`

एकमहिने बोलबम मेलाको कलशयात्रा सम्पन्न

महेन्द्रनगर (धनुषा), ५ साउनः जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरस्थित त्रेताकालीन देवाधिदेव महादेव राजर्षि जनकको आराध्यदेव बाबा कपिलेश्वरनाथ महादेव स्थानमा लाग्ने एकमहिने बोलबम मेलाका अवसरमा गरिने भव्य कलशयात्रा सम्पन्न भएको छ ।

कपिलेश्वरनाथ युवा कमिटीद्वारा आज आयोजित उक्त विशाल धार्मिक अनुष्ठानरूपी शान्ति कलशयात्रा बाबा कपिलेश्वरनाथ महादेव स्थानबाट झाँकी एवं बाजागाजासहित हजारौँको सहभागितामा शुभारम्भ भई देवभूमि कपिलेश्वरको विधिवत परिक्रमा गरी गङ्गासागरमा जल भरेर जनकपुरधामका सबै भागको शुभयात्रा गरी पुनः बाबा कपिलेश्वरनाथ स्थानमा पुगी धार्मिकसभामा परिणत भएको थियो ।

सभालाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सचिव एवं मन्त्री रघुवीर महासेठले सम्बोधन गर्दै धार्मिक धरोहर, पुरातात्विक महत्त्वको अलौकिक तथा कलात्मक मूर्ति विराजमान यस पर्यटकीयस्थलको संरक्षण र संवर्द्धन गर्न/गराउन सरोकारवाला निकायलाई विशेष आग्रह गर्नुभयो ।

द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको पशुपतिमा अन्त्येष्टि

काठमाडौँ । द्वारिकाज होटलकी संस्थापक एवं पर्यटन व्यवसायी अम्बिका श्रेष्ठको पशुपतिको आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

स्व श्रेष्ठको शनिबार विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिएको हो । लामो सयमदेखि आन्द्रामा देखिएको सङ्क्रमणको उपचार गराई रहेकी ९२ वर्षीया श्रेष्ठको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा बिहीबार निधन भएको थियो ।

स्व श्रेष्ठले नेपालको पर्यटन तथा होटल व्यवसायको क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दै उनको निधनबाट सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको श्रद्धाञ्जली दिन पशुपति पुगेकाहरूले बताएका थिए ।

आज बिहान उप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, उद्योग वाणिज्य सङ्घका अध्यक्ष चन्द्र ढकाललगायत विशिष्ट व्यक्ति तथा पर्यटन व्यवसायीहरू द्वारिकाज होटल पुगी श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

आज दिउँसो पशुपतिस्थित विद्युतीय शवदाहगृह नजिक राखिएको स्व श्रेष्ठको पार्थिव शरीरमा पर्यटन व्यवसायी, स्वदेशी तथा विदेशी पर्यटकलगायत आफन्तजनले पुष्पगुच्छासहित माल्यार्पण गर्नाका साथै श्रद्धाञ्जली अर्पण गरेका थिए ।

भारतको पटना विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातक उत्तीर्ण गरेकी स्व श्रेष्ठले आफ्ना पतिसँग मिलेर मुलुककै दोस्रो ट्राभल एजेन्सी काठमाडौँ ट्राभल एन्ड टुर्स खोलेकी थिइन् ।

काठमाडौँ उपत्यकाको आर्किटेक्चरलाई पुनर्जागृत गर्दै द्वारिकाज होटलको परिकल्पना गरेका उनका पति द्वारिकादास श्रेष्ठको सन् १९९२ फेब्रअरी १० मा निधन भएको थियो । द्वारिकाज होटल सन् १९७७ मा दर्ता भएको हो ।

बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्दै कांग्रेस

बागमती, ५ साउनः नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गर्नुभएको छ ।मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरिसकेको नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले कांग्रेस संसदीय दलका नेता लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने तयारी गरेको हो ।

“दुई दलबीच पहिला नै मुख्यमन्त्रीमा कांग्रेसले दाबी पेस गर्ने सहमति भइसकेको छ”, लामाले भन्नुभयो, “कांग्रेस संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्रीका लागि मेरो दाबी पेस हुन्छ, हाम्रो पार्टीभित्र मुख्यमन्त्रीका लागि कुनै विवाद छैन ।”

नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरु हुनासाथ बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा कांग्रेसका नेता लामाले दाबी पेस गर्ने सहमति भएको एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बताउनुभयो ।

“मुख्यमन्त्री जम्कट्टेलले भोलि विश्वासको मत लिनुहुन्छ, उहाँले विश्वासको मत पाउन नसकेपछि नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरु हुन्छ”, थपलियाले भन्नुभयो, “प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गर्नुहुन्छ र त्यसलगत्तै हाम्रो दुई दलको तर्फबाट कांग्रेसका नेताले मुख्यमन्त्रीमा दाबी पेस गर्नुहुन्छ ।”

सङ्घीय सरकार निर्माणका क्रममा भएको नयाँ राजनीतिक समीकरणपश्चात बागमती सरकारबाट एमाले बाहिरिएपछि मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाबाट विश्वास लिन लाग्नुभएको छ । विश्वासको मतका लागि भोलि दिउँसो १ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलमध्ये कांग्रेस, एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

कुल एक सय १० सदस्यीय प्रदेशसभामा कांग्रेसका ३७, एमालेका २७, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का २१, राप्रपाका १२, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सात, नेमकिपाका तीन र हाम्रो नेपाल पार्टीका दुईजना प्रदेशसभा सदस्य छन् ।

जसमध्ये कांग्रेस र एमालेले मुख्यमन्त्री कट्टेललाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । राप्रपा पनि मुख्यमन्त्रीलाई विश्वासको मत नदिने मनस्थितिमा छ । राप्रपा संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने कुरामा हामी एकमत रहेको बताउनुभयो ।

प्रदेशसभाका तीन दलले विश्वासको मत नदिने भएपछि मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको प्रदेश सरकार परिवर्तन हुने निश्चितजस्तै छ । मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न असफल भएपछि कांग्रेस–एमाले गठबन्धको तर्फबाट मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी भएको कांग्रेस संसदीय दलका नेता लामाले जानकारी दिनुभयो ।

कांग्रेसभित्र संसदीय दलका नेता लामा र इन्द्रबहादुर बानियाँबीच सरकारको नेतृत्वलाई लिएर विवाद छ । केन्द्रबाट हस्तक्षेप नभए वा दलको नेता परिवर्तन नभएको खण्डमा लामा नै मुख्यमन्त्री बन्ने सम्भावना बलियो रहेको कांग्रेसका प्रदेशसभा सदस्यहरूले बताएका छन् ।

विश्वासको मतका पक्षमा तीन दल

बागमती प्रदेशका मख्यमन्त्री शालिकराम जम्कट्टेललाई माओवादी केन्द्रसहित तीन दलले विश्वासको मत दिने भएका छन् । भोलि बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिँदै हुनुहुन्छ । मुख्यमन्त्री जम्कट्टेललाई माओवादी केन्द्र, एकीकृत समजावादी र हाम्रो नेपाल पार्टीले विश्वासको मत दिने भएको हो । तीनवटा दलको केही दिनअघि बसेको संयुक्त बैठकले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको एकीकृत समाजवादीका प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो ।

“हाम्रै सहमतिमा मुख्यमन्त्रीज्यूले विश्वासको मत लिन लाग्नुभएको हो, हाम्रै अनुरोधमा प्रदेशसभा बैठक बोलाइएको हो”, श्रेष्ठले भन्नुभयो, “त्यसैले हामी मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिन्छौँ, हामी एक ठाउँमा छौँ ।” प्रदेशसभामा माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका सात र हाम्रो नेपाल पार्टीका दुईजना प्रदेशसभा सदस्य छन् ।

‘विकासका लागि सबै एकताबद्ध हुनुपर्छ’ – मोहन बस्नेत

सिन्धुपाल्चोक, ५ साउन : पूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विकास निर्माणका काममा सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । आज मेलम्ची नगरपालिका–३ हैबुङस्थित स्वास्थ्य चौकी भवन उद्घाटन तथा निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्नुहुँदै उहाँले विकास निर्माण, स्वास्थ्य, शिक्षालगायतका काममा सबै एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिनिधिसभा सांसद बस्नेतले आफ्नो कार्यकालमा विपन्न नागरिकलाई निःशुल्क उपचार गर्ने व्यवस्था गरेको उल्लेख गर्दै राज्यले नै शिक्षा र स्वास्थ्यलाई बढी जोड दिनुपर्ने बताउनुभयो । उहाँले नवनिर्मित स्वास्थ्य चौकीमा आवश्यक जनशक्ति र सामग्रीको व्यवस्थापन गर्न आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङले मेलम्ची नगर अस्पताललाई प्रादेशिक अस्पताल बनाउन रु एक करोड ५० लाख बजेट प्रदेशबाट विनियोजन गरिएको जानकारी दिनुभयो । उहाँले नवनिर्मित स्वास्थ्य चौकीलाई नगर अस्पताल बनाउनुपर्ने र त्यसका लागि आफ्नोतर्फबाट पहल गर्ने बताउनुभयो ।

मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले अस्पतालमा आवश्यक जनशक्ति र कर्मचारीको व्यवस्था नगरपालिकाले गर्ने र अन्य उपकरण प्रदेश तथा सङ्घ सरकारले उपलब्ध गराउन आग्रह गर्नुभयो ।

नगर उपप्रमुख उमा प्रधानले सुविधा सम्पन्न भवन बनेसँगै गुणस्तरीय र सहज रूपमा सेवासुविधा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्वास्थ्य चौकी निर्माणसँगै यस क्षेत्रका नागरिकले मेलम्ची वा काठमाडाँै पुग्नुपर्ने बाध्यता अन्त्य गर्न सघाउ पु¥याउने विश्वास व्यक्तल गर्नुभयो ।

निवर्तमान नगरप्रमुख डम्बर अर्याल, निवर्तमान उपप्रमुख भगवती नेपाल, पूर्ववडाध्यक्ष तथा जग्गादाता वसन्त गुरूङ, वडा नं ३ का अध्यक्ष कुमार बञ्जराले अस्पताल निर्माणमा सहयोग गर्नेप्रति आभार प्रकट गर्नुभयो ।

काँक्रेविहारलाई खुला प्राकृतिक चिडियाखानाका रूपमा विकास गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड


कर्णाली, ५ साउनः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले काँक्रेविहारलाई खुला प्राकृतिक चिडियाखानाका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

उद्योग वाणिज्य सङ्घ सुर्खेतद्वारा आज आयोजित ‘कर्णाली बृहत् वृक्षरोपण उत्सव’ उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री कँडेलले पुरातात्विक तथा ऐतिहासिक महत्व बोकेको काँक्रेविहार जङ्गललाई हिंस्रकबाहेक अन्य वन्यजन्तुसँग मित्रवत् सम्बन्ध कायम हुने वातावरण तयार गर्नुपर्नेमा जोड दिनुभयो । “पूर्वाधार विकास निर्माण हुँदैछ, यहाँ ट्री–गार्ड र बाटोसँग जोडिएका रूखमा सोलारको व्यवस्था गर्न सकिएमा यसको सुन्दरता अझ बढ्ने छ । यसतर्फ पनि सोच्नुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो,

