`

नवनिर्वाचित फ्रान्सेली सांसदहरू आगामी सरकार कसले बनाउने भन्ने वार्तामा प्रवेश

अराजक चुनावी नतिजाले वाम, केन्द्र र अति दक्षिणपन्थी दलहरूबीच व्यवस्थापिका विभाजित भएपछि सरकारको बहुमतलाई एकजुट गर्ने वार्ताका लागि नवनिर्वाचित सांसदहरू मङ्गलबार फ्रान्सको संसद्को तल्लो सदन नेसनल एसेम्बलीमा भेला भएका छन् ।

पेरिस ओलम्पिक सुरु हुन तीन साताभन्दा कम समयअघि राष्ट्रपति इम्यानुएल म्याक्रोनले सोमबार आफ्ना प्रधानमन्त्री गेब्रियल एटललाई दैनिक कार्यहरू सम्हाल्न जारी राख्न आग्रह गर्नुभएको छ । म्याक्रोन नाटो शिखर सम्मेलनका लागि बुधबार वासिङ्टन जाँदै हुनुहुन्छ ।

आइतबारको निर्वाचनले कुनै पनि गुटलाई सरकार बनाउन आवश्यक बहुमतको नजिक पुर्याएन । यसबाट युरोपेली सङ्घ (इयु) को दोस्रो सबैभन्दा ठूलो अर्थतन्त्र ठप्प हुने जोखिमलाई बढाएको छ । यद्यपि युरोपमा विभाजित संसद् अमान्य नभए पनि फ्रान्सको आधुनिक इतिहासमा यो अवस्था अभूतपूर्व छ ।

सबैभन्दा धेरै सिट जितेको वामपन्थी गठबन्धन न्यु पपुलर फ्रन्टका नेताहरूले आफूले सरकार बनाउनुपर्ने बताएका छन् । गठबन्धनका तीन मुख्य दलहरू कट्टर वामपन्थी फ्रान्स अनबोड, सोसलिस्ट र ग्रिन्सले प्रधानमन्त्रीको उम्मेदवार खोज्न वार्ता सुरु गरेका छन् ।

उनीहरूको वार्ता आन्तरिक गुटबन्दीले जटिल छ । केहीले कट्टर वामपन्थी छविलाई जोड दिइरहेका छन् भने अन्यले मध्य–वामपन्थी नजिक बढी सहमत व्यक्तिलाई प्राथमिकता दिन्छन् । संसद्प्रति उत्तरदायी रहने फ्रान्सको प्रधानमन्त्रीलाई अविश्वासको मतमार्फत हटाउन सकिन्छ ।

फ्रान्स अनबोड र ग्रिन्सका सदस्यहरू मङ्गलबार बिहान नेसनल एसेम्बली पुगेका छन् । पूर्वराष्ट्रपति फ्राँस्वा ओलान्डलगायत सोसलिस्ट सांसदहरू दिउँसो भेला हुने भएका थिए ।

सोसलिस्ट पार्टीका शीर्ष वार्ताकार जोहान्ना रोल्यान्डले भावी प्रधानमन्त्री जिन–ल्युक मेलेनचोन नहुने बताउनुभयो । धेरै नरमपन्थीहरूलाई क्रोधित तुल्याउनुभएका ल्युक मेलेनचोन फ्रान्स अनबोडका विभाजनकारी कट्टर वामपन्थी संस्थापक हुनुहुन्छ ।

मङ्गलबार फ्रान्स २ टेलिभिजनमा बोल्दै रोल्यान्डले वामपन्थी गठबन्धनले सम्भवतः म्याक्रोनको गठबन्धनको केन्द्र–वामपन्थी सदस्यहरूसँग काम गर्नसक्ने सुझाव दिनुभयो । “हामी खुला हुनेछौँ”, उहाँले भन्नुभयो ।

आधिकारिक नतिजाअनुसार फ्रान्सको दुई विधायिका सदनमध्ये सबैभन्दा शक्तिशाली पाँच सय ७७ सिटको नेसनल एसेम्बलीलाई नियन्त्रण गर्न आवश्यक दुई सय ८९ सिट प्राप्त गर्न सबै तीन मुख्य ब्लक धेरै नै कम छन् ।

नतिजाअनुसार न्यु पपुलर फ्रन्ट वामपन्थी गठबन्धनलाई एक सय ८० भन्दा केही धेरै सिट प्राप्त भएको छ । म्याक्रोनको मध्यमार्गी गठबन्धनलाई एक सय ६० सिट प्राप्त भएको छ भने मरिन ले पेन र उहाँका सहयोगीहरूको अति दक्षिणपन्थी नेनसल र्यालीले तेस्रो स्थान हासिल गरेको छ । उसले एक सय ४० भन्दा धेरै सिट जितेको छ । सन् २०२२ मा उक्त पार्टी ८९ सिटमा विजयी भएको थियो ।

कोशी प्रदेशस्तरीय महिला फुटबलको उपाधि झापालाई

खोटाङ । कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाले जितेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा झापाले भोजपुरलाई १–० गोलले पराजित गर्दै उपाधिको रक्षा गरेको हो ।

झापाका लागि जेनिफर रानामगरले पहिलो हाफको १५औँ मिनेटमा निर्णायक गोल गरिन् । उपाधिसँगै झापाले नगद रु दुई लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता भोजपुरले रु एक लाख पुरस्कार प्राप्त गर्यो । प्रतियोगिताभर नौ गोल गरेकी झापाकी जेनिफरले उत्कृष्ट खेलाडी भइन् । उनले सेमिफाइनल खेलमा ताप्लेजुङविरुद्ध ६ गोल गरिन् । उनले रु पाँच हजार प्राप्त गरिन् ।

यस्तै प्रतियोगितामा उत्कृष्ट गोलरक्षक झापाकी जसोदा राई, उत्कृष्ट डिफेन्डर भोजपुरकी कमला श्रेष्ठ, उत्कृष्ट मिडफिल्डर झापाकी सिम्रन राई, उत्कृष्ट फरवार्ड भोजपुरकी आरती भुजेल र उदीयमान खेलाडी खोटाङकी रिया राई घोषित भए । उनीहरुले जनही रु तीन हजार पुरस्कार प्राप्त गरे ।

विजेता खेलाडीलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईलगायतले पुरस्कार प्रदान गरे ।

कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास बोर्डको रु २० लाख सहयोगमा प्रतियोगिता आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिका प्रमुख लिलाभक्त केसीले जानकारी दिए । चन्दा सङ्कलन तथा दाताको सहयोगमा निर्माण गरिएको खेलमैदानमा पहिलो पटक प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सञ्चालन गरिएको हो ।

‘पार्टी बलियो बनाउँदै जनताका अधिकारको रक्षा गछौँ’ : जनार्दन शर्मा

कास्की, २५ असार : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी सङ्गठनलाई बलियो बनाउँदै जनताका अधिकारको रक्षा गर्ने ढङ्गले अघि बढ्ने बताउनुभएको छ । पार्टीको पोखरा महानगर कमिटीले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाटमा उहाँले सरकार, सदन र सडक तीनै मोर्चामा पार्टीलाई क्रियाशील बनाइने बताउनुभयो ।

“पार्टी सङ््गठन निर्माण र सुदृढीकरण अबको हाम्रो पहिलो प्राथमिकता हो”, उपमहासचिव शर्माले भन्नुभयो, “संविधान संशोधन गरेर परिर्वतनका उपलब्धि खोस्ने षड्यन्त्र भए तीनवटै मोर्चाबाट सङ्घर्ष गछौँ ।” पार्टी प्रतिपक्षमा बस्न तयार रहेको उल्लेख गर्दै उहाँले जनताका हक अधिकार गुम्न नदिन जहिले पनि सचेत भएर लाग्ने बताउनुभयो ।

उपमहासचिव शर्माले विगतमा पार्टी निर्माण र एकताबद्ध बनाउने सन्दर्भमा सबैको कमी कमजोरी भएको स्वीकार गर्दै आफ्नोतर्फबाट भएको कमजोरीको जिम्मा लिन तयार रहेको उल्लेख गर्नुभयो । माओवादी केन्द्रलाई थप एकताबद्ध र शक्तिशाली बनाइने उहाँको भनाइ थियो । 

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले संविधानअनुसार नै विश्वासको मत लिन लागेको उहाँले बताउनुभयो । माओवादी केन्द्रको नेतृत्वमा सरकार सञ्चालन हुँदा सुशासन, विकास र समृद्धिका क्षेत्रमा उल्लेखनीय काम भएको उपमहासचिव शर्माले बताउनुभयो । 

मगर समुदायको कथामा अभिनेता दयाहाङ

काठमाडौँ, २५ असार : अभिनेता दयाहाङ राई पछिल्लो समय विभिन्न समुदायसँग जोडिएका कथामा आधारित चलचित्रमा देखिँदै आउनुभएको छ । पछिल्लो एक वर्षमा मात्रै उहाँले ‘जारी’ मा लिम्बू, ‘दयारानी’ मा गुरुङ, ‘गाउँ आएको बाटो’ मा राई समुदायको कथामा आधारित चलचित्रमा अभिनय गर्नुभयो । आउँदो शुक्रबारअर्थात् यही २८ असारबाट प्रदर्शन हुने ‘घर ज्वाइँ’ मा उहाँले मगर समुदायको कथामा अभिनय गर्नुभएको छ । उक्त चलचित्रको कथा आफूले मन पराएकी युवतीलाई पाउन विवाह पूर्व घर ज्वाइँ बस्ने परम्परामा आधारित छ ।

अभिनेता राई अभिनयकै सिलसिलामा भिन्न समुदायको संस्कृतिलाई नजिकबाट बुझ्न पाएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नेपाल संस्कृतिको धनी छ । तर, हामीले आफ्नै परम्परालाई भुल्दै छौँ । मैले अभिनयकै कारण केही समुदायको संस्कृति बुझ्न र बाँच्न पाएँ । आफूलाई भाग्यमानी ठान्छु । हामी अहिले समुदायको कथा भन्ने समयमा आएका छौँ ।”

चलचित्रमा विषयवस्तुसँगै प्रस्तुति गरिने संस्कृति र परम्परा नयाँ पुस्ताका लागि डिजिटल साक्षरता हुने उहाँको विश्लेषण छ । आदिवासीको संस्कृति बाहिरबाट देखिँदा उस्तै लागे पनि निकै भिन्न रहेको उहाँले बताउनुभयो ।

“हामीलाई सुन्दा उस्तै उस्तै लाग्नु स्वभाविक हो । तर, वास्तविकतामा केही भिन्नता हुन्छ । त्यही कारण चलचित्रले मनोरञ्जनसँगै उक्त समुदायको संस्कृतिलाई नजिकबाट बुझ्न मद्दत गर्छ”, उहाँले भन्नुभयो । घर ज्वाइँ बस्ने परम्परालाई उहाँले छोरीप्रतिको उच्च सम्मानका रुपमा बुझ्नुभएको छ । अन्य समुदायमा छोरीको विवाह गर्दा सोधखोज गर्ने प्रचलन रहे पनि मगर समुदायमा घरमै राखेर ज्वाइँको परीक्षण गरिने परम्परा रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “भविष्यमा दुःख परेमा ज्वाइँले कसरी सङ्घर्ष गर्छन् र छोरीलाई पाल्छन् भन्ने परीक्षा लिएको जस्तो लाग्यो । ज्वाइँ त खास नै छन्, तर छोरीलाई सुख दिन सक्छन् कि सक्दैनन् र आत्मनिर्भर भएर कसरी जीविकोपार्जन गर्छन् भन्ने परम्परा मगर समुदायमा रहेको पाएँ । यो चलचित्रमा मगर समुदायको प्रतिनिधित्व गर्न पाएकोमा खुशी छु ।”

चलचित्रलाई अनिल बुढा मगरले निर्देशन गर्नुभएको छ । आफूलाई मन परेको महिला पात्रलाई तानेर विवाह गर्ने प्रचलन आदिवासी समुदायका हरेक जातिमा रहे तापनि मगर समुदायको संस्कृति अन्यभन्दा फरक रहेको निर्देशक मगरले बताउनुभयो ।

“यसमा समुदायको पृष्ठभूमिमा कथा र पात्रलाई तयार गरिएको छ । चलचित्रमा मगर समुदायको संस्कृतिसँग परिचित गराउँदै एउटा सामाजिक कथा भनिएको छ । पर्दामा देखिने कथासँग दर्शक जोडिनुहुन्छ भन्नेमा विश्वस्त छु”, निर्देशक मगरले भन्नुभयो ।

जिएम मुभिज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आलेलगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

भारी वर्षासँगै खोला, नदीमा आएका बाढीले झापाको जनजीवन प्रभावित

दमक (झापा), २५ असार : भारी वर्षासँगै विभिन्न खोला, नदीमा आएका बाढीले झापाको जनजीवन प्रभावित भएको छ ।

बाढी पसेर कटान र डुबान भएका बस्तीका सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार पछिल्लो समय कन्काईमा आएको बाढीले गौरीगञ्ज गाउँपालिका–१ को टप्पु बस्ती र झापा गाउँपालिकाको सुगाबथानका ५१ घर परिवार प्रत्यक्ष प्रभावित भएका छन् ।

