`

सेवालाई चुस्त र प्रभावकारी बनाउने पर्यटनमन्त्री पाण्डेको प्रतिबद्धता


काठमाडौँ, ३ असारः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालय मातहतको सेवालाई चुस्त र प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।

मन्त्रालयमा आज सञ्चारकर्मीसँगको अन्तरक्रियामा उहाँले मन्त्रालय र मातहत निकायको अवस्थाबारे आफूले अध्ययन र सरोकारवाला पक्षसँग छलफल गरिरहेको भन्दै नतिजामुखी काममा केन्द्रित हुने विश्वास व्यक्त गर्नुभयो ।

“छलफलमा आएका सुझाव मन्त्रालयको रणनीति तय गर्न मद्दत पुग्ने विश्वास लिएको छ”, उहाँले भन्नुभयो, “पर्यटन क्षेत्रका समस्या र समाधानबारे आएको सुझावलाई मनन गर्दै आगाम दिनमा पनि यस प्रकारका छलफललाई निरन्तरता दिइनेछ ।”

पर्यटनमन्त्री पाण्डेले अहिलेको पुस्ताले मुलुक नबनाउने हो भने कसले बनाउछ भन्दै मुलुक सामु आइपरेका चुनौतीलाई समाधान गर्दै मुलुकलाई आर्थिक विकास र समृद्धिको दिशामा अगाडि बढाउन सबै पक्षबीच समन्वय र सहकार्यका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

पर्यटनमन्त्री पाण्डेले पर्यटन क्षेत्रका जल्दाबल्दा समस्यालाई सरोकारवालासँग छलफल र समन्वयका साथ समाधान गर्दै दिगो पर्यटन विकासका लागि मन्त्रालय लाग्ने उहाँको भनाइ थियो । उहाँले कसैसँग पनि नबहकिकन साच्चिकै मन्त्रालय र देशको हितमा लाग्न प्रमाणित गरेर देखाउने अठोटका साथअघि बढेको उल्लेख गर्नुभयो ।

छलफलमा सहभागी सञ्चारकर्मीले पर्यटन दशक कार्यक्रम कार्यान्वयन गर्न, नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सेवा चुस्त र प्रभावकारी बनाउन र नेपाल पर्यटन बोर्डलाई अन्तर्राष्ट्रिय बजारीकरणमा खरो रुपमा उत्रनका लागि नीतिगत र संरचनागत सुधार गर्न सुझाएका थिए ।

काठमाडौँ महानगरपालिकाले थाल्यो सेवाग्राही सर्वेक्षण कार्यक्रम


काठमाडौँ, ३ साउनः काठमाडौँ महानगरपालिकाले आजदेखि स्वर्णिम योजनाअन्तर्गत ‘साथी महानगर’ सेवाग्राही सर्वेक्षण कार्यक्रम थालनी गरेको छ ।कामपाले केन्द्रीय कार्यालय रहेको काठमाडौँ प्लाजाबाट काम सुरु गरेको कामपाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले जानकारी दिनुभयो ।

गत वर्षदेखि कार्यान्वयनमा आएको महानगर स्वर्णिम योजनाअन्तर्गत सामाजिक विकास विभागले सञ्चालन गरेको ‘साथी महानगर’ कार्यक्रमले सर्वेक्षण थालेको हो । सर्वेक्षण थालिएको पहिलो दिन ३३ जना सेवाग्राहीले फाराम भर्नुभएको उहाँको भनाइ छ ।

सर्वेक्षणका विषयमा प्रमुख प्रशासकीय अधिकृत परियार भन्नुहुन्छ, “हामी कामपामा सेवाको गुणस्तर र सन्तुष्टिको स्तर मापनका लागि ‘वेञ्च मार्किङ’ गर्दैछाँै । एकल सेवा केन्द्र सञ्चालनमा आइसकेपछिको सेवाप्रवाहमा आएको परिवर्तनलाई तथ्यसहित मापन गर्न यसले आधार प्रदान गर्नेछ । आगामी वर्ष यही समयमा यस्तै सर्वेक्षण गरेपछि नतिजा थाहा हुन्छ । तुलनात्मक विवरणबाट मापनयोग्य अवस्था प्राप्त हुने बताउँदै उहाँले काम भएको देखिने तर सेवाग्राही सन्तुष्ट नहुने अवस्था नरहोस् भन्नका लागि सर्वेक्षण गरिएको धारणा राख्नुभयो ।

सेवाग्राहीलाई फाराम भराउन सुरु गर्नुअघि सर्वेक्षणको तथ्याङ्क व्यवस्थापनमा खटिने कर्मचारी, फारम भर्ने भराउने कार्यमा परिचालन हुने इन्टर्न र नगर प्रहरीलाई प्रमुख प्रशासकीय अधिकृतको सचिवालयका उपनिर्देशक प्रहलाद घिमिरेले अभिमुखीकरण गर्नुभएको थियो ।
सर्वेक्षणका विविध पक्ष, सर्वेक्षणका क्रममा सेवाग्राहीसँग गर्नुपर्ने आचरण, व्यक्तिगत गोपनीयता जस्ता विषय अभिमुखीकरणमा समेटिएका थिए ।

सर्वेक्षणका लागि सेवा प्रवाहका विभिन्न चरण, प्रक्रिया र अवस्थासँग सम्बन्धित २८ वटा प्रश्न राखिएका छन् । यी प्रश्नहरुका वैकल्पिक उत्तर दिइएका छन् । सेवाग्राहीले यसरी दिइएका उत्तरमध्येबाट आफूले अनुभूत गरेको अवस्थाको जवाफमा सही (=) चिह्न लगाउनुपर्नेछ । फाराममा नाम थर लेख्नुपर्ने भए पनि फोन नम्बर अनिवार्य गरिएको छैन ।

सर्वेक्षणका लागि दई जना इन्टर्न र एक जना नगर प्रहरी खटाइएको छ । सर्वेक्षणमा सहभागी हुने सेवाग्राहीलाई पाँच वटा मास्क प्रदान गरेर हार्दिकता प्रकट गरिन्छ । दैनिक दिउँसो १२ बजेदेखि ५ बजेसम्म र शुक्रबार १२ बजेदेखि ३ बजेसम्म भराइने सर्वेक्षण स्वेच्छिक हो । सेवाग्राहीले इच्छा गरे मात्र भर्न लगाइन्छ । यसमा कसैलाई फाराम भर्न कर लगाइँदैन ।

यसरी भराइएका फाराम हरेक दिन प्रमुख प्रशासकीय अधिकृतको सचिवालयमा बुझाउने प्रबन्ध गरिएको छ । पहिलो चरणमा पाँच सय जना सेवाग्राहीले फाराम भरेपछि यसको विश्लेषण हुनेछ ।

अल्ट्रा ट्रेल दौडमा चम्कँदै नेपाली नारीहरु

काठमाडौँ, ३ साउनः उनीहरु अधिकांशको बाल्यकाल पहाडी र हिमाली क्षेत्रमा घाँसदाउरालगायतका दैनिकीमै बित्यो । पहाडका उकाली र ओराली छिचोल्दै अघि बढेका उनीहरुका पाइला कतिबेला दौडिन थाले उनीहरु आफैँले मेसो पाएनन् ।

गाउँघरका अप्ठ्यारा बाटोमा हिँड्न सिकेका उनीहरुका पाइला यतिबेला विश्वका विभिन्न देशमा आयोजना हुने प्रतियोगितामा दौडिरहेका छन् । कति लहैलहैमा त कतिपय रहरले दौडिन सुरु गरेका उनीहरु अहिले यसैमा करिअर खोजिरहेका छन् । त्यति मात्रै होइन, दौडिएरै नेपाल र नेपालीको नाम विश्वमा चम्काइरहेका छन् ।

धावकका रुपमा करिअर बनाउँदै गरेका उनीहरुलाई थप प्रतिष्पर्धी बनाउन र अन्तर्राष्ट्रियस्तरमा अवसर दिलाउने सहयोगी भूमिका निर्वाह गरिरहेको छ, मञ्जुश्री ट्रेल रेसले । मञ्जुश्रीले विभिन्न आयोजनामार्फत उनीहरुलाई विभिन्न अवसर प्रदान गर्नुका साथै थप प्रतिस्पर्धी पनि बनाउँदै लगेको छ । आज हामी केही नेपाली महिला धावकबारे चर्चा गर्दैछौँ ।

निर्मला राई, खोटाङ

खोटाङकी ३३ वर्षीया निर्मला राईले नेपालको सबैभन्दा लामो मञ्जुश्री ट्रेल रेस एक सय माइल अर्थात् एक सय ७० किलोमिटरको दूरी ३४ घण्टा ५४ मिनेट ३० सेकेण्डमा पूरागरी कीर्तिमानी जीत दर्ता गरिन् । उनले यस रुटमा कायम यसअघिको कीर्तिमानलाई बिना कुनै प्रशिक्षण एक घन्टाभन्दा बढी समयले तोडेकी हुन् । उनी अब आफूलाई अन्तर्राष्ट्रिय धाविकाका रुपमा स्थापित गर्ने योजनामा छिन् ।

निर्मलाले अल्ट्रा रेस दौडन थालेको धेरै समय भएको छैन । तर छोटो समयको अथक प्र्रयासमा उनले कैयौँ दौड जितेकी छन् । यस क्षेत्रमा लाग्नुको श्रेय भने उनी अन्तर्राष्ट्रिय धाविका प्रिया राईलाई दिन्छिन् । प्रियाले नै आफूलाई दौडनका लागि जहिल्यै हौसाएको उनको भनाइ छ ।

गाउँबाट काठमाडौँ आएकी उनी दौडामा लाग्नुअघि जीविकोपार्जनका लागि कहिले मार्केटिङ त कहिले सुरक्षागार्डको पनि काम गरिन् । विभिन्न पसल चाहर्दै फाइनान्सका लागि पैसा उठाउनेदेखि होटेलमा भाँडासमेत माझिन ।

निर्मलाले पहिलोपटक नुवाकोटको झिल्टुङ क्रस कन्ट्री दौडमा भाग लिइकी थिइने । बाह्र दशमलव पाँच किलोमिटर दौडमा उनी चौथो भएकी थिइन् । उनी आफूलाई पहिलो सहभागिताबाटै अपेक्षाकृत सफलता मिलेपछि थप हौसला मिलेको हो भन्छिन् ।

उक्त दौडपछि प्रियाले विभिन्न प्रतियोगितामा भाग लिन थालिन् । वीर गणेशमान दौड प्रतियोगितामा शीर्ष दशमा परेपछि उनको तारिफ भयो । निर्मलाले गत वर्ष अप्रिलमा एक सय ३० किलोमिटरको मनास्लु ट्रेलमा सहभागी भइन् तेस्रो भइकी थिइन् ।

धावकका लागि मुख्य सहयोगी जुत्ता नै हो । जति राम्रो जुत्ता भयो दौडनका लागि त्यति नै सहज हुन्छ । धावनका लागि जुत्ता किन्न निकै महँगो हुने गरेको उनको भनाइ छ । त्यसैले विदेशी प्रायोजक भएका प्रतियोगितामा दौडन सहज हुने उनले सुनाइन् । दौडलाई निरन्तरता दिनका लागि पनि राम्रो प्रायोजकको साथ आवश्यक भएको उनको बुझाइ छ ।

अनिता राई, भोजपुर

भोजपुर षडानन्द नगरपालिकाकी अनिता राईलाई सुरुमा मानिस किन दौडिन्छन् भन्ने थाहै थिएन । पोखरामा पर्यटक पथप्रदर्शकका रुपमा कार्यरत रहँदा कहिलेकाहीँ धावकहरु भेटिन्थे । तर उनलाई यी धावकहरुको यो दौडाइको उद्देश्य बुझ्दिनथिन् । तर सन् २०११ मा अरु कसैले उक्साएकै भरमा दौडने योजना बनाइन् ।

उनी आफ्नो पहिलो प्रतियोगिताको अघिल्लो दिन आयोजकको सम्पर्कमा आइकी थिइन् । आयोजकले दौडनुपर्छ मात्रै भनिदिए । भोलिपल्ट दौड सुरु हुने ठाउँमा पुगिन् । अरु धावकले सोहीअनुसारको पोशाक र जुत्ता लगाए पनि उनी भने सामान्य टिसर्ट, हाफ पाइन्ट र चप्पलमै पुगिन् । रातको समय पनि दौडनका लागि लाइट हुनुपर्ने भए पनि उनीसँग केही थिएन । थियो त केबल शक्ति र आत्मबल ।

उनी ५० किमीको उक्त दौडमा तेस्रो भइन् । पुरस्कारस्वरुप पाँच हजार पाइन् । आफू कार्यरत अफिसबाट पनि सम्मान पाएपछि भने दौडको महत्तव बुझ्न थालिन् । उनले त्यसपछिका प्रायः दौडमा भाग थालिन् । केही दौडमा विजयी पनि भइन् ।

उनी सन् २०२१ मा दौड प्रशिक्षणका लागि काठमाडौँ आइन् । नौ महिना प्रशिक्षण लिएर मञ्जुश्री ट्रेल रेसमा सहभागी भइन् । उक्त दौडमा उनी दुई पटकसम्म एक सय माइलको महिलातर्फ पहिलो र तेस्रो पटक दोस्रो भइन् ।

मञ्जुश्री ट्रेल रेसमा दुई पटकसम्म प्रथम हुँदा उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने अवसर पाइन् । दौडकै सिलसिलामा स्वीजरल्याण्ड, थाइल्याण्ड, फ्रान्सलगायतका मुलुक पुगिन् । अहिले उनी आफ्नो दौडलाई निरन्रतता दिँदै अरुलाई प्रशिक्षण पनि दिँदै आएकी छन् ।

