रुसी तेल ट्याङ्कर चुहावटपछि दर्जनौँ समुद्री स्तनधारी मृत फेला

विश्व

गत महिना कृष्ण सागरमा रूसी तेल ट्याङ्करबाट तेल चुहिएपछि दुई दर्जनभन्दा बढी समुद्री स्तनपायी मृत फेला परेको एक डल्फिन उद्धार केन्द्रले आइतबार बताएको छ । अधिकारीहरूले प्रकोपको परिणामलाई नियन्त्रण गर्न तीव्र रूपमा काम गरिरहेका छन् ।
डिसेम्बर १५ मा क्रिमियालाई दक्षिणी रुससँग जोड्ने केर्च स्ट्रेटमा दुई पुराना रूसी ट्याङ्करहरू आँधीबेहरीमा फसेपछि यो चुहावट सुरु भएको थियो ।
एउटा ट्याङ्कर डुब्यो र अर्को किनारमा थन्कियो । यिनीहरूले वरिपरिको पानीमा मजुट नामक करिब दुई हजार चार सय टन भारी इन्धन तेल पोखेको अधिकारीहरूले अनुमान गरेका छन् ।
डल्फिनहरूको उद्धार र पुनःस्थापना गर्ने रुसको डेल्फा केन्द्रले उक्त घटनापछि ६१ वटा मृत सिटेसियनहरू रेकर्ड गरेको बताएको छ । तीमध्ये ३२ वटा सम्भवतः तेल चुहावटका कारण मरेका थिए ।
सिटेसियन एक प्रकारको जलीय स्तनपायी हो । यसमा ह्वेल, डल्फिन र पोर्पोइजहरू समावेश छन् । “शवहरूको अवस्था हेर्दा सम्भवतः यी सिटेसियनहरूको ठूलो हिस्सा प्रकोपपछि पहिलो १० दिनमा मरे”, केन्द्रले भन्यो ।
केन्द्रका अनुसार मारिएकाहरू मध्ये अधिकांश ‘अजोभ’ डल्फिनहरू थिए । अजोभ डल्फिन जस्तै देखिने तर बेलुगा र नार्वालसँग नजिकको सम्बन्ध भएका हार्बर पोर्पोइजको एक प्रकार हो ।
रुसको आपत्कालीन मन्त्रालयले आइतबार उक्त घटनाको नतिजा हटाउन काम गरिरहेको तर ‘तीव्र हावा र छाल’ ले केही समुद्र तटहरूमा तेल फ्याँकेको बताएको छ ।
“अडसठ्ठी किलोमिटर (४२ माइल) भन्दा बढी तटरेखा सफा गरिएको छ”, मन्त्रालयले भन्यो । क्रिमियाको समुद्री तट र रुसको दक्षिणी तटबाट प्रदूषित माटो निकाल्न सयौँ स्वयंसेवक तैनाथ गरिएको छ ।
रुसी अधिकारीहरूका अनुसार घटनामा संलग्न इन्धन तेलको प्रकार विशेष गरी सफा गर्न गाह्रो छ किनभने यो बाक्लो र भारी छ र सतहमा तैरिँदैन ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट