`

टोखाले मृतकका परिवारलाई किरिया खर्चबापत पाँच हजार उपलब्ध गराउने

काठमाडौँ, १३ असार: टोखा नगरपालिकाले नगरक्षेत्रमा स्थायी बसोबास भएका व्यक्तिको मृत्यु भएमा मृतकका परिवारलाई किरिया खर्चबापत रु पाँच हजार उपलब्ध गराउने भएको छ । यो सहायता रकम आगामी आर्थिक वर्षदेखि प्रदान गरिने छ ।

नगरपालिकाका उपप्रमुख मुरारी तामाङका अनुसार किरिया खर्च शीर्षकमा पालिकाले रु १० लाख विनियोजन गरेको छ । चाकुको लागि प्रख्यात टोखा बजारमा ‘चाकुस्तम्भ’ निर्माण गन रकम विनियोजन गरिएको छ । टोखाको चाकुलाई देश तथा विदेशमा प्रचार गर्न स्तम्भ सहयोगी हुने उहाँको विश्वास छ ।

  यसैगरी ‘मेयर उज्यालो’ कार्यक्रमलाई निरन्तरता दिँदै मठमन्दिर, विद्यालयलगायत सबै सार्वजनिकस्थलमा बत्ती जडान, टोखा सांस्कृतिक संरक्षित क्षेत्रभित्रका प्राचीन शैलीका घर संरक्षण, ‘मेयर दीर्घायु कार्यक्रम’को निरन्तरता तथा  उपप्रमुखसँग बालबालिका कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरिएको जानकारी उहाँले दिनुभयो । 

एसइईको नतिजा आज सार्वजनिक हुने

भक्तपुर-परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज सार्वजनिक हुने भएको छ।परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा एसइईको नतिजा सार्वजनिक गर्न बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज बिहीबार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो । परीक्षा नियन्त्रक पौडेलले भन्नुभयो, आज बिहान पुनः बैठक बसेर नतिजा सार्वजनिक हुने भएको छ। असार १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तालिका रहेको थियो ।

बोर्डले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रक पौडेलले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक बताउनुभयो । यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशतअर्थात् २६ दशमलव २५ अङ्क अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भएसरह मानिने गरी ‘एनजी’ उल्लेख गरिएको ग्रेड सिट आउने उहाँले जानकारी दिनुभयो । 

आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा ४० प्रतिशतअर्थात् १० अङ्क ल्याउनुपर्छ । ‘एनजी’ आउने परीक्षार्थीले ग्रेड वृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन् । विद्यार्थीले दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउने छन् । दुईभन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अङ्क नपाएका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि ३५ प्रतिशत अङ्क ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष ‘एनजी’ लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् ।गतचैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालित परीक्षामा नियमिततर्फ चार लाख ६७ हजार विद्यार्थीले परीक्षा दिएका छन् । ग्रेड वृद्धितर्फ २१ हजार विद्यार्थीले परीक्षा दिएका छन् ।

सुडानका युद्धरत पक्षहरू भोकमरीलाई हतियारका रूपमा प्रयोग गर्दैछन्– संयुक्त राष्ट्र विज्ञहरू

सुडानको क्रूर गृहयुद्धमा दुवै पक्षले भोकमरीलाई युद्धको हतियारका रूपमा प्रयोग गरिरहेका संयुक्त राष्ट्रसङ्घका विज्ञहरूले बुधबार बताएका छन् । उनीहरूले दुवै पक्षलाई सैन्य सहयोग प्रदान गर्ने विदेशी सरकारहरू युद्ध अपराधमा सहयोगी भएको आरोप लगाएका छन् ।

सेना प्रमुख अब्देल फताह अल–बुर्हानको नेतृत्वमा रहेको नियमित सेना (एसएएफ) र उहाँका पूर्वसहायक मोहम्मद हमदान डागलोको नेतृत्वमा अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच एक वर्षभन्दा बढी समयदेखि युद्ध चलेको छ ।

सन् २०२३ अप्रिलमा सुरु भएको द्वन्द्वले दशौँ हजारको मृत्यु भएको छ र यसले विश्वको सबैभन्दा खराब मानवीय सङ्कटलाई जन्म दिएको छ ।चार स्वतन्त्र संयुक्त राष्ट्र अधिकार विज्ञहरूले दुई करोड ५० लाखभन्दा बढी नागरिकहरू भोकाएका र तत्काल सहायताको आवश्यकता रहेको बताएका छन् । “एसएएफ र आरएसएफ दुवैले खानालाई हतियारका रूपमा प्रयोग गरिरहेका छन् र नागरिकहरूलाई भोकै मारिरहेका छन्”, खाद्य अधिकारसम्बन्धी विशेष प्रतिवेदनसहित विज्ञहरूले भन्नुभयो ।

उहाँहरूले आरएसएफ नियन्त्रण बाहिर डार्फरको अन्तिम शहर एल–फाशरको जारी घेराबन्दीमाथि प्रकाश पार्नुभएको छ । यसले लाखौँ नागरिक फँसेको थिए भने खाना र पानीको चरम अभावको बीचमा भोक र तिर्खाबाट पीडित भएका थिए ।विज्ञहरूले ‘द्वन्द्वमा दुवै पक्षलाई आर्थिक र सैन्य सहयोग प्रदान गर्ने विदेशी सरकारहरू भोकमरी, मानवता विरुद्धको अपराध र युद्ध अपराधमा संलग्न रहेको’ बताउनुभयो ।
उहाँहरूले अन्तर्राष्ट्रिय समुदायसँग ‘मानवीय कार्यलाई तीव्रता दिन’ पनि आग्रह गर्नुभयो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा प्रदेश प्रमुख खापुङसमक्ष प्रतिवेदन पेस

मोरङ- कोशी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले पाँचौँ वार्षिक प्रतिवेदन पेस गरेको छ ।आयोगका सदस्य विपिनराज निरौलाले आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख खापुङलाई बुझाउनुभएको होे । आयोगले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम कोशी प्रदेशको प्रतिवेदन बुझाइएको हो ।

प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख खापुङले प्राप्त प्रतिवेदनलाई विधि एवं प्रक्रियाअनुसार सम्बन्धित ठाउँमा पेस गर्ने बताउनुभयो । उहाँले आयोगले प्रदेशको वित्त, प्राकृतिक स्रोतको बाँडफाँटबाट प्राप्त रकमले यस क्षेत्रको समृद्धिमा ठूलो भूमिका खेलेको बताउनुभयो । प्रदेश प्रमुख खापुङले आगामी दिनमा आयोगले वित्त सम्बन्धमा व्यवस्थित गर्न दिएको सुझावलाई प्रदेश र स्थानीय सरकारले लागू गर्दै जानुपर्ने धारणा राख्नुभयो ।

आयोगका सदस्य निरौलाले वित्तीय सङ्घीयताअन्तर्गत राजश्व बाँडफाँट, वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, आन्तरिक ऋणको सीमा, खर्च जिम्मेवारी पूरा गर्ने र राजस्व असुलीमा सुधार गर्नुपर्ने उपायका सम्बन्धमा सङ्घ, प्रदेश र स्थानीय सरकारलाई सिफारिस गर्ने जिम्मेवारी आयोगले प्राप्त गरेको जानकारी दिनुभयो ।

दिक्तेल–साप्सुखोला सडकमा साकेला गाउँपालिकाका बासिन्दाले गरे श्रमदान

खोटाङ, १३ असार: दिक्तेल–साप्सुखोला सडकमा यातायातका साधन सञ्चालनमा समस्या भएपछि साकेला गाउँपालिकाका बासिन्दाले श्रमदान गरेका छन् ।साकेलाका स्थानीयले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ को लफ्याङ खण्डमा मर्मत गरेका हुन् ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट साप्सुखोला हुँदै साकेला गाउँपालिकाको मानेभञ्ज्याङ–पाँचधारे तथा दिप्रुङ चुइचुम्मा हुँदै तराईका जिल्ला जोड्ने सडकअन्तर्गत लफ्याङ क्षेत्रको केही भागमा वर्षायाममा समस्या भएपछि स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधि, राजनीतिक दलका स्थानीय प्रमुख तथा प्रतिनिधि, नेपाल प्रहरी, कर्मचारी, स्थानीय व्यवसायी र नागरिक समाजका एक सय ५ जनाभन्दा बढी सदस्यले श्रमदान गरेका हुन्

दिक्तेल–साप्सुखोला दश किलोमिटर सडकलाई असार अगावै मर्मत गरेर नियमित रूपमा यातायातका साधन सञ्चालन हुने वातावरण तयार गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले प्रतिबद्धता जनाउनुभएको छ ।

यसैबीच, दिक्तेलस्थित अस्पतालचोक–लफ्याङको दुबेचिवा (तीन किलोमिटर) र दुबेचिवा–साप्सुखोला (चार किलोमिटर)सडक स्तरोन्नतिको काम पूरा नहुँदै सडक विभागले योजना कटौती गरेको छ ।

मदन भण्डारी राजमार्ग: झापा–सुनसरी खण्डमा २२ पुल निर्माण

झापा, १३ असार: मदन भण्डारी राजमार्गअन्तर्गत झापा –सुनसरी खण्डमा निर्माणधीन पुलको वित्तीय प्रगति ८५ प्रतिशत र भौतिक प्रगति ९० प्रतिशत भएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालयका सूचना अधिकारी सुभाषकुमार दत्तका अनुसार निर्धाणधीन ३७ वटा पुलमध्ये २२ वटा पूरा भएका छन् । निर्माण सम्पन्न पुल ४० देखि चार सय मिटर लामा छन् । निर्माण पूरा हुन बाँकी १५ पुलमध्ये नौ वटाको ‘एप्रोच’ सडक मात्र बन्न बाँकी छ । उहाँले संरचना निर्माण हुने क्षेत्रमा बन परेको र कटानको अनुमति नपाएका कारण काम रोकिएको बताउनुभयो । छ वटा पुलको भने आधारभूत संरचना नै बन्न बाँकी रहेको उहाँले बताउनुभयो ।

मोरङ, सुनसरी, झापा र इलामका खोलामा पुल निर्माण भएका छन् । डाले, मुगु, खुदुम, मोरङे, नुसारी, सुखानी सहादत्तस्थल, बुद्धि सुखानी, सुखानी खोला, टाङटिङ, बयङ् तेली, बिजुवा, बुकुवा, रतुवा खोलामा पुल निर्माण सम्पन्न भएको छ ।

सूचना अधिकारी दत्तका अनुसार नौ वटा पुलको मूल संरचना सकिए पनि रूख कटान अनुमति लिने झन्झटिलो प्रक्रियाले एप्रोच सडक निर्माण गर्न समस्या भएको छ । सबै पुलको लागत रु. छ अर्ब १२ करोड ६२ लाख ५४ हजार छ ।

यसैगरी, सडकको भौतिक प्रगति भने न्यून रहेको छ । हालसम्म सडकतर्फको भौतिक प्रगति ४५ प्रतिशत मात्र भएको छ भने वित्तीय प्रगति ४५ दशमलव ८१ प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो । उहाँले रु. १० अर्ब १३ करोड लागतमा झापाको बाहुनडाँगीदेखि सुनसरीको चतरासम्म एक सय ३१ किलोमिटर सडक र ३७ पुलको ठेक्का लगाइएको बताउनुभयो । उहाँका अनुसार निर्माण व्यवसायीलाई काम सम्पन्न भएका अधिकांश आयोजनाको रु. २९ करोड भुक्तानी दिन बाँकी छ । पर्याप्त बजेट प्राप्त नहुँदा भुक्तानीमा विलम्ब भएको हो ।

कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौँ,- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भागमा आंशिक देखि साधारणतया बदली रहेको बताएको छ ।

साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरु साथै कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूका साथै मधेश र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भागमा आंशिकदेखि साधारणतया बदली रहने विभागको पूर्वानुमान छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरोबाट बच्न तथा त्यसबाट ती क्षेत्रको दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सचिवालय बैठक आज बस्ने भएको छ । आज दिउँसो केन्द्रीय कार्यालयमा बस्ने बैठकमा महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजको टुङ्गो लगाइने स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिनुभयो । बैठकले पार्टीको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनको तयारी, विभिन्न दस्तावेज अनुमोदन तथा प्रतिनिधिको नामवली स्वीकृत, मातहतका कमिटीको कार्य प्रगतिको समीक्षा गनेृ पनि उहाँले बताउनुभयो ।
यही असार १६ देखि २० गतेसम्म काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनले पार्टीको नीति तथा कार्यक्रमका आधारमा नयाँ नेतृत्व चयन गर्ने छ ।

यसैबीच एकीकृत समाजवादीले आसन्न राष्ट्रिय महाधिवेशनमा करिब दुईसय स्वयंसेवक परिचालन गनेृ भएको छ । पार्टी निकट राष्ट्रिय खेलकुद महासङ्घ, मजदुर सङ्गठन र भूतपूर्व सुरक्षाकर्मीलाई समावेश गरी स्वयंसेवक परिचालन कमिटी गठन गरिएको हो ।

