`

राष्ट्रियसभाको बैठक स्थगन भएकोप्रति ध्यानाकर्षण

काठमाडौँ, २७ असारः नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले राष्ट्रियसभाको बैठक स्थगित भएको विषयप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

आज तोकिएको राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा अधिकांश सदस्यहरुको असहमतिको बाबजूद पनि राष्ट्रियसभाको बैठक अचानक स्थगित भएको भन्दै ती दलले ध्यानाकर्षण भएको जनाएका हुन् ।

यही असार २३ गते नै नियमित कार्यसूचीमा आएका आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक २०८१, भन्सार महशुलसम्बन्धी विधेयक २०८१ लाई पारित गर्नुपर्नेमा अर्थमन्त्रीको गलत मनसायका कारण आजको बैठकमा अर्थमन्त्रीको अनुपस्थिति भन्दै राष्ट्रियसभाका अध्यक्षले उक्त दलहरुको असहमतिका बाबजुद बैठक स्थगित गर्नुभएको चार दलद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

यस कदमबाट राष्ट्रियसभाले विधेयकमा आफ्नो सुझाव र संशोधन राख्न पाउने संवैधानिक र कानुनी अधिकारसमेत हनन भएको एमालेको प्रमुख सचेतक भगवती न्यौपाने, कांग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकाय, जसपा दलका नेता मृगेन्द्रकुमार सिंह र लोसपा दलका नेता शेखरकुमार सिंहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘रेकर्ड ब्रेक’ वर्षाको अध्ययन गर्न मौसमविद्को टोली कञ्चनपुर

काठमाडौँ, २७ असार: पश्चिम नेपालको कञ्चनपुरमा ‘रेकर्ड ब्रेक’ भएको वर्षाबारे जल तथा मौसम विज्ञान विभागले अध्ययन गर्न लागेको छ । विभागले आजै त्यसतर्फ विज्ञसहितको टोली अध्ययनका लागि खटाएको छ । विभागका वरिष्ठ मौसमविद् इन्दिरा कँडेलको नेतृत्वमा आजै टोली कञ्चनपुर गएको हो ।

कँडेलका अनुसार त्यहाँको वर्षा मापन केन्द्रको अवस्था, वस्तुस्थिति तथा प्राविधिक पक्षको अध्ययन गरिनेछ । कतिपय अवस्थामा वास्तविकतामाथि प्रश्न उठेकाले वास्तविक के कस्तो हो, यन्त्र उपकरण ठीक छ छैनलगायत सबै विषयमा अध्ययन गरिने उहाँले बताउनुभयो । 

अध्ययनका क्रममा त्यस क्षेत्रको क्षतिको अवस्थासहित स्थानीय पालिकाका प्रतिनिधि, स्थानीय तथा सरकारी अधिकारीसँग जानकारी लिइने जनाइएको छ । पानीपर्दाको अवस्थामा स्थानीयको अनुभव लिइनेछ ।

कञ्चनपुरको दोधारा, हनुमाननगर र सुन्दरपुर क्षेत्रमा यही असार २३ र २४ गते परेको मुसल्धारे वर्षाले ७८ वर्षकै रेकर्ड ब्रेक गरेको थियो । त्यहाँ विभागले स्वचालित वर्षा मापन केन्द्र स्थापना गरेको छ ।

सो क्षेत्रमा २००३ सालयताकै बढी वर्षा मापन भएको थियो । विभागबाट प्राप्त विवरणअनुसार दोधारामा छ सय २४ मिलिमिटर, हनुमाननगरमा पाँच सय ७३ दशमलव छ मिलिमिटर तथा सुन्दरपुरमा पाँच सय ५५ दशमलव आठ मिलिमिटर वर्षा मापन गरिएको थियो ।

अर्थमन्त्रालय लगायतसँग सहकारी छानविन संसदीय विशेष समितिको छलफल

काठमाडौँ, २७ असार : प्रतिनिधिसभा, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले संसद्ले दिएको कार्यादेशअनुसार आज अर्थमन्त्रालय, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व न्यायाधीकरणलगायतसँग छलफल गरेको छ ।

छलफलका क्रममा ती निकायका अधिकारीले सहकारी सिद्धान्तका आधारमा नचल्दा समस्या आएको, चिनजान भएकासँग सहकारीका सञ्चालकले लेनदेन गर्ने गरेको, स्वनियमन भनिए पनि हुन नसकेको, बचत तथा ऋण सहकारीमा स्रोत नखुलेको करोडौँ रुपैयाँ अपारदर्शी रुपमा राखिएको, ऐन, नियमका प्रावधान पालना नभएका कारण सहकारीमा समस्या आएको बताएको समिति सदस्य ईश्वरी न्यौपानेले जानकारी दिनुभयो ।

समितिले सरोकार भएका निकायसँग कागजात मगाएर, ती निकायका अधिकारीको भनाइ सुन्ने, बुझ्नेगरी अध्ययन गरिरहेको सचिव बबिता मिश्रले राससलाई जानकारी दिनुभयो । छलफलको क्रम निरन्तर रहेको समितिले जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको लामो विरोधपछि संसद्बाट एक महिनाअघि समस्या देखिएका सहकारीका विषयमा अध्ययन गर्न समिति गठन भएको थियो । 

समितिलाई समस्यामा परेका बचतकर्ताको रकमका बारेमा अध्ययनगरी सिफारिस गर्ने, बचत फिर्ताको अवस्था कहाँ पुगेको छ, त्यसको अध्ययन गर्ने, रकम हिनामिना भएको भनिएका सहकारीबाट गोरखा मिडिया नेटवर्कमा रकम पठाउँदा कानुनबमोजिम प्रक्रिया पूरागरी भए, नभएको अध्ययन गर्नेलगायत जिम्मेवारी  दिइएको छ ।

कोशी प्रदेशलाई उत्कृष्ट बनाउनेतर्फ काम गरिरहेको मुख्यमन्त्री कार्कीको भनाइ

मोरङ, २७ असार: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशलाई सबै क्षेत्रमा उत्कृष्ट बनाउनेतर्फ काम गरिरहेको बताउनुभएको छ ।सामाजिक विकास मन्त्रालयद्वारा यहाँ आज आयोजित प्रदेशसभाका विषयगत समितिका सभापति र सामाजिक समितिका सदस्य तथा महिला सदस्यसँग लैङ्गिक रुपान्तरणकारी दृष्टिकोण तथा लैङ्गिक उत्तरदायी बजेटसम्बन्धी गोष्ठीको उद्घाटन गर्दै उहाँले सरकारको प्राथमिकता मानवीय विकासको सूचकाङ्कलाई उच्च पार्नु रहेको विचार राख्नुभयो ।

मुख्यमन्त्री कार्कीले नीतिगत रुपमा बजेटमा लैङ्गिक विभेद नगरेको चर्चा गर्दै सामाजिक उत्तरदायित्वमा बजेटउन्मुख रहेको विचार व्यक्त गर्नुभयो । उहाँले कर्मचारी अभावका कारण लक्ष्यअनुसारको बजेट खर्च गर्न नसकिरहेको गुनासो गर्नुभयो ।

उहाँले चालु आर्थिक वर्षमा ७८ दशमलव ३५ प्रतिशत पुँजीगत र ७५ दशमलव ३६ प्रतिशत बजेट खर्च भएको जानकारी दिनुभयो । सामाजिक विकासमन्त्री पाँचकर्ण राईले महिलामैत्री, सामाजिक उत्थान, भेदभाव  अन्त्यतर्फ  ध्यान केन्द्रित रहेको बताउनुभयो ।

प्रदेशसभाका उपसभामुख सिर्जना दनुवार, ज्येष्ठ सदस्य गयानन्द मण्डल, मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराई र पूर्वसचिव कृष्णहरी बाँस्कोटाले दलगत राजनीतिबाट माथि उठी महिला उत्थानका विषयमा प्रदेशसभामा आवाज उठाउन आग्रह गर्नुभयो ।

पाडाबाच्छी हुर्काउने किसानलाई ६० लाख अनुदान

दमौली (तनहुँ), २७ असारः भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले पाडाबाच्छी हुर्काउने तीन सय २७ किसानलाई रु ६० लाख ४० हजार अनुदान उपलब्ध गराएको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ मा तीन सय २७ कृषकलाई छ सय चार पाडाबाच्छी हुर्काएवापत सो रकम उपलब्ध गराएको हो ।

प्रति पाडाबाच्छी रु १० हजारका दरले किसानलाई अनुदान दिइएको केन्द्रका प्रमुख डा राजेश चौधरीले जानकारी दिनुभयो । कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत नश्लका पाडाबाच्छी हुर्काउन प्रोत्साहनस्वरुप अनुदानको कार्यक्रम सञ्चालन गरिएको चौधरीले बताउनुभयो । कार्यक्रमका लागि रु ७० लाख बजेट भएपनि ८६ दशमलव २९ प्रतिशत मात्रै प्रगति भएको उहाँको भनाइ छ ।

तीन सय ३१ कृषकबाट छ सय १८ पाडाबाच्छीको प्रस्ताव आएपनि तीन सय २७ कृषकका छ सय चार पाडाबाच्छीलाई मापदण्डका आधारमा अनुदान उपलब्ध गराइएको चौधरीले बताउनुभयो ।

गत वर्ष एक सय ६० जना किसानलाई जनही रु १० हजारका दरले रु १६ लाख वितरण गरिएपनि यस वर्ष यो कार्यक्रममा कृषकको आकर्षण बढेको चौधरीले उल्लेख गर्नुभयो । डा चौधरीका अनुसार जन्मिएको दर्ता गरी हुर्किएको देखाएपछि किसानले अनुदान पाउने व्यवस्था गरिएको छ । गण्डकी प्रदेश सरकारले उन्नत जातका भैँसी तथा गाईमा आत्मनिर्भर बन्न पाडापाडी तथा बाच्छाबाच्छी संरक्षण गर्ने कार्यक्रम अगाडि बढाएको थियो ।

नेपालमा अभाव हुने गरेकाले मुर्रा भैँसी र जर्सी गाई भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको छ । केन्द्रका प्रमुख डा चौधरीले भन्नुभयो, “अनुदान पाएपछि किसानले हुर्काउँछन्, यसले दीर्घकालीनरूपमा परनिर्भरता हटाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।”

केन्द्रका अनुसार व्यास नगरपालिकाका एक सय सात कृषकका दुई सय आठ, शुक्लागण्डकी नगरपालिकाका तीन किसानका आठ, भानु नगरपालिकाका २८ किसानका ४५, आँबुखैरेनी गाउँपालिकाका ५० किसानका ८४, बन्दीपुर गाउँपालिकाका एक सय पाँच किसानका दुई सय २१, म्याग्दे गाउँपालिकाका २१ किसानका २५, ऋषिङ गाउँपालिकाका एक किसानका एक र देवघाट गाउँपालिकाका १२ किसानका १२ पाडाबाच्छीलाई प्रोत्साहन स्वरुप अनुदान दिइएको छ ।

सरकार सबै राजमार्गमा सञ्चारको सञ्जाल पुर्याउन केन्द्रित छ : सञ्चार सचिव सुवेदी

काठमाडौँ, २७ असार : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले सरकारले सबै राजमार्गमा टेलिफोनको ‘नेटवर्क कभरेज’ गर्नेगरी काम गरिरहेको बताउनुभएको छ । नेपाल मोबाइल व्यवसायी महासङ्घको तेस्रो स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले जनतालाई गुणस्तरीय सञ्चार सेवा प्रदान गर्न सरकार राजमार्गमा टेलिफोनको नेटवर्क कभरेज विस्तारमा केन्द्रित रहेको उल्लेख गर्नुभयो ।

सचिव सुवेदीले सरकार नयाँ दूरसञ्चार ऐन बनाउन लागेको र सरोकारवालाको सुझावका लागि विधेयकको मस्यौदा मन्त्रालयको वेभसाइटमा राखिएको जानकारी गराउँदै आवश्यक सुझावका लागि आग्रह गर्नुभयो ।

आजको सूचना प्रविधिको डिजिटल युगमा मोबाइल आम मानिसको अभिन्न अङ्ग बनेको र सबैको दैनिक जीवनसँग जोडिएको बताउँदै उहाँले मोबाइल विद्यार्थीका लागि सजिलो सिकाइको माध्यमसमेत बनेको उल्लेख गर्नुभयो । सूचना प्रविधिको महत्वलाई आत्मसात् गर्दै सरकारले आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणा गरेको सचिव सुवेदीको भनाइ थियो ।  

कार्यक्रममा महासङ्घका अध्यक्ष भरत भट्टराईले यो क्षेत्रका व्यवसायीले आफ्नो व्यवसायसँगै ठूलो मात्रामा सरकारलाई कर तिरिरहेको बताउँदै सरकारले त्यस्तो कर जनताको शिक्षा स्वास्थ्य जस्तो क्षेत्रमा सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले मोबाइल उत्पादक कम्पनीले उपभोक्तालाई भार नपर्ने गरी वितरकलाई १० प्रतिशत ‘मार्जिन’ प्रदान गर्न सके यो व्यवसाय दिगो हुने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा आइटेल मोबाइल कम्पनीले महासङ्घसँग न्यूनतम १० प्रतिशत मार्जिन दिने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । हाल मोबाइल व्यवसायीले चार प्रतिशत मार्जिनमा व्यवसाय गरिरहेका छन् । महासङ्घले सबै मोबाइल उत्पादक कम्पनीसँग १० प्रतिशत मार्जिनमा व्यवसाय गर्ने लक्ष्य राखेको महासङ्घका वरिष्ठ उपाध्यक्ष सुरेश प्रसाईं (सोभित)ले जानकारी दिनुभयो । 

अवरुद्ध पृथ्वीरामार्ग एकतर्फी खुल्यो

मुग्लिन (चितवन), २७ असार : पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग एकतर्फी खुलेको भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–३ मौवाखोला नजिकै आज बिहान पहिरो खस्दा राजमार्गमा दुईतर्फी नै यातायात आवागमन रोकिएको थियो ।

अहिले पहिरो पन्छाइ एकतर्फी यातायात सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिनुभयो । उहाँले अनुसार आवागमन दुईतर्फी नै सञ्चालन गर्न केही समय लाग्ने बताउनुभयो । निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको जनाइएको छ । सो राजमार्गका दैनिक कति सवारी साधन आवतजावत हुन्छ भन्ने एकीन जानकारी सरकारी निकायसंग छैन ।

