`

कृषि उत्पादनलाई पर्यटनसँग जोडौँः मुख्यमन्त्री पाण्डे

लेखनाथ (कास्की), १५ असारः गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कृषि उत्पादनलाई पर्यटनसँग जोड्नुपर्नेमा जोड दिनुभएको छ । एक्काइसौँ धान दिवसका अवसरमा पोखरा पर्यटन परिषद्ले आज पोखरा–२३ को मार्गी फोवाफाँटमा आयोजना गरेको १९औँ असारे रोपाइँ महोत्सव–२०८१ को उद्घाटन गर्दै उहाँले रैथाने बालीको संरक्षण तथा उत्पादन गर्दै पर्यटकलाई आकर्षित गर्न सके किसानको पनि आयआर्जन बढाउन सकिने धारणा राख्नुभयो ।

सिँचाइको सुविधा भएका फाँटसमेत बाँझै हुँदा विदेशबाट खाद्यान्न ल्याउनुपर्ने बाध्यता रहेको उल्लेख गर्नुहुँदै उहाँले खेतीयोग्य जमिनलाई बाँझो हुन नदिने किसानलाई अनुदान उपलब्ध गराउँदै प्रोत्साहित गर्नुपर्ने बताउनुभयो । खेतीयोग्य भूमि टुक्राउने कार्यलाई रोक्दै त्यस्ता जग्गामा धानलगायतका बाली लगाउन जरुरी रहेको उहाँको भनाइ थियो ।

त्यसअवसरमा किसानले मुख्यमन्त्री पाण्डेलाई जेठो बुढो जातको धान र घ्यू उपहार दिएका थिए । गण्डकी प्रदेश सरकारका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री बिन्दुकुमार थापाले पर्यटनसँग कृषि उत्पादनलाई जोड्न सक्याँै भने किसानमा समृद्धि आउने धारणा व्यक्त गर्नुभयो । उहाँले कृषिमा आधुनिकीकरण जरुरी भएको समेत उल्लेख गर्नुभयो ।

गण्डकी प्रदेशसभाका सदस्य प्रकाश बरालले प्रत्येक वर्ष हर्पन खोलाले किसानलाई दुःख दिने गरेको उल्लेख गर्दै खोला संरक्षण जरुरी भएको बताउनुभयो । वर्षामा धान खेतमा खोलाको बाढी पस्दा किसानले दुःख पाउने गरेको उहाँको भनाइ थियो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले किसानलाई प्रोत्साहन गर्न प्रत्येक वर्ष कास्कीका विभिन्न ठाउँमा परिषद्ले रोपाइँ महोत्सव गर्दै आएको बताउनुभयो । महोत्सवमा स्थानीय, आन्तरिक तथा विदेशी पर्यटक हिलोमा रमाएका थिए भने सोही अवसरमा हिलेदौड, भलिबल, हिलोमा माछा छोप्ने, डोरी तान्नेलगायतका कार्यक्रम आयोजना गरिएको छ ।

‘धानको उत्पादन वृद्धिमा जलवायुमैत्री प्रविधिको विकास र विस्तार गर्न सरकार लागिरहेको छ’

सिद्धार्थनगर, १५ असारः लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र विस्तारमा सरकार लागिरहेको बताउनुभएको छ ।

२१औँ राष्ट्रिय धान दिवसका अवसरमा गृहजिल्ला रोल्पाको सुनिल स्मृति गाउँपालिका–५ काभ्रा पुग्नुभएका मुख्यमन्त्री महराले जलवायु अनुकूलित प्रविधिहरूको प्रसार, जैविक विविधताको उपयोग गरी पोषणयुक्त धानको उच्च उत्पादन दिने जातहरूको विकास तथा उत्पादनमा बढाउने रणनीतिमा लाग्नुपर्ने बताउनुभयो । “धान बालीमा जलवायुमैत्री प्रविधिहरूको अवलम्बन गराई उत्पादनमा वृद्धि गरी धान–चामलको आयात प्रतिस्थापनमा सहयोग पुर्याउन सरकार र कृषकले सहकार्य गर्नुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो,“‘जनआकाङ्क्षा पूरा गर्ने हाम्रो सङ्कल्पः दिगो विकास र सुशासनमात्र विकल्प’ भन्ने लुम्बिनी प्रदेश सरकारको नारालाई साकार पार्न सरकार किसानसँग हातेमालो गरेर अगाडि बढ्न तयार छ ।”

‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ नाराका साथ २१औँ राष्ट्रिय धान दिवसलाई व्यवहारमा लागू गर्न रोल्पाबाट प्रदेशवासीलाई सन्देश दिएको उहाँको सचिवालयले जनाएको छ ।
त्यस अवसरमा सुनिल स्मृतिका गाउँपालिका अध्यक्ष मनिराम बुढाथोकी, पूर्वअध्यक्ष गुणेन्द्र घर्ती र पूर्वउपाध्यक्ष बागमती क्षत्रीनीलगायतको सहभागिता रहेको थियो ।

बुद्ध एयरले भित्र्यायो एटीआर जहाज

काठमाडौँ, १५ असार : निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले १८औँ एटीआर–७२ जहाज भित्र्याएको छ । योसँगै बुद्ध एयरसँग एटीआर–७२ विमानको सङ्ख्या १५ पुगेको छ ।

कम्पनीले कल साइन नाइन एन–एएनजेड विमान फ्रान्सबाट ल्याएको हो । आवश्यक कानुनी प्रक्रिया पूरा गरेर जहाज आगमी साउन १ गतेदेखि व्यावसायिक उडानमा ल्याइने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार साउनदेखि सुर्खेत र धनगढीमा अतिरिक्त उडानसँगै अरु गन्तव्यमा पनि विस्तार गरिनेछ ।

बुद्ध एयरसँग १५ थान एयरसँग एटीआर–७२ र तीन थान एटीआर ४२ जहाज रहेका छन् । हवाई उडानलाई सहज र सरल बनाउने प्रतिबद्धता अनुरुप बुद्ध एयरले आफ्नो बेडमा नयाँ जहाज थप गरेको हो । बुद्ध एयरका बजार निर्देशक जोशीले सहज भाडासँगै उडान सङ्ख्या उल्लेख्य वृद्धि भई यात्रुको उडान सुविधालाई मध्यनजर गर्दै उडान तालिकालाई प्रभावकारी रुपमा सञ्चालन गरिने विश्वास व्यक्त गर्नुभयो ।

बुद्ध एयरले अहिले आन्तरिकतर्फ एक सय ५० भन्दा बढी उडान भरिरहेको छ । अन्तर्राष्ट्रियतर्फ काठमाडौँबाट भारतको वाराणसीका लागि उडान भर्दैआएको छ । कम्पनीले पोखरा, चितवन, भैरहवा तथा नेपालगञ्जबाट पनि उडान भर्दै आएको छ ।

जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामा : प्रधानमन्त्री

चितवन, १५ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धान बालीमा जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गरिने बताउनुभएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कृषि विभाग, नेपाल कृषि अनुसन्धान परिषद्, कृषि विकास कार्यालय चितवन र बछौली बहुउद्देश्यी कृषक समूह रत्ननगरले संयुक्तरुपमा आज यहाँ आयोजना गरेको २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसारमा सरकारको प्राथमिकता रहेको बताउनुभयो ।

“जलवायु परिवर्तनका कारण धानलगायत बालीमा परेको नकारात्मक असर न्यूनीकरण गरी उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसार सरकारको प्राथमिकतामा छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “जैविक विविधताको उपयोग गरी पोषणयुक्त उच्च उत्पादन दिने धानका जातको विकास, तथा उत्पादनमा कृषकमैत्री प्रविधिको प्रयोगमार्फत धान बालीको उत्पादन बढाउने रणनीति लिएको छ ।”

कृषि क्षेत्रको व्यवसायीकरण र विविधिकरणमार्फत मुलुकमा समृद्धि हासिल गर्न पछिल्लो समयमा कृषि क्षेत्रमा जलवायु परिवर्तन ठूलो चुनौतीको रूपमा देखिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जलवायुमैत्री प्रविधिको अवलम्वन गरेर उत्पादन वृद्धि गर्न र धान तथा चामलको आयात प्रतिस्थापन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । हरित ग्यास उत्सर्जनमा न्यून भूमिका भए पनि जलवायु परिवर्तनको प्रतिकूल असरको जोखिम उच्च रहेका राष्ट्रमध्ये नेपाल भएको उल्लेख गर्दै उहाँले जलवायु परिवर्तनका दृष्टिले संवेदनशील र प्रभावित उपक्षेत्रमध्ये नेपालको प्रमुख खाद्यान्न बाली धान भएको उल्लेख गर्नुभयो ।

“जलवायु परिवर्तनका कारण सृजित सुक्खा–खडेरी, बेमौसमी वर्षा, बाढी–पहिरो, आकस्मिक रोग तथा किराको प्रकोप, तापक्रममा वृद्धिजस्ता नकारात्मक असरमा अनुकूलित हुने धानका जातहरू र उत्पादन प्रविधिहरूको गर्नुपर्छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “उत्पादन बढाएर आयात प्रतिस्थापन गरी धान चामलमा आत्मनिर्भर हुन विशेष योजनाका साथ क्रियाशील हुनैपर्छ ।”

धानबाली देशको रणनीतिक बाली भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले तीनवटै तहको सरकारलाई नेपाल सरकारले लिएका नीतिहरूको सफल कार्यान्वयनका लागि आह्वान गर्नुभयो । परनिर्भरता र व्यापार असन्तुलनलाई कम गर्न र राष्ट्रियस्तरमा धानको उत्पादन बढाउन वर्तमान सरकारले रासायनिक मल र गुणस्तरीय बीउको उपलब्धता, प्रविधि विस्तार, अनुसन्धान र विकास तथा न्यूनतम समर्थन मूल्यको कार्यान्वयनलाई प्राथमिकता दिएको उहाँले स्पष्ट पार्नुभयो ।

दिगो विकासका लक्ष्यहरू प्राप्तिका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धता र कृषि विकास रणनीतिको कार्यान्वयनमार्फत खाद्य पोषण सुरक्षाको अवस्थामा सुधार ल्याउने राष्ट्रिय प्रतिबद्धता रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले प्रमुख खाद्यान्न बालीको उत्पादन तथा उपलब्धतामा वृद्धि, वितरण प्रणालीमा सुधार र खाद्यान्नको उचित उपयोगमार्फत खाद्यान्नमा आत्मनिर्भरता र दीगो खाद्य तथा पोषण सुरक्षा कायम गरिने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ नाराका साथ मनाउन लागिएको २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा धान बालीको उत्पादन र उत्पादकत्व वृद्धिमार्फत समृद्ध अर्थतन्त्र निर्माणमा सबैको ठोस योगदान रहने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले यान्त्रीकीकरण र आधुनिकीकरणको हिसाबले एकताको भाव झल्कने गरी मन्त्रालयले काम अघि बढाएको बताउनुभयो । कृषि मन्त्रालयको टोली कृषि क्षेत्रको विकासमा अहोरात्र लागिपरेको बताउनुभयो । कृषकलाई सम्मान गर्ने गरी मन्त्रालयले काम गर्ने उहाँको भनाइ थियो । सरकारले उत्पादनमा जोड दिँदै उत्पादन र बजारीकरणका लागि काम गर्ने उहाँले बताउनुभयो ।

मन्त्री साहले भन्नुभयो, “धान रोप्नका लागि आवश्यक पर्ने मल पर्याप्त मात्रामा उपलब्ध गराउन सरकार लागिपरेको छ ।” वितरण प्रणालिमा देखिएको समस्या समाधान गर्दै अघि बढ्ने उहाँको भनाइ थियो ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चितवनलाई बीउ उत्पादनको पकेट क्षेत्रको रुपमा विकास गरिने बताउनुभयो । प्रदेशले एक वडा, एक पकेट क्षेत्र कार्यक्रम सञ्चालनमा ल्याएकाले अबको पाँच वर्षमा उत्पादनमा आत्मनिर्भर बन्ने गरी काम अघि बढाएको बताउनुभयो ।

कार्यक्रममा कृषि विभागका महानिर्देशक नरहरिप्रसाद घिमिरेले प्रविधिको प्रयोग गरेर कृषि कर्म गर्दा उत्पादन बढाउन र लागत घटनाउन सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा सांसद हरि ढकाल, बागमती प्रदेशसभा सदस्य उत्तम जोशी, ठाकुर ढकाल र ईश्वर सापकोटा, रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटालगायतको उपस्थिति रहेको थियो ।

पुष्पलालको जन्मशताब्दी ‘पुष्पलालको जन्मशताब्दी र नेपाली कम्युनिष्ट आन्दोलन’

काठमाडौँ, १५ असार – नेपालको कम्युनिष्ट आन्दोलनका आरम्भकर्ता पुष्पलालको जन्म १९८१ असार १५ गते रामेछापको भङ्गेरीमा भएको थियो । शहीद गङ्गालालको भाइ पुष्पलाल, परिवारको माइलो छोरो हुनुहुन्थ्यो । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल, राजा महेन्द्रले २०१७ सालमा प्रजातन्त्रमाथि ‘कू’ गरेपछि भारत निर्वासित हुनु भएको थियो । निर्वासनकै क्रममा उहाँ गम्भीर रूपमा बिरामी हुनुभयो । उपचारकै क्रममा २०३५ साउन ७ गते भारतस्थित नयाँदिल्लीमा उहाँको निधन भयो ।

नेपालका कम्युनिष्ट र नेपाली काँगे्रस मिलेर संयुक्तरूपमा जनआन्दोलन गरेमा नेपालमा प्रजातन्त्रको बहाली हुन्छ भन्ने उहाँको विचार थियो । आज पनि पुष्पलालको विचारलाई विश्लेषण गरेर भन्ने हो भने नेपालका कम्युनिष्ट र नेपाली कांग्रेस दुवै मिलेर जनताको भावना अनुरूपको समृद्ध नेपाल निर्माण गर्न अगाडि बढ्ने हो भने मुलुकले निश्चय नै विकासको ठूलो फड्को मार्नेछ । देश समृद्ध हुनेछ र नेपाली जनता सुखी हुनेछन् ।

नेपाली कम्युनिष्ट आन्दोलनका शिखर पुरूष हुनुहुन्थ्यो–पुष्पलाल । नेपाली कम्युनिष्ट राजनीतिमा उहाँको उपस्थिति र भूमिकाले नै नेपालमा कम्युनिष्ट पार्टी स्थापना र उक्त सङ्गठन विस्तारका लागि उत्प्रेरकको भूमिका निर्वाह भएको थियो । पुष्पलालको परिवार राजनीतिक रूपमा अपरिचित थिएन । उहाँका आफ्नै दाजु गङ्गालाललाई २२ वर्षको कलिलो उमेरमा राणा शासकहरूले गोली हानेर हत्या गरेका थिए । सानैदेखि राजनीतिक परिवेशमा हुर्केका र आफ्नै अगाडि दाजुको गोली हानी हत्या गरेको अवस्था अनि घरमा भइरहने राजनीतिक जमघट र गतिविधि किशोर पुष्पलालका लागि प्रेरक घटना बनेका थिए । दाजु गङ्गालालले आफ्नो हत्या हुनुअघि “आफूले गर्न नसकेको प्रजातन्त्रको स्थापनाको कार्यभारलाई तिमीले गाउँको कुनाकुनासम्म पु¥याउनु” भन्ने सन्देशलाई उहाँले जीवनभरि पछ्याइरहनुभयो । गङ्गालाललाई शोभाभगवतीमै हत्या गरेकै दिन पुष्पलालले नेपालबाट पारिवारिक राणा र सामन्ती सत्ताको अन्त्य गरी सच्चा जनवादी लोकतान्त्रिक न्यायपूर्ण गणतन्त्रवादी नेपाल निर्माण गर्ने प्रण गर्नु भएको थियो ।

कम्युनिष्ट पार्टीको स्थापना

विसं १९९८ मा पुष्पलाल श्रेष्ठले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र राजारामसँग मिलेर नेपाली प्रजातान्त्रिक सङ्घको गठन गर्नुभयो । सङ्घमा रहेका सदस्यले आ–आफ्नो रगतले प्रतिज्ञापत्रमा सही गरेर पार्टीमा लाग्नुपर्ने नियम बनाएका थिए । सङ्घले राणाशासनको विरोध गर्ने, विद्यालयहरू खोली विभिन्न खालका सीपमूलक तालिम दिने गरिन्थ्यो । भारतमा पनि राणाविरोधी क्रियाकलाप बढाउन पुष्पलालले भित्रभित्रै नेपाल प्रजा परिषद्का नेताहरूसित गोप्यरूपले सम्पर्क राखी टङ्कप्रसाद आचार्यलगायत अरू नेताहरूको फोटो सन् १९४२ मा भारत, पटनाबाट प्रकाशित हुने ‘जनता’ पत्रिकामा प्रकाशित गर्न मद्दत गर्नुभयो ।

त्यस्तै २००४ सालमा नेपाली राष्ट्रिय काग्रेसले नागरिक अधिकारका लागि गरेको आन्दोलनको नेतृत्व पुष्पलाल, शम्भुराम श्रेष्ठ, स्नेहलता श्रेष्ठ, साहना प्रधान आदिले गर्नुभयो । माक्र्सवाद–लेनिनवादलाई सर्वोत्तम विचारधारा ठानी २००६ सालमा कलकत्तामा पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो । यसका संस्थापक सदस्यहरूमा नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य, नारायण विलास जोशी, मोतिदेवी श्रेष्ठ आदि थिए ।

कम्युनिष्ट पार्टीको घोषणापत्र

पुष्पलालले नेपालमा कम्युनिष्ट विचारधाराको व्यापक प्रचार–प्रसार गर्न कार्लमाक्र्स र फेडरिक एंगेल्सद्वारा लिखित ‘कम्युनिष्ट घोषणापत्र’ नेपाली भाषामा अनुवाद गर्नुभयो । सो घोषणापत्र माक्र्सवादी विचारको नेपाली भाषामा पहिलो साहित्य हो । २००६ वैशाख १० गते नेपालमा कम्युनिष्ट पार्टीको आवश्यकता छ भन्ने महसुस गरी नेपाल कम्युनिष्ट पार्टी स्थापनार्थ सङ्गठन समितिको गठन आफ्नो नेतृत्वमा गर्नुभएको थियो । यसका सदस्यहरूमा गोविन्द निरन्जन वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ रहनुभएको थियो । यस सङ्गठन समितिले २००६ भाद्र ३० गते नेपाल कम्युनिष्ट पार्टीको घोषणापत्रका साथ विधिवत् नेपाल कम्युनिष्ट पार्टीको घोषणा ग¥यो । पार्टी स्थापना भएपछि विस्तारै कम्युनिष्ट पार्टीको सदस्यमा मनमोहन अधिकारी, तुलसीलाल अमात्य, शम्भुराम श्रेष्ठ, डिपी अधिकारी, शैलेन्द्रकुमार उपाध्याय, हिक्मतसिंह भण्डारी, केशरजङ्ग रायमाझी आदि जोडिनुभयो ।

विसं २००८ मा पुनः कलकत्ताको एक धर्मशालामा कम्युनिष्ट पार्टीको पहिलो सम्मेलन भयो । नेपालको आधुनिकीकरणका लागि ‘नयाँ जनवादका निम्ति नेपाली जनताको बाटो’ नामक कार्यक्रम पास भयो । यही बैठकले नेपालमा नयाँखाले पुँजीवादी जनवादी क्रान्ति गर्नुपर्ने आवश्यकतालाई जोड दियो यसलाई नयाँ जनवादी कार्यक्रमको संज्ञा दिइएको थियो । क्रान्तिपछि राज्यको स्वरूप नयाँ जनवादी गणतन्त्र हुने घोषणा गरिएको थियो । यसले नयाँ जनवादी गणतन्त्रमा सामन्तवाद–साम्राज्यवाद विरोधी सबै दलहरूलाई प्रतिस्पर्धात्मक छुट दिने र राज्यको आर्थिक व्यवस्था समाजवादोन्मुख हुने तथा निजी र सरकारी दुवै क्षेत्रको सहकार्यमा समाजवादको निर्माण गर्ने र प्रेस स्वतन्त्रता, बोल्ने, लेख्ने, सम्पत्ति आर्जन गर्ने र सबै प्रकारका मौलिक हक हुने कार्यक्रम ल्याएको थियो । त्यस्तै स्वतन्त्र न्यायपालिकाको परिकल्पना गरिएको थियो । त्यस्तै क्रान्तिकारी भूमिसुधार लागू गर्ने, जनतालाई निःशुल्क शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेन्टी, गास, बास र कपासको अनिवार्य व्यवस्था राज्यले गर्नुपर्ने आदि महत्वपूर्ण कुरा यसमा उल्लेख गरिएका थिए ।

समाज अध्येता पुष्पलाल

आफ्ना समकालीन नेताहरूभन्दा फरक पुष्पलाल राजनीतिक कर्महरूमा मात्र सीमित हुनु भएन । उहाँले नेपाली समाजको अध्ययन गर्ने, नेपाली इतिहासलाई माक्र्सवादी–भौतिकवादी दृष्टिकोणले केलाउने र त्यसको आधारमा नेपाली क्रान्तिको कार्यक्रम तय गर्ने ऐतिहासिक जिम्मेवारी वहन गर्नुभयो । नेपाली समाजको विश्लेषणको क्रममा पुष्पलाल नेपाली समाज अर्धसामन्ती र अर्ध–औपनिवेशिक रहेको निष्कर्षमा पुग्नुभएको थियो । २०२५ सालको तेस्रो सम्मेलनबाट नयाँ जनवादी कार्यक्रम पारित गर्दा उहाँ दीर्घकालीन सशस्त्र किसान क्रान्ति सङ्घर्षमार्फत् नयाँ जनवाद स्थापना गर्नुपर्ने निष्कर्षमा पुग्नुभएको थियो ।

उहाँले नेपाली समाजमा पूर्ण प्रजातान्त्रिक (जनवाद) मूल्य र मान्यताको स्थापना र सामाजिक न्यायका लागि जीवनभर आन्दोलनमा होमिनु भयो । उहाँ जहिले पनि श्रमिको हित र विशेष गरेर समाजको पिछडिएको वर्गको हितको बारेमा सोच्ने गर्नुहुन्थ्यो । २००७ सालको क्रान्तिकालमा त्रिपक्षीय दिल्ली सम्झौता (राजा, राणा, भारतबीच भएको) विरूद्ध पुष्पलालले नेतृत्व गर्नु भई राष्ट्रियताको पक्षमा सङ्घर्ष चलाउनुभयो । त्यो सङ्घर्षले नेपालमा कम्युनिष्ट आन्दोलनका लागि पर्याप्त सहयोग पु¥यो । त्यतिबेलाको नेपाली समाजमा एउटा उदाउँदो चम्किलो नेताको रूपमा आफ्नो छवि स्थापना गर्नुभएको थियो । उहाँमा सशक्त नेतृत्वदायी क्षमता थियो । उहाँ समाज परिवर्तनको प्रवर्तक हुनुहुन्थ्यो । उहाँले राणाविरोधी आन्दोलन, प्रजातान्त्रिक सुधार र निरङ्कुश शासनको अन्त्यका लागि सशक्त नेतृत्व गर्नुभएको थियो ।

उहाँको बौद्धिकता उहाँले लेखेका माक्र्सवाद र समाजवादसँग सम्बन्धित लेखकहरूबाट झल्कन्छ । प्रगतिशील बुद्धिजीवि सम्मेलनमा दिएको भाषण, नेपालमा मातृसत्तात्मक समाज, नेपालमा राजतन्त्रको उत्पत्ति विकास र यसको भविष्य (अन्त्य), नेपाली समाजको ऐतिहासिक सर्वेक्षणको आवश्यकताका साथै उहाँले ‘कम्युनिष्ट पार्टीको घोषणापत्र’ नेपाली भाषामा अनुवाद गर्नुभएको थियो । साथै, नेपाल कम्युनिष्ट पार्टीको घोषणापत्र पनि उहाँले नै लेख्नुभएको हो । उहाँका लेख–रचनाहरू नेपाली नागरिकलाई शिक्षित र जागरूक गर्ने खालको हुन्थ्यो ।

अन्तर्राष्ट्रिय समाजवादी र कम्युनिष्ट आन्दोलनहरूसँग पुष्पलालको सम्बन्ध रहेको छ । उहाँले मस्को र बेइजिङका सम्मेलनहरूमा भाग लिनुभएको थियो । विश्वका शोषित, उत्पीडित जनताको पक्षमा सङ्घर्षरत पार्टीहरूसँग उहाँको सम्बन्ध र ऐक्वद्धता थियो । उहाँले नेपाली समाजको समाजवादी विचारधारा र सामाजिक परिवर्तनका लागि रणनीतिहरूबारे समेत चर्चा गर्न चुक्नुभएको थिएन । पुष्पलाल राजतन्त्रको प्रखर आलोचक हुनुहुन्थ्यो र नेपालमा गणतन्त्रको वकालत गर्ने पहिलो व्यक्ति पनि हुनुहुन्थ्यो । उहाँले सामन्ती शासनभन्दा जनताको हितलाई प्राथमिकता दिने राजनीतिक संरचनामा विश्वास गर्नुभएको थियो । उहाँले नयाँ जनवादी कार्यक्रम नेपाली जनताको एक मात्र मूलबाटो कार्यक्रम नै प्रस्तुत गर्नुभयो ।

आफ्नो राजनीतिक जीवनकालभर पुष्पलालले नेपालमा पूर्ण प्रजातन्त्र (जनवाद) र समाजवादको आन्दोलनलाई बलियो बनाउन सामन्तीवाद इतर–शक्तिहरूको गठबन्धन बनाउने काम गर्नुभयो । उहाँ नेपाली जनताको उत्थान, सामन्ती शासनको अन्त र गणतन्त्रको स्थापनाका लागि नेपालका सबै सामन्तीवाद इतर–शक्तिहरूको राजनीतिक पार्टीहरूमा कार्यगत एकताको पक्षमा हुनुहुन्थ्यो । त्यही अनुरूप उहाँले टङ्कप्रसाद आचार्यले नेतृत्व गरेको प्रजा परिषद्समेतको जातीय जनतान्त्रिक मोर्चा बनाउनदेखि सामन्तवाद इतर अन्य राजनीतिक दलहरूलाई पनि संयुक्त आन्दोलनमा हिस्सा लिन उत्प्रेरणा गर्नु भएको थियो ।

पुष्पलालका विचार र सिद्धान्तले नेपालको राजनीतिक बहसलाई आज पनि निरन्तर प्रभाव पारिरहेको छ । अबको नेपाली जनताको मुक्तिमार्ग पुष्पलालको सिद्धान्त र नीतिबाहेक अर्को विकल्प छँदैछैन । आगामी पुस्ता र राजनीतिककर्मीहरू लागि सामाजिक परिवर्तन र प्रगतिको दिशामा अग्रगतिमा बढ्न चाहनेहरूले पुष्पलालको सिद्धान्त र नीतिलाई प्रेरणा तथा मार्गदर्शनको स्रोतको रूपमा लिनु अत्यावश्यक छ । समग्रमा नेपालको राजनीतिक र वैचारिक परिदृश्यमा पुष्पलालको योगदान गहिरो र दूरगामी छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्यहरूमध्ये एक र समाजवादी सिद्धान्तहरूको प्रखर अधिवक्ताको रूपमा पुष्पलालले सामाजिक कल्याण, आर्थिक समानता र श्रमिक वर्गको अधिकारको वरिपरि केन्द्रित राजनीतिक बहसका लागि आधार तयार पार्नुभएको थियो ।

यसबाहेक पुष्पलालको प्रभाव राजनीतिक आन्दोलनहरूमा प्रत्यक्ष संलग्नताका साथै दार्शनिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत नेपाली समाजमा वर्गहरूको स्थिति विश्लेषण माक्र्सवादी चिन्तनको आधारमा गर्नुभएको थियो । समाजवाद र नेपालको राजनीतिक परिदृश्यमा लेखिएका लेखहरूसहित उहाँका बौद्धिक योगदानले युवा कार्यकर्ता र बुद्धिजीवीहरूका लागि मार्गदर्शन गर्ने कार्य गरेको थियो र आज पनि गरिरहेको छ । उहाँले छाडेको विचारधारा आज पनि उत्तिकै सान्दर्भिक र समसामयिक छ । लोकतान्त्रिक मूल्यमान्यता, सामाजिक कल्याण र आर्थिक समानताका लागि उहाँको वकालतले नेपालमा वामपन्थी राजनीतिक दलहरूको नीति र प्राथमिकताहरूलाई आकार दिन ठूलो टेवा पु¥याएको छ ।

पुष्पलालको संयुक्त जनआन्दोलनको नीतिले नेपालमा सामन्ती राजतन्त्रको अन्त्य हुन पुगेको कुरा सबैले महसुस गरेकै हो । सामाजिक न्याय, समावेशी विकास र लोकतान्त्रिक शासन व्यवस्थाका लागि चलिरहेको आन्दोलनमा उहाँको स्थायी छाप कहिले पनि मेटिने छैन । उहाँको विरासतले अझ न्यायपूर्ण, समतामूलक र पूर्ण प्रजातान्त्रिक (जनवाद) समाजका लागि चलिरहेको सङ्घर्षमा एउटा ठूलो कोसेढुङ्गाको रूपमा कार्य गरेको छ; जसले वर्तमान र भावी पुस्तालाई आफ्नो जीवनभरि एउटा प्रेरणादायक भूमिका निभाउन र पुष्पलाल देखाएको मार्गमा हिड्न सङ्घर्ष गर्दै अगाडि बढ्ने प्रेरक बनोस् । (लेखक पुष्पलाल जन्म शताब्दी समारोह समितिका सदस्य हुनुहुन्छ)

गुल्मी पहिरो अपडेट : ज्यान गुमाउनेको संख्या ५ पुग्यो

गुल्मी । गुल्मीमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु भएको छ । गएरातिको अबिरल वर्षापछि मालिका गाउँपालिका–६ अर्जे, ठाँटीस्थित भेषबहादुर विकको घर पहिरोले पुरिँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी राजन भुजेलले जानकारी दिए ।

पहिरोमा पुरिएर ५५ वर्षीय भेषबहादुर विक, उनकी श्रीमती ४८ वर्षीया सुन्तली विक, २६ वर्षीया बुहारी सीता विक, नातिनीहरू ७ वर्षकी सपना विक र ८ महिनाकी विपना विकको मृत्यु भएको छ । इस्मा प्रहरीचौकीबाट उद्धारका लागि प्रहरी टोली घटनास्थलमा पुगेको छ ।

नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौंः कृषि मन्त्री साह (अन्तवार्ता)

काठमाडौँ । आज असार १५ अर्थात् धान दिवस । किसानले धानको मुठी रोपेर मुरी फलाउने दिन । राष्ट्रिय तथ्याङ्क कार्यालयको आर्थिक वर्ष २०७९/८० अनुसार राष्ट्रिय कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ दशमलव ६ प्रतिशत छ । मुलुकलाई कृषि उत्पादनमा जोड दिन सरकारले पनि हरदम प्रयास गरिरहेको छ ।

सरकारले आगामी आर्थिक बजेटमा कृषि लगानी दशक मनाउने घोषणासमेत गरेको छ । कृषि क्षेत्रलाई उकास्न सरकारका अन्य भावी योजना के के छन् ? धान दिवसलाई प्रचारबाजी नभई अर्थपूर्ण बनाउन सरकारले कस्ता कार्यक्रम बनाउँदैछ ? कृषि क्षेत्रका विभिन्न आयामबारे कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहसँग राष्ट्रिय समाचार समितिका आलेख प्रमुख कृष्ण अधिकारी र उपसम्पादक मधु शाहीले गरेको कुराकानी :

राष्ट्रिय धान दिवस प्रत्येक वर्ष मनाइन्छ । यसपटक कसरी मनाउँदै हुनुहुन्छ ?