महाधिवेशनस्थलको व्यवस्थापन, सबै प्रतिनिधि तथा विशिष्ट नेताको सुरक्षा, प्रतिनिधिलाई आवाससम्म लैजाने र ल्याउने, भीड व्यवस्थापन, शुभकामना दिन आउने विभिन्न पार्टीका नेतागण, पर्यवेक्षकलगायतको सुरक्षा व्यवस्थापनलगायत कामको जिम्मा दिइएको कमिटी संयोजक केशव विष्टले जानकारी दिनुभयो ।

पार्टी अध्यक्ष माधवकुमार नेपाल नेतृत्वमा गठित महाधिवेशन मूल व्यवस्थापन समितिले मातहतका अन्य १३ कमिटीले गरेका सम्पूर्ण कामहरू महाधिवेशन केन्द्रित गर्न भनिएको छ । उक्त समितिले महाधिवेशनका आवश्यक सबै काम अन्तिम चरणमा पुगेको जनाएको छ ।

पार्टी तथा जनसङ्गठनका सबै तहका कमिटीले सम्पूर्ण कामलाई महाधिवेशन केन्द्रित गर्ने र महाधिवेशन प्रभावित हुने गरी पार्टी सङ्गठनका कुनै गतिविधि नगर्न निर्देशन दिएको छ पार्टीले देशभरबाट एक हजार आठसय ४९ प्रतिनिधि छनोट गरेको छ । छनोट गरिएका प्रतिनिधिको कूल सङ्ख्याको पाँच प्रतिशतअर्थात् ९५ जना प्रतिनिधि मनोनयन गर्ने व्यवस्था छ । केही दिनमा ती प्रतिनिधि मनोनयन गरिने जनाइएको छ ।

लगानी सहजीकरण विधेयकमाथि कांग्रेसले समूहगतरुपमा संशोधन हाल्ने

काठमाडौँ-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगानी सहजीकरण विधेयकमाथि दलगतरुपमा समूहमा संशोधन हाल्ने निर्णय गरेको छ ।
कांग्रेस संसदीय दलले बुधबार सिंहदरबारमा आयोजना गरेको लगानी सहजीकरण विधेयकमाथि उद्योगी, व्यवसायी एवं लगानीकर्तासँगको छलफलपछि यस्तो निर्णय गरेको हो । प्रस्तावित विधेयक लगानीमैत्री नभएकाले संशोधनमा सुधार गर्न समूहगतरुपमा संशोधन हाल्ने निर्णय भएको छलफलमा सहभागी प्रतिनिधिसभा सदस्य नागिना यादवले जानकारी दिनुभयो । उहाँकाअनुसार विधेयकमाथि उद्योगी, व्यवसायी र लगानीकर्ताको सुझावका आधारमा सांसदहरुले व्यक्तिगतरुपमा नभई दलगतरुपमै संशोधन हाल्ने निर्णय भएको छ ।

सांसद यादवले वैदेशिक लगानी सहजीकरणका लागि बनेको विधेयकमाथि आठ बुँदामा संशोधन गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभयो । जग्गाको हदबन्दी, जग्गाप्राप्ति, वन, सार्वजनिक निजी साझेदारी लगानी, विशेष आर्थिक क्षेत्रलगायतका विषयमा संशोधनको प्रस्ताव गरिने भएको छ । कांग्रेस उदार लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले वैदेशिक लगानी आकर्षण गर्न कति लचकता अपनाउन सकिन्छ भन्ने विषयमा पनि विचार प्रस्तुत गरिएको सांसद यादवले बताउनुभयो ।

प्रस्तावित विधेयकमाथिको छलफलमा व्यावसायीले कतिपय विधेयकका सम्बन्धमा आफूहरुले दिएका सुझावलाई बेवास्ता गरिएको र केबल साक्षीका लागि मात्रै सुझाव लिने गरिएको भनी असन्तोष प्रकट गर्नुभएको थियो । उहाँहरुले प्रस्तावित विधेयकले राजनीतिक विचारधाराको आधारमा नभई कर्मचारीतन्त्रले आफू अनुकूल बनाउन खोजिएको र व्यायसायीले दिएका कुनै पनि सुझाव नसमेटिएको भनी आलोचना गरेका थिए । उद्योग सञ्चालनका लागि जग्गाप्राप्ति र बेचबिखनका सन्दर्भमा सीमा तोकिएकाले भविष्यमा बेचबिखनमा पर्नसक्ने अप्ठ्यारालाई सहज तुल्याउने प्रावधान विधेयकमा हुनुपर्ने सुझाव आएको सांसद यादवले जानकारी दिनुभयो।

सहमहामन्त्री जीवन परियारले संसदीय दलले विभिन्न विधेयकबारे नियमित छलफल गरिरहेको र आज लगानी विधेयकबारे विज्ञ सरोकारवालासँग छलफल गरेको बताउनुभयो । उहाँका अनुसार व्यवसायीले लगानी सहजीकरणसम्बन्धी विधेयकमा संशोधनको विषय प्राथमिकतामा राख्न पार्टीलाई सुझाएका छन् । छलफलमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, सचेतक सुशीला थिङलगायत सांसदहरु उपस्थित हुनुहुन्थ्यो । व्यवसायीका तर्फबाट उद्योगी व्यवसायीको छाता सङ्गठनका प्रमुख र प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

बाल मन्दिर जग्गा हिनामिना प्रकरणः पक्राउ पुर्जी जारी भएकामध्ये तीन जना पक्राउ

काठमाडौँ, १२ असार : नेपाल बाल सङ्गठनको नक्सालस्थित करिब २९ रोपनी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले हालसम्म तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । सङ्गठनका पूर्वपदाधिकारीदेखि सो जग्गामा व्यापारिक गतिविधि सञ्चालन गर्ने घरानाका सदस्यसमेतका नाममा जिल्ला अदालत काठमाडौँले गएको वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो ।

उक्त प्रकरणमा २० जनाका नाममा जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अदालतबाट २० जनाका नाममा पक्राउ पुर्जी जारी भएको थियो, अहिलेसम्म तीन जना पक्राउ परेका छन्, अनुसन्धान जारी छ ।” अदालतबाट पक्राउ पुर्जी जारी भएकामध्ये हालसम्म बाल सङ्गठनका तत्कालिन महासचिव गणेशभक्त श्रेष्ठ, तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ तथा सङ्गठनका तत्कालीन सदस्य एवं स्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णशङ्कर साह पक्राउ परेका छन् ।

चार वर्षका लागि भनेर दिइएको बृहस्पति विद्या सदनलाई लिज अवधि बढाउँदै लगेकोमा विसं २०५८ जेठ ८ मा थप पाँच रोपनी दुई आना जग्गा दिएको पाइएको छ । विसं २०५७ माघ ६ मा बाल सङ्गठनसँग बृहस्पतिले दुई रोपनी मात्रै जग्गा मागेको थियो । विसं २०५९ साउन २१ मा थप १३ रोपनी ३० वर्षका लागि लिजमा लिन बृहस्पतिले प्रस्ताव गरेको थियो । सोही वर्षको साउन ३० मा बसेको बाल सङ्गठनको बैठकले महासचिव रामकाजी कोनेमार्फत कित्ता नम्बर ७६० अन्तर्गतको थप १३ रोपनी १२ आना एक पैसा विसं २०८८ सम्मका लागि बृहस्पतिलाई भाडामा दिने गरी अख्तियारी प्रदान गरेको थियो । सोही वर्षको भदौ ११ मा सङ्गठन र बृहस्पतिबीच ३० वर्षका लागि सम्झौता भएको देखिएको छ ।

तीस वर्षे सम्झौता हुँदा प्रत्येक दुई वर्षमा पाँच प्रतिशतका दरले भाडा वृद्धि हुने तर सुरु र अन्तिम पाँच/पाँच वर्ष बढेको भाडा तिर्नु नपर्ने उल्लेख थियो । सम्झौताको म्याद विसं २०८८/२०८९ सम्म थियो । तर, म्याद सकिन १६ वर्षअगावै विसं २०७२ जेठ २१ मा सङ्गठनले प्रतिवर्ग फिट रु छ कायम गरी बाल मन्दिरको २९ रोपनी चार आना बृहस्पतिलाई भाडामा दिने सम्झौता ग-यो । बृहस्पतिलाई विसं २०८९ पछिको थप ४३ वर्ष (२१३१ सालसम्म) पनि बाल मन्दिरमै बस्न पाउने सम्झौता भएपछि अहिले उक्त विषय ठगीमा अनुसन्धान अघि बढेको हो ।

उक्त जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान जारी राखेको प्रवक्ता बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, “उक्त प्रकरणका मुख्य प्रतिवादी नियन्त्रणमा आएकाले अनुसन्धान भइरहेको छ, अनुसन्धानमा शङ्का गर्नुपर्ने कुनै ठाउँ छैन ।”

क्रिकेटका ऐरी र कबड्डीकी बडू सर्वोत्कृष्ट खेलाडी घोषित

कैलाली, १२ असार : ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड–२०८०’ मा नेपाल क्रिकेट टोलीका दिपेन्द्रसिंह ऐरी र कबड्डीकी जयन्ती बडू सर्वोकृष्ट खेलाडी घोषित भएका छन् । खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना, सुदूरपश्चिमाञ्चल एकेडेमीको प्रायोजन र सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को मुख्य प्रवर्द्धनमा भएको ‘एसपिए सुदूरपश्चिम स्पोर्टस् अवार्ड २०८०’ को वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटका ऐरी र कबड्डीकी बडू सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

क्रिकेटका ऐरीसँगै भलिबलका टेकराज अवस्थी र भारोत्तोलनका सागर भण्डारी वर्ष पुरुष खेलाडीको मनोनयनमा परेका हुन् । त्यस्तै कबड्डीकी बडूसँगै वर्ष खेलाडी महिलाको मनोनयनमा क्रिकेटकी कविता जोशी र भलिबलकी निरुता ठगुन्ना पनि परेका थिए । यो विधाका उत्कृष्ट खेलाडी पुरुष र महिलाले रु ३५÷३५ हजार प्राप्त गरेका छन् । 

कबड्डीका विष्णुदत्त भट्ट वर्ष प्रशिक्षक हुनुभएको छ । वर्ष प्रशिक्षक विधामा भारोत्तोलनका जीवन गौतम र एथलेटिक्सका रामचन्द्र जोशी मनोनयनमा परेका थिए । यो विधामा उत्कृष्ट भएका प्रशिक्षकले जनही रु ३० हजार प्राप्त गरेका छन् ।

वर्ष युवा खेलाडीमा भारोत्तोलनका हेमन्त पाल परेका छन् । यो विधामा फुटबलका कुशल देउवा र क्रिकेटका आकाश चन्द मनोनयनमा परेका थिए । विजेताले जनही रु २५ हजार प्राप्त गरेका छन् । 

सुदूरपश्चिम आइकन पुरुष विधामा क्रिकेटका नरेन भट्ट विजेता भएका छन्् । यो विधामा एथलेटिक्सका आशिष महर र शारीरिक सुगठनका रञ्जित लामा मनोनयनमा परेका थिए । सुदूरपश्चिम आइकन महिला विधामा एथलेटिक्सकी देवकी धामी विजेता भएकी छन् । उक्त विधामा क्रिकेटकी मनिषा बोहोरा र फुटबलकी विर्सना चौधरी मनोनयनमा परेकी थिइन् । सुदूरपश्चिम आइकन पुरुष र महिला विधाका विजेताले जनही रु २०÷२० हजार प्राप्त गरे ।  

यसैगरी ‘एसपिए सुदूरपश्चिम स्पोर्टस् अवार्ड २०८०’ को लाइफटाइम अचिभमेन्ट अवार्ड तेक्वान्दो प्रशिक्षक गोविन्द विष्टले प्राप्त गर्नुभएको छ । उहाँले नगद रु २५ हजार प्राप्त गर्नुभयो ।
स्पेशल अवार्ड पौडीका अथर्व सिंह र कराँतेका प्रदीप वैजाली मगरले संयुक्तरुपमा प्राप्त गरेका छन् । उहाँहरुले जनही १२ हजार पाँच सय प्राप्त गरेका छन् ।

आज यहाँ एक कार्यक्रमकाबीच विजयी खेलाडीलाई सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री ओमविक्रम भाट, विशिष्ठ अतिथिद्वय सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंह र सुदूरपश्चिमाञ्चल एकेडेमीका प्रबन्ध निर्देशक सुवास शाहीले विजेता र मनोनीत खेलाडीलाई पुरस्कार वितरण गर्नुभयो । 

