`

झापाको पुँजीगत खर्च ८७ प्रतिशत

भद्रपुर (झापा), ४ साउन : गत आर्थिक वर्ष २०८०/०८१ मा झापाको पुँजीगतर्फ चार अर्व ८० करोड २३ लाख ५४ हजार चार सय १३ रुपयाँ खर्च भएको छ । उक्त खर्च पुँजीगतका लागि विनियोजित बजेटको ८७ दशमलव ०१ प्रतिशत हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीकानुुसार जिल्लाको पुँजीगततर्फ रु पाँच अर्ब ५१ करोड ९१ लाख ६८ हजार चार सय १७ विनियोजन भएको थियो । “चालुतर्फको विनियोजित रु १५ अर्ब ४९ करोड ३५ लाख ७५ हजार २० मध्ये ९७ दशमलव ३० अर्थात रु १५ अर्ब सात करोड ५६ लाख ५५ हजार सात सय ९९ खर्च भएको छ” उहाँले भन्नुभयो ।

समग्रमा झापामा गत वर्षका लागि विनियोजित बजेटको ९४ दशमलव ६० अर्थात १९ अर्व ८७ करोड ८० लाख १० हजार दुई सय १२ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय झापाले जनाएको छ । यहाँ गत आव २०८०/०८१ म रु १९ अर्ब ४८ करोड २८ लाख ८६ हजार नौ सय १८ राजश्व सङ्कलन भएको छ । सबैभन्दा धेरै मेची भन्सार कार्यालय काँकरभिट्टाबाट रु १४ अर्ब २३ करोड १३ लाख ८३ हजार नौ सय ९० रहेको संकलन भएको हो ।

निराशा चिरेर अर्थतन्त्रलाई सुदृढ बनाउनु सरकारको मुख्य ध्येय हो : प्रधानमन्त्री ओली

काठमाडौँ, ४ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा रहेको निराशा चिरेर अर्थतन्त्रलाई सुदृढ बनाउनु नै आफू नेतृत्वको सरकारको प्रमुख ध्येय भएको बताउनुभएको छ ।

नेपाल उद्योग परिसङ्घका पदाधिकारीसँग आज भएको छलफलमा प्रधानमन्त्री ओलीले मुलुकमा देखिएका समस्या समाधान र केही परिवर्तनकारी काम गर्नका लागि आफ्नो नेतृत्वमा नयाँ सरकार गठन भएको प्रस्ट पार्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्षसमेत रहनुभएका ओलीले पदका लागि मात्रै आफू पुनः प्रधानमन्त्री जिम्मेवारीमा नआएको बताउँदै भन्नुभयो, “म यसअघि नै प्रधानमन्त्री बनिसकेको हो, पदका लागि मात्रै पुनः जिम्मेवारीमा आएको होइन, केही न केही नयाँ काम गरौँ, मुलुकको समस्या समाधानमा योगदान गरौँ भनेर जिम्मेवारी लिएको हो ।”

प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई सुदृढ र चलायमान बनाउनेतर्फ सरकारको विशेष रुचि र ध्यान रहेको बताउनुभयो । “विद्यमान समस्या समाधान तथा अर्थतन्त्रलाई सुदृढ बनाउनु नै वर्तमान सरकारको प्रमुख ध्येय हो, म प्रधानमन्त्री बन्नका लागि मात्र आएको होइन,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “देशमा रहेका समस्याको समाधान गर्न र परिवर्तनका लागि काम गर्नैपर्छ भन्ने दृढतासहित आएको हुँ, त्यसैले निजी क्षेत्रले यो सरकारप्रति आशा, भरोसा राखेर सँगससँगै मिलेर काम गर्नुपर्छ ।”

नेपाल राष्ट्र बैङ्कले ल्याउन लागेको मौद्रिक नीति कठोर नहुने सङ्केत गर्दै उहाँले अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीति कठोर हुन नहुने स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्रीसँगको भेटमा परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले विगत तीन वर्षदेखि शिथिल अर्थतन्त्रलाई उकास्न उच्च प्राथमिकताका साथ काम गर्न प्रधानमन्त्रीसँग निजी क्षेत्रका तर्फबाट आग्रह गर्नुभयो ।

अध्यक्ष अग्रवालले उत्पादनशील र निर्माण क्षेत्र बढी प्रभावित हुँदा बाह्य क्षेत्र उत्साहजनक भए पनि आन्तरिक अर्थतन्त्र अझै समस्यामा रहेको तथ्यसहित अग्रवालले निजी क्षेत्रको मनोबल बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले मौद्रिक नीतिमार्फत शिथिल रहेको अर्थतन्त्रलाई चलायमान बनाउन सक्नुपर्ने धारणा पनि अग्रवालले राख्नुभयो ।

हलगोरु पाल्ने किसानलाई अनुदान

गलकोट (बागलुङ), ४ साउन : बागलुङ नगरपालिकाभित्रका गोरु पाल्ने ८१ किसानले प्रोत्साहन रकम प्राप्त गरेका छन् । बागलुङ नगरपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम अन्र्तगत रु पाँच हजारका दरले रक वितरण गरेको हो ।

नगरपालिकाले पछुपन्छी तथा मस्यपालन कार्यविधि २०७९ निर्माण पश्चात आर्थिक वर्ष २०८०/८१ बाट गोरु पाल्ने किसानलाई प्रोत्साहनको कार्यक्रम ल्याएको हो । नगरपालिकाले पहिलो पटक गोरुपाल्ने किसानलाई प्रोत्साहन गर्नका लागि रु चार लाख बजेट बिनियोजन गरेको थियो । उक्त बजेटबाट ८१ हल गोरु पाल्ने किसानले रु पाँच हजारका दरले अनुदान रकम लिएको नगरपालिकाले जनाएको छ ।

बढ्दो यान्त्रिकीकरणसँगै गोरु पाल्ने चलन हराउँदै गएकाले ‘हल गोरु पाल्न प्रोत्साहन एवं प्रवद्र्धनात्मक’ कार्यक्रमअन्तर्गत किसानलाई अनुदान दिइएको बागलुङ नगरपालिका पशु शाखा प्रमुख मित्रलाल सापकोटाले बताउनुभयो ।

उहाँका अनुसार बागलुङ नगरपालिकाभित्रका हल गोरु पाल्ने किसानबाट १०० निवेदन सङ्कलन भएको थियो । प्राप्त निवेदनका आधारमा अनुगमन गर्दा ८१ किसानले हलगोरु पालेको पाइएपछि रु पाँच हजारका दरले प्रोत्साहन रकम प्रदान गरेको नगर उपप्रमुख राजु खड्काको भनाइ छ ।

“एक हल गोरु पाल्ने किसानलाई पहिलोपटक नगरपालिकाले प्रोत्साहन गरेको हो, हल गोरु लोप हुन थालेपछि नगरपालिकाले संरक्षण गर्ने अभियान चालेको हो” उपप्रमुख खड्काले भन्नुभयो “यो कार्यक्रम निरन्तर सञ्चालन गर्ने नगरपालिकाको योजना छ, कम्तिमा एक किसान रु १० हजारका दरले अनुदान दिने कार्यविधि मै उल्लेख छ, आगमी वर्ष हल गोरु पाल्ने प्रत्येक किसानलाई रु १० हजार दिनेगरी रु १० लाख बजेट बिनियोजन गर्ने योजना छ ।”

नगरपालिकाले पहिलोपटक गोरुपाल्ने किसानलाई अनुदान दिन थालेपनि अनुदानका हामीजस्ता किसान उत्साहित बनेको बागलुङ नगरपालिका–१३ का टेके सार्कीले बताउनुभयो । आगमी वर्ष प्रोत्साहनको रकम अझै बढ्न सके हलगोरु पाल्नेको सङ्ख्यामा वृद्धि हुने सार्कीको अपेक्षा रहेको छ ।

हाते ट्याक्टर तथा प्रविधिको बढ्दो प्रयोगका कारण पुस्तौँदेखि चल्दै आएको गोरुले जोत्ने परम्परा पनि हराउँदै गएकाले त्यसको संरक्षणका लागि नगरपालिकाले अभियानका रूपमा हल गोरु पाल्ने किसानलाई प्रोत्साहन गरिएको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले जानकारी दिनभुयो ।

उहाँले मिनि टेलर हलो वितरणकार्यले गोरु पाल्ने किसानलाई निरुत्साहित भयो कि भन्ने नगरपालिकाले महशुस गरेर गरेको बताउनुभयो ।

“स्थानीय तहले कृषिमा आधुनिकरणको नाममा मिनि टेलर हलो वितरण गर्ने लह्डै चलेको छ, आवश्यकताको आधारमा हेरेर आधुनिकरण पनि गर्ने हो, व्यावसायीक खेती गर्न, शहर बजार नजिकै मिनि टेलर हलो उपयुक्त भएपनि गाउँ–गाउँमा परम्परागत खेती गर्नका लागि हल गोरु नै राम्रो छ, मल मुत्रको प्रयोगसमेत कृषिमा अपरिहार्य छ भन्ने किसानले महशुस गरेका छन्” ।नगरप्रमुख श्रेष्ठले भन्नुभयो “अब मिनिटेलर हलो बितरण गर्ने हैन हल गोरु पाल्ने किसानलाई पोषण खर्चनै दिइन्छ, गोरुपाल्दा बातावरणसमेतमा सकरात्मक असर देखिने रहेछ ।”

नयाँ पुस्ता प्रविधितर्फ आकर्षित हुँदै गर्दा गोरुपालनका लागि नगरपालिकाले बजेट विनियोजन गरेर कार्यान्वयनमा लगेको छ । गोरु नपाल्दा गाई संरक्षणमा समेत चुनौती देखिएकाले गोरुसँगै गाई संरक्षण गर्ने नगरपालिकाको योजना हो ।

कृषि प्रयोजन तथा प्राङ्गारिक मलका लागि गोरु पाल्दै आउनुभएका किसानलाई गोरुको संरक्षण तथा प्रोत्साहनस्वरूप अनुदान दिइने र अनुदानले गोरु पालक किसानले गोरु पाल्ने कामलाई निरनतरता दिने नगरपालिकाको योजना रहेको छ ।

नगरपालिकाको पशु शाखाले किसानको गोठमा हल गोरुपालन गरे÷नगरेको, स्थानीय टोलबासी तथा जनप्रतिनिधिको स्थलगत अनुगमनपछि मात्रै अनुदान दिएको थियो ।

विश्वका वैज्ञानिकलाई आकर्षित गर्न फार्मास्युटिकल इनोभेसन पार्क निर्माण गर्ने योजनामा चीन

चीनले दक्षिणी उपनगरमा अन्तर्राष्ट्रिय ‘फार्मास्युटिकल इनोभेसन पार्क’ निर्माण गरी चिकित्सा तथा स्वास्थ्य क्षेत्रमा विश्वव्यापी वैज्ञानिकलाई आकर्षित गर्ने योजना सार्वजनिक गरेको छ ।

पार्क बेइजिङ ई–टाउनका नामले प्रख्यात बेइजिङ आर्थिक–प्राविधिक विकास क्षेत्रमा अवस्थित हुनेछ बिहीबार समाप्त एशियाका लागि बोआओ फोरमको ग्लोबल हेल्थ फोरमको तेस्रो सम्मेलनमा घोषणा गरिएको थियो ।

करिव ५.८ वर्ग किलोमिटरको योजनाबद्ध क्षेत्रको साथ, पार्कले अन्तर्राष्ट्रिय कर्पोरेट मुख्यालयको समूह प्रस्तुत गरी विश्व–स्तरीय विशेष अस्पताल र औषधि सम्बन्धित उद्योगको प्रोत्साहनमा ध्यान केन्द्रित गर्नेछ ।

“पार्कले मात्रात्मक जीवविज्ञान, नयाँ पुस्ताको उच्च प्रविधि र उपचारात्मक जिन सम्पादन प्रविधिजस्ता स्वास्थ्यका सीमावर्ती क्षेत्रलाई लक्षित गर्नेछ,” बेइजिङ ई–टाउन व्यवस्थापन समितिका निर्देशक कोङल बताउनुभयो ।

विश्वभरका वैज्ञानिक, विश्वस्तरीय नेता तथा विज्ञान प्रविधिमा नवप्रवर्तन टोलीलाई आकर्षित गर्ने कोङले उल्लेख गर्नुभयो । बेइजिङ ई–टाउनले भर्खरै जारी गरेको कृतिम बौद्धिकता अनुप्रयोग परिदृश्यको पहिलो समूहमा औषधि, स्वास्थ्य र औषधि अनुसन्धान र विकासजस्ता १० क्षेत्रहरू समावेश छन् ।

जैविक तथा सूचना प्रविधिको एकीकरणलाई बढावा दिने जनाउँदै एआई कम्प्युटिङ शक्तिको माध्यमबाट नयाँ औषधि अनुसन्धान र विकासलाई बढावा दिने कोङले बताउनुभयो ।

विश्वव्यापी सूचना प्रबिधिमा आएको त्रुटिलाई सच्चाइएको क्राउडस्ट्राइकका अधिकारीको भनाइ

शुक्रबार विश्वभरका विमानस्थल, बैंक र सञ्चार माध्यमलाई प्रभावित गर्ने विश्वव्यापी सूचना प्रविधि अवरोधको कारण बनेको त्रुिटलाई सच्चाइएको क्राउडस्ट्राइकका लागि एक फिक्स प्रयोग गरिएको क्राउडस्ट्राइक एन्टिभाइरस फर्मका प्रमुख कार्यकारी अधिकृतले शुक्रबार बताउनुभएको छ ।

क्राउडस्ट्राइक अमेरिकी साबर सुरक्षा प्रविधि कम्पनी हो । सीईओ जर्ज कुर्ट्जले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक सन्देशमा लेख्नुभएको छ, “क्राउडस्ट्राइकले विन्डोज होस्टहरूको लागि एकल सामग्री अद्यावधिकमा फेला परेको त्रुटिबाट प्रभावित ग्राहकहरूसँग तत्काल सम्पर्क गरी यस समस्याको पहिचान गरिएको छ ।

समस्याको समाधानसँगै सबै अवरूद्धता हटेको विश्वास गरिएको छ ।” शुक्रबार विश्वव्यापी कम्प्युटर प्रणालीमा ठूलो अवरोध उत्पन्न हुँदा विश्वभरको उडान र दूरसञ्चार सेवा तथा यसबाट लिइने अन्य अनलाइन सेवाहरू प्रभावित बनेका थिए । ‘माइक्रोसफ्ट एज्योरमा देखिएको प्राविधिक समस्या’ का कारण विश्वव्यापी रूपमा उडानमा ढिलाइ वा अवरोधहरू भएको हुनसक्ने फ्रान्स, बेलायत, संयुक्त राज्य अमेरिका, भारतलगायतका प्रसिद्ध विमान कम्पनीहरूले शुक्रबार बताएका थिए ।

ओसामा बिन लादेनको ‘नजिकका सहयोगी’ पक्राउ

अल कायदाका संस्थापक एवम् सेप्टेम्बर हमलाका प्रमुख योजनाकर्ता ओसामा बिन लादेनको ‘नजिकका सहयोगी’लाई पक्राउ गरेको पाकिस्तानी अधिकारीहरूले शुक्रबार बताएका छन् ।

पञ्जाबको सबैभन्दा बढी जनसङ्ख्या भएको प्रान्तका आतङ्कवाद विरोधी अधिकारीहरूले विध्वंसकारी गतिविधिहरूको योजना बनाएको र देशका महत्त्वपूर्ण प्रतिष्ठानहरूलाई लक्षित आक्रमण गर्न खोजेको आरोपमा गुजरात सहरबाट अमिन उल–हकलाई पक्राउ गरेका हुन् ।

“अमिन उल–हकको गिरफ्तारी पाकिस्तान साथै विश्वभर आतङ्कवादसँग लड्न जारी प्रयासहरूमा ठुलो विजय हो,” पञ्जाबको आतङ्कवाद विरोधी विभागको एक विज्ञप्तिमा भनिएको छ।

उहाँलाई संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ र संयुक्त राष्ट्र सङ्घले अल–कायदा र बिन लादेनको सहयोगीको रूपमा सूचीबद्ध गरेको थियो,” पञ्जाबको आतङ्कवाद विरोधी विभागका प्रमुख उस्मान अकरम गोनादालले पत्रकार सम्मेलनमा भन्नुभयो ।

अफगानिस्तानबाट पश्चिमी नाटो सेना फिर्ता भएपछि उहाँ फेरी देखा पर्नुभएको थियो । उहाँले अगस्टमा अफगानिस्तानको भ्रमण गरेर अल–कायदाको पुनर्गठन गर्ने प्रयास सुरु गर्नुभएको थियो ।

नाटो समर्थित अमेरिकी सेनाले सेप्टेम्बर ११ को आक्रमणमा संलग्न अल–कायदाका लडाकुहरूलाई हस्तान्तरण गर्न अस्वीकार गरेको भन्दै सन् २००१ मा तालिबानको पहिलो शासनलाई अपदस्थ गरेको थियो ।

आक्रमणका प्रमुख योजनाकर्ता बिन लादेन पछि पाकिस्तानमा बसेको पत्ता लागेको थियो र उहाँको सन् २०११ मा अमेरिकी कारबाहीमा गोली लागी मृत्यु भएको थियो ।

तालिबानले अफगानिस्तानमा दुई दशक लामो लडाइँपछि अमेरिकालगायत उसका सहयोगी मुलुकको समर्थन प्राप्त सरकारलाई विस्थापित गरेर सन् २०२१ मा सत्ता फिर्ता लिएको छ ।

विपद् व्यवस्थापन, खोज र उद्धारमा ८६८ सैनिक परिचालित


काठमाडौँ, ४ साउनः नेपाली सेनाले देशका विभिन्न स्थानमा विपद् व्यवस्थापन, खोज तथा उद्धारका लागि आठ सय ६८ जनाको फौज परिचालित भएको जनाएको छ ।

पहिराले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुई यात्रुवाहक बसका यात्रीको खोज तथा उद्धारका लागि गोताखोरसहित नेपाली सेनाका एक सय ४२ जनाको टोली परिचालित भएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नदिको उच्च बहाब तथा धमिलो पानीको बाबजुद पनि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका संयुक्त टोलीले खोज तथा उद्धारलाई निरन्तरता दिइरहेकाल छन् । खोजीको क्रममा उद्धार टोलीले शुक्रबार बिहानसम्म २३ जनाको शव फेला परेको छ । सोमध्ये नौ वटा शवको सनाखत हुन बाँकी छ ।

चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते ६५ यात्री रहेको दुई वटा बस लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता छन् ।

कृषिप्रधान देशमा सिँचाइको अभाव हुन दिनुहुँदैनः मन्त्री खड्का

काठमाडौँ, ४ साउनः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कृषिप्रधान देशमा सिँचाइको अभाव हुन दिन नहुने बताउनुभएको छ । सिँचाइ विभागले नवनियुक्त मन्त्री खड्काको स्वागतमा आज आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा मन्त्री खड्काले सिँचाइको उचित व्यवस्थापन गरेर कृषि उत्पादनमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

“कृषि क्षेत्रमा कसरी उत्पादन बढाउन सकिन्छ, त्यसको सोच बनाउन जरुरी छ, सिँचाइ नपुगेका ठाउँमा सिँचाइ पुर्‍याउनुपर्छ”, उहाँले भन्नुभयो । मन्त्री खड्काले वर्षात्मा बाढी र पहिरोका कारण ठूलो क्षति हुने भएकाले त्यसको समाधानमा विभाग चनाखो हुनुपर्ने उल्लेख गर्नुभयो ।

ऊर्जामन्त्री खड्काले बर्खाको पानीलाई सही सदुपयोग गर्न सके कृषि क्षेत्रमा सहयोग पुग्नसक्ने बताउनुभयो । उहाँले कतिपय आयोजनाहरु लामो समयसम्म सम्पन्न नभएको भन्दै कार्यान्वयन हुनेगरी आयोजनामा लगानी गर्नुपर्ने बताउनुभयो ।

मन्त्रालयकी सचिव सरिता दवाडीले देशको आर्थिक विकासको मेरुदण्ड कृषि क्षेत्र भएकाले कृषिलाई अगाडि बढाउन सिँचाइलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले १५ लाख ५० हजार हेक्टर जमिनमा सिँचाइको पूर्वाधार विकास भएपनि १० लाख क्षेत्रफलमा पूर्वाधार विकास हुन बाँकी रहेको बताउनुभयो ।

सिँचाइ विभागका महानिर्देशक सञ्जीव बरालले छ वटा राष्ट्रिय गौरवका आयोजनालाई सिँचाइ विभाग अगाडि बढाएको जानकारी दिनुभयो । उहाँले सिँचाइका योजनालाई समयमै सम्पन्न गर्न सके नेपालको सिँचाइ क्षेत्रले फड्को मार्ने उल्लेख गर्नुभयो । विभागले ‘डिप ट्युबेल’मार्फत तीन लाख १८ हजार हेक्टर जमीनमा सिँचाइको व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो ।

के छ प्रधानमन्त्रीलाई एमालेले दिएको सुझावमा ?

काठमाडौँ, ४ साउन : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज दिएको सुझावपत्रमा नेपाल सरकारले तत्काल चाल्नुपर्ने कदम र आगामी तीन वर्षभित्र गर्नुपर्ने कामको सूचीसहित विस्तृत विषय समावेश गरिएको छ ।

एमालेका महासचिव शङ्कर पोखरेल नेतृत्वको टोलीले आज एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीलाई सिंहदरबारमा भेटी आज सुझावपत्र बुझाएको हो ।

सुझावपत्रमा सुशासन, विकास निर्माणका काममा तीव्रता, रोजगारी सिर्जना, आर्थिक शिथिलताकोे अन्त्य, अर्थतन्त्र चलायमान बनाउँदै उच्च आर्थिक वृद्धि हासिल गर्ने विषय, सेवाप्रवाहमा सहजता र झण्झटिलो प्रशासनिक प्रक्रियालाई अन्त्य गर्ने विषय तथा सामाजिक न्याय र सुरक्षाका विषयहरू विषय रहेका छन् । यस्तै झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्राका क्रममा प्राप्त भएका सुझावदेखि जनतामा कायम रहेको निरासा चिर्न तथा आर्थिक क्षेत्रलाई चलायमान बनाउनका लागि सरकारले गर्नुपर्ने कामलाई समेटिएको छ ।

नेपाली कांग्रेससँग गत असार १७ गते भएको सहमतिपछि अध्यक्ष ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभन्दा डेढ साता अगावै एमालेले गत असार २१ गते ओली नेतृत्वको सरकारले आगामी तीन वर्षभित्र गर्नुपर्ने कामका विषयमा सुझाव दिन उपमहासचिप प्रदीप ज्ञवालीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

कार्यदलले पार्टीका विभिन्न २८ विभागसँग सरकारले गर्नुपर्ने कामका विषयमा सुझावसहित प्रतिवेदन मागेको थियो । सोही प्रतिवेदनको आधारमा एमालेले सरकारलाई सुझावपत्र दिएको हो ।

उपमहासचिव ज्ञवालीका अनुसार असार २१ गते बसेको पार्टी केन्द्रीय विभागहरूको बैठकले दिएको सुझावका आधारमा प्रधानमन्त्रीलाई १० ठोस कार्यक्रमसहित ३१ बुँदे सुझाव बुझाइएको छ । उक्त बैठकले सात दिनको समय सीमा तोकेर प्रधानमन्त्रीलाई सुझाव दिन विभागहरूलाई निर्देशन दिएको थियो ।

एमालेले यसै वर्षको बजेटको दायराभित्र सञ्चालन गर्न सकिने कार्यक्रमहरू, सम्बन्धित मन्त्रालयमा गर्नुपर्ने नीतिगत र कानुनी सुधारहरू, हाल संसद्मा विचाराधीन सम्बद्ध मन्त्रालयसँग सम्बन्धित विधेयकको अवस्था र त्यससम्बन्धी दृष्टिकोण, निर्वाचन घोषणापत्र २०७९ मा त्यस क्षेत्रसँग सम्बन्धित पार्टीका मुख्य प्रतिबद्धताहरू, सम्बन्धित मन्त्रालयबाट हुने सेवा प्रवाह र विकास निर्माणमा देखा परेका मुख्य अवरोध र समाधानका उपाय तथा महिला, युवा, सहरी जनमत, प्रवासी नेपाली र भूमिहीन लगायतलाई आकर्षित गर्न सकिने नयाँ र सिर्जनशील कार्यक्रमलगायत विषय सुझावमा समावेश गरिएका छन् ।

सिमलताल पहिरोः विकका परिवारलाई दुई लाख सहयोग

चितवन, ४ साउनः भरतपुर महानगरपालिकाले गत असार २८ गते नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा बससँगै त्रिशूली नदीमा बगेर ज्यान गुमाएका सुदीप विकका परिवारलाई किरिया खर्च प्रदान गरेको छ ।

महानगरपालिका प्रमुख रेनु दाहालले बिहीबार विकका परिवारलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

पहिरोले बगाएका दुई बसमा ६२ जनाभन्दा बढी यात्री रहेका बताइको छ । बसमा यात्रा गरिरहेकामध्ये २० जनाको शव भेटिएका सुरक्षाकर्मीले बताएका छन् ।

एसिसी एसिया कपमा नेपाल र युएई भिड्दै

काठमाडौँ  । एसिसी महिला एसिया कप क्रिकेटअन्तर्गत आज संयुक्त अरब इमिरेट्स (युएई)सँग नेपाल भिड्दै छ ।

श्रीलङ्काको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा हुने उक्त खेल नेपाली समयानुसार दिउँसो २ः१५ बजेदेखि सुरु हुने छ । इन्दु बर्माको कप्तानीमा रहेको नेपाली महिला टोलीले तेस्रोपटक प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि नेपाल सन् २०१२ र २०१६ मा सहभागी भएको थियो । ती दुवै प्रतियोगितामा नेपाल पराजित भएको थियो ।