झापा गाउँपालिका र गौरीगञ्ज–१ मा यस वर्ष बाढीले तीन जनाको मृत्यु भएको छ । एक बालक बेपत्ता छन् । झापा गाउँपालिका–२ स्थित सानो माई खोलामा डुबेर सोमबार एक बालकको मृत्यु भएको हो ।

सोमबार दिउँसो खोलामा खेल्ने क्रममा डुबी घाइते भएका झापा गाउँपालिका–२ का रहमान आलम मियाका तीन वर्षीय छोरा दिलसाद आलम मियाको उपचारको क्रममा कन्काई अस्पताल सुरुङ्गामा मृत्यु भएको हो । यसअघि सोही ठाउँका एक जना र गौरीगञ्ज–१ का एक जनाको मृत्यु भइसकेको छ । गौरीगञ्ज–१ का १२ वर्षीय बालक कमल बनियानी खोलामा डुबेर दुई साता अघि बेपत्ता भए पनि फेला परेका छैनन् ।

त्यसैगरी रतुवा खोलामा आएको बाढीले कमल गाउँपालिका–६ खयरबारीमा कटान गरेको छ । आज कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राई, नेपाल रेडक्रस सोसाइटी कमल उपशाखाका सभापति चन्द्र साह, सचिव पारसमणी राईसहित रेडक्रसकर्मीको टोलीले प्रभावित क्षेत्रको स्थलगत जानकारी लिनुभयो ।

खयरबारी क्षेत्र विसं २०५० अघिदेखि रतुवा खोलाको कटानका कारण जोखिममा छ । रतुवाका कारण २० वर्षअघिदेखि विस्थापित भएका बाढी पीडित परिवारलाई तत्काल वैकल्पिक बसोबासको व्यवस्था मिलाइए पनि स्थायी बसोबासको व्यवस्था गर्न सकिएको छैन ।

युद्धले समस्या समाधान गर्न सक्तैन– मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई शान्ति ‘अत्यन्तै महत्त्वपूर्ण’ भएको र ‘युद्धले समस्याहरूको समाधान नगर्ने’ बताउनुभएको छ ।

“एक मित्रका रूपमा हाम्रो आगामी पुस्ताको उज्ज्वल भविष्यका लागि शान्ति अत्यन्त महत्त्वपूर्ण छ भनी मैले भनेको छु”, पुटिनसँगै बसेर हिन्दी भाषामा उहाँले भन्नुभयो, “जब निर्दोष बालबालिकाहरूको हत्या हुन्छ, उनीहरू मरेको देख्दा मुटु दुख्छ, त्यो पीडा असह्य हुन्छ ।”

आफ्नो मस्को भ्रमणका क्रममा पुटिन र आफूले युक्रेनमा रुसी अभियानबारे पनि छलफल गरेको बताउनुभयो । “एउटा सच्चा मित्रका रूपमा हामी सँगै थियौँ र धेरै मुद्दामा छलफल गर्यौँ”, उहाँले भन्नुभयो, “युक्रेनका बारेमा हामी दुवैले आफ्नो विचार खुला र विस्तृतरूपमा राख्न सकेकामा मलाई खुशी लागेको छ ।”

रुसले युक्रेनका सहरहरूलाई लक्षित गर्दै तीन दर्जनभन्दा बढी मानिसको ज्यान लिएको र किएभको बाल अस्पताललाई ठूलो क्षति पुर्याएको केही घन्टापछि मोदी सोमबार मस्को पुग्नुभएको थियो । उक्त आक्रमणको युरोप र उत्तरी अमेरिकाका सरकारहरूले निन्दा गरेका छन् ।

“मलाई थाहा छ, युद्धले समस्याको समाधान गर्न सक्तैन, समाधान र शान्ति वार्ता बम, बन्दुक र गोलीमा सफल हुनसक्तैन, साथै हामीले वार्तामार्फत शान्तिको मार्ग खोज्न आवश्यक छ”, मोदीले भन्नुभयो ।

रुस भारतका लागि कम मूल्यमा तेल र हतियारहरूको प्रमुख आपूर्तिकर्ता हो तर पश्चिमबाट मस्कोको एक्लोपन र बेइजिङसँगको बढ्दो मित्रताले नयाँदिल्लीसँगको उसको साझेदारीलाई असर गरेको छ ।

हालैका वर्षहरूमा पश्चिमी शक्तिहरूले पनि चीन र एसिया–प्रशान्तमा उनीहरूको बढ्दो प्रभावका रूपमा भारतलाई रुसबाट टाढा रहन दबाब दिँदै भारतसँग सम्बन्ध विकास गरेका छन् ।

सम्झौता म्याद सकिएपनि धनुषाको कमला–कञ्चनपुर सडक विस्तार ढिलाई

जनकपुरधाम, २५ असार : पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषा जिल्लाको कमला नदीदेखि सप्तरीको कञ्चनपुरसम्म सडक विस्तार सम्झौता म्याद सकिएपनि पूरा हुन सकेको छैन ।

कमलादेखि कञ्चनपुरसम्मको ८६ किलोमिटर लामो सो सडक विस्तार चार वर्ष अगाडि रु १५ अर्ब ५६ करोड लागतमा ठेक्कामार्फत थालिएको थियो । हालसम्म भौतिक प्रगति ५० प्रतिशत मात्र भएको सडक डिभिजन कार्यालय लहानले जनाएको छ । लामो समयदेखि सो खण्डको कामले गति नलिएको हो । पुरानो सडक भत्काएर छोड्दा सडक छेउछाउका बासिन्दालाई हिँड्न र सवारी साधन गुडाउन समस्या भएको सप्तरी कञ्चनपुरका रामचन्द्र मण्डलले गुनासो गर्नुभयो ।

सडक निर्माणले पानीको निकास रोकिँदा वर्षायाममा पानी घरभित्र पस्ने गरेको सिरहा मिर्चैयाका सीतानन्दन रायले बताउनुभयो । राष्ट्रिय गौरवको योजना तथा एसियन हाइवेअन्तर्गत एसियाली राष्ट्रबीच व्यापार प्रवद्र्धन, आयात र निर्यात बढाउने उद्देश्यले सडक विस्तार थालिएको हो ।

संयुक्त राष्ट्रसङ्घको पहलमा विस्तार सुरु गरिएको एसियन हाइवे नेटवर्क कार्यक्रममा सहभागी भएको २० वर्षपछि कमला कञ्चनपुरको ८६ किलोमिटर सडक विस्तार सुरु भएको थियो । कमला नदीदेखि कञ्चनपुरसम्म सडक चार तथा छ लेनमा विस्तार भइरहेको छ । सो सडकखण्डमा खनिएको खाल्डोले हिलाम्य भएपछि यातायातका साधनलाई ८६ किमी दूरी पार गर्न छदेखि आठ घण्टा लाग्ने गरेको छ । चाइना रेलवे इन्जिनियरिङ गु्रपले ठेक्का लिएको सडक विस्तार दुईवटा प्याकेजमा भइरहेको छ ।

एसियाली विकास बैंक (एडिबी)को ७२ प्रतिशत तथा नेपाल सरकारको २८ प्रतिशत लगानीमा सडक विस्तार थालिएको हो । निर्माण कम्पनी तथा प्राविधिक दुवै पक्षबीचको लापार्वाहीले विस्तार कार्य ढिलाइ भएको स्थानीय सुरेन्द्र चौधरीको गुनासो छ । सन् २०२० अक्टोबर २९ देखि सडक निर्माण सुरु भई २०२३ अक्टोबरमा सम्पन्न गर्नुपर्ने सम्झौता थियो । सरकारले पुनः २०२४ डिसेम्बर २८ सम्मका लागि १४ महिना म्याद थप गरेको छ ।

कर्णाली प्रदेश सरकारको वार्षिक खर्च ६० प्रतिशत

कर्णाली, २५ असार : कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ मा वार्षिक खर्च प्रगति ६० दशमलव ३४ प्रतिशत गरेको छ । चालु आवमा प्रदेश सरकारले रु ३३ अर्ब ३७ करोड ९७ लाख सात हजार बजेट ल्याएको थियो ।

प्रदेश सरकारद्वारा चालु आवका लागि विनियोजित कूल बजेटमा रु २० अर्ब १५ करोड ३९ लाख ७३ हजार एक सय ६२ (६० दशमलव ३४ प्रतिशत) खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतका कायममुकायम प्रदेश लेखा नियन्त्रक दीपेन्द्र मगरातीले जानकारी दिनुभयो । जसमा चालुतर्फ रु नौ अर्ब ४५ करोड ८३ लाख २६ हजार सात सय ९७ (६८ दशमलव ३६) र पुँजीगततर्फ रु दश अर्ब ६९ करोड ५६ लाख ४६ हजार तीन सय ६५ (५४ दशमलव ६७ प्रतिशत) खर्च भएको उहाँले बताउनुभयो ।

“गत आव ०७९/०८० मा प्रदेश सरकारले ६७ दशमलव ५३ प्रतिशत वार्षिक खर्च प्रगति गरेको थियो”, उहाँले भन्नुभयो, “चालु आवमा भने वार्षिक खर्च प्रगति करिब आठ प्रतिशतले घटेको छ । गत आवमा चालु खर्च ७२ दशमलव ४० प्रतिशत हुँदा चालु आवमा ६८ दशमलव ३६ प्रतिशत मात्र खर्च भएको छ ।” नियन्त्रक मगरातीका अनुसार गत आवमा पुँजीगत खर्च प्रगति ६४ दशमलव ३२ प्रतिशत थियो । चालु आवमा ५४ दशमलव ६७ प्रतिशत मात्र भएको छ ।

चालु आर्थिक वर्षमा वार्षिक खर्च प्रतिशत कम हुनुमा रु १५ लाख मुनिका पूर्वाधार निर्माणका काम नहुनु, कर्णाली समृद्धि आयोजना कार्यान्वयनमा नआउनु, सांसद विकास क्षेत्र पूर्वाधार विकास कार्यक्रमको अदालतमा मुद्दा पर्नु र केही हदसम्म कर्णालीमा जनशक्ति अभावलगायत कार रहेको उहाँले बताउनुभयो ।

एसइई सकेका विद्यार्थीलाई सुझाव : ‘आफूभित्रको क्षमता पत्ता लगाउनुस्’

काठमाडौँ, २५ असार : “तपाईँलाई आफूभित्र के छ भन्ने पत्ता लगाउन केही वर्ष लाग्नेछ । जुन दिन त्यो पत्ता लाग्नेछ, त्यसमा घोत्लिएर लाग्नुहोस्, तपाईको जीवनमा सफलता मिल्छ ।’’

माध्यमिक शिक्षा परीक्षा (एसइई) पार गरेर कक्षा ११ र १२ को तयारी र भविष्यको योजना बुन्दै गरेका विद्यार्थीमाझ उत्प्रेरणात्मक वक्ता रञ्जित आचार्यको सल्लाह छ, “जसरी बेलुनभित्र रहेको शक्तिले उसलाई आकाशमा उडाउछ, त्यसैगरी तपाईभित्रको ऊर्जाले तपाईको जीवनलाई सफलतामा लानेछ, केवल तपाईले आफूभित्रको आगो बाल्न सक्नुपर्छ, ।

त्यो आगो कहाँ छ भनेर थाहा पाउन सक्नुपर्छ ।’’ उहाँले उत्कृष्ट हुन्छु भन्ने महत्वकाङ्क्षा बोकेर वा अरुलाई हराउन खोजेर भन्दा पनि आफैलाई प्रतिस्पर्धी ठानेर काम गरेमा हरेक समस्याभित्र समाधान भेटिने र त्यसले जुनसुकै पेसामा पनि सक्षम बनाउन सघाउने सुनाउनुभयो ।

‘केन्द्रविन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८१’ मा ‘करिअर काउन्सिलिङ’ दिँदै आचार्यले उक्त सल्लाह दिनुभएको हो । कार्यक्रममा नविल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले पढेर मात्र नहुने टिप्पणी गर्नुभयो ।
“सीपमूलक शिक्षा अहिलेको आवश्यकता हो । जो भविष्यमा केही गर्न चाहन्छ, उसले चुनौतीमा पनि अवसर देख्छ । तर, जो अल्छी छ उसले अवसरमा पनि चुनौती देख्छ ।’’

खल्ती एपका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अमित अग्रवालले जीवनमा हार नमानी विद्यार्थीले अध्ययनलाई निरन्तरता दिए सफलता चुम्ने आधार तय हुने बताउनुभयो । “जे पढियो त्यही गर्नुपर्छ भन्ने छैन । शिक्षाको काम सहजताको एउटा आधार हो । हामीलाई बच्चैदेखि गरिब देश भनेर सिकाइयो, तर नेपाल गरिब देश होइन, धनी हो । अहिलेका पुस्ताले यही भावनाका साथ अध्ययनलाई अघि बढाउनुपर्छ ।’’

ग्लोबल एकेडेमी अफ टुरिजम् एण्ड हस्पिटालिटी एजुकेशन’का प्रमुख कार्यकारी अधिकृत खेम लकाइले संसारमा सबैभन्दा सुन्दर देशका रूपमा नेपाल रहेकाले यहाँ केही गर्न सकिन्छ भन्ने भावनाका साथ इमानदार रूपमा मेहनत गरेमा देशका लागि केही गर्न सकिने सुझाव दिनुभयो ।

