`

सहकारी क्षेत्रका समस्या समाधान गर्न समन्वयात्मक रुपमा काम हुन्छ: मन्त्री अधिकारी

काठमाडौँ, ३१ असार: नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रमा देखापरेका समस्या समाधानका लागि समन्वयात्मक रुपमा काम गरिने बताउनुभएको छ ।

मन्त्रालयमा आज पदभार ग्रहण गरेपछि कर्मचारीलाई सम्बोधन गर्नुहुँदै उहाँले सहकारी बोर्डको स्रोत परिचालन गरी यस क्षेत्रको समस्या समाधानमा उपयोग गरिने बताउनुभयो । सहकारी क्षेत्रको समस्या समाधानका लागि नयाँ कानुन मस्यौदा गर्नेगरी तयारी गरिएको जानकारी पनि उहाँले दिनुभयो । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्यलाई २१ सहकारी बाँडफाँट गरी समस्या समाधान गर्न निर्देशन दिनुभएको थियो ।

गुठी समस्या समाधानका लागि कानुन बनाउने मन्त्री अधिकारीले जनाउनुभयो । भूमिसम्बन्धी समस्या समाधानका लागि गठन आदेश मस्यौदा गरी त्यसका आधारमा आयोग बनाउने तयारी गरिएको जानकारी पनि उहाँले गराउनुभयो ।

झापा जिल्ला गौरादह नगरपालिका–४ र ५ मा जग्गा दर्तामा देखिएको समस्या समाधानका लागि गठन आदेश गर्ने निणर्यमा हस्ताक्षर गरी पदभार ग्रहण गर्नुभएको हो ।

आजै राष्ट्रपति निवासमा पद तथा गोपनीयताको शपथ ग्रहणपछि मन्त्रालयमा पद बहाली गर्दै मन्त्री अधिकारीले भूमि क्षेत्रमा लामो समयदेखि रहेका समस्याको दीर्घकालीन समाधानका लागि ठोस योजनाका साथ अघि बढ्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ ।

करिब आठ हजार स्थानीयवासी भूमि अधिकारसँग जोडिएको महारानी झोडाको जग्गा विवाद समाधानका लागि पटक–पटक प्रयास भए पनि उक्त समस्या समाधान हुन सकेको थिएन । विभिन्न प्रशासनिक समस्याले समाधान हुन नसकेको उक्त समस्या समाधानका लागि मन्त्री अधिकारीले पहलकदमी लिने सोचका साथ पहिलो निणर्यमा हस्ताक्षर गर्नुभएको हो ।

पदबहालीपछि मन्त्री अधिकारीले मन्त्रालयका निकायलाई जनताले अनुभूत गर्नेगरी सेवाप्रवाह गर्न निर्देशनसमेत दिनुभयो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा समेत भूमि व्यवस्थामन्त्री रहनुभएका अधिकारीले दोस्रोपटक मन्त्री भएपछि भूमि आयोग गठन गरी एक वर्षमा पाँच लाख भूमिहीनलाई जग्गा वितरण गर्ने, सहकारी क्षेत्रका समस्याको ठोस समाधान गरी बचतकर्ताको बचत फिर्ता गर्ने र देशबाट गरिबी उन्मूलन गर्नेगरी पूर्ण रुपमा काम गर्न सबै सरोकारवालाबीच समन्वय र सक्रियता आवश्यक रहने बताउनुभयो ।

मन्त्रालयका निमित्त सचिव शिवप्रसाद रेग्मीले उहाँलाई मन्त्रालयका गतिविधिबारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिनिधिसभाः नयाँ सरकारले भ्रष्टाचार अन्त्य गर्नेमा विश्वास

काठमाडौँ, ३१ असारः सांसद ठाकुरप्रसाद गैरैले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण, सुशासन कायम, विकास र समृद्धिको यात्रालाई गति प्रदान गर्न सफल हुनेमा विश्वास व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उहाँले वर्तमान सरकारले त्यस दिशामा अघि बढ्ने उल्लेख गर्नुभयो ।

सांसद तारा लामा तामाङले वर्तमान सरकारले देशको समग्र समस्यालाई क्रमशः समाधान गर्नुपर्नेमा जोड दिनुभयो । सांसद तोसिमा कार्कीले मन्त्रिमण्डलमा जम्मा दुई जनामात्रै महिला रहेको उल्लेख गर्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

सांसद दीपा शर्माले बाढीपहिराका कारण देशैभरि भएको क्षतिको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद दीलेन्द्रप्रसाद बडूले वर्तमान सरकारले सबैभन्दा पहिला बाढीपहिराबाट पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । सांसद धवलशम्शेर राणाले भ्रष्टाचार अन्त्यका लागि वर्तमान सरकार केन्द्रित ह्ुनुपर्ने माग गर्नुभयो ।

सांसदहरु ध्रुवबहादुर प्रधान, नारायणप्रसाद आचार्य, निर्मला कोइराला, निशा डाँगी, पदम गिरी, पूर्णबहादुर घर्तीमगर, प्रतिमा गौतम, प्रतिक्षा तिवारी, प्रभु हजारा, प्रेमबहादुर महर्जन, प्रेम सुवाल, वासुदेव घिमिरे, विन्दावासिनी कंसाकार, विनिता कठायत, विमला सुवेदी, देवप्रसाद तिमल्सेना, नारायणी शर्मा, नागिना यादव र नारायण प्रकाश साउदले नवगठित वर्तमान सरकारले सुशासन कायम गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।

पर्यटन नीतिलाई समयानुकूल बनाउँछुः पर्यटनमन्त्री पाण्डे

काठमाडौँ, ३१ असारः नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि विद्यमान पर्यटन नीतिलाई समयानुकूल बनाइने बताउनुभएको छ ।

मन्त्रालयमा आज पदबहाली गर्दै मन्त्री पाण्डेले नयाँ पर्यटन नीतिमार्फत पर्यटन क्षेत्रका सम्भावनाको उजागर गर्दै बढीभन्दा बढी पर्यटक आकर्षण गर्न योजनाबद्ध कार्यक्रम अघि बढाइने विश्वास व्यक्त गर्नुभएको छ । 

“नेपालको पर्यटन क्षेत्रलाई कसरी प्रभावकारी विकास गर्न सकिन्छ भनेर हालको पर्यटन नीतिलाई परिमार्जन गर्न मन्त्रालयले गम्भीरतापूर्वक अध्ययन गर्नेछ”, पर्यटनमन्त्री पाण्डेले भन्नुभयो, “आज मात्रै मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ । कार्यदलले गहनतापूर्वक अध्ययन गर्नेछ । म आफू पनि विशेष चासोका साथ सूक्ष्मतापूर्वक ध्यान दिएर नीति बनाइनेछ ।”

उहाँले पर्यटन नीतिको मार्गदर्शनबमोजिम आवश्यक कार्ययोजना बनाएर अघि बढ्ने बताउनुभयो । पर्यटनमन्त्री पाण्डेले कोरोना महामारी, राजनीतिक अस्थिरताकाबीच मुलुकको पर्यटन पुरानै लयमा फर्किएको तथा विसं २०८४ सम्म राजनीतिक स्थिरतातर्फ अघि बढेकाले उक्त अवधिमा पर्यटनको विकासमा केन्द्रित हुने बताउनुभयो । 

उहाँले सन् २०२३ देखि २०३२ को अवधिलाई भ्रमण दशकका रुपमा कार्यान्वयन गर्दै बढीभन्दा बढी पर्यटक आकर्षण गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री पाण्डेले स्थायी सरकारका रुपमा रहेको कर्मचारी संयन्त्रको साथ सहयोग प्राप्त गर्दै आफ्नो कार्यकालमा पर्यटन मन्त्रालयले लिनुपर्ने लक्ष्यलाई गन्तव्यमा पु¥याउनेमा विश्वास व्यक्त गर्नुभयो ।

पर्यटनमन्त्री पाण्डेले संस्कृति देशको प्राण हो भन्दै यसको संरक्षण विकासका लागि सक्रिय ढङ्गले लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले जनताको निराशालाई चिर्दै आशामा बदल्न दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा उभिएको भन्दै प्रधानमन्त्री र मन्त्री भएर दल, परिवार, नातावाद र भूगोलको हितमात्रै नभई जनताका पक्षमा इमान्दारीताकासाथ काम गरिनुपर्ने खाँचो औँल्याउनुभयो ।

पर्यटन नीति संशोधनका लागि कार्यदल

र्यटन नीतिलाई समयसापेक्ष बनाउन पर्यटन मन्त्रालयका सहसचिव हेमराज तामाङको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ । उक्त कार्यदलले तीन महिनामा प्रतिवेदन तयार गरी मन्त्रालयलाई बुझाउनेछ । पर्यटनमन्त्रीले आफ्नो पहिलो निर्णयका रुपमा पर्यटन नीति, २०६५ लाई समयसापेक्ष बनाउन अध्ययन र सुझाव दिन गठित कार्यदल गठनसम्बन्धी निर्णयमा हस्ताक्षर गर्नुभयो ।

पर्यटन क्षेत्रको विकास सम्वद्र्धन, प्रवद्र्धन र त्यस क्षेत्रलाई सुदृढ गर्नेगरी पर्यटन नीति बनाउनेगरी अध्ययन गर्ने र तीन महिनाभित्र प्रतिवेदन पेस गर्नेगरी कार्यदल बनाइएको जानकारी दिनुभयो ।

मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधारका रुपमा रहेको पर्यटन क्षेत्रको विकास प्रवद्र्धनका लागि रणनीतिका साथ अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) सेवालाई प्रभावकारी बनाउन सिर्जनशील ढङ्गले सक्रियताका साथ लाग्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

उक्त अवसरमा सङ्घीय संरचनाअनुरुप मुलुकको पर्यटनलाई समयसापेक्ष बनाउन पर्यटन ऐनलाई समयसापेक्ष परिमार्जन गर्न लागिएको मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेयले बताउनुभयो । मन्त्रालयका सहसचिव हेमराज तामाङले मन्त्रालयअन्तर्गतका निकाय र गतिविधिबारे सङ्क्षिप्त जानकारी गराउनुभएको थियो ।

मुलुकको ४१औँ पर्यटनमन्त्री

नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डे मुलुकको ४१औँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्नुभएको छ । पर्यटन मन्त्रालयको विवरणमा विसं २०३४ मा डा हर्क गुरुङ पर्यटन राज्यमन्त्री हुनुभएको थियो । त्यसयता मुलुकले ४१ जना पर्यटनमन्त्री पाइसकेको छ ।

विसं २०३० मा बाजुरामा आम विष्णु शोभा पाण्डे र बुवा विष्णुदत्त पाण्डेको कोखबाट जन्मिनुभएका पाण्डे विसं २०७९ मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाजुरा क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ । विसं २०७० मा संविधानसभा सदस्य रहनुभएका उहाँ २०७२ मा व्यवस्थापिका संसद् हुनुभएको थियो । पाण्डे विसं २०७४ मा राष्ट्रियसभा सदस्य हुनुभएको थियो ।

विसं २०४३ देखि नेपाली कांग्रेसमा आबद्ध पाण्डै राजनीतिमा सक्रिय हुनुहन्छ । विसं २०५० मा नेविसङ्घको बाजुरा अध्यक्ष, विसं २०५६ मा नेविसङ्घको केन्द्रीय सदस्य बन्नुभएका पाण्डे २०५७ मा सहमहामन्त्री, २०६२ मा महामन्त्री हुनुभयो । विस २०६६ मा कांग्रेस केन्द्रीय सदस्य र २०६६ मा पार्टीको प्रमुख श्रमिक विभागको नेतृत्व गर्नुभएको थियो ।

उहाँले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिकशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । पत्रकारिता र प्रशिक्षण अनुभव र विशेषज्ञता रहेका मन्त्री पाण्डेका राष्ट्रियस्तरका पत्रपत्रिकामा लेख रचना प्रकाशित छन् ।

सिमलताल पहिरोः बेपत्तामध्ये नवलपुरमा नौवटा शव भेटिए

नवलपुर (नवलपरासी), ३१ असार : चितवनको भरतपुर–२९ सिमलतालमा शुक्रबार बिहान गएको पहिराले बगाएर बेपत्ता भएकामध्ये नवलपुरमा नौवटा शव भटिएका छन् । यीसहित हालसम्म १३ मध्ये नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा नौ, चितवनमा तीन र नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)मा एउटा शव भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले आज मात्रै जिल्लामा चारवटा शव भेटिएका जानकारी दिनुभयो । नवलपुरमा हालसम्म भेटिएका नौ शवमध्ये पाँचको पहिचान खुलेको र ती बेपत्ता बसका यात्रु रहेको पुष्टि भएको पौडेलले जानकारी दिनुभयो । आज यहाँ चारवटा शव भेटिएका थिए, ती शवको पहिचान हुन सकेको छैन । शव पहिरोमा परेर बेपत्ता भएका यात्रुको हुनसक्ने भन्दै सोहीअनुसार अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक पौडेलको भनाइ छ ।