पाँचौँ संस्करणको ‘एसपिए सुदूरपश्चिम स्पोर्टस् अवार्ड २०८०’ मार्फत वर्ष २०८० मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न आठ विधामा अवार्ड प्रदान गरिएको हो ।

अवार्डको मुख्य प्रायोजकमा धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी रहेको थियो । प्रायोजकमा नवजीवन कोपरेटिभ्स लिमिटेड, ठाकुर एग्रो इन्डष्ट्रिज, गरिमा पोलिक्लिनिक एण्ड गरिमा डेण्टल, न्युसिटी पोलिक्लिनिक र सिराज इन्टरनेशनल रहेका थिए । 

राशिद खान : शरणार्थीदेखि अफगानिस्तानको विश्वकप योद्धासम्म

राशिद खानलाई करोडपति क्रिकेट सुपरस्टार बनाउने यात्रा पाकिस्तानको पेशावर सहरमा बसोबास गर्ने शरणार्थीका रूपमा अत्यन्तै निराशाजनक परिस्थितिमा सुरु भयो ।यद्यपि आफ्ना लेग स्पिन चालहरूका साथ लोकप्रिय फ्रेन्चाइजी क्रिकेटरका रूपमा २५ वर्षीय यी खेलाडीले अहिले यति सम्पत्ति कमाउनुभएको छ कि जुन उहाँको परिवार अफगानिस्तानको युद्धबाट भागेको समय अकल्पनीय थियो ।

पैसा कमाउने इन्डियन प्रिमियम लिग (आइपिएल) मा भएको पछिल्लो सम्झौताले उहाँलाई अनुमानित १८ लाख डलर आम्दानी भएको छ । उहाँसँग दुबई र शारजहाँमा घर भएको दाबी गरिएको छ । अहिले अफगानिस्तानका कप्तान टि–२० विश्वकप उपाधिबाट मात्र दुई जित टाढा हुनुहुन्छ । पाकिस्तानमा प्रारम्भिक वर्षहरूमा उहाँलाई क्रिकेट सिकाउने प्रशिक्षकको महानता नै उहाँको भाग्यमा थियो ।

“राशिदसँग एउटा आशिर्वादको दाहिने हात छ, जसबाट उनी विश्वस्तरीय बलिङ गर्छन्”, राशिदका खेलकुद शिक्षक अली होटीले पेशावरबाट टेलिफोनमा भन्नुभयो, “उनको ध्यान, प्रतिबद्धता र प्रतिभा अनुकरणीय थियो र उनी अहिले पाकिस्तान र अफगानिस्तानका सीमामा रोल मोडेल छन् ।”   एघार छोराछोरीमध्येका एक राशिद र उहाँको परिवारले अफगानिस्तानको युद्धको उथलपुथलबाट छिमेकी पाकिस्तानको सापेक्षिक सुरक्षासम्म कठिन मार्ग अपनाएको थियो । उहाँका बुबाआमाको पूर्वी प्रान्त नान्गाहारमा टायर कम्पनी थियो । 

युवा राशिदको शिक्षा पनि उहाँलाई ग्रहण गरिएको घरमा भयो र उहाँले पेशावरको इस्लामिया कलेजमा कम्प्युटर साइन्स पढ्नुभयो ।    “क्रिकेट ट्रायलका क्रममा हामीले राशिदमा धेरै प्रतिभा देख्यौँ, त्यसैले हामीले उनलाई कम्प्युटर साइन्समा भर्ना गरायौँ, उनी राम्रो विद्यार्थी पनि थिए र सन् २०१३ मा उनको करियर सुरु भएको थियो”, ३९ वर्षीय होटीले भन्नुभयो ।

थोरै शब्द मात्र बोल्ने नम्र किशोर राशिदले शानदार प्रदर्शन गर्दै एक खेलमा शतक बनाउनुभयो र आफ्नो टिमलाई स्थानीय कलेजिएट फाइनलमा पुर्याउनुभयो ।    “राशिद बलरभन्दा राम्रो ब्याटर थिए तर पछि उनले लेग–ब्रेकको कौशल विकास गरे र आफ्नो ध्यानसँगै राम्रो सफलता हासिल गरे”, होटीले भन्नुभयो, “उनको सबैभन्दा राम्रो विशेषता खेलको अवस्था बुझ्नु थियो ।”

पाकिस्तानका पूर्वकप्तान राशिद लतिफ, इन्जमाम–उल–हक र तीव्र बलर कबिर खानले टिमको सुरुआती वर्षहरूमा अफगानिस्तानलाई प्रशिक्षण दिएपछि राशिदलाई ठूलो अन्तर्राष्ट्रिय ब्रेक प्राप्त भयो । होटीले भन्नुभयो, “अफगानिस्तानको टोली सन् २०१४ मा पेशावर आयो र केही खेल खेल्यो, ती खेलमा राशिदको खेलले सबैको ध्यान आकर्षित गर्यो र बाँकी इतिहास हो ।”

सन् २०१५ मा पदार्पण गरेपछि राशिदले करिब दुई सय एक दिवसीय अन्तर्राष्ट्रिय र टि–२० खेल्नुभएको छ । 

उहाँले अफगानिस्तानका पाँच टेस्ट म्याचमा भाग लिनुभयो । सन् २०१८ को उहाँको डेब्यु बिर्सनलायक थियो किनकि भारतले पराजित गरेको एक पारीमा उहाँलाई एक सय ५४ रनमा दुई विकेट हात लागेको थियो । 

तथापि उहाँलाई मात्र २० वर्षको उमेरमा सबैभन्दा कम उमेरको टेस्ट कप्तान बन्न रोकेन र उहाँको अन्तर्राष्ट्रिय करियरले अहिलेसम्म कूल तीन सय ६९ विकेट लिएको छ । 

टि–२० फ्रेन्चाइजी क्रिकेटरका रूपमा उहाँले गुजरात टाइटन्सलाई सन् २०२३ मा आइपिएल उपाधि दिलाउन सहयोग गर्नुभयो भने लाहोर कलन्दर्सलाई सन् २०२२ र सन् २०२३ मा पाकिस्तान सुपर लिगमा लगातार उपाधि दिलाउन मार्गदर्शन गर्नुभयो । 

कलन्दर्सका प्रमुख अपरेटिङ अफिसर समिन राणाले राशिदलाई ‘टिम म्यान’ का रूपमा प्रशंसा गर्नुभयो । “मेरा लागि राशिद विनम्र मात्र नभएर सबैभन्दा निस्वार्थ व्यक्ति पनि हुन् र उनको कामको नैतिकता अर्को स्तरको हो किनकि उनी टिमका लागि अतिरिक्त यार्ड राख्न कहिल्यै पछि हट्तैनन्, उनका लागि टिम पहिला आउँछ”, उहाँले भन्नुभयो ।

जारी टि–२० विश्वकपमा अफगानिस्तानले पहिलो चरणमा न्युजिल्यान्डलाई हराएर सुपर आठमा स्थान बनाउन सहयोग गर्नुअघि पूर्व च्याम्पियन अस्ट्रेलियामाथि शानदार जित हासिल गरेको थियो ।

राशिदले अफगानिस्तानको नेतृत्व गर्दै न्युजिल्यान्डविरुद्ध ४–१७ र अस्ट्रेलियाविरुद्ध १–२३ विकेट लिनुभयो । यद्यपि उहाँको सर्वश्रेष्ठ ४–२३ र मात्र १० बलमा अविजित १९ रनको स्कोरले बङ्गलादेशविरुद्धको खेलमा अफगानिस्तानलाई पहिलोपटक विश्वकपमा सेमिफाइनलमा पुर्यायो ।  

उहाँको आक्रामक कप्तानीले आफ्नै खेलाडीलाई पनि जोगाउन सकेन । सोमबार बङ्गलादेशसँगको रोमाञ्चक जितमा उहाँले आफ्नो ब्याट करिम जनततर्फ फ्याँक्नुभएको थियो । जनतले दोस्रो रन लिन अस्वीकार गर्दा राशिदले स्ट्राइक पाउनुभएको थिएन । 

आफू सुरक्षित भई विपद् व्यवस्थापनमा परिचालन हुन प्रहरीलाई निर्देशन

काठमाडौँ, १२ असार : निमित्त प्रहरी महानिरीक्षक दीपक थापाले प्राकृतिक प्रकोपबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि उच्च सतर्कताका साथ परिचालन हुन निर्देशन दिनुभएको छ । विपद्को समयमा पहिलो घेरामा रही काम गर्नुपर्ने प्रहरीले उपलब्ध स्रोत साधनको भरपुर प्रयोग गरी आफू सुरक्षित भई उद्धारमा खटिन उहाँले निर्देशन दिनुभएको हो ।

प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा आज समसामयिक विषयमा प्रहरी कर्मचारीलाई निर्देशन दिँदै निमित्त प्रहरी महानिरीक्षक थापाले राजस्व चुहावट रोक्न, तस्करी नियन्त्रण गर्न र राजस्व सङ्कलन वृद्धिका लागि परिणाममुखी काम गर्न आग्रह गर्नुभयो । उहाँले लागुऔषधको बढ्दो ओसारपसार र प्रयोगलाई नियन्त्रण गर्न प्रहरी कटिबद्ध भई लाग्नुपर्नेमा जोड दिँदै कारोबारमा सम्बद्ध जो कोहीलाई कानुनको दायरामा ल्याउन तथा सीमानाकामा कडाइका साथ निगरानी गर्न निर्देशन दिनुभएको छ ।

प्रहरी प्रधान कार्यालयबाट भएका नीति निर्देशनहरू कार्यान्वयन गर्नुपर्ने र प्रहरी सङ्गठनको कार्यसम्पादनस्तर बढाउन प्रहरीको आचरण व्यवहार परिवर्तन हुनुपर्नेमा उहाँले जोड दिनुभयो । अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउनुपर्ने तथा प्रहरीको आन्तरिक शुद्धीकरण, स्थायित्व र सुशासनका सन्दर्भमा सकारात्मक ऊर्जाका साथ लाग्न उहाँले सुझाव दिनुभयो ।

वीरगञ्जमा भेटिए कालाजार र डेङ्गीका बिरामी

वीरगञ्ज (पर्सा), १२ असार : वीरगञ्ज महानगर क्षेत्रमा एकजना कालाजार र सातजना डेङ्गीका बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा मुक्तिनारायण साहले वीरगञ्ज महानगर–९ रानीघाटमा बसोबास गर्दै आउनुभएकी एकजना महिलामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौँमा परीक्षणका क्रममा कालाजारको लक्षण देखिएको बताउनुभयो ।

“कालाजार देखिएको बिरामीको टेकुमा उपचार भइसकेको छ”, उहाँले भन्नुभयो, “कालागारको लक्षण देखिएको महिला वीरगञ्जमा बसोबास गरेकाले पनि सो क्षेत्रमा कालाजारको बिरामी हुनसक्ने भन्दै स्वास्थ्य स्वयंसेविकालाई सचेत गराउन अनुरोध गरेका छौँ ।” उहाँले लामो समयसम्म ज्वरो आइरहेका शङ्कास्पद बिरामीलाई परीक्षणका लागि अनुरोधसमेत गर्नुभयो ।

यसैगरी पर्सामा पछिल्लो तीन महिनामा यहाँका नौजनामा डेङ्गी भेटिएको बताउनुभयो । पछिल्लो तीन महिनामा सात जना डेङ्गीका बिरामी महानगरभित्रै र अन्य दुई बिरामी ठोरी गाउँपालिका र विन्ध्वासिनी गाउँपालिकामा भेटिएका हुन् ।

डेङ्गी ज्वरो लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो । डेङ्गीको विषाणुद्वारा सङ्क्रमित भएको पोथी लामखुट्टेले यो रोग सार्दछ । रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमाभन्दा सहरी क्षेत्रमा बढी पाइने गरेको साहले बताउनुभयो। कालाजार भुसुनाको टोकाइबाट सर्ने सरुवा रोग हो । भुसुनाले रोगी मानिसलाई टोकेर स्वास्थ्य मानिसलाई टोक्दा यो रोग सर्छ । यो रोग झापादेखि बारासम्म १२ जिल्लामा पाइए पनि अन्य तराईका जिल्लामा फाट्टफुट्टरुपमा देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ ।

सिरहाको चोहर्वामा वनक्षेत्र अतिक्रमण गरी बनाइएको भवनमा डोजर चल्यो

सिरहा, १२ असार : सिरहाको गोलबजार नगरपालिका–९ स्थित चोहर्वामा वन क्षेत्र अतिक्रमण गरी बनाइएको चारकोठे पक्की भवन डिभिजन वन कर्यालय लहान, सिरहाले भत्काएको छ ।पूर्वपश्चिम महेन्द्र राजमार्गको दक्षिणतर्फ स्थानीय सत्यदेव यादवले सरकारी नाप, नक्सा तथा दर्ता भएको वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएको भवन मङ्गलबार भत्काइए डिभिजन वन कार्यालय लहानका प्रमुख सुजीतकुमार झाले जानकारी दिनुभयो । निर्माणाधीन अवस्थामै वन कार्यालयले काम रोक्न मौखिक तथा लिखितरुपमा गरेको अनुरोधलाई बेवास्ता गरेपछि घर भत्काउन बाध्य भइएको उहाँले बताउनुभयो ।

