`

प्रधानमन्त्री ओलीलाई चिनियाँ कमकक्षी लिको बधाई


काठमाडौँ, २ साउन: चिनियाँ प्रधानमन्त्री लि चियाङले नेपालको प्रधानमन्त्री पदमा नियुक्त हुनु भएकामा केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिनुभएको छ ।

प्रधानमन्त्री लिले परराष्ट्र मन्त्रालयमार्फत आज एक सन्देश पठाउँदै प्रधानमन्त्री ओलीलाई भन्नुभएको छ, “यहाँको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्न चाहन्छु ।”

आफ्नो सन्देशमा प्रधानमन्त्री लिले हिमाल र नदीहरूले जोडिएका दुई छिमेकी मित्रराष्ट्रहरूबीच ६९ वर्षदेखिको मित्रवत् सम्बन्ध पञ्चशीलमा आधारित शान्तिपूर्ण सहअस्तित्व तथा समानताको असल उदाहरण भएको बताउनुभएको छ ।

प्रधानमन्त्री लिले दुई देशका नेताबीच भएको महत्त्वपूर्ण समझदारी नेपाल–चीन उच्च गुणस्तरको ‘बेल्ट एन्ड रोड’मा सहकार्य एवं विकास र समृद्धिका लागि विविध क्षेत्रसहित नेपाल–चीनबीचका नयाँ रणनीतिक सहकार्य सम्झौता विस्तार गर्दै प्रधानमन्त्री ओलीसँग काम गर्न आफू इच्छुक रहेको बताउनुभएको छ ।

अगस्टको पहिलो सातामा राष्ट्रपति मनोनयन गर्ने डेमोक्रेटहरूको लक्ष्य, बाइडेनलाई प्रतिस्पर्धा नगर्न केहीको दबाब

डोनाल्ड ट्रम्पविरुद्ध आफ्नो विनाशकारी बहस प्रदर्शनपछि प्रतिस्पर्धा नगर्न आफ्ना पार्टीका केही आह्वानलाई राष्ट्रपति जो बाइडेनले अस्वीकार गरेपछि डेमोक्रेटहरूले अगस्टको पहिलो सातामा उहाँलाई पार्टीको उम्मेदवार बनाउन भर्चुअल मतदान गर्न खोज्नेछन् ।

एपीले बुधबार प्राप्त गरेको सदस्यहरूलाई पठाइएको पत्रअनुसार डेमोक्रेटिक नेसनल कन्भेन्सनको नियम समितिले यसका योजनाहरूबारे छलफल गर्न शुक्रबार बैठक गर्नेछ र अर्को साता त्यसलाई अन्तिम रूप दिनेछ ।

समितिका सह–अध्यक्ष विशप लेह डि. डौट्री र गभर्नर टिम वाल्जको पत्रमा भर्चुअल मतदान अगस्ट १ भन्दा अघि नहुने तर पार्टी अझै पनि अगस्ट ७ अघि मतदान गर्न प्रतिबद्ध रहेको उल्लेख छ । अगस्ट ७ ओहायोको फाइल गर्ने अन्तिम मिति थियो ।

“हामी हतारमा भर्चुअल मतदान प्रक्रिया लागु गर्नेछैनौँ, यद्यपि भर्चुअल मतदान प्रक्रियाले कसरी काम गर्नेछ भन्नेबारे हाम्रो महत्त्वपूर्ण विचार सुरु गर्नेछौँ”, डौट्री र वाल्जले पत्रमा लेख्नुभएको छ । 

बाइडेन ओहायोमा मतदानका लागि योग्य हुनुहुन्छ भन्ने सुनिश्चित गर्न प्रारम्भिक रोल कल राख्ने घोषणा पार्टीले मे महिनामा गरेको थियो । यसको मूलरूपमा अगस्ट ७ को समयसीमा थियो तर ओहायोले त्यसका नियमहरूमा परिवर्तन गरेको छ ।

बाइडेनको अभियानले पार्टीले ओहायोको प्रारम्भिक नियमहरूअन्तर्गत काम गर्नुपर्छ भनेर सुनिश्चित गर्न रिपब्लिकन सांसदहरूले राष्ट्रपतिलाई मतदानबाट टाढा राख्न कानूनी चुनौतीहरू खडा गर्न नसक्नेमा जोड दिएको छ । 

हाउस डेमोक्रेटको एक दलले बाइडेनलाई पुनः निर्वाचनका लागि पार्टीको छनोटका रूपमा तुरुन्तै मनोनयन गर्न सावधानीपूर्वक भर्चुअल रोल कलको योजनाबारे ‘गम्भीर चिन्ता’ व्यक्त गरेको एक दिनपछि उक्त पत्र आएको हो । 

डेमोक्रेटिक नेसनल समितिलाई अहिलेसम्म नपठाइएको उनीहरूको पत्रले प्रारम्भिक रोल कल मतदानका साथ पार्टीको उम्मेदवारका बारेमा बहसलाई दबाउनु ‘भयानक विचार’ हुने उल्लेख छ । एपीलाई प्राप्त पत्रमा भनिएको छ, “यसले डेमोक्रेटहरूको मनोबल र एकतालाई गहिरोरूपमा कमजोर बनाउन सक्छ ।”

विपद्जन्य घटनामा परी आजसम्म मृत्यु हुनेको सङ्ख्या एक सय २४ पुग्यो

काठमाडौँ, २ साउन : अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायतका विपद्‍मा परी आजसम्म मृत्यु हुनेको सङ्ख्या एक सय २४ पुगेको छ । बाढीपहिरोलगायतका विपद्‍मा परी काठमाडौँ उपत्यकामा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा १९, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा आठ गरी जम्मा एक सय २४ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौँ उपत्यकामा आठ, कोशी प्रदेशमा ३४, मधेस प्रदेशमा नौ, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा नौ, कर्णाली प्रदेशमा ३३ र सुदूरपश्‍चिम प्रदेशमा ११ गरी जम्मा एक सय ४० जना घाइते भएका छन् ।

प्रहरीले कोशी प्रदेशमा ४१, गण्डकी प्रदेशमा १२ गरी जम्मा ५३ जनाको उद्धार गरिएको जनाएको छ । बाढीपहिरोमा परी कोशी प्रदेशमा दुई, मधेस प्रदेशमा एक, बागमती प्रदेशमा दई, गण्डकी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्‍चिम प्रदेशमा एक गरी आठ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी भइरहेको जनाइएको छ । सिमलताल दुर्घटनामा बेपत्ता भएकाहरुको तथ्यांक यहाँ समावेश गरिएको छैन ।

बाढीका कारण जम्मा एक सय ८२ घर डुबानमा परेका छन् । दुई सय १८ घर, ८० गोठ, ४३ पुल, एक विद्यालय र दुई सरकारी कार्यालयमा क्षति पुगेको छ । पाँच सय ८४ पशुचौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट तीन हजार सात सय दुई परिवार विस्थापित भएका छन् ।

पक्की सडक सञ्जालले फेरिँदैछन् सूर्यविनायकका गाउँ

भक्तपुर, २ साउन : सूर्यविनायक नगरपालिका‐१० भङ्गाल, खड्कागाउँ सल्लाघारी हुँदै चाँगुनारायण नगरपालिका‐९ ताथली जोड्ने ग्रामीण रिङरोड सडक यतिखेर चिल्लो देखिन्छ । ४० वर्षअघि ट्रया्क खुलेको यो सडकमा एकवर्ष अगाडिसम्म हिँड्डुल गर्न निकै समस्या थियो । हाल चिल्लो सडकमा हिँड्न र गुड्न पाउँदा स्थानीयवासी मख्ख छन् ।

आज नगरपालिकले विकास निर्माणमा भएका प्रगतिबारे जानकारी दिन राष्ट्रिय सञ्चार केन्द्रले यहाँ आयोजना गरेको ‘सूर्यविनायक नगरपालिकाको नमूना विकास अवलोकन तथा स्थलगत अन्तरक्रिया कार्यक्रम’ मा स्थानीयले वर्षौपछि समस्या समाधान भएकामा खुसी व्यक्त गरे ।

यसअघि कुनै पनि कामले सहर जानु परे बस चढ्न यहाँका स्थानीयले चाँगुनारायण नगरपालिका‐९ ताथली वा काँभ्रेको साँगा पुग्नुपथ्र्यो । स्थानीय खड्कागाउँका ७० वर्षीय गोपाल खड्का वर्षौपछि सडक स्तरोन्नति भएकामा खुसी व्यक्त गर्नुहुन्छ । “म जन्मेदेखि नै गोरेटो बाटो थियो, पछि फराकिलो बन्यो तर स्तरोन्नति नहुँदा हिलाम्मे सडकमा सवारी साधन गुड्न त परै जाओस् वर्षामा पैदल हिँड्न पनि मुस्किल थियो, यी अहिले त कालो चिल्लो सडकमा हिँड्न पाएका छौँ । अहिले भाग्यमानी ठानेका छौँ ।”

स्थानीय नवीनकुमार खड्का विसं २०६३ मा ट्रयाक खेलेको यो सडकले यतिखेर कालोपत्र भएर पूर्णता पाउँदा यहाँका बासिन्दाले गाउँमै सरकार आएको अनुभूति गरेको सुनाउनुहुन्छ । सडक कालोपत्र भएसँगै यहाँका तीन हजार पाँच सय बासिन्दाको मुहारमा खुसी आएको उहाँको भनाइ छ ।

स्थानीय सुमन कार्कीले सडक स्तरोन्नति भएपछि गाउँमा उत्पादित तरकारी, दूधजन्य पदार्थ बजारमा बिक्रीका लागि लैजान निकै सहज भएको बताउनुभयो । काठमाडौँबाट तरकारी लिन गाउँमै गाडी आउन थालेपछि यहाँको मुहार नै फेरिएको उहाँ बताउनुहुन्छ । अब नियमित र भरपर्दो सार्वजनिक यातायाताका साधन चल्न सके सुनमा सुगन्ध हुने भन्र्दै उहाँले नगरप्रमुख वासुदेव थापाको ध्यानाकर्षण गराउनुभयो ।

सूर्यविनायक नगरपालिका सहरी पूर्वाधार विकास शाखाका प्रमुख एवं इञ्जिनियर जनक न्यौपानेले काभ्रे साँगाबाट प्रवेश गरेसँगै सुरू हुने सूर्यविनायक नगरपालिका‐१० भङ्गाल हुँदै खड्कागाउँ, सल्लाघारी चाँगुनारायण नपा‐९ ताथली जोड्ने ग्रामीण रिङरोड सडकको कालोपत्र र ढलान गर्ने कार्य सम्पन्न गरिएको बताउनुभयो ।

सुक्खा मौसममा आउँजाउँ गर्न गाह्रो हुने भएकाले यहाँ बिरामी हुँदा अस्पताल जान एम्बुलेन्ससमेत आउन नसक्ने अवस्था थियो । अघिल्लो वर्ष रु एक करोड २४ लाखको लागतमा दुईवटा पुल निर्माण र गत वर्ष कालोपत्रको काम सम्पन्न भएपछि निकै सहज भएको न्यौपानेले बताउनुभयो । उहाँले सङ्घीय सरकार र नगरपालिकाको बजेटसहित कूल रु तीन करोडको लागतमा छ मिटर चौडा ३ दशमलव पाँच किलोमिटर सडकलाई कालो पत्र र उकालोमा ढलान गरेर पक्की बनाएको जानकारी दिनुभयो ।

दुर्गम भनिएको यस क्षेत्रमा चक्रपथसँगै नगरपालिकाले खानेपानीको अभाव हटाउन रु ६० लाखको लागतमा घरघरमा धारो वितरणको व्यवस्था गरेको छ । अनुगमनमा वडा नं १० का वडाध्यक्ष शिवराम राउतले ४० वर्ष अगाडि ट्रयाक खुलेको सडकमा एक टिप ग्राइबेल नगरेको अवस्थामा नगरपालिकामा आफूहरू नेतृत्वमा आएपछि कालोपत्र गर्न सफल भएको बताउनुभयो ।