आज बिहान गण्डक ब्यारेज पुलमा भेटिएका दुई शवमध्ये एउटा करिब १९ वर्षीया महिला र अर्को करिब ३० वर्षीय पुरुष रहेका प्रहरीले जनाएको छ । यस्तै आजै मध्यविन्दु–२ भुताहास्थित नारायणी नदीको टापुमा भेटिएको शव करिब ४५ वर्षीय पुरुषको तथा विनयी त्रिवेणी गाउँपालिका–७ गण्डक ब्यारेजको पुलमा करिब १३ वर्षीय बालकको रहेको पौडेलले जानकारी दिनुभयो ।
जिल्लाको गैँडाकोट–७ गैरीमा भेटिएका दुईवटा शवमध्ये एउटा सर्लाहीको बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमित कसुर माझी र अर्को चितवनको माडी–१ का २२ वर्षीय विकास परियारको भएको पौडेलले बताउनुभयो । माझीको शव बुवा रवीन्द्र कुसर माझीले तथा परियारको शव दाजु विजय परिवारले पहिचान गर्नुभएको थियो । माझी काठमाडौँबाट रौतहट जाने गणपति डिलक्सको बागमती प्रदेश ०३–००१ख– २४९५ र परियार वीरगञ्जबाट काडमाडौँ जाँदै गरेको एन्जल डिलक्सको बागमती प्रदेश ०३–००६ख– १५१६ नम्बरको बसमा सवार यात्रु भएको जनाइएको छ ।

शनिबार गैँडाकोट–७ गैरीमा भेटिएको अर्को शव भारतको बिहार राज्यस्थित बेतियाका ३० वर्षीय सजाद अन्सारी भएको पौडेलले जानकारी दिनुभयो । अन्सारी वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एन्जल डिलक्सको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बसमा सवार यात्रु भएको उहाँले बताउनुभयो । यस्तै आइतबार साँझ जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित ब्यारेजको गण्डक नहरमा भेटिएका दुवै शवको सोमबार बिहान पहिचान भएको छ । गण्डक नहरमा भेटिएकामध्ये एउटा चितवनको भरतपुर–२२ का २३ वर्षीय सुदीप विक रहेको बुवा सोमबहादुर विकले पहिचान गर्नुभएको थियो । सुदीप वीरगञ्ज जाँदै गरेको एन्जल डिलक्सका यात्रु हुनुहुन्छ । यसैगरी अर्को शव रौटहटको जमुनामाई गाउँपालिका–४ का १७ वर्षीय राहुम मियाको भएको उहाँका बुवा इस्लम मियाले पहिचान गर्नुभएको छ । मिया गणपति डिलक्समा काठमाडौँबाट गौर जाँदै हुनुहुन्थ्यो ।

पहिरामा परी बेपत्ता भएकामध्ये चितवनतर्फ भारतको सीतामाडी बर्गिनियाका २८ वर्षीय ऋषिपाल साह, भारतकै सीतामाडी बेतियाका ३० वर्षीय जयप्रकाश ठाकुर रहेका छन् । आइतबार नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) मा भेटिएको शव बाराको साविक विश्रामपुर गाविस–४ का ४३ वर्षीय परमानन्द पण्डितको भएको र अर्का करिब ३५ वर्षीय पुरुषको पहिचान हुन नसकेको जनाइएको छ ।

हालसम्म तीनवटा जिल्लामा भेटिएका १३ वटा शवमध्ये पाँचवटा शवको पहिचान हुन सकेको छैन । पहिचान खुलेका सबै शव चितवनको भरतपुर अस्पताल पठाइएको र बाँकी शवको पहिचान खुलेपछि भरतपुर पठाइने प्रहरी नायब उपरीक्षक पौडेलको भनाइ छ ।

सिमलताल पहिरोमा परेर हराएको वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एन्जल डिलक्सको बसमा कम्तिमा २४ जना र काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको गणपति डिलक्समा कम्तीमा २७ यात्रु रहेको चितवन प्रशासनले जनाएको छ । बसमा सवार यात्रुमध्ये तीनजना त्रिशूली नदीमा पौडी खेलेर बाँँच्न सफल भएका थिए ।

आश्चर्यको अपेक्षा नगरिएको सिरियाको निर्वाचन

सन् २०११ मा गृहयुद्ध सुरु भएयताको चौथो संसदीय निर्वाचनमा सिरियाली सरकार नियन्त्रित क्षेत्रका बासिन्दाले सोमबार मतदान गरिरहेका छन् ।
सन् १९६३ देखि सत्तामा रहेको बाथ पार्टी र यसका धर्मनिरपेक्ष वामपन्थी र अरब राष्ट्रवादी सहयोगीहरू लगभग निर्विरोध चुनाव लडिरहेका छन् भने विकल्पमा स्वतन्त्रहरू मात्र छन् ।

सिरियाको सर्वोच्च न्यायिक निर्वाचन समितिका अनुसार हालैका दिनमा करिब सात हजार ४०० उम्मेदवारले नाम फिर्ता लिएपछि संसद्को २५० सिटका लागि एक हजार ५०० भन्दा बढी व्यक्ति चुनावी मैदानमा उत्रिएका छन् ।

दमास्कसको एक मतदान केन्द्रमा मतदान गर्नेमध्येका ४९ वर्षीय स्वास्थ्य मन्त्रालयका कर्मचारी बोदुर अबु गजालेहले भन्नुभयो, “हामीले असल व्यक्तिलाई निर्वाचित गर्ने र केही परिवर्तन गर्न नसक्ने पुराना नामलाई मतदान गर्दा विगतका गल्ती नदोहो¥याउने जिम्मेवारी लिनुपर्छ ।

सिरियाको कोटा प्रणालीअन्तर्गत १२७ सिट श्रमिक वा किसानका लागि आरक्षित गरिएको छ भने बाँकी १२३ सिट अन्य पेशाका लागि खुला गरिएको छ ।

हरेक चार वर्षमा हुने मतदान अन्तर्गत सोमबार भएको निर्वाचनमा बाथ पार्टीले अधिकांश स्थान सुरक्षित गर्ने अपेक्षा गरिएको छ ।

इरान र रूसको सहयोगमा दमास्कसले सिरियाको १३ वर्ष लामो गृहयुद्धको सुरुआतमा गुमेको अधिकांश भूभाग पुनः आफ्नो नियन्त्रणमा लिएको छ ।

युद्धे विदेशी सेना र जिहादीहरूको जटिल द्वन्द्वमा परिणत भयो र यसका कारण पाँच लाखभन्दा बढी मानिसहरूको मृत्यु भएको छ भने लाखौँलाई विस्थापित गरेको छ ।

सरकारी नियन्त्रणमा रहेका क्षेत्रमा १८ वर्ष वा सोभन्दा बढी उमेरका र परिचयपत्र भएका सिरियाली नागरिकका लागि मतदान गर्न करिब आठ हजार १५० मतदान केन्द्र निर्धारण गरिएको छ ।

२२ युक्रेनी ड्रोन खसालेको रूसको दाबी

रूसको पश्चिम र क्रिमियामा आइतबार रातभरमा २२ युक्रेनी ड्रोन खसालेको रूसी रक्षा मन्त्रालयले सोमबार जनाएको छ ।

जिम्मेवारीमा रहेका हवाई रक्षा प्रणालीहरूले २२ वटा युएभी नष्ट गरी रोकेको मन्त्रालयले टेलिग्राम पोस्टमार्फत दिएको सूचनामा उल्लेख छ । मन्त्रालयका अनुसार रूसी सीमा क्षेत्र ब्रायन्स्कमा १५, क्रिमियामा छ र लिपेट्स्कमा एउटा ड्रोन खसालिएको थियो । कुस्र्कका गभर्नरले यसबाहेक कुस्र्कमा थप तीन युक्रेनी ड्रोन खसालिएको बताउनुभयो ।

युक्रेनले यस वर्ष रूसी भूभागमा आफ्ना आक्रमणहरू बढाएको छ, यसले रूसको सेनालाई इन्धन पु¥याउने दुवै ऊर्जा स्थलहरू, साथै सीमापारका सहर र गाउँहरूलाई लक्षित गरेको छ । दुवै पक्षले सन् २०२२ फेब्रअरीमा सुरु भएको द्वन्द्वमा व्यापक रूपमा सयौं किलोमिटर फैलिएको क्षेत्रमा व्यापक ‘सेल्फ–डिटोनेटिङ क्राफ्ट’सहित ड्रोन प्रयोग गर्ने गरेका छन् ।

भारतमा थोक मुद्रास्फीति बढ्यो

अखिल भारतीय थोक मूल्य सूचकाङ्क (डब्लुपिआई) मा आधारित मुद्रास्फीतिको वार्षिक दर मे महिनामा दुई दशमलव ६१ प्रतिशतको तुलनामा जुनमा तीन दशमलव ३६ प्रतिशत रहेको सङ्घीय वाणिज्य तथा उद्योग मन्त्रालयले सोमबार जनाएको छ ।

“यो सन् २०२४ मा मुद्रास्फीतिको सकारात्मक दर मुख्यतया खाद्य वस्तुहरूको मूल्य वृद्धि, खाद्य उत्पादनहरूको उत्पादन, कच्चा पेट्रोलियम र प्राकृतिक ग्यास, खनिज तेल, अन्य उत्पादन आदिको कारणले हो”, मन्त्रालयले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

डब्लुपिआई खाद्य सूचकाङ्कमा आधारित मुद्रास्फीति वार्षिक दर सन् २०२४ जुनमा वार्षिक आधारमा बढेर आठ दशमलव ६८ प्रतिशत भएको छ । यो मे महिनामा सात दशमलव ४० प्रतिशत थियो ।

खाद्यान्नको मूल्यहरू जुन सन् २०२४ मा वार्षिक रूपमा ८.६८ प्रतिशतले वृद्धि भएको थियो, जुन मे महिनामा देखिएको ७.४० प्रतिशतले बढेको थियो । प्याजको हकमा मे महिनामा ५८ दशमलव ०५ प्रतिशतबाट जुनमा ९३ दशमलव ३५ प्रतिशत पुगेको छ ।

फलफूलको डल्युपिआई पनि मे महिनामा पाँच दशमलव ८१ प्रतिशतबाट बढेर जुनमा १० दशमलव १४ प्रतिशत पुगेको मन्त्रालयले सार्वजनिक गरेको मासिक तथ्याङ्कले देखाएको छ ।

रुसी–अमेरिकी पत्रकार गेसनलाई ८ वर्षको कारागार सजाय

रुसी सेनामाथि युक्रेनमा अपराध गरेको आरोप लगाउने एक रुसी–अमेरिकी पत्रकारलाई सोमबार मस्कोको एक अदालतले उनको अनुपस्थितिमा आठ वर्षको कारागार सजाय सुनाएको छ ।

न्यु योर्करमा नियमितरूपमा योगदान गर्ने मासा गेसनले रुसी सेनामाथि सन् २०२२ मार्चमा युक्रेनी सहर बुचामा नागरिकको हत्या गरेको आरोप लगाउनुभएपछि उहाँलाई गत वर्ष रुसमा वाञ्छित घोषणा गरिएको थियो । क्रेमलिनले उक्त आरोपलाई अस्वीकार गरेको छ ।

मस्को सिटी कोर्ट सर्भिसको विज्ञप्तिअनुसार अदालतले ‘रुसी सेनाको प्रयोगबारे जानीजानी गलत सूचना फैलाएको’ आरोपमा गेसनलाई आठ वर्षको कारागार सजाय सुनाएको हो ।

युक्रेनमा आफ्नो आक्रमण सुरु गरेलगत्तै रुसले द्वन्द्वका बारेमा स्वतन्त्र रिपोर्टिङलाई अवैध बनाएको थियो र आफ्ना सशस्त्र बलहरूको आलोचनालाई गैरकानूनी घोषणा गरेको थियो ।

अहिले संयुक्त राज्य अमेरिकामा बस्ने गेसन प्रमुख एलजिबिटिक्यु कार्यकर्ता हुनुहुन्छ । उहाँ राष्ट्रपति भ्लादिमिर पुटिनको लामो समयदेखिको आलोचक हुनुहुन्छ । उहाँले सन् २०१२ मा रुसी नेता पुटिनको घृणित जीवनी लेख्नुभएको थियो ।

मस्कोको एक अदालतले पनि सोमबार रुसी सेनाका बारेमा कथित रूपमा ‘जालसाजी’ फैलाएको आरोपमा एक नगरपालिकाका पूर्व डेपुटीलाई उहाँको अनुपस्थितिमा साढे सात वर्षको कारागार सजाय सुनाएको छ ।

