`

हुम्लामा सुत्केरी व्यथाले च्यापेपछि लक्ष्मीको हेलिकप्टरमार्फत उद्धार

सिमकोट (हुम्ला), २९ असारः अदानचुली गाउँपालिका–६ मा पर्ने लौँठीगाउँकी ३१ वर्षे गर्भवती लक्ष्मी बुढालाई उद्धार गरिएको छ । सुत्केरी व्यथाले च्यापेपछि लौँठी स्वास्थ्यचौकीमा पुर्याइएको र त्यहाँ उपचार सम्भव नभएपछि आज हेलिकप्टरमार्फत उहाँलाई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पु¥याइएको हो ।

बुढालाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको लौँठी स्वास्थ्यचौकीका संयोजक नवराज भण्डाराले बताउनुभयो । “सुत्केरी व्यथाले च्यापेको अवस्थामा बुढालाई स्वास्थ्यचौकीमा ल्याइएको थियो, तर सुत्केरी गराउन सक्ने अवस्था नभएपछि स्वास्थ्यकर्मीको सिफारिसमा सुर्खेत रेफर गरिएको हो”, संयोजक भण्डारीले भन्नुभयो ।

यसका लागि स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयले सहजीकरण गरेको अदानचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हंस महताराले बताउनुभयो ।

दलहरूलाई कमजोर बनाएर लोकतन्त्र र मानवअधिकारलाई बलियो बनाउन सकिँदैनः महासचिव पोखरेल

ललितपुर । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राजनीतिक दललाई कमजोर बनाएर लोकतन्त्र र मानवअधिकारलाई बलियो बनाउन नसकिने बताएका छन् ।

ललितपुरको खोकनामा शनिबार आयोजित राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स)को २५औँ स्थापना दिवस समारोहमा उनले राजनीतिक दल कमजोर भएमा लोकतन्त्र, मानवअधिकार र जनअधिकार सुनिश्चित हुन नसक्ने बताए ।

‘राज्यलाई बलियो बनाउने शक्ति राजनीतिक दल नै हुन्, बलियो राजनीतिक दल नै स्थिरता र स्थायित्वका आधार हुन् । त्यसैले दलहरूलाई कमजोर बनाएर मानवअधिकारको रक्षा र आर्थिक समृद्धि हासिल हुन सक्दैन’, महासचिव पोखरेलले भने । उनले जनतालाई संरक्षण प्रदान गर्न पनि राज्य र राजनीतिक दल बलियो हुनुपर्ने जिकिर गरे ।

एमाले नेता एवं पूर्वमन्त्री भानुभक्त ढकालले समाजमा व्यवस्था परिवर्तन भएसँगै मानवअधिकारका व्यवस्था पनि परिवर्तन हुँदै आएको बताए ।

गण्डकी प्रदेशका एक सय ७८ खेलाडी पुरस्कृत

कास्की, २९ असार : गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियस्तरका विभिन्न खेलकुद प्रतियोगिताका विजेतालाई आज नगदसहित पुरस्कृत गरिएको छ । प्रदेश खेलकुद परिषद्ले यहाँबाट सहभागिता जनाएर विभिन्न प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक तथा प्रथम, द्वितीय र तृतीय बनेका प्रदेशका एक सय ७८ खेलाडीलाई पुरस्कृत गरेको हो ।

चालु आर्थिक वर्षमा आयोजना गरिएको बागमती प्रदेशस्तरीय प्रतियोगिता, १४औँ राष्ट्रपति रनिङ शिल्ड र यु–१५ विद्यालयस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिताका विजेता खेलाडीले पुरस्कार पाएका हुन् ।

खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री एवं प्रदेश खेलकुद परिषद्का संरक्षक सुरेन्द्रराज पाण्डे, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री बिन्दुकुमार थापा, प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङ, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेल र सदस्यसचिव श्रीधर शर्मालगायतले खेलाडीलाई पुरस्कार वितरण तथा सम्मान गर्नुभयो ।

पुरस्कृत हुने खेलाडीमध्ये ‘व्यक्तिगत इभेन्ट’तर्फ स्वर्ण, रजत र कास्य पदक विजेतालाई क्रमशः नगद रु सात हजार, पाँच हजार र रु तीन हजारका दरले पुरस्कृत गरिएको हो । यसैगरी ‘टिम गेम्स’तर्फका विजेता खेलाडीलाई क्रमशः रु पाँच हजार, रु तीन हजार र रु दुई हजार प्रदान गरिएको थियो ।

त्यस अवसरमा मुख्यमन्त्री पाण्डेले प्रदेश सरकार खेलकुद विकासका लागि लगानी बढाउन प्रतिबद्ध रहेको बताउनुभयो । “सीमित स्रोतसाधनको अधिकतम सदुपयोग गर्दै खेलकुदको जग बलियो बनाउन गण्डकी प्रदेश सरकार अघि बढेको छ, खेलकुदमा अधिकतम लगानी गर्दै खेलाडीलाई प्रोत्साहन गर्न हामी प्रतिबद्ध छौँ”, उहाँले भन्नुभयो,“खेलकुद क्षेत्रबाट अझै पनि जीविकोपार्जनका विषयमा थुप्रै प्रश्नहरू छन् । खेलाडीले खेल खेलेर जीवन धान्ने अवस्था बनाउन सबैको प्रयत्न आवश्यक छ, यसमा प्रदेश सरकारले योगदान गर्छ ।”

सामाजिक तथा स्वास्थ्यमन्त्री थापाले खेलकुदमा भविष्य छ भन्ने सुनिश्चित गर्न तीनै तहका सरकार खेलकुद विकासमा अघि बढेको बताउनुभयो । “खेलकुद अनुशासित क्षेत्र हो । यसले सौहार्दताका साथै राष्ट्रको गरिमा बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । मन्त्रालय खेलाडीहरूको मनोबल बढाउन र खेल क्षेत्रको विकासका लागि थप प्रतिबद्ध भएर लाग्नेछ”, उहाँले भन्नुभयो ।

‘नेपाली भाषालाई लोकप्रिय र साझा बनाउन भानुभक्तको महत्वपूर्ण योगदान छ’

गण्डकी, २९ असारः गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषालाई लोकप्रिय र साझा भाषा बनाउन महत्वपूर्ण योगदान रहेको बताउनुुभएको छ ।आदिकवि आचार्यको दुई सय ११औँ जन्मजयन्तीका अवसरमा भानु वाङ्मय प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानद्वारा आज पोखरामा आयोजित कार्यक्रममा उहाँले भानुका कृति सामाज कल्याणका लागि समर्पित, जातीय एकताका प्रतीक र क्रान्तिका मुख्य आधार मान्न रहेको उल्लेख गर्नुभयो । प्रदेश प्रमुख भट्टले आदिकवि भानुभक्तले छरिएर रहेका नेपाली भाषालाई एकीकरण गरेकाले उहाँ सदैव स्मरणीय रहनुभएको बताउनुभयो ।

“नेपाल राष्ट्रलाई भावनात्मक रूपले एकीकृत गर्न र नेपालीपनको पहिचान गराउन भानुको महत्वपूर्ण योगदान छ । उहाँका सृजनाबाट नेपाली भाषाको उन्नयन, प्रवद्र्धन र मानकीकरण भई नेपाली राष्ट्रियतालाई बलियो पार्नमा सर्वोपरि योगदान पुगेको छ”, उहाँले भन्नुभयो, “भानुभक्तले वाल्मीकि रामायणलाई संस्कृतबाट नेपालीमा अनुवाद गरेर धेरै जनसङ्ख्यामा पु¥याउन सबैभन्दा बढी योगदान गर्नुभएको छ । साथै नेपाल र विश्वभरका नेपालीभाषी क्षेत्रमा हाम्रो भाषा तथा साहित्य फैलाउन महत्वपूर्ण सेतुको काम गरेकाले हामी उहाँलाई सधैँ सम्मान गरिरहन्छौँ ।”

आजका दिन साहित्यिक, सांस्कृतिक, शैक्षिक तथा सामुदायिक संस्थाहरूले आदिकवि भानुको सम्झनामा विभिन्न कार्यक्रम गरिरहेको उल्लेख गर्नुहुँदै प्रदेश प्रमुख भट्टले यस्ता उत्सवले युवा पुस्तामा साहित्यिक भोक जगाउन र नेपाली भाषाप्रति सम्मान तथा गौरव बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुुभयो । “आजको दिन उहाँलाई विशेष रूपमा सम्झिरहेका छौँ । यसले पक्कै पनि नयाँ पुस्तालाई भाषा, साहित्यमा रुचि बढाउन सघाउ पुग्नेछ । अब आदिकविसँग जोडिएका विभिन्न ठाउँलाई जोडेर साहित्य पर्यटनको माध्यमबाट अगाडि बढ्न सके मुलुकको समृद्धिमा सहयोग पुग्ने मेरो विश्वास छ । त्यसैले आफ्नो मातृभाषाको शक्ति एवम् महत्व जगाउन र आदिकविको विरासतलाई संरक्षण गर्दै अगाडि बढाउन आ–आफ्नो ठाउँबाट दत्तचित्त भएर लाग्नुपर्ने आवश्यकता छ”, उहाँको भनाइ थियो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नेपाली भाषाको विकासमा भानुभक्तको योगदान अतुलनीय भएको बताउनुुभयो । पोखरामा चाँडै नै भानु स्मारक बन्ने विश्वास व्यक्त गर्नुुहुँदै उहाँले यस कार्यमा महानगरको सहयोग रहने बताउनुभयो ।

भानु वाङ्मय प्रतिष्ठानका अध्यक्ष सरुभक्तले भानुभक्तले नेपाली भाषा र सहित्यको विकासमा गर्नुभएको योगदानको चर्चा गर्नुहुँदै पोखराको फूलबारीमा ठूलो प्रयासपछि भानुपार्क निर्माण गरिएको उल्लेख गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष सरुभक्तको सभापतित्व एवम् सचिव अम्बिकाप्रसाद भट्टराईले सञ्चालन गर्नुुभएको कार्यक्रममा प्राज्ञ हरिदेवी कोइराला, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्का बिखर्ची, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, पोखरा महानगरपालिका–११ का वडाध्यष प्रेमप्रसाद कर्माचार्य, स्थानीय समाजसेवी निर्मलप्रसाद कर्माचार्यलगायतले भानुको योगदानको प्रशंसा गर्नुभयो ।

त्यस अवसरमा पृथ्वीनारायण क्याम्पसमा नेपाली विषयमा सर्वोत्कृष्ट विद्यार्थी रामबहादुर कुमाल र नेपाली विषयमा लामो समय अध्यापन गराउनुभएकी पोखरा महानगरपालिका–२६ स्थित लक्ष्मी माविकी शिक्षिका ईश्वरीकुमारी जिसीलाई नगदसहित सम्मान गरिएको थियो ।

यस्तै प्रदेश प्रमुख भट्टले भानु वाङ्मय प्रतिष्ठानको भवन निर्माणका लागि व्यक्तिगत रूपमा नगद रु २० हजारको चेक प्रतिष्ठानका अध्यक्ष साहित्यकार सरुभक्तलाई प्रदान गर्नुुभएको थियो । कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकालले भानु वाङ्मय प्रतिष्ठानका लागि व्यक्तिगत रुपमा रु एक लाख ११ हजार एक सय ११ अक्षयकोष सहयोग गर्नुुभएको थियो ।

भानु जयन्तीका अवसरमा पोखराको चिप्लेढुङ्गाबाट महेन्द्रपुल हुँदै भानु पार्क फूलबारीसम्म प्रभातफेरी गरिएको थियो । प्रभातफेरीमा तीनवटै सुरक्षा निकाय, साहित्यप्रेमीलगायतको उपस्थिति थियो ।

चाइना निर्माण सम्पनीसँगको समन्वयमा पूर्वपश्चिम राजमार्गका खाल्डाखुल्डी पुर्दै ट्राफिक प्रहरी

सिरहा, २९ असारः लगातारको वर्षापछि पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सिरहाखण्डमा परेका खाल्डाखुल्डी पुर्न थालिएको छ । ट्राफिक प्रहरी कार्यालयले सडक डिभिजन कार्यालय र चाइना रेल्वे कम्पनीसँगको समन्वयमा खाल्डाखुल्डी पुर्न थालेको हो ।

ट्राफिक प्रहरी कार्यालय प्रमुख डम्बरबहादुर पुरी सम्भावित दुर्घटना रोक्न सडक न्यूनीकरणका लागि शुक्रबारदेखि चोहर्वा—सिरहा खण्डबाट खाल्डाखुल्डी पुर्न सुरु गरिएको जानकारी दिनुभयो । उहाँले आज पनि उक्त कार्यलाई निरन्तरता दिएको बताउनुभयो ।

सडकमा परेका खाल्डाखुल्डीले सवारी आवागमनमा समस्या भएकाले खाल्डाखुल्डी पुर्ने र सडकमा छरिएका गिट्टी, बालुवासमेत हटाउने काम गरेको उहाँको भनाइ छ । “लगातारको वर्षापछि सडकमा ठूला खाल्डाखुल्डी परेका छन्, यसले सवारी आवागमनमा समस्या भएको छ”, ट्राफिक प्रमुख पुरीले भन्नुभयो, “सडक डिभिजन र निर्माण कम्मनी चाइना रेल वे कम्पनीसँग समन्वय गरी ग्राभेल हाल्ने र जोखियुक्त ठाउँमा भएका बालुवा तथा गिट्टी हटाउने काम भइरहेको छ ।”

चाइना रेल्वे कम्पनीले पूर्वपश्चिम राजमार्ग स्तरोन्नति र विस्तारको काम गरिरहेको छ ।

