`

कोशी प्रदेशः केही प्रदेश ऐनको साविक व्यवस्था जगाउने विधेयक स्वीकृत गर्ने सरकारको निर्णय

विराटनगर, ३० असार : कोशी प्रदेश सरकारले केही प्रदेश ऐनको साविक व्यवस्था जगाउने विधेयक स्वीकृत गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले केचना कञ्चनजङ्गा पर्यटन विकास समिति गठन आदेश २०८१, पाथिभरा विकास क्षेत्र समिति गठन आदेश २०८१, खेल संस्थालाई मापदण्डमा आधारित अनुदान सहायता वितरण कार्यविधि २०८१, हलेसी महादेवस्थान विकास समिति गठन आदेश २०८१ र लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यविधि २०८१ स्वीकृत गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले जानकारी दिनुभयो ।

स्याङ्जामा कुवामा डुबेर दिदीबहिनीको मृत्यु

वालिङ (स्याङ्जा), ३० असार : स्याङ्जामा आज पानीको कुवामा डुबेर दुईजनाको मृत्यु भएको छ । पुतलीबजार नगरपालिका–४ रामकोष स्वाँरास्थित पानीको कुवामा डुबेर स्थानीय नरेन्द्रबहादुर थापाका दुई छोरीको मृत्यु भएको प्रहरीले जनाएको हो ।

मृत्यु हुनेमा १४ वर्षीया लक्ष्मी थापा र १२ वर्षीया सुस्मिता थापा रहेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

लक्ष्मी कक्षा ९ मा र बहिनी सुस्मिता कक्षा ५ मा पढ्दै आएकी थिइन् । घरदेखि करिब पाँच सय मिटर टाढा रहेको कुवामा नुहाउन र कपडा धुनका गएका बेला डुबेर मृत्यु भएको जनाइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान सुरू भएको प्रहरी प्रवक्ता रानाले बताउनुभयो ।

बजेटबारे आवश्यक छानबिनका लागि उच्चस्तरीय समिति गठन

जनकपुर, ३० असार : मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटका सम्बन्धमा उठेका सवाल छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय भएको छ ।मधेश प्रदेशसभाको आजको बैठकमा सभामुख रामचन्द्र मण्डलले बजेटका सम्बन्धमा उठेका सवालबारे आवश्यक छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय भएको जानकारी गराउनुभएको हो ।

उहाँले समितिको जिम्मेवारी निर्धारणका लागि मुख्यमन्त्री सतिशकुमार सिंह र जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय दलका नेता सरोजकुमार यादवलाई जिम्मा दिने निर्णय भएको जानकारी दिनुभयो । यहाँ जसपा, नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकारको बजेट सच्याउनुपर्ने मागसहित यही असार १६ गते मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाएका थिए ।यही विषयलाई लिएर प्रदेशसभा बैठक अवरुद्ध हुँदै आएको थियो ।

बैठक सञ्चालन र बजेट पारित गर्न आज सभामुख मण्डलको अगुवाइमा सर्वदलीय बैठक बसेको थियो । बैठकले उच्चस्तरीय छानविन समिति बनाउन मुख्यमन्त्री सिंह र जसपा नेता यादवलाई जिम्मेवारी दिने निर्णय गरेको थियो ।

बाढीपहिरामा परी एक सय आठको मृत्यु

काठमाडौँ, ३० असारः अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिराका कारण हालसम्म एक सय आठ जनाको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरालगायत विपद्मा परी आज दिउँसोसम्म एक सय आठ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाडौँ उपत्यकामा दुई जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा पाँच जना, बागमती प्रदेशमा नौ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा आठ जना रहेका छन् ।

यस्तै उक्त घटनामा परेर एक सय १९ जना घाइते भएका छन् । घाइते हुनेमा काठमाडौँ उपत्यकामा आठ जना, कोशी प्रदेशमा ३१ जना, मधेस प्रदेशमा नौ जना, बागमती प्रदेशमा सात जना, गण्डकी प्रदेशमा २८ जना, लुम्बिनी प्रदेशमा नौ जना, कर्णाली प्रदेशमा १६ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना रहेका छन् ।

घाइतेलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको प्रहरीले जनाएको छ । बाढी पहिरोमा परेका ५३ जनाको उद्धार गरिएको र छ जना अझै बेपत्ता भएको प्रहरीले जनाएको छ । बाढीको कारण जम्मा एक सय ८२ घर डुबानमा परेको बताइएको छ । यस्तै, दुई सय तीन वटा घर, ७५ वटा गोठ, ४१ वटा पुल, एक वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।

पाँच सय १६ वटा पशुचौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार पाँच सय ५२ घर परिवार विस्थापित भएका छन् ।

त्रिशूली किनारमा बेपत्ताका परिवारद्वारा गृह सचिवसँग विलौना

चितवन, ३० असारः यही असार २८ गते बिहान नारायणगढ–मुग्लिन सडकखण्डमा गएको पहिराले दुई वटा यात्रुबाहक बस त्रिशूली नदीमा पु¥यायो । बसमा सवार यात्रुका अधिकांश आफन्त उक्त समाचार सुन्ने वित्तिकै बोकेर घटनास्थल आइपुगेका थिए ।

उनीहरु विगत तीन दिनदेखि त्रिशूली किनारमा आफन्तहरुको खोजीमा सक्रिय छन् । उनीहरु बिहानदेखि साँझसम्म त्रिशूली किनारमै हुन्छन् । आफन्तलाई जीवितै पाउने आश मार्दै गरेका उनीहरुमा राज्यले सक्ने जति उद्धारमा जुटेन कि ? भन्ने आशङ्का परेको छ ।

उर्लिएको त्रिशूलीको खोचमा आफन्त त परको कुरा दुई वटा बस नै अहिलेसम्म भेटिएका छैनन् । उनीहरुले खोजी कार्य छिटो गरिदिन अनुनय विनय गरिरहेका छन् । तीन दिनको खोजीले उल्लेख्य सफलता नमिलेपछि आज गृहसचिव एकनारायण अर्याल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल घटनास्थल आइपुग्नुभयो । उहाँहरुलाई घटना स्थलमा रहेका बेपत्ता परिवारका सदस्यहरुले आफ्नो परिवारका सदस्यहरुको छिटो खोजी गरिदिन आग्रह गर्नुभयो ।

मामाको छोरो (भाई) त्रिशूलीमा बेपत्ता भएपछि खोजीका लागि हेटौँडाबाट आउनुभएका नकुबहादुर थापा अहिलेको तरिकाले बेपत्ताहरु भेट्टाउनै मुस्किल हुने भन्दै अरु विधि अपनाउन आग्रह गर्नुभयो । उहाँले गृहसचिवको टोलीसँग गुनासो गर्नुभयो, “उच्च प्रविधिको प्रयोग गरेर बेपत्ताको खोजी गरिदिनुहोस् ।”

रौतहटबाट भाई खोज्न आउनुभएका मोहन दास अहिले पनि कतै भेटिन्छ की भन्ने आशमा नै हुनुहुन्छ । तीन दिनदेखि आएर नदी तिरै हेरेर मात्रै बस्नुपरेको बताउँदै उहाँले छिटोभन्दा छिटो बेपत्ताको खोजी गरिदिन अनुरोध गर्नुभयो ।

यातायात व्यवसायी महासङ्घका अध्यक्ष सरोज सिटौलाले दुई वटा बसमा सवार यात्रुहरुको खोजीमा तदारुपता देखाउन आग्रह गर्नुभयो ।

उहाँहरुको गुनासो सुनेपछि गृहसचिव अर्यालले उद्धारका लागि काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “छिटोभन्दा छिटो उद्धार सामग्रीहरु उपलब्ध गराउने विषयमा काम भइरहेको छ, चीन र भारत सरकारबाट पनि सामग्री उपलब्ध गराउने कुरा भएको ।”

विपद् प्रतिकार्य योजना तयारी गरी काम भइरहेको बताउँदै उहाँले शवहरु पहिचान र मृतकका परिवारलाई राहत दिने एवं यहाँ उठेका कुरामा गृह मन्त्रालयले नेपाल सरकारलाई जानकारी गराउने बताउनुभयो । यहाँको वस्तुस्थिति प्रधानमन्त्री र गृहमन्त्रीलाई जानकारी गराइने उहाँले बताउनुभयो ।

टोलीले घटनास्थलको स्थलगत अवलोकन र उद्धार कार्यबारे जानकारी लिएको थियो । हालसम्म घटनास्थलभन्दा तल नारायणी नदी किनारमा पाँच वटा शव फेला परेका छन् ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार पहिचान खुल्नेमा भारतको बिहार बेतिया जिल्ला पश्चिम सम्पारण २२ का ४० बर्षिय सजाद अन्सारी, भारतकै जयप्रकाश ठाकुर, माडी नगपालिका वडा नम्बर १ का २२ बर्षिय विकास परियार, सर्लाही बरहथवा नगरपालिका वडा नम्बर ३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सितामणी बर्गिनिया जमुहवा बस्ने २८ वर्षीय ऋर्षि पल साह रहेका छन् ।

यही असार २८ गते बिहान ३ः३० बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. २९ नारायगढ–मुग्लिङ सडकखण्डको सिमलताल भन्ने स्थानमा वीरगञ्जबाट काठमाडौँतर्फ गई रहेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स लेखेको यात्रुबाहक बस र काठमाडाँैबाट गौरतर्फ जान आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख००१– नम्बरको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका हुन् । ती दुई बसमा यात्रु चलानीका आधारमा ५१ जना यात्रु सवार भएको पुष्टि भएको थियो । तीमध्ये तीन जना पौडिएर उत्रिएका थिए । उनीहरु अवस्था सामान्य छ ।

उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना जुटिरहेको छ ।

सत्ता सहकार्यका लागि कांग्रेस र एमालेको निर्णयको पखाईमा साना दल

काठमाडौँ, ३० असार : मुलुकका प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको समझादारीअनुरूप एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम नियुक्त प्रधानमन्त्री नियुक्त गर्नुभएपछि अब नयाँ सरकार गठन औपचारिक रूपमा सरू भएको छ । प्रधानमन्त्री ओलीले सोमबार नै मन्त्रिमण्डल गठन गर्नुहुने तयारी छ ।

सरकार गठनका लागि कांग्रेस र एमालेसँग पर्याप्त सांसद भए पनि अन्य दललाई समेत साथमा लिएर अगाडि बढ्ने मनस्थितिमा दुवै दल छन् । संसद्का अधिकांश साना दलले नयाँ सरकारलाई समर्थन गर्ने निर्णय नै गरिसकेका छन् । ती दलले शुक्रबार प्रधानमन्त्री दाहालको विश्वासको मतको विपक्षमा मतदान गरेर नयाँ सरकारलाई समर्थन गरिसकेका छन् भने केही दलले सरकारमा सहभागी हुने वा नहुुने भनेर निर्णय गरेका छैनन् । यी दल पर्ख र हेरको रणनीतिमा रहेका बुझिएको छ । जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नयाँ सरकारमा सहभागितालगायतका विषयमा प्रमुख गठबन्धन दलको औपचारिक धारणाको पर्खाइमा छन् । ती दलले आफूले पाउने मन्त्रालयको भागबण्डापछि मात्रै कसलाई मन्त्रीमा पठाउने भनेर निर्णय गर्ने प्रतिक्रिया दिएका छन् ।

जनमत पार्टीका प्रवक्ता डा शरदसिंह यादवले नयाँ सरकारलाई पार्टीले समर्थन गरिसकेकाले सरकारमा सहभागीताबारे पर्ख र हेरको नीतिमा रहेको बताउनुभयो । “हाम्रो पार्टीको प्राथमिकता मधेश प्रदेश सरकार हो, सङ्घीय सरकारलाई समर्थन गरेकाले पार्टीले पाउने मन्त्रालयको जिम्मेवारीपछि मात्रै आवश्यक छलफल हुन्छ र मन्त्री कसलाई बनाउने भन्ने निर्णय हुन्छ”, उहाँले भन्नुभयो ।

लोसपाका प्रमुख सचेतक रामप्रकाश चौधरीले नयाँ सरकारमा सहभागिताबारे सत्ता साझेदार दलसँगको छलफलपछि पार्टीले आवश्यक निर्णय लिने बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीले सरकारलाई समर्थन गरिसकेको छ, मन्त्री छनौटको जिम्मेवारी पार्टी अध्यक्षलाई दिइएको छ । गठबन्धन दलसँग छलफल गरेर मन्त्रालयको टुङ्गो लागिसकेपछि कसलाई मन्त्री बनाउने भन्ने निर्णय हुन्छ ।” लोसपाका नेता राजकिशोर यादवले नयाँ सरकारमा सहभागी हुनेबारे पार्टीमा छलफल भइनसकेको बताउनुभयो ।

जनता समाजवादी पार्टीका महासचिव मोहम्मद इतियाक राईले सरकारमा सहभागिताबारे अहिले पार्टीभित्र छलफल नभएको बताउनुभयो । नागरिक उन्मुक्ति पार्टी पनि सत्ता सहकार्यबारे सकारात्मक रहेको छ । मन्त्रालयको भागबण्डा मिलेपछि मात्रै मन्त्री छनोटको विषयमा पार्टीले छलफल गर्ने सो पार्टीले जनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने सरकारमा सहभागिताबारे कांग्रेस र एमालेसँगको छलफलपछि मात्रै आगामी रणनीति तय गर्ने पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो,“अहिले पार्टीले केही धारणा बनाएको छैन, सत्ता साझेदार दलहरू कसरी आउनुहुन्छ, सोहीअनुरूप पार्टीले निर्णय लिनेछ ।”

बाढीपहिरोले सडक बगाउँदा तीन गाउँका स्थानीय समस्यामा

लमजुङ, ३० असारः दुई साताअघि आएको बाढीपहिरोले सडक बगाउँदा बेँसीसहर नगरपालिका–११ का रुम्टाबेँसी, बजारखुट्टा र बुढीकुवा बगरबोट गाउँका स्थानीयलाई आवागमनमा समस्या हुँदै आएको छ ।

बेँसीसहर–१ बट वडा नंं ११ चिती जोड्ने रिट्ठेबगर–बूढीकुवा खण्डअन्तर्गत वडा नंं १ रिट्ठेबगरमा पहिरोले सडक बगाएपछि यातायातका साथै पैदालयात्रा समेत नहुँदा तीन गाउँका स्थानीय समस्यामा पर्दै आएका हुन् ।

आज बेँसीसहर–८ मा वडा नं ११ चिती वडा कार्यालयले पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त सडकको अवस्था, समस्या र समस्या समाधानका विषयमा भएका येजनाबारे जानकारी दिएको हो । वडाध्यक्ष शिव जोशीले सो स्थानमा मर्स्याङ्दी नदीको बाढीका साथै सडक माथिबाट पहिरो आउँदा एक किलोमिटर बगाएको जनाउँदै तीन गाउँका स्थानीयलाई एम्बुलेन्समार्फत बिरामी लैजान, विद्यालयमा पठनपाठन गर्न जान र दैनिक उपभोग्य सामान ढुवानी गर्न समस्या भइरहेको बताउनुभयो ।

सत्तरी मेगावाट क्षमताको मध्यमर्स्याङ्दी आयोजनाद्वारा निर्मित ड्यामबाट आठ मिटरमाथि रुद्धनिधि तिवारी र सुनिल तिवारीको घर उच्च जोखिममा रहेकाले निजहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्थानीयले माग गरेका छन् ।

रिट्टेबगरको पुलबाट करिब एक हजार मिटरमाथि नेपाली सेनाको ब्यारेक अगाडि घुम्तीमा नदीजन्य पदार्थको ढिस्को जम्मा भई मर्स्याङ्दीले जलसतह पार गरेपछि बाढी जाँदा सडक बगाएको वडाध्यक्ष जोशीले बताउनुभयो । सडक माथिबाट पहिरो जाने क्रम अझै नरोकिएको उहाँले जानकारी दिनुभयो ।

बेँसीसहर नगरपालिका कार्यापालिकाको यसअघिको बैठक र वडा नं ११ कार्यालयले उक्त ढिस्को हटाएर पानी यथास्थितिमा बग्न दिन जिल्ला विपद् व्यवस्थापन समितिलाई पत्राचार गरेको थियो । समितिले उक्त समस्याका बारेमा आयोजना कार्यालयलाई पत्रचार गरी समस्याका बारेमा जानकारी गराइएको जनाएको छ ।

यसैबीच, आयोजनाले सो ढिस्को फाल्नु नपर्ने भन्दै सडक अन्यन्त्र सार्नुपर्ने प्रतिवेदन तयार गरेर समितिमा पठाएको थियो । “उक्त प्रतिवेदन आयोजनाले स्थलगत अध्ययन नगरी बनाएको हो । प्रतिवेदनका आधारमा ढिस्को नहटाउँदा बाढीले सडक बगाएको छ”, वडाध्यक्ष जोशीले भन्नुभयो ।

ढिस्को नफालेकाले गण्डकी प्रदेश सरकारले चालु वर्षमा निर्माण गरेको जालीसहितको तटबनधनमा समेत क्षति पुगे भन्दै उहाँले सडकको अन्य भाग पनि बाढीपहिराको उच्च जोखिममा परेको बताउनुभयो ।

“नेपाल विद्युत् प्राधिकरणले मध्यमर्स्याङ्दी ड्यामसाइटमा सोलार परियोजना निर्माण गर्न लागेकाले उक्त परियोजनाका लागि पक्की सडक आवश्यक पर्ने देखिन्छ”, वडाध्यक्ष जोशीले भन्नुभयो, “सडक नबनेसम्म मध्यमर्स्याङ्दी आयोजनाको ड्यामसाइटको दुई पुलमध्ये एउटा आवतजावत गर्ने व्यवस्था मिलाउन वडा कार्यालयको पहलमा स्थानीय उपस्थित भई सरोकार भएकासँग माग गरेका छौँ ।”

वडा कार्यालय र स्थानीयले आजै बेँसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङलाई सो समस्या समाधानका लागि माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

माल्दिभ्सद्वारा प्यालेस्टाइनीलाई १३ लाख अमेरिकी डलर सहयोग

यालेस्टाइनका लागि माल्दिभ्सले १२ लाख ९० हजार अमेरिकी डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका लागि माल्दिभ्सका स्थायी प्रतिनिधि अली नासिर मोहम्मदले सहयोगबारे जानकारी गराउनुभएको हो ।

संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा शुक्रबार आयोजित प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य निकाय (युएनआरडब्लुए) को प्रतिज्ञा सम्मेलनका क्रममा उक्त सहयोगको घोषणा गरिएको हो ।

माल्दिभ्स सरकारले प्यालेस्टाइनलाई दिने वार्षिक पाँच हजार अमेरिकी डलर अनुदानमा १० गुणाले वृद्धि गरी यस वर्ष ५० हजार अमेरिकी डलर पु¥याएको नासिरले बताउनुभयो ।

माल्दिभ्सका प्रतिनिधि मोहम्मदले अन्तर्राष्ट्रिय समुदायलाई आफ्नो आर्थिक सहयोग बढाउन र यूएनआरडब्लूए पहललाई अगाडि बढाउन राजनीतिक दायित्व पूरा गर्न पनि आग्रह गर्नुभयो ।

ट्रम्प लक्षित आक्रमणको भनिएको भिडियो सञ्चारमाध्यममा भाइरल, भिडियोबारे स्वतन्त्ररूपमा पुष्टि हुन बाँकी

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आक्रमण गर्न एक बन्दुकधारीले हातमा राइफल लिएर छतबाट बन्दुक तेस्र्याइरहेको शनिबार अमेरिकी प्रसारक टीएमजेडद्वारा सार्वजनिक भिडियोमा देखाइएको छ । रिपब्लिकन पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपति पदका उम्मेदवार ट्रम्पलाई शनिबार पेन्सिलभेनियाको बटलरमा आयोजित चुनावी ¥यालीमा बन्दुकधारीले हत्याको प्रयास गर्दा कानमा गोली लागेको थियो । अमेरिकी गुप्तचर निकाय एफबीआईले ट्रम्पमाथि गोली चलाउने आक्रमणकारीको पहिचान खुलेको र उनी पेन्सिलभानियाका टोमस म्याथ्यू क्रुक्स रहेको जनाएको छ ।

भिडियोमा कथित आक्रमणकारी छतमा सुतेर ट्रम्पतर्फ राइफल लक्षित गरेको देखिन्छ । “केटाको लामो खैरो कपाल छ, र उसले खैरो सर्ट÷खाकी पाइन्ट लगाएको देखिन्छ र उसले ‘ट्रिगर’ तान्नुअघि टाढाबाट ध्यानपूर्वक लक्ष्य पत्ता लगाउने प्रयास गरिरहेको देख्न सकिन्छ,” टिएमजेडले भिडियोलाई उद्धृत गर्दै भनेको छ ।

प्रसारित भिडियोमा ती व्यक्तिले गोली चलाएको देखाइएको छैन । तर बन्दूक चलेपछि अफ–क्यामेराबाट मानिसहरू बोलेको आवाज सुनिन्छ । “ऊ यस दिशामा फर्किरहेको छ, सावधान रहनुहोस् साथीहरू”, एक व्यक्तिले भिडियोमा भन्दै गरेको आवाज सुनिएको छ । “कसैलाई गोली लागेको छ”, अर्को व्यक्तिको आवाज सुनियो, “ऊ त्यहीँ ढलिरहेको छ ।” “साथी, ट्रम्प सही ठाउँमा छन्,” अर्को व्यक्तिले भनेको सुनिन्छ । “त्यहाँ ‘सेक्रेट सर्भिस’ छ, कुनै पनि गडबडी नगरौँ,” भिडियोमा अर्का व्यक्तिले भनेको सुनिन्छ । टिएमजेडले प्रकाशित गरेको दोस्रो भिडियोमा उही छत र धुमिल शरीरको फुटेज देखाइएको छ ।

“तपाईँले त्यहाँ ती व्यक्तिलाई देख्न सक्नुहुन्छ । मलाई लाग्छ उनीहरूले त्यो व्यक्तीलाई गोली प्रहार गरे किनभने ऊ मृत देखिन्छ”, अफ–क्यामेराभन्दा टाढाबाट एकजना व्यक्तिले भनिरहेका थिए । एक टिकटक प्रयोगकर्ताले पोष्ट गरेको भिडियोमा धेरै पटक गोलीको आवाज सुनेपछि ट्रम्पले आफ्नो दाहिने कान छोपेको देखिएको छ । सार्वजनिक भिडियोलाईस्वतन्त्ररूपमा पुष्टि गर्न सकिएको छैन । भिडियोमा लुकेर बसेका तारो हान्ने व्यक्ति (स्नाइपर) ले बन्धुक चलाए वा चलाएनन् भन्ने स्पष्ट छैन ।

ट्रम्पलक्षित आक्रमणपछि उहाँ लेक्टर्नको पछाडि लुक्नुभएको थियो भने सिक्रेट सर्भिसका अधिकारीहरूले उहाँलाई घेरेर सुरक्षा दिएका थिए । । उहाँको हत्या गर्ने उद्देश्यले भएको ठानिएको उक्त घटनालगत्तै ट्रम्पलाई उक्त स्थानबाट बाहिर निकालिएको थियो । ट्रम्प खतरामुक्त्त रहेको उहाँ निकट श्रोतले बताएको छ ।

दुबईका युवराज युएईको रक्षामन्त्रीमा नियुक्त

दुबईका शासक शेख मोहम्मद बिन राशिद अल–मकतुमले आइतबार आफ्ना छोरा तथा इमिरेट्सका युवराजलाई संयुक्त अरब इमिरेट्स (युएई) को रक्षामन्त्रीमा नियुक्त गर्नुभएको छ ।

मन्त्रिपरिषद् पुनर्गठनमा युएइएका प्रधानमन्त्री शेख मोहम्मदले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “शेख हमदान बिन मोहम्मद बिन राशिद अल मकतुम संयुक्त अरब इमिरेट्सको सरकारमा उपप्रधानमन्त्रीका रूपमा सामेल भएका छन् र उनलाई रक्षामन्त्रीमा नियुक्त गरिएको छ ।” एकचालिस वर्षीय शेख हमदान शेख मोहम्मदका दोस्रो छोरा हुनुहुन्छ र उहाँले सन् २००८ देखि दुबईको युवराजको पद सम्हाल्दै आउनुभएको छ ।

सन् २००१ मा बेलायतको एलिट स्यान्डहर्स्ट मिलिटरी कलेजबाट स्नातक गर्नुभएका उहाँ सन् २००६ मा इमिरेट्समा रणनीतिक विकास योजनाका लागि जिम्मेबार निकाय दुबईको कार्यकारी परिषद्का अध्यक्ष बन्नुभएको थियो । उहाँका पिता शेख मोहम्मद सन् १९७१ मा संयुक्त अरब इमिरेट्सको स्थापना भएदेखि रक्षामन्त्री हुनुहुन्थ्यो । त्यतिबेला उहाँ २२ वर्षको मात्र हुनुहुन्थ्यो ।

मन्त्रिपरिषद् पुनर्गठनमा विदेशमन्त्री शेख अब्दुल्ला बिन जायद अल नाहयानलाई पनि उपप्रधानमन्त्रीका रूपमा नियुक्त गरिएको छ । सानो मन्त्रिपरिषद् पुनर्गठनले अन्य धेरै मन्त्रीहरूको फेरबदलका साथै मन्त्रालयहरूको विलय पनि गरेको छ । विश्वको सबैभन्दा ठूला तेल उत्पादकहरूमध्येको एक र संयुक्त राज्य अमेरिका, रुस तथा चीनको सहयोगी संयुक्त अरब इमिरेट्स मध्यपूर्वमा प्रमुख शक्तिका रूपमा विकसित भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको आगामी आवको बजेट पारित

जानकी (बाँके), ३० असारः नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक वर्ष २०८१÷८२ को बजेट पारित भएको छ ।

नगरसभाको १५औँ अधिवेशनको दोस्रो बैठकले यही असार १० गते पहिलो बैठकमा प्रस्तुत वार्षिक राजस्व र व्ययको अनुमान (बजेट) सर्वसम्मत पारित गरेको हो । सभाध्यक्ष एवं नगर प्रमुख प्रशान्त विष्टले बजेट स्वीकृतिका लागि सभामा पेस गर्नुभएको थियो ।

उपमहानगरपालिकाले आगामी वर्षका लागि रु एक अर्ब ५० करोड ३८ लाख ८६ हजार बराबरको बजेट ल्याएको छ । आन्तरिक आयतर्फ रु २० करोड ११ लाख सङ्कलन गर्ने लक्ष्य उपमहानगरपालिकाको छ ।

त्यसैगरी, दोस्रो बैठकले आर्थिक विधेयक २०८१, विनियोजन विधेयक २०८१ र आन्तरिक आय व्यवस्थापन तथा नियमन विधेयक २०८१ पनि पारित गरेको छ । नगर कार्यपालिकाको कार्यालय र अन्तर्गतका वडा कार्यालयबाट पेस भएबमोजिमको आर्थिक वर्ष २०८१÷८२ को बजेट, योजना तथा कार्यक्रम पनि स्वीकृत भएका छन् ।

यस्तै, नगर प्रमुख विष्टले स्वीकृतिका लागि सभामा पेस गर्नुभएको उपमहानगरपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन २०७४ खारेज तथा सङ्घीय ऐन कार्यान्वयन पनि पारित भएको छ । नगर अधिवेशनको दोस्रो बैठकबाट बालबालिकासम्बन्धी ऐन २०७७ को संशोधन पनि स्वीकृत भएको प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले बताउनुभयो ।

उपमहानगरपालिका र अन्तर्गतका वडा कार्यालयमा करार सेवामा कार्यरत कर्मचारी तथा दैनिक ज्यालादारी कर्मचारीको म्याद थपसम्बन्धी ‘एजेन्डा’ पनि सभाले स्वीकृत गरी पारित गरेको छ । यस्तै, पूर्वाधार विकास समितिका संयोजक वसन्तकुमार कनोजियाले तयार पार्नुभएको प्रतिवेदन पनि सभाले स्वीकृत गर्दै पारित गरेको छ । कनोजियाले संस्थागत सुधारका लागि आफ्ना सुझाव समेटेर प्रतिवेदन वाचन गर्नुभएको थियो । उहाँले दण्ड तथा पुरस्कारको नीति अबलम्बन गर्नुपर्नेमा जोड दिनुभएको छ । कनोजियाले कर्मचारीको कार्यसम्पादन सम्झौता कार्यान्वयनको आवश्यकता पनि औँल्याउनुभएको छ ।

एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि गृहजिल्ला झापावासी हर्षित

भद्रपुर (झापा), ३० असार : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली चौथोपटक प्रधानमन्त्री बनेपछि गृहजिल्ला झापावासी हर्षित भएका छन् । जिल्लामा विकास निर्माणलगायतका कामले थप गति लिने अपेक्षासहित जिल्लावासी हर्षित भएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले आजै उहाँलाई नेपालको संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो । झापा निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित प्रधानमन्त्री ओलीले विगतका कार्यकालमा जिल्लामा सुरू गरेका विकास निर्माणका योजनाले पूर्णता पाउनुका साथै आगामी दिनमा नयाँ योजना थपिनेमा जिल्लावासी आशावादी छन् ।

कन्काई नगरपालिका–४ का खगेन्द्र उप्रेती जिल्लावासी चौथोपटक देशको कार्यकारी नेतृत्वमा पुग्नु गौरवको कुरा भएको बताउनुहुन्छ । प्रधानमन्त्री ओलीले विगतमा गरेका वाचा पूरा गर्न सकेमा झापावासीका लागि त्यही नै ठूलो उपहार हुने उप्रेतीको भनाइ छ ।

मेचीनगरका पर्यटन व्यवसायी चन्द्र कार्कीले ओली प्रधानमन्त्री भएसँगै झापाको पर्यटन क्षेत्र थप चलायमान हुने अपेक्षा व्यक्त गर्नुहुन्छ । पर्यटकीयस्थल किच्चकबध, केचना, सतासीधाम, जमुनखाडी सिमसारलगायतका क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने खालका ठूला योजना आउनेमा आफूहरू आशावादी भएको उहाँले बताउनुभयो । साथै पर्यटकलाई काँकरभिट्टा नाका हुँदै तेस्रो मुलुकबाट नेपाल प्रवेश गर्न केही वर्षदेखि लगाइएको रोक हटाउन सकेमा यस क्षेत्रको विकास ठूलो टेवा पुग्ने र यसमा प्रधानमन्त्री ओलीले पहल गर्ने यहाँका सबै व्यवसायीले अपेक्षा गरेको कार्कीले सुनाउनुभयो ।

भद्रपुर नगरपालिका–१० का मेघराज राजवंशीले प्रधानमन्त्री ओलीको नेतृत्वमा जिल्लाका रणनीतिक सडक निर्माण सम्पन्न गर्न सहज हुने आशा जागेको बताउनुभयो । सडक डिभिजन दमकका सूचना अधिकारी इञ्जिनीयर गौतमकुमार देवले बजेट अभावले जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रका रणनीतिक सडक अधुरा रहेका र सबै क्षेत्रमा रु नौ करोड बजेट अभाव रहेको जानकारी दिनुभयो ।

झापा गाउँपालिका वडा नं २ का अध्यक्ष हिमालकुमार चम्लागाईंका अनुसार वर्षाको समयमा कन्काइ, बिरिङ, मेची, रतुवा जस्ता ठूला नदीले जिल्लाको दक्षिणी क्षेत्र डुबान भई गाउँबस्ती नै विस्थापित हुने अवस्था छ । उहाँले जिल्लावासी नै देशको नेतृत्वमा पुगेसँगै डुबान रोक्न नदी किनारमा स्थायी तटबन्ध निर्माण हुने आशा व्यक्त गर्नुभयो ।

प्रधानन्यायाधीशसमक्ष बारको ध्यानाकर्षण

काठमाडौँ, ३० असारः प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ समक्ष नेपाल बार एशोसिएशनले काठमाडौँ घोषणा–पत्र, २०८१ कार्यान्वयन सम्बन्धमा आज ध्यानाकर्षण गराएको छ ।

बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले काठमाडौँ घोषणापत्रबारे जानकारी गराउँदै उक्त घोषणापत्र कार्यान्वयन गर्न प्रधानन्यायाशीध श्रेष्ठको ध्यानाकर्षण गराउनुभएको हो । प्रधानन्यायाधीशले आफूले घोषणापत्रका कार्यान्वयन गराउने विषयमा काम गरिरहेको र बारले राखेका मागको विषयमा आफू गम्भीर रहेको बताउनुभयो ।

बारले न्याय परिषद्द्वारा विसं २०८० असोज १ गते न्याय परिषद् नियमावलीको नियम ११ मा गरिएको संशोधनले उच्च अदाललतमा नियुक्ति भई काम गरिरहेका न्यायाधीशहरुको नियुक्तिको वरियतामा असर गर्ने गरिएको र नेपालको संविधानको धारा १४१ उपधारा (३) को संवैधानिक व्यवस्थासँग प्रत्यक्ष बाझिएको विषय प्रधानन्यायाधीश समक्ष राखेको थियो ।

बारका अध्यक्ष घिमिरेले परिषद्को नियमावली संशोधन विधिको शासनको वर्खिलाप हुन गएको र पश्चादर्शी असर पर्ने गरी गरिएको नियमावलीको संशोधन अविलम्ब खारेज गर्नका लागि न्याय परिषद्को अध्यक्षको हैसियतले पहल गर्न आग्रह गर्नुभयो ।

सर्वोच्च अदालतमा रहेको संवैधानिक इजलास एक स्थायी इजलासको रुपमा नियमति सञ्चालन हुने अवस्थामा पु¥याउन थप चार जना न्यायाधीश नियुक्त गरी सर्वोच्चमा न्यायाधीशको कूल सङ्ख्या २५ जना रहने गरी संविधान संशोधन गर्न पहल गर्नुपर्ने बारको माग थियो ।

प्रधानन्यायाधीशसहित वरिष्ठतम चार जना न्यायाधीशहरु संवैधानिक इजलासमा निरन्तर रहने व्यवस्था गर्न तथा संवैधानिक इजलासमा मुद्दाको चाप नरहेको अवस्थामा ती न्यायाधीशहरुबाट अन्य मुद्दा हेर्ने व्यवस्था मिलाउने व्यवस्था गर्नुपर्ने माग ध्यानाकर्षणपत्रका छ ।

बारले सर्वोच्च अदालतबाट वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने सम्बन्धमा निर्धारित मापदण्ड अविलम्ब खारेज गरी संविधान र कानुन सम्मत रुपमा सो उपाधिको गरिमा र महत्व अक्षुण्ण राखी उपाधि मागेर नभई सम्मानार्थ दिनुपर्ने सिद्धान्तलाई अवलम्बन गरी प्रत्येक वर्ष उक्त उपाधि प्रदान गर्ने गरी व्यवस्थापन गर्न आग्रह गरेको छ ।

बारको १६औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन २०८१ साल जेठ ४, ५ र ६ गते काठमाडौँमा सम्पन्न भएको थियो । उक्त सम्मेलनले ३८ बुँदे काठमाडौँ घोषणा–पत्रमा जारी गरेको थियो । तीमध्ये सर्वोच्च अदालतबाट मात्र सम्बोधन हुनुपर्ने विषयलाई विशेष प्राथमिकताका साथ कार्यान्वयन गरी न्यायालयसँग सम्बन्धित अन्य विषय कार्यान्वयनका लागि समन्वय गर्न आग्रह गरिएको हो ।

ध्यानार्षणपत्रमा सबै तहका अदालतमा मेलमिलाप केन्द्रको भौतिक संरचनालाई व्यवस्थित गरी सबै निकायमा मेलमिलाप हुन सक्ने प्रकृतिका मुद्दालाई मेलमिलापमा प्रोत्साहन दिँदै मेलमिलापको माध्यमबाट विवाद समाधान गर्न पहल गर्न अनुरोध गरिएको छ ।

सबै तहका अदालतमा न्यायाधीश नियुक्ति समानुपातिक, समावेशी अनुरुप सक्षम, दक्ष र योग्य व्यक्तिको नियुक्ति अनिवार्य रुपमा गर्न माग बारले गरेको छ । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५५ मा साविकको १ वर्ष कैद सजाय भएको भन्ने वाक्यांशको सट्टामा एक वर्ष कैद सजाय हुने भनी गरिएको संशोधन न्यायोचित नभएको हुँदा यसलाई पूर्ववत व्यवस्था कायम गर्ने गरी कानुन संशोधन गर्न पहल गर्नलगायत माग बारले आग्रह गरेको छ ।

‘कोशी प्रदेशलाई खेलकुदको महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्नेछौँ’ – मुख्यमन्त्री कार्की

मोरङ, ३० असार : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशलाई खेलकुदको महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्ने बताउनुभएको छ । प्रदेश खेलकुद विकास बोर्डद्वारा आज विराटनगरमा आयोजित अन्तरप्रदेश राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक, व्यवस्थापक र खेल क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तिलाई सम्मान कार्यक्रममा उहाँले त्यस्तो बताउनुभएको हो । कार्यक्रममा दुई सयजनालाई नगदसहित सम्मान गरिएको थियो ।

मुख्यमन्त्री कार्कीले आगामी खेलकुदलाई पहिलो प्राथमिकतामा राखेर तीन वर्षभित्र प्रदेशलाई पूर्वाधार निर्माण, प्रशिक्षणका लागि आवश्यक व्यवस्था गरिने भन्नुहुँदै यस कार्यमा सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले चाँडै प्रदेश खेलकुद परिषद् निर्माण गरी खेलकुदको समग्र विकासका प्रयास अगाडि बढ्ने जानकारी दिनुभयो ।

प्रदेशमा खेलकुदका संरचना निर्माणका क्रममा झापामा आदिवासी रङ्शाला निर्माणसम्पन्न गरी अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने उहाँको भनाइ छ । “खेलकुदको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध छ । त्यसैले विभिन्न जिल्लामा पूर्वाधार निर्माण र खेलाडीको प्रोत्साहनका लागि आवश्यक काम अगाडि बढाइएका छन् । झापामा रङ्गशाला बन्दैछ, सङ्घीय सरकारको मातहतमा विराटनगरको बैजनाथपुरमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट रङ्शालालाई प्रदेशमा ल्याउन पहिल सुरु गरेका छौँ । यस क्षेत्रमा इन्डोर खेलकुद प्रतियोगिता आयोजना गर्न विराटनगर आसपासमा आवश्यक संरचना निर्माण गरिनेछ”, मुख्यमन्त्री कार्कीले भन्नुभयो ।

प्रदेश खेलकुद विकास बोर्डका सदस्य-सचिव कृष्ण बस्नेत (पर्शुराम)ले खेलाडीको हौसला र उत्साहका लागि सम्मान कार्यक्रम आयोजना गरिएको बताउनुभयो । त्यस अवसरमा खेलकुद क्षेत्रमा कलम चलाउने प्रदेशका सातजना सञ्चारकर्मीलाई समेत नगदसहित सम्मान गरिएको थियो ।

चार महिनामा आशा जगाउने काम गरेको छु: अर्थमन्त्री पुन

काठमाडौँ, ३० असारः अर्थमन्त्री वर्षमान पुनले दोस्रो कार्यकाल सन्तोषजनक रहेको बताउनुभएको छ । अर्थ मन्त्रालयका कर्मचारीद्वारा आज आयोजित विदाइ कार्यक्रममा उहाँले आगामी आर्थिक वर्षको बजेटमार्फत मुलुकको भावी विकास र अर्थतन्त्रको मार्गचित्र कोर्न सफल भएकोसमेत दाबी गर्नुभयो ।

उहाँले चार महिने कार्यकालमा आफू जिम्मेवारीमा नरहे पनि आफ्नो अनुभव र शिक्षाका आधारमा मुलुकको अर्थतन्त्र सुधारका लागि नयाँ आउने मन्त्रीसँग सहकार्य हुने उहाँले बताउनुभयो । आगामी आवको बजेटमार्फत विद्यमान शिथिल अर्थतन्त्रमा सुधार तथा निजी क्षेत्र र युवा वर्गमा आशा जगाउने खालका कार्यक्रम ल्याइएको उहाँले जिकिर गर्नुभयो ।

बाह्र वर्षअघि पहिलोपटक १८ महिना अर्थमन्त्रीको जिम्मेवारीमा रहँदा दुई आर्थिक वर्षमा पुरक बजेट ल्याएको स्मरण गर्दै उहाँले यसपटक संसद्बाट पूर्ण बजेट ल्याउने मौका पाएकामा खुसी व्यक्त गर्नुभयो । “केही आशा जगाउने गरी बजेट ल्याएको छु । चार महिना एक साताको कार्यकालबाट म सन्तुष्ट छु”, अर्थमन्त्री पुनले भन्नुभयो, “मलाई अर्थ मन्त्रालय परिवार र नेपाल राष्ट्र बैंकका गभर्नरसहित सम्वद्ध सबैबाट राम्रो सहयोग मिल्यो ।”

आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियालाई सहभागितात्मक बनाइएकाले विगतको तुलनामा यसपटकको बजेटको स्वामित्व धेरैले लिएको उहाँको भनाइ थियो । सरकारको नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिमा तालमेल नहुँदा मुलकको समग्र अर्थतन्त्रमा त्यसको नकारात्मक प्रभाव पर्ने गरेको विगतबाट सिकेर योपटक बढीभन्दा बढी निकाय र सरोकारवालाको सहभागितामा बजेट निर्माण गरिएको अर्थमन्त्री पुनको भनाइ छ । 

“एक वर्ष बसे पनि, चार महिना बसे पनि अर्थमन्त्रीले गर्ने मुख्य काम बजेट ल्याउनु नै हो । जहिले पनि बजेट विवादमा आउने र कसैले स्वामित्व नलिने अवस्था रहँदै आयो । प्रधानमन्त्री कार्यालयमा बन्ने नीति तथा कार्यक्रम एक खालको, अर्थ मन्त्रालयमा बन्ने बजेट अर्को खालको र राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति अर्कै खालको हुने गरेको थियो”, उहाँले भन्नुभयो, “राज्यका नीतिहरु समन्वयात्मक ढङ्गले आउनुपर्छ भनेर यसपटक बजेट निर्माणमा सुरुदेखि नै बजेट बनाउँदा योजना आयोगका, उपाध्यक्ष, राष्ट्रबैंकका गर्भनर र मुख्यसचिवलाई सुरुदेखि नै सहभागी गराइयो ।”

मलुकु आर्थिक शिथिलताबाट माथि उठ्दै गर्दा तयार पारिएको बजेटले आशा जगाएको अर्थमन्त्री पुनको भनाइ छ । विगतमा जस्तो यसपटक बजेट महत्वाकांक्षी नरहेकाले कार्यान्वयन हुनेमा शङ्का नरहेको उहाँले उल्लेख गर्नुभयो ।

मुलुकको भू–अवस्थितिअनुसार आर्थिक विकासको अवधारणा र रुपान्तरणकारी योजना बनाउनुपर्ने विषयलाई ध्यान दिएर यसपटक विगतमा जस्तै कृषि, जलविद्युत, पर्यटन र उत्पादममुलक उद्योगमा जोड दिइए पनि सूचना प्रविधि क्षेत्रलाई महत्वका साथ समावेश गरिएको चर्चा मन्त्री पुनले गर्नुभयो । “सूचना प्रविधिमा हाम्रो प्रतिस्पर्धी क्षमता छ । भू–अवस्थितिका कारणले पनि त्यो क्षेत्रमा विश्वव्यापी प्रतिस्पर्धी क्षमता बन्न सक्छ भन्ने मेरो विश्वास हो”, उहाँले भन्नुभयो ।

दुई छिमेकी मुलुक भारत र चीनको विकसित र सुदृढ अर्थतन्त्रबाट प्रत्यक्ष लाभ लिने गरी बजेटमार्फत् योजना अघि सारिएको पुनको दाबी छ । “विगतमा बजेट छरियो, आकार ठूलो भयो, महत्वाकांक्षी भयो, कार्यान्वयन हुँदैन भन्ने गरिन्थ्यो । धेरैको अपेक्षाविपरीत हामीले सही आकारको र यथार्थपरक बजेट प्रस्तुत गरेका छौं”, उहाँले भन्नुभयो, “विश्व आर्थिक केन्द्र बन्दै गइरहेको दुवै छिमेकका विकसित अर्थतन्त्रबाट फाइदा लिनुपर्छ भनेर योजना र कार्यक्रम ल्याएका छौं ।”

बढ्दो वैदेशिक मुद्रा सञ्चितिलाई मुलुकको प्राथमिकता क्षेत्रमा खर्च गर्न बजेटमार्फत ‘सोभरेन्ट वेल फण्ड’को अवधारणा अघि सारिएको अर्थमन्त्री पुनले उल्लेख गर्नुभयो । “वैदेशिक मुद्राको सञ्चितिलाई मुलुकको विकासमा सदुपयोग गर्नका लागि बजेटमार्फत ‘सोभरेन्ट वेल फण्ड’का रुपमा लानुपर्छ भन्ने नयाँ बहस अघि सारेका छौं”, उहाँले भन्नुभयो, “यो अवधारणाले हामीलाई विदेशी मुद्राको सञ्चितिलाई मुलुकको प्राथमिकता निर्धारण गरेर प्रयोग गर्ने सुविधा दिन्छ ।”

अर्थमन्त्री पुनले बजेटमार्फत् करका दर फेरफेर गर्दा यसपटक धेरै विवाद नभएकोसमते जिकिर गर्नुभयो । बजेट निर्माणको सुरुको चरणदेखि नै आफू त्यसबारे सचेत रहेको भन्दै उहाँले एक्लै नभई मन्त्रालयका दुवै सचिव, राजश्व महाशाखा प्रमुख, भन्सार र राजश्वका महानिर्देशक र बजेट लेखन समितिका सदस्यबीच लामो छलफलपछि मात्र करका दरहरुमा हेरफेर भएको बताउनुभयो ।

“अर्थमन्त्रीले अन्तिम रात आफूखुसी बिना तर्क, बिना तथ्य एक्लो तजबिजमा राजश्व र भन्सारका दरमा हेरफेर गरिन्थ्यो । यसपटक मन्त्रालयको पूरै टिमले विज्ञ, सरोकारवाला र उद्योगी व्यवसायीका संगठनले संस्थागत रुपमा दिएका संस्थागत सुझावसमेत समेटेर तथ्यमा आधारित रहेर राजश्व र भन्सारका दर हेरफेर गरेका छौं । त्यसमा पनि एकदमै कम चलाएका छौँ”, पुनले भन्नुभयो ।

सरकारले विकासका ढाँचा बनाउँदा केही ठाउँमा विकास गर्ने र त्यसलाई विस्तार गर्ने गरी नीति लिनुपर्ने भन्दै उहाँले बजेटले नयाँ कार्यक्रमका रुपमा पोखरा, बुटवल र नारायणगढ तीन ठूला सहरलाई जोेडर आर्थिक त्रिभुजको अवधारणा अघि सारेको उल्लेख गर्नुभयो । सरकारले यातायातसहित पूर्वधार निर्माण तथा नीतिगत क्षेत्रमा काम गर्ने र निजी क्षेत्रको सहकार्यमा त्रिभुज कार्यान्वयन गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।

आगामी आर्थिक वर्षको बजेटमार्फत नयाँ चरणको आर्थिक सुधारको घोषणा गरिएको भन्दै अर्थमन्त्री पुनले त्यसले समाजवादतर्फको बाटो निर्माण गर्ने धारणा राख्नुभयो । संविधानले मुलुकलाई समाजवाद उन्मुख भनेकाले राष्ट्रिय अर्थतन्त्र र राष्ट्रिय पुँजी समाजवादतर्फ उन्मुख गराउन उक्त नीति अघि सारिएको उहाँको भनाइ छ । “संविधानले निर्दिष्ट गरेको र राज्य प्रणालीले अपेक्षा गरेअनुसार नयाँ चरणाको आर्थिक सुधारको अवधारणा अगाडि सारिएको छ । यस वर्षको बजेटको प्राथमिकता पनि त्यसकै वरिपरिबाट निर्धारण गरिएको हो”, अर्थमन्त्री पुनले भन्नुभयो ।

अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले एक अर्काका प्रतिस्पर्धी नभई समन्वयमा काम गर्नुपर्ने भएपनि विगतमा विविध कारणले त्यसो हुन नसकेको अनुभव यसपटक आफूले गर्नुनपरेको पुनले अनुभव सुनाउनुभयो ।

अर्थमन्त्री पुनले कर्मचारीतन्त्रको मनोबल खस्किएको भन्दै उच्च मनोबलका साथ काम गर्न आग्रह गर्नुभयो । असल नियतका साथ काम गर्दा तत्काल कुनै आरोप लागे पनि इतिहासले सही मूल्याङ्कन गर्ने भएकाले निडर भएर कार्यसम्पादन गर्न उहाँको सुझाव थियो । आफू जिम्मेवारीका हिसाबले जहाँ रहे पनि कर्मचारीतन्त्रको मनोबल उठाउने काममा लाग्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।

सिमलताल पहिरोः बगेका बसका पाँच जनाको शव भेटियो

चितवन । गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव भेटिएको हो । भेटिएका मध्ये दुईजनाको परिचय खुल्न बाँकी छ ।

काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शनिबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए । गौरतर्फ गइरहेको बसमा ३८ जना र काठामाडौँतर्फ गइरहेको बसमा सवार २७ जना बेपत्ता भएका थिए ।

भानु जन्मजयन्तीमा १३ छात्रछात्रा पुरस्कृत

महोत्तरी, ३० असारः आदिकवि भानुभक्त आचाय{को दुई सय ११औँ जन्मजयन्तीका अवसरमा १३ जना छात्रछात्रा पुरस्कृत भएका छन् । महोत्तरीको बदि{बासमा बदि{बास हेल्प फाउण्डेशनले बदि{बास नगरपालिकाको सहयोगमा शनिबार आयोजना गरेको तेस्रो नगरस्तरीय अन्तर मावि कविता प्रतियोगितामा उनीहरू पुरस्कृत भएका हुन् ।

आदिकवि भानुभक्तको जीवनी, उत्प्रेरणा र रचना क्षेत्रमा उहाँको योगदानका विषयवस्तु समेटिएका कविता लेखन तथा वाचन प्रतियोगितामा प्रमिला श्रेष्ठ, प्रतिज्ञा बराल र अमिशा माझीले क्रमशः पहिलो, दोस्रो र तेस्रो पुरस्कार प्राप्त गरेका छन् । पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः रु १५, १० र सात हजार नगद र कदरपत्र प्रदान गरिएको छ ।

यसैगरी १० जनालाई जनही एक–एक हजार नगद र कदरपत्र प्रदान गरिएको छ । साहित्य साधकहरु प्रल्लास सिन्धुलीय, माधव काफ्ले र मुकुन्द पौडेल सम्मिलित निणा{यक मण्डलले उत्कृष्ट रचना छनोट गरेको हो । त्यस अवसरमा राष्ट्रिय विभूतिहरूको सम्झनामा यस्ता काय{क्रम आयोजना गने{ सामाजिक सङ्घसंस्थालाई निरन्तर सहयोग गरिने बदि{बास नगरप्रमुख प्रहलादकुमार क्षत्रीले बताउनुभयो ।

सामाजिक विकास मन्त्रालयले सबै पालिकामा विद्यालय भवन निर्माणकार्य तीव्र

काँक्रेविहार (सुर्खेत), ३० असारः कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले ‘विद्यालय शैक्षिक पूर्वाधार कार्यक्रम’अन्तर्गत १० जिल्लाका ७९ स्थानीय तहमा रहेका विद्यालयको भौतिक संरचना निर्माणलाई प्राथमिकताका साथ कार्यान्वयन गरेको छ ।

आठवटा स्थानीय तह रहेको जुम्लामा चार पालिकामा भवन निर्माण भएका छन्भनेरूकुम पश्चिममा छ पालिकामा छवटा चारकोठे भवन निर्माण सम्पन्न भएका छन् । कालीकोटका नौवटै पालिकामा विद्यालय भवन निर्माण गर्न रु चार करोड ५० लाख बजेट विनियोजन भएको छ ।

डोल्पामा आठ पालिकामा विनियोजित बजेटअनुसारको काम भएको सामाजिक विकास कार्यालयका प्रमुख धनबहादुर शाहीले राससलाई जानकारी दिनुभयो । सुर्खेतको नौ पालिकामा विद्यालय भवन निर्माणको काम गर्ने योजना रहेकामा सात पालिकामा काम पूरा भएको छ ।