काउन्सिलको बैठकमा युक्रेनमा द्वन्द्वका पीडितहरूका लागि एक मिनेट मौन धारण गर्ने प्रस्ताव राखेपछि सात वर्षको कारागार सजाय भोग्नुभएकी डेपुटी एलेक्सी गोरिनोभको पक्षमा बोलेको अभियोगमा रुसबाट भाग्नुभएकी एलेना कोटेनोचकिना दोषी ठहर हुनुभएको छ ।

अविरल वर्षाका कारण भएको क्षतिबारे सरकारको ध्यानाकर्षण

काठमाडौँ, ३१ असार : प्रतिनिधिसभा सांसद पशुपति शम्शेर जबराले अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा भएको क्षतिबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उहाँले आइतबार देशका विभिन्न क्षेत्रमा बाढी र डुबानका कारण क्षतिभएकाले सरकारले आवश्यक राहत तथा उद्धारमा ध्यान दिन आग्रह गर्नुभयो ।

सांसद माधवप्रसाद सापकोटाले आइतबार भएको भारी वर्षाका कारण सिन्धुपाल्चोक जिल्लामा रहेका विभिन्न ठाउँका पुलहरू बगाएको र जिल्लाका अधिकांश परिवार विस्तापित भएका बताउनुभयो । उहाँले भन्नुभयो, “हिजो राति भएको अविरल वर्षाका कारण सिन्धुपाल्चोकका दर्जनाँै परिवार विस्तापित भएका छन् । अहिले पनि वर्षा भइरहेकाले सम्भावित जोखिम र क्षतिका घटनाप्रति गम्भीरतापूर्वक सरकारको ध्यानाकर्षण गराउन चाहान्छु । अवरुद्ध भएका सडकमा तत्काल अस्थायी पुलको व्यवस्था गरी आवजजावत सहज बनाउन र विस्तापित नागरिकको यथोचित बसोबासको व्यवस्थासहित क्षतिपूर्तिको जोडदार माग गर्दछु ।”

सांसद तोसिमा गौतमले सरकार गठनका क्रममा नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको सम्झौता पारदर्शी हुनुपर्ने र महिला, दलित, मधेशीलगायत सबैको सहभागितासहित सरकार समावेशी बन्नुपर्ने माग गर्नुभयो ।

नयाँ शिक्षा ऐन निर्माण प्राथमिकतामाः शिक्षामन्त्री भट्टराई

काठमाडौँ, ३१ असारः नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा ऐन निर्माणलाई प्राथमिकता दिने बताउनुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज पदभार ग्रहण गर्दै उहाँले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेको ऐनलाई छिटोभन्दा छिटो टुङ्गोमा पु¥याइ हाल देखिएका समस्या समाधान गर्ने बताउनुभयो ।

पदभार ग्रहण गर्दै उहाँले स्थानीय आवश्यकतामा आधारित विद्यालय पोषण प्रारुप विकास कार्यक्रम कार्यान्वयनसम्बन्धी पहिलो निर्णय गर्नुभयो । उहाँले उक्त कार्यक्रममा आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट कार्यान्वयनका लागि मन्त्रालयको विद्यालय शिक्षा महाशाखा हेर्ने सहसचिवको संयोजकत्वमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र राष्ट्रिय योजना आयोगका प्रतिनिधि सम्मिलित समिति गठन गर्ने निर्णय गर्नुभयो ।

त्यसअवसरमा उहाँले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधारमा आफू केन्द्रित रहने समेत उल्लेख गर्नुभयो । “सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय छैन, सार्वजनिक शिक्षाप्रति आकर्षण बढाउने गरी काम गर्ने मेरो दायित्व हो”, उहाँले भन्नुभयो ।

उहाँले विश्वविद्यालयको शिक्षाप्रतिको आकर्षण पनि घट्दै गएको उल्लेख गर्दै भन्नुभयो, “विश्वविद्यालयमा शैक्षिक पात्रो निर्माण गरी त्यसको कार्यान्वयनमा जोड दिने छु, साथै युवामा नेपालका विश्वविद्यालयमा पढेर स्वदेशमै काम गर्छु भन्ने विश्वास दिलाउने गरी काम गर्ने छु ।”

बुबा हेमराज भट्टराई र आमा टोपकुमारी भट्टराईको कोखबाट विसं २०२९ सालमा जन्मनुभएकी भट्टराई विसं २०४६ सालबाट विद्यार्थी आन्दोलनमा सक्रिय हुनुभएको हो । पद्मकन्या क्याम्पसमा अध्ययन गर्दा विद्यार्थी आन्दोलनमा उहाँ होमिनु भएकी उहाँ विसं २०५० सालमा अनेरास्ववियु महिला विभाग प्रमुख भएर उहाँले काम गरिसक्नु भएको छ ।

उहाँले विसं २०५५ मा अनेरास्ववियुको केन्द्रीय सचिवको जिम्मेवारी लिएर काम गरिसक्नुभएको छ । उहाँ विद्यार्थी आन्दोलनमा छँदै प्राध्यापनमा लाग्नुभएको थियो । विसं २०७२ सालदेखि रत्नराज्य क्याम्पसमा उहाँले स्थायी रुपमा उपप्राध्यापकको जागिर सुरु गर्नु भएको थियो ।

विसं २०७५ साल फागुनमा हेलिकोप्टर दुर्घटनामा परी उहाँका श्रीमान् तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको असामयिक निधनपछि रिक्त भएको कास्की–२ को उपनिर्वाचन र २०७९ सालमा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा निर्वाचित हुनुभएको थियो । उहाँ शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सदस्यसमेत हुनुहुन्छ ।

राष्ट्रियसभाबाट तीन विधेयक पारित

काठमाडौँ, ३१ असारः राष्ट्रियसभाले तीन वटा विधेयक पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाएको छ । यसअघि ‘आर्थिक विधेयक २०८१’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ सदनमा दफावार छलफल भएको थियो ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा छलफलपछि पारित गरियोस् भनी राख्नुभएको प्रस्तावलाई सदनले सर्वसम्मतले पारित गरेको हो । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले तीनवटै विधेयक छलफलका लागि प्रतिनिधिसभामा फिर्ता पठाइएको जानकारी गराउनुभयो ।

आर्थिक विधेयक, २०८१ माथिको छलफलमा सांसदहरु भगवती न्यौपाने र राजेन्द्र लक्ष्मी गैरेले उठाउनुभएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले ठूला कम्पनीले करको दायित्व घटाउने वा कर छल्नसक्ने खालका आशङ्का गरे तापनि त्यो सम्भावना नरहेको स्पष्ट पार्नुभयो ।

यसअघि बैठकमा अध्यक्ष दाहालले विधेयक प्रमाणीकरण, मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको, मन्त्रिपरिषद्को कार्यसञ्चालन, प्रधानमन्त्री पदमा नियुक्ति र मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्र वाचन गर्नुभएको थियो ।

राष्ट्रियसभाको अर्को बैठक साउन ४ गते शुक्रबार १ः१५ बजे बस्नेछ ।

बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा क्षति

सिन्धुपाल्चोक, ३१ असार : याङ्ग्री तथा इन्द्रावती नदीमा गए राति आएको बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनालाई क्षति पु¥याएको छ । सात दशमलव ५ मेगावाट क्षमताको आयोजनाको पाँचपोखरीको तिपेनीमा रहेको ड्याम बालुवाले भरिएको, ‘सवस्टेसन’ र पावर हाउसमा क्षति पु¥याएको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो ।

जिल्लाको क्षेत्र नम्बर २ का अधिकांश भागमा विद्युत् सेवा अवरुद्ध भएको छ । साथै खाल्डेखोलादेखि तिपेनीसम्म सडकसमेत अवरुद्ध भएको छ । यस क्षेत्रमा जाने वैकल्पिक सडक नहुँदा अत्यावश्यक यातायातका साधनसमेत चल्न नपाउँदा बिरामीसमेत मारमा परेका उहाँले बताउनुभयो । त्यस्तै चिन्डे जतन जोड्ने र झोलुङ्गे पुल र याङ्ग्री पुल पनि बाढीले बगाएको स्थानीय ग्याल्बो साम्देनले बताउनुभयो । याङ्ग्री तथा इन्द्रावती नदी तटीय क्षेत्रको खेतीयोग्य जमिन बगाएको छ । चिनियाँपुल, माझीरुम्टी, तिपेनी, खस्रेबालुवा र खाल्डेखोलाजस्ता बस्ती बजार र अस्पताल पनि जोखिममा रहेको बताइएको छ ।

मेलम्ची, इन्द्रावती तथा पाँचपोखरी जोड्ने मेलम्चीमा गत वर्ष मात्रै बनेको ‘बेलिबृज’ पनि जोखिममा परेको छ । त्यस्तै मेलम्चीमा नवनिर्मित बसपार्क, खेलमैदान र निर्माणाधीन कभर्डहल समेत बाढीको जोखिममा बताइएको छ । यसैगरी अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे नगरपालिका ३ र ५ जोडिने खाग्दल खोलामा रहेको ‘बेलिबृज’ बाढीले बगाएको छ ।

पहिरोले बेँसीसहर चामे सडक अवरुद्ध

लमजुङ, ३१ असार : पहिरोले बेँसीसहर चामे सडक अवरुद्ध भएको छ । मस्र्याङ्दी गाउँपालिका–४ स्याँगेमा आज बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक मेघनाथ चापागाईले ढुङ्गासहितको पहिरोले सडक अवरुद्ध भएको र सडक खुलाउन प्रहरी त्यसर्फ प्रस्थान गरिसकेको जानकारी दिनुभयो ।

यस सडकअन्तर्गत मनाङखण्ड भने यही १८ गते साँझदेखि अवरुद्ध रहँदै आएको छ । चामे गाउँपालिकास्थित तिमाङ खोलामा काठे पुल र सो नजिकै पक्की मोटरेवल पुल बाढीले बगाएपछि सवारी सञ्चालन हुन सकेको छैन । आवागमन रोकिँदा मनाङवासी समस्यामा परेका छन् ।

‘कैदीबन्दीले उपचारका अभावमा अकालमा ज्यान गुमाउनुपर्दैन’

काठमाडौँ, ३१ असार : कारागार व्यवस्थापन विभाग, केन्द्रीय कारागार अस्पतालले कैदीबन्दीले उपचारका अभावमा अकालमा ज्यान गुमाउन नपरोस् भन्ने ध्येयले स्वास्थ्य सेवा प्रवाहलाई थप सुदृढ एवं चुस्त बनाएको छ । यसका लागि अस्पतालले विशिष्टिकृत तथा अतिआवश्यक स्वास्थ्योपचार सेवा आवश्यक पर्ने कैदीबन्दीलाई सरकारी तथा निजी अस्पतालसँग सम्झौता गरेर स्वास्थ्य सेवा चुस्त बनाएको हो । काठमाडौँ उपत्यकाभित्रका विभिन्न २३ स्वास्थ्य सेवासँग सम्बन्धित संस्थालाई प्रेषण (रिफरल) अस्पताल निर्धारण गरी कैदीबन्दीको उपचारमा प्राथमिकता दिएको हो ।

कारागार अस्पतालका प्रमुख डा प्रकाश बुढाथोकीले भन्नुभयो, “विशिष्टिकृत तथा अतिआवश्यक स्वास्थ्योपचार सेवा आवश्यक पर्ने कैदीबन्दीलाई विभिन्न २३ सरकारी तथा निजी अस्पतालसँग सम्झौता गरेर स्वास्थ्य सेवालाई चुुस्त बनाइएको छ । यसबाट कैदीबन्दीले उपचारका अभावमा अकालमा ज्यान गुमाउनु नपर्ने अवस्था सिर्जना भएको छ ।”

उहाँका अनुसार पहिलो प्रेषण गर्ने अस्पतालमा वीर अस्पताल, नेपाल आँखा अस्पताल, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, कान्तिबाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, ट्रमा सेन्टर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पताल, मानसिक अस्पताल, भक्तपुर क्यान्सर अस्पताल केन्द्रीय रक्तसञ्चार सेवा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र, राष्ट्रिय मिर्गाैला उपचार केन्द्र र आयुर्वेद चिकित्सालय रहेका छन् ।

ती अस्पतालमा श्यया (बेड) खाली नभएमा अथवा थप विशिष्टकृत सेवा उपलब्ध नभएमा अस्पतालले दोस्रो चरणमा प्रेषण गर्नुपरेमा मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, नेसनल रेफरेन्स ल्याबोरेटरी, आनन्दवन अस्पताल, बिपी कोइराला लाइन्स आँखा उपचार केन्द्रलाई तोकिएको छ । ती अस्पतालबाट पनि प्रेषण गर्नुपरेमा अन्तिममा बिपी स्मृति अस्पताल, सुमेरु अस्पताल, स्पाइनल इन्ज्युरी रिहेविलिटेसन सेन्टर र अर्थाेपेडिक अस्पताललाई तय गरिएको छ ।

