`

‘सरकारले थर सूचीकरणमा ढिलाइ गर्दा दलित समुदाय मर्कामा परे’ – दलित आयोग

काठमाडौँ, २६ असार : राष्ट्रिय दलित आयोगले थर सूचीकरण गर्न सरकारले ढिलाइ गर्दा दलित समुदाय मर्कामा परेको जनाएको छ । एक वर्षदेखि आयोगले थर सूचीकरण गराउन सरकारसमक्ष सिफारिस गर्दै आए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको आयोगको गुनासो छ ।

प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलितको थर राजपत्राङ्कमा प्रकाशन गराउनका लागि सरकारलाई निर्देशन दिन समितिसमक्ष आग्रह गर्नुभयो । बैठकमा ‘राज्यको मूलप्रवाहमा दलित समुदायको समावेशीताको अवस्था र यस सम्बन्धमा राष्ट्रिय दलित आयोगले खेल्दै आएको भूमिका’ बारेमा समेत छलफल भएको थियो ।

छलफलमा आयोगले प्रस्तुत गरेको कार्यप्रतिवेदनमा सांसदहरुले विभिन्न जिज्ञासा र सुझाव राख्नुभयो । समितिका सभापति किरणकुमार साहले दलित समुदायमाथि हुने विभेद अन्त्यको सुरुआत व्यक्ति स्वयंबाट थालनी गर्नुपर्ने बताउनुभयो । उहाँले आफ्नो गाउँमा १५ वर्षदेखि दलित समुदायलाई विभेदमुक्त बनाउन गरेको प्रयास र प्राप्त सफलताबारे उदाहरण पेस गर्नुहुँदै विभेद अन्त्यका लागि सबैले आआफ्नो क्षेत्रबाट योगदान गर्नु जरूरी रहेकामा जोड दिनुभयो ।

सांसदहरू सुशीला श्रीपाली ठकुरी, कल्पना मियाँ, लक्ष्मी तिवारी, शोभा ज्ञवाली, सीताकुमारी राना, शान्ती श्रेष्ठ, सरस्वती बजिमय, शान्ति विक, आशा विकलगायतले आयोगको कार्यप्रतिवदेनमाथि विचार राख्नुभयो । उहाँहरूले निर्वाचन आयोगले उठान गरेको दलित वडा सदस्यको स्थानमा व्यक्ति नभएको खण्डमा अन्य समावेशी समूहका व्यक्ति राख्ने विषयमा आपत्ति जनाउनुभएको थियो ।

सांसद ज्ञवालीले दलितको स्थानमा दलित महिला नै हुनुपर्ने, नभएको अवस्थामा अन्य समुदायलाई समावेश गर्न नहुने राय व्यक्त गर्नुभयो । “दलित महिलाको कोटामा दलित महिला नभए रित्तै राख्नुपर्छ तर अरू समुदायबाट राख्नु हुँदैन, यो समावेशिताको सिद्धान्तविपरीत हुन्छ”, उहाँले भन्नुभयो ।

आयोगका अध्यक्ष विश्वकर्माले दलित समुदायको आरक्षण र प्रतिनिधित्वबारे आयोग सधैँ पक्षधर रहेको बताउनुभयो । दलित आयोग संवैधानिक हुँदाहुँदै राज्यले आवश्यक स्रोतसाधन नदिँदा कार्यसम्पादनमा समस्या झेल्नुपरेको सुनाउनुभयो । “तीन वर्षको अवधिमा १४ जना दलित समुदाय विभेदकै कारण मारिएका छन्, आयोगले शसक्तरूपमा आवाज उठाउनुपर्ने थुप्रै विषय छन् तर स्रोतसाधनको अभावमा हामी पनि खुम्चिएका छौँ । आयोग आफैँ भाडा तिरेर बस्नुपर्ने बाध्यता छ, राज्यले नै बजेटमा दलित आयोगलाई विभेद गरिरहेको छ”, उहाँले गुनासो व्यक्त गर्नुभयो ।

श्रीलङ्काद्वारा पानी सुरक्षा परियोजनाका लागि ‘ओपेक कोष’ सँग सम्पर्कमा

श्रीलङ्काले ओपेक फन्ड फर इन्टरनेशनल डेभलपमेन्टसँग पानी सुरक्षा परियोजनाका लागि १० करोड अमेरिकी डलर सहयोगको लागि वार्ता गरेको राज्यमन्त्रीले बताउनुभएको छ ।

अर्थ राज्यमन्त्री शेहान सेमासिङ्घेले सामाजिक सञ्जालमा लेख्दै महावेली जलसुरक्षा लगानी कार्यक्रमबारे अर्थ मन्त्रालयमा ओपेक फण्डका एसिया प्यासिफिक क्षेत्रीय प्रबन्धक युसुफ अल–मुलामसँग छलफल गरेको उल्लेख गर्नुभयो ।

हाल एसियाली विकास बैङ्कको ३० करोड डलरभन्दा बढीको सुविधामा यो कार्यक्रम सञ्चालन भइरहेको र ओपेक फण्डले थप १० करोड डलर सहवित्त गर्न सहमत भएको छ ।

मोरगाहकाण्ड जलाशयबाट हुरुलु र महाकन्दारा जलाशयमा पानी पु¥याउन डिजाइन गरिएको यो आयोजना श्रीलङ्काको ऋणको पुनर्संरचना र सुधार कार्यक्रमको सफलताको प्रमाण हो, मन्त्रीले थप्नुभयो ।

ललित स्मृति एन्फा यु–१८ युथ लिगको पुरस्कार राशी घोषणा

काठमाडौँ, २६ असार : अखिल नेपाल फुटबल सङ्घको आयोजनामा यही असार ३० गतेदेखि हुने ललित स्मृति एन्फा यु–१८ युथ लिगको विजेताले रु एक लाख प्राप्त गर्ने भएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का उपाध्यक्ष तथा लिग संयोजक दीपक खतिवडाले लिग विजेताले रु एक लाख तथा उपविजेतालाई रु ५० हजार प्रदान गरिने घोषणा गर्नुभयो । उहाँका अनुसार विधागततर्फ उत्कृष्ट हुनेलाई रु १५ हजार प्रदान गरिनेछ ।

संयोजक अतिवडाले प्रतियोगिताको तयारीबापत सहभागी क्लबले रु तीन लाख ५० हजार प्राप्त गरिने र लिगका सम्पूर्ण खेल सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा आयोजना गरिने जानकारी दिनुभयो ।

यही असार ३० गतेदेखि सुरू हुने लिगको उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेड भिड्ने भएका छन् । उक्त खेल दिउँसो १ बजे सुरू हुनेछ ।

प्रतियोगितामा गत संस्करणमा ‘ए’ डिभिजन खेलेका एपिएफ फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, एफसी खुमलटार, जावलाखेल युथ क्लब र मच्छिन्द्र फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । यसैगरी मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टिम, सङ्कटा क्लब, सातदोबाटो युथ क्लब, थ्रीस्टार क्लब र त्रिभुवन आर्मी फुटबल क्लब पनि प्रतिस्पर्धामा सहभागी हुने आयोजकले जनाएको छ ।

बिरिङ नदीको पक्की पुल भासिएपछि आवागमन बन्द

झापा, २६ असार : अर्जुनधारा नगरपालिका–७ स्थित बिरिङ नदीको पक्की पुल भासिएपछि आवागमन बन्द गरिएको छ । उक्त पुल पार गरी पश्चिमी इलाम जाने यातायातका साधनलाई नगरपालिकाले रुट परिवर्तन गरिदिएको छ ।

झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडसँग पश्चिम इलामको विभिन्न पालिकालाई जोड्ने विर्तामोड–शनिश्चरे–दानाबारी मार्गमा पर्ने उक्त पुल १५ वर्षअघि निर्माण भएको थियो । दुई दिनदेखि परिरहेको वर्षा र बाढीले पुल भासिने, चर्किने क्रम बढेपछि सवारी साधन र मानिसको आवागमन बन्द गरिएको अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले जानकारी दिनुभयो ।

उक्त पुल गत वर्ष पनि बाढीका बेला भासिएको थियो । उपप्रमुख पराजुलीका अनुसार नदीमा बाढीको प्रवाह बढेपछि पुल भासिँदै गएको हो । “कुनै दुर्घटना नहोस् भनेर पुलमा यातायातका साधन र मानिसको आवागमन हाललाई बन्द गरेका छौँ”, उहाँले भन्नुभयो ।

झापाको पुरानो व्यापारिक केन्द्र शनिश्चरेलाई खुदुनाबारीसँग सीधा जोड्ने उक्त पुलमा आवागमन बन्द गरिएपछि सवारी चालकहरु केही दुरी घुमेर अर्जुनधारा धाम र सिस्नेको अर्को रुटबाट सवारी साधन गुडाउन बाध्य भएका छन् । स्थानीय दिपीन राईले बिरिङ नदीमा नयाँ पुल निर्माण गरिनुपर्ने बताउनुभयो । उहाँले जीर्ण भइसकेका उक्त पुल बर्सेनि भासिने गरेको देख्दादेख्दै पनि पुनःनिर्माणमा सरकारको ध्यान नगएको गुनासो गर्नुभयो ।

विद्युतीय घेराबेरा बगायो

मेची नदीमा आएको बाढीले मेचीनगर–१ र ४ को सिमानामा पर्ने प्रसाद गौडामा जमिन कटान गर्दा हात्ती छेक्न जडान गरिएको विद्युतीय घेराबेराको तीन वटा पिलर बगाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णबहादुर चन्दले विद्युतीय घेराबेरा बगाउँदा रु एक लाख बराबरको क्षति भएको जानकारी दिनुभयो ।

फिल्म ‘ईश्वर’ को प्रर्दशन मिति निजिकएसँगै चर्चा सुरु, निर्माता थापा भन्छन् फिल्म हेरेर दर्शक खुशी भएर हलबाट निस्किन्छन्

काठमाडौं । नायक तथा निर्माता ध्रुव थापा फिल्म ‘ईश्वर’ लिएर आगामी साउन ११ गतेदेखि दर्शकमाझ आउँदैछन् । रेडियो नाटक, स्टेज नाटक, भिडियो फिल्म, टेलिफिल्म र केही फिल्ममा अभिनय गरेका ध्रुव फिल्म ‘ईश्वर’बाट आशावादी छन् ।फिल्म ‘ईश्वर’मा ध्रुवले निर्माता र नायक दुवै जिम्मेवारी बोकेका छन् । ‘फिल्ममा निडर, निष्टावान, न्यायको पक्षमा लड्ने, परिवारलाई माया, मद्दत गर्ने सकारात्मक चरित्रमा छु । मेरो चरित्र समय, देश, न्याय र जनताको पक्षमा लडिरहन्छ’, हाल अमेरिकामा रहेका ध्रुव भन्छन् । फिल्ममा सुनील थापा, सबिन बास्तोलालगायतका दिग्गज कलाकारको अभिनय छ ।

दिग्गज कलाकारसँग काम गर्न पाउँदा ध्रुव खुशी छन् । ‘कामको संख्याका आधारमा मसँग काम गर्ने कलाकारहरु सिनियर हुनुहोला । तर समय र अनुभवले म आफूलाई जुनियर मान्दिनँ । किनकी एउटा सक्षम कलाकारको कर्तव्य र सीमा के हो मैले राम्रोसँग बुभेको छु’, उनी भन्छन्, ‘फिल्ममा स्थापित कलाकारहरुसँग काम गर्न निकै सजिलो भयो । म आफूलाई नयाँ कलाकार जस्तो लाग्दै लागेन । केही समय ग्यापिङ भए पनि म आफूलाई निरन्तरता दिएको कारणले गर्दा म आफूलाई पुरानै कलाकार भन्न रुचाउँछु ।’

ध्रुवले २०४८ सालमा रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र पोखरामा आफ्नै लेखन र प्रस्तुतीमा गीति कथा र रेडियो नाटकबाट कला यात्रा सुरु गरे । ‘मैले विभिन्न स्टेज नाटक, रेडियो नाटक, भिडियो फिल्म, टेलिफिल्म हुँदै केही फिचर फिल्ममा अभिनय पनि गरें । म कला क्षेत्रमा स्थापित हुन नसकेको मात्र हो । पारिवारिक व्यस्तता, लगानीको प्रमुख पाटो र नातावाद, कृपावाद आदिले गर्दा म केही समय हराए । अहिले सबै कुराको एडजस्ट भएको छ । त्यसैले नेपाली फिल्ममा पुनः फर्किएको भन्न रुचाउँछु ।’
ध्रुवले ‘हिजो आजका कुरा’, ‘तितो सत्य’, ‘मेरी बास्सै’ ‘थोरै भए पुगिसरी’, ‘जिरे खुर्सानी’लगायत दर्जनौं सिरियलमा अभिनय गरेका छन् । उनले २५ वर्षअघि ‘परेलीको माझ’ र टेलिफिल्म ‘तिहार’ निर्माण गरेका थिए । तर दुवै सिर्जना दर्शकमाझ आउन सकेन । ध्रुव फिल्म, नाटकमा अभिनय गर्न निकै ‘इन्जोय’ अनुभव गर्छन् ।

फिल्म ‘ईश्वर’ प्रति उनी निकै उत्साहित छन् । ‘प्रदर्शन मिति नजिकिँदै गर्दा मलाई डरभन्दा बढी उत्साह छ । मैले यो फिल्ममा मुख्य पात्रको भूमिका निभाएको छु । त्यसकारण दर्शकको माया पाउनेमा विश्वस्त छु’, उनी भन्छन् । पोखरामा जन्मिएका ध्रुवले कलाकार माओत्से गुरुङसँगै रंगमञ्चबाट काम सुरु गरेका हुन् । आफू माओत्से जस्तो स्थापित हुन नसके पनि त्यो स्थानमा पुग्न संघर्षरत रहेको उनी दाबी गर्छन् । कविता, गीत, गजल लेख्न रुचाउने ध्रुवले बर्षमा दुईवटा नेपाली फिल्म निर्माण गर्ने अठोट लिएका छन् । ‘त्यसको सुरुवात ईश्वरबाट गरेको हुँ’, उनी भन्छन् । उनले लेखेका चारवटा गीत युट्युबमा यसअघि नै आइसकेका छन् । फिल्म ‘ईश्वर’मा राजु गिरीको निर्देशन छ ।

डाक्टर रुद्रनाथ अधिकारी, शान्तीश्री र अन्जलीको सहकार्यमा तयार भयो यसपालीको तीजमा

काठमाडौं– गायिका शान्तीश्री परियारको स्वर रहेको यसपालीको तिजमा बोलको गीतको भिडियो रिलिज गरिएको छ। हिन्दू नेपालीहरुको महान पर्व तीज नजिकिएसँगै ज्योतिष पण्डित डाक्टर रुद्रनाथ अधिकारीको शब्द सृजना रहेको सार्वजनिक गीतमा गाउँ घरमा बोलिँदै आएका मौलीक शब्द शृजना समावेश गरिएको गीतमा मार्मिक शब्द, शब्दका मर्म र भावलाई उजागर गर्ने प्रयत्न गरिएको छ।

गाउँ घरमा तीजको माहोलमा गरिने रमाइलोलाई देखाउँदै भगवान शिवलाई यस विशेष पर्वमा खुशी पार्ने कुरा र माइती गएकी चेलीका लागि आमाको महत्वलाई गीतकार डाक्टर अधिकारीले वर्णन गरेका छन्।

सार्वजनिक गीतमा संगीत रिमेश कुमार थापाको रहेको छ। पछिल्ला दिनमा तिजका गीतमा बढ्दो बिकृति बढेको भन्दै गुनासोहरु आइरहेका बेला सार्वजनिक यसपालीको तिजमा बोलको गीतमा भने मौलीक विषय बस्तु उठाइएको निर्माण यूनिट बताउँछ।

कृष्णदेव रुपाखेतीको निर्देशनमा तयार भएको सार्वजनिक गीतमा लोकप्रिय मोडल अञ्जली अधिकारीको अभिनय देख्न सकिन्छ। जसमा उत्सब दाहालको छायांकन तथा विकाश ज्ञवालीको सम्पादन रहेको छ। गीत ज्योतिष पण्डित डाक्टर रुद्रनाथ अधिकारी अफिसियल च्यानलबाट बजारमा आएको हो।

११ महिनामा ५५ हजार बढी पर्यटकले खुम्बुक्षेत्रको भ्रमण गरे,१३ करोड राजस्व सङ्कलन

सोलुखुम्बु, २६ असार : चालु आर्थिक वर्ष २०८०/०८१ को ११ महिनामा ५५ हजार नौ सय ७९ जना पर्यटकले खुम्बुक्षेत्रको भ्रमण गरेका छन् । गत साउनदेखि यही जेठ मसान्तसम्ममा यी पर्यटकहरु भ्रमणका लागि खुम्बुक्षेत्र पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । निकुञ्जका सूचना अधिकारी मनोजकुमार मण्डलका अनुसार भ्रमणका लागि पुगेका पर्यटकमध्ये ४८ हजार चार सय दुई जना विदेशी र सात हजार पाँच सय ७७ जना नेपाली छन् ।

यस वर्ष सबैभन्दा बढी वैशाखमा नौ हजार नौ सय ७६ जना र सबैभन्दा कम साउनमा दुई सय आठ जनाले खुम्बुक्षेत्रको भ्रमण गरेको सूचना अधिकारी मण्डलले जानकारी दिनुभयो । वैशाख महिना मुख्य पर्यटकीय सिजन भएकाले पर्यटकको चाप देखिएको र साउन अफ सिजन भएकाले फाट्टफुट्ट मात्रै पर्यटक आएको उहाँको भनाइ छ ।

चालु आवको ११ महिनामा पर्यटकबाट निकुञ्जले रु १३ करोड ६५ लाख सात सय राजस्व सङ्कलन गरेको छ । निकुञ्जले पर्यटक शुल्क बापत् नेपालीसँग एक सय, सार्क राष्ट्रका नागरिकसँग एक हजार पाँच सय र अन्य विदेशीबाट प्रतिव्यक्ति रु तीन हजार रुपैयाँ लिने गरेको छ । सो अवधिमा सात हजार पाँच सय ७७ नेपाली, छ हजार तीन सय आठ सार्क मुलुकका र ४२ हजार ९४अन्य देशका पर्यटकले खुम्बु भ्रमण गरेको निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।

शोधनान्तर र चालुखाता बचतमा, वाञ्छित सीमाभित्र मुद्रास्फीति

काठमाडौँ, २६ असार : चालु आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्ममा आर्थिक तथा वित्तीय सूचकहरूको अवस्था सकारात्मक देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको एघार महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मुद्रास्फीतिदर वाञ्छित सीमाभित्र देखिएको छ भने शोधनान्तर र चालुखाता बचतमा छन् । त्यस्तै अर्थतन्त्रको बाह्य क्षेत्र पनि सन्तुलित देखिएको छ । विदेशी मुद्रा सञ्चिति र विप्रेषण आप्रवाह बढेको छ ।

राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति गत जेठमा चार दशमलव १७ प्रतिशत रहेको थियो । खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति पाँच दशमलव ७६ र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति दुई दशमलव ९४ प्रतिशत रहेको छ । वार्षिक बिन्दुगत थोक मुद्रास्फीति पाँच दशमलव ४८ प्रतिशत छ ।

गत जेठ मसान्तसम्ममा समीक्षा अवधिमा चालु खाता रु दुई खर्ब ३९ करोडले बचतमा रहेको छ भने पुँजीगत ट्रान्सफर रु पाँच अर्ब ४६ करोड कायम भएको छ । यो अवधिसम्मको खुद प्रत्यक्ष वैदेशिक लगानी रु आठ अर्ब १६ करोडले धनात्मक रहेको छ । यो अवधिसम्ममा शोधनान्तर स्थिति रु चार खर्ब २५ अर्ब ६७ करोडले बचतमा रहेको छ ।

विसं २०८० असार मसान्तमा रु १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति चालु आवको ११ महिना अवधिमा २७ दशमलव ८ प्रतिशतले वृद्धि भई २०८१ जेठ मसान्तमा रु १९ खर्ब ६७ अर्ब १९ करोड पुगेको छ । आर्थिक वर्ष २०८०÷८१ को ११ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५ दशमलव एक महिनाको वस्तु आयात र १२ दशमलव छ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

यो अवधिमा विप्रेषण आप्रवाह १९ दशमलव ३ प्रतिशतले वृद्धि भई रु १३ खर्ब २७ अर्ब ५१ करोड पुगेको छ । चालु आवको जेठ मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या चार लाख २२ हजार नौ सय ३६ र पुनःश्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ६२ हजार सात सय पाँच रहेको छ । यो अवधिमा आयात एक दशमलव आठ, निर्यात तीन र कूल वस्तु व्यापार घाटा एक दशमलव सात प्रतिशतले घटेको छ ।

जेठ मसान्तसम्ममा विस्तृत मुद्राप्रदाय नौ दशमलव एक प्रतिशतले वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन नौ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा पाँच दशमलव एक प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२ दशमलव छ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर पाँच दशमलव छ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

‘स्थिर सरकारका लागि कांग्रेस–एमाले एकै ठाउँमा आयौँ’ : महामन्त्री शर्मा

झापा, २६ असार : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थिर सरकार दिने उद्देश्यले संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमाले एकै ठाउँमा उभिएको बताउनुभएको छ । झापामा आज आयोजित कार्यक्रममा उहाँले पटकपटक हुने सरकार परिवर्तनले मुलुकमा अस्थिरता सिर्जना गरेकाले त्यसलाई रोक्न दुई दल एकमत भएको बताउनुभएको हो ।

महामन्त्री शर्माले दुवै दलको सहमतिअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले अब बन्ने सरकारको नेतृत्व गर्ने स्पष्ट पार्नुभयो । “एमाले नेतृत्वको सरकारलाई नेपाली कांग्रेसले काँध हाल्छ”, उहाँले भन्नुभयो, “त्यही सरकारले मुलुकको वर्तमान सङ्कट समाधान गर्नेमा हामी आशावादी छौँ ।”

स्थानीय क्षेत्रको विकास निर्माणका लागि तीनै तहका सरकारबीच समन्वय जरुरी रहेको उल्लेख गर्नुहुँदै प्रतिनिधिसभा सदस्य शर्माले फरक आस्था र विचारबाट निर्वाचन जितेर आए पनि साझा प्रतिनिधि बनेर जनताको काम गर्न लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले त्यस अवसरमा मेचीनगर–५ स्थित सिर्जना चोकमा मेचीनगर सहलगानी आयोजनाअन्तर्गत चार सय ५० घनमिटरको ओभरहेड ट्याङ्कीको आज शिलान्यास गर्नुभयो ।

उक्त आयोजनाअन्तर्गत मेचीनगरका काँकडभिट्टा, धुलाबारी, चारआली र बाहुनडाँगी क्षेत्रमा खानेपानीका विभिन्न परियोजना सञ्चालन भइरहेका काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष रोहितकुमार बुढाथोकीले जानकारी दिनुभयो ।

ओभरहेड ट्याङ्कीसहितको परियोजना मूल्य अभिवृद्धि करसहित कूल रु १० करोड ४८ लाख १९ हजार लागतमा निर्माण हुन लागेको हो । दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी ग्लोबल दिपेश जेभी काठमाडौँले काम गरिरहेको छ । कूल लागतमध्ये रु एक करोड ३१ लाख काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था र रु नौ करोड १७ लाख १७ हजार सङ्घीय सरकारले व्यहोर्ने अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो ।

यहाँ चार सय ५० घनमिटर र दुई सय २५ घनमिटरका गरी दुईवटा ओभरहेड ट्याङ्की, चारवटा बोरिङ, दुईवटा जेनेरेटर, दुईवटा ट्रान्सफर्मर, दुईवटा ट्रिटमेन्ट प्रणाली, ३५ किलोमिटर पाइपलाइन विस्तार र कार्यालय भवन निर्माण गरिने उहाँले बताउनुभयो ।

शिलान्यास समारोहमा संविधानसभा सदस्य रविन कोइराला, मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेलगायतले परियोजनाको काम निर्धारित समयमै गुणस्तरीय रूपमा हुनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

बुद्धशान्तिमा झोलुङ्गे पुल शिलान्यास

महामन्त्री शर्माले आजै बुद्धशान्ति गाउँपालिकास्थित टिमाइ खोलामा रु पाँच करोड ९८ लाख ८१ हजारको लागतमा बन्न लागेको झोलुङ्गे पुलको शिलान्यास गर्नुभएको छ । बुद्धशान्ति वडा नं ६ र ७ लाई जोड्ने पुल चार सय ७६ मिटर लामो हुनेछ ।

उहाँले पुल बनेसँगै स्थानीयवासीले उत्पादन गरेका कृषिउपजको बजारीकरण र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताउनुभयो । प्रतिनिधिसभा सदस्य शर्माले पुल निर्माणपछि बुद्धशान्तिका वडा नं ६ र ७ लाई मात्र नभई इलामको रोङ गाउँपालिका वडा नं ५ र ६ का बासिन्दालाई समेत सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

पर्यटकीयस्थल गुठीचौरमा प्याराग्लाइडिङको व्यावसायिक परीक्षण उडान

जुम्ला, २६ असार : यहाँको गुठीचौर गाउँपालिकाको पर्यटकीयस्थल गुठीचौरलाई पर्यटकीय प्रवर्द्धन गर्न पहिलोपटक साहसिक खेल प्याराग्लाइडिङको व्यावसायिक परीक्षण उडान गरिएको छ । पोखरामा प्याराग्लाडिङ गर्दै आउनुभएका बाबु एडभान्चर ग्रुपका मोहन सुनावार, सानुबाबु सुनुवार, राजकुमार सुनुवार, निर्गम सुनुवार र निर्मल सुनुवारलगायतको प्याराग्लाइडिङ पाइलटको टिमले गुठीचौरमा आज पहिलोपटक परीक्षण उडान गरेको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले बताउनुभयो ।

“परीक्षण उडान सफल भएको छ”, अध्यक्ष बुढाले भन्नुभयो, “अब दुईजना प्याराग्लाडिङ पाइलट राखेर गाउँपालिकाले नियमित उडान गर्ने छ ।” पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले गुरुयोजना बनाई कार्यान्वयन गर्ने गाउँपालिका अध्यक्ष बुढाको भनाइ छ ।