विगतभन्दा फरक तरिकाले धान दिवस मनाउँदैछौँ । यो पटक काठमाडौँ बाहिर चितवनमा मनाउने तयारीमा छौं । धान रोप्नकै लागि मात्रै होइन, उत्पादनमै जोड दिने गरी यो दिवस मनाउँदैछौँ । सौराहाको बच्छौलीमा धान दिवस मनाउन जाँदैछौँ । प्रधानमन्त्रीको उपस्थितिमा औपचारिक कार्यक्रम हुनेछ तर हामीहरु चाहीँ एक हेक्टर खेतमा धान पूरै रोपेर मात्रै फर्किनेछौँ । यसपटक विगतमा भन्दा अलि फरक ढङ्गले धान दिवस मनाउँदैछौँ ।

यस्तो नौलो शैलीमा धान दिवस मनाउनुको तात्पर्य के थियो होला ?

विगतमा कसैले गमलामा रोपाइँ गर्ने, कसैले सामाजिक सञ्जालमा धान रोपाइँ त कसैले सेल्फीको लागि धान रोप्ने भन्दै धान दिवसलाई हलुको बताउने गरियो । यसले जनस्तरमा धान दिवस विकृतिको रुपमा देखिएको छ । साथै यसले गर्दा वास्तविक किसानलाई हिनताबोध भएको छ । सामाजिक सञ्जालमा तस्बिर राखेर चर्चा कमाउन धान दिवस मनाएको आलोचना सुन्दै आएको छु र देखेको पनि छु । म यस्तो प्रवृत्तिलाई चिर्नको लागि र व्यावहारिक कृषि भाव जागृत गराउन मन्त्रालयले केही उपलब्धिमूलक काम गर्नुपर्छ भन्ने लाग्यो । पूरै खेत धान रोपेर फर्किने भनेको मन्त्रालयले कृषिमा गम्भीर छ भन्ने अनुभूति गराउनु पनि हो । साथै, कृषिमा सकारात्मक हौसला प्रदान गर्ने प्रचारप्रसार गर्न पनि खोजिएको हो ।

अहिले मुलुकको कृषिको अवस्था कस्तो पाउनुहुन्छ ?

विगतभन्दा अहिले धान उत्पादनमा वृद्धि आएको छ । धान उत्पादन अहिले करिब ४ दशमलव ३३ प्रतिशतले बढी वृद्धि भएको छ भने गत चार वर्षको औसत उत्पादनको तुलनामा ५ दशमलव ०८ प्रतिशतले बढी हो । वर्तमान अवस्थामा १४ लाख ३८ हजार नौ सय ८९ हेक्टर जमिनमा धान उत्पादन गर्दै आएका छौं । त्यसैगरी ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिक टन धान उत्पादन भइहरको छ । अब हामीलाई लगभग पाँच लाख ८० हजार मेट्रिक टन चामल अपुग भएकाले आयात भइरहेको छ । यो अपुग चामलको पूर्ति गर्नको लागि मन्त्रालयले चैते धान उत्पादनमा जोड दिन थालेको छ । हाइब्रेड जातका धानका बीउ खोज्ने र पानी नहुने खेतमा सिँचाइ उपलब्ध गराउने र जहाँ सुक्खा छ, त्यहाँ पनि खेती गर्ने उपयुक्त वातावरण मिलाइदिने योजना छ । त्यस्तो कृषि क्षेत्र कहाँ कहाँ छन्, अनुसन्धान गरिरहेका छौँ ।

सरकारबाट कृषकलाई उपलब्ध गराएको अनुदान वा अन्य सुविधाबाट अहिले पनि वास्तविक किसान वञ्चित छन् । यसबारे मन्त्रालयले कसरी सोचेको छ ?

सरकारले कृषि क्षेत्रको विकासका लागि किसान लक्षित विभिन्न अनुदान र सुविधा प्रदान गरेको छ तर त्यस्ता अनुदान वा सुविधाहरु वास्तविक किसानको पहुँचमा नपुगेको भन्ने सरकारलाई पनि लागेको छ । यस्तो हुनुमा वास्तविक किसानको पहिचान नहुनाले समस्या निम्त्याएको हो । को किसान हो र उसले कस्तो खाले अनुदान पाउनुपर्छ भन्ने खोजी गर्नु जरुरी छ । मन्त्रालयले यस विषयमा पनि गृहकार्य सुरु गर्दैछ ।

मन्त्रालयले वास्तविक किसानको पहिचान कसरी गर्दैछ त ?

वास्तविक किसान को हुन् ? भन्ने पहिचान नहुँदासम्म अनुदान सदुपयोग हुन सक्दैन भन्ने मैले अनुभव गरेको छु । मन्त्रालयले केही महिनाभित्रै प्रत्येक वास्तविक किसानको खोजी गर्छ र उनीहरुलाई किसान कार्ड वितरण गर्ने गृहकार्य गरिरहेको छ । किसान कार्ड पाएपछि उनीहरुले पाउनुपर्ने अधिकार निर्धक्करुपमा पाउन सक्छन् र दुरुपयोग हुने सम्भावना निकै कम हुन्छ । हरेक पालिकामा कृषि मन्त्रालयको तर्फबाट सबैभन्दा द्रुत गतिमा अनलाइनमार्फत किसान रकेर्ड वितरण गरिनेछ । आगामी नौ महिनाभित्र किसानको हातहातमा कार्ड पुर्याउने हाम्रो लक्ष्य छ ।

कृषिमा आमूल परिवर्तन ल्याउने तपाईको योजनालाई साकार पार्ने स्रोत पर्याप्त छ त ?

कृषिमा मल, सिँचाइ, बीउ, अनुदानलगायतको समस्या किसानले भोग्दै आएका छन् । हामीसँग पर्याप्त बजेट छैन । मन्त्रालयको कूल बजेटको ५० प्रतिशत रकमअर्थात् रु ३० अर्ब त रासायनिक मलकै लागि छुट्याइएको छ । केही प्रतिशत रकम प्रशासन चलाउन जान्छ भने बाँकी रु १२ अर्ब बजेटभित्र रहेर मन्त्रालयले किसान लक्षित कार्यक्रम गर्नुपर्नेछ । यो पर्याप्त होइन । त्यसैले प्रचारप्रसार, तालिम, अभिमुखीकरणजस्तो कार्य गर्न बजेट सीमित छ । कृषि मन्त्रालयलाई सरकारले नै कम महत्वको रुपमा लिएको छ । आम जनताको पेट पाल्ने कृषि मन्त्रालय बजेटमा खुम्चिनु न्यायोचित होइन तर पनि जे जति स्रोत छ, मन्त्रालयले उपलब्धिमूलक कार्य सम्पादन गर्न सक्रिय छ ।

 स्रोत कम हुँदा मन्त्रालयका कस्ता कामहरु बढी प्रभावित छन् ?

कृषि मन्त्रालयको जिम्मेवारी खेती लगाउने, उत्पादन गर्ने, बजार व्यवस्थापन गर्नेदेखि किसानलाई प्रोत्साहन गर्नेलगायत थुप्रै जिम्मेवारी बहन गर्नुपर्छ । उत्पादित वस्तुसमेत हामीले सुरक्षित राख्नुपर्ने दायित्व हुन्छ । किसानलाई राहत हुने खालका प्रोत्साहनमूलक कार्यक्रम गर्नुपर्छ । जस्तैः महिला किसान कृषिमा बढी सक्रिय छन् पुरुषको तुलनामा । मैले देखेको छु बच्चा बोकेर खेती गरेका महिला छन् । यस्ता महिलामा किसान लक्षित कार्यक्रम ल्याउनुपर्नेछ । बजेट कम हुँदा यी प्रोत्साहन स्वरुपका कार्यक्रम ओझेलमा पर्छन् ।

महिला किसानका लागि के गर्दै हुनुहुन्छ त ?

सबैभन्दा पहिला त हाम्रो कृषिमा अधिकांश किसान महिला हुनुहुन्छ । पुरुषको तुलनामा महिलाले खेती सम्हाल्दै आएका छन् । मैले देखेको छु, बच्चा बोकेर खेतीपाती धान्नुभएका महिला किसानको दैनिकी रहेको छ । उहाँहरुले घर मात्रै होइन, अन्नतः कृषि उत्पादनमा समेत योगदान दिदै आउनुभएको छ । विडम्बना हामीले त्यसको मूल्याङ्कन गर्न सकेका छैनौँ । कृषिका योजना जति पनि आउँछन् त्यसमा महिला कृषक धेरै भएकै कारणले गर्दा उहाँहरु स्वभाविक रुपले लाभान्वित हुनुहुन्छ भन्ने विश्वास लिएको छु । अर्को कुरा किसान कार्ड बनाएपछि महिला किसान कति छन् भन्ने तथ्याङ्क प्राप्त हुन्छ । त्यसैअनुरुप मन्त्रालयले आवश्यकताका आधारमा महिला किसानलाई प्रोत्साहन गर्ने खालका योजना अघि बढाउन सहयोग पुग्नेछ । मेरो विचारमा ५० प्रतिशतभन्दा बढी महिला कृषिमा सक्रिय भई लाग्नुभएको छ । उहाँहरुलाई प्रविधिमैत्री बनाउनुपर्नेछ । यससम्बन्धी थुप्रै कार्य तालिका छन् जुन कार्ययोजनामै छन् ।

किसानलाई प्रदान गरिने अनुदानलाई प्रभावकारी कसरी बनाउने सोच्नु भएको छ ?

निरीक्षर किसानलाई राहत पुगोस् भनेर ग्रामीण उद्यम आर्थिक कार्यक्रम कार्यान्वयनमा रहेको छ । त्यो कार्यक्रममार्फत समूहद्वारा युवा महिला, वृद्धलाई आत्मनिर्भर गराउने कार्यहरु भइहेको छ । त्यो कार्यक्रम देशभर चलिरहको छ । हाल देशका छवटा प्रदेशमा लागू छ भने अर्को प्रधानमन्त्री कृषि परियोजना पनि चलिरहेको छ । यसले अनुगमन गरेर उपयुक्त किसानलाई अनुदान दिन्छ । यो कार्यक्रम कृषि मन्त्रालयअन्तर्गत रहेर काम गरिरहेको छ ।

राज्यले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दाराख्दै पनि समग्रह कृषि उत्पादन सन्तोषजनक छैन । यसलाई कसरी दिनुभएको छ ?

मेरो बुझाइमा हाम्रो मल वितरण प्रणाली सुधार गर्न जरुरी छ । कार्यविधिलाई नयाँ ढाँचामा ढाल्नुपर्छ भनेर जोड गरिरहेको छु । मल अभाव होइन, वितरणमा जटिलता देखेको छु । किसानलाई सहजीकरण गर्न सरकार सधैँ सकारात्मक छ । पन्धौँ योजनामा पनि कृषि क्षेत्रको विकासका लागि थुप्रै कार्यक्रम योजनाहरु समावेश गरिएका छन् ।

किसानलाई सहजीकरण गर्न सरकारको सकारात्मक दिशा कस्ता रहेछन् ?

हरेक प्रदेशमा मल कारखाना सञ्चालन गर्न थालिएको छ । स्थानीयस्तरमा गड्यौला मल उद्योग सञ्चालन पनि भइरहेको छ । कम्पोष्ट मल उत्पादन गर्न मन्त्रालयले प्रोत्साहन गर्दैछ । यसको लागि बजेट छुट्याउने प्रयास भइरहेको छ । मल कारखाना हामीले खोल्ने होइन, उद्योग मन्त्रालयबाट हुन्छ । कृषि मन्त्रालयले उत्पादनमा मात्रै जोड दिने हो । कृषि बीमा, मल, किसानलाई प्रोत्साहन अनुदानमा प्रोत्साहन गर्नुपर्छ । यसअन्तर्गत मन्त्रालयले कृषि बीमा र पशु बीमामा ८० प्रतिशत अनुदान दिँदै आएको छ ।

सरकारले कृषिमा लगानी वर्ष घोषणा गरेको छ । यसमा युवा, महिलालाई विशेष केन्द्रित हुने गरी हामी काम गर्छौैं । अहिले पनि युरिया मलमा ७०, डिएपीमा ५५ प्रतिशत पोटासमा ४७ प्रतिशतको हाराहारी अनुदान गइहरेको छ । यो अनुदान हचुवाको भरमा वितरण भइरहेको छ । वास्तविक किसानको पहिचान हुन नसक्दा नै राज्यले सोचे अनुकूल कृषिमा परिणाम आउन नसकेको भन्ने मेरो बुझाइ छ । तसर्थ, अब मन्त्रालयले अनुदान किसानकै घरमा पुर्याउने कार्ययोजनामा परेको छ । अबको दश वर्षमा कृषि क्षेत्रमा लक्ष्यअनुरुप परिणाम आउँछ भन्ने विश्वास राखेकी छु ।

बागलुङ पहिरो अपडेट : घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते

ढोरपाटन (बागलुङ), १५ असार : बागलुङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा दुईजना घाइते भएका छन् ।

गलकोट नगरपालिका–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो । पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो ।

अहिले घटनास्थलमा प्रहरी टोली पुगेर उद्धारमा जुटेको छ । गए राति ३ बजे पहिरो गएको गलकोट नगरपालिका–८ का वडासदस्य लोकनाथ कँडेलले बताउनुभयो । घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ ।

दाङमा तीन लाख बिरुवा तयार, निःशुल्क वितरण गरिने

घोराही (दाङ), १५ असार : डिभिजन वन कार्यालय दाङले तीन लाख बिरुवा तयार गरेको छ । तयार पारिएका बिरुवा कार्यालयले निःशुल्क वितरण गर्ने भएको छ । राष्ट्रिय वृक्षरोपण दिवसको अवसरमा शुक्रबारदेखि जिल्लामा बिरुवा रोप्ने कार्य थालिएको छ । ‘भावी सन्तति र समृद्धिका लागि वृक्षरोपण गरौँ’ नाराका साथ डिभिजन वन कार्यालयले घोराही उपमहानगरपालिका–४ सुनपुरस्थित सुनपुर सामुदायिक वनको खाली क्षेत्रमा वृक्षरोपण गरी सो कार्यको थालनी गरेको हो ।

सुनपुर सामुदायिक वनको खाली रहेको करिब एक हेक्टर वनमा ‘अर्जुन’ प्रजातिका एक सय बिरुवा रोपण गरी वृक्षरोपण थालिएको सिनियर डिभिजनल वन अधिकृत मोहनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । यस वर्ष डिभिजन वन कार्यालय घोराहीअन्तर्गतका पाँचवटा नर्सरीमा झण्डै तीन लाख बिरुवा उत्पादन गरिएको हो ।

जडीबुटी, वनजन्य र सौन्दर्यजन्य बिरुवा तयार गरिएको र असार अन्मित हप्तादेखि निःशुल्करुपमा वितरण गरिने वन अधिकृत श्रेष्ठले बताउनुभयो । यस वर्ष राष्ट्रिय वन, सामुदायिक वन, निजी वन र उपभोक्तालाई आफ्नो खाली जग्गामा बिरुवा रोप्न आग्रह गरिएको उहाँको भनाइ छ । नदी उकास क्षेत्रमा समेत वृक्षरोपण गर्ने लक्ष्य छ ।

५० प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा

काठमाडौँ, १५ असार : कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार झन्डै ५० प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा हुने गरेको छ । सबै क्षेत्रमा सिँचाइको सुविधा नहुँदा किसान रोपाइँ गर्न आकाशे पानीकै भर पर्नुपरेको हो । रोपाइँ गर्न किसान कहिले आकाशे पानी पर्ला भनेर कुर्नुपर्ने अवस्था यथावत छ ।

