`

चितवनमा एक वर्षमा सवारी दुर्घटनामा ११५ जनाको मृत्यु

चितवन ।  चितवनमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी एक सय १५ जनाको मृत्यु भएको छ । विसं २०८० साउनदेखि २०८१ असारसम्म उक्त मानवीय क्षति भएको हो । जिल्लाका भित्री सडकमा भन्दा राजमार्गमा भएका दुर्घटनामा परी बढी मानवीय क्षति भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा ९२ पुरुष, १९ महिला र चार बालक रहेका छन् । सो अवधिमा चार सय ४५ सवारीसाधन दुर्घटनामा परेका थिए । ती दुर्घटनामा परी आठ सय ३२ जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेश सुवेदीले जानकारी दिए ।

जिल्लाका भित्री सडकमा एक वर्षमा दुई सय ५० सवारीसाधन दुर्घटना भएका थिए । भित्री क्षेत्रका सडकमा भएका दुर्घटनामा परी ५० जनाको मृत्यु भएको छ भने तीन सय ८२ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग, नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गमा दुर्घटनामा परी ५७ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा भएका ९६ दुर्घटनामा २६ जनाको मृत्यु भएको थियो भने दुई सय चार जना घाइते भएका थिए ।

यस्तै नारायणगढ–मुग्लिन सडकखण्डमा भएका ५५ दुर्घटनामा २१ जनाको मृत्यु भएको थियो । ती घटनामा एक सय ५१ जना घाइते भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

पृथ्वी राजमार्गअन्तर्गत चितवनमा पर्ने सडकखण्डमा भएका १८ सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ भने ६२ जना घाइते भएका छन् । जिल्लाको सहरी सडकखण्डमा सो अवधिमा २६ वटा दुर्घटना भएका थिए ।

ती दुर्घटनामा आठ जनाको मृत्यु भएको थियो भने ३३ जना घाइते भएका थिए । जिल्लामा आव २०७९/८० मा तीन सय तीन सवारीसाधन दुर्घटना भएका थिए । ती दुर्घटनामा ७८ जनाको मृत्यु भएको थियो भने पाँच सय ८१ जना घाइते भएका थिए ।

‘सवारी दुर्घटना कम गर्न जति काम गरे पनि प्रभावकारी देखिएको छैन,’ प्रमुख सुवेदीले भने । जिल्लामा गत आवमा ६ सय ६३ सवारीसाधन दुर्घटनामा परेका छन् ।

मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने

बागमती, २ साउन : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले यही साउन ६ गते प्रदेशसभामा विश्वासको मत लिने तयारी गर्नुभएको छ । विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री जम्कट्टेलले पत्राचार गर्नुभएको छ ।

सत्तासाझेदार दलका नेताहरूसँगको छलफलपश्चात मुख्यमन्त्री जम्कट्टेल साउन ६ गते विश्वासको मत लिने निर्णयमा पुग्नुभएको बागमती प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक रत्नप्रसाद ढकालले जानकारी दिनुभयो ।

सङ्घीय सरकार परिवर्तनसँगै प्रदेश सरकारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट सहभागी पाँचजना मन्त्रीले गत असार २४ गते राजीनामा दिएपछि प्रदेश सरकार अल्पमतमा परेको छ । मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने भएपछि त्यसको प्रक्रियाका लागि यही साउन ६ गते दिउँसो १ बजे बस्नेगरी प्रदेशसभाको बैठक आह्वान गर्ने तयारी गरिएको सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो ।

गत २०७९ पुसमा नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को समर्थनमा माओवादी केन्द्रका नेता जम्कट्टेल मुख्यमन्त्री बन्नुभएको थियो ।

टर्कीमा ५३ वर्षयताकै सबैभन्दा तातो जुन रेकर्ड

टर्कीले गत ५३ वर्षयताकै सबैभन्दा तातो जुन महिना अनुभव गरेको मुलुकको राज्य मौसम विज्ञान सेवाले जनाएको छ । भर्खरै प्रकाशित प्रतिवेदनमा सेवाले देशभरको औसत तापक्रम २५ दशमलव चार डिग्री सेल्सियस रहेको बताएको छ । यो सन् १९९१ देखि सन् २०२० सम्मको जुन औसतभन्दा तीन दशमलव छ डिग्री सेल्सियसले बढी हो ।

  राज्य मौसम विज्ञान तथ्याङ्कअनुसार जुन २० मा दक्षिणपूर्वी प्रान्त सानलिउर्फामा ४७ दशमलव आठ डिग्री सेल्सियससम्मको उच्चतम तापक्रम रेकर्ड गरिएको थियो ।

   टर्कीको सबैभन्दा धेरै जनसङ्ख्या भएको सहर इस्तानबुलमा यस हप्ताभरि तापक्रम ३३ देखि ३६ डिग्री सेल्सियसको बीचमा रहने अनुमानका साथ जुलाईमा गर्मीको प्रकोप बढेको छ ।

   मङ्गलबार इस्तानबुलको प्रकोप समन्वय केन्द्रले एक करोड ६० लाख बासिन्दाहरू सहरका लागि गर्मी बढ्ने उल्लेख गर्दै चरम गर्मीमा आवश्यक नभएसम्म बाहिरी गतिविधिहरू कम गर्न आग्रह गरेको छ ।

चीनमा गर्मीको भीडमा हालसम्म २० करोडभन्दा बढीले रेल यात्रा गर्दछन्

चीनमा जुलाई १ र १५ को बीचमा गर्मीमा यात्राको भीड सुरु भएदेखि २१ करोड १० लाख यात्रुले रेलवे यात्रा गरेको चाइना स्टेट रेलवे ग्रुप कम्पनी लिमिटेडको तथ्याङ्कले मङ्गलबार देखाएको छ ।

यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा छ दशमलव पाँच प्रतिशतले बढेको कम्पनीले जनाएको छ । साथै जुलाईको पहिलो १५ दिनमा दैनिक औसत रेल यात्रुको सङ्ख्या एक करोड ४० लाखसम्म पुगेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार गर्मीको छुट्टीहरूमा विद्यार्थी भ्रमण, पर्यटन र पारिवारिक भ्रमणको बलियो मागले रेलवे यात्रीको प्रवाह उच्चस्तरमा पुगेको छ ।

यसले ग्रीष्मकालीन यात्रु यातायात योजना तर्जुमा गरेको, यातायात क्षमता वृद्धि गरेको, यात्रुहरूलाई सहजीकरण र लाभका लागि उपायहरू लागू गरेको तथा सुरक्षित र व्यवस्थित यात्रु यात्रा र स्थिर आर्थिक सञ्चालनको लागि भरपर्दो ग्यारेन्टी प्रदान गर्ने प्रयास गरेको छ ।

कलेजका विद्यार्थीहरू गर्मी बिदामा घर फर्कने भएकाले ग्रीष्मकालीन यात्राको भीड सामान्यतया देशको रेल प्रणालीका लागि एक व्यस्त मौसम हो । यस वर्षको गर्मी यात्रा भीड जुलाई १ देखि अगस्ट ३१ सम्म रहन्छ ।

मुगुको दार्मा केन्द्रविन्दू भएर गयो भूकम्प

काठमाडौँ, २ साउन : मुगु जिल्लाको दार्मा आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको दार्मा आसपास केन्द्रविन्दू भएर आज बिहान ४ बजेर ४० मिनेटमा तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत असार २६ गते नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङको तापेथोक केन्द्रविन्दू भएर भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ ।

राजस्व कार्यालय भद्रपुरले तीन अर्ब २१ करोड राजस्व सङ्कलन गर्यो

भद्रपुर (झापा), २ साउन : आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८०/८१ मा रु तीन अर्ब २१ करोड १२ लाख ६७ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत असारमा मात्र रु ३० करोड ७१ लाख नौ हजार राजस्व सङ्कलन गरेको हो ।

कार्यालयले आव २०७९/८० को तुलनामा रु १९ करोड ५२ लाख ९१ हजार बढी राजस्व सङ्कलन गरेको छ । गत आवमा रु तीन अर्ब एक करोड ५९ लाख ७६ हजार राजस्व सङ्कलन भएको आन्तरिक राजस्व कार्यालय भद्रपुरका सूचना अधिकारी भीमप्रसाद आचार्यले जानकारी दिनुभयो । गत आवमा कार्यालयको रु तीन अर्ब ७९ करोड ७१ लाख राजस्व उठाउने लक्ष्य थियो । तर ८४ दशमलव ५७ प्रतिशतमात्र राजस्व सङ्कलन गर्न सकिएको छ ।

“देशभर व्यापार–व्यवसायमा गिरावट आउँदा राजस्व सङ्कलनमा कमी आएको हा”, उहाँले भन्नुभयो ।

आन्तरिक राजस्व कार्यालयले आयकरबाट रु एक अर्ब ६९ करोड ९४ लाख, भाडा आयकरबाट रु तीन करोड ६४ लाख, ब्याजबापत रु ११ करोड ५९ लाख, मूल्य अभिवृद्धि करबापत रु एक अर्ब २९ करोड पाँच लाख लाख तथा अन्तःशुल्कबापत रु ६४ करोड ४६ लाख ५५ हजार राजस्व सङ्कलन गरेको सूचना अधिकारी आचार्यले बताउनुभयो । जिल्लामा विकास निर्माणका आयोजनामा चालु आवमा कम भुक्तानी हुँदा मूल्य अभिवृद्धिकरबापत हुने आम्दानी घटेको छ । गत आवमा मूल्य अभिवृद्धिकरबापत रु एक अर्ब ३७ करोड ८८ लाख ९२ हजार राजस्व सङ्कलन भएको थियो ।

‘नवीकरणीय ऊर्जाका स्रोतको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध छ’ : अर्थमन्त्री पौडेल

काठमाडौँ- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नवीकरणीय ऊर्जा क्षेत्रको महत्वलाई ऊजागर गर्दै नवीकरणीय ऊर्जाका स्रोतको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल नवीकरणीय ऊर्जा परिसङ्घको प्रतिनिधिमण्डलसँग मंगलबार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पौडेल नवीकरणीय ऊर्जा क्षेत्रको विकासका लागि सरकार नीजि क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रममा परिसङ्घका अध्यक्ष गुणराज ढकालले ऊर्जा क्षेत्रको विकासमा नवगठित सरकारबाट सहयोग र समर्थनको अपेक्षा गर्नुभएको थियो । नेपाल नवीकरणीय ऊर्जा परिसङ्घले देशको ऊर्जा क्षेत्रको प्रगति र विकासका लागि निरन्तर क्रियाशील रहँदै आएकाले आफूहरू सरकारसँग निकट रहेर यस क्षेत्रको विकासमा सहकार्य गर्न तयार रहेको उहाँको भनाइ थियो ।

अवैध सुन कारोबार गर्ने मुख्य योजनाकार एक वर्षपछि पक्राउ

काठमाडौँ-प्रहरीले मलद्वारमा लुकाएर ल्याएको एक किलो सुनका मुख्य योजनाकारलाई झण्डै एक वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष टोलीले काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–२ का विकास योञ्जनलाई मंगलबार अपराह्न काठमाडौँको चाबहिलबाट पक्राउ गरेको प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