आङ फुर्बा शेर्पा, सोलुखुम्बु

सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिकामा जन्मिएकी आङ फुर्बा शेर्पा स्नातक अध्ययन गरिरहेकी छन् । विद्यालयमा छँदै दौड प्रतियोगितामा भागि लिएकी उनले अहिले पनि दौडलाई निरन्तरता दिएकी छन् । उनले साढे दुई वर्षअघि दाईको सुझावमा एभरेष्ट ट्रेलमा भाग लिइन् । त्यसपछि २५ किमीको दौडमा उनले दुई वर्षसम्म लगातार उपाधि जितिन् ।

शेर्पा गत वर्षको एभरेष्ट म्याराथनमा विजेता बनिन् । बेसक्याम्पदेखि नाम्चेसम्मको ७० किमी दौडको महिला धावकमा उनी उत्कृष्ट ठहरिन् । त्यति मात्रै होइन, उनले आर्मी र पुरुषहरुसँगको दौडसमेत भाग लिएकी छन् । जहाँ उनले दुवैतर्फमा १०औँ स्थानमा परेकी थिइन् ।

सोलुखुम्बुमै रहँदा उनी आमाबुबासँगै चौँरी चराउन जान्थिन् । विद्यालय जान मात्रै दुई घण्टा लाग्थ्यो । उनी भन्छिन्, “सायद त्यही बेलादेखि नै दौडने बानी परेको थियो । उकाली ओराली गर्दा दौडने बानी परेको हुनसक्छ ।”

विगतमा भलिबल, फुटबललगायतका खेलमा सक्रिय उनी अहिले आफूलाई दौडमा मात्रै सीमित गरेकी छन् । उनी हालै सम्पन्न मञ्जुश्री ट्रेल रेसमा पहिलो पटक सहभागी हुँदै एक सय माइलतर्फ तेस्रो भइन् । उनी अब दौडको प्रशिक्षण पनि लिने योजनामा छिन् । त्यसपछि अन्तर्राष्ट्रिय दौडमा भाग लिने सपना पनि देखेकी छन् ।

पदमकुमारी सुनुवार, ओखलढुङ्गा

ओखलढुङ्गाकी पदमकुमारी सुनुवारलाई सामान्य दौड प्रतियोगितामा भाग लिए पनि ट्रेल रेसबारे जानकारी नै थिएन । दौडमा रुचि राख्ने उनले अन्तर्राष्ट्रिय धाविका मिरा राईलगायतको नाम भने सुनेकी थिएन् ।

उनले सन् २०२१ उनले आफूले देखेको सपना पूरा गर्ने अवसर पाइन् । गाउँमै सम्पन्न ४२ किमी दूरीको दौडमा भाग लिएकी उनी पाँचौँ भइन् । सो प्रतियोगिताको अतिथिमा मिरा राईलगायत खेलाडी थिए । सुनुवारले देखाएको उत्कृष्ट प्रदर्शनपछि उनीहरुले नै प्रशिक्षणको अवसर दिएका थिए । प्रशिक्षणका लागि सुनुवार काठमाडौँ आइन् । केही समय प्रशिक्षण लिएपछि दौडलाई निरन्तरता दिइन् ।

उनले हालै सम्पन्न मञ्जुश्री ट्रेलको एक सय किमीको दौड २३ घण्टा ५६ मिनेट २२ सेकेण्डमा पूरा गरी महिलातर्फ प्रथम भइन् । उक्त प्रतियोगितामा भाग लिने रहर पूरा भएकामा उनी निकै खुसी देखिन्थिन् ।

पछिल्लो समय उनी काठमाडौँमै रहेर दौडलाई निरन्तर अगाडि बढाएकी छन् । हालै मात्र पनि उनले २८ दिनमा नौ सय किलोमिटर दौडिइन् । जसमा उनी महिला तथा पुरुष दुवैमा पहिलो भइन् । अन्तर्राष्ट्रिय मुलुकमा समेत दौडिसकेकी उनले आगामी दिनमा पनि दौडलाई नै अगाडि बढाउने योजनामा छिन् ।

अनिता राई, सोलुखुम्बु

सोलुखुम्बु महाकुलुङकी अनिता कुलुङ राई पोखरामा दिदीसँग बस्दै गर्दा आम्दानीका लागि साइकल सर्भिसिङको काम गर्थिन् । साइकल सर्भिसिङका क्रममा उनी साइकल दौडाउन सिपालु भइसकेकी थिइन् । यही क्रममा उनले नेपालका विभिन्न स्थानमा जस्तै भारतका केही स्थानमा साइकल कुदाउँदै पुगिन् । यसै क्रममा उनले साइकल चलाएर केही प्रतियोगिता पनि जितिन् ।

तर उनी यतिमा मात्रै सीमित हुन चाहन्नथिन् । उनको मनमा अझै केही गर्न पाएहुन्थ्यो लागिरहेको थियो । सोही समयमा पोखरामा दौड प्रतियोगिता आयोजना हुँदैछ भन्ने समाचार उनको कानमा पर्‍यो । विद्यालयमा अध्ययनरत उनको परीक्षा पनि नजिकिँदै थियो । यस्तो अवस्थामा शिक्षकहरुले पनि उनलाई उक्त प्रतियोगितामा भाग लिन सुझाव दिए । उनले शिक्षकको सुझाव ग्रहण गरिन् । चार हजार मिटरको दौडमा पहिलो पटक भाग लिएकी उनी विजेता बनिन् ।

त्यहाँबाट पाएको हौसलाले उनलाई दौडलाई निरन्तरता दिन हौसल दियो । तर घर परिवारले भने दौडेर जीवन खर्च गर्नुभन्दा विदेश गएर पैसा कमाउन भनिरहेका थिए । परिवारको उक्त सुझावविपरीत भाइले भने दौडनका लागि उत्सह भरिदिए । सोही समयदेखि दौडमा होमिएकी उनले हालसम्म दौडेरै कैयौँ सफलता पाइसकेकी छन् । केही समयअघि सम्पन्न काठमाडौँमा सम्पन्न मञ्जुश्री ट्रेल रेसअन्तर्गतको एक सय माइलको दौडमा उनी दोस्रो भइन् । यो सफलताले उनलाई अब अन्तर्राष्ट्रिय प्रतियोगितामा दौडनका लागि ऊर्जा थपेको छ ।

प्रिया राई, खोटाङ

खोटाङकी प्रिया राई कक्षा ९ पढ्नका लागि काठमाडौँ आएकी थिइन् । अध्ययनका क्रममा उनले तेक्वान्दो प्रशिक्षण लिइन् । तेक्वान्दो प्रशिक्षणका क्रममा उनलाई अब यही क्षेत्रमा लाग्नुपर्छ भन्ने लागेको थियो । तर यसैबीच उनलाई कसैले ट्रेल रनिङबारे सुनाइदिएको थियो । तेक्वान्दोमा रमाइरहेकी उनले एक्कासी भोजपुरमा आयोजना भइरहेको ट्रेल रनिङमा पहिलो पटक भाग लिन पुगिन् । उनका अनुुसार त्यो बेलासम्म दौडमै पनि करिअर बनाउन सकिन्छ भन्ने थाहा थिएन रे । “पहाडका उकालो र ओरालोमा दौडनुपर्ने रहेछ । उक्त प्रतियोगितामा भाग लिइसकेपछि उनले अब तेक्वान्दो नभई यसै क्षेत्रलाई करिअर बनाउँछु भन्ने लागेको हो”, उनले भनिन् । हाल उनी यसै क्षेत्रमा निरन्तर क्रियाशील छन् ।

रसिला तामाङ, धादिङ

धदिङकी सन् २०१५ मा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ललितपुरको जाउलाखेलस्थित आयोजना गरिएको एउटा तालिममा रसिला तामाङले भाग लिने अवसर पाएकी थिइन् । कार्यक्रममा सँगै गएकी दिदीले त्यो कार्यक्रम छाडेर अर्को कार्यक्रमा जान कर गरिन् । दिदीले भनेको अर्को कार्यक्रम दौड प्रतियोगिता रहेछ । सोही दिवसको आयोजनामा महिलाबीच दौड प्रतियोगिता आयोजना गरिएको रहेछ । तर सहभागीले अधिकांश जिन्स पाइन्ट र जुत्ता पहिरिएका थिए । उनी तुरुन्तै कोठामा पुगिन् र सोही पोशाकमा पुनःकार्यक्रममै फर्किइन् ।

लाइनमा करिब चार सय महिला दौडनका लागि तयारी अवस्थामा थिए । उनी पनि त्यही भीडमा मिसिइन् । दौडने सङ्केत पाएसँगै उनी पनि भीडमा दौडिइन् । त्यो दौड रसिलाका लागि पहिलो थियो । पाँच किलोमिटर दूरीको उक्त दौडमा रसिला दोस्रो भइन् । पहिलो दौडमै सफलता पाएकी उनले त्यसपछि दौडमै आफूलाई केन्द्रित गरिन् । पछि विस्तारै अन्य प्रतिस्पर्धामा पनि भाग लिन थालिन् र अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि भाग लिन थालिन् । हालै सम्पन्न मञ्जुश्री ट्रेल रेसमा ५० किलोमिटरतर्फ उनी दोस्रो भइन् । उनले दौडकै सिलसिलामा एक दर्जनभन्दा बढी मुलुक पुगिसकेकी छिन् । हाल उनी दौडमै करिअर बनाउनेगरी सक्रिय छन् ।

छोकी शेर्पा, ओखलढुङ्गा

ओखलढुङ्गाकी छोकी शेर्पा एसएलसी सकेर उच्च शिक्षाका लागि काठमाडौँ आएकी थिइन् । गाउँकै साथीहरु दौड प्रतियोगितामा भाग लिएको देखेर उनी पनि यसमा आकर्षित भएकी रहिछन् । साथीहरुको सङ्गतले उनी पनि यसैमा जोडिँदै गइन् ।

सन् २०१८ मा उनले पहिलो पटक औपचारिक रुपमा दौड प्रतियोगितामा सहभागी भइन् । उनको पहिलो दौड तीन सय किमीको अन्नपूर्ण सर्किटमा थियो । सात किलोसम्मको भारी बोकेर १२ दिनमा पूरा गर्नुपर्ने सो दौडमा उनी सफल भइन् । त्यसपछि हो दौडप्रति उनको लगाव अझ बढ्यो ।

दौडका क्रममा उनी विभिन्न देश पुगेकी छन् । हालै सम्पन्न मञ्जुश्री ट्रेल रेसको ५० किमी दौडमा उनी पहिलो भइन् । उनी दौडकी कारण आफू सङ्कुचीत हुन नपाएको बताउँछिन् । दौडमार्फत प्रकृतिको अवलोकन गर्न पाएको र त्यससँगै आफूलाई जोडुन पाएको उनको बुझाइ छ । उनले पहिलो दौडमा लगाएको कन्भर्स जुत्ताले बनाएको घाउको अझै पनि सम्झना आउँछ । पछिल्लो समय उनले भाग लिएको काठमाडौँ भ्याली रिम च्यालेञ्जमा उनी पहिलो बनिन् ।

क्रिमियामा ३३ युक्रेनी ड्रोन र १० सैनिक ड्रोन खसालेको रुसको दाबी

रुसले क्रिमियामा ३३ युक्रेनी ड्रोन र प्रायद्वीपतर्फ गइरहेका १० नौसैनिक ड्रोन खसालेको मस्कोको रक्षा मन्त्रालयले बिहीबार जनाएको छ ।

ड्युटीमा रहेका वायु रक्षा प्रणाली नष्ट गरी क्रिमियामा हवाई ड्रोनहरू रोकेको मन्त्रालयले टेलिग्राम पोस्टले मार्फत जनाएको हो । ब्लाक सीे मा रहेका सेनाहरूले क्रिमियन प्रायद्वीपतर्फ गइरहेका नौसेना ड्रोनहरू नष्ट गरेको टेलिग्राम पोस्टले प्रष्ट पारेको छ ।

सेभास्तोपोलका गभर्नर मिखाइल रजभोजायेभले बिहीबार क्रिमियन सहरको गतिबिधि रूसी सेनाको आक्रमणको विरुद्धको बदला सँग जोडिएको बताउनु भएको थियो ।

रुसी अधिकारीहरूका अनुसार गत महिनाको अन्त्यमा मस्कोले युक्रेनमा अमेरिकी मिसाइल प्रयोग गरी क्रिमियामा घातक आक्रमण गरेको आरोप लगाएको थियो जसमा चार जनाको मृत्यु भएको थियो भने १५० भन्दा बढी घाइते भएका थिए ।

रूसी रक्षा मन्त्रालयका अनुसार पश्चिमी रुसको ब्रायन्स्क क्षेत्रमा गए राती थप दुईवटा ड्रोनलाई निष्क्रिय पारिएको जनाउदै कुनै हताहत वा क्षति नभएको स्थानीय गभर्नर अलेक्जान्डर बोगोमाजले टेलिग्राममा उल्लेख गर्नु भएको छ ।

युक्रेनले पछिल्लो समय रूसी क्षेत्रमा आक्रमण बढाई आपूर्ति केन्द्र, ऊर्जा केन्द्रका साथै सीमापारका सहर, गाउँ र क्रिमियामा लक्षित गरेको छ ।

सन् २०२२ फेब्रुअरीमा द्वन्द्व सुरु भएदेखि दुवै पक्षले व्यापक रूपमा ड्रोन लगायतका सैन्य उपकरणको प्रयोग गर्दै आएका छन् ।

‘सहकारी क्षेत्रमा देखिएका समस्या उजागरमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण’

काठमाडौँ, ३ साउन: प्रतिनिधिसभा, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापाले सहकारीका समस्या उजागर गरी समाधानमा लैजान सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

सहकारी क्षेत्रसँग सम्बन्धित विषयमा प्रधान–सम्पादक, सम्पादक र सञ्चारकर्मीसँगको छलफलका क्रममा उहाँले समस्याग्रस्त सहकारीका विषयमा खोजी समाचार आउनुपर्नेमा जोड दिनुभयो । समस्याग्रस्त सहकारीका विषयमा अहिलेसम्म सञ्चारमाध्यमले ल्याएका विषय महत्वपूर्ण रहेको उल्लेख गर्नुहुँदै उहाँले अझै गहिरिएर समाचार ल्याउने विषयमा सहकार्य गर्न समिति तयार रहेको सभापति थापाले सुनाउनुभयो ।

सहकारीलाई नियमन गर्ने निकायले स्वनियमन भन्दै ध्यान नदिएकैले सहकारीमा समस्या आएको समितिको १८औँ बैठकसम्मको छलफलमा आएकाले सुनाएको उल्लेख गर्नुहुँदै उहाँले यस विषयमा स्पष्ट कानुनी व्यवस्था गरिनुपर्ने बताउनुभयो ।

समिति सदस्य एवं सांसद ईश्वरीदेवी न्यौपानेले संविधानमा उल्लेख भएको तीन खम्बे अर्थनीतिको एउटा खम्बाका रुपमा रहेको सहकारी ढल्न लागेकाले यसलाई थाम्नका लागि समितिले काम गरेको बताउनुभयो ।

दैनिक ज्याला, मजदुरी गरेर कमाएको पैसा सहकारीमा राखेकाहरु अहिले पीडित भएकाले यो समस्या समाधान गर्ने गरी समितिले प्रतिवेदन बुझाउने उहाँको भनाइ थियो ।

सांसद लेखनाथ दाहालले हालसम्म समितिको १८ वटा बैठक बसेकामा १३ वटा बैठक सुझाव लिनकै लागि छलफल गरिएको बताउनुभयो । समस्या आएका सहकारीलाई समाधानका लागि छदेखि आठ महिनासम्मको समय दिनुपर्ने उहाँको विचार थियो ।

सहकारीको बचत ठगी गरी विदेश भागेका गोरखा मिडिया नेटवर्क प्रालिका अध्यक्ष जिबी राई घर जाँदा पनि हेलिकप्टर चढेर जाने गरेको उल्लेख गर्नुहुँदै सांसद दाहालले उहाँले नेताको जन्मदिनमा केक बोकेर जाने गरेको सुनाउनुभयो ।

सांसद सरिता भुसालले गाउँमा खोलिएका र महिलाद्वारा सञ्चालित सहकारीमा भने समस्या नभएको बताउनुभयो ।

सांसद शिशिर खनालले राजनीतिक कारणले सहकारी नियमनमा समस्या आएको उल्लेख गर्नुहुँदै समितिबाट देशभरका सहकारीपीडितले पैसा फिर्ताको आशा गरेकाले त्यसै अनुरुपको नीति बनाउन सहयोग पुग्ने गरी प्रतिवेदन तयार गर्न छलफल केन्द्रित रहेको बताउनुभयो ।

सांसद ध्रुवबहादुर प्रधानले सहकारीसँग सरोकार भएका निकायले विगतदेखि समस्या पन्छाउँदा अहिले ठूलो रुप लिएको उल्लेख गर्नुभयो । यसलाई अहिले नै समाधान गर्ने गरी अघि नबढाएपछि अझ ठूलो समस्या आउने भएकाले सरोकार भएका निकायलाई संसद्ले सचेत बनाउनुपर्ने विचार राख्नुभयो ।

बैठकमा समितिले विभिन्न सञ्चारमाध्यमका पत्रकारसँग सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि गरिनुपर्ने कामका विषयमा सुझाव लिएको थियो । समितिको काम अन्तिम चरणमा पुगेको जानकारी पनि सो अवसरमा गराइएको थियो ।

समलिङ्गी दम्पतिहरुका लागि वैवाहिक बिमा सम्बन्धी अधिकार सुनिश्चित


दक्षिण कोरियाको सर्वोच्च अदालतले बिहीबार समलिङ्गी जोडीहरूको नयाँ अधिकारलाई मान्यता दिँदै राज्यले समलिङ्गी दम्पतिहरुलाई स्वास्थ्य बिमा उपलब्ध गराउनुपर्ने ऐतिहासिक फैसला सुनाएको छ ।

सन् २०२१ मा राष्ट्रिय स्वास्थ्य बीमा संस्था (एनएचआईएस) ले समलिङ्गी जोडी भएकै कारण आश्रितको रुपमा आफ्नो जीवनसाथीले प्राप्त गर्ने लाभहरु समाप्त गरेपछि सन् २०१९ मा विवाह गरेर सँगै बस्दै आएका एक समलिङ्गी जोडी सो सेओङ–वुक र किम योङ–मिनले संस्था विरुद्ध मुद्धा दायर गरेका थिए ।

गत वर्षको सियोल उच्च अदालतले एनएचआईएसलाई उनीहरुको आश्रित लाभहरू पुनर्स्थापित गर्न आदेश दिँदै दम्पतीको पक्षमा फैसला सुनाएको थियो।

समलिङ्गी विवाहलाई मान्यता नदिएको दक्षिण कोरियामा यो विवाहको कुनै कानुनी वैधता भने छैन ।

उच्च अदालतको यस फैसला विरुद्ध एनएचआईएसले सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको हो ।

“समलिङ्गी भएकै कारण जोडीहरुलाई बहिष्कार गर्नु यौनिक एवं लैङ्गिकतामा आधारित भेदभाव हो“, सर्वोच्च अदालतले फैसला सुनाएको छ । “यो एक भेदभावपूर्ण कार्य हो जसले मानव गरिमा र मूल्यमान्यता, खुशीको खोजी गर्ने अधिकार, गोपनीयताको स्वतन्त्रता र समानताको अधिकारको उल्लङ्घन गर्दछ ।”

“राष्ट्रिय स्वास्थ्य बीमाले समलिङ्गी जोडीहरूका लागि वैवाहिक बिमा सम्बन्धी व्यवस्थालाई मान्यता दिनुपर्छ”, सर्वोच्च अदालतले फैसला सुनाएको हो ।

देशको सर्वोच्च अदालतबाट आएको यो फैसलामाथि पुनरावेदन गर्न मिल्दैन । यसको अर्थ समलिङ्गी दम्पतिले अब स्वास्थ्य बीमा गर्दा आफ्नो जीवनसाथीलाई आश्रितको रूपमा दर्ता गर्न सक्नेछन ।

सर्वोच्च अदालतको फैसला देशको लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका लागि एक महत्वपूर्ण क्षण हो । सर्वोच्चको उक्त फैसलापश्चात इन्द्रेणी छाता बोकेका मानिसहरू खुशीका आँसु पुछदै अदालत बाहिर निस्किएका थिए।

देशले समलिङ्गी विवाहलाई मान्यता दिदैँन तर समलिङ्गी सम्बन्धलाई अपराधीकरण पनि गरेको छैन ।

अधिकारकर्मीहरुले लामो समयदेखि यौनिक एवं लैङ्गिकता आधारमा हुने भेदभावविरुद्ध कानुन बनाउनुपर्ने कुरामा जोड दिँदै आएका छन्। तर सांसदहरू बीच सहमति हुन नसक्दा दक्षिण कोरियामा हालसम्म भेदभाव विरोधी कानून बन्न सकेको छैन ।

म्यानमामा बाढीका कारण विद्यालय बन्द


दक्षिणी म्यानमारको बागो क्षेत्रमा स्थित पान्डाउङ बस्तीका १९ वटा विद्यालय अय्यारवाडी नदीको बढ्दो जलस्तरका कारण बन्द गरिएको सरकारी म्यानमाको अलिन दैनिकले बिहीबार जनाएको छ ।

पान्डाउङ बस्तीका माध्यमिक तथा प्राथमिक विद्यालय सहित १६० वटा विद्यालय रहेकोमा १६ जुलाईदेखि आएको बाढीका कारण तल्लो क्षेत्रका १९ वटा विद्यालय अस्थायी रूपमा बन्द गरिएको स्रोतले जनाको छ ।

बन्द रहेका विद्यालयमा दुई हजार ८६४ जना विद्यार्थी र २०७ जना शिक्षक रहेको प्रतिवेदनमा उल्लेख छ ।प्रतिवेदन अनुसार,बर्षा निउन्त्रण भई नदीको सतहमा कमी आएपछि विद्यालयहरू पुनः खुल्नेछन् ।

ओमानको समुन्द्रबाट आठ भारतीय नागरिकको उद्धार

भारतका केन्द्रीय विदेश राज्यमन्त्री कीर्तिवर्धन सिंहले बिहीबार ओमानको समुद्रमा तेल ट्याङ्कर पल्टिएर भएको दुर्घटनाबाट आठ भारतीय नागरिकहरूको उद्धार गरिएको र हाल उनीहरुको उपचार भइरहेको बताउनुभएको छ ।

“दुर्भाग्यवस एकजना भारतीय नागरिको भने शव फेला परेको छ । भारत सरकारले स्थितिलाई नजिकबाट निगरानी गरिरहेको छ र प्रभावित परिवारलाई सबै सम्भव सहयोग सुनिश्चित गरिरहेको छ”, उहाँले भन्नुभयो ।

ओमानको समुद्रमा जुलाई १५ मा ’एमभी प्रेस्टिज फाल्कन’ जहाज पल्टिएपछि भारतीय नौसेनाको तत्काल खोजी र उद्धार अभियान सुरु गरेको थियो । हालसम्म आठ भारतीय र एक श्रीलङ्काली नागरिकसहित जहाजबाट नौ जना चालक दलका सदस्यलाई सफलतापूर्वक उद्धार गरिएको छ।

भारतीय नौसेना र ओमानी अधिकारीहरूले बाँकी बेपत्ता चालक दलका सदस्यहरू खोजी कार्य जारी राखेका छन् ।

“एमभी फाल्कन जहाजमा सवार १६ जना चालक दलका सदस्यमध्ये आठ भारतीय र एक श्रीलङ्काली नागरिकसहित नौँ जना सदस्य जीवित फेला परेका छन्। बाँकी सदस्यहरूको खोजी र उद्धार कार्य जारी रहनेछ“, भारतीय नौसेनाले जनाएको छ ।

‘सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्न सकिएन’ – वाणिज्य तथा आपूर्तिमन्त्री

काठमाडौँ, ३ असारः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्न नसकिएको बताउनुभएको छ ।

प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बसेको बैठकमा उहाँले भन्नुभयो, “अरु मुलुकमा सुर्तीजन्य पदार्थमा ७५ प्रतिशतभन्दा माथि कर लगाएका छन् तर हामीले ती मुलुकका अभ्यास अवलम्बन गर्न सकेका छैनौँ । सुर्तीजन्य पदार्थको प्रयोगले स्वास्थ्यमा असर गर्ने भएकाले यसलाई निरुत्साहित गर्न जरुरी छ । यसलाई विशेष प्राथमिकताका साथ न्यूनीकरण गर्न राज्यको नीति आवश्यक छ ।”

सुर्ती, खैनी तथा गुट्खा उद्योगको पुँजी तथा क्षमता वृद्धि सम्बन्धमा भएको छलफलमा मन्त्री भण्डारीले सुर्तीजन्य उद्योगले रोजगारी दिइरहेको, यस क्षेत्रबाट राजस्व बढी प्राप्त भएकाले तत्काल उद्योग बन्द गर्न नसकिए तापनि यसको प्रयोग कम गर्न सचेतना तथा कर वृद्धि गर्न सकिने बताउनुभयो ।

समितिको बैठकमा चिनी उद्योग तथा उखु किसानका समस्या समाधान सुझाव उपसमितिका संयोजक कृष्णकुमार श्रेष्ठले प्रतिवेदन पेस गर्नुभयो । त्यसैगरी स्पञ्ज आइरन, विलेट्सको भन्सार महशुल, अन्तःशुल्क तथा उद्योगको अध्ययन अनुगमन उपसमितिका संयोजक रेखा यादवले प्रारम्भिक प्रतिवेदन पेस गर्नुभयो ।

समितिले नेपालमा खैनी, गुट्खाजस्ता सुर्तीजन्य उद्योगलाई आवश्यक कच्चापदार्थ आयात तथा निर्यातको विवरण आपूर्ति मन्त्रालयबाट माग्ने निर्णय भएको समितिका सभापति अब्दुल खानले जानकारी गराउनुभयो ।

चुरोटमा प्रयोग हुने फ्लेभर, क्याप्सुल तथा ट्याबलेटजस्ता नसालु पदार्थका कारण क्यान्सर जस्तो गम्भीर रोग लाग्ने भएकाले यस्ता पदार्थको उत्पादन, आयात तथा प्रयोग निरुत्साहित गर्न आपूर्ति मन्त्रालयलाई निर्देशन दिने, नेपालमा आयात हुने सुपारीलाई ‘काउन्टर भ्यालिङ ट्याक्स’ लगाइ सोबापतको रकम किसानलाई प्रोत्साहनस्वरुप उपलब्ध गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय समितिले गरेको छ ।

झापा, सुनसरी र मोरङको स्थलगत अनुगमनपश्चात् पेस गरिएको प्रतिवेदन परिमार्जनसहित सर्वसम्मतिले पारित गर्ने, चिनी उद्योग तथा उखु किसानका समस्या समाधान सुझाव उपसमितिको प्रतिवेदन पारित गर्ने निर्णय बैठकले गरेको छ ।

रथी सिग्देलको उमेर सम्बन्धमा कैफियत नरहेको सेनाको प्रष्टोक्ति


काठमाडौँ, ३ साउन : नेपाली सेनाले रथी अशोकराज सिग्देलको उमेर (जन्ममिति) का सम्बन्धमा कुनै कैफियत नरहेको स्पष्ट पारेको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा सेनाका सूचना अधिकारी सहायक रथी गौरवकुमार केसीले रथी सिग्देलको नागरिकता र शैक्षिक प्रमाणपत्रमा उल्लेखित जन्ममितिसम्बन्धी विवरणमा आशङ्का गर्ने ठाउँ नरहेको बताउनुभयो ।