खेल सूचीअनुसार नेपाल समूह ‘ए’ मा छ भने सोही समूहमा पाकिस्तान र भारत छन् । समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, मलेसिया र थाइल्याण्ड छन् ।

नेपाली टोलीमा कप्तान बर्मासहित रुविना क्षेत्री, सीता रानामगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर) र पूजा महतो छन् । टोलीमा डली भट्ट, बिन्दु रावल, रोमा थापा, कृतिका मरासिनी, सबनम राई र राजमती ऐरी सहभागी छन् ।

कोटेश्वरस्थित गेष्टहाउसबाट छजना बालिकाको उद्धार,दुईजना गेस्टहाउस सञ्चालक पक्राउ

काठमाडाँ, ४ साउनः कोटेश्वरस्थित एक गेष्टहाउसबाट छजना बालिकाको उद्धार गरिएको छ ।बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका कर्मचारीले गेष्टहाउसबाट उनीहरूलाई गए राति उद्धार गरेका हुन् ।

रामेछापका नवीन थापाले सञ्चालन गरेको रामेछाप खाजाघर एण्ड गेष्टहाउसमा बालिकालाई आर्थिक प्रलोभनमा पारी ललाइफकाई असामाजिक काममा लगाएको जानकारी प्राप्त भएपछि उनीहरूको उद्धार गरिएको ब्यूरोका सूचना अधिकारी गौतम मिश्रले जानकारी दिनुभयो ।

गैरकानुनी गतिविधिमा संलग्न भएको अभियोगमा थापा र काठमाडौँको कागेश्वरी मनोहराका उज्ज्वल खड्कालाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।

काभा यू-२० महिला भलिबल : पहिलो खेलमा श्रीलंकासँग नेपाल पराजित

काठमाडौँ, ४ साउनः सेन्ट्रल एसियन भलिबल एशेसिएसन (काभा) यु–२० महिला भलिबल च्याम्पियनसिपअन्तर्गत भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको छ ।माल्दिभ्सको मालेस्थित सोसल सेन्टरमा गए राति सम्पन्न खेलमा नेपाल श्रीलङ्कासँग ३–१ को सेटमा पराजित भएको हो । श्रीलङ्कासँग नेपाल पहिलो सेट श्रीलङ्काले २५–२० ले पराजित भएको थियो भने खेलको दोस्रो सेट नेपालले २६–२४ ले जितेको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार त्यसपछि खेलको तेस्रो सेटमा २५–११ ले गुमाएको नेपालले चौथो सेट पनि २५–१८ गुमाएसँगै नेपाल पराजित भयो । अब नेपालले आज बेलुका कीर्गिस्तानसँग खेल्नेछ । च्याम्पियनसिपमा आयोजक माल्दिभ्ससहित नेपाल, कीर्गिस्तान र श्रीलङ्काको सहभागिता रहेको छ ।

पहिराले फक्ताङलुङ गाउँपालिका केन्द्रमा क्षति, गाडी र मोटरसाइकल पुरिए

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको आवासीय क्षेत्रमा पहिराले क्षति भएको छ। गएराति वर्षासँगै खसेको पहिराले गाउँपालिकाको सभाकक्षसहित आवासीय क्षेत्रमा क्षति भएको हो।

अविरल वर्षासँगै राति २ बजे गएको पहिराले फक्ताङलुङ गाउँपालिका भवनसँगै रहेका घरमा क्षति भएको फक्ताङलुङका अध्यक्ष राजन लिम्बूले जानकारी दिए।

गाउँपालिका कार्यालयसँगैको सुवास लिम्बूको घर तथा होटल पूर्ण रूपमा क्षति भएको छ। पार्किङ गरिएका गाउँपालिकाका गाडी र मोटरसाइकल पुरिएका गाउँपालिका अध्यक्ष लिम्बूले बताए।

अध्यक्ष लिम्बूले भने, ‘सामान्य पहिरो राति १२ बजेदेखि सुरु भए पनि ठूलो पहिरो राति २ बजे गएको थियो। पालिका केन्द्र आवासीय क्षेत्रका बासिन्दा समयमै सुरक्षित क्षेत्रमा जान सफल भएकाले मानवीय क्षतिबाट बच्न सकियो।’

बाढीले बिजुलीको पोल बगाएको, पशुचौपाया पहिरामा परेका तथा क्षतिको विवरण सङ्कलन हुन बाँकी रहेको तापेथोक प्रहरी चौकी प्रमुख सुरेश सिंजालीले बताए।


उनले भने, ‘हाम्रो चौकी उच्च जोखिममा छ । पहिरो खस्न थाल्यो, नजिकबाट बग्ने तमोरमा पानीको तह बढ्दै गएकाले बाढी र पहिराको जोखिम छ।’ 

टीकापुरमा सुविधासम्पन्न प्रहरी आवास भवन निर्माण

भजनी (कैलाली), ४ साउनः टीकापुरमा रु एक करोड ८९ लाख लागतमा सुविधासम्पन्न प्रहरी आवास भवन निर्माण भएको छ ।

सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा उक्त भवन निर्माण भएको हो । नवनिर्मित भवनमा ४५ जना सुविधाका साथ बस्न सक्नेछन् । आर्थिक वर्ष २०७८÷७९ मा उक्त मन्त्रालयले प्रहरीको आवास भवन निर्माणका लागि दुई करोड बजेट विनियोजन गरेको थियो ।

दुईतले भवनको थप तलाका लागि प्रदेशले चालु आर्थिक वर्षमा पनि बजेट विनियोजन गरेको छ । निर्माण सम्पन्न भएको भवनमा कार्यालयमा कार्यरत प्रहरीका लागि अपर्याप्त छ । हाल इलाका प्रहरी कार्यालयमा एक सय जना प्रहरी कार्यरत छन् । प्रहरी आवास भवन निर्माण भए पनि बन्दी राख्ने हिरासत साँघुरो छ । महिला तथा बालबालिका राख्ने भवनको अवस्था पनि नाजुक छ ।

इजराइली संसद्मा प्यालेस्टिनी राज्यको विपक्षमा मतदान

इजराइली संसद्ले बिहीबार प्यालेस्टिनी राज्यलाई ‘अस्तित्वको खतरा’ का रूपमा विरोध गर्न मतदान गरेको छ ।

इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले सांसदहरूलाई सेनाले हमासको संवेदनशील क्षेत्रमा आक्रमण गरेको बताउनुभएको एक दिनपछि संसद्ले मतदान गरेको हो ।

प्यालेस्टिनी नेतृत्व र अन्तर्राष्ट्रिय समुदायबाट तीव्र आलोचना भएको उक्त मतदान धेरै हदसम्म प्रतीकात्मक छ तर आगामी बुधबार अमेरिकी कांग्रेसमा नेतान्याहुको नियोजित सम्बोधनअघि यो एउटा सङ्केत हो ।

अनुभवी नेतान्याहुले गाजाका लागि युद्धविराम र बन्धकहरूको रिहाइ सम्झौताको मध्यस्थता गर्ने अमेरिकी प्रयासमा कम रुचि देखाउनुभएको छ । उहाँले हमासमाथि ‘पूर्ण जित’ पहुँचभित्र रहेको भन्दै सैन्य दबाब बढाउने वाचा गर्नुभएको छ ।

इजराइलले हालका दिनहरूमा व्यापक बमबारी जारी राख्दा गाजामा जमिनमा हमास शासित क्षेत्रको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा ५४ जनाको मृत्यु भएको बताएको छ ।

इजराइली सांसदहरूले चाँडै पारित गरेको प्रस्तावमा इजराइली सेनाले कब्जा गरेको भूमिमा प्यालेस्टिनी राज्यले ‘इजराइल–प्यालेस्टिनी द्वन्द्वलाई निरन्तरता दिने र यस क्षेत्रलाई अस्थिर बनाउने’ बताइएको छ ।

अक्टोबर ७ मा इजराइलमाथिको आक्रमणपछि प्यालेस्टिनी राज्यलाई ‘प्रवर्द्धन’ गर्नाले ‘हमास र उसका समर्थकहरूलाई मात्र बढावा हुने’ प्रस्तावमा भनिएको छ । एक सय २० सदस्यीय संसद्मा उक्त प्रस्ताव नौका विरुद्ध ६८ मतले पारित भएको छ ।

प्यालेस्टिनी प्राधिकरणले इजराइलको कट्टर–दक्षिणपन्थी सत्तारूढ गठबन्धनमाथि ‘क्षेत्रलाई रसातलमा धकेलेको’ आरोप लगाएको छ । फ्रान्सले मतदानप्रति ‘आश्चर्य’ प्रकट गर्दै उक्त प्रस्ताव संयुक्त राष्ट्रसङ्घीय सुरक्षा प्रस्तावहरूको ‘विरोधाभास’ का रूपमा आएको बताएको छ ।

भारतमा यात्रुवाहक रेल दुर्घटना हुँदा दुईको मृत्यु, ३५ घाइते

भारतमा बिहीबार एउटा यात्रुवाहक रेल पटरीबाट खसेर धेरै डिब्बा पल्टिँदा कम्तीमा दुई जनाको मृत्यु र अन्य २४ जना घाइते भएका छन् । उद्धार र राहत कार्य जारी छ ।

दुई हजार छ सय ४० किलोमिटरसम्म चल्ने बाइस डिब्बासहितको यात्रुवाहक यात्रुवाहक रेल चन्डीगढ–डिब्रुगढ एक्सप्रेस उत्तरी हिन्दू पवित्र सहर अयोध्या नजिक दिउँसो पटरीबाट खसेको थियो ।

भारतीय रेलवेका प्रवक्ता पङ्कज कुमार सिहंहले दुई जनाको मृत्यु भएको जानकारी दिनुभयो । उत्तर प्रदेश राज्यका राहत आयुक्त नवीन कुमारले ३५ जना घाइते भएको र तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताउनुभयो । उहाँले उद्धार कार्य सकिएको र रेलभित्र कोही पनि नफसेको जानकारी दिनुभयो ।

प्रसारक एनडिटिभीका अनुसार गोन्डा जिल्लास्थित दुर्घटनास्थलमा कम्तीमा चार डिब्बा पल्टिएका थिए ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सामाजिक सञ्जाल एक्समा दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभयो । “जिल्ला प्रशासनका अधिकारीहरूलाई युद्धस्तरमा राहत तथा उद्धार अभियान चलाउन र घाइतेलाई अस्पताल पुर्याउन निर्देशन दिइएको छ”, उहाँले भन्नुभयो, “म भगावान् रामसँग घाइतेको शीघ्र स्वास्थ्यलाभको प्रार्थना गर्दछु ।”

गोन्डा जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट अनिल कुमार तिवारीले चिकित्सकहरूको एउटा टोलीलाई दुर्घटनास्थलमा पठाइएको बताउनुभयो ।

दुई सातादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

ढोरपाटन (बागलुङ), ४ साउनः गत असार २१ गतेदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ । भारी वर्षाका कारण बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकको केही भाग बगाउँदा सडक अवरुद्ध भएको थियो ।

वर्षा रोकिएपछि करिडोर कार्यालयले भासिएको सडकमा ग्याविनसहितको पर्खाल उठाएर सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुई सातादेखि करिडोर अवरुद्ध हुँदा दक्षिण बागलुङसँग बुटवल, भैरहवा र मुक्तिनाथ जाने सवारीसाधन बाटोमै रोकिएका थिए ।

युएसएडद्वारा २४ वर्षमा करिब दुई खर्ब सहयोग

काडमाडौँ – संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसएड) ले सन् २००० देखि नेपालको विकासका लागि विभिन्न क्षेत्रमा रु एक खर्ब ९६ अर्ब सहयोग गरेको छ ।

युएसएडले नेपालको स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, आर्थिक वृद्धि, महिला तथा बालबालिकाको शसक्तिकरण, मानवीय सहायता, सुशासन, वातावरण, नागरिक समाज र सञ्चारका क्षेत्रमा डेढ अर्ब अमेरिकी डलरभन्दा बढी सहयोग प्रदान गरेको जनाएको छ ।

सन् २०२३ मा स्वास्थ्य, शिक्षा, र आर्थिक वृद्धिका कार्यक्रममार्फत १० लाखभन्दा बढी महिलाको जीवनमा प्रत्यक्ष योगदान पु¥याएको र थप ५० लाख महिला माझ अप्रत्यक्ष रुपमा आमसञ्चार माध्यमका अभियानलगायत गतिविधि पुगेको युएसएडको तथ्याङ्क छ ।

युएसएडद्वारा यहाँ आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा कार्यवाहक मिसन निर्देशक बेथ होगनले युएसएडले नेपाल र नेपाली जनतासँग सात दशक लामो साझेदारीका क्रममा गरिएका सहयोग र योगदानबारे जानकारी गराउनुभएको थियो । साथै उहाँले नेपाल सरकारको आवश्यकता र प्राथमिकताअनुसार युएसएडले अनुदान सहयोग पु-याउँदै आएको उल्लेख गर्नुभयो ।