कलाकार निशा अधिकारीले माथिल्लो शिक्षाका लागि विषय रोज्ने क्रममा अरुका कुरा धेरै नसुनेर आफ्नो रुचि र क्षमतालाई आत्मसात गरेर अघि बढ्न आग्रह गर्नुभयो ।

केन्द्रविन्दु डटकमका प्रधानसम्पादक विदुर खतिवडाले शिक्षाका ज्ञानको ज्योति भएकाले यसलाई फैलाउन सकेमा विकास र समृद्धिको ढोका खुल्ने भएकाले अहिलेका पुस्ताले ज्ञानको विस्तार र अवसरको उपयोगका लागि हरदम प्रयास गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, नेकपा (एमाले) का सचिव योगेश भट्टराईलगायतले उत्कृष्ट १४ सामुदायिक र ३१ संस्थागत विद्यालय तथा शिक्षासेवीलाई सम्मान गर्नुभएको थियो ।

बाढीमा ज्यान गुमाएका तीन किशोरीको अन्त्येष्टि, क्षतिपूर्ति उपलब्ध गराउने मुख्यमन्त्रीको आश्वासन

वेदकोट (कञ्चनपुर), २५ असार : बाढीमा ज्यान गुमाएका पुनर्वास नगरपालिकाका तीन किशोरीको सामुहिक दाहसंस्कार गरिएको छ ।

आज तीनैजनाको दोदा घाटमा सामूहिक दाहसंस्कार गरिएको पुनर्वास नगरपालिका–५ का वडाध्यक्ष पदमबहादुर रोकायाले जानकारी दिनुभयो । “पोष्टमार्टमपछि आज दाहसंस्कार गरिएको छ । पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पहल भइरहेको छ,” वडाध्यक्ष रोकायाले भन्नुभयो ।

सोमबार दिउँसो पुनर्वास नगरपालिका–५ गाउँका १६ वर्षीय लक्ष्मी बोगटी, १५ वर्षीय सृजना बोगटी र १३ वर्षीय आरती बोगटीको रातोखालीस्थित डुबानमा परेर निधन भएको थियो ।

दाहसंस्कारमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी पनि सहभागी हुनुहुन्थ्यो । उहाँले पीडित परिवारलाई भेटेर संवेदना प्रकट गर्दै सान्त्वना दिनुभयो । त्यस क्रममा मुख्यमन्त्री सोडारीले पीडित परिवारलाई क्षतिपूर्तिस्वरुप प्रदेश सरकारले आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

संयुक्त राष्ट्रसङ्घीय प्रमुखद्वारा साना उद्यमलाई बलियो समर्थनको लागि आह्वान

संयुक्तराष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सोमबार रोजगारी सिर्जना गरी गरिबी उन्मूलन गर्न सूक्ष्म, लघु तथा मध्यम उद्यम (एमएसएमई) लाई बलियो सहयोग गर्न आह्वान गर्नु भएको छ । सूक्ष्म, लघु र मध्यम आकारको उद्यम दिवसको सन्देशमा गुटेरेसले रोजगार सिर्जना गर्न, आर्थिक विकासलाई अगाडि बढाउन र महिला, युवा र सीमान्तकृत समुदायहरूको सशक्तिकरणमा उनीहरूको महत्त्वपूर्ण योगदानलाई जोड दिँदै एमएसएमईहरू विश्वभरका अर्थतन्त्रहरूको केन्द्रबिन्दु भएको बताउनु भयो । यस वर्षको विषयवस्तु गरिबी उन्मूलन र दिगो विकास लक्ष्यहरू प्राप्त गर्न यी उद्यमहरूको भूमिकामा केन्द्रित भएको जनाउदै उहाँले सङ्कटको समयमा एमएसएमईले उल्लेखनीय लचिलोपन प्रदर्शन गरेको बताउनु भएको छ ।

एमएसएमईले वित्त, प्रविधि, बजार र आपूर्ति श्रृङ्खलामा सीमित पहुँचको सामना गर्नु परेको उल्लेख गर्दै गुटेरेसले यी उद्यमहरूलाई नीति, समर्थन संरचना र लगानी चाहिने प्रकाश पार्नु भयो । जसले उनीहरूको विकास र औपचारिकतालाई बढावा दिई फलस्वरूप, समुदायहरूलाई समृद्ध बनाउन, कमजोरको उत्थान गर्न मद्दत गर्दछ । सूक्ष्म, लघु र मध्यम आकारको उद्यम दिवस मनाउँदा संस्थाको समर्थन बलियो बनाउने, दिगो विकास लक्ष्यतर्फको प्रगतिलाई गति दिने र कसैलाई पनि पछाडि नछोड्ने प्रतिबद्धता उहाँले दोहोर्याउनु भयो ।

संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वभर ९० प्रतिशत व्यवसाय ६०–७० प्रतिशत रोजगारी र कुल गार्हस्थ्य उत्पादनको ५० प्रतिशत हिस्सा एमएसएमईले ओगटेको छ । अप्रिल २०१७ मा, राष्ट्रसङ्घीय महासभाले संयुक्त राष्ट्रसङ्घका दिगो विकास लक्ष्यको उपलब्धिमा एमएसएमईको योगदानको बारेमा चेतना जगाउन जुन –२७ लाई सूक्ष्म, साना र मध्यम आकारको उद्यम दिवसको रूपमा तोकिएको थियो ।

रुसी सेनामा कार्यरत भारतीयको फिर्ता सुनिश्चित गर्न भारत र रुसबीच छलफल

भारतका लागि महत्वपूर्ण कूटनीतिक जीतमा, स्रोतले रुसले रूसी सेनाका लागि काम गरिरहेका भारतीयको फिर्तालाई सहज बनाउने जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको कुराकानीमा प्रधानमन्त्री मोदीले यो मुद्दा उठाउनु भएको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार मस्कोस्थित राष्ट्रपति निवासमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट वार्ताको क्रममा यस्तो छलफल भएको हो । सामाजिक सञ्जाल एक्सको पोस्टमा मोदीले मङ्गलबार साँझ नोभो–ओगेरियोभोमा स्वागत गरेकोमा राष्ट्रपति पुटिनप्रति कृतज्ञता व्यक्त गर्दै भोलिपल्ट पनि वार्ताको प्रतिक्षामा रहेको र वार्ताले भारत र रुस बिचको मित्रतालाई अझ बलियो बनाउन सहयोग गर्ने जनाउनु भएको थियो । रुसी सेनाका लागि काम गर्ने भारतीयको मुद्दा विपक्षीहरूले उठाएका थिए र कांग्रसले यस विषयमा सरकारको स्थिति माथि प्रश्न उठाएको थियो ।

कांग्रेस राज्यसभा सांसद जयराम रमेशले प्रधानमन्त्रीलाई प्रश्नको श्रृङ्खलामाा मुद्दा उठाउँदै मस्कोस्थित भारतीय दूतावासको तथ्याङ्क अनुसार कम्तीमा ५०जना भारतीय नागरिक रुसी सेनामा सामेल भएको जनाउनु भएको थियो । ती मध्ये कम्तिमा दुई जना व्यक्ति युद्धमा मारिएको पुष्टि भइसकेको छ । यसै विच दुई नेताले युक्रेनको अवस्थाबारे पनि छलफल भएको तथा थप विस्तृत छलफल आज पछि हुने स्रोतले जनाएको छ ।

सरकारी स्रोतका अनुसार युक्रेन द्वन्द्वको समाधान युद्धभूमिमा पाउन नसकिने भारतको धारणा छ । यो विश्वव्यापी दृष्टिकोण पनि हो र स्वाभाविक रूपमा संवाद र कूटनीति मार्फत द्वन्द्वको समाधानका लागि दुवै पक्षहरू हुनु आवश्यक छ । प्रधानमन्त्री मोदीले मङ्गलबार सैनिकको चिहानमा पुष्पचक्र अर्पण गर्ने तथा रोसाटम मण्डपको भ्रमण गर्ने कार्यक्रम तय भएको छ । यसअघि सोमबार प्रधानमन्त्री मोदी २२ औँ भारत–रुस वार्षिक शिखर सम्मेलनमा भाग लिन रुसी राष्ट्रपति पुटिनको निमन्त्रणामा दुई दिने आधिकारिक भ्रमणका लागि मस्को पुग्न भएको थियो । रुसका प्रथम उपप्रधानमन्त्री डेनिस मन्टुरोभले प्रधानमन्त्री मोदीलाई भ्नुकोवो–२ विमानस्थलमा स्वागत गर्नु जहाँ प्रधानमन्त्री मोदीलाई औपचारिक स्वागत गरिएको थियो ।

गोली लागेको दुई महिनापछि स्लोभाक प्रधानमन्त्री काममा फिर्ता

स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोले आफूमाथि बन्दुकधारीले चार पटक गोली हानेको करिब दुई महिनापछि मङ्गलबार काममा फर्किएको बताउनुभएको छ ।

मध्य स्लोभाकियामा एक सरकारी बैठकपछि ५९ वर्षीय फिकोमाथि नजिकैबाट गोली हानिएको थियो । उहाँको नजिकैको एक अस्पतालमा दुई वटा लामो शल्यक्रिया गरिएको थियो ।

स्लोभाक मिडियाले बन्दुकधारीको पहिचान ७१ वर्षीय कवि जुराज सिन्तुलाका रूपमा गरेको थियो र उनीमाथि आतङ्कवादको आरोपमा मुद्दा चलाइएको छ । उनी मुद्दाको प्रतीक्षामा हिरासतमा छन् ।

फिकोले आफ्नो मध्यमार्गी एसएमइआर–एसडी पार्टी, मध्यमार्गी हलास र ५४ लाख जनताको युरोपेली सङ्घ (इयु) तथा नाटो सदस्यहरूको शासन गर्ने अति दक्षिणपन्थी एनएनएससहितको तीन पक्षीय गठनबन्धनको नेतृत्व गर्नुहुन्छ ।

प्राय हङ्गेरीका समकक्षी भिक्टर ओर्बनका साथ इयुद्वारा आलोचना गरिने राष्ट्रवादी झुकाव भएका फिको पत्रकारहरूबाट बच्नका लागि एउटा सुरुङमार्फत मङ्गलबारको मन्त्रिपरिषद् बैठकमा सहभागी हुनुभएको स्लोभाक मिडियाले बताएका छन् ।

फेसबुकमा आफ्नो कार्यालयमा आफ्नो एक तस्बिर पोस्ट गर्दै उहाँले भन्नुभयो, “प्रिय प्रगतिशील उदारवादी मिडिया र विपक्षी, म बाँचेकोमा क्षमा चाहन्छु तर फिर्ता आएको छु ।”

गत शरद ऋतुमा फिकोले पदभार ग्रहण गरेपछि सन् २०२२ देखि रुसी आक्रमणको सामना गरिरहेको युक्रेनलाई सैन्य सहायता जारी राख्न स्लोभाकियाले अस्वीकार गरेको थियो । उहाँले पनि हङ्गेरीका ओर्बनजस्तै रुससँग शान्ति वार्ताको वकालत गरिहनुभएको छ ।

फिकोको मन्त्रिपरिषद्ले न्यायिक र मिडिया स्वतन्त्रतालाई खतरामा पार्ने विधेयकहरूलाई अनुमोदन गरेर अचम्मित पारेको छ ।

मे ३१ मा फिकोलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो र गत शुक्रबार ब्रातिस्लाभा नजिकै एक समारोहमा उहाँ पहिलोपटक सार्वजनिकरूपमा देखा पर्नुभएको थियो ।

एक भाषणमा उहाँले ओर्बनको मस्कोको विवादास्पद भ्रमणको प्रशंसा गर्दै भन्नुभयो , “यदि म स्वस्थ भएको भए उहाँसँग सहभागी हुन मन पर्थ्यो ।”उहाँले स्लोभाकियालाई क्यान्सरसँग तुलना गर्दै ‘प्रगतिशील र उदारवादी विचारधारा’ लाई रोक्न पर्खाल निर्माण गर्न पनि आह्वान गर्नुभयो ।

हत्याको प्रयासपछि उहाँ बैसाखीको सहाराले हिँड्नुहुन्छ । उहाँको तौल पनि स्पष्टरूपमा घटेको छ ।

झापामा विपद्जन्य घटनाबाट चार जनाको मृत्यु

बनियानी, २५ असार : झापामा मनसुनजन्य घटनाबाट चार जनाको मृत्यु भएको छ । गत जेठ २८ गतेदेखि हालसम्म मनसुनजन्य घटनामा परी चार जनाको मत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार खोलाले बगाएर दुईजना र चट्याङ लागेर दुई जनाको मृत्यु भएको हो ।

खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । चट्याङ लागेर तीन महिला घाइते भएको प्रहरीले जनाएको छ । मनसुनजन्य घटनाबाट जिल्लाका विभिन्न ११ स्थानमा करिब रु एक करोड आठ लाख पाँच सय बराबरको भौतिक क्षति भएको छ ।

जिल्लाका विभिन्न स्थानमा बाढीका कारण एक सय ८६ घर डुबानमा परेका छन् । २८ घरपरिवार विस्थापित भएका छन् । तीमध्ये १६ परिवार फर्किसकेको र १२ परिवार घर फर्किन बाँकी रहेको प्रवक्ता चन्दले जानकारी दिनुभयो ।