यसैबीच केन्द्रीय कारागार अस्पतालले आफूसँग सम्झौता गरेका स्वास्थ्य संस्थाका प्रतिनिधिसँग कैदीबन्दीको उपचार सेवालाई अझ थप कसरी व्यवस्थित र चुस्त बनाउन सकिन्छ भनेर अन्तक्र्रिया गरेको छ । सो अवसरमा केन्द्रीय कारागार अस्पतालका प्रमुख बुढाथोकीले कैदीबन्दीको उपचारका क्रममा समस्या आएमा तत्काल जानकारी दिन आग्रह गर्दै आगामी दिनमा यस्ता उपचार सेवालाई थप सुदृढ बनाइने जानकारी दिनुभयो ।

सो अवसरमा सहभागीले कैदीबन्दीको उपचारका क्रममा आइपरेका विभिन्न समस्याका बारेमा ध्यानाकर्षण गराएका थिए । देशका ७२ जिल्लामा ७५ कारागार र दुई सय सुधारगृह रहेका छन् । यस्ता स्थानमा २९ हजारभन्दा बढी कैदीबन्दी रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्तासमेत रहनुभएका डा बुढाथोकीका अनुसार अधिकांश कैदीबन्दीमा रक्तचाप, मधुमेह, कोलस्टोर, मानसिक समस्या, हाडजोर्नी, नाक, कान घाँटीका समस्या रहेका छन् । कैदीबन्दीमध्ये १० जना क्यान्सर र नौजना मिर्गाैलाका बिरामी रहेका छन् । ती मिर्गाैलाका बिरामीले डायलासिल सेवा लिइरहेका छन् ।

व्यावसायिक केरा खेतीमा रमाएका निर्मल, गर्दैछन् मनग्य आम्दानी

मध्यविन्दु (नवलपरासी) । पछिल्ला दिन ३९ वर्षीय निर्मल भट्टराईको दैनिकी परिवर्तन भएको छ । चितवन कालिका नगरपालिका निवासी भट्टराईले विगत तीन वर्षदेखि नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा व्यावसायिक केराखेती गर्दै आएका छन् । नेपाली सेनाको जागीरे जीवनपश्चात् वैदेशिक रोजगारीको आकर्षक अवसर आए पनि यसलाई त्याग्दै उहाँ व्यावसायिक रूपमा केरा खेतीमा लाग्दै आएका छन् ।

“उमेरमै जागीरबाट पेन्सन निस्किए, राम्रो देशमा आकर्षक तलबसहित रोजगारीका लागि साथीहरू गइरहेका थिए तर मलाई यही माटोमा पसिना बगाउन मन थियो अहिले केरा खेती गरिरहेको छु”, उनले भने, “विदेशमा १० घन्टा बगाउने पसिना यहाँ चार पाँच घन्टा मेहनत गर्ने हो भने कृषिबाट नै राम्रो मनग्य गर्न सकिने रहेछ ।”

दीर्घकालीन सोचसहित निर्मलले कावासोती नगरपालिका– १० रतौलमा १२ बिघा जमिन भाडामा लिएर व्यावसायिक केराखेती गरिरहेका छन् । छिटो आम्दानी गर्न सकिने, अनुकूल हावा पानी र वातावरण, सिँचाइ, बजारको सुविधासमेत रहने भएकाले कावासोतीमा व्यावसायिक केराखेतीतर्फ आफू आकर्षित भएको उनले बताए ।

“पहिलो वर्ष प्रतिगोटा ४० रुपैयाँका दरले १७ हजार आठ सय ५० वटा बिरुवा ल्याएर केरा खेती सुरु गरेको हो”, उनले भने,“तीन वर्ष अगाडि रोपेका बिरुवाले अहिले उत्पादन दिन थालेका छन् ।”

निर्मलले गरेको व्यावसायिक केराखेतीबाट दुई जनाले रोजगारीसमेत पाएका छन् । उनी आफैं पनि पूर्ण रूपमा काममा लाग्ने गरेका छन् भने अन्य दुई जनासहित आवश्यकताअनुसार दैनिक ज्यालामा कामदार राख्ने गरेका छन् । अहिले केराखेतीबाट मेहनतअनुसारको आम्दानी हुन थाले पछि उनलाई सन्तुष्टि दिलाएको छ ।

“अहिले बारीमै भैरहवा, बुटवल र आसपासका व्यापारीले प्रतिगोटा रु सातका दरले काँचो केरा खरिद गरेर लाने गरेका छन्”, उनले भने, “प्रतिफल राम्रै पाएकाले अझै विस्तार गर्ने योजनामा रहेको छु ।”

समयमा बीउ, मल नपाउनु, सिँचाइको अभाव, कामदार नपाउनुजस्ता समस्याले गर्दा केरा खेती गर्ने किसानले दुःख पाउने गरेको उनको अनुभव रहेको छ । पर्याप्त सिँचाइ नभएकाले थोपा सिँचाइबाट खेती गरेको निर्मलले बताए ।

“सिँचाइ, हावाहुरी र कीरा केराखेतीको मुख्य समस्या रहेछन्, रोग लागेन र हावाहुरीले क्षति पुगेन भने यसबाट राम्रो आम्दानी लिन सकिने रहेछ”, उनले भने । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा करिब पाँच सय ५१ हेक्टर क्षेत्रफलमा व्यावसायिक केराखेती गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताए ।

“कृषि ज्ञान केन्द्रमार्फत व्यावसायिक केराखेती गर्ने किसानलाई प्रोत्साहनस्वरूप ५० प्रतिशत अनुदान दिँदै आएका छौं”, उनले भने, “किसानको खेतबारीमा गएर अनुगमन गरी समस्याका बारेमा सुझाव दिने गर्ने गरेका छौँ ।”

पछिल्लो समय युवा जनशक्तिले देशमा अवसर नदेखेर विदेशिने क्रम बढ्दो छ । केही युवा स्वदेशमै स्वरोजगारसँगै आम्दानीको क्षेत्र पहिचान गर्न लागि परेका छन् । यसरी स्वदेशमै पसिना बगाउन चाहने युवालाई राज्यले उचित सहयोग गर्ने हो भने रोजगारीको समस्या नपर्ने किसानको भनाइ छ ।

श्रीमान्को निधनभएपछि पार्वतीलाई बालबच्चा हुर्काउनै कठिनाइ

टीकापुर, ३१ असार : टीकापुर नगरपालिकाकी पार्वती सञ्यालका दुई बच्चा छन् । श्रीमान् निधनभएपछि उहाँले निकै कठिनाइ गरेर बालबच्चा स्याहारिरहनुभएको छ । ज्यालादारी गरेर बालबच्चा हुकाइ, पढाइ रहेकी पार्वतीलाई छोराछोरीको भविष्यको निकै चिन्ता छ । “छोरी अहिले १० कक्षामा पढ्छिन्, छोरीको धेरै पढ्ने इच्छा छ”, उहाँले भन्नुभयो, “मेरो कमाइ छैन । छोरीलाई शिक्षा दिन सक्दिन कि भन्ने पीरले सताउँछ । यस्तो बेला सरकारले हेरिदेओस् भन्ने चाहना छ ।”

टीकापुर–३ कटानपुरकी रामपति चौधरीले तीन नातिनातिना पालेर बस्नुभएको छ । रामपतिका छोरा कुलतमा फसेपछि बुहारीले अर्को विवाह गरेर गइन् । छोराबुहारीले नस्याहारेपछि एकल रहेकी रामपतिले सामाजिक सुरक्षा भत्ताले बच्चाको भोक मेटाइरहनुभएको छ । “म आफू पनि एकल महिला, श्रीमान् बितेको धेरै भयो”, उहाँ भन्नुहुन्छ, “छोरो कुलतमा फसेर मानसिक रुपमा पनि कमजोर छ । तीन बच्चा मेरै जिम्मेवारीमा छन् । मलाई यिनको पेट भर्नै समस्या छ । कसरी अरु आवश्यकता पूरा गरौँ ?”

टीकापुर –६ का जोगी परियारका पनि छोराबुहारी बेपत्ता छन् । ज्येष्ठ नागरिक जोगीका दम्पतीले नातिनातिना स्याहारी रहनुभएको छ । “भारत कमाउन गएको छोरो उतै हरायो, बुहारी पनि कता गइन थाहा भएन”, उहाँले भन्नुभयो, “हामी ८० वर्ष आसपासका बूढाबूढी सामाजिक सुरक्षा भत्ताले यी बच्चालाई लालनपालन गरिरहेका छौँ । साह्रै गाह्रो छ हामीलाई ।”

टीकापुर–६ नारायणपुरकी चिन्कीदेवी चौधरीका श्रीमान् बितेको ११ वर्ष भयो । उहाँका दुई छोरा छन् । दुवै छोरा बिरामी छन् । पहिलो बच्चालाई सिकलसेल एनेमियाको समस्या छ । दोस्रो बच्चालाई पनि नियमित रगत चढाउनुपर्छ । “सानो बच्चा एक वर्षको हुँदा श्रीमान् बित्नुभयो, त्यसपछि दुःखका दिन सुरु भए”, उहाँले भन्नुभयो, “१४ वर्षको छोरालाई सिकलसेल एनेमिया छ । उपचारमा आउजाउ गर्न, अस्पताल बस्न, बच्चालाई पोषिलो खुवाउन सकेको छैन ।”

चिन्कीदेवी स्थानीय सरकारले बस्ने घर बनाइदिनुपर्ने, अत्यावश्यक पर्ने सरसामान, बच्चाको उपचार र शिक्षामा सघाउनुपर्ने माग गर्नुहुन्छ । “कहिलेकाहीँ यस्तो सङ्घर्ष गर्न सक्दिनकी जस्तो लाग्छ, श्रीमान् बितेपछि एक वर्षको बच्चा छोडेर इँटाभट्टामा काम गरेर बच्चाको भोक मेटाए”, उहाँले भन्नुभयो, “हरेक महिना बच्चा बिरामी हुन्छन् । नियमित काम गर्न पनि मिलेको छैन ।”

टीकापुर–५ की जानकी रेग्मी पनि एकल महिला हुनुहुन्छ । जग्गा जमिनसमेत नभएकी जानकीले दुई छोराछोरीलाई मजदुरी गरेरै पाल्नुभएको छ । “सधैँ काम पाइँदैन, काम नपाएपछि घरमा अन्न हुँदैन”, उहाँ भन्नुहुन्छ, “कहिलेकाहीँ बिरामी हुँदा काम काममा जान सकिँदैन, त्यो बेला घर चल्दैन । समस्या हुन्छ ।”

आइतबार यस्ता अभिभावक नभएका, एकल महिलाले पालिरहेका, विपन्न भएकै कारण विद्याललमा समस्या रहेका बालबालिकालाई टीकापुर नगरपालिकाले शैक्षिक सामग्री सहयोग गरेको छ । विद्यार्थीलाई झोला, शैक्षिक सामग्री, दुई थान पोसाक वितरण गरिएको हो । वडास्तरीय बाल अधिकार समितिको सिफारिसमा २५ जना विपन्न बालबालिकालाई अध्ययनमा सघाउन सहयोग गरिएको बताइएको छ ।

बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले शैक्षिक सामग्रीले शैक्षिक क्रियाकलापमा सहयोग पुग्ने बताउनुभयो । “विपन्नलाई धेरै राहत हुन्छ, कतिपय बालबालिका कापी, कलम र लत्ताकपडा नभएर पनि नियमित हुन सकेका हुँदैनन्”, उहाँले भन्नुभयो, “त्यस्ता बालबालिका नियमित विद्यालय आउने अपेक्षा गरिएको छ ।”

हतुवागढीले सात करोड ५२ लाख लागतमा प्रशासनिक भवन बनाउँदै

भोजपुर, ३१ असार : भोजपुरको हतुवागढी गाउँपालिकामा प्रशासनिक भवन निर्माणको कामले तीव्रता पाएको छ । भवन नहुँदा नागरिकलाई सेवा प्रवाहमा देखिएको समस्यालाई ध्यानमा राख्दै यहाँ करिव रु सात करोड ५२ लाख लागतमा प्रशासनिक भवन निर्माणको काम थालिएको हो । भवन निर्माण सुरु भएको सात महिना करिब ३६ प्रतिशत काम सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिनुभयो । प्रशासनिक भवन गाउँपालिकाको ४० प्रतिशत र सङ्घ सरकारको ६० प्रतिशत लगानीमा निर्माण भइरहेको उहाँको भनाइ छ ।

