`

पहिराले बागलुङ–बेनी–जोमसोम सडक अवरुद्ध

गलकोट (बागलुङ), २२ असारः अविरल वर्षाका कारण पहिरो खस्दा बागलुङ–बेनी– जोमसोम सडक अवरुद्ध भएको छ । कालीगण्डकी करिडोर मालढुङ्गा–जोमसोम सडकको विकल्पका रूपमा रहेको उक्त सडकको बागलुङ खण्ड अवरुद्ध भएको हो ।

बागलुङ नगरपालिका–४ बान्द्रेमा सडकमाथिबाट पहिरो खस्दा बागलुङ–बेनी–जोमसोम सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिनुभयो ।

यादवका अनुसार बागलुङ सडक डिभिजन कार्यालयको पहलमा सडक खुलाउन पहल भइरहेको बताउनुभयो । करिडोरको मालढुङ्गा–बेनी–जोमसोम सडक स्तरोन्नति भइरहेको सन्दर्भमा मुस्ताङ जाने पर्यटकले समेत उक्त सडक प्रयोग गर्दै आइरहेका छन् ।

वाग्मतीमा फसेका ३ जनाको उद्धार

काठमाडौँ, २२ असारः सशस्त्र प्रहरी बल नेपालले वाग्मती नदीमा फसेका तीनजनाको उद्धार गरेको छ । कीर्तिपुर नगरपालिका–१० ल्याबोरोटरी स्कुल नजिकै वाग्मती नदीमा फसेका मकवानपुरका उर्मिला लामा र अनिता लामा तथा खोटाङका धनराम लामाको सशस्त्र प्रहरी बल नेपालको गोताखोरले सकुशल उद्धार गरेको सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बल नेपाल नं २० विपद् उद्धार गण सिनामङ्गलबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा पाँचजना गोताखोरसहित १५ जना र नं १८ निलबाराही गण कीर्तिपुरबाट १० जनाको टोलीले उनीहरूको उद्धार गरेको थापाले बताउनुभयो ।

५६ जनाको उद्धार

यसैबीच काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार भक्तपुरको मध्यपुरथिमि नगरपालिका–२ दिव्यश्वरी प्लानिङ क्षेत्रमा बाढीले डुबानमा परेका १८ टहरामा बस्ने ५६ जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।

उद्धार गरिएकामा ३० जना पुरुष, २० महिला र छजना बालबालिका रहेका कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । उपत्यकाका तीनवटै जिल्लामा सम्भावित विपद् व्यवस्थापन तथा उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको पनि उहाँले बताउनुभयो ।

अनुगमन गर्ने संस्था नहुँदा सहकारी क्षेत्रमा समस्या भयोः उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, २२ असारः उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सहकारी क्षेत्रमा अनुगमन गर्ने संस्था नहुँदा समस्या भएको बताउनुभएको छ । राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालले १०२औँ अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सहकारीका समस्या समाधानका लागि संरचना निर्माण गरिनुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सहकारी विभाग प्रमुख देवेन्द्रराज कँडेलले सहकारीको बचत अनियमितता गर्ने विरुद्ध उच्च तहबाटै संरक्षण भएको दाबी गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता लीलामणि पोखरेलले १६औँ आवधिक योजनामा सहकारीबारेमा १५औँ योजनामा भन्दा पश्चगामी व्यवस्था गरिनु उचित नभएको बताउनुभयो । सहकारी संस्था सञ्चालनको अनुभव नै नभएकालाई सहकारीको नेता बनाउने व्यवस्था नै गलत रहेको उहाँको भनाइ थियो ।

महासङ्घका पूर्वअध्यक्ष केशवप्रसाद बडालले हाल ३० हजारको हाराहारीमा सहकारी संस्था भए पनि करिब एक सयमा समस्या देखिएको दाबी गर्नुभयो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारीको शुद्धीकरणमा यस क्षेत्रका सङ्घसंस्था खरो रूपमा उत्रनुपर्नेमा जोड दिनुभयो ।

आगामी आर्थिक वर्षको बजेटमा सहकारी क्षेत्र प्राथमिकतामा परेको उल्लेख गर्नुहुँदै उहाँले एकतिहाइ जनता आबद्ध अभियानलाई सही रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा महासङ्घका पूर्वअध्यक्ष बडालसहित सहकारी क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई सम्मान गरिएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारी, महासङ्घका अध्यक्ष ओमदेवी मल्ललगायतले सहकारी क्षेत्रमा देखापरेका समस्या समाधानका लागि सहकारी कानुन संशोधन गरिनुपर्नेमा जोड दिनुभएको थियो ।

एकीकृत समाजवादीको बैठक भोलि फेरि बस्ने

काठमाडौँ, २२ असारः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को आज बसेको प्रथम बैठक भोलि विहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।
बैठकले १०औँ राष्ट्रिय महाधिवेशनको प्रारिम्भक समीक्षा गर्दै महाधिवेशनले सम्पूर्ण नेपालीको ध्यानाकर्षण गराउन सफल भएको निष्कर्ष निकालेको छ सो पार्टीले जनाएको छ । बैठकले महाधिवेशन भव्यताका साथ सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।

बैठकले अर्काे व्यवस्था नहुन्जेलसम्म तत् जिम्मेवारीलाई निरन्तरता दिने अन्तरिम व्यवस्था गरेको प्रचार विभाग प्रभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । भोलि बस्ने बैठकले कमिटलाई पूर्णता दिन मापदण्ड बनाएर अघि बढने प्रचार विभाग प्रमुख खतिवडाले जानकारी गराउनुभयो ।

एमालेसँग भएको सहमति दृढताका साथ कार्यान्वयन गर्ने कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठकले काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी(एमाले)बीच नयाँ सरकार गठनका लागि भएको सहमतिलाई दृढताका साथ कार्यान्वयन गर्न निर्णय गरेको छ ।

नेपाली कांग्रेसको संसदीय दलको शनिबारको बैठकले दुई पार्टीबीच सरकार गठन गर्न भएको सहमतिलाई समर्थन र स्वागतसहित अनुमोदन गरेको प्रमुख सचेतक रमेश लेखकले सञ्चारकर्मीहरूलाई जानकारी दिए । उनले अब संविधानको धारा ७६ को (२) बमोजिम नयाँ सरकार गठन हुने बताए ।

“नेपाली कांग्रेस संसदीय दलको आजको बैठकले राष्ट्रिय सहमतिको सरकार गठन गर्ने निर्णयको स्वागत एवं समर्थन गरेको छ”, प्रमुख सचेतक लेखकले भने, “अब गठन हुने सरकारले राष्ट्रिय स्वार्थको रक्षा, भ्रष्टाचार नियन्त्रण, शिथिल अर्थतन्त्रलाई गतिशील बनाउन र संविधान संशोधनलाई पहिलो प्राथमिकतामा राखेको छ ।”

उनले वर्तमान शासन व्यवस्थालाई अझ सुदृढ र समावेशी तुल्याउन संविधान संशोधनमा जोड दिइएको बताए ।

प्रमुख सचेतक लेखकले संविधान संशोधन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशिताका सवाललाई सम्बोधन गर्न अब बन्ने सरकार तयार रहेको दोहोर्याए ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच हालै भएको सहमतिअनुसार पहिले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र त्यसपछि काङ्ग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार सञ्चालन गर्ने सहमति भएको छ ।

यही असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी भइरहेका सन्दर्भमा बैठकले पार्टीका सबै सांसद्लाई अनिवार्य उपस्थित भई विपक्षमा मतदान गर्न निर्देशन दिएको जानकारी पनि प्रमुख सचेतक लेखकले दिए ।

बिहानैदेखि अवरुद्ध बेँसीसहर–चामे सडकको लमजुङ खण्ड पुनःसञ्चालन

लमजुङ, २२ असार : पहिराले आज बिहानैदेखि अवरुद्ध बेँसीसहर–चामे सडकको लमजुङ खण्ड पुनःसञ्चालन भएको छ । बेँसीसहर नगरपालिका–६ खरखरेभीर र मस्र्याङ्दी गाउँपालिका–४ जगत नजिकै हावाडाँडामा गएको पहिरो हटाएसँगै पुनः सवारी साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

पहिरो हटाएर सडक सञ्चालनमा आए पनि फेरि ठूलो वर्षात् भएमा कुनै पनि बेला सडक अवरुद्ध हुन सक्ने प्रहरी निरीक्षक थानेश्वर चपाइँले बताउनुभयो ।

बाढीले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग पनि सञ्चालन हुन थालेको छ । अविरल वर्षासँगै आज बिहान मध्यनेपाल नगरपालिका–६ पिस्ती खोलामा आएको बाढीले अवरुद्ध सडक पानीको सतह घटेसँगै सवारी सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

सप्तकोसी नदीको जलसतह आज यस वर्षकै सबैभन्दा उच्च

धरान (सुनसरी), २२ असारः सप्तकोसी नदीको जलसतह आज यस वर्षकै सबैभन्दा उच्च भएको छ । दिउँसो ३ बजे कोसी ब्यारेजमा दुई लाख ७२ हजार ४८५ क्युसेक जलसतह मापन गरेको नियन्त्रण मापन केन्द्रले जानकारी दिएको छ ।

अहिले नदीको बहाव बढेसँगै कोशी ब्यारेजको ३४ वटा ढोका खोलिएका छन् । आज बिहान ४ बजे एक लाख २४ हजार चार सय ६५ क्युसेक प्रतिसेकेन्ड जलसतह मापन गरिएको केन्द्रका कर्मचारी अमित यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “पहाडी क्षेत्रमा हिजोदेखि निरन्तर वर्षा भएसँगै कोसी नदीमा जलसतह उच्च भएको हो । जलसतह उच्च भए पनि हालसम्म पूर्वी तटबन्धमा कुनै क्षति भएको छैन ।”

राजनीतिक उथलपुथलले सहकारी समस्या ओझेलमा परेको छः अध्यक्ष केसी

काठमाडाैँ, २२ असारः राष्ट्रिय जनमोर्चाका अध्यक्ष अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक अस्थिरताका कारण सहकारीका समस्या ओझेलमा परेको धारणा व्यक्त गर्नुभएको छ । आज यहाँ आयोजित ‘सहकारी रकम अपचलन र त्यसमा राज्यले गरेको संरक्षणबाट उत्पन्न परिस्थिति’ विषयक कार्यक्रममा सत्ता गठबन्धनमा देखिएको निरन्तरको फेरबदलपछि उत्पन्न राजनीतिक उथलपुथलसँगै सहकारीको बचत अपचलन हुँदा लाखौँ जनता बिचल्लीमा परेको बताउनुभयो ।

त्यस अवसरमा पार्टीद्वारा प्रस्तुत कार्यपत्रमा सहकारीको जन्म पुँजीवादी शोषण र पीछडिएका मुलुकमा सामन्तवादी शोषण तथा साहुकारी प्रथाविरुद्ध भएको उल्लेख छ । सहकारीको मुख्य उद्देश्य मजदुर, किसान, समाजमा दबिएका, उपेक्षित र किनारामा पारिएका वर्गको आर्थिक रुपले पक्षपोषण गर्नु रहेको समेत उल्लेख गरेको छ । 

सहकारीको समस्या समाधानमा जनता र राजनीतिक दलले दबाब सिर्जना गर्न आवश्यक रहेको बताउँदै अध्यक्ष केसीले गरिब जनताले छाक काटेर जोगाएको पैसा केही सीमित टाठाबाठाले हिनामिना गरेका जिकिर गर्नुभयो ।

त्यस अवसरमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सहकारीको समस्या अत्यन्त गम्भीर समस्याकारुपमा देखा परेको बताउनुभयो । उहाँले भन्नुभयो, “लाखौँ नागरिकको अर्बाै रकम हजारौ सहकारीमा जम्मा गरेका छन् । उनीहरुको बचत अपचलन, दुरुपयोग, हिनामिना र ठगी भएको छ । केही सहकारीले बचत फिर्ता गर्न सकेका छैनन् भने केहीमा बचतको सुरक्षामै प्रश्न उठेको छ ।”

केही सहकारीको समस्याका कारण सम्पूर्ण सहकारीमा रहेको बचत रकम सुरक्षाबारे गम्भीर प्रश्न उठेको उहाँको भनाइ थियो । उहाँले सहकारीको बचत अपचलनमा सार्वजनिक र राष्ट्रको महत्वपूर्ण जिम्मेवारीमा रहेका व्यक्तिको संलग्नता देखिने चिन्ताको विषय भएको टिप्पणी गर्नुभयो । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले सामान्तवादविरुद्धको अभियानकारुपमा अघि बढेको सहकारी आन्दोलनका माध्यमद्वारा समाजवादतर्फ जान सकिन्छ भन्ने ध्येय रहे पनि नेपालमा भने उद्देश्य अनुरुप कार्यान्वयन हुन नसकेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “वस्तु उत्पादन गरी निर्यात गर्नुपर्नेमा शेयर लगानी गर्ने, मुनाफा कमाउने तथा ब्याज खानेमा सहकारी आन्दोलन सीमित भएको छ ।”

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता डा भिमबहादुर रावलले देशको तीन खम्बे अर्थतन्त्रमा महत्वपूर्ण मानिएको सहकारी क्षेत्रमा देखिएका समस्या अन्त्य गर्न सरकार र ठूला राजनीतिक दल गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । 

उहाँले भन्नुभयो, “सहकारीको रकम अपचलन र ठगी गर्ने व्यक्तिविरुद्ध निर्धक्क आवाज उठाउनुपर्छ । सहकारीको रकम अपचलनका विषयमा कतिपय नेताबाट गैर–जिम्मेवारी अभिव्यक्ति आएको छ, । संलग्नलाई कारवाही गरिएन भने त्यो नगर्नेलाई मतियार भन्नुपर्ने हुन्छ ।”

संविधानविद् तथा नेपालका सहकारी समस्याबारे जानकार काशीराज दाहालले राज्य संयन्त्रमा बसेका व्यक्तिमा समस्या अन्त्य गर्ने इच्छाशक्ति र संवेदनशीलताको कमी मात्र नभई र अलमल्याउने प्रवृत्तिले सहकारी समस्या समयमा हुन नसकेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “राज्य संयन्त्रमा रहनेहरुमा समस्यालाई छिटो अन्त्य गर्ने जागरुकता देखिन्न । समस्या समाधान गर्ने हो भने कार्यान्वयन गर्ने अधिकारसम्पन्न आयोग हुनुपर्छ ।”
पार्टीका उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले सहकारी  सामुहिकतामा आधारित व्यवसाय भएकाले समाजवादी अर्थतन्त्रको विकास तथा वर्गीय अन्तर विरोधलाई समाधान गर्न महत्वपूर्ण योगदान पु¥याउन सक्ने बताउनुभयो ।

उहाँले देशमा ‘सहकारी र ठगी’ एक अर्काका पर्यायवाची हुन भन्ने भाष्यका रुपमा स्थापित हुँदा सहकारीको उद्देश्य, दर्शन र सिद्धान्तअनुसार काम गरिरहेका सहकारी समेत पीडित हुन पुगेको धारणा व्यक्त गर्नुभयो ।

कृषि क्षेत्रमा खोलिएका सहकारीले सीमित रुपमा भएपनि मुलुकलाई आत्मनिर्भर बनाउने दिशातर्फ काम गरिहरहेको पक्षलाई नजरअन्दाज गर्न निमिल्ने उहाँको भनाइ थियो । त्यसअवसरमा सहभागी अन्य वक्ताले लघु कृषि उत्पादनको दायरा थप विस्तार हुन नसकेको प्रतिक्रिया दिनुभयो ।

रास्वपा संसदीय दलको बैठक आइतबार बस्दै

काठमाडौँ, २२ असारः राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को संसदीय दलको बैठक आइतबार बस्ने भएको छ । रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र संसद्को बाँकी कामकारबाहीका विषयमा छलफल केन्द्रित सचेतक निशा डाँगीले जानकारी दिनुभएको छ ।

“संसदमा बजेट अधिवेशन सकिएका छ । अन्य विधेयकको तयारीका विषयमा बैठकमा छलफल गर्नेछौँ”, प्रमुख सचेतक सन्तोष परियारले भन्नुभयो, “प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा पनि उक्त बैठकमा छलफल हुनेछ ।”

बुटवल उपमहानगरको बजेट पारित

लुम्बिनी, २१ असार: बुटवल उपमहानगरपालिकाको पन्ध्रौँ अधिवेशनले आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ । यही असार ५ गते सुरु भएको अधिवेशनले नगर प्रहरी ऐन बनाएको छाडा चौपाया व्यवस्थापन र नियन्त्रणसम्बन्धी ऐन, पशु बधशाला सञ्चालन र व्यवस्थापन ऐन, जलस्रोत उपयोग ऐन, कृषि व्यवसाय प्रवद्र्धन ऐन, सहकारी ऐन, शिक्षा ऐन संशोधन गरेको छ ।

बुटवलको नगरसभाले लोकसेवा आयोगबाट नगर प्रहरीको भर्ना लिने गरी नगर प्रहरी ऐन बनाएको छ । यस्तै, अन्य ऐनहरु आवश्यकता र जनचाहनाबमोजिम संशोधन गरेको नगर प्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।

नगरसभाको आजकोे चौथो बैठकले चालु आर्थिक वर्षमा न्यायिक समिति, लेखा समिति, अनुगमन समिति, आचारसंहिता अनुगमन समिति, जाँचपास तथा फरफारक समिति, विधायन समिति, सुशासन समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ ।

बैठकले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक (आर्थिक विधेयक) छलफलसहित सर्वसम्मतिले पारित गरेको छ । यही असार ९ गतेको बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले रु दुई अर्ब ९९ करोड २२ लाख बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो ।

उपप्रमुख अर्यालले १५औँ अधिवेशनको तेस्रो बैठकमा प्रस्तुत गरेको बजेटअन्तर्गत चालुतर्फ ४८ दशमलव ६५ प्रतिशत र पुँजीगततर्फ ५१ दशमलव ३५ प्रतिशत रहने अनुमान गरिएको छ । बुटवलले आगामी आर्थिक वर्षमा आन्तरिक स्रोतबाट रु ८५ करोड राजस्व सङ्कलन गर्ने अनुमान गरेको छ । बजेटमा उल्लेख भएअनुसार बुटवलले आगामी आर्थिक वर्षमा वडा नं १३ र १७ मा निर्माण सम्पन्न भएका अस्पताल सञ्चालन गर्ने गरी बजेट ल्याएको छ ।

यस्तै, बुटवलले निजी तथा सार्वजनिक क्षेत्रसँग सहकार्य गरी सार्वजनिक निजी साझेदारी कार्यक्रममार्फत बुटवल–११ मा एक सय शय्याको अस्पताल स्थापनाका लागि रु पाँच करोड बजेट छुट्याएको छ ।

सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्न रु एक करोड, नगरमातहतका अस्पताल, स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्रहरुको स्तरोन्नति गर्दै थप व्यवस्थित र सुविधासम्पन्न बनाउन रु एक करोड बजेट विनियोजन गरिएको छ ।

बुटवलले बुटवलवासीलाई उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ निःशुल्क उपलब्ध गराउने, ज्येष्ठ नागरिक लक्षित बाआमासँग नगरप्रमुख कार्यक्रममार्फत ज्येष्ठ नागरिकको स्वास्थ्य हेरचाह गर्ने र उपप्रमुख सुरक्षित मातृत्व कार्यक्रमअन्तर्गत गर्भवतीलाई निःशुल्क प्रयोगशाला सेवालाई निरन्तरता दिएको छ ।

शिक्षातर्फ असहाय, विपन्न तथा अल्पसङ्ख्यक समुदायका बालबालिकालाई छात्रवृत्ति, पोसाक र शैक्षिक सामग्री उपलब्ध गराउने उद्देश्यका साथ नगर प्रमुख शैक्षिक सुधार कोष स्थापना गर्ने कार्यक्रम बुटवलले ल्याएको छ । बुटवलले शैक्षिक संस्थाहरुको भौतिक पूर्वाधार विकासका लागि पूर्वाधार विकास कार्यक्रमअन्तर्गत रु पाँच करोड छुट्याएको छ ।

‘छोरी पढाऔँ, समाज बनाऔँ’ कार्यक्रमअन्तर्गत बुटवलले बुटवल टेक्निकल इन्स्टिच्युटसँगको सहकार्यमा ४० जना छात्राहरुलाई निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराउने उद्देश्यले रु २५ लाख छुट्याएको छ । बुटवलले विद्यार्थीसँग नगर प्रमुख, बालबालिकासँग उपप्रमुख र एक विद्यार्थी एक बैङ्क खाता कार्यक्रम र विद्यालय खाजा कार्यक्रमअन्तर्गत कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई खाजा खुवाउने विद्यालयहरुमा रु १० थप गरी रु २५ गराउनेजस्ता नयाँ कार्यक्रम बजेटमा समावेश गरेको छ ।

यस्तै, यस वर्ष लुम्बिनी बस टर्मिनलमा विद्युत्, शुद्ध खानेपानी, व्यवस्थित खाजाघर, सफा शौचालय र स्नानघर, निःशुल्क वाइफाई, सुरक्षित विश्रामस्थल निर्माण गर्न रु एक करोड र उज्यालो बुटवल कार्यक्रमअन्तर्गत बुटवल चिडियाखोलादेखि योगीकुटीसम्म, धागो कारखानादेखि तिनाउ पुलसम्म ट्राफिक लाइट जडानका लागि रु चार करोड बजेटमा राखिएको छ ।

मुख्य राजमार्ग, भित्री सडकहरु सौन्दर्यीकरण, ट्राफिक लाइट तथा भित्री सडक र गल्लीहरुमा स्मार्ट स्ट्रिट लाइट जडान गर्ने कार्यक्रमले निरन्तरता पाएका छन् । बजेटमार्फत जितगढी किल्ला, रामापिथेकस पार्क, मणिमुकुन्द सेनको ग्रीष्मकालीन दरबार, जितगढी युद्ध सङ्ग्रहालयजस्ता महत्वपूर्ण स्थानलाई नगरको गौरव सम्पदाका रुपमा प्रवद्र्धन गर्ने भनिएको छ । जितगढी किल्लानजिकै देवभूमि तिनाउ आरती केन्द्र स्थापनाका लागि तीन करोड बजेटको व्यवस्था बुटवलले गरेको छ ।

बुटवललाई उत्कृष्ट पर्यटकीय विश्रामस्थलका रुपमा स्थापित गर्दै आन्तरिक तथा बाह्य पर्यटक आगमनलाई वृद्धि गर्न बुटवल भ्रमण वर्ष घोषणा गरी पर्यटन प्रवद्र्धन गर्ने कार्यक्रमले बजेटमा स्थान पाएको छ । बुटवलदेखि नुवाकोट जाने पैदलमार्ग निर्माणका लागि एक करोड, पैदलमार्गमा शिव मूर्ति निर्माणका लागि रु एक करोड र हिलपार्कमा बुद्धमूर्ति निर्माणका लागि रु एक करोड बजेटमा समावेश छन् ।

बुटवलमा सञ्चालनमा रहेका व्यवसायहरु करको दायरामा नआएपछि त्यसलाई नियमनमा ल्याउन बुटवलले राजस्व सङ्कलन स्पेसल टास्क फोर्स गठनको विधि अपनाउने कार्यक्रम ल्याएको छ ।

यस्तै, विगतदेखि दिँदै आएको दर्ता गर्न छुटेका र अन्य निकाय वा पालिकामा व्यवसाय दर्ता भई बुटवलमा सञ्चालनमा रहेका व्यवसायहरुलाई आगामी कात्तिक मसान्तभित्रको समय मात्रै दिएको छ । विपद्का कारण व्यवसाय क्षेत्रमा आइपर्ने विपद्लाई ध्यानमा राखेर व्यवसायी राहत कोष स्थापना गर्ने र व्यवसायीहरुलाई बुटवलमा आकर्षित गर्न व्यवसायी सम्मेलन आयोजना गर्ने कार्यक्रम अगाडि सारिएको छ ।

राष्ट्रिय राजनीतिमा एकीकृत समाजवादीको भूमिका महत्वपूर्ण रहन्छ – अध्यक्ष नेपाल

काठमाडौँ, २१ असार : नेकपा (एकीकृत समाजवादी) का नवनिर्वाचित अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको महत्वपूर्ण भूमिका र योगदान रहने बताउनुभएको छ ।

पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन समापन समारोहमा अध्यक्ष नेपालले मुलुकमा सामाजिक न्याय, समानतासहित विकास तथा समृद्धिका लागि समाजवादी व्यवस्था कार्यान्वयनमा जोड दिनुभयो । पार्टीको महाधिवेशनले राष्ट्रिय राजनीतिमा तरङ्ग ल्याएको उहाँको भनाइ थियो ।

अध्यक्ष नेपालले एकीकृत समाजवादीलाई बलियो कम्युनिष्ट पार्टीका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । वर्तमान सरकारलाई समर्थन कायमै रहेको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा देखिएका राजनीतिक विषयको सामना गर्नुपर्ने बताउनुभयो ।

पार्टीका नवनिर्वाचित महासचिव घनश्याम भुसालले महाधिवेशनबाट प्राप्त वैचारिक दृष्टिकोणले कम्युनिष्ट आन्दोलनलाई रुपान्तरण र पुनःगठनका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । पार्टीले नयाँ कार्यसमिति ९३ जनाको बनाएको छ । महाधिवेशनले १९ बुँदे प्रस्ताव समेत पारित गरेको छ ।

हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध

हुम्ला, २१ असार : हिमाली जिल्ला हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ । सिमकोट विमानस्थल क्षेत्रको मौसम खराब हुँदा बुधबारदेखि जिल्लाको हवाई सेवा अवरुद्ध भएको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

नेपालगञ्जबाट तारा, सीता र समिट एयरका जहाजले सिमकोटका लागि उडान भर्ने तयारी गरेपनि हुम्ला आउने इनरुट र सिमकोट आसपास क्षेत्रको मौसम खराब हुँदा हवाई सेवा अवरुद्ध भएको उहाँको भनाइ छ । आज बेलुकाबाट वर्षा सुरु भएको छ । हवाई सेवा अवरुद्ध भएपछि मानसरोवर कैलाशको दर्शन गरेर फर्किने तयारीमा रहेका पर्यटक चीनको ताक्लाकोटबाट तिब्बती मार्ग हुँदै केरुङ नाकाबाट रसुवा भएर काठमाडौँ फर्किन थालेका छन् ।

सिमकोट नेपालगञ्ज र सुर्खेत झर्ने यात्रु सिमकोटमा रोकिएका छन् । नेपालगञ्जबाट सिमकोट आउने यात्रु नेपालगञ्ज विमानस्थलमा दिनभरी विमान कुरेर फर्कने गरेका छन् ।

कर्णाली प्रदेश सरकारको बजेट सर्वसम्मतले पारित

कर्णाली, २१ असार : कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रदेशसभाबाट सर्वसम्मतले पारित भएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनअन्तर्गत आज बसेको २१औँ बैठकबाट बजेट सर्वसम्मतले पारित भएको हो ।

सभामुख नन्दा गुरुङले आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीलाई ‘कर्णाली प्रदेशसभा नियमावली २०७९’ को नियम १४७ को उपनयिम ५ बमोजिम ‘कर्णाली प्रदेश विनियोजन तथा आर्थिक विधेयक २०८१’ सहित समग्र बजेट पारितका लागि सभामा प्रस्ताव गर्न समय दिनुभएको थियो । सभामुख गुरुङको निर्देशनअनुसार मन्त्री केसीले बजेट पारितका लागि सभामा प्रस्ताव गर्नुभयो ।

बजेट पारितका लागि मन्त्री केसीले प्रस्ताव गरेसँगै सभामुखले प्रदेश सरकारको आगामी आव २०८१/८२ को ल्याएको रु ३१ अर्ब ४१ करोड ४१ हजारको बजेट सर्वसम्मतले पारित भएको घोषणा गर्नुभयो । उहाँका अनुसार अर्को बैठक यही असार २३ गते दिउँसो ३ बजे बस्ने छ ।

टी-२० एसिया कपमा सहभागी हुने एपिएफका क्रिकेट खेलाडीको बिदाइ

काठमाडौँ, २१ असारः सशस्त्र प्रहरी बल नेपालले महिला टी–२० एसिया कपमा सहभागी हुने नेपाल एपिएफ क्लबका राष्ट्रिय क्रिकेट खेलाडीलाई आज बिदाइ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक काठमाडौँमा आज सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उनीहरुलाई बिदाइ गर्दै उत्कृष्ट खेल प्रदर्शनका लागि शुभकाना दिनुभएको छ ।

समारोहमा महानिरीक्षक अर्यालले खेलाडीहरुलाई खेलमैदानमा उत्रिँदा जित्छु र गर्न सक्छु भन्ने भावनाका साथ उत्कृष्ट प्रदर्शन गर्न सकियो भने राष्ट्रको नाम उचाइमा पु¥याउन सकिने बताउनुभयो । उहाँले खेलाडीहरुको वृत्तिविकासका लागि सङ्गठन सदैव तत्पर रहेको बताउनुभयो । बिदाइ हुने खेलाडीमा सीता रानामगर, राजमती ऐरी, इन्दु बर्मा, रोमा थापा र ममता चौधरी रहेका छन् । प्रतियोगिता यही साउन ४ देखि १३ गतेसम्म श्रीलङ्कामा सञ्चालन हुनेछ ।

मधेस प्रदेशसभाः अगामी आवको बजेटमाथिको सामान्य छलफल सुरु

महेन्द्रनगर (धनुषा), २१ असारः मधेस प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको अगामी आर्थिक वर्षको बजेटमाथिको सामान्य छलफल आजदेखि सुरु भएको छ ।

बजेटमाथिको छलफलमा भाग लिँदै नेपाली कांग्रेसका प्रदेशसभाका सदस्य कौशलकिशोर रायले सर्लाहीको एउटा वडामा रु साढे सात करोड बजेट कसरी गयो भने प्रश्न गर्नुभयो । उहाँले बजेट समयमा नै खर्च गर्न सुझाव पनि दिनुभयो ।

नेपाली कांग्रेसका प्रदेशसभाका सदस्य श्यामप्रसाद पट्टेलले रु ५० लाखभन्दा कमको योजना नआउने प्रतिबद्धता मुख्यमन्त्रीले गरे पनि रु १० लाखसम्मको योजना बजेटमा आएको उल्लेख गर्नुहुँदै महेन्द्रनारायण निधिका नाममा विपन्न आवास योजनाको कार्यक्रम किन काटियो भनी प्रश्न गर्नुभयो ।

त्यस्तै, जनमत पार्टीका नेता एवं पूर्वकृषिमन्त्री वसन्त कुशवाहाले बजेटको कार्यान्वयन निराशाजनक भएकाले साउन १ गतेदेखि नै कार्यान्वयन गर्ने गरी व्यवस्था मिलाउनका लागि आग्रह गर्नुभएको छ । उहाँले विगतका वर्षमा समयमै बजेट परिचालन नभएका कारणले मधेस प्रदेशमा आर्थिक मन्दी देखिएको बताउनुभएको छ ।

उहाँले विगतका वर्षहरुमा देखिएको विकृति अब दोहोरिन नहुने भन्नुहुँदै समयमै बजेट परिचालन भए त्यसले सकारात्मक असर पार्ने थियो बताउनुभएको छ । प्रदेशसभाको अर्को बैठक भोलि शनिबार ११ बजे बस्ने छ ।

लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर

किर स्टार्मरले शुक्रबार पहिलो पटक बेलायतको प्रधानमन्त्रीका रूपमा डाउनिङ स्ट्रिटमा प्रवेश गर्नुभयो र मुलुकको भाग्य पुनःस्थापित गर्नका लागि तत्काल कारबाही चाल्ने वाचा गर्नुभयो । ऋषि सुनकको कन्जरभेटिभहरूको १४ वर्षको शासन अन्त्य गर्दै लेबर पार्टीका नेता स्टार्मरले आम निर्वाचनमा भारी जित हासिल गर्नुभएको छ ।

राष्ट्रप्रमुख राजा चार्ल्स तृतीयको सरकार गठनको अनुरोध स्वीकार गर्दै उहाँले डाउनिङ स्ट्रिटबाहिर पत्रकारहरूलाई भन्नुभयो, “परिवर्तनको काम तुरुन्त सुरु हुन्छ तर हामी बेलायतको पुनर्निमाण गर्नेछौँ भन्नेमा कुनै सन्देह नगर्नुहोस् ।”

एकसठ्ठी वर्षीय पूर्वमानवअधिकार वकिल प्रमुख राज्य अभियोजक स्टार्मरले सुनकलाई धन्यवाद दिनुभयो । सुनकलाई लिज ट्रसको विनाशकारी कार्यकालपछि सन् २०२२ अक्टोबरमा टोरी नेता तथा प्रधानमन्त्रीमा नियुक्त गरिएको थियो ।

“हाम्रो मुलुकको पहिलो ब्रिटिस–एसियाली प्रधानमन्त्रीका रूपमा उहाँको उपलब्धि, त्यसका लागि आवश्यक पर्ने अतिरिक्त प्रयासलाई कसैले पनि कम आँक्नु हुँदैन”, उहाँले भन्नुभयो, “हामी आज उहाँलाई धन्यवाद दिन्छौँ, हामी उहाँको नेतृत्वमा गरिएको समर्पण र कडा परिश्रमलाई पनि मान्यता दिन्छौँ ।”

स्टार्मर र उहाँकी श्रीमती भिक्टोरिया बकिङ्घम प्यालेस आइपुग्दा झन्डा फहराउँदै डाउनिङ स्ट्रिटतर्फ उभिएका लेबर समर्थकहरूलाई उहाँहरूले हात मिलाउँदै चुम्नुभयो ।

बेलायतीहरू घट्दो सार्वजनिक सेवाहरू, उच्च मूल्य र राजनीतिज्ञहरूका कोरा प्रतिज्ञाहरूबाट थाकेको अवस्थामा स्टार्मरले डरलाग्दो कार्यसूचीको सामना गर्नुपरेको छ ।

उहाँले भन्नुभयो, “सरकारले ‘देश पहिला, पार्टी दोस्रो’ राख्नेछ ।” सार्वजनिक विश्वासलाई घटाएका टोरीजअन्तर्गतका स्क्यान्डलहरूको उत्तराधिकारपछि उहाँले ‘राजनीतिको सम्मान’ पुनःस्थापित गर्ने वाचा गर्नुभयो ।

यद्यपि उहाँले तत्काल रूपान्तरणको उच्च अपेक्षामाथि काबु पाउने प्रयास गर्नुभयो । “कुनै पनि मुलुकलाई परिवर्तन गर्न स्विच दबाएजस्तो हुँदैन”, उहाँले भन्नुभयो, “संसार अहिले धेरै अस्थिर ठाउँ भएको छ, यसमा थोरै समय लाग्नेछ तर रूपान्तरणको काम तुरुन्त सुरु हुनेछ भन्नेमा कुनै शङ्का नगर्नुहोस् ।”

संविधान संशोधनमा श्रम आयोगको व्यवस्था हुन्छ : नेता कोइराला

काठमाडौँ, २१ असार : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संविधान संशोधनका क्रममा श्रम आयोगको व्यवस्था गर्न पहल गरिने बताउनुभएको छ । स्व गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी वर्षका अवसरमा जिपी कोइराला श्रम प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘शान्ति र क्रान्तिका नायक जिपी कोइराला’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले २०६३ सालको अन्तरिम संविधानमा व्यवस्था भएको श्रम आयोगको आवश्यकता अहिले पनि उत्तिकै आवश्यक रहेकामा जोड दिनुभयो ।

“अन्तरिम संविधानमा गिरिजाबाबुकै कारण श्रम आयोगको व्यवस्था गरिएको थियो, २०७२ सालमा संविधानसभाबाट जारी भएको संविधानमा जातीय आयोगको व्यवस्था गर्न सकिए पनि श्रम आयोग छुटेको हो, मैले त्यसबेला पनि श्रम आयोगको व्यवस्था गर्न पहल गरेको हुँ तर सकिएन, अब यसमा सहमति जुट्ने विश्वास छ,” नेता कोइरालाले भन्नुभयो । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच भएको सहमति कार्यान्वयन गर्न नसकिए देशमा अप्ठ्यारो अवस्था आउने भएकाले यसमा चनाखो भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । निर्वाचन प्रणालीमा सुधार गर्न सकिए जनताले चाहेको पूरा हुने भएकाले पनि संविधान संशोधन गरिनुपर्ने नेता कोइरालाको भनाइ थियो । स्थिरताका लागि पनि निर्वाचन प्रणालीमा सुधार गरिनुपर्ने उहाँले बताउनुभयो ।

कांग्रेस सहमहामन्त्री जीवन परियारले कसैले प्रश्न उठाउन नसक्ने गरी कांग्रेस र एमालेबीच भएको सहमति अनुसारको सरकार सञ्चालन हनुपर्ने बताउनुभयो । श्रम आयोग स्थापना गर्न संविधान संशोधन गरिने उहाँले बताउनुभयो ।

कार्यक्रममा कांग्रेस नेताहरु पुष्कर आचार्य, लक्ष्मणबहादुर बस्नेत, विजयबहादुर स्वाँर, तेजेन्द्रजङ्ग कार्की, अजयकुमार राई, सुधा दाहाल, मातृकाप्रसाद शिवाकोटीलगायतले श्रमिक वर्गका हक अधिकार सुरक्षित गर्ने गरी संविधान संशोधन गर्न र श्रम आयोगको व्यवस्था गर्न माग गर्नुभएको थियो । सो अवसरमा प्रतिष्ठानका नवनिर्वाचित पदाधिकारी एवं सदस्यलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा न्यायाधिवक्ता थापा

काठमाडौँ, २१ असारः सरकारले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा न्यायाधिवक्ता रामकुमार थापालाई तोक्ने भएको छ ।

मन्त्रिपरिषद्ले गरेका निणर्यबारे जानकारी दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्मा जापान सरकारबाट मानव संसाधन विकासका लागि छात्रवृत्ति आयोजनाका लागि प्राप्त हुने जापानी येन चार सय ५४ मिलियन (करिब रु ३८ करोड २२ लाख) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको बताउनुभयो ।

