`

डेढ दशकपछि म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति थालियो

म्याग्दी, १२ असार : डेढ दशकपछि म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति थालिएको छ । उक्त सडकले बेनी नगरपालिका–२, ३, ४ र मङ्गला गाउँपालिका–३ र ४ वडालाई सदरमुकाम बेनी बजारसँग जोड्छ ।

गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्कामार्फत बेनी–२ को बगरफाँटबाट दूधेखोला–हल्लेगौडा–डोले–मुसुङ जोड्ने सडक ग्राभेल र ढलान गर्ने योजना कार्यान्वयन गरेको हो । गत जेठ २९ गते रु पाँच करोड ५९ लाखमा ठेक्का सम्झौता गरेको माछापुच्छ्रे–हिमालयन जेभी कार्यक्षेत्रमा परिचालित भएको पूर्वाधार विकास कार्यालयका सवइन्जिनियर रविन चोखालले जानकारी दिनुभयो । यसको लागत रु सात करोड ७२ लाख रहेको छ ।

आगामी १८ महिनामा बगरफाँटबाट दूधेखोलासम्मको तीन किलोमिटर सडक ग्राभेल र दूधेखोलाबाट भकिम्लीतर्फ तीन सय ९० मिटर सडक ढलान गरिने छ । सडक सात मिटर चौडा बनाइने छ । विसं २०६५ मा सडक निर्माण गरिएको हो । उक्त सडक हाल चार मिटर चौडा छ । गण्डकी प्रदेश सरकारद्वारा चालु आवमा रु दुई करोड बजेट विनियोजन गरिएको उक्त सडकलाई बहुवर्षीय ठेक्का लगाउन रु १० करोड बजेटको स्रोत सुनिश्चितता गरिएको सवइन्जिनियर चोखालले बताउनुभयो ।

विसं २०७६ मा सुरु भएको रघुगङ्गा गाउँपालिकाको पिप्ले–भगवती सडक यस वर्ष निर्माण सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिकाको चित्रेबाट पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिको तयारी छ ।

इटहरी उपमहानगरपालिकाको बजेट तीन अर्ब ५७ करोड

धरान (सुनसरी), ११ असार : इटहरी उपमहानगरपालिकाले विवादकै बीचमा आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याएको छ । सोमबार राती १० बजे इटहरी उपमहानगरपालिका–६ का वडाध्यक्ष दिवस पोखरेलले विवादका बीच रु तीन अर्ब ५७ करोड ८४ लाख ५० हजारको बजेट प्रस्तुत गर्नुभएको हो ।

एमालेबाट निर्वाचित उपप्रमुख, वडाध्यक्षसहितका सदस्यहरूले नगरसभा बहिस्कार गरेपछि सभा विवाद भएको थियो । सभाको बैठकमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू मात्र उपस्थित थिए । नगरसभामा कायम एक सय नौ सदस्यमध्ये बैठकमा २० जनाको उपस्थिति भए पनि माइन्युटमा बहुमत सदस्यको उपस्थिति तथा हस्ताक्षर रहेको उपमहानरको जिकिर छ ।

वडाध्यक्ष पोखरेलले पेस गर्नुभएको बजेटमा चालुतर्फ रु एक अर्ब ४१ करोड ३४ लाख ३७ हजार, पुँजीगततर्फ रु दुई अर्ब १५ करोड ६० लाख रहेको छ । इटहरी उपमहानगरपालिकाले लिएको ऋणको ब्याजका लागि ९० लाख वित्तीय व्यवस्थातर्फ बजेट व्यवस्थापन गरेको छ ।

पोख्रेलले पेस गरेको बजेटमा पुँजीगत खर्चतर्फ वडागत सिलिङमा रु ३८ करोड बजेट र नगरस्तरका योजनामा रु ४५ करोड समावेश गरिएको छ । प्रस्तुत बजेटको स्रोत व्यवस्थामा सङ्घीय समानीकरण अनुदान रु २९ करोड ५६ लाख, सङ्घीय शसर्त अनुदान चालु खर्चतर्फ रु ४९ करोड ४३ लाख १५ हजार, सङ्घीय शसर्त अनुदान पुँजीगत खर्चतर्फ रु ८१ करोड ९३ लाख ११ हजार रहेको छ । सङ्घीय समपुरक अनुदान रु चार करोड, सङ्घीय विशेष अनुदान रु पाँच करोड, प्रदेश समानीकरण अनुदान रु एक करोड ९४ लाख ४५ हजार र प्रदेश शसर्त अनुदान चालु खर्चतर्फ रु ३२ लाख ३८ हजार रहेको छ ।

प्रदेश शसर्त अनुदान पुँजीगत खर्चतर्फ रु दुई करोड ४४ लाख, प्रदेश समपुरक अनुदान रु एक करोड ७७ लाख, सङ्घीय राजस्व बाँडफाँट रु १९ करोड ११ लाख, प्रदेश राजस्व बाँडफाँड (सवारी कर) रु दुई करोड ३३ लाख ४१. हजार र प्रदेश राजस्व बाँडफाँड (मालपोत रजिष्ट्रेशन) रु ५६ करोड अनुमान गरिएको छ । इटहरी उपमहानगरले आगामी आवमा आन्तरिक स्रोतबाट रु ९६ करोड उठाउने लक्ष्य राखेको छ ।

‘महाधिवेशनले कम्युनिष्ट सिद्धान्तलाई समयसापेक्ष परिमार्जन गर्नेछ’ – माधव नेपाल

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आसन्न राष्ट्रिय महाधिवेशनबाट अनुमोदन हुने वैचारिक दस्तावेजले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पु-याउने बताउनुभएको छ ।

पार्टी निकट राष्ट्रिय जनसांस्कृतिक महासङ्घ (समाजवादी) ले दशौँ राष्ट्रिय महाधिवेशनको प्रचारका लागि मंगलबार आयोजना गरेको सांस्कृतिक साँझ उद्घाटन गर्दै अध्यक्ष नेपालले महाधिवेशनले कम्युनिष्ट आन्दोलनलाई थप एकताबद्ध गर्ने बताउनुभयो । उहाँले आगामी दिनमा कम्युनिष्ट सिद्धान्तलाई समयसापेक्ष परिमार्जन गरी देश र जनताको हितमा प्रयोग गरिने विश्वास व्यक्त गर्नुभयो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रले राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको बताउँदै उहाँले परिवर्तनको लाभ जनतासम्म पु-याउन कम्युनिष्ट शक्तिबीच एकता र सहकार्य गरी आवश्यक नीति तथा कानुनी व्यवस्था परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो । नेपालको संविधानले सबै नागरिकलाई समानताको अवसर प्रदान गरेकाले सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक पद्धतिबाट मुलुकको विकास गर्न सकिने धारणा उहाँले राख्नुभयो । संविधानले कानुनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्य–मान्यतालाई संस्थागत गरेको उहाँको भनाइ छ । उहाँले देश विकासका लागि समाजवाद कार्यान्वयन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले महाधिवेशनबाट वैज्ञानिक समाजवादका आधार तयार गर्ने बताउनुभयो । उहाँले लोकतान्त्रिक संस्कृतिको विकास गरी जनताको सामाजिक, आर्थिक रुपान्तरणका लागि उत्पादनमा वृद्धि, न्यायोचित वितरण, रोजगारी प्रवर्द्धन एवं सुशासन कायम गर्नुपर्ने उल्लेख गर्नुभयो ।

महासचिव घनश्याम भुसालले राष्ट्रिय पुँजीको विकास गरी मुलुकमा उत्पादन वृद्धि तथा न्यायोचित वितरण गर्न समाजवादको कार्यान्वयनमा जोड दिनुभयो । यही असार १६ देखि २० गतेसम्म काठमाडौँमा पार्टीको महाधिवेशन हुँदैछ । शीर्ष नेताहरूको सहभागिता रहेको उक्त कार्यक्रममा विभिन्न जातजाति तथा भाषा, मौलिक संस्कृतिका गीत र नृत्य प्रस्तुति गरिएको थियो ।

मधेश प्रदेशका पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा गरिने

जनकपुर – मधेश प्रदेश सरकारले प्रदेशका क्रियाशील पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा गर्ने भएको छ ।

प्रदेश सरकारअन्तर्गतको आमसञ्चार प्राधिकरणद्वारा आफ्ना गतिविधि सार्वजनिकीकरण गर्न मंगलबार यहाँ आयोजित कार्यक्रममा अध्यक्ष श्यामसुन्दर यादवले मधेस प्रदेशमा क्रियाशील एक हजार पत्रकारको रु एक लाखको स्वास्थ्य बीमा तथा रु सात लाखको दुर्घटना बीमा गर्ने तयारी गरेको जानकारी दिनुभयो ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि पेस गरेको बजेटमा उल्लेख भएअनुसार खोज पत्रकारितासम्बन्धी प्रशिक्षणका साथै सूचना बैंकको निर्माण गरेर सञ्चालन गर्ने अध्यक्ष यादवले जानकारी दिनुभयो ।

मधेस प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादवले आमसञ्चार प्राधिकरणलाई सुदृढ गर्न कानुनी व्यवस्था सुधार गर्न जरुरी रहेको बताउनुभयो । उहाँले त्यसका लागि मन्त्रालयले पहल गर्ने बताउनुभयो ।

चालु आवमा आमसञ्चार प्राधिकरणले प्रदेशका विभिन्न पत्रपत्रिका, टेलिभिजन, एफएम रेडियो गरी दुई सय ४२ संस्थालाई लोक कल्याणकारी विज्ञापनबापत रु ४५ लाख ६९ हजार रकम सम्बन्धित सञ्चार संस्थाको खातामा पठाउने प्रक्रिया सुरु भएको संस्थाका प्रशासकीय प्रमुख जयकुमार राउतले जानकारी दिनुभयो ।

माझगाउँ बस्ती पानीले काकाकुल, बोरिङको पानी पिउन घण्टौँ कुर्छन् स्थानीयवासी

कर्णाली – वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत माझगाउँ बस्ती पानीले काकाकुल छ । स्थानीयको घरमा इनार छ तर पानी छैन । रित्तो गाग्री, जर्किन, जार, बोतल र जग समातेर पानीका लागि घण्टौँ लाइनमा बस्नु उनीहरुको दैनिकी बनेको छ ।

पानीको हाहाकार भइरहेका बेला वीरेन्द्रनगर नगरपालिका–३, माझगाउँस्थित विश्वासी मण्डली नामक चर्चले बोरिङ गरेर पानी वितरण गरेपछि स्थानीयले राहत पाएका छन् । माझगाउँ टोल विकास समितिले भने बोरिङबाट पानी निकाल्न एक सय दुई मिटर खन्दासमेत पानी भेटिएन ।

मण्डलीले ४० मिटर गहिराइबाटै पानी निकालेको छ । पानीको हाहाकारका बेला चर्चले ठूलो राहत प्रदान गरेको सोही टोलकी स्थानीय भगवतीकुमारी थापाले बताउनुभयो । “पानी अभावले व्याकुल बनेको यो बस्तीका लागि चर्च सहयोगी बनेको छ”, थापाले भन्नुभयो, “इनारको कालो र रातो पानी खानुपथ्र्यो । करिब दुई महिनादेखि सफा पानी खाँदै आएका छौँ । खाने, नुहाउने, लुगाधुने, शौचालय जाने, भान्सामा प्रयोगलगायत सबैमा यसले सुविधा दिएको छ ।”

उहाँका अनुसार चर्चमा पानी लिन बिहान ४ देखि राति १२ बजेसम्म स्थानीय लाममा बस्छन् । लाममा बस्नेले दुईदेखि तीन घण्टा कुर्नुपर्छ । स्थानीय धनबहादुर खत्रीले भान्सादेखि शौचालयसम्म बोरिङ्कै पानीले धानेको बताउनुभयो । “यसअघि मान्छेहरु कसरी बाँच्या थिए थाहा छैन । अहिले प्यास मेटाउने मात्र होइन, हाम्रो सम्पूर्ण आवश्यकता यसले पुरा गरेको छ,” उहाँले भन्नुभयो । वडा नं.३ देखि ४ सम्मका एक हजार भन्दा बढी घरधुरीले चर्चकै खानेपानीको सुविधा लिएको खत्रीले जानकारी दिनुभयो ।

कालिकोट शुभकालिका गाउँपालिका दुई भर्ता घर भई हाल उक्त टोलमा बस्दै आउनुभएकी रुपा विश्वकर्माले सहरको कहर बल्ल थाहा पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “म घरभाडामा बसेर बालबच्चा पढाईरहेकी छु । सबै सुविधा छ भनेर सहर पसियो यहाँ त कहर मात्र खेप्नुपर्दो रहेछ ।”

माझगाउँ टोल विकास समितिका अध्यक्ष तिलाचन्द्र अधिकारीले खानेपानी समस्या समाधान गर्न सरकारले नसकेको बताउनुभयो । “पानी, जिन्दगानी हो । प्रदेश राजधानीको नगरपालिका भन्ने मात्र छ । खानेपानी, विद्युत, सडकको समस्या दुर्गम भन्दा कम छैन”, उहाँले भन्नुभयो, “सुक्खायाममा बालबच्चालाई पानी खुवाउन र वर्षामा आवतजावत गर्नसमेत समस्या छ ।” ती समस्याका विषय वडा हुँदै नगरपालिकासम्म राखे पनि कुनै सुनुवाई नभएको उहाँले गुनासो गर्नुभयो ।

देशभर मनसुनी वायुको प्रभाव : देशका यी स्थानमा भारी बर्षा

काठमाडौँ, १२ असार : देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा सिरहाको गोलबजारमा ४७.२, झापाको अनारमनीमा १२७.४, उदयपुरको सुन्दरपुरमा ११८.८, सिन्धुपाल्चोकको ढुंगेमा ९६.८, संखुवासभाको तुर्केघाटमा ९४.४, सिन्धुपाल्चोकको भोताङमा ९४.४, लमजुङको बेसीसहरमा १११, कास्कीको लामापाटनमा ११५.४ तथा डडेलधुराको साहुखर्कमा ८०.६ मिलिमिटर वर्षा भएको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बाढीले एकै परिवारका चारजना बगायो: एकको मृत्यु, दुई बेपत्ता

सुन्दरहरैँचा (मोरङ) – मोरङ र सुनसरीको सिमानामा पर्ने बुढीखोलाको बाढीले एकै परिवारका चार जनालाई बगाएको छ ।

मंगलबार दिउँसो माछा मार्ने क्रममा सुन्दरहरैँचा नगरपालिका–५ का एकै परिवारका चारजना बगेकामा एकको मृत्युभएको छ । फुदनी भन्ने २२ वर्षीया प्रेमकला चौधरीको निधन भएको वडाध्यक्ष गणेश चौधरीले जनाकारी दिनुभयो ।

यसैगरी बढीले बगाउँदा सो परिवारका दुईजना बेपत्ता छन् । बेपत्ता हुनेमा ६० वर्षीया असरादेवी चौधरी (सासू) र अन्दाजी २५ वर्षीया जेठी बुहारी फुला चौधरी रहेका छन् । माइली बुहारी २२ वर्षीया स्वस्तिका चौधरी सकुुशल रहेको वडाध्यक्ष चौधरीले बताउनुभयो ।

काठमाडौँमा पर्यटक बसपार्क निर्माणका लागि नाट्टाले पहल गर्ने

काठमाडौँ – नेपाल एसोसिएसन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले काठमाडौँमा पर्यटक बसपार्क निर्माणका लागि पहल गर्ने भएको छ ।

टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिवान)ले मंगलबार नाट्टाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यको सम्मानमा आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले सङ्घीय राजधानी काठमाडौँमा पर्यटक बसपार्क निर्माणका लागि पहल थाल्ने बताउनुभएको हो । “पर्यटक बसलाई पशुपति क्षेत्रबाट सञ्चालनका लागि पशुपति क्षेत्र विकास कोषसँग छलफल भइरहेको छ, एक दुई महिनाभित्रै पर्यटक बसपार्कको समस्या समाधान हुने विश्वास लिएका छौँ”, अध्यक्ष थपलियाले भन्नुभयो ।

पछिल्लो समय पर्यटक बसको टिकटका लागि प्रविधिको प्रयोगलाई अगाडि बढाएको भन्दै अध्यक्ष थपलियाले टिवानलाई धन्यवाद दिँदै उहाँले विपत्तिको समयमा पर्यटन क्षेत्रमा आइपर्ने समस्या समाधानका लागि विपद् कोष खडा गरेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

टिवानका अध्यक्ष कृष्ण आचार्यले अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटन बसलाई अगाडि बढाउन टिवान र नाट्टा हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । पर्यटक बसलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सबै लाग्नुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा नाट्टाको ५७ औँ साधारणसभा तथा २४ औँ अधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई सम्मान गरिएको थियो ।

‘प्रदेश सरकारले बजेट निर्माण गर्दा खानेपानीलाई प्राथमिकता दिएको छ ’ – मुख्यमन्त्री जम्कट्टेल

मनहरी (मकवानपुर) – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले बजेट निर्माण गर्दा खानेपानीलाई प्राथमिकता दिएको बताउनुभएको छ ।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घको आयोजना तथा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय र खानेपानी तथा सरसफाइ डिभिजन नम्बर–१ हेटौँडाको सहकार्यमा मंगलबार बागमती प्रदेशस्तरीय क्षमता अभिवृद्धि गोष्ठी सम्पन्न भएको थियो । उक्त गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले खानेपानी र सिँचाइमा अन्य शीर्षकको बजेट कटौति गरेर भए पनि काम गर्ने सरकारको योजना रहेको जानकारी दिनुभयो ।

“खानेपानीका बहुवर्षीय योजनामा बजेट सुनिश्चित गरेका छौँ, आवश्यक परेको खण्डमा थप बजेटको व्यवस्था गर्ने छौँ”, मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो । बागमती प्रदेशका खानेपानी, ऊर्जा, तथा सिँचाइमन्त्री एकालाल श्रेष्ठले खानेपानीको समस्या हल गर्न सबै एक हुनुपर्ने बताउनुभयो । खानेपानी र सिँचाइका योजनालाई प्रदेश सरकारले बजेटमा प्राथमिकता दिएको उहाँको भनाइ छ ।

खानेपानी उपभोक्ता महासङ्घका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालको अध्यक्षतामा भएको गोष्ठीमा उद्योग, वाणिज्य तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, मन्त्रालयका सचिव इन्द्रदेव भट्ट, खानेपानी तथा सरसफाइ डिभिजन नम्बर–१ हेटौँडाका प्रमुख हरिराम पौडेललगायतको सहभागिता रहेको थियो । सहभागीले खानेपानी जस्तो आधारभूत आवश्यकताको क्षेत्रमा प्रदेश सरकारले ल्याएको बजेट आशाजनक रहेको धारणा राखेका थिए ।

प्रवासी नेपाली मञ्च पोर्चुगलको अध्यक्षमा खत्री

लिस्बन (पोर्चुगल), १२ असार : प्रवासी नेपाली मञ्च पोर्चुगलको छैटौँ अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सोमबार राजधानी लिस्बनमा सम्पन्न अधिवेशनबाट दीपक खत्रीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।

अधिवेशनले उपाध्यक्षमा सुमन शर्मा चौलागाईँ, सचिवमा मिलन रेग्मी तथा उपसचिवमा प्रकाश तामाङ र मञ्जु अधिकारीलाई चयन गरेको छ । यस्तै सदस्यमा यज्ञप्रसाद डुम्रे, पुरन घर्ती, नवीनकुमार थापा, राजेन्द्रप्रसाद डुम्रे, राजन कार्की, सुनिल बन्जरा, सङ्गीता शर्मा सिलवाल, हेमन्त केसी, शिवसागर बुढाथोकी, कमल बस्नेत, सुमन सिलवाल, चित्रप्रसाद सुवेदी, सुरज विष्ट, गणेश थापा, काजीमान श्रेष्ठ, पुष्कर पन्थी, हेमराज सुवेदी, भक्त सिंह, माया खरेल र यामबहादुर पुर्काेटी सर्वसम्मत चयन गरेको छ ।

मञ्चका अध्यक्ष राजाराम लामिछानेको अध्यक्षता तथा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय कमिटीका सचिव हेम शेर्पा, केन्द्रीय सदस्य गोविन्द पौडेल, प्रवासी नेपाली मञ्च स्पेनका अध्यक्ष केदार ढुङ्गाना, एनआरएनए पोर्चुगलका अध्यक्ष्य उमेश खड्कालगायतको उपस्थिति रहेको थियो ।

मदिरा सेवनले वार्षिक २६ लाखको मृत्यु– डब्लुएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले मङ्गलबार मदिराबाट बर्सेनि करिब ३० मानिसको मृत्यु हुने गरेको बताएको छ । हालैका वर्षमा मृत्युदरमा थोरैले कमी आए पनि यो ‘अस्वीकार्यरूपमा उच्च’ रहेको सङ्गठनको भनाइ छ । मदिरा र स्वास्थ्यसम्बन्धी राष्ट्रसङ्घीय स्वास्थ्य एजेन्सीको पछिल्लो प्रतिवेदनमा मदिरा सेवन गरेर सवारी चलाउने, मदिरा–प्रेरित हिंसा र दुर्व्यवहार तथा धेरै रोग र विकारका कारण प्रत्येक वर्ष वैश्विकस्तरमा हुने २० मृत्युमा करिब एकको मृत्यु मदिराका कारण हुने बताइएको छ । उपलब्ध पछिल्लो आँकडाअनुसार सन् २०१९ मा २६ लाख मृत्यु मदिरा सेवनका कारण भएको प्रतिवेदनमा उल्लेख छ ।

यो सो वर्ष विश्वभरमा भएका सबै मृत्युको चार दशमलव सात प्रतिशत थियो । यसमा करिब तीन–चौथाई मृत्यु पुरुषहरूको भएको थियो । “मादक पदार्थको प्रयोगले व्यक्तिगत स्वास्थ्यलाई गम्भीररूपमा क्षति पुर्याउँछ, दीर्घकालीन रोग, मानसिक स्वास्थ्य अवस्थाको जोखिम बढाउँछ र दुःखदरूपमा हरेक वर्ष लाखौँ मानिसको मृत्यु हुन्छ जसलाई रोक्न सकिन्छ”, डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले भन्नुभयो । सन् २०१० पछि विश्वभरमा मदिराको खपत र सम्बन्धित हानिमा केही कमी आएको उहाँले बताउनुभयो । युवाहरू असमानरूपमा प्रभावित भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “तर मदिराको प्रयोगका कारण स्वास्थ्य र सामाजिक बोझ अस्वीकार्यरूपमा उच्च बनेको छ ।”

सन् २०१९ मा २० देखि ३९ वर्ष उमेरका मानिसमा मदिराका कारण हुने मृत्युको उच्चतम अनुपात १३ प्रतिशत रहेको डब्लुएचओले बताएको छ । क्यान्सर र कार दुर्घटना मदिरा सेवनको सम्बन्ध कलेजो सिरोसिस र केही क्यान्सरजस्ता धेरै स्वास्थ्य अवस्थासँग जोडिएको छ । सन् २०१० मा यसबाट हुने सबै मृत्युमध्ये करिब १६ लाख गैरसङ्क्रामक रोगहरूबाट भएको पत्ता लागेको प्रतिवेदनमा उल्लेख छ । यीमध्ये चार लाख ७४ हजार हृदयरोग, चार लाख एक हजार क्यान्सर तथा सवारी दुर्घटना र स्वयंलाई हानि गर्नेजस्ता चोटपटकबाट सात लाख २४ हजारको मृत्यु भएको थियो । प्रतिवेदनले मदिराको दुरुपयोगले मानिसहरूलाई क्षयरोग, एचआइभी र निमोनियाजस्ता सङ्क्रामक रोगप्रति अधिक संवेदनशील बनाउने औँल्याएको छ । सन् २०१९ मा अनुमानित २० करोड ९० लाख मानिस मदिराको निर्भरतामा बाँचिरहेका थिए ।

यो विश्व जनसङ्ख्याको तीन दशमलव सात प्रतिशत हो । विश्वभरमा प्रतिव्यक्ति मदिराको कूल खपत नौ वर्षअघिको पाँच दशमलव सात लिटरबाट थोरै घटेर सन् २०१९ मा पाँच दशमलव पाँच लिटर भएको छ । तर समग्रमा मदिराको खपत विश्वभरमा असमानरूपमा वितरण गरिएको छ । विश्वको १५ वर्षभन्दा माथि उमेरका आधाभन्दा धेरै जनसङ्ख्या पूर्णरूपमा मदिराबाट अछूतो छ । युरोपमा अहिलेसम्म प्रतिव्यक्ति मदिरा सेवन गर्नेको उच्चतम स्तर नौ दशमलव दुई लिटर छ । त्यसपछि अमेरिकामा सात दशमलव पाँच लिटर छ । प्रतिवेदनले सबैभन्दा कम खपत मुख्यगरी उत्तरी अफ्रिका, मध्यपूर्व र एसियाका मुस्लिम मुलुकहरूमा रहेको बताएको छ ।

तेहरानमा सम्पन्न एसिडी मन्त्रिस्तरीय बैठकमा नेपालको उपस्थिति उपलब्धीपूर्ण भयोः उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, ११ असार : उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ इरानको तेहरानमा सम्पन्न एसियाका ३५ देश सदस्य रहेको अन्तरसरकारी सङ्गठन ‘एसिया कोअपरेशन डाइलग (एसिडी)का विदेश मन्त्रीस्तरीय १९औँ बैठकमा नेपालको उपस्थिति उपलब्धिपूर्ण भएको बताउनुभएको ।

बैठकमा भाग लिई आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उपप्रधानमन्त्री श्रेष्ठले बैठकमा सहभागिताले क्षेत्रीय एवं अन्तर्राष्ट्रिय रुपमा नेपालको सकारात्मक छवि प्रवद्र्धन गर्न मद्दत पुगेको बताउनुभयो ।

उहाँले सदस्य मुलुकहरू बीच आपसी लाभका क्षेत्रहरूमा सहकार्यलाई घनिभूत बनाउन र वर्तमान परिप्रेक्ष्यमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तहमा देखापरेका जलवायु परिवर्तन, द्वन्द्व, ऊर्जा, सुरक्षा, प्राकृतिक प्रकोप, सङ्गठित अपराधजस्ता चुनौतीहरुको सामूहिकरुपमा सामना गर्नका लागि बैठकले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो ।

बहुपक्षीय एवं क्षेत्रीय कूटनीतिमार्फत राष्ट्रिय हित र स्वार्थहरुको संरक्षण तथा प्रवर्द्धन गर्ने नेपालको विदेश नीतिका उद्देश्यअनुरुप नेपाल ३४ औँ सदस्य राष्ट्रका रुपमा सन् २०१६ सो सङ्गठनमा आबद्ध भएको थियो े । त्यसयता नेपालले पारस्परिक लाभका विभिन्न क्षेत्रमा सहकार्य र संवादको मर्मलाई आत्मसात् गर्दै निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको श्रेष्ठको भनाइ छ ।

“आगामी अक्टोबरमा कतारमा आयोजना हुने शिखर सम्मेलनको तयारी र सङ्गठनको सचिवालय सुदृढीकरणका लागि आवश्यक महत्वपूर्ण नीतिगत दस्तावेजहरू पारित गर्नेलगायत विषयमा छलफल गर्न बैठकको आयोजना भएको हो”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभभयो,“उक्त बैठकबाट निर्णय भएका प्रमुख विषयहरू र सङ्गठनको भावी कार्यदिशा उल्लेख गरिएको तेहरान घोषणापत्र जारी भएको छ । मन्त्रिस्तरीय बैठकअघि सदस्य मुलुकका वरिष्ठ पदाधिकारीको बैठक आयोजना भएको थियो ।”

बैठकले ‘एसिडी ब्लुप्रिन्ट सन् २०२१—३०’, ‘एसिडी भिजन फर एसिया कोअपरेशन सन् २०३०’ र यसअघिका शिखर सम्मेलनलगायत बैठकहरूमा भएका समझदारीको प्रभावकारी कार्यान्वयनका लागि सदस्य मुलुकहरूबीच आपसी सहयोग, सहकार्य एवं ऐक्यबद्धतामा जोड दिएको छ । परराष्ट्रमन्त्री श्रेष्ठका अनुसार बैठकबाट सङ्गठनको संस्थागत विकास र सचिवालयको सुदृढीकरणसँग सम्बन्धित एसिडी निर्देशिका पारित, एसिडीको नयाँ महासचिव र उपमहासचिवको रुपमा क्रमशः कुवेत र इरान सरकारको तर्फबाट मनोनीत उम्मेदवारको सम्बन्धमा सदस्य राष्ट्रहरुको सहमतिको लागि सिफारिस गरेको र दुई हप्ताभित्र कुनै सदस्य राष्ट्रको असहमति प्राप्त नभएमा उक्त सिफारिस अनुमोदन भएको मानिने निर्णय भएको छ ।

उहाँले एसिडीको वर्तमान अध्यक्ष राष्ट्र इरानले संगठनको प्रक्रिया, गतिविधि र भूमिका अभिवृद्धिमा पु¥याएको महत्वपूर्ण योगदानको प्रशंसा गर्दै बैठकले सन् २०२५ को लागि थाइल्याण्डलाई नयाँ अध्यक्ष राष्ट्रका रुपमा स्वागत गरेको जानकारी दिनुभयो ।

एसियाली मुलुकहरुबीच एसिडीको उपस्थिति, जनचासो र प्रभावकारिता विस्तार गर्ने उद्देश्यअनुरुप प्रत्येक वर्ष जुन महिनामा ‘एसिडी डे’ मनाउने बैठकपछि जारी तेहरान घोषणापत्रमा उल्लेख गरिएको छ । सदस्य मुलुकहरुको सार्वभौमिकता, आन्तरिक क्षमता र भौगोलिक अखण्डतालाई सम्मान गर्दै क्षेत्रीय अन्तर आबद्धता अभिवृद्धि गर्ने, सामाजिक, सांस्कृतिक एवं जनस्तरको सम्बन्ध विस्तार गर्नेलगायतका विषयहरू घोषणापत्रमा समेटिएका छन् ।

गाजा क्षेत्रमा उत्पन्न मानवीय सङ्कटप्रति गहिरो चासो व्यक्त गर्दै गैरकानुनीरुपमा बन्धक बनाइएका व्यक्तिहरुको यथाशीघ्र र बिनाशर्त रिहाइ गर्न, युद्धग्रस्त क्षेत्रमा मानवीय सहयोग र उद्घारलाई बढावा दिन, विवादको दिगो र शान्तिपूर्ण समाधानका लागि पहल गर्नसमेत उक्त घोषणापत्रमार्फत अपिल गरिएको छ ।

बैठकले एसियाली विश्वविद्यालयहरुबीचको सञ्जाललाई विस्तार गरी सदस्य मुलुकहरुबीच सहकार्यका लागि आवश्यक कार्ययोजना बनाउन इरानले अध्यक्षता गरेको शिक्षा र मानव संशाधन विकाससम्बन्धी कार्यदललाई निर्देशन दिएको पनि उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।

भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले इरानका कार्यवाहक परराष्ट्रमन्त्री, म्यानमारका उपप्रधानमन्त्री तथा विदेशमन्त्री, बहराइनका विदेशमन्त्री, कुवेतका विदेशमन्त्री, साउदी अरबका उपविदेशमन्त्री र रुसी महासङ्घका उपविदेशमन्त्रीसँग द्विपक्षीय भेटघाट गरी आपसी सहकार्य र हितका विविध विषय तथा क्षेत्रीय एवं वैश्विक मुद्दाहरुमा समेत छलफल भएको जानकारी दिनुभयो ।

भारतीय राजधानीमा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु

भारतको राजधानी दिल्लीमा रहेको एउटा घरभित्र आगलागी हुँदा एकै परिवारका चार सदस्यको मङ्गलबार निसास्सिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

द्वारकाको प्रेम नगर क्षेत्रमा रहेको दुई तले भवनको पहिलो तल्लामा बिहानै आगलागी भएको एक प्रहरी अधिकारीले बताउनुभयो । “आगो पूर्णरूपमा निभाइएको छ र घरबाट शव परीक्षणका लागि अस्पताल लगिएको छ”, उहाँले भन्नुभयो ।

अधिकारीहरूका अनुसार मृतकहरू एक दम्पती र उनीहरूका दुई साना छोरा रहेका छन् ।प्रहरीको प्रारम्भिक अनुसन्धानमा विद्युत् चुहावट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

मानिसहरूले सुरक्षा मापदण्डहरूलाई बेवास्ता गर्ने र दहनशील सामग्री जथाभावी भण्डारण गर्ने भएकाले भारतीय घरहरूमा आगलागी हुने सम्भावनाहरू प्रायः उच्च हुन्छन् ।

नेपाल र चीन द्विपक्षीय संयन्त्रलाई थप सक्रिय बनाउन सहमत

काठमाडौँ । नेपाल र चीनका परराष्ट्र मन्त्रालयहरूबीचको कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक मंगलबार काठमाडौँमा सम्पन्न भएको छ ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल र चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व चीनका उपविदेशमन्त्री सुन वेइतोङले गरेका थिए ।

बैठकमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धका समग्र पक्षबारे समीक्षा गर्नुका साथै विगतमा भएका सम्झौता र समझदारीपत्रको कार्यान्वयनमा भएको प्रगति तथा विगतमा भएका निर्णयहरुको मूल्याङ्कन गरिएको थियो ।

उनीहरुले आपसी सहमति भएका क्षेत्रमा सहयोगलाई थप प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गर्दै पारस्परिक लाभका लागि आर्थिक अवसर सिर्जना गर्न मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका मन्त्रालयले जनाएको छ ।

दुवै तर्फबाट नेतृत्व गरेका प्रमुखले शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्त, पञ्चशील, आपसी विश्वास, सद्भाव र समझदारी नेपाल–चीन द्विपक्षीय सम्बन्धका प्रमुख विशेषता रहेको दोहोर्याएका थिए ।

परराष्ट्र सचिव लम्सालले सन् २०२६ मा नेपाल कम विकसित मुलुकबाट स्तरोन्नति भएपछि विकास सहयोग अभिवृद्धि गर्न चिनियाँ पक्षको प्रतिबद्धताका लागि धन्यवाद दिएका थिए । उपविदेशमन्त्री वेइतोङले एक चीन सिद्धान्तप्रति नेपालको प्रतिबद्धताको प्रशंसा गरेका थिए ।

दुवै पक्षले उच्चस्तरीय भ्रमण आदानप्रदानको परम्परालाई कायम राख्ने विषयमा समेत छलफल गरेका थिए । सन् २०२५ लाई नेपाल चीन भ्रमण वर्ष मनाउने सन्दर्भमा नेपालको पर्यटन सम्भावना प्रवर्द्धन, व्यापार, लगानी, पूर्वाधार विकास, कनेक्टिभिटी, कृषिलगायतका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने उपाय र उपायबारे समेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुवै पक्षले सन् २०२५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवलाई विशेष कार्यक्रम र गतिविधिका साथ मनाउने निर्णय गरेका छन् ।

यस्तै, बैठकले विद्यमान द्विपक्षीय संयन्त्रलाई थप सक्रिय बनाउन र संयुक्त आयोगलगायत नयाँ संयन्त्र स्थापना गर्नुपर्नेमा जोड दिएको छ ।

उपविदेशमन्त्री वेइतोङले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गरेका थिए । उनले बुधबार राष्ट्रपति रामचन्द्र पौडेल र उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उपविदेशमन्त्री वेइतोङ र उनको प्रतिनिधिमण्डल सोमबार काठमाडौँ आइपुगेको थियो । उनीहरु बुधबार बेइजिङ प्रस्थान गर्नेछन् ।

६० केजी सुन तस्करी प्रकरण : दोस्रो चरणको अनुसन्धानमा २० जना पक्राउ, १५ जना अझै फरार

काठमाडौँ । हङकङबाट क्याथे प्यासेफिकको विमानमार्फत नेपाल भित्राइएको ६० किलोग्राम सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दोस्रो चरणको अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ ।

गत वर्ष साउन २ गते हङकङबाट विमानमार्फत स्कुटरको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको ६० केजी सुन प्रकरणको दोस्रो चरणमा २० जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको सिआइबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

उनले भने, ‘६० केजी सुन प्रकरणमा दोस्रो चरणको अनुसन्धानमा २० जना पक्राउ गरी छानबिन गरिएको छ, १५ जना अझै फरार छन्, यस विषयमा केही दिनभित्र पत्रकार सम्मेलनमार्फत थप विवरण सार्वजनिक गरिने छ ।’

दोस्रो चरणको अनुसन्धानका सिआइबीले भारतीय नागरिक प्रशान्तगणेश वजवलकर, सिद्धनाथअशोक गायकवाड, बैजनाथमहादत्त गोयल, धीरजदिनेश वैट, पर्सा वीरगञ्ज–११ का सुरेन्द्रमान श्रेष्ठ, भक्तपुर सूर्यविनायक–५ का राजु खत्री, मध्यपुर–१५ का सुशील जाकिबन्जा, काभ्रेपलाञ्चोक तेमाल–४ का कान्छा लामा, नमोबुद्ध–१० का भीमप्रसाद तिमल्सिना, भुम्लु–१ का रुपक भण्डारी, काठमाडौँ–७ का प्रज्वल आचार्य, काठमाडौँ सुविधानगरका सुरजशमशेर जबरा, बाफलका कश्यप मानन्धर, गुल्मी सत्यवती–१ का लालबहादुर कुँवर, बारा जितपुर–१९ का अरुणकुमार यादव, तिब्बतीयन नागरिक गङ्गा टासी तथा सेराप भन्ने सोनम गुरुङलाई पक्राउ गरी थुनामा राखिएको प्रवक्ता बोगटीले बताए ।

उनका अनुसार दोस्रो चरणको अनुसन्धानमा सुन तस्करी गर्ने, गलाउने, ओसारपसार गर्ने, खरिद तथा बिक्री गर्ने तथा रकम व्यवस्थापनमा योजनाबद्ध रुपमा सङ्लग्नहरुमाथि अध्ययनको काम भइरहेको छ भने फरार रहेका १५ जनाको खोजी कार्य जारी छ । उक्त सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

यसअघि सिआइबीले पहिलो चरणको अनुसन्धान पूरा गरी गत असोज १ गते २९ जनाविरुद्ध तीन अर्ब ३० करोड ३० लाख बिगो तथा जरिवानाको मागसहित अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

रुसी सेनामा कार्यरत नेपालीलाई फिर्ता गर्न निरन्तर कुराकानी भइरहेको छ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपालीलाई स्वदेश फिर्ता गर्न रुसी सरकारसँग निरन्तर कुराकानी भइरहेको जानकारी दिएका छन् ।

इरानको तेहरानमा भएको एसियाका ३५ देश सदस्य रहेको अन्तरसरकारी सङ्गठन ‘एसिया कोअपरेशन डाइलग (एसिडी)का विदेश मन्त्रीहरुको १९औँ बैठकमा सहभागी भई मंगलबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले रुसको विदेश मन्त्रालय र सम्बन्धित निकायसँग नेपालीलाई फिर्ताका लागि निरन्तर पहल भइरहेको बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले रुसको उपविदेशमन्त्रीसँगको भेटमा पनि आफूले रुसी सेनामा रहेका नेपालीलाई स्वदेश फिर्ताका लागि विशेष चासोका साथ कुराकानी गरेको जानकारी दिए ।

उनले भने, “नेपालीको स्वदेश फिर्ताका लागि मैले रुसका उपविदेशमन्त्रीसँगको भेटका क्रममा कुराकानी गरेँ । यसअघि पनि रुसका विदेशमन्त्रीसँग टेलिफोन वार्तामार्फत कुराकानी भएको थियो । हाम्रो मन्त्रालयका तर्फबाट त्यहाँका दूतावाससँग लगातार कुरा गरिएको छ ।”

उपप्रधानमन्त्री श्रेष्ठले मस्कोस्थित नेपाली राजदूताबासबाट रुसको विदेश मन्त्रालय र अन्य सम्बन्धित निकायसँग समन्वय गरी रुस सरकारसँग कुरा हुँदा कतिपय नेपाली अफ्ठ्यारो स्थितिमा रहेको पाइएको बताए । उनले रुसी सेनामा क्रियाशील नेपालीको वास्तविक संख्या र अवस्थाबारे बुझ्न विभिन्न माध्यमबाट पहल भइरहेको जानकारी दिए ।

“रुसले नेपालीलाई युक्रेनसँगको युद्धमा समेत पठाएको जानकारी आएपछि हामी त्यहाँको सरकारसँग लगातार वार्ता गरिरहेका छौँ । यससन्दर्भमा पहिले पनि त्यहाँका विदेशमन्त्री र दुवै देशका राजदूतावासमार्फत पहल गरिएको छ । पहिलो कुरा त रुसी सेनामा कति नेपाली छन् र उनीहरुको अवस्था कस्तो छ त्यसको जानकारी चाहियो भनेका छौँ”, उपप्रधानमन्त्री श्रेष्ठले भने ।

रुसी सेनामा रहँदा ज्यान गुमाएका नेपालीलाई अन्तिम संस्कारका लागि नेपाल पठाउन आग्रह गरिएको र ज्यान गुमाएका पीडित परिवारलाई उचित क्षतिपूर्ति तथा घाइतेको शीघ्र उपचार र उचित क्षतिपूर्ति उपलब्ध गराउन कुराकानी गरिएको पनि उनले जानकारी दिए ।