युएसएड अन्तर्राष्ट्रिय विकासको नेतृत्व गर्ने अमेरिकाको सरकारी निकाय हो । युएसएडले नेपाललगायत सयभन्दा बढी मुलुकमा काम गर्दछ । युएसएड र नेपालबीचको साझेदारी ६३ वर्षभन्दा लामो छ । युएसएडको सुरुवाती दिनदेखिको सहयोगका कारण दक्षिणी तराई क्षेत्रबाट मलेरिया उन्मूलन भएको, कुनै समय बसोबास गर्न नसकिने मुलुकका भूभागमा कृषि फस्टाउन योग्य भएको, साक्षरता बढेको, औसत आयु दोब्बर भएको, बाल मृत्युदर उल्लेखनीय रुपमा घटेको, शान्ति र लोकतन्त्रमा सहजीकरण भएको र कोभिड–१९ सङ्कटको समयमा खोप, आवश्यक सामग्री र प्राविधिक सहायता प्राप्त भएको युएसएडले जनाएको छ ।

युएसएडको नेपालस्थित कार्यालयका विभिन्न विभागीय अधिकारीहरुका अनुसार युएसएडले सन् २०२३ मा नेपालमा पाँच वर्ष मुनिका ११ लाखभन्दा बढी बालबालिकालाई पोषणसम्बन्धी कार्यक्रममार्फत सहयोग गरेको, बाल विवाह र बालबालिकाको जबरजस्ती हुने विवाह कम गर्न र बालिकाका लागि शिक्षा प्रवर्द्धन गर्न दुई हजारभन्दा बढी सामुदायिक अगुवा तथा सरोकारवालाहरु समाधानका उपायमा संलग्न भएका थिए ।

यसै अवधिमा युएसएडको सहयोगमा किसान र उद्यमीले छ करोड ३० लाख अमेरिकी डलर मूल्यको कृषि उत्पादनको बिक्री गर्न सफल भएको जनाईएको छ । एक करोड २४ लाख व्यक्तिलाई मतदाता र नागरिक शिक्षा प्राप्ति गर्न सहयोग गरेको, नेपाल सरकारलाई दुई अर्ब ४० करोड अमेरिकी डलर मूल्य बराबरको एक हजार दुई सय मेगावाट विद्युत् उत्पादन गर्ने जलविद्युत् परियोजनालाई अन्तिम रुप दिन मद्दत गरिरहेको युएसएडले जनाएको छ ।

कार्यक्रममा नेपालस्थित अमेरिकी दूतावासका प्रवक्ता जेहरा नक्भीले द्विपक्षीय सम्बन्ध र सहयोगबारे धारणा व्यक्त गर्नुभएको थियो । यसैगरी युएसएड नेपालका लैङ्गिक तथा समावेशी विकास सल्लाहकार मञ्जु तुलाधर, विकास कार्यक्रम विशेषज्ञद्वय सुजन पिया र विश्वास राणा, ऊर्जा विशेषज्ञ शंकर खागी, शिक्षा विशेषज्ञ राजकुमार दुलाल, वरिष्ठ स्वास्थ्य सल्लाहकार जगनाथ शर्मा, प्राप्ति तथा सहायता विशेषज्ञद्वय चेतना घिमिरे र तेजेन्द्र पौडेल, वित्तीय विश्लेषक टेक पाण्डे, प्रमुख लेखापाल अपेक्षा श्रेष्ठलगायतले युएसएडले नेपालमा गरिरहेको सहयोग र सञ्चालित परियोजना बारे जानकारी गराउनुभएको थियो ।

मानव बेचबिखनको आरोपमा एक जना पक्राउ

काठमाडौँ – ‘भिजिट भिसा’मा कुवेत पु-याई बेचबिखन गरेको अभियोगमा मोरङ रङ्गेली नगरपालिका–३ का ५७ वर्षीय कृष्ण अधिकारी भन्ने झयन्द्रकुमार अधिकारीलाई प्रहरीले बुधबार पक्राउ गरी सार्वजनिक गरेको छ ।

पीडितको उजुरीका आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरी टोलीले अधिकारीलाई ललितपुर महानगरपालिका–२४ बाट पक्राउ गरेको हो ।

अधिकारीले पीडितलाई दुबइमा मासिक रु ४० हजार तलब हुने काममा लगाइदिने प्रलोभन देखाइ रु दुई लाख नगद लिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार पीडितलाई दुबइमा रहेका अर्का अभियुक्तसँग मिलेमतोगरी अन्तर्वार्ता लिएको र भिजिट भिसामा विसं २०७९ जेठ १६ गते दुबई पु-याइ बन्धक बनाइएको थियो । बन्धक बनाएपछि घरेलु काममा लगाई चरम श्रम शोषण तथा यौनशोषणगरी गर्भपतन गराएको पाइएको छ ।

“युएइमाभन्दा कुवेतमा राम्रो तलब हुन्छ, अफिसमा क्लिनरको काम हो भनि प्रलोभन देखाइ २०८० वैशाख २८ गते दुबईबाट कुवेत पु-याइ एजेन्ट अफिसलाई जिम्मा लगाएको र एजेन्ट अफिसले पीडितलाई बन्धक बनाई चरम श्रमशोषणगरी यौनशोषण गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ”, प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पीडितले नेपाल फर्काइदिन अनुरोध गर्दा रु छ लाख ७५ हजार रकम बुझाउन भनेपछि आफन्तमार्फत उक्त रकम बुझाइ २०८० मङ्सिर ३ गते नेपाल फर्कन सफल भएका थिए ।”

अधिकारी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक साउन २३ गते

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही साउन २३ गते बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा साउन २३ गते दिउँसो १ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बाइडेनले राष्ट्रपतिको दौडमा ट्रम्पलाई हराउन नसक्ने पेलोसीको भनाइ

अमेरिकाका पूर्वसभामुख न्यान्सी पेलोसीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको निजी कुराकानीमा राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पलाई हराउन नसक्ने अवस्था देखाएको बताउनुभएको चार स्रोतलाई उद्धृत गर्दै सिएनएनले बताएको छ ।

बाइडेनले दोस्रो कार्यकालको खोजी जारी राखेको अवस्थामा नोभेम्बरमा सदन जित्ने डेमोक्रेटको सम्भावनालाई नष्ट गर्नसक्ने पेलोसीले बताउनुभयो । यद्यपि राष्ट्रपति बाइडेनले उक्त सम्भावनालाई पछाडि धकेल्दै पेलोसीलाई आफूले जित्नसक्ने सङ्केतसहितको सर्वेक्षण देखेको बताउनुभएको एक स्रोतले उल्लेख गरेको छ ।

सिएनएनको रिपोर्टअनुसार अर्को स्रोतले बाइडेनलाई निर्वाचनका बारेमा रक्षात्मक बनाएको छ । तर पनि एक विन्दुमा पेलोसीले बाइडेनका लामो समयका सल्लाहकार माइक डोनिलोनलाई डेटामा कुरा गर्न लाइनमा आउन आग्रह गर्नुभयो ।

पेलोसी र बाइडेनबीचको उक्त फोन वार्ता जुन २७ मा बाइडेनको विनाशकारी बहसपछि दोस्रो ज्ञात वार्तालाप हो । “चुनाव लड्ने वा नलड्ने भन्ने निर्णय गर्न राष्ट्रपतिमा निर्भर छ”, गत साता एक अन्तर्वार्तामा पेलोसीले भन्नुभएको थियो, “समय छोटो भएकाले हामी सबैले उहाँलाई यो निर्णय गर्न प्रोत्साहित गरिरहेका छौँ ।”

सिएनएनको रिपोर्टअनुसार ह्वाइट हाउसका प्रवक्ता एन्ड्र्यु बेट्सले भन्नुभयो, “राष्ट्रपति बाइडेन पार्टीको उम्मेदवार हुनुहुन्छ, उहाँले जित्ने योजना बनाइरहनुभएको छ र कामकाजी परिवारहरूलाई सहयोग गर्न एक सय दिने एजेन्डा पारित गर्नका लागि कांग्रेसनल डेमोक्रेटहरूसँग काम गर्न तत्पर हुनुुहुन्छ ।”

यद्यपि पेलोसीका प्रवक्ताले पूर्वसभामुख शुक्रबारदेखि क्यालिफोर्नियामा रहनुभएको र उहाँले त्यसबेलादेखि बाइडेनसँग कुरा नगर्नुभएको बताएका छन् ।

गत साता पूर्वराष्ट्रपति बाराक ओबामा र पेलोसीले ट्रम्पविरुद्ध बाइडेनको सम्भावनामा बढ्दो ‘कठिनाइ’ माथि प्रकाश पार्दै बाइडेनको २०२४ अभियानबारे चिन्ता व्यक्त गर्नुभएको सिएनएनले बताएको छ ।

डेमोक्रेटिक पार्टीभित्र हालको आन्तरिक कलहको अन्त्य गर्न र पूर्वराष्ट्रपति ट्रम्पलाई हराउन पुनः ध्यान केन्द्रीत गर्ने तत्काल हताशको अवस्था छ ।

वाग्मती प्रदेशः राप्रपाले सरकारलाई विश्वासको मत नदिने

मकवानपुर – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

काठमाडौँमा भएको सो पार्टीको संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको राप्रपा संसदीय दलका नेता उद्धव थापाले जानकारी दिनुभयो ।

राप्रपाका वाग्मती प्रदेशसभामा १२ प्रदेशसभा सदस्य हुनुहुन्छ । मुख्यमन्त्री जम्कट्टेलले यही साउन ६ गते प्रदेशसभामा विश्वासको मत लिने तयारी गर्नुभएको छ ।

बागमती प्रदेशमा ७० प्रतिशत रोपाइँ

मकवानपुर – बागमती प्रदेशमा हालसम्म ७० प्रतिशत रोपाइँ सकिएको छ । प्रदेशको १३ जिल्लामा साउन १ गतेसम्म ७० प्रतिशत अर्थात ७९ हजार दुई सय ५७ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय हेटौँडाले जनाएको छ ।

मन्त्रालयका अनुसार, कूल एक लाख १४ हजार पाँच सय ६१ हेक्टर धान खेतीयोग्य जमिन मानिने बागमतीमा ७९ हजार दुई सय ५७ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको हो । मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीका अनुसार, सबैभन्दा बढी रोपाइँ दोलखामा र सबैभन्दा कम रोपाइँ धादिङमा भएको छ ।

दोलखामा दुई हजार चार सय ७६ हेक्टर र धादिङमा छ हजार ४६ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । काठमाडौँमा पाँच हजार ३७ हेक्टर, भक्तपुरमा दुई हजार सात सय १५ हेक्टर, चितवनमा १८ हजार आठ सय ७८ हेक्टर, मकवानपुरमा पाँच हजार आठ सय ५९ हेक्टर र नुवाकोटमा सात हजार सात सय ५८ हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएको छ ।

सिन्धुलीमा आठ हजार ५६ हेक्टर, रामेछापमा पाँच हजार एक सय ८७ हेक्टर, काभ्रेपलान्चोकमा सात हजार चार सय ३३ हेक्टर, रसुवामा सात सय ८३ हेक्टर र सिन्धुपाल्चोकमा पाँच हजार सात सय हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

खोटाङको एउटै पालिकामा ७४ मेट्रिक टन लिच्ची उत्पादन

खोटाङ, ४ साउन : यस वर्ष खोटाङमा एक सय ६८ मेट्रिक टन लिच्ची उत्पादन भएको छ । गत वर्ष एक सय ५३ मेट्रिक टन लिच्ची उत्पादन भएको थियो ।

दश स्थानीय तह रहेको जिल्लामा ३१ हेक्टर क्षेत्रफलमा लिच्चीको व्यावसायिक खेती गर्ने गरिएको छ । यस वर्ष सबैभन्दा बढी रावाबेँसी गाउँपालिकामा ७४ मेट्रिक टन लिच्ची उत्पादन भएको जिल्ला कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताउनुभयो ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा दुई मेट्रिक टन तथा हलेसी तुवाचुङमा २० दशमलव ५० मेट्रिक टन लिच्ची उत्पादन भएको छ । जन्तेढुङ्गा गाउँपालिकामा नौ मेट्रिक टन, बाराहापोखरीमा शून्य दशमलव ५०, खोटेहाङमा ३६, दिप्रुङ चुइचुम्मामा १८ दशमलव ५०, साकेलामा छ मेट्रिक टन, केपिलासगढीमा शून्य दशमलव ५० मेट्रिक टन र ऐसेलुखर्क गाउँपालिकामा एक मेट्रिक टन लिच्ची उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लामा उत्पादित लिच्चीलाई प्रशोधन गरेर बिक्री गर्ने वातावरण सरकारले मिलाउनुपर्ने रावाबेँसी गाउँपालिका–१ कुभिण्डेका स्थानीय बासिन्दा एवं उद्यमी रामबहादुर राईले बताउनुभएको छ । “जिल्लामा उत्पादित लिच्ची दाना नै बिक्री गर्ने चलन छ । यसलाई प्रशोधन गरेर जुसलगायत पेय पदार्थ बनाउन सकिन्छ”, उहाँले भन्नुभयो, “यसप्रति तीनवटै तहका सरकारले योजना बनाउनुपर्छ । जबसम्म कृषि उपज उत्पादनलाई सरकारले प्राथमिकता दिँदैन तबसम्म देश विकास सम्भव छैन ।”