त्यसैगरी, सरकारले रानी जमरा कुलरिया सिँचाइ आयोजनाको लम्की विस्तार तथा शाखा र प्रशाखा नहरहरुको निर्माणका लागि जग्गा प्राप्ति गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता शर्माले भन्नुभयो, “सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी समस्या समाधान गरी सिफारिस गर्न गठन भएको जाँचबुझ आयोगको म्याद आगामी असोज १५ गतेसम्मका लागि थप गर्ने निर्णय गर्नाका साथै तमोर कोरिडोरअन्तर्गत धनकुटा जिल्लास्थित चतरा–लेगुवाघाट सडक खण्ड निर्माणका लागि साँगुरीगढी गाउँपालिका, सहितभूमि गाउँपालिका तथा पाख्रिबास नगरपालिकामा रहेको राष्ट्रिय वनको एक सय ३५.७७ हेक्टर जग्गा प्रयोग गर्न दिने निर्णय गरेको छ ।”

मन्त्रिपरिषद्ले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कम्पनी लिमिटेडलाई जडीबटी भण्डारण तथा प्रशोधन एकाइ स्थापना तथा सञ्चालनका लागि गोरखा जिल्लामा शून्य दशमलव ८३ हेक्टर राष्ट्रिय वनको जग्गा भोगाधिकार हुने र सुपर घलेम्दी जलविद्युत् आयोजना निर्माणका लागि अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको राष्ट्रिय वनको चार दशमलव दुई हेक्टर २५ वर्षसम्म जग्गा प्रयोग गर्न दिने निर्णय गरेको छ ।

“नेपाल संस्कृत विश्वविद्यालयका नाममा विभिन्न ठाउँमा रहेको तथा विश्वविद्यालयले प्राप्त गर्नुपर्ने जग्गाको सम्बन्धमा अध्ययन, अनुसन्धान तथा छानबिन एवम् भवनलगायत अन्य अचल सम्पत्तिको खोज तथा लगत सङ्कलन, संरक्षण, उपयोग, व्यवस्थापन र आवश्यक अन्य कार्यका लागि अध्ययन गरी ठोस प्रतिवेदन पेस गर्न पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको छ,” मन्त्री शर्माले भन्नुभयो ।

नेपाल कानुन व्यवसायी परिषद् ऐन, २०५० लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिने र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिने सरकारको निर्णय छ

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइट ह्याक

सुदूरपश्चिम, २१ असार : सुदूरपश्चिम प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइट आज ह्याक भएको छ ।

कार्यालयका सूचना अधिकारी जगदीशप्रसाद जोशीले वेबसाइट ह्याक भएको जानकारी पाउना साथ काठमाडौँस्थित सूचना प्रविधि विभागमा खबर गरेर साइट ‘रिकभर’ गर्ने प्रयास गरिएको बताउनुभयो ।

“कार्यालयको वेबसाइट खोल्दा क्याप्टन स्मोकर थ्रीआर भन्ने कुकिजले ह्याक गरेको देखाउँछ”, जोशीले भन्नुभयो, “बिहानदेखि कार्यालयको वेबसाइट बन्द हुँदा सूचना राख्ने र हेर्नेलगायत काममा बाधा पुगेको छ, साँझसम्म रिकभर हुन सकेको छैन ।”

वेबसाइटको ‘सेक्युरिटी लक’ को व्यवस्था नगर्दा ह्याकरलाई वेबसाइट ह्याक गर्न सहज हुने प्रविधिक्षेत्रका जानकारहरु बताउँछन् ।

बाँझो जग्गामा ड्रागन फ्रुट, आम्दानी पनि राम्रो

गलकोट (बागलुङ) २१ असारः कालीगण्डकी नदी किनार खनियाबासस्थित पाँच रोपनी बाँझो जग्गाले मुहार फेरेको छ । दुई वर्षको अन्तरालमा खनियाबासको उक्त बाँझो जग्गामा अहिले राताम्मे ‘ड्रागन फ्रुट’ फलेका छन् ।

बागलुङ नगरपालिका–१ रामरेखाका बिमलेश आचार्यले बाँझो जग्गा सदुपयोगका लागि लगाउनु ड्रागन फ्रुटबाट मनग्य आम्दानी गर्न थाल्नुभएको छ । दोस्रो चरणको उत्पादन दिइराखेको ड्रागन फ्रुटको माग धान्नै नसक्ने अवस्थामा रहेको आचार्यको भनाइ छ । उहाँले रामरेखास्थित तीन रोपनी जग्गामा समेत ड्रागन फ्रुटको खेती गर्नुभएको छ । दुई ठाउँ गरेर आठ रोपनी जग्गामा गरिएको खेतीबाट दोस्रो चरणको उत्पादन राम्रो भइरहेको उहाँले बताउनुभयो ।

आचार्यले जिल्लामै पहिलोपटक व्यावसायिक रुपमा बहुगुणी ड्रागन फ्रुटको खेती थाल्नुभएको हो । “ड्रागन फ्रुटको विषयमा चासो राख्दै जाँदा लोकेन्द्र विष्टको अन्तर्वार्ता हेरेको थिएँ, त्यहाँबाट प्रभावित भएर आठ रोपनीमा ड्रागन फ्रुटको खेती सुरु गरेको हुँ”, उहाँले भन्नुभयो, “सुरुमा ठूलो लगानी भए पनि फसल भने लामो समयसम्म लिन सकिने रहेछ ।” ड्रागन फ्रुट खेतीमा हालसम्म रु ५० लाख लगानी भइसकेको उहाँले सुनाउनुभयो ।

ड्रागन फ्रुटको विरुवा रोपेको दुई वर्षमै दोस्रो चरणको ड्रागन फ्रुट उत्पादन भइरहेको बताउदै पहिलो चरणमा एक सय ५० केजी ड्रागन फ्रुट उत्पादन भएकोमा दोस्रो चरणमा चार सय केजी उत्पादन भएको आचार्यको भनाइ छ । उहाँले एक याममै रु दुई लाखसम्मको बिक्री भएको बताउनुभयो ।

रातो रङ्गको ड्रागन फ्रुटको व्यावसायिकखेती जिल्लामै उदाहरणीय बनेको छ । दुई हजार एक सय ड्रागन फ्रुटका बिरुवा लगाएकामा सबै बिरुवा राम्रोसँग हुर्किएर फल लाग्न थालेपछि आफू हर्षित भएको उहाँले सुनाउनुभयो ।

अहिले प्रतिकेजी रु पाँच सयका दरले ड्रागन फ्रुट घरबाटै बिक्री भइरहेको छ । उहाँले भन्नुभयो, “ड्रागन फ्रुटको खेतीका लागि मल्चिङ प्रविधि र थोपा सिँचाइको व्यवस्था छ ।” उहाँले प्रतिबिरुवा रु चार सयमा खरिद गरेर लगाइएको जानकारी दिनुभयो । उहाँले छ सय सिमेन्टका पोल र टायर खरिद, जग्गा व्यवस्थापन, तारबार, बिरुवा लागि रु ५० लाखभन्दा बढी लगानी गरेको बताउनुभयो । यो फल गर्मी र सुक्खा हावापानीमा हुने सिउँडी प्रजातिको फल हो । यस फलको जातमा रातो बोक्रा, पहेँलो बोक्रा र सेतो रङ हुने गरेको छ । यस फलमा १२ प्रकारका मिनिरल्स तथा भिटामिन पाइन्छ ।

वर्षाले जुम्लाका तीन बस्तीमा क्षति

सिमकोट, (हुम्ला) असार २१ः बिहीबार दिनभर र रातिसम्मको अविरल परेको वर्षाले सिमकोट गाउँपालिका–७ मा रहेका तीनवटा बस्तीमा क्षति पुर्याएको छ । वडा नं ७ डाँडाफया साबिकको वडा नं ५ को टुलिङ र दलित बस्ती चुकेडीमा क्षति पुगेको हो ।

वर्षापछि यहाँ रहेका तीनवटा बस्ती जोखिममा रहेको स्थानीय मन्दिर सिंहले बताउनुभयो । उहाँका अनुसार बाढीका कारण यस क्षेत्रका १५ वटा खेतमा लगाएको बाली नष्ट भएको छभने चारवटा पानी घट्टमा क्षति पुगेको छ ।

वडा न ७ को जबुका गाउँमा समेत बालीनाली, खानेपानी पाइप, घट्ट लगायतमा क्षति पुगेको स्थानीय वीरबहादुर सिंहले बताउनुभयो । वर्षाका कारण खेतमा रहेको आल, सिमी, कोदो, फापर, गहुँ, भटमास, तोरीलगायत नष्ट भएको जनाइएको छ ।

सभामुख घिमिरेद्वारा हात्ती आगमन सूचना प्रविधि केन्द्र उद्घाटन

झापा, २१ असार : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मेचीनगर–४ स्थित बाहुनडाँगीमा हात्ती आगमन सूचना प्रविधि केन्द्रको आज उद्घाटन गर्नुभएको छ । केन्द्रमा ‘जिपिएस एप्स’को माध्यमबाट जानकारी सङ्कलन गरिन्छ ।

भारतबाट नेपाल प्रवेश गरेको हात्ती कुन गाउँमा डुलिरहेको छ भन्ने सूचना दिने प्रणाली सञ्चालनका लागि केन्द्र स्थापना गरिएको हो । बाहुनडाँगीस्थित छोटी भन्सारमा सो प्रविधि जडान गरिएको हो । सभामुख घिमिरेले डिजिटल माध्यमबाट केन्द्रको उद्घाटन गर्दै हात्ती छेक्न लगाइएको विद्युतीय घेरबारले मात्र हात्तीको क्षति रोक्न नसकिरहेका बेला यो प्रविधिको सहयोगले मानव–हात्ती द्वन्द्व न्यून गर्न सहयोग पुग्ने बताउनुभयो । विगतमा जस्तो हात्तीलाई तर्साउने, लखेट्ने र गोली हान्ने कार्यले नियन्त्रण नहुने प्रमाणित भइसकेको हुँदा सहअस्तित्वका आधारमा मानव–हात्ती द्वन्द्वको दिगो समाधान खोज्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो ।

बर्दियाको ‘उज्यालो नेपाल’ र ‘समाजका लागि युवा सहकार्य’ धनगढीको सहयोगमा नेपालमै पहिलोपल्ट ‘लुना जिपिएस’ नामक मोबाइल एप्लिकेसनमार्फत हात्ती आगमनको सूचना सङ्कलन गर्ने प्रविधि झापामा भित्र्याइएको मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार कुनै गाउँमा हात्ती प्रवेश गरेको भए सर्वसाधारणले उक्त एप्समार्फत घटनाको जानकारी दिन सक्छन् । एप्समा जानकारी राख्नासाथ कन्ट्रोल कक्षमा रहेको साइरन स्वतः बज्ने व्यवस्था मिलाइएको छ । एप्समा प्रविष्ट जिपिएस ठेगानाका आधारमा स्थानीय द्रुत उद्धार समूह (आरआरटी)का कार्यकर्ता स्थानीयवासीको सुरक्षाका लागि हात्ती रहेको गाउँमा पुग्ने व्यवस्था मिलाइएको वडाध्यक्ष कार्कीले बताउनुभयो ।

उज्यालो नेपालका विज्ञ रमेश थापाले हात्तीले गाउँमा पसेर मानवीय क्षति गर्न नपाओस् भनेर बेलैमा उद्धार टोलीसमक्ष जानकारी पुर्याउन लुना जिपिएस प्रभावकारी माध्यम बन्ने बताउनुभयो । इसिमोडले लुना जिपिएस एप्स निर्माणमा आर्थिक सहयोग पुर्याएको बताइएको छ । एप्स निर्माणमा रु १० लाख खर्च भएको वडाध्यक्ष कार्कीले बताउनुभयो । हात्ती मात्र नभएर कुनै पनि विपद्का बेला यो एप्स बढी उपयोगी हुने भन्दै उहाँले हाललाई परीक्षणका रुपमा हात्तीपीडित मेचीनगरवासीका लागि प्रयोगमा ल्याइएको बताउनुभयो ।

सर्वसाधारणले हात्ती गाउँ पसेको सूचना दिनासाथ घटनाको जानकारी नजिकको प्रहरीकहाँ समेत पुर्याइने भएकाले हात्तीबाट हुनसक्ने मानवीय वा भौतिक क्षति न्यून गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । हात्ती आगमन सूचना प्रविधि जडान गरिएको बाहुनडाँगी क्षेत्र भारतबाट नेपालमा हात्तीको बथान प्रवेश गर्ने मुख्य गौडा हो । यहाँबाट एकैपटक एक सयसम्म जङ्गली हात्ती नेपाल प्रवेश गर्छन् ।