मुख्यमन्त्री कँडेलले वृक्षरोपण गरेर मात्र नपुग्ने भएकाले वृक्षको संरक्षण तथा सदुपयोग गर्नसक्नुपर्नेमा जोड दिनुभयो । काँक्रेविहारका साथै बुलबुलेमा गरिँदै आएको वनभोजका गतिविधि आगामी दिनबाट व्यवस्थित गर्नुपर्ने मुख्यमन्त्री कँडेलको भनाइ थियो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा केदार बरालले वनजङ्गल जोगाउनु सबै क्षेत्रको सरोकार भएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “पृथ्वी सबैको साझा घर हो, यसलाई जोगाउनु पनि हाम्रो साझा दायित्व हो । पृथ्वी जोगाउनमा वनको प्रधान भूमिका हुनाका साथै पर्यावरणीय सुन्दरता कायम राख्नसमेत ठूलो योगदान पुग्ने भएकाले यसलाई जोगाउन लाग्नुपर्छ ।”

कर्णाली प्रदेश अस्पताल सुर्खेतका बालरोग विशेषज्ञ तथा अभियन्ता डा नवराज केसीले भावी पुस्ताको सुख र खुसीका लागि वृक्षरोपण गर्न अपरिहार्य रहेको बताउनुभयो । डिभिजन वन कार्यालय सुर्खेतका डिभिजन वन अधिकृत वसन्तबाबु श्रेष्ठले विसं २०५९ वैशाख १ गते नेपालकै पहिलो संरक्षित वनका रूपमा घोषित काँक्रेविहारको पर्यावरण जोगाउने उद्देश्यले वृक्षरोपण गरिएको बताउनुभयो । उहाँका अनुसार धार्मिक महत्व र सुन्दरतासँग जोडिएका ज्याकाराण्डा, वीरेन्द्रफूल, मसला, कपुर, नीम र छतिवनका करिब तीन सय वृक्षरोपण गरिएका छन् । वीरेन्द्रनगर–२ को आदर्श सामुदायिक वनमा एक हजार छ सय र वडा नं ५ को रामजानकी सामुदायिक वनमा १० हजार सात सय वृक्षरोपण गरिएको वन कार्यालय सुर्खेतले जनाएको छ ।

बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा १५ जना घाइते

नारायणगढ, ५ साउन : चितवनको नारायणगढ– मुग्लिङ सडकअन्तर्गत पर्ने भतेरीमा बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा १५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालकानुसार आज दिउँसो भरतपुर महानगरपालिका–२९ मा पर्ने भतेरीमा नारायणघाटबाट पोखरा जाँदै गरेको ग२ख १४०१ नंको बस सोही दिशाबाट जाँदै गरेको ना७ख ५४९१ नंको पेट्रोल बोकेको ट्याङ्करको पछाडि ठोक्किँदा बसमा सवार १५ यात्री घाइते भएका हुन् ।

घाइतेलाई उपचारका लागि चितवनको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा लगिएको प्रवक्ता रिजालले बताउनुभयो । घाइतेमध्ये एकजना गम्भीर र अन्यको अवस्था मध्यम रहेको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

तुलसीपुर (दाङ), ५ साउनः लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिनुहुने भएको छ । आइतबार दिउँसो १ बजे बस्ने लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २४औँ बैठकमा उहाँले विश्वासको मत लिन लाग्नुभएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताउनुभयो ।

सरकारमा रहेको एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले विश्वासको मत लिन लाग्नुभएको हो । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै त्यसको प्रभाव प्रदेशमा पनि परेको छ । लुम्बिनीमा एमाले र कांग्रेसले नयाँ सरकार बनाउन कसरत गरिरहेका छन् ।

लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ सांसद छन् । त्यस्तै माओवादी केन्द्रका १० सांसद छन् । त्यस्तै साना दल राप्रपा र नागरिक उन्मुक्तिका चार–चारजना, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीका तीन–तीनजना, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा दुई–दुईजना तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका एक–एकजना सदस्य छन् भने एकजना स्वतन्त्र सदस्य छन् । सतासी सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ ।

एक सय ४० मेगाावाट क्षमताको निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनामा बाढीले क्षति

तनहुँ – तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगाावाट क्षमताको निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनामा बाढीले क्षति बनाएको छ । असारको अन्तिम साता परेको अविरल वर्षापछि सेतीनदीमा आएको बाढीले ‘कुलिङ प्लान्ट’मा क्षति पु¥याएको हो ।

बाढीका कारण प्याकेज–१ अन्तर्गत ‘ड्याम साइट’मा क्षति पुगेको सो आयोजनाले जनाएको छ । क्षतिको सर्भे टोली आएर मूल्याङकन गरेपछि मात्रै यकिन विवरण आउने आयोजना प्रबन्ध निर्देशक किरण श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार (क्रसिङ प्लान्ट) गिट्टी र बालुवा उत्पादन गर्ने र (कुलिङ प्लान्ट) गिट्टी र बालुवालाई चिसो बनाउने सामानको रातको समयमा स–साना बक्समा रहेका सातवटा बक्सा बगाएको हो । “दुवै प्लान्टका इक्युप्मेन्ट बाढीले बगाउने खतरा बढेपछि सुरक्षित स्थानमा सारिएको छ”, उहाँले भन्नुभयो, “नदी किनारमा बसेर काम गर्नुपर्ने भएकाले पानी परेको समयमा माथिबाट स–साना ढुङ्गा खसिरहने हुँदा काम गर्न पनि कठिनाइ भएको छ ।”

प्याकेज–१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ददा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन (प्रा) लि नेपाल जेभीसँगकोे ठेक्का सम्झौता विसं २०७८ भदौ १४ गतेदेखि कार्यान्वयनमा आएको थियो ।

आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत प्याकेज–२ को निर्माणका लागि सिनो हाइड्रो कर्पोरेसन, चीनसँग विसं २०७५ असोज १५ गतेखरिद सम्झौता भएको थियो ।

त्यसैगरी, प्याकेज–३ अन्तर्गत दमौलीदेखि चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका केइसी इन्टरनेसनल लिमिटेड, भारतसँग विसं २०७५ पुस १० गते भएको खरिद सम्झौता विसं २०७५ फागुन १० मा कार्यान्वयनमा आएको थियो । उहाँका अनुसार प्याकेज–१ मा ३५, प्याकेज–२ मा ७३ र प्याकेज–३ मा ७३ प्रतिशतका साथै आयोजनाको समग्रमा ५९ प्रतिशत प्रगति भएको छ ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कले आठ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

पूर्वाधार विकास कार्यालयद्वारा सडक र पुल निर्माण

म्याग्दी, ५ साउन : पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्ष २०८०÷८१ मा म्याग्दीमा १२ किलोमिटर पक्की सडक निर्माण गरेको छ । सो कार्यालयमार्फत क्रमागत, नयाँ बहुवर्षीय र सालबसालीसहित ८० भन्दाबढी योजना कार्यान्वयन भएका छन् ।

कार्यालयले आठ किलोमिटर सडक कालोपत्र गर्नुका साथै चार किमी सडक ढलान गरेको कार्यालय प्रमुख विष्णुप्रसाद पौडेलले बताउनुभयो । यस क्रममा दुई मोटरेबल पुल, एउटा झोलुङ्गे पुल तथा ३१ वटा कल्भर्ट निर्माण गरिएका छन् । बाह्र किमी सडक ग्राभेलसमेत गरिएको छ ।

अधुरै रहेका पुराना बहुवर्षीय क्रमागत योजनालाई लयमा फर्काउनुका साथै सात रणनीतिक महत्वका सडक स्तरोन्नति र थप दुई ठाउँमा मोटरेबल पुल निर्माण गर्न बहुवर्षीय योजना कार्यान्वयन भएको प्रमुख पौडेलले बताउनुभयो । आर्थिक वर्ष २०८०÷८१ मा रु ६९ करोड ३२ लाख पुँजीगत बजेट रहेको सो कार्यालयले रु ५१ करोड ९६ लाख ७६ हजार खर्च गरेको छ ।

लेखा शाखाका प्रमुख त्रिविक्रम शर्माका अनुसार गलेश्वर–पिप्ले–भगवती–बेग सडकको पिप्ले–भगवती खण्डमा पाँच किमी कालोपत्र तथा केही ठाउँमा सडक ढलान र ग्राभेल गरिएको छ ।

मालिका गाउँपालिकाको वडा नं १ र मङ्गलाको वडा नं ५ लाई मालिकाको केन्द्र दरबाङ बजारसँग जोड्न छ्यारछ्यारेस्थित म्याग्दी नदीमा ४० मिटर लामो मोटरेबल पुल निर्माण भएको छ । बेनी–दरबाङ–बिम–ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत मालिका गाउँपालिका–७ र धवलागिरि गाउँपालिका–७ को सिमाना भएर बग्ने म्याग्दी नदीमा ४० मिटर लामो मोटरेबल पुल निर्माण गरिएको छ ।

बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–३ को सिमाना अर्जेखोलामा २५ मिटर मोटरेबल पुल निर्माणको क्रममा छ । मालिका गाउँपालिका–३ र ४ को सिमाना अधिभारामा २५ मिटर लामो मोटरेबल पुल निर्माण गर्ने कार्य भइरहेको छ । अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी र वडा नं ५ पाउद्वार तातोपानी जोड्ने कालीगण्डकी नदीमाथि एक सय २६ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ ।

सुरक्षा निकायसँग सम्बन्धित कानुन संशोधन आवश्यक छ: गृहमन्त्री लेखक

काठमाडौँ ।  गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायसँग सम्बन्धित कानुनलाई समयक्रमसँगै संशोधन गर्न आवश्यक भएकाले सरकारले यसलाई प्राथमिकतामा राखेको बताएका छन् । 

सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय कार्यालय हलचोकको निरीक्षण गर्दै गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बलको सुदृढीकरण र वृत्तिविकास गर्न मन्त्रालय सधैँ साथमा रहेको बताए ।

“राजस्व चुहावट रोक्न सशस्त्र प्रहरी बलको ठूलो योग्दान छ । प्राकृतिक प्रकोपका बेला पनि सशस्त्र प्रहरीको काम प्रशंसा गर्न लायक छ”, उनले भने । सुरक्षा निकायलाई स्रोतसाधन सम्पन्न बनाउन लागिपरेको उनको भनाइ थियो । 

२३ वर्षअघि सशस्त्र प्रहरी बलको स्थापना अध्यादेशबाट भएको स्मरण गर्दै गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बल स्थापनाबारे अध्ययन गर्न स्व सुवासचन्द्र नेम्वाङको नेतृत्वमा बनेको समितिमा कांग्रेसका तर्फबाट सदस्यका रुपमा सहभागी भएर काम गरेको बताए ।

“सशस्त्र द्वन्द्वका समयमा सशस्त्र प्रहरी बलको भूमिका मुख्य रह्यो । देशमा शान्तिसुरक्षा कायम गर्नमा सबैभन्दा पछि स्थापना गरिएको सुरक्षा सङ्गठनको धेरै योगदान छ”, उनले भने । 

निरीक्षणका क्रममा गृहसचिव एकनारायण अर्यालले मन्त्रालय सशस्त्र प्रहरी बल नेपालको साथमा रहेको बताए । “सशस्त्र प्रहरी बल नेपालको कानुन छिट्टै संसद्मा पेस हुन्छ”, उनले भने । सीमित साधन स्रोतका बीचमा  सशस्त्र प्रहरी बलले सीमासुरक्षामा तदारुकता देखाएको उनले बताए । उच्च मनोबलका साथ काम गर्न गृहसचिव अर्यालले निर्देशन दिनुभयो । विपद्का समयमा अहोरात्र खट्न उनले आग्रह गरे । 

सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल आफ्नो काममार्फत जनताको मनमा बस्न सफल भएको बताए । सरकारले सशस्त्र प्रहरी बलप्रति राखेको विश्वासलाई कायमै राखेर काम गर्ने उनले उल्लेख गरे । सीमासुरक्षा बलसँगसम्बन्धी कानुनमा सुधारको आवश्यकता रहेको महानिरीक्षक अर्यालको भनाइ थियो ।