विसं २०७९ को आमनिर्वाचनको समय पारेर उक्त भवन निर्माण गरिएको उहाँले बताउनुभयो । “हामीले निर्माणकै क्रममा पटकपटक मौखिक तथा लिखित सूचना गरेका थियौँ । उहाँले मतदानको दिन पारी कर्मचारी निर्वाचनमा खटिएको मौका छोपेर छत ढलान गर्नुभयो”, प्रमुख झाले भन्नुभयो, “हामीले सबै प्रक्रिया पूरा गरेर घर भत्काएका हौँ ।” सबडिभिजन कार्यालय गोलबजारबाट १५ दिने सूचना दिएर नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा भवन तथा जग्गा खाली गराइएको प्रमुख झाले जानकारी दिनुभयो । मधेस प्रदेश सरकारको चालू आव २०८०÷८१ को कार्यक्रमअनुसार अब वन क्षेत्रको अतिक्रमण हटाइ तारबारसहितको वृक्षरोपण गर्ने योजना रहेको उहाँले बताउनुभयो । वडाध्यक्ष सुरेन्द्रकुमार सिंहले जानाजानी वनक्षेत्रको जग्गामा पक्की घर बनाउन नमिल्ने भन्दै सुरुमै काम रोक्न अनुरोध गरे पनि नमानेकाले डोजर चलाउनु परेको बताउनुभयो ।

जुडो खेलाडी मनीताले पेरिस ओलम्पिक खेल्ने

काठमाडौँ, १२ असार : जुडो खेलाडी मनीता श्रेष्ठ प्रधानले पेरिस ओलम्पिक–२०२४ खेल्ने भएकी छन् । आगामी साउन ११ देखि २७ गतेसम्म हुने पेरिस ओलम्पिकमा सहभागी हुन मनीताले वाइल्ड कार्ड प्राप्त गरेको नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठले जानकारी दिनुभयो । मनीताले महिला ५७ केलिग्राममुनि तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छिन् ।

दक्षिण एसियाली खेलकुद (साग) को १२ औँ र १३ औँ संस्करणकी रजत विजेता २५ वर्षीया मनीताले ९ वर्षको उमेरदेखि जुडो खेल्न थालेकी थिइन् । उनको पहिलो प्रतियोगिता सन् २०११ मा काठमाडौँको धापासीमा भएको त्रियोग जुडो च्याम्पियनसिप हो । त्यसमा मनीताले स्वर्ण जितेकी थिइन् । मनीता ओलम्पिक छात्रवृत्ति प्राप्त खेलाडी हुन् ।

मनीताले किर्गिस्तानमा भएको जुनियर एसियाली जुडोमा काँस्य, थाइल्यान्ड विश्वविद्यालय जुडोमा स्वर्ण, दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा रजतलगायत अन्तर्राष्ट्रिय पदक जितेकी छन् । मनीतासँग एसियाली खेलकुदको १८ औँ १९ औँ संस्करण खेलेको अनुभव छ ।

 पेरिस ओलम्पिककै लागि मनीताले जापान, चाइनिज ताइपेइ, हङकङ र किर्गिस्तानमा छनोट प्रतियोगिता खेलेकी थिइन् । उनी राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरिरहेको मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारी विशेष प्रशिक्षणमा रहेकी छन् ।

काठमाडौँको एकलटारस्थित रानीवनमा रहेको बन्दी सहायता नियोग (पाम) बाट जुडो खेल्न सुरु गरेकी मनीता विगत पाँच वर्षदेखि नेपाल प्रहरीमा आबद्ध छिन् ।

उनका सुरुआती गुरु टोकियो ओलम्पिक–२०२० मा प्रशिक्षकको भूमिका निर्वाह गरेका सूर्यनारायण श्रेष्ठ हुनुहुन्छ । पाममा हाल २८ जना आश्रित छन् र सबै जुडो खेल्छन् ।

ओलम्पिकमा सहभागी हुने मनीता छैटौँ नेपाली जुडो खेलाडी हुन् । यसअघि १९८८ को सिओल ओलम्पिकमा गङ्गाबहादुर डङ्गोल र ऋषिराम प्रधान, २००८ को बेइजिङ ओलम्पिकमा देबु थापा, २०१६ को रियो ओलम्पिकमा फुपु ल्हामु खत्री, २०२० को टोकियो ओलम्पिकमा सोनिया भट्टले नेपालको प्रतिनिधित्व गरेका थिए ।

मनीताले छनोट भएकामा आश्चर्य र खुसी लागेको प्रतिक्रिया दिँदै पेरिस ओलम्पिकमा अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गर्ने बताइन् । “सुरुमा मलाई ओलम्पिक कमिटीबाट पेरिस ओलम्पिकका लागि छनोट भएको खबर आएको थियो, पत्याउनै गाह्रो भयो । त्यसपछि सूर्य गुरुको फोन आयो, अनि मात्र विश्वस्त भए । ओलम्पिकजस्तो ठूलो खेलकुदमा छनोट भएकोमा आश्चर्य र खुसी लागेको छ”, मनीताले भनिन् ,“पेरिस ओलम्पिकमा अहिलेसम्मकै उत्कृष्ट दिने प्रयास गर्ने छु ।” पेरिस ओलम्पिकमा हालसम्म नेपालबाट सहभागी हुने खेलाडीको सङ्ख्या सात पुगेको छ ।

भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान

ढोरपाटन (बागलुङ), १२ असार : जेठ पहिलो सातासम्म पश्चिम बागलुङको तल्लो क्षेत्रका बारी, खर्क र भिराला जमिन भेडाका बथानले ढाकिएका थिए । जेठ दोस्रो सातादेखि किसानले पशुचौपाया बुकी उकाल्न थालेपछि अहिले तल्लो क्षेत्र सुनसान बनेका छन् ।

यतिबेला सोडेडाँडा, ढोरपाटन देउराली, पातीहाल्नेलगायत ठाउँमा गाईभैँसी, भेडाबाख्रा, भोटे कुकुरसँगै गोठाला किलादाम्ला र खर्चबर्च बोकी बुकी उक्लिरहेका भेटिन्छ । हरेक वर्ष बर्खाको समय बुकी (लेक) र हिउँदको समय बेंसी (औल)मा बस्ने पश्चिम बागलुङका गोठालाको परम्परा नै हो । एकै परिवारले सयौँको सङ्ख्यामा पशुचौपाया पाल्ने हुँदा बाह्रै महिना एकै ठाउँमा बसेर घाँस र दाना पु¥याउन नसकिने हुँदा यहाँका स्थानीय हरेक वर्ष यस्तै गर्छन् ।

हिउँदमा बेंसी क्षेत्र रमाइलो हुने गरेकामा बर्खा लाग्न थालेपछि बुकीमा पशुचौपाया र गोठालाको चहलपहल बढेको छ । अबको एक सातामा बुकी भेडाका बथानले भरिन्छन् भने बेंसी क्षेत्र रित्तो हुन्छन् । अघिल्लो वर्ष असोज र कात्तिकमा बेंसी झरेका गोठाला सात महिनापछि लेक उक्लिन थालेका हुन् भने अबको करिब पाँच महिना उनीहरुले लेकमै बस्ने छन् । यतिबेला बेंसीमा घाँस सकिएकोे र लेकमा प्रशस्त पाइने भएकाले गोठाला दुई हजार दुई सय मिटरदेखि चार हजार पाँच सय मिटरको उचाइसम्म पुग्ने गर्छन् ।

बर्खाभरी बुकीमा पालेका भेडाबाख्रा दसैँताका सहर बजारसम्म लगेर बिक्री गर्ने यहाँका गोठालाले त्यसबाट राम्रो आम्दानी गर्ने गरेका छन् । निसीखोलाको रिग, खानीखोला, तमानखोलाको सोलेडाँडा, ढोरपाटनको माथिल्लो बुकी, जलजला लगायतका क्षेत्र गोठालाहरुको मुख्य बासस्थान हो । रिग र खानीखोलामा रोल्पा र रुकुमका गोठाला पनि आउने गर्छन् । हिउँदको समय बुकीमा हिउँ पर्ने र जाडो हुनेहुँदा बेँसी ओर्लनु यहाँको चलनै हो ।

 अहिले लेक चढ्ने भेडीगोठाला साउन भदौतिर एक÷दुई पटक खर्च लिन गाउँ झर्ने गरे पनि बाँकी समय बुकीमै बिताउने गरेका निसीखोला गाउँपालिका–६ का गोरखबहादुर घर्तीमगरले बताउनुभयो । बुकीमा भएका बेला बिरामी परे मात्रै बेंसी झर्ने गरेको उहाँको भनाइ छ । “आठ÷नौ सय भेडाबाख्रा छन्, चार दिन अगाडि जेठानले बुकी लगेर जानुभयो, मलाई अलि सञ्चो थिएन र अहिले बल्ल ठीक भएर खर्च लगेर जाँदैछु, अब असोजमा आउने हो । अब खर्च सिकियो वा  दुःख बिमार लाग्यो बने मात्रै बेंसी झर्ने हो”, घर्तीमगरले भन्नुभयो । 

यहाँका किसान लेकबेंसी गरेर हजारौँको सङ्ख्यामा पशुपालन गर्छन् । उनीहरुले आफ्नै बलबुतामा परम्परागत पशुपालन पेसा अँगाल्दै आएका छन् । पछिल्लो समय सडक बनेपछि केही सहज भएको छ तर राज्यले आफूहरुलाई कुनै सहुलियत नदिएको धेरैको गुनासो छ ।

पूर्वी रुकुमको भूमे गाउँपालिका–१ का हर्कबहादुर बुढामगरले आफ्नै बलबुतामा सयौँ पशुबस्तु पाले पनि सरकारबाट कुनै सहुलियत नपाएको बताउनुहुन्छ । “पहिले त निकै कष्ट हुन्थ्यो, अहिले सडक बनेपछि केही राहत भएको छ । त्योभन्दा बाहेक सरकारबाट केही पाएका छैनौँ । मध्यपहाडी लोकमार्ग भेडीगोठ नजिकै पर्ने हुँदा यात्रा गर्ने यात्रुले बथानमा आएर भेडा किनेर लैजान्छन्, बाँकी दसँैतिहारमा सहरबजार लिएर आम्दानी गरिरहेका छौँ । यही हाम्रो आम्दानीको स्रोत हो”, उहाँले भन्नुभयो ।

असार लागेपछि बुकी बीसौँ हजार भेडाबाख्राले भरिएको बुढामगरले बताउनुभयो । गाउँबाट बुकी पुग्न करिब चार दिन लाग्ने गरेको उहाँले सुनाउनुभयो । “यो भेडाबाख्राले बुकी ढाकिने सिजन हो, कति छन् गन्नै सकिँदैन । गोठाला पनि धेरै हुन्छन्, कसको बथानमा कति भेडा छन्, त्यो स्वयं गोठालालाई मात्रै थाहा हुन्छ”, बुढामगरले भन्नुभयो, “पोहोरसाल जेठमै बुकी गएको थिएँ, यस वर्ष अलि ढिला पानी परेकाले असार लागेपछि मात्रै माथि उक्लिन थालेका छौँ, अब असोजमा भेडा बेच्न बजार झर्ने हो ।”

चितवन राष्ट्रिय निकुञ्जमा असार १६ गतेदेखि सफारी बन्द हुने

चितवन, १२ असार : वर्षा लागेसँगै चितवन राष्ट्रिय निकुञ्जमा असार १६ गतेदेखि सफारी बन्द हुने भएको छ ।निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची वनपथ बिग्रँने, जङ्गलमा भएका ससाना खोला खोल्सामा बाढी आउने तथा रूख लडेर बाटो अवरुद्ध हुनसक्ने भएकाले गतिविधिमा रोक लगाउन लागिएको बताउनुभयो ।

निकुञ्जले हरेक वर्ष वर्षात्को समयमा यस्ता गतिविधि बन्द गर्ने गर्दछ । गत वर्ष असार १ गतेदेखि नै बन्द गरिएकामा यस वर्ष अर्को सूचना जारी नभएसम्मका लागि पर्यटकीय गतिविधि बन्द गर्न लागिएको पुर्जा पुनले जानकारी दिनुभयो ।
निकुञ्जभित्रका गतिविधि बन्द भए पनि यहाँ आउने पर्यटकले मध्यवर्ती सामुदायिक वनमा हात्ती, जिप, पैदल सफारी गर्नेसक्ने छन् ।

