`

काठमाडौँ महानगरका सात स्थानमा ७५ भन्दाबढी कलाकारको प्रस्तुति

काठमाडौं । काठमाडौं महानगरपालिका वडा–८ का विभिन्न सात स्थानमा साप्ताहिक सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । महानगरपालिकाको स्वर्णिम योजना, सांस्कृतिक महानगरअन्तर्गत काठमाडौंका विभिन्न सात वटा वडामा यस कार्यक्रमलाई साप्ताहिक सांस्कृतिक कार्यक्रमअन्तर्गत अगाडि बढाएको छ ।

सोही कार्यक्रमअन्तर्गत महानगरपालिका वडा–८ को पशुपति भुवनेश्वरी डवली, इँट्टापाखा, दथु टोल, जयबागेश्वरी परिसर, नवाली टोल, तिलगङ्गा तथा पशुपति परिसरमा रहेको घ्याम्पे सत्तलमा कार्यक्रम सम्पन्न भएको काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा–८ का वडा अध्यक्ष आशामान संगतले बताए । उनले विशेषगरी डवली तथा पाटीमा कलाकारले प्रस्तुति दिएको बताए ।

काठमाडौं महानगरपालिका कला, भाषा, जात्रा, पर्व, मेला, अमूर्त सम्पदाको सङ्ग्रहालय रहेको बताउँदै उनले धार्मिक सहिष्णुता र उच्च सामाजिक मानव सम्बन्ध रहेकाले विभिन्न चाड पर्व, जातजाति, रितिरिवाज र चालचलनको विविधताभित्र एकता रहेको उल्लेख गरे ।

उनले कला, संस्कृतिको जीवन्त इतिहास तथा प्राचीन विशिष्ट शैलीको निर्माणका कारण विश्वकै दर्शनीय स्थलमध्येको एक सहरका रूपमा काठमाडौँ परिचित रहेको पनि बताए ।

लोक संस्कृति एवं परम्परागत बाजागाजाको महत्त्वलाई अंङ्गिकार गर्दै यस किसिमका कार्यक्रमको आयोजना हुनु आफैमा महत्वपूर्ण भएको अध्यक्ष संगतले बताए।

उनले विशेषगरी सम्पदा तथा पर्यटन विभागको तदारूकतामा बाजा गाजाको संरक्षणार्थ विभिन्न कार्यक्रमहरू भइरहेको बताउँदै सांस्कृतिक कार्यक्रममा धिमे बाजा, बाँसुरी, नाय्खीं, धाः धिमे, पछिमा, खिं, मादल, नाय खिं, भुस्या, ताः चिम्ता बबुचा छुस्यालगायतका बाजा समेटेर कार्यक्रम प्रस्तुत गरिएको बताए ।

सांस्कृतिक कार्यक्रममा मङ्गलधुन, सयथरी बाजा, येला लुवया, सितला, जिगु थो मन, झांगद, धाः बाजा, पशुपतिनाथ, लाखे, म्युजिक कम्पोजिसन, ल्यामम दाजु मिक्स कम्पोजिसन लगायतका धुनहरू प्रस्तुति गरिएको थियो ।

कार्यक्रममा स्थानीय कलाकारको प्रस्तुति रहेको थियो । जसमा कलाकारहरू नेवारी पहिरनमा प्रस्तुत भएका थिए । करिव ७५ जना कलाकारले सामुहिक रूपमा प्रस्तुत गरेको कार्यक्रममा सबै कलाकारहरू आ-आफ्नो मौलिक परम्परागत रूपमा सजिएको थिए ।

किरिया बसेकै अवस्थामा गाउँपालिकाको काम गर्दै घिमिरे

लमजुङ, २३ असार : लमजुङ राइनास नगरपालिका–१ साहिँलिटारका नरेन्द्रराज घिमिरे दुधपोखरी गाउँपालिकाका लेखा अधिकृत हुनुहुन्छ । घिमिरेलाई यतिबेला पितृशोक परेको छ । घिमिरेले जनताको सेवामा समस्या नपरोस् र आर्थिक वर्षको अन्तिम समयमा भएकाले कार्यालयको काम कारबाहीमा कुनै असर नपरोस् भन्ने ध्येयले घरमा किरिया बसेकै कोठाबाट काममा गरिरहनुभएको छ ।

यही असार १९ गते उहाँका बुबा दुर्गाभक्त घिमिरेको ८२ वर्षको उमेरमा निधन भएको थियो । उहाँले भन्नुभयो, “बुबाको यही १९ गते निधन भयो, आमाको पाँच महिनाअघि हृदयघातका कारण मृत्यु भइसकेको छ । यसहिसाबले पीडा त तर आर्थिक वर्षको अन्तिमतिर भएकाले गाउँपालिकाको काम रोक्नु त भएन, त्यसैले किरिया बसेकै अवस्थामा काम गरिरहेको छु ।”

बुवाको निधन भएको भोलिपल्टै २० गतेदेखि नै आफूँले कार्यालयको काम गरिरहेको लेखा अधिकृत घिमिरेले बताउनुभयो । “पालिकामा लेखापाल पद रिक्त छ, त्यसैले लेखाको काम म एक्लैले गर्नुपर्ने बाध्यता छ । कार्मचारी नहुँदा काम भएन भनेर किन पार्नु ! वित्तीय अनुशासन र आर्थिक दृष्टिकोणले समेत उचित नहुने ठानेर पीडा भुलेर यसरी काम गरिरहेको छु”, उहाँले भन्नुभयो ।

उहाँले गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतलाई भनेर आवश्यक कागजात, ल्यापटपलगायत सामग्री घरमै मगाएर काम गरिरहनुभएको छ । नेपाल सरकारको नियमानुसार क्रिया बिदा १५ दिन बस्न पाइन्छ ।

गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङले बुबाको निधनको पीडा हुँदा पनि घिमिरेले कार्यालयको काम गरिरहेका भन्दै प्रशंसा गर्नुभयो । घिमिरेले काम गर्छु भनेपछि आफूहरूले सोहीअनुसार सहजीकरण तथा सहयोग गरिरहेका उहाँले बताउनुभयो ।

कांग्रेस र एमालेले मागे मुख्यमन्त्री सोडारीको राजीनामा

कैलाली, २३ असारः नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको राजीनामा माग गरेका छन् । दुवै पार्टीले आज संयुक्त विज्ञप्ति जारी गर्दै सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न मुख्यमन्त्री सोडारीको राजीनामा माग गरेका हुन् ।

केन्द्रमा काग्रेस र एमालेबीच सरकार गठनका लागि सहकार्यको सहमति भइसकेपछि यहाँ पनि एमालेले मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री सोडारीको प्रदेश सरकार अल्पमतमा परेको छ । 

सोडारी नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति रञ्जिता पक्षको समर्थनमा मुख्यमन्त्री बन्नुभएको थियो । 

कांग्रेस प्रदेशसभाका संसदीय दलका नेता कमलबहादुर शाह र एमाले संसदीय दलका नेता राजेन्द्रसिङ रावलद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, “ “बहुमत गुमाइसकेको अल्पमतको सरकारले दैनिक कामकाज बाहेक अन्य कुनै पनि काम सम्पादन नगर्न र नगराउन समेत आग्रह गर्दछौं ।”

सरुमारानीका १२० जना किसानलाई कोरेली पाडी वितरण

स्वर्गद्वारी(प्युठान), २३ असारः सरुमारानी गाउँपालिकाले किसानलाई भैसीका कोरेली पाडी वितरण गरेको छ । दुध आयातलाई प्रतिस्थापन गरी दुधजन्य पदार्थमा सरुमारानीलाई आत्मनिर्भर बनाउने उद्देश्यले ती पाडी वितरण गरिएको सरुमारानी गाउँपालिकाका अध्यक्ष झगबहादुर बिश्वकर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार किसानसङ्ग गाउँ सरकार कार्यक्रमअन्तर्गत पशुपालक किसानलाई पाडी वितरण गरिएको हो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार पालिकाको ९० प्रतिशत र किसानको १० प्रतिशत लागत साझेदारीमा एक सय २० जना किसानलाई भैँसीका पाडी वितरण  गरिएको उहाँले जानकारी दिनुभयो । 

पछिल्लो समयमा यहाँका किसानमा भैसीपालनको आकर्षण घटेको सरुमारानी गाउँपालिकाका आर्थिक विकास समितिका संयोजक मोहम्मद हलिम हलुवाइको भनाइ छ । उहाँले भन्नुभयो, “भैसीपालनमा आकर्षण बढाउन, दुध उत्पादन बढाउन र किसानको आय वृद्धि गर्न यो कार्यक्रम फलदायी हुनेमा विश्वास छ ।” गाउँपालिकाले वितरण गरिएका पाडीहरुको निःशुल्क बीमा समेत गरिदिएको छ । 

गाउँपालिका र किसानबीच वितरण गरिएका पाडी पाँच वर्षसम्म विक्री गर्न नपाइने सम्झौता गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले जानकारी दिनुभयो । गाउँपालिकाको आव २०८०/८१ को वार्षिक कार्यक्रमअन्तर्गत रु ३६ लाख बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले हरेक तीन महिनामा पाडीको स्थलगत अनुगमन गरी किसानलाई आवश्यक प्राविधिक परामर्श दिने जनाइएको छ । 

अम्बानीको भव्य वैवाहिक कार्यक्रम र अतिथिको चर्चा

भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीले आफ्नो छोराको भव्य विवाह गर्ने भएका छन् । गत मार्चमा एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीले आफ्ना छोराका लागि तीन दिने विवाहपूर्वको (प्रि–वेडिङ) पार्टी दिनुभएको थियो । पार्टीमा पूर्व विश्व नेता, प्रबिधि क्षेत्रका ख्यातिप्राप्त व्यक्ति र भारतीय सिने जगत् (बलिउड) का सुप्रसिद्ध कलाकारसहित एक हजार २०० जनाको अतिथि सूची र प्रख्यात गायिका रिहानाको प्रस्तुति समावेश थियो ।

यो केवल उनीहरूको महिनौं लामो भव्य विवाहपूर्व समारोहको सुरुवात थियो । यसले विश्वका प्रसिद्ध पत्रपत्रिका तथा अनलाइनमा समाचारको मुख्य समाचारको स्थान पाएको थियो । सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको थियो ।

मे महिनामा, अम्वानी परिवारले तीन दिने समारोहका अवसरमा अतिथिहरूलाई सुविधासम्पन्न पानीजहाजमा इटालीदेखि फ्रान्ससम्मको यात्रामा लगेको थियो । डेभिड गुएटाको डीजे सेट, केटी पेरीको सुप्रसिद्ध गीत ‘फायरवर्क’ र पिटबुलको प्रदर्शनको साथ यसलाई भव्य साङ्गीतिक माहोलबीच अन्त्य गरिएको थियो ।

उनान्तीस वर्षीय अनन्त अम्बानीले आफ्नी प्रेमिका राधिका मर्चेन्टसँग विवाह गर्ने भएपछि यसको तयारीमा गरिएको विवाहपूर्वको पार्टी र उत्सवले निकै चर्चा पाएको थियो ।

–विश्वका नवौँ धनी र एसियाकै सबैभन्दा धनी व्यक्ति –

फोब्र्स पत्रिकाका अनुसार दुलहाका पिता ६६ बर्षीय मुकेश अम्बानी हाल ११६ अर्ब अमेरिकी डलर सम्पत्तिका साथ विश्वका नवौँ धनी व्यक्ति हुनुहुन्छ । उहाँ एसियाकै सबैभन्दा धनी व्यक्ति पनि हुनुहुन्छ ।

उहाँको पेट्रोकेमिकल्स, र तेल र ग्याँस देखि दूरसञ्चार र खुदरासम्मको सेवाबाट वार्षिक एक खर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी गर्ने रिलायन्स इन्डष्ट्रिज एक विशाल व्यावसायिक समूह हो ।

अम्बानी परिवारको अन्य सम्पत्तिका अलावा मुम्बईमा एन्टिला नामक २७ तले निजी अपार्टमेन्ट छ । यसको मूल्य मुम्बईमा एक अर्ब अमेरिकी डलर छ । यसमा तीनवटा हेलिप्याड, १६० कारको ग्यारेज, निजी सिनेमा हल, स्विमिङ पुल र फिटनेस सेन्टर छन् ।

अम्बानीका आलोचकहरूका अनुसार अम्बानीको कम्पनी सन् १९७० र ८० को दशकमा भारतीय काङ्ग्रेस सरकारको समयमा र सन् २०१४ पछि प्रधानमन्त्री नरेन्द्र मोदीको शासनकालमा राजनीतिक सम्बन्धका कारण फस्टाएको हो । भारतमा आसेपासे पूँजीवाद (क्रोनी क्यापिटलिज्म) ले अम्बानीजस्ता केही कर्पोरेसनलाई फस्टाउन मद्दत गरेको उनीहरूको भनाइ छ ।

अम्बानीले आफ्ना दुई छोरा र छोरीलाई जिम्मेवारी हस्तान्तरण गर्न थाल्नुभएको छ । सबैभन्दा जेठो छोरा आकाश अम्बानी अहिले ‘रिलायन्स जियो’को अध्यक्ष हुनुहुन्छ । उहाँकी छोरी इशाले खुद्रा व्यापारको रेखदेख गर्नुहुन्छ भने कान्छो छोरा अर्थात् भावी दुलहा अनन्तलाई नयाँ ऊर्जा व्यवसायमा सामेल गरिएको छ ।

–दुलाहा र दुलहीको परिचय–

रिलायन्स इन्डस्ट्रिजको वेबसाइटका अनुसार अनन्तले ब्राउन युनिभर्सिटीबाट स्नातक गर्नुभएको छ र समूहको नवीकरणीय र हरित ऊर्जा विस्तारसम्बन्धी जिम्मेवारी सम्हाल्नुभएको छ ।

उहाँले गृहनगर अर्थात् गुजरात राज्यको जामनगरमा तीन हजार एकड (लगभग १२ हजार हेक्टर) पशु उद्धार केन्द्र पनि चलाउनुभएको छ । उनीहरूले गृहनगर जामनगरमा मार्चमा अतिथिहरू भेला गरी असाधारण विवाहपूर्वको पार्टीमा उत्सव मनाएका थिए ।

हुनेवाला बेहुली अर्थात् २९ वर्षीया राधिका मर्चेन्ट औषधि व्यवसायी भिरेन मर्चेन्टकी छोरी हुनुहुन्छ । उहाँ ‘एनकोर हेल्थकेयर’ का मार्केटिङ डाइरेक्टर हुनुहुन्छ ।

सन् २०१७ मा दवै जनाका साथीमार्फत यी दुईको परिचय भएको उहाँले सञ्चारमाध्मलाई बताउनुभएको छ । “त्यो पहिलो भेटले हामीबीच केही विशेष कुरा जन्मायो, र हामीले ‘डेटिङ’ सुरु गरेको धेरै समय भएको छैन,” उहाँले भन्नुभयो ।

–विवाह मिति र कार्यक्रम र अतिथि–

स्थानीय सञ्चारमाध्यमका अनुसार विवाहको मुख्य समारोह जुलाई १२ मा हुनेछ भने जुलाई १४ मा भव्य भोज (रिसेप्शन) हुनेछ । अम्बानीको मुम्बई शहरमा रहेको जियो वर्ल्ड कन्भेन्सन सेन्टर र उनीहरूको पारिवारिक घरको बीचमा सेलिब्रेसन विभाजित हुने अपेक्षा गरिएको छ।

हिन्दू रीतिरिवाजअनुसार दम्पतीको जन्मकुण्डलीको आधारमा मिति तय गरिएको र जुलाई १४ लाई शुभ मानिएको बताइएको छ । साथै परम्परालाई ध्यानमा राख्दै, विवाहको पारम्परिक कार्यक्रम र अनुष्ठानभन्दा सेलिब्रेसन पहिले हुनेछ ।

शुक्रबार भारतीय सामाजिक सञ्जालमा यो जोडीको सङ्गीतको भिडियोले भरिएको थियो, जहाँ दुलहा र दुलहीका परिवारले अतिथिहरूका लागि नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा आलिया भट्ट, रणवीर सिंह, सलमान खान, जस्टिन बीबरलगायत बलिउड स्टारको पनि प्रस्तुति रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

परिवारले गत हप्ता ५० भन्दा बढी विपन्न दम्पतीका लागि सामूहिक विवाहको आयोजना पनि गरेको थियो । असाधारण पार्टीहरू अम्बानीहरूको विशेषता हो र अर्को हप्ताको घटनाहरूले अधिक सेलिब्रिटी, अर्बपति र विश्व नेताहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

गत मार्चमा विवाहपूर्वको पार्टीमा बिल गेट्स, मार्क जुकरबर्ग, क्यानडा र कतारका पूर्व नेताहरुका साथै शाहरुख खान र दीपिका पादुकोणजस्ता बलिउडका ए–लिस्ट स्टारको पनि उपस्थिति थियो । रिहानाको अलावा, अकोन र अन्तर्राष्ट्रिय ख्याति कमाएका एक पञ्जाबी गायक दिलजीत दोसाँझले कोचेलामा प्रदर्शन गरेका थिए ।

सन् २०१८ मा, अम्बानीले छोरीको विवाह गरिदिँदा पनि भव्य उत्सवको कारण पत्रपत्रिकाले निकै महत्त्व दिएका थिए । छोरीको विवाह, विवाहमा सहभागी अतिथि र पप गायक बियोन्सेल साङ्गीतिक प्रस्तुति विवाहपूर्वको उत्सवमा प्रदर्शन गनसएभएको थियो । त्यतिबेला अमेरिकाका पूर्व विदेशमन्त्रीहरू हिलारी क्लिन्टन र जोन केरीले पश्चिमी भारतीय शहर उदयपुरमा भारतीय सेलिब्रेटी र बलिउड स्टारहरूसँगै विवाहमा सहभागी भएका थिए ।

चीनको हार्बिनमा विश्वको सबैभन्दा ठूलो इनडोर आइस स्नो थिम पार्क खुला

चीनको उत्तरी हेइलोङजियाङ प्रान्तमा रहेको ‘आइस सिटी’ को हार्बिन भ्रमण गर्ने पर्यटकहरूलाई अब अन्वेषण गर्ने नयाँ आकर्षण ठाउँ बनेको छ । विश्वको सबैभन्दा ठूलो इनडोर आइस र स्नो थिम पार्कका रूपमा यो पार्कले गिनिज वल्र्ड रेकर्डमा नाम दर्ता गरेको छ । यो २३ हजार ८०० वर्गमिटरको क्षेत्रमा निर्माण भएको हो ।

   पार्क प्रबन्धकका अनुसार सुविधाले रङ्गीन बत्तीहरूद्वारा उज्यालो गरिएको जीवनजस्तै बरफ मूर्तिकलाहरू प्रदर्शन गर्ने नौ विषयगत क्षेत्रहरू समावेश गरिएको छ । थिम पार्कले वर्षभरि आगन्तुकहरूलाई समायोजन गर्न स्थिर तापक्रम राख्छ ।

   यो पार्क आठ लाख १० हजार वर्ग मिटरमा फैलिएको आउटडोर आइस र स्नो थिम पार्कको पूरक हुनेछ । यसले हार्बिनलाई सबै–सिजन रिसोर्ट गन्तव्यमा रूपान्तरण गर्नेछ ।

मुगुमा यार्सालगायत सामान लुट्ने समूहका तीन जना पक्राउ

मुगु, २३ असार : गाउँमा यार्सालगायत सामान लुट्ने समूहका तीन जनालाई हतियारसहित पक्राउ गरिएको छ ।जिल्ला प्रहरी कार्यालय मुगुले आज पत्रकार सम्मेलन गरी लुटपाटमा संलग्न तीन जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा जुम्लाको गुठीचौर गाउँपालिकाका–३ का आक्रोश पर्शे भनिने गणेश भण्डारी, सोही ठाउँका पूर्णप्रसाद भण्डारी र वडा न ४ का कमल थापा रहेका छन् ।

जुम्लाको पातारासी गाउँपालिका–३ महरीगाउँको चनेलेख नजिकको पाटनबाट हतियारसहित प्रहरीले छ जनालाई पक्राउ गरिएकामा प्रारम्भिक अनुसन्धानबाट तीन जनाको संलग्नता देखिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । घटनामा संलग्न अन्य पाँच जना अझै फरार रहेका र उनीहरूको खोजी भइरहेको उहाँले बताउनुभयो ।

गत जेठ १४ गते कार्मारोङ गाउँपालिका–१ डोल्फु गाउँका स्थानीयहरू यार्सागुम्बा सङ्कलन गर्न पाटनतिर गएको मौका छोपी आठ जनाको हतियारधारी समूहले गाउँमा लुटपाट गरेको थियो । लुटेरा समूहले गाउँका २४ घर र एक गुम्बाबाट ३५ तोला सुन, नौ सय ९४ तोलाभन्दा बढी चाँदी, बुद्धको मूर्ति, रिणिमोक्क्ष माइको मूर्ति, ९५ तोला मुगाको माला, यार्सा, मोबाइल र रु ५० लाख २५ हजार नगद लुटेको भनेर स्थानीयले प्रहरीमा उजरी गरेका थिए ।