अर्थतन्त्रमा कृषि र औद्योगिक क्षेत्रको योगदान बढाइनुपर्छ : अर्थमन्त्री पुन

काठमाडौँ, २१ असार : अर्थमन्त्री वर्षमान पुनले नेपालको अर्थतन्त्रमा कृषि र औद्योगिक उत्पादनले बढी योगदान गर्नुपर्नेमा सेवा क्षेत्रको विस्तार बढेको बताउनुभएको छ । नेपाल–चीनमैत्री मञ्चले आज यहाँ आयोजना गरेको ‘नेपालको कृषिमा रूपान्तरण’ सम्मेलनमा अर्थमन्त्री पुनले प्राथमिक क्षेत्रको विकासबिना सेवा क्षेत्रबाट मात्रै मुलुकको आर्थिक अवस्थालाई सुधार्न नसकिने बताउनुभएको हो । “मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी)मा कृषिको २४ प्रतिशत हाराहारी मात्रै योगदान छ तर ६० प्रतिशतभन्दा बढी जनसङ्ख्या कृषिमा आबद्ध छन् । अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान बढेको छ”, अर्थमन्त्री पुनले भन्नुभयो, “कृषिको जनशक्ति औद्योगिक क्षेत्रमा जानुपर्नेमा एकैचोटी सेवा क्षेत्रमा गएको छ । कृषिबाट औद्योगिकीकरणमा जानुपर्ने गरी अर्थतन्त्रको संरचना निर्माण हुनुपर्छ ।”

नेपालका उत्पादनले दुई ठूला मुलुकको बजारमा पहुँच विस्तार गरेर लाभ लिनसक्ने भएकाले आन्तरिक उत्पादन बढाउनु नै अहिलेको आवश्यकता रहेको उहाँले स्पष्ट पार्नुभयो । “हामी भूपरिवेष्ठित र भौगोलिक रूपमा कठिन भूगोलमा रहेकाले खाद्य सुरक्षाका क्षेत्रमा लगानी गर्नैपर्छ, जनशक्ति उत्पादन गर्नैपर्छ”, उहाँले भन्नुभयो, “अहिले पनि करिब रु तीन खर्बको कृषि उत्पादन आयात भइरहेको तथ्यले यस क्षेत्रमा उत्पादन बढाएर बजार खोज्ने सम्भावना छ भन्ने देखाउँछ । हामीले दुई ठूला छिमेकी मुलुकका बजारको लाभ पनि लिन सक्छौँ ।”

चिया, कफी, अलैँची, अदुवालगायतका प्रतिस्पर्धी वस्तुमा लगानी केन्द्रित गर्ने र त्यस्ता वस्तुको उत्पादन बढाउने हो भने नेपालले विश्व बजारमा नै प्रतिस्पर्धा गर्नसक्ने अर्थमन्त्री पुनको धारणा छ । कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटमार्फत कृषिमा लगानी दशक घोषणा गरेको उहाँले उल्लेख गर्नुभयो ।
“अहिलेको सरकारले मात्र होइन, यसअघिका र यसभन्दा पछिका सरकारले कृषि उत्पादन बढाउने विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा दुईमत छैन । सरकार परिवर्तन भए पनि नीतिगत स्थायित्वबाट नतिजा खोज्ने हो”, अर्थमन्त्री पुनले भन्नुभयो, “अब हामी कृषि उत्पादनसँगै पर्यटन, ऊर्जा, सूचना प्रविधिलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर जानुपर्छ ।” सरकारले कृषि क्षेत्रमा दिँदै आएको अनुदानको प्रभावकारिता न्यून देखिएको बताउनुहुँदै उहाँले उत्पादनमा अनुदान दिइने व्यवस्था कार्यान्वयनमा आउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल सरकारका पूर्वकृषिसचिव गणेश जोशीले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताउने गरे पनि सरकारले बजेटको न्यून अंश मात्रै कृषि क्षेत्रमा खर्च हुने गरेको बताउनुभयो । “सरकारले वार्षिक रूपमा विनियोजन गर्ने कूल बजेटको करिब तीनदेखि चार प्रतिशत मात्रै कृषि क्षेत्रका लागि छुटयाइने गरेको छ । कृषिमा छुट्याइने कुल बजेटमध्ये ९० प्रतिशत चालू र १० प्रतिशत मात्रै पुँजीगत शीर्षकमा जान्छ”, उहाँले भन्नुभयो, “स्थानीय तहले पनि बजेट विनियोजन गर्दा कृषिलाई प्राथमिकता दिएको देखिँदैन ।” अन्य क्षेत्रको तुलनामा कृषि क्षेत्रमा हुने वृद्धिले गरिबी निवारणमा बढी प्रभावकारिता देखिने पनि उहाँले बताउनुभयो ।

सरकारले आगामी आर्थिक वर्षको बजेटबाट कृषि क्षेत्रमा लगानी दशक घोषणा गरेकामा त्यसलाई सफल बनाउन विप्रेषणबाट भित्रिएको रकम कृषिमा लगानी गर्नसक्नुपर्ने भन्दै पूर्वसचिव जोशीले निर्वाहमुखीबाट व्यावसायिक कृषिमा रूपान्तरण अपरिहार्य रहेकोमा जोड दिनुभयो ।

कृषि अर्थशास्त्री प्रद्युम्नराज पाण्डेले रासायनिक मलमा छुट्याइने अनुदानबाहेकको रकम हेर्दा भने कृषि मन्त्रालयमा निकै कम बजेट जाने गरेको बताउनुभयो । “रासायनिक मलमा जाने अनुदानलाई अर्थ मन्त्रालयबाट सोझै कृषि सामग्री कम्पनी लिमिटेड र साल्टट्रेडिङ कर्पोरेसनमा पठाउने हो भने कृषि मन्त्रालयको बजेटको वास्तविक आकार देखिन्छ”, उहाँले भन्नुभयो ।

नेपाल–चीनमैत्री मञ्चका अध्यक्ष डा कल्याणराज शर्माले कृषि क्षेत्रमा न्यून लगानी हुँदा उत्पादन बढ्न नसकेको बताउनुभयो । युवामा कृषिप्रतिको आकर्षण घटेको र उत्पादित वस्तुको बजारीकरणमा समस्या रहेकाले सरकारले त्यसलाई सम्बोधन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

‘बजेटको उद्देश्य सामाजिक न्याय हासिल गर्नु हो’ – मन्त्री शर्मा

काठमाडाँै, २१ असार : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बजेटको उद्देश्य सुशासन कायम , सामाजिक न्याय र समृद्धि हासिल गर्नु हो भन्नुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ माथिको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट राष्ट्रपतिको कार्यालय, उपराष्ट्रको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगअन्तर्गत विनियोजित बजेटका शीर्षकमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री शर्माले प्रस्तुत गरेको बजेट समन्यायिक र नतिजामूलक रहेको बताउनुभयो ।

मन्त्री शर्माले बजेटमा दलित विकास प्राधिकरणको अवधारणा समेटिएको, समृद्धि हासिल गर्न विभिन्न विकासका योजनाहरु राखिएको हिमाल, पछाडि पारिएका क्षेत्र र सुदुपश्चिमा उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न विशेष कार्यक्रम राखिएको बताउनुभयो । उहाँले बजेट व्यावहारिक र प्रतिफल दिने खालको भएको स्पष्ट पार्दै पाँच उद्देश्य, पाँच प्राथमिकता, आर्थिक रुपान्तरणका परियोजनाका लागि बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

‘प्रदेशका संरचना जनताले अनुभूति गर्ने किमिसको बनाइने’ – मुख्यमन्त्री कार्की

मोरङ, २१ असार : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी तीन वर्षभित्र प्रदेश संरचना जनताले अनुभूति गर्ने किसिमको निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयद्वारा आज यहाँ आयोजित प्रदेश उत्कृष्ट महिला उद्यमी तथा महिला लघु उद्यमी पुरस्कार वितरण समारोहमा बोल्दै उहाँले प्रदेशमा उद्योग सञ्चालन गर्न चाहने उद्यमीलाई एक ठाउँबाट सम्पूर्ण सेवा उपलब्ध गराउन कर्मचारीलाई निर्देशन दिनुभयो । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले यस क्षेत्रमा सञ्चालित घरेलु तथा लघु उद्योगलाई औद्योगीकरण, विस्तार र बजारीकरण गर्न आवश्यक सहयोग गर्ने बताउनुभयो ।

उहाँले विराटनगरमा कोसेली घर र औद्योगिक प्रदर्शन कक्ष निर्माण गर्न आवश्यक बजेटको व्यवस्था गरेको र त्यसका लागि जग्गा उपलब्ध गराउन उद्योगीलाई आग्रह गर्नुभयो । महिलालाई उद्योगप्रति आकर्षित गर्न महिला घरेलु उद्यमी पुरस्कारको राशि वृद्धि गर्नुका साथै जिल्लास्तरमा पुरस्कार प्राप्त गर्नेको सङ्ख्या थप गरिने उहाँको भनाइ छ ।

उत्कृष्ट महिला उद्यमी तथा महिला लघु उद्यमी पुरस्कार १४ जिल्लाका एक÷एक महिला उद्यमीलाई नगद रु ५० हजारका दरले वितरण गरिएको थियो । यसरी पुरस्कृत हुनेहरुमा पासाङल्हामु तामाङ (सोलुखम्बू), सरस्वती सुब्बा (मोरङ), निर्मला खतिवडा ढुङ्गेल (सुनसरी), हेमकुमारी सार्की (उदयपुर), मनकला राई (सङ्खुवासभा), विमला केरुङ (तेह्रथुम), रामकुमारी बस्नेत (ओखलढुङ्गा), निर्मला श्रेष्ठ (भोजपुर), लक्की सुजी (पाँचथर), सानुमाया लिम्बू (ताप्लेजुङ), डोरश्वरी राई (धनकुटा), उषा खत्री (खोटाङ), रमिला राई (इलाम) र भूमिका देवी दाहाल पोखरेल (झापा) हुनुहुन्छ ।

दक्षिण कोरियाका पूर्व विपक्षी नेताका आक्रमणकारीलाई १५ वर्षको जेल सजाय

जनवरीमा दक्षिण कोरियाका तत्कालीन विपक्षी नेता ली जे म्युङलाई छुरा प्रहार गर्ने व्यक्तिलाई शुक्रबार १५ वर्षको जेल सजाय सुनाइएको क्षेत्रीय अदालतले जनाएको छ । स्थानीय सञ्चारमाध्यमले किम उपनामले चिनिने आक्रमणकारीले समर्थक भएको नाटक गरी लीको घाँटीमा छुरा प्रहार गरेका थिए ।

छुरा प्रहारबाट लीलाई गम्भिर चोट लागेकाले उहाँको आपतकालीन शल्यक्रिया गरिएको थियो र एक हप्ताको अस्पतालमा उपचारपछि उहाँ निको हुनुभएको थियो ।दक्षिणी बन्दरगाह शहर बुसानमा जनवरी २ मा आयोजित एक कार्यक्रममा राजनीतिज्ञलाई पत्रकारहरूले घेरिएको बेला घाँटीमा छुरा प्रहार गरेका थिए ।

आक्रमणकारीलाई ‘आज १५ वर्षको जेल सजाय सुनाइएको बुसान जिल्ला अदालतका प्रवक्ता ली जे–हीले बताउनुभयो ।आक्रमण अप्रिल १० को संसदीय चुनावभन्दा करिब तीन महिना अगाडि भएकोले किममाथि हत्याको प्रयास र निर्वाचन कानुन उल्लङ्घनको आरोप लगाइएको थियो ।

लीलाई ‘राष्ट्रपति बन्न’ बाट रोक्न चाहेको कारण किमले सावधानीपूर्वक आक्रमणको योजना बनाएको प्रहरीले जनाएको छ ।अप्रिलको चुनावमा दक्षिण कोरियाको कन्जर्भेटिभ सत्तारुढ पार्टीलाई तत्कालीन लीको नेतृत्वमा रहेको डेमोक्र्याटिक पार्टी (डिपी) ले हार बेहोरेको थियो ।

लीले अगस्टमा हुने पार्टी सम्मेलनमा फेरि डिपीको नेतृत्वका लागि व्यापक रूपमा दौड गर्ने अपेक्षा गरिएको छ ।विगतमा धेरै उच्च–प्रोफाइल दक्षिण कोरियाली राजनीतिज्ञहरू सार्वजनिक रूपमा आक्रमण भएका छन् ।

लीभन्दा पहिले डेमोक्र््याटिक पार्टीको नेतृत्व गरेका सङ यङ गिललाई सन् २०२२ मा धारिलो हतियारले टाउकोमा प्रहार गरिएको थियो ।यसैगरी सन् २०१३ मा राष्ट्रपति बनेकी पार्क ग्युन हेलाई सन् २००६ मा एउटा ¥यालीमा छुराले आक्रमण गरिएको थियो ।

अफ्रिका पार गर्दा आप्रवासीले अकल्पनीय पीडा सहनुपर्र्ने अवस्था रहेको संयुक्त राष्ट्रसङ्घको भनाइ

