युइएफएले महिला युरो २०२५ का लागि चार करोड १० लाख युरो पुरस्कार राशि प्रदान गर्ने

खेलकुद

युरोपेली फुटबल सङ्घ (युइएफए) ले महिला युरो २०२५ प्रतियोगिताका लागि चार करोड १० लाख युरो (चार करोड ३० लाख डलर डलर) को पुरस्कार रकम स्वीकृत गरेको घोषणा गरेको छ । यो रकम अघिल्लो संस्करणको भन्दा दोब्बर बढी हो ।
सन् २०२२ मा इङ्ग्ल्यान्डले च्याम्पियन भएको बखत प्राप्त गरेको २० लाख ८५ हजार युरोको तुलनामा विजेता टोलीले ५१ लाख युरो प्राप्त गर्नेछ । साथै १६ सहभागी टोली प्रत्येकले १८ लाख युरो प्राप्त गर्नेछन् ।
महिला फुटबलको विकाससँगै महादेशीय प्रतियोगिताका लागि कोष युरो २०१७ पछि पाँच गुणा र इङ्गल्यान्डमा युरो २०२२ मा एक करोड ६० लाख युरो रहेकामा यो १५६ प्रतिशतले बढेको छ ।
कूल रकमको करिब ७० प्रतिशत संलग्न टोलीहरूलाई वितरण गरिनेछ । टोलीहरूले आफ्ना खेलाडीहरूलाई आफ्नो विनियोजनको ‘३० देखि ४० प्रतिशत’ तिर्नुपर्ने युइएफएले बताएको छ ।
समूह चरणमा टोलीहरूले बराबरीमा ५० हजार युरो र जितका लागि एक लाख युरो पाउनेछन् भने क्वार्टर फाइनल, सेमिफाइनल वा फाइनलमा पुगेपछि क्रमशः पाँच लाख ५० हजार, सात लाख र आठ लाख ५० हजार युरो पाउनेछन् ।
युइएफएले सन् २०३० सम्ममा महिला फुटबलमा एक अर्ब युरो लगानी गर्ने आफ्नो अभिप्राय अक्टोबरमा घोषणा गरेको थियो । यसमा आधारभूत स्तर र शीर्ष स्तरका पेशेवर मापदण्ड तथा स्टेडियम उपस्थितिलाई थप बढाउने लक्ष्य राखिएको छ ।
युरोकप २०२५ स्विट्जरल्यान्डमा जुलाई २ देखि २७ सम्म हुनेछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट