएका शवमध्ये दुई वटा भारतीय भूमिमा भेटिएका हुन् । हालसम्म १८ वटा शव सनाखत भइ परिवारको जिम्मा लगाइएको छ ।

सनाखत भएका शवमा १६ वटा पुरुषको छ भने दुई वटा महिलाको छ । त्यस्तै, सनाखत भएका शवमध्ये १३ नेपाली नागरिकका छन् भने पाँच वटा भारतीय नागरिकका रहेको प्राधिकरणले जनाएको छ ।

गृहमन्त्री लेखकसँग राजदूत चेन सङको भेटवार्ता

काठमाडौँ, ७ साउनः गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले शिष्टाचार भेट गर्नुभएको छ । आज सिंहदरबारस्थित गृहमन्त्रा पुगेर राजदूत सङले गृहमन्त्री लेखकलाई बधाइ दिनुभयो । भेटमा गृहमन्त्री लेखकले दुई देशबीच सधैँ सौहार्दपूर्ण सम्बन्ध रहिआएको र आगामी दिनमा सम्बन्ध थप विस्तार र सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ । यस्तै उहाँले नेपालको पूर्वाधार विकासलगायत क्षेत्रमा चीन महत्वपूर्ण विकास साझेदार रहेको बताउनुभयो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पूर्वाधार निर्माण र क्षमता विकासमा पु¥याएको सहयोगका लागि चीनलाई गृहमन्त्री लेखकले धन्यवाद दिनुभयो । साथै गृहमन्त्री लेखकले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको र नेपालको भूमि आफ्ना छिमेकी राष्ट्रहरुको विरुद्धमा प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेको गृह मन्त्रालयले जनाएको छ ।

राजदूत सङले पनि नेपाल र चीनबीचको मैत्रीपूर्ण र दौत्य सम्बन्ध आगामी दिनमा थप बलियो हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल र चीनबीच सांस्कृतिकलगायत धेरै समानता रहेको भन्दै आगामी वर्षमा सम्बन्ध अझै प्रगाढ हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

यसैगरी राजदूत सङले सीमा व्यवस्थापन, सीमापार हुने अपराध निन्यत्रण र दुवै मुलुकका नागरिकहरुको सुरक्षाका लागि नेपाल सरकारसँग समन्वय गर्ने र आफ्नो तर्फबाट समेत सहयोग हुने भेटवार्तामा स्पष्ट पार्नुभएको थियो । साथै अध्यगमन प्रशासनलाई सुदृढ बनाउन चीन सरकारबाट सक्दो सहयोग हुने उहाँको भनाइ थियो । 

वरिष्ठ पत्रकार भैरव रिसाललाई ‘रोटरी लाइफ टाइम एचिभमेन्ट अवार्ड’



काठमाडौँ, ७ साउन : रोटरी इन्टरनेशनलले यसवर्षको ‘यज्ञप्रसाद आचार्य रोटरी लाइफ टाइम एचिभमेन्ट अवार्ड’ वरिष्ठ पत्रकार भैरव रिसाललाई प्रदान गरेको छ ।रोटरी क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को स्थापना दिवसका अवसरमा क्लबका पदाधिकारीले आज पत्रकार रिसाल निवास अनामनगर पुगी अवार्ड प्रदान गर्नुभयो । पुरस्कारको राशि रु एक लाख एक हजार र सम्मानपत्र छ ।

अवार्ड ग्रहण गर्नुहुँदै पत्रकार रिसालले पछिल्लो समय पत्रकारिताको मूल्य, मान्यता र आदर्श खस्किएको धारणा राख्नुभयो । उहाँले आजको अवस्थामा पत्रकारिताको उच्च व्यावसायिक अभ्यासमार्फत राष्ट्र र जनताका खारित आवाज बुलन्द हुनुपर्नेमा जोड दिनुभयो । अवार्डले आफूलाई सक्रिय जीवनका लागि थप ऊर्जा र प्रेरणा मिलेको पनि रिसालले बताउनुभयो ।
रोटरी जर्नो अवार्ड समितिका निमित्त अध्यक्ष नम्रता शर्माले पत्रकारिताको माध्यमबाट राष्ट्रका लागि गर्नुभएको योगदानको कदरस्वरुप अवार्ड प्रदान गरिएको बताउनुभयो । वातावरण, शिक्षालगायत क्षेत्रका सात विधामा अवार्ड दिँदै आएको रोटरीले यसवर्षदेखि पत्रकारितामार्फत देश र समाजका लागि योगदान गर्ने पत्रकारलाई सम्मान गर्ने परम्पराको थालनी गरिएको उहाँले जानकारी दिनुभयो ।