सोही अवधिमा प्रहरीले ११ घरपरिवारका ४० जनाको उद्धारसमेत् गरेको छ । मनसुनजन्य घटनामा परी चार वटा पशु मरेका छन् । जिल्लामा मनसुनजन्य घटनामा परेकाको उद्धारका गर्न एक सय प्रहरी परिचालन गरिएको जिल्ला प्रहरीले जनाएको छ ।

‘योग्यतासँगै सीप विकास गर्नुपर्छ’ – राष्ट्रियसभा ध्यक्ष दाहाल

काठमाडौँ, २५ असार : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ज्ञान समृद्धिको आधार भएकाले शैक्षिक प्रमाणपत्रका साथै व्यवहारिक सीप र दक्षता पनि अभिवृद्धि बढाउनुपर्ने बताउनुभएको छ ।

केन्द्रविन्दु डटकमद्वारा आज आयोजित दोस्रो ‘केन्द्रविन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८१’ मा सम्बोधन गर्दै अध्यक्ष दाहालले राणा शासन र पञ्चायतकालसम्म ठूलाठालुको पहुँचमा रहेको शिक्षा अहिले सबैको पहुँचमा पुगेकाले देशलाई आवश्यक जनशक्ति विदेश पलायन हुनबाट रोक्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले यस वर्षको एसइई परीक्षाको नतिजाले शिक्षाको गुणस्तर कमजोर देखिएको हुँदा गुणस्तरीय शिक्षाका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो । “कुनै बेला पढ्न जाँदा दण्डित हुनुपर्ने देश यही हो, अहिले शिक्षा संविधानको मौलिक हकमा छ, यो जनआन्दोलन र राजनीतिक परिवर्तनको उपलब्धि हो । विद्यमान शिक्षा प्रणालीमा सुधारका धेरै ठाउँ छन्, सुधारका लागि हामी लाग्नु जरुरी छ”, अध्यक्ष दाहालले भन्नुभयो । उहाँले सदनमा विचाराधीन विद्यालय शिक्षा विधेयकलाई छलफलका आधारमा गुणस्तरीय शिक्षाको आधार तयार गर्ने गरी पारित गराउने विश्वास दिलाउनुभयो ।

कार्यक्रममा विशिष्ट शिक्षा सम्मानबाट शिक्षासेवी चाँदनी जोशी, प्रा डा श्रीरामभगत माथे, सूर्य कार्की, दिप्पी आचार्यलगायतलाई सम्मानित गरियो ।

यसैगरी, उत्कृष्ट १४ सामुदायिक र ३१ संस्थागत विद्यालयलाई सम्मानित गरिएको थियो । अध्यक्ष दाहालका साथै नेकपा (एमाले) का सचिव योगेश भट्टराई, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले उत्कृष्ट शिक्षालय र शिक्षाकर्मीलाई सम्मान प्रदान गर्नुभयो । कार्यक्रममा विद्यार्थीलाई ‘करिअर काउन्सिलिङ’ पनि दिइएको थियो ।

बिबाहित महिलाहरुबीचको सौन्दर्य प्रतियोगिता द मिसेस नेशनल २०२४ सम्पन्न

राजधानीमा बिबाहित महिलाहरुबीचको सौन्दर्य प्रतियोगिता द मिसेस नेशनल २०२४ भव्यताका साथ सम्पन्न भएको छ। क्रिजोना मिडिया ग्रुप प्रालिद्वारा आयोजित दोस्रो संस्करणको प्रतियोगितामा द मिसेस नेशनल २०२४ को उपाधि इलामकी सुजाता सुब्बाले चुमेकी छन्। फेसन डिजाइनर तथा कटिङ र स्टिचिङ ट्रेनर रहेकी सुब्बाले वेष्ट फिगरको उपउपाधिलाई पनि आफ्नो बनाएकी छन्।महिलालाई सशक्त बनाउँ, राष्ट्रलाई सशक्त बनाउँ भन्ने नाराका साथ जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा मञ्जु आचार्य फष्ट रनर्सअपका साथमा मष्ट इनरजेटिक तथा मञ्जिल रञ्जितकार सेकेण्ड रनर्सअपका साथमा मष्ट पपुलर र मष्ट इलिजेन्ट उपउपाधि विजेता भए।

१६ बिबाहित सुन्दरीले अन्तिम स्पर्धा गरेको प्रतियोगितामा अनिता मण्डल लामा दोङ भ्युअर्स च्वाईस र मष्ट फोटोजेनिक, शर्मिला ताम्राकार मिसेस एम्बेस्डर, अञ्जना भट्टराई मष्ट क्यारिजम्याटिक, रुबी किरण दास मष्ट ग्रेसफुल, करिश्मा भण्डारी लेबुफनुईर मिसेस प्mयासिओनिस्ता, सिर्जना बुढा थापा वेष्ट स्माईल, प्रमिला दाहाल मष्ट डिसिप्लेन, श्री कुँवर मष्ट इन्सपाईरिङ, रिंकल गुप्ता मष्ट आइकोनिक, रोजी थापा वेष्ट पर्सनालिटी, सुष्मा रेग्मी मष्ट कन्फिडेन्ट, मञ्जु पौडेल मष्ट ट्यालेन्टेड र सदीक्षा अधिकारी वेष्ट वाक उपउपाधिको विजेता बन्न सफल भए।लभिन अन्सारीको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा मोडल दीपक घिमिरे, फेसन डिजाइनर मिनु श्रेष्ठ र अन्तराष्ट्रिय जुम्बा प्रशिक्षक प्रतिमा श्रेष्ठ निर्णायक रहेका थिए।

प्रतियोगिता पूर्व खानेपानी मन्त्री महेन्द्र यादव, सांसद रेणु साह, माष्टर सेफ सन्तोष शाह र अभिनेता किरण केसीको आतिथ्यतामा सम्पन्न भएको थियो।आयोजक संस्था क्रिजोना मिडिया ग्रुप प्रालिका प्रवन्ध निर्देशक तथा कोरियोग्राफर लभिन अन्सारीले विवाहित महिलाहरुलाई चार घेरा भित्रबाट बाहिर निस्केर स्वावलम्बी बन्न प्रोत्साहित गर्ने तथा उनीहरुमा अन्तर्निहित प्रतिभाको उजागर गरी बाहिर ल्याउने उद्देश्यले द मिसेस नेशनलको आयोजना गरिँदै आएको बताए।

आज राति नेपाल टेलिकमका सेवामा रिचार्ज नहुने

काठमाण्डौ – नेपाल टेलिकमका सेवामा आज राति रिचार्ज नहुने भएको छ। आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म रिचार्ज र डाटा प्याकेज खरिदका सेवाहरु प्रभावित हुन नेपाल टेलिकमले जनाएको छ ।

विलिङ प्रणाली स्तरोन्नतिको परीक्षण कार्य हुने भएकाले रिचार्ज नहुने भएको हो । राति ११ बजेअघि नै रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ । तर मोबाइल भ्वाइस, डाटा, एसएमएस लगायतका सेवा भने चलिरहने टेलिकमको सूचनामा उल्लेख छ ।

केन्द्रीय कमिटीलाई पूर्णता दिँदै एकीकृत समाजवादी

काठमाडौँ, २५ असारः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही असारभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको छ । भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर नेताहरूको योगदान र क्षमताका मूल्याङ्कन गरी दुई सय छ केन्द्रीय सदस्य थप गर्न लागेको हो ।

पार्टीमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएकामा महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९३ केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेको थियो । हाल पार्टीमा दुई सय छ केन्द्रीय सदस्य पद रिक्त छन् ।

सातै प्रदेशका इन्चार्ज र सचिवलाई सम्बन्धित प्रदेशका केन्द्रीय कमिटी सदस्यको नाम केन्द्रमा सिफारिस गर्न पार्टीले निर्देशन दिएको नेता सोमप्रसाद पाण्डेले जानकारी दिनुभयो । वर्तमान केन्द्रीय कमिटीले सबै प्रदेशबाट सिफारिस गरिएका सदस्यहरूको कार्यप्रगति साथै सङ्गठित सदस्यताका आधारमा नयाँ केन्द्रीय सदस्य छनोट गर्नेछ ।

पार्टीको विधानमा प्रत्येक जिल्लाबाट कम्तीमा एकजना सदस्यको केन्द्रीय कमिटीमा प्रतिनिधित्वको सुनिश्चितता कायम गरिएको छ । सबै निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा २० प्रतिशत २५–४५ वर्ष उमेर समूहको आरक्षण गरिने विधानमा उल्लेख छ । केन्द्रीय कमिटीलाई पूर्णता दिएपछि कार्यविधि तथा मापदण्ड बनाएर केही नेताहरूलाई पदाधिकारीको जिम्मेवारी तोकिने नेता पाण्डेले जानकारी दिनुभयो ।

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ, २५ असारः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक बस्दैछ । पछिल्लो राजनीतिक घटनाक्रम, सरकारमा सहभागी हुने मन्त्रीको मापदण्ड र केन्द्रीय नेताहरूको कार्यविभाजनलगायत विषयमा छलफल हुने जनाइएको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक आज दिउँसो १ बजे ललितपुर च्यासलस्थित पार्टी मुख्यालमा बस्ने छ ।

असार महिना सकिनै लाग्दा चितवनका किसान रोपार खोज्नमा व्यस्त

चितवन, २५ असारः असार महिना सकिनै लाग्दा यहाँका किसान रोपार खोज्नमा व्यस्त छन् । यहाँ व्यावसायिक रूपमा कृषिकर्म गर्दै आएका किसान अहिले रोपार खोजी गर्दै हिँड्नुपर्ने अवस्था छ । भरतपुर महानगरपालिका–१५ का चन्द्रप्रसाद अधिकारी अहिले रोपारको खोजीमा हुनुहुन्छ । उहाँले स्थानीय रोपार नपाएपछि अन्यत्रबाट रोपार ल्याउने तयारीमा हुनुहुन्छ ।

उहाँले भन्नुभयो, “स्थानीय रोपार पाउनै कठिन भएको छ । यहाँ ज्येष्ठ नागरिकमात्रै हुनुहुन्छ ।” युवा पुस्ता विदेश पलायन हुनु र यहाँ भएका श्रमिक पनि खासै काममा जाँगर नदेखाउनुले गर्दा समस्या भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ युवाहरूमा समेत काम गर्ने जाँगर नहँुदा स्थानीय मजदुर पाउन कठिन भएकाले अन्यत्रबाट मजदुर प्रयोग गर्न थालेका छौँ ।”

पछिल्ला दिनमा अन्यत्र जिल्लाबाट मजदुर चितवनमा नै कोठा भाडामा लिएर काम गर्न थालेको उहाँले बताउनुभयो । सुक्खा ठाउँमा पानीको सन्तुलन मिलाउन नसक्दा प्रविधिको प्रयोग गर्न कठिन हुने गरेको किसानको गुनासो छ ।

यस्तै समस्यामा हुनुहुन्छ भरतपुर –२४ का रतिमाया गुरुङ । उहाँ अहिले पाँच बिघा क्षेत्रफलमा धान रोप्ने तयारीमा हुनुहुन्छ । तर उहाँलाई रोपार पाइने हो या होइन भन्ने डरले निकै सताएको छ । अहिले जिल्लाका अधिकांश किसानले अन्यत्र जिल्लाका रोपारलाई प्रयोग गरेका छन् ।

भरतपुरकै शिव शर्मा अहिले रोपारकै खोजीमा हुनुहुन्छ । उहाँले आफ्नो उहाँले भन्नुभयो, “स्थानीय रूपमा काम गर्न सक्ने युवायुवती विदेश पलायन भइसके । अब कसरी खेती गर्ने ।” उहाँले अहिले स्थानीय रूपमा वृद्धवृद्धाबाहेक समाजमा कोही नहुँदा कृषिकर्मसमेत समस्यामा पर्ने हो कि भन्ने चिन्ता लागेको बताउनुभयो ।

कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले पछिल्ला वर्ष स्थानीय कामदार पाउनै कठिन हुने गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्थानीय रूपमा कामदार पाए पनि महँगो पर्ने गरेको किसानले गुनासो गर्ने गरेका छन् ।” स्थानीय रूपमा पाइने कामदारले जाँगर चलाएर काम नगर्ने र पूरा समय काम लिन नसकिने गरेको गुनासो आउने गरेको उहाँले बताउनुभयो ।

जिल्लाका अधिकांश क्षेत्रमा तराईमूलका कामदारले धान रोप्ने गरेको जनाउँदै उहाँले युवाशक्ति पलायन हुँदा स्थानीय कामदार पाउन कठिन भएको बताउनुभयो । पछिल्ला दिनहरूमा मजदुरको समस्या बन्दै जाँदा मेसिनबाट धान रोप्ने क्रम बढ्दै गएको छ । मेसिनबाट रोप्न बीउ राख्ने समयमा नै सोहीअनुसार राख्नुपर्ने हुन्छ ।

पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध,यात्रु अलपत्रमा

लमजुङ, २५ असारः वर्षाले पहिरो जाँदा डुम्रे– बेँसीसहर सडक अवरुद्ध भएको छ । सो सडकअन्तर्गत बेँसीसहर नगरपालिका– १ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईँका अनुसार सो स्थानमा पटकपटक पहिराले सडक अवरुद्ध बनाउँदै आएको छ । सडक अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन् ।