जिल्लामा उत्पादित लिच्ची स्थानीय हाटबजार तथा राजधानी काठमाडौँलगायत सहरमा बिक्री हुने गरेको छ । जिल्लामा उत्पादिन लिच्ची बिक्रीबाट किसानले वार्षिक करोडौँ आम्दानी गर्ने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । लिच्चीबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना भए पनि स्थानीय, प्रदेश र सङ्घीय सरकार यसप्रति उदासिन देखिएको किसानको गुनासो छ । आफूहरूले उत्पादन गरेको लिच्चीलाई स्थानीय सरकारले बजार व्यवस्थापन तथा उद्योग स्थापना गरेर प्रशोधन गर्ने वातावरण मिलाइ दिनुपर्ने किसानको माग छ ।

लिच्ची उत्पादनबाट राम्रो आम्दानी हुने भएपछि स्थानीय सरकारले लिच्चीका बिरुवा भने निःशुल्क उपलब्ध गराउँदै आएको छ । एकपटक रोपिएका बिरुवाले १० देखि १५ वर्षसम्म फल दिने भएकाले जिल्लाका अन्य किसान पनि लिच्चीको व्यावसायिक खेतीमा आकर्षित हुन थालेका छन् ।

दुई लाख ३१ हजार भक्तजनद्वारा पाथीभरा देवीको दर्शन

फुङ्लिङ (ताप्लेजुङ), ४ साउनः एक वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय ३४ भक्तजनले पाथीभरा देवीको दर्शन गरेका छन् ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार आव २०८०/८१ को असारमा मात्र दुई हजार सात सय ५६ जनाले देवीको दर्शन गरेका हुन् । आवको २०८०/८१ पहिलो महिना अर्थात् गत साउनामा एक हजार एक सय २२ तीर्थयात्रीले पूजापाठ गरेका थिए । यसैगरी भदौमा पाँच हजार, असोजमा १० हजार तीन सय ४३ जनाले पाथीभरामा पुगेर पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

पाथीभरामा विशेषगरी बडादसैँ र वसन्त ऋतुको समयमा भक्तजनको चाप बढ्ने गरेको देखिन्छ । बडादसैँपछि चैतेदसैँ (रामनवमी)का समयमा धेरै तीर्थयात्री यहाँ आउने गर्दछन् । यहाँ भारत र अन्य देशबाट पनि भक्तजन आउने गरेका छन् । कात्तिक अर्थात् दसैँको समयमा ४९ हजार एक सय ६३ भक्तजन पाथीभारमा पूजापाठ गरेको समितिले जनाएको छ । समितिका अनुसार मङ्सिरमा २० हजार चार सय १६, पुसमा पाँच हजार छ सय ५५ र माघमा छ हजार चार सय एकजनाले पूजापाठ गरेका छन् । त्यस्तै फागुनमा १७ हजार नौ सय १२ र चैतमा ५२ हजार चार सय ५५ भक्तजनले पूजापाठ गरेका छन् । जेठमा आठ हजार छ सय २९ र असारमा दुई हजार सात सय ५६ जना भक्तजनले पाथीभरा देवीको दर्शन गरेका समितिले जनाएको छ ।

तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरा मन्दिर पुग्न इटहरीबाट तमोर करिडोर र झापाको बिर्तामोडबाट मेची राजमार्ग हुँदै जान सकिन्छ । मेची राजमार्गअन्तर्गतको बाटो सुकेटारसम्म पक्की सडक छ भने त्यसभन्दा माथि काफ्लेपाटीसम्म कच्ची बाटो छ । वर्षाको समयमा कच्ची बाटोमा समस्या हुने भए पनि हिउँदमा भने सहजै ओहोरदोहोर गर्न सकिन्छ । काफ्लेपाटीसम्म यातायातका साधन सञ्चालनमा छन् । त्यहाँबाट पाँच किलोमिटर हिँडेपछि उक्त देवीथान पुगिन्छ ।

चितुवाको आक्रमणबाट १३ वर्षीय बालकको मृत्यु

दमौली (तनहुँ)- तनहुँको बन्दीपुर गाउँपालिका–५ फलाम डाँडामा चितुवाको आक्रमणबाट बिहीबार साँझ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा १३ वर्षीय सुन्दर अछामी रहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो ।

घर नजिकै चितुवाको आक्रमणमा परेका अछामीलाई बन्दीपुर अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । अध्यक्ष थापाले भन्नुभयो, “साँझको बेला घर नजिकैबाट चितुवाले आक्रमण गरेर लगेछ, थाहा पाउने बित्तिकै जाँदा बालक गम्भीर घाइते अवस्थामा भेटिएका थिए ।” मृतक बालकको शव अस्पतालमा राखिएको छ । सो वडाका अध्यक्ष ध्रुवप्रसाद लामिछानेले साँझका बेला घरबाहिर ननिस्कन तथा बालबालिकालाई एक्लै नछाड्न आग्रह गर्नुभएको छ ।

जाजरकोटमा खोलाले बगाउँदा १३ वर्षीय बालक बेपत्ता

काँक्रेविहार (सुर्खेत-जाजरकोटमा खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । स्याली खोलाले बगाउँदा बारेकोट गाउँपालिका–३ बुढागाउँका भक्तबहादुर बुढाका १३ वर्षीय छोरा महेन्द्र बुढा बेपत्ता भएका हुन् ।

बिहीबार दिउँसो गोठालो गएका बेला खोलाले बगाउँदा उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिनुभयो । बेपत्ता बालकको खोजी भइरहेको प्रहरीले जनाएको छ 

बाग्मती,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौँ, ४ साउनः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशभर साधारणतया बदली रही गण्डकी, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बागमती तथा लुम्बिनी प्रदेशका केही भेगमा भारी वर्षा भइरहेको छ ।

विभागले आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाउँदै ती स्थानका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा आज राति भारी वर्षा हुने विभागको पूर्वानुमान छ । आज दिउँसो र राति देशभर आंशिकदेखि साधारणतया बदली हुने छ ।

सिमलताल दुर्घटना : भौतिक पूर्वाधार मन्त्रालयद्वारा गठित समितिद्वारा स्थलगत अध्ययन

नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा दुईवटा बस पहिराले बगाएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको अध्ययन समितिले स्थलगत अध्ययन गरेको छ । मन्त्रालयले सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख ज्ञानेन्द्रकुमार झाको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो ।

मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले असार ३० गते झाको संयोजकत्वमा सडक विभागको ट्राफिक सुरक्षा शाखा प्रमुख सिनियर डिभिजनल इञ्जिनियर प्रकाशचन्द्र भण्डारी र डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेल सदस्य रहेको अध्ययन समिति बनाउनुभएको थियो ।

समितिलाई सात दिनभित्र प्रतिवेदन दिन भनिएको छ । सडकको अवस्था, सडक सुरक्षाको अवस्था, भौगर्भीक स्थिति, पहिरो जानुको सम्भावित कारण लगाएका विषयमा अध्ययन गरेर प्रतिवेदन पेस गर्न भनिएको हो । झाले स्थलगत अध्ययन सकिएको र तोकिएको समयभित्र प्रतिवेदन दिनका लागि तयारी गरिएको बताउनुभयो । सडकखण्डको प्राविधिक अध्ययन गरिएको छ । समितिका सदस्य पौडेलका अनुसार स्थलगत अध्ययनका क्रममा पहिरो खसेको माथिल्लो भूभागमा पुगेर सुक्ष्म अध्ययन गरिएको छ । सडकबाट नौ सय मिटरमाथि डाँडाबाट पहिरो झरेको हो । डाँडामा डुम्रे नामको ठाउँबाट सिन्धुली गढी भन्ने ठाउँसम्म खोलिएको सात सय मिटर लामो कच्ची सडकबाट पानी जम्मा भएर खोतल्दै पहिराको रुपमा तल झरेको अध्ययनबाट देखिएको छ । पौडेलले समग्र अजस्थाका बारेमा अध्ययन गरिएको र प्रतिवेदन बन्दै गरेको बताउनुभयो ।

डिभिजन सडक कार्यालयले वर्षात अघि गरेको अध्ययनमा सो सडकका २५ ठाउँलाई जोखिमपूर्ण मानेको थियो । जसमा पहिरो खसेको सिमलताल पर्दैन । पहिरो खसेसँगै सिमलताल र कालिखोलालाई थप गरी २७ ठाउँ जोखिमपूर्ण भनिएको छ । जसमध्ये नाम्सी, तुइनखोला र कालिखोला उच्च जोखिममा रहेका छन् । ती तीन ठाउँको एक सय ७० मिटर लामो भागलाई पहिरो रोकथामका लागि रु ५२ करोड खर्च हुने अनुमान सडक विभागमा डिभिजन सडक कार्यालयले पत्राचार गरेको थियो ।

गत असार २८ गते वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जान आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस सिमलतालमा खसेको पहिरासँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएको थियो । उक्त बसमा सवार ६५ जनामध्ये तीन सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । जसमध्ये २० जनाको शव फेला परेको छ । घटनापछि सोको अध्ययनका लागि गृह मन्त्रालयले गठन गरेको कार्यदलले स्थलगत अध्ययन गरिसकेको छ ।

अवैध रकम खातामा जम्मा भए जानकारी दिन सिआइबीको आग्रह


काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अवैध ‘च्यानल’ को प्रयोग भई खातामा रकम जम्मा भएको पाइएकाले त्यसरी रकम आएको भए जानकारी दिन सर्वसाधारणमा आग्रह गरेको छ ।

अनुसन्धानका क्रममा विदेशी मुलुक जस्तै संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, अष्ट्रेलिया, अमेरिका, जापान, दक्षिण कोरिया, बेलायतलगायतका विभिन्न देशमा रहेका नेपाली नागरिकले विदेशमा आर्जनगरी पठाएको विप्रेषणबापतको रकम अवैध प्रक्रियाबाट आइरहेको र उक्त सकम एजेन्टले विदेशमा रहेका नेपालीको नेपालस्थित आफन्तको बैंक खातामा जम्मा गर्ने गरेको पाइएको भन्दै त्यस्तो भएको पाइए खबर गर्न अनुरोध गरिएको सिआइबीले जनाएको छ ।

विदेशमा रहेका नेपाली नागरिकबाट प्राप्त भएको विदेशी मुद्रा अवैध सुनको भुक्तानी, अनलाइन ठगी, सट्टेबाजी, मानव तस्करी, भ्रष्टाचार, गैरकानुनी सम्पत्तिको आर्जन, आतङ्कारी क्रियाकलापमा लगानी र अभौतिक मुद्रामा लगानी गर्ने साथै सोको हिसाबकिताब मिलान कार्यमा प्रयोग हुने गरेको पाइएको भन्दै यस्ता गैरकानुनी कार्यको हिस्सेदार नबन्न पनि अनुरोध गरिएको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताउनुभयो ।

यसरी रकम आएमा विदेशी मुद्राको सञ्चितिमा ह्रास, पुँजी पलायन, अनौपचारिक अर्थतन्त्रमा वृद्धि हुन गई अर्थतन्त्र धराशायी हुने, अर्थतन्त्रमा प्रतिकूल प्रभावपरी विकास निर्माणमा असर पर्ने, मूल्यमा अस्थिरता एवं उतारचढाव, लगानीको सुरक्षासम्बन्धी जोखिम बढ्दै जाने उहाँले बताउनुभयो ।

नेपाल बाहिर तथा नेपालमा रहेका सबै नेपाली नागरिकको उल्लिखित अवैध कारोबार रोक्न तथा निरुत्साहित गर्नका लागि सम्बन्धित निकायमा जानकारी गराउनु सर्वसाधरण नागरिकको कर्तव्य भएको सिआइबीले उल्लेख गरेको छ ।

यसरी विदेशमा वा नेपालभित्र रही अवैध कारोबारमा संलग्न रहेको पाइएमा संलग्नउपर नेपाल राष्ट्र बैंक ऐन, २०५८ तथा मुलुकी अपराध संहिता, २०७४, सङ्गठित अपराध निवारण ऐन, २०७० लगायत प्रचलित कानुनबमोजिम कारबाही हुनसक्ने सिअआइबीले आज सार्वजनिक सूचना जारी गरी चेतावनीसमेत दिएको छ ।

सिआइबीले यसरी वैदेशिक रोजगार तथा अध्ययनको सिलसिला एवं विदेशमा स्थायी रूपमा बसोबास गरेका नेपाली नागरिकका नेपालमा रहेका आफन्तले प्राप्त गरेको रकम को–कसले बैंक खातामा जम्मा गरेको हो, त्यसको जिम्मेवारी स्वयं खातावालाको हुने भएकाले बैंक स्टेटमेन्ट जाँचगरी वैध प्रक्रियाबाट रकम आएको हो वा होइन रूजु गर्न र अवैध प्रक्रियाबाट निक्षेप भएको भए सम्बन्धित निकायमा वा यस प्रहरी कार्यालयमा जानकारी दिन सर्वसाधारण सबैमा अनुरोध गरेको छ ।