पुरस्कारका लागि रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को संस्थापकसमेत रहनुभएका सुरेश आचार्यले वरिष्ठ पत्रकार भैरव रिसालले जीवनभर पत्रकारितामार्फत योगदान दिनुभएकाले उहाँको योगदानको कदरस्वरुप अवार्ड प्रदान गरिएको बताउनुभयो । उहाँले वरिष्ठ व्यक्तित्वलाई अवार्ड प्रदान गर्न पाउँदा पुरस्कारको ओज बढेको बताउनुभयो ।आचार्यले आफ्ना स्वर्गीय पिता यज्ञप्रसाद आचार्यको स्मरणमा रु एक लाख एक हजार कोषमा प्रदान गर्नुभएको छ । सोही रकमबाट ‘रोटरी लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको हो । पुरस्कार यसै वर्षदेखि हरेक दुई वर्षमा प्रदान गरिने बताइएको छ ।

बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्री डा राणासँग आग्रह– त्यहाँ रहेका साथीहरुको सुरक्षा होस्

काठमाडौँ, ७ साउन : बङ्गलादेशमा आन्दोलन चर्किएपछि स्वदेश फर्किएका नेपाली विद्यार्थीहरुले आज परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई भेट गरी त्यहाँको अवस्थाका बारेमा जानकारी गराएका छन् । ढाकामा जारी आन्दोलनका कारण समस्यामा परेका नेपाली विद्यार्थी स्वदेश फर्किरहेका छन् । परराष्ट्र मन्त्रालयले आइतबारसम्म एक हजार दुई सय विद्यार्थी स्वदेश फर्किसकेका जनाएको छ ।

आइतबार नेपाल फर्किएका ढाकास्थित विभिन्न कलेजमा चिकित्साशास्त्र विषयमा अध्ययनरत केही विद्यार्थीले आज परराष्ट्र मन्त्रालय पुगेर मन्त्री डा राणासँग भेट गरेका थिए । उनीहरुले आन्दोलनका कारण त्यहाँका विभिन्न कलेजमा अध्ययनरत नेपाली तथा विदेशी विद्यार्थीले असुरक्षित महसुस गरेको जानकारी गराएका थिए ।

हाल ढाका र त्यस वरपरका क्षेत्रमा इन्टरनेट तथा टेलिफोन सेवा समेत काटिएकाले आफ्ना परिवारसँग पनि सम्पर्क गर्न नसकिएको, आफू रहेका स्थानबाट बाहिर निस्कन नपाएको र त्यहाँ रहेका विद्यार्थी सम्पर्कविहीन हुँदा आत्तिएका उनीहरुले जानकारी गराए ।    उनीहरुले ढाकास्थित नेपाली दूतावासले त्यहाँ अप्ठेरोमा परेकाहरुका लागि सम्पर्क र समन्वय गरेको, नेपाल आउन चाहनेलाई आवश्यक सहयोग गरेको जानकारी दिँदै कलेजभित्रै रहेका विद्यार्थीलाई त्यस्तो कुनै असुरक्षाको अवस्था नभए पनि इन्टरनेट, फोन आदि नभएकाले आफ्ना परिवारसँग सम्पर्क गर्न नपाएर उनीहरु आत्तिएको बताए ।    

हाल त्यहीँ रहेका आफ्ना नेपाली साथीहरुलाई सुरक्षित रहनका लागि पहल गर्न र आन्दोलनका कारण आफ्नो अध्ययनमा परेको असरलाई कम गर्नका लागि कूटनीतिक माध्यमबाट पहल गरिदिन विद्यार्थीहरुले मन्त्री डा राणासँग आग्रह गरेका छन् । अहिलेको जस्तो समस्या भोलि पनि आउन सक्ने भएकाले त्यहाँ रहेका सबै नेपालीको सम्पर्क एवं तथ्याङ्क ढाकास्थित नेपाली दूतावासले राख्ने र समय समयमा अप्ठेरो परेका बेला सहयोग गर्न सक्ने वातावरण निर्माण गरिदिन विद्यार्थीले आग्रह गरेका छन् ।

