`

प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित

काठमाडौँ, १६ असार : प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको ‘भन्सार महसुल विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो ।

विधेयकमाथिको दफावार छलफलमा सांसद राजेन्द्रकुमार केसी र प्रेम सुवालले भाग लिनुभएको थियो । बैठकले सांसद सुवालले राख्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । त्यसअघि अर्थमन्त्री पुनले उक्त विधेयकलाई सदनमा दफावार छलफल गरियोस् भनी राख्नुभएको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असार १७ गते बिहान ११ बजे बस्नेछ ।

राष्ट्र ऋण उठाउने विधेयक, २०८१ पारित

काठमाडौँ, १६ असार : प्रतिनिधिसभाले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतले पारित गरेको हो ।

उक्त विधेयकमाथि सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राख्नुभएको थियो । उहाँले राख्नुभएको संशोधन प्रस्तावलाई प्रतिनिधिसभाका बहुमत सदस्यहरुले अस्वीकृत गरेका थिए ।

भन्सार दरमा धेरै हेरफेर नगरिएको अर्थमन्त्रीद्वारा स्पष्ट

काठमाडौँ, १६ असार : अर्थमन्त्री वर्षमान पुनले नीतिगत निरन्तरताका लागि भन्सार महसुल दरमा सामान्य हेरफेर गरिएको जानकारी गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा भन्सार महसुल विधेयक, २०८१ माथिको दफावार छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले भन्सार दरहरु धेरै हेरफेर नगरिएको बताउनुभयो ।

उहाँले आर्थिक विधेयकको अभिन्न अङ्गका रुपमा भन्सार महसुलसम्बन्धी व्यवस्थित कानुन ल्याउन गरिएको सुझाव कार्यान्वयनका लागि बेग्लै विधेयक ल्याएको स्पष्ट गर्नुभयो । मन्त्री पुनले भन्सारविन्दुमा सामान आयात गर्दा न्यूनतम् भन्सार लिने र क्रमशः मुलुकको उत्पादनवृद्धि गरी आत्मनिर्भर हुने अवस्थामा जाने सिद्धान्तका आधारमा विधेयक ल्याइएको बताउनुभयो ।

छलफलमा सांसद राजेन्द्रकुमार केसीले खाद्यान्न र फलफूलमा महँगो भन्सार शुल्क नलगाउन आग्रह गर्नुभएको थियो । विधेयकमाथि सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राख्नुभएको थियो ।

मुख्यमन्त्री कार्कीसँग स्वीस राजदूतको भेटघाट

विराटनगर, १६ असार : कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की र स्वीस राजदूतावासका कार्यावाहक राजदूत म्याट्थिस मेइरबीच आज भेटवार्ता भएको छ ।

भेटवार्तामा स्वीस सरकारको सहयोगमा कोशी प्रदेशमा सञ्चालनमा रहेका कार्यक्रमका विषयमा छलफल भएको थियो ।

सो भेटमा स्वीस विकास सहायतासम्बन्धी कार्यक्रममा विविध पक्षका बारेमा छलफल हुनुकासाथै सङ्घीयता कार्यान्वयनका विषयमा द्विपक्षीय सहकार्य गर्ने विषयमा पनि कुराकानी भएको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिनुभयो ।

वन्यजन्तुको आहारका लागि सामुदायिक वनमा दश हजार बिरुवा रोपिए

झापा, १६ असारः पर्यावरण जोगाउँदै मानव–हात्ती द्वन्द्व घटाउन अर्जुनधारा नगरपालिका–३ मा फलफूलका १० हजार बिरुवा रोपिएका छन् । जुकेखाडी सामुदायिक वनले उक्त ती बिरुवा रापेको हो ।

सामुदायिक वनको सात सय ४९ हेक्टर क्षेत्रफलमध्ये प्राकृतिक पोखरीसमेत रहेको दमार र गैडे आहाल क्षेत्रको ११ हेक्टरमा बिरुवा रोपिएका वन समितिका अध्यक्ष मोहन श्रेष्ठले बताउनुभयो । ‘एक उपभोक्ता एक बिरुवा’ अभियानअन्तर्गत दुई दिनमा सयौँ उपभोक्ताले आँप, केरा, बाँस, उखु, भुइँकटहर, बडहरलगायत फलका बिरुवा रोपिएको उहाँले जानकारी दिनुभयो ।

जिल्लाको उत्तरी भेगमा जङ्गली क्षेत्र छ । जहाँ भारतबाट बर्सेनि आउने सयौँ हात्ती विचरण गरेर फर्किने गरेका छन् भने दुई दर्जनको सङ्ख्यामा रहेको रैथाने जङ्गली हात्तीले यही जङ्गललाई बासस्थान बनाउने गरेका छन् । हात्तीबाहेक जङ्गलमा बस्ने बाँदरबाट पनि जङ्गल नजिकका बासिन्दा पिरोलिँदै आएका छन् । अहिले रोपिएका फलफूलका बिरुवा हुर्किएपछि बाँदर पनि आहारको खोजीमा गाउँ नआउने स्थानीयवासीले ठानेका छन् ।

जङ्गली जनावर जङ्गलमै रमाउन् र उनीहरूलाई आहारको कमी नहोस् भन्ने सोचका साथ फलफूलका बिरुवा रोपिएको हो । आगामी वर्ष २० हजार बिरुवा रोप्ने योजना रहेको उहाँले बताउनुभयो । हाल जङ्गलमा हात्ती र बाँदरका खानलायक बोटबिरुवा मासिइसकेका कारण समस्या भएको छ ।

दिउँसो जुकेखाडी जङ्गलमा बस्ने भोका हात्ती राति आहारको खोजीमा गाउँ आउँदा मानव–हात्ती द्वन्द्व हुने भएकाले ती बिरुवाले हात्तीलाई जङ्गलमै अल्मल्याउने जुकेखाडी सामुदायिक वन समितिका उपभोक्ता दिपीन राईले बताउनुभयो । उहाँले भन्नुभयो, “आहारको खोजीमा बस्तीमा पसेर हात्तीले दुःख दिने गरेका छन् । जङ्गलमा नै आहार पाएपछि ती गाउँ पस्न छाड्छन्, यसो हुँदा मानव–हात्ती द्वन्द्व घटाउन सहयोग पुग्छ ।”

समितिका अध्यक्ष श्रेष्ठका अनुसार सामुदायिक वनमा तीन हजार पाँच सय ५८ उपभोक्ता छन् । जङ्गलमा बिरुवा रोप्न सामुदायिक वनका उपभोक्ता आफैँले घरबाट बिरुवा सङ्कलन गरेका थिए । जिल्ला डिभिजन वन कार्यालयले थप तीन हजार बिरुवा दिने भएको समितिले जनाएको छ ।

उक्त कार्यालयका प्रमुख मेघराज राईले जिल्लाका सबै सामुदायिक वनले आ–आफ्ना क्षेत्रमा हात्तीलाई मनपर्ने केरा, बासँलगायत बिरुवा रोप्ने गरेका जानकारी दिनुभयो । वन कार्यालयको पनि उनीहरूलाई बिरुवा उपलब्ध गराएर सहयोग गर्ने नीति रहेको उहाँले बताउनुभयो ।

काभ्रेको खानीखोला पालिकाका ज्येष्ठ नागरिकलाई छाता र लौरो उपहार

धुलिखेल (काभ्रेपलाञ्चोक), १६ असारः जिल्लाको विटक खानीखोला गाउँपालिका–५ वडा कार्यालय का शनिवार पुग्नुभएका ७८ वर्षीय बलबहादुर श्रेष्ठ साथमा छाता र लौरो लिएर घर फर्किनुभयो । पालिकाको समन्वयमा तालढुङ्गामा आयोजना गरेको असक्त ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा उहाँले छाता र लौरो उपहार पाउनुभएको हो ।

सोही वडाका अर्का स्थानीय ज्येष्ठ नागरिक खडानन्द आचार्यले पहिलोपटक वडा कार्यालयले बोलाएर सम्मानसहित लौरो र छाता उपहार दिएपछि गाउँमै सरकार आएको अनुभूति भएको बताउनुभयो । गाउँपालिकाले आफ्ना समस्याका बारेमा बुझ्ने, भत्ता, छाता र लौरो आफ्नो वडाबाटै लिन पाउँदा निकै खुसी लागेको उहाँले सुनाउनुभयो । खानीखोला गाउँपालिका–५ तालढुङ्गा वडा कार्यालयबाट जनप्रतिनिधिले लौरो र छाता बोकेर जनताको घरैमा पुगेका छन् । सामाजिक सुरक्षा भत्ता पाउने नागरिकलाई हिँडडुल गर्न र पानीबाट जोगिन सहयोग होस् भन्ने उद्देश्यले छाता र लौरो उपहार दिइएको गाउँपालिकाले जनाएको छ ।

वडा नं ५ बाट एक सय नौजनाले सामाजिक सुरक्षा भत्ता लिँदै आएका ज्येष्ठ नागरिकलाई सो उपहार प्रदान गरेकोे वडाध्यक्ष बुद्धिबहादुर स्याङ्तानले राससलाई बताउनुभयो । सो वडाबाट हरेक महिनाको एकपटक ६० वर्ष माथिका ज्येष्ठ नागरिकको घुम्ती स्वास्थ्य परीक्षण कार्यक्रममार्फत नियमित स्वास्थ्य परीक्षण गर्दै आएको उहाँले बताउनुभयो ।

‘सामाजिक सुरक्षा भत्ताकार्ड’ हरेक आर्थिक वर्षमा नवीकरण गर्न वडामै पुगेर गर्नुपर्ने व्यवस्था भए पनि सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै वडा नं ५ ले घरघरमै गएर सामाजिक सुरक्षा भत्त कार्ड नवीकरण गर्दै आएको वडासचिव चण्डिका थापाले बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्बाले आफ्ना नागरिकले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरणको माग गरेपछि भत्तासँगै लौरो र छाता लिएर पुग्ने गरेको बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले विकट भूगोल भएकाले वडामै पुगेर सेवा दिने व्यवस्था गरेको बताउनुभयो । वडा नं ५ पालिकाकाकै केन्द्र भएकाले भत्ता लिन आउन गाउँपालिकाको केन्द्रमा बैंक रहेकाले त्यहाँसम्म पुग्न अरु वडाको तुलनामा अलि सहज भएकाले कतिपयको भने सुरक्षा भत्ता बैंकबाटै वितरण थालिएको उहाँले बताउनुभयो ।

गाउँपालिकाले वडा नं ४ बाट सुरु गरेको लौरो र छाता उपहार कार्यक्रमलाई सबै वडामा वितरण गरिसकेको पालिकाले जनाएको छ । गाउँपालिकामा एक हजार एक सय सातजनाले सामाजिक सुरक्षा भत्ता लिने गरेका छन् ।

हाँडेभिर–बगरफाँट–भकिम्ली कृषि सडकको स्तरोन्नति

गलेश्वर (म्याग्दी), १६ असार : ट्रयाक खुलेको १८ वर्षपछि म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभिर–बगरफाँट–भकिम्ली जोड्ने सात किलोमिटर कृषि सडकको स्तरोन्नति सुरु भएको छ ।

विसं २०६३ मा ट्रयाक खुलेको सात किलोमिटर लामो उक्त सडकको बगरफाँट–दूधेखोला खण्डको तीन किलोमिटर सडक ग्राभेल र दुधेखोलाबाट भकिम्लीतर्फको तीन सय ९० मिटर सडक ढलान गर्न थालिएको हो ।

भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयले रु पाँच करोड ५९ लाखको लागतमा सडक निर्माण पूरा गरिने जनाएको छ । जिल्ला पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर रविन चोखालका अनुसार हाँडेभिरबाट बगरफाँटको बुद्ध एकेडेमीसम्म दुई किलोमिटर कालोपत्र भइसकेको छ । उहाँले भन्नुभयो, “आगामी १८ महिनामा बगरफाँटबाट दुधेखोलासम्मको तीन किमी सडक ग्राभेल र दुधेखोलाबाट भकिम्लीतर्फको तीन सय ९० मिटर सडक ढलान गर्ने लक्ष्य छ ।”

गण्डकी प्रदेश सरकारले चालु आवमा रु दुई करोड बजेट यस सडकलाई विनियोजन गरेको र बहुवर्षीय ठेक्का लगाउन रु १० करोड बजेटको स्रोत सुनिश्चितता भइसकेको गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताउनुभयो । यो सडक बेनी नगरपालिकाको वडा नं २ बगरफाँट, वडा नं ३ भकिम्ली, मङ्गला गाउँपालिकाको ३ र ४ नम्बर वडाका बासिन्दा तथा पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ ओखरबोटको सोलेडाँडा भएर बागलुङको तमान, लामेलासम्म विस्तार गर्ने लक्ष्य छ ।

कमीकमजोरी सुधार्दै संसद्लाई देश र जनतामा केद्रित गर्नुपर्नेमा सभामुखको जोड

काठमाडौँ । सभामुख देवाराज घिमिरेले संसदीय प्रक्रियामा भएका कमीकमजोरीलाई सुधार गर्दै संसद्लाई मुलुक र जनतामा केन्द्रित गर्नु आजको आवश्यकता भएको बताएका छन् ।

संसद् दिवसका अवसरमा आइतबार जारी गरेको शुभकामना सन्देशमा उनले कानुन निर्माण प्रक्रियामा सुधार तथा जनप्रतिनिधिको क्रियाशीलताले संसद् र संसदीय प्रक्रियामा देखिएका कमजोरीलाई सुधार गर्न सकिने बताएका हुन् ।

संसद् अविच्छिन्न र जनप्रतिनिधिको जीवन्त अभ्यास गर्ने थलोका रूपमा रहेको उल्लेख गर्दै सभामुख घिमिरेले संविधानले निर्दिष्ट गरेका सिद्धान्त र मान्यताको आधारमा देशको संसदीय व्यवस्थालाई बलियो बनाउने दायित्व सबैको भएको सन्देशमा बताएका छन् । संसद्प्रति जनताको आस्था र विश्वासलाई उचाइमा पुर्याउन सबैको योगदान उत्तिकै महत्त्वपूर्ण रहेको उनको अभिमत छ ।

मुलुकको संसदीय इतिहास अन्य देशको तुलनामा नयाँ नभएको जनाउँदै सभामुखले नेपालको राजनीतिक व्यवस्थामा निरन्तर विभिन्न धक्का र उतारचढावका कारण संसदीय प्रणालीले अविच्छिन्न अभ्यास गर्ने, समृद्ध हुने र सुदृढ बन्ने मौका नै नपाएको सन्देशमा उल्लेख गरेका छन् ।

संसद् दिवसले संसदीय लोकतन्त्रको प्रवर्द्धन गर्दै संसद्लाई जीवन्त र जनमुखी बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै सभामुख घिमिरेले यस अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

आज संसद् दिवस

काठमाडौँ, १६ असारः आज संसद् दिवस । अर्थात् देशमा पहिलोपटक जननिर्वाचित संसद्को बैठक बसेको दिन । मुलुकमा प्रजातन्त्र स्थापना भएपछिको २०१५ सालमा भएको पहिलो आमनिर्वाचनबाट गठित संसद्को पहिलो बैठक बसेको दिन २०१६ असार १६ गतेलाई संसद् दिवसका रूपमा मनाउन थालिएको हो ।

मुलुकमा संसद्को पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष विविध कार्यक्रम गरी संसद् दिवस मनाउने गरिएको छ । संसद् स्थापनाको स्मरण गर्दै आज सङ्घीय संसद् र परामर्शदातृ संस्था पूर्वसांसद मञ्चले विविध कार्यक्रम आयोजना भएका छन् ।

पहिलो संसद्ले २०१६ असार १९ गते नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईलाई सभामुखमा निर्वाचित गरेको थियो । उहाँ २०१७ साल पुस १ गतेसम्म सभामुखको भूमिकामा क्रियाशील हुनुहुन्थ्यो । २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले दलविहीन पञ्चायती व्यवस्था घोषणा गरेपछि जननिर्वाचित संसद् भङ्ग भएको थियो ।

देशको संसदीय इतिहास अन्य मुलुकको तुलनामा नयाँ होइन । पहिलो संसद्को निर्वाचन भएको छ दशकभन्दा बढी भएको छ । बलियो संसद् लोकतन्त्रको आधारशीला भएको बताउँदै राजनीतिक विश्लेषकहरूले संसद्लाई लोकतन्त्रको मन्दिरका रूपमा लिनुपर्ने बताएका छन् । उनीहरूका अनुसार लोकतान्त्रिक संसद्को आधारभूत चरित्र भनेको पारदर्शी, जनउत्तरदायी र समावेशी आवाजलाई प्रतिनिधित्व गर्ने हो ।

नेकपा (एस)को दशौँ राष्ट्रिय महाधिवेशन आज, अध्यक्ष नेपालले उद्घाटन गर्ने

काठमाडौँ, १६ असारः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि यहाँ हुँदै छ । आजदेखि पाँच दिनसम्म स्थानीय प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी चयन गर्नेछ ।

महाधिवेशनको पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने कार्यक्रम छ । महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेतालाई निमन्त्रणा गरिएको छ । महाधिवेशनलाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा (एस)का नेता सोमप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

पार्टी अध्यक्ष नेपालको नेतृत्वमा गठित महाधिवेशन मूल व्यवस्थापन समितिले महाधिवेशनसम्बन्धी सम्पूर्ण काम पूरा भएको जनाएको छ । महाधिवेशनमा भाग लिन देशभरबाट एक हजार आठ सय ४९ प्रतिनिधि काठमाडौँ आउने क्रम जारी छ । शीर्ष नेताहरूका साथै प्रतिनिधिहरू १० बजे भृकुटीमण्डपमा भेला भएर महाधिवेशनस्थल पुग्ने कार्यक्रम छ ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट करिब तीन वर्षअघि विभाजन भएर गठन गरिएको पार्टीले यो महाधिवेशनलाई १०औँ राष्ट्रिय महाधिवेशनका रूपमा दाबी गरेको छ । विसं २००६ मा कोलकातामा स्थापना भएको कम्युनिष्ट पार्टीको राजनीतिक उत्तराधिकारी मानेको एकीकृत समाजवादी पार्टीले हालसम्म सम्पन्न भएका नौवटा अधिवेशनको स्वामित्व लिएर यो राष्ट्रिय महाधिवेशनलाई १०औँ मानेको बताएको छ ।

नेपाली सेफ टङ्कले फेला पारे पोर्चुगलमा पहिलोपटक जमिनमुनि पाइने ब्ल्याक ट्रफल

इटालियन सेफका रुपमा युरोपमा प्रख्यात बागलुङका टङ्क सापकोटाले पोर्चुगलमा पहिलो पटक जमिनमुनि पाइने ब्ल्याक ट्रफल (कालो प्रजातिको ग्रीष्मकालीन च्याउ) फेला पार्न सफल भएका छन् ।

सापकोटाले तालिम प्राप्त कुकुर, इटालियन ट्रफल शिकारी, कृषि विज्ञ र अनुसन्धानकर्ताको सहयोगमा राजधानी लिस्बन नजिकैको एलेन्कर क्षेत्रमा ब्ल्याक ट्रफल फेला पार्न सफल भएका हुन् ।

इराकको मस्जिदमा वर्षौंअघि लुकाएका विस्फोटक उपकरण फेला

संयुक्त राष्ट्रसङ्घको एक एजेन्सीले उत्तरी इराकी सहरमा अवस्थित अल–नुरी मस्जिदको पुनःस्थापनाका क्रममा इस्लामिक स्टेट समूहका जिहादीहरूले वर्षौंअघि लुकाएका पाँचवटा बम फेला पारेको बताएको छ ।

संयुक्त राष्ट्र सांस्कृतिक एजेन्सी (युनेस्को)का एक प्रतिनिधिले शुक्रबार राति बताएअनुसार साइटको पुनःस्थापना गर्ने क्रममा टोलीले मङ्गलबार प्रार्थना हलको दक्षिणी पर्खालमा उक्त क्षेत्रलाई विनाश गर्न सक्ने गरी बनाइएको पाँचवटा ठूलो मात्राको विस्फोटक उपकरणहरू फेला पारेको थियो । 

बाह्रौँँ शताब्दीको मोसुलको अल–नुरी मस्जिद आइएसबाट सहर पुनः प्राप्त गर्ने लडाइँको क्रममा नष्ट गरिएको थियो । तीन वर्षसम्म मोसुल कब्जा गरेको आइएसले उक्त स्थानमा विस्फोटक पदार्थ राखेको इराकी सेनाले आरोप लगाएको छ । 

युनेस्कोले सहरमा मस्जिद र अन्य वास्तुकलात्मक सम्पदास्थलहरू पुनःस्थापना गर्ने काम गरिरहेको छ । यसको धेरै भाग सन् २०१७ मा पुनः प्राप्तिको लडाइँमा भग्नावशेषमा परिणत भएको थियो । “इराकी सशस्त्र बलले तुरुन्तै क्षेत्र सुरक्षित गर्यो र स्थिति अहिले पूर्ण रूपमा नियन्त्रणमा छ”, युनेस्कोले बताएको छ ।युनेस्कोले पाचँमध्ये एउटा बम उक्त स्थानबाट हटाइएको छ तर अन्य चार उपकरणहरू एकअर्कासँग जोडिएको कारण केही दिनभित्र हटाइने अपेक्षा गरेको छ ।

लसएन्जलसमा ७५ हजारभन्दा बढी मानिस घरबारविहीन

लसएन्जलस घरविहीन सेवा प्राधिकरण (एलएएचएसए) द्वारा शुक्रबार जारी २०२४ घरबारविहीन गणनाको नतिजाअनुसार संयुक्त राज्य अमेरिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको लसएन्जलस काउन्टीमा अनुमानित ७५ हजार तीन सय १२ जना मानिस घरबारविहीन छन् ।

एजेन्सीले ५२ हजार तीन सय ६५ आश्रय तथा घरबारविहीन व्यक्तिहरू, टेन्ट, कार, आरभीलगायत अस्थायी आश्रयमा बस्नेहरू, ५.१ प्रतिशतको वार्षिक कमी देखाएको छ । आश्रयविहीन घरबारविहीन व्यक्तिहरूको अनुमान, इनडोर कार्यक्रमहरूमा बस्नेहरू, २२ हजार नौ सय ४७ मा थिए जुन १२.७ प्रतिशतले बढी हो ।  

तथ्याङ्कअनुसार काउन्टीको सिट, लस एन्जलसको सहरले आश्रयविहीन व्यक्तिहरूका लागि यसको अनुमान २९ हजार दुई सय ७५ (१०.४) प्रतिशतमा झर्यो भने सहरको आश्रयविहीन घरबारविहीनहरुको १५ हजार नौ सय ७७ (१७.७)  प्रतिशतमा बढेको छ । (एलएएचएसए) का अनुसार, काउन्टीमा घरबारविहीनका लागि आवास र सामाजिक सेवाहरू समन्वय गर्न जिम्मेवार प्राथमिक एजेन्सीहरु छन् ।