प्रहरीले २०८० भदौ २५ गते दुबईबाट हिमालयन एयरलाइन्समार्फत नेपाल आएका बाबुलाल दोङलाई मुख्य योजनाकार योञ्जनले पठाएको नौ सय ६० ग्राम सुन भन्सार छलि मलद्वारमा लुकाएर ल्याएको अवस्थामा पक्राउ गरेको थियो । विमानस्थल बाहिर सडक पेटीमा हिँड्दै गरेको अवस्थामा दोङ पक्राउ परेका थिए । 

प्रहरीवृत्त गौशालाले जाँच गर्दा दोङले मलद्वारमा कालोटेपले बेरिएको दुई वटा लाम्चो र डल्लो सुन नौ सय ६० ग्राम फेला पारेको थियो । अनुसन्धानका क्रममा दोङले उक्त भन्सार छलीको सुन योञ्जनको भएको बयान दिएका थिए । सुनसहित दोङ पक्राउ परेपछि योञ्जन फरार रहेका थिए । 

आज हरिशयनी एकादशीः घरघरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ, २ साउन : प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चर्तुमासा पनि भनिन्छ । 

एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुमासका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् । 

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चारनारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ । एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ । 


वैज्ञानिक रुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ भने तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य वैज्ञानिक रूपमा पुष्टि भएको छ ।

चार महिनासम्म विधिपूर्वक पूजाआराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ । तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चर्तुमासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ ।

कोरोनाबाट बच्न मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न पनि तुलसीलगायत जडीबुटीले काम गर्ने जनाइएको छ । दुई वर्षअघिदेखि सिंहदरबार वैद्यखाना विकास समितिले बनाएको तुलसी चियाको माग बजार बढेको छ । यी तथ्यले तुलसीको महत्व स्पष्ट पार्छ ।

उच्च अदालत जनकपुरधाममा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट

जनकपुर – उच्च अदालत जनकपुरधामले तोकिएको लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट गरेको छ । मंगलबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी अदालतले लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट भएको जनाएको हो ।

अदालतबाट प्राप्त विवरणअनुसार आर्थिक वर्ष २०८०/८१ मा अदालतलाई तोकेको लक्ष्यभन्दा एक सय ६४ दशमलव ५७ प्रतिशतले बढी मुद्दा फर्छ्यौट मुख्य न्यायाधीश श्रीकान्त पौडेलले जानकारी दिनुभयो ।

उच्च अदालतलाई ती हजार सात सय २६ मुद्दा फर्छ्यौट गर्न वार्षिक लक्ष्य तोकिएकामा लक्ष्यभन्दा एक हजार पाँच सय ३७ मुद्दा बढी फर्छ्यौट भएका उहाँले बताउनुभयो । “उच्च अदालतले पहिलोपटक यति धेरै सङ्ख्यामा मुद्दा फर्छ्यौट गरेको हो । यो देशभरि नै उच्च हो भन्ने हाम्रो अनुमान छ । हामीले भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिसहित न्यायसम्पादनको काम गरेका छौँ”, मुख्य न्यायाधीश पौडेलले भन्नुभयो ।

उच्च अदालतमा पुराना तथा नयाँ गरी दुई हजार एक सय ३४ मुद्दा फर्छ्यौट हुन बाँकी रहेका न्यायाधीश महेन्द्रनाथ उपाध्यायले बताउनुभयो ।

ग्रामीण तथा दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेर खानेपानी कार्ययोजना बनाउन मन्त्री यादवको निर्देशन


काठमाडौँ – खानेपानीमन्त्री प्रदीप यादवले ग्रामीण तथा दुर्गम क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर कार्ययोजना बनाउन मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

मंगलबार मन्त्रालय र मातहत निकायका काम कारबाहीबारे जानकारी लिनुहुँदै उहाँले दीर्घकालीन र दिगो खानेपानी योजना विकास तथा कार्यान्वयनमा विशेष ध्यान दिन निर्देशन दिनुभयो ।

प्रविधिको नवीनतम प्रयोगद्वारा खानेपानी वितरण प्रणालीलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुहुँदै उहाँले सुरक्षित खानेपानीको महत्वबारे जनचेतना जगाउने कार्यक्रम अगाडि बढाउनसमेत ध्यान दिनुपर्ने धारणा राख्नुभयो । “सबै नेपाली नागरिकलाई सुरक्षित र स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्नु मेरो मुख्य प्राथमिकता होे । आधुनिक प्रविधिको प्रयोगद्वारा खानेपानी वितरण प्रणाली सुधार्न र मन्त्रालयका कामकारबाहीलाई पारदर्शी एवं उत्तरदायी बनाउनुपर्नेछ । यसकार्यमा म सधैँ प्रतिबद्ध छु । सोहीअनुसार तपाईंहरूबाट पनि सहयोगको अपेक्षा गरेको छु”, उहाँले भन्नुभयो ।

अनुगमन, मूल्याङ्कन र कार्यसम्पादननो प्रभावकारिता मापन गर्ने प्रणालीको विकास गर्न पनि आवश्यक रहेकामा उहाँको जोड थियो ।

पहिरोमा ज्यान गुमाएका व्यक्तिमा परिवारलाई सहयोग

गण्डकी, १ साउनः लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ जे नेपालले तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका– ७ काउरेमा पहिरोमा घर पुरिँदा ज्यान गुमाएका व्यक्तिका परिवारलाई सहयोग प्रदान गरेको छ ।

गत असार २२ गते गएको पहिरोमा परेर ज्यान गुमाएका श्याम भण्डारी, अनिषा बाँस्तोला र हिरा नेपालीको परिवारलाई प्रतिपरिवार रु २५ हजारका दरले आर्थिक सहयोग प्रदान गरिएको डिस्ट्रिक गभर्नर मिलन थापाले जानकारी दिनुभयो । उहाँसहितको टोलीले आज मृतकका परिवारजनसँग भेटगरी रकम हस्तान्तरण गरेको हो ।

‘जहाँ दुःख, जहाँ आवश्यकता त्यहाँ लायन्स’भन्ने मूल मन्त्रअनुसार दुःखमा रहेका तीन जना मृतकका परिवारलाई राहतस्वरूप सहयोग गरिएको थापाले बताउनुुभयो । उहाँले मृतक बाँस्तोलाका छोराको उच्च शिक्षाका लागि आफ्नोतर्फबाट सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा पूर्वडिस्ट्रिक गभर्नर ध्रुव थापा, असिस्टेन्ट चिफ एड्भाइजर सन्तोष घिमिरे, एरिया चिफ सूर्य बराल, डिजास्टर चिफ उर्मिला श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका–७ का वडाध्यक्ष खड्कसिंह थापालगायतको उपस्थिति थियो ।

असार २२ गते शनिबार दिउँसो ३ः१५ बजे शुक्लागण्डकी–७ काउरेमा हिरा नेपाली र सुनमाया कुमालको घरमा पहिरो खसेको थियो । पहिरो खसेपछि सामान निकाल्न जाने क्रममा तीनजना बेपत्ता भएका थिए । बेपत्ता भएका एक जनाको सोही दिन र थप दुई जनाको शव भोलिपल्ट बिहान भेटिएको थियो ।

सिंहदरबारमा नवनियुक्त मन्त्रीलाई बधाई दिन आउनेको लर्को…

काठमाडौँ । देशको सबैभन्दा ठूलो प्रशासनिक भवन रहेको सिंहदरबार परिसरमा मंगलबार अघि पछिभन्दा बढी चहलपहल देखियो ।

मुलुकका प्रमुख दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सहमतिमा सोमबार नयाँ सरकार गठन भएसँगै मन्त्रीहरूलाई बधाई दिन सिंहदरबार प्रवेश गर्नेको भीड आज दिनभर जारी रह्यो । नयाँ मन्त्रीहरूलाई शुभकामना दिने र बधाई ज्ञापन गर्न उपत्यकामा रहेका आफन्तजन मात्र नभई टाढा–टाढाका जिल्लाबाट नेता तथा कार्यकर्ता सिंहदरबार आइपुगेको देखिन्थ्यो ।

कतिपय नेता तथा कार्यकर्ताले समूहमा जिल्लाबाट गाडी नै रिजर्भ गरी मन्त्रीको नयाँ जिम्मेवारी प्राप्त गरेका आफ्ना नेतालाई शुभकामना दिन आएका थिए । शुभकामना तथा बधाई ज्ञापन गर्नेको भीडसँगै अधिकांश मन्त्रीहरू आज दिनभर माला–खादा लगाउन भ्याइ नभ्याई भए ।

सबैजसो मन्त्रालयको प्रवेशद्वारमा शुभकामना दिनेको ओहोरदोहोर बाक्लो देखिन्थ्यो । सिंहदरबार परिसरमा प्रवेश अनुमति (पास) लिन दक्षिण मूलद्वारमा नेता तथा कार्यकर्ता लामबद्ध देखिन्थे ।

नियमित प्रवेश गर्ने कर्मचारीबाहेक आज मन्त्रीहरूलाई बधाई तथा शुभकामनाका लागि पास लिएर जानेको सङ्ख्या करिब दुई हजार पाँच सयभन्दा बढी रह्यो ।

सार्वजनिक बिदाका दिनबाहेक अरु दिनमा दैनिक एक हजार चार सय व्यक्ति सिंहदरबार परिसर प्रवेश गर्ने गरेकामा आज दुई हजार पाँच सयभन्दा बढी व्यक्ति प्रवेश गरेको नेपाल प्रहरीको सिंहदरबारस्थित गणले जनाएको छ । गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारीका अनुसार उक्त गणले शान्ति सुरक्षाको प्रयोजनका लागि मूल प्रवेशद्वारहरूमा आगन्तुक प्रवेश व्यवस्थित गर्दै आएको छ ।

दक्षिण प्रवेशद्वारमा प्रवेशीलाई पास उपलब्ध गराउन तोकिएका चारवटा झयालमा अपराह्नसम्म लाइन बस्नेको घुइँचो थियो । जिल्लाबाट बधाई ज्ञापनका लागि आएका नेता तथा कार्यकर्ताले आ–आफ्ना दलसँग सम्बन्धित मन्त्रीलाई प्राथमिकतामा राखेका थिए भने केहीले समूहमा सबै मन्त्रालय पुगेर शुभकामना दिएका थिए ।

सिंहदरबारस्थित केन्द्रीय चमेना गृहमा भेटिएका कञ्चनपुरका सिद्धार्थ भट्टले मुलुकमा केही नयाँ नभएको अनुभूति भएको बताए । उनले भने, ‘आज सिंहदरबारभित्रका चेहराहरू फरक देखेँ । मान्छेहरूको भीडभाड पनि बढेको देखेँ । देश र जनताका लागि नयाँ सरकारले केही सकारात्मक काम गरिदिए हुन्थ्यो ।’

नेता तथा कार्यकर्ताको भीड सहरी विकास, भौतिक पूर्वाधार, श्रम तथा यातायात, युवा तथा खेलकुद, सङ्घीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ बढी देखिन्थ्यो । कतिपय नयाँ मन्त्रीलाई शुभचिन्तक, आफन्त, साथीभाइ र नेता तथा कार्यकर्ताबाट पहिरिएको माला तथा खादा ग्रहण गर्ने र भेटघाटका लागि समय मिलाउन हम्मेहम्मे परेको थियो ।