रथी सिग्देलले जिल्ला प्रशासन कार्यलय रुपन्देहीबाट पहिलो पटक लिनुभएको नागरिकता र ‘प्रथम प्रतिलिपी’ मा उमेर, प्रमाणपत्र नम्बर र जारी मितिमा कुनै फरक नरहेको उहाँले स्पष्ट पार्नुभयो ।

रथी सिग्देलले नेपाली सेनामा भर्नाका क्रममा पेस गर्नुभएको प्रवेशिका परीक्षा (एसएलसी) को प्रमाणपत्र (२०४० भदौ २९ गते परीक्षा नियन्त्रण कार्यालय भक्तपुरबाट जारी) मा जन्ममिति २०२३ माघ १९ उल्लेख छ । यस्तै विसं २०४३ भदौ १२ गते तत्कालीन सुपिङ बहुमुखी क्याम्पस (हाल सैनिक आवासीय महाविद्यालय)बाट जारी भएको प्रमाणपत्रमा पनि सोही जन्ममिति उल्लेख रहेको सेनाले जनाएको छ । रथी सिग्देलले नेपाली सेनामा भर्ना हुँदा सोही नागरिकता र प्रमाणपत्र पेस गर्नुभएको सहायक रथी केसीले जानकारी दिनुभयो ।

नागरिकता प्रमाणपत्रमा उल्लेख उमेर (वर्ष) र शैक्षिक प्रमाणपत्रमा उल्लेख जन्ममितिमध्ये कुनलाई मान्यता दिने भन्नेसम्बन्धी छुट्टै कानुनी व्यवस्था रहेको उहाँले जानकारी गराउनुभयो । ‘कुनै प्रमाणपत्रमा वर्ष मात्र उल्लेख भएको र अर्को प्रमाणपत्रमा पूरा जन्ममिति खुलेको रहेछ र त्यस्तो प्रमाणपत्रमा उल्लेखित जन्ममितिको बीचमा एक वर्षको अन्तर देखिएमा पूरा खुलेको जन्ममितिलाई आधार मान्नुपर्ने’ व्यवस्था रहेको उहाँले स्पष्ट पार्नुभयो ।

गत मङ्सिर महिनामा नेपाली सेना, रक्षा मन्त्रालयलगायत तहतगरुपमा नागरिकतालगायत विभिन्न शैक्षिक प्रमाणपत्र रुजु गरेर उहाँलाई नेपाल सरकारले पदोन्नति गरेको प्रवक्ता केसीले जानकारी दिनुभयो ।

नेपाली सेना सैनिक ऐनबाट निर्देशित र परिचालित संस्था भएको उल्लेख गर्दै उहाँले सैनिक व्यक्तिको आचरण र व्यवहार प्रचलित ऐनको वर्खिलाप भएको अवस्थामा कानुन आकर्षित हुने बताउनुभयो । “विगतमा पनि सैनिक ऐन विपरित कार्य गर्ने सदस्यलाई कारबाहीको दायरामा ल्याएका छौँ”, उहाँले भन्नुभयो ।

नेपाली सेनाबाट अवकाश प्राप्त जुनसुकै दर्जाका पूर्वसैनिकको सङ्गठनसँग विशेष सम्बन्ध रहने जनाउँदै प्रवक्ता केसीले अवकाश प्राप्त सैनिक व्यक्तिले आफ्नो धारणा व्यक्त गर्दा सङ्गठनको मर्यादालाई ख्याल राख्नुपर्नेतर्फ ध्यानाकर्षण गराउनुभयो ।

सैनिक सेवा नियमावलीमा सोसम्बन्धी व्यवस्था गरिएको छ । सेनाले अवकाश प्राप्त सैनिकलाई उपलब्ध गराउँदै आएको सेवासुविधा वञ्चित गर्नसक्ने प्रावधान छ । यद्यपि, हालसम्म सेनाले भूपू सैनिकलाई त्यससम्बन्धी कारबाही भने गरेको छैन । कारबाही आकर्षित हुने अभिव्यक्ति दिएको अवस्थामा जोसुकै अवकाश प्राप्त सैनिकलाई कारबाही हुनसक्ने सेनाले स्पष्ट पारेको छ ।

आयोजना बैंकलाई लागू गर्न सबैको सहयोग आवश्यक छ : मुख्यमन्त्री पाण्डे

कास्की, ३ साउन : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आयोजना बैंकका लागि सबै पक्षको साथ र सहयोग आवश्यक पर्ने बताउनुभएको छ । प्रदेश नीति तथा योजना आयोगले आज पोखरामा आयोजना गरेको कार्यक्रममा आयोजना अवधारणा पत्र सार्वजनिक गर्दै उहाँले अहिले पनि पहुँचका आधारमा योजना पर्ने गरेको गुनासो सुन्नुपरेको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री पाण्डेले विशेषगरी बजेट निर्माणका बेलामा आफ्नो क्षेत्रमा योजना पार्नका लागि सांसद, कर्मचारी तथा राजनीतिक नेतृत्वको दबाब बढी हुने गरेको सुनाउनुभयो । उहाँले भन्नुभयो, “आवश्यकताका आधारमा गरौँ भन्यो भने कसैले मान्दैनन् । भइरहेको बाटो बाह्रै महिना राम्रोसँग चल्ने बनाइदेऊ भनेर कसैले भन्दैन । बरु उसले पहिला मेरो घरको बाटो बनाइदेउ भन्छ, त्यसपछि गाउँ जाने बाटो, वडा जाने बाटो र बल्ल अन्तिममा पालिकाको बाटो भन्छन् ।”

आयोजना बैंक भएमा व्यावहारिक कार्यान्वयनमा सहजता हुने भए पनि मानसिकरूपमा नबदलिएसम्म कार्यान्वयनमा जान नसकिने मुख्यमन्त्री पाण्डेको भनाइ छ । “आयोजना बैंकको अवधारणा राम्रो भए पनि लागू गर्न व्यावहारिक रूपमा कठिन कठिनाइ छ । सबै मिलेर सकारात्मक निर्णय गर्दा मात्र लागू गर्न सकिन्छ”, मुख्यमन्त्रीले भन्नुभयो ।

मुख्यमन्त्री पाण्डेका अनुसार प्रदेश नीति तथा योजना आयोगले प्रदेशको नीति निर्माण र योजना तर्जुमाको प्रक्रियालाई व्यावहारिक र सन्तुलित बनाउन तथा योजनाको वैज्ञानिक ढङ्गबाट छनोट एवं प्राथमिकीकरणका लागि आयोजना बैंकको अवधारणा ल्याएको छ ।

आयोजना बैंक तयारीका लागि आयोजनाको पहिचान, लेखाजोखा र आयोजना छनोट तथा प्राथमिकीकरण गरी तीन प्रमुख चरण रहने अवधारणा पत्रमा उल्लेख छ । योजनाका लागि बजेट विनियोजन भएपछि मात्र सम्भाव्यता अध्ययन गर्ने तथा विस्तृत परियोजना प्रतिवेदन तयार पार्नेजस्ता परिपाटीका कारण ठूला एवं गौरवका आयोजना अलपत्र परेको अवस्थामा आयोजना बैंकको योजनाअघि सारिएको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले बताउनुभयो ।

“प्रदेशका महत्वपूर्ण आयोजन पहिचान एवं छनोटको निश्चित मापदण्ड तयार गरी सोही बमोजिम आयोजना छनोटको प्रक्रिया थालनी गर्ने उद्देश्य राखिएको छ”, देवकोटाले भन्नुभयो । योजना तथा पूर्वाधार विज्ञ मनिरामसिंह महतले आयोजना बैंकको अवधारणा, आयोजना बैंकको सुदृढीकरणका लागि विषयगत मन्त्रालयको भूमिका, आयोजना तयारी, लेखाजोखा, छनोट तथा प्राथमिकीकरण लगायतका विषयमा स्पष्ट पार्नुभएको थियो ।

वर्षभरि मेलम्चीको पानी वितरण गर्न मन्त्री यादवद्वारा निर्देशन


काठमाडौँ, ३ साउनः खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभएको छ ।

आज काठमाडौँ उपत्यका खानेपानी लिमिटेडअन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालयको काठमाडौँ उपत्यका खानेपानी तथा सरसफाइ आयोजना, मेलम्ची उपआयोजना–२ बारे जानकारी लिने क्रममा उहाँले उक्त प्रतिबद्धता जनाउनुभएको हो ।

उहाँले भन्नुभयो, “हामीले काममार्फत मेलम्ची खानेपानी आयोजनासम्बन्धी सिर्जित गलत भाष्य चिर्नुपर्छ र जनतालाई मेलम्चीको पानी बाह्रै महिना कसरी पु-याउन सकिन्छ त्यसतर्फ दिन रात नभनी काम गर्नुपर्छ । यसका लागि म प्रतिबद्ध छु ।”

मन्त्री यादवले काठमाडौँ उपत्यकामा खानेपानी वितरण प्रणाली सुधार र फोहर पानी व्यवस्थापन आयोजनाको प्रगति तथा सञ्चालनमा रहेका कार्यक्रमबारे जानकारी लिनुभएको थियो । उहाँले मन्त्रालयको प्राविधिक र प्रशासनिक कार्यबारे जानकारी लिँदै जनताको गुनासो ध्यानमा राखी मन्त्रालयका कर्मचारीसँग मिलेर काम गरिरहेको जानकारी दिनुभयो ।

उहाँले स्थानीय सरकारसँग समन्वयको आवश्यकता औँल्याउँदै काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतसँग टेलिफोनमा छलफल भएको उल्लेख गर्नुभयो । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका विषयमा प्राप्त गुनासोले आफू गम्भीर रहेको बताउँदै उहाँले कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्नुभयो ।

“म पार्टीभन्दा जनताको मन्त्री हुँ, मेरो पहिलो प्राथमिकता जनताको समस्या समाधान गर्नु हो”, उहाँले भन्नुभयो, “मेलम्चीको मुहान सार्ने काम र वर्षभरि काठमाडौँका बासिन्दालाई खानेपानी पु-याएर देखाउनुपर्छ ।”

कांग्रेस उपसभापति गुरुङद्वारा पहिरो प्रभावित क्षेत्रको निरीक्षण

वालिङ (स्याङ्जा), ३ साउन : नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले आज स्याङ्जाका पहिरो प्रभावित क्षेत्रहरुको निरीक्षण गर्नुभएको छ ।

गत असार २१ देखि २३ गतेसम्मको अविरल वर्षाका कारण बाढीपहिरोले क्षति पु-याएका भीरकोट, वालिङ र गल्याङ नगरपालिकाका विभिन्न बस्तीको निरीक्षण गर्नुभएको हो । विशेषगरी पहिरोले पुरिएर ज्यान गुमाएका परिवार र विस्थापित परिवारलाई उहाँले व्यक्तिगत रुपमा जनही रु १० हजार सहयोग उपलब्ध गराउनुभयो ।

पूर्वमन्त्रीसमेत रहनुभएका गुरुङले आजै भीरकोट नगरपालिका–५ ज्यामिरेमा गत असार २२ गते पहिरोमा पुरिएर ज्यान गुमाउनुभएकी ७४ वर्षीया ख्यामकुमारी मल्लको परिवारलाई रु १० हजार उपलब्ध गराउनुभएको हो ।

भीरकोट–६ को फोक्सिङमा पहिरोले विस्थापित हुनुभएका भक्तबहादुर थापाको परिवारलाई पनि उहाँले नगद रु १० हजार उपलब्ध गराउनुभयो । “नागरिकहरु दुःखमा परेका बेला यहाँको जनप्रतिनिधि भएको नाताले व्यक्तिगत रुपमा जे सकेँ त्यो सहयोग गरेँ”, उहाँले भन्नुभयो, “जनधन क्षति भएकालाई क्षतिपूर्तिको व्यवस्था र आवास निर्माणका लागि आवश्यक पहल गर्नेछु ।”

भीरकोट–५ को ज्यामिरे र ६ को फोक्सिङमा पहिरोका कारण आठ घर जोखिममा छन् ।

विपद्बाट आजसम्म एक सय २५ जनाको मृत्यु

काठमाडौँ, ३ साउन : अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायत विपद्मा परी आज दिउँसोसम्म एक सय २५ जनाको मृत्यु भएको छ । विपद्मा परी काठमाडौँमा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा २०, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा आठ गरी जम्मा एक सय २५ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार विपद्मै परी काठमाडौँमा आठ, कोशी प्रदेशमा ३४, मधेस प्रदेशमा नौ, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा नौँ, कर्णाली प्रदेशमा ३३ र सुदूरपश्चिम प्रदेशमा १४ गरी जम्मा एक सय ४३ जना घाइते भएका छन् । यसैगरी कोशी प्रदेशमा ४१, गण्डकी प्रदेशमा १२ गरी जम्मा ५३ जनाको उद्धार गरिएको छ । बाढीपहिरोमा परी कोशी प्रदेशमा दुई, मधेस प्रदेशमा एक, बागमती प्रदेशमा दुई, गण्डकी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी आठ जना बेपत्ता भएको प्रवक्ता कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बाढीपहिरोलगायत विपद्मा परी बेपत्ता भएकाको खोजी भइरहेको छ ।” सिमलताल दुर्घटनामा बेपत्ता भएकाको तथ्याङ्क यहाँ समावेश नगरिएको प्रहरीले जनाएको छ । बाढीको कारण जम्मा एक सय ८२ घर डुबानमा परेका छन् । दुई सय २२ घर, ८० गोठ, ४३ पुल, एक विद्यालय र दुई सरकारी कार्यालयमा क्षति पुगेको छ । विपद्मा पाँच सय ८५ वटा पशुचौपाय मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार सात सय २१ परिवार विस्थापित भएका छन् ।