एलएएचएसएका सिइओ भा लेसिया एडम्स केलमले प्रेस विज्ञप्तिमा यस वर्षको घरबारविहीन गणना नतिजाले आशा दिएको बताउँदै  एकीकृत दृष्टिकोण र समन्वित प्रयासहरूले आश्रयविहीन र घरबारविहीनहरूमा अर्थपूर्ण कमी ल्याएको जनाउनुभयो । उचित व्यवस्थापनका लागि पर्याप्त समय नभएको र घरबारविहीनको सङ्ख्या धेरै भएको बताउँदै सकारात्मक परिणाममा योगदान पु¥याउन जीवन बचाउने प्रयासमा सहकार्यमा काम गर्न जारी राख्नुपर्ने केलमले बताउनुभयो ।  

लसएन्जलसका मेयर करेन बासले सामाजिक सञ्जाल एक्समा “छ वर्षमा पहिलोपटक घरबारविहीन एन्जेलेनोसको सङ्ख्या घटेको र जीवन बचाउन तत्काल काम गर्न जारी राख्ने आशा व्यक्त गर्नुभयो । लसएन्जलस देशको सबैभन्दा ठूलो आवासविहीन जनसङ्ख्याको घर हो । जहाँ अमेरिकी कांग्रेसको सन् २०२३ को वार्षिक घरबारविहीन मूल्याङ्कन प्रतिवेदनअनुसार, २०२३ मा एक रातमा, लगभग ६५ लाख तीन हजार एक सय मानिसहरू वा प्रत्येक १० हजारमध्ये २०  जना मानिसले घरबारविहीन अनुभव गरिरहेका थिए । 

युक्रेनी राष्ट्रपति जेलेन्स्की रुससँगको युद्ध अन्त्य गर्ने ‘व्यापक योजना’ तयार पार्दै

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्न विश्वको बहुमतले समर्थन गर्ने व्यापक योजना तयार गरिरहेको अल जजिराले जनाएको छ । “विश्वको बहुमतले समर्थन गर्ने युद्ध अन्त्य गर्ने योजना ल्याउनु हाम्रो लागि धेरै महत्वपूर्ण छ”, युक्रेनी राष्ट्रपतिले स्लोभेनियाका राष्ट्रपति नतासा पिरक मुसारसँग शुक्रबार कियभमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो । “यो कूटनीतिक मार्गका लागि हामीले काम गरिरहेका छौँ,” उहाँले बताउनुभयो ।

राष्ट्रपति जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सार्वजनिक बयानका आधारमा युक्रेन र रसियाबीच हाल कुनै वार्ता भएको पाइएको छैन । युक्रेनले बारम्बार शान्तिवार्ता सुरु हुनअघि रुसले क्रिमियाको प्रायद्वीपसहित अन्य क्षेत्रबाट आफ्नो सेना फिर्ता लानुपर्ने माग राखेको छ तर फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण सुरु गरेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई रुसको कब्जामा रहेको आफ्नो पूर्व र दक्षिणको थप क्षेत्र खाली गरेर प्रभावकारी रूपमा आत्मसमर्पण गर्न माग गर्नुभएको छ ।

यस महिनाको सुरुमा युक्रेनी राष्ट्रपतिले स्विजरल्याण्डमा एउटा प्रमुख अन्तर्राष्ट्रिय शिखर सम्मेलनको आयोजना गर्नुभएको थियो  जहाँ युक्रेनको स्थितिका लागि समर्थन जुटाउन रुसलाई आमन्त्रित गरिएको थिएन ।     यसअघि बिहीबार ब्रसेल्समा आयोजित युरोपेली सङ्घ (इयू) शिखर सम्मेलनमा जेलेन्स्कीले युद्ध अन्त्य गर्न केही महिनाभित्र विस्तृत योजना प्रस्तुत गर्ने बताउनुभएको छ । 

भारतले जित्यो विश्वकपको उपाधि

काठमाडौँ, १६ असारः दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारत आइसिसी टि–२० क्रिकेट विश्वकप २०२४ को च्याम्पियन बनेको छ । भारतले १७ वर्षपछि विश्वपकको ट्रफी उचालेको हो । यसअघि भारतले सन् २००७ मा पहिलेपटक टि–२० विश्वकपको उपाधि जितेको थियो ।

वेष्टइन्डिजको बार्बाडोसस्थित कोन्सिङ्टन ओभलमा भारतले दक्षिण अफ्रिकालाई एक सय ७७ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा दक्षिण अफ्रिका निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदा मात्र एक सय ६९ रनमा समेटियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले सर्वाधिक ५२ रनको योगदान दिए । उनले २७ बलमा दुई चौका र पाँच छक्काको सहयोगमा ५२ रन बनाएका हुन् । त्यस्तै क्विन्टर डि ककले ३९ र क्रिस्टन स्टब्सले ३१ रन बनाए ।

भारतका हार्दिक पांड्याले सर्वाधिक तीन विकेट लिए भने अरसदीप सिहं र जसप्रित बुमराहले समान दुई–दुई विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७६ रनको योगफल बनाएको थियो । भारतका लागि विराट कोहीले कोहलीले ५९ बलमा छ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ७६ रन बनाए । यसैगरी अक्षर पटेलले ४७ र शिवम दुबेले २७ रन जोडे ।

दक्षिण अफ्रिकाका लागि केशव महाराज र एनरिच नोर्ट्जेले समान दुई–दुई विकेट लिए भने मार्को यानसन र कागिसो रबाडाले समान एक–एक विकेट लिए ।

एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीचको भेटवार्तामा के भयो ?

भक्तपुर – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच शनिवारओलीनिवास बालकोटमा भेटवार्ता भएको छ ।

एमाले अध्यक्ष ओलीलाई भेट्न सभापति देउवा श्रीमती आरजु देउवा राणासहित बालकोट पुग्नु भएको थियो । भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको हो।

एमाले अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईँले उहाँहरुबीच समसामयिक राजनीतिक विषय, देशको वर्तमान अवस्था र विभिन्न विषयमा छलफल भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एमाले अध्यक्ष र कांग्रेसका सभापतिबीच नियमित भेटघाट हो, ठाउँ मात्रै फरक हो, केहीदिन अघि पनि सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसहित उहाँहरुबीच भेटवार्ता छलफल भएकै हो ।”

‘संसद्लाई सत्ताको जोडघटाउभन्दा माथि राखौँ’ – अध्यक्ष दाहाल

काठमाडौँ, १६ असारः संसद्लाई सत्ताको जोडघटाउभन्दा माथि राखेर जनताका आवाज बुलन्द गर्ने र समृद्ध नेपाल निर्माणका लागि आवश्यक कानुन निर्माण गर्ने थलोका रूपमा विकास गर्नुपर्नेमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जोड दिनुभएको छ ।

संसद् दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा अध्यक्ष दाहालले जनताका प्रतिनिधिहरूको सर्वोच्च थलो संसद्मा विविध विचार, दर्शन र राजनीतिक दलहरूको प्रतिनिधित्व रहने उल्लेख गर्दै हाल नेपालमा विभिन्न समयमा भएका सशक्त र सशस्त्र आन्दोलनका बलमा हामी गणतन्त्रात्मक सङ्घीय शासन प्रणालीको प्रक्रियामा रहेका बताउनुभएको छ ।

सन्देशमा उहाँले संसद्को गरिमालाई उच्च बनाउन र विधिको शासनप्रति इमान्दार रहन हामी सबैले संसद् दिवसका अवसरमा सामूहिक प्रतिबद्धता व्यक्त गर्नुपर्नेमा जोड दिनुभएको छ । अध्यक्ष दाहालले जनतालाई वास्तविक लोकतन्त्रको अनुभूति गराउन र परिवर्तनको आभास दिलाउनसके मात्रै संसद् दिवस मनाउनुको सार्थकता हुने बताउनु भएको छ ।

संसद् दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै सन्देशमा उहाँले लोकतन्त्र प्राप्तिका लागि भएका विभिन्न ऐतिहासिक जनस¬ङ्घर्ष, जनयुद्ध र जनआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्नुभएका महान् सहिदहरूप्रर्ति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । साथै सङ्घर्षका क्रममा बेपत्ता हुनुभएका तथा घाइते भई अपाङ्गता जीवन बिताइरहनुभएका सम्पूर्ण योद्धाहरूप्रति उहाँले सम्मान व्यक्त गर्नुभएको छ ।

नेपालमा संसदीय अभ्यास सुरु भएको यस दिनले संसदीय सर्वोच्चता, विधिको शासन र लोकतन्त्रप्रति अझ इमान्दार, प्रतिबद्ध र जिम्मेवार बन्न जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज र पत्रकारलगायत सबैलाई प्रेरणा दिने विश्वास अध्यक्ष दाहालले सन्देशमा व्यक्त गर्नुभएको छ ।

विसं २०१६ असार १६ गते नेपालको पहिलो जननिर्वाचित संसद्को पहिलो बैठक बसेको थियो । सोही दिनको स्मरण गर्दै हरेक वर्ष आजकै दिन संसद् दिवस मनाउने गरिएको छ ।

कोशी,बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ, १६ असारः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ ।

कोशी,लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा जनाइएको छ ।

विभागका अनुसार आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानका साथै बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र देशका बाँकी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । साथै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी,बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा अधिक वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा देशका केही स्थानमा भारी वर्षा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरोबाट बच्न तथा त्यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

‘कमेडी च्याम्पियन ३’ को उपाधि खड्कालाई

काठमाडौँ, १५ असार :प्रतियोगितात्मक कार्यक्रम ‘कमेडी च्याम्पियन’ तेस्रो संस्करणको उपाधि काठमाडौँका सुनिल खड्काले जित्नु भएको छ । आज भएको अन्तिम प्रतिष्पर्धामा अन्तिम तीनमा रहनुभएका ऋषभ काफ्ले र सुयशा खनाललाई पछि पार्दै उहाँ ‘च्याम्पियन’ बन्नुभएको हो ।

विजेता घोषित भएसँगै उहाँले नगद रु पच्चीस लाखसहित विभिन्न आकर्षक उपहार प्राप्त गर्नुभयो । प्राप्त मतको आधारमा सुनसरीका काफ्ले दोस्रो (फस्ट रनरअप) र नवलपरासीकी खनाल तेस्रो (सेकेण्ड रनर अप) बन्नुभयो । प्रतियोगिताको निर्णायकमा हास्य कलाकार सन्तोष पन्त, कलाकार मनोज गजुरेल, निर्देशक प्रदीप भट्टराई र अभिनेत्री ऋचा शर्मा निर्णायकको रुपमा हुनुहुन्थ्यो ।

असार १५ दही च्यूरा खाएर मनाइयो

काठमाडौँ, १५ असारः प्रत्येक वर्ष असार १५ गते दही च्यूरा खाएर मनाइने सांस्कृतिक परम्परा यसवर्ष पनि जारी रह्यो । आज देशभर दही च्यूरा खाएर असार १५ मनाइयो । खेतमा रोपाइँ गरी दही च्यूरा खाएर मनाइने यो सांस्कृतिक परम्परा रोपाइँ सुरु हुन थालेदेखि नै मनाउन थालिएको हो । असार ‘मुठी रोपेर मुरी उमार्ने’ महिनाका रूपमा सदियौँदेखि चिनिँदै आएको छ । विसं २०६२ देखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको छ ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । व्यस्त हुने महिनाको मध्यमा अर्थात् १५ गते दही च्यूरा खाएर धान दिवस मनाउने परम्परा नेपाली समाजमा चल्दै आएको छ । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोकलयका गीत गाएर आज पनि खेतमै रमाइलो गरिएको छ ।