“सेवा प्रवाहमा देखिएको समस्यालाई ध्यानमा राख्दै प्रशासनिक भवन निर्माण गरिरहेका छौँ”, प्रशासकीय अधिकृत निरौलाले भन्नुभयो, “हालसम्म करिब ३६ प्रतिशत काम सम्पन्न भएको अवस्था छ । भवन निर्माण सम्पन्न भएपश्चात् नागरिकलाई दिने सेवा प्रवाहमा थप सहजता हुनेछ ।” निर्माण सुरु भएको सात महिनाको अवधिमा हालसम्म दुई तला ढलानको काम सम्पन्न भइसकेको प्रशासकीय अधिकृत निरौलाले जानकारी दिनुभयो । लिफ्टसहित चार तलाको बन्ने भवन २४ महिनाभित्र सम्पन्न गर्ने सम्झौता रहेको छ । गाउँपालिकाको आफ्नो भवन नहुँदा विगतको प्राथमिक स्वास्थ्य चौकीको पुरानो कच्ची भवनबाट सेवा प्रवाह भइरहेको छ । जनतालाई सेवा दिने व्यवस्थित भवन हुँदा भोग्नुपरेको समस्यालाई ध्यानमा राखेर सङ्घ सरकारसँगको लागत साझेदारीमा प्रशासनिक भवन निर्माण थालिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । भवन निर्माणपश्चात् सेवा प्रवाहमा सहजता हुने अध्यक्ष राईको भनाइ छ । भवन निर्माणको कामलाई गुणस्तरीय ढङ्गले समयमा सम्पन्न गराउन भूमिका खेलिरहेको उहाँको भनाइ छ ।

“गाउँपालिकाको व्यवस्थित प्रशासनिक भवन नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ”, अध्यक्ष राईले भन्नुभयो, “भवन अभावमा एकै स्थानबाट सेवा दिन नसकिरहेको अवस्था छ । जसको कारण नागरिकलाई लिन गर्न कठिन छ । एउटा व्यवस्थित प्रशासनिक भवनको आवश्यकता महसुस गरेर सङ्घ सरकारसँगको लागत साझेदारीमा भवन निर्माण थालेका हौँ ।”

भवन निर्माणको काम तोकिएको अवधिभन्दा अघिनै सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको निर्माण कम्पनीका इन्जिनियर सुनिल जानलाले बताउनुभयो । हालसम्म भवन निर्माणको काम ३६ प्रतिशतको हारहारीमा सम्पन्न भएको कम्पनीको दाबी छ । भवन निर्माणको लागि हालसम्म गाउँपालिकाको तर्फबाट रु दुई करोड ५० लाख र सङ्घ सरकारको रु १२ लाख गरी कूल रु दुई करोड ६२ लाख भुक्तानी गरिएको गाउँपालिकाले जनाएको छ । आगामी आवको लागि रु डेढ करोड विनियोजन गरिएको जनाइएको छ । भवन निर्माणको काम २०८० पुस महिनाबाट सुरु भएको थियो ।

भोजपुरका नौवटा स्थानीय तहमध्ये भोजपुर नगरपालिकाको मात्र आफ्नै प्रशासनिक भवन रहेको भने अन्य आठ वटा स्थानीय तह भने पुराना सरकारी भवन तथा भाँडाको घरबाट सञ्चालन भइरहेका छन् । यसको कारण सेवा प्रवाहमा समस्या रहँदै आएको छ । पौवादुङमा गाउँपालिका, रामप्रसादराई गाउँपालिका, षडानन्द नगरपालिकाले पनि भवन निर्माण थालेका छन् ।

मनकामना केबुलकार ५० दिन बन्द हुने

मुग्लिन (चितवन), ३१ असार : मनकामना केबुलकार आजदेखि ५० दिन बन्द हुने भएको छ । केबुलकारको ‘डिजिटल सिस्टम’ स्तरोन्नति गर्न केबुलकार बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ । ‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई अत्याधुनिक डिजिटल सिस्टममा स्तरोन्नति गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार डिजिटल सिस्टममा स्तरोन्नतिका साथै मुख्य तारको लठ्ठासमेत फेर्न लागिएको हो । स्थापनाको २६ वर्षमा मुख्य केबल तार लट्ठा फेर्न लागिएको जनाइएको छ ।

यसका दक्ष प्राविधिक अष्ट्रियाको डोप्पलमेयर कम्पनीबाट आएका छन् । मनकामना केबुलकारको विभिन्न चरणमा स्तरोन्नतिको काम भइरहेको छ । गोरखाको सहिद लखन गाउँपालिकास्थित धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि केबलकार सञ्चालनमा ल्याइएको हो ।

केबुलकार सेवा बन्द रहे पनि उक्त अवधिभर चितवनको इच्छाकामना–४ कुरिनटार (चेरेस) स्थित केबुलकारको प्रवेशद्वार (बटम स्टेसन) मा रहेको रेष्टुराँ सेवा भने निरन्तर रहने मनकामना दर्शन प्रालिले जनाएको छ ।

पहिरामा परी मृत्यु भएकाको ओझाका परिवारलाई तीन लाख राहत

कास्की – जिल्ला प्रशासन कार्यालय कास्कीले गत असार २७ गते राति पहिरामा परी मृत्यु भएकाहरुको परिवारलाई राहत रकम प्रदान गरेको छ ।

पोखरा महानगरपालिका–३२ चैनपुरस्थित बाह्रबीसेमा पहिरोमा परी तीन जनाको मृत्यु भएको थियो । घटनामा परेका १८ वर्षीया अनिता ओझा र ११ वर्षीया अनुष्का ओझाका परिवारलाई प्रशासनबाट रु तीन लाख राहत प्रदान गरिएको हो ।

यसैगरी सोही घटनामा परी मृत्यु भएका नौ वर्षीय प्रतीक सुवेदीको परिवारलाई रु दुई लाख प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

सो राहत रकम प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले मृतकहरुको स्थायी घर रुपा गाउँपालिका–२ पेलुङ्गा पुगेर प्रदान गर्नुभएको हो । अनिता र अनुष्काका बुबा शिवराज ओझा र प्रतिकका बुबा पुष्पराजले राहत रकम बुझ्नुभएको थियो ।

नेपाल सरकारको विपद्का घटनामा परी मृत्यु भएका व्यक्तिलाई राहत उपलब्ध गराउने सम्बन्धी मापदण्ड, २०७७ बमोजिम जिल्ला विपद् व्यवस्थापन कोषबाट सो रकम प्रदान गरिएको सहाय प्रजिअ क्षेत्रीले बताउनुभयो । राहत प्रदान गर्नका लागि प्रमुख जिल्ला अधिकारी पाण्डेसहित रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, रुपा–२ का वडाध्यक्ष राजन सुवेदी लगायत पुग्नुभएको थियो ।

चैनपुर पहिरोमा परी घाइते हुनुभएका आरती ओझाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

नेपाल भारत सीमास्तम्भका बारेमा स्थलगत अवलोकन – ‘सीमा सुरक्षा पहिलो प्राथमिकता’

वीरगञ्ज (पर्सा), ३१ असार : पर्साको प्रमुख जिल्ला अधिकारीसहित चारवटै सुरक्षा निकायका प्रमुखले नेपाल भारत सीमास्तम्भका बारेमा स्थलगत अवलोकन एवं जानकारी लिनुभएको छ । जिल्लामा एक सय सात किलोमिटर क्षेत्रफल भारतसँग सीमा जोडिएको छ । सो अवसरमा प्रजिअ दिनेशसागर भुसालले सीमा सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्न पर्साका सुरक्षा निकायलाई निर्देशन दिनुभएको थियो । उहाँले जगरनाथपुर गाउँपालिका–२ स्थित नेपाल–भारतको इनर्वा सीमानाकाको स्थलगत अवलोकन गर्दै सीमावासीका समस्या र गुनासालाई सम्बोधन गर्ने गरी अघि बढ्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभएको हो ।

उहाँले सीमा क्षेत्रका स्थानीयवासीसँग पनि छलफल गरेर स्थानीयवासीले उठाउँदै आइरहेको विषयलाई सम्बोधन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । “ अवैध कारोबार नियन्त्रणमा सम्झौता नगर्न निर्देश गर्छु”, उहाँले भन्नुभयो, “सीमावासीसँग निरन्तर छलफल र गुनासो सुन्ने व्यवस्था गरी सुमधुर सम्बन्ध कायम राख्न पनि अनुरोध गर्दछु ।”

टोलीले ठोरी गाउँपालिकास्थित सीमास्तम्भको बारेमा पनि अवलोकन गरेको थियो । सो अवसरमा जगरनाथपुर गाउँपालिका–२ का वडाध्यक्ष नेपालीप्रसाद कुशवाहाले केही ठाउँमा सीमाको विवाद कायम रहेकाले दुवै पक्षबीच छलफल गरेर विवाद टुङ्ग्याउनु आग्रह गर्नुभयो । “हाम्रो तहबाट सुरक्षाकर्मीको लागि आवश्यक पर्ने सबै खालको सहजीकरण गर्न तयार रहेका छौँ”, उहाँले भन्नुभयो, “ सुरक्षाकर्मीले पनि सीमा सुरक्षामा विशेष जोड दिन जरुरी रहेको छ ।”
जगरनाथपुर–२ का स्थानीय जामिर मियाँले नेपाली सुरक्षाकर्मी र स्थानीयबीच सुमधुर सम्बन्ध कायम गर्नुपर्ने बताउनुभयो ।

नैरोबीमा फोहर विसर्जन स्थलबाट आठ महिलाको शव फेला : प्रहरी

नैरोबीको एउटा बस्तीमा रहेको फोहर विसर्जन स्थलबाट हालसम्म आठजना महिलाको शव फेला परेको केन्याका कार्यवाहक प्रहरी प्रमुखले आइतबार बताएका छन् ।

“उनीहरूलाई विभिन्न अवस्थामा गम्भीररूपमा कुहिएको र बोराहरूमा छोडिएको थियो”, डगलस कान्जाले पत्रकार सम्मेलनमा भन्नुभयो । फेला परेका शवका बारेमा अनुसन्धान जारी छ ।

पहिलो छ शव शुक्रबार र शनिबार थप दुई महिलाको शव फेला परेको कान्जाले बताउनुभयो । “म जनतालाई आश्वस्त पार्न चाहन्छु कि हामी पारदर्शी, पूर्ण र छिटो अनुसन्धान गर्न प्रतिबद्ध छौँ”, उहाँले भन्नुभयो ।

गत महिना सरकार विरोधी प्रदर्शनका क्रममा दर्जनौँ प्रदर्शनकारीको मृत्यु भएपछि सार्वजनिक आक्रोशका कारण राष्ट्रिय प्रहरी प्रमुख जाफेट कुमेले राजीनामा दिएपछि कान्जाले यस हप्ता मात्र आफ्नो पद ग्रहण गर्नुभएको थियो ।

भाजपाले डिसेम्बरसम्ममा नयाँ राष्ट्रिय अध्यक्ष नियुक्त गर्ने

भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष जेपी नड्डाको कार्यकाल समाप्त भएको छ । उहाँको कार्यकाल सन् २०२४ को जुनसम्म लम्बिए पनि अहिले उहाँलाई सरकारभित्र महत्त्वपूर्ण जिम्मेवारी दिइएको छ । त्यसैले भाजपा अब नयाँ अध्यक्षको खोजीमा छ ।

भाजपाले यस वर्षको डिसेम्बरसम्ममा नयाँ राष्ट्रिय अध्यक्ष नियुक्त गर्ने लक्ष्य राखेको छ । यस पदका लागि अगस्ट १ देखि निर्वाचन प्रक्रिया सुरु हुनेछ । राष्ट्रिय अध्यक्षको निर्वाचनअघि जिल्ला र प्रदेश एकाइलाई सुदृढ गर्दै बृहत् सदस्यता अभियान सञ्चालन गरिने छ ।

नयाँ भाजपा राष्ट्रिय अध्यक्ष चयन गर्ने प्रक्रिया अगस्ट १ मा सुरु हुनेछ । प्रारम्भमा, सदस्यता अभियान सुरु हुनेछ र यो सेप्टेम्बर १५ सम्म चल्नेछ । त्यसपछि, सेप्टेम्बर १६ देखि सेप्टेम्बर ३० सम्म सक्रिय सदस्यता अभियान चल्नेछ । अक्टोबर १ देखि अक्टोबर १५ सम्म सक्रिय सदस्यता प्रमाणीकरण सञ्चालन गरिनेछ ।

भाजपाको विधानअनुसार प्रत्येक सदस्यले प्रत्येक नौ वर्षमा सदस्यता नवीकरण गर्नुपर्छ । यस वर्ष सदस्यता अभियानमा प्रधानमन्त्री, पार्टी सभापति र सबै दलका नेताहरूले सदस्यता नवीकरण गर्नुपर्नेछ ।

नोभेम्बर १ देखि नोभेम्बर १५ सम्म भाजपाले मण्डल (स्थानीय एकाइ) अध्यक्षहरूका लागि चुनाव गर्नेछ । यसपछि नोभेम्बर १६ देखि नोभेम्बर ३० सम्म जिल्ला अध्यक्षको निर्वाचन हुनेछ ।