राजविराजको मुख्य बजार क्षेत्रमा सिसी क्यामरा जडान

राजविराज (सप्तरी), ५ साउन ः उज्यालो र व्यवस्थित सहर निर्माण गर्न राजविराजको मुख्य बजार क्षेत्रमा सिसी क्यामरा जडान गरिएका छन् । गत आर्थिक वर्षको नगरसभाले विनियोजन गरेको रु ५० लाख बजेटबाट राजविराज नगरक्षेत्रभित्र एक सय २३ ठाउँमा क्यामरा जडान गरिएका छन् ।

राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत प्रविनका अनुसार नगरमा दैनिक चोरीका घटना तथा सवारीसाधनको चाप बढेका कारण त्यसलाई कम गर्ने उदेश्यले सिसी क्यामरा जडान गरिएका हुन् । राजविराजको गजेन्द्र चोक, दर्शन चोक, राममन्दिर, अदालत रोड, पानीट्यङ्की रोडसहितका ठाउँमा निगरानी गर्न सिसी क्यामरा जडान गरिएका हुन् ।

नगरपालिकाले नगरक्षेत्रभित्रको सुरक्षालाई मध्यनजर गर्दै नगरलाई उज्यालो बनाउने उद्देश्यले पाँच ठाउँमा फ्लडलाइट र १३ ठाउँमा मिनिफ्लडलाइट समेत जडान गरिएको राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङले जानकारी दिनुभयो । जडान गरिएका क्यामराको निगरानी जिल्ला प्रहरी कार्यालय तथा नगरपालिकाले गर्ने उहाँले बताउनुभयो ।

यो सहरको बजार, बस पार्क, टेम्पु स्टेन्ड, माइक्रो स्टेन्ड, हाटबजारलगायत इतिहास बोकेको यस क्षेत्रका ठाउँमा अहिले व्यवस्थित गर्न नगरपालिका लागिपरेको अधिकृत गुरुङले बताउनुभयो ।

राजविराज नगर क्षेत्रमा जडान गरिएका सिसी क्यामरा जडानबाट नगरको सुरक्षा व्यवस्थासँगै अपराध नियन्त्रणमा मद्दत पुग्ने जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गजुसिद्धि बज्राचार्यले बताउनुभयो ।

हाइटीमा डुङ्गामा आगलागी हुँदा ४० आप्रवासीको मृत्यु

हाइटीको उत्तरी तटमा एक डुङ्गामा आगलागी हुँदा कम्तीमा ४० आप्रवासीको मृत्यु भएको र अरू धेरै घाइते भएका छन् ।

हाइटीको नेशनल अफिस फर माइग्रेसन (ओएनएम) ले ८० जनाभन्दा बढी मानिस बोकेको डुङ्गा बुधबार लाबाडी बन्दरगाहबाट एक सय ५० माइल (दुई सय ४० किलोमिटर) यात्रा गरी टर्क्स र काइकोस टापुहरूमा गएको जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) हाइटियन कोस्ट गार्डले ४१ जीवित व्यक्तिलाई उद्धार गरेको छ । तीमध्ये ११ जनालाई अस्पतालमा भर्ना गरिएको छ ।

टर्किस एयरलाइन्सद्वारा आइटी खराबीपछि ८४ उडान रद्द

टर्किस एयरलाइन्सले विश्वव्यापी आइटीमा खराबी आएपछि ८४ उडान रद्द गरेको छ । प्राविधिक गडबडीले संयुक्त राज्य अमेरिकामा उडानहरू रोकिएका छन्, बेलायतमा टेलिभिजन प्रसारण अवरुद्ध भएको छ र अस्ट्रेलियामा दूरसञ्चार प्रभावित भएको छ ।

“कुनै पनि अवरोधबाट बच्न केही उडानहरू रद्द गरिनेछ र हाम्रा उडानहरू क्रमशः चाँडोभन्दा चाँडो सामान्यमा फर्किनेछन्”, टर्किस एयरलाइन्सका याह्या उस्तुनले सामाजिक सञ्जालमार्फत घोषणा गर्नुभयो 

टर्कीको प्रमुख क्यारियरका रद्द गरिएका अधिकांश उडानहरू घरेलु र युरोपबाट आउने र जाने गरेका थिए ।“हामी विश्वभरका विभिन्न क्षेत्रका धेरै कम्पनीलाई असर गर्ने सफ्टवेयर–सम्बन्धित समस्या समाधान गर्न हाम्रो परिचालन तीव्रतालाई कम गरिरहेका छौँ”, उस्तुनले भन्नुभयो ।

टर्कीको सूचना र सञ्चार प्रविधि प्राधिकरणले यो अवरोध साइबर आक्रमणको कारणले नभएको एक विज्ञप्तिमा जनाएको छ ।टर्कीमा रहेको निजी बैङ्क र इमिरेटस एनबिडीको स्वामित्वमा रहेको डेनिजबैङ्कले सामाजिक सञ्जाल एक्समा ग्राहकहरूलाई सन्देशमा अवरोध हटाउन काम गरिरहेको बताएको छ ।

सन् २०३० विश्वकप फाइनलका लागि स्पेनमा आयोजक मैदानहरू पुष्टि गरियो

स्पेनी खेलकुद अधिकारीहरूले पोर्चुगल र मोरक्कोसँगै देशले आयोजना गर्ने सन् २०३० विश्वकप फाइनल खेलका लागि मैदानका बारेमा निर्णय गरेका छन् । आयोजक रङ्गशालाहरूको पूर्ण सूची जुलाईको अन्त्यसम्ममा फिफालाई आधिकारिक रूपमा प्रस्तुत गरिनुपर्छ । त्यहाँ स्पेनको राजधानी म्याड्रिड र बार्सिलोना दुवैमा दुईवटा मैदानहरू छन् । यसमा रियल म्याड्रिडको सान्टियागो बर्नाबेउ रङ्गशाला र एट्लेटिको म्याड्रिडको मेट्रोपोलिटानो रङ्गशाला छनोट गरिएको छ ।

   बाँकी मैदानहरू एथलेटिक क्लब बिलबाओको सान मामेस रङ्गशाला, रियल सोसिडाडको रियल एरिना (सान सेबास्टियनमा) र डेपोर्टिभो ला कोरुनाको रियाजर रङ्गशाला हुन् । सेभिलको एस्टाडियो डे ला कार्टुजा अर्को स्थान हो र सहरमा सेभिल्ला र बेटिसको घरेलु मैदानभन्दा अगाडि छनोट गरिएको छ ।

   जरागोजÞामा ला रोमारेडा पनि स्थानहरू मध्ये एक हो । यद्यपि त्यो मैदानलाई व्यापक सुधारको आवश्यकता छ । मैदानको छनोटमा अचम्मको कुरा के छ भने स्पेनको सबैभन्दा ठूलो सहरमध्येको एक भ्यालेन्सियामा कुनै रङ्गशाला छैन । यो मुख्यतया भ्यालेन्सियाको मेस्टाल्ला रङ्गशालालाई पनि व्यापक सुधारको आवश्यकता रहेको छ । 

बङ्गलादेशका प्रधानमन्त्रीको शासनका लागि विद्यार्थी अशान्ति ठूलो चुनौती

बढ्दो विद्यार्थी आन्दोलनका साताहरू बङ्गलादेशको स्मृतिमा सबैभन्दा खराब अशान्तिका रूपमा परिणत भएका छन् । अयोग्य सरकारी प्रतिक्रियाले प्रधानमन्त्री शेख हसिनाको शासनका लागि गम्भीर चुनौती दिएको विशेषज्ञहरूले बताएका छन् ।

राजनीतिक रूपमा निजामती सेवा भर्ती नियममा सुधारका लागि सरकारसँग आह्वान गर्दा सुरु भएको प्रदर्शनको आकार यो साता प्रहरी कारवाहीको तीव्रताका साथ बढेको छ । हरेक दिन सडकमा भेला भएका दशौँ हजारौँ युवा र आक्रोशित बङ्गलादेशीहरूले अब नीतिमा परिवर्तनको माग मात्र गरिरहेका छैनन, बरु हसिनाको कार्यकाल अन्त्यको माग गरिरहेका छन् ।

यो साता दुई करोड जनसङ्ख्या भएको राजधानी ढाकामा प्रदर्शनकारीहरूले धेरै र्यालीमा ‘तानाशाह मूर्दाबाद’ भन्दै नारा लगाए । ढाकामा आक्रोशित भीडले बिहीबार धेरै सरकारी भवनमा आगो लगाएका थिए ।   विश्लेषकहरूका अनुसार हसिना र सत्तारूढ अवामी लिगले सामना गरिरहेको सङ्कट उसको आफ्नै सरकारले बनाएको सङ्कट हो । 

“प्रदर्शनहरू अत्यन्तै महत्त्वपूर्ण छन्, सम्भवतः अवामी लिग शासनका लागि सत्तामा आएपछिको यो सबैभन्दा गम्भीर चुनौती हो”, क्राइसिस ग्रुप एसियाका निर्देशक पियरे प्रकाशले भन्नुभयो, “प्रदर्शनकारीहरूको गुनासो सम्बोधन गर्ने प्रयास गर्नुको सट्टा सरकारको कार्यले अवस्थालाई अझ खराब बनाएको छ, मुलुक खतरनाक रूपमा तयार भएको देखिन्छ ।”

विद्यार्थीहरूले विशिष्ट समूहका लागि अत्यधिक माग गरिने सार्वजनिक क्षेत्रको आधाभन्दा धेरै नोकरी आरक्षण गर्ने कोटा प्रणाली अन्त्यको माग गर्दै आफ्नो अभियान सुरु गरेका थिए । 

सन् १९७१ को मुक्ति सङ्ग्रामपछि पदभार ग्रहण गर्नुभएका हसिनाका पिता एवं स्वतन्त्रता नेता शेख मुजिबुर रहमानले उक्त योजना स्थापना गर्नुभएको थियो । 

योजनाले मुक्ति सङ्ग्रामका दिग्गजका सन्तानका लागि ३० प्रतिशत निजामती सेवाका पदहरू आरक्षित गर्दछ । प्रदर्शनकारीहरूले अवामी लिगका वफादारहरूलाई पुरस्कृत गर्नका लागि उक्त योजना प्रयोग गरिएको बताएका छन् । 

बङ्गलादेश उसका १७ करोड मानिसका लागि पर्याप्त रोजगारीका अवसरहरू प्रदान गर्न असमर्थ छ । उक्त योजना गम्भीर रोजगारी सङ्कटको सामना गरिरहेका युवा स्नातकहरू बीचको असन्तुष्टिको स्पष्ट स्रोत हो । 

प्रधानमन्त्री हसिनाले गत साता प्रदर्शनकारीहरूलाई सन् १९७१ मा पाकिस्तानसँग मिलेर काम गरेका बङ्गलादेशीहरूसँग तुलना गरेर तनावलाई बढाउनुभयो । द्वन्द्वको आधा शताब्दीभन्दा लामो समयपछि यो अत्यधिक अपमानजनक आरोप थियो । 

“उनीहरूको खिल्ली उडाउनु उनीहरूको गरिमाको अपमान थियो”, इलिनोइस स्टेट युनिभर्सिटीमा राजनीतिका प्रोफेसर अली रियाजले भन्नुभयो ।

सन् २००९ मा दोस्रोपटक सत्ता सम्हालेपछि हसिना र अवामी लिगले बङ्गलादेशमा लोकतन्त्रलाई नाटकीय रूपमा घटाउने काम गरेको अधिकार समूह तथा आलोचकहरू बताउँछन् । 

