`

एकीकृत समाजवादीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत अध्यक्ष चयन गर्न शीर्ष नेताहरूबीच छलफल प्रारम्भ भएको छ । नेतृत्वपङ्ति सर्वसम्मत रूपमा अध्यक्ष चयन गर्ने प्रयासमा छ ।

राजनीतिक प्रतिवेदन, पार्टीको समाजवादी कार्यक्रम, विधान संशोधन र साङ्गठनिक प्रतिवेदनलाई एउटै साझा दस्तावेज बनाएर महाधिवेशनमा लैजाने समझदारी भएपछि पार्टी केन्द्रीय नेतृत्वमा पनि निर्विरोध उम्मेदवारको खोजी गरिएको हो ।

पार्टीको आन्तरिक एकता बलियो बनाउन, वैचारिक तथा सैद्धान्तिक कार्यदिशाका हिसाबले पार्टीको नेतृत्व साथै देश र जनताको हितमा काम गर्न सक्ने स्वच्छ छवि भएको नेतालाई नेतृत्वमा लैजानुपर्ने पार्टीका सातै प्रदेशका अध्यक्षले सुझाव दिएका छन् ।

सम्मानित नेता झलनाथ खनालले सबै प्रदेश अध्यक्षसँग गरेको छलफलमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग विभाजित हुनुको औचित्य पुष्टि गर्नसक्नुपर्ने सुझाएका छन् ।

कोशीबाट बलदेव चौधरी, गण्डकीका श्रीनाथ बराल, बागमतीका सावित्रा भुसाल, मधेस प्रदेशका रामचन्द्र यादव, लुम्बिनीका सोमप्रसाद पाण्डे, कर्णालीका अम्बर थापा र सुदूरपश्चिमका हर्कबहादुर सिंह छलफलमा सहभागी थिए ।

पार्टीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालबीच समझदारीका साथ सर्वसम्मत नेतृत्व चयनका लागि पुस्तान्तरणका विषयमा पनि छलफल गरिएको स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिए । यही असार १६ देखि २० गतेसम्म पार्टीको महाधिवेशन हुँदैछ ।

ट्रयाक्टर दुर्घटनामा छ वर्षीय बालकको मृत्यु, दुईजना घाइते

गुल्मी, १४ असारः तम्घास–सिमलटारी सडकखण्डअन्तर्गत छल्दीबाट तम्घासतर्फ आउँदै गरेको लु४त २४६५ नम्बरको ट्रयाक्टर रेसुङ्गा नगरपालिका–४ रायढुङ्गामा दुर्घटना हुँदा छ वर्षीय बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलका अनुसार दुर्घटनामा मालिका गाउँपालिका–२ का छ वर्षीय शिव विकको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि गुल्मी अस्पताल ल्याउनेबित्तिकै अस्पतालले मृत घोषणा गरेको थियो ।

 दुर्घटनामा ट्याक्टर चालक  गुल्मीको धुर्कोट गाउँपालिक–५ बस्तुका  २६ वर्षीय दीपक गोतामे र सहचालक बागलुङ बडिगाड गाउँपालिकाका १९ वर्षीय राजकुमार विक घाइते भएका छन् । उनीहरूलाई थप उपचारका लागि पाल्पा पठाइएको छ । 

नागार्जुनको कल्भर्टमा कार खस्दा चालकको मृत्यु

काठमाडौँ । सीतापाइलास्थित सिभिल होमनजिक छमछमे खोलाको कल्भर्टमा कार खस्दा चालकको मृत्यु भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार नागार्जुन नगरपालिका–६ खरिटारका ४५ वर्षीय पूर्ण दर्नालको मृत्यु भएको हो ।

दर्नाल आफैँले चलाएको बाप्र०२७च ०४९१ नम्बरको कार कल्भर्टबाट खसेर उक्त दुर्घटना भएको थियो । राती खसेका उनको आज बिहान उद्धार गरिएको हो । उनको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

जनधनको क्षति कम गर्न बाढीको पूर्वसूचना दिने प्रणाली प्रभावकारी, ‘आवाज सुनेपछि निद्राबाट ब्युँझिदा ज्यान बच्यो’

झापा, १४ असारः कनकाईको बाढी दुई वर्षअघि बस्तीमा पस्नुअगावै आफूहरू सुरक्षित स्थानमा पुगेको शिवसताक्षी–४ किचकडाँगीका टेकनारायण राजवंशीको स्मृतिमा ताजै छ ।

“राति तीनपटक साइरनको चर्को आवाज सुनेपछि परिवारका सबै सदस्य निद्राबाट ब्युँझिएका थियौँ”, उहाँले त्यसबेलाको घटना सम्झिँदै भन्नुभयो, “हस्याङ्फस्याङ गर्दै वृद्ध आमासहित नजिकैको विद्यालयमा सबैजना पुगेर ज्यान बचाएका थियौँ”, सुरक्षित आश्रयस्थलमा पुगेको केही समयपछि बाढी पसेर बस्ती जलमग्न भएकोे स्मरण उहाँले सुनाउनुभयो ।

जिल्लाको सबैभन्दा ठूलो नदी कनकाईको तटीय बस्तीमा बर्खा लागेपछि बाढीको पूर्वुसूचना दिन जडान गरिएका साइरन बज्नु सामान्यजस्तै भइसकेको छ । इलाममा वर्षाको मात्रा बढ्नासाथ नदीमा बाढी आउने र बस्तीमा पस्ने घटना बर्सेनि दोहोरिने गरेको छ । बाढी आउनु पहिल्यै जानकारी दिने साइरन यहाँका बासिन्दाका लागि बरदान सावित भएको छ ।

बाढी रोक्न नसकिए पनि त्यसबाट हुनसक्ने क्षति कम गर्न जल तथा मौसम विज्ञान विभागले नेपाल रेडक्रस सोसाइटीको पहलमा जिल्लाका १५ र इलामका ११ वटा बस्तीमा बाढीको अग्रिम सूचना दिन साइरन जडान गरेको हो । मानव परिचालित ती साइरनलाई प्रविधियुक्त बनाएर स्वचालित बनाउने योजना अघि बढिसकेको किचकडाँगीस्थित सामुदायिक विपद् व्यवस्थापन समितिका संयोजक राजवंशीले बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटीका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति हरिकृष्ण खड्काले कनकाई नगरपालिका, शिवसताक्षी नगरपालिका गौरीगञ्ज र झापा गाउँपालिका गरी चार पालिकाका बाह्रवटा वडाका १५ वटा बस्तीमा बाढीको पूर्वसूचना दिन १० वर्षअघि नै साइरन जडान गरिएको जानकारी दिनुभयो ।

साइरन जडान भएको स्थानमा कनकाई नगरपालिकाको वडा नं ४ को त्रिवेणी टोल, झापा गाउँपालिकाको वडा नं १, २, ३ र ७ को मिलन बस्ती, सुगाबथान, उराउ बस्ती, नयाँ बस्ती र टप्पु बस्ती रहेका छन् । खड्काका अनुसार शिवसताक्षी नगरपालिकाको वडा नं ४, ५, ७, ८ र १० को किचकडाँगी, बिसनडुब्बा, पुरानो बजार, टोपला बस्ती र सुकुम्बासी बस्तीमा समेत साइरन जडान भइसकेको छ । गौरीगञ्ज गाउँपालिकाको वडा नं १ र २ स्थित बिर्खे बस्ती, होकलाबारी, भाकुरमारी र होलाडाँगीमा साइरन सञ्चालनमै रहेको छ ।

इलामको माई नगरपालिकाको धोद्रे, चेप्टी, पालटार, भतभते, लक्ष्मी बाँध र बर्जेटार, देउमाई नगरपालिकाको जितपुर, ढोडेनी र मान्द्रे र माङ्सेबुङ गाउँपालिकाको इभाङ र चुनियाटोलमा पहिल्यैदेखि साइरन जडान भएको उहाँले जानकारी दिनुभयो । साइरनबाट जिल्लाको दुई हजार घरका १० हजार जनसङ्ख्या र इलामको चार सय घरका दुई हजार जनसङ्ख्याले बाढीको अग्रिम जानकारी पाउने गरेका छन् ।

बर्सेनि बाढीले आतङ्क मच्चाउने कनकाईको तटीय क्षेत्रमा बाढीको अग्रिम सूचना दिन जडान गरिएको साइरन प्रभावकारी बनेको स्थानीयवासी बताउँछन् । रेडक्रसकर्मी खड्का अनुसार साइरन बजेपछि मानवीय क्षति नहोस् भनेर सतर्कता अपनाउन स्थानीयवासी अभ्यस्त भइसकेका छन् । स्थानीय ५० देखि एक सय ५० वटा घरलाई एउटा ब्लक मानेर एउटा साइरन जडान गरिएको छ । समुदायमा गठन गरिएको विपद् व्यवस्थापन समितिले साइरनको रेखदेख र प्रयोग गर्दै आएको छ ।

झापा र इलामको सिमानामा पर्ने मैनाचुलीमा जलमापन केन्द्र र गैंडेमा बाढी मापन केन्द्र उपकरण जडान गरिएका छन् । ती केन्द्रले वर्षा र जलसतह मापन गरेर बाढी आउने अग्रिम जानकारी मोबाइल र इन्टरनेटबाट स्थानीय समुदायलाई एसएमएसमार्फत पठाउने गर्छन् । त्यही एसएमएसका आधारमा गाउँमा साइरन बजाउने गरिएको छ ।

“जलसतहको विश्लेषण गरेपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन एसएमएस पठाउने गरिएको छ”, साइरनबारे जानकारी दिँदै रेडक्रसकर्मी खड्काले भन्नुभयो, “पहिलो साइरनले समुदायको ध्यानाकर्षण गराउँछ भने दोस्रोले सुरक्षित स्थानमा जान तयारीमा रहन सङ्केत गर्छ र तेस्रोपटकको साइरनले बाढी नजिकै आइरहेको जनाउ दिन्छ ।” उहाँले करिब ३० मिनेटमा तीनपटक साइरन बजिसक्दा बस्ती छाड्नुपर्ने बताउनुभयो ।

शिवसताक्षी नगरपालिका–४ का ५५ वर्षीय रेशमान दर्जीले गत वर्ष बाढी बस्तीमा पस्दा साइरन बजेकै कारण थाहा पाएको बताउनुभयो । उहाँले साइरन बजेपछि बस्तीका मानिस सुरक्षित आश्रयस्थलतिर जाने गरेका बताउनुभयो । उहाँले विगतमा बाढी पसेको स्मरण गर्दै भन्नुभयो, “साइरनले जनधनको ठूलो क्षतिबाट जोगाएको छ । ।”

रेडक्रसका सम्पर्क व्यक्ति खड्काले ती साइरनहरू स्वचालित नभएर तोकिएका व्यक्तिले प्रयोग गर्ने मानव सञ्चालित प्रविधियुक्त रहेका जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्षभित्रै जिल्लाका तीन स्थानमा बहुप्रकोपीय क्षेत्रको अध्ययन गरी स्वचालित साइरन जडान प्रक्रियामा रहेको बताउनुभयो । उहाँले कनकाई नदीले प्रभावित पार्ने गौरीगञ्ज गाउँपालिका–२ को कुञ्जिबारी, झापा गाउँपालिकाको कुमरखोदस्थित सडकबारी र विरिङ नदीको प्रभावित क्षेत्र बाह्रदशी गाउँपालिकाको भागडुब्बामा स्वचालित साइरन जडानको तयारी भइरहेको जानकारी दिनुभयो ।

एक महिनाअघि मात्र निन्दा र विरिङ नदीका पुलमा समेत बाढीमापन उपकरण जडान गरिएको सम्पर्क व्यक्ति खड्काले बताउनुभयो । दुवै नदीमा जडान गरिएका उपकरणका लागि वर्षामापन प्रणाली भने बनाउन बाँकी रहेको उहाँले बताउनुभयो ।

टि–२० विश्वकपः इङ्ल्याण्डलाई पराजित गर्दै भारत फाइनलमा प्रवेश

काठमाडौँ, १४ असारः इङ्ल्याण्डलाई पराजित गर्दै भारत आइसिसी टि–२० विश्वकप २०२४ को फाइनलमा प्रवेश गरेको छ ।

गुयनामा गए राति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा इङ्ल्याण्डलाई ६८ रनले हराउँदै भारत विश्वकपको फाइनमा पुगेको हो । यससँगै अब भारतले उपाधिका लागि दक्षिणअफ्रिकासँग खेल्नेछ । फाइनल खेल भने भोलि राति हुनेछ । यसअघि भएको पहिलो सेमिफाइन खेलमा दक्षिणअफ्रिकाले अफगानिस्तानलाई नौ विकेटले हराउँदै विश्वकपको फाइनलमा पुगेको हो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार खेलमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा इङ्ल्याण्ड १६ दशमालव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय तीन रनमा समेटिएको थियो ।

इङ्ल्याण्डका लागि ह्यारी ब्ररुकले १९ बलमा सर्वाधिक २५ रन बनाएका छन् । त्यस्तै कप्तान जस बट्लरले १५ बलमा २३ रन जोडे । जोफ्रा अर्चरले २१ रन बनाए । बलिङतर्फ भारतका कुलदीप यादव र अक्षरले पटेलले समान तीन–तीन विकेट लिए भने जसप्रित बुमराहले एक विकेट झारे ।

भारतको इनिङ्समा कप्तान रोहितले शर्माले सर्वाधिक ५७ रनको योगदान दिए । उनले ३९ बलमा छ चौका र दुई छक्कासहित सर्वाधिक ५७ रन बनाएका हुन् । त्यसैगरी सूर्यकुमार यादवले ४७, हार्दिक पाण्ड्याले २३ र रवीन्द्र जडेजाले १७ रन जोडे । इङ्ल्याण्डका लागि क्रिस जोर्डनले सर्वाधिक तीन विकेट लिएका थिए ।

कायरोमा नेपालसम्बन्धी तस्बिर प्रदर्शनी

काठमाडौँ, १४ असारः कायरोस्थित नेपाली राजदूतावासको समन्वयमा सोही दूतावासमा इजिप्टका कलाकारद्वारा नेपाली मुहार चित्रण शीर्षकमा कला तथा तस्बिर प्रदर्शनी आयोजना भएको छ ।