साथै त्यस्तो अवैध प्रक्रियाको हिस्सेदारी नबन्न, वैध प्रक्रियाबाट मात्र रकमको कारोबार गर्न र वैध भए नभएको सुनिश्चित गर्न सम्पूर्ण सर्वसाधारणमा आग्रह गरेको छ ।

बङ्गलादेशको सरकारी टेलिभिजनको मुख्यालयमा आगजनी

प्रदर्शनकारीहरूले बिहीबार बङ्गलादेशको मुख्य सरकारी प्रसारक बिटिभीको मुख्यालयमा आगजनी गरेका छन् । आगजनीबाट ‘धेरै मानिस’ कार्यालयभित्र फसेको नेटवर्कले बताएको छ ।

स्टेसनका एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा सयौँ प्रदर्शनकारीहरूले परिसरमा आक्रमण गर्दै कम्तीमा ६० सवारी साधन र एउटा कार्यालय भवनमा आगो लगाएको बताए ।

“प्रदर्शनकारीहरूले सबैभन्दा पहिला रामपुरामा एक प्रहरी चौकीमा आगो लगाएपछि प्रहरीले उनीहरूमाथि गोली चलायो”, राजधानी ढाकाको छिमेकलाई उद्धृत गर्दै ती अधिकारीले भने, “बिटिभी कार्यालयमा शरण लिएका प्रहरी अधिकारीहरू उनीहरूले पछ्याउँदै आए, त्यसपछि आक्रोशित प्रदर्शनकारीहरूले यहाँ उत्पात गरे ।”

बिटिभीको प्रमाणित फेसबुक पेजमा आगो ‘विनाशकारी’ र ‘तीव्ररूपमा फैलिरहेको’ उल्लेख छ । प्रसारकले भनेको छ, “हामीले अग्निशमन सेवाबाट सहयोग खोजेका छौँ, धेरै मानिस भित्र फसेका छन् ।”

बङ्गलादेशको प्रहरी बलले यो साता निजामती सेवा भर्ती नियममा सुधारको मागसहित जारी विद्यार्थीहरूको विरोध प्रदर्शनमा हिंसात्मक कारवाहीलाई तीव्र बनाएको छ । यो साता अहिलेसम्म भएका झडपहरूमा कम्तीमा २२ जनाको मृत्यु भइसकेको छ ।

सैनिक कल्याणकारी कोषमा ७५ अर्ब ९० करोड नगद मौज्दात

काठमाडौँ, ३ साउन : नेपाली सेनाका सकल दर्जा, अवकाश प्राप्त सैनिक र आश्रित परिवारको बृहत् हितका लागि स्थापित सैनिक कल्याणकारी कोषमा गत असार मसान्तसम्म रु ७५ अर्ब ९० करोड ८८ लाख नगद मौज्दात रहेको सेनाले जनाएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा सैनिक कल्याणकारी निर्देशनालयका निर्देशक सहायक रथी किरण केसीले २०८० असार मसान्तमा कोषको नगद मौज्दात रु ७१ अर्ब पाँच करोड ६१ लाख रहेकामा यस वर्ष रु चार अर्ब ८५ करोड २७ वृद्धि भएको जानकारी दिनुभयो ।

कोषअन्तर्गतका विभिन्न निकायमा गत असार मसान्तसमम गरिएको लगानी रु छ अर्ब ७९ करोड ८६ लाख (लेखापरीक्षणअगावै)लाई समेत समावेश गर्दा कोषको यथार्थ सम्पत्ति रु ८२ अर्ब ८८ करोड ७४ लाख पुग्ने उहाँले जानकारी दिनुभयो ।

कोषमा मुख्यगरी संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न मुलुकमा शान्ति स्थापनार्थ खटिइएका सेनाका जटिल परिस्थितिमा कामगरेबापत राष्ट्र सङ्घबाट प्रदान गरिने भत्ता रकमबाट केही अंश कट्टगरी जम्मा गरिँदै आइएको छ । यस्तै बैंक तथा वित्तीय संस्थामा निक्षेप गरिएको रकमबाट प्राप्त हुने व्याज, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, विद्यालय/महाविद्यालयको शिक्षण शुल्क, परिवार आवास भाडाबापतको रकम, आयमूलक परियोजनाबाट प्राप्त रकम, विदेशी मुद्रा सटही प्रिमियम र मेडिकल सेवा उपलब्ध गराउने टिकटबाट प्राप्त रकम कोषमा जम्मा गरिने सेनाले जनाएको छ ।

सेनाले काल्याणकारी कोषको रकमबाट शिक्षा, स्वास्थ्य, सीप तथा रोजगार र सुविधा तथा सहुलियतजस्ता कल्याणकारी कार्य गर्दै आइरहेको छ । कोषबाट आर्थिक वर्ष २०८०/८१ मा छ लाख ३२ हजारभन्दा बढीले स्वास्थ्य सेवा तथा १८ हजार सात सय ४८ जनाले कृषि तथा व्यावसायिक पशुपन्छी, तरकारीखेती, लघुउद्यमशील तालिम लिइ स्वरोजगार र रोजगारी प्राप्त गरेका छन् ।

कोषको जोखिममा रहेको निक्षेप रकमलाई उल्लेख्य मात्रामा घटाइएको सहायक रथी केसीले जानकारी दिनुभयो । विगतका वर्षमा जोखिममा रहेको निक्षेप रकम रु ८५ करोडलाई घटाएर रु पाँच करोड दुई लाखमा झारिएको उहाँको भनाइ छ । विभिन्न अदालतमा मुद्दा विचाराधीन रहेका कारणले निक्षेप रहेको बैंक तथा वित्तीय संस्थाबाट असुली हुन नसकेको केसीले स्पष्ट पार्नुभयो ।

कोष र अन्तर्गतका निकायको फछ्र्योट गर्न बाँकी बेरुजु रु आठ करोड चार लाख ३७ हजार रहेकामा गत जेठ मसान्तसम्म रु तीन करोड २६ लाख ३६ हजार फछ्र्योटगरी लगत कट्टाका लागि अनुरोध गरिएको निर्देशनालयले जनाएको छ । बाँकी बेरुजु रु चार करोड ७७ लाख ७४ हजार फछ्र्योटका क्रममा रहेको निर्देशक केसीले जानकारी दिनुभयो ।

छ दशकमा डेढ लाख शान्ति सैनिक खटिइए

शान्ति स्थापना कार्यमा नेपाली सेनाको प्रारम्भदेखि हालसम्म कुल एक लाख ५२ हजार आठ सय १८ शान्ति सैनिकले विभिन्न ४४ वटा शान्ति मिसनमा सहभागिता जनाएका सेनाले जनाएको छ । विसं २०१५ जेठ ३० गते लेबनानबाट शान्ति स्थापना कार्य मिसनमा सहभागिता जनाएको थियो ।

हाल ११ वटा शान्ति मिसनमा नेपाली सेनाका पाँच हजार नौ सय १६ शान्ति सैनिक तैनाथ रहेको सेनाले जनाएको छ । हालसम्म दुई हजार सात सय सात नेपाली महिला सैनिकले शान्ति स्थापना कार्यमा सहभागिता जनाएका छन् ।

सेनाले हालसम्म एक हजार चार सय ११ किलोमिटर सडकको ट्रयाक खोली सडक विभागलाई हस्तान्तरण गर्नुका साथै ३८ वटा बेलिबृज जडान गरेको छ । सेनाको प्रत्यक्ष व्यवस्थापनमा अहिले तीन वटा राष्ट्रिय गौरवका आयोजना तथा दुई वटा पहिलो प्राथमिकता प्राप्त सडक आयोजना निर्माण भइरहेको छ । सो सडकको कूल लम्बाई दुई सय ७४ किलोमिटर रहेको छ । सेनाले खाँदबारी किमाथाङ्का (च्याम्ताङ्ग–घोंघप्पा खण्ड), कर्णाली करिडोर, बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ, दार्चुला–टिङ्कर सडक निर्माण गरिरहेको छ ।

पत्रकार सम्मेलनमा युद्धकार्य निर्देशनालयका निर्देशक सहायक रथी रवीन्द्र खत्री, शान्ति कार्य निर्देशनालयका निर्देशक सहायक रथी प्रेमबहादुर पुन, काठमाडौँ–तराई–मधेस द्रूतमार्ग सडक आयोजनाका प्रमुख सहायक रथी विकास पोखरेल, विकास निर्माण निर्देशनालयका निर्देशक महासेनानी धर्मेन्द्रकुमार झालगायतले आआफ्नो जिम्मेवारी क्षेत्रको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।

मधेस प्रदेश लोकसेवा आयोग पदाधिकारीविहीन

जनकपुरधाम, ३ साउन : मधेस प्रदेश लोकसेवा आयोग लामो समयदेखि पदाधिकारीविहीन भएको छ ।

आयोगमा पदाधिकारी नहुँदा उद्देश्य तथा लक्ष्य अनुरुप काम गर्न नसकेको र कर्मचारी भर्ना एवं नियुक्तिलगायत काम ठप्प भएको छ । मधेस प्रदेश लोकसेवा आयोगका अध्यक्ष तथा सदस्य पद रिक्त रहेकाले सबै कार्य ठप्प भएको कर्मचारीहरुको भनाइ छ ।

आयोगमा तीन सदस्यीय पदाधिकारी प्रदेश सरकारले नियुक्त गर्ने व्यवस्था छ । त्यसमध्ये एक जना सदस्य डा सुजाता देव मात्र कार्यरत हुनुहुन्छ । आयोगका तत्कालीन अध्यक्ष सुरेन्द्रप्रसाद यादव तथा सदस्य महारुद्र झा उमेर हदका कारण छ महिना अगाडि पदमुक्त हुनुभएपछि आयोग पदाधिकारीविहीन भएको हो ।

आयोगमा पदाधिकारी मात्र होइन विसं २०८० मङ्सिर २१ गतेबाट सचिव पद पनि रिक्त छ । तत्कालीन सचिव नरेशराज खरेलको अन्यत्र सरुवा भएपछि नयाँ सचिव नआएको आयोग कार्यालयले जनाएको छ । पदाधिकारी र सचिव नहुँदा साउन १ गते आयोगले सार्वजनिक गर्ने कर्मचारी भर्नासम्बन्धी वार्षिक क्यालेण्डर प्रकाशन गर्न सकेको छैन ।

अध्यक्ष, सदस्य तथा सचिव नहँुदा नियमित प्रशासनिक कामबाहेक अन्य काम ठप्प भएको आयोगका प्रवक्ता तथा उपसचिव गणेश गुञ्जन झाले जानकारी दिनुभयो । प्रवक्ता झाका अनुसार अन्तर्वार्ता लिइएको उम्मेदवारको नतिजा सार्वजनिक, सिफारिस, विज्ञापन गरिएका लिखित परीक्षा, सम्बन्धित निकायसँग रिक्त रहेको दरबन्दी माग तथा विज्ञापन निकाल्नेलगायत काम अघि बढ्न नसकेको हो ।

आयोगकी एक मात्र सदस्य डा देवका अनुसार दुई जना पदाधिकारी भएमा मात्र निर्णय गर्नसक्ने कानुनी व्यवस्थाअनुसार आफू एक्लैले केही गर्न नसक्ने बताउनुभयो । मधेस प्रदेश सरकारलाई आयोगमा पदाधिकारी नियुक्तिका लागि पटकपटक लिखित तथा मौखिक जानकारी गराउँदा कुनै सुनवाइ नभएको उहाँले बताउनुभयो ।

लोकसेवा आयोग स्थापनाको पाँच वर्षमा हालसम्म विभिन्न एक हजार २२ पदको विज्ञापन आयोगले गरेको छ । जसमा कर्मचारी बढुवातर्फ तीन सय ७६ जना सिफारिस भएका छन् । खुलातर्फ छ सय ४६ जना कर्मचारी माग गरिएकोमा सबै प्रक्रिया पुरा गरेर छनोट भएका एक सय ८५ मात्र सिफारिस गर्न सकेको आयोगले जनाएको छ ।

प्रवक्ता झाका अनुसार आव २०७९/८० मा खुला विज्ञापनमार्फत बढुवा र खुला गरी उपसचिव नवौंदेखि सहायक चौथो तहमा दुई सय कर्मचारी पदपूर्ति गर्नुपर्ने आयोगको लक्ष्य रहेको थियो । आव २०८०/८१ मा एक सय १७ कर्मचारी भर्ना गनुपर्ने भए पनि आयोगले पदपूर्ति गर्न सकेको छैन । आव २०७९/८० मा नवौँ तह उपसचिवमा बढुवाका लागि गरेको ११ पदका विज्ञापनमा प्रक्रिया पु-याएर तीन जना सिफारिस भइसकेका छन् भने आठ जनाको सिफारिस बाँकी रहेको छ ।

तत्कालीन मुख्यमन्त्री लालबावु राउतको कार्यकालमा प्रदेश लोकसेवा आयोग २०७६ भदौ ४ गते गठन भएको थियो ।