त्यस अवसरमा परराष्ट्रमन्त्री डा राणाले शान्तिपूर्ण अवस्था नभएसम्म नफर्किन सुझाव दिँदै नेपाल सरकारले त्यहाँ रहेका नेपाली विद्यार्थीको सुरक्षाका साथै उनीहरु घर आउन चाहेमा त्यसका लागि पनि आवश्यक सहयोग र समन्वय गरिरहेको जानकारी गराउनुभयो ।     मन्त्रालयमा ‘हेल्प डेस्क’ राखेर र ढाकास्थित नेपाली दूतावासलाई सक्रिय बनाएर त्यहाँका नेपालीलाई आवश्यक सहयोगका लागि निर्देशन दिइएको जानकारी दिँदै उहाँले नेपाली विद्यार्थीको अध्ययनका सम्बन्धमा नेपाल सरकारले कूटनीतिक माध्यमबाट गर्न सकिने सहयोग गर्ने उल्लेख गर्नुभयो । सरकारी सेवा प्रवेशमा निर्धारित आरक्षणको विरोधमा हाल बङ्गलादेशमा आन्दोलन जारी रहेको छ ।

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका लामाले आज दाबी पेश गर्दै

बागमती, ७ साउनः बागमती प्रदेश, नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले आज प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्नुहुनेभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठन गर्न आह्वान गरेसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले)को समर्थनमा नेता लामाले मुख्यमन्त्रीमा दाबी पेस गर्न लाग्नुभएको हो ।

प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि दलहरूलाई यही साउन ८ गते साँझ ५ बजेसम्मको समय दिएर दाबी पेस गर्न आह्वान गर्नुभएको छ । “दुई दलबीच पहिला नै मुख्यमन्त्रीमा कांग्रेसले दाबी पेस गर्ने सहमति भइसकेको छ”, नेता लामाले भन्नुभयो, “नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरु भइसकेकाले आज बिहान १० बजे बहुमत प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दाबी पेस गर्छु ।”

नयाँ राजनीतिक समीकरणअनुसार नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने भन्दै मुख्यमन्त्री जम्कट्टेलले प्रदेश प्रमुख शर्मालाई राजीनामा पत्र बुझाउनुभएको थियो । प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री जम्कट्टेलको राजीनामा स्वीकृत गर्दै अर्काे सरकार गठन नहुञ्जेलसम्म उहाँलाई कामचलाउ मुख्यमन्त्रीको जिम्मेवारी दिनुभएको छ ।

महिला भलिबलः आज नेपालले कीर्गिस्तानसँग खेल्दै

काठमाडौँ, ७ साउनः काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएसन) यु–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले सेमिफाइनलमा आज कीर्गिस्तानसँग खेल्ने भएको छ । माल्दिभ्सको मालेमा हुने उक्त प्रतियोगिताको लिग चरणको खेलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको थियो । सोही हारको बदला लिँदै नेपाल फाइनलमा पुग्ने दाउका साथ मैदानमा उत्रनेछ । लिगमा कीर्गिस्तान दोस्रो भएको थियो बने नेपाल तेस्रो स्थानमा रहेको थियो ।

लिगको अन्तिम खेलमा श्रीलङ्काले कीर्गिस्तानलाई ३–२ सेटमा पराजित गरेपछि नेपालले सेमिफाइनलमा कीर्गिस्तान प्रतिद्वन्द्वी पाएको हो । लिगमा अपराजित रहेको श्रीलङ्का तीन खेल जित्दै आठ अङ्क जोडेर शीर्षस्थानमा रह्यो । दुई जित र एक हारबाट पाँच अङ्क जोडेको कीर्गिस्तान दोस्रो स्थानमा रहँदा एक जित र दुई हारको नतिजा निकालेको नेपाल तीन अङ्कसहित तेस्रो र सबै तीन खेल हारेको घरेलु टोली माल्दिभ्स चौथो स्थानमा रह्यो ।