यसैगरी, सल्ल्यानका ११ वटा पालिकामा ११ विद्यालय भवन, जाजरकोटका सात पालिकामा र मुगुका चार पालिकामा क्रमशः एक–एक ओटा विद्यालय भवन निर्माण सम्पन्न भएका छन् । दैलेखका ११ स्थानीय तहमा ११ वटा चारकोठे भवन बनाउन प्रारम्भ भएको छ । यो वर्ष दैलेखमा विद्यालय निर्माण गर्न रु पाँच करोड ५० लाख विनियोजन भएको उक्त मन्त्रालयले जनाएको छ ।

नारायणी नदीमा भेटिएका तीनवटै शव त्रिशूलीमा बेपत्ता बसका यात्रुको भएको पुष्टि

भरतपुर । नारायणी नदीमा शनिबार भेटिएका तीनवटै शवको परिचय खुलेको छ । ती शव पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता बसका यात्रुको भएको प्रहरीले जनाएको छ ।

गैँडाकोट नगरपालिका–७ गैरीस्थित नारायणी नदीको टापुमा शनिबार भेटिएका दुईवटा र भरतपुर महानगरपालिका–२८ गोलाघाटमा भेटिएको एक शव सिमलताल घटनाका यात्रुको भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।

उनका अनुसार शनिबार भेटिएका तीनमध्ये एउटा शव चितवन माडी नगरपालिका–१ का २२ वर्षीय विकास परियारको भएको पुष्टि भएको छ । मृतकका दाजु विजय परियारले शवको सनाखत गरेका हुन् ।

वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बसमा उनी भरतपुरबाट चढेका थिए । मृतक विकासको शव नजिकै फेला परेको अर्काे शव पनि सिमलताल घटनामा बेपत्ता भएका यात्रुकै भएको पुष्टि भएको छ । शव सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझीको भएको प्रवक्ता रिजालले बताए ।

गोलाघाटमा भेटिएको शव भारतको बिहार सीतामणी बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषि पल साह भएको पुष्टि भएको छ । मृतकका बुबा रवीन्द्रकिशोर माझी र साहका दाजुले सनाखत गरेको प्रहरी जनाएको छ । दुई शव शनिबार नै आफन्तले लगेका छन् ।

शुक्रबार काठमाडौँबाट गौर आउँदै गरेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँ जाँदैै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरामा परी त्रिशूलीमा बगेका थिए ।

काठमाडौँबाट गौर आउँदै गरेको बसमा सवार २७ जना र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बसमा सवार २४ जना बेपत्ता भएका थिए ।

बेपत्ता बस र यात्रुको आज पनि खोजी सुरु भएको छ । पहिरो खसेको सिमलताल र नारायणी नदी क्षेत्रमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेर खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो चरणको छायांकन सकियो

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो चरणको छायांकन सकिएको छ ।सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको फिल्मको पहिलो चरणको छायांकन ओखलढुङ्गा जिल्लाको रुम्जाटार क्षेत्र आसपासमा ३६ दिन लगाएर पुरा गरिएको हो ।

गत जेठ २४ गतेबाट छायाकंन सुरु गरेर ३६ दिनमा पहिलो चरणको सेड्युल पुरा गरिएको र फिल्मको बाँकी छायांकन काठमाडौँमा गरिने निर्माण पक्षले जानकारी दिएको छ । दोस्रो सेड्यूलको छायांकन दशपछि सुरु गरिने निर्माता विनोद पौडेलले जानकारी दिए।

फिल्मको पहिलो चरणको छायांकन सकिएसँगै उत्साहित रहेको बताउँदै निर्माता पौडेलले आम दर्शककालागि ‘पूर्ण बहादुरको सारङ्गी’ विशेष हुने बताए ।

उनले भने, ‘ वर्षातको समयमा घाम पानी नभनी धेरै दुख गरेर पहिलो चरणको सेड्युल पुरा गरियो, यो फिल्मका लागि स्कृप्टको चरण देखिनै मेहनत गरेर आफैँ सेटमा ३६ दिनसम्म खटिएर काम गरियो, फिल्मको सम्पूर्ण टिम राम्रो रहेकाले सबैको मेहनतमा कुनै कुराको कमी नगरी भनेकै समयमा छायांकन गर्न पाइयो, फिल्म मेकिङ बारे नयाँ अनुभव भयो त्यसकारण पनि फिल्मले हामी सबैलाई नयाँ उचाइ दिनेमा विश्वस्त छु ।’

कलाकारहरूको बलियो लाइनअप रहेको ‘पूर्ण बहादुरको सारङ्गी’मा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीको मुख्य भूमिका रहेको छ ।यस्तै, फिल्ममा विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ र देशभक्त खनाल लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ । यस्तै यो फिल्मको बालकालकारमा जान्भि पौडेल र स्वायम् केसीको अभिनय रहने छ ।

यस फिल्मलाई अन्तर्राष्ट्रिय रूपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको हो ।सोसल–ड्रामा जनरा रहेको फिल्मका लेखन तथा निर्देशन सरोज पौडेल हुन् । फिल्ममा उनी स्वयमको लेखन रहेको छ । यो फिल्म गन्धर्व परिवारको कथामा आधारित रहेको छ ।

विनोद पौडेल र प्याट्रिक सुवेदी फिल्मको लगानी कर्ता हुन् । फिल्मका कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ रहेका छन् ।फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद रहेको छ । फिल्ममा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी रहेको छ । फिल्मका गीतहरूमा प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको आवाज रहने छ ।निर्माण टिमले फिल्मलाई विं.सं.२०८२ सालभित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।

बङ्गुर, बाख्रा र कुखुरापालनबाट वार्षिक २० लाख आम्दानी गर्दै थापा

तुलसीपुर (दाङ), ३० असारः तुलसीपुर–४ निवासी जितबहादुर थापा अवकाशप्राप्त सशस्त्र प्रहरी सहायक निरीक्षक हुनुहुन्छ । उहाँ २०७७ सालमा अवकाशपछि तुलसीपुर–४ बायोखोलामा बङ्गुर, बाख्रा र कुखुरापालन गरिरहनुभएको छ ।

उहाँले २५ वटा बङ्गुर, ४० वटा जति बाख्रा र एक हजार पाँच सय बढी ब्रोइलर कुखुरापालन गर्नुभएको छ । करिब रु १० लाख लागतमा उहाँले व्यवसाय सुरु गर्नुभएको हो ।स्थानीयस्तरमै स्वरोजगार बन्नुपर्ने भन्दै आफूले काम प्रारम्भ गरेको राससलाई बताउनुभयो । “धेरै मान्छे स्वदेशमा श्रम नगरेर विदेश जाने गर्छन्, तर यहाँ नै परिश्रम गरे प्रशस्त आम्दानी गर्न सकिन्छ”, थापाले भन्नुभयो । उहाँले वार्षिक रु १५–२० लाख आम्दानी गर्दै आएको बताउनुभयो ।

बीस वर्ष सशस्त्र प्रहरी बल नेपालमा सेवा गर्नुभएका थापासामाजिक सेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । मूलपानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसमेत रहनुभएका उहाँ भन्नुहुन्छ “मैले समाजको सेवा गर्ने प्रण गरेको छु, जागिरमा हुँदा शान्ति सुरक्षामा खटिए”, उहाँले भन्नुभयो, “ अब समाजलाई सकेको सहयोग गर्छु । ”

तिला नदीमा बेलीब्रिज बनेपछि महावै गाउँपालिका कर्णाली राजमार्गसँग जोडियो

मान्म (कालीकोट), ३० असारः जिल्लाको महावै गाउँपालिका कर्णाली राजमार्गसँग जोडिएको छ । खाँडाचक्र नगरपालिका–८ सेरावाडा र महावै गाउँपालिका–५ को तिला नदीमा बेलीब्रिज बनेपछि महावै गाउँपालिका कर्णाली राजमार्गसँग जोडिएको हो ।

महावै गाउँपालिका जोड्ने बेलीब्रिज बनाउन लामो समयको प्रयासपछि कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार विकास कार्यालय कालीकोटले तिला नदीमा बेलीब्रिज बनाएको हो ।

दुई करोड लागत अनुमान गरेर निर्माण थालिएको बेलीब्रिज डिएस निर्माण सेवा काभ्रेले रु एक करोड ८१ लाखमा सम्झौता गरेको भौतिक पूर्वाधार विकास कार्यालय कालीकोटका इन्जिनियर लक्ष्मणप्रसाद पाण्डेले बताउनुभयो ।

तिला नदीमा पुल निर्माणका लागि पहल थालेको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताउनुभयो । “पक्की पुल निर्माण हुनसक्ने अवस्था नभएकाले सेरावाडामा बेलीब्रिज पुल निर्माणका लागि प्रदेश सरकारलाई आग्रह गरेको थियौँ”, उहाँले भन्नुभयो, “सरकारले महावै गाउँपालिकाको समस्यालाई समयमै बुझेका कारणले सेरावाडामा बेलिब्रिज निर्माणको काम सकिएको छ ।” पुलको छेउमा केही चट्टानी भाग छिचोल्न बाँकी रहेकाले लगत्तै काम गराउने र कर्णाली राजमार्गसँग सिधा सम्पर्क गर्न सहज भएको महावै गाउँपालिका अध्यक्ष सिंहले जानकारी दिनुभयो ।

१८ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको मोटरेबल पुल सात महिनामै बन्यो

म्याग्दी, ३० असारः जिल्लाको अर्जेखोलामा १८ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको मोटरेबल पुल सात महिनामा तयार भएको छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–३ को सिमानामा २५ मिटर लामो मोटरेबल पुल निर्माण गर्न निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो ।

रु तीन करोड ४१ लाखमा ठेक्का सम्झौता गरेको कम्पनीले काम थालेको सात महिनामै पुल तयार पारेको पूर्वाधार विकास कार्यालय प्रमुख विष्णुप्रसाद पौडेलले बताउनुभयो । “सवारीसाधन वारपार गर्न थालेको पुलको पहुँचमार्गलाई अन्तिमरूप दिनेबाहेक सबै काम सकिएको छ”, उहाँले भन्नुभयो, “२०८१ चैत २६ गतेसम्म म्याद रहेको पुलको ९० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको छ ।”

सम्झौतालगत्तै पर्याप्त मजदुर र उपकरण परिचालन तथा निर्माण सामग्री व्यवस्थापन गरेको, कार्यालयबाट नियमित अनुगमन, सहजीकरण, जनप्रतिनिधि र उपभोक्ताको सहयोगले लक्ष्यअघि नै पुल निर्माण गर्न सम्भव भएको निर्माण कम्पनीका प्रतिनिधिले बताए । बेनी नगरपालिका–४ का राजु गुरुङले निर्माण व्यवसायीको इच्छाशक्ति, सम्बद्ध कार्यालय, जनप्रतिनिधि र समुदायले काम गर्ने वातावरण बनाउन सकेमा विकास आयोजनामा हुने ढिलासुस्ती हटाउन सकिने सन्देश अर्जेखोलाको मोटरेबल पुल निर्माण योजनाले दिएको बताउनुभयो ।

चालु आर्थिक वर्षमा रु एक करोड ५० लाख विनियोजन भएको अर्जेखोला पुलका लागि आर्थिक वर्षको भुक्तानी हुने अन्तिम समयसम्म रकमान्तर गरेर थप बजेट व्यवस्था गर्न पहल गरे पनि सफल नहुँदा निर्माण व्यवसायीले भुक्तानी पाउन बाँकी रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख पौडेलले बताउनुभयो ।

आगामी आर्थिक वर्षको सुरुमै भुक्तानी दिने र पुल हस्तान्तरण गरी ठेक्का टुङ्ग्याउने लक्ष्य रहेको उहाँले बताउनुभयो । यसअघिका दुई आवको वार्षिक योजनामा समावेश भए पनि अर्जेखोलाको पुलका लागि कुल लागत अनुमानको २० प्रतिशतभन्दा बढी बजेट विनियोजन र स्रोत सुनिश्चितता नहुँदा निर्माण सुरु भएको थिएन ।

आव २०७८/७९ र चालु आव मा रु ५०–५० लाख विनियोजन भएको थियो । मङ्गला गाउँपालिका–३ का वडाध्यक्ष याम रोकाले अर्जेखोलामा पुल बनेपछि बर्खायाममा बाढी आउँदा जोखिम मोलेर सवारीसाधन तार्नुपर्ने अवस्था हटेको र आवतजावत सहज तथा सुरक्षित भएको बताउनुभयो । बेनी–बरन्जा सडकअन्तर्गत पर्ने यो पुलबाट बेनी नगरपालिका–४, मङ्गालाका– ३, ४, ५ वडाका साथै बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दा लाभान्वित भएका छन् ।