उहाँको सरकारमाथि आफ्ना मुख्य प्रतिद्वन्द्वीहरूलाई अन्यायपूर्ण तरिकाले कारागारमा पठाएको, कठोर प्रेस स्वतन्त्रताविरोधी कानून पारित गरेको र विपक्षी कार्यकर्ताहरूको हत्यासहित अधिकार हनन गरेको आरोप लगाइएको छ । 

यस वर्ष अवामी लिगले प्रतिद्वन्द्वी राजनीतिक दलहरूका सयौँ मानिसलाई गिरफ्तार गरेपछि कुनै वास्तविक विरोधबिना निर्वाचनमा पुनः जित हासिल गर्यो । 

पन्ध्र वर्षभन्दा धेरै समयमा वास्तविक प्रतिस्पर्धात्मक निर्वाचन नदेखेकाले ‘असन्तुष्ट बङ्गलादेशीहरूसँग आफ्नो आवाज सुनाउन सडक आन्दोलनबाहेक केही विकल्प’ रहेको प्रकाशले बताउनुभयो ।

एउटा संक्षिप्त सैन्य विद्रोह, छिमेकी म्यान्माबाट सात लाखभन्दा बढी रोहिङ्ग्या शरणार्थीको आगमन र धेरै इस्लामिक आक्रमणसहित हसिनाले आफ्नो कार्यकालमा धेरै नाटकीय सङ्कटको सामना गर्नुभएको छ । 

तर द इकोनमिस्टका लागि लामो समयसम्म बङ्गलादेशका पूर्वसंवाददाता टम फेलिक्स जोहेङ्कले विरोध प्रदर्शन र विद्यार्थीहरूको हत्या दुवै ‘अभूतपूर्व’ भएको बताउनुभयो । उहाँका अनुसार बङ्गलादेशमा राजनीतिक प्रतिस्पर्धालाई अन्त्य गर्नु सधैँ नराम्रो विचार थियो ।

“हृदयदेखि नै यो अहंकार र आर्थिक अक्षमताका कारण उत्पन्न भएको राजनीतिक सङ्कट हो”, उहाँले भन्नुभयो, “करिब एक करोड ८० लाख युवा बङ्गलादेशी बेरोजगार छन्, एक दशकभन्दा लामो समयदेखि लोकतन्त्र ठप्प भएकाले उनीहरूले खुट्टाले भोट हाल्न थालेका छन् ।”

सुदूरपश्चिम प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य गरिएको दोस्रो दिन अर्को अधिवेशन आह्वान

सुदूरपश्चि- सुदूरपश्चिम प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य भएको दोस्रो दिन अर्को अधिवेशन आह्वान गरिएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा (३) बमोजिम प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार प्रदेशसभाको अधिवेशन यही साउन ८ गते आह्वान गर्नुभएको प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यको मागअनुसार प्रदेश प्रमुख मियाँले अधिवेशन आह्वान गर्नुभएको हो । आजै यी दलले प्रदेश प्रमुख समक्ष अधिवेशन गर्न निवेदन दिएका थिए ।

संविधानको धारा १८३ को उपधारा (३) मा प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन चालु नरहेको वा बैठक स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी प्रदेशसभाको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाइ सदस्यले लिखित अनुरोध गरेमा त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्ने छ भन्ने व्यवस्था छ ।

सरकारको सिफारिसमा प्रदेश प्रमुख मियाँले बिहीबार रातिदेखि प्रदेशसभाको चालु वर्षे अधिवेशन अन्त्य गर्नुभएको थियो । असार १ गते प्रदेशसभामा प्रस्तुत सरकारको आव २०८१/८२ को बजेटमाथि छलफल नगरी वर्षे अधिवेशन अन्त्य गरिएको थियो ।

सरकारले समय छँदै प्रदेशसभामा प्रस्तुत बजेट माथिको छलफल गराउनुपर्नेमा जानाजान ढिलासुस्ती गर्नुका साथै अन्य वैधानिक विकल्पको खोजी नगरी प्रदेशलाई बजेट शून्यताको अवस्थामा पु-याएको भन्दै नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले विरोध गरेका छन् । प्रस्तुत बजेट पारित नहुँदै नेकपा (एमाले) सरकारबाट बाहिरिएको थियो ।

अवैधरुपमा ओसारपसार गर्न लागिएका गोरुसहित ट्रक चालक नियन्त्रणमा

मकवानपुर- मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–११, थानाभर्‍याङबाट शुक्रबार दिउँसो अवैधरुपमा ओसारपसार गर्न लागिएका १८ वटा गोरुसहित ट्रक नियन्त्रणमा लिएको छ ।

शुक्रबार दिउँसो १२ बजेको समयमा स्थानीय भान्जा वर्कशपभित्र राखेको अवस्थामा १८ वटा गोरु र ट्रकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभएको छ । मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको ना७ख ६६६८ नंको ट्रकमा गोरु ‘लोड’ गरी आउँदै गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गोरु र ट्रकलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले ट्रकचालक मनहरी गाउँपालिका–५, वसन्तपुर बस्ने ३० वर्षीय अनिल बयलकोटीलाई नियन्त्रणमा लिएर गोरु, ट्रक र ट्रकचालकलाई आवश्यक अनुसन्धानका लागि पशु क्वारेन्टिन कार्यालय पथलैया पठाएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताउनुभयो ।

बसही पुल यथाशिघ्र निर्माणको माग राख्दै मुख्यमन्त्री सिंहलाई ध्यानाकर्षण

महेन्द्रनगर (धनुषा)-जनकपुर-ढल्केबर सडकखण्डको बसही पुल यथाशिघ्र निर्माणको माग राख्दै जनमत पार्टी मिथिला नगरपालिका नगर कार्य समितिले मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई शुक्रबार ध्यानाकर्षण पत्र बुझाएको छ ।

मिथिला नगरपालिका वडा नम्बर २ र ६ को सिमानामा पर्ने बसही खोलाको सो पुलमा पटक पटक सवारी दुर्घटना हुने गरेको छ । दुर्घटनामा धेरैले ज्यान गुमाइसकेकाले अधुरा पुल यथाशिघ्र निर्माणको माग राख्दै मुख्यमन्त्री सिंहलाई ध्यानाकर्षण-पत्र बुझाएको हो ।

पार्टीका नगर कार्यसमिति अध्यक्ष अभिमन्यू प्रसाद महतो र पूर्वअध्यक्ष सरोजकुमार सिंहसहितको टोलीले मुख्यमन्त्री सिंहलाई बुझाएको पत्रमा बसही खोलामाथिको पुल निर्माण रोकिएको बारे छानबिन गरी यथाशिघ्र निर्माण गरिदिन अनुरोध गरिएको छ ।

छ लेनको जनकपुर-ढल्केबर सडकखण्ड निर्माण सकिए पनि बसही खोलामाथिको पुल निर्माण हुन सकेको छैन । सडक चौडा भए पनि सडकअनुसार नयाँ पुल निर्माण सम्पन्न नहुँदा पुरानो जीर्ण दिनहुँ सवारी दुर्घटना हुने गरेको जनमत पार्टीका पूर्वनगर अध्यक्ष सिंहले बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्यो

चितवन, ५ साउन -चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको छ । आर्थिक वर्ष २०८०÷८१ मा मा तीन लाख ६ हजार आठ सय ३७ पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा दुई लाख ९९ हजार चार सय १२ पर्यटकले मात्र निकुञ्जको भ्रमण गरेका थिए ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षकोभन्दा सात हजार चार सय २५ बढी पर्यटक निकुञ्ज भित्रिएका हुन् । गत आर्थिक वर्षमा नेपाली एक लाख ७६ हजार तीन सय १६ भित्रिएका थिए । अघिल्लो आर्थिक वर्षमा नेपालीको सङ्ख्या दुई लाख पाँच हजार छ सय पाँच थियो । यसैगरी गत आर्थिक वर्षमा सार्क मुलुकका ३६ हजार चार सय ७१ र अघिल्लो आर्थिक वर्षमा ३७ हजार नौ सय ३५ पर्यटक भित्रिएका थिए । यस्तै अन्य मुलुकका विदेशी पर्यटक गत आर्थिक वर्षमा ९४ हजार ५० र अघिल्लो आर्थिक वर्षमा ५५ हजार आठ सय ७२ भित्रिएका थिए ।  

यो तथ्याङ्कलाई हेर्दा गत आवमा अघिल्लो वर्षको तुलनामा तेस्रो मुलुकका पर्यटक निकै बढेका छन् । सार्क मुलुकका पर्यटकको सङ्ख्या हाराहारी नै छ भने नेपालीको सङ्ख्या घटेको छ ।

निकुञ्जमा कूल पर्यटक र त्यसमा पनि विदेशी पर्यटक बढेसँगै राजस्व निकै बढेको छ । तिवारीका गत आवमा पर्या–पर्यटनबाट रु ३० करोड ५७ लाख १८ हजार चार सय राजस्व सङ्कलन भएको छ । अघिल्लो आवमा यो रकम रु २२ करोड ९३ लाख ९५ हजार नौ सय ५०  थियो । आव २०७८÷७९ मा एक लाख ९० हजार चार सय ५८ पर्यटक निकुञ्ज भित्रिएका थिए । यो आवमा रु ११ करोड ४९ लाख ९७ हजार चार सय १३ राजस्व सङ्कलन भएको थियो ।

यसैगरी आव २०७७÷७८ मा ९८ हजार नौ सय २८ पर्यटक भित्रिँदा रु तीन करोड ५० लाख ८३ हजार तीन सय ७६ राजस्व सङ्कलन भएको थियो । आव २०७६÷७७ मा एक लाख ८२ हजार चार सय ३५ पर्यटक निकुञ्ज प्रवेश गरेका थिए । सो आवमा रु १९ करोड ९२ लाख ५५ हजार छ सय ८१ राजस्व सङ्कलन भएको थियो ।

तिवारीका अनुसार निकुञ्ज स्थापनासँगै आव २०३१÷३२ देखि निकुञ्जमा पर्यटकको तथ्याङ्क राख्न थालिएको हो । त्यसवर्ष आठ सय ३६ पर्यटक निकुञ्ज घुमेको तथ्याङ्क छ । यसबाट रु एक लाख ४० हजार दुई सय ९८ राजस्व सङ्कलन भएको थियो । दोस्रो वर्ष अर्थात् आव २०३२÷३३ मा दुई हजार दुई सय छ पर्यटक निकुञ्ज भित्रिँदा दुई लाख एक हजार चार सय २१ राजस्व प्राप्त भएको थियो ।

सन् २०२४ लाई भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्षका रुपमा मनाइरहेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा भ्रमण वर्षको प्रचार भइरहेकाले यहाँ आउने पर्यटकको सङ्ख्या बढेको बताउनुभयो । भ्रमण वर्षमा आउने पर्यटक मुख्य गन्तव्य निकुञ्ज रहेको भन्दै उहाँले जहाँ बसे पनि पर्यटक निकुञ्ज घुम्न जाने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “निकुञ्ज प्रवेश गर्ने पर्यटकको सङ्ख्या बढ्नुमा भरतपुर भ्रमण वर्ष पनि हो ।”
चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु, चराचुरुङ्गी, वनस्पति, जलचरको अध्ययन, अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् ।

लेबनानी सेनाद्वारा युरोप जान खोजिरहेका ८६ सिरियालीलाई पक्राउ

लेबनानी सेनाको कमाण्डले लेबनानबाट इटाली जाने योजनामा रहेका ८६ सिरियाली नागरिकलाई पक्राउ गरेको लेबनानी सेनाले एक विज्ञप्तिमा जनाएको छ ।

आप्रवासीहरू उत्तरी लेबनानको एल–अब्देहबाट समुद्री मार्गबाट बसाइँ सर्ने तयारी गरिरहेका थिए ।