लिगमा पहिलो श्रीलङ्का र चौथो भएको माल्दिभ्सबीच पहिलो सेमिफाइनल खेल पनि आजै हुनेछ ।

बुद्ध जन्मस्थल लुम्बिनीमा आठौँ वर्षाबास तथा धार्मिक अनुष्ठान

लुम्बिनी, ७ साउनः बुद्ध जन्मस्थल लुम्बिनीमा आठौँ वर्षाबास तथा धार्मिक अनुष्ठान सुरुआत भएको छ । लुम्बिनीस्थित राजकीय बौद्ध विहारमा आइतबार आयोजित कार्यक्रममा विहारका संरक्षक भीक्षु सागर धम्मले शील पाठ गरेर वर्षाबासको आरम्भ गर्नुभयो । भिक्षु धम्मले वर्षाबास कार्यक्रमले बुद्धको उपदेशहरूको ज्ञान लिन सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “नेपालीहरूलाई विश्वभर बुद्धको देशका मानिस भनेर चिनिन्छ । यसैले पनि सबै नेपालीले बुद्धको ज्ञान लिनु आवश्यक छ ।” लुम्बिनी आधात्मिक केन्द्र भएको उल्लेख गर्दै उहाँले लुम्बिनीबाट के पाएँभन्दा पनि के दिएँ भनेर सोच्नुपर्ने बताउनुभयो ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले विभिन्न समयमा लुम्बिनीको पहिलो राजकीय बौद्ध विहार भत्काउने विषय उठ्ने गरेको जनाउँदै बुद्ध जन्मेको स्थानमा बुद्ध विहार भत्काउँदा संसारभर राम्रो सन्देश नजाने बताउनुभयो । उहाँले विहारलाई लुम्बिनी विकास गुरुयोजनाभित्र राखेर पुनःनिर्माण गर्न सरोकार भएकाहरूलाई सुझाव दिनुभयो । उहाँले लुम्बिनीमा रहेका अधिकांश गुम्बा र विहार स्थानीयसँग जोडिन नसकेको दुखेसो गर्नुभयो ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)का लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्यालले विश्व समुदायको हितका लागि शान्ति पहिलो शर्त भएकाले शान्ति प्राप्तिका लागि समुदायस्तरमा बुद्ध शिक्षा पुर्याउनुपर्नेमा जोड दिनुभयो । विभिन्न समयमा हुने यस्ता धार्मिक अनुष्ठानहरूले धार्मिक सहिष्णुता जोगाइराख्न महत्त्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो । वर्षात्को तीन महिना प्रतिकूल मौसमका कारण धर्मयात्रा गर्न असहज हुने भएका कारण उपासक–उपासिकासहित भिक्षुहरू सुरक्षित स्थानमा बसेर धार्मिक अनुष्ठानमा सरिक हुने प्रक्रियालाई वर्षाबास भनिन्छ । साउन पूर्णिमादेखि सुरु भएको वर्षाबास तीन महिनापछिको पूर्णिमामा समापन हुनेछ । वर्षाबास कार्यक्रम व्यवस्थापनको जिम्मा बौद्ध महिला समितिले लिएको छ ।

संविधानको रक्षाका लागि दलहरूबीच सहकार्यको खाँचो छ : अध्यक्ष नेपाल


काठमाडौँ, ७ साउनः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्रलाई सुदृढ बनाउन आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभएको छ । उहाँले भन्नुभयो,“संविधान र गणतन्त्रको रक्षाका लागि सबै दलहरूबीच समन्वय र सहकार्यको खाँचो छ ।”

आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री नेपालले राष्ट्रको विकास र जनताको समृद्धिका लागि देशमा सुशासन कायम गरी उत्पादन वृद्धिमा जोड दिनुपर्छ भन्नुभयो । सो अवसरमा सितेरियो कराते खेलाडी पुरेन्द्रविक्रम लाखे र ललितपुरका समाजसेवी राजकुमार श्रेष्ठ नेकपा ( एकीकृत समाजवादी)मा प्रवेश गर्नुभएको थियो ।

