`

प्रतिनिधिसभा बैठक बस्दै : प्रधानमन्त्री ओलीसँग सांसदको प्रश्नोत्तर

काठमाडौँ, ७ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सांसदहरूद्वारा सोधिएको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ । प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम प्रधानमन्त्री ओली सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै हुनुहुन्छ । उक्त परिच्छेदमा प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको पहिलो घण्टा निर्धारण गर्ने व्यवस्था रहेको छ ।

गत असार ३० गते चौथो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री ओलीको सांसदसँग यो पहिलो प्रश्नोत्तर हो । प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभाबाट दुईतिहाइ समर्थनसहित विश्वासको मत प्राप्त गर्नुभएको थियो ।

टर्कीमा तेल साइट भत्किँदा तीन जना घाइते


दक्षिणपूर्वी टर्कीमा आइतबार एक तेल ड्रिलिङ प्रतिष्ठान भत्किँदा कम्तीमा तीन जना कामदार घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

यो दुर्घटना बहुसङ्ख्यक कुर्दिश सिर्नाक प्रान्तको माउन्ट गाबर क्षेत्रमा ड्रिलिङ साइटमा भएको थियो ।

“ड्रिलिङ साइटको भग्नावशेषमुनि फसेका घाइतेमध्ये दुई जनालाई उद्धार गरिएको र तीमध्ये एकलाई हेलिकप्टरबाट अस्पताल लगिएको छ”, प्रान्तीय गभर्नर सेभडेट अटेले दुर्घटनास्थलको भ्रमण गरेपछि भन्नुभयो ।

यहाँ भग्नावशेषमा फसेका अन्तिम कामदारको उद्धार गर्ने प्रयास जारी छ । टर्की पेट्रोलियम कर्पोरेशनले सन् २०२२ मा यस क्षेत्रमा तेल ड्रिलिङ गर्न थालेको थियो ।

जापानमा दिवालियापन दशककै उच्चस्तरमा : सर्वेक्षण

बढ्दो लागत, श्रमको अभाव र आर्थिक सहयोगमा आएको कमीका कारण जापानमा कर्पोरेट दिवालियापन वर्षको पहिलो छ महिनामा वार्षिक रूपमा २२ प्रतिशतले बढेर एक दशककै उच्चस्तरमा पुगेको क्रेडिट रिसर्च कम्पनीको हालैको सर्वेक्षणले देखाएको छ । जनवरीदेखि जुनसम्म कूल दिवालिया हुनेको सङ्ख्या चार हजार आठ सय ८७ पुगेको छ । यो सन् २०१४ यताकै उच्च रहेको टेइकोकु डाटा बैङ्कले आफ्नो पछिल्लो अनलाइन रिपोर्टमा उल्लेख गरेको छ ।

दिवालिया हुनेमा उद्योगका आधारमा सेवा उद्योगमा सबैभन्दा बढी एक हजार दुई सय २८ रहेका छन् । त्यसपछि खुद्रा क्षेत्रको एक हजार २९ र निर्माणमा नौ सय १७ रहेको तथ्याङ्कले देखाएको छ । यस अवधिमा साना तथा लघु उद्यमहरू सबैभन्दा बढी प्रभावित भएका छन् ।

बढ्दो लागत र बढ्दो श्रमिक अभावको बीचमा येनको निरन्तर अवमूल्यनका कारण आर्थिक परिदृश्य थप जटिल भएको छ । टेइकोकुले निजी खपतमा कमीबाहेक कर्पोरेट दिवालिया हुने सङ्ख्या अझ बढ्नसक्ने अनुमान गर्दै यो सम्भवतः सन् २०२४ को सम्पूर्ण वर्षमा १० हजारभन्दा बढी हुने बताएको छ । जापानी कम्पनीहरूले जुन महिनामा मात्रै कूल आठ सय सात कानूनी लिक्विडेशन प्रक्रिया अघि बढाएका छन् । यो वार्षिक रूपमा वृद्धिको लगातार २६ औँ महिना हो ।

चितवन राष्ट्रिय निकुञ्जमा दुई सय २२ जनावरको उद्धार , ७६ जनावर मरे

चितवन, ७ साउनः चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८०/८१ मा पन्ध्र प्रजातिका ७६ जनावार मरेका छन् । ती मध्ये सबैभन्दा बढी चित्तल छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आवमा कुकुरको आक्रमणबाट दुई र २२ प्राकृतिक कारणले २४ चित्तल मरेका थिए । यसैगरी सो अवधिमा गैँडा २१ मरेका छन् । ती मध्ये १८ प्राकृतिक कारणले हो भने दुई चोरी सिकारीले र एउटाको कारण खुल्न नसकेको उहाँले बताउनुभयो । यसैगरी प्राकृतिक कारणले आठ बाघ मरेका छन् । रतुवा छवटा मरेको अवस्थामा भेटिएको उहाँले बताउनुभयो । ती सबै प्राकृतिक कारणले मरेका हुन् । पाँचवटा हात्ती र जरायो चारवटा प्राकृतिक कारणले मरेका छन् ।

यसै अवधिमा घडियाल गोही दुईवटा मरेका छन् । एउटा प्राकृतिक कारणले हो भने एउटाको कारण खुल्न सकेको छैन । मगर गोही दुई, बँदेल एक, लगुना एक र दुईवटा अन्य जनावार प्राकृतिक कारणले मरेको सूचना अधिकारी तिवारीले बताउनुभयो । मृतावस्थामा भेटिएका जनावारमध्ये ७० जनावार प्राकृतिक कारणले, दुई चोरी सिकारीले, दुई कुकुरको आक्रमणबाट र दुईवटा कारण खुल्न नसकेको उहाँले जानकारी दिनुभयो ।

गत वर्ष निकुञ्जले दुई सय २२ वटा जनावरको उद्धार गरेको जनाएको छ । उद्धार गरिएकामा सबैभन्दा धेरै अजिङ्गर एक सय ४१ छन् । ३३ सर्प, ११–११ बाघ र मगर गोहीको उद्धार गरिएको उहाँले बताउनुभयो । चित्तल छवटा, गैँडा तीनवटा, जरायो, बँदेल र चितुवा दुई–दुईवटा, सुन कछुवा र घडियाल गोही एक–एकवटाको उद्धार गरिएको छ । अन्य जनावार नौवटाको उद्धार गरिएको सूचना अधिकारी तिवारीले बताउनुभयो ।

झरीका बिच पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो

साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा झरीका बिच पनि दर्शन गर्न आएका भक्तजनको घुइँचो । तस्बिर : हरिराम भेटुवाल / रासस

मेची भन्सार कार्यालयद्वारा रु १४ अर्ब २३ करोड राजश्व सङ्कलन


भद्रपुर (झापा), ७ साउनः पूर्वीनाका काँकडभिट्टाबाट भारत, बङ्गलादेशलगायत देशसँग हुने व्यापारघाटा रु २० अर्ब ३५ करोड ३० लाख ४० हजार पुगेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कानुसार गत आर्थिक वर्ष २०८०÷८१ मा रु ४४ अर्ब ७५ करोड ६६ लाख ९४ हजार बराबरको आयात हुँदा रु २४ अर्ब ४० करोड ३६ लाख ५४ हजार बराबरको मालवस्तु निर्यात भएको हो

मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलका अनुसार पछिल्लो दुई वर्षमा आयात तीन दशमलव ४८ प्रतिशतलले कम हुँदा निर्यात भने १० दशमलव ७१ प्रतिशतले बढेको छ । उहाँका अनुसार आव २०७९÷८० मा रु ४६ अर्ब ३७ करोड १३ लाख ३४ हजार आयात र रु २२ अर्ब चार करोड १८ लाख ९३ निर्यात रहेको थियो ।

गत आवमा पेट्रोलियम पदार्थ चार दशमलव ५१ प्रतिशत, जुट सात दशमलव २५ प्रतिशत, जिप्सम छ दशमलव ५७ प्रतिशत, तरकारी १७ दशमलव ८५ प्रतिशत, अलडिड रेजिन पाँच दशमलव ६९ प्रतिशतले आयात घटेको सूचना अधिकारी कँडेलले जानकारी दिनुभयो । मेसिनरी उपकरण ६६ दशमलव १० प्रतिशत, दाल १८ दशमलव छ प्रतिशत, इलेक्ट्रिक उपकरण ३० दशमलव ३४ प्रतिशत र फलाम २२ दशमलव प्रतिशतले आयात बढेको छ ।

मेची भन्सार कार्यालयबाट निर्याततर्फ सबैभन्दा धेरै भेनियस सिट एक हजार दुई सय ५३ दशमलव ९७ प्रतिशतले बढ्दा प्लाइउड ५५ दशमलव ३८ प्रतिशत, छुर्पी २९ दशमलव ७९ प्रतिशत, अम्रिसो ३० दशमलव १२ प्रतिशत, अदुवा–सुठो २१ दशमलव ६८ प्रतिशतले निर्यात बढेको छ । अलैँची, चिया, धातुका अन्य अवशेषको निर्यात भने घटेको मेची भन्सार कार्यालयले जनाएको छ । सूचना अधिकरी कँडेलका अनुसार गत आव २०८०÷८१ मा मेची भन्सार कार्यालयले रु १४ अर्ब २३ करोड ५२ लाख ६० हजार राजस्व सङ्कलन गरेको छ ।

आयात घट्दा वीरगञ्जको आन्तरिक राजस्व खस्कियो , रु छ अर्ब ८६ करोड सङ्कलन

वीरगञ्ज (पर्सा), ७ साउनः आन्तरिक राजस्व कार्यालय वीरगञ्जले गत आर्थिक वर्ष २०८०÷८१ मा रु छ अर्ब ८६ करोड ८६ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ । गत आवमा अन्तशुल्क र आयात घटेसँगै राजस्व सङ्कलनमा प्रत्यक्ष असर देखापरेको छ ।

कार्यालयले आव २०७९÷८० को तुलनामा आव २०८०÷८१ मा रु २७ करोड १५ लाख कम राजस्व सङ्कलन गरेको छ । आन्तरिक राजस्व कार्यालय वीरगञ्जका प्रमुख कर अधिकृत ढाकाराम तिवारीले कार्यालयले गत आवभरिमा सबै शीर्षकमा रु छ अर्ब ८६ करोड ८६ लाख ७८ हजार राजस्व सङ्कलन गरेको बताउनुभयो ।

“गत आवको वर्षभरिमा मूल्य अभिवृद्धि कर सङ्कलन र आयकर सङ्कलन उत्साहजनक देखिएको छ”, उहाँले भन्नुभयो, “गत आवमा अन्तःशुल्क करवापतको राजस्व असुलीमा धेरै गिरावट आएको छ । यसले समग्र राजस्व सङ्कलनमा असर पारेको छ ।”

आन्तरिक राजस्व विभागले गत आवमा कार्यालयका लागि रु नौ अर्ब ४१ करोड ९७ लाख ९३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । कार्यालयले गत आवमा आयकरतर्फ रु दुई अर्ब २६ करोड ७५ लाख ५४ हजार सङ्कलन गरेको छ । मूल्य अभिवृद्धिकरतर्फ रु दुई अर्ब २० करोड २५ लाख चार हजार सङ्कलन गरेको छ । सोही अवधिमा अन्तःशुल्कतर्फ रु चार अर्ब २० करोड २५ लाख ३६ हजार सङ्कलन गर्ने लक्ष्य राखिएको थियो । तर गत आवमा हिमालयन डिष्ट्रिलरीको उत्पादन घटेसँगै अन्तःशुल्कबापतको रकममा प्रत्यक्ष प्रभावित भएको देखिन्छ । कार्यालयले अन्तःशुल्कबापत रु दुई अर्ब ३९ करोड ८६ लाख २० हजार सङ्कलन गरेको छ ।

प्रमुख कर अधिकृत तिवारीले राजस्व सङ्कलन बढाउन नियमित रूपमा बजार अनुगमन र कर सचेतनालगायत कार्यक्रम अघि बढाउँदै आइरहेको बताउनुभयो । आन्तरिक राजस्व विभागले आव २०७९÷८० मा कार्यालयलाई रु १० अर्ब ६२ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेकामा सो अवधिमा भने रु सात अर्ब १४ करोड सङ्कलन गरेको थियो । कार्यालयले विशेषगरी आयकर, भाडाकर, ब्याजकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क र स्वास्थ्य कर असुली गर्ने गर्छ ।

साउने सोमबारः पशुपतिनाका चारै ढोका साढे तीन बजेदेखि नै भक्तजनका लागि खुला

काठमाडौँ- सौरमास अनुसार पहिलो साउने सोमबारको व्रत आजदेखि सुरु भएको छ । । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमबार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको बताउनुहुन्छ । साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेषरुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ ।

नेपालमा सौरमास अनुसारका सोमबार नै व्रत गर्ने परम्परा रहेको समितिको पूर्वअध्यक्षसमेत रहनुभएका धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । पशुपतिनाथ मन्दिरमा भने चान्द्रमास र सौरमास दुवै अनुसारका साउनको सोमबारका दिनमा भक्तजनको भीड लाग्छ । पशुपति क्षेत्रमा साउने सोमबारका लागि सबै तयारी गरिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो ।

साउनको सोमबार पशुपतिनाथमा आउने भक्तजनका लागि तीन वटा लामको व्यवस्था गरिएको छ । उमाकुण्ड, जयवागेश्वरी र पिङ्गलस्थानबाट प्रवेश गरी दर्शन गर्न सकिने गरी व्यवस्था मिलाइएको जानकारी पनि उहाँले दिनुभयो । पशुपतिनाका चारै ढोका सोमबार बिहान साढे तीन बजेदेखि नै भक्तजनका लागि खुला भएको छ ।