आर्शीवाद दिन आएका पाहुना पनि व्यक्तिगत र समूहमा तस्बिर लिन तँछाड मछाडमै व्यस्त थिए । कतिपय ठाउँमा खाँदा र मालाको थुप्रो अस्रल देखिन्थ्यो । राणा प्रधानमन्त्री चन्द्रशमशेरले विसं. १९०३ मा बनाएको सिंहदरबारका भवन बेलाबेलामा भूकम्पका कारण पुनः निर्माण हुँदै आएका छन् ।

सिमलताल पहिरो : नवलपुरमा आज थप चार शव भेटिए

नवलपुर (नवलपरासी), १ साउन : चितवनको भरतपुर–२९ सिमलतालमा असार २८ गते शुक्रबार बिहान आएको पहिराले बगाएर बेपत्ता दुई बसका यात्रुमध्ये नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा आज थप चारवटा शव फेला परेका छन् ।

आज हालसम्म गैँडाकोट–७ गैरीमा करिब ३५ वर्षीय पुरुष, मध्यविन्दु–१२ तमासपुरमा करिब ३५ वर्षीया महिला, गैँडाकोट–१० खरखरेमा करिब ४० वर्षीय पुरुष र विनयी त्रिवेणी–७ गण्डक ब्यारेजको पुलमा करिब ४० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जिल्लाको नारायणी नदी किनारमा भेटिएका चारवटै शवको अनुसन्धान भइरहेको बताउनुभयो ।

पछिल्लो दिनमा जिल्लामा भेटिएका अन्य शव सिमलताल पहिरामा बेपत्ता भएकाहरूका रहेकाले यी शव पनि त्यही घटनामा बेपत्ता भएकाहरूका हुनसक्ने भन्दै आफन्तलाई बोलाएर शव पहिचान गराउने काम भइरहेको पौडेलले बताउनुभयो ।

सिमलताल पहिराले बगाएर बेपत्ता दुई बसका यात्रुको शव नवलपुरमा धमाधम भेटिन थालेपछि जिल्लास्थित नारायणी नदी किनारका सम्भावित क्षेत्रमा खोजीकार्य तीव्र पारिएको छ । हालसम्म यहाँ १४ शव भेटिएका छन् । तीमध्ये छ शवको मात्रै पहिचान खुलेको छ । अन्य आठ शवको पहिचान खुल्न बाँकी छ ।
“नवलपुरतर्फ पानीको बहाव बढी भएका कारण सिमलताल पहिराका यात्रुहरुको शव बगेर यता आउने गरेको हामीले पायौँ”, प्रहरी नायब उपरीक्षक भन्नुभयो, “कति स्थानमा बालुवाले पुरेको अवस्थामा शव भेटिएकाले हामीले त्यसैअनुसार खोजी गरिरहेका छौँ ।”

शव खोजीका लागि नवलपुरतर्फ कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटदेखि त्रिवेणीसम्म नै सुरक्षाकर्मी परिचालन गरिएको पौडेलले बताउनुभयो ।

आफ्नै छोराबुहारीले वनमा छाडिदिएका वृद्धको उद्धार

बेलबारी (मोरङ), १ साउन : मोरङको बेलबारीस्थित वनमा लगेर आफ्नै छोराबुहारीले छाडिदिएका एक वृद्धलाई वन कर्माचारीले उद्धार गरेका छन् ।बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रबाट आज ७० वर्षीय उमेर बताउनुहुने जामुनलाल झाँगडलाई चार दिनपछि आज उद्धार गरिएको हो । वन हेरालु टोलीले उहाँलाई उद्धार गरी स्थानीय अस्पताल भर्ना गरिएको छ ।

बेलबारी–चिसाङ साझेदारी वन समितिका अध्यक्ष दिनेश गिरीले वृद्धको बेलबारी नगर अस्पतालमा उपचार भइरहेको बताउनुभयो । “चार दिन अगाडि नै बीच जङ्गलमा लगेर छाडिदिएका रहेछन्, वन क्षेत्र निगरानीमा गएका साथीहरूले फेला पारी लिएर आउनु भएछ । हाल उहाँको उपचार भइरहेको छ”, उहाँले भन्नुभयो ।

वृद्धको शरीरको भागमा चोट देखिएको र उहाँ धेरै बोल्न सक्ने अवस्था नरहेको बेलबारी नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्तोष विश्वकर्माले जानकारी दिनुभयो । बेलबारी नगरपालिका–७, डाङ्गी टोलमा बस्दै आउनुभएका वृद्धका छोराबुहारीको खोजी भइरहेको वडाध्यक्ष सुनिता चौधरीले बताउनुभयो ।

समाजवादी मोर्चाद्वारा समीक्षात्मक राजनीतिक दस्तावेज पेस गर्न कार्यदल गठन

काठमाडौँ, १ साउन : समाजवादी मोर्चाले १५ दिनभित्र समीक्षात्मक राजनीतिक दस्तावेज पेस गर्न कार्यदल बनाएको छ । आज नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले १५ दिनभित्र दस्तावेज पेस गर्न कार्यदल बनाएको हो ।

पछिल्ला राजनीतिक घटनाक्रमको समीक्षागरी १५ दिनभित्र प्रतिवेदन बुझाउनेगरी कार्यदल गठन गरिएको समाजवादी मोर्चाका सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले जानकारी दिनुभयो ।

“उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र मोहनविक्रम सिंहको मसाललगायतलाई पनि मोर्चामा आबद्ध गराउन पहल गर्ने निर्णय भएको छ”, उहाँले भन्नुभयो, “प्रगतिशील र कम्युनिष्टसँग छलफल गर्दै मोर्चामा आबद्ध गराउने आफूहरूको योजना रहेको छ ।”

आठबिसकोट बाढी : बगरका स्थानीयलाई सुरक्षित स्थानमा सारियो

त्रिवेणी (रुकुम–पश्चिम), १ साउन : रुकुम–पश्चिमको आठबिसकोट नगरपालिका–१२ झिनचौरका स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको छ । सोमबार राति गिजागाड खोलामा आएको बाढीले झिनचौरस्थित बगरगाउँ पुरिएपछि त्यहाँका स्थानीयलाई सोही वडाकै झिनचौरस्थित कर्णाली वेभरेज प्राली रहेको भवनमा स्थान्तरण गरिएको हो । बगरका करिब १५ घरपरिवारलाई वेभरेज प्राली रहेको भवनमा सारिएको आठबिसकोट नगरपालिका फोकल प्रसन मानबहादुर बटालाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाढी पीडित परिवारलाई तल्कालको लागि नगरपालिकाले खाद्यान्न उपलब्ध गराएको छ भने नेपाल रेडक्रस सोसाइटी रुकुम शाखाले कमल, म्याटलगायतका सामग्री उपलब्ध गराएको बटालाले जानकारी दिनुभयो । सोमबार राति बाढीले बगर गाउँका चारवटा अस्थायी आवास र पाँचवटा कच्ची घर गरेर नौ घर पूर्णरूपमा क्षति पु¥याएको छ । त्यस्तै एउटा कुखुरा फार्म, एउटा काष्ठ उद्योग पनि पुरिएको छ ।

बाढीकै कारण वडा नं ११ सिमबजारका १० र वडा नं ७ खारखाराका दुईवटा गरी १२ घर बाढीको उच्च जोखिमा छन् । सिमबजारका स्थानीय सुरक्षित स्थानमा सर्न थालेको छन् ।

बाढिले चार हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षेति पुर्‍याएको छ । गिजागाड खोलामा रहेका सातवटा पानी घट्ट पनि बगेका छन् । यसैगरी बाढीका कारण नगरपालिकाका विभिन्न स्थानमा विद्युत्, ग्रामीण सडक अवरुद्ध हुनुका साथै खानेपानीका पाइपमा क्षति पुगेकाले स्थानीयलाई समस्या भएको छ ।

झिनचौरखोला, तातापानी खोला र डोेबखोलामा सोमबार राति बाढी आउँदा झिनचौरस्थित बगरगाउँमा अस्थायी आवासमा सुतिरेका बेला बाढीले घर बगाउँदा पुरिएर १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनुषा पुन र चार वर्षीया मनिषा सार्कीको मृत्यु भएको थियो । बेपत्ता हुनुभएका ३७ वर्षीय डिल्लीबहादुर बुढाथोकीको बिहानैदेखि खोजी कार्य भइरहेको छ ।

सिमलताल दुर्घटनाः १७ शव फेला, नौको पहिचान

काठमाडौँ, १ साउनः चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये अहिलेसम्म १७ शव फेला परेका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । सशस्त्र प्रहरी बल नेपालकानुसार तीमध्ये नौ जनाको सनाखत भइसकेको र बाँकी आठ जानाको सनाखत हुन बाँकी छ ।

सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले आजसम्म १७ जनाको शव फेला परेका र बाँकीको खोजीकार्य जारी रहेको जानकारी दिनुभयो । “भारतका ऋषिपल साह, चितवन माडीका विकास परियार, सर्लाहीका रमितकुशर माझी, भारतका जयप्रकाश ठाकुर, भारतकै सजाद अन्सारी, चितवन भरतपुरका सुदीप विक, रौतहटका फिरोज राहुपमिया, बराका परमानन्द पण्डित र चन्द्रनिगापुरका किशोरकुमार चौधरीको सनाखत भएको छ”, उहाँले भन्नुभयो, “यसैगरी अन्य छ जना पुरुष र दुई महिलाको सनाखत हुन बाँकी छ ।”

गत शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ नारायणगढ मुगग्लिङ सडकखण्डको सिमलताल भन्ने स्थानमा वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नं को एञ्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नं को गणपति डिलक्स बस पहिरोले बगाएर त्रिशूली नदीमा खसेको थियो । एञ्जल डिलक्समा ३८ जना र गणपति डिलक्समा २७ जना यात्रु रहेका थिए ।

बसमा सवार रौतहटका नन्दन दास, जुगेश्वर यादव र सरोजकुमार गुप्ता भने हाम फालेर ज्यान जोगाउन सफल हुनुभएको छ ।

अन्नपूर्ण क्षेत्रमा एक वर्षमा दुई लाख २२ हजार पर्यटक

गण्डकी, १ साउन : पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्र भ्रमण गर्न गत आर्थिक वर्ष २०८०/८१ मा दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटक आएका छन् । जसमध्ये एसियाली मुलुकका एक लाख १७ हजार आठ सय ४५ र अन्य मुलुकका एक लाख चार हजार दुई सय ५६ पर्यटक रहेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार सबैभन्दा बढी गत चैतमा ३५ हजार दुई सय ६५ र सबैभन्दा कम साउनमा जम्मा पाँच हजार चार सय एक पर्यटकले सो क्षेत्रको भ्रमण गरेका हुन् ।

आयोजना प्रमुख डा रविन कडरियाले अघिल्लो आव २०७९/०८० को तुलनामा झण्डै ५० हजार बढी पर्यटक गत आवमा आएको बताउनुभयो । सो आवमा दक्षिण एसियाली मुलुकका ८९ हजार सात सय ७७ र अन्य मुलुकका ८२ हजार सात सय ३३ गरी कूल एक लाख ७२ हजार पाँच सय १० पर्यटक अन्नपूर्ण क्षेत्र आएका थिए ।