शरणार्थी र आप्रवासीले भूमध्यसागरमा पुग्न अफ्रिका पार गर्ने स्थलमार्गमा चरम हिंसा, दुव्र्यवहार र शोषणको सामना गर्नुपरेको संयुक्त राष्ट्रसङ्घीय एक प्रतिवेदनमा उल्लेख गरिएको छ । पछिल्लो एक दशकमा भूमध्यसागर पार गरेर युरोप जाने क्रममा करिब ३० हजार आप्रवासी मृत वा बेपत्ता घोषित भएका छन् ।

शरणार्थी र आप्रवासीका लागि संयुक्त राष्ट्रसङ्घीय निकाय र अनुगमन समूह मिक्स्ड माइग्रेसन सेन्टरको एक प्रतिवेदनअनुसार अफ्रिका हुँदै तटमा यात्रा गर्नेका लागि यो अझ खराब हुन सक्छ । शरणार्थी र आप्रवासीहरूसँग ३१ हजारभन्दा बढी अन्तर्वार्ताको आधारमा तयार रिपोर्टले २०२० जनवरीदेखि सन् २०२४ मेको बीचमा सहारा मरुभूमि पार गर्ने क्रममा एक हजार १८० व्यक्तिको मृत्यु भएको उल्लेख गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनका लरेन्स हार्टले जेनेभामा पत्रकारसँग कुरा गर्दै मरुभूमिमार्गमा दैनिक पाँच जनाको मृत्यु हुने गरेको जानकारी दिनुभयो । यी सङ्ख्याहरू एक विशाल अवमूल्यन भएको विश्वास गरिन्छ । – यातना, अपहरण, बलात्कार – तथ्याङ्कको अभाव भए तापनि प्रतिवेदन तयार पार्न खटेका निकायहरूले प्रत्येक वर्ष हजारौंको मृत्यु हुने गरेको बताएका छन् । “मरुभूमिमा शरणार्थी र आप्रवासीको मृत्यु समुद्रमा हुनेभन्दा दोब्बर भएको अनुमान गरिएको छ,” उनीहरूले एक विज्ञप्तिमा उल्लेख गरेका छन् ।

मध्य र पश्चिमी भूमध्यसागरका लागि यूएनएचसीआरका विशेष दूत भिन्सेन्ट कोचेटेलले भन्नुभयो, “साहारा पार गर्ने सबैका लागि, तपाईंले शवहरू देखेको, फ्याँकिएको प्रमाण पाउनुहुन्छ ।” उनले भन्नुभयो, “सहारा पार गरेका सबैले मरुभूमिमा मृत्यु भएका मानिसहरूबारे बताउन सक्छन् । हिँडडुल गर्नेहरूले यातना, फिरौतीका लागि अपहरण, मानव बेचबिखन, यौन हिंसा, डकैती, स्वेच्छाचारी हिरासत र सामूहिक निष्कासनको सामना गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

मरुभूमि पार गर्ने आप्रवासीहरूलाई प्रायः मानव तस्करहरूले मरूभूमि क्षेत्रमा अलपत्र छोड्ने गरेको र बिरामी हुनेहरूलाई कहिलेकाहीं पिकअप ट्रकमा राखि फ्याँकिने गरेको पनि विवरणमा उल्लेख छ । “यो मार्गका केही देशहरूमा मानिसहरूले अकल्पनीय भयावहताको सामना गर्नुपरेको तर जोखिमपूर्ण भूमि पार गर्ने प्रयास गर्ने मानिसहरूको सङ्ख्यामा वृद्धि भएको रिपोर्टमा उल्लेख गरिएको छ ।

राष्ट्रसङ्घका महासचिवद्वारा विश्वव्यापी एकताको आह्वान

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रसङ्घको महत्त्वपूर्ण साझेदारका रूपमा साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को भूमिकालाई जोड दिँदै कठिन विश्वव्यापी परिस्थितिका बीच विश्वव्यापी एकताका लागि आग्रह गर्नुभएको छ ।

राजधानी अस्तानामा आयोजित एससीओ शिखर सम्मेलनलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले विश्वव्यापी चुनौतिको समाधानका लागि व्यक्तिगत प्रयास भन्दा सामुहिक ऐक्यबद्धताको आवश्यकतामा जोड दिनुभयो ।

“यी विश्वव्यापी चुनौतिलाई कुनै पनि राष्ट्रको एकल पहलमा समाधान गर्न सकिँदैन,” उहाँले उग्र युद्ध, भूराजनीतिक विभाजन र दण्डहीनताको समस्यातिर औंल्याउँदै भन्नुभयो ।

महासचिवले विश्वव्यापी रूपमा दिगो विकास र मानव अधिकारको उपभोगका लागि शान्तिको वकालत गर्दै संयुक्त राष्ट्रसङ्घको बहुपक्षवादको केन्द्रीय भूमिकालाई उल्लेख गर्नुभयो ।

उहाँले गाजा, युक्रेन र अफगानिस्तानजस्ता द्वन्द्व क्षेत्रमा तत्काल मानवीय युद्धविराम र समावेशी शासनका लागि आग्रह गर्नुभयो ।

जलवायु सङ्कटलाई सम्बोधन गर्दै गुटेर्रेसले महत्त्वाकाङ्क्षी उत्सर्जन कटौती र जलवायु न्यायको आवश्यकतामा जोड दिँदै भन्नुभयो, “जलवायु परिस्थिति बिग्रिँदैछ, यसले पानी र खाद्य सुरक्षालाई खतरा पु¥याइरहेको छ र राजनीतिक अस्थिरतालाई बढावा दिइरहेको छ ।”

उहाँले विकसित देशहरूलाई जलवायु कार्यलाई समर्थन गर्न नवीन वित्तीय संयन्त्रहरू अवलम्बन गर्न आग्रह गर्नुभएको छ ।

प्राविधिक क्षेत्रको अनियमित प्रयोगविरुद्ध चेतावनी दिँदै गुटेर्रेसले दिगो विकासका लागि आर्टिफसियल इन्टेलिजेन्स (एआई) को सम्भावनालाई प्रकाश पार्नुभयो ।

उहाँले एआईसम्बन्धी नीतिहरूलाई आकार दिन समावेशी विश्वव्यापी सहभागिताको आवश्यकतामा जोड दिनुभएको हो ।

विश्वव्यापी शासन संस्थाहरू पुरानो र समकालीन चुनौतिहरूलाई सम्बोधन गर्न अपर्याप्त भएको भन्दै महासचिव गुटेर्रेसले यसको सुधार आवश्यक रहेको बताउनुभयो । उहाँले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई सुधारको प्रस्ताव राख्दै आजको विश्वको वास्तविकतालाई प्रतिबिम्बित गर्ने नयाँ विश्वव्यापी एजेन्डा तयार गर्न वकालत गर्नुभएको छ ।

गुटेरेसले आशावादी हुँदै आगामी सेप्टेम्बरमा हुने ‘फ्युचर’ शिखर सम्मेलनमा विश्व एकताको आह्वान गर्नुभएको छ । “विश्व एकसाथ

इजरायली टोली गाजासम्बन्धी सम्झौताका लागि कतार जाने

इजरायल हमास युद्धभएको करिब नौ महिनापछि गाजामा हमास प्यालेस्टिनी लडाकूले बन्धक बनाएका व्यक्तिहरूलाई मुक्त गर्ने पछिल्लो प्रयासका लागि इजरायलका गुप्तचर प्रमुख शुक्रबार कतारमा जाने अपेक्षा गरिएको छ ।

वार्ताबारे जानकार एक स्रोतका अनुसार मोसाद गुप्तचर सेवाका प्रमुख डेभिड बर्नियाको नेतृत्वमा इजरायली प्रतिनिधिमण्डल ‘गाजामा दुवै पक्षलाई सम्झौताको नजिक ल्याउने उद्देश्यले’ छलफलका लागि खाडी मुलुक कतारतर्फ जान लागेको हो । अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणबाट सुरु भएको गाजा युद्धले लेबनानसँग सम्बन्धित व्यापक द्वन्द्वको डर बढाएको छ ।

हमासले गरेको आक्रमणमा करिब एक हजार २०० जनाको मृत्यु भएको थियो र मारिनेमा अधिकांश सर्वसाधारण थिए । हमास लडाकूले आक्रमणपछि करिब २५० जनालाई बन्धक बनाएका थिए भने तीमध्ये करिब आधा बन्धकलाई यस पहिलेको युद्धविराम र बन्धक तथा बन्दी रिहाई सम्झौता अन्तर्गत रिहा गरिएको छ । बाँकी बन्धकमध्ये ४२ जना मारिएका र अझै ११६ जना हमास लडाकूको नियन्त्रणमा रहेको इजरायली सेनाले दावी गर्दै आएको छ ।

हमास आक्रमणको प्रत्युत्तरमा इजरायलले गाजामा गरेको हवाइ तथा स्थल आक्रमणमा कम्तीमा ३८ हजार ११ जनाको मृत्यु भएको र मारिनेमा अधिकांश महिला तथा बालबालिका तथा सर्वसाधारण रहेका हमास शासित क्षेत्रको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । नाम नबताउने शर्तमा कतारी अधिकारीले भने, “बार्नेयाले कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीलाई भेट्नुहुनेछ । इजिप्टसँग मिलेर महिनौँदेखि सम्झौताका लागि सहयोग गर्ने प्रयास गरिरहेको संयुक्त राज्य अमेरिकाले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको प्रतिनिधिमण्डल पठाउने निर्णयको स्वागत गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले गत मे महिनामा युद्धविराम सम्झौताको मार्ग प्रशस्त गर्ने घोषणा गर्नुभएको थियो । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले गत जुनमा बाइडेनले अघि सारेको योजनाको स्वागत गर्दै अमेरिकाले तयार पारेको प्रस्ताव पारित गरेको थियो, जसमा प्रारम्भिक छ हप्ताको युद्धविराम, गाजाको जनसङ्ख्या केन्द्रबाट इजरायली सेनाको फिर्ता र हमासद्वारा बन्धकहरूलाई मुक्त गर्ने समावेश थियो तर वार्ता पछि रोकियो ।

एक वरिष्ठ अमेरिकी अधिकारीले बिहीबार इस्लामिक आन्दोलनको पछिल्लो प्रतिक्रियाले प्रक्रियालाई अगाडि बढाउने र सम्झौतालाई बन्द गर्ने आधार प्रदान गर्न सक्ने बताएका थिए । संयुक्त राज्य अमेरिकाले इजरायल र हमाससँग सम्झौतामा पुग्नका लागि ‘धेरै महत्त्वपूर्ण अवसरको सुरूवात’ भएको विश्वास गरेको ती अधिकारीले बताए ।

इजराइलमा सेप्टेम्बरमा अन्तर्राष्ट्रिय बास्केटबल प्रतियोगिता हुने

चार टोलीको अन्तर्राष्ट्रिय बास्केटबल प्रतियोगिता आगामी सेप्टेम्बरमा इजराइलमा आयोजना हुने भएको छ । यो गत वर्षको अक्टोबर ७ मा हालको द्वन्द्व सुरु भएयता पहिलो पटक हो ।

एनबीए लिजेन्ड टोनी पार्कर, फ्रान्सेली युरोलिग असवेल ल्योन–विलेर्बनका अध्यक्ष तथा मालिक, इजराइली युरोकप क्लब हापोएल तेल अभिवका अध्यक्ष तथा मालिक ओफÞर यान्नेले संयुक्तरूपमा बिहीबार तेल अभिवमा उक्त प्रतियोगिताबारे घोषणा गर्नुभयो ।

च्याम्पियन्स लिग टोली इजराइलको हापोएल जेरुसेलम र लिथुआनियाको राइटास भिल्नियस पनि प्रतियोगितामा सहभागी हुनेछन् । यसमा थप टोलीमा विस्तार गर्ने सम्भावना पनि छ ।

जुम्लामा २० वर्ष उमेर नपुग्दै आमा बन्नेको सङ्ख्या १७ प्रतिशत

जुम्ला, २१ असारः जुम्लामा २० वर्ष उमेर नपुग्दै आमा बन्नेको सङ्ख्या १७ प्रतिशत रहेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ । यहाँका आठवटै स्थानीय तहमा २० वर्ष नपुगेका किशोरी आमा बनेको सङ्ख्या उल्लेख्य रहेको कार्यालयको भनाइ छ ।

आज यहाँ पत्रकारलाई लक्षित गरी आयोजना गरिएको स्वास्थ्यसम्बन्धी अभिमुखिकरणका अवसरमा कार्यालयका प्रमुख कृष्ण देवकोटाले चालु आवमा पहिलो पटक गर्भ जाँच गरेकामध्ये २० वर्ष नपुगी गर्भवती हुनेमा सबैभन्दा धेरै गुठिचौर गाउँपालिकामा ३३ प्रतिशत रहेको जानकारी दिनुभयो । साथै, चन्दननाथ नगरपालिकामा १३ प्रतिशत, तिला गाउँपालिकामा २२ प्रतिशत, तातोपानीमा २० प्रतिशत, पातारासीमा २४ प्रतिशत, कनकासुन्दारी २० प्रतिशत, हिमामा १७ प्रतिशत र सिंजा गाउँपालिकामा १५ प्रतिशत किशोरीहरु २० वर्ष नपुग्दै गर्भवती भएका छन् ।

