पत्रकारको पेसागत हकहितको संरक्षणमा स्वास्थ्यमन्त्री पौडेलको जोड


काठमाडौँ, १० पुसः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पत्रकारको पेसागत हकहितको संरक्षणमा जोड दिनुभएको छ । आज सञ्चारिका समूहले यहाँ आयोजना गरेको नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले पत्रकारको पेसागत सुरक्षामा चुनौती रहेकाले महासङ्घले यी समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।
“महासङ््घले पहिलो पटक महिला नेतृत्व पाउनु गर्वको कुरा हो, अब महासङ्घले पत्रकारिता क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल गर्न आवश्यक छ,” उहाँले भन्नुभयो, “मुलुकमा भ्रष्टचार नियन्त्रण, सुशासन तथा मुलुककै राजनीतिक व्यवस्था परिवर्तन गर्न पत्रकारिता क्षेत्रको भूमिका महत्त्वपूर्ण छ ।”
श्रमजीवी पत्रकारहरुले समयमा पारिश्रमिक नपाएकोलगायतका समस्या देखिएकाले राज्यले सञ्चार जगतका समस्या सम्बोधनका लागि पहल गर्न आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।
यसैगरी राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले सञ्चार जगतमा महिला सहभागिता बढाउन आवश्यक रहेकामा जोड दिनुभयो ।