`

आइओसीद्वारा इटालीमा हुने शीतकालीन युवा ओलम्पिक खेलकुद २०२८ को प्रस्ताव

अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले शनिबार इटालीमा सन् २०२८ शीतकालीन युवा ओलम्पिक खेलहरू (वाइओजी) का लागि प्रस्ताव जाँच गर्न गर्न इटालेली ओलम्पिक समितिलाई लक्षित वार्तामा आमन्त्रण गरेको छ ।

आइओसी कार्यकारी बोर्डले डोलोमिटी भाल्टेलिना र लोम्बार्डी, ट्रेन्टिनो र भेनेटोका क्षेत्रीय साझेदारहरूलाई शीतकालीन वाइओजीको अर्को संस्करणका लागि रुचाइएको आयोजकको रूपमा तोकेको छ । यो परियोजना सन् २०२६ मिलानो–कोर्टिना शीतकालीन ओलम्पिक खेलहरूको विरासतमा आधारित हुनेछ ।

   यसका लागि आयोजक आयोगले परियोजनाका सबै रणनीतिक र प्राविधिक तत्वहरूको विश्लेषण गर्ने र यस वर्षको अन्त्यमा आइओसी कार्यकारी बोर्डलाई रिपोर्ट गर्नेछ । युवा ओलम्पिक खेलहरू आयोजना गर्नका लागि सबै आवश्यकताहरू पूरा भएमा डोलोमिटी भल्टेलिना २०२८ लाई भविष्यको आइओसी सत्रद्वारा चुनावका लागि अगाडि बढाइनेछ । 

बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

बागमती, ६ साउन : बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको दिनुभएको राजीनामा स्वीकृत गर्नुहुँदै प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि साउन ८ गते साँझ ५ बजेसम्मको समय तोक्नुभएको छ ।

नयाँ राजनीतिक समीकरणअनुसार सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने भन्दै मुख्यमन्त्री जम्कट्टेलले आज दिउँसो प्रदेश प्रमुख शर्मालाई राजीनामा पत्र बुझाउनुभएको थियो ।

प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री जम्कट्टेलको राजीनामा स्वीकृत गरी अर्काे सरकार गठन नहुञ्जेलसम्म उहाँलाई काम चलाउ मुख्यमन्त्रीको जिम्मेवारी दिनुभएको छ ।

मुख्यमन्त्रीमा दाबी पेश गर्दै कांग्रेस

नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले यहाँ मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गर्नुभएको छ । उहाँले नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा मुख्यमन्त्री नियुक्तका लागि दाबी पेश गर्ने तयारी गर्नुभएको हो ।    “दुई दलबीच पहिला नै मुख्यमन्त्रीमा कांग्रेसले दाबी पेस गर्ने सहमति भइसकेको छ”, लामाले भन्नुभयो, “कांग्रेस संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्रीका लागि मेरो दाबी पेस हुन्छ, त्यसका लागि आवश्यक तयारी भइरहेको छ ।”

नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरू भइसकेकाले बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा कांग्रेस नेता लामाले दाबी पेस गर्ने तयारी भइरहेको एमाले प्रदेशसभा संसदीय दलका नेता जगन्नाथ थपलियाले जानकारी दिनुभयो ।

सरकारले मुलुक र जनताको समस्यालाई केन्द्रमा राख्नुपर्छ : सांसदहरू

काठमाडौँ, ६ साउन : नागरिक उन्मुक्ति पार्टीका सचेतक गङ्गाराम चौधरीले सङ्घीय लोकतान्त्रिक शासन प्रणालीको प्रभावकारी कार्यान्वयन गर्दै जनतालाई परिवर्तनको अनुभूति दिलाउनेतर्फ सबै गम्भीर हुनुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राख्नुुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको छलफलमा भाग लिनुहँदै उहाँले कमैया, गरिब, दलित, जनजातिको समस्या समाधान गर्न सरकार जिम्मेवारीपूर्वक लाग्नुपर्ने खाँचो औँल्याउनुभयो । सचेतक चौधरीले संविधान संशोधन हुनुपर्छ भन्ने पार्टीको स्पष्ट धारणा रहेको बताउनुभयो । उहाँले नागरिकले अपेक्षा गरेको स्थिर सरकारका लागि पार्टीले प्रधानमन्त्री ओलीको पक्षमा मतदान गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

  नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पटक–पटक सत्तामा पुग्ने पार्टी र नेतृत्वले आफँैले गरेका सहमति र सम्झोताअनुरूप जनताको पक्षमा काम गर्न नसकेको जिकिर गर्नुभयो । उहाँले आर्थिक समानता, सामाजिक न्याय र शान्तिको पक्षमा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सांसद सुवालले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने जानकारी गराउनुभयो ।

  राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले मुलुकमा सुशासन प्रवर्द्धन र आर्थिक समृद्धिको यात्रालाई अगाडि बढाउन वर्तमान सरकार गम्भीर भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले जनताका समस्यालाई सम्बोधन गर्न सबै राजनीतिक दलहरू जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो । सांसद केसीले अहिलेको परिस्थितमा प्रधानमन्त्रीलाई विश्वास मत नदिने पार्टीको निर्णय रहेको स्पष्ट पार्नुभयो ।

  आम जनता पार्टीका सांसद प्रभु साहले मुलुकमा विद्यमान समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । ठूला राजनीतिक दलले राजनीतिक स्थायित्व, शान्ति, सुशासन र समृद्धिका लागि जिम्मेवार भएर लाग्नुपर्ने उहाँको भनाइ थियो । उहाँले अहिलेको अवस्थामा प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसकिने बताउनुभयो ।

 स्वतन्त्र सांसद डा अमरेसकुमार सिंहले परिवर्तनको आकाङ्क्षालाई पूरा गर्दै मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले आमजनताको समर्थन रहेको अहिलेको सरकारलाई असफल हुने छुट नरहेको बताउनुहुँदै प्रधानमन्त्रीको पक्षमा विश्वासको मत दिने निर्णय गरेको बताउनुभयो ।

  सांसद योगेन्द्र मण्डलले पनि वर्तमान सरकारले मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले संस्थागत प्रणालीको विकास गर्दै शिक्षा, रोजगारी, कृषि उत्पादन प्रवर्द्धन सरकारको प्राथमिकता हुनुपर्ने बताउनुभयो ।

रहरले नभई आवश्यकताले संविधान संशोधनः प्रधानमन्त्री ओली

काठमाडौँ, ६ असारः प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनीय दस्तावेज रहेको र जनताको आवश्यकतालाई मध्यनजर गर्दै परिमार्जन गर्न सकिने बताउनुभएको छ ।प्रतिनिधिसभाको आजको बैठकमा उहाँले विश्वासको मत प्राप्त गर्न राख्नु भएको प्रस्तावको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री ओलीले आवश्यकता र औचित्य पुष्टि हुनेगरी सकभर सर्वसम्मतिबाट संविधान संशोधन हुने बताउनुभएको हो ।

“संविधान संशोधनीय, गतिशील र जीवन्त दस्ताबेज हो । यो आवश्यकता र जनताको मागअनुसार संशोधन हुन्छ । संशोधन रहरको विषय होइन । आवश्यकताको विषय हो”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “कुनै आग्रह पुर्वाग्रह राखेर संविधान संशोधन यस्तो-उस्तो गर्ने भन्दैनौ । देशको आवश्यकता, विकासका माग सम्बोधनका लागि जे गर्दा उपयुक्त त्यहि गर्नुपर्छ ।”

संसदमा रहेका सबै दलको सहमतिको साथ नै संविधान संशोधन हुने अपेक्षा प्रधानमन्त्री ओलीले व्यक्त गर्नुभयो । “संविधान निर्माणका बखत पनि सर्वसम्मत भएको थिएन । पहिलो संशोधनका बेला पनि सर्वसम्मति थिएन । जो जसका जे जस्ता विचारधारा भएपनि हामी एक ठाउँमा आउन सक्छौँ । यदि आउन सकिएन भने संविधानले आफ्नो प्रक्रिया आफ्नो निर्धारण गरेको छ”, उहाँले भन्नुभयो ।  

देश र जनताको हितको पक्षमा तथा अग्रगमनको पक्षमा रहनेगरी संविधान संशोधन प्रक्रिया अघि बढ्ने उहाँको भनाइ छ । त्यस्तै, लोकतन्त्रको रक्षा र सुदृढीकरण, सुशासन प्रवद्र्धन र विकास तथा समृद्धिका लागि संविधान संशोधन हुने प्रधानमन्त्री ओलीले भन्नुभयो ।

संसदमा आएका राम्रा सुझावलाई ग्रहण गर्ने र आक्रोश, उत्तेजना तथा गालीगलौजलाई आफूले बिर्सिने प्रधानमन्त्रीले बताउनुभयो । त्यस्तै भ्रष्टाचार नगर्ने र गर्न नदिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । प्रतिशोधको राजनीति आफूले नगर्ने र आफूलाई पनि सह्य पनि नहुने उहाँले बताउनुभयो ।

मुलुक र जनताको चाहनाअनुसार संविधान संशोधन गर्नुपर्छः नेता महतो

काठमाडौँ, ६ साउन : जनता समाजवादी पार्टीका नेता वीरेन्द्रप्रसाद महतोले मुलुकमा भ्रष्टाचार र अनियमितताले जरो गाडेको र जनताले सहज रूपमा सेवा नपाउने अवस्था रहेकाले त्यसमा तत्काल सुधार जरूरी रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको छलफलमा माग लिनुहुँदै महतोले भ्रष्टाचारको जरो चौतर्फी रूपमा फैलिइरहेकाले त्यसलाई नियन्त्रणका लागि सबै राजनीतिक दल एक भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले पार्टी र आफ्नो स्वार्थभन्दा माथि उठेर मुलुकको समस्या समाधानका लागि सबैपक्षको साझा सहमतिमा जोड दिनुभयो । मुलुक र जनताको चाहनाअनुसार संविधान संशोधन गर्नुपर्नेमा भन्नुहुँदै उहाँले प्रधानमन्त्री ओलीले पछिल्ला दिनमा राख्नुभएको विचारको पक्षमा रहेको धारणा राख्नुभयो ।

सांसद महतोले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने जानकारी दिनुहुँदै जनतालाई चाहिने न्यूनतम आवश्यकता सम्बोधन गर्न सरकार कटिबद्ध हुने विश्वास व्यक्त गर्नुभयो । सरकारले राम्रो काम गर्नेमा आफू र आफ्नो पार्टी आशावादी रहेको पनि नेता महतोले उल्लेख गर्नुभयो ।

सरकारविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने

काठमाडौँ, ६ साउनः सर्वोच्च अदालतले वर्तमान सरकार गठन गर्दा संविधानको गलत धारा प्रयोग भएको उल्लेख गर्दै दायर गरिएको रिट निवेदन संवैधानिक इजलासमा पठाउने आदेश गरेको छ ।

 न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आज रिट निवेदनमा उठाइएको विषयवस्तु गम्भीर संवैधानिक व्याख्याको प्रश्न भएकाले उक्त विवाद संवैधानिक इजलासले सुनुवाइ गर्न उपयुक्त हुने ठहर गरेको हो ।

 आदेशमा भनिएको छ, “प्रस्तुत रिट निवेदनमा उठाइएको विषयवस्तु गम्भीर संवैधानिक व्याख्याको प्रश्न सन्निहित रहेकाले सोको निरुपण संवैधानिक इजलासबाट हुनुपर्ने प्रकृतिको देखिँदा सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन) नियमावली, २०७२ को नियम १७ (२) क बमोजिम प्रधानन्यायाधीशसमक्ष पेस गर्नु ।” संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित पाँच न्यायाधीश रहने व्यवस्था छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई गरेको नियुक्ति संविधानविपरीत भएको उल्लेख गर्दै गत असार ३१ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको थियो ।

सिमलताल पहिरोः बेपत्ता बस र यात्रीको खोजीमा जुट्यो भारतीय टोली

चितवन । नारागणगढ–मुग्लिन सडकको सिमलतामा पहिरोले त्रिशूलीमा बगाएका दुईवटा बस र तिनमा सवार यात्रीको खोजीमा भारतीय टोली जुटेको छ । भारतको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ)को १२ सदस्यीय टोली आज बिहानदेखि खोजतलासमा जुटेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेएको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस र काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–२४९५ख ००१ नम्बरको बस सिमलताल पहिरोमा बगेका थिए । बसमा सवार ६५ जनामध्ये तीनजना बाँच्न सफल भएका थिएभने ६२ जना बेपत्ता भएका थिए ।

आजसम्म २५ जनाको शव विभिन्न क्षेत्रमा फेला पारिएको छ भने १७ जनाको सनाखत भएको छ । अझै ३७ यात्री र दुईवटै बसको अवस्था अज्ञात छ । मुलुकमा अत्याधुनिक उपकरणसहितका जनशक्ति नहुँदा सरकारको अनुरोधमा भारतबाट उक्त टोली आएको हो ।

उदयपुरको त्रियुगा क्षेत्रमा भाइरल ज्वरोका बिरामी बढे, अस्पतालमा शय्या अभाव

उदयपुर (गाईघाट) ६ साउनः जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा भाइरल ज्वरोको बिरामी बढेका छन् । बिरामीको सङ्ख्या बढैसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ ।

अस्पताल प्रशासनका अनुसार पचास शय्या क्षमताको अस्पतालमा दैनिक तीन सय जना भाइरल ज्बरोका बिरामी आउने गरेका छन् ।

पर्याप्त शय्या अभावमा उपचार गर्न कठिन भएको अस्पतालका सूचना अधिकारी रमेश श्रेष्ठले राससलाई बताउनुभयो । “बिरामीलाई भूमिमा राखेर सेवा गर्नुपरेको छ, अन्य रोग लागेका बिरामीलाई बेड छैन । भाइरल ज्वरोका बिरामीको चाप अनपेक्षित रूपमा बढेको छ ” उहाँले भन्नुभयो ।

त्रियुगा नगरपालिका क्षेत्रको गाइघाट,पुरानो गाइघाट,असारी,मोतिगडा,देउरी,बगाहा,जलजले,राजाबास,चुहाडे, लक्ष्मीपुर,पोर्ताह,खैराहा झोडा,बिषणपुर,खैजनपुर,मोथ्याई, र जोगिदह क्षेत्रमा अहिले ब्यापक भाइरलको प्रकोप फैलिदै गएसंगै प्रत्यक घरमा एक,दुई देखि सम्पूर्ण परिवारहरुसमेत भाइरलबाट प्रभावित भइरहेका छन् ।

त्रियुगा क्षेत्रमा भाइरलको प्रकोप बढेसंगै जिल्ला अस्पतालमा पनि बिरामीको चाप ह्वात्तै बढेको जिल्ला अस्पताल उदयपुरले बताएको छ ।

नेकपा एसद्वारा विपक्षमा मतदान गर्न ह्विप

काठमाडौँ, ६ साउनः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले प्रतिनिधिसभामा आज प्रस्तुत हुने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने भएको छ ।

प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्नो दलका सांसदलाई पार्टीले ह्विप जारी गरेको नेता मेटमणि चौधरीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सरकारमा सहभागी दलको साझा नीति तथा कार्यक्रमका आधारमा पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने छ । पार्टीले प्रतिपक्षमा रहेर सरकारलाई गुण र दोषका आधारमा सहयोग गर्नेछ ।”

चीनले रूसलाई समर्थन गर्नु राम्रो होइन : ब्लिन्केन

अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्केनले उत्तर कोरिया, इरान र चीनले युक्रेनमा जारी युद्धका बीच रूसलाई सहयोग गरेको भन्दै यसप्रति गम्भीर चासो व्यक्त गर्नुभएको छ ।

जुलाई १९ मा ‘एस्पेन स्ट्राटेजी ग्रुपले आयोजना गरेको एक फोरममा ब्लिन्केनले भन्नुभयो, “रूससँग नजिकबाट काम गर्नु र युक्रेनमा उसको युद्धलाई निरन्तरता दिन मद्दत गर्नु विशेष गरी चीनंको प्रतिष्ठाका लागि राम्रो होइन । अमेरिकाले उत्तर कोरिया र रूसबीच बढ्दो सैन्य गठबन्धन र रूसको रक्षा औद्योगिक आधारलाई चीनको कथित समर्थनप्रति बारम्बार चिन्ता व्यक्त गर्दै आएको छ ।

नेसनल पब्लिक रेडियोका प्रस्तोता ब्लिन्केनलाई अमेरिका र अन्य युरोपेली राष्ट्रले रूसमाथि लगाएको प्रतिबन्धले वास्तवमै काम गरेको छ कि छैन र के यसले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘अझ राम्रो व्यवहार गर्न’ प्रेरित गरेको छ भनेर सोधिएको थियो ।

अमेरिकी विदेशमन्त्रीले आफ्नो प्रतिक्रियामा अमेरिकाले देशहरूलाई एक ठाउँमा ल्याएको र ‘रूसमाथिको दबाबलाई सामूहिक रूपमा थपेको’ बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “यसको अर्थ यो हो कि विश्वका ‘धेरै देश’हरूले लगाएको प्रतिबन्धले सजिलै गर्न सक्ने सबै कुरा उनीहरूका लागि धेरै कठिन भएको छ । हामीले सस्तोमा गर्न सक्ने सबै कुरा, उनीहरूका लागि यो धेरै महँगो भएको छ ।”

उहाँले अगाडि भन्नुभयो, “यसले रूसको अर्थतन्त्र र रूसको भविष्यमा व्यापक भार पार्छ र यो बढ्दो छ।”

उत्तर कोरिया र इरानले जस्तो बेइजिङले मस्कोलाई हतियार नदिएको तर रूसको रक्षा औद्योगिक अड्डाका लागि जानकारी उपलब्ध गराएकाले चीनले चुनौती खडा गरेको अमेरिकी विदेशमन्त्री ब्लिन्केनले बताउनुभयो ।

“रूसले आयात गर्ने मेशिन औजारमध्ये ७० प्रतिशत चीनबाट आयात हुन्छ भने ९० प्रतिशत माइक्रोइलेक्ट्रोनिक्स चीनबाट आउँछ र त्यो रक्षा औद्योगिक आधारमा जाँदैछ र मिसाइल, ट्याङ्क र अन्य हतियारमा परिणत हुँदैछ,” ब्लिन्केनले भन्नुभयो ।

राप्रपा संसदीय दलको बैठक बस्दै

काठमाडौँ, ६ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक आज ११ः३० बजे दलको कार्यालय सिंहदरबारमा बस्ने सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