साउनको सोमबार पशुपति क्षेत्रमा ११ संस्थाका स्वयंसेवक खटाइएको छ । विभिन्न संस्थाले स्वास्थ्य शिविर, निःशुल्क भोजन, खोजखबरको कक्ष पनि सञ्चालन गर्न लागेका छन् । साउनको सोमबार पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । साउनको शनिबार र सोमबार पशुपतिनाथ मन्दिरमा हजारौँ भक्तजनको भीड लाग्ने गर्छ ।

साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोल बम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्छ । बोल बम यात्रा गरी सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा चढाउने भक्तजन पनि साउनमा लाखौँ हुने गरेका छन् ।

साउन महिनाको सोमबारका दिनमा पशुपतिनाथसँगै काठमाडौँ उपत्यकाका साथै देशभरका शिवालयमा आशुतोष भगवाने शिवको पूजा, आराधना गर्न भक्तजनको भीड लाग्ने गर्छ । साउनको पहिलो सोमबारदेखि अन्तिम सोमबारसम्म व्रत गरेका भक्तजनले अन्तिम दिनमा गोदान एवं पूर्णपात्रदान गरी व्रत समापन गर्ने विधि छ ।

मिटरमा गुड्न मान्दैनन् पोखराका ट्याक्सी चालक, सर्वसाधारणबाट मनोमानी रूपमा भाडा असुल्दै

गण्डकी, ७ साउनः गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र पोखरामा ट्याक्सी व्यवसायीबीच गत साउन २७ मा पोखरामा मिटरमा ट्याक्सी चलाउने सहमति भयो । मन्त्रालयले भदौ १ गतेदेखि अनिवार्य रूपमा मिटर प्रणालीमा ट्याक्सी सेवा सञ्चालन गर्नुपर्ने निर्णय गर्यो ।

तत्कालीन भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीसहित सरोकार भएका पक्षसँगको छलफलमा व्यवसायीले मिटरमा ट्याक्सी गुडाउने प्रतिबद्धतासमेत जनाए । तर उक्त निर्णय भएको वर्ष दिन नबित्दै पर्यटकीय राजधानीसमेत रहेको पोखरामा मिटरमा ट्याक्सी गुड्न छाडिसकेका छन् ।

यातायात मन्त्रालयसँग भएको सहमतिलाई वेवास्ता गर्दै ट्याक्सी चालकले सर्वसाधारण यात्रुबाट मनोमानी रूपमा भाडा असुलिरहेका छन् । गण्डकी प्रदेश सरकारले तीन वर्षअघि समायोजन गरेको भाडादरअनुसार ट्याक्सी मिटर चलाउन तयार भएका चालक अहिले सोही भाडादरलाई देखाएर मिटरमा हिँड्न अस्वीकार गरिरहेका छन् । विसं २०७८ फागुन १ गतेदेखि लागू हुनेगरी प्रदेश सरकारले भाडादर समायोजन गरे पनि पोखराका ट्याक्सी मिटरमा चलेका थिएनन् ।

ट्याक्सीले मनपरी भाडा लिने गरेको जनाउँदै जनगुनासो बढ्न थालेपछि मन्त्रालयले मिटर प्रणालीमा ट्याक्सी सञ्चालनका लागि पहल लिएको थियो । मन्त्रालय र यातायात व्यवस्था कार्यालयका पदाधिकारी, ट्राफिक प्रहरीलगायतले केही समय ट्याक्सीको अनुगमन पनि गरे । केही समय ट्याक्सी चालक मिटरमा पनि हिँडे । मिटर गुड्न अटेर गर्नेहरू कारबाहीमा पनि परे । अहिले न अनुगमन छ, न त मिटरमा नचल्ने ट्याक्सीलाई कारबाही नै हुन्छ ।

ट्याक्सी चालक छिरिङ शेर्पाले नयाँ भाडादर समायोजन नभएका कारण मिटरमा चलाउन सक्ने अवस्था नरहेको बताउनुभयो । “इन्धनको मूल्य बढेको बढ्यै छ, भाडादर भने पहिलैके छ”, उहाँले भन्नुभयो, “बढ्दो महँगीलगायत अहिलेको अवस्थाअनुसार भाडादर समायोजन भए मात्र ट्याक्सी मिटरमा गुड्न सक्छन्, नत्र गाह्रो छ ।” ट्याक्सी व्यवसायीले स्वचालित भाडादर कायम हुनुपर्ने माग गर्दै आएका छन् ।

इन्धनको मूल्यमा आइरहने उतारचढाव, बढ्दो महँगीजस्ता कारणले मिटर प्रणालीमा समस्या आउने गरेको पोखरेली ट्याक्सी व्यवसायी समितिका महासचिव युवराज भट्टराईले बताउनुभयो । “इन्धन मात्र नभएर, गाडी पार्टस्लगायत सामान महँगो हुँदै गएको छ, यसलाई पनि विचार गरेर भाडादर समायोजन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “मिटर प्रणालीमा पनि केही जटिलता छन्, मिटर जडान महँगो छ, पोखराका ट्याक्सीमा एकपटक मिटर बढाउँदा दुई–तीन महिना लाग्छ ।”

नयाँ भाडादर समायोजनलगायत माग पूरा भए व्यवसायीहरू मिटरमा ट्याक्सी सञ्चालन गर्न तयार रहेको महासचिव भट्टराईले बताउनुभयो । तीन वर्षअघि समायोजन गरेको भाडादरअनुसार १५ किमीको यात्रामा चढ्नासाथ (फ्ल्याग डाउन) रु ८० र त्यपछि प्रति दुई सय मिटरको रु १० तोकिएको छ । १५ किमीभन्दा बढीको दूरीमा प्रतिकिमी ३७ रुपैयाँ ५० पैसा कायम गरिएको थियो ।

मन्त्रालयको प्रशासन तथा यातायात व्यवस्थापन महाशाखाका पदाधिकारी भने विगतमा प्रतिबद्धता गरेको विषयलाई ट्याक्सी व्यवसायीले लागू गर्नुपर्ने बताउँछन् । ट्याक्सी मिटरमा नगुड्दा यात्रु ठगिइरहेको गुनासो मन्त्रालयसम्म पुग्ने गरेको छ । पोखराका ट्याक्सीले मनलाग्दी भाडा लिने प्रवृत्तिको अन्त्य गर्ने सम्बन्धित निकायहरूको प्रतिबद्धता भने पूरा हुनसकेको छैन ।

प्रदेश सरकार र ट्याक्सी व्यवसायीबीच भाडा समायोजनलगायत विषयमा भएका कतिपय समझदारी कार्यान्वयनमा नआई अलपत्र परेका छन् । उक्त सहमतिपत्रमा भाडा तिरेको बिल दिनुपर्ने, ट्याक्सीमा जिपीएस जडान गर्नुपर्ने, चालकको छुट्टै पोशाक हुनुपर्नेलगायत विषय उल्लेख थियो । पोखराका ट्याक्सी चालककले मनलाग्दी रूपमा यात्रुबाट भाडा लिने गरेको विषय केही महिनाअघि गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिमा समेत पुगेको थियो । समितिले पोखरामा चल्ने ट्याक्सीलाई मिटर प्रणालीमा सञ्चालन हुने व्यवस्था मिलाउन यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको समितिका सभापति भोजराज अर्यालले बताउनुभयो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने यात्रुले ट्याक्सीलाई चर्को भाडा तिर्नुपरेको गुनासो गरेपछि समितिले विमानस्थलदेखि राजमार्गसम्म निःशुल्क सटल बस सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न उक्त मन्त्रालयलाई निर्देशन दिएको थियो । ट्याक्सी भाडामा देखिएको मनोमानीको अन्त्यका लागि आफूले यातायात व्यवस्था मन्त्रालयका मन्त्रीलगायत पदाधिकारीसँग भेटेर पटकपटक छलफल गरेको सभापति अर्यालले बताउनुभयो ।

अवरुद्ध बेनी–दरबाङ सडक दश दिनपछि खुल्यो

गलेश्वर (म्याग्दी) ७ साउनः अवरुद्ध बेनी–दरवाङ सडक दश दिनपछि खुलेको छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतमा गत असार २८ गते पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

चौबीस किलोमिटर सो सडक पश्चिम म्याग्दीको ‘लाइफ लाइन’ मानिन्छ । सडक अवरुद्ध हुँदा आवतजावत, निर्माण र खाद्यान्न सामग्री ढुवानीका साथै बिरामीलाई अस्पताल पुर्याउन समस्या भएको थियो ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले भन्नुभयो, “सडकखण्डमा जोखिम टरेको छैन, वर्षात् र साँझबिहान आवतजावत गर्दा सतर्कता अपनाउन अनुरोध गरेका छाँै, पहिराले अवरुद्ध हुनेबित्तिकै पन्छाउने प्रयास गरे पनि पहिरो नरोकिएपछि यातायात अवरुद्ध भएका थिए । पहिरो पन्छाएपछि आइतबार साँझदेखि बेनी–दरवाङ सडक खुलेको छ ।”

मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले वैकल्पिक सडकलाई तत्काल बजेटको माग गरिएको र अबदेखि यात्रुलाई सास्ती नहुनेगरी काम गर्न सम्बन्धित निकायमा अनुरोध गरिएको बताउनुभयो ।

सडकदेखि करिब दुई सय मिटरमाथि र एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको जनाइएको छ । उक्त सडकखण्डमा फापरखेत र बाङ्ग्रेपहिरो मुख्य चुनौती मानिन्छ । पश्चिम म्याग्दीको धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई सदरमुकाम बेनीसँग सो सडकले जोड्छ ।

यसैबीच फापरखेतअन्तर्गतको बेनी–दरबाङ सडकको वैकल्पिक मार्ग खोजिने भएको छ । सांसद खमबहादुर गर्बुजाले उक्त सडकको वैकल्पिक मार्गको खोजी भइरहेको बताउनुभयो ।

उहाँले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत विभिन्न कार्यालय प्रमुखलाई जिल्लाको पहिरोका समस्या समाधान गरिदिन आग्रह गरेको जानकारी दिनुभयो । सडकमार्ग खोल्नुपूर्व नै पहिराको जोखिम थियो । पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा वर्षायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको छ ।

प्रसिद्ध तीर्थस्थल देवघाटधाममा आजदेखि बोलबम मेला सुरु

दमौली (तनहुँ- तनहुँको प्रसिद्ध तीर्थस्थल देवघाटधाममा आजदेखि सुरु हुने बोलबम मेलाको तयारी पूरा भएको छ । साउनको प्रत्येक सोमबार लाग्ने बोलबम मेलालाई भव्य र सभ्य बनाउन आवश्यक तयारी पूरा भएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।

साउनको प्रत्येक सोमबार देवघाटधाममा बोलबम मेला भर्न हजारौ भक्तजनको भीड रहने गर्दछ । मेलालाई व्यवस्थित बनाउन समितिले आवश्यक तयारी थालेको कार्यकारी निर्देशक सदन बरालले जानकारी दिनुभयो ।

बोलबम मेलालाई भव्य र व्यवस्थित बनाउन आज वृहत सरसफाई गरिएको छ । उक्त कार्यक्रममा देवघाटस्थित सङ्घसंस्था, आमा समूह, व्यक्तिहरुको सहभागिता रहेको थियो ।

मेलामा आउने भक्तजनको यातायात पार्किङको व्यवस्थापन वडा नम्बर ५ लाई, सुरक्षा व्यवस्थापन इलाका प्रहरी कार्यालय देवघाटलाई जिम्मा दिइएको कार्यकारी निर्देशक बरालले जानकारी दिनुभयो । गलेश्वर नजिक गएको पहिराका कारण आवतजावत बन्द रहेकाले त्यसको विकल्पमा पैदलमार्ग व्यवस्थापन गर्न गलेश्वर आश्रमलाई जिम्मा दिने निर्णय भएको छ ।

यस वर्ष साउन महिनामा चार वटा सोमबार परेको हुँदा उक्त चारै दिन ५० हजारभन्दा बढी भक्तजन मेला भर्न आउने अपेक्षा गरिएको छ । गत वर्ष मलमास परेका कारण बोलवम मेला नभएकाले यसवर्षको बोलवम मेलामा भक्तजनको सङ्ख्या बढ्ने अपेक्षा गरिएको जनाइएको छ ।

देवघाटमा हरेक वर्ष साउन महिनाको सोमबार बोलबम मेला लाग्ने गर्छ । साउन महिनामा देवघाटमा श्रावणी बोलबम मेला एउटा विशेष उत्सवको रुपमा मनाउने परम्पराको विकास हुँदै आएको छ । मुक्तिनाथबाट बगेर आएको कालीगण्डकी र गोसाइँकुण्डबाट बगेर आएको त्रिशुलीको सङ्गम वेणीमा बोलबमको अवसरमा स्नान गर्नाले भगवान शिव खुशी हुने र चर्मरोगहरु निको हुने जनविश्वास रहँदै आएको देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष शिवराज पौडेलले बताउनुभयो ।

‘समयानुकूल संविधान संशोधन आवश्यक छ’ : कमल थापा

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले संविधान संशोधन गर्ने नै हो भने धर्मनिरपेक्षा र सङ्घीयताबारे पुनःविचार गर्नुपर्ने जिकिर गुर्नभएको छ । राप्रपा नेपाल निकट मानवअधिकार तथा कानुन विभागद्वारा यहाँ आयोजित ‘नेपालको संविधान २०७२ ः ९ वर्षको अनुभव’ विषयक विचार गोष्ठीमा उहाँले देशलाई भ्रष्टाचारमुक्त गर्ने गरी शासकीय स्वरूप बदल्नुपर्ने धारणा राख्नुभयो ।