नेपाल–इजिप्ट द्विपक्षीय सांस्कृतिक आदानप्रदान प्रवर्द्धन कार्यक्रमअन्तर्गत तार, काठ र ढुङ्गाबाट सृजना गर्ने इजिप्टका कलाकार गलाल गोमाको प्रमुख आतिथ्यमा भएको प्रदर्शनीमा फोटो पत्रकार तथा वृत्तचित्र निर्माता अशरफ तलात र फोटोग्राफर यासेर अला मुबारकले नेपालमा खिचेका तस्बिर र मुहार चित्र एवं फौजी मोर्सीलगायत १८ जना कलाकारका मुहारचित्र राखिएको उक्त दूतावासका तृतीय सचिव माधवराज काफ्ले जानकारी दिनुभयो ।

प्रदर्शनीमा अशरफ तलातले गत मार्च र मेमा मुस्ताङ र लुम्बिनीमा खिचेका तथा यासेर आलाले गत शिवरात्रिमा पशुपतिनाथ मन्दिरको वरिपरि खिचेका तस्बिर समावेश गरिएका थिए ।

त्यस अवसरमा इजिप्टका सांसद डा माई अल–बत्रानले नवीन अवधारणाको प्रयोगसहितको कला प्रदर्शनीले दुई मुलुकबीचको जनस्तरको सम्बन्धलाई सुदृढ गर्न टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो ।

इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले नेपालको विविधतापूर्ण परिदृश्य र सांस्कृतिक सम्पदा तथा नेपाली मुहारलाई जीवन्त रूपमा चित्रण गरेकामा फोटोग्राफर र कलाकारप्रति आभार व्यक्त गर्नुभयो । उहाँले कलाकारका सृजनाले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई प्रवर्द्धनमा योगदान पुग्ने बताउनुभयो । साथै उहाँले सहभागी कलाकारलाई कदरपत्र प्रदान गर्नुभयो ।

प्रदर्शनीमा सहभागी फोटोपत्रकार अशरफ तलत र यासेर अलाले आफूहरूको नेपाल भ्रमणबारे वर्णन गर्दै दुई देशबीच जनस्तरमा भ्रमण आदानप्रदान बढ्दै गएको बताउनुभयो ।

प्रदर्शनीमा कलाकार गलाल गोमाको तार मूर्तिकलाका साथै फौजी मोर्सी, खालेद अल मार्सफी, खालेद सलाह, शिमा शफेई, अहमद गेसा, मारवा इब्राहिम, नौरा मकराम, सफिया याह्या, हानी हसन अब्देलगा, हनी हसन अब्देलगाको क्यारिकेचर कलाको विविध सङ्ग्रह प्रदर्शन गरिएको थियो ।

प्रदर्शनीमा व्यङ्ग्य चित्रकारहरूद्वारा सृजना गरिएका राजर्षि जनक, पासाङल्हामु शेर्पा र सन्दुक रुइतलगायत १५ जनाभन्दा बढी नेपालीप्रति समर्पित ‘क्यारिकेचर’ समावेश गरिएको थियो ।

कायरोस्थित युनाइटेड ओइल कम्पनीमा कार्यरत नेपाली वैज्ञानिक डा प्रकाश अधिकारीले विदेशमा नेपालबारे प्रचारप्रसार गर्न आयोजित यस्ता प्रदर्शनीले सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा कलाकार तथा कलाप्रेमी, कूटनीतिज्ञ, स्थानीय पत्रकार, विद्यार्थी, नेपाली समुदायका सदस्यसहित एक सय जनाको सहभागिता थियो ।

चाँदीको मण्डपसहित गहवामाईको रथयात्रा हुँदै,भारतसहित मधेस प्रदेशका एक लाखभन्दा धेरैको सहभागिता हुने

वीरगञ्ज (पर्सा), १४ असारः यहाँको प्रसिद्ध गहवामाईको रथयात्रा यही असारको २३ गते हुने भएको छ । गहवामाईको नवनिर्मित मन्दिरको १२औँ वार्षिकोत्सवका अवसरमा आयोजना हुने रथयात्रामा भारतसहित मधेस प्रदेशका एक लाखभन्दा धेरैको सहभागिता रहने गहवामाई रथयात्रा समितिले जनाएको छ ।

समितिका अध्यक्ष श्याम पोखरेलले रथयात्राको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । “हामीले गत वर्षदेखि गहवामाईको रथयात्रा निकाल्न सुरु गरेका हौँ । भक्तजनको उत्साहजनक सहभागिता भएकाले यो वर्ष पनि निरन्तरता दिनेछौँ । ऐतिहासिक तथा सांस्कृतिक धरोहरलाई मुलुकभर चिनाउन रथयात्रा गर्न लागेका हौँ”, उहाँले भन्नुभयो ।

अध्यक्ष पोखरेलले गहवामाईको रथमा १५ किलोको चाँदीको मण्डप बनाउन लागेको बताउनुभयो ।

गहवामाई रथयात्रा समितिका सल्लाहकार दिनाप्रसाद गुप्ताले गहवामाई माताको पूजा आराधनासँगसँगै पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि रथयात्रा आयोजना हुन लागेको बताउनुभयो । चाँदीको मण्डपसहितको रथयात्राका निम्ति रु ४० लाख विनियोजन गरिएको छ । एक महिनादेखि काष्ठकर्मीहरू गहवामाईको रथ निर्माणमा जुटेका छन् ।

बैङ्ककमा पर्यटन प्रवर्द्धन कार्यक्रम

काठमाडौँ, १४ असारः बैङ्ककस्थित नेपाली राजदूतावासले बिहीबार नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) र नेपाल पर्वतारोहण सङ्घसँगको संयुक्त आयोजनामा बैङ्ककमा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ ।

त्यस अवसरमा थाइल्याण्डका लागि नेपालका राजदूत धनबहादुर ओलीले पर्यटन क्षेत्रको व्यावसायिक सम्भावनाको खोजी गर्न सहभागी सबैलाई आग्रह गर्नुभयो । नेपालले थाई पर्यटकहरूलाई भगवान् बुद्धको जन्मस्थल लुम्बिनी र शान्तिको स्रोत, राजर्षि जनकको राजधानी जनकपुरदेखि मन्त्रमुग्ध गर्ने हिमालयका अनौठास्थलहरूको अवलोकनमा जान आग्रह गर्नुभएको बैङ्ककस्थित नेपाली राजदूतावासले जनाएको छ ।

नेपाल सांस्कृतिक, सम्पदास्थल, प्रकृतिप्रेमी, तीर्थयात्री, साहसिक, मनोरञ्जन, खेलकुद, जङ्गल सफारी गर्न चाहने हरेक वर्गका निम्ति पर्यटकीय गन्तव्य हो भन्दै राजदूत ओलीले धेरै लामो मैत्रीपूर्ण र ऐतिहासिक सम्बन्ध भए पनि नेपाल र थाइल्याण्डबीच अझै धेरै अन्वेषण गर्न बाँकी रहेको बताउनुभयो ।

साथै उहाँले दुवै देशका व्यवसायी समुदायबीच व्यापार सञ्जाल, साझेदारी विकास र सूचना आदानप्रदान हुनुपर्नेमा जोड दिँदै नेपालको पर्यटन प्रवर्द्धनका लागि आवश्यक हरसम्भव सहयोग उपलब्ध गराउन दूतावास सधैँ तत्पर रहेको बताउनुभयो ।

सन् २००८ मा थाइल्याण्डबाट पहिलो सगरमाथा आरोहण गरेका र थाई नेपाल फ्रेन्डसिप एसोसिएसनका अध्यक्ष भितिदनान रोजानापानिचले नेपाल र हिमालयका बारेमा आफ्ना अनुभव सुनाउनुभएको थियो ।

‘एक्सपेरियन्स नेपालः लुम्बिनी टु हिमालयन ब्लिस’ शीर्षकमा भएको उक्त कार्यक्रममा नेपाल दूतावास र र नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज (नारा), नेपाल र थाइल्याण्डबाट २५ ट्राभल एण्ड टूर कम्पनी, थाइल्याण्डका ५० ट्राभल एण्ड टूर कम्पनी, नेपाल एयरलाइन्स, थाई एयरवेज र थाई लायन एयरका प्रतिनिधि, थाई सरकारका अधिकारी तथा व्यवसायी, सञ्चारकर्मी, गैरआवासीय नेपाली सङ्घ र थाई–नेपाल सङ्घका प्रतिनिधिहरुको सहभागिता थियो ।

म्याग्दीको मङ्गलामा पहिलोपटक ‘लिफ्ट’ प्रविधिको सिँचाइ आयोजना निर्माण

म्याग्दी, १४ असारः जिल्लाको मङ्गला गाउँपालिका–३ पखेरमा ‘लिफ्ट’ प्रविधिको सिँचाइ आयोजना निर्माण भएको छ । सङ्घीय र गण्डकी प्रदेश सरकारको लगानीमा खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले जिल्लामा पहिलोपटक ‘डिपबोरिङ’ प्रविधिको सिँचाइ आयोजना निर्माण गरेको हो ।

कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर झलकमोहन ओझाले डिपबोरिङ, लिफ्ट, भूमिगत र भूसतही प्रविधिको संयोजन गरिएको आयोजनाको परीक्षण सफल भएको जानकारी राससलाई दिनुभयो । “डिपबोरिङ प्रविधि म्याग्दी जिल्लामा पहिलोपटक पखेरमा भित्र्याएका हौँ”, उहाँले भन्नुभयो, “जमिनभित्र पाइप राखेर विद्युतीय उपकरणको सहायताले तानेको पानी पोखरीमा सङ्कलन गरी, नहर र पाइप लाइनबाट खेतबारीमा सिँचाइ गर्ने व्यवस्था मिलाएका छौँ ।” लगातार १२ घण्टासम्म डिपबोरिङ गर्ने उपकरण सञ्चालन गर्दा परीक्षण सफल भएको ओझाले बताउनुभयो ।

सुक्खा याममा भूमिगत र बर्खामा खोल्सा तथा मुहानको पानी प्रयोग गरेर सिँचाइ गर्न मिल्ने संरचना तयार पारिएको उहाँले बताउनुभयो । म्याग्दी नदी किनारमा प्वाल पारेर राखिएको दुई सय एमएम क्षमताको जिआइ पाइपभित्र प्रतिसेकेण्ड १२ दशमलव पाँच लिटर पानी तान्न सक्ने २५ ‘हर्सपावर’ क्षमताको ‘सम्पवेल पम्प’ (पानी तान्ने उपकरण) जडान गरिएको छ ।

पानी तान्ने उपकरण सञ्चालन गर्न नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले ५० केभीए क्षमताको ट्रान्सफर्मर र विद्युत् लाइन जडान गरेको छ । डिपबोरिङ राखेको ठाउँबाट एक सय ५० मिटर उचाइमा रहेको ४८ हजार लिटर क्षमताको ट्याङ्कीमा पानी लैजान एक सय १० एमएम क्षमताको एचडिआई (पोलिथिन) पाइप जडान गरिएको खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीका सबइन्जिनियर अञ्जन खत्रीले बताउनुभयो ।

अठचालीस हजार लिटर क्षमताको ट्याङ्कीभन्दा ७० मिटरमाथि दुई सय १८ मिटर पाइपबाट प्रतिसेकेण्ड दुई लिटरका दरले तान्ने पानी सङ्कलन गर्न २२ हजार पाँच सय लिटर क्षमताको अर्को ट्याङ्की बनाइएको छ । आयोजनामार्फत पाँच सय ५० मिटर पक्की नहर निर्माण भएको छ । थप एक सय मिटर नहर निर्माण गर्न बाँकी छ ।

तेह्र हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुगेको पखेर सिँचाइ आयोजनाको उपभोक्ता समितिका अध्यक्ष नरबहादुर थापाले बताउनुभयो । पचास किसान लाभान्वित भएका छन् । पखेरको खेतीयोग्य जमिन सिँचाइ सुविधा अभावमा प्रयोग भएको थिएन ।

स्थानीय किसान छवीलाल भुसालले विगतका वर्षमा अकासे पानीको भरमा साउनमा धान रोपाइँ गर्ने किसानले यसपालि असारमै रोपाइँको तयारी गरेका बताउनुभयो । पर्याप्त पानी भएपछि रोपाइँ र सिँचाइका लागि पालो कुर्नुपर्ने समस्या हटेको छ । पानीका कारण उत्पन्न हुने विवाद हटेको र सामाजिक सद्भाव कायम भएको छ ।

चालु आर्थिक वर्षमा सङ्घीय सरकारबाट सशर्त अनुदानमा रु ३० लाख र प्रदेश सरकारले रु १० लाख बजेट विनियोजन गरेको यो आयोजनालाई थप रु ५० लाख बजेट रकमान्तरण गर्न प्रदेशको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा प्रस्ताव गरिएको कार्यालय प्रमुख ओझाले बताउनुभयो ।

कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा धेरै पानी पर्ने पूर्वानुमान, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, १४ असार : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणदेखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको जनाएको छ । साथै कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

यसैगरी, आज राति देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाका साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी–पहिरोको जोखिमबाट बच्न तथा त्यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकका बाँकी विषयमा सहमति जुटाउन नेताहरु सकारात्मक

काठमाडौँ-सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकका बाँकी विषयमा सहमति जुटाउन शीर्ष तीन दल सकारात्मक देखिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार
साँझ बसेको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पु¥याउनुपर्छ भन्ने विषयमा शीर्ष दलका नेताहरु एकमत रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विधेयकका जुन–जुन बुँदामा विगतमा सहमति जुट्न सकेको छैन ती विषयमा सहमतिमा पु¥याएर टुङ्ग्याउने भन्नेमा उहाँहरु एकजुट हुनुहुन्थ्यो ।” शान्ति प्रक्रियाको पूर्णता र सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा केन्द्रित बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई कसरी अगाडि बढाउने, शान्ति प्रक्रियाका बाँकी कामलाई कसरी चाँडो टुङ्ग्याउने भन्ने विषयमा छलफल केन्द्रित रहेको मन्त्री गिरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सङ्क्रमणकालीन न्यायको विषयमा धेरै बुँदामा सहमति भइसकेको छ । तीन÷चारवटा बुँदामा सहमति जुट्न बाँकी छ । मलाई लाग्छ यति कुरामा सहमति भइसकेपछि हामीले यो विषयमा ‘बे्रक थ्रु’ गर्छौं ।”

उहाँले खासगरी मेलमिलापका सन्दर्भमा पीडित पक्षको स्वतन्त्र सहमति, गम्भीर मानवअधिकार उल्लङ्घन र मानवअधिकार उलङ्घनको विषय, बालसेनामा भर्ती भनिएकाका विषयमा छलफल गरेर समान दृष्टिकोण बनाउनुपर्ने स्थिति रहेको बताउनुभयो । द्वन्द्वका बेला पीडित भएकालाई कसरी क्षतिपूर्ति दिनेलगायत विषयमा छलफल हुन बाँकी रहेको उहाँको भनाइ थियो ।

बैठकमा प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।

विपद्बाट आफन्त गुमाएका परिवारलाई तत्काल घरमै पुगेर राहत

काठमाडौँ-वर्षाका कारण भएका विपद्बाट आफन्त गुमाएका परिवारलाई तत्काल राहत दिने सरकारी निर्णय कार्यान्वयनलाई तीव्रता दिइएको छ । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार घटनाबाट प्रभावित परिवारलाई सकेसम्म छिटो राहत दिने सरकारको योजनाअरूप जिल्लाहरुमा निर्देशन दिइएको छ । सोही आधारमा विपद् प्रभावित जिल्लाले राहत वितरण थालिसकेको प्राधिकरणले जनाएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेसहितको जिल्ला सुरक्षा समितिका पदाधिकारीको टोलीले जिल्लाको मादी गाउँपालिका–५ स्थित घरमा ढिस्को खसेर मृत्यु भएका १३ वर्षकी आयुष्मा रानाभाटका परिवारलाई रु दुई लाख राहत उपलब्ध गराएको छ ।

कास्कीका प्रजिअ पाण्डेले पीडित परिवारलाई तत्काल राहत दिने सरकारी योजना कार्यान्वयन गर्न घटना घटेको २४ घण्टा नबित्दै राहत उपलब्ध गराइएको जानकारी दिनुभयो । यही असार ११ गते रातिदेखि परेको अविरल वर्षाका कारण मादी गाउँपालिका–५ निवासी प्रकाश रानाभाटको तीन कोठे कच्ची घरमा बुधबार राती माटोको ढिस्को खसेको थियो । ढिस्को खस्दा कोठामा सुतिरहेकी १३ वर्षिया छोरी आयुष्माको मृत्यु भएको थियो । आयुष्माकी हजुरआमा ७० वर्षीय लालमायालाई सकुसल उद्धार गरिएको थियो ।

पोखरा महानगरपालिका–२७ आरुपाटा निवासी हरि सुनारको ढुङ्गा माटोले बनेको दुई कोठे कच्ची घरमा माटोको ढिस्को खस्दा घरमा सुतिरहेका उनका तीन वर्षिय छोरा अनमोल सुनारको मृत्यु भएको थियो । उहाँको परिवारलाई पनि राहत दिने तयारी भइरहेको प्रजिअ पाण्डेले राससलाई बताउनुभयो ।

मृतककी आमा वर्ष २७ की रितु सुनार घाइते भई हाल गण्डकी मेडिकल कलेज नयाँबजारमा उपचाररत हुनुहुन्छ । प्रजिअ पाण्डेले गण्डकी मेडिकल कलेजसँगको समन्वयमा घाइतेको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । यही असार ११ र १२ गते देशभरका विपद्जन्य घटनामा १८ जनाको मृत्यु भएको छ । मनसुन सुरु भएपछि अहिलेसम्म २८ जनाले ज्यान गुमाइसकेको गृह मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेश सरकारको प्रवक्तामा शाह

कर्णाली – कर्णाली प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहलाई दिइएको छ । प्रदेश सरकारको बिहिबारको मन्त्रिपरिषद्को बैठकले शाहलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।

मन्त्री शाह नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दैलेख निर्वाचन क्षेत्र नं १ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ । बैठकले यही असार २ गतेदेखि रिक्त रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवको जिम्मेवारी आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रविलाल शर्मालाई दिने निर्णय पनि गरेको छ ।

श्रीलङ्काका ऋणदाताद्वारा चीनलगायतका मुलुकसँग सम्झौताको विवरण माग

श्रीलङ्काका करिब छ अर्ब अमेरिकी डलर बराबरको ऋणको पुनर्संरचना गर्न सहमत भएका द्विपक्षीय ऋणदाताले चीनलगायत अन्य ऋणदातासँग ‘व्यवहारको तुलनात्मकता’ को माग गरेका छन् ।

जापान, फ्रान्स र भारतको नेतृत्वमा रहेको आधिकारिक ऋणदाता समिति (ओसीसी) ले कोलम्बोको अन्य ऋण सम्झौताको विवरण माग गरेको बिहीबार एएफपीलाई प्राप्त विज्ञप्तिमा उल्लेख छ ।

समूहले बुधबार पेरिसमा पाँच अर्ब ८० करोड अमेरिकी डलर बराबरको ऋण पुनर्संरचना गर्ने सहमति गरेको हो ।तर सोही दिन कोलम्बोले चीनको एक्जिम बैंकसँग ४.२ अर्ब अमेरिकी डलरमा अर्को सम्झौता गरेको थियो ।

संयुक्त राज्य अमेरिका, क्यानडा र धेरै युरोपेली राष्ट्रहरू सम्मिलित ओसीसीले कोलम्बोलाई ‘समस्याको तुलनात्मकता सुनिश्चित गर्न ओसीसीका लागि आवश्यक सबै जानकारी’ प्रदान गर्न आग्रह गरेको बताएको छ ।

कोलम्बोले ओसीसीले प्रस्ताव गरेजस्तै ‘कम्तीमा पनि अनुकूल सर्तहरूमा’ निजी ऋणदाताहरूसँग सम्झौता गर्ने अपेक्षा पनि गरेको थियो ।सन् २०२२ को अप्रिलमा विदेशी मुद्राको अभाव भएपछि श्रीलङ्काले आफ्नो विदेशी ऋण तिर्न सकेको थिएन र अकल्पनीय आर्थिक सङ्कटले तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेलाई राजीनामा दिन बाध्य बनाएको थियो ।

श्रीलङ्काले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को २.९ अर्ब अमेरिकी डलरको बेलआउट कार्यक्रमअनुसार ऋण पुनर्संरचनालाई द्रुत गतिमा सम्पन्न गर्ने अपेक्षा गरेको थियो, तर चीनसँग सम्झौता गर्न ढिलाइ हुँदा यो प्रक्रिया रोकिएको थियो ।बेइजिङ श्रीलङ्काको अहिलेसम्मकै सबैभन्दा ठूलो एकल ऋणदाता हो, तर चिनियाँ अनुदान सहुलियत द्विपक्षीय ऋण र निजी व्यावसायिक ऋणमा विभाजित छ ।

चिनियाँ द्विपक्षीय ऋणको ४.२ अर्ब अमेरिकी डलर बुधबार ऋण पुनर्संरचना अन्तर्गत व्यवहार गरिएको थियो तर निजी व्यावसायिक ऋण मानिएको चाइना डेभलपमेन्ट बैंकबाट २.१८ अर्ब डलर ऋणको बारेमा कुनै जानकारी दिइएको छैन ।यस प्रक्रियामा संलग्न स्रोतका अनुसार चिनियाँ विकास बैङ्कको ऋणलाई १२.५५ अर्ब डलरको अन्तर्राष्ट्रिय सार्वभौम ऋणपत्रसरह व्यवहार गरिने सम्भावना छ ।

मार्चको अन्त्यसम्मको सरकारी कोषको तथ्याङ्कअनुसार श्रीलङ्काको कूल वैदेशिक ऋण ३७ अर्ब अमेरिकी डलर अनुमान गरिएको छ ।कूल १० अर्ब ५८ करोड अमेरिकी डलरमध्ये चीनले चार अर्ब ६६ करोड डलर, जापानले दुई अर्ब ३५ करोड डलर र भारतले एक अर्ब ३६ करोड डलर ऋण कोलम्बोलाई दिएका छन् ।

राष्ट्रिय संरक्षण फोरम सामूहिक प्रतिबद्धताको खाका कोर्ने उपयुक्त मञ्चः मन्त्री सुडी

पाटन (ललितपुर) – वन तथा वातावरणमन्त्री नवलकिशोर शाह सुडीले प्रकृतिमा आधारित समाधानमार्फत पारिस्थितिकीय प्रणाली पुनःस्थापनाका लागि राष्ट्रिय संरक्षण फोरम सामूहिक प्रतिबद्धताको खाका कोर्ने उपयुक्त मञ्च भएको धारणा राख्नुभएको छ ।

‘प्रकृतिमा आधारित समाधानमार्फत पारिस्थितिकीय प्रणाली पुनःस्थापना’ नाराका साथ बिहिबारदेखि ललितपुरमा सुरु तीन दिवसीय राष्ट्रिय संरक्षण फोरमको उद्घाटनका अवसरमा मन्त्री सुडीले साझेदारसँगको अथक प्रयासबाट परिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न सकिने बताउनुभयो ।

जैविक विविधता केबल एक देशको राष्ट्रिय सन्तुलनका लागि नभएको उल्लेख गर्नुहुँदै यसको संरक्षणमा सबै एकजुट हुन आवश्यक रहेको बताउनुभयो । उहाँले जलवायु परिवर्तन, वनविनाश र अनियन्त्रित वन्यजन्तु सिकार नेपालको जैविक विविधता संरक्षणका लागि चुनौतीको विषय भएको र यसले हाम्रो संरक्षण प्रयासमा धेरै चुनौती थपिएको उल्लेख गर्नुभयो । नेपालका जैविक विविधता संरक्षणका चुनौतीलाई समाधान गर्दै तत्काल संरक्षण प्रयासका कदम चाल्नु आवश्यक रहेको उहाँको भनाइ थियो ।

उहाँले जैविक विविधताको संरक्षण गर्दै प्रकृतिमा आधारित पर्यटन प्रवद्र्धन गर्न र संरक्षणमा देखिएका चुनौती सामना गर्न सामूहिक पहल आवश्यक रहेकोमा जोड दिनुभयो । नेपालले जैविक विविधता संरक्षणका लागि अन्तर्राष्ट्रियस्तरमा प्रतिबद्धता जनाएको उल्लेख गर्नुहुँदै उहाँले संरक्षणसँगै मुलुक र जनताका हितमा प्राकृतिक स्रोत र साधनको उपयोग गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य डा जुद्धबहादुर गुरुङले संरक्षण अभियानमा सबै सङ्घसंस्थाको प्रयास रहेको बताउनुभयो । “कार्बन उत्सर्जनले प्राकृतिक पारिस्थितिकीय प्रणालीमा समस्या सिर्जना गरेको छ, नेपालका सन्दर्भमा जलवायु परिवर्तनको असरबाट हिमाल पग्लिने अवस्थामा छ, यसका लागि हामीले संरक्षण गर्नेगरी नीति तथा योजना बनाउन सक्नुपर्छ”, उहाँले भन्नुभयो ।

प्रकृति संरक्षण कोषका अध्यक्ष डा कृष्णप्रसाद ओलीले प्रकृतिको संरक्षणबाट नै मानव सभ्यताको संरक्षण हुने बताउनुभयो । उहाँले विकासका नाममा मानिसले वातावरण बिगार्दा समस्या निम्तिएको उल्लेख गर्नुहुँदै मानिसको रचनात्मक विध्वंसले प्रकृतिको पारिस्थितिकीय प्रणाली समस्या सिर्जना गरेको बताउनुभयो ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले यस सम्मेलनबाट थाइल्यान्डको बैंककमा हुने आगामी सम्मेलनका लागि सुझावका रुपमा महत्त्वपूर्ण विषय उठान हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

विश्व वन्यजन्तु कोषका नेपाल प्रतिनिधि डा घनश्याम गुरुङले पानीको स्रोत घट्दै गएको र वातावरण प्रदूषित हुँदै गएकाले सन् २०५० सम्म हिमाल पग्लिएर ‘इको सिस्टम’मा समस्या आउनसक्नेमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले वातावरणीय अनुकूलन कायम राख्नका लागि संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

आर्थिक कूटनीति सरकारको प्राथमिकता रहेको छ – उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ – उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक कूटनीति सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । विदेशस्थित नेपाली राजदूत एवम् नियोग प्रमुखहरुलाई भर्चुअल माध्यमबाट बिहीबार सम्बोधन गर्नुहुँदै परराष्ट्रमन्त्री श्रेष्ठले निर्यात विस्तार, पर्यटन प्रवर्द्धन तथा वैदेशिक रोजगारी व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्न नेपाली राजदूतहरुलाई निर्देशन समेत दिनुभयो ।

सरकारले आर्थिक कूटनीतिलाई समग्र कूटनीतिको प्राथमिकतामा राखेको उल्लेख गर्नुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले विदेशमा रहेका नेपाली श्रमिकहरुको पेशागत हकहित एवम् सुरक्षामा संवेदनशील भई काम गर्न विदेशस्थित नेपाली राजदूतको ध्यानाकर्षण गराउनुभयो।

वैदेशिक लगानी प्रतिबद्धता र प्राप्ति तथा वैदेशिक सहायता प्रतिबद्धता र प्राप्तिमा खाडल रहेको उल्लेख गर्नुहुँदै उहाँले प्रतिबद्धताअनुसार लगानी र सहयोग प्राप्त गर्न विदेशस्थित कूटनीतिक नियोगहरु प्रभावकारी रुपमा परिचालित हुनुपर्नेमा उहाँको जोड थियो ।

सरकारले गत वैशाखमा सम्पन्न तेस्रो लगानी सम्मेलनको स्मरण गराउनुुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो,”सम्मेलनमा सहभागी लगानीकर्ताहरुसँग सम्पर्क बढाउने र नेपालमा भएका लगानीका सम्भावनाहरुलाई थप उजागर गर्न विदेशस्थित कूटनीतिक नियोगहरुले निरन्तर लाग्नुपर्ने हुन्छ ।”

मुलुकको आर्थिक–सामाजिक विकास गरी समृद्धि र विकास गर्ने सरकारको उद्देश्यअनुरुप पराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्धको सञ्चालन भएको अवस्थाबारे पनि उहाँले स्पष्ट पार्नुभयो ।

विदेशमा रहेका राजदूतावासका लागि सरकारले आफ्नो क्षमताअनुसार लगानी गरेको बताउनुहुँदै उहाँले भन्नुभयो, “नेपालका निर्यातयोग्य वस्तुहरुको अन्तर्राष्ट्रिय बजार पहिचान गर्न, सम्भाव्य लगानीकर्तालाई नेपालमा बढीभन्दा बढी लगानी गर्न अभिप्रेरित गर्दै नेपाललाई आकर्षक लगानी गन्तव्यका रुपमा स्थापित गर्न तथा प्राथमिक पर्यटन गन्तव्यका रुपमा विश्वमा नेपालको प्रचार र प्रवर्द्धन गर्ने कार्यमा सक्रिय रहन म यहाँहरुलाई आग्रह गर्दछु ।”

यु–१९ राष्ट्रिय भलिबल : सुदूरपश्चिम समूह विजेता बन्दै सेमिफाइनलमा

बैतडी, १३ असार : प्रथम सहाना प्रधान स्मृति यु–१९ राष्ट्रिय भलिबल प्रतियोगितामा सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार तेस्रो जित निकाल्दै समूह ‘ए’ को विजेताको रूपमा सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश गरेको हो । समूह चरणको अन्तिम खेलमा आज सुदूरपश्चिमले बागमती प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुल परिषद् (राखेप) कभर्डहलमा सम्पन्न खेलमा सुदूरपश्चिमले २५–२१, २५–१३, २५–१४ ले तीनै सेट आफ्नो पक्षमा पा-यो । लगातार तेस्रो जितसँगै समूह ‘ए’ को सुदूरपश्चिमले तीन खेलमा नौ अङ्क जोडेको छ । पहिलो पराजय ब्यहोरेको बागमती पनि समान खेलबाट ६ अङ्कका साथ उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको छ ।

अब सेमिफाइनलमा सुदूरपश्चिमले भोलि गण्डकी र बागमतीले लुम्बिनीको सामना गर्नेछन् । टीम ब्यालेन्स र बलियो रहेकोले उपाधि जित्ने लक्ष्य रहेको सुदूरपश्चिमका प्रशिक्षक दीपेन्द्र भट्टको दाबी छ । प्रतियोगितामा देशका सबै प्रदेशका टोलीको सहभागिता रहेको छ । प्रथम हुने टोलीले रु तीन लाख नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

एकीकृत समाजवादीले केन्द्रीय कार्यसमितिको आकार बढाउने

काठमाडौँ, १३ असार : नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले केन्द्रीय कार्यसमितिको आकार बढाउने निर्णय गरेको छ ।पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज केन्द्रीय कार्यालयमा बसेको बैठकले नेताहरुको व्यवस्थापनका लागि एक सय ९९ सदस्यीय कार्यसमितिको आकार बढाएर आगामी महाधिवेशनबाट दुई सय ९९ पु¥याउने निर्णय गरेको स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिनुभयो ।

बैठकले वरिष्ठ उपाध्यक्ष पद थप गर्ने निर्णय गरेको छ । पदाधिकारीको सङ्ख्या २१ बनाउने निर्णय गरेको छ । एक महिला तथा वरिष्ठसहित सात उपाध्यक्ष र सचिवको सङ्ख्या पनि सात कायम गरिएको छ । यही असार १६ देखि २० सम्म काठमाडौँमा हुने महाधिवेशनमा पार्टीको नीति तथा कार्यक्रम, वैचारिक दृष्टिकोण पारित गर्ने र त्यसका आधारमा नयाँ नेतृत्व चयन गरिने पार्टीले जनाएको छ ।

मुलुकको समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक प्रभावबारे छलफल गरिएको बैठकमा विभिन्न दस्तावेजमा समीक्षा गरिएको स्थायी समिति सदस्य रायमाझीले बताउनुभयो । महाधिवेशनको तयारी, मातहतका कमिटीमा कार्यप्रगतिबारे छलफल गरिएको बैठकमा राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजलाई साझा प्रतिवेदन बनाएर महाधिवेशनमा लैजाने समझदारी भएको छ ।

पार्टीले देशभरबाट एक हजार आठ सय ४९ प्रतिनिधि छनोट गरेको छ । छनौट गरिएका प्रतिनिधिको कूल सङ्ख्याको पाँच प्रतिशत प्रतिनिधि मनोनयन गर्ने व्यवस्था परिवर्तन गरी मनोनित नगर्ने निर्णय बैठकले गरेको छ ।

शुक्रबारदेखि मनसुन थप सक्रिय हुने, सतर्कता अपनाउन सबैमा अनुरोध

काठमाडौँ, १३ असार : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि मनसुन थप सक्रिय हुने जनाएको छ । आज साँझ मनसुन विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै महाशाखाले वर्षा बढ्ने भएकाले पूर्वतयारी र आवश्यक सतर्कता अपनाउन भनेको छ । केही दिन मनसुनको न्यूनचापीय रेखा पूर्णरूपमा विकसित भई सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहने देखिएकाले आगामी केही दिन नेपालमा मनसुन थप सक्रिय हुने महाशाखाले जनाएको हो ।

महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले भोलिदेखि देशैभर मौसम बदली भई, हल्कादेखि मध्यम वर्षा हुने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिनुभयो । उहाँका अनुसार मनसुनी वायुको प्रभावले शुक्रबारदेखि असार १६ गते आइतबारसम्म देशभर साधारणदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाकोे सम्भावना रहेको छ । 

गण्डकी प्रदेशका केही स्थानमा, कोसी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेस र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

महाशाखाले शुक्रबारदेखि आइतबारसम्म मेघगर्जन/चट्याङ, भारी वर्षा, भूक्षय, पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, नदी र खोलामा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको छ । सोहीअनुसार नियमितरूपमा अद्यावधिक गर्दै जाने जनाएको छ । महाशाखाले दैनिकरुपमा सबैलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन र यस महाशाखाबाट जारी हुने तीनदिने मौसम पूर्वानुमान बुलेटिन नियमित हेर्न अनुरोध गरेको छ ।

समाजवादी कार्यक्रम महाधिवेशनमा अनुमोदन हुन्छः पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ, १३ असारः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीले अघि सारेको समाजवादी कार्यक्रम आसन्न महाधिवेशनमा अनुमोदन हुने बताउनुभएको छ ।पार्टी निकट युवा सङ्घ नेपालद्वारा आज आयोजित कार्यक्रममा उहाँले मुलुकको सङ्कटको सामना गर्ने गरी समाजवादी कार्यक्रम बनाइएको बताउनुभयो ।

श्रमजीवि युवाहरु पलायन भइरहेको अवस्थामा देशका समस्त वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक र समाजवादी युवाहरु एकजुट हुनु जरुरी रहेको बताउँदै नेता खनालले लोकतान्त्रिक, देशभक्त र समाजवादी दृष्टिकोणलाई स्थापित गर्न युवाहरु एकताबद्ध भएर क्रियाशील हुनुपर्ने विचार व्यक्त गर्नुभयो।

समाजवादले मात्र विद्यमान शोषण, उत्पीडन, भ्रष्टाचार र बेरोजगारीलाई समाधान गर्नसक्ने विचार व्यक्त गर्दै उहाँले भन्नुभयो, “हाम्रो देश यतिवेला समाजवादी क्रान्ति र रुपान्तरणको युगमा प्रवेश गरेको छ । समाजवादको यात्रालाई तीव्र र व्यापक पार्नु जरुरी छ ।”

पर्टीका महासचिव घनश्याम भुसालले सम्पूर्ण समस्या, विकार र विकृतिको एकमात्र समधान समाजवाद भएको उल्लेख गर्दै सम्पूर्ण युवा, आम क्रान्तिकारी जनतालाई गोलबद्ध गरी समाजवादको सुन्दर भविष्यतिर आफ्ना प्रचार केन्द्रित गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

सङ्गठन र सङ्घर्षलाई समाजवादी दिशामा अगाडि बढाउनुपर्ने बताउँदै उहाँले भन्नुभयो, “यात्रा समृद्धिको र लक्ष्य समाजवादको भन्ने महत्वपूर्ण नारालाई दृढतापूर्वक समातौँ, समाजको प्रधान अन्तर्विरोधलाई प्रतिनिधित्व गर्ने समूहप्रति निशाना केन्द्रीत गरौँ ।”

झापामा खोलाले बगाउँदा दुई जना बेपत्ता

दमक (झापा), १३ असारः यहाँको गौरीगञ्ज गाउँपालिका वडा नं १ माहाभाराका ५० वर्षीय लखिराम मुर्मुलाई कमल खोलाले बगाएको छ । आज दिउँसो करिब ३ बजे नुहाउन गएका उनलाई कमल खोलाले बगाएको स्थानीयले बताएका छन् । बेपत्ता मुर्मुको खोजीमा सशस्त्र प्रहरी, जनपद प्रहरी र स्थानीय लागेका स्थानीय धनपति पौडेलले जानकारी दिनुभयो ।

यसअघि बुधबार सोही वडास्थित कमल बनियानी खोलाले बगाउँदा स्थानीय झोलुङ्गे टोलका वेद विश्वकर्माका १३ वर्षीय छोरा मिलन विश्वकर्मा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

साथीहरुसँग खोला तर्ने क्रममा ती किशोरलाई खोलाले बगाएको थियो । साथीसँग फुटबल खेलेर फर्कने क्रममा साथीहरुसँग पौडी खेल्न उनी खोलमा पसेका थिए । सोही क्रममा विकलाई खोलाले बगाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनिश बुढाथोकीले बताउनुभयो ।

बुढाथोकीका अनुसार आज बिहान नै पानीमा डुबेर जिल्लाको शिवसताक्षी नगरपालिका–२ बस्ने २८ वर्षीय बुधे बेस्राको मृत्यु भएको छ । घरको पूर्वपट्टी खेतमा जमेको पानीमा डुबेर उनी मृतावस्थामा फेला परेको प्रहरी निरीक्षक बुढाथोकीले बताउनुभयो । 

नेपाल-भारतबीचको प्रगाढ सम्बन्ध कायमै राख्नुपर्नेमा जोड

लेखनाथ (कास्की), १३ असारः नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तले नेपाल–भारतबीचको प्राचीन सम्बन्धलाई कायमै राख्नुपर्नेमा जोड दिनुभएको छ । पोखरा-१२ रामघाटस्थित अमरसिंह माविको आज अवलोकन गर्दै राजदूत श्रीवास्तवले विद्यालय भवन निर्माणका लागि दूतावासले रु २० करोड सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भारतको रक्षाका लागि गोर्खा सैनिकहरुको योगदान रहेको स्मरण गर्दै उहाँले नेपालमा भारतीय भूपु नेपाली सेनामार्फत विभिन्न खानेपानी, शिक्षा, स्वास्थ्य र सडकलगायत क्षेत्रमा सहयोग उपलब्ध गराउँदै आएको र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।

नेपाल र भारतबीचको मैत्री सम्बन्धलाई बलियो बनाउन आफू प्रतिबद्ध भएको बताउँदै नेपालमा प्रवेश गर्ने सडकको स्तरोन्नति गर्दै पर्यटकलाई सहजरुपमा यातायातको व्यवस्था मिलाउन आफूले भूमिका खेल्ने पनि उल्लेख गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शेरबहादुर थापा तथा वडा नं १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले आफ्ना भनाइ राख्नुभएको थियो ।

नेपालकै नमुना माविकारुपमा परिचित अम्मरसिंह माविमा दुई हजार नौ सय विद्यार्थी अध्ययनरत छन् भने एक सय ३७ शिक्षक कर्मचारी छन् । दुई सयभन्दा बढी रोपनीमा फैलिएको उक्त विद्यालय पोखराकै पुरानो विद्यालयकारुपमा चिनिन्छ । नेपाल–भारत मैत्री सङ्घअन्तर्गत मेजर वीरसिंह गुरुङको पहलमा दूतावासले ५५ वर्षअघि विद्यालयका भवन निर्माण गर्नुका साथै केही वर्षअघि पुस्तकालयको भवन र पुस्तक हस्तान्तरण गरेको थियो ।

चिनियाँसँग बिहे गराईदिने भन्दै चीन लगेर बन्धक, एक पक्राउ

काठमाडौँ, १३ असारः नेपाल प्रहरीले चिनियाँ नागरिकसँग बिहे गराइदिने प्रलोभनमा पारेर चीन लगेर एक महिलालाई बन्धक बनाएको आरोपमा एकजनालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले चीनमा महिला बिक्री गरेको आरोपमा उदयपुर त्रियुगा नगरपालिका–१ जोगीदहकी ३१ वर्षीया सुन्दरी राईलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्रले गत फागुनमा पीडित महिलालाई चिनियाँ नागरिकले बिहे गरेर भिजिट भिसामा चीन लगेर बन्धक बनाएको खुल्न आएको जानकारी दिनुभयो ।

“पक्राउ राईले फेसबुक म्यासेन्जरबाट पीडित महिलालाई कुराकानी गरी चिनियाँसग भेट्न ठमेल बोलाएर बिहे गर्न लगाएको अनुसन्धानका क्रममा पत्ता लागेको छ”, मिश्रले भन्नुभयो । पीडित महिलालाई चिनियाँ नागरिकले रु एक लाख ५० हजारमा बिक्री गरेको खुलेको प्रहरीले बताएको छ ।

चिनियाँले पीडित महिलालाई घरमै बन्धक बनाएर शारीरिक तथा मानिस यातना दिई यौन शोषण गरेको खुलेको मिश्रले बताउनुभयो । पीडित महिलालाई चीनस्थित नेपाली राजदूतावासले यही असार ९ गते उद्धार गरी नेपाल ल्याउने वातावरण मिलाएको थियो । पीडित महिला नेपाल आएर निवेदन दिएपछि प्रहरीले राईलाई पक्राउ गरेको हो । घटनामा सङ्लग्न चिनियाँ नागरिक र अन्य व्यक्तिको खोजी भइरहेको प्रहरी उपरीक्षक मिश्रले बताउनुभयो ।

बाँदरले दुःख दिएपछि कृषियोग्य जमिनमा घाँसखेती, अन्नबाली हुन छाडेपछि तीव्र बसाइँसराइ

गलकोट (बागलुङ), १३ असारः जिल्लाको जैमिनी नगरपालिका-८ छिस्ती फुर्केसल्लाका ६१ वर्षका रघुनाथ पौडेलले गत वर्षमात्रै १० रोपनी खेतीयोग्य जग्गामा बहुवर्षे घाँसखेती थाल्नुभयो ।

बाँदरका कारण अन्नबाली हुन छाडेपछि यहाँ तीव्र बसाइँसराइ छ । बसाइँसराइका कारण फुर्केसल्लाका अधिकांश गाउँका खेतीयोग्य जमिन बाँझिएका छन् । ती बाँझिएका जग्गामा पौडेलले घाँसखेती गरेर पशुपालन गर्दै आउनुभएको छ । गाउँलेले छोडेको १० रोपनी जग्गामा आफूले घाँसखेती गरिरहेको उहाँको भनाइ छ ।

“फुर्केसल्लाका अधिकांश घर खाली हुन थालेका छन्, बाँदरले सताएपछि अधिकांश जग्गा बाँझो छ, अन्नबाली गर्न छाडेपछि बाँझो जग्गा सदुपयोग गर्ने उत्तम विकल्प घाँसखेती रहेछ घाँसखेतीबाट पशुपालन गर्दा अन्नबालीभन्दा बढी नाफा हुने रहेछ”, पौडेलले भन्नुभयो । उन्नत जातको बहुवर्षे घाँसखेतीका लागि पशु विज्ञ केन्द्रलेसमेत प्रोत्साहन गर्दै आएको छ । उहाँले यस वर्ष मात्रै रु ३० हजार अनुदान पाएको सुनाउनुभयो ।

घाँसमा आधारित पशुपालनले दूधको उत्पादन लागत घटाएको उहाँको भनाइ छ । हाल उहाँले भँैसी र गाईपालनबाट दैनिक ४० लिटर दूध बजार पठाउँदै आउनुभएको छ । गाउँमा बाँदर आतङ्क बढेपछि यहाँका किसानहरु घाँसखेतीतर्फ आकर्षित भएका हुन् । घाँसमा आधारित पशुपालनले आम्दानी बढाउने भन्दै उहाँले दूध बिक्रीबाट मात्रै मासिक रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म आम्दानी हुने गरेको बताउनुभयो ।

जैमिनी नगरपालिका–१ टुनीबोटका रुद्रनाथ शर्माले पनि पशुपालन गर्दै आउनुभएको छ । कूल ४० घर रहेका टुनिबोटका अधिकांश स्थानीय बसाइँ सरेर चितवन र सदरमुकाम पुगेपछि उनीहरुको बाँझो जग्गामा घाँसखेती गरिरहनुभएको छ । टुनिबोटमा चार वर्षअघि आएको पहिरोले यहाँका छ घरमा क्षति पुगेको थियो । दुई जनाको ज्यानसमेत गयो । त्यसपछि केहीले बसाइँ सरेर चितवन झरे । बसाइँसराइ गर्ने अर्को मुख्य कारण बाँदर आतङ्क पनि हो ।

बाँदरले सताएपछि यहाँका किसानले अन्नबाली लगाउनै छोडेका छन् । बाँदरले सताउन थालेपछि धमाधम घाँसखेती गरेर पशुपालन गर्न थालिएको उहाँले बताउनुभयो । बसाइँ सरेर चितवन गएका स्थानीय कीर्तिनाथ पौडेलको १५ रोपनी जग्गा भाडामा लिएर शर्माले घाँसखेती र पशुपालन गर्नुभएको छ । उहाँले दैनिक ४० लिटर दूध सहकारीमार्फत बजारीकरण गर्दै आउनुभएको छ ।

“अन्नबाली व्यावसायिक थिएन, बाँदरका कारण विकल्पमा घाँसखेती देखियो, घाँसमा आधारित पशुपालन व्यवसायबाट मुनाफा राम्रो आएपछि अन्नकोभन्दा फाइदा देखियो, बाँदरको समस्या ट¥यो”, शर्माले भन्नुभयो, “नेपियर र कान्लामा सिबोसिटिया र मोलाटो जातको घाँस लगाएको छु, घाँसखेती गरेपछि बाँदर के खान आउने भो र ।”

उहाँले वार्षिक रु २५ हजार भाडा तिरेर घाँसखेती गरिरहनुभएको छ । घाँसखेती र दूध बिक्रीबाट उहाँले वार्गिाक रु १० लाखसम्म कमाइ गरिरहनुभएको छ ।

रूसको दागेस्तान हमलाको राष्ट्रसङ्घीय सुरक्षा परिषद्द्वारा निन्दा

संयुक्त राष्ट्रङ्घीय सुरक्षा परिषद्ले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै रूसको दागेस्तानमा आइतबार भएको आतङ्कवादी हमलाको ‘कडा शब्दमा’ निन्दा गरेको छ ।

सुरक्षा परिषद्का सदस्यहरूले रूसी सङ्घको दागेस्तान गणतन्त्रमा भएको ‘जघन्य र कायरतापूर्ण आक्रमण’को कडा निन्दा गरेका हुन ।

विज्ञप्तिमा पीडित परिवार, सरकार र रूसका जनताप्रति गहिरो सहानुभूति र समवेदना व्यक्त गरिएको छ भने घाइतेको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गरिएको छ ।

आतङ्कवादको गतिविधि र अभिव्यक्तिले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि सबैभन्दा गम्भीर खतरा भएको पुष्टि गर्दै सुरक्षा परिषद्का सदस्यले आतङ्कवादका अपराधी, आयोजक, वित्तपोषण गर्ने तथा प्रायोजकलाई जवाफदेही बनाई न्यायको कठघरामा ल्याउनुपर्ने कुरामा जोड दिए ।

उनीहरूले सबै राज्यहरूलाई अन्तर्राष्ट्रिय कानून र सान्दर्भिक सुरक्षा परिषद्का प्रस्तावहरू अन्तर्गत आफ्ना दायित्वहरू अनुसार यस सन्दर्भमा रूसी सरकार र अन्य सरोकारवाला अधिकारीसँग सक्रिय रूपमा सहयोग गर्न आग्रह गरेका छन् ।

सुरक्षा परिषद्का सदस्यले आतङ्वादी आक्रमणलाई आपराधिक र अन्यायपूर्ण भएको दोहोरÞ्याउदै सबै राष्ट्रहरूले संयुक्त राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानुनअन्तर्गतका दायित्व अनुसार आतङ्कवादी कार्यबाट अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा हुने खतरासँग लड्नुपर्ने आवश्यकतालाई औल्याएका छन् ।

दक्षिणी रूसको दागेस्तान गणतन्त्रमा आइतबार भएको आक्रमणमा प्रहरी अधिकारी र सर्वसाधारणसहित कम्तीमा २१ जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् ।

माल्दिभ्सको राष्ट्पतिलाई ‘कालो जादू’ गरेको आरोपमा जलवायुमन्त्री पक्राउ

माल्दिभ्सको राष्ट्पतिलाई ‘कालो जादू’ गरेको आरोपमा राज्यको वातावरणमन्त्रीलाई बिहीबार प्रहरीले पक्राउ गरेको अधिकारीले बताएका छन् ।

वातावरण, जलवायु परिवर्तन तथा ऊर्जा राज्यमन्त्री फतिमथ शामनाज अली सलिमलाई आइतबार अन्य दुईजनासहित राजधानी मालेमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । “उहाँलाई अनुसन्धानका लागि एक हप्ता हिरासतमा राख्न अनुमति दिइएको छ,” नाम उल्लेख नगर्ने शर्तमा ती अधिकारीले बताए ।

“राष्ट्रपति डा मोहम्मद मुइजुमाथि कालो जादू गरेको आरोपमा शामनाजलाई पक्राउ गरिएको खबर आएको छ,” स्थानीय अनलाइन आउटलेट (सञ्चार माध्यम) द सनले जानकारी गराएको छ ।

मुस्लिम बहुल माल्दिभ्सको फौजदारी संहिता अन्तर्गत जादूटूना अपराध उल्लेख नभएपनि इस्लामिक कानुनअनुसार यो कार्यका लागि छ महिनासम्मको जेल सजाय हुनेछ ।

उत्तर कोरियाद्वारा धेरै सङ्ख्यामा विष्फोटक पदार्थ बोक्न सक्ने क्षेप्यास्त्रको सफल परीक्षण

प्योङयाङबाट फोहर बोकेका दर्जनौँ बेलुन दक्षिण कोरियामा पठाएको केही दिनपछि उत्तर कोरियाले एकै पटक धेरै सङ्ख्यामा बिष्फोटक पदार्थ बाक्ने क्षेप्यास्त्रको सफल परीक्षण गरेको दाबी गरेको सरकारी सञ्चारमाध्यमले बिहीबार बताएका छन् ।

प्योङयाङले हतियार परीक्षणलाई तीव्रता दिएको छ । दक्षिण कोरियाका अधिकारकर्मीले उत्तरतर्फ पठाएका मानव अधिकार सुरक्षासम्बन्धी सन्देशसहितका बेलुन पठाएको प्रतिशोधस्वरूप प्योङयाङले दक्षिण कोरियामाथि फोहोरले भरिएको बेलुनहरू पाठाएको थियो ।

बेलुनले सियोलको प्रमुख हब इन्चोन विमानस्थललाई बुधबार बन्द गर्न बाध्य बनाएको थियो र लगातार प्रक्षेपणहरूको प्रतिक्रियामा, दक्षिणले तनाव कम गर्ने सैन्य सन्धिलाई पूर्ण रूपमा निलम्बन गरेको छ र सीमा नजिकै प्रोपोगान्डा लाउडस्पीकर प्रसारण र प्रत्यक्ष–फायर अभ्यास पुनः सुरु गरेको छ ।

उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) का अनुसार उत्तर कोरियाले ‘व्यक्तिगत मोबाइल वारहेडको पृथक्करण र मार्गदर्शन नियन्त्रण परीक्षण सफलतापूर्वक सम्पन्न गरेको’ दाबी गरेको छ ।

अघिल्लो दिन गरिएको परीक्षणका क्रममा ’छुट्टाछुट्टै मोबाइल वारहेडलाई सही तरिकाले तीन वटा ‘कोअर्डिनेट टार्गेट’मा डोरÞ्याइएको बताइएको छ ।

केसीएनएले भनेको छ, “यो परीक्षण एमआईआरभी क्षमता सुरक्षित गर्ने उद्देश्यले गरिएको हो । यसमा धेरै स्वतन्त्र रूपमा टार्गेट गर्न सकिने रिएन्ट्री भेहिकल टेक्नोलोजी वा एउटै ब्यालेस्टिक क्षेप्यास्त्रमा धेरै वारहेड प्रहार गर्ने क्षमता उल्लेख गरिएको छ ।दक्षिण कोरियाली सेनाले यसअघि बुधबार उत्तर कोरियाले गरेको परीक्षण हाइपरसोनिक क्षेप्यास्त्रको जस्तो देखिएको बताएको थियो ।

उक्त क्षेप्यास्त्रबाट सामान्यभन्दा बढी धुवाँ निस्केको देखिएको र यसले दहनको समस्या निम्त्याउने सम्भावना बढेको अधिकारीहरूले बताएका छन् ।केसीएनएका अनुसार यो परीक्षण १७० देखि २०० किलोमिटरको परिधिभित्र मध्यम दूरीको ठोस इन्धन ब्यालिस्टिक क्षेप्यास्त्रको पहिलो चरणको इन्जिन प्रयोग गरेर गरिएको थियो ।

उत्तर कोरियाले लगातार तीन दिनदेखि सयौं फोहोर बोक्ने बेलुन दक्षिणतर्फ उडाएको छ ।सियोलको सेनाले बिहीबार बिहानसम्म उत्तरी ग्योन्गी प्रान्त र सियोल क्षेत्रमा करिब ७० वटा बेलुन अवतरण भइसकेका जनाएको छ ।

“करिब १० किलोग्राम तौल भएका बेलुनहरू द्रूत गतिमा तल झर्दा खतरा हुन्छ,” उसले भनेको छ । पछिल्ला बेलुनहरूको प्रतिक्रिया ‘रणनीतिक र परिचालन स्थितिको आधारमा लचिलो हुनेछ । यो उत्तर कोरियाको गतिविधिमा निर्भर गर्छ,” विज्ञप्तिमा भनिएको छ ।

दक्षिण कोरियाको मरिन कोरले बुधबारदेखि पश्चिमी अन्तरकोरियाली सीमा नजिकका टापुहरूमा प्रत्यक्ष फायर अभ्यास पुनः सुरु गरेको छ । सन् २०१८ मा उत्तर कोरियासँगको तनाव कम गर्ने सैन्य सम्झौता पछि यो अभ्यास पहिलो पटक सुरू गरिएको हो ।

भारतमा विषाक्त मदिराबाट मर्नेको सङ्ख्या ६३ पुग्यो : प्रहरी

गत हप्ता दक्षिणी भारतको एउटा सहर स्तब्ध पारेको अवैध मदिराको सेवनका कारण मर्नेको सङ्ख्या ६३ पुगेको प्रहरीले बिहीबार जनाएको छ ।भारतमा ब्याकस्ट्रिट डिस्टिलरीमा बनेको सस्तो रक्सीबाट हरेक वर्ष सयौं मानिसको मृत्यु हुन्छ, भने तमिलनाडु राज्यको यो घटना हालका वर्षहरूमा सबैभन्दा घातकमध्ये एक हो ।

तामिलनाडु राज्यको कल्लाकुरिची जिल्लामा मेथानोलले भरिएको स्थानीय स्थरमा बनेको मदिरा पिएकामध्ये केही व्यक्तिले आँखा निकै कमजोर भएको बताएका छन् ।

