`

चिकित्सकको सिफारिसमा ‘न्युरोलोजिकल’ परीक्षणका लागि अमेरिकी राष्ट्रपति बाइडेन तयार

सहकर्मी डेमोक्र्याटहरूको पुनः निर्वाचन अभियान समाप्त गर्ने बढ्दो दबाबबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले यदि चिकित्सकले आफ्नो मानसिक स्वास्थ्यको बारेमा आएका चिन्ताहरू सम्बोधन गर्न सुझाब दिएमा ‘न्यूरोलोजिकल परीक्षण गर्न’ तयार रहेको सङ्केत गर्नुभएको छ ।

“म यसको विरोध गर्दिनँ, यदि मेरा चिकित्सकहरूले मलाई अर्को न्युरोलोजिकल जाँच गर्न भनेमा म यो गर्नेछु,” नाटो शिखर सम्मेलनको समापनमा बिहीबार आयोजित उच्चस्तरीय पत्रकार सम्मेलनमा उहाँले बताउनुभयो ।

बाइडेनले आफू राष्ट्रपति कार्यालयमा रहँदा तीनपटक मस्तिष्क स्वास्थ्य जाँच गरेको र पछिल्लो पटक फेब्रुअरीमा उक्त जाँच गरेको बताउनुभयो ।

“मैले हरेक दिन लिने निर्णयबाट मेरो न्युरोलोजिकल क्षमताको परीक्षण भइरहेको छ,” उहाँले भन्नुभयो । बिहीबार पत्रकारहरूसँग सम्वाद गर्ने क्रममा राष्ट्रपति बाइडेनले आफू राष्ट्रपति पदको प्रतिष्पर्धाका लागि प्रतिबद्ध रहेको बताउनुभयो । साथै उहाँले एक कमजोर बहस प्रदर्शनपछि राष्ट्रपतिका लागि आफ्नो योग्यताको बारेमा चिन्तित विरोधी र अमेरिकी मतदातासमक्ष आफूलाई पुष्टि गर्न आवश्यक रहेको पनि स्वीकार गर्नुभएको छ ।

जुन २८ मा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सिएनएन बहसपछि नेताहरूले बाइडेनलाई राष्ट्रपति पदको प्रतिष्पर्धाबाट पछि हट्न दबाब दिइरहेका छन् यद्यपि उहाँले पूर्व राष्ट्रपति ट्रम्पलाई हराउने विश्वास व्यक्त गर्नुभएको छ ।

चीन र रूसबीच संयुक्त सैन्य अभ्यास सुरु

चिनियाँ र रूसी सशस्त्र बलले जुलाईको सुरुमा दक्षिण चीनको झानजियाङ शहर नजिकैको पानी र हवाई क्षेत्रमा संयुक्त सैन्य अभ्यास सुरु गरेको राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ताले शुक्रबार बताउनुभएको छ ।

“चीन–रूस वार्षिक सैन्य संलग्नता योजना र द्विपक्षीय सम्झौता अनुसार सञ्चालन गरिएको ‘संयुक्त समुद्री अभ्यास २०२४’ जुलाईको मध्यसम्म चल्नेछ,” प्रवक्ता झाङ सियाओगाङले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

यसको उद्देश्य समुद्री सुरक्षा खतरालाई संयुक्त रूपमा सम्बोधन गर्ने, विश्वव्यापी र क्षेत्रीय शान्ति र स्थिरताको संरक्षण गर्ने सेनाको सङ्कल्प र क्षमताहरू प्रदर्शन गर्नु हो,” उहाँले बताउनुभयो ।

यसले नयाँ युगका लागि चीन रूसको व्यापक रणनीतिक साझेदारीलाई अझ प्रगाढ बनाउनेछ, झाङले भन्नुभयो ।

काठमाडौँमा पर्खाल भत्किएर एक बालिकाको मृत्यु

काठमाडौँ, २८ असार : काठमाडौँको दक्षिणकालीस्थित थाई गुम्बा नजिकैको पर्खाल भत्किएर एक बालिकाको मृत्यु भएको छ । सो घटनामा परेका पाँच जनाको सकुशल उद्धार गरिएको छ ।

काठमाडौँ उपत्यका प्रहरी प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार आज अपराह्न चार बजे उक्त पर्खाल भत्किएर ६ जना पुरिएका थिए । घटनामा परेका सबैको उद्धार गरिएकामा उपचारका क्रममा एक बालिकाको मृत्यु भएको उहाँले बताउनुभयो । मृतकको पहिचान हुन सकेको छैन ।

घटनाबारे जानकारी पाएलगत्तै फर्पिङबाट प्रहरी निरीक्षकको नेतृत्वमा गएको टोलीले स्थानीयवासीको सहयोगमा उनीहरुको उद्धार गरेको थियो । घाइते सबैको बल्खुस्थित वयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनामा परेका सबै सोही स्थानमा रहेको थाई गुम्बामा बस्ने बालबालिका भएका बताइएको छ ।

देवतालाई आराम दिन एक महिना गाउँ छाड्ने चलन !

सोलुखुम्बु, २८ असार : यहाँको खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा पर्ने दिङ्बोचेका गाउँलेले यसवर्ष पनि एक महिनाका लागि गाउँ छाडेका छन् । यसरी गाउँ छोड्ने परम्परालाई यहाँका स्थानीय शेर्पा समुदायले ‘डिइ’ भन्ने गर्छन् । बौद्ध परम्पराअनुसार एक महिना देवतालाईसमेत् आराम दिन, गाउँ शान्त बनाउन गाउँ छोड्नुपर्ने मान्यता यहाँको शेर्पा समुदायमा छ ।

दिङ्बोचे समुन्द्री सतहबाट चार हजार चार सय १० मिटरको उचाइमा पर्दछ । विश्वकै आकर्षक हिमाल आमादब्लमको काखमा अवस्थित दिङबोचे हुँदै सगरमाथा जानुपर्ने भएकाले यस गाउँको आफ्नै पहिचान छ । यहाँ ६० घर शेर्पा समुदाय बस्छन् । जसमा ३० वटा जति होटल तथा लज  छन् । गाउँलेको मुख्य पेसा होटल व्यवसाय हो । केहीले पशुपालन तथा खेती गर्छन् । 

असार–साउन महिनामा पर्ने गरी बर्सेनि एकपटक ‘डिइ’ बार्ने यहाँका शेर्पाहरुको संस्कार हो । यो चलन निकै प्राचीन भएको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडा सदस्य पासाङ नुरु शेर्पाले बताउनुभयो । ‘डिइ’ भनेको यहाँको समुदायको संस्कारअनुसार करिब एक महिनाभर घरमा ताला लगाउने र मानिसहरु सबैले गाउँ छोड्नु हो । उनीहरुले बौद्ध धर्म गुरु अर्थात् लामा पुरोहितलाई साइत हेराएर बौद्ध परम्पराअनुसार पूजापाठ गराएर गाउँ छाड्ने गर्छन् । पर्यटनका लागि ‘अफ–सिजन’ भएकाले पनि एक महिनाभर अन्यत्र बसाइँ जाने चलन रहेको स्थानीय बताउँछन् । सोही संस्कारअनुसार दिङ्बोचेवासीले गत बुधबारदेखि सबै घरमा ताला लगाएर गाउँ छाडेका छन् ।

गाउँ छोड्नुअघि गाउँलेले स्थानीय गुम्बामा गएर बौद्ध परम्पराअनुसार पूजापाठ गर्ने र लामाबाट प्रसाद ग्रहण ग्रहण गर्ने चलन छ । यसो गर्दा पशुपालन र खेती फस्टाउने जनविश्वास छ । अधिकांश दिङबोचेवासीको घर पाङ्बोचे, खुम्जुङ, नाम्चे, लुक्लालगायत क्षेत्रमा पनि रहेकाले उनीहरु दिङ्बोचे छाडेपछि त्यता जाने स्थानीय बताउँछन् । डिइ अवधिमा उनीहरु वस्तुभाउसमेत् लिएर अन्यत्र सर्ने गर्छन् । 

पर्यटकीय रुपले अफसिजन भएकाले कतिपय काठमाडौँ, पोखरा, भारतको बोधगयालगायतका स्थानमा घुम्न निस्किएका छन् । डिइको प्रचलन दिङ्बोचेबाहेक खुम्बुको अन्य स्थानमा नरहेको नाम्चेका लामाकाजी शेर्पाले बताउनुभयो । “मैले धेरै पहिलादेखि यो कुरा सुनेको हुँ, तर हाम्रो नाम्चेतिर यस्तो चलन छैन त्यहाँ मात्रै हो, त्यो उनीहरुको आफ्नो संस्कार हो”, उहाँले भन्नुभयो ।

करिब चार सय जनसङ्ख्या रहेको उक्त गाउँ एक महिनाका लागि सुनसान भएको छ । ‘डिइ’को अवधिमा कुनै पनि मानिसहरु घर तथा बारीमा जान नमिल्ने वडा सदस्य शेर्पाको भनाइ छ । उहाँले भन्नुभयो, “यतिखेर हामी सबैले गाउँ छोडिसकेका छौँ, अब एक महिनाभर कसैको होटल तथा घरमा ताल्चा खोल्न मिल्दैन र हामी कोही पनि जाँदैनौँ, कहिलेकाहीँ विदेशीहरु घुम्न गएमा त्यहाँ बास बस्ने गरी जाँदैनन्, उनीहरु घुम्छन् र नजिकैको अरू बस्तीमा बास बस्न पुग्छन् ।” 

‘डिइ’ का लागि उर्दी गर्न समुदायले वर्षैपिच्छे दुईजना व्यक्ति शेर्पा भाषामा ‘नवा’ चुन्ने चलन छ । गाउँलेबाट चुनिने ती व्यक्ति (नवा)ले कहिलेबाट गाउँ छोड्ने कहिले प्रवेश गर्ने, कहिलेबाट घरमा आगो बाल्न पाउने, कहिले बारीमा पस्ने जस्ता कुराहरुको उर्दी गर्ने गर्छ । नवाले हरेक कुरा लामा गुरुहरुसँग समन्वय गर्ने भएकाले सबै गाउँलेले मान्नुपर्ने चलन छ । 

सोही अनुसार यस वर्ष पनि असार २६ गतेदेखि पूजापाठ गरेर सबैले गाउँ छाडेको स्थानीय पासाङ शेर्पाले जानकारी दिनुभयो । यदि संस्कार तोडेमा अनिष्ट हुने, गाउँमा मानिसहरुको मृत्यु हुने, बाढी आउने, बालीनाली बिग्रन्छ भन्नेजस्ता मान्यता छ । 

स्थानीय पासाङ शेर्पाले भन्नुभयो, “यो हाम्रो पुस्ताँैदेखिको संस्कार हो, यसलाई तोड्न धेरैले कोसिस गरे तर ठूलो लामा भिक्षुहरुले यसलाई तोडेको खण्डमा गाउँमा अनिष्ट हुने भनेपछि कसैले हिम्मत गर्न सकेका छैनन्, यहाँ यो नियम सबैले मान्छन्, कसैले विरोध गर्दैनन् ।” यसअवधिमा  दिङ्बोचे प्रहरी चौकीका प्रहरीसमेत नाम्चे सरेका छन् । एक महिनाभर गाउँमा मानिस नहुने भएपछि प्रहरी चौकी सर्नु परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताउनुभयो ।

यो चलनलाई कतिपयले रूढीवादीको संज्ञा दिने गरेका छन् । यो समयमा फुर्सद हुने भएकाले भ्रमण तथा रमाइलो गर्न विगतमा गाउँ छाड्ने चलन थियो । बिस्तारै यसलाई संस्कारका रुपमा विकास गर्दै लगिएको छिमेकी गाउँका स्थानीय बताउँछन् । आरोहण तथा पदयात्रायाममा सगरमाथा क्षेत्र जाने पर्यटकले यहाँका होटलहरु भरिभराउ हुने गर्छन् । पदयात्रीहरु लेक पचाउन दिङबोचेमा दुई रात बिताउने गर्दछन् । 

कांग्रेस–एमालेद्वारा ओलीलाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर

काठमाडौँ ।  प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार गठनका लागि आह्वान भएलगत्तै नयाँ प्रधानमन्त्रीका लागि दाबी पेस गर्न नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले)सहितका दलले तयारी गरेका छन् ।


प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सदनमा दुई वा दुईभन्दा बढी दलको सरकार गठन हुनसक्ने अवस्था रहेसम्म सर्वाेच्च अदालतको नजिरबमोजिम संविधानको धारा, ७६ (२) बमोजिम नै सरकार गठनका लागि आह्वान हुनेमा विश्वास व्यक्त गरे ।


सोही दलका नेता डा प्रकाशशरण महतले आफूहरु एमालेसँगको सहमतिका आधारमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा अघि सार्न स्पष्ट रहेको उनले अवगत गराएको बताए ।


  एमालेका सांसद सूर्य थापाले शीतल निवासमा लैजाने प्रस्तावमा हस्ताक्षर भइसकेको बताएका छन् ।

चलचित्र ‘घरज्वाइँ’ आजदेखि प्रदर्शन

काठमाडौँ, २८ असार : मगर समुदाय र संस्कृतिमा आधारित चलचित्र ‘घरज्वाइँ’ आजदेखि प्रदर्शन सुरु भएको छ । विवाह संस्कृतिलाई प्रस्तुत गरिएको उक्त चलचित्रको निर्देशन अनिल बुढा मगरले गर्नुभएको हो । चलचित्र ‘घरज्वाइँ’ले मनोरञ्जनसँगै उक्त समुदायको संस्कृतिलाई नजिकबाट बुझ्न मद्दत गर्ने विश्वास गरिएको छ ।