प्राकृतिक विपत्तिबाट कोशी प्रदेशमा ७७ जनाको मृत्यु

विराटनगर । प्राकृतिक विपत्तिबाट कोशी प्रदेशमा गत आर्थिक वर्षमा ७७ जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीबाट मृत्यु हुनेको सङ्ख्या सबैभन्दा बढी छ ।

प्रदेशका विभिन्न एक सय १७ स्थानमा बाढीमा परी २२ जनाको निधन भएको छ भने २४ जना व्यक्ति घाइते भएका कोशी प्रदेश प्रहरी प्रवक्ता भीमबहादुर दाहालले जानकारी दिए ।

यसैगरी प्रदेशका विभिन्न एक हजार सात सय ३१ स्थानमा भएका आगलागीका घटनामा २० जनाले ज्यान गुमाएका र एक सय ३४ जना घाइते भएका छन् ।

प्रवक्ता दाहालका अनुसार जङ्गली जनावरको आक्रमणबाट १३ जनाको मृत्यु भएको तथा ५७ जना घाइते भएका, चट्याङ लागेर १३ जनाले ज्यान गुमाएका तथा ३६ जना घाइते भएका , चार सय ९६ स्थानमा पहिरो खस्दा नौजना पुरिएका र २० जना घाइते भएका छन् । एक वर्षमा प्रदेशभर सात हजार नौ सय आठवटा चौपाया मरेका घटना अभिलेखीकरण भएका छन् ।

अनुसन्धानका लागि पर्याप्त बजेट प्राप्त नभएको गुनासो

चितवन, ३ साउन : विश्वविद्यालय अनुदान आयोगका अनुसन्धान निर्देशक प्रा डा लालप्रसाद अम्गाईँले सरकारबाट पर्याप्त बजेट प्राप्त नहुँदा सोचेअनुरुप अनुसन्धानका काम गर्न नसकिएको बताउनुभएको छ ।

विकसित मुलुकमा कुल बजेटको १० प्रतिशतसम्म अनुसन्धानमा खर्च गरिने भन्दै उहाँले हाम्रो मुलुकमा भने एक दशमलव पाँच प्रतिशत मात्र अनुसन्धानका लागि बजेट विनियोजन हुने गरेको बताउनुभएको हो ।

राष्ट्रिय समाचार समितिका प्रतिनिधिसँग कुराकानी गर्दै उहाँले मुलुकका विभिन्न निकायले अनुसन्धानका काम गर्दै आएका भए पनि आपसमा समन्वयको अभाव रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अनुसन्धानमा बजेट थप गरेर सबै निकायको समन्वयमा युवाहरूलाई विदेश जानबाट रोक्ने गरी यही काम दिनुपर्छ ।”

आयोगले १२ वटा विश्वविद्यालय र सातवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विभिन्न शीर्षकमा अनुदान दिँदै आएको छ । आयोगको वार्षिक बजेट रु २२ अर्ब हाराहारी छ । यो वर्ष अनुसन्धानमा रु ३२ करोड र छात्रवृत्तिमा रु २२ करोड विनियोजन गरिएको छ । प्राध्यापकहरूलाई अनुसन्धान र विद्यार्थीलाई छात्रवृत्तिमा समेट्ने गरिन्छ । देशभरका विश्वविद्यालयमा एक सय ६२ वटा आङ्गिक क्याम्पस छन् भने सम्बन्धनप्राप्त एक हजार तीन सय ५४ वटा छन् । तीमध्ये आङ्गिकमा १० हजार नौ सय १६ र सम्बन्धन पाएकाहरूमा १० हजार आठ सय ३४ प्राध्यापक रहेका छन् । पाँच लाख ८४ हजार हाराहारी विद्यार्थी विश्वविद्यालयमा अध्ययनरत रहेको उहाँले बताउनुभयो ।

‘धनुषा र महोत्तरीमा रासायनिक मल अभाव छैन’ – कृषि सामग्री कम्पनी लिमिटेड


जनकपुरधाम, ३ साउनः धनुषा तथा महोत्तरीमा रासायनिक मल अभाव नरहेको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।

उक्त कार्यालयका प्रमुख बेचनकुमार साहका अनुसार मलको पर्याप्त मौज्दात रहेको तथा सहकारी संस्थामार्फतढुवानी तथा बिक्रीवितरण भइरहेको छ ।

दुवै जिल्लामा सम्बन्धित नगरपालिका तथा गाउँपालिकाले निर्धारण गरेको ‘कोटा’अन्तर्गत सहकारी संस्थामार्फत मल बिक्रीवितरण हुने प्रावधान छ । सोहीअनुसार मल वितरण गरेको उहाँले जानकारी दिनुभयो । हाल युरिया नौ सय मेट्रिक टन, डिएपी मल ८४ मेट्रिक टन तथा पोटास ५८ मेट्रिक टन मौज्दात छ ।

कृषि सामग्री कम्पनीबाट धनुषा र महोत्तरीका २७ पालिका अन्र्तगत दुईसय नौवटा सहकारी संस्थामार्फत मल बिक्री भइरहेको छ । भारतसँग सीमा जोडिएका पालिकाका किसानले भने भारतीय बजारबाट मल खरिद गर्ने गरेको किसानले जनाएका छन् ।

आर्थिक वर्ष २०८०/८१ मा रु ३५ करोड ४० लाख ८३ हजारको १२ हजार चार सय मेट्रिक टन मल बिक्री गरेको जनाएको छ । उक्त आवमा रु ११ करोड ५५ लाख ४१ हजारको ९२ दशमलव ५५ मेट्रिक टन युरिया, रु २३ करोड ७८ लाखको एक सय ५० मेट्रिक टन डिएपी तथा रु ७० लाख ८४ हजारको पाँच हजार ९६ मेट्रिक टन पोटास र रु छ लाख ७२ हजार मूल्य बराबरको ८४ मेट्रिक टन चुन बिक्री भएको छ ।

धनुषामा ४२ हजार हेक्टरमा धानखेती हुँदै आएको तथा हालसम्म ७० प्रतिशत रोपाइँ भएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ ।

बाढीपहिराले मध्यपहाडी राजमार्गको ४० किलोमिटर क्षतिग्रस्त

पाँचथर, ३ साउनः बाढीपहिराका कारण पुष्पलाल (मध्यपहाडी) राजमार्गको उद्गम खण्डको १२ किलोमिटर सडकमा धेरै क्षति भएको छभने समग्रमा ४० किलोमिटर क्षेत्रका पुलपुलेसा, कल्भर्ट बगेका छन् ।

बाढीपहिराका कारण कालोपत्रको चरणमा रहेको उक्त सडकको भागमा क्षति भएको फिदिमस्थित पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय प्रमुख वीरेन्द्रकुमार यादवले जानकारी दिनुभयो । राजमार्गको उद्गमविन्दु चिवाभञ्ज्याङबाट पाँचथरको याङवरक गाउँपालिका–४ दारिम्बासम्म ५१ किलोमिटर सडक कालोपत्रका क्रममा छ । यही खण्डमा असार पहिलो साता परेको अत्यधिक वर्षाले दर्जनौँ स्थानमा पहिरो खस्दा ठूलो क्षति भएको उहाँले बताउनुभयो ।

यहाँको ओयाम खोला र फलाम खोलामा रहेका पक्की सडक पुल नै बाढीले बगाएको छ । सिलसिले खोलाको पुलमा पनि क्षति भएको छ । बाढीपहिराले यहाँका साना–ठूला गरी आठवटा पुलामा क्षति भएको प्रमुख यादवले बताउनुभयो । बाढीपहिराका कारण धेरै स्थानमा सडक पुरिएको छ भने कतिपय स्थानमा दबेर तथा बगेर गएको छ । याङवरक गाउँपालिका–१ च्याङथापु, वडा नं २ फलैँचा, वडा नं ३ ओयाम र वडा नं ४ र ५ थर्पुको सडकमा क्षति भएको । सबैभन्दा बढी वडा नं ३ ओयाममा सडक क्षति भएको याङवरक गाउँपालिका–३ का वडाध्यक्ष विमल राईले बताउनुभयो ।

वडाध्यक्ष राईका अनुसार बाढीपहिराले अवरुद्ध सडक पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय फिदिम तथा याङवरक गाउँपालिकाको समन्वयमा एकतर्फी सञ्चालन भए पनि सहज बनाउन समय लाग्नेछ । “अहिले मध्यपहाडी राजमार्ग कामचलाउ सञ्चालन भए पनि वर्षा हुनासाथ दुर्घटनाको जोखिम छ”, राईले भन्नुभयो, “अन्य ग्रामीण सडक क्षतविक्षत छन् ।”

बाढीपहिराले सडकका अतिरिक्त खानेपानीका मुहान तथा ट्याङ्की, लघुजलविद्युत् योजना, सिँचाइका योजनामा पनि ठूलो क्षति भएको छ । याङवरक–२ का वडाध्यक्ष देउकुमार योङहाङका अनुसार स्थानीयवासीका आयआर्जनको मुख्य माध्यम अलैँचीखेती हुने सयौँ रोपनी जमिन पहिराले बगाएको छ । बाढीले गत वर्ष मध्यपहाडी राजमार्गमै पर्ने दोभान खोलाको सडक पुल बगाएको थियो । उक्त पुल हालसम्म पुनःनिर्माण भएको छैन ।

यसैबीच, याङवरकका पाँचवटा वडामा भएको क्षतिको विवरण सङ्कलन भइरहेको गाउँपालिका उपाध्यक्ष बाबा मेन्याङ्बोले राससलाई जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयले बाढीपहिराबाट हालसम्म १० परिवार पूर्ण रूपमा विस्थापित भएका जनाएको छ ।

गोरखा–आरुघाट सडक अवरुद्ध, ज्यादुल खोलाको डाइभर्सन पुलमा बाढीले क्षति


गोरखा, ३ साउनः गोरखाको बेनिघाट–आरुघाट सडखण्डअन्तर्गत पर्ने ज्यादुल खोलामा रहेको डाइभर्सन पुलमा बाढीले क्षति पुर्याएपछि सडक अवरुद्ध भएको छ ।

भीमसेन थापा गाउँपालिका–७ र सहिद लखन गाउँपालिका–९ जोड्ने ज्यादुल खोला डाइभर्सन पुल बगाएपछि सो सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको भीमसेन थापा गाउँपालिका–७ का वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

गत वर्ष निर्माण भएको डाइभर्सन पुल एक वर्ष पूरा नहुँदै बाढीले क्षति पुर्याएको हो । भीषण बाढीले पुलको दायाँबायाँ रहेको ‘ग्याविन वाल’ पनि बगाएको छ । पुल भत्किएपछि बेनिघाट–आरुघाट सडकखण्डमा यातायात पूर्ण रूपमा ठप्प भएको छ ।

“सडक अवरुद्ध हुँदा काठमाडौँबाट बेनिघाट, आरुघाट हुँदै आर्खेतसम्म नियमित सञ्चालन हुने सवारीसाधान चल्न सकेका छैनन्, वडाधयक्ष श्रेष्ठले भन्नुभयो, “सिमलटार, पिपलटार महादेवटारलगायत तल्लो क्षेत्र हुँदै गोरखा सदरमुकामसम्म आवतजावत गर्न गर्न असहज भएको छ ।”

टीकापुर अस्पतालले थाल्यो ‘डाइलिसिस’ सेवा

टीकापुर (कैलाली), ३ साउनः लामो प्रतीक्षापछि टीकापुर अस्पतालमा ‘हेमोडाइलिसिस’ सेवा सुरु भएको छ । अस्पतालमा गएको असार ३१ गतेदेखि सेवा सुरु भएको हो ।

सेवा सञ्चालनका लागि अस्पतालले रु ४० लाख खर्च भएको अस्पतालका चिकित्सक डा सन्देश पण्डितले बताउनुभयो । एक विशेषज्ञ चिकित्सक, चार नर्सिङ स्टाफ र दुईजना सहयोगीलाई सेवा सञ्चालनका लागि तालिम दिइएको छ । “फूल फेजमा चलेपछि दैनिक चारजनालाई सहज रूपमा सेवा दिन सकिन्छ”, पण्डितले भन्नुभयो, “फूलफेजमा सञ्चालन हुन केही समय लाग्छ ।”

अस्पतालमा डाइलिसिस सेवा सुरु भएपछि यस क्षेत्रका बिरामीले राहत पाएका छन् । यहाँका बिरामी धनगढी र नेपालगञ्ज जानुपर्ने बाध्यता टरेको छ । कतिपय नेपालगञ्ज र धनगढी जानुपर्ने अवस्था भएकै कारण काठमाडौँ बसेर डाइलिसिस गराउने गरेका छन् ।

बैतडीका छ स्थानीय तह बाढीपहिराको उच्च जोखिममा

बैतडी, ३ साउनः बैतडीका छ स्थानीय तह बाढीपहिराको उच्च जोखिममा रहेका जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । मेलौली नगरपालिका, दशरथचन्द नगरपालिका, पुर्चौंडी नगरपालिका र डिलाशैनी गाउँपालिका पहिराको उच्च जोखिम रहेको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो । सिगास गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा बाढीको उच्च जोखिममा छ ।

जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८१ का अनुसार बैतडीका चार स्थानीय तहमा पहिराको जोखिम मध्यम छभने पाटन नगरपालिका, पञ्चेश्वर गाउँपालिका, सिगास गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा पहिराको जोखिम सामान्य छ । पहिराको उच्च जोखिममा रहेका स्थानीय तहलाई तयारी अवस्थामा रहन आग्रह गरिएको छ ।

यो वर्ष १० हजार घरपरिवार दैवी विपत्तिबाट प्रभावित हुने अनुमान गरिएको छ । विपद्बाट सृजना हुने भौतिक र मानवीय क्षति कम गरी उत्थानशील कार्यलाई सुदृढीकरण गर्न विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१ कार्यान्वयन गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो ।