कैलालीमा डेङ्गीका बिरामी बृद्धि, एक हजार बढी डेङ्गीका बिरामी

टीकापुर, २७ असार : गत वर्षका तुलनामा यस वर्ष कैलालीमा डेङ्गीका बिरामी बृद्धि भएका छन् । यसवर्ष एक हजार एक जना डेङ्गी सङ्क्रमित भएका छन् । गत वर्ष ४५५ जना डेङ्गीबाट सङ्क्रमित भएका थिए । टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले दिएको जानकारीअनुसार गत वर्ष धनगढीमा एक सय ७३, लम्कीचुहामा एक सय १३, बर्दगोरियामा ७२, टीकापुरमा ४० ,जानकीका चार, भजनीका पाँच र जोशीपुरमा छ जनामा डेङ्गी सङ्क्रमण देखिएको थियो ।

विसं २०८० मा डेङ्गीबाट कैलालीमा तीन जनाको मृत्यु भएको थियो । कैलाली डेङ्गीको उच्च जोखिममा रहेका १० जिल्लामा नवौँ स्थानमा पर्छ । डेङ्गीसँगै कैलाली स्क्रफ टाइफसको पनि जोखिममा छ । यस वर्ष जिल्लामा स्क्रफटाइफस सात सय ३७ जनामा देखिएको छ । गत वर्ष पाँच सय २९ जना बिरामी उपचारमा आएका थिए । टीकापुरमा स्क्रफटाइफसका गत वर्ष ७३, लम्कीचुहामा तीन सय एक जना बिरामी थिए ।

स्थानीय पालिकाले सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि लामखुट्टका लार्भा नष्ट अभियान, सरसफाइ अभियान, जनचेतनामूलक कार्यक्रम, प्रचारप्रसार जस्ता कार्य गर्दै आएका छन् । टीकापुर अस्पतालका जनरल मेडिसिन दिलीपकुमार शाहले रोग लाग्नबाट बच्नु नै उत्तम उपाय भएको बताउँदै डेङ्गी मानिसलाई पटकपटक भएमा जोखिम हुने बताउनुभयो । “डेङ्गी पटकपटक हुनु जोखिम हुन्छ, डेङ्गी भएर जटिल अवस्था आएमा ज्यानसमेत जानसक्ने भएकाले नागरिक सचेत हुनुपर्छ”, उहाँले भन्नुभयो, “बर्षातका समयमा लामखुट्टेको टोकाइबाट बचेमा धेरै रोगबाट बच्न सकिन्छ ।”

डा शाहले डेङ्गी तीन अवस्थाको हुने जनाउँदै ज्वरो अवस्था खासै जोखिम नहुने, संवेदनशील अवस्थामा खतरा हुने भएकाले समयमै उपचारमा जानुपर्ने बताउनुभयो । टीकापुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट तथा वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर रेमकुमार राइले अस्पतालमा २४ जना चिकित्सक रहेका, विपद्मा आवश्यक औषधि, उपचार र सक्रियताबारे छलफल गरेर योजना निर्माण गरिएको बताउनुभयो । उहाँले वर्षातमा डेङ्गी, टाइफसजस्ता बिरामी बढी आउने भएकाले यस्तो बेला सचेतना, पूर्वतयारी सबैतिर आवश्यक हुने बताउनुभयो । “त्यसै पनि हामीकहाँ बिरामीको चाप छ, विपद् जोखिम रहेको यो क्षेत्रमा बर्सातमा अझ बिरामी बढ्ने भएकाले हामीले तयारी गरेका छौँ”, उहाँले भन्नुभयो, “यो समयमा चिकित्सक बिदामा नबस्ने, औषधि, उपकरणको जोहोजस्ता तयारी गरेका छौँ ।”

टीकापुर अस्पतालका अध्यक्ष झपट सोडारीले अस्पतालको फोहोर व्यवस्थापनमा पालिकालाई सघाउन आग्रह गर्नुभयो । “फोहोरकै कारण धेरै रोग लाग्छन्, सरुवा रोगबाट बच्न सरसफाइमा ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो, “हामीसँग दुईवटा फोहोर प्रशोधन गर्ने अटोक्लेभ मेसिन छन् । नगरपालिकाले नगरभित्र सङ्कलन भएको प्लाष्टिकजन्य फोहोर हामीकहाँ प्रशोधन गर्न सक्छ ।”

अध्यक्ष सोडारीले आफूहरु टीकापुरसहित अन्य पालिकाको फोहोरसमेत प्रशोधन गर्नसक्ने भएकाले सहकार्य गर्न तयार रहेका बताउनुभयो । “मिलेर फोहोर व्यवस्थापन गरेमा प्लाष्टिकको पुनः प्रयोग गरेर आम्दानी गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “हामीले प्रशोधन गरेको फोहोर बिक्री गर्ने गरेका छौँ ।”

आज बस्ने राष्ट्रियसभा बैठकमा के के हुदैछ ? यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । आज राष्ट्रिय सभा बैठक बस्दैछ । बैठक आज दिउँसो सवा १ बजे बस्नेछ । सार्वजनिक कार्यसूची अनुसार आजको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्रबारे जानकारी गराउनेछन् ।

यक्तै अर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयक, २०८१ दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने र पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउन प्रस्ताव गर्नेछन् ।

एकीकृत छैनन् सामाजिक सुरक्षाका कार्यक्रम, कार्यान्वयनमा कानुन तगारो

काठमाडौँ, २७ असार : सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा सामाजिक सुरक्षाका कार्यक्रमलाई एकीकृत गर्ने र दोहोरोपन हटाउने लक्ष्य लिएको भए पनि नीतिगत अस्पष्टताका कारण यो योजना कार्यान्वयन हुन सकेको छैन ।

चालु आव २०८०/८१ को बजेट वक्तव्यको बुँदा नम्बर २८७ मा ‘सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालनका लागि दिगो स्रोत व्यवस्थापनको नीति लिइने, हाल सञ्चालित सामाजिक सुरक्षाका कार्यक्रमलाई एकीकृत गरी दोहोरोपन हटाइने र लक्षित वर्गमा केन्द्रित गरी थप प्रभावकारी बनाउँदै लगिने छ’ भनिएको छ ।

तर, सामाजिक सुरक्षाका योजना कार्यान्वयन गरिरहेका कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषको कार्यक्षेत्र उस्तै–उस्तै देखिन्छ भने यी निकायले उपलब्ध गराइरहेका सामाजिक सुरक्षाका कार्यक्रम पनि समान प्रकृतिका छन् । एउटै प्रकृतिको काम तीनवटा संस्थाबाट भइरहेको अहिलेको सन्दर्भमा कानुनी रुपमै कार्यक्षेत्र थप स्पष्ट पारेर जानुपर्ने आवश्यकता रहेको कर्मचारी सञ्चय कोषका प्रशासक जीतेन्द्र धिताल बताउनुहुन्छ ।

“एउटै प्रकृतिको अथवा भनौँ न एउटै सेवा राज्यका फरक–फरक निकायबाट दिनुभन्दा एउटै संस्थाबाट दिँदा दोहोरोपन नहुने, छरिएर नरहने र सेवाको लागत पनि घट्ने हुनसक्छ”, धितालको भनाइ छ, “सरकारी र सार्वजनिक निकायका कर्मचारीले पाउने सबै खालका सामाजिक सुरक्षाका कार्यक्रम कर्मचारी सञ्चय कोषमार्फत अघि बढाउन उपयुक्त हुन्छ । यसका लागि कर्मचारी सञ्चय कोष सबै हिसाबले सक्षम पनि छ । अन्य क्षेत्रलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्दै लैजानुपर्छ ।”

सञ्चय कोषले औपचारिक क्षेत्रका र सामाजिक सुरक्षा कोषले अनौपचारिक क्षेत्रका व्यक्तिलाई सामाजिक सुरक्षामा आबद्ध गर्न सक्नेगरी जान सकिने विकल्प रहेको प्रशासक धिताल बताउनुहुन्छ । “सञ्चय कोष नीति नियममा बसेको बलियो संस्थाका रुपमा स्थापित भइसकेको छ । अन्तर्राष्ट्रिय संस्थासँगको आबद्धता, सबल पूर्वाधार, अनुभवी कर्मचारीलगायतका कारण पनि सरकारी र सार्वजनिक क्षेत्रको एकीकृत अवकाश कोषका रुपमा सञ्चय कोषले काम गर्नसक्छ”, उहाँले भन्नुभयो, “योगदानमा आधारित र गैरयोगदानमा आधारित सामाजिक सुरक्षालाई फरक–फरक तरिकाले सञ्चालन गर्न उपयुक्त हुन्छ । सोही अनुसार संस्थाको कार्यक्षेत्र पनि कानुनीरुपमा स्पष्ट पारिनुपर्छ ।”

कर्मचारी सञ्चय कोषले निवृत्तिभरण कोष पनि सञ्चालन गरिरहेको छ । सञ्चय कोष ऐन, २०१९ र निवृत्तिभरण कोष ऐन, २०७५ लाई संशोधन गरी एकीकृत ऐन निर्माणका लागि कर्मचारी सञ्चय कोषको सञ्चालक समितिबाट स्वीकृत भइसकेको छ भने अर्थ मन्त्रालयबाट पनि सहमति पाइसकेको छ । उक्त एकीकृत ऐनको मस्यौदा अहिले सहमतिका लागि कानुन मन्त्रालयमा पुगेर अड्किएको छ । त्यस्तै, वैदेशिक रोजगारीमा गएकालाई पनि सामाजिक सुरक्षामा आबद्ध गर्ने भनेर सञ्चय कोष ऐनमा व्यवस्था राखिएको छ । यो व्यवस्था कार्यान्वयनका लागि छुट्टै नियमावली तयार पारेर स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइएको हालसम्म पनि स्वीकृत भएर आउन सकेको छैन ।

यसरी, सामाजिक सुरक्षाका कार्यक्रमलाई एकीकृत गर्ने र दोहोरोपना हटाउने सरकारको योजना रहे पनि संसद्मा दर्ता भएर विचाराधीन रहेको ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ मस्यौदाकै व्यवस्थासहित पारित भएर आएमा निजामती कर्मचारीको सामाजिक सुरक्षासम्बन्धी व्यवस्थालाई थप अव्यवस्थित र भद्रगोल बनाउने देखिन्छ । उक्त विधेयकको दफा ५० मा बीमासम्बन्धी व्यवस्था राखिएको छ भने निजामती कर्मचारीको लागि योगदानमा आधारित सावधिक जीवन बीमा गर्ने र त्यस्तो बीमाको व्यवस्थापन गर्न एक सावधिक जीवन बीमा कोष स्थापना गरिने उल्लेख छ । विद्यमान संरचनाभित्रबाटै यो व्यवस्था कार्यान्वयन गर्नसक्ने ठाउँ भए पनि थप अर्को संरचना खडा गर्नेगरी निजामती सेवा विधेयकले यो व्यवस्था ल्याएको देखिन्छ ।

त्यस्तै, विधेयकमा ‘निजामती कर्मचारी तथा कर्मचारीको परिवारका सदस्यको औषधि उपचारका लागि सामाजिक सुरक्षा कोषसँग आबद्ध गरी योगदानमा आधारित स्वास्थ्य बीमा योजना लागू गर्ने’ उल्लेख छ । जबकी, अहिले कर्मचारी सञ्चय कोषले ‘सञ्चयकर्ता स्वास्थ्य उपचार योजना’ लागू गरिरहेको छ र निजामती कर्मचारीले पनि यो सुविधा पाउँछन् । सञ्चय कोषमार्फत कार्यान्वयनमा आइसकेको यो योजनालाई फेरि सामाजिक सुरक्षा कोषतर्फ सार्नुको औचित्य देखिँदैन ।

निजामती कर्मचारीका लागि आवास सुविधा दिने र त्यस्तो सुविधाका लागि कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषसँग आबद्ध गरिने विषय पनि विधेयकमा राखिएको छ । सञ्चय कोषमार्फत अहिलेपनि सञ्चयकर्ताका लागि घर खरिद सापटी, जग्गा खरिद सापटी, घर मर्मत सापटीलगायतका सुविधा उपलब्ध भइरहेका छन् । यसरी एउटै प्रकृतिका सामाजिक सुरक्षाका योजना कार्यान्वयनका लागि फरक–फरक संरचनाले काम गर्नु कति उपयुक्त हुन्छ भन्ने प्रश्न छ ।

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको बुँदा नम्बर १४० मा एकीकृत सामाजिक सुरक्षाको अवधारणाअनुरुप सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा कार्यक्रमबीच अन्तरआबद्धता कायम गरी कोषमा आबद्ध योगदानकर्ताको स्वास्थ्य बीमा सामाजिक सुरक्षा कोषमार्फत् हुने व्यवस्था मिलाइने उल्लेख छ । त्यस्तै, योगदानमा आधारिक सामाजिक सुरक्षा प्रणालीको दायरा विस्तार गरी अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई क्रमशः सामाजिक सुरक्षा कोषमा आवद्ध गर्दै लगिने पनि बजेटमा उल्लेख छ । सामाजिक सुरक्षासम्बन्धी सरकारको स्पष्ट नीति नहुँदा योजना छरिएर बस्ने र दोहोरोपना बढ्ने देखिन्छ ।

आगामी आव आधार वर्ष रहेको १६ औँ पञ्चवर्षीय आवधिक योजनाले सामाजिक सुरक्षाको वित्तीय दिगोपना सुनिश्चित गर्दै दायरा विस्तार गर्ने लक्ष्य राखेको छ । सामाजिक सुरक्षाको वर्तमान संरचना र प्रणालीलाई एकीकृत एवं व्यवस्थित गर्दै जीवनचक्रका जोखिम न्यूनीकरण गरी नागरिकलाई सामाजिक सुरक्षाको दायरामा समेट्नु यो आवधिक योजनाको उद्देश्य हो । अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गर्ने, लक्षित लाभग्राहीको दोहोरोपन हटाउने, बीमालगायतका योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा फराकिलो र प्रभावकारी बनाई सबै प्रकारका श्रमिकलाई समेट्ने, योगदानमा आधारित एवं उत्पादनशील सामाजिक सुरक्षा प्रणाली स्थापना गर्नेलगायतका व्यवस्था १६ औँ आवधिक योजनामा राखिएका छन् ।