प्रवक्ता श्रेष्ठले भन्नुभयो, “आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्ने छ ।” उक्त पार्टीको शनिबार भएको पार्टी निर्देशन समितिको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन उपयुक्त हुने सुझाव दिएको थियो ।

एसिया कप क्रिकेटः नेपाल र पाकिस्तान भिड्ने

काठमाडौँ ६ साउनः एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।श्रीलङ्काको दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त खेल नेपाली समयानुसार बेलुका ७ः१५ बजे सुरु हुनेछ । प्रतियोगितामा लगातर दोस्रो जित निकाल्दै सेमिफाइनलमा पुग्ने लक्ष्यका साथ नेपाल मैदानमा उत्रनेछ ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले युएईलाई छ विकेटले पराजित गरेको थियो । पाकिस्तान पनि पहिलो जित निकाल्ने उद्देश्यका साथ खेल्नेछ । यसअघि भएको पहिलो खेलमा पाकिस्तान भारतसँग सात विकेटले पराजित भएको थियो ।सन् २०१६ मा भएको एसिया कपमा यी दुई टोलीको भेट भएको थियो । पाकिस्तानले नेपाललाई नौ विकेटले पराजित गरेको थियो ।

पाइप बगेपछि बागलुङ बजारमा खानेपानी अभाव

गलकोट (बागलुङ), ६ साउन : बागलुङ बजारमा खानेपानीको अभाव भएको छ । भूदीखोलाले पानीको पाइप बगाएपछि एक सातादेखि नगरवासी खानेपानीको समस्याबाट पिरोलिएका हुन् ।

बागलुङ नगरपालिकाले काठेखोला गाउँपालिकाको भूदीखोला मुहान, रेशखोला मुहान र रिठेखोला मुहानबाट खानेपानी आपूर्ति गर्दै आएको मुख्य मुहानको पाइप बगाउँदा समस्या भएको हो ।

भूदिखोलाको मुहानको पाइप बगाउँदा खानेपानीको अभाव भइरहेको बताउँदै बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव जीवन आचार्यले पाइप मर्मत थालिएकाले शीघ्र समस्या समाधान हुने आश्वासन दिनुभयो ।

रास्वपाको संसदीय दलको बैठक बस्दै

काठमाडौँ, ६ साउनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ ।संसदीय दलको कार्यालयमा ११ बजे हुने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुने उक्त पार्टीकी सचेतक निशा डाँगीले जानकारी दिनुभयो ।

सदनमा प्रतिपक्षी दलको भूमिकामा रहने पार्टीले आफ्नो प्रभावकारिताका बारेमा पनि छलफल गर्ने उहाँले बताउनुभयो । प्रतिनिधिसभामा रास्वपाका २१ जना सदस्य छन् ।

आज वाग्मती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने

काठमाडौं – वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिदैछन् । नेपाली कांग्रेसले भने मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभापतित्वमा बसेको बैठकले मुख्यमन्त्री जम्कट्टेलले राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न कांग्रेस बागमती प्रदेशसभा संसदीय दललाई निर्देशन दिने निर्णय गरिसकेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पाँच जनाले सामूहिक रुपमा राजीनामा दिएपछि मुख्यमन्त्री जम्कट्टेलको सरकार अल्पमतमा परेको छ ।

सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ, ६ साउनः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ ।

बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी र बागमती प्रदेशका पहाडी भू–भागलगायत गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका केही स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागका अनुसार सुदूरपश्चिम प्रदेशका धेरै स्थान, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै सुदूरपश्चिम प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिराबाट बच्न विभागले अनुरोध गरेको छ ।

विभागले आज बिहान जारी गरेको मौसम बुलेटिनमा भारी वर्षाका कारण ती क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

एयर इन्डियाद्वारा उडान ३० घन्टा ढिलो भएपछि यात्रुहरूलाई पूर्ण भाडा फिर्ता

सान फ्रान्सिस्कोका लागि उडेको एयर इन्डियाको उडानमा ३० घण्टा ढिलाइपछि यात्रुहरूलाई भाडा पूर्ण रूपमा फिर्ता गर्ने एयर इण्डियाले घोषणा गरेको छ ।

एयर इन्डियाको पत्रमा भनिएको छ, “कृपया सान फ्रान्सिस्कोको यात्रामा तपाईलाई पर्न गएको असुविधाको लागि हामी क्षमाप्रार्थी छौं । विगत २४ घण्टा कठिन थियो र यस अवधिमा धैर्यताको लागि धन्यवाद ।”

यात्रुलाई छिटोभन्दा छिटो सान फ्रान्सिस्को पुग्ने व्यवस्था गर्नु आफ्नो प्राथमिकता रहेको र यसका लागि सम्बन्धित निकायसँगको सहकार्यमा राहत उडान पठाएको पनि एयरलाइन्सले जनाएको छ ।

हामीले तपाईंले भोग्नु भएको अनुभवलाई मेटाउन सक्दैनौँ, हाम्रो इमानदार पश्चात्ताप व्यक्त गर्नको लागि, हामी तपाईंको यात्राको भाडा पूर्ण रूपमा फिर्ता गर्नेछौँ ।”

नयाँ दिल्लीबाट सान फ्रान्सिस्कोका लागि उडेको एयर इन्डियाको उडान प्राविधिक कारणले रूसको क्रास्नोयास्र्क अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण भएको करिब ३० घण्टापछि अमेरिकी सहरको विमानस्थलमा सुरक्षित अवतरण भएको थियो ।

नयाँ दिल्लीबाट सान फ्रान्सिस्कोको लागि सञ्चालन हुने उडानलाई जुलाई १८ मा प्राविधिक कारणले रूसको क्रास्नोयास्र्क अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट गरिएको थियो ।

एयर इन्डियाले शनिबार एल–११७९ उडान सान फ्रान्सिस्कोमा सुरक्षित रूपमा पुगेको जनाएको छ ।

एयर इन्डियाको केजेएमा कर्मचारी नभएकोले यात्रुहरूलाई आवश्यक सबै सहयोग उपलब्ध गराउन तेस्रो पक्षमार्फत सहयोग व्यवस्था गरेको थियो ।

जापानमा कीर्तिमानी गर्मी, कृषि क्षेत्रमा विशेष जोखिम


जापानमा आइतवार जापानका २०० भन्दा बढी स्थानहरूमा अत्यधिक तापक्रम बढ्ने पूर्वानुमान गरिएको छ ।गर्मीले जापानका ती स्थानहरूको कीर्तिमान तोड्ने अनुमान गरिएको

जापान मौसम सङ्घका अनुसार अत्यधिक गर्मीका कारण आउने उष्ण लहर अगस्ट वा सेप्टेम्बरसम्म जारी रहने अपेक्षा गरिएको छ । यसले स्वास्थ्यलाई मात्र नभई कृषि उद्यमलाई असर पार्दा र खाद्य सुरक्षाको जोखिम निम्त्याएको छ ।

यहाँको तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुगेको र १२ दिनमा पहिलो पटक १३० भन्दा बढी स्थानहरूमा कडा गर्मी भएको मौसम पुर्वानुमान कार्यालयको तथ्याङ्कले देखाएको छ । यसले देशभरका बालबालिकालाई लामो गर्मी बिदा दिन बाध्य बनाएको छ ।

जापानको शिजुओका सहर देशको सबैभन्दा तातो ठाउँ होे । यहाँ ३८.९ डिग्री सेल्सियससम्म तापक्रम रेकर्ड गरिएको छ । टोकियो क्षेत्रको फुचु सहरमा तापक्रम ३८ डिग्री सेल्सियस रहेको छ । हाल टोकियोका केही क्षेत्रहरूको तापक्रम ३५.८ डिग्री सेल्सियस पुगेको छ ।

राहुघाट आयोजनाको मुख्य सुरुङ प्रायः पूरा

म्याग्दी, ६ असारः नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ ।

प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको राहुघाटको पहिलो र दोस्रो अडिट जोड्ने दुई हजार तीन सय ३२ मिटर लामो सुरुङ निर्माण पूरा हुन लागेको हो । रघुगङ्गा गाउँपालिका–४ दग्नामको फेदीमा रहेको बाँधबाट वडा नं ३ अँधेरीखोलाको दोस्रो अडिट जोड्ने १३ मिटर सुरुङ खन्न बाँकी रहेको आयोजनाका व्यवस्थापक राजबहादुर विष्टले राससलाई बताउनुभयो ।

“छ हजार दुई सय मिटरमध्ये शनिबारसम्म छ हजार एक सय ८७ मिटर सुरुङ निर्माण भएको छ”, उहाँले भन्नुभयो, “केही दिनमा मुख्य सुरुङ छिचोल्ने तयारी भएको छ ।” तीन हजार आठ सय ३६ मिटर लामो दोस्रो र तेस्रो नम्बर अडिटको सुरुङ गत फागुनमा छिचोलिएको थियो ।

रघुगङ्गा गाउँपालिका–३ पिप्लेस्थित मुख्य सुरुङको आउटलेट (अन्तिम विन्दु)बाट तिल्केनीचौरमा निर्माणाधीन विद्युत्गृहमा पानी खसाल्ने पाइप लाइन राख्ने एक हजार ४९ मिटर लामो ‘प्रेसर साफ्ट’ सुरुङ गत जेठ महिनामा जोडिएको थियो ।