सो गाउँपालिकाका स्थानीयवासी टेकबहादुर भण्डारीले गुठीचौरमा पहिलोपटक आकाशमा प्याराग्लाडिङ देख्न पाउँदा निकै खुसी लागेको बताउनुभयो । नियमित प्याराग्लाइडिङ उडान गर्न यहाँका उत्साहित युवालाई यससम्बन्धी विशेष तालिमको व्यवस्था गर्ने गाउँपालिकाले जनाएको छ ।

सुरक्षित उडानका लागि प्याराग्लाइडिङ उपकरणका सम्पूर्ण जाँच, स्वास्थ्य मापदण्डलगायतका विषयमा प्यारा पाइलट र व्यवसाय सञ्चालकलाई सचेतनाका कार्यक्रम सञ्चालन गरिने गुठीचौर गाउँपालिकाले जनाएको छ ।

एमालेका ११ जिल्ला अधिवेशन कात्तिक महिनाभित्र गर्न निर्देशन

काठमाडौँ, २६ असारः नेपाल कम्युनिष्ट पार्टी (एमाले) सचिवालय बैठकले मातहतका ११ जिल्लालाई आगामी कात्तिक मसान्तभित्र अधिवेशन गर्न निर्देशन दिएको छ । आज ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले कात्तिक मसान्तभित्र ११ जिल्लामा अधिवेशन सम्पन्न गर्न निर्देशन दिने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

एमालेले गत जेठ मसान्तभित्र अधिवेशन गर्न ७७ वटै जिल्ला कमिटीलाई निर्देशन दिएकामा ६६ जिल्लामा मात्र अधिवेशन सम्पन्न भएको छ । इलाम, मोरङ, तेह्रथुम, सप्तरी, सिराहा, धनुषा, मनाङ, डोल्पा, डोटी, अछाम र बझाङमा अधिवेशन हुन बाँकी छन् ।

यस्तै सचिवालय बैठकले सबै जिल्लाहरूलाई साउन महिनाभित्र पार्टी सदस्यता नवीकरण गरी भदौ महिनामा केन्द्रीय कार्यालयमा पठाउनसमेत निर्देशन दिएको छ ।

नेपाल अर्थोपेडिक अस्पताललाई शिक्षण संस्थामा विकास गरिनुपर्छ : नेता डा कोइराला

काठमाडौँ, २६ असारः नेपाली कांग्रेसका नेता तथा सांसद डा शेखर कोइरालाले जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ नेपाल अर्थोपेडिक अस्पताललाई शिक्षण संस्थाका रूपमा पनि विकास गर्नुपर्ने बताउनुभएको छ ।

अस्पतालको निरीक्षणपश्चात नेता डा कोइरालाले अर्थोपेडिक उपचारसँगै स्नातकोत्तर तहको अध्ययन गर्ने शिक्षण संस्थाका रूपमा यस अस्पतालको विकास गर्दै लैजानुपर्ने बताउनुभएको हो । अस्पतालको पछिल्लो अवस्था, उपचार पद्दति तथा यसका चुनौतीहरूका बारेमा जानकारी लिँदै नेता डा कोइरालाले अस्पतालका लागि राज्यका तर्फबाट नियमित बजेटको व्यवस्था र त्यहाँ कार्यरत जनशक्तिका लागि आवश्यक नियमित तालिम र अस्पातलको आधुनिकीकरणका लागि आफूले आफ्ना ठाउँबाट सक्दो पहल गर्ने आश्वासन दिनुभयो ।

त्यस अवसरमा अस्पतालका मेडिकल निर्देशक डा कैलाश भण्डारीले अस्पतालको पछिल्लो अवस्था तथा समस्याका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले सरकारका तर्फबाट नियमित रूपमा बजेटको व्यवस्थासँगै यस अस्पताललाई प्राथामिकतामा राख्ने कार्यमा सहयोग गर्न नेता डा कोइरालालाई आग्रह गर्नुभएको थियो ।

अनाथ, असहाय, निम्न वर्गीय तथा अपाङ्गता भएका नागरिकको स्वास्थ्य सेवामा समर्पित रहनेगरी गैरनाफामूलक संस्थाका रूपमा सन् १९९८ मा स्थापना भएको यस अस्पतालले हाडजोर्नीका बिरामीका लागि सेवा प्रदान गर्दै आएको छ ।

सेतीनदीबाट दाउरा निकाल्ने क्रममा बगाउँदा बेपत्ता

तनहुँ, २६ असारः बाढीले बगाएर ल्याएको दाउरा सेतीनदीबाट झिक्ने क्रममा आज बिहान एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार व्यास नगरपालिका–१ भादगाउँ का ५५ वर्षका तालबहादुर थापा छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा नदीमा बेपत्ता भएका हुन् ।

कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले थापाको खोजी जारी रहेको जानकारी दिनुभयो । बाढीले बगाएर ल्याएको दाउरा निकाल्न नदी किनार आसपासका मानिसको भीड लाग्ने गर्दछ ।

पहिराले अवरुद्व पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन

म्याग्दे गाउँपालिका–६ मौरीओढारमा आज बिहान पहिरा खस्दा अवरुद्व पृथ्वीराजमार्गमा एकतर्फी सञ्चालनमा ल्याइएको छ । अविरल वर्षाका कारण खसेको लेदोसहितको पहिरोले राजमार्ग अवरुद्व भएको थियो । पृथ्वीराजमार्गअन्तर्गत पर्ने बन्दीपुर–५ याम्पा नजिक खसेको पहिरा पन्छाएर एकतर्फी सवारीसाधन सञ्चालनमा ल्याएको प्रहरीले जनाएको छ ।

अरनिको राजमार्ग अवरुद्ध, कष्टपूर्ण यात्रा गर्दै यात्रुहरु

काभ्रे । अरनिको राजमार्ग अवरुद्ध भएको छ । निरन्तरको वर्षाले निर्माणाधीन धुलिखेल–खावा सडकखण्डमा पहिरो गएकाले राजमार्ग आज पुनः अवरुद्ध भएको हो ।

स्तरोन्नतिका लागि निर्माणाधीन सडकमा पानी परेका कारण हिलो–लेदो माटोमा मालवाहक गाडी अड्किएपछि त्यसलाई निकाल्न नसकिएको र खावा नजिक सडकमा पहिरो खसिरहेकाले राजमार्ग बन्द रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले निर्माणाधीन सडकमा हिलो–लेदोका कारण मालवाहकसहित यात्रुवाहक सवारीसाधन अड्किएकाले र पकुचाभन्दा केही तल पहिरो गएकाले राजमार्ग बिहानदेखि अवरुद्ध रहेको जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार राजमार्ग खुलाउन जिल्लास्थित सुरक्षा निकाय र सडक डिभिजनको समन्वय भइरहेको छ । उनले सडकमा ठूलाठूला खाल्डा र हिलोका कारण निकै कठिनाइ देखिएको बताए । धुलिखेलबाट खावासम्म चार किलोमिटर सडकमा आकस्मिकलगायत सवारीसाधन रोकिएका छन् ।

जिल्ला प्रशासन कार्यालयले बिहानैदेखि अरनिको राजमार्ग अवरुद्ध भएकाले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ ।

राजमार्ग वर्षाका कारण पाँचखालस्थित ५० किलो भन्ने स्थानमा सोमबारदेखि पहिरो जाँदा करिब दुई सय मिटर सडक अवरुद्ध भएको थियो । सडकको उक्त पहिरो पन्छाई १४ घण्टापछि मङ्गलबार दिउँसो २ बजे दुवैतर्फी सञ्चालन गरिएको थियो ।

पहिरोका कारण चार दिनदेखि अवरुद्ध बुद्धसिंह मार्ग खुल्यो

दमौली (तनहुँ), २६ असार : पृथ्वीराजमार्गको वैकल्पिक सडकका रूपमा विकास गर्न लागिएको बुद्धसिंह मार्गको पहिरा हटाइएको छ । तनहुँको सदरमुकाम दमौलीबाट चितवनको घुमाउने निस्किने उक्त मार्गको विभिन्न ठाउँमा गएको पहिरो हटाउन सोमबार साँझदेखि काम सुरु गरिएको थियो ।

पहिराले विभिन्न ठाउँमा ठूलाठूला ढुङ्गा खसेपछि गत शनिबारदेखि उक्त मार्ग अवरुद्ध थियो । स्थानीयवासी सिद्धान्त थापामगरका अनुसार व्यास नगरपालिका–१३ बेलबास निउरोघारीमा गएको पहिरो सोमबार नै हटाइएको छ भने साना पहिरा मङ्गलबार बिहानबाट हटाइएको थियो । उहाँले भन्नुभयो, “ठूला ठूलो ढुङ्गा खसेका ठाउँमा सोमबार नै पहिरा हटाइएको छ, अरु सहायक बाटोमा मङ्गलबार बिहानदेखि काम सुरु गरिएको थियो ।”

गण्डकी प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको बुद्धसिंह मार्गले तनहुँको सदरमुकाम दमौली र चितवनको घुमाउने जोड्छ । उक्त सडक हुँदै बन्दीपुर, देवघाट र आँबुखैरेनी गाउँपालिका केही वडाका हजारौँ नागरिक दैनिक आवतजावत गर्ने गर्छन् ।

गण्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लासँग जोड्ने सबैभन्दा छोटोदूरीको वैकल्पिक सडकका रूपमा उक्त सडकलाई लिने गरिएको छ । गण्डकी प्रदेश सरकारले उक्त सडकको दमौलीबाट व्यास –१३ को सोढेसम्म १० किलोमिटर कालोपत्रको तयारी गरे पनि काम सन्तोषजनक छैन ।

उक्त बुद्धसिंह मार्गलाई मुग्लिन–नारायणगढ सडकसँग जोड्ने चितवनको घुमाउनेमा पक्कीपुल निर्माणाधीन अवस्थामा छ । सो पुलको निर्माण सम्पन्नपश्चात बाटो छोटिन्छ । पुल निर्माणपछि सो सडक हुँदै यात्रा गर्दा हाल सञ्चालनमा रहेको पृथ्वीराजमार्गको मुग्लिन हुँदै नारायणगढ जानुभन्दा करिब २५ किलोमिटर छोटो पर्छ ।

पहिराले विद्युत् पोल मर्मतमा समस्या

बुद्धसिंह मार्गअन्तर्गत तनहुँको सुडे साराङघाट क्षेत्रमा पहिरा गएपछि विद्युत् पोल ढलेर विद्युत् अवरुद्ध भएको छ । पहिरो हटाउन ढिलाइ हुँदा विद्युत् पोल मर्मत गर्न समस्या भएको नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ ।

दमौली सुडे साराङघाट खण्डमा ठाउँ–ठाउँमा पहिरो गएको र सेती नदीमा आएको बाढीले सडक भत्काउँदा विद्युत् पोल मर्मतमा समस्या भएको वितरण केन्द्रका प्रमुख विजय रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार यस खण्डमा १६ वटा पोल ढलेको छ । पोल ढलेपछि साराङघाट सबस्टेशनबाट विद्युत् आपूर्ति हुने देवघाट गाउँपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिकाका केही भागमा विद्युत् अवरुद्ध भएको छ । सडकको पहिरो छिटो पन्छाएको खण्डमा विद्युत् मर्मत गराउन सहज हुने प्रमुख रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिरो नहटाउँदासम्म विद्युत् मर्मत गर्न समस्या भइरहेको छ । आवश्यक पोल तार लैजान सहज हुन्थ्यो ।”

नेपाल नेत्रज्योति सङ्घले ल्यायो टेलिअफ्थाल्मोलोजी’ परियोजना कार्यान्वयनमा

काठमाडौँ, २६ असारः नेपाल नेत्रज्योति सङ्घले नूर दुबई फाउण्डेशनको आर्थिक एवं प्राविधिक सहयोगमा ‘टेलिअफ्थाल्मोलोजी’ परियोजना सुरुआत गरेको छ । सो परियोजनाले ‘टेलिअफ्थाल्मोलोजी’मार्फत नेपालको दुर्गम क्षेत्रका वासिन्दामा आँखा उपचारको पहुँच बढाउने लक्ष्य लिएको छ । तीन वर्षका अवधिमा सङ्घअन्तर्गतका १५ केन्द्रमार्फत परियोजनाले प्राथमिक हेरचाह, विशेषज्ञ परामर्श र तालिमसमेत प्रवाह गर्ने मङ्गलबार आयोजित कार्यक्रममा जानकारी दिइयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेल, नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्त, नेपालका लागि युएईका राजदूत अबदुल्लाह अल सम्सी र नूर दुबई फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत डा मनाल तारियामले संयुक्त रूपमा परियोजनाको शुभारम्भ गर्नुभयो । सो अवसरमा सचिव डा पोखरेलले भन्नुभयो, “ गुणस्तरीय स्वास्थ्य सेवा पहुँच विस्तार गर्न मन्त्रालयले उच्च प्राथमिकता दिएको छ । यस लक्ष्यलाई परियोजनाले थप सहयोग गर्ने छ । दिगो विकासका लक्ष्य २०३० प्राप्तिमा आँखा स्वास्थ्य सेवाको भूमिका अग्रणी छ ।”