सरकारसँग सहमतिपछि घर फर्कियो रुवी खान नेतृत्वको टोली

काठमाडौँ, १२ असार : अधिकारकर्मी रुवी खान नेतृत्वको अनसनरत टोली सरकारसँग सहमतिपछि घर फर्किएको छ । बाँकेमा भएको निर्मला कुर्मी र सुमदरानी थारु मृत्यु घटनाका सम्बन्धमा विभिन्न माग राखी उहाँसहित १६ जना माइतीघरमण्डलामा अनशन बसिरहेका थिए । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा असोज १० गते अनसनरत टोलीसँग वार्तापछि सरकारसँग पाँचबुँदे सहमति भएको थियो । सहमतिपछि खानको टोली आज गृह जिल्ला बाँके फर्किएको छ ।

टोलीले निर्मला कुर्मीको अपहरण, शरीर बन्धक, कर्तव्य ज्यानसम्बन्धी जाहेरीमा प्राथमिकताका साथ अनुसन्धान पार्नुपर्ने, यसअघि गठित विभिन्न छानबिन समितिका प्रतिवेदनका सिफारिस यथाशीघ्र निरुपण गर्नुपर्ने, नेपाल प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय, बाँकेलाई लिखित निर्देशनपत्र पठाउनुपनलगायत माग राखेर आन्दोलन गरिरहेको छ ।

“सरकारसँग विभिन्न मागसहित चौथो पटक वार्ता र सहमति भयो तर तेस्रो पटकको सहमति पूर्णरुपमा कार्यान्वयन भएको छैन”, महिला अधिकारमञ्चकी अध्यक्षसमेत रहेकी खानले भन्नुभयो, “अबको सहमतिपछि सरकारले न्याय दिन्छ भन्ने पूर्ण विश्वासका साथ घर फर्किएका छौँ, अब फेरि आन्दोलन गर्नुपर्दैन होला भन्ने हाम्रो विश्वास छ ।”

डाक्टर कृष्णहरी बरालका शब्दमा यसरी बगे गायक भीम लिम्बु

काठमाडौँ । गायक भीम लिम्बु सेन्हांगको स्वरमा खुल्यो है खुल्यो बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको शब्द डाक्टर कृष्णहरी बरालका रहेका छन् भने संगीत तारा प्रकाश लिम्बुको रहेको छ ।

गीतको भिडियोमा माया प्रेम बैंश र जीबनको अर्थलाई कलात्मक तरिकाले देखाइएको छ । भिडियोमा कृष्ण सेन्हांग, बिशाल सेन्हांग,मिसेक सेन्हांग, जेनिफर लिम्बु र रेश्मा साम्पागं राइको अभिनयलाई देखाइएको छ ।भिडियोको निर्देशन युगल पोमो लिम्बुले गरेका छन् । राजन इशानले एरेन्ज गरेको भिडियोका मिक्सििगं तथा मासटरिगं किशोरथापाले गरेका हुन् । भिडियोको सम्पादन अनिल कुमार मानन्धरले गरेका हुन् । हेर्नुहोस् भिडियो

चीनद्वारा सार्वजनिक तौल व्यवस्थापनमा तीन वर्षे अभियान सुरु

राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) र शिक्षा तथा नागरिक मामिला मन्त्रालयलगायत चिनियाँ अधिकारीहरूले जनताको तौल व्यवस्थापन वृद्धि गर्ने तीन वर्षे अभियान सुरु गर्ने दस्तावेज जारी गरेका छन् । बुधबार एनएचसीको वेबसाइटमा प्रकाशित १६ चिनियाँ विभाग र सङ्गठनहरूद्वारा संयुक्तरूपमा जारी गरिएको दस्तावेजअनुसार यस वर्षदेखि चीनमा वजन व्यवस्थापनका लागि सहयोगी वातावरण बनाउन विभिन्न उपाय लिइनेछ । तौल व्यवस्थापनमा जनताको चेतना र प्रविधिमा उल्लेख्य सुधार भएको छ र आगामी तीन वर्षमा स्वस्थ जीवनशैलीलाई अझ व्यापकरूपमा अपनाइनेछ ।

   यस अवधिमा केही समूहका मानिसको असामान्य तौलको अवस्थामा सुधार गर्न आवश्यक रहेको पनि दस्तावेजमा उल्लेख छ ।     दस्तावेजले रोजगारदाताहरूलाई आफ्ना कर्मचारीहरूको शारीरिक तन्दुरुस्तीका लागि पूर्वाधार र अन्य सुविधा प्रदान गर्न प्रोत्साहित गर्न प्रयास गर्न आग्रह गरेको छ ।

   क्याम्पसमा बढी नुन, चिनी र बोसोयुक्त खानेकुराको बिक्री नगरी स्वस्थ क्यान्टिन र रेष्टुरेन्टको निर्माणलाई प्रवर्द्धन गर्नुपर्ने तथा विद्यार्थीको शारीरिक तन्दुरुस्ती सुधार गर्ने कार्ययोजना लगायतका उपायहरु ल्याइने दस्तावेजमा उल्लेख छ ।

   दस्तावेजले अभियानमा परम्परागत चिनियाँ औषधिको प्रयोगमा पनि जोड दिएको छ ।   प्रशोधित खाद्य पदार्थहरूमा तेल, नुन र चिनीको मात्रालाई उचित रूपमा घटाएर पोषण तत्वमा बढी ध्यान केन्द्रित गर्न खाद्य प्रशोधन प्रविधिहरू परिवर्तन गर्न द्रुत प्रयाससहित स्वस्थ उपभोगको नयाँ अवधारणाको वकालत गर्नुपर्नेमा दस्तावेजले जोड दिएको छ । 

   यसका लागि जनता, विशेषगरी गर्भवती, शिशु, बालबालिका र युवा विद्यार्थी, वृद्धवृद्धा र निश्चित पेशामा काम गर्ने व्यक्ति जस्ता समूहहरूमा तौल व्यवस्थापनमा बढी परिशुद्धता चाहिन्छ ।

   तौलको स्तर मानिसहरूको स्वास्थ्यसँग नजिक रहेको मानिने र असामान्य तौल, विशेषगरी अधिक तौल र मोटोपना, हृदयरोग, मधुमेह र केही प्रकारको क्यान्सर जस्ता दीर्घकालीन रोगहरूको लागि एक प्रमुख जोखिम कारक हो ।

   “तौल व्यवस्थापनको एउटा प्रमुख उद्देश्य स्रोतमा यी रोगहरूलाई रोक्नु र नियन्त्रण गर्नु हो र रोगहरूको उपचार गर्नुको सट्टा मानिसहरूको स्वास्थ्य कायम राख्नमा बढी ध्यान केन्द्रित गर्नु हो”, एनएचसीको विज्ञप्तिमा भनिएको छ ।     यद्यपि दस्तावेजले कम तौल भएका र कुपोषण भएका व्यक्तिहरूलाई पनि तौल व्यवस्थापन प्रयासमा समावेश गरिनुपर्ने कुरा उल्लेख गरेको छ ।

केन्याको घातक विरोध प्रदर्शनपछि के हुन्छ ?

अराजकता र घातक हिंसाको अभूतपूर्व दिनपछि केन्या बुधबार अनिश्चिततामा डुबेको छ । सांसदहरूले अत्यधिक अलोकप्रिय कर वृद्धि विधेयक पारित गरेपछि प्रदर्शनकारीहरूले संसद्मा तोडफोड गरेका छन् । पूर्वी अफ्रिकाको आर्थिक महाशक्ति केन्या कसरी यो विन्दुमा पुग्यो र अब के हुन्छ ?

के भयो ?-कर वृद्धिविरुद्ध मङ्गलबार शान्तिपूर्ण तरिकाले राष्ट्रिय हडताल सुरु भयो । यसमा अधिकांश युवा प्रदर्शनकारीहरूले गत साताजस्तै मुलुकभर मार्च गरे । तर पछि संसद्तर्फ अगाडि बढिरहेको मार्चको भीडमा अधिकारीहरूले गोली चलाएपछि राजधानी नैरोबीमा तनाव बढ्यो । संसद्मा सांसदहरू कर प्रस्तावसहितको वित्त विधेयकमाथि बहस गरिरहेका थिए । त्यसपछि प्रदर्शनकारीहरूले प्रहरी ब्यारिकेड तोड्दै संसदीय परिसरमा घुसेर तोडफोड गरे । केन्या राष्ट्रिय मानवाधिकार आयोगले २२ जनाको मृत्यु भएको रेकर्ड गरेको छ र अनुसन्धान गर्ने वाचा गरेको छ ।

नैरोबीको केन्याटा नेसनल अस्पतालका एक अधिकारीले बुधबार भने, “अस्पतालमा एक सय ६० जनाको उपचार भइरहेको छ, तीमध्ये केहीलाई सामान्य चोट लागेको छ भने केहीलाई गोली लागेको छ ।” नैरोबी र अन्य काउन्टीमा पनि लुटपाट भएको छ भने राष्ट्रपति विलियम रुटोको गढ एल्डोरेटको रिफ्ट भ्याली सहरका भवनहरूमा आगजनी गरिएको छ ।

घटना कसरी बढ्यो ?

जीवनको लागतको सङ्कटसँग सङ्घर्ष गरिरहेका धेरै केन्याली सरकारसँग अत्यन्त निराश छन् । प्रदर्शनकारीहरूले कर वृद्धिले सङ्कटलाई अझ बढाउने बताएका छन् ।
रोटी खरिद र कार स्वामित्वमा कर लगाउने सरकारको प्रारम्भिक प्रस्तावले युवा, जेन–जेड (सन् १९९७ देखि सन् २०१२ सम्ममा जन्मेका) केन्यालीबीच आक्रोश उत्पन्न गर्यो । उनीहरूले गत साता ‘संसद् कब्जा गरौँ’ नामक आन्दोलन सुरु गरेका थिए ।

टिकटक, एक्स र इन्स्टाग्राममा सङ्गठित र लाइभस्ट्रिम गरिएको उनीहरूको विरोध प्रदर्शन धेरै हदसम्म शान्तिपूर्ण रह्यो । उनीहरूले वृद्ध केन्यालीसहित धेरैभन्दा धेरै मानिसलाई आकर्षित गरेका थिए जसमा केही आफ्ना बालबालिकासहित बिहीबारको र्यालीमा आएका थिए । 

सरकारले केही कर वृद्धि फिर्ता लिएको छ तर प्रदर्शनकारीहरूले विधेयकलाई पूर्णरूपमा फिर्ता नलिएसम्म स्वीकार नगर्ने बताएका छन् । 

जोखिम खुफिया कम्पनी भेरिस्क म्यापलक्राफ्टका वरिष्ठ अफ्रिका विश्लेषक एन्ड्र्यु स्मिथले राष्ट्रपति रुटोले ‘कर वृद्धि र अन्तरनिहित सामाजिक आर्थिक अवस्थालाई लिएर जनतामा रहेको क्रोधको मात्रालाई गम्भीररूपमा गलत तरिकाले बुझेको’ बताउनुभयो । 

“धेरै प्रदर्शनकारी रुटोसँग गम्भीररूपमा निराश छन्, सन् २०२२ मा जीवनयापनको लागत कम गर्ने प्रतिबद्धता व्यक्त गर्दै सत्तामा आउनुभएका रुटोले यसको ठीक विपरीत काम गर्नुभएको छ”, उहाँले भन्नुभयो । 

रुटोको सरकारले विदेशी ऋणमा निर्भरता कम गर्नका लागि कर वृद्धि आवश्यक भएको बताएको छ । विदेशी ऋण करिब एक सय खर्ब सिलिङ रहेको छ र यो कूल गार्हस्थ्य उत्पादनको करिब ७० प्रतिशत हो । 

केन्या अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) को ऋण कम गर्ने र राजस्व बढाउने दबाबमा छ ।

अब के हुन्छ ?