मुख्य सुरुङबाट आउने पानीलाई विद्युत्गृहमा लैजाने पाइप लाइन राख्नका लागि प्रेसर साफ्ट बनाइएको हो । पिप्लेमा ६१ मिटर गहिरो ‘सर्च साफ्ट’ निर्माण भएको छ ।

भारतीय आयात–निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एशोसिएट्ससँग २०७४ मङ्सिरमा सम्झौता भएको थियो ।

विसं २०७६ कात्तिकमा ठेक्का सम्झौता गरेको इलेक्ट्रिकल ठेकेदार भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले भारतमा निर्माण गरेका उपकरणको परीक्षण गरी आयातको प्रक्रिया अघि बढाइएको छ । इलेक्ट्रोमेकानिकलतर्फको भौतिक प्रगति २२ प्रतिशत छ ।

रघुगङ्गा गाउँपालिकाको वडा नं ४ दग्नाम र ५ नं वडा झिँको सिमानामा १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पिआरओआर) प्रविधिको बाँध र तिल्केनीचौरमा विद्युत्गृहको संरचना निर्माण तीव्रताका साथ भइरहेको छ ।

घुमाउनेतालबाट ११ किलोमिटर पहुँचमार्ग र एकवटा ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरी विद्युत्गृह र बाँधलाई सिधा सडकले जोडिएको छ । कमजोर आर्थिक अवस्थाका कारण २०७२ सालमा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एण्ड कन्ट्रयाक्ट (इपिसी) प्रारुपमा राहुघाट जलविद्युत् आयोजना निर्माण अघि बढाइएको थियो ।

पहिरामा परी ज्यान गुमाएका चार परिवारलाई आर्थिक सहयोग

गण्डकी – युनाइटेड क्लब पोखराले अविरल वर्षाका कारण पहिरामा परी ज्यान गुमाएका चार परिवारलाई आर्थिक सहयोग गरेको छ । क्लबले पोखरा महानगरपालिका–३२ चैनपुर, पोखरा–२७ अर्चले र पोखरा–१९ पुरनचौरमा पहिरामा परी ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग प्रदान गरेको हो ।

आर्थिक सहयोगअन्तर्गत पोखरा–३२ चैनपुरका स्व आरती ओझाको परिवारलाई रु १० हजार, पोखरा–२७ अर्चलेका स्वर्गीय अनमोल सुनार र भीम थापाको परिवारलाई रु १०–१० हजार तथा पोखरा–१९ पुरनचौरका पहिरोबाट सातजना परिवार गुमाएका पवन परियारलाई रु २५ हजार नगद प्रदान गरेको क्लबका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिनुुभयो ।

क्लबले स्थापनाकालदेखि तिहारका अवसरमा आयोजना गर्ने देउसीभैलो कार्यक्रमबाट सङ्कलित रकमबाट विपद् व्यवस्थापन कोष स्थापना गरी त्यसैमार्फत विपद्मा परेकाहरूलाई सहयोग गर्दै आएको उहाँले बताउनुभयो । अध्यक्ष श्रेष्ठले असारमा अविरल वर्षाका कारण पहिरामा परी ज्यान गुमाएका परिवारलाई राहतस्वरुप आर्थिक सहयोग गरिएको जानकारी दिनुुभयो ।

क्लबका महासचिव दिनेश सुनारले संस्थाको विपद् व्यवस्थापन कोषबाट पश्चिम कैलालीदेखि पूर्वमा उदयपुरसम्म विपद्मा परेकालाई आर्थिक, नैतिक र भौतिक सहयोग गर्दै आइरहेको बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष हिमाल बख्रेल, वरिष्ठ उपाध्यक्ष लोकबहादुर थापा, प्रथम उपाध्यक्ष गणेश तिमिल्सिना, सल्लाहकार रमेश कार्कीलगायतको उपस्थिति थियो ।

बङ्गलादेशबाट आज १७ जना विद्यार्थी फर्कदै

काठमाडौँ, ६ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गलादेशमा अध्ययनरत १७ जना विद्यार्थीलाई आज काठमाडौँ ल्याइने बताउनुभएको छ ।

प्रधानमन्त्रीले सम्बन्धित परिवारको मागबमोजिम बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीहरूलाई आज स्वदेश फर्काउन प्रबन्ध मिलाइएको बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले शनिबार राति सामाजिक सञ्जालमा जारी गर्नुभएको सन्देशमा भनिएको छ, “बङ्गलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताइरहेका छन् । ती विद्यार्थीका परिवारसँग आज मेरो भेट भयो । परिवारको मागबमोजिम सवार एरियाको इनाम मेडिकल कलेजमा पढ्ने १७ जना नेपाली विद्यार्थीलाई भोलि बिहान ४ बजे ढाका एयरपोर्ट ल्याएर त्यसपछि काठमाडौ फर्काउने प्रबन्ध गरिएको छ ।”

प्रधानमन्त्री ओलीले नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना जारी गरिसकेको पनि उल्लेख गर्नुभएको छ ।

बङ्गलादेशमा सरकारी सेवा प्रवेशमा निर्धारित गरिएको आरक्षणको विरोध गर्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् । करिब तीन हजार नेपाली विद्यार्थी बङ्गलादेशमा रहेका ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ ।

कांग्रेस संसदीय दलको बैठक आज बस्ने

काठमाडौँ – नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो १ बजे संसदमा विश्वासको मत लिन लागेसँगै कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

बैठक आज १२ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनको ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलले जनाएको छ । गत असार १७ गते कांग्रेस र एमाले मिलेर नयाँ समीकरण बनाएसँगै गत असार ३० गते एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

आज प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै

प्रधानमन्त्री केपी ओली आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । प्रधानमन्त्री ओलीले आज अपराह्न १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने संसद्को कार्यसूची छ ।

दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रधानमन्त्रीले विश्वासको मत लिन लाग्नुभएको हो ।

यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले विश्वासको मतको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई निर्देशन (ह्विप) जारी गरेको छ । पार्टीले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका राजनीतिक दलदेखि स्वतन्त्र सांसदहरुलाई पनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीलाई विश्वासको मत दिन आग्रह गरेको छ ।

सत्ता साझेदार अर्को ठूलो राजनीतिक दल नेपाली कांग्रेसको आज बस्ने संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय गर्दै पार्टीका सबै सांसद्लाई ह्विप जारी गर्ने दलका एक नेताले राससलाई जानकारी दिनुभयो ।

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि एक सय ३८ मत आवश्यक पर्दछ ।

आर्थिक अनुशासन र जवाफदेहिता कायम गर्नु सरकारको महत्त्वपूर्ण जिम्मेवारी – अर्थमन्त्री पौडेल


काठमाडौँ – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले आर्थिक अनुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्नु सरकारको सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी भएको बताउनुभएको छ ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्षसमेत रहनुभएका पौडेलले राज्यका निकायमा चार्टर्ड एकाउन्टेन्ट नियुक्ति गरी लेखा परीक्षणको व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो ।

अर्थमन्त्री पौडेलले देशमा देखिएको आर्थिक समस्या क्रमशः समाधान हुने विश्वास व्यक्त गर्दै भन्नुभयो, “देशमा जे–जस्ता आर्थिक समस्या देखिएका छन्, ती समस्या समाधान गर्दै आर्थिक शिथिलताको अवस्थाबाट मुलुकलाई बाहिर निकाल्न हामी लागिपर्छौँ ।”

आर्थिक क्षेत्रमा देखिएका समस्याहरूको समाधानका लागि सरकारले सार्थक प्रयास गर्ने विश्वास दिलाउँदै अर्थमन्त्री पौडेलले आगामी दिनमा आर्थिक क्षेत्र सकारात्मक दिशामा आगाडि बढ्ने बताउनुभयो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायतले मुलुकको पछिल्लो आर्थिक अवस्था र चार्टर्ड एकाउन्टेन्टहरूले आफ्ना जिम्मेवारी व्यावसायिक तवरले निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

तुलसीपुर (दाङ) – लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिनुहुने भएको छ । आज दिउँसो १ बजे बस्ने लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २४औँ बैठकमा उहाँले विश्वासको मत लिन लाग्नुभएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताउनुभयो ।

सरकारमा रहेको एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले विश्वासको मत लिन लाग्नुभएको हो । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै त्यसको प्रभाव प्रदेशमा पनि परेको छ । लुम्बिनीमा एमाले र कांग्रेसले नयाँ सरकार बनाउन कसरत गरिरहेका छन् ।

लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ सांसद छन् । त्यस्तै माओवादी केन्द्रका १० सांसद छन् । त्यस्तै साना दल राप्रपा र नागरिक उन्मुक्तिका चार–चारजना, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीका तीन–तीनजना, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा दुई–दुईजना तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका एक–एकजना सदस्य छन् भने एकजना स्वतन्त्र सदस्य छन् । सतासी सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ ।

४२औँ बिपी स्मृति दिवस आज : विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ, ६ साउन : प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४२औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्याउनुभएको छ । कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उहाँ पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो ।

नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उहाँका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवं ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छ ।

वरिष्ठ अधिवक्ता स्व गणेशराज शर्मासँगको वार्तामा आधारित ‘आत्मवृत्तान्त’, सुन्दरीजल बन्दीगृहमा बस्दाको दैनिकीमा आधारित ‘जेल जर्नल’, विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरीजल बन्दीगृहमा लगिएपछि लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ ले नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेको छ ।