बङ्गलादेशमा रहेका नेपाली विद्यार्थी सुरक्षित छन्ः परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बङ्गलादेशमा रहेका सबै नेपाली विद्यार्थीहरू सुरक्षित रहेका जानकारी दिएका छन् । त्यहाँ रहेका नेपाली विद्यार्थी एवं अन्य नेपालीहरूबारे सामाजिक सञ्जालमार्फत आज बिहान उनले सो जानकारी गराएकी हुन् ।

उनले भनेकी छिन्, ‘ढाकास्थित नेपाली दूतावासले स्थानीय अधिकारी, कलेज प्रशासन र नेपाली विद्यार्थीहरूसँग उनीहरूलाई सुरक्षित तवरले बस्ने, सुरक्षा दिने र आवश्यक परेको अन्य सहयोग सम्बन्धमा नियमित रूपमा सम्पर्क गरिरहेको छ । बङ्गलादेशमा रहेका सबै नेपाली विद्यार्थी एवं अन्य नेपाली सुरक्षित छन् ।’

बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण उत्पन्न परिस्थितिले त्यहाँ रहेका नेपाली विद्यार्थीहरू प्रभावित भएका जनाउँदै त्यहाँबाट विद्यार्थी र यहाँ उनीहरूका आफन्तहरूले समेत चिन्ता व्यक्त गरेपछि उनीहरूलाई त्यहाँ सुरक्षित तवरमा बस्ने र आवश्यक परे नेपाल फर्किने व्यवस्थाका लागि पनि परराष्ट्र मन्त्रालयले उचित प्रबन्ध गरेको उनले बताएकी छिन् ।

मन्त्रालयमा ‘हेल्प डेस्क’ स्थापना गरी आवश्यक समन्वयका लागि अधिकारी तोकिएको तथा ढाकास्थित नेपाली दूतावासलाई पनि त्यहाँ रहेका विद्यार्थीको सुरक्षाका लागि आवश्यक समन्वय गर्न तथा नेपाल फर्कन चाहनेहरूका लागि उनीहरूको यात्रामा सहजीकरण गर्न निर्देशन दिइएअनुसार दूतावासले सो कार्यसम्पादन गरिरहेको मन्त्री डा राणाले बताइन् ।

आइतबार मात्र हवाईमार्गबाट एक सय १५ र काँकडभिट्टा नाका भएर तीन सय पाँचजना नेपाली विद्यार्थी स्वदेश फर्किएका थिए । आइतबार बिहान फर्किएका ५७ जना नेपाली विद्यार्थीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रका अधिकारीले स्वागत गरेका थिए ।

बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण नेपाली विद्यार्थीहरू समस्यामा पर्न थालेको समाचार आएपछि उनीहरूको सहयोगका लागि मन्त्रालयमा ‘हेल्प डेस्क’ स्थापना गरिएको छभने ढाकास्थित नेपाली दूतावासलाई निमियत सम्पर्कमा राखिएको छ ।

यस विषयमा परराष्ट्रमन्त्री डा राणाले पनि ढाकास्थित नेपाली राजदूतावासलाई निरन्तर सम्पर्क गरी त्यहाँका नेपालीहरूका बारेमा जानकरी लिइरहेको बताउनुभएको छ ।

आइतबारसम्म बङ्गलादेशबाट एक हजार दुई सय विद्यार्थी स्वदेश फर्किएका परराष्ट्र मन्त्रालयले आइतबार जानकारी दिएको छ । बङ्गलादेशमा सरकारले निर्धारण गरेको रोजगारीमा कोटा प्रणालीको विरोधमा विद्यार्थीले आन्दोलन गरिरहेका छन् ।

नेपालको सामाजिक–आर्थिक विकासका निम्ति चीनले सक्दो सहयोग गर्ने

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले चीनको इतिहासमा चिनियाँ जनमुक्ति सेनाले ठूलो बलिदान प्रदर्शन गरेका उल्लेख गर्दै दुई देशका सेनाबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको बताएका छन् । उनले भने,’हालका दिनमा यो सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै गएकोे छ ।’