कृषि मन्त्रालयको तथ्याङ्कअनुसार यस वर्ष देशभर ९ दशमलव ८ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । गत वर्ष असार १५ गतेसम्म करिब ८ दशमलव ७५ प्रतिशत मात्र धान रोपाइँ भएको थियो । कृषि मन्त्रालयका सूचना अधिकृत महानन्द जोशी यस वर्ष मनसुन छिटो भित्रिए पनि ढिलो सक्रिय हुँदा धान रोपाइँ सन्तोषजनक नरहेको बताउनुहुन्छ ।

“हालसम्म अधिकांश सिँचाइ सुविधा पुगेका क्षेत्रमा मात्रै धान रोपाइँ भएको छ”, उहाँले भन्नुभयो, “कतिपय स्थानमा राम्रोसँग वर्षा भएको छैन, कहिले वर्षा होला र धान रोपौँला भनेर किसान पर्खाइमा छन् ।”

मन्त्रालयको तथ्याङ्कअनुसार कोशी प्रदेशमा असार १२ गते सम्ममा धान रोपाइँ ५ दशमलव ६ प्रतिशत भएको छ । सो प्रदेशमा गत वर्ष असार १० गतेसम्म ६ दशमलव ५ प्रतिशत धान रोपाइँ भएको थियो । पूर्वी क्षेत्रमा ढिलो गरी धान रोप्ने गरिन्छ । मधेस प्रदेशमा भने गत वर्ष र यस वर्ष बराबर नै रोपाइँ भएको पाइएको छ । सो प्रदेशमा यस वर्ष २ दशमलव ५ प्रतिशत मात्रै धान रोपाइँ भएको तथ्याङ्क छ । गत वर्ष सोही अवधिमा २ दशमलव ५ प्रतिशत नै रोपाइँ भएको थियो ।

यसैगरी बागमती प्रदेशमा यस वर्ष ५ प्रतिशत मात्रै रोपाइँ भएको छ । गत वर्ष सो प्रदेशमा १८ दशमलव ३ प्रतिशत रोपाइँ भएको थियो । गण्डकी प्रदेशमा गत वर्ष यही समयमा ६ दशमलव ९ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ८ दशमलव ३ प्रतिशत रोपाइँ भएको छ ।

यसैगरी लुम्बिनी प्रदेशमा यस वर्ष अघिल्लो वर्षको तुलनामा कम रोपाइँ भएको छ । गत वर्ष लुम्बिनी प्रदेशमा १० दशमलव ९ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ८ दशमलव ८ प्रतिशत रोपाइँ भएको छ । कर्णाली प्रदेशमा गत वर्ष २२ दशमलव ६ प्रतिशत रोपाइँ भएकामा यस वर्ष २३ दशमलव ९ प्रशित रोपाइँ भएको छ । सुदूरपश्चिममा गत वर्ष २२ दशमलव ६ प्रतिशत रोपाइँ भएकामा यस वर्ष हालसम्म २५ प्रतिशत रोपाइँ भएको छ । सुदूरपश्चिममा अन्य प्रदेशभन्दा चाँडो रोपाइँ सुरु हुने भएकाले अन्य प्रदेशको तुलनामा बढी रोपाइँ भएको सूचना अधिकृत जोशीको भनाइ छ ।

सूचना अधिकृत जोशीका अनुसार साउन महिनाको अन्तिमसम्म ९० प्रतिशत रोपाइँ सम्पन्न हुने प्रक्षेपण गरिएको छ । “मुलुकको सबै क्षेत्रमा सिँचाइ सुविधा पुग्न सकेको छैन, तसर्थ कृषि मन्त्रालयले सिँचाइ कुलो विस्तार गरेर धान रोपाइँलाई प्रवद्र्धन गर्दैछ”, उहाँले भन्नुभयो, “कहिले खडेरीले धानको बीउ सुक्ने, कहिले पानी नपर्दा सिँचाइ गर्न नसकिने जस्ता समस्याका कारण धान उत्पादन वृद्धिमा ह्रास आउने गर्छ ।”

राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक मधुरा यादवले धान उत्पादन वृद्धिका लागि मुलुकका सबै क्षेत्रमा सिँचाइ सुविधा पुग्न आवश्यक रहेको बताउनुभयो । “सबै स्थानमा सिँचाइ सुविधा पुग्न नसक्दा कहिले रोपाइँ नै नहुने कहिले ढिलाइ हुने त कहिले बीउ नै राख्न नपाउने अवस्था छ, रोपाइँपछि पनि सिँचाइको सुविधा नहुँदा धान उत्पादनमा कमी आएको छ”, उहाँले भन्नुभयो, “मुलुकको शतप्रतिशत क्षेत्रमा सिँचाइ सुविधा पु¥याउन सके धान उत्पादनमा वृद्धि भई आयात प्रतिस्थापन गर्न सकिन्छ ।”

मन्त्रालयका अनुसार आव २०८०÷८१ को जेठ मसान्तसम्ममा रु ८८ करोड ६५ लाख बराबरको धानको बीउ आयात गरिएको छ । सो अवधिमा करिब रु ११ अर्ब ५५ करोडको धान आयात गरिएको छ । सो अवधिमा रु आठ अर्ब ६९ करोड बराबरको चामल तथा रु नौ लाख २० हजार मूल्य बराबरको कनिका आयात भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष तीन दिनअगावै मुलुकको पूर्वी क्षेत्रबाट मनसुन सुरु भएको थियो । सामान्यतया जुन १३ तारिखदेखि मनसुन नेपाल भित्रिने गरे पनि यस वर्ष जुन १० तारिखमा नै मनसुन भित्रिएको थियो । विभागका अनुसार मुलुकभर मनसुन फैलिन भने समय लागेको थियो । यस वर्ष जुन २३ तारिखमा मात्रै मुलुकभर मनसुन फैलिएको हो । मनसुन छिटो फैलिए पनि धान रोपाइँ सन्तोषजनक नभएको कृषि मन्त्रालयले जनाएको छ ।

यस वर्षको मनसुन अवधिमा मुलुकभर औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएको छ । विभागका अनुसार सुदूरपश्चिम प्रदेशको उत्तर–पश्चिमी भूभाग, बागमती प्रदेशको दक्षिण–पूर्वी भूभाग, मधेस प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको मध्य तथा मध्यपश्चिमी भूभागमा सरदर नै वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ । देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिमा मानन्धरले मनसुन सक्रिय रहने र आइतबारसम्म मुलुकको विभिन्न स्थानमा वर्षाको सम्भावना छ । आगामी केही दिनमा मनसुनको न्यून चापीय रेखा पूर्णरूपमा विकसित भई सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहने र यसका कारण आगामी केही दिन नेपालमा मनसुन थप सक्रिय हुने सम्भावना रहेको उहाँको भनाइ छ ।

“आइतबारसम्म देशभर साधारणदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै गण्डकी प्रदेशका केही स्थानमा, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेस र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ”, मौसमविद् मानन्धरले भन्नुभयो ।

जलस्रोत तथा सिँचाइ विभागको तथ्याङ्कअनुसार करिब २५ लाख ३० हजार हेक्टर सिँचाइयोग्य जमिनमध्ये हालसम्म करिब १५ लाख हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने गरी सिँचाइको संरचना निर्माण गरिएको छ । तर करिब एक तिहाइ भूमिमा मात्र वर्षभरि सिँचाइ सुविधा उपलब्ध हुन सकेको विभागद्वारा २०८० चैतमा प्रकाशित ‘जलस्रोत तथा सिँचाइ वार्षिक पुस्तिक’मा उल्लेख छ ।

“हाल ठूला बहुउद्देश्यीय अन्तर–जलाधार जल–पथान्तरणका केही आयोजना निर्माणका क्रममा छन् । केही निर्माणको तयारीका क्रममा छन् । करिब ५० प्रतिशत सिर्जित कृषि क्षेत्र किसानद्वारा व्यवस्थित सिँचाइ प्रणालीमा रहेका छन्”, सो पुस्तकमा उल्लेख छ । निर्माण सम्पन्न भइसकेका साना आयोजना जलउपभोक्तालाई हस्तान्तरण गर्ने नीतिबमोजिम सम्बन्धित जनउपभोक्तालाई हस्तान्तरण गरिएका छन् र सम्बद्ध संस्थाबाट सञ्चालन भइरहेका पनि छन् । मझौला तथा ठूला सिँचाइ आयोजना भने सरकार तथा जलउपभोक्ता संस्थाको संयुक्त व्यवस्थापनको अवधारणाअनुरूप सञ्चालनमा छन् ।

धान उत्पादनको अवस्था

कृषि मन्त्रालयको तथ्याङ्कअनुसार चालु आवमा धानको कूल उत्पादन गत आवभन्दा ४ दशमलव ३३ प्रतिशतले वृद्धि भई ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिक टन पुगेको छ । जुन विगत चार वर्षको औषत उत्पादनको तुलनामा ५ दशमलव ०८ प्रतिशतले बढी हो ।

कूल धानबाली भित्र्याइएको क्षेत्रफल गत आवको तुलनामा शून्य दशमलव ६१ अर्थात् आठ हजार आठ सय हेक्टरले कमी भई १४ लाख ३८ हजार नौ सय ८९ हेक्टर कायम हुन पुगेको छ । यो क्षेत्रफल गत चार आवको औषत क्षेत्रफलको तुलनामा एक दशमलव ७३ प्रतिशतले कम हो । धानबालीको औषत उत्पादकत्व गत आवको तुलनामा ४ दशमलव ९७ प्रतिशतले वद्धि भई ३ दशमलव ९८ मेट्रिक टन प्रतिहेक्टर पुगेको छ । यो गत चार वर्षको औषत उत्पादकत्वभन्दा ६ दशमलव ९२ प्रतिशतले बढी हो ।

चालु आवमा धानको उत्पादन कोशी प्रदेशमा बढी रहेको छ भने कर्णाली प्रदेशमा न्यून छ । चालु आवमा उत्पादकत्वतर्फ कोशी प्रदेश ४ दशमलव ४३ मेट्रिक टन प्रतिहेक्टरसहित अग्र स्थानमा रहन गयो भने मधेस प्रदेश ३ दशमलव ४९ मेट्रिक टन प्रतिहेक्टरमा सीमित भई न्यून स्थानमा रहन पुग्यो ।

गत आवको तुलनामा उत्पादन र उत्पादकत्व वुद्धिका हिसाबले लुम्बिनी प्रदेश अग्रस्थानमा छ । मधेस प्रदेश ऋणात्मक अवस्थामा छ । चालु आवमा धान उत्पादन वृद्धि हुनुमा बीउको सहजै उपलब्धता र रोग किराको प्रकोपमा कमी, बाढ़ीपहिरोबाट धान बालीमा पर्न जाने नकारात्मक असरमा कमी, मलखादको उपलब्धतामा आएको सुधार, कृषि औजार र प्रविधिको प्रयोग तथा मौसमी अनुकूलतालाई लिइएको छ । मधेस प्रदेशका केही जिल्लामा धान रोप्ने समयमा पर्याप्त वर्षा नभएकाले अरु प्रदेशको तुलनामा उत्पादन र उत्पादकत्वमा ह्रास आएको छ ।

बागलुङको काँडेबाँसमा दम्पती घरसहित पहिरोमा पुरिए

बलेवा (बागलुङ), १५ असार : बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएका छन् । बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती गए राति पहिरोमा पुरिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो । अहिले घटनास्थलमा प्रहरी टोली पठाइएको छ ।

यसैबीच पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । । यस क्षेत्रमा शुक्रबारदेखि लगातार पानी परिरहेको छ । कालीगण्डकी करिडोर र बागलुङ–कुश्मीशेरा सडक पनि अवरुद्ध छ ।

काठमाडौँ उपत्यकामा लागुदार्थ सेवन गरी सवारीसाधन चलाउने चालक कारबाहीमा

काठमाडौँ-काठमाडौँ उपत्यकामा प्रहरीले शुक्रबार लागुपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाउने चार र यान्त्रिक अवस्था ठीक नराखी सवारीसाधन चलाउने ३१ गरी ३५ जना चालकलाई कारबाही गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बा१ज ८४५७ नंको माइक्रो चालक ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–५ का २२ वर्षीय कृष्ण कार्की, बा५ख ९५०८ नंका बस चालक सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–५ का ३८ वर्षीय भोपेन्द्र भण्डारी, बा५ख ४३०० नंका बस चालक चितवनको राप्ती नगरपालिका–७ का ३१ वर्षीय रमेश विक र बा६ख ३००६ नंका बस चालक धादिङको नीलकण्ठ नगरपालिका–१२ का ३३ वर्षीय टीकाराम श्रेष्ठलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

आज नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनीहरूको पिसाब ड्रग किटमा राखेर परीक्षण गर्दा लागुपदार्थ सेवन गरेको प्रमाणित भएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठि उपरीक्षक जीवनकुमार श्रेष्ठले बताउनुभयो ।  

प्रहरी अस्पतालको प्राविधिक सहयोगमा निरन्तर रुपमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा सवारीसाधनका चालकहरूले नसालु पदार्थ सेवन गरे÷नगरेको जाँच गर्दै आएको छ । सोही क्रममा आज उनीहरु पक्राउ परेका श्रेष्ठले बताउनुभयो । 

काठमाडौँको सीतापाइलामा आजै गरिएको यान्त्रिक चेकिङका क्रममा अवस्था ठीक नभएका सवारी साधन चलाउने ३१ ओटा सवारीसाधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । ५३ ओटा सवारी साधन जाँच गर्दा ह्यान्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएकालगायत अवस्था ठीक नभएका ३१ सवारी चालकलाई कारबाही गरिएको उहाँले बताउनुभयो ।    सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनमा सहजीकरण गर्न ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा लापसे, मापसे, यान्त्रिकलगायत विशेष जाँच गर्दै आएको छ ।

संयुक्त राष्ट्र सङ्घद्वारा सुडानका १४ क्षेत्रमा भोकमरीको चेतावनी

संयुक्त राष्ट्र सङ्घले बिहीबार सुडानका १४ स्थानमा भोकमरी हुनसक्ने चेतावनी दिएको छ । “ग्रेटर डार्फर, ग्रेटर कोर्डोफान र अल जजिरा राज्यहरूका साथै खार्तुमका केहीस्थान लगायतका १४ स्थानमा भोकमरीको जोखिम छ”, संयुक्त राष्ट्रले आफ्नो वेवसाइटमा उल्लेख गरेको छ ।

वेवसाइटमा सुडानका १० राज्यका सात लाख ५५ हजार मानिसहरु भोकमरीको विपत्तिजनक पाँचौ चरणको सामना गरिरहेको उल्लेख छ । सुडानका ८५ लाख मानिस अर्थात १८ प्रतिशत जनसङ्ख्या खाद्य सुरक्षाबाट पीडित रहेका राष्ट्रसङ्घको भनाइ छ ।

सुडान सन् २०२३ अप्रिलको मध्यदेखि सुडानी सशस्त्र बल र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सबीचको घातक द्वन्द्वमा फसेको छ । उक्त द्वन्द्वका कारण १६ हजार छ सय ५० भन्दा बढीले ज्यान गुमाइसकेको मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्र सङ्घको कार्यालयले जनाएको छ ।

अजरबैजान राष्ट्रपतिद्वारा तत्काल संसदीय निर्वाचन आह्वान

अजरबैजानी राष्ट्रपति इल्हाम अलियेभले शुक्रबार आगामी सेप्टेम्बरका लागि संसदीय निर्वाचन आह्वान गर्नुभएको छ । यस वर्षको अन्त्यमा बाकुमा आयोजना हुन लागेको कोप–२९ जलवायु सम्मेलनसँगै घोषणा गरिएको चुनावलाई राष्ट्रपति अलियेभको बाहना भएको टिप्पणी गरिएको छ ।

सांसदहरूले गत हप्ता अलियेभलाई व्यवस्थापिका संसद विघटन गर्न र चुनावबाट पन्छिन कोप–२९ कै समयमा चुनाव घोषणा गर्न सुझाव दिनुभएको थियो । कोप–२९ आगामी नोभेम्बर ११–२२ सम्म सञ्चालन हुने कार्यतालिका छ ।