वडाले यस वडामा ६० प्रतिशत सडक, खानेपानी तथा पूर्वाधारको काम सम्पन्न गरेको र बाँकी ४० प्रतिशत काम तीन वर्षभित्र पूरा गर्ने लक्ष्य राखेको छ । यसैगरी यहाँ निकै समस्याका रूपमा रहेको खानेपानी अभाव हटाउन बृहत भङ्गाल खानेपानी आयोजना भेतासी खानेपानी आयोजना गरी दुईवटा खानेपानी आयोजना सञ्चालन गरिएको र खानेपानीको स्रोत नहँुदा लिफ्टिङ खानेपानी आयोजना सुरू गर्न लागिएको वडाध्यक्ष राउतले जानकारी दिनुभयो ।

गुणस्तरीय शिक्षाका लागि चारवटा विद्यालय, स्वास्थ्य चोकी र सामुदायिक  भवन बनाएको वडा कार्यालयले रु नगरको रु एक करोडको लागतमा राधाकृष्ण मन्दिर निर्माण सम्पन्न गरेको छ । यही मन्दिरमा बृन्दावन बनाउन महायज्ञ लगाएर रु एक करोड सङकलन गरिएको थियो । वडा कार्यालय पछाडि ५० रोपनी जग्गामा उपत्यकाकै पहिलो नमूना चिया बगान निर्माण गर्न लागिएको पनि वडाध्यक्ष राउतले बताउनुभयो । 

सुदूरपश्चिममा डेङ्गुको सङ्क्रमण बढ्दै,सतर्कता अपनाउन चिकित्सकको सुझाव

सुदूरपश्चिम, २ साउन : सुदूरपश्चिममा एडिस एजिप्टाई जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने डेङ्गुको सङ्कमण बढ्न थालेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलले पाँच महिनायता प्रदेशमा एक सय ६१ व्यक्ति डेङ्गु रोगबाट सङ्क्रमित भएको जनाएको छ । तीमध्ये डोटीमा ४९, कञ्चनपुरमा २७, अछाममा ३४ र कैलालीमा १२, बाजुरामा १५, बैतडीमा तीन, बझाङमा चार, दार्चुलमा १३ र डडेल्धुरामा पाँच व्यक्ति सङ्क्रमित भएका छन् ।

निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले असारदेखि कात्तिक महिनासम्म यस रोगको जोखिम बढी हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “आसारदेखि कात्तिक महिनामा पानी पर्ने र रोकिनेक्रम निरन्तर भइरहँदा लामखुट्टेको वृद्धिविकास भई सङ्क्रमणको जोखिम बढी रहन्छ । त्यसैले रोकथामका लागि लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियान चलाउनुपर्ने हुन्छ । पालिकाले अवस्था हेरेर यस्तो अभियान सञ्चालन गर्नेगरेको छ ।” लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजीगरी यसको लार्भा नष्ट गर्दा लामखुट्टेको वृद्धि विकास हुन नपाई रोगको रोकथाममा सहयोग पुग्ने जोशीले बताउनुभयो । 

गत वर्ष प्रदेशमा डेङ्गुबाट पीडित तीन व्यक्तिको मृत्यु भएको थियो । लामखुट्टेको टोकाइबाट बच्नु नै यो रोगको रोकथामको प्रभावकारी उपाय भए पनि नागरिकमा चेतनाको अभाव देखिँदा रोकथाममा समस्या भइरहेको स्वास्थ्यकर्मीको भनाइ छ । सरकारी अस्पतालमा यस रोगका बिरामीको निःशुल्क उपचार हुने गरे पनि समयमा उचारका लागि नआउँदा ज्यानै जानेसम्मको समस्या हुने गरेको छ ।

यो रोग लागेपछि मानिसलाई ज्वरो आउने, टाउको दुख्ने, शरीरका जोर्नी तथा मांशपेशी दुख्ने, खान मन नलाग्नेजस्ता लक्षण देखिन्छन् । नाक, गिँजा र पेटबाट रगत बग्नेजस्तो कडा खालको लक्षण देखिँदा भने बिरामी बेहोस भई मृत्यु हुनसक्ने चिकित्सकले बताउने गरेका छन् ।

खुला भाँडा, गमला, साइकल वा गाडीका टायर र खाली ड्रममा भरिएको पानीमा लामखुट्टेले सजिलैसँग फुल पारेर लार्भाको वृद्धिविकास हुने भएकाले यस्ता भाँडामा पानी जम्मा हुन नदिन र पानी भरिएको भए खाली गरेर सरसफाइ गर्न ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् । 

यो रोग सार्ने लामखुट्टेले दिउँसोको समयमा मात्र टोक्ने गरेको बताइएको छ । डेङ्गुको भाइरसबाट सङ्क्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइले यो रोग मान्छेमा सर्ने गर्छ । त्यसैले आवश्यक सतर्कता अपनाउन चिकित्सकको सुझाव छ । 

क्रिप्टो व्यवसायबारे पुटिनको चेतावनी

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार रुसमा क्रिप्टोकरेन्सी व्यवसायका बारेमा चेतावनी दिँदै यसले मुलुकको धेरै विद्युत् आपूर्ति समाप्त गरेको र क्षेत्रीय ऊर्जा अभाव निम्त्याउने जोखिममा पारेको बताउनुभएको छ ।

रुस विश्वको क्रिप्टोकरेन्सी व्यवसायको शीर्ष स्थानमध्येको एक हो । यसमा ह्याङ्गर वा गोदामहरूमा राखिएका हजारौँ कम्प्युटरका अपरेटरहरूले नयाँ क्रिप्टोकरेन्सीको बदलामा लेनदेनहरू मान्य गर्छन् ।

यद्यपि क्रेमलिनलाई यो अनियमित उद्योगलाई लिएर आशङ्का छ र नियन्त्रणलाई कडा बनाउन कानूनले संसद्मार्फत काम गरिरहेको छ । “मुलुकमा कूल विद्युत् खपतको करिब एक दशमलव पाँच प्रतिशत क्रिप्टोकरेन्सी व्यवसायद्वारा प्रयोग भइरहेको छ”, सरकारी अधिकारीहरूसँग टेलिभिजनमा भएको बैठकमा पुटिनले बुधबार भन्नुभयो, “र यो आँकडा लगातार बढिरहेको छ ।”

उहाँले भन्नुभयो, “हामीले यहाँ ध्यान दिनुपर्ने र चिन्ताजनक कुरा के हो भने क्रिप्टोकरेन्सी व्यवसायका लागि विद्युत् खपतमा अनियन्त्रित वृद्धिबाट केही क्षेत्रमा ऊर्जा घाटा निम्त्याउन सक्छ ।” उहाँका अनुसार तीव्र क्रिप्टोकरेन्सी व्यवसायका कारण तीन साइबेरियाली क्षेत्रमा यसअघि नै विद्युत् अभाव भइसकेको छ ।

“वास्तवमा यो मुद्दा गम्भीर छ र यसको परिणाम गम्भीर हुनसक्छ”, उहाँले भन्नुभयो । उहाँले रुसले यो समस्याको समाधान कसरी गर्नुपर्छ वा यो व्यवसायको गतिविधिमाथि प्रतिबन्ध लगाउने प्रस्ताव गर्नुभएको थियो भन्नेबारेमा केही बताउनुभएन तर ‘समयमै निर्णय’ लिनुपर्ने बताउनुभयो ।

रुसी सांसदहरूले आगामी साता मुलुकमा क्रिप्टोकरेन्सीलाई नियमित गर्न प्रमुख विधेयकमाथि छलफल गर्नेछन् । विधेयक मस्यौदामा स्वीकृत कम्पनीहरूमा ठूलो मात्रामा व्यवसाय सीमित गर्ने र ऊर्जा आपूर्तिमा दबाब आए सरकारलाई केही क्षेत्रमा यस व्यवसयामाथि प्रतिबन्ध लगाउन अनुमति दिनेछ ।

सस्तो बिजुली र चिसो मौसमका साथ रुसको साइबेरिया क्षेत्र लामो समयदेखि क्रिप्टोकरेन्सी व्यवसायको केन्द्र बनेको छ । यद्यपि मस्को यो उद्योगलाई ग्रहण गर्न अनकनाइरहेको छ । यो व्यवसायले आफैँलाई केन्द्र सरकारको नियन्त्रणबाहिर रहेको बताउँछ ।

मनसुनजन्य विपद्बाट एक सय ६३ राष्ट्रिय राजमार्ग प्रभावित

काठमाडौँ, २ साउन : बाढीपहिरो जस्ता मनसुनजन्य विपद्का कारण गएको २४ घण्टामा एक सय ६३ राष्ट्रिय राजमार्गमा प्रभाव परेको छ ।

सडक विभागको तथ्याङ्कअनुसार विपद्का कारण मुलुकभर १६ वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् भने एक सय ४७ राष्ट्रिय राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएका छन् । यस्तै राष्ट्रिय राजमार्गमा पर्ने छवटा पक्की पुलमा अवरोध भई आवतजावतमा बाधा पुगेको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाकानुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आगामी शुक्रबारसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै माहाशाखाले सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

यु–१८ युथ लिग फुटबलमा चर्च ब्याइज विजयी

काठमाडौँ । राजधानीमा जारी एन्फा यु–१८ युथ लिग फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड क्लबले पहिलो जित हासिल गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा चर्च ब्वाइज थ्री स्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।

चर्च ब्वाइजको जितमा अमनबहादुर तामाङले गरेको एक गोल नै निर्णायक बन्यो । उनले खेलको ४५औँ मिनेटमा गोल गरेका हुन् ।

जितसँगै चर्चले तीन अङ्क जोडेको छ । यसअघि चर्च पहिलो खेलमा न्युरोड टिम (एनआरटी) सँग २–१ गोलले पराजित भएको थियो । थ्री स्टारको भने यो लगातार दोस्रो हार हो । थ्री स्टार लिगको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबसँग ७–२ गोलले पराजित भएको थियो ।

गृहमन्त्री लेखक र भारती राजदूत श्रीवास्तवबीच के विषयमा भयो कुराकानी ?

काठमाडौँ । गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्वले शिष्टाचार भेट गरेका छन् । बुधबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उनीहरूबीच नेपाल भारत सम्बन्धका विविध आयाम तथा द्विपक्षीय हितका बारेमा छलफल भएको थियो ।

यसैगरी कोरोना महामारीपछि भारतीय सीमानाकाबाट नेपाल प्रवेश गर्ने तेस्रो मुलुकका नागरिकलाई अध्यागमन सेवामा गरिएको अवरोध हटाएर पूर्ववत् अवस्थामा फर्काउन र सीमा व्यवस्थापन तथा सीमा क्षेत्रमा हुने अपराधमा देखिएका चुनौती समाधान गर्न निकायगत समन्वय गर्दै जाने विषयमा उनीहरूबीच सकारात्मक छलफल भएको मन्त्री लेखकको निजी सचिवालयले जनाएको छ ।

यस्तै भारतीय लगानीमा नेपालमा सञ्चालन भइरहेका आयोजनालाई निर्धारित समयमा सम्पन्न गर्न दुवै पक्ष आपसी समन्वय र समझदारीका साथ अगाडि बढ्नेबारेमा पनि उनीहरूबीच छलफल भएको थियो ।

त्यस अवसरमा राजदूत श्रीवास्तवले नवनियुक्त मन्त्री लेखकलाई बधाई ज्ञापन गर्दै नेपालमा देखिएका प्राकृतिक प्रकोपलगायत समस्या समाधान गर्न भारत सरकार आवश्यक सहयोग र सहकार्य गर्न तयार रहेको बताए ।

गत शुक्रबार चितवनको सिमलताल पहिरोमा परी बससहित बेपत्ता भएका यात्रुको खोजीकार्यमा सहयोगका लागि अत्याधुनिक प्रविधिसहित आवश्यक सहायता उपलब्ध गराउन भारत सरकार सकारात्मक रहेको राजदूत श्रीवास्तवले जानकारी गराएको गृहमन्त्री लेखकको सचिवालयले जनाएको छ ।

बागमती प्रदेशसभा कार्यपरामर्श समितिको बैठक साउन ५ मा

मकवानपुर, २ साउनः बागमती प्रदेशसभाको कार्य परामर्श व्यवस्थापन समितिको बैठक यही साउन ५ गते बस्ने भएको छ ।

प्रदेशसभाको साउन ६ गतेको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिनुहुने भएकाले सो प्रक्रियाका विषयमा कार्यसूची तयार गर्न साउन ५ गते कार्य परामर्श व्यवस्थापन समितिको बैठक बस्ने भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