ज्ञाननिष्ठ ज्ञवालीको सम्पादनमा प्रकाशित सिसार पत्रिकामा ‘साहित्यमा प्रगतिशीलता’ विषयक कोइरालाको निबन्धलगायत रचना पनि प्रकाशित छन् । जीवनको लामो समयसम्म कांग्रेसको नेतृत्व गरी २०१५ सालको आमनिर्वाचनमा पार्टीले दुईतिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभयो । प्रधानमन्त्रीत्वकालमा उहाँले बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाउनुभयो ।

विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएको थियो ।

विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त हुनुभएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनुभएको थियो । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठवटा ज्यान मुद्दाको पर्वाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उहाँ स्वदेश फर्कनुभएको थियो । उहाँले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ ।

प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता कोइरालाले स्वतन्त्र रूपमा चिन्तन, आयाम, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट नेपाली वाङ्मयलाई शिखरमा पुर्याउन योगदान दिनुभयो । प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री, संसद्का सभामुख एवं मन्त्रीहरुलाई बन्दी बनाइएको सुन्दरीजल बन्दीगृहलाई २०६१ साल भदौ २४ गते बिपी सङ्ग्रहालयका रूपमा उद्घाटन गरियो । बिपीको जीवनका महत्त्वपूर्ण चिजबीजको सङ्कलन गरी दर्शनीय बनाइएको सङ्ग्रहालय २०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भई हाल पुनःनिर्माण गरिएको छ ।

सङ्ग्रहालयमा बिपीको जीवनका महत्त्वपूर्ण सामग्रीका साथै २००७ सालको क्रान्तिमा प्रयोग गरिएको ट्याङकर, कांग्रेसले २०२९ सालमा क्रान्तिलाई खर्च जुटाउन अपहरण गरेको नेपाल वायुसेवा निगमको विमान पनि राखिएको छ । बिपी स्मृति दिवसका अवसरमा कांग्रेस, भ्रातृ संस्था र बिपी सङ्ग्रहालय समितिले मुलुकभर विभिन्न कार्यक्रम गर्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो ।

यस अवसरमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिपी कोइराला राष्ट्रिय पुरस्कार वितरण गर्ने कार्यक्रम राखेको पुरातत्व अधिकृत भीष्म बाँस्कोटाले राससलाई जानकारी दिनुभयो ।

आज गुरुपूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौँ, ६ साउन : आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ ।

‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले बताउनुभयो ।

अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ–

गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः ।
गुरुः साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमः ।।

माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ । गुरुपूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवं सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन् ।

व्यास जयन्ती

आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो । व्यासले पुराण र उपपुराणका माध्यमबाट यस्तो सन्देश दिन खोज्नुभएको छ–

‘अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम् ।
परोपकार पुण्याय, पापाय परपीडनम्’ ।।

अर्थात् अरुको उपकार गरे धर्म हुन्छ एवं अरुलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिनुभएको छ । पाँचौँ वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गर्नुभएको हो । यस अवसरमा आज देशभरका विभिन्न गुरुकुल, शिक्षालय एवं सङ्घसंस्थाले पनि गुरुपूर्णिमा पर्व मनाउने जनाइएको छ ।

बङ्गलादेशमा प्रदर्शनकारीमाथि प्रहरीद्वारा गोली प्रहार, आन्दोलन चर्किएपछि सेनाद्वारा गस्ती शुरू

बङ्गलादेशका विभिन्न शहरमा विद्यार्थीको प्रदर्शनको कारण बढ्दै गएको नागरिक अशान्तिलाई नियन्त्रण गर्न शनिबार सेनाले गस्ती शुरू गरेको छ । प्रहरी र अस्पतालले सार्वजनिक गरेको एएफपीलाई प्राप्त तथ्याङ्कअनुसार यस हप्ताको हिंसामा कम्तीमा १२३ जनाको मृत्यु भएको छ र यो प्रधानमन्त्री शेख हसिनाको १५ वर्षको शासनकालपछिको सरकारका लागि ठूलो चुनौती हो ।सरकारले शनिबार मध्यरातदेखि लागु हुने गरी निशेधाज्ञा आदेश जारी गरेको छ र प्रधानमन्त्री कार्यालयले सेना परिचालन गर्न सैनिक मुख्यालयलाई आग्रह गरेको छ ।

सशस्त्र बलका प्रवक्ता शाहदत हुसेनले एएफपीसँग भन्नुभयो, “कानून र व्यवस्थाको स्थितिलाई नियन्त्रण गर्न देशव्यापी रूपमा सेना तैनाथ गरिएको छ ।”निजी प्रसारणकर्ता च्यानल २४ का अनुसार स्थानीय समयअनुसार आइतबार बिहान १० बजेसम्म कफ्र्यू जारी रहनेछ ।राजधानी ढाकाका सडकहरू शनिबार दिउँसो सुनसान थिए भने बख्तरबन्दसहितका सुरक्षा कर्मचारीले दुई करोड व्यक्ति बसोबास गर्ने विशाल शहर ढाकालाई गस्ती गरिरहेका देखिन्थ्यो ।

यसैबीच शनिबार रामपुराको आवासीय इलाकामा हजारौं मानिसहरू सडकमा ओर्लिएपछि प्रहरीले भीडमाथि गोली चलायो र कम्तीमा एक जना घाइते भएका छन् । प्रदर्शनमा सहभागी ५२ वर्षीय नजरुल इस्लामले एएफपीसँग भन्नुभयो, “हाम्रो पिठ्युँ भित्तामा फर्किएको छ । देशमा अराजकता चलिरहेको छ । सुरक्षाकर्मीले मानिसहरूलाई चरालाई जस्तै गोली हानेका छन् ।”

अस्पतालहरूले एएफपीलाई बिहीबारदेखि गोली लागेर मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको जानकारी दिएका छन् ।प्रहरी प्रवक्ता फारुक हुसेनले एएफपीसँग कुरा गर्दै भन्नुभयो, “शुक्रबार राजधानीमा लाखौँ मानिस प्रहरीसँग भिडन्तमा उत्रिएका थिए ।”उहाँले भन्नुभयो, “कम्तीमा दुई जना अधिकारीको कुटपिटबाट मृत्यु भएको छ । १५० जना प्रहरी अधिकारीलाई अस्पतालमा भर्ना गरिएको छ । अन्य १५० जनाको प्राथमिक उपचार गरिएको छ ।”

“प्रदर्शनकारीले कैयौँ प्रहरी बुथ र सरकारी कार्यालयहरूमा आगजनी र तोडफोड गरेका छन् । ढाका मेडिकल कलेज अस्पतालका कर्मचारीले दिएको जानकारीअनुसार शनिबार थप दुई जना प्रहरी अधिकारीको मृत्यु भएको छ भने सघन उपचार कक्षमा भर्ना भएका चार सर्वसाधारणको मृत्यु भएको छ ।

बङ्गलादेशको कपडा निर्यातको प्रमुख केन्द्र ढाकाको बाहिरी क्षेत्रमा पर्ने औद्योगिक शहर सावरमा थप दुई प्रदर्शनकारीको मृत्यु भएको छ ।एनाम मेडिकल कलेज अस्पतालका प्रवक्ता जाहिदुर रहमानले गोली लागेर घाइते भएका नौ जना उपचारका लागि उक्त अस्पतालमा आएको बताउनुभयो ।”

प्रदर्शनको आयोजना गर्ने मुख्य समूह भेदभावविरूद्ध विद्यार्थी (स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन) का प्रवक्ताले एएफपीलाई शुक्रबारदेखि आफ्ना दुई नेतालाई पक्राउ गरिएको बताएका छन् ।प्रधानमन्त्री हसिनाले आइतबार कूटनीतिक भ्रमणका लागि विदेश जाने कार्यक्रम रहेको थियो तर देशमा देखिएको अशान्तिका कारण भ्रमण स्थगित हनुभएको छ ।
उहाँका प्रेस सचिव नायमुल इस्लाम खानले भन्नुभयो, “प्रधानमन्त्री हसिनाले वर्तमान परिस्थितिका कारण आफ्नो स्पेन र ब्राजिल भ्रमण रद्द गर्नुभएको छ ।”

सन् १९७१ मा पाकिस्तानविरुद्ध भएको स्वतन्त्रता संग्रामका भूतपूर्व सैनिकका छोराछोरीसहित निजामती सेवाका आधाभन्दा बढी पद विशिष्ट समूहका लागि आरक्षित गर्ने कोटा प्रणाली अन्त्य गर्न यस महिना दैनिक प्रदर्शनकोे आह्वान गरिएको छ । आलोचकहरूका अनुसार यो योजनाले सन् २००९ देखि देशमा शासन गरिरहेकी र जनवरीमा लगातार चौथो पटक चुनाव जित्नुभएकी ७६ वर्षीया हसिनाप्रति वफादार परिवारलाई फाइदा पुर्‍याउँछ ।

हसिनाको सरकारमाथि अधिकारवादी समूहहरूले सत्तामाथि आफ्नो पकड बलियो बनाउन राज्यका संस्थाहरूको दुरुपयोग गरेको र विपक्षी कार्यकर्ताको गैरन्यायिक हत्यासहित असहमतिलाई निस्तेज पारेको आरोप लगाउँदै आएका छन् ।

प्रदर्शनकारीले मङ्गलबार पहिलो मृत्यु भएपछि हसिनालाई पदबाट हट्न माग गर्न थालेका छन् ।यो अब विद्यार्थीको अधिकारको कुरा मात्र होइन, आन्दोलनमा सबैको चासो बढेको छ ।” रामपुरा प्रदर्शनस्थलमा पुगेका २४ वर्षीय व्यवसायी हसिबुल शेखले एएफपीसँग भन्नुभयो । उहाँले भन्नुभयो, “हामी अहिले सर्वसाधारणका रुपमा यहाँ छौं । सरकारको राजीनामा हाम्रो अहिलेको निर्विकल्प माग हो ।”

खानेपानीमन्त्रीद्वारा मेलम्चीको सुरुङ निरीक्षण

काठमाडौँ, ५ साउन : खानेपानीमन्त्री प्रदीप यादवले सुन्दरीजलमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ एवं खानेपानी प्रशोधन केन्द्र र त्यहाँको ल्याबको निरीक्षण गर्नुभएको छ ।

निरीक्षणका क्रममा मन्त्री यादवले काठमाडौँका नागरिकलाई सफा, शुद्ध र स्वच्छ पानी वितरण गर्न मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको थियो । उहाँले भन्नुभयो, “फोहर पानी कुनै पनि हालतमा काठमाडौँ नजाओस्, सफा, शुद्ध र स्वच्छ पानी वितरण गर्नुहोला, काठमाडौँमा सफा, शुद्ध र स्वच्छ पानी बाह्रै महिना वितरण गर्नका लागि आवश्यक सबै व्यवस्था गर्न मन्त्रालय प्रतिबद्ध छ ।”

विसं २०७६ मा मेलम्चीमा आएको प्राकृतिक विपत्तिबाट क्षति भएको र मेलम्चीको पानी बाह्रै महिना काठमाडौँमा वितरण गर्न समस्या भएको उल्लेख गर्दै मन्त्री यादवले समस्या समाधानसहित काठमाडौँ उपत्यकामा बाह्रै महिना कसरी पानी पठाउने भन्ने विषयमा सरकार गम्भीर भएर लागेको बताउनुभयो ।

काठमाडौँवासीलाई सफा, शुद्ध र स्वच्छ पानी वितरण गर्न बिदाका दिनमा पनि काम गर्न उहाँले कर्मचारीहरूलाई आग्रह गर्नुभयो । मन्त्री यादवले भन्नुभयो, “उपकरणलगायत बजेटमा समस्या छ भने मलाई भन्नुस्, हामी दिन्छौँ तर काठमाडौँवासीको स्वच्छ पानी खाने सपना पूरा गर्नुस् ।”

कांग्रेस-एमाले गठबन्धन सरकार अन्तिम विकल्प हो, यो पूरै अवधि चल्छः मन्त्री शाही

काठमाडौँ, ५ साउनः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले सरकार लोकतन्त्रलाई सुदृढ र गणतन्त्रलाई संस्थागत गर्नेगरी अगाडि बढ्ने बताउनुभएको छ ।

आज यहाँ आयोजित कार्यक्रममा उहाँले शीर्षनेताको सुझबुझका साथ वर्तमान गठबन्धन बनेकाले देशका मूलभूत समस्या समाधान गर्दै सरकार अगाडि बढ्ने बताउनुभएको हो । “सरकार फेरबदलबाट जनता हैरान भइसकेका छन्, कांग्रेस–एमाले गठबन्धनको यो सरकार अन्तिम विकल्प हो, त्यसैले राजनीतिक स्थायित्व र विकासका काम गर्न केन्द्रित हुन्छौँ”, मन्त्री शाहीले भन्नुभयो ।

मन्त्री शाहीले वर्तमान सरकारले लोकतन्त्रलाई सुदृढ बनाउने, गणतन्त्रलाई संस्थागत गर्ने र यसमा भएका कमीकमजोरी सुधार गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले वर्तमान सरकार विशिष्ट परिस्थितिमा निर्माण भएकाले सुशासन, राजनीतिक स्थायित्व र विकास दिएर देशलाई अग्रगतिमा लैजाने उल्लेख गर्नुभयो । “सरकार अस्थिर हुँदा व्यवस्थाप्रति नै वितृष्णा बढ्दै गएको छ । हाम्रै विशेष पहलबाट आएको लोकतन्त्र, गणतन्त्रलाई सुदृढ, संस्थागत गर्ने र यसमा भएका कमीकमजोरी सुधार गरेर थप काम गर्छौं । जनताको समस्या समाधान गर्ने अहिलेको सरकारको मुख्य उद्देश्य हो”, उहाँले अगाडि भन्नुभयो ।

‘मुलुकको समग्र विकासका लागि नयाँ सत्ता समीकरण भएको हो’:उपमहासचिव ज्ञवाली

भक्तपुर, ५ साउनः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेस र एमालेबीच मुलुकको समग्र विकासका लागि सत्ता समीकरण भएको बताउनुभएको छ ।

रफत सञ्चार क्लब भक्तपुरले आज यहाँ आयोजना गरेको सञ्चार–संवाद कार्यक्रममा उहाँले प्रधानमन्त्री बन्न वा सरकार फेर्नका लागि मात्रै नभई विकास र जनतामा विद्यमान निराशा चिर्ने दृढ सङ्कल्पसहित सत्ता समीकरण भएको दावी गर्नुभयो । उपमहासचिव ज्ञवालीले भन्नुभयो, “नयाँ सत्ता गठबन्धन बनेपछि अहिले जुनखालका चर्चा भइरहेका छन्, विपक्षी दलले संविधानको धारा ७२ को उपधारा २ को गलत व्याख्या गरेर विषयान्तर गर्ने चालबाजी पनि गरे तर हामी सत्ताका लागि मात्रै एकठाउँमा आएका होइनौ, देशमा विद्यमान समस्या समाधान गर्ने दृढ राजनीतिक सङ्कल्पका साथ सत्ता समीकरण गरेका हौँ । अब सोहीअनुसार काम गर्छौ ।”

उहाँले नयाँ सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण, उद्यमशीलताको विकास, कृषिमा रूपान्तरण, भूमि समस्या समाधान, सामाजिक सुरक्षा र राष्ट्रिय हितमा काम गर्न एमालेले पार्टीका तर्फबाट ९९ बुँदै सुझावपत्र सरकारलाई बुझाएको समेत उल्लेख गर्नुभयो । एक अर्को प्रसङ्गमा पूर्वमन्त्री ज्ञवालीले सहकारीका सम्बन्धमा संसदीय छानबिन समिति बनेकाले त्यसले दिने प्रतिवेदनअनुसार समस्या समाधान गर्न सरकार अगाडि बढ्ने प्रष्ट पार्नुभयो ।

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा घिमिरे

काठमाडौँ, ५ साउनः नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे मनोनित हुनुभएको छ ।कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले घिमिरेलाई आज प्रमुख सचेतकमा मनोनित गर्नुभएको हो । पार्टीका प्रमुख सचेतक रमेश लेखक गृहमन्त्री भएसँगै घिमिरेले प्रमुख सचेतकको जिम्मेवारी पाउनुभएको हो ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएका घिमिरे गत निर्वाचनमा सिन्धुली क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

संसदीय दलका नेता देउवाले नेपाली कांग्रेसको संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १३ को उपधारा १ बमोजिम मनोनयन गर्नुभएको कांग्रेस संसदीय दलका निजी सचिव केशवराज जोशीले जानकारी दिनुभयो ।

दाङमा जिप दुर्घटना हुँदा १० जना घाइते

तुलसीपुर, ५ साउनः दाङको दङ्गीशरण–७ बोगटी नजिकै जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार आज दाङको तुलसीपुरबाट सल्यानको कालीमाटी जाँदै गरेको लु१ज १३८३ नंको जिप दुर्घटना हुँदा चालक सल्यान कालीमाटी गाउँपालिका–२ का ४१ वर्षीय खिमबहादुर बोपाल मगर, जिपमा सवार कालीमाटी–३ का १६ वर्षीय किरण बोहरा, सोही ठाउँका १४ वर्षीय विपिन केसी, १० वर्षीया आरती थापा, ३० वर्षीय गणेश केसी, ५० वर्षीया धनसरी खत्री, १५ वर्षीया करिष्मा खत्री घाइते भएका छन् ।

दुर्घटनामा कालीमाटी–२ का ५४ वर्षीय हुकुमराज पुन, सोही ठाउँका ४९ वर्षीय भानुभक्त वली र बर्दियाको बासगडी नगरपालिका–४ की ३८ वर्षीया सङ्गीता राणासमेत घाइते भएका छन् । घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
अटोलाई जोगाउन खोज्दा जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

हनुमन्ते पस्यो भक्तपुरको बस्तीमा, उच्च सतर्कता अपनाउन आह्वान

भक्तपुर । भक्तपुरको सहरी क्षेत्रमा पानी नपरे पनि शनिबार साँझदेखि उर्लेर आएको हनुमन्ते नदी भक्तपुरको बस्तीमा पसेको छ । काभ्रेको नाला, भक्तपुरको ताथलीलगायत क्षेत्रमा परेको भीषण वर्षाका कारण काभ्रेदेखि आएको बाढी हनुमन्तेमा नदीभन्दा माथि उर्लिएपछि बस्तीमा पसेको हो ।