जीर्ण कारागारमा क्षमताभन्दा तेब्बर बन्दी, सुरक्षा र व्यवस्थापनमा चुनौती

बैतडी, ३० असारः जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर बन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । पच्चीस जनाका निम्ति बनाइएको कारागारमा ७६ जनालाई राखिएको छ । चार दशकअघि बनेको कारागार भवन मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएको छभने क्षमताभन्दा बढी बन्दी राख्नुपर्नाले सुरक्षा र व्यवस्थापन चुनौती थपिएको कारागार प्रमुख धारा भण्डारीले बताउनुभयो । टिनको छाना भएको भवनमा वर्षाको पानी चुहिन थालेपछि समस्या भएको छ । क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा सुरक्षा र व्यवस्थापनमा पनि चुनौती थपिएको उहाँले बताउनुभयो ।

जेलर आवासगृह, सुरक्षा ब्यारेक पनि नभएको भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “जेलरले २४सैँ घण्टा बस्नुपर्ने भए पनि आवासगृह छैन, छुट्टै भेटघाट कक्ष छैन, सुरक्षा ब्यारेक बनेको छैन । यसले सुरक्षा चुनौती थपिएको छ ।”

कारागारमा स्वास्थ्यकर्मी नभएकाले कैदीबन्दी सामान्य बिरामी हँुँदा अस्पताल लैजानुपर्ने बाध्यता रहेको जेलर भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दी सामान्य बिरामी हुँदा जिल्ला अस्पताल लैजानुपर्ने बाध्यता छ । जिल्लामा उपचार सम्भव नभएर धनगढी, काठमाडौँ रेफर गर्छौँ । स्वास्थ्यकर्मी नभएकोबारे गृह मन्त्रालयलाई जानकारी गराएर माग गरेका छौँ ।”

केन्द्रबाट अनुगमनमा निकाय आउने पदाधिकारीलाई समस्याबारे ज्ञात भए पनि समाधान भने भएको छैन । विस २०४० मा निर्माण गरिएको कारागार भवन मर्मत नहुँदा जीर्ण छ । नयाँ भवन निर्माणका लागि कारागार व्यवस्थापन विभागलाई लागत अनुमानसहितको विवरण पठाइएको जेलर भण्डारीले बताउनुभयो ।

उच्च अदालत सुर्खेत, जुम्ला इजलासबाट ९० प्रतिशत मुद्दा फछ्यौट

जुम्ला, ३० असारः उच्च अदालत सुर्खेत, जुम्ला इजलासले ९० दशमलव ६८ प्रतिशत मुद्दा फछ्यौट गरेको छ । जुम्ला इजलासका मुख्य न्यायाधीश गोकर्ण डाँगीका अनुसार चालु आर्थिक वर्ष २०८०÷८१ मा हालसम्म दर्ता भएकामध्ये ९० दशमलव ६८ प्रतिशत मुद्दा फछ्यौट गरिएको हो ।

मुख्य न्यायाधीश डाँगीले सोही आवमा नयाँ दर्ता भएका दुई सय २९ मुद्दा, गत वर्षका ५० वटा मुद्दा जिम्मेवारी सरी आएकासहित कुल जम्मा दुई सय ७९ वटा मुद्दा फछ्यौट भएका छन् । अदालतमा २६ वटा मुद्दा फैसला हुन बाँकी रहेको मुख्य न्यायाधीश डाँगीले बताउनुभयो ।

उच्च अदालत जुम्लामा दुई इजलास छन् । पुराना मुद्दाको सङ्ख्यालाई शून्यमा ल्याउने अदालतको लक्ष्य रहेको मुख्य न्यायाधीश डाँगीले बताउनुभयो । अदालतका अनुसार देवानीतर्फ २५ वटा मुद्दामध्ये २३ वटा फछ्यौट भएका छन् । साथै सरकारवादी फौजदारी मुद्दातर्फ दुई सय २५ वटा मुद्दा दर्ता भएकामा हालसम्म दुर्ई सय आठ वटा मुद्दा फछ्यौट भएका छन् भने १७ वटा मुद्दाको फैसला हुन बाँकी छ ।

रिट २८ वटा परेकामा २१ वटा फछ्यौट हुँदा अझै सातवटा निवेदनको सुनुवाइ हुन बाँकी रहेको उच्च अदालत जुम्ला इजलासका सूचना अधिकारी टङ्कप्रसाद खत्रीले जानकारी दिनुभयो । अदालतका अनुसार कर्तव्य ज्यानका २४ वटा मुद्दामध्ये २२, जबर्जस्ती करणीका ७१ मध्ये ६९ वटा, जातीय विभेद तथा छुवाछूतका दुईमध्ये २ वटा, लागुऔषधका २२ मध्ये १९, चोरीका २२ मध्ये १५, बहुविवाह र बालविवाहका १२ मध्ये ११ मुद्दा छिनाफाना भएका छन् ।

यसैगर ि सम्बन्धविच्छेदका छ मुद्दामध्ये पाँचवटा, अंश र जग्गाका १० मध्ये १० वटै फछ्यौट भइसकेका छन् । सवारी ज्यानतर्फ १३ मध्ये १२, उत्प्रेषण, परमादेश २५ मध्ये १९, ज्यान मार्ने उद्योगका २५ मुद्दा परेकाको २५ वटै मुद्दा फछ्यौट भएका छन् । निषेधाज्ञाका तीनमध्ये दुई र अन्य ४४ वटा मुद्दामध्ये ४२ वटा मुद्दा फछ्यौट भएको अदालतले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप ४३ लाख अनुदान

दमौली (तनहुँ), ३० असारः भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दूध उत्पादक किसानलाई रु ४३ लाख ७३ हजार अनुदान वितरण गरेको छ । व्यावसायिक रूपमा पशुपालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न केन्द्रले चालु आर्थिक वर्षमा अनुदानस्वरुप उक्त रकम प्रदान गरेको हो ।

केन्द्रले जिल्लाका १० सहकारीमार्फत दूध बिक्रीवितरण गर्ने किसानलाई उत्पादनका आधारमा अनुदान वितरण गरेको केन्द्र प्रमुख डा राजेश चौधरीले जानकारी दिनुभयो । कार्यालयले प्रतिलिटर दुई रुपैयाँ ५० पैसाका दरले अनुदान उपलब्ध गराएको उहाँले बताउनुभयो । उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रमका लागि रु ९० लाख बजेट विनियोजन भएकामा ४८ दशमलव ५९ प्रतिशत प्रगति भएको उहाँ बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “सुरुमा प्रतिलिटर रु पाँचका दरले अनुदान दिने गरी कार्यक्रम बनेको थियो । तर विविध कारण र मापदण्डले गर्दा दुई रुपैयाँ ५० पैसाका दरले मात्रै अनुदान उपलब्ध गरायाँै ।” जिल्लाका १५ वटा सहकारीमार्फत प्रस्ताव आए पनि दोहोरो सुविधा नहुने गरी सहकारीमार्फत दूध विक्री वितरण गर्ने किसानलाई अनुदान दिइएको चौधरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कतिपय स्थानीय तह आफैँले पनि दूधमा अनुदान दिने कार्यक्रम सञ्चालन गरेका छन् । त्यस्ता ठाउँमा दोहोरिने भएकाले वितरण गरेनौँ ।” दूधमा उत्पादनका आधारमा अनुदान दिन थालेपछि किसान दुग्ध उत्पादनतर्फ आकर्षित भएकाले जिल्ला दूधमा आत्मनिर्भर बन्न सहयोग पुगेको छ ।

कार्यालय तथा सरोकारवाला निकायले पशुपालनमा अनुदानको व्यवस्था गरेपछि पछिल्लो केही वर्षयता तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर बनेको छ । प्रतिव्यक्ति प्रतिवर्ष न्यूनतम ९१ लिटर दूध आवश्यक पर्नेमा तनहुँमा एक सय १८ दशमलव ५४ लिटर उपलब्धता छ । त्यस्तै ९४ केजी मासु आवश्यक पर्नेमा ९४ दशमलव ४१ केजी मासु उपलब्धता छ । साथै ४८ गोटा अण्डा आवश्यक पर्नेमा ८२ दशमलव ५९ गोटा अण्डा उपलब्धता छ । यो हिसाबले प्रतिव्यक्तिका लागि दूधमा २७ दशमलव ५४ लिटर, मासुमा शून्य दशमलव ४९ केजी र अण्डामा ३४ दशमलव ५९ गोटा बढी उत्पादन भइरहेको कार्यालयले जनाएको छ ।

उक्त कार्यालयले चालु आर्थिक वर्षमा बाँझो जग्गामा घाँसखेती गर्नेलाई समेत अनुदान उपलब्ध गराएको छ । घाँसखेती प्रवर्द्धन कार्यक्रममार्फत दुई सय २८ रोपनी क्षेत्रफलमा घाँसखेती गर्ने किसानलाई प्रतिरोपनी रु तीन हजारका दरले अनुदान उपलब्ध गराइएको छ । यो कार्यक्रमका लागि रु १८ लाख ६० हजार बजेट विनियोजन भएकामा रु छ लाख ८१ हजार खर्च भएको छ ।

केन्द्रको बजेट बर्सेनि घट्दो

सङ्घीयता कार्यान्वयनसँगै केन्द्रको बजेट बर्सेनि घट्दो अवस्थामा छ । पशुपालन गर्ने किसानको सङ्ख्या बढ्दो अवस्थामा रहँदा केन्द्रको बजेट घट्दा सोचेअनुरुपको काम गर्न नसकिएको डा चौधरीले बताउनुभयो ।

कार्यालयका लागि चालु आवमा रु नौ करोड ७५ लाख २७ हजार बजेट विनियोजन भएको छ । गत आर्थिक वर्ष २०७९÷८० मा रु १० करोड दुई लाख ८४ हजार, आव २०७८÷७९ मा रु ११ करोड ९१ लाख ७२ हजार बजेट विनियोजन भएको थियो ।

उत्तर इराक र सिरियामा सैन्य कारबाही अन्त्य भएको टर्कीएका राष्ट्रपति एर्दोगानको घोषणा

उत्तरी इराक र सिरियामा कुर्दिशस्थान वर्कर्स पार्टी (पीकेके) लडाकुविरुद्ध टर्कीको सेनाको कारबाही अन्त्य भएको घोषणा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले शनिबार गर्नुभएको छ ।

टर्कीले सन् २०२२ को अप्रिलमा उत्तरी इराकसँगको आफ्नो सीमा सुरक्षित गर्न पीकेके) लडाकुविरुद्धको लडाई (अपरेसन क्लाउ–लक) सुरु गरेको थियो ।

“हामी चाँडै नै उत्तरी इराकको कारबाहीलाई रोक्नेछौँ”, राष्ट्रपति एदोगानले भन्नुभयो, “कुर्दिश सेना अब हाम्रो सीमाभित्र लड्न असमर्थ भइसकेका छन् ।”

पीकेके इराक र सिरिया दुवैमा ‘पूर्ण रूपमा फसेको’ भन्दै युवा सैन्य स्नातकहरूलाई सम्बोधन गर्दै टर्कीएको सेनाले ‘उनीहरूमाथि’ बिजय गरेको बताउनुभएको थियो ।

“हामी सिरियासँग जोडिएको हाम्रो दक्षिणी सीमामा रहेका सुरक्षा क्षेत्रका हराएका स्थलहरूको खोज पूरा गर्नेछौँ ।”

अङ्काराले सन् २०१६ देखि उत्तरी सिरियाको सीमा क्षेत्रबाट कुर्दिश सेनालाई देश निकाला गर्न लगातार स्थलगत अभियान सञ्चालन गर्दै आएको छ ।

खान युनिसमा इजरायली आक्रमणमा कम्तिमा ७१ जना प्यालेस्टिनीको मृत्यु

गाजाको दक्षिणमा रहेको खान युनिस सहरको मावासी क्षेत्रमा विस्थापित मानिसहरूको शिबिरमा शनिबार इजरायली हवाई आक्रमणमा परी कम्तीमा ७१ प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य २८९ जना घाइते भएका गाजाका स्वास्थ्य अधिकारीले बताएका छन् ।

तीन मिसाइलसहित, इजरायली जेटहरूले खान युनिसमा विस्थापित मानिसहरूको टेन्टले बनेको वस्तीमा बमबारी गरेको र त्यसपछि एक नागरिक सुरक्षा गाडीलाई निशाना बनाइएको थियो । उक्त घटनामा मारिएका र घाइते भएका दर्जनौं शव भग्नावशेषमा पुरिएका थिए ।

‘गाजा सिभिल डिफेन्स सर्भिस’ले एक संक्षिप्त विज्ञप्ति जारी गरी इजरायली आक्रमणले मावासीमा विस्थापित मानिसहरूको ठूलो जमघटलाई निशाना बनाएको उल्लेख गरेको छ ।

यसैबीच, इजरायली सरकारी स्वामित्वको कान टिभी समाचारले मावासी क्षेत्रमा इजरायली आक्रमणको निशाना हमासका सैन्य प्रमुख मोहम्मद डेफ रहेको बताएको र सेनाले छापा मार्ने परिणामको पर्खाइमा रहेको उल्लेख गरेको छ ।

हमासले दावीलाई अस्वीकार गर्दै यो इजरायलको अपराध लुकाउने सन्दर्भमा आएको अभिव्यक्ति मात्र भएको बताएको छ ।

दादुराले अफगानिस्तानमा एक सय ६० जनाको मृत्यु : डब्लुएचओ

अफगानिस्तानमा पछिल्लो छ महिनामा दादुराका कारण कम्तीमा १६० जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ ।