प्रदेशसभाको बैठक यही साउन ६ गते आइतबार दिउँसो १ बजे बस्ने भएकाले बैठकमा उपस्थित हुन प्रदेशसभा सदस्यहरुलाई सूचना प्रवाह गरिरहेको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बताउनुभयो ।

प्रदेशसभाको गत असार १४ गते बसेको बैठकले दुई वटा अर्थ सम्बन्धी विधेयक पारित गरी सभामुख पाठकले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गर्नुभएको थियो ।

पुराना मुद्दाको सङ्ख्या घटाउँदै म्याग्दी अदालत

म्याग्दी, २ साउन : म्याग्दी जिल्ला अदालतले पुराना मुद्दाको सङ्ख्या घटाउँदै लगेको छ । दर्ता भएको एक वर्षभित्र नै मुद्दाको फैसला गर्ने कार्ययोजना बनाएको अदालतले महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिसँग सम्बन्धित मुुद्दाको निरन्तर सुनुवाइ गरिएको अदालतका श्रेष्तेदार भोलाराज रेग्मीले जानकारी दिनुभयो ।

उहाँकानुसार आर्थिक वर्ष २०८०/८१ मा एक वर्ष नाघेका मुद्दाको सङ्ख्या १२ वटामा झारिएको छ । “आव २०८०/८१ मा अघिल्लो वर्षको जिम्मेवारी सरेर आएका एक सय ३२ र नयाँ चार सय ६१ सहित पाँच सय ९२ मुद्दा रहेका थिए”, उहाँले भन्नुभयो “गत वर्ष लक्ष्य भन्दा एक सय २५ दशमलव ७९ प्रतिशत बढी मुुद्दा फस्यौट गर्दा पनि एक सय १० वटा मुद्दा यो आवका लागि जिम्मेवारी सरेका छन् ।”

अघिल्लो आर्थिक वर्षमा दुई वर्ष पुराना मुद्दा पनि रहेकामा यसपालि फैसला हुन बाँकी मुद्दा १२ देखि १८ महिना अवधिका रहेका श्रेष्तेदार रेग्मीले बताउनुभयो । वादी र प्रतिवादी पक्ष तोकिएको समयमा सुनुवाइमा उपस्थिति नहुनु, प्रक्रिया र अङ्ग नपुग्नु आदि कारण एक वर्ष पुराना मुुद्दा बाँकी नराख्ने लक्ष्य सफल नभएको उहाँले सुनाउनुुभयो ।

गत वर्ष म्याग्दी अदालतमा पाँच सय ८९ मुद्दा दर्ता हुुने अनुमान गरिएकोमा पाँच सय ९४ वटा दर्ता भएका थिए । अदालतले तीन सय ८४ मुद्दा फर्छ्र्यौट गर्ने लक्ष्य राखेकामा चार सय ८३ फैसला गरेको छ । ३६ वटा मुद्दाको निरन्तर सुनुवाइ गरिएकोमा २३ मुद्दा फर्छ्र्यौट र १३ बाँकी रहेका छन् । अदालतले मुद्दालाई सरल, सामान्य र विशेष समूहमा विभाजन गरेर सुनुुवाइ गर्ने अभ्यास गरेको श्रेष्तेदार रेग्मीले जानकारी दिनुभयो ।

हाल विचाराधीन १६ मुद्दासँग सम्बन्धित २४ जना पुरुष र छ बालबालिका गरी ३० जना थुनामा रहेका छन् । यसैगरी गत आवमा अदालतको फैसलाबाट तीन महिला र ५९ पुरुषसहित ६२ जना कैदका लागि कारागार चलान भएका छन् । जरिवाना नतिरेवापत जेल चलान हुुने चार जना छन् ।

यस्तै गत वर्ष जिम्मेवारी सरेर आएका आठ र २६ नयाँ मुद्दामा दोषी ठहर भएकाबाट एक सय १६ वर्ष पाँच महिला २७ दिन कैद र रु ९९ लाख ४७ हजार पाँच सय १८ जरिवाना असुल उपर भएको छ । कार्यान्वयनका लागि निवेदन परेका ३९ मुद्दामा छ सय १३ वर्ष सात महिना २४ दिन कैद र रु तीन करोड ९८ लाख ७१ हजार ६११ जरिवाना असुल उपर गर्न बाँकी छ ।

दक्षिण पाकिस्तानमा बम विस्फोट हुँदा ९ जना घाइते

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको एक प्रहरी चौकीमा बुधबार भएको हाते ग्रिनेड विस्फोटमा कम्तीमा नौ जना घाइते भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार प्रान्तको जामशोरो जिल्लामा प्रहरी चौकीको भण्डार कक्षमा गर्मीका कारण आफैँ हाते ग्रिनेड विस्फोट हुँदा सात प्रहरी घाइते भएका छन् ।

विष्फोटपछि उद्धार टोली र बम डिस्पोजल टोली घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको थियो ।

विष्फोटको वास्तविक कारण पत्ता लगाउन घटनाको अनुसन्धान जारी रहेको र प्रमाण जुटाउन आधुनिक प्रविधिको प्रयोग भइरहेको प्रहरीले जनाएको छ ।

पहिरोमा परी गम्भीर घाइते चारजनाको हेलिकप्टरबाट उद्धार

काँक्रेविहार (सुर्खेत), २ साउन : जाजरकोटमा भूकम्प पीडितको अस्थायी टहरामा पहिरो खस्दा चार जना घाइते भएका छन् । गए राति ९ः३० बजेको समयमा कुशे गाउँपालिका–८ को दल्लेनामा टहरा माथिबाट पहिरो खस्दा चार जना गम्भीर घाइते भएका हुन् ।

नेपाली सेनाको हेलिकप्टरबाट घाइतेहरुलाई थप उपचार गर्न आज कर्णाली प्रदेश अस्पताल सुर्खेत पु-याइएको छ । कुशे गाउँपालिका–८ का वडाध्यक्ष डिल्लीबहादुर सिंहका अनुसार घाइते हुनेमा कुशे गाउँपालिका–८, दल्लेनाका २९ वर्षीय कमला थापा, ३५ वर्षीय दलसरी थापा तथा उहाँकी चार वर्षीया छोरी इस्तिका थापा र १७ वर्षीया छोरी निर्माया थापा रहेका छन् ।

उनीहरुको शरीरमा गम्भीर चोट लागेको उहाँले बताउनुभयो । स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटले समन्वय गरी नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको वडाध्यक्ष सिंहले बताउनुभयो ।

मनसुन सक्रिय भएसँगै वडामा एक सय ५० भन्दा बढी ठाउँमा पहिरो गएको उहाँले जानकारी दिनुभयो । भूकम्पका कारण जोखिम कम रहेका ठाउँमा पनि पहिरो जान थालेको वडाध्यक्ष सिंहले बताउनुभयो । सरकारले अस्थायी आवास निर्माणका लागि दोस्रो किस्ता रकम नदिनु र भवन निर्माण कार्यविधि नबन्दा थप समस्या भएको उहाँको भनाइ छ ।

तातोपानी गाउँपालिकाको खर्च ८१ प्रतिशत

जुम्ला, २ साउन : यहाँको तातोपानी गाउँपालिकाले गत आर्थिक वर्ष २०८०/०८१ मा कूल बजेटको ८१ प्रतिशत खर्च गरेको छ । गाउँपालिकाले सो आवमा रु ५५ करोड ६१ लाखको बजेट ल्याएको थियो । असार २४ गतेसम्म कूल बजेटको ८१ दशमलव १७ प्रतिशत खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले जानकारी दिनुभयो ।

विनियोजित बजेटको चालुतर्फ रु ३७ करोड ४२ लाखमध्ये ३२ करोड २९ लाख अर्थात् ८६ दशमलव २८ प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ रु १८ करोड १९ लाख बजेटमध्ये रु १२ करोड ८५ लाख अर्थात् ७० दशमलव ६६ प्रतिशत खर्च भएको हो । पालिकाले रु २० लाख राजस्व सङ्कलन गर्ने प्रक्षेपण गरेकोमा ३० लाख ९९ हजार सङ्कलन गरेको गाउँपालिकाले जनाएको छ । अघिल्लो आवमा पालिकाले ७८ दशमलव १० प्रतिशत बजेट खर्च गरेको थियो । गत आवमा तीन प्रतिशतले बजेट खर्च बढेको हो । पालिकाद्वारा आयोजित वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रस्तुत विवरणअनुसार आर्थिक विकास ६६ दशमलव ७ प्रतिशत, सामाजिक विकासमा ६० दशमलव ८१ प्रतिशत, पूर्वाधार विकासमा ७७ दशमलव १ प्रतिशत, सुशासन तथा विपद् व्यवस्थापनमा ६० दशमलव ६२ प्रतिशत र कार्यालय सञ्चालनतर्फ ७० दशमलव ४३ प्रतिशत खर्च भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कठायतको भनाइ छ ।

सङ्घ प्रदेश र स्थानीय तहबाट सञ्चालन भएका योजनाको भौतिक प्रगति शत प्रतिशत छ । पालिकाका आठै वडामा सञ्चालित ७० भन्दा बढी योजना पूर्णरुपमा सम्पन्न भएका छन् । ठेक्कामार्फत सङ्घ र प्रदेशको लगानीमा सात वटा आयोजना निर्माण भएका छन् । प्रभावकारी श्रमदान अभियान, एक हजार दुई सय बढी अतिविपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा, प्रशासनिक भवन निर्माण, निःशुल्क एम्बुलेन्स सेवा जस्ता नमूना काम गरेको पालिकाले जनाएको छ । ट्राफिक कारबाहीबाट २२ लाख राजस्व सङ्कलन जिल्ला ट्राफिक कार्यालयले गत आवको जेठ महिनासम्म ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकहरुबाट रु २२ लाख ३७ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार दुई सय ४९ सवारी चालक कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छेदिलाल कामतीले जानकारी दिनुभयो । मादकपदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतिमा सवारी चलाउने, लेन अनुशासन भङ्ग गर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने, जथाभावी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिने, आवश्यक कागजात तथा सवारी चालक अनुमतिपत्र नभएकालगायत कारबाहीबाट उक्त रकम सङ्कलन गरिएको प्रनाउ कामतीको भनाइ छ ।

जिप्रकाले गरेका गतिविधि विवरण सार्वजनिक गर्दै प्रनाउ कामतीले एक सय २५ वटा मुद्दा दर्ता भएकामध्ये ७५ वटा मुद्दा फर्छ्यौट भएको जानकारी दिनुभयो । गत आवमा फरार प्रतिवादी ४४ जनालाई पक्राउ गरिएको उहाँले बताउनुभयो । प्रहरीको महिला सेलतर्फ निवेदन दर्ता सङ्ख्या ८१ मध्ये ५७ वटा फर्छ्यौट भएका छन् ।

एक सय ३८ हराएका मानिसमध्ये एक सय चार जना फेला परेका छन् । छानबिनका लागि छ सय ६२ निवेदन दर्ता भएकोमा पाँच सय ५८ उजुरी फर्छ्यौट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले एकवर्षमा चार सय २४ वटा सचेतनामूलक कार्यक्रम गरेको छ । गत आवमा लागु औषध दुव्र्यसनी बिषयका १५ र जर्बजस्ती करणीका १२ वटा मुद्दादर्ता भएको जिप्रका जुम्लाले जनाएको छ ।

पोखराको राजस्व सङ्कलन सात प्रतिशतले वृद्धि

कास्की, २ साउन: आन्तरिक राजस्व कार्यालय पोखराको अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८०÷८१ मा राजस्व सङ्कलन सात प्रतिशतले वृद्धि भएको छ ।

विशेषगरी गत वर्ष यहाँको पर्यटकीय क्षेत्र चलायमान हुँदा यसको प्रभाव राजस्व वृद्धिमा देखिएको हो । गत आवमा रु पाँच अर्ब ५७ करोड ५५ लाख राजस्व सङ्कलन गरेको कार्यालयले जनाएको छ ।

कार्यालयले गत वर्ष रु छ अर्ब ३९ करोड ४७ लाख राजस्व उठाउने लक्ष्य राखेकामा लक्ष्यको ८७ दशमलव १९ प्रतिशत प्रगति भएको कार्यालय प्रमुख एवं प्रमुख कर अधिकृत शिव शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयको अघिल्लो वर्षको तुलनामा सात प्रतिशतले राजस्व वृद्धि भएको छ ।

कार्यालयले आव २०७९÷८० मा रु पाँच अर्ब २२ करोड ६० लाख राजस्व उठाएको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष रु ३४ करोड ९५ लाख बढी राजस्व सङ्कलन गरिएको कार्यालयले जनाएको छ ।

आन्तरिक राजस्व कार्यालय पोखराले गत आवमा आयकरतर्फ रु तीन अर्ब ६६ करोड ८७ लाख, मूल्यअभिवृद्धि कर(भ्याट)बाट रु एक अर्ब ७३ करोड ३६ लाख र अन्तःशुल्कतर्फ रु १६ करोड ६७ लाख आम्दानी गरेको थियो ।

कार्यालय प्रमुख शर्माले राजस्व सङ्कलनको लक्ष्य पूरा नभए पनि अघिल्लो वर्षको तुलनामा वृद्धि हुनु सकारात्मक भएको बताउनुभयो । अर्थतन्त्र चलायमान नभइरहेको अवस्थामा राजस्व वृद्धि हुनु राम्रो भएको उहाँले बताउनुभयो ।

“पोखरामा राजस्व वृद्धिमा पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेको छ । पर्यटन चलायमान बनेकाले सहयोग पुग्यो”, कार्यालय प्रमुख शर्माले भन्नुभयो, “हामीले यस वर्ष पुरानो बक्यौता उठाउन बढी केन्द्रित भएर काम गरेका थियौँ, त्यसले गर्दा राजस्व बढ्यो ।” आन्तरिक राजस्व कार्यालय पोखरामा ६० हजार व्यावसायिक करदाता छन् । त्यसैगरी व्यक्तिगत प्यान लिनेको सङ्ख्या एक लाख ५० हजार र मूल्यअभिवृद्धि करमा दर्ता भएका करदाता १२ हजार हाराहारीमा रहेको कार्यालयले जनाएको छ ।

सरकारले जारी गर्‍यो ७३ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन


काठमाडौँ, २ साउन: सरकारले सबै विषयगत मन्त्रालय, प्रदेश र स्थानीय तहलाई चालु आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन पठाएको छ । विभिन्न निकायका लागि विनियोजित बजेटको खर्चमा मितव्ययिता अपनाउने तथा खर्चको प्रभावकारिता र दक्षता बढाउनेलगायत निर्देशनसहित अर्थ मन्त्रालयले मङ्गलबार मार्गदर्शन परिपत्र गरेको हो ।

बजेट खर्चको अख्तियारी, कार्यक्रम स्वीकृति तथा बजेट बाँडफाँट, कार्यक्रम/योजना हस्तान्तरण र कार्यान्वयन, बजेट खर्च, रकमान्तर, कार्यक्रम संशोधन तथा प्रतिवेदन, वित्तीय पारदर्शिता, जवाफदेहिता, अनुगमनसम्बन्धी व्यवस्थालगायत विषय समेटेर मार्गदर्शन जारी गरिएको हो ।

मार्गदर्शनअनुसार कुनै पनि निकायलाई एकभन्दा बढी निकायबाट खर्च गर्नेगरी रकम विनियोजन भएकामा त्यस्तो निकायको प्रमुखले आगामी असोज मसान्तभित्र विनियोजन भएको सम्पूर्ण रकम खर्च गर्ने निकायलाई हासिल गर्नुपर्ने प्रतिफल तथा उपलब्धिसहित स्रोतगत बाँडफाँट गरी त्यसको जानकारी अर्थ मन्त्रालय र सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयलाई दिनुपर्नेछ ।

त्यस्तै चालु आर्थिक वर्षका लागि बजेट पाएका योजना तथा कार्यक्रम कार्यान्वयनका लागि यही साउन मसान्तभित्रमा कार्यविधि तयार गरिसक्नुपर्नेछ । “स्वीकृत वार्षिक कार्यक्रममा समावेश भई रकम विनियोजन भएको कार्यक्रमको कार्यान्वयनका लागि आवश्यकपर्ने कार्यविधि २०८१ साउन मसान्तभित्र बनाइसक्नुपर्नेछ”, बजेट कार्यान्वयन मार्गदर्शनमा भनिएको छ । यस्तो कार्यविधि स्वीकृत भएको सात दिनभित्र वेबसाइटमा राखिसक्न र थप आर्थिक दायित्व वा दीर्घकालीन प्रकृतिको दायित्व सिर्जना हुने कार्यविधि बनाउँदा अर्थ मन्त्रालयको अनिवार्य स्वीकृति लिन पनि परिपत्र गरिएको छ ।

त्यसैगरी राष्ट्रिय प्राथमिकताका आयोजनामा दुई ‘सिफ्ट’मा काम गर्न निर्देशन दिइएको छ । “आयोजनाको प्रभावकारी कार्यान्वयनगरी तोकिएको समयमा नै सम्पन्न गर्न आन्तरिक प्रतिस्पर्धाका आधारमा आयोजना प्रमुख छनोट गर्ने र कार्यसम्पादन सम्झौतामा तोकिएको न्यूनतम अङ्क हासिल नगरेमा बाहेक आयोजना अवधिभर सरुवा नगर्ने मापदण्ड तयारगरी कार्यान्वयन गर्नुपर्नेछ । राष्ट्रिय प्राथमिकताका आयोजनामा दुई सिफ्टमा काम गर्ने व्यवस्था मिलाउनुपर्नेछ”, मार्गदर्शनमा भनिएको छ ।

चालु आर्थिक वर्षका लागि विनियोजित बजेट तथा स्वीकृत कार्यक्रममा नपरेका कार्यक्रम, आयोजनाको कार्यान्वयन प्रक्रिया अगाडि नबढाउन पनि निर्देशन दिइएको छ । गत आर्थिक वर्षमा सिर्जित दायित्व भुक्तानी गर्न सकिने विषयमा पनि अर्थ मन्त्रालयले बजेट कार्यान्वयन मार्गदर्शनमार्फत सहजीकरण गरेको छ । यसले निर्माण व्यवसायीलाई सरकारले गर्न बाँकी भुक्तानीका लागि सहज हुने अर्थसचिव मधुकुमार मरासिनीले बताउनुभयो । बजेट कार्यान्वयन मार्गदर्शनको बुँदा नम्बर ५० मा गत आर्थिक वर्षमा सिर्जित विभिन्न आयोजना तथा कार्यक्रमको दायित्व प्रक्रिया पु¥याएर चालु आर्थिक वर्षमा भुक्तानी दिन सकिने विषय उल्लेख छ ।

“गत आर्थिक वर्ष २०८०/८१ मा प्रचलित कानुन, स्वीकृत मापदण्डबमोजिम विधिसम्मत रुपमा खर्च भएका सडक तथा पुल निर्माण, सिँचाइ संरचना, खानेपानी आयोजना, सरसफाइसँग सम्बन्धित संरचना तथा अन्य सार्वजनिक निर्माणमा सिर्जित दायित्व कोष तथा लेखा नियन्त्रक कार्यालयबाट फारम भरी प्रमाणित भएको रकमको हकमा सम्बन्धित आयोजना तथा कार्यक्रमको जनुसुकै त्रैमासिकमा विनियोजन भएको रकमबाट भुक्तानी गर्न सकिनेछ”, बजेट कार्यान्वयन मार्गदर्शनमा भनिएको छ ।

स्वास्थ्यमन्त्री पौडेलको नेतृत्वमा स्वास्थ्य क्षेत्रमा सुधार हुने तनहुँवासीको अपेक्षा


दमौली (तनहुँ), २ साउन : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दी निवासी प्रदीप पौडेल स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा नियुक्त भएसँगै गृह जिल्ला तनहुँवासीले स्वास्थ्य क्षेत्रमा सुधार हुने अपेक्षा राखेका छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–२ का शङ्कर पन्तले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा रहेका समस्या समाधान गरी स्वास्थ्य क्षेत्रको सुधार तथा गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको सहज पहुँचका लागि मन्त्री पौडेलले नेतृत्व प्रदान गर्ने अपेक्षा राखेको बताउनुभयो । “गरिबीको रेखामुनी रहेका जनताको सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच हुने गरी कार्यसम्पादन गर्नेमा हामी विश्वस्त छौँ । उहाँले गर्ने कामसँग गृह जिल्लाको प्रतिष्ठा जोडिएकाले राम्रो काम गर्न नागरिक तहबाट झक्झक्याइ रहने छौँ”, उहाँले भन्नुभयो ।

पन्तले शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा सङ्घीय सरकारको मातहत रहेको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रजस्ता अस्पताल व्यवस्थित गर्न मन्त्री पौडलेबाट महत्वपूर्ण भूमिका अपेक्षा गरिएको सुनाउनुभयो ।

तनहुँको भिमाद नगरपालिका–५ निवासी मिलन आले स्वास्थ्य क्षेत्रको जटिलता र बेथिति हटाउँदै नागरिकको हितमा काम गर्न उहाँको ध्यान केन्द्रित हुनुुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अवसर सधैँ आउँदैन, उहाँले देशको स्वास्थ्य क्षेत्र सुधार्ने जिम्मेवारी पाउनुभएको छ, यो हामी जिल्लावासीका लागि खुसीको कुरो हो । अब उहाँले स्वास्थ्य क्षेत्र सुधारका लागि उत्कृष्ट काम गर्नुहुनेछ भन्ने आशा गरेका छौँ ।”

म्याग्दे गाउँपालिका–४ मनहरीका गौरवराज रानाले जन्मथलोको उत्तरदायित्व, निर्वाचन क्षेत्रको कर्तव्यलाई सधैँ उच्च स्थानमा राखेर संवेदशील जिम्मेवारी कुशलतापूर्व बहन गर्न आग्रह गर्नुभयो । उहाँले गृह जिल्लाका अस्पतालको स्तरोन्नति गरी पछिसम्म पनि नागरिकले सम्झिने गरी काम गर्न मन्त्री पौडेललाई सुझाव दिनुभयो ।

शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीका कृष्णप्रसाद रेग्मीले प्राप्त अवसरको सदुपयोग गर्न र कार्यकाल सफल बनाउन स्वास्थ्यमन्त्री पौडेल खरो रूपमा उत्रिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले उहाँलाई नजिकबाट चिनेका छौँ, अनवरत सङ्घर्ष, सङ्गठनप्रतिको लगाव र जुझारुपन उहाँ विशेषता हुन् । अब त्यही लगाब, ऊर्जा र जुझारुपन देशको स्वास्थ्य क्षेत्रमा सुधारमा प्रयोग गर्नुपर्छ ।”

स्वास्थ्य मन्त्री पौडेलको जन्म विसं २०३१ चैत १४ गते बुवा डिल्लीरमण पौडेल र आमा दुर्गादेवीको कोखबाट भएको थियो । नेपाल विद्यार्थी सङ्घमा आबद्ध हुँदै विसं २०४६ सालको जनआन्दोलनमा सक्रिय उहाँ विसं २०५३ मा अमृत साइन्स क्याम्पसको स्ववियु सभापतिसमेत निर्वाचित हुनुभएको थियो ।

लामो समय शैक्षिक परिवर्तनको पक्षमा रही विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै उहाँ विसं २०६४ मा नेपाल विद्यार्थी सङ्घको केन्द्रीय सभापति हुनुभयो । समाजशास्त्रमा स्नातकोत्तर पौडेल हाल नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत हुनुहुन्छ । उहाँ २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नं ५ बाट निर्वाचित हुनुभएको हो ।

उच्च अदालत सुर्खेतको ८२ प्रतिशत मुद्दा फर्छ्यौट


कर्णाली, २ साउन : उच्च अदालत सुर्खेतले गत आर्थिक वर्ष २०८०/८१ मा ८२ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ ।

आर्थिक वर्ष २०७९/८० बाट जिम्मेवारी सरेका एक सय ६० र आव २०८०/८१ मा नयाँ दर्ता भएका सात सय ५६ गरी कूल नौ सय १६ मुद्दामध्ये सात सय ५४ मुद्दा फर्छ्यौट भएको उच्च अदालत सुर्खेतका रजिष्ट्रार विश्वजङ्ग सिजापतिले जानकारी दिनुभयो । उहाँका अनुसार अदालतमा दर्ता भएका कूल मुद्दामध्ये आव २०८०/०८१ मा ८२ दशमलव ३१ प्रतिशत मुद्दा फर्छ्यौट भएको हो ।