लेबनानी सेनाले आप्रवासीहरूले प्रयोग गर्न खोजेको डुङ्गालाई कब्जामा लिएको र न्यायिक अधिकारीहरूको निरीक्षणमा थुनामा परेकाहरूसँग अनुसन्धान सुरु गरिएको छ ।

लेबनानी सुरक्षा एजेन्सीहरूले अवैध आप्रवासन विरुद्ध लड्न आफ्नो प्रयासहरू बढाएका छन् । लेबनानी नागरिकहरूसँगै सिरियाली र प्यालेस्टिनी शरणार्थीहरूको बढ्दो सङ्ख्याले हालैका महिनाहरूमा लेबनानलाई अवैध रूपमा अन्य देशहरूमा छोड्ने प्रयास गरिरहेको छ ।

‘विदेशीसँग प्रतिस्पर्धा गर्न नेपाली चलचित्र सक्षम’ – हरिवंश आचार्य

काठमाडौँ – अभिनेता हरिवंश आचार्यले नेपाली चलचित्र विश्वका जुनसुकै देशका चलचित्रसँग प्रतिस्पर्धा गर्न सक्षम भएको बताउनुभएको छ । कमलपोखरीस्थित चलचित्र भवनमा चलचित्र ‘लाज शरणम्’ घोषणा गर्न आयोजित समारोहमा उहाँले नवीनतम सोच भएका युवाको प्रवेशसँगै निर्माण र कथ्यशैलीमा आएको फरक दर्शकले पनि महसुस गरेको बताउनुभयो ।

“नेपाली चलचित्र अहिले विश्वका प्रायः चलचित्र महोत्सवमा सहभागी भएर पुरस्कार जित्न सफल भइसकेका छन् । नेपाली चलचित्रमा विदेशी पनि अभिनय गरिरहेका छन् । त्यसकारण हामी अब कोहीन्दा कम छैनौँ”, अभिनेता आचार्यले भन्नुभयो, “हाँस्य व्यङ्ग्य क्षेत्रका नयाँ पुस्ताको पनि चलचित्र क्षेत्रमा आगमन भएको छ । उहाँहरुलाई स्वागत गर्न पाउँदा उत्साहित छु ।”

‘भद्रगोल’ हुँदै ‘सक्किगोनी’ टेलीशृङ्खलामार्फत अभिनय सुरू गर्नुभएका कलाकार तथा चलचित्र ‘लाज शरणम्’ का निर्देशक कुमार कट्टेलले केही वर्षको प्रयासपछि चलचित्र घोषणा गर्न सक्षम भएको बताउनुभयो । “हामीले शृङ्खलापछि चलचित्र निर्माण गर्ने सोच बनाएर मेहनत गरेका छौँ । यसमा मनोरञ्जनसँगै सामाजिक विकृतिबारे व्यङ्ग्य पनि छ । हामी चलचित्र निर्माण गर्ने समयसम्म आइपुग्नुमा अघिल्ला हाँस्य विधामा काम गर्नुभएका कलाकारको ठूलो योगदान छ”, निर्देशक कट्टेलले भन्नुभयो ।

उक्त अवसरमा निर्देशक दीपाश्री निरौला, प्रदीप भट्टराई, निर्मल शर्मालगायतले चलचित्र क्षेत्रमा स्वागत गर्दै शुभकमना दिनुभयो । सो चलचित्रमा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), कमलमणि नेपाल (खुपीका बाउ), माला लिम्बू, विजय बराल, मुकुन्द श्रेष्ठलगायत कलाकारको अभिनय रहनेछ । खलपात्रको रुपमा दर्शक माँझ परिचित अभिनेता श्रेष्ठ १२ वर्षपछि यसै चलचित्रमार्फत अभिनयमा फर्किदै हुनुहुन्छ ।

उक्त कार्यक्रममा हास्य विधामा आधारित रहेर निर्माण भएका टेलीशृङ्खलालाई प्रोत्साहन गर्दै दर्शकसम्म पु¥याएको भन्दै मिडिया हबका सञ्चालक सोम धिताललाई कदर–पत्र र दोसल्लासहित सम्मान गरिएको थियो ।

श्रममन्त्री भण्डारीद्वारा आइएलओको सहयोगप्रति आभार प्रकट

काठमाडौँ, ४ साउन: श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को नेपाल निर्देशक नुमान ओज्कानले आज शिष्टाचार भेट गर्नुभएको छ ।

श्रम मन्त्रालयमा आज भएको सो भेटमा उहाँहरुबीच श्रम आप्रवासनका विविध विषयमा विचार विमर्श भएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ ।

 सो क्रममा श्रममन्त्री भण्डारीले व्यवसायजन्य सुरक्षा, बालश्रम निवारण तथा मर्यादित कामका क्षेत्रमा आइएलओले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो । भेटमा आइएलओका नेपाल निर्देशक ओज्कानले नेपाल आइएलओको ‘गभर्निङ बडी’ मा निर्वाचित भएकामा बधाई दिनुभएको थियो ।

अध्यक्ष प्रचण्डद्वारा विजयी महिला क्रिकेट टोलीलाई बधाई

काठमाडौँ, ४ साउन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त अरब एमिरेट्स (युएई) सँगको आजको खेलमा ऐतिहासिक विजय हासिल गरेका नेपाली महिला क्रिकेट टोलीलाई बधाई ज्ञापन गर्नुभएको छ ।

उहाँले महिला क्रिकेट टोलीलाई जीतका अवसरमा हार्दिक बधाई ज्ञापन गर्नुहुँदै निरन्तर प्रगतिको शुभकामनासमेत व्यक्त गर्नुभयो । आज साँझ सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डले भन्नुभएको छ, “क्रिकेटमा एकपछि अर्को सफलता हासिल गरिरहेको नेपाली टोलीलाई थप सफलता दिलाउन हामी सबैले सहयोग र प्रेरणा प्रदान गरौँ ।”

आजको पहिलो खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो । युएईले दिएको एक सय १६ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पार गरेको थियो ।

क्यानलाई एआईको विषयमा कार्यपत्र ल्याउन सञ्चारमन्त्रीको आग्रह

काठमाडाैँ, ४ साउनः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले क्यान महासङ्घलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को विषयमा कार्यपत्रसहित आउन आग्रह गर्नुभएको छ ।आज मन्त्रालयमा क्यान महासङ्घका प्रतिनिधिमण्डलसँग भएको छलफलमा मन्त्री गुरुङले आवश्यक नीतिगत कुरा गर्न सरकार तयार भएको बताउनुभएको समेत जानकारी दिनुभयो । “आर्टिफिसियल इन्टेलिजेन्सको विषयमा कार्यपत्र लिएर आउनोस्, आवश्यक नीतिगत कुरा गर्न सरकार तयार छ”, मन्त्री गुरुङले भन्नुभयो । उहाँले छलफलका क्रममा सूचना प्रविधिको क्षेत्रमा आएको क्रान्तिलाई मुलुकको समृद्धिको आधार बनाउने विषयमा जोड दिनुपर्ने बताउनुभएको छ ।

मन्त्री गुरुङका अनुसार यसका लागि सरकारले सबैको सहयोगको अपेक्षा गरेको बताउनुभएको छ । क्यान महासङ्घका अध्यक्ष रणजीतकुमार पोदारको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँग आज मन्त्रालयमा छलफल गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले यस्तो धारणा राख्नुभएको हो ।

मन्त्री गुरुङले सूचनाको क्षेत्रमा आएको क्रान्ति र आर्टिफिसियल इन्टेलिजेन्सको सुरुआतले निम्त्याउने चुनौतीको समेत दृष्टिगत गरी सरकारले आफ्नो नीतिगत सुधार र व्यवस्थापनको काम अघि बढाउने जानकारी दिनुभएको हो ।

छलफलमा मन्त्री गुरुङले आफूले पदबहालीकै क्रममा डिजिटल नेपाल ‘फ्रेमवर्क’लाई परिमार्जन गरेर सूचना प्रविधि सम्बद्ध निकायको पुनःसंरचना गर्न कार्यदल गठनको निर्णय लिएको स्मरण गर्नुभयो ।

यस्तै, उहाँले सरकार निजी क्षेत्रमैत्री रहेको र मुलुकमा सकारात्मक परिणाम निकाल्नका लागि सहकार्य गर्न चाहिरहेको उल्लेन गर्नुभयो । सो अवसरमा क्यान अध्यक्ष पोदार, महासचिव चिरञ्जीवी अधिकारीलगायतका पदाधिकारी हुनुहुन्थ्यो । सो अवसरमा क्यान महासङ्घका अध्यक्ष पोदारले सूचना प्रविधि क्षेत्रका बजेटको कार्यान्वयन यसका प्रभावकारिताको विषयमा ध्यानाकर्षण गराउनुभएको थियो ।

मुस्ताङमा गुम्बाको नाली खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु

म्याग्दी, ४ साउन : मुस्ताङको घरपझोङ गाउँपालिका–५ ढुम्बामा ढिस्कोले पुरिएर दुई मजदुरको मृृत्यु भएको छ । ढुम्बाको कुछपतेरङ्गा गुम्बाको नाली खन्ने क्रममा माटोको ढिस्कोले पुरिँदा उनीहरुको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार सर्लाहीको लालबन्दी नगरपालिका–१५ का २३ वर्षीय होमबहादुर बुढाथोकी र दाङको गडवा गाउँपालिका–१ का २३ वर्षीय रवि दर्लामी मगरको मृत्यु भएको हो ।  नेपाल प्रहरी, स्थानीयवासीलगायतको सहयोगमा मजदुुको शव माटोबाट बाहिर निकालिएको हो । 

कांग्रेस– एमाले गठबन्धनको सरकार पूरा कार्यकाल टिक्छ : उपप्रधानमन्त्री पौडेल

काठमाडौँ, ४ साउन : उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले कांग्रेस– एमाले गठबन्धनको सरकार पूरा कार्यकाल टिक्ने बताउनुभएको छ । नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गानाको नेतृत्वमा आज गएको नगरपालिका सङ्घका पदाधिकारीहरुसँगको छलफलमा उपप्रधानमन्त्री पौडेलले अहिलेको सरकार देश र जनताको लागि भएको भन्दै त्यही गतिमा काम गर्न नगरप्रमुखहरुलाई आग्रह गर्नुभयो ।

“राजनीतिक स्थायित्व हुन्न कि भन्ने चिन्ता नलिनुस्”, उपप्रधानमन्त्री पौडेलले भन्नुभयो, “यो सरकार पूरै अवधि रहन्छ, काम गर्दा केही अप्ठ्यारो भयो भने विकल्प खोज्न लागिँदैन, मिलेर काम गर्छौँ ।”

उहाँले नगरप्रमुखहरुलाई सङ्घीय गठबन्धनको गतिमा काम गर्न आग्रह गर्नुभएको छ । “यो गठबन्धन तलमाथि हुन्न, अब विकल्प पनि छैन, तपाईहरु त्यही गतिमा काम गर्नुुस्”, उहाँले भन्नुभयो । उहाँले वित्तीय समानीकरणको बाँकी रकम भुक्तानीका लागि पहल गर्ने बताउनुभयो । “वित्तीय समानीकरणको बाँकी रकम निकासाका लागि पनि म पहल गर्छु”, उहाँले भन्नुभयो ।

सङ्घका अध्यक्ष ढुङ्गानाले वित्तीय समानीकरण अनुदानवापतको रकम अझै सात प्रतिशत निकासा हुन बाँकी रहेको भन्दै सो रकम निकासा गरिदिन आग्रह गर्नुभयो । “वित्तीय समानीकरणको सबै अनुदान हामीले पाएका छैनौँ, त्यो रकम तत्काल निकास गराइदिनुहुन अनुरोध गर्दछु”, अध्यक्ष ढुङ्गानाले भन्नुभयो, “वित्तीय समानिकरणको पूर्ण अनुदान आउँछ भन्नेमा हामी विश्वस्त छौँ ।” भेटघाटका क्रममा नगरपालिका सङ्घका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