“कोभिड महामारीका बेला थलिएको यस क्षेत्रको पर्यटन फेरि पुरानै लयमा फर्किएको छ”, आयोजना प्रमुख डा कडरियाले भन्नुभयो, “मुख्य पर्यटकीय याममा यहाँ पदयात्राका लागि पर्यटकको घुइँचो लाग्छ ।” उहाँका अनुसार नेपालमा असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्रा पर्यटनका लागि उत्तम मानिन्छ ।

मुक्तिनाथलगायतका गन्तव्य जाने अधिकांश भारतीय पर्यटकले सडक मार्ग प्रयोग गरेपनि अन्य मुलुकका पर्यटकले पदयात्रा रुचाउने गरेको उहाँले बताउनुभयो । ‘एक्याप’ ले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सडक मार्ग भएर मुस्ताङ, मुस्ताङलगायत जाने आन्तरिक पर्यटकको सङ्ख्या यकिन गर्न नसकिने आयोजना प्रमुख डा कडरियाले बताउनुभयो ।

अन्नपूर्ण चक्रीय पदमार्ग विश्वभरका पर्यटकको रोजाइमा पर्दै आएको उहाँको भनाइ छ । उहाँका अनुसार सन् २०२३ मा एक सय ७३ देशका एक लाख ९१ हजार पाँच सय ५८ पर्यटकले अन्नपूर्ण क्षेत्र भ्रमण गरेका थिए । अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, कास्कीको मर्दी हिमाल, ल्वाङ, घान्द्रुक गाउँ, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिललगायतका गन्तव्यस्थलमा वर्षेनी लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।

सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता, संस्कृति आदि कारणले पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

हिमश्रङ्खलासहितका आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, हावापानी, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि विश्वकै उत्कृष्ट गन्तव्यका रुपमा चिनिएको छ । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायतका मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा गर्न सकिने ‘एक्याप’ ले जनाएको छ ।

बैंकरलाई अर्थमन्त्रीको ढाडस-विश्वास बोकेर फर्किनुस्, सरकार तपाईंहरूसँगै छ


काठमाडौँ, १ साउनः उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजनीतिक अस्थिरताका कारण मुलुकको अर्थतन्त्रमा समस्या देखिएकाले स्थिर सरकार बनेसँगै समस्या समाधान हुँदै जाने बताउनुभएको छ । आज सिंहदबारस्थित अर्थमन्त्रालयमा नेपाल बैंकर्स सङ्घका पदाधिकारीसँगको भेटमा उहाँले हरेक क्षेत्रका समस्या समाधानका लागि सरकारले दृढताका साथ काम गर्ने बताउनुभएको हो ।

अर्थमन्त्री पौडेलले स्थिर सरकार बनेकाले अब सम्पूर्ण ध्यान देशमा रहेका समस्या समाधानमा केन्द्रीत हुने भन्नुहुँदै सोहीअनुसार बजारमा सकारात्मक सन्देश सम्प्रेषण गरिदिन बैंकरहरूसँग आग्रह गर्नुभयो । “अर्थतन्त्र बिग्रनुमा विश्वव्यापी परिघटना र केही आन्तरिक कारण होलान् तर राजनीतिक अस्थिरता प्रमुख कारण हो । हाम्रो शासन प्रणालीअनुसार बन्नसक्ने सबैभन्दा स्थिर सरकार यहि हो”, उहाँले भन्नुभयो, “यो बलियो र टिकाउ सरकार हो, यसले निकास दिन्छ भन्ने सोच राख्नुहोला । तपाईंहरू विश्वास बोकेर फर्किनुस्, सरकारसँगै छ ।”

अहिलेको मुख्य चुनौती आममानिस र निजी क्षेत्रमा परेको निरासा चिर्नु रहेको अर्थमन्त्री पौडेलको भनाइ छ । “अहिलेको चुनौती मनोबल बढाउने नै हो । कसैले पनि व्यवसाय विस्तार गर्नेबारे सोचिरहेको छैनन् । ठूलो लगानी गर्नेभन्दा पनि कसरी चल्ने र साँवाब्याज कसरी तिर्ने भन्नेतर्फ धेरैको सोच छ”, उहाँले भन्नुभयो, “यस्तो अवस्थामा सरकारले हरेक क्षेत्रको अभिभावकत्व ग्रहण गर्छ । अर्थतन्त्रका विभिन्न क्षेत्रमा देखिएका समस्या समाधानका लागि सँगै प्रयास गर्न र प्रत्येक समस्यामा सँगै बसेर छलफल गर्न तयार छु ।” अर्थतन्त्र सुधारका लागि नीतिगत रूपमा गर्नुपर्ने हस्तक्षेपका लागि सरकारले आवश्यक कदम चाल्ने पनि उहाँले स्पष्ट पार्नुभयो ।

बैंक तथा वित्तीय संस्थाले आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट केही सहज व्यवस्था अपेक्षा गरिरहेको अवस्थामा नेपाल राष्ट्र बैंकले सुझबुझपूर्ण तरिकाले मौद्रिक नीति ल्याउने विश्वास पनि अर्थमन्त्री पौडेलको छ । “राष्ट्र बैंक स्वायत्त संस्था हो, म उसको क्षेत्राधिकारमा हस्तक्षेप गर्न हुँदैन भन्ने विश्वास राख्छु तर राष्ट्र बैंकले तपाईंहरूका जायज माग सम्बोधन गर्नेछ भन्ने नै लाग्छ”, उहाँको भनाइ थियो ।

बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्ने भनेर विभिन्न अभियान चलाइनु गैरकानुनी क्रियाकलाप रहेको स्पष्ट पार्नुहुँदै अर्थमन्त्री पौडेलले बैंकका कर्मचारीको शान्ति सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको समेत बताउनुभयो । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) संशोधन गर्ने विधेयक प्रतिनिधिसभाबाट समितिमा दफावार छलफलका लागि गएको र त्यसलाई चाँडै विवादरहित कानुनका रूपमा ल्याइने उहाँले विश्वास दिलाउनुभयो ।

अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीले सरकारबाट भुक्तानी पाउन बाँकी रहेको भन्ने विषयमा पनि आफूले अध्ययन गरिरहेको र चाँडै नै आवश्यक निर्णय लिइने बताउनुभयो । निर्माण व्यवसायीले पाउनुपर्ने भुक्तानीबारे बाहिर एकथरी तथ्याङ्क प्रचार भएको र त्यसको वास्तविक तथ्याङ्क फरक रहेको पनि उहाँले उल्लेख गर्नुभयो । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लगानी हुन नसक्नु र खराब कर्जा बढ्नु चिन्ताको विषय रहेको अर्थमन्त्री पौडेलले धारणा राख्नुभयो ।

अर्थमन्त्रीसँगको भेटका क्रममा नेपाल बैंकर्स सङ्घका अध्यक्ष सुनिल केसीले अहिले बैंकिङ क्षेत्र अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको बताउनुहुँदै सरकारबाट समस्या समाधानका लागि उचित पहल हुनेमा आफूहरू आशावादी रहेको बताउनुभयो । “बैंकिङ क्षेत्र अप्ठ्यारोमा छ । केहीले सडकबाट ऋण तिर्दिन भन्न थालेका छन् । बैंकको नाफा घटेर करिब आठ प्रतिशत हाराहारीमा खुम्चिएको छ । बाफिया विधेयकमा भएका व्यवस्थाले संस्थागत लगानीकर्ता पनि उत्साहित छैनन्”, उहाँले भन्नुभयो, “खराब कर्जा बढेको छ । बैंक वित्तीय संस्थासँग करिब रु छ खर्ब बराबर तरलता छ तर लगानी गर्नसक्ने अवस्था छैन । बैंकको मनोबल निकै घटेको छ ।” बैंकहरूले महँगो ब्याजदरमा निक्षेप उठाएर सस्तोदरमा राष्ट्र बैंकमा थुपार्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने रकम भुक्तानी भएको अवस्थामा र विभिन्न क्षेत्रका दिइएको अनुदानको रकम सरकारले भुक्तानी गरेमा बैंकिङ क्षेत्रलाई सहज हुने उहाँले बताउनुभयो ।

नेपाल बैंकर्स सङ्घका पूर्वअध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले बैंक तथा वित्तीय संस्थाको पुँजीकोष व्यवस्थापनमा समस्या देखिएको बताउनुभयो । पुँजी कोषसम्बन्धी व्यवस्थालाई सहज बनाउन जोखिमभार घटाउनुपर्ने र केही लचिलो बनाउनुपर्ने उहाँको सुझाव छ । बैंक हकप्रद शेयर जारी गर्नसक्ने अवस्थामा नरहेको पनि उहाँले उल्लेख गर्नुभयो । बाफिया विधेयकमा राखिएका व्यवस्था संशोधन नभईकनै पारित भएर आएमा त्यसले थप समस्या पर्ने उहाँले बताउनुभयो ।

चार वर्षभित्र पूर्ण कर परीक्षण (फुल अडिट) गर्ने विद्यमान व्यवस्थालाई संशोधन गरेर हरेक वर्ष ‘फुल अडिट’ गर्नुपर्ने व्यवस्था ल्याइनुपर्ने, समयमा करारोपण हुनुपर्ने, राजस्व न्यायाधीकरण र सर्वोच्च अदालतमा रहेका मुद्दा फिर्ता लिन चाहेमा सरकारले त्यसका लागि केही छुटको व्यवस्था गर्नुपर्ने, विद्युतीय भुक्तानी गर्दा १० प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता गर्ने प्रावधानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, धितोपत्र बोर्डको अध्यक्ष चाँडो नियुक्त गर्नुपर्ने, विभिन्न खालका विकास बण्ड तथा अन्तर्राष्ट्रिय बण्डलाई प्रोत्साहनको नीति लिनुपर्ने, आयकरको दर घटाउनुपर्नेलगायत सुझाव बैंकरहरूले दिएका छन् ।

साउने सङ्क्रान्तिमा हरेक वर्ष भक्तजनको घुइँचो लाग्ने देवघाटधाम आज सुनसान


नारायणगढ (चितवन), १ साउन : साउने सङ्क्रान्तिमा हरेक वर्ष भक्तजनको घुइँचो लाग्ने देवघाटधाम आज सुनसान देखिएको छ । संक्रान्तिका दिन बिहानैदेखि भक्तजन आएर यहाँ स्नान गर्ने, पवित्र जल चढाउने र शिवको आराधना गर्ने प्रचलन छ । नारायणी नदीमा आएको बाढी र केही दिनअघि सिमलतालमा भएको बस दुर्घटनाका कारण आज साउने संक्रान्तिका दिन देवघाटमा भक्तजनहरुको उपस्थिती न्यून भएको यहाँ आएका भक्तजन एवं स्थानीयहरु बताउँछन् ।

भरतपुर महानगरपालिका–७ बाट देवघाटमा सङ्क्रान्ति स्नान गर्न आउनुभएका मोहिनीप्रसाद खनालले हरेक वर्षको साउने सङ्क्रान्तिमा भीडभाड लाग्ने देवघाटधाम यसपटक सुनसान देखिएको बताउनुभयो । उहाँले आज यहाँ भीडभाड नदेखिनुको कारण मानिसमा बाढीपहिरोको डर एवं हालै भएको सिमलताल पहिरोको भय हुनसक्ने आँकलन गर्नुभयो ।

उहाँले पहिरोमा परेकाको नदीमा शव भेटिँदा यहाँ आउन भक्तजन डराएको बताउनुभयो । उहाँले भन्नुभयो, “यत्रा मान्छेहरु नुहाउन आउने ठाउँमा आज सुनसान छ, धाम अँध्यारो भएको छ ।”