योगदानमूलक सामाजिक सुरक्षाका कार्यक्रममा योगदानमा आधारित निवृत्तिभरण, सामाजिक सुरक्षा कोषका सुरक्षा योजना, स्वास्थ्य बीमा, दुर्घटना बीमा, आश्रित परिवार सुरक्षा, सन्तति शैक्षिक वृत्ति, सुरक्षित मातृत्वलगायतका सुविधा कार्यान्वयनमा रहेको देखिन्छ । जुन कर्मचारी सञ्चय कोषमार्फत कार्यान्वयन भइरहेका छन् । कर्मचारी सञ्चय कोषले सार्वजनिक तथा निजी क्षेत्रका कर्मचारी र स्वरोजगारमा संलग्न व्यक्तिहरुका लागि सञ्चय कोषको व्यवस्थापन गर्छ । साथै कोषले निवृत्तिभरण कोष ऐन, २०७५ बमोजिम २०७६ साउन १ गतेदेखि नियुक्त भएका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सरकारको स्वामित्वमा रहेका तथा अनुदानमा सञ्चालन हुने सबै निकायका कर्मचारीको योगदानमा आधारित निवृत्तिभरण कोष व्यवस्थापनको काम गर्दै आएको छ ।

विभिन्न सापटी सुविधा र सामाजिक सुरक्षा सुविधा उपलब्ध गराइरहेको छ । योगदानकर्ताले विशेष सापटी, सञ्चयकर्ता घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, जग्गा खरिद सापर्टी र सरल सापटी दिइरहेको छ । विशेष सापटीतर्फ सञ्चय कोष रकमको ९० प्रतिशतसम्म, घर तथा जग्गा खरिद सापटी रु एक करोडसम्म, घर मर्मत सापटी रु ३० लाखसम्म तथा शैक्षिक र सरल सापटी रु ४० लाखसम्म उपलब्ध गराउँदै आएको छ ।

त्यस्तै, सामाजिक सुरक्षा सुविधातर्फ दुर्घटना क्षतिपूर्ति, काजकिरिया अनुदान योजना, सञ्चयकर्ता स्वास्थ्योपचार योजना, सुत्केरी तथा शिशु स्याहार लगायत सुविधा दिईरहेको छ । दुर्घटना क्षतिपूर्ति योजनाअन्तर्गत योगदानकर्ता वा योगदानकर्ताको हकवालालाई रु दुई लाख उपलब्ध गराउँदै आएको छ ।

सञ्चयकर्ता स्वास्थ्योपचार योजनाअन्तर्गत सञ्चयकर्ता वा निजको पति वा पत्नीको साधारण रोग उपचार गराएको हकमा प्रत्येक आर्थिक वर्षमा रु एक लाखसम्म र घातक रोगको उपचारको हकमा सेवा अवधिभरमा अधिकतम रु १० लाखसम्म रकम शोधभर्ना उपलब्ध गराउँदै आएको छ । सुत्केरी तथा शिशु स्याहार सुविधातर्फ प्रतिप्रसूति रु सात हजार पाँच सय बराबर नोकरी अवधिमा दुई पटकसम्म उपलब्ध गराउने गरेको छ । त्यस्तै, काजक्रिया अनुदानका रुपमा हकवालाई रु ४० हजार उपलब्ध गराउने गरेको छ ।

अहिले सञ्चय कोषमा २७ हजार छ सय कार्यालयका रु पाँच लाख ८२ हजार योगदानकर्ता आबद्ध छन् । त्यस्तै, निवृत्तिभरण कोषमा तीन हजार दुई सय कार्यालयका ६३ हजार तीन सय योगदानकर्ता रहेका छन् । गत आव २०७८/८० सम्ममा सञ्चय कोषमा रु चार खर्ब ६५ अर्ब र निवृत्तिभरण कोषमा रु छ अर्ब ३६ करोड बराबर जम्मा भएको छ ।

त्यस्तै, जगेडा कोष तथा बचतमा रु ३६ अर्ब ८२ करोड, दायित्व तथा व्यवस्थातर्फ रु छ अर्ब १० करोड रहेको छ । यो अवधिसम्मको कूल स्रोत रु पाँच खर्ब १४ अर्ब ३० करोड रहेको कोषले रु पाँच खर्ब आठ अर्ब ६३ करोड बराबर लगानी गरेको छ ।

जङ्गली जनावरको आक्रमणबाट मृत्युभएका परिवारलाई १० लाख राहत प्रदान

अछाम- जङ्गली जनावर बँदेलको आक्रमणबाट मृत्युभएका यहाँका एक पीडित परिवारलाई राहत रकम प्रदान गरिएको छ । तुर्माखाद गाउँपालिका–३ का २९ वर्षीया दिलादेवी बयकको विसं २०८० साउन ३२ गते खेतबारीमा काम गरेर घर फर्किने बेला जङ्गली जनावर बँदेलको आक्रमणबाट मृत्यु भएको थियो ।

एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल र डिभिजन वन कार्यालयका प्रमुख जनक पाध्यायले मृतक बयकका श्रीमान् बलबहादुर बयकलाई रु १० लाखको चेक हस्तान्तरण गर्नुभयो ।

जिल्लामा जङ्गली जनावरले गरेको क्षतिवापत पीडितलाई रु ६७ लाख रकम प्रदान गर्नुपर्नेछ तर जङ्गली जनावरको आक्रमणबाट मृत्युभएका एकजनाका परिवार र घाइते ११ जनालाई चालु आर्थिक वर्षमा रु १६ लाख राहत रकम उपलब्ध गराइएको डिभिजन वन कार्यालय प्रमुख पाध्यायले जानकारी दिनुभयो । अन्य घाइते, मृतक र जङ्गली जनावरले क्षति पुर्‍याएका किसानको राहत रकम अर्को आर्थिक वर्षमा उपलब्ध गराइने उहाँले बताउनुभयो ।

अन्नबालीमा चार सय १३ जना किसानको रु १७ लाख ६४ हजार आठ सय, पशुधनतर्फ ७७ जना किसानको रु २८ लाख रकम राहत दिन बाँकी छ । आव २०७८/७९ देखि हालसम्म जङ्गली जनावरको आक्रमणबाट अछाममा दुईजनाको र १९ जना घाइते भएका छन् ।

कागबेनीमा बाढी नियन्त्रण गर्न पक्की पर्खाल निर्माण

म्याग्दी, २७ असार : बाढीले तहसनहस बनाएको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका नदी नियन्त्रणका लागि पक्की पर्खाल निर्माण भएको छ । विसं २०८० साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर धर्मशाला, सामुदायिक भवन, प्रहरीचौकीको भवन, तटबन्धनलगायत १४ सार्वजनिक भौकि संरचना र व्यक्तिका ५० घरमा क्षति पुगेको थियो ।

भू–तथा जलाधार संरक्षण कार्यालय पर्वतले कागखोलाको बाढी नियन्त्रणका लागि किनारामा पक्की पर्खाल निर्माण गरेको हो । कार्यालयका प्रमुख वरिष्ठ भू– तथा जलाधार संरक्षण अधिकृत दिवाकर पौडेलले रु ३३ लाख ४० हजारको बजेटमा कागखोलाको किनारमा ५१ मिटर पक्की पर्खाल निर्माण भएको जानकारी दिनुभयो ।

“गण्डकी प्रदेश सरकारले रु ३५ लाख बजेट विनियोजन गरेको कागबेनी नदी नियन्त्रण योजनाको प्राविधिक नापजाँच गर्दा रु एक लाख ६० हजार कम भुक्तानी भएको छ”, उहाँले भन्नुभयो, “१.८ मिटर फराकिलो जग भएको चार मिटर अग्लो पर्खालको माथिल्लो भाग ५५ सेन्टिमिटर चौडाइको छ ।”

सो पर्खालले कागबेनीको छोप्तेन गुम्बा र बस्तीमा बाढी नियन्त्रणका लागि सहयोग पुगेको उपभोक्ता समितिका अध्यक्ष ख्याम्चो गुरुङले बताउनुभयो । गाउँपालिका, समुदाय, सुरक्षा निकाय र दाताको श्रम तथा रु एक करोड बढी आर्थिक सहयोग जुटाएर बाढी व्यवस्थापन गरी कागबेनीलाई पुरानै लयमा फर्काउने प्रयास गरेका छन् ।

बाढीले कटान गरेर बस्तीमा पसेको कागखोलालाई पुुरानै धारमा फर्काएर बगाइएको छ । अस्थायी पुल बनाएर आवतजावतको व्यवस्था मिलाइएको छ । बाढी पन्छाएर श्रद्धास्थल पनि बनाएका छन् । नदी नियन्त्रणका लागि थप पक्की पर्खाल निर्माण गर्न आवश्यक रहेको, प्रदेश र सङ्घीय सरकारसँग पहल गरिएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बताउनुभयो ।

गण्डकी प्रदेश : कास्कीमा अनुदानकै बजेट खर्च भएन

कास्की, २७ असार : गण्डकी प्रदेश सरकारले दुग्ध उत्पादक कृषकलाई उत्पादनका आधारमा अनुदान रकम प्रदान गर्दै आएको छ । कास्कीमा दूध उत्पादनमा कृषकलाई यसअघि प्रतिलिटरमा दुई रुपैयाँ ५० पैसा अनुदान दिँदै आएकामा यस वर्ष वृद्धि गरी प्रतिलिटर रु पाँच दिने योजनाअनुसार बजेट विनियोजन गरिएको थियो । तर मन्त्रालयबाट यससम्बन्धी कार्यविधि स्वीकृत नहुँदा कृषकले सरकारले वृद्धि गरेको अनुदान रकम पाउनबाट वञ्चित भएका हुन् ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीले चालु आर्थिक वर्षमा दूध उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रमका लागि रु दुई करोड बजेट विनियोजन गरे पनि रु एक करोड ४९ हजार सात सय ३८ मात्र खर्च भएको छ । कृषकले सरकारले विनियोजन गरेको बजेटको आधा मात्र पाएका छन् ।

चालु वर्षमा समेत विगत वर्षमा जस्तै प्रतिलिटर दुई रुपैयाँ ५० पैसाका दरले कृषकलाई प्रोत्साहन रकम प्रदान गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डेले बताउनुभयो । उहाँले वृद्धि भएको अनुदान रकम मन्त्रालयबाट कार्यविधि आउन ढिलाइ भएका कारण कृषकलाई प्रदान गर्न नसकिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सरकार परिवर्तनलगायतका कारणबाट मन्त्रालयबाट कार्यविधि स्वीकृत भएर आउन ढिलाइ भयो । यसले गर्दा दूध उत्पादन अनुदानका लागि विनियोजित बजेट आधा मात्र खर्च भयो । यस वर्ष स्वीकृत बजेट पूरै खर्च नभए पनि आगामी वर्षमा कार्यान्वयन हुनेछ ।”

जिल्लाका दुग्ध उत्पादक कृषकले उत्पादनका आधारमा गत वर्षमा जस्तै चालु वर्षमा समेत प्रदेश सरकारबाट अनुदान रकम प्राप्त गरेका छन् । सबैभन्दा बढी उत्पादन गर्ने कृषकले सरकारबाट प्रोत्साहन बापत अनुदान रकम समेत बढी पाएका हुन् । जिल्लामा कृषक समूह तथा सहकारीका माध्यमबाट दूध बिक्री गर्दै आएका कृषकले सरकारी अनुदानको रकम बुझेका हुन् । दूध उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रमका लागि यस वर्ष आह्वान गरिएकामा २२ समूह सहकारी छनोट भएको र सहकारीका माध्यमबाट कृषकलाई प्रत्यक्ष अनुदान रकम प्रदान गरिएको पाण्डेले बताउनुभयो । उहाँका अनुसार ४० लाख १९ हजार आठ सय ९५ लिटर दूधका लागि सो रकम प्रदान गरिएको हो ।

“उत्पादन गरेका आधारमा कृषकलाई सरकारको तर्फबाट प्रोत्साहन रकम प्रदान गर्ने कार्यक्रम कृषकले सर्वाधिक रुचाएका छन् । यसबाट अनुदान रकम दुरुपयोग हुन पाउँदैन । जसले बढी उत्पादन गरेर बिक्री गर्दछ उसैले अनुदान पनि बढी पाउँछ ।” कार्यालय प्रमुख पाण्डेले भन्नुभयो । उत्पादनका आधारमा अनुदान वितरण गर्दा कृषकले व्यवसायमा अझ बढी मेहनत गर्ने गरेको बताइन्छ ।

कास्कीमा कूल घरधुरी एक लाख २० हजार पाँच सय ७२ रहेकामा पशुपालनमा संलग्न परिवार ५२ हजार तीन सय २३ रहेका छन् । कास्कीमा यहीँको दुग्ध उत्पादनले माग धान्ने अवस्था रहेको छ । उत्पादनका आधारमा सरकारले सहयोग गर्दा उत्पादन वृद्धि गर्न सहयोग पुगेको भेटेरिनरी अस्पतालका प्रमुख पाण्डेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यसले बढी उत्पादन गर्छ, उसैले बढी अनुदान पाउने प्रोत्साहन कार्यक्रमपछि उत्पादन वृद्धि गरी आयात निरुत्साहित गर्न योगदान पुगेको छ ।” भेटेरिनरी अस्पताले चालु आर्थिक वर्षमा पशुमा पूर्णखोप कार्यक्रम, साना व्यावसायिक फार्म स्थापना तथा विस्तार, पाडी बाच्छी हुर्काउन प्रोत्साहन सहयोग, बाँझो जग्गामा घाँस खेती प्रवद्र्धन कार्यक्रम, कृषि ऋणमा ब्याज अनुदान लगायतका मुख्य कार्यक्रम कार्यान्वयन गरेको कार्यालयका पशु विकास अधिकृत सहदेव पौडेलले जानकारी दिनुभयो ।

मोरङ पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा

मोरङ- मोरङलाई पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । मोरङका १७ वटै स्थानीय तहहरुले पूर्णखोप सुनिश्चिता तथा दिगोपना घोषणा गरिसकेपछि विराटनगरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख तथा जिल्ला खोप जिल्ला समन्वय समिति संयोजक अजम्वर राईले पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गर्नुभएको हो ।