प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा ३६ हजार ६१८ जनामा यो रोग लागेको छ भने १६० जनाको मृत्यु भएको छ । यसमध्ये ८१.१ प्रतिशत दादुराको शङ्कास्पद घटनामा पाँच वर्ष मुनिका बालबालिका र ४५ प्रतिशत महिला रहेका छन् ।

अधिकांश घटनाहरू पूर्वी अफगानिस्तानको खोस्ट प्रान्तमा रेकर्ड गरिएका रिपोर्टमा उल्लृख गरिएको छ ।

दादुराबारे चेतनाको अभाव, स्वास्थ्य सुविधामा पहुँचको अभाव, बालबालिकालाई खोप नदिने र अफगानिस्तानका केही दुर्गम क्षेत्रहरूमा अफगानीहरू एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्नेजस्ता बिषय रोग र मृत्युको कारक हुन् ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान समर्थित गठबन्धन आरक्षित सिटका लागि योग्य ठहर

पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खानको पाकिस्तान तेहरीक–ए–इन्साफ (पिटिआई) पार्टी समर्थित गठबन्धनलाई आरक्षित सिटका लागि योग्य ठहर गरेको छ ।

पेशावर उच्च अदालत (पीएचसी) र पाकिस्तान निर्वाचन आयोगद्वारा पिटिआई समर्थित सुन्नी इत्तेहाद काउन्सिल (एसआईसी) गठबन्धनका लागि महिला र गैर–मुस्लिमका लागि आरक्षित सीटहरू अस्वीकार गरिएपछि यसविरुद्ध गरिएको अपिलमा सुनुवाईपछि पाकिस्तानको सर्वोच्च अदालतको १३ सदस्यीय बेन्चले यो निर्णय गरेको हो ।

सर्वोच्च अदालतको फैसलापछि निर्वाचन आयोगले आफ्नो पार्टीको चुनाव चिन्ह खोसेपछि यस वर्षको सुरु (फेब्रुअरी ८) मा सम्पन्न निर्बाचनमा पीटीआई समर्थित उम्मेदवारले स्वतन्त्र रूपमा भाग लिनुपरेको थियो ।

पीटीआईद्वारा समर्थित विजयी उम्मेदवारहरूले पछि एसआईसीमा सामेल भई आरक्षित सीटहरूमा दावी गरेका थिए ।

यद्यपि, निर्बाचन आयोगले पेशावर उच्च अदालतको रायलाई आधार बनाउँदै आरक्षण सीट एसआईसीलाई प्रदान गर्न अस्वीकार गरेको थियो भने ती सीटहरू अन्य राजनीतिक दलहरूलाई वितरण गरिएको थियो ।

सर्वोच्च अदालतले आठ देखि पाँच जना न्यायाधीशको बहुमत रहेको पीएचसीको निर्णयलाई रद्द गरेको छ भने निर्वाचन नियामकको निर्णयलाई पनि अमान्य घोषित गरेको छ र यसलाई पाकिस्तानको संविधान विपरीत भनेको छ ।

फैसलामा भनिएको छ, “पाकिस्तानको निर्वाचन आयोगको सन् २०२४ मार्च १ को आदेशलाई संविधानको अधिकारभन्दा बाहिरको, कानुनी अधिकार बिना र कुनै कानूनी प्रभाव बिना नै अति नै असंवैधानिक देखिन्छ । निर्वाचन चिह्न नहुनु वा अस्वीकृत गर्नुले राजनीतिक दलको निर्वाचनमा भाग लिन पाउने र उम्मेदवार खडा गर्न पाउने संवैधानिक र कानूनी अधिकारमा कुनै असर नपर्ने पनि सर्वोच्चले ठहर गरेको छ ।”

फैसलामा सन् २०२४ को आम निर्वाचनमा राष्ट्रिय र प्रान्तीय विधानसभामा सामान्य सिट हासिल गर्ने राजनीतिक दल पीटीआई रहेको उल्लेख गरिएको छ ।

सर्वोच्च अदालतले पीटीआईका ३९ जना उम्मेदवारलाई निर्वाचित सदस्यको रूपमा पुष्टि गरिएको र एसआईसीमा सामेल भएका बाँकी ४१ जनाले देशको संसदको तल्लो सदनमा पीटीआईलाई आफ्नो पार्टीको रूपमा चयन गर्न नामाङ्कन पत्र दायर गर्न सक्ने बताएको छ ।

पहिरोमा परीज्यान गुमाएका बागलुङका तीनजनाका परिवारलाई आर्थिक सहयोग

गलकोट (बागलुङ), ३० असार : सरकारले मनसुनजन्य विपद्बाट ज्यान गुमाएका बागलुङका तीनजनाका परिवारलाई राहतस्वरुप रु छ लाख ५० हजार नगद प्रदान गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले यही असार २७ गते राति बागलुङ नगरपालिका–७ तितौरेमा पहिरोमा परी ज्यान गुमाएकी ५५ वर्षीया खिलकुमारी शर्माकी छोरी निर्मलालाई रु दुई लाख ५० हजार नगद प्रदान गरेको हो ।

यसैगरी यही असार १५ गते राति घर पुरिँदा गलकोट नगरपालिका–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र निजकी ५० वर्षीया श्रीमती वसन्ती विकको मृत्यु भएको थियो । विकका परिवारलाई रु चार लाख नगद प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले राससलाई बताउनुभयो । उक्त रकम सङ्घीय र प्रदेश सरकारबाट प्राप्त भएको हो ।

‘नेपालको लोकतन्त्रको यात्रा कतातिर ?’ पुस्तक लोकार्पण

(ललितपुर-पूर्वउपसचिव धनविक्रम सिंहद्वारा लिखित ‘नेपालको लोकतन्त्रको यात्रा कतातिर ?’ पुस्तक लोकार्पण गरिएको छ । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकूलपति प्राडा कुलप्रसाद कोइरालाले पुस्तकको लोकार्पण गर्नुभएको हो ।

पुस्तक विमोचन गर्नुहुँदै पूर्वउपकूलपति कोइरालाले ८२ वर्षको उमेरमा पनि पुस्तक लेखेर पूर्वउपसचिव सिंहले समाजलाई अमूल्य र गहनशील विषय प्रस्तुत गर्नुभएको बताउनुभयो । “लेखन शैली र पठन संस्कृतिले मानिसका कोशिकाहरूको पनि वृद्धि हुन्छ, पुस्तक लेख्नु भनेको जन्मिएको प्रमाण युगौँयुगसम्म पृथ्वीमा छोड्नु हो”, उहाँले भन्नुभयो ।

यस्तै, नेपाल सरकारका पूर्वसचिव शम्भु कोइरालाले मान्छेको आत्मसम्मानमा किताबले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुहुँदै लेखनले शान्तिसमेत दिने धारणा राख्नुभयो ।

सामाजिक व्यक्तित्व डा ताराबहादुर कुँवरले लेखकसँग पारु किताब विमोचनका समयमा चिनजान भएको स्मरण गर्नुहुँदै किताबको शक्तिले मानिसलाई समाजमा परिचित गराउने धारणा राख्नुभयो ।साहित्यकार तथा पत्रकार विनोद दाहालले लेखकको तेस्रो पुस्तकमा नेपालको राजनीति, आर्थिक, सामाजिक क्षेत्रका विषयवस्तु समेटिएको र यो सबैका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

पुस्तकका लेखक धनविक्रम सिंहले आफूले श्री ५ को सरकार र नेपाल सरकारको सेवा गर्ने अवसर पाएको स्मरण गर्नुहुँदै कोरोनाको बेलादेखि लेख्न थालेका कुराहरूलाई पुस्तकमा उतारिएको बताउनुभयो । “सेवा गर्ने क्रममा धेरै जिल्लामा सेवा गर्न पाएँ, त्यसबाट धेरै कुरा सिकाइ र अनुभव पनि भयो । प्रजातन्त्रदेखि गणतन्त्रसम्म आइपुग्दासम्म भ्रष्टाचार, अधिनायकवादी चरित्र, संसद् भङ्गलगायत घटनाहरू पनि देखिँयो । हिजो दरबारको प्रभाव र दबाब हुन्थ्यो तर अहिले त्यो छैन, यी कुराहरुलाई पनि पुस्तकमा समेट्ने प्रयास गरेको छु”, उहाँले भन्नुभयो ।नेपाल सरकारको उपसचिवबाट सेवा निवृत्त हुनुभएका सिंहले यसअघि अन्तर्निहित अन्र्तध्वनि, पारु सामाजिक उपन्यास प्रकाशित गरिसक्नुभएको छ ।

पशुपतिनाथमा बृहत् कोटीहोम महायज्ञ साउन १ गतेदेखि आयोजना हुँदै

काठमाडौँ, २९ असारः पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा आगामी साउन १ गतेदेखि बृहत् कोटीहोम महायज्ञ हुँदैछ । मानव सेवा फाउण्डेशनलगायत झण्डै एक दर्जन सङ्घसंस्थाको आयोजनामा हुने लागेको एक महिने कोटीहोम महायज्ञको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् ।

महायज्ञ अवधिभर जगद्गुरु, साधु, सन्त, महन्तका साथै ख्यातिप्राप्त कथा वाचकबाट आशीर्वचन तथा कथा प्रवचन हुने आयोजक समितिका खेमराज रेग्मीले जानकारी दिनुभयो । यसैगरी महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल, राधिका दासी, श्रीराम कथावाचक चन्द्रकला सखी र श्रीमद्भागवतकी लोकप्रिय युवा कथावाचिका देवी प्रतिभालगायतले कथावाचन गर्नुहुनेछ ।

विराट ज्ञानमहायज्ञमा एक सय आठ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण, वैदिक मन्त्रसहित अनवरत रूपमा नियमित हवन,भन्दा बढी बालिकाको कन्या पूजन, हजारौँको तुलादान, ज्येष्ठ नागरिकको सम्मान, ताण्डुलाचल चामलको पर्वत निर्माणलगायतको कार्यक्रम पनि नियमित रूपमा सञ्चालन हुने फाउण्डेशनले जनाएको छ ।

गङ्गामाई रथयात्रा सम्पन्न

पशुपतिनाथ क्षेत्रमा आषाढ शुक्ल सप्तमी अर्थात् अचला सप्तमीका दिन पानी माग्दै गरिने गङ्गामाई रथयात्रा आज सम्पन्न भएको छ । पशुपति क्षेत्रमा जलकी अधिष्ठात्री देवी गङ्गामाईको विशेष पूजा आराधनासहित दिव्य रथयात्रा गर्ने परम्परा रहेअनुसार आज गङ्गामाई रथयात्रा गरिएको थियो ।

पाशुपत क्षेत्रमा जलकी अधिष्ठात्री देवी गङ्गाको दिव्य रथयात्रा तथा विशेष अर्चना उपासना गरेपछि पानी पर्ने एवं खडेरी नहुने विश्वास गरिने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “असारमा गरिने यो जात्रापछि सहकाल हुने भएकाले प्राचीनकालदेखि यसलाई निरन्तरता दिइँदै आएको छ । यो जात्रामा राज्यबाट हर्षबढाइँका लागि गुरुज्यूको पल्टनले सलामीसमेत प्रदान गर्ने प्राचीन परम्परा छ ।”

गङ्गामाई जात्राको प्रतीकका रुपमा यसलाई अहिले पनि पशुपति क्षेत्र विकास कोषले निरन्तरता दिँदै आएको र पाशुपत क्षेत्र शाक्त सम्प्रदायको समेत उपासनास्थल भएको विकास कोषले जनाएको छ । गङ्गालाई स्वर्गबाट पृथ्वीमा उतारेको विश्वास रहेको एवं पशुपति क्षेत्रमा यो जात्रा गरेपछि देशभर वर्षा भई खेतीपाती लगाउन सकिने मान्यतासमेत रहेको विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताउनुभयो ।

भगवान् पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको माता गङ्गाको अष्टधातुको मूर्तिलाई रथारोहण गराई पाशुपत क्षेत्रको देवमार्गमा परिक्रमा गराइएको थियो । रथयात्रामा स्थानीयवासीका साथै देशविदेशबाट आएका भक्तजनको सहभागिता थियो । गङ्गामाई रथयात्रा पशुपतिनाथको बज्रघरबाट सुरु गर्ने परम्पराअनुसार आज उक्त रथ वनकाली क्षेत्र हुँदै गौशलासहित जयबागेश्वरी हुँदै पुनः पशुपतिनाथमा ल्याइएको थियो ।

प्रदेश खेलकुद विकास बोर्डले खेलाडी तथा प्रशिक्षकलाई सम्मान गर्ने

मोरङ- कोशी प्रदेश खेलकुद विकास बोर्डले प्रदेशका दुई सय खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान एवं पुरस्कृत गर्ने भएको छ ।बोर्डद्वारा विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा असार ३० गते अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियेगिता र १४औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक विजेता खेलाडी, सम्बन्धित खेलका प्रशिक्षक र व्यवस्थापकलाई नगदसहित सम्मान गर्ने जानकारी दिइयो ।

बोर्डका सदस्यसचिव कृष्ण बस्नेतले आफूले नेतृत्व पाएको दुई महिनामा १० वटा प्रदेशस्तरीय खेलकुद विभिन्न जिल्लामा सम्पन्न गरेको जानकारी दिनुभयो । उहाँले आगामी वर्ष खेलकुदको वार्षिक पात्रोअनुसार नियमित खेलकुद प्रतियोगिता आयोजना गर्नुका साथै ३० वटा खेलकुद प्रतियोगिता प्रदेशका विभिन्न जिल्लामा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नयाँ प्रधानमन्त्रीको नियुक्ति आज र शपथ भोलि