रुटोको अर्को कदम के हुनसक्छ भन्ने स्पष्ट छैन । 

तर प्रदर्शनकारीहरूले बुधबार मार्च जारी राख्ने वाचा गरेका छन् । “भोलि हामी हाम्रा सबै मृतकका लागि सेतो कपडा लगाएर पुनः शान्तिपूर्वक मार्च गर्नेछौँ”, आयोजक हनिफा अदनले एक्समा पोस्ट गर्नुभयो, “तपाईंले हामी सबैलाई मार्न सक्नुहुन्न ।”

गत साता केही वृद्धिलाई सीमितरूपमा फिर्ता लिएपछि रुटोले थप सहुलियत प्रदान गरिरहनुभएको छैन । मङ्गलबार राति एक ब्रिफिङलाई सम्बोधन गर्ने क्रममा उहाँले केही प्रदर्शनकारीको तुलना अपराधीहरूसँग गर्दै ‘हिंसा र अराजकता’ लाई रोक्ने चेतावनी दिनुभयो ।

अधिकारीहरूले यसलाई ‘सुरक्षा आपत्कालीन’ का रूपमा वर्णन गर्नका लागि सेनालाई परिचालन गरेका छन् ।विश्लेषक स्मिथले भन्नुभयो, “सेना परिचालनले विरोध प्रदर्शन कम हुनसक्छ वा हामी हिंसा र विरोधको उच्चस्तरले मुलुकका अन्य भागमा फैलिएको देख्न सक्छौँ ।” 

मङ्गलबार बाहिर अराजकता फैलिँदा संसद्ले कर वृद्धिसम्बन्धी विवादास्पद विधेयकलाई पारित गरेको थियो । उक्त विधेयक कानून बन्न राष्ट्रपति रुटले हस्ताक्षर गर्नुपर्ने छ ।
“रुटोसँग अझै पनि विधेयकमा हस्ताक्षर गर्न अस्वीकार गरेर संसद्मा फिर्ता गरी स्थितिबाट बाहिर निस्कने बाटो छ”, स्मिथले भन्नुभयो, “तर नयाँ विधेयक आउन धेरै महिना लाग्न सक्छ ।”केन्याको आर्थिक वर्षको प्रारम्भ जुलाई १ मा लागु हुने कर उपायका साथ समय रुटोको पक्षमा छैन ।

इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन

नारायणगढ (चितवन), १२ असार : कृषकले उत्पादन गरेका तरकारी तथा फलफूल खेतबारीबाटै बजारसम्म पु-याउन इच्छाकामना गाउँपालिकाले कृषक समूहलाई अनुदानमा तीन वटा कृषि एम्बुलेन्स उपलब्ध गराएको छ । गत आर्थिक वर्ष र चालु आवको बजेटबाट अनुदानमा कृषि एम्बुलेन्स उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाकी कृषि अधिकृत समीक्षा पौडेलका अनुसार गाउँपालिकाको ७५ प्रतिशत अनुदान र कृषक समूहको २५ प्रतिशत लागतमा तीनवटा कृषक समूहलाई गत आव र अहिले गरी तीनवटै कृषि एम्बुलेन्स हस्तान्तरण गरिएकोे हो । यस वर्ष इच्छाकामना–१ को सिराइचुली कृषि सहकारी संस्था र इच्छाकामना–६ स्थित चण्डीभञ्ज्याङ सामाजिक उद्यमी महिला सहकारी संस्थाका लागि एक÷एक वटा कृषि एम्बुलेन्स हस्तान्तरण गरिएको पौडेलले जानकारी दिनुभयो । गत आवको असारमा इच्छाकामना–२ स्थित हपनी कृषक समूहलाई एउटा एम्बुलेन्स हस्तान्तरण गरिएकोे थियो ।

गत आवमा हस्तान्तरण गरिएको कृषि एम्बुलेन्सले मायाटार, वल्र्याङ क्षेत्रका किसानको कृषि उपज ढुवानीमा सहज भएको पाइएसँगै यसको प्रभावकारिता सकारात्मक देखिएपछि चालु आर्थिक वर्षमा वडा नं १ र ७ मा थप दुईवटा कृषि एम्बुलेन्स खरिद गरेर हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “गत आवमा खरिद गरिएको कृषि एम्बुलेन्सले गाउँको उत्पादनलाई बजार लैजान र बजारबाट गाउँमा चाहिने सामान ढुवानी गर्न धेरै सहज भएको छ । गत वर्षको काम सफल तथा प्रभावकारी भएसँगै हामीले यसपटक दुईवटा कृषि एम्बुलेन्स थपेका हौँ ।”

उहाँले पालिकाले कृषि योजनालाई उच्च प्राथमिकता दिएसँगै कृषि उत्पादन र यसको बजारीकरणका लागि कृषि एम्बुलेन्स आवश्यक ठानेर हस्तान्तरण गरिएको बताउनुभयो । पालिकाको भाराङ, हात्तीवाङ, मायाटार, वल्र्याङ दाहाखानीलगायतका क्षेत्रलाई लक्षित गरी कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको उहाँले जानकारी दिनुभयो ।

कृषि एम्बुलेन्सको प्रयोगले भौगोलिक विकटताका कारण किसानले उत्पादन गरेका तरकारी तथा फलफूलले उचित बजार नपाउँदा बारीमै फाल्नुपर्ने अवस्थाको अन्त्य हुने प्रमुख गुरुङको विश्वास छ । गाउँमा उत्पादन भएका कृषि उपज एम्बुलेन्स चालकले बिक्री गरेर साँझ पैसा पु-याइदिने व्यवस्थासमेत मिलाएको उहाँले स्पष्ट पार्नुभयो ।

धेरैजसो पहाडी इलाका रहेको इच्छाकामनामा उल्लेख्य मात्रामा तरकारी तथा फलफूलखेती हुने गर्दछ । यहाँ उत्पादित फलफूल र तरकारीको मुख्य बजार राजमार्गमा रहेका चुम्लिङटार, कुरिनटार र मुग्लिन हो ।

बागमती प्रदेशमा चालु आवमा पुँजीगत खर्च ५०

हेटौँडा, १२ असार : बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष बजेटमध्ये गत जेठ महिनासम्म जेठ महिनासम्ममा पुँजीगततर्फ ५० दशमलव ३१ प्रतिशत र चालुतर्फ ५४ दशमलव ११ प्रतिशत बजेट खर्च भएको छ । प्रदेश सरकारले चालु आवका लागि कूल रु ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार बजेट विनियोजन गरेकामा गत वैशाख मसान्तसम्ममा ४१ दशमलव २६ प्रतिशत र चैत मसान्तसम्ममा ३५ प्रतिशतभन्दा कम खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयको तथ्याङ्क छ ।

प्रदेश सरकारले चालु आवको वैशाखसम्ममा कूल बजेटमध्ये रु २५ अर्ब ८७ करोड ६१ लाख १० हजार आठ सय ५३ खर्च गरेको थियो । चालु आवका लागि चालुतर्फ रु २६ अर्ब ४२ करोड १२ लाख ४५ हजार, पुँजीगततर्फ रु ३५ अर्ब ७८ करोड ७८ लाख ३३ हजार र वित्तीय व्यवस्थातर्फ रु ५० करोड विनियोजन गरिएको थियो । 

गत वैशाख महिनासम्म पुँजीगततर्फ ३८ दशमलव ३८ प्रतिशत, चालुतर्फ ४५ दशमलव ९५ प्रतिशत खर्च भएको थियो । बजेट खर्चमा कमजोर रहेको प्रदेश सरकारले वित्तीय व्यवस्थातर्फ विनियोजन गरिएको बजेट खर्च भएको छैन । वित्तीय व्यवस्थातर्फ विनियोजन गरिएको बजेट विगतका वर्षमा खर्चअनुसार उपलब्धि नदेखिएकाले चालु आवमा खर्च नगरिएको जनाउँदै आएको मन्त्रालयले आगामी आवमा पनि वित्तीय व्यवस्थातर्फ बजेट विनियोजन गरेको छ । काम सम्पन्न भएका योजनाको भुक्तानी, बिल फरफारकलगायतका काम असार महिनामा पनि हुने र खर्च प्रतिशत बढ्ने मन्त्रालयको दाबी छ ।

नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण तयारी अवस्थामा

चितवन, १२ असार : नारायणगढ–मुग्लिन सडकमा सम्भावित पहिरो पन्छाउन दुई ठाउँमा उपकरण तयारी अवस्थामा राखिएको छ । बर्सातसँगै जुनसुकै बेला पहिरो खसेर सडक अवरुद्ध हुन सक्ने भएकाले पूर्वतयारी गरिएको हो ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार मुग्लिनबाट पाँच किलोमिटर नारायणगढतर्फ पाँच किलोभन्ने ठाउँमा लोडर तयारी अवस्थामा राखिएको छ । नारायणगढबाट २१ किलोमिटर मुग्लिनतर्फ मौरी पुलमा स्काभेटर र लोडर राखिएको छ । यो सडकखण्ड ३६ किलोमिटर लामो छ ।

पौडेलले पानी परेपछि जुनसुकै बेला भूक्षयको जोखिम रहेकाले उपकरण तम्तयार अवस्थामा राखिएको जानकारी दिनुभयो । थप उपकरण आवश्यक परेमा हेटौँडास्थित हेवी इक्युप्मेन्ट डिभिजन र डुम्रेको यान्त्रिक कार्यालयबाट प्रबन्ध गरिने उहाँले बताउनुभयो ।

सो सडकखण्डमा १५ वटा पुल बनाउँदै गरेको अनक कन्स्ट्रक्सनले पुल बनाइरहेको ठाउँमा पहिरो खसेमा पन्छाउने जनाएको छ । ती ठाउँमा ठूलो पहिरो खसेमा डिभिजन सडक कार्यालयका उपकरणसमेत प्रयोग गरिने छ । अन्य ठाउँमा खसेका पहिरो पन्छाउन सो कम्पनीले तयारी अवस्थामा राखेका उपकरणलाई प्रयोगमा ल्याइने छ । पौडेलले भन्नुभयो, “पहिरो खसेलगत्तै पन्छाउने गरी तयारीमा छौँ ।”

सडक कार्यालयले गरेको अध्ययन अनुसार यो सडकको २५ ठाउँ पहिरोको जोखिममा छन् । तीमध्ये चार स्थान उच्च र सात ठाउँ कम जोखिममा छन् । मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्र पहिरोको उच्च जोखिममा छ । सडकको नाम्सी, कालीखोला र तुइन खोलाको पहिरो नियन्त्रणका लागि रु ५२ करोड खर्च हुने अनुमानित लागत छ । ती ठाउँमा ‘स्लोप स्टेवलाइजेसन’ र ‘रक नेटिङ’को काम गर्नुपर्नेछ ।

यसैगरी, पहिरोको कम जोखिम भएका गाईघाट, डुम्रे पुल, घुमाउने, सिमलताल, जलवीरे र पाँच किलोमा पनि सडक व्यवस्थापन गर्नुपर्नेछ । विसं २०८० को वर्षामा यो सडकमा ३० र २०७९ मा ३६ पटक भूक्षय हुँदा सडक अवरुद्ध भएको थियो ।
यो सडक हुँदै नारायणगढबाट सवारीसाधन राजधानी काठमाडौँ, पोखरातर्फ जाने आउने गर्दछन् ।

ढल्केबर–इनरूवा प्रसारण लाइन सञ्चालन, पहिलो पटक ४०० केभी लाइनबाट विद्युत प्रवाह

काठमाडौँ, १२ असार : विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत व्यापार विस्तारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी प्रसारण लाइनअन्तर्गत ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएको छ ।

धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको एक सय ५४ किलोमिटर प्रसारण लाइन चार्ज गरी सञ्चालनमा ल्याइएको हो । ढल्केबर र इनरुवा चार सय केभी सबस्टेसनमा जोडेर प्रसारण लाइन चार्ज गरिएको छ ।

ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएसँगै देशभित्र पहिलोपल्ट चार सय केभीबाट विद्युत प्रसारण सुरु भएको छ । यसअघि ढल्केबर–मुजफ्फरपुर (भारत) अन्तरदेशीय प्रसारण लाइनबाट चार सय केभीमा विद्युत् आयात–निर्यात हुँदै आएको थियो । अब देशभित्रै चार सय केभी प्रसारण लाइनबाट विद्युत् प्रवाह सुरु गरिएको हो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएसँगै कोशी प्रदेशका तराईका जिल्लामा विद्युत् आपूर्तिको भोल्टेज सुधार गर्न, समग्रमा देशको प्रसारण प्रणालीलाई गुणस्तर तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापारको परिमाण वृद्धि गर्न महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभयो । प्रसारण लाइनले करिब चार हजार मेगावाट विद्युत् प्रवाह गर्न सक्दछ ।

प्रसारण पूर्वाधार तयार नभएकाले हाल सञ्चालमा रहेको ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट हुने विद्युत् आयात–निर्यात परिमाण अब बढाउन सकिने कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो । अहिले दुई देशबीच विद्युत् आयात निर्यात परिमाण आठ सय मेगावाट मात्र छ । उहाँले कोशी करिडोर हुँदै इनरुवा सबस्टेसनमा आएको विद्युतलाई त्यस क्षेत्रमा खपत गरी अतिरिक्त भएमा ढल्केबर–इनरुवा प्रसारण लाइनमार्फत ढल्केबर ल्याएर भारततर्फ निर्यात गर्न सकिने बताउनुभयो ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ स्थित थानाभ-याङस्थित हेटौँडा सबस्टेसनबाट इनरुवा सबस्टेनसम्म दुई सय ८८ किलोमिटर प्रसारण लाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण सुरु गरिएको थियो । प्रसारण लाइनलाई हेटौँडा–ढल्केबर एक सय ३४ किलोमिटर र ढल्केबर–इनरुवा एक सय ५४ किलोमिटर दुई खण्डमा विभाजन गरिएको छ । हेटौँडा–ढल्केबर खण्ड निर्माणाधीन छ ।