जिम्मेवारी सरेका एक सय ६० मुद्दा शतप्रतिशत, नयाँ दर्ता भएका सात सय ५६ मध्ये पाँच सय ९४ अर्थात् ७८ दशमलव ५७ प्रतिशत र कूल नौ सय १६ मध्ये सात सय ५४ अर्थात् ८२ दशमलव ३१ प्रतिशत मुद्दा फर्छ्यौट गरेको हो । रजिष्ट्रार सिंजापतिले आव २०८०/८१ मा छ सय ५७ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य राखेको अदालतले सात सय ५४ अर्थात् एक सय १४ दशमलव ७६ प्रतिशत मुद्दा फर्छ्यौट गरेको जनाउनुभयो ।

वायुसेवा निगमद्वारा दुई कोषलाई ४३ करोड भुक्तानी


काठमाडौँ, २ साउन: नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले जहाज खरिदको किस्तावापतको रु ४३ करोड नौ लाख ५५ हजार दुई सय ८१ भुक्तानी गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दुई न्यारोबडी जहाजको असार महिनाको किस्तावापत पूरा र वाइडबडी जहाजको आंशिकगरी असार मसान्तसम्मको रकम भुक्तानी गरेको हो ।

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिद गरेको थियो । निगमको पछिल्लो व्यवस्थापन सम्हालेयता २०८१ असारसम्म रु पाँच अर्ब ७९ करोड ७६ लाख ४२ हजार दुईसय ४९ किस्ता रकम भुक्तानी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

निगमले कोरोना महामारीका कारण निगमको व्यापारमा प्रतिकूल असर परेकाले उक्त अवधिको व्याजको व्याज, हर्जाना र जरिमाना छुट गरिदिन दुई कोषलाई अनुरोध गरेको छ । साथै किस्ताको सङ्ख्या वृद्धि गरेर ऋण दायित्व भुक्तनीलाई सहजीकरण गरिदिन निगमले दुवै कोषलाई अनुरोध पत्र पठाइएको निगमले जनाएको छ ।

उपप्रधानमन्त्री सिंहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको भेट

काठमाडौँ, २ साउनः उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग तीनवटा सुरक्षा निकायका प्रमुखले संयुक्त रूपमा शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयलमा आज भएको भेटमा नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुवँर, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा सहभागी हुनुहुन्थ्यो ।

उहाँहरूले उपप्रधानमन्त्री सिंहलाई बधाई तथा शुभकामना दिनुका साथै आआफ्नो सुरक्षा निकायले गरेका कामबारे जानकारी गराउनुभएको थियोे । भेटमा उपप्रधानमन्त्री सिंहले मुलुकको पछिल्लो सुरक्षा अवस्थाबारे समेत जानकारी लिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

‘अहिलेको मूल जिम्मेवारी भनेकै सुशासन कायम, पूर्वाधार विकास र आर्थिक समृद्धि हो’ – सांसद शाही


कर्णाली, २ साउन: नेकपा (माओवादी केन्द्र)का नेता तथा सांसद महेन्द्रबहादुर शाहीले नेपाली जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्नु प्रमुख जिम्मेवारी भएको बताउनुभएको छ ।

‘झिल्को खबर डटकम’द्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित दोस्रो स्थापना दिवसका अवसरमा सांसद शाहीले जनताको त्याग, सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धि रक्षा गर्न चुनौती बढ्दै गएको बताउनुभयो ।

कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री रहनुभएका शाहीले समाजमा रहेका थुप्रै विभेदको अन्त्य गर्न र सबै वर्ग, जाति, लिङ्ग, धर्म मान्नेको अधिकार स्थापनाका लागि मुलुक एकात्मकबाट सङ्घात्मक राज्यमा गएको धारणा व्यक्त गर्नुभयो ।

एकात्मक राज्यबाट न्यायोचित विकास हुन नसकेका कारण सङ्घीय संरचनामा जानु परेको तर्क गर्दै नेता शाहीले भन्नुभयो, “अहिलेको मूल जिम्मेवारी भनेकै सुशासन कायम, पूर्वाधार विकास र आर्थिक समृद्धि हो । अस्थिरताको अन्त्यगरी नेपाली जनतालाई दुःखबाट मुक्त एवं दोहन भइरहेको राज्यको स्रोत शक्ति जगेर्ना गर्नु हो ।” उहाँले वीरेन्द्रनगर नगरपालिकाको १४ नम्बर वडास्थित सुतखोलामा ड्याम बनाएर वीरेन्द्रनगरवासीलाई पानी आपूर्ति गरे दीगो व्यवस्थापन हुनुका साथै कृत्रिम ताल निर्माणले पर्यटक भित्रिने र आर्थिक आम्दानी बढ्ने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले खबर जनताको आवाज बनाउने मर्मका साथ अगाडि बढ्न सुझाउनुभयो ।

खानेपानी क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रतिबद्ध छु : मन्त्री यादव


काठमाडौँ, २ साउनः खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीका क्षेत्रमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

खानेपानी तथा ढल निकास विभागमा स्वागत तथा कार्यविवरणबारे जानकारी दिन आज आयोजित कार्यक्रममा उहाँले मन्त्रालयमा थप बजेटको व्यवस्थागरी समस्या समाधानका लागि अधिकतम प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो । “खानेपानी मन्त्रालयमा बजेट अभाव छ, त्यसैले काम गर्न केही कठिनाइ छन् तर आवश्यक बजेट व्यवस्थापन गरेर समस्यामा समाधानमा लाग्नेछु । मन्त्रालयलाई सफल बनाउन सबै कर्मचारी र तहतप्काबीच समन्वय र सहकार्य आवश्यक छ । हामी सबै मिलेर पक्कै पनि सफलता प्राप्त गर्नेछौँ”, मन्त्री यादवले भन्नुभयो ।

तराई र पहाडी क्षेत्रमा पानीको अभाव रहेको, विशेषगरी मधेशमा वीरगञ्जलगायत क्षेत्रमा गम्भीर समस्या देखिएको भन्नुहुँदै उहाँले यी समस्या समाधानलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो ।
मन्त्री यादवले खानेपानीका क्षेत्रमा भइरहेका काम र समस्याबारे जानकारी लिनुका साथै स्वच्छ खानेपानी उपलब्ध गराउने उपायबारे चासो राख्नुभयो ।

त्यसअवसरमा उहाँलाई सङ्घीय, प्रदेश र स्थानीयस्तरमा सञ्चालनमा रहेका विभिन्न आयोजना कार्यालयको गतिविधि, सञ्चालित परियोजनाको अवस्था, कार्यान्वयनका क्रममा विभागले सामना गरिरहेका नीतिगत समस्या, बजेट व्यवस्थापन, आयोजनाको दिगोपना र वातावरणीय प्रभावजस्ता प्रमुख चुनौतीका बारेमा जानकारी गराइएको थियो ।

विभागका गतिविधिबारे जानकारी दिएपश्चात मन्त्री यादवले समस्या समाधानका लागि सुझाव प्रस्तुत गर्न र प्रभावकारी ढङ्गले आयोजना सम्पन्न गर्न आवश्यक समन्वय र नीतिगत सुधारका लागि पहल अघि बढाउन मन्त्रालयका सचिव र विभागका महानिर्देशकलगायत कर्मचारीलाई निर्देशन दिनुभयो ।

चैते धान खेती गर्ने कृषकलाई आठ लाख अनुदान

गण्डकी, २ साउन : चैते धान खेतीमा कृषक आकर्षित गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले रु आठ लाख अनुदान सहयोग उपलब्ध गराएको छ महानगरपालिकाले वडा नं १४, १५, २६ र २७ मा चैते धान प्रोत्साहन कार्यक्रमअन्तर्गत कृषकलाई प्रतिरोपनी रु नौ सयका दरले अनुदान उपलब्ध गराएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुुभयो

उहाँका अनुसार महानगरपालिकाको वडा नं १४ र १५ मा एक सय रोपनी क्षेत्रफलमा चैते धान गरेबापत् रु ९० हजार उपलब्ध गराइएको छ । त्यस्तै वडा नं २६ र २७ मा दुई सय २६ कृषकलाई छ लाख ८१ हजार तीन सय अनुदान उपलब्ध गराइएको छ । उक्त स्थानमा महानगरपालिकाले ५० प्रतिशत अनुदानमा चैते–५ जातको धानको बीउ उपलब्ध गराएको थियो । महानगरपालिकाले आर्थिक वर्ष २०८०र०८१ को कार्यक्रमअन्तर्गत महानगरभित्र कृषि क्षेत्रमा सकृय १५ संघसंस्थालाई रु पाँचरपाँच हजार नगदसहित सम्मान गरेको छ ।

अनुदान रकम हस्तान्तरण एवं कृषक सम्मान कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कृषि उत्पादनलाई जोड दिँदै महानगरपालिकाले तरकारी, फलफूल र पशुपालनमा सहयोग गर्दै आएको बताउनुुभयो । कृषिजन्य वस्तुको आयात प्रतिस्थापन गर्न उत्पादनलाई जोड दिनुुपर्ने उहाँको भनाइ छ ।

ऊर्जामन्त्री खड्कासँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ, २ साउन : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटमा नेपाल–भारत ऊर्जा सहकार्यका विषयमा विविध छलफल भएको मन्त्रालयले जनाएको छ ।

भेटमा ऊर्जामन्त्री खड्काले नेपाल–भारतसम्बन्ध प्रगाढ र जनस्तसम्म रहेको बताउनुभयो । उहाँले नेपालको सुख्खा महिनामा भारतबाट प्राप्त विद्युत्ले यहाँको विद्युत् अभावलाई कम गर्न सघाउ पु¥याएकामा राजदूतलाई धन्यवाद दिनुभयो ।

भेटमा मन्त्री खड्काले वर्षाको समयमा नेपालमा विद्युत् बढी हुँदा भारत निर्यात भइरहेकाले यसले दुई देशबीचको सहकार्यलाई थप उचाइमा पु¥याएको बताउनुभयो । उहाँले भारतले १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली निर्यात गर्ने सम्झौता गरिसकेकाले यसलाई सफल कार्यान्वयन गर्न मन्त्रालयले नीतिगत पहल गरिने प्रतिबद्धता जनाउनुभयो ।

नेपालबाट भारतीय प्रसारण लाइन प्रयोग गरी पहिलो पटक यहाँ उत्पादित विद्युत् बङ्गलादेश निर्यात गर्न नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटिपीसी विद्युत् व्यापार निगम लिमिटेडबीच यही जुलाई २८ मा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर हुने भएकाले मन्त्री खड्काले राजदूतावासलाई निमन्त्रणसमेत दिनुभयो ।

राजदूत श्रीवास्तवले मन्त्री खड्कालाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दैै पारस्परिक सहयोग अभिवृद्धिका लागि भारत सरकार तयार रहेको बताउनुभएको थियो । उहाँले विद्युत् व्यापार, थप प्रसारण लाइनको विकास, हरित हाइड्रोजन उत्पादनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जबरजस्ती नसबंदी गरिएका पीडितहरूसँग माफी माग्दै जापानी प्रधानमन्त्री

जापानका प्रधानमन्त्रीले बुधबार सन् १९४८ देखि १९९६ को बीचमा हाल निष्क्रिय यूजेनिक्स कानुनअन्तर्गत हजारौं मानिसहरूलाई जबरजस्ती नसबंदी गरिएकोमा पीडितहरूसँग माफी माग्नुभएको छ ।

“युजेनिक्स कानुन लागु गरेकोमा सरकारले ठुलो जिम्मेवारी बहन गर्नुपर्दछ“, प्रधानमन्त्री फुमियो किशिदाले भन्नुभयो ।

“म सरकारको प्रतिनिधित्व गर्दै माफी माग्न चाहन्छु“, उहाँले पीडितहरूको समूहलाई नमन गर्दै भन्नुभयो ।

किशिदाले पीडितहरूले क्षतिपूर्ति प्राप्त गर्ने नयाँ प्रावधान सुनिश्चित गर्ने वाचा गर्नुभएको छ ।

देशको सर्वोच्च अदालतले जुलाई ३ मा कानुनलाई असंवैधानिक घोषणा गरेको हो र उक्त कानुनको उजुरीमा २० वर्षको हदम्याद रहेको कारण केही पीडितहरूले क्षतिपूर्ति प्राप्त गर्न नसक्ने भएपछि प्रधानमन्त्रीले पीडितसमक्षा माफी माग्नुभएको हो ।