चिनियाँ जनमुक्ति सेनाको ९७ औँ स्थापना दिवसका अवसरमा काठमाडौंस्थित चिनियाँ दूतावासले आइतबार साँझ आयोजना गरेको स्वागत समारोहमा प्रधानसेनापति शर्माले नेपाललाई चिनियाँ जनमुक्ति सेनाले सैनिक सहायता उपलब्ध गराउँदै आएकामा आभार व्यक्त गरे ।

पञ्चशीलका सिद्धान्तमा आधारित पारस्परिक सम्बन्ध पछिल्ला दिनमा अझ सुदृढ बन्दै गएको जनाउँदै प्रधानसेनापतिले नेपाल एक चीन सिद्धान्तप्रति प्रतिबद्ध रहेको बताए । उनले चीनको सुरक्षा चासोप्रति नेपाल संवेदनशील रहेको बताए ।

‘शान्तिप्रिय राष्ट्र नेपालको सबै देशसँग मैत्री कायम गर्ने नीति छ । हाम्रो परराष्ट्र सम्बन्ध पनि यसै आदर्शबाट अभिप्रेरित छ’, उनले भने ।

नेपालका लागि चिनियाँ राजदूत छन सोङले चीन र नेपालबीचको सम्बन्ध हिमालझैँ अटल रहेको बताउँदै नेपालसँगको सम्बन्धलाई चीनले उच्च प्राथमिकतामा राखेको उल्लेख गरे ।

उनले आपसी सौहार्द, सम्मान, भाइचारा तथा पञ्चशीलको सिद्धान्तमा आधारित चीन–नेपाल सम्बन्ध पारस्परिक विश्वास, सहयोग, सहकार्यका साथ निरन्तर अगाडि बढिरहेको बताए ।

चिनियाँ राजदूले नेपालको सामाजिक–आर्थिक विकासका निम्ति चीनबाट सक्दो सहयोग हुने प्रतिबद्धता पनि व्यक्त गरे । दूतावासका सैनिक सहचारी लिउ गोझेङले चिनियाँ जनमुक्ति सेनाको स्थापना अगस्त १, १९२७ देखि हालसम्मको अवस्थाका बारेमा जानकारी दिँदै मातृभूमिको रक्षार्थ जनमुक्ति सेनाले निर्वाह गरेको भूमिकाको चर्चा गरेका थिए ।

समारोहमा सांसद, गृहसचिव एकनारायण अर्याल, बलाधिकृत रथी अशोक सिग्देल, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, उच्चपदस्थ सरकारी अधिकारी यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि एवं सैनिक सहचारी, पत्रकार, राजनीतिज्ञलगायत समाजका प्रतिष्ठित व्यक्ति सहभागी थिए । साथै जनमुक्ति सेनाको इतिहास र गतिविधि झल्कने वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।

यसैबीच, चीनले नेपालको आर्थिक उन्नति तथा विकासलाई नै प्राथमिकता दिँदै आएको सन्दर्भमा मुलुकको पूर्वाधार विकासमा उत्तरी छिमेकीको योगदान महत्त्वपूर्ण रहेको बताउँदै अवकाशप्राप्त सहायक रथी सुरेश शर्माले चीनको यो साथ र सहयोगको नेपाल सरकार तथा जनताले सधँै उच्च मूल्याङ्कन गर्नुका साथै सहयोगको यो निरन्तरता भविष्यमा पनि जारी रहने विश्वास गरेको बताए ।

पृथ्वीराजमार्गमा लेदोसहितको पहिरो , मुग्लिन–काठमाडौँ सडक दुइतर्फी अवरुद्ध

पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना-३ फिस्लिङमा सोमबार बिहान लेदोसहितको पहिरो खसेको छ ।

बिहान ५ बजे खसेको पहिरोका कारण मुग्लिन–काठमाडौँ सडक दुइतर्फी अवरुद्ध बनेको हो। अहिले पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । तस्बिर ः हीरालाल गुरुङ

बाढीले आम्दानीको स्रोत गुमेपछि कुतियाकबरका किसान चिन्तित, खेती बगरमा परिणत

वेदकोट (कञ्चनपुर) – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकबरका बमबहादुर सुनारले १२ कट्टा जमिनमा परबल खेती गर्नुभएको थियो । त्यही खेतीबाट उहाँले वर्षभरीको खर्च जोहो गर्नुहुन्थ्यो ।