कांग्रेसले वाग्मती प्रदेशका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने

मकवानपुर, ४ साउनः नेपाली कांग्रेस वाग्मती प्रदेशको कार्यसम्पादन समितिको आज ललितपुरमा सम्पन्न बैठकले वाग्मती प्रदेश सरकार मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभापतित्वमा बसेको बैठकले मुख्यमन्त्री जम्कट्टेलले राख्नुहुने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न कांग्रेस बागमती प्रदेशसभा संसदीय दललाई निर्देशन दिने निर्णय गरेको प्रदेशसभा सदस्य तथा प्रदेश मामिला समितिका सभापति छिरिङदोर्जे लामाले जानकारी दिनुभयो ।

मुख्यमन्त्री जम्कट्टेलले यही साउन ६ गते प्रदेशसभामा विश्वासको मत लिनुहुने कार्यक्रम छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पाँच जनाले सामूहिक रुपमा राजीनामा दिएपछि मुख्यमन्त्री जम्कट्टेलको सरकार अल्पमतमा परेको छ ।

काठमाडौँको ढलमा देखियो पोलियो जीवाणु

काठमाडौँ । काठमाडौँको ढलमा पोलियो जीवाणु (भाइरस) देखिएको छ । स्वास्थ्य सेवा विभागले शुक्रबार आयोजना गरेको ‘पोलियो रोग र निगरानी’ विषयक अन्तरक्रियामा विभागका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले काठमाडौँको टुकुचा खोला र बागमती नदीको सङ्गमस्थल टेकुको ढलमा पोलियो जीवाणु भेटिएको जानकारी दिए  ।  


दुई नदीको सङ्गमस्थलबाट सङ्कलन गरिएको ढलको नमूनामा पोलियो जीवाणु भेटिएको प्रमुख डा गौतमले बताए । ढलमा पोलियो जीवाणु देखिएको पहिलो पटक हो । नेपालमा सन् २०१० मा अन्तिम पटक मानिसमा पोलियो जीवाणु देखिएको थियो । नेपाल सन् २०१४ पोलियोमुक्त मुलुक भएको थियो । सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ । 


“अहिले पोलियो जीवाणु ढलमा देखिएको हो । पोलियोको जीवाणु जहाँ देखिए पनि संवेदनशील विषय हो,” उनले भने, “ढलमा देखिनुले कतै व्यक्तिमा पनि छ कि भन्ने आशङ्का छ ।”


खोप शाखा प्रमुख डा गौतमले ढलमा जीवाणु देखिनु संवेदनशील भएको उल्लेख गर्दै व्यक्तिमा जीवाणु छ कि भनेर खोजबिन गरिने बताए । उनका अनुसार थाइल्यान्डको बैङ्ककमा ढलमा सङ्कलन गरिएको नमूना परीक्षण गर्दा गत असार २९ गते पोलियो जीवाणु देखिएको पुष्टि भएको हो । ढलको नमूना सङ्कलन भने गत जेठ १३ गते दुई नदीको सङ्गमस्थलबाट गरिएको हो । 


नेपाल पोलियो उन्मूलन भएपछि १० वर्षपछि पोलियोको जीवाणु भेटिएको हो । उहाँका अनुसार उक्त पोलियोको जीवाणु प्राकृतिक रुपमा पाइने ‘वाइल्ड पोलियो’ नभएर ‘भ्याक्सिन डिराभ्ड पोलियो टाइप–३’ जीवाणु हो । “टुकुचा र बागमतीको सङ्गमस्थल टेकुमा देखिएको हुनाले पोलियो भाइरस काठमाडौँ उपत्यकाबाट नै आएको हुनसक्छ,” उनले भने । 


उपत्यकामा पोलियोको जीवाणु भेटिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ, ललितपुर र भक्तपुरमा पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्दैछ ।


परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई घरघर गएर पोलियो रोगविरुद्धको ‘आइपिभी’ खोप अभियान सञ्चालन गर्न थालिएको बताए । उनका अनुसार खोप यही साउन ९ देखि १२ गतेसम्म दुई लाख ८० हजार बालबालिकालाई उक्त खोप लगाइने छ । अभियानसँगै घर र अस्पताल पोलियोको जीवाणु छ कि छैन भनेर पनि परीक्षण गरिने उनले उल्लेख गरे । 


कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले पोलियो भाइरसले मानिस सङ्क्रमित नहुन भनेर खोप अभियान सञ्चालन गरिएको बताए । 

बेपत्ता चार जनाको शव फेला, बाढीमा फसेका पाँचको उद्धार

काठमाडौँ, ४ साउनः विपद् उद्धारमा खटिएको सशस्त्र प्रहरी बल नेपालको टोलीले आज देशका विभिन्न क्षेत्रबाट बेपत्ता भएका चार जनाको शव निकालेको छ भने बाढीमा फसेका पाँचको उद्धार गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय काठमाडौँका अनुसार कास्की, मुस्ताङबाट बेपत्ता चार जनाको शव निकालेको हो भने कैलालीबाट पाँच जनाको सकुशल उद्धार गरेको हो ।

सशस्त्रका केन्द्रीय प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले अहिले पनि देशका विभिन्न जिल्लामा गोताखोरसहितका विपद उद्धार टोली परिचालन गरी आवश्यक उद्धार तथा खोजी जारी राखेको जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक काठमाडौँका अनुसार कास्कीको पोखरा महानगरपालिका–२३ घाँटीछिनास्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई जना र मुस्ताङमा माटोको ढिस्कोमा पुरिएका दुई गरी चार जनाको शव आज निकालिएको हो ।

घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गणबाट गएको गोताखोरसहितको टोलीले शव फेला पारेको हो । यसैगरी मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका–५ धुम्वा तालस्थित नाली बनाउने ट्रयाक खन्ने क्रममा माटोको ढिस्कोले पुरिएका दुई जनाको आजै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा शव निकालिएको छ । उक्त घटानबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं ३३ गुल्मबाट खटिएको सुरक्षा फौज खोजी कार्यमा जुटेको थियो ।

आजै वर्षासँगै मोहना नदीमा आएको बाढीमा फसेका पाँच जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१८ नोक्लिपुरबाट नदी पार गरी घाँस काट्न गएका उनीहरु सो नदीमा पानीको बहाव बढेपछि अलपत्र परेका थिए ।

उनीहरु नदीपारी अलपत्र परेको भन्ने जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट फूलवारीबाट खटिएको सुरक्षा फौजले ¥याफ्ट बोटको प्रयोग गरी सकुशल उद्धार गरेको हो ।

यसैगरी सोही उपमहानगरपालिका–१५ स्थित कनरी गाउँमा खटिया नदीमा पानीको बहाव बढ्न गई डुबानमा परेका ७ परिवारलाई सोही बिओपीबाट खटिएको सुरक्षा फौजले सुरक्षित स्थानमा सारेको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले आज साँझ एक सूचना जारी गरी जानकारी दिएको छ ।

‘ऐन संशोधन गर्न अघि सारेको प्रस्ताव संसद्बाट पास गराइने’ – मन्त्री यादव

काठमाडौँ, ४ साउन : खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ खानेपानी व्यवस्थापन बोर्डले आवश्यक ऐन संशोधनका लागि अघि सारेको प्रस्तावलाई अध्ययन गरेर संसद्बाट पास गराइने बताउनुभएको छ ।

काठमाडौँ खानेपानी व्यवस्थापन बोर्डको आज भ्रमणका क्रममा मन्त्री यादवले बोर्डले अघि सारेको प्रस्तावलाई मन्त्रालयका सचिव, कर्मचारी एवं बोर्डका महानिर्देशकसहितको टोलीसँग छलफल तथा अध्ययन गरी संसद्बाट पास गराउने बताउनुभयो । बोर्डमा काम गर्ने क्रममा आएका चुनौतीको समाधान गर्न पहल गर्ने उहाँले उल्लेख गर्नुभयो ।

मन्त्री यादवले मन्त्रालय र बोर्डका कर्मचारीलाई आपसी सहकार्यका साथ काठमाडौँ उपत्यकामा बाहै्र महिना पानी उपलब्ध गराउने उद्देश्यका साथ काम गर्न निर्देशन दिनुभयो । भ्रमणका क्रममा उहाँले खानेपानी व्यवस्थापन बोर्डको इतिहास, गतिविधि, सञ्चालित कार्यक्रम, तिनीहरुको कार्यान्वयनको अवस्था र सो क्रममा आएका चुनौतीबारे जानकारी लिनुभएको थियो ।

“जनतामा उत्साह छैन । हामीले आफ्नो काम मार्फत निराशालाई उत्साहमा परिणत गर्नुपर्छ”, मन्त्री यादवले भन्नुभयो । उहाँले आफ्नो पहिलो प्राथमिकता शुद्ध पानी वितरण रहेको बताउनुभयो ।

जनमतले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने

काठमाडौँ, ४ साउनः जनमत पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ । पार्टीको आजको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका प्रवक्ता डा शरदसिंह यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच भएको साझेदारीमा गठन भएको वर्तमान सरकारले मधेस प्रदेशमा आफ्नो पार्टी नेतृत्वको सरकारलाई समर्थन गरेकाले सङ्घीय सरकारका प्रधानमन्त्रीलाई विश्वातको मत दिने निर्णय गरिएको हो ।

जनमतको नेतृत्वमा कांग्रेस, एमाले, लोकतान्त्रिक समाजवादी (लोसपा)सहित मधेस प्रदेश सरकारले बिहीबार पूर्णता पाइसकेको छ । “हाम्रो पार्टीको सुरुदेखिनै प्राथमिकतामा मधेस प्रदेश सरकार थियो । प्रदेशमा जनमतको नेतृत्वलाई कांग्रेस र एमालेले समर्थन गरेकाले सङघीय सरकारलाई समर्थन गरेर जाने पार्टीको स्पष्ट नीति छ”, प्रवक्ता यादवले भन्नुभयो ।

प्रतिनिधिसभामा जनमत पार्टीका छ सांसद हुनुहुन्छ प्रधानमन्त्री ओलीले नेपालको संविधान बमोजिम यही साउन ६ गते (आइतबार) प्रतिनिधिसभामा विश्वासको मत लिनुहुने कार्यक्रम छ ।

इन्डोनेसियाको बाली टापुमा हेलिकप्टर दुर्घटना हुँदा पाँच घाइते

इन्डोनेसियाको रिसोर्ट टापु बालीमा शुक्रबार पाँच जना सवार हेलिकप्टर दुर्घटना हुँदा पाइलट र चार यात्रु घाइते भएको एक वरिष्ठ उद्धारकर्ताले बताएका छन् ।उक्त घटना स्थानीय समयअनुसार १४ः३७ बजे भएको बाडुङ रिजेन्सी टापुमा रहेको खोज तथा उद्धार कार्यालयका प्रमुख आई न्योमन सिडाकार्यले बताउनुभयो ।

घटनामा दुई जना गम्भीर घाइते भएका छन् भने तीन जना सामान्य घाइते भएका छन् । घाइते सबैलाई तुरुन्तै आरएस सिलोम अस्पताल लगिएको सिडकार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

रुसमा अमेरिकी पत्रकार गेर्शकोभिचलाई १६ वर्षको कारागार सजाय

अमेरिकी संवाददाता इभान गेर्शकोभिचलाई शुक्रबार रुसको एक अदालतले ‘जासुसी’ गरेको आरोपमा १६ वर्षको कारागार सजाय सुनाएको छ । अदालतको उक्त फैसला तीन साताभन्दा धेरै गुप्त अदालती कारवाहीपछि आएको हो । यसलाई वासिङ्टनले ‘जालसाजी’ भनेको छ ।