फाउण्डेशनका बोर्ड सदस्य एवं प्रमुख कार्यकारी अधिकृत डा तारियामले भन्नुभयो, “ फाउण्डेशनले नेपाल नेत्रज्योति सङ्घसँगको साझेदारी मार्फत नेपालमा आँखा उपचार सेवा गर्न समुदायमा पुग्न पाउँदा अत्यन्तै गौरवान्वित छौँ । यस परियोजनाले आँखा स्वास्थ्य सेवाको प्रवाहलाई रूपान्तरण गर्नुका साथै सेवाको पहुँचलाई बढाई यसलाई दिगो बनाउने विश्वास लिएका छौँ ।”

सङ्घका अध्यक्ष प्रा डा पन्तले भन्नुभयो, “ परियोजनाले नेपालको दुर्गम र ग्रामीण क्षेत्रका विपन्न नागरिकलाई अस्पतालको विशेषज्ञ आँखा उपचार सेवासँग जोड्नेछ । टेलिअफ्थाल्मोलोजी उपचार सेवाले बिरामीको घरमै विशेषज्ञ आँखाको हेरचाह सेवा प्रदान गर्ने हुनाले यो बढी प्रभावकारी हुने विश्वास लिएका छौ ।” कार्यक्रममा सङ्घका महासचिव भरतबहादुर चन्द र कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले आँखा उपचार सेवामा सङ्घले गरिरहेका काम एवं परियोजनाबारे जानकारी दिनुभएको थियो ।

उन्नत प्रविधि टेलिअफ्थाल्मोलोजी
‘टेलिमेडिसिन’ र ‘टेलिअफ्थाल्मोलोजी’ले विद्युतीय सञ्चार र उन्नत प्रविधिको माध्यमबाट स्वास्थ्य सेवा प्रवाहलाई सहज बनाउने जनाइएको छ । बिरामी तथा विशेषज्ञ आँखा चिकित्सक भौगोलिक रूपमा टाढा भएता पनि यो प्रविधिले नजिक बनाई विशेषज्ञ उपचार सेवालाई सहज बनाउने कार्यकारी निर्देशक डा मिश्रले बताउनुभयो । उहाँका अनुसार यो प्रविधिले चाहेको समयमा तथ्याङ्क विश्लेषण गर्न, प्रविधि मार्फत निर्देशित उत्कृष्ट आँखा उपचार सेवा प्रदान गर्न, तथ्याङ्कमा आधारित निर्णय लिन र कुशल एवं उत्कृष्ट बिरामी सेवा प्रवाहलाई जोड दिनेछ ।

सङ्घका अनुसार नेपालमा करिब ६८ लाख मानिस कुनै न कुनै आँखासम्बन्धी समस्यायाबाट ग्रसित छन् । परियोजनाको अन्त्यमा सङ्घद्वारा सञ्चालित १५ आँखा उपचार केन्द्रमार्फत करिब चार लाख ३३ हजार बिरामीलाई प्राथमिक आँखा उपचार सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ । यसैगरी ८२ हजार आँखाका बिरामीलाई टेलिअफ्थाल्मोलोजीमार्फत विशेषज्ञ परामर्श सेवा प्रवाह गर्ने छ । परियोजनाले १५ नेत्र सहायक र छ नेत्ररोग विशेषज्ञलाई टेलिअफ्थाल्मोलोजीमा तालिम दिई मानव स्रोत विकासमा पनि सहयोग पुर्याउँदै समुदायलाई सशक्त बनाउने अपेक्षा गरिएको छ । साथै परियोजनाले थप १५ आँखा उपचार केन्द्र र दुईवटा विशिष्टिकृत अस्पताललाई जोडेर आँखा स्वास्थ्य पूर्वाधारलाई थप सुधार गर्ने लक्ष्य राखेको छ ।

परियोजनाले दिगो विकासका लक्ष्यहरू ३, ८, ९ र १३ को लक्ष्य प्राप्तिमा प्रत्यक्ष योगदान पुर्याउने महासचिव चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “टेलिमेडिसिनको प्रयोगले स्वास्थ्य सेवा प्रदान गर्दा लाग्ने लागतलाई उल्लेखनीय रूपमा कम गर्दै र गुणस्तरीय आँखा उपचार सेवामा सुधार गर्ने छ । यसले समुदायको आर्थिक वृद्धिलाई सुनिश्चित गर्ने छ ।”यस परियोजनाले जलवायु परिवर्तनको प्रभाव कम गर्न हरितगृह ग्यास उत्सर्जन घटाउनसमते सहयोग पुर्याउने अपेक्षा समेत लिइएको छ ।

युएई केन्द्रित फाउण्डेशनले विश्वव्यापी रूपमा रहेको अन्धोपनालगायत आँखासम्बन्धी विभिन्न समस्याको रोकथाम गर्ने उद्देश्य प्राप्तिमा तल्लीन रहेको जनाइएको छ । यसैगरी सङ्घले कुल चार करोड ३६ लाख २६ आँखाका बिरामीलाई उपचार सेवा प्रवाह गरिसकेको छ भने ५१ लाख ३३ हजार छ सय ५९ जनाको आँखाको शल्यक्रिया भइसकेको छ । हाल सङ्घअन्तर्गत देशभरमा २८ आँखा अस्पताल, एक सय ५७ आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखा सञ्चालनमा छन् ।

नेपाल–भारत सीमा स्थित १०५ नम्बर पिलर कटानको उच्च जोखिममा

टीकापुर । बाढीले नेपाल–भारत सीमा क्षेत्रमा कैलालीको टीकापुर–९ खक्रौलामा रहेको १०५ नम्बर पिलर कटानको उच्च जोखिममा परेको छ ।

मोहना नदीले कटान तीव्र पारेपछि सीमा पिलर जोखिममा परेको हो । सीमामा रहेको पिलर नदी कटानको जोखिममा परेपछि स्थानीय चिन्तित भएका छन् । सो नम्बरको पिलर भत्काउन ५० फिट पनि बाँकी नरहेको बताइएको छ ।

मोहना नदीले पिलर बगाउने हो भने दुई दर्जन परिवारको विस्थापित हुने र सयौँ बिघा जमिन नदीमा परिणत हुने स्थानीय बताउँछन् । भारत र नेपालको सीमामा पर्ने १०५ नम्बर पिलर मोहना नदीले बगाउने जोखिम रहेको स्थानीयवासी खड्ग धामीले जानकारी दिए । ‘पिलर बगाएपछि समस्या हुन्छ’, उनले भने, ‘स्थानीय जनता आफ्नो जमिन बग्ने र भारततर्फ जाने हो कि भन्ने चिन्तामा छन् ।’

‘मोहना नदी पिलरतर्फ ठोक्किन थालेको छ, वर्षात् आयो कि पिलर बग्छ भनेर स्थानीय चिन्तामा बसेका हुन्छन्’, उनले भने । पिलर जोखिममा देखिएपछि टीकापुर नगरपालिकाले विपद् कोषको बजेटबाट बोल्डर हाल्ने (ठूला ढुङ्गाको तटबन्ध गर्ने) निर्णय गरे पनि काम भएन । ‘पिलर जोखिममा छ भनेर नै विपद् कोषको बजेटबाट १० लाख विनियोजन भएको हो, उपभोक्ता समिति पनि गठन भयो तर काम भएन’, टीकापुर नगरप्रमुख रामलाल डगौँरा थारूले भने, ‘यो राष्ट्रिय चासोको विषय पनि हो, यसमा प्रदेश र सङ्घीय सरकारको ध्यान जानुपर्छ ।’

बोल्डर हाल्न उपभोक्ता समिति गठन भए पनि निर्माण व्यवसायीले काम गर्न नमानेको समितिका अध्यक्षका धिरेन्द्र थापाले जानकारी दिए । ‘निर्माण व्यवसायीले गर्छु भनेपछि रु पाँच लाख ‘अग्रिम’ मागेपछि हामीसँग पैसा भएन’, उनले भने, ‘१० लाखले तटबन्धको काम पूरा हुने पनि थिएन ।’

अध्यक्ष थापाले पिलर जोखिममा रहेको हुँदा कम्तीमा पाँच–छ ठाउँमा बोल्डर हाल्ने हो भने केही राहत हुने बताए । वडा कार्यालयले तटबन्ध गर्नुको साटो नदी किनारको बाटोमा कालोपत्र सडक निर्माण गरेर बजेट सकाएको स्थानीयले गुनासो गर्दै आएको पनि उनले बताए ।

‘१०५ नम्बर पिलर जङ्गे पिलर हो नेपाल र भारतका सीमाविद्हरूले यो पिलर सार्ने प्रयास गरेका हुन् हामीहरूले दिएनौँ’, स्थानीय शिक्षक अनिल कोइरालाले भने, ‘पिलर सार्दा नेपालतर्फको भूमि गुम्न सक्ने जोखिम हुन्छ ।’

उनले १०३ नम्बर पिलर नेपाल–भारत सीमा नजिक रहेको मोहना पुल नजिक रहेको बताए । उनले भने, ‘पिलर रक्षा गर्न यथाशीघ्र तटबन्ध गर्नुपर्छ ।’ तत्कालीन राजा महेन्द्र शाहको पालामा त्यस क्षेत्रको बस्ती पनि बसाउने गरी भारतीय पूर्वसैनिकलाई बसालिएको स्थानीयको भनाइ छ । केही परिवार अझै त्यहाँ बसिरहेका छन् ।

पोखरामा पहिरोमा घर पुरिँदा एक जनाको मृत्यु

कास्की । पोखरामा पहिरोमा परी एकजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२७ सहेलापाटाका मनबहादुर थापाको ब्लकले बनेको घर आज बिहान पहिरो पुरिँदा उहाँका २२ छोरा वर्षीय छोरा भीमबहादुरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले घटनास्थलबाट ५० वर्षीय कमला थापालाई सकुशल उद्धार गरेको जानकारी दिए । इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोली तथा स्थानीयवासीले घटनास्थलमा खोज तथा उद्धार गरेका थिए ।

उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल २४ नं गण कालिका गण मालेपाटनबाट समेत प्रहरी टोली खटिएको प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिए । पोखरामा हिजो साँझदेखि नै निरन्तर वर्षा भइरहेको छ ।

पथलैया–हटौँडा सडकखण्डक्षेत्रमा ४० ग्रेडको बिटुमिन प्रयोग गरेर सडक कालोपत्र

वीरगञ्ज (पर्सा), २६ असारः पथलैया–हटौँडा सडकखण्डअन्तर्गत आधाभार क्षेत्रमा दुई किलोमिटर उच्च भारवाहन क्षमताको सडक तयार भएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले उच्च भारवहन क्षमताको दुई किलोमिटर सडक कालोपत्र भएर सञ्चालनमा आइसकेको जनाएको छ ।

कार्यालयका सूचना अधिकारी रमेश पाण्डेले पथलैया–हेटौँडा खण्डमा वीरगञ्ज भन्सार कार्यालय हुँदै आउने अत्यधिक भारका मालवाहक सवारीसाधनले सडक धसिने समस्याको अन्त्य गर्न पहिलो चरणमा दुई किलोमिटर लम्बाइको नमूना सडक तयार पारेको बताउनुभयो ।

“पथलैयाबाट हेटौँडा आउने सडकको लेन उच्च भारवाहन क्षमताका मालवाहक सवारीसाधनले सडक धसिने समस्या देखिँदै आइरहेको छ । हामीले पहिलो चरणमा आधाभार क्षेत्रमा दुई किलोमिटर सडक स्तरोन्नति गरेका छौँ”, उहाँले भन्नुभयो, “यो सडक पहिलो चरणमा ‘डिबिएम’ र दोस्रो चरणमा अस्फास्ट कालोपत्र गरेकाले पनि सडक धासिने समस्या आउने छैन ।”

गत माघ २२ गते सडक डिभिजन हेटौँडा र निर्माण कम्पनीबीच सम्झौता भएको थियो । यो आयोजनाको लागत रु चार करोड १२ लाख १७ हजार तीन सय ४८ रहेको छ । ठेक्का सम्झौताअनुसार गत जेठ ३० गतेभित्रै निर्माण सम्पन्न हुनुपर्नेमा निर्माण व्यवसायीको ढिलासुस्ती र मौसमका कारणले तोकिएको समयभन्दा केही ढिला गरेर सम्पन्न भएको हो ।

सूचना अधिकारी पाण्डेले यो प्रविधिबाट सडक कालोपत्र गर्दा लामो समयसम्म टिकाउ हुने दाबी गर्नुभयो । “हामीले परीक्षणका क्रममा भिएस ४० ग्रेडको बिटुमिन प्रयोग गरेर सडक कालोपत्र गरेका छौँ । यो सडक प्रभावकारी भएको खण्डमा अन्य स्थानमा पनि विस्तार गर्ने योजना छ”, उहाँले भन्नुभयो ।

छैठौं संस्करणको ‘एफएलएफ अवार्ड २०८१’ हुने

काठमाडौं । फाल्गुनन्द लिङ्देन फिल्म्स प्रालिको आयोजनामा छैठौं संस्करणको ‘एफएलएफ अवार्ड २०८१’ हुने भएको छ । अवार्डका लागि फाराम खुलिसकेको आयोजकले जनाएको छ ।

अवार्ड संयोजक दिनेश लिङ्देनले अमेरिकाको न्यूयोर्कमा एक विशेष कार्यक्रमबीच अवार्डको मनोनयन सार्वजनिक गरिने बताए । ‘हामीले फिल्म, म्यूजिक भिडियोको लागि फाराम खुलाइसकेका छौं । अमेरिकामा रहेका जुरी सदस्यहरुले फिल्म हेरिरहनु भएकाले नोमिनेसन चाँडै सार्वजनिक गर्नेछौं’, उनले भने ।