उनका अनुसार रुस र युक्रेन युद्धमा लड्दा हाल छजना नेपाली युक्रेनको नियन्त्रणमा रहेको जानकारी आएको र युद्धबन्दीअन्तर्गत नेपालीलाई प्राथमिकतामा राखेर फिर्ता गर्न भनिएको छ । उपप्रधानमन्त्री श्रेष्ठले सिद्धान्ततः रुस सरकारले सेनामा रहेका नेपाली फिर्ता गर्न सहमति जनाएको तर त्यसको मोडालिटीबारे अझै काम बाँकी रहेको जानकारी दिए ।

कुबेतले नेपालमा दूतावास खोल्ने

उपप्रधनमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठका अनुसार कुबेतले यसै वर्ष नेपालमा राजदूतावास खोल्ने जानकारी दिएको छ । कुबेतमा करिब एक लाख नेपाली कामदार कार्यरत रहेका र त्यो सङ्ख्या तीन लाखसम्म पुर्याउने जानकारी दिएको उनले बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले अन्य मुलुकसँग पनि द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्न र आर्थिक सहयोगका लागि छलफल तथा अन्तरक्रियालाई अगाडि बढाउनेबारे कुराकानी भएको जानकारी दिए ।

प्रतिनिधिसभाको बैठक बिहीबार बस्ने

काठमाडौँ, ११ असार : प्रतिनिधिसभाको बैठक आगामी असार १३ गते बिहीबार बिहान ११ गते बस्ने भएको छ । आजको दैनिक कार्य सूचीमा रहेको क्रमसङ्ख्या छ को कार्यसूची हटाइएको जानकारी दिँदै सभामुख देवराज घिमिरेले अर्को बैठक असार १३ गते बिहीबार बिहान ११ गते बस्ने गरी स्थगित भएको जानकारी गराउनुभयो ।

क्रमसङ्ख्या छ मा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री हितबहादुर तामाङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदन सहितको अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८ माथी छलफल गरियोस्’ र ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको थियो ।

नेपालमा लगानीको वातावरण बनाउन सरकारलाई सांसदहरुले गराए ध्यानाकर्षण

काठमाडौँ, ११ असार : प्रतिनिधिसभा सांसदहरुले नेपालमा लगानीका लागि सहज वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमा विचार प्रस्तुत गर्दै उहाँहरुले यस विषयमा जोड दिनुभएको हो । नेपालमा लगानीका लागि सहज स्थिति नहुँदा लगानीकर्ता निरुत्साहित हुनुपरेको भन्दै उहाँहरुले यसमा लागि सहजीकरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद देवेन्द्र पौडेलले लगानी सहजीकरण गर्न सुशासन, समृद्धि र समाजवादको दिशामा अगाडि बढ्न लगानी जरुरी रहेको बताउनुभयो । यसको लागि कम्तिमा दश वर्षमा निश्चित लगानी गरेर रोजगारी सिर्जना गर्ने गरी उद्योग मन्त्रालयले काम गर्न जरुरी रहेको उहाँको भनाइ छ । वन क्षेत्रमा देखिने समस्यामा सहजीकरण, खानेपानी, बिजुली र जमिनको उचित प्रवर्द्धन गरेर लगानीकर्तालाई प्रोत्साहन गर्न उहाँले उद्योगमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रमेश लेखकले लगानीका लागि अनुकूल वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । सांसद डा अमरेसकुमार सिंहले लगानी प्रक्रिया निष्पक्ष र सरल हुनुपर्ने बताउनुभयो । राजनीतिक अवस्था र विचौलिया प्रवृत्तिका कारण लगानी प्रभावित भइरहेको उहाँको भनाइ थियो । लगानी सहजीकरणका सम्बन्धमा सांसद गणेश पराजुली, असिम साह, नागीना यादव, जुलीकुमारी महतो (महासेठ), निशा डाँगीलगायतले धारणा राख्नुभएको थियो ।

महिलालाई सबै क्षेत्रमा सक्षम बनाउन जरुरी : मुख्यमन्त्री महरा

सिद्धार्थनगर, ११ असार : लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले महिला सशक्तीकरणका लागि राष्ट्रिय महिला आयोगलाई थप सक्रियतापूर्वक काम गर्न आग्रह गर्नुभयो ।आयोगले आज लुम्बिनी प्रदेशसभाका नीतिगत विषयमा प्रदेशसभाका संसदीय समितिका सभापति र महिला सांसदसँग अन्तक्र्रियामा मुख्यमन्त्री महराले महिलालाई सबै क्षेत्रमा सक्षम बनाउने गरी सबैले काम गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले यस्ता छलफल तथा अन्तक्र्रियाले नीति, नियम निर्माणमा सहयोग पुग्ने भएकाले आयोगले प्रदेशसँगै सङ्घीय सरकारलाई पनि यसतर्फ ध्यानाकर्षणका लागि पहलकदमी लिनुपर्ने सुझाव दिनुभयो । “नेपालमा विभिन्न आन्दोलन तथा जनयुद्धले सबै क्षेत्रमा जागरुकता ल्याएको छ । अब महिलालाई सबै क्षेत्रमा सक्षम बनाउन आयोगले थप भूमिका खुल्नपर्ने आवश्यकता छ ।”

यस्तै महिलाको सम्पत्तिमा पनि समान अवसर प्रदान गर्नुपर्ने आवश्यकता औँल्याउँदै मुख्यमन्त्री महराले यसमा सकारात्मक भूमिका खेल्न सबैले सहयोग गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । “पछिल्लो समय नेपालमा महिलाहरू राजनीति र विचारमा अगाडि आएका छन् । अब आर्थिक, सामाजिक रुपमा थप शसक्त बनाउन आयआर्जन र सम्पत्तिमा पनि पहुँच बढाउन लाग्नुपर्छ । प्रदेश सरकारले पनि आएका सुझावलाई समेटेर नीति–नियम निर्माणमा जोड दिनेछ ।”

लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरले समाजमा देखिएका विभिन्न विभेदको अन्त्यका लागि आयोगले अभियान चलाउनुपर्ने सुझाव दिनुभयो । उहाँले आयोगले सातै प्रदेशसभासँग सहकार्य गरेर ऐन, कानुन र नीतिनियम निर्माण गर्दा उपलब्धीमूलक हुने धारणा राख्नुभयो । कार्यक्रममा लुम्बिनी प्रदेशका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती अधिकारीले नीति निर्माण तहमा महिला नेतृत्वले भोगेका समस्या पहिचान गरी आयोगले समाधानका लागि सहजीकरण गर्नुपर्ने धारणा राख्नुभयो ।

लुम्बिनी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कृष्णा केसीले संविधानले गरेका व्यवस्था लागू गर्न सबै निकायले सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय महिला आयोगका सदस्य कृष्णकुमारी पौडेल खतिवडाले आयोगले सबै प्रदेशका प्रदेश महिला सांसदसँग प्रत्यक्षरुपमा छलफल गर्दै आएको बताउनुभयो । यसले नीतिगतरुपमा काम गर्न सहज भएको उहाँको भनाइ छ । खतिवडाले समाजमा अहिले पनि महिला पुरुषबीच विभेद कायमै रहेको भन्दै त्यसको न्यूनीकरणका लागि आयोगले जनप्रतिनिधिसँग सहकार्य गरेर काम गरिरहेको जानकारी दिनुभयो ।

मेलम्चीको सुरुङ बन्द गरेसँगै धाप ड्यामबाट उपत्यकामा पानी वितरण

काठमाडौँ ।  सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजना बन्द भएपछि आजबाट बागमती सुधार आयोजनाअन्तर्गत धाप ड्यामबाट उपत्यकामा पानी वितरण सुरु गरिएको छ । मेलम्ची खानेपानी आयोजनालाई मनसुनजन्य विपत्तिबाट जोगाउन हिजोबाट आयोजना बन्द गरिएको हो ।

बागमती सभ्यता–एकीकृत विकास समितिसँग धाप ड्यामको पानी ल्याएर उपत्यकावासीलाई वितरण गर्ने सहमति भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए । उनले हिजोबाट मेलम्ची खानेपानी आयोजना बन्द भएपछि आजदेखि धाप ड्यामको पानी वितरण सुरु भएको बताए ।

राईका अनुसार उपत्यकामा मेलम्चीको खानेपानी बन्द भएपछि खानेपानी अभाव बढ्ने भएकाले आपूर्ति व्यवस्थापनलाई केही सहज गर्न धाप ड्यामबाट दैनिक तीनदेखि चार करोड लिटर पानी ल्याउने सहमति भएको हो ।

“मेलम्ची खानेपानीबाहेक विभिन्न स्थानबाट यो सुख्खा मौसममा नौ  करोड लिटर दैनिक उपभोक्तालाई खानेपानी वितरण हुन्छ, त्यसमध्ये ४० प्रतिशत भूमिगत पानीले कभर गर्छ”, उनले भने, “अब मेलम्चीको पानी बन्द भएपछि उपत्यकामा पानीको अभाव हुने भएकाले धाप ड्यामबाट पानी वितरण सुरु गरेका छौँ ।”

उनका अनुसार काठमाडौँमा दैनिक ४३ करोड खानेपानी माग छ । आवश्यकताअनुसार पानी आपूर्ति गर्न सकिएको छैन । बढ्दो जनसङ्ख्यासँगै भूमिगत पानी, पोखरी, ढुङ्गेधारा सुक्दै जाँदा उपत्यकामा खानेपानीको अभाव बढिरहेको छ ।

माथिल्लो तटिय क्षेत्रमा पानी परिरहेको र अघिल्ला वर्षमा मेलम्ची नदीमा आएको बाढीले आयोजनाको ड्याममा क्षति पर्नुका साथै आयोजनासम्म जाने पुल बगाएपछि आयोजनालाई सुरक्षित गर्न हिजोदेखि आयोजना बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए ।

जुम्लाका सबै स्थानीय तहले ल्याए बजेट, कसको कति बजेट ?

जुम्ला, ११ असार : जुम्लाका आठवटै स्थानीय तहले आर्थिक वर्ष २०८१/८२ का लागि बजेट ल्याएका छन् । ती सबै स्थानीय तहले रैथाने बाली संरक्षणदेखि शिक्षा, स्वास्थ्य, कृषि, सञ्चार, खानेपानी र बेरोजगार युवालाई रोजगारलगायतका कार्यक्रम बजेटमा समेटेका छन् ।

जिल्लाको तिला गाउँपालिकाले आगामी आवका लागि रु ४७ करोड ४० लाखको बजेट ल्याएको छ । गाउँपालिकाका उपाध्यक्ष एवं कार्यक्रम तथा बजेट तर्जुमा समितिका संयोजक गोरीकला बुढाका अनुसार स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याइएको छ ।

सुलभ स्वास्थ्य सेवा विस्तार गर्न १० शय्याको अस्पताल निर्माणलाई तीव्रता दिइने नीति तथा कार्यक्रममा समावेश गरिएको उपाध्यक्ष बुढाले जानकारी दिनुभयो । सिंजा गाउँपालिकाले रु ४१ करोड २१ लाखको बजेट प्रस्तुत गरेको छ । बजेट बेहोर्ने स्रोतका रूपमा आन्तरिक राजस्व, अन्तरसरकारी राजस्व बाँडफाँट तथा सङ्घ र प्रदेशबाट प्राप्त अनुदानलाई आधार बनाएर बजेट सार्वजनिक गरेको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी बताउनुभयो ।

तातोपानी गाउँपालिकाले रु ४९ करोड ४० लाखको बजेट ल्याएको छ । गुठीचौर गापाले रु ४१ करोड १० लाखको बजेट प्रस्तुत गरेको छ । हिमा गापाले रु ४९ करोड ४१ लाख बजेट ल्याएको गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीको भनाइ छ । कनकासुन्दरी गापाले रु ५१ करोड दुई लाख र पातारासी गापाले रु ४४ करोड ४९ लाख बजेट ल्याएको उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिनुभयो ।

जिल्लाको एक मात्र नगरपालिका चन्दननाथले रु ६७ करोड १० लाखको बजेट प्रस्तुत गरेको नगरउपप्रमुख रामदेवी खड्काले जानकारी दिनुभयो । नीति तथा कार्यक्रममा व्यवस्थित सहरीकरण, वातावरण संरक्षण तथा विपत् व्यवस्थापन, फोहरमैला व्यवस्थापन र खानेपानी प्राथमिकतामा राखिएको नगरपालिकाले जनाएको छ । यस्तै गुठीचौर, पातारासी, कनकासुन्दरी र तातोपानी गाउँपालिकाले पनि कृषि, सञ्चार र स्वास्थ्य, भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् ।

कम्तीमा एकपटक पालिकास्तरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । विशेषज्ञसहित निःशुल्क स्वास्थ्य शिविर र ज्येष्ठ नागरिक, बालबालिका र गर्भवतीको नियमित स्वास्थ्य परीक्षणको प्रभावकारी व्यवस्था मिलाइने तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिनुभयो ।

पालिकाले स्वास्थ्यसँगै शिक्षा क्षेत्रलाई पनि प्राथमिकतामा राखेको छ । सीपमूलक र व्यावहारिक शिक्षासहित सुविधा सम्पन्न इसिइडी कक्षा व्यवस्थापन, जीवनउपयोगी शिक्षा, एक वडा एक खेलकुद मैदान निर्माण, विद्यालयको सुन्दरता र हराभरा विद्यार्थीहरुको सक्रिय सहभागितालगायत कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरिएको तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताउनुभयो ।

गाउँपालिकाले पर्यटन क्षेत्रको विकासका लागि प्राथमिकताका साथ योजना ल्याएको छ । सेवा प्रवाह जनताको घरदैलोमा पु-याउन एकीकृत घुम्ती सेवामार्फत सेवा प्रवाह गर्ने र करको दर घटाउँदै करको दायरा बिस्तार गर्ने योजना तिलाले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

पोलियो उन्मूलन प्रयासलाई तीव्र बनाउने पाकिस्तानी प्रधानमन्त्रीको सङ्कल्प

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले सोमबार देशबाट पोलियो भाइरस उन्मूलन गर्ने सङ्कल्प व्यक्त गर्नुभएको प्रधानमन्त्रीको कार्यालयले बताएको छ ।

बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनका सहअध्यक्ष बिल गेट्स र स्थानीय अधिकारीहरूका साथमा पोलियो उन्मूलनसम्बन्धी राष्ट्रिय कार्यदलको बैठकको अध्यक्षता गर्दै सरिफले महत्त्वपूर्ण प्रगतिका लागि अग्रपङ्क्तिमा कार्यरत कर्मचारी, सरकारी नेतृत्व र साझेदारको सहयोगको प्रशंसा गर्नुभयो ।

उहाँले पोलियो उन्मूलन कार्यक्रममा गेट्स फाउन्डेसनको प्रमुख साझेदारी र लामो समयदेखि सहयोग गरेकोमा प्रशंसा गर्दै यो भाइरस सर्ने र बालबालिकालाई पक्षाघात भइरहँदासम्म यसको निर्मूलनका लागि सरकारको पहल पूर्णरूपमा जारी रहने बताउनुभयो ।

सन् २०२४ मा पाँच पोलियो केस र एक सय ८५ वातावरणीय नमूना पोलियोभाइरस पोजिटिभ भएको रिपोर्ट आउनुलाई ठूलो चिन्ताको विषय भएको भन्दै उहाँले पोलियो खोप टोलीलाई सुरक्षा दिन र राष्ट्रिय प्रयासलाई तीव्रता दिन पाकिस्तानमा सबै स्रोत परिचालन गर्न निर्देशन दिनुभयो ।

बिल गेट्सले आफ्नो टिप्पणीमा जटिल चुनौतीहरूको सामना गर्दै पोलियो उन्मूलन गर्ने देशको प्रयासहरू सबैको स्वास्थ्य सुधारमा संलग्न सबैको कडा परिश्रम र समर्पणको एउटा उदाहरण हुने भन्नुभयो ।

“म विश्वस्त छु कि सँगै काम गर्न जारी राखेर, नवीन दृष्टिकोणहरू लागू गरेर र सतर्क रहँदा पाकिस्तानले पोलियो अन्त्य गर्न ठूलो प्रगति गर्नेछ”, उहाँले भन्नुभयो ।

युरोपियन युनियनद्वारा युक्रेनी शरणार्थीलाई सन् २०२६ सम्म आवास अधिकार विस्तार

युरोपियन युनियनले रुस युक्रेन युद्धले ग्रसित युक्रेनी शरणार्थीहरूलाइ सन् २०२६ मार्च सम्म उनीहरु बसिरहेको ब्लकमा बस्ने अधिकार विस्तार गरेको छ । हाल करिब ४।२ मिलियन युक्रेनीहरू युरोपियन युनियनमा शरणार्थीका रूपमा दर्ता भएका छन् ।

जर्मनी, पोल्याण्ड र चेक गणतन्त्रले ठूलो सङ्ख्यामा शरणार्थीहरुलाई संरक्षण गर्दै आएका छन् । रुसले दिनहु जसो बमबारी युद्धद्वारा युक्रेनी जनतालाई आतङ्कित तुल्याइरहेकाले अहिले अवस्था सुरक्षित परिस्थिति नभएको बताउदै बेल्जियमको शरण र आप्रवासनका लागि राज्य सचिव निकोल डे मूरले विज्ञप्तिमा जारी गर्नु भएको छ ।

रुसको आक्रामणबाट भागेका मानिसहरूले आफ्नो एकतामा भर पर्न सक्ने बताउदै डि मुरले जुन महिनाको अन्त्यसम्म युरोपेली संघको अध्यक्षता गर्ने जनाउनु भयो । फेब्रअरी २०२२ मा मस्कोले पूर्ण आक्रमण सुरु गरेको केही हप्तापछिे युरोपेली सङ्घले पहिलो पटक युक्रेनीहरूलाई बस्ने अधिकार प्रदान गरेको थियो । प्रासम्भिक सम्झौता अनुसार यसको समय सन् २०२४ मार्च –४ मा समाप्त हुने तय गरिएको थियो ।

अस्थायी सुरक्षाबाट लाभान्वितहरूले निवास अनुमति, श्रम बजार र आवासमा पहुँच, चिकित्सा सहायता, सामाजिक कल्याण र शिक्षामा पहुँच सहित युरोपेली युनियन भर समान अधिकार प्राप्त गर्छन । पछिल्लो विस्तारको विरुद्धमा युक्रेनी सेनाले अग्र पक्तिका आक्रमणकारीहरु समात्न सङ्घर्ष गर्दा रूसी हवाई आक्रमणले देशको ऊर्जा ग्रिडलाई ध्वस्त पारेको छ । जसले किभलाई युरोपियन युनियनबाट निरन्तर उर्जा आयात आपूर्ति गर्न बाध्य पारेको छ ।

अस्पताल भर्ना भएपछि पानी सङ्कटको विषयमा जारी भारतिय जलमन्त्रीको भोक हडताल समाप्त

भारतको राजधानी दिल्लीमा चलिरहेको पानी सङ्कटलाई लिएर दिल्ली सरकारका जल मन्त्री आतिशीको अनिश्चितकालीन भोक हडताल उहाँको स्वास्थ्य बिग्रिएर अस्पतालमा भर्ना भएपछि मङ्गलबार समाप्त भएको छ ।

जल मन्त्रीलाई उहाँको रगतमा सुगरको मात्रा –३६ मा झरेको कारण स्थानीय अस्पतालमा भर्ना गरिएको स्रोतले जनाएको छ । आम आदमी पार्टीका अनुसार आतिशीले विगत पाँच दिनदेखि केही खानु भएको छैन ।

दिल्लीमा गर्मीको लहरको बीचमा आतिशीले देशको प्रधानमन्त्री नरेन्द्र मोदीलाई चलिरहेको पानीको अभावबारे पत्र लेखेर सहज पानी प्राप्तीको माग गर्दै जुन –२१ मा भोक हडताल सुरु गर्नु भएको थियो । उहाँले छिमेकी हरियाणाले दिल्लीलाई पर्याप्त पानी नदिएकाले पानीको सङ्कट उत्पन्न भएको जनाउदै आउनु भएको थियो ।

अफगानिस्तानमा एक वर्षभित्र १५०परियोजना सुरु : अधिकारी

पश्चिमी अफगानिस्तानको हेरात प्रान्तमा एक वर्ष भन्दा कम समयमा ४.५ मिलियन अमेरिकी डलर लगानीका १५० वटा कृषि तथा पूर्वाधार परियोजनाको निर्माण कार्य सुरु भएको एक स्थानीय अधिकारीले बताएका छन् ।

परियोजनाहरूमा जलाशय बाँध, सडक, सुरक्षात्मक पर्खाल र पानी नहरहरू, साथै प्रान्तको एन्जेल, गुजारा र जेन्डाजन जिल्लाका छेउछाउका कुवाहरू समावेश रहेको हेरातको प्रान्तीय सरकारका प्रवक्ता निसार अहमद इल्यासले बताउनु भयो ।

सार्वजनिक उपयोगिताका परियोजना कार्यान्वयन गरेर छ हजार गाउँलेका लागि रोजगारीको अवसर सिर्जना गरिएको इल्यासले भन्नु भयो । स्थानीय अधिकारीहरूले प्रान्तमा सन्तुलित विकास, रोजगारी सिर्जना र जनताको जीविकोपार्जन सुधारमा ध्यान दिएका छन् ।

अफगान कार्यवाहक सरकारले आर्थिक चुनौतिहरूको सामना गर्ने र रोजगारीका अवसरहरू सिर्जना गर्ने उद्देश्यले युद्धग्रस्त देशभरि थप कृषि र पूर्वाधार परियोजनाहरू सुरु गर्ने योजना बनाएको छ ।

अमेरिकाको द्वन्द्व रोक्ने प्रयासका बीच इजरायलद्वारा गाजामा बम प्रहार

संयुक्त राज्य अमेरिकाले आफ्ना सहयोगीहरुलाई लेबनान सीमामा हिंसा बढ्न नदिन आग्रह गरेसँगै प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्धको “तीव्र चरण“ समाप्त भइरहेको बताउनुभएको थियो तर इजरायलले मङ्गलबार गाजामा पुनः बम प्रहार गरेको छ ।

हमासद्वारा सञ्चालित क्षेत्रको नागरिक सुरक्षा एजेन्सीका अनुसार इजरायली सेनाले गरेको घातक आक्रमणमा परी दुई विध्यालयका १३ जनाको मृत्यु हुनुका साथै गाजा शहरको एक घर नष्ट भएको छ।

इजरायलले गाजाबाट लेबनानको सिमानामा केही सैनिकहरू पुनः तैनाथ गर्ने योजना बनाएको बेला अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले सोमबार देशको रक्षामन्त्रीलाई हिंसा बढ्न नदिन दबाब दिनुभएको हो ।

ब्लिन्केनले “द्वन्द्वको थप वृद्धिबाट बच्न र इजरायली र लेबनानी दुवै परिवारलाई आफ्नो घर फर्कन अनुमति दिन कूटनीतिक समाधानमा पुग्ने महत्वलाई जोड दिनुभयो“, प्रवक्ता म्याथ्यू मिलरले वासिङ्टनमा रक्षामन्त्री योव ग्यालान्टसँगको बैठकपछि बताउनुभएको हो ।

अक्टोबर ७ मा इजरायल–हमास युद्ध सुरु भएदेखि इजरायल र लेबनानको हजबोल्लाहबीच दैनिक सीमापार गोलीबारी भइरहेको छ । पछिल्लो लडाइँमा, इरान समर्थित हजबोल्लाहले सोमबार सीमापारका तीनवटा इजरायली सैन्य स्थल लक्षित आक्रमण गरेको बताएको छ।

इजरायली सेनाले आफ्ना लडाकु विमानहरूले पूर्वी लेबनानको बालबेक क्षेत्रमा उग्रवादी पूर्वाधारमा आक्रमण गरेको बताएको छ। हालैका महिनाहरूमा आ–आफ्ना राष्ट्रका सीमावर्ती क्षेत्रका हजारौँ लेबनानी र इजरायली नागरिकहरू लडाइँका कारण विभिन्न देशमा शरण लिन बाध्य भएका छन्।

“हजबोल्लाहलाई सीमाबाट हटाउनुपर्छ“, इजरायली सीमावर्ती सहर किर्यात शमोनाबाट विस्थापित ४९ वर्षीया हेलेन एबर्गेलले भन्नुभयो ।गाजामा इजरायली आक्रमणले धेरै पूर्वाधार नष्ट गरेको छ र नागरिकहरु बाँच्न सङ्घर्ष गरिरहेका छन् ।

भारतका प्रधानमन्त्री मोदीको रुस भ्रमणको ‘तयारी’ भइरहेको क्रेमलिनको भनाइ

निकट भविष्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रुस भ्रमणको ‘तयारी’ भइरहेको क्रेमलिनले मङ्गलबार बताएको छ । यद्यपि उसले भ्रमणको निश्चित मिति दिन अस्वीकार गरेको छ ।

दुई वर्षभन्दा धेरै समयअघि मस्कोले युक्रेनमा पूर्णस्तरको सैन्य आक्रमण सुरु गरेपछि यो मोदीको पहिलो रुस भ्रमण हुनेछ । उक्त द्वन्द्वले मस्को र नयाँदिल्लीबीचको सम्बन्धको परीक्षण गरेको छ ।

“हामीले भ्रमणको तयारी गरिरहेका छौँ, हामी तपाईंलाई समयमै सूचित गर्नेछौँ”, भारतीय र रुसी सञ्चारमाध्यमा मोदीले जुलाईको सुरुमा मस्कोको भ्रमण गर्ने योजना बनाइरहेको बारे प्रश्न गर्दा क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले भन्नुभयो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारत र मोदीलाई सम्भावित कूटनीतिक र आर्थिक सहयोगीका रूपमा हेर्नुहुन्छ तर युक्रेनमाथि रुसको आक्रमणले सम्बन्ध जटिल बनाएको छ ।

सन् २०२२ सेप्टेम्बरमा उज्बेकिस्तानमा भएको क्षेत्रीय शिखर सम्मेलनमा पुटिन र मोदीबीचको बैठकमा रुसी राष्ट्रपति पुटिनले मोदीसँग आफूले द्वन्द्वका बारेमा ‘चिन्ता’ रहेको बुझेको र मोदीले यसलाई ‘जतिसक्दो चाँडो’ अन्त्य गर्न चाहेको बताउनुभएको थियो ।

भारतीय नागरिकहरू रुसी सेनासँग ‘सहायक नोकरी’ का लागि भर्ती भएको, केही रुसी सीमावर्ती गाउँमा फँसेको र उनीहरूलाई युक्रेनमा लड्नका लागि बाध्य बनाइएको जस्ता समाचार आएपछि यसै वर्षको प्रारम्भमा भारतले रुसमा आफ्ना केही नागरिकलाई रिहा गर्न दबाब दिइरहेको बताएको थियो ।

यसले भारतीयहरूसँग ‘यो द्वन्द्वबाट टाढा रहन’ आग्रह गरेको छ । यद्यपि नयाँदिल्ली पनि किएभको कट्टर समर्थक भएको छैन । विशेषगरी यसै महिनाको सुरुमा स्विट्जरल्यान्डमा एक शान्ति शिखर सम्मेलनमा संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्न भारतले अस्वीकार गरेको थियो । उक्त विज्ञप्तिमा कुनै पनि शान्ति सम्झौतामा युक्रेनको क्षेत्रीय अखण्डताको सम्मान गर्न आह्वान गरिएको थियो ।

भारत पनि रुसी तेलको प्रमुख खरिदकर्ता बनेको छ । पश्चिममा रुसलाई परम्परागत बजारहरूबाट विच्छेद गराएपछि त्यसलाई भारतले अत्यावश्यक निर्यात बजार उपलब्ध गराएको छ ।