मध्यगर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खाने गरेको विश्वास छ । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ लाई सांस्कृतिक पर्वका रुपमा मनाएका छन् ।

हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ ।

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्नेजस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।

पखाला लागेका बेला दही च्यूरा खाएमा औषधिको काम गर्छ । यसैले दही च्यूरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रूप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको हो ।

परम्परादेखि असार धान रोप्ने महिनाका रूपमा परिचित हुँदै आएको हो । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । यसैअनुसार आज २१औँ धान दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

नेपाल कृषिप्रधान देशका भएकाले यहाँ अधिकांश मानिस कुनै न कुनै रूपमा कृषिसँग जोडिएका छन् तर पछिल्लो समय यसतर्फको आकर्षण घट्दो छ । धेरै स्थानमा सिँचाइको उचित प्रबन्ध नहुँदा आकाशेपानीको भरपनुपर्ने भएकाले देशका सबै भागमा पानी नपरेका कारण असार १५ बितिसक्दा पनि हुनुपर्ने जति रोपाइँ हुन नसकेका खबर सार्वजनिक भएका छन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको जनाए पनि कतैकतै भने किसानले मल नपाएको गुनासो गरिरहेका छन् ।

सरकारले रासायनिक मल बिक्री गर्न स्थानीय सरकारलाई जिम्मेवार बनाउँदै स्थानीय तहले छनोट गरेका सहकारीमार्फत रासायनिक मल बिक्री वितरण हुने व्यवस्था गरेको छ । सहकारीले व्यवस्थित रूपमा मल वितरण नगर्दा किसान भने मर्कामा परिरहेका जानकारहरु बताउँछन् ।

पशुपति क्षेत्रमा त्रिशूल जात्रा

काठमाडौँ, १५ असारः पशुपति क्षेत्रका बालबालिकालाई राक्षसबाट बचाउने उद्देश्यले मनाउन थालिएको विश्वास गरिने त्रिशूल जात्रा पशुपति क्षेत्रमा सम्पन्न गरिएको छ । प्रत्येक वर्ष आषाढकृष्ण अष्टमीका दिन मनाइने त्रिशूल जात्रा राजा नरेन्द्रदेवको पालामा सुरु भएको भनाइ छ ।

स्वयम्भू एवं नागार्जुन जङ्गल क्षेत्रमा बस्ने एक राक्षसले प्रत्येक वर्ष पशुपति क्षेत्रबाट बालबालिका लगेर खान थालेपछि स्थानीयवासी आतङ्कित बनेका थिए । राक्षसले पशुपतिबाट बालक लैजाने नियमित नै भएपछि भुवनेश्वरीका पुजारी भूमि आचार्जुका छोरा नै लगेको थियो । आचार्जुले छोरा राक्षसले लगेको थाहा पाएपछि पाटन शङ्खमूल क्षेत्रमा गई तान्त्रिक साधना गरेर अमृत लिएर नयाँबानेश्वरमा आउँदा छोरालाई मारेको केही महिलाले सुनाए ।

नयाँबानेश्वरको हाल छक्कुबक्कु मन्दिर रहेको क्षेत्रमा अमृत बिसाएर महिलालाई गाली गरेकाले त्रिशूल जात्राका क्रममा अश्लील शब्दले गाली समेत गर्ने गरेको मान्यता रहिआएको छ । आचार्जुले ल्याएको अमृतले बालकलाई बचाएर त्यसै वर्षदेखि पशुपति क्षेत्रमा त्रिशूल जात्रा गरी राक्षस बालबालिका लिन आएमा त्रिशूलले खोपेर आन्द्राभुँडी निकाल्ने सन्देश दिएको भनाइ पशुपति क्षेत्रका संस्कृतिविद् मुकुन्दराज वैद्य बताउनुहुन्छ । 

सिफलचौरबाट राक्षसलाई बालबालिकामाथि आक्रमण नगर्न खबरदारी गर्न यो जात्रा सुरु गरिएको किंवदन्ती यस क्षेत्रमा चलेको छ । कसैले भने यो जात्रा मल्लकालदेखि चलेको बताउने गरेका छन् । यो जात्रा गरेपछि वर्षभर पशुपति क्षेत्रका बालबालिका राक्षसबाट सुृरक्षित हुने विश्वास गरिन्छ ।

किसानको चिन्ताः कृषिलाई प्रविधिसँग नजोडे केही वर्षमै खाद्यसङ्कट हुनसक्छ

लम्की (कैलाली), १५ असार : कृषिलाई प्रविधिसँग जोडेर विकास तथा विस्तारमा नलागे केही वर्षमै देशमा खाद्यसङ्कट उत्पन्न हुनसक्ने भन्दै कैलालीका किसानले चिन्ता व्यक्त गरेका छन् ।

‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ आज २१औँ धान दिवस मनाइरहँदा यहाँका किसानले सरकारले कृषक र कृषि क्षेत्रलाई उपेक्षा गरिरहेको गुनासासमेत गरे । कृषिउद्यमी सूर्यबहादुर थापाले कृषि क्षेत्रलाई प्रवर्द्धन गर्न सरकारले ठोस योजना र कार्यक्रम नल्याउँदा कृषि क्षेत्रमा भविष्य देखेका युवा पनि विदेश पलायन भएका र उब्जा जमिन पनि बाँझो रहेका बताउनुभयो । उहाँले भन्नुभयो, “तराईको खेतीयोग्य जमिन कित्ताकाट गरेर घरबासमा परिणत हुँदैछ । किसानलाई प्रोत्साहन र प्रविधि सहयोग नीतिको अभावमा बाँकी जग्गा पनि बाँझो रहँदैछन्, यसले मेहनत पनि खेर गइरहेको भन्दै धेरैजना पलायन भइसके । यसतर्फ सरकारले ध्यान दिनुपर्छ ।”

उहाँले तीनै तहका सरकार मिलेर कृषि क्षेत्रको विकासमा लाग्नुपर्ने सुझाव दिनुभयो । “तराईका उर्वरभूमि घरबासमा परिणत हुने, पहाड तथा हिमाली जिल्लाबाट निरन्तर बसाइँसराइ गर्ने र कृषिमै सम्भावना देखेका युवा पनि रोजगारीका लागि विदेशिनुले थप समस्या निम्त्याउँदै गएको छ । त्यसैले तीनै तहका सरकारले कृषिलाई प्राथमिकतामा राखेर काम नगर्ने हो भने निकट भविष्यमै खाद्यसङ्कट निम्तिनसक्छ ।”

कैलालीको लम्कीका किसान बखतबहादुर बिष्टले परम्परागत खेतीबाट आम्दानीभन्दा खर्च बढी हुन थालेपछि धेरै किसान उर्वर जमिन बाँझो राख्न बाध्य भएका बताउनुभयो । किसानमा आधुनिक प्रविधिको सहज पहुँच नहुँदा, माटो परीक्षणबिना अत्यधिक रासायनिक मलको प्रयोगले उत्पादनमा ह्रास आउन थालेको उहाँको बुझाइ छ । “सरकारले असार १५ गतेलाई औपचारिकताका लागि धान दिवस मनाउने गरेको छ । सिँचाइ, मलखाद, कृषिको आधुनिकीकरण तथा औद्योगिकरणका लागि काम गर्न सकिएको छैन । कृषि क्षेत्रलाई औपचारिकतामा मात्रै सम्झिने र सम्बोधन गर्ने परिपाटीले अबका समस्या समाधान गर्न कठिन छ”, उहाँले भन्नुभयो । 

विगतमा ३ विघाभन्दा बढी जमिनमा धानखेती गर्दै आउनुभएका जानकी गाउँपालिका–८ मटेराका मक्कुलाल चौधरी उत्पादनभन्दा लागत बढी हुने भएकाले अहिले केही जमिनमा औपचारिकताका लागि मात्र खेती गर्ने गरेको बताउनुहुन्छ । “अहिले छोराछोरी खेती किसानी गर्न मान्दैनन् । ज्याला, मजदुरीमा अरूबाट काम गराउँदा पनि लागतअनुसार उब्जनी हुँदैन, घरमा हुँदाहुँदै किन बाँझो राख्नु भनेर केही जमिनमा जेनतेन धान रोपाइँ गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “न जवान केटाकेटीले सहयोग गर्छन्, यहाँ लगाउने श्रम अरू ठाउँमा लगाए फाइदा छ भन्छन् । सरकारले पनि न खेती गर्ने समयमा मल, बीउमा राहत दिन्छ न त उत्पादनअनुसारको मूल्य, अनि कसरी किसान कृषिमा आकर्षित हुन्छन् ।”

स्थानीय भक्तबहादुर थापाले कृषि क्षेत्रको विकासमा सरकारले स्पष्ट नीति ल्याउनुपर्ने बताउनुभयो । तीन तहका सरकार भए पनि किसानको जीवनस्तर र पेसामा सुधार हुन नसक्नु नै कृषक पलायनका कारण भएका उहाँको भनाइ छ । 

लम्कीचुहा नगरपालिकाका उपप्रमुख जुना चौधरी देशको अर्थतन्त्र बलियो बनाउन कृषि क्षेत्रलाई मजबुद बनाउनु आवश्यक रहेको बताउनुहुन्छ । “लम्कीचुहा नगरपालिकाले कृषि क्षेत्रमा थुप्रै कार्यक्रमहरु ल्याए पनि अझै त्यो बजेट लक्षित वर्गसम्म नपुगेको गुनासा आउँछन् । अब हामी पनि गम्भीर भएर अगाडि बढ्नुपर्ने महसुस भएको छ”, उहाँले भन्नुभयो । 

धान दिवसका अवसरमा देशभर जस्तै शनिबार कैलालीमा पनि स्थानीय पालिका, विभिन्न सङ्घसंस्था तथा राजनीतिक पार्टीले सामूहिक रोपाइँ गरे । ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिनसम्म कैलालीको पूर्वीक्षेत्रमा ५० प्रतिशत बढी किसानले धान रोपेर सकेका छन् । सिँचाइको सहज पहँुच र रानी जमरा, कुलरिया सिँचाइ आयोजनाले समयमै पानी छाडेका कारण यस वर्ष समयमै रोपाइँ भएको मटेराका मङ्गलबहादुर चौधरीले बताउनुभयो ।

असारमा किसानले पर्याप्त मल नपाउनु दुर्भाग्यः नेत्री राणा

भक्तपुर, १५ असारः नेपाली कांग्रेसको केन्द्रीय सदस्य एवं कृषि समितिका सभापति आरजु देउवा राणाले नेपालमा पनि उन्नत जातको धानका बीउ लगाएर उत्पादकत्व बढाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । एक्काइसौँ राष्ट्रिय धान दिवसका अवसरमा आज नेपाल किसान सङ्घ भक्तपुरले आयोजना गरेको कार्यक्रममा उहाँले कृषि उत्पादकत्व बढाएर देशमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभएको हो । उहाँले रोपाइँको समयमा किसानले पर्याप्त मल नपाउनु दुःख विषय भएको बताउनुभयो ।