लमजुङ घर भई हाल देवघाटमा बस्दै आउनुभएका सूर्यकान्त शर्माले यसपालिको सङ्क्रान्तिमा देवघाट शून्य भएको बताउनुभयो । उहाँले अघिल्ला वर्षको सङ्क्रान्तिमा घुइँचो लाग्ने यहाँ आज फाट्टफुट्ट मात्र भक्तजन आएको जानकारी दिनुभयो ।

धादिङ घर भई चितवन बसोबास गर्दै आउनुभएका गोविन्दप्रसाद तिमिल्सिनाले आफू देवघाटमा प्रायःसधैँजसो आउने गरेको तर लगातारको बाढीपहिरो र सिमलताल घटना भएयता यहाँ आउने भक्तजन शून्य जस्तै भएको बताउनुभयो ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले गत वर्षको भन्दा यसपटक देवघाटमा भक्तजनको उपस्थिति न्यून रहेको जानकारी दिनुभयो । यसवर्ष साउनमा कुनै बोलबम मेला नराखेको भए पनि आगामी सोमबारबाट भक्तजन स्वत स्फूर्त रुपमा आउनसक्ने उहाँको अनुमान छ । उहाँले यहाँ आएका भक्तजनलाई देवघाट क्षेत्र विकास समितिले सहजीकरण गर्दै आएको बताउनुभयो ।

घान्द्रुक र सिक्लेसको पोखरासँग यातायात सम्पर्क विच्छेद

कास्की, १ साउन : यहाँको प्रमुख ग्रामीण पर्यटकीय गन्तव्य सिक्लेस र घान्द्रुकको पोखरासँग सिधा यातायात सम्पर्क विच्छेद भएको छ ।

अन्नपूर्ण गाउँपालिका-११ स्थित घान्द्रुक र मादी गाउँपालिका-१ सिक्लेस जाने सडकमा पहिरो जाँदा सडक सम्पर्क विच्छेद भएको हो । सडक सञ्चालन हुन नसक्दा गाउँमा पर्यटकीय गतिविधि प्रभावित बनेको छ ।

पोखरा–घान्द्रुक सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका-१० को क्लियूमा गत असार २० गते रातिको पहिराले सडक बगाउँदा पोखरादेखि घान्द्रुकसम्मको यातायात सम्पर्क टुटेको थियो । घान्द्रुकका पर्यटन व्यवसायी किशम गुरुङले सडक अवरुद्ध हुँदा पर्यटक आवतजावत रोकिएको बताउनुभयो ।

“पहिला वर्खायाममा पनि पर्यटक आउनुहुन्थ्यो तर अहिले बाटोका कारण सुनसान छ । बाटोको अवस्था बुझेपछि आउन चाहने पर्यटकले यात्रा रद्द गर्नुभएको छ । पर्यटकलाई मात्र होइन, गाउँलेलाई पनि आवतजावतमा समस्या भएको छ”, गुरुङले भन्नुभयो ।

घान्द्रुक विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर पदयात्राको प्रवेशद्वार हो । पर्यटकीय मौसममा घान्द्रुक हुँदै दैनिक सयौँ पर्यटक अन्नपूर्ण आधार शिविर जाने गर्दछन् । गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङका अनुसार पहिरोले ५० मिटर तलदेखि सडक बगाएको छ । सडक मर्मतका लागि विस्तृत प्राविधिक अध्ययन आवश्यक रहेको उहाँले बताउनुभयो ।

“सडक धेरै तलदेखि खसेको छ, माथि नयाँ ट्रयाक खोल्ने ठाउँ छैन । सडक खुलाउन अप्ठ्यारो भएको छ”, प्रवक्ता गुरुङले भन्नुभयो । गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीसहित पालिकाको प्राविधिक टोली र प्रदेशको पूर्वाधार विकास कार्यालय प्रमुख शोभियत ख्डकाको टोलीले पहिरो गएको स्थानको निरीक्षण गर्नुभएको छ । वर्षा निरन्तर भइरहेको र पालिकाको स्रोतले बाटो खुलाउन सक्ने अवस्था नरहेको उहाँले जानकारी दिनुभयो ।

सिक्लेसलाई पोखरासँग जोड्ने प्रमुख सडक काहुँखोला-सिक्लेस-दुधपोखरी सडकका विभिन्न स्थानमा केही दिनयता पहिरो खसेकाले सडक अवरुद्ध छ । सो सडकखण्डको मादी-७ हात्तीगौँडा, मादी-६ केराबारी, मादी-१ चिप्ली र खिलाङको बीच तथा पधुखोला नजिक पहिरो खसेको छ ।

मादी-१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले सडक अवरुद्ध हुँदा ग्रामीण जनजीवन प्रभावित भएको बताउनुभयो । वडा कार्यालय तथा स्थानीयवासी मिलेर सडकको पहिरो पन्छाउने गरे पनि केही दिनमै पुनःपहिरो खस्दा यातायात सञ्चालन गर्न नसकिएको उहाँको भनाइ छ । गुरुङले भन्नुभयो, “पोखरादेखि सिक्लेससम्म आइपुग्दा चार वटा सवारी परिर्वतन गर्नुपर्ने बाध्यता छ ।”

बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना


काठमाडौँ, १ साउन : जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान गर्दै बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले आज साँझको मौसमी बुलेटिन प्रकाशित गर्दै सतर्कता अपनाउनसमेत आग्रह गरेको छ ।

महाशाखाका मौसमविद् गोविन्द झाले बुधबार बिहानसम्म बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढीपहिरोको जोखिम बढ्नसक्ने बताउनुभयो । “मुलुकको अधिकांश स्थानमा निरन्तर वर्षा भइरहेको छ, जमिनको माटो गलिसकेको हुन सक्छ, भारी वर्षा भएमा चनाखो हुनुपर्छ”, उहाँले भन्नुभयो, “अहिले पनि बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भइरहेको छ ।”

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ छ । “आगामी २४ घण्टामा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ”, बुलेटिनमा भनिएको छ, “बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढीपहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।”

आज देशभर आंशिकदेखि साधारणतया बदली रही गण्डकी प्रदेशका थोरै स्थानमा तथा बागमती, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बुधबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । बुधबार राति भने देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी गराएको छ ।

बिहीबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

एघार दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएन

ढोरपाटन (बागलुङ), १ साउनः एघार दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै सञ्चालनमा आउन सकेको छैन । गत असार २१ गतेको भारी वर्षाका कारण सडक माथिदेखि खसेको पहिरोले सडक अवरुद्ध भएको थियो । करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकको बीच भागबाटै भासिएपछि बागलुङ सदरमुकामसँग यातायात सम्पर्क विच्छेद भएको छ ।

सडक मर्मतका लागि मेसिन र कामदार खटाए पनि वर्षाका कारण सडक माथिदेखि निरन्तर पहिरो खस्दा सञ्चालन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो ।

पहिरोले बगाएको सडकमा ग्याविनसहितको पर्खाल उठाउनुपर्ने भएकोले सञ्चालन गर्न समय लाग्ने उहाँले बताउनुभयो । करिडोरबाहेक जिल्लाका अन्य सडक सञ्चालनमा रहेको यादवले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सामान्य वर्षा हुँदा पनि माथिदेखि पहिरो खसिहाल्छ, एक साता अगाडि सञ्चालन ल्याउन कोशिस गरेको हो, केहीबेर गाडी चले पनि फेरि वर्षा भएपछि सडक बीच बाटै बगेको छ, सवारी आवतजावत गर्न समस्या छ ।”

सडक सञ्चालनमा नआउँदा दक्षिण बागलुङसहित करिडोर हुँदै यात्रा गर्ने यात्रुले सास्ती खेप्नुपरेको छ । दक्षिण बागलुङका नागरिक पर्वतको कुश्मा हुँदै यात्रा गर्न बाध्य छन् ।

महान्याधिवक्ता पोखरेलको कार्यकालमा भए यस्ता काम

काठमाडौँ, १ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै महान्याधिवक्ता डा दीनमणि पोखरेलले राजीनामा दिनुभएको छ । निर्वमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का कानुनी सल्लाहकार डा पोखरेलले आजै प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत राष्ट्रपतिसमक्ष दिनुभएको राजीनामा स्वीकृत भइसकेको छ ।

महान्याधिवक्ता प्रधानमन्त्रीको कानुनी सल्लाहकारका रूपमा रहने संवैधानिक व्यवस्था छ । त्यसैले प्रधानमन्त्रीले अनुकूल हुनेगरी महान्याधिवक्ता नियुक्त गर्ने र सरकार परिवर्तन भएमा पदबाट राजीनामा दिने परम्परा छ ।

सोहीअनुसार निवर्तमान प्रधानमन्त्री दाहालले विसं २०७९ पुस १३ गते डा पोखरेलाई महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको थियो । अर्को सरकार बनेपछि आज उहाँले पदबाट राजीनामा दिनुभयो । डा पोखरेले एक वर्ष छ महिना १७ दिनमा महान्याधिवक्तका रूपमा काम गर्नुभयो । यस अवधिमा सरकारी वकिलको सेवा शर्तसम्बन्धी कानुनको मस्यौदा तयार गरिएको, सजायमा छुट दिने मागदाबीसम्बन्धी निर्देशिका कार्यान्वयनमा ल्याइएको छ । अनुसन्धान तथा अभियोजनसम्बन्धी निर्देशिका, कसुरसम्बन्धी मुद्दाको अनुसन्धान एवं अभियोजनसम्बन्धी काम कारबाहीलाई सरल, स्पष्ट र सुव्यवस्थित गर्न महान्याधिवक्ताको राय लिइ नेपाल सरकारले निर्देशिका बनाई लागू गर्नसक्ने कानुनी व्यवस्था छ ।

यस्तै आत्महत्या एवं प्रतिवादी नहुने प्रकृतिका अन्य ज्यान मुद्दा, वारदातबाट कसुर भएको देखिएको तर प्रतिवादी खुल्न नआएका अन्य मुद्दा र प्रतिवादी खुलेको भए पनि निजको मृत्यु भइसकेको मुद्दामा मुद्दा नचलाउने अन्तिम निर्णय जिल्ला सरकारी वकिल कार्यालयको प्रमुख वा सो हैसियतमा काम गर्ने सरकारी वकिलले गर्ने उहाँको कार्यकालमा व्यवस्था भएको छ । दण्डका सुधारात्मक उपायको कार्यान्वयन गर्न प्रोवेशन तथा प्यारोलसम्बन्धी नीति, २०८० तर्जुमागरी स्वीकृतिका लागि नेपाल सरकारसमक्ष सिफारिस गरिएको छ भने कैदीलाई प्रोवेशन तथा प्यारोलमा राख्ने मापदण्ड तथा प्रोवेशन तथा प्यारोलमा छुट्ने कसुरदारले पालना गर्नुपर्ने शर्त २०८० कात्तिक १ गतेदेखि लागू भइसकेको छ । मापदण्ड कार्यान्वयन मार्गदर्शन हुनेगरी फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ४९ बमोजिम प्यारोल अधिकृतको नियुक्ति नभएसम्मका लागि सम्बन्धित कारागार प्रशासकलाई प्रोवेशन अधिकारी तोकेको हुने व्यवस्थालगायत काम डा पोखरेलको कार्यकालमा भएका छन् ।

