नागरिकप्रतिको उत्तरदायित्व महसुस गरेर सुधारमा केन्द्रित हुन शिक्षामन्त्री भट्टराईको निर्देशन


काठमाडौँ, १६ मङ्सिरः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नागरिकप्रतिको उत्तरदायित्व महसुस गरेर सुधारमा केन्द्रित हुन मन्त्रालय मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
आज मन्त्रालयअन्तर्गतको उच्च व्यवस्थापन समूहको बैठकमा उहाँले प्रधानमन्त्रीले खोज्नुभएको रूपान्तरणको योजनालाई ख्याल गर्दै नागरिकप्रतिको उत्तरदायित्व महसुस गरी सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री भट्टराईले कार्ययोजना कार्यान्वयन कार्यविधि र प्रारूप अनुसार काम गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलगायत मन्त्रालय मातहतका निकायसँग निरन्तर संवादसहित अन्तरनिकाय समन्वयमा काम गर्न आग्रह गर्नुभयो ।
उहाँले समन्वय र सहकार्यको अभावमा कार्यसम्पादन उत्कृष्ट र गुणस्तरीय नहुने हुँदा समन्वय, सहकार्य र सहअस्तित्वका भावनाअनुसार प्राथमिकताका साथ काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।