खराब गुणस्तरको सन्तानको उत्पादन रोक्ने उदेश्यले मानसिक र शारीरिक अपाङ्गता भएका लगभग १६ हजार ५०० मानिसहरूलाई यूजेनिक्स कानुनअन्तर्गत जबरजस्ती नसबंदी गरिएको स्वीकार गर्दै सरकारले सन् २०१९ मा माफी मागेको थियो ।

अन्य ८ हजार ५०० मानिसहरूलाई उनीहरूको सहमतिमा नसबंदी गरिएको थियो । यद्यपि व्यक्तिहरूले सामना गरेको दबाबका कारण उनीहरू नसबंदी गराउन बाध्य भएको वकिलहरूले बताएका छन् ।

सन् १९५३ मा जारी गरिएको सरकारी सूचनामा शारीरिक बल, एनेस्थेसिया वा झुक्याएर पनि नसबंदी गर्न सकिने जनाइएको थियो ।

साठ्ठी वर्षकी एक महिलाले १५ वर्षको उमेरमा आफू यो प्रक्रियाको सिकार भएको भन्दै सरकारसमक्ष मुद्दा दायर गरेपछि जापानी इतिहासको यो अँध्यारो अध्याय सन् २०१८ मा फेरि चर्चाको विषय बनेको थियो ।

सर्वोच्च अदालतको फैसलापछि सांसदहरूले नयाँ क्षतिपूर्तिको प्रावधानको अध्ययन गर्न थालेका छन् र यस वर्षको अन्त्यमा संसदमा उक्त विधेयक पेश गर्ने लक्ष्य राखेको जिजी प्रेसले जनाएको छ।

अर्को वर्षदेखि ई–पासपोर्ट जारी गर्ने श्रीलङ्काको योजना

श्रीलङ्काले सन् २०२५ जनवरीदेखि लागू हुने गरी आफ्ना नागरिकहरूलाई ई–पासपोर्ट उपलब्ध गराउने योजना बनाएको देशको अध्यागमन विभागले बुधबार बताएको छ । विभागले राहदानीका लागि आवेदन दिने नयाँ पद्धतिलाई सोहीअनुसार कार्यान्वयन गर्नेछ ।

यहाँ जुलाई १६ देखि लागू हुने श्रीलङ्काली राहदानीहरूका लागि आवेदन गर्न पूर्व दर्ता आवश्यक हुने र जुलाई १६ मा दर्ता भएका आवेदकहरूका लागि नयाँ पद्धति जुलाई १९ देखि सुरु हुने विभागले जनाएको छ ।विभागले दर्ता गरेपछि प्राथमिकताका आधारमा नयाँ राहदानी वितरण गर्नेछ ।

यसअघि, विभागले कोलम्बो बाहिर बसोबास गर्नेहरूलाई राहदानी आवेदन वा नवीकरणका लागि कोलम्बोको मुख्य कार्यालय जाने आवश्यकता हटाउन अनलाइन राहदानी आवेदन प्लेटफर्म ल्याएको थियो ।सन् २०२२ को आर्थिक सङ्कटपछि ठूलो सङ्ख्यामा श्रीलङ्कालीहरूले विदेशी काम खोज्दै नयाँ राहदानीका लागि आवेदन दिइरहेका छन् ।

सिमलताल घटनाः उच्चस्तरीय प्रविधिबाट बेपत्ताको खोजी गर्न कार्यदललाई सुझाव


चितवन, २ साउनः गत शुक्रबार पहिलोमा परी त्रिशूलीमा बेपत्ता भएका बस र यात्रुको खोजीमा उच्चस्तरीय प्रविधिको प्रयोग गर्न सिमलताल घटना अध्ययन गर्न गृहमन्त्रालयद्वारा गठित कार्यदललाई सुझाव दिइएको छ । घटनाको अध्ययन गर्न आज यहाँ आएको कार्यदललाई सरोकार भएकाहरूले नयाँ प्रविधिबाट बेपत्ता र बसको खोजी गर्न सुझाव दिएका हुन् ।

जिल्ला प्रशासन कार्यालय चितवनमा आयोजना गरिएको सुझाव सङ्कलनका क्रममा उहाँहरूले घटनाको कारण पहिचान र यस्ता घटना पुनः हुन नदिन राज्य संयन्त्रले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कार्यवाहक अध्यक्ष श्याम बिष्ट, नेकपा (माओवादी केन्द्र)का संयोजक रामचन्द्र अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष कृष्णप्रसाद भूसाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नरेन्द्र कन्दङ्वाले घटना भएको धेरै दिन बित्दासमेत बस तथा धेरै यात्रु पत्ता लाग्न नसकेका भन्दै नयाँ प्रविधिको प्रयोग गरी खोजी गर्न सुझाव दिनुभयो ।

सरकारले खोजीका लागि धेरै जनशक्ति परिचालन गरे धमिलो पानीमा खोजी गर्न सकिने आवश्यक उपकरणको अभाव हुँदा समस्या भएको उहाँहरूले बताउनुभयो । भारी वर्षा भएको समयमा रात्रिकालीन बस सञ्चालनमा रोक लगाएर दुर्घटना न्यूनीकरण गर्न सरकारले पहल गर्नुपर्ने उहाँहरूको माग थियो । बर्सात सुरु भएसँगै सडकमा भएका नाली र कल्भर्टहरू सफा गर्न पनि उहाँहरूले ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा सडक डिभिजन कार्यालय चितवनका प्रमुख रमेशप्रसाद पौडेलले सडकको भौगोलिक बनावटका कारण पटक पटक समस्या हुने गरेको बताउनुभयो । नौ सय मिटर माथिबाट खसेको पहिरोका कारण घटना भएको उहाँले जानकारी दिनुभयो ।

खोजी कार्यमा संलग्न सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक माधवप्रसाद पौडेलले आफूहरूसँग भएको प्रविधिबाट अहिलेसम्म सवारी साधनको अवस्था जानकारी पाउन नसकेको बताउनुभयो । घटनास्थलबाट घुमाउनेसम्म सवारी साधन नभेटिएको उहाँले जानकारी दिनुभयो ।

शवहरू घटनास्थलबाट करिब एक सय सात किलोमिटर तलसम्म भेटिएका बताउँदै पौडेलले नदीको भौगोलिक अवस्थाका कारण हाल भएका प्रविधिले काम गर्न नसक्दा अपेक्षाकृत परिणाम दिन नसकिएको उल्लेख गर्नुभयो ।

गृह मन्त्रालयद्वारा गठित कार्यदलका संयोजक छवि रिजालले खोजी कार्य द्रुतगतिमा अघि बढेको बताउनुभयो । सबै क्षेत्रको सहयोगमा खोजी कार्य जारी रहेको बताउनुभयो । मित्रराष्ट्र भारतबाट २१ तारिखसम्म आवश्यक सहयोग आउने उहाँले जानकारी दिनुभयो । “गोताखोरलगायत यहाँ नभएका उपकरण सहयोग गर्ने विषयमा भारत सरकारसँग समझदारी भइसकेको छ । त्यहाँबाट २१ तारिखसम्म सहयोग आइपुग्ने प्रतिवद्धता जनाइएको छ”, संयोजक रिजालले भन्नुभयो । बसमा करिब ६५ जना सवार रहेको भनिएको भए पनि वास्तविक सङ्ख्या अझै आउन नसकेको र खोजीका लागि कुनै कसर बाँकी नराख्ने उहाँको भनाइ छ ।

सुझाव सङ्कलनमा कार्यदलका सदस्यहरू नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्री, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक शङ्कर खनाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर प्रकाशचन्द्र भण्डारी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका प्रतिनिधि पुण्यप्रसाद सिटौला, विपद् प्राधिकरणका उपसचिव सन्ध्या सिग्देलसहितको टोली चितवन आएको हो ।

टोलीले सुझाव सङ्कलनअघि घटनास्थलको निरीक्षण अनुगमन तथा स्थानीय र अस्पतालमा उपचाररत घाइतेसँग समेत घटनाको बारेमा बुझिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । सुझाव सङ्कलनअघि प्रमुख जिल्ला अधिकारी यादवले घटनापछि भएका गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो ।

गत असार २८ गते वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नंको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जान आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस सिमलतालमा खसेको पहिरोसँगै त्रिशूली नदीमा बेपत्ता भएको थियो । उक्त बसमा सवार ६५ जनामध्ये तीनजना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । जसमध्ये १८ जनाको शव फेला परेको छ ।

हरिशयनी एकादशीको दिन कालीगण्डकीमा स्नान गर्नेको घुइँचो


पर्वत, ३ साउन : हिन्दुहरुको पबित्र पर्व हरिशयनी एकादशीको दिन आज घर घरमा तुलसीको बिरुवा रोपेर चतुर्मास व्रत थालनी गरिँदैछ । आजैदेखि चर्तुमास पर्व पनि शुरु हुँदैछ । महत्वपुर्ण पर्व हरिशयनी एकादशीका अबसरमा पवित्र कालीगण्डकी नदिमा स्नान गर्नेको आज बिहानैदेखि घुइँचो लागेको छ ।

पर्वतको प्रसिद्ध धार्मिक तीर्थस्थल मोदीवेणी, सेतीबेणीधाम, पुर्तिघाट, गोपाङ, नयाँपुल, खनियाघाट, मिलनचोक, वारीबेनी लगायतका नदि तटमा बिहानैदेखि स्नान गर्नेको घुइँचो लागेको छ । मोदी र कालीगण्डकी नदीको संगमको रुपमा रहेको मोदीबेणीधाममा भजन कृतनसहित विशेष कार्यक्रम समेत राखिएको छ ।

त्यस्तै पर्वत, स्याङ्जा र गुल्मी तथा गण्डकी र लुम्बिनी प्रदेशको सिमानामा रहेको विश्वकै ठूलो शालिग्राम शिला रहेको सेतीबेणीमा पनि स्नान गर्न टाढा टाढाबाट श्रद्धालुहरु आइपुगेका छन । मोदीवेणीमा स्नान गर्नका लागि पर्वत, बागलुङ्ग,, स्याङ्गजा र कास्कीबाट हजारौको संख्यामा श्रद्धालुहरु आउने गर्दछन भने सेतीबेणीमा पनि बागलुङ्ग, पर्वत, पाल्पा, अर्घाखाँची, स्याङ्गजा र गुल्मीबाट श्रद्धालुहरु आएका छन् ।

मुक्तिनाथबाट बगेर आएको र साक्षात बिष्णुको अबतारको रुपमा पुजिँदै आएको शालिग्राम पाइने एक मात्र नदी भएकाले कालीगण्डकीमा स्नान गरी मोदीबेणी परिसरमा रहेको नृसिंह मन्दिरमा पुजा गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ । कालीगण्डकीमा स्नान गरेमा एक हजार गाई दान गरे बराबरको पुण्य मिल्ने भक्तजनको भनाई छ । हरिशयनी एकादशीको अबसरमा मोदीबेणी र सेतीवेणीमा भजन कृर्तन समेत आयोजना गरिएको छ । आजैका दिन कालीगण्डकीमा स्नान गरेर फर्केपछि घर घरमा रहेका तुलसीको मठमा तुलसी रोप्ने चलन छ । तुलसीको बिरुवालाई धार्मिक तथा स्वास्थ्यको दृष्टिकोणले निकै महत्वपुर्ण मानिन्छ ।

सबैया मातहत पर्ने करिब ३५ हेक्टर वन अतिक्रमणमा


वीरगञ्ज (पर्सा), २ साउन : पर्साको सबडिभिजन वन कार्यालय सबैया मातहत पर्ने करिब ३५ हेक्टर वन अतिक्रमणमा परेको छ । पर्सागढी नगरपालिका–३ झाला टोलका स्थानीयले २० हेक्टर तथा वीरगञ्ज महानगरपालिका–३२ रामवनका बासिन्दाले १५ हेक्टर वन क्षेत्र कब्जा गरेर खेतीपाती तथा घरटहरा निर्माण गरेर बसेका छन् ।

सबैया साझेदारी वन व्यवस्थापन समूहका पूर्वअध्यक्ष लखनलाल साहले सबैया साझेदारी वनअन्तर्गत दुई ठाउँमा वन अतिक्रमण गरिएको जानकारी दिनुभयो । सबडिभिजन कार्यालयसँग पर्याप्त जनशक्ति नहुँदा सर्वसाधारणले वन अतिक्रमण गरिरहेको उहाँको भनाइ छ । विगतमा यहाँ साझेदारी र सबडिभिजन कार्यालयले गस्ती गर्ने गरेको थियो ।