प्रहरी जवानको परीक्षा दिँदै गरेका छ नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ, २९ असारः प्रहरी जवान (जनपद) पदको लिखित परीक्षा दिँदै गरेका छ नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले आज विभिन्न स्थानमा भएको परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार रित शाहीको नाममा परीक्षा दिँदै गरेका कालिकोटका २२ वर्षीय अभिषेक शाही, हिक्मतबहादुर थापाको नाममा परीक्षा दिँदै गरेका कञ्चनपुरका ईशाक तामाङ, शर्मिला शाहीको नाममा परीक्षा दिने दोलखाकी तृप्ती सुन्दास पक्राउ परेका हुन् । यस्तै पारस बुढाको नाममा परीक्षा दिने रोशन खत्री, सविन महराको नाममा परीक्षा दिने दार्चुलाका रविन्द्र महरा र प्रदीप बस्यालको नाममा परीक्षा दिने बैतडीका दिनेश चन्द रहेका प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो । दुई जनालाई प्रहरी वृत्त गौशाला, तीन जनालाई वृत्त बानेश्वर र एक जनालाई प्रहरी वृत्त सिंहदरबारको टोलीले पक्राउ गरेको उहाँले जानकारी दिनुभयो ।

मनले खाको मान्छे भन्दै आए पुष्प, राज, उषा र ललना

काठमाडौँ । महेन्द्र बिक, रबिन भुषाल र मुना अर्यालको स्वर रहेको मनले खाको मान्छे बोलको गीतको भिडियो सार्वजनिक भएको छ । बहुचर्चित संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीतमा तयार भएको मनले खाको मान्छेको एरेन्ज बिसम आचार्यले गरेका हुन् भने मिक्सिगं तथा मास्टरिगं नरेश बिबिसीले गरेका हुन् ।

प्रेम रोमान्सले भरिएको दुई जोडीको रोमान्टिक प्रेम कथालाई देखाइएको सार्वजनिक गीतको भिडियोमा नायक पुष्प खड्का र मोडल ललना चिमोरियाको अभिनय रहेको छ । जसमा पुष्प र ललनाका अलावा राज कटुवाल र उषा उप्रेतीको पनि अभिनय देख्न सकिन्छ । माइकल चन्दको निर्देशन रहेको भिडियोको
छायांकन अनिल के मानन्धरले गरेका हुन् भने सम्पादन शिलन लम्सालले गरेका हुन् । भिडियो द डिभाइन म्यूजिकबाट बजारमा आएको हो ।

पशुपति क्षेत्रमा गङ्गामाई रथयात्रा सुरू, यस्तो छ महत्व

काठमाडौँ, २९ असार : पशुपति क्षेत्रमा प्रत्येक वर्ष आषाढ शुक्ल सप्तमी अर्थात् अचला सप्तमीका दिन गरिने गङ्गामाई रथयात्रा सुरू भएको छ । यहाँ जलकी अधिष्ठात्री देवी गङ्गामाईको दिव्य रथयात्रा गर्ने परम्परा छ । पशुपतिनाथ मन्दिर तथा पाशुपत क्षेत्रमा गङ्गाको दिव्य रथयात्रा तथा विशेष अर्चना गरेपछि पानी पर्ने एवं खडेरी नहुने विश्वास गरिन्छ ।

यस जात्रामा राज्यबाट हर्ष बढाइँका लागि गुरूज्यूको पल्टनले सलामीसमेत प्रदान गर्ने परम्परा छ । पशुपति क्षेत्र विकास कोषले गङ्गामाई जात्राको प्रतीकका रूपमा यसलाई निरन्तरता दिँदै आएको छ । पाशुपत क्षेत्र शाक्त सम्प्रदायको समेत उपासना स्थल हो । यसैले पनि गङ्गामाई रथयात्राको विशेष महत्व छ ।

भगवान् श्री पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको माता गङ्गाको अष्टधातुको मूर्तिलाई रथारोहण गराई पाशुपत क्षेत्रको देवमार्गमा परिक्रमा गराइन्छ । आज अपराह्न पशुपतिनाथको बज्रघरबाट रथयात्रा सुरु भएको कोषबाट जात्रा पर्व हेर्नुहुने कर्मचारी वरुण खतिवडाले राससलाई जानकारी दिनुभयो । जात्रा आजै समापन हुने जनाइएको छ ।

नारायणी नदी किनारमा दुई वटा शव फेला, सिमलतालमा बेपत्ता बसका यात्रु हुनसक्ने

नवलपुर । नारायणी नदी किनारमा शनिबार दिउँसो दुईवटा शव फेला परेका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–७ गैरीस्थित नारायणी नदीमा दुईजना पुरुषको शव फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलकानुसार नवलपुरतर्फ नारायणी नदीको बीच भागको टापुमा दिउँसो ३ः३० बजेको समयमा शव फेला परेका हुन् ।

नदीले बगाएर ल्याएका अन्दाजी २५–३० वर्षका पुरुषको शव फेला परेको स्थानीय बोटेहरूले जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेको थियो । घटनास्थलमा इलाका प्रहरी कार्यालय गैँडाकोटबाट प्रहरी निरीक्षक हस्तबहादुर सुनारको नेतृत्वमा खटेको पाँचजनाको टोलीले अर्को शव पनि फेला पारेको पौडेलले बताए ।

पहिलो शवभन्दा करिब १० फिटको दूरीमा करिब १८–२० वर्षको देखिने अर्का पुरुषको शव फेला परेको र दुवै शवको प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए ।

शव चितवनको भरतपुर–२७ सिमलतालमा पहिराका कारण शुक्रबार बेपत्ता बसका यात्रु हुनसक्ने भन्दै अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिए ।

अफगानी निर्वासन रोक्न पाकिस्तानलाई मलालाको आग्रह

नोबेल पुरस्कार विजेता मलाला युसुफजाईले विशेष गरी महिला र बालिकाहरुको अन्धकार भविष्यप्रति चिन्ता व्यक्त गर्दै पाकिस्तानलाई कागजातविहीन अफगानीहरूको निर्वासन रोक्न आग्रह गर्नुभएको छ । “पाकिस्तानले त्यहाँ रहेका अफगानी शरणार्थीहरूलाई फिर्ता जान बाध्य गरिरहेको छ भन्ने कुरा गहिरो चिन्ताको विषय हो ।

म विशेषत महिला र बालिकाहरूको बारेमा चिन्तित छु”, सन् २०१४ मा नोबेल शान्ति पुरस्कारबाट पुरस्कृत मलालाले शुक्रबार बताउनुभयो । इस्लामाबादले यस हप्ता अवैध आप्रवासीहरूलाई हटाउने बताएको हो । गत वर्ष इस्लामाबादले कागजातविहीन आप्रवासीहरूलाई तुरुन्तै पाकिस्तान छोड्न वा गिरफ्तारीको सामना गर्न आदेश दिएपछि ६ लाख भन्दा बढी अफगानहरू पाकिस्तानबाट भागेका थिए । पाकिस्तानबाट अफगानिस्तानमा फिर्ता पठाइएका केहीले तालिबानद्वारा उत्पीडनको सामना गर्नुपरेको मानव अधिकार पर्यवेक्षकहरूले चेतावनी दिएका छन् ।

सन् २०२१ मा सत्ता नियन्त्रणमा लिएको तालिबानले इस्लामको कठोर रूप लागू गरेका छन्, बालिकाहरूलाई उच्च शिक्षाबाट प्रतिबन्ध लगाइएको छ र महिलहरूको सार्वजनिक जीवनमा प्रतिबन्ध लगाइएको छ । “पाकिस्तानमा बालिकाहरुले पढ्ने मौका पाइरहेका थिए, महिलाहरु रोजगारमा संलग्न हुदै थिए”, २७ वर्षीया मलालाले भन्नुभयो । “मलाई आशा छ कि अफगानस्तानमा महिलालाई हुनसक्ने उत्पीडनलाई मध्यनजर गर्दै पाकिस्तानले आफ्नो नीतिलाई परिवर्तन गर्नेछ”, उहाँले बताउनुभयो ।

डब्ल्यूएचओद्वारा मलावीलाई ९० लाख अमेरिकी डलर बराबरको मेडिकल आपूर्ति सहयोग

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मलावी सरकारलाई देशका सार्वजनिक अस्पताललाई सहयोग गर्न ९० लाख अमेरिकी डलर बराबरको औषधिलगायत विभिन्न चिकित्सा सामग्री सहयोग गरेको छ ।

शुक्रबार लिलोङ्वेमा सहयोग हस्तान्तरण गर्दै मलावीका लागि डब्ल्यूएचओका प्रतिनिधि नीमा किम्बोले मलावीका सार्वजनिक अस्पताल राम्रोसँग व्यवस्थापन भएको र त्यहाँका नागरिकले स्वास्थ्य सेवामा अझ राम्रो पहुँच पाएको हेर्ने डब्ल्यूएचओको चाहना रहेको बताउनुभयो ।

किमाम्बोले मलावीको स्वास्थ्य प्रणालीको आवश्यकता पूरा गर्न विभिन्न स्रोत उपलब्ध गराएर डब्ल्यूएचओले मलावी सरकारलाई सहयोगलाई जारी राख्नेछ ।

मलावीका स्वास्थ्य मन्त्री खुम्बिजे कान्दोडो चिपोन्डाले उक्त सहयोगको प्रशंसा गर्दै देशका सार्वजनिक अस्पतालहरूमा स्वास्थ्य सामग्रीको अभावलाई सम्बोधन गर्न सहयोग पुग्ने बताउनुभयो ।

डब्ल्यूएचओले सन् २०२२ देखि देशको कोभिड–१९ आपतकालीन प्रतिक्रिया र स्वास्थ्य प्रणाली तयारी परियोजनामार्फत मलावीको सरकारलाई अत्यावश्यक औषधि र चिकित्सा आपूर्तिहरू उपलब्ध गराउँदै आएको छ ।

डब्ल्यूएचओद्वारा मलावीलाई ९० लाख अमेरिकी डलर बराबरको मेडिकल आपूर्ति सहयोग

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मलावी सरकारलाई देशका सार्वजनिक अस्पताललाई सहयोग गर्न ९० लाख अमेरिकी डलर बराबरको औषधिलगायत विभिन्न चिकित्सा सामग्री सहयोग गरेको छ ।

शुक्रबार लिलोङ्वेमा सहयोग हस्तान्तरण गर्दै मलावीका लागि डब्ल्यूएचओका प्रतिनिधि नीमा किम्बोले मलावीका सार्वजनिक अस्पताल राम्रोसँग व्यवस्थापन भएको र त्यहाँका नागरिकले स्वास्थ्य सेवामा अझ राम्रो पहुँच पाएको हेर्ने डब्ल्यूएचओको चाहना रहेको बताउनुभयो ।

किमाम्बोले मलावीको स्वास्थ्य प्रणालीको आवश्यकता पूरा गर्न विभिन्न स्रोत उपलब्ध गराएर डब्ल्यूएचओले मलावी सरकारलाई सहयोगलाई जारी राख्नेछ ।

मलावीका स्वास्थ्य मन्त्री खुम्बिजे कान्दोडो चिपोन्डाले उक्त सहयोगको प्रशंसा गर्दै देशका सार्वजनिक अस्पतालहरूमा स्वास्थ्य सामग्रीको अभावलाई सम्बोधन गर्न सहयोग पुग्ने बताउनुभयो ।

डब्ल्यूएचओले सन् २०२२ देखि देशको कोभिड–१९ आपतकालीन प्रतिक्रिया र स्वास्थ्य प्रणाली तयारी परियोजनामार्फत मलावीको सरकारलाई अत्यावश्यक औषधि र चिकित्सा आपूर्तिहरू उपलब्ध गराउँदै आएको छ ।

कांग्रेसले नयाँ बन्ने सरकारमा पठाउने मन्त्रीहरू छनोटका लागि मापदण्ड बनाउने

काठमाडौँ, २९ असारः नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले नयाँ बन्ने सरकारमा पठाउने मन्त्रीहरू छनोटका लागि मापदण्ड बनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मन्त्री छनोटका लागि मापदण्ड बनाउने निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । भौगोलिक, प्रादेशिक एवं समावेशी सन्तुलन, योग्यता र योगदानलाई आधार मानेर मन्त्री छनोटको मापदण्ड तय गरिने उहाँले बताउनुभयो ।

कुन मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा कांग्रेसले गृहकार्य गरिरहेको छ । प्रधानमन्त्रीको शपथग्रहणसँगै मन्त्रीले पनि शपथग्रहण गर्नेगरी तयारी भइरहेको कांग्रेसले जनाएको छ ।

बैठकले आगामी सरकारमा सहभागी हुने औपचारिक निर्णयसमेत गरेको पार्टी प्रवक्ता डा महतले जानकारी दिनुभयो । यसैगरी शुक्रबार बिहान चितवनमा भएको बस दुर्घटनामा परी बेपत्ता भइरहेकाहरूको छिटो खोजी गर्न पनि बैठकले सरकारसँग माग गरेको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउन नसकेपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार आइतबार बेलुकासम्म प्रधानमन्त्रीको दाबी पेस गर्न आह्वान गर्नुभएको छ । सोहीअनुसार कांग्रेसको साथ लिएर नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार नै प्रधानमन्त्रीका लागि दाबी पेस गरिसक्नुभएको छ ।

सही सूचना नपाउँदा प्रवेश परीक्षाबाट बञ्चित भए विद्यार्थी

काठमाडौँ, २९ असारः माइतीघरस्थित सेन्ट जेभियर्स कलेजले दुई वटा सूचना प्रकाशित गरेपछि कक्षा ११ को प्रवेश परीक्षाबाट केही विद्यार्थी बञ्चित भएका छन् ।

कलेजको सुरुमा प्रकाशित गरेको सूचनाका आधारमा विद्यार्थीहरु आज बिहान ७ः१५ बजे कलेज परिसर पुगेका थिए । तर कलेजले उक्त परीक्षा शुक्रबार नै सम्पन्न भइसकेको जानकारी गराएको थियो ।

कञ्चनपुरबाट प्रवेश परीक्षा दिन आएका आर्थिक रानाका पिता कृपाराम रानाले भन्नुभयो, “प्रवेश परीक्षा लिन भनेर हामीसँग रु एक सय ५० का दरले रकम उठाइएको थियो तर अहिले आएर परीक्षा दिनबाट बञ्चित गराइयो ।” विद्यार्थी प्रियङ्का ओझाका पिता विपिन ओझाले पनि उक्त कलेजको लापरबाहीका कारण आफूहरुले दुःख पाएको गुनासो गर्नुभयो ।

कलेजले कक्षा ११ मा भर्नाका लागि विभिन्न १० स्थानका लागि आवेदन मागेकामा करिब साढे दुई लाख विद्यार्थीले फाराम भरेका थिए । कलेजले सुरुको सूचनामा पाँच स्थानमा शुक्रबार र पाँच स्थानमा शनिबार परीक्षा सञ्चालन हुने उल्लेख गरेको थियो । तर पछि तालिका परिवर्तन गरेकाले शनिबारका लागि तयारी गरेका विद्यार्थी परीक्षा दिनबाट बञ्चित भएका हुन् ।

दार्चुलाका विद्यार्थी रश्मी साउदले काठमाडौँ आएर पनि परीक्षा दिन नपाउँदा दुःख लागेको बताउनुभयो । कलेजका प्रिन्सिपल फादर डा अगुस्टिन थोमस एसजेसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन । नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले कलेजको फरक–फरक सूचनाका कारण विद्यार्थीहरु प्रवेश परीक्षाबाट वञ्चित भएका हुन् भने दुःखद् भएको र यसबारे कलेज जवाफदेहिता हुनुपर्ने तर्क गर्नुभयो ।

सिमलताल बस दुर्घटना : खोजीकार्य प्रभावकारी बनाउन माग

भरतपुर, २९ असार : चितवनमा भएको बस दुर्घटनमा बेपत्ता भएकाहरुका परिवारजनले खोजीकार्य प्रभावकारी बनाउन माग गरेका छन् । उनीहरुले बेपत्ताको खोजी गर्न आवश्यक प्रविधि र संयन्त्रको प्रयोग गर्दै सबै शक्ति परिचालन गर्न अनुरोध गरेका छन् ।

चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा शुक्रबार आएको लेदोसहितको पहिरोका कारण यात्रुसहित त्रिशूली नदीमा दुई बस खसेका थिए । हजुरबुबा दुर्घटनामा परेपछि शुक्रबार चितवन आउनुभएका रौतहटको गौरका विकेशकुमार पटेलले दुर्घटनापछि परिवार र गाउँनै शोकमा डुबेको बताउनुभयो ।

“बिहानै दुर्घटनाको खबर पायौँ, खोजी गर्न भोकभोकै नदी किनारमा बसेका छौँ”, उहाँले भन्नुभयो ।

आफ्ना भिनाजु दुर्घटनामा परेपछि रौतहटका रमेशकुमार पटेल पनि शुक्रबारनै चितवन आउनुभएको छ । आफन्तसहित एम्बुलेन्स रिजर्भ गरेर आएको उहाँले बताउनुभयो । शुक्रबार रातिसम्म कोही पनि फेला नपर्दा जीवितै भेट्टाउने आश मारिसकेको उहाँको भनाइ छ । पटेलले भन्नुभयो, “शव फेला परे लैजान्थ्यौँ । अरु त केही आश छैन ।”

बाराको परसौनी गाउँपालिकाका अध्यक्ष विनोदप्रसाद जैसवालले बेपत्ताको खोजी गर्न ढिलाइ भएको गुनासो गर्नुभयो । आफ्ना दुई छिमेकी बसमा रहेको थाहा पाएपछि घटनास्थलमा आउनुभएका उहाँले हेलिकप्टर र जहाज दुर्घटना हुँदा सबै संयन्त्र प्रयोग गर्ने राज्यले बस दुर्घटना हुँदा खासै वास्ता नगरेको गुनासो गर्नुभयो । पचासभन्दा बढी परिवार पीडामा रहेको भन्दै उहाँले राज्यका सबै संयन्त्र परिचालन गर्न अनुरोध गर्नुभयो ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शुक्रबार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सबै तालिमप्राप्त समूह दिनभर खटिएको बताउनुभयो । “नदीमा पानीको बहाव घटेको छैन । राति जोखिम हुने भएकाले खोजीकार्य स्थगन गरेका हौँ, आज बिहानैदेखि पुनः खोजीकार्य अघि बढाएका छौँ”, उहाँले भन्नुभयो ।

यात्रु खोज्न सशस्त्रका चार, नेपाल प्रहरीको एउटा मोटरबोट, गोताखोर टोलीलगायत परिचालन गरिएको छ । शुक्रबार भेटिएका कपडालाई आधार बनाएर आज खोजबिन गरिने प्रजिअ यादवले बताउनुभयो ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले त्रिशूलीमा बगाएको थियो । बसमा सवार तीन जना पौडिएर ज्यान जोगाउन सफल भएका थिए ।

कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध

ढोरपाटन (बागलुङ), २९ असार : कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध छ । यही असार २६ गतेको भारी वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खसेपछि कोरिडोर अवरुद्ध भएको हो ।

कोरिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकको बीच भागबाटै पहिरोले भासिएको छ । सडक अवरुद्ध हुँदा दक्षिण बागलुङसँग सीधा यातायात विच्छेद भएको छ । असार २१ गतेको खसको पहिरोले सडक भासिएपछि पाँच दिनसम्म अवरुद्ध बनेको कोरिडोर असार २६ गते करिब तीन घन्टा सञ्चालनमा आएको थियो । सडक मर्मतका लागि मेसिन र कामदार खटाए पनि वर्षाका कारण काम गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक वसन्त भुजेलले जानकारी दिनुभयो । अवरुद्ध सडक खुलाउन प्रयास गरिए पनि वर्षाले हालसम्म सञ्चालनमा ल्याउन नसकिएको उहाँको भनाइ छ ।

कोरिडोरबाहेक जिल्लाका अन्य सडक सञ्चालनमा रहेका प्रहरी निरीक्षक भुजेल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पानी पर्ने बित्तिकै पहिरो खस्छ, पहिराले बगाएको पर्खाल निर्माण गर्न बाँकी छ ।”

कोरिडोर अवरुद्ध सडक सञ्चालनमा नआउँदा दक्षिण बागलुङसँग सीधा यातायात सम्पर्क हुन सकेको छैन । यातायात सञ्चालन नहुँदा यात्रुले सास्ती खेपिरहेका छन् । किसानले उत्पादन गरेको दूध सहज रुपमा बजारमा ल्याउन सकेका छैनन् । बागलुङको जैमिनी क्षेत्रबाट मात्रै दैनिक चार सय लिटर दूध बागलुङ बजारमा ल्याउने भए पनि सडक अवरुद्ध हुँदा पर्वतको कुश्मा हुँदै आउनुपर्ने अवस्था रहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो । अहिले यात्रु कैयाको झोलुङ्गे पुल र यान्त्रिक पुल तरेर कुश्मा पुगेर आउनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

सडक अवरुद्ध हुँदा दूध ढुवानीमा समस्या परेको जैमिनी नगरपालिका–२ का राजन सापकोटाले बताउनुभयो । उहाँले सडक सञ्चालन हुँदा दैनिक रु सात सयमा बागलुङ बजारमा दूध ल्याउने गरेको सुनाउँदै अहिले केबलकारको प्रयोग गर्दै रु दुई हजार तिर्नुपरेको गुनासो पोख्नु भयो । पहिरोले लामो समयसम्म सडक बन्द हुँदा सबैभन्दा बढी मारमा किसान परेका सापकोटाले सुनाउनुभयो ।

“बाटो बन्द भएको धेरै दिन भयो, २६ गते एकैछिन खुल्यो, त्यसपछि फेरि बन्द भयो, यतिका दिनसम्म खुलेको छैन, अझै कति दिन लाग्ने हो ? हामीहरु निकै मारमा प¥यौँ, दूध बजार नलैजाउँभन्दा बिग्रिन्छ, लैजाउँभन्दा बाटो बन्द छ”, उहाँले भन्नुभयो, “अहिले केवलकार तारेर कुश्मा जान्छौँ, कुश्माबाट बल्ल बागलुङ बजारमा दूध ल्याउँछौँ ।”

त्रिशूली नदीमा खसेका दुई बसका यात्रुको आज बिहानैदेखि खोजी सुरु

चितवन, २९ असार : नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बसका यात्रुको आज बिहानैदेखि खोजी सुरु गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले उनीहरुको खोजी गर्न थालेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार रातिमा काम गर्न नसकिने भएकाले शुक्रबार साँझ खोजीकार्य रोकिएको थियो । नदीमा पानीको मात्रा बढी भएको तथा धमिलो पानीमा यात्रुको खोजी गर्न समस्या देखिएपछि गए राति खोजीकार्य रोकिएको थियो ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेश यादवले सम्भावित सबै स्थानमा हराइरहेका यात्रुको खोजी गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “धमिलो पानीकैबीच खोज र उद्धार थालेका छौँ ।” काठमाडौँबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा खसेका थिए ।

काठमाडौँबाट गौर आउँदै गरेको बसमा २७ तथा वीरगञ्जबाट काठामाडौँतर्फ जाँदै गरेको बसमा सवार २४ यात्रु बेपत्ता भएका प्रजिअ यादवले जानकारी दिनुभयो । उक्त घटनामा तीन यात्रु पौडी खेलेर बाँचेका छन् ।

भानुजयन्ती : नेपाली भाषाको स्तरीकरणको चासो

काठमाडौँ, २९ असार : जलवायु परिवर्तनको व्यापक असर पर्नुअघिसम्म जतिबेला वर्षको तेस्रो महिना असार आउँथ्यो, अनि हामीकहाँ वर्षासँगै साहित्य, लोकसाहित्य, संस्कृतिको वर्षा हुन थाल्थ्यो । अहिले त वर्षा वैशाख, जेठमै अर्थात् असमयमै हुने गरेकाले पानी बर्सने वास्तविक महिना असारको महत्त्व पनि घट्दै गएको हो कि भन्ने भान पर्छ । संस्कृतका महाकवि कालिदासको ‘मेघदूत’ मा वर्णित महिना पनि यही असार नै हो । जुन बेला यक्षले कुबेरका दरबारमा रहेकी आफ्नी प्रियतमालाई पानी पार्ने बादलमार्फत आफ्नो प्रेमसन्देश पठाएका थिए ।

मनसुनसँगै असारको वर्षाले दिने जल, शीतलता र हरियालीपूर्ण वातावरणले कवि, गीतकार, लोकगीत सङ्गीतकर्मीका हृदयमा काव्यात्मक रस भरिई अनेकथरिका काल्पनिक–यथार्थ साहित्यिक भावना बग्न थाल्छ । वर्षभरि मर्दापर्दा चाहिने धान रोपेर मङ्सिरसम्म पर्खने नेपाली समुदाय वा जाति असार महिनालाई एउटा पर्वकै रूपमा लिन्छ, अनि मध्यअसार अथवा असार १५ लाई त दहीचिउरा खाएर धान दिवस वा रोपाइँ महोत्सवकै रूपमा मनाउँछ । विसं १८७१ मा यसै महिनाको अन्तिमतिर नेपाली जातिले भविष्यको आदिकविकै रूपमा भानुभक्त आचार्यलाई पायो र आजपर्यन्त उनका स्मृतिमा भाषासाहित्यको चर्चा गरी राष्ट्रिय एकताको प्रवद्र्धनका लागि केही न केही योगदान गरिरहेका छन् ।

असार २९ गते त एक संयोग मात्र न हो, तनहुँ, रम्घाका पण्डित श्रीकृष्ण आचार्य तथा उनका छोरा धनञ्जय आचार्य र बुहारी धर्मावतीका घरमा एक बालक जन्मनुपथ्र्याे, जन्मे, तर सो जन्मदिन ती बालकका हजुरबा, बाआमा तथा परिवार र वंशजका लागि मात्र नभई अहिले विश्वभर नै जहाँ जहाँ नेपाली जाति र नेपाली भाषाको प्रचारप्रसार भएको छ, त्यहाँ त्यहाँ हर्षाेल्लास र गौरवका साथ मनाइन्छ र नेपाली जातीय–राष्ट्रिय एकतामा बल दिइन्छ । आचार्य भाषिक, साहित्यिक, धार्मिक, सांस्कृतिक, शैक्षिक क्षेत्रमा मात्र नभएर राजनीतिक क्षेत्रमा पनि चर्चाका पात्र बनिसकेका छन् र एकाधबाहेक सर्वत्र उनको गुणगान नै गाइन्छ, कमजोरी उधिनिन्न ।

वाल्मीकिको ‘रामायण’ लाई मौलिक नेपाली भाषामा गरेको उनको अनुवाद कर्म नै नेपाल र नेपाली जातिका लागि एक युगीन, कालजयी काम हुन गयो । ‘भानुभक्तको रामायण’ खाली भाषा र साहित्यका लागि मात्र नभई हाम्रो धर्म, संस्कृति, दिनचर्या, राष्ट्रियता, जातीयता, सार्वभौमिकताका लागि अपूर्व र अनुपम कृति भइदियो । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यका, बाइसे–चौबिसे राज्य आदिलाई भौगोलिक एकीकरण गरेर अस्तित्वमा जान लागेको नेपाल राज्यको पुनःस्थापना गरी नेपालीको अस्तित्व, गौरव र सानलाई जसरी पुनर्जीवित गरे, आचार्यले भावनात्मक एकता गराइदिएर त्यसमा अझै प्राण भरे, नेपाली नेपालीभित्रको नेपाली राष्ट्रियता–नेपाली जातीयता र नेपालीपनलाई ब्युँताइदिए । तत्कालीन नेपाल सरकारले दुवै व्यक्तित्वलाई ‘राष्ट्रिय विभूति’ भनी दिएको उपाधिले न्याय पनि दिएको छ ।

भूगोलअर्थात् माटो मात्रले कुनै जाति, समुदाय, देशका जनता एकाकार हुन सक्दैनन्, तिनका मन र मुटुमा पनि एउटै देशीय रगत बगेको हुनुपर्छ । मानिस सिमानाले एकै देशका जनता भनिन बाध्य पारे पनि हृदयले जोडिन सकेनन् भने आफ्नो भूगोलको अस्तित्व संरक्षण गर्न प्रेरित हुँदैनन् । जसले नेपाल राज्यको अस्तित्व जोगाइदियो, ती पहलकर्ता पृथ्वीनारायण र जसले नेपाली भाषाका माध्यमबाट नेपाल र नेपाली भन्ने भावना जगाइदियो, ती जागरणकर्ता भानुभक्तलाई मान्न, तिनप्रति श्रद्धा व्यक्त गर्न र तिनका गुणगान गाउन किन अप्ठेरो मान्ने, किन धक लाग्ने ?

पृथ्वीनारायणले आफूहरूको भौगोलिक अस्तित्व मेटिदिएको र केन्द्रीकृत राज्य चलाएकाले उनलाई एकाथरिले साम्राज्यवादी–विस्तारवादी तथा निरङ्कुश राजाको आरोप लगाउनेले के चाहिँ बुझ पचाएरै नबुझे जस्तो गरिरहेका छन् भने, छेवैमा आउनै लागेको मुसलमान र अङ्ग्रेज सेनालाई पराजित नगरेको भए गोरखा राज्यको विस्तारित रूप नेपाल भन्ने राज्य यतिबेला अस्तित्वमै नरहने तथ्य करिब करिब शतप्रतिशत सत्य हो ।

आपसमा लडाइँ–झगडा गरिरहने छिमेकी राज्यहरूको कमजोरी बुझेका विदेशी विस्तारवादीले ससाना मुलुक सजिलैसित हडप गर्थे र आफ्नो राज्यमा मिलाउँथे । कथं ससाना राज्य बचेकै भए पनि अहिले नजिकैको कुनै भूमि पुग्न अनेक झमेला भोग्नुपथ्र्यो । त्यसैले आफ्नो अस्तित्वकर्ता पृथ्वीनारायणलाई सम्मान र श्रद्धा व्यक्त गर्नु हाम्रो कर्तव्य हो । त्यस्तै जसले आफ्नो भाषा दियो, संस्कृति दियो, पहिचान दियो, तिनै भानुभक्तलाई पनि उत्तिकै नमन गर्नु हाम्रो दायित्व हो ।

‘बधूशिक्षा’ काव्यमार्फत महिलालाई होच्याउने कवि भनेर एकथरिले उनको उछित्तो काढ्नु पनि त्यसबेलाको राष्ट्रिय परिवेशलाई बुझ्न नसक्नु हो । सामान्य कविता लेखेर वाचन गर्ने कविलाई त हामी वाहवाही गर्छाैं भने ‘भक्तमाला’, ‘रामगीता’ ‘प्रश्नोत्तर’ जस्ता काव्य र तत्कालीन प्रशासनिक विकृति आदि उजागर गर्ने फुटकर कविता लेख्ने कविप्रति सम्मान गर्नु त सम्यक नै होला ।

‘रामायण’ भानुभक्तको मौलिक काव्य होइन, तथापि त्यसमा प्रशस्त नेपालीपन, भाषा, शैली छ जसलाई सबै जातजातिका साक्षर नेपालीले लय हालेर पढ्न सके र विश्वको प्रथम खण्डकाव्यमा रहेको विषयवस्तुको रसास्वादन गर्न पाए । साक्षरले पढेका श्लोकलाई निरक्षर नेपालीले पनि सुनेर कान र मनलाई आनन्दमय बनाए, धर्मसंस्कृति चिने । आचार्यभन्दा पहिले पनि नेपालीमा लेख्ने कविहरू भएकाले उनलाई नै किन ‘आदिकवि’ मान्ने भन्ने बहस पनि नेपाली साहित्यमा छ ।

अरूले काव्यलेखनमा संस्कृत, हिन्दी, उर्दू आदि मिसमास गर्थे भने भानुभक्तले बहुशब्दहरू नेपाली नै प्रयोग गरे अर्थात् त्यसलाई नेपाली शैलीमा चलाखीपूर्ण ढाले । भारतलाई चिनाउने विश्वकवि रवीन्द्रनाथ ठाकुर जस्तै नेपाललाई विश्वभर चिनाउन सक्ने भानुभक्त आचार्य नै हुन् भन्ने तत्कालीन राणाशासकहरूलाई लागेको पनि हुन सक्छ । नेपालका सबै भाषा राष्ट्रिय भाषा भएकाले अब नेपाली भाषालाई मात्र विशेष महत्त्व दिन मिल्दैन ।

नेपालमा बोलिने सबै मातृभाषा राष्ट्र भाषा हुन् । देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको कामकाजको भाषा र नेपालीहरूबिचको सम्पर्क भाषा पनि हो । तथापि संविधानले प्रदेशहरूमा भने बहुसङ्ख्यक बोल्ने एक वा एकभन्दा बढी राष्ट्रभाषा प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा निर्धारण हुन सक्ने जनाएको छ । सोहीअनुरूप बागमती प्रदेश सरकारले कानुन नै ल्याएर तामाङ र नेपाल भाषालाई कामकाजका भाषाका रूपमा निर्धारण गरी यसै साल गत वैशाख २४ गते नेवारी वा नेपाल भाषालाई भव्य उद्घाटनबिच आधिकारिक रूपमा प्रयोगमा ल्याइसकेको छ ।

यसैगरी सबै प्रदेशमा बहुसङ्ख्यकले बोल्ने भाषालाई सरकारी कामकाजका भाषाका रूपमा ल्याउन सके भाषाहरूको स्तरीकरण, प्रवद्र्धन गर्न सहयोग पुग्ने छ । यसरी नै हरेक प्रदेशमा बोलिने लोप हुन लागेका मातृभाषाहरूको संरक्षण र विकासका लागि सम्बन्धित भाषाको कोश, व्याकरण आदि निर्माण प्रक्रियालाई गति दिनसक्नुपर्छ । सञ्चारमाध्यमहरूले पनि आफ्ना सेवामा विविधता दिनका लागि नेपाली र अङ्ग्रेजी भाषाका अतिरिक्त मातृभाषामा पनि समाचार र कार्यक्रम निर्माण गर्नुपर्छ । राज्यको स्वामित्वमा रहेका गोरखापत्र संस्थान, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति र नेपाल टेलिभिजनले त्यस दिशामा कदम चालिसकेका छन् र हरेक आर्थिक वर्षमा आफूले प्रवद्र्धन गर्ने मातृभाषाहरू विस्तार गर्दै लगिनुपर्छ । त्यसका लागि सङ्घीय र प्रादेशिक सरकार तथा स्थानीय तहले समन्वय गरी बजेट पनि विनियोजन गर्नुपर्छ ।

कुनै पनि भाषा मानव सभ्यताकै एक प्रमुख अङ्ग हो जसको जन्म, हुर्काइ र विकासका लागि हजार वर्ष लाग्न सक्छ । त्यसैले हरेक भाषा मर्न नदिन केन्द्र र प्रदेश सरकार तथा स्थानीय तह संयुक्त रूपमा लाग्नुपर्छ । यसमा सम्बन्धित भाषामा काम गरिरहेका सङ्घसंस्थालाई समेटिनुपर्छ । नेपालका सबै भाषाले फल्नफुल्न पाउनुपर्छ, तिनको अस्तित्व जोगाउनुपर्छ र सबैको प्रवद्र्धन पनि हुनु जरुरी छ ।

भानुभक्तका पूर्वज र भानुभक्तले सुरु गरेको नेपाली भाषाको प्रयोगको अवस्था अहिले एकरूपता, स्तरीकरण र मानकीकरणको विवादसम्म आइपुगेको छ । व्यक्तिपिच्छे, संस्थापिच्छे यसको प्रयोगमा अनेकता व्याप्त छ । बालबालिका र विद्यालयदेखि विश्वविद्यालयहरूमा वर्ण र वर्णविन्यास लेखनमा आएको विभिन्नता र विविधताले सबैलाई पिरोलेको छ । भाषाविद्, वैयाकरण र प्रयोक्ताबीच यस सम्बन्धमा अहंसमेत जोडिएर आएको छ । भाषा विवादको कुरा सङ्घीय सरकार र अदालतसम्म पुगेको अवस्था रह्यो ।

सर्वाेच्च अदालतले भाषाको प्रयोगमा सरकारी संस्थाहरूले आदेश दिएर दबाब दिने र लाद्न नमिल्ने भनी फैसला नै गर्नुप¥यो । अब अदालतको आदेशानुसार सरकारी सङ्घसंस्था भाषा आयोग, नेपाल प्रज्ञा –प्रतिष्ठान, त्रिविलगायत विश्वविद्यालय, साझा प्रकाशन, पाठ्यक्रम विकास केन्द्रलगायतले भाषाको स्तरीकरणका लागि भाषाविद्, वैयाकरण, सञ्चारमाध्यमलगायत प्रयोक्ता आदिको सहभागितामा छलफल, बहस, गोष्ठी, सम्मेलन आयोजना गरेर भाषा, व्याकरण, वर्णविन्यासका सम्बन्धमा एउटा निर्णयमा पुग्नु जरुरी छ ।

यिनको जन्ममिति १८६९ भनिनेदेखि ‘भर्जन्म घाँसतिर मन दिई धन कमायो…मो भानुभक्त धनी भैकन आज यस्तो’ कवितामा प्रयुक्त ‘मो’ युवककवि मोतीराम भट्ट, जसले ‘भानुभक्तको जीवनी’ लेखी प्रकाशनमा ल्याए, को सम्म भनेर विवाद पनि भयो । ‘बधूशिक्षा’ लाई आधुनिक समालोचकले तल्लोस्तरको भनी टिप्पणी पनि गरे । छोरा रमानाथलाई काठमाडौँबाट लेखिएको चिट्ठीमा उनी निकै कूूर देखिएका छन् । यी त तपसिलका कुरा हुन् । मूल कुरा उनको योगदानको क्षेत्र र कमजोरीभन्दा गुण नै बढी चर्चा गरी उनले उत्तराधिकारका रूपमा छाडेको नेपाली भाषा र सबै मातृभाषा जोगाउनु हामी सबैको दायित्व हो । आफ्नोपहिचानको भाषाको विद्रुपीकरणले हाम्रो राष्ट्रियतामाथि नै आँच पुग्न सक्ने कुरामा दूरदृष्टि हुनुपर्छ ।

अर्काे महत्वपूर्ण कुरा भने भानुजन्मस्थल तनहुँ, रम्घा, चुँदीबेँसीलाई नेपाली भाषा र साहित्यको तीर्थस्थलका रूपमा विकास गरिनुपर्छ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीका पालामा ल्याइएको भाषा सङ्ग्रहालयलाई मूर्तरूप दिन योजना तथा कार्यक्रम बनाइनुपर्छ । अझ महत्त्वपूर्ण त भानुजयन्तीलाई नेपालको राष्ट्रिय भाषा दिवसकै रूपमा मनाएर भाषा, नेपाली भाषा र सबै मातृभाषाको महत्त्वबारे व्यापक चर्चा गरिनुपर्छ । (

नाइजेरियामा विद्यालय भत्किँदा आठ जनाको मृत्यु, दर्जनौँ घाइते

मध्य नाइजेरियामा शुक्रबार एउटा विद्यालय भत्किँदा धेरै विद्यार्थीको मृत्यु भएको छ । भग्नावशेषमुनि अन्यले मद्दतका लागि कराएको सुनेको उद्धार एजेन्सी र प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

पठार राज्यको जोस नर्थ जिल्लामा रहेको सेन्ट एकेडेमीमा परीक्षा दिइरहेका विद्यार्थीहरूमाथि भवन खसेपछि अभिभावकहरूले आफ्ना छोराछोरीहरू खोजिरहेको एएफपी संवाददाताले बताएका छन् ।

“पठारी राज्यको जोस उत्तर स्थानीय सरकार क्षेत्रको बुसा बुजीमा रहेको सेन्ट एकेडेमीको दुई तले भवन आज बिहान भत्किँदा धेरै विद्यार्थीको मृत्यु भएको छ”, राष्ट्रिय आपत्कालीन व्यवस्थापन एजेन्सीले एक विज्ञप्तिमा भनेको छ ।

नेमा र अन्य महत्त्वपूर्ण सरोकारवालाहरूले हाल खोज र उद्धार कार्य जारी राखेका छन् ।

घटनास्थलका एक बासिन्दा चिका ओबियोहाले एएफपीलाई भन्नुभयो, “घटनास्थलमा आठ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएका छन् । हामीले धेरै मानिसहरूलाई बचाउन सक्छौँ कि भनेर मद्दत गरिरहेका छौँ ।”

विद्यालय के कारणले भत्किएको हो भन्ने तुरुन्तै स्पष्ट हुन सकेको छैन तर पठारमा तीन दिनको भारी वर्षापछि भवन भत्किएको बासिन्दाहरूले बताएका छन् ।

अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको नाइजेरियामा निर्माण मापदण्डको ढिलो कार्यान्वयन, लापरवाही र कम गुणस्तरको सामग्रीको प्रयोगका कारण भवन भत्किनु सामान्य कुरा हो ।

आइओसीद्वारा साउदी अरेबियामा ओलम्पिक खेलकुद आयोजना गर्ने घोषणा

अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) साउदी अरेबियामा सन् २०२५ ओलम्पिक ई–स्पोर्ट्स खेलहरू आयोजना गर्न साउदी अरेबियाको राष्ट्रिय ओलम्पिक समिति (एनओसी) सँग साझेदारी गर्न लागेको घोषणा गरेको छ ।

पेरिस ओलम्पिक खेलकुद सन् २०२४ को पूर्वसन्ध्यामा आयोजना हुने आइओसीको बैठकमा यो प्रस्ताव राखिनेछ । घोषणापछि आइओसीको बैठकले लिने निर्णयसँगै सहर र स्थान छनोट, कार्यक्रमको निश्चित समय, समावेश हुने उपाधि, खेलाडीको योग्यता प्रक्रिया र थप विवरणबारे काम सुरु हुनेछ ।

आइओसीले ओलम्पिक खेलकुद खेलहरूमा समावेश गर्नका लागि विचार गरिएको उनीहरूको खेलको ई–संस्करणमा पहिले नै संलग्न अन्तर्राष्ट्रिय महासङ्घहरू आइओसीको पहिलो गो–टु साझेदार हुनेछन् । राष्ट्रिय ओलम्पिक समितिहरूका लागि पनि त्यस्तै हुनेछ जसले पहिले नै उनीहरूको गतिविधिहरूमा ई–स्पोर्टहरू समावेश गर्दछ ।

साथै आइओसीले ओलम्पिक खेलका लागि सङ्गठनात्मक र वित्तीय मोडेलबाट अलग आफ्नो सङ्गठनभित्र नयाँ समर्पित संरचना सिर्जना गर्ने योजना पनि घोषणा गरेको छ । ओलम्पिक खेलकुद खेलहरूको विशिष्ट प्रकृतिलाई सम्बोधन गर्न आइओसीले यी खेलहरूको वित्तपोषण र सङ्गठनको सन्दर्भमा फरक दृष्टिकोण लिने बताएको छ ।

आज भानु जयन्ती : भानुगृह पुनःनिर्माणको पर्खाइमा चुँदीरम्घा शिखरकटेरी

दमौली (तनहुँ), २९ असार :मेरा इनार, न त सत्तल पाटी केही छन्
जे चिज र धनहरू छन् घरभित्र नै छन्
त्यस घाँसीले कसरी आज दियेछ अर्ति
धिक्कार हो मकन बस्नु नराखी कीर्ति । (भानुभक्त आचार्य )

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घा शिखरकटेरीमा भानुगृह पुनःनिर्माण गर्ने भनेको आठ वर्ष पुगिसक्यो । भानु नगरपालिका–४ शिखरकटेरीमा भानुगृह पुनःनिर्माणका लागि २०७३ चैत २२ गते शिलान्याससमेत भयो । तर आठ वर्ष बितिसक्दा पनि उक्त काम शिलान्यासमै सीमित भयो ।

भानुगृह पुनःनिर्माण गर्ने कुरा चर्चामै सीमित हुँदा अब भने काम अगाडि बढ्नेमा आशा जागेको छ । पश्चिमाञ्चल विकास मञ्चले शिलान्यास गरेको उक्त भानृगृहको अधुरो काम मञ्चकै सक्रियतामा अगाडि बढ्ने भएको छ ।

आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले भानुगृह पुनःनिर्माणको काम अगाडि बढ्ने चरणमा रहेको बताउनुभयो । भानुगृहको खाका तयार भएको र अब बोलपत्र आह्वानको तयारी गरिएको उहाँको भनाइ छ । कार्यकारी निर्देशक रानाभाटले भन्नुभयो, “विविध कारणले लामो समयदेखि भानुगृह पुनःनिर्माण हुन सकेन । यसबीचमा थुप्रै छलफल ग¥याँै, अब कामले ठोस गति लिनेमा विश्वस्त छौँ ।”

भानुगृहको लागत करिब रु एक करोड दश लाख रहेको छ । विकास मञ्चले आफ्नै लगानीमा भानुगृह निर्माण गर्न लागेको हो । त्यसका लागि मञ्चका पूर्वअध्यक्ष रामकाजी कोनेको संयोजकत्वमा निर्माण समिति गठन गरिएको छ । विकास मञ्चले काममा ढिलाइ गरेपछि विकास समितिले आफ्नै सक्रियतामा घर निर्माण गर्ने तयारी थालेको थियो । तर विकास मञ्चले नै घर निर्माण गर्ने भएपछि समितिको तर्फबाट आवश्यक सहयोग रहने उहाँले बताउनुभयो ।

विकास समितिले शिखरकटेरीमा तारबार र सिसी क्यामरा समेत जडान गर्दैछ । यही ठाउँमा रामायण भवन निर्माण भइसकेको छ । जङ्गलको बीचमा भएकाले रामायण भवन संरक्षणविहीन अवस्थामा पुगेको छ । भानुगृहको काम सुरु भएपछि यस ठाउँको थप विकास हुनेमा आशावादी रहेको कार्यकारी निर्देशक रानाभाटको भनाइ छ ।

यसअगाडि कच्ची बाटो, पानी र बत्तीको समस्यालगायतका कारणबाट भानुगृहको काम अगाडि बढ्न सकेको थिएन । भानुभक्तको घर पुनःनिर्माणपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ । “आदिकवि भानुभक्तको नाममा देश तथा विदेशमा भव्य कार्यक्रम हुन्छ तर गृह जिल्लामै भानुभक्त उपेक्षित हुनुभयो की भन्ने भान हामीलाई पनि हुन्छ । घर पुनःनिर्माण गर्न सकिए यहाँ धेरैको आगमन हुने विश्वास छ”, उहाँ बताउनुहुन्छ ।

विसं २०५७ मा भानु जन्मस्थल विकास समितिको सहयोगमा यादव खरेलले ‘आदिकवि भानुभक्त’ नामक चलचित्र निर्माण गर्नका लागि भानुभक्तको घर रु एक लाखमा पुनःनिर्माण गर्नुभएको थियो । जङ्गलबीचको खरको छानाको घरमा २०६१ जेठमा आगलागी भएको थियो जसमा करिब रु एक लाख २७ हजारको क्षति भएको थियो ।

भानु नगरपालिका–४ चुँदीरम्घामा १८७१ असार २९ गते जन्मिनुभएका आचार्यको १९२५ असोज ६ गते निधन भएको थियो । नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविको रुपमा परिचित भानुभक्त वाल्मिकी रामायणका अनुवादकका रुपमा प्रख्यात हुनुहुन्छ । भानुभक्तले ‘प्रश्नोत्तर’, भक्तमाला, बधुशिक्षालगायतका कृति लेख्नुभएको छ भने उहाँका पाण्डुलिपीलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उहाँ नेपाली साहित्यमा चिनिनुभएको थियो ।

भानु जयन्तीमा आज विशेष कार्यक्रम

दुई सय एघारौँ भानु जयन्तीको अवसरमा आज चुँदीरम्घामा विविध कार्यक्रम हुँदैछन् । समितिको आयोजनामा प्रभातफेरी, प्रवचन, पुरस्कार वितरणलगायतका कार्यक्रम आयोजना गरिएको छ । सोही अवसरमा रामायण वाचन तथा कविता वाचन प्रतियोगितामा उत्कृष्ट हुनेलाई पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति पौडेलद्धारा भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्तीको शुभकामना

काठमाडौँ, २९ असार : राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल र राष्ट्रिय एकताको भावनात्मक केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । भानुभक्त प्रदत्त नेपाली भाषाका कारण नै विश्वभरका सम्पूर्ण नेपाली भाषीहरूबीच भाषिक एकता कायम हुन सकेको तथ्यलाई मनन गर्नुपर्ने उहाँले उल्लेख गर्नुभएको छ ।

आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्तीका अवसरमा राष्ट्रपति पौडेलले आज शुभकामना सन्देश जारी गर्नुहुँदै आदिकवि भानुभक्तले अत्यन्त सरल, शिष्ट र रोचक ढङ्गले नेपाली भाषामा अनुवाद गरेको वाल्मीकि रामायण सबै नेपालीको जनजिब्रोमा बसेको हुँदा हिमाल, पहाड र तराईका सबै नेपालीबीच भावनात्मक एकता अभिवृद्धि गर्न यसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । भानुभक्तीय रामायण नेपालका विभिन्न जातजातिलाई एकताको सूत्रमा बाँध्ने महत्त्वपूर्ण रचना रहेको उहाँको भनाइ छ ।

नेपाली भाषाको समुन्नयनबाट अन्य मातृभाषाको संवर्द्धनमा टेवा पुग्ने हुँदा सबै भाषाभाषी समुदायबीच सिर्जनाको महत्व बुझेर आ–आफ्नो भाषाको संरक्षण र संवर्द्धनका निम्ति समर्पित हुन राष्ट्रपति पौडेलले शुभकामनामार्फत आह्वान गर्नुभएको छ । भानुभक्तले नेपाली भाषालाई काव्य भाषाका रूपमा समुन्नत तुल्याउन र नेपाली भाषा, साहित्य एवं संस्कृतिको संवर्द्धनमा अतुलनीय योगदान पुर्याएको उहाँले उल्लेख गर्नुभयो ।

सबै नेपालीबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ होस् भन्ने राष्ट्रपति पौडेलले शुभकामना व्यक्त गर्नुभएको छ । भानुभक्तको जन्मजयन्तीका अवसरमा नेपालभित्रका सबै जातजाति, भाषाभाषी, साहित्य र संस्कृतिप्रतिको प्रेम, सम्मान एवं संरक्षण गर्न प्रेरणा मिलोस् भन्ने उहाँले कामना गर्नुभएको छ ।

पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका सुपुत्रका रूपमा तनहुँ जिल्लाको चुँदी रम्घामा १८७१ असार २९ गते आदिकवि भानुभक्त आचार्यको जन्म भएको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष असार २९ गतेका दिन स्वदेश तथा विदेशमा रहनुभएका नेपाली भाषा, साहित्य र संस्कृतिप्रेमीले विविध कार्यक्रम आयोजना गरी भानुजयन्ती मनाउँदै आएका छन् ।

आज आदिकवि भानुभक्तको दुई सय ११औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ, २९ असार : नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले भावानुवादसहित ‘रामायण’मा प्रस्तुत गर्नुभएको थियो । उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीहरूको घर–घरमा सस्वर लय हालेर पाठ गरिन्छ ।

श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गर्नुभएको हो । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ति उपदेश दिनुभएकाले उहाँ रामायणलाई नेपालीमा रचना गर्न प्रेरित हुनुभएको थियो ।

‘वधुशिक्षा’ उहाँको अर्को प्रसिद्ध कृति हो । यसैगरी, उहाँका ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा पर्नुभएका आदिकवि आचार्यले सरकारी कार्यलयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’ का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेख्नुभएको थियो, ‘भोलिभोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली ।’  

नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उहाँको सम्मान गर्नुपर्ने र उहाँको विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता भएको समालोचकहरूको धारणा छ ।

त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नात्तकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन् । यस उपलक्ष्यमा आजबिहान काठमाडौँको रानीपोखरीअगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण र नगरप्रभातफेरी गर्ने कार्यक्रम रहेको छ । 

घरघरमा उहाँले नेपाली भाषामा भावानुवाद गर्नुभएको रामायण पाठ गरी भानुजयन्ती मनाउँछन् । यस अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले आज विभिन्न कार्यक्रम गरी भानुजयन्ती मनाउँदै छन् ।  

भानुभक्तभन्दा अघि नै नेपालीभाषामा कविता लेख्ने कवि भएकाले उहाँलाई आदिकवि भन्न नमिल्ने तर्क पनि उठ्ने गरेका छन् । भानुभक्तका विषयमा अध्ययन अनुसन्धान गरिरहनुभएका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली रामायणजस्तो ग्रन्थलाई नेपाली लोकलयमा भावानुवाद गरी भाषिक एकताको महत्वपूर्ण योगदान गर्नुभएकाले भानुभक्तलाई आदिकवि भनिनु न्यायोचित रहेको बताउनुहुन्छ । रामायण ग्रन्थले भाषिक क्षेत्रमा नयाँ युगनिर्माण गरेको मानिन्छ ।

उहाँको निधन विसं १९२५ असोजमा भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भूटान, बर्मालगायत नेपाली भाषी धेरै रहेका देश एवं स्थानमा पनि मनाइन्छ ।

बागलुङमा पहिरोले स्वास्थ्य चौकी भवनमा क्षति

ढोरपाटन (बागलुङ), २८ असार : पहिरोले बागलुङ नगरपालिका–१० भकुण्डेस्थित स्वास्थ्य चौकीमा क्षति पुगेको छ । स्वास्थ्य चौकी माथिदेखि आएको पहिरोले भुकुण्डे स्वास्थ्य चौकीको आधा भाग पुरिएको छ । स्वास्थ्य चौकीको आधा भाग पुरिएपछि स्वास्थ्यकर्मी जोखिम मोलेर काम गर्दैआएका छन् ।

स्वास्थ्य चौकीभन्दा माथिको जग्गामा चिरा परेकाले अझै पहिरो खस्ने खतरा रहेको स्वास्थ्य चौकीका प्रमुख उमेश सर्वुजाले जानकारी दिनुभयो । करिब एक सय मिटर माथिदेखि पहिरो खसेको छ । जोखिम मोलेर बिरामीको उपचार गर्नुपरिरहेको प्रमुख सर्वुजा बताउनुहुन्छ । गत वर्ष मात्रै निर्माण सम्पन्न भएको उक्त स्वास्थ्य चौकी भवन जोखिममा परेपछि सेवा प्रवाहमा समस्या हुन थालेको उहाँले बताउनुभयो । निरन्तर वर्षा भए भवन नै बग्ने जोखिम छ । बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने महिलालाई बढी समस्या भएको उहाँ बताउनुहुन्छ ।