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीको नियुक्ति आज गर्नुहुने भएको छ । उहाँले नयाँ सरकार गठनका लागि तोक्नुभएको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढाउनुुहुने प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि शुक्रबार अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।

सो आह्वानअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले दाबी पेस गर्ने समय सकिएपछि आज साँझ प्रधानमन्त्री पदमा नियुक्त गर्नुहुनेछ । त्यस्तै आज समय ढिला हुने भएकाले सोमबार बिहान ११ बजे प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहण कार्यक्रम हुने प्रेस सल्लाहकार पोखरेलले बताउनुभयो ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ, ३० असारः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।कोशी प्रदेश, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने विभागको पूर्वानुमान छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पनि केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पनि केही स्थानमा मेघगर्जन र चट्यङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, मधेस, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढीपहिरोको क्षतिबाट बच्न विभागले अनुरोध गरेको छ ।

अमेरिकी क्षेप्यास्त्रको तैनाथीले युरोपेली मुलुकका राजधानी रूसको निशानामा पर्नसक्ने क्रेमलिनको चेतावनी

क्रेमलिनले जर्मनीमा अमेरिकी क्षेप्यास्त्र तैनाथ गर्दा शीतयुद्धशैलीको भिडन्त दोहोरिँदै गर्दा रूसका क्षेप्यास्त्रका लागि युरोपेली राजधानीहरूलाई निशाना बनाउन सक्ने चेतावनी दिएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले एउटा ‘विरोधाभास पूर्ण’ कुरा गर्दै भन्नुभयो, “युरोप हाम्रो क्षेप्यास्त्रको निशाना हो, हाम्रो देश युरोपमा रहेका अमेरिकी क्षेप्यास्त्रको निशाना हो ।”

रूसी सरकारी टेलिभिजन रसिया–वनसँग कुरा गर्दै उहाँले भन्नुभयो, “हामीसँग यी क्षेप्यास्त्रको सामना गर्न पर्याप्त क्षमता छ तर यी देशका राजधानीहरू सम्भावित पीडितहरू हुनेछन् ।”

कार्यक्रमका प्रस्तोता पावेल जारुबिनले सोभियत सङ्घको पतनसँगै शीतयुद्ध समाप्त भएको औँल्याइरहँदा पेस्कोभले टकरावले समग्र युरोपलाई कमजोर पार्न सक्ने सङ्केत गर्दै भन्नुभयो, “अहिलेको युरोप आफ्नो सबैभन्दा राम्रो क्षणमा रहेको छैन । फरक परिप्रेक्षमा इतिहासको पुनरावृत्ति अपरिहार्य छ ।”

ह्वाइट हाउसले नाटोको शिखर सम्मेलनका क्रममा सन् २०२६ देखि जर्मनीमा टोमाहक क्रुज क्षेप्यास्त्रलगायत लामो दूरीका हतियारहरू समय समयमा तैनाथ गर्ने घोषणा गरेको थियो । सम्मेलनमा ह्वाइट हाउसले भनेको छ, “यी उन्नत क्षमताको प्रयोगले नाटोेप्रति संयुक्त राज्य अमेरिकाको प्रतिबद्धता र युरोपेली एकीकृत निरोधमा अमेरिकाको योगदानलाई प्रदर्शित गर्नेछ ।”

क्रेमलिनले यो कदमको आलोचना गर्दै वासिङ्टनले नयाँ शीतयुद्धतर्फ कदम चालेको र युक्रेनको द्वन्द्वमा प्रत्यक्षरूपमा सहभागी भएको आरोप लगाएको छ ।
रूसी रक्षा मन्त्री आन्द्रेई बेलोसोभले आफ्ना अमेरिकी समकक्षी लोयड अस्टिनसँग टेलिफोन वार्ता गरी सम्भावित तनावको जोखिम कम गर्ने विषयमा छलफल गरेको रूसी रक्षा मन्त्रालयले शुक्रबार जनाएको छ ।

सन् २०२२ मा युक्रेनमा रूसको सैन्य अभियान सुरु भएपछि संयुक्त राज्य अमेरिकाको नेतृत्वमा नाटो सदस्य राष्ट्रहरूले युरोपमा आफ्नो प्रतिरक्षालाई बलियो बनाएका छन्।

मधेस प्रदेशः आर्थिक विधेयक २०८१ सर्वसम्मतिले पारित

जनकपुर, २९ असारः मधेस प्रदेशसभाको आजको बैठकबाट मुख्यमन्त्री तथा अर्थमन्त्री सतिशकुमार सिंहले पेस गर्नुभएको आर्थिक विधेयक, २०८१ सर्वसम्मतिले पारित भएको छ ।

मुख्यमन्त्री सिंहले बजेट बनाउन थोरै समय पाएका कारण करको विषयमा समीक्षा समेत गर्न नसकेको बताउनुभयो । उहाँले प्रदेश सरकारको आम्दानी बढाउन विज्ञहरूसँग परामर्श गरेर यस विषयमा छलफल गरी नीति निर्माण गरेर अगाडि बढ्ने समेत जानकारी दिनुभयो ।

आज बैठकमा छलफलको क्रममा उठेको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री सिंहले विगतको सरकारले राखेको करको दायरालाई नै वर्तमान सरकारले यथावत राखेको जानकारी दिनुभयो ।

आर्थिक विधेयकमाथिको छलफलमा भाग लिँदै जसपा नेपालका प्रदेशसभा सदस्य रामअशिष यादवले जनतालाई समस्यामा पारेर कुनै पनि प्रकारको कर लगाउन उचित नरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानको अवैध विवाहको मुद्दा उल्टियो

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई गैरकानुनी विवाहको अभियोगमा दोषी ठहर गरिएको मुद्दालाई पाकिस्तानको एक अदालतले शनिबार उल्ट्याएको छ ।

फेब्रुअरीको चुनावअघि नै दोषी ठहर गर्दै खानलाई सत्तामा फर्कन नदिनका लागि मुद्दा चलाइएको उहाँको भनाइ छ ।

ती सबै मुद्दाहरू अब कम्तिमा आंशिक रूपमा भएपनि फिर्ता लिएका छन् । राजद्रोहको अभियोगमा अप्रिलमा एक दशकको जेल सजायलाई उल्टाइएको छ भने जूनमा १४ वर्षको भ्रष्टाचारको सजाय निलम्बित गरिएको छ । यद्यपि, उहाँमाथि लगाइएका कतिपय आरोप अझै पनि कायम छन् ।

पूर्वप्रधानमन्त्री खान र उहाँकी पत्नी बुशरा बीबीलाई इस्लामिक कानुनको उल्लङ्घन गर्दै सम्बन्धविच्छेद भएको केही समयपछि विवाह गरेको आरोपमा सात वर्षको जेल सजाय सुनाइएको थियो ।

तर इस्लामाबाद अतिरिक्त जिल्ला अदालतका न्यायाधीश अफजल माजोकाले शनिबार खान र बीबी दुवैको अपिल स्वीकार गरिएको घोषणा गरेका छन् ।

यसैबीच, पूर्वप्रधानमन्त्री खानले सन् २०२३ को मे महिनामा दङ्गा भड्काएको आरोपमा पूर्वी लाहोरको एक अदालतले उहाँलाई पक्राउ गर्न अनुमति दिएको उहाँको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) का प्रवक्ता अहमद जान्जुआले बताउनुभएको छ । प्रवक्ता जान्जुआले एक विज्ञप्ति जारी गर्दै थुनामा राख्ने गैरकानुनी आदेशलाई लम्ब्याउने अर्को ‘नौटङ्की’ भएको बताउनुभएको छ ।

यसै महिनाको सुरुमा संयुक्त राष्ट्रसङ्घका विज्ञहरूको एक समितिले खानलाई हिरासतमा लिनुमा कुनै कानुनी आधार नभएको र उहाँलाई राजनीतिक पदका लागि अयोग्य ठह¥याउने उद्देश्यले गरिएको देखिएको बताएको थियो ।

“सुरुदेखि नै त्यो अभियोजन कानुनमा आधारित थिएन र राजनीतिक उद्देश्यका लागि प्रयोग गरिएको थियो”, जान्जुआद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “करिब एक वर्ष जेलमा बिताएपछि उनलाई तत्काल रिहा गर्न माग गरिएको छ ।”

खानप्रति वफादार उम्मेदवारहरूले राष्ट्रिय चुनावमा सबैभन्दा बढी सिट जितेका थिए, तर सेनाको निकट मानिएका प्रतिद्वन्द्वी दलहरूको गठबन्धनले उनीहरूलाई सरकारबाट बाहिर राखेको थियो ।

खानले सन् २०१८ देखि २०२२ सम्म प्रधानमन्त्रीका रुपमा काम गर्नुभएको थियो ।

पाइप बगाएपछि बागलुङ बजारमा खानेपानीको समस्या

गलकोट (बागलुङ), २९ असारः बर्खा लाग्नासाथ बागलुङ बजारवासीलाई खानेपानीको सधै पीरलो हुन्छ । आवश्यकताभन्दा थोरै पानी आउने तथा आएको पानी धमिलो आउने कारण बागलुङ नगरवासी आजित छन् ।

खानेपानी वितरणको जिम्मा पाएको बागलुङ नगरखानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले चार हजार ६ सय धारामा खानेपानी वितरण गर्दै आए पनि पर्याप्त खानेपानी वितरण गर्न सकिरहेको छैन ।

खानेपानीको मुहानमा बर्खामा भेल पस्ने, पहिरोले खानेपानीको पाइप बगाउने र खानेपानीको आपूर्तिमा आउने प्राविधिक समस्याका कारण हिउँदमा भन्दा बर्खामा खानेपानीको समस्या बढी आउने गरेको छ । उपभोक्ता कमल खड्काले जनतालाई शुद्ध पानी चाहिएको बताउँदै जनता खानेपानीको समस्याबाट आजित भएको गुनासो गर्नुभयो । “अहिले खानयोग्य पानी वितरण भएको छैन, नगरपालिकाले खानेपानीको विषयमा ध्यान दिन आवश्यक छ”, उहाँले भन्नुभयो ।

बागलुङ नगरपालिकाले काठेखोला गाउँपालिकाको भुदीखोला मुहान, रेश खोला मुहान र रिठेखोला मुहानबाट खानेपानी आपूर्ति गर्दै आएको भए पनि असार २६ गते खहरेखोलामा आएको बाढीले भुदीखोलाबाट आउने खानेपानीको पाइप बगाएपछि खानेपानीको झनै समस्या भएको छ । बागलुङ बजारवासीलाई चौबिसै घण्टा खानेपानी उपलब्ध गराउने गरी काठेखोलाको कैलामपोखरीमा निर्माण गरिएको लिफ्ट योजना पाँच वर्षमा सम्पन्न भएको छैन ।

बर्खाको समयमा पानी शुद्धीकरण गरेर पठाउने व्यवस्था गरिए पनि भुदीखोलाको मुहानको पाइप बगाउँदा खानेपानीको अभाव भइरहेको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका कार्यवाहक अध्यक्ष हरिबहादुर जिसीले जानकारी दिनुभयो ।

“खानेपानीको समस्या छ, हामी स्वीकार्छौं, सबै मिलेर काम गर्न आवश्यक छ, खानेपानी शुद्धीकरणका लागि आवश्यक काम भइरहेको छ भने कैलमपोखरी लिफ्ट आयोजना हामीले जतिसक्दो चाँडो सक्न आवश्यक छ”, जिसीले भन्नुभयो, “नगर विकास कोषको सहयोगमा निर्माणको अन्तिम चरणमा आएको लिफ्ट खानेपानी आयोजनाको पाइपलाई पुनः विस्तार गर्न आवश्यक देखिएपछि ढिलाइ भएको छ ।”

अस्थायी रुपमा चार इन्च र छ इन्चको जिआई पाइपमा अहिले लिफ्टमार्फत खानेपानी लिएर बजारमा वितरण गर्दा राहत मात्रै मिलेको उहाँको भनाइ छ ।

प्रतिसेकेन्ड १७ लिटर पानी आपूर्ति हुँदै आएको भुलिखोलाको खानेपानीको पाइप बागलुङ नगरपालिका र काठेखोलन गाउँपालिकाको सिमानामा बग्ने खहरेखोलाले बगाएपछि खानेपानीको समस्या झनै बढेको हो । यही असार २६ गते राति परेको अविरल वर्षापछिको खहरेले उक्त खानेपानीको पाइप बगाएको हो । पानी नरोकिएसम्म मर्मत गर्न कठिनाइ हुने बागलुङ नगरखानेपानी तथा उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले बताउनुभयो ।

अहिले बागलुङ बजारमा रेश खोलाबाट प्रतिसेकेन्ड १७ लिटर र रिठेखोलाबाट प्रतिसेकेन्ड तीन लिटर खानेपानी आपूर्ति भइरहेको छ । साथै कैलमपोखरीबाट आवश्यकताअनुसार अस्थायी लिफ्टमार्फत खानेपानी ल्याइएको छ ।