लमजुङ–तनहुँ जिल्ला जोड्ने मुख्य यस सडक हुँदै बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवन, भैरहवालगायत स्थानमा जाने र सो स्थानबाट बेँसीसहर र मनाङ आउने यात्रुलाई बर्खायाममा बर्सेनि समस्या हुँदै आएको छ ।

पशुपतिस्थित वनकालीमा ऐतिहासिक कोटीहोम महायज्ञको प्रचार प्रसारका लागि बृहत ट्याक्सी र्याली

पशुपतिस्थित वनकालीमा ऐतिहासिक विशाल कोटीहोम महायज्ञको प्रचार प्रसारका लागि बृहत ट्याक्सी र्याली आयोजना गरिएको छ । सोमबार काठमाडौंको गौशलामा मानव सेवा फाउन्डेसनलगायत झण्डै एक दर्जन संघ–संस्थाको आयोजनामा साउन १ गतेदेखि एक महिनासम्म चल्ने कोटीहोम महायज्ञको प्रचारका लागि बृहत ट्याक्सी र्याली आयोजना गरिएको हो । र्‍याली पशुपति क्षेत्रबाट सुरु भएर चाबहिल, सुकेधारा, चक्रपथ, बसुन्धारा, गोंगबु, बालाजु, स्वयम्भु हुँदै कलंकी, बल्खु, एकान्तकुना, सातदोबाटो, ग्वार्को, कोटेश्वर, तिनकुने, एयरपोर्ट हुँदै पुनस् पशुपति क्षेत्र पुगेको थियो । आयोजक मानव सेवा फाउण्डेसनका अनुसार असार २६ गते बिहान ११ बजे नै रिक्सा र्यालीको आयोजना गरिनेछ ।

असार २७, २८ र २९ गते चक्रपथ पैदल यात्राको आयोजना गरिएको मानव सेवा फाउण्डेसनले जनाएको छ । मानव सेवा फाउण्डेसनका अनुसार असार ३० गते बिहान ११ बजे साइकल र्यालीको आयोजना गरिनेछ । त्यस्तै विशाल शोभा कलश यात्रा भने असार ३१ गते बिहान ७ बजेको समयमा आयोजना गरिने फाउण्डेसनले जनाएको छ । त्यस्तै महायत्र समुद्धघाटन श्रावण १ गते बिहान ११ बजेदेखि सुरु हुनेछ । महायत्र समुद्धघाटन हुनु अघिल्लो दिनसम्म असार १ गतेदेखि असार ३१ गतेसम्म बुलुका ६ बजेदेखि ७ बजेसम्म मोटरसाइकल र्याली गर्दै चक्रपथ परिक्रमा गर्ने कार्यक्रम रहेको छ ।

श्रीमद्भागवत कथा पुराण प्रवक्ता वालयोगेश्वर श्री विजय कृष्णमुर्तीका अनुसार मानव सेवा फाउन्डेसन लगायत झण्डै एक दर्जन सङ्घ–संस्थाको आयोजनामा साउनमा हुने कोटी होम महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । ललितपुरको बाँडेगाउँमा सञ्चालित मामाघर आश्रम र भक्तपुरको चाँगुनारायणमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माण सहयोगार्थ कोटीहोम महायज्ञ आयोजना गरिएको मानवसेवा फाउण्डेसनले जनाएको छ। पशुपति वनकाली हंसमण्डपमा हुने ‘ऐतिहासिक श्री पशुपति कोटीहोम एवं एक सय आठ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ साउन १ देखि सुरु भएर साउन ३२ गते सम्म चल्नेछ । महायज्ञमा वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेल, राधिका दासी, श्री राम कथावाचक चन्द्रकला सखी र श्रीमदभागवतकी लोकप्रिय युवा कथा वाचिका देवीप्रतिभा लगायतले कथावाचन गर्ने जनाइएको छ।

जिल्लामा हालसम्म ५५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । यहाँ २२ हजार आठ सय ७० हेक्टर क्षेत्रफलमा वर्षे धानखेती गरिँदै आइएको छ । उहाँका अनुसार पूर्वी क्षेत्रमा असार पहिलो साताबाट धान रोपाइँ सुरु भएको हो । पश्चिम क्षेत्रमा भने केही ढिला रोपाइँ सुरु भएको छ । नारायणी लिफ्टबाट पानी छोडेसँगै सुक्खा क्षेत्रमा समेत रोपाइँ सुरु भएको उहाँले जानकारी दिनुभयो । जिल्लामा साबित्री, गरिमा, सावामन्सुली, रामधान र उन्नत जातका धान लगाउने गरिएको छ ।

नेपाली इन्जिनियरको टोलीले बनायो सेफ्टी ट्यांकी सफा गर्ने हाते पम्प

काठमाडौं । नेपाल इन्जिनियरिग कलेजका प्राध्याक इन्जिनियरहरुको एउटा टोलीले सेफ्टी ट्यांकी सफा गर्ने हाते पम्प तयार गरेका छन् । विद्युत नपुगेको ग्रामिण क्षेत्रलाई लक्षित गरी तयार पारिएको हाते सेफ्टी ट्याङ्क पम्पको परीक्षण गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटीले छनौट गरे अनुसार गुलरिया नगरपालिकामा यसको गरिएको थियो । त्यस क्रममा नगरपालिकामा एउटा कार्यशाला आयोजना गरिएको थियो, जहाँ इम्पेरियल कलेजबाट ल्याइएको गुल्परको परीक्षण गरिएको थियो । कार्यक्रममा नगरपालिकाका ४० भन्दा बढी सहभागी र सरसफाइकर्मीसहित क्षेत्रका व्यवसायीहरुको सहभागिता रहेको थियो । गुलरियामा सरसफाइ अभ्यासमा सुधार गर्न गुल्पर प्रविधिको सम्भावना देखेर उपस्थितहरू प्रभावित हुनुका साथै सरसफाइ क्षेत्रमा व्यवसायिक अवसरहरू सिर्जना गर्ने क्षमताको प्रशंसा गरेको जनाइएको छ ।

नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरका विज्ञान तथा मानविकी विभागकी प्रोफेसर सावित्री त्रिपाठीको अगुवाईमा मेकानिकल इन्जिनियर डा.अरुण सत्याल, प्रकाश वस्याल र अनिल सापकोटाले गुल्पर प्रोजेक्ट अन्तरगत सेफ्टी ट्याङ्की सफा गर्न हाते पम्पको विकास गरेका हुन् । फलाम, डोरी तथा पुरानो गाडीको टायरबाट निर्माण गरिएको सेफ्टी ट्याङ्की हातेपम्प खासगरी ग्रामिण क्षेत्र तथा न्यून आय भएका समुदायले सजिलै प्रयोग गर्न सकुन् भनेर तयार पारिएको बताइएको छ । यसमा पुराना सामग्रीहरु फलाम, गाडीको टायर र डोरीहरु प्रयोग गरिएको छ । विकसित देशहरुमा यस्तो सामग्रीहरुको आवश्यता नपर्ने भएकोले नेपाल जस्तो ग्रामिण क्षेत्रहरुका लागि यो नविनतम साधन भएको उनीहरुले बताए ।

गुल्पर उपकरणको उदघाटन गुलरिया नगरपालिकाकी उपमेयर सावित्रा गौतमको नेतृत्वमा भएको थियो । त्यस अवसरमा उनले कामदारको सुरक्षाको महत्व र गुलरियामा सरसफाइ अभ्यासमा क्रान्तिकारी परिवर्तन गर्ने सम्भावनालाई जोड दिइन् । त्यस्तै सामाजिक विकास अधिकृत मुकुन्द अर्यालले पनि नगरपालिकालाई गुल्परको आवश्यकता रहेकोमा जोड दिए । फिल्ड प्रदर्शनको क्रममा सरसफाइकर्मीलाई व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिई) लगाएर सुरक्षाको उपायका रुपमा लगाइएको थियो ।

त्यस अवसरमा प्राडा त्रिपाठीले निर्माणाधीन गुल्परको विकास गर्न नेपाल इन्जिनियरिङ कलेजका मेकानिकल इन्जिनियरहरू डा. अरुण सत्याल, प्रकाश बस्याल र अनिल सापकोटासँग सहकार्य गरेको सुनाइन् । उनले इम्पेरियल कलेज लन्डनका प्रोफेसर माइकल टेम्पलटनलाई सम्पर्क गरी यसको विकाश गरेको जनाइन् ।

सेफ्टी ट्याङ्की हातेपम्प निर्माण गर्नु अगाडि उनीहरुले कम्प्युटरमा अवधारणा तयार गरेर निर्माण थालेका थिए । ब्राउन गोल्ड प्रोजेक्ट अन्तर्गतको आर्थिक सहयोगमा सेफ्टी ट्याङ्की हातेपम्प निर्माण गरिएको हो ।

प्राध्यापक त्रिपाठी इन्ष्टिच्युट अफ डेभलपमेन्ट स्टडिजको टू वार्ड ब्राउन गोल्ड अन्तरगत एसिया र अफ्रिकामा द्रुतरुपमा सहरीकरण हुने क्षेत्रहरुको एरिया सरसफाई परियोजनामा अनुसन्धानकर्ताको रुपमा कार्यरत छिन् । उक्त परियोजना सन् २०२० देखि २०२४ सम्म बेलायत सरकारको जिसिआरएफ अन्तर्गत आर्थिक सहयोगबाट इथियोपिया, घाना, भारत तथा नेपालमा चलिरहेको छ ।

नेपालमा ८१ प्रतिशत मानिससँग सेफ्टी ट्याङ्की भए पनि त्यसलाई खाली गर्न पर्याप्त मात्रामा साधन नभएको तथ्यांक छ । खर्चिलो साथै सबै ठाउँमा पहुँच नभएकोले ती ठाउँहरुमा सुरक्षित रुपमा खाली गर्ने औजार दिनसके सेफ्टी ट्याङ्की सफा गर्ने व्यक्तिहरु सुरक्षित हुनुको साथै जमिनमुनीको समेत पानी दुषित हुनबाट रोक्न सकिने विश्वास गरिएको छ ।

दरवाङ आधारभूत अस्पतालमा पूर्वाधार विस्तार

म्याग्दी, २५ असारः म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा रहेको आधारभूत अस्पतालमा पूर्वाधार विस्तार भएको छ । मालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ मा विनियोजन गरेको बजेटबाट तीनवटा भवन, भवन परिसरमा फेबरब्लक बिछ्याउने र घेराबार गरिएको हो । मालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले अस्पतालको सेवा प्रवाहलाई सहज बनाउन पूर्वाधार विस्तारमा प्राथमिकता दिएको बताउनुभयो ।

“रु २४ लाख बजेट विनियोजन भएको योजनाका लागि उपभोक्ता समितिले यस वर्ष रु १४ लाख बराबरको काम गरे”, उहाँले भन्नुभयो, “अस्पतालको पूर्वाधार निर्माण गर्न आगामी आर्थिक वर्षमा पनि बजेट विनियोजन भएको छ ।” आँखा, आयुर्वेद उपचार र फार्मेसी (औषधि बिक्री) कक्षका लागि तीनकोठे भवन निर्माण भएको हो ।

खाली जग्गामा ‘पेवर ब्लक’ राखेर हिलो र धुलो नहुने बनाएपछि अस्पताल परिसर चिटिक्क परेको छ । पुरानो र नयाँ भवनमा रङरोगन भएको छ । यसअघि घेराबार नहुँदा अस्पताल परिसर अव्यवस्थित बनेको थियो । दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई मालिका गाउँपालिकाले गत भदौमा पाँच शय्या क्षमताको आधारभूत अस्पतालमा स्तरोन्नति गरेको थियो ।

प्राथमिक स्वास्थ्य केन्द्रको पूर्वाधार, जनशक्ति र उपकरण व्यवस्थापन गरेर सञ्चालन गरिएको अस्पतालबाट मालिका, धवलागिरि र मङ्गला गाउँपालिकाका बासिन्दा लाभान्वित भएका छन् । सामान्य बिरामी हुँदा बेनी, बागलुङ, पोखरा, काठमाडौँलगायत सहरमा पुग्नुपर्ने बाध्यता हटेको दरवाङका मिराज गौतमले बताउनुभयो ।

एकजना चिकित्सकको दरबन्दी रहेको अस्पतालमा निक साइमन इन्स्च्यिुटले थप एकजना चिकित्सक, एकजना रेडियोग्राफर र एकजना स्टाफ नर्स जनशक्ति सहयोग गरेको छ । प्रयोगशाला, एक्सरे, अल्ट्रासाउण्ड, मुटुको इसिजी, पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने स्क्रिनिङ, हातखुट्टा भाँचिएको प्लास्टर सेवा दिइरहेको केन्द्रले आफ्नै फार्मेसी सञ्चालन गरेको छ ।

गाउँपालिकाले अस्पताल सञ्चालन गर्न चालु आर्थिक वर्षमा रु ३२ लाख अनुदान दिएको छ । यसअघि प्राथमिक स्वास्थ्य केन्द्र हुँदा आकस्मिक र कार्यालय समयमा स्वास्थ्य परीक्षण सेवा दिँदै आएकामा अस्पतालमा रुपान्तरण भएपछि चौबीसै घण्टा बिरामीलाई भर्ना गरेर सेवा दिन थालिएको छ ।