अवार्डका लागि निर्देशक किशोर सुब्बाको संयोजकत्वमा पाँच सदस्यीय जुरी टिम बनाइएको छ । यस वर्षको अवार्डका लागि उद्यमी तथा व्यवसायी केशवराम राई प्रमुख प्रायोजक रहेका छन् ।

प्रदीपको सिनेमा ‘एक्लो’ मा दिनेश डीसी र सुरज सिंह ठकुरी अनुबन्धित

काठमाडौँ। प्रदीप शाहीले निर्देशन गर्न लागेको सिनेमा ‘एक्लो’ मा संचारकर्मी तथा अभिनेता द्वय दिनेश डीसी र सुरज सिंह ठकुरी अनुबन्ध भएका छन्। निर्माण टिम र द्वय अभिनेता बीच औपचारिक कागजी सम्झौता भएको हो। दुवैजनाले निर्देशक प्रदीप संग काम गर्दा नयाँ अनुभव हुने बताए।

भाद्र महिनाको दोश्रो साताबाट छायांकनमा जाने तयारीमा रहेको सिनेमामा अभिनेता प्रदीप खड्का, विजय लामा, सुनिल थापा, एवनराज उप्रेती, अभिनेत्री बेनिशा हमाल, कविता नेपाली, दीया पुन, बेलायती अभिनेता जेमी बेकन लगायत अनुबन्धित भइसकेका छन्। निर्माण टिम र

निर्देशक शाहीका अनुसार अनुसार नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने उद्धेश्यका साथ ‘एक्लो’ निर्माण गर्न लागिएको छ।

‘एक्लो’ निर्देशक शाहीले बेलायतमा फिल्म मेकिङ पढेका हुन्। त्यहाँ केही सर्टफिल्म र सिरिजमा काम गरेपछि उनले नेपाली फिल्म निर्देशनमा होमिएका थिए। यसअघि उनले ‘गोर्खा: विनिथ द ब्रेभरी’ र ‘अन्तिम संस्कार’ निर्देशन गरेका थिए।

शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने चलचित्रमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहने छ। हाल सेट निर्माणको काम र प्री प्रोडक्सनको भई रहेको कार्यकारी निर्माता क्षितिज सुवेदी खत्रीले बताए।

ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर गयो भूकम्प

काठमाडौँ, २६ असारः तापेथोक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर गए राति १ः४६ बजे चार दशमलव चार रेक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि गत असार १४ गते सिन्धुपाल्चोक जिल्लाको हेलम्बु केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।

ग्राण्ड फिनालेको तयारीमा नेपालको पहिलो फुड रियालिटी शो ‘शेफ नेपाल’

काठमाडौँ। नेपालको पहिलो फुड रियालिटी शो ‘शेफ नेपाल’को बाँकी भाग आगामी बिहीबारदेखि प्रसारण हुने भएको छ । विभिन्न अप्ठ्याराहरूका कारण रोकिएको बाँकी एपिसोडहरू आगामी बिहिवार, शुक्रबार र शनिबार कान्तिपुर टेलिभिजनमा प्रसारणमा हुने शेफ नेपालले जनाएको छ ।

आउँदो शनिबार शेफ नेपालको एकजना उत्कृष्ट प्रतिस्पर्धि पहिलो फुड रियालिटी शोको पहिलो विजेता छनोट हुने जानकारी एक पत्रकार सम्मेलनबीच शेफ नेपालका परिकल्पनाकार एवं क्रिएटिभ डाइरेक्टर धर्मराज पाण्डेले जानकारी दिए ।

ललितपुर बुङ्मतिमा रहेको नेपालकै अत्याधुनिक इनडोर अम्युजमेन्ट पार्क दि वन्डरल्याण्ड बाँकी एपिसोडका लागि मुख्य प्रायोजकमा जोडिएको छ । शेफ नेपाल उत्कृष्ट रियालिटि शो भएकाले मनोरन्जन बिधामा हातेमालो गर्न प्रमुख प्रायोजकको रुपमा शोसँग जोडिएको दि वन्डरल्याण्डका मार्केटिङ हेड शिखर बस्नेतले बताए । त्यसैगरी बाँकी एपिसोडमा उद्घोषकको रुपमा लोकप्रिय मिडियाकर्मी रक्षा उप्रेती जोडिएकी छन् ।

कार्यक्रमको जज (निर्णायक)मा मास्टर सेफ सन्तोष शाह, सेफ गणेश ढकाल र भान्से लक्ष्मण भण्डारी रहेका छन् । एक सय प्रतियोगी छनोट गरि शुरू भएको शोमा अब उत्कृष्ट आठ प्रतियोगीको प्रतिस्पर्धा हेर्न पाइनेछ ।

खाना सँस्कृतिको धनी देश नेपालमा पहिलोपटक फुड रियालिटी सो सन्चालन हुनु निकै गर्वको कुरा रहेको र यसले नेपाली रेसिपीको प्रवर्द्धनसँगै भान्से पेसालाई अझ गर्विलो बनाएको जजहरूको भनाइ छ ।

धर्म पिक्चर्सको ब्यानरमा निर्माण भएको कार्यक्रमको अब आउने एपिसोडहरू अझ रोमान्चक रहने बिश्वास कार्यक्रमका निर्माता एवं धर्म पिक्चर्सका सँस्थापक धर्मराज पाण्डेको रहेको छ ।

पछिल्लो एपिसोडहरु निर्माण गर्न कान्तिपुर टिभीको प्राविधिक सहयोग समेत रहेको छ । कार्यक्रमको फाइनल एपिसोड कान्तिपुर टिभीमा प्रशारण भए सँगै शेफ नेपालको युट्युब च्यानलमा समेत हेर्न सकिनेछ ।विश्वका विभिन्न कुकिङ प्रतियोगितामा सफल भई नेपालको नाम विश्वभर फैलाएका मास्टर सेफ सन्तोष शाह मास्टर जजको भूमिकामा छन् ।

यस्तै देशका गाउँ बेसी भ्रमण गरी विभिन्न नेपाली खाना र स्वादहरूको अध्ययन एवं प्रवर्द्धन गरिरहेका भान्से लक्ष्मण प्रसाद भण्डारी र थाइ फुडका पारङ्गत गणेश ढकाल जजको भूमिकामा छन् ।ढकाल रोयल थाई हस्पिटालिटी र बान थाई रेस्टुरेन्टका प्रबन्ध निर्देशक समेत हुन् । सेफ ढकालले ठिमी भक्तपुर स्थित रोयल थाई हस्पिटालिटिमा सञ्चालन गरिरहेको ब्याङ्क्वेटमा स्टुडियो सेट निर्माण गरि कार्यक्रमको सुटिङ भइरहेको छ ।

इच्छाकामनाका २२ चेपाङ परिवारका लागि नयाँ घर निर्माण

भरतपुर, २६ असारः चेपाङ आवास कार्यक्रमअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका छन् । सङ्घीय सरकारको रु एक करोड ५० लाख सशर्त अनुदानबाट विपन्न ती समुदायका आवास निर्माण भएका हुन् । मङ्गलबार गाउँपालिकाको वडा नं ७ मा आयोजित कार्याक्रममार्फत गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले सबै वडामा निर्माण भएका घरको साँचो हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा उहाँले गाउँपालिकाका सात वडामा आर्थिक अवस्था कमजोर भएका चेपाङ समुदाय छनोट गरेर घर निर्माण गरिएको बताउनुभयो । “पालिकाले  चेपाङ समुदायको घर निर्माणको योजना बनाएर  सरकारलाई अनुरोध गरेपछि अनुदान प्राप्त भएको हो”, उहाँले भन्नुभयो, “टोल र वडाको छनोटका आधारमा उनीहरुको घर निर्माण गरेका हौँ ।”

अध्यक्ष गुरुङले निर्माण सम्झौताअघि घर र उनीहरुको अवस्थाबारे स्थलगत अनुगमनसमेत गरिएको बताउनुभयो । “घडेरी सम्याउने र जग खनेर ढुङ्गा हाल्ने काम सम्बन्धित लाभग्राहीको हो”, उहाँले भन्नुभयो, “अरु सबै गाउँपालिकाले निर्माण गरिदिएको छ ।” उहाँले गाउँपालिकाले खरको छाना भएका र आर्थिक अवस्था कमजोर भएका चेपाङ परिवारलाई टिनको छानाको व्यवस्था गरेको जानकारी दिनुभयो ।

गाउँपालिकाको वडा नं १ मा पाँच, वडा नं २ मा दुई, वडा नं ३ मा दुई, वडा नं ४ मा दुई, वडा नं ५ मा दुई, वडा नं ६ मा तीन र वडा नं ७ मा छवटा घर निर्माण गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष माया सिलवाल धेरैको आकाङ्क्षा भए पनि बिहान–बेलुका हातमुख जोर्न पनि समस्या हुनेको पहिचान गरेर घर निर्माण गरिएको बताउनुभयो । उहाँले समयमै काम सम्पन्न गर्ने निर्माण कम्पनीलाई धन्यवाद दिनुभयो ।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा पनि चेपाङ आवास कार्यक्रमलाई निरन्तरता दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिनुभयो । उहाँले घर नभएका र खरको झुप्रोमा बस्दै आएकाहरूलाई प्राथमिकतामा राखेर घर निर्माण गरिने बताउनुभयो  । पालिकाले आगमी आवका लागि रु तीन करोड ३० लाख बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।

वर्षाैँदेखि खरको झुप्रोमा बस्दै आउनुभएका इच्छाकामना –७ सुन्दरबस्तीका अइतराम प्रजा घामपानीमा अन्यको घर ओत लाग्न जानुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । उहाँले पालिकाले दुई कोठाको घर निर्माण गरिदिएपछि खुसी लागेको जनाउँदै अब जीवनयापनमा सहज हुने बताउनुभयो ।

इच्छाकामना–१ कोलभन्ज्याङका अरसल चेपाङ भूकम्पले पुरानो घर भत्किएपछि छाप्रामा बस्दै आएको बताउनुभयो । उहाँले बर्खामा पानी चुहिने र हिउँदमा हुरीबतास र आगलागीको डर अब अन्त्य भएकामा खुसी व्यक्त गर्नुभयो । “गाउँपालिकाले घर बनाइदिएपछि निकै खुसी छौँ, छजनाको परिवार एउटै कोठामा बस्नुपर्ने बाध्यता अन्त्य हुने भएको छ”, उहाँले भन्नुभयो । इच्छाकामनामा दुई हजार पाँच सय चेपाङ परिवारको बसोबास छ ।

ऐतिहासिक स्वरुप नबिग्रने गरी आकर्षक बनाइँदै पाल्पा दरबार सङ्ग्रहालय

रामपुर (पाल्पा)- को केही संरचनाको पुनः निर्माण अन्तिम चरणमा पुगेको छ । दरबारलाई थप पर्यटकीय क्षेत्रका रूपमा विकास गर्र्ने ध्येयले पुराना जीर्ण संरचनाको पुनःनिर्माण थालिएको थियो ।

लुम्बिनी प्रदेश सरकार , पुरातत्व विभाग र तानसेन नगरपालिकाको सहकार्यमा दरबार क्षेत्र परिसरमा ढुङ्गा छाप्ने, पर्खाल बनाउने र जीर्ण भएको मूलढोका पुनःनिर्माण जारी छ । दरबारको सुरक्षार्थ बनाइएको पर्खाल र यसभित्रको संरचनामा ढुङ्गा बिछ्याउने काम यस आर्थिक वर्षभित्रै सक्नेगरी धमाधम भइरहेको छ । पुन ः निर्माणक लागि तानसेन नगरपालिकाले चालु आर्थिक वर्षमा रु ४१ लाख र लुम्बिनी प्रदेश सरकारले रु ५० लाख बजेट विनियोजन गरेका थिए । यसैगरी मूलढोका पुनःनिर्माण गर्ने काममा पुरातत्व विभागले रु ८१ लाख ९५ हजार विनियोजन गरेको जनाइएको छ ।

राणाकालीन समयमा बनेको मूलढोका जीर्ण बनेपछि यसलाई पुरानै स्वरुप नबिग्रने गरी बनाउन थालिएको तानसेन नगरपालिकाका उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले जानकारी दिनुभयो । पाल्पाको पहिचानका रूपमा रहेको दरबारको ऐतिहासिक स्वरुप नबिग्रने गरी पुनःनिर्माण सम्पन्न गरेर आन्तरिक मात्र नभई बाह्य पर्यटक भित्र्याउन गरी संरचना तयार पारी पर्यटकीय केन्द्रका रूपमा विकास गर्नुपर्ने स्थानीय सन्तवीर बराल बताउनुभयो ।

उहाँले भन्नुभयो, “पाल्पालीको शान बनेको पाल्पा दरबारको ऐतिहासिकतालाई जोगाउँदै यसलाई थप परिस्कृत गरी आकर्षक बनाउने र उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलका रूपमा स्थापित गराउन सबैले आ–आफ्नो ठाउँबाट पहल गरौँ ।”