मण्डल र जिल्ला अध्यक्षको निर्वाचनपछि प्रदेश परिषद् र केन्द्रीय परिषद्का सदस्य चयन हुने भाजपाभित्रको स्रोतले जनाएको छ । यो निर्वाचनपछि मात्र प्रदेश सभापति चयनको प्रक्रिया सुरु हुनेछ ।

प्रदेश सभापतिको निर्वाचन प्रक्रिया डिसेम्बर १ देखि सुरु हुनेछ । पचास प्रतिशत प्रदेशमा निर्वाचन सम्पन्न भएपछि राष्ट्रिय अध्यक्ष चयनको औपचारिक प्रक्रिया सुरु हुनेछ ।

यो व्यवस्थित र चरणबद्ध दृष्टिकोणले भाजपाको सङ्गठनात्मक संरचना बलियो र नेतृत्व सङ्क्रमणका लागि तयार रहेको सुनिश्चित गर्दछ । पार्टीले भावी राजनीतिक चुनौती र अवसरको तयारी गर्ने भएकाले आगामी निर्वाचन महत्त्वपूर्ण छ ।

नड्डालाई राज्यसभामा सदनको नेता नियुक्त गरिएको छ । नड्डा गुजरातबाट राज्यसभा सांसद निर्वाचित हुनुभएको छ । सन् २०२४ को लोकसभा निर्वाचनपछि उहाँलाई मोदी क्याबिनेटमा स्वास्थ्य, रसायन र उर्वरक विभागको जिम्मेबारी दिइएको छ ।

चीन र रुसले प्रशान्त महासागरमा संयुक्त सैन्य गस्ती गर्ने

चीन र रुसले उत्तरी र पश्चिमी प्रशान्त क्षेत्रमा संयुक्त नौसैनिक गस्ती गर्ने बेइजिङको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले उक्त अभ्यास कुनै अन्य मुलुकप्रति ‘लक्षित’ थिएन भनेको छ ।

हालैका वर्षहरूमा दुवै मुलुक नजिक भएका छन् र उनीहरूको मित्रतालाई ‘सीमाहीन’ भनेका छन् । दुवै मुलुकको अमेरिकी नेतृत्वको पश्चिमी रक्षा गठबन्धन नाटोसँग शत्रुतापूर्ण सम्बन्ध छ ।

सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि रुसी आक्रमणको सुरुआतपछि बेइजिङले मस्कोसँग आफ्नो कूटनीतिक, आर्थिक र सैन्य सम्बन्धलाई थप बलियो बनाएको छ ।

युक्रेनमाथि रुसी आक्रमणको कहिल्यै निन्दा नगरेको चीनले द्वन्द्वमा आफू तटस्थ पक्ष रहेको बताउँछ । यद्यपि पश्चिमी नेताहरूले रुसलाई राजनीतिक र आर्थिक समर्थन दिएको भन्दै चीनको आलोचना गरेका छन् । यसमा नागरिक र सैन्य दुवै प्रयोग हुने सामानको व्यापार पनि समावेश छ ।

“चीन र रुसबीच वार्षिक योजना र सहमतिअनुसार दुई मुलुकका नौसैनिक जहाजहरूले हालै पश्चिमी र उत्तरी प्रशान्त महासागरमा आफ्नो चौथो संयुक्त सामुद्रिक गस्ती गरेका छन्”, चिनियाँ रक्षा मन्त्रालयले आइतबार विज्ञप्तिमा भनेको छ, “यो अपरेसन कुनै पनि तेस्रो पक्षप्रति लक्षित छैन र वर्तमान अन्तर्राष्ट्रिय र क्षेत्रीय अवस्थासँग यसको कुनै सरोकार छैन ।”

प्रशान्त युद्धाभ्यासमा जहाजहरूको मार्ग, उनीहरूको सही स्थान वा संलग्न सेनाहरूको प्रकृतिसहित कुनै विवरण प्रदान गरिएको छैन ।

शुक्रबार चीनले उसको दक्षिणी तटमा रुससँग पनि संयुक्त सागर–२०२४ नामको अभ्यास गरिरहेको बताएको छ । नाटो नेताहरूले बेइजिङ युक्रेनमा मस्कोको युद्धको ‘निर्णायक समर्थक बनेको’ घोषणा गरेपछि र जापानले मस्कोसँग बेइजिङको बलियो सम्बन्धबाट बढ्दो खतराको चेतावनी दिएपछि संयुक्त सैन्य अभ्यास भएको हो । बेइजिङले ती आलोचनालाई अस्वीकार गरेको छ ।

‘सामुद्रिक सुरक्षा खतरालाई संयुक्तरूपमा सम्बोधन गर्न र वैश्विक तथा क्षेत्रीय शान्ति र स्थिरतालाई संरक्षण गर्न दुवै पक्षको सङ्कल्प र क्षमताहरूलाई प्रदर्शन गर्न’ दक्षिणी गुआङडोङ प्रान्तस्थित झानजियाङ सहरको वरपर जल र हवाई क्षेत्रमा अभ्यास गरिएको मन्त्रालयले बताएको छ ।

रुसी रक्षा मन्त्रालयले शनिबार उसका दुई युद्धपोत संयुक्त नौसैनिक अभ्यासमा भाग लिन झानजियाङ पुगेको बताएको थियो ।

युरोपियन युनियन इन्स्टिच्युट फर सिक्योरिटी स्टडिजले जुलाईको प्रारम्भमा एक रिपोर्टमा चीन र रुसले नियमितरूपमा संयुक्त सैन्य अभ्यास गर्ने गरेको तर उनीहरूको अन्तरसञ्चालन क्षमता स्तर नाटोभन्दा धेरै कम रहेको बताएको थियो ।

श्रीलङ्कामा ३० हजारभन्दा बढी डेङ्गुका घटना, १२ जनाको मृत्यु

श्रीलङ्कामा यो वर्ष हालसम्म ३० हजारभन्दा बढी डेङ्गुका घटनाहरू रिपोर्ट गरिएको राष्ट्रिय डेङ्गु नियन्त्रण एकाइ (एनडिसियु) ले जनाएको छ ।

एनडिसियुले यस वर्षको सुरुदेखि ३० हजार ५७ घटना रिपोर्ट गरिएको बताएको छ । तीमध्ये जुलाईमा एक हजार आठ सय १८ केसहरू रिपोर्ट गरिएको थियो । यसमा १२ जनाको मृत्यु भएको छ ।

पश्चिमी प्रान्तमा कूल केसमध्ये ३८ दशमलव आठ प्रतिशत र उत्तरी प्रान्तमा १५ दशमलव एक प्रतिशत, मध्य प्रान्तमा नौ दशमलव पाँच प्रतिशत र सबरागामुवा प्रान्त १० दशमलव दुई प्रतिशत रहेको छ ।

नवनियुक्त प्रधानमन्त्री ओलीको सपथ आज हुदै


काठमाडौं – नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ आज विहान ११ बजे हुदैछ । हिजो राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए ।

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री पदमा नियुक्त भएका हुन् ।

साँघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हट्यो

म्याग्दी, ३१ असार : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ र वडा नम्बर–५ पाउद्वार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि साँघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हटेको छ । दुई वटा तातोपानी कुण्ड रहेका पर्यटकीयस्थललाई जोड्न पूर्वाधार विकास कार्यालय म्याग्दीले कालीगण्डकी नदीमाथि एक सय २६ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो । पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय म्याग्दी र निर्माण कम्पनीबीच २०८० साउन महिनामा रु ९३ लाख ५० हजार ४८६ मा ठेक्का सम्झौता भएको थियो ।

प्राविधिक नापजाँच र हस्तान्तरण हुन बाँकी रहेको पुल आवतजावतमा प्रयोग हुन थालेको कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले बताउनुभयो । “उपभोक्ताले प्रयोगमा ल्याइसकेको पुलको मूल्याङ्कन र ठेक्का टुङ्ग्याउन बाँकी छ”, उहाँले भन्नुभयो, “यस पुलले स्थानीयवासीलाई आवतजावतका लागि सहजताका साथै पर्यटन विकासमा प्रभावकारी बन्ने देखिएको छ ।”

पुल निर्माण भएपछि जोखिम मोलेर कालीगण्डकी नदीमा साँघु (अस्थायी काठको पुल) तर्नुपर्ने अथवा नारच्याङको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको पाउद्वार तातोपानीका बासिन्दा कमल तिलिजा पुनले बताउनुभयो ।

“कालीगण्डकी किनारमा प्राकृतिक रुपमा निस्कने तातोपानी सङ्कलन गरिएको पोखरीमा शरीर डुबाएर स्नान र उपचार गर्नेको सहजताका लागि हिउँदमा कालीगण्डकी नदीमा साघु राख्ने गरिएको थियो”, उहाँले भन्नुभयो, “बर्खा याममा पाउद्धार तातोपानी कुण्ड आउन नारच्याङ हँुदै ४० मिनेट घुमाउरो बाटो हिँड्नु पर्दथ्यो ।”

कूल रु एक करोड २० लाख लागत अनुमान गरिएको पुल निर्माणका लागि आर्थिक वर्ष २०७८÷०७९ र २०७९÷०८० मा रु १२÷१२ लाख बजेट विनियोजन भएको थियो । विसं २०८० जेठ महिनामा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले रु नौ लाख थप बजेट व्यवस्थापन गरेर बहुवर्षीय ठेक्का लगाउन स्वीकृति दिएपछि योजना कार्यान्वयनका लागि ठेक्का आह्वान भएको थियो ।

नक्साङ्कनमा देखिएको समस्या र कूल लागत अनुमानको २० प्रतिशत बजेट व्यवस्थापन हुन नसक्दा भुरुङ र पाउद्वार तातोपानी कुण्ड जोड्ने कालीगण्डकी नदीमाथि झोलुङ्गे पुल निर्माण योजनाका लागि आव २०७५÷०७६ देखि नियमित बजेट विनियोजन भए पनि कार्यान्वयन भएको थिएन ।

म्याग्दी १(क) बाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले प्रदेश सरकारको वार्षिक योजनामा समावेश भएर बजेट बिनियोजन हुन थालेको पाँच वर्षपछि पुल निर्माण भएको बताउनुभयो ।

“विसं २०७६ मा निर्माणस्थल राष्ट्रिय राजमार्ग कालीगण्डकी कोरिडोरको क्षेत्राधिकारभित्र पर्ने भएपछि ठेक्का रद्द भएको थियो”, उहाँले भन्नुभयो, “२०७७ देखि स्थान र डिजाइन परिवर्तन गरे पनि लागत अनुमानको २० प्रतिशत बजेट विनियोजन र स्रोत सुनिश्चितता नहुँदा अलपत्र बनेको पुल निर्माण योजना लामो प्रयासपछि सफल भएको हो ।” भुरुङ र पाउद्वार तातोपानी जोड्ने झोलुङ्गे पुल बनेपछि मुस्ताङ जाने आउने पर्यटकको बसाइ लम्बाउन, जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था हटाउन र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने प्रदेशसभा सदस्य भण्डारीले बताउनुभयो ।

प्युठान अदालतमा सम्बन्ध विच्छेदका मुद्दा धेरै

स्वर्गद्वारी (प्युठान) – प्युठान जिल्ला अदालतमा दायर भएका मुद्दामध्ये आधा सम्बन्ध विच्छेदका परेका छन् । जिम्मेवारी सरी आएका र चालु आर्थिक वर्षमा दायर भएका सात सय चार मुद्दामध्ये तीन सय ४२ मुद्दा सम्बन्ध विच्छेदका रहेका श्रेष्तेदार गणेशकुमार गौतमले जानकारी दिनुभयो ।

एक सय ८० अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका र चालु आवमा पाँच सय २४ मुद्दा दर्ता भएका थिए । श्रेष्तेदार गौतमकानुसार आव २०७९÷८० मा फस्छ्र्यौट हुन बाँकीबाट ५१ र चालु आवमा दुई सय ९१ गरी तीन सय ४२ सम्बन्ध विच्छेदका मुद्दा परेकोमा दुई सय ६५ फस्छ्र्यौट भएका छन् । सम्बन्ध विच्छेदका मुद्दामध्ये सबैभन्दा बढी प्युठान नगरपालिका र सबैभन्दा कम मल्लरानी गाउँपालिकाबाट परेका अदालतले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइयो ।

वार्षिक प्रगति समीक्षा प्रतिवेदनअनुसार आव २०७९/८० मा फस्छ्र्यौट हुन बाँकी एक सय ८० मुद्दा जिम्मेवारी सरी आएकोमा एक सय ६० चालु आवका पाँच सय २४ वटा मुद्दामध्ये तीन सय ४० फछ्र्यौट भएका छन् ।