भक्तपुरको थुसाचामा पुलमाथि बाढी पसेपछि जगातीबाट च्यामासिंह जाने सडक नै अवरुद्ध भएको छ । बाढी नदीबाट माथि आएर सडकबाट खोला बग्न थालेको छ । आसपासका घर एवं बस्तीमा पानी पसेको छ ।

भक्तपुरको हनुमान घाट, सूर्यविनायकका राम मन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायत क्षेत्रमा बाढी बस्तीमा पसेर डुबानमा परेको छ । राम मन्दिर, बाराही स्थानका मन्दिर, विद्यालय र नदी किनारका बस्तीमा पानी पसेको हो ।

हनुमन्ते नदीमा आएको बाढीका कारण भक्तपुर नगरपालिका क्षेत्रको राम मन्दिर, बाराही क्षेत्रदेखि हनुमन्ते नदी किनाराका मध्यपुरथिमि क्षेत्रको राधेराधे, सूर्यविनायकको बालकोट, चारदोबाटो र हनुमन्ते नदीको सहायक नदी एवं खोलाहरुमा समेत बाढीको बहाव बढेको छ । बाढी पसेपछि जगाती, च्यामासिंह, हनुमानघाट, बाराहीस्थानको जनजीवन प्रभावित भएको छ ।

भक्तपुरको विभिन्न वर्षा मापन केन्द्र एवं जल तथा मौसम विज्ञान विभागले आज साँझ हनुमन्ते खोला जगातीको जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तहमा पुगेको नदी तटीय क्षेत्रमा बाढीको जोखिममा रहेकाले उच्च सतर्कता अपनाउन सन्देश एवं सूचना जारी गरेको छ ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बाढी, पहिरो र डुबानबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न प्रशासनले सुरक्षा तह, चारवटै नगरपालिका र नेपाल रेडक्रस सोसाइटीलाई उच्च तयारीका साथ राखिएको जानकारी दिइन् ।

कमला नगरपालिकाद्वारा भूउपयोग क्षेत्र मापदण्ड पारित

जनकपुरधाम, ५ साउनः धनुषाको कमला नगरपालिकाले स्थानीय भूउपयोग क्षेत्र वर्गीकरणसम्बन्धी मापदण्ड २०८१ पारित गरेको छ । नगरप्रमुख विशेश्वर यादवले स्थानीयस्तरमा छुट्टै मापदण्ड नभएका कारण समस्या भएको जनगुनासोपछि मापदण्ड बनाएर सहजता प्रदान गरिएको बताउनुभयो ।

उहाँकानुसार नेपाल सरकारले जग्गा वर्गीकरण तथा कित्ताकाटको अधिकार स्थानीय तहमा प्रत्यायोजन गरे पनि जग्गा वर्गीकरण मापदण्ड नभएका कारण यहाँ खरिदबिक्रीलगायत जग्गा कारोबार रोकिएको थियो । अब भने मापदण्डमा टेकर आवश्यक कारोबार गर्न स्थानीयलाई सहज भएको उहाँले बताउनुभयो ।

नगरपालिकाका सूचना अधिकारी वीरेन्द्र सेधानले मापदण्ड पारित भएसँगै कार्यान्वयन प्रक्रिया पनि सुरू भएको बताउनुभयो । भूउपयोग ऐन, २०७६ तथा भूउपयोग नियमावली, २०७९ का मापदण्ड तथा आधारलाई टेकर नगरले आफ्नो छुट्टै ऐन बनाएको उहाँको भनाइ छ ।

दार्चुलाबाट लक्ष्यभन्दा कम यार्सागुम्बा निकासी

खलङ्गा (दार्चुला), ५ साउनः गत आर्थिक वर्षमा दार्चुलाबाट छ सय ७४ किलोग्राम यार्सागुम्बा निकासी भएको छ । अपिनाम्पा संरक्षण क्षेत्र दार्चुलाका सूचना अधिकारी इन्द्र सिंह नगारीले यार्सागुम्बा सङ्कलन तथा ओसारपसार निर्देशिकाअनुसार कार्यालयल गत वर्ष आठ क्विन्टल ५० किलोग्राम यार्सागुम्बा निकासी अनुमति दिएकामा व्यापारीले छोडपुर्जी बनाएर छ सय ७४ किलोग्राम यार्सा काठमाडौँ निकासी गरेको बताउनुभयो ।

यसबापत संरक्षण क्षेत्रले प्रतिकिलो रु ३१ हजारका दरले राजस्व लिने गरेको र उक्त अवधिमा रु दुई करोड ८९ लाख चार हजार राजस्व सङ्कलन गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यालयका वार्डेन विनयकुमार झाले छिल्लो समय उत्पादन घटेका कारण तोकिएको लक्ष्यअनुसार यार्सागुम्बा सङ्कलन गर्न नसकिएको बताउनुभयो । उहाँले सङ्कलकहरूले विगत केही वर्षयता हिमाली क्षेत्रमा यार्सागुम्बा कम पाइन थालेको बताउने गरेको जानकारी दिनुभयो । “बहुमूल्य हिमाली जडीबुटी यार्सागुम्बाको उत्पादन घट्नाका कारण पत्ता लगाउन जरुरी भइसकेको छ । अब यार्सा पाइने क्षेत्रहरूको अध्ययन–अनुसन्धान गर्ने योजनामा छौँ”, उहाँले भन्नुभयो ।

दार्चुलामा विशेषगरी अपी हिमाल, ब्याँस, दुहुँ नौगाड गाउँपालिकाका अधिकांश स्थानीयको आर्थिक स्रोत यार्सागुम्बा र जडीबुटी हो । यहाँका लोलु, अपी फेद, सतगङ्गा, काटै, घट्टेखोला, चाइमटेला, धरमघर, क्षति, नाम्पा, दोपाखे, दुम्लिङलगायत पाटनमा यार्सागुम्बा पाइने गर्छ ।

व्यापारी हरिश भट्टले पनि पछिल्ला वर्षमा यार्सा पाउने क्रम घट्दै गएको बताउनुभयो । पछिल्लो समय यार्साको मूल्यसमेत घटेको उहाँको भनाइ छ । “यहाँ सङ्कलकहरुसँग किन्नुपर्दा महँगोमा किन्नुपरेको छ । हामीले प्रतिकिलोग्राम रु १७ देखि १८ लाख खरिद गरेर काठमाडौँमा रु १४ देखि १५ लाख प्रतिकिलोग्राममा बेच्नुपर्ने माध्यता छ । यसले व्यापार गर्न निकै गाह्रो भइसक्यो,” उहाँले भन्नुभयो ।   व्यापारीहरुले ‘ग्रेड’का आधारमा यार्सा खरिदबिक्री गर्ने गरेका छन् ।

राष्ट्रियसभा उपाध्यक्ष घिमिरे चीन प्रस्थान

काठमाडौँ, ५ साउनः राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे आज चीन प्रस्थान गर्नुभएको छ । चीनको युनान प्रान्तको कुन्मिङ सहरमा हुन लागेको आठौँ चीन–दक्षिण एसिया प्रदर्शनीमा सहभागी हुन छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै इष्टर्न चाइना एयरलान्इसको उडानबाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

प्रतिनिधिमण्डलमा उपाध्यक्ष घिमिरे, राष्ट्रियसभाका सदस्य मायाप्रसाद शर्मा, तुलसाकुमारी दाहाल र दुर्गाकुमारी गुरुङ, सङ्घीय संसद् सचिवालयका उपसचिव विकास बोहरा र उपाध्यक्षका स्वकीयसचिव प्रेमबहादुर सिंह हुनहुन्छ ।

उपाध्यक्ष नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले यही साउन ८ गते हुने प्रदर्शनीको उद्घाटन समारोहमा भाग लिनेछ । प्रदर्शनीको उद्घाटन कार्यक्रममा उपाध्यक्ष घिमिरेले सम्बोधन गर्ने कार्यक्रम छ ।भ्रमणका क्रममा प्रतिनिधिमण्डलले युनान प्रान्तका उच्च अधिकारीहरूसँग भेट गर्नेछ । प्रतिनिधिमण्डल यही साउन १० गते स्वदेश फर्कने तालिका छ ।

गाजामा मृत आमाको कोखबाट नवजात शिशुको उद्धार

इजरायली आक्रमणमा घाइते भएकी एक आमाको कोखबाट एक नबजात शिशुलाई जीवितै उद्धार गरिएको गाजास्थित एक अस्पतालले शनिबार जनाएको छ ।हमासद्वारा सञ्चालित क्षेत्रमा भएको क्षेप्यास्त्र आक्रमणमा एकै परिवारका छ सदस्यसहित २४ जनाभन्दा बढीको मृत्यु भएको र त्यसमा एक नौ महिनाकी गर्भवती ओला अदनान हर्ब अल कुर्द पनि रहेको बताइएको छ ।

सर्जन अकरम हुसेनका अनुसार कुर्द अल अवदा अस्पताल पुग्दासम्म मृत्यु भइसकेको थियो । चिकित्सकहरूले आमाको मृत्यु भइसकेको थाहा पाएपछि अल्ट्रासाउन्ड गर्दा बच्चाको मुटुको धड्कन चलिरहेको पाएपछि तत्काल शल्यक्रिया गरी पेटभित्रको नवजात शिशुलाई सकुशल उद्धार गरेका थिए ।