तत्कालीन द्वन्द्वका समयमा पूरै ध्वस्त बनेको दरबारलाई पुरानै शैलीमा पुनःनिर्माण गरी सङ्ग्रहालय बनाइएको छ । अहिले सो दरबारलाई थप सुन्दर र आकर्षक बनाउन विभिन्न कार्य भइरहेका छन् । दरबारलाई सङ्ग्रहालयका रूपमा स्थापित गरिएपछि यहाँ अवलोकन गर्न पर्यटक आउने गर्दछन् । पाल्पाको सदरमुकाम तानसेनमा रहेको दरबार जिल्लाको चिनारीका रूपमा रहेको छ ।

इतिहासकारका अनुसार तत्कालीन प्रधानमन्त्री जङ्गबहादुरका भाइ बद्रीनाथ सिंहले विसं १९३० ताका मूलढोका निर्माण गरेका थिए । सोही बेला बनेको मूलढोका पर्खाल र दरबार परिसरलाई थप आकर्षक बनाउन पुनःनिर्माण गरिएको हो । तत्कालीन समयमा दरबारलाई सुरक्षाका दृष्टिले पर्खाल बनाइएको बताइएको छ । ऐतिहासिक दरबार परिसरलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न गत वर्ष यहाँ रहेका ५७ घर तथा टहरा भत्काइएको थियो । पुनःनिर्माण भइरहेका संरचना बनाउने काम पूरा भएपछि तानसेन सहर थप आकर्षणको केन्द्र बन्नेछ । पुरानो सहरका रूपमा परिचित पाल्पाको तानसेन सहरमा ऐतिहासिक, धार्मिक सम्पदा प्रशस्त छन् । पुराना संरचना तथा सम्पदालाई संरक्षण गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्नै र यहाँको आयस्रोतमा टेवा पुग्ने स्थानीय बताउँछन् ।

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, सवारीसाधन दुदिलाभाटीमा रोकिए

बलेवा (बागलुङ), २६ असारः मङ्गलबार साँझदेखि परेको निरन्तरको वर्षासँगै खसेको पहिराले पूर्वपश्चिम पुष्पलाल (मध्यपहाडी) लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ ।े गलकोट नगरपालिका–१ दुदीलाभाटीमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

भिरालो जमिनमा पहिरो निरन्तर बगिरहेकाले सडक खुलाउन कठिन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो । उहाँले प्रहरी र स्थानीयले पहिरो पन्छाउने प्रयास गरिरहेका बताउनुभयो । लोकमार्ग अवरुद्ध हुँदा पश्चिम बागलुङ र छिमेकी जिल्ला रुकुमबाट छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन दुदिलाभाटीमा रोकिएका छन् ।

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरमा ठाउँठाउँमा खसेको पहिराका कारण चार दिनयता सवारी आवागमन रोकिएका छैनन् । सडकको ‘ट्रयाक’ नै पहिराले बगाएका करिडोर सञ्चालनका लागि कठिनाइ भइरहेको हो । जिल्लमा रहेका दुई ठूला राष्ट्रिय राजमार्ग अवरुद्ध हुँदा बागलुङका स्थानीय सडकमा चल्ने सवारीसाधन रोकिएका छन् ।

अविरल वर्षाका कारण सप्तकोशीमा बाढी, ७० घर डुबान

राजविराज (सप्तरी) – अविरल वर्षाका कारण त्रियुगा नदीमा आएको बाढीले सप्तरीको सप्तकोशी नगरपालिका–२ का ७० घर डुबानमा परेका छन् ।

सो वडाको मुस्लिम र राम वस्तीमा चार फिटसम्म पानी भरिँदा ३८ परिवारका ७० घर डुबानमा परेको वडाध्यक्ष जाहिर हुसेनले जानकारी दिनुभयो । उहाँले बस्तीका प्राय सबै घर आगनबाट त्रियुगा बग्न थालेपछि घर छाडेर स्थानीय मस्जिद र आफन्त कहाँ शरण लिई बसेको बताउनुभयो ।

त्रियुगा नदीको बाढीले पूर्वी तटबन्ध कटान गरी अचानक पानी प्रवेश गरेपछि बस्ती डुबानमा परेको हो । बस्ती डुबानमा परेको खबर पाए लगत्तै सेना, सशस्त्र, नेपाल प्रहरीका तालिम प्राप्त जनशक्ति उद्धारमा खटिएको र कुनै मानविय क्षति नभएको जिल्ला प्रहरीका कार्यालयका प्रहरी नायव उपरीक्षक ढुण्डिराज न्यौपानेले जानकारी दिनुभयो ।

अठहत्तर वर्षयताकै सर्वाधिक वर्षा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा

काठमाडौँ – नेपालमा वर्षा मापन भएको ७८ वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा सर्वाधिक पानी परेको छ । यही असार २३ र २४ गते कञ्चनपुरको दोधारामा २००३ सालयताकै सर्वाधिक वर्षा भएको पाइएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जल तथा मौसम विज्ञान विभागका अनुसार कञ्चनपुरको दोधारा, हनुमान नगर र सुन्दरपुरमा २००३ सालयताकै बढी वर्षा भएको छ । यही असार २४ गते बिहान ०८ः४५ बजे मापन गरिएको प्रारम्भिक तथ्याङ्कअनुसार २४ घण्टाको अवधिमा दोधारामा ६२४.० मिलिमिटर, हनुमान नगरमा ५७३.६ मिलिमिटर तथा सुन्दरपुरमा ५५५.८ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ ।

यस वर्ष गत जेठ २८ (जुन १०) देखि पूर्वी नेपालबाट सुरु भएको मनसुनको प्रभाव असार १४ गतदेखि असार २४ गतेसम्म सक्रिय भएको थियो । यसै क्रममा सुदूरपश्चिमको कञ्चनपुरमा असार २३ र २४ गते भारी वर्षा भएको थियो ।

वायुमण्डलिय तथ्याङ्क, भू–उपग्रहबाट लिइएको तस्बिर तथा मौसम मोडेलबाट प्राप्त मौसमको अवस्थाको विश्लेषणबाट उक्त दिन मनसुन न्यून चापिय रेखा सरदर स्थानमा रहेको भए पनि सुदूरपश्चिमको दक्षिण भाग आसपासको तल्लो वायुमण्डलमा न्यूनचापिय प्रणाली विकसित भएको थियो । साथै उपल्लो वायुमण्डल पश्चिमी वायुको न्यूनचापीय रेखा सक्रिय रही अरब सागर तथा बङ्गालको खाडी दुबैबाट जाउने जलवायुयुक्त हावा सो स्थानमा समिश्रण भई भारी वर्षा भएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि २०७४ साउन २९ गते मकवानपुरको हेटौँडा केन्द्रमा सबभन्दा धेरै ५१६.२ मिलिमिटर वर्षा मापन गरिएको थियो भने भू–संरक्षण विभागको तथ्याङ्कअनुसार २०५० साउन ५ गते (सन् १९९३ जुलाई २०) मकवानपुरको टिस्टुङ वर्षा केन्द्रमा ५४०.० मिलिमिटर वर्षा मापन गरिएको थियो ।

आजदेखी नौबिसे–मलेखु सडक राति बन्द गरिने

मलेखु (धादिङ) – पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड १५ दिनका लागि राति बन्द गरिने भएको छ । बुधबारदेखि आगामी साउन ९ गतेसम्म रातिको समयमा निर्माणको काम गर्न लागिएको हो ।

राति १० बजेदेखि बिहान ३ बजेसम्म राजमार्ग बन्द गरेर पुलको बिम राख्ने कार्य गर्न लागिएको नागढुङ्गा मुग्लिन सडक आयोजना (पूर्वी खण्ड)का सिनियर डिभिजन इन्जिनियर ईश्वरबहादुर रिजालले बताउनुभयो । नौबिसे नागढुङ्गा खण्डमा निर्माण हुँदै गरेको पुलको बिमलाई उचालेर पुलमा राख्नको लागिएको र त्यस बेला हुनसक्ने जोखिमलाई मध्यनजर गरेर काम गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोलाको पुलको गडर लन्चिङ गर्न लागिएको छ । दिउँसोको समयमा गाडीको चाप बढी हुने भएकाले रातिको समयमा पाँच घण्टा सवारी आवागमन बन्द गरेर काम गर्न लागिएको इन्जिनियर रिजालले बताउनुभयो ।

“पुलको आरसिसी बिम (प्रिकास्ट ब्रिज गर्डर) पुलभन्दा बाहिरको जमिनमा बनाइएको छ । त्यसलाई क्रेनले उचालेर पुलको दुवैतर्फको पिल्लरमा राख्नुपर्नेछ”, उहाँले भन्नुभयो, “काम नयाँ पुलमा हुने भए पनि पुरानो पुलसँगै रहेकाले काम गर्ने क्रममा आई पर्न सक्ने जोखिमलाई मध्यनजर गरी सडक सवारी रोकेर काम गर्न लागिएको हो ।”

काम भइरहँदा सवारी साधन आवागमनमा बाधा पर्न जाने भएकाले सवारीको चाप नहुने समय (रातिको समय)मा काम गर्न लागिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । मिश्रका अनुसार एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधनलाई पूर्णरुपमा रोकिनेछ । सम्पूर्ण चालकलाई आफ्नो लेनमा अनुशासन कायम राख्न र जथाभावी ओभरटेक नगर्न जिल्ला प्रहरी कार्यालय धादिङले सूचना जारी गरेको छ ।

एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधन पूर्णरुपमा बन्द रहनेछ । राजमार्ग भएर यात्रा गर्ने सवारी साधनलाई वैकल्पिक मार्गको रुपमा गल्छी–विदुर–छहरे–टोखा सडक प्रयोग गर्न जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ ।

‘चीन र श्रीलङ्कासँग डिजिटल कारोबार सम्झौताको अन्तिम तयारी’ – गभर्नर अधिकारी

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चीन र श्रीलङ्कासँग डिजिटल भुक्तानी कारोबारसम्बन्धी सम्झौता अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घले मंगलबार आयोजना गरेको आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिसम्बन्धी अन्तरक्रियामा गभर्नर अधिकारीले चीनको ‘अलि पे’ र श्रीलङकाको ‘लंका पे’सँग डिजिटल भुक्तानी कारोबारका लागि निकट भविष्यमै सम्झौता हुने जानकारी दिएका हुन् ।

उनले भारतसँग डिजिटल कारोबार सुरु भएसँगै कारोबार बढेकोसमेत उल्लेख गरे । नेपालमा भारतीय रुपैयाँ २५ हजारसम्म मात्र नगद बोक्न मिल्ने प्रावधान पाँच सयभन्दा ठूला दरका नोटका लागि मात्रै भएको र त्योभन्दा साना दरका नोटको हकमा यो व्यवस्था लागू नहुने स्पष्ट पारे । साथै नेपालमा ठूला दरका भारतीय नोट कारोबार खुलाउने बारे भारतीय रिजर्भ बैंकसँग छलफल चलिरहेको उनले बताए ।

आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदा तथ्य, तथ्याङ्क र व्यवहारको वस्तुनिष्ठ विश्लेषण गरिने गभर्नर अधिकारीले उल्लेख गरे । निजी क्षेत्रले चालु पुँजी कर्जा मार्गदर्शनको व्यवस्था खुकुलो बनाउनुपर्ने माग राख्दै आएकामा साना ऋणीलाई यो मार्गदर्शनले समस्या नपारेको उनको भनाइ छ ।

बैंक र सेवाग्राहीबीचको सम्बन्ध हेर्ने गरी राष्ट्र बैंकमा छुट्टै शाखा स्थापना गरिएको जानकारी दिँदै उनले कोही पनि सेवाग्राही बैंकको व्यवहारबाट समस्यामा परमा उक्त शाखामा जानकारी दिन आग्रह गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक वित्तीय संस्थामा पर्याप्त तरलता रहेपनि कर्जा विस्तार हुन नसकेको विद्यमान परिस्थितीमा बजार माग बढाउन र उद्योगको उत्पादन क्षमता विस्तार गर्न सहज हुनेगरी मौद्रिक नीति आउनुपर्नेमा जोड दिए ।

“उत्पादनमूलक उद्योगको क्षमता बढाउने र व्यापारिक प्रयोजनको भन्दा औद्योगिक प्रयोजनको कर्जाको ब्याजदर कम गर्ने विषय कार्यान्वयनका लागि मौद्रिक नीतिमा केहि व्यवस्था ल्याइनुपर्छ”, ढकालले भने, “मागमा आएको सङ्कुचनका कारण उद्योगहरुको ऋण तिर्ने क्षमता कम भएको छ, त्यसलाई सम्बोधन गरिनुपर्छ । लगानीलाई प्रोत्साहन गर्ने नीति आउनुपर्ने हाम्रो माग हो ।”

पर्यटन तत्काल प्रतिफल दिने क्षेत्र भएकाले यो व्यवसायलाई प्रवर्द्धन गर्ने तथा कर्जा प्रवाह सहज र सुलभ गरिनुपर्ने सुझाव उनको छ ।

गत वर्षभन्दा कर्जाको बयाजदर घटेता पनि निक्षेपको तुलनामा कर्जा प्रवाह आधा मात्रै बढेको, नगद प्रवाहमा भएको समस्या, न्यून उत्पादन, निजी क्षेत्रको गिर्दो मनोबलका कारण नयाँ लगानीका योजनासमेत स्थगन भइरहेको उल्लेख गर्दै अध्यक्ष ढकालले पुराना लगानीकर्ताले लगानी बढाउने र नयाँ व्यवसायीले लगानी गर्ने वातावरण आवश्यक रहेको बताए ।