घर ज्वाइँ बस्ने परम्परालाई छोरीप्रतिको उच्च सम्मानका रुपमा सो चलचित्रमा देखाइएको छ । “अन्य समुदायमा छोरीको विवाह गर्दा सोधखोज गर्ने चलन रहे पनि मगर समुदायमा घरमै राखेर ज्वाइँको परीक्षण गरिने परम्परा छ”, निर्देशक मगरले भन्नुभयो । उहाँले भविष्यमा दुःख परेमा ज्वाइँले कसरी सङ्घर्ष गर्छन् र छोरीलाई पाल्छन् भन्ने परीक्षाकै रुपमा घरज्वाइँ बस्ने परम्परालाई बुझ्न आग्रह गर्नुभयो । 

जिएम मुभिज र एबिएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘घरज्वाइँ’मा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आलेलगायत कलाकारको अभिनय देख्न सकिन्छ । अभिनेत्री मिरुना मगरले आफू विदेशमा हुर्किएकाले यस संस्कृतिलाई नजिकबाट चलचित्रकै माध्यमले बुझ्न पाएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “छोरी भएका कारण पनि घरज्वाइँ बस्ने परम्परा गज्जब लाग्यो । आफ्नो छोरीको खुसी जुनसुकै अभिभावकले पनि चाहनुहुन्छ, यसमा आफ्नै घरमा राखेर परीक्षण गरिन्छ । यसले छोरीलाई पाल्न सक्ने व्यक्ति भनेर पहिचान गराउँछ ।” 

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले दियो वन्यजन्तु पीडित स्थानीयवासीलाई दुई करोड ५६ लाख क्षतिपूर्ति

काँक्रेविहार (सुर्खेत), २८ असार : आर्थिक वर्ष २०८०/८१ मा डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाडले निकुञ्जबाट गएका वन्यजन्तुले स्थानीयवासीको पशु, चौपायामा पारेको क्षतिको राहत उपलब्ध गराएको छ । निकुत्तजले पशुधन बीमाअन्तर्गत रु दुई करोड ५६ लाख वन्यजन्तु पीडित स्थानीयवासीलाई राहत उपलब्ध गराएको हो ।

डोल्पोबुद्ध गाउँपालिकाको धो, शे–फोक्सुण्डो गाउँपालिकाको फोक्सुण्डो र त्रिपुरासुन्दरी नगरपालिकाको रसिगाउँका स्थानीयलाई निकुञ्जका वन्यजन्तुले पशुचौपायामा पुर्‍याएको क्षतिको मूल्याङ्कन गरेर राहतस्वरुप उक्त रकम वितरण गरिएको किुञ्जका निमित्त वरिष्ठ संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले जानकारी दिनुभयो । निकुञ्ज क्षेत्रमा बसोबास गरिरहेका र वन्यजन्तुवाट पशुधनमा पुर्‍याएको क्षतिले आहात भएका पीडितलाई पशुधन बीमाअन्तर्गत राहतस्वरुप रकम वितरण गरिएको उहाँले बताउनुभयो । 

राहतस्वरुप बीमा रकम वन्यजन्तुबाट पीडित नागरिकलाई आर्थिक वर्षको मध्यतिर विभिन्न मध्यवर्ती उपभोक्ता समितिको कार्यक्षेत्रमा पुगेर वितरण गरिएको संरक्षण अधिकृत श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार बाँकी समयको भुक्तानी यही असार २४ गते सम्बन्धित पीडितलाई वितरण गरिएको हो ।

प्रत्येक वर्ष डोल्पाबाट जडीबुटीबाट रु तीन करोडको हाराहारीमा राजस्व  सङ्कलन भएर केन्द्रमा जाने गरेको बताउँदै बीमा र विकास निर्माणवापत जिल्लामा भित्रने रकम पीडितलाई उपलब्ध गराइएको संरक्षण अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।

दूधको बक्यौता रकम उपलब्ध गराउन मुख्यमन्त्री कार्कीको पहल

विराटनगर, २८ असार : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किसानलाई दूधको रकम उपलब्ध गराउन पहल थाल्नुभएको छ । विराटनगर दुग्ध वितरण आयोजनाले कोशी प्रदेशका आठ जिल्लाका किसानलाई लामो समयदेखि दूधको मूल्य भुक्तानी दिन बाँकी रहेको थियो । किसानले मुख्यमन्त्री कार्कीसमक्ष भुक्तानीका लागि पहल गरिदिन आग्रह गरेपछि उहाँले पहल सुरु गर्नुभएको हो ।

विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख र कर्मचारीलाई आज मुख्यमन्त्री कार्कीले कार्यालयमा बोलाएर रकम उपलब्ध गराउने विषयमा छलफल गर्नुभएको हो । सरोकारवालालाई बोलाएर समस्या समाधान गर्न निर्देशन दिइएको मुख्यमन्त्री कार्कीले बताउनुभयो । उहाँले आयोजनाको कार्यप्रगति, संस्थाको अवस्था र बजारका विषयमासमेत छलफल गर्नुभएको थियो । 

मुख्यमन्त्री कार्कीले आयोजना सङ्घीय सरकारको संरचना भए पनि किसानको हितलाई ध्यानमा राखेर आयोजनासँग सहकार्य गर्ने तथा पूर्णरुपमा सञ्चालन र बजारीकरण गर्न सङ्घीय सरकारसँग छलफल गरेर आगाडि बढ्ने बताउनुभयो ।     

कोशी प्रदेश सरकारका प्रमुख सचिव केदारनाथ शर्मासहितको उपस्थितिमा भएको उक्त छलफलमा विराटनगर दुग्ध वितरण आयोजनाले कोशी प्रदेशको धनकुटा, तेह्रथुम, उदयपुर, सुनसरी, मोरङ, झापा, इलाम र पाँचथर तथा मधेस प्रदेशको सप्तरीका किसानलाई रु ३२ करोड भुक्तानी गर्न बाँकी रहेको बताइएको छ । आयोजनाका प्रमुख परमेश्वर चौधरीका अनुसार बजारमा खुल्लारुपमा बिक्री भइरहेको दूधभन्दा आयोजनाले बेच्ने दूध महँगो भएको र बजारीकरणमा समस्या भएकाले अहिलेको अवस्था आएको बताउनुभयो । आयोजनाले दूध प्रतिलिटर रु ९८ मा बिक्री गरिरहेको छ । 

त्रिशूलीमा बेपत्ता यात्रुवाहक बसमा सवार नागरिकको खोज र उद्धारलाई प्रभावकारी बनाउन माग

काठमाडौँ, २८ असारः लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रमुख सचेतक रामप्रकाश चौधरीले आज बिहान त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा यात्रुवाहक बसमा सवार नागरिकको खोज र उद्धारलाई प्रभावकारी बनाउन माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत विश्वासको मतमाथिको छलफलमा आफ्नो दलका तर्फबाट भाग लिँदै उहाँले आगामी दिनमा प्राकृतिक विपत्तिका घटना न्यूनीकरण गर्न र दीर्घकालीन समाधान खोज्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रमुख सचेतक चौधरीले संसद्मा प्रधानमन्त्रीले माग्नुभएको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले लोसपा विगतदेखि नै लोकतान्त्रिक गठबन्धनमा प्रतिबद्धताका साथ रहँदै आएको पनि स्पष्ट पार्नुभयो ।

नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक गङ्गाराम चौधरीले अविरल वर्षापछि देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरोलगायत प्राकृतिक घटनामा परेकाको खोज र उद्धारलाई प्रभावकारी बनाउन माग गर्नुभयो । उहाँले वर्षाले कैलालीमा लगातारको वर्षाले रोपेको धान डुबानमा परेको भन्दै पीडितलाई राहत दिन माग गर्नुभयो ।

सांसद प्रभु साहले जनताको विश्वास जित्नेगरी काम गर्न सरकार र राजनीतिक दलहरू गम्भीर हुनुपर्ने बताउनुभयो । उहाँले राजनीतिक स्थिरता र विकासका लागि स्थायी सरकार आवश्यक भएको बताउनुभयो ।सांसद अमरेशकुमार सिंहले देशको विकास र समृद्धिका लागि स्थिर राजनीति र स्थायी सरकार हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्री दाहालले विश्वासको मत लिदै

कठमाडौँ, २८ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका उहाँले आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुहुनेछ ।

बैठकले उक्त प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्ने संसद्को आजको प्रस्तावित कार्यसूचीमा उल्लेख छ । प्रधानमन्त्रीले आफ्नो कार्यकालमा पाँचौँपटक विश्वासको मत लिन लाग्नुभएको हो । पछिल्लोपटक उहाँलाई समर्थन गरेको दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले समर्थन फिर्ता लिएपछि उहाँले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिनुपरेको हो ।

प्रधानमन्त्रीले आजको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा विश्वासको मतसम्बन्धी प्रस्ताव समावेश गर्ने व्यवस्थाका लागि सङ्घीय संसद्लाई यसअघि नै लिखित आग्रह गरिसक्नुभएको छ । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल एमालेले यही असार १७ गते राति नयाँ सत्ता समीकरणका लागि सहमति गरेका थिए ।

ती दलले आलोपालो सरकारको नेतृत्व लिने गरी नयाँ सरकार गठनको सहमति र निर्णय गरेका छन् । विसं २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसद् तेस्रो ठूलो दल बनेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाल २०७९ साल पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । एमालेसहित एक सय ६९ सांसदको समर्थनमा अध्यक्ष दाहाल प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

प्रधानमन्त्री नियुक्त भएको १५ दिनपछि उहाँले पहिलोपटक २०७९ पुस २६ गते प्रतिनिधिसभाको जम्मा दुई सय ७० जना सांसदमध्ये दुई सय ६८ जनाको मत प्राप्त गर्नुभएको थियो । दुईजना सांसदले विपक्षमा मतदान गर्नुभएको थियो ।

त्यसको झण्डै साढे दुई महिनापछि एमालेलगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले २०७९ साल चैत ६ गते दोस्रोपटक विश्वासको मत लिनुभएको थियो । त्यसबेला उहाँलाई प्रतिनिधिसभा बैठकमा उपस्थित दुई सय ६२ सांसदमध्ये कांग्रेससहित एक सय ७२ जनाले विश्वासको मत दिनुभएको थियो भने विपक्षमा ८९ सांसदको मत परेको थियो । एकजना सांसदको तटस्थ मत रहेको थियो ।

प्रधानमन्त्री दाहालले २०८० साल फागुन ३० गते कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको गठबन्धन बनाउनुभएपछि तेस्रोपटक विश्वासको मत लिनुभएको थियो । त्यसबेला प्रतिनिधिसभा बैठकमा सहभागी दुई सय ६८ सांसदमध्ये एक सय ५७ जनाले उहाँको पक्षमा मतदान गर्नुभएको थियो । कांग्रेससहित एक सय १० सांसदले भने विपक्षमा मतदान गर्नुभएको थियो । एक मत तटस्थमा परेको थियो ।

त्यसपछि जनता समाजवादी पार्टी नेपाल विभाजन भएसँगै सो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले २०८१ साल जेठ ७ गते कांग्रेसलगायत विपक्षी दलको संसद् बैठक अवरोधबीच चौथोपटक विश्वासको मत लिनुभएको थियो । त्यसबेला उहाँको पक्षमा एक सय ५७ सांसदले मत दिनुभएको थियो भने एकजना सांसदले तटस्थ मत जाहेर गर्नुभएको थियो ।

संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ । सोही धाराको उपधारा (३) मा उपधारा (१) र (२) बमोजिम पेस भएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुने व्यवस्था छ । संविधानअनुसार हालको प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचित एक सय ६५ र समानुपातिकतर्फ एक सय १० गरी कूल दुई सय ७५ सदस्यीय रहेको छ ।

विसं २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको दुई सय ७५ सिटका लागि भएको निर्वाचनमा कांग्रेसले ८९, एमालेले ७८, माओवादी केन्द्रले ३२, राष्ट्रिय स्वतन्त्र पार्टीले २०, राष्ट्रिय प्रजातन्त्र पार्टीले १४, जनता समाजवादी पार्टीले १२, नेकपा (एकीकृत समाजवादी)ले १०, जनमत पार्टीले छ, स्वतन्त्र पाँचजना, लोकतान्त्रिक समाजवादी पार्टीले चार, नागरिक उन्मुक्ति पार्टीले तीन, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा एक–एक सिटमा विजयी भएका थिए ।

शुक्लाफाँटाको नवनिर्मित कबर्ड हल बाढीको उच्च जोखिममा

कञ्चनपुर, २८ असार : शुक्लाफाँटा नगरपालिका–१० झलारीमा निर्माण गरिएको कबर्ड हल सनबोरा नदीको उच्च जोखिममा परेको छ । नदीको बाढीले कबर्ड हल भएको क्षेत्रमा जग्गा कटानी गर्न थालेपछि जोखिमा परेको हो । कबर्ड हल जोगाउनका लागि नगरपालिकाले जैविक तटबन्ध निर्माण गर्ने तयारी गरेको छ । कबर्ड हल निर्माणका लागि जैविक तटबन्ध निर्माण गरिने नगरपालिकाको भौतिक पूर्वाधार शाखाका प्रमुख दीपक धामीले बताउनुभयो । “तत्काल तटबन्धको ठूलो योजना कार्यान्वयन गर्न नगरपालिकासँग बजेट छैन”, उहाँले भन्नुभयो, “नदीले गर्दै आएको भूक्षय रोक्नका लागि कम लागतमा निर्माण हुने जैविक तटबन्ध बनाउने योजना बनाउन लागेका छौँ ।”

नगर प्रमुख रणबहादुर महराले कबर्ड हलसँगै खल्ला बस्तीलाई नदीको कटानबाट जोगाउनका लागि प्रदेश र सङ्घीय सरकारसँग आवश्यक बजेटका लागि पहल गर्ने कार्य भइरहेको बताउनुभयो । कबर्ड हल रु दुई करोड ६६ लाख ४९ हजार पाँच सय ५४ मा ठेक्का प्रक्रियामार्फत निर्माण गरिएको छ ।

कबर्ड हलमा डबल ब्याडमिन्टन कोर्ट, भलिबल कोर्ट, एक सय ५० जना बस्न सकिने प्यारापिट, १२ वटा शौचालय, बाथरुम, महिला पुरुष कपडा चेन्जिङ रुमलगायत निर्माण गरिएका छन् । गत वर्षका असारमा सम्झौता भई चालु आवको असार १५ गतेभित्र निर्माण कार्य सक्ने गरी ठेक्का दिइएको थियो ।

१७ किलोमा लेदोसहितको ढुङ्गाले लागेर बस चालकको मृत्यु

चितवन, २८ असार : भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा लेदोसहितको ढुङ्गा लागेर बस चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका–४ का ३६ वर्षीय मेघनाथ विक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार बुटवलबाट काठमाडौँ जाँदै गरेको लु२ख ६५६६ नम्बरको बसका चालक विकलाई लेदोसहितको ढुङ्गाले लागेको थियो ।

आज बिहान दुर्घटनामा गम्भीर घाइते भएका विकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको उहाँले जानकारी दिनुभयो । दुर्घटनापछि बसमा सवार यात्रु अलपत्र परेका छन् ।

चितवन पहिरो अपडेट : बेपत्ता दुईवटा बस भेटिएन, गोताखोर परिचालन

चितवन, २८ असार : पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन । नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका वडा २९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा आज विहान दुईवटा बस नदीमा खसेका थिए । बसमा ६५ जना सवार रहेको बताइएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पानी परिरहेकाले उद्धारमा केही कठिनाइ भइरहेको बताउनुभयो । त्रिशूलीमा जलसतह उच्च भएकाले खोजीमा समस्या भएको जनाइएको छ । अहिले नेपाली सेना र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले डुङ्गामा खोजी थालेका छन् । हालसम्म बस फेला पर्न नसकेको प्रजिअ यादवले जानकारी दिनुभयो ।

आज बिहान आज बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका थिए । प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार काठमाडौँ र वीरगञ्जमा गाडी नम्बर र चलानीको बारेमा बुझ्ने काम भइरहेको छ । यद्यपि वास्तविक विवरण प्राप्त नभइसकेको उहाँले जानकारी दिनुभयो ।

जलवायु परिवर्तनसम्बन्धी नीतिलाई युवामैत्री बनाउन आग्रह

सुदूरपश्चिम, २८ असार : जलवायु परिवर्तनबाट बालबालिकामा पुग्ने असरलाई न्यूनीकरण गर्न जनचेतना अभिवृद्धि गर्दै जलवायु परिवर्तनसम्बन्धी नीतिलाई युवामैत्री बनाउनपर्नेमा जोड दिइएको छ । जलवायु परिवर्तनबाट बालबालिकामा पुग्ने गरेको असर, यसको अनुकूलन तथा न्यूनीकरणका उपायका बारेमा धनगढीमा भएको अन्तक्र्रियामा सहभागीले जनचेतना अभिवृद्धि गर्न र युवामैत्री नीति बन्नुपर्नेमा जोड दिएका हुन् ।

अन्तक्र्रियामा जलवायुसम्बन्धी जानकार बालकृष्ण जम्कट्टेलले विभिन्न अन्तर्राष्ट्रिय संस्थाले गरेको अध्ययनले जलवायु परिवर्तनका कारण हुने विपद्लगायतका घटनामा मृत्यु हुनेमध्ये ५० प्रतिशत बालबालिका नै हुने गरेको तथ्याङ्क प्रस्तुत गर्नुभयो ।

उहाँले जलवायु परिवर्तनको असरकै कारण बालबालिकाको बालअधिकारमा चुनौती थपिएको बताउनुभयो । “युवा तथा बालबालिका बढ्दो उमेरमा रहने गरेकाले उनीहरुलाई जलवायुको परिवर्तनको बढी असर पुग्ने गरेको अध्ययनबाट देखिन्छ”, उहाँले भन्नुभयो, “यसले गर्दा उनीहरुको स्वास्थ्य, शिक्षा, खानेपानी, पोषण, खानेकुरा जस्तामा पनि असर पु¥याइरहेको हुन्छ ।” अध्ययनका क्रममा ८२ प्रतिशत युवा तथा बालबालिकाले जलवायु परिवर्तनका कारण आफूहरु कम्तीमा पनि एक वा एकभन्दा बढी विपद्को जोखिम रहेको जवाफ दिएको बताइएको छ । यस्तै ३५ प्रतिशत युवा तथा बालबालिकाले आफूहरु कुनै पनि प्रकोपबाट एकदमै जोखिममा रहेको जवाफ दिएको थिए ।

कार्यक्रममा सहभागी युवा तथा बालबालिकाले जलवायु परिवर्तनसँगै हुने विपद्जन्य घटनाका कारण भत्किएका वा छाना उडाइएको विद्यालयको कक्षाकोठामा बसेर अध्ययन गनुपर्ने अवस्था सिर्जना हुँदा पठनपाठन प्रभाव पर्न गई विद्यार्थीमा मानसिक तनाव हुने गरेको अनुभव सुनाएका थिए ।

बालबालिकाले जलवायु परिवर्तनले हुने विपद्लगायतका घटनाकै कारण विद्यालयमा अनुपस्थिति बढ्ने, सिकाइको उपलब्धि अपेक्षाकृत नहुने, गर्मी र बर्सातका कारण विद्यालय जान नसक्ने, गर्मी मौसममा सबैभन्दा बढी गर्मी हुने मध्याह्नको समयमा विद्यार्थीले पठनपाठन सकाएर विद्यालयबाट घर आउँदा थप गर्मीको सामना गरिरहेका भए पनि सञ्चालकले यस्ता समस्याको अनुकूलन एवं न्यूनीकरण गर्नमा ध्यान नदिइएको जस्ता अनुभव पनि सुनाएका थिए । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका झण्डै ५० युवा तथा बालबालिका सहभागी रहेको कार्यक्रममा जलवायु परिवर्तनको असर अनुकूलन एवं न्यूनीकरण गर्न सकिने उपायका बारेमा अभिमुखीकरण गरिएको थियो ।

कास्की पहिरो अपडेट : मृतकको सङ्ख्या ११ पुग्यो

कास्की । कास्कीका विभिन्न स्थानमा गएरातिको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । पोखरा महानगरपालिकामा १० र मादी गाउँपालिकामा एक जनाको पहिरोेमा मृत्यु भएको हो ।

पोखरा –१९ पुरुनचौर तल्लाकोटका कुलबहादुर परियारको घर पहिरोमा पुरिँदा सात जनाको मृत्यु भएको हो । यसैगरी पोखरा –३२ चैनपुरस्थित बाह्रबिसेमा पहिरोको कारण तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मादी गाउँपालिका–११ ताप्लेमा गए राति पहिरोमा परी बेपत्ता भएकी ८० वर्षीया माइतीकुमारी गुरुङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक बसन्तकुमार शर्माले जानकारी दिए ।

मृतकको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको उनले बताए ।

अवतरणका क्रममा बुद्धएयरको जहाज चिप्लियो, सबै यात्रु सकुशल

भैरहवा (रुपन्देही), २८ असार : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्धएयरको जहाज गएराति चिप्लिएर धावनमार्गको किनारमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार जहाज चिप्लिँदा जहाजको चक्काले भुईँ (माटो) छुन पुगेको थियो ।

काठमाडौँबाट गएराति ९ः३० बजे उडान भरेको ८०५ नम्बरको सो जहाजले विमानस्थलको पूर्वबाट पश्चिमतर्फ अवतरण गर्नेक्रममा चिप्लिन पुगेको उहाँले बताउनुभयो । प्रवक्ता भट्टले भन्नुभयो “जहाजबाट सबै यात्रुलाई सकुशल सुरक्षित बाहिर निकालिएको छ ।” जहाजमा चालक दलका सदस्यसहित ५९ यात्रु सवार रहेका जनाइएको छ ।

जहाज अहिले पनि धावनमार्गमै रहेको कारण विमानस्थल बन्द रहेको प्रहरी प्रवक्ता भट्टले जानकारी दिनुभयो । गएराति नै बुद्धएयरको प्राविधिक टोली र सुरक्षाकर्मीले जहाजलाई तानेर सुरक्षित स्थानतर्फ ल्याउने प्रयास असफल भएको बताइएको छ । अहिले काठमाडाँैबाट बुद्धएयरको थप प्राविधिक टोली भैरहवातर्फ आउने क्रम रहेको उहाँले बताउनुभयो ।

कास्कीमा पहिरोमा परेर एकै परिवारका सातसहित नौ जनाको मृत्यु

कास्की । अविरल वर्षापछि पहिरोे जाँदा पोखरामा एकै परिवारका सातसहित नौ जनाको मृत्यु भएको छ । पहिरोमा दुई जना बेपत्ता भएका छन् ।

पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटका ४७ वर्षीय कुलबहादुर परियारको घर पहिरोेले पुरिँदा एकै परिवारका सात जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

पहिरोमा पुरिँएर कुलबहादुरसहित उनकी आमा ८५ वर्षीया लक्षिमा, पत्नी ४३ वर्षीया मनकुमारी, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र छोरी राधिका परियारको निधन भएको हो ।

पहिरो गएराति १०ः३० बजेको समयमा परिवारका सबै सदस्य जम्मा भएको बसेको समय खसेको बताइन्छ । घटनामा दुई जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी पोखरा–३२ मा चैनपुरमा आरती ओझाको घर पहिरोेले पुरिँदा १८ वर्षीया अनिता ओझा र नौ वर्षीय प्रतीक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । ११ वर्षीया अनुस्का ओझा बेपत्ता छन् ।

मादी गाउँपालिका–११ मा पहिरोेमा पुरिएर ८० वर्षीया माइतीकुमारी गुरुङ पनि पहिरोेमा परी बेपत्ता भएको खोजी भइरहेको प्रहरीले जनाएको छ । पहिरोेमा परेका ओमबहादुर गुरुङलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक शर्माले पहिरोेमा परेर मृत्यु भएका सबैको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको जानकारी दिए । पहिरोेमा बेपत्ताको खोजी भइरहेको बताइएको छ ।

म्याग्दीको ताकममा पहिरोमा घर पुरिँदा दम्पतीको मृत्यु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । घर पुरिँदा तुलप्रसाद र उनकी श्रीमती बालकुमारी न्यौपानेको मृत्यु भएको ताकम प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले जानकारी दिए ।

उनका अनुसार जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए । निरन्तरको झरीका कारण म्याग्दी, राहुघाट र कालीगण्डकी नदीमा पानीको सतह बढेको छ ।

जल तथा मौसम विज्ञान विभागले म्याग्दी नदीको सतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

मोबाइलको बढ्दो प्रयोगले आईटी दशकलाई सहयोग पुग्ने :सचिव सुवेदी

काठमाडौँ-सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले मोबाइलको बढ्दो प्रयोगले सरकारले घोषणा गरेको आईटी दशकलाई सहयोग पुग्ने बताउनुभएको छ ।

  नेपाल मोबाइल व्यवसायी महासङ्घको तेस्रो स्थापना दिवसका अवसरमा बिहीबार यहाँ आयोजित कार्यक्रममा मोबाइलको प्रयोगले आईटी दशकलाई सहयोग पुग्ने बताउनुभएको हो ।    “समाज डिजिटल युगमा प्रवेश गरेको छ, मोबाइल बिना मानिस एक्लो हुने अवस्था सृजना भैसकेको छ, यसलाई सही प्रयोग गरेर देशको विकासमा अगाडि बढाउनुपर्छ”, उहाँले भन्नुभयो । प्रविधिको सही प्रयोग नगर्दा साइबर अपराधका घटनासमेत बढेकाले त्यसप्रति सचेत हुनुपर्ने उहाँको भनाइ थियो ।

  नेपाल मोबाइल व्यवसायी महासङ्घका अध्यक्ष भरत भट्टराईले ‘सेकेण्ड ह्याण्ड’ मोबाइल बिक्रीमा सरकारको नीति प्रष्ट नहुँदा मोबाइल व्यवसायी मारमा परेकोे बताउनुभयो । 