बाढीले कैलालीको भजनीका तीन सय १३ र टीकापुरका एक सय ७४ परिवार विस्थापित

टीकापुर । लगातारको वर्षापछि आएको बाढीले कैलालीका भजनी नगरपालिकामा ३१३ र टीकापुर नगरपालिकामा १७४ परिवार विस्थापित भएका छन्। विस्थापित भएकाहरू हुलाकी सडक, उच्च भवन, सामुदायिक भवन, विद्यालय तथा आफन्तका घरमा आश्रय लिइरहेका छन्।

भजनी नगरपालिका बाढीले सबैभन्दा बढी प्रभावित भएको विपद् व्यवस्थापन शाखा प्रमुख विष्णु न्यौपानेले जानकारी दिए। “विस्थापितहरू खाद्यान्न आफ्नै घरबाट ल्याएर खाने गरेका छन्, पालिकाले यति धेरै नागरिकलाई व्यवस्थापन गर्न सक्ने अवस्था छैन,” उनले भने, ‘‘पालिकाले एक हजार ८०० बोतल पानी वितरण गरेको छ।”

बाढीले भजनीमा अधिकांश सडकमा क्षति पुगेको छ। भजनीमा खेतीयोग्य जमिन ७५ प्रतिशत डुबानमा परेको प्रमुख न्यौपानेले बताए। जलसतह नघटेकाले डुबानमा परेका घरमा के–कति क्षति भयो भन्ने विवरण आउन नसकेको नगरप्रमुख केवल चौधरीले जानकारी दिए।

“भजनी तहसनहस भएको छ, मानिस विस्थापित भएको मात्र होइन,” उनले भने, “खेतीपाती, पशुपालन तथा अन्य व्यवसायमा समेत क्षति भएको छ। मानिसका घर डुबानमा परेपछि सरसामान सबै भिजेका छन्।”

नगरप्रमुख चौधरी पालिकाले यस्तो विपत्तिमा एक्लैले धान्न नसक्ने भएकाले संघीय सरकारले नै विपद्मा नागरिकका हितमा काम गर्नुपर्ने बताए।

भजनीमा विस्थापितहरू हुलाकी सडकमा पाल टाँगेर बसिरहेका छन्। बर्खाको समयमा माथिबाट वर्षा भइरहेको, तल लामखुट्टे, कीरा फट्याङ्ग्राको जोखिम रहेकाले सडकमा बसेकाहरूको अवस्था नाजुक रहेको स्थानीय कृष्ण धमलाले बताए।

“खाद्यान्न, लुगाकपडा, बस्तुभाउ पनि सडकमा छन्, बस्तुभाउ र मानिसको बसाइ सँगै खुला आकाशमा कस्तो होला?,” उनले भने, “मानिस विस्थापित भएर पनि बस्ने ठाउँ छैन, अझ आफैँ खानाको जोहो गर्न कठिन भएको छ। त्यसैमाथि सडक सहारा भएको छ।”

टीकापुर नगरपालिका–६ को बस्तीमा मोहना नदीको बाढी पसेपछि डुबानमा परेको हो। त्यहाँ विद्यालय र बस्तीमा पानी पसेको छ। टीकापुरमा भगवानपुरका २०, प्रेनीका ५०, नारायणपुरका नौ, मिलनपुरका ३५, भर्तापुरका ४५, सुन्दरपुरका १२ र बाघमाराका तीन परिवार विस्थापित भएका विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले जानकारी दिए।

“मोहनाको पानी बस्तीमा पसेपछि वडा नं ६ मा ठूलो क्षति भएको छ, हामीले प्रहरीको सहायतामा ट्युबमा सरसामान र मानिसलाई उद्धार गर्यौं, पूर्वतयारीमा काम गरिरहेकाले समयमै उद्धार सम्भव भयो,” उनले भने, “अहिले पनि बस्ती जलमग्न छ। डुबान क्षेत्रमा जानसक्ने अवस्था छैन।”

टीकापुर– ५ मा रानी जमरा सिँचाइ आयोजनाले निर्माण गरेको ड्याम, दौलतपुरमा रहेको तटबन्ध, वडा नं ६ को भर्तापुरमा पुल नजिक बाँधेको ड्याम भत्कने जोखिम रहेकाले तत्काल मर्मत गर्ने, मर्मतका लागि सिँचाइ आयोजनाको सहयोग लिने विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ। वडा नं ४ मा सिँचाइ आयोजनाले बनाएको इन्टेक साँघुरो बनाएकाले कहिल्यै बाढी नपसेको बाघमारामा पनि डुबान भएको वडाध्यक्ष लालवीर चौधरीले बताए।

डुबान भएका बेला धेरै सडक काटेर पानी निकास गरेकाले बिग्रिएका सडक मर्मत तत्काल गर्ने नगरपालिकाले निर्णय गरेको छ। त्यस्तै जोशीपुर गाउँपालिकाका सबै वडामा पानी पसेको छ। सबै वडामा पानी पसे पनि वडा नं ३ का पाँच परिवारमात्र विस्थापित भएका छन्।

बाँदर नियन्त्रण गर्न ‘मङ्की पार्क’, बाली जोगाउन हरेक दिन कुरुवा राख्नुपर्ने बाध्यता

ढोरपाटन (बागलुङ), २५ असारः बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बार्दलीमा झुण्ड्याएर राखिएका सामान नष्ट गरिदिएपछि जैमिनीवासी आजित बनेका छन् । जैमिनी नगरपालिका–४ की मायादेवी पौडेलले बाँदरले बालीनाली सबै सखाप पार्दा धेरै नोक्सानी व्यहोर्नुपरेको गुनासो पोख्नुभयो ।

उहाँले भन्नुभयो, “यतिबेला बारीमा लगाइएको मकैले घोगा हाल्न थालेको छ । बाँदरले बोट नै सखाप पारिदिन थालेको छ । बाँदर धपाउन एकजना दिनभर खटिनुपर्ने बाध्यता छ । पहिला–पहिला कहिलेकाहीँ मात्र बाँदर देखिन्थ्यो, अहिले त बाह्रै महिना गाउँमै बस्न थालेको छ, एउटा भए पो धपाउन पनि सजिलो हुन्छ, हुल हुन्छ, एक्लै त धपाउन पनि सकिन्न । ”

काठेखोला गाउँपालिका–५ का बलिभद्र कँडेलले बाली जोगाउन हरेक दिन एकजना कुरुवा राख्नुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय घर छेउका जङ्गल बढ्दै गएपछि बाँदरको बास नै गाउँमा हुन थालेको छ उहाँले बताउनुभयो । पहिले केही आवाज आउने वस्तु बजाउँदा बाँदर भाग्ने गर्दथ्यो । आजभोलि निकै चलाख र बाठो हुँदै गएपछि मान्छेलाई नै झम्टन्छ । बारीको बाली एकै छिनमा नष्ट गरिदिन्छन्, हामीहरु कता जाने भन्ने भइसक्यौँ ।”

बाँदर नियन्त्रण गर्न पालिकाले पहल नथालेको स्थानीयवासी गुनासो गर्दछन् । जैमिनी नगरपालिकाले यसका लागि ‘मङ्की पार्क’ बनाउने योजना बनाएको छ । योजनाले भने सार्थकता पाउन सकेको छैन ।

अल्जेरियाको मरुभूमिमा १२ जना सिरियाली आप्रवासीसहित १४ जनाको शव फेला

अल्जेरियाको दक्षिणी मरुभूमि प्रान्त इलिजीमा १२ जना सिरियाली आप्रवासीसहित १४ जना मृत फेला परेका छन् ।बेपत्ता अन्य पाँच जनाको खोजी कार्य जारी रहेको अल्जेरियास्थित सिरियाली दूतावासका अनियमित आप्रवासन प्रमुख बसेम फारुखले बताउनुभयो । “पीडितहरू मङ्गलबार लिबियाबाट आएका थिए । उनीहरू मरुभूमिमा हराएपछि शनिबार मृत फेला परेका थिए”, उहाँले भन्नुभयो ।

अल्जेरियाको मरुभूमिमा हराएका मानिसहरूलाई उद्धार गर्ने काम गर्ने गैरसरकारी संस्था सर्च एन्ड रेस्क्यू एसोसिएसनले आप्रवासीहरूलाई फेला पारेको हो ।

एसोसिएसनले मृत्यु हुनेमा दुई अल्जेरियाली र १२ सिरियाली नागरिक भएको बताएको छ । मृत्यु हुनेमा एक १० वर्षीय र एक १६ वर्षीय किशोर छन् ।

फारुखले लिबियाका अधिकारीहरूलाई दोष दिनुभएको छ । उहाँका अनुसार उनीहरूले आप्रवासीहरूलाई निष्कासन गरेर अल्जेरियाबाट भाग्न प्रेरित गरे । “हामीले अन्य सिरियालीहरूलाई यसैगरी लिबिया छोडेर अल्जेरियातर्फ गएका देख्नेछौँ र हामीले आफूलाई थप प्रकोपहरूको लागि तयार गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

सन् २०१६ मा २२ सिरियालीको अल्जेरियाली सेनाले उद्धार गर्नुअघि छिमेकी नाइजरबाट प्रवेश गरेपछि अल्जेरियाको मरुभूमिमा हराएका थिए ।संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी युएनएचसिआरका अनुसार सिरिया विश्वको सबैभन्दा ठूलो विस्थापन सङ्कट बनेको छ ।

अरब वसन्त विद्रोहका बीच राष्ट्रपति बसर अल–असदका सेनाबीच विपक्षी समूहहरूमाथि हिंसात्मक रूपमा आक्रमण गर्दा सन् २०११ देखि यो देश युद्धले ग्रस्त छ ।सिरियाको अर्थतन्त्र र पूर्वाधारमा गम्भीर क्षति पुगेको यस युद्धले पाँच लाखभन्दा बढी मानिसको ज्यान लिइसकेको र लाखौँलाई आफ्नो घर छोड्न बाध्य पारेको छ ।

महत्त्वपूर्ण सातामा बाइडेनद्वारा डेमोक्रेटहरूलाई कडा चुनौती

अमेरिकी राष्ट्रपतिको निर्वाचनका लागि आफ्नो पुनर्निर्वाचनको दावेदारी महत्त्वपूर्ण सातामा प्रवेश गर्दा राष्ट्रपति जो बाइडेनले डेमोक्रेटिक सांसदहरूलाई आफ्नो पुनर्निर्वाचन अभियानलाई समर्थन गर्न वा आगामी महिना हुने पार्टी सम्मेलनमा आफूलाई चुनौती दिन आग्रह गर्नुभएको छ ।

गत महिना रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पविरुद्ध विनाशकारी बहसपछि दोस्रोकालको सेवा गर्न उहाँ धेरै वृद्ध हुनुभएको डरले ८१ वर्षीय बाइडेनले पदबाट हट्ने आह्वानलाई अस्वीकार गर्नुभयो ।

धेरै सहयोगीले अलगाववादी ट्रम्पले नोभेम्बरमा हुने निर्वाचनमा जित्ने भविष्यवाणी गरेको सर्वेक्षणका बीच आश्वासन खोज्नुभएका बाइडेनको वासिङ्टनमा यसै साता नाटो नेताहरूको शिखर सम्मेलनमा थप परीक्षण हुनेछ ।

‘त्यहाँका औसत मतदाताले अहिले पनि जो बाइडेनलाई चाहन्छन्’ भन्नेबारे ‘आश्वस्त’ हुनुहुन्थ्यो भन्न लगाउन बाइडेनलाई एमएसएनबिसीको ‘मर्निङ जो’ टेलिभिजन कार्यक्रममा बोलाइएको थियो ।

“पार्टीमा सम्भ्रान्तहरूबाट धेरै निराश भइरहेको छु”, टेलिफोन अन्तर्वार्तामा आक्रोशित हुनुभएका बाइडेनले भन्नुभयो, “मैले निर्वाचन लड्नुपर्छ भन्ने नलाग्ने यीमध्ये कोही पनि मेरो विरुद्धमा उभिउन्, राष्ट्रपति पदका लागि घोषणा गरुन्, सम्मेलनमा मलाई चुनौती दिउन् ।”

साताको प्रारम्भको कारवाहीमा उहाँले डेमोक्रेटिक पार्टीका सांसदहरूलाई ‘म पद छाड्न अस्वीकार गर्दछु’ भन्दै लामो पत्र लेख्नुभयो । “म दौडमा रहन दृढतापूर्वक प्रतिबद्ध छु”, उहाँले लेख्नुभएको छ, “कसरी अगाडि बढ्ने भन्ने प्रश्न एक साताभन्दा बढी भइसक्यो, अब यो अन्त्य गर्ने बेला हो ।”