कार्यालयले कुष्ठरोग नियन्त्रण कार्यक्रम पनि स्थानीय तहसँग सहकार्यमा काम गर्दै आएको छ । जिल्लामा दुई दशमलव पाँच प्रतिशत कृष्ठरोगीका विरामी छन् । खोप कार्यक्रमबाट जिल्लाका ७८ दशमलव २ प्रतिशत बालबालिका खोपको पहुँचमा छन् । चार पटक गर्भजाँच गर्ने र संस्थागत प्रसुतिदर जिल्लामा ५९ दशमलव नौ प्रतिशत छ । यहाँका आठवटै पालिकाको संस्थागत प्रसुति भएकामध्ये २० वर्षमुनिका किशोरीको १५ दशमलव सात प्रतिशत रहेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका स्वास्थ्य सहायक सुरेश पन्तले जानकारी दिनुभयो ।

जिल्लामा अस्पताल एक, प्रथामिक स्वास्थ्य सेवा केन्द्र एक, स्वास्थ्य चौकी २९, आधारभूत स्वास्थ्य सेवा केन्द्र २९, सामुदायिक स्वस्थ्य ईकाइ १२, सहरी स्वास्थ्य केन्द्र एक रहेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ ।

कार्यालयले आमा सुरक्षा कार्यक्रम, परिवार योजना कार्यक्रम, प्रजनन स्वास्थ्य, किशोर किशोरी प्रजनन स्वास्थ्य र महिनावरी स्वच्छता कार्यक्रमका लागि प्रदेश र स्थानीय तहसँग समन्वय सहकार्यमा काम गर्दे आएको छ ।

काँकरभिट्टा नाकाबाट भेनियर पत्ताको निर्यात बढ्यो

भद्रपुर (झापा), २१ असार : मेची भन्सार कार्यालय काँकरभिट्टा नाकाबाट चालु आवको ११ महिनामा रु ५० करोड २४ लाख चार हजारको भेनियर पत्ता निर्यात भएको छ । गत आवको सोही अवधिको तुलनामा एक हजार दुई सय ५७ प्रतिशत बढी भेनियर पत्ता निर्यात भएको हो ।

मेची भन्सार कार्यालय काँकरभिट्टाको तथ्याङ्कअनुसार गत आव २०७९÷८० को जेठ मसान्तसम्ममा रु तीन करोड ७० लाख १४ हजारको भेनियर पत्ता निर्यात भएको थियो ।

नेपाल भेनियर उत्पादक सङ्घका महासचिव दिनेश शाक्यका अनुसार भारतमा माग उच्च भएपछि नेपालबाट प्लाइउड बनाउन आवश्यक पर्ने मुख्य कच्चापदार्थ भेनियर पत्ताको निर्यात बढेको हो । “केही वर्ष पहिले भेनियर पत्ताको व्यापार नेपालमा मात्रै हुने गथ्र्याे, यहाँ आर्थिक मन्दी सुरु भएसँगै भेनियर पत्ताको व्यापार भारततर्फ बढ्दा किसानलाई लाभ मिलेको छ”, महासचिव शाक्यले भन्नुभयो ।

पहाड तथा तराई क्षेत्रको निजी आवादी जग्गामा हुर्काइएका कमसल प्रजातिका उत्तिस, चिलाउने, कदम, पिठारो, मलातो, मौवालगायत रूखका काठलाई कच्चापदार्थका रुपमा प्रयोग गरी उद्योगले भेनियर पत्ता उत्पादन गरिरहेको भेनियर उत्पादक सङ्घका महासचिव शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, “भेनियर पत्ता निर्यातबाट दैनिक लाखौँ राजस्व बुझाउने उद्योगलाई सरकारले निर्यातमा सहुलियत दिन सक्यो भने निर्यात बढ्न गई विदेशी मुद्रा आर्जन गर्न सकिन्छ ।”

नेपाल भेनियर उत्पादक सङ्घका अनुसार हाल नेपालमा एक सय ८० भन्दा बढी भेनियर उद्योग सञ्चालनमा छन् जसले ८० हजारभन्दा बढी मजदुरलाई प्रत्यक्ष÷परोक्ष रुपमा रोजगारी उपलब्ध गराएका छन् ।

महिला क्रिकेट खेलाडी बेगम निलम्बित

काठमाडौँ, २१ असार : नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय महिला क्रिकेट खेलाडी अप्सरी बेगमलाई सङ्घको आचारसंहिता उल्लङ्घन गरेको भन्दै निलम्बन गरेको छ ।क्यानको आज बसेको केन्द्रीय कार्यसमितिकोे बैठकले टोली व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको भन्दै बेगममाथि थप छानबिन गरी आवश्यक निर्णय गर्न अनुशासन आयोगलाई जिम्मा दिने निर्णय गरेको हो ।

श्रीलङ्कामा यही जुलाई १९ देखि २८ तारिखसम्म हुने महिला टी–२० एसिया कपको तयारीका लागि नेपाली महिला क्रिकेट खेलाडीको बन्द प्रशिक्षण चलिरहेको छ । सोही क्रममा बेगमले टोली व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको भन्दै बेगमलाई क्यानले तत्कालका लागि निलम्वन गरेको जनाएको छ ।

यस्तै क्यानले राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेले टि–ट्वान्टी अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगितामा एक सय विकेट लिन सफल भएकामा बधाई दिँदै उनलाई ए ग्रेडमा रहने गरी केन्द्रीय सम्झौतामा अनुबन्ध गर्ने निर्णय गरेको छ । क्यानले उनलाई यही जुलाई १ देखि डिसेम्बर ३१ तारिखसम्म ‘ए’ ग्रेडमा अनुबन्धित गरिएको जनाएको छ ।

बैठकले क्यान उपाध्यक्ष रोशनकुमार सिंहसँगै केन्द्रीय सदस्य माधवकुमार कर्माचार्य, दुर्गाराज पाठक र सुनसरी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष चेतनाथ पौडेललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । उनीहरूले अमेरिका र वेस्ट इण्डिजमा हालै सम्पन्न टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताबारे आधारहिन विषयवस्तुको प्रचारप्रसार गरेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

यसैगरी त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको ‘पिच’ पुनःनिर्माण गरी स्तरोन्नति गर्ने, प्रादेशिक क्रिकेट सङ्घसँग समन्वय गरी सातवटै प्रदेशमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको टर्फ विकेट निर्माण गर्ने, म्याच फिक्सिङमा अदालतबाट सफाइ पाएका क्रिकेट खेलाडी आदिल आलमको निलम्बन फुकुवा गर्ने सम्बन्धमा सङ्घको अनुशासन समितिलाई एक हप्ताभित्र आवश्यक निर्णय गर्न जिम्मेवारी दिनेलगायतको निर्णय भएको क्यानका महासचिव पारस खड्काले जानकारी दिए ।

भोटेकोशी आयोजनाको स्ल्याब भत्किँदा दुई बेपत्ता, सातजना घाइते

चैतारा (सिन्धुपाल्चोक), २१ असार : सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निर्माणाधीन भोटेकोशी जलविद्युत् आयोजनाको स्ल्याब भत्किँदा दुईजना बेपत्ता भएका छन् । उक्त घटनामा सात कामदार घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीका अनुसार एक वर्ष अघि निर्माण सुरु गरिएको सो आयोजनाको कभर स्ल्याबको माथिल्लो संरचना भत्किएको हो । बेपत्ताको अवस्था अज्ञात रहेको उहाँले बताउनुभयो । घाइते सबैलाई उद्धार गरी बाह्रबिसेस्थित किस्टोन हस्पिटल र बाह्रबिसे नगर अस्पताल लगिएको छ । 

बेपत्ताको खोजी गर्न सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी निरीक्षक जोशीले बताउनुभयो । बेपत्ता हुनेमा बर्दियाका रामदिन थारू र सुमन थारू रहेका छन् । यस्तै उक्त घटनामा घाइते हुनेमा बर्दियाका लहानु थारू र दुर्गा चौधरी, दोलखाको कालिञ्चोकका आइतबहादुर थामी, विजय थामी, गोपाल थामी, दीपक थामी, आइतमान थामी, पदमबहादुर थामी र रामचन्द्र रिमाल तथा रोल्पाका सासन रोकामगर रहेका छन् । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना  खटिएको छ । 

मुख्यमन्त्री सिंहलाई एमालेले विश्वासको मत दिने

महेन्द्रनगर (धनुषा), २१ असारः मधेस प्रदेश सरकारका मुख्यमन्त्री शतिशकुमार सिंह नेतृत्वको सरकारलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले विश्वासको मत दिने भएको छ । एमाले मधेस प्रदेशसभाका प्रमुख सचेतक हरिनारायण महतोले जनमत पार्टीको नेतृत्वको सरकारलाई विश्वासको मत दिने जानकारी दिनुभयो ।

सिंहले भोलि विहान ११ बजे प्रदेशसभा समक्ष विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

मधेस प्रदेशमा जनमत नेतृत्वको सरकारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी छन् । 

गायक दीपक चौलागाई र गायिका अन्जु पन्तको मन परेको मान्छेले जित्यो अवार्ड

काठमाडौँ । गायक दीपक चौलागाईले मन परेको मान्छे हौ तिमी बोलको गीतबाट अवार्ड हात पारेका छन् । हालै थाइल्याण्डमा सम्पन्न छैठौँ सगरमाथा म्यूजिक अवार्डबाट उनले पप आधुनिक यूगल गायन बिधाबाट अवार्ड हात पार्न सफल भएका हुन् । गायक दीपक चौलागाई र गायिका अन्जु पन्तको स्वरमा रहेको सार्वजनिक गीत गत महिना मात्रै रिलिज गरिएकोमा गीतले लोकप्रियता मात्रै कमाएन दर्शक स्रोताको मन मुटुमा बस्दै अवार्ड समेत जित्न सफल भएकोमा गायक चौलागाईले खुशी प्रकट गरेका छन् ।

हाल मलेसिया भ्रमणका क्रममा रहेका भौतिक शास्त्रका लेक्चर समेत रहेका गायक चौलागाईले यसअघि सिंगल मिंगल बोलको गीतबाट हिमालयन इन्टरनेशनल अवार्ड हात पारिसकेका छन् । गायक चौलागाईका तिम्रो मनको तरेली, जब तिम्रो, सागर भन्दा निश्चल माया , सिंगल मिंगल लगायत करिब दर्जन गीत बजारमा आइसकेका छन् । उनका आकाश साक्षी छ, तेह्र पर्सेन्ट भ्याट, लगायतका आधा दर्जन गीतहरु रेकडिगंको तयारीका रहेका छन् ।

आइतबारसम्म मुलुकका विभिन्न स्थानमा बाढीको जोखिम ,सतर्कता अपनाउन आग्रह

काठमाडौँ, २१ असारः जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान माहाशाखाले आइतबारसम्म मुलुकका विभिन्न स्थानमा बाढीको जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । आइतबारसम्म भारी वर्षाको सम्भावना रहेकाले नदीमा पानीको बहाव बढ्नसक्ने र बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

विभागका बाढीविद् तथा हाइड्रलोजिस्ट इन्जिनियर विजय ढुकुछुले आज इलाम, झापा, मोरङ, लमजुङ, कास्की, पाल्पा, नवलपरासीपूर्व र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीमा बहाव बढ्ने तथा केही स–साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको जानकारी दिनुभयो । 

उहाँका अनुसार आज उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, सिन्धुपाल्चोक, रामेछाप, अछाम, डोटी, कैलाली र आसपासका जिल्ला भई बहने स–साना नदीहरुमा बहाव पनि बढ्ने पूर्वानुमान छ । “भोलि भने देशभरका अधिकांश स–साना नदीहरूमा बहाव बढ्ने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बहने केही स–साना नदीहरुमा आकस्मिक बाढी आउनसक्छ”, उहाँले भन्नुभयो । 

महाशाखाका अनुसार आज देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोशी,  मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुुई  स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावमा छ । सबै प्रदेशका धेरै स्थानका मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  

“भारी वर्षाको सम्भावमा भएका क्षेत्रमा हुनसक्ने गेग्र्यान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,” विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

मधेस प्रदेशसभा बैठक स्थगन

जनकपुर, २१ असार : बजेट पुनःलेखनको माग गर्दै मधेश प्रदेशसभाको आजको बैठक सुरु भएको केही बेरमै स्थगन भएको छ ।प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका तर्फबाट अर्थमन्त्री भरतप्रसाद साहले पेस गर्नुभएको आर्थिक वर्ष २०८१÷८२ को बजेटमाथि छलफल हुने तय भएको थियो । बिहान ११ बजेका लागि बोलाएको उक्त बैठक ढिलो गरी सुरु भएको थियो ।