नेपाल सरकारको उच्च प्राथमिकता प्राप्त राष्ट्रिय खोप कार्यक्रममार्फत निःशुल्क उपलब्ध १५ महिनाभित्र दिने सबै खोप बालबालिकालाई पूरा मात्रामा लगाई पूर्णखोप सुनिश्चितता गर्ने राष्ट्रिय निर्देशिका बमोजिम सबै प्रक्रिया पूरा गरिएको स्वास्थ्य कार्यालय मोरङले जनाएको छ । जिल्लाका सबै वडा/स्थानीय तहहरुले विसं २०८० चैत २८ गतेदेखि २०८१ असार २४ गतेसम्म पूर्णखोप सुनिश्चितता एवं दिगोपना कायम गरेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा सुरेश मेहताले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समिति प्रमुख राईले बालबालिका जन्मिरहने र खोप निरन्तर उपलब्ध गराई उनीहरुको जीवन रक्षा गर्न सम्पूर्ण क्षेत्र जिम्मेवार रहनुपर्ने भएकाले मोरङवासीको खुसी र समृद्धिका लागि यस्ता कार्यलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।कार्यक्रममा पूर्णखोप सुनिश्चिता तथा दिगोपना घोषणा गरेका सबै स्थानीय तहका प्रमुखहरुलाई सम्मान गरिएको थियो ।

धरानमा चारवटा ट्रकसहित अवैधरूपमा लगिँदै गरेको खयरको काठ नियन्त्रणमा

धरान (सुनसरी),- धरानमा चारवटा ट्रकसहित अवैधरूपमा लगिँदै गरेको खयरको काठ नियन्त्रणमा लिइएको छ । रामेछापबाट सुनसरीको धरानस्थित सूर्य कत्था उद्योगका नाममा लगिँदै गरेको काठ नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको धरान सबडिभिजन वन कार्यालय प्रमुख धर्मनाथ यादवले जानकारी दिनुभयो ।

रामेछापबाट बा प्र ०१००६ ख २१११, बा प्र ०१००६ ख ३३४९, म प्र ०३००२ ख ००९५ र क प ०२००१ ख ०४१९ नम्बरको ट्रकमा लगिँदै गरेको काठमा कैफियत देखिएपछि प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीको निर्देशन र प्रहरीसँगको समन्वयमा नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।

करिब रु ३२ लाख मूल्य बराबरको नौ सय ८९ दशमलव ३२ किबी खयरको काठबारे डिभिजन वन कार्यालय रामेछापले नै शङ्का व्यक्त गरेपछि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको कार्यालय प्रमुख यादवले बताउनुभयो । “नियन्त्रणमा लिइएको काठ धरानको तीनकुनेमा जाँच गर्ने क्रममा बाटोमै सिल खोलिएको पाइएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौँ । जिल्ला प्रशासन र प्रहरीको रोहबरमा अनुसन्धान भइरहेको छ”, उहाँले भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी तिवारीले ट्रकमा अवैध काठ भित्रिएको सूचना पाएपछि वन कार्यालय तथा प्रहरी परिचालन गरी नियन्त्रणमा लिइएको र हाल सुरक्षा अधिकारीहरूले थप अनुसन्धान गरिरहेका जानकारी दिनुभयो ।

बागलुङमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

ढोरपाटन (बागलुङ), २७ असार : वर्षाका कारण पहिरोले घर पुरिँदा बागलुङमा एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–७ तितौरेमा गए राति पहिरोमा घर पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो ।शर्मा घरमा एक्लै बस्दै आउनुभएको बागलुङ–७ का वडाध्यक्ष मेघनाथ गैरेले जानकारी दिनुभयो । आज बिहान छिमेकीले थाहा पाएपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए ।

लोकमार्ग अवरुद्ध- भारी वर्षाको कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गको काठेखोला गाउँपालिका–६ बयलडाँडामा पहिरोे खस्दा लोकमार्ग अवरुद्ध भएको हो । पूर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोटसहित विभिन्न स्थानमा सञ्चालन हुने यातायाता ठप्प हुँदा यात्रु अलपत्र परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो ।

त्यस्तै बुधबार साँझदेखि परेको पानीले बागलुङ बजार जलमग्न भएको छ । लोकमार्गदेखि आएको भलले बागलुङ बजार जलमग्न भएको छ । बजारको सडक ठाउँठाउँमा भत्किनुका साथै व्यापारीका पसलमा भल बस्दा लाखौँको क्षति भएको बताइएको छ ।
यसैबीच बागलुङ बजारको डम्पिङसाइटको पर्खाल भत्किँदा कालीगण्डकी कोरिडोर दुर्गन्धित बनेको छ । अविरल वर्षाका कारण बागलुङ–१ स्थित काठेखोला तिरमा रहेको पहिरोको पर्खाल भत्किँदा फोहोरले कोरिडोर पुरिएको हो । कोरिडोर पुरिएपछि मेसिन लगाएर फोहोर हटाए पनि यात्रा असहज बनेको छ । फोहोरको डङ्गुरले भरिएपछि थेग्न नसक्दा पखाल भत्किएको हो । पर्खाल भत्किँदा फोहोरको थुप्रो काठेखोलामा पुगेको छ । सडकमा भएको फोहोरलाई डोजरले हटाएको थियो ।

जिल्लाको दक्षिण क्षेत्रको मुख्य नाकासँग चीन र भारत जोड्ने सडकका रुपमा रहेको कोरिडोर फोहोरको दुर्गन्धले गर्दा यात्रु नाक छोपेर हिँड्न बाध्य छन् । बागलुङ बजारको फोहोरलाई अन्तै व्यवस्थापन गर्नुपर्ने आवाज उठ्दै आए पनि सुनुवाइ भएको छैन् । सडक दुर्गन्धित हुँदा यात्रु बिरामीसमेत पर्ने गाडी चालक वीरबहादुर पुनले बताउनुभयो । दैनिक यो सडक भएर हजारौँ यात्रु ओहोरदोहोर गर्ने भन्दै नगरपालिकाले नागरिकको स्वास्थ्यमाथि खेलवाड गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “पर्खाल हुँदा फोहोरको दुर्गन्ध कम आउँथ्यो, यात्रुले नाक मुख छोडेर हिँड्न सक्ने स्थिति थियो, अहिले त डम्पिङ गरेको सबै फोहोर सडकमा आएपछि यात्रा गर्ने सकिँदैन, दिनदिनै हजारौँ मान्छे हिँड्ने ठाउँमा यस्तो फोहोरको डङ्गुर छ, सरकारले यसको व्यवस्थापन सही रुपमा गर्नुपर्छ, कोरिडोर राम्रो बन्यो भने त यहाँ धेरै भारतीय र चिनियाँ पर्यटक हिँड्छन्, यसले त राम्रो सन्देश दिँदैन ।”

जैमिनी नगरपालिका–२ का प्रेमनाथ सापकोटाले कामले दैनिक बागलुङ बजार आउनुपर्ने यही सडक भएर यात्रा गर्दा बिरामी पर्ने गरेको बताउनुभयो । बागलुङ नगरपालिका–१०, १२, १३, १४ वडासहित जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका हजारौँ नागरिक दैनिक कोरिडोर हुँदै यात्रा गर्ने भन्दै अहिले पहिरोको नजिकै पुग्दा धेरैले वान्ता गर्ने गरेको सुनाउनुभयो ।

बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले वर्षाको डम्पिङसाडको पर्खाल केही दिनमै मर्मत गर्ने बताउनुभयो । पर्खालसँग कोरिडोर जोडिएको र छेउबाट काठेखोलाले बगाइरहेको हुँदा सडकको मापदण्ड छोडेर वर्षा रोकिएपछि पर्खा लगाउने काम सुरु हुने उहाँको भनाइ छ । यो ठाउँमा फोहोर व्यवस्थापन गर्न उचित नभएको धेरै तिरबाट सुझा आएको भन्दै व्यवस्थित स्थानमा डम्पिङसाइट निर्माण गर्ने योजना रहेको उपप्रमुख खड्काले बताउनुभयो ।

“पर्खाल भत्किएपछि फोहोर सडकमा पुगेको छ, त्यसलाई हटाएर अहिले यातायात सञ्चालन गरेका छौँ, पहिरोको दीर्घकालीन व्यवस्थापनका लागि बागलुङ, बेनी र कुश्मा नगरपालिका मिलेर एउटै ल्याण्डफिलसाइट निर्माण गर्ने गरी छलफल पनि भएको छ”, उहाँले भन्नुभयो, “तत्कालका लागि कालठेखोला बगाउँदा सडक साँघुरो भएको छ, त्यसको मापदण्ड छोडेर पर्खाल लगाउँछौँ ।”

मौवाखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा आज बिहान पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

अहिले सडक डिभिजन कार्यालयको ‘स्काभेटर’को प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् ।

पहिरो पन्छाइरहेका ठाउँमा पानी परिरहेको र लेदो खसिरहेकाले सडक खुलाउन केही समय लाग्ने उनको भनाइ छ ।

अहिले गन्तव्यमा हिँडेका सवारी साधन सडकमा नै रोकिएका छन् । सडक विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गमा बर्खा सुरु भएसँगै पटकपटक पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ ।

रासायनिक मलको अभाव झेल्दै आएका मधेसका कृषकलाई यस वर्ष मलको समस्या नहुने

वीरगञ्ज (पर्सा), २७ असार : बर्खे धान खेती लगाउने समयमा रासायनिक मल (मलखाद) को अभाव झेल्दै आएका मधेसका कृषकलाई यस वर्ष मलको समस्या नहुने भएको छ । मधेस प्रदेशमा रासायनिक मल वितरण गर्दै आएका वीरगञ्जमा प्रादेशिक कार्यालय रहेका साल्ट टे«डिङ कर्पाेरेसन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडले कम्पनीसंग यथेष्ट मल मौज्दात रहेका जनाएका छन् ।

रासायनिक मल कृषि सामग्री कम्पनी लिमिटेडले ७० प्रतिशत र साल्ट टे«डिङले ३० प्रतिशत आयात गरेर अनुदानबापत कम मूल्यमा किसानलाई मल उपलब्ध गराउँदै आइरहेका छन् । पछिल्लो समय कृषि सामग्री र साल्ट टे«डिङले रासायनिक मलखादलाई खेतीयोग्य जमिनको क्षेत्रफल,विगत आवको मलको खपतको अभिलेख र बाली सघनताको आधारमा स्थानीय तहअनुसारको कोटाअनुसार रासायनिक मलको बाँडफाँट गर्दै आइरहेका छन् ।

साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेड प्रादेशिक कार्यालय प्रमुख आमोज लामिछानेले विगतको यस वर्ष रासायनिक मलको समस्या नहुने दाबी गर्नुभयो । “गत आवमा भन्दा चालु आवमा आठ हजार आठ सय ४५ दशमलव १५ मेट्रिक टन धेरै मल वितरण भइसकेको छ । त्यसैले पनि विगतको वर्षमा जस्तै यो वर्ष रासायनिक मलको समस्या नहुने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो ।

कार्यालयले २०८१ असार २४ गतेसम्मको अवधिमा कार्यालयले मधेस प्रदेशमा युरिया, डिएपी र पोटास गरी कूल ५२ हजार छ सय ५२ दशमलव ३५ मेट्रिक टन रासायनिक मल मधेस प्रदेशका आठ जिल्लामा वितरण गरिसकेको छ । यसमा युरिया मलको हिस्सा २७ हजार छ सय १४ दशमलव २५ मेट्रिक टन, डिएपी मलको हिस्सा २३ हजार छ सय ८७ दशमलव ७० मेट्रिक टन र पोटास मलको हिस्सा भने १३ सय ६१ दशमलव ४० मेट्रिक टन रहेको छ ।

गत आवमा प्रादेशिक कार्यालयले तिनै थरिका मल ४३ हजार आठ सय ७ दशमलव २० मेट्रिक टन वितरण गरेका थियो । यसमा युरियामल ३१ हजार पाँच सय ८३ दशमलव ५५ मेट्रिक टन, डिएपी मल १२ हजार दुई सय एक दशमलव ३० मेट्रिक टन र पोटास मल २२ दशमलव ३५ मेट्रिक टन वितरण गरिएको थियो ।

कार्यालयले मधेस प्रदेशका एक हजार दुई सय ७० वडामा एक हजार २९ डिलरमार्फत मल उपलब्ध गराउँदै आइरहेको छ । साल्ट टे«डिङले देशभरिका लागि खरिद गर्ने कूल मलमध्ये मधेस प्रदेशका लागि २६ दशमलव ५० प्रतिशत मल वितरण गर्ने गरिन्छ । त्यस्तै कोशी प्रदेशका लागि २१ दशमलव ५ प्रतिशत, लुम्बिनी प्रदेशका लागि २० दशमलव ६ प्रतिशत, बागमती प्रदेशका लागि १४ दशमलव ८० प्रतिशत र सुदूरपश्चिम प्रदेशका लागि ९ दशमलव ७० प्रतिशतको कोटा निर्धारण गरेको छ । त्यस्तै कर्णाली प्रदेशको लागि दुई प्रतिशत कोटा तोकिएको छ ।

यसैगरी कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका कायममूकायम (कामु) प्रमुख दुर्गाप्रसाद पाण्डेयले गत आर्थिक वर्षको तुलनामा चालु आवमा मलको आयातमा वृद्धि भएकाले पनि मधेस प्रदेशमा रासायनिक मलको समस्या नहुने दाबी गर्नुभएको छ ।

“कार्यालयले गत आवको तुलनामा चालु आवमा आठ हजार छ सय ४५ मेट्रिक टन रासायनिक मल धेरै प्राप्त गरेको छ”, उहाँले भन्नुभयो, “अन्य वर्षमा जस्तो यो वर्ष मलको चर्काे अभाव नहोला कि भन्ने लागिरहेको छ ।”

कार्यालयले चालु आवको असार ११ गतेसम्मको अवधिमा युरिया, डिएपी र पोटास गरी कूल ९५ हजार दुई सय तीन दशमलव ४० मेट्रिक टन रासायनिक मल प्राप्त गरिसकेको छ । जसमा युरिया मल ६० हजार छ सय ८२ दशमलव २५ मेट्रिक टन, डिएपी मल भने २८ हजार नौ सय ६३ दशमलव ४० मेट्रिक टन र पोटास मल भने पाँच हजार पाँच सय ५७ दशमलव ७५ मेट्रिक टन रहेको छ ।

कार्यालयले चालु आवमा प्राप्त भएको मलमध्ये हालसम्म ८४ हजार चार सय २७ दशमलव ५० मेट्रिक टन मल मधेस प्रदेशसहितका अन्य जिल्लामा पठाइसकेको छ । प्रादेशिक कार्यालय वीरगञ्जले मधेस प्रदेशका छ जिल्लामा पर्सा, बारा, रौतहट, महोत्तरी, धनुषा, सर्लाही जिल्लामा मल उपलब्ध गराउने गर्छ । तर, तराईका सिरहा र सप्तरी जिल्लामा भने कोशी प्रदेश कार्यालय मातहतको कार्यालयबाट वितरण गर्ने गरिन्छ ।

सो कार्यालयले आव २०७९÷८० मा युरिया, डिएपी र पोटास गरी ८६ हजार पाँच सय ५८ दशमलव ७५ मेट्रिक टन रासायनिक मल प्राप्त गरेको थियो । जसमा युरिया मलको हिस्सा ५५ हजार दुई सय ९७ दशमलव ६०० मेट्रिक टन, डिएपी मलको हिस्सा ३० हजार सात सय ६१ दशमलव १५ मेट्रिक टन र पोटास मलको हिस्सा पाँच सय मेट्रिन टन रहेको थियो । कार्यालयले गत आवमा प्राप्त भएकोमध्ये ७२ हजार आठ सय २६ मेट्रिक टन मल आफ्नो मातहतका १७ जिल्लामा पठाएको थियो ।

सो कार्यालयले मधेस प्रदेशको अलावा बागमती प्रदेशका सात जिल्लामा पनि रासायनिक मल उपलब्ध गराउँदै आइरहेको छ । जसमा सिन्धुली, काभेपञ्लाचोक, नुवाकोट, धादिङ, मकवानपुर, चितवन, काठमाडौँलगायतका जिल्लामा पठाउने गर्छ । त्यस्तै गण्डकी प्रदेशका पर्वत, कास्की, तनहुँ र गोरखा जिल्लामा पठाउने गर्छ । कार्यालयमा अहिले थप प्राप्त भइरहेको युरिया ११ हजार आठ सय मेट्रिक टन र डिएपी नौ हजार पाँच सय मेट्रिक टन रहेको छ ।

अनुदानको मलको कोटा बढाउनुपर्छ ः किसान महासङ्घ

नेपाल किसान महासङ्घ पर्साका पूर्वअध्यक्ष असर्फी साह समग्रमा मधेस प्रदेशमा रासायनिक मलको अभाव भने कायमै रहेको गुनासो गर्नुभयो । “सरकारी निकायले पर्याप्त मात्र उपलब्ध गराएको दाबी गरे पनि कृषकले भने अहिले पनि मल अभावको समस्या खेपिरहेका छन्”, उहाँले भन्नुभयो, “सरकारी निकायले कोटा निर्धारण गरेर उपलब्ध गराउँदै आइरहेका छन् । तर, कृषकले भने पारदर्शी ढङ्गले मल भने प्राप्त गर्न सकिरहेका छैनन् ।” उहाँले धान रोपाइँ गर्नका लागि किसानले मागका आधारमा मल पनि पाउन नसकेको दाबी गर्नुभयो ।

पर्साको पटेवा सुगौली गाउँपालिकाका उपाध्यक्ष ममता महतो पनि सरकारले किसानको मागअनुसारको मल उपलब्ध गराउन माग गर्नुभयो । “सरकारी अनुदानको मलले ५० प्रतिशत मात्रै थेग्ने गर्छ”, उहाँले भन्नुभयो, “अन्य मल किसान आफैँले जुगाड गर्नुपर्ने हुन्छ ।” कामु प्रमुख पाण्डेयले मलको आयात कम र कृषकले धेरै मलखाद प्रयोग गर्ने भएकाले पनि मलको समस्या हुने गरेको बताउनुभयो । “सरकारले प्रति कट्ठा तीन किलोग्राम मल प्रयोग गर्नुपर्ने मापदण्ड तोकेको छ । तर, कृषकले प्रति कट्ठा छ किलोग्रामभन्दा धेरै मल प्रयोग गर्नाले पनि अभाव हुने गरेको हो ।” उहाँले भन्नुभयो ।

काभ्रेमा मनसुनजन्य विपदबाट पाँच हजार बढी परिवार जोखिममा

काभ्रेपलाञ्चोक – जिल्लामा मनसुनजन्य विपदबाट पाँच हजारभन्दा बढी परिवार प्रभावित हुनसक्ने प्रक्षेपण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लामा हुनसक्ने बाढीपहिरो, चट्याङ तथा हावाहुरीजस्ता मनसुनजन्य विपद्का घटनाबाट पाँच हजार पाँच सय ९९ घरपरिवारका २६ हजार एक सय प्रभावित हुनसक्ने आँकलन गरेको हो ।

समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले धुलिखेलमा बसेको समितिको बैठकमा जिल्लामा मनसुनजन्य विपद्का घटनाबाट उक्त सङ्ख्यामा नागरिक प्रभावित हुनेसक्ने अनुमान गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार काभे्रपलाञ्चोकमा बाढी, पहिरो, डुबान, चट्याङ र हावाहुरीको जोखिम छ ।

सोहीअनुसार स्थानीय तहका विपद् व्यवस्थापन समिति तथा सरोकारभएका निकायबीचको सहकार्यमा पूर्वतयारी गरिएको प्रजिअ सेढाईंले बताउनुभयो । “विपद्जन्य घटनाबाट घरपरिवार तथा बस्ती स्थानान्तरणसम्म गर्नुपर्ने हुनसक्छ, त्यसका लागि पूर्वतयारीमा जुट्नुपर्छ”, उहाँले भन्नुभयो ।

सुनकोशी, इन्द्रावती र रोशी खोला तथा स–साना खहरेमा आउनसक्ने बाढीका कारण नागरिक तथा यातायातका साधन प्रभावित हुनसक्ने समितिले जनाएको छ । जिल्लामा बाढीका कारण एक हप्तामा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ ।

काभे्रपलाञ्चोकअन्तर्गत पर्ने अरनिको र विपी राजमार्ग एक सातादेखिको अविरल वर्षाले पहिरो जाँदा पटकपटक अवरुद्ध भएको छ । बैठकले घटनामा राहत तथा पुनःस्थापनाका लागि विपद् कोषको रकम खर्च गर्ने, राहत तथा उद्धारका लागि आवश्यक सामग्री जिल्ला आपत्कालीन सञ्चालन केन्द्र र समितिसँग समन्वय गरी तयारी अवस्थामा राख्ने, स्थानीय तहलाई खुला क्षेत्र र ठूला भवन व्यवस्थापन गरी तयारी अवस्थामा राख्न अनुरोध गर्ने निर्णय गरेको छ ।

विपद्जन्य घटना व्यवस्थापन गर्न जिल्लास्थित स्थानीय तह तथा सुरक्षाकर्मीद्वारा आपत्कालीन–विपद् पूर्वतयारीस्वरुप पाँचखालमा सशस्त्र प्रहरी बल नेपाल नं १५ गण हेडक्वाटरले विपद् प्रतिकार्यका लागि धुलिखेल र पनौतीस्थित आइटीपार्कमा ‘अस्थायी बेस’ राखेको छ । धुलिखेल र आइटी पार्कमा निर्माणाधीन सुरक्षण मुद्रण प्रेस भवनमा बसेको टोलीले जिल्लाको मुख्य सहर बनेपा, पनौती, धुलिखेल, नमोबुद्ध आसपासका स्थानीय तहमा हुने मनसुन विपद्मा उद्धार गर्ने जनाएको छ ।

उद्धार सामग्रीसहित सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५÷२५ सशस्त्र प्रहरीलाई उद्धारमा खटिन तैनाथ गरिएको हो । गृह मन्त्रालयको निर्णयअनुसार पाँचखालमा रहेको हेडक्वाटरबाट रेखदेख तथा सञ्चालन हुने गरी उद्धारमा खटिनुपर्दा सडक र दूरीका हिसाबले पायक पर्ने स्थानमा छनोट गरी दुई स्थानमा अस्थायी बेस राखिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

पुनः राष्ट्रपतिको दावेदारीमा बाइडेनको निर्णयका लागि समय कम रहेको पेलोसीको भनाइ

डेमोक्रेटिक पार्टीकी प्रभावशाली नेत्री न्यान्सी पेलोसीले बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनको पुनर्निर्वाचनको दावेदारीमा अन्तिम निर्णय लिने समय समाप्त हुँदै गएको बताउनुभएको छ । यद्यपि उहाँले निर्णय बाइडेनले नै गर्नुपर्नेमा जोड दिनुभयो ।

बाइडेनले आफू दौडमा रहेको जिद्दी गरे पनि हाउस अफ रिप्रेजेन्टेटिभ्सका पूर्वसभामुख एवं पार्टीमा प्रभावशाली आवाज पेलोसीले प्रजातान्त्रिक विभाजनका बीच राष्ट्रपतिले आफ्नो उम्मेदवारीबाट अझै पन्छिन सक्ने सुझाव दिनुभयो ।

“चुनाव लड्ने वा नलड्ने भन्ने निर्णय गर्न राष्ट्रपतिमा निर्भर छ”, उहाँले एमएसएनबिसीलाई भन्नुभयो, “समय छोटो भएकाले हामी सबैले उहाँलाई यो निर्णय गर्न प्रोत्साहित गरिरहेका छौँ ।”

पेलोसीले बाइडेनको प्रश्नमा कुनै पनि प्रकारले वकालत गर्न छाड्नुभयो । “म के चाहन्छु भने उहाँले जस्तो निर्णय गर्नुहुन्छ, गर्नुहोस् र यस्तै नै हुन्छ । उहाँले जुन निर्णय लिनुहुन्छ, हामी साथमा जान्छौँ”, उहाँले भन्नुभयो ।

एकासी वर्षीय बाइडेनले केही शीर्ष डेमोक्रेटहरूबाट धेरै आवश्यक समर्थन प्राप्त गर्नुभएको छ । यद्यपि गत महिना ह्वाइट हाउसका प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पविरुद्ध उहाँको विनाशकारी बहस प्रदर्शनपछि केही सांसदले सार्वजनिक रूपमा उहाँको मानसिक फिटनेसका बारेमा चिन्ता व्यक्त गरेका छन् ।

सेभेन हाउस डेमोक्रेटहरूले बाइडेनलाई पुनः निर्वाचनमा नलड्न खुला रूपमा आह्वान गरेका छन् । केही सिनेटरहरूले पनि चिन्ता व्यक्त गरेका छन् ।

मङ्गलबार राति कोलोराडोका माइकल बेनेट राष्ट्रपति बाइडेनमाथि सार्वजनिक हमला गर्ने पहिलो सिनेट डेमोक्रेट बन्नुभयो । उहाँले बाइडेन राष्ट्रपति उम्मेदवार कायम रहनुभयो भने हार्ने र सम्भवतः कांग्रेसका डेमोक्रेटिकहरूलाई पनि हराउन सक्ने बताउनुभयो ।

“मलाई के लाग्छ भने डोनाल्ड ट्रम्प लयमा हुनुहुन्छ, सम्भवतः उहाँले ठूलो बहुमतले जित्नुहुनेछ तथा सिनेट र सदन दुवै आफ्नो पक्षमा पार्नुहुनेछ”, बेनेटले सिएनएनलाई भन्नुभयो ।

युएईमा ४३ जनालाई ‘आतङ्कवादी’ अपराधमा आजीवन कारावासको सजाय

संयुक्त राष्ट्रसङ्घका विशेषज्ञ र अधिकार समूहहरूले आतङ्कवादसम्बन्धी अपराधको व्यापक आलोचना गरे पनि संयुक्त अरब इमिरेट्स (युएई) को एक अदालतले ४३ अमिरातलाई आजीवन कारावासको सजाय सुनाएको छ ।

सरकारी आलोचक र मानवअधिकार कार्यकर्ताहरू सहित ८४ जनालाई मुद्दा चलाइएको थियो । तीमध्ये धेरैलाई सन् २०१३ मा समान सामूहिक मुद्दापछि वर्षौंका लागि जेल हालिएको थियो ।

अबुधाबी सङ्घीय पुनरावेदन अदालतले आतङ्कवादी सङ्गठनको सिर्जना, स्थापना र व्यवस्थापन गरेको अपराधमा ४३ जना प्रतिवादीहरूलाई आजीवन कारावासको सजाय सुनाएको आधिकारिक डब्लुएएम समाचार एजेन्सीले जनाएको छ ।

अन्य १० जनालाई १० देखि १५ वर्षको जेल सजाय दिइएको छ । एक जनालाई सफाइ दिइएको छ भने अन्य २४ मुद्दा अस्वीकार्य थिए ।

ह्युमन राइट्स वाच र एम्नेस्टी इन्टरनेसनलका अनुसार अनुसार सन् २०१३ मा ‘युएई–९४’ ट्रायलको भागका रूपमा जेल परेपछि अधिकांश प्रतिवादीहरू एक दशकभन्दा बढी समयदेखि जेलमा छन् । धेरैले आफ्नो सजाय पूरा गरिसकेका छन् ।

तर युएईका अधिकारीहरूले पछिल्लो आरोपहरू सन् २०१३ मा ल्याइएको भन्दा भौतिक रूपमा फरक रहेको बताएका छन् । यसमा आतङ्कवादी सङ्गठनलाई वित्त पोषण गरेको आरोप समावेश छैन ।

अब भरतपुर अस्पतालमा ‘एमआरआई’ सेवा सञ्चालनमा आउने

चितवन, २७ असार : भरतपुर अस्पतालमा ‘एमआरआई’ सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार बुधबार प्राविधिक परीक्षण गरेर सफलता मिलेपछि आजदेखि ‘थ्री टेस्ला एमआरआई ६४ सलाइस’ को उकरण सञ्चालनमा ल्याउन लागिएको हो । प्रा डा पौडेलका अनुसार सङ्घीय सरकारले उपलब्ध गराएको रु २५ करोड र अस्पताल विकास समितिको रु पाँच करोड गरी रु ३० करोडमा मेसिन खरिद गरिएको हो ।

स्वास्थ्य बीमाले तय गरेको रु नौ हजारदेखि १४ हजार शुल्कमा उपकरणबाट स्वास्थ्य परीक्षण हुने उहाँले जानकारी दिनुभयो । दैनिक २५ जनासम्मलाई सेवा दिन सकिने जनाइएको छ । अस्पतालमा दुर्घटनालगायतका बिरामीको एमआरआई गर्नुपरेमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल लगायत अन्यत्र जानुपर्ने बाध्यता थियो । अस्पतालमा आउने बिरामी मध्ये दुर्घटनाका धेरै हुने बताइएको छ । अस्पतालमा सिटीस्क्यान, भिडियो एक्सरेलगायतका उपकरण यसअघि नै सञ्चालित छ । अस्पतालमा ‘क्याथल्याब’ सञ्चालन गर्ने तयारी गरिएको छ ।

आज राप्रपा संसदीय दलको बैठक बस्दै, सरकारलाई विश्वासको मत दिने नदिने विषयमा निर्णय गर्ने

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा निर्णय गर्न आज संसदीय दलको बैठक आह्वान गरेको छ ।

पार्टीको संसदीय दलको कार्यालयमा बस्ने बैठकले संसदीय दलका नेताहरुसँग छलफल गरी उनीहरुको सुझावका आधारमा पक्ष वा विपक्षमा निर्णय लिने राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो।

सरकारमा रहेका नेकपा (एमाले)लगायतका केही दलहरू सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते विश्वासको मत लिने हुनुभएको छ । मुलुकलाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने, सङ्घीयता खारेजीलगायत माग राख्दै आएको राप्रपाको प्रतिनिधिसभामा १४ सिट छ ।

म्याग्दीमा पहिरोले चार घर, सामुदायिक भवन र गोठ पुरिए

म्याग्दी – म्याग्दीको अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकामा बुधबार पहिरोले चार वटा घर, सामुदायिक भवन र गोठ भत्किएका छन् । पहिरोमा परी १२ वटा बाख्रा मरेका छन् भने १८ परिवार विस्थापित भएका छन् ।

अन्नपूर्ण गाउँपालिका–२ मान्द्रेढुङ्गाकी लालमाया विकको ढुङ्गा माटोले बनेको दुई तले घर पहिरोले पुरिएर पूर्ण रुपमा क्षति पुगेको वडाध्यक्ष ओमप्रकाश फगामीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सोही वडाको कटौजेमा छ र ठूलोबगरमा सात घरपरिवार पहिरोबाट विस्थापित भएका छन् । पहिरोको जोखिममा रहेका कटौजेका रनबहादुर गर्बुजा, भीमबहादुर राम्जाली, तारा पुजा, कमलबहादुर शेरपुञ्जा, रनबहादुर गर्बुजा र निमबहादुर राम्जालीको घरका सामग्री र परिवारका सदस्यहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।

ठूलोबगरका टेकबहादुर फगामी, मिथुन गर्बुजा, बेलबहादुर कार्की, थमबहादुर कार्की, ममता राम्जाली, मनकुमारी पुर्जा र वुद्धिबहादुर पुनको घर पनि पहिरोको जोखिममा परेको वडाध्यक्ष फगामीले बताउनुभयो । जनप्रतिनिधि, प्रहरी, युवा क्लब, आमा समूहको टोलीले आज दिनभर जोखिममा परेका घरका सामान सुरक्षित ठाउँमा सारेर बसोबासको व्यवस्था मिलाएका थिए ।

त्यसैगरी रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका डेकबहादुर पराई पुनको घर पनि पहिरोले पुरेको छ । चिमखोला गाउँका नर्सिङ गर्बुजाको गोठ पहिरोले पुर्दा १२ वटा बाख्रा मरेका छन् । पहिरोले वडा नं ४ को सामुदायिक भवन र ढिकीजाँतो घर पूर्ण रुपमा क्षति पुगेको छ ।

पहिरोले लिबहादुर पुन, दिलबहादुर तिलिजा, लालबहादुर पाइजाको घर जोखिममा परेको छ । नरबहादुर तिलिजा र दिलबहादुर तिलिजाको शौचालय पहिरोले बगाएको छ । जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयवासीले जोखिममा रहेका घरका सामान सुरक्षित ठाउँमा सारेर बसोबासको व्यवस्था मिलाएको वडाध्यक्ष थकबहादुर पाइजा (रिम)ले बताउनुभयो ।

भिरालो जमिनमा गुजमुज्ज घर रहेको चिमखोला गाउँको छेउबाट खसेको पहिरोले चिमखोला–घ्यासीखर्क सडक अवरुद्ध बनाएको छ । सडक अवरुद्ध हुँदा निर्माणाधीन चार वटा जलविद्युत् आयोजना निर्माण प्रभावित बनेको छ ।

नयाँ सरकार संविधानको धारा ७६(२) अनुसार नै गठन हुन्छः एमाले

काठमाडौँ, २६ असार : नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधानको धारा ७६(२) अनुसार नै नयाँ सरकार नै गठन हुने निष्कर्ष निकालेको छ । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले संविधानअनुसार धारा ७६(२) अनुसार सरकार गठनमा कुनै व्यवधान नरहेको निष्कर्ष निकालेको हो ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सर्वोच्च अदालतले एउटै धाराबाट पटकपटक सरकार बन्नसक्ने प्रष्ट पारिसकेको अवस्थामा अब बन्ने सरकार पनि संविधानको धारा ७६ (२) अनुसार नै गठन हुने एमालेको निष्कर्ष रहेको बताउनुभयो । “संविधानको धारा ७६ (२) अनुसार गठन हुने नयाँ सरकारमा कुनै पनि संवैधानिक जटिलता छैन र २०७८ सालमा पनि संविधानको धारा ७६ (२) अनुसार बनेको तत्कालीन केपी शर्मा ओलीको सरकारले पनि विश्वासको मत नपाएपछि नयाँ सरकार गठनका लागि राष्ट्रपतिले फेरि ७६ (२) अनुसार नै सरकार बनाउन दललाई आह्वान गर्नुभएको थियो”, उपमहासचिव ज्ञवालीले भन्नुभयो, “अहिले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत नपाए संविधानको धारा ७६ (२) अनुसार अर्को सरकार गठनका लागि आह्वान हुन्छ । स्थिर र बलियो सरकार नबनुञ्जेल सोही धाराबाट नै सरकार गठन हुनेमा एमालेमा कुनै द्विविधा छैन ।”

नेपाली कांग्रेससँगको सहमतिपछि संविधान संशोधनका कुरा उठे पनि कुनकुन बुँदामा संशोधन गर्ने भन्ने कुरा स्पष्ट नभइसकेको भन्नुहुँदै उपमहासचिव ज्ञवालीले संविधान गतिशील दस्तावेज भएकाले संशोधन गर्ने सकिने र संविधान जारी भएको १० वर्ष भएकाले पुनरावलोकन गर्न आवश्यक रहेको समेत बताउनुभयो । “संविधानका केही दफाले राजनीतिक स्थायित्व, बलियो र स्थिर सरकार बनाउनका निम्ति अप्ठ्यारो भएको छ । प्रदेश सरकार सञ्चालन थप समस्या छ । त्यसैले संविधान संशोधन गरेर अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो, “सुशासन र राजनीतिक स्थायित्वका निम्ति यदि संविधानका कुनै प्रावधान संशोधन गर्नुपरेमा सबै राजनीतिक दलको सहमति लिएर अगाडि बढ्छौँ ।” उपमहासचिव ज्ञवालीले एमाले र कांग्रेस राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुने दललाई हैसियतअनुसार समेट्न सकारात्मक रहेको बताउनुभयो ।

केन्द्रीय सदस्यलाई प्रतिनिधि र प्रदेशसभा निर्वाचन क्षेत्रको जिम्मेवारी

सचिवालय बैठकले केन्द्रीय सदस्यलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको जिम्मा दिने निर्णय गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो । एक वर्षअघि सबै केन्द्रीय सदस्यलाई सम्बन्धित भूगोलभन्दा बाहिर तोकेर कार्यविभाजन गरेको एमालेले त्यसलाई पुनरावलोकन गर्दै आफ्नै भूगोगमा खटाउने निर्णय गरेको हो । उहाँले आगामी सचिवालय बैठकमा कार्यविभाजनसम्बन्धी मापदण्ड बनाएर थप निर्णय गर्ने बताउनुभयो ।

यस्तै पार्टी प्रदेश कमिटीले आफ्ना सदस्यको जिम्मेवारी पालिका र जिल्ला कमिटीले वडा कमिटी र पालिकाले टोललाई आधार मानेर कार्यविभाजन गर्ने निर्णय गरेको छ । टोल कमिटीले टोलभित्र रहेका प्रत्येक घरको हिसाबले पार्टी सदस्य विभाजन गर्नेगरी मापदण्ड निर्धारण गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो ।

राप्रपा संसदीय दलको बैठक बिहीबार बस्ने, सरकारलाई विश्वासको मत दिने नदिने विषयमा निर्णय गर्ने

काठमाडौँ, २६ असार : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा निर्णय गर्न यही असार २७ गते बिहीबार संसदीय दलको बैठक आह्वान गरेको छ ।

पार्टीको संसदीय दलको कार्यालयमा बस्ने बैठकले संसदीय दलका नेताहरुसँग छलफल गरी उनीहरुको सुझावका आधारमा पक्ष वा विपक्षमा निर्णय लिने राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो।

सरकारमा रहेका नेकपा (एमाले)लगायतका केही दलहरू सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते विश्वासको मत लिने हुनुभएको छ । मुलुकलाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने, सङ्घीयता खारेजीलगायत माग राख्दै आएको राप्रपाको प्रतिनिधिसभामा १४ सिट छ ।

‘नेपालको ऐतिहासिक मुद्राको सम्बन्ध पुरातात्विक सम्पदा र राष्ट्रियतासँग जोडिनेछ’ – मन्त्री तामाङ

काठमाडौँ, २६ असार : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालको प्राचीन तथा ऐतिहासिक मुद्राको सम्बन्ध पुरातात्विक सम्पदा र राष्ट्रियतासँग जोडिने बताउनुभएको छ ।

नेपालको प्राचीन तथा ऐतिहासिक मुद्रा सङ्कलन गरी विश्व कीर्तिमान् राख्नुभएका दीपेन्द्र रत्न शाक्यको एक सय ९३ मुलुकको सिक्का प्रदर्शनीको आज उद्घाटन गर्दै मन्त्री तामाङले देश विदेशमा छापेका मुद्रा सङ्कलन कार्य उत्कृष्ट भएको बताउनुभयो । प्राचीन मुद्राको बहुआयामीक महत्व रहेकोसमेत् उहाँको भनाइ छ । यस्ता कार्यले विदेशीमाझ नेपालको पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्न मद्दत पुगेको विश्वास व्यक्त गर्नुभयो ।

बाल सङ्कलक लक्ष्यजीत मल्लद्वारा सङ्कलित मुद्रा नेपाल मुद्रा सङ्कलक सङ्घले पर्यटन मन्त्रालयसँगको सहकार्यमा प्रदर्शनी गरेको हो । पर्यटनमन्त्री तामाङले बुद्धकालीन, लिच्छविकाल, राजतन्त्रदेखि गणतन्त्रसम्मको मुद्रा सङ्कलन गरी प्रदर्शनी गर्न सफल बाल सङ्कलकद्वयको प्रशंसा गर्नुभयो ।

नयाँ भर्ना भएका सेनाको आधार तालिम सम्पन्न

काठमाडौँ, २६ असार : नेपाली सेनामा भर्ना भएका सात सय ५४ महिलासहित तीन हजार आठ सय ८७ जनशक्तिले सैन्य आधार तालिम पूरा गरेका छन् ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले देशका विभिन्न २६ स्थानमा गत भदौ ३ गतेदेखि सञ्चालित सैन्य आधार तालिम सम्पन्न भएको जनाएको हो । तालिम समापनका अवसरमा सैन्य जवानलाई अन्तिम दलेल कवाज प्रदर्शनीसगै दीक्षित गरिएको थियो ।

यसैबीच, सैन्य तालिम केन्द्र त्रिशूलीमा बलाधिकृतरथी अशोक सिग्देलले सैन्यद्वारा प्रस्तुत कवाज निरीक्षण गर्नुका साथै उत्कृष्ट शिक्षार्थीलाई पुरस्कृत गर्नुभएको थियो । त्यस अवसरमा उहाँले नेपाली सेनाको मूल्यमान्यता र परम्परालाई पालना गर्दै राष्ट्र, जनता र संस्थाप्रति समर्पित रही इमान्दार र अनुशासित भई जस्तोसुकै परिस्थितिमा पनि अविचलित रूपमा काम गर्न निर्देशन दिनुभयो । “राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षण र जगेर्नाका लागि प्रतिबद्ध नेपाली सेनाको मूलभूत दायित्वलाई मनन गर्दै राष्ट्र र जनताको सेवाका लागि सदैव समर्पित रहनुस्”, उहाँले भन्नुभयो ।

सिङ्गापुरले सन् २०२५ मा नयाँ डिजेल कार दर्ता बन्द गर्ने

सिङ्गापुरले आफ्नो स्वच्छ ऊर्जा दृष्टिलाई समर्थन गर्न सन् २०२५ देखि नयाँ डिजेल कार र ट्याक्सी दर्ता गर्न बन्द गर्ने भूमि यातायात प्राधिकरण (एलटिए) ले जनाएको छ ।

यसैबीच, डिजेल कार मालिकहरूले आफ्नो हकदार प्रमाणपत्र नवीकरण गर्न सक्ने तर नवीकरणलाई निरुत्साहित गर्न उच्च सडक करको अधीनमा हुनेछ ।

प्रतिबन्धहरू क्लासिक वाहन योजना र भिन्टेज वाहन योजनाअन्तर्गत कारहरूको आयात र दर्तामा लागू नहुने एलटिएले उल्लेख गरेको छ । सिङ्गापुरले जलवायु परिवर्तनसँग जुध्न सन् २०५० सम्ममा ‘नेट जिरो’ सम्म पुग्ने प्रतिबद्धता जनाएको छ ।

‘वित्तीय साक्षरतालाई उच्च माध्यमिक तहको शिक्षामा जोडेर लैजान आवश्यक’ – उपसभामुख राना

काठमाडौँ, २६ असार : प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले वित्तीय साक्षरतालाई उच्च माध्यमिक तहको शिक्षामा जोडेर लैजान आवश्यक रहेको बताउनुभएको छ ।

सङ्घीय संसद् र राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई सञ्चालित वित्तीय साक्षरता कार्यक्रममा उहाँले वित्तीय साक्षरताको कमीले भ्रष्टाचार नियन्त्रण कठिन भइरहेको बताउनुभयो ।

उपसभामुख रानाले भन्नुभयो, “वित्तीय कारोबार अनुशासित बनाउँदा भ्रष्टाचार र अनियमितता केही हदसम्म रोक्न मद्दत गर्छ । आर्थिक अनुशासन कायम गर्न सहयोग पुग्छ ।” प्रतिनिधिसभा सदस्य ईश्वरबहादुर रिजालले बैंकहरुले नाफा मात्रै कमाउने नभई वित्तीय साक्षरता बढाउने दायित्व लिन पर्ने आवश्यकता औँल्याउनुभयो ।