अमेरिकामा चारजनामा बर्डफ्लुको सङ्क्रमण पुष्टि

कोलोराडो राज्यमा चारजनामा एभियन इन्फ्लुएन्जा बर्ड फ्लू सङ्क्रमण फेला परेको रोग नियन्त्रण र रोकथामका लागि अमेरिकी केन्द्र (सीडीसी) ले पुष्टि गरेको छ । सङ्क्रमित चारै जना एक व्यावसायिक कुखुरा फार्ममा काम गर्ने मजदुरहरू रहेको पनि सीडीसीले जनाएको छ ।

यी कामदारहरू सङ्क्रमित कुखुराको सम्पर्कमा आएपछि लक्षणहरू रिपोर्ट गरिएको थियो । यसमा आँखाबाट आँसु आउने, ज्वरो, चिसो, खोकी, घाँटी दुख्ने र रुघा लाग्ने लक्षण देखिने गर्छन् ।

सन् २०२२ पछि कुखुरा फार्ममा काम गर्ने कामदारहरूमा बर्ड फ्लू सङ्क्रमणको यो पहिलो घटना हो । कोलोराडो कुखुरा फार्ममा काम गर्नेहरूमा एच–५ को पहिलो केस रिपोर्ट गरिएको सीडीसीले उल्लेख गरेको छ । बर्ड फ्लूको प्रकोपले अमेरिकाका ४८ राज्यहरूमा जुलाई १२ सम्म प्रभावित गरेको सीडीसीले जनाएको छ ।

सिमलताल दुर्घटनामा बेपत्ताको खोजीमा तीन सय सशस्त्र प्रहरी परिचालित

काठमाडौँ  ।  चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरामा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई वटा बसका यात्रीको खोजी गर्न तीन सय एक सशस्त्र प्रहरी परिचालित भएका छन्।

घटनास्थल सिमलतालदेखि गण्डक ब्यारेजसम्मको करिब एक सय ३२ किलोमिटर क्षेत्रमा उक्त सङ्ख्यामा जनशक्ति परिचालित भएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

दुर्घटनास्थल वरिपरि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुनिरटारबाट सशस्त्र प्रहरी उपरीक्षकको कमाण्डमा ११ जना गोताखोरसहित ८६ जनाको सुरक्षा फौज, दुईवटा मोटरबोट र सातवटा र्‍याफ्टबोट परिचालन गरिएका छन्।

यस्तै, सशस्त्र प्रहरी बल नेपाल नं १७ गण चितवनबाट सशस्त्र प्रहरी उपरीक्षकको कमाण्डमा एक सय १५ जनाको सुरक्षा फौज विभिन्न १५ वटा टोली बनाएर घटनास्थल, देवघाटदेखि शिवघाटसम्म, शिवघाटदेखि सिसवारसम्म, सिसवारदेखि गोलघाटसम्म खटाइएको छ।

सोही गणबाट खटिएको फौज सिसवारदेखि गोलाघाटसम्म, आँपटारी, रामनगर, जुगेडी, गाईघाट, देवघाट, पुल्चोक, शिवघाट, गाजीपुर, सिसवार, गोलाघाटलगायतका ठाउँहरूमा परिचालित भएका सहप्रवक्ता थापाले जानकारी दिए।

सशस्त्र प्रहरी नं २६ गण पश्चिम नवलपरासीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ६० जनाको सुरक्षा फौज गण्डक व्यारेज इलाकामा खटाइएको छ। सशस्त्र प्रहरी नं ३१ गुल्म पूर्वी नवलपरासीबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जनाको सुरक्षा फौज गैँडाकोट नगरपालिका–१० को इलाकामा परिचालित भएका छन्।

सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट त्रिवेणीबाट प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको टोली गण्डक ब्यारेज इलाका, सुरक्षा वेश चोरमाराबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जनाको टोली पूूर्वी नवलपरासी जिल्लाको मध्यविन्दु नगरपालिका–३ भुटाहा इलाका र सुरक्षा वेश प्रगतिनगरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जनाको टोली देवचुली नगरपालिका–१५ खर्कटा इलाकामा खटाइएको छ।

वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बर र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस गत असार २८ गते बिहान त्रिशूली नदीमा बेपत्ता भएका थिए। ती बसमा ६५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ।

हालसम्म फेला परेका १५ वटा शव फेला परेको छ। सोमध्ये नौ वटाको सनाखत भएको छ भने बाँकीको सनाखत हुन सकेको छैन।

उजुरी अध्ययन र छानबिन गरी निर्णयसहितको प्रस्ताव पेस गर्न लेखा समितिले बनायो पाँच सदस्यीय उपसमिति

काठमाडौँ ।  संसदको सार्वजनिक लेखा समितिले प्राप्त उजुरी अध्ययन र छानबिन गरी निर्णयसहितको प्रस्ताव पेस गर्न सभापति ऋषिकेश पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको छ । उपसमितिका सदस्यमा राजेन्द्रकुमार केसी, योगेशकुमार भट्टराई, अमनलाल मोदी र मनिष झा छन् । 


समितिको वर्तमान कार्यकाल सुरू भएयता ६६ वटा विभिन्न विषयमा उजुरी परेका छन् । उजुरीमध्ये टेरामक्स प्रविधि, लुम्बिनी विकास कोष, एनसेल शेयर खरिद बिक्री र बीमा कम्पनीको प्रिमियम शेयर जारीलगायतका विषयमा भने छलफल भइसकेको छ ।


अन्य उजुरीका सम्बन्धमा सम्बन्धित मन्त्रालय तथा निकायमा जवाफ माग गरिएकामा केहीको जवाफ प्राप्त भए पनि कतिपयको जवाफ प्राप्त नभएको समितिले जनाएको छ ।


समितिको  बैठकले बेरुजुसम्बन्धी धारणामा एकरुपता कायम गर्न समिति, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा सातै प्रदेशका लेखासमिति सभापति, महालेखापरीक्षक, अर्थमन्त्रालय, महानगरपालिकाका प्रतिनिधिको सहभागितामा अन्तरक्रियात्मक कार्यक्रम गर्ने निर्णय गरेको छ ।


यस्तै, देशका विभिन्न स्थानमा वर्षासँगै आएको बाढीपहिरो, चट्याङजस्ता विपत्तिमा परेकालाई यथाशीघ्र उद्धारगरी उचित बसोबासको व्यवस्थासहित राहत सामग्री उपलब्ध गराउन सरकारसँग माग गरिएको छ ।


बैठकमा केही सदस्यले समितिमा आएका उजुरीको छानबिन, दिइएका निर्देशन कार्यान्वयन, सोधिएका प्रश्नको जवाफ, अन्तरविधायिकी भेला, समितिको काम र कार्य जिम्मेवारीको समीक्षा गरिनुपर्ने माग गरे ।


केहीले भने मुलुकमा सत्तासमीकरण परिवर्तन भएसँगै प्रतिपक्षको भागमा परेको सार्वजनिक लेखासमितिको सभापति परिवर्तन हुनु आवश्यक रहेको, बैठकलाई कार्यतालिकाका आधारमा सञ्चालनगरी नतिजामुखी तुल्याउन समिति सभापतिलाई सुझाव दिए । 


बेरुजु फछ्र्याैटलाई औचित्य र कानुनसम्मत तुल्याउन आवश्यक रहेको बताउँदै उहाँहरूले राज्यका निकायमा अनियमिता र भ्रष्टाचार बढेकाले समितिले त्यस कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याउन अडान लिनुपर्ने सुझाव दिए।


आर्थिक अनुशासन र अराजकताको अवस्था अन्त्य गर्न समितिले राज्यलाई सहयोग पुर्याउनुपर्नेमा जोड दिँदै केही सदस्यले सुशासन प्रवर्द्धन गर्ने सन्दर्भमा समितिले दिएका निर्देशन पालना नगर्नु संसद्प्रतिको अपमान भएको तर्क गरे । उनीहरूले सरकारलाई जनताप्रति उत्तरदायी र जवाफदेही बनाउन दिइएका सुझाव र निर्देशन पालन गरिनुपर्नेमा जोड दिए ।

जग्गा कारोबार बढेसँगै भद्रपुर मालपोतमा राजस्व वृद्धि

भद्रपुर (झापा), १ साउन : भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८०/८१ मा रु ८० करोड ५८ लाख १४ हजार पाँच सय ९२ राजश्व सङ्कलन गरेको छ । ३६ हजार आठ सय ७५ थान रजिष्ट्रेशन पारितबाट उक्त आम्दानी भएको हो ।

आव २०८०/८१ मा स्थानीय तहले जग्गा वर्गीकरण गरी कित्ताकाट सुरु भएसँगै जग्गाको कारोबार बढेकाले राजस्व बढेको मालपोत कार्यालयका सूचना अधिकारी राजु दाहालले बताउनुभयो । “गत आव २०७९/८० कोे तुलनामा रु २२ करोड १२ लाख ६९ हजार एक सय ९९ ले राजस्व वृद्धि भएको छ”, उहाँले भन्नुभयो । गत आवमा रु ५८ करोड ४५ लाख ४५ हजार तीन सय ९३ राजस्व सङ्कलन भएको थियो ।

आर्थिक वर्ष २०८०/८१ मा सेवा करवापत रु सात करोड ५१ लाख ३९ हजार चार सय ७६, रजिष्ट्रेशन दस्तुरबाट रु ४७ करोड ३० लाख ३० हजार पाँच सय ५४, छुटवापत रु छ करोड २७ लाख ८७ हजार छ सय १२, डोर सुविधा शुल्क रु एक लाख ८९ हजार, पुँजीगत लाभकर रु ३२ करोड एक लाख २५ हजार दुई सय ६७ र विलम्ब शुल्कवापत रु एक लाख १७ हजार नौ सय छ राजस्व सङ्कलन गरिएको उहाँले जानकारी दिनुभयो ।

रुवाण्डामा कागामे ९९ प्रतिशत मतसहित चौथो कार्यकालका लागि निर्वाचित

रुवाण्डाका राष्ट्रपति पल कागामे चौथो कार्यकालका लागि चुनावमा ९९।१५ प्रतिशत मतसहित निर्वाचित हुनु भएको छ । जहाँ दुई प्रतिद्वन्द्वीलाई मात्र चुनाव लड्न अनुमति दिइएको थियो ।

मतदान बन्द भएको सात घण्टा पछि निर्वाचन आयोगले जारी गरेको आंशिक नतिजामा कागामेले ९९।१५ प्रतिशत मत प्राप्त गरेको देखाएको छ । जुन सात वर्ष अघिको मतदानमा उहाँले पाएको ९८।७९ प्रतिशत भन्दा पनि बढी हो ।

डेमोक्र्याटिक ग्रिन पार्टीका उम्मेदवार फ्रान्क हाबिनेजाले ०।५३ प्रतिशत र स्वतन्त्र फिलिप मपाइमानाले ०।३२ प्रतिशत मत प्राप्त गर्नु भएको छ ।

सत्तारूढ रुवान्डन प्याट्रियोटिक फ्रन्ट ९आरपीएफ० को मुख्यालयबाट सम्बोधन गर्दै उहाँले आफूलाई थप पाँच वर्ष कार्यकाल दिएकोमा रुवान्डालीलाई धन्यवाद दिनु भयो ।