न्यायाधीश पुनाराम खनालले ६५ प्रतिशतको लक्ष्य राखेकामा ७१ प्रतिशत मुद्दा फस्छ्र्यौट गर्न सफल भइएको र फस्छ्र्यौट हुन बाँकी मुद्दा १८ महिनाभन्दा बढी समयका रहेका बताउनुभयो । उहाँले स्थानीय सरकार आएपछि भएका सिफारिसमा कानुनी व्यवधान सिर्जना भएकाले यसलाई सच्याउन ध्यान दिनुपर्नेमा जोड दिनुभयो । “प्रमाणीकरण, सिफारिस तथा अभिलेखका प्रमाणमा वडा कार्यालय, स्थानीय न्यायिक समितिका पत्र तथा अन्य कागजातले केही प्रकृतिका पीडितलाई न्याय दिलाउन सहयोग पुग्छ तर आफ्नो क्षेत्राधिकारका आधारमा भाषा, कागजात अदालतमा कमै मात्र आएको हुँदा जटिलता देखिएको छ”, न्यायाधीश खनालले भन्नुभयो । उहाँले समुदायस्तरमा कानुनी सचेतना आवश्यक रहेको र त्यसमा सबै सरोकार भएका निकायले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

कार्यालयले यसवर्ष कार्यसम्पादनका आधारमा उत्कृष्ट दुईजना कर्मचारीलाई पुरस्कृत गरेको छ । नायब सुब्बा श्यामलाल चौधरी र कम्प्युटर अपरेटर यशोदा बोहोरालाई जनही रु पाँच हजारसहित सम्मान गरिएको हो ।

धनगढीमा ‘नाइरोबी फ्लाई’ कीराको समस्या बढ्दै,कीराको सम्पर्कबाट जोगिन नागरिकलाई अनुरोध

सुदूरपश्चिम- कैलालीको धनगढीसहितका क्षेत्रमा ‘नाइरोबी फ्लाई’ कीराको सङ्क्रमणबाट छालामा फोका उठ्ने र पाक्ने समस्या बढ्न थालेको छ । वर्षायाममा देखिने यस कीराले छोएका व्यक्तिमा यस्तो समस्या देखिन थालेको हो ।

यस कीराले छोएपछि निस्किने एकप्रकारको रसायनले मानिसको छालामा फोका हुने र पाक्ने गरेकाले सो कीराको सम्पर्कबाट जोगिन स्वास्थ्यकर्मीले सुझाएका छन् । कीराको सम्पर्कबाट जोगिन बाउला भएको सर्ट र पाइन्ट लगाएर शरीरलाई ढाक्ने, कीराले छोएको ठाउँको छालालाई धुने र सङ्क्रमण भएमा चिकित्सकको सल्लाहअनुसार औषधिको प्रयोग गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।

 धनगढी उपमहानगरपालिका कार्यालयले सार्वजनिक सूचनामार्फत कीराको सम्पर्कबाट जोगिन नागरिकलाई अनुरोध गरेको छ ।  उपमहानगर स्वास्थ्य शाखा प्रमुख योगेशकुमार अवस्थीले उक्त कीराले आफ्नो सुरक्षाका लागि निकाल्ने रसायनले मानिसको छाला पोल्ने, छालामा फोका र दाना उठ्ने भई पीडा हुने गरेको बताउनुभयो । अवस्थीले भन्नुभयो, “यस कीराको सम्पर्कले मानिसको ज्यान जाँदैन तर सम्पर्क हुँदा छाला पोल्ने र घाउ भई पीडा हुन्छ ।” 

खासगरी बेलुकाको समयमा बत्ती बलेको ठाउँमा यो कीरा आउने गरेकाले सतर्क रहन अवस्थीले आग्रह गर्नुभयो । “यस कीराको समस्याले हाल स्वास्थ्य संस्था र अस्पताल धाउनको सङ्ख्या बढिरहेको छ । सङ्क्रमणबाट जोगिन घरबाहिरको बत्ती कम प्रयोग गर्ने र वातावरण सरसफाइमा पनि ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो ।

झोलुङ्गे पुल निर्माण भएपछि साँघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हट्यो

म्याग्दी, ३१ असार : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ र वडा नम्बर–५ पाउद्वार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि साँघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हटेको छ । दुई वटा तातोपानी कुण्ड रहेका पर्यटकीयस्थललाई जोड्न पूर्वाधार विकास कार्यालय म्याग्दीले कालीगण्डकी नदीमाथि एक सय २६ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो । पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय म्याग्दी र निर्माण कम्पनीबीच २०८० साउन महिनामा रु ९३ लाख ५० हजार ४८६ मा ठेक्का सम्झौता भएको थियो ।

प्राविधिक नापजाँच र हस्तान्तरण हुन बाँकी रहेको पुल आवतजावतमा प्रयोग हुन थालेको कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले बताउनुभयो । “उपभोक्ताले प्रयोगमा ल्याइसकेको पुलको मूल्याङ्कन र ठेक्का टुङ्ग्याउन बाँकी छ”, उहाँले भन्नुभयो, “यस पुलले स्थानीयवासीलाई आवतजावतका लागि सहजताका साथै पर्यटन विकासमा प्रभावकारी बन्ने देखिएको छ ।”

पुल निर्माण भएपछि जोखिम मोलेर कालीगण्डकी नदीमा साँघु (अस्थायी काठको पुल) तर्नुपर्ने अथवा नारच्याङको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको पाउद्वार तातोपानीका बासिन्दा कमल तिलिजा पुनले बताउनुभयो ।

“कालीगण्डकी किनारमा प्राकृतिक रुपमा निस्कने तातोपानी सङ्कलन गरिएको पोखरीमा शरीर डुबाएर स्नान र उपचार गर्नेको सहजताका लागि हिउँदमा कालीगण्डकी नदीमा साघु राख्ने गरिएको थियो”, उहाँले भन्नुभयो, “बर्खा याममा पाउद्धार तातोपानी कुण्ड आउन नारच्याङ हँुदै ४० मिनेट घुमाउरो बाटो हिँड्नु पर्दथ्यो ।”

कूल रु एक करोड २० लाख लागत अनुमान गरिएको पुल निर्माणका लागि आर्थिक वर्ष २०७८÷०७९ र २०७९÷०८० मा रु १२÷१२ लाख बजेट विनियोजन भएको थियो । विसं २०८० जेठ महिनामा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले रु नौ लाख थप बजेट व्यवस्थापन गरेर बहुवर्षीय ठेक्का लगाउन स्वीकृति दिएपछि योजना कार्यान्वयनका लागि ठेक्का आह्वान भएको थियो ।

नक्साङ्कनमा देखिएको समस्या र कूल लागत अनुमानको २० प्रतिशत बजेट व्यवस्थापन हुन नसक्दा भुरुङ र पाउद्वार तातोपानी कुण्ड जोड्ने कालीगण्डकी नदीमाथि झोलुङ्गे पुल निर्माण योजनाका लागि आव २०७५÷०७६ देखि नियमित बजेट विनियोजन भए पनि कार्यान्वयन भएको थिएन ।

म्याग्दी १(क) बाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले प्रदेश सरकारको वार्षिक योजनामा समावेश भएर बजेट बिनियोजन हुन थालेको पाँच वर्षपछि पुल निर्माण भएको बताउनुभयो ।

“विसं २०७६ मा निर्माणस्थल राष्ट्रिय राजमार्ग कालीगण्डकी कोरिडोरको क्षेत्राधिकारभित्र पर्ने भएपछि ठेक्का रद्द भएको थियो”, उहाँले भन्नुभयो, “२०७७ देखि स्थान र डिजाइन परिवर्तन गरे पनि लागत अनुमानको २० प्रतिशत बजेट विनियोजन र स्रोत सुनिश्चितता नहुँदा अलपत्र बनेको पुल निर्माण योजना लामो प्रयासपछि सफल भएको हो ।” भुरुङ र पाउद्वार तातोपानी जोड्ने झोलुङ्गे पुल बनेपछि मुस्ताङ जाने आउने पर्यटकको बसाइ लम्बाउन, जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था हटाउन र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने प्रदेशसभा सदस्य भण्डारीले बताउनुभयो ।

कर्णालीमा साउन १ गते सार्वजनिक बिदा

कर्णाली, ३१ असार : ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’का अवसरमा कर्णाली प्रदेश सरकारले भोलि साउन १ गते सार्वजनिक बिदा दिएको छ ।

गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार एक सूचना जारी गरी साउन १ गते सार्वजनिक बिदाको घोषणा गरेको हो ।

मधेस प्रदेशः आगामी आवको बजेट सर्वसम्मतिले पारित

जनकपुर, ३० असार : मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट सर्वसम्मतिले पारित भएको छ । प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री सतिशकुमार सिंहले प्रस्तुत गर्नुभएको विनियोजन विधेयक २०८१ सभामुख रामचन्द्र मण्डलले निर्णयार्थ पेस गर्दा सभाको सर्वसम्मतिले पारित भएको हो ।

यही असार १ गते तत्कालीन अर्थमन्त्री भरतप्रसाद साहले प्रदेशसभामा रू ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो । बजेटमा चालुतर्फ रु १६ अर्ब सात लाख एक हजार र पुँजीगततर्फ रु २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार विनियोजन गरिएको छ ।

बजेटमाथि प्रश्न उठाउँदै जनता समाजवादी पार्टी (जसपा) नेपाल लगायतका चार दलले विरोध जनाएपछि बैठक अवरुद्ध हुँदै आएको थियो । आज बिहान बसेको सर्वदलीय बैठकले उच्चस्तरीय छानबिन समिति बनाउने निर्णयपछि बजेटमाथिको छलफल एकै दिनमा सकेर पारित गरिएको छ । छलफलमा २२ जना प्रदेशसभा सदस्यले भाग लिनुभएको थियो ।

फ्रान्समा जन्मदिनको पार्टीमा गोली चल्दा चार जनाको मृत्यु

फ्रान्सको एक गाउँमा जन्मदिनको पार्टीमा एक व्यक्तिले गोली चलाउँदा बन्दुकधारीसहित चार जनाको मृत्यु भएको अधिकारीले बताएका छन् । क्लेरमोन्ट–फेरान्डबाट करिब ६० किलोमिटर उत्तरमा रहेको मध्य फ्रान्सेली गाउँ एस्पिनासे–भोजेलमा २० वर्षीय एक युवक आफ्नो परिवारसँग आफ्नो जन्मदिन मनाइरहेका बेला ती व्यक्ति नजिकैको घरमा पुगेका थिए ।

आक्रमणकारीले पार्टीमा आएका पाहुनामाथि गोली चलाउँदा तीमध्ये तीन जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ । आफ्नो जन्मदिन मनाइरहेका युवक र उहाँका पिता दुवैको हत्या भएको थियो । प्रहरीले अझै पनि आक्रमण ‘किन’ भएको भन्नेबारे अनुसन्धान गरिरहेको अधिकारीले बताएका छन् । उक्त व्यक्तिले घातक आक्रमण गर्नुअघि सवारी चालकहरूलाई गोली हानेको देखिन्छ । स्थानीय अभियोजक जेरोम पिकेसले एएफपीलाई बताएअनुसार ती व्यक्ति स्थानीय समयअनुसार राति ९ः३० बजेतिर दुवै घरलाई जोड्ने बाटो हुँदै छिमेकीको घरमा पुगेका थिए ।

गोली काण्डमा घाइते भएका चार जनालाई अस्पताल भर्ना गरिएको छ र उनीहरू खतरामुक्त भएको अधिकारीले बताए । गोली चलेको स्थलमा रहेका अन्य १५ प्रत्यक्षदर्शीलाई मनोवैज्ञानिकहरूले निगरानीमा राखेका छन् । एस्पिनासे–भोजेलका नगरप्रमुख मिचेल मारिएनले एएफपीसँग भन्नुभयो, “यो एउटा झट्का हो । हामीलाई थाहा छैन कि यो के कारणले भयो, कसरी एक व्यक्तिले नियन्त्रण गुमाउँछ र यति विग्न उग्र हुन्छ ।” प्रहरीका अनुसार ५० वर्ष काटेका ती आक्रमणकारीलाई यसअघि कुनै पनि अभियोग नलागेको देखिएको छ ।

पशुपतिनाथ मन्दिर परिसरमा वृहत् साइकल र्‍याली

काठमाडौँ, ३० असारः पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा आगामी साउन १ गतेदेखि हुने बृहत कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा आज वृहत् साइकल ¥याली आयोजना गरिएको छ ।

कोटिहोम महायज्ञको प्रचारप्रसारका लागि आज बृहत् साइकल र्‍याली आयोजना गरिएको हो । साइकल र्‍याली पशुपति नाथ मन्दिर परिसरदेखि, चाबहिल हुँदै चक्रपथ परिक्रमा गरिएको मानव सेवा फाउन्डेसनका मिडिया पर्सन अनुज पछाईले जानकारी दिनुभयो ।