अलियेभले आफ्नो ‘येनी नयाँ अजरबैजान पार्टी’को वर्चस्व रहेको संसद् विघटनको घोषणा गरिसक्नुभएको छ । “गणतन्त्र अजरबैजान ‘मिलि मजलिस’को प्रारम्भिक चुनाव आगामी सेप्टेम्बर १ मा हुनेछ”, संसद् बिघटनपछिको आदेशमा भनिएको छ । चुनावले अलियेभको पकड विस्तार गर्ने अपेक्षा गरिएको छ ।

अलियेभको दुई दशकको शासनमा अजरबैजानमा भएका कुनै पनि निर्वाचनलाई अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले स्वतन्त्र र निष्पक्ष रूपमा मान्यता दिएका छैनन् ।

आफ्ना बुबा अजरबैजानका सोभियत युगका कम्युनिष्ट नेता र केजीबीका पूर्वजनरल हेदर अलियेभको मृत्युपछि सन् २००३ मा पहिलो पटक निर्वाचित भएदेखि ६२ वर्षीय अलियेभ निरन्तर शासन सञ्चालन गरिरहनुभएको छ ।

तीन दशकसम्म आर्मेनियाली जनसङ्ख्या भएको नागोर्नो–काराबाख क्षेत्रलाई नियन्त्रण गर्ने आर्मेनियाली पृथकतावादी सेनामाथि अजरबैजानको सैन्य विजयका कारण उहाँको लोकप्रियता कम भएको थियो ।

झारखण्ड उच्च अदालतद्वारा भूमि घोटाला मुद्दामा हेमन्त सोरेनलाई जमानत

झारखण्ड उच्च अदालतले कथित भूमि घोटाला प्रकरणमा झारखण्डका पूर्वमुख्यमन्त्री तथा झारखण्ड मुक्ति मोर्चाका प्रमुख हेमन्त सोरेनलाई जमानत दिएको छ ।सोरेनलाई प्रवर्तन निर्देशनालय (ईडी) ले जनवरीमा कथित भूमि घोटाला र सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ गरिएको थियो । अनुसन्धानका क्रममा नक्कली बिक्रेता र क्रेतालाई करोडौं मूल्य बराबरको जग्गा अधिग्रहण गर्न आधिकारिक अभिलेखमार्फत जालसाजी गरेको पत्ता लागेको थियो ।

गत मार्च २२ मा एक विशेष सम्पत्ति शुद्धीकरणसम्बन्धी विशेष अदालतले (पीएमएलए) सोरेनको न्यायिक हिरासत गत अप्रिल ४ सम्म बढाएको थियो । त्यसपछि सोरेनलाई भिडियो कन्फरेन्सिङमार्फत पेस गरिएको थियो । एससी/एसटी (अत्याचार रोकथाम) ऐन अन्तर्गत सोरेनले दायर गरेको ‘फस्ट इन्फरमेसन रिपोर्ट’ (एफआईआर)पछि राँची पुलिसले ईडी अधिकारीलाई अनुसन्धानमा सामेल हुन सूचना जारी गरेको थियो ।
एजेन्सीले सोरेनको एफआईआरलाई चुनौती दिने गरी उजुरी दायर गरेपछि झारखण्ड उच्च अदालतले ईडी अधिकारीविरुद्ध कुनै जबरजस्ती कारबाही नगर्ने आदेश दिएको थियो ।

ईडीले सोरेनले आठ दशमलव पाँच एकड जग्गा जालसाजीमार्फत अधिग्रहण गरेको आरोप लगाउँदै अनुसन्धानका क्रममा विभिन्न कागजात र नगद रु ३५ लाख बरामद गरेको दाबी गरेको थियो । अनुसन्धानका क्रममा राजस्व प्रहरी नायव निरीक्षक भानुप्रताप प्रसाद पनि सो प्रकरणमा मुछिएको पत्ता लागेको थियो झारखण्ड विधानसभाको बजेट सत्रमा उपस्थित हुन सोरेनले दिएको आवेदन गत फेब्रुअरी २९मा उच्च अदालतले खारेज ग¥यो । त्यसपछि उहाँले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।

नेपाललाई विश्वमाझ चिनाउन सङ्गीत दिवस घोषणा गर्ने कार्य महत्वपूर्ण :उपप्रधानमन्त्री श्रेष्ठ

पाटन (ललितपुर- उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पहिचानमा आधारित इतिहासलाई अझ उजागर गर्ने माध्यम सङ्गीत भएको बताउनुभएको छ ज्येष्ठ शुल्क पूर्णिमाको दिनलाई राष्ट्रिय सङ्गीत दिवस घोषणा गर्ने प्रस्तावसम्बन्धी ललितपुर महानगरपालिका र ललितपुर संस्कृति संवद्र्धन केन्द्रले यहाँ आयोजना गरेको परामर्श बैठकमा उहाँले सङ्गीतमा इतिहास र चेतना हुन्छ भन्नुभयो । “नेपाललाई विश्वमाझ चिनाउन पनि सङ्गीत दिवस घोषणा गर्ने कार्य महत्वपूर्ण छ, सङ्गीतको माध्यमबाट पर्यटन प्रबद्र्धन गर्न सकिन्छ”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो ।

उहाँले राष्ट्रिय सङ्गीत दिवस घोषणा गर्ने कार्य ललितपुरको मात्रै सरोकारको विषय नभएको भन्दै सबैले प्राथमिकतामा राखेर काम गर्नुपर्ने धारण राख्नुभयो ।

त्यस अवसरमा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले राष्ट्रिय सङ्गीत दिवस घोषणा गर्ने यो प्रस्थान विन्दु भएको उल्लेख गर्नुभयो । त्यसैगरी ललितपुरका मूर्त तथा अमूर्त सम्पदा संरक्षणमा महानगरमा धेरै काम गरेको उहाँको भनाइ थियो । उहाँले रातो मच्छिन्द्रनाथको जात्रालाई विश्व सम्पदाका रुपमा दर्ज गर्ने काम भइरहेको जानकारी दिनुभयो ।

“युनेस्कोमा अहिलेसम्म नेपालको कुनै पनि अमूर्त संस्कृति दर्ज भएको छैन, हामी यहाँको रातो मच्छिन्द्रनाथको जात्रालाई दर्ता गर्ने गरी काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

पूर्वमन्त्री तथा पूर्वनगरप्रमुख बुद्धिराज बज्राचार्यले आफू पनि सङ्गीतमा लागेको उल्लेख गर्नुहुँदै गीतसङ्गीतले पनि राजनीतिक परिवर्तनमा ठूलो भूमिका निर्वाह गर्ने बताउनुभयो । “म विसं २००४ सालदेखि गीतसङ्गीतमा लागेँ, ज्ञानमाला भजनमा मेरो लगाव छ, मानवीय तथा सम्पूर्ण प्राणीहरुको जीवनमा यसको ठूलो महत्व छ । सरकारीस्तरबाट पनि सङ्गीतको प्रवद्र्धनका लागि राष्ट्रिय दिवस घोषणा गरेर काम गर्ने व्यवस्था मिलाउनुपर्छ”, उहाँले भन्नुभयो ।

संस्कृतिविद् हरिराम जोशीले सम्पूर्ण मानव जीवनको सभ्यताको प्रारुप भएदेखि नै सङ्गीतको महत्व स्थापित भएको बताउनुभयो । सामवेद सङ्गीतको वेद भएको उहाँको भनाइ थियो । लिच्छवीकालमा समेत सङ्गीतलाई बढवा दिन गुठी स्थापना भएको उहाँले जानकारी दिनुभयो ।

संस्कृति संवद्र्धन केन्द्रका अध्यक्ष वदनलाल न्याछ्योंले नेपाली सङ्गीतको विकासक्रमलाई उजागर गर्दै ज्येष्ठ शुल्क पूर्णिमालाई राष्ट्रिय सङ्गीत दिवस घोषणा गरेर सङ्गीतको माध्यमबाट देशको बहुआयामिक पक्षलाई उजागर गर्नसके महत्वपूर्ण काम हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलद्धारा एक्काइसौँ राष्ट्रिय धान दिवसको शुभकामना

काठमाडौँ, १५ असारः राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले धानखेतीमा पारेको बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्दै धान उत्पादन एवं उत्पादकत्व बढाउन सरकार, कृषक र सरोकारवाला पक्षलाई सचेत र जागरुक बनाउनुपर्ने आजको आवश्यकता रहेको बताउनुभएको छ ।

एक्काइसौँ राष्ट्रिय धान दिवस, २०८१ का अवसरमा शुभकामना सन्देश दिनुहँुदै उहाँले धानबालीमा जलवायुमैत्री प्रविधिहरूको अवलम्बन गराई उत्पादनमा वृद्धि गरी धान चामलको आयात प्रतिस्थापन, खाद्य सुरक्षाको सुनिश्चितता गर्न र कृषि श्रमको सम्मान गर्ने संस्कृति बसाल्न आजको दिनले प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले खाद्य सुरक्षा र आत्मनिर्भरताको राष्ट्रिय लक्ष्य प्राप्तिका लागि आजको दिनले थप उत्साह प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । “नेपालको संविधानले प्रत्येक नागरिकको खाद्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक पनि सुनिश्चित गरेको छ । नेपालको धानखेती आकासे सिचाइँमा निर्भर छ । वर्षा राम्रो नभएको वर्ष धान उत्पादन घट्ने र वर्षा राम्रो हुँदा उत्पादन बढ्ने गरेको सन्दर्भमा धानखेती योग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउन राज्यको सम्पूर्ण ध्यान केन्द्रित हुन जरुरी छ भन्ने म ठान्दछु”, राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देसमा भनिएको छ ।

राष्ट्रपति पौडेलले कृषि क्रान्तिको पहिलो कदम सिँचाइ सुविधा भएको भन्दै आधुनिक खेती प्रणालीमार्फत जनताको जीवनस्तर माथि उठाउन खेतीयोग्य जमिनमा सिँचाइ सुविधासहित आधुनिक उपकरण, मल, उन्नत बीऊ र दक्ष जनशक्ति तयार गर्न हाम्रो ध्यान जान जरुरी रहेको उल्लेख गर्नुभयो ।

धान एवम् चामल आयात बर्सेनि बढ्दै जानु चिन्ताको विषय भएको भन्दै उहाँले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर हुनेतर्फ हाम्रो सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने खाँचो औँल्याउनुभयो । राष्ट्रपति पौडेलले देशको श्रम शक्ति वैदेशिक अध्ययन तथा रोजगारीका लागि दैनिक सयौँका सङ्ख्यामा विदेश पलायन हुनाले कृषि क्षेत्रमा जनशक्तिको अभाव हुनु दुःखद् हो भन्दै कृषिलाई आकर्षक पेसाका रुपमा विकास गरी विदेश पलायन हुने जनशक्तिलाई स्वदेशमा नै रोक्ने पहल गर्न आग्रह गर्नुभयो ।

साथै, उहाँले खानामा भातको मात्र भर पर्ने बानीलाई वैकल्पिक रुपमा लिई खाने बानी परिवर्तन गरेर अन्य बालीलाई समेत प्रवद्र्धन गर्न हामीले उत्तिकै ध्यान दिनु जरुरी छ भन्नुभयो । उहाँले धान दिवसका अवसरमा सम्पूर्ण नेपाली किसान, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना समेत व्यक्त गर्नुभएको छ ।

धानको उत्पादन वृद्धि आधुनिकीकरण र व्यावसायिकीकरणलाई प्रवद्र्धन गर्ने हेतुले विसं २०६१ देखि प्रत्येक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो । यसवर्ष ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने राष्ट्रिय नाराका साथ २१औँ राष्ट्रिय धान दिवस मनाइएको छ । नेपाल कृषि प्रधान देश हो । यहाँका अधिकांश जनता कृषिमै निर्भर छन् र हाम्रो प्रमुख खाद्यान्न बाली धान हो ।

आज असार १५ अर्थात् धान दिवस: खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै

काठमाडौँ, १५ असार : प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ ।   कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।

हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभ काममा निस्कनु अघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ ।

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।

पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रुप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।

धान दिवस

विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश जनतको पेसा खेतीपाती हो ।
किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापा छ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ ।    यस वर्ष असार मध्यसम्म पनि पर्याप्तमात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति धान रोपाइँ हुन सकेको छैन । कति ठाउँमा रासायनिक मलको पनि अभाव भएको गुनासो किसानले गर्ने गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको जनाएको छ ।

आज बिहानदेखि आइतबार बेलुका ६ बजेसम्म भारतले धौलीगङ्गा बाँध खोल्दै, सतर्कता अपनाउन आग्रह

दार्चुला- भारतको उत्तराखण्ड प्रान्तको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध शनिबार खोलिने भएको छ । एनएचपीसी लिमिटेड र धौलिगङ्गा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पठाएको पत्रअनुसार परियोजनाको बाँध शनिबार बिहान ६ बजेदेखि आइतबार बेलुका ६ बजेसम्म खोलिने भएको हो ।

बाँध खोलेका बेला र खोलिएको केही घण्टा पश्चात महाकाली नदीको जलस्तर बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिनुभयो । एनएचपीसी लिमिटेड, धौलिगङ्गा पावरस्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार वर्षातका कारण परियोजनाको जलासयमा पानीको प्रवाह वृद्धि हुँदै गएको र सरसफाइका लागि बाँधको ढोका खोल्न लागिएको हो ।

बाँध खोलेको बेला नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । लगातारको वर्षा र बाँध खोलिए पश्चात महाकाली नदीमा जलस्तर बढ्ने खतरा भएकाले नदी वारपार नगर्न पनि आग्रह गरिएको छ ।

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको हो । धौलिगङ्गा जलविद्युत परियोजनाको बाँध वर्षातको बेला हरेक वर्ष खोलिने गरिन्छ । परियोजनाको बाँध खोल्नुपूर्व सतर्कताका लागि भारतले महाकाली तटीय क्षेत्रका जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउने गरेको छ । विसं २०७० असार २ र ३ गते दुई सय ८० मेगावाट क्षमताको धौलीगङ्गाको बाँध एक्कासी खोल्दा दार्चुला सदरमुकाम खलङ्गामा करोडौँ रुपैयाँको क्षति भएको थियो ।

आगामी तीन दिनसम्म मनसुनी वर्षाको उच्च जोखिम रहेकाले सावधानी अपनाउन अनुरोध

काठमाडौँ-जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म मनसुनी वर्षाको उच्च जोखिम रहेकाले सावधानी अपनाउन अनुरोध गरेको छ । महाशाखाले आज बुलेटिन निकालेर बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा आज राति, भोलि शनिबार र पर्सि आइतबार आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो । विभिन्न जिल्लामा मनसुनी वर्षाको उच्च खोखिम, मध्यम जोखिम र जोखिम एवं साना नदीहरुमा बाढीको उच्च र मध्यम जोखिम रहेकाले सोही अनुसार सावधानी अपनाउन एवं पूर्वतयारीमा जुट्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।

विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार तीन दिन बाग्मती प्रदेशका तीन जिल्ला चितवन, मकवानपुर र सिन्धुपाल्चोक र गण्डकी प्रदेशका नवलपरासी पूर्व, पर्वत, तनहँु र स्याङ्जा चार जिल्लाका साना नदीहरुमा बाढी जोखिम रहेकाले सतर्कता अपनाउन भनिएको छ ।     यस्तै, लुम्बिनीका नवलपरासी पश्चिम, रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, दाङ, कपिलवस्तु र बाँकेमा उच्च जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

पिठ्यू र डोकोमा पानीको गाग्री बोक्नुपरेको समस्या अन्त्य गर्न मन्त्रालय प्रतिबद्ध छ’ : मन्त्री राई

मोरङ, १४ असार : खानेपानीमन्त्री राजेन्द्रकुमार राईले सरकार जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउन प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल खानेपानी संस्थानले निर्माण गर्न लागको ‘विराटनगर खानेपानी सुधार आयोजना’को आज यहाँ शिलान्यास गर्दै मन्त्री राईले पिठ्यू र डोकोमा पानीको गाग्री बोक्नुपरेको समस्या अन्त्य गर्न मन्त्रालय लागिपरेको बताउनुभयो ।

सरकारले अघि सारेको सबै नेपाली जनतालाई ‘एक घर, एक धारा’ नीति सफल बनाउन सङ्घ, प्रदेश र स्थानीय तहले काम सुरु गरेको बताउनुभयो । जापान सरकारले नेपाली जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउन सहयोग उपलब्ध गराएकामा मन्त्री राईले धन्यवाद दिनुभयो ।

कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य, कोशी प्रदेशसभा सदस्य गयानन्द मण्डल, विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्की, नेपालस्थित जापानी राजदूतावासका ताकाहिरोतामुरा र जाइका नेपाल कार्यालयका अकिमिक्सु ओकुबोले आ–आफ्नो धारणा राख्नुभएको थियो । आगामी सन् २०२६ मा सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढाइएको सो आयोजनाबाट झण्डै एक लाख नगरवासीमा खानेपानीको सुविधा पुग्ने संस्थानका महाशाखा प्रमुख कमल थापाले जानकारी दिनुभयो ।

युवा पुस्तामा कक्षा १२ पढेपछि जसरी पनि विदेश जाने हुटुहटी चलेको छः पूर्वप्रधानन्यायाधीश कार्की

काठमाडौँ, १४ असारः पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले नयाँ पुस्तामा घर बेचेरै भएपनि विदेश जाने लहर चलेको धारणा व्यक्त गर्नुभएको छ । प्राडा सुरेन्द्र केसीद्वारा लिखित पुस्तक ‘स्मृति र अनुभूती’ विमोचन समारोहमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले पछिल्लो समय युवामा कक्षा १२ पढेपछि जसरी पनि विदेश जाने मानसिकता हावी भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “विद्यार्थीमा मात्रै होइन अभिभावकमा पनि छोराछोरीलाई जसरी भए पनि विदेश पढाउने हुटहुटी चलेको छ, तर पहिले यस्तो थिएन ।” उहाँले प्राडा सुरेन्द्र केसीद्वारा लिखित पुस्तक ‘स्मृति र अनुभूती’ पठनीय भएको भन्दै पुस्तकमा समेटिएका विषय मननयोग्य भएको उल्लेख गर्नुभयो । विसं २०१२ सालदेखि अहिलेसम्म कति ठूलो परिर्वतन आयो, पहिले र अहिलेको पढाइको अन्तर पुस्तकमा समेटिएको उहाँको भनाइ थियो । 

लेखक प्राडा केसीले ५० लाखभन्दा धेरै जनसङ्ख्या देश बाहिर रहेको अवस्थामा मुलुकमा सङ्कट आए कसले बचाउने भन्दै प्रश्न गर्नुभयो । उहाँले यी विषय पनि पुस्तकमा समेटिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “मैले विभिन्न विषय समेटेर यो पुस्तक लेखेको छु, विचार के हो ? सिद्धान्त के हो ? पुस्तकमा समेट्ने प्रयास गरेको छु ।” 

पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता भीम रावलले प्राडा केसीको पुस्तक युवा पुस्ताका लागि उपयोगी भएको भन्दै शुभकामना दिनुभयो । पूर्वमन्त्री डा प्रकाशचन्द्र लोहनी, लुम्विनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति तथा इतिहासविद् प्राडा त्रिरत्न मानन्धर, सविता बस्नेत केसी, चिकित्सक सुन्दरमणि दीक्षितले प्राडा केसीको पुस्तक ‘स्मृति र अनुभूती’बारे धारणा राख्दै शुभकामना समेत दिनुभएको थियो । 
आयोजक सुनौलो नेपाल अनलाइनका कार्यकारी अध्यक्ष मोहराज पौडेलले त्रिभुवन विश्वविद्यालयमा लामो समय प्राध्यापन गर्नुभएका प्राडा केसी नेपालको राजनीतिक एवं सामाजिक क्षेत्रमा बुद्धिजीविका रुपमा स्थापित भएको बताउनुभयो । “भ्रष्टाचार माथिबाट बढार्नुपर्छ भने झैँ प्राडा केसीले भ्रष्टाचारजन्य विकृतका लागि ठूला नेतामाथि औला ठड्याउदै आउनुभएको छ”, उहाँले भन्नुभयो, “प्राडा केसीको यस पुस्तक नेपाली समाज र राजनीति बुझन चाहने सबैका लागि महत्वपूर्ण दस्ताबेजमा विश्वास छ ।”

मदन भण्डारी र गणेशमान नेतृत्व आन्दोलनले पञ्चायत ढल्योः उपमहासचिव ज्ञवाली

भक्तपुर, १४ असारः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले तत्कालीन एमाले महासचिव स्वं मदन भण्डारी र नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा भएको २०४६ सालको जनआन्दोलनले पञ्चायत ढलेको स्मरण गर्नुभएको छ ।

मध्यपुरथिमिमा आज राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार अलाइन्स) ले स्वं मदन भण्डारीको ७२औँ जन्मजयन्तीको अवसरमा आयोजना गरेको मानव अधिकार र बहुदलीय जनवाद विषयक अन्तरसम्वादमा उहाँले मदन भण्डारीको देशप्रतिको योगदान असाध्यै फराकिलो रहेको चर्चा गर्नुभयो । ज्ञवालीले देशमा जबसम्म नागरिकले आर्थिक अधिकार पाउँदैनन तबसम्म देशमा आएको प्रजातन्त्र अधूरो रहने धारणा राख्नुभयो । 

एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतले देशको सार्वमौभ रक्षा र देशको मानव अधिकार रक्षाका सबालमा स्व मदन भण्डारी निकै अगाडि रहेको उल्लेख गर्नुहुँदै कम्युनिष्ट आन्दोलनलाई जीवित राख्न उहाँको बिचार उपलब्धीमूलक रहेको धारणा व्यक्त गर्नुभयो । 

एमालेका भक्तपुर जिल्ला कमिटी अध्यक्ष बचन देउजा, अलाइन्सका अध्यक्ष पुरुषोत्तम श्रेष्ठलगायतले देशमा गणतन्त्र र मानव अधिकारको रक्षाका लागि सधै कटिबद्ध हुनुपर्नेमा जोड दिनुभयो । 

रुससँगको युद्ध अन्त्य गर्ने ‘योजना’ तयार गरिरहेको जेलेन्स्कीको भनाइ

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध कसरी अन्त्य हुनुपर्छ भन्ने किएभले विश्वास गर्छ भनेर ‘व्यापक योजना’ बनाउँदै गरेको बताउनुभएको छ । युक्रेन र रुसबीच कुनै सार्वजनिक वार्ता भइरहेको छैन तथा जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सार्वजनिक भनाइका आधारमा सम्भावित शान्ति सम्झौताका सर्तहरूको कुरा आउँदा दुवै पक्ष सधैँ टाढा रहन्छन् ।

जेलेन्स्कीले युक्रेनको स्थितिका लागि समर्थन जुटाउनका लागि यसै महिनाको सुरुमा स्विट्जरल्यान्डमा प्रमुख अन्तर्राष्ट्रिय शिखर सम्मेलनको आयोजना गर्नुभयो । सम्मेलनमा रुसलाई आमन्त्रण गरिएको थिएन ।

“हाम्रा लागि युद्धलाई अन्त्य गर्ने योजना देखाउनु अत्यन्त महत्त्वपूर्ण छ, यो विश्वको बहुमतले समर्थन गर्नेछ”, स्लोभेनियाली राष्ट्रपति नतासा पिर्कर मुसरसँग किएभमा पत्रकार सम्मेलनमा शुक्रबार उहाँले भन्नुभयो, “हामीले काम गरिरहेको कूटनीतिक मार्ग यही हो ।”

स्विट्जरल्यान्डमा जेलेन्स्कीसँग दुई दिवसीय शिखर सम्मेलनमा ९० भन्दा धेरै देशले नेता तथा वरिष्ठ अधिकारीहरू पठाएका थिए । यीमध्ये अधिकांशले कुनै पनि सम्झौतामा युक्रेनको ‘क्षेत्रीय अखण्डता’ को सम्मान गर्ने आवश्यकतामा जोड दिइएको अन्तिम विज्ञप्तिमा सहमति व्यक्त गरेका थिए । तर सम्मेलनमा भाग लिने भारतजस्ता मुलुकहरू उक्त विज्ञप्तिमा सहमत भएका थिएनन र रुसको सहयोगी चीन जस्ता अन्यले मस्कोलाई आमन्त्रण नगरेको विरोधमा शिखर सम्मेलन बहिष्कार गरेका थिए ।

युक्रेनले बारम्बार शान्ति वार्ता सुरु हुनुअघि रुसका सैनिकहरू अन्तर्राष्ट्रियस्तरमा मान्यताप्राप्त क्षेत्रबाट बाहिरिनुपर्ने बताएको छ । यसमा सन् २०१४ मा मस्कोले कब्जा गरेको क्रिमिया प्रायद्वीप पनि सामेल छ । यसैबीच सन् २०२२ मा फेब्रुअरीमा युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गर्ने पुटिनले युक्रेनसँग उसका पूर्व र दक्षिणमा अझ धेरै क्षेत्र खाली गरेर प्रभावकारीरूपमा आत्मसमर्पण गर्न माग गर्दै हुनुहुन्छ ।

बिहीबार ब्रसेल्समा जेलेन्स्कीले केही महिनाभित्रै एउटा ‘विस्तृत योजना’ ल्याउने बताउनुभयो । सैनिक र नागरिकहरूको उच्च मृत्यु दरतर्फ इशारा गर्दै उहाँले भन्नुभयो, “हामीसँग धेरै समय छैन ।”

शुक्रबार एउटा अर्को सानो सीमावर्ती गाउँ कब्जा गरेको दाबी गर्दै रुसको सेना विस्तारै युद्धको मैदानमा अगाडि बढिरहेको छ ।

हालको अवस्थामा रुसले युक्रेनको करिब २० प्रतिशत भाग कब्जा गरेको छ । सन् २०२२ मा उनीहरूले थप चार क्षेत्रमा कब्जा गरेको दाबी गरेका छन् । यी क्षेत्रमध्ये कुनैमा पनि उनीहरूको पूर्ण नियन्त्रण छैन । युक्रेन आक्रमणकारी रुसी सेनाहरूलाई पछाडि धकेल्नका लागि पश्चिमी वित्तीय र सैन्य सहायतामा निर्भर छ तर दुई वर्षभन्दा लामो लडाइँपछि उसका सैनिक कमजोर र थकित छन् ।

दूध उत्पादक किसानलाई दिएको ३० करोड स्वार्थ समूहले खर्च गरेकामा मन्त्री साहको आपत्ति

काठमाडौँ, १४ असार : कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले सरकारले ऋण लिएर दूध उत्पादक किसानलाई दिएको रु ३० करोड स्वार्थ समूहले तलब, भत्तामा खर्च गर्ने निर्णय गरेकामा आपत्ति जनाउनुभएको छ । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना ‘समापन तथा नतिजा प्रसार समारोह कार्यक्रम’मा मन्त्री साहले किसानलाई असहज हुने गरी कुनै पनि काम नगर्न निर्देशन दिनुभयो । यसबाट दुग्ध विकास संस्थानले पाठ सिक्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

मन्त्री साहले कृषिलाई प्राथमिकता दिने नीतिअनुरुप सरकारले लगानी दशक घोषणा गरेकाले यसमा निजी क्षेत्र सहभागी हुने व्यवस्था गरिएको बताउनुभयो । उत्पादनमा लागेका किसानलाई सहुलियत ऋण उपलब्ध गराउन पहल गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । 

मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले आयोजनाका माध्यमबाट पशु विकासका क्षेत्रमा प्राप्त उपलब्धि शून्यमा नजाने गरी काम गरिने प्रतिबद्धता जनाउनुभयो । सातै प्रदेशसँग छलफल गरी आयोजनाबाट प्राप्त भएका उपलब्धिलाई संस्थागत गर्न पहल गरिने उहाँले बताउनुभयो । दूध र खसीको मासु उत्पादनमा आत्मनिर्भर हुन आयोजनाबाट सहयोग मिलेको सचिव मिश्रले बताउनुभयो । 

“आयोजनाको काम समापन हुनु भनेको नयाँ सुरुआत पनि भएकाले दूधको आन्तरिक उपभोग बढाउन जरुरी छ”, उहाँले भन्नुभयो । पशु रोगमुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रमलाई पनि मन्त्रालयले प्राथमिकता दिएको सचिव मिश्रले बताउनुभयो । सन् २०१८ देखि सुरु भएको उक्त कार्यक्रम यस वर्ष आइतबारदेखि सकिन लागेको आयोजना निर्देशक वैकुण्ठ अधिकारीले जानकारी दिनुभयो ।

मुख्यमन्त्री कप टी–ट्वान्टी क्रिकेटको उपाधि सुर्खेतलाई

सुर्खेत, १४ असारः वीरेन्द्रनगरमा सम्पन्न मुख्यमन्त्री कप टी–ट्वान्टी क्रिकेटको उपाधि सुर्खेतले जितेको छ । कालुङचोक क्रिकेट मैदानमा आज भएको फाइनलमा रुकुम पश्चिमलाई १५ रनले हराउँदै सुर्खेतले उपाधि जितेको हो ।

एक सय ३२ रनको लक्ष्य पाएको रुकुम पश्चिमले निर्धारित २० ओभरमा एक सय १६ रन मात्र बनाउन सक्यो । पहिले ब्याटिङ गरेको सुर्खेतले २० ओभरमा आठ विकेट गुमाएर एक सय ३१ रन बनायो । घरेलु टोलीका लागि कप्तान विपिन रावलले ४८ रनको योगदान दिए ।

प्रतियोगिताको उपाधिसँगै सुर्खेतले रु एक लाख एक हजार नगद प्राप्त गरेको छ भने उपविजेता रुकुमपश्चिमले रु ५१ हजार पाएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा कर्णाली प्रादेशिक क्रिकेट सङ्घले आयोजना गरेको प्रतियोगितामा प्रदेशका सात वटा जिल्लाले भाग लिएका थिए ।

१२ दिनदेखि प्रहरी हिरासतमा रहेका सूचनाका हकका छजना अभियानकर्मी रिहा

काठमाडौँ, १४ असार-गोकर्णेश्वर नगरपालिका र त्यसअन्तर्गतका विभिन्न निकायमा सार्वजनिक महत्वको सूचना माग गरेकै कारण पक्राउ गरी १२ दिनदेखि प्रहरी हिरासतमा राखिएका सूचनाका हकका छजना अभियानकर्मी आज रिहा भएका छन् ।

ती अभियानकर्मीले नगरपालिका र त्यसअन्तर्गतका निकायमा अनियमितता एवं बेथितिका सूचना माग गरेका थिए । सोही कारण सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ जिल्ला कार्यसमिति काठमाडौँका कार्यसमिति सदस्य अस्मिता खत्री, गोकर्णेश्वर नगर समिति संयोजक आदर्श क्षेत्री, अभियानकर्मीहरु राजु सुनार, प्रेमप्रसाद श्रेष्ठ, किरण केसी र बलराम चालिसेलाई प्रहरी वृत्त बौद्धले बेनामी उजुरीका आधारमा पक्राउ गरी हिरासतमा राखेको थियो । असार ३ गते चारजना र असार १० गते दुई गरी छजना अभियानकर्मीलाई प्रहरीले नियन्त्रणमा लिई झुटा मुद्दा चलाउन खोजे पनि प्रमाण नपुगेका कारण रिहा गर्न बाध्य भएको महासङ्घका अध्यक्ष उमिद बागचन्दले राससलाई जानकारी दिनुभयो । 