हालै ऐतिहासिक तेस्रो कार्यकालका लागि निर्वाचित हुनुभएका प्रधानमन्त्री मोदीले पछिल्लो पटक सन् २०१९ सेप्टेम्बरमा सुदूर पूर्वी सहर भ्लाडिभोस्टकमा भारत–रुस वार्षिक शिखर सम्मेलनका लागि रुसको भ्रमण गर्नुभएको थियो ।

सम्झौताविपरीत नदीजन्य पदार्थ उत्खनन गरिएको छानबिन समितिको निष्कर्ष

जनकपुर, ११ असार : जिल्ला प्रशासन कार्यालय धनुषाले गठन गरेको छानबिन समितिले बडहडी खोलामा अनधिकृत उत्खनन गरी ठेकेदारले अनियमितता गरेको निष्कर्ष निकालेको छ ।

गत जेठ २८ गते जिल्ला समन्वय समिति धनुषाका इञ्जिनियर अजयकुमार यादवको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले ठेकेदारले अनियमतिता गरेको निष्कर्षसहित आज प्रतिवेदन बुझाएको हो ।

समितिले धनुषाको बटेश्वर गाउँपालिका–१ स्थित बडहडी खोला उत्खननका लागि गाउँपालिकाले लगाएको ठेक्का सम्झौतामा उल्लेख भएको परिमाणको पाँच गुणा बढी गिट्टी बालुवा उत्खनन गरेको प्रतिवेदन प्राप्त भएको प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताउनुभयो । “छानबिन समितिले बुझाएको नापजाँचसहितको प्रतिवेदनमा सम्झौताविपरीत पाँच गुणा बढी नदीजन्य पदार्थ उत्खनन गरेको पाइएको छ । अब बैठक बसेर के कसरी कारबाही प्रक्रिया अघि बढाउने भन्ने विषयमा छलफल हुन्छ”, प्रजिअ कडरियाले भन्नुभयो ।
बटेश्वर गाउँपालिका कार्यालयले गत फागुन ६ गते महोत्तरी बर्दिबासको पञ्चधुरा सप्लायर्सलाई १४ हजार चार सय ४५ घटमिटर नदीजन्य पदार्थ उत्खननको लागि रु २७ लाख नौ हजार एक सय तीनमा ठेक्का लगाएको थियो । ठेक्का सम्झौताअनुसार ठेकेदारले १५ जेठ २०८१ सम्म उक्त परिमाण उत्खनन गर्न पाउने थियो तर ठेकदार कम्पनीले योलगायत ३२ बुँदे सम्झौतामध्ये अधिकांश बुँदा पालना नभएका देखिएको छ ।

ठेकेदारले जेसिबी, स्काभेटरजस्ता ठूला यन्त्र प्रयोग गरी २५ फिटसम्म गहिरो खाँडल बनाएर नदीजन्य पदार्थ उत्खनन गरेको प्रतिवेदनमा उल्लेख छ । यसले गर्दा निरशपुर, विजयपुर र चित्रपुर बस्ती बाढीपहिरोको जोखिममा परेका छन् ।

सर्वसाधारणको गुनासोपछि गत जेठ दोस्रो साता प्रजिअ कडरियाले खोलाको अनुगमन गरी कारबाहीका लागि गाउँपालिका कार्यालयलाई पत्राचार गर्नुभएको थियो । जनप्रतिनिधि र पालिका कर्मचारीले चासो नदेखाएपछि गत जेठ २८ गते उहाँले जिल्ला समन्वय समिति धनुषाका इञ्जिनियर यादवको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्नुभएको थियो । समितिमा बटेश्वर गाउँपालिका र हुलाकी सडक निर्देशनालयका इञ्जिनियर सदस्य छन् । समितिलाई खोलामा भएको उत्खननको नापजाँच गरी सात दिनभित्र प्रतिवेदन बुझाउन समय दिएको थियो ।

भन्सार महसुलसम्बन्धी विधेयक २०८१ स्वीकृत

काठमाडौँ, ११ असार : प्रतिनिधिसभाबाट भन्सार महसुलसम्बन्धी विधेयक २०८१ बहुमतले स्वीकृत भएको छ । सभाको आजको बैठकमा विधेयकमाथि उठेका सैद्धान्तिक छलफलमा अर्थमन्त्री वर्षमान पुनले जवाफ दिएपछि बैठकको अध्यक्षता गर्नुभएका उपसभामुख इन्दिरा रानाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।

सांसदहरू सञ्जय कुमार गौतम, जुलीकुमारी महतो (महासेठ), प्रेम सुवाल, नागीना यादव, डा अमरेसकुमार सिंह, गणेश पराजुली, बद्रीप्रसाद पाण्डे भन्सार महसुलसम्बन्धी विधेयक २०८१ माथिको सैद्धान्तिक छलफलमा सहभागी हुनुभएको थियो ।

अछाममा करेन्ट लागेर एक जनाको मृत्यु, एक जना घाइते

अछाम १० असार : अछाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्लाको तुर्माखाद गाउँपालिका–६ निवासी १५ वर्षका बिमल बिक र १४ वर्षिय झंकर विक घरबाट तुर्माखाँद गापा–७ बासकाडा जाने क्रममा कच्ची सडकखण्डमा पोलबाट चुँडिएर सडकमा खसेको तारमा झंकर विकलाई करेन्ट लागेको थियो । झंकरलाई करेन्ट लागेपछि बचाउन तान्ने क्रममा विमललाई पनि करेन्ट लागेको थियो ।

करेन्ट लाग्दा झंकरलाई बचाउन खोजेका विमलको भने घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो ।

झंकर विक भने घाइते छन् । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कमलबजार बाट प्रहरी नायब निरीक्षक भीमबहादुर शाहीसहित सात जनाको टोली घटनास्थलतर्फ पठाइसकेको प्रनाउ पाठकले बताउनुभयो ।

२०८४ को निर्वाचनमा २०४८ जस्तै ४० प्रतिशत मतसहित बहुमत ल्याउने गरी लागौँ – महामन्त्री थापा

काठमाडौँ, ११ असार : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका भ्रातृ संस्थालाई महाधिवेशन गर्न र नगरे पद छोडेर घर जान आग्रह गर्नुभएको छ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले गत माघमा सम्पन्न महासमिति बैठकले यही असार १५ गतेसम्म सबै भ्रातृ संस्थाको महाधिवेशन गरिसक्ने अवधि तोकेको स्मरण गराउनुभयो । महासङ्घको प्रथम महाधिवेशनले सबै भ्रातृ संस्थालाई महाधिवेशन गर्न सन्देश दिएको उहाँको भनाइ थियो ।

 महासङ्घले गुट, उपगुटबाट मुक्त भएर महाधिवेशन गर्नुपर्ने उल्लेख गर्नुहुँदै सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न र नसके स्वस्थरुपमा लोकतान्त्रिक अभ्यास गर्नुपर्नेमा जोड दिनुभयो । असारभित्र पार्टी केन्द्रीय समितिको बैठक बसी महासमितिका प्रतिवेदन टुङ्ग्याउने र विधान संशोधनको काम अघि बढ्ने महामन्त्री थापाले बताउनुभयो । 

“यो संसद्को बाँकी अवधि कांग्रेसले सत्तातिर हेर्नुहुँदैन, पार्टी निर्माणमा लाग्नुपर्छ, २०८४ को निर्वाचनमा २०४८ जस्तै ४० प्रतिशत मतसहित बहुमत ल्याउने गरी लागौँ, एक सय ६५ प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये एक सय क्षेत्र जित्ने गरी लागौँ”, उहाँले भन्नुभयो ।

पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्माले विधानले तोकेको अवधि विसं २०८२ मै कांग्रेसको महाधिवेशन हुने बताउनुहुँदै त्यसैको तयारीका रुपमा भ्रातृ संस्थाको महाधिवेशन सुरु भएको जानकारी दिनुभयो । जनजाति समुदायले ब्रिटिश गोरखा रेजिमेन्टमा गरेको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुहुँदै उहाँले जिबी याक्थुम्बाले विसं २००७ मा प्रजातन्त्र स्थापनाका लागि गर्नुभएको योगदानको स्मरण गर्नुभयो । 

जनजाति समुदायबाट कांग्रेसमा प्रतिनिधित्व गर्नुहुने सर्वोच्च नेता गणेशमान सिंहले प्रधानमन्त्रीको पद छोड्नुभएको, नेता भीमबहादुर तामाङले अप्ठ्यारो अवस्थामा ‘द्वन्द्व मेटिने, पहिचान भेटिने’ नाराका साथ योगदान गर्नुभएको उहाँको भनाइ थियो ।

 कांग्रेस केन्द्रीय सदस्य सीता गुरुङले कांग्रेस कमजोर हुँदा जनजातिका अधिकार खोसिने गरेको बताउनुभयो । बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, दोलखाका सभापति बर्मा लामा, संविधानसभा सदस्य नगेन्द्र कुमाल, नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पा, नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ, नेपाल महिला सङ्घका अध्यक्ष उषा रावत, महासङ्घ बागमती प्रदेश अध्यक्ष एवं प्रदेशसभा सदस्य क्षेत्र बम्जनलगायतले पार्टीले आगामी दिनमा लिनुपर्ने नीति, कार्यक्रमका बारेमा नेतृत्वको ध्यानाकर्षण गराउनुभएको थियो ।

दुई सय ८० वटा अधुरा खानेपानी आयोजना सञ्चालन गर्न तीन अर्ब लाग्ने

काठमाडौँ, ११ असार : अधुरा र विविध कारणले सञ्चालन हुन नसकेका दुई सय ८० वटा खानेपानी आयोजना सञ्चालन गर्न करिब रु तीन अर्ब लाग्ने अनुमान गरिएको छ । कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका उक्त आयोजना सञ्चालन नहुँदा स्थानीयवासीले खानेपानीको समस्या भोगिरहेका छन् । ती समस्या समाधान गर्ने तयारी खानेपानी मन्त्रालयको छ ।

आयोजनामा आवश्यक लागतमध्ये ८० प्रतिशत सरकारले व्यहोर्ने र बाँकी २० प्रतिशत श्रमदानबाट जुटाउनुपर्ने नीतिगत व्यवस्था छ । खानेपानी मन्त्रालयका अनुसार श्रमदान नजुटेपछि केही आयोजना सम्पन्न हुन सकेका छैनन् । वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या वृद्धि भएसँगै स्थानीय तहमा श्रमदान गर्ने जनशक्ति जुटाउन मुस्किल परेको मन्त्रालयको भनाइ छ । यसअघि पनि खानेपानी मन्त्रालयले ती अपूरा आयोजना सुधार गर्न वित्तीय स्रोतका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पेस गरेको थियो । अर्थ मन्त्रालयले वित्तीय स्रोत उपलब्ध गराउन नसक्ने प्रतिक्रिया दिएपछि वैदेशिक दातृ निकायसँग आग्रह गरिएको छ ।

खानेपानीमन्त्री राजेन्द्रकुमार राईले अधुरा आयोजना सुधार गर्न आवश्यक वित्तीय स्रोत व्यवस्थापनका लागि वैदेशिक दातृ निकाय एडिबी र फिनल्याण्डसँग छलफल भइरहेको जानकारी दिनुभयो । “तराई–मधेशमा देखिएका खानेपानी समस्या समाधान गर्न र सञ्चालनमा आउन नसकेका आयोजनाको यकिन भइसकेको छ,” आइतबार बसेको प्रतिनिधिसभाको बैंठकमा विनियोजन विधेयक २०८१ का सन्दर्भमा सांसदहरुको जिज्ञासाको जवाफ दिँदै मन्त्री राईले भन्नुभयो, “मधेश प्रदेशमा भूमिगत पानीको गुणस्तर म्यापिङका लागि एसियाली विकास बैंकले सहयोग गर्ने जानकारी गराएको छ ।”

उहाँका अनुसार सरकारको नीति कार्यक्रम तथा बजेटमा घोषणा भएबमोजिम मधेश प्रदेशका सबै जिल्लामा खानेपानी समस्याको दीर्घकालीन समाधान गर्न सुनकोशी–मरिन, सुनकोशी–कमला तथा भेरी–बबईबाट खानेपानी आपूर्ति गर्ने गरी थोक वितरण प्रणालीको अध्ययन गर्ने तयारी भइरहेको छ ।

सरकारको आगामी आवमा तराई–मधेशका जनघनत्व धेरै भएका स्थानमा डिप बोरिङमार्फत खानेपानी व्यवस्थापन गर्ने कार्यक्रम छन् । तराई–मधेशमा पानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्न चुरे संरक्षण र ठूला थोक वितरण प्रणाली निर्माण भएकाले सम्बन्धित मन्त्रालयसँग समन्वय गरिरहेको मन्त्री राईले जानकारी दिनुभएको छ ।

खानेपानी मन्त्रालयका वरिष्ठ डिभिजनल इन्जिनियर मधु तिमिल्सिनाले अधुरा रहेका र विविध कारण सञ्चालनमा आउन नसकेका आयोजना सुधार तथा सञ्चालन गर्न लागत व्यवस्थापनमा चुनौती भइरहेको बताउनुभयो । “ती आयोजना सञ्चालन हुन नसक्दा तराईवासीले खानेपानी समस्या भोग्दै आएका छन्, आयोजना सञ्चालन गर्न आवश्यक लागत अर्थ मन्त्रालयले दिन अस्विकार गरेपछि दातृ निकायसँग छलफल सुरु गरेका हौँ,” उहाँले भन्नुभयो, “त्यसका लागि केही रकम एसियाली विकास बैंकले सहयोग गर्न सकारात्मक देखिएको छ, बाँकी रकम कहाँबाट जुटाउने चिन्ता छ ।”

उहाँका अनुसार सुधार गर्न आवश्यक आयोजना मध्ये सबैभन्दा बढी आयोजना मधेश प्रदेशमा छन् । “मधेश प्रदेशमा एक सय ७६ खानेपानी आयोजना विविध कारणले सञ्चालनमा आउन सकिरहेका छैनन्, जसले गर्दा मधेश प्रदेशका बासिन्दा खानेपानी माग गर्दै माईतीघर मण्डलामा धर्ना गर्न आउनुभएको छ,” उहाँले भन्नुभयो, “लुम्बिनी प्रदेशमा ५१, कोशी प्रदेशमा ३६ र सुदुरपश्चिम प्रदेशका तराई क्षेत्रमा १९ खानेपानी आयोजना अपुरा तथा विभिन्न कारणले सञ्चालन हुन सकेका छैनन् ।”

उहाँका अनुसार कतिपय आयोजनाका उपभोक्ताले खानेपानीको महसुल भूक्तानी गर्न नचाँहदा पनि आयोजना सुचारु हुन नसकेको हो । तिमिल्सेनाले बर्सेनि खानेपानी मन्त्रालयको बजेट घट्दै जाँदा थप कार्यक्रम राख्न नसकिएको जानकारी दिनुभयो । उहाँले अन्तरसरकारी निकाय, तीनै तहको सरकारबीच समन्वयका आधारमा समस्या समाधान गर्न सम्भव हुने बताउनुभयो ।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष राजेन्द्र अर्यालले अधुरा आयोजना सरकारले प्राथमिकतामा राखेर पूरा गर्नुपर्ने बताउनुभयो । “बीस प्रतिशत श्रमदान अव्यवहारिक छ, तर थोरै श्रमदान या श्रमदान दिन नसक्नेबाट रकम लिएर खानेपानी आयोजनामा जनताको पनि लगानी हुँदा अपनत्व हुन्छ,” उहाँले भन्नुभयो, “मुलुकमा श्रमदानका कारण मात्रै होइन, कुनै आयोजनाको डिजाइन हुन्छ तर आवश्यकता अनुसार राज्यको लगानी कम हुने र वित्तीय क्षमता अनुसार योजना नबन्दा अधुरै रहन्छ ।”

उहाँले तीन तहका सरकारबीच खानेपानी व्यवस्थापनमा समन्वय नहुने र ‘डुप्लिकेसन’को समस्या हुने गरेको जानकारी दिनुभयो । संविधानको धारा ३५ को उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईको हकको व्यवस्था गरिएको छ । तर, नागरिकले उक्त मौलिक हकको प्रत्याभूति गर्न पाएका छैनन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार कुल ६६ लाख ६० हजार आठ सय ४१ परिवारमध्ये खानेपानीको मुख्य स्रोतको रुपमा धारा/पाइप (घरपरिसर भित्र) प्रयोग गर्ने ३४ दशमलव छ प्रतिशत छ । धारा/पाइप (घरपरिसर बाहिर) प्रयोग गर्ने २२ दशमलव चार प्रतिशत र ट्युववेल/हाते पम्प प्रयोग गर्ने २९ दशमलव आठ प्रतिशत छन् । ढाकिएको इनार/कुवालाई पानीको स्रोतको रुपमा प्रयोग गर्ने एक दशमलव पाँच प्रतिशत उपभोक्ता रहेको जनगणनामा उल्लेख छ ।   सन् २०३० सम्म पानीको अभाव सम्बोधन गर्न तथा अभाव झेलिरहका उपभोक्ताको सङ्ख्या घटाउन स्वच्छ पानीको दिगो निष्काशन तथा आपूर्ति गर्ने दिगो विकासको लक्ष्य छ । 

मकवानपुरका नौ पालिकाले निर्धारित समय भित्रै ल्याए बजेट

बागमती, ११ असार : मकवानपुरका अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट घटाएर ल्याएका छन् । मकवानपुरका १० मध्ये नौ पालिकाले निर्धारित समय (असार १० गते) भित्रै बजेट ल्याएका छन् । जनप्रतिनिधिबीचको विवादका कारण यहाँको बागमती गाउँपालिकाले बजेट ल्याएको छैन ।

सोमबारमात्रै मकवानपुरको मनहरी, मकवानपुरगढी, राक्सिराङ, कैलाशा र भीमफेदी गाउँपालिकाले आगामी आवको ल्याएका छन् । हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाले भने अघिल्लो साता बजेट ल्याएका थिए ।

आर्थिक तरलता, राजस्व सङ्कलनमा गिरावट, सङ्घीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानमा कटौतीलगायत कारणले यहाँका स्थानीय तहहरुले चालु आवको भन्दा आकार घटाएर ल्याएका छन् । मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आवका लागि रु ९० करोड १३ हजारको बजेट ल्याएको छ । यो चालु आवको तुलनामा रु तीन करोड कम हो । यस्तै, राक्सिराङ गाउँपालिकाले आगामी आवका लागि रु ५४ करोड ६१ लाख ७३ हजारको बजेट ल्याएको छ । गाउँपालिकाका उपाध्यक्ष वनस्तम थिङले चालुतर्फ रु ३३ करोड ४१ लाख ६७ हजार र पुँजीगततर्फ रु २१ करोड २० लाख पाँच हजार छ सय २३ खर्च हुने अनुमान रहेको प्रस्तुत गर्नुभयो ।

मकवानपुरको कैलाश गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले आगामी आवका लागि रु ४८ करोड ७८ लाख ६७ हजारको बजेट प्रस्तुत गर्नुभयो । मकवानपुरगढी गाउँपालिकाले पनि चालु आवको तुलनामा रु चार करोड छ लाख ७६ हजार बजेट घटाएर रु ६२ करोड दुई लाख ५६ हजारको बजेट प्रस्तुत गरेको छ ।

यस्तै मकवानपुरको भीमफेदी गाउँपालिकाले पनि आगामी आवका लागि रु ७४ करोड ३६ लाख ७३ को बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष सञ्जीव श्रेष्ठले चालु आवको भन्दा रु एक करोड घटाएर बजेट प्रस्तुत गर्नुभएको थियो ।

यातायात व्यवस्था कार्यालय झापाले एघार महिनामा उठायो ८५ करोड बढी राजस्व

भद्रपुर (झापा), ११ असार : यातायात व्यवस्था कार्यालय झापाले चालु आर्थिक वर्षको ११ महिनामा रु ८५ करोड ७५ लाख ५४ हजार पाँच सय ८९ राजस्व सङ्कलन गरेको छ । कार्यालयले जेठ महिनामा मात्रै रु छ करोड २४ लाख ४० हजार चार सय १७ राजस्व सङ्कलन गरेको जनाएको छ ।

कार्यालयका निमित्त प्रमुख बाबुराम शर्मा लुइँटेलका अनुसार चालु आवको जेठ महिनासम्म सवारीसाधन करतर्फ रु ६९ करोड ७७ लाख ८९ हजार सात सय ७९, प्रशासनिक सेवा शुल्कवापत रु एक करोेड ७९ लाख ९३ हजार एक सय ८३, सवारीचालक अनुमतिपत्र सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट रु १४ करोड १६ लाख ८८ हजार एक सय ६७ राजस्व असुली गरेको छ ।

चालु आवको ११ महिनाको अवधिमा नौ हजार पाँच सय ४२ सवारीसाधन दर्ता हुँदा ३३ हजार एक सय १९ सवारी नवीकरण भएका लुइँटेलले बताउनुभयो । सोही अवधिमा १२ हजार तीन सय २२ नयाँ चालक अनुमतिपत्र, १६ हजार पाँच सय ४८ को नामसारी हुँदा १० हजार दुई सय ६३ सवारी जाँचपास भएका उहाँले जानकारी दिनुभयो ।

चालु आवको ११ महिनामा छ हजार सात सय १४ मोटरसाइकल दर्ता हुँदा एक हजार छ सय ३८ ई–रिक्सा दर्ता भएको कार्यालयले जनाएको छ । यहाँ हप्ताको चार दिन (आइतबारदेखि बुधबार) चालक अनुमतिपत्रको लिखित परीक्षा र हप्ताको पाँच दिन (आइतबारदेखि बिहीबार) चालक अनुमतिको प्रयोगात्मक परीक्षा सञ्चालन हुने गरेको छ ।

आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ : अर्थमन्त्री पुन

काठमाडौँ, ११ असार : अर्थमन्त्री वर्षमान पुनले आन्तरिक वा बाह्य ऋणलाई बढीभन्दा बढी उत्पादनमूलक तथा रोजगारी सिर्जना गर्ने क्षेत्रमा खर्च गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले ऋण लिएर अनुत्पादक क्षेत्रमा खर्च गर्ने प्रवृत्तिलाई निरुत्साहित गरिने बताउनुभयो ।

उहाँले भूकम्पछिको पुनःनिर्माणका क्रममा ऋणको मात्रा बढे पनि आर्थिक वृद्धि भने भइरहेको बताउनुभयो । “आन्तरिक ऋण लिँदा निजी क्षेत्रले कर्जा नपाउने अवस्था आउन नदिन सरकार सचेत छ, ऋणको नयाँनयाँ सम्भावनाबारे बजेटले स्पष्ट पारेको छ”, उहाँले भन्नुभयो, “भूकम्पपछिको पुनःनिर्माणका क्रममा ऋणको मात्रा बढेको हो तर उक्त ऋणले लगातार सात प्रतिशतको आर्थिक वृद्धिमा सहयोग गरेको अवस्था थियो ।” सरकारले आन्तरिक ऋण कम गर्ने कोसिस गरिरहेको अर्थमन्त्री पुनको भनाइ छ ।

सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरुले सरकारले उठाएको ऋणको सही ठाउँमा खर्च गर्न आग्रह गर्नुभयो । सांसद डा प्रकाशशरण महतले ऋण ठोस र परिणाममूलक काममा खर्च गर्न नसकिए लगानीको उपयोग नभइ समस्या उत्पन्न गर्ने टिप्पणी गर्नुभयो ।

सांसद राजेन्द्रकुमार केसीले मुलुकले धान्न नसक्ने गरी ऋण नउठाउन आग्रह गर्नुभयो । डा स्वर्णिम वाग्लेले वास्तविकतामा आधारित भएर मात्र ऋणको भारी बोकाउन आग्रह गर्नुभयो । प्रदीप पौडेलले चालु खर्चका लागि पनि ऋण लिने र निजी क्षेत्रलाई आर्थिक विकासका लागि प्रोत्साहन नगर्ने नीति सही नभएको बताउनुभयो ।

यसैगरी सांसद श्यामकुमार घिमिरेले राजस्व चुहावट नियन्त्रण र खर्च घटाउने नीतिमा जान सुझाव दिनुभयो । बद्रीप्रसाद पाण्डेले उत्पादनकमूलक काममा खर्च नगरी राष्ट्रले लिएको ऋण तिर्न फेरि ऋण लिनुपर्ने स्थिति आउनु प्रत्युत्पादक हुने टिप्पणी गर्नुभयो । यस्तै, प्रेम सुवालले ८० प्रतिशत गरिब जनताको हातमा अर्थतन्त्र नरहेकाले घरेलु तथा साना उद्योग–व्यापारलाई प्रश्रय दिन सुझाव दिनुभयो । राजेन्द्रप्रसाद पाण्डेले पर्यटन, कृषि र शिक्षाजस्ता क्षेत्रमा लगानी गरी रोजगारी वृद्धि गरेमा ऋणको भारबाट बच्न सकिने विचार व्यक्त गर्नुभयो ।

सांसद नागिना यादवले कूल ग्राहस्थ उत्पादनको पाँच दशमलव पाँच प्रतिशतभन्दा बढी आन्तरिक ऋण उठाउन नहुने बताउनुभयो । यस्तै जीवन परियार, उदयशम्शेर राणा, सञ्जयकुमार गौतमलगायत सांसदले ऋण लिएर अनुत्पादक क्षेत्रमा खर्च गर्ने प्रवृत्ति अन्त्य गरिनुपर्नेमा जोड दिनुभयो ।

जनकपुरधाममा आजदेखि अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु हुँदै

धनुषा, ११ असारः जनकपुरधाममा अन्तर्राष्ट्रिय मैथिली चलचित्र महोत्सव आजदेखि सुरु हुँदैछ । जनकपुरधाम उपमहानगरपालिका तथा लोक सञ्चार जनकपुरधामद्वारा संयुक्त रुपमा पहिलो पटक महोत्सव आयोजन हुन लागेको हो ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्सवको शुभारम्भ गर्नहुने कार्यक्रम रहेको लोक सञ्चारका अध्यक्ष एवं कार्यक्रम संयोजक रमेश रञ्जन झाले जानकारी दिनुभयो । दुई दिनसम्म चल्ने महोत्सवमा ललका पाग, लोटस ब्लुम्स र समानान्तर गरेर तीनवटा ‘फिचर फिल्म’को प्रदर्शन हुने उहाँले बताउनुभयो । यसैगरी बृत्तचित्र गुमकी र विद्यापति तथा लघुफिल्म रक्त तिलक, अफवाह प्रदर्शन हुनेछन् । यसका साथै मैथिली सिनेमाको निर्माण र व्यवसाय तथा समकालीन परिदृश्यमा मैथिली सिनेमा विषयमा विमर्श हुने कार्यक्रम रहेको जनाइएको छ ।

“हामीले चलचित्र प्रदर्शनीसँगै अन्तक्र्रियात्मक कार्यक्रम गर्दैछौँ, यस महोत्सवको उद्देश्य मुलतः मैथिली भाषामा बनिरहेका चलचित्रलाई हेर्नु र स्थानीयले त्यसलाई कसरी लिइरहेका छन् भन्ने विषयमा बुझ्नु हो, कार्यक्रम संयोजक रञ्जनले भन्नुभयो । उहाँले मैथिलीभाषीको सङ्ख्या धेरै रहे तापनि यसले चलचित्रको विकास नहुनुका कारण पत्ता लगाउन यस्ता महोत्सव आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीकहाँ भएका प्राविधिकले नेपाली चलचित्रसँगै भारतीय चलचित्रमा समेत काम गरेका छन्, उनीहरूले मैथिली भाषामा काम गर्ने वातावरण किन बनेन भन्ने एउटा जिज्ञासालाई यसले मेट्छ भन्ने विश्वास छ, किनकि मैथिली भाषाको चलचित्र विभिन्न प्रसिद्ध महोत्सवमा समेत पुगिसकेको छ तर हाम्रो बजारमा हिन्दी र भोजपुरी भाषाका चलचित्रको मात्र बाहुल्यता छ ।”

उहाँले सन् १९५० को दशकदेखि नै मैथिली भाषाको चलचित्र बनिरहे तापनि पछिल्लो समय सङ्ख्यात्मक र गुणात्मक रूपमा कमी आएकाले यस्ता महोत्सव आवश्यक रहेकामा जोड दिनुभयो । महोत्सवमा वृत्तचित्रतर्फ ‘गुमकी’ र ‘विदापत’ तथा लघुचलचित्रतर्फ ‘अफवाह’ प्रदर्शन गरिनेछ । यस्तै भारतमा निर्मित चलचित्रतर्फ ‘ललका पागु’, ‘लोटस ब्लूम्सु’ ‘समानान्तर’ र लघुचलचित्र ‘रक्त तिलक’ प्रदर्शन गरिने जनाइएको छ ।

साथै महोत्सवमा ‘मैथिली सिनेमाक निर्माण आ व्यवसाय’, ‘निर्देशक सँ विमर्श’, ‘समकालीन परिदृश्य मे मैथिली सिनेमा’, ‘मैथिली सिनेमाक विविध स्वरूप आ सम्भावना’ शीर्षकमा अन्तक्र्रिया गरिने कार्यक्रम संयोजक रञ्जनले जानकारी दिनुभयो ।

नेपाल गुणस्तर परिषद्द्वारा कपडाको परीक्षण विधि पारित,अब कपडा परीक्षण गरी विदेश निर्यातमा सहज

काठमाडौँ, ११ असारः नेपाल गुणस्तर परिषद्ले विभिन्न किसिमका कपडाको परीक्षण विधि र सुरक्षित सिसाको नेपाल गुणस्तर मापदण्ड पारित गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको अध्यक्षतामा सोमबार मन्त्रालयमा बसेको ११२औँ परिषद्को बैठकले नेपाल गुणस्तर तथा नापतौल विभागले तयार पारेको उक्त मापदण्ड पारित गरेको हो ।

गुणस्तर मापदण्ड पारित गरेसँगै अब विभिन्न किसिमका कपडाको परीक्षण गरी कपडालाई विदेश निर्यातमा सहज भएको विभागका प्रवक्ता प्रभातकुमार सिंहले जानकारी दिनुभयो । यस्तै बैठकले सुरक्षित सिसाको समेत मापदण्ड पारित गरेको छ । सुरक्षित सिसालाई समेत विदेश निर्यातमा सहज हुने विभागले जनाएको छ ।

विभागको प्राविधिक समितिले गुणस्तर पारित गर्ने उद्योग तथा वस्तुको प्राविधिक अध्ययन गरी परिषद्मा पठाउने गर्दछ । परिषद्का सदस्यसचिव विभागका महानिर्देशक रहने प्रावधान रहेको छ ।

बागमती प्रदेशसभाको बैठक आज बस्दै

बागमती, ११ असारः बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । विहान ११ बजेस्ने सो बैठकमा प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/ ८२ को विनियोजित आर्थिक विधेयक र आर्थिक विधेयकसँग सम्बन्धित राजस्व (करबाहेक) विधेयकमाथि छलफल हुने संभावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

यसअघि गत शुक्रबार बसेको प्रदेशसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आवको बजेटमाथि छलफल भएको थियो । सरकारको आगामी आव २०८१÷८१ को बजेट वक्तव्य तथा विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि छलफल सम्पन्न गरी सभामुख भुवकुमार पाठकले बैठक आज बस्नेगरी आह्वान गर्नुभएको थियो ।

यही असार १ गते प्रदेशसभामा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आगामी आवका लागि लागि रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो ।

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना : तीन महिनाभित्रै पेट्रोल पाइपलाइबाट

वीरगञ्ज (पर्सा), ११ असारः नेपाल आयल निगमले आगामी भदौ मसान्तभित्रै पेट्रोल, मट्टितेललगायत पेट्रोलियम पदार्थ पनि पाइप लाइनबाट ल्याउने गरी पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ । निगमले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको ७५ प्रतिशत काम सकिएसँगै बाँकी रहेको काम पनि आगामी तीन महिनाभित्र सम्पन्न गरेर पेट्रोल–मट्टितेल पनि पाइप लाइनबाटै ल्याउने तयारीमा जुटेको छ ।

नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख बिनितमणि उपाध्यायले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणअन्तर्गतका मुख्य ट्याङ्क निर्माण सकिएकाले अन्य प्राविधिक कामलाई तीन महिनाभित्रै सम्पन्न गरेर पेट्रोल–मट्टितेल पाइप लाइनबाट ल्याइने बताउनुभयो ।

“दोस्रो चरणअन्तर्गतका ठूला पूर्वाधार निर्माणका सबैजसो काम सकिएका छन्”, उहाँले भन्नुभयो, “परियोजनाको दोस्रो चरणअन्तर्गत ४१ सय किलोलिटर क्षमताका दुईवटा पेट्रोलका ट्याङ्क निर्माण गर्नुपर्ने थियो । अहिलेसम्म दुईवटै ट्याङ्क निर्माणको काम सम्पन्न भइसकेको छ”, उहाँले भन्नुभयो, “समग्रमा अहिलेको जुन रफ्तारमा काम भइरहेको छ । सोही कायम रहेको खण्डमा तीन महिनाभित्र सम्पन्न हुनेछ ।”

प्रमुख उपाध्यायले पेट्रोलियम पदार्थको भण्डारणसँग जोड्ने पाइप लाइन जडान कार्य भइरहेको बताउनुभयो । “केही सिभिलसँग सम्बन्धित र इलोक्ट्रिोनिक्स र आइटीसँग सम्बन्धित काम बाँकी रहेको छ”, उहाँले भन्नुभयो, “बाँकी रहेका काम पनि तीव्रगतिमा भइरहेकाले सकेसम्म भदौको दोस्रो साताभित्र सकाउने गरी काम भइरहेको छ ।”

प्रमुख उपाध्यायले पेट्रोल पाइप लाइनबाट ल्याएसँगै ढुवानी खर्चमा प्रतिलिटर रु तीन कम हुने बताउनुभयो । “एकतर्फ प्रतिलिटर रु तीन ढुवानी खर्च घट्नेछ भने अर्कातर्फ वातावरण प्रदूषण पनि कम हुनेछ”, उहाँले भन्नुभयो, “योसँगै वार्षिक रु एक अर्ब रकम ढुवानी भाडा जोगिनेछ ।” निगमले अहिले पेट्रोल तथा मट्टितेल भारतको बरौनीबाट ट्याङ्करबाट ल्याउँदै आइरहेको छ । डिजेल भने पाइप लाइनबाटै भित्रिदै आइरहेको छ ।

कार्यालयका अनुसार दुई सय ५० किलोलिटर क्षमताका दुईवटा ट्रान्समिक्स ट्याङ्क निर्माण भइरहेको छ भन २४ वटा पूर्ण रूपमा स्वचालित पेट्रोल भर्ने स्टेशन निर्माणको काम भइरहेको छ । निगमले मोतीहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजना दोस्रो चरणअन्तर्गतको पूर्वाधार निर्माणका लागि भारतीय कम्पनी लिखिता इन्फ्रास्ट्रक्चर प्रालिसँग ठेक्का सम्झौता गरेको थियो । सो ठेक्का सम्झौताअनुसार कम्पनीले सन् २०२३ को डिसेम्बरमा आवश्यक पूर्वाधार निर्माणको काम सम्पन्न गर्नुपर्ने थियो । सन् २०२४ को जनवरीमा उद्घाटन गर्ने कार्यक्रम तय गरिएको तर, निर्माण कम्पनीको ढिलासुस्तीका कारण तोकिएको समयसीमाभित्र दोस्रो चरणको काम सम्पन्न हुनसकेको छैन ।

निगमका अनुसार पम्पहाउस, अत्याधुनिक प्रयोगशाला, फायरफाइटिङ सिस्टमको स्तरोन्नति, ‘ओइल वाटर स्प्रेटर’, ‘पिएमससिसी रुम’लगायत पूर्वाधार निर्माण भइरहेको छ । निगम र भारतीय पक्षले विभिन्न पूर्वाधार निर्माण गर्दै आइरहेका छन् । निगमले दोस्रो परियोजना कार्यान्वयनका लागि एक अर्ब ५४ करोड भारु खर्चिएर चार हजर एक सय किलोलिटर क्षमताको पेट्रोलको ट्याङ्क, अत्याधुनिक प्रयोगशाला, फायरफाइटिङ सिस्टमको स्तरोन्नति र २४ वटा पूर्ण रूपमा स्वचालित पेट्रोल भर्ने स्टेशन निर्माण गर्दै आइरहेको छ ।

त्यसैगरी इन्डियन आयल कर्पाेरेशन लिमिटेडले पनि ६० करोड भारु खर्चिएर चार हजार एक सय किलोलिटर क्षमताको ट्याङक, दुई सय ५० किलोलिटर क्षमताको दुईवटा ट्रान्समिक्स ट्याङक, तीन हजार किलोलिटर क्षमताको दुईवटा फायरवाटर ट्याङ्क निर्माण गर्दै आइरहेको छ ।

सन् २०१५ मा पाइप लाइन विस्तारका लागि पहिलो र दोस्रो चरणमा गरेर कुल दुई अर्ब ७५ करोड भारु लाग्ने अनुमान गरिएको थियो । सो योजनाअनुसार पहिलो चरणमा भारतीय पक्षले दुई अर्ब भारु र दोस्रो चरणमा नेपालको तर्फबाट ७५ करोड भारु खर्च गर्ने योजना बनाइएको थियो ।

पहिलो चरणको पूर्वाधार निर्माणमा योजनामा भारतको तर्फबाट दुई अर्ब भारु खर्च भए पनि दोस्रो चरणको काम तत्कालै सुरु हुन सकेन । जसका कारण पनि दोस्रो चरणको पाइप लाइन विस्तारको लागत बढेर भारु एक अर्ब ५४ करोड पुगेको छ ।

निगमका अनुसार पम्पहाउस, अत्याधुनिक प्रयोगशाला, फायरफाइटिङ सिस्टमको स्तरोन्नति, ओइलवाटर स्प्रेटर, पिएमसिसी रुमलगायत पूर्वाधार निर्माण हँुदै आइरहेको छ । दुवै पक्षले अहिले विभिन्न पूर्वाधार निर्माण गर्दै आइरहेका छन् । पहिलो चरणको काम सम्पन्न भई विसं २०७६ भदौ २५ गतेदेखि पाइप लाइनबाट डिजेलको आयात भइरहेको निगमले जनाएको छ ।

तेस्रो राष्ट्रिय माझी डुङ्गा दौड प्रतियोगितामा सुनसरी प्रथम

रामेछाप (मन्थली), ११ असारः तेस्रो राष्ट्रिय माझी डुङ्गा दौड प्रतियोगितामा सुनसरी प्रथम भएको छ । रामेछापको मन्थली नगरपालिकास्थित सेलेघाटमा सोमबार सम्पन्न उक्त प्रतियोगिताको ‘सिङ्गल’ विधातर्फ सुनसरीका चन्द्र माझी र जीवन माझीले तीन मिनेट तीन सेकेण्डमा डुङ्गालाई नदी वारपार गराई प्रथम हुन सफल हुनुभएको हो ।

यसैगरी तीन मिनेट १२ सेकेण्डमा ओखलढुङ्गाका कमल माझी र कुशल माझीले द्वितीय, तीन मिनेट १६ सेकेन्डमा रामेछाप मसानटारका सुनिल माझी र उर्बे माझीले तृतीय र तीन मिनेट २४ सेकेण्डमा नदी वारपार गरी सिन्धुली खाङ्साङका पेशल माझी र डिल्ले माझीले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको थियो ।

‘डवल’ विधातर्फ दुई मिनेट ४४ सेकेण्डमा सुनसरीको समूह प्रथम, दुई मिनेट ५० सेकेण्डमा रामेछाप राताटारको समूह द्वितीय , दुई मिनेट ५१ सेकेण्डमा ओखलढु्गाले तृतीय र सुनसरी ‘ए’ले दुई मिनेट ५३ सेकेण्डमा नदी वारपार गरी सान्त्वना स्थान हासिल गरेको थियो ।

उक्त प्रतियोगिताको ‘सिङ्गल’ विधामा दुईजना र ‘डबल’ विधामा चारजनाको समूह रहेका थिए । प्रतियोगितामा रामेछाप सिन्धुली, दोलखा, सुनसरी र ओखलढुङ्गा जिल्लाका खेलाडीको सहभागिता थियो । प्रतियोगितामा पाँच जिल्लाका डबल विधातर्फ २९ समूह र सिङ्गल विधातर्फ २६ समूहको सहभागिता रहेको कार्यक्रम संयोजक नवराज माझीले जानकारी दिनुभयो । विजयी प्रतियोगीलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो ।

उक्त खेलअन्तर्गत खेलाडीले प्रतिस्पर्धाका आधारमा डुङ्गालाई सेलेघाटस्थित तीन नदीको सङ्गम त्रीवेणीको वारि किनारबाट पारि पुर्याई पुनः वारि नै ल्याउनुपर्ने प्रावधान रहेको थियो । माझी समुदायको परम्परागत पेसाका रूपमा पहिचान बनाएको डुङ्गा व्यवसायलाई राष्ट्रिय खेलकुद परिषद्ले राष्ट्रिय खेलका रूपमा मान्यता दिएसँगै हरेक वर्ष प्रतियोगिताको आयोजना हुँदै आएको छ । प्रतियोगिताको शुभारम्भ बागमती प्रदेशका खेलकुदमन्त्री रमा आलेले गर्नुभएको थियो ।