नेत्री देउवाले भन्नुभयो, “नेपालमा खेतीयोग्य जमिन बाँझो हुन थालेको छ, बाँझो खेतीयोग्य जमिनलाई उपयोगमा ल्याउन नीति बनाउनु आवश्यक छ ।  रासायनिक मललाई सहकारीमार्फत वितरण भए पनि राम्रोसँग वितरण हुन नसकेकाले त्यसको उचित  व्यवस्थापन गरी वितरण गर्नु आवश्यक छ ।”

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ र नेपाली कांग्रेस भक्तपुरका सभापति एवं सङ्घीय सांसद दुर्लभ थापाले मल र गुणस्तरीय बीउ ल्याएर स्वदेशी उत्पादन बढाउनुपर्ने बताउनुभयो । कार्यक्रमका सभापति एवं सङ्घका अध्यक्ष इन्द्र प्रजापतिले असार १५ मा दिवस मनाएर मात्रै नभई धान उत्पादनलाई आत्मनिर्भर बनाउने गरी राज्यले नीति लिनुपर्ने बताउनुभयो ।

वाग्मती सफाइ महाअभियान ५८१औँ हप्तामा

काठमाडौँ, १५ असारः ‘राष्ट्रका लागि हप्ताको दुई घन्टा स्वयंसेवा’ भन्ने नाराका साथ वाग्मती सफाइ महाअभियानको पाँच सय ८१औँ हप्ताको सफाइ सुविधानगरस्थित वाग्मती नदी किनारमा गरिएको छ ।

सफाइबाट एक मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो । नदी किनारबाट आज उठाइएको फोहर काठमाडौँ महानगरपालिका वातावरण विभागको ट्रकमा राखी व्यवस्थापन गरिएको पनि उहाँले बताउनुभयो ।

सफाइमा पूर्वमुख्यसचिव एवं मुख्य अभियानकर्मी लीलामणि पौडेल, सुविधानगर सामाजिक विकास समितिका अध्यक्ष सुमित्रा कडरिया, सुन्दरीघाट वाग्मती सफाइ अभियानका संयोजक चित्रबहादुर सुनुवार, बानेश्वर महिला वातावरण प्रालिका अध्यक्ष दुर्गा दुलालज्यू सहितको समूह, आलोकनगर सफाइ संयोजक प्रमिला पौडेल, खोटाङ डेकोरका सञ्चालक योगेन्द्र कार्कीलगायतका सफाइमा सक्रियता थियो । अर्को हप्ताको सफाइ कोटेश्वर महादेवमुनिको पहेँलो पुलस्थित वाग्मती पुल क्षेत्रमा गरिने भएको छ ।

आज सफाइ सम्पन्न गरी असार १५ का अवसरमा दही च्यूरा खाएर सांस्कृतिक पर्वसमेत मनाइएको जनाइएको छ ।
विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको हो । सुरु भएदेखि प्रत्येक हप्ताको शनिबार चाड, पर्व, भूकम्प, नाकाबन्दी, कोरोना महामारी आदि प्रतिकूल परिस्थितिमा पनि महाअभियान रोकिएको छैन ।

महाअभियानले ११ वर्ष पूरा गरेर १२ वर्ष प्रवेश गरे पनि उल्लेख्य रुपमा नदी सफा हुन नसकेको गुनासो बढ्ने गरेको छ । सफाइ अभियानलाई स्थानीय सरकारले सहयोग नगर्दा यस्तो अवस्था आएको अभियानकर्मीहरुको भनाइ छ ।

बैतडीमा सामुदायिक वनको अतिक्रमण हटाउन सुरु

बैतडी, १५ असार : डिभिजन वन कार्यालय बैतडीले जिल्लाका विभिन्न स्थानमा वन अतिक्रमण गरी बनाएका संरचना हटाउन थालेको छ । आज जिल्लाको मेलौली नगरपालिका–२ स्थित श्रीकृष्ण सामुदायिक वन अतिक्रमण गरी बनाएका घर टहरा भत्काइएको हो ।

प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा नेतृत्वमा खटिएको टोलीले वन अतिक्रमण गरी बनाइएको स्थानीय राम ओडको दुईतले घर भत्काउनुका साथै अतिक्रमण गरी भोगचलन गरिँदै आएको सामुदायिक वनको २५ रोपनी जमिन खाली गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

प्रजिअ शर्मा, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक गिरी, सशस्त्र प्रहरी बल ५१ नम्बर गुल्मका प्रमुख, सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्णसिंह पुजारा, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत दिगम्बर गिरी, डिभिजन वन कार्यालयका निमित्त प्रमुख दिलिपकुमार यादव, वडा नं २ का वडाअध्यक्ष कृष्णदत्त भट्टलगायतको टोलीले स्थलगत निरीक्षणसहित अवैध संरचना हटाएको हो ।

संरचना भत्काइएको ठाउँमा घेरबार निर्माण गरी वृक्षारोपण गरिने डिभिजन वन कार्यालय प्रमुख यादवले जानकारी दिनुभयो ।

गाएक सागरले नयाँ स्वरूपमा ल्याए ‘न मैले लेखेँ, न उनले लेखिन्’

काठमाडौँ  । गायक हिमाल सगरले ‘न मैले लेखेँ, न उनले लेखिन’ गीतलाई २१ वर्षपछि नयाँ स्वरूपमा ल्याएका छन् । शनिबार जमलस्थित विश्वज्योति सिनेप्लेक्समा पत्रकार सम्मेलनमा उनले गीतको श्रव्यदृश्य सार्वजनिक गरे ।

गायक सागरले गीतको अडियोसँगै श्रव्यदृश्यलाई आधुनिक शैलीमा तयार गरिएको बताए । “नयाँ स्वरूपमा पनि उही मिठास कायम गरेका छौँ । प्राविधिक रुपमा श्रव्यदृश्यलाई बलियो बनाइएको छ । एक्काइस वर्ष अगाडि चाहेर पनि गर्न नसकेका काम यसपटक म सहित मेरो समूहले गरेका छौँ” उनले भने ।

एक्काइस वर्षअगाडि उक्त गीतको एक लाख ५० हजारभन्दा बढी क्यासेट नै बिक्री भएको स्मरण गर्दै गायक सागरले सोही गीतमार्फत गायनमा स्थापित भएर आफूले नेपालबाहेक ६५ राष्ट्रमा साङ्गीतिक भ्रमण गरिसकेको बताए ।

धेरै दर्शक तथा स्रोताले सोही गीत रुचाएको उनको भनाइ छ । सागरले भने,“मलाई चिनाउने र स्थापित गराउने गीतलाई धेरै वर्ष पनि मैले चाहेजस्तो बनाएको छु । यो पुस्ताबाट पनि गीतलाई उत्तिकै माया प्राप्त हुनेछ भन्नेमा आशावादी छु ।”

सार्वजनिक गीतमा मानस केसीको शब्द रहेको छ भने योगेशकाजी शाहले एरेन्ज गरेका छन् । श्रव्यदृश्यमा गायक सागरसँगै अभिनेत्री केकी अधिकारीले अभिनय गरेकी छन् ।

अभिनेत्री अधिकारीले यो गीत सुन्ने बित्तिकै अभिनय गर्ने निर्णय लिएको बताइन् । उनले भनिन्, “यो गीत मैले स्कूले जीवनमै सुनेकी थिएँ । रेडियोमा यो गीतको फर्माइस पनि गरेकी छु । स्कुल र कलेजमा गुनगुनाएको गीतमा अभिनय गर्न पाउँदा निकै हर्षित छु ।”

गीतको श्रव्यदृश्यलाई निकेश खड्काले निर्देशन गरेका छन् । उनले लोकप्रिय गीतलाई नयाँ स्वरूपमा तयार गर्दा श्रव्यदृश्यमा बढी मेहनत गरिएको बताए ।

“गीत लोकप्रिय भइसकेकाले श्रव्यदृश्यमा यसलाई सरल र सुन्दर बनाउने प्रयास गरेको छु । गीतको शब्दमा भनिएको भावनालाई दृश्यमा उतारेको छु । गीतमा देखाइको कथासँग अहिलेको पुस्ता जोडिनुहुन्छ भन्नेमा आशावादी छु”, निर्देशक खड्काले भने ।

युएनएचसीआरद्वारा लिबियामा चार हजारभन्दा बढी सुडानी शरणार्थीलाई सहयोग प्रदान

शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त (युएनएचसीआर)ले यो वर्ष अहिलेसम्म लिबियामा रहेका चार हजार ८०० भन्दा बढी सुडानी शरणार्थीलाई महत्वपूर्ण सहयोग उपलब्ध गराएको छ ।

“यो वर्ष अहिलेसम्म चार हजार ८०० भन्दा बढी सुडानी शरणार्थीहरूलाई चिकित्सा सहायता, स्वच्छता किटहरू, भान्छाका सामान, सौर्य बत्तीमा पहुँच र नगद सहायता जस्ता महत्वपूर्ण समर्थनहरू प्रदान गरिएको छ,” युएनएचसीआरले एक विज्ञप्तिमा उल्लेख गरेको छ । धेरै शरणार्थीहरू आइरहँदा युएनएचसीआर र यसका साझेदारले खाँचोमा परेकालाई सहयोग गर्न प्रयासहरू बढाइरहेका छन् ।

यससँगै, अब लिबियामा युएनएचसीआरमा दर्ता भएका सुडानी शरणार्थीको सङ्ख्या चार हजार ८०० भन्दा बढी पुगेको छ ।अप्रिल सन् २०२३ को मध्यमा आफ्नो देशमा गृहयुद्ध सुरु भएदेखि ठूलो सङ्ख्यामा विस्थापित सुडानी नागरिकले लिबियामा सुरक्षा र सहायता खोजिरहेका छन् ।

आईएमएफद्वारा युक्रेनलाई दुई अर्ब २० करोड अमेरिकी डलर स्वीकृत

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले युक्रेनका लागि १५ अर्ब छ करोड अमेरिकी डलरको ऋण कार्यक्रमको चौथो समीक्षा पूरा गरेपछि युक्रेनलाई सहयोग गर्न दुई अर्ब २० करोड अमेरिकी डलर स्वीकृत गरेको छ ।

आईएमएफले विस्तारित वित्तीय सहजता कार्यक्रममा युक्रेनको कार्यसम्पादन प्रतिकूल परिस्थितिको बावजुद बलियो रहेको र मात्रात्मक लक्ष्यहरू प्राप्त भएका र संरचनात्मक महत्त्वका क्षेत्रमा समयमै वा छोटो समयमा नै लागू गरिएको एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

आईएमएफले गत अप्रिलमा जारी गरेको आर्थिक विवरणमा अघिल्लो तीन दशमलव दुई प्रतिशतको पूर्वानुमानको तुलनामा सन् २०२४ मा युक्रेनको जीडीपी वृद्धिको लागि दुई दशमलव पाँच र तीन दशमलव पाँच प्रतिशतको दायरामा आफ्नो पूर्वानुमान परिमार्जन गरेको छ ।

आईएमएफले युक्रेनमा रूसी सैन्य कारबाहीमा हालैका घटनाक्रमका कारण त्यहाँको पूर्वाधारमा क्षति पु¥याएको रूसी आक्रमणको वृद्धिका कारण उपभोक्ताको भावना र व्यवसायिक विश्वासमा आएको गिरावटलाई औंल्याएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यो जुनको सुरूमा किएभलाई समर्थन गर्न हाल उपलब्ध रहेको सहायता कार्यक्रमको चौथो समीक्षाको बारेमा युक्रेनी सरकारसँग सम्झौतामा पुगेको घोषणा गरेको छ । यसले दुई अर्ब २० करोड अमेरिकी डलर वित्तीय सहायता उपलब्ध गराउने ढोका खोल्छ ।