यही असार ३ गते अभियानकर्मी पक्राउ परेदेखि  महासङ्घले गृह मन्त्रालय, राष्ट्रिय सूचना आयोग, राष्ट्रिय मानव अधिकार आयोगलगायत प्रहरी वृत्त बौद्धको ध्यानाकर्षण गराउँदै आएको थियो । बिहीबार महासङ्घले सार्वजनिक कार्यक्रम आयोजना गरी राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङ, सूचनाको हकका अभियानकर्मी एवं नेपाल पत्रकार महासङ्घका पूर्वसभापति तारानाथ दाहाल, नेपाल प्रहरीका सहप्रवक्ता विश्व अधिकारी, गैरसरकारी संस्था महासङ्घका अध्यक्ष रामप्रसाद सुवेदीलगायत पक्राउ परेका अभियानकर्मीका परिवारसहित अन्तरक्रिया गरेको थियो । 

सूचनाको हकको क्षेत्रमा कार्यरत सबैको पहलमा अभियानकर्मी रिहा भएको बताउँदै महासङ्घका अध्यक्ष बागचन्दले गोकर्णेश्वरबाट भ्रष्टाचारविरुद्धको अभियान सुरु गरिने उद्घोष गर्नुभयो । सार्वजनिक महत्वका विषयमा सूचना माग गर्ने अभियानकर्मी नियोजित तवरबाट पक्राउ पर्नुले त्यहाँ अनियमितता धेरै भएको हुनसक्ने भएकाले सूचना माग गरेर प्रमाणमा आधारित भई गोकर्णेश्वरमा भ्रष्टाचार विरोधी अभियान चलाइने उहाँको भनाइ थियो ।

पारदर्शिता र जवाफदेहिताका लागि सूचनाको हक प्रयोग गरिरहेका अभियानकर्मीलाई झुटा मुद्दाका आधारमा पक्राउ गरेर फसाउन खोजिएबाट गोकर्णेश्वरमा अनियमितताका घटना धेरै हुनसक्ने भएकाले महासङ्घले भ्रष्टाचार विरोधी अभियान चलाउने वरिष्ठ उपाध्यक्ष ताराबहादुर भण्डारीले बताउनुभयो । यसअघि आजै राष्ट्रिय सूचना आयोगका प्रवक्ता कमला ओली थापाले विज्ञप्ति जारी गरी सूचना माग गरेकै कारण सूचनाको हकका अभियानकर्मी पक्राउ गरिनु संविधान र कानुनविपरीत भएको उल्लेख गर्नुभएको थियो । 

आयोगले असार ४ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई लेखेको पत्रको अझै जवाफ नआएको,  विज्ञप्तिमा उल्लेख गरेको छ । आयोगले आयुक्त कमला ओली थापा र उपसचिव सुदर्शन ढकाललाई यस घटनाका विषयमा अध्ययन गर्न जिम्मेवारी दिने निर्णय गरेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उड्डयनमन्त्री तामाङको पहलपछि निगमको वाइडबडी विमानले सी–चेक पायो

काठमाडौँ, १४ असार : नेपाल वायुसेवा निगमको वाइडबडी विमानको सम्पूर्ण मर्मत (सी–चेक) प्राप्त भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको पहलपछि निगमको वाइडबडी विमानले सी–चेक पाएको हो ।

पर्यटनमन्त्री तामाङले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक र निगमका कार्यकारी अध्यक्षसँग चरणबद्ध छलफल गरी निर्देशन दिएपछि कल साइन नाइन एनएनवाई विमानले सी–चेक पाएको हो ।  क्यानले बिनाअनुमति दुबई हुँदै इटाली जहाज लगेको भन्दै सी–चेकको अनुमति दिएको थिएन । मन्त्री तामाङले क्यानको नेतृत्वसँग छलफल गरेपछि आज क्यानले निगमलाई सो अनुमति प्रदान गरेको हो । 

मन्त्री तामाङले  क्यान र निगमका प्रतिनिधिलाई सिंहदरबारस्थित मन्त्रालयमा बोलाएर विमान मर्मतको पछिल्लो अवस्थाबारे जानकारी लिँदै छिटो सी–चेक सम्पन्न गर्न निर्देशन दिनुभएको थियो ।

क्यानको हवाई सेवा निर्देशनालयका उपमहानिर्देशक प्रेमनाथ ठाकुरले सी–चेकका लागि क्यानले निगमलाई अनुमति दिएको जानकारी दिनुभयो । वायुसेवा निगमले जुन २२ मा निगमको एक वाइडबडी विमान दुबई हुँदै मर्मतका लागि इटाली पठाएको थियो । सो जहाज ३० दिनभित्र मर्मत सकेर उडानमा ल्याउने भनिएको छ । इटालियन कम्पनी एटिटेक एसपिएलाई मर्मतको जिम्मेवारी दिइएको छ । 

निगमका प्रवक्ता रमेश पौडेलले वाइडबडी जहाजको सी–चेकका लागि क्यानले अनुमति दिएको पत्र निगमलाई प्राप्त भएको राससलाई जानकारी दिनुभयो । दुईवटा वाइडबडी विमानमध्ये कल साइन नाइन एनएनवाई जहाज यही जुन २५ देखि सी–चेक नभएकाले उडान गर्न पाएको थिएन । यस विमानको मर्मत सम्पन्न भएपश्चात् निगमको अर्को ए ३३० जहाज नाइन एन–एएलजेडलाई पनि मर्मत गराउन सोही मर्मत कम्पनीमा जुलाई २०२४ को अन्तिम सातामा पठाउने तयारी गरिरहेको निगमले जनाएको छ ।

हतारमा तत्काल पार्टी एकता हुँदैन : प्रधानमन्त्री दाहाल

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हतारमा तत्काल वामपन्थी एकता र पार्टी एकता गर्ने पक्षमा नरहेको बताएका छन् । शुक्रबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले बिगतमा जस्तो दुर्घटना नहोस् भन्ने सोचेर मात्र अघि बढ्ने बताए ।

“पार्टी एकता वा वाम एकताभन्दा पनि राजनैतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिँदै जाने र राम्रो सहकार्य गरी अघि बढेर जनताले देख्ने गरी काम गछौँ”, प्रधानमन्त्री दाहालले भने । पहिलाको जसरी दुर्घटना हुने गरी वाम एकता नहुने उल्लेख गर्दै उनले सतर्कताका साथ आफूहरु अगाडि बढेको बताए ।

प्रधानमन्त्री दाहालले अहिलेको परिस्थितिअनुसार सरकारले मेहनत गरेर काम गरिरहेको बताए । मन्त्रालयका आ–आफ्ना जटिलता रहेको उल्लेख गर्दै उनले भने, “जनतालाई प्रत्यक्ष अनुभूति गर्ने गरी परिणाम देखिनुपर्छ ।” समग्रमा अहिलेको परिस्थिति जस्तो छ त्यही अनुसार सरकारले गर्न सक्ने काम मेहनत गरेर गरिरहको उनको भनाइ थियो ।

कृषकले पाउनुपर्ने दूधको भुक्तानीका सरकारले पहल गरिरहेको प्रधानमन्त्री दाहालले बताए । कृषकका समस्या समाधान गर्न सरकारले गम्भीर भएर काम गरिरहेको उनको भनाइ थियो । धान रोप्ने समयमा किसानलाई मल अभाव नहुने उनले बताए ।

त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल

काठमाडौँ, १४ असार : त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको रिक्त प्रमुखमा डा कुन्दन अर्याल नियुक्त हुनुभएको छ ।

त्रिवि कार्यकारी परिषद्को बिहीबार बसेको बैठकले डा अर्याललाई चार वर्षको कार्यकालका लागि नियुक्त गरेको हो । पत्रकारिताको अध्यापन, अनुसन्धान र सम्पादनमा सक्रिय अर्यालले विभागको प्रमुख पदको आज नियुक्तिपत्र लिएको जानकारी दिनुभयो ।

आँप महोत्सवमा बजार नपाएको किसानको गुनासो

महोत्तरी, १४ असारः पानीबेगरको बडहरी खोला वारि महोत्तरीका बर्दिबास–७ प्रेमनगर र भङ्गाहा–४ को रामनगर, पारिपट्टी धनुषाको वटेश्वर गाउँपालिकाका चित्रपुर, लवकुशचोक, कुसुमबिसौना र कात्तिककुमर छन् । खोलावारि र पारि आँपका बगान (बगैँचा) छन् । आँपको यही पकेट क्षेत्रमा आज आँप महोत्सव सम्पन्न भएको छ ।

महोत्सवमा जताततै ढकीढकीमा सजाएर राखिएका विभिन्न थरीका आँप छन् । मालदह, दशहरी, बमई, किसनभोग, आम्रपाली, मल्लिका, स्वर्णरेखा, गुलावखास, मिसरिया, डोल्मा, केरवा, लालमोहन, लरुवा र कलकतियालगायतका आँपले महोत्सव सुगन्धित छ । दर्शकहरु थरीथरीका आँपको स्वाद लिन व्यस्त  छन् । आँप उत्पादक किसानले  भने अवलोकनकर्तासँग आफ्नो उत्पादनले बजार नपाएको गुनासो गरेका छन् ।

आँप उत्पादनको पकेट क्षेत्र भए पनि यसबारे कतैबाट चासो वास्ता नपाएपछि वटेश्वर–१ का किसानले आज आँप मेला आयोजना गरेका हुन् । “हाम्रो मुख्य फसल यही (आँप) हो न बजार छ, न केही दिन सुरक्षित थन्क्याउने चिस्यानघर छ” महोत्सवको अवलोकन गरिरहनुभएका मधेस प्रदेशसभाका प्राकृतिक स्रोत साधन समितिका सभापति शारदा पहाडीसँग ७५ वर्षीय किसान रामविलास महतोले भन्नुभयो, “लौ न, हाम्रा कुरा पनि सुनिऊन् ।”

महोत्सव अवलोकन गर्न पुगेका नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेशका अध्यक्ष हिरालाल गौतमसहितका पदाधिकारी, महोत्तरी÷धनुषाका सञ्चारकर्मीहरु, उद्योगी÷व्यवसायी, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थी, व्यापारी र जनप्रतिनिधिबीच कुराकानी गर्ने सबै किसानले रामविलास महतोकै कुरा दोहो¥याएका छन् । 

“उत्पादनको पकेट क्षेत्रमै मेला महोत्सव गरेर तपाईंहरुलाई आफ्नो व्यथा सुनाउन चाहेका हौँ”, ६५ वर्षीय किसान रामगुलाम महतोले भन्नुभयो, “हाम्रो मर्का सबैले सुन्ने, बुझ्ने गरी खबर बनाई दिनुस् ।” आँप धमाधम पाक्न थालेपछि तत्काल बजार पु¥याउन नसके रूखबाट झरेर सड्छन् । त्यसैले केही दिन आँप थन्क्याएरपछि भाउ पाउने गरी बेच्न चिस्यानघरको जरुरी भएको रामगुलामको भनाइ छ । चिस्यानघरको प्रबन्ध भए मात्र पनि निकै राहत हुने महोत्सवमा आँप उत्पादक किसानले बताएका छन् ।

मेलाको आयोजना नै यहाँको आँप बगैँचा देखाउन, आँपको स्वाद चखाउन, होटल व्यवसायी र व्यापारीलाई यहाँको आँपबाट आकर्षित गराउन र आँप पकेट क्षेत्रको प्रचारप्रसार गराउनु रहेको आँप मेला आयोजक समितिका संयोजक फुलगेन मगहीले स्पष्ट पार्नुभयो । 

“आजको महोत्सव आँप बेच्ने उद्देश्यले आयोजना गरिएको होइन, पाहुनालाई यहाँका बगैँचा देखाउन र यहाँका थरीथरीका आँप चखाउन आयोजना गरिएको हो,” मगहीले महोत्सव आयोजनाबारे स्पष्ट पार्दै भन्नुभयो ।    महोत्सवमा महोत्तरी र धनुषाका विभिन्न भेगका विद्यालयका शिक्षक तथा विद्यार्थीहरु पनि सहभागी भए । एकदिने महोत्सवले आँपाका पारखीहरुको चासो बढाउने वटेश्वर–१ का वडाअध्यक्ष अशोककुमार महतो बताउनुहुन्छ ।

असारे १५ पर्वको एक दिनअघि आयोजित महोत्सवले यहाँ आँप खोज्न आउने बढ्छन् भन्ने किसानको अपेक्षा छ । यहाँ उत्पादित आँप नजिकको ढल्केबर, बर्दिबास, भङ्गाहा र महेन्द्रनगरका बजारसम्म पु¥याएर बेच्ने गरिएको स्थानीय किसान रामउद्गार महतोले बताउनुभयो ।   आँपको आवश्यक प्रचारप्रसार हुनसके यहाँको उत्पादनको बजारीकरणका लागि सहयोग पुग्ने अपेक्षा गरिएको मधेस प्रदेशसभा सदस्य शारदा पहाडीले बताउनुभयो । आपूmले यहाँका किसानका गुनासा प्रदेश सरकार मुख्यमन्त्री, कृषिमन्त्री र प्रदेशसभासम्म पु¥याउने पहाडीले प्रतिबद्धता जनाउनुभयो । 

‘जबज नेपाली क्रान्तिलाई बाटो देखाउने सिद्धान्त’ :अध्यक्ष ओली

काठमाडौँ, १४ असार : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद (जबज) नेपाली क्रान्तिलाई बाटो देखाउने सिद्धान्तका रुपमा रहेको बताउनुभएको छ । मदन भण्डारी फाउन्डेसनले आज ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा आयोजना गरेको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार तथा जबजः राजनीतिक विकास र स्थायित्व’ विषयक विचार गोष्ठीमा उहाँले देशकोे आवश्यकता र अति जरुरी सिद्धान्तका रुपमा जबज रहेको बताउनुएको हो ।

जबजले अहिले पनि मार्गदर्शन गरिरहेको भन्दै पार्टीले अहिले जबजलाई प्रभावकारी रुपमा अघि बढाइरहेको उहाँको भनाइ छ । उहाँले देश, जनताको समस्या समाधानप्रति जबज प्रतिबद्ध रहेको धारणा राख्नुभयो । अध्यक्ष ओलीले जनताका हितलाई सुनिश्चित गर्ने अनुकूल परिस्थिति प्रदान गर्ने प्रयास नै जबज  रहेको बताउनुभयो । 

मदन भण्डारीको अगुवाइमा एमालेले जबज प्रतिपादन गरेको उल्लेख गर्दै जबज सङ्घर्षको अनुभवबाट निस्केको निष्कर्ष रहेको उहाँको धारणा थियो । देशकोे राजनीति र विकासको अवस्थालाई उन्नत स्थितिमा पु¥याउन, आधुनिकतालाई उन्नत आधुनिकीकरणमा पु¥याउन, अर्थतन्त्रलाई माथिल्लो स्तरमा लैजान र शासक प्रशासकलाई उच्चस्तर बनाउने काम जबजले गरेको उहाँको जिकिर थियो ।

उहाँले भन्नुभयो, “हाम्रो समाजमा रहेका विकृति–विसङ्गतिलाई हटाउँदै सुन्दर, समानतायुक्त, न्याययुक्त समाज, सांस्कृतिक हिसाबले उन्नत र सुसंस्कृत, मानवीय समाजमा लैजाने भन्ने कुरा जबजमा छ ।” उहाँले नेपालको भूराजनीतिक विषयमा दुई ठूला मित्र राष्ट्रसँगको सम्बन्धलाई सदुपयोग गर्नुपर्ने धारणा राख्नुभयो । “हाम्रो मित्र हुन् भन्ने ठानेर हामीले हाम्रो रुचिका विषयबारे खुलस्त कुरा गर्नुपर्दछ,” उहाँले भन्नुभयो, “हाम्रो रुचि यो हो हाम्रो जायज माग यो हो भनेर कुरा गर्नुपर्दछ  र  हामी यस्तो धारणा राख्दछौँ, हाम्रो कुरा सही छ भनेर भन्नुपर्दछ ।” 