बाढीपहिरो पीडित मनसुनको एक महिनाः कोशी, गण्डकी र लुम्बिनीमा बढी मानवीय क्षति

काठमाडौँ- बढी वर्षा हुने आकलन गरिएको यसपालिको मनसुनमा कोशी, गण्डकी र लुम्बिनी प्रदेशले बढी मानवीय क्षति बेहोरेको छ । मनसुन सुरु भएपछिको एक महिनामा (जेठ २८ देखि असार २७ सम्म) देशभरमा ८८ जनाको मृत्यु भएकामा सबैभन्दा बढी क्षति उल्लेखित तीन प्रदेशमा भएको छ ।

सातमध्ये गण्डकी प्रदेशले सबैभन्दा बढी मानवीय क्षति बेहोरेको हो । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार सबैभन्दा बढी गण्डकी प्रदेशमा २५ जनाको मृत्यु भएको छ भने लुम्बिनी प्रदेशमा २३ र तेस्रोमा कोशी प्रदेशमा १९ जनाले ज्यान गुमाएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकामा एक, मधेस प्रदेशमा चार, बागमती प्रदेशमा पाँच, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा सात जनाको मृत्यु भएको छ । 

कार्कीले अहिलेसम्म देशभर गरेर अहिलेसम्म एक सय छ जना घाइते भएका पनि जानकारी दिनुभयो । अहिलेसम्म छ जना बेपत्ता रहेका छन् । बाढीका कारण एक सय ७६ घर डुबानमा परेका र आजसम्म विपद्का घटनाबाट तीन हजार चार सय ६२ परिवार विस्थापित भएका पनि प्रहरीले जानकारी दिएको छ । 

अध्यक्ष नेपालद्वारा बाढीपीडितलाई तत्काल उद्धार र राहत दिन माग

काठमाडौँ-नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बाढीपहिरामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

अध्यक्ष नेपालले बिहीबार एक विज्ञप्ति जारी गर्दै केही दिनदेखि वर्षाका कारण बाढीपहिरोले देशका विभिन्न भागमा हालसम्म ८० जनाको निधन तथा पाँच जना बेपत्ता र ९७ जना घाइते भएकामा दुःख व्यक्त गर्नुभएको हो ।

प्राकृतिक विपत्तिका कारण दुई हजार सात सय ६४ घरपरिवार विस्थापित भएको तथा कयौँ भौतिक संरचना, लाखौँको अन्नबाली र ठूलो सङ्ख्यामा पशुचौपाया नष्ट भएको बताउँदै उहाँले पीडितलाई तत्काल उद्धार र राहत प्रदान सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

हाल देशमा भइरहेको बाढीपहिरोलगायत विपद् व्यवस्थापनमा तत्काल खट्न सरकारलाई आग्रह गर्दै अध्यक्ष नेपालले बाढीपहिरो र डुबानबाट पीडितलाई तत्काल आवास, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, घाइतेका उपचार र मृतकका परिवारलाई आर्थिक सहयोगलगायत कार्य प्रभावकारी, निष्पक्ष र पारदर्शी रुपमा सञ्चालन गर्न माग गर्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले आगामी दिनमा समस्या अझै गम्भीर हुने सम्भावना रहेकाले राज्यका सम्पूर्ण निकायहरू, जनप्रतिनिधि तथा आम जनसमुदायले प्राकृतिक विपत्तिमा आआफ्नो ठाउँबाट पीडित समुदायको उद्धार र राहत वितरणमा सक्रियताका साथ योगदान गर्न सम्पूर्ण पार्टी, जनसङ्गठन, जनप्रतिनिधि, पार्टी सदस्यहरू तथा सङ्घसंस्थालाई आह्वान गर्नुभएको छ ।

तनहुँका विभिन्न ठाउँमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध

दमौली (तनहुँ), २८ असार : तनहुँका विभिन्न ठाउँमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको वर्षाका कारण आज बिहान विभिन्न ठाउँमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा, व्यास नगरपालिका–१२ घाँसीकुवा, म्याग्दे गाउँपालिका–६ मौरीओडारमा आज बिहान पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।

याम्यामा बिहान ४ बजे गएको पहिरो हटाइए पनि रुख ढलेर पुन ःराजमार्ग अवरुद्ध भएको छ । निर्माणाधीन मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को निर्माण कम्पनीको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

यस्तै बन्दीपुर गाउँपालिका–५ नयाँपुल नजिकसमेत पहिरोले सडक अवरुद्ध भएको छ । पहिरोका कारण व्यास –१२ कमलबारी नजिकसमेत बाटो अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो । यस्तै व्यास–१२ घाँसीकुवामा पहिरो खस्दा यो खण्डसमेत अवरुद्ध भएको छ । पहिरोका कारण सडक छेउ रहेका मेसिन समेत केही पुरिएको छ । डोजरलगायतका मेसिन पुरिएर बाहिर निकाल्न नपाउँदा अन्यत्र पहिरो पन्छाउन जान सकिएको छैन । यस्तै म्याग्दे –६ मौरीओडारमा समेत पहिरो जाँदा उक्त खण्ड अवरुद्ध भएको छ ।

त्यस्तै वर्षाका कारण बुल्दीखोला बस्तीमा पस्दा तनहुँको व्यास–४ तल्लो सिमलटारका ४० घर डुबानमा परेका छन् । बुल्दीखोलामा आएको बाढीले खोला बस्तीमा पस्दा तल्लो सिमलटारका करिब ४० घर डुबानमा परेका हुन् ।

बुल्दीखोलाको बाढीले यहाँका घरका तल्लो कोठा र सटरमा रहेका सामग्री बगाएको स्थानीय श्रीराम कार्कीले जानकारी दिनुभयो । रातिको समयमा आएको बाढीका कारण मानवीय क्षति नभए पनि आर्थिक नोक्सानी भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “खोला पसेर घरको तल्लो कोठा र सटरमा रहेका सरसामान, फर्निचरलगायतमा ठूलो क्षति पुगेको छ । मानवीय जोखिम रहँदा हारगुहार गरी ज्यान बचाउन सफल भइएको छ । बस्ती जोखिममा रहेकाले सुरक्षित गर्न तुरुन्तै उच्च तारबार बलियो बनाउनुपर्ने अवस्था आएको छ ।” कृष्णपुरको कजवे भत्काएर बेलिब्रिजको व्यवस्थापन गर्न र बस्ती सुरक्षित गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । स्थानीय सोमबहादुर आलेले बाढीका कारण घरको तल्लो तल्लामा क्षति पुगेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बिहान अचानक बाढी आउँदा सबै भागाभाग भयो, अधिकांश घरमा बाढी पसेर क्षति पुगेको छ ।” जिल्ला प्रहरी कार्यालय तनहुँले क्षतिको विवरण आउन बाँकी रहेको जनाएको छ ।

पहिरोले दुई बस बगाउँदा त्रिशूलीमा बेपत्ता

चितवन, २८ असार : नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएको छ । ती बसमा चालकसहित ६५ रहेका बताइएको छ ।

घटनास्थलमा पुग्नुभएका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । उहाँका अनुसार काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् ।

प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उहाँले भन्नुभयो, “हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।” उहाँले ती बसमा रहेका यात्रुको यकिन विवरण प्राप्त भइ नसकेको बताउनुभयो ।

वन कार्यालय बाँकेद्वारा किसानलाई निःशुल्क बिरुवा वितरण

जानकी (बाँके), २७ असार : डिभिजन वन कार्यालय बाँकेले जिल्लाका किसानलाई विभिन्न जातका बिरुवा निःशुल्क वितरण सुरु गरेको छ ।

विगत वर्षझैँ वन कार्यालयले किसानलाई कार्यालयको नर्सरीमा उत्पादन गरिएका बिरुवा आजबाट वितरण सुरु गरेको डिभिजनल वन अधिकृत अजितकुमार कर्णले जानाकारी दिनुभयो ।

उहाँले नर्सरीमा एक वर्षीय ७९ हजार र बहुवर्षीय दुई लाख नौ हजार सात सय बिरुवा उत्पादन गरिएको बताउनुभयो । उहाँका अनुसार यस वर्ष वन कार्यालयको नर्सरीमा विभिन्न जातका दुई लाख ८८ हजार सात सय बिरुवा उत्पादन गरिएका छन् । वन अधिकृत कर्णले भन्नुभयो, “किसानका लागि आजबाट एक वर्षीय बिरुवा वितरण शुरु गरेका छौँ ।”

उहाँका अनुसार एक वर्षीय बिरुवाअन्तर्गत नर्सरीमा अर्जुन, शितलचिनी, बेल, बर्रो, राजवृक्ष, पारिजात, सतिसाल, सागवन, बकाइनो, मसला, काभ्रो, खयर, सिसौ, जामुन र निम गरी दुई लाख नौ हजार सात सय बिरुवा छन् ।

वन पैदावार आपूर्ति समितिअन्तर्गत १० लाख, जडीबुटी विकास कार्यक्रमअन्तर्गत (सङ्घ सशर्त अनुदान) छ लाख र कृषि वन तथा बृहत्तर हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत चार लाख गरेर कूल २० लाखको लागतमा उक्त सङ्ख्यामा एक वर्षीय बिरुवा उत्पादन गरिएको सहायक वन अधिकृत नवराज शाहीले जानकारी दिनुभयो ।

शाहीका अनुसार एक वर्षीय र बहुवर्षीय गरी डिभिजन वन कार्यालयसहित जिल्लाका अन्य छ वटा सवडिभिजन कार्यालयमा यसवर्ष पाँच लाख २९ हजार सात सय बिरुवा उत्पादन भएका छन् । बाँकेको नरैनापुरस्थित सब–डिभिजनको नर्सरीमा ६० हजार, राप्ती सब–डिभिजनमा ५५ हजार, त्यसैगरी सिक्टा सब डिभिजनमा ३५ हजार बिरुवा उत्पादन गरिएको छ ।

त्यसैगरी कोहलपुरमा २५ हजार, समशेरगन्जमा ४१ हजार र नेपालगञ्जमा २५ हजार बिरुवा उत्पादन गरिएको सहायक वन अधिकृत शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “एक वर्षीय बिरुवा किसानले आफ्ना व्यक्तिगत जमिनमा लगेर रोप्न प्रयोग गर्ने र बहुवर्षीय बिरुवा सौन्दर्यवर्द्धक तथा ढिलो बढ्ने प्रजातिका भएकाले संस्थागत रूपमा वितरण कार्य सुरू गरिएको हो ।”

‘प्रेस स्वतन्त्रता दुरुपयोग काउन्सिलको नियमनको दायरामा’

काठमाडौँ, २७ असारः प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जाल प्रयोगगरी चलेका सञ्चारमाध्यमबाट हुने प्रेस स्वतन्त्रता दुरुपयोग काउन्सिलको नियमनको दायरामा पर्ने बताउनुभएको छ ।परम्परागत तथा न्यू मिडियाले दिने विषयवस्तु, पत्रकार/सञ्चारकर्मीकोे व्यवहार र पत्रकारितामा देखिएका विसङ्गतिका बिषयमा काउन्सिलले नियमन गर्ने बताउनुभएको हो ।

प्रेस काउन्सिल नेपालद्वारा आज आयोजित ‘प्रेस स्वतन्त्रताको अवस्था र चुनौती’ विषयक कार्यक्रममा अध्यक्ष बस्नेतले काउन्सिलले प्रेस स्वतन्त्रताको संरक्षण गर्ने भए पनि पत्रकारले सीमामा बसेर लेख्नुपर्ने धारणा राख्नुभयो । स्रोतसाधनको सीमितता हुँदाहुँदै पनि काउन्सिलले काम गरिरहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “आफ्नो ठाउँबाट काउन्सिलले काम गरिरहेको छ ।”

काउन्सिलले प्रेस स्वतन्त्रताको संरक्षण र प्रवद्र्धनमा संविधान, कानुनले दिएको जिम्मेवारी पूरा गरिरहेको अध्यक्ष बस्नेतले बताउनुभयो । मिडिया पीडितलाई न्याय दिलाउने संस्थाका रूपमा काउन्सिल रहेको र समाचार लेखेकै आधारमा अप्ठ्यारो अवस्था सिर्जना गर्न नहुने उहाँको धारणा छ । समाचार कक्षले पनि आन्तरिक आचारसहिंता बनाएर स्वनियमन प्रणालीको विकास गर्नुपर्ने उहाँको सुझाव छ ।

काउन्सिलका पूर्वकार्यवाहक अध्यक्ष सोमनाथ घिमिरेले सञ्चारमाध्यममा निर्देशित र प्रक्षेपित सूचनाको प्रवाह गर्ने र सञ्चार जगत्लाई भ्रमित पार्ने काम विगतमा पनि हुने गरेको र अहिले पनि भइरहेको बताउनुभयो । पत्रकार राजनीतिक र व्यापारिकलगायत विभिन्न क्षेत्रबाट प्रभावित हुने हुँदा यस्तो प्रवृत्ति प्रेस स्वतन्त्रताको बाधक रहेको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “पत्रकार विभिन्न ठाउँबाट प्रभावित भएर आग्रहजन्य सूचना र विचार प्रवाह गर्ने काम भइरहेको छ ।” राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले मानवअधिकार र अभिव्यक्ति स्वतन्त्रताका विषयमा राज्यको चरित्र उदार नभएको धारणा राख्नुभयो । संविधानको प्रस्तावनामा नै पूर्ण प्रेस स्वतन्त्रता उल्लेख भए पनि प्रेस स्वतन्त्रतालाई सङ्कुचित पार्नेगरी कानुन बनाउन सकिने व्यवस्था भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अभिव्यक्ति स्वतन्त्रता भनेको नागरिक अधिकार मात्रै नभएर विश्वव्यापी अधिकारको विषय हो ।”