सांसद रोशन कार्कीले आन्तरिक ऋण बढी उठाउँदा ब्याजदर र मूल्यवृद्धि बढाउन सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराउँदै शेयर बजारलाई नेपाल राष्ट्र बंैकले नराम्रो नियतले हेर्न नहुने धारणा राख्नुभयो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बैंकहरुलाई जग्गा र सुनमा भन्दा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सुझाव दिनुभयो । कार्यक्रममा बैंकिङ प्रणालीलाई बचत, लगानी र कर्जाका रुपमा मात्र नबुझी सानो उमेरदेखि बचत गराउने, पैसाको सदुपयोग गर्ने, अनावश्यक क्षेत्रमा लगानी कम गर्नेजस्ता विषयमा नागरिकलाई ज्ञान दिलाउन आवश्यक रहेको सहभागीको सुझाव थियो ।

कर्जा उपयोगिता, ऋण नतिर्दाको असर, सहीरुपमा रेमिट्यान्स भित्र्याउने तरिका, भइरहेको हुन्डी कारोबार र त्यसबाट हुने जोखिमबारे आमनागरिकलाई शिक्षित तुल्याउन बैंकहरुले भूमिका निर्वाह गर्नुपर्ने कार्यक्रममा सहभागीहरुको भनाइ थियो । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा चिरञ्जीवी नेपाल, नेपाल बैंकर्स सङ्घका पूर्वअध्यक्ष भुवनकुमार दाहाल र राष्ट्रिय वाणिज्य बैंकका कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले समग्र बैंकिङ र वित्त विषयमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा सङ्घीय संसद्का सचिवालय सचिव सुदर्शन खड्काले वित्तीय नीति र मौद्रिक नीति कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभयो ।

विराटनगर महानगरपालिकाको पुँजीगत खर्चमा सुधार

विराटनगर, २६ असार : विराटनगर महानगरपालिकाले पुँजीगत खर्चमा सुधार भएको छ । गत आर्थिक वर्षमा ५० प्रतिशत पुँजीगत खर्च गरेकामा चालु आर्थिक वर्षमा थप १५ प्रतिशत सुधार गर्दै ६५ प्रतिशत खर्च गरिएको महानगरले जनाएको छ ।

चालु आर्थिक वर्षका लागि पुँजीगततर्फ रु एक अर्ब ६७ करोड ५१ लाख विनियोजन गरेकामा रु एक अर्ब आठ करोड ९१ लाख खर्च गरिएको महानगर प्रमुख नागेश कोइरालाले जानकारी दिनुभयो । नियमित अनुगमन, जनप्रतिनिधि, कर्मचारी र निर्माण व्यवसायीबीचको प्रभावकारी समन्वयका कारण पुँजीगत खर्च बढेको उहाँको भनाइ छ । “सबैको साथ र सहयोगबाट पुँजीगत खर्च बढेको हो । आगामी आर्थिक वर्षमा यसमा अझै सुधार गर्ने दृढताका साथ हामीले काम गर्छौ”, महानगर प्रमुख कोइरालाले भन्नुभयो ।

चालुतर्फ रु एक अर्ब ६३ करोड विनियोजन गरिएकामा रु एक अर्ब ३८ करोड ३७ हजार खर्च गरी ८४ दशमलव ५५ प्रतिशत प्रगति हासिल गरेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिनुभयो ।

महानगरले वित्तीय व्यवस्थापनतर्फ रु पाँच करोड विनियोजन गरेकामा रु चार करोड ७३ लाख खर्च गरेको छ । महानगरले चालु आर्थिक वर्षमा कूल ७५ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ । गत वर्ष ६४ प्रतिशत मात्र खर्च गरिएको थियो ।

महानगर लेखा शाखा प्रमुख सञ्जीव भट्टराईले रु तीन अर्ब ३६ करोड १७ लाख बजेट विनियोजन गरेकामा रु दुई अर्ब अर्ब ५२ करोड एक लाख खर्च गरिएको बताउनुभयो । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु तीन अर्ब ४९ करोड ९८ लाख बजेट विनियोजन गरेको छ ।

हमासका ‘६० प्रतिशत’ लडाकू मारिएका वा घाइते भएका इजराइली रक्षामन्त्रीको भनाइ

इजराइलका रक्षामन्त्री योभ ग्यालेन्टले बुधबार अक्टोबर ७ को आक्रमणपछि गाजा युद्धमा हमासका ६० प्रतिशत लडाकू ‘मारिएका वा घाइते भएका’ बताउनुभएको छ । ग्यालेन्टले द्वन्द्वको पहिलो नौ महिनामा संसद्मा दिनुभएको बयानमा इजराइल हमासलाई समाप्त गर्न र सबै बन्धकलाई गाजाबाट फिर्ता ल्याउन आफ्नो युद्ध लक्ष्यलाई पूरा गर्न ‘दृढ’ रहेको पुनः पुष्टि गर्नुभयो ।

उहाँले ‘समर्पण, बलिदान र सफलताका साथ आफ्नो काम गर्ने’ इजराइली सैनिकहरूको प्रशंसा गर्दै ‘धेरै उपलब्धि’ हासिल भएको बताउनुभयो । इजराइलले उत्तरमा गाजा सहर र दक्षिणमा रफाह तथा खान युनिस वरपर ठूलो नयाँ आक्रमण सुरु गरेको छ । यद्यपि इजराइलले हमाससँगको युद्धविराम वार्ता गर्ने सर्तहरूमा अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूसँग सम्पर्क पनि सुरु गरेको छ ।

ग्यालेन्टले भन्नुभयो, “हामीले हमासका ६० प्रतिशत लडाकूहरूलाई मारेका छौँ वा घाइते बनाएका छौँ र यसका २४ बटालियनमध्ये अधिकांशलाई ‘नष्ट’ गरेका छौँ ।” उहाँले हताहतको आँकडा दिनुभएन र इजराइली सेनाले तत्काल आफूसँग आँकडा नभएको बताएको छ ।

अक्टोबर ७ को आक्रमणपछि धेरै मुलुकले इजराइलसँग ऐक्यबद्धता व्यक्त गरे पनि सरकारले गाजालाई विनाश गरेको सैन्य अभियानका लागि आलोचनाको लहरको सामना पनि गर्नुपरेको छ ।

इजराइल आफ्नो लक्ष्यमा कायम रहने ग्यालेन्टले बताउनुभयो । “हामीले आधा बन्धकहरूलाई फिर्ता गरिसकेका छौँ र बाँकीलाई फिर्ता गर्न प्रतिबद्ध छौँ”, उहाँले भन्नुभयो, “सुरक्षा प्रतिष्ठान र मैले यसको नेतृत्व गरेको छु । युद्धको लक्ष्य हासिल गर्न र पूरा गर्न म प्रतिबद्ध छु ।”

गाजाका विद्यालयमा इजराइली आक्रमण ‘अस्वीकार्य’– फ्रान्स

यसैबीच फ्रान्सले बुधबार गाजामा विस्थापित प्यालेस्टिनीहरूलाई आश्रय दिने विद्यालयहरूमा इजराइलको हालैको घातक हवाई आक्रमणको निन्दा गर्दै त्यस्ता रणनीतिहरूलाई ‘अस्वीकार्य’ घोषणा गरेको छ ।

“हामी यी आक्रमणको पूर्ण छानबिन गर्न माग गर्दछौँ”, पेरिसस्थित विदेश मन्त्रालयले मङ्गलबार दक्षिणी सहर खान युनिस नजिकै एक विद्यालयमा भएको आक्रमणलाई सन्दर्भित गर्दै विज्ञप्तिमा भनेको छ, “विद्यालयहरू विशेषगरी युद्धका कारण विस्थापित भएका नागरिकहरूलाई निशाना बनाइनु अस्वीकार्य छ ।”

“हामी इजराइललाई सैन्य अपरेसनको सञ्चालनमा नागरिकहरूको रक्षा गर्न र अन्तर्राष्ट्रिय मानवीय कानून विशेषरूपमा समानुपातिकता र भिन्नताका सिद्धान्तहरूको पूर्ण सम्मान गर्न आग्रह गर्दछौँ”, विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो चार दिनमा आश्रयस्थलका रूपमा प्रयोग गरिएका चार विद्यालयमाथि घातक आक्रमण हुँदा अन्तर्राष्ट्रिय आक्रोश बढेको छ ।

‘तीनै तहका कर्मचारीले समन्वय र सहकार्यका साथ काम गर्नुपर्छ’ – मुख्यमन्त्री कार्की

विराटनगर, २६ असार : कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तीनै तहका कर्मचारीहरूले आपसमा समन्वय एवं सहकार्य गरेर काम गर्नुपर्ने बताउनुभएको छ । आज तेह्रथुममा आयोजित कार्यक्रममा उहाँले तीनै तह मिलेर काम गर्दा नागरिकलाई सहज हुने भएकाले समन्वयका साथ अगाडि बढ्न निर्देशन दिनुभयो । उहाँले सबै कर्मचारी जिम्मेवार नागरिकसमेत भएकाले सोहीअनुरूप सेवामा लाग्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री कार्कीले पहाडमा बसाइँसराइको समस्या बढ्दै गएकाले त्यसलाई रोक्न ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना र अन्य पूर्वाधार विकासलाई प्राथमिकतामा राख्न जरूरी रहेको धारणा राख्नुभयो । “पहाडमा सडक र बाटो पुग्न थाले तर मानिसहरूचाहिँ झोला तुम्बा बोकेर मधेस झर्न थालेका छन् । यो चिन्ताको विषय हो । यसलाई रोक्न सबै लाग्नुप¥यो”, उहाँले भन्नुभयो, “नेपाल प्राकृतिक हिसाबले सुन्दर भएकाले कृषि पर्यटनमार्फत रोजगारी सिर्जना र आवश्यक पूर्वाधार विकास गरेर पहाडको बसाइँसराइ रोक्ने काममा लाग्नुपर्ने आवश्यकता छ ।” मुख्यमन्त्री कार्कीले असारमा विकासका काम गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न आगामी साउनदेखि नै कार्ययोजना बनाएर रु एक करोडमाथिका योजना पहिलो चौमासिकदेखि नै कार्यान्वयनमा लैजाने बताउनुभयो । त्यसका लागि आवश्यक पर्ने विधि प्रक्रिया टुङ्ग्याएर चाँडै काम सुरू गर्ने उहाँको भनाइ थियो ।

कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले जनताको भावना बुझेर काम गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो । त्यसअवसरमा तेह्रथुमकी प्रमुख जिल्ला अधिकारी मीरा अर्यालले जिल्लाको वस्तुस्थितिका बारेमा जानकारी गराउनुभएको थियो भने तेह्रथुमका प्रदेशसभा सदस्य कमला दर्नाल र किशोरचन्द्र दुलालले पनि आफ्नो धारणा राख्नुभएको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिनुभयो ।

सिरियाको राष्ट्रिय वायुसेवाद्वारा १२ वर्षपछि पुनः साउदी उडान सुरु

सिरियाको राष्ट्रिय वायुसेवाले १२ वर्षको निलम्बनपछि बुधबार साउदी अरबका लागि पुनः नियमित उडान सेवा सुरु गरेको छ ।

सिरियन एयरलाइन्सद्वारा घोषणा गरिएको र साउदी अरबका लागि सिरियाका राजदूतले एएफपीलाई पुष्टि गरेको यो कदमले गत वर्ष कूटनीतिक सम्बन्ध पुनःस्थापित गर्ने दुई सरकारबीचको सुस्त सम्बन्ध जारी राखेको छ ।

राजदूत अयमान सुसनले एक सय ७० यात्री लिएर सिरियन एयरलाइन्सको एक विमान साउदी राजधानी रियादमा अवतरण भएको बताउनुभयो ।

नियमित मार्गको सिरियाको गृहयुद्धका कारण लामो समयसम्म रोकिएपछि दुई देश रियाद र दमास्कसबीच प्रति हप्ता एक राउन्ड ट्रिप उडान सञ्चालन गर्न सहमत भएको उहाँले जानकारी दिनुभयो ।

सिरियाली यातायात मन्त्रालयका अधिकारी सुलेमान खलिलले मागअनुसार साउदी सहर जेद्दा र दमामका विमानस्थलहरू कभर गर्न सीधा मार्ग विस्तार गर्न सकिने बताउनुभयो ।

सन् २०१२ मा रियादले सिरियाको गृहयुद्धको प्रारम्भमा सरकारविरोधी प्रदर्शनकारीहरूमाथि राष्ट्रपति बसर अल–असदको क्रुर दमनलाई लिएर दमास्कससँगको सम्बन्ध तोडेपछि दुई मुलुकबीचको यात्रुवाहक उडान रोकिएको थियो ।

मक्का र मदिनाको वार्षिक मुस्लिम हज तीर्थयात्रामा भाग लिने तीर्थयात्रीहरूका लागि अस्थायी आधारमा सिरिया र साउदी अरबबीच सेवाहरू मे महिनामा पुनः सुरु भएको थियो ।

दुई देशबीचको सम्बन्ध पुनःस्थापित भएको एक वर्षभन्दा बढी समयपछि साउदी अरबले मे महिनामा मात्रै दमास्कसका लागि नयाँ राजदूत नियुक्त गरेको थियो ।

सन् २०२३ मेमा सिरियाली राष्ट्रपति बसर अल–असदले साउदी अरबमा १३ वर्षमा आफ्नो पहिलो अरब शिखर सम्मेलनमा भाग लिनुभएको थियो ।

‘भएको पैसा खर्च गर्न नसक्दा अर्थतन्त्रमा सुधार आएन’ – विज्ञ

नवलपुर (नवलपरासी), २६ असार : देशमा भएको पैसा खर्च गर्न नसक्दा अर्थतन्त्र सुधार हुन नसकेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । नवलपरासी (बर्दघाट–सुस्तपूर्व)को गैँडाकोटस्थित विजय विकास स्रोत केन्द्रकोे ४६औँ स्थापना दिवसको अवसरमा आज आयोजित ‘सहकारी सुशासनः असल अभ्यास, चुनौती र आगामी बाटो’ विषयक सहकारी संवादमा विज्ञहरूले देशको पुँजीगत बजेट पर्याप्त खर्च नहुँदा अर्थतन्त्र सुधार हुन नसकेकामा चिन्ता व्यक्त गरेका हुन् ।