इजराइली बमबारीबाट गाजामा नौ प्यालेस्टिनीको मृत्यु, दर्जनौँ घाइते

गाजा शहरमा विस्थापितहरूको एक विद्यालयको आवासको गेटमा भएको इजराइली बमबारीमा कम्तीमा नौ प्यालेस्टिनीको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको प्यालेस्टिनी सुरक्षा र चिकित्सा स्रोतहरूले जनाएका छन् । इजराइली विमानले दर्जनौँ विस्थापित परिवारहरू बस्ने गाजा सहरको अल–रिमाल छिमेकमा रहेको विद्यालयको गेटमा कम्तीमा एउटा मिसाइलले बम प्रहार गरेको प्यालेस्टिनी सुरक्षा स्रोतले बताएको छ ।

   गाजा–आधारित स्वास्थ्य अधिकारीहरूले अन्तर्राष्ट्रिय समुदायलाई स्वास्थ्य प्रणाली बचाउन, अस्पतालहरूको कार्यप्रणाली सुनिश्चित गर्न आवश्यक सहयोग र जेनेरेटरहरू खरिद गर्न आह्वान गरका छन् ।   स्वास्थ्य अधिकारीहरूले अस्पतालहरूलाई आवश्यक विद्युतीय ऊर्जा आपूर्ति गर्न करिब नौ महिनादेखि डिजेल जेनेरेटरमा भर परेको एक प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।

   मन्त्रालयले इजराइली सेनाले केही जेनेरेटरहरू ध्वस्त बनाएको र प्रत्यक्ष बमबारी गरेको बताएको छ ।

   इजराइलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजराइली सिमानामा हमासको आक्रमणको बदला लिन गाजा पट्टीमा हमास विरुद्ध ठूलो मात्रामा आक्रमण सुरु गरेको थियो । यसमा लगभग एक हजार दुई सय मानिस मारिएका थिए भने दुई सय ५० जनालाई बन्धक बनाइएको थियो ।

   विगत २४ घण्टामा इजराइली सेनाले ८१ जनाको ज्यान लिएको छ भने एक सय ९८ जना घाइते भएका छन् । यसबाट कूल मृत्यु हुनेको सङ्ख्या ३८ हजार सात सय ९४ पुगेको र सन् २०२३ को अक्टोबरमा प्यालेस्टिनी–इजरायली द्वन्द्व सुरु भएदेखि ८९ हजार तीन सय ६४ जना घाइते भएको गाजास्थित स्वास्थ्य अधिकारीहरूले एक विज्ञप्तिमा भनेका छन् ।

विद्यार्थीहरूले मृत सहपाठीप्रति शोक मनाउँदै गर्दा बङ्गलादेशी प्रधानमन्त्रीद्वारा सजाय दिने वाचा

बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाले बुधबार निजामती सेवा भर्ती नियमको विरोधमा जारी विद्यार्थी आन्दोलनमा छ जनाको हत्याका लागि जिम्मेबार व्यक्तिहरूलाई सजाय दिने वाचा गर्नुभएको छ । प्रहरीले जबर्जस्ती शोकका लागि अन्त्येष्टि समारोहलाई तितरबितर गरेको केही घन्टापछि उहाँले सो वाचा गर्नुभएको हो ।

प्रतिद्वन्द्वी विद्यार्थी समूहहरूले एक आपसम इँटा र बाँसको लट्ठीले आक्रमण गर्दा मङ्गलबार मुलुकभर भएका झडपहरूमा छ जनाको मृत्यु भएको थियो । साथै प्रहरीले अश्रु ग्यास र रबरको गोली प्रहार गरी जुलुसलाई तितरबितर गरेको थियो ।   यो महिना सार्वजनिक क्षेत्रको नोकरीमा आरक्षणविरुद्ध प्रदर्शन सुरु भएपछि हिंसाको सबैभन्दा नराम्रो दिनमा हसिनाको सरकारले अर्को सूचना नभएसम्म विद्यालय र विश्वविद्यालय बन्द गर्न आदेश दिन प्रेरित गर्यो ।

प्रधानमन्त्री हसिनाले हत्याको निन्दा गर्दै अपराधीहरूलाई न्यायको कठघरामा ल्याइने बताउनुभयो । उहाँको प्रशासनमाथि वफादारहरूसँग प्रतिष्ठित सरकारी नोकरीहरू सुरक्षित गर्न कोटा योजनाको दुरुपयोग गरेको आरोप प्रदर्शनकारीहरूले लगाएका छन् । 

“म हरेक हत्याको निन्दा गर्दछु”, प्रहरी बल र प्रदर्शनकारीहरूबीच एक दिनको झडपपछि उहाँले बुधबार साँझ टेलिभिजनमा राष्ट्रको नाममा सम्बोधन गर्दै भन्नुभयो, “म दृढताका साथ घोषणा गर्दछु कि हत्या, लुटपाट र हिंसा गर्नेहरू जोसुकै भए पनि म उनीहरूलाई उचित सजाय दिन सुनिश्चित गर्नेछु ।”

ताप्लेजुङ गोल्डकप आगामी भदौ ३ गतेदेखि हुने

फुङ्लिङ (ताप्लेजुङ), ३ साउनः जिल्लाकै ठूलो खेलकुद प्रतियोगिता ताप्लेजुङ गोल्डकप आगामी भदौ ३ गतेदेखि हुने भएको छ ।

लाखेजात्रा सञ्चालन समितिको आयोजना हुने उक्त प्रतियोगितामा देशका ‘ए’ डिभिजन क्लबलाई आमन्त्रण गर्ने निर्णय भएको समितिका अध्यक्ष देवराज गुरुङले बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको हो ।

प्रतियोगितामा प्रथम हुने टोलीले रु तीन लाख ११ हजार एक सय ११ र उपविजेताले रु एक लाख ११ हजार एक सय ११ प्रदान गरिने छ ।

टापु राष्ट्र किरीबाससँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ, ३ साउन : प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ । यो सँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका मुलुकको सङ्ख्या एक सय ८३ पुगेको छ ।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त समझदारीपत्रमा आज उक्त नियोगमा आयोजित एक सङ्क्षिप्त कार्यक्रममा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र उक्त विश्व संस्थाका लागि किरीबासका स्थायी प्रतिनिधि टेबुरोरो टिटोले हस्ताक्षर गर्नुभयो ।

साथै दुवै देशका राजदूतले नेपाल र किरीबासबीच कूटनीतिक सम्बन्ध कायम भएको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई जानकारी दिने पत्रमा पनि हस्ताक्षर गर्नुभयो । त्यस अवसरमा दुवै मुलुकका स्थायी प्रतिनिधिले अल्पविकसित मुुलुकका विकासका विषय, संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय मञ्चमा पारस्परिक लाभका क्षेत्रमा साझेदारी गर्दै आपसी हित र साझा चासोका विविध विषयमा विचार आदानप्रदान गर्नुभएको उक्त नियोगले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

बेलायतको उपनिवेशबाट १२ जुलाई १९७९ मा स्वतन्त्र भएको किरीबासको जनसङ्ख्या एक लाख २० हजार छ भने यो टापु राष्ट्र १४ सेप्टेम्बर १९९९ मा संयुक्त राष्ट्रसङ्घको सदस्य भएको हो । नेपाल र किरीबास जि–७७ र चीन तथा अल्पविकसित राष्ट्रहरूको समूहका सदस्य हुन् ।

फिल्म ‘एक्टर’को छायांकन ४५ दिनमा सम्पन्न, जापान प्रदर्शन अधिकार बिक्री

काठमाडौं । छायांकन अगावैबाट चर्चामा रहेको फिल्म ‘एक्टर’को छायांकन सम्पन्न भएको छ । गत बैशाख महिनाको अन्त्यतिरबाट पोखराको विन्ध्वासिनी मन्दिरमा पुजा गर्दै छायांकन सुरु गरिएको फिल्मको दुई चरण गरी ४५ दिनमा छायांनक पुर गरिएको हो ।

पोखरामा १० दिन खिचेपछि काठमाडौंमा ३५ दिन छायांकन गरिएसँगै फिल्मको एउटा गीत खिच्न बाँकी राख्दै सम्पूर्ण छायांकन सकिएको निर्माता थमन कुमार भण्डारीले जानकारी दिए । ‘समय लगाएरै फिल्मको छायांकन सकिएको छ, सुटिङ अवधिभर कलाकार र प्राविधिकहरुको साथ मिल्नाले सोचे अनुरुप नै काम सक्काइयो, अब बाँकी गीतको छायांकन युरोपमा गर्ने सोचमा छौं । फिल्म कस्तो बन्यो भन्ने आम दर्शकलाई लाग्न सक्छ, जो होस् अब आउने तीन महिनाको अवधिमा हाम्रा टिजर, ट्रेलर र फस्टलुकबाट थाहा पाइनै हाल्नु हुने छ, यति हो प्रदीप खड्कालाई हेर्दै आएको भन्दा फरक देख्न सक्नुहुनेछ,’ निर्माता भण्डारीले भने ।

राजन भुसालको डेब्यु निर्देशनमा बन्न लागेको फिल्ममा प्रदीप र दिव्यासहित राजबल्लभ कोइराला, आना शर्मा, सुशील सिटौला, दिव्य देव, उषा रजक, प्रदीप चौधरी ‘पिके’, बादल भट्ट, अनोज पाण्डे, सुप्रज्ञा शर्मा, सिर्जना अधिकारीलगायतको अभिनय रहेको छ ।

दिव्याको भने यो पहिलो फिल्म हो । राजबल्लभले यही फिल्मबाट करिब दश वर्षपछि कमब्याक गरेका छन् । नायक खड्काले पहिलो पटक फिल्मी पर्दामा दिव्या र आनासँग सहकार्य गरेका हुन् ।

अदृत फिल्मसको प्रस्तुतिमा मोती फिल्मस्को निर्माण रहेको यो फिल्ममा थमन कुमार भण्डारीको लगानी छ । एनिस भुसाल सह-निर्माता रहेको यो फिल्मको क्रियटिभ प्रोड्युसर मोती कार्की हुन् । फिल्मका छायाँकार नरेन्द्र मैनाली हुन् ।

यो फिल्म यस वर्षको तिहारको अवसर पारेर कात्तिक १५ गते लक्ष्मीपूजामा रिलिज हुने छ । फिल्मको जापान प्रदर्शन अधिकार समेत बिक्री भएको छ। ‘एक्टर’को जापान राइट्स खेम राज शाहको म्याक्स इटरटेन्टमेन्टले खरिद गरिसकेको छ ।

विश्वासको मत प्राप्त गर्नेसम्बन्धी विषय कार्यसूचीमा राख्न प्रधानमन्त्रीको अनुरोध


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते (आइतबार) विश्वासको मत लिनुहुने भएको छ ।

प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभा बैठकको कार्यसूचीमा राख्ने व्यवस्थाका लागि संसद्मा अनुरोध गर्नुभएको हो ।

“नेपालको संविधानको धारा ७६ को उपधार (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले धारा ७६ को उपधारा (४) बमोजिम त्यसरी नियुक्त गरिएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान भएअनुरुप विश्वासको मत प्राप्त गर्नेसम्बन्धी विषय २०८१ साउन ६ गतेको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा राख्ने व्यवस्थाका लागि अनुरोध छ”, प्रधानमन्त्री ओलीले आज सङ्घीय संसद्को महासचिवलाई सम्बोधन गरी लेखिएको पत्रमा भनिएको छ ।

गत आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो ।

आलु प्रवर्द्धन कार्यक्रमले दुई हजार सात सय क्षेत्र विस्तार

गलकोट (बागलुङ), ३ साउनः आर्थिक वर्ष २०८०/८१ मा कृषि ज्ञान केन्द्रले ‘खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रम’अन्तर्गत दुई हजार सात सय ६३ रोपनी जग्गामा आलुखेती विस्तार गरेको छ ।

केन्द्रले ६७ वटा कृषि समूह तथा सहकारीमार्फत धेरै किसान लाभान्वित हुनेगरी आलुखेती विस्तार तथा प्रवर्द्धन गरेको छ । ज्ञान केन्द्रको सबैभन्दा ठूलो कार्यक्रमअन्तर्गत रु तीन करोड ६० लाख बजेटबाट आलुखेती विस्तार थालेको थियो । आलुको उत्पादनदेखि बजारीकरणसम्मका लागि अनुदान दिइएको केन्द्रले जनाएको छ ।

आलुको उत्पादन बढाउन यान्त्रिकीकरण, बीउ, मलदेखि उत्पादनका आधारमा अनुदान दिनेगरी यस वर्ष केन्द्रको बजेट आलु प्रवर्द्धन कार्यक्रममा केन्द्रित गरेर दुई हजार सात सय ६३ रोपनीमा आलु उत्पादन गरी बजारीकरण गरिएको कृषि ज्ञान केन्द्रका बाली विकास अधिकृत कुमार पुनले जानकारी दिनुभयो ।

कृषकलाई उन्नत जातको आलुको बीउ र खेती गर्ने प्रविधि हस्तान्तरण सिकाइएको छ । सहकारीमार्फत कृषि उपजको उत्पादन गर्दै आएकामा आलु प्रवर्द्धन कार्यक्रमले सहकारीलाई राहत मिलेको जैमिनी नगरपालिका–४ सर्कुवास्थित साना किसान कृषि सहकारीका अध्यक्ष प्रभाकर पौडेलले बताउनुभयो ।

अदुवा र बेसारखेतीलाई प्रोत्साहन गर्दै आएको सहकारीले चालु आवमा खायन आलु प्रवर्द्धन कार्यक्रमअन्तर्गत ३५ रोपनी जग्गामा आलुखेती गरेको बताउनुभयो । उहाँले चार मेट्रिक टन आलु उत्पादन गरेर सहकारीमार्फत बेचिएको जानकारी दिनुभयो ।

बागलुङ आलु उत्पादनका लागि उर्वर जिल्ला मानिन्छ । विशेषगरी ढोरपाटन, तमानखोला गाउँपालिका, गलकोट नगरपालिका निसीखोला गाउँपालिका र ताराखोला गाउँपालिकामा अधिक आलु उत्पादन हुने गरेको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जापान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तनहुँकी एक महिला पक्राउ

तनहुँ, -वैदेशिक रोजगारीमा जापान पठाइदिन्छु भनी ठगी गरेको आरोपमा तनहुँकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार व्यास–१२ कमलबारी निवासी ३८ वर्षीय मनुमाया थापा मङ्गलबार पक्राउ परेकी हुन् । थापाले भीमाद नगरपालिका–५ घर भई हाल पोखरा महानगरपालिका–१ बगर निवासी ३८ वर्षिया रुपासरा रानालाई ठगी गरेको प्रहरीले जनाएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत रानालाई सम्पर्क गरी जापान पठाइदिन्छु भनी ठगी गरेको खुल्न आएको जिप्रका तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । उहाँका अनुसार आरोपित थापाले विभिन्न बैङ्क खातामा पैसा जम्मा गर्न लगाइ रु ७९ लाख ९७ हजार नौ सय १९ लिएकी थिइन् ।

प्रहरीले निजको साथबाट रु चार लाख ८० हजार र विभिन्न सात बैंकको चेक बुक बरामद गरेको छ । उहाँले भन्नुभयो, “ठगीसम्बन्धी कसुरमा तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।”

कोशी,मधेस, बाग्मती,गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ, ३ असारः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर साधारणतया बदली रही गण्डकी, कोशी, बागमती लुम्बिनी, मधेस, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बाग्मती र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा कोशी,बागमती,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस,गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा देशभर आंशिक देखि साधारणतया बदली रहने जनाउँदै विभागले कोशी,मधेस, बाग्मती,गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयबाट बच्न अनुरोध गरेको छ ।

सञ्चारमन्त्री गुरूङलाई एमाले प्रचार विभागको ३० बुँदे सुझाव

काठमाडौँ, २ साउन : नेकपा (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङलाई सञ्चार क्षेत्रमा गर्नुपर्ने अल्पकालीन र दीर्घकालीन कामका बारेमा आज सुझाव पेस गरेको छ ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतम नेतृत्वको टोलीले सञ्चारमन्त्री गुरूङ समक्ष सञ्चार क्षेत्रका कार्यक्रम सम्बन्धी १७ बुँदे र नीतिगत तथा संरचनागत क्षेत्रका १३ बुँदे सुझाव पेस गरेको हो ।

सुझावमा मिडिया काउन्सिल विधेयक पारित गरी मिडिया काउन्सिल गठन गर्नुपर्ने, सार्वजनिक सेवा प्रशारण विधेयक पारित गरी कार्यान्वयन, राष्ट्रिय आमसञ्चार प्राधिकरणको गठन, श्रमजीवी पत्रकारबाट सञ्चालित साना लगानीका स्वरोजगारमूलक सञ्चारमाध्यमको प्रवर्द्धन, डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयन, पत्रकारको स्वास्थ्य बीमा र सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्थालगायत छन् । सुझाव ग्रहण गर्दै सञ्चारमन्त्री गुरूङले यसलाई गम्भीरताका साथ कार्यान्वयनमा लाने प्रतिबद्धता जनाउनुभएको केन्द्रीय प्रचार विभागका सदस्य गणेश पाण्डेले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीलाई चिनियाँ कमकक्षी लिको बधाई


काठमाडौँ, २ साउन: चिनियाँ प्रधानमन्त्री लि चियाङले नेपालको प्रधानमन्त्री पदमा नियुक्त हुनु भएकामा केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिनुभएको छ ।

प्रधानमन्त्री लिले परराष्ट्र मन्त्रालयमार्फत आज एक सन्देश पठाउँदै प्रधानमन्त्री ओलीलाई भन्नुभएको छ, “यहाँको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्न चाहन्छु ।”

आफ्नो सन्देशमा प्रधानमन्त्री लिले हिमाल र नदीहरूले जोडिएका दुई छिमेकी मित्रराष्ट्रहरूबीच ६९ वर्षदेखिको मित्रवत् सम्बन्ध पञ्चशीलमा आधारित शान्तिपूर्ण सहअस्तित्व तथा समानताको असल उदाहरण भएको बताउनुभएको छ ।

प्रधानमन्त्री लिले दुई देशका नेताबीच भएको महत्त्वपूर्ण समझदारी नेपाल–चीन उच्च गुणस्तरको ‘बेल्ट एन्ड रोड’मा सहकार्य एवं विकास र समृद्धिका लागि विविध क्षेत्रसहित नेपाल–चीनबीचका नयाँ रणनीतिक सहकार्य सम्झौता विस्तार गर्दै प्रधानमन्त्री ओलीसँग काम गर्न आफू इच्छुक रहेको बताउनुभएको छ ।

अगस्टको पहिलो सातामा राष्ट्रपति मनोनयन गर्ने डेमोक्रेटहरूको लक्ष्य, बाइडेनलाई प्रतिस्पर्धा नगर्न केहीको दबाब

डोनाल्ड ट्रम्पविरुद्ध आफ्नो विनाशकारी बहस प्रदर्शनपछि प्रतिस्पर्धा नगर्न आफ्ना पार्टीका केही आह्वानलाई राष्ट्रपति जो बाइडेनले अस्वीकार गरेपछि डेमोक्रेटहरूले अगस्टको पहिलो सातामा उहाँलाई पार्टीको उम्मेदवार बनाउन भर्चुअल मतदान गर्न खोज्नेछन् ।

एपीले बुधबार प्राप्त गरेको सदस्यहरूलाई पठाइएको पत्रअनुसार डेमोक्रेटिक नेसनल कन्भेन्सनको नियम समितिले यसका योजनाहरूबारे छलफल गर्न शुक्रबार बैठक गर्नेछ र अर्को साता त्यसलाई अन्तिम रूप दिनेछ ।

समितिका सह–अध्यक्ष विशप लेह डि. डौट्री र गभर्नर टिम वाल्जको पत्रमा भर्चुअल मतदान अगस्ट १ भन्दा अघि नहुने तर पार्टी अझै पनि अगस्ट ७ अघि मतदान गर्न प्रतिबद्ध रहेको उल्लेख छ । अगस्ट ७ ओहायोको फाइल गर्ने अन्तिम मिति थियो ।

“हामी हतारमा भर्चुअल मतदान प्रक्रिया लागु गर्नेछैनौँ, यद्यपि भर्चुअल मतदान प्रक्रियाले कसरी काम गर्नेछ भन्नेबारे हाम्रो महत्त्वपूर्ण विचार सुरु गर्नेछौँ”, डौट्री र वाल्जले पत्रमा लेख्नुभएको छ । 

बाइडेन ओहायोमा मतदानका लागि योग्य हुनुहुन्छ भन्ने सुनिश्चित गर्न प्रारम्भिक रोल कल राख्ने घोषणा पार्टीले मे महिनामा गरेको थियो । यसको मूलरूपमा अगस्ट ७ को समयसीमा थियो तर ओहायोले त्यसका नियमहरूमा परिवर्तन गरेको छ ।

बाइडेनको अभियानले पार्टीले ओहायोको प्रारम्भिक नियमहरूअन्तर्गत काम गर्नुपर्छ भनेर सुनिश्चित गर्न रिपब्लिकन सांसदहरूले राष्ट्रपतिलाई मतदानबाट टाढा राख्न कानूनी चुनौतीहरू खडा गर्न नसक्नेमा जोड दिएको छ । 

हाउस डेमोक्रेटको एक दलले बाइडेनलाई पुनः निर्वाचनका लागि पार्टीको छनोटका रूपमा तुरुन्तै मनोनयन गर्न सावधानीपूर्वक भर्चुअल रोल कलको योजनाबारे ‘गम्भीर चिन्ता’ व्यक्त गरेको एक दिनपछि उक्त पत्र आएको हो । 

डेमोक्रेटिक नेसनल समितिलाई अहिलेसम्म नपठाइएको उनीहरूको पत्रले प्रारम्भिक रोल कल मतदानका साथ पार्टीको उम्मेदवारका बारेमा बहसलाई दबाउनु ‘भयानक विचार’ हुने उल्लेख छ । एपीलाई प्राप्त पत्रमा भनिएको छ, “यसले डेमोक्रेटहरूको मनोबल र एकतालाई गहिरोरूपमा कमजोर बनाउन सक्छ ।”

विपद्जन्य घटनामा परी आजसम्म मृत्यु हुनेको सङ्ख्या एक सय २४ पुग्यो

काठमाडौँ, २ साउन : अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायतका विपद्‍मा परी आजसम्म मृत्यु हुनेको सङ्ख्या एक सय २४ पुगेको छ । बाढीपहिरोलगायतका विपद्‍मा परी काठमाडौँ उपत्यकामा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा १९, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा आठ गरी जम्मा एक सय २४ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौँ उपत्यकामा आठ, कोशी प्रदेशमा ३४, मधेस प्रदेशमा नौ, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा नौ, कर्णाली प्रदेशमा ३३ र सुदूरपश्‍चिम प्रदेशमा ११ गरी जम्मा एक सय ४० जना घाइते भएका छन् ।

प्रहरीले कोशी प्रदेशमा ४१, गण्डकी प्रदेशमा १२ गरी जम्मा ५३ जनाको उद्धार गरिएको जनाएको छ । बाढीपहिरोमा परी कोशी प्रदेशमा दुई, मधेस प्रदेशमा एक, बागमती प्रदेशमा दई, गण्डकी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्‍चिम प्रदेशमा एक गरी आठ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी भइरहेको जनाइएको छ । सिमलताल दुर्घटनामा बेपत्ता भएकाहरुको तथ्यांक यहाँ समावेश गरिएको छैन ।

बाढीका कारण जम्मा एक सय ८२ घर डुबानमा परेका छन् । दुई सय १८ घर, ८० गोठ, ४३ पुल, एक विद्यालय र दुई सरकारी कार्यालयमा क्षति पुगेको छ । पाँच सय ८४ पशुचौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट तीन हजार सात सय दुई परिवार विस्थापित भएका छन् ।

पक्की सडक सञ्जालले फेरिँदैछन् सूर्यविनायकका गाउँ

भक्तपुर, २ साउन : सूर्यविनायक नगरपालिका‐१० भङ्गाल, खड्कागाउँ सल्लाघारी हुँदै चाँगुनारायण नगरपालिका‐९ ताथली जोड्ने ग्रामीण रिङरोड सडक यतिखेर चिल्लो देखिन्छ । ४० वर्षअघि ट्रया्क खुलेको यो सडकमा एकवर्ष अगाडिसम्म हिँड्डुल गर्न निकै समस्या थियो । हाल चिल्लो सडकमा हिँड्न र गुड्न पाउँदा स्थानीयवासी मख्ख छन् ।

आज नगरपालिकले विकास निर्माणमा भएका प्रगतिबारे जानकारी दिन राष्ट्रिय सञ्चार केन्द्रले यहाँ आयोजना गरेको ‘सूर्यविनायक नगरपालिकाको नमूना विकास अवलोकन तथा स्थलगत अन्तरक्रिया कार्यक्रम’ मा स्थानीयले वर्षौपछि समस्या समाधान भएकामा खुसी व्यक्त गरे ।

यसअघि कुनै पनि कामले सहर जानु परे बस चढ्न यहाँका स्थानीयले चाँगुनारायण नगरपालिका‐९ ताथली वा काँभ्रेको साँगा पुग्नुपथ्र्यो । स्थानीय खड्कागाउँका ७० वर्षीय गोपाल खड्का वर्षौपछि सडक स्तरोन्नति भएकामा खुसी व्यक्त गर्नुहुन्छ । “म जन्मेदेखि नै गोरेटो बाटो थियो, पछि फराकिलो बन्यो तर स्तरोन्नति नहुँदा हिलाम्मे सडकमा सवारी साधन गुड्न त परै जाओस् वर्षामा पैदल हिँड्न पनि मुस्किल थियो, यी अहिले त कालो चिल्लो सडकमा हिँड्न पाएका छौँ । अहिले भाग्यमानी ठानेका छौँ ।”

स्थानीय नवीनकुमार खड्का विसं २०६३ मा ट्रयाक खेलेको यो सडकले यतिखेर कालोपत्र भएर पूर्णता पाउँदा यहाँका बासिन्दाले गाउँमै सरकार आएको अनुभूति गरेको सुनाउनुहुन्छ । सडक कालोपत्र भएसँगै यहाँका तीन हजार पाँच सय बासिन्दाको मुहारमा खुसी आएको उहाँको भनाइ छ ।

स्थानीय सुमन कार्कीले सडक स्तरोन्नति भएपछि गाउँमा उत्पादित तरकारी, दूधजन्य पदार्थ बजारमा बिक्रीका लागि लैजान निकै सहज भएको बताउनुभयो । काठमाडौँबाट तरकारी लिन गाउँमै गाडी आउन थालेपछि यहाँको मुहार नै फेरिएको उहाँ बताउनुहुन्छ । अब नियमित र भरपर्दो सार्वजनिक यातायाताका साधन चल्न सके सुनमा सुगन्ध हुने भन्र्दै उहाँले नगरप्रमुख वासुदेव थापाको ध्यानाकर्षण गराउनुभयो ।