तीन वर्षमा बन्ने भनिएको गेउरिया पुल १० वर्षसम्म पनि बनेन

पथरी, १५ असार : मोरङको कानेपोखरी रङ्गेली सडकअन्तर्गत गेउरिया पुल १० वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न भएको छैन । कानेपोखरी गाउँपालिका–२ स्थित कानेपोखरी रङ्गेली सडकमा पर्ने गेउरिया खोलाको पुलबारे गत चैतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सडक विभागको टोलीले अनुगमन गरेर चाँडै काम सक्न निर्देशन दिएको थियो । निर्देशन दिएको चार महिना बितिसक्दा पनि पुलको निर्माण भने कछुवा गतिमा भइरहेको छ ।

तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७१ सालमा फिचर एन्ड सराउद्दिन जेवीले ठेक्का पाएको थियो । १५ मिटर लम्बाइ उक्त पुल रु एक करोड १८ लाखमा ठेक्का लागेको थिया तर १५ अझै पुल कहिले सम्पन्न हुन्छ भन्ने टुङ्गो नरहेको स्थानीयको भनाइ छ ।
स्थानीय पुन्यप्रसाद रिमालले उक्त स्थानबाट नौ वर्षको अवधिमा पाँचजनाभन्दा बढीले ज्यान गुमाइसकेका र धेरैजना घाइते भएका उल्लेख गर्दै वर्षातको समयमा थप जोखिम रहेको बताउनुभयो । “हामीले समयमै पुल निर्माण गर्न जनप्रतिनिधिलगायत ठेकेदार तथा सरोकार भएकाहरुलाई ध्यानाकर्षण गरायौँ तर सुनुवाइ भएन । १५ मिटर पुलसमेत समयमै बनाउन नसक्नेले बाँकी काम कसरी गर्लान् आश्चर्य लागेको छ”, उहाँले भन्नुभयो ।

अब पुलको बाँकी काम चाँडै सम्पन्न गर्न जनप्रतिनिधि र नागरिक जागरुक बन्नुपर्ने स्थानीयको भनाइ छ ।

इराकको मस्जिदमा विस्फोटक उपकरण फेलाः राष्ट्रसङ्घीय एजेन्सी

संयुक्त राष्ट्रसङ्घको एक एजेन्सीले उत्तरी इराकी सहरमा अवस्थित अल–नुरी मस्जिदको पुनःस्थापनाका क्रममा इस्लामिक स्टेट समूहका जिहादीहरूले वर्षौंअघि लुकाएका पाँचवटा बम फेला पारेको बताएको छ ।

संयुक्त राष्ट्र सांस्कृतिक एजेन्सी (युनेस्को)का एक प्रतिनिधिले शुक्रबार राति बताएअनुसार साइटको पुनःस्थापना गर्ने क्रममा टोलीले मङ्गलबार प्रार्थना हलको दक्षिणी पर्खालमा उक्त क्षेत्रलाई विनाश गर्न सक्ने गरी बनाइएको पाँचवटा ठूलो मात्राको विस्फोटक उपकरणहरू फेला पारेको थियो ।

बाह्रौँँ शताब्दीको मोसुलको अल–नुरी मस्जिद आइएसबाट सहर पुनः प्राप्त गर्ने लडाइँको क्रममा नष्ट गरिएको थियो । तीन वर्षसम्म मोसुल कब्जा गरेको आइएसले उक्त स्थानमा विस्फोटक पदार्थ राखेको इराकी सेनाले आरोप लगाएको छ ।

युनेस्कोले सहरमा मस्जिद र अन्य वास्तुकलात्मक सम्पदास्थलहरू पुनःस्थापना गर्ने काम गरिरहेको छ । यसको धेरै भाग सन् २०१७ मा पुनः प्राप्तिको लडाइँमा भग्नावशेषमा परिणत भएको थियो । “इराकी सशस्त्र बलले तुरुन्तै क्षेत्र सुरक्षित गर्यो र स्थिति अहिले पूर्ण रूपमा नियन्त्रणमा छ”, युनेस्कोले बताएको छ ।

युनेस्कोले पाचँमध्ये एउटा बम उक्त स्थानबाट हटाइएको छ तर अन्य चार उपकरणहरू एकअर्कासँग जोडिएको कारण केही दिनभित्र हटाइने अपेक्षा गरेको छ ।

‘कृष्णप्रसाद भट्टराई अद्वितीय राजनीतिज्ञ’

काठमाडौँ, १५ असार : नेपाली कांग्रेसका संस्थापक एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई विश्वकै अद्वितीय राजनीतिज्ञमध्येमा पर्नुहुने भन्दै वक्ताहरुले उहाँलाई स्मरण गरेका छन् ।

भट्टराईको जन्म शताब्दीका अवसरमा सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्रले आज यहाँ आयोजना गरेको कार्यक्रममा वक्ताहरुले विश्वका अन्य कुनै राजनीतिज्ञले प्रधानमन्त्री भएका बेला मेरो लक्ष्य मुक्ति (निर्वाण) नभनेको उल्लेख गर्दै देशको कार्यकारी प्रमुखको भूमिकामा रहँदा पनि किसुनजीले अध्यात्मलाई नछोडेको चर्चा गरे ।

भट्टराईको जीवन र व्यक्तित्वमाथि प्रवचन दिँदै आध्यात्मिक गुरु बोधिसत्व स्वामी आनन्द अरुणले किसुनजीको माया र प्रोत्साहनले नै आफू आध्यात्मिक मार्गमा लागेको बताउनुभयो । पहिलोपटक प्रधानमन्त्री भएका बेला किसुनजीले नै काठमाडौँमा ओशो तपोवनको उद्घाटन गर्नुभएको उल्लेख गर्दै तपोवनमा हाल विभिन्न ८० देशका मानिस ध्याना साधना गर्न आउने गरेका र २० देशमा ध्यान केन्द्र खुलेका जनाकारी दिनुभयो । भट्टराईकै प्रेरणाले खुलेको ओशो तपोवन अन्तर्राष्ट्रिय हाल ध्यान केन्द्रका रुपमा स्थापित भएको उहाँको भनाइ छ ।

 “सत्य साइ बाबाले किसुनजीलाई देख्ने बित्तिकै यो मानिसमा देवदूतको हृदय छ भन्नुभएको थियो तर हामीले त्यस्तो मान्छेलाई चिन्न सकेनौँ । २०४८ को निर्वाचनमा उहाँले चुनाव जितेको भए देशको अवस्था अर्कै भइसक्थ्यो, किसुनजीलाई हराएपछि नै नेपालको राजनीतिमा कलियुग सुरु भएको हो”, आध्यात्मिक गुरु अरुणले भन्नुभयो,“समानुपातिक निर्वाचन प्रणालीलगायत व्यवस्थाले अहिले पदको किनबेच हुन थालेको छ, त्यसबेला किसुनजीले जित्नुभएको भए यसरी पदको किनबेच हुने अवस्था आउने थिएन । आखिर यो सबैको जग त्यसैबेला बसेको त हो नि” उहाँले भन्नुभयो । 

आफूले लामो सङ्गत गर्दा किसुनजी अडान भएको, आदर्शमा नचुक्ने नेताका रुपमा पाएको स्वामी आनन्द अरुणले सुनाउनुभयो । पञ्चायतकालमा सुन्दरीजल बन्दीगृहमा रहँदाको प्रसङ्ग उल्लेख गर्दै उहाँले बिपी कोइराला र गणेशमान सिंह पञ्चायतले तयार गरेको कागजातमा हस्ताक्षर गरेर निस्कँदा पनि किसुनजी थप २० महिना जेल बसी कागजातमा हस्ताक्षर नगरी निस्किएको घटना सुनाउनुभयो । “किसुनजी राजनीतिमा रहेर पनि आफ्ना कमी कमजोरी नलुकाई सत्य बोल्नुहुन्थ्यो, विवाह नगरे पनि म कुमार होइन जस्ता विषयले उहाँ सत्य र स्पष्ट बोल्ने राजनीतिज्ञका रुपमा स्थापित हुनुभएको छ । अडानमै रहेर उहाँ भारत प्रवासमा पनि जानुभएन, नेपालमै बसेर नेपाल विद्यार्थी सङ्घको स्थापना गर्नुभयो, त्यसबापत थप तीन वर्ष जेलमा बस्नुभयो,” उहाँले भन्नुभयो ।

विश्वमै अहिंसावादी नेताका रुपमा स्थापित महात्मा गान्धीभन्दा पनि किसुनजी आध्यात्मिक नेताका रुपमा रहनुभएको आफूले पाएको उहाँको भनाइ थियो । महात्मा गान्धीका पालामा भारतमा ठूला साधकका रुपमा स्थापित सन्तहरु रमण महर्षि, जे कृष्णमूर्तिजस्ता व्यक्तित्व भए पनि उहाँ त्यहाँ नजानुभएको प्रसङ्ग उल्लेख गर्नुहुँदै स्वामी आनन्द अरुणले किसुनजी भने पाइलट बाबा, अमर ज्योतिजस्ता सन्तहरुकहाँ गएको स्मरण गर्नुभयो । रामकृष्ण परमहंस र स्वामी विवेकानन्दका शब्दले जस्तै किसुनजीका शब्दले पनि आफूलाई बल दिने गरेको उहाँको अनुभव छ । नेपालको राजनीति विश्लेषण गर्दै स्वामी आनन्द अरुणले भन्नुभयो, “गणेशमान र किसुनजीलाई राणा एवं राजाले कांग्रेस छोडाउन सकेनन् तर कांग्रेसकै नेताले कांग्रेस छोड्ने अवस्थामा पु¥याए ।”

किसुनजीले दोस्रोपटक प्रधानमन्त्री हुँदा माओवादी समस्या समाधानका लागि काम गरेको उल्लेख गर्नुहँदै उहाँले फ्रान्समा माओवादी नेतासँग भेटेर शान्तिवार्ता अघि बढाउन खोजेकामा भ्रमण नै गर्न नदिएर समस्यालाई लम्ब्याएको सुनाउनुभयो । प्रधानमन्त्री भएका बेला किसुनजीले बालुवाटारमा सरकारी काममा आएकालाई सरकारी भान्साबाट चियापान गराउने र आफूलाई व्यक्तिगत कामले भेट्न आएकालाई निजी भान्साबाट चिया खुवाउने गरेको प्रसङ्गसमेत कार्यक्रममा स्वामी आनन्द अरुणले सुनाउनुभयो ।

केन्द्रका अध्यक्ष लोकेश ढकालले किसुनजीको जन्म शताब्दी वर्षका अवसरमा पनि केही कार्यक्रम नभएपछि बाध्य भएर संस्था स्थापना गर्नुपरेको बताउनुभयो । विसं २०८० पुस ८ गतेदेखि नै किसुनजीको जन्म शताब्दी वर्ष सुरु भएको र यस अवसरमा आगामी पुस ८ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरिने उहाँले जानकारी दिनुभयो । “किसुनजी आफैँले स्थापना गर्नुभएको पार्टी किन छोडेर हिँड्नुभयो ? यसको खोजी गरेपछि कार्यक्रममा केन्द्रका कार्यसमिति सदस्य एवं कांग्रेसका पुराना नेता कोमल लामिछानेले अक्षयकोष स्थापनाका लागि रु ५० हजार सहयोग गर्नुभएको थियो ।