“बजारमा माग सिर्जना गर्न गाउँ र साना सहरमा सानो कर्जा सुविधा विस्तार गर्न बैंक वित्तीय संस्थाहरुलाई प्रोत्साहन गरिनुपर्छ । सहकारी र लघुवित्तमा आएका समस्याले अहिले रकम प्रवाह हुन सकेको छैन । यो विषयलाई मौद्रिक नीतिले समेट्नुपर्छ”, उनले भने ।

उद्योग व्यवसाय बन्द गर्नुपरेमा साँवा ब्याजको किस्ता तिर्ने प्रतिवद्धता भएका उद्योग बन्द गर्न पाउने व्यवस्था गरी सहज कर्जा राफसाफको व्यवस्था गर्न पनि उनले माग गरे । कर्जा चुक्ता गरिसकेपछि पनि ऋणीलाई लामो समयसम्म कालो सूचीमा राख्ने व्यवस्थाले व्यवसायीलाई निरुत्साहित गरेको अध्यक्ष ढकालको भनाइ छ ।

मुलुकको समग्र आर्थिक अवस्थामा शिथिलता आएका कारण उद्योगी व्यवसायीहरु मारेको परेको उल्लेख गर्दै अध्यक्ष ढकालले यसलाई खराब नियत भन्दा पनि परिस्थितिजन्य अवस्थाका रुपमा राष्ट्र बैंकले हेर्नुपर्ने धारणा राखे ।

“सबै व्यवसायीको नियत खराब होइन । परिस्थितिका कारण समस्यामा पर्ने धेरै छन् । नीति निर्माता सुधारमै लागि रहनुभएको छ । तर नतिजा आउन सकेको छैन । हामी सबै एकै डुङ्गामा छौँ”, उनले भने, “अब हामीले समीक्षा गर्नुपर्ने बेला भइसकेको छ । विगतमा फरक परिस्थितिमा ल्याइएका नीतिहरु अहिलेको अवस्थामा सान्दर्भिक भए नभएको मूल्याङ्कन गरिनुपर्छ । आयात निरुत्साहित गर्ने, कर्जा नियन्त्रण गर्ने नीतिले अहिलेसम्म असर कायम छ भने सुधार गर्नुपर्छ । चालु पुँजी कर्जा सम्बन्धि व्यवस्था अहिलेको परिस्थितिमा के कति र कति मात्रामा आवश्यक छ यसबारे पनि खुला छलफल हुनु आवश्यक छ ।”

‘राजनीतिक स्थायित्वका लागि कांग्रेस–एमाले गठबन्धन भएको हो’ – शेखर कोइराला

काठमाडौँ, २५ असार : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशमा राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमालेको गठबन्धन भएको बताउनुभएको छ ।

खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयले आज यहाँ आयोजना गरेको ‘छात्रावृत्ति वितरण समारोह’ मा बोल्दै नेता कोइरालाले मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्दै सुशासन दिन कांग्रेस एमाले गठबन्धन निर्माण भएको बताउनुभएको हो । कांग्रेस र एमाले मिलेर आलोपालो सरकार चलाउने सम्झौता भएको उहाँको भनाइ छ ।

“मैले विगत सात÷आठ महिनादेखि मुलुकमा स्थिर सरकार र सुशासन चाहिन्छ भनेर भन्दै आएको थिएँ, आज त्यो पूरा हुने क्रममा छ, कांग्रेस र एमाले मिलेर देशलाई सुशासन दिन्छौँ, संविधानमा भएका कमजोरी सुधार्दै मुलुकलाई आर्थिक विकासको गतिमा अगाडि बढाउछौँ”, उहाँले भन्नुभयो ।

उहाँले प्रधानमन्त्रीलाई विश्वासको मत लिने अधिकार संविधानले दिएकाले राजीनामा दिनुपर्छ भन्नु कुनै फाइदा नभएको उल्लेख गर्नुभयो । डा कोइरालाले अब बन्ने सरकार संविधानको धारा ७६ (२) अनुसार बन्ने बताउनुभयो ।

बाढीपहिरोबाट हालसम्म ८० को मृत्यु, पाँच बेपत्ता

काठमाडौँ । अविरल वर्षापछिको बाढी, पहिरोलगायत विपद्बाट आजसम्म ८० जनाको मृत्यु भएको छ ।

गत जेठ २८ देखि हालसम्म काठमाडौँ उपत्यकामा एक, कोसीमा १९, मधेसमा तीन, बागमतीमा चार, गण्डकीमा २२, लुम्बिनीमा २०, कर्णालीमा चार र सुदूरपश्चिम प्रदेशमा सात जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

मौसमजन्य विपद्मा परी पाँच जना बेपत्ता तथा ९७ जना घाइते भएका छन् । बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । विपद्मा फसेका ५३ जनाको उद्धार गरिएको छ ।

बाढीका कारण एक सय ६१ घर डुबानमा परेका छन् । एक सय ३८ घर, ५४ गोठ, ४१ पुल, एउटा विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए । उक्त अवधिमा विपद्का घटनाबाट दुई हजार सात सय ६४ घर परिवार विस्थापित भएका छन् ।

बाँकेमा चट्याङ लागेर दुई महिलाको मृत्यु

जानकी (बाँके), २५ असार : बाँकेमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । अर्की एक महिला घाइते भएकी छिन् ।

राप्तिसोनारी गाउँपालिका–२ कचनापुरको हरिहरपुर गाउँमा धान रोप्ने क्रममा दुई महिलाको चट्याङ लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिनुभयो । मृत्यु हुनेमा ३२ वर्षीया सम्झना विक र ३२ वर्षीया वसन्ती उपाध्याय रहेका छन् ।

गम्भीर घाइते दुवैको उपचारका क्रममा ज्यान गएको हो । चट्याङ लागेर ३० वर्षीया सलिना विक गम्भीर घाइते भएकी छिन् । उनको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

नवनिर्वाचित फ्रान्सेली सांसदहरू आगामी सरकार कसले बनाउने भन्ने वार्तामा प्रवेश

अराजक चुनावी नतिजाले वाम, केन्द्र र अति दक्षिणपन्थी दलहरूबीच व्यवस्थापिका विभाजित भएपछि सरकारको बहुमतलाई एकजुट गर्ने वार्ताका लागि नवनिर्वाचित सांसदहरू मङ्गलबार फ्रान्सको संसद्को तल्लो सदन नेसनल एसेम्बलीमा भेला भएका छन् ।

पेरिस ओलम्पिक सुरु हुन तीन साताभन्दा कम समयअघि राष्ट्रपति इम्यानुएल म्याक्रोनले सोमबार आफ्ना प्रधानमन्त्री गेब्रियल एटललाई दैनिक कार्यहरू सम्हाल्न जारी राख्न आग्रह गर्नुभएको छ । म्याक्रोन नाटो शिखर सम्मेलनका लागि बुधबार वासिङ्टन जाँदै हुनुहुन्छ ।

आइतबारको निर्वाचनले कुनै पनि गुटलाई सरकार बनाउन आवश्यक बहुमतको नजिक पुर्याएन । यसबाट युरोपेली सङ्घ (इयु) को दोस्रो सबैभन्दा ठूलो अर्थतन्त्र ठप्प हुने जोखिमलाई बढाएको छ । यद्यपि युरोपमा विभाजित संसद् अमान्य नभए पनि फ्रान्सको आधुनिक इतिहासमा यो अवस्था अभूतपूर्व छ ।

सबैभन्दा धेरै सिट जितेको वामपन्थी गठबन्धन न्यु पपुलर फ्रन्टका नेताहरूले आफूले सरकार बनाउनुपर्ने बताएका छन् । गठबन्धनका तीन मुख्य दलहरू कट्टर वामपन्थी फ्रान्स अनबोड, सोसलिस्ट र ग्रिन्सले प्रधानमन्त्रीको उम्मेदवार खोज्न वार्ता सुरु गरेका छन् ।

उनीहरूको वार्ता आन्तरिक गुटबन्दीले जटिल छ । केहीले कट्टर वामपन्थी छविलाई जोड दिइरहेका छन् भने अन्यले मध्य–वामपन्थी नजिक बढी सहमत व्यक्तिलाई प्राथमिकता दिन्छन् । संसद्प्रति उत्तरदायी रहने फ्रान्सको प्रधानमन्त्रीलाई अविश्वासको मतमार्फत हटाउन सकिन्छ ।

फ्रान्स अनबोड र ग्रिन्सका सदस्यहरू मङ्गलबार बिहान नेसनल एसेम्बली पुगेका छन् । पूर्वराष्ट्रपति फ्राँस्वा ओलान्डलगायत सोसलिस्ट सांसदहरू दिउँसो भेला हुने भएका थिए ।

सोसलिस्ट पार्टीका शीर्ष वार्ताकार जोहान्ना रोल्यान्डले भावी प्रधानमन्त्री जिन–ल्युक मेलेनचोन नहुने बताउनुभयो । धेरै नरमपन्थीहरूलाई क्रोधित तुल्याउनुभएका ल्युक मेलेनचोन फ्रान्स अनबोडका विभाजनकारी कट्टर वामपन्थी संस्थापक हुनुहुन्छ ।

मङ्गलबार फ्रान्स २ टेलिभिजनमा बोल्दै रोल्यान्डले वामपन्थी गठबन्धनले सम्भवतः म्याक्रोनको गठबन्धनको केन्द्र–वामपन्थी सदस्यहरूसँग काम गर्नसक्ने सुझाव दिनुभयो । “हामी खुला हुनेछौँ”, उहाँले भन्नुभयो ।

आधिकारिक नतिजाअनुसार फ्रान्सको दुई विधायिका सदनमध्ये सबैभन्दा शक्तिशाली पाँच सय ७७ सिटको नेसनल एसेम्बलीलाई नियन्त्रण गर्न आवश्यक दुई सय ८९ सिट प्राप्त गर्न सबै तीन मुख्य ब्लक धेरै नै कम छन् ।

नतिजाअनुसार न्यु पपुलर फ्रन्ट वामपन्थी गठबन्धनलाई एक सय ८० भन्दा केही धेरै सिट प्राप्त भएको छ । म्याक्रोनको मध्यमार्गी गठबन्धनलाई एक सय ६० सिट प्राप्त भएको छ भने मरिन ले पेन र उहाँका सहयोगीहरूको अति दक्षिणपन्थी नेनसल र्यालीले तेस्रो स्थान हासिल गरेको छ । उसले एक सय ४० भन्दा धेरै सिट जितेको छ । सन् २०२२ मा उक्त पार्टी ८९ सिटमा विजयी भएको थियो ।

कोशी प्रदेशस्तरीय महिला फुटबलको उपाधि झापालाई

खोटाङ । कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाले जितेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा झापाले भोजपुरलाई १–० गोलले पराजित गर्दै उपाधिको रक्षा गरेको हो ।

झापाका लागि जेनिफर रानामगरले पहिलो हाफको १५औँ मिनेटमा निर्णायक गोल गरिन् । उपाधिसँगै झापाले नगद रु दुई लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता भोजपुरले रु एक लाख पुरस्कार प्राप्त गर्यो । प्रतियोगिताभर नौ गोल गरेकी झापाकी जेनिफरले उत्कृष्ट खेलाडी भइन् । उनले सेमिफाइनल खेलमा ताप्लेजुङविरुद्ध ६ गोल गरिन् । उनले रु पाँच हजार प्राप्त गरिन् ।

यस्तै प्रतियोगितामा उत्कृष्ट गोलरक्षक झापाकी जसोदा राई, उत्कृष्ट डिफेन्डर भोजपुरकी कमला श्रेष्ठ, उत्कृष्ट मिडफिल्डर झापाकी सिम्रन राई, उत्कृष्ट फरवार्ड भोजपुरकी आरती भुजेल र उदीयमान खेलाडी खोटाङकी रिया राई घोषित भए । उनीहरुले जनही रु तीन हजार पुरस्कार प्राप्त गरे ।

विजेता खेलाडीलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईलगायतले पुरस्कार प्रदान गरे ।

कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास बोर्डको रु २० लाख सहयोगमा प्रतियोगिता आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिका प्रमुख लिलाभक्त केसीले जानकारी दिए । चन्दा सङ्कलन तथा दाताको सहयोगमा निर्माण गरिएको खेलमैदानमा पहिलो पटक प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सञ्चालन गरिएको हो ।

‘पार्टी बलियो बनाउँदै जनताका अधिकारको रक्षा गछौँ’ : जनार्दन शर्मा

कास्की, २५ असार : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी सङ्गठनलाई बलियो बनाउँदै जनताका अधिकारको रक्षा गर्ने ढङ्गले अघि बढ्ने बताउनुभएको छ । पार्टीको पोखरा महानगर कमिटीले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाटमा उहाँले सरकार, सदन र सडक तीनै मोर्चामा पार्टीलाई क्रियाशील बनाइने बताउनुभयो ।

“पार्टी सङ््गठन निर्माण र सुदृढीकरण अबको हाम्रो पहिलो प्राथमिकता हो”, उपमहासचिव शर्माले भन्नुभयो, “संविधान संशोधन गरेर परिर्वतनका उपलब्धि खोस्ने षड्यन्त्र भए तीनवटै मोर्चाबाट सङ्घर्ष गछौँ ।” पार्टी प्रतिपक्षमा बस्न तयार रहेको उल्लेख गर्दै उहाँले जनताका हक अधिकार गुम्न नदिन जहिले पनि सचेत भएर लाग्ने बताउनुभयो ।