साउन १ गतेदेखि सिंहदरबार प्रवेशका लागि ‘इ-गेटपास’प्रयोगमा ल्याइने

काठमाडौँ, १२ असार : प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशका लागि आगामी साउनदेखि ‘इ–गेटपास’ प्रणाली प्रयोगमा ल्याइने भएको छ । यही असार ६ गते बसेको सचिवस्तरीय बैठकले मन्त्रालयबाट जारी गरिएका सबै अस्थायी पास खारेज गरेर साउन १ गतेदेखि ‘इ–गेटपास’ प्रणाली प्रयोगमा ल्याउने तथा गृह मन्त्रालयले आवश्यक समन्वय गर्ने निर्णय गरेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

“साउनदेखि सिंहदरबार प्रवेशका लागि विभिन्न मन्त्रालयबाट जारी गरिएका सबै अस्थायी पास खारेज हुनेछन्, कसले पास लिए त्यसको रेकर्ड पनि रहने भएकाले अब इ–गेटपास प्रणाली प्रयोगमा ल्याइनेछ”, उहाँले भन्नुभयो । विगतमा विभिन्न मन्त्रालयबाट जारी गरिएका अस्थायी पास दुरुपयोग भएका गुनासा बढेपछि अहिले ती पास खारेज गर्न लागिएको जानकारी दिँदै प्रवक्ता भट्टराईले क्युआर कोडसहितको प्रवेशपास प्रयोगमा ल्याइने बताउनुभयो।

‘सिंहदरबार पास’ वेबसाइटमा गएर अकाउन्ट बनाई युजर आइडी र पासवर्ड राखेर अनलाइनबाट अनुरोध गर्ने तथा गेटपास पाउन आधारभूत विवरण भर्नुपर्ने प्रणाली बनाइएको मन्त्रालयले जनाएको छ ।

नदीको सतह बढ्दै, सतर्कता अपनाउन आग्रह

काठमाडौँ, १२ असार : आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना भएसँगै केही नदीहरुमा पानीको बहाव बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जल तथा मौमस विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार हाल नारायणी नदीमा पानीको बहाब बढेसँगै सतर्कता अपनाउन निर्देशन गरिएको छ । बाढीविद् जोशन महर्जनले चितवन आसपासका क्षेत्रमा भारी वर्षा भइरहेकाले त्यस क्षेत्र आसपासका नदी किनारमा उच्च सतर्कता अपनाउन आवश्यक रहेको बताउनुभयो । “हामीले मुलुकभर यतिबेला कहाँ कहाँ भारी वर्षा भइरहेको छ, कहाँ कहाँ नदीको सतह बढिरहेको छ, अवलोकन गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।”

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यसैगरी महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरले कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिनुभयो ।

भारी वर्षाको सम्भावना भएको क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज उदयपुर, सिन्धुली, मकवानपुर चितवन, लमजुङ, कास्की, पर्वत, तनहुँ, स्याङ्जा आसपासका जिल्ला भई बहने स–साना नदीमा बहाब बढ्ने तथा केही साना नदीमा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक रहेको जनाएको छ ।

महाशाखाद्वारा जारी बुलेटिनमा आज कमला नदीमा बहाव बढ्ने र नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक रहेको उल्लेख छ । आगामी तीन दिन कोशी र यसका प्रमुख सहायक नदी तमोर, अरुण, तामाकोशी, दूधकोशी तथा कन्काई र यसका सहायक नदीहरुमा जल सतह बढ्दै जाने पूर्वानुमान गरिएको छ ।

साथै इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पाँचथर, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, बाङलुङ, पाल्पा, गुल्मी, म्याग्दी, प्यूठान, रोल्पा, सल्यान, रुकुम–पश्चिम, जाजरकोट, दैलेख, बझाङ, दार्चुला र आसपासका जिल्ला भई बहने स–साना नदीहरुमा बहाव बढ्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन आग्रह गरिएको छ ।

निजामती सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाउन सबैको सहयोग जरुरी : मन्त्री बस्नेत

काठमाडौँ, १२ असार : ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले निजामती सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाउन सबैको सहयोग जरुरी रहेको बताउनुभएको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज ऊर्जासचिव सुशीलचन्द्र तिवारीको बिदाइ समारोहलाई सम्बोधन गर्दै उहाँले तर्कबाट भन्दा पनि सेवाबाट नै निजामती सेवाको मान, प्रतिष्ठा बढाउन कर्मचारी संयन्त्र लाग्नुपर्ने बताउनुभयो । उमेर हदका कारण सचिव तिवारीले आजदेखि अवकाश पाउनुभएको छ ।

मन्त्री बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि मन्त्रालयले खेलेको भूमिका महत्वपूर्ण रहेको र त्यसमा सचिव तिवारीजस्तै राष्ट्र सेवकको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । उहाँले ऊर्जा क्षेत्रमा गरिएको कामको परिणाम आजको भोलि नआउने भएकाले आगामी दिनमा अपेक्षित नतिजा हासिल हुने स्पष्ट पार्नुभयो ।

मन्त्री बस्नेतले उमेर हदका कारण निजामती सेवाबाट अवकाश भए पनि उहाँको योग्यता, क्षमता र विज्ञता मुलुकले प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री बस्नेतले खादा माला र मायाको चिनो दिएर सचिव तिवारीको बिदाइ गर्नुभयो ।

सो अवसरमा सचिव तिवारीले आफ्नो ३१ वर्षे सरकारी सेवाको अनुभव सुनाउँदै सक्रियता र जनउत्तरदायी कर्तव्यले सरकारी कर्मचारीलाई सफल बनाउने बताउनुभयो । कार्यक्रममा जल तथा ऊर्जा आयोगका सचिव केशवकुमार शर्मा, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडीले सेवानिवृत्त भए पनि सक्रिय जीवनमा रहन र आफ्नो क्षमता र विज्ञताको उपयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा मन्त्रालय र मातहतका निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो ।

एसइईको नतिजा बिहीबार सार्वजनिक गर्ने निर्णय

भक्तपुर, १२ असार : परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा बिहीबार सार्वजनिक गर्ने निर्णय गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा एसइईको नतिजा सार्वजनिक गर्न आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले बिहीबार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले राससलाई जानकारी दिनुभयो । परीक्षा नियन्त्रक पौडेलले भन्नुभयो, “नतिजा आज सार्वजनिक गर्ने तयारी रहेको र बैठक बसेर नमुना अभ्यास पनि गरियो, केही प्राविधिक काम बाँकी भएकाले भोलि बिहान पुनः बैठक बसेर नतिजा सार्वजनिक गर्ने छौँ ।” असार १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तालिका रहेको थियो ।

बोर्डले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रक पौडेलले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक बताउनुभयो । यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशतअर्थात् २६ दशमलव २५ अङ्क अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भएसरह मानिने गरी ‘एनजी’ उल्लेख गरिएको ग्रेड सिट आउने उहाँले जानकारी दिनुभयो । 

आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा ४० प्रतिशतअर्थात् १० अङ्क ल्याउनुपर्छ । ‘एनजी’ आउने परीक्षार्थीले ग्रेड वृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन् । विद्यार्थीले दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउने छन् । दुईभन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अङ्क नपाएका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि ३५ प्रतिशत अङ्क ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष ‘एनजी’ लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् ।गतचैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालित परीक्षामा नियमिततर्फ चार लाख ६७ हजार विद्यार्थीले परीक्षा दिएका छन् । ग्रेड वृद्धितर्फ २१ हजार विद्यार्थीले परीक्षा दिएका छन् ।

कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल

काठमाडौँ, १२ असार : राष्ट्रपति रामचन्द्र पौडेलले सङ्गीत, नाट्य कला र संस्कृति समाजको अभिन्न अङ्ग भएको बताउनुभएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा शीतल निवासमा आज आयोजित ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८० वितरण’ समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कला संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति भएको बताउनुभयो ।

उहाँले नेपालका मौलिक कला तथा सांस्कृतिक विविधतालाई संरक्षण गर्दै नवीन विशेषता जोड्दै जानुपर्ने आवश्यकता औँल्याउनुभयो । “नेपाल प्राकृतिक तथा सांस्कृतिक विविधताले समृद्ध मुलुक हो, हाम्रा पुर्खाहरूले धरोहरका रूपमा छोडी गएका धर्म, दर्शन, कला र संस्कृति नै हाम्रो राष्ट्रिय जीवनका परिचायक हुन्”, राष्ट्रपति पौडेलले भन्नुभयो, “देशका अमूल्य कला र संस्कृतिलाई सुरक्षित गरी यिनमा नवीन विशेषताहरू जोड्दै जानु आजको चेतनशील समाजको कर्तव्य हो ।”

हामीले इतिहासमा गर्व गरेर मात्र पुग्दैन, इतिहास निर्माण गर्ने काममा पनि सदा प्रयत्नशील हुनुपर्छ भन्नहुँदै उहाँले नेपालको सांस्कृतिक धरोहरलाई जोगाउने र यसलाई विश्वभरि चिनाउन यस क्षेत्रमा क्रियाशील व्यक्तिहरूको योगदान अविस्मरणीय रहेको उल्लेख गर्नुभयो । “संस्कृति नेपालीहरूको जीवनशैली र पहिचान पनि हो । त्यसैले इतिहासमा गर्व गरेर मात्रै पुग्दैन, इतिहास निर्माणका काममा पानि हामीले योगदान दिन आवश्यक छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

सरकारले प्रतिष्ठानद्वारा श्रष्टाको सम्मान गर्दै आएकोमा खुसी व्यक्त गर्दै स्रष्टाको सम्मान गर्ने परिपाटीले सम्पूर्ण संस्कृति र सिर्जनाको सम्मान गरिएको राष्ट्रपति पौडेलको भनाइ थियोे । उहाँले स्रष्टा सम्मान परम्परालाई नयाँ पुस्ताले अनुशरण गर्दै जानुपर्ने समेत सुझाव दिनुभयो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक हितबहादुर तामाङले नेपालको विविधतायुक्त सांस्कृतिक धरोहर र कलात्मक सम्पदाले पहिचानमा विशिष्टता प्रदान गर्ने बताउनुभयो । उहाँले भौतिक सम्पदासँगै सांस्कृतिक सम्पदाको संरक्षणमा पनि ध्यान दिनुपर्ने बताउनुभयो । “हामीले हाम्रो संस्कृतिलाई संरक्षण र सम्वद्र्धन गर्न सदैव तयार रहनुपर्छ”, मन्त्री तामाङले भन्नुभयो, “यसर्थ नेपाल सरकारले पनि कला, संस्कृति र साहित्यको प्रोत्साहन र संरक्षणमा विशेष ध्यान दिएको छ । यसका लागि सरकार सधैं प्रतिबद्ध छ ।” उहाँले सङ्गीत, नाटक र नृत्य क्षेत्रले हाम्रो समाजलाई एकजुट गर्न र पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको धारणा राख्नुभयो ।

नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८० बाट छजना स्रष्टा पुरस्कृत हुनुभएको छ । रङ्गमञ्च विधाबाट हरिहर शर्मा, परम्परागत तथा शास्त्रीय सङ्गीत विधाबाट चन्दनकुमार श्रेष्ठ, सङ्गीत विधाबाट तारा थापा, लोक सङ्गीत विधाबाट बोमबहादुर कार्की, नाट्य विधाबाट गोपाल देवान र नृत्य विधाबाट जोगेन्द्र केसी पुरस्कृत हुनुभएको हो । उहाँहरूलाई जनही रु एक÷एक लाख र ताम्रपत्रसहित पुरस्कृत गरिएको थियो ।

प्रतिष्ठानका कुलपति निशा शर्माले प्रतिष्ठानको प्रेक्षालय निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीको चरणमा रहेको बताउँदै पर्यटनमन्त्रीसँग सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।

देशभर भइरहेको बाढी पहिरोलगायतका विपद् प्रतिकार्यमा खटिन रेडक्रसकर्मीलाई अनुरोध

काठमाडौँ, १२ असार : नेपाल रेडक्रस सोसाइटीले देशभर भइरहेको बाढी पहिरोलगायतका विपद्मा सरकारका निकायसँग सहकार्य गर्दै विपद् प्रतिकार्यमा खटिन सम्पूर्ण रेडक्रसकर्मीलाई अनुरोध गरेको छ ।

यस वर्ष विगतका वर्षभन्दा वर्षाको सम्भावना उच्च भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । रेडक्रसले देशैभरका आपत्कालीन कार्य सञ्चालन केन्द्र सक्रिय बनाई समुदायमा विपद्का कारण आइपर्न सक्ने विषम परिस्थितिको आँकलन गरी पूर्वतयारीसहित प्रतिकार्यका लागि तयार रहन आग्रह गरेको हो ।