काठमाडौँ विश्वविद्यालयका रजिष्ट्रार एवं अर्थशास्त्री प्रा डा अच्युत वाग्लेले पुँजीगत खर्च हुन नसक्नु देश विकासका लागि चुनौतीपूर्ण भएको बताउनुभयो । “सरकारले बजेटको करिब १८ प्रतिशत रकम विकास खर्च छुट्याउँछ त्यसको पनि बल्लबल्ल ४० प्रतिशत मात्रै खर्च हुन्छ, अर्थतन्त्रको सुधार हुननसक्नुको मुख्य कुरा यही हो”, उहाँले भन्नुभयो । नागरिकले राज्यसँग आशा गर्न छोडेकाले विदेशीने क्रम निरन्तर बढ्दैगएको भन्नुहुँदै डा वाग्लेले अब राज्यले आशा जगाउने गरी काम गर्नसक्नुपर्ने बताउनुभयो।

संस्थागत विकास एवं सुशासनविज्ञ नम्रता शर्माले साहु महाजन र ढुकुटीजस्ता प्रथामा भित्रिएको विकृतिका कारण अर्थतन्त्रमा समस्या आएको बताउनुभयो । आमनागरिकमा वित्तीय साक्षरता नपुग्दा धेरै नागरिक सहकारीमा ठगिन पुगेका पनि उहाँको भनाइ छ । सहकारीले साँच्चिकै समुदायका लागि काम गरेको छ कि छैन भनेर अध्ययन गर्नुपर्नेमा शर्माले जोड दिनुभयो ।

कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन)का अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीका नेतृत्वकर्ताले सुशासनमा ध्यान नदिएकाले केही सहकारीहरू समस्याग्रस्त भएका बताउनुभयो । सहकारीमा भित्रिएको अस्वभाविक विषयलाई समयमै नियन्त्रण गर्न नसक्दा त्यसको असर देशव्यापी फैलिएको भन्नुहुँदै उहाँले सहकारीले सदस्यलाई केन्द्रमा राखेर काम गर्ने परिस्थिति सिर्जना गर्न सके समस्या नआउने धारणा राख्नुभयो ।

संवादमा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाईंले खराब कर्जाका कारण सहकारीमा कर्जा जोखिम बढेको उल्लेख गर्नुभयो । सहकारीको जोखिम व्यवस्थापनतर्फ ध्यान दिँदै सञ्चालकले कर्जा नलिने, संस्थागत पुँजी जगेडा कोष पाँच प्रतिशतभन्दा बढी पु¥याउने र कर्जा असुलीमा ध्यान दिनसके सहकारी कहिल्यै नडुब्ने उहाँको भनाइ थियो । समस्याग्रस्त २१ वटा सहकारी संस्थाको संस्थागत पुँजी शून्य दशमलव पाँच प्रतिशत पनि नभएको हुँदा त्यस्ता सहकारीमा समस्या देखिएको उहाँले बताउनुभयो ।

सहकारी संवादको समूहगत छलफलमा विजय विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक केशवप्रसाद सापकोटाले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रेमप्रसाद सापकोटा र महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख व्यवस्थापक फूलमाया मोक्तानले सहकारीका असल अभ्यासबारे प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा केन्द्रका अध्यक्ष कृष्णप्रसाद सापकोटाले संस्थाले गर्दै आएका क्रियाकलापबारे जानकारी गराउनुभएको थियो ।

देश र जनतालाई केन्द्रमा राखेर कांग्रेस–एमाले गठबन्धन: प्रवक्ता महत

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले देश र जनतालाई केन्द्रमा राखेर कांग्रेस–एमालेबीच सरकार गठनका लागि गठबन्धन भएको बताएका छन् ।

नेपाल विद्यार्थी सङ्घ तारकेश्वर नगरसमितिले बुधबार आयोजना गरेको एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान कार्यक्रममा महतले अस्थिर सरकारका कारण मुलुकको विकासमा बाधा पुगेकाले स्थिरताका लागि नयाँ समीकरण बनाउनुपरेको बताए । महतले नयाँ सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने विश्वास व्यक्त गरे ।

उनले राजनीतिक दलमा आवद्ध नेता तथा कार्यकर्ता समाजसेवाको भावनाले अगाडि बढे आर्थिक, सामाजिक तथा राजनीतिक समस्या समाधान र परिवर्तनलाई संस्थागत गर्न धेरै समय नलाग्ने जिकिर गरे ।

‘हरेक कुरामा राम्रो सम्भावना भएको नेपालजस्तो देश संसारमा अर्को भेट्टाउन सकिँदैन । त्यसैले सबैजना पवित्र भावनासहित देश र समाजको विकासमा लागेमा समृद्धि हासिल गर्न सकिन्छ’, उनले भने,’विशेष गरी युवापुस्ताले विदेश जाने मानसिकता त्यागेर स्वदेशमै केही गर्नुपर्छ भन्ने भावनाको विकास गर्नुपर्छ । निराशा र देखासिकीले देश बन्दैन ।’

‘सरकारले थर सूचीकरणमा ढिलाइ गर्दा दलित समुदाय मर्कामा परे’ – दलित आयोग

काठमाडौँ, २६ असार : राष्ट्रिय दलित आयोगले थर सूचीकरण गर्न सरकारले ढिलाइ गर्दा दलित समुदाय मर्कामा परेको जनाएको छ । एक वर्षदेखि आयोगले थर सूचीकरण गराउन सरकारसमक्ष सिफारिस गर्दै आए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको आयोगको गुनासो छ ।

प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलितको थर राजपत्राङ्कमा प्रकाशन गराउनका लागि सरकारलाई निर्देशन दिन समितिसमक्ष आग्रह गर्नुभयो । बैठकमा ‘राज्यको मूलप्रवाहमा दलित समुदायको समावेशीताको अवस्था र यस सम्बन्धमा राष्ट्रिय दलित आयोगले खेल्दै आएको भूमिका’ बारेमा समेत छलफल भएको थियो ।

छलफलमा आयोगले प्रस्तुत गरेको कार्यप्रतिवेदनमा सांसदहरुले विभिन्न जिज्ञासा र सुझाव राख्नुभयो । समितिका सभापति किरणकुमार साहले दलित समुदायमाथि हुने विभेद अन्त्यको सुरुआत व्यक्ति स्वयंबाट थालनी गर्नुपर्ने बताउनुभयो । उहाँले आफ्नो गाउँमा १५ वर्षदेखि दलित समुदायलाई विभेदमुक्त बनाउन गरेको प्रयास र प्राप्त सफलताबारे उदाहरण पेस गर्नुहुँदै विभेद अन्त्यका लागि सबैले आआफ्नो क्षेत्रबाट योगदान गर्नु जरूरी रहेकामा जोड दिनुभयो ।

सांसदहरू सुशीला श्रीपाली ठकुरी, कल्पना मियाँ, लक्ष्मी तिवारी, शोभा ज्ञवाली, सीताकुमारी राना, शान्ती श्रेष्ठ, सरस्वती बजिमय, शान्ति विक, आशा विकलगायतले आयोगको कार्यप्रतिवदेनमाथि विचार राख्नुभयो । उहाँहरूले निर्वाचन आयोगले उठान गरेको दलित वडा सदस्यको स्थानमा व्यक्ति नभएको खण्डमा अन्य समावेशी समूहका व्यक्ति राख्ने विषयमा आपत्ति जनाउनुभएको थियो ।

सांसद ज्ञवालीले दलितको स्थानमा दलित महिला नै हुनुपर्ने, नभएको अवस्थामा अन्य समुदायलाई समावेश गर्न नहुने राय व्यक्त गर्नुभयो । “दलित महिलाको कोटामा दलित महिला नभए रित्तै राख्नुपर्छ तर अरू समुदायबाट राख्नु हुँदैन, यो समावेशिताको सिद्धान्तविपरीत हुन्छ”, उहाँले भन्नुभयो ।

आयोगका अध्यक्ष विश्वकर्माले दलित समुदायको आरक्षण र प्रतिनिधित्वबारे आयोग सधैँ पक्षधर रहेको बताउनुभयो । दलित आयोग संवैधानिक हुँदाहुँदै राज्यले आवश्यक स्रोतसाधन नदिँदा कार्यसम्पादनमा समस्या झेल्नुपरेको सुनाउनुभयो । “तीन वर्षको अवधिमा १४ जना दलित समुदाय विभेदकै कारण मारिएका छन्, आयोगले शसक्तरूपमा आवाज उठाउनुपर्ने थुप्रै विषय छन् तर स्रोतसाधनको अभावमा हामी पनि खुम्चिएका छौँ । आयोग आफैँ भाडा तिरेर बस्नुपर्ने बाध्यता छ, राज्यले नै बजेटमा दलित आयोगलाई विभेद गरिरहेको छ”, उहाँले गुनासो व्यक्त गर्नुभयो ।

श्रीलङ्काद्वारा पानी सुरक्षा परियोजनाका लागि ‘ओपेक कोष’ सँग सम्पर्कमा

श्रीलङ्काले ओपेक फन्ड फर इन्टरनेशनल डेभलपमेन्टसँग पानी सुरक्षा परियोजनाका लागि १० करोड अमेरिकी डलर सहयोगको लागि वार्ता गरेको राज्यमन्त्रीले बताउनुभएको छ ।

अर्थ राज्यमन्त्री शेहान सेमासिङ्घेले सामाजिक सञ्जालमा लेख्दै महावेली जलसुरक्षा लगानी कार्यक्रमबारे अर्थ मन्त्रालयमा ओपेक फण्डका एसिया प्यासिफिक क्षेत्रीय प्रबन्धक युसुफ अल–मुलामसँग छलफल गरेको उल्लेख गर्नुभयो ।

हाल एसियाली विकास बैङ्कको ३० करोड डलरभन्दा बढीको सुविधामा यो कार्यक्रम सञ्चालन भइरहेको र ओपेक फण्डले थप १० करोड डलर सहवित्त गर्न सहमत भएको छ ।

मोरगाहकाण्ड जलाशयबाट हुरुलु र महाकन्दारा जलाशयमा पानी पु¥याउन डिजाइन गरिएको यो आयोजना श्रीलङ्काको ऋणको पुनर्संरचना र सुधार कार्यक्रमको सफलताको प्रमाण हो, मन्त्रीले थप्नुभयो ।

ललित स्मृति एन्फा यु–१८ युथ लिगको पुरस्कार राशी घोषणा

काठमाडौँ, २६ असार : अखिल नेपाल फुटबल सङ्घको आयोजनामा यही असार ३० गतेदेखि हुने ललित स्मृति एन्फा यु–१८ युथ लिगको विजेताले रु एक लाख प्राप्त गर्ने भएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का उपाध्यक्ष तथा लिग संयोजक दीपक खतिवडाले लिग विजेताले रु एक लाख तथा उपविजेतालाई रु ५० हजार प्रदान गरिने घोषणा गर्नुभयो । उहाँका अनुसार विधागततर्फ उत्कृष्ट हुनेलाई रु १५ हजार प्रदान गरिनेछ ।

संयोजक अतिवडाले प्रतियोगिताको तयारीबापत सहभागी क्लबले रु तीन लाख ५० हजार प्राप्त गरिने र लिगका सम्पूर्ण खेल सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा आयोजना गरिने जानकारी दिनुभयो ।

यही असार ३० गतेदेखि सुरू हुने लिगको उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेड भिड्ने भएका छन् । उक्त खेल दिउँसो १ बजे सुरू हुनेछ ।

प्रतियोगितामा गत संस्करणमा ‘ए’ डिभिजन खेलेका एपिएफ फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, एफसी खुमलटार, जावलाखेल युथ क्लब र मच्छिन्द्र फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । यसैगरी मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टिम, सङ्कटा क्लब, सातदोबाटो युथ क्लब, थ्रीस्टार क्लब र त्रिभुवन आर्मी फुटबल क्लब पनि प्रतिस्पर्धामा सहभागी हुने आयोजकले जनाएको छ ।

बिरिङ नदीको पक्की पुल भासिएपछि आवागमन बन्द

झापा, २६ असार : अर्जुनधारा नगरपालिका–७ स्थित बिरिङ नदीको पक्की पुल भासिएपछि आवागमन बन्द गरिएको छ । उक्त पुल पार गरी पश्चिमी इलाम जाने यातायातका साधनलाई नगरपालिकाले रुट परिवर्तन गरिदिएको छ ।

झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडसँग पश्चिम इलामको विभिन्न पालिकालाई जोड्ने विर्तामोड–शनिश्चरे–दानाबारी मार्गमा पर्ने उक्त पुल १५ वर्षअघि निर्माण भएको थियो । दुई दिनदेखि परिरहेको वर्षा र बाढीले पुल भासिने, चर्किने क्रम बढेपछि सवारी साधन र मानिसको आवागमन बन्द गरिएको अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले जानकारी दिनुभयो ।

उक्त पुल गत वर्ष पनि बाढीका बेला भासिएको थियो । उपप्रमुख पराजुलीका अनुसार नदीमा बाढीको प्रवाह बढेपछि पुल भासिँदै गएको हो । “कुनै दुर्घटना नहोस् भनेर पुलमा यातायातका साधन र मानिसको आवागमन हाललाई बन्द गरेका छौँ”, उहाँले भन्नुभयो ।

झापाको पुरानो व्यापारिक केन्द्र शनिश्चरेलाई खुदुनाबारीसँग सीधा जोड्ने उक्त पुलमा आवागमन बन्द गरिएपछि सवारी चालकहरु केही दुरी घुमेर अर्जुनधारा धाम र सिस्नेको अर्को रुटबाट सवारी साधन गुडाउन बाध्य भएका छन् । स्थानीय दिपीन राईले बिरिङ नदीमा नयाँ पुल निर्माण गरिनुपर्ने बताउनुभयो । उहाँले जीर्ण भइसकेका उक्त पुल बर्सेनि भासिने गरेको देख्दादेख्दै पनि पुनःनिर्माणमा सरकारको ध्यान नगएको गुनासो गर्नुभयो ।

विद्युतीय घेराबेरा बगायो

मेची नदीमा आएको बाढीले मेचीनगर–१ र ४ को सिमानामा पर्ने प्रसाद गौडामा जमिन कटान गर्दा हात्ती छेक्न जडान गरिएको विद्युतीय घेराबेराको तीन वटा पिलर बगाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णबहादुर चन्दले विद्युतीय घेराबेरा बगाउँदा रु एक लाख बराबरको क्षति भएको जानकारी दिनुभयो ।