उपमहासचिव शर्माले विगतमा पार्टी निर्माण र एकताबद्ध बनाउने सन्दर्भमा सबैको कमी कमजोरी भएको स्वीकार गर्दै आफ्नोतर्फबाट भएको कमजोरीको जिम्मा लिन तयार रहेको उल्लेख गर्नुभयो । माओवादी केन्द्रलाई थप एकताबद्ध र शक्तिशाली बनाइने उहाँको भनाइ थियो । 

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले संविधानअनुसार नै विश्वासको मत लिन लागेको उहाँले बताउनुभयो । माओवादी केन्द्रको नेतृत्वमा सरकार सञ्चालन हुँदा सुशासन, विकास र समृद्धिका क्षेत्रमा उल्लेखनीय काम भएको उपमहासचिव शर्माले बताउनुभयो । 

मगर समुदायको कथामा अभिनेता दयाहाङ

काठमाडौँ, २५ असार : अभिनेता दयाहाङ राई पछिल्लो समय विभिन्न समुदायसँग जोडिएका कथामा आधारित चलचित्रमा देखिँदै आउनुभएको छ । पछिल्लो एक वर्षमा मात्रै उहाँले ‘जारी’ मा लिम्बू, ‘दयारानी’ मा गुरुङ, ‘गाउँ आएको बाटो’ मा राई समुदायको कथामा आधारित चलचित्रमा अभिनय गर्नुभयो । आउँदो शुक्रबारअर्थात् यही २८ असारबाट प्रदर्शन हुने ‘घर ज्वाइँ’ मा उहाँले मगर समुदायको कथामा अभिनय गर्नुभएको छ । उक्त चलचित्रको कथा आफूले मन पराएकी युवतीलाई पाउन विवाह पूर्व घर ज्वाइँ बस्ने परम्परामा आधारित छ ।

अभिनेता राई अभिनयकै सिलसिलामा भिन्न समुदायको संस्कृतिलाई नजिकबाट बुझ्न पाएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नेपाल संस्कृतिको धनी छ । तर, हामीले आफ्नै परम्परालाई भुल्दै छौँ । मैले अभिनयकै कारण केही समुदायको संस्कृति बुझ्न र बाँच्न पाएँ । आफूलाई भाग्यमानी ठान्छु । हामी अहिले समुदायको कथा भन्ने समयमा आएका छौँ ।”

चलचित्रमा विषयवस्तुसँगै प्रस्तुति गरिने संस्कृति र परम्परा नयाँ पुस्ताका लागि डिजिटल साक्षरता हुने उहाँको विश्लेषण छ । आदिवासीको संस्कृति बाहिरबाट देखिँदा उस्तै लागे पनि निकै भिन्न रहेको उहाँले बताउनुभयो ।

“हामीलाई सुन्दा उस्तै उस्तै लाग्नु स्वभाविक हो । तर, वास्तविकतामा केही भिन्नता हुन्छ । त्यही कारण चलचित्रले मनोरञ्जनसँगै उक्त समुदायको संस्कृतिलाई नजिकबाट बुझ्न मद्दत गर्छ”, उहाँले भन्नुभयो । घर ज्वाइँ बस्ने परम्परालाई उहाँले छोरीप्रतिको उच्च सम्मानका रुपमा बुझ्नुभएको छ । अन्य समुदायमा छोरीको विवाह गर्दा सोधखोज गर्ने प्रचलन रहे पनि मगर समुदायमा घरमै राखेर ज्वाइँको परीक्षण गरिने परम्परा रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “भविष्यमा दुःख परेमा ज्वाइँले कसरी सङ्घर्ष गर्छन् र छोरीलाई पाल्छन् भन्ने परीक्षा लिएको जस्तो लाग्यो । ज्वाइँ त खास नै छन्, तर छोरीलाई सुख दिन सक्छन् कि सक्दैनन् र आत्मनिर्भर भएर कसरी जीविकोपार्जन गर्छन् भन्ने परम्परा मगर समुदायमा रहेको पाएँ । यो चलचित्रमा मगर समुदायको प्रतिनिधित्व गर्न पाएकोमा खुशी छु ।”

चलचित्रलाई अनिल बुढा मगरले निर्देशन गर्नुभएको छ । आफूलाई मन परेको महिला पात्रलाई तानेर विवाह गर्ने प्रचलन आदिवासी समुदायका हरेक जातिमा रहे तापनि मगर समुदायको संस्कृति अन्यभन्दा फरक रहेको निर्देशक मगरले बताउनुभयो ।

“यसमा समुदायको पृष्ठभूमिमा कथा र पात्रलाई तयार गरिएको छ । चलचित्रमा मगर समुदायको संस्कृतिसँग परिचित गराउँदै एउटा सामाजिक कथा भनिएको छ । पर्दामा देखिने कथासँग दर्शक जोडिनुहुन्छ भन्नेमा विश्वस्त छु”, निर्देशक मगरले भन्नुभयो ।

जिएम मुभिज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आलेलगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

भारी वर्षासँगै खोला, नदीमा आएका बाढीले झापाको जनजीवन प्रभावित

दमक (झापा), २५ असार : भारी वर्षासँगै विभिन्न खोला, नदीमा आएका बाढीले झापाको जनजीवन प्रभावित भएको छ ।

बाढी पसेर कटान र डुबान भएका बस्तीका सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार पछिल्लो समय कन्काईमा आएको बाढीले गौरीगञ्ज गाउँपालिका–१ को टप्पु बस्ती र झापा गाउँपालिकाको सुगाबथानका ५१ घर परिवार प्रत्यक्ष प्रभावित भएका छन् ।

झापा गाउँपालिका र गौरीगञ्ज–१ मा यस वर्ष बाढीले तीन जनाको मृत्यु भएको छ । एक बालक बेपत्ता छन् । झापा गाउँपालिका–२ स्थित सानो माई खोलामा डुबेर सोमबार एक बालकको मृत्यु भएको हो ।

सोमबार दिउँसो खोलामा खेल्ने क्रममा डुबी घाइते भएका झापा गाउँपालिका–२ का रहमान आलम मियाका तीन वर्षीय छोरा दिलसाद आलम मियाको उपचारको क्रममा कन्काई अस्पताल सुरुङ्गामा मृत्यु भएको हो । यसअघि सोही ठाउँका एक जना र गौरीगञ्ज–१ का एक जनाको मृत्यु भइसकेको छ । गौरीगञ्ज–१ का १२ वर्षीय बालक कमल बनियानी खोलामा डुबेर दुई साता अघि बेपत्ता भए पनि फेला परेका छैनन् ।

त्यसैगरी रतुवा खोलामा आएको बाढीले कमल गाउँपालिका–६ खयरबारीमा कटान गरेको छ । आज कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राई, नेपाल रेडक्रस सोसाइटी कमल उपशाखाका सभापति चन्द्र साह, सचिव पारसमणी राईसहित रेडक्रसकर्मीको टोलीले प्रभावित क्षेत्रको स्थलगत जानकारी लिनुभयो ।

खयरबारी क्षेत्र विसं २०५० अघिदेखि रतुवा खोलाको कटानका कारण जोखिममा छ । रतुवाका कारण २० वर्षअघिदेखि विस्थापित भएका बाढी पीडित परिवारलाई तत्काल वैकल्पिक बसोबासको व्यवस्था मिलाइए पनि स्थायी बसोबासको व्यवस्था गर्न सकिएको छैन ।

युद्धले समस्या समाधान गर्न सक्तैन– मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई शान्ति ‘अत्यन्तै महत्त्वपूर्ण’ भएको र ‘युद्धले समस्याहरूको समाधान नगर्ने’ बताउनुभएको छ ।

“एक मित्रका रूपमा हाम्रो आगामी पुस्ताको उज्ज्वल भविष्यका लागि शान्ति अत्यन्त महत्त्वपूर्ण छ भनी मैले भनेको छु”, पुटिनसँगै बसेर हिन्दी भाषामा उहाँले भन्नुभयो, “जब निर्दोष बालबालिकाहरूको हत्या हुन्छ, उनीहरू मरेको देख्दा मुटु दुख्छ, त्यो पीडा असह्य हुन्छ ।”

आफ्नो मस्को भ्रमणका क्रममा पुटिन र आफूले युक्रेनमा रुसी अभियानबारे पनि छलफल गरेको बताउनुभयो । “एउटा सच्चा मित्रका रूपमा हामी सँगै थियौँ र धेरै मुद्दामा छलफल गर्यौँ”, उहाँले भन्नुभयो, “युक्रेनका बारेमा हामी दुवैले आफ्नो विचार खुला र विस्तृतरूपमा राख्न सकेकामा मलाई खुशी लागेको छ ।”

रुसले युक्रेनका सहरहरूलाई लक्षित गर्दै तीन दर्जनभन्दा बढी मानिसको ज्यान लिएको र किएभको बाल अस्पताललाई ठूलो क्षति पुर्याएको केही घन्टापछि मोदी सोमबार मस्को पुग्नुभएको थियो । उक्त आक्रमणको युरोप र उत्तरी अमेरिकाका सरकारहरूले निन्दा गरेका छन् ।

“मलाई थाहा छ, युद्धले समस्याको समाधान गर्न सक्तैन, समाधान र शान्ति वार्ता बम, बन्दुक र गोलीमा सफल हुनसक्तैन, साथै हामीले वार्तामार्फत शान्तिको मार्ग खोज्न आवश्यक छ”, मोदीले भन्नुभयो ।

रुस भारतका लागि कम मूल्यमा तेल र हतियारहरूको प्रमुख आपूर्तिकर्ता हो तर पश्चिमबाट मस्कोको एक्लोपन र बेइजिङसँगको बढ्दो मित्रताले नयाँदिल्लीसँगको उसको साझेदारीलाई असर गरेको छ ।

हालैका वर्षहरूमा पश्चिमी शक्तिहरूले पनि चीन र एसिया–प्रशान्तमा उनीहरूको बढ्दो प्रभावका रूपमा भारतलाई रुसबाट टाढा रहन दबाब दिँदै भारतसँग सम्बन्ध विकास गरेका छन् ।

सम्झौता म्याद सकिएपनि धनुषाको कमला–कञ्चनपुर सडक विस्तार ढिलाई

जनकपुरधाम, २५ असार : पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषा जिल्लाको कमला नदीदेखि सप्तरीको कञ्चनपुरसम्म सडक विस्तार सम्झौता म्याद सकिएपनि पूरा हुन सकेको छैन ।

कमलादेखि कञ्चनपुरसम्मको ८६ किलोमिटर लामो सो सडक विस्तार चार वर्ष अगाडि रु १५ अर्ब ५६ करोड लागतमा ठेक्कामार्फत थालिएको थियो । हालसम्म भौतिक प्रगति ५० प्रतिशत मात्र भएको सडक डिभिजन कार्यालय लहानले जनाएको छ । लामो समयदेखि सो खण्डको कामले गति नलिएको हो । पुरानो सडक भत्काएर छोड्दा सडक छेउछाउका बासिन्दालाई हिँड्न र सवारी साधन गुडाउन समस्या भएको सप्तरी कञ्चनपुरका रामचन्द्र मण्डलले गुनासो गर्नुभयो ।

सडक निर्माणले पानीको निकास रोकिँदा वर्षायाममा पानी घरभित्र पस्ने गरेको सिरहा मिर्चैयाका सीतानन्दन रायले बताउनुभयो । राष्ट्रिय गौरवको योजना तथा एसियन हाइवेअन्तर्गत एसियाली राष्ट्रबीच व्यापार प्रवद्र्धन, आयात र निर्यात बढाउने उद्देश्यले सडक विस्तार थालिएको हो ।

संयुक्त राष्ट्रसङ्घको पहलमा विस्तार सुरु गरिएको एसियन हाइवे नेटवर्क कार्यक्रममा सहभागी भएको २० वर्षपछि कमला कञ्चनपुरको ८६ किलोमिटर सडक विस्तार सुरु भएको थियो । कमला नदीदेखि कञ्चनपुरसम्म सडक चार तथा छ लेनमा विस्तार भइरहेको छ । सो सडकखण्डमा खनिएको खाल्डोले हिलाम्य भएपछि यातायातका साधनलाई ८६ किमी दूरी पार गर्न छदेखि आठ घण्टा लाग्ने गरेको छ । चाइना रेलवे इन्जिनियरिङ गु्रपले ठेक्का लिएको सडक विस्तार दुईवटा प्याकेजमा भइरहेको छ ।

एसियाली विकास बैंक (एडिबी)को ७२ प्रतिशत तथा नेपाल सरकारको २८ प्रतिशत लगानीमा सडक विस्तार थालिएको हो । निर्माण कम्पनी तथा प्राविधिक दुवै पक्षबीचको लापार्वाहीले विस्तार कार्य ढिलाइ भएको स्थानीय सुरेन्द्र चौधरीको गुनासो छ । सन् २०२० अक्टोबर २९ देखि सडक निर्माण सुरु भई २०२३ अक्टोबरमा सम्पन्न गर्नुपर्ने सम्झौता थियो । सरकारले पुनः २०२४ डिसेम्बर २८ सम्मका लागि १४ महिना म्याद थप गरेको छ ।