अम्बिका श्रेष्ठ : पर्यटन क्षेत्रले गुमायो सुप्रतिष्ठित व्यक्तित्व

सिबी अधिकारी, काठमाडौँ । द्वारिकाज होटल पर्यटनको पर्यायवाची नाम हो । यही होटलको नेतृत्व सम्हाल्ने अम्बिका श्रेष्ठ पर्यटन क्षेत्रको उदाहरणीय प्रतिष्ठित नेतृत्व पनि । द्वारिकाज होटल नेपाली परम्परागत कला, संस्कृति र सभ्यताको अनुपम उदाहरण पनि हो । स्वदेश मात्र नभई विश्व पर्यटन बजारमा कहलिएको प्रसिद्ध बुटिक होटलका रूपमा स्थापित द्वारिकाजलाई आजको अवस्थामा ल्याउन उक्त होटलकी संस्थापक अम्बिका श्रेष्ठको अतुलनीय योगदान रहेको छ । नेपालको पर्यटन उद्योग खासगरी ‘हस्पिटालिटी’ क्षेत्रका प्रतिष्ठित नेतृत्व श्रेष्ठ अब हामी माफ कहिल्यै नफर्कने गरी अस्ताएकी छन् । वरिष्ठ पर्यटन व्यवसायी श्रेष्ठको ९२ वर्षको उमेरमा आज दुःखद निधन भएको हो ।

पर्यटन क्षेत्रको प्रेरणादायी व्यक्तित्व श्रेष्ठको निधनले मुलुकको पर्यटन क्षेत्रमा अपूरणीय क्षति पुगेको वरिष्ठ पर्यटन व्यवसायी वसन्त मिश्रले बताए । ‘उहाँ (अम्बिका श्रेष्ठ) नेपालको लागि सच्चा स्वयंसेवक हो, पर्यटनको मात्रै हैन कुनै पनि सामाजिक कार्यमा होस् या पर्यटनको बजारीकरण र प्रवर्द्धनका लागि उहाँ जतिको दक्खल व्यक्ति बिरलै पाइन्छ,’ उनले भने, ‘श्रेष्ठको निधनले पर्यटन क्षेत्रमा एक खालको ‘ग्याप’ रहन्छ । पछिल्लो पुस्ताले उहाँबाट धेरै कुरा सिकेको छ । उहाँको योगदानलाई पर्यटन क्षेत्रले जहिले पनि सम्झिरहने छ ।’

नेपाली कला, संस्कृतिलाई संवर्द्धन गर्दै व्यावसायिक रूपमा सफल एवं सुविधा सम्पन्न तारे होटल रिसोर्टहरूको सञ्चालन गर्ने स्व. श्रेष्ठले प्रारम्भ गरेको महिला उद्यमशीलताको विकास स्वदेशमा मात्र नभई विदेशमा प्रशंसित छ । उनी र उनको परिवारबाट प्रवर्द्धित हेरिटेज होटल तथा रिसोर्टले नेपालको चिनारी अन्तर्राष्ट्रिय जगतमा उल्लेखनीय रूपमा रहेको छ ।

नेपालको पर्यटन प्रवर्द्धनमा सदा सक्रिय रही सम्बन्धित विभिन्न सङ्घ सङ्गठनमा प्रभावकारी नेतृत्व गर्ने स्व श्रेष्ठको निधनबाट देशले पर्यटन विकासको सच्चा अभियन्ता गुमाएको होटल सङ्घका अध्यक्ष विनायक शाहले बताए । उनले भने, ‘द्वारिकाज होटल पाँचतारे ‘हेरिटेज’ होटल हो । देशको कला, संस्कृति र सभ्यताको समिश्रण गरेर व्यावसायिक रूपमा सुविधा सम्पन्न पाँचतारे होटल सञ्चालन गरेर विश्व पर्यटन बजारमा मानको रूपमा स्थापित गर्ने श्रेय अम्बिका श्रेष्ठलाई जान्छ, यसले देश र समाजलाई महत्वपूर्ण योगदान दिएको छ ।’

पर्यटन क्षेत्रका विभिन्न अगुवा सङ्गठनको नेतृत्वदायी भूमिकामा लामो समय काम गरेको अनुभवका साथै नेपाललाई विश्वभर पहिचान गर्न श्रेष्ठ र उनले नेतृत्व गरेको होटलको महत्त्वपूर्ण भूमिका रहेको छ । अध्यक्ष शाहले श्रेष्ठ भौतिक रूपमा नरहे पनि श्रेष्ठले पर्यटन क्षेत्रमा पुर्‍याएको योगदान सधैं चिरस्मरण रहने बताए ।

नयाँ पुस्ताको लागि प्रेरणादायी नेतृत्व स्व श्रेष्ठले नेपाल सम्पदा सङ्घमार्फत सम्पदा संरक्षणमा पनि महत्त्वपूर्ण योगदान दिएकी छन् । पर्यटन क्षेत्रमा मात्रै नभई महिला उद्यमशीलता प्रवर्द्धन र महिला सशक्तीकरणमा पनि श्रेष्ठको महत्त्वपूर्ण भूमिका रहेको छ ।

श्रेष्ठको निधनले मुलुकको समग्र पर्यटन क्षेत्रमा अपूरणीय क्षति पुगेको र व्यावसायिक अभिभावक गुमेको पर्यटन व्यवसायीको बुझाइ छ । नेपाल आउने पर्यटक पाहुनालाई परम्परागत रैथाने खानाको परिकार पस्केर नेपालको आतिथ्य पर्यटनलाई विश्वबजारमा प्रवर्द्धन गरेकी थिइन् । साथै नेपाल आउने विशिष्ट पाहुनाको रोजाई पनि द्वारिकाज होटल हुन्थ्यो ।

वैशाखी टेकेर पनि पर्यटनका हरेकजसो कार्यक्रममा सक्रिय सहभागी हुन्थिन् । उनको उपस्थिति र ऊर्जाशील भनाइले उनी उद्यमीलाई उत्साह र उत्प्रेरणा जगाउने गरेको अनुभव सुनाउँछन् वरिष्ठ पर्यटन व्यवसायी योगेन्द्र शाक्य । ‘अम्बिका श्रेष्ठ पर्यटनको लागि आइकोनिक लिडर हो, उहाँको निधनले पर्यटन क्षेत्रमा अपूरणीय क्षति पुगेको छ,’ उनले भने, ‘श्रेष्ठको व्यक्तित्व नै महिला सशक्तीकरण, पर्यटन उद्योगलगायतमा ख्याति कमाउनुभएको छ । बोलेरभन्दा पनि काम गरेर परिणाम देखाउने श्रेष्ठ पर्यटनको देवीको विम्बको रूपमा स्थापित हुनुहुन्छ । उहाँले हस्पिटालिटी सेवामार्फत गुणस्तरीय पर्यटक नेपाल भित्र्याउन महत्त्वपूर्ण योगदान गर्नुभएको छ ।’

नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले पर्यटन क्षेत्रको प्रेरणादायी व्यक्तित्व श्रेष्ठको निधनबाट पर्यटन क्षेत्रले अभिभावक गुमाएको बताए । ‘श्रेष्ठको गुणस्तरीय पर्यटन, वातावरणमैत्री पर्यटन र सांस्कृतिक सम्पदाको संरक्षणमा अतुलनीय योगदान रहेको छ,’ उनले भने, ‘श्रेष्ठ नयाँ पुस्ताका लागि ऊर्जाशील र प्रेरणादायी व्यक्तित्व हुनुहुन्थ्यो । जीवनको उत्तरार्द्धमा पनि उहाँको उत्तिकै सक्रियता थियो ।’

विगत ६५ वर्षदेखि होटल तथा पर्यटन उद्योगमा सक्रिय श्रेष्ठले सन् १९९१ देखि पूर्णरूपमा द्वारिकाजको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । भारतको सिक्किममा सन् १९३३ फेब्रुअरी १२ मा जन्मिएकी श्रेष्ठले पटना युनिभर्सिटीबाट वाणिज्य शास्त्रमा स्नातकसम्मको अध्ययन गरेकी छन् । नेपालका व्यापारी घरानाका द्वारिकादास श्रेष्ठसँग बिहे भएपछि काठमाडौँ छिरेकी श्रेष्ठ श्रीमानको मृत्युपछि द्वारिकाज होटलको अध्यक्ष भइन् ।

पछिल्लो समय उनकी जेठी छोरी सङ्गीता श्रेष्ठले होटलको नेतृत्व सम्हालिरहेकी छन् । सफल महिला उद्यमीको रूपमा उनले विभिन्न राष्ट्रिय सम्मान प्राप्त गरेकी छन् । विभिन्न सामाजिक संस्थासँग आबद्ध छन् ।

यसैबीच नेपाली पर्यटन क्षेत्रकी अग्रणी व्यक्तित्व श्रेष्ठको असामयिक निधनप्रति होटल सङ्घ नेपालले गहिरो दुःख प्रकट गर्दै स्व श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

मुलुकलाई अप्ठ्यारो पर्दा कांग्रस एमाले सँगसँगै : सञ्चारमन्त्री

काठमाडौँ, ३ साउन : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देश र व्यवस्थालाई अप्ठ्यारो पर्दा कांग्रेस–एमाले एक ठाउँमा उभिने गरेको बताउनुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा आज लमजुङका एमालेका नेता कार्यकर्ताको बधाई तथा शुभकामना ग्रहण गर्दै मन्त्री गुरुङले २०४६ सालमा पञ्चायत फाल्न, २०६२–०६३ सालमा राजतन्त्र फाल्न र २०७२ मा गणतान्त्रिक संविधान बनाउन पनि कांग्रेस–एमाले एकै ठाउँमा उभिएका बताउनुभयो । उहाँले अहिले मुलुक राष्ट्रिय स्वतन्त्रता र स्वाधीनताको हिसाबले कमजोर भएको कारण कांग्रेस–एमाले एक ठाउँमा उभिनु परेको बताउनुभयो । ठूला राजनीतिक दल एकताबद्ध हुनु पर्ने स्थिति देशमा बनेको उहाँले धारणा राख्नुभयो । “राष्ट्रिय आवश्यकताले गर्दा हामी यो गठबन्धनमा सामेल छौँ”, उहाँले भन्नुभयो ।

देशको अर्थतन्त्र धेरै जर्जर बन्दै गएको कारण विकास र समृद्धिका काम अहिले अवरुद्ध अवस्थामा रहेका गुरुङले बताउनुभयो । विकास, सुशासन, स्थिरता, संविधान परिवर्तनका लागि सबै राजनीतिक दल मिलेर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । “प्रतिपक्षमा बसेको माओवादी केन्द्रको पनि सहमतिका आधारमा सबै राष्ट्रिय समस्याको समाधान गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

सञ्चारमन्त्री गुरुङले अहिले बेजेट आइसकेकाले धेरै ठूलो अपेक्षा नगर्न आग्रह गर्नुभयो । यस वर्ष ट्र्याकबाट बाहिर गएको अर्थतन्त्रलाई ठीक बाटोमा ल्याउनका लागि सरकारले काम गर्ने उहाँले बताउनुभयो । “सुखी नेपाली समृद्ध, नेपालको अभियानलाई साकार पार्ने कुरामा हामी लाग्छौँ”, उहाँले भन्नुभयो ।

अहिलेको गठबन्धनलाई जोगाएर मुलुकले खोजेको राजनीतिक स्थिरता दिने कुरामा आफूहरूको ध्यान जाने सञ्चारमन्त्री गुरुङले बताउनुभयो । राजनीतिक अस्थिरताका कारण अवसरवादी गठबन्धन भइरहेकाले त्यसलाई अन्त्य गरेर जनतामा टुटेको विश्वास फर्काउनका लागि आफूहरूले सकेको काम गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

दक्षिण एसियाली करातेमा नेपाललाई स्वर्ण

काठमाडौँ, ३ साउन: भुटानको थिम्पूमा आजदेखि सुरु आठौँ दक्षिण एसियाली कराते प्रतियोगितामा नेपाललाई आठ स्वर्ण प्राप्त भएको छ ।

प्रतियोगिताको पहिलो दिन नेपाललाई स्वर्ण दिलाउन सफल खेलाडीहरु सिनियर महिला एकल कातातर्फ एलिसा रास्कोटी मगर, पुरुष एकल कातामा स्वर्णिम मानन्धर र महिला–२१ वर्षतर्फ सन्जु देशार र पुरुष क्याडेटतर्फ रेहान जावेद रहे ।

एलिसाले सेमिफाइनलमा भुटान र फाइनलमा भारतलाई पराजित गरिन् भने स्वर्णिमले सेमिफाइनलमा श्रीलङ्का र फाइनलमा भारतलाई पराजित गरेका थिए ।

सन्जुले फाइनलमा भुटानलाई पराजित गरिन् भने रेहानले भारतलाई पराजित गरी नेपाललाई स्वर्ण पदक दिलाए । त्यसैगरी जुनियर पुरुष कातातर्फ भने नेपालका अमृत थोकर भारतसँग पराजित हुन पुगे र जुनियरतर्फ महिला एकल कातामा फाइनलमा श्रीलङ्कासँग पराजित भई नेपालकी रेनिशा रिमालले रजत पदकमा चित्त बुझाइन ।