बैठक सुरु हुने बित्तिक्कै लोकतान्त्रिक समाजवादी पार्टीकी नेत्री रानी शर्मा तिवारीले यही असार १६ गते मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको र सो विषयमा सरकारको धारणा नआएसम्म बजेटमाथि छलफल गर्न नदिने बताउनुभयो । उहाँले भन्नुभयो, “माग पूरा नभएसम्म बजेटमाथि छलफल हुँदैन ।”

प्रदेश सभामुख रामचन्द्र मण्डलले प्रदेशसभाको बैठक १० मिनेटका लागि स्थगन गर्नुभए पनि अहिलेसम्म बस्न सकेको छैन । अहिले सभामुख मण्डलको उपस्थितिमा विभिन्न दलका नेता सम्मिलित बैठक प्रदेशसभा सचिवालयमा जारी छ ।

नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, लोसपासहित चार दलले बुझाएको ध्यानाकर्षण पत्रको विषयमा आधिकारिक धारणा आएपछि मात्र बजेटमाथि छलफल हुने बताइएको छ ।

यही असार १ गते मधेस प्रदेश सरकारका तर्फबाट अर्थमन्त्री भरतप्रसाद साहले आर्थिक वर्ष २०८१÷८२ का लागि रु ४३ अर्ब ८९ करोड २१ लाख ७० हजारको बजेट प्रदेशसभामा पेस गर्नुभएको थियो । चालुतर्फ रु १६ अर्ब सात लाख एक हजार र पुँजीगततर्फ रु २७ अर्ब ८९ करोड १४ लाख ६९ हजारको बजेट सार्वजनिक गरिएको थियो ।

जीवन बचाउने थलो बन्दै चारआली स्थित सर्पदंश उपचार केन्द्र,दुई दशकमा २० हजार बढीको ज्यान जोगायो

झापा, २१ असारः मेचीनगर नगरपालिका–१३ चारआली स्थित सर्पदंश उपचार केन्द्रले दुई दशकमा २० हजारभन्दा बढी मानिसलाई अकाल मृत्युबाट बचाएको छ । नेपाली सेना र समुदायको साझेदारीमा सञ्चालित २५ शय्याको उपचार केन्द्रमा इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुमबाट मात्र नभएर छिमेकी मुलुक भारत पश्चिम बङ्गालको दार्जीलिङ, सिलीगुढी र बिहारको किशनगञ्ज र ठाकुरगञ्जसम्मका सर्पदंशका बिरामी आउने गर्छन् । यहाँ सबै प्रकारका विषालु सर्पले डसेको उपचार हुन्छ ।

सञ्चालक समितिका अध्यक्ष दुर्गा भट्टराई सानो र कम सुविधायुक्त भएता पनि जनविश्वास अन्तर्राष्ट्रियस्तरमा फैलिएको कारण सर्पदंश उपचार केन्द्रको स्तरोन्नतिमा राज्यको ध्यान दिनुपर्छ भन्नुभयो । उहाँले केन्द्रलाई सेनाले जग्गा र प्राविधिक सहयोग गरिरहेको जानकारी दिनुभयो । आफ्नो ब्यारेकभित्र रहँदै आएको यस उपचार केन्द्रलाईसेनाले विसं २०६० चैत ५ गते समुदायलाई हस्तान्तरण गरेको थियो ।

त्यसअघि सैनिकहरूलाई सर्पले डसेमा शीघ्र उपचार गर्न ब्यारेकभित्र सानो युनिट सञ्चालनमा रहेको थियो । गैरसैनिक व्यक्तिलाई सर्पले डसेमा उपचारका लागि ब्यारेकभित्रै लगिन्थ्यो । बिरामीको चाप बढ्दै गएपछि सेनाले समुदायलाई नै यसको जिम्मा दिएको हो ।

मेचीनगरको चारआलीमा चन्द्रगढी जाने सडकमा पायक पर्नेगरी सेनाले उपचार केन्द्रका लागि जग्गा उपलब्ध गराएपछि तत्कालीन चन्द्रगढी गाविसका अध्यक्ष दुर्गा भट्टराईको नेतृत्वमा उपचार केन्द्रका लागि सहयोग जुटाउने अभियान चल्यो । उहाँकै अध्यक्षतामा गठित समितिले केन्द्रको भवन र अन्य सुविधा थप्ने कार्य गर्यो ।

उपचार केन्द्र मानिसहरूको जीवन बचाउने थलो बन्दै गएको छ । मेचीनगरले यसका लागि भवन बनाउनदेखि सञ्चालनका लागि विभिन्न समयमा सहयोग पुर्याउँदै आएको मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी बताउनुभयो । “सर्पदंश उपचार केन्द्र मेचीनगरको गौरव गर्नलायक संस्था हो”, उहाँले भन्नुभयो, “जुन ढङ्गले बिरामीको चाप बढिरहेको छ । त्यसअनुरुप सेवा र सुविधाको विस्तार गर्न आवश्यक भइसकेको छ । अब यसको स्तरोन्नतिका लागि नयाँ योजना र सङ्कल्पको खाँचो छ ।”

झापा र इलामका सबै पालिकाले बैठक गरेर वार्षिक रु दुईदेखि पाँच लाखसम्म अनुदान दिने हो भने चारआलीको सर्पदंश उपचार केन्द्र मुलुककै नमूना अस्पताल बन्ने र त्यसका लागि आफू समन्वय गर्न तयार रहेको उहाँले जानकारी दिनुभयो ।

मेचीनगरले यस संस्थाको स्तरोन्नतिका लागि प्रदेश सरकारसँग समन्वय गरेर बजेटको व्यवस्था गर्दै आएको छ । आर्थिक वर्ष २०८१÷८२ का लागि प्रदेश सरकारबाट प्राप्त योजना तथा कार्यक्रमका लागि सशर्त अनुदानस्वरुप नगरले रु १५ लाख बजेट तथा नीति कार्यक्रममा समावेश गरेको छ । नगर प्रमुख बुढाथोकीले केन्द्रको स्तरवृद्धिका नयाँ योजना बनाउन समितिका पदाधिकारीलाई आग्रह गरिसकेको बताउनुभयो ।

सर्पदंश उपचार केन्द्रमा बिरामीको चाप दिनानुदिन बढिरहेको छ । यो साता उपचारका लागि आएका ८० प्रतिशत इलामका थिए । बिगतमा झापाका बिरामी धेरै हुने गरेको अहिले इलामका बिरामी बढेका छन् । बर्सेनि एक हजारभन्दा बढीले उपचार पाइरहेको केन्द्रबाट यही वैशाखमा ६१, जेठमा एक सय २३ र असारमा ९३ जनाले उपचार सेवा लिएका छन् । विसं २०८० मा सर्पले डसेका नौ सय७६ जनाले केन्द्रबाट उपचार प्राप्त गरेको अध्यक्ष भट्टराईले राससलाई जानकारी दिनुभयो ।

इलामको सूर्योदय वडा नं १ का ३९ वर्षीय दिनेश तामाङले यही उपचार केन्द्रका कारण आफूले नयाँ जीवन पाएको बताउनुभयो । उहाँलाई केही दिनअघि घाँस काट्ने क्रममा गुर्बे सर्पले डसेको थियो । मेचीनगर–१५ का ५१ वर्षीय जुपुई हेमरमलाई पनि गत साता ओछ्यानमै विषालु सर्पले डस्यो । तत्कालै उहाँलाई मोटरसाइकलमा चढाएर यस उपचार केन्द्रमा ल्याइएका कारण उहाँको ज्यान बच्यो ।

हिउँदमा गुप्तबास बस्ने गरेका सर्प बर्खायाममा जमिनको सतहमा आहाराका लागि निस्कन्छन् । ओसिलो, पाखो र कुनाकाप्चा खोज्दै जाने सर्पसँग जम्काभेट हुँदा मानव–सर्प द्वन्द्व हुने गरेको छ । यसका कारण नेपालमा बर्सेनि सयौँले ज्यान गुमाउने गरेका छन् । पहाडमा गुर्बे र हरेउ सर्प विषालु हुन्छन् भने तराईमा गोमन र करेत अत्यधिक विषालु हुन्छन् । उपचार नपाएमा गोमनले डसेको केही घण्टाभित्रै मानिसको मृत्यु हुने गर्छ । बेलैमा भरपर्दो अस्पताल वा चिकित्सकको सम्पर्कमा पुर्याए सर्पदंशका सबै बिरामी उपचारबाट बाँच्ने नेपाली सेनाका चारआलीस्थित अरिदम गणका स्वास्थ्य प्राविधिक कृष्ण थापा बताउनुुहुन्छ ।

केन्द्रका अध्यक्ष भट्टराईले विसं २०६० चैत ५ गतेदेखि नेपाली सेनाले समुदायलाई हस्तान्तरण गरेको यस उपचार केन्द्रबाट दुई दशकमा २० हजारभन्दा बढी सर्पदंशका घाइतेले सफल उपचार पाएको बताउनुभयो । केन्द्रले बिरामीको दर्ता शुल्क रु एक सय र साधारण उपचार सेवा शुल्क रु छ सय मात्र लिने गरेको छ । उपचारका लागि बस्दा बेड शुल्क रु एक सय, पाँच भाइलसम्म औषधि (एन्टी स्नेक भेनम सिरम)को रु एक हजार पाँच सय र पाँच भाइलभन्दा जतिसुकै धेरै लागे पनि रु तीन हजार मात्र शुल्क लिने गरिएको केन्द्रले जनाएको छ ।

विपन्न र असहाय बिरामीका लागि निःशुल्क उपचार गर्दै आएको उहाँले जानकारी दिनुभयो । “समुदायको सहयोगबाट चलिरहेको उपचार केन्द्र भएकाले बिरामीबाट सामान्य व्यवस्थापन शुल्क मात्र लिने गरेका हौँ”, उहाँले भन्नुभयो । कोशी प्रदेशमा १३ सर्पदंश उपचार केन्द्र रहेकामा यस जिल्लामै चारवटा रहेका छन् । चारआलीस्थित सेनाको ब्यारेक परिसरमा रहेको सर्पदंश उपचार केन्द्र कोशी प्रदेशकै सबैभन्दा ठूलो उपचार केन्द्र हो ।

हिलाम्मे खेतजस्तै सडकको अवस्था , वडाध्यक्ष भन्दछन् ‘सडकका कारण जनता जोगाउनै कठिन भइसक्यो’

बलेवा (बागलुङ), २१ असारः राष्ट्रिय गौरवका आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्ग र कालीगण्डकी करिडोरको बागलुङ खण्डमा ठाउँठाउँमा खाडल छन् । हिउँदमा बुङ्ग उड्ने धुलोले सेताम्मे हुने सवारीसाधनलाई बर्खा सुरु भएपछि तिनै खाडलमा अड्किएर निस्कन हम्मे हम्मे पर्दछ ।

सडकको दुरावस्थाका कारण नागरिक मात्र होइन, बागलुङको बाटो भएर हिँड्ने पर्यटकले पनि सधैँ दुःख पाउने गरेका छन् । लोकमार्गको बागलुङ घोडाबाँधे खण्ड कालोपत्रको काम सुरु भएको आठ वर्ष भयो तर काम सकिएको छैन । कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्डमा पनि काम त चलिरहेकै छ तर पूरा नहुने बेलासम्म सडकमा सास्ती छ ।

राष्ट्रिय गौरवका आयोजना नै दुरावस्था व्यहोरेको बागलुङका ग्रामीण सडकको अवस्था दर्दनाक छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार एकसाता पहिलेको वर्षापछिको बाढीपहिरोले रोकिएका दर्जन बढी ग्रामीण सडक अझै खुलेका छैनन् ।

“ हिउँदभरि बनायो, बर्खाभरि बगायो भइरहेको छ, समयमा काम नहुने समस्याले हामी सधैँ पीडित हुने गरेका छौँ”, काठेखोला गाउँपालिका–६ का अध्यक्ष बृहस्पति कँडेलले भन्नुभयो, “मध्यपहाडीबाट आएको भलबाढी घरघरमा पस्छ, सडकका कारण जनता जोगाउनै कठिन भइसक्यो ।” जिल्लाका अधिकांश सडक रोपाइँ गर्न तयार गरिएका खेतभन्दा फरक छैनन् । हिलो र गेग्रायनले भरिएका सडकमा जोखिमपूर्ण यात्रा गर्नुपरिरहेको बागलुङ –१२ का शिव पाठक बताउनुहुन्छ ।

सडक हिलाम्मे हुँदा सवारीसाधन र यात्रु दुवै मारमा पर्ने गरेका छन् । ग्रामीण सडक मर्मतका लागि स्थानीय तहले प्रयास गरे पनि पहिराका कारण समयमा सडक खुल्दैनन् । “नगरले पहिरो पन्छाउने र सडक सञ्चालन गर्ने काम गरिरहेकै छ तर निरन्तर वर्षा हुँदा पहिरो खस्न रोकिँदैनन्”, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा भन्नुहुन्छ, “बर्खा रहुञ्जेल काम चल्ने गरेर मात्रै सडक खुलाउने गरिएको छ ।”