पहिला नै दोषी ठहर नगरिएसम्म कैदीहरूलाई अन्तर्राष्ट्रियस्तरमा आदानप्रदान नगर्ने रुसको नीति छ । यसबाट सम्भावितरूपमा ३२ वर्षीय गेर्शकोभिचलाई एक सम्झौतामा अदलाबदली गर्न मार्ग प्रशस्त गर्दछ ।

न्यायाधीश आन्द्रेई मिनेयेभले भन्नुभयो, “उनलाई कठोर शासनको कोलोनीमा १६ वर्षका लागि कारागार सजाय सुनाइएको थियो ।”

कालो ट्राउजर र टि–सर्ट लगाउनुभएका गेर्शकोभिचले प्रतिवादीको कठघरामा उभिएर सजायप्रति कुनै प्रतिक्रिया व्यक्त गर्नुभएन । आफूलाई लैजाँदा उहाँले पत्रकार साथीहरूलाई हात हल्लाउनुभयो ।

आफूलाई निर्दोष बताउने वाल स्ट्रिट जर्नलका संवाददाता गेर्शकोभिच शीत युद्धपछि रुसमा जासुसीको आरोप लगाइएका पहिलो पत्रकार बन्नुभएको छ । उहाँलाई सन् २०२३ मार्चमा रुसी सहर येकातेरिनबर्गमा हिरासतमा लिइएको थियो ।

उहाँले संयुक्त राज्य सरकारको आरोपका आधारमा करिब १६ महिना हिरासतमा बिताउनुभयो । उहाँको रोजगारदाताले आरोपलाई मनगढन्ते भनेको छ ।

जर्नलका प्रकाशक अलमार लाटोर तथा प्रधान सम्पादक एम्मा टकरले एक विज्ञप्तिमा भन्नुभयो, “यो अपमानजनक, देखावटी सजाय इभानले एक पत्रकारका रूपमा आफ्नो काम गर्दा गलत तरिकाले हिरासतमा लिएको, आफ्नो परिवार र साथीहरूबाट टाढा राखेको, रिपोर्टिङ गर्न रोकेको र चार सय ७८ दिन कारागारमा बिताएपछि आएको हो ।”

प्रेस अधिकार समूह रिपोर्टर्स विदआउट बोर्डर्सले सजायलाई ‘अपमानजनक’ भन्दै गेर्शकोभिचलाई तुरुन्त रिहा गर्न आह्वान गरेको छ । वासिङ्टनले विदेशमा सजाय पाएका रुसीहरूको रिहाइलाई सुरक्षित गर्न गेर्शकोभिचलाई बार्गेनिङ चिपका रूपमा राखिएको विश्वास गरेको छ ।

जुनको अन्त्यमा भएको पहिलो सुनुवाइदेखि उहाँको मुद्दा तीव्र गतिमा अघि बढेको छ । अभियोजन र प्रतिरक्षा टोलीले शुक्रबार आफ्नो अन्तिम तर्क दिएका छन् । रुसमा यस्तै प्रकारका अन्य मुद्दाहरूको सुनुवाइ अन्यन्त सुस्त गतिमा हुने गरेको छ । सुनुवाइका बीचमा धेरै साता र यहाँसम्म कि महिनौँ लाग्ने गरेको छ । शुक्रबार प्रश्न गर्दा क्रेमलिनले कैदीहरूको अदलाबदलीको सम्भावनाबारे अडकलहरूमा सहभागी हुन अस्वीकार गरेको छ ।

निर्माण व्यवसायीको भुक्तान गर्न बाँकी रकम चाँडै उपलब्ध गराइने छ : अर्थमन्त्री पौडेल

काठमाडौँ, ४ साउन : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीको भुक्तान गर्न बाँकी रकम चाँडै उपलब्ध गराइने बताउनुभएको छ ।

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँग आज अर्थ मन्त्रालयमा कुरा गर्दै मन्त्री पौडेलले निर्माण व्यवसायीको भुक्तानी रोकिँदा सन्देश गलत गएको उल्लेख गर्नुभयो । निर्माण व्यवसायीको रकम अविलम्ब भुक्तान गर्नेबारे विकास निर्माणसँग सम्बन्धित मन्त्रालयका सचिवहरूसँग छलफल गरेको उहाँले बताउनुभयो ।

“सरकार र निर्माण व्यवसायी एउटै डुङ्गाका यात्री हुन्, दुवै पक्षले सहकार्य गरी अघि बढ्नुको विकल्प छैन”, मन्त्री पौडेलले भन्नुभयो । निर्माण व्यवसायीका अन्य समस्या क्रमशः सम्बोधन हुने उहाँको भनाइ थियो । व्यवसायीले तोकिएको रकममा समयमै गुणस्तरीय कार्य गर्नुपर्ने मन्त्री पौडेलले खाँचो औँल्याउनुभयो । निर्माण व्यवसायी नै मुलुकको विकासका अभियन्ता भएकाले सरकारलाई भरोसा गरी आत्म गौरवका साथ कार्य गर्न उहाँले निर्माण व्यवसायीलाई सुझाव दिनुभयो । मुलुकको व्यवस्था फेरिए पनि अवस्था नफेरिएको उल्लेख गर्दै मन्त्री पौडेलले समस्या देखाउने नभई समाधन गर्ने ढङ्गले अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

महासङ्घ अध्यक्ष रवि सिंहले मन्त्री पौडेल समक्ष निर्माण उद्योगलाई पनि कृषि तथा जलस्रोत क्षेत्रको जस्तै सहुलियत दिन आग्रह गर्नुभयो । महासङ्घको प्रतिनिधिमण्डलले आजै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई भेटेर निर्माण उद्योगमा देखिएको भुक्तानीलगायतका समस्याबारे जानकारी गराएको छ । जवाफमा मन्त्री दाहालले ‘लो बिडिङ’ का कारण निर्माण उद्योगमा धेरै जटिलता देखिएकाले कानून संशोधन गरेर भए पनि उक्त समस्या हल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

मुलुकमा हुने विकास निर्माणका हरेक काममा स्वदेशी व्यवसायीलाई नै प्राथमिकता दिने व्यवस्था राज्यले गर्ने मन्त्री दाहालले बताउनुभयो ।

पर्सा प्रहरीद्वारा बिलबीजक नभएका साढे ५३ करोडको अवैध सामान बरामद

वीरगञ्ज (पर्सा), ४ साउनः पर्सा प्रहरीले गत आर्थिक वर्षमा बिलबीजक नभएका करिब रु साढे ५३ करोड मूल्य बराबरको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख कुमोध ढुङ्गेलले प्रहरीको सक्रियताकै कारणले अघिल्लो आवको तुलनामा गत आवमा अवैध रुपमा भन्सार छली तथा बिलबीजक नभएका रु पाँच करोड ३६ लाख ९५ हजार दुई सय २७ ले बढी बरामत भएको बताउनुभयो ।

“प्रहरीले भन्सार छली तथा चोरी-पैठारी र बिलबीजकभन्दा धेरै सामान ल्याउनेमाथि निगरानी बढाएकै कारणले बरामद हुने समान बढेको हो”, उहाँले भन्नुभयो, “चोरी-तस्करी गरेर भित्र्याएको सामानलाई पक्राउ गरेर वीरगञ्ज भन्सार कार्यालयलाई बुझाउँदै आइरहेका छौँ । बिलबीजक अनुसार नभएको सामान भने राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउँदै आइरहेका छौँ ।” 

पर्सा प्रहरीका अनुसार आव २०७९/८० मा अवैध चोरी–तस्करी गरेर तथा बिलबीजक नभएका गरी कूल रु ४८ करोड नौ लाख ६४ हजार ६ सय ४६ मूल्य पर्ने सामान वीरगञ्ज भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैया बुझाएको थियो ।   त्यस्तै, आव २०७८/७९ मा भने रु २३ करोड ९४ लाख ४६ हजार आठ सय २५ मूल्य पर्ने सामान बरामद गरेको थियो । 

हुन्डी कारोबारमा संलग्नबाट ६१ लाख बरामद

पर्सा प्रहरीले गत आर्थिक वर्षमा हुन्डी कारोबारमा संलग्न १७ जना कारोबारीबाट रु ६१ लाख २४ हजार सात सय जफत गरेको छ । पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले अघिल्लो आवभन्दा गत आवमा हुन्डी कारोबारमा पक्राउ पर्ने सङ्ख्यामा कमी आएको बताउनुभयो । पर्सा प्रहरीले आव २०७९/८० मा हुन्डी कारोबारमा संलग्न रहेको भन्दै १७ जनाबाट रु एक करोड ९३ लाख ६६ हजार तीन सय रकम बरामद गरेको थियो । 

त्यस्तै, आव २०७८/७९ मा हुन्डी कारोबारमा संलग्न १४ जनाबाट रु एक करोड ६५ लाख १३ हजार ६ सय २० सहित पक्राउ गरेको थियो । पर्सा जिल्लामा एक सय सात किलोमिटर क्षेत्रफल भारतसँग सीमा जोडिएको छ ।

अवस्था जटिल भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

बाजुरा,४ साउन : सुत्केरी समस्यामा रहेकी एक गर्भवतीको हेलिकप्टरमार्फत आज उद्धार गरिएको छ । जिल्लाको जगन्नाथ गाउँपालिका–४ महतीकी २६ वर्षीया सागरा दमार्इंलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

सुत्केरी व्यथा लागेर बूढीनन्दामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएकी दमाईंको अवस्था जटिल भएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले राससलाई जानकारी दिनुभयो । 

प्रजिअ पौडेलका अनुसार कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट गर्भवतीको अवस्था जटिल भएको पत्र प्राप्त भएपछि प्रशासनको समन्वयमा उक्त महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । 

राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार पाँच वर्षयता ३८ जना बढी गर्भवती तथा सुत्केरीको सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । दुर्गमका गर्भवती र सुत्केरीको अवस्था जटिल भएमा उद्धार गरी उनीहरुको ज्यान बचाउने गरी सरकारले उक्त कार्यक्रम सञ्चालन गर्दैै आएको छ । 

तिमाङ खोलामा काठेपुल निर्माण, यातायात सेवा सञ्चालन

मनाङ, ४ साउन : हिमाली जिल्ला मनाङको एक मात्र स्थलमार्ग डुम्रे–बेँसीसहर–चामे सञ्चालनमा आएको छ । अविरल वर्षापछि असार १८ मा आएको बाढीले हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–१ तिमाङ खोलाले काठेपुल बगाएपछि अवरुद्ध सडक पुनः सञ्चालनमा आएको हो ।

प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानले तिमाङ खोलामाथि २४ दिनपछि शुक्रबार नयाँ काठेपुल राखेपछि डुम्रे–बेँसीसहर–चामे सडक सञ्चालनमा आएको जानकारी दिनुभयो । उहाँका अनुसार काठेपुल निर्माण भएपछि सवारीसाधन सञ्चालनमा अएको हो । उहाँले भन्नुभयो, “तिमाङ खोलामा पानीको सतह कम हुनासाथ पर्खाल लगाएर काठेपुल निर्माण गरिएको छ । डुम्रे–बँेसीसहर–चामे सडक योजनाले यातायात सञ्चालनका लागि पूर्ण रुपमा सहयोग गरेको छ । मनाङको मेरुदण्डको सडक निर्माणका काम पनि यस योजनाले नै गरिरहेको छ । जसले गर्दा पनि योजनाले काम समयमा गरेको हुनसक्छ ।”

प्रजिअ लामिछानेले तिमाङ झरनाको मोटरेबल पुलमा पनि कल्भर्ट राखेर यातायात सञ्चालन भएको बताउनुभयो । तिमाङ छहरा पनि गत असार १८ गते ग्रेग्यान तथा ढुङ्गा खसेर पुलमा क्षति पुर्‍याउँदा सञ्चालन आउन सकेको थिएन । यहाँ योजनाले नयाँ पुलका लागि पनि काम गर्ने जिम्मा पाइसकेको डुम्रे–बेँसीसहर–चामे योजनाका सबइन्जिनियर सुमन अधिकारीले जानकारी दिनुभयो । 

अधिकारीका अनुसार सदरमुकाम जानुपर्ने काममा पनि सकस भएकाले चाँडो यहाँको यातायात तथा पैदलयात्रा गर्ने वातावरण बनाउने लक्ष्य पूरा भएको छ । पर्यटकीय क्षेत्र भएकाले जोखिम मोलेर पनि केही पर्यटक आवतजावत हुने भएकाले चाँडो पुल निर्माण गर्नुपर्ने र तल्लो मनाङ तथा माथिल्लो मनाङबीचको विच्छेद भएकामा सहज बनाउन २४ दिन लागेको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षमा मनाङमा एक सय १६ पुल बनाउने तयारी भइरहेको पनि उहाँले जनाकारी दिनुभयो । 

निजी क्षेत्रको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री

काठमाडौँ, ४ साउन : उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । अर्थ मन्त्रालयमा आज नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त अर्थमन्त्री पौडेललाई बधाई तथा शुभकामना दिने क्रममा उहाँले निजी क्षेत्रको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो ।

वर्तमान सरकार राजनीतिक र आर्थिक स्थिरताका लागि गठन भएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन सरकार प्रयासरत रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारप्रति आशा र भरोसा गर्नुहोस्, तत्काल गर्न सकिने काम यो वर्ष र बाँकी विषयहरु बजेटमै सम्बोधन गरेरै भए पनि निजी क्षेत्रको मागलाई सम्बोधन गर्छौं ।”

चेम्बर अफ कमर्सले नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन ४० बुँदे सुझावसहित चेम्बर कार्यसमितिले अर्थमन्त्री पौडेलसमक्ष सिंहदरबारमा भेतवार्ता गरेको हो । सो अवसरमा अध्यक्ष कमलेशकुमार अग्रवाल सहितको चेम्बर केन्द्रीय कार्य समितिले नवनियुक्त अर्थमन्त्री पौडेललाई बधाई एवं सफल कार्यकालको शुभकामना दिनुभयो । 

आर्थिक गतिविधिमा आएको सङ्कुचनले माग र आपूर्तिबीच असन्तुलन, निजी क्षेत्रको सम्पत्तिमा सङ्कुचन एवं बैङ्क तथा वित्तीय संस्थामा तरलता भए पनि निजी क्षेत्रमा लगानीप्रति आकर्षण नभएकोप्रति चेम्बर अध्यक्ष अग्रवालले अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “अर्थतन्त्र शिथिलताबाटै गु्रज्रिरहेको छ । आर्थिक र वित्तीय क्षेत्रको निकासका लागि नीतिगत स्थायित्व र सरकारी संरक्षणको आवश्यकता छ, ।”

कालोसूचीमा पर्न लागेका उद्यमी–व्यवसायीलाई उद्योग–व्यवसायको प्रकृति हेरेर आवश्यकताअनुसार बैङ्क तथा वित्तीय संस्थासँगको आपसी विश्लेषणबाट केही समयका लागि कर्जाको पुनःतालिकीकरण गर्न समेत चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ । 

जापानमा महामारीपूर्वको तुलनामा पर्यटक आगमनमा वृद्धि

जापानले सन् २०२४ को पहिलो छ महिनामा महामारीअघिको तुलनामा १० लाख बढी विदेशी पर्यटकलाई स्वागत गरेको जनाएको छ ।

जापानको राष्ट्रिय पर्यटन सङ्गठनले शुक्रबार दिएको छ भने एक करोड ७७ लाख ८० हजारको नयाँ रेकर्ड कायम गरेको जापानको राष्ट्रिय पर्यटन सङ्गठनले शुक्रबार जनाएको छ ।

कमजोर येनले जापानमा ठूलो भीडलाई आकर्षित गरिरहेको छ । पर्यटकले जापानी परम्परागत कपडा किमोनोस, जापानी चक्कुलगायत मूल्यवान खानाबाट मनैदेखि आनन्द लिने गर्छन् ।

जनवरीदेखि जुनको आँकडाले सन् २०१९ को एक करोड ६६ लाख ३० हजारको उच्च स्तरलाई उछिनेको छ, जसका कारण क्योटो र माउन्ट फुजीजस्ता पर्यटनस्थलमा भीडभाड बढेको छ ।

जापानी प्रधानमन्त्री फुमियो किशिदाले मन्त्रीपरिषद् बैठकमा पर्यटकलाई ग्रामिण क्षेत्रतर्फ आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “कुनै स्थानमा पर्यटकको घुइचो लाग्ने र कतै खाली हुने प्रवित्तिविरूद्ध हामीले आगन्तुकहरूलाई ग्रामीण क्षेत्रमा पुग्न प्रोत्साहन गर्नुपर्छ । ती क्षेत्रले पर्यटकलाई परम्परागत जापानी संस्कृति र खानाको स्वाद पस्कन्छ र उनीहरूलाई बृहत् खुशी प्रदान गर्छ ।”

जापानले सन् २०२४ मा तीन करोड ५० लाख विदेशी पर्यटक भित्राउने अपेक्षा गरेको छ र यसका लागि आठ ट्रिलियन येन (५० अर्ब अमेरिकी डलर) पर्यटक खपत हुने अनुमान गरिएको छ ।

महामारीका बेला सीमामा लगाइएको कडा प्रतिबन्ध हटेपछि सन् २०२३ को पहिलो छ महिनाको अवधिमा दुई करोड ५० लाख पर्यटक जापान आएका थिए ।

सन् २०३० सम्ममा वार्षिक छ करोड पर्यटक भित्राउने महत्वकांक्षी लक्ष्य राखिएको छ, जुन सन् २०१९ को तीन करोड १८ लाख ८० हजार पर्यटकभन्दा दोब्बर हो ।

तर केही विदेशी आगन्तुकहरूको अमर्यादित व्यवहार र शिष्टाचार उल्लङ्घनबाट केही बासिन्दाहरू पहिले नै थकित भइसकेका छन् ।

गत मे महिनामा माउन्ट फुजी नजिकैको एउटा सहरमा अधिकारीहरूले फोटो खिच्न नदिन एउटा कन्भिनेन्स स्टोरको छेउमा रहेको लोकप्रिय दृश्य स्थलमा ठूलो अवरोध खडा गरेका थिए ।

ज्वालामुखीको सबैभन्दा लोकप्रिय हाइकिङ ट्रेलमा नयाँ भीड नियन्त्रण उपायहरू राखिएको छ, जसमा अब दुई हजार येन (करिब १३ अमेरिकी डलर) को प्रवेश शुल्क र वैकल्पिक दान समावेश छ ।

हिमेजीका मेयरले आफ्नो किल्लाका लागि प्रसिद्ध पश्चिमी जापानी शहरले पर्यटकलाई विश्व सम्पदा क्षेत्र भ्रमणका लागि स्थानीयभन्दा चार गुणा बढी शुल्क तिर्नुपर्ने बताउनुभयो । यसले विश्वबजारमा कमजोर बनेको येनलाई मजबुत पार्न र विदेशी मुद्रा सञ्चितिमा योगदान गर्नेमा जापानी अधिकारी विश्वस्त देखिने गरेका छन् ।

कञ्चनपुरमा सडकको सौन्दर्यता बढाउने बहुवर्षीय बिरुवा वितरण गरिँदै

कञ्चनपुर, ४ साउन : डिभिजन वन कार्यालय कञ्चनपुरले सडकको सौन्दर्यता बढाउने बहुवर्षीय बिरुवा वितरणकार्य शुरु गरेको छ ।

सडकको सौन्दर्यता बढाउने ज्याकराण्डा, ढाँक, पारिजात, धुपिसल्ला, गोल्डमोहर प्रजातीका रातो, पहेलो, निलो फुल फुल्ने गुणस्तरीय बहुवर्षीय बिरुवा वितरणको कार्य शुरु गरेको हो ।

फुल प्रजातीका बिरुवासँगै निम, अमलालगायतका औषधीजन्य बिरुवा वितरणकार्य अगाडि बढाइएको छ । गत आबमा वितरण हुन बाँकी रहेका बिरुवा पनि वितरण भइरहेका छन् ।

शहर बजारसँगै सडकको सौन्दर्यता बढाउने बिरुवा वृक्षारोपण गर्नका लागि पालिकालाई आग्रह गरिएको वन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले बताउनुभयो ।

“सौन्दर्यता बढाउने फूल प्रजातीका बिरुवा निःशुल्क रुपमा उपलव्ध गराउने व्यवस्था गरेका छौँ” उहाँले भन्नुभयो, “पालिकाले माग गरे अनुरुप बिरुवा वितरण भइरहेका छन् ।”

बिरुवाको नर्सरीमा स्टक रहन्जेलसम्म चालु आवभित्र बिरुवा वितरणकार्य गरिने छ । फुल प्रजातीका बिरुवा रोप्ने सर्वसाधारणलाई पनि बिरुवा उपलव्ध गराइने कार्य भइरहेको छ ।

वन कार्यालयको नर्सरीमा उत्पादन भएका बहुवर्षीय बिरुवा नीजि कृषक, सङ्घसंस्था, सामुदायिक वन उपभोक्ता समुहले तोकिएको ढाँचामा रु १० को टिकट टाँस गरिएको निवेदन बिरुवा वितरण कक्षमा दर्ता गरी लैजान पाइने छ ।

दश वटासम्म बिरुवाका लागि नागरिकताको प्रतिलिपि, निवेदन र दश बिरुवाभन्दा बढीका लागि जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि र निवेदन दिनुपर्ने छ ।

डिभिजन वन कार्यालय कञ्चनपुरले तीन लाख ६० हजार विभिन्न प्रजातीका बिरुवा नर्सरीमा उत्पादन गरेको छ । कार्यालय परिसरमै नर्सरी तयार गरी बिरुवा उत्पादन गरिएका छन् ।

वन कार्यालयका सूचना अधिकारी अवस्थीका अनुसार जडिबुटीजन्य बिरुवा एक लाख, बहुवर्षे घाँस प्रजातीका ६० हजार, फुल र काष्ठ प्रजातीका दुई लाख बिरुवा नर्सरीमा तयार गरिएका छन् ।

जिल्लामा बिरुवाको माग उत्पादन गरेभन्दा दोव्वर बढी भएपनि सीमित बजेटका कारण डिभिवन वन कार्यालयले थोरै मात्रै बिरुवा उत्पादन गर्दै आएको जनाएको छ । केही ठाउँमा नगरपालिकाको बजेटमा बिरुवा उत्पादनकार्य गरिएको छ ।
प्रतिवर्ष तीन लाखदेखि सात लाखसम्म बिरुवा उत्पादनकार्य हँदै आएको छ । प्रतिवर्ष निन्तररुपमा बिरुवा उत्पादन गरी वितरण गरी रोप्नेकार्यले अबको १० वर्षमा वन माथिको ३० प्रतिशत निर्भरता कम हुने बताइएको छ ।

राष्ट्रिय वनको पैदावारले बढदो जनसङ्ख्याको मागलाई पूर्ति गर्न सक्ने अवस्था नभएकाले नीजि क्षेत्रलाई वृक्षारोपण गर्न बढावा दिने नीति ल्याइएको सूचना अधिकारी अवस्थीको भनाइ रहेको छ ।