त्यसैगरी सिनियर महिला र पुरुष टिम काता, जुनियर महिला तथा पुरुष टिम कातामा स्वर्ण पदक हात पारेको नेपाल कराते महासङ्घका मिडिया संयोजक गजेन्द्रबहादुर खपाङ्गीले जानकारी गराउनुभयो ।

यसअघि प्रतियोगिताको औपचारिक उद्घाटन भुटानका राजकुमार टासु जिगेलले एक विशेष समारोहका बीच गर्नुभएको थियो ।

भुटानसहित नेपाल, भारत र श्रीलङ्का सहभागी रहेको उक्त प्रतियोगिताको उद्घाटन समारोहमा नेपालका तर्फबाट नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामा, महासचिव दावा गुरुङ, उपाध्यक्ष मजिन्द्र सिंह, महासङ्घका सदस्यहरु, वरिष्ठ प्रशिक्षकहरु, टिम प्रशिक्षकहरु, पदाधिकारीलगायत करिब एक दर्जन अफिसियलको सहभागी रहेको प्रवक्ता गजेन्द्रबहादुर खपाङगीले जानकारी दिनुभयो ।

समानुपातिक प्रणालीलाई बलियो बनाउनुपर्नेमा सांसदहरुको जोड

काठमाडौँ, ३ साउनः संविधानको मर्मअनुरुप समानुपातिक प्रणालीलाई बलियो बनाउनुपर्नेमा सांसद तथा सरोकारवालाहरुको जोड रहेको छ । प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक मामिला समितिको आज बसेको बैठकमा उहाँहरुले समानुपातिक समावेशीताको स्तर कमजोर भएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

बैठकमा ‘राज्यको मूलप्रवाहमा आदिवासी जनजाति समुदायको समावेशीताको अवस्था र यस सम्बन्धमा आदिवासी जनजाति आयोग र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले खेल्दै आएको भूमिका’ विषयक छलफल भएको थियो । उक्त छलफलमा आदिवासी जनजातिको सामाजिक, सांस्कृतिक र राजनीतिक अवस्थाबारे चर्चा गरिएको थियो ।

समितिका सभापति किरणकुमार साहले राज्यलाई समावेशी बनाउन सधैँ एकमत रहेको बताउँदै आदिवासी जनजाति आयोगको अहम भूमिका रहने बताउनुभयो । आयोगले सरकार समक्ष सिफारिस गर्ने मात्रै नभई कार्यान्वयनसमेत गर्न जोड दिनुपर्ने उहाँले बताउनुभयो । बैठकमा आदिवासी जनजाति आयोग र आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानको काम कारबाहीबारे प्रकाश पारिएको थियो । आयोगका सचिव नुरहरि खतिवडाले प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रतिष्ठानका योजना अधिकृत दिवस राईले प्रतिष्ठानको कार्य प्रगतिबारे जानकारी गराउनुभयो ।

आयोगका अध्यक्ष रामबहादुर थापाले विसं २०६३ देखि २०७९ सम्मको निर्वाचन समीक्षा गर्दा समानुपातिक समावेशीताको स्तर आरोलो लाग्ने क्रममा रहेको उल्लेख गर्नुभयो । आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा पनि विसं २०७४ को निर्वाचनपछि तीन प्रतिशतले समावेशीता घटेको उल्लेख छ ।

“समावेशी भए जस्तो देखिन्छ, वास्तवमा तथ्याङ्क नियाल्ने हो भने पछिल्लो समय घट्दै गएको छ”, उहाँले भन्नुभयो । प्रतिष्ठानका योजना अधिकृत राईले आदिवासी जनजातिको अवस्था उकास्न राज्यले अंश बनाएर पर्याप्त स्रोत नदिएको गुनासो गर्नुभयो ।

उहाँले सीमित स्रोतसाधनमा जनजाति समुदायको आर्थिक, सामाजिक, संस्कृति जोगाउन अर्थपूर्ण कार्यसम्पादन गरेको जिकिर गर्नुभयो । “आदिवासी जनजातिको जीवित सङ्ग्रहालय बनाउन प्रतिष्ठान लागि परेको छ”, उहाँले भन्नुभयो, “भाषा, कला र साहित्य संस्कृति जर्गेनामा लगानी गरेको छ ।” प्रतिष्ठानको अनुसन्धान तथ्याङ्कअनुसार राना थारु ६० र हुम्लीको सङ्ख्या ६१ पुगेको छ ।

थप लोपोन्मुख जनजाति समुदायको खोजी र अनुसन्धान गर्न बाँकी रहेको राईले बताउनुभयो । आयोग र प्रतिष्ठानमा पर्याप्त बजेट अभावका कारण अनुसन्धानमूलक कार्य गर्न कठिन भएको उहाँको भनाइ थियो । आयोगले आदिवासी जनजातिको समस्या सम्बोधन गर्न आदिवासी जनजाति मन्त्रालय हुनुपर्ने मागसमेत राख्दै आएको छ ।

बैठकमा सांसदहरु माया राई, कल्पना मिया, सरस्वती बजिमय, ईश्वरबहादुर रिजाल, हर्कमाया विश्वकर्मा, शान्ती श्रेष्ठ, शोभा ज्ञवालीलगायतले आदिवासी जनजातिको उत्थानका विषयमा र समानुपातिक समावेशी राज्य बनाउने कुरामा जोड दिनुभएको थियो ।

सूचना प्रविधि क्षेत्रमा ठूलो सम्भावना छ : वर्षमान पुन

काठमाडौँ, ३ साउन : नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपालमा सूचना प्रविधि क्षेत्रमा ठूलो सम्भावना रहेको बताउनुभएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले आज भक्तपुरको ठिमीमा आयोजना गरेको कार्यक्रममा उहाँले नेपालको भूपरिस्थितिका कारण अरु क्षेत्रमा भन्दा सूचना प्रविधि क्षेत्रमा विश्व बजारमा प्रतिस्पर्धी बन्न सक्ने बताउनुभयो ।

देश विकासको नीति बनाउँदा भूपरिस्थितिलाई ध्यान दिनुपर्नेमा जोड दिँदै उहाँले गत आर्थिक वर्षमा नेपालबाट रु एक खर्ब बराबरको आइटी सेवा निर्यात भएको तथा नेपाली श्रम बजारमा हरेक वर्ष १० हजार सूचना प्रविधि विषय अध्ययन गरेका विद्यार्थी थपिने अवस्था रहेको जानकारी दिनुभयो ।

“हामी करिब डेढ अर्बको विशाल जनसङ्ख्या र विशाल भूगोल भएका चीन र भारतको बीचमा छौँ । यस्तोमा हामीले प्रतिस्पर्धा गर्न सक्ने क्षेत्र भनेको आइटीमा हो”, उहाँले भन्नुभयोे, “आइटी क्षेत्रको सेवा विश्व बजारमा पठाउन हामीलाई न भारत न चीनको आकाश प्रयोग गर्नुपर्छ । न समुद्र प्रयोग गर्नुपर्छ ।” प्रतिस्पर्धी बन्न सक्ने देखेरै आफूले नयाँ आर्थिक वर्षको बजेटमा आफूले सूचना प्रविधि क्षेत्रलाई प्रवर्द्धन गर्ने कार्यक्रम ल्याएको उल्लेख गर्दै पूर्वअर्थमन्त्री पुनले सूचना प्रविधिपछि कृषि, पर्यटन, जलविद्युत् र सिमेन्ट उद्योगले क्षेत्रीय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बताउनुभयो ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले १५ वर्षअघि जलविद्युत् क्षेत्रको लगानीको स्रोत नखोज्ने र १५ वर्षसम्म लगातार आयकर नलिने नीतिगत व्यवस्था गरेका कारण आज मुलुक लोडसेडिङ मुक्त भएको तथा भारत र बङ्गलादेशको क्षेत्रीय बजारमा उपस्थिति जनाउन सक्ने अवस्था आएको पूर्वअर्थमन्त्री पुनको भनाइ छ । उहाँले निजी क्षेत्रलाई राज्यले अर्थतन्त्रको ड्राइभिङ सिटमा राख्नेपर्ने बताउनुभयो । उहाँले राज्यले सहजीकरण गर्ने र निजी क्षेत्रले ड्राइभिङ सिटमा राखेर मात्र मुलुकको अर्थतन्त्रमाथि जान सक्ने औँल्याउनुभयो ।

“सरकारमा रहँदा वा नरहँदा मेरो धारणा के हो भने ‘प्राइभेट सेक्टर’ लाई ड्राइभिङ सिटमा राखेर हामीले देशको अर्थतन्त्रलाई अगाडि बढाउनुपर्ने भन्ने धारणा रहँदै आएको छ । यसको विकल्प छैन,” पूर्वअर्थमन्त्री पुनले भन्नुभयो, “जति प्रतिस्पर्धी अर्थतन्त्र बनाउँछौँ । प्राभइेट सेक्टर अगाडि बढ्छ र त्यसले ड्राइभ गर्छ, राज्यले सहजीकरण गर्छ । योबाहेक कुनै पनि राजनीतिक दलले सोच्न हुन्छ जस्तो मलाई लाग्दैन ।” फरक प्रसङ्गमा मुलुकको राजनीतिले अझै स्थायित्वको बाटो पक्रन नकेको स्वीकार गर्दै उहाँले राजनीतिक सङ्क्रमणको प्रभाव शिक्षा, स्वास्थ्य, अर्थतन्त्र, सामाजिक क्षेत्र र जनजीवनमा पर्ने गरेको बताउनुभयो ।

भारतको इन्फोसिसको नाफा अनुमानभन्दा बढी


भारतीय आइटी (सूचना प्रविधि) कम्पनी इन्फोसिसले जुनमा समाप्त हुने त्रैमासिकमा शुद्ध मुनाफामा सात दशमलव एक प्रतिशतको वार्षिक वृद्धि हासिल गरेको छ । यसले ग्राहक खर्चमा क्रमिक पुनरुत्थानको सङ्केत गरेको छ । भारतको दोस्रो सबैभन्दा ठूलो सफ्टवेयर सेवा निर्यातक इन्फोसिसले आफ्नो राजस्वको ८० प्रतिशतभन्दा बढी पश्चिमी बजारहरूबाट कमाउँछ ।

विशेषज्ञ अनुमानहरूलाई पछि पार्दै कम्पनीले यस त्रैमासिकमा ७६ करोड १३ लाख डलरको शुद्ध मुनाफा कमाएको छ । वार्षिक राजस्व तीन दशमलव छ प्रतिशतले बढेर चार अर्ब ७० करोड डलर पुगेको छ ।

इन्फोसिसले चालु आर्थिक वर्षका लागि स्थिर–मुद्रा राजस्व निर्देशनलाई तीनदेखि चार प्रतिशतसम्म बढाएको छ । यो यसअघिको एकदेखि तीन प्रतिशतको पूर्वानुमानभन्दा बढी हो ।

“सबै भूगोल र अधिकांश उद्योग समूह क्रमिकरूपमा बढेका छन्”, कम्पनीका प्रमुख कार्यकारी सलिल पारेखले पत्रकारहरूसँग भन्नुभयो, “धेरै त्रैमासिकपछि भोल्युम वृद्धि सकारात्मक भएको छ, हामीसँग ठूला सम्झौता जितहरूको अर्को बलियो त्रैमासिक थियो, यसमा चार अर्ब १० करोड डलरको कूल अनुबन्ध मूल्यमा ३४ वठा ठूला सम्झौता थिए ।”

उहाँले इन्फोसिसले संयुक्त राज्य अमरिकामा आफ्नो वित्तीय सेवा शाखाका लागि ‘सुधारको सुरआती सङ्केत’ देखिरहेको बताउनुभयो ।

महामारीका कारण मागमा भएको उछाल देखेलगत्तै मुद्रास्फीति र विश्वव्यापी अनिश्चितताले पश्चिमी ग्राहकहरूले प्रविधि खर्चमा कटौती गर्नुपरेपछि भारतको दुई खर्ब ५४ अर्ब डलरको आइटी क्षेत्रको हिस्सा इन्फोसिसले दु्रत वृद्धिमा मन्दीको सामना गर्नुपर्यो ।

मन्दीले आइटी क्षेत्रमा निर्भर हजारौँ भारतीय युवा इन्जिनियर स्नातकहरूको नोकरीको सम्भावनालाई कमजोर बनायो । तीन लाखभन्दा धेरै कर्मचारी भएको इन्फोसिसले गत वर्ष ग्राहकहरूको माग घटेका कारण क्याम्पस हायरिङलाई अस्थायीरूपमा रोकेको थियो ।

मार्च ३१ सम्मको १२ महिनामा कम्पनीको कूल कर्मचारीको सङ्ख्यामा करिब २६ हजारले घटेको छ । ग्राहकको माग बढ्नेबारे आफ्नो उत्साहित आकलनका बाबजुद कम्पनीले जुनमा समाप्त हुने त्रैमासिकमा करिब दुई हजार कर्मचारी कटौती गरेको छ ।

आम्दानीको घोषणाअघि बिहीबार मुम्बईमा कारोबारको अन्त्यमा इन्फोसिसको सेयर एक दशमलव ८५ प्रतिशतले बढेर बन्द भएको छ ।