घटना भएको करिब एक महिनापछि लुटपाटमा संलग्न आठमध्ये तीन जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । उनीहरूको साथबाट कटुवा पेस्तोल एक थान, एसएलआर एक थान, दुई थान म्याग्जिन, २५ राउण्ड गोली, तीन थान ओकेटोके, एक थान बाइनाकुलर, पाँच सेट नेपाल आर्मीको ड्रेसलगायत सामान बरामद गरिएको छ । यस्तै, सुनको रिङ्ग दुई थान, सुनकै माडुली दुई थान ( बिक्री गरेर पश्चात जुम्ला प्रहरीमार्फत बरामद गरेको छ । प्रहरीकानुसार विगत तीन वर्षदेखि जुम्ला, डोल्पा र मुगु जिल्लाका पाटनमा पुगी यस समूहले यार्सा सङ्कलन तथा व्यापारीबाट यार्सागुम्बा लुट्दै आएको थियो ।

भुम्लुमा उत्कृष्ट विद्यार्थीलाई रु एक लाखसहित सम्मान

काभ्रेपलाञ्चोक, २३ असारः भुम्लु गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा दिएकामध्ये उत्कृष्ट एक छात्र र एक छात्रालाई आज जनही रु एक लाखसहित सम्मान गरेको छ । गाउँपालिकाले गत वर्षदेखि यस्तो सम्मान गर्दै आएको हो ।

गाउँपालिका अध्यक्ष प्रेमबहादुर भूजेल र उपाध्यक्ष दावा लामाले वडा नं १ सिपिङस्थित सेतीदेवी माध्यमिक विद्यालयका छात्र करिश गिरी र वडा नं ३ बेखसिम्लेको वनदेवी माविका छात्रा मीरा श्रेष्ठलाई जनही रु एक लाखसहित सम्मान गर्नुभयो । छात्र गिरीले तीन दशमलव ७० र छात्रा श्रेष्ठले तीन दशमलव ३५ अङ्क प्राप्त गरेका थिए । 

गाउँपालिकाभित्रका माध्यमिक विद्यालयतर्फ एसइई परीक्षामा औसत सर्वोत्कृष्ट अङ्क ल्याउने तीन विद्यालयमध्ये पहिलो हुने शारदा माविलाई रु ५० हजार, दास्रो सेतिदेवी माविलाई रु २५ हजार र तेस्रो वनदेवी माविलाई रु १५ हजारले सम्मान गरिएको छ । 

गाउँपालिका अध्यक्ष भूजेलले हाल माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा अध्ययनप्रति उर्जा एवं प्रोत्सहान प्रदान गर्न गाउँपालिकाले एसइईमा उत्कृष्ट छात्रल तथा छात्रालाई सम्मान गर्ने परम्पराको सुरुआत गरिएको बताउनुभयो । गाउँपालिकाका एक सय ९५ विद्यार्थीले २०८० सालको एसइईमा सहभागी भएकामा ५९ विद्यार्थी उत्तीर्ण भएका हुन् । 

गत शनिबार नेपाल विद्यार्थी सङ्घ काभ्रेपलाञ्चोकले जिल्लामा एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई बनेपामा सम्मान गरेको थियो । उनीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई, नेपाली कांग्रेसका जिल्ला सभापति तीर्थ लामा, नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सभापति दुजाङ शेर्पालागतयले सम्मानपत्र प्रदान गर्नुभएको थियो । 

सङ्घले जिल्लामा सर्वोत्कृष्ट नतिजा (चार सिजिपिए) ल्याउने बनेपास्थित लिङ्कन इन्टरनेशनल स्कुलका छात्र स्मृति श्रेष्ठ, तीन दशमलव ९६ सिजिपिए ल्याउने प्रगति प्रभात एकेडेमीका चन्दनी पराजुली, तीन दशमलव ९६ सिजिपिए ल्याउने इनोभेटिभ एकेडेमीका विमोचना ढकाल, तीन दशमलव ९२ सिजिपिए ल्याउने गोल्डेन सिद्धार्थ एकेडेमीका प्रवेश ढकाल, तीन दशमलव ९१ सिजिपिए ल्याउने नेपाल पुलिस स्कुल साँगाका सम्भव अधिकारी र सिद्धार्थ इङलिस सेकेण्डरी स्कुल बनेपाका अभिषेक बञ्जारालाई सम्मान गरेको थियो । 

सामुदायिकतर्फ तीन दशमलव ८६ सिजिपिए ल्याउने भालेश्वर मावि पनौतीको अविना कार्की, सोही विद्यालयबाट तीन दशमलव ८३ सिजिपिए ल्याउने सुशान्त हुमागाई र तीन दशमलव ८३ सिजिपिए ल्याउने प्रभा मावि कात्तिकेदेउरालीका रिया गिरीलाई सम्मान गरियो ।

प्राविधिकधारतर्फ उत्कृष्ट तीन दशमलव ७९ सिजिपिए ल्याउने खाँडादेवी माविको प्रतिजा श्रेष्ठ, तीन दशमलव ६८ सिजिपिए ल्याउने जनक मावि नमोबुद्धका श्रीखण्डराज खनाल, तीन दशमलव ६६ सिजिपिए ल्याउने सोही विद्यालयका राजिव यादव र तीन दशमलव ६० सिजिपिए ल्याउने सोही विद्यालयका कुशल खनाललाई सम्मान गरिएको थियो ।

बाढी पहिरोमा परी ४८ जनाको मृत्यु, ५४ घाइते

काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढी पहिरोलगायतका विपदमा परी हालसम्म ४८ जनाले ज्यान गुमाएका छन् ।

गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी आइतबार दिउँसोसम्म ४८ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी  दिए ।

बाढी, पहिरोमा परी काठमाडौँ एक जना, कोशी प्रदेशमा ११ जना, मधेस प्रदेशमा दुई जना, बागमती प्रदेशमा दुई जना, गण्डकी प्रदेशमा १९ जना, लुम्बिनी प्रदेशमा १० जना, कर्णाली प्रदेशमा दुई जना तथा सुदूरपश्चिम प्रदेशमा एक जनाको मृत्यु भएको छ ।

यसैगरी बाढी पहिरो तथा विपद्का कारण काठमाडौँ तीन जना, कोशी प्रदेशमा ११ जना, मधेस प्रदेशमा चार जना, बागमती प्रदेशमा चार जना, गण्डकी प्रदेशमा १८ जना, लुम्बिनी प्रदेशमा दुई जना, कर्णाली प्रदेशमा ११ जना तथा सुदूरपश्चिम प्रदेशमा एक जना गरी जम्मा ५४ जना घाइते भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्धार गरिएको प्रवक्ता कार्कीले बताए ।

उनका अनुसार बाढी पहिरोमा परी कोशी प्रदेशमा तीन जना, बागमती प्रदेशमा दुई जना, गण्डकी प्रदेशमा एक जना तथा कर्णाली प्रदेशमा एक जना गरी सात जना वेपत्ता भएका छन् ।

यसैगरी बाढीको कारण एक सय २१ घर डुबानमा परेका छन् । जसअन्तर्गत ८२ वटा घर, ४६ वटा गोठ, ४१ वटा पुल, एक विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ प्रहरीले जनाएको छ । बाढी परिहामै परी एक सय ८८ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट एक हजार ५८ घर परिवार विस्थापित भएका छन् ।

भारी वर्षाका कारण आज पनि देशभरकै जनजीवन प्रभावित भएको तथा कोशी नारायणीलगायतका ठूला नदीमा जलसतह उच्च भएको प्रहरीले जनाएको छ । देशैभरी तीनवटै सुरक्षा निकाय हाईअलर्टका साथ प्रभावित क्षेत्रमा परिचालन भई खोज तथा उद्धार जारी राखेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पिर पर्या छ भन्दै आए हिमाल सागर र अस्मिता

काठमाडौं । गायक हिमाल सागर र गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत ‘पिर पर्या छ’ को भिडियो सार्वजनिक भएको छ । गीतमा आर्यन राउतको शब्द, भीम बिसीको संगीत, कुमार रानाको मिक्सिङ तथा मास्टरिङ छ । मारुनी स्टुडियोमा रेकर्ड गरिएको गीतमा सुमन रानाको रेकर्ड, विश्व अधिकारीको एरेन्ज र सन्दिप कार्कीको पाश्र्व संगीत छ ।

गीतको भिडियोमा बिना राउत, आर्यन राउत र अर्जुन भुषाल फिचर्ड छन् । गीतले अन्तरजातीय प्रेममा परेका एक जोडीको पीडालाई प्रस्तुत गरेको छ । आफूले मनपराएकी प्रेमिकालाई माग्न जाँदा युवतीकी दाजुले आफूभन्दा तल्लो जातको भएर प्रेम गर्ने भन्दै गाली गरेर फर्काएपछिको पीडालाई गीतमा देखाइएको छ ।

राहुल बराइलीको निर्देशन रहेको भिडियोमा नरेश ऐर एण्ड टिमको छायांकन र मिन रावलको सम्पादन तथा कलर छ । भिडियो टीका रमदमको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

https://www.youtube.com/watch?v=47Kl0f4BwP0

भरतपुरमा रहेको दियालो बङ्गला आजबाट सबैका लागि खुला,के छ दरबारमा ?

चितवन, २३ असार : भरतपुरमा रहेको दियालो बङ्गला आजबाट सबैका लागि खुला गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले बङ्गला सबै नागरिकले अवलोकन गर्ने गरी उद्घाटन गर्नुभएको हो ।

नेपाल ट्रष्टको मातहतमा रहेको बङ्गला भरतपुर महानगरपालिकाको आग्रहमा खुला गरिएको हो । मन्त्री तामाङले इतिहास जोडिएको बङ्गला सबैका लागि खुला गरिएसँगै शासन व्यवस्थाको अध्ययन गर्न र अवलोकन गर्न चाहाने जो कोहीका लागि महत्वपूर्ण हुने बताउनुभयो । उहाँले भरतपुर भ्रमण वर्ष सन् २०२४ लाई सफल बनाउन यस कार्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । “भरतपुर विमानस्थल विस्तारसँगै रात्रिकालीन उडान हुने र भाडादर घट्ने हुँदा यहाँ आउने पर्यटकको सङ्ख्या बढ्ने विश्वास छ । नेपाल ट्रष्टको स्वामित्वमा रहेको बङ्गला भरतपुर महानगरले सञ्चालन र व्यवस्थापन गर्ने गरी जिम्मा दिइएको छ, यसले पनि पर्यटकको सङ्ख्या वृद्धिमा योगदान गर्नेछ”, मन्त्री तामाङले भन्नुभयो । ट्रष्टले पूर्वराजपरिवारको सम्पत्तिको अध्ययन, अवलोकन एवं आवश्यकताअनुसार प्रयोग गर्दै आएको उहाँले बताउनुभयो ।

महानगर प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्षको अवसर पारी ट्रष्टसँगको सहमतिमा महानगरपालिकाले बङ्गला सबैका लागि खुला गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “वषौँदेखि आमनागरिकले के होला भनेर उत्सुकताका साथ हेरिरहेको दरबार अब प्रत्यक्ष हेर्न पाउने छन् । यसले आन्तरिक र बाह्य पर्यटक बढाउने आशा छ ।” अब कार्यविधि बनाएर सञ्चालन बङ्गलालाई व्यवस्थित गर्ने भन्दै महानगर प्रमुख दाहालले कार्यविधि नबनुन्जेल अवलोकन निःशुल्क गरिने बताउनुभयो । भरतपुर महानगरपालिकाभित्र रहेका सातवटा मुख्य गन्तव्य रहे पनि अन्य गन्तव्यको खोजी गर्ने क्रममा दियालो बङ्गला सञ्चालनमा ल्याउन सकिएको उहाँको भनाइ छ ।

उठेको राजस्वको ६० प्रतिशत नेपाल ट्रष्ट र ४० प्रतिशत भरतपुर महानगरपालिकाले पाउने गरी महानगरपालिका र ट्रष्टबीचमा सञ्चालनसम्बन्धी सम्झौता भइसकेको थियो । ट्रष्टले ट्रष्टले रु ९२ लाखमा मर्मत सम्भार गरी महानगरलाई जिम्मा दिएको हो ।

भरतपुर महानगरपालिका–१ मा रहेको बङ्गलामा तत्कालीन राजपरिवारले जाडोयाममा धेरै समय बिताउने गरेका थिए । ऐतिहासिक महत्व बोकेको दरबारभित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ, जसको भित्तामा पूर्वराजारानी महेन्द्र र वीरेन्द्रको तस्बिर छ । भ¥याङमा विसं २०२६ मा राजा महेन्द्रले शिकार गरेको घडियाल गोही सजाएर राखिएको छ । भित्तामा बाघको टाउँको जस्ताको तस्तै अवस्थामा छ ।

भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले राजपरिवारको इतिहाससँग जोडिएको ठाउँ भएर पनि आमनागरिकको पहुँचभन्दा बाहिर रहेकाले महानगरले सबैका लागि खुला गर्न पहल गरेको बताउनुभयो । उहाँका अनुसार ५७ बिघा १३ कठ्ठा सात धुरमा फैलिएको यो ठाउँ शान्त र रमणीय छ । बङ्गलाको पश्चिमतर्फ रहेको नारायणी नदीले दरबार क्षेत्रको सौन्दर्य बढाएको छ ।

ट्रष्ट सञ्चालक समितिका सदस्य सुनिता गौतमले पर्यटन प्रवर्द्धनका लागि दियालो बङ्गला उपयुक्त स्थान रहेको बताउनुभयो । राजपरिवारको इतिहास बुझ्न यो बङ्गला महत्वपूर्ण रहेको भन्दै उहाँले ट्रष्टले यसअघि पोखराको रत्नमन्दिरसमेत सबैका लागि खुला गरिसकेको जानकारी दिनुभयो । मकवानपुरमा रहेको कान्ती इश्वरी गृहसमेत संञ्चालनमा ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

होटल व्यवसायी महासङ्घका अध्यक्ष दिनेशकुमार चुकेले पर्यटन प्रवर्द्धनका लागि स्थानीय र नीजि क्षेत्रको सहकार्यमा भएको काम उदाहरणीय रहेको बताउनुभयो । सरकारले निजी क्षेत्रसँग समन्वय गरेर काम गर्न सके पर्यटन क्षेत्रको विकासमा उल्लेख्य प्रगति हासिल गर्न सकिने उहाँको भनाइ छ ।

शिथिल भएको मुलुकको अर्थतन्त्रलाई गति दिन नयाँ गठबन्धन: अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रलाई गति दिन नेपाली कांग्रेससँग नयाँ गठबन्धनको सरकार बनाउन लागिएको बताएका छन् ।  


आइतबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले रोकिएका विकास निर्माणलाई अगाडि बढाउन र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न कांग्रेससँग मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउन लागिएको बताएका हुन् ।


उनले मुलुकको सङ्कट समाधानका लागि कांग्रेसँग मिलेर सरकार बनाउन लागिएको बताए । उनले एमालेले कांग्रेससँगै मिलेर २०४६ सालको आन्दोलन र २०६२/०६३ सालको जनआन्दोलन गरेको स्मरण गरे । 


पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले अल्पमतमा परिसकेको वर्तमान पुष्पकमल दाहाल प्रचण्डल नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न आग्रह गर्ने निर्णय गरिएको बताए ।


उनले प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिएर राष्ट्रिय सरकारको प्रक्रियाालाई मार्गप्रशस्त गर्न आह्वान समेत गरे । प्रधानमन्त्री प्रचण्डले यही असार २८ गते विश्वासको मत लिँदैछन् ।

बाढीबाट प्रभावित राष्ट्रिय राजमार्ग तथा सडक तत्काल सञ्चालन गर्न माग

काठमाडौँ, २३ असार : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले बाढीबाट प्रभावित राजमार्ग तथा सडक तत्काल सञ्चालन गर्न सरकारसँग माग गरेको छ ।महासङ्घका महासचिव डेकनाथ गौतमले आज विज्ञप्ति जारी गरी अविरल वर्षाका कारण गएको बाढीपहिराबाट राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग र ग्रामीण सडकमा क्षति पुगेकाले तत्काल मर्मत तथा वैकल्पिक व्यवस्था गरी सडक खुलाउन सरकारसँग माग गर्नुभएको हो ।

  “अविरल वर्षाका कारण बाढीपहिराबाट ठूलो जनधनको क्षति भएको छ, कयौँ राष्ट्रिय राजमार्ग तथा ग्रामीण सडक बन्द भएका छन्, जसका कारण यात्रुहरू विचल्लीमा परेका छन् । मर्मत तथा डाइभर्सन बनाएर सडक सञ्चालन गर्ने वातावरण बनाउनुपर्छ”, महासचिव गौतमले भन्नुभयो ।

  महासङ्घले देशभरका जुनसुकै स्थानबाट सेवा सञ्चालन गर्दा आफ्नो गन्तव्य स्थानसम्म पुग्ने बाटोको अवस्थाबारे पूर्णरुपमा जानकारी लिएर मात्र यात्रा गर्न र सवारी साधन सञ्चालनका लागि अपिल गरेको छ ।      बन्द भएका सडक खुलाउने कार्यमा सुरक्षाकर्मी परिचालन भइसकेकाले सुरक्षाकर्मीसँग सहकार्य गरेर यातायात सञ्चालन गर्नसमेत सबै व्यवसायीलाई महासङ्घले अनुरोध गरेको छ ।

कारको डिकीमा लुकाईछिपाई राखेको अवस्थामा चौध किलो चाँदीका गहनासहित तीन पक्राउ

काठमाडौँ, २३ असारः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले १४ दशमलव २५० किलो चाँदीको गरगहनासहित तीन जनालाई पक्राउ गरेको छ ।
चाँदीका अवैध गरगहना भण्डारण र बिक्री वितरणमा संलग्न भारतीय नागरिक २२ वर्षीय अमनकुमार, २६ वर्षीय बिकीकुमार साह तथा पर्साको लिपर्नीबिर्ता–६ का ३४ वर्षीय श्रवणप्रसाद कानुनलाई पक्राउ गरिएको सिआइबीका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

प्रहरीले काठमाडौँको सानो गौचरनस्थित अटो सर्भिसेज प्रालिको अटो वर्कशपभित्र रोकी राखेको अवस्थामा भारतीय नम्बरको बिआर ०६ यु ९०५३ नम्बरको कार चेक गर्दा उक्त कारको डिकीमा लुकाईछिपाई राखेको अवस्थामा सो परिणामको चाँदीको गरगहना बरामद गरेको थियो ।

सिआइबीले अवैध चाँदीका गहना र सोको भण्डारण र बिक्रीवितरणमा संलग्नलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाएको छ ।

ललितपुरबाट काठमाडौँतर्फ आउँदै गरेको सो भारतीय नम्बरको कारमा अवैध रुपमा चाँदीको गरगहना ल्याई अवैध रुपमा काठमाडौँका विभिन्न स्थानमा बिक्री वितरण गर्न लागेको भन्ने सूचनाका आधारमा सिआइबीले यही असार २१ गते उनीहरुलाई पक्राउ गरेको थियो ।

१४ घण्टादेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध, यात्रु अलपत्र

ढोरपाटन (बागलुङ), २३ असारः अविरल वर्षाका १४ घण्टादेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझैसम्म खुल्न सकेको छैन । बागलुङको गलकोट नगरपालिका–११ रिघा फेदीमा आइतबार करिब १ बजे पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा ठूलो सङ्ख्यामा यात्रु अलपत्र परेका छन् ।

सडक अवरुद्धहुँदा काठमाडौँदेखि बागलुङको बुर्तिवाङ, रुकुमपूर्व, जाजरकोट, रुकुमपश्चिमलगायतका स्थानमा जाने रात्रि बससहित दर्जनौँ सवारी साधान ठप्प भएको इलाका प्रहरी कार्यालय गलकोटका प्रमुख प्रहरी निरीक्षक थम्मन रानाले जानकारी दिनुभयो ।

बिहानदेखि नै सडक खुलाउने प्रयास गरे पनि अहिलेसम्म सञ्चालनमा ल्याउन नसकेको रानाले बताउनुभयो । पहिरो अहिले पनि निरन्तर खसिरहेको हुँदा सडक सञ्चालनमा समस्या भएको छ । भारी वर्षा भएको हुँदा यात्रु गाडीबाट बाहिर निस्कनसमेत समस्या भएको प्रहरी निरीक्षक रानाको भनाइ छ ।

रानाले भन्नुभयो, “अहिले निकै ठूलो पानी परिरहेको छ, माथिबाट पहिरो पनि निरन्तर खसेको हुँदा खुलाउन समस्या भएको छ, यद्यपि मेसिन लगाएर काम गरी रहेकाछौँ, रात्रिबसहरु सडकमा रोकिएका छन्, रुकुमपश्चिम, जाजरकोटलगायतका ठाउँमा जाने यात्रुहरु छन्, अन्य धेरै गाडीहरु पनि पहिराले गर्दा रोकिएका छन् ।”

बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा कालिगण्डकी करिडोरसमेत अवरुद्ध भएको छ । जैमिनी नगरपालिका–१ जिम्रिघाटस्थित पहिराको कारण कालिगण्डकी करिडोर पूर्णरुपमा अवरोध रहेको भन्दै सोही पालिकाको वडा नम्बर ८ रादीखोलामा पनि ठूलो पहिरा जाँदा करिडोर पूर्ण रुपमा ठप्प भएको हो ।

डडेल्धुरामा पहिरामा परी एकको मृत्यु, राजमार्ग अवरुद्ध, विद्यालय बन्द

डडेल्धुरा २३, असारः डडेल्धुरामा पहिरामा परी एक जनाको मृत्यु भएको छ । माथिबाट खसेको पहिराको ढुङ्गा लाग्दा परशुराम नगरपालिका–३ बुङाका ५६ वर्षीय शिक्षक नवराज पनेरुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार शनिबार बेलुका पहिराबाट खसेको ढुङ्गा लाग्दा पनेरुको मृत्यु भएको हो ।

लगातारको झरीले खानेपानीको मुहानमा क्षति पुग्दा धारामा पानी बन्द भएको थियो । मुहान सफा गर्ने क्रममा पहिराबाट खसेको ढुङ्गा लाग्दा शिक्षक पनेरुको घटनास्थलमा नै मृत्यु भएको छ । परशुराम वडा नं. ३ कै भातगाडा भनिने स्थानमा पानीको मुहान बनाउन गएका बेला माथिबाट खसेको पहिराको ढुङ्गा लाग्दा पनेरुको मृत्यु भएको प्रहरी नायब उपरक्षक कार्कीले बताउनुभयो । 

तीन दिनदेखि लगातार वर्षाका कारण तराई पहाड जोड्ने भीमदत्त राजमार्ग, डडेल्धुरा–डोटी जोड्ने सेती राजमार्ग र बुडर–जोगबुडा जोड्न सडकमा क्षति भएको छ । भीमदत्त राजमार्गको गन्यापधुरा गाउँपालिका–१, शाहुखर्क, अमरगढी नगरपालिका–६, भालुमारेमा पहिरो खस्दा अवरुद्ध भएको हो । शाहुखर्कमा आज बिहान पहिरो खसेको थियो भने भालुमारेमा शनिबार राति नै पहिरो खसेको जनाइएको छ । डोजरले पहिरो हटाएपछि आज दिउँसोबाट राजमार्ग सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज बिहान सेती राजमार्गको रडुवामा पहिरो खस्दा केही समय राजमार्ग अवरुद्ध भएको थियो । पहिरो हटाएपछि सेती राजमार्ग पनि सञ्चालनमा आएको छ । तर शनिबारदेखि अवरुद्ध भएको बुडर–जोगबुडा सडक अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । सडकखण्डको सुनखोला नजिक माथिबाट पहिरो खसेको परशुराम नगरपालिकाका मेयर भरत जोशीले जनाकारी दिनुभयो । शनिबार राति खसेको पहिरो हटाउन सकिएको छैन ।

शुक्रबारदेखि लगातरको झरीले जनजीवन प्रभावित भएको छ । जिल्लाका भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिकाले एक सूचना जारी गरी विद्यालय बन्द गरिएको छ । बाढीपहिराको जोखिमलाई मध्यनजर गरी विद्यालय बन्द गरिएको अजयमेरुका प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र ओझाले जानकारी दिनुभयो ।

विशेष कामबाहेक स्थानीय घरबाहिर निस्कन सकिरहेका छैनन् । खोलामा पानीको सतह बढ्दै गएको छ । यद्यपि डडेल्धुरामा खोला नालाले अहिलेसम्म क्षति नपुगाएको उहाँले जानकारी दिनुभयो । ग्रामीण कच्ची सडक पूर्णरुपमा बन्द रहेको छ ।

किसानले लगाएको मकैवालीमा वर्षाले ठूलो क्षति भएको छ । अविरल वर्षासँगै आएको हावाहुरीले मकैवाली नष्ट गरेको किसान बताउँछन् । किसानले लगाएको मकै सबै ढलेको छ । पानी पर्दा रोपाइँ गर्न सहज भए पनि मकैलगायत अन्य खेतीपातीमा भन क्षति पुगेको छ ।

महाकाली लोकमार्गको खलङ्गा–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएपछि यात्रु बाटोमै अलपत्र

खलङ्गा (दार्चुला), २३ असार : बिहीबारदेखि लगातार परेको वर्षाका कारण महाकाली लोकमार्गको खलङ्गा–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ । सडक बन्द भएपछि सयौँ यात्रु बाटोमै अलपत्र परेका छन् । खलङ्गा–गोकुलेश्वर सडकखण्डको पनेबाजदेखि ऐरिछानासम्म ठाउँ ठाउँमा पहिरो खसेको छ ।

पहिराको कारण आइतबार जिल्लाबाट बाहिरिने र जिल्ला भित्रिने यातायातका साधन बाटोमै थन्किएका छन् । दार्चुलाबाट महेन्द्रनगर, धनगढी, काठमाडौँलगायतका लागि छुटेका सवारीसाधन बाटोमै रोकिएका छन् । लोकमार्गमा छोटो दूरीका सवारीसाधनसमेत सञ्चालन हुन नसकेका सडक विभागका सुपरभाइजर राजेन्द्रसिंह धामीले जानकारी दिनुभयो ।

आज बिहानैदेखि सडक डिभिजन कार्यालय पाटनले पहिरो पन्छाउने काम गरिरहेको छ । लगातारको वर्षाका कारण लोकमार्ग खुलाउन समस्या भएको उहाँले बताउनुभयो । दार्चुलामा चार दिनदेखि पानी परिरहेको छ ।

भारतले धौलीगङ्गा बाँध खोल्दै, सतर्कता अपनाउन आग्रह

दार्चुला – भारतले उत्तराखण्ड प्रान्तको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोल्न लागेको जनाएको छ । यही असार २९ गतेदेखि असार ३० गतेसम्म उक्त बाँधका ढोका खोलिने एनएचपीसी लिमिटेड र धौलिगङ्गा आयोजनाले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पठाएको पत्रमा उल्लेख छ ।

बाँधको ढोका खोलेका बेला महाकाली नदीको जलस्तर बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिनुभयो । सरसफाइका लागि बाँधको ढोका खोल्न लागिएको उहाँले बताउनुभयो । बाँध खोलेको बेला नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।

दार्चुलादेखि बैतडी, डडेल्धुरा र कञ्चनपुर भएर बग्ने महाकालीमा पानीको बहाव बढ्न सक्ने भएका कारण नदी छेउछाउ नजान र सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ । यसअघि यही सार १५ गते पनि उक्त बाँधको ढोका खोलिएका थिए ।

एकीकृत समाजवादीको बैठक बस्दै

काठमाडौँ, २३ असार : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक बस्दै छ । उक्त बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने तय भएको छ ।

पार्टीको बाँकी पदाधिकारी व्यवस्थापन गर्न कार्यविधि तथा मापदण्ड बनाएर कमिटीलाई पूर्णता दिने, पदाधिकारी चयनलगायत विषयमा निर्णय गरिने सो पार्टीका नेता सोमप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

शनिबार बसेको बैठकले महाधिवेशनबाट पार्टीलाई थप ऊर्जा प्राप्त भएको निष्कर्ष निकालेको थियो । केही नेतालाई प्रदेश प्रमुखको जिम्मेवारी तोक्न खोज्दा विवाद भएपछि बैठक स्थगन गरिएको थियो । भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर नेताहरूको क्षमताका आधारमा आवश्यक पदमा मनोनित गरिने विषयमा समेत आजको बैठकमा छलफल गरिने बताइएको छ ।

शुक्रबार सम्पन्न महाधिवेशनले अध्यक्ष, सम्मानित नेता, महासचिव सहित ९३ केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेको थियो । पार्टीमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएको छ । हालै सम्पन्न महाधिवेशनले पार्टी अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरेको थियो ।

महाकालीमा पानीको बहाव बढ्यो, सवारीसाधन चलाउन बन्देज

महेन्द्रनगर (कञ्चनपुर), २३ असार : महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज (बनबासा पुल) मा सवारीसाधन चलाउन बन्देज लगाइएको छ ।महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि पुलमा चारपाङ्ग्रे ठूला सवारीसाधन चलाउन रोक लगाइएको हो । साना सवारीसाधन र पैदलयात्रुलाई भने ओहोरदोहोर गर्न दिइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक राधाकृष्ण नाथले जानकारी दिनुभयो । आज बिहान ७ बजे महाकाली नदीमा गरिएको मापनअनुसार अहिले पानीको बहाव एक लाख ६४ हजार ६ सय ६० क्युसेक रहेको छ ।

“शनिबार बेलुकी ४ बजेदेखि नै पानीको बहाव बढेपछि बनबासा पुलमा ठूला सवारीसाधन चलाउन रोक लगाइएको छ”, उहाँले भन्नुभयो । शनिबार साझँ महाकालीमा एक लाख पाँच हजार क्युसेक पानी मापन गरिएको थियो । बनबासा पुलमा ठूला सवारीसाधन चलाउन रोक लगाउपछि पश्चिमीनाका गड्डाचौकी हुँदै नेपाल–भारत आवतजावत गर्ने यात्रु मर्कामा परेका छन् ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले सूचना जारी गर्दै यहाँका नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गर्नुभएको छ । केन्द्रीय विपद् व्यवस्थापन महाशाखाका अनुसार कञ्चनपुर र कैलालीमा भारी वर्षा हुने सम्भावना छ । यहाँ शनिबार बिहानैदेखि लगातार वर्षा भइरहेको छ ।

चार ठाउँमा पहिरो गएपछि कालीगण्डकी करिडोर ठप्प

गलकोट (बागलुङ), २३ असार : शनिबार बिहानैदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङखण्ड अझै खुल्न सकेको छैन । लगातारको वर्षाका कारण करिडोरको चार ठाउँमा पहिरो खसेको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवका अनुसार बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडक नै भत्काएको छ । वर्षा नरोकिएसम्म सडक सञ्चालन गर्न नसकिने उहाँको भनाइ छ ।यस्तै, शनिबार बिहानैदेखि करिडोरको जैमिनी नगरपालिका–५ विनामारे, जैमिनी नगरपालिका–१ ठेउले खोला र जिमिरघाटमा पहिरोका कारण सडक पूर्ण रूपमा बन्द छ ।

रुख ढलेर पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्ड अवरुद्ध , सडक खुल्न समय लाग्ने

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्ने खण्डमा रुख ढलेर सडक अवरुद्ध भएको छ । दाउन्ने पहाडको विश्वकर्मा मन्दिर नजिक माथिबाट रुख ढलेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले अवरुद्ध सडक खुल्न समय लाग्ने बताउनुभयो । “सडकमा ढलेको रुख हटाउन एक्साभेटरसहितको टिम घटनास्थलतर्फ जाँदैछ”, उहाँले भन्नुभयो, “रुख पूरै हटाएर सडक सञ्चालन गर्न समय लाग्छ”, रुख ढलेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको उहाँले बताउनुभयो ।

नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिए

नवलपुर (नवलपरासी), २३ असार- नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक बाँध (ब्यारेज)का सबै ढोका खोलिएका हुन् ।

गण्डक ब्यारेजमा निर्माण गरिएका ढोका बन्द हुँदा जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ बगुबन क्षेत्र डुबानमा परेपछि ब्यारेजका ३६ वटै ढोका खुला गरिएको गण्डक ब्यारेजका सम्पर्क तथा भूआर्जन अधिकृत काशिनाथ हरिजनले जानकारी दिनुभयो । गण्डक क्षेत्रमा पानीको बहाव निरन्तर बढ्दै गएपछि ब्यारेजका सबै ढोका खोलिएको उहाँले बताउनुभयो । आज बिहान ७ः०० बजे गण्डक ब्यारेजमा पानीको बहाव चार लाख ४० हजार सात सय ५० क्युविक सेन्टिमिटर (क्युसेक) रहेको हरिजनले बताउनुभयो ।

नदीमा शनिबार दिउँसोबाट पानीको बहाव निरन्तर बढिरहेको उहाँले जानकारी दिनुभयो । हरिजनका अनुसार शनिबार दिउँसो १२ बजे नदीमा पानीको बहाव एक लाख ६१ हजार क्युसेक थियो । त्यसपछि निरन्तर पानीको बहाब बढ्दो क्रममा रहेको उहाँले बताउनुभयो । गण्डक ब्यारेजमा बाँध लगाएर भारतले सिँचाइका लागि नहरमार्फत बिहार र उत्तर प्रदेशमा पानी लगेको छ ।

गण्डक ब्यारेजका सबै ढोका खोलिएपछि सिँचाइका लागि लगिएको नहरको ढोका बन्द गरिएको हरिजनले जानकारी दिनुभयो । गण्डक ब्यारेज निर्माण गर्ने बेलामा ब्यारेजको क्षमता नौ लाख क्युसेक भए पनि अहिले ब्यारेज पुरानो भएको कारण पानीको बहाव छ लाख क्युसेकसम्म धान्न सक्ने बताइएको छ । ब्यारेजमा पानीको बहाव निरन्तर बढ्दो क्रममा छ ।

कर्णालीमा हवाई तथा सडक यातायात अवरुद्ध,यात्रु विमानस्थलमै रोकिए

काँक्रेविहार (सुर्खेत), २३ असार : मौसममा खराबी आएपछि कर्णालीका मुगु, जुम्ला, डोल्पा र हुम्लामा हवाईसेवा ठप्प छ । यहाँ पाँच दिनदेखि जहाजले उडान भर्न सकेको छैन । यस्तै कर्णाली करिडोर र भेरी करिडोर पहिरोका कारण शनिबार बिहानैदेखि अवरुद्ध छ । सल्यान हुँदै रुकुमपश्चिम आउने यातायात सेवासमेत ठप्प छ । निरन्तर पानी परेपछि मुगुका लागि बाँकेको नेपालगञ्जबाट उडान हुनसकेको छैन । वर्षाका कारण नेपालगञ्जबाट हवाई उडान हुन नसकेको रारा हवाई नागरिक उड्डयन प्राधिकरणका प्रमुख श्रीकृष्ण रिजालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “उडान बन्द भएपछि मुगुबाट नेपालगञ्ज, सुर्खेत, काठमाडौँतर्फ जाने यात्रु तथा नेपालगञ्ज र सुर्खेतबाट मुगु आउने यात्रु विमानस्थलमै रोकिएका छन् ।” मौसममा सुधार नआएसम्म हवाई उडान हुन नसक्ने प्रमुख रिमालले बताउनुभयो । हवाईसेवा अवरुद्ध भएपछि यात्रु जोखिम मोलेर कर्णाली राजमार्गबाट आउजाउ गर्न बाध्य छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख सन्तोष अधिकारीका अनुसार त्यहाँ पाँच दिनदेखि हवाईसेवा अवरुद्ध छ ।

हुम्लामा पनि वर्षाले हवाईसेवा अवरुद्ध छ । खराब मौसमका कारण बुधबारदेखि हवाईसेवा अवरुद्ध भएको नागरिक हवाई उड्डयन प्राधिकरण सिमकोटका प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । हवाईसेवा अवरुद्ध भएपछि यात्रु मर्कामा परेका छन् । हुम्ला र मुगुमा नेपालगञ्जबाट तारा, समिट र सीता एयरलाइन्सले उडान भर्दै आएका छन् ।

यसैगरी पहिरो खसेपछि कर्णाली राजमार्गको कालिकोट सडकखण्ड बन्द भएको छ । कालिकोटको हुल्म बजार, गगनेखोला, झाम्लाखोलालगायत ठाउँमा पहिराले सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि सुर्खेत–जुम्लाका लागि छुटेका सवारीसाधन बीच बाटोमै रोकिएका छन् । भेरी करिडोरअन्तर्गत जाजरकोटको रिम्ना, नलगाड र राप्ती राजमार्गको सल्यान क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध छ । यस्तै, अमेलिया–तुलसीपुर–शीतलपाटी–थारमारे–मुसिकोट सल्यानमा अवरुद्ध छ । ग्रामीण क्षेत्रमा सञ्चार सेवासमेत अवरुद्ध भएको छ ।

रुकुमपूर्व र पश्चिमलाई मुख्य राजमार्ग र सहरसँग जोड्ने राप्ती लोकमार्ग र मध्यपहाडी राजमार्गको यात्रा बर्खायाममा जोखिपूर्ण हुने गरेको छ । तुलनात्मक रूपमा राप्ती लोकमार्गभन्दा मध्यपहाडी राजमार्ग यतिबेला जोखियुक्त छ । निर्माणको अन्तिम चरणका रहेको यो मार्गअन्तर्गत रुकुम पूर्वपश्चिम खण्डका दर्जनौँ ठाउँमा पहिरो खस्ने, सडक भासिने र खहरे बढेर आवागमन अवरुद्ध हुने गरेको मध्यपहाडी राजमार्ग आयोजना कार्यालय दैलेखका इन्जिनियर नवीन खरेलले जानकारी दिनुभयो ।

पूर्वको बागलुङ सिमाना आसपास, धौलापहिरा, रानीकोट र खोपिराचार आसपास तथा पश्चिमको किटेनी भिर, खरखरे, सिम्ली आसपास, चाइनागर आसपास र कालेखोलालगायत ठाउँमा पहिरोले जोखिम बढेको इन्जिनियर खरेलले बताउनुभयो ।

त्यस्तै रुकुमपूर्व जिल्ला प्रशासन कार्यालयले मध्यपहाडी राजमार्गमा अत्यावश्यकबाहेक यात्रा नगर्न सूचना जारी गरेको छ । प्रजिअ माधवप्रसाद शर्माले मध्यपहाडी राजमार्गको यस खण्डमा यात्रा गर्दा सुरक्षालाई ध्यान दिन र अत्यावश्यकबाहेक यात्रा नगर्न अनुरोध गरिएको बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना,सतर्कता अपाउन अनुरोध

सुदूरपश्चिम-: सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा सनिबार रातिदेखि आजसम्म अति भारी वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपाउन अनुरोध गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख सञ्जयकुमार साहले  सनिबार रातिदेखि भोलिसम्म सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा अति भारी वर्षा र  थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन अनुरोध गरिएको बताउनुभयो। । 

प्रदेशमा पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा डडेलधुराको साहुखर्क क्षेत्रमा ८२ दशमलव आठ मिलिमिटर (मिमी) र कञ्चनपुरको बेलौरी क्षेत्रमा ५५ दशमलव ६ मिमी वर्षाको मापन भएको छ । प्रदेशमा शुक्रबार रातिदेखि निरन्तर वर्षा भइरहेको छ । साहले भन्नुभयो, “वर्षासँगै कैलाली र कञ्चनपुरका अधिकांश नदीनालामा बाढी आउन सक्ने पूर्वानुमान गरिएकाले सबैलाई सतर्कता अपनाउन आग्रह छ ।”  

महाकाली नदीको जलसतह बढेर शनिबार साँझ पाँच दशमलव ६१ मिटर पुगेको छ । यस नदीमा पानीको बहाव पाँच दशमलव ८० पुगेमा चेतावनी तह नजिक पुगेको मानिन्छ ।   बझाङको चैनपुरस्थित सेती नदीमा उर्लिएर आएको बाढीले नदी आसपासका क्षेत्रमा जोखिम बढेको छ । साँझसम्म सेती नदीमा तीन दशमलव ५५ मिटर जलसतह पुगेको जनाइएको छ । 

कैलाली र बर्दियाको सीमा हुँदै बग्ने कर्णाली नदीमा साँझसम्म जलसतह सात दशमलव शून्य दुई मिटर मापन गरिएको छ । पहाडी क्षेत्रमा वर्षा भएमा नदीको सतह बढ्न गई तटीय क्षेत्रमा जोखिम हुनसक्ने देखिएको छ ।

कैलाली र कञ्चनपुरका दोदा, सुनवरा, मछेली, कान्द्रा, पथरैया, काँडा, खुटिया, शिवगङ्गा, मोहनालगायतका नदीमा बाढी आउनसक्ने र यसबाट यी जिल्लाका होचो स्थानमा रहेका बस्ती जोखिममा पर्ने साहले बताउनुभयो ।
निरन्तरको वर्षासँगै प्रदेशको पहाडी क्षेत्रका कतिपय राजमार्गका विभिन्न खण्डमा पहिरो खस्दा आवागमन अवरुद्ध भएको छ । 

समुदायलाई सचेत गराउन र आवश्यक तयारी गर्न कैलालीसहितका जिल्लामा पूर्वसूचना प्रणाली कार्यान्वयनमा रहेको छ । बाढी, डुबान, कटानको सम्भावित विपद्बारेको पूर्वसूचना प्रवाह गर्न नदीमा पानीको बहाव मापन गर्न परिचालित हुनेगरेका ‘गेज रिडर’ले तल्लो तटीय क्षेत्रका बासिन्दाका साथै जिल्ला प्रशासन कार्यालयलगायत निकायलाई सूचना गर्ने गर्दछन् । अधिकांश नदी किनारमा पानीको बहाव मापन गर्न ‘गेजमिटर’ जडान गरिएका छन् ।

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसदीय दलको बैठक आह्वान गरेको छ । बैठक आज बिहान १० बजे संसद् भवनमा बस्ने एमालेका प्रमुख सचेतक महेश वर्तौलाले बताए।

नेपाली कांग्रेस र नेकपा एमालेबीच हालै सत्तासाझेदारी गर्ने सम्बन्धमा समझदारी भएअनुरुप भावी योजनाबारे छलफल गर्न बैठक आह्वान गरिएको उहाँले बताउनुभयो ।

पृथ्वीराजमार्ग अवरुद्व, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

तनहुँ- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी–७ शेराटारमा रहेको अस्थायी कल्भर्ड बाढीले बगाएपछि सवारी आवतजावत पूर्ण रूपमा बन्द भएको छ । जिल्ला प्रशासन कार्यालयले आज प्रेस विज्ञप्ति जारी गर्दै यस राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधानले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण म्याग्दे–६ र शुक्लागण्डकी–७ जोड्ने फेदीखोलामा आएको बाढीले कल्भर्ड बगाएपछि समस्या पैदा भएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो । राजमार्ग हुँदै यात्रा गर्ने सवारी चालक र सर्वसाधारणलाई वैकल्पिक मार्गको प्रयोग गर्न र सतर्कता अपनाउन अनुरोध गरिएको हो ।

सडक डिभिजन कार्यालयको समन्वयमा आइतबार पुनः कल्र्भट राखेर सवारीसाधान सञ्चालन गर्ने योजना रहेको तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कल्भर्ड बगाएपछि राजमार्गमा सयौं सवारीसाधान रोकिँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको थियो ।” वैकल्पिक मार्गका रूपमा रहेको तनहुँको सदरमुकाम दमौलीबाट लमजुङको दुईपिप्ले हुँदै पोखरा–काठमाडौँलगायत सहरमा आवतजावत गर्न सकिने उहाँले बताउनुभयो ।

बाढी पसेपछि बस्तीबाट ५६ जनाको उद्धार, अस्पताल जलमग्न

भक्तपु-भीषण वर्षाका कारण भक्तपुरको दिव्यश्वरी प्लानिङ क्षेत्रमा फसेका ३० पुरुष, २० महिला र छ बालबालिका गरी ५६ जनाको उद्धार गरिएको छ । वर्षाका कारण मनोहरा खोलामा आएको बाढी बस्तीभित्र पसेपछि दिव्यश्वरी प्लानिङ क्षेत्रमा रहेका १८ वटा टहरामा बसोबास गरिरहेका ५६ जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो ।

यसैगरी हनुमन्ते खोलामा आएको बाढीले मध्यपुरथिमि–३ स्थित आश्विन आचार्यको जस्ताको टहराको गाईगोठमा पानी पसेपछि प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरी टोलीले दुईवटा गाई उद्धार गरेको छ ।

चाँगुनरायण नगरपालिका–४ खनालचोकस्थित प्रगती टोलमा रिद्धिसिद्धि बसपार्क र खहरेबाट बगेको पानीले टोलमा डुबान भएकोमा प्रहरी प्रभाग चाँगुको प्रहरी टोली, स्थानीय जनप्रतिनिधि र स्थानीयको सहयोगमा पानी कटाई क्षति हुनबाट जोगाएको प्रनाउ कार्कीले जानकारी दिनुभयो ।

त्यसैगरी भक्तपुरको सिद्धि स्मृति अस्पतालभित्र पानी पसेर अस्पताल जलमग्न हुँदा क्षति पुर्याएको छ । अस्पतालको आकस्मिक कक्ष, फार्मेसी, ओपिडी, अल्ट्रासाउण्ड, एक्सरे कक्षमा क्षति पुर्याएको र बिरामीलाई माथिल्लो तलामा सारिएको छ ।

त्यसैगरी शान्ति निकेतन माध्यमिक विद्यालय सूर्यविनायक र त्यस आसपासका बस्ती डुबानमा परेका छन् । सूर्यविनायक नगरपालिका‐५ गडगडे खोलामा आएको बाढी बस्तीभित्र पसेपछि यहाँका करिब ५० घर डुबानमा परेको गैरसरकारी संस्था महासङ्घ भक्तपुरकी अध्यक्ष एवं स्थानीयवासी अनिता पाण्डेले जानकारी दिनुभयो । त्यस क्षेत्रका बासिन्दाका घरको भुइँतलामा रहेको सामानमा क्षति पुगेको र आवातजावतमा समेत दिनभर अवरोध रहेको बताउनुभयो ।

हनुमन्ते खोलामा आएको बाढी राममन्दिर, बाराही स्थानका मन्दिर, विद्यालय र नदी किनाराका बस्ती, मध्यपुरथिमि क्षेत्रको राधेराधे, सूर्यविनायकको बालकोट, चारदोबाटो, मनोहरा खोला किनारामा रहेको जडीबुटीस्थित सुकुम्बासी बस्तीलगायत क्षेत्र डुबानमा परेको थियो ।

राष्ट्रिय समस्या समाधानमा एकीकृत समाजवादीले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ : अध्यक्ष नेपाल

काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय समस्या समाधानमा एकीकृत समाजवादीले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभएको छ ।

पार्टी निकट प्रवासी नेपाली एकता मञ्चले  आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले तत्कालीन नेकपा (एमाले) सँग आफूहरूले विद्रोह गर्नु जायज रहेको विभिन्न समयका घटनाक्रमले समेत पुष्टि गरेको बताउनुभयो । विद्रोह नगरेको भए मुलुकमा कम्युनिष्ट आन्दोलनको रक्षाका लागि दृढतापूर्वक उभिने योद्धाहरू हराएर जाने अवस्था रहेको उहाँको कथन छ । 

पूर्वप्रधानमन्त्री नेपालले वर्तमान सरकारलाई अन्तिम समयसम्म पनि समर्थन कायमै रहने बताउनुभयो । राष्ट्रिय राजनीतिमा देखापरेका समस्या समाधान गर्न आफ्नो पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले जनताको आर्थिक तथा सामाजिक रूपान्तरणका लागि समाजवादी व्यवस्था कार्यान्वयनमा जोड दिनुभयो ।

सम्मानित नेता झलनाथ खनालले विगतमा दुई तिहाइ बहुमत नजिक रहेको कम्युनिष्ट सरकार केही नेताको आत्मा केन्द्रित स्वार्थले तहसनहस भएको घटनाबाट शिक्षा लिएर वामपन्थी एकताका साथ अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो । 

वर्षापछि मेलम्ची खोलामा आएको बाढीले बेलीब्रिज बगाउने खतरा

सिन्धुपाल्चोक, २३ असार : लगातारको वर्षापछि मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित चनौटेबजारमा रहेको बेलीब्रिज बगाउने खतरा रहेको छ । बाढीले बेलीब्रिज रहेको भूभाग कटान गरिरहेको छ ।

विसं २०७८ साउन १७ गते लेदोसहित आएको मेलम्चीको बाढीले हेलम्बुकै लाइफ लाइनका रूपमा रहेको रातो पुल बगाएपछि सो स्थानमा बेलीब्रिज निर्माण गरिएको थियो । रातो पुल बगाएको सात महिनापछि सञ्चालनमा आएको बेलीब्रिज जोगाउने प्रयास भइरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो

सो पुलले हेलम्बुलाई मात्र नभई मेलम्ची नगरपालिका–७ र ८, पाँचपोखरी थाङ्पाल गाउँपालिका–१ र २ का बासिन्दालाई आवतजावत गर्न सहज बनाएको छ । हेलम्बु–४ स्थित बस्ती र विद्यालयसमेत बाढीको जोखिममा रहेको स्थानीय श्याम लामिछानेले बताउनुभयो ।

सप्तकोशीका ४१ ढोका खोलिए, नदी किनारका बासिन्दालाई सचेत रहन आग्रह

धरान (सुनसरी), २३ असार : सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ । अहिले बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ ।

सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् । सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ ।

सेती नदीको बाढी बस्तीमा पस्न थालेपछि सिगासका ६० परिवार सुरक्षित स्थानमा

बैतडी, २३ असार : सेती नदीको बाढी बस्तीमा पस्न थालेपछि बैतडीको सिगासका ६० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सिगास गाउँपालिका–५ ढुङ्गाडका ६० परिवारलाई स्थानीय शारदा माविमा सारिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सेतीको बाढी गाउँ पस्ने खतरा बढेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारेका हौँ । स्थानीय जनप्रतिनिधिको सहयोगमा उनीहरूलाई शारदा माविमा सारिएको छ ।”

बाढीले बगाउने डरले स्थानीय पशुचौपायासहित घर छाडेर विद्यालयमा आश्रय लिएर बसेका छन् । नदी किनारमा लगाएको तटबन्धमाथिबाट नदी बग्न थालेपछि घर छाड्नुपरेको स्थानीय इन्द्रबहादुर चन्दले बताउनुभयो ।

सेतीमा पानीको बहाव बढ्दै गएपछि सिगास–५ का हरडाखानी, लाम्बगड, लोडेलगायत बस्ती बाढीको जोखिममा छन् । विसं २०७८ कात्तिक पहिलो साता बाढीले सिगास–५ ढुङ्गाडलगायत क्षेत्रमा ठूलो क्षति गरेको थियो ।

अविरल वर्षाका कारण हेटौँडा-५ का २५ घर डुबानमा

मकवानपुर, २२ असारः आज बिहानदेखि परेको अविरल वर्षाका कारण हेटौँडा उपमहानगरपालिका–५ का विभिन्न स्थानमा करिब २५ घर डुबानमा परेका छन् । डुबानमा परेका नागरिकको प्रहरीले सकुशल उद्धार गरेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

नालामा आएको भेलले निकास नपाएपछि घर डुबानमा परेको हो । विशेषगरी गर्दोई क्षेत्रका घर डुबानमा परेका छन् । अपराह्न पानी रोकिएपछि डुबान घट्दै गएको र जनजीवन सामान्य बन्दै गएको प्रहरीले जनाएको छ ।

मकवानपुरगढी गाउँपालिका–२ स्थित सन्तबहादुर घलानको गोठ भासिएर गोठभित्र फसेका चारवटा गाईको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । बर्षाका कारण पहिरो गएर अवरुद्ध बनेका सडकमा यातायात सञ्चालनको तयारी भइरहेको छ ।

जोखिम मोलेर नदीबाट पानीसँगै बगेर आएका दाउरा झिक्दै स्थानीय

जानकी (बाँके), २२ असार : वर्षाका कारण बाँकेको डुडुवा गाउँपालिका–४ सिधनवा घाटस्थित राप्ती नदीमा पानीको बहाव बढ्दै गइरहेको छ तर स्थानीयलाई त्यसको प्रवाह छैन । पानीसँगै बगेर आएका दाउरा जम्मा गर्न राप्ती नदी किनारमा स्थानीयको भीड लागेको छ ।

दाउरा जम्मा गर्न गाउँपालिकाका विभिन्न स्थानमा सयौँ स्थानीय आज बिहानदेखि दिनभर व्यस्त रहे । नागरिक दाउरा सङ्कलन गर्न पानीमा रुझ्दै बालबालिकादेखि युवालगायत ज्येष्ठको घुइँचो देख्न सकिन्थ्यो । स्थानीयले लौरो (लामो कैँची लौरो) बनाएर त्यसैको सहयोगबाट नदीका दाउरा तानिरहेका देखिन्थे ।