प्रस्तुत नतिजाले केवल तथ्याङ्क मात्र नभई सत प्रतिशत विश्वास भएको बताउदै उहाँले सबै मिलेर सबै समस्याहरू समाधान गर्न सक्ने उल्लेख गर्नु भयो ।

पूर्ण परिणाम जुलाई –२० सम्म र निश्चित परिणाम जुलाई –२७ सम्ममा आउनेछ ।

रुवाण्डालीका लागि निर्वाचन प्रक्रिया सुरक्षित र पारदर्शी वातावरणमा भएको राष्ट्रिय निर्वाचन आयोगले विज्ञप्तिमा जनाएको छ ।

९० लाख भन्दा बढी रुवान्डालीमा–लगभग २० लाखले पहिलो पटक मतपत्र दर्ता भएको राष्ट्रपति पदको दौड पहिलो पटक विधायी चुनावको साथ एकै समयमा आयोजना गरिएको थियो ।
कागामेले सन् २००३, २०१० र २०१७ मा ९३ प्रतिशतभन्दा बढी मत प्राप्त गरी चुनाव जित्नु भएको थियो ।

प्रतिबन्धित रुवान्डाको अदालतले प्रमुख विपक्षी व्यक्तित्वहरू बर्नार्ड नटागान्डा र भिक्टोइर इन्गाबायरको अपिललाई अस्वीकार गरेको थियो । जसले उनीहरूलाई सोमबारको मतदानबाट अयोग्य ठहर गरी सजायहरू हटाउन आग्रह गरेको थियो ।

निर्वाचन आयोगले डायने र्विगारालाई पनि कागजी कार्यको मुद्दालाई उद्धृत गर्दै प्रतिबन्ध लगाई दोस्रो पटक दौडबाट बाहिर राखेको थियो ।

मतदान अघि, एम्नेस्टी इन्टरनेसनलले रुवान्डाको राजनीतिक विपक्षले “गम्भीर प्रतिबन्धहरू। साथै धम्कीहरू, मनमानी नजरबन्द, अभियोजन, हत्या र जबरजस्ती बेपत्ता“ भएको जनाएको छ ।

अल्पसङ्ख्यकलाई लक्षित गरी सय दिनको रक्तपात फैलाउने इच्टा चरमपन्थीलाई बाहिर निकाल्दै किगालीमा मार्च गर्दा कागामेको आरपीएफ मिलिसियालाई सन् १९९४ को नरसंहार अन्त्य गरेकोमा प्रशंसा गरिएको छ ।

संसदीय चुनावमा ५८९ उम्मेदवार ८० मा सिटको लागि लडेका थिए जसमा ५३ जना विश्वव्यापी मताधिकारद्वारा निर्वाचित भएका थिए ।

विधानसभामा आरपिएफले ४० र यसका सहयोगीहरूले ११ सिट जितेका थिए भने हाबिनेजाको पार्टीले दुई सिट जितेको थियो ।

थप २७ वटा स्थानमा महिला, युवा र अपाङ्गता भएका व्यक्तिहरूका लागि आरक्षित छन् ।

बिग्रिएको सम्बन्ध पुनःस्थापना गर्न ईयू र बेलायतबिच वार्ता

बेलायतमा नयाँ सरकार गठन भएसँगै ब्रेक्जिटपछि खस्किएको युरोपेली सङ्घ (ईयू) र बेलायतबीच सम्बन्ध पुनःस्थापना गर्ने उदेश्यले दुई पक्षका शीर्ष अधिकारीहरूले सोमबार ब्रसेल्समा पहिलोपटक वार्ता गरेका छन् ।

बेलायतका नवनिर्वाचित प्रधानमन्त्री केइर स्टारमरले युरोपेली सङ्घसँगको वर्षौंदेखि विवादित रहेको सम्बन्धलाई सुधार्ने वाचा गर्नुभएको छ । यसै सन्दर्भमा ईयू सम्बन्धका लागी बेलायतका मन्त्री निक थोमस–साइमन्ड्सले ईयूका मारोस सेफकोभिकसँग वार्ता गर्नुभएको हो । “हामीले सम्बन्ध पुनस्थापना गर्ने कुरा गर्दा सुरक्षित र अधिक समृद्ध युरोप सिर्जना गर्न सुरक्षा र आर्थिक सहयोगलाई सुदृढ पार्ने बारेमा छलफल गर्यौं ”, थोमस–साइमन्ड्सले समाजिक सञ्जाल एक्समार्फत बताउनुभयो ।

सेफकोभिकले बैठकलाई रचनात्मक भएको बताउनुभयो । “हाम्रो सहकार्यको लागि तत्पर छौँ”, उहाँले भन्नुभयो । बेलायतका नयाँ प्रधानमन्त्रीले युरोपेली सङ्घसँगको व्यापार द्वन्द्व कम गर्ने वाचा गर्नुभएको छ । तर आफ्नो सरकारले ब्रेक्सिटलाई नउल्टाउने र युरोपेली एकल बजारको हिस्सा नबन्ने कुरामा अडिग रहेको जानकारी दिनुभयो । युरोपियन सङ्घले सम्बन्ध सुधारको उदेश्यले लन्डनबाट आएको प्रस्तावमा विचार गर्न इच्छुक रहेको बताएको छ । साथै बेलायतलाई सङ्घबाट बाहिर निस्कन कठिन ढङ्गले भएको वार्ताका सम्झौताहरू पुनः खोल्न इच्छुक नरहेको जनाएको छ । प्रधानमन्त्री स्टारमरले बिहीबार बेलायतको ब्लेनहेम प्यालेसमा हुने बैठकमा युरोपभरका नेताहरूलाई आमन्त्रित गर्नुभएको छ । उक्त सम्मेलनले नयाँ प्रधानमन्त्रीलाई युरोपेली सङ्घका समकक्षीहरूसँग आफ्ना विचारहरू प्रस्तुत गर्ने प्रमुख मञ्च प्रदान गर्नेछ ।

छिमेकी देशका सरकारप्रमुखद्धारा प्रधानमन्त्री ओलीलाई बधाई

काठमाडौँ, १ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीलाई छिमेकी देशका सरकारप्रमुखले बधाई तथा शुभकामना व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री ओलीलाई अहिलेसम्म भारत, भुटान र पाकिस्तानका सरकार प्रमुखले बधाई तथा शुभकामना व्यक्त गर्नु भएको छ ।

समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले बधाई तथा शुभकामना दिनुभएको नेकपा (एमाले) का विदेश विभाग प्रमुख डा राजन भट्टराईले जानकारी दिनुभयो ।

उहाँहरूले प्रधानमन्त्री ओलीको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपाल र आफ्नो देशबीचको सम्बन्ध अझ बढ्ने विश्वास व्यक्त गर्नु भएको छ ।

ओमानमा तटीय क्षेत्रमा तेल ट्याङ्कर पल्टिँदा चालक दलका १६ सदस्य बेपत्ता

कोमोरियन–ध्वजासहितको एक तेल ट्याङ्कर सोमबार ओमान नजिक पल्टिँदा बेपत्ता भएका चालक दलका १६ सदस्यको खोजी जारी रहेको सल्तनतको सामुद्रिक सुरक्षा केन्द्र (एमएससी) ले बताएको छ ।

ओमानको रक्षा मन्त्रालयद्वारा सञ्चालित एमएससीले जहाज पल्टिनुको कारण बताएको छैन । सामाजिक सञ्जाल एक्समा गरिएको एक पोस्टमा भनिएको छ, “एउटा कोमोरोस ध्वजाङ्कित तेल ट्याङ्कर सोमबार रास मद्रकाहबाट २५ माइल दक्षिणपूर्वमा डुक्मको बन्दरगाह सहर नजिकै पल्टियो ।”

धेरै विवरण उल्लेख नगरी पोस्टमा खोज र उद्धार कार्यहरू सम्बन्धित अधिकारीहरूबाट सुरु गरिएको बताइएको छ । 
मङ्गलबारको विज्ञप्तिमा एमएससीले जहाजको पहिचान प्रेस्टिज फाल्कनका रूपमा पहिचान गर्दै जहाजमा १३ भारतीय र तीन श्रीलङ्कालीसहित १६ जना चालक दलका सदस्य रहेको बताएको छ । “जहाजका चालक दल सदस्यहरू अझै बेपत्ता छन्, खोजी जारी छ”, विज्ञप्तिमा भनिएको छ ।   सिपिङ वेबसाइट Marinetraffic.com का अनुसार जहाज यमनी बन्दरगाह सहर अदनतर्फ गइरहेको थियो । 

सिमताल दुर्घटना : बेपत्ता बसको खोजीमा ३ सय सशस्त्र प्रहरी परिचालित

काठमाडौँ, १ साउन : चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरामा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई वटा बसका यात्रीको खोजी गर्न तीन सय एक सशस्त्र प्रहरी परिचालित भएका छन् ।

घटनास्थल सिमलतालदेखि गण्डक ब्यारेजसम्मको करिब एक सय ३२ किलोमिटर क्षेत्रमा उक्त सङ्ख्यामा जनशक्ति परिचालित भएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । दुर्घटनास्थल वरिपरि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुनिरटारबाट सशस्त्र प्रहरी उपरीक्षकको कमाण्डमा ११ जना गोताखोरसहित ८६ जनाको सुरक्षा फौज, दुईवटा मोटरबोट र सातवटा ¥याफ्टबोट परिचालन गरिएका छन् ।

यस्तै सशस्त्र प्रहरी बल नेपाल नं १७ गण चितवनबाट सशस्त्र प्रहरी उपरीक्षकको कमाण्डमा एक सय १५ जनाको सुरक्षा फौज विभिन्न १५ वटा टोली बनाएर घटनास्थल, देवघाटदेखि शिवघाटसम्म, शिवघाटदेखि सिसवारसम्म, सिसवारदेखि गोलघाटसम्म खटाइएको छ । सोही गणबाट खटिएको फौज सिसवारदेखि गोलाघाटसम्म, आँपटारी, रामनगर, जुगेडी, गाईघाट, देवघाट, पुल्चोक, शिवघाट, गाजीपुर, सिसवार, गोलाघाट लगायतका ठाउँहरूमा परिचालित भएका सहप्रवक्ता थापाले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी नं २६ गण पश्चिम नवलपरासीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ६० जनाको सुरक्षा फौज गण्डक व्यारेज इलाकामा खटाइएको छ । सशस्त्र प्रहरी नं ३१ गुल्म पूर्वी नवलपरासीबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जनाको सुरक्षा फौज गैँडाकोट नगरपालिका–१० को इलाकामा परिचालित भएका छन् ।

सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट त्रिवेणीबाट प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको टोली गण्डक ब्यारेज इलाका, सुरक्षा वेश चोरमाराबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जनाको टोली पूूर्वी नवलपरासी जिल्लाको मध्यविन्दु नगरपालिका–३ भुटाहा इलाका र सुरक्षा वेश प्रगतिनगरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जनाको टोली देवचुली नगरपालिका–१५ खर्कटा इलाकामा खटाइएको छ ।

वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बर र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस गत असार २८ गते बिहान त्रिशूली नदीमा बेपत्ता भएका थिए । ती बसमा ६५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ । हालसम्म फेला परेका १५ वटा शव फेला परेको छ । सो मध्ये नौ वटाको सनाखत भएको छ भने बाँकीको सनाखत हुन सकेको छैन ।