रेडक्रसका अध्यक्ष प्रा सुदर्शनप्रसाद नेपालले आज विज्ञप्ति जारी गरी प्रभावित जिल्लामा उद्धार तथा सहायताका सामग्री वितरणमा संलग्न हुनसमेत सोसाइटीका प्रदेश, जिल्ला र उपशाखा सबैमा अनुरोध गर्नुभएको छ । “प्रभावित समुदायलाई समयमै आवश्यक सहायता उपलब्ध गराउनेतर्पm रेडक्रस उद्धत रहेको सबैमा जानकारी गराउँदछौँ । विपद् पूर्वतयारीसहित विपद्पश्चात् गरिने उद्धार एवं सहायता सामग्री वितरणमा हामी सबैको ध्यान जानुपर्ने र यस वर्ष मनसुन केही बढी क्रियाशील हुने मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार सबैलाई सजग रहन अनुरोध गर्दछौँ”, विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष नेपालले विज्ञप्तिमार्फत नै समुदायमा सेवा गरी विपद् उत्थानशील समुदाय निर्माण गर्ने रेडक्रसजस्तो परोपकारी संस्थालाई सरकारका सम्बद्ध मन्त्रालय तथा विभाग, प्रदेश र स्थानीय सरकार तथा दातृ निकायलाई आवश्यक सहयोग गर्न अनुरोध गर्नुभएको छ ।

विसं २०२० साल भदौ १९ गते ‘नेपाल रेडक्रस सोसाइटी’ को स्थापना भएको हो । हाल रेडक्रसको सात प्रदेशमा प्रदेश कार्यालय, ७७ जिल्लामा जिल्ला शाखा, सबै स्थानीय तहमा गरी एक हजार छ सय १५ उपशाखा कार्यालय छन् । छ हजार नौ सय ३४ जुनियर तथा युवा सर्कलको साङ्गठनिक स्वरूपबाट समुदायमा सेवा प्रवाह गरिरहेको छ ।

नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा साउन १ गतेदेखि लागू हुने

काठमाडौँ, १२ असार : नेपाल आँखा अस्पताल त्रिपुरेश्वर र स्वास्थ्य बीमा बोर्डबीच स्वास्थ्य बीमा सेवा लागू गर्ने सम्झौता भएको छ । सम्झौतामा आज अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाइँ र बीमा बोर्डका तर्फबाट शाखा अधिकृत यशोदा अर्यालले हस्ताक्षर गर्नुभयो ।

सम्झौताअनुसार अस्पतालले आफ्नै परिसरमा औषधि वितरण कक्षको स्थापना गर्ने र बीमितलाई तोकिएका सेवा तथा औषधि निरन्तर उपलब्ध गराउने छ । आगामी साउन १ गतेदेखि कार्यान्वयनमा आउने सम्झौता पाँच वर्षका लागि मान्य हुने अस्पतालले जनाएको छ । अस्पतालले तोकिएको दरमा बहिरङ्ग, अन्तरङ्ग र आकस्मिक सेवा उपलब्ध गराउने र सोहीअनुसार बोर्डले भुक्तानी मिलाउने सम्झौतामा उल्लेख छ ।

जनकपुरधाम-अयोध्या रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा

जनकपुरधाम, १२ असार : मधेस प्रदेशको राजधानी जनकपुरधामबाट भारतको उत्तरप्रदेशस्थित अयोध्याका लागि रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा रहेको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले सेवा सञ्चालनका लागि समय तालिका सार्वजनिक गरिएको र अब चाँडै कार्यान्वयनमा ल्याउने तयारी भएको बताउनुभयो ।

रेल सेवा प्रत्येक शनिबार दिनको १ः३० बजे जनकपरधामबाट खुल्ने र ४ बजे बिहान अयोध्या पुग्ने तथा सोही रेल साँझ ५ बजे अयोध्याबाट फर्किएर अर्को बिहान ७ः३० बजे जनकपुरधाम पुग्ने गरी तालिका सार्वजनिक गरिएको उहाँले जानकारी दिनुभयो ।

“जनकपुरधाम–अयोध्या रेल सञ्चालनका लागि समय तालिका सार्वजनिक गरेका छौँ, अब सोहीअनुसार छिट्टै सेवा सुरु गर्ने तयारीमा छौँ । उद्घाटनको समय तालिका मिलाउन लागिएको छ, समय मिल्नासाथ औपचारिक घोषणा गर्नेछौँ ।”यहाँ विसं २०७८ चैत २० गतेदेखि जयनगर–कुर्थासम्म र विगत एक वर्षदेखि महोत्तरीको भङ्गाहासम्म रेल सञ्चालन भइरहेको छ ।

लमजुङमा पहिरोमा परी बेपत्ता भएका चारमध्ये वृद्धको शव भेटियो

लमजुङ । लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता छन् ।

वडासदस्य विनप्रसाद घलेका अनुसार पहिरोमा परी बेपत्ता भएकामध्ये ६९ वर्षीय रूद्रमान गुरुङको शव फेला परेको हो । पच्युटोलमा गए राति पहिराले तीन घर पुरिँदा चार बेपत्ता भएका थिए भने एकजना घाइते भएका थिए । बेपत्ता भएकाहरुको आज बिहानैदेखि स्थानीय र प्रहरीले खोजी गरिरहेका छन् ।

लगातारको वषासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो । पहिरोमा परी ३६ वर्षीया पञ्चकुमारी गुरुङ र उनकी पाँच वर्षीया छोरी नम्रता तथा सात वर्षीया इच्छा गुरुङ अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिए ।

पहिरोले घर भत्किँदा एकजनाको मृत्यु, एक घाइते

यसैबीच लमजुङको दोर्दी गाउँपालिका–९ मा गए राति पहिरोले घर भत्किँदा १६ वर्षीय विकल सुनारको मृत्यु भएको छ । उक्त घटनामा १८ वर्षीय मिलन सुनार घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईँले जानकारी दिए ।

विकल र मिलन दाजुभाइ हुन् । दुवैजनालाई आज बिहान उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याइएकामा विकलको उपचारकै क्रममा मृत्यु भएको हो । मिलनको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै पहिरोका कारण लमजुङ–मनाङ जोड्ने बेँसीसहर–चामे सडक अवरुद्ध छ । बेँसीसहर नगरपालिका–६ खरकहरे भिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा यात्रु बाटोमै अलपत्र परेका छन् ।

कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते

कास्की, १२ असार : अविरल वर्षापछि पहिरोमा परेर कास्कीमा दुई छुट्टाछुट्टै घटनामा एक बालक र एक बालिकाको मृत्यु भएको छ । उक्त घटनामा एकजना घाइते भएका छन् ।कास्कीको मादी गाउँपालिका–५ चितेपानी घुम्तीमा गए राति पहिरोमा पुरिएर १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो । उक्त घटनामा ७० वर्षीया हजुरआमा लालमाया बन्जाराको उद्धार गरिएको छ । घटना घटेका बेला घरमा नातिनी र हजुरआमा मात्र रहेका थिए । इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले लालमायाको उद्धार गरेको हो ।

यसैगरी गए राति नै पोखरा महानगरपालिका–२७ आरुपाटामा ३१ वर्षीय हरि सुनारको दुई कोठाको कच्ची घर पहिरोले भत्किँदा उनका तीन वर्षीय छोरा अनमोलको मृत्यु भएको छ । उक्त घटनामा सुनारकी श्रीमती २७ वर्षीया रितु घाइते भएकी प्रहरी नायब उपरीक्षक शर्माले बताउनुभयो । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । सो घटनामा हरि र उनका नौ वर्षीया छोरी अञ्जलीको सकुशल उद्धार गरिएको छ । पोखरामा गए रातिदेखि निरन्तर वर्षा भइरहेको छ ।

युक्रेनद्वारा सीमावर्ती गाउँहरूबाट बालबालिकालाई बाहिर निकाल्न आदेश

युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रका प्रमुखले मङ्गलबार रुसी सेनाहरू अघि बढिरहेकाले बालबालिका र उनीहरूका अभिभावकहरूलाई धेरै सीमावर्ती सहर र गाउँहरूबाट खाली गर्न आदेश दिइरहेको बताउनुभएको छ । औद्योगिक क्षेत्रलाई आफ्नो कब्जामा लिएको र रुसी सेनाले हालैका महिनाहरूमा त्यहाँ आफ्नो मारक क्षमतामा ध्यान केन्द्रित गरेको क्रेमलिनले झण्डै दुई वर्षअघि बताएको थियो ।

“बालबालिकाहरूलाई उनीहरूका आमाबाबु वा अन्य कानूनी प्रतिनिधिहरूसँग जबरजस्ती निष्कासन गर्ने निर्णय गरिएको छ”, गभर्नर भ्याडिम फिलास्किनले सामाजिक सञ्जालमा भन्नुभयो । फिलास्किनले हालैका हप्ताहरूमा घातक रुसी बमबारीमा बृद्धि भएको कारण सर्वसाधारणहरूलाई यस क्षेत्रबाट भाग्न आग्रह गर्दै आउनुभएका छन् ।

राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युक्रेनीहरूलाई सन् २०२२ फेब्रअरीमा रूसको आक्रमण सुरु भएको केही समयपछि युद्धग्रस्त क्षेत्र छोड्न आग्रह गर्नुभएको थियो । यद्यपि सिफारिसहरू लागू भएनन् । डोनेट्स्क र लुगान्स्कको छिमेकी क्षेत्र सन् २०१४ देखि आंशिकरूपमा रुसी समर्थित पृथकतावादीहरूको कब्जामा छ ।

क्यानाडामा सन् २०७३ सम्ममा आठ करोड ७० लाख बासिन्दा हुने अनुमान

सन् २०२३ मा चार करोड एक लाख जनसङ्ख्या पुग्ने अनुमान गरिएको क्यानाडाको जनसङ्ख्या आगामी दशकहरूमा बढ्दै चार करोड ७१ लाखबाट सन् २०७३ मा आठ करोड ७२ लाखको बीचमा पुग्ने तथ्याङ्क क्यानडाले सोमबार बताएको छ ।

मध्यम–वृद्धि परिदृश्यअनुसार क्यानाडाको जनसङ्ख्या सन् २०७३ मा छ करोड २८ लाख पुग्ने राष्ट्रिय तथ्याङ्क निकायले उल्लेख गरेको छ ।

विगत ३० वर्षको औसत एक दशमलव १२ प्रतिशतबाट वार्षिक जनसङ्ख्या वृद्धि दर क्रमशः घटेर सन् २०७२÷२०७३ सम्ममा शून्य दशमलव ७९ प्रतिशत पुग्नेछ ।

तुलनात्मकरूपमा यो दर उच्च–वृद्धिको परिदृश्यअनुसार एक दशमलव ५९ प्रतिशत र न्यून–वृद्धि परिदृश्यअनुसार शून्य दशमलव ०७ प्रतिशतमा घट्ने एजेन्सीले जनाएको छ ।आप्रवासी वृद्धि क्यानाडामा जनसङ्ख्या वृद्धिको प्रमुख चालक हुनेछ ।

जनसङ्ख्या वृद्धि र कम प्रजनन क्षमताका कारण मृत्युको सङ्ख्यामा हुने अनुमानित वृद्धिलाई ध्यानमा राखी प्राकृतिक वृद्धिले सामान्य भूमिका मात्र खेल्ने तथ्याङ्क क्यानाडाले जनाएको छ ।

गाजामा हरेक दिन १० बालबालिकाले औसतमा एक वा दुई खुट्टा गुमाउँदै

प्यालेस्टिनी शरणार्थीहरूलाई सहयोग गर्ने राष्ट्रसङ्घीय एजेन्सीका प्रमुखले मङ्गलबार गाजामा घेरामा परेको इलाकामा चलिरहेको युद्धमा औसतमा १० बालबालिकाले आफ्नो एक वा दुवै खुट्टा गुमाइरहेको बताउनुभएको छ ।

“मूलतः हामीसँग हरेक दिन औसतमा एक वा दुई खुट्टा गुमाउने १० जना बालबालिका छन्”, युएनआरडब्लुए प्रमुख फिलिप लाजारिनीले भन्नुभयो ।

यी सङ्ख्याहरूमा हात वा पाखुरा गुमाएका बालबालिकाहरू समावेश गरिएको नगरिएको उहाँले बताउनुभयो ।

लमजुङमा पहिरोले तीन घर पुरिँदा चार जना बेपत्ता

लमजुङ, १२ असार ः लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुम गाउँमा गए राति पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता भएका छन् । पहिरोमा परी एकजना घाइते भएका छन् ।

लगातारको वषासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो । पहिरोमा परी रुद्रमान गुरुङ, पञ्चकुमारी गुरुङ र उनकी पाँच वर्षीया छोरी नम्रता तथा सात वर्षीया इच्छा गुरुङ बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिनुभयो ।

अहिले प्रहरी टोली घट्नास्थलमा उद्धारका लागि जाँदै छ ।