डुडुवा–४ का पल्लवी वर्माले बिहान ११ बजेदेखि दाउरा जम्मा गर्न नदी किनारामा आएको बताउनुभयो । उहाँले अहिलेसम्म करिब आठ क्विन्टल दाउरा जम्मा गरेको बताउनुभयो । वर्माले सङ्कलन गरिएका मध्ये ठूला दाउरा बिक्री गर्ने र साना दाउरा घरमै प्रयोग गर्ने गरेको सुनाउनुभयो ।

वर्मा जस्तै सोही गाउँपालिका–६ का गौरी यादव नदीबाट दाउरा झिक्न दुई सन्तानसहित नदी छेउमा देखिनुभयो । “घरमा लोग्ने मान्छे कोही पनि छैनन्, त्यसैले ज्यानको बाजी लगाएर दाउरा झिक्नु परिरहेको छ”, उहाँले भन्नुभयो, “बग्दै गरेको नदीबाट दाउरा झिक्न सजिलो छैन नि ! तर पनि दाउरा जोहो नगरेर हुँदैन ।” गौरीले आज करिब नौ क्विन्टल दाउरा जम्मा गरेको बताउनुभयो ।

स्थानीय शेखर अन्सारी पनि बिहानै सपरिवार राप्ती नदीमा पुग्नुभयो । उहाँसँगै सात वर्षीया छोरी र नौ वर्षीय छोरासहित वृद्ध आमाबुबासमेत हुनुहुन्थ्यो । आज दिनभर १२ क्विन्टल जति दाउरा निकालेको र त्यसमध्ये केही बेच्ने योजना रहेको उहाँले सुनाउनुभयो ।
जति सम्झाउँदा पनि स्थानीयले जोखिम मोलेर दाउरा निकाल्न नछाडेपछि सम्भावित दुर्घटनालाई मध्यनजर गरी यस क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल नं ३० गण हेडक्वाटर बागेश्वरी बाँकेबाट प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको तालिम प्राप्त उद्धार टोली तैनाथ गरिएको छ । गणले सशस्त्र प्रहरी निरीक्षक ललित शाहीको नेतृत्वमा आवश्यकसामग्रीसहित उद्धार टोली खटाएको हो । “नदीको सतह क्रमशः बढ्दै गएको छ, दाउरा जम्मा गर्न सयौँ नागरिकको भीड लाग्ने गरेको छ”, सशस्त्र प्रहरी निरीक्षक शाहीले भन्नुभयो, “हामी बिहान १० बजेदेखि यहाँ ड्युटी गरिरहेका छौँ । सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै स्थानीयलाई नदीमा पस्न भने दिएका छैनौँ । कुनै दुर्घटना भइहालेमा उद्धार सामग्रीसहित २५ जनाको तालिम प्राप्त उद्धार टोली तत्काल परिचालन हुन्छौँ ।”

उहाँकानुसार कुसुममा रहेको बाढी मापन केन्द्रले नदीको अवस्थाका बारेमा गणमा जानकारी गराउने र तालिम प्राप्त उद्धार टोली जोखिमयुक्त स्थानहरूमा तुरुन्तै परिचालन हुनेछ ।

काभ्रेमा खोलाले बगाउँदा दुई जनाको मृत्यु

काभ्रेपलाञ्चोक, २२ असार : काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा बाढीले बगाउँदा दुईजनाको मृत्यु भएको छ ।

आज साँझ रोशी–११ स्थित भ्याकुरेखोला तर्ने क्रममा बाढीले बगाउँदा स्थानीय ६५ वर्षीया जालमाया रुजाल मगर र उहाँकी भदैनी पाँच वर्षीया सेतीमाया रुजाल मगर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले खोला तर्ने क्रममा दुवैलाई बगाएको र तल्काल खोजतालस गर्दा करिब नौ सय मिटर तल मृत अवस्थामा फेला परेको बताउनुभयो ।

पर्वतको कार्कीनेटामा पहिराले घर पुरिँदा दुईजना बेपत्ता

पर्वत, २२ असारः बस्तीभन्दा माथिको पाखाबाट आएको पहिराले घरगोठ पुरिँदा पर्वतको फलेवास नगरपालिका–१ कार्कीनेटामा दुई युवा बेपत्ता भएका छन् ।
स्थानीय अम्फिडाँडाका कुलप्रसाद पाध्याको घर पुरिँदा उहाँका ४० वर्षीय छोरा झलक शर्मा र स्याङ्जाको आँधीखोला गाउँपालिका–३ का ३२ वर्षीय तुलसीराम पौडेल बेपत्ता हुनुभएको हो । स्थानीय र सुरक्षाकर्मीले उद्धारको प्रयास गरे पनि वर्षा नरोकिएका कारण कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

उक्त स्थानमा थप पहिरो आउने जोखिम रहेकाले थप मानवीय क्षति हुन नदिन उद्धारकर्ताको सुरक्षालाई ध्यानमा राखेरका काम अगाडि नबढेको कार्कीनेटाका वडाध्यक्ष चोलाकान्त पाध्याले जानकारी दिनुभयो ।

पहिरामा पाध्याका दुईवटा भैँसी, एउटा गोरु र चार बाख्रा पनि पुरिएका छन् । गोठमा पहिरो आउनसक्ने सम्भावना देखेर चौपाया निकाल्न गएकै बेला पहिरो आएकाले उद्धार गर्न नसकिएको वडाध्यक्ष पाध्याले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक भुवन बरामको नेतृत्वमा १२ जनाको टोली घटनास्थलतर्फ खटाइएको छ ।

सप्तकोशी नदीमा पानीको सतह बढेपछि सतर्क रहन सुरक्षा निकायको आग्रह

इनरुवा (सुनसरी), २२ असारः वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह निरन्तर बढेपछि सतर्क रहन आग्रह गरिएको छ । आज साँझ पानी बहाव मापन गर्दा कोशी ब्यारेज भएर तीन लाख तीन हजार आठ सय ६० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

अहिले ब्यारेजका ३९ ढोका खोलिएका छन् । यहाँ निरन्तर पानीको बहाव बढ्दै गएको छ । आज बिहान ४ बजेको मापनअनुसार एक लाख २४ हजार चार सय ६५ क्युसेक, दिउँसो १ बजे दुई लाख ४४ हजार क्युसेक र साँझ ५ बजे दुई लाख ८२ हजार छ सय ८० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको थियो ।लगातार पानीको बहाव र तह बढ्दै गएपछि कोशी ब्यारेजमा सुरक्षा निगरानी बढाएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताउनुभयो ।

खेलकुदले राष्ट्रिय एवं सामाजिक एकतालाई बलियो बनाउँछ : मुख्यमन्त्री कार्की

मोरङ, २२ असार : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुदले राष्ट्रिय एवं सामाजिक एकतालाई बलियो बनाउने बताउनुभएको छ । कोशी प्रदेश दोस्रो मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता–२०८१ को आज उद्घाटन गर्नुहुँदै उहाँले खेलकुदको माध्यमबाट मुलुकको नाम विश्वमा राख्न सकिने भएकाले खेल क्षेत्रको विकासका लागि काम गर्न आवश्यक रहेको बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले विराटनगर आसपास क्षेत्रमा जुनसुकै मौसममा पनि भलिबललगायत अन्य ‘इन्डोर खेल’का लागि खेलमैदान निर्माण गर्न सामाजिक विकास मन्त्रालयलाई तयारीमा लाग्न निर्देशन दिनुभयो ।

सामाजिक विकासमन्त्री पाँचकर्ण राईले सरकारले खेलकुद पूर्वाधार, प्रशिक्षण र खेलाडीहरूको क्षमता वृद्धिका लागि विशेष ध्यान दिने बताउनुभयो ।

प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले १०औँ राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने तयारीस्वरूप प्रदेशका विभिन्न जिल्लामा खेलकुद प्रतियोगिता सञ्चालन गरिएको बताउनुभयो ।   महिला भलिबल प्रतियोगितामा कोशी, बागमती, मधेस र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।

पानीको सतह बढेपछि सेती नदी किनारका पाँच परिवार विस्थापित

कास्की, २२ असारः सेती नदीमा पानीको सतह बढेपछि पोखरा–१४ को गोष्टी बस्ती जोखिममा परेको छ । नदीमा पानीको सतह बढेर जोखिम बढेपछि नदी किनारमा बसोबास गर्ने पाँच परिवार विस्थापित भएका छन् ।

अविरल वर्षाका कारण सेतीमा पानीको सतह बढेर बस्ती जोखिम पसेपछि यहाँका पाँच परिवारका २३ जनालाई आज दिउँसो सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवंं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।

गोष्टी टोलस्थित सेती नदीको किनारमा बसोबास गरिरहेका विष्णुमाया सुनुवारको परिवारका पाँच, डोम्मा शेर्पाका सात, सुकदेव गुरुङका चार, डावा शेर्पाका चार र काजी शेर्पाको परिवार तीन जनालाई टोल विकास संस्थाको भवनमा सारिएको शर्माले बताउनुभयो ।
यसैगरी, अविरल वर्षाका कारण पहिरो जाँदा आज दिउँसो पोखरा महानगरपालिका–३२ स्थित राजन विकको एकतले घरमा क्षति पुगेको छ । प्रहरीका अनुसार विकको घरको भान्छा कोठा पहिराले भत्किएको छ ।
वर्षाका कारण पृथ्वीराजमार्ग, पोखरा–बाग्लुङ राजमार्ग र सिद्धार्थ राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा यात्रुहरू समस्यामा परेका छन् ।

नारायणी नदीको जलसतह खतराको बिन्दुमाथि

चितवन, २२ असारः निरन्तरको वर्षापछि नारायणी नदीले खतराको बिन्दु पार गरेको छ । देवघाटमा आज दिउँसो ४ः४५ मा जलसतह नौ दशमलव आठ मिटर मापन गरिएको छ । सात मिटर कटेपछि चेतावनी र नौ मिटर कटेसँगै खतराको तह मानिन्छ ।

बाढी पूर्वानुमान शाखा प्रमुख सुनिल पोखरेलका अनुसार आज दिउँसोबाट नारायणी नदी आसपास क्षेत्रका बासिन्दालाई सतर्क रहन मोबाइलमा सन्देश पठाइएको छ । एक लाख हाराहारीलाई सतर्क रहन सन्देश पठाइएको पोखरेलले जानकारी दिनुभयो । “निरन्तर वर्षा भइरहेको छ । नदीको जलसतहले दिउँसै खतराको तह पार गरिसकेको छ । त्यसकारण नदी आसपासका नागरिकलाई सतर्क रहन आग्रह गर्दछौँ”, पोखरेलले भन्नुभयो ।