साउन ११ गतेदेखि दर्शकमाझ आउन लागेको फिल्म ‘ईश्वर’मा अनु शाहसँग जम्यो पृथ्वीराजको जोडी

काठमाडौं । फिल्म ‘डोली’ रिलिजको झण्डै पाँच वर्षपछि नायक पृथ्वीराज प्रसाईं फिल्म ‘ईश्वर’मार्फत साउन ११ गतेदेखि दर्शकमाझ आउँदैछन् । निर्देशक राजु गिरी निर्देशित फिल्ममा उनी ‘सागर’ पात्रको भूमिकामा छन् । ‘सागर एक लभर ब्वाई हुन्छ । उसको बुवा नेगेटिभ क्यारेक्टरको भएकाले सुरुमा सागर पनि नेगेटिभ नै हुन्छ । तर पछि गएर ऊ पोजेटिभ क्यारेक्टरमा देखिन्छ’, पृथ्वीराज भन्छन्, ‘ईश्वर पारिवारिक कथाको फिल्म हो । म सहरमा बसेर गाउँ फर्किएको युवकको भूमिकामा छु । गाउँमै रहँदा नायिका अनु शाहसँग मेरो प्रेम हुन्छ ।’

‘ईश्वर’मा काम गर्दा आफूलाई ‘ठीकै’ अनुभव भएको पृथ्वीराजको बुझाई छ । ‘यसअघिका फिल्ममा जति मेहनत गर्नु परेको थियो, यो फिल्ममा त्यति धेरै मेहनत गर्नु परेन’, उनी भन्छन् ।

अनुसँग पृथ्वीराजले केही भिडियोमा सहकार्य गरेका छन् । तर फिल्ममा चाहिँ ‘ईश्वर’ पहिलो हो । ‘भिडियोमा अनुसँग सहकार्य गरेकाले पनि यो फिल्ममा काम गर्दा अप्ठ्यारो भएन । हामीले सहजै आफ्नो काम पुरा गर्यौं’, उनी सुनाउँछन् ।

पृथ्वीराजले ‘ईश्वर’मा निर्वाह गरेको चरित्र यसअघि उनले अभिनय गरेका फिल्ममा निभाएका थिएनन् । ‘यो क्यारेक्टर यसभन्दा अघि मैले फिल्ममा गरेको थिइनँ । क्यारेक्टरको लागि तयारी केही गरिएन । घरमै थिएँ । निर्देशक राजु गिरीले फोन गर्नुभयो । स्क्रिप्ट पढें अनि सिधै फ्लोरमा गएर काम सुरु गरें’, पृथ्वीराज भन्छन् ।

पृथ्वीराजका अनुसार फिल्म ‘डोली’ पछि उनलाई कुनै फिल्मबाट पनि अफर आएन । ‘म काम माग्न कतै पनि गइनँ । म आफ्नै व्यावसायिक काममा व्यस्त थिएँ । घर, व्यवसाय र जिममै समय बिताएँ । तर अफर आयो भने चाहिँ फिल्ममा काम गर्छु भन्ने सोच थियो’, उनी सुनिए ।

पृथ्वीराजलाई कमेडी जनराको फिल्ममा काम गर्ने इच्छा रहेछ । ‘किस्मत २ मा एक्सन, मंगलममा फ्यामिली ड्रामा र वीरंगनामा एक्सन गरियो । डोलीमा एउटा कन्टेन्टमा काम गरियो । अब कमेडी जनरामा काम गर्ने मन छ’, उनी भन्छन् ।

चौबिस घण्टामा मनसुनी विपद्मा परी सात जनाको मृत्यु

काठमाडौँ, १ साउन : गएको चौबिस घण्टामा मनसुनी विपद्मा परी सात जनाको मृत्यु भएको छ । मनसुन अवधिमा बाढी, पहिरोलगायतका विपद्मा परी हालसम्म एक सय २० जनाको मृत्यु भइसकेको छ । गत जेठ २८ देखि आजसम्ममा उनीहरुको मृत्यु भएको हो ।

उक्त अवधिमा एक सय ३५ जना घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा १५, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा आठ गरी जम्मा एक सय २० जनाको मृत्यु भएको हो ।

काठमाडौँ उपत्यकामा आठ, कोशी प्रदेशमा ३४, मधेस प्रदेशमा नौ, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा २८, लुम्बिनी प्रदेशमा नौ, कर्णाली प्रदेशमा २९ र सुदूरपश्चिम प्रदेशमा ११ गरी जम्मा एक सय ३५ जना घाइते भएको कार्कीले बताउनुभयो ।

बाढीका कारण एक सय ८२ घर डुबानमा परेका छन् । दुई सय १३ वटा घर, ७९ वटा गोठ, ४३ वटा पुल, एक वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । कूल पाँच सय ८१ वटा पशुचौपायको मृत्यु भएको छ ।

उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार छ सय ५२ घर परिवार विस्थापित भएका छन् । साथै बाढीपहिरोको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएको धनमाल निकालेर सुरक्षा गर्ने र सडकमा भएका अवरोध हटाइएको प्रहरीले जनाएको छ ।

परराष्ट्रमन्त्री राणासँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

काठमाडौँ, १ साउन : परराष्ट्रमन्त्री डा आरजु राणासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ ।सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल भएको छ ।

त्यसक्रममा नेपाल–भारत द्विपक्षीय हित, परराष्ट्र सम्बन्ध र जनस्तरको सम्बन्धका विविध आयामबारे छलफल भएको मन्त्री डा राणाको सचिवालयले जनाएको छ । भेटमा राजदूत श्रीवास्तवले परराष्ट्रमन्त्री राणालाई बधाई दिनुहुँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नु थियो । परराष्ट्रमन्त्री डा राणाले सोमबार पद तथा गोपनियताको सपथसँगै पदबहाली गर्नुभएको हो ।

एकीकृत समाजवादीद्वारा केन्द्रीय कमिटी सदस्यको नाम सङ्कलन

काठमाडौँ, १ साउनः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को प्रदेश कमिटीले केन्द्रीय कमिटी सदस्यको नाम सङ्कलन गरेका छन् । सम्बन्धित प्रदेशका ‘इन्चार्ज’लाई नेताहरूको सक्षमता र योगदानका आधारमा नाम सिफारिस गरी केन्द्रमा पठाउन पार्टीले निर्देशन दिएको थियो ।

प्रदेशबाट सिफारिस गरिएका नेताहरूको कार्यप्रगति साथै सङ्गठित सदस्यताका आधारमा समावेशी, भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर केन्द्रले मूल्याङ्कन गरी देशभरबाट दुई सय छ केन्द्रीय सदस्य थप गर्ने नेता सोमप्रसाद पाण्डेले जानकारी दिनुभयो । यही साउनभित्र केन्द्रीय कमिटी सदस्यलाई पूर्णता दिइने र सोही कमिटीले पदाधिकारी छनोट गर्ने छ । पार्टीमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएको छ ।

हालै सम्पन्न महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९३ केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेको थियो । हाल पार्टीमा दुई सय छ केन्द्रीय सदस्य पद रिक्त छन् ।कर्णाली र लुम्बिनी प्रदेशमा नाम सङ्कलन जारी छ । गत असार मसान्तसम्म केन्द्रीय कमिटीलाई पूर्णता दिने तयारी गरेको भए पनि प्राविधिक कारणले ढिला हुन गएको जनाइएको छ । पार्टीको विधानमा प्रत्येक जिल्लाबाट कम्तीमा एकजना सदस्यको केन्द्रीय कमिटीमा प्रतिनिधित्वको सुनिश्चितता कायम गरिएको छ । सबै निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा २० प्रतिशत २५–४५ वर्ष उमेर समूहको आरक्षण गरिने विधानमा उल्लेख छ ।

केन्द्रीय कमिटीलाई पूर्णता दिएपछि कार्यविधि तथा मापदण्ड बनाएर केही नेताहरूलाई पदाधिकारीको जिम्मेवारी तोकिने नेता पाण्डेले जानकारी दिनुभयो । पार्टीको प्रतिनिधिसभामा १० तथा राष्ट्रियसभामा आठ जना सांसद रहेको छ ।

आठबीसकोट बाढी अपडेट : पुरिएका तीन बालिकाको शव निकालियो, बेपत्ता एकको खोजी जारी

त्रिवेणी (रुकुमपश्चिम), १ साउनः रुकुमपश्चिममा गएराति आएको बाढीले घर बगाउँदा पुरिएका तीन बालिकाको शव निकालिएको छ । आठविसकोट नगरपालिका १२ को झिन्चौर बगरमा झिन्चौर खोलामा आएको बाढीले घर बगाउँदा तीन बालिका पुरिएका थिए ।

बाढीले घर बगाउँदा पुरिएर मृत्यु भएका १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्कीको शव निकालिएको आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाढीले घर बगाउँदा बेपत्ता भएका ४० वर्षीय डिल्लीबहादुर बुढाथोकीको खोजी भइरहेको छ । उहाँ बसेको घरमै पुरिएको हुनसक्ने आशङ्का गरिएको छ । लेदोसहितको बाढीले घर पुरिएपछि डोजर लगाएर लेदो हटाउने तयारी भइरहेको नगरप्रमुख केसीले जानकारी दिनुभयो ।

बाढीमा परेर घाइते भएका सात जनाको आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको छ । स्थानीय १२ वर्षीय विनय सार्की, २२ वर्षीया मनिषा पुन, २९ वर्षीय जनक खत्री, छ वर्षीया मनसरी पुन, चार वर्षीय मेक्सन पुन, २८ वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पना कामी घाइते हुनुभएको छ । घटनाको पूर्ण विवरण सङ्कलन जारी रहेको र घटनास्थलमा सुरक्षाकर्मी, स्थानीयवासीलगायतले बेपत्ताको खोजी गरिरहेको नगरप्रमुख केसीले जानकारी दिनुभयो ।

‘कण्डक्टर’ले बस चलाउँदा …

बनियानी । झापाको कनकाई नगरपालिका–२ स्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका–५ का ४१ वर्षीय लक्ष्मीप्रसाद सुब्बा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

सोमबार बेलुका कनकाई–२ पवित्रा पेट्रोलपम्प नजिक पूर्वपश्चिम राजमार्गमा विराटनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश१–०१–००१ख ३४२३ नम्बरको बसले बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको को१९प ६२८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । कण्डक्टरले बस चलाउँदा दुर्घटना भएको बसका चालक र सहचालकले प्रहरी समक्ष बयान दिएका छन् ।

दुर्घटनामा सुब्बाको दाहिने खुट्टा भाचिएको थियो भने टाउको र छातीमा चोट गम्भीर चोट लागेको थियो । घाइते उनको उपचारका क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा राति ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले बस चालक इलाम माई नगरपालिका–८ का २२ वर्षीय सागर थुलुङ राई र सहचालक विराटनगर महानगरपालिका–२ का १९ वर्षीय दिपेश दर्जीलाई नियन्त्रणमा लिएको छ । बेलबारीबाट उक्त बस शिवसताक्षी नगरपालिका–६ का २७ वर्षीय बसका कण्डक्टर पुण्य सिटौलाले चलाई ल्याउने क्रममा दुर्घटना भएको जनाइएको छ ।