‘अनाथ बालबालिकालाई शिक्षित बनाउनु राष्ट्रका लागि महत्वपूर्ण योगदान’

मोरङ, १५ असार : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनाथ बालबालिकाको संरक्षण गरी शिक्षित बनाउनु राष्ट्रका लागि महत्वपूर्ण योगदान भएको बताउनुभएको छ ।

पूर्वाञ्चल बालसेवा आश्रम विराटनगर–१३ का अध्यक्ष बालमुकुन्द पोखरेल र संरक्षक सीता पोखरेलका नाममा स्थापित ‘सीता बालमुकुमुन्द पोखरेल प्रतिष्ठान’द्वारा आज यहाँ आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा मुख्यमन्त्री कार्कीले आश्रममा रहेका ६० बालबालिकालाई शिक्षित र संस्कारयुक्त बनाएर राष्ट्रलाई महत्वपूर्ण योगदान पु¥याएको धारणा राख्नुभयो । उहाँले प्रदेश सरकारले आश्रमलाई अझ व्यवस्थित एवं सुविधा सम्पन्न बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अध्यक्ष पोखरेलले विगत ४० वर्षदेखि आश्रित बालबालिकालाई शिक्षित बनाई समाज एवं राष्ट्रका लागि महत्वपूर्ण योगदान पु¥याएकामा प्रशंसा गर्दै मुख्यमन्त्री कार्कीले यसबाट अन्य व्यक्ति तथा संस्थाले प्रेरणा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस अवसरमा साहित्यकार कुन्ती शर्मा र समाजसेवी श्याम अधिकारीकालाई नगद रु २५÷२५ हजार एवं प्रमाणपत्रसहित सम्मान गरिएको थियो । साहित्यकार शर्मा र अधिकारीले सम्मानबाट समाजमा रहेका युवालाई साहित्य र समाजसेवामा लाग्न प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष सुरेश गाउँले, आश्रमकी संरक्षक सीता पोखरेल, सदस्य ब्युटी श्रेष्ठ र सिद्धार्थ बैङ्कका प्रदेश प्रमुख कमल बस्नेतले आश्रमले अनाथ बालबालिकाको सेवा क्षेत्रमा उत्कृष्ट कार्य गरेको धारणा राख्नुभयो ।कार्यक्रममा सिद्धार्थ बैङ्कले आश्रमलाई आवश्यक फर्निचर सहयोग प्रदान गरेको थियो ।

लद्दाखमा ट्याङ्क दुर्घटनामा पाँच सेनाको मृत्यु

लद्दाखको दौलत बेग ओल्डी क्षेत्रमा शुक्रबार साँझ सेनाको ट्याङ्क (लडाईमा प्रयोग हुने गाडी) दुर्घटना हुँदा पाँच भारतीय सेनाको मृत्यु भएको छ ।सबै पाँच जनाको शवलाई घटनास्थलबाट निकाली आवश्यक अन्तिम परीक्षणका लागि पठाइएको छ । परीक्षणपछि शबलाई मृतकका आफन्तलाई बुझाइने सुरक्षा अधिकारीले बताएका छन् ।

सेनाले सञ्चालन गरेको टी–७२ ट्याङ्क नदी पार गर्ने अभ्यासका क्रममा दुर्घटनामा परेको थियो । पानीको सतह हिजो अचानक बढेका कारण दुर्घटना भएको रक्षा अधिकारीले बताए ।
“घटनाको समयमा ट्याङ्कमा एक जुनियर कमिश्नर अफिसर र चार जवान गरी पाँच सिपाहीहरू थिए ।

रूसको सीमावर्ती गाउँमा युक्रेनी ड्रोन आक्रमणमा पाँच जनाको मृत्यु

रूसी सीमावर्ती गाउँमा रहेको एउटा घरमा भएको युक्रेनी ड्रोन आक्रमणमा दुई बालबालिकासहित पाँच जनाको मृत्यु भएको क्षेत्रीय गभर्नरले शनिबार बताउनुभएको छ ।युक्रेनको सिमानाबाट केही मिटर पर रहेको रूसको कुस्र्क क्षेत्रको एउटा सानो गाउँ गोरोडिस्चको एउटा घरमा ड्रोन आक्रमण भएको हो ।

कुर्स्कका गभर्नर एलेक्सई स्मिर्नोभले सामाजिक सञ्जाल टेलिग्राममा उल्लेख गर्नुभयो, “उक्त आक्रमणमा दुई साना बच्चासहित पाँच व्यक्तिको मृत्यु भएको थियो । परिवारका अन्य दुई सदस्यको अवस्था गम्भीर रहेको छ ।”

सन् २०२२ फेब्रुअरीमा सुरु भएको द्वन्द्वमा दुवै पक्षले सयौं किलोमिटरसम्मको दायरासहित ठूला विस्फोटक शिल्पसहितका ड्रोन प्रयोग गरेका छन् ।युक्रेनले यस वर्ष रूसी भूभागमा आफ्नो आक्रमणलाई तीव्र पारेको छ ।

सबै नागरिकलाई सहज रूपमा खानेपानीको पुहँच पुर्याउन सरकार लागिरहेको छ :मन्त्री गिरी

पर्वत, १५ असारः कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले खानेपानीसम्बन्धी उपभोक्तामैत्री कानुन आवश्यकता रहेको बताउनुभएको छ । गृहजिल्ला पर्वतमा शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको १८औँ साधारणसभालाई आज सम्बोधन गर्दै मन्त्री गिरीले उपभोक्तालाई न्यून महसुल लाग्ने गरी ऐन संशोधनको आवश्यकता देखिएको बताउनुभयो ।

स्वच्छ खानेपानी पाउनु नागरिकको मौलिक हक भएको बताउँदै उहाँले सबै नागरिकलाई सहज रूपमा खानेपानीको पुहँच पुर्याउन सरकार लागिरहेको बताउनुभयो । उहाँले पुराना योजनालाई व्यवस्थित गर्नुका साथै नयाँ योजनाहरूलाई विस्तार गरेर हरेक नागरिकको घरघरमा धारा विस्तार गर्ने योजना सरकारले ल्याएको बताउनुभयो ।

मन्त्री गिरीले खानेपानीका स्रोतहरु सुक्दै जान थालेको अवस्थामा नयाँ स्रोतहरू खोजेर एकीकृत रूपमा आयोजना सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले अहिले पनि नागरिकले खानेपानीका लागि ठूलो धनराशि खर्चिनुपरेको, गरिब समुदायले धारा जडान गर्नै नसक्ने अवस्था आएको बताउँदै यसको अन्त्य गरिनुपर्ने बताउनुभयो । उपभोक्तालाई शून्य लागतमा राज्यले पानी उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

मन्त्री गिरीले सदरमुकाम रहेको कुश्मा नगरपालिकामा बृहद् खानेपानी योजना सञ्चालन गर्न आग्रह गर्दै त्यसका लागि तीनै तहका सरकारबीच साझेदारी गर्न सुझाव दिनुभयो । कम्तीमा रु दुई अर्ब बराबरको योजना निर्माण गर्न उहाँले आग्रह गर्नुभयो ।

फरक प्रसङ्गमा मन्त्री गिरीले बदमासी गर्ने सहकारी सञ्चालकलाई कारबाहीको दायरमा ल्याउनैपर्ने बताउनुभयो । ऋण लिएर नतिर्नेहरूलाई जसरी बैंकले कालोसूचीमा राख्छ त्यसैगरी सहकारी ठगहरूलाई पनि कालोसूचीमा राखेर राज्यका सेवासुविधाबाट बञ्चित गर्नुपर्ने उहाँको भनाइ थियो । सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि आवश्यक कानुन निर्माणको काम अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।

मन्त्री गिरीले मुलुकमा देखिएको अहिले अवस्थामा छिट्टै सुधार हुने बताउनुभयो । मुलुकको आर्थिक अवस्था विस्तारै लयमा आउँदै गरेको बताउँदै छिट्टै नेपालीहरूले सुखको श्वास फेर्न पाउने दाबीसमेत गर्नुभएको छ । उहाँले खानेपानीजस्ता पवित्र संस्थामा राजनीति गर्न नहुने बताउनुभयो । नागरिकलाई खानेपानी उपलब्ध गराउने उद्देश्यले खोलिएका यस्ता संस्थामा सर्वसम्मत रूपमा सक्षम नेतृत्व चयन गर्न उहाँले आग्रह गर्नुभयो ।

कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले बढ्दो जनसङ्ख्याको चापसँगै खानेपानीको अभाव पनि थपिँदै जाने बताउँदै नयाँ स्रोतहरू खोजी गरेर नागरिकलाई पानीको सहजता प्रदान गर्न आग्रह गर्नुभयो । कुश्माबजारमा वितरित पानी स्वच्छ रहेको बताउँदै यसलाई कायम राख्न उहाँले अनुरोध गर्नुभयो ।

बस्तीमा पसेर घरपालुवा जनावर मार्ने चितुवालाई नियन्त्रणमा लिइयो

गुलरिया (बर्दिया), १५ असारः बर्दियाको गुलरिया नगपालिका–१ स्थित शङ्कर बस्तीमा घरपालुवा जनावर मार्ने चितुवालाई नियन्त्रणमा लिइएको छ । डिभिजन वन कार्यालयको टोलीले पिँजडामार्फत चितुवा नियन्त्रणमा लिएको हो ।

शङ्कर बस्तीमा खसी, बाख्रा, कुकुरलगायतका घरपालुवा जनावर मारेपछि केजमा फसाएर चितुवा नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण बिडारीले जानकारी दिनुभएको छ । वयस्क भाले चितुवा व्यवस्थापनका लागि बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको छ । स्थानीयले गाउँमा चितुवाले जनावर मारेको सूचना दिएपछि क्यामरा ट्र्याप गरी अनुगमनका क्रममा चितुवा देखिएपछि नियन्त्रण गरिएको उहाँले बताउनुभयो ।

केज राखेको दुई दिनमा चितुवा फसेको हो । स्थानीयले अर्को पनि जोडी चितुवा रहेको वन कार्यालयलाई सूचना दिएका छन् । त्यसलाई पनि अनुगमन गरी पुनः नियन्त्रणमा लिइने वन कार्यालयले जनाएको छ । वन्यजन्तु नियन्त्रणमा लिएपछि व्यवस्थापनमा चुनौती रहेको उहाँले बताउनुभयो ।

कृषि उत्पादनलाई पर्यटनसँग जोडौँः मुख्यमन्त्री पाण्डे

लेखनाथ (कास्की), १५ असारः गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कृषि उत्पादनलाई पर्यटनसँग जोड्नुपर्नेमा जोड दिनुभएको छ । एक्काइसौँ धान दिवसका अवसरमा पोखरा पर्यटन परिषद्ले आज पोखरा–२३ को मार्गी फोवाफाँटमा आयोजना गरेको १९औँ असारे रोपाइँ महोत्सव–२०८१ को उद्घाटन गर्दै उहाँले रैथाने बालीको संरक्षण तथा उत्पादन गर्दै पर्यटकलाई आकर्षित गर्न सके किसानको पनि आयआर्जन बढाउन सकिने धारणा राख्नुभयो ।