“आठ महिनादेखि साझेदारी वन व्यवस्थापन समूह नेतृत्वविहीन छ, अतिक्रमण रोक्न कतैबाट सहयोग मिलेको छैन्”, पूर्वअध्यक्ष साहले भन्नुभयो ।

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुुसालले वन अतिक्रम रोक्न पहल भइरहेको बताउनुभयो । डिभिजन वन कार्यालय पर्साका डिभिजन वन अधिकृत सुनिलकुमार कर्णले सबै निकायसँग समन्वय गरेर वन अतिक्रमण हटाइने बताउनुभयो । यसअघि अतिक्रमणमा परेको ४७ हेक्टर वन खाली गराइएको थियो । उक्त वनमा खयर, मसला, टिक, सिमल, सिसो, जामुन, अम्रिसोलगायत प्रजातिको बिरुवा लगाइएको छ ।

अहिले कार्यालयसँग सात कर्मचारी छन् । उक्त सबडिभिजनअन्तर्गत तीन हजार एक सय ८८ दशमलव ६९ हेक्टर वन क्षेत्र पर्छ । पर्सामा ११ हजार पाँच सय ७५ हेक्टर वन क्षेत्र रहेको छ । साझेदारी वन व्यवस्थापन समूहभित्र वीरगन्ज महानगरपालिकाका ३२ वडामध्ये १९ र २७ बाहेकका ३० वडा तथा पर्सागढी नगरपालिकाको वडा नं ३ र ४ पर्दछ ।

शेषनारायण मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

काठमाडौँ, २ साउन : काठमाडौँको उत्तरी भेगस्थित शेषनारायण मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । दक्षिणकाली नगरपालिकाको फर्पिङमा पर्ने उक्त मन्दिरमा प्रत्येक वर्ष असार शुक्ल एकादशीका दिन मेला लाग्छ ।

यहाँ आउने भक्तजनलाई व्यवस्थित गर्न स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मी खटिएका छ्न् । काठमाडौँ उपत्यकाका चार नारायणमध्ये शेषनारायण मन्दिरलाई एक महत्त्वपूर्ण तीर्थस्थलका रूपमा लिइन्छ । असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने हिन्दू धर्मावलम्बीहरूको विश्वास छ । मन्दिरमा आजको दिन दर्शन तथा उपासना गरेमा पारिवारिक सुख, शान्ति तथा पुण्य सञ्चय हुने विश्वास छ । यसैबीच देशभरका नारायण मन्दिरमा विष्णुको दर्शन गर्न आज भक्तजनको घुइँचो लागेको छ ।

तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिने भएकाले घरघरमा तुलसीको बिरुवा सार्ने चलन छ ।

श्रीलङ्का मन्त्रिपरिषद्द्वारा १० वर्षका लागि स्वदेशी औषधिसम्बन्धी राष्ट्रिय नीति अनुमोदन

श्रीलङ्काको मन्त्रिपरिषद्ले सन् २०२४ देखि सन् २०३४ सम्मका लागि स्वदेशी औषधिसम्बन्धी राष्ट्रिय नीति लागू गर्ने प्रस्तावलाई स्वीकृत गरेको सरकारी सूचना विभागले जनाएको छ । अर्थ, आर्थिक स्थिरता तथा राष्ट्रिय नीतिमन्त्री समेत रहेका राष्ट्रपति रनिल विक्रमासिङ्घेले प्रस्ताव पेस गरेको विभागले मङ्गलबार उल्लेख गरेको छ ।

उक्त नीति विज्ञहरूसँग व्यापक छलफल गरी तयार गरिएको जनाइएको छ । श्रीलङ्कामा स्वदेशी औषधि सेवाको नीतिगत दिशा निर्देशन दिन हालसम्म एउटै राष्ट्रिय नीति बन्न सकेको छैन ।

सेवा आपूर्तिमा विद्यमान समस्या समाधान गर्न, स्वदेशी चिकित्सा प्रणालीको संरक्षण गरी भावी पुस्तालाई गुणस्तरीय सेवा उपलब्ध गराउन बलियो राष्ट्रिय स्वास्थ्य नीतिअनुरुपको चिकित्सा नीति आवश्यक भएको विभागले जनाएको छ ।

विश्व अर्थतन्त्र यस वर्ष ३.२ प्रतिशतले वृद्धि हुने पूर्वानुमान : अन्तर्राष्ट्रिय मुद्राकोष

अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले अमेरिका र जापानका लािग पूर्वानुमानमा कटौती गरे पनि मुद्रास्फीति जोखिम र व्यापार तनावको चेतावनी दिँदै सन् २०२४ का लागि आफ्नो वैश्विक विकास अपेक्षालाई स्थिर राखेको छ ।

आफ्नो वर्ल्ड इकोनमिक आउटलुक अपडेटअनुसार आइएमएफले यस वर्ष विश्व अर्थतन्त्र तीन दशमलव दुई प्रतिशतले वृद्धि हुने अपेक्षा गरेको छ । यो अप्रिलको प्रक्षेपणमा अपरिवर्तित छ ।

“विश्वव्यापी गतिविधि र विश्व व्यापार वर्षको सुरुतिर बलियो भएको छ, एसियाबाट विशेषगरी प्रविधि क्षेत्रमा भएको बलियो निर्यातले व्यापारलाई प्रोत्साहित गरेको छ”, कोषले भनेको छ । कोषले सन् २०२५ का लागि तीन दशमलव तीन प्रतिशतको विश्वव्यापी वृद्धिको अपेक्षा गरेको छ ।

यस वर्षको पहिलो तीन महिनामा धेरै मुलुकमा अनुमानभन्दा राम्रो वृद्धि देखिएको भए पनि जापान र संयुक्त राज्य अमेरिकामा उल्लेखनीय आश्चर्य भएको कोषले जनाएको छ ।

वासिङ्टन–आधारित आइएमएफले मुद्रास्फीतिको माथिल्लो जोखिम बढेको र सेवाहरूको मूल्यले अपस्फीति रोकिएको भन्दै सचेत गराएको छ । यसबाट बढ्दो व्यापार तनाव र बढ्दो नीतिगत अनिश्चितताका सन्दर्भमा ब्याज दरहरू लामो समयसम्म उच्च रहने सम्भावनालाई बढाएको छ ।

आइएमएफका प्रमुख अर्थशास्त्री पियरे–ओलिभियर गौरिन्चसले चिन्ताको क्षेत्र भनेको व्यापार र औद्योगिक नीति रहेको भन्दै देशहरूले सम्भावित रूपमा विश्वव्यापी अर्थतन्त्रको एकीकरणलाई असर गर्ने उपायहरू अपनाइरहेको बताउनुभयो ।

नोभेम्बरको चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार एवं अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयासपछि जोखिम मूल्याङ्कन परिवर्तन भएको छ कि भन्ने प्रश्नमा गौरिन्चसले कोषले यसको प्रभावलाई विचार गर्ने उल्लेख गर्नुभयो ।

विश्व विकास स्थिर प्रतीत भएका बेला आइएमएफले अमेरिका र जापानका लागि अनुमानलाई कम गरेको छ । कोषले भनेको छ, “वर्षको अपेक्षाबाट सुस्त सुरुआतका कारण सन् २०२४ मा अमेरिका विकास दरलाई घटाएर दुई दशमलव छ प्रतिशत बनाइएको छ, यो अप्रिलको पूर्वानुमानभन्दा शून्य दशमलव एक प्रतिशत अङ्क कम हो ।”

जापानको अर्थतन्त्रमा यस वर्ष अपेक्षाभन्दा शून्य दशमलव दुई प्रतिशत अङ्क कम अर्थात शून्य दशमलव सात प्रतिशतले आर्थिक वृद्धि भएको देखिएको छ । यसको मुख्य कारण अस्थायी आपूर्तिमा अवरोध र पहिलो त्रैमासिकमा कमजोर निजी लगानी थियो ।

यसैबीच युरो क्षेत्रमा अपेक्षाकृत मजबुत सेवा गतिविधिका साथ सुधारको सङ्केत देखिए पनि निर्मार्ण क्षेत्रमा कमजोरी देखिएको गौरिन्चसले बताउनुभयो ।

चीन र भारतले एसियामा गतिविधि बढ्ने अपेक्षा गरिएको छ । चीनको सन् २०२४ प्रक्षेपणमा निजी खपतमा उछाल र बलियो निर्यातमा पाँच प्रतिशतसम्म परिमार्जन गरिएको छ ।यसैबीच भारत उपभोगका लागि राम्रो सम्भावनाहरूमा आंशिक रूपमा सात प्रतिशत वृद्धि गर्नसक्नेछ ।

घरेलु माग कमजोर भएको अवस्थामा चीन बाह्य क्षेत्रमा बढी भर पर्नेछ । यो अवस्था हो जसका विरुद्ध संयुक्त राज्य अमेरिका जस्ता देशहरूले पछि हटिरहेका छन् ।

आइएमएफले नयाँ सिराबाट व्यापार वा भू–राजनीतिक तनावका बीच टाँसिने मुद्रास्फीतिको जोखिम पनि रहने चेतावनी दिएको छ । यद्यपि यसले मुद्रास्फीति सन् २०२५ को अन्त्यसम्ममा लक्ष्यमा फर्किने अपेक्षा गरेको छ ।

आइएमएफले व्यापार तनाव बढ्दा आयातित वस्तुहरूको लागत बढेर निकट अवधिमा मुद्रास्फीतिको जोखिम पनि बढ्नसक्ने बताएको छ । कोषले सावधानीपूर्वक मौद्रिक नीति समायोजन गर्न आग्रह गरेको छ ।

कमैया मुक्तिको घोषणा गरे पनि सयौँ परिवार पुनःस्थापनाको पर्खाइमा

कैलाली ।  कमैया मुक्ति घोषणा भएको २४ वर्ष पुगेको छ । २०५७ साउन २ गते सरकारले कमैया मुक्तिको घोषणा गरेको हो । अढाइ दशक बित्नै लागे पनि कैलालीको टीकापुर नगरपालिका शिवनगरका गणेश चौधरी पुनःस्थापनाको पर्खाइमा छन् ।

राज्यले ऋण मिनाहासहित पुनर्स्थापना गर्ने गरी कमैया मुक्तिको घोषणा गरे पनि आफूजस्तै सयौँ परिवार आज पनि पुनर्स्थापनाको पर्खाइमा रहेको उनी बताउँछन् ।

‘राज्यले पुनर्स्थापनाको काम अझै गर्न सकेको छैन । आजसम्म कमैयाले आफ्नो क्षमताले एउटा बस्ने घरसम्म बनाउन सकेका छैनन् । अरुकै सहारामा बाँच्नुपरेको छ’, चौधरी भन्छन्, ‘पटकपटक आश्वासन पायौँ, सहारा कहिल्यै पाएनौँ ।’

शिवनगरकै रामफल चौधरीलाई बुढ्यौलीले छोइसकेको छ । सरकारले पुनर्स्थापनाको ग्यारेन्टी गरेसँगै अरुको घरमा कमैया बसेर जीवन निर्वाह गर्दै आएका उनले २० वर्ष पुनर्स्थापनाको आशामा शिविरमा बिताए । ‘पुनर्स्थापनाको सम्झौता मात्रै भयो, हामी दशकौँदेखि कष्टकर जीवन बिताउन बाध्य छौँ,’ उनले भने ।

शान्ताराम चौधरीको समस्या पनि उस्तै छ । आज पनि उनलाई अरुको घरमा काम गरेर जीवन निर्वाह गर्नुपर्ने बाध्यता छ । ‘हिजो अरुको घरमा काम गर्दा आफ्नो स्वतन्त्रता थिएन, आज स्वतन्त्रता छ, फरक त्यति मात्र हो,’ उनले भने ।