नेपाल पत्रकार महासङ्घका सचिव पवन आचार्यले परम्परागत मिडिया लोप हुँदै गइरहेको र न्यू मिडियामा ‘गेट किपिङ’ कमजोर रहेको उल्लेख गर्नुभयो । डिजिटल मिडिया साक्षरताका लागि काम गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।

गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले प्रेस स्वतन्त्रता देशका लागि अवसर भएको र यसलाई कुनै बहानामा सङ्कुचन गर्न नहुने धारणा राख्नुभयो । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले भीडभाडका समयमा प्रहरीले तोकेको निषेधित क्षेत्रभित्र जाँदा कतिपय यस्ता घटना हुने गरेको स्वीकार्नुभयो ।

नेपाली सेनाका महासेनानी खेमराज शर्माले प्रेस स्वतन्त्रताका विषयमा सरोकारवाला मिलेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । सशस्त्र प्रहरी बलका प्रवक्ता कुमार न्यौपानेले एउटै दृश्यमा हेर्ने दृष्टिकोण फरकफरक हुने भए पनि संवेदनशील विषयमा सबैको आँखा एउटै हुन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा प्रेससेन्टर नेपालका महासचिव सन्तोष पौडेल, समाजवादी प्रेस सङ्गठनका अध्यक्ष विश्वमणि सुवेदी, प्रेस मञ्च नेपालका कार्यवाहक अध्यक्ष मनोजकुमार यादव, श्रमजीवी पत्रकार सङ्घका अध्यक्ष जन्मदेव जैसी, फ्रिडम फोरमका अध्यक्ष हरि विनोद अधिकारी, सञ्चारिका समूहका अध्यक्ष विमला तुम्खेवा, मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्त, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घका महासचिव समीर बलामीलगायतले प्रेस स्वतन्त्रता संरक्षणमा राज्य जिम्मेवार भएर लाग्नुपर्ने धारणा राख्नुभएको थियो ।

मलेसियामा नीतिगत व्याजदर तीन प्रतिशत कायम

मलेसियाको केन्द्रीय बैङ्कले बिहीबार नीतिगत व्याजदर (ओपिआर) लाई प्रतिशतमा कायम गरेको छ ।

बैंक नेगारा मलेसियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हालको ओपिआर स्तरमा मौद्रिक नीतिको दृष्टिकोण अर्थतन्त्रको सहयोगी रहेको छ र मुद्रास्फीति र वृद्धिको सम्भावनाको हालको आँकलनसँग मेल खान्छ ।”

मौद्रिक नीति समितिले मलेसियाली अर्थतन्त्रको स्थिरताका लागि आन्तरिक मुद्रास्फीति र आर्थिक वृद्धिको प्रक्षेपणको मूल्याङ्कनलाई सूचित गर्न जारी घटनाक्रमप्रति सतर्क रहेको जनाएको छ ।

बैङ्कले भनेको छ, “पछिल्लो सूचकहरूले सन् २०२४ को दोस्रो त्रैमासिकमा लचिलो घरेलु खर्च र राम्रो निर्यात प्रदर्शनबाट प्रेरित आर्थिक गतिविधिमा निरन्तर मजबुतको अवस्थातर्फ सङ्केत गर्छ ।”

सेमीकन्डक्टर आपूर्ति शृङ्खलामा मलेसियाको स्थान र गैर–विद्युतीय तथा इलेक्ट्रोनिक्स सामानको निरन्तर तागतलाई ध्यानमा राख्दै ग्लोबल टेक्नोलोजी अपसाइकलले निर्यातलाई थप माथि उकास्ने अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

पर्यटक आगमन र खर्च पनि अझै बढ्ने अनुमान गरिएको छ । बैङ्कले निरन्तर रोजगारी र ज्याला वृद्धिका साथै नीतिगत उपायले घरायसी खर्चलाई समर्थन गर्न जारी राख्ने विचार व्यक्त गरेको छ ।

निजी र सार्वजनिक दुवै क्षेत्रमा बहुवर्षीय परियोजनाहरूको जारी प्रगति, राष्ट्रिय गुरुयोजना अन्तर्गत उत्प्रेरक पहलहरूको कार्यान्वयन, साथै स्वीकृत लगानीको उच्च प्राप्तिले लगानी गतिविधिलाई समर्थन गर्ने पनि मलेसियाली अर्थविद्हरूले बताएका छन् ।

एयर चाइनाको ढाका–बेइजिङ सिधा उडान सुरू

बङ्गलादेशको राजधानी ढाका र चीनको बेइजिङ जोड्ने सिधा उडान सुरू भएको छ । सेवाको बुधबार हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक समारोहका साथ उद्घाटन गरिएको छ ।

बङ्गलादेशका नागरिक उड्डयन तथा पर्यटनमन्त्री मोहम्मद फारुक खानले एयर चाइना ढाकादेखि बेइजिङ र बेइजिङदेखि ढाकासम्मको सिधा उडानको उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले ढाकादेखि बेइजिङसम्मको सिधा हवाई उडानले दुई देशबीचको व्यापार विस्तारमा नयाँ आयाम थपिने बताउनुभयो ।

उहाँले बङ्गलादेश र चीनबीचको मित्रता, सहयोग, विकास र बढ्दो आवतजावतको प्रमाण यो उडान भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो उडानले बङ्गलादेशका जनता, व्यवसायी र विद्यार्थीहरूले सीधै बेइजिङको यात्रा गर्नलाई सहज बनाउनेछ । यसको फाइदा पर्यटन र अन्य व्यावसायिक क्षेत्रमा पनि देखिनेछ ।”

“चीन र बङ्गलादेशबीचको द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउने यो नयाँ रूटको सफलतापूर्वक शुभारम्भ गर्न पाउँदा हामी निकै हर्षित छौं,” बङ्गलादेशस्थित एयर चाइनाका कन्ट्री म्यानेजर आन मिङले भन्नुभयो । नयाँ सेवाले यात्रालाई सहज बनाउने मात्र नभई दुई देशबीचको व्यापार, पर्यटन र सांस्कृतिक आदानप्रदानलाई पनि बढावा दिने उहाँले बताउनुभयो । एयर चाइनाले यो रुटमा मङ्गलबार, बुधबार, बिहीबार र शुक्रबार गरी सातामा चार वटा उडान गर्नेछ ।

राष्ट्रियसभाका सांसदको विज्ञप्तिप्रति अर्थमन्त्री पुनको ध्यानाकर्षण

काठमाडौँ, २७ असारः राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने चार दलका सांसदद्वारा जारी प्रेस विज्ञप्तिप्रति अर्थमन्त्री वर्षमान पुनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।

अर्थमन्त्री पुनले सम्बन्धित दलका नेताहरुसँग छलफल गर्न चाहनुभएपछि सहमतिमै कार्यसूचीबाट हटाइएको विषयलाई वक्तव्यमा उठाइएका आरोप असहमति र आपत्तिजनक रहेको विज्ञप्तिमार्फत ध्यानाकर्षण गराउनुभएको हो ।

“वक्तव्यमा उठाइएका केही गम्भीर आरोपको सन्दर्भ छ, त्यसमा माननीय मन्त्रीज्यूको गम्भीर असहमति र आपत्ति छ । आफ्नै दलका नेताले ह्वीप जारी गरेर प्रतिनिधिसभाबाट पारित भएको विधेयकमाथि राष्ट्रियसभामा संशोधन दर्ता गर्नु र मन्त्रीमाथि तथ्यहीन र अधारहीन आरोप लगाउनु भनेको आफ्नै दलमाथि र आफैँमाथिकोसमेत आरोप हो”, अर्थमन्त्रीको निजी सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिनिधिसभामा विधेयक पारित गर्ने दलले नै राष्ट्रियसभामा संशोधन पेस गर्नु राजनीति, नैतिक र स्थापित संसदीय अभ्यास, परम्परा, प्रचलन र मूल्यमान्यताअनुसारको व्यवहार हो वा होइन भन्ने विषयमा विचारविमर्श हुनुपर्ने विज्ञप्तिमा जनाइएको छ ।

यही असार २३ गते राष्ट्रियसभाको बैठकमा आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुल विधेयक, २०८१ नियमित कार्यसूचीमा थियो । अर्थमन्त्रीले प्रस्ताव पेश गर्न जानुभएको भएपनि प्रतिनिधिसभामा विधेयकका पक्षमा समर्थन जनाएको दलका तर्फबाटै संशोधन प्रस्ताव दर्ता गरिएका सन्दर्भमा मन्त्रीले सम्बन्धित दलका नेताहरुसँग छलफल गर्न चाहनुभएपछि सहमतिमै कार्यसूचीबाट हटाइएको थियो ।

यसबीचमा अर्थमन्त्रीले प्रतिनिधिसभामा विधेयक पारित गर्न समर्थन गरेको दलका नेताहरुसँग अनौपचारिक छलफलसमेत गर्नुभएको थियो । एकातिर छलफल निष्कर्षमा नपुगेको र अर्कातिर २८ असारमा (शुक्रबार) प्रतिनिधिसभामा प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने तय भएको अवस्थामा त्यसपछिको नयाँ राजनीतिक परिस्थितिका आधारमा विधेयकबारे छलफल अघि बढाउने तयारी थियो ।

प्रतिनिधिसभामा विधेयक पारित गर्ने दलसँग छलफलगरी संशोधन पारित गर्ने वा नगर्ने भन्नेबारे आगामी ३० असारको राष्ट्रियसभा बैठकमा छलफल गर्ने जानकारी अर्थमन्त्रीले राष्ट्रियसभाका अध्यक्ष र सङ्घीय संसद् सचिवालयलाई जानकारी गराउनुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

१०औँ राष्ट्रिय खेलकुदमा चार सय १९ स्पर्धाको प्रस्ताव

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टङ्कलाल घिसिङले कर्णाली प्रदेशमा हुने १०औँ राष्ट्रिय खेलकुदमा ३५ खेलमा चार सय १९ स्पर्धा प्रस्ताव गरेका छन् ।

राखेपका उपाध्यक्ष शिव कोइरालाको प्रमुख आतिथ्यता तथा सदस्य–सचिव घिसिङको अध्यक्षतामा आज भएको १०औँ राष्ट्रिय खेलकुद तथा प्रथम पारा राष्ट्रिय खेलकुदका सन्दर्भमा बसेको बैठकमा उक्त प्रस्ताव गरिएको हो ।

सदस्य-सचिव घिसिङले नवौँ राष्ट्रिय खेलकुदमा समावेश भएका ३६ खेलमध्ये प्याराग्लाइडिङबाहेक ३५ खेल प्रस्ताव गरे । राखेपले १०औँ राष्ट्रिय खेलकुद आगामी मङ्सिर २ देखि ९ गतेलाई प्रस्ताव गरिसकेको छ । त्यसअघि विभिन्न छ खेलको प्रतियोगिता कात्तिक २७ गतेदेखि सुरु गर्ने प्रस्ताव गरिएको छ ।

महिला फुटबल, उसु, पुरुष/महिला बास्केटबल, जुडो, पुरुष-महिला हक्की र तेक्वान्दोलाई १०औँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटनअगावै गर्ने प्रस्ताव गरिएको हो । निर्णायक सङ्ख्या एक हजार चार सय ९९ प्रस्ताव गरिएको छ ।

बैठकमा सदस्य–सचिव घिसिङले १०औँ राष्ट्रिय खेलकुदका लागि नेपाल सरकारबाट ६० करोड बजेट सुनिश्चित भइसकेको जानकारी गराउंदै कर्णाली प्रदेश खेलकुद विकास परिषद्लाई तयारी अगाडि बढाउन बजेट उपलब्ध गराउने जानकारी दिए ।

उनले बृहत् राष्ट्रिय खेलकुद देशकै ठूलो खेलकुदका रुपमा रहेको हुँदा समयमै आयोजनाको विकल्प नभएको बताए । उनले १०औँ राष्ट्रिय खेलकुदलाई सफलतापूर्वक सम्पन्न गर्न सरोकारवाला सबै जिम्मेवार र गम्भीर हुनुपर्नेमा जोड दिए ।

सदस्य-सचिव घिसिङले १०औँ राष्ट्रिय खेलकुद समयमै आयोजना गर्न परिषद् तयार रहेको बताउँदै खेलकुदलाई व्यावसायिक बनाउनुपर्ने आवश्यकता औँल्याए । उनले लोगो र मस्कटको छनोट भइसकेको अवगत गराए । खेल पोशाकको व्यवस्थापन गर्ने जिम्मेवारी सम्बन्धित प्रदेशलाई दिनेगरी तयार थालिएको उनको भनाइ थियो ।

सदस्य–सचिव घिसिङले अन्तर्राष्ट्रिय प्रचलनअनुसार १०औँ राष्ट्रिय खेलकुद सकिएलगत्तै नेपालमा पहिलोपटक कर्णालीमै पारा खेलकुद आयोजना गर्न लागिएको जानकारी दिँदै प्रस्तावित बुँदामा यथाशीघ्र सुझाव उपलब्ध गराउन आग्रह गरे । राखेपका उपाध्यक्ष शिव कोइरालाले बैठकका दौरानमा खेलकुद सञ्चालन निर्देशिका संशोधनका विषयमा प्राप्त सुझावलाई सम्बोधन गरिने बताए ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव विश्वामित्र सञ्ज्यालले आवासको व्यवस्थापन कारण कर्णाली प्रदेशको पाँच जिल्लामा २२ देखि २४ खेल मात्र गर्न सकिने भएकाले बाँकी खेलका विषय चाँडै टुङ्गो लगाउनुपर्ने बताए ।