असार तेस्रो साता अविरल वर्षापछि आएको बाढीले उहाँको परबल खेती बगरमा परिणत भएको छ । खेती मात्रै होइन बाढीले घरभित्रको अन्नपात, लुगाफाटोसमेत बगाएपछि उहाँ समस्यामा हुनुहुन्छ । “खेतमा लगाइएको परबल पुरिएर नष्ट भएको छ । वर्षभरीको घर खर्च धान्ने खेती नै सखाप भएपछि अब के खाने, कसरी खर्च चलाउने भन्ने चिन्ता बढेको छ”, उहाँले दुःखेसो पोख्नुभयो ।

बाढीको बेला केही दिन अम्बिका माध्यमिक विद्यालयमा आश्रय लिएर बस्नुभएका उहाँ अहिले बस्तीमै फर्किसक्नुभएको छ । बाढीले क्षति पु¥याएको घरको मर्मत गरेर रात बिताइरहेको उहाँको भनाइ छ ।

दोधारा चाँदनी नगरपालिका–१० का खड्के बुढाले डेढ बिघा जमिन भाडामा लिएर तरकारीसँगै धान रोपाइँ गर्नुभएको थियो । बाढीले उहाँको खेत पनि पूरै लेदो र बालुवाले भरिएको छ । “तरकारी र धानमा रु ५० हजार खर्च भएको थियो । तरकारी खेती नै प्रमुख आयस्रोत हो”, उहाँले भन्नुभयो, “खेतमा सबै पुरिएर माटो र बालुवा मात्रै छ । तीन वर्षअघि पनि यस्तै भएको थियो । बाढीले आयस्रोत नै खोस्यो”, उहाँले गुनासो गर्नुभयो ।

महाकाली नदी र जोगबुढा नदीले घेरिएको कुतियाकबरमा बसोबास गर्ने अधिकांशको जमिन बगरमा परिणत भएको छ । यहाँका अधिकांश स्थानीय बासिन्दा परबललगायत तरकारी खेती गरेर जीविकोपार्जन गर्दै आएका छन् । वर्षभरीलाई खान पुग्ने धान र घर खर्च जोहो गर्ने तरकारी खेती बगर बन्दा अहिले यहाँका किसान निकै पीडामा छन् । “बाढीले सबै लग्यो । बिहान बेलुका खानलाई घरभित्र अन्न छैन । खाना पकाउन भाडाकुडा, लगाउनलाई लत्ताकपडा पनि छैनन्”, दोधारा चाँदनी नगरपालिका–१० की बृतकली सुनार भन्नुहुन्छ, “बाढीले यत्रो पीडा दिँदा पनि सरकारले हामीलाई हेरेको छैन । हामी के खाएर बाच्ने ?”

असार तेस्रो साताको अविरल वर्षापछि भएको डुबान र बाढीले विस्थापित भएकाहरू विद्यालय तथा आफन्त कहाँ आश्रय लिएर बसेको थिए । अधिकांश विस्थापित बस्तीमै फर्किए पनि खाद्यलगायत अत्यावश्यक समानमा बाढीले क्षति पु¥याएपछि खान र बस्न समस्या भएको छ । बाढी र डुबानले बस्ती अस्तव्यस्त बनेकाले स्थानीय बासिन्दा अझै सामान्य अवस्थामा फर्किन सकेका छैनन् ।

प्रतिनिधिसभा बैठक बस्दै : प्रधानमन्त्री ओलीसँग सांसदको प्रश्नोत्तर

काठमाडौँ, ७ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सांसदहरूद्वारा सोधिएको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ । प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम प्रधानमन्त्री ओली सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै हुनुहुन्छ । उक्त परिच्छेदमा प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको पहिलो घण्टा निर्धारण गर्ने व्यवस्था रहेको छ ।

गत असार ३० गते चौथो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री ओलीको सांसदसँग यो पहिलो प्रश्नोत्तर हो । प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभाबाट दुईतिहाइ समर्थनसहित विश्वासको मत प्राप्त गर्नुभएको थियो ।