यस घटनामा मृत्यु हुने व्यक्तिको पुष्टि गर्दै जिल्ला प्रहरी प्रमुख रजत चतुर्वेदीले घातक मदिरा पिएका १०० भन्दा बढी व्यक्तिलाई सुरुमा अस्पताल लगिएको जनाकारी दिनुभयो ।

तमिलनाडुका राजनीतिक दलसँग सम्बद्ध सांसदहरूले मदिराका कारण धेरै व्यक्तिको मदिरा सेवन गरेका कारण मृत्यु भएको भन्दै बुधबार मुख्यमन्त्रीको राजिनामा माग गर्दै विरोध प्रदर्शन गरेपछि राज्यसभा (विधायिका) बाट निष्कासित भएका छन् ।

कल्लाकुरिची जिल्लाका गरिब मजदुरहरूले नियमित रूपमा प्लास्टिकको झोलामा ६० रुपैयाँ लागतको रक्सी किनी काम गर्नु अघि पिउँथे । उनीहरूले पिउने स्थानीय उत्पादनको यो ब्याच विनाशकारी सावित भएको छ ।

तमिलनाडु सुख्खा राज्य नभएता पनि कालो बजारमा कारोबार हुने रक्सी कानुनी रूपमा बेचिने रक्सीभन्दा कम मूल्यमा आउँछ ।भारतका अन्य धेरै भागहरूमा रक्सी बेच्न र सेवन गर्न निषेध गरिएको छ, जसले शक्तिशाली र कहिलेकाहीँ घातक मुनशाइनका लागि फस्टाउने कालो बजारलाई थप चलाउँछ ।

यसको शक्ति बढाउन, रक्सीमा प्रायः मेथनोल मिसाइन्छ, जसले अन्धोपन, कलेजोको क्षति र मृत्यु निम्त्याउन सक्छ ।गत वर्ष पूर्वी भारतीय राज्य बिहारमा विषाक्त मदिरा सेवन गर्दा कम्तीमा २७ जनाको मृत्यु भएको थियो भने सन् २०२२ मा गुजरातमा कम्तीमा ४२ जनाको मृत्यु भएको थियो ।

आधाभन्दा धेरै सुडानीहरू ‘गम्भीर खाद्य असुरक्षा’ को सामना गर्दै

करिब दुई करोड ५६ लाख अर्थात सुडानको आधाभन्दा धेरै जनसङ्ख्याले उच्चस्तरको ‘गम्भीर खाद्य असुरक्षा’ को सामना गरिरहेको संयुक्त राष्ट्रसङ्घले बिहीबार उद्धृत गरेको एक प्रतिवेदनमा बताइएको छ ।

एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण (आइपिसी) का अनुसार उक्त सङ्ख्यामा सात लाख ५५ हजारले भोकमरीको सामना गरिरहेका छन् भने ८५ लाख मानिसले ‘आपत्कालीन’ स्थितिको सामना गरिरहेका छन् ।

अब्देल फताह अल–बुरहानको नेतृत्वमा रहेको नियमित सेना र उहाँका पूर्व डेपुटी मोहम्मद हमदान डागलोको नेतृत्वमा रहेको शक्तिशाली अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच लडाइँ सुरु भएपछि सुडान सन् २०२३ देखि युद्धको चपेटामा परेको छ ।

युद्धले हजारौँको ज्यान लिएको छ, लाखौँ मानिस विस्थापित भएका छन् र संसारको सबैभन्दा खराब मानवीय सङ्कटमध्ये एकलाई जन्म दिएको छ । “द्वन्द्वको १४ महिनापछि सुडानले देशमा आइपिसीले रेकर्ड गरेको अहिलेसम्मको सबैभन्दा खराब स्तरको खाद्य असुरक्षाको सामना गरिरहेको छ”, प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनले डिसेम्बरमा प्रकाशित पछिल्लो आँकडाको तुलनामा ‘खाद्य सुरक्षाको स्थितिमा गम्भीर र तीव्र गिरावट’ तर्फ सङ्केत गरेको छ । यसमा उच्चस्तरको तीव्र खाद्य असुरक्षाको सामना गर्ने मानिसहरूमा ४५ प्रतिशतले वृद्धि भएको छ ।

“द्वन्द्वले ठूलो मात्रामा विस्थापन र आपूर्ति मार्गमा व्यवधान मात्र उत्पन्न गरेको छैन, यसले आवश्यक मानवीय सहायतासम्मको पहुँचलाई पनि गम्भीररूपमा सीमित गरेको छ, जसले स्थिति पहिलाभन्दा गम्भीर भएको छ”, अत्यधिक खराब स्वास्थ्य सेवाहरू, जल प्रदूषण र खराब सरसफाइ तथा स्वच्छताको अवस्थालाई उद्धृत गर्दै आइपिसीले भनेको छ ।

द्वन्द्वग्रस्त क्षेत्रहरूमा फँसेका मानिसहरू र लडाइँबाट आन्तरिक वा विदेशमा भागेकाहरू विशेषरूपमा खाद्य असुरक्षाप्रति संवेदनशील भएको प्रतिवेदनले उल्लेख गरेको छ ।राष्ट्रसङ्घीय विशेषज्ञहरूले द्वन्द्वका दुवै पक्षले भोकमरीलाई युद्धको हतियारका रूपमा प्रयोग गरिरहेको आरोप लगाएको एक दिनपछि आइपिसीको प्रतिवेदन आएको छ ।

राष्ट्रसङ्घका चार स्वतन्त्र अधिकार विशेषज्ञहरूले बुधबार सेना र आरएसएफ दुवैलाई सैन्य सहायता प्रदान गर्ने विदेशी सरकारहरू युद्ध अपराधमा ‘सहभागी’ रहेको बताएका थिए ।

जाजरकोट–जुम्ला सुरुङ मार्ग निर्माण गर्न ‘प्रि-फिजिबिलिटी’ सम्पन्न

काँक्रेविहार (सुर्खेत) १३ असार : लुम्बिनी–रारा सडकखण्डमा पर्ने जाजरकोटको कुशे गाउँपालिकाबाट जुम्ला जोड्ने सुरुङ मार्ग निर्माण गर्न ‘प्रिफिजिबिलिटी’ अध्ययनको काम सकिएको छ ।

उक्त सुरुङ मार्ग निर्माणको विस्तृत अध्ययन योजना समावेश गर्न विसं २०७८ साउन ४ गते तत्कालीन ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले सडक विभागमार्फत् पहल गर्नुभएको थियो । उक्त पहल बमोजिम सडक विभागले विसं २०८० जेठमा इटिको–टिएमएस–रेज जेभीसँग सुरुङमार्गको अध्ययन सम्झौता गरेको थियो ।

आव २०७९/८० मा सुरुङ मार्ग निर्माणको अध्ययन गर्न बजेट विनियोजन भएको थियो । आव २०७९/८० को अन्तिमा प्रिफिजिबिलिटी’ अध्ययनका लागि सडक विभागले ठेक्का आह्वान गरी पाँच महिनाभित्र पूरा गर्ने लक्ष्यसहित इटिको–टिएमएस–रेज जेभीसँग सम्झौता गरेको थियो । ठेक्का लिएको कम्पनीले एक वर्षभन्दा बढी समय लगाएर ‘प्रिफिजिबिलिटी’ अध्ययन प्रतिवेदन विभागमा बुझाएको छ ।

‘प्रिफिजिबिलिटी’ अध्ययनको काम सकिएर सडक विभागमा बुझाएको टिएमएस रेज जेभीका प्रमुख राजीव झाले जानकारी दिनुभयो । जाजरकोटको कुसे गाउँपालिका–८, साङ्टादेखि जुम्लाको तातोपानी गाउँपालिका–८, इमिल्चाघारीसम्मको दूरी १० किलोमिटर रहेको छ ।

अध्ययनअनुसार सुरुङ बनाउन करिब रु ३५ अर्ब लाग्ने प्रक्षेपण गरिएको छ । सुरुङमार्ग निर्माण भएमा लुम्बिनी, दाङ, सल्यान, जाजरकोट, जुम्ला हुँदै रारा पुग्ने दूरी छोटिने छ । ‘प्रिफिजिबिलिटी’ अध्ययनले सुरुङ मार्ग निर्माण गर्न उपयुक्त रहेको निष्कर्ष निकालेको छ । प्रतिवेदनको आधारमा सडक विभागले विस्तृत सम्भाव्यता अध्ययन अघि बढाउने छ ।

सडक विभागलाई बुझाएको प्रतिवेदनका आधारमा विस्तृत सम्भाव्यता अध्ययन गरिने सडक विभागका  इन्जिनियर दीपक एकामीले बताउनुभयो । कर्णाली प्रदेशको सबैभन्दा बीच भागमा जाजरकोट पर्छ । जुम्लाका नेता तथा पूर्वमन्त्री नरेश भण्डारीले सुरुङ मार्ग निर्माण भएमा साविकको कर्णालीको चौतर्फी विकासका लागि टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

जाजरकोट र जुम्ला मात्र नभइ कर्णालीकै समृद्धिसँग जोडिएको यो मार्गलाई छिटो निर्माण चरणमा लैजानुपर्ने पूर्वमन्त्री गणेशप्रसाद सिंहले बताउनुभयो । यदि साविकको कर्णालीमा विकास भएको देख्ने र हेर्ने हो भने यो मार्ग तत्काल निर्माण चरणमा लानुपर्ने उहाँको भनाइ छ ।

बागमती प्रदेशसभा बैठक : सम्बन्धित मन्त्रीहरुले जवाफ दिँदै

मकवानपुर, १३ असार : बागमती प्रदेशसभाको आज बसेको बैठकमा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको मन्त्रीहरुले जवाफ दिनुभएको छ ।

छलफलमा सहभागी प्रदेशसभाका सदस्यहरुले विभिन्न मन्त्रालयले तर्जुमा गरिएको नीति कार्यक्रम र बजेट बाँडफाँडलाई लिएर उठाउनुभएका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिनुभएको हो ।

बैठकमा श्रम, रोजगारमन्त्री लक्ष्मण लम्साल, कृषि तथा पशुपंक्षी विकासमन्त्री डा राजेन्द्रमान श्रेष्ठ, उद्योग, वाणिज्य भूमी तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठ, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री एकालाल श्रेष्ठ, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री रमा आलेमगर, संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्य र भौतिक पूर्वाधार तथा विकासमन्त्री युवराज दुलालले छलफलमा उठेका प्रश्नको जवाफ दिनुभएको छ ।

नौ जना मन्त्रीहरुले जवाफ दिनुभएपछि प्रदेशसभाका सदस्यहरुले क्रमशः पुरक प्रश्न गर्नुभएको थियो । आजकै बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सरकारका तर्फबाट जवाफ दिनुभएपछि बजेट पारित गर्ने कार्यसूची रहेको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो ।

सम्बन्धित मन्त्रीहरुले आआफ्नो मन्त्रालयले नीति कार्यक्रम र बजेट बाँडफाँडमा क्रमशः घरेलु तथा मझौला उद्योगलाई प्रोत्साहन, हस्तकला प्रवर्द्धनका लागि गुरुयोजना तर्जुमा, ऐतिहासिक सम्पदाको मर्मत सम्भार, हिमाली क्षेत्रमा पर्यटन विस्तार, पर्यटकलाई आवासीय सुविधा र पर्यटन सूचना प्रवाह गर्ने नीति रहेको स्पष्ट पार्नुभएको छ ।

उक्त बैठकमा स्वास्थ्य क्षेत्रको विकासलाई गुणात्मक रुपमा स्तरोन्नति गर्न सबै अस्पतालमा दक्ष चिकित्सक, स्वास्थ्यकर्मीहरुको दरबन्दी सृजना गर्ने र अस्पतालमा आउने बिरामीको उपचार सेवा प्रभावकारी बनाइनेतर्फ जोड दिइएको सम्बन्धित मन्त्रीहरुले स्पष्ट पार्नुभएको छ ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विनियोजित बजेटमाथि उठेको प्रश्नको उत्तर दिनुभएपछि बजेट पारित गर्ने प्रक्रिया सुरु हुने प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

दुई वर्षमा मदनभण्डारी राजमार्गमा २९ किलोमिटर सडक कालोपत्रे

झापा, १३ असारः वन क्षेत्रका रुखहरु हटाउने अनुमति हालसम्म प्राप्त नभएको र पर्याप्त बजेट अभावका कारण मदन भण्डारी राजमार्गको सुनसरी–झापा खण्डमा २९ किलोमिटर सडक मात्र कालोपत्रे भएको जनाइएको छ ।

मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका सूचना अधिकारी सुभाषकुमार दत्तका अनुसार ठेक्का व्यवस्थापन भएको ९८ दशमलव आठ किलोमिटर सडकमध्येबाट दुई वर्षमा २९ दशमलव पाँच किलोमिटर सडक कालोपत्रे भएको हो ।

विसं २०७९ मा सडकको ठेक्का व्यवस्थापन भई चालुरहेका ठेक्कामा सुनसरीमा सात किलोमिटर, मोरङमा सात किलोमिटर, झापामा तीन किलोमिटर र इलाममा छ किलोमिटर गरी २३ किलोमिटर सडक वन क्षेत्रका कारण निर्माणमा कठिनाइ भएको उहाँले बताउनुभयो ।

उहाँले सुनसरीको सर्दुखोला र झापाको बाहुनडाँगीस्थित पाटापुरसम्मको १२७ दशमलव आठ किलोमिटर लम्बाइको बन्ने सडकमध्ये ९८ दशमलव आठ किलोमिटर मात्र ठेक्का व्यवस्थापन भएको बताउनभयो । जिल्लाको कमल खोलादेखि इलामको सहादत्तस्थलसम्मको ३२ किलोमिटर र चतरादेखि सार्दुखोलासम्मको छ किलोमिटर सडक व्यवस्थापन गर्न अझै बाँकी रहेको उहाँले बताउनुभयो ।

“एकातिर सडक निर्माणका लागि पर्याप्त बजेट छैन”, सडक निर्माणमा ढिलाइ हुने कारणबारे प्रष्ट पार्दै प्रवक्ता दत्तले भन्नुभयो, “अर्कातिर वन तथा वातावरण मन्त्रालयमा पटक–पटक रुख कटान अनुमतिका लागि पत्राचार गर्दा अनुमति पाइएको छैन ।”

उहाँले हालसम्म सडकको भौतिक प्रगति ५२ प्रतिशत र वित्तीय प्रगति ४८ दशमलव ८१ प्रतिशत रहको जानकारी दिनुभयो । उहाँका अनुसार छ वटा ठेक्का सम्झौता गरिएमध्ये विभिन्न स्थानमा गरी २९ किलोमिटर सडक कालोपत्रे भएको हो ।

मेलम्ची नदीमा महिलाको शव फेला

सिन्धुपाल्चोक, १३ असारः सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ तालामाराङमा एक महिलाको शव फेला परेको छ । आज बिहान अन्दाजी २२ वर्षीय निशाकुमारी तामाङको शव फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी प्रमुख, प्रहरी निरीक्षक भगवती तिमिल्सेना जानकारी दिनुभयो ।

हेलम्बु गाउँपालिका–५ की तामाङको मानसिक सन्तुलन ठीक नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । परिवारसँग हिजो काठमाडौँ जान्छु भनेर हिँडेकी उनी हेलम्बु गाउँपालिका–२ चिउरीखर्कस्थित खोला तर्दै गरेका देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । यस विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । शव परीक्षणका लागि काठमाडाँै पठाइएको तिमिल्सेना जानकारी दिनुभयो ।

नेपाली सेनाद्धारा बाँकेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

जानकी (बाँके), १३ असार : नेपाली सेनाले बाँकेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । राँझास्थित श्री बज्रदल गणको आयोजनामा आज नरैनापुर गाउँपालिका–२ लक्षमनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

सैनिक अस्पताल नेपालगञ्ज, स्वास्थ्य कार्यालय बाँके, भेरी अस्पताल, नेपालगञ्ज आँखा अस्पताल, एचसिआरसी अस्पताल नेपालगञ्ज र शाही डेन्टल क्लिनिकको संयुक्त सहयोगमा सञ्चालित उक्त शिविरमा छ सय ७० जना बिरामीले स्वास्थ्य जाँच गराएका छन् ।

स्वास्थ्य जाँच गराउनेमा महिला, बालबालिका र ज्येष्ठ नागरिकको सङ्ख्या बढी भएको बज्रदलका गणपति प्रमुख सेनानी रविन श्रेष्ठले बताउनुभयो । “यहाँ स्वास्थ्य जाँच गराउन आउनुभएकामध्ये धेरै जसो महिला, बालबालिकाज्येष्ठ नागरिक हुनुहुन्छ ।” उहाँले भन्नुभयो, “यो पालिका बाँकेको दुर्गम पालिकाअन्तर्गत पर्ने हुँदा यहाँका विपन्न नागरिकको अस्पतालमा प्रत्यक्ष पहुँच नहुने हुँदा हामीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका हाैं ।”

गणपति श्रेष्ठका अनुसार उक्त शिविरमा १६ जना विषेशज्ञसहितको टोलीले बिरामीलाई सेवा प्रदान गरेका थिए । शिविरमा नशा तथा हाड जोर्नी, स्त्री सम्बन्धी, छाला, बालरोग, दन्त रोग, नाक कान घाँटी, आँखा र न्यूरो लगायतका रोगहरूको जाँच गरिएको थियो ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले पालिकाका सर्वसाधारणको स्वास्थ्यलाई ध्यानमा राखी निःशुल्क स्वास्थ्य शिविर गरेकोमा नेपाली सेनालाई धन्यवाद दिनुभयो । उहाँले उक्त शिविरबाट सहरका महँगा अस्पतालमा सेवा लिनबाट वञ्चित बिरामीले गाउँमै निःशुल्क स्वास्थ्य जाँच गराउन पाउँदा सेवा प्रभावकारी भएको बताउनुभयो ।

उक्त शिविरमा तीन सय ३८ महिला, दुई सय ८२ ज्येष्ठ नागरिक र ५० बालबालिकाले  स्वास्थ्य जाँच गराएको गणपति श्रेष्ठले जानकारी दिनुभयो । श्री नं ४ बाहिनी अड्डा इमामनगर ब्यारेकका बाहिनीपति सहायकरथी रोशन शम्शेर राणाले शिविरमा प्रत्यक्ष सहयोग पु-याउने विभिन्न अस्पतालका १६ जना विशेषज्ञ डाक्टरहरुलाई प्रसंशा पत्र प्रदान गर्नुभएको थियो ।

सार्वजनिक निकायबाट सूचना लिन गाह्रोः प्रमुख आयुक्त गुरुङ

काठमाडौँ, १३ असारः राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सार्वजनिक निकायबाट सूचना पाउन नै गाह्रो हुने गरेको धारणा व्यक्त गर्नुभएको छ । सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले आज यहाँ आयोजना गरेको ‘प्रमाणमा आधारित पत्रकारिताका लागि सूचनाको हक’ विषयक अन्तरक्रियाका क्रममा उहाँले सार्वजनिक निकायले सूचना नदिएपछि मागकर्ता आयोगमा पुनरावेदन लिएर आउने गरेको र आयोगको आदेशपछि सूचना पाउने अवस्था रहेको बताउनुभयो ।

बालमन्दिर, जुद्धोदय विद्यालयलगायत निकायमा पत्रकारले सूचनाको हक प्रयोग गरी सूचना सार्वजनिक गरेको उल्लेख गर्नुभयो । “मागकर्तालाई सूचना दिलाउन संवैधानिक निकायसँगै पनि हामी लड्नुपरेको छ, लोक सेवा आयोगले सूचना नदिएपछि माग अनुसारको सूचना दिन आदेश भएको छ, शिक्षक सेवा आयोगले पनि मागकर्ताले मागेको सूचना दिएको छैन, विराटनगरकी एक छात्राको उत्तरपुस्तिका साटफेर गरिएको घटना सूचना माग गरेर पाएको सूचनाकै आधारमा सार्वजनिक भएको थियो”, प्रमुख आयुक्त गुरुङले भन्नुभयो ।

सूचना माग गरेकै कारण गोकर्णेश्वरका छ जना नागरिक पक्राउ परेको घटनामा पनि आयोगको ध्यानाकर्षण भएको उहाँले बताउनुभयो । त्यस विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई पत्र लेखी वास्तविकता माग गरिएको उल्लेख गर्नुहुँदै प्रमुख आयुक्त गुरुङले यससम्बन्धी निर्णय गर्न शुक्रबार आयोगको बैठक बस्ने जानकारी दिनुभयो ।

हाल छलफलमा रहेको शिक्षा विधेयकमा गोप्य राख्ने विषय समावेश नगर्न आयोगले पत्राचार गरेको उल्लेख गर्नुहुँदै उहाँले यसमा नागरिक संस्थाले पनि खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।

युवा अभियानकर्मीलाई झुटा मुद्दा लगाएकामा दाहालको आपत्ति

नेपाल पत्रकार महासङ्घका पूर्वसभापति एवं सूचनाको हकका अभियानकर्मी तारानाथ दाहालले गोकर्णेश्वरका युवा अभियानकर्मीलाई सूचना मागेर भ्रष्टाचार एवं अनियमितताको विरोध गरेकै कारण झुटा मुद्दा लगाएर फसाउन खोजेकामा असन्तुष्टि व्यक्त गर्नुभयो ।

“गोकर्णेश्वरबाट पक्राउ परेका अभियानकर्मीका विषयमा सुरुमा प्रहरीले ठीकै गरेको होला भन्ने लागेको थियो, पछि मैले तीन दिन लगाएर खोजबिन गर्दा झुटा मुद्दा लगाएको पाइयो”, उहाँले दाबी गर्नुभयो ।

अभियानकर्मी दाहालले पत्रकारितामा सूचनाको हक बढी प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । सूचनाको हक प्रयोग गरेर प्राप्त भएका सूचनाका आधारमा लेखिएका समाचार प्रभावकारी देखिएको उल्लेख गर्नुहुँदै उहाँले मेलम्ची खानेपानी आयोजनामा आफूले मागेको सूचनाका आधारमा टक्सार म्यागेजिनले लेखेको समाचारले सबैको ध्यान तानेको बताउनुभयो ।

आन्तरिक राजस्व विभागसँग कर छलीका विषयमा अध्ययन भएको प्रतिवेदन सूचनाको हक प्रयोग गरेर माग गरी सार्वजनिक गरेपछि अहिले रु १० अर्ब ७७ करोड राजस्व उठेको दाहालको भनाइ थियो ।

प्रहरीको अनुसन्धान प्रमाणमा आधारित

नेपाल प्रहरीका सह प्रवक्ता विश्व अधिकारीले प्रहरीको अनुसन्धान प्रमाणमा आधारित हुने गरेको उल्लेख गर्नुहुँदै प्रहरी वृत्त बौद्धले पक्राउ गरेका गोकर्णेश्वरका अभियानकर्मीका विषयमा पनि सूचना माग गर्न सकिने बताउनुभयो । जाहेरी परेपछि पक्राउ परेका अभियानकर्मीका विषयमा अहिले अनुसन्धान भइरहेको जानकारी आफूले पाएको कार्यक्रममा उहाँले सुनाउनुभयो ।

महासङ्घका अध्यक्ष उमीद बागचन्दले गोकर्णेश्वरको घटनामा सार्वजनिक भएको श्रव्यदृश्य सामग्रीका आधारमा घटना सुनियोजित भएको जिकिर गर्नुभयो । गोकर्णेश्वरको घटनाका विषयमा राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराउन जाँदा आयोगका अध्यक्षले यो घटनामा अभियानकर्मीलाई पक्राउ गर्नुपर्ने कारण नदेखेको उल्लेख गर्नुभएको उहाँले सुनाउनुभयो । दुई दिनभित्र अभियानकर्मीलाई नछाडे महासङ्घ कडा आन्दोलनमा उत्रन बाध्य हुने अध्यक्ष बागचन्दको चेतावनी थियो । सूचनाको हक प्रयोग गरेर खोजी समाचार सार्वजनिक गरी भ्रष्टाचार, अनियमितताजस्ता घटना बाहिर ल्याउने सीप पत्रकारमा बढाउन पनि महासङ्घले काम गर्ने उहाँको भनाइ थियो ।

गैरसरकारी संस्था महासङ्घका अध्यक्ष रामप्रसाद सुवेदीले संविधानमा मौलिक हकका रुपमा रहेको सूचनाको हक कार्यान्वयनका लागि सरोकार भएका निकायले समन्वयात्मक रुपमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा महासङ्घका सचिव पूर्णप्रसाद मिश्र, गोकर्णेश्वरमा सूचनाको हक प्रयोग गर्दा पक्राउ परेका व्यक्तिका परिवारका सदस्यहरु रिखीराम खत्री, उमा आचार्य, उमेश कार्की, सविना सुनार बराइली, शकुन्तला क्षेत्रीलगायतले सूचनाको हक निर्वाध रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

‘पुस्तकालयसम्बन्धी ऐन, कानुन बनाउन सरकारले सहयोग गर्ने’ : मन्त्री गिरि

काठमाडौँ, १३ असार : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरिले पुस्तकालयसम्बन्धी ऐन, कानुन निर्माणका लागि सरकारले सहयोग गर्ने बताउनुभएको छ । ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ भन्ने मूल नाराका साथ आजदेखि सुरु भएको सार्वजनिक तथा सामुदायिक पुस्तकालयको प्रथम बागमती प्रदेश सम्मेलनको उद्घाटन गर्दै उहाँले पुस्तकालय व्यवस्थापनका क्षेत्रमा आवश्यक ऐन, कानुन निर्माणका लागि सरकारले सहयोग गर्ने बताउनुभएको हो ।

“देशभरका पुस्तकालयलाई एकैलयमा सञ्चालन गर्न आवश्यक पर्ने ऐन, कानुनको ड्राफ्ट शिक्षा मन्त्रालयले निर्माण गर्छ, त्यसलाई अन्तिम रुप दिन कानून मन्त्रालयले सहयोग गर्छ”, मन्त्री गिरिले भन्नुभयो । पुस्तकालयलाई समयसापेक्ष रुपमा प्रविधिमैत्री बनाएर अगाडि लैजानुपर्ने उहाँको धारणा थियो । पछिल्लो समय पुस्तकालय गएर पढ्ने संस्कृति हराउँदै गएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । सामाजिक सञ्जालमा लेखेको भरमा धारणा र दृष्टिकोण बनाउने परिपाटी हुनु दुःखद भएको उहाँको भनाइ थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्दराज पोखरेलले पुस्तकालय किताब राख्ने र पढ्ने थलो मात्र नभएर सभ्यतासमेत भएको उल्लेख गर्नुभयो । “पुस्तकालय पढ्ने संस्कृतिको विकास हो, यसले संस्कृति र सम्पदाको संरक्षणसमेत गरेको छ”, उहाँले भन्नुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव यादवचन्द्र निरौलाले नेपालको पुस्तकालयको इतिहास दुई सय १३ वर्ष पुरानो भए पनि पुस्तकालयको जुन हिसाबले विकास हुनुपर्ने त्यो नभएको बताउनुभयो ।

नेपाल सामुदायिक पुस्तकालय सङ्घका अध्यक्ष सन्तोष रावल, संस्थापक अध्यक्ष बासु ढुङ्गानालगायतले देशभरका पुस्तकालयलाई व्यवस्थित रुपमा सञ्चालन गर्न पुस्तकालयसम्बन्धी ऐन, कानुनको आवश्यकता रहेकोमा जोड दिनुभयो । गीवार्ण विक्रम शाहको पालादेखि नेपालमा पुस्तकालयको सुरुवात भएको मानिन्छ । राज्यले एक स्थानीय तह, एक पुस्तकालय अभियान घोषणा गरेपनि उक्त अभियान कार्यान्वयन हुन नसकेको नेपाल सामुदायिक पुस्तकालय सङ्घका महासचिव राजेन्द्रप्रसाद पाण्डेयको भनाइ छ । उहाँले केही पुस्तकालयका कारण सदियौँदेखि सञ्चालन हुँदै आएका पुस्तकालय ओझेलमा पर्दै गएको बताउनुभयो ।