सिँचाइको सुविधा भएका फाँटसमेत बाँझै हुँदा विदेशबाट खाद्यान्न ल्याउनुपर्ने बाध्यता रहेको उल्लेख गर्नुहुँदै उहाँले खेतीयोग्य जमिनलाई बाँझो हुन नदिने किसानलाई अनुदान उपलब्ध गराउँदै प्रोत्साहित गर्नुपर्ने बताउनुभयो । खेतीयोग्य भूमि टुक्राउने कार्यलाई रोक्दै त्यस्ता जग्गामा धानलगायतका बाली लगाउन जरुरी रहेको उहाँको भनाइ थियो ।

त्यसअवसरमा किसानले मुख्यमन्त्री पाण्डेलाई जेठो बुढो जातको धान र घ्यू उपहार दिएका थिए । गण्डकी प्रदेश सरकारका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री बिन्दुकुमार थापाले पर्यटनसँग कृषि उत्पादनलाई जोड्न सक्याँै भने किसानमा समृद्धि आउने धारणा व्यक्त गर्नुभयो । उहाँले कृषिमा आधुनिकीकरण जरुरी भएको समेत उल्लेख गर्नुभयो ।

गण्डकी प्रदेशसभाका सदस्य प्रकाश बरालले प्रत्येक वर्ष हर्पन खोलाले किसानलाई दुःख दिने गरेको उल्लेख गर्दै खोला संरक्षण जरुरी भएको बताउनुभयो । वर्षामा धान खेतमा खोलाको बाढी पस्दा किसानले दुःख पाउने गरेको उहाँको भनाइ थियो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले किसानलाई प्रोत्साहन गर्न प्रत्येक वर्ष कास्कीका विभिन्न ठाउँमा परिषद्ले रोपाइँ महोत्सव गर्दै आएको बताउनुभयो । महोत्सवमा स्थानीय, आन्तरिक तथा विदेशी पर्यटक हिलोमा रमाएका थिए भने सोही अवसरमा हिलेदौड, भलिबल, हिलोमा माछा छोप्ने, डोरी तान्नेलगायतका कार्यक्रम आयोजना गरिएको छ ।

‘धानको उत्पादन वृद्धिमा जलवायुमैत्री प्रविधिको विकास र विस्तार गर्न सरकार लागिरहेको छ’

सिद्धार्थनगर, १५ असारः लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र विस्तारमा सरकार लागिरहेको बताउनुभएको छ ।

२१औँ राष्ट्रिय धान दिवसका अवसरमा गृहजिल्ला रोल्पाको सुनिल स्मृति गाउँपालिका–५ काभ्रा पुग्नुभएका मुख्यमन्त्री महराले जलवायु अनुकूलित प्रविधिहरूको प्रसार, जैविक विविधताको उपयोग गरी पोषणयुक्त धानको उच्च उत्पादन दिने जातहरूको विकास तथा उत्पादनमा बढाउने रणनीतिमा लाग्नुपर्ने बताउनुभयो । “धान बालीमा जलवायुमैत्री प्रविधिहरूको अवलम्बन गराई उत्पादनमा वृद्धि गरी धान–चामलको आयात प्रतिस्थापनमा सहयोग पुर्याउन सरकार र कृषकले सहकार्य गर्नुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो,“‘जनआकाङ्क्षा पूरा गर्ने हाम्रो सङ्कल्पः दिगो विकास र सुशासनमात्र विकल्प’ भन्ने लुम्बिनी प्रदेश सरकारको नारालाई साकार पार्न सरकार किसानसँग हातेमालो गरेर अगाडि बढ्न तयार छ ।”

‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ नाराका साथ २१औँ राष्ट्रिय धान दिवसलाई व्यवहारमा लागू गर्न रोल्पाबाट प्रदेशवासीलाई सन्देश दिएको उहाँको सचिवालयले जनाएको छ ।
त्यस अवसरमा सुनिल स्मृतिका गाउँपालिका अध्यक्ष मनिराम बुढाथोकी, पूर्वअध्यक्ष गुणेन्द्र घर्ती र पूर्वउपाध्यक्ष बागमती क्षत्रीनीलगायतको सहभागिता रहेको थियो ।

बुद्ध एयरले भित्र्यायो एटीआर जहाज

काठमाडौँ, १५ असार : निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले १८औँ एटीआर–७२ जहाज भित्र्याएको छ । योसँगै बुद्ध एयरसँग एटीआर–७२ विमानको सङ्ख्या १५ पुगेको छ ।

कम्पनीले कल साइन नाइन एन–एएनजेड विमान फ्रान्सबाट ल्याएको हो । आवश्यक कानुनी प्रक्रिया पूरा गरेर जहाज आगमी साउन १ गतेदेखि व्यावसायिक उडानमा ल्याइने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार साउनदेखि सुर्खेत र धनगढीमा अतिरिक्त उडानसँगै अरु गन्तव्यमा पनि विस्तार गरिनेछ ।

बुद्ध एयरसँग १५ थान एयरसँग एटीआर–७२ र तीन थान एटीआर ४२ जहाज रहेका छन् । हवाई उडानलाई सहज र सरल बनाउने प्रतिबद्धता अनुरुप बुद्ध एयरले आफ्नो बेडमा नयाँ जहाज थप गरेको हो । बुद्ध एयरका बजार निर्देशक जोशीले सहज भाडासँगै उडान सङ्ख्या उल्लेख्य वृद्धि भई यात्रुको उडान सुविधालाई मध्यनजर गर्दै उडान तालिकालाई प्रभावकारी रुपमा सञ्चालन गरिने विश्वास व्यक्त गर्नुभयो ।

बुद्ध एयरले अहिले आन्तरिकतर्फ एक सय ५० भन्दा बढी उडान भरिरहेको छ । अन्तर्राष्ट्रियतर्फ काठमाडौँबाट भारतको वाराणसीका लागि उडान भर्दैआएको छ । कम्पनीले पोखरा, चितवन, भैरहवा तथा नेपालगञ्जबाट पनि उडान भर्दै आएको छ ।

जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामा : प्रधानमन्त्री

चितवन, १५ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धान बालीमा जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गरिने बताउनुभएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कृषि विभाग, नेपाल कृषि अनुसन्धान परिषद्, कृषि विकास कार्यालय चितवन र बछौली बहुउद्देश्यी कृषक समूह रत्ननगरले संयुक्तरुपमा आज यहाँ आयोजना गरेको २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसारमा सरकारको प्राथमिकता रहेको बताउनुभयो ।

“जलवायु परिवर्तनका कारण धानलगायत बालीमा परेको नकारात्मक असर न्यूनीकरण गरी उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसार सरकारको प्राथमिकतामा छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “जैविक विविधताको उपयोग गरी पोषणयुक्त उच्च उत्पादन दिने धानका जातको विकास, तथा उत्पादनमा कृषकमैत्री प्रविधिको प्रयोगमार्फत धान बालीको उत्पादन बढाउने रणनीति लिएको छ ।”

कृषि क्षेत्रको व्यवसायीकरण र विविधिकरणमार्फत मुलुकमा समृद्धि हासिल गर्न पछिल्लो समयमा कृषि क्षेत्रमा जलवायु परिवर्तन ठूलो चुनौतीको रूपमा देखिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जलवायुमैत्री प्रविधिको अवलम्वन गरेर उत्पादन वृद्धि गर्न र धान तथा चामलको आयात प्रतिस्थापन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । हरित ग्यास उत्सर्जनमा न्यून भूमिका भए पनि जलवायु परिवर्तनको प्रतिकूल असरको जोखिम उच्च रहेका राष्ट्रमध्ये नेपाल भएको उल्लेख गर्दै उहाँले जलवायु परिवर्तनका दृष्टिले संवेदनशील र प्रभावित उपक्षेत्रमध्ये नेपालको प्रमुख खाद्यान्न बाली धान भएको उल्लेख गर्नुभयो ।

“जलवायु परिवर्तनका कारण सृजित सुक्खा–खडेरी, बेमौसमी वर्षा, बाढी–पहिरो, आकस्मिक रोग तथा किराको प्रकोप, तापक्रममा वृद्धिजस्ता नकारात्मक असरमा अनुकूलित हुने धानका जातहरू र उत्पादन प्रविधिहरूको गर्नुपर्छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “उत्पादन बढाएर आयात प्रतिस्थापन गरी धान चामलमा आत्मनिर्भर हुन विशेष योजनाका साथ क्रियाशील हुनैपर्छ ।”

धानबाली देशको रणनीतिक बाली भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले तीनवटै तहको सरकारलाई नेपाल सरकारले लिएका नीतिहरूको सफल कार्यान्वयनका लागि आह्वान गर्नुभयो । परनिर्भरता र व्यापार असन्तुलनलाई कम गर्न र राष्ट्रियस्तरमा धानको उत्पादन बढाउन वर्तमान सरकारले रासायनिक मल र गुणस्तरीय बीउको उपलब्धता, प्रविधि विस्तार, अनुसन्धान र विकास तथा न्यूनतम समर्थन मूल्यको कार्यान्वयनलाई प्राथमिकता दिएको उहाँले स्पष्ट पार्नुभयो ।

दिगो विकासका लक्ष्यहरू प्राप्तिका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धता र कृषि विकास रणनीतिको कार्यान्वयनमार्फत खाद्य पोषण सुरक्षाको अवस्थामा सुधार ल्याउने राष्ट्रिय प्रतिबद्धता रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले प्रमुख खाद्यान्न बालीको उत्पादन तथा उपलब्धतामा वृद्धि, वितरण प्रणालीमा सुधार र खाद्यान्नको उचित उपयोगमार्फत खाद्यान्नमा आत्मनिर्भरता र दीगो खाद्य तथा पोषण सुरक्षा कायम गरिने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ नाराका साथ मनाउन लागिएको २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा धान बालीको उत्पादन र उत्पादकत्व वृद्धिमार्फत समृद्ध अर्थतन्त्र निर्माणमा सबैको ठोस योगदान रहने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले यान्त्रीकीकरण र आधुनिकीकरणको हिसाबले एकताको भाव झल्कने गरी मन्त्रालयले काम अघि बढाएको बताउनुभयो । कृषि मन्त्रालयको टोली कृषि क्षेत्रको विकासमा अहोरात्र लागिपरेको बताउनुभयो । कृषकलाई सम्मान गर्ने गरी मन्त्रालयले काम गर्ने उहाँको भनाइ थियो । सरकारले उत्पादनमा जोड दिँदै उत्पादन र बजारीकरणका लागि काम गर्ने उहाँले बताउनुभयो ।

मन्त्री साहले भन्नुभयो, “धान रोप्नका लागि आवश्यक पर्ने मल पर्याप्त मात्रामा उपलब्ध गराउन सरकार लागिपरेको छ ।” वितरण प्रणालिमा देखिएको समस्या समाधान गर्दै अघि बढ्ने उहाँको भनाइ थियो ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चितवनलाई बीउ उत्पादनको पकेट क्षेत्रको रुपमा विकास गरिने बताउनुभयो । प्रदेशले एक वडा, एक पकेट क्षेत्र कार्यक्रम सञ्चालनमा ल्याएकाले अबको पाँच वर्षमा उत्पादनमा आत्मनिर्भर बन्ने गरी काम अघि बढाएको बताउनुभयो ।

कार्यक्रममा कृषि विभागका महानिर्देशक नरहरिप्रसाद घिमिरेले प्रविधिको प्रयोग गरेर कृषि कर्म गर्दा उत्पादन बढाउन र लागत घटनाउन सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा सांसद हरि ढकाल, बागमती प्रदेशसभा सदस्य उत्तम जोशी, ठाकुर ढकाल र ईश्वर सापकोटा, रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटालगायतको उपस्थिति रहेको थियो ।