पहिरोको जोखिम भएपछि च्याउपानीका ११ परिवारलाई अन्यत्र सारियो

काँक्रेविहार (सुर्खेत), २५ असारः भूकम्पका कारण जोखिममा रहेका जाजरकोटको भेरी नगरपालिका–१ च्याउपानीका स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ । गत कात्तिक १७ गते रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले सो स्थानलाई बस्न जोखिम बनाएको थियो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटको सहयोगमा सो गाउँका ११ परिवारलाई पहिरोबाट जोगाउन सुरक्षित ठाउँमा सारिएको हो । कार्यालयका प्रहरी सहायक निरीक्षक वीरबहादुर थापाले भेरी–१ च्याउपानीका पहिराको उच्च जोखिममा रहेका ११ घरपरिवारलाई अन्यत्र सारिएको जानकारी दिनुभयो ।

ती मध्ये छ परिवारलाई भेरी–१ मेदेगाउँको खुला चौर र अन्यलाई आफन्तकहाँ तत्कालका लागि बस्ने व्यवस्था मिलाएको वडाध्यक्ष दीपक रानाले बताउनुभयो । त्यस्तै चार दिनदेखि अवरुद्ध भएको लुम्बिनी– रारा राजमार्गअन्तरर्गत जाजरकोटकोटको भेरी–२ का विभिन्न ठाउँमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ । उक्त सडक खुलाउन पहल नभएको स्थानीयवासी पुष्प ओलीले बताउनुभयो ।

वर्षाका कारण पहिरो जाँदा अरनिको राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक, २५ असारः वर्षाका कारण पहिरो जाँदा अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखालस्थित ५० किलो भन्ने स्थानमा गए रातिदेखि सडक अवरुद्ध भएको छ । सडक माथिबाट लगातार पहिरो खसिरहेकाले पन्छाउन असहज भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पाँचखाल नगरपालिका–८ स्थित उक्त सडकमा पहिरो खसेर करिब एक सय ५० मिटर सडक अवरुद्ध भएको हो । गए राति ९ बजेदेखि सडक अवरुद्ध हुँदा दुवैतर्फ सवारी रोकिएका छन् । साना सवारीलाई वैकल्पिक बाटोबाट पठाइएको प्रहरीले जनाएको छ । प्रवक्ता श्रेष्ठका अनुसार पहिरो खस्न केही कम भएकाले आज बिहानदेखि मेसिनद्वारा पहिरो पन्छाउन थालिने छ ।

सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक अवस्था सुधारमा लहानको जोड

सिरहा – जिल्लाको लहान नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई सुधार्न प्रविधिमैत्री शैक्षिक सामग्री वितरण, जनशक्ति व्यवस्थापन तथा विद्यालयको भौतिक स्तरोन्नतिमा जोड दिएको छ ।

नगरपालिकाले विद्यालयको शिक्षण सिकाइलाई व्यावहारिक र प्रविधिमैत्री बनाउन एक विद्यालय एक कम्प्युटर प्रयोगशाला, एक कक्षा एक शिक्षक र कक्षा कोठा सुधारका लागि आर्थिक वर्ष २०७९÷८० मा रु छ करोड र यस चालु आवमा रु आठ करोड विनियोजन गरेको थियो ।

नगरप्रमुख महेशप्रसाद चौधरीले सामुदायिक विद्यालयको अवस्था सुधार गर्न आफूले जोड दिएको बताउनुभयो । त्यसका लागि यसवर्ष तीन सय ३० डेक्स, वेञ्च र ३६ थान कम्प्युटर र प्रिन्टर वितरण गरिएको बताउँदै चौधरीले विद्यालयका आवश्यकता पहिचान गर्नुका साथै सघन अनुगमन गरेर विद्यालयको शैक्षिक सुधार कार्यक्रमलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो । ‘‘शिक्षाको विकासलाई प्राथमिकतामा राखिएको छ । एकविद्यालय एक शिक्षक कार्यक्रमअन्तर्गत एक सय २५ जना स्वयंसेवक शिक्षक भर्ना गरिएको छ । लगानीअनुसार सामुदायिक विद्यालयमा यस वर्ष एसइईको परिणामसमेत सन्तोषजनक आएको छ”, चौधरीले भन्नुभयो, “नगरका ५९ वटै सामुदायिक विद्यायलको शैक्षिक गुणस्तर तथा भौतिक अवस्था सुधारका लागि प्रयत्नशील रहेका छौँ ।’’

नेपाल शिक्षक सङ्घ लहानका अध्यक्ष नारायण साह फर्निचर, कम्प्युटरको व्यवस्था, पर्खाल तथा कक्षा कोठा निर्माण कार्यमा लहान नगरपालिकाले गरेको लगानीबाट सामुदायिक विद्यालयमा राम्रो सुधार हुँदै गएको बताउनुहुन्छ ।

सहिद रमेश महतो आधारभूत विद्यालयका प्रधानाध्यापक उपेन्द्र महतोले विद्यालयको शैक्षिक अवस्था सुधारका लागि शिक्षकलाई प्रोत्साहन र भौतिक सामग्रीको अभावपूर्ति गर्न देखाएको तदारुकताको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘नगरपालकाको नियमित अनुगमनले शैक्षिक सुधारमा थप हौसला मिलेका छ । त्यसैगरी विद्यालयमा अभाव रहेका शैक्षिक सामग्रीसमेत उपलब्ध गराउँदै निकै राहत भएको छ । यसले यहाँको शैक्षिक गुणस्तर सुधारमा समेत योगदान पु¥याएको छ ।’’

लहान नगरपालिकाले सामुदायिक विद्यालय सुधारमा जोड दिए पनि विद्यार्थीको आकर्षण भने अझै बढाउन नसकिएको स्थानीयको भनाइ छ । दलित जागरण अभियानका केन्द्रीय अध्यक्ष राजेश विद्रोहीले यहाँका अधिकांश सामुदायिक विद्यायलमा गरिब, विपन्न तथा दलित बस्तीका बालबालिका मात्रै अध्ययन गरिरहेका बताउनुभयो । उहाँले भर्नादर धेरै देखिएता पनि विद्यालयमा उपस्थिति न्यून हुने गरेकाले यसतर्फ पनि नगरले ध्यानदिनुपर्ने उहाँको सुझाव छ ।

मनसुनजन्य विपद्मा परी सुदूरपश्चिममा पाँचको मृत्यु, दुई बेपत्ता

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा तीन दिनदेखिको वर्षासँगै बाढी, डुबान र पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।नजिकैको खोलामा डुबेर बेपत्ता भएकी कञ्चनपुरको पुनर्वास नगरपालिका—५ का १५ वर्षीया लक्ष्मी बोगटी, १७ वर्षीया आरती बोगटी र १७ वर्षीया सिर्जना बोगटीको शव सोमबार फेला पारिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै, कञ्चनपुरको कृष्णपुर नगरपालिका—१ मोतीबस्तीकी सङ्गीता धानुकका सातमहिने छोरा सोलुको कोठामा पसेको बाढीमा डुबेर मृत्यु भएको छ । कैलालीको कैलारी गाउँपालिका—९ गदरिया गाउँको भुर्रा नदीमा डुबेर बेपत्ता भएका सोही ठाउँका १८ वर्षीय अजय रानाको प्रहरीले खोजी गरिरहेको छ ।

कञ्चनपुरको बेलडाँडी गाउँपालिका—३ का २३ वर्षीय डम्मर चौधरी नजिकै रहेको चौदर नदीमा डुबेर बेपत्ता भएका छन् । डडेलधुरा पर्शुराम नगरपालिका—३ का ५६ वर्षीय नवराज पनेरुको शनिबार पहिरोसँगै खसेको ढुङ्गा लागेर मृत्यु भएको थियो ।

प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक दिल्लीराज बिष्टले वर्षासँगैको बाढी र डुबानले कञ्चनपुरको भीमदत्त नगरपालिका, दोधाराचाँदनी, बेलडाँडी, कैलालीको भजनी र जोशीपुर क्षेत्र बढी प्रभावित भएको जानकारी दिनुभयो ।

डुबानमा फसेकालाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरेको छ । दुवै जिल्लामा डुबानबाट छ सय ४० परिवार प्रभावित भएका छन् । प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

कैलालीको गोदावरी, बैतडीको पञ्चेश्वर र दशरथचन्द नगरपालिकामा गरी तीन परिवारको घर भत्किएर क्षति पुगेको छ । विभिन्न सडक खण्डमा गएको पहिराका कारण यातायात आवागमन अवरुद्ध भएको छ । अवरुद्ध सडकको पहिरो पन्छाई सञ्चालन गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

कञ्चनपुर, महाकाली नदीपारिको दोधारा चाँदनीमा आइतबारदेखि सोमबार बिहानसम्मको २४ घण्टामा पाँच सय ७३ मिलिमिटर वर्षा मापन भएको थियो । अविरल वर्षासँगै महाकाली, कर्णाली, ठूलीगाड, मोहना, खुटिया, कान्द्रा, घुरुवा, कटैनी, श्याली, दोदा, चौदरलगायत नदी र खोलामा बढेको पानीको बहाव वर्षा रोकिएपछि सोमबार दिउँसोबाट घटेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको सेवा अब टेकुबाट

उहाँले भन्नुभयो, “हाम्रो भवन टेकुमै निर्माणाधीन अवस्थामा छ, आजदेखि विगतमा जिल्ला प्रहरी परिसर काठमाडौँले सेवा प्रदान गर्दै आएको टेकुस्थित कार्यालयबाट सेवा प्रवाह सुरु गरेका छौँ ।” उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले आज पूजापाठ गरी कामकाज सुरु गर्नुभएको हो ।

आइतबार जिल्ला प्रहरी परिसर काठमाडौँ भद्रकालीस्थित आफ्नै भवनमा सरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुस्थित भवनमा सरेको हो । प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले भन्नुभयो, “नेपाल आयल निगम परिसरकै दुई रोपनी जमिनमा रु ७२ करोडमा आगामी चैत मसान्तसम्म सम्पन्न गर्ने गरी भवन निर्माण हुँदैछ ।” काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले यसअघि नयाँ बानेश्वरबाट सेवा प्रवाह गर्दै आएको थियो ।

बागलुङमा पहिलाे पटक भेटियो कालाजार, उच्च सतर्कता अपनाइयो

गलकोट (बागलुङ) – बागलुङमा पहिरोपटक कालाजारको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बागलुङका अनुसार ढोरपाटन नगरपालिकाका ६१ वर्षीय पुरुषमा कालाजार देखिएको हो ।

परजीवीकाले टोक्दा मानिसको मृत्युका कारणमध्ये कालाजार औलोपछिको दोस्रो रोग हो । ‘स्यान्ड फ्लाई’ नामक भुसुनाको टोकाइबाट कालाजारको सङ्क्रमण हुन्छ । उक्त सङ्क्रमण देखिएका स्थानका ४१ जनामा स्वास्थ्य परीक्षण समेत भइसकेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

जिल्लामा पहिलोपटक कालाजार देखिएकाले कालाजार देखिएका स्थानमा उच्च सतर्कता अपनाइएको छ । साथै अनुगमन बढाइएको छभने आगामी दिनमा कालाजारको थप अध्ययन गरिने उक्त कार्यालयका प्रमुख बाबुराम आचार्यले जानकारी दिनुभयो । “विभिन्न नयाँ तथा पुराना रोग तथा सङ्क्रमणहरुको खोजपडतालअन्तर्गत ढोरपाटनका एक वृद्धमा उच्च ज्वरो देखिएपछि थप उपचारका लागि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरी लुम्बीनी मेडिकल कलेज पु¥याउदा कालाजार सङ्क्रमण पुष्टि भएको हो”, प्रमुख आचार्यले भन्नुभयो, “उक्त स्थानमा तत्कालै स्वास्थ्यकर्मी पु¥याएर उहाँसहित ४१ जनाको नमूना सर्वेक्षण गरिएको थियो ।”

आचार्यका अनुसार गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ढोरपाटनको छेन्तुङ क्षेत्रमा कालाजारको अध्ययन गरिनेछ । कालाजार पुष्टि भएका वृद्धको शरीरको तौल अत्यधिक मात्रामा घटेको पाइएको कार्यालयका मलेरिया इन्स्पेक्टर कमला थापाले जानकारी दिनुभयो । कालाजार देखिएपछि १४ दिनभन्दा बढी उच्च ज्वरो आउनु, तौल घट्नु र शारीरिक रुपमा कमजोरी देखिने जस्ता लक्षण देखिन्छन् ।

अब बन्ने सरकार राजनीतिक स्थायित्वका लागि हो – महासचिव पोखरेल

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले र नेपाली कांग्रेसको समझदारीमा बन्ने अबको सरकार राजनीतिक स्थायित्वका लागि भएको बताउनुभएको छ ।

ललितपुर च्यासलस्थित एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले तयार पारेको सञ्चार नीतिको मस्यौदा बुझ्दै उहाँले सङ्कटको अवस्थामा रहेको अर्थतन्त्रलाई माथि उठाउने र जनतामा रहेको निराशालाई आशामा परिणत गर्ने प्रतिबद्धतासहितको समझदारीमा एमाले र कांग्रेस पुगेकाले नयाँ गठबन्धनको सरकार बनाउन थालिएको बताउनुभयो ।

महासचिव पोखरेलले अब बन्ने सरकारले देश र जनताका समस्या समाधानका लागि अन्तिम विकल्प भएको समेत बताउनुभयो । मुलुकका दुई ठूला दल सम्मिलित सरकार देशका समस्या समाधान गर्न र जनतामा पैदा भएको निराशालाई आशामा परिणत गर्न नसके राष्ट्र नै असफल हुनसक्ने उहाँको दाबी थियो ।