“पहिला पुरानो जीर्ण भवनबाट सेवा दिँदै आएका थियौँ, नयाँ भवन बनेको एक वर्ष मात्रै भयो,” प्रमुख सर्वुजाले भन्नुभयो, “दैनिक बिरामी आउँछन्, बाहिरै राखेर उपचार गनुपर्ने अवस्था छ ।”

बिहारमा चट्याङ लागेर चार जनाको मृत्यु

भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा चार जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।गएको २४ घण्टामा राज्यका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहितको भारी वर्षाले सात जिल्लालाई प्रभावित गरेको छ ।

“विगत २४ घण्टामा चट्याङका कारण सिवानमा दुई र सुपौल र रोहतास जिल्लामा एक–एक जनाको मृत्यु भएको छ”, मुख्यमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

वर्षाको समयमा खेतमा काम गर्ने र रूखमुनि आश्रय लिने मानिसहरूलाई चट्याङ लागेर धेरैको मृत्यु भएको रिपोर्टहरूले बताएका छन् ।बिहारका मुख्यमन्त्री नितिश कुमारले पीडित परिवारप्रति सहानुभूति प्रकट गर्दै उनीहरूलाई आर्थिक राहतको घोषणा गर्नुभएका छन् ।

मुख्यमन्त्रीले मानिसहरूलाई खराब मौसममा सतर्क रहन र आँधीबेहरीको समयमा घरमै बस्नलगायत विपद् व्यवस्थापन विभागले जारी गरेका सुझावहरू पालना गर्न पनि आग्रह गर्नुभएको छ ।

सोमबार चट्याङ लागेर राज्यमा १२ जनाको मृत्यु भएको थियो । पछिल्लो दुई हप्तामा बिहारमा चट्याङका कारण ४० जनाभन्दा बढीले ज्यान गुमाएका छन् ।हरेक वर्ष मनसुन सुरु भएसँगै भारतमा चट्याङ लागेर सयौँको मृत्यु हुने गरेको छ ।

फिनल्यान्डद्वारा विवादित सीमा विधेयक पारित

फिनल्यान्डको संसद्ले शुक्रबार सीमा रक्षकहरूलाई निश्चित परिस्थितिहरूमा सीमामा शरण खोज्नेहरूलाई फिर्ता पठाउन अनुमति दिने विवादास्पद कानून पारित गरेको छ ।

उक्त कानून फिनल्यान्डको पूर्वी सीमा हुँदै शरणार्थीहरू आउने क्रम बढेपछि पारित भएको हो । हेलसिन्कीले शरणार्थीहरू पठाउने काम रुसले गरेको दाबी गरेको छ भने क्रेमलिनले उक्त आरोपलाई अस्वीकार गरेको छ ।

कूल एक सय ६७ सांसदले ‘उपकरणीय आप्रवासनविरुद्ध लड्न अस्थायी उपायहरू’ को पक्षमा मतदान गरेका छन् भने विपक्षमा ३१ जनाले मतदान गरेका छन् ।

उक्त कानून लागु हुन विधेयकमा फिनल्यान्डका राष्ट्रपति अलेक्जेन्डर स्टबको हस्ताक्षर आवश्यक छ । उहाँले उक्त कानूनको समर्थन गर्नुभएको छ । सामान्यता यो अपनाएको केही दिनभित्र हस्ताक्षर गरिनेछ ।

उक्त ऐन एक वर्षका लागि लागु हुनेछ र फिनल्यान्ड सरकारलाई मुलुकको सिमानामा र नजिकै अन्तर्राष्ट्रिय सुरक्षाका लागि आवेदनहरू स्वागत गर्नबाट प्रतिबन्ध लगाउन सक्षम हुनेछ ।

फिनल्यान्डको दक्षिणपन्थी सरकारले रुससँगको एक हजार तीन सय ४० किलोमिटर पूर्वी सीमामा गत शरद ऋतुमा भिसा बिना करिब एक हजार आप्रवासीको आगमनपछि नयाँ कानूनी उपकरणको आवश्यकता रहेको तर्क दिएको छ ।

फिनिश प्रधानमन्त्री पेटेरी ओर्पोले संसद्मा मतदान हुनुअघि पत्रकार सम्मेलनमा भन्नुभयो, “यो रुसका लागि कडा र सहयोगीहरूका लागि बलियो सन्देश हो, फिनल्यान्डले आफ्नो सुरक्षा र युरोपेली सङ्घ (इयु) को सीमा सुरक्षाको ख्याल राख्नेछ ।”

आप्रवासीहरूको वृद्धिको जवाफमा फिनल्यान्डले मध्य डिसेम्बरमा रुससँगको आफ्नो सीमा बन्द गरेको थियो ।

कानूनी विज्ञहरूले उक्त विधेयक फिनल्यान्डको संविधान र अन्तर्राष्ट्रिय कानुनी प्रतिबद्धताहरूमा निहित मानवअधिकार दायित्वहरूसँग बाझिएको टिप्पणी गरेका छन् ।

विधेयकलाई पहिला आकस्मिक घोषणा गर्न छ भागको पाँच भाग मत आवश्यक थियो । त्यसपछि दुई तिहाई बहुमतले पारित हुनसक्छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार ‘निर्वासन कानून’ भन्दै उक्त कानुनको विरोध गर्न संसद्बाहिर करिब एक सय मानिस जम्मा भएका थिए ।

ग्रिन पार्टी र वाम गठबन्धनजस्ता विपक्षी दलका साथै संसद्मा अन्य दलका सदस्यहरूले विधेयकको कडा विरोध गरेका छन् । वामपन्थी गठबन्धनका नेता लि एन्डरसनले सामाजिक सञ्जाल एक्समा भन्नुभएको छ, “यो फिनल्यान्डको कानूनी शासन र मानवअधिकारका लागि दुःखद दिन हो ।”

फिनल्यान्डको सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षा खतरामा परेको खण्डमा हेलसिन्कीले रुसी ‘हाइब्रिड आक्रमण’ सँग लड्ने उद्देश्यले ल्याएको कानून सीमित क्षेत्रमा एक समयमा एक महिनाका लागि लागु गर्न सकिने छ ।

एक पटक सक्रिय भएपछि बालबालिका वा अपाङ्गता भएका व्यक्ति जस्ता केही शरणार्थीलाई मात्र सुरक्षा खोज्न अनुमति दिइनेछ ।

आवेदन दिनका लागि उनीहरूको योग्यता सीमा रक्षकहरूले गर्ने उनीहरूको मुद्दाको मूल्याङ्कनमा निर्भर गर्दछ र अस्वीकार गरिएका शरणार्थीहरूले निर्णयमाथि पुनरावेदन गर्न सक्ने छैनन् ।

सगरमाथा आरोही शेर्पालाई काठमाडौँ महानगरपालिकाको सम्मान

काठमाडौँ, २८ असारः काठमाडौँ महानगरपालिकाले सर्वोच्च शिखर सगरमाथा आरोही छेपा शेर्पालाई आज सम्मान गरेको छ । कामपा वडा नं ४ ले वडाको नामाङ्कित ब्यानर सगरमाथामा फहराउने शेर्पालाई सम्मान गरेको हो ।

शेर्पाले गत जेठ ८ गते वडाको फ्लेक्स ब्यानर सगरमाथाको चुचुरोमा फहराउनुभएको थियो । उहाँ वडा नं ४ को स्थायी बासिन्दा हुनुहुन्छ । वडास्तरीय दौड प्रतियोगिताको समापन कार्यक्रममा शेर्पालाई सम्मान गरिएको हो ।

वडा नं ४ का अध्यक्ष दिनेश महर्जनले भन्नुभयो, “सर्वोच्च शिखरमा वडाको नाम फहराएर शेर्पाले वडावासीको पहिचान उच्च बनाउनुभएकाले उहाँलाई सम्मान गरिएको हो । यसप्रकारको पहिचान प्रवर्द्धन गर्ने अवसर थोरैलाई मात्र प्राप्त हुन्छ ।”

‘स्वस्थ्य जीवनका लागि दौड’ नारा राखेर वडास्तरीय दौड प्रतियोगिता सम्पन्न गरेको छ । दौडमा विद्यालयका छात्रछात्रा, खुला महिला पुरुष र भेट्रान समूह बनाइएको थियो । दौडमा विद्यालयका छात्रछात्राका लागि र ५५ वर्ष उमेर समूहमाथिका भेट्रान समूहका लागि तीन किलोमिटर र खुला महिला पुरुषका लागि पाँच किलोमिटर दूरी राखिएको वडासचिव श्याम पाण्डेले जानकारी दिनुभयो ।

प्रतियोगितामा विद्यालयका एक सय २० छात्रछात्राको सहभागिता थियो । वडामा सामुदायिक र संस्थागत गरी ३१ वटा विद्यालय छन् । यीमध्ये सामुदायिक चारवटा विद्यालय छन् ।

खुला महिला पुरुष गरी ९६ र भेट्रान ६८ जनाले भाग लिनुभएको थियो । प्रतियोगितामा प्रथम हुनेलाई रु पाँच हजार, दोस्रो हुनेलाई रु तीन हजार र तेस्रो हुनेलाई रु दुई हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

नाइजरले पोलियोमाइलाइटिस विरुद्ध ७० लाख बालबालिकालाई खोप दिँदै

नाइजेरियाली सरकारले राजधानी नियामीमा बिहीबारदेखि राष्ट्रिय क्षेत्रमा बसोबास गर्ने झण्डै ७० लाख बालबालिकालाई लक्षित गर्दै विशाल पाँच दिने पोलियो खोप अभियान सुरु गरेको छ । यी राष्ट्रिय खोप दिवसको शुभारम्भमा स्वास्थ्यमन्त्री गरवा हाकिमीले सोमबार सकिने अभियानबाट पाँच वर्षमुनिका ६८ लाख ४२ हजार चार सय ९१ बालबालिका प्रभावित हुने बताउनुभयो ।

   उहाँले स्थानीय, प्रशासनिक, परम्परागत र धार्मिक निकायलाई अभियानमा थप सक्रिय हुन आग्रह गर्नुभएको छ । “यसका लागि यो खोप अभियानसम्बन्धी सन्देश पु¥याउन सबै सूचनाको माध्यम प्रयोग गरिनेछ”, उहाँले घोषणा गर्नुभयो ।   पोलियोमाइलाइटिस वा पोलियो एक भाइरल रोग हो । यसले अपरिवर्तनीय पक्षाघात निम्त्याउने र केही अवस्थामा घातकसमेत हुनसक्छ ।

अर्बपतिको विवाह समारोहका लागि कार्दासियन दिदीबहिनी भारतमा

एसियाका सबैभन्दा धनी मुकेश अम्बानीले आयोजना गर्नुभएको भव्य तीन दिने विवाह समारोहमा सहभागी हुन शुक्रबार देखिनुभएका विश्वव्यापी सेलिब्रेटीहरूमध्ये सोसलाइट दिदीबहिनी किम र ख्लो कार्दासियन पनि हुनुहुन्थ्यो ।

अम्बानीका कान्छा छोरा अनन्त र उहाँकी २९ वर्षीया मङ्गेतर राधिका मर्चेन्टले महिनौँको पार्टीहरूपछि साताको अन्त्यमा वित्तीय राजधानी मुम्बईमा विवाह बन्धनमा बाँधिनुअघि वैवाहिक फजुल खर्चमा नयाँ मापदण्ड स्थापित गर्नुभएको छ । 

यसअघिका समारोहहरूमा एक हजार दुई सय पाहुनाका लागि युरोपेली क्रुज, अम्बानी परिवारको पैतृक घरमा उद्देश्य–निर्मित हिन्दू मन्दिर र आर एन्ड बि स्टार रिहाना तथा क्यानाडाका जस्टिन बिबरको निजी प्रदर्शन सामेल थिए ।    प्रसिद्ध विदेशी भिआइपीहरूमा कार्दासियनको उपस्थिति लामो पङ्क्तिमा सबैभन्दा नयाँ हो । दिदी किमले इन्स्टाग्राममा ‘स्टोरी’ साझा गर्नुभएको छ । यसमा उहाँको आगमनलगत्तै उहाँको कारलाई भारतीय फोटोग्राफरहरूले घेरेको र दुवै दिदीबहिनीले उहाँहरूको लक्जरी होटलमा कर्मचारीहरूबाट फूलको माला प्राप्त गरिरहेको देखाइएको छ । 

अम्बानी परिवारको समूहको स्वामित्व रहेको विशाल सम्मेलन केन्द्रमा अभिनेता जोन सेनालगायत सेलिब्रिटी पाहुनाहरूले कार्यक्रम स्थल पुगेपछि रेड कार्पेटमा क्यामेराका लागि पोज दिनुभएको थियो । बेलायतका पूर्वप्रधानमन्त्रीद्वय बोरिस जोनसन र टोनी ब्लेयरलाई पनि शुक्रबार सुरु हुने पार्टीअघि मुम्बई विमानस्थलमा पत्रकारहरूले देखेका थिए । 

जुनमा दम्पती चार दिने भूमध्यसागरीय क्रुजमा निस्कँदा गायिका केटी पेरीले कान्सको फ्रान्सेली च्याटोमा मास्करेड बल प्रदर्शन गर्नुभएको थियो । ब्याकस्ट्रिट ब्याइज, अमेरिकी र्यापर पिटबुल र इटालेली टेनर एन्ड्रिय बोसेलीले पनि मनोरञ्जन प्रदान गर्नुभएको थियो ।   यसअघिका गालाहरूमा फेसबुकका संस्थापक मार्क जुकरबर्ग र अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्काका साथै भारतीय खेल तथा मनोरञ्जन जगत्का दिग्गजहरू पनि सहभागी हुनुहुन्थ्यो । 

यो साताको भव्य उत्सवहरूमा अझै धेरै सेलिब्रिटी, राजनीतिज्ञ र विश्वव्यापी व्यापारिक सभ्रान्तहरूले मनसुन प्रभावित मुम्बईको भ्रमण गर्दैछन् ।