“हामी (चिकित्सक र स्वास्थ्यकर्मीको उपलब्ध टोली) ले तुरुन्तै आपतकालीन शल्यक्रिया गरी भ्रूणलाई सकुशल मृत आमाको पेटबाट निकाल्न सफल भएका छौँ,” ती सर्जन हुसेनले एएफपीसँग भन्नुभयो । अस्पतालको प्रसूति तथा स्त्रीरोग विभागका प्रमुख रैद अल साउदीका अनुसार नवजात शिशुको अवस्था सुरुमा गम्भीर थियो, तर अक्सिजन र उपचारपछि उनको उपचार स्थिर छ ।

शिशुलाई ‘इन्क्युबेटर’ मा राखी थप रेखदेख र उपचारका लागि देइर अल–बलाहको अल–अक्सा अस्पतालमा स्थानान्तरण गरिएको छ ।

मध्य गाजास्थित नुसिरात शरणार्थी शिविरमा इजरायली क्षेप्यास्त्र प्रहारबाट कुर्दसहित तीन महिला र एक बालकको मृत्यु भएको अल अवदा अस्पतालका एक मेडिकल अधिकारीले जानकारी दिनुभएको छ । उहाँको घरमा भएको आक्रमणमा मृत महिलाका पति पनि घाइते भएको अस्पताल स्रोतले जानकारी गराएको छ ।

इजरायलले आक्रमण र व्यक्तिगत क्षतिबारे पुष्टि गरेको छैन तर सेनाले जारी गरेको विज्ञप्तिमा मध्य गाजामा रहेका आतङ्कवादी संरचनास्थलमा सेनाले लक्षित आक्रमण गरिरहेको उल्लेख गरिएको छ ।

गत अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूहले दक्षिणी इजरायलमा गरेको आक्रमणपछि हमासमाथि दबाब बढाउन इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले दिएको आदेशअनुसार इजरायलले उक्त क्षेत्रका विभिन्न भागमा आक्रमण तीव्र पारेको थियो ।

हरेक वर्षायाममा अवरुद्ध हुने ग्रामीण सडकको समस्या समाधान गर्न माग

उदयपुर (गाईघाट), ५ साउनः वर्षाका कारण जिल्लाका मध्य, पश्चिमी तथा उत्तरी पहाडी क्षेत्रमा ग्रामीण सडक भत्किएर यातायात सेवा अवरुद्ध भएको धेरै दिन बित्दासमेत सञ्चालनका लागि पहल भएको छैन ।

यहाँका मुर्कुची, पुवाँरे, डिल्लीबर हुँदै माझखर्क लिम्चुङबुङ जोड्ने ग्रामीण सडक तथा जाँतेसहित गाईघाट दिक्तेल सडकअन्तर्गत रसुवा, बालाम्ता, ताम्लिछा, लाफागाउँ जोड्ने मध्य र उत्तरी पहाडी क्षेत्रका सडक वर्षाका कारण अवरुद्ध छन् । यीमध्ये केही सडकमा एक हप्ता र केहीमा एक महिना यातायात सेवा अवरुद्ध छ ।

रौतामाई गाउँपालिका–७ माझखर्कका फुर्बा शेर्पाले साउनको पहिलो हप्तादेखि नै आफ्नो क्षेत्रमा सडक अवरुद्ध भएपछि अन्यत्र आवतजावत गर्न समस्या भएको बताउनुभयो । यातायात सञ्चालन हुननसक्दा पैदलयात्रा गर्न बाध्य हुनुपरेको उहाँको भनाइ छ ।

यातायात व्यवसायी हेम खपाङ्गी मगरकानुसार मुर्कुची, पुवाँरे, डिल्ली र माझखर्क क्षेत्रमा यातायात सेवा अवरुद्ध भएको करिब एक महिना बत्नि लाग्दा पनि सञ्चालनका लागि ठोस पहल नभएको गुनासो गर्नुभयो । यसले स्थानीय नागरिक र यातायात व्यवसायी दुवै मारमा परेका छन् ।

लिम्चुङबुङ–५ बलाम्ताका प्रेम राई यातायात सञ्चालन नहुँदा चार घण्डा पैदल हिँडेर बजार पुग्नुपरेको बताउनुहुन्छ, “वर्षाका कारण ग्रामीण सडक अवरुद्ध भएको तीन हप्ता भइसक्यो, यहाँ मोटरसाइकलसमेत सञ्चालन हुन नसक्दा आफूहरू यातायातका लागि चार घण्टा तल रसुवाघाट वा ६ घण्टा परेको मुर्कुची बजारसम्म पैदलयात्रा गरेर पुग्नुपर्ने बाध्यता छ ।”
सडक अवरुद्ध भएपछि अधिकांश गाउँले पैदल हिँडेर अन्यत्र आवतजावत गर्न बाध्य भएको ताम्लिछाका मनोज कार्की बताउनुहुन्छ ।

ताप्ली गाउँपालिकाको पिलभन्ज्याङ, नुनथला, राउतखर्कसहितका सडक पनि अवरुद्ध छन् । पीपलभन्ज्याङका तेपबहादुर राईले यस क्षेत्रमा साना सवारी साधनसमेत सञ्चालन हुननसकेका बताउनुभयो । उहाँकानुसार यहाँ खुलेका अधिकांश कच्ची ग्रामीण सडक हालसम्म ‘ग्राभेल’ तथा कालोपत्र भएका छैनन्, जसले गर्दा रहेक वर्षायाममा यस्तै समस्या हुने गरेको छ । वर्षाका कारण खाल्डा पर्ने, पहिरोले पुरिने, भत्कने गरेका कारण यी सडकमा साना सवारी साधन (मोटरसाइकल) पनि सञ्चालन गर्न सकिँदैन । “गाउँघरमा कोही बिरामी भएमा अन्यत्र उपचार गर्न लैजाँला निकै समस्या हुने गरेको छ । दैननदिनका समस्या त छँदैछन् । वर्षायाममा हरेक वर्ष यस्तै समस्या हुने गरेको छ तर सडक स्तरोन्नति गर्न सरोकार भएकाहरूको ध्यान गएको छैन”, राईले गुनासो गर्नुभयो ।

लिम्चुङबुङ गाउँपालिकाका उपाध्यक्ष पुष्पकुमार राई हरेक वर्ष हुने यस्ता समस्या समाधानका लागि गाँउपालिकाको प्रयास प्रयाप्त नभएको बताउनुहुन्छ । “वर्षाले हरेक वर्ष सडक भत्काउँदा यातायात सेवा अवरुद्ध हुन्छ । यसबाट नागरिकले भोग्नुपरेका समस्याबारे हामी जानकार छौँ तर हाम्रो स्रोतसाधनले मात्रै समस्या समाधान हुने अवस्था छैन”, उहाँले भन्नुभयो,“दीर्घकालीन समस्या समाधानका लागि प्रदेश र सङ्घीय सरकारले सहयोग गर्न आवश्यक छ । हामीले गर्नसक्ने भनेको वर्षा कम हुँदै गएपछि भत्किएका सडक स्काभेटर प्रयोग गरेर पुनः सञ्चालन गर्ने हो, त्यसका लागि पहल गछौँ ।”

यहाँका ग्रामीण सडक स्तरोन्नति, कालोपत्र, ग्राभेल गर्न सङ्घीय सरकार तथा प्रदेश सरकारसँग पटक–पटक माग गर्दा पनि सुनुवाइ नभएको रौतामाई गाउँपालिकाका उपाध्यक्ष भूपेन्द्र थापा क्षेत्री बताउनुहुन्छ । हाल रौता, उदयपुगढी, ताप्ली र लिम्चुङबुङ गाउँपालिका क्षेत्रका अधिकांश ग्रामीण सडक वर्षाले भत्काएपछि यातायात सेवा अवरुद्ध भएका उहाँले बताउनुभयो ।

हरेक वर्षायाममा हुने समस्या समाधानका लागि तीनै तहका सरकार मिलेर काम गर्न आवश्यक रहेकामा उपाध्यक्ष थापा क्षेत्रीको जोड छ । “स्थानीय पालिकाको बजेटले सडक स्तरोन्नति गर्न सकिँदैन तर हरेक वर्ष हुने समस्याको दीर्घकालीन समाधान खोज्न आवश्यक छ । यसका लागि तीनै तहका सरकार मिलेर काम गर्नुको विकल्प छैन”, उहाँले रासससँग भन्नुभयो ।

यो वर्षको मनसुन अवधिमा विपदमा परी मृत्यु हुनेको सङ्ख्या १२८ जना पुग्यो

काठमाडौँ, ५ साउनः यो वर्षको मनसुन अवधिमा विपत्तिमा परेर आजसम्म एक सय २८ जनाको मृत्यु भएको छ ।प्रहरी प्रधान कार्यालयका अनुसार मनसुन सुरु भएको दिन गत जेठ २८ गतेदेखि आजसम्म ४२ दिनको अवधिमा अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्परी आज दिउँसोसम्म एक सय २८ जनाको मृत्यु र एक सय ४३ जना घाइते भएका छन् ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा २२, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ ।

बाढीका कारण जम्मा एक सय ८२ घर डुबानमा परेका तथा दुई सय २८ वटा घर, ८३ वटा गोठ, ४३ वटा पुल, एक विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ । विपद्मा परी पाँच सय ८९ वटा पशुचौपाया मारिएका छन् । उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार सात सय ७९ घरपरिवार विस्थापित भएका छन् ।