उहाँले भन्नुभयो, “जनतामा निराशा, अर्थतन्त्रमा सङ्कट, समाजमा एक प्रकारको असन्तुष्टि पैदा भएको बेला त्यसलाई कसरी चिर्न नयाँ सरकार गठन हुन लागेको हो ।”

सो अवसरमा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले महासचिव पोखरेललाई सञ्चार नीतिको मस्यौदा हस्तान्तरण गर्नुभयो । प्रचार विभागले डा महेन्द्र विष्टको संयोजकत्वमा गठित पाँच सदस्यीय कार्यदलले सञ्चार नीति मस्यौदा गरेको हो ।

१९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा

काठमाडौँ, २४ असारः भारी वर्षापछिको बाढीपहिरालगायत विपद्का कारण मुलुकका विभिन्न १९ ठाउँमा राजमार्ग पूर्णरुपमा अवरुद्ध हुन पुगेको छ ।

आज साँझ ६ बजेसम्मको विवरणअनुसार अवरुद्ध रहेका १४ स्थानमा भने एकतर्फी रुपमा सडक सञ्चालनमा ल्याइएको छ । ती सडकका पहिरो पन्छाएर तथा खोलेको बाटो मर्मत गरेर एकतर्फी सञ्चालन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार कालिकोटको कर्णाली राजमार्ग, सुर्खेतको मदन भण्डारी राजमार्ग, सिमकोट हुम्लाबाट नाम्खा जानेबाटो, जाजरकोट सडकखण्ड, कर्णाली करिडोर, सुर्खेत–दैलेख सडकखण्ड, कञ्चनपुरस्थित पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा बन्द छ ।

यस्तै रोल्पाको सहिद राजमार्ग, रिडि–बाग्लुङ सडकखण्ड, स्याउलीवास–बाग्दुम्ला, चामे–बेँसीशहरलगायतका सडकखण्ड अवरुद्ध रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै सङ्खुवासभाको कोशी राजमार्ग पनि बन्द नै रहेको जनाइएको छ ।

पहिराका कारण अवरुद्ध म्याग्दीको बेनी–दरबाङ सडक तीन दिनपछि सञ्चालनमा आएको छ । अन्य विभिन्न जिल्लाका १४ स्थानमा पूर्ण रुपमा अवरुद्ध रहेकामा एकतर्फी सञ्चालन गरिएको प्रहरी प्रधान कार्यालयले आज साँझ विवरण सार्वजनिक गरेको छ । प्रहरीका अनुसार विभिन्न २७ जिल्लाका सडकमा विपद्बाट प्रत्यक्ष असर पुगेको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–६ नगरकोटमा पहिरोले अवरुद्ध सडक आज सशस्त्र प्रहरीले पुनःसञ्चालनमा ल्याएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिनुभयो ।

अभिनयमा फर्किंदै तीन अभिनेत्री

काठमाडौँ । केही समय नेपाली चलचित्रबाट टाढा रहेका अभिनेत्रीहरू पुनः चलचित्र र टेली शृङ्खलाको माध्यमबाट पर्दामा फर्किंदैछन् । अरुणिमा लम्साल, विपना थापा, रेजिना उप्रेतीलगायत अभिनेत्रीहरू एक दशकपछि यस वर्ष पर्दामा देखिँदैछन् । कुनै समय यी अभिनेत्रीले धेरै नेपाली चलचित्रमा अभिनय गरेका थिए ।

पछिल्लो समय एक दशकअगाडि ‘वरदान’ नामक चलचित्रमा देखिनुभएकी अभिनेत्री उप्रेतीले हालै ‘मोदिबेनी’ नामक चलचित्रमा अभिनय गरेका छन् ।

यसपटक उनले मुख्य भूमिकामा अभिनय गरेकी छन् । विशेषतः डिजिटल प्रविधिमा चलचित्र बन्ने क्रम बढ्नाका साथै कथ्य शैलीमा परिवर्तन आएपछि उहाँ चलचित्रबाट टाढा रहेका थिए ।

अभिनेत्री उप्रेतीजस्तै एक दशकपछि पर्दामा देखिँदै  छिन्, अभिनेत्री लम्साल । पछिल्लो समय अमेरिकामा बसोबास गर्नु हुने अभिनेत्री लम्साल ‘घरः बट इन अमेरिका’ नामक वेब शृङ्खलामार्फत अभिनयमा ‘कमब्याक’ गर्दैछन् । उनले छायाङ्कन गर्न तयार गरिएको ‘सेट’ मा फर्किदा महसुश भएको अनुभवलाई शब्दमा व्यक्त गर्न नसकिने बताइन् ।

“अभिनयमा फर्किंदा नर्भस र उत्साहित छु । पहिलोपटक काम गरेजस्तो लागिरहेको छ । अहिलेको प्रस्तुतीकरण र कथ्य शैली फेरिएको कारण म त्यहीअनुरूप काम गरिरहेकी छु”, अभिनेत्री लम्सालले भनिन्, “मैले अभिनय छाडेकी होइन तर अमेरिकामा बसोबास गर्ने भएकाले निरन्तरता दिन नसकेकी हुँ ।” अब भने अभिनयलाई निरन्तरता दिने उनले बताइन् । यो शृङ्खला यसै वर्ष डिजिटल प्लेटफर्ममार्फत प्रदर्शन गरिनेछ ।

यसै वर्ष प्रदर्शन हुने चलचित्र ‘ह्रस्व दीर्घ’ मार्फत अभिनेत्री थापा झन्डै चौध वर्षपछि अभिनयमा फर्किएकी छन् । “पारिवारिक कारणले गर्दा लामो समय यस क्षेत्रबाट टाढा भएँ । छोरा हुर्किएपछि काममा फर्किएकी हुँ । यसपटक काम गर्दा पहिलो चलचित्र झैँ अनुभव गरेँ । छायाङ्कनको अनुभवलाई शब्दमा व्यक्त गर्न सक्दिन”, अभिनेत्री थापाले भनिन् ।

अभिनेत्री निरुता सिंहले पनि चलचित्र ‘दाल भात तरकारी’ मार्फत अभिनयमा पुनरागमन गरेकी थिइन् । यद्यपि उनी पनि अभिनेत्री थापा झैँ भारतमा बसोबास गर्ने भएकाले त्यसपछि अभिनयलाई निरन्तरता दिन सकेकी छैनन् ।

यी अभिनेत्रीहरू अभिनयमा ‘कमब्याक’ त गरे तर निरन्तरता दिन्छन् वा हुँदैन भन्ने प्रश्नको जवाफ उनीहरूसँग पनि छैन । यसैगरी कुनैबेला धेरै नेपाली दर्शकले रुचाएझैँ फेरि त्यही अवस्था रहन्छ वा रहन्न भन्ने प्रश्न पनि अनुत्तरित नै छ ।

प्रदेशमा मन्त्रिमण्डल फेरबदल हुन्छः मुख्यमन्त्री कार्की

मोरङ, २४ असारः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै प्रदेशमा पनि मन्त्रिमण्डल फेरबदल हुने बताउनुभएको छ ।

प्रदेश आन्तरिक मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दैे उहाँले मन्त्रिमण्डलमा फेरबदल भए पनि मन्त्रालयको सङ्ख्या भने नबढाउने स्पष्ट पार्नुभयो ।

उहाँले नयाँ सत्ता समीकरणभन्दा बाहिरका साथीहरुले सरकार छोड्न नचाहेको समेत उल्लेख गर्नुभयो । उहाँले प्रदेश सरकार अन्य प्रदेश सरकारभन्दा फरक अर्थात संविधानको धारा १६८ को उपधारा ५ मा निर्माण बताउनुभयाे ।

बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन

म्याग्दी, २४ असार : म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक तीन दिनपछि सञ्चालन भएको छ ।

म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरी, सिरुबारी, अन्नपूर्ण गाउँपालिकाको महभिर, गुइठेभिरमा पहिरो खसेपछि ७४ किलोमिटर दूरीको बेनी–जोमसोम सडक शुक्रबार बिहानदेखि अवरुद्ध भएको थियो । घरपझोङ गाउँपालिका–३ स्थित मार्फाखोलाको बाढीले सडकको मुस्ताङ खण्ड पनि अवरुद्ध भएको थियो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले वर्षा रोकिएपछि पहिरो पन्छाएर आज अपराह्नदेखि यातायात सञ्चालन गरिएको जानकारी दिनुभयो । “मार्फाखोलामा डाइभर्सन र अस्थायी पुल बनाएर मुस्ताङ खण्डमा यातायात सञ्चालनको व्यवस्था मिलाएका छौँ”, उहाँले भन्नुभयो, “म्याग्दी खण्डमा खसेको पहिरो सडक विभागको डोजर, लोडर र प्राविधिक टोली परिचालन गरेर पन्छाएपछि बेनी–जोमसोम सडकको अवरोध हटेको छ ।”

बैसरीको पहिरो पन्छाउन र सडक मर्मतका लागि नेपाली, सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको टोली पनि परिचालन गरिएका थिए ।

यसैबीच, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी र बेनी–बागलुङ सडक पनि मर्मतपछि सञ्चालन भएको छ । धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक पनि अपराह्नदेखि सञ्चालनमा आएको छ । पूर्वाधार विकास कार्यालयले फापरखेत, बाङ्गेपहिरोलगायत ठाउँमा खसेको पहिरो पन्छाएर यातायात सञ्चालन गरिएको जनाएको छ ।

तालिबानले ओलम्पिकमा अफगान महिलाहरूलाई मान्यता दिँदैन– खेल अधिकारी

अफगानिस्तानको तालिबान सरकारले यस महिना पेरिस ओलम्पिक प्रतियोगितामा मुलुकको प्रतिनिधित्व गर्ने तीन महिला खेलाडीलाई मान्यता नदिएको उनीहरूको खेल विभागका प्रवक्ताले बताएका छन् ।

अन्तर्राष्ट्रिय ओलम्मिक समिति (आइओसी) ले अफगानिस्तानको ठूलो मात्रामा निर्वासित राष्ट्रिय ओलम्पिक समितिको परामर्शमा तीन महिला र तीन पुरुषसहित छ अफगान खेलाडीको टोलीलाई आमन्त्रण गरेको छ ।

“तीन खेलाडीले मात्र अफगानिस्तानको प्रतिनिधित्व गरिरहेका छन्”, तालिबान सरकारको खेल निर्देशनालयका प्रवक्ता अटल मशवानीले पुरुष खेलाडीलाई उल्लेख गर्दै भन्नुभयो, “हाल अफगानिस्तानमा महिलाहरूको खेल बन्द गरिएको छ, महिलाहरूको खेलको अभ्यास छैन भने उनीहरू राष्ट्रिय टोलीमा कसरी जान सक्छन् ?”

ओलम्पिक प्रतियोगितामा सहभागी तीन महिला र दुई पुरुष खेलाडी अफगानिस्तान बाहिर बस्दै आएका छन् । मुलुकमा प्रशिक्षण लिने एक मात्र जुडो खेलाडी हुन् । उनका दुई साथीले एथलेटिक्स र पौडीमा भाग लिनेछन् । महिला खेलाडीहरूले भने एथलेटिक्स र साइक्लिङमा प्रतिस्पर्धा गर्नेछन् ।

आइओसीले टोलीका बारेमा तालिबान अधिकारीहरूसँग परामर्श नगरेको र उनीहरूलाई प्रतियोगितामा आमन्त्रण नगरिएको बताएको छ ।

दुवै निर्वासनमा रहेका अफगानिस्तानको राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष र महासचिव अफगान टोलीको तयारी र सहभागिताका लागि एकमात्र वार्ताकार रहेको आइओसीका प्रवक्ता मार्क एडम्सले गत महिना पुष्टि गर्नुभएको थियो ।

तर मुलुकमै रहनुभएका अफगान समितिका प्रमुख कार्यकारी दाद मोहम्मद पेन्दा अख्तारीले महिला खेलाडीहरू विदेशमा सङ्गठित हुँदा उहाँको समितिले पुरुष खेलाडीलाई लिएर तालिबान अधिकारीहरूसँग समन्वय गरेको बताउनुभयो ।

सरकारले उनीहरूलाई प्रशिक्षण र छात्रवृत्तिमा सहयोग गरिरहेको प्रवक्ता मशवानीले बताउनुभयो । “हामी ओलम्पिकमा भाग लिने तीन पुरुष खेलाडीको मात्र जिम्मेबारी लिन्छौँ”, उहाँले भन्नुभयो ।

सहभागीहरूले तीन वर्षअघि अमेरिकी सैनिक फिर्ता भएपछि ढलेको पश्चिमी समर्थित सरकारको कालो, रातो र हरियो झन्डामुनि प्रतिस्पर्धा गर्नेछन् ।

सन् २०२१ मा सत्तामा फर्किएपछि तालिबान सरकारले महिलाहरूलाई खेलका साथै माध्यमिक विद्यालय र विश्वविद्यालयमा प्रतिबन्ध लगाएको छ । संयुक्त राष्ट्रसङ्घले प्रतिबन्धहरूलाई ‘लैङ्गिक रङ्गभेद’ भनेको छ ।