आयोजना स्थल वरपरका धेरै प्रमुख सडकहरूलाई अधिकारीहरूले अधिकांश सप्ताहन्तका लागि सर्वसाधारणका लागि बन्द गरेका छन् । 

शुक्रबार १६ हजार व्यक्ति अट्ने स्थलमा मुख्य औपचारिक समारोह हुनेछ । शनिबार छुट्टै ‘आशीर्वाद समारोह’ र आइतबार भव्य स्वागत समारोह हुनेछ ।

एक खर्ब २३ अर्ब डलर सम्पत्ति

अनन्तका बुबा मुकेश परिवारले स्थापना गरेको समूह रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष हुनुहुन्छ । यो मार्केट क्यापका हिसाबले भारतको सबैभन्दा ठूलो कम्पनीमा परिणत भएको छ । 

फोर्ब्सका अनुसार एक खर्ब २३ अर्ब डलरभन्दा धेरै सम्पत्तिसहित अम्बानी पुरुष संसारमा विश्वको ११औँ सबैभन्दा धनी व्यक्ति हुनुहुन्छ । उहाँले सन् २०१८ मा आफ्नी छोरीका लागि भारतमा अहिलेसम्मकै सबैभन्दा महँगो विवाह समारोह आयोजना गर्नुभएको थियो । उक्त विवाहमा कथितरूपमा एक अर्ब डलर खर्च भएको थियो र समारोहमा अमेरिकी गायिका बेयोन्सले प्रस्तुति दिनुभएको थियो । 

अम्बानी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख सहयोगी समेत हुनुहुन्छ । उहाँलाई तेल, ग्यास र पेट्रोकेमिकल्समा फराकिलोरूपमा फस्टाउँदै गरेको औद्योगिक उद्यम विरासतमा प्राप्त भयो र उहाँले यसलाई व्यावसायिक दिग्गजका रूपमा विकसित गर्नुभयो । 

यसका आकर्षक चासोहरूमा अरमानी र अन्य लक्जरी ब्रान्डका साथ खुद्रा साझेदारी, भारतको मोबाइल फोन बजारको ४० प्रतिशतभन्दा बढी हिस्सा र भारतीय प्रिमियर लिग क्रिकेट टोली समावेश छन् ।

उहाँको २७ तलाको पारिवारिक घर एन्टिलिया मुम्बईको सबैभन्दा प्रमुख स्थलमध्येको एक हो । छ सय सेवकहरूको स्थायी कर्मचारीका साथ उक्त घरको निर्माणमा कथितरूपमा एक अर्ब डलरभन्दा बढी खर्च भएको छ ।   मर्चेन्ट प्रसिद्ध फर्मास्युटिकल मोगल (शक्ति, प्रभाव र सम्पत्ति भएको) की छोरी हुनुहुन्छ ।

त्रिशूली बस दुर्घटनाप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

काठमाडौँ, २८ असारः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले त्रिशूली नदीमा बस खसेर यात्रु बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।उहाँले आज सामाजिक सञ्जालमार्फत हिजो पहिरोले त्रिशूली नदीमा दुईवटा बस खसेर यात्रुहरू बेपत्ता भएकोप्रति दुःख व्यक्त गर्दै सबैलाई उद्धारमा लाग्न आग्रह गर्नुभयो ।

उहाँले आफू सुरक्षित हुँदै उद्धारमा लाग्न र प्रहरी प्रशासनलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । गए राति नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा दुई यात्रुवाहक बसलाई पहिराले बगाउँदा करिब पाँच दर्जन यात्रु बेपत्ता भएका छन् ।

पूर्वराष्ट्रपति भण्डारीद्वारा दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौँ, २८ असार : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोका कारण निम्तिएको दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले आज सामाजिक सञ्जालमार्फत नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा दुई यात्रुवाहक बसलाई पहिरोले बगाउँदा करिब पाँच दर्जन यात्रु बेपत्ता तथा कास्कीका विभिन्न स्थानमा गएको पहिरोमा परी ११ जनाको मृत्युको घटनाप्रति दुःख व्यक्त गर्नुभएको हो ।

“यस वर्षको मनसुन सुरु भएयता ओखलढुङ्गा, ताप्लेजुङ, अर्घाखाँची, मकवानपुर, दोलखा, काठमाडौँ, रसुवा, गोरखा, तनहुँ, रुकुम पश्चिम, बैतडीलगायत देशका विभिन्न स्थानमा भएका बाढी–पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु”, पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमार्फत उल्लेख गर्नुभएको छ । उहाँले बेपत्ता यात्रुको यथाशीघ्र खोजी तथा उद्धार एवं घाइतेको उपचारका साथै मनसुनजन्य विपद्बाट हुने क्षति न्यूनीकरणका लागि गरिने पूर्वतयारीका साथै राहत एवं उद्धारमा जुट्न आग्रह गर्नुभएको छ ।

“वैज्ञानिक–प्राविधिक अध्ययनका आधारमा जोखिम विश्लेषण गरी त्यस्तो स्थानमा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने योजना समावेश गर्न सम्बन्धित निकायको ध्यान आकृष्ट गर्दछु”, सन्देशमा उल्लेख छ । उहाँले बाढीपहिरो र डुबानजस्ता प्राकृतिक विपद्बाट सुरक्षित रहन र आवश्यक सतर्कता अपनाउन समेत सबैमा अनुरोध गर्नुभएको छ ।

कर्णाली प्रदेश प्रमुखद्वारा प्रदेशसभाले पारित गरेका दुई विधेयक प्रमाणीकरण

कर्णाली, २८ असार : कर्णाली प्रदेशका प्रमुख तिलक परियारले प्रदेशसभाले पारित गरेका दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख परियारले ‘आर्थिक वर्ष २०८१÷८२ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट व्यय हुने रकम विनियोजन गर्ने एवं सो रकम खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘कर्णाली प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नुभएको हो ।

प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा, २०१ को उपधारा (२) बमोजिम बिहीबार दुई विधेयक प्रमाणीकरण गर्नुभएको कर्णाली प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिनुभयो ।

प्रसिद्ध सुपा देउराली मन्दिरको पुरानो जीर्ण मूर्ति त्रिवेणीमा विसर्जन

अर्घाखाँची, २८ असारः प्रसिद्ध सुपा देउराली मन्दिरको पुरानो जीर्ण मूर्ति नवलपरासीको त्रिवेणीधाममा वैदिक विधिपूर्वक विसर्जन गरिएको छ ।विसं २०६४ मा नयाँ मन्दिर निर्माणपछि नयाँ मूर्ति राखेर प्राणप्रतिष्ठा गरी दैनिक पूजा गरिँदै आएपछि पुरानो मूर्ति सचिवालयमा राखिएको थियो । टुटेर विखण्डन भएको उक्त मूर्तिको धार्मिक मान्यता र वैदिक परम्पराअनुसार विसर्जन गरिएको सुपा देउराली मन्दिर संरक्षण समितिका सचिव हरि खनालले बताउनुभयो ।

सुपा मन्दिरमा २०४० सालमा सन्धिखर्कका स्थानीय समाजसेवी पविलाल पाण्डेले उक्त मूर्ति मन्दिरमा चढाउनुभएको थियो । विसं २०६४ मा नरनारायण बाबाको पहलमा सुपा देउराली मन्दिर आकर्षक शैलीमा नयाँ बनाइएपछि मूर्ति पनि नयाँ राखेर पूजाआजा भइरहेको सन्धिखर्क–७ का अध्यक्ष चुराबहादुर केसीले बताउनुभयो ।

पूजाआजा हुन छाडेको उक्त मूर्ति धार्मिक गुरुहरूको सल्लाह र मान्यताअनुसार विसर्जन गरिएको हिन्दू धर्म रक्षा परिषद्का केन्द्रीय अध्यक्ष नारायणप्रसाद खनालले बताउनुभयो । मूर्ति विसर्जनमा सन्धिखर्क नगरपालिकाका उपप्रमुख मिश्रा आचार्य, सन्धिखर्क–७ का अध्यक्ष चुराबहादुर केसी, शीतगङ्गा नगरपालिका–२ का वडाध्यक्ष रामबहादुर गोर्खा–३ का अध्यक्ष चिन्तराज अधिकारी, हिन्दू धर्म रक्षा परिषद्का केन्द्रीय अध्यक्ष नारायणप्रसाद खनाल, जिल्ला अध्यक्ष नारायण खड्का, सुपा देउराली मन्दिर संरक्षण समितिका अध्यक्ष फर्सबहादुर केसीलगायत पदाधिकारी, पूर्वअध्यक्ष प्रितम थापालगायत स्थानीयको सहभागिता थियो ।

पछिल्लो समय धार्मिक तथा पर्यटकीयस्थल सुपा देउरालीमा धार्मिक पर्यटकको घुइँचो बढेको छ । मनले मागेको मनोकामना पूरा हुने विश्वासका साथ नेपाल तथा भारतका विभिन्न भागबाट दर्शनार्थीको भीड बढेको सुपा देउराली मन्दिर संरक्षण समितिका कोषाध्यक्ष कृष्णलाल पुरीले बताउनुभयो ।

सन्धिखर्क नगरपालिका र शीतगङ्गा नगरपालिकाको दोसाध सुपामा रहेको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सुपा देउराली मन्दिरलाई आस्थाको केन्द्र मानिन्छ । मन्दिर समुद्र सतहबाट करिब चार हजार पाँच सय फिटको उचाइमा छ । सुपा देउरालीमा जे माग्यो त्यही पूरा हुने धार्मिक विश्वास रहँदै आएको मन्दिर संरक्षण समितिका अध्यक्ष केसीले बताउनुभयो । तराईका विभिन्न जिल्लाबाट गर्मी छल्न चिसो हावापानी भएको मन्दिर क्षेत्र र नरपानीमा भक्तजन बढेका हुन् ।

मन्दिर निर्माण गर्दा प्राचीन निर्माण सामग्री प्रयोग गरिएको छ । भाकल गर्नेले इच्छा पूरा भएको भन्दै बोका, पाठी, परेवा र भेटी चढाउने गर्छन् । शक्तिपीठका रूपमा परिचित सुपा देउराली वरपरको मनोरम प्राकृतिक दृश्य र विभिन्न संरचना निर्माणले पर्यटकीय गतिविधि बढ्न थालेको सन्धिखर्क–८ का अध्यक्ष चुराबहादुर केसीले बताउनुभयो । वरिपरि चट्टानले बनेको पहाडको बीचमा अवस्थित मन्दिरबाट प्राकृतिक वातावरण र हरियाली मनोरम दृश्यावलोकन गर्न पाइन्छ । जे भाकल गर्यो त्यो पुग्ने जनविश्वासले गर्दा पनि यस तीर्थस्थलको महिमा र गरिमा बढ्दै गएको छ ।

पूर्वपश्चिम राजमार्गबाट अर्घाखाँचीको गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डअन्तर्गत ४७ किमी दूरीमा महाभारत पर्वत शृङ्खलाको ठूला पहाडको खोचमा प्राचीन शैलीमा मन्दिर निर्माण गरिएको छ ।

मन्दिर क्षेत्रमा निर्माण भएका भवनको स्वरूप एकै खालका कायम गर्ने, मन्दिर क्षेत्रमा पार्किङ, पार्क निर्माण, धर्मशाला निर्माण, खाँचीकोटको विकास, मसिनाको लेकमा पर्यटक पुर्याउन आवश्यक पूर्वाधार विकासलगायत विषयमा गुरुयोजना बनाएर काम अघि बढेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले जानकारी दिनुभयो ।

मन्दिरमा आउने धार्मिक दर्शनार्थीको सुविधाका लागि धर्मशाला पनि निर्माण भइरहेको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । पार्किङ निर्माणका लागि पहल भइरहेको उहाँको भनाइ छ ।

मन्दिरमा सङ्कलन हुने भेटीले जिल्लाका चारवटा विद्यालयमा निजी शिक्षकको तलब प्रदान गर्दै आएको मन्दिर संरक्षण समितिका कोषाध्यक्ष कृष्णलाल पुरीले जानकारी दिनुभयो । मन्दिरमा सङ्कलन हुने भेटीबाट सन्धिखर्क नगरपालिका–७ खाँचीकोटको आदर्श माध्यमिक विद्यालय, शीतगङ्गा नगरपालिका–२ सीतापुरको शान्ति आधारभूत विद्यालय, सीता आधारभूत विद्यालय र देउराली आधारभूत विद्यालयका १० जना शिक्षकले तलब पाइरहेको समितिका सचिव हरि खनालले बताउनुभयो । भेटीको रकम सडक, खानेपानी, बिजुली, भवन निर्माणलगायत काममा खर्च भइरहेको छ ।

भेटिएनन् त्रिशूलीमा बेपत्ता बस, एञ्जल डिलक्स बसमा लगाइएको पर्दा फेला

भरतपुर । भरतपुर महानगरपालिका– २९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा आएको लेदोसहितको पहिरोका कारण यात्रुसहित त्रिशूलीमा बेपत्ता दुईवटा बसको खोजी आजका लागि स्थगित भएको छ । बिहानैबाट त्रिशूलीमा खसेका बस खोजिए पनि साँझसम्म नभेटिएकाले आजलाई स्थगित गरिएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार अब भोलि बिहानबाट मात्रै बेपत्ता बस र यात्रु खोज्न सुरु गरिनेछ । उनले आज दिनभर खोजतलास गर्दा बस फेला पार्न नसकिएको बताए ।

“नदीमा पानीको प्रवाह घटेको छैन । रात परेकाले जोखिम हुने भयो, घटनास्थलबाट तीन/चार किलोमिटर तलसम्म खोज्दा पनि भेटिएन”, उनले भने । उनले नदीमा पानीको प्रवाह उच्च र धमिलो भएका कारण खोज्न समस्या भएको बताए ।