राप्रपा नेपालका वरिष्ठ नेता एवं वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले जनताको चेतनास्तर सँगसँगै संविधानलाई पनि समयानुसार संशोधन गर्नुपर्ने अवस्थाता औँल्याउनुभयो । वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीले पनि संविधानलाई समयानुकूल परिवर्तन गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।

यस्तै वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले वर्तमान निर्वाचन प्रणालीले देशमा भ्रष्टाचारलाई थप मलजल गरेकाले यस विषयमा गम्भीर समीक्षा गरेर अगाडि बढ्न आवश्यक रहेकामा जोड दिनुभयो । संविधान संशोधन गर्दा हिन्दू, बौद्ध, किरातलगायत सभ्यतालाई कायम राख्न उहाँले आग्रह गर्नुभयो । मानवअधिकार तथा कानुन विभागका महासचिव एवं अधिवक्ता भूपेन्द्रप्रसाद पोखरेलले सबैको सहमतिमा समय सान्र्दभिक संविधान संशोधन हुनुपर्ने धारणा राख्नुभयो ।

धरान उपमहानगरले ल्यायो एक अर्ब ८९ करोडको बजेट

धरान (सुनसरी) – धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । १५औँ नगरसभाको वैठकमा उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघाले रु एक अर्ब ८९ करोड ४३ लाख ४८ हजार दुई सय ८०को वार्षिक बजेट प्रस्तुत गर्नुभयो ।

बजेटमा रु ४२ करोड ९७ लाख छ हजार आन्तरिक स्रोत आय अनुमान गरिएको छ । साथै आन्तरिक राजस्वबाट रु ४८ करोड ४१ लाख ३४ हजार दुई ८०, सङ्घीय सरकार अनुदानबाट रु ८९ करोड १९ लाख, प्रदेश सरकार अनुदान छ करोड ४० लाख ६४ हजार सङ्घीय राजस्व बाँडफाँटबाट रु २१ करोड ३४ लाख प्रदेश राजस्व बाँडफाँटबाट रु २४ करोड आठ लाख ५० हजार प्राप्त हुने अनुमान गरिएको छ ।

बजेटमा सहरी योजना तथा भौतिक पूर्वाधार विकासका लागि रु ४५ करोड ८२ लाख २९ हजार, शिक्षा युवा तथा खेलकुदमा रु ४६ करोड २६ लाख ९५ हजार विनियोजन गरिएको छ । स्वास्थ्यमा रु आठ करोड तीन लाख ८४ हजार, सामाजिक विकासमा रु चार करोड ४१ लाख, आर्थिक विकासमा रु एक करोड ८४ लाख ९४ हजार, वन वातावरण ऊर्जा तथा विपद् व्यवस्थापनमा रु एक करोड ४० लाख, पर्यटनमा ९० लाख ५० हजार विनियोजन गरिएको छ ।

साथै सूचना तथा सञ्चारतर्फ रु २५ लाख ५० हजार, कानुन तथा न्याय सम्पादनतर्फ रु १० लाख, सार्वजनिक जग्गा संरक्षणका लागि रु २० लाख, राजश्व परिचालनमा रु २३ लाख, वडा पूर्वाधार निर्माणमा रु २५ करोड ७० लाख विनियोजन गरिएको छ ।

मेयर भिजन कार्यक्रममा रु पाँच करोड, उपमेयर भिजन कार्यक्रममा रु तीन करोड विनियोजनका साथै मेयर कोषमा रु एक करोड ८० लाख, उपमेयर कोषमा रु ७५ लाख विनियोजन गरिएको छ ।

कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ, ७ साउन : नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा (माले) लगायत विभिन्न समूहमा छरिएका कम्युनिष्ट पार्टीहरूले आज विभिन्न कार्यक्रम आयोजना गरी उहाँको योगदानको सम्झना गर्दैछन् ।

पुष्पलाल स्मृति प्रतिष्ठानले कीर्तिपुर–४ चम्पादेवीमा पुष्पलालको स्मृतिमा श्रद्धाञ्जलि सभा, गोष्ठीलगायत कार्यक्रम गर्ने जनाएको छ । कार्यक्रममा तत्कालीन निरंकुश जहानियाँ राणा शासनको अन्त्य गर्न विसं २००६ मा कोलकातामा कम्युनिष्ट पार्टीको स्थापना तथा मुलुकको कम्युनिष्ट आन्दोलनमा पुष्पलालले गरेको योगदान, त्याग र निष्ठाको आदर्शलाई समेटेर तयार गरिएको उहाँको जीवनीमा आधारित श्रव्यदृश्य सामग्री प्रस्तुत गरिने प्रतिष्ठानले जनाएको छ ।

यस्तै, विसं २००७ मा प्रजातन्त्र स्थापनाका लागि कम्युनिष्ट पार्टीले गरेको सङ्घर्ष तथा विभिन्न समयमा भएका प्रजातान्त्रिक आन्दोलनमा पार्टीले निर्वाह गरेको भूमिकाबारे जानकारी गराइने जनाइएको छ ।

प्रतिष्ठानका अध्यक्ष एवं नेपाल कम्युनिष्ट पार्टी एकीकृत माओवादीका अध्यक्ष माधवकुमार नेपालले कार्यपत्र प्रस्तुत गर्नुहुने छ । शान्तिपूर्ण आन्दोलनका साथै सशस्त्र सङ्घर्ष, कम्युनिष्ट पार्टीमा आएका विभाजन, कम्युनिष्ट एकताका प्रयास, कम्युनिष्ट नेतृत्वको सरकारले गरेका काम र जनमुखी कार्यक्रमबारे कार्यपत्रमा समेटिएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्म विसं १९८१ असार १५ मा रामेछापको भँगेरीमा भएको थियो भने विसं २०३५ साउन ७ गते भारतको अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको थियो ।

जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ २००६ मा नेकपाको स्थापना कोलकाताको श्याम बजारमा पुष्पलाल, नरबहादुर कर्माचार्य, नीरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको सक्रियतामा भएको थियो ।

विसं २०२५ मा पञ्चायती निरंकुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ अगाडि सार्ने पहिलो नेताका रूपमा पुष्पलाललाई मानिन्छ । सरकारले पुष्पलालको सम्मानमा राष्ट्रिय पुरस्कारसमेत स्थापना गरेको छ । उहाँकै नाममा पुष्पलाल मध्यपहाडी लोकमार्गसमेत निर्माण भइरहेको छ ।

एसिसी महिला एसिया कप क्रिकेट : नेपाल पाकिस्तानसँग पराजित

काठमाडौँ ६ साउनः एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ । श्रीलङ्काको दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भर्खरै सप्पन्न खेलमा नेपाल पाकिस्तानसँग नौ विकेटले पराजित भएको हो ।

जितको लागि नेपालले दिएको एक सय नौ रनको लक्ष्य पछाएको पाकिस्तान ११ दशमलव पाँच ओभरमा एक विकेट गुमाउदै लक्ष्य पूरा गर्यो ।

पाकिस्तानका लागि गुल फिरोजाले ३५ बलमा १० चौकाको मद्दतमा सर्वाधिक ५७ रन बनाइन् । यसैगरी मुनिबा अलीले अविजित ४६ रनमा बनाइन । नेपालका लागि एक मात्र विकेट कविता जोशीले लिइन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय आठ रन बनाएको थियो । नेपालको लागि कविताले २३ बलमा चार चौका र एक छक्काको सहयोगमा ३१ रन बनाइन् भने सीता रानामगरले २६, पूजा महतोले २५ र कविता कुँवरले १३ रन जोडे ।

पाकिस्तानका लागि सादिया इकबालले सर्वाधिक दुई विकेट लिइन भने फातिमा सानाले एक एक विकेट लिइन ।

यस खेलसँगै समूह ‘ए’ मा दुवै टोलीको दुई खेलबाट समान दुई दुई अङ्क जोडेका छ्न । पहिलो खेलमा नेपालले युएईलाई छ विकेटले हराउँदा पाकिस्तान भारतसँग सात विकेटले पराजित गरेको थियो । नेपालले समूह चरणको आफ्नो अन्तिम खेल यही साउन आठ गते भारतसँग खेल्नेछ ।

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

लुम्बिनी – लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि सोमबार अपराह्न ६ः३० बजेसम्म दाबी पेस गर्न आह्वान गर्नुभएको हो ।

यसअघि अल्पमतमा परेपछि मुख्यमन्त्री जोखबहादुर महराले आज बसेको प्रदेशसभा बैठकमा राजीनामा घोषणा गर्नुभएको थियो ।

केन्द्रमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको सहमतिअनुसार लुम्बिनीमा सरकारको नेतृत्व एमालेले गर्ने सहमति भएको छ । सोअनुसार लुम्बिनीमा एमाले संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी छ । एमालेको नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आज दुई दलको बैठकसमेत बसेको थियो । एमाले प्रमुख सचेतक तुलसी चौधरीले सोमबार पहिलो चरणमै दाबी पेस गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।

बङ्गलादेशबाट आज मात्र ४२० नेपाली विद्यार्थी फर्किए

काठमाडौँ । बङ्गलादेशमा जारी विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका नेपाली विद्यार्थीहरुमध्ये आइतबार मात्र चार सय २० जना स्वदेश फर्किएका छन् ।


आइतबार मात्र हवाईमार्गबाट एक सय १५ र बाँकी तीन सय पाँच जना काँकडभिट्टा नाका भएर नेपाली विद्यार्थी स्वदेश फर्किएका अध्यागमन विभागका महानिर्देशक कोषहरि निरौलाले जानकारी दिए ।


आजै बिहान ११ः३० मा ५७ जना नेपाली विद्यार्थी काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । उनीहरुलाई परराष्ट्र मन्त्रालयका अधिकारीले विमानस्थलमा स्वागत गरेका थिए ।


परराष्ट्र मन्त्रालयले स्वदेश फर्कन चाहने विद्यार्थीको सहजीकरण गरिरहेको छ । मन्त्रालयले बङ्गलादेशको राजधानी ढाकास्थित नेपाली दूतावासका अधिकारीहरुलाई नेपाली विद्यार्थीको सुरक्षित वातावरण तथा नेपाल फर्कन चाहनेका लागि आवश्यक समन्वय गर्न निर्देशन दिएको छ ।


        परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका नेपाली विद्यार्थीको सहयोगका लागि मन्त्रालयमा ‘हेल्प डेस्क’ स्थापना गर्न लगाउनाका साथै ढाकास्थित नेपाली दूतावाससँग आवश्यक समन्वय गर्न निर्देशन दिएकी छन् ।


परराष्ट्रमन्त्री डा राणा आफैँले ढाकास्थित नेपाली राजदूतावाससँग निरन्तर सम्पर्कमा रही त्यहाँ रहेका नेपाली विद्यार्थी एवं अन्य नेपाली नागरिक कुनै समस्यामा परेका भए उनीहरुलाई सहजताका लागि समन्वय गर्न र स्वदेश आउन चाहनेहरुका लागि आवश्यक वातावरण मिलाउन पनि उनले निर्देशन दिएकी छन् ।


परराष्ट्र मन्त्रालयले शनिबार सूचना जारी गरी त्यहाँ रहेका विद्यार्थीको सहजताका लागि आवश्यक सम्पर्क व्यक्तिसहित हेल्प डेस्कको व्यवस्था गरिएको जनाएको थियो ।


मन्त्रालयले समस्यामा परेका विद्यार्थी तथा अभिभावक एवं आफन्तका लागि आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि इमेल वा फोन नम्बरमा सम्पर्क गर्न एवं अनलाइन फाराम भर्न अनुरोध गरेको छ ।

किताब जात्राको छैटौँ संस्करण साउन तेस्रो साता

काठमाडौँ, ६ साउनः किताब यात्रा फाउन्डेसनको आयोजनामा ‘किताब जात्रा’को छैटौैँ संस्करण यही साउन १८ र १९ गते काठमाडाँैमा हुने भएको छ ।

“किताब जात्राको छैटौँ संस्करण घोषणा गर्न पाउँदा हामी निकै उत्साहित छौँ”, फाउन्डेसनका अध्यक्ष तथा महोत्सवका निर्देशक ऋषिराम अधिकारीले भन्नुभयो, “हामी दुई वर्षपछि फेरि भौतिक रूपमै महोत्सव आयोजना गर्दैछौँ ।”

महोत्सवका संयोजक विकेश भट्टराईका अनुसार जात्रामा साहित्य, आर्थिक, सामाजिक, कलालगायतका समसामयिक विमर्श पनि सञ्चालन गरिनेछ । उहाँले जात्राका अवसरमा काव्य सन्ध्या, पुस्तक प्रदर्शनी, स्टार्ट–अप प्रदर्शनी, ओपन–माइक, कला प्रदर्शनी, क्यालिग्राफी, रक्तदानजस्ता गतिविधि पनि आयोजना गरिनेछ । जात्रामा मिस्टिक नेपाल अवधारणामा आधारित सङ्गीत र कला क्षेत्रका विशिष्ट व्यक्तित्वको पनि प्रस्तुति रहनेछ।

जात्रामा रु एक लाख ११ हजार एक सय ११ राशिको ‘प्रेम साहित्य सम्मान’ पनि घोषणा गरिनेछ । उक्त सम्मान गत वर्ष साहित्यकार ध्रुवचन्द्र गौतमलाई प्रदान गरिएको थियो ।