फाउन्डेशनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले जबजलाई कम्युनिष्ट पार्टीको  राजनीतिक सिद्धान्तका रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो । उक्त कार्यक्रममा अध्यक्ष ओली, उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेललगायत पार्टीका शीर्षनेताहरुले मदन भण्डारीको तस्बिरमा माल्यार्पण गर्नुभएको थियो । सोही कार्यक्रममा अध्यक्ष ओलीले फाउन्डेसनले प्रकाशित गरेको ‘दिशाबोध’ नामक पुस्तकको विमोचन गर्नुभएको थियो । 

सर्लाहीमा चट्याङ लागेर एक महिलाको मृत्यु

बरहथवा (सर्लाही), १४ असार -सर्लाहीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । चट्याङ लागेर गम्भीर घाइते भएकी बागमती नगरपालिका–१ की ६४ वर्षीया गोमा आले मगरको उपचारका क्रममा मृत्यु भएको हो ।

आज बिहान आफ्नै खेतमा काम गरिरहेको अवस्थामा मगर चट्याङ लागेर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा पर्साको वीरगञ्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।  

यसैबीच, चट्याङबाट लालबन्दी नगरपालिका–१७  गैरी टोलका मङ्गल कामीको घरमा क्षति पुगेको छ । यस्तै बुधबार परेको चट्याङबाट ईश्वरपुर नगरपालिका–१३ र १६ का ६ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

पाकिस्तानमा गत आर्थिक वर्षमा मध्यम आर्थिक सुधार

पाकिस्तानमा गत आर्थिक वर्ष (सन् २०२३ जुलाईदेखि सन् २०२४ जुनसम्म) मा मध्यम आर्थिक सुधार भएको पाकिस्तानी अर्थ मन्त्रालयले बताएको छ । पाकिस्तानमा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिदर दुई दशमलव चार प्रतिशतमा पुगेको छ । यसमा कृषि क्षेत्र छ दशमलव तीन प्रतिशतले तथा उद्योग र सेवा प्रत्येक एक दशमलव दुई प्रतिशतले वृद्धि भएको मन्त्रालयको मासिक आर्थिक दृष्टिकोणमा उल्लेख छ ।

   गत वर्ष करिब तीन अर्ब ९० करोड डलरको घाटाको तुलनामा सन् २०१८ को जुलाई–मे महिनामा ५० करोड अमेरिकी डलर घाटा रहेकाले चालु खाता मौज्दातमा दिगो सुधार देखिएको छ । 

   केन्द्रीय बैङ्कको मौद्रिक नीति समितिले यस महिनाको सुरुमा मुद्रास्फीतिको दबाब कम गर्दै आर्थिक वर्षको मध्यम जिडिपी वृद्धिको आधारमा नीति दरलाई एक सय ५० आधार विन्दु (बिपिएस) ले २० दशमलव पाँच प्रतिशतमा झारेको प्रतिवेदनमा उल्लेख छ ।      “सरकार सम्भावित लगानीकर्ताहरूबाट दीर्घकालीन प्रतिबद्धताहरूलाई प्रोत्साहित गर्न लगानीमैत्री वातावरण सिर्जना गर्न प्रतिबद्ध छ, जुन आर्थिक स्थायित्व कायम गर्न अपरिहार्य छ”, प्रतिवेदनमा भनिएको छ ।

विज्ञान प्रविधिसम्बन्धी दुई विधेयकमा त्रिविका प्राध्यापकसँग छलफल

काठमाडौँ, १४ असारः शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानका विभिन्न विभागका प्राध्यापक र विद्यार्थीहरुसँग विज्ञान प्रविधि तथा नवप्रवर्तन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र व्यवहारिक विज्ञान प्रविधि तथा उद्योमोदय कोषसम्बन्धी विधेयकको मस्यौदामा छलफल गरेको छ ।

विपि कोइराला विज्ञान सङ्ग्रहालय कीर्तिपुरमा आज सम्पन्न कार्यक्रममा त्रिवि रसायनशास्त्र केन्द्रीय विभाग, कम्प्युटर विज्ञान केन्द्रीय विभाग, भौतिकशास्त्र केन्द्रीय विभाग, गणितशास्त्र केन्द्रीय विभाग, जैविक प्रविधि केन्द्रीय विभाग, तथ्याङ्कशास्त्र केन्द्रीय विभाग, वातावरण विज्ञान केन्द्रीय विभाग, वनस्पति विज्ञान केन्द्रीय विभाग, प्राणीशास्त्र केन्द्रीय विभाग, माइक्रोबायोलोजी केन्द्रीय विभागलगायतका विभागबाट प्रतिनिधित्व भएको थियो ।

सो अवसरमा दुवै ऐनबारे भएका सैद्धान्तिक व्यवस्थाका विषयमा केन्द्रित भइ मन्त्रालयका सचिव विश्वबाबु पुडासैनी लगायतले प्रस्तुतीकरण गर्नुभएको थियो । छलफलमा भाग लिँदै सहभागीहरूले विश्वविद्यालयभित्र हुने अनुसन्धानलाई विधेयकले प्राथमिकीरण र लगानी बढाउनुपर्ने, अनुसन्धानकर्ताको मनोबल उच्च गराउन राज्यले भूमिका खेल्नुपर्ने, अनुसन्धानमा हुने प्रक्रियागत झन्झटलाई कम गर्नुपर्नेमा जोड दिनुभयो । 

सहभागीहरुले नेपालका विभिन्न मौलिक जैविक पदार्थ अनुगमनबिना बाहिर जाने गरेको उल्लेख गर्दै नियन्त्रण हुनुपर्ने धारणा राख्नुभयो । 

कार्यक्रममा मन्त्रालयका सह–सचिव इन्दु विक्रम जोशीले हाल नेपालमा विज्ञान प्रविधिको प्रवद्र्धनका लागि एसटीआई गनर्भेन्स तथा लगानीका लागि एसटीआई फन्ड आवश्यक भएको विधेयकको आवश्यकता भएको धारणा व्यक्त गर्नुभयो । 

मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीले विज्ञान प्रविधि र नवप्रवर्तनसँग सम्बन्धित विधेयक र प्रविधि उद्योमोदय कोष् सँग सम्बन्धित विधेयकहरू दुवैले विश्वविद्यालयका अनुसन्धानकर्तालाई प्रमुख प्राथमिकतामा राखेको बताउनुभयो । “अनुसन्धानहरूले देशको आर्थिक विकासमा टेवा पु¥याउने किसिमले देखिने गरी प्रभाव बढाउन आवश्यक रहेको र मन्त्रालयले विज्ञान प्रविधिको समग्रता समेट्ने किसिमको विधेयकको प्रारम्भिक मस्यौदा मात्र निर्माण गरी सरोकारवालाहरूको सुझाव समेट्छौँ”, उहाँले भन्नुभयो । 

सुझावका लागि दुवै विधेयकको मस्यौदा मन्त्रालयको वेवसाइटमा पनि सार्वजनिक गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले दुवै विधेयकका मस्यौदामा सरोकारवालाको सुझावअनुसार मस्यौदा संशोधन गरेर मन्त्रिपरिषद्मा लैजाने तैयारी गर्नुभएको जनाइएको छ ।

बागमती प्रदेशसभा बैठक : विधेयक समितिमा पठाउन स्वीकृति

मकवानपुर, १४ असार : बागमती प्रदेशसभाको आजको बैठकले उच्च शिक्षा (पहिलो संशोधन) अध्यादेश–२०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक दफावार छलफलका लागि शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाउन सर्वसम्मतिले स्वीकृति प्रदान गरेको छ ।

यसअघि प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले उक्त विधेयक दफावार छलफलका लागि शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाइयोस् भनी प्रस्ताव पेस गर्नुभएको थियो ।  

यस्तै शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुरप्रसाद ढकालले विज्ञान, प्रविधि, नवप्रवद्र्धन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकउपर समितिले गरेको निर्णयको प्रतिवेदन प्रदेशसभामा पेस गर्नुभएको थियो ।प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको अर्को बैठक सूचना जारी नभएसम्मका लागि स्थगित भएको घोषणा गर्नुभयो ।

प्रधानमन्त्रीको उपस्थितिमा असार १५ गते चितवनमा रोपाइँ महोत्सव हुने

चितवन, १४ असार : हरेक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव यस वर्ष चितवनमा मनाइने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनको धान जोन क्षेत्रको बछौलीमा प्रधानमन्त्रीको उपस्थितिमा रोपाइँ महोत्सव गर्न लागिएको हो ।

रत्ननगर नगरपालिका–७ बछौलीमा महोत्सव मनाउने तयारी गरिएको आयोजक समितिका संयोजक एवं कृषि विभागका महानिर्देशक नरहरिप्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ महोत्सव गर्न लागिएको हो ।

महोत्सवमा धान रोप्ने मेसिनले एक हेक्टर क्षेत्रफलमा धान रोपिने संयोजक घिमिरेले बताउनुभयो । बछौली बहुउद्देशीय कृषि समूहमा आयोजना गर्न लागिएको उक्त महोत्सवमा कृषि क्षेत्रमा आधुनिकीकरण, जलवायुमैत्री तथा जलवायु परिवर्तनसँग जुध्न सक्ने धानका जातको बारेमा जानकारी दिइने उहाँले बताउनुभयो ।

संयोजक घिमिरेका अनुसार सुक्खा क्षेत्र सहन सक्ने छ जात र डुबान सहन सक्ने दुई जातका धानको बारेमा जानकारी गराइने छ । “अहिले मनसुन ढिला सुरु हुँदा कतै बीउ राख्ने त कतै रोपाइँ गर्ने अवस्था छ । धान रोपाइँमा मेसिनको प्रयोग गर्नसके कृषकलाई समयका साथै आर्थिकरुपमा खर्च कम लाग्ने देखिन्छ”, उहाँले भन्नुभयो, “प्रविधिको प्रयोग गरेर कृषि कर्म गरे ३० प्रतिशतसम्म उत्पादन बढ्ने छ ।”

जिल्लामा अहिले पाँचवटा मेसिनबाट धान रोपाइँ हुँदै आएको छ । एक बिघा क्षेत्रफलमा धान रोप्दा रु पाँच हजार मात्र खर्च हुने भएकाले हरेक दृष्टिकोणबाट मेसिन फलदायी हुने संयोजक घिमिरेले बताउनुभयो । जलवायु परिवर्तनको असरको न्यूनीकरणका लागि प्रविधिको विकास भए पनि यसको प्रयोगका बारेमा जानकारी नहुँदा समस्या हुने गरेको उहाँको भनाइ छ ।

१४ प्रतिशत रोपाइँ सम्पन्न

जिल्लामा हालसम्म १४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । यहाँ २२ हजार आठ सय ७० हेक्टर क्षेत्रफलमा वर्षे धान खेती गरिँदै आइएको छ ।

पूर्वी चितवन र पश्चिम चितवनको माडी क्षेत्रमा धान रोपाइँ भइरहेको कृषि कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वी क्षेत्रमा असार पहिलो सातादेखि रोपाइँ सुरु भएको छ भने पश्चिम क्षेत्रमा असार अन्तिम सातादेखि सुरु हुने गरेको छ ।

धान जोन क्षेत्रमा करिब ८० प्रतिशत सिँचाइको व्यवस्थापन भइसकेको छ । अन्य क्षेत्रमा सिँचाइका लागि बोरिङ जडानको काम भइरहेको जनाउँदै नहरबाट पानी लाग्ने ठाउँमा भने केही ढिला हुने संयोजक घिमिरेले बताउनुभयो । जिल्लामा सञ्चालित धान जोन क्षेत्रमा ५० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा आठ हजार पाँच सय हेक्टर क्षेत्रफल धान जोनका रुपमा विकास गरिएको छ ।

मदन भण्डारीको विचारलाई जनजनमा लैजानुपर्ने महासचिव पोखरेलको भनाइ

भक्तपुर, १४ असार : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मदन भण्डारीको विचारलाई जनजनमा लैजानुपर्ने बताउनुभएको छ ।स्वं भण्डारीको ७२औँ जन्मजयन्तीको अवसरमा एमाले भक्तपुर जिल्ला कमिटीले आज नङ्खेलस्थित नवदुर्गा सामुदायिक वन परिषद्मा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उहाँले भण्डारीले देश र जनताको लागि लिएको नीतिलाई आत्मसात् गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

एमालेभित्र पलाएको गलत जीवनशैली, आनीबानी, आचरण र व्यवहारलाई सुधार्दै पार्टीलाई एकताबद्ध बनाउन जरुरी रहेको भन्दै महासचिव पोखरेलले देशलाई समाजवादमा प्रवेश गराइ समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना साकार बनाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले स्व भण्डारीका विचारलाई अनुसरण गरी एमालेलाई थप एकतावद्ध बनाउँदै लैजानुपर्ने बताउनुभयो ।
एमाले भक्तपुरका अध्यक्ष वचन देउजालगायतले मदन भण्डारीको योगदान र विचारको सान्दर्भिकताबारे धारणा राख्नुभएको थियो ।

वर्षामा यसवर्ष काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा समस्या नहुने

काठमाडौँ, १४ असार : काठमाडौँ महानगरपालिकाले वर्षातका कारण विगतका वर्षमा जस्तो यसवर्ष फोहर व्यवस्थापनमा समस्या नहुने जनाएको छ । कामपाले वर्षाका कारण फोहोर व्यवस्थापन हुने समस्या समाधान भइसकेको जनाएको हो ।

कामपाका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने बाटोको समस्या समाधान भइसकेकाले लामो समयसम्म फोहर रोकिने समस्या नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा फोहर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलमा पनि विगतको फोहरलाई (क्यापिङ्) माटोले छोपेर मिलाउने काम गरिसकेको र वैकल्पिक बाटोको व्यवस्था गरेकाले यसवर्ष फोहर व्यवस्थापनमा समस्या हुँदैन ।”

लम्सालले तीनपिप्लेदेखि सिसडोलम्म केही स्थानमा पहिरो जाने गरेकामा ती स्थानमा पर्खाल निर्माण गरिएकाले नियमित पानी परे पनि समस्या नहुने उहाँको भनाइ छ ।

कामपाका कूल ३२ वडामध्ये भित्री नौवटा वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ । हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिकटन फोहर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ । त्यसमध्ये सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन फोहर जान्छ । निजी क्षेत्रबाट व्यवस्थापन हुने र कामपाको गरी दैनिक कम्तीमा दुई सय गाडीले फोहर ओसार्छन् ।

उपत्यकाका १८ पालिकाको फोहर दैनिक रुपमा त्यहाँ पुग्ने गरेको छ । सुरुमा गोकर्ण, सिसडोल हुँदै अहिले बञ्चरेडाँडामा फोहरको अन्तिम व्यवस्थापन हुँदै आएको छ । विसं २०६८ मा सरकारले जारिगरेको फोहरमैला व्यवस्थापन ऐन र २०७७ सालमा कामपाले जारिगरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम सहरी सरसफाइ र स्वच्छताका लागि फोहरलाई स्रोतमै छुट्याउने दायित्व उत्पादकको हुने कानुनी व्यवस्था छ । यसअनुसार उत्पादकले भान्सामा जैविक र अजैविक फोहरलाई छुट्टाछुट्टै भाडामा राख्नुपर्ने हुन्छ ।

ठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध

काँक्रेविहार (सुर्खेत), १४ असारः कर्णाली करिडोरका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । करिडोरको दैलेख खण्डअन्तर्गत पाँच ठाउँमा सडक अवरुद्ध भएको हो ।

दैलेख प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल न्यौपानेले पालेतडा–पादुका खोला बीचको खण्डका पाँच ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको बताउनुभयो । उहाँले अवरुद्ध सडक खोल्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोली परिचालन भएको जानकारी दिनुभयो ।

यसैगरी, मध्यपहाडी राजमार्गको रुकुमखण्ड अवरुद्ध भएको छ । रुकुमपश्चिमको मुसिकोट नगरपालिका–८ किटनीमा बिहीबार साँझ खसेको पहिराले बाटो अवरुद्ध भएको हो । रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बाटो खुलाउने प्रयास जारी रहेको राससलाई बताउनुभयो ।