उहाँका अनुसार र्‍यालीमा दुई सय ७६ वटा साइकिल रहेका थिए । मानव सेवा फाउन्डेसनलगायत झण्डै एक दर्जन सङ्घ–संस्थाको आयोजनामा एक महिनासम्म चल्ने महायज्ञको तयारी अन्तिम चरणमा पुगेको पछाईले बताउनुभयो ।

महायज्ञ अवधिभर जगद्गुरु, साधु, सन्त, महन्तका साथै ख्यातिप्राप्त कथा वाचकहरुबाट आशीर्वचन तथा कथा प्रवचन हुने आयोजक समितिका खेमराज रेग्मीले जानकारी दिनुभयो । यसैगरी महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल, राधिका दासी, श्री राम कथावाचक चन्द्रकला सखी र श्रीमद्भागवतकी लोकप्रिय युवा कथा वाचिका देवी प्रतिभालगायतले कथावाचन गर्ने आयोजकले जनाएको छ ।

विराट ज्ञानमहायज्ञमा एक सय आठ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण, वैदिक मन्त्रसहित अनवरत रुपमा नियमित हवन, पाँच हजार एक सय दिव्य कलश पूजन, चार बेद पाठ, ११ हजार बढी बालिकाको कन्या पूजन, हजारौँको तुलादान, ज्येष्ठ नागरिकको सम्मान, ताण्डुलाचल चामलको पर्वत निर्माणलगायतको कार्यक्रम पनि नियमित रुपमा सञ्चालन हुने फाउन्डेसनले जानकारी दिएको छ ।

तनहुँमा खोलामा डुबेर दुईको मृत्यु

दमौली (तनहुँ), ३० असार : तनहुँमा खोलामा डुबेर दुईको मृत्यु भएको छ । व्यास नगरपालिका–५ साँगखोला र भानु नगरपालिका–६ चुँदीखोलामा डुबेर दुईको मृत्यु भएको प्रहरीले जनाएको हो ।

साँगेखोलामा डुबेर सोही वडाको बरबोटेका २० वर्षीय शिशिर कुमाल रहेका छन् । घरदेखि करिब एक किलोमिटर टाढा रहेको साँगे खोलामा डुबेको अवस्थामा स्थानीयले उद्धार गरी दमौली अस्पताल पु¥याएकामा चिकित्सकले उहाँलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो ।

यस्तै भानु नगरपालिका–६ लेङ्गाबारीमा चुँदीखोलाले बगाएर ४० वर्षीय निमबहादुर मस्राङ्गीको मृत्यु भएको छ । शनिबार नुहाउने क्रममा बगाएका उहाँको शव आज भानु नगरपालिका–५ पञ्चनगरस्थित खोला छेउमा भेटिएको प्रहरीले जनाएको छ ।

त्रिवेणीको गण्डक ब्यारेजमा भेटियो दुई शव

नवलपुर (नवलपरासी), ३० असारः नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को त्रिवेणीस्थित गण्डक ब्यारेजमा दुई वटा शव फेला परेको छ । नारायणी नदीलाई बाँध बाधेर सिँचाइका लागि पानी लगेको ठाउँमा आज साँझ दुई वटा शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार विनयी त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक नहरमा दुई पुरुषको शव फेला परेको हो ।

शव भेटिएको स्थानमा त्रिवेणी चौकीबाट प्रहरी नायब निरीक्षक महेश रायमाझीको नेतृत्वमा पाँच जना तथा इलाका प्रहरी कार्यालय दुम्कीवासबाट प्रहरी निरीक्षक पदम थापाको नेतृत्वमा छ जनाको प्रहरी टोली परिचालन गरिएको पौडेलले बताउनुभयो ।

दुवै शव शुक्रबार बिहान चितवनको भरतपुर–२९ सिमलतालबाट पहिराले बगाएको बसको यात्रु हुनसक्ने आशङ्का गरिएको छ । शवको पहिचान खुल्न सकेको छैन । शवबारे अनुसन्धान भइरहेको छ ।

भारतको गुजरातमा चण्डिपुरा भाइरसको आशङ्कामा चार बालबालिकाको मृत्यु

पश्चिम भारतको गुजरात राज्यमा चण्डिपुरा भाइरसको संदिग्ध सङ्क्रमणका कारण कम्तीमा चार बालबालिकाको मृत्यु भएको र अन्य दुई जनाको उपचार भइरहेको अधिकारीहरूले बताएका छन् ।

गुजरातको राजधानी सहर गान्धीनगरबाट ६३ किलोमिटर उत्तरपूर्वमा रहेको साबरकण्ठा जिल्लाको हिम्मत नगर सिभिल अस्पतालमा ती बालबालिकाको मृत्यु भएको जानकारी दिइएको छ ।

प्रमुख जिल्ला स्वास्थ्य अधिकारी साबरकण्ठ राज सुतारियाका अनुसार यी सबै बालबालिकाको रगतको नमूना पुणेस्थित नेशनल इन्स्टिच्युट अफ भाइरोलोजीमा पुष्टिका लागि पठाइएको छ ।स्वास्थ्य अधिकारीहरूले भन्नुभयो, “चण्डिपुरा भाइरसले ज्वरो निम्त्याउँछ । यो लामखुट्टे, टिक्स र स्यान्डफ्लाइजबाट सर्छ ।”

कोशी प्रदेशका बालबालिकालाई खोपबाट वञ्चित हुन नदिने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

मोरङ, ३० असार : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका बालबालिकालाई खोपबाट वञ्चित हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा आज यहाँ आयोजित प्रदेश पूर्ण खोप सुनिश्चिता घोषणा गर्नुहुँदै उहाँले बालबालिकाले १६ महिनामा सबै १३ वटा खोप लगाउने अधिकार कुण्ठित हुन नदिन मन्त्रालय, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई आग्रह एवं निर्देशन दिनुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेशलाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा गर्न पाएकामा खुसी व्यक्त गर्नुहुँदै यसबाट राष्ट्रिय तथ्याङ्क एवं मानचित्रमा प्रदेशको नाम राख्न पाएकामा सबैलाई बधाई एवं शुभकामना दिनुभयो । उहाँले सरकारले आगामी साउनदेखि नागरिकका घरदैलोमा स्वास्थ्य जाँच गर्न विशिष्ट स्वास्थ्यकर्मीको साथमा मोबाइल भ्यानबाट सेवा प्रारम्भ गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “यहाँहरू सबैको सहयोगमा प्रदेशलाई प्रदेशलाई पूर्ण खोपयुक्त घोषणा गर्न सकिएको छ । अब बाल विवाह, छुवाछूत, बाल मृत्यु, सुत्केरी मृत्युदर न्यूनीकरण गर्न सबैले आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा आवश्यकता छ”, उहाँको भनाइ थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले महामारी आउन नदिनका लागि बालबालिकालाई तोकिएको समयमा सबै खोप दिनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव राधिका थपलिया र स्वास्थ्य निर्देशनालयका प्रमुख ज्ञानबहादुर बस्नेतलाई प्रदेशका १४ जिल्लाका एक सय ३७ पालिका खोप सुनिश्चिता भएको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।

ट्रम्पको हत्या प्रयासपछि क्रेमलिनद्वारा राजनीतिक हिंसाको निन्दा

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आक्रमण भएपछि क्रेमलिनले राजनीतिका सन्दर्भमा कुनै पनि हिंसाको कडा निन्दा गरेको प्रवक्ता दिमित्री पेसकोभले बताउनुभएको छ ।

शनिबार एक चुनावी र्यालीमा हत्या प्रयासमा ट्रम्पको कानमा गोली प्रहार भएको थियो । घटनामा गोली चलाउने र एक दर्शकको मृत्यु भएको थियो भने अन्य दुई दर्शक गम्भीररूपमा घाइते भएका थिए ।

“क्रेमलिन राजनीतिक प्रतिस्पर्धाका सन्दर्भमा हिंसाको कुनै पनि उदाहरणको कडा निन्दा गर्दछ”, पेसकोभले टेलिफोन पत्रकार सम्मेलनमा भन्नुभयो । उहाँले ‘उक्त आक्रमणमा मारिएका पीडितका परिवार’ प्रति रुसको ‘समवेदना’ व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।

पेसकोभ र रुसको विदेश मन्त्रालय दुवैले आक्रमण पूर्वानुमान गर्न सकिने थियो भनेका छन् । “राष्ट्रपतिका उम्मेदवार ट्रम्पलाई राजनीतिक क्षेत्रबाट हटाउनका लागि सबै कानूनी उपकरण, अदालतहरू, अभियोजकहरू, राजनीतिक बदनाम गर्ने प्रयासहरू यी सबै बाहिरी पर्यवेक्षकहरूलाई उहाँको जीवन खतरामा छ भन्ने स्पष्ट छ”, पेसकोभले भन्नुभयो, “वर्तमान सत्ताले यो प्रयास गरेको हो भन्नेबारे हामी पटक्कै विश्वास गर्दैनौँ ।”

विदेश मन्त्रालयका प्रवक्ता मारिया जखारोभले भन्नुभयो, “युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई हतियार आपूर्ति गर्न मतदान गर्ने संयुक्त राज्य अमेरिकाका ती मानिसहरूलाई सन्देश दिएको छ किनकी उनीहरूको देशले रुसी सैनिकहरूलाई अगाडि बढ्नबाट रोक्न कोसिस गरिरहेका छन् ।”

उहाँले वासिङ्टनलाई आफ्ना ‘राजनीतिक विरोधी, मुलुक र मानिसहरूविरुद्ध घृणा बढाउने नीतिहरू’ को ‘सूची’ बनाउन सल्लाह दिनुभयो । उहाँले यस्ता नीतिहरूमा युक्रेनका लागि अमेरिकी समर्थन समावेश भएको बताउनुभयो । उहाँले टेलिग्राममा लेख्नुभयो, “सम्भवतः यो पैसाको प्रयोग अमेरिकी प्रहरी र संयुक्त राज्य अमेरिकामा कानून र व्यवस्था सुनिश्चित गर्ने अन्य सेवाहरूमा गर्नका लागि राम्रो हुनेछ ।”

पश्चिमी मुलुकहरूले धेरै अवसरमा मस्कोमाथि राजनीतिक विरोधीहरूलाई हिंसात्मक तरिकाले समाप्त गरेको आरोप लगाएका छन् तर राष्ट्रपति भ्लादिमिर पुटिनको शासनले उक्त आरोपलाई अस्वीका गर्दछ । हालै प्रमुख रुसी विपक्षी नेता एलेक्सी नभाल्नीको फेब्रुअरीमा आर्कटिक जेलमा रहस्यमय अवस्थामा मृत्यु भएको थियो ।

अफगानिस्तानद्वारा राजधानीमा ९० हजार सिसिटिभी क्यामेरा जडान

अफगानिस्तानको राजधानी काबुलका विभिन्न भागमा सुरक्षा सुनिश्चित गर्न र आपराधिक गतिविधिहरू नियन्त्रण गर्न करिब ९० हजार सिसिटिभी क्यामेरा जडान गरिएको आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता अब्दुल मतिन कानीले बताउनुभएको छ ।

स्थानीय टिभी टोलोन्युजले शनिबार राति अधिकारीलाई उद्धृत गर्दै घटना र आपराधिक गतिविधि नियन्त्रण गर्न करिब ६० हजार सिसिटिभी क्यामेरा ६० लाख जनसङ्ख्या भएको सहर काबुलका संवेदनशील क्षेत्र, भीडभाड हुने ठाउँ र चोकमा जडान गरिएको जनाएको छ ।

अधिकारीका अनुसार अफगान कार्यवाहक सरकारको योजना आगामी चार वर्षभित्र युद्धग्रस्त देशका सबै प्रान्त र सहरमा भिडियो निगरानी प्रणाली स्थापना गर्ने रहेको छ ।

काबुल बाहेक, काबुलबाट ५५ किलोमिटर उत्तरमा पर्ने उत्तरी परवान प्रान्तको राजधानी चारिकारको निकास र प्रवेश विन्दुमा पनि क्यामेरा जडान गरिएको छ ।

अधिकारीहरूका अनुसार काबुल र अन्य सहरहरूमा चोरी, डकैती, हत्या र अपहरण जस्ता आपराधिक गतिविधिहरू तीव्ररूपमा कम भएका छन् ।

गोरखामा माछापोखरीमा डुबेर एकको मृत्यु

गोरखा, ३० असार : गोरखामा माछापोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ । पालुङटार नगरपालिका–६, कालमाटा घर भएका १७ बर्षीय विपिन नेपालीको आज डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

आज दिउँसो पाँचजना साथीसँगै पोखरीमा पौडी खेल्ने गएकामध्ये नेपालीको मत्यु भएको हो । घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।