लेखक र पाठकबीच अन्तरङ्ग विमर्श हुने जात्रामा यस वर्ष भाषा, साहित्य, चलचित्र, समाज, बैंकिङ्लगायतका विभिन्न क्षेत्रका व्यक्तित्व समावेश हुने १५ वटा सेसन रहने निर्देशक अधिकारीले जानकारी दिनुभयो । ‘सङ्गम श्रुति’ ब्यान्डको साङ्गीतिक प्रस्तुति पनि रहनेछ ।

बाढीपहिरोलगायतका विपद्मा परी १३० जनाको मृत्यु, नौ बेपत्ता

काठमाडौँ ।  अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायतका विपदमा परी आइतबार दिउँसोसम्म एक सय ३० जनाको मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार काठमाडौँ उपत्यकामा दुई जना, कोशी प्रदेशमा २२ जना, मधेस प्रदेशमा पाँच जना, बागमती प्रदेशमा २४ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा नौ जना गरी जम्मा एक सय ३० जनाको मृत्यु भएको छ ।

यसैगरी बाढी पहिराकै कारण आजसम्म काठमाडौँ उपत्यकामा नौ जना, कोशी प्रदेशमा ३४ जना, मधेस प्रदेशमा नौ जना, बागमती प्रदेशमा सात जना, गण्डकी प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा नौँ जना, कर्णाली प्रदेशमा ३३ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा एक सय ४४ जना घाइते भएका छन् ।

बाढी पहिरोमा परी कोशी प्रदेशमा दुई जना, मधेस प्रदेशमा एक जना, बागमती प्रदेशमा दुई जना, गण्डकी प्रदेशमा एक जना, लुम्बिनी प्रदेशमा एक जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा एक जना गरी नौ जना बेपत्ता भएका प्रवक्ता कार्कीले बताए । बेपत्ताको खोजी जारी रहेको प्रहरीको भनाइ छ ।

प्रवक्ता कार्कीले भने, ‘बाढीका कारण जम्मा एक सय ८२ घर डुबानमा परेका छन् । दुई सय २९ वटा घर, ८४ वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।’

बाढीपहिरा कै कारण आजसम्म पाँच सय ८९ वटा पशुचौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार नौ सय ९८ घरपरिवार विस्थापित भएका छन् ।

नेपालले पाकिस्तानलाई दियो १०९ रनको लक्ष्य


काठमाडौँ ६ साउन : एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तानलाई जितका लागि एक सय नौ रनको लक्ष्य दिएको छ ।

श्रीलङ्काको दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय आठ रन बनायो ।

नेपालका लागि कविताले उनले २३ बलमा चार चौका र एक छक्काको सहयोगमा अविजित ३१ रन बनाइन् । सीता रानामगरले २६, पूजा महतोले २५ र कविता कुँवरले १३ रन जोडे ।

पाकिस्तानका लागि सादिया इकबालले सर्वाधिक दुई विकेट लिइन भने फातिमा सानाले एक एक विकेट लिइन । पाकिस्तान अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

नेपालमा दैनिक ९७ सवारी दुर्घटना, औसतमा सातजनाको मृत्यु, ८८ घाइते

काठमाडौँ ।  नेपालमा प्रत्येक दिन औसत ९७ वटा सानाठूला सवारी दुर्घटना हुने गरेका छन् । ती दुर्घटनामा परी दैनिक औसत सात जनाले ज्यान गुमाउने तथा ८८ जना घाइते हुने गरेका छन् ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार गत वर्ष मात्रै ३५ हजार चार सय चार वटा सवारी दुर्घटना भएका छन् ।

ती दुर्घटनामा परी दुई हजार तीन सय ६८ जनाको मृत्यु भएको छ भने छ हजार एक सय ६० गम्भीर र २५ हजार नौ सय ९६ जना साधारण घाइते भएका छन् । सवारी दुर्घटनामा एक सय एक चौपायासमेत मरेका छन् ।

सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी बढी दुर्घटनामा पर्ने गरेको प्रहरीको तथ्याङ्क छ । गतवर्ष १९ हजार नौ सय ८४ मोटरसाइकल/स्कुटर, छ हजार आठ सय ३७ कार/जिप, दुई हजार एक सय ९३ बस, एक हजार पाँच सय २० साइकल/रिक्सा, एक हजार चार सय ६८ ट्रक/ट्याङ्कर, एक हजार चार सय ७४ टेम्पो/म्याजिक, सात सय ८३ ट्रयाक्टर र चार सय माइक्रोबस दुर्घटना भएका थिए ।

एक अर्ब ७५ करोड ट्राफिक राजस्व

ट्राफिक प्रहरीले गत वर्ष २२ लाख ९१ हजार आठ सय १७ वटा कारबाहीमा  एक अर्ब ७५ करोड ८१ लाख ८६ हजार सात सय ६० राजस्व सङ्कलन गरेको छ । गत वर्ष २४ लाख वटा ट्राफिक कारबाहीमा रु एक अर्ब ८८ करोड राजस्व सङ्कलन भएको थियो ।

१७ सय प्रहरीमाथि कारबाही

प्रहरीले सङ्गठनको आचरणविपरित काम गर्ने एक हजार सात सय एक प्रहरी कर्मचारीलाई कारबाही गरेको छ । कारबाहीमा पर्ने सबैभन्दा बढी प्रहरी जवान छन् ।

गतवर्ष तीन प्रहरी वरिष्ठ उपरीक्षक, एक प्रहरी उपरीक्षक, ११ प्रहरी नायब उपरीक्षक, २६ प्रहरी निरीक्षक, १६ प्रहरी वरिष्ठ नायब निरीक्षक, ४८ प्रहरी नायब निरीक्षक, एक सय १८ प्रहरी सहायक निरीक्षक, ६७ प्रहरी वरिष्ठ हवल्दार, दुई सय ८२ प्रहरी हवल्दार, तीन सय ३८ प्रहरी सहायक हवल्दार, सात सय ६४ प्रहरी जवान र २७ प्रहरी कार्यालय सहयोगीलाई कारबाही गरिएको प्रहरी प्रवक्ता कार्कीले जानकारी दिए ।

गतवर्ष प्रहरी अतिरिक्त महानिरीक्षकसहित आठ हजार आठ सय ३४ जनालाई पुरस्कृत गरिएको छ । सो वर्ष १२ वरिष्ठ प्रहरी अधिकृत, दुई सय ३५ कनिष्ठ प्रहरी अधिकृत र पाँच सय ४५ अन्य दर्जा गरी कूल सात सय ९२ जनाले राजीनामा दिएका छन् भने विभिन्न तहका पाँच सय ४४ जना अनिवार्य अवकाशमा गएका छन् ।

बोलिभिया र चिलीलाई जोड्ने अन्तर्राष्ट्रिय राजमार्गमा सडक दुर्घटनामा १६ जनाको मृत्यु


बोलिभिया र चिलीलाई जोड्ने अन्तर्राष्ट्रिय राजमार्गमा शनिबार भएको सडक दुर्घटनामा १६ जनाको मृत्यु हुनुका साथै अन्य १४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

चिलीसँगको देशको सीमाबाट बोलिभिया फर्कंदै गरेको मालवाहक ट्रकले चिलीको एरिका क्षेत्रतर्फ जाँदै गरेको यात्रुवाहक बसलाई ठक्कर दिएको ला पाज ट्राफिक परिचालन संस्थाको दुर्घटना विभागका निर्देशक निलो टोरिकोले बताउनुभयो ।

दुर्घटनामा घाइते सात महिला र सात पुरुषलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको छ । टोरिकोले उच्च टन भारको गाडीको चालक विपरीत लेनमा गएर बससँग ठोक्किएको बताउनुभयो । दुर्घटनामा दुवै सवारी साधनका चालकको मृत्यु भएको छ । प्रहरीले दुर्घटनाको अनुसन्धान गरिरहेको छ ।

गुरूप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइयो गुरू पूर्णिमा


काठमाडौँ, ६ साउन : प्राचीन गुरूकुल परम्पराबाट सुरू भएको गुरू पूर्णिमा पर्व आज गुरूप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइएको छ ।

प्रत्येक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिन जस्तै आज पनि गायत्री, दीक्षा, वेदमन्त्र सुनाउने र शिक्षा दिने गुरूजनप्रति सम्मान भाव प्रकट गरी मनाइएको हो । यस पर्वमा ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्ति ‘गुरू’ प्रति विशेष आदर गर्ने परम्परा छ । ‘गु’ को अर्थ अन्धकार र ‘रू’ को अर्थ प्रकाश भनेर बुझिन्छ । सोहीअनुसार गुरूलाई सम्मान गरिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख छ । यसर्थमा अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरू भनिन्छ । यस्ता गुरूलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको छ–
गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर: ।
गुरुः साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नम: ।।
अर्थात् गुरू ब्रह्मा, विष्णु र गुरु महेश्वर हुन्, गुरू साक्षात् पर ब्रह्म हुन्, यस्ता गुरूलाई नमस्कार छ । माता पिताजस्तै गुरूलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ अर्थात् गुरू देवता समान हुन् भनिन्छ ।

गुरू पूर्णिमाका अवसरमा आज विभिन्न विद्यालय एवं सङ्घ संस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने सबैप्रति श्रद्धाभाव प्रकट गरेका छन् । गुरू पूर्णिमाको अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–३ भद्रवासस्थित सहिद आदर्श क्याम्पसको हाताभित्र वृक्षरोपण गरिएको छ ।

क्याम्पसको २६ रोपनी क्षेत्रफलमा फैलिएको हाताभित्र सदाबहार प्रकृतिका विभिन्न बिरुवा रोपिएको क्याम्पस प्रमुख विष्णु फुयालले जानकारी दिनुभयो । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रामशरण ढुङ्गाना र वडा नं ३ का वडाध्यक्ष राममणि पुडासैनीले ग्रामीण क्षेत्रमा रहेको सहिद आदर्श क्याम्पसलाई विद्यार्थीको रोजाइको अध्ययन केन्द्र बनाउन प्रयास गरिएको बताउनुभयो ।

कार्यक्रममा काठमाडौँको उत्तरपूर्वी क्षेत्रमा शिक्षाको उन्नयनमा महत्वपूर्ण योगदान गर्नुहुने शिक्षासेवीलाई सम्मानसमेत गरिएको थियो । त्यस अवसरमा नेपाल महर्षि वैदिक फाउण्डेशनले दक्षिणकाली नगरपालिका–१ स्थित ब्रह्मानन्दनगरमा कार्यक्रम आयोजना गरेको थियो ।

मनाइयो व्यास जयन्ती

वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेद व्यासको सम्झनामा आजै व्यास जयन्ती मनाइएको छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिन्छ ।

व्यासले पुराण र उपपुराणका माध्यमबाट सारमा पाप र पुण्यका बारेमा यस्तो सन्देश दिन खोज्नुभएको धर्मशास्त्राचार्यहरुको तर्क छ–
‘अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम् ।
परोपकार पुण्याय पापाय परपीडनम्’ ।।
अर्थात् अरूको उपकार गरे धर्म हुन्छ एवं अरुलाई पीडा दिए पाप लाग्छ । पाँचौँ वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गर्नुभएको हो । जीवनमा केही सिकाउने, बाटो देखाउनेलाई सम्मान गर्ने परम्परा प्राचीन कालदेखि चल्दै आएको छ । यस्तो वैदिक गुरू परम्परालाई गुरूकुलले विशेष रूपमा निरन्तरता दिँदै आएका छन् ।

चीनको पुल भत्किँदा पीडितको खोजीमा हजारौँ

उत्तरपश्चिम चीनको सान्सी प्रान्तमा शुक्रबार साँझ राजमार्गको पुल भत्किँदा हजारौँ उद्धारकर्मी र स्थानीय स्वयंसेवकहरूले आफ्ना सवारी साधनहरू बाढीमा डुबेर बेपत्ता भएका मानिसहरूको खोजी गरिरहेका छन् ।

त्यहाँका स्थानीय अधिकारीहरूले घटनास्थलमा पेशेवर उद्धारकर्मीहरूको सङ्ख्या दिउँसो दुई बजेसम्म बढेर एक हजार छ सय ३० पुगेको बताएका छन् । यहाँ १२ जनाको मृत्यु भएको छ भने अन्य ३१ जना हराइरहेका छन् ।

दुई सय पाँच वाहन, ६३ जहाज र ८२ वटा ड्रोनको सहयोगमा उनीहरूले जिनटिछायन नदीको भत्किएको पुलमुनि ७० किलोमिटर क्षेत्रमा खोजबिन गरिरहेका छन् । खोजी कार्यमा एक हजार पाँच सयभन्दा बढी स्थानीय बासिन्दा पनि सामेल भएका छन् ।

यानपिङ गाउँको दुई नम्बरको पुलको ४० मिटर खण्ड राति ८ः४० बजेतिर खसेको थियो । शुक्रबार भारी वर्षापछि जिनछियान नदीमा बाढी आएको थियो ।नदीको बहाव सुस्त भएको र आइतबार पानीको सतह घटेकाले उद्धारकर्मीहरूलाई सवारी साधनको भग्नावशेषहरू सजिलैसँग पत्ता लगाउन सहज भएको भएको छ । आइतबार बिहान सिन्ह्वाका पत्रकारहरूले घटनास्थलको पाँच सय मिटर तल नदीको किनारबाट ट्रक निकालिएको देखेका थिए । हालसम्म खोजीमा चालक वा यात्रु भेटिएका छैनन् ।

हामी अन्तिम चरणमा पुग्दा तयार छौँ– पेरिस ओलम्पिक आयोजक


पेरिस ओलम्पिक सुप्रिमो टोनी एस्टान्गुएटले आइतबार खेल आयोजनाको प्रभावका बारेमा केही बासिन्दा र व्यवसायीहरूको गुनासोलाई बेवास्ता गर्दै सहर खेलका लागि ‘तयार’ रहेको बताउनुभएको छ ।

“हामी अन्तिम चरणमा पुग्दा तयार छौँ”, आगामी शुक्रबार उद्घाटन परेडभन्दा पाँच दिनअघि उहाँले पेरिसमा पत्रकार सम्मेलनमा भन्नुभयो, “समापन समारोह समाप्त नभएसम्म हामीले सतर्क रहन आवश्यक छ तर आज हामी ठिक त्यही स्थानमा छौँ जहाँ हामीले केही वर्षअघि सपना देखेका थियौँ ।”

सिटी अफ लाइटमा आयोजना स्थलहरूलाई अन्तिम रूप दिइएको छ तथा हजारौँ खेलाडी र अधिकारीहरू आइरहेका छन् । महिनौँको वर्षापछि मौसम पनि उज्यालो भएको छ ।

आयोजकहरूका लागि थप प्रोत्साहनका रूपमा सिन नदीको पानीको गुणस्तर पनि जुलाईको सुरुदेखि नाटकीयरूपमा सुधार भएको छ । उक्त नदीको प्रयोग आउटडोर ओलम्पिक पौडी कार्यक्रमहरूका लागि निर्धारण गरिएको छ ।

“यो स्तरमा सिनका लागि सबै सूचकहरू सकारात्मक छन्”, एस्टान्गुएटले भन्नुभयो । नदीले आगामी शुक्रबार उद्घाटन समारोह आयोजनाको तयारी गरेको छ । नदीमा छ हजारदेखि सात हजार खेलाडी ८५ वटा नौका र डुङ्गामा यात्रा गर्नेछन् ।

गृष्मकालीन ओलम्पिक मुख्य एथलेटिक्स स्टेडियमबाहिर खेलिने यो पहिलो पटक हुनेछ । यसमा तीन लाख टिकटसहितका दर्शकहरू स्ट्यान्ड र नदीको किनारबाट तथा दुई लाख दर्शकले अपार्टमेन्टहरूबाट हेर्ने अपेक्षा गरिएको छ । एस्टन्गुएटका अनुसार करिब चार हजार टिकट अझै पनि उपलब्ध छन् । “खेलहरूले फ्रान्सलाई चम्काउन सकुन् भनेर हामीले जहिले पनि सम्भव भएसम्म उच्चस्तरको महत्त्वाकांक्षा कायम राख्ने प्रयास गरेका छौँ”, उहाँले भन्नुभयो ।

अवरोध

नदी किनार र ओलम्पिक स्थलहरू वरपरका धेरै मानिसका लागि मध्य पेरिसको ठूलो भाग निषेध गरिएकाले उद्घाटन समारोहका लागि आवश्यक व्यापक सुरक्षा अभियानका कारण केही टकराव निम्त्याइरहेको छ ।

पेरिसका पसल, रेस्टुरेन्ट, बार र क्लबहरूको प्रतिनिधित्व गर्ने व्यापार समूहहरूले शुक्रबार ‘भारी सुरक्षा उपायहरू’ लाई दोष दिँदै ‘व्यापार र ग्राहकहरूको सङ्ख्यामा अभूतपूर्व गिरावट’ को सामना गर्नुपरेको गुनासो गरेका छन् ।

“पेरिस २०२४ को सफलता भनेको सहरमा खेलहरूको आयोजना हुनु हो भनेर हामीले सधैँ पूर्ण विवेकमा छनोट गरेका थियौँ”, एस्टान्गुएटले भन्नुभयो, “यो पेरिस २०२४ का लागि पूर्णरूपमा अभूतपूर्व अवधारणा थियो ।”

सहरको मुटुमा उद्घाटन समारोहका साथै अधिकांश खेल पेरिस वरपरका अस्थायी स्थानहरूमा हुँदैछन् । यसमा एफिल टावरमा बिच भलिबल, इनभलाइड्समा आर्चरी र प्लेस डे ला कन्कोर्डमा स्केटबोर्डिङ खेल समावेश छन् ।

“हामीले केही अवरोधबिना यो गर्न सक्तैनौँ, केही प्रतिबन्धबिना गर्न सक्तैनौँ, हामीले यी प्रतिबन्धको पूर्वानुमान लगाउने प्रयास गरेका छौँ र हामीले तिनीहरूलाई धेरैअघि सूचित गरेका छौँ”, एस्टान्गुएटले भन्नुभयो, “वास्तवमा यो हाम्रो मुलुकको सबैभन्दा राम्रो तरिकामा सम्मान हो भन्ने बुझ्नेलाई धन्यवाद दिएका छौँ ।”

सुरक्षा

फ्रान्सेली सुरक्षा बलका करिब ४५ हजार सदस्य शुक्रबार साँझ ७ः३० मा ओलम्पिक सुरु हुँदा ड्युटीमा हुनेछन् । एस्टान्गुएटले पेरिस २०२४ का लागि सुरक्षा पहिलो प्राथमिकता रहेको बताउनुभयो ।

साइबर सुरक्षा पनि प्रमुख चिन्ताको विषय बनेको छ । गत शुक्रबार क्राउडस्ट्राइक सफ्टवेयर अपडेटका कारण खेलहरूका लागि प्रयोग गरिएको मान्यता प्रणालीमा अस्थायी अवरोध उत्पन्न भएको थियो ।

रुसमाथि लगाइएका हालैका घटनाहरूपछि खेलकुदको महाकुम्भलाई निशाना बनाएर दुष्प्रचारका आक्रमणका लागि तयारी गरिरहेको अन्तर्राष्ट्रिय ओलम्पिक समितिले बताएको छ ।

अधिकांश खेलहरूले युक्रेनमाथि आक्रमणको जवाफमा रुसी र तिनीहरूका सहयोगीहरूमाथि प्रतिबन्ध लगाइएकाले १५ रुसी र १७ बेलारुसीलाई मात्र तटस्थका रूपमा प्रतिस्पर्धा गर्न मान्यता दिइएको छ ।

कैफियत देखिएका २० वटा व्यापारिक फर्ममाथि मुद्दा दायर

सुदूरपश्चिम, ६ साउन : खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलालीले २० वटा व्यापारिक फर्मविरुद्ध मुद्दा दायर गरेको छ ।

कार्यालयले कैफियत देखिएका खाद्यपदार्थका नमूनाको अनुसन्धान प्रक्रिया पूरा गरी खाद्य ऐन तथा दाना ऐन बमोजिम कारबाही गर्न जिल्ला प्रशासन कार्यालय कैलालीमा नौ, जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा सात, जिल्ला अदालत कैलालीमा तीन र जिल्ला अदालत कञ्चनपुरमा एक गरी २० वटा व्यापारिक फर्ममाथि मुद्दा दायर गरेको जनाएको छ ।

यसबाहेक थप १९ उद्योगी व्यवसायीसँग बयान लिने काम भइरहेको कार्यालयले जनाएको छ । खाद्यपदार्थको स्वच्छता र गुणस्तर नियमन गर्नका लागि कार्यालयले गत वर्ष खाद्यबजार तथा रेस्टुरेण्ट अनुगमन गर्ने क्रममा कैफियत देखिएका रु १५ लाख ८७ हजार आठ सय नौ मूल्य बराबरका सामान जफत गरी नष्ट गरिएको कार्यालय प्रमुख हरेराम प्रधानले जानकारी दिनुभयो ।

कार्यालयले आज यहाँ आयोजना गरेको प्रगति समीक्षा गोष्ठीमा उहाँले गत वर्ष कार्यालयले गरेको गतिविधिले खाद्यवस्तुको स्वच्छता एवं गुणस्तर कायम गर्न टेवा पुगेको बताउनुभयो । कार्यालय प्रमुख प्रधानले गत वर्ष तीन सय ४९ वटा खाद्य तथा दाना उद्योगको दर्ता सिफारिस, अनुज्ञापत्र जारी तथा नवीकरण गरिएकोे जानकारीसमेत दिनुभयो ।

कार्यालयले खाद्य स्वच्छता एवं गुणस्तर कायम गर्न खाद्य ऐन तथा दाना ऐनअनुरूप उद्योग, बजार तथा होटेल रेस्टुरेण्ट अनुगमन गर्ने क्रममा शङ्कास्पद नमूना सङ्कलन गरी कारबाही प्रक्रियाअघि बढाउँदै आएको छ ।

खाद्य अनुसन्धान अधिकृत हरिसिंह बोहराले अनुगमन निरीक्षणका लागि साधनस्रोत अभाव तथा प्रयोगशाला व्यवस्थापनका लागि स्थान अभावले उपलब्ध उपकरण प्रयोगमा ल्याउन नसकिएल थप कार्य गर्न कठिनाइ भएको बताउनुभयो ।

सुदूरपश्चिम प्रदेश कार्यक्षेत्र रहेको खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलाली मातहतमा डडेल्धुरा, डोटी र बैतडीमा डिभिजन कार्यालय सञ्चालनमा छन् ।

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसले भोलि दाबी पेस गर्ने

बागमती, ६ साउन : बागमती प्रदेशसभा, नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले भोलि बिहान मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गर्नुभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठन गर्न आह्वान गरेसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा लामाले मुख्यमन्त्रीमा दाबी पेस गर्न लाग्नुभएको हो ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको आजै पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्नुभएका प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न साउन ८ गते साँझ ५ बजेसम्मको समय तोक्नुभएको छ ।

कांग्रेस संसदीय दलका नेता लामाले भोली नै दाबी पेश गर्ने तयारी भएको जानकारी दिनुभयो । “दुई दलबीच पहिला नै मुख्यमन्त्रीमा कांग्रेसले दाबी पेस गर्ने सहमति भइसकेको छ”, उहाँले भन्नुभयो, “नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरु भइसकेकाले भोली बिहान बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको दाबी पेस गर्छु ।”

बङ्गलादेशबाट काँकडभिट्टा हुँदै एकैदिन स्वदेश फर्किए दुई सयभन्दा बढी नेपाली विद्यार्थी

झापा । बङ्गलादेशमा अशान्ति बढेपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरु काँकडभिट्टाको स्थलमार्ग हुँदै स्वदेश फर्किएका छन् । आइतबार मात्रै दुई सयभन्दा बढी विद्यार्थी काँकडभिट्टा नाका हुँदै सकुशल नेपाल भित्रिएका हुन् ।

“पछिल्लो दुई दिनको तुलनामा आइतबार विद्यार्थीको आगमन बढेको हो”, अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहन पनेरुले भने, “विद्यार्थीहरु विहानैदेखि आइरहेका छन् ।” उनीहरुलाई छिटोभन्दा छिटो अध्यागमन प्रक्रिया पूरा गरेर घर जाने वातावरण मिलाइरहेको उनले जानकारी दिए ।

बङ्गलादेशमा विद्यार्थीको आन्दोलन हिंसात्मक भएपछि विगत सात दिनदेखि नेपाली विद्यार्थीहरु स्वदेश फर्किने क्रम सुरु भएको हो । सात दिनमा काँकडभिट्टा नाका हुँदै स्वदेश फर्किने विद्यार्थीको सङ्ख्या सात सयभन्दा बढी रहेको अध्यागमन प्रमुख पनेरुले बताए ।

आइतबार दिउँसो काँकडभिट्टा आइपुगेकी रंगपुर कम्युनिटी मेडिकल कलेजकी एमबीबीएस छात्रा भावना राईले नेपाली समुदायका चार सयभन्दा बढी विद्यार्थीलाई कलेजले आफ्नो बसमा ओसारेर भारतको सीमानाका फुलबारीमा ल्याइदिएको बताइन् ।

विद्यार्थी ओसार्न प्रयोग गरिएको कलेजको बसलाई बङ्गलादेश सरकारले सुरक्षा दिएको थियो । “कलेजका प्राध्यापक र  कर्मचारीहरु पनि भारतको सीमासम्म हामीलाई पुर्याउन आउनु यो”, उनले भनिन्, “कफ्र्यु लागेको अवस्थामा बङ्गलादेशबाट भारत प्रवेश गर्न सफल भयौँ ।”

आज मात्रै नौ वटा बसमार्फत एकै भारतीय सीमानाकासम्म आएका रंगपुर मेडिकल कलेज र प्राइम मेडिकल कलेजका विद्यार्थीमध्ये धेरैजसो दार्जीलिङ, सिक्किम र सिलिगुढी क्षेत्रका भएको उनले जानकारी दिइन् । केही विद्यार्थी भुटानबाट समेत आएका थिए ।

रंगपुर कम्युनिटी मेडिकल कलेजमा एमबीबीएसमा अध्ययनरत् समृद्ध थापाले स्वदेश फर्किने हतारका कारण आज सबै विद्यार्थी भोकै रहेको बताए ।

काठमाडौँ निवासी उनले भने, “एक हप्तादेखि होस्टेलबाट बाहिर निस्कन पाएका थिएनौँ । सडकमा दिनहुँ गोली चलेको आवाजले हाम्रो मुटु हल्लिन्थ्यो । कहिले घर जान पाइएला जस्तो भएको थियो । आज खाना खाने फुर्सद पनि भएन । काँकडभिट्टा आइपुग्दा भोक र तिर्खा सबै हरायो । ढुक्क भइयो ।”

उत्तरी बङ्गलादेशको विभिन्न मेडिकल कलेजमा अध्ययनरत् नेपाली विद्यार्थीहरु नजिकको दूरी भएकाले काँकडभिट्टाबाट स्वदेश फर्किरहेका हुन् ।  काँकडभिट्टा आइपुग्ने वित्तिकै उनीहरुले परिवारसँग फोन र इन्टरनेट सम्पर्क गरी आफू सकुशल रहेको खबर गरेका थिए ।