बेपत्ता भएका बस खोज्ने क्रममा नदीबाट गोताखोरको टोलीले बसमा लगाइएको पर्दा निकालेको छ । हुक लगाएर खोज्ने क्रममा एञ्जल डिलक्स बसमा लगाइएको पर्दा र एउटा ट्राउजर निकालिएको प्रजिअ यादवले बताए ।

उनका अनुसार त्रिशूलीमा हराएका बस खोज्न सशस्त्रका चार, नेपाल प्रहरीको एक गरी पाँचवटा मोटरबोट, गोताखोर टोलीलगायत प्रयोग गरिएको थियो ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा आज बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिराले त्रिशूलीमा बगाएको थियो ।

तटबन्ध बगाएपछि गलेश्वर र राहुघाटको बस्ती बाढीको जोखिममा

म्याग्दी, २८ असार : म्याग्दीको रघुगङ्गा नदीमा आज आएको बाढीले रघुगङ्गा गाउँपालिका–३ राहुघाटमा सडक र बेनी नगरपालिका–९ गलेश्वरमा तटबन्ध बगाएको छ । बाढीले तटबन्ध र सडक कटान गरेपछि बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ ।

रघुगङ्गा नदीले बेनी नगरपालिका–९ गलेश्वरतर्फ बाढी नियन्त्रणका लागि निर्माण गरेको तटबन्ध भत्काएको छ । गलेश्वरको बस्ती, पक्की पुल र राहुघाटको बस्ती बाढीको जोखिममा परेको राहुघाटका लक्ष्मण चालिसेले बताउनुभयो । गलेश्वरतर्फका १० घर जोखिममा परेका छन् ।   

राहुघाट र कालीगण्डकीको दोभानबाट ढुङ्गा, गिट्टी र बालुवा निकाल्न डोजरका लागि बनाइएको बाटोबाट बाढी पसेर सडक कटान गरेको हो । रघुगङ्गाको कटानका कारण राहुघाटस्थित गायत्री मन्दिर क्षेत्र जोखिममा परेको स्थानीय पदम छन्त्यालले बताउनुभयो ।   

बेनी–जोमसोम–कोरला सडकको म्याग्दीखण्ड राहुघाटसहित चार ठाउँमा पहिरोका कारण अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा मुस्ताङ, अन्नपूर्ण गाउँपालिका र रघुगङ्गा गाउँपालिकाको यातायात सेवा प्रभावित बनेको छ । बेनी–जोमसोम सडक आयोजनाका सव ईञ्जिनियर सोहनजङ्ग कार्कीका अनुसार रघुगङ्गा गाउँपालिकाको राहुघाट, बैसरी, सिरुवारी र कालीओडारमा पहिरो तथा कटानका कारण सडक अवरुद्ध भएको छ ।

‘क्यास एप’मार्फत पाँच करोडको कारोबार गर्ने पाँचजना पक्राउ

काठमाडौँ, २८ असारः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ‘क्यास एप’मार्फत रु पाँच करोड बराबरको कारोबार गरेको अभियोगमा पाँचजनालाई पक्राउ गरेको छ ।मोरङ उर्लाबारी महानगरपालिका–८ घर भई हाल काठमाडौँ रविभवन २२ वर्षीय गौरभ भट्टराई, सोही ठाउँका २३ वर्षीय सुजन दाहाल, ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–६ का २२ वर्षीय सिद्धार्थ नेपाली, सुनसरी धरान उपमहानगरपालिका–१५ का २४ वर्षीय आशुतोष कोइराला तथा मोरङ उर्लाबारी महानगरपालिका–७ का २४ वर्षीय मिलन मिश्रलाई पक्राउ गरी आज सार्वजनिक गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार आरोपितहरूले ‘क्यास एप’नामक अनलाइनको प्रयोग गरी अवैध आर्थिक कारोबार गरेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको हो । उनीहरूले ‘नगद एप सर्भर’को पहुँच दिई छवटा इसेवा वालेट, पाँचवटा आइपिएस खाता जडान र सोही खाता मेरो लिङ्कअप भएका १९ वटा विभिन्न बैंकका खाताहरूसमेतमा अवैध तरिकाले क्यास एपमार्फत रु पाँच करोड बराबरको आर्थिक कारोबार गरेको अनुसन्धानबाट खुल्न आएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।

उहाँका अनुसार पक्राउ परेकाहरूको साथबाट आइफोन पाँच थान, ल्यापटप तीन थान बरामद गरिएको छ । निजहरूलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–५ अन्तर्गत दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने) कसुरमा र सोही संहिताको दफा २६२ (क) १ अभौतिक मुद्रा प्रयोग गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको सूचना अधिकारी आचार्यले जानकारी दिनुभयो ।

राष्ट्रपति पौडेलद्वारा नयाँ सरकार गठनको संवैधानिक व्यवस्थाका विषयमा कानुनविद्हरूसँग परामर्श

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज कानुनविद्हरूसँग परामर्श गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएकाले नयाँ सरकार गठनको संवैधानिक व्यवस्थाका विषयमा उहाँले संविधान तथा कानुनविद्हरूसँग परामर्श गरेका हुन् ।

छलफलमा कानुनविद्हरू पूर्णमान शाक्य, विपिन अधिकारी, गोपालकृष्ण घिमिरे, हरिहर दाहाल, शेरबहादुर केसी, टीकाराम भट्टराई, चन्द्रकान्त ज्ञवाली, सीताराम केसीको सहभागिता रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

‘समृद्धिका लागि राजनीतिक नेतृत्वलाई सकारात्मक दबाब ’ : उपाध्यक्ष पोखरेल

काठमाडौँ, २८ असारः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकमा समृद्धिका लागि राजनीतिक नेतृत्वलाई सकारात्मक दबाब दिन जरुरी रहेको बताउनुभएको छ ।प्वाइन्ट मिडिया प्रालिले आज यहाँ आयोजना गरेको ‘समृद्धि बहस’ उद्घाटन गर्दै उहाँले समृद्धि प्राप्तिका लागि राजनीतिक दलले नीति, कार्यक्रम र योजना कसरी अघि बढिरहेका छन् भनेर हेर्नुपर्ने बेला आएको बताउनुभएको हो ।

“राजनीतिक दलले मुलुकको उद्योग, कृषि, पर्यटन, कृषि, पूर्वाधारको विकासलगायतमा कस्ता नीति लिएका छन्, त्यसको भरमा मुलुकलाई समृद्ध बनाउन सकिन्छ”, उहाँले भन्नुभयो । भौतिक पूर्वाधारको विकास नभए समृद्धिलाई अगाडि बढाउन नसकिने उहाँको भनाइ छ ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धिका बारेमा सबै क्षेत्रबाट छलफल र बहस चलाउन जरुरी रहेको उल्लेख गर्नुभयो । समृद्ध मुलुक निर्माणका लागि सबै शक्ति एकजुट हुनुपर्ने उहाँले बताउनुभयो ।

प्वाइन्ट मिडिया प्रालिका प्रबन्ध निर्देशक नवीन काफ्लेले राजनीतिक दलको एजेण्डा आर्थिक एजेण्डा बन्न नसकेको बताउनुभयो । “जटिल बन्दै गएको अर्थतन्त्रलाई लयमा फर्काउन यस्ता बहस र छलफलले सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो । कार्यक्रममा नेपालको पर्यटन विकास र मौद्रिक नीतिका बारेमा सरोकारवाला निकायसँग बहस गरिएको थियो ।

बङ्गलादेशमा सरकारी जागिरका लागि कोटा प्रणालीको विरोधमा विद्यार्थी

बङ्गलादेशको राजधानी ढाका र देशका अन्य स्थानका विद्याथी सरकारी जागिरमा दिइएको कोटा प्रणालीको विरोधमा प्रदर्शनमा उत्रिएका छन् ।

विद्यार्थीहरूले बिहीबार देशभरका व्यस्त चोकहरूमा प्रदर्शन गर्दै चौथो दिन पनि यातायात अवरुद्ध पारेका छन् भने उनीहरूले ५६ प्रतिशत कोटा दिने सरकारी रोजगार नीतिमा सुधारको माग गरेका छन् ।

बिहीबार बिहानदेखि सुरु भएको दिनभरको आन्दोलन साँझसम्म चलेको थियो । नाकाबन्दीले विशेषगरी देशभरका कलेज र विश्वविद्यालय वरपरका क्षेत्रमा ट्राफिक जाम भएको छ ।

ढाका विश्वविद्यालयका विद्यार्थी तथा आन्दोलनका आयोजक नाहिद इस्लामले ढाकामा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “यस कार्यक्रमअन्तर्गत बिहीबार देशभरका सबै राजमार्ग र रेलमार्ग अवरुद्ध गरिएको र आफूहरूको माग पूरा नभएसम्म ‘बङ्गला नाकावन्दी’ जारी रहनेछ ।”

आन्दोलनरत विद्यार्थीले सबै सरकारी जागिरमा विभेदकारी कोटा प्रणाली अन्त्य गर्नुपर्ने र संविधानबमोजिम पिछडिएको वर्गका लागि उचित तहमा कोटा कायम हुनुपर्ने माग गरेका छन् ।

हप्तौंलामो विरोध प्रदर्शनपछि सन् २०१८ मा रोकिएको यो प्रणालीलाई गत महिना छुट्टै अदालतले पुनस्र्थापित गरेको थियो ।

जुलाईको सुरुमा सर्वोच्च अदालतले सरकारी जागिरका लागि कोटा प्रणालीलाई पुनस्र्थापित गर्ने निर्णय गरेपछि विद्यार्थीहरूको नेतृत्वमा प्रदर्शनहरू फेरि सुरू भएका हुन् ।

विद्यमान सरकारी भर्ती प्रणाली अन्तर्गत सरकारी पदहरूको प्रवेशका लागि हुने परीक्षामा ५६ प्रतिशत विशिष्ट ‘हकदार’ वर्गहरूको लागि आरक्षित गरिएको थियो ।

सन् १९७२ मा लागू गरिएको कोटा प्रणालीमा सुधारको माग गर्दै विश्वविद्यालयका विद्यार्थी र रोजगारका आकाङ्क्षीहरूले गरेको प्रदर्शनपछि सन् २०१८ मा सरकारले सार्वजनिक सेवामा सबै ५६ प्रतिशत कोटा खारेज गर्ने परिपत्र जारी गरेको थियो ।

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई सवोच्च अदालतबाट मिल्यो जमानत आदेश

सर्वोच्च अदालतले शुक्रबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई प्रवर्तन निर्देशनालय (ईडी) द्वारा दर्ता गरिएको अन्तःशुल्क छुटसम्बन्धी नीतिसम्बन्धमा अन्तरिम जमानत आदेश दिएको छ ।

न्यायाधीश सञ्जीव खन्नाको नेतृत्वमा रहेको बेन्चले ईडीद्वारा गरिएको उहाँको गिरफ्तारीलाई चुनौती दिने फैसलालाई ठुलो बेन्चमा पठाएको छ ।

केजरीवाललाई ईडीले २१ मार्चमा मदिरा नीति घोटालासँग जोडिएको सम्पत्ती शुद्धिकरणको मुद्दामा पक्राउ गरेको थियो भने गत जुन २६ मा सोही मुद्दामा सीबीआईले उहाँलाई नियन्त्रणमा लिएको थियो । उहाँ अहिले दिल्लीको तिहाड जेलमा हुनुहुन्छ ।

शुक्रबार सर्वोच्च अदालतको दुई न्यायाधीशको बेन्चले यस विषयमा वृहत बेन्चले हेर्न आवश्यक केही प्रश्नहरू रहेको जनाएको छ ।

आम आदमी पार्टीले अदालतको फैसलालाई ‘सत्यको विजय’ भनेको छ भने भाजपाले भने ‘जमानतको अर्थ अपराधमुक्त होइन’ भनेको छ ।

शुक्रबार भएको फैसलामा न्यायाधीश सञ्जीव खन्नाले भन्नुभएको छ, “अरविन्द केजरीवाल ९० दिनभन्दा बढी समयदेखि जेलमा हुनुहुन्छ र उहाँलाई त्यही शर्तमा रिहा गरिनेछ, जुन शर्तमा उहाँनी चुनावका बेला रिहा हुनुभएको थियो ।

बेन्चले केजरीवाल निर्वाचित नेता भएको बताएको छ । यद्यपि, बेन्चले केजरीवाललाई मुख्यमन्त्रीको रूपमा निरन्तरता दिने वा नराख्ने भन्ने बारेमा कुनै निर्देशन दिन नसकिने बताएको छ ।

न्यायमूर्ति खन्नाले भन्नुभयो, “मैले यसबारेमा निर्णय लिने जिम्मेवारी केजरीवाललाई नै छोडिदिन्छु ।

२१ मार्चमा केजरीवालको गिरफ्तारीपछि ईडीको यो कदमलाई उच्च अदालतमा चुनौती दिइएको थियो तर यसलाई अस्वीकार गरिएपछि यो मुद्दा सर्वोच्च अदालतमा पुगेको थियो ।

लोकसभा चुनावलाई ध्यानमा राख्दै सर्वोच्च अदालतले मे १० मा अरविन्द केजरीवाललाई २१ दिन अर्थात् जुन २ सम्मअन्तरिम जमानत दिएको थियो ।

तर, शुक्रबार सर्वोच्च अदालतको फैसलापछि पनि आम आदमी पार्टीका संयोजक केजरीवाल जेलबाट बाहिर आउन पाउनुहुने छैन किनभने उहाँलाई ईडीले पक्राउ गरेको मुद्दामा अन्तरिम जमानत आदेश मात्र दिइएको छ ।

केजरीवालले सीबीआईको गिरफ्तारीको मुद्दालाई दिल्ली उच्च अदालतमा चुनौती दिनुभएको छ । यस मुद्दाको आगामी सुनुवाई १७ जुलाईमा हुनेछ ।