सूर्यविनायक नगरपालिका सहरी पूर्वाधार विकास शाखाका प्रमुख एवं इञ्जिनियर जनक न्यौपानेले काभ्रे साँगाबाट प्रवेश गरेसँगै सुरू हुने सूर्यविनायक नगरपालिका‐१० भङ्गाल हुँदै खड्कागाउँ, सल्लाघारी चाँगुनारायण नपा‐९ ताथली जोड्ने ग्रामीण रिङरोड सडकको कालोपत्र र ढलान गर्ने कार्य सम्पन्न गरिएको बताउनुभयो ।

सुक्खा मौसममा आउँजाउँ गर्न गाह्रो हुने भएकाले यहाँ बिरामी हुँदा अस्पताल जान एम्बुलेन्ससमेत आउन नसक्ने अवस्था थियो । अघिल्लो वर्ष रु एक करोड २४ लाखको लागतमा दुईवटा पुल निर्माण र गत वर्ष कालोपत्रको काम सम्पन्न भएपछि निकै सहज भएको न्यौपानेले बताउनुभयो । उहाँले सङ्घीय सरकार र नगरपालिकाको बजेटसहित कूल रु तीन करोडको लागतमा छ मिटर चौडा ३ दशमलव पाँच किलोमिटर सडकलाई कालो पत्र र उकालोमा ढलान गरेर पक्की बनाएको जानकारी दिनुभयो ।

दुर्गम भनिएको यस क्षेत्रमा चक्रपथसँगै नगरपालिकाले खानेपानीको अभाव हटाउन रु ६० लाखको लागतमा घरघरमा धारो वितरणको व्यवस्था गरेको छ । अनुगमनमा वडा नं १० का वडाध्यक्ष शिवराम राउतले ४० वर्ष अगाडि ट्रयाक खुलेको सडकमा एक टिप ग्राइबेल नगरेको अवस्थामा नगरपालिकामा आफूहरू नेतृत्वमा आएपछि कालोपत्र गर्न सफल भएको बताउनुभयो ।

वडाले यस वडामा ६० प्रतिशत सडक, खानेपानी तथा पूर्वाधारको काम सम्पन्न गरेको र बाँकी ४० प्रतिशत काम तीन वर्षभित्र पूरा गर्ने लक्ष्य राखेको छ । यसैगरी यहाँ निकै समस्याका रूपमा रहेको खानेपानी अभाव हटाउन बृहत भङ्गाल खानेपानी आयोजना भेतासी खानेपानी आयोजना गरी दुईवटा खानेपानी आयोजना सञ्चालन गरिएको र खानेपानीको स्रोत नहँुदा लिफ्टिङ खानेपानी आयोजना सुरू गर्न लागिएको वडाध्यक्ष राउतले जानकारी दिनुभयो ।

गुणस्तरीय शिक्षाका लागि चारवटा विद्यालय, स्वास्थ्य चोकी र सामुदायिक  भवन बनाएको वडा कार्यालयले रु नगरको रु एक करोडको लागतमा राधाकृष्ण मन्दिर निर्माण सम्पन्न गरेको छ । यही मन्दिरमा बृन्दावन बनाउन महायज्ञ लगाएर रु एक करोड सङकलन गरिएको थियो । वडा कार्यालय पछाडि ५० रोपनी जग्गामा उपत्यकाकै पहिलो नमूना चिया बगान निर्माण गर्न लागिएको पनि वडाध्यक्ष राउतले बताउनुभयो । 

सुदूरपश्चिममा डेङ्गुको सङ्क्रमण बढ्दै,सतर्कता अपनाउन चिकित्सकको सुझाव

सुदूरपश्चिम, २ साउन : सुदूरपश्चिममा एडिस एजिप्टाई जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने डेङ्गुको सङ्कमण बढ्न थालेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलले पाँच महिनायता प्रदेशमा एक सय ६१ व्यक्ति डेङ्गु रोगबाट सङ्क्रमित भएको जनाएको छ । तीमध्ये डोटीमा ४९, कञ्चनपुरमा २७, अछाममा ३४ र कैलालीमा १२, बाजुरामा १५, बैतडीमा तीन, बझाङमा चार, दार्चुलमा १३ र डडेल्धुरामा पाँच व्यक्ति सङ्क्रमित भएका छन् ।

निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले असारदेखि कात्तिक महिनासम्म यस रोगको जोखिम बढी हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “आसारदेखि कात्तिक महिनामा पानी पर्ने र रोकिनेक्रम निरन्तर भइरहँदा लामखुट्टेको वृद्धिविकास भई सङ्क्रमणको जोखिम बढी रहन्छ । त्यसैले रोकथामका लागि लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियान चलाउनुपर्ने हुन्छ । पालिकाले अवस्था हेरेर यस्तो अभियान सञ्चालन गर्नेगरेको छ ।” लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजीगरी यसको लार्भा नष्ट गर्दा लामखुट्टेको वृद्धि विकास हुन नपाई रोगको रोकथाममा सहयोग पुग्ने जोशीले बताउनुभयो । 

गत वर्ष प्रदेशमा डेङ्गुबाट पीडित तीन व्यक्तिको मृत्यु भएको थियो । लामखुट्टेको टोकाइबाट बच्नु नै यो रोगको रोकथामको प्रभावकारी उपाय भए पनि नागरिकमा चेतनाको अभाव देखिँदा रोकथाममा समस्या भइरहेको स्वास्थ्यकर्मीको भनाइ छ । सरकारी अस्पतालमा यस रोगका बिरामीको निःशुल्क उपचार हुने गरे पनि समयमा उचारका लागि नआउँदा ज्यानै जानेसम्मको समस्या हुने गरेको छ ।

यो रोग लागेपछि मानिसलाई ज्वरो आउने, टाउको दुख्ने, शरीरका जोर्नी तथा मांशपेशी दुख्ने, खान मन नलाग्नेजस्ता लक्षण देखिन्छन् । नाक, गिँजा र पेटबाट रगत बग्नेजस्तो कडा खालको लक्षण देखिँदा भने बिरामी बेहोस भई मृत्यु हुनसक्ने चिकित्सकले बताउने गरेका छन् ।

खुला भाँडा, गमला, साइकल वा गाडीका टायर र खाली ड्रममा भरिएको पानीमा लामखुट्टेले सजिलैसँग फुल पारेर लार्भाको वृद्धिविकास हुने भएकाले यस्ता भाँडामा पानी जम्मा हुन नदिन र पानी भरिएको भए खाली गरेर सरसफाइ गर्न ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् । 

यो रोग सार्ने लामखुट्टेले दिउँसोको समयमा मात्र टोक्ने गरेको बताइएको छ । डेङ्गुको भाइरसबाट सङ्क्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइले यो रोग मान्छेमा सर्ने गर्छ । त्यसैले आवश्यक सतर्कता अपनाउन चिकित्सकको सुझाव छ । 

क्रिप्टो व्यवसायबारे पुटिनको चेतावनी

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार रुसमा क्रिप्टोकरेन्सी व्यवसायका बारेमा चेतावनी दिँदै यसले मुलुकको धेरै विद्युत् आपूर्ति समाप्त गरेको र क्षेत्रीय ऊर्जा अभाव निम्त्याउने जोखिममा पारेको बताउनुभएको छ ।

रुस विश्वको क्रिप्टोकरेन्सी व्यवसायको शीर्ष स्थानमध्येको एक हो । यसमा ह्याङ्गर वा गोदामहरूमा राखिएका हजारौँ कम्प्युटरका अपरेटरहरूले नयाँ क्रिप्टोकरेन्सीको बदलामा लेनदेनहरू मान्य गर्छन् ।

यद्यपि क्रेमलिनलाई यो अनियमित उद्योगलाई लिएर आशङ्का छ र नियन्त्रणलाई कडा बनाउन कानूनले संसद्मार्फत काम गरिरहेको छ । “मुलुकमा कूल विद्युत् खपतको करिब एक दशमलव पाँच प्रतिशत क्रिप्टोकरेन्सी व्यवसायद्वारा प्रयोग भइरहेको छ”, सरकारी अधिकारीहरूसँग टेलिभिजनमा भएको बैठकमा पुटिनले बुधबार भन्नुभयो, “र यो आँकडा लगातार बढिरहेको छ ।”

उहाँले भन्नुभयो, “हामीले यहाँ ध्यान दिनुपर्ने र चिन्ताजनक कुरा के हो भने क्रिप्टोकरेन्सी व्यवसायका लागि विद्युत् खपतमा अनियन्त्रित वृद्धिबाट केही क्षेत्रमा ऊर्जा घाटा निम्त्याउन सक्छ ।” उहाँका अनुसार तीव्र क्रिप्टोकरेन्सी व्यवसायका कारण तीन साइबेरियाली क्षेत्रमा यसअघि नै विद्युत् अभाव भइसकेको छ ।

“वास्तवमा यो मुद्दा गम्भीर छ र यसको परिणाम गम्भीर हुनसक्छ”, उहाँले भन्नुभयो । उहाँले रुसले यो समस्याको समाधान कसरी गर्नुपर्छ वा यो व्यवसायको गतिविधिमाथि प्रतिबन्ध लगाउने प्रस्ताव गर्नुभएको थियो भन्नेबारेमा केही बताउनुभएन तर ‘समयमै निर्णय’ लिनुपर्ने बताउनुभयो ।

रुसी सांसदहरूले आगामी साता मुलुकमा क्रिप्टोकरेन्सीलाई नियमित गर्न प्रमुख विधेयकमाथि छलफल गर्नेछन् । विधेयक मस्यौदामा स्वीकृत कम्पनीहरूमा ठूलो मात्रामा व्यवसाय सीमित गर्ने र ऊर्जा आपूर्तिमा दबाब आए सरकारलाई केही क्षेत्रमा यस व्यवसयामाथि प्रतिबन्ध लगाउन अनुमति दिनेछ ।

सस्तो बिजुली र चिसो मौसमका साथ रुसको साइबेरिया क्षेत्र लामो समयदेखि क्रिप्टोकरेन्सी व्यवसायको केन्द्र बनेको छ । यद्यपि मस्को यो उद्योगलाई ग्रहण गर्न अनकनाइरहेको छ । यो व्यवसायले आफैँलाई केन्द्र सरकारको नियन्त्रणबाहिर रहेको बताउँछ ।

मनसुनजन्य विपद्बाट एक सय ६३ राष्ट्रिय राजमार्ग प्रभावित

काठमाडौँ, २ साउन : बाढीपहिरो जस्ता मनसुनजन्य विपद्का कारण गएको २४ घण्टामा एक सय ६३ राष्ट्रिय राजमार्गमा प्रभाव परेको छ ।

सडक विभागको तथ्याङ्कअनुसार विपद्का कारण मुलुकभर १६ वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् भने एक सय ४७ राष्ट्रिय राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएका छन् । यस्तै राष्ट्रिय राजमार्गमा पर्ने छवटा पक्की पुलमा अवरोध भई आवतजावतमा बाधा पुगेको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाकानुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आगामी शुक्रबारसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै माहाशाखाले सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

यु–१८ युथ लिग फुटबलमा चर्च ब्याइज विजयी

काठमाडौँ । राजधानीमा जारी एन्फा यु–१८ युथ लिग फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड क्लबले पहिलो जित हासिल गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा चर्च ब्वाइज थ्री स्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।

चर्च ब्वाइजको जितमा अमनबहादुर तामाङले गरेको एक गोल नै निर्णायक बन्यो । उनले खेलको ४५औँ मिनेटमा गोल गरेका हुन् ।

जितसँगै चर्चले तीन अङ्क जोडेको छ । यसअघि चर्च पहिलो खेलमा न्युरोड टिम (एनआरटी) सँग २–१ गोलले पराजित भएको थियो । थ्री स्टारको भने यो लगातार दोस्रो हार हो । थ्री स्टार लिगको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबसँग ७–२ गोलले पराजित भएको थियो ।

गृहमन्त्री लेखक र भारती राजदूत श्रीवास्तवबीच के विषयमा भयो कुराकानी ?

काठमाडौँ । गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्वले शिष्टाचार भेट गरेका छन् । बुधबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उनीहरूबीच नेपाल भारत सम्बन्धका विविध आयाम तथा द्विपक्षीय हितका बारेमा छलफल भएको थियो ।

यसैगरी कोरोना महामारीपछि भारतीय सीमानाकाबाट नेपाल प्रवेश गर्ने तेस्रो मुलुकका नागरिकलाई अध्यागमन सेवामा गरिएको अवरोध हटाएर पूर्ववत् अवस्थामा फर्काउन र सीमा व्यवस्थापन तथा सीमा क्षेत्रमा हुने अपराधमा देखिएका चुनौती समाधान गर्न निकायगत समन्वय गर्दै जाने विषयमा उनीहरूबीच सकारात्मक छलफल भएको मन्त्री लेखकको निजी सचिवालयले जनाएको छ ।

यस्तै भारतीय लगानीमा नेपालमा सञ्चालन भइरहेका आयोजनालाई निर्धारित समयमा सम्पन्न गर्न दुवै पक्ष आपसी समन्वय र समझदारीका साथ अगाडि बढ्नेबारेमा पनि उनीहरूबीच छलफल भएको थियो ।

त्यस अवसरमा राजदूत श्रीवास्तवले नवनियुक्त मन्त्री लेखकलाई बधाई ज्ञापन गर्दै नेपालमा देखिएका प्राकृतिक प्रकोपलगायत समस्या समाधान गर्न भारत सरकार आवश्यक सहयोग र सहकार्य गर्न तयार रहेको बताए ।

गत शुक्रबार चितवनको सिमलताल पहिरोमा परी बससहित बेपत्ता भएका यात्रुको खोजीकार्यमा सहयोगका लागि अत्याधुनिक प्रविधिसहित आवश्यक सहायता उपलब्ध गराउन भारत सरकार सकारात्मक रहेको राजदूत श्रीवास्तवले जानकारी गराएको गृहमन्त्री लेखकको सचिवालयले जनाएको छ ।