बैठकमा सहभागी प्रदेश खेलकुदका सदस्य सचिवहरुले गाउँपालिकादेखि खेलाडी छनोट हुनुपर्ने, एक खेलमा कम्तीमा पाँच टिम सहभागी हुनुपर्ने, बजेट समयमा निकासा हुनु पर्नेलगायतका विषयमा धारणा राखेका थिए ।

मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलको उपाधि कोशी प्रदेशलाई

मोरङ, २७ असार : दोस्रो मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि कोशी प्रदेशको टोलीले प्राप्त गरेको छ ।

प्रदेश खेलकुद विकास बोर्डद्वारा आयोजित उक्त प्रतियोगिताको आज विराटनगर–९ गुद्रीमा सम्पन्न फाइनल खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३–२ सेटले पराजित गर्दै विजयी भएको हो ।

कोशीले पहिलो, दोस्रो र पाँचौँ सेट आफ्नो पक्षमा पारेको थियो । कोशीले पहिलो सेटमा सुदूरपश्चिमलाई २५–२३, दोस्रो सेटमा २५–१८ र पाँचौँ सेटमा १५–१३ ले पराजित गरेको थियो ।

कोशीले उपाधिका साथ नगद रु तीन लाख र ट्रफी प्राप्त गरेको छ । उपविजेता सुदूरपश्चिमले रु एक लाख ५० हजार र ट्रफी प्राप्त गरेको छ ।

तेस्रो स्थान प्राप्त मधेस प्रदेशले रु ७५ हजार र चौथो हुने बागमती प्रदेशले रु ५० हजार नगद पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी कोशी प्रदेशकी सुनिता खड्का, डिफेन्स मोनिका श्रेष्ठ र ब्लकर सुनिता राई भए । त्यसैगरी, उत्कृष्ट सेटर सुदूरपश्चिमकी रेखा ठगुन्ना र सर्भर ऋतिका खडायत भइन् । मधेस प्रदेशकी नेहा चौधरी उत्कृष्ट स्पाइकर घोषित भइन् ।

सामाजिक विकासमन्त्री पाँचकर्ण राई र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी राज्यमन्त्री सिर्जना राईले विजेता एवं उपविजेतालाई ट्रफी र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतलाई श्रीपति समाजसेवा पुरस्कार

कास्की, २७ असार : स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा ख्यातिप्राप्त नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतलाई यस वर्षको ‘श्रीपति समाजसेवा राष्ट्रिय पुरस्कार’ प्रदान गरिने भएको छ । पोखरा महानगरपालिका–९ महेन्द्रपुलस्थित श्रीपति कोइराला गुठीले स्थापना गरेको सो पुरस्कार दुई सय १७औँ श्रीपति जयन्तीका अवसरमा रुइतलाई प्रदान गर्ने घोषणा गरिएको हो । विसं २०७७ देखि सुरु गरिएको यस पुरस्कारको राशि रु दुई लाख २२ हजार दुई सय २२, श्रीपति समाजसेवा पदक र ताम्रपत्र रहेको छ ।

देश र जनताका लागि विपद्मा उद्धार तथा राहत सहयोग, शिक्षा, संस्कृति, स्वास्थ्य सेवा, विज्ञान प्रविधि, सामाजिक जागरण, मानवीय सेवा र सामुदायिक विकासको क्षेत्रमा क्रियाशील व्यक्तित्व तथा संस्थालाई पुरस्कार प्रदान गरिँदै आएको श्रीपति कोइराला गुठीका सचिव नवराज कोइरालाले जानकारी दिनुभयो ।

“मानवीय सेवाका क्षेत्रमा र विशेषगरी आँखा उपचारमा डा रुइतले गर्नुभएको योगदानको कदर गर्दै यस वर्षको पुरस्कार उहाँलाई प्रदान गर्ने निर्णय गुठीले गरेको हो”, कोइरालाले भन्नुभयो । । गुठीले आगामी साधारणसभामा डा सन्दुकलाई पुरस्कार प्रदान गरिने जनाएको छ ।

पुरस्कृत व्यक्तित्व छनोटका लागि गुठीका अध्यक्ष फणिन्द्रराज कोइरालाको संयोजकत्वमा समाजसेवी, बुद्धिजीवीसहितका छ सदस्यीय समिति गठन गरेको थियो । छनोट समितिको सिफारिसलाई गुठीको बैठकले अनुमोदनगरी सार्वजनिक गरिएको हो । यसअघि यस पुरस्कारबाट माइती नेपाल, राष्ट्रिय आविष्कार केन्द्र, सर्लाहीको पद्मम भवानी नमुना विद्याश्रम र पोखराको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पुरस्कृत भइसकेका छन् ।

पोखराका श्रीपति कोइराला एक सरकारी उच्चपदस्थ कर्मचारी तथा समाजसेवी हुनुहुन्थ्यो । सरकारी जागिरकै सिलसिलामा विसं १९२६ मा उहाँको निधन भएको थियो । कोइरालाको निधनपछि उहाँका सन्तानले सामाजिक कार्यसहित राष्ट्रियस्तरको समाजसेवा पुरस्कार स्थापना गरेर सञ्चालन गर्दै आएको गुठीका अध्यक्ष फणिन्द्रराज कोइरालाले जानकारी दिनुभयो ।

कार्यस्थलको तनावबाट पीडित ईसीबी कर्मचारी सङ्ख्यामा वृद्धि : अध्ययन

कार्यस्थलको तनाव (बर्नआउट) बाट पीडित यूरोपेली केन्द्रीय बैङ्क (ईसीबी) कर्मचारीहरूको सङ्ख्या हालैका वर्षहरूमा लगातार बढ्दै गएको एक अध्ययनले देखाएको छ ।

एएफपीले बिहीबार प्राप्त गरेको एक आन्तरिक रिपोर्ट अनुसार ईसीबीमा कार्यरत हरेक १० मा चार व्यक्ति यस्तो तनावबाट गुज्रिरहेको उल्लेख छ । सन् २०१६ मा इसिबीमा ‘बर्नआउट’ रिपोर्ट गर्ने कर्मचारीको सङ्ख्या २९.७ प्रतिशतबाट बढेर सन् २०२१ मा ३३.२ प्रतिशत पुगेको थियो भने सन् ईसीबीका कर्मचारीप्रतिनिधि र पिएसवाई एट वर्क नामक कन्सल्टेन्सीले गरेको अध्ययनअनुसार सन् २०२४ मा यो सङ्ख्या ३८.९ प्रतिशत पुगेको छ ।

अध्ययनमा १४६ जना कर्मचारीले आत्महत्या गर्नेसम्म सोच आउने गरेको उल्लेख गरेका थिए । यो सङ्ख्याले ९.१ प्रतिशत उत्तरदाताको प्रतिनिधित्व गर्छ र यो तीन वर्ष पहिले छ प्रतिशत थियो । यो निष्कर्ष मे महिनामा बैङ्कका करिब पाँच हजार १०० कर्मचारीमध्ये एक तिहाई अर्थात् एक हजार ६०० को प्रतिक्रियामा आधारित छ । रिपोर्टमा ईसीबी भित्र ‘खराब वा क्यारियर विकास योजनाको अभाव, अवसर र प्रेरणाहरूको कमी रहेका साथैे सनकवादको वृद्धिसँग सम्बन्धित प्रतिक्रिया आएको उल्लेख गरिएको छ ।

ईसीबीमा समानता पाउने बताउनेको तुलनामा बर्नआउट रिपोर्ट गर्नेहरूको दर उच्च भेटिएको थियो थियो । पिएसवाई एट वर्क नामक कन्सल्टेन्सीका अनुसार साना कम्पनीहरूमा बर्नआउटको दर १७ देखि २३ प्रतिशतको बीचमा रहेको छ । ईसीबीमा आईपीएसओ ट्रेड युनियनका उपप्रमुख कार्लोस बाउल्सले एएफपीसँग भन्नुभयो, “ईसीबीका अध्यक्ष क्रिस्टीन लेगार्ड र कार्यकारी समितिले ईसीबी कर्मचारीको मानसिक क्षतिको मूल कारण, पहिलो भर्ना र कामको बोझमा पक्षपातको बिषयबारेमा कर्मचारी चिन्तालाई सम्बोधन गरेर सुधार सुरू गर्नुपर्ने देखिएको छ ।”

“बर्नआउटबाट प्रेरित ‘खराब निर्णय र गल्तीलाई सच्चाउनु र सुधार गर्नु अबका दिनमा हामीलाई आवश्यक पर्ने अन्तिम चीजहरू हुन् र सबै कर्मचारीले ईसीबीलाई सही नीति छनौट गरोस् भनी हेरिरहेका छन्,” उहाँले अगाडि भन्नुभयो । ईसीबीका एक प्रवक्ताले एएफपीसँग भन्नुभयो, “हामी हाम्रा कर्मचारीहरूको स्वास्थ्य र कल्याणलाई धेरै गम्भीरतापूर्वक लिन्छौं ।” उहाँले थप्नुभयो, “बैङ्कले पहिले पहिचान गरिएका मुद्दाहरूको जवाफ दिन उपायहरू अवलम्वन गरेको छ र कामको बोझ र रोजगारीका अवसरजस्ता मुद्दाहरूलाई सम्बोधन गर्न थप उपायको योजना बनाइएको छ ।

श्रीलङ्का र बङ्गलादेशी पर्यटकलाई उनीहरुकै मुद्रामा भुक्तानीको सुविधा दिन व्यवसायीको सुझाव

काठमाडौँ । सरोकारवालाहरुले होटललाई विदेशी मुद्रा सटही सुविधामा लगाइएको सीमा बढाउनुपर्ने, होटललाई उद्योग सरहको मान्यता दिनुपर्ने तथा कर्जाको पुनःसंरचना तथा पुनःतालिकीकरण गर्नुपर्ने माग गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित अन्तरक्रियामा होटल सङ्घ नेपालअन्तर्गतको पाँच तारे उपसमितिका संयोजक शशिकान्त अग्रवालले होटलले प्राप्त गरेको विदेशी मुद्रा सहटी सुविधामा सीमा तोक्न नहुनेमा जोड दिए ।

“हामीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष माग राखिसकेका छौँ, हाल प्रतिपर्यटक प्रतिदिन तीन सय अमेरिकी डलर सहटीको सुविधा रहेकोमा त्यसलाई दुई हजार डलर बनाउनु आवश्यक छ”, संयोजक अग्रवालले भने । उनले  हालको तीन सय डलर सटहीको सुविधा ‘हाइ इन्ड’ पर्यटकका लागि पर्याप्त नहुने उल्लेख गरे ।

उनले पर्यटन क्षेत्रलाई पनि उद्योग सरहको मान्यता दिन ढिलाइ गर्न नहुने बताए । “पर्यटन क्षेत्रलाई उद्योगको मान्यता दिने प्रक्रिया अर्थमन्त्रालयमा पुगेर अड्किएको छ, उक्त प्रक्रिया तुरुन्त अगाडि बढाउनुपर्छ”, उनले भने ।

पर्यटन क्षेत्रले उद्योगको मान्यता प्राप्त गरेमा विद्युत् महसुल र बैंकको कर्जाको ब्याजदर सहुलियत दरमा उपलब्ध हुने उहाँले उल्लेख गर्नुभयो । “अहिले हामीले घरायसी शुल्क सरह विद्युत् महसुल बुझाइरहेका छौँ”, उनले भने, “उद्योगको मान्यता पाए कम शुल्क बुझाए पुग्छ ।”

संयोजक अग्रवालले भैरहवा र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थल चाँडोभन्दा चाँडो प्रभावकारीरुपमा सञ्चालन गर्नुपर्ने, विमानस्थलमा ‘ड्युटी फ्री’  पसल राख्नुपर्ने र पर्यटकीय गन्तव्यसम्म पुग्ने सडक निर्माण, मर्मत तथा स्तरोन्नतिलाई प्राथमिकता राख्नुपर्ने आवश्यक रहेको बताए ।

त्यसअवसरमा हानका प्रथम उपाध्यक्ष प्रवीण पाण्डेले खर्चालु पर्यटकलाई खर्च गर्ने वातावरणमा कानुन बाधक भएको दाबी गरे । उनले सार्क मुलुकका पर्यटकको सङ्ख्या बढाउन भारतीय पाँच सयका नोट प्रचलनमा ल्याउनुपर्ने तथा श्रीलङ्का र बङ्गलादेशी पर्यटकले उनीहरुकै मुद्रामा भुक्तानी गर्न पाउनुपर्ने व्यवस्थाका लागि सहजीकरण गर्नुपर्नेमा जोड दिए ।

“अहिले भारतीय पर्यटकलाई बढीमा २५ हजार भारु ल्याउन पाउने नियम छ, त्यसमा पनि पाँच सय दरका नोट नेपालमा प्रचलन छैन”, उनले भने, “सरकारले नेपाल भित्रिने भारतीय पर्यटकलाई बोक्न पाउने मुद्राको सीमा दुई लाख बनाउनुपर्छ ।”