सुर्खेत घर भएका रेणुका गुरुङले बङ्गलादेशमा फोन र इन्टरनेट बन्द भएपछि अत्यास लागेको अनुभूति सुनाइन् । नयाँ विद्यार्थीहरुलाई सम्झाउन गाह्रो भएको उनको भनाइ थियो

उनले भनिन्, “आज विहान चार बजे कलेजबाट हिँडेका थियौँ । शिक्षकहरुले हामीलाई भारतको सीमासम्म ल्याउन सहयोग पुर्याउनु भयो । जुस र पानी मात्र पिएर हामी काँकडभिट्टा आइपुग्यौं ।”

बङ्गलादेशस्थित कलेजले त्यहाँको सुरक्षा निकायसँग समन्वय गरेर भारतीय सीमानाका फुलबारीसम्म ल्याइदिएको कञ्चनपुरकी रक्षा भण्डारीले बताइन् । विद्यार्थीहरुले बङ्गलादेशको बङ्गलाबन्ध, भारतको फूलबारी र पानीट्याङ्की नाकामा अध्यागमन प्रक्रिया पूरा गरेपछि मात्र नेपाल आउन पाउँछन् ।

पानीट्याङ्की नाकाबाट ई–रिक्सा र ट्याक्सी चढेर उनीहरु सिधै काँकडभिट्टस्थित अध्यागमन कार्यालयमा आइपुग्छन् । अध्यागमन प्रक्रिया सकेर उनीहरु झापा, इलामलगायतका नजिकका जिल्लाबासी भए गाडी रिजर्भ गरेर घर जाने गरेका छन् ।

काठमाडौँ र त्योभन्दा पश्चिमका विद्यार्थीहरु भद्रपुर विमानस्थलबाट हवाईमार्ग हुँदै घर जाने गरेका छन् । कतिपय अभिभावकहरु छोराछोरी लिन काँकडभिट्टाको अध्यागमन परिसरमै पुग्ने गरेका छन् । बङ्गलादेशको फरिदपुरस्थित मेडिकल कलेजमा एमबीबीएसमा अध्ययनरत् प्रतिभा नायकलाई लिन उनका आमावुवा अध्यागमन परिसरमै घण्टौं कुरेका थिए ।

‘नयाँ सरकारले जनताको आशालाई विश्वासमा परिणत गर्नसक्छ’

काठमाडौँ, ६ साउनः प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा वर्तमान सरकार गठन भएपछि जनतामा आशा र उत्साहको सन्देश प्रवाह भएको विभिन्न राजनीतिक दलका नेता तथा सांसदहरुले प्रतिक्रिया दिनुभएको छ ।

प्रतिनिधिसभाबाट प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीको जिज्ञासामा उहाँहरुले वर्तमान राज्यसत्तामा सरकारको राम्रो पकड भएकाले राष्ट्रियता, आर्थिक अनुशासन कायम र सुशासन प्रवर्द्धन गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

एमालेका नेता योगेशकुमार भट्टराईले नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको सहमति तथा अरु दलको सहयोग र समर्थनमा बनेको वर्तमान सरकारका अगाडि अर्थतन्त्रलाई सकरात्मक दिशा दिने, लगानीको वातावरण बनाउने र रोजगारीको अवसर बढाउने ऐतिहासिक कार्यभार र दायित्व रहेको बताउनुभयो ।

विदेश पलायन भएका जनशक्तिलाई देशभित्रै रहने वातावरण बनाउनेलगायतका केही मुख्य जिम्मेवारी रहेको बताउँदै उहाँले भन्नुभयो, “असाधारण ढङ्गले असाधारण काम गर्नका लागि हामी एक ठाउँमा आएका हौँ ।”

नेता भट्टराईले देशभित्र जनतामा आत्मविश्वास बढाउने, दलकाबीचमा सहमति निर्माण गर्ने गरी संविधानको पुनरावलोकन र समिक्षा गर्दै आवश्यक परेमा संशोधन समेत गर्ने समेत दायित्व रहेको बताउनुभयो ।

नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्रप्रसाद पाण्डेले आजको वर्तमान परिस्थितीलाई ध्यानमा राखी मुलुक र जनहितमा उठेको प्रश्न र समस्या समाधान गर्नेतर्फ नयाँ सरकारको ध्यान जान आवश्यक रहेको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “विश्वासको मत लिने सिलसिलामा सदनमा आफूले राखेका कुरालाई सम्बोधन गरी सबैलाई विश्वासमा लिएर अघि बढने विषयलाई ख्याल गर्नूपर्छ । भ्रष्टाचार नियन्त्रण र सुशासनमा जोड दिनुपर्छ ।”

नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकमा राजनीतिक अस्थिरता हटाउन साना दलको समेत सहभागितामा गठन भएका सरकारमा लोकतन्त्रप्रतिको गहिरो सम्मान र प्रतिबद्धता रहेको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “मुलुकमा लोकतन्त्र स्थापनाका लागि जतिपनि भएका आन्दोलनको नेतृत्व गरेको राजनीतिक परिवर्तन आन्दोलनको नेतृत्व गरेका प्रमुख दलबीचको सहकार्यले राजनीतिक स्थिरता, विकास र समृद्धिमा गुणात्मक अन्तर आउँछ ।”

नयाँ सरकार गठन भएसँगै अर्थतन्त्र चलायमान हुने तथा निजी क्षेत्रको आत्मविश्वास बढ्ने सङ्केत देखिएको बताउँदै नेता महतले भन्नुभयो, “वर्तमान सरकार सफल हुन्छ । चुनौती धेरै छन्, त्यसलाई पन्छ्याउन धेरै मेहनत र समन्वयका साथ काम गर्नुपर्छ अनि जनताको आशा विश्वासमा परिणत हुन्छ ।”

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का नेत्री एवमं पूर्वमन्त्री रेखा शर्माले सरकारले गर्ने कामको गुण र दोषका आधारमा प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पश्चगमनमा जाने कुरालाई समर्थन गर्दैनौ । त्यसको डटेर मुकाबिला गर्छौ । सकारात्मक काममा रचनात्मक सहयोग गर्छौ ।”

ललितपुर महानगरले पुरानो डेनिस दमकल मर्मतपछि सञ्चालनमा ल्यायो

पाटन (ललितपुर), ६ साउन : ललितपुर महानगरपालिकाले एक सय छ वर्ष पुरानो डेनिस दमकल (जुद्ध बारुण यन्त्र) आजबाट सञ्चालनमा ल्याइएको छ । महानगर क्षेत्रमा हुनसक्ने आगलागीको सम्भावित जोखिममा परिचालन गर्नका लागि महानगरपालिकाले एक सय छ वर्ष पुरानो डेनिस दमकल मर्मत गरेर सञ्चालनमा ल्याएको हो ।

ललितपुरका मेयर चिरीबाबु महर्जनले विगत ४२ वर्षदेखि यसको पार्टस नपाएको कारणले थन्काएर राखेको अवस्था रहेकोमा अहिले अमेरिकाबाट पार्टहरु मगाएर मर्मत गरी सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।

“विगत ४२ वर्षदेखि यसको पार्टस नपाएको कारणले दमकल चलेको थिएन । थन्क्याएर राखेको थियो । ७३–७४ सालमा दमकल लिलामीमा राखियो । त्यो सूचना पाउने साथ झिक्यौँ । अमेरिकामा यसको पार्टस भेटियो र अहिले सञ्चालमा ल्याइएको छ”, प्रमुख महर्जनले भन्नुभयो । पुरानो ऐतिहासिक दमकलको चक्काहरु कहिले पनि पञ्चड नहुने र सिसाहरु पनि नफुट्ने प्रमुख विशेषता रहेको उहाँले जानकारी गराउनुभयो ।

डेनिस फायर इन्जिनलाई दक्ष मेकानिक्स मध्येका एक मोहनप्रसाद नकर्मीले सफलतापूर्वक मर्मत गर्नुभएको हो। उहाँले यसलाई १० महिना लगाए मर्मत गर्नुभएको जानकारी गराइएको छ । ललितपुर महानगरपालिकाका १०६ बर्ष पुरानो दमकललाई मर्मतपछि सञ्चालनमा आएको दमकललाई तीन सय लिटर पानी भरेर आजबाट उपत्यकाको तीनवटै जिल्लाका सहर घुमाइएको महानगरप्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी गराउनुभयो ।

यो दमकल बेलायतले उपहार दिएकामध्येकै हो । त्यतिबेला बेलायतले तीन वटा दमकल नेपाललाई दिएको थियो । डेनिस कम्पनीको सो दमकल अब नियमित प्रयोगमा आउने छ । योसँगै महानगरमा दमकलको सङ्ख्या सात पुगेको छ ।

बिपी चिन्तन वर्तमानमा पनि उत्तिकै सान्दर्भिक

गण्डकी, ६ साउन : ४२औँ बिपी स्मृति दिवसका अवसरमा बिपी स्मृति पुुस्तकालय, गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित कार्यक्रममा बिपी विचार वर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेकामा जोड दिइएको छ ।

‘नेपाल, बिपी कोइराला, वर्तमान राजनीति र पठन संस्कृति’ विषयक गोष्ठीमा वक्ताहरूले युुगजयी विचारका माध्यमबाट बिपी कोइरालाले पुु¥याउनुुभएको योगदान अतुलनीय रहेको बताउनुुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुुरेन्द्रराज पाण्डेले तत्कालीन समयमा बिपीले अघि सार्नुुभएका विचार अहिले पनि उत्तिकै सान्दर्भिक भएको बताउनुुभयो । त्यही विचार र दूरदृष्टिका कारण स्व कोइरालाको छवि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रूपमा उचो उहाँको भनाइ थियो ।

मुख्यमन्त्री पाण्डेले राजनीतिक अस्थिरताका कारण मुलुकलाई गन्तव्यमा पुु¥याउन असहज हुने गरेको बताउनुहुँदै समृद्धि र विकासका लागि राजनीतिक स्थिरता पहिलो सर्त भएको उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शारदा पौडेलले बिपी कोइराला बहुआयामिक व्यक्तित्व भएको चर्चा गर्नुुभयो ।

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले बिपीका समयमा भारत, चीन जस्ता देशहरूले नेपाललाई हेर्ने दृष्टिकोण उच्चस्तरको भएको उल्लेख गर्नुहुँदै त्यसलाई कायम राख्न नसकिएको जिकिर गर्नुभयो । उहाँले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएकाले बिपीले सारेको आदर्श तथा सिद्धान्तबाट विचलित हुनु नहुनेमा जोड दिनुुभयो ।

वरिष्ठ अधिवक्ता तिलक पराजुुलीले स्व कोइराला कांग्रेसका मात्र नभइ सबैको गुुरू भएको धारणा राख्नुभयो । उहाँले पछिल्लो समय पठन संस्कृति हराउँदै जान थालेकाले बिपीबाट पठन संस्कृति सिक्नुुपर्नेमा जोड दिनुुभयो ।

बिपी स्मृति पुस्तकालय, गण्डकी प्रदेशका अध्यक्ष माधवप्रसाद बाँस्तोला (मधु) को सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री यज्ञबहादुुर थापा, नेपाली कांग्रेस गण्डकी प्रदेशका सहमहामन्त्री कोपिला रानाभाट, दीपेन्द्र पराजुुली, प्रा डा कुसुमाकर पराजुुली, शिव त्रिपाठीलगायतले बिपी कोइरालाको योगदान, विद्यमान पठन संस्कृतिलगायत विषयमा चर्चा गर्नुभएको थियो ।

सञ्चारमन्त्री गुरुङ र अमेरिकी राजदूत थम्सनबीच शिष्टाचार भेट, के के भयो कुराकानी ?