दुई दशक पहिला टीकापुर बहुमुखी क्याम्पसको नाममा रहेको जग्गा अतिक्रमण गरेर सयौँ मुक्तकमैया आश्रय लिएर आजसम्म बसोबास गर्दै आएका छन् । सो क्षेत्रमा मुक्तकमैया मात्र नभई सयौँ सुकुम्बासी पनि बसोबास गर्दै आएका छन् । ‘राज्यले उचित व्यवस्थापन गरेको भए अरुको जग्गामा बस्नुपर्ने बाध्यता हुँदैनथ्यो’, स्थानीय छेदु चौधरी भन्छन्, ‘जग्गा जमिन नभएका हामी यो जग्गा छाडेर कता जान सक्छौँ ।’

मुक्त कमैया समाज सुदूरपश्चिम प्रदेशका सचिव विमल चौधरीले कैलालीमा अझै चार हजार दुई सय छुट मुक्तकमैयाको पुनर्स्थापना गर्ने बाँकी रहेको बताए । प्रदेशमा झण्डै १२ हजार मुक्तकमैया परिवार छन् । टीकापुरमा मात्रै करिब ६ सय परिवार पुनर्स्थापनाको पर्खाइमा छन् । मुक्तकमैया व्यवस्थापन गर्न तीनै तहको सरकारसँग समन्वय र सहकार्य गर्दै आएका सचिव चौधरीले बताए ।

‘राज्यले घोषणा गरेअनुसार सबै मुक्तकमैयाको व्यवस्थापन यथाशीघ्र हुनुपर्छ’, उनले भने । कैलालीका ११ स्थानीय तहमा र कञ्चनपुरमा ६ स्थानीय तहमा मुक्तकमैया परिवारको बसोबास छ । कमैया मुक्तिको घोषणा भएको दिन स्थानीय तहले सार्वजनिक बिदा दिने गरेका छन् ।

मुक्तकमैया दिवसको अवसर पारेर टीकापुर नगरपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका, कैलारी गाउँपालिकालगायत स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् ।

चितवनमा एक वर्षमा सवारी दुर्घटनामा ११५ जनाको मृत्यु

चितवन ।  चितवनमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी एक सय १५ जनाको मृत्यु भएको छ । विसं २०८० साउनदेखि २०८१ असारसम्म उक्त मानवीय क्षति भएको हो । जिल्लाका भित्री सडकमा भन्दा राजमार्गमा भएका दुर्घटनामा परी बढी मानवीय क्षति भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा ९२ पुरुष, १९ महिला र चार बालक रहेका छन् । सो अवधिमा चार सय ४५ सवारीसाधन दुर्घटनामा परेका थिए । ती दुर्घटनामा परी आठ सय ३२ जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेश सुवेदीले जानकारी दिए ।

जिल्लाका भित्री सडकमा एक वर्षमा दुई सय ५० सवारीसाधन दुर्घटना भएका थिए । भित्री क्षेत्रका सडकमा भएका दुर्घटनामा परी ५० जनाको मृत्यु भएको छ भने तीन सय ८२ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग, नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गमा दुर्घटनामा परी ५७ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा भएका ९६ दुर्घटनामा २६ जनाको मृत्यु भएको थियो भने दुई सय चार जना घाइते भएका थिए ।

यस्तै नारायणगढ–मुग्लिन सडकखण्डमा भएका ५५ दुर्घटनामा २१ जनाको मृत्यु भएको थियो । ती घटनामा एक सय ५१ जना घाइते भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

पृथ्वी राजमार्गअन्तर्गत चितवनमा पर्ने सडकखण्डमा भएका १८ सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ भने ६२ जना घाइते भएका छन् । जिल्लाको सहरी सडकखण्डमा सो अवधिमा २६ वटा दुर्घटना भएका थिए ।

ती दुर्घटनामा आठ जनाको मृत्यु भएको थियो भने ३३ जना घाइते भएका थिए । जिल्लामा आव २०७९/८० मा तीन सय तीन सवारीसाधन दुर्घटना भएका थिए । ती दुर्घटनामा ७८ जनाको मृत्यु भएको थियो भने पाँच सय ८१ जना घाइते भएका थिए ।

‘सवारी दुर्घटना कम गर्न जति काम गरे पनि प्रभावकारी देखिएको छैन,’ प्रमुख सुवेदीले भने । जिल्लामा गत आवमा ६ सय ६३ सवारीसाधन दुर्घटनामा परेका छन् ।

मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने

बागमती, २ साउन : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले यही साउन ६ गते प्रदेशसभामा विश्वासको मत लिने तयारी गर्नुभएको छ । विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री जम्कट्टेलले पत्राचार गर्नुभएको छ ।

सत्तासाझेदार दलका नेताहरूसँगको छलफलपश्चात मुख्यमन्त्री जम्कट्टेल साउन ६ गते विश्वासको मत लिने निर्णयमा पुग्नुभएको बागमती प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक रत्नप्रसाद ढकालले जानकारी दिनुभयो ।

सङ्घीय सरकार परिवर्तनसँगै प्रदेश सरकारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट सहभागी पाँचजना मन्त्रीले गत असार २४ गते राजीनामा दिएपछि प्रदेश सरकार अल्पमतमा परेको छ । मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने भएपछि त्यसको प्रक्रियाका लागि यही साउन ६ गते दिउँसो १ बजे बस्नेगरी प्रदेशसभाको बैठक आह्वान गर्ने तयारी गरिएको सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो ।

गत २०७९ पुसमा नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को समर्थनमा माओवादी केन्द्रका नेता जम्कट्टेल मुख्यमन्त्री बन्नुभएको थियो ।

टर्कीमा ५३ वर्षयताकै सबैभन्दा तातो जुन रेकर्ड

टर्कीले गत ५३ वर्षयताकै सबैभन्दा तातो जुन महिना अनुभव गरेको मुलुकको राज्य मौसम विज्ञान सेवाले जनाएको छ । भर्खरै प्रकाशित प्रतिवेदनमा सेवाले देशभरको औसत तापक्रम २५ दशमलव चार डिग्री सेल्सियस रहेको बताएको छ । यो सन् १९९१ देखि सन् २०२० सम्मको जुन औसतभन्दा तीन दशमलव छ डिग्री सेल्सियसले बढी हो ।

  राज्य मौसम विज्ञान तथ्याङ्कअनुसार जुन २० मा दक्षिणपूर्वी प्रान्त सानलिउर्फामा ४७ दशमलव आठ डिग्री सेल्सियससम्मको उच्चतम तापक्रम रेकर्ड गरिएको थियो ।

   टर्कीको सबैभन्दा धेरै जनसङ्ख्या भएको सहर इस्तानबुलमा यस हप्ताभरि तापक्रम ३३ देखि ३६ डिग्री सेल्सियसको बीचमा रहने अनुमानका साथ जुलाईमा गर्मीको प्रकोप बढेको छ ।

   मङ्गलबार इस्तानबुलको प्रकोप समन्वय केन्द्रले एक करोड ६० लाख बासिन्दाहरू सहरका लागि गर्मी बढ्ने उल्लेख गर्दै चरम गर्मीमा आवश्यक नभएसम्म बाहिरी गतिविधिहरू कम गर्न आग्रह गरेको छ ।

चीनमा गर्मीको भीडमा हालसम्म २० करोडभन्दा बढीले रेल यात्रा गर्दछन्

चीनमा जुलाई १ र १५ को बीचमा गर्मीमा यात्राको भीड सुरु भएदेखि २१ करोड १० लाख यात्रुले रेलवे यात्रा गरेको चाइना स्टेट रेलवे ग्रुप कम्पनी लिमिटेडको तथ्याङ्कले मङ्गलबार देखाएको छ ।

यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा छ दशमलव पाँच प्रतिशतले बढेको कम्पनीले जनाएको छ । साथै जुलाईको पहिलो १५ दिनमा दैनिक औसत रेल यात्रुको सङ्ख्या एक करोड ४० लाखसम्म पुगेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार गर्मीको छुट्टीहरूमा विद्यार्थी भ्रमण, पर्यटन र पारिवारिक भ्रमणको बलियो मागले रेलवे यात्रीको प्रवाह उच्चस्तरमा पुगेको छ ।

यसले ग्रीष्मकालीन यात्रु यातायात योजना तर्जुमा गरेको, यातायात क्षमता वृद्धि गरेको, यात्रुहरूलाई सहजीकरण र लाभका लागि उपायहरू लागू गरेको तथा सुरक्षित र व्यवस्थित यात्रु यात्रा र स्थिर आर्थिक सञ्चालनको लागि भरपर्दो ग्यारेन्टी प्रदान गर्ने प्रयास गरेको छ ।

कलेजका विद्यार्थीहरू गर्मी बिदामा घर फर्कने भएकाले ग्रीष्मकालीन यात्राको भीड सामान्यतया देशको रेल प्रणालीका लागि एक व्यस्त मौसम हो । यस वर्षको गर्मी यात्रा भीड जुलाई १ देखि अगस्ट ३१ सम्म रहन्छ ।

मुगुको दार्मा केन्द्रविन्दू भएर गयो भूकम्प

काठमाडौँ, २ साउन : मुगु जिल्लाको दार्मा आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको दार्मा आसपास केन्द्रविन्दू भएर आज बिहान ४ बजेर ४० मिनेटमा तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत असार २६ गते नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङको तापेथोक केन्द्रविन्दू भएर भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ ।

राजस्व कार्यालय भद्रपुरले तीन अर्ब २१ करोड राजस्व सङ्कलन गर्यो

भद्रपुर (झापा), २ साउन : आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८०/८१ मा रु तीन अर्ब २१ करोड १२ लाख ६७ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत असारमा मात्र रु ३० करोड ७१ लाख नौ हजार राजस्व सङ्कलन गरेको हो ।

कार्यालयले आव २०७९/८० को तुलनामा रु १९ करोड ५२ लाख ९१ हजार बढी राजस्व सङ्कलन गरेको छ । गत आवमा रु तीन अर्ब एक करोड ५९ लाख ७६ हजार राजस्व सङ्कलन भएको आन्तरिक राजस्व कार्यालय भद्रपुरका सूचना अधिकारी भीमप्रसाद आचार्यले जानकारी दिनुभयो । गत आवमा कार्यालयको रु तीन अर्ब ७९ करोड ७१ लाख राजस्व उठाउने लक्ष्य थियो । तर ८४ दशमलव ५७ प्रतिशतमात्र राजस्व सङ्कलन गर्न सकिएको छ ।

“देशभर व्यापार–व्यवसायमा गिरावट आउँदा राजस्व सङ्कलनमा कमी आएको हा”, उहाँले भन्नुभयो ।

आन्तरिक राजस्व कार्यालयले आयकरबाट रु एक अर्ब ६९ करोड ९४ लाख, भाडा आयकरबाट रु तीन करोड ६४ लाख, ब्याजबापत रु ११ करोड ५९ लाख, मूल्य अभिवृद्धि करबापत रु एक अर्ब २९ करोड पाँच लाख लाख तथा अन्तःशुल्कबापत रु ६४ करोड ४६ लाख ५५ हजार राजस्व सङ्कलन गरेको सूचना अधिकारी आचार्यले बताउनुभयो । जिल्लामा विकास निर्माणका आयोजनामा चालु आवमा कम भुक्तानी हुँदा मूल्य अभिवृद्धिकरबापत हुने आम्दानी घटेको छ । गत आवमा मूल्य अभिवृद्धिकरबापत रु एक अर्ब ३७ करोड ८८ लाख ९२ हजार राजस्व सङ्कलन भएको थियो ।

‘नवीकरणीय ऊर्जाका स्रोतको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध छ’ : अर्थमन्त्री पौडेल

काठमाडौँ- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नवीकरणीय ऊर्जा क्षेत्रको महत्वलाई ऊजागर गर्दै नवीकरणीय ऊर्जाका स्रोतको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल नवीकरणीय ऊर्जा परिसङ्घको प्रतिनिधिमण्डलसँग मंगलबार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पौडेल नवीकरणीय ऊर्जा क्षेत्रको विकासका लागि सरकार नीजि क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रममा परिसङ्घका अध्यक्ष गुणराज ढकालले ऊर्जा क्षेत्रको विकासमा नवगठित सरकारबाट सहयोग र समर्थनको अपेक्षा गर्नुभएको थियो । नेपाल नवीकरणीय ऊर्जा परिसङ्घले देशको ऊर्जा क्षेत्रको प्रगति र विकासका लागि निरन्तर क्रियाशील रहँदै आएकाले आफूहरू सरकारसँग निकट रहेर यस क्षेत्रको विकासमा सहकार्य गर्न तयार रहेको उहाँको भनाइ थियो ।