‘मधेस प्रदेश पर्यटकीय सम्भावनाको उर्बरभूमि’: मुख्यमन्त्री सिंह

महोत्तरी, १३ असार : मधेस प्रदेश पर्यटकीय सम्भावनाको उर्बरभूमि रहेको मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बताउनुभएको छ । आज होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेशले मिथिला नगरपालिकाको लालगढमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले मधेस चुरे पर्वत श्रेणीबाट भारतीय सीमासम्म फैलिएको भौगोलिक विविधतायुक्त प्रदेश रहेको बताउनुभएको हो ।

“हामीले पर्यटन प्रवर्द्धन गर्न प्रदेशका आठ जिल्लालाई चार समूहमा राखेर काम गर्ने निर्णय गरेका छौँ”, मुख्यमन्त्री सिंहले भन्नुभयो, “सम्भावित नयाँ ठाउँको पहिचान र यसअघि नै विशिष्ट महत्व बोकेका स्थलको संरक्षण र प्रवर्द्धन गरिनेछन् ।”

मुख्यमन्त्री सिंहले मधेसका वन, भूगोल, धार्मिकस्थल, कृषि र स्वास्थ्य पर्यटनका मुख्य क्षेत्र बन्नसक्ने उल्लेख गर्नुभयो । “आँखा र सर्पदंशको उपचार लिन भारतको बिहारबाट मान्छे आउँछन्, हामीले यसलाई स्वास्थ्य पर्यटनसँग जोड्न सक्नुपर्छ”, उहाँले भन्नुभयो । चुरे शृङ्खलाका चनौटे, बेसारेसहितका उच्च डाँडालगायतका स्थान पर्यटकीय सम्भावना बोकेको ठाउँ भएको उहाँको भनाइ छ ।

जनकपुरधाम, राजविराज र सिमरासहित तीन विमानस्थललाई  मुलुकका विभिन्न ठाउँसँग हवाई मार्गमा जोडेर व्यापार, व्यवसाय र पर्यटन प्रवर्द्धन गर्न सकिने उहाँको भनाइ छ । “पर्वतीय क्षेत्र अवलोकन गर्न चाहने पर्यटकलाई हाम्रा विमानस्थलबाट १० मिनटमै अवलोकन गराउन सक्छौँ”, सिंहले भन्नुभयो, “हामीले यसका लागि आवश्यक पूर्वाधार विकास गर्नुपर्छ ।” 

विकासका सन्दर्भमा जनतामा पलाएको आशा मर्न नदिने उहाँले प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा आयोजकका तर्फबाट मुख्यमन्त्री सिंहलाई नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेशका अध्यक्ष हीरालाल गौतमले अभिनन्दनपत्र प्रदान गर्नुभयो । कार्यक्रममा मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति राज्यमन्त्री शारदा थापा, मिथिला नगरपालिकाका उपप्रमुख सुनितासिंह बुढाथोकी र महासङ्घका संरक्षक सल्लाहकार विजय झुनझुनवालागायतको उपस्थिति रहेको थियो ।

भूक्षय रोक्न एक लाख ६० हजार बिरुवा निःशुल्क वितरण गरिँदै

मध्यविन्दु (नवलपरासी), १३ असार : हरियाली प्रवद्र्धनका साथै भूक्षय नियन्त्रण गर्ने उद्देश्यले डिभिजन वन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले २८ प्रजातिका एक लाख ६० हजारभन्दा बढी बिरुवा निःशुल्क वितरण गर्ने लक्ष्यका साथ सर्वसाधारणलाई बिरुवा बाँड्न सुरु गरेको छ ।

वन कार्यालयले कावासोती र गैँडाकोट गरी दुई वटा नर्सरीमा उत्पादित विभिन्न प्रजातिका बिरुवा वितरण थालेको हो । डिभिजन वन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)को परिसरमा रहेको डिभिजन नर्सरी र गैँडाकोट सब डिभिजन कार्यालयको सब डिभिजन नर्सरीमा हुर्काइएका एक लाख ६० हजार बिरुवा वृक्षरोपणका निमित्त निःशुल्क वितरण थालिएको डिभिजन वन कार्यालयका प्रमुख वसन्त केशव अधिकारीले बताउनुभयो ।

“नर्सरीमा बाँस, तेजपात, हर्राे, बर्राे, धूपी, कपुर, म्याडगोस्टिक, अशोक, शीतलचिनी, निम, रुख कटहर, अम्बा, टाँकी, बडहर, जामुन, कल्की, टिकुमा, टिक, किम्बु, बकाइनो, पिपल,, अमला, लप्सी, चिउरी, भटमास घाँसलगायतका बिरुवा रहेका छन्”, उहाँले भन्नुभयो ।

नर्सरीमा हुर्काइएका बिरुवा रोपणका निमित्त निःशुल्क वितरण थालिएको हो । कावासोती र गैँडाकोट गरी दुई वटा नर्सरीमा उत्पादित विभिन्न प्रजातिका बिरुवाको निःशुल्क वितरण थालेपछि बिरुवा लिन आउनेहरू बढेका छन् । विशेष गरी निजी जमिनमा बिरुवा माग गर्ने उपभोक्ताले सौन्दर्यजन्य धूपी, कल्की फूल, गोलमोहर, वीरेन्द्र फूल, कपुरजस्ता बिरुवा लैजाने गरेको प्रमुख अधिकारीले बताउनुभयो ।

“ कावासोतीमा यस वर्ष एक लाख दश हजार र गत वर्षको १४ हजार गरी एक लाख २४ हजार बिरुवा तयार भएका छन्, बाँकी गैँडाकोटमा हुर्काइएको हो”, उहाँले भन्नुभयो, “बहुवर्षीय रुखका बिरुवा, बहुवर्षीय डाले घाँसका बिरुवा, बहुवर्षीय फूलका बिरुवा, सुगन्धित, जडीबुटीजन्य बिरुवाका साथै भू–क्षय, कटान तथा पहिरो रोकथाम उपयोगी बाँस तथा अम्रिसो जातका बिरुवा तयार गरिएको छ ।”

वन कार्यालयको नर्सरीबाट बिरुवा उपलब्ध गराउन थालिएसँगै अहिले बिरुवा लिन आउनेहरू बढेका छन् । लामो समयको खडेरीपश्चात् भर्खर मनसुन सक्रिय भएकाले अब बिरुवा रोप्दा जोगाउन सजिलो हुने भएपछि बिरुवा लिन आउने बढेका हुन् ।

निजी, सार्वजनिक तथा संस्थागत सबैलाई निःशुल्क रूपमा बिरुवा उपलब्ध गराउँदा वातावरणीय सन्तुलन, वातावरणीय सौन्दर्यीकरण, भू–क्षय तथा कटान रोकथाम, पशुको आहारा घाँस परिपूर्तिमा टेवा पुग्ने वन विभागका अधिकारीहरू बताउँछन् । 

कार्यालयले बिरुवा वितरण खुला गरेसँगै यहाँका विद्यालयले पनि वृक्षरोपणमा चासो देखाएका छन् । गत वर्षदेखि जिल्लाभित्रै नर्सरीमा बिरुवा उत्पादन भएपछि अन्य जिल्लाबाट पनि यहाँ बिरुवा लिन आउने बढेका छन् ।

ऋषिङ गाउँपालिकाले नवजात शिशुलाइ जनही पाँच हजार दीर्घकालीन बचतकोषमा जम्मा गरिदिने

दमौली (तनहुँ), १३ असार : जिल्लाको ऋषिङ गाउँपालिकाले आफ्नो क्षेत्रका बालबालिकालाई आर्थिक अभावबाट जोगाउन हरेक नवजात शिशुलाइ जनही रु पाँच हजार प्रदान गर्ने तथा सो रकम दीर्घकालीन बचतकोषमा जम्मा गरिदिने भएको छ ।

बालबालिकालाई उपचार तथा शिक्षाका निम्ति आर्थिक समस्या हुन नदिन जन्मने वित्तिकै पालिकाले बच्चाकै नाममा रु पाँच हजारको दीर्घकालिन बचतकोष खडा गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो रकमले त्यस्ता बालबालिकाको अध्ययन तथा अन्य कार्यका लागि सहयोग पुग्नेछ । कार्यविधि बनाएर बच्चाको नाममा खाता खोलेर रकम जम्मा गरिनेछ ।” त्यसका लागि बच्चा ऋषिङ गाउँपालिकाभित्रकै स्वास्थ्यसंस्थामा जन्मिएको हुनुपर्ने प्रावधान राखिएको छ । गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा गर्भवतीले जाँच गराएको र प्रसूति गराएपछि जन्मिने बच्चाको हकमा यो प्रावधान लागु हुने उहाँको भनाइ छ ।

गाउँपालिकाले विपन्न समुदायलाई निःशुल्क एम्बुलेन्स सेवा, संस्थागत प्रसुतीलाई बढावा, नियमित गर्भजाँच गर्नेलाई पोषण उपलब्ध गराउने अध्यक्ष श्रेष्ठले बताउनुभयो । बालबालिकालाई कुपोषणमुक्त बनाउन पोषण सेवा तथा  सबै कार्यालयमा स्तनपानकक्ष स्थापना गरिने उहाँले जानकारी दिनुभयो । 

अध्यक्ष श्रेष्ठका अनुसार आगामी आर्थिक वर्षदेखि ‘उज्यालो ऋषिङ अभियान, खरको छानोमुक्त ऋषिङ, ऋषिङ फर्क अभियान, एक वडा एक उत्पादन, सासुसँगै बुहारी’ कार्यक्रमलाई सञ्चालन गरिने  छ । साथै गाउँपालिकाका जनप्रतिनिधिको एक महिनाको तलब सामुदायिक विद्यालय सुधारमा खर्च गरिने छ  । वार्षिक रुपमा एक महिनाको तलब अक्षयकोष स्थापना गरी त्यसमा दाखिला गरिने छ ।

बागलुङको बरेङ घरमा सुत्केरी शून्य गाउँपालिका घोषणा

बलेवा (बागलुङ), १३ असार : जिल्लाको बरेङ गाउँपालिका घरमा सुत्केरी शून्य गाउँपालिका घोषणा भएको छ । बितेको एक वर्षमा कोही पनि गर्भवती घरमा सुत्केरी भएका छैनन् । घरमै सुत्केरी हुने परम्परा हटाउन पालिकाले सुरक्षित र भरपर्दो अवस्थामा सुत्केरी हुन स्वास्थ्य संस्थामै जानुपर्ने कार्यक्रम सञ्चालन गरेर घरमा सुत्केरी शून्य गाउँपालिका घोषणा गरिएको हो ।

बुधबार एक कार्यक्रमबीच गाउँपालिकाले घरमा सुत्केरी हुने र खोप नलगाएका बालबालिका नरहेको घोषणा गरेको हो । गाउँपालिकालाई घरमा शून्य सुत्केरी र पूर्ण खोप सुनिश्चितता एकै पटक घोषणा गरिएको अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो । परम्परागत रूपमा सुत्केरी हुँदा आमा र शिशु दुवै जोखिममा पर्ने हुँदा सुरक्षित र भरपर्दो अवस्थामा सुत्केरी हुन स्वास्थ्य संस्थामै जानुपर्ने कार्यक्रम सञ्चालन गरेपछि सुत्केरी हुनका लागि महिला ‘बर्थिङ सेन्टर’मा पुग्ने गर्छन् । स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरलाई आधारभूत स्वास्थ्य पूर्वाधार र जनशक्ति व्यवस्थापनमा गाउँपालिकाले लगानी गरेको थियो ।

स्वास्थ्यकर्मी, जनप्रतिनिधि र महिला स्वयंसेविकाले अथक प्रयास गरेर गाउँपालिकालाई घरमा शून्य सुत्केरी पालिका बनाइएको अध्यक्ष शर्माले बताउनुभयो । घरमै सुत्केरी हुँदा हुने जोखिम र नवजात शिशुमा पर्ने असरबारे महिला जानकार बनेपछि स्वास्थ्यचौकीमा पुग्न थालेका छन् । सो क्षेत्रमा सबै महिलाले नियमित जाँच गर्ने र स्वास्थ्य संस्थामा गएर प्रसूति सेवा लिने गरेको उहाँले बताउनुभयो । जसबाट मातृशिशु मृत्युदर शून्यमा झरेको छ ।

गाउँपालिकाका गर्भवतीलाई स्वास्थ्यकर्मीले मासिक रुपमा घरमै पुगेर परीक्षण गर्ने र आफ्नै वडाका बर्थिङ सेन्टरमा सुत्केरी गराउने गरेका थिए । स्वास्थ्यचौकीमा सुत्केरी गराउन समस्या रहेकालाई अस्पतालमा पठाउने गरिएको थियो । चालु वर्षमा पालिकाका एक सय ३२ सुत्केरी भएका छन् । जसमध्ये ६९ जना बर्थिङ सेन्टरमा र ६३ जना अन्यत्र अस्पतालमा सुत्केरी भएका पालिकाका स्वास्थ्य शाखा प्रमुख पदमबहादुर पुनले राससलाई बताउनुभयो ।

गोरु पाल्ने किसानलाई नगद अनुदान

यसैबीच, जिल्लाको जैमिनी नगरपालिकाले चालु आर्थिक वर्षमा गोरु पाल्ने तीस जना किसानलाई प्रोत्साहनस्वरूप रु दश हजारका दरले अनुदान प्रदान गरेको छ । जैमिनी गाउँपालिकाको सिको गर्दै आगामी आवको नीति तथा कार्यक्रम र बजेटमा यहाँका तीन स्थानीय तहले गोरुका लागि बजेट छुट्याएका छन् । काठेखोला पालिकाले पनि गोरुका लागि बजेट विनियोजन गरेको छ । “गोरु पाल्न छोडेपछि घाँसको खपत घटेको छ, गोबर मलको अभाव हुन थालेको छ, त्यसैले हामीले गोरु पाल्नका लागि प्रोत्साहन गर्न थालेका हौँ ।” काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले भन्नुभयो । गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्दा परम्परागत बाली संरक्षणमा टेवा पुग्ने उहाँको तर्क छ ।