उनले बैंक तथा वित्तीय संस्थाले पर्यटन व्यवसायलाई विशेष प्राथमिकतामा राखेर प्रदान गरिने कर्जाको आधार दरमा एक प्रतिशतभन्दा प्रिमियम नबढ्ने गरी ब्याजदर कायम गर्दै प्रोत्साहन नीति लिनु आवश्यक रहेको उल्लेख गरे । उनले विद्युतीय सवारी, विद्युतीय चुल्हो प्रयोग गर्ने होटललाई हरित ऊर्जा कोष स्थापना गरी सहुलियत दिनुपर्नेमा जोड दिए ।

हानका द्वितीय उपाध्यक्ष दिनेश तुलाधरले कोरोना महामारी सकिएको तीन वर्ष पुगे पनि होटल क्षेत्रमा यसको असर अझै रहेकाले राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत समस्या सम्बोधन गर्नुपर्ने माग गरे ।

“कोरोना महामारीको असर अझै रहेकाले होटललाई नियमित किस्ता र ब्याज भुक्तानीमा समस्या छ । वित्तीय अवस्थाअनुसार विशेष व्यवस्था गरी व्यवहारिक रुपमा बैंक तथा ऋणीहरुलाई सहज हुने गरी लगानीको अनुपातमा कर्जाको साँवा व्याज भुक्तानी गर्न पाउने व्यवस्था हुनुपर्छ”, उनले भने, “होटलको लगानीको आकार हेरी साँवा र ब्याज भुक्तानीको समयावधि तीन वर्ष गरिनु उपयुक्त हुन्छ ।”

उनले कर्जाको पुनःसरचना तथा पुनःतालिकीकरण गर्दा कर्जा र पुँजीको अनुपात तोकेको अवस्थाभन्दा कम हुन गएमा समयावधि बढाई कम्तीमा पनि तीन वर्षभित्र सो अनुपात पूरा गर्ने सर्तमा कर्जा पुनःसंरचना तथा पुनःतालिकीकरण आवश्यक रहेको बताए ।

उनले भारतीय पर्यटकलाई फोन पे जस्ता विद्युतीय भुक्तानी कार्यान्वयनमा ल्याई सहजीकरण गरिनुपर्नेमा जोड दिए । क्रेडिट कार्डमा लाग्ने तीन प्रतिशत कमिसन बढी भएकाले यसलाई घटाउन उनले माग गरे । कतिपय क्रेडिटकार्ड नेपालमा नचल्ने हुँदा भारतीय समकक्षीसँग समन्वय  आवश्यक रहेको उनको भनाइ थियो ।

त्यस अवसरमा मेची क्राउन प्लाजाका सञ्चालक बलराम सापकोटाले क्यासिनोका लागि नेपाल भित्रिने भारतीय पर्यटकलाई खर्च गर्ने सीमा तोकिनु नहुने गरी खर्च गर्ने दायरा बढाउनु आवश्यक रहेकोमा जोड दिए ।

दोस्रोपटक खोलिँदै भारतको धौलीगङ्गा बाँध, सतर्कता अपनाउन आग्रह

बैतडी, २७ असार : भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध दोस्रोपटक खोलिने भएको छ । एनएचपिसी लिमिटेड र धौलीगङ्गा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रअनुसार यही असार २९ गते शनिबार बिहान ६ बजेदेखि ३० गतेसम्म परियोजनाको बाँध खोलिने जनाएको छ ।

बाँध खोलेका बेला र त्यसपश्चात्का केही घण्टा महाकाली नदीको जलस्तर बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो । एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावरस्टेसन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार वर्षात्का कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रतिदिन वृद्धि भएकाले सरसफाइका लागि बाँधको ढोका खोलिन लागिएको हो ।

बाँध खोलेका बेला नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । बाँध खोलिएपश्चात् महाकाली नदीमा जलसतह बढ्ने खतरा भएकाले नदी वारपार नगर्न आग्रह गरिएको छ । 

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर हुँदै भारततिर बग्ने महाकालीमा पानीको सतह बढ्नसक्ने भएकाले नदी छेउछाउमा नजान स्थानीय प्रशासनले अनुरोध गरेको हो । 

धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध वर्षात्का बेला हरेक वर्ष खोलिने गरिन्छ । परियोजनाको बाँध खोल्नुपूर्व सतर्कताका लागि जानकारी गराउने गरिएको छ । यसअघि भारतले गएको असार १५ गते बिहान ६ बजेदेखि १६ गते बेलुका ६ बजेसम्म बाँधको ढोका खोलेको थियो ।  विसं २०७० असार २ र ३ गते एक्कासी धौलीगङ्गाको बाँध खोलिँदा  दार्चुला सदरमुकाममा सयभन्दा बढी घर बगाउनुका साथै अर्बौंको क्षति भएको थियो । 

भद्रकाली मन्दिर परिसर पुनःनिर्माण सुरु

काठमाडौँ, २७ असार : यहाँको भद्रकाली मन्दिर परिसर पुनःनिर्माण सुरु गरिएको छ । रु ३४ करोड ८० लाख ७१ हजार लागतमा मन्दिरको दक्षिण पश्चिमबाट पुनःनिर्माण सुरु गरिएको हो ।

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले आज मन्दिर परिसर पुनःनिर्माणको शिलान्यास गर्नुभयो । विसं २०७२ को भूकम्पले मन्दिर जीर्ण भए पनि अझै पुनःनिर्माण हुन सकेको थिएन ।

मन्दिरको पश्चिम, उत्तर र दक्षिणतिर पाटी सत्तललगायत भवन संरचना छन् । कामपा सम्पदा तथा पर्यटन विभागका वरिष्ठ इञ्जिनियर रविन्द्र रिजालकाअनुसार तुल्सी अम्बुजा जेभीले पुनःनिर्माणको ठेक्का पाएको छ । कामपाले निर्माण पक्षसँग गत जेठ ६ गते सम्झौतागरी यही असार ३ गते कार्यादेश दिएको छ ।

यसको निर्माण परम्परागत नेवारी शैलीमा हुनेछ । कुँदिएका बुट्टेदार ढोका, झ्याल, थाम हुनेछन् । छानो झिँगटीको हुनेछ । उत्तर (भृकुटीमण्डप) तर्फ दुई वटा ब्लक आपसमा जोडिने जनाइएको छ । दक्षिणतर्फ (नेपाली सेनाको पेट्रोलपम्पतर्फ) तीन वटा ब्लक हुने र यिनीहरु पनि आपसमा जोडिएको हुने महानगरले जनाएको छ । यसरी पुनःनिर्माण हुने भवनको क्षेत्रफल ३९ हजार वर्गफिट हुने जनाइएको छ । यसको डिजाइन कामपा सहरी योजना आयोगले तयार पारेको हो ।

पुनःनिर्माणका क्रममा मन्दिर क्षेत्रमा भएका संरचना, शिल्प र शैलीको अभिलेखन तयार पार्ने जिम्मा पुरातत्व विभागलाई दिइएको छ । हालको संरचना भत्काएपछि सङ्कलन हुने निर्माणजन्य सामग्री पुरातत्व विभाग, गुठी संस्थान, लुमधी भद्रकालीे व्यवस्थापन समितिसहितको सहजीकरण समितिले समन्वय र व्यवस्थापन गर्नेछ ।

कामपाकी उपप्रमुख डङ्गोलले, भद्रकाली सबै श्रद्धालुहरुको आस्थाको केन्द्र भएको उल्लेख गर्नुभयो । उहाँले यसको प्राचीनता बचाउनसके सबैले गर्व गर्न लायक हुने बताउनुभयो ।

कामपा वडा नं ११, २१ र २२ का अध्यक्षहरु हीरालाल तण्डुकार, उदय चूडामणि बज्राचार्य र चिनीकाजी महर्जनले, भद्रकाली धार्मिक आस्थासँग जोडिएको पीठका रुपमा चिनिएको स्मारक भएको उल्लेख गर्नुभयो ।

भद्रकाली कामपाको वडा नंं ११ मा अवस्थित भए पनि यससँग सम्बन्धित जात्रा पर्व, संस्कार, संस्कृति तथा परम्परा वडा नं २२ सहित भित्री वडासँग सम्बन्धित छन् । सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईले यो बहुपक्षीय सम्बन्ध राख्ने पुनःनिर्माण रहेको बताउनुभयो ।

बैंक अफ कोरियाको १२ औं पटक ब्याज दर फ्रीज

दक्षिण कोरियाको केन्द्रीय बैंकले बिहीबार १२ औं सत्रको लागि ३.५ प्रतिशतमा प्रमुख दर फ्रिज गरेको छ ।

अप्रिल २०२२ देखि जनवरी २०२३ सम्म लगातार सात पटक दर वृद्धि गरेपछि गत वर्षको फेब्रअरी देखि बैंक अफ कोरिया (बिओके) ले दर स्थिर राखेको छ ।

एसियाको चौथो ठूलो अर्थतन्त्रमा विस्तारित प्रतिबन्धात्मक मोड र मुद्रास्फीति दबाबको बावजुद घरेलु ऋण उच्च चलिरहेको कारण दर फ्रिज समाचार एजेन्सीले जनाएको छ । देशको अर्थव्यवस्था यस वर्ष बलियो निर्यातको पछाडि अपेक्षा भन्दा छिटो बढ्ने अपेक्षा गरिएकोसमेत दक्षिण कोरियाको (योनहाप) समाचार एजेन्सीले उल्लेख गरेको छ ।

दक्षिण कोरियामा बैंकहरूले विस्तार गरेको घरेलु ऋिण जुनमा लगातार तेस्रो महिनामा बढेको छ, धितो ऋिणमा वृद्धिको कारण, केन्द्रीय बैंकलाई दर घटाउनमा सतर्क रहन्छ ।

उपभोक्ता मूल्यहरू वर्षमा २.४ प्रतिशतले बढेको छ, जुन जुलाई २०२३ पछि सबैभन्दा कम स्तर हो । केन्द्रीय बैंकले मुद्रास्फीति अझै तल झर्ने अपेक्षा गरेको छ, भने यस वर्षको अन्त्यसम्ममा यसको मध्यदेखि लामो दूरीको लक्ष्य दर २ प्रतिशतमा पुग्नेछ ।

केन्द्रीय बैंकले यस वर्षका लागि आफ्नो वृद्धिको अनुमान बढाएपछि पनि दर स्थिर राखेको हो ।

इन्डोनेसियाका पूर्व कृषि मन्त्रीलाई १० वर्षको जेल सजाय

इन्डोनेसियाका पूर्व कृषि मन्त्रीलाई सार्वजनिक कोषको नौ लाख डलर भन्दा बढीको दुरुपयोग गरेको आरोपमा बिहीबार १० वर्षको जेल सजाय सुनाइएको छ ।

स्याहरुल यासिन लिम्पोलाई उहाँको मन्त्रालयको अधिकारीहरूलाई राज्यको खजाना बाट पैसा पठाउन आदेश दिएकोमा जकार्ता अदालतले दोषी ठहर गरेको थियो, जसमध्ये केही उहाँको व्यक्तिगत खर्चका लागि प्रयोग गरिएको थियो ।

प्रतिवादी. कानुनी रूपमा भ्रष्टाचारको आपराधिक कार्य गरेकोमा दोषी साबित भएको पीठासीन न्यायाधीश रिएन्टो एडम पोन्टोहले जनाउनु भयो ।

न्यायाधीशहरूले उहाँले आफ्नी श्रीमतीका लागि गहना र सौन्दर्य उपचारसहित व्यक्तिगत खर्चमा नौ लाख डलर भन्दा बढी खर्च गरेको पत्ता लगाएका थिए ।

इन्डोनेशियाका धेरैजनालाई पहिलो नामले जाने स्याहरुललाई रकम फिर्ता गर्न वा अदालतले उनको सम्पत्ति जफत गर्न आदेश दिएको थियो ।

न्यायाधीशहरूले ६९ वर्षीय वृद्धलाई १९ हजार डलर जरिवाना तिर्न वा चार महिनाको अतिरिक्त जेल सजायको सामना गर्न आदेश दिए ।
अभियोजनकर्ताहरूले १२ वर्षको सजाय र ३१ हजार डलर जरिवाना माग गरेका थिए ।

अदालतले बिहीबार स्यहरुलको मुद्दामा कृषि मन्त्रालयका दुई पूर्व उच्च पदस्थ अधिकारीलाई चार वर्षको जेल सजाय पनि सुनाएको छ ।
प्रतिवादीहरूसँग अपिल सुरु गर्न सात दिनको समय छ ।

इन्डोनेसियाले हालका वर्षहरूमा भ्रष्टाचारको आरोपमा धेरै सरकारी अधिकारीहरूलाई पक्राउ गरेको छ ।

नोभेम्बरमा, इन्डोनेसियाका पूर्व सञ्चार मन्त्रीलाई भ्रष्टाचारको आरोपमा दोषी ठहरिएपछि १५ वर्षको जेल सजाय भएको थियो । जसले देशलाई ५० करोड डलरभन्दा बढी नोक्सान पुर्याएका थिए ।

सन् २०२१ मा, एक पूर्व सामाजिक मामिला मन्त्रीलाई कोरोना भाइरस महामारीबाट पीडित गरिब परिवारहरूको लागि खाद्य सहायतासँग सम्बन्धित १.२ मिलियन डलर घुस लिएको अभियोगमा १२ वर्षको जेल सजाय सुनाइएको थियो ।

पाकिस्तानमा रहेका ४४ हजार अफगानी अझै पनि पुनः स्थापनाको पर्खाइमा

तालिबान सत्तामा फर्किएपछि पश्चिमी मुलुकमा स्थानान्तरणका लागि स्वीकृत भएका कम्तीमा ४४ हजार अफगानी अझै पनि पाकिस्तानमा अलपत्र अवस्थामा रहेको इस्लामाबादले बिहीबार जनाएको छ ।सन् २०२१ को अगष्टमा नेटो समर्थित सरकार ढलेपछि काबुलबाट एक लाख २० हजारभन्दा बढी मानिसलाई उद्धार गरिएको थियो ।

त्यसयता तालिबानको शासन कालमा लाखौं अफगानी भागेका छन् र धेरैले आफ्नो देशमा २० वर्षसम्मको लामो विदेशी हस्तक्षेपमा संलग्न राष्ट्रहरूमा शरणका लागि आश्वासन पाएका र यस अवसरको पर्खाइमा रहेका छन् । पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मुमताज जाहरा बलोचले तालिबानले सत्ता सञ्चालन गरेको तीन वर्षमा २५ हजार अफगानीलाई अमेरिकामा स्थानान्तरणका लागि अनुमति दिइएको बताउनुभयो ।

पाकिस्तानमा रहेका थप नौ हजार अफगानीलाई अष्ट्रेलियाले स्वीकार गरेको छ भने क्यानडाले छ हजार, जर्मनीले तीन हजार र बेलायतले एक हजारभन्दा बढीलाई स्वीकारेका छन् ।

“हामीले उनीहरूलाई यी देशहरूका लागि स्वीकृति र भिसा जारी गर्ने प्रक्रियालाई छिटोभन्दा छिटो गर्न आग्रह गरेका छौं, ताकि उनीहरूलाई जतिसक्दो चाँडो स्थानान्तरण गर्न सकियोस्,” बलोचले सञ्चारमाध्यमसँग नियमित रूपमा हुने गरेको साप्ताहिक भेटघाटमा भन्नुभयो । काबुलमा पूरानो सत्ताको पतनपछि अधिकांश देशहरूले आफ्ना अफगान दूतावासहरू बन्द गरेका अफगान आप्रवासीहरूलाई पाकिस्तानमा अस्थायी रूपमा बस्ने व्यवस्था गरी उनीहरूको लागि इस्लामाबादस्थित दूतावासहरूले सेवा प्रदान गर्ने बताएका छन् ।

स्थानान्तरणको आश्वासन पाएका धेरै अफगानीहरू विदेशी समर्थित सरकारमा सामेल थिए र उनीहरू तालिबान अधिकारीहरूको प्रतिशोधको डरमा छन् ।

मङ्गलबार पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त फिलिप्पो ग्रान्डीलाई स्थानान्तरणको पर्खाइमा रहेका अफगानीहरूको स्थानान्तरणका लागि दबाब दिनुभएको थियो ।

सरिफले ग्रान्डीसँग भन्नुभएको थियो, “अन्तर्राष्ट्रिय समुदायले यति ठूलो सङ्ख्यामा शरणार्थीलाई स्वागत गर्दा पाकिस्तानले बोक्नुपरेको बोझलाई बुझ्नुपर्छ र सामूहिक जिम्मेवारी प्रदर्शन गर्नुपर्छ ।तालिवानले आफ्नो नियन्त्रणमा लिएपछि र इस्लामको कठोर संस्करण लागू गरेयता करिब छ लाख अफगानी पाकिस्तान पुगेका छन् ।

सोभियत आक्रमण, गृहयुद्ध र ९÷११ पछिको अमेरिकी नेतृत्वमा भएको कब्जालगायतका पछिल्ला द्वन्द्वबाट भागेर त्यसभन्दा अघिका चार दशकमा लाखौं मानिसहरू पाकिस्तान आएका थिए ।तर, गत वर्षदेखि काबुलसँगको सम्बन्ध सुरक्षाको विषयलाई लिएर तिक्तता आएपछि इस्लामाबादले ठूलो सङ्ख्यामा कागजातविहीन अफगानीलाई देश निकाला गर्ने अभियान चलाएको छ ।

पक्राउ पर्ने डरले पाँच लाखभन्दा बढी मानिस जोखिम मोलेरै भएपनि अफगानिस्तान फिर्ता भएका छन् ।दर्ता भएका अफगानी शरणार्थीको अर्को एक वर्ष बस्न पाउने अधिकारको विस्तार गर्ने तर कागजपत्र नभएका शरणार्थीलाई स्वदेश फर्काउने प्रयास जारी राख्ने इस्लामाबादले बुधबार बताएको छ ।

अन्तरिक्षमा फसेका नासाका अन्तरिक्ष यात्रीहरू बोइङ यानको सुरक्षित पृथ्वी फिर्तीमा विश्वस्त

गत महिना नै पृथ्वीमा फर्कने गरी बोइङको स्टारलाइनर अन्तरिक्ष यानमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पुग्नुभएका नासाका अन्तरिक्ष यात्री सुनीता ‘सुनी’ विलियम्स र ब्यारी ‘बुच’ विल्मोर केही हप्ता अगस्टसम्म अन्तरिक्षमा बस्नुपर्ने सम्भावना रहेको छ । इन्जिनियरहरूले प्राविधिक समस्याहरू समाधान जारी राख्दा दुई अन्तरिक्ष यात्रीलाई निर्धारितभन्दा लामो समयसम्म अन्तरिक्षमा राखिएको हो । विलियम्स र विल्मोरले अन्तरिक्षबाट आफ्नो पहिलो पत्रकार सम्मेलनमा पत्रकारहरूसँग कुराकानी गर्नुभएको छ ।

विभिन्न सुरक्षा चिन्ताका कारण स्टारलाइनर प्रक्षेपणका क्रममा शृङ्खलाबद्ध ढिलाइको अनुभव गरेको थियो । विलियम्स र विल्मोर बोइङ–निर्मित स्टारलाइनर क्याप्सुलको ऐतिहासिक परीक्षण मिसनमा पहिलो मानव चालक दल हुनुहुन्छ । 

स्टारलाइनरले आफुलाई पृथ्वीमा फिर्ता ल्याउन सक्ने विश्वास दुई अन्तरिक्ष यात्रीले व्यक्त गर्नुभएको छ । यद्यपि नासाले अन्तरिक्ष यात्रीहरूका लागि अनुमानित फिर्ती मिति साझा गरेको छैन । विल्मोरले उहाँहरूलाई घर पुर्याउने स्टारलाइनरको क्षमतामा पूर्णरूपमा विश्वस्त रहेको बताउनुभयो । 

“अन्तरिक्ष यान हामीलाई पृथ्वीमा फिर्ता ल्याउन सक्षम छ भन्नेमा म विश्वस्त छु, कुनै समस्या छैन”, विलियम्सले आइएसएसबाट पत्रकारहरूलाई भन्नुभयो, “हामी यहाँ थप दुई हप्ता रहनुपर्दा मेरो कुनै गुनासो छैन, बुचको कुनै गुनासो छैन ।” भारतीय मूलका नासाका अन्तरिक्ष यात्रीको अन्तरिक्षमा यो तेस्रो यात्रा हो ।

विल्मोर र विलियम्सले नासाको बोइङ क्रू फ्लाइट टेस्ट मिसनका लागि फ्लोरिडाको केप क्यानभेरल स्पेस फोर्स स्टेसनमा स्पेस लन्च कम्प्लेक्स–४१ बाट युनाइटेड लन्च एलायन्स एटलस ५ रकेटमा जुन ५ मा प्रक्षेपण गर्नुभएको थियो ।

‘गुन्यो चोलो उर्फ गुलाबी’ को प्रदर्शन मिति घोषणा, मितिसंगै सार्वजनिक भयो नाजिरको होसै उडाउने लुक्स

काठमाडौं । भर्सटायल अभिनेता नाजिर हुसेनको बहुप्रतिक्षित चलचित्र ‘गुन्यो चोलो- कमिङ अफ अ्याज अफ अ गर्ल’ उर्फ ‘गुलाबी’ को प्रदर्शन मिति घोषणा गरिएको छ। चलचित्र यहीँ कार्तिक ९ अर्थात अक्टाेबर २५ बाट रिलिज हुने पक्का भएको छ।

बिहीवार निर्माण टिमले नाजिरको लुक्स सहितको पोस्टर सार्वजनिक गर्दै चलचित्रको रिलिज मिति घोषणा गरेको हो। सार्वजनिक पोस्टरमा नाजिरको होसै उडाउने लुक्स देख्न सकिन्छ। नाजिरको लुक्स र पोस्टरले नै चलचित्रको कथावस्तु बोल्छ। सिने क्षेत्रमा भर्सटायल अभिनेताको छवि बनाएका नाजिरले यस चलचित्रमा पनि कडा मेहेनत गरेका छन भन्ने छनक पोस्टरबाटै मिल्छ। नाजिरले ‘गुन्यो चोलो- उर्फ गुलाबी’ कै लागि भनेर आफ्नो १६ केजी तौलसमेत घटाएका थिए।

पोस्टरमा नाजिर पहेलो रङ्गको वान पिसमा छन। उनले एउटा हातमा विग(नक्कली कपाल) बोकेका छन भने अर्को हातमा हिल्स बोकेका छन। उनको शरीरमा कहिँ कतै चोटको निशान छ। उक्त चोटको निशानले नाजिरको पिडा देखाउँछ। नाखमा नथिया, कानमा झुम्का र पुरै श्रृङ्गारमा सजिएका नाजिरको ‘ट्रान्सवुमन लुक्स’ आकर्षक देख्न सकिन्छ, जसको मेकअपदेखि चरित्र रुपान्तरण गज्जबको छ। पोस्टरका अनुसार चलचित्रमा नाजिरको पात्रको नाम ‘गुलाबी’ राखिएको छ।

यस चलचित्रलाई निर्देशक समुन्द्र भट्टले निर्देशन गरेकी हुन। चलचित्रमा उनले गरेको मेहेनत पनि कम छैन। नाजिरले यस चलचित्रको चरित्र निर्माणका लागि जति संघर्ष गरेका छन, समुन्द्रले पनि चलचित्रलाई न्याय दिन उतिनै मेहेनत गरेकी छिन। निर्देशक भट्टले चलचित्रको पटकथा निर्माण र अनुसन्धानमा लैंगिक अल्पसंख्यकको क्षेत्रमा कार्य गर्ने संस्थाहरु ‘निलहिरा समाज’ र ‘मितीनी नेपाल’ संग पनि परामर्श गरेकी थिइन। धेरै खोज र अनुसन्धानपछि उनले यस चलचित्रमा आफ्नो ज्यान भरेकी हुन। चलचित्रलाई लिएर समुन्द्र निकै आशावादी छिन। ‘गुन्यो चोलो उर्फ गुलाबी’ ले आफ्नो निर्देशनको यात्रामा थप उचाई थप्नेमा भट्ट विश्वस्त छिन।

अमेरिकी कम्पनी ‘भिजन ईन्टरटेन्मेन्ट’ र ‘दि स्काई ओसन ईन्टरटेन्मेन्ट’ को ब्यानरमा निर्माण भएको चलचित्रले पारलैंङ्गिकताकाे कथालाई उठान गरेको छ। चलचित्रमा समुन्द्र भट्ट र नाजिर हुसेनको पटकथा तथा संवाद छ। नाजिरको अलावा चलचित्रमा अभिनेत्री संचिता लुइँटेल, सुशील सिटाैला, अनुपम श्रेष्ठ र विशाल पहारीलाई पनि मुख्य भुमिकामा देख्न सकिन्छ।

चलचित्रको थिममात्र नभएर प्रोडक्सन पनि ए-वान छ। चलचित्रको सम्पुर्ण पोस्ट प्रोडक्सनकाे काम बाहिर गरिएको हो। चलचित्रको एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइनदेखी ब्याकग्राउन्ड म्युजिकसम्म्को काम हलिउड शैलीमा बाहिरै गरिएको छ। यसैबाट पनि चलचित्रको गुणस्तर मापन गर्न सकिन्छ। चलचित्रमा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन भने ब्याकग्राउन्ड म्युजिकको सम्पुर्ण काम मार्सेलो दि फ्रान्सिसीले गरेका छन। लिजाले स्वर भरेको वर्ष २०२४ कै बहुप्रतिक्षित हलिउड चलचित्र ‘ग्ल्याडिएटर-२’ यहीँ डिसेम्बरमा आउँदैछ।

नेपालको पहिलो पुर्णरुपको ट्रान्स स्टोरीमा निर्मित यो चलचित्र नेपाली फिल्म प्रोड्क्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोलाबोरेसनमा बनेको हो। चलचित्रमा आकाश बुढाथोकी र भि.भन्से जानुबोनको लगानी छ। चलचित्रको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जाेन्स्टन हुन। भने अनुपम श्रेष्ठ चलचित्रका सहयोगी निर्माता हुन।

आलोक शुक्लाले खिचेको चलचित्रमा लेखु सहयात्रीको गीत रचना, विजय बस्यालको प्रोड्क्सन डिजाईन र सुरक्षा भट्टराईको मिडिया कोर्डिनेसन रहेको छ। चलचित्रमा पुष्कर लामा प्रोडक्सन हेडमा र राम भण्डारी क्रिएटिभ हेडमा छन।