काठमाडौँ, ६ साउन : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत डिन थम्सनबीच आज शिष्टाचार भेट भएको छ ।

भेटमा उहाँहरूबीच नेपाल—अमेरिका द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । त्यसक्रममा सूचना प्रविधिको विकास, साइबर सुरक्षा, प्राकृतिक विपत्तिमा प्रविधिको प्रयोग र नेपालको शान्ति तथा समृद्धिका बारेमा छलफल भएको मन्त्री गुरुङको सचिवालयले जनाएको छ ।

त्यस अवसरमा मन्त्री गुरुङले प्राकृतिक विपत्तिको सामना, पर्वतारोहणका क्रममा हुने दुर्घटनामा उद्धार तथा खोज, सूचना प्रविधिको विकासमार्फत समृद्धि हासिल गर्ने विषयमा सहकार्य गर्न नेपाल तयार रहेको बताउनुभएको थियो । उहाँले रोजगारी सिर्जना र सूचना प्रविधिको विकास तथा विस्तारमार्फत पलयान हुँदै गएको युवा जनशक्तिलाई नेपालमै उपयोग गर्नेलगायत विकास प्राथमिकताका क्षेत्रमा मिलेर काम गर्न सकिने उल्लेख गर्नुभएको थियो ।

राजदूत थम्सनले मन्त्री गुरुङलाई कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दै सूचना प्रविधि क्षेत्रको विकास र विस्तारका लागि अमेरिकी सरकार नेपाललाई सहयोग गर्न तयार रहेको बताउनुभयो ।

इजराइलले हुथी विद्रोहीमाथि आक्रमण गरेको केही घन्टापछि यमनबाट प्रहार गरिएको क्षेप्यास्त्र खसाल्यो


इजराइली युद्धक विमानहरूले यमनमा धेरै हुथी लक्ष्यहरूमा आक्रमण गरेको केही घन्टापछि आइतबार बिहानै यमनबाट प्रहार गरिएको क्षेप्यास्त्रलाई रोकेको इजराइली सेनाले बताएको छ ।

तेल अभिवमा घातक हुथी ड्रोन आक्रमणको जवाफमा इजराइलले हवाई आक्रमण गरेको थियो । इजराइलले हमासविरुद्धको आफ्नो नौ महिनाको युद्धका क्रममा बारम्बार हुथी आक्रमणहरूको जवाफ दिएको यो पहिलो पटक थियो ।

टाढाका शत्रुहरूबीचको हिंसाको विस्फोटले यस क्षेत्रमा इरानी प्रोक्सीहरूको शृङ्खलासँग लड्ने क्रममा इजराइलले नयाँ मोर्चा खोल्ने धम्की दिएको छ ।

इजराइली सेनाले शनिबार राति हुथीको गढ रहेको पश्चिमी यमनी बन्दरगाह सहर होदेइदाहमा हवाई आक्रमण गरेको पुष्टि गरेको छ । सयौँ हुथी आक्रमणको जवाफमा अमेरिका–निर्मित एफ–१५ र एफ–३५ युद्धक विमानहरूमार्फत आक्रमण गरिएको सेनाले बताएको छ ।

इजराइलले अमेरिका, बेलायत र यस क्षेत्रमा अन्य पश्चिमी सहयोगीसँग मिलेर करिब सबै हुथी क्षेप्यास्त्र र ड्रोनहरूलाई रोकेको छ । तर शुक्रबार बिहानै एउटा हुथी ड्रोन इजराइलको हवाई प्रतिरक्षामा प्रवेश गरेर इजराइलको व्यावसायिक तथा सांस्कृतिक राजधानी तेल अभिवमा दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको थियो ।

इजराइली सेनाले शनिबारको आक्रमण इजराइलबाट करिब एक हजार सात सय किलोमिटर आफ्नो हवाई सेनाले सबैभन्दा जटिल र सबैभन्दा लामो दूरीको कारवाहीमध्येको एक थियो भनेको छ । सेनाले यमनमा इरानी हतियार पुर्याउन प्रयोग गरिने बन्दरगाहमा आक्रमण गरेको बताएको छ ।

सानाको स्वास्थ्य मन्त्रालयले होदेइदाहमा भएको आक्रमणमा प्रारम्भिक सङ्ख्यामा ८० जना घाइते भएको र तीमध्ये अधिकांश गम्भीररूपमा जलेको बताएको छ । इजराइली आक्रमणबाट सहरको बन्दरगाहमा भीषण आगो लागेको थियो ।

“अहिले होदेइदाहमा लागिरहेको आगो पूरा मध्यपूर्वमा देखिएको छ र यसको महत्त्व स्पष्ट छ”, इजराइलका रक्षामन्त्री योभ ग्यालेन्टले भन्नुभयो । उहाँले आवश्यक परे कुनै पनि स्थानहरूमा यस्तै प्रकारका आक्रमण गरिने वाचा गर्नुभयो ।

अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूह हमासको आक्रमणलगत्तै गाजामा जारी इजराइली आक्रमणपछि हमाससँग ऐक्यबता जनाउँदै इजराइलमाथि आक्रमण गर्ने धेरै इरानी समर्थित समूहमध्ये हुथी पनि एक हो ।

हमाससँग लड्नेबाहेक इजराइली सेना लेबनानमा हिजबुल्लाह लडाकू समूहसँग दैनिक झडपमा संलग्न भएको छ । झडपहरूले लडाइँ लेबनान र त्योभन्दा बाहिर पूर्ण युद्धमा परिवर्तन हुनसक्ने चिन्ता बढाएको छ ।

देशभर एक हजार छ सय ५७ जनामा डेङ्गु सङ्क्रमण

काठमाडौँ, ६ साउनः पछिल्लो समय देशभर लगातार पानी परिरहेकाले डेङ्गु सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका एक हजार छ सय ५७ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

मन्त्रालयले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएकाले मनसुनको समयमा लामखुट्टेको प्रजनन अवस्था अनुकूल बन्नसक्ने र डेङ्गुको सङ्क्रमण पनि बढ्नसक्ने आँकलन गरिएको उहाँले बताउनुभयो । उहाँले मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गुको सङ्क्रमण फैलिएको जानकारी दिनुभयो ।

सबैभन्दा बढी काठमाडौँ जिल्लामा एक सय ९६ जनामा डेङ्गु देखिएको छ । त्यसपछि झापामा एक सय २८ र चितवनमा ९२ जनामा सङ्क्रमण देखिएको डा दाहालले बताउनुभयो । वर्षाकाबेला पानी सङ्कलन गरेर राख्ने, सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भन्दै त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गुको सङ्क्रमण बढेको उहाँले उल्लेख गर्नुभयो ।

उपत्यकामा २५५ जनामा सङ्क्रमण

उपत्यकामा दुई सय ५५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । काठमाडौँमा एक सय ९६, भक्तपुरमा ३५ र ललितपुरमा २४ जनामा देखिएको हो । “पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ । त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेङ्गु रोग लाग्दछ”, रोग शाखाका प्रमुख डा दाहालले भन्नुभयो । डेङ्गु सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभयो ।

डेङ्गुबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु रहेकाले आफ्नो घर वरिपरि तथा कार्यस्थलमा सफा पानी जमेको ठाउँमा लामखुट्टेले फुल पार्ने भएको हुँदा पानी जम्न नदिने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, जुनसुकैबेला झुलको प्रयोग गर्ने र पूरै शरीर छोपिने लुगा लगाउनेजस्ता कुरामा ध्यान दिनुपर्दछ ।

सङ्क्रमितलाई कसरी हेरचाह गर्ने

सङ्क्रमितलाई झुलभित्र मात्र आराम गराउने वा सुताउने, सङ्क्रमितको हेरचाहमा खटिँदा पूराबाहुला भएको लुगा लगाउने, लामखुट्टे धूप, कोइला व लिक्विड बाल्ने, घरभित्र लामखुट्टे छिर्न नदिन घरको झ्याल ढोकाम जाली लगाउने र घर वरपर पानी जम्न नदिनेजस्ता उपाय अपनाउनु डा दाहालले जानकारी दिनुभयो ।

लक्षणहरु

उच्च ज्वरो आउने, जोर्नी तथा मांसपेशी बेस्सरी दुख्नु, आँखाको गेडी बेस्सरी दुख्नु, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु तथा बान्ता हुनुजस्ता लक्षण देखा पर्दछन् । एक्कासी उच्च ज्वरो आउने, बान्तामा रगत देखापर्ने, नाक वा गिँजाबाट रगत, रक्तश्राव धेरै पेट दुखाइ, श्वासप्रश्वासमा समस्या र बेहोस हुनेजस्ता लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा जान मन्त्रालयले अनुरोध गरेको छ ।

चितवन राष्ट्रिय निकुञ्ज प्रभावितलाई दुई करोड बढी राहत

चितवन, ६ साउनः चितवन राष्ट्रिय निकुञ्ज आसपासमा बसोबास गर्ने जनतालाई रु दुई करोड दुई लाख १७ हजार सात सय दुई राहत प्रदान गरिएको छ । निकुञ्जले आठ सय १३ वटा घटनाका प्रभावितलाई सो रकम वितरण गरेको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षको विभिन्न समयमा वन्यजन्तुले पु¥याएको क्षतिको मूल्याङ्कन गरी राहत रकम वितरण गरिएको हो । उहाँका अनुसार वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका १० जनाको परिवारलाई रु एक करोड राहत रकम हस्तान्तरण गरिएको छ । यस्तै गम्भीर घाइते भएका २४ जनाको परिवारलाई रु ३२ लाख ४४ हजार एक सय ७४ र सामान्य घाइते भएका २३ जनाको परिवारलाई रु दुई लाख ४५ हजार चार सय ६८ हस्तान्तरण गरिएको छ ।

उहाँका अनुसार वन्यजन्तुको आक्रमणबाट ४७ जना घाइते भएका छन् । उनीहरुमध्ये हात्तीको आक्रमणबाट १३ जना, गैँडाको आक्रमणबाट २० जना, बाघको आक्रमणबाट सात जना, भालुको आक्रमणबाट पाँच जना, बँदेलको आक्रमणबाट एक जना र गौरीगाईंको आक्रमणबाट एक जना घाइते भएका थिए ।

यसैगरी गैँडाको आक्रमणबाट पाँच जना, बाघको आक्रमणबाट तीन जना र मगर गोहीको आक्रमणबाट दुई जनाको मृत्यु भएको उहाँले बताउनुभयो । गत आवमा एक सय ८७ वटा पशु धनमा जनावरका कारण क्षति पुगेको छ । त्यसका लागि रु २४ लाख ९१ हजार सात सय १० राहत रकम प्रदान गरिएको छ ।

भण्डारण गरेको अन्नमा १२ पटक क्षति गरेको र सोवापत रु ९१ हजार राहत बुझाइएको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । वन्यजन्तुले ३३ वटा घरगोठमा क्षति पु¥याएको उहाँले बताउनुभयो । घरगोठ क्षतिवापत रु पाँच लाख ३५ हजार नौ सय ७५ राहत वितरण गरिएको छ । अन्नबालीमा पाँच सय २४ पटक क्षति भएको र रु ३६ लाख नौ हजार तीन सय ७५ राहत रकम हस्तान्तरण गरिएको तिवारीले बताउनुभयो ।

बर्सेनि अपराधका घटना किन बढिरहेका छन् ?


काठमाडौँ, ६ साउन: बर्सेनि अपराधका घटनामा वृद्धि हुँदै गइरहेको प्रहरीको तथ्याङ्कले देखाएको छ । नेपाल प्रहरीले उपलब्ध गराएको पछिल्लो चार आर्थिक वर्षका तथ्याङ्कले अपराधको सङ्ख्या बर्सेनि बढ्दै गएको पुष्टि गर्छ ।

आर्थिक वर्ष २०७७/७८ मा देशभर विभिन्न प्रकृतिका ४० हजार एक सय २० अपराधिक घटनाको मुद्धा दर्ता भएकामा गत आव २०८०/८१ सम्म आइपुग्दा त्यो सङ्ख्या बढेर ५९ हजार दुई सय तीन पुगेको छ । आव २०७८/७९ मा ४६ हजार नौ सय दुई र आव २०७९/८० मा ५६ हजार तीन सय २३ मुद्धा प्रहरीमा दर्ता भएका छन् ।

अघिल्लो आवको तुलनामा गत आवमा पाँच दशमलव ११ प्रतिशतले मुद्धा दर्ता वृद्धि भएको छ । गत वर्ष सबैभन्दा बढी काठमाडौँ उपत्यकामा १७ हजार ४५ मुद्धा दर्ता भएको प्रहरीले जनाएको छ । पछिल्लो समय सबैभन्दा धेरै आर्थिक अपराध देखिएको छ । चेक अनादरको मुद्धा बढी मात्रामा दर्ता भएका छन् । काठमाडौँ उपत्यकामा आर्थिक गतिविधि केन्द्रित हुँदा आर्थिक अपराधको घटना बढेको प्रहरीको भनाइ छ ।

मधेसमा नौ हजार छ सय २०, कोशीमा नौ हजार तीन सय ७८, लुम्बिनीमा सात हजार छ सय ४४, बागमतीमा पाँच हजार एक सय ९७, गण्डकीमा चार हजार छ सय ९८, सुदूरपश्चिममा तीन हजार छ सय एक र कर्णालीमा दुई हजार २० वटा आपराधिक घटनाको मुद्धा दर्ता भएका छन् ।

गत वर्ष सबैभन्दा बढी १३ हजार दुई सय ६३ बैङ्किङ कसुरसम्बन्धी मुद्धा दर्ता भएका प्रहरीको तथ्याङ्क छ । सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकतासम्बन्धी १० हजार सात सय ५६, आत्महत्या सात हजार एक सय ९४, लागुऔषध चार हजार तीन सय ९८, चोरी तीन हजार सात सय ५८, जबरजस्ती करणी दुई हजार पाँच सय सात, ठगी एक हजार आठ सय ७४, सवारी ज्यान एक हजार सात सय ७५ र ज्यान मार्ने उद्योगसम्बन्धी एक हजार १९ वटा मुद्धा दर्ता भएका छन् ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्की भूमण्डलीकरणले ल्याएको परिवर्तन, प्रविधि विकास तथा आर्थिक गतिविधि अत्यन्त चलायमान भएका कारण परम्परागत प्रकृतिका अपराधका तुलनामा आर्थिक र साइबर अपराधका घटना बढेका बताउनुहुन्छ ।

“परम्परागत प्रकृतिका अपराध खासै बढेका छैनन्, विगतमा आर्थिक कारणले अन्य अपराध हुन्थे, अहिले त्यसको स्वरुप बदलिएको छ, आर्थिक नै अपराधका रुपमा वृद्धि भएका छन्”, प्रहरी प्रधान कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “आर्थिक अपराध गाउँमा छैनन्, जहाँ आर्थिक गतिविधि बढी हुन्छन्, त्यहाँ आर्थिक अपराधका मुद्धा बढी दर्ता भएका छन् ।”

पछिल्लो समय प्रविधिको विकासँगै अपराधको स्वरुप पनि बदलिएको उहाँको भनाइ छ । प्रवक्ता कार्कीले नेपाल प्रहरी अपराधका घटना न्यूनीकरण गर्न र अपराधीलाई कानुनी दायरामा ल्याउन निरन्तर क्रियाशील रहेको बताउनुभयो । “समुदाय–प्रहरी साझेदारीअन्तर्गत साइबर सुरक्षा तथा सडक दुर्घटना र आत्महत्या न्यूनीकरणलगायतका घटना हुन नदिन प्रयास थालिएको छ”, उहाँले भन्नुभयो ।

