जर्मनीमा क्रिसमसमा भएको आक्रमणमा परी पाँच जनाको मृत्यु, २०० भन्दा बढी घाइते


जर्मनीको एक क्रिसमस बजारमा भएको कार दुर्घटनामा परी पाँच जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएको स्याक्सोनी–अनहाल्ट राज्यका प्रमुख रेनर हसेलोफले शनिबार जानकारी दिनुभएको छ ।
पूर्वी सहर म्याग्डेबर्गमा आएका जर्मन चान्सलर ओलाफ स्कोल्जले मृतकका आफन्तजनप्रति समवेदना प्रकट गर्नुभएको छ । घटनामा करिब ४० जना गम्भीर घाइते भएका र सरकारले उनीहरूको उपचारको व्यवस्था मिलाएको उहाँले बताउनुभयो । साथै, उहाँले ‘भयानक आक्रमण’को निन्दा गर्नुभएको छ ।
सन् २०१६ मा पनि बर्लिनको क्रिसमस बजारमा जिहादी समूहले आक्रमण गरेको थियो ।
चान्सलर स्कोल्जले ‘यति धेरै मानिस हताहत भएको ‘भयानक आक्रमण’बारे जर्मनीले ‘उचित कानुनी दण्डद्वारा’ जवाफ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
जर्मनीमा आप्रवासन र सुरक्षाको विषयमा चर्को बहस भइरहेका बेला स्कोल्जले राष्ट्रिय एकताका लागि आह्वान गर्नुभएको छ ।
चान्सलरले भन्नुभयो, “हामी एक देशका नागरिकका रूपमा सँगै बस्छौँ, एकसाथ रहन्छौँ तर आफ्नै समुदायविरूद्ध हतियारहरूको पयोग गर्छौँं, के यो घृणा होइन ?
उहाँले भन्नुभयो, “विश्वका धेरै मुलुकबाट ऐक्यबद्धता आएको छ । हामी जर्मनहरू यस भयानक विपत्तिको सामना गर्न एक्लो छैनौँ ।”