आफ्नो करियरकै फरक कन्टेन्टमा फिल्म इश्वर बनेको निर्देशक गिरीको दाबी

काठमाडौं । निर्देशक राजु गिरी निर्देशित फिल्म ‘ईश्वर’यही साउन ११ गतेबाट दर्शकमाझ आउँदैछ । निर्देशक राजु आफ्नो करियरकै फरक कन्टेन्टमा यो फिल्म बनेको दाबी गर्छन् ।राजुका अनुसार फिल्मको नाम झट्ट सुन्दा धार्मिक भए पनि फिल्मले धार्मिक कुरालाई उठान नगरेको बताउँछन् । ‘ईश्वर भन्नासाथ सबैले भगवान सम्झन्छन् । तर फिल्ममा ईश्वर भनेको एउटा क्यारेक्टर हो । त्यो अहिले खुलाउन मिल्दैन । एउटा इमान्दार प्रहरीले आफ्नो कर्तव्य निर्वाह गरिरहँदा एक नेताको पावरले जागिर छोड्नुपर्ने भएपछिको परिदृश्य फिल्ममा छ’, राजु भन्छन् ।

राजुका अनुसार प्रहरीको जागिर छोडेपछि ‘ईश्वर’ पात्रले गाउँ गएर बर्दी बिनाको प्रहरीको काम गर्छ । ‘पेशाबाट ऊ अलग्गिए पनि गाउँमा उसले बर्दी बिनाको प्रहरी भएर काम गर्छ । उसले गाउँमा भ्रष्टचारी, घुसखोरीहरु विनाश गर्छ’, राजुले भने ।

राजु कन्टेन्टको हिसाबले अहिलेसम्मको आफ्नो फिल्महरु भन्दा ‘ईश्वर’ फरक रहेको दाबी गर्छन् । ‘समाजमा घटिरहेका राजनीतिक, भ्रष्टाचार, समाजमा बढ्दो जातीय छुवाछुतविरुद्धको कथा यसमा छ’, राजु भन्छन्, ‘ईश्वर जस्तो मान्छे प्रत्येक गाउँमा जन्मनुपर्छ । त्यस्तो मान्छे जन्मियो भने मात्र देशको विकास हुन्छ भन्ने सन्देश फिल्मले दिन्छ ।’

फिल्मको केही महिना अघि पोखरामा प्रिमियर गरिएको थियो । फिल्म हेर्न पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य पनि आएका थिए । ‘उहाँ पाँच मिनेटका लागि मात्र फिल्म हेर्न आउनु भएको थियो । तर पुरा फिल्म हेरेर जानुभयो । फिल्मको कथावस्तु आफूलाई मनपरेको बताउनुभयो’, राजुले सम्झिए ।

राजु ‘ईश्वर’ प्रत्येक जनता र नेताले हेर्नुपर्ने बताउँछन् । ‘जनताले नेतालाई कसरी सुधार्छन् भन्ने बुझ्नका लागि पनि यो फिल्म हेर्नुपर्छ’, उनी भन्छन्, ‘मलाई यस्तो कन्टेन्टमा फिल्म बनाउन सकें भनेर गर्व लागिरहेको छ ।’

देशलाई माया गर्ने दर्शकहरुले ‘ईश्वर’ हेर्नुपर्ने निर्देशक राजु दाबी गर्छन् । ‘फिल्म हेरिसकेपछि दर्शकले देश बनाउने निकायमा हुने भ्रष्टाचारलाई अन्त्य गरौं, समाज रुपान्तरण गरौं भन्ने सन्देश पाउँछन् । फिल्मले जो नेपाली हो, नेपालीले आफू नेपाल बनाउन र बचाउन सक्नुपर्छ भन्ने सन्देश दिन्छ’, उनले भने ।

ड्रेस टू इम्प्रेसको दशौं संस्करणमा जिज्ञासा, खुश्बु, सिलु र इन्द्रवती सर्वोत्कृष्ट

काठमाडौं- फेसन डिजाइनरका विद्यार्थीहरुले आफूद्वारा तयार पारिएका विविधतापूर्ण पहिरनहरु आफैँले प्रदर्शन गर्ने विशेषता बोकेको प्रतिस्पर्धा ‘ड्रेस टु इम्प्रेस’ को दशौं संस्करण शनिवार काठमाडौंमा सम्पन्न भएको छ ।

आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा छ महिनाको कोर्ष पूरा गरेका १ सय २६ जना फेसन डिजाइनिङका विद्यार्थीहरुबीच भएको ‘ड्रेस टु इम्प्रेस सिजन–१०’ विभिन्न चार विधामा चार जना डिजाइनरहरुलाई सर्वोत्कृष्ट भएका छन् । प्रतिस्पर्धामा सहभागि डिजाइनरहरुलाई विभिन्न चार समुहमा विभाजन गरिएको थियो । पारामेट्रिक प्यालेस, मेगलफोबिक, क्यारिङ अवे इन डेजाभू तथा माइथोलोकिल गार्डेन गरि चार समुहमा विभाजन गरिएको प्रतियोगिता अन्तर्गत चार वटै विधाबाट एक–एक जना डिजाइनरको डिजाइन सर्वोत्कृष्ट भएको हो ।

प्रज्ञा प्रतिष्ठानमा आयोजित यो फेसन प्रतियोगितामा ‘पारामेट्रिक प्यालेस’ विधातर्फ प्रतिस्पर्धि नम्बर ३ जिज्ञासा श्रेष्ठ सर्वोत्कृष्ट भइन् । उनले डिजाइन गरेको सेतो रङको पहिरन सर्वोत्कृष्ट भएको हो । ‘मेगलफोबिक’ शीर्षकको दोस्रो विधामा प्रतिस्पर्धि नम्बर ३६ खुश्बु सेवा सर्वोत्कृष्ट भइन् । उनले डिजाइन गरेको आकर्षक शैलीको पहिरनले प्रतिस्पर्धाका निर्णायकसंगै दर्शकको समेत मन जितेको थियो ।

तेस्रो विधा थियो– ‘क्यारिङ अवे इन डेजाभू’। यो विधामा प्रतिस्पर्धि नम्बर ७७ सिलु बज्राचार्यले बाजी मारिन् । ‘माइथोलोजिकल गार्डेन’ शीर्षकको चौथो विधामा भने प्रतिस्पर्धि नम्बर ११३ ईन्द्रावती क्षेत्रीले डिजाइन गरेको पहिरन सर्वोत्कृष्ट भयो ।

समारोहमा आईआईएफटीबाट फेसन डिजाइनिङ कोर्ष पुरा गरेका ७६ जना विद्यार्थीहरुलाई ग्राजुएसन सर्टिफिकेट प्रदान गरिएको थियो । लोकप्रिय डिजाइनर यूबि थापाले उनीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

चारै जना विजेताहरुले नगद पुरस्कार प्राप्त गरे । विजेताहरुलाई कार्यक्रमका सभापति वरिष्ठ फोटो पत्रकार तथा गीतकार हरि गोपाल प्रधानसहित निर्णायकहरुको समुहले नगद पुरस्कार, प्रमाणपत्र, स्यास हस्तान्तरण गरेका थिए । आईआईएफटीबाट पासआउट भएका एक सयभन्दा बढी डिजाइनरहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको यो प्रतिस्पर्धामा गायक उदय सोताङ, पत्रकार कृष्ण भट्टराईका साथमा डिजाइनरहरु कुसुम पदम श्रेष्ठ, महेश महर्जन, निशा श्रेष्ठ, गीता मिश्र तथा सुष्मा सिंह निर्णायकको रुपमा रहेका थिए ।

प्रतियोगितामा मिस नेपाल वर्ल्ड २०२३ श्रीच्छा प्रधान, व्यवसायी सुरबहादुर श्रेष्ठ, प्रदिपमान प्रधान, रोजल शाही, विज्ञापन विशेषज्ञ विवेक श्रेष्ठ, सञ्चारकर्मी उज्वल जंग शाह, अधिवक्ता लक्ष्मण महर्जन, सौन्दर्यकर्मी सुष्पमा महरा, निर्देशक अनिल योञ्जन, सञ्चारकर्मी अरुणा भट्टराई, डिजाइनर यूबि थापा, फोटा पत्रकार प्रदिप राज वन्त, निर्माता हरि मल्ल ठकुरी, इन्टरप्रेनर शाहरुख हुसेन, राजनीतिककर्मी उज्वल कृष्ण श्रेष्ठ, डा.करीना भट्टराई आदि अथितिको रुपमा उपस्थित भएका थिए ।

आईआईएफटीका प्रवन्धक निर्देशक फूपु तेन्जिङ शेर्पाले ‘ड्रेस टु इम्प्रेस’ कार्यक्रमलाई आईआईएफटीको नियमित कार्यक्रम भएको बताउँदै आईआईएफटीका विद्यार्थीको क्षमता अभिवृद्धिका लागि यो प्रतिस्पर्धा आयोजना गरिएको बताए ।

फेसन डिजाइनिङका विद्यार्थीहरुले हप्तौंदेखिको मेहनत लगाएर तयार पारेका आकर्षक तथा मौलिक पहिरनको प्रदर्शनसहितको ‘ड्रेस टु इम्प्रेस’ ले फेसन पारखीलाई नविनतम् फेसनको बारेमा जानकारी दिनुका साथै सर्वसाधारणमाझ फेसनको क्रेजसमेत बढाउने आईआईएफटीका निर्देशक शिवलाल श्रेष्ठको भनाइ छ ।

काठमाडौंको बागबजारस्थित बागबजार प्लाजा, कमलादीस्थित हेरिटेज प्लाजा तथा ललितपुरको कुमारी पाटीमा रहेको आईआईएफटीले फेसन डिजाइनिङसँग इन्टेरिय कोर्ष अध्यापन गराउँदै आएको छ । आईआईआएफटीबाट सयौँको संख्यामा फेसन डिजाइनर उत्पादन भइसकेका छन् ।

मुख्यमन्त्री सिंहद्वारा प्रदेशका मन्त्रालयमै छड्के अनुगमन

जनकपुर, ६ साउन : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारी कार्यालयमा कर्मचारीको लापरबाही बढेको जनगुनासोपछि ११ वटा मन्त्रालयमै छड्के अनुगमन गर्नुभएको छ ।

आज निरीक्षण तथा अनुगमन गर्नुहुँदै उहाँले त्यसक्रममा अधिकांश कार्यालयका कर्मचारीले समयमा हाजिर नगर्ने, स्वीकृति नलिएर बिदा बस्ने जस्ता समस्या रहेको पाइएको जानकारी दिनुभयो ।

प्रदेश सरकारकै मन्त्रालयका कर्मचारीले त्रुटि गरेको भेटिएपछि पत्र लेखेर जवाफ मारिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कार्यालय समय सुरू भएलगतै मुख्यमन्त्री सिंहले ११ वटै मन्त्रालयको निरीक्षण गर्नुभएको हो ।

इराकले टर्कीबाट विद्युत् आयात गर्ने

इराकले आइतबार टर्कीबाट नयाँ विद्युत् लाइनमार्फत उसको उत्तरी प्रान्तमा विद्युत् ल्याउने बताएको छ । दीर्घकालीन विद्युत् कटौतीलाई कम गर्न मुलुकको ऊर्जा स्रोतहरूमा विविधता ल्याउने लक्ष्य रहेको अधिकारीहरूले बताएका छन् ।

प्रधानमन्त्री कार्यालयको विज्ञप्तिअनुसार एक सय १५ किलोमिटर लाइन मोसुलको पश्चिम किसिक विद्युत् संयन्त्रसँग जोडिएको छ र टर्कीले इराकको उत्तरी प्रान्तहरू निनवेह, सलाह अल–दिन र किर्कुकमा तीन सय मेगावाट विद्युत् उपलब्ध गराउनेछ । 

प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीले नयाँ लाइन इराकलाई छिमेकी मुलुकहरूसँग जोड्ने ‘रणनीतिक’ कदम भएको बताउनुभयो । विद्युत् मन्त्रालयका प्रवक्ता अहमद मौसाले लाइन आजदेखि सञ्जालनमा आएको जानकारी दिनुभयो ।

दशकौँको युद्धले इराकको पूर्वाधारलाई दयनीय अवस्थामा छाडेको छ । भीषण गर्मीमा तापक्रम प्राय ५० डिग्री सेल्सियससम्म पुग्दा विद्युत् कटौतीले अवस्था अझ खराब हुन्छ । कतिपय घरमा प्रतिदिन केही घन्टाका लागि मात्र विद्युत् हुन्छ र खर्च गर्न सक्नेहरूले फ्रिज र एयर कन्डिसनर चलाउन निजी जेनेरेटरको प्रयोग गर्दछन् । 

विशाल तेल भण्डारका बाबजुद इराक आफ्नो ऊर्जा आवश्यकताहरू पूरा गर्न आयातमा निर्भर छ । इराक ऊर्जा आयातका लागि विशेषगरी छिमेकी इरानमा निर्भर छ तर इरानले नियमितरूपमा आपूर्ति कटौती गर्दछ । 

प्रधानमन्त्री सुदानीले बारम्बार विद्युत् कटौतीलाई कम गर्न इराकले ऊर्जा स्रोतहरूमा विविधता ल्याउनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ । इरानी ग्यासमा आफ्नो निर्भरतालाई कम गर्न बगदादले खाडी मुलुकहरूसँग आयातलगायत धेरै सम्भावनाको खोजी गरिरहेको छ ।     मार्चमा जोर्डनबाट इराकको दक्षिण–पश्चिममा अल–रुतबासम्म विद्युत् ल्याउनका लागि तीन सय ४० किलोमिटर विद्युत् प्रसारण